Category: कानुनी कुरा

  • नौ वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिकलाई

    नौ वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिकलाई

    कञ्चनपुर, २६ असोजः कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशिफ कुँवर (भुन्टु)ले नौ वर्षदेखि आफूले पाउँदै आएको तलबभत्ताबापतको रकम वडाका जेष्ठ नागरिक र अपाङ्गा भएका व्यक्तिलाई वितरण गर्दै आएका छन् । पहिलोपटक २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि कुँवरले राज्यबाट प्राप्त हुने तलबभत्ता तथा सेवा सुविधा नलिने घोषणा गरेका थिए । त्यसयता उनले आफूले पाउँदै आएको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आएका छन् ।


    विसं २०७९ को निर्वाचनमा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित हुनुभएका कुँवरले जनप्रतिनिधिका रूपमा प्राप्त हुने सबै सुविधा वितरण गर्दै आएका छन् । वर्षभरिको तलबभत्ता जम्मा गरेर दसैँका बेला वितरण गर्ने उनले आइतबार घटस्थापनाको अवसर पारेर वडाका १५८ जना ज्येष्ठ नागरिक र सात जना अपाङ्गता भएका व्याक्तिलाई जनही रु एक हजार ५०० का दरले वितरण गरे ।


    “हामी बूढापाकाले दसैँको बेला सहयोग प्राप्त गर्दा असाध्यै खुसी छौं, स्थानीय लीला लामिछानेले भने, “अध्यक्षले हरेक वर्ष दसैँमा यसरी नै सहयोग गर्दै आउनुभएको छ ।” स्थानीय तहमा जनप्रतिनिधिले पाउने सेवा सुविधाका बारे विभिन्न बहस भइरहेका बेला कुँवरको यो अभ्यासको स्थानीयले प्रशंसा गरेका छन् । स्थानीय तुलसी बोहराले भने, “ठूलो पदमा पुगे अझै हाम्रो वडाका काम गर्नुहुथ्यो ।”

    ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई वितरण गरिएको रकमले चाडपर्वका बेला आवश्यक सामग्री खरिद गर्न केही सहयोग पुग्ने उनले बताए । वडाअध्यक्ष कुवँरले राज्य सङ्कटमा रहेका बेला जनप्रतिनिधिले सेवा सुविधा लिनु उचित नहुने बताए । “जनप्रतिनिधि जनताका सेवक हुन्, जनप्रतिनिधिले राज्यको सेवा सुविधा लिनुभन्दा पनि जनताका लागि सेवा गर्ने हो”, अध्यक्ष कुवँरले भने । “२०७४ सालमा पहिलोपटक निर्वाचित हुँदादेखि नै मैले एक वर्षको पारिश्रमिक जम्मा गरेर चाडपर्वका बेला वडाका ज्येष्ठ नागरिक र असहायलाई वितरण गर्दै आएको छु ।”

  • वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

    वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

    काठमाडौँ, २३ असोजः काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटपाट गरी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्ने २९ वर्षीय सुनिल सुनार रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सुनारले आफ्नै घर अगाडि उभिरहेकी वृद्ध महिलाको घाँटीमा लगाएको सुनको तिलहरी लुटेर फरार भएका थिए । प्रहरीका अनुसार करिब चार आना तौलको उक्त तिलहरीको मूल्य ७५ हजार रुपैयाँ रहेको छ ।

    घटनापछि खोजतलासमा खटिएको प्रहरी वृत्त बौद्धको टोलीले सुनारलाई लुटिएको तिलहरीसहित फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । पक्राउ परेका सुनारविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट आज सात दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

    व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

    काठमाडौँ, २३ असोजः गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी नियन्त्रण तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग आज छलफल गर्दै उनले चोरी पैठारी नियन्त्रण तथा सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘डिजिटल बोर्डर’ को अवधारणा अघि बढाइने बताए ।


    गृहमन्त्रीले नेपाली उत्पादनको गुणस्तर प्रमाणीकरण तथा अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारलाई सहज बनाउन भारत गुणस्तर र नेपाल गुणस्तरबीच मान्यता तथा प्रमाणीकरणसम्बन्धी सहकार्य अघि बढाउने विषय द्विपक्षीय वार्तामा उठाउने प्रतिबद्धता गरे । उनले लगानीमैत्री वातावरण तयार गर्न व्यवसायीले राजनीतिनै गर्नुपर्ने बाध्यता अबको सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । “लगानीमैत्री वातावरण तयार गर्न सरकारले सबै क्षेत्रमा सुधारको प्रभावकारी पहलकदमी गर्छ, तर स्वच्छ र प्रतिष्पर्धी बजार अनुशासनविरुद्ध हुने व्यवसायीका सबै गतिविधिलाई कानूनी दायरामा ल्याइनेछ”, गृहमन्त्रीले भने ।


    छलफलमा उद्योगी, व्यवसायीले व्यवसाय सञ्चालनका क्रममा भोग्नु परेका समस्या, चुनौती तथा तिनको समाधानका लागि क्षेत्रीय सहकार्य र बिम्स्टेक मञ्चमार्फत अघि बढाउन सकिने पहलबारे सुझाव प्रस्तुत गरेका थिए ।

  • सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

    सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

    काठमाडौँ, २३ असोजः सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट हटाएको छ । एआइजी दाहालले अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत सङ्गठनको मान, प्रतिष्ठा र छविमा आँच पुर्‍याएको कसुरमा आजदेखि लागू हुनेगरी सशस्त्र प्रहरी सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको गृह मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा एआइजी दाहालले आचरणसम्बन्धी प्रावधान बारम्बार उल्लङ्घन गरेको उल्लेख छ । गृह मन्त्रालयले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको भन्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहाललाई यही असोज १९ गते निलम्बन गरेको थियो ।

    दाहालले पदीय आचरणविपरीतको कार्य गरेको भनी सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीको सिफारिस प्राप्त भएपछि उनलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको थियो । मन्त्रालयले सोही दिन दाहाललाई निलम्बन गरी छानबिन गर्ने निर्णय गरेको थियो । उनी पूर्व न्यायाधीश चोलेन्द्र शमशेर राणासँग जोडिएपछि सरकारले केरकार थालेको हो ।

  • नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

    नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर

    काठमाडौँ, २३ असोजः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख सुमनप्रसाद तिवारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्ति लिएको र बढुवा भएको आरोपमा विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार स्वास्थ्य निर्देशनालय, धनकुटामा खोप अधिकृतका रूपमा कार्यरत तथा हाल जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख रहेका तिवारीले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो ।

    अनुसन्धानका क्रममा तिवारीले खोप सुपरभाइजर, राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति लिन बिहार मध्यवर्ती शिक्षा परिषद्, पटनाबाट जारी भएको भनिएको ‘आइए’ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पाइएको आयोगले जनाएको छ । उक्त प्रमाणपत्रकै आधारमा तिवारीले माथिल्लो तहका विभिन्न पद तथा श्रेणीमा बढुवा हुनसमेत पटकपटक सोही प्रमाणपत्र पेस गरेको र त्यसबाट राष्ट्रसेवक कर्मचारीका रूपमा पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको देखिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।


    तिवारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कारबाही गर्न माग गरिएको छ । आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबीसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

  • काठमाडौंमा लुटपाट धन्दाको गिरोह आयन माझी समूहका तीन पक्राउ

    काठमाडौंमा लुटपाट धन्दाको गिरोह आयन माझी समूहका तीन पक्राउ

    काठमाडौँ, २२ असोजः काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी, सुनका गरगहना लुटपाट तथा डाँकाचोरीमा संलग्न रहेको आरोपमा प्रहरीले आयन माझी समूहका तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिसहित लुटपाटका घटनाबारे जानकारी दिएको हो । समूहका नाइके सिन्धुलीको मरिण गाउँपालिका–५ का २६ वर्षीय आयन माझी रहेका प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यमा मकवानपुरको बकैया गाउँपालिकाका ३४ वर्षीय राकेश थिङ र ३६ वर्षीय मनोजकुमार मोक्तान रहेका छन् ।

    परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार उक्त समूहले विभिन्न मिति र समयमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा योजनाबद्ध रूपमा मोटरसाइकल चोरी गर्ने, हातहतियार देखाएर सुनका सिक्री तथा गरगहना लुट्ने र डाँकाचोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । हालसम्म उक्त समूहले १५ वटा मोटरसाइकल चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।

    प्रहरीले असोज २१ गते काठमाडौँ महानगरपालिका(३२ जडीबुटी पुलमुनिको सडकखण्डबाट मोटरसाइकलसहित आयन माझीलाई नियन्त्रणमा लिएको थियो । पक्राउ गर्ने क्रममा उनले प्रहरी टोलीमाथि धारिलो हतियार प्रहार गर्ने प्रयास गरी भाग्न खोजेपछि चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर र घुँडामुनि एक राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए ।


    माझीलाई पक्राउ गरेपछि निजको समूहका अन्य सदस्यको खोजी गर्ने क्रममा भक्तपुरको ठिमी नगरपालिका(४ बाट राकेश थिङ र मनोजकुमार मोक्तानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा मनोजले मोटरसाइकल चलाउने र राकेश पछाडि बसेर पैदल यात्रुको सुनको सिक्री लुट्ने गरेको तथा उनीहरूलाई आयन माझीले निर्देशन दिने गरेको खुलेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उक्त समूहले २०८२ भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा उपत्यकाका विभिन्न स्थानमा रहेका विभिन्न बैंकका एटिएम बुथ पनि लुटपाट गरेको अनुसन्धानबाट खुलेको छ । त्यसैगरी, यही असोज १४ गते राति तरकारी किन्न जाँदै गरेका महेन्द्रकुमार बललाई बौद्ध गेट नम्बर २ नजिकै अपरिचित चार–पाँच जनाको समूहले नियन्त्रणमा लिई नगद रु दुई लाख तथा विभिन्न कागजात लुटेर फरार भएको घटनामा सो समूहको संलग्नता रहेको पाइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए ।


    यही असोज १३ गते काठमाडौँ महानगरपालिका १५ डल्लु चौतारास्थित सडकखण्डमा रमेश खड्कीले चलाएको बागमती प्रदेश ०१-०२९ च ९०६० नम्बरको बिवाइडी कारमा रहेका बेला तीन जना अपरिचित पुरुष २२० सिसी पल्सर मोटरसाइकलमा आई खड्कीको घाँटीमा रहेको करिब साढे तीन तोलाको सुनको सिक्री लुटेर डल्लु झोलुङ्गे पुलतर्फ फरार भएको घटनामा पनि समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ । उक्त सिक्रीको अनुमानित मूल्य रु १० लाख ५० हजार रहेको छ ।

    प्रहरीले पक्राउ परेकाहरूबाट लुटपाटमा प्रयोग गरिएका दुई थान मोटरसाइकल, नम्बर प्लेट बनाउन प्रयोग गरिएका पाँच थान प्लेट, एक थान खुकुरी तथा घटनाका बेला प्रयोग गरिएका कपडालगायतका सामग्री बरामद गरेको छ । प्रहरीका अनुसार समूहले बिहान अँध्यारो समयमा सर्वसाधारणसँग ठेगाना सोध्ने बहाना बनाई सुनको सिक्री लुट्ने र मोटरसाइकलमा फरार हुने गरेको थियो । फरार हुने क्रममा उनीहरूले तीन वटाभन्दा बढी सवारीसाधन परिवर्तन गर्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।

    त्यसैगरी, इन्ड्राइभ तथा पठाओको बहाना बनाई राति वा बिहान अँध्यारो समयमा एक्लै मर्निङवाकमा हिँड्ने तथा तरकारी किन्न जाने महिला र पुरुषलाई सुनसान स्थानमा पुर्‍याएर लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ । आवश्यक परेको अवस्थामा प्रयोग गर्न विभिन्न किसिमका हातहतियार बोकेर हिँड्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

  • चार एन्फा पदाधिकारीविरुद्ध मुद्दा चलाउन सिफारिस

    चार एन्फा पदाधिकारीविरुद्ध मुद्दा चलाउन सिफारिस

    काठमाडौँ, २२ असोजः अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता र खेल मिलेमतोसम्बन्धी अनुसन्धान टुङ्ग्याउँदै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । अनुसन्धानबाट रु ६६ लाख ५३ हजार बराबरको अनियमितता भएको निष्कर्षसहित सिआइबीले बुधबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

