न्यूयोर्क सिटी काउन्सिलका एक प्रभावशाली उम्मेद्वारले नेपाली भाषालाई सहरको सरकारी कामकाजको भाषा बनाउने उद्घोष गरेका छन् । न्यूयोर्कको २६ नम्बर डिष्ट्रिक्टबाट सिटी काउन्सिल उम्मेद्वार रहेका अमित सिंह बग्गाले नेपाली भाषालाई अमेरिकामा अहिलेसम्मकै सर्बोत्कृष्ठ सम्मान दिलाउने प्रतिबद्धता जनाएका हुन् ।
डिष्ट्रिक्ट २६ मा क्वीन्स बोरो अन्तर्गतका सन्नी साइट, उडसाइट, लङ आइल्यान्ड सिटी र एस्टोरिया पर्छन् । यी क्षेत्रमा नेपालीको बाक्लो बसोबास रहँदै आएको छ । अहिलेसम्म १२ भाषालाई न्यूयोर्क सिटीले सरकारी भाषाको रुपमा स्वीकारेको छ । त्यसमा उर्दु र बंगाली समेत समावेश छन् । नेपाली भाषामा भने सवारी साधानको लाइसेन्स लिन लिखित परिक्षा मात्र दिन पाइन्छ ।
बग्गाको क्षेत्रमा सिटी काउन्सिलका लागि सबैभन्दा धेरै उम्मद्वार खडा भएका छन् । सबैभन्दा पहिले उनले आउँदो जुन २२ को प्राइमरी चुनावमा डेमोक्रेटिक पार्टीका १५ जना प्रत्याशीसँग प्रतिश्पर्धा गर्नुपर्ने हुन्छ । प्राइमरी निर्वाचन जितेमा नोभेम्बरको २ मा हुने अन्तिम निर्वाचनमा उनी रिपब्लिकन प्रत्याशीसँग प्रतिश्पर्धा गर्नेछन् ।
उनको निर्वाचन क्षेत्र डेमोक्र्याटका लागि सहज रहँदै आएको हुँदा प्राइमरी चुनाव जितेमा नोभेम्बरमा निर्वाचित हुने संभावना प्रवल हुनेछ । बग्गाले आफु निर्वाचित भएमा स्थानीय स्तरका ‘कम्युनिटी बोर्ड’हरुमा तत्कालै नेपालीको प्रतिनिधित्व सुनिश्चित गराउने बताएका छन् । ‘आफ्नो समुदायमा बाटोघाटो स्तरोन्नती देखि मदिरा बिक्रीको लाइसेन्स वितरणसम्मको निर्णय गर्ने कम्युनिटी बोर्डमा नेपालीहरुको प्रतिनिधित्व भएको पाइँन, उनले विश्व न्यूजसँग भने- म निर्वाचित भएमा तुरुन्तै त्यस्ता बोर्डमा नेपालीको प्रतिनिधित्व सुनिश्चित गराएर नीति निर्माण तहमा नेपालीको सहभागिता बृद्धि गराउँछु ।’ त्यस बाहेक न्यूयोर्क विद्यालयमा दक्षिण एसियाको इतिहास पढाउँदा नेपालको इतिहास समेत समावेश गर्ने कार्यक्रम उनले सुनाए ।
बग्गाले आर्थिक न्याय बिना सामाजीक न्याय एवं अल्पसंख्यको रुपमा पहिचानको मुद्दा स्थापित गर्न कठिन पर्ने हुँदा रोजगारी सुनिश्चिततालाई आफुले मुख्य प्राथमिकताका राखेको बताएका छन् । तल्लो तहमा रहेका सबै न्यूयोर्कबासीहरुलाई आर्थिक न्यायको सुनिश्चितताको लागि बार्षिक १०० मिलियन डलरको ‘फेयर इकोनोमी फन्ड’ समेत बग्गाले प्रस्ताव गरेका छन् । त्यो रकम कामदार एवं भाडामा बसोबास गर्नेहरुलाई न्याय दिलाउन खर्च गर्ने उनको भनाइ छ । त्यस बाहेक क्वीन्समा दुई मात्र सार्वजनिक अस्पताल रहेकोमा निजी क्षेत्रका जमिन लिएर सरकारी लगानीमा स्वास्थ्य सेवा क्लिनिक विस्तार गर्ने आफ्नो योजना रहेको उनले सुनाए ।
भारत र पाकिस्तान विभाजित हुँदा पाकिस्तानबाट विस्थापित शिख शरणार्थी दम्पतीबाट जन्मिएका बग्गाले १४ बर्ष बिभिन्न सरकारी संरचनामा काम गरि सकेका छन् । उनले करियरको सुरुवात कंग्रेशनल स्टाफको रुपमा गरेका थिए । त्यस पछि न्यूयोर्क सिटीमै काम गरे । कन्जुमर प्रोटेक्सन विभाग र सोसियल सर्भिस विभागको डेपुटी कमिसनरसम्मको जिम्मेवारी निभाएपछि आफुले जागिर छोडेको उनले बताए । यी जिम्मेवारीमा रहँदा ४० मिलियन डलरको कम्युनिटी फन्डिङ कार्यक्रम आफुले सञ्चालन गरेको बग्गाको भनाइ छ । त्यो रकम नेपालीको हितमा काम गरि रहेको अधिकार, युनाइटेड शेर्पा जस्ता संस्थाले समेत पाएका थिए ।
बग्गालाई वर्किङ फेमिली पार्टी लगायत प्रोग्रेसिभ राजनीतिक संस्थाहरुले समर्थन गरेका छन् । अभिनेतृ सिन्थिया निक्सन, स्टेट सिनेटरहरु जेसिका रामोस, जुलिया सलाजर लगायत ४३ बिभिन्न संघ संस्था र प्रभावशाली व्यक्तिहरुले बग्गाको उम्मेद्वारीलाई साथ दिएका छन् । अरु उम्मेद्वारले अघि सारेका कार्यक्रम पनि राम्रा रहेको तर सरकारी संरचना र ब्युरोक्रेसीको काम गर्ने तवर तरिका आफुले भित्रैबाट बुझेको हुँदा अरुले भन्दा राम्रो परिणाम दिनसक्ने उनको दावी छ ।
न्यू ह्यामसारयका सबै नेपाली संस्थाले सुन्दरी गुरुङलाई गैर आवासीय नेपाली संघ (एनआरएनए एनसिसी) अमेरिकाको आसन्न निर्वाचनमा महिला संयोजक पदकाका लागि ‘इन्डोर्स’ गरेका छन् ।
राज्यमा १३ वर्षदेखि बसोबास गर्दै आएकी गुरुङ एनआरएनए अमेरिका न्यूह्यामसर च्याप्टरकी वर्तमान उपाध्यक्ष हुन्।
राज्यमा सकृय न्यू ह्यामसायर नेपाली समाज (एनएचएनसी), गुरुङ तमु समाज न्यूह्यामसायर, एभरेष्ट लाइन्स क्लव न्यू ह्यामसारयका, फेडरेसन अफ इन्डिजिनियस पिपुल्स अफ नेपाल अमेरिका (फिप्ना) न्यू ह्यामसारयका च्याप्टर, राई किराँत समाज न्यू इंग्ल्यान्ड लगायत संस्थाका पदाधिकारी एवं अन्य विभिन्न सामाजीक अगुवाको उपस्थितीमा सम्पन्न बैठकबाट गुरुङलाई सर्वसम्मत समर्थन गरिएको हो ।
एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा राज्यबाट गुरुङको मात्र उम्मेद्वारी परेको र सबैको साथले उनलाई विजयी गराउनु पर्ने एनएचएनसीका अध्यक्ष सोम गुरुङले बताए । गुरुङ तमु समाज न्यू ह्यामसायरकी अध्यक्ष एवं एनआरएनए एनसीसीका बोर्ड अफ डाइरेक्टर छत्रकुमारी गुरुङले सुन्दरी गुरुङको उम्मेद्वारी राज्यमा बसोबास गर्ने सबै नेपालीका लागि गौरवको विषय रहेको बताइन् ।
एनआरएनए न्यू ह्याससायर च्याप्टर अध्यक्ष डम्बर कडरियाले गुरुङले एनसिसीमा सिंगो राज्यको प्रतिनिधित्व गर्ने बताए । च्याप्टरबाट एनसिसीमा गुरुङको मात्र उम्मेद्वारी परेको कारण उनी अब सबैको साझा उम्मेद्वार भएको उनको भनाइ थियो । एभरेष्ट लाइन्स क्लव अध्यक्ष उमेश कोइरालाले गुरुङलाई खुला हृदयले मतदान गर्न राज्यका सबै मतदातालाई आह्वान गरेका थिए । राई किराँत समाजका न्यू इंग्लान्ड च्याप्टर अध्यक्ष मुक्ती राईले गुरुङलाई विजयको अग्रिम शुभकामना दिँदै समर्थन गरेका थिए ।
कार्यक्रममा सामाजीक अगुवाहरु एनएचएनसीका पूर्व अध्यक्ष रोविन थापा, एनआरएनए आइसिसी भाषा तथा साहित्य कमिटी सदस्य इश्वरी भट्ट, एनसिसी पूर्व अध्यक्ष शिवकुमार राई, समाजसेवी लोक लामा लगायतले गुरुङलाई विजयको शुभकामना दिएका थिए । राज्यमा २७५ जनाले एनआरएनको सदस्यता लिइ सकेका छन् ।
फिप्ना न्यूह्यामसरको अध्यक्ष रहेकी गुरुङ राज्यको सामाजीक गतिविधीमा निरन्तर सकृय रहँदै आएका छन् । त्यही सकृयता एनसिसीमा देखाउने आफ्नो अभियान रहेको र निर्वाचित भएमा युवा एवं महिला सशक्तीकरणलाई थप प्रभावकारी बनाउने उनले बताएकी छिन् ।
‘एनआरएनए अमेरिकालाई समावेशी बनाउँदै युवा र महिलालाई सबै तहमा सहभागी गराइयो भने संस्था थप प्रभावकारी हुन्छ भन्ने मेरो विश्वास हो’ उनको भनाइ छ- ‘म निर्वाचित भएँ भने युवा र महिलाको सहभागिता बृद्धिमा जोड दिनेछु ।’
गुरुङले अमेरिकी जनगणना २०२० को क्रममा न्यूह्यामसर राज्यमा ‘टोटलकाउण्ट कोअर्डिनेटर’ को रुपमा काम गरेकी थिइन्। एनआरएन एन्यूह्यामसर च्याप्टरको अगुवाईमा ‘न्यू अमेरिकन’ नेपालीहरुलाई अमेरिकी आमचुनावमा सहभागी गराउन ‘नन पार्टिजन भोटिङ्ग अवारर्नेश’ परियोजना समेत उनको अगुवाइमा सम्पन्न भएको थियो।
‘युवा र महिला सशक्तीकरणका लागि अमेरिकामा के–कस्ता कार्यक्रम र परियोजना सञ्चालन गरिनुपर्छ भन्नेमा मलाई अनुभव छ’ उनले भनिन् ‘महिला संयोजकको रुपमा यिनै ज्ञान, सीप र अनुभवलाई सदुपयोग गर्नेछु।’
गुरुङले कोरोना महामारीका बेला न्यूह्यामसर नेपाली समाजले स्थापना गरेको कोभिड–१९ टास्कफोर्समा बसेर समाजका सदस्यहरुलाई सहयोग गरेकी थिइन्। त्रिचन्द्र क्याम्पस काठमाडौंबाट स्नातकोत्तर गुरुङले नेपालमा रहँदा महिला विकास अधिकृतका रुपमा विभिन्न जिल्लामा महिला सशक्तीकरणका परियोजनामा सहभागी भएकी थिइन्।
नेपालमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढि रहँदा अमेरिकी माथिल्लो सदन सिनेटको संसदीय समितिमा यो बिषयले प्रवेश पाएको छ । सिनेटको वैदेशिक सम्बन्ध समितिको सुनुवाइमा बुधबार सिनेटरहरुले नेपालमा बढ्दो भाइरस संक्रमण र त्यसमा सरकारले गर्ने सहयोगबारे प्रश्न उठाएका हुन् ।
कनेक्टिकट सिनेटर क्रिस मर्फी र न्यू ह्यामसायर सिनेटर जिन सहिनले सुनुवाइमा उपस्थित युएसएआइडीका कोभिड- १९ कोअर्डिनेटर जेरेमी कोनिन्डिकलाई नेपाललाई अमेरिकी सरकारले पुर्याउने सरयोग बारे प्रश्न गरेका हुन् । सिनेटर मर्फीले नेपालमा भाइरस संक्रमणको अवस्था छिमेकी भारतको जस्तै भयावह हुन नदिन सरकारले के सहयोग गर्न सक्छ भनेर प्रश्न गरेका थिए । यस्तै सिनेटर सहिनले समाचारहरुमा तीब्र रुपले नछाए पनि नेपालमा भाइरस संक्रमण उच्च रहेको तथ्यांक आफ्नो राज्यमा बसोबास गर्ने नेपालीहरुले आफुलाई सुनाएको बताएकी थिइन् ।
जवाफमा कोनिन्डिक नेपाललाई कोभिड -१९ सँग जुध्न दुई करोड ३७ करोड डलर (करिब साढे दुई अर्ब रुपैयाँ) अमेरिकाले छुट्याएको र त्यसमा पनि एक करोड डलर हालै मात्र विनियोजन गरिएको जवाफ दिए । नेपाललाई भाइरस टेष्टिङ देखि अन्य अत्यावश्यक स्वास्थ्य उपकरणमा तुरुन्त सहयोग पुर्याउने उनले बताएका थिए ।
अमेरिकामा भ्याक्सिन हान्ने संख्या बढेसँगै भाइरस नियन्त्रण उन्मुख देखिए पनि भारत लगायत देशमा पछिल्लो समय तीब्र संक्रमण बढेपछि सिनेटको बैदेशिक सम्बन्ध समितिले ‘कोभिड-१९ पेन्डामिक एन्ड द युएस इन्टरनेशनल रेस्पोस्स’ शिर्षकको सुनुवाइ आयोजना गरेको हो ।
राष्ट्रपति जो बाइडेनले बार्षिक ८० हजार डलरभन्दा कम आय भएका प्रत्येक अमेरिकीलाई १४ सय डलर राहत दिने विधेयकमा शुक्रबार लालमोहोर लगाउने भएका छन् । मार्च महिनाभरमै अमेरिकीको हातमा उक्त रकम बराबरको चेक पठाउने समेत बाइडेनले जनाएका छन् ।
अमेरिकी संसदको माथिल्लो सदन सिनेटबाट दुई दिन अघि पारित विधेयकलाई तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले बुधबार सदर गरेको थियो । अब राष्ट्रपति बाइडेनको लालमोहोरसँगै विधेयकले औपचारिक कानूनको हैसियत पाउनेछ ।
अमेरिकी रेस्क्यु प्याकेज नाम दिइएको कुल १.९ ट्रिलियन डलरको विधेयकको पक्षमा कुनै रिपब्लिकन सिनेटर एवं हाउस अफ रिप्रिजेन्टेटिभले साथ दिएनन् । रिपब्लकिन पार्टी प्रष्ट विपक्षमा रहे पनि अमेरिकी जनताले यो विधेयकलाई उत्साहका साथ समर्थन गरेका छन् । मत सर्वेक्षणहरुमा ६० प्रतिशत बढि अमेरिकी विधेयकको पक्षमा देखिएका हुन् ।
राष्ट्रपति पद सम्हाल्नु अघि नै कोरोना भाइरसले धर्मराएको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन भन्दै बाइडेले यो प्याकेज प्रस्ताव गरेका थिए । जसमा प्रत्येक अमेरिकीलाई नगद १४ सय डलर दिने अलावा मासिक ३०० डलरको बेरोजगार भत्तालाई सेप्टेम्बरसम्म धकेल्ने, छ बर्षभन्दा साना बच्चा रहेका अविभावकलाई बार्षिक ३६ सय एवं सात देखि १७ बर्षसम्मका बालबालिकालाई बार्षिक तीन हजार डलर राहत दिने लगायतका प्रावधानमा समेटिएका छन् ।
त्यस बाहेक विद्यालय खुलाउन, कोरोना भाइरस विरुद्धको खोप विस्तार गर्न एवं साना व्यवसायलाई सहायता प्रदान गर्न पनि ठूलो रकम छुट्याएको छ । अमेरिकी इतिहासमै संकटसँग जुध्न सरकारले ल्याएको यो दोस्रो ठूलो आर्थिक प्याकेज हो । यस अघि गतबर्ष कोरोना भाइरसबाट जोगिन सरकारले लगाएको ‘लकडाउन’ पछि पुगेको आर्थिक क्षति निवारणका लागि दुई ट्रिलियन डलरको प्याकेज ल्याइएको थियो । त्यसबेला प्रत्येक अमेरिकीले १२ सय डलर नगद राहत समेत पाएका थिए । गत नोभेम्बरको चुनाव पछि ल्याइएको अर्को राहत प्याकेजमा अमेरिकी सर्वसाधारणलाई ६ सय डलर दिइएको थियो । यसपालीको प्याकेजमा बालबालीका एवं आश्रीतले समेत समान १४ सय डलर पाउनेछन् ।
छत्रकुमारी गुरुङ हुक्सेट टाउनको बजेट कमिटी सदस्यमा निर्वाचित भएकी छिन् । न्यू ह्यामसर राज्यमै आम मतदाता मार्फत सार्वजनिक जिम्मेवारीमा चुनिने उनी पहिलो नेपाली अमेरिकन हुन् ।
मंगलबार सम्पन्न निर्वाचनमा गुरुङले सर्वाधिक मत प्राप्त गरिन् । टाउनको बजेट कमिटीमा नौ जना बोर्ड सदस्य रहेका छन् । उनीहरुमध्ये तीन जनाको पदावधि सकिएपछि मंगलबार निर्वाचन भएको थियो । साढे पाँच करोड डलर बढि बार्षिक बजेट रहेको हुक्सेट टाउनको सम्पुर्ण आयव्यय तर्जुमा यही कमिटीले गर्छ । गुरुङ आगामी तीन बर्षसम्म यो जिम्मेवारीमा रहनेछिन् । १४ हजार बढि जनसंख्या रहेको हुक्सेट ग्रेटर म्यानचेष्टर एरिया अन्तर्गत पर्छ ।
एक दशक देखि न्यू ह्यामसरमा बसोबास गर्दै आएकी गुरुङ राज्यको सामाजीक गतिविधीमा सुरु देखिनै सकृय छिन् । नेपालमा कानून व्यवसायी रहेकी उनले हाल गुरुङ समाज न्यू ह्यामसरको अध्यक्ष एवं गैर आवासीय नेपाली संघ अमेरिका एनसिसीको बोर्ड अफ डिरेक्टरको रुपमा सामाजीक जिम्मेवारी वहन गरिरहेकी छिन् । नेपालको पहिलो संविधान सभामा विज्ञका रुपमा उनले परामर्श दिएकी थिइन् ।
राज्यमा स्वयंसेवा प्रवर्धनका लागि अग्रणी संस्था ‘भोल्युन्टर एनएच’ले तीन महिना अघि उनलाई सम्मान्नित समेत गरेको थियो ।
न्यूयोर्क अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले देशबासीलाई प्रतिव्यक्ति १४ सय डलर राहत दिने प्रस्ताव पारित गरेको छ । राष्ट्रपति जो बाइडेनले अघि सारेको १.९ ट्रिलियन डलरको आर्थिक प्याकेज पारित गर्दै सदनले नागरिकलाई राहत दिने कार्यक्रम एक कदम अघि बढाएको हो । बाइडेनले निर्वाचित भए लगत्तै कोरोना भाइरसको प्रभावसँग जुध्न यो प्याकेज प्रस्ताव गरेका थिए । रिपब्लिकनहरु यो प्याकेज महंगो भएको भन्दै पारित गर्न नहुने पक्षमा छन् । हाउसबाट पास हुने क्रममा पनि रिपब्लिकनहरुले विपक्षमा मतदान गरेका थिए । सबै डेमोक्रेटिक सिनेटरले राहत प्याकेजको पक्षमा मतदान गरेमा सिनेटबाट पनि यो प्रस्ताव पारित हुनेछ । त्यसपछि राष्ट्रपति बाइडेनको हस्ताक्षरसँगै सर्वसाधारणलाई राहत वितरण सुरु हुनेछ । राहत प्याकेजमा साप्ताहिक बेरोजगार भत्तालाई पनि ३०० सय डलरबाट बढाएर ४०० डलर पुर्याइएको छ । यस्तै अविभावकमा निर्भर १७ बर्ष माथिका बयस्कलाई पनि १४ सय डलर राहत दिने जनाइएको छ । अमेरिकी सरकारले कोरोना भाइरस महामारी सुरु भएपछि जनतालाई एक पटक १२ सय र अर्को पटक ६ सय गरि १८ सय डलर राहत प्रदान गरि सकेको छ । अहिलेको १४ सय डलर थपिँदा प्रत्येक अमेरिकीले सरकारबाट पाएको राहत ३२ सय डलर पुग्नेछ ।
