Category: कानुनी कुरा

  • तराई-मधेशमा प्रहरीले गर्दैछ ड्रोनबाट निगरानी

    तराई-मधेशमा प्रहरीले गर्दैछ ड्रोनबाट निगरानी

    १५ साउन, काठमाडौं । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशेष गरी संवेदनशील क्षेत्रमा ड्रोनमार्फत अनुगमन तीव्र बनाइएको छ। सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने, अफवाह फैलाउने वा कानुनविपरीतका गतिविधिमा संलग्न जोकसैलाई प्रमाणका आधारमा कानुनी कारबाही गरिने सुरक्षा निकायले जनाएको छ। स्थानीय प्रशासनले शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न नागरिकसमक्ष आग्रह गर्दै कुनै पनि भ्रामक सूचना वा उक्साहटमा नलाग्न अपिल गरेको छ।

  • धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको अपिल

    धार्मिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न प्रहरी महानिरीक्षक कार्कीको अपिल

    १५ साउन, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय भाइचारा कायम राख्न सम्पूर्ण नेपालीलाई संयमता अपनाउन आग्रह गरेका छन् । शुक्रबार जारी सन्देशमा उनले नेपाल धर्म, भाषा, जातजाति र संस्कृतिको विविधता भए पनि आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ अघि बढ्दै आएको मुलुक भएको उल्लेख गरेका छन् । विविधतामा एकता नै नेपालको पहिचान, गौरव र शक्ति भएको उनको भनाइ छ ।

    ‘धर्म, भाषा, जातजाति र संस्कृतिको भिन्नताबीच पनि हामी आपसी सम्मान, सहिष्णुता र सम्मानका साथ सँगै बाँच्दै आएका छौं,’ उनले प्रहरी प्रमुख कार्कीले भनेका छन्, ‘विविधतामा एकता नै हाम्रो पहिचान, शान र शक्ति हो ।’ उनले धर्म, संस्कार र संस्कृति फरक भए पनि मुलुक र साझा भावना एउटै भएकाले एकअर्काको संस्कृति, संस्कार र आस्थाको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुनविपरीत गतिविधि गर्ने कार्य कसैको हितमा नहुने उल्लेख गरेका छन् । यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन बढाउने भएकाले सबै नागरिकलाई जिम्मेवार र संयमित बन्न उनले आग्रह गरेका छन् ।

    विशेषगरी पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिएको भन्दै उनले त्यसप्रति चिन्ता व्यक्त गरेका छन् ।

    यस संवेदनशील समयमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्न उनले सबैमा आह्वान गरेका छन् ।

    सबै नागरिकलाई संयमता, सहिष्णुता र आपसी सम्मानका साथ सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारा कायम राख्न सहयोग गर्न उनले अपिल गरेका छन् ।

  • देवानगन्ज घटनाका मृतकका परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति

    देवानगन्ज घटनाका मृतकका परिवार र गृह मन्त्रालयबीच ७ बुँदे सहमति

    १५ साउन, काठमाडौं । देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता का परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ। सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

    यस्तै, घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने उल्लेख गरिएको छ। साथै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने सहमति भएको छ।

    सम्झौतामा प्रत्येक मृतकका परिवारबाट एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने विषय पनि समेटिएको छ।

    सम्झौतापत्रमा मृतकका परिवारका प्रतिनिधि र सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ ले हस्ताक्षर गरेका छन्। सम्झौतापछि पीडित परिवारले सरकारले गरेका प्रतिबद्धता समयमै कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् भने सरकारका तर्फबाट सम्झौतामा उल्लेखित सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गरिने जनाइएको छ।

  • सिराहामा प्रहरीको गोलीले एकको मृत्यु, तराइ मधेशमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो

    सिराहामा प्रहरीको गोलीले एकको मृत्यु, तराइ मधेशमा ज्यान गुमाउनेको संख्या तीन पुग्यो

    १४ साउन, काठमाडौं । सुनसरीमा भएको घटनाको विरोधमा चर्किँदा बिहीबार मधेश प्रदेश दिनभर नै अशान्त रह्यो । दिनभर विभिन्न संघसंगठनको प्रदर्शनको क्रममा सिरहाको गोलबजार, लहान, धनुषाको जनकपुरधामसहितका स्थानमा प्रहरी र प्रदर्शनकारी बीच झडप भयो । त्यस क्रममा सिरहामा प्रहरीको गोली लागेर सिरहामा एक किशोरको ज्यान गएको छ । अर्का गम्भीर घाइते भएका छन् । धनुषामा ढंगामुढा तथा आक्रमणबाट एक बालकसहित दुईजना घाइते भएका छन् । धनुषा र सिरहामा झडपमा परेर १९ जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

    सिरहामा आगजानी समेत भएको छ । आन्दोलन उग्र बनेपछि जनकपुरधामसहित सिरहामा कर्फ्यू आदेश र पर्सामा निषेधाज्ञा आदेश जारी गरिएको छ ।
    प्रशासनले कर्फ्यु जारी गरेपछि पनि गोलबजार नगरपालिका–४ स्थित क्याम्पस रोड क्षेत्रमा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाही निवासी रामबृक्ष यादवका अन्दाजी १५ वर्षीय छोरा गणेश यादवको मृत्यु भएको छ ।

    उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको थियो । गोली लागेर घाइते भएका धनुषाको धनुषाधामका सुवास ठाकुरलाई स्थानीय अस्पतालबाट थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ ।

    त्यस अघि दिउँसो सिरहाको गोलबजारमा प्रदर्शनकारीको प्रदर्शनले अवस्था असहज बन्दै जाँदा झमझम होटल अगाडि दुई पक्षबीच भएको झडपले उग्ररुप लिएको थियो । त्यस क्रममा नेपाल टेलिकम अगाडि पार्किङमा रहेका करिब २१ वटा मोटरसाइकल र एउटा साइकलमा आगजनी भयो ।

    यस्तै गोलबजारका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटनासमेत भएका छन् । एबी मल,नेहाल आइरन स्टोर ,नौसाद मोटर साइकल ग्यारेज,रोयल प्रिन्स होटेल एन्ड पार्टी प्यालेस र गोलबजार नपा–११ का अध्यक्ष सोहेव अनवरको गोलबजारमा रहेको घरमा आन्दोलनकारीहरूले आगजानी गरेका छन् ।

    सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार झडप नियन्त्रणका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रहरी कार्यलयका डिएसपी रमेशबहादुर पालसहित करिब १५ जना सुरक्षाकर्मी घाइते भएका छन् । डिएसपी पाललाई मुखमा चोट लागेको छ । स्थानीय तथा प्रहरी दुवै पक्षका व्यक्तिहरूको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    यता बिहीबार बिहानैदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाम अशान्त रह्यो । रामानन्दचोकमा सडकजाम गर्दै प्रदर्शन सुरु गरेका विभिन्न संघसंगठनका युवाहरूले बजार व्यवसायसमेत बन्द गराए । केही स्थानमा तोडफोडसमेत गरे । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच जनकपुरधामको रामानन्दचोक, बजरंगचोक लगायतमा पटकपटक दिनभर झडप भयो । त्यस क्रममा प्रहरीले दुई दर्जनभन्दा बढी सेल अश्रुग्यास प्रहार गरेका छन् ।