    प्रतिवेदनमा एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरिएको सिआइबीका प्रवक्ता अनुपमशमशेर जबराले जानकारी दिए । “अनुसन्धानका क्रममा प्राप्त प्रमाण र कागजातको अध्ययनबाट रु ६६ लाख ५३ हजार अनियमितता भएको देखिएको छ । त्यसका आधारमा उनीहरुलाई प्रतिवादी कायम गरी मुद्दा चलाउन सिफारिस गरिएको हो,” प्रवक्ता जबराले रासससँग भने ।

    एन्फाको आर्थिक कारोबार, निर्णय प्रक्रिया र विभिन्न प्रतियोगितासँग जोडिएका गतिविधिमाथि केन्द्रित रहेर सिआइबीले अनुसन्धान गरेको थियो । “अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाइसकेका छौँ । अब प्रतिवेदनमा उल्लेख भएका तथ्य, प्रमाण र कानुनी व्यवस्थाका आधारमा आवश्यक निर्णय हुनेछ,” प्रवक्ता जबराले भने ।

  • बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

    काठमाडौँ, २० असोजः प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा बाँकेका दीपेन्द्र शाही रहेका छन् । उनलाई काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा शाहीलाई पक्राउ गरिएको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए । प्रहरीका अनुसार शाहीविरुद्ध रु एक करोड ५० लाख बिगो रकम कायम गरिएको बैंकिङ कसुर मुद्दा रहेको छ । पक्राउ परेका शाहीलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

  • सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

    काठमाडौँ, १९ असोजः गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको कसुरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरेको छ ।
    निजले गरेका पदीय आचरण विपरीतका कार्यको जाँचबुझ गरी तीन दिनभित्र गृहसचिवसमक्ष प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको गृह मन्त्रालयले जनाएको छ । साथै गृह मन्त्रालयले संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ । सञ्चारमाध्यमहरुका अनुसार पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ प्रकरणसँग जोडिएका हुन् ।

  • भोटेकोशी बाढीः एक हजार ४५४ शव फेला

    भोटेकोशी बाढीः एक हजार ४५४ शव फेला

    १४ असोज, काठमाडौं । भोटेकोशी बाढीमा बेपत्तामध्ये मङ्गलबारसम्म एक हजार ४५४ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तत्थ्याङ्कअनुसार रसुवामा २३६, नुवाकोटमा २४, धादिङमा ७२, चितवनमा ३६९, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासीमा २२२ जनाको शव फेला परेको हो ।

    केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार ३३४ शव व्यवस्थापन गरिएको छ ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म सात हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका चार हजार ७१८ जनाको खोजी कार्य भइरहेको छ ।

  • प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम

    प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम

    काठमाडौँ, १३ असोजः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभइ राष्ट्रियस्तरको विश्वविद्यालय भएको बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै उनले सो विश्वविद्यालयले सैन्य प्रकृतिको तालिम नदिने स्पष्ट पारिन् ।

    बदलिँदो विश्वमा राष्ट्रिय सुरक्षालाई युद्ध वा सैन्य सुरक्षा मात्रै भनेर बुझ्न नहुने भन्दै मन्त्री गौतमले अन्तरराष्ट्रिय सम्बन्ध, कूटनीति, आर्थिक तथा सुरक्षा कूटनीति, राष्ट्रिय सुरक्षा र रणनीतिक अध्ययन एवं साइबर सुरक्षालगायत विषय राष्ट्रिय सुरक्षामा समावेश हुने बताइन् । यी विषय पढाउन विशिष्टीकृत संस्थाको आवश्यकता थियो । त्यसैले यस विधेयकमा सैनिक तथा गैरसैनिक कर्मचारीका लागि उच्चस्तरीय प्राज्ञिक अध्ययन, अध्यापन र अनुसन्धान सञ्चालन गर्ने परिकल्पना गरिएको छ”, उनले भनिन्, “मित्र राष्ट्रका सैनिक र गैरसैनिक अधिकारीसमेत यहाँ आएर अध्ययन गर्न सक्नेगरी यो विधेयकमा परिकल्पना गरिएको छ ।”

    विधेयकले विश्वविद्यालय सभा, कार्यकारी परिषद्, प्राज्ञिक परिषद् तथा ‘बोर्ड अफ ट्रस्टी’ जस्ता अलग–अलग संस्थागत संरचनाको परिकल्पना गरेको उनले जानकारी दिइन् । विधेयकले नीति तथा संस्थागत उत्तरदायित्व र दैनिक प्राज्ञिक कार्यबीच आवश्यक दूरी कायम राखेको उनको भनाइ छ । विश्वविद्यालयबाट राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, रणनीतिक नेतृत्व, अन्तरराष्ट्रिय सम्बन्ध, कूटनीति, आर्थिक कूटनीतिलगायत कक्षा सञ्चालन हुनेछन् ।

    “नेपालमा धेरै विश्वविद्यालय छन्, सामान्य अर्को विश्वविद्यालय थप्नु होइन, राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका विषयमा नेपालभित्रै उच्चस्तरीय शिक्षा, अनुसन्धान, रणनीतिक विश्लेषण र नीतिगत ज्ञान उत्पादन गर्न सक्ने स्वायत्त, विश्वसनीय र राष्ट्रिय संस्था निर्माण गर्नु हो”, उनले भनिन् ।


    मन्त्री गौतमले संसद्को छलफलबाट विश्वविद्यालयको स्वायत्तता, नागरिक–सैनिक सहभागिता, प्राज्ञिक स्वतन्त्रता र संस्थागत उत्तरदायित्वलाई अझ स्पष्ट र सुदृढ बनाउन सकिने धारणा राखिन् । बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद बिक्रम थापाले सैनिक र गैरसैनिक अधिकारीलाई राष्ट्रिय सुरक्षा, राष्ट्रिय प्रतिरक्षा, रणनीतिक मामिला र सामरिक महत्त्वबारे विश्वविद्यालयमा अध्ययन, अध्यापन र अनुसन्धान गरिने विषय स्वागतयोग्य भएको बताए ।


