Category: मनोरञ्जन

  • नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    काठमाडौँ, २ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहो¥याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । कात्तिक २ गते नवरात्रको नवौ दिन भएपनि कर्म भने आठौँ दिनमा गरिने नै गर्नुपर्छ । दशैँ घर पूजा कोठामा कात्तिक २ गते सोमबार पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ । अन्य कर्म पनि महाअष्टमीकै दिनमा गरेका कर्मलाई दोहोे¥याउनुपर्ने पनि उहाँले बताउनुभयो । आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ ।

    विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ । देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्हरुको भनाइ छ । हनुमानढोकामा कालरात्रि पूजा सोमबार राति राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्पराअनुसार यही कात्तिक २ गते सोमबार राति गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले राससलाई जानकारी दिनुभयो ।

    हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिनमा महानवमीको पूजा, आराधनालगायत कर्म गर्ने परम्परा रहेकाले यस्तो निर्णय गरिएको जानकारी पनि उहाँले दिनुभयो । हनुमानढोका दरबारको दशैँ घरमा कात्तिक १ गते आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको छ । मूल पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ ।

    महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा, आराधना गर्ने परम्परा रही आएको छ ।

  • पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

    पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

    काठमाडौँ, ३१ असोजः आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो ।

    घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

    नवपत्रिकाको नामलेसमेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ ।

    फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले बताउनुभयो ।

    हनुमानढोकाको दसैँ घरमा भित्र्याइयो फूलपाती यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना हुने हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिनुभयो ।

    जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, नेपालीको सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याइएको हो । यसवर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उहाँले बताउनुभयो ।

    हनुमानढोका दरबारको नासलचोकमा पूजा, मूल चोकमा बलिसहित पूजा गरेपछि दसैँ घरमा फूलपाती भित्र्याइएको हो । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने कहिले संस्कृतिमन्त्री त कहिले सचिव उपस्थित हुने गरेकामा यसवर्ष मन्त्री र सचिव उपत्यका बाहिर रहनुभएकाले मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सौभाग्य प्रधानागङलगायत अधिकारीहरुको सहभागिता रहेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

    हनुमानढोकामा भित्र्याउन आज बिहानको साइतमा गोरखाबाट फूलपाती काठमाडौँ ल्याइएको थियो । नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट राजकाज सुरु गरेपछि गोरखाबाट फूलपाती ल्याई भित्र्याउने गरिएको हो ।

    आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गरेको छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कनेक्रम अझ तीव्र भएको छ ।

    फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गे पिङ र रोटेपिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ । बजारमा आज पनि किनमेल गर्नेको भीड देखिन्छ । विशेषगरी खाद्यसामग्री र कपडा, जुत्ता, चप्पलका पसलमा मानिसको भीड छ ।

  • दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    काठमाडौँ, २६ असोजः नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

    संसारका समग्र प्राणीलाई सच्चिदाननद रूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आरधना गरिने हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

  • सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

    सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

    भूमिराज पिठातोली–रासस
    बझाङ, २६ असोजः घरमा आमा छिन् । परिवार छ । आफन्त छन् । दसैँमा टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्ने रहर पनि छ । तर बझाङको साइपाल गाउँपालिकाका घुरनबहादुर बोहराका लागि चाडपर्व घर फर्किने समय होइन, व्यापारका लागि घर छाड्ने समय हो । घुरन भेडाच्याङ्ग्राको बथान लिएर पोखरा र काठमाडौँ पुग्छन् । सहरका भान्सामा हिमालका भेडाच्याङ्ग्राको मासु पाकिरहँदा आफ्नै घरमा आमाको हातबाट टीका थाप्न र परिवारसँगै बसेर दसैँ मनाउनबाट वञ्चित हुनुपर्छ ।

    घुरनसहितका व्यापारीको श्रमले सहरको चाडलाई स्वाद दिन्छ, तर त्यही व्यापारले आफ्नै चाडको खुसी खोसिदिन्छ । साइपाल गाउँपालिका–१ धलौनका घुरनबहादुरले दसैँमा आमाको हातबाट टीका नथापेको १५ वर्षभन्दा बढी भइसक्यो । भेडाच्याङ्ग्राको व्यापार उहाँका लागि आम्दानीको महत्त्वपूर्ण स्रोत हो । त्यसैले चाडपर्वमा घर फर्किने रहर भएर पनि व्यापारको जिम्मेवारीले बजारतर्फ डोहोर्याउँछ । आमाको आशीर्वाद फोनबाटै लिनुपर्छ । सन्तानलाई शुभकामना पनि फोनबाटै दिनुपर्छ । “घरको एक्लो छोरो, त्यो पनि घर नहुँदा आमालाई दसैँ आएजस्तो नै लाग्दैन । परिवारको मुख्य व्यक्ति नहुँदा चाडपर्व टाढिएकै जाती भन्छन्”, घुरन सुनाउँछन् ।


    साइपाल गाउँपालिका–२ धलौनका उज्ज्वल बोहराको अनुभव पनि उस्तै छ । उहाँले पनि डेढ दशकदेखि दसैँ–तिहार परिवारसँग बसेर मनाउन पाएका छैनन् । दसैँ बाटोमै बित्छ, तिहार सहरकै व्यस्ततामा सकिन्छ । “वर्षभरिको आम्दानी हुने चाडवाडको बेला दसैँ सम्झेर घरमै बस्न सकिँदैन । परिवारलाई सम्झनुपर्छ र बाटो लाग्नुपर्छ”, उज्ज्वल भन्छन् ।


    घुरन, उज्ज्वल, राजेन्द्र, सुरेन्द्रजस्ता व्यापारी तथा सहयोगी साइपालमा सय जनाभन्दा बढी छन् । साइपालबाट भेडाच्याङ्ग्रा लिएर पोखरा र काठमाडौँ जानेको सङ्ख्या डेढ सयभन्दा बढी हुन्छ । ट्रक चालकहरू बजार पुगेको भोलिपल्टै फर्किए पनि भेडा च्याङ्ग्राका साहु र सहयोगीलाई बिक्री गर्न समय लाग्छ । उनीहरूको दसैँ–तिहार बाटोमै सकिन्छ ।

    “बीचमा कसैले टीका लगाइदिएमा कानमा जमरा सिउरिएर पर्व मनाएको अनुभूति गर्न पाइन्छ”, साइपाल–१ का रमेश धामीले भने, “नत्र निधारमा टीका र कानमा जमरा नलगाई चाड बित्छ । परिवारसँगको भेटघाट र सामूहिक खुसी व्यापारको व्यस्तताले टाढा पुर्याउँछ ।” साइपालबाट व्यावसायिक रूपमा भेडाच्याङ्ग्रा पोखरा पठाउन थालिएको २०६८ सालदेखि हो । त्यसअघि साइपालका युवा मुगु, हुम्ला र जुम्लाका व्यापारीसँग सहयोगीका रूपमा पोखरा जाने गर्थे । स्थानीय भेडाच्याङ्ग्रा खरिद गर्न आउने व्यापारीले पशुको हेरचाह र ढुवानीमा सहयोग गर्ने मानिस खोज्थे ।

    घुरनबहादुरले पनि २०६४ सालमा सहयोगीका रूपमा पोखरा पुगेर यो व्यवसायको अनुभव बटुटेका थिए । “म सुरुमा २०६४ सालमा सहयोगीको रूपमा पोखरा पुगेको थिएँ”, उनी भन्छन्, “मुगु, हुम्ला, जुम्लाका व्यापारी हाम्रै भेडाच्याङ्ग्रा किन्न आउँथे । भेडासँगै सहयोगी पनि खोज्थे । उहाँहरूसँग आफ्नै भेडाच्याङ्ग्राका सहयोगी भएर गन्तव्यमा पुग्थ्यौँ । साहुले काम गरेको पैसा दिन्थे र फर्किन्थ्यौँ ।”

    सहयोगीका रूपमा काम गर्दा पशु खरिद, ढुवानी र बिक्रीको अनुभव हासिल गरेको उनी बताउँछन् । “सहयोगीका रूपमा चार वर्षको अनुभवपछि आफैँले टिम बनाएर व्यावसायिक रूपमा भेडाच्याङ्ग्रा निर्यातमा लागेँ ।” “सुरुको वर्ष कर्णालीका विभिन्न जिल्ला हुँदै पोखरा भेडा हिँडाएर पुर्यायौँ । त्यो बेलामा बेच्दै हिँड्दै गर्यौँ । ठ्याक्कै एक महिना लागेको थियो”, उनी भन्छन् । पहिले पशु हिँडाएरै लामो दूरी पार गर्नुपर्ने अवस्था थियो । अहिले भने ट्रकमा ढुवानी गरिने उनले बताए ।


    उच्च हिमाली क्षेत्रमा जडीबुटी र प्राकृतिक घाँस खाएर हुर्किएका भेडाच्याङ्ग्राको मासुको स्वाद पोखरामा विस्तारै लोकप्रिय हुँदै गएको व्यापारीको अनुभव छ । सोही ठाउँका व्यापारी राजेन्द्रबहादुर धामी भन्छन्, “पोखराबाट सुरु भएको बजार काठमाडौँसम्म फैलिएको छ । ग्राहक बढेसँगै कतिपयले व्यापारी पुग्न ढिला भए पनि प्रतीक्षा गर्ने गरेका छन् ।” यसले हिमाली क्षेत्रका पशुपालक र व्यापारीका लागि नयाँ बजारको सम्भावना खोलेको छ । गाउँमा पालिएका पशु स्थानीय बजारमा मात्र सीमित नरही टाढाका उपभोक्तासम्म पुग्न थालेका छन् ।