भर्जिनिया । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित एक लाख रुपिंया राशीको सामुदायिक पत्रकारिता पुरस्कार (२०२०) कान्तिपुर दैनिकका वझाङ सम्वाददाता वसन्तप्रताप सिंह, राष्ट्रिय समाचार समितिकी रुपन्देही समाचारदाता नीरा गौतम र नेपाल टेलिभिजनकी दोलखा सम्वाददाता मन्दिरा थापालाई प्रदान गरिने भएको छ ।
इन्जाको आह्वान अनुरुप प्राप्त निवेदनमध्येबाट निर्णायक मण्डलले पत्रकारत्रय सिंह, गौतम र थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । अमेरिकाको भर्जिनिया निवासी पूर्वसञ्चारकर्मी तथा सामाजिक अभियन्ता सुनिता खत्रीले इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारको प्रायोजन गर्दै आएकी छिन् ।
सिंहलाई कान्तिपुर दैनिकमा प्रकाशित साइपालको एकै गाउँका ३०० दृष्टिविहीनहरुको रिपोर्टिङ ‘साइपालको अध्यारो संसार’ र सो समाचार प्रकाशित भएपछि समाचार प्रभावकै कारण आंखाको शल्यक्रिया भइ आँखा देख्नसक्ने भएको फलोअप रिपोर्टिङ ‘फर्कियो साइपालमा खुसी’ का लागि सो पुरस्कार प्रदान गरिएको हो ।
रेडियोबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका सिंहले विभिन्न सञ्चारमाध्यममा आवद्द रहेर १५ बर्ष देखी वातावरण, पर्यटन, विकास, सुशासन र दुर्गमका स्थानीयको जनजिविकाबारे कलम चलाउदै आएका छन । ‘डुलुवा पत्रकार’ को परिचय बनाएका सिंहले वझाङको विकट समुदायको भ्रमण गरेर थुप्रै खोजमुलक समाचार सामाग्री तयार गरिसकेका छन ।
रुपन्देहीकी नीरा गौतमले सेतोपाटीमा प्रकाशित ‘गर्भमा नै मारिन्छन् छोरी’ शीर्षक समाचारका लागि सो पुरस्कार प्राप्त गरेकी हुन् । तराइमा दाइजो प्रथाको कारण छोरी जन्माउन नचाहने अभिभावकहरुको संख्यामा वढोत्तरी हुंदै जांदा अहिले कसरी तराइमा महिला र पुरुषको जनसंख्या असमान बन्दै गएको छ र यसले कस्ता दूरगामी असरहरु निम्त्याउंदै छ भन्ने देखाइएको छ ।
रुपन्देहीलाई कार्यक्षेत्र बनाएकी नीरा स्थानीय एफएम रेडियोवाट पत्रकारिता प्रारम्भ गरेर स्थानीय टेलिभिजनहरुमा समेत अनुभव प्राप्त गरेपछि हाल राष्ट्रिय समाचार समितिमा कार्यरत रहेकी छिन् । बुद्धिजममा स्नातकोत्तर तहमा अध्ययनरत नीरा नेपाल पत्रकार महासंघ, सञ्चारिका समुह लगायत थुप्रै स्थानीय संघ संस्थामा समेत आवद्ध छिन् ।
दोलखाकी मन्दिरा थापालाई नेपाल टेलिभिजनमा प्रसारित ‘लकडाउनका समयमा समेत दोलखामा ८ जना महिला तथा वालवालिकामाथि वलात्कार भएको’ रिपोर्टका लागि सो पुरस्कार प्रदान गरिएको हो । लकडाउनका कारण रोजगारीका सिलसिलामा जिल्ला वाहिर गएका मानिसहरु गाऊमा फर्किएपछि वलात्कारका घटनामा पनि वृद्धि भएको रिपोर्टले देखाउंछ ।
२०६२ देखी पत्रकारिता सुरु गरेकी मन्दिरा एफएम रेडियो, साप्ताहिक र दैनिक पत्रपत्रिका हुदै विगत १० वर्षदेखि नेपाल टेलिभिजनसंग आवद्ध भएर सञ्चारकर्ममा क्रियाशिल छिन् । ग्रामिण विकासमा स्नाकोत्तर मन्दिराले यसअघि पत्रकारितामा क्रियाशिल भएवापत विभिन्न राष्ट्रियस्तरको पुरस्कार समेत प्राप्त गरिसकेकी छिन् ।
इञ्जाले यसअघि नै खोजी पत्रकारिता पुरस्कार नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्तलाई प्रदान गर्ने सार्वजनिक गरिसकेको छ । साथै यो वर्षको उत्कृष्ट साहित्यिक कृति पुरस्कार पत्रकार तथा साहित्कार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई प्रदान गर्ने घोषणा यसअघि नै भइसकेको छ ।
इञ्जाले यी तिनै विधाका पुरस्कारहरु आगामी मार्च १ मा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गर्नेछ ।
अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको इञ्जामा विभिन्न देशमा बसोबास गर्ने नेपाली पत्रकार संगठित छन् । दुई वर्ष अगाडि गठन भएको यो सञ्जालको एशिया, युरोप र अमेरिकामा आफ्नो महादेशीय कमिटी गठन भइसकेको छ भने अष्ट्रेलिया र अफ्रिकामा पनि महादेशीय कमिटी विस्तार हुने क्रममा रहेको छ ।
स्थापनाको छोटो समयमा नै इञ्जाले व्लड क्यान्सरवाट पीडित पत्रकार कमल पौडेलको उपचारमा सहयोग पुर्याउन उल्लेखनीय भूमिका निर्वाह गरेको थियो । कोरोना महामारीका समयमा आर्थिक समस्या भोगिरहेका नेपालका ८० जना पत्रकारहरुलाई इञ्जाले गत दशैं अगाडि फेलिसिप प्रदान गरेको थियो जसले समस्यामा परेका पत्रकारको आर्थिक संकट केही हदसम्म टार्न सहयोग पुगेको थियो ।
अमेरिका नेपाल सहयोगी समाजद्धारा सञ्चालित अमेरिका नेपाल शिक्षा सदन (एएनएचएस एकेडेमी)ले आइतबार आफ्नो पाँचौ बार्षिकोत्सब सम्पन्न गरेको छ । भर्जिनिया राज्यको मनाससस्थित सञ्चालित एकेडेमीले अमेरिकामा बसोबास गरिरहेका नेपाली बालबालिकालाई मौलिक नेपाली संस्कृति, परम्परा र नेपाली भाषा सिकाउने उदेश्यले नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको हो । बिगत वर्षहरुमा कक्षाकोठामै शिक्षण गर्दै आएको एएनएचएस एकेडेमीले अमेरिकामा कोभिड १९ को महामारी पछि जुम मार्फत अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । अमेरिकाको स्कुलमा अध्ययनरत नेपाली बालबालिकाको बिदाको दिन पारेर हरेक आइतबार नेपाली कक्षामा सहभागी गराएर पढाउने गरिएको छ ।
सन् २०१६ मा १०/१२ जना विद्यार्थी र एक शिक्षिकाबाट सुरु गरिएको एकेडेमीमा हाल १०० भन्दा बढी बिद्यार्थी र १०/१२ जना शिक्षक शिक्षिका सक्रिय छन् । कोभिड १९ को महामारी अघिसम्म स्थानीय स्कुलमै कक्षाकोठाहरु भाडामा लिएर कक्षा सञ्चालन गरिँदै आएको थियो । कोभिड १९ ले अमेरिकालाई निकै प्रभावित बनाएपछि स्थलगत कक्षा बन्द गरेर अनलाइन शिक्षणको ब्यवस्था मिलाएको हो ।
एकेडेमीले हाल बिभिन्न ४ समुहमा बिभाजन गरी बिद्यार्थीलाई पढाइरहेको छ । ६ वर्षसम्मका बालबालिकालाई आधारभुत सिकाइका लागि अन्नपूर्ण कक्षा, ८ वर्ष सम्मका बालबालिकालाई मध्यमतहको सिकाइका लागि कन्चनजंगा कक्षा, १० वर्ष सम्मका बालबालिकालाई उच्च तहको सिकाइका लागि सगरमाथा कक्षा र ६ वर्ष भन्दा माथि उमेरका आधारभुत ज्ञानसमेत नभएका बालबालिकाको लागि ब्रिजकोर्स कक्षा सञ्चालन भइरहेको छ । भर्जिनिया राज्यसंगै न्युर्योक, न्यूजर्सी, नर्थ क्यारोलिना लगायत अन्य राज्यका बालबालिका पनि अनलाइन कक्षामा जोडिएका छन् ।
बार्षिकोत्सब सम्पन्नसंगै यस वर्षको शैषिक सत्र सकिएको छ । एकेडेमीले आगामी मार्च महिनाको पहिलो आइतबारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्नेछ । एकेडेमीले आफैँ पुस्तक प्रकाशन गरेर विद्यार्थीलाई निशुल्क पुस्तक वितरण गर्दै आएको छ । बिद्यार्थीलाई कक्षामा सहभागी हुन प्रोत्साहन मिलोस भनेर ‘स्टुडेन्ट अफ द मन्थ’, ‘स्टुडेन्ट अफ द इयर’ कार्यक्रम राखेर पुरस्कारहरु बितरण गर्ने गर्दछ ।
कार्यक्रममा जुम मार्फत सहभागी नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रबृधि मन्त्रालयका सचिब तथा शिक्षाबिद् गोपीनाथ मैनालीले बिदेशमा बसेर पनि आफ्नो भाषा संस्कृति जोगाउन गरेको नेपाली समाजको योगदानको खुलेर प्रंससा गरे । ब्यक्तिगत तर्फबाट र सरकारको तर्फबाट आफुले गर्न सक्ने सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताए । कार्यक्रममा बोल्दै सचिब मैनालीले भने, ‘नेपाल भन्दा बाहिर रहेर पनि माटो र मुटुको सम्बन्ध कायम गर्न, आफ्नो संस्कृति र पहिचान जोगाइरहन गरेको कार्य अति नै सराहनीय छ । नेपाली भाषा संस्कृति, पहिचान विश्वसामु फैलाउने एएनएचएस एकेडेमी परिवारप्रति बिशेष धन्यबाद ब्यक्त गर्दछु ।’
बालबालिकाका अबिभावकहरुले मनैदेखि सहयोग र साथ दिएकाले आज यतिको सफलता हाँसिल भएको अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष केदार तिम्सिनाले बताए । ‘अबिभावकको साथ, शिक्षकहरुको निरन्तरको खटाइ र बालबालिकाको सक्रियताले आज हामी ५ औं बार्षिकोत्सब मनाउन सफल भएका हौं,’ उनले भने ‘एकेडेमी परिवारले आँफैले पाठ्यक्रमको करिकुलम बनाएर बालबालिकाका लागि सहज हुने किसिमको पुस्तक प्रकाशन गरेको हो । लेखक शिब लामिछानेले बालबालिकाको सिकाइमा प्रयोग भइरहेको पाठ्यपुस्तक तयार पारेका हुन् । अनलाइन कक्षा सञ्चालन गर्नका लागि प्राबिधिक रुपमा सक्रिय शिब तिम्सिना लगायत सम्पूर्ण एकेडेमी परिवारकै मेहनत र लगनशिलताले नेपाली भाषा कक्षालाई निरन्तरता दिन सकिएको हो ।’
अमेरिकी संसदको माथिल्लो सदन सिनेटले यो बर्षको बजेट विधेयक पारित गरेको छ । राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको झन्डै २० खर्ब (दुई ट्रिलियन) डलरको कोरोना भाइरस राहत प्याकेजलाई पनि बजेटमा समेट्ने व्यवस्था उक्त विधेयकले गरेको हो।
अब रिपब्लिकन सिनेटरहरुको समर्थनबिना पनि उक्त राहत प्याकेज पारित हुन सक्छ । बाइडेनले कोरोना भाइरससँग जुध्न १.९ ट्रिलियन राहत प्याकेज प्रस्ताव गरेका छन् ।
रिपब्लिकनहरुले उक्त प्याकेज धेरै खर्चिलो भएको भन्दै समर्थन गर्न मानेका छैनन् । १० रिपब्लिकन सिनेटरले केही दिन अघि ६०० अर्ब डलरको छुट्टै प्रस्ताव तयार पारेर राष्ट्रपति बाइडेनसँग भेट गरेका थिए । बाइडेन सहित डेमोक्रेटिक नेतृत्व उक्त प्रस्तावमा सहमत भएको छैन । यस्तोमा दलिय लाइन अनुसार मात्रै राहत प्याकेज पारित हुने सम्भावना पनि बढेको छ ।
बाइडेनको प्रस्तावमा प्रत्येक अमेरिकीलाई १४ सय डलरको आर्थिक सहायता प्रदान गर्ने उल्लेख गरिएको छ । त्यस्तै मार्चमा अन्त्य हुने बेरोजगार भत्ताको अवधि पनि लम्ब्याइनेछ ।
राहत प्याकेजलाई बजेटमा समेटेर मार्च १५ भित्र संसदबाट पारित गर्ने तयारी डेमोक्रेटहरुले गरेका छन् । बजेट पास गर्न संसदका दुबै सदनको साधारण बहुमत काफी हुन्छ। अन्य विधेयक भने तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको साधारण बहुमत र सिनेटको ६० भोट हुँदा मात्र पारित हुन सक्छन् ।
अहिले सिनेटमा डेमोक्र्याट र रिपब्लिकनका ५०/५० सिनेटर रहेका छन् । रातभर बहस भएर शुक्रवार विहान पारित भएको बजेट विधेयकमा दुबै दल आ-आफ्नो लाइन अनुसार मतदान गरेका थिए । उपराष्ट्रपति कमला ह्यारिसले बजेटको पक्षमा निर्णायक मत खसालेपछि विधेयक पारित भएको हो ।
विधेयक सैद्धान्तिक रुपले पारित भएपनि राष्ट्रपति बाइडेन रिपब्लकिनहरुसँगको सहमतिमै राहत प्याकेज पास गर्ने प्रयासमा छन् । त्यसका लागि १४ सय डलर पाउने व्यक्ति र परिवारको आय सीमा घटाउने बारे आफुले पुनर्विचार गर्न सक्ने उनले बताइ सकेका छन् ।
उनले सुरुमा बार्षिक ७५ हजार डलरसम्म कमाउने व्यक्ति या एक लाख ५० हजार डलरसम्म कमाउने परिवारलाई यो रकम दिने प्रस्ताव गरेका थिए । अहिले व्यक्तिको हकमा ५० हजार र परिवारको हकमा एक लाख डलरमा झार्ने पक्षमा डेमोक्र्याटहरु सहमत भएका हुन् । राहत प्याकेज पारित भए कोरोना भाइरस महामारी विरुद्धमा जुध्नका अलावा अर्थतन्त्रलाई ढल्नबाट जोगाउने सिनेटको बजेट कमिटी अध्यक्ष बर्नी स्यान्डर्सले बताएका छन् ।
राहत प्याकेजमा नागरिकलाई नगद अनुदान र बेरोजगार भत्ता बाहेक साना तथा मझौला व्यवसाय एवं राज्य र स्थानीय सरकारहरुका लागि रकमको व्यवस्था गरिएको छ ।
न्यूह्यामसर न्यूह्यामसर नेपाली समाज युवा नेटवर्कको अगुवाइमा भर्चुअल प्रतिभा प्रदर्शन सम्पन्न भएको छ । कार्यक्रममा न्यूह्यामसर लगायत अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्ने दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवायुवतीले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
‘जुम’ र फेसबुक लाइभ मार्फत प्रशारण गरिएको कार्यक्रममा प्रस्तोताहरुले नाचगान, हास्यब्यंग्य, खेल, बाद्यवादन देखि खाना पकाउने कलासम्म प्रस्तुत गरेका थिए । नेटवर्कका अभियन्ताहरु मोहित विष्ट, स्पर्दा गुरुङ, रिञ्जु शेर्पा, रोजर शेर्पा, आहान थापा र नेहा शर्माले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न १७ सामूहिक एवं एकल प्रस्तुती प्रशारण गरिएको थियो ।
स्तुती खतिवडाले ‘तिम्रो मायाले बाँधेर राख…’ गीत गितार बजाउँदै प्रस्तुत गरेकी थिइन् भने नेहा शर्मा, देव शर्मा, सुभन विष्ट, आहाना थापा, श्रेया खनाल नेपाली टेलिचलचित्र गिरे खुर्सानीको ‘प्यारोडी’ देखाएका थिए ।
रिञ्जु र रोजर शेर्पाले बास्केटबल खेलका केही कलात्मक ‘सट’हरु देखाएको कार्यक्रममा जुनिपर गुरुङ र दिशिता गुरुङले ‘भैलिनी आइन्…’ बोलको तिहार गीतमा नृत्य देखाएका थिए । नुर सिंह र श्रेया खनालले पनि ‘आज हाम्रो भेट भको दिन…’मा नृत्य नै देखाएका थिए भने सारा क्षेत्रीले जिम्न्याष्टिक खेलका कला प्रस्तुत गरेकी थिइन् ।
शीला अधिकारीले ‘डिस्कोवाले किसको…’ गितमा गायन र नृत्य प्रस्तुत गरेकी थिइन् भने समृद्धी अधिकारीले ‘ब्लाइन्डिङ लाइट्स…’ मा पियानो बजाएकी थिइन् । सुभन बिष्ट, देव शर्मा, नेहा शर्मा, आहाना थापा, स्पर्दा गुरुङ, स्तुती अधिकारी, आइशा केसी, रिचा थापा, गरिमा अधिकारी र कृती श्रेष्ठले ‘के माया लाग्छ र…’ र ‘दुबो फुल्यो…’ बोलको गीतमा नृत्य प्रस्तुत गरेको कार्यक्रममा ‘घिन्ताङ घिन्ताङ…’ बोलको गीतमा कुशुम अर्यालले नृत्य देखाएका थिए ।
मोहित बिष्ट, देव शर्मा, विभव शर्मा र गौरव महर्जनले कार्यक्रममा फरक स्वाद पस्कने क्रममा खाना पकाउने कला देखाएका थिए भने निना सुवेदीद्ये ‘दि साइन्टिष्ट…’ मा गितार बजाएकी थिइन् ।
आहाना थापाले ‘सारङ्गीको धुनले …’ गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने सुहानी कार्की र सन्सार कार्कीले गितार र पियानो मार्फत ‘असारै मैनामा …’ गीतको धुन सुनाएका थिए । शविन सुब्बाले ‘दिक्तेल बजार…’ गीत गाएको कार्यक्रममा स्तुती अधिकारीको नृत्य र देव शर्माको गितार बादनसँगै कार्यक्रम सकिएको थियो । एक घण्टा छ मिनेटको कार्यक्रम अहिले पनि न्यूह्यामसर नेपाली समाजको फेसबुक पेजमा हेर्न सकिन्छ ।
कार्यक्रमबाट करिव तीन हजार अमेरिकी डलर नगद समेत संकलन भएको छ । संकलित रकमबाट दूई हजार डलर नेपालमा कार्यरत मुनाफारहित संस्था लक्ष्मी प्रतिष्ठानलाई हस्तान्तरण गरिनेछ । प्रतिष्ठानले उक्त रकम चितवनको कान्दामा लोपन्मुख राउटे विद्यार्थीहरु लक्षित छात्राबासमा निर्माणाधिन भोजन गृहका लागि खर्च गर्नेछ ।