    सांसद भरत गिरीले प्रतिरक्षा विश्वविद्यालयलाई अर्को विश्वविद्यालयको सङ्ख्या थपमा रूपमा मात्र नभई आफ्नै रणनीतिक ज्ञान र अनुसन्धान क्षमता विकास गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखे । सांसद खुश्बु ओलीले प्रतिरक्षा विश्वविद्यालयलाई सुरक्षा अध्ययन र सैनिक शिक्षामा मात्र सीमित नगरी कूटनीति, सङ्कट व्यवस्थापन, साइबर र जलवायु सुरक्षा, अर्थतन्त्र र अन्तरराष्ट्रिय सम्बन्धसँग जोड्नुपर्ने बताइन् ।


    सांसद रमेशकुमार मल्लले विधेयकको मूल अवधारणा राष्ट्रिय सुरक्षा र ज्ञान उत्पादनका दृष्टिले महत्त्वपूर्ण रहेको भन्दै संसदीय समितिमा दफावार छलफलका क्रममा यसको स्वायत्तता, शैक्षिक स्वतन्त्रता, नागरिक–सैनिक सम्बन्ध, पारदर्शीता, अनुसन्धानको गुणस्तर र सुरक्षा संवेदनशीलताको स्पष्ट सीमा निर्धारण गर्नुपर्ने बताए ।
    सांसद पुष्पराज कँडेलले विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतालाई विधेयकमा परिभाषित गरिनुपर्नेमा जोड दिए । सांसद राम लामाले सत्ता परिवर्तनसँगै विश्वविद्यालयका पदाधिकारीहरू परिवर्तन हुने परम्परा अन्त्य गर्नुपर्ने धारणा राखे । सांसद बलावती शर्माले राष्ट्रिय सार्वभौमिकता, अखण्डता र स्वाधिनताको प्रतिनिधित्व सो विश्वविद्यालय गर्न सक्छ भनी प्रश्न गरिन् । सांसद युवराज दुलालले विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता सुनिश्चिता नगरेसम्म विधेयकमा प्रस्तुत भद्दा संरचनाले नयाँपन दिन नसक्ने जिकिर गरे ।


    सांसदहरू नितिमा भण्डारी (कार्की), करिष्मा कठरिया, टुकाभद्रा हमाल, रिमा विश्वकर्मा, कमल सुवेदी, धर्मराज केसी, यज्ञमणि न्यौपाने, भरतप्रसाद पराजुली, सरस्वती लामा, आनन्दबहादुर चन्द, बोधनारायण श्रेष्ठ, सुशील खड्का, एशुदाकुमारी बराल, मधुकुमार चौलागाई, परशुराम तामाङ, कृष्णहरि बुढाथोकी, पार्वती विक, ताराप्रसास जोशी, साजिदा खातुन सिद्धिकी, ज्ञानु पौडेल, ओजस्वी शेरचन र गणेश कार्कीले विश्वविद्यालयले साइबर सुरक्षा, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध, कृत्रिम बुद्धिमत्ता र रणनीतिक सञ्चारलगायत विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । प्रतिनिधिसभाको अर्को बैठक यही असोज १४ गते अपराह्न १ः०० बस्नेछ ।

  • पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

    पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

    काठमाडौँ, १३ असोज , सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि सुरक्षा खतरा देखिएपछि सुरक्षित स्थानमा सारिएको जनाएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राणालाई पक्राउ वा नियन्त्रणमा नलिइएको दावि गरे ।

    राणाको मोबाइलमा ‘टेक्स्ट मेसेज’ मार्फत सुरक्षा धम्की आएको र सोही आधारमा सुरक्षा निकायले उनलाई सुरक्षित स्थानमा सारेको मन्त्री पोखरेलले बताए । “उहालाई पक्राउ गरिएको होइन, नियन्त्रणमा लिइएको पनि होइन । उहाँको परिवारबाट थप सुरक्षा माग गर्दै निवेदनसमेत परेकाले सुरक्षाका लागि उद्धार गरेर सुरक्षित स्थानमा लगिएको हो”, मन्त्री पोखरेलले भने । उनका हाँअनुसार राणालाई आएको धम्की ‘जेनजी’ समूहबाट नभई कुनै अपरिचित समूहबाट आएको थियो ।

  • दुर्गा प्रसाईँ पक्राउ, तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    दुर्गा प्रसाईँ पक्राउ, तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

    काठमाडौँ, १२ असोजः साइबर अपराधसम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जानकारी दिए । साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धानका लागि ब्यूरोको टोलीले आज दिउँसो प्रसाईँलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउ परेका प्रसाईँमाथि साइबर अपराधसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

  • दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको छ : कानुनमन्त्री

    दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको छ : कानुनमन्त्री


    काठमाडौँ, ८ असोजः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक निकायमा कार्यरत पदाधिकारीहरुलाई दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागेको बताएकी छिन् । राज्य व्यवस्था तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ उपर सैद्धान्तिक र संशोधन प्रस्तावकर्ता सदस्यसँगको छलफलमा सम्बोधन गर्दै मन्त्री गौतमले संविधानबमोजिम नै संवैधानिक निकायमा सेवानिवृत्त भएका विशिष्ट श्रेणीका कर्मचारी नियुक्ति हुने प्रावधान भएकाले पनि दोहोरो सुविधा नियन्त्रणका लागि विधेयकमार्फत कानुन तर्जुमा गर्न लागिएको जानकारी दिइन् ।


    “दोहोरो सेवा सुविधा कसैले पनि नलियोस भन्ने उद्देश्यले नै यो विधेयक ल्याएका हौँ” उनले भनिन्, “सर्वोच्च अदालतले पनि संवैधानिक निकायका पदाधिकारीहरुको दोहोरो सुविधा र पारिश्रमिकको विषयमा आवश्यक कानुन बनाउन फैसला पनि गरेकाले सोलाई पनि मध्यनजर गर्दै कानुन तर्जुमा गर्न लागेका हौँ ।” मन्त्री गौतमले सेवानिवृत्त भएका कर्मचारी फेरि नियुक्ति भएर दुवै खालका सेवासुविधा नलियोस भन्ने उद्देश्यले नै कानुन बनाउन लागेको स्पष्ट पारिन् ।

    “राज्यसँग भएका स्रोतसाधनको समुचित प्रयोग होस् । कसैले पनि दोहोरो सेवा सुविधा लिने प्रवृत्तिको अन्त्य गर्नका लागि पनि यो कानुन आवश्यक भएको हो,” उनले भनिन् । उनले संशोधन विधेयकमा धेरै दफा पनि भएको उल्लेख गर्दै व्यवस्थित गर्न खोजेको पनि स्पष्ट पारिन् ।