    उपभोक्ताको हातमा नपुगुन्जेल दुःखैदुःख

    बझाङबाट पोखरा भेडाच्याङ्ग्रा पुर्याउन सामान्य अवस्थामा पाँच दिन लाग्छ । कतिपय अवस्थामा एक सातासम्म बाटोमै बित्छ । पशुलाई दिनभर गाडीमा राखेर लैजान सकिँदैन । बिहानदेखि दिनभर नजिकका वन तथा चरन क्षेत्रमा चराउनुपर्छ । साँझ भएपछि मात्र गाडीमा लोड गरेर यात्रा अघि बढाइन्छ । धेरै सङ्ख्यामा ल्याउँदा पनि चुनौती हुने गरेको धामी बताउँछन् ।

    धामीका अनुसार यस वर्षमात्रै साइपाल गाउँपालिकाबाट ३८ ट्रक भेडाच्याङ्ग्रा पोखरा र काठमाडौँका लागि पठाइएको छ । गत वर्ष यस्तो सङ्ख्या २८ ट्रक थियो । जिल्लाभरबाट भने करिब ६० ट्रकबराबर भेडाच्याङ्ग्रा पोखरा निर्यात हुने गरेको उनी बताउँछन् ।


    एउटा ट्रकमा औसतमा ६५ वटा भेडाच्याङ्ग्रा अटाउने व्यापारीको विवरण छ । यस हिसाबले साइपालबाट यस वर्ष पठाइएका ३८ ट्रकमा औसत क्षमताअनुसार करिब दुई हजार ४७० वटा भेडाच्याङ्ग्रा ढुवानी भए । गाउँपालिकाले भेडाच्याङ्ग्रा निर्यातबापत प्रतिगोटा रु १०० का दरले राजस्व सङ्कलन गर्ने गरेको छ । साइपाल गाउँपालिकाका नायब प्राविधिक सहायक सुमन सिंहले भने, “पालिकाको कार्यपालिकाको निर्णयअनुसार राजस्वबापत प्रतिगोटा रु १०० का दरले सङ्कलन गरेका छौँ ।”

    यसले स्थानीय तहमा व्यापार राजस्वको स्रोत देखिने उनले बताए ।
    उहाँका अनुसार बझाङको सुर्मा, छविसपाथिभेरा, बुङ्गल नगरपालिका, मस्टा, साइपाल र तलकोट गाउँपालिकाले पनि यसरी नै राजस्व सङ्कलन गर्ने गरेको छ । सङ्ख्या एकिनपछि पालिकाको सिफारिससहित आवश्यक कागजात तयार पारेर भेडाच्याङ्ग्रा निर्यात गर्ने गरेको उनले बताए ।
    एउटा पशुमा पाँच हजारसम्म अतिरिक्त खर्च

    साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीका अनुसार एउटा भेडाच्याङ्ग्राको यात्रामा रु पाँच हजारसम्म अतिरिक्त खर्च हुन्छ । गाउँमा एउटा भेडाच्याङ्ग्रा खरिद गर्न रु २५ हजारदेखि रु ३० हजारसम्म लगानी गर्नुपर्ने उनी बताउँछन् । खरिदपछि ढुवानी, चरिचरन, खाना, जनशक्ति र बाटोका अन्य खर्च थपिन्छन् । “रु २५–३० हजारसम्ममा भेडाच्याङ्ग्रा खरिद गर्नुपर्छ”, धामी भन्छन्, “तर बजारमा कहिलेकाहीँ राम्रो मूल्य नपाउँदा निकै घाटा व्यहोर्नुपर्ने हुन्छ ।”

    धेरै पशु एकैपटक खरिद गर्ने व्यापारीले ठूलो रकम लगानी गर्नुपर्छ । बजारसम्म पुग्दा थप खर्च भइसकेको हुन्छ । तर बिक्री मूल्य सुनिश्चित हुँदैन । अपेक्षित मूल्य नपाएमा लगानी उठाउन कठिन हुने गरेको धामीले बताए । व्यापारको अर्को जोखिम उपभोक्ताको धारणा पनि हो । धामीका अनुसार अघिल्लो वर्ष बझाङबाट लगिएका च्याङ्ग्रा वास्तविक नभएको भन्ने अफवाह फैलिएपछि बजार प्रभावित भएको थियो । अन्ततः व्यापारीले लिलामी गरेजस्तै गरी बेचेर फर्किनुपरेको उनले सुनाए ।


    लामो दूरीको यात्रा गर्दा व्यापारीले आर्थिक जोखिममात्रै उठाउँदैनन्, सामाजिक र व्यावहारिक कठिनाइ पनि भोग्छन् । पशुलाई बाटोमा चराउन स्थानीयसँग अनुमति लिनुपर्छ । कतिपय ठाउँमा चरन प्रयोग गरेबापत रकम तिर्नुपर्छ । तर पैसा तिरेपछि पनि व्यवहार सहज हुँदैन । “चराउन नपाए भेडा च्याङ्ग्रा बाटोमै मर्छन् । कतै बिरामी हुन्छन् । त्यस्तो अवस्थामा सबै नोक्सान हुन्छ । बाटोमा चरिचरन गर्दा स्थानीयबाट अपमान सहनुपर्छ, गाली सहनुपर्छ”, धामी भन्छन् ।


    बाटोमा सुरक्षाले पनि निकै दुःख दिने गरेको उनीहरुको बुझाइ छ । सबै प्रक्रिया पुर्याउँदा पनि बाटोमा सुरक्षा निकायले अनेक झमेला गर्छन् । धुरनले भने, “हामी जिल्लाबाट बाहिर जाँदा सबै कागजात तयार गरेर मात्रै जान्छौँ । तर, बीचमा सुरक्षा निकायले कतै कागजात नपुगेको, लाइसेन्स वा बिलबुकसम्बन्धी कतै न कतै खोट देखाएर झमेलामा अल्झाउँछन् ।”

    स्वास्थ्य परीक्षणपश्चात निर्यात

    ठूलो सङ्ख्यामा भेडाच्याङ्ग्रा एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा पशुको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । लामो दूरीको ढुवानी र विभिन्न स्थानमा पशुको जमघट हुँदा सङ्क्रमण तथा रोग फैलिन सक्ने जोखिम हुने भन्दै परीक्षण गरेरमात्रै निर्यात गर्ने गरिएको छ । पशु चिकित्सक डा रवि थारूका अनुसार जिल्लाबाट भेडाच्याङ्ग्रा पठाउँदा परीक्षण गरेर पठाउने गरिएको छ ।

    “यति ठूलो मात्रामा पठाउँदा बिनापरीक्षण पठाएमा कुनै सङ्क्रमण वा रोग फैलन सक्छ”, थारू भन्छन्, “त्यसैले पशुको परीक्षण, प्राथमिक उपचारका लागि औषधि, व्यवसायीसँग आवश्यक कागजात सबै पूरा गरेपछि मात्रै पठाउँछौँ ।” स्वास्थ्य परीक्षणले सम्भावित रोगको जोखिम कम गर्न र उपभोक्तासम्म स्वस्थ पशु पुर्याउन सहयोग गर्ने उनले बताए ।

  • घरघरमा जमरा राखियो

    घरघरमा जमरा राखियो

    काठमाडौँ, २५ असोजः आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जमरा राखिएको छ । दसैँघरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडादसैँ सुरु भएको छ । यसलाई शारदीय नवरात्र पनि भनिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष चित्रा नक्षत्र र वैधृति योग परेकाले स्वस्तिशान्ति गरी घटस्थापनासहित आज नै जमरा राख्न आह्वान गरेको थियो । सामाजिक सञ्जालमा सोमबार घटस्थापना गर्ने चर्चा चलेपछि समितिले आजै त्यसो गर्नुपर्ने बताएको हो ।

    नवरात्रमा शक्तिकी अधिष्ठात्री देवीको आवाहन गरिन्छ । जौको अङ्कुर दुर्गाको प्रिय वस्तु भएकाले आज यव रोपेर विजया दशमीका दिन दुर्गालाई चढापछि टीका प्रसादका साथ समृद्धिको प्रतीक पहेँला जमरा लगाउने प्रचलन छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् तोयराज नेपालले बताए ।

    दुर्गाका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रूपको दुर्गा पक्षमा विशेष पूजा गरिन्छ ।

  • झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

    विमलबहादुर विष्ट-रासस

    काठमाडौँ, २५ असोजः दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिङ्गारिएका छन् । चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले मन्दिर परिसरदेखि आसपासका सडकसम्म विभिन्न रङका बत्तीले सजावट गरिएपछि धार्मिकस्थलको सौन्दर्य थपिएको छ । साँझ परेसँगै झिलिमिली बत्तीले उज्यालिएका मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनको चहलपहल पनि बढ्न थालेको छ ।

    काठमाडौँका मैतीदेवी, नक्साल भगवतीलगायतका प्रमुख मन्दिरमा गरिएको आकर्षक सजावटले धार्मिक क्षेत्रलाई थप रमणीय बनाएको छ । दिनभर पूजाआजाका लागि भक्तजन आउने गरे पनि साँझको समयमा बत्तीको उज्यालोमा मन्दिरको दृश्यावलोकन गर्ने, देवीदेवताको दर्शन गर्ने र परिवार तथा आफन्तसँग समय बिताउनेको उपस्थिति बढेको छ । झिलिमिली बत्तीले सिङ्गारिएका मन्दिर परिसर चाडपर्वको उल्लास र धार्मिक आस्थाको प्रतीकका रूपमा देखिन थालेका छन् ।

    मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्यसचिव रमेश खड्गीले चाडपर्वको समयमा विशेषगरी साँझ मन्दिरमा दर्शन गर्न आउने भक्तजनको चहलपहल बढेको जानकारी दिनुभयो । उहाँका अनुसार परिवार तथा आफन्तसँग मन्दिर पुगेर पूजाआजा गर्ने, देवीदेवताको दर्शन गर्ने तथा सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्पराले धार्मिकस्थलमा भक्तजनको उपस्थिति बढाएको हो ।