‘नेपाली भाषा, कला र संस्कृतिलाई आउदो पुस्ताले संरक्षण र सम्बर्धन गरोस भन्ने हाम्रो लक्ष्य हो’ भर्जुअल कार्यक्रमका लागि युवायुवतीलाई सल्लाह, सुझाव र अभिभावकत्व दिएकी न्यूह्यामसर नेपाली समाजका पूर्व उपाध्यक्ष शान्ता विष्टले भनिन् । न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङले दोस्रो पुस्ताका भाइबहिनीहरुले नेपाली पहिचानलाई जोगाउँदै परोपकारी कामकोसमेत सुरुवात गरेकोमा सह्राना गरे ।
आफु पराजित निर्वाचनको परिणाम उल्टाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास सर्बोच्च अदालतले खारेज गरि दिएको छ । गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनसँग पराजित भएपछि ट्रम्पले परिणाम उल्ट्याउन बिभिन्न हथ्कन्डा जारी राखेका हुन् ।
यही क्रममा पछिल्लो पटक टेक्सासका महान्यायाधिवक्ताले ट्रम्प हारेका चार राज्यको नतिजा अश्विकार गर्न माग गर्दै सर्बोच्चको ढोका ढक्ढक्याएका थिए । उनको मुद्दामा रिपब्लिकन शासित बिभिन्न १७ अन्य राज्यका महान्याधिवक्ता सहित ११६ जना रिपब्लिकन हाउस अफ रिप्रिजेन्टेटिभले ऐक्यवद्धता जनाएका थिए ।
टेक्सासका रिपब्लिकन सिनेटर जोन क्रोनिन लगायत कैयन् रिपब्लकिन नेताहरुले मुद्दाको कानूनी धरातल नरहेको बताउँदा पनि ट्रम्प समर्थकहरु सर्बोच्च पुगेका थिए । ट्रम्प क्याम्पेनले समेत मुद्दामा ऐक्यवद्ता जनाएर छुट्टै निवेदन दर्ता गराएको थियो ।
मंगलबार दायर मुद्दामा प्रतिवादी बनाइएका पेन्सिलभेनिया, मिसिगन , जर्जिया र विसकनसनका महान्यायाधिवक्ताहरुले विहीबार सर्बोच्चमा जवाफ दिएका थिए । सर्बोच्चले मुद्दामा कुनै कानूनी धरातल नरहेको कारण थप सुनुवाइ आवश्यक नरहेको भन्दै शुक्रबार खारेज गरि दिएको हो ।
निर्वाचन हारेपछि ट्रम्पले परिणाम उल्ट्याउन आफ्ना समर्थकहरुलाई देशब्यापी रुपमा आह्वान गर्दै आएका छन् । तर, देशभर पाँच दर्जन हाराहारी मुद्दामा पराजित हुँदा पनि परिणाम स्वीकार्नुको साटो चुनावमा धाँदली भएको दावी दोहोर्याउन छोडेका छैनन् । उनको झुठो प्रचारलाई केही रिपब्लिकन नेता र कन्जरभेटिभ मिडियाहरुले निरन्तर साथ दिँदै आएका छन् ।
राज्यमा स्वयंसेवा प्रवर्धनका लागि अग्रणी संस्था ‘भोल्युन्टर एनएच’ले सकृय समाजसेवीहरुलाई सम्मान प्रदान गरेको छ । बिभिन्न शिर्षकमा प्रदान गरिएको सम्मान चार जना नेपाली व्यक्ती र एक नेपाली संस्थाले समेत पाएका छन् ।
‘भोल्युन्टर एनएच’ले बर्षेनी प्रदान गर्दै आएको ‘स्पिरिट अफ न्यूह्यामसर’ अवार्ड कार्यक्रममा यसैपाली थप गरिएको विधा पिपुल्स च्वाइस अवार्डबाट समाजसेवी इश्वरी भट्ट पुरस्कृत भए । कोरोना भाइरस संक्रमणका कारण बुधबार बुधबार साँझ ‘भर्चुअल’ समारोह आयोजना गरि अवार्ड वितरण गरिएको हो ।
इश्वरी भट्ट
बिभिन्न विधामा पुरष्कृत ६४ समाजसेवीमध्ये खुला मतदान मार्फत पिपुल्स च्वाइस अवार्ड बिजेता चयन गरिएको हो । सन् २००३ देखि न्यू ह्यामसरमा बसोबास गर्दै आएका भट्ट नेपाली समुदायमा समाजसेवाका लागि सुरु देखि नै सकृय छन् । समुदायमा अफ्ठेरोमा परेका ब्यक्तिलाई काम एवं कोठा खोज्ने देखी आवश्यक परेको जे सुकै सहयोग गर्न पनि आफु तत्पर रहेको भट्ट बताउँछन् । सन् २०१५ मा नेपालमा गएको महाभूकम्प पिडितलाई सहयोगका लागि भट्टले आर्थिक संकलनमा सकृय तत्परता देखाएका थिए ।
उनी राज्यमा बसोबास गर्ने नेपालीहरुको छाता संस्था न्यूह्यासर नेपाली समाजमा स्थापना देखिनै आवद्ध छन् । बिभिन्न कारणले आर्थिक अफ्ठेरोमा परेका नेपालीलाई सघाउन उनले सन् २०१५ मा आपतकालिन राहत कोष स्थापना गरेका थिए । सन् २०१७ यता समाज अन्तर्गत रहेको कोषको संयोजक भट्ट नै रहेका छन् । कोषबाट हालै कोरोना भाइरस महामारीका कारण काम गुमाएका नेपाली विद्यार्थीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको थियो । भट्ट अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) मार्फत भाषा साहित्यको प्रवर्धनमा पनि सकृय छन् । अनेसास न्यूह्यामसर च्याप्टरको उनी प्रधान सम्पादक रहेका छन् ।
छत्रकुमारी गुरुङ
त्यस्तै उत्कृष्ठ समाजसेवीको रुपमा सम्मान्नित हुनेमा गुरुङ समाज न्यूह्यामसरकी अध्यक्ष एवं गैर आवासीय नेपाली संघ अमेरिकाकी बोर्ड अफ डाइरेक्टर छत्रकुमारी गुरुङ पनि छिन् । एनएच भोल्युन्टरले गुरुङलाई कोरोना भाइरस संक्रमणका बेला समुदायको हितका लागि सदैव तत्पर व्यक्तिको रुपमा सम्मान गरेको जनाएको छ । सन् २००७ देखि राज्यमा बसोबास गर्दै आएकी गुरुङले अफ्ठेरोमा परेका ब्यक्तिलाई आवास खोजिदिने देखि काम र व्यवसाय सुरुवातसम्ममा सहयोग पुर्याउँदै आएकी छिन् । उनी सामाजीक न्यायका दृष्टिले समेत समाजसेवामा सकृय रहेको संस्थाले उल्लेख गरेको छ ।
उत्कृष्ठ समाजसेवीको रुपमा सम्मान पाउने अन्य नेपालीमा एरभेष्ट सेन्थेनियल लाइन्स क्लवका सचिव अजय रानाभाट र कोब्ली साएर कलेजकी नर्सिङ विदर्यार्थी स्मृती शर्मा सापकोटा रहेका छन् । रानाभाटले कोरोना भाइरस संक्रमणका बेला लाइन्स क्लव मार्फत निरन्तर समाजसेवी भूमिका निभाएको संस्थाले जनाएको छ । कलेजको क्रस कल्चलर क्लवकी उपाध्यक्ष रहेकी शर्माले सामूदायीक नेतृत्व देखाएका कारण उनलाई यस बर्षको ‘न्यूम्यान सिभिल फेलो’ अवार्ड प्रदान गरिएको जनाएको छ । शर्माले २२ मुनिका युवा उमेर समूह एवं अरु तीन जनाले वयस्क समूह अन्तर्गत सम्मान पाएका हुन् ।
यस्तै सामाजीक गतिविधीमा सम्लग्न गैर नाफामुलक संस्थातर्फ न्यू ह्यामसर नेपाली समाज पनि सम्मान्नित भएको छ । राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा भरोसाको रुपमा रहेको संस्थाले कोरोना भाइरस संक्रमणका बेला सुरक्षा उपकरण जुटाएर समुदायमा वितरण गरेको थियो । राज्य बाहिर बस्ने नेपालीहरुलाई समेत संस्थाले सहायता प्रदान गरेको थियो । नेपाली भाषा एवं कला संस्कृती प्रवर्धनमा संस्था निरन्तर सकृय छ ।
स्पिरिट अवार्ड पाउने नेपाली मूल बाहेक अन्य व्यक्ति एवं संस्थामा राज्यमा सकृय खाद्य बैंक एवं विभिन्न सामाजीक अभियन्ताहरु छन् । अधिकांशले कोरोना भाइरस संक्रमणसँग जुध्न समाजको गरेको योगदानकै कारण सम्मान गरिएको ‘भोल्युन्टर एनएच’ले जनाएको छ ।
अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा डेमोक्रेटिक प्रत्याशीहरु जो बाइडेन र कमला ह्यारिस निर्वाचित भएपछि देशभर उत्सव सुरु भएको छ । सबै राज्यमा समर्थक सडकमा उत्रिएर विजयोत्सव मनाउन थालेका हुन् ।
डेमोक्र्याटहरुले ट्रम्प पराजयसँगै अमेरिकामा घृणा र विभाजनको राजनीति अन्त्य भएको बताएका छन् । बाइडेन र ह्यारिस लेखिएको संकेत हातमा लिएर एवं कोरोना भाइरस संक्रमणबाट जोगिन मास्क लगाएर सहित उनीहरु सडकमा निस्किएका छन् । कतिपयले स-साना छोरा छोरी पनि लिएर आएका छन् । टेलिभिजनहरुलाई प्रतिकृया दिँदै आफ्ना बालबालीकालाई यो ऐतिहासिक क्षणको साक्षी बनाउन साथ ल्याएको उनीहरुले बताएका छन् ।
वासिंटन डिसी स्थित ह्वाइट हाउस बाहिर बाइडेन-ह्यारिस जितको उत्वव मनाउन भेला भएका सर्वसाधारण। तस्वीरः एरिक बरादात/एएफपी (साभारः द एट्लान्टिक)
ठूला अमेरिकी शहरहरु न्यूयोर्क, सिकागो, लस एन्जलस, वासिंटन डिसी लगायत सबै स्थानमा डेमोक्रेटिक उम्मेद्वारको विजय उत्सव मनाइएको छ । बाइडेनको ह्वाइट हाउस यात्रा निश्चित गरेको पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया शहरमा पनि ठूलो संख्यामा समर्थकहरु सडकमा निस्किएका छन् ।
भर्जिनियास्थित ट्रम्प नेशनल गल्फ कोर्स बाहिर प्रदर्शन गर्दै बाइडेन समर्थक। शनिबार ट्रम्प यहाँ गल्फ खेल्न पुगेका थिए । तस्वीर स्टिभ हेल्वर/एपी फोटो
नव निर्वाचित उपराष्ट्रपति ह्यारिसको जन्मस्थल क्यालिफोर्नियाको ओकल्याण्य लगायत राज्यका विभिन्न शहरमा विजयोत्सव निकालिएका छन् । बाइडेन र ह्यारिसले भने शनिबार साँझ ८ बजे डेलावरबाट देशका नाममा सम्बोधन गर्ने भएका छन् ।
संसारभरको बधाई
यस्तै बाइडेन र ह्यारिसको जितप्रति संसारभरका नेताले बधाई संदेश जारी गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जर्मन चान्सलर एन्जेला मर्केल, क्यानडेली प्रधानमन्त्री जष्टिन ट्रुडो, फ्रान्सेली राष्ट्रपति एम्मानुएल म्याक्रोन लगायत विश्वका प्रमुख नेताहरुले नव निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिलाई बधाई ज्ञापन गरेका हुन् । ट्रम्पले पराजय स्वीकार्नु अघिनै बाइडेनलाई बधाई दिएर उनीहरुले निर्वाचन परिणाम प्रति ऐक्यवद्धता समेत जनाएका छन् ।
मिडियाहरुले बाइडेन राष्ट्रपति निर्वाचित भएको घोषणा गरेको एक घण्टापछि राष्ट्रपति डोनाल्ड ट्रम्प भने भर्जिनिया स्थित उनको गल्फकोर्समा देखिएका थिए । शनिबार बिहानै आफुले चुनाव जितेको झूठो दावी दोहोर्याएर ट्विट गरेका उनको आज कुनै सार्वजनिक कार्यक्रम छैन । चुनावमा धाँदली भएको दावी गरेपनि ट्रम्पले कुनै तथ्य सार्वजनिक गर्न सकेका छैनन् । शनिबार साँझ आफुले सात करोड १० लाख ‘वैध’ भोट पाएर रेकर्ड बनाएको भन्दै अर्को ट्विट गरेका छन् । लगातार झूठो ट्विट गरेपछि ट्विटरले शनिबार मात्र ट्रम्पका तीनवटा ट्विटमा चेतावनीको चिन्ह राखिदिएको छ ।
न्यूयोर्कको टाइम्स स्वायरमा छोरा सहित उत्सवमा सहभागि महिला । तस्वीरः केना बेटान्कुर/एएफपी
ट्रम्पले निर्वाचन परिणाम स्वीकार नगरेको कारण मिट रोम्नी बाहेक अरु कुनै पनि रिपब्लिकन सिनेटरले बाइडेन र ह्यारिसलाई शनिबार साँझसम्म बधाई दिएका छैनन् । उनीहरु कहिलेसम्म ट्रम्प निर्णय पर्खेर बस्लान् भन्ने चाहिँ चासोको विषय बनेको छ ।
डेमोक्रेटिक प्रत्याशी जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । सिएनन, एनबिसी, फक्स न्यूज, न्यूयोर्क टाइम्स लगायत सबै प्रमुख मिडियाले शनिबार विहान बाइडेन निर्वाचित भएको घोषणा गरेका हुन् ।
यसअघि नै २५३ इलेक्टोरल मत पाइ सकेका बाइडेनले पेन्सिलभेनियाको २० इलेक्टोरल मत पाउँदै निर्वाचित भएका हुन् । बाइडेन एरिजोना, जर्जिया र नेभाडाको मत गणनामा पनि अघि छन् । यी तीन राज्य पनि जितेमा उनले ३०६ इलेक्टोरल मत पुर्याउनेछन् । सन् २०१६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले यति न इलेक्टोरल मत पाएका थिए ।
बाइडेन विजयसँगै ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित नहुने सिमित राष्ट्रपतिको सूचीमा सामेल भएका छन् । दोस्रो विश्व युद्ध पछि जेरार्ल्ड फोर्ड, जिम्मी कार्टर र जर्ज एचडब्लु बुसले दोस्रो कार्यकाल पाएका थिएनन् ।
७८ बर्षिय बाइडेनले सबैभन्दा बृद्ध निर्वाचित राष्ट्रपतिको रेकर्ड समेत बनाएका छन् । सन् २००९ देखि २०१७ सम्म बाराक ओबामाको उप राष्ट्रपति रहेका उनी त्यस अघि तीन दशक बढि डेलावयरबाट सिनेटर थिए । बाइडेनको विजयसँगै कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति बन्ने भएकी छिन् । उनी भारतीय आमा एवं जमैकन पिताकी छोरी हुन् ।
ट्रम्पले चार बर्षसम्म कोरेको विभाजको रेखा आफुले मेट्ने बाइडेनको दावी छ । आफुलाई भोट हाल्ने र नहाल्ने सबै नागरिकलाई समान आँखाले हेर्दै अन्तर्राष्ट्रिय जगतमा अमेरिकाको गुमेको छवी फिर्ता ल्याउने उनले बताउँदै आएका छन् ।
बाइडेनल निर्वाचित भइ सकेपनि ट्रम्पले पराजय स्वीकार्न मानेका छैनन् । निर्वाचनमा धाँदली भएको र अदालत गएर आफुले चुनावी नतिजा उल्टाउने उनको दावी छ । तर, कहाँ कस्तो धाँदली भयो भन्ने प्रमाण उनी र उनको क्याम्पेनले सार्वजनिक गर्न सकेको छैन ।
बाइडेनले चार बर्ष अघि ट्रम्प अप्रत्याशीत खोसेका मध्य पश्चिम क्षेत्रका तीन राज्य पेन्सिलभेनिया, मिसिगन र विसकनसन डेमोक्रेटिक खातामा फिर्ता ल्याउन सफल भएका छन् । डेमोक्र्याटहरुको बलियो बर्चश्व रहेका यी राज्यबाट ४६ इलेक्टोरल मत पाउँदै सन् २०१६ मा ट्रम्प विजयी भएका थिए । त्यसबाहेक बाइडेनले अग्रता लिएका जर्जिया र एरिजोनामा विजय हासिल गरे दशकौँ पछि ती राज्य जित्ने उनी पहिलो डेमोक्रेटिक उम्मेद्वार हुनेछन् ।
१० करोड बढिले ‘अर्ली’ मतदान गरि सकेपछि अमेरिकामा निर्वाचनको दिन सुरु भएको छ । सन् २०१६ मा खसेको कुल मतको ७३ प्रतिशत मतदान चुनावको दिन अघि नै भइ सकेको हो । सोमबार मध्यराती न्यू ह्यामसरको डिक्सभिल नोट्चमा भोट खसाएर ‘इलेक्सन डे’को औपचारिक सुरुवात गरियो ।
अघिल्लो शताब्धिमा रेलरोडमा काम गर्ने कामदारका लागि मध्यराती वुथ खोल्ने गरिएको थियो । त्यही चलन पछि गएर अमेरिकी चुनाव औपचारिक शुभसाइतको रुपमा विकास भयो । डिक्सभिल नोट्चमा पाँच मत खसेकोमा सबै डेमोक्रेटिक राष्ट्रपतिय उम्मेद्वार जो बाइडेनले पाएका छन् ।
यो चुनाव डोनाल्ड ट्रम्पका लागि जनमत संग्रह बराबर देखिएको छ । डेमोक्रेटिक पार्टीबाट पूर्व उपराष्ट्रपति बाइडेन उम्मेद्वार रहे पनि दुई प्रतिश्पर्धीको एजेन्डाका लागि भन्दा ट्रम्प समर्थन र विपक्षमा धेरै भोट खस्दैछ । चार बर्ष अघि ट्रम्पले अप्रत्याशीत नतिजा निकाल्दै राष्ट्रपति चुनिएयता अमेरिका दुई कित्तामा बिभाजित छ । यहाँ अहिले कि ट्रम्प समर्थक या विरोधी मात्र छन् । फरक नेता, विचार र चिन्तन नै गौण बन्न पुगेको छ । ट्रम्प विरोधी र समर्थक दुबैमा चुनावप्रति अत्यधिक उत्साह देखिएको कारण यसपाली १६ करोडसम्म भोट खसेर नयाँ रेकर्ड बन्ने अनुमान गरिएको छ । यो संख्या अमेरिकामा मताधिकार पाएका बालिकहरुको दुई तिहाई हो ।
सन् २०१६ मा ट्रम्पले जितेका दक्षिणी राज्यहरु टेक्सास, एरिजोना, नर्थ क्यारोलिना, फ्लोरिडा, जर्जिया जस्ता राज्यमा अत्यधिक अर्ली भोटिङ भएको छ । यी राज्यमध्ये कुनैमा ट्रम्पले ५० प्रतिशतभन्दा कम भोट ल्याएरै जितेका थिए भने कुनैमा ५० प्रतिशत टेकाएका थिए । अहिले भएका मत सर्वेक्षणहरुमा टेक्सास बाहेक यी सबै राज्यमा ट्रम्प पछाडि देखिएका छन् ।
मंगलबार विहानसम्म हवाई, टेक्सास, वासिङ्टन र मोन्टेनामा सन् २०१६ मा खसेको कुलभन्दा धेरै मतदान भइ सकेको छ । फ्लोरिडा, नर्थ क्यारोलिना , जर्जिया, न्यू मेक्सिको, नेभाडा, कोलोराडो लगायत दक्षिणी राज्यहरुमा चार बर्ष अघिको तुलनामा ९० प्रतिशत माथि मतदान भइ सकेको छ । साधारणतया अर्ली भोटिङबाट डेमोक्र्याटले फाइदा लिँदै आएका थिए । तर, कोरोना भाइरस संक्रमणका कारण यसपाली धेरैले अर्ली भोटिङ रोजेका कारण यसैलाई लाभ भयो भन्नसक्ने अवस्था छैन ।
टेक्सासले चक्मा देला?