    उनले विधेयक मार्फत कुनै पनि कर्मचारीले निवृत्तीभरण र र तलब दुवै नपाउने गरी योजनाबद्ध ढंगले व्यवस्थित गर्न लागेको पनि बताइन् । “कुनै पनि व्यक्तिले दोहोरो सेवासुविधा नलियोस र राज्यको सीमित स्रोतसाधनलाई वैधानिक ढंगले प्रयोग गर्न सकियोस भन्ने नै मुलभुत उद्देश्य हो,” उनले भनिन्, राज्यको स्रोतलाई समुचित प्रयोग गरियोस भन्ने नै हो ।”

  • म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र

    खोटाङ, ५ असोजः चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारलगायतका स्थानमा नियमित अनुगमन गरिएको छ ।
    दसैँतिहार तथा छठपर्वलाई लक्षित गरेर दिक्तेलबजारको अल्छेढुङ्गा–रत्नपार्क, रत्नपार्क–पुरानो बेसक्याम्प, पुरानो बेसक्याम्प–त्रिवेणीचोक, त्रिवेणीचोक–हाटडाँडा र हाटडाँडा–अस्पतालचोसम्मका ६६ वटा होलसेल तथा किराना पसल अनुगमन गरिएको हो ।

    संयुक्त अनुगमन टोलीले दिक्तेल बजारका होलसेल तथा किराना पसलबाट बरामद गरेका सामग्री सर्जमिन मुचुल्का गरेर नष्ट गरेको छ । म्याद नाघेका पेय पदार्थलाई खाल्डोमा हालेर र दैनिक उपभोग्यवस्तुलाई जिल्ला प्रशासन कार्यालय खोटाङ परिसरमा जम्मा पारेर आगो लगाएर नष्ट गरिएको हो । जिल्लामा पटकपटक होलसेल तथा किराना पसल अनुगमन गरेर म्याद गुज्रेका सामग्री बिक्री नगर्न आग्रह गर्दा पनि व्यवसायीले अटेर गर्ने गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भेषराज खत्रीले बताए ।

    “बजारमै म्याद गुज्रेको खाद्यवस्तु र पेय पदार्थ भेटिँदा दूरदराजमा म्याद गुज्रेका सामग्री कति फेला पर्लान् भन्ने प्रश्न खडा भएको छ । प्रशासनले गर्ने अनुगमन गाउँगाउँमा पनि पुग्नुपर्ने नागरिकको माग छ”, उनले भने, “सम्भव भएसम्म सबै ठाउँमा अनुगमन गर्ने योजना छ । जिल्लाबाट पुग्न नसकिएको ठाउँमा सम्बन्धित पालिकालाई अनुगन गर्न आग्रह गर्छौँ ।”

    जिल्लाका व्यापारीको लापरवाहीको विषयमा गत भदौ २५ गते सरुवा भएर जिल्ला प्रशासन कार्यालय आउनुभएका प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङसँग सञ्चारकर्मीले उपभोक्ताको गुनासा राखेका थिए । पत्रकारको गुनासोपछि प्रजिअ गुरुङको निर्देशनमा होलसेल तथा किराना पसलमा अनुगमन गरिएको हो ।

    सामग्री खरिद गर्ने ग्राहकले पनि खाद्यवस्तु तथा पेय पदार्थ खरिद गर्दा म्याद भए÷नभएको मिति अनिवार्य एकिन गर्न र म्याद गुज्रेको भेटिएमा प्रशासनलाई जानकारी गराउन आग्रह गरिएको प्रजिअ गुरुङले जानकारी दिए । “म्याद गुज्रेका सामग्री बिक्री गर्नेलाई पहिलोपटक सजग गराउँछौँ । पुनः भेटिएमा कानुनी कारबाहीको दायरामा ल्याइनेछ”, उनले भने, “उपभोक्ताको स्वास्थ्यमा कसैले पनि खेलबाड गर्न मिल्दैन । उपभोक्ता पनि सजग हुन आवश्यक छ ।”

    जिल्लामा दश स्थानीय तह छन् । उपभोक्ताले आफ्नो गाउँमा आएका दैनिक उपभोग्य सामग्रीको न मूल्य हेरेर खरिद गर्छन्, न त म्याद छ÷छैन भनेर एकिन नै गर्छन् । गाउँमा बिक्री गर्न ट्याक्टरमार्फत पठाइएका चामललगायत दैनिक उपभोग्य वस्तुको म्याद गुज्रिएको फेला पारेपछि नियन्त्रण गरिदिन अनुरोध गर्दा सम्बन्धित निकायले चासो नदिएको केपिलासगढी गाउँपालिका–१ फेदीका स्थानीय लक्ष्मण साम्पाङले आरोप लगाएका छन् ।

  • प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

    प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

    काठमाडौँ, ४ असोजः प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन, २०२६’ मा सहभागी हुन आज चीन प्रस्थान गरेका छन् । चीन कानुन समाजद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी चीनको ग्वान्झाउ प्रस्थान गरेका हुन् ।

    प्रधान्यायाधीश शर्मा नेतृत्वको भ्रमण दलमा धर्मपत्नी उमा शर्मा, मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी छन् । प्रधानन्यायाधीश शर्मा यही असोज ८ गते स्वदेश फर्किनेछन् ।

  • बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    काठमाडौँ, ४ असोजः नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान भोला सदा र मङ्गल मुखियाको घर तलासी गरी सो परिमाणमा गाँजा बरामद गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । सदाको घरबाट ५६ र मुखियाको घरबाट आठ गरी ६४ पोका गाँजा बरामद गरिएको जनाइएको छ ।

  • अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    अख्तियारको वार्षिक प्रतिवेदनः ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

    काठमाडौँ, १ असोजः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२–८३ मा विभिन्न कसुरका ९९० प्रतिवादीविरुद्ध कैद सजाय र जरिवानाका अतिरिक्त रु २५ अर्ब २३ करोड ६५ लाख ९७ हजार बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । गत आवमा विभिन्न भ्रष्टाचारजन्य कसुरमा विशेष अदालतमा १७५ वटा मुद्दा दायर गरिएको आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनका अनुसार सो अवधिमा सबैभन्दा बढी ५६ वटा मुद्दा सार्वजनिक हानि–नोक्सानीसम्बन्धी रहेका छन् ।