    जनकपुरधाममा ढुंगामुढाबाट एक बालकसहित दुईजना घाइते पनि भएका छन् । केही प्रहरी समेत घाइते भएका छन् । ढुंगामुढा लागेर जनकपुरधाम उपमहानगरपालिका ७ का १२ वर्षीय आनन्द दास गम्भीर घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले बताए । यस्तै जनकपुरधाम उपमहानगरपालिका २० का भोगेन्द्र कुमार राम घाइते भएका छन् । उनको टाउको फुटेको छ ।

    झडपको क्रममा आन्दोलनकारीको ढुंगामुढा लागेर धनुषा र सिरहामा १९ जना प्रहरी घाइते भएका छन् । धनुषामा १५ जना प्रहरी घाइते भएका छन् भने सिरहामा ४ जना प्रहरी घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आन्दोलनले उग्र हुँदै गएपछि स्थानीय प्रशासनले दिउँसो साढे ३ बजेदेखि अनिश्चित समयका लागि कर्फ्यु लागू गरेको छ ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिका भित्र, नगराइन नगरपालिकाको नगराइन चोकसम्म र लक्ष्मीनिया गाउँपालिकाको सोहनी सिनुरजोडा एवं लक्ष्मीनिया हाटबजारसम्म अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेशपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासमेतका सुरक्ष निकाय सडकमा सक्रिय छन् ।

    परिस्थिति बिग्रिन सक्ने अवस्थालाई मध्यनजर गर्दै पर्साको वीरगञ्जमा समेत निषेधाज्ञा जारी गरिएको छ । आज साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि प्रमुख जिल्ला अधिकारी भोला दाहालले निषेधाज्ञा जारी गरेका हुन् । यस्तै सप्तरीको राजविराजस्थित विभिन्न स्थानमा प्रदर्शन भएको छ । त्यस क्रममा प्रहरी संयमित बन्दा अप्रिय घटना भने हुन सकेन ।

    महोत्तरीको मटिहानीमा पनि प्रदर्शन भएको छ । पर्सा, सर्लाही, रौतहटका पनि केही स्थानमा समान्य प्रदर्शन भएको खबर प्राप्त भएको छ । जनकपुरमा प्रदर्शन चर्किएपछि शुक्रबार शैक्षिक संघसंस्था विद्यालय तथा क्याम्पसहरू बन्दको घोषणा गरिएको छ । शैक्षिक क्षेत्रका संस्थाहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर बन्द घोषणा गरेको हो । साथै घटनालाई साम्य बनाउन राज्य तथा सरोकारवालाहरूलाई आग्रह गरिएको छ ।

  • तराईका चार जिल्लामा कडा सुरक्षा: विभिन्न क्षेत्रमा कर्फ्यु

    तराईका चार जिल्लामा कडा सुरक्षा: विभिन्न क्षेत्रमा कर्फ्यु

    १४ साउन, काठमाडौं । पछिल्लो समय उत्पन्न सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै तराईका चार जिल्लाका विभिन्न प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्रशासनका अनुसार सुनसरी, सिरहा, धनुषा र पर्सा जिल्लाका तोकिएका क्षेत्रमा आवतजावत, भेला तथा प्रदर्शनमा रोक लगाउँदै कर्फ्यु लागू गरिएको हो । सुनसरी जिल्लाका १० वटै स्थानीय तहमा मङ्गलबार रातिदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ।

    सिरहाको गोलबजार क्षेत्र, पूर्व–पश्चिम राजमार्गको गोलबजार नगरपालिका ३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्म, उत्तरतर्फ वडा नं. ६ को सैनिक चोकदेखि दक्षिणतर्फ वडा नं. ४ को क्याम्पस वरपरको क्षेत्रमा दिउँसो २ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।

    सिरहामा लहान क्षेत्र, पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिम सरस्वती खोला (बाटिका होटल पश्चिम)सम्म, उत्तरमा खुट्टी खोलासम्म र दक्षिणतर्फ पूर्व(पश्चिम राजमार्गको ५०० मिटर क्षेत्रसम्म अपराह्न ४ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु लागू गरिएको छ। धनुषामा जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिका क्षेत्रमा दिउँसो ३ः३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ।

    पर्साको वीरगञ्ज महानगरपालिकाका पूर्वमा प्रतिमा चोक–बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्मको क्षेत्रमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ। स्थानीय प्रशासनले शान्तिसुरक्षा कायम राख्न सबै नागरिकलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न र संयमता अपनाउन आग्रह गरेको छ।

  • सुनसरी घटना छानबिन समितिमा दुई सदस्य थप, यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन

    सुनसरी घटना छानबिन समितिमा दुई सदस्य थप, यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन

    १३ साउन, काठमाडौं । सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई जना सदस्य थप गरेको छ। गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी उपरीक्षक मोहनसिंह धामी र प्रहरी निरीक्षक दिपेश अवस्थीलाई सदस्यका रूपमा मनोनयन गरेको हो। यससँगै समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न निर्देशनसमेत दिइएको छ।

    गत आइतबार राति सुनसरीको देवानगन्जमा दुई समूहबिच भएको झडपका सम्बन्धमा छानबिन गर्न सोमबार गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो। मन्त्रालयले सुनसरीलगायत अन्य जिल्लामा सोही प्रकृतिका घटना दोहोरिन नदिनका लागि पूर्वतयारीसमेत तीव्र पारेको छ। यसका लागि बाँके, कपिलवस्तु, धनुषा, सिरहा, सप्तरी लगायतका जिल्लामा शान्ति, सुव्यवस्था र आपसी सद्भाव कायम राख्न प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यक समन्वय भइरहेको छ।

    यसैबिच, गृह मन्त्रालयमा आज गृहमन्त्रीसहित सचिव र सुरक्षा निकायका प्रमुखको उपस्थितिमा जिल्लागत सुरक्षा अवस्थाबारे गम्भीर समीक्षा गरिएको छ। मन्त्रालयले वार्ताको माध्यमबाट सुनसरीको समस्या समाधान गर्न पहल गरिरहेको र हाल देवानगन्जलगायत संवेदनशील क्षेत्रमा अवस्था सामान्य बन्दै गएको जनाएको छ।

  • सुनसरी घटना : प्रहरी र सशस्त्रका आईजीपीसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

    सुनसरी घटना : प्रहरी र सशस्त्रका आईजीपीसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