अमेरिकामा दोस्रो घना आवादी भएको राज्य टेक्सास रिपब्लिनका लागि महत्वपुर्ण आधारस्तम्भ रहँदै आएको छ । ५५ इलेक्टोरल मत रहेको क्यालिफोर्निया डेमोक्र्याटका लागि जस्तो आधार हो ३८ इलेक्टोरल भोट रहेको टेक्सास रिपब्लिकनका लागि त्यस्तै हो । तर, यसपाली टेक्सासको परिचय बदलिएको छ । तुलनात्मक रुपमा कम भोट खस्ने टेक्सासमा यसपाली अर्ली भोटिङमै मतदाताको उत्साह पोखियो । कुल ९७ लाख अर्ली भोटिङ भएकोमा १० लाख मेल इन ब्यालेट हो भने बाँकी मतदाताले बुथमै उपस्थित भएर भोट खसाएका छन् । यो आँकडा सन् २०१६ को तुलनामा १०८ प्रतिशत हो ।
चार बर्ष अघि टेक्सासमा ५२ प्रतिशत मत ल्याएर ट्रम्प विजयी भएका थिए । तेस्रो पक्षको उम्मेद्वारलाई धेरै भोट गएको कारण हिलारी क्लिन्टन आठ प्रतिशत बिन्दुको मतान्तरमा पराजित भइन् । तर, त्यसको दुई बर्ष पछि भएको सिनेट चुनावमा डेमोक्रेटिक प्रत्याशी बेटो ओ’रर्कले रिपब्लिकन सिनेटर टेड क्रुजसँगको मतान्तर दुई प्रतिशत बिन्दुमा खुम्च्याए ।
२०१६ पछि मात्र टेक्सासमा १६ लाख बढि नयाँ मतदाता थपिएका छन् । उनीहरुमध्ये धेरै युवा, आप्रवासी एवं अन्य राज्यबाट टेक्सासमा बसाइँ सरेर जाने छन् । उनीहरुको धेरै मत आफुले पाउने कारणले पनि डेमोक्र्याटहरु यसपाली टेक्सासप्रति आशावादी छन् । चार बर्ष अघि तेस्रो पक्षको उम्मेद्वारलाई गएको अधिकांश मत बाइडेनले पाउने र आफ्नो पक्षका बहुमत मतदाता पनि थपिएको अवस्थामा चमत्कारि नतिजा निकाल्न सक्ने उनीहरुको ठम्याइ छ । त्यसमाथि देशब्यापी रुपमा बाइडेनले गोरा मतदातासँग क्लिन्टनको भन्दा राम्रो अवस्था बनाएका छन् । त्यो सुधार टेक्सासमा पनि झल्किनेछ ।
फाइभ थर्टी एटको औषत आँकडा अनुसार अहिले टेक्सासमा ट्रम्प र बाइडेन दुबै जना ५० प्रतिशतभन्दा कम समर्थनको अवस्थामा छन् । ट्रम्पले बाइडेनलाई एक प्रतिशत बिन्दुले उछिनेका छन् । तर, टेक्सासमा सर्वेक्षकहरुले सँधै डेमोक्र्याटलाई कम नम्बर दिने गरेको कारण एक प्रतिशत बिन्दुको अन्तर निर्वाचनमा मेटिने डेमोक्रेटिक रणनीतिकारहरुको दावी छ ।
डेमोक्र्याटको अवस्था सुधार हुँदै आएका शहरी काउन्टीहरु ह्यारिस, डाल्लास, टेरान्ट , बेक्सार, ट्राभिस जस्ता घनावस्ती भएका स्थानमा यसपाली धेरै अर्ली भोटिङ भएको छ । सबैभन्दा धेरै २४ लाख रजिष्टर मतदाता रहेको ह्यारिस काउन्टीमा ५८ प्रतिशतले भोट खसाइ सकेका छन् । हुस्टन नगर रहेको यो काउन्टीमा सन् २०१८ मा सिनेट उम्मेद्वार ओ’रर्कले ५८ प्रतिशत मत ल्याएका थिए । मतदान बढेको अहिलेको अवस्थामा बाइडेनको जित मार्जिन बढ्ने आँकलन गरिएको छ । ओ’रर्कले ७४ प्रतिशत भोट ल्याएको साढे आठ लाख मतदाता रहेको ट्राभिस काउन्टीमा ६४ प्रतिशतले भोट खसाइ सकेका छन् । यो काउन्टीमा अष्टिन नगर क्षेत्र पर्छ । डेमोक्र्याट तिर निरन्तर ढल्कि रहेको कोलिन काउन्टीमा ७० प्रतिशत रजिष्टर मतदाताले भोट खसाइ सकेका छन् । टेक्सासको नतिजा मंगलबार मध्यरातीसम्ममा आउनेछ । यदि यो राज्य डेमोक्र्याटले खोसे भने ट्रम्पको पुनर्निर्वाचित हुने सबै सम्भावना त्यँही अन्त्य हुनेछन् ।
डेमोक्रेटिक क्षेत्रको मतदान बढेपछि तिलमिलाएका रिपब्लकिनहरु सर्वसाधारणलाई मतदानमा कठिनाइ उत्पन्न गराउन हरतरहको प्रयास गरि रहेका छन् । ह्यारिस काउन्टीले मतदातालाई सहज पार्न ड्राइभ थ्रु भोटिङ बुथ सञ्चालनमा ल्याएको छ । त्यहाँबाट सवा लाख बढिले भोट खसाइसकेपछि रिपब्लिकहरु ती भोट बदरको माग गर्दै अदालतको ढोका ढक्ढक्याउन पुगेका थिए । टेक्सासको सर्बोच्च अदातल र हुष्टन स्थित संघीय अदालत दुबैले रिपब्लिकनको रिट खारेज गरिदिएका छन् ।
संशय बढाउँदै ट्रम्प
मत सर्भेक्षणमा निरन्तर पछि परेपछि अमेरिकी राष्ट्रपति ट्रम्प भने निर्वाचनबारे भ्रमपूर्ण सूचना सम्प्रेषण गरि रहेका छन् । यसले शान्तिपुर्ण रुपमा चुनाव सम्पन्न हुने र विजेता घोषित हुने सम्भावनामा संकट देखिएको छ । ट्रम्पले चुनावको दिन हुलाकको छाप लागेको मेल इन ब्यालेट सम्बन्धित निर्वाचन अधिकारीले पछि पाए पनि मत गणना गरिने व्यवस्था बिरुद्ध निरन्तर भ्रम छरि रहेका छन् । यस्तो मतदानले धाँदली बढ्ने उनको दावी छ ।
तर, अमेरिकामा यसरी मतदान भएको यो पहिलो पटक होइन । हरेक निर्वाचनमा राज्यहरुले पछि आएका मतपत्र स्वीकार गर्दै आएका छन् । बिशेष गरि पेन्सिलभेनिया जित्नै पर्ने दवावमा रहेका ट्रम्प त्यहाँ निर्वाचनको तीन दिन पछिसम्म आएका मतपत्र गणना गर्ने नियमको सख्त विरोधमा छन् । यो व्यवस्था खारेज गराउन ट्रम्प क्याम्पेन एवं रिपब्लिकन नेतृत्व सर्बोच्च अदालतसम्म पुगेको थियो । कतै पनि उपाय नलागेपछि उनी अहिले अदालत बिरुद्ध खनिन थालेका छन् ।
चुनावकै दिन परिणाम नआए शान्ति खलबलिने भन्दै ट्रम्पले धम्की समेत दिएका छन् । आफुले भने जसरी निर्वाचन परिणाम नआए जे पनि हुन सक्ने भन्दै उनले गरेको ट्विटप्रति ट्विटरले चेतावनीको संकेत राखेको छ । आफ्ना समर्थकहरुले गरेको हुल हुज्जत एवं विपक्षी क्याम्पेनप्रतिको दुर्व्यवहारलाई ट्रम्पले बचाउ गर्दै आएका छन् । गत साता टेक्सासमा ट्रम्प समर्थकले हाइवेमा गुडि रहेको बाइडेन क्याम्पेनको बसलाई चारैतिरबाट घेरेर सडक छोड्न बाध्य बनाएका थिए । त्यो घटनामा एफबिआईले समेत अनुसन्धान सुरु गरेको छ । तर, ट्रम्प आफ्ना समर्थकले बसलाई सुरक्षा दिएको र उनीहरु निर्दोष रहेको दावी गर्दै आएका छन् । न्यूयोर्कमा पनि गत साता ट्रम्प समर्थकले जथाभावी गाडी रोकेर न्यूजर्सी जोड्ने एउटा प्रमुख पुल नै ठप्प पारिदिएका थिए ।
राष्ट्रपतिले नै निर्वाचनको परिणामप्रति शंसय बढाएर अशान्ति फैलिने चेतावनी दिएपछि पहिलो पटक अमेरिकी लोकतन्त्र र शान्तिपुर्ण सत्ता हस्तान्तरण प्रकृयाप्रति चिन्ता बढेको छ । न्यूयोर्क जस्ता ठूला सहरका बैंक एवं व्यवसायीक भवनमा लुटपाटको डरले शिशा बाहिरबाट काठ ठोक्न थालिएको छ । ट्रम्प आफैँले ह्वाइट हाउस बाहिर अतिरिक्त बारबेरा लगाउन अह्राएका छन् । हरेक चार बर्षमा शान्तिपुर्ण तवरले हुँदै आएको चुनावमा यसपाली ह्वाइट हाउसलाई किन अतिरिक्त सुरक्षा बेरा चाहियो भन्ने बारे ट्रम्प प्रशासनले केही बताएको छैन ।
चार बर्ष अघि सबै ढुक्क थिए- अमेरिकी राष्ट्रपतिमा हिलारी क्लिन्टन बिजयी हुँदैछिन् । विपक्षी डोनाल्ड ट्रम्प समेत आफ्नो पराजयमा निश्चित थिए । न्यूयोर्क टाइम्सका अनुसार चुनाव जितेमा जनतालाई सम्बोधन गर्ने भाषणको ड्राफ्ट समेत ट्रम्पले तयार पारेका थिएनन् ।
प्रभात भट्टराई
तर, जब ‘रष्ट वेल्ट’ भनेर चिनिने मध्य पश्चिम अमेरिकी क्षेत्रको मतगणना हुन थाल्यो माहोल एकाएक फेरियो । लामो समय देखि डेमोक्र्याटले जित्दै आएका मिसिगन, पेन्सिलभेनिया र विसकनसन ट्रम्पले हत्याए । सवा करोड बढि मत खसेको तीन राज्यमा ट्रम्पको विजयी ‘मार्जिन’ थियो ७७ हजार भोट । यही अन्तरले उनलाई मिसिगनको १६, विसकनसनको १० र पेन्सिलभेनियाको २० गरि कुल ४६ इलेक्टोरल मत दिलायो । यी तीन राज्यमा उनले क्रमशः १० हजार, २२ हजार र ४४ हजार मतान्तरको जित निकालेका थिए । यही जितबाट कुल ३०६ इलेक्टोरल मत ल्याएर ह्वाइट हाउसको बाटो तय गरेका ट्रम्पले यी तीन राज्य गुमाएका भए इलेक्टोरल मत २६० मा खुम्चिने थियो । क्लिन्टनको इलेक्टोरल भोट २३२ बाट बढेर २७८ पुग्ने थियो र राष्ट्रपति निर्वाचित हुन चाहिने २७० इलेक्टोरल मतको ‘थ्रेसहोल्ड’ पार गर्ने थिइन् ।
धेरैले निर्वाचन परिणामप्रति आश्चर्य माने । तर, राजनीतिक पण्डितहरुले तथ्यांकभन्दा धेरै आत्मविश्वासले हिलारी जित्ने आँकलन गरिदिएका थिए । राजनीतिक बाहिरिया त्यसमाथि अनेक विवादमा फसेका ट्रम्पलाई जनताले पत्याउँछन् भन्नेमा विश्लेषक सहमत थिएनन् । उनीहरुले आफुलाई जे लाग्छ त्यसैलाई प्राथमिकतामा राखेर बोले । अमेरिका मात्र होइन दुनियाँभरलाई नै लाग्यो- हिलारीको जित निश्चित छ । सबैभन्दा बढि आत्मविश्वास हिलारीमै देखियो । उनी ‘विसकनसन त त्यसै जितिहालिन्छ’ भनेर प्रचारका लागि समेत पुगिनन् ।
राजनीतिक पण्डितहरुले हिलारीलाई विजेता घोषणा गर्न जस्तोसुकै होड चलाए पनि तथ्यांकले त्यसो भनि रहेको थिएन । अधिकांश मत सर्वेक्षणमा हिलारी अगाडी त थिइन् तर ठूलो संख्याका मतदाता अनिर्णित नै थिए । चुनावको एक साता अघिसम्म पनि देशब्यापी रुपमा २० प्रतिशत मतदाताले भोट हाल्ने उम्मेद्वार तय भइ नसकेको जवाफ मत सर्वेक्षकलाई दिएका थिए । क्लिन्टनले ५० प्रतिशतको थ्रेसहोल्ड छुन कहिल्यै सकेकी थिइनन् ।
देशब्यापी सर्वेक्षणको तुलनामा प्रतिश्पर्धी राज्यका मतदाता झनै अनिर्णित थिए । अन्तिम समयसम्म अनिर्णित रहेका मतदातालाई एफबिआईका तात्कालिन निर्देशन जिम कोमीको एउटा कदमले ट्रम्पतिर धकेल्न मद्दत गर्यो । कोमीले चुनावको ११ दिन अघि क्लिन्टनले निजी सर्भरमा सरकारी इमेल चलाएको बारे अनुसन्धान नसकिएको जानकारी संसदलाई दिए । त्यो समाचारले क्लिन्टनको छवि माथि थप संशय बढायो । उनीसँग सुरु देखिनै बहुमत जनता असन्तुष्ट नै थिए । आम जनताको नजरमा क्लिन्टन र ट्रम्प दुबै लोकप्रिय उम्मेद्वार थिएनन् । रियल क्लियर पोलिटिक्सको औषत आँकडा अनुसार निर्वाचनको दिन क्लिन्टनको फेवरिबिलिटी ऋणात्मक १३ पोइन्ट थियो भने ट्रम्पको ऋणात्मक २१ पोइन्ट । अर्थात क्लिन्टनलाई ४२ प्रतिशत सर्वसाधारणले मन पराउँथे भने उनलाई नरुचाउने संख्या ५५ प्रतिशत थियो । ट्रम्पलाई मन पराउनेको संख्या ३८ प्रतिशत मात्र थियो । उनीप्रति नराकात्मक धारणा राख्ने ५९ प्रतिशत थिए । यो पृष्ठभूमीमा पटक पटक राजनीतिक अवसर पाएर विवादित भएकी क्लिन्टनभन्दा राजनीतिक बाहिरिया ट्रम्पप्रति निर्णायक राज्यका बहुमत अमेरिकीले झुकाव राखे ।
सबैलाई थाहा छ देशब्यापी रुपमा ट्रम्पले क्लिन्टनभन्दा ३० लाख कम भोट ल्याएका थिए । यो आँकडा चुनावको मुखमा गरिएको मत सर्भेक्षणको औषत तथ्यांकसँग ठ्याक्कै मिल्छ । रियल क्लियर पोलिटिक्सको औषत तथ्यांक अनुसार चुनावको दिन बिहान हिलारी ट्रम्पभन्दा तीन प्रतिशत विन्दुले अघि थिइन् । र, उनलाई भोट हाल्न निश्चित भएका सर्वसाधारणको संख्या थियो ४७ प्रतिशत । ट्रम्प ४४ प्रतिशतमा थिए । कतिपय देशब्यापी सर्वेक्षणमा ट्रम्पले हिलारीलाई उछिनेका समेत थिए । त्यसैले दुई अलोकप्रिय उम्मेद्वारको भिडन्तमा त्यही शैलीको नतिजा २०१६ मा आएको हो ।
२०१६ र २०२० को मत सर्वेक्षणमा फरक।
पेन्सिलभेनिया, मिसिगन र विसकनसन कुनै पनि राज्य ट्रम्पले खसेको ५० प्रतिशत भोट ल्याएर जितेका होइनन् । ट्रम्प र क्लिन्टन दुबैप्रति आजित ठूलो संख्याका मतदाताले तेस्रो पक्षको उम्मेद्वारलाई भोट दिए । सोही कारण पेन्सिलभेनियामा ४८.२, मिसिगनमा ४७.३ र विसकनसनमा ४७.२ प्रतिशत मत ल्याएर पनि ट्रम्प विजयी हुन पुगे । सन् २०१२ र २००८ को दुबै निर्वाचनमा यी राज्यमा बाराक ओबामाले सहज ५० प्रतिशत माथि भोट ल्याएका थिए । यी तीन मात्र होइन फ्लोरिडा, नर्थ क्यारोलिना जस्ता राज्यमा पनि ट्रम्प ५० प्रतिशत मतको थ्रेसहोल्ड नछोइ विजयी भएका थिए । लामो समय रिपब्लकिन राज्यको रुपमा चिनिएको एरिजोनामा पनि ५० प्रतिशत मत नपुर्याई ट्रम्पले जितेका थिए । यसले पनि पुष्टि गर्छ ट्रम्पले कुनै लोकप्रियताका आधारमा २०१६ को चुनाव जितेका थिएनन् । क्लिन्टनको विवादित छवि र अलोकप्रियताको मात्र फाइदा उठाएका थिए, जहाँ उनले शंकाको सुविधा पाए ।
यसपाली के फरक छ ?
यसपालीको चुनावमा सबैभन्दा ठूलो फरक त उम्मेद्वारको व्यक्तित्वमा नै देखिएको छ । बाइडेन हिलारी जस्तो अलोकप्रिय छैनन् भने ट्रम्प चार बर्ष अघिकै ठाउँमा छन् । ओबामाको लोकप्रिय आठ बर्षे शासनकालमा उपराष्ट्रपति रहेका राजनीतिज्ञ बाइडेन कुनै गम्भीर विवादमा मुछिएका छैनन् । एफबिआई निर्देशकको कदमपछि २०१६ मा हिलारी क्लिन्टन पराजित भएको जस्तै घटनालाई यसपाली पनि ट्रम्प र उनका हितैषीले दोहोर्याउन नखोजेका होइनन् । बाइडेन पुत्र हन्टरले चिनियासँग ब्यापार गर्न खोजेको र त्यसमा जो बाइडेनले पनि साथ दिएको बनावटी घटना चुनावको मुखमा ट्रम्प भित्रियाहरुले तयार पारेका थिए । तर, उनीहरु सफल भएनन् किनभने अमेरिकी जनताले त्यसमा चासो दिएनन् ।
सबैभन्दा ठूलोकुरा ट्रम्प अहिले २०१६ जस्तो राजनीतिक बाहिरिया होइनन् । उनी बहालवाला राष्ट्रपति हुन् र कोरोना भाइरसप्रति उनको हेलचेक्राइँको परिणाम स्वरुप दुई लाख ३० हजार अमेरिकीले ज्यान गुमाइ सकेका छन् । संक्रमितको संख्या एक करोड पुग्न लागेको छ । भाइरसले सिर्जना गरेको आर्थिक मन्दीका कारण दशौँ लाखले रोजगारी गुमाइ सकेका छन् । सरकारी तथ्यांक अनुसार नै आठ प्रतिशत अमेरिकी बेरोजगार छन् । यी सबै तथ्यांक उपर जनताले ट्रम्पको जवाफ खोज्छन् ।
अर्कोतर्फ बाइडेनप्रति बहुमत अमेरिकीको सकारात्मक धारणा देखिएको छ । रियल क्लियर पोलिटिक्सको औषत आँकडा अनुसार उनीप्रति ५१ प्रतिशत अमेरिकीले सकारात्मक धारणा राखेका छन् । जस अनुरुप उनको फेवरिबिलिटी सात पोइन्टले धनात्मक छ । ट्रम्पको फेवरिबिलिटी १३ पोइन्टले ऋणात्मक छ । उनलाई मन पराउने अमेरिकी ४२ प्रतिशत छन् भने ५५ प्रतिशत उनीप्रति सकारात्मक छैनन् । देशब्यापी रुपमा भएका अधिकांश गुणस्तरीय सर्वेक्षणमा बाइडेन ट्रम्पभन्दा दोहोरो अंकले अघि छन् । सबै सर्वेहरुको औषत तथ्यांक निकाल्ने फाइफ थर्टी एटको विवरण अनुसार देशब्यापी रुपमा बाइडेन आठ अंकभन्दा ठूलो अग्रतामा छन् र उनलाई ५२ प्रतिशत अमेरिकीले भोट हाल्ने निधो गरि सकेका छन् । यो अग्रता सन् २००८ को चुनावमा बारक ओबामाले लिएको भन्दा पनि ठूलो हो । कुन्निपियाक विश्वविद्यालय, एनबिसी न्यूज /वालस्ट्रिट जर्नल, लस एन्जलस टाइम्स, सिएनएन जस्ता उच्च कोटीका सर्वेमा बाइडेन दोहोरो अंकको अग्रतामा छन् । फक्स न्यूज, सर्भे युएसए, सुफोल्क विश्वविद्यालय, न्यूयोर्क टाइम्स आदीको सर्वेमा आठ अंकको अग्रता बाइडेनलाई छ र प्रष्ट ५० प्रतिशत माथिको समर्थन पाएका छन् । चुनावको मुखमा चार बर्ष अघि प्रायः यी सबै सर्वेमा क्लिन्टनको अग्रता दुई देखि पाँच प्रतिशत हाराहारी मात्र थियो । लस एन्जलस टाइम्सको सर्वेमा त ट्रम्पले अग्रता लिएका थिए ।
अति प्रतिश्पर्धी १० राज्यमध्ये आठ वटामा बाइडेनको अग्रता छ । सन् २०१६ मा हिलारीले जितेका राज्यमा उनी सहज अवस्थामा यथावत छन् । ती राज्य जितेको खण्डमा राष्ट्रपति चुनिन चाहिने पेन्सिलभेनिया, मिसिगन र विसकनसनमा बाइडेनलाई ५० प्रतिशत माथिको समर्थन छ भने छ देखि १० अंकसम्मको अग्रता लिएका छन् । सबै राज्यमा चार बर्ष अघि जस्तो तेस्रो पक्षको उम्मेद्वारलाई भोट हाल्ने मतदाता नगन्य छन् । फ्लोरिडा, जर्जिया, एरिजोना, नर्थ क्यारोलिना जस्ता ट्रम्पले जितेका राज्यमा पनि बाइडेनको निरन्तर अग्रता छ । लामो समय रिपब्लिकनको एकछत्र रहेको टेक्सासमा समेत बाइडेन र ट्रम्प बराबरको प्रतिश्पर्धामा देखिएका छन् । त्यसैले बाइडेन क्लिन्टनको तुलनामा धेरै सहज निर्वाचन लड्दैछन् ।
कोरोना भाइरस महामारी, अन्तर्राष्ट्रिय जगतमा गिर्दो अमेरिकी छवी जस्ता कारणले आजित अमेरिकी ट्रम्पप्रति क्रुद्ध छन् । निर्वाचनको मुख्य दिन (नोभेम्बर ३) अघि नै २०१६ को तुलनामा दुई तिहाइ मत खसाएर अमेरिकी जनताले यो चुनावप्रतिको चासो पुष्टि गरि सकेका छन् ।
बाइडेन अमेरिकी कामकाजी बर्गको प्रतिनिधित्व गर्छन् । क्लिटनलाई अभिजात बर्गको आक्षेप थियो । कामकाजी वर्गसँगको निकट सम्बन्धकै कारण रिपब्लकिनको आधार भनेर चिनिने कलेजको शिक्षा नलिएका गोराहरुको समेत उनलाई क्लिन्टनभन्दा धेरै समर्थन देखिएको छ । त्यसबाहेक महिला र बृद्धहरु पनि ठूलो संख्यामा बाइडेनसँग छन् । २०१६ को चुनावको पूर्व सन्ध्यामा क्लिन्टनलाई महिलाको साथ ट्रम्पभन्दा १४ पोइन्टले धेरै थियो । अहिले बाइडेन २१ पोइन्टले अघि छन् । ६५ बर्षमाथिका बुढापाका पाँच पोइन्ट बढि ट्रम्पसँग थिए । अहिले १० पोइन्ट बढिले बाइडेनको साथ दिएका छन् । कोरोना भाइरस प्रतिको वेवास्ताकै कारण धेरै बुढापाका र महिला ट्रम्पप्रति रुष्ट हुन पुगेका हुन् ।
यो यथार्थबीच चार बर्ष अघिजस्तै चमत्कारी जित निकाल्ने दावी ट्रम्पले अहिले पनि दोहोर्याएका त छन् तर सबै घटनाक्रमले पुष्टि गरि सकेको छ यो चुनाव २०१६ को भाग दुई अवश्य होइन ।
अमेरिकामा चुनाव नजिकिँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याम्पेन आर्थिक संकटमा परेको छ । नगद अभाव भएपछि कतिपय प्रतिश्पर्धी राज्यबाट ट्रम्पले विज्ञापनको बजेट नै कटौति गरेका छन् ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालका लागि अति महत्वपुर्ण राज्य फ्लोरिडामा चुनावी प्रचारका लागि छुट्याएको २० लाख बढि डलर गत साता स्थानान्तरण गरेका थिए । चुनाव अघिको अन्तिम साता फ्लोरिडाबाट उक्त रकम स्थानान्तरण गरिएसँगै त्यहाँ ट्रम्पको विज्ञापन प्रशारण घटेको छ ।
चुनाव अघिको अन्तिम साता ट्रम्प क्याम्पेन र रिपब्लिकन नेशनल कमिटीले सम्युक्त रुपमा २९ लाख डलर बराबरको विज्ञापन फ्लोरिडामा प्रशारण गरि रहेका छन् । प्रतिश्पर्धी जो बाइडेन क्याम्पेन एवं डेमोक्रेटिक नेशनल कमिटीले त्यसको दोब्बर बढि ६८ लाख डलरको विज्ञापन प्रशारणका लागि टेलिभिजनहरुसँग सम्झौता गरेका छन् ।
फ्लोरिडामा दुई प्रतिशत बिन्दुभन्दा कमको जितले सन् २०१६ मा ट्रम्पलाई राष्ट्रपति निर्वाचित गराउन महत्वुर्ण भूमिका खेलेको थियो । यसपाली मत सर्भेक्षणहरुमा उनी बाइडेनसँग लगातार पछि परेका छन् । फ्लोरिडा हारेको खण्डमा ट्रम्पको निर्वाचन जित्ने सम्भावना लगभग अन्त्य हुनेछ ।