    “परिवार तथा आफन्तसँग मन्दिर पुगेर पूजाआजा गर्ने, देवीदेवताको दर्शन गर्ने र सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्पराले पनि धार्मिकस्थलमा भक्तजनको उपस्थिति बढाएको छ । अहिले साँझको समयमा मैतीदेवी मन्दिरमा दर्शन गर्न आउने भक्तजनको घुइँचो लाग्ने गरेको छ,” उनले भने ।

    मैतीदेवी मन्दिरमा गरिएको झिलिमिली बत्तीको सजावटले धार्मिक वातावरणलाई थप आकर्षक बनाएको उहाँको भनाइ छ । चाडपर्वका अवसरमा मन्दिर परिसरलाई उज्यालो र व्यवस्थित बनाउने प्रयासले भक्तजनलाई पूजाआजा गर्न सहज हुनुका साथै धार्मिकस्थलको सौन्दर्यसमेत बढाएको छ । त्यसैगरी नक्साल भगवती मन्दिर पनि विभिन्न रङका बत्तीले सिङ्गारिएपछि दर्शनार्थीको आकर्षणको केन्द्र बनेको छ । मन्दिर परिसरमा गरिएको सजावटले दसैँको आगमनसँगै चाडपर्वको उमङ्ग बढाएको स्थानीय बताउँछन् । साँझको समयमा मन्दिरमा बत्ती बल्न थालेपछि आसपासको क्षेत्रसमेत उज्यालो देखिने गरेको छ । मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनका साथै सजावट अवलोकन गर्न आउनेको चहलपहलले यस क्षेत्रको वातावरण थप उत्साहपूर्ण बनेको छ ।

    नेपाली समाजमा दसैँ, तिहारलगायतका चाडपर्वलाई धार्मिक आस्था, पारिवारिक मिलन र सामाजिक सद्भावका महत्त्वपूर्ण अवसरका रूपमा लिने गरिन्छ । दसैँमा शक्तिस्वरूपा देवीको पूजाआराधना गर्ने तथा तिहारमा दीप प्रज्ज्वलन गरी घर, मन्दिर र सार्वजनिकस्थललाई उज्यालो बनाउने परम्परा छ । यही सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार चाडपर्वको समयमा मठमन्दिर तथा शक्तिपीठलाई विशेष रूपमा सजाउने गरिन्छ ।

    मैतीदेवीका स्थानीय मधुकर पुडासैनीले चाडपर्वको समयमा धार्मिकस्थलमा गरिने सजावटले धार्मिक आस्थासँगै सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई पनि उजागर गर्ने बताउनुभयो । उहाँका अनुसार काठमाडौँ उपत्यकाका मठमन्दिर तथा शक्तिपीठ धार्मिक आस्थाका केन्द्रमात्र नभई उपत्यकाको सांस्कृतिक पहिचान र ऐतिहासिक सम्पदाका रूपमा समेत परिचित छन् ।

    “काठमाडौँ उपत्यकामा रहेका मठमन्दिर तथा शक्तिपीठ धार्मिक आस्थाका केन्द्रमात्र नभई यहाँको सांस्कृतिक तथा ऐतिहासिक पहिचानका महत्त्वपूर्ण सम्पदासमेत हुन् । यही परम्पराअनुसार मन्दिर तथा शक्तिपीठमा पनि विशेष सजावट गर्ने गरिएको छ”, उनले भने ।
    उनका अनुसार चाडपर्वका अवसरमा गरिने सजावटले धार्मिकस्थलको सुन्दरता बढाउनुका साथै स्थानीय क्षेत्रमा चाडपर्वको रौनक थप्न सहयोग पुर्याएको छ । धार्मिक परम्परालाई निरन्तरता दिनुका साथै नयाँ पुस्तालाई सांस्कृतिक सम्पदा र परम्पराबारे जानकारी गराउन पनि यस्ता गतिविधि उपयोगी हुने उनको भनाइ छ ।

    चाडपर्वको समयमा मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्ने भएकाले सहज आवागमन, सरसफाइ र सुरक्षामा विशेष ध्यान दिनुपर्ने बर्दियाबाट मैतीदेवी मन्दिरमा दर्शन गर्न आएका रमेशकुमार थारूले बताए । धार्मिकस्थलमा भक्तजनको भीड बढ्ने समयमा मन्दिर परिसर सफा राख्ने, आवतजावत व्यवस्थित बनाउने तथा सुरक्षाको उचित प्रबन्ध मिलाउने विषय महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

    “धार्मिक आस्थासँगै सांस्कृतिक परम्परा र सामाजिक सद्भावलाई जोड्ने यस्ता गतिविधिले काठमाडौँको चाडपर्वमय वातावरणलाई थप जीवन्त बनाएका छन् । यहाँको सुरक्षालगायतका कुरामा विशेष ध्यान दिनु आवश्यक छ”, उनले भने ।
    नक्साल क्षेत्रमा व्यापार व्यवसाय गर्दै आउनुभएका स्थानीय धर्मेन्द्रकुमार क्षेत्रीले यहाँका मठमन्दिर तथा शक्तिपीठलाई नयाँ दुलहीझैँ सिङ्गारिएपछि साँझको समयमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनको चहलपहल बढेको बताए । उनका अनुसार मन्दिरमा गरिएको आकर्षक सजावट र झिलिमिली बत्तीले दसैँ सुरु भएको अनुभूति गराउनुका साथै धार्मिक क्षेत्रको सौन्दर्यसमेत बढाएको छ । “यहाँका शक्तिपीठको सजावट र झिलिमिली बत्तीले दसैँ सुरु भएको आभास हुने गरेको छ । शक्तिपीठको सजावटले यहाँका धार्मिक क्षेत्र निकै रमणीय भएका छन्”, उनले भने ।
    काठमाडौँका विभिन्न मठमन्दिरमा मात्रै नभई मन्दिर आसपासका सडक तथा सार्वजनिक क्षेत्रमा समेत बत्ती जडान गरी उज्यालो बनाइएको छ । साँझको समयमा सडक र मन्दिर एकैसाथ झिलिमिली देखिँदा चाडपर्वको वातावरण थप आकर्षक बनेको छ । धार्मिकस्थलको सजावटले स्थानीय बासिन्दा, दर्शनार्थी तथा उपत्यका घुम्न आउने आगन्तुकलाई समेत आकर्षित गरेको छ ।

    काठमाडौँ उपत्यकामा गुह्येश्वरी, भद्रकाली, दक्षिणकाली, शोभा भगवती, बङ्गलामुखी, मैतीदेवी र नक्साल भगवतीलगायतका मन्दिर तथा शक्तिपीठ धार्मिक आस्थाका प्रमुख केन्द्रका रूपमा परिचित छन् । विशेषगरी दसैँको समयमा देवीको दर्शन तथा पूजाआजाका लागि भक्तजन यी शक्तिपीठमा पुग्ने गर्दछन् । धार्मिक विधि र परम्पराअनुसार पूजा गर्ने, परिवारको सुखसमृद्धिको कामना गर्ने तथा मनोकामना पूरा होस् भन्ने विश्वासका साथ दर्शन गर्ने चलन छ ।

    दसैँ र तिहारका अवसरमा मठमन्दिर तथा शक्तिपीठमा गरिने सजावटले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ । उपत्यकाका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै चाडपर्वका अवसरमा तिनको सौन्दर्य उजागर गर्न सके स्थानीय धार्मिक परम्परा र सांस्कृतिक पहिचानलाई थप प्रवर्द्धन गर्न सकिने स्थानीयको धारणा छ ।

    यसरी झिलिमिली बत्तीले सिङ्गारिएका काठमाडौँका मठमन्दिर तथा शक्तिपीठले दसैँको आगमनसँगै उपत्यकाको वातावरणलाई चाडपर्वमय बनाएका छन् । धार्मिक आस्था, सांस्कृतिक परम्परा, पारिवारिक मिलन र सामाजिक सद्भावको सन्देश बोकेका यी धार्मिकस्थलमा साँझपख बढ्ने भक्तजनको चहलपहलले काठमाडौँको चाडपर्वको रौनकलाई थप जीवन्त बनाएको छ ।

  • नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    कञ्चनपुर, २५ असोज । दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपालीहरू घर फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ । भारतका विभिन्न स्थानमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व परिवारसँग मनाउन स्वदेश फर्किन थालेका हुन् । छिमेकी मुलुक भारतका उत्तराखण्ड, हिमाचल प्रदेश, दिल्ली, पञ्जाबलगायत क्षेत्रमा काम गर्न गएका नेपालीहरू दसैँ मनाउन घर फर्किने गरेका छन् ।

    देहरादुन रोजगारी गर्दै आएका अछामको ढकारीका खगेन्द्र बुढा पनि आफ्ना पाँच जना साथीसँगै चाडपर्व मनाउन घर फर्किँदै गर्दा गड्डाचौकी नाकामा भेटिए । “देहरादुनमा हामीहरू रोडमा काम गर्छौ दसैँ मनाउन घर फर्किएका हौँ”, उनले भने, “दसैँतिहार मनाएर फेरि रोजगारीका लागि उतै जानुपर्छ ।” नेपालमा रोजगारी नहुँदा यहाँबाट थुप्रै मानिस मजदुरीका लागि भारतका विभिन्न सहरमा पुग्ने गरेको उनको भनाइ थियो ।

    कालीकोटका निगेन्द्र शाहीले पनि हिमाञ्चल प्रदेशबाट चाडपर्व मनाउन घर फर्किएको बताए । “हिमाञ्चलमा खेतीपातीको काम गर्छौँ, त्यसको कमाइले घरखर्च चलेको छ”, उनले भने, “दसैँ मनाउन आउँछौ तिहारपछि फर्किने हो ।” उनले आफूसँगै रोजगारीका लागि गएकाहरू पनि चाडपर्व मनाउन दसैँको बेला घर फर्किने र चाडपर्वपछि रोजगारीका लागि पुनः भारत जाने गरेको बताए ।