    १३ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन् । गृहमन्त्री सुधन गुरुङको समेत उपस्थितिमा प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

    ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनजनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भावमा खलल पुर्‍याउन खोज्ने तत्त्वहरूमाथि कडा निगरानी राख्न निर्देशन दिए । प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन गर्न स्पष्ट निर्देशन दिएका छन् ।

  • गाङखेलबाट ठूलो परिणामको लागू औषधसहित तीन पक्राउ, दुई जना भारतीय नागरिक

    गाङखेलबाट ठूलो परिणामको लागू औषधसहित तीन पक्राउ, दुई जना भारतीय नागरिक

    १३ साउन, काठमाडौं । ससश्त्र प्रहरीले काठमाडौं महानगरपालिका१४ गाङखेलबाट ठूलो परिमाणको लागुऔषधसहित तीनजनालाई पक्राउ रेको छ ।
    भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया ५ घर भएका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी थान ६ बस्ने २४ वर्षीय दिपक राई पक्राउ परेका हुन् ।
    भारतबाट ल्याएर नेपालमा लागुऔषध बेचबिखन गरिरहेको सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले मंगलबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा लिइएकाहरूका साथबाट डामाडोल नामको लागुऔषध एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनी को बीएसी ७०१७ नम्बरको हात्ती गाडी, बागमती प्रदेश ०२-०६५प ४४८९ नम्बरको मोटरसाइकल, मोबाइल ३ थान र नेपाली रूपैयाँसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद सामानसहित कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्रका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

  • व्यवसायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश

    व्यवसायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश

    १२ साउन, काठमाडौं । व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न अदालतले आदेश गरेको छ। जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइ गर्दै गोल्छालाई दुई कसुरमा छुट्टाछुट्टै धरौटी निर्धारण गरी रिहाइको आदेश गरेको हो । उनलाई बिमा सम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी सुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गरिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए । उनलाई गत १० वैशाखमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको थियो ।

  • सुनसरी घटनामा बोल्यो प्रधानमन्त्री कार्यालय, संयमता अपनाउन आग्रह

    सुनसरी घटनामा बोल्यो प्रधानमन्त्री कार्यालय, संयमता अपनाउन आग्रह

    १२ साउन, काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण जनाएको छ ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एक विज्ञप्ति जारी गर्दै संयमता अपनाउन आग्रह गरेको हो । प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालबाट विज्ञप्ति जारी गर्दै सरकारले घाइते हुनेहरूको निस्शुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गर्ने प्रबन्ध मिलाएको जानकारी पनि गराएको छ ।

    उक्त घटनाको सम्बन्धमा सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस किसिमका घटना हुन नदिन अवलम्बन गर्नु पर्ने उपायहरू सहित सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरी उक्त समितिले कार्य प्रारम्भ गरिसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘उक्त घटनाका पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषीउपर कडा कानूनी कारबाही गर्न नेपाल सरकार प्रतिवद्ध छ । कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव हुँदैन भन्नेमा नेपाल सरकार पूर्णतस् विश्वास गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

    साथै, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्‍याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन पनि सरकारले अपिल गरेको छ । ‘नेपाली समाजले संदियौदेखि अवलम्बन गरेको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै यसलाई खलबल्याउने र धार्मिक एवं साम्प्रदायिक सहिष्णुतामा खलल पुर्‍याउने गतिविधिमा संलग्न नहुन, उत्तेजना वा भ्रामक सूचना नफैलाउन र त्यस्ता भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयमता अपनाउन सम्बद्ध पक्षहरूमा नेपाल सरकार हार्दिक अपिल गर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ । यस परिस्थितिमा मुलुकमा शान्ति सुव्यवस्था र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था, आमसञ्चार माध्यम र सम्पूर्ण जनसमुदायमा सरकारले आह्वान गरेको छ ।

  • सुनसरीमा सामान्य बन्दै जनजीवन, हटाइयो कर्फ्यु

    सुनसरीमा सामान्य बन्दै जनजीवन, हटाइयो कर्फ्यु

    १२ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु हटाएको छ । प्रशासनले यही साउन १२ गते मध्यराति सवा १२ बजेदेखि कर्फ्यु हटाएको हो । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद रिजालले कर्फ्यु जारी गरेका थिए । स्थिति सामान्य बन्दै गएपछि मध्यरातदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

    सूचनामा लेखिएअनुसार पूर्वमा इनरुवा नगरपालिका ३ र ६ को सिमाना (महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल), पश्चिममा कोशी ब्यारेज पुल तथा उत्तर र दक्षिणमा महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्यु हटाइएको हो । कप्तानगञ्जमा भएको हिंसात्मक घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापा संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । छानबिन टोली सोमबार राति विराटनगरमा पुगेको छ । टोलीले विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।

  • लैङ्गिक हिंसा र विभेदसम्बन्धी उजुरीको प्रभावकारी सम्बोधनका लागि तीन मन्त्रालयसँग सहकार्य

    लैङ्गिक हिंसा र विभेदसम्बन्धी उजुरीको प्रभावकारी सम्बोधनका लागि तीन मन्त्रालयसँग सहकार्य

    काठमाडौं, साउन १२। लैङ्गिक हिंसा, जातीय भेदभाव, छुवाछूत तथा सामाजिक बहिष्करणसँग सम्बन्धित उजुरीहरूको प्रभावकारी सम्बोधन, पीडितमैत्री सेवा प्रवाह तथा आवश्यक कानुनी, नीतिगत र संस्थागत सुधारलाई थप प्रभावकारी बनाउने उद्देश्यले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तीन मन्त्रालयसँग आवश्यक समन्वय र सहकार्यका लागि औपचारिक अनुरोध गरेको छ।

    माननीय मन्त्री सिता बादीको मन्त्रीस्तरीय निर्णयअनुसार गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आधिकारिक पत्राचार गर्दै आ–आफ्नो कार्यक्षेत्रभित्र आवश्यक सहजीकरण, समन्वय तथा पहल गर्न अनुरोध गरिएको हो।

    मन्त्रालयले गृह मन्त्रालयसँग लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसँग सम्बन्धित उजुरीहरूको प्रभावकारी, छिटो र भेदभावरहित सम्बोधन सुनिश्चित गर्न सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयबीच आवश्यक समन्वय गर्न अनुरोध गरेको छ।

    त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित कानुनी व्यवस्थाको पुनरावलोकन, आवश्यक संशोधन तथा नीतिगत सुधारका लागि सहकार्य गर्न आग्रह गरिएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग स्थानीय तहसम्म सेवा प्रवाह, समन्वय संयन्त्र तथा सामाजिक न्यायसम्बन्धी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्न अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणका विषयहरू एउटै निकायको प्रयासबाट मात्र समाधान हुन नसक्ने भएकाले अन्तरमन्त्रालयीय समन्वय, साझा जिम्मेवारी र एकीकृत कार्यसम्पादनमार्फत पीडितले समयमै न्याय र सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नु यस पहलको मुख्य उद्देश्य हो।