शुक्रबार विहानसम्ममा फ्लोरिडामा ७८ लाख बढि मत खसि सकेको छ । यो संख्या सन् २०१६ मा खसेको कुल मतको ८२ प्रतिशत बराबर हो । अहिलेसम्म पार्टी रजिष्ट्रेसन अनुसार डेढ लाख बढि डेमोक्र्याटले भोट खसाएका छन् । ‘मेल इन ब्यालेट’मा डेमोक्र्याटको सानदार अग्रता छ भने ‘अर्लि भोट’ खसाउनेमा रजिष्टर्ड रिपब्लिकन धेरै छन् । फिर्ता हुन बाँकी ‘मेल इन ब्यालेट’मा पनि डेमोक्र्याट पौने दुई लाख हाराहारी छन् । फिर्ता हुन बाँकी सबै ‘मेल इन ब्यालेट’ आइपुग्दा कुल खसेको भोट ९५ लाख नाघ्नेछ । त्यो अवस्थामा पार्टी रजिष्ट्रेसन अनुसार तीन लाख बढि डेमोक्र्याटले भोट खसाउनेछन् । तर, कुनै पनि पार्टीमा आवद्ध नरहेका लाखौँ मतदाताले कसलाई रोजे भन्ने टुङ्गो छैन । पार्टीका रजिष्टरहरुले पनि आफ्नै दललाई मात्र भोट हाल्छन् भन्ने हुँदैन । त्यसैले मत खसेकै आधारमा फ्लोरिडामा कसले जित्यो भनेर आँकलन गर्न सकिँदैन । सन् २०१६ मा फ्लोरिडामा ९५ लाख हाराहारी मत खसेको थियो । यसपाली सहजै एक करोड नाघ्ने आँकलन गरिएको छ ।
सन् २०१७ को जनवरी २० मा राष्ट्रपतिय सपथ ग्रहण गरे लगत्तै ट्रम्पले दोस्रो कार्यकालका लागि चुनाव लड्न चन्दा उठाउन थालेका थिए । तर, चुनावको मुखमा आइपुग्दा उनको क्याम्पेन वेखर्ची बनेको छ । मितव्ययी एवं रणनीतिक वित्तिय योजनाको अभावमा ट्रम्प क्याम्पेनले आर्थिक संकट झेलेको विश्लेषकहरुको टिप्पणी छ ।
सेप्टेम्बरको चन्दा संकलनमा बाइडेनले ट्रम्प क्याम्पेनलाई २०० मिलियन (२० करोड) अमेरिकी डलरले उछिनेका थिए । अक्टुबर सुरुमा बाइडेन क्याम्पेनको बैंक खातामा १७७ मिलियन थियो । जुन त्यसबेला ट्रम्प क्याम्पेनसँग रहेको नगदभन्दा तीन गुणा बढि हो । अक्टुबर सुरुमा ट्रम्प क्याम्पेनसँग ६३ मिलियन मात्र थियो । सेप्टेम्बरमा बाइडेनले ट्रम्पभन्दा दोब्बर टिभी विज्ञापनमा खर्च गर्दा पनि उनको क्याम्पेनसँग त्यति रकम बचेको थियो । सेप्टेम्बरमा बाइडेनले १७३ मिलियन डलर टिभी विज्ञापनमा खर्च गरेका थिए भने ट्रम्पले ६९ मिलियन डलर मात्र खर्चिन सके ।
वहालवाला राष्ट्रपतिको रुपमा पुनः निवार्चन लड्दा आर्थिक संकट भोग्ने पछिल्लो समयका थोरै उम्मेद्वारमा ट्रम्प परेका छन् । सन् २०१२ को यहि समयमा तात्कालिन राष्ट्रपति बाराक ओबामा क्याम्पेनको खातामा १०० मिलियन डलर थियो । उनका प्रतिश्पर्धी मिट रोम्नीसँग भने अहिले ट्रम्पसँग भए बराबरकै नगद मौज्दात थियो ।
ट्रम्पको आँफैलाई झूठो आश्वासन
ट्रम्पले आफ्नो क्याम्पेनलाई चाहिए १०० मिलियन डलर आफ्नै पैसा हाल्ने सेप्टेम्बरमै बताएका थिए । ब्लुमबर्ग न्यूजले यो समाचार ब्रेक गरेपछि पत्रकारको प्रश्नको जवाफ दिँदै उनले आवश्यक परे पैसा हाल्न तयार रहेको दावी गरे । तर, पैसा अभाव भएर अति प्रतिश्पर्धी राज्यको विज्ञापन खर्च कटौती गर्नुपर्दा पनि उनले क्याम्पेनका लागि लगानी गरेका छैनन् ।
पुनः निर्वाचनका लागि ट्रम्पले आफ्नो क्याम्पेनलाई हालसम्म आठ हजार डलर मात्र दिएका छन् । फोर्ब्स म्यागेजिनको अर्बपती सूचीमा रहेका रियलस्टेट व्यवसायी ट्रम्पले सन् २०१६ को क्याम्पेन सुरु गर्दा भने ६६ मिलियन डलर आफ्नै खाताको पैसा खर्चिएका थिए ।
सामाजीक दूरी सहित नर्थक्यारोलिनामा मतदानका लागि लाइन लागेका सर्वसाधारण। तस्वीरः इथान हाइम्यान/एपी
पर्याप्त नगद हातमा नभएपछि ट्रम्प अहिले राज्य राज्यमा हजारौँ कार्यकर्ता भेला गरेर चुनावी सभामा केन्द्रित हुन थालेका छन् । सभामा उपस्थित भिडले आफ्नो पक्षको देशब्यापी माहोल दर्शाएको उनको दावी छ । प्रतिश्पर्धी बाइडेनले भने कोरोना भाइरस संक्रमणप्रति जिम्मेवार हुँदै सामाजीक दूरी कायम सहित ‘ड्राइभ इन र्याली’हरुमा जोड दिएका छन् । बाइडेनका अनुसार अहिलेसम्म उनको क्याम्पेनलाई ५५ लाख बढि अमेरिकीले चन्दा दिएका छन् । आफ्नो पक्षको माहोल पुष्टि गर्ने यो जति महत्वपुर्ण तथ्यांक अरु हुन नसक्ने उनको तर्क छ । हुनपनि ट्रम्पको पछिल्ला सबै चुनावी सभामा उपस्थितको गणना गर्ने हो भने पनि ५५ लाख पुग्न कठिन पर्छ ।
कोरोना भाइरसबाट दुई लाख २८ हजारले ज्यान गुमाइ सकेको एवं पद वहाल गरेपछि एक पटक पनि ५० प्रतिशत लोकप्रियता (एप्रुभल रेटिङ) आर्जन गर्न नसकेका ट्रम्प अधिकांश प्रतिश्पर्धी राज्यमा बाइडेनभन्दा पछि छन् । मत सर्भेक्षणहरु झूठो रहेको र चुपचाप आफ्नो पक्षमा रहेका लाखौँ मतदाताले नोभेम्बर ३ मा आफुलाई भोट हालेर जिताउने उनको दावी रहँदै आएको छ । शुक्रबार विहानसम्ममा सन् २०१६ को कुल मतको ६१ प्रतिशत भोट खसि सकेको छ । यस अनुरुप यसपाली मतदानमा नयाँ रेकर्ड कायम हुने देखिएको छ ।
राष्ट्रपतिका रुपमा ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको चार बर्षे प्रहसन अब अन्तिम चरणमा पुगेको छ । यो अवधिमा ट्रम्पले एक होइन अनेक चर्तिकला देखाए । अन्तराष्ट्रिय नजरमा अमेरिकी छवि रसातलमा पुर्याए । निर्वाचित हुने वित्तिकै एक धर्म विशेषलाई लक्षित गरि अमेरिका प्रवेशमा रोक लगाए । हुँदा हुँदा अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउस पोडियमबाट जनतालाई शरिरमा ब्लिज पठाएर कोरोना भाइरसको उपचार हुने बताएको समेत देख्नु/सुन्नु पर्यो । दिनमा सयवटासम्म ट्विट गर्छन् । यस्तो लाग्छ- उनी ट्विटरबाटै देश चलाइ रहेका छन् ।
प्रभात भट्टराई
यी अनेक प्रहशनबीच आठ महिना देखि अमेरिकालाई गाँजेको कोरोना भाइरसले ट्रम्पको नेतृत्व कौशल उदाङ्गो पारिदिएको दिएको छ । ८५ लाख बढि संक्रमित र सवा दुई लाख बढिको मृत्यु सहित भाइरस संक्रमणमा अमेरिकाले विश्वलाई उछिनेको छ । विश्वको पाँच प्रतिशत जनसंख्या रहेको अमेरिकामा भाइरसबाट ज्यान गुमाउने भने विश्वभरी मृत्यु हुनेको संख्यामा २० प्रतिशत हाराहारी छन् । संसारको सबैभन्दा शक्तिशाली एवं सम्पन्न मुलुकको हविगत कसरी यस्तो हुन पुग्यो ?
उत्तर सहज छ- नेतृत्वको हेलचेक्राँइ । ट्रम्प राष्ट्रसामु कहिल्यै भाइरस बारे गम्भीर रुपमा प्रस्तुत भएनन् । बन्द कोठामा गरिएका पुराना वार्ताको अडियो सुनेपछि थाहा भयो उनी आफुलाई भाइरस सर्ला कि भनेर चरम त्रासमा थिए । तर, मुलतः आफ्ना समर्थक माझ भाइरस गम्भिर छ भन्ने सूचना पुर्याउँदा आफूलाई राजनीतिक वेफाइदा पुग्ने आँकलनले सधैँभरि झूठ बोलिरहे ।
गत शुक्रबार र शनिबार अमेरिकामा सर्वाधिक दैनिक संक्रमणको नयाँ रेकर्ड कायम भएर ८० हजार नाघ्दा पनि ट्रम्प भाइरस नियन्त्रणमा रहेको दावी दोहोर्याइ नै रहेका थिए । मिडियाले कोरोना भाइरसको अधिक चर्चा गरेर आफुलाई चुनाव हराउन खोजेको आरोप लगाएका छन् । हुँदा हुँदा दैनिक मृत्युदर ५०० मा झरि सकेको झूठो विवरण दावी गर्दै मिडियाले संक्रमितको संख्यालाई अनावश्यक उछालेर हल्ला गरेको तर्क समेत गरेका छन् । दैनिक हजार हाराहारीमा अमेरिकीको मृत्युलाई ट्रम्पले मजाकको विषय बनाएका छन् । त्यति मात्र होइन अरु रोगबाट मृत्यु भएकाहरुलाई समेत कोरोनाका कारण मरेको बताएर स्वास्थ्यकर्मी र अस्पतालले पैसा कमाउन खोजेको आरोप समेत ट्रम्पले लगाएका छन् ।
अर्थतन्त्रको भ्रम
ट्रम्प सन् २०१६ मा निर्वाचित हुँदासम्म अमेरिकी अर्थतन्त्र निरन्तर उकालो लागेको थियो । बाराक ओबामा र जो बाइडेनले अन्तिम तीन बर्षमा निरन्तर बढेको अर्थतन्त्र ट्रम्पलाई जिम्मा लगाएका थिए । ओबामाको अन्तिम तीन बर्षमा जति रोजगारी अमेरिकामा सिर्जना भयो ट्रम्पले त्यसलाई भेट्टाउन सकेनन् । तर, उनी आफुले इतिहासकै उत्कृष्ठ अर्थतन्त्र सिर्जना गरेको दावी गरिरहे । एउटै झूठ सय पटक बोलेपछि सत्य हुन्छ भन्ने नेपाली उखान जस्तै ट्रम्पको उक्त दावी पत्याउने अमेरिकीको संख्या ठूलै छ ।
सन् २०१४, २०१५ र २०१६ मा ओबामाले क्रमशः मासिक औषत २ लाख ५० हजार, २ लाख २७ हजार र १ लाख ९५ हजार रोजगारी सिर्जना गरेका थिए । ट्रम्पले ओबामाको यो कुनै पनि अंक छुन सकेनन् । सन् २०१७ मा मासिक औषत एक लाख ७६ हजार रोजगारी सिर्जना भयो । त्यही बेला ट्रम्पले धनी वर्गलाई भारी कर छुट दिने कानून पारित गराउन सफल भए । कम्पनीहरुले नाफा बापत तिर्नु पर्ने कर्पोरेट आयकर ३५ प्रतिशतबाट २१ प्रतिशतमा झारियो । कर बापतको ठूलो रकम बचाउन सफल भएपछि कम्पनीहरुले केही रोजगारी बढाएजस्तो पनि गरे ।
ओबामाले महामन्दी पार लगाएर सहज बढ्दो अर्थतन्त्र ट्रम्पलाई जिम्मा लगाएका थिए । स्केचः वासिंटन पोष्ट
फलस्वरुप २०१८ मा मासिक औषत १ लाख ९३ हजार रोजगारी सिर्जना समेत भयो । तर, २०१९ मा यो १ लाख ७८ हजारमा झरि सकेको थियो । यसरी ओबामा सरकारको अन्तिम तीन बर्षभन्दा ट्रम्पको सुरुवाती तीन बर्षको रोजगारी सिर्जनामा १५ लाखले कमी आएको थियो । २०२० को सुरु देखिनै ट्रम्पले भाइरस संक्रमणमा वेवास्ता गर्दा मार्च दोस्रो साता यता अमेरिकामा भयावह अवस्था आयो । परिमाण स्वरुप दुई करोड बढिले एकै पटक रोजगारी गुमाए । अहिले आधा हाराहारी काममा फर्किए पनि आठ प्रतिशत काम गर्ने उमेरका अमेरिकी बेरोजगार छन् ।
यति हुँदा पनि ट्रम्प आफुले अर्थतन्त्र फिर्ता ल्याउने दावी गर्न छोड्दैनन् । त्यसको कुनै प्रष्ट खाका र एजेन्डा उनीसँग छैन । प्रतिश्पर्धी जो बाइडेन र मिडियालाई व्यक्तिगत आक्षेप र गालीगलौजको भरमा आफ्नो राजनीतिक उठानको सपना देखि रहेका छन् ।
घृणाको जगमा उठान
ट्रम्पको राजनीतिक उदयनै घृणा र रंगभेदको बलमा भयो । चुनाव जितेर ह्वाइट हाउस छिरेपछि पनि उनी त्यही चरित्र निभाइ रहे । सन् २०११ मा उनले पहिलो पटक राष्ट्रपति ओबामा अमेरिकामा नजन्मिएको दावी सुरु गरे । अमेरिकी आमा र केन्याका आप्रवासी पिताबाट हवाइमा जन्मिएका ओबामाले त्यही बर्ष आफ्नो जन्मदर्ता सार्वजनिक गरिदिए । त्यतिले मात्र नपुगेर हवाइ राज्य सरकारले नै ओबामाको जन्मदर्ता सार्वजनिक गर्यो । तर, ट्रम्पले ओबामा अमेरिकामा नजन्मिएको दावी गर्न छोडेनन् । उनलाई तर्कहरु जुटाउन सहज थियो, किनभने ओबामा काला जातिका थिए । कुनै स्वेत पुरुष विरुद्ध अमेरिकामा यस्तो मुद्दा कहिल्यै उठ्दैन । फरक छाला हुने वित्तिकै पहिलो आक्रमण उसको नागरिकताबाट सुरु हुन्छ ।
मुस्लीमलाई अमेरिकामा यात्रा प्रतिबन्धको कार्यकारी आदेश जारी गर्दै ट्रम्प । तस्वीर: सिएनएन
ट्रम्पले त्यहि रणनीति अपनाए । पछि थाहा भयो ट्रम्पले २०१२ कै राष्ट्रतपिय चुनावमा ओबामालाई चुनौती दिने महत्वाकांक्षा पालेका थिए । राजनीतिक एजेन्डा या प्रतिबद्धता नभइ व्यक्तिगत आक्रमण र घृणाको बलमा चुनाव लड्ने रणनीति अनुरुप ट्रम्पले उक्त तुरुप फ्याँकेका थिए । राष्ट्रपति चुनाव लड्ने ट्रम्पको तयारी भित्र भित्रै तुहिए पनि ट्रम्पले ओबामा विरुद्धको घृणात्मक प्रचार रोकेनन् । किनभने उनी २०१६ को चुनावमा उदाउने त्यो भन्दा ठूलो अस्त्र अरु हुन सक्दैन भन्नेमा प्रष्ट थिए । ट्रम्पलाई यो आधार दिएको थियो ‘कन्जरभेटिभ’ मिडिया ‘होष्ट’लाई विश्वास गर्ने जमातले । सन् २००८ मै कन्जरभेटिभ मिडियालाई पत्याएर ओबामालाई मुस्लिम ठान्ने एवं अमेरिकालाई उनले माया नगर्ने बताउने ठूलै जमात तयार भइ सकेको थियो । मुद्दाका आधारमा राजनीति गर्ने त्यसबेलाका रिपब्लिकन राष्ट्रपतिय प्रत्याशी जोन म्याकेनले यस्ता घृणात्मक दावीलाई आफ्नो क्याम्पेनमा ठाउँ दिएनन् । उल्टो समर्थकहरुलाई ओबामाले जितेमा राष्ट्रिय सुरक्षामा खलल पुग्ने कुनै सम्भावना नरहेको तर राष्ट्रपतिका रुपमा आफुले राम्रो काम गर्ने विश्वासका साथ चुनावमा उठेको जवाफ दिएर साम्य पार्ने प्रयास गरेका थिए ।
ट्रम्पले त्यही घृणाको पोखरीमा हाम फाले । रिपब्लिकन प्राइमरी जितेर अन्तिम चुनावको तयारीका बेला भने ओबामा अमेरिकामै जन्मिएको मान्न आफु अब तयार रहेको भन्दै बोली फेरे । कारण थियो रिपब्लिकन प्रति झुकाव राख्ने काला जातिका मतदाताको भोट तान्नु ।
ट्रम्प कुनै दर्शन र सिद्दन्तबाट प्रेरित व्यक्ति होइनन् । उनी जे बन्छन् या गर्छन् सिर्फ फाइदा र नाफाका लागि गर्छन् । यस्ता मान्छेसँग संगत गर्छन् जो कुनै न कुनै विवादमा मुछिएकै होस् । सोही कारण ट्रम्प राष्ट्रपति निर्वाचित भएयता दर्जन हाराहारी उनका निकट सहयोगी अदालतबाट बिभिन्न मुद्दामा दोषी प्रमाणित भइ सके । जब आफ्ना कोही निकटतमको अपराध छताछुल्ल हुन्छ ट्रम्प उनीहरुलाई नचिनेझैँ गर्न थाल्छन् । यसरी नै उनको राष्ट्रपतिसम्मको यात्रा तय भएको छ ।
हामी र ट्रम्प
ट्रम्पको प्रहसनले अमेरिकालाई दीर्घकालका लागि पारेको असर त भोलीका दिनमा थप सतहमा आउँदै जाला । यो आलेखको मूल ध्येय ट्रम्पका रंगभेदी हर्कतले अमेरिकी समाजमा सिर्जना गरेको विभाजन र त्यसले हामी आप्रवासीको जीवनमा पार्ने प्रभाव माथिको चर्चा गर्नेछ । उनले लिएका गोरो छाला भएका बाहेक अरु जाति र मूलका मानिस लक्षित नीति नियमले हामी सबै नराम्रोसँग प्रभावित भएका छौँ । हामीमध्ये कतिपयलाई भ्रम छ- ‘ट्रम्पले अमेरिकी नागरिक भइ सकेका व्यक्तिलाई त समान व्यवहार गर्छन् । आप्रवासीप्रति जुन रुखो व्यवहार छ, त्यो त केवल नयाँ आउनेहरुका लागि मात्र हो ।’ यो बुझाइ सरासर एउटा भ्रम मात्र हो ।
सबैभन्दा पहिले चर्चा गरौँ ट्रम्प हावी भइ सकेपछिको रिपब्लिकन पार्टीको । सन् २०१९ को सुरुवातमै टेक्सास स्थित टेरान्ट काउन्टीको रिपब्लिकन पार्टी उपाध्यक्षमा शहिद साफी चयन भए । उनको चयन काउन्टीका चल्तापुर्ता रिपब्लिकन नेतालाई खपिसाध्ये भएन । ‘मुस्लिम पनि हाम्रो पार्टीको नेता ? चर्च नजाने मान्छले रिपब्लिकन पार्टी हाँक्ने?’ शाफी माथि यहि शैलीको आक्रमण सुरु भयो । भारतीय आप्रवासी एवं पेशाले ३० बर्ष देखि चिकित्सक रहेका शाफि सन् २००९ मा ‘न्याचुरलाईजेसन’ विधीबाट अमेरिकी नागरिक बनेका थिए । उनलाई विरोध गर्नेहरुले उनको योग्यताको पाटो उधिन्नै मानेका थिएनन् । धर्मकै कारण रिपब्लिकन पार्टीको नेता बन्न निमल्ने तर्क गर्नेहरुलाई बल दिएको थियो ट्रम्प निर्णयले । राष्ट्रपति निर्वाचित भएलगत्तै ट्रम्पले मुस्लिमहरुलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने नीति लिएका थिए । त्यसले उनका धेरै समर्थकमा ‘मुस्लिम जति सबै अपराधी हुन्’ भन्ने पर्न गयो ।
अन्ततः शाफीले पदमा बस्न काउन्टीका सकृय रिपब्लिकन कार्यकर्ताबाट विश्वासको मत लिनै पर्ने निर्णय गरियो । त्यहाँ उनको पक्षमा १३९ र विपक्षमा ३९ मत आयो । यसले पुष्टि गर्यो कि रिपब्लिकन पार्टीभित्र सहिष्णुता सम्पुर्ण रुपले मरि नसके पनि ट्रम्प हावी हुन्जेल असहिष्णुहरुकै बोली हावी भइ रहनेछ । किनभने शाफीको पक्षमा गोप्य रुपले त्यति धेरै मत खस्ने अवस्था हुँदा पनि सार्वजनिक रुपमा भने उनको बचाउ गर्ने भन्दा विरोधी आवाज नै चर्को थियो ।
आप्रवासी, फरक छाला र रंग माथिको आक्रमणमा शाफी त एक बिम्ब मात्र हुन् । ‘ट्रम्पिजम’ अन्तर्गत चल्ने समाजको मूल चरित्र नै यही हो । मिडिया रिपोर्टहरुका अनुसार गोरा बाहेक अरु रंगका आप्रवासीलाई अमेरिका छिर्न नदिन ह्वाइट हाउसबाटै विषेश नीति र कार्ययोजना तइ भइ रहेका छन् । ट्रम्पले आप्रवासीप्रति व्यक्त गर्ने चरम घृणा त्यही नीतिको एउटा अंश हो । ट्रम्पले सुरु देखिनै चर्को विरोध गरेको आप्रवासी नीति हो- पारिवारिक आप्रवासन । ‘चेन माइग्रेसन’ नाम दिएर ट्रम्प यो व्यवस्था उल्टाउन हरसंभव प्रयास गरि रहेका छन् । आफ्ना सासु ससुरालाई यहि नीति अन्तर्गत अमेरिका ल्याएर नागरिकता दिलाएका ट्रम्प आम आप्रवासी अमेरिकीलाई यो सुविधा नहोस् भन्ने चाहन्छन् । हुनतः उनका लागि आफ्ना दाजु भाइ दिदी बहिनीको कुनै महत्व छैन । पैसा र पावर नै उनका लागि सबैथोक हो । त्यही भएर उनकी दिदीले सबैभन्दा निर्दयी पुरुषको रुपमा टिप्पणी गरेको हामीले केही समय अघि सुन्न पायौँ । भतिजीले ट्रम्पले आफ्नो परिवार कसरी भत्काए भनेर किताब नै लेखिन् ।
ट्रम्पले निरन्तर आक्रमण गरेको पारिवारिक आप्रवासन नीतिबाट हामी पहिलो पुस्ताका आप्रवासी नै सबैभन्दा धेरै प्रभावित हुने हौँ । आफ्ना दाजु भाइ दिदी बहिनीलाई बर्षौँको प्रतिक्षापछि भए पनि अमेरिका ल्याएर सँगै बस्ने अवसर हामीलाई यही नीतिले दिएको छ । एक जिम्मेवार अमेरिकी नागरिको पारिवारिक मिलन गराउने यो नीति अमेरिकाको राष्ट्रिय सुरक्षाका दृष्टिले पनि भरपर्दो र सुरक्षित छ । तर, ट्रम्प यहि भत्काउन चाहन्छन् । मुखले कानूनी प्रकृयाबाट आउने आप्रवासीलाई आफुले स्वागत गर्ने बताए पनि व्यवहारमा त्यस्ता कानूनी सुविधा सबै भत्काउन ट्रम्प लालायित छन् । आखिर किन? ट्रम्पलाई थाहा छ हामी जस्ता तेस्रो मुलुकका मान्छेलाई जति आफ्ना दाजु भाइ दिदी बहिनीको महत्व अरुलाई छैन । र, ट्रम्प प्रष्टसँग चाहन्छन् हामीजस्ताको संख्या यो देशमा नबढोस् । उनले मुखै फोरेर गरिब एवं अश्वेत नागरिकको बहुमत भएका देशलाई ‘सिटहोल’ भनेकै छन् । नर्वेजस्ता गोरा प्रधान देशबाट आप्रवासी ल्याउन जोड गर्नु पर्छ पनि भनेकै हुन् ।
नेपाली अमेरिकीको संख्या बढ्दै जाँदा राजनीतिक बहस हाम्रो समाजमा पनि तातिन थालेको छ । केही नेपालीले ट्रम्प जिताउन संगठित प्रयासकै घोषणा गरेका छन् । अहिलेसम्म हाम्रो संख्या कसैलाई जिताउन या हराउन पुग्ने त भइ सकेको छैन । तर, यो अमेरिकी इतिहासकै संगिन मोडमा हामी कहाँ उभिएका थियौँ भनेर भोली आफैँले समिक्षा गर्ने दिन अवश्य आउनेछ । छोरा छोरी नाती नातिनालाई जवाफ दिने दिन अवश्य आउनेछ ।
अमेरिकी सीमामा शरण माग्न आइपुगेका आप्रवासी । अहिले यस्ता शरणार्थी ट्रम्प प्रशासनको तारोमा छन् । तस्वीर: एनबीसी न्यूज
ट्रम्प विजयको कामना गर्दै गर्दा पल्लो कोठमा बस्ने हाम्रै नेपाली दाजुभाइलाई एक पटक सम्झौँ । ट्रम्पले उनलाई टिपिएस खारेज गरेर डिपोर्ट गरेका दिन हामी खुच्चिङ मनाउने कि एकछिन दुःखी अनुहार बनाएर गोहीको आँशु झार्ने ? सीमानामा बाबु आमाबाट छुट्याएर जेलमा कोचिएका तोते बोल्ने उमेरका लालाबालाको चित्कार सुनौँ र आफैँलाई सोधौँ तिनको रोदनमा नभक्कान्निने हाम्रो हृदयमा आखिर अहिले के भरिन पुग्यो? आफ्ना बाबु आमा एवं दाजु भाइ दिदी बहिनीलाई कुनै दिन अमेरिका ल्याएर सँगै बस्ने सपना ट्रम्प उदयसँगै हामीले भुल्यौँ ? हामी यति चाँडै यति बिघ्न नृशंश कसरी बन्न सक्यौँ ?
