न्यूयोर्क / डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वार जो बाइडेनको क्याम्पेनले अगष्ट महिनामा ३६४.५ मिलियन डलर (३६ करोड ४५ लाख अमेरिकी डलर) चन्दा संकलन गर्न सफल भएको छ । अमेरिकामा कुनै पनि राष्ट्रपतिय उम्मेद्वारको क्याम्पेनले एकै महिनामा यति धेरै रकम उठाएको यो पहिलो पटक हो ।
अगष्ट पहिलो साता सिनेटर कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेद्वार चयन गरेपछि बाइडेन क्याम्पेनको सहयोगका लागि चन्दाको ओइरो लागेको थियो । ह्यारिसलाई सहयात्री चुनेको दुई दिनमा ४८ मिलियन डलर संकलन भएको क्याम्पेनले त्यही बेला जनाएको थियो । त्यसपछि अगष्ट दोस्रो साता सम्पन्न डेमोक्रेटिक राष्ट्रिय सम्मेलनका बेला पनि ठूलो रकम उठेको थियो । चार दिन चलेको सम्मलेनमा कुल ७७ मिलियन संकलन भएको थियो । महिनाभर संकलित रकमको ५७ प्रतिशत स-साना दाताले अनलाइन मार्फत उपलब्ध गराएको बाइडेनले क्याम्पेनले जनाएको छ ।
अमेरिकामा राजनीतिककर्मीको पहिलो सफलताको रुपमा चन्दा संकलनलाई नै लिइन्छ । जति धेरै पैसा उठायो जति नै प्रचार प्रसारमा खर्च गर्ने अवसर प्राप्त हुन्छ । रेकर्ड बन्ने गरि चन्दा संकलन भएपछि बाइडेनले समर्थकहरुलाई धन्यबाद दिँदै इमेल समेत पठाएका छन् ।
सन् २०२० को सुरुवातमा बाइडेन क्याम्पेन आर्थिक संकटमा थियो । आर्थिक अभावमा उनले देशभर प्रचार गर्न समेत सकेका थिएनन् । साउथ क्यारोलिनाको प्राइमरी चुनाव जितेपछि मात्र उनको पक्षमा केही माहोल देखिन थाल्यो । पार्टीबाट राष्ट्रपतिको टिकट हत्याउने निश्चित भएसँगै उनका लागि चन्दाको दिने संख्या निरन्तर उकालो लागेको हो ।
जुलाईमा भने राष्ट्रपति डोनाल्ड ट्रम्प क्याम्पेनले बाइडेनलाई चन्दा संकलनमा २५ मिलियनले उछिनेको थियो । अघिल्लो महिना ट्रम्प र बाइडेन क्याम्पेनले क्रमशः १६५ मिलियन र १४० मिलियन उठाएका हुन् । त्यती हुँदा पनि जुलाई अन्त्यमा बाइडेन क्याम्पेनसँग खातामा ट्रम्प क्याम्पेनभन्दा छ मिलियन डलर मात्र कम थियो । ट्रम्प क्याम्पेनले अहिलेसम्म अगष्टको चन्दा संकलन सार्वजनिक गरेको छैन । तर, गत महिनाको चन्दा संकलनमा बाइडेन क्याम्पेनले ट्रम्पलाई सहजै उछिनेको राजनीतिक पण्डितहरुको अनुमान छ ।
सन् २०१६ को अगष्ट्रमा डेमोक्रेटिक प्रत्यासी हिलारी क्लिन्टन क्याम्पेनले १४३ मिलियन डलर संकलन गर्दा ट्रम्प क्याम्पेनले ९० मिलियन डलर चन्दा संकलन गरेको थियो ।