    मन्त्रालयमार्फत प्रेषित पत्रमा भनिएको छ, “मन्त्रालयमा प्राप्त हुने अधिकांश उजुरी तथा गुनासाहरू लैङ्गिक हिंसा, जातीय भेदभाव, छुवाछूत, विभेद तथा सामाजिक बहिष्करणजस्ता सामाजिक न्यायका सवालहरूसँग सम्बन्धित हुने गरेका छन्। यस्ता प्रकृतिका उजुरी तथा गुनासाहरू संवेदनशील, बहुआयामिक, कानुनी तथा प्रशासनिक पक्षसँग अन्तरसम्बन्धित हुने भएकाले तिनको प्रभावकारी सम्बोधन, सेवा प्रवाहमा भेदभावरहित वातावरणको सुनिश्चितता, कानुनी तथा नीतिगत सुधार तथा आवश्यक समन्वय र सहकार्य गर्नुपर्ने हुन्छ।”

    यस पहलले लैङ्गिक हिंसा तथा सबै प्रकारका विभेदविरुद्ध राज्यका निकायबीचको समन्वयलाई संस्थागत गर्दै पीडितमैत्री, उत्तरदायी र प्रभावकारी सेवा प्रणाली निर्माणमा महत्वपूर्ण आधार तयार गर्ने मन्त्रालयले विश्वास व्यक्त गरेको छ।

  • सुनसरीका थप क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

    सुनसरीका थप क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

    ११ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका थप केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशअनुसार आज राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु लागू गरिएको हो । प्रशासनका अनुसार कर्फ्यु अवधिभर तोकिएको चार किल्लाभित्र कसैले पनि आवतजावत गर्न, मेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधि गर्न पाउने छैनन् ।

    कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने प्रशासनले जनाएको छ। इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमा (महेन्द्र राजमार्गअन्तर्गतको घोपाली टोल), पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न कर्फ्यु आदेश जारी गरिएको भन्दै सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका(३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन् ।

  • परीक्षा सुरु भएकै मिनेटमा ह्वाट्सएपबाट प्रश्नपत्र लिक, दुई पक्राउ

    परीक्षा सुरु भएकै मिनेटमा ह्वाट्सएपबाट प्रश्नपत्र लिक, दुई पक्राउ

    १० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर (एमबीएस) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको छ मिनेटमै ह्वाट्सएप ग्रुपबाट प्रश्नपत्र बाहिरियो। हजारभन्दा बढी सदस्य रहेको ‘एमबीएस प्रथम सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र मात्र पोस्ट भएन, ‘सर सोलुसन पनि पठाइदिनु न’ भन्दै उत्तरको मोलमोलाइ र लेनदेनसमेत सुरु भयो।

    परीक्षाको मर्यादा, शैक्षिक विश्वसनीयता र हजारौँ होनहार विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने यो घटना बाहिरिनेबित्तिकै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले तत्काल कदम चाले । मन्त्रीको सक्रियतापछि २४ घण्टा नबित्दै घटनामा संलग्न मुख्य आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    यही साउन ८ गते परीक्षा सुरु भएको केही मिनेटभित्रै ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र छ्यापछ्याप्ती भएको थियो। ग्रुपमा ‘सुलभ सर’ नाम गरेका व्यक्तिले प्रश्नपत्र पठाउँदै ‘इको (अर्थशास्त्र) को पनि दिन्छु, राम्रोसँग हेर्नुहोला’ भन्दै विद्यार्थीलाई विश्वस्त पारिरहेका थिए। परीक्षा चलिरहेकै समयमा मोबाइलको प्रयोग र प्रविधिको दुरुपयोग गरी सङ्गठित रूपमा प्रश्नपत्र ‘लिक’ गराउने गिरोह सक्रिय रहेको पुष्टि भएपछि चौतर्फी आक्रोश उत्पन्न भयो।

    प्रविधिको प्रयोग गरेर गराइएको यो अपराधलाई कारबाहीको दायरामा ल्याउन शिक्षामन्त्री पोखरेलले तत्कालै प्रहरी नेतृत्वसँग समन्वय गरे । उनले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई फोन गरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोलाई २४ सै घण्टा परिचालन गर्न निर्देशन दिए ।


    मन्त्री पोखरेलको निर्देशन र शून्य सहनशीलताको नीतिका कारण प्रहरीको प्राविधिक टोलीले डिजिटल फुटप्रिन्ट र ह्वाट्सएप ग्रुपको सूक्ष्म विश्लेषण गर्‍यो। नतिजास्वरूप २४ घण्टाभित्रै प्रश्नपत्र लिक गराउने मुख्य सूत्रधार भनिएका ‘सुलभ सर’ सहित स्क्रिनसटमा नाम देखिएका अर्का एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भयो।

    शिक्षामन्त्री पोखरेलले विश्वविद्यालय र शैक्षिक प्रणालीलाई स्वच्छ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै शैक्षिक अपराधमा कसैलाई छुट नदिइने स्पष्ट पारे । उनले त्रिविको परीक्षा सञ्चालन र प्रश्नपत्रको सुरक्षामा लापरबाही गर्ने आन्तरिक संयन्त्रमाथि पनि छानबिन गरी दोषीलाई कारबाही गरिने बताए ।


    यसैक्रममा त्रिवि व्यवस्थापन सङ्कायको डीन कार्यालयले पनि प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले परीक्षा केन्द्रको सुरक्षा, प्रश्नपत्र बाहिरिनुको आन्तरिक कारण र भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपायबारे अध्ययन गरी प्रतिवेदन बुझाउने छ।

  • आइफोन लुट्ने उद्देश्यले आफ्नै साथिहरुबाट १७ वर्षे किशोरको हत्या

    आइफोन लुट्ने उद्देश्यले आफ्नै साथिहरुबाट १७ वर्षे किशोरको हत्या

    १० साउन, काठमाडौं । बागलुङमा मोबाइल लुट्ने उद्देश्यले एक किशोरको हत्या भएको छ। बडिगाड गाउँपालिका १ बस्ने १७ वर्षीय लजिन थापाको हत्या भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । डिएसपी रामेश्वर त्वातीका अनुसार लजिन थापा साउन २ गतेदेखि सम्पर्कबिहीन थिए। त्यसपछि प्रहरीले उनको खोजी गरेको थियो। खोजी गर्ने क्रममा साउन ९ गते बिहान सवा ९ बजे उनको शव फेला परेको डिएसपी त्वातीले बताए।