    घूस (रिसवत)सम्बन्धी ४१, गैरकानुनी लाभ वा हानिसम्बन्धी २७, झुटारनक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी १५, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ११, राजस्व चुहावट–हिनामिना, सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी पाँच–पाँच र अन्य कसुरसम्बन्धी १५ वटा मुद्दा दर्ता भएका छन् । गत आवमा कायम कुल उजुरीमध्ये तहगत आधारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा बढी २० हजार छन् । सङ्घसँग सम्बन्धित १५ हजार ५१२ र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम पाँच हजार ३०५ उजुरी दर्ता भएका आयोगले जनाएको छ ।

    वार्षिक प्रतिवेदनअनुसार छ वटा प्रदेशमा स्थानीय तहका निकाय वा पदाधिकारीसम्बद्ध उजुरी बढी परेका छन् भने बागमती प्रदेशमा सङ्घीय निकाय वा पदाधिकारीसम्बद्ध उजुरीको सङ्ख्या बढी छ । उजुरीको समग्र सङ्ख्या बागमती प्रदेशमा सबैभन्दा बढी छ भने गण्डकी प्रदेशमा सबैभन्दा कम रहेका छन् ।

    आर्थिक वर्ष २०८२–८३ मा दर्ता भएका प्रदेश सरकारसम्बद्ध कुल पाँच हजार ३०५ उजुरीमध्ये सबैभन्दा बढी एक हजार ४७५ वटा मधेस प्रदेशसम्बद्ध र सबैभन्दा कम ४०७ वटा गण्डकी प्रदेशसम्बद्ध रहेका छन् । विषय क्षेत्रगत आधारमा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित उजुरी सबैभन्दा बढी रहेका छन् भने मधेस प्रदेशमा भौतिक पूर्वाधार तथा यातायात क्षेत्रसँग सम्बन्धित उजुरी सबैभन्दा बढी रहेका छन् ।

    यस अवधिमा दर्ता कायम भएका स्थानीय तहसम्बद्ध कुल २० हजार २५ उजुरीमध्ये सबैभन्दा बढी सात हजार ३७० उजुरी मधेस प्रदेशका स्थानीय तहसँग र सबैभन्दा कम एक हजार ४०६ उजुरी गण्डकी प्रदेशका स्थानीय तहसँग सम्बन्धित छन् । सङ्घ सरकारसम्बद्ध उजुरीमध्ये मन्त्रालयगत आधारमा साबिकको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित उजुरी सबैभन्दा बढी छ ।

    त्यसपछि बढी उजुरी परेका साबिकका मन्त्रालयहरू क्रमशः शिक्षा तथा खेलकुद, गृह, पूर्वाधार विकास, अर्थ, स्वास्थ्य तथा खाद्य स्वच्छता, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, कृषि, वन तथा पर्यावरण र सूचना तथा सञ्चार मन्त्रालय रहेका छन् ।

  • एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

    एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

    काठमाडौँ, ३१ भदौः अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार बराबरको अवैध हुन्डी कारोबार गरेको आरोपमा धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजयकुमार मुखियालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले विभिन्न समयमा मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुन्डी कारोबारमा सङ्लग्न भएको सूचनाका आधारमा मुखियालाई पक्राउ गरिएको जानकारी दिए ।


    उक्त सूचनालाई थप सूक्ष्म अनुसन्धान तथा विश्लेषण गर्ने क्रममा विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैँक खाताको प्रयोग गरी हालसम्म उक्त रकम बराबरको अवैध हुन्डी कारोबार गरेको खुलेको ब्यूरोले जनाएको छ । धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त प्रहरी टोलीले मुखियालाई पक्राउ गरेको प्रवक्ता जबराले बताए । पक्राउ परेका मुखियामाथि ‘हुण्डी सम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । उक्त घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान भइरहेको प्रवक्ता जबराले बताए ।

  • अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद


    काठमाडौँ, ३१ भदौः नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन लागिएको एक हजार प्याकेट अवैध चुरोट बरामद गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार अन्तरराष्ट्रिय उडानतर्फको कार्गो कम्प्लेक्स भवनमा नियमित सुरक्षा जाँचका क्रममा शङ्कास्पद देखिएका दुई कार्टुन चुरोट फेला परेको हो ।

    नयाँ बजारस्थित स्काई किङ लजिस्टिक प्रालिका सञ्चालक सुवास कुँवरमार्फत ती चुरोट अष्ट्रेलिया पठाउन लागिएको खुलेको छ । त्यसैगरी, गौश्वारा हुलाक कार्यालय, डिल्लीबजारमार्फत सगुन खड्काले कमलराज कार्कीको नाममा अष्ट्रेलिया पठाउन लागेको कार्गो सामान परीक्षण गर्दा शङ्कास्पद देखिएको थियो । थप जाँच गर्दा ‘शिखर आइस रुश’ चुरोट १५ बण्डल फेला परेको प्रहरीले जनाएको छ ।

    विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले बरामद चुरोट आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको जानकारी दिनुभयो । प्रहरीले अवैध रूपमा चुरोट विदेश पठाउन खोजिएको घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

    क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने पक्राउ

    क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका बिकी लामा र आषिश खड्का, सोलुखुम्बुका नुवाङ शेर्पा र पाशाङ शेर्पा, सिन्धुलीका ज्योति मगर, दोलखाका नारायण खत्री छन् । यस्तै, काठमाडौँका दिल लामा, काभ्रेका अशोक लामा, नुवाकोटका सञ्जय तामाङ र ललितपुरका सविनमान श्रेष्ठ तथा धनकुटाका सुदीप अधिकारी छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको संयुक्त प्रहरी टोलीले क्यासिनोमा चेकजाँच गरेको थियो । प्रहरीले घटनास्थलबाट मोबाइल नौ थान, रु ५० हजार अङ्कित क्वाइन आठ थान, रु १० हजार अङ्कित क्वाइन १९ थान, रु एक हजार अङ्कित क्वाइन ८८ थान र रु एक सय अङ्कित क्वाइन पाँच थान बरामद गरेको छ । यस्तै रु १० लाख ८५ हजार ६०० नगद बरामद गरिएको प्रवक्ता थापाले जानकारी दिए । पक्राउ परेकाविरुद्ध जुवासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • भोटेकोशी बाढीः नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