    मसुरियाका मीनबहादुर कठायत पनि भारतको दिल्लीमा सुरक्षा गार्डको काम गर्छन् । गत वर्ष चाडपर्व सकेर रोजगारीमा गएका उहाँ पनि दसैँ सुरु भएपछि घर फर्किएका छन् । “सधैँ दसैँमा यही नाका भएर घर फर्किन्छौँ, आवतजावतमा समस्या छैन”, उनले भने, “चाडपर्वपछि काममा फर्किन्छु ।”

    चाडपर्वको समयमा घर फर्किने यात्रुको चाप बढेपछि यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाका विभिन्न स्थानमा नागरिक सहायताकक्षसमेत स्थापना गरेको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले गड्डाचौकीनाका भएर स्वदेश फर्किने नेपालीको चाप बढेको बताए । उनले चाडपर्वका बेला यात्रुको सुरक्षाका लागि नाकामा निगरानी बढाएको बताए ।


    “गड्डाचौकीनाका र महेन्द्रनगर बसपार्क गरी जिल्लाका आठ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेका छौँ”, उनले भने, “नाका र बसपार्कमा तालिमप्राप्त कुकुर परिचालन गरेर पनि सुरक्षा जाँच भइरहेको छ ।” चाडपर्वका बेला हुने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

    भारतबाट आउनेहरूमा विभिन्न रोग सङ्क्रमणको जोखिम रहेकाले नाकामै स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भारतबाट फर्किनेहरू नाकामा डेङ्गु, मलेरिया, एचआइभीलगायतका छ प्रकारका रोगको चाँज भइरहेको छ ।

  • नेपालीको महान् पर्व बडादसैँ सुरु

    नेपालीको महान् पर्व बडादसैँ सुरु

    काठमाडौँ, २५ असोजः प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

    आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

    जमरामा जौँबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कुल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौँसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिमा समेत प्रयोग गरिन्छ ।

    घटस्थापनाको साइत ११ः४७ बजे

    आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान ११ः४७ बजे रहेको समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले बताए ।


    सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यताअनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको पनि उनले बताए । केही मानिसले सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्ने भनी गरेको हल्लाखल्ला शास्त्रसम्मत नहुने पनि उनले सुनाए ।

    दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

    दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

    नौ दिन नौ दुर्गाको पूजा

    यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

    आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष गौतमले बताउनुभयो । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

    दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् ।

    नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरूको पाठपारायण पनि गर्ने गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गरेको छ ।

    विजयादशमीको साइत कात्तिक ४ गते १०ः२६ बजे

    नवरात्र भनेर चिनिने दसैँ नौ रात र १० दिनको हुन्छ । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ४ गते बुधबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गर्ने गरिन्छ । कात्तिक ४ गते देवी विसर्जनको साइत बिहान ८ः४९ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०ः२६ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

    विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

    हनुमानढोकाको दसैँ घरमा विशेष पूजा

    परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । आइतबार बिहान चित्रा नक्षत्र र वैधृति योगको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख जयन्ती श्रेष्ठ प्रधानले बताउनुभयो ।

    रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिसहरू दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिने गरेका छन् । यसैकारण राजधानी र सहरी क्षेत्रबाट आ–आफ्ना थातथलो फर्कने मानिसको लाम देखिन्छ ।

  • नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

    नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

    काठमाडौँ, २५ असोजः नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गर्दैछन् । घरको पूजाकोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री को आह्वान गरी पूजाआराधना गरिन्छ । शैलपुत्री नवदुर्गाका नौ स्वरूपमध्ये प्रथम हुन् । गिरिराज हिमालयकी पुत्री पार्वती नै शैलपुत्री भएको उल्लेख देवीकवच, मार्कण्डेय पुराणलगायत ग्रन्थमा गरिएको छ ।

  • बलिउड अभिनेता नाना पाटेकरको निधन

    बलिउड अभिनेता नाना पाटेकरको निधन

    पणजी (भारत), २२ असोज (रासस–एएनआई) । हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन् । मणिपाल अस्पतालको ओन्कोलोजी विभागका प्रमुख डा शेखर साल्करका अनुसार बिहान निवासमा अस्वस्थ भएपछि पाटेकरलाई अस्पताल ल्याइएको थियो । अस्पताल पुर्‍याउँदा उनको अवस्था गम्भीर भइसकेको थियो । चिकित्सकको टोलीले करिब ४५ मिनेटदेखि एक घण्टासम्म उनलाई पुनर्जीवित गर्ने प्रयास गरे पनि बचाउन नसकिएको डा साल्करले बताए ।


    उनका अनुसार पाटेकरले बिहान करिब २ः३० बजे आफूलाई असहज भइरहेको भन्दै एक साथीलाई सन्देश पठाएका थिए । रातको समय भएकाले साथीले तत्काल सन्देश देखेनन् । त्यसपछि उनले पाटेकरलाई फोन गरे र बिहान करिब ४ बजे उनको निवासमा पुगे । त्यतिबेला पाटेकरलाई अत्यधिक पसिना आएको र उनी बिस्तारै बेहोस हुँदै गएका थिए ।


    अस्पतालको आपत्कालीन टोलीले निवासमै पुगेर उनलाई सिपिआर दिएको थियो । त्यसपछि बिहान करिब ४ः२० देखि ४ः३० बजेको बीचमा अस्पताल ल्याइएको थियो । “उहाँ पूर्ण रूपमा अनुत्तरदायी अवस्थामा हुनुहुन्थ्यो । अस्पताल ल्याएपछि पनि हामीले सक्दो प्रयास गर्‍यौँ, तर उहाँलाई मृत अवस्थामा ल्याइएको थियो”, डा साल्करले भने ।


    पाटेकरको निधनपछि मेडिको–कानूनी प्रक्रिया अघि बढाइएको र शव पोस्टमार्टमका लागि गोवा मेडिकल कलेजमा लगिएको चिकित्सकले बता्रए । उनका परिवारका सदस्य त्यतिबेला उपस्थित नभए पनि साथी र हेरचाहकर्ता भने साथमा रहेको जनाइएको छ । पाटेकरले सन् १९७८ मा ‘गमन’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका थिए ।

    उनले ‘परिन्दा’, ‘प्रहार’, ‘क्रान्तिवीर’, ‘तिरङ्गा’, ‘खामोशी’ र ‘अब तक छप्पन’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । पछिल्ला वर्षमा पनि उनी चलचित्र क्षेत्रमा सक्रिय थिए । ‘हाउसफुल ५’, विशाल भारद्वाजको ‘ओ’ रोमियो’ तथा ‘सुबेदार’ मा अभिनय गरेका थिए ।

  • जुम्लामा आज सार्वजनिक बिदा

    जुम्लामा आज सार्वजनिक बिदा

    जुम्ला, २२ असोजः कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रसिद्ध धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने कार्यक्रम हुने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव लक्ष्मीकुमार विकले जानकारी दिए ।

    हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने गरिन्छ । मन्दिरको वार्षिक स्थापना दिवसका दिन पुरानो लिङ्गो निकालेर नयाँ लिङ्गो ठड्याउने परम्परा रहिआएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए ।

  • दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

    दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

    काठमाडौँ, २० असोजः वडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र चाडपर्वलाई पर्यटनसँग जोड्दै नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्ने भएको छ । बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यकासहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटनसम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्न लागेको जनाएको छ ।

    बोर्डले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार सङ्घ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल सङ्घ नेपाल, होटल व्यवसायी महासङ्घ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी सङ्घसंस्थासहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरिएको बोर्डले जनाएको छ ।

    सम्झौताअनुसार विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गरी दसैँको अवधिभर सञ्चालन गरिनेछ । विशेषगरी पर्यटकको आवागमन बढी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा पिङ राखिने व्यवस्था गरिएको हो । नेपाल पर्यटन बोर्ड र सम्बन्धित स्थानीय तह तथा सङ्घसंस्थाबीच भएको सम्झौतामा पिङ निर्माण तथा सञ्चालन गर्दा आवश्यक सुरक्षा व्यवस्था, भीड व्यवस्थापन र दुर्घटना न्यूनीकरणका उपाय अनिवार्य रूपमा अपनाउनुपर्ने उल्लेख छ ।

    दसैँको कार्यक्रम सम्पन्न भएपछि पिङ हटाइ निर्माणस्थललाई पूर्ववत् अवस्थामा फर्काउने जिम्मेवारीसमेत सम्बन्धित पक्षको हुने सम्झौतामा उल्लेख छ । नेपाल पर्यटन बोर्डले नेपालीको मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्दै सांस्कृतिक पर्यटनलाई थप प्रवद्र्धन गर्ने उद्देश्यले दसैँमा लिङ्गे पिङ निर्माण तथा सञ्चालनको कार्यक्रम अघि बढाएको जनाएको छ ।

  • चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

    चाडपर्व नजिकिएसँगै बजारमा बढ्यो चहलपहल

    काठमाडौँ, १९ असोजः चाडपर्व नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डपलगायतका विभिन्न खुला बजारमा किनमेल गर्नेको चाप बढेको छ । दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न बजार पुगेका ग्राहकका कारण यहाँका खुला बजारमा ग्राहकको चहलपहल अन्य समयको तुलनामा एकाएक बढेको हो । दसैँका लागि परिवारका सदस्य, आफन्त तथा बालबालिकाका लागि नयाँ कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या बढेपछि भृकुटीमण्डपका व्यापारी व्यस्त देखिएका छन् ।

    दसैँका लागि किनमेल गर्ने मुख्य समय सुरु भएसँगै ग्राहकको चाप बढेको भृकुटीमण्डपस्थित खुला बजारका व्यापारी अशोक खतिवडाले बताए । उनका अनुसार केही दिनयता बजारमा ग्राहकको आवागमन बढ्न थालेको छ । विशेषगरी बालबालिका, युवा तथा ज्येष्ठ नागरिकका लागि आवश्यक कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या उल्लेख्य बढेको उनले बताए । “दसैँ नजिकिँदै गएपछि कपडा किन्ने ग्राहकको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । आज बिहानदेखि नै बजारमा पहिलेभन्दा बढी चहलपहल देखिएको छ”, खतिवडाले भने ।