    उनको शव मनखोलामा घोप्टो परेको अवस्थामा फेला परेको थियो। शव फेला परेपछि प्रहरीले चार जनालाई पक्राउ गरी सोधपुछ गरेको थियो। पक्राउ पर्नेमा १९ वर्षीय सुदीप विक, २० वर्षीय रेमबहादुर विक र दुई जना नाबालक छन्। सोधपुछको क्रममा कारण आइफोन चोर्ने प्रयास गरेको बताएका छन्।

    ‘उनीहरू एकै गाउँका हुन्। लजिनले आइफोन लिएका रहेछन्। त्यही चोर्न खोजे। नदिएपछि हत्या भएको हो,’ डिएसपी त्वातीले भने, ‘कुटपिट र ढुंगाले पनि हिर्काएको भनेका छन्।’ घटनामा अरू कुनै कारण नदेखिएको पनि उनले बताए। जिल्ला प्रहरी कार्यालय बागलुङले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ। लजिन काठमाडौंमा कक्षा ११ मा अध्ययनरत थिए । उनी नागरिकता बनाउन घरमा गएका थिए । उनी हराएको दिन साथिको जन्मदिन मनाउन स्थानीय एक स्कुलमा राती अबेरसम्म बसेको र त्यहाँ उनीहरुले मदिरा सेवन गरेको समेत प्रहरीले जनाएको छ ।

  • सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई पक्राउ, अन्य स्थानबाट समेत समातिए

    सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई पक्राउ, अन्य स्थानबाट समेत समातिए

    १० साउन, काठमाडौं । काठमाडौंको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका २ आलापोट डेरा गरी बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरीजल बस्ने ५४ वर्षीय अम्बक तामाङ रहेका छन् । बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट गएराति एक बजे गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

    उनीहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ । यसैगरी पर्साको छिपरमाई गाउँपालिका एक मिर्जापुरबाट गएराति १४० किलो लागु औषध गाँजा प्रहरीले बरामद गरेको छ । बगैंचामा बेवारिसे अवस्थामा राखिएको गाँजा गएराति ९ बजे प्रहरीले फेला पारेको हो । गाँजा कसले राखेको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसैबीच मोरङको कानेपोखरी गाउँपालिका–२ देउलिया खोला नजिकबाट गएराति साढे १० बजे ६ ग्राम ३८० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । रंगेलीबाट कानेपोखरी तर्फ आउँदै गरेको प्रदेश १–०२०४४ प ११८ नम्बरको मोटरसाइकलमा सवार मोरङकै बेलबारी नगरपालिका ११ बस्ने रणध्वज राईलाई लागु औषधसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरी मोरङले जनाएको छ ।

  • स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह

    स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह

    काठमाडौं,साउन ६ / स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका लागि तयार पारिएका विधेयकहरूको मस्यौदामा सर्वसाधारण तथा सरोकारवालासँग राय–सुझाव मागेको छ।

    मन्त्रालयको बुधबारको मन्त्रीस्तरीय निर्णयअनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण) नियन्त्रण ऐन,२०४९ लाई संशोधन गर्न तयार बनेको विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन,२०६६ लाई संशोधन गर्न तयार बनेको विधेयक तथा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,२०७५ लाई संशोधन गर्न तयार बनेको विधेयकको मस्यौदा सार्वजनिक गरिएको हो। मन्त्रालयले इच्छुक व्यक्ति,स्वास्थ्यकर्मी,स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवालालाई साउन १२ गतेभित्र मन्त्रालयको कानून शाखाको इमेल [email protected] मा तोकिएको ढाँचाअनुसार राय तथा सुझाव पठाउन आग्रह गरेको छ।

    आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री वितरण) नियन्त्रण ऐन संशोधनको मस्यौदामा स्तनपानको संरक्षण तथा प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने व्यवस्था प्रस्ताव गरिएको छ। स्वास्थ्यकर्मीले निश्चित विशेष अवस्थाबाहेक आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु सिफारिस गर्न नपाउने,सरकारले स्तनपान व्यवस्थापन केन्द्र सञ्चालन गर्न सक्ने,प्रदेश र स्थानीय तहमा स्तनपान संरक्षण तथा सम्बर्द्धन समिति गठन गर्ने तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको विज्ञापन,प्रवर्द्धन र क्रस–प्रमोशनमाथि थप नियमन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। ऐन उल्लंघन गर्ने व्यक्ति वा संस्थाका लागि कैद,जरिवाना तथा क्षतिपूर्तिसम्बन्धी व्यवस्थालाई समेत थप स्पष्ट बनाइएको छ।


    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधनको मस्यौदामा स्वास्थ्यसम्बन्धी परिषद्मा दर्ता हुने विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पनि ऐनको संरक्षणको दायरामा समेट्ने,स्वास्थ्य संस्थामा हतियारसहित आपराधिक बल प्रदर्शन गर्न नपाइने तथा कार्यरत स्वास्थ्यकर्मीसँगै अध्ययनरत विद्यार्थीमाथि हुने हिंसा वा अवाञ्छित गतिविधिलाई कानुनी रूपमा सम्बोधन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। साथै ऐन कार्यान्वयनका लागि मन्त्रालयलाई आवश्यक निर्देशिका,कार्यविधि तथा मापदण्ड बनाउन सक्ने अधिकार दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

    त्यसैगरी सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधनको मस्यौदामा प्रसूति सेवा दिने स्वास्थ्य संस्थाले दक्ष स्वास्थ्यकर्मी वा तालिमप्राप्त प्रसूतिकर्मीको व्यवस्था गर्नुपर्ने,सम्मानजनक प्रसूति सेवा सुनिश्चित गर्नुपर्ने तथा गर्भवती र सुत्केरी महिलामाथि हुने शारीरिक वा मानसिक हिंसालाई कानुनी रूपमा निषेध गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। मस्यौदाले प्रसूति बिदा कम्तीमा ९८ दिनबाट छ महिनासम्म पुर्‍याउने,सुरक्षित गर्भपतन सेवासम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउने तथा विपद्को समयमा सुरक्षित मातृत्व,आकस्मिक प्रसूति,नवजात शिशुको अत्यावश्यक सेवा,परिवार नियोजन र सुरक्षित गर्भपतन सेवालाई प्राथमिकताका साथ उपलब्ध गराउनुपर्ने व्यवस्था पनि प्रस्ताव गरेको छ।
    मन्त्रालयले प्राप्त राय–सुझावका आधारमा तीनै विधेयकका मस्यौदालाई आवश्यक परिमार्जन गरी थप कानुनी प्रक्रियामा अघि बढाइने जनाएको छ।

  • गणेश नेपाली मृत्यु प्रकरण :  छानबिन न्यायिक समिति गठन

    गणेश नेपाली मृत्यु प्रकरण : छानबिन न्यायिक समिति गठन

    ७ साउन, काठमाडौं । सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य रहनुभएको छ। बैठकले समितिलाई अबको सात दिनभित्र घटनासम्बन्धी छानबिन गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएको छ।