    भोटेकोशी बाढीः नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन


    काठमाडौँ, २६ भदौः भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अप्रेशन सञ्चालनमा ल्याएको छ । सो अप्रेशनअन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनस्थापना, ‘डिएनए प्रोफाइलिङ’ एवं ट्राफिक व्यवस्थापनलगायत विषयलाई उच्च प्राथमिकता दिइएको छ ।

    यस कार्यक्रमलाई सफल बनाउन प्रहरी हेडक्वार्टमा सञ्चालित ‘नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’मार्फत सम्बन्धित बाढी प्रभावित जिल्लालाई आवश्यक निर्देशन दिइएको छ । बाढीका कारण भोटेकोशी र त्रिशूलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाइ वा हराइ रहेका मानिस जीवित हुनसक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्न मातहतका युनिटलाई भनिएको छ ।

    फेला परेका शव वा शरीरका अङ्गका मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, बैङ्क कार्ड तथा महत्त्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्न आग्रह गरिएको छ ।

    केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्ले बाढीमा परी बेपत्ताको खोजलाई प्राथमिकतामा राखी नदी किनारा, भग्नावशेषलगायत स्थानमा प्रहरी टोली परिचालित गरिएको बताउँछन् । “कठिन भौगोलिक अवस्थालाई मध्यनजर गरी खोजी कार्यलाई प्रभावकारी बनाउन ड्रोन एवं केनाइनको प्रयोगमा विशेष जोड दिइएको छ । प्रहरीले टिमुरेदेखि त्रिवेणशीसम्म विशेष अप्रेशन सञ्चालन गरी खोज तथा उद्धारलाई तीव्र पारेको छ”, उनले भने , । बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रमा प्रहरीले सक्रियता बढाएको छ ।

    प्रभावित क्षेत्रमा खोज तथा उद्धार, शव सङ्कलन, मुचुल्का तथा घटनास्थल व्यवस्थापन, पोष्टमार्टम, शव पहिचानमा सहजीकरण, डिएनए प्रोफाइलिङको लागि नमुना सङ्कलन र शवको सुरक्षित व्यवस्थापनका क्षेत्रमा प्रहरीले सक्रियाताका काम गरिरहेको छ ।

    भौगोलिक विकटकताका कारण उद्धारकर्ता एवम् केनाइनसमेत पुग्न नसक्ने स्थानमा ड्रोनको प्रयोग गरी हराइरहेकाको खोजी जारी राखिएको छ । बाढीका कारण अवरुद्ध सडक खुलाउन एवम् सडक नभएका स्थानमा तुईनमार्फत सुरक्षित आवतजावतमा सहजीकरण गरिएको प्रवक्ता काफ्ले बताउँछन् ।

  • सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

    सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

    भक्तपुर, २४ भदौः नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको आधिकारिकताबारे आफूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् । पार्टीको विवादका विषयमा सर्वोच्च अदालतले उनको पक्षलाई निस्सा दिएपछि देउवाको त्यस्तो विचार आएको हो । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले ११३ औँ बीपी जयन्तीको अवसरमा आज भक्तपुरमा आयोजना गरेको ‘बिपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस विषयक’ विचार गोष्ठीमा बोल्दै उनले सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरे ।


    रसुवा भोटेकोशी बाढीमा परेकाको छिटो राहत र उद्धारमा सरकार लाग्नुपर्ने उनले बताए । कार्यक्रममा कांग्रेस नेताहरू शशाङ्क कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, विमलेन्द्र निधी, डा। प्रकाशशरण महत, विनोद कायस्थ, सुरेन्द्र श्रेष्ठलगायत नेताहरूले कांग्रेसलाई एक ढिक्का बनाएर लैजानु पर्ने र त्यसका लागि विद्यानसम्मत नियमित महाधिवेशनमा जानुपर्ने बताए ।

  • विस्फोटक पदार्थसहित एक पक्राउ

    विस्फोटक पदार्थसहित एक पक्राउ


    काठमाडौँ, २४ भदौः अवैध रूपमा लुकाईछिपाई राखिएको ठूलो परिमाणको विस्फोटक पदार्थ (पटाका) सहित प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुजन कपाली रहेका छन् । काठमाडौँ महानगरपालिका–१८ भुरुङखेलस्थित एक घरमा अवैध रूपमा पटाका लुकाईछिपाई राखेर बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उक्त स्थानमा पुगेर जाँच गरेको थियो ।

    जाँचका क्रममा प्रहरीले कपालीलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ (पटाका) बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाका अनुसार बरामद पटाका अवैध रूपमा भण्डारण तथा बिक्री वितरण गर्ने उद्देश्यले राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका कपालीविरुद्ध प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

    ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ


    काठमाडौँ, २३ भदौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रका विभिन्न होटल तथा गेष्टहाउसमा गैरकानुनी रूपमा बसोबास र शङकास्पद गतिविधि गरिरहेको पाइएकाले प्रहरीले नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए ।


    प्रहरीका अनुसार पक्राउ पर्नेमा बङ्गलादेशको गाजीपुर, पुलिस स्टेशन गदबपुर घर भई ठमेल बस्ने ४६ वर्षीय फहिमा अक्तार हसन, ४८ वर्षीय महामुद, ४५ वर्षीय महबूब हसन, ४९ वर्षीय रेपोन मेहमूद, ३० वर्षीय एमडी–केरामोत अलीखान, ३० वर्षीय साहिदुर रहमान, ५० वर्षीय एमडी खलिलुर रहमान, २८ वर्षीय आरिफुर रहमान, ४२ वर्षीय एमडी मारुफ मृधा र ६४ वर्षीय मोहम्मद हनिफ मियाँ छन् ।

    प्रहरीले उनीहरूलाई होटल ढाका एक्सप्रेस, होटल डि भेढा र होटल अलरहमानलगायतका स्थानबाट नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।

  • बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

    बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

    नारायणगढ (चितवन), ११ भदौः बुधबार भोटेकोशी नदीमा गएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको शवबाट कानमा लगाएको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नदी किनारमा रहेको शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले श्रव्यदृश्य सामग्रीमा देखिएका दुई जनालाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रामेश्वर पौडेलका अनुसार श्रव्यदृश्यमा देखिएको विवरणका आधारमा अनुसन्धान गर्ने क्रममा भरतपुर महानगरपालिका १ पोखरा बसपार्क नजिकबाट नवलपरासीको विनयत्रिवेणी गाउँपालिका १ घर भई हाल भरतपुर १ लीलाचोकमा मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका ५ घर भई हाल भरतपुरका २ पोखरा बसपार्क सुपारीटोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन ल्याइएको प्रमुख पौडेलले जानकारी दिए ।