    दसैँमा नयाँ कपडा लगाउने नेपाली परम्परा रहेकाले पनि चाडपर्वको समयमा कपडाको व्यापार बढ्ने गरेको अर्का व्यापारी श्यामप्रकाश अधिकारीले बताए । उनका अनुसार ग्राहकको चाप बढेसँगै व्यापारीलाई सामान देखाउने, ग्राहकको रोजाइअनुसार कपडा छनोट गराउने, मूल्य बताउने तथा बिक्री व्यवस्थापन गर्न भ्याइनभ्याइ हुने गरेको छ । “अन्य दिनको तुलनामा आजदेखि ग्राहकको चाप बढेको छ । दसैँ नजिकिँदै जाँदा अझै ग्राहक बढ्ने अपेक्षा गरेका छौँ”, अधिकारीले भने ।


    भृकुटीमण्डपमा दसैँका लागि आवश्यक कपडादेखि जुत्ता, चप्पल, बालबालिकाका सामग्री तथा दैनिक उपभोगका विभिन्न सामान खरिद गर्ने ग्राहकको उपस्थिति बढेको छ । एउटै स्थानमा विभिन्न प्रकारका सामान उपलब्ध हुने तथा ग्राहकले आफ्नो बजेटअनुसार सामान छनोट गर्न सक्ने भएकाले खुला बजारमा किनमेल गर्नेको सङ्ख्या बढेको व्यापारीहरूको भनाइ छ । चाडपर्वको समयमा सीमित आम्दानी भएका परिवारका लागि सस्तो बजार रोजाइमा पर्ने गरेको व्यापारी बताउँछन् ।

    काठमाडौँ उपत्यकाका विभिन्न खुला बजार तथा सडक किनारका रात्रिकालीन पसलमा सपिङ मल तथा ठूला व्यापारिक केन्द्रको तुलनामा केही सस्तोमा लुगाकपडा तथा अन्य सामग्री पाइने भएकाले ग्राहकको आकर्षण रहने उनीहरूको भनाइ छ । सुन्धारास्थित रात्रिकालीन सडकपेटीमा लुगाकपडा बिक्री गर्दै आउनुभएकी सङ्गीता न्यौपानेले पनि दसैँ नजिकिएसँगै ग्राहकको आवागमन बढेको बताए । उनका अनुसार चाडपर्वमा परिवारका सबै सदस्यका लागि कपडा खरिद गर्नुपर्ने भएकाले ग्राहकले मूल्य र गुणस्तर दुवैलाई ध्यान दिने गरेका छन् ।

    “सपिङ मलभन्दा सडकपेटीका पसल र खुला बजारमा लुगाकपडासहितका सरसामान केही सस्तो पाइन्छ । त्यसैले पनि ग्राहकको पहिलो रोजाइ खुला बजार र सडकपेटीका रात्रिकालीन पसल हुने गरेका छन्”, न्यौपानेले भने । दसैँसँगै मौसममा समेत क्रमिक परिवर्तन आउन थालेकाले चिसो मौसमका लागि आवश्यक लुगाकपडा खरिद गर्ने ग्राहक पनि बजारमा देखिन थालेका छन् ।

    विशेषगरी ज्याकेट, स्वीटर, ट्रयाकसुट, हुडी तथा अन्य न्यानो कपडा खरिद गर्ने ग्राहकको सङ्ख्या पनि बढ्दै गएको व्यापारी हरिकृष्ण कँडेलले बताए । दसैँलगायतका चाडपर्व नजिकिँदै जाँदा काठमाडौँ उपत्यकाका भृकुटीमण्डप, असन, इन्द्रचोक, न्युरोड, सुन्धारा, नयाँसडकलगायतका बजारमा ग्राहकको चाप थप बढ्ने व्यवसायीको अपेक्षा छ ।

    व्यापारीले दसैँलाई लक्षित गरी विभिन्न प्रकारका सामानको मौज्दातसमेत बढाएका छन् । ग्राहकको मागअनुसार बालबालिका, महिला तथा पुरुषका लागि विभिन्न डिजाइन, रङ र मूल्यका कपडा बजारमा राखिएको उनीहरू बताउँछन् । ग्राहकले आफ्नो बजेट र रुचिअनुसार सामान छनोट गर्ने गरेका छन् ।


    दसैँ नजिकिँदै जाँदा बजारमा देखिएको चहलपहलले व्यापार व्यवसायमा सकारात्मक प्रभाव पार्ने व्यवसायीको अपेक्षा छ । दसैँको किनमेलको समय अझै बाँकी रहेकाले आगामी दिनमा ग्राहकको चाप थप बढ्ने र व्यापारसमेत बढ्ने व्यवासायीहरूको विश्वास छ ।

  • नेपकालीको ‘ब्रह्माण्ड’ सार्वजनिक

    नेपकालीको ‘ब्रह्माण्ड’ सार्वजनिक


    १७ असोज, न्यूयोर्क । हिमालयको आध्यात्मिक दर्शन र पश्चिमी हेभी मेटल संगीतलाई मिलाएर नेपाली–अमेरिकी ब्याण्ड नेपकालीले नयाँ गीत ‘ब्रह्माण्ड’ (ब्रह्माण्ड– द युनिभर्स)को म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
    अमेरिकाको क्यालिफोर्नियास्थित लङ बिचमा आधारित एथनिक मेटल ब्याण्ड नेपकालीले आफ्नो संगीत शैलीलाई ‘स्पिरिचुअल मेटल’ भन्छ । ब्याण्डले आक्रामक गिटार रिफ, जनजातीय ताल, मन्त्रजस्ता स्वर र पूर्वीय परम्परागत बाजालाई हेभी मेटलसँग जोड्ने काम गरेको छ ।


    ‘ब्रह्माण्ड’ गीतको शुरुवातमा गायत्री मन्त्र हुन्छ । संस्कृत श्लोकबाट साधकले मायाको भ्रम र अज्ञानको अन्धकारमा हराएको अवस्था बताउँछ । ब्रह्माण्डको विशालतामा आफूलाई धुलोको कणजस्तै सानो ठान्दै साधक प्रजापति ब्रह्माको शरणमा पुग्छ । गीतको अंग्रेजी कोरसमा साधकले ब्रह्मदेवसँग बाटो देखाउन, दर्शन दिन र मुक्तितर्फ डो¥याउन प्रार्थना गर्छ । आध्यात्मिक खोज, आत्मसमर्पण र सृष्टिकर्ताप्रतिको श्रद्धा गीतको मुख्य भाव हो ।


    गीतको अन्तिम भागमा भगवान् ब्रह्मासँग साधकको संवाद देखिन्छ । साधकको पुकार सुनेपछि ब्रह्माले आशीर्वाद दिँदै पूर्णताका लागि त्रिमूर्तिको आशीर्वाद खोज्न निर्देशन गर्छ । सम्पूर्ण सृष्टिका लागि अनुग्रह र शाश्वत आनन्दको कामना गरेर गीत समाप्त हुन्छ । ब्याण्डका अनुसार ‘ब्रह्माण्ड’ आध्यात्मिक संघर्ष, अज्ञानमा प्रकाशको खोजी र दिव्य ब्रह्माण्डप्रति समर्पणमा केन्द्रित छ । गीतमा हेभी मेटलका गिटार रिफ र ड्रमसँग सितार, तबला र हार्मोनियमजस्ता परम्परागत बाजा प्रयोग गरिएको छ ।


    नेपकालीले गीतमा प्रतिरोध, उपचार, आशा र सशक्तीकरणका विषय समेटेको छ । ऊर्जावान लाइभ प्रस्तुति र सन्देशमूलक संगीतमार्फत ब्याण्ड आफूलाई केवल संगीत समूह होइन अभियानको रुपमा देख्न खोज्छ । पहिले सार्वजनिक भएको नेपकालीको ‘महाकाली’ गीतको इन्जिनियरिङ ग्रामी अवार्डका लागि डेनिस मुडी मनोनित थिए, जबकि भिडियो निर्देशन जेनिश जोशीले गरेका थिए । ब्याण्डका अनुसार त्यो म्युजिक भिडियो ग्रामी २०२५ को श्रेष्ठ म्युजिक भिडियो विधाका लागि विचाराधीन सूचीमा थियो ।


    ‘महाकाली’पछि नेपकालीले ‘ब्रह्माण्ड’ सार्वजनिक ग¥यो । ब्याण्डमा अर्पण कार्की (मुख्य स्वर, हार्मोनियम र ह्यान्ड ड्रम), सन्नी श्रेष्ठ (गिटार र संगीत संयोजन), सेथ हर्नान्डेज (ड्रम), सेजार तिहेरास (बेस), ¥यान्डी टी होलिङ्गर (सितार), साहेब सिंह (तबला) र माइक थापा (दोस्रो गिटार) समावेश छन् ।


    पश्चिमी मेटल संगीत र हिमालयको सांस्कृतिक तथा आध्यात्मिक सम्पदाको मिलनबाट नेपकाली अन्तर्राष्ट्रिय संगीत क्षेत्रमा आफ्नो पहिचान विस्तार गर्ने प्रयास गरिरहेको छ । ब्याण्डको गतिविधि र गीतसम्बन्धी थप जानकारी www.nepcalimusic.com मा उपलब्ध छ ।