    नेपालीको गत असार २६ गते वीर अस्पतालको ‘बर्न युनिट’मा उपचारको क्रममा निधन भएको थियो। उहाँको मृत्युपछि नेपाल सरकार तथा काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो। सहमतिको पहिलो बुँदामा भनिएको थियो, “यस घटनाको सत्यतथ्य र निस्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समतिले गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नेछ।” त्यसैअनुसार मन्त्रिपरिषद् बैठकले यो समिति गठन गरेको हो।

  • लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

    लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ


    काठमाडौँ, ६ साउनः नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका अनुसार काठमाडौँ, मकवानपुर, बारा, धनकुटा, कैलाली र रूपन्देहीबाट खैरो हेरोइन, ब्राउन सुगर, गाँजा, नाइट्राजेपाम र ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरिएको हो । काठमाडौँ महानगरपालिकाबाट खैरो हेरोइनसहित पाँच जना, चन्द्रागिरि–२ नागढुङ्गाबाट नाइट्राजेपामसहित दुई जना, बाराबाट गाँजासहित एक जना, मकवानपुरबाट ब्राउन सुगरसहित पाँच जना र धनकुटाबाट ट्रामाडोलसहित एक जना पक्राउ परेका छन् ।

    यस्तै, कैलालीबाट खैरो हेरोइनसहित चार जना तथा रूपन्देहीबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

  • उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य

    उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य

    गण्डकी, ४ साउन : पोखरा उच्च अदालतमा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या गत आवमा शून्यमा झरेको छ । अदालतमा एक वर्षदेखि १८ महिनाभित्रका आठ, छ महिनादेखि एक वर्षभित्रका एक सय ७७ र छ महिनाभित्रका तीन सय १४ मुद्दा मात्र बाँकी छन् । चार सय ९९ मुद्दा पछर्योट हुन बाँकी रहेको अदालतका उप–रजिष्ट्रार निलप्रसाद पनेरुले जानकारी दिए ।

    अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका सात सय ५० र नयाँ दर्ता भएका १३ सय १९ गरी गत आवमा दुई हजार ६९ मुद्दा रहेकामा १५ सय ७० अर्थात ७५.८८ प्रतिशत मुद्दा फर्छोट भएका थिए । उच्च अदालतले आव २०८१/०८२ मा लक्ष्यको ७८.०७ प्रतिशत मुद्दा फछर्योट गरेकामा गत आवमा भने फछर्योट दर केही घटेको हो । गत आवमा फछर्योट भएका मुद्दामध्ये देवानी प्रकृतिका चार सय ७५, फौजदारी मुद्दा नौ सय तीन र रिट एक सय ९२ रहेका छन् । सर्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत अदालतले मुद्दाको फछर्योटमा तीव्रता दिँदै आएको उप–रजिष्ट्रार पनेरुले बताए ।

    छरितो र चुस्त कार्यसम्पादनका कारण मुद्दा फछर्योटमा सुधार आएको उहाँको भनाइ छ । उच्च अदालतले जुनसुकै प्रकृतिका मुद्दालाई १८ महिनाभित्रमा फछर्योट गर्ने र दुई वर्ष नाघेका मुद्दाको संख्या शून्यमा पु¥याउने लक्ष्यसहित न्याय सम्पादन गर्दै आएको थियो ।

    उच्च अदालतले मुद्दाका मिसिलको विद्युतीय अभिलख राख्ने कार्यलाई पनि अगाडि बढाएको छ । गत आवमा पाँच सय ४४ मिसिलको विद्युतीय अभिलेख तयार पारिएको जनाइएको छ । अदालतले हालसम्म पाँच हजार तीन सय ४१ थान मिसिलको विद्युतीय अभिलेख राखेको छ ।

  • फरार अभियुक्त १८ वर्षपछि पक्राउ

    फरार अभियुक्त १८ वर्षपछि पक्राउ

    जनकपुरधाम, २ साउनः दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार प्रहार गरेको हत्या गरी फरार रहेका एक जनालाई शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–५ निवासी २५ वर्षीया चन्द्रिकादेवी रायलाई हतियार प्रहार गरेर हत्या गरी फरार रहेका स्थानीय ६० वर्षीय रामनाथ रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।


    दाइजोको विषयलाई लिएर गत २०६५ साल भदौ ३ गते विहान ९ बजेको समयमा चन्द्रिकाका श्रीमान् बौधा रायसहित तीन जनाले चन्द्रिकामाथि धारिलो हतियार प्रहार गरेको थियो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते चन्द्रिकाको भारतको बिहार राज्यको पटनामा उपचार गराउँदा उपचार हुन नसकि पुनःधरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाने क्रममा मृत्यु भएको थियो । घटना पश्चात फरारमध्ये रामनाथ रायलाई खोजी गर्ने क्रममा गाउँबाटै पक्राउ गरी थप अनुसनधान गरिरहेको प्रहरी नायब उपरीक्षक पालले बताए ।

  • उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

    उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

    नेपालगन्ज, २ साउनः उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा दुई हजार १६३ मुद्दामध्ये एक हजार ३५४ मुद्दा फर्छ्यौट गरेको छ । प्रतिशतका आधारमा ६२ दशमलव ६० प्रतिशत मुद्दा फर्छ्यौट भएको सो अदालतले जनाएको छ ।

    शुक्रबार यहाँ वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले अदालतले दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट गर्न सफल भएको जानकारी दिए । फर्छ्यौट भएका मुद्दा देवयानीतर्फ अंशवण्डा, माना चामल, सम्वन्ध विच्छेदलगायतका छन् भने फौजदारीतर्फ लागूऔषध, चोरी, डकैती, जर्बजस्ती करणी, ज्यान मार्ने उद्योग, किर्ते जालसाजी, बैङिकिङ कसुरलगायत रहेका छन् ।

    न्यायाधीस ज्ञवालीका अनुसार असार मसान्तसम्म १८ महिना पूरा गरेका १५ वटा मुद्दा मात्र फछ्र्योट हुन बाँकी रहेका छन् । ती मुद्दा पनि साउनभित्रै टुङ्गो लगाउने लक्ष्य रहेको उनले बताए ।


    अदालतका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरेका ६४२ र नयाँ दर्ता भएका एक हजार ५२१ गरी कुल दुई हजार १६३ मुद्दा लगतमा रहेका थिए । तीमध्ये एक हजार ३५४ मुद्दा फर्छ्यौट हुँदा ८०९ मुद्दा चालु अवस्थामा छन् ।

    वार्षिक कार्ययोजना अनुसार अदालतले दुई हजार ४९० मुद्दाको लगत रहने अनुमान गर्दै एक हजार ७४३ मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेको थियो । सोही आधारमा लक्ष्यअनुसार ७७ दशमलव ७ प्रतिशत उपलब्धि हासिल भएको छ ।