  • कांग्रेसको १५ औँ महाधिवेशन रोक्न निवेदन दर्ता

    कांग्रेसको १५ औँ महाधिवेशन रोक्न निवेदन दर्ता

    काठमाडौँ, ९ भदौ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ । पार्टी पूर्वसभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाविधेशन रोक्ने आदेश माग गर्दै निवेदन दायर गरेका छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आज कांग्रेको देउवा समूहले दायर निवेदनमा पूरक निवेदन दर्ता भएको हो । सो निवेदन उपर यही भदौ ११ गते सुनुवाइका लागि पेसी तोकिएको छ ।

    कांग्रेसको निर्वाचन समितिले १५ औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ । उक्त निर्णय रोक्न रिट निवेदन पेश गरिएको हो । कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतमा पुनः सुनुवाइ गर्न निस्सा (अनुमति) दिइएको छ । सोको टुङ्गो नलाग्दासम्म महाधिवेशन प्रक्रिया रोक्न रिट निवेदनमा माग गरिएको छ ।

  • जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

    जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

    काठमाडौँ, ८ भदौ । जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदलमार्फत काम अघि बढाउने भएको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज उनको कार्यकक्षमा भएको छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभा सदस्य, मुख्य सचिव, गृहसचिव तथा जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेका प्रतिनिधिको सहभागिता थियो ।

    छलफलमा गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट गत मङ्सिर २४ गते स्वीकृत १० बुँदे सम्झौता तथा गत असार १८ गते स्वीकृत २४ बुँदे प्रस्ताव कार्यान्वयनको अवस्थाबारे विचार आदानप्रदान भएको थियो । माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सहसचिवको अध्यक्षतामा गठित सहजीकरण समितिलाई जेन–जीसम्बन्धी विषय मात्र कार्यान्वयन गर्ने विशेष कार्यदलका रूपमा जिम्मेवारी तोक्ने निर्णय भएको छ ।

    छलफलमा जेन–जी परिषद् घोषणा, जेन–जी शहीद दिवस घोषणा, दौलत थापालाई ‘जिउँदो शहीद’ घोषणा, २४ बुँदे प्रस्ताव संशोधन, संसद् भवन परिसरमा जेन–जीको शालिक निर्माण तथा जेन–जी पार्क निर्माणलगायत विषयमा विचार आदानप्रदान भएको गृह मन्त्रालयले जनाएको छ ।

  • विमानस्थल क्षेत्रबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद

    विमानस्थल क्षेत्रबाट भन्सार छलीका मोबाइल र पहेँलो धातु बरामद


    काठमाडौँ, ८ भदौः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका मोबाइल र ल्यापटपका पार्टपूर्जा, सूर्तीजन्य पदार्थ (चुरोट) र पहेँलो धातु बरामद गरिएको छ । विमानस्थल सुरक्षा कार्यालयका अनुसार चाइना इस्टर्न एयरलाइन्सको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक छन् झुसनको साथबाट बिलबिजक नभएका मोबाइल तथा ल्यापटप, ल्यापटपका पार्टपुर्जासहित डिस्प्ले, कभरलगायत सामग्री तथा सूर्तीजन्य पदार्थ (चुरोट) बरामद गरिएको हो ।

    अन्तरराष्ट्रिय आगमन भन्सार क्षेत्रबाट बाहिर निस्किने क्रममा शङ्का लागि सोधपुछ तथा जाँच गर्दा निजको साथबाट करिब रु ७२ लाख २५ हजार बराबरको ती सामग्री बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । त्यस्तै कतारको दोहाबाट नेपाल एयरलाइन्समार्फत काठमाडौँ आएका यात्रु प्रयोग गरी सुन ओसारपसार भएको भन्ने सूचनाका आधारमा विमानस्थलको अन्तरराष्ट्रिय पार्किङ क्षेत्रबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५का ३५ वर्षीय कृष्ण यादव पक्राउ परेका सिलवालले बताए ।


    बाह्य मुलुकबाट आगमन भएका तीन जना यात्रुलाई प्रयोग गरी भन्सार छली ल्याएको सुनजस्तो देखिने पहेँलो धातुको सिक्री तीन थान, अन्दाजी ७५ ग्रामसहित उक्त सामग्री ल्याइदिने व्यक्तिलाई ज्यालाबापत दिनका लागि रु ३० हजारसहित निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निजलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको विमानस्थल सुरक्षा कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

  • गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता

    गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता


    ७ भदौ, काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृह मन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबीच सहमति भएको हो।

    सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ। यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिने भएको छ। त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिका गरिमा चौधरीको सालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ।

    पीडित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कारअनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ। सहमति पत्रमा नेपाल सरकारका तर्फबाट गृह मन्त्री सुधन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री साविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी तथा कृषि, वन तथा वातावरण मन्त्री गिला चौधरीले हस्ताक्षर गरेका छन्।

    पीडित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोजकुमार चौधरी र आमा मीनमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सरकार र पीडित परिवारबीच भएको सहमतिले घटनामा न्यायिक प्रक्रिया अघि बढाउनुका साथै पीडित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

  • काठमाडौंको शंखमुलमा होस्टेलमा युवकको हत्या, एक जना पक्राउ

    काठमाडौंको शंखमुलमा होस्टेलमा युवकको हत्या, एक जना पक्राउ

    काठमाडौँ, ५ भदौः काठमाडौँ महानगरपालिका–१० शङ्खमुल भ्याली ब्वाईज होस्टलमा बस्ने दाङको घोराही उपमहानगरपालिका १७ घर भएका २२ वर्षीय बसन्त कालाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका ३ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले आज पक्राउ गरेको हो । प्रहरीका अनुसार किशोर र २० वर्षीय प्रमित पटेलले आज बिहान कुटपिट गरी तथा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

    कालाथोकीको कुटपिटका कारण मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ वानेश्वरबाट प्रहरी खटिएको थियो । पाँच जनालाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । घटनापछि फरार रहेका पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।