ल यी केहीले पनि हामीलाई छोएनछ रे । एक पटक आफ्नै छोरा छोरी नाती नातीनालाई सम्झौँ । ट्रम्पले निरन्तर मलजल गरेको स्वेत सर्बोच्चतायुक्त समाजमा तिनले आत्मसम्मानको दिन बिताउन पाउलान् ? ट्रम्पले वकालत गरेको जथाभावी बन्दुकको सान दिन पाइने वातावरणमा तिनले सुरक्षित सास फेर्न सक्लान् ? हरेक दिन उनीहरु स्कुलबाट सुरक्षित घर फर्केलान् नफर्केलान् भनेर हाम्रो हृदय नपोली समय बित्ला ? ट्रम्प राष्ट्रपति भएयता बन्दुकको हिंसाबाट कम्तिमा एक लाख अमेरिकीको ज्यान गइ सकेको छ । छ वटा हृदयविदारक ‘मास सुटिङ ‘बाट कम्तिमा १४३ जना मारिए । तर, ट्रम्प मेसिन गनजस्ता आम बिनासकारी हतियार नियमनको कानून बनाउन समेत कहिल्यै तयार भएनन् ।
हामी यो देशमा सपना देखेर आप्रवासी भएका जरुर हौँ । सहिष्णुता सहितको सम्बृद्धि हाम्रो सपना थियो । तर आज ट्रम्पले दिनहुँ सहिष्णुताको हत्या गर्दा ताली बजाउने अवस्थामा हामी कसरी पुग्यौँ ? जन निर्वाचित सांसदले ट्रम्प नीतिको विरोध गर्दा मन नपरे देश छोडेर जाने धम्की आउँछ । यो देशमा ट्रम्पका हजुरबा जुन सपना देखेर आएका थिए, सबै आप्रवासी त्यसैगरि आएका हुन् । कुनै एक शासकसँग असहमत हुने नागरिकलाई देश छोडेर जाउ भन्ने राष्ट्रप्रमुखको धम्की लोकतन्त्रमा कल्पना पनि गर्न सकिँदैन । हुँदाहुँदा १७ बर्षे गोरा तन्नेरीले रंगभेद विरुद्धको प्रदर्शनमा शान्तिपुर्ण तवरले उत्रिएका नागरिक माझ बन्दुक बोकेर गएर ठ्यांङठ्याङ गोली हानी तीन जनालाई ढालिदिने र राष्ट्रपतिले भोलीपल्ट उनलाई स्यावास भनेको पनि देख्नु पर्यो । हामीले सपना देखेको नेतृत्व र समाज कदापी यस्तो होइन ।
ट्रम्प आफ्नो व्यापारमा १० पटक ‘ब्यांक्रप्ट’ भइसके । देश त्यसरी चल्दैन । हरेक अफ्ठ्यारा र विरोधहरुलाई नेतृत्वले संगेलेर लैजान सक्नु पर्छ । तर, ट्रम्पका लागि नागरिक ती मात्र भए जो उनको भजन गाउन तयार छन् । ‘ट्रम्पिजम’को रंगभेदी आक्रमणको पछिल्लो शिकार भइन्, डेमोक्रेटिक उपराष्ट्रपतिकी उम्मेद्वार कमला ह्यारिस । अमेरिकाकी जन्मसिद्ध नागरिक ह्यारिसलाई ट्रम्प र उनका भित्रियाहरुले उपराष्ट्रपतिका लागि योग्यता नपुगेको भनेर विरोध गरे । त्यसका लागि उनीहरुसँग कुनै प्रमाण थिएन मात्र कमलाको कालो छालाप्रतिको द्वेष थियो । ट्रम्प अहिले ह्यारिस पहिलो महिला राष्ट्रपति बने राष्ट्रिय लज्जा बन्ने बताउन थालेका छन् । आफ्नी छोरी मात्र त्यसका लागि लायक रहेको उनको दलिल छ । हुँदा हुँदा ह्यारिसलाई ‘मोन्सटर(कुरुप)’को संज्ञा दिएर व्यक्तिगत आक्रमण सुरु गरेका छन् ।
भारतीय आमा र जमैकन आप्रवासी पिताकी अमेरिकी छोरी कमलाको कहानी हाम्रै सन्तानसँग मिल्छ । एकछिन उनको स्थानमा आफ्ना सन्तालाई राखेर हेरौँ त । ‘ट्रम्पिजम’ कामय रह्यो भने हाम्रा सन्तानले अमेरिकामा केही गर्छु भन्दा भोली पाइलै पिच्छे राष्ट्रियताको परिक्षा दिनुपर्छ । त्यो पनि मात्र गोरो छाला नभएको कारणले मात्र । त्यसैले हामी आ -आफ्नो आत्मालाई जति झूठ बोलेर ट्रम्प भक्तिमा लागौँ, तर उनका लागि हामी ‘सिटहोल कन्ट्री’ कै नागरिक हौँ ।
सुन्दर जीवनको सपना साँचेर अमेरिका आइपुगेका युवा विक्रम तामाङलाई क्यान्सरको गम्भीर संक्रमणले सताएपछि सहयोगका लागि आर्थिक संकलन सुरु गरिएको छ । तामाङलाई गत जुनमा चौथो स्टेजको ठूलो आन्दा (कोलोन) र कलेजो (लिवर) क्यान्सर पुष्टि भएको थियो ।
इलाममा जन्मिएका तामाङ सात बर्ष अघि अमेरिका आइपुगेका थिए । उनी न्यूह्यामसरको म्यानचेष्टरमा बसोबास गर्दै आएका छन् । परिवारलाई अमेरिका ल्याएर सुखी जीवन बिताउने उनको सपना अधुरो रहन पुगेको छ । उनले परिवारलाई आफुसँगै ल्याउने मेसो मिलाउँदै गर्दा क्यान्सरको सामना गर्नु परेको हो । खाडी क्षेत्रका बिभिन्न मुलुकमा पसिना बगाएपछि उनी अमेरिका आइ पुगेका थिए । तर, अनेक संघर्ष र कष्ट झेल्दै आइपुगेको सपनाको देशमा उनले सोचे जसरी आफ्नो भविश्य तय गर्न सकेनन् र रोग बोकेरै भए पनि परिवार भेट्न नेपाल फर्किने निश्कर्षमा पुगेका छन् ।
सुरुमा उपचारका लागि केमो थेरापी चलाए पनि पछिल्लो समय उनको शरिरले त्यसलाई पचाउन नसकेको डाक्टरहरुको निश्कर्ष छ । केमो चलाउँदा उनी निरन्तर वेहोस हुन थालेपछि चिकित्सकले उपचार विधीनै परिवर्तन गरेका छन् । अब तामाङलाई औषधी मात्र दिने उनीहरुको निर्णय छ ।
कोही कोही बेला सामान्य पेट दुख्ने गरे पनि उनमा ठूलो रोगको लक्षण देखिएको थिएन । गत जुनमा औधी पेट दुखेपछि ‘अर्जेन्ट केयर’ गएर जचाउँदा क्यान्सर पुष्टि भयो त्यो पनि निको हुन कठिन पर्ने चौथो चरणको । तामाङ छाँगाबाट खसेजस्तै भए । तर, नियतिले दिएको चोट सहनुको विकल्प उनमा थिएन । केही दिन त नेपालमा रहेका श्रीमती र छोरोलाई सुनाउन आँट पनि गरेनन् ।
सात बर्ष देखि टाढा रहेको पति एवं पितालाई निको हुनै गाह्रो पर्ने रोग लागेको सुन्दा उनीहरुलाई कति भाउन्न होला भन्ने चिन्ताले तामाङ पिरोलिए । तर, सधैँ लुकाएर कसरी साध्ये लागोस् । अन्ततः क्यान्सरको उपचार सुरु भएको जानकारी दिए । सुरुमा आफु संसारको सबैभन्दा आधुनिक स्वास्थ्य सेवा उपलब्ध देशमा रहेको र छिट्टै निको भएर उनीहरुलाई आफुसँगै अमेरिका बोलाउने आश्वासन दिएर परिवारलाई शान्त पार्ने प्रयास गरे । तर, त्यो आश्वासन पनि अब बदलिइ सकेको छ । उनले सबैलाई भेट्न सक्दो चाँढो आफैँ नेपाल फर्किने र बाँकी जीवन साथमा विताउने जनाउ परिवारलाई दिइ सकेका हुन् । नोभेम्बरमा नेपाल फर्कने तामाङको तयारी छ ।
तामाङको रोगको जटिलता चर्किँदै गएपछि उनलाई परिवार मिलनका लागि स्वदेश फर्किन सहज होस् भनेर न्यूह्यामसर नेपाली समाजका अध्यक्ष सोम गुरुङ, महासचिव माधव गुरुङ, उनका बालसखा एवं गायक रोशन गुरुङ लगायतको अगुवाइमा गोफण्डमी डट कमबाट आर्थिक सहयोग संकलन सुरु गरिएको हो । संकलित रकमबाट उनलाई नेपाल फर्कन मात्र नभइ बाँकी उपचारमा पनि केही राहत हुने अपेक्षा लिएको समाजका अध्यक्ष गुरुङको भनाइ छ ।
न्यूह्याम्पसर राज्यमा स्थापित नेपालीभाषीहरुको छाता संस्था न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको खुला टेनिस प्रतियोगिता २०२० (पुरुष सिंगल्स) को उपाधि सरोज भट्टले जितेका छन् ।
शनिबार सम्पन्नफाइनल खेलमा किरण हुमागाईलाई ६–४, ५–७, ६–४ को सेटमा पराजित गर्दै भट्टले सिङ्गल्सतर्फको उपाधि हासिल गरेका हुन् । यस्तै प्रतियोगिताको डबल्स संस्करणमा मनिश हुमागाई र किरण हुमागाईको जोडी बिजयी भएको छ । उनीहरुले फाइनलमा रविन थापा र दिपकअमात्यको जोडीलाई ६–३, ५–७ र ६–४ को अन्तरमा पारजित गरेका हुन् ।
तीन सातासम्म चलेको प्रतियोगिको सिंगल्स तर्फ १८ जना र डबल्स तर्फ नौ जोडी खेलाडीहरुले भाग लिएका थिए । राज्यको म्याम्चेष्टर स्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगिताका विजयी एवं सहभागी खेलाडीलाई फाइनलपछि आयोजित समारोहमा न्यूह्याम्पसर नेपाली समाजकाअध्यक्ष सोम गुरुङले ट्रफी एवं प्रमाणपत्र वितरण गरे । यसैगरी प्रतियोगिता अवधिभर एम्पायरको भूमिका निर्वाह गर्ने वीर शाह, विनित शाह, गोविन्द गुरुङ र प्रतियोगिता संयोजक दिनेश गुरुङलाई प्रमाणपत्र एवं मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा समाजका अध्यक्ष गुरुङले खेल मार्फत राज्यमा बसोबास गर्ने नेपालीभाषीहरुमा भाइचारा अभिबृद्धि गर्ने समाजको अभियानबारे चर्चा गरेका थिए । ‘हामीले हरेक बर्ष फुटबल, टेनिस लगायतका खेलकुद प्रतियोगिताआयोजना गरिरहेका छौँ, उनले भने ‘यसले न्यूह्याम्पसर मात्र नभइ अन्यछिमेकी राज्यमा बसोबास गर्ने नेपालीभाषीहरुबीच पनि आत्मियता र भाइचारा बढाएको अनुभव गरेका छौँ ।’ टेनिस प्रतियोगितामा बर्षेनीबढ्दो सहभागिताले नेपालीहरुले आफ्नो समुदायमा मात्र नभइ अरु खुलाप्रतिस्पर्धामा पनि छिटै आफ्नो पहिचान स्थापित गर्ने विश्वास आफुले लिएको उनको भनाइ छ ।
प्रतियोगितामा राज्यका विभिन्न ठाउँहरुमा बसोबास गर्ने विभिन्न उमेर समूहका पुरुषहरुको सहभागिता रहेको थियो । ‘सहभागीहरुको संख्या बर्षेनी बढ्दो छ’ विगत केही बर्षदेखि खेलकुद प्रतियोगिताको संयोजन गर्दै आएका समाजका सदस्य दिनेश गुरुङले भने ‘नयाँ पिँढीका भाइबहिनीहरुले पनि टेनिस खेलप्रति उत्साहजन सहभागिता जनाउँदै आएका छन् ।’
यसबर्ष कोरोना भाइरस महामारीबीच प्रतियोगिता आयोजना भएकाले सामाजीक दूरीलगायत सुरक्षाका उपायहरुमा विषेश ध्यान दिइएको थियो ।
विश्वकै सबैभन्दा शक्तिशाली राजनीतिक केन्द्रको रुपमा रहेको अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस कोरोना भाइरसको नयाँ ‘हटस्पट’ बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पति सहित ह्वाइट हाउसमा कार्यरत तथा निकटका दर्जन बढिलाई संक्रमण पुष्टि भइ सकेको हो ।
ह्वाइट हाउसकी सिनियर कर्मचारी होप हिक्सलाई बुधबार भाइरस लागेको पुष्टि भएपछि ट्रम्प दम्पतिमा पनि संक्रमण देखिएको थियो । ह्वाइट हाउसकी कम्युनिकेसन विभागकी डाइरेक्टर केली म्याकेनेनी पाँच जना कर्मचारीलाई पनि भाइरस लागेको पुष्टि भइ सकेको छ । यस्तै ट्रम्प प्रशासनबाट गत महिना राजिनामा दिए पनि एवं अघिल्लो साता राष्ट्रपतिय वहसका लागि ट्रम्पलाई सहयोग गर्न ह्वाइट हाउस छिरेकी केल्यानी कोन्वेलाई पनि शुक्रबार भाइरस लागेको पुष्टि भयो ।
बहस तयारीकै लागि ह्वाइट हाउस गएका न्यूजर्सीका पूर्व गभर्नर कृष क्रिष्टी पनि भाइरस पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् । ह्वाइट हाउससँग चर्कै आउजाउ भएका रिपब्लिकन सिनेटरहरु माइक लि, थोम टिलिस एवं रोन जोनसनलाई पनि भाइरस लागेको छ । ट्रम्पका सहयोगी निकोलस लुमा, उनको क्याम्पेन म्यानेजर विल स्टेफेन, रिपब्लिकन नेशनल कमिटी चेयर उमन रोन्ना म्याकडेनियल पनि भाइरस संक्रमणमा परेर आइसोलेसनमा छन् । मंगलबार ट्रम्पका अर्का सहयोगी स्टिफिन मिलरलाई भाइरस लागेको पुष्टि भएको हो । ह्वाइट हाउसका तीन रिपोर्टर लगायत केही कर्मचारी पनि संक्रमित छन् ।
विश्वका अरु कुनै पनि राजनीतिक केन्द्र एवं सरकार यतिबिघ्न संक्रमणमा परेका छैनन् । ह्वाइट हाउस मात्र होइन अमेरिका संक्रमण र मृतकको संख्यामा पछिल्लो पाँच महिना यता विश्वकै एक नम्बरमा छ । मंगलबारसम्ममा दुई लाख १० हजार बढिले अमेरिकामा ज्यान गुमाइ सकेका छन् भने संक्रमितको संख्या ७५ लाख पुग्न लागेको छ ।
यति हुँदा पनि ट्रम्प प्रशासन भाइसरप्रति गम्भिर कहिल्यै बनेन । डेमोक्रेटिक राष्ट्रपतिय प्रत्याशी जो बाइडेनले संक्रमणबाट बच्न मास्क लगाउँदा ट्रम्पले गिज्याउँदै आएका थिए । उनी बिना मास्क र सामाजीक दुरी हजारौँ कार्यकर्ता भेला गरेर चुनावी सभा समेत गर्दै थिए । चुनावी क्याम्पेनमा मात्र होइन सरकारी काम कारबाहीमा पनि ट्रम्प प्रशासनका अधिकारीले सतर्कता अपनाउन हेलचेक्राइँ आएका थिए । अघिल्लो शनिबार ह्वाइट हाउसमा सर्बोच्च अदालतका लागि नयाँ न्यायाधिश मनोनयनको कार्यक्रम राखिएको थियो । त्यहाँ बोलाइएका २०० हाराहारी पाहुन बिना मास्क र सामाजीक दुरी आपसमा टाँस्सिएर बसेका थिए । अहिले भाइरस लागेका अधिकांश अधिकारी त्यहाँ उपस्थित थिए ।
त्यहीँबाट भाइरस विस्तार भएको अनुमान गरिएको छ । तर, त्यहाँ आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’का लागि सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)ले गरेको अनुरोध ह्वाइट हाउसले अस्वीकार गरेको छ । चार दिन अस्पताल बसेर फर्किएका ट्रम्पले ह्वाइट हाउस छिरेसँगै भाइरसबारे अफबाह फैलाउने नयाँ चरण सुरु गरि सकेका छन् । अस्पतालमै रहँदा पनि उनले आफ्ना सुरक्षाकर्मीको स्वास्थ्यलाई ख्याल नगरि सडकमा भेला भएका आफ्ना समर्थकलाई हात हल्लाउन गाडीमा यात्रा गरेका थिए । ह्वाइट हाउस फर्केपछि बार्दलीमा पुगेर हतार हतार मास्क खोलेका थिए । आफु नजिकै रहेका दुई फोटोग्राफरलाई हुने सक्ने संभावित संक्रमणको जोखिम प्रति कुनै मतलव गरेका थिएनन् ।
लाखौँ अमेरिकी ज्यान गुमाइ सकेपनि भाइरसले केही नगर्ने हुँदा नडराउन आह्वान गर्दै उनले भिडियो म्यासेज जारी गरेका छन् भने धारा प्रवाह ट्विट गर्न थाली सकेका छन् । बर्षेनी हिउँदे फ्लूले एक लाख हाराहारीको मृत्यु भइ रहेको अवस्थामा कोरोना भाइरसबाट नडराउनु पर्ने उनको दावी छ । तर, पछिल्लो ५० बर्ष यता फ्लूबाट कहिल्यै एक बर्षमा लाख बढिको मृत्यु नभएको जनस्वास्थ्य विज्ञहरुको भनाइ छ । ट्रम्प राष्ट्रपति निर्वाचित भइ पछिको चार बर्षमा फ्लूबाट मारिएका भन्दा कोरोना भाइरसबाट सात महिनामा धेरैले ज्यान गुमाएको उनीहरुले बताएका छन् । तर, यो तथ्य लुकाएर कोरोना भाइरसलाई कमजोर पुष्टि गर्ने ट्रम्प ध्याउन्न छुटेको छैन् ।
चुनाव आउन चार साता मात्र बाँकी रहेको अवस्थामा ट्रम्प प्रतिश्पर्धी बाइडेन भन्दा ठूलो अन्तरले पछि देखिएका छन् । भाइरसलाई कमजोर सावित गरेर आफू तर्फ मतदाता तान्ने उनको ध्याउन्न सफल हुने संभावना झन् झन् कमजोर बन्दै गएको छ ।
अमेरिकामा कोरोना भाइरस संक्रमण चर्किएको सात महिना पछि अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतिलाई यो भाइरसले समातेको छ । बिहीबार राती ट्रम्पले ट्विट गर्दै आफु र श्रीमती मलेनियालाई भाइरस ‘पोजेटिभ’ देखिएर क्वारेन्टाइनमा बसेको जानकारी दिएका हुन् ।
भाइरसबारे सुरु देखिनै ट्रम्पले कमजोर व्याख्या गर्दै आएका थिए । अमेरिकामा भाइरसले कुनै असर नपुर्याउने एवं कोही पनि संक्रमित भित्रिन नदिएको जस्ता दावी उनले झन्डै तीन महिना दोहोर्याए । अमेरिकामा भाइरसको पहिलो संक्रमण जनवरी २० मा देखिएको थियो । त्यसको दुई महिनासम्म ट्रम्पले भाइरसको सम्भाव्य जोखिमसँग जुध्न त टेष्टिङ प्रणाली मजबुत पारे न त अरु जनस्वास्थ्य सरोकारमा नै ध्यान दिए ।