    विगत तीन आर्थिक वर्षको तथ्याङ्कले भने फर्छ्यौट दरमा केही गिरावट देखाएको छ । आर्थिक वर्ष २०८०–८१ मा ७१ दशमलव ४१ प्रतिशत र २०८१–८२ मा ७५दशमलव ७४ प्रतिशत फछ्र्योट भएको थियो भने आर्थिक वर्ष २०८२–८३मा यो दर ६२ दशमलव ६० प्रतिशतमा झरेको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा अदालतमा आगजनी गरिएपछि चार महिना मुद्दा सुनुवाई रोकिएका कारण फर्छ्यौट दर घटेको न्यायाधीश ज्ञवालीको भनाइ छ ।

    अदालतले जलेका मिसिलको प्राप्ति तथा प्रमाणीकरणकार्य पनि शतप्रतिशत सम्पन्न गरेको जनाएको छ । आर्थिक वर्षभर ७५३ वटा जलेका मिसिलको प्राप्ति र प्रमाणीकरण गरिएको उनले जानकारी दिए । बाँके र बर्दिया जिल्ला अदालतमा आर्थिक वर्ष २०८२–८३ मा दर्ता तथा जिम्मेवारी सरेका मुद्दामध्ये बाँकेमा दुई हजार ७३३ र बर्दियामा एक हजार ३१२ मुद्दा फछ्र्योट भएका छन् ।

    बाँके जिल्ला अदालतमा कुल सात हजार ४७ वटा मुद्दामध्ये दुई हजार ७३३ मुद्दा फर्छ्यौट भएको छ भने चार हजार ३१४ मुद्दा अझै विचाराधीन रहेका छन् । यसअनुसार बाँके जिल्ला अदालतको फछ्र्योट दर करिब ३८ दशमल ८ प्रतिशत रहेको छ ।

  • सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

    सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

    काठमाडौँ, १ साउनः सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाबीच फर्जी लिखतहरू खारेज गर्दै मिटरब्याज उन्मूलनको घोषणा गर्ने सहमति भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीडित पक्षका तर्फबाट कुशवाहाले हस्ताक्षर गरे ।


    सहमति अनुसार लामो समयदेखि आर्थिक सामाजिक विसङ्गतिका रूपमा रहेको मिटरब्याजसम्बन्धी समस्यालाई आर्थिक अपराध तथा कुप्रथाका रूपमा लिँदै यसम्बन्धी कुप्रथाको उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्नका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने र सो घोषणासँगै नागरिकमाथि आपराधिक तथा दुषित मनसायका साथ बनाइएका मिटरब्याजसँग सम्बन्धित फर्जि लिखतहरू (तमसुक, दृष्टि बन्धक, रजिष्ट्रेशन, छिनुवा पास, बाध्यकारी चेक आदिं स्वतः अवैध हुने सहमति भएको सम्झौतापत्रमा उल्लेख छ ।

    मिटरब्याज अपराध नियन्त्रण सम्बन्धी ऐन लागू गर्ने, मिटरब्याज अपराध नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्न गृह मन्त्रालयले तीन महिनाभित्र विधेयकको मस्यौदा तयार गरी कानून निर्माणको प्रक्रिया अगाडि बढाउने पनि सहमति भएको छ ।

    ‘मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी ऐन’ लागू गर्ने सहमति पनि भएको छ । उक्त ऐनमा मिटरब्याजसम्बन्धी अपराधको परिभाषा र कसुरको व्यवस्था कायम गर्ने, पीडितले गुमाएको चलअचल सम्पत्ति फिर्ता दिलाई उचित क्षतिपूर्ति भराउने, भ्रष्टाचार, आपराधिक लाभलगायत गतिविधिबाट आर्जित रकम क्यासिनो, ढुकुटी र ठेक्कापट्टालगायत क्षेत्रमा परिचालन गरी शहरी मिटरब्याजीबाट व्यक्तिहरूको उठिबास लाउने समस्या समाधान गर्न कानूनी व्यवस्था गर्ने र मिटरब्याजबारे न्याय निरुपण गर्न मिटरब्याजसम्बन्धी मुद्दा हेर्ने न्यायाधीकरणको व्यवस्था गर्ने प्रावधान राखिएका छन् ।

    सहमतिपत्रमा भनिएको छ, “मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम वडा कार्यालयमा लिखत प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत, कर तिरेको निस्सा तथा बैंक तथा वित्तीय संस्था वा कुनै विद्युतीय माध्यममार्फत कारोबार गरेको प्रमाण पेश नगरेको तथा एक पक्षको मात्र उपस्थितिमा प्रमाणीकरण गरेको लिखतलाई आधिकारिकता नदिने व्यवस्था गर्ने ।”

    वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र बैंक कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटरब्याजमा लगाउनेहरूमाथि कडा कारबाहीको व्यवस्था गरिनेलगायत विषय सहमतिपत्रमा उल्लेख गरिएका छन् ।

  • विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश

    विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश

    काठमाडौँ, १ साउनः विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

    आदेशमा भनिएको छ, “विष्णु प्रसाद पौडेललको सम्बन्ध, सलंग्नता रहेको कुरा तत्काल प्राप्त प्रमाणहरुवाट खुल्न नसकेको, आरोप दाबीको कसुरमा यी प्रतिवादीले इन्कार रही बयान गरेको, यी प्रतिवादीको नाममा सहप्रतिवादी दीपक भट्टको वित्तीय कारोबारसमेत सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने खुल्न नसकेकोे अवस्था हुँदा उल्लिखित तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीको हकमा विशेष अदालत ऐन, २०५९ को दफा ७ को (ग) को अवस्था विद्यमान रहेको देखियो ।”


    अदालतले उपाध्याक्ष पौडेलको आरोपमाथि उनले इन्कारी बयान दिएको, संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको, दीपक भट्टसँग वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको जनाएको छ ।

    ‘प्रस्तुत आरोपदाबीको मूल आरोपदाबीको रुपमा यस अदालतमा दर्ता भई कारबाही युक्त अवस्थामा रहेको ०८२–१५४ को सम्पत्ति शुद्धीकरण मुद्दाका प्रतिवादी दीपक भट्टले अनुसन्धान अधिकृत समक्ष तथा अदालत समक्ष बयान गर्दा निजको नाममा रहेको उल्लिखित कम्पनीहरुको नाममा श्रीराम टोवाको उद्योग प्रालिबाट शेयर खरिद गर्ने क्रममा यी प्रतिवादी विष्णुप्रसाद पौडेलले सहजीकरण गरेको भन्नेको कुनै पनि तथ्य खुलाएको वा पोल गरेको देखिँदैन, तसर्थ, पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाको पुर्पक्षको लागि प्रतिवादी विष्णुप्रसाद पौडेललाई साधारण तारिखमा राख्नू’, आदेशमा उल्लेख छ ।

    उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिएको थियो । पौडेलमाथि श्रीराम टोबाको कम्पनीको शेयर दीपक भट्टलाई दिलाउन अर्थमन्त्री भएका बेला पौडेलले भूमिका खेलेको आरोप थियो ।

  • सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश

    सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश

    काठमाडौँ, ३१ असारः सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
    न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज सर्वोच्च अदालतको आदेशविपरीत आयोगले सूचना प्रकाशित गरेको पूर्ण इजलासबाट रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कसैको पनि सम्पत्ति विवरण माग गर्न र जाँचबुझको काम अघि नबढाउन अन्तरिम आदेश गरेको हो ।

    पूर्वन्यायाधीश फोरम नेपाल र अधिवक्ता एमआर उपाध्यायले दायर गर्नुभएका छुट्टाछुट्टै रिट निवेदनको सुनुवाइपछि अदालतले उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आयोगलाई तत्काल काम अघि नबढाउने आदेश भएको र आदेशको लिखित पाठ भने आउन बाँकी छ ।

    यसअघि, सर्वोच्च अदालतले यही असार २६ गते न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रस्तुत रिट निवदेनको पूर्ण इजलासबाट अन्तिम टुङ्गो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु, पेस हुन आएको सम्पत्ति विवरण उपर छानबिन गर्ने कार्य यथास्थितिमा राख्नु र कसैउपर पनि कुनै पनि किसिमको कानुनी कारबाहीका लागि सिफारिस नगर्नु नगराउनु अन्तरिम आदेश गरेको थियो ।

    अदालतको आदेशसको पूरै प्रतिकूल हुने गरी आयोगले यही असार २९ गते सूचना प्रकाशित गरेपछि सर्वोच्च अदालतमा आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारी र सदस्यहरू पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, गणेश केसी, प्रकाश लम्साल र सम्पत्ति आयोगलाई अदालतको अवहेलनामा निवेदन दायर गरिएको छ । यही असार ३२ गते पेसी रहेको छ ।

  • नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो

    नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो

    काठमाडौँ, ३० असारः नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र रु ४० हजार जरिवाना तोकेको हो । न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र रु २० हजार जरिवाना तोकेको छ । उहाँहरुलाई सरकारी लिखत कृते कसुर, ठगी र सङ्गठितमा सो सजाय तोकिएको हो ।

    सोही मुद्दामा सरकारी लिखत कृते कसुर, ठगी र सङ्गठित अपराधमा टेकनाथ रिजलालाई दुई वर्ष कैद र रु २० हजार जरिवाना तोकिएको छ । यस्तै केशवप्रसाद दुलाल, ज्ञानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङदेवा शेर्मा र टङ्क नारायाण पाण्डेलाई चार वर्ष कैद तथा रु ४० हजार जरिवाना तोकिएको छ । यसैगरी शमशेर मिया, हरिभक्त महर्जन, नीरञ्जनकुमार खरेल र नरेन्द्र केसीलाई एक वर्ष कैद र रु १० हजार जरिवाना तोकिएको छ ।

  • निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

    निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

    काठमाडौँ, ३० असारः सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमहरुलाई सरकारी विज्ञापन नदिने सरकारको परिपत्र खारेज हुने ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै सरकारले जारी गरेको उक्त परिपत्र खारेज हुने ठहर गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार फैसलाको पूर्णपाठ भने आउन बाँकी छ ।

    मिडिया सोसाइटीका अख्तियार प्राप्त निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले सरकारले निजी सञ्चारमाध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णय गैरकानुनी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सरकारले सरकारी विज्ञापनहरु सरकारी सञ्चार माध्यमहरुबाट मात्रै प्रकाशित एवं प्रशारित गर्ने निर्णय गरी प्रधानमन्त्री कार्यालयबाट परिपत्र जारी गरेको थियो । अदालतले सो परिपत्र बदर हुने फैसला गरेको हो ।

  • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

    वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

    काठमाडौँ, २७ असारःवैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीका ३६ वर्षीय कुनसाङ लामा, बर्दियाका ४२ वर्षीय धनबहादुर शाही, ताप्लेजुङका उमेश लिम्बु, तनहुँकी २१ वर्षीया सचिता परियार र खोटाङका ४१ वर्षीय निरोज राईलाई पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार कुनसाङले यूएई पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख सात हजार रुपैयाँ, धनबहादुरले जर्जिया पठाइदिने भन्दै एक जना पीडितबाट दुई लाख ९५ हजार रुपैयाँ, उमेशले बेलारुस पठाइदिने भन्दै एक जना पीडितबाट पाँच लाख रुपैयाँ, सचिताले रोमानिया पठाइदिने भन्दै एक जना पीडितबाट एक लाख ५० हजार रुपैयाँ तथा निरोजले टर्की पठाइदिने भन्दै दुई जना पीडितबाट सात लाख ९० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

    पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले कुनसाङलाई बुढानिलकण्ठ नगरपालिका–२, धनबहादुरलाई तारकेश्वर नगरपालिका–८, उमेशलाई टोखा नगरपालिका–५, सचितालाई काठमाडौं महानगरपालिका–३ र निरोजलाई काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरेको हो। कुनसाङ र धनबहादुर बिहीबार तथा उमेश, सचिता र निरोज शुक्रबार पक्राउ परेका हुन् ।
    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

  • देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ

    देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ

    काठमाडौँ, २७ असारः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूबाट खैरो हेरोइन, गाँजा, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नोर्फिन, डाइजेपाम, फेनारगन, ट्रामाडोल, स्पास्पेन र प्रेगाब्लिनलगायत विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ ।

    उनीहरूलाई काठमाडौँ, पर्सा, दाङ, सङ्खुवासभा, कैलाली, उदयपुर, ललितपुर, सुनसरी, धनगढी र मकवानपुरबाट शुक्रबार र आज पक्राउ गरिएको हो । पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

  • हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

    हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

    खोटाङ, २७ असारः खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्य भएपछि हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् । घरायसी विवादमा बिहीबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र छोरी २२ वर्षीया सीता सार्की पक्राउ परेका हुन् । तीलकबहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने, श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।


    अधिकारीको मृत्युपछि तीलकबहादुर आफैले फोन गरेर प्रहरीको सम्पर्कमा आएका थिए । उनकी श्रीमती र छोरीविरुद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको उनले बताए । मुख्य आरोपित तीलकबहादुरको घरमा मजदुरी गरेको पारिश्रमिक माग्न गएको समयमा अधिकारीमाथि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनाका आरोपीलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दा अन्तरगत थप अनुसन्धान भइरहेको सूचना अधिकारी बस्नेतले बताए । अधिकारीको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । मृतक अधिकारी र सार्की परिवारबीच आर्थिक कारोबार रहेको तथा मृतक अधिकारी सार्कीको घरमा पुगेको अवस्थामा विवाद हुँदा सार्कीले खुकुरी प्रहार गरेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।