जनवरी अन्त्यमा चीनबाट अमेरिकामा यात्रा निषेध गरे पनि प्रभावकारी ढंगले कार्यान्वयन गराउन सकेनन् । उनले यात्रा निषेध गरेपवछि समेत हजारौँ व्यक्ति चीनबाट अमेरिकि भित्रिएका थिए । साथै अमेरिकाभन्दा चाँढो संक्रमण फैलिएको युरोपबाट पनि लगातार आवागमन भइ रह्यो । त्यसरि एकै पटक मार्च तेस्रो साता पछि अमेरिकामा संक्रमितको संख्या चुलिन पुग्यो ।
मार्च तेस्रो साता सामाजीक दूरी सम्बन्धि नीति सार्वजनिक गरेका ट्रम्पले सधैँ जसो भाइरस आफैँ हराएर जाने जस्ता दावी गरि रहे । उनले फेब्रुअरी पहिलो साता नै भाइरस स्वासप्रवासबाट सर्न सक्ने जानकारी पाएको गत महिना सार्वजनिक भयो । वासिंटन पोष्टका पत्रकार बब उडवडसँग उनले त्यसो भनेको अडियो गत महिना सार्वजनिक भएको हो । तर, त्यस्तो सूचना पाएपनि ट्रम्पले सार्वजनिक रुपले जनतालाई सचेत गराउने काम भने कहिल्यै गरेनन् । आफुले गजब काम गरेको र भाइरस नियन्त्रणमा रहेको दावी गरि रहे । अमेरिकामा दैनिक एक हजार बढिको मृत्यु हुन थालेपछि आफुले प्रभावकारी कदम चालेको परिमाणस्वरुप मृत्युदर कम रहेको बताए ।
भाइरस संक्रमणको जोखिमबारे जनस्वास्थ्य विज्ञहरुको सुझावलाई कहिल्यै गम्भिर रुपमा लिएनन् । जनस्वास्थ्य विज्ञहरुलाई चुनौती दिँदै मलेरियाको औषधी हाइड्रोक्सिक्लोरिक्लिनले भाइरस उपचार गर्ने दावी गरे । शरिर भित्र ‘ब्लिज’ लगायत सफाइ सामग्री पठाए भाइरस छिटो निको हुने समेत बताए । उनकै प्रशासनका विज्ञहरुले मास्क लगाउनु र सामाजीक दूरी कायम गर्नु नै संक्रमणबाट बच्ने सबैभन्दा बलियो उपाय रहेको बताए पनि उनले टेरेनन् । बिना मास्क र सामाजीक दूरी हजारौँ समर्थक भेला गरेर चुनावी सभाहरु आयोजना गरि रहे । जहाँ पनि मास्क लगाएको भन्दै प्रतिद्वन्दी जो बाइडेनलाई उल्टो उडाए ।
एक पछि अर्को वेवस्ताको नजिता स्वरुप अमेरिका भाइरस संक्रमण र मृतकको संख्यामा एक नम्बर मात्र बनेन अन्ततः राष्ट्रपति ट्रम्प आफैं संक्रमित बन्न पुगे । भाइरसलाई ट्रम्पजस्तै गम्भिरता पूर्वक नलिने ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोलाई पनि यसअघि संक्रमण देखिएको थियो । उनलाई रोगले धेरै नच्यापी निको भएका छन् । भाइसरबाट बच्न ट्रम्पकै सुझावलाई स्वीकारेर हाइड्रोक्सिक्लोरिक्लिन खाइ रहँदा उनलाई संक्रमण देखिएको थियो । ट्रम्पले पनि गत महिना भाइरसबाट बच्न हाइड्रोक्सिक्लोरिक्लिन खाने गरेको दावी गरेका थिए । तर, त्यसले उनलाई संक्रमणबाट बचाएन । अहिले पनि उनी हाइड्रोक्सिक्लोरिक्लिन खाँदै छन् कि छैनन् भन्ने बारे केही बताउन ह्वाइट हाउसले मानेको छैन ।
ह्वाइट हाउस भित्रै संक्रमण छिरि सकेको पुष्टि हुँदा पनि ट्रम्प प्रशासनले भाइरसप्रति गैर जिम्मेवारीपन देखाउन छोडेको थिएन । बुधबार बेलुका नै ट्रम्प निकट ह्वाइट हाउस कर्मचारी होप हिक्सलाई भाइरस लागेको पुष्टिभएपछि आफु जँचाउनुको सट्टा ट्रम्प बिहीबार चुनावी चन्दा संकलनका लागि न्यूजर्सी उडेका थिए । त्यहाँ उनले १०० जना हाराहारी समर्थक एवं चन्दादातालाई बिना मास्क सम्बोधन गरे । हिक्सलाई भाइरस लागेको जानकारी ह्वाइट हाउसले विहीबार दिनभर लुकायो । एकैपटक साँझ ब्लुमबर्गले समाचार ब्रेक गरेपछि मात्र ह्वाइट हाउसले स्वीकारेको थियो । त्यसपछि बल्ल ट्रम्पले हिक्सलाई भाइरस लागेको एवं आफु र मलेनिया पनि नतिजा पर्खि रहेको बताए । अघिल्लो शुक्रबार ट्रम्पलाई भेटेकी रिपब्लिकन नेशनल कमिटी चेयर उमन रोन्ना म्याकडेनियललाई पनि बुधबारै भाइरस संक्रमण देखिए पनि आज बिहानसम्म सूचना लुकाइएको थियो ।
मंगलबार सम्पन्न राष्ट्रपतिय बहसमा सहभागी ट्रम्प परिवारका कसैले पनि मास्क लगाएका थिएनन् । डेमोक्रेटिक प्रत्याशी जो बाइडेन पत्नी जील बाइडेन लगायत डेमोक्रेटिक प्रतिनिधीहरु हलमा मास्क लगाएर बसेका थिए । बहसमा समेत नियमित मास्क लगाएको प्रति ट्रम्पले बाइडेनलाई गिज्याएका थिए । ट्रम्पलाई भाइरस देखिएको खवरपछि शुक्रबार बिहान बाइडेनलाई जाँच गर्दा नतिजा ‘नेगेटेभि’ आएको उनको क्याम्पेनले जनाएको छ ।
ह्वाइट हाउसले ट्रम्पलाई ‘माइलड सिमटम’ देखिएको जनाएको छ । नियमित ट्विटर चलाउने ट्रम्पले मध्यराती आफुलाई भाइरस लागेको जानकारी पछि कुनै ट्विट गरेका छैनन् । ७४ बर्ष पुगि सकेका र धेरै तौल भएका ट्रम्प भाइरस संक्रमण र प्रभावका दृष्टिले जोखिमपुर्ण बर्गमा पर्छन् । ट्रम्पलाई भाइरस देखिएपछि जाँच गर्दा उपराष्ट्रपति माइक पेन्स दम्पतिमा भने ‘नेगेटिभ’ नतिजा आएको जनाइएको छ ।
आफुलाई ‘सेल्फमेड बिलेनियर (स्वनिर्मित अर्बपति)’ दावी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएको बर्ष ७५० डलर मात्र आयकर तिरेको खुलासा न्यूयोर्क टाइम्सले गरेको छ । टाइम्सले आइतबार साँझ प्रकाशित गरेको सनसनीखेज रिपोर्ट अनुसार पछिल्ला १५ बर्षमा १० बर्ष उनले कुनै कर तिरेका छैनन् ।
ट्रम्पले लामो समय देखि आफ्नो आयकर विवरण (ट्याक्स रिटर्न्स) सार्वजनिक गर्न अटेर गर्दै आएका छन् । अमेरिकी राष्ट्रपतिका उम्मेद्वारले कर विवरण सार्वजनिक गरेर आफ्नो आर्थिक पारदर्शिता देखाउने चलन उनले तोडेका थिए । आफ्नो कर विवरण माथि आयकर विभागको अडिट चलि रहेको र सक्ने वित्तिकै सार्वजनिक गर्ने उनको दावी रहँदै आएको छ ।
तर, टाइम्सको खोजले ट्रम्पको दावी बहाना मात्र भएको सिद्ध गरिदिएको छ । वित्तिय विवरणहरुमा सर्वसाधारणलाई करौडौँ डलर नाफा कमाएको देखाउने ट्रम्पले सरकारलाई बुझाउने कागजातमा भने लगातार घाटा देखाएर कर छलि गर्दै आएको टाइम्सले खुलासा गरेको हो । त्यही क्रममा सन् २०१६ र २०१७ मा उनले ७५० अमेरिकी डलरको दरले मात्र कर तिरेको पाइएको हो ।
नाफा देखाएर तिर्नु त होइन चरम घाटा भएको भन्दै उनले आयकर विभागसँग सात करोड २९ लाख अमेरिकी डलर फिर्ता लिन लामो गलफति गरेका थिए । दशक लामो अडिट एवं तानातान पछि घाटा देखाएर उनी त्यो रकम फिर्ता लिन सफल भए । उनले बाहिर प्रचार गरेझैँ नाफाको अवस्था रहेको भए उल्टो १० करोड डलर बढि तिर्नुपर्ने हुने थियो ।
टाइम्सका अनुसार ट्रम्पले अमेरिकी जनता र आयकर विभागबीच देखाउने आफ्नो तस्वीरमा आकाश जमिनको फरक छ । उनी जनतामाझ अत्यन्त सफल, धनाड्य एवं ‘स्मार्ट’ नेताको रुपमा चिनिन चाहन्छन् । तर, आयकर विभाग सामु भने करौडौँ डलर घाटा खाएको एवं ऋण बोकेको ब्यापारीको रुपमा प्रस्तुत हुँदै आएका छन् । कर, छल्नकै लागि उनले छोरी इभान्कालाई आफ्नो कम्पनीमा परामर्शदाताको रुपमा भुक्तानी गरेका छन् भने आफ्नो कपाल बनाउने खर्च मात्र ७५ हजार डलर लागेको देखाएका छन् ।
उनले पैसा आर्जनका लागि कैयन् स्वार्थ बाझिने काम गरेको तथ्य समेत टाइम्सले उजागर गरेको छ । टाइम्सले ट्रम्पको राष्ट्रपतिय कार्यकाल अन्तर्गत अघिल्लो दुई बर्ष सहित दुई दशक बढिको कर विवरण फेला पारेको हो । सन् २०१८ र २०१९ को विवरणमा आधारित समाचार भने पछि प्रकाशित गर्ने टाइम्सले जनाएको छ ।
अमेरिकामा अर्बौँ डलरको ब्यापार गरेपनि ट्रम्पले यहाँभन्दा बाहिरका सरकारलाई धेरै कर तिरेको पाइएको छ । सन् २०१७ मा अमेरिकी सरकारलाई ७५० डलर तिरेका ट्रम्प र उनका कम्पनीले पनामामा १५ हजार ५९८ डलर तिरेका थिए । त्यही बर्ष भारतमा एक लाख ४५ हजार डलर र फिलिपिन्समा एक लाख ५६ हजार डलर कर भुक्तानी उनी एवं उनका कम्पनीले गरेको टाइम्सले उजागर गरेको छ ।
ट्रम्पले सन् २०१४ मै आफु कुनै दिन राष्ट्रपतिका लागि प्रत्याशी भएमा कर विवरण सार्वजनिक गर्ने बताएका थिए । तर, २०१६ को क्याम्पेन अवधिभर उनले अडिटको बहाना बनाएरै टारे । उनले कर छली एवं पूँजी पलायन गरेको आशंका सहित न्यूयोर्क राज्य सरकारले अनुसन्धान समेत थालेको छ । न्यूयोर्क सरकारलाई आफ्नो विवरण दिन अस्वीकार गरेका ट्रम्पलाई अघिल्लो महिना अमेरिकी सर्बोच्च अदालतले अनुसन्धानलाई सघाउन आदेश दिएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव आउन पाँच साता मात्र बाँकी रहेको बेला सुरु भएको ट्रम्पको कर छली यात्रा उत्खननले निर्वाचनलाई थप रोचक बनाइदिएको छ ।
मत सर्भेक्षणहरुश्रमा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनसँग लगातार पछि परेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आश्वासन बाँडेका छन्- बृद्धहरुलाई स्वास्थ्य कुपन दिने ।
विहीबार आफ्नो स्वास्थ्य योजना सार्वजनिक गर्दै ट्रम्पले ६५ बर्ष माथिका तीन करोड ३० लाख बृद्ध बृद्धालाई दुई/दुई सय डलर दरको कुपन दिने घोषणा गरेका हुन् ।
‘यो यसअघि कहिल्यै भएको थिएन, ट्रम्पको भनाइ छ- केही सातामै कुपन वितरण सुरु हुन्छ ।’ आफुले सधैं बृद्धहरुको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेको तर बाइडेनले त्यसो नगर्ने उनको दावी छ ।
सन् २०१६ मा बुढापाकाबाटै धेरै भोट पाएको कारण ट्रम्प राष्ट्रपति निर्वाचित भएका थिए । तर, यसपाली त्यस्तो अवस्था छैन । कोरोना भाइरसप्रति उनको वेवास्ताका कारण धेरै बुढापाका उनीसँग चिढिएका छन् । केही दिन अघि ट्रम्पले एक चुनावी सभामा भाइरसले युवालाई केही असर नगर्ने र ज्यान गुमाउनेमा अधिकांश बृद्ध बृद्धा रहेको टिप्पणी गरेका थिए ।
ती सबै यथार्थमाझ बुढापाकालाई आफुले हेर्ने दावी भने उनले दोहोर्याउने छोडेका छैनन् । अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म दुई लाख बढिले ज्यान गुमाइ सकेका छन् । अधिकांश मत सर्भेक्षणमा ६५ बर्ष माथिका बहुमत बुढापाका यसपाली बाइडेनको पक्षमा देखिएका छन् । २०१६ मा आफुले जितैका सबै उमेर समूहमा थप कमजोर भएपछि ट्रम्प यसपालीको चुनावमा धाँदली हुने दावी समेत निरन्तर दोहोर्याइ रहेका छन् ।
यसरी बुढापाकालाई २०० को दरले स्वास्थ्य कुपन बाँढ्दा छ अर्ब ६० करोड अमेरिकी डलर खर्च हुने देखिएको छ । यो रकम मेडिकेयर कार्यक्रमबाट चलाइने ह्वाइट हाउस अधिकारीहरुको दावी छ ।
राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको उदयसँगै अन्तराष्ट्रिय जगतमा अमेरिकी छवि निरन्तर ओरालो लागेको छ । अन्तर्राष्ट्रिय अनुसन्धान संस्था प्यु रिसर्चको पछिल्लो सर्भेक्षण अनुसार मित्र देशका जनताबीच नै अमेरिकी छवि तिब्र ओरालो लागेको पाइएको हो ।
अमेरिकाका निकट मित्र राष्ट्रहरु जापान र बेलायतका जनतामध्ये ४१ /४१ प्रतिशतले मात्र अहिलेको अमेरिकाप्रति आफ्नो सकारात्मक धारणा रहेको प्रतिकृया दिएका छन् । सन् २००० यी देशका क्रमशः ७७ र ८३ प्रतिशत जनता अमेरिकाप्रति सकारात्मक धारणा राख्थे । ट्रम्प निर्वाचित भएपछि यी देशमा अमेरिकाप्रतिको धारणा तीब्र नकारात्मक भएको अध्ययनले पुष्टि गरेको छ ।
फ्रान्स र जर्मनीमा अमेरिका प्रति सकारात्मक धारणा राख्ने नागरिक क्रमशः ३१ र २६ प्रतिशत मात्र छ । दुई दशक अघि यो संख्या ६२ र ७८ प्रतिशत थियो । छिमेकी क्यानडा र टाढाको अष्ट्रेलियामा अमेरिकालाई हेर्ने दृष्टिकोण क्रमशः ३५ र ३३ प्रतिशत नागरिकको मात्र राम्रो छ । सन् २००० मा अमेरिकाप्रति यी देशका क्रमशः ७२ र ५९ प्रतिशत नागरिकले सकारात्मक धारणा राख्थे । दक्षिण कोरिया जनतामध्ये अझैपनि ५९ प्रतिशतले अमेरिकाप्रति सकारात्मक धारणा रहेको बताएका छन् । तर, राष्ट्रपति ट्रम्पप्रति भरोसा रहेको बताउने भने १७ प्रतिशत मात्र छन् ।
सर्भे गरिएका १३ देशमा अमेरिकाप्रतिको धारणा र ट्रम्पप्रतिको भरोसा, स्रोत प्यु रिसर्च
कोरिया बाहेक छवटै देशमा अमेरिकाप्रति त्यहाँका नागरिकले हेर्ने दृष्टिकोण यति बिघ्न नकारात्मक यसअघि कहिल्यै नभएको प्यु रिसर्चले जनाएको छ । सन् २००० सेप्टेम्बर ११ को आतंककारी हमलापछि इराक र अफगानिस्थानमा सुरु गरेको युद्धसँगै मित्र राष्ट्रका जनतामा अमेरिकाप्रतिको नकारात्मक धारण केही हदसम्म बढेको थियो । तर, बाराक ओबामा राष्ट्रपति निर्वाचित भएर युद्ध विरोधी नीति अवलम्बन गरेसँगै अमेरिकाले गुमाएको विश्वास फर्कन थाल्यो । तर, ट्रम्प उदयले त्यसलाई फेरि रसातलमा पुर्याइ दिएको छ ।
ट्रम्पले अमेरिकाका पुराना मित्रराष्ट्रहरुलाई निरन्तर चिढ्याउने गतिविधी गर्दै आएका छन् । मित्रराष्ट्रहरु भन्दा लामो समय प्रतिश्पर्धीको रुपमा रहेको रसिया लगायतसँग उनको बढि लगाव देखिएपछि उनी सहित अमेरिकाप्रति नकारात्मक धारण बढेको हो ।
कोरोना भाइरस नियन्त्रणबारे मित्र देशका जनताको धारणा, स्रोत प्यु रिसर्च
मित्र राष्ट्रका जनताले अमेरिकाले कोरोना भाइरस नियन्त्रणमा चालेको कदमप्रति सबैभन्दा धेरै अविश्वास देखाएका छन् । १३ देशमा गरिएको अनुसन्धान अनुसार औषत १५ प्रतिशतले मात्र अमेरिकी कदमको समर्थन गरेका छन् । सबैभन्दा कम दक्षिण कोरियाका जनतामध्ये छ प्रतिशत मात्र अमेरिकी कदमको समर्थन गरेका छन् । अमेरिकासँग एकै समय कोरोना भाइरस देखिएको कोरियाले संक्रमण नियन्त्रणमा ठूलो सफलता प्राप्त गरेको छ । आफ्नो सरकारको कदमप्रति भने त्यहाँका ८६ प्रतिशत जनताले समर्थन गरेका छन् । विश्व स्वास्थ्य संगठन, युरोपेली युनियन र चीनको कदमप्रति पनि कोरियाली जनतामध्ये क्रमशः १९,१९ र २० प्रतिशतले मात्र समर्थन गरेका छन् ।
सर्भेक्षण गरिएका १३ मुलुकका जनतामध्ये कोरोना भाइरस नियन्त्रणमा अमेरिकी कदमको समर्थन सबैभन्दा धेरै स्पेनिशहरुले गरेका छन् । स्पेनका २० प्रतिशत जनताले अमेरिकी कदमको सह्राना गरेका हुन् । इटालीका १८ प्रतिशत एवं क्यानडा र बेलायतका १६ /१६ प्रतिशतले जनताले मात्र कोरोना भाइरसप्रति अमेरिकी कदमलाई पास नम्बर दिएका छन् ।
अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश रुथ बाडर गिन्सबर्गको ८७ बर्षको उमेरमा निधन भएको छ । महिला अधिकार र समानताको पक्षमा उनले युगान्तकारी फैसलाको अगुवाइ गरेकी छिन् ।
उनलाई सन् १९९३ मा राष्ट्रपति विल क्लिन्टनले सर्बोच्चको न्यायाधिशमा मनोनित गरेका थिए । अमेरिकी सर्बोच्च अदालतमा उमेर एवं समयावधिको सीमा नहुने भएको कारण पदमै रहँदा उनको मृत्यु हुन पुग्यो । गिन्सबर्गलाई दुई बर्ष अघि आन्द्राको क्यान्सर देखिएको थियो । त्यसको सफल उपचार गरि क्यान्सर मुक्त भएको घोषणा गरेको डेढ बर्षमा फेरि उनलाई प्यांक्रियाजको देखियो । त्यसकै कारण परिवारका सदस्य माझ उनको मृत्यु भएको हो ।
अमेरिकामा सर्बोच्च अदालतलाई शक्ति शन्तुलनका दृष्टिले अत्यन्त महत्वपुर्ण मानिन्छ । अहिलेसम्म सर्बोच्चमा पाँच रिपब्लिकन राष्ट्रपतिले मनोनित गरेका कन्जरभेटिभ र चार डेमोक्रेटिक राष्ट्रपतिले मनोनित गरेका लिबरल न्यायाधिश थिए । ह्वाइट हाउस र सिनेट दुबै रिपब्लिकनसँग रहेको कारण अब उनीहरुले गिन्सबर्गको ठाउँमा नयाँ न्यायाधिश नियुक्तीका लागि जोड गर्नेछन् । त्यसो भएमा कन्जरभेटिभ न्यायाधिशको संख्या ६ पुग्नेछ र यो बहुमत भत्काउन डेमोक्र्याटहरुलाई सहज हुनेछैन । त्यसैले चुनावको मुखमा नयाँ नियुक्ति रोक्न डेमोक्र्याटहरुले पनि भरपुर जोड गर्नेछन् । यसले चुनावी नतिजालाई समेत प्रभाव पार्न सक्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियतबश कोरोना भाइरस नियन्त्रणमा वेवास्ता गरेको तथ्य उजागर भएको छ । सुरु देखिनै सार्वजनिक रुपमा भाइरसले खासै असर नपार्ने बताउँदै आएका ट्रम्पले फेब्रुअरी पहिलो सातानै भाइरसको गाम्भिर्य बुझि सकेको तथ्य सार्वजनिक भएको हो ।
उनले फेब्रुअरी ७ मै वासिंटनमा पोष्टका भेटरान पत्रकार बब उडवर्डसँग यो भाइरस छुँदा मात्र नभइ हावाबाट पनि सर्ने र बृद्ध एवं रोगी मात्र होइन युवालाई पनि गम्भीर असर पार्ने बताएको अडियो बुधबार सार्वजनिक भएको छ । पत्रकार उडवर्डले आफ्नो किताब रेजका लागि अन्तर्वार्ता लिँदा ट्रम्पले त्यसो भनेका थिए । ‘यो भाइरस सोचेजति सहज छैन, उनले अडियोमा भनेका छन्- यो सामान्य फ्लूभन्दा पाँच गुणा घातक छ । यो छुँदा मात्र होइन हावाबाट पनि सर्छ र यसले बृद्ध मात्र होइन र युवाहरुलाई पनि गम्भिर असर पुर्याउँछ ।’
उडवर्डसँग त्यसो भने पनि ट्रम्पले फेब्रुअरी महिना भर भाइरस नियन्त्रणका लागि कुनै कदम चालेनन् । हावाबाट भाइरस सर्छ र निरोगी युवालाई पनि असर गर्छ भन्ने जान्दा जान्दै भिड बटुलेर चुनावी सभाहरु गर्दै हिँडे । अलि अलि देखिएको संक्रमण पनि केही दिनमै हराएर जाने दावी उनले निरन्तर गरे । अमेरिकामा भाइरस संक्रमण चर्को बन्ने लक्षण देखिएपछि बल्ल मार्च तेस्रो साता उनले सामाजीक दुरी सम्बन्धि नीति अख्तियार गरे । त्यही शिलशिलामा मार्च १९ मा उडवर्डसँगको अर्को अन्तर्वार्तामा ट्रम्पले आफुले जानाजान भाइरसले असर गर्दैन भन्ने अभिव्यक्ति दिएको बताएका छन् । जनतामा डर पैदा नहोस् भनेर भाइरसले असर नगर्ने अभिब्यक्ति दिएको र यो भनाइ निरन्तर दोहोर्याउने ट्रम्पले उक्त अडियोमा दावी गरेका छन् ।
उडवर्डलाई अन्तर्वार्ता दिएको त्यही समयमा सार्वजनिक रुपले भने ट्रम्पले कहिले गर्मी आएसँगै भाइरस हराउने त कहिले ब्लिज जस्ता सफाइका साधन शरिर भित्र पठाएर उपचार गर्न सकिने दावी गर्दै आएका थिए । आफुले भाइरसको गम्भिरता बुझ्ने वित्तिकै कदम चालेको उनको दावी रहँदै आएको थियो ।
ट्रम्पले एक साता अघि मात्र सामाजीक दूरी कायम सम्बन्धि नीति अख्तियार गरेको भए मृत्यु भएका ३६ हजार बढिको ज्यान जोगिने कोलम्बिया विश्वविद्यालयको अध्ययनले देखाएको थियो । उनले दुई साता अघि मात्र यो कदम चालेको भए ८४ प्रतिशत संक्रमण र त्यति नै मृत्यु कम हुन सक्ने अध्ययनले पुष्टि थियो ।
उनले भाइरसको जोखिम जान्दा जान्दै पनि आवश्यक कदम नचालेको तथ्यलाई अमेरिकी सञ्चारकर्मी एवं जनस्वास्थ्य विज्ञहरुले राष्ट्रिय सुरक्षा माथिकै वेवास्ताको संज्ञा दिएका छन् । पूर्व राष्ट्रपति रिचर्ड निक्सनको वाटरगेट काण्डबारे उडवर्डसँगै रिपोर्टिङ गरेका भेटरान पत्रकार कार्ल बर्नस्टेनले ट्रम्पको अहिलेको अडियो निक्सनको भन्दा खतरनाक रहेको उल्लेख गरेका छन् । डेमोक्रेटिक राष्ट्रपतिय प्रत्याशी जो बाइडेनले ट्रम्पले जानजान भाइरस संक्रमणप्रति वेवास्ता गर्नुलाई आपराधिक कदमको संज्ञा दिएका छन् । भाइरस नियन्त्रणको कदम चाल्दा सेयर बजार घट्न सक्ने र आफ्ना केही धनाड्य साथीले रकम गुमाउने डरले ट्रम्पले वेवास्ता गरेको आरोप समेत उनले लगाए ।
अमेरिकामा कोरोना भाइरस संक्रमण र मृत्यु दुबैमा विश्वको पहिलो स्थानमा छ । यहाँ ६५ लाख हाराहारी संक्रमित भइ सकेका छन् भने एक लाख ९० हजारले ज्यान गुमाइ सकेका छन् । भाइरसले कुनै असर नपाने ट्रम्प दावी पत्याएका कारण आफ्नो परिवारका सदस्यले ज्यान गुमाएको भन्दै कतिपय अमेरिकीले राष्ट्रपतिलाई आरोप समेत लगाएका छन् ।
नेपालीको प्रवर्धनमा अमेरिकामा खुलेको कम्पनी सगुनले दोस्रो पटक मिनी आइपिओ जारी गर्ने अनुमति पाएको छ । प्रतिकित्ता ३० अमेरिकी डलरका दरले कम्तिमा ३० कित्ता शेयरमा लगानी गर्नुपर्ने नियम राखिएको छ ।
अहिले सर्वसाधारण लगानीकर्ताबाट पाँच लाख डलर हाराहारी लगानी जुटाउने लक्ष रहेको कम्पनीका प्रेसिडेन्ड गोविन्द गिरीले अनलाइन पत्रकार सम्मेलन मार्फत जानकारी दिए । आफ्नो कम्पनीमा ठूला लगानीकर्ता आकर्षित भइ रहेको कारण तत्काल यो रकम जुटाएपछि ठूला लगानीकर्ताको रकम भित्र्याउने उनको दावी छ । आइपिओमा लगानी गर्ने म्याद सेप्टेम्बर भरि मात्र रहेको छ ।
सगुनले तीन बर्ष अघि पनि मिनी आइपिओ जारी गरेको थियो । त्यसबेला मध्यपूर्व एवं दक्षिण कोरियामा कामका लागि गएका नेपालीहरुले ठूलो रकम लगानी गरेका थिए । नेपालबाट विदेशमा पैसा लैजान नपाइने कानूनी प्रावधानका कारण नेपालमै रहेका नेपालीले भने यो आइपिओमा लगानी गर्न पाउने छैनन् ।
अहिले कम्पनीको सामाजीक सञ्जाल एप सगुन सञ्चालनमा आइ सकेको छ । अमेरिका र दक्षिण एसियामा आफ्नो एप धेरै प्रयोग हुने कम्पनीको प्रक्षेपण छ । सन् २०२० को अन्त्यसम्ममा ८० लाख प्रयोगकर्ता पुर्याउने कम्पनीले जनाएको छ । भारतमा टिटटक लगायत चिनियाँ एप बन्द भएपछि सगुनका प्रयोगकर्ता बढेको पनि गिरीले दावी गरे । सन् २०२१ भरिमा दुई करोड ८० लाख प्रयोगकर्ता पुर्याउने र ७५ लाख डलर बराबरको आय समेत गर्ने लक्ष राखिएको छ ।
२०२१ भित्र कम्पनीलाई अमेरिकी शेयर बजारमा सूचीकृत गर्ने एवं २०२३ भित्र उच्च कोटीको न्यूयोर्क स्टक एक्सचेञ्ज या नास्डाकमै सूचिकरण गर्ने गिरीले पत्रकार सम्मेलनमा बताए । सन् २०१४ मा सुरु भएको कम्पनी सगुनले सामाजीक सञ्जाललाई सोसियल स्मार्ट कार्डसँग एकाकार गरेर प्रयोगकर्तालाई गुणात्मक लाभ दिने दावी गर्दै आएको छ ।
विश्वका अधिकांश विकसित मुलुकले कोरोना भाइरसलाई नियन्त्रण उन्मुख बनाए पनि अमेरिकामा संक्रमण निरन्तर उकालो लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सुरु देखिनै ‘सामान्य’को संज्ञा दिएको भाइरसले अहिलेसम्म एक लाख ८७ हजार बढिको ज्यान लिइ सकेको छ ।
विश्व जनसंख्याको पाँच प्रतिशत हाराहारी हिस्सा ओगट्ने अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या भने २० प्रतिशत हाराहारी छ । सन् २०२० को अन्त्यसम्ममा अमेरिकामा मृत्यु हुनेको संख्या चार लाख एक हजार पुग्ने नयाँ प्रक्षेपण ह्वाइट हाउसका अधिकारीहरुले गरेका छन् । त्यति हुँदा पनि राष्ट्रपति ट्रम्प आफुले उत्कृष्ठ काम गरेको दावी गर्न छोडेका छैनन् । शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले दशौँ लाखको सम्भावित मृत्युलाई आफुले घटाएको दावी गरे ।
साथै उनले त्यही मञ्चबाट भाइरस संक्रमणबाट जोगिन पुर्ण रुपमा व्यवसाय खोल्न अस्वीकार गरेका मिसिगन, नर्थ क्यारोलिना लगायत राज्यका गभर्रनहरुप्रति रोष प्रकट समेत गरे । ट्रम्पले सुरुमा चीनबाट आएका केही व्यक्तिमा भाइरस देखिएको र यो छिटै हराएर जाने दावी गरेका थिए । मृतक र संक्रमितको संख्या निरन्तर बढेपछि उनले ६० हजारभन्दा धेरैले ज्यान नगुमाउने दावी गरे । मृतकको संख्या दुई लाख पुग्न लाग्दा भने चार लाख हाराहारीसम्मको मृत्यु हुनुलाई आफ्नो ‘गजब कामको परिणाम’ बताउन थालेका हुन् ।
अनुमान गरेजस्तै डिसेम्बर अन्त्यसम्ममा चार लाख बढिको मृत्यु हुन आगामी चार महिना भित्र थप दुई लाख २३ हजारले ज्यान गुमाउने पर्ने हुन्छ । त्यस अनुरुप दैनिक तीन हजार अमेरिकीसम्मको ज्यान जान सक्ने अनुमान गरिएको छ । जनस्वास्थ्य विज्ञहरुले सबैले अनिवार्य मास्क लगाएमा भने मृत्युदर आधामा घट्ने उल्लेख गरेका छन् । साथै मास्क लगाउन अटेर गरि निरन्तर संक्रमण विस्तार भयो भने चार महिनामा छ लाख बढिको ज्यान जान सक्ने उनीहरुको प्रक्षेपण छ ।
राष्ट्रपति ट्रम्पले नै मास्क विरोधी जमातलाई निरन्तर प्रवर्धन गरि रहेका छन् । पछिल्लो समय निरन्तर चुनावी सभा गर्न थालेका ट्रम्पले मास्क लगाएबापत आफ्ना प्रतिश्पर्धी जो बाइडेनलाई उडाउँदै आएका छन् । उनको सभामा आउनेहरु बिना मास्क खचाखच खाँदिएर बसेका हुन्छन् ।
अमेरिकी राष्ट्रपति निर्वाचन आउन ठिक दुई महिना बाँकी रहँदा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनको लोकप्रियता उकालो लागेको छ । अगष्ट अन्तिम साता सम्पन्न रिपब्लिकन राष्ट्रिय सम्मेलनमा ‘कानूनी शासन’को चर्को वकालत गरेपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदाताको भरोसा जित्न सकेका छैनन् ।
दुबै दलको सम्मेलन पश्चात सार्वजनिक भएका अधिकांश मत सर्भेक्षणमा बाइडेनले ट्रम्पसँग प्रष्ट अग्रता लिएका छन् । त्यसमा पनि बुधबार सम्पन्न राष्ट्रिय एवं राज्य स्तरका कैयन् उच्च कोटीका सर्भेक्षणमा बाइडेनले उत्साहजनक अग्रता हासिल गरेका छन् । डेमोक्रेटिक राष्ट्रिय सम्मेलनको पूर्व सन्ध्यामा सिएनएनको मत सर्भेक्षणमा बाइडेन ट्रम्पभन्दा चार प्रतिशत बिन्दुले मात्र अघि थिए । बुधबार सार्वजनिक सिएनएनको सर्भेक्षणमा बाइडेनले आठ प्रतिशत बिन्दुको अग्रता लिएका छन् । यो सर्भेक्षणमा बाइडेनलाई ५१ प्रतिशतले मतदिने बताएका हुन् ।
पछिल्लो समय सार्वजनिक भएका अधिकांश सर्भेक्षणमा बाइडेनलाई ५० प्रतिशत या त्यसको आसपास समर्थन मिलेको छ । जुन, राष्ट्रपतिय निर्वाचन जित्न काफि हुन्छ । बुधबारै सार्वजनिक कुन्निपियाक विश्वविद्यालयको सर्भेक्षणमा बाइडेनले ५२ प्रतिशत मतदाताको समर्थन पाउदैँ ट्रम्पसँग १० प्रतिशत बिन्दुको अग्रता हासिल गरेका छन् । यस्तै इकोनोमिष्ट, लस एन्जलस टाइम्स लगायतको सर्भेक्षणमा पनि बाइडेनलाई समर्थन गर्ने मतदाताको संख्या ५० प्रतिशत माथि छ र ट्रम्पसँग दोहोरो अंकको अग्रता लिएका छन् ।
त्यति मात्र होइन बुधबार सार्वजनिक भएका महत्वपुर्ण ‘स्विङ’ राज्यको सर्भेक्षण पनि बाइडेनले सानदार अग्रता लिएका छन् । सन् २०१६ मा ट्रम्पले जितेका विसकनसन, एरिजोना र नर्थ क्यारोलिनामा बाइडेनले प्रष्ट अग्रता लिएको सर्भेक्षण फक्स न्यूजले सार्वजनिसक गरेको छ । यी राज्य गुमाएमा ट्रम्पको दोस्रो कार्यकाल सपना पुरा हुन कठिन पर्छ । त्यसमा पनि लामो समय ‘रेड स्टेट’को रुपमा रहेको एरिजोनामा बाइडेनले ४९ प्रतिशत मतदाताको समर्थन सहित ट्रम्पसँग नौ प्रतिशत बिन्दुको अग्रता लिएका छन् । विसकनसन र एरिजोनाका ५० प्रतिशत मतदाताले बाइडेनलाई मत दिने उल्लेख गरेका छन् । लामो समय डेमोक्रेटिक राज्यको रुपमा रहेको विसकनसनमा चार बर्ष अघ ट्रम्पले नाटकीय जित निकाल्दै ह्वाइट हाउस यात्रा सहज पारेका थिए । फक्स न्यूजको सर्भेक्षणमा बाइडेन ट्रम्पभन्दा आठ प्रतिशत बिन्दुले अगाडि छन् । फाइभथर्टीएट डट कमले पछिल्लो समयका सबै सर्भेक्षणहरुको औषत आँकडा निकाले अनुसार बाइडेन ५०.३ प्रतिशत समर्थन सहित ट्रम्पभन्दा ७.३ प्रतिशत बिन्दुले अघि छन् । २०१६ का अधिकांश सर्भेक्षणमा डेमोक्रेटिक प्रत्याशी हिलारी क्लिन्टन ट्रम्पभन्दा अघि रहे पनि उनले प्रायः कहिल्यै ५० प्रतिशत समर्थन पुर्याउन सकेकी थिइनन् । अनिर्णित रहेका १५ प्रतिशत हाराहारी मतदाताले अन्तिम समयमा ट्रम्पलाई रोज्दा उनी निर्वाचित हुन पुगेका थिए । यसपाली बाइडेनले लगातार ५० प्रतिशत माथिको समर्थन कायम राखेका छन् ।
दुबै दलको राष्ट्रिय सम्मेलन पछि बाइडेन प्रति सकारात्मक धारणा (फेबरेविलिटी) राख्ने अमेरिकीको अमेरिकीको संख्या बढेको छ भने ट्रम्पको अवस्था उस्तै छ । रियल क्लियर पोलिटिक्सको औषत तथ्यांक अनुसार बाइडेनको फेबरेविलिटी धनात्मक छ भने ट्रम्प ठूलो अन्तरमा ऋणात्मक फेबरेविलिटीको अवस्थामा छन् । बाइडेनलाई मन पराउनेको औषत संख्या ४८ .३ प्रतिशत छ भने मन नपराउने ४६.६ प्रतिशत छन् । ट्रम्प प्रति सकारात्मक धारण राख्नेको औषत संख्या भने ४१.९ प्रतिशत मात्र छ । उनलाई मन नपराउने भने ५५. ६ प्रतिशत छन् । सिएनएनको सर्भेक्षण अनुसार दुबै दलको सम्मेलन पछि बाइडेनको फेवरेविलिटी चार प्रतिशत बिन्दुले बढेर ५२ प्रतिशत पुगेको छ भने ट्रम्पको एक प्रतिशतले बिन्दुले घट्दै ४२ प्रतिशतमा झरेको छ ।
फाइभथर्टीएट प्रक्षेपण अनुसार बाइडेनले राष्ट्रपति चुनाव जित्ने सम्भावना ६९ प्रतिशत छ भने ट्रम्पको ३० प्रतिशत मात्र । यस्तै इकोनोमिष्टले बाइडनेको सम्भावना ९० प्रतिशत हाराहारी देखाएको छ । कोरोना भाइरस संक्रमणलाई चित्तबुझ्दो गरि सम्बोधन गर्न नसकेको भन्दै बहुमत अमेरिकी ट्रम्पसँग असन्तुष्ट छन् । त्यससँगै रंगभेद बिरुद्ध अमेरिकाभर उठेका आन्दोलनलाई न्यायीक दृष्टिले हेर्नुको साटो एकोहोरो हिंसाको रटान लगाएका कारण ट्रम्पप्रतिको अमेरिकी भरोसा थप खस्किन पुगेको छ । सन् २०१६ मा ट्रम्पको पक्षमा उभिएका ६५ बर्ष माथिका मतदाताले यसपाली उनको साथ छोडेको सर्भेक्षणहरुले देखाएका छन् । साथै कामकाजी बर्ग र महिलाहरु पनि बाइडेनको पक्षमा उभिएका छन् ।
मतदाताको समर्थन बढेसँगै बाइडेन अगष्टमा रेकर्ड कायम गर्ने गरि चन्दा उठाउन पनि सफल भएका छन् । उनको क्याम्पेनले ३६४.५ मिलियन डलर चन्दा एक महिनाको अवधिमा उठाएको हो । एक महिना भित्र यति रकम कुनै पनि उम्मेद्वारको क्याम्पेनले अहिलेसम्म उठाउन सकेको थिएन । बाराक ओबामाले सन् २००८ को सेप्टेम्बरमा २०० मिलियन डलर संकलन गरि रेकर्ड बनाएका थिए । काला जातिबाट पहिलो महिला उपराष्ट्रपति उम्मेद्वारको रुपमा सिनेटर कमला ह्यारिसलाई चयन गरेसँगै बाइडेनलाई चन्दाको ओइरो लागेको हो ।