  • सकियो भक्तपुरको पुलुकिसी जात्रा

    सकियो भक्तपुरको पुलुकिसी जात्रा


    ख्वप (भक्तपुर), १४ असोजः मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा पुलुकिसी (इन्द्रका बाहन ऐरावत हात्ती) जात्रा मनाएको छ । जात्रा साँझ भक्तपुर नगरको लाकुलाछेंबाट सुरु भएको थियो । प्रत्येक वर्ष यही ठाउँबाट जात्रा सुरु हुने परम्परा छ । जात्राका क्रममा पुलुकिसी अर्थात् इन्द्रका बाहन ऐरावत हात्तीलाई नगर परिक्रमा गराइएको हो । बाँसलगायतबाट हात्तीको आकार दिई बनाइएको पुलुकिसीलाई भक्तपुर नगर परिक्रमा गराइएको हो । बाँसबाट हात्ती आकार दिई त्यसलाई हात्तीको आकृति लेखिएको सेतो कपडाले छोपेर पुलुकिसी बनाइएको हो ।

    पुलुकिसीभित्र मानिस बसेर बोक्न मिल्ने गरी बनाइएको हुन्छ । त्यही पुलुकिसीलाई नगर परिक्रमा गराइ जात्रा मनाइएको हो । यो जात्रा हेर्न भक्तपुर नगरभरि उल्लासका साथ हजारौँ नागरिक सहभागी भएका थिए । पुलुकिसी परिक्रमा गराइने बाटोभरि हजारौँ दर्शक जात्रा हेर्न बसेका थिए । पुलुकिसीलाई ओहोरदोहोर गराइने र हेर्न रमाइलो लाग्ने स्थानीय जात्राप्रेमी कृष्ण प्रजापतिले बताउनुभयो । विशेष गरी भक्तपुर दरबार स्क्वायर, टौमढी, दतात्रयलगायतका चोकमा जात्रा हेर्नेको घुइँचो लागेको थियो ।

    पुलुकिसी नगर परिक्रमा गराउने क्रममा एक जनाले अगाडि बसेर घण्ट बजाएका थिए । घण्ट बजाउँदै पुलुकिसी आएको सङ्केत दिँदै नगर परिक्रमा गराइएको थियो । यस क्रममा चोकचोकमा पुलुकिसीलाई ओहोर दोहोर गराइएको थियो । साथै पुलुकिसीसँग हिँडेका व्यत्तिले अगाडि छ्वाली बालेर बाटो तय गर्दै गएको दृश्य रमाइलो थियो ।

    जात्रा लाकुलाछेंबाट सुरु भई राति त्यही पुगेर टुङ्गिने चलन छ । योबीचमा लाकुलाछेंबाट गाइजात्राको क्रममा नगर परिक्रमा गराउने मार्ग भई पूरै नगर परिक्रमा गराइन्छ । लाकुलाछेंबाट पोटरी स्क्वायर, नासमना, इटाछे, दरबार स्क्वायरको रुटमा पुलुकिसीको परिक्रमा गराइएको थियो । दरबार स्क्वायरबाट पुन बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसीलाई दतात्रयमा ल्याइने चलन छ । त्यहाँबाट पुन इनाचो, गोल्मढी हुँदै टौमढी ल्याई लाकुलाछेमै पुगेर जात्रा सम्पन्न गर्ने चलन छ ।

    पुलुकिसी बनाएर जात्रा सुरु हुने लाकुलाछेस्थित भैरवनाथ जात्रा सहयोग समितिका अध्यक्ष शिवराम किजूका अनुसार जात्राका लागि आवश्यक सबै तयारी स्थानीयले गर्ने गर्छन् । पहिलाकै जोहो गरेका सामानबाट पुलुकिसी बनाउने गरिएको उनले जानकारी दिए । प्रत्येक वर्ष पुलुकिसी बनाइ नगर परिक्रमा गरेपछि आफूहरूले ती सामानलाई अर्को वर्षका लागि स्थानीय पाटीमा जोहो गरेर राख्ने गरेका उनले बताए ।
    पुलुकिसीलाई नगर परिक्रमा गराउने क्रममा पुलुकिसीको सुँडले छुवाउन नहुने जनविश्वास छ । नगर परिक्रमा गराउँदा सुँडले छोएमा बिरामी हुने वा मृत्युसम्म हुने जनविश्वास अहिले पनि कायमै छ । नगर परिक्रमा गराउने क्रममा तलातुंछी (इनार) मा पुगेपछि पानी खुवाउने चलन छ ।

    कला संस्कृति भजन महागुथिका संस्थापक अध्यक्ष डा इन्दुल केसीका अनुसार स्वर्गका राजा इन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफना छोरा खोज्न पृथ्वीलोकमा आएर घुमेको अर्थमा यो जात्रा मनाइँदै आएको छ । पारिजात फूल टिप्न पृथ्वी लोक आएका छोरालाई बन्धक बनाएपछि उहाँलाई खोजेर स्वर्गमा लैजान आफ्नो बाहन ऐरावत हात्तीलाई पृथ्वीमा घुम्न पठाएको किंवदन्ती रहेको उहाले बताउनुभयो । पुलुकिसी जात्रासँगै भक्तपुरको इन्द्रजात्रा सम्पन्न भएको छ ।

  • पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै

    पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै

    कास्की, १४ असोजः पर्यटकीय राजधानी पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना गरिने भएको छ । ‘टीका, जमरा र चङ्गा चेट–पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने नारा तय गरिएको छ । महोत्सव आगामी कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन लेकसाइडस्थित बाराहीघाट मैदानमा हुने कार्यक्रम संयोजक उमा भण्डारीले जानकारी दिइन् ।


    उनका अनुसार नेपालीको ठूलो चाड दसैँलाई पारिवारिक पर्वमा मात्र सीमित नराखी पर्यटकलाई नेपाली संस्कृति, परम्परा, खानपान र जीवनशैलीसँग प्रत्यक्ष जोड्ने अवसरका रूपमा महोत्सव गर्न लागिएको हो । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा हुने महोत्सव सफल बनाउन पोखराका पर्यटनसम्बद्ध सङ्घसंस्थाले सामूहिक प्रतिबद्धता जनाएका छन् । कार्यक्रमलाई पोखराको पर्यटन क्षेत्रकै साझा कार्यक्रमका रूपमा अघि बढाउनुपर्नेमा यस क्षेत्रका विभिन्न व्यक्तित्वले जोड दिए ।


    महोत्सवमा पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिने, चङ्गा चेट प्रतियोगिता आयोजना गर्ने तथा विभिन्न जातजाति र समुदायका मौलिक सांस्कृतिक प्रस्तुति देखाइनेछ । नेपाली मौलिक खानाका परिकार, कला–संस्कृति, परम्परागत सामग्री, स्थानीय उत्पादन तथा पर्यटनसम्बद्ध व्यावसायिक गतिविधि महोत्सवमा समेटिने भण्डारीले बताइन् ।


    पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दसैँलाई पर्यटनसँग जोडेर पोखरामा महोत्सव आयोजना गर्नु यहाँको संस्कृति र पर्यटनलाई एकसाथ अगाडि बढाउने अवसर भएको बताए । “दसैँ हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडिएको पर्व हो । यसलाई पर्यटनसँग जोडेर देश–विदेशबाट आएका पर्यटकलाई हाम्रो संस्कृति अनुभव गराउन सकिन्छ । यो कुनै एउटा संस्थाको मात्रै कार्यक्रम होइन । पोखराका सबै पर्यटनसम्बद्ध संस्थाले यसलाई साझा कार्यक्रमका रूपमा लिएर अगाडि बढ्नुपर्छ,” भुजेलले भने ।


    ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले महोत्सव एउटा कार्यक्रम मात्र नभई पोखराको संस्कृति र पहिचानलाई पर्यटकीय उत्पादनका रूपमा चिनाउने अवसर भएको बताए । त्यसका लागि सबैको सहकार्य आवश्यक रहेको उनको भनाई छ । ओटेफका अध्यक्ष ममता न्यौपानेले पोखराको प्राकृतिक सुन्दरतासँगै यहाँको कला, संस्कृति र परम्परालाई पनि पर्यटकमाझ पु¥याउन महोत्सव सफल हुने विश्वास व्यक्त गरे । “हामीले पर्यटकलाई पोखरा घुमाउने मात्रै होइन, पोखराको संस्कृति अनुभूति गराएर फर्काउने वातावरण बनाउनुपर्छ,” उनले भने ।

  • भाद्र शुक्ल चतुर्दशीः राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

    भाद्र शुक्ल चतुर्दशीः राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

    काठमाडौँ, ९ असोजः सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानुभई जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल जुद्ध सालिकमै गाडीबाट झरेर पैदल गद्दी बैठक पुगेका हुन् । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल जाने क्रम तीन वर्षअघिदेखि सुरु भएको हो । यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए ।

    जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्ले, प्रधानन्यायधीश मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत मन्त्रीगण, सांसदहरू, प्रदेशसभा सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी पनि पैदल नै गद्दी बैठकसम्म गएका थिए ।


    आगन्तुक विशिष्ट अतिथिहरूलाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोल, गुठी संस्थानका अध्यक्ष डा गोविन्द टण्डन, प्रशासक शैलेशराज कुँवर, महानगरपालिका वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलगायतले पुष्पगुच्छासहित वसन्तपुर दरबार क्षेत्रमा स्वागत गरे ।

    जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन बुधबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख पवित्राकुमारी पाण्डेले राससलाई जानकारी दिइन् । शनिबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।

    असोज १३ गते मङ्गलबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार पुगेर कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन् । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ । असोज १३ गते मङ्गलबार राति ९ः२५ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ । इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।

    वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजाआजा पनि गरिएको थियो । जात्राका अवसरमा लाखेनाच, दशअवतार नाचलगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

  • आज कागे अष्टमी पर्व मनाइँदै

    आज कागे अष्टमी पर्व मनाइँदै

    काठमाडौँ, ३ असोजः प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ । यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्षदिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास समेत रहेको छ ।

    श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधि समेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जन विश्वास रहेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देशविदेशबाट लाखौँ भक्तजनको भीड लाग्छ । कागे अष्टमी समेत भनिने आजका दिन कागेश्वरी मनोहरा नगरपालिका–१ मा पर्ने यो मन्दिर क्षेत्रमा आउनेलाई सहज सुविधा दिन लागिएको छ ।
    मन्दिर जान यातायात सहज बनाउने व्यवस्था गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले राससलाई जानकारी दिनुभयो । मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण भएको छ ।

    एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ ।

    नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । भदौमा लाग्ने मेलाका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिन्छ ।

    कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुली, धादिङ, चितवनलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोवास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् ।

    कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजनले हनुमानढोका र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । देशका अन्य स्थानमा रहेको कागेश्वर मन्दिरमा पनि आज पूजा, आराधना गर्न भक्तजन पुग्ने गर्छन् ।

  • वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने


    भक्तपुर, २ असोजः मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन् । पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उनी तयार भएका हुन् । असोज १० गते शनिबार येँया पुन्हिःका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उनले जानकारी दिए । विगतमा जात्रा नियमित हुनसकेको थिएन ।

    विसं २०७४ मा वीरेन्द्रभक्तकै अगुवाइमा पुनः जात्रा सुरु भएको थियो । त्यसयता उनले २०७९, २०८१ र २०८२ मा जिब्रो छेडेका थिए । उनले यस वर्ष पनि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन् । विसं २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीका कारणले रोकिएकामा २०७९ सालमा वीरेन्द्रभक्तले पुनः जात्रालाई निरन्तरता दिए । मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ मा जिब्रो छेडाएका थिए ।


    आर्थिक अभावका कारण चल्दै र रोकिदै आएको यो जात्रा सञ्चालनमा करिब छ लाख बढी खर्च हुने गरेको छ । नगरपालिकाले सहयोग गर्नेभन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति र स्थानीयको खर्च हुने गरेको छ । मध्यपुरथिमिको दिगुभैरव मन्दिरको डबलीमा हजारौ व्यक्तिको अगाडि जिब्रो छेडेर जात्रा सुरु हुन्छ । जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पशुपतिनाथको मन्दिरसम्म पुग्ने प्रचलन छ ।

    किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत र पिशाचले आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि त्यसलाई नियन्त्रण गर्न एक जनालाई जिब्रो छेडी नगर परिक्रमा गराइएको थियो । त्यसपछि भूतप्रेत, पिशाच भागेर शान्ति स्थापना भएको भनाइ छ । भाद्र शुक्ल पूर्णिमाको साँझ तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छेडिन्छ । पशुपतिनाथसम्मको यात्रा गर्दै पुनः बालकुमारी मन्दिर पुगी सियो निकाल्ने परम्परा छ । उक्त जात्रा मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको छ ।

  • महिला समाज यूएईको तीज विशेष कार्यक्रम

    महिला समाज यूएईको तीज विशेष कार्यक्रम

    १ असोज, यूएई । महिला समाज यूएईको तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । बरदुबईस्थित बोसी क्लबमा अगष्ट २३ का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो । समाजकी अध्यक्ष श्वेता नेपालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि लक्ष्मी ज्वेलर्सकी सञ्चालिका कमला भण्डारी रहेकी थिइन् ।


    समाजकी सचिव सीता पंगेनी थापाले औपचारिक सञ्चालन गरेको उक्त कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न संघसंस्था प्रमुख र महिला दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली दिदीबहिनीहरुले मौलिक परम्परागत तीजका गीतहरु गाएका थिए । त्यसैगरी कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुति गरेको थियो ।

  • गुल्मी सेवा समाज यूएईको तीज फेस्टिभल

    गुल्मी सेवा समाज यूएईको तीज फेस्टिभल

    १ असोज, यूएई । गुल्मी सेवा समाज, यूएईको आयोजनामा तीज फेस्टिभल २०२६ सम्पन्न भएको छ । अगष्ट २३ आइतबारका दिन बरदुबईस्थित जया किचनको हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । लुम्बिनी प्रदेश समाज यूएईका अध्यक्ष नारायण अधिकारीको प्रमुख आतिथ्यता तथा गुल्मी सेवा समाज, यूएईका अध्यक्ष जीवनसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्था प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।

    सांगीतिक कार्यक्रममा लोक गायिका सुस्मा शाही ठकुरी, यूएईका स्थानीय कलाकारहरु रुद्र थापा, ध्रुव कुँवर, नारायण सुनार, पवित्रा टण्डन गायक तथा सांस्कृतिक विभाग प्रमुख विनय खत्रीको प्रस्तुति रहेको थियो । नेपाली सांस्कृतिक, परम्परा र मौलिक चाडपर्वहरुको संरक्षण र सम्वद्र्धन गर्दै सामाजिक सेवाको उद्देश्यलाई जोडेर आयोजना गरिएको उक्त कार्यक्रमबाट संकलित वचत रकम समाजसेवाका क्षेत्रमा उपयोग गरिने समाजका अध्यक्ष जीवनसिंह ठकुरीले बताए ।

  • हराउँदै सुकुल भोज

    हराउँदै सुकुल भोज

    रेणुु त्वानाबासु\रासस

    ख्वप (भक्तपुर), ३० भदौ : नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न छ, त्यति नै खानपान र खाने शैलीले पनि परिचित छ । नेवार समुदायमा हरेक महिनाजसो कुनै न कुनै अवसरमा भोज हुने गर्दछ । यसलाई नेपाल भाषामा सुकु भ्वय अर्थात सुकुल भोज भनिन्छ । तर पछिल्लो समय सामूहिक रूपमा सुकुलमा बसेर खाने यो परम्परागत भोज विस्तारै हराउँदै गएको छ ।

    सुकुल भोज विस्तारै मृत्यु सस्कार र गुठीको भोजमा मात्र सीमिति भएको देखिन्छ । अन्य शुभकार्य जस्तै ब्रतबन्ध, बेलविवाह, गुफा, पास्नी, विबाहलगायतका भोज अधिकांश भोज पार्टी प्यालेस तथा आधुनिक सभाहलमा आयोजना हुन थालेका छन् । सुकुलको स्थानमा अहिले कुर्सी र टेबलले लिन थालेका छन् । संस्कृति अध्ययनकर्ता गणेश रञ्जितकार बदलिँदो जीवनशैली, बढ्दो व्यस्तता र आधुनिक पहिरनका कारण सुकुल भोजको प्रचलन घट्दै गएको बताउनुुहुन्छ । सुकुल भोजमा लामो समयसम्म बसेर क्रमशः परिकार खानुपर्ने भएकाले अहिलेको व्यस्त जीवनशैलीसँग यसको तालमेल नमिलेको उहाँ बताउनुहुन्छ ।

    सुकुल भोजमा लामो समय पलेंटी कसेर बस्नुपर्ने भएकाले आधुनिक पहिरन पनि यसको प्रचलन घट्नुको एउटा कारण बनेको उहाँको बुझाइ छ । ‘वानपिस’, स्कर्ट, गाउन, पाइन्ट, हाफ पाइन्ट तथा लेहेंगालगायतका पहिरनमा सुकुलमा लामो समय बस्न सहज नहुने भएकाले नयाँ पुस्ता आधुनिक भोजतर्फ आकर्षित भएको उहाँ बताउनुहुन्छ । नेवार समुदायका मानिस यो भोजमा खुबै रमाउँथे । सबै जना मिलेर रमाइलो गर्दै भोज खान्छन् र खुवाउँछन् पनि”, भक्तपुर थिमीकी सुमित्रा श्रेष्ठको अनुमान छ, “हिजोआज मानिसको बेफुर्सदी बढेको छ । यो भोज तुलनात्मक रूपमा खान लामो समय लाग्छ, त्यसकारण फेज आउट भएको होला ।”

    बदलिँदो जीवनशैलीसँगै मानिसको दैनिक व्यस्तता बढेको छ । परिवारका सदस्य तथा आफन्तसँग लामो समय बसेर भोज खाने समय निकाल्न कठिन हुन थालेपछि परम्परागत सुकुल भोजको अभ्यास पनि घट्दै गएको उहाँको पनि उही बुझाइ छ । सुकुल भोज हराउनुका एक होइन, अनेक कारण देखिन्छ । समय धेरै लाग्ने, पलेँटी कसेर बस्नुपर्ने भएकाले फरकफरक पोशाकमा बस्न नमिल्ने, आफूलाई मन परेको परिकार मात्रै लिएर खान नमिल्ने तथा साथीभाइसँंग गफ गरेर खान नमिल्ने जस्त विभिन्न कारणले सुकुल भोज विस्तारै अलोकप्रिय बन्दै गएको अनुमान छ । सुकुल भोजमा परालबाट बनेको सुकुलमा लहरै बसेर विभिन्न परिकार खाने गरिन्छ । परिवारका सदस्य, आफन्त तथा नातेदारको जमघट गराउनु र आपसी आत्मीयता बढाउनु भोजको मुख्य उद्देश्य हुने गर्दछ ।

    सीमित भएकै हो त सुकुल भोज ?

    संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार सुकुल भोज अहिले मृत्यु संस्कार र गुठी भोजमा मात्र सीमित हुँदै गएको छ । उहाँका अनुसार पहिले नेवार समुदायका विभिन्न चाडपर्व, जात्रा तथा सामाजिक संस्कारमा सुकुल भोजको व्यापक प्रचलन रहे पनि पछिल्लो समय यसको प्रयोग निकै साँघुरिएको छ ।

    सुकुल भोज अहिले नेवार समुुदायको मृत्यु संस्कार जुन न्हेनुुमा ९७ दिनमा०, लत्या ९४५ दिनमा०, खुल्हा ९६ महिनामा०, दाकिला ९एकवर्षमा० र वर्षेपिच्छे हुने मृत्युु संस्कारको बेलामा मात्र सुुकुल भोज खाएको देखिन्छ । यसमा नयाँ पुस्ता खासै समावेश भएको हुँदैन । मृत्यु संस्कारमा खुशीयाली रमझम गर्न नहुने, यस्ता भोज औपचारिकताका लागि मात्रै हुने, युवा पुस्ता सहभागी नहुनेलगायतका कारण अहिले सकुल भोजको लोकप्रियता विस्तारै कम भएको देखिन्छ । नेवार समुदायमा भोज केवल खानपानको विषय मात्र होइन, यसले सामाजिक सम्बन्ध, सामूहिकता, आपसी सहयोग र सांस्कृतिक पहिचानलाई समेत जोड्ने हुँदा सुकुल भोज हराउँदै जानु भनेको एउटा खाने शैली हराउनु मात्र नभई त्यससँग जोडिएका सामाजिक तथा सांस्कृतिक अभ्यास कमजोर हुनु पनि हो ।

    संस्कृतिप्रेमी सत्यराम सुवालका अनुसार यस्ता परम्परालाई जीवित राख्न नयाँ पुस्ताको सहभागिता आवश्यक छ । परम्परात पुस्ताले नयाँं पुस्तालाई हस्तान्तरण गरे मात्र जीवित रहन्छ, नयाँ पुस्तालाई सुकुल भोजको महत्व बुझाएर व्यवहारमै सहभागी गराउनुपर्छ,” सुवालको भनाइ छ । सुकुल भोजलाई नेवार समुदायको महत्वपूर्ण मौलिक परम्पराका रूपमा संरक्षण गर्नुपर्ने बताउनुहुन्छ उहाँं । उहाँका अनुसार आधुनिक जीवनशैली र नयाँ पुस्ताको बदलिँदो रुचिका कारण यस्ता परम्परागत अभ्यास विस्तारै ओझेलमा पर्दै गएका छन् ।

    परम्परागत संस्कृतिको संरक्षण गर्नु भनेको केवल सुकुलमा बसेर खाना खाने शैली जोगाउनु मात्र नभई त्यससँग जोडिएको सामूहिकता, आपसी आत्मीयता, परम्परागत ज्ञान र सांस्कृतिक पहिचानलाई समेत संरक्षण गर्नु हो । त्यसैले आधुनिकतासँगै भोजको स्वरूप परिवर्तन भए पनि सुकुल भोजको मौलिकता र महत्वलाई पुस्तान्तरण गर्नुपर्ने आवश्यकता देखिन्छ । त्यसैले टोलटोलमा भएको चोकलाई संरक्षण गर्नुपर्ने नेवारी परम्परा प्रेमीहरुको भनाइ छ ।

    पार्टी प्यालेसमा खुवाइन्छ त सुकुल भोज ?

    धेरैजसो पार्टी प्यालेसमा सुुकुल भोज खुवाउने व्यवस्था भएको देखिदैन । त्यसैले कसैकसैले शुभकार्यको भोजमा सुुकुल भोज खुुवाउन चाहेर पनि खुवाउन नसकेको देखिन्छ । भक्तपुरका केही पार्टी प्यालेसमा भने कुुर्सीमा बसेर लहरै टेबलमा सुकुल भोज खुवाउने गरेको पनि भेटिन्छन् । एकथरीका मानिस सुुकुल भोज सबै पार्टीमा खुवाउनपर्ने नियम बनाउनुुपर्नेमा पनि जोड दिने गर्दछन् ।


    नयाँ पुस्तालाई यसको महत्व बुझाउन नसके भविष्यमा यो केवल इतिहासको विषय बन्न सक्ने सुवालको विश्लेषण छ । ‘‘सुकुल भोज नेवार समुदायको महत्वपूर्ण मौलिक परम्परा हो, यसको प्रचलन घट्दै जानु चिन्ताको विषय हो” उहाँले भन्नुभयो । यस्तै अवस्था रहे मृत्यु संस्कार र गुुठीमा भइरहेको सुुकुुल भोज पनि छिटै पार्टी प्यालेसमा रात्रि भोजमा परिवर्तन हुन धरै समय नलाग्ने बताउँदै उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ, ‘‘कुनै बेला भक्तपुरमा सुुकुल भोज हुन्थ्यो भन्ने दिन पनि नआउँला भन्न सकिदैन ।’’ नयाँ पुुस्तालाई सुुकुल भोजको महत्व बुझाउनुपर्ने हुन्छ, उहाँंहरु बताउनुुुहुन्छ । काठमाडौँ, ललितपुर र अन्य नेवार बस्तीमा सुकुल भोज खुवाउने परम्परा विस्तारै लोभ भइसकेको उहाँले दृष्टान्त दिनुभयो ।

    कहाँ र कसरी खुवाइन्छ सुकुल भोज र?

    भक्तपुर नगरपालिका–७ बस्ने केशव त्वानाबासुले पहिला पहिला घरको अगाडि रहेको चोकचोक, बाटोमा सुकुल भोज खुुवाउने चलन रहेको सुुनाउनुुभयो । फुर्सदमा बोराबाट बनाएर पाल टाँगेर बास ठहराएर पाल टाँगेर एक हप्ता लामोसम्म भोज खुवाउने चलन रहेको उहाँ सुुनाउनुहुन्छ । तर अहिले भने यो मृत्यु संस्कार र गुुठीको भोजमा मात्र सीमित भएको उहाँ सुनाउनुुहुन्छ । अहिलेको नयाँ पुस्तामा सहयोगको भावना नभएको उहाँले बताउनुुभयो ।

    यो भोजमा लस्करै बसेर ९झ्वः भ्वय्० खाइन्छ । भोजमा आमन्त्रित पाहुनाहरू सुकुलमा पलेटी कसेर लस्करै बस्नुपर्छ । भोजमा सुरुमा चिउरा र विभिन्न परिकारहरू (छ्यापी, भटमास, साग, आलु तामा, मासु आदि) क्रमैसँग पस्कने परम्परा छ । लहरै बसेको माथिल्लो पहिलो व्यक्तिदेखि अन्तिम व्यक्तिसम्म सबैलाई भोज नराखेसम्म र माथिल्लो सदस्यले खान सुरु नगरेसम्म कसैले खान पाउँदैनन् यो भोजमा ।

    सुकुल भोजमा आफूलाई मन लागेको परिकार मात्र लिएर खाइसकेपछि तत्काल उठ्ने सुविधा हुँदैन । यो भोजमा परम्परागत विधि अनुसार भोजमा सहभागीलाई लहरै बसाएर क्रमशः विभिन्न परिकार पस्कने गरिन्छ । सबै परिकारको पालो पूरा भएपछि मात्र भोजबाट उठ्ने चलन छ । “पार्टी प्यालेसमा हुने भोजमा आफूलाई मन लागेको परिकार लियो, खायो र उठ्यो गर्न सकिन्छ,” स्थानीय युवा श्रीओम धौभडेलले भन्नुभयो, “तर सुकुल भोजमा त्यसरी हुँदैन । लहरै विभिन्न परिकार ल्याइन्छ र नटुङ्गेसम्म उठ्न पाइँदैन ।”

    नेवार समुदायमा बच्चाको पास्नी, सूर्यदर्शन, व्रतबन्ध, विवाह, वार्षिकोत्सव, रथारोहण तथा गुठीका विभिन्न अवसरमा सुकुल भोज गर्ने परम्परा रहेको छ । परिवारका कुनै सदस्यको मृत्यु भएपछि गरिने मृत्यु संस्कारसँग पनि यसको महत्वपूर्ण सम्बन्ध छ । पहिले विभिन्न जात्रा तथा चाडपर्वमा समेत सुकुल भोज गर्ने चलन रहेको थियो । तर अहिले अधिकांश भोजभतेर पार्टी प्यालेसमा आयोजना गर्न थालिएपछि सुकुल भोज गुठी तथा मृत्यु संस्कारमा बढी सीमित हुन पुगेको छ ।

    स्वास्थ्यवर्द्धक मानिन्छ परम्परागत भोज

    संस्कृतिविद्हरुका अनुसार परम्परागत नेवारी भोजमा विभिन्न किसिमका परिकारको सन्तुलित संयोजन हुने भएकाले यसको आफ्नै स्वास्थ्यसम्बन्धी महत्व पनि रहेको छ । तर अहिलेको पुस्ताले यस्ता परिकार तयार पार्न समय र श्रम लाग्ने भन्दै आधुनिक भोजलाई प्राथमिकता दिन थालेको देखिन्छ ।

    “परम्परागत नेवारी भोज स्वास्थ्यवद्र्धक हुने भए पनि अहिलेको पुस्ताले यसलाई तयार पार्न झन्झट मान्न थालेको छ,” एकजना युवा सुमन कवांँले भन्नुभयो, “पार्टी प्यालेसमा डिनर खाँदा छिट्टै भोक मेटिएजस्तो हुन्छ र केही समयपछि फेरि भोक लाग्न सक्छ । कहिलेकाहीँ पेटमा समस्या पनि हुने गरेको हुन्छ ।” सुकुल भोजमा विभिन्न किसिमका अन्न, गेडागुडी, सागसब्जी, मासु, अचार तथा दुग्धजन्य परिकारको संयोजन हुने गर्दछ । परम्परागत रूपमा परिकारलाई निश्चित क्रममा पस्कने र खाने गरिन्छ ।

    के–के परिकार हुन्छन् सुकुल भोजमा ?

    नेपाल भाषामा ‘झ्व भ्वये’ भनेर समेत चिनिने सुकुल भोजमा परम्परागत नेवारी परिकारको विविधता पाइन्छ । यसमा चिउरा, अचार, हरियो लसुन, द्याकागु ला अर्थात् झोल भएको राँगाको मासु, केराउ, चना, सिमी, सिम्पुलगायतका गेडागुडीका परिकार समावेश हुन्छन् । त्यसैगरी काउली, आलु, छ्याला अर्थात् तामाको झोल भएको तरकारी, तकोला अर्थात् ठूलाठूला टुक्रा पारिएको राँगाको मासु, हरियो साग, अमिलो, भुटन र दहीलगायतका परिकार पस्कने गरिन्छ ।

    भोजको अन्तिममा भिजाएको सानो केराउ, काटेको मुला, गाजर तथा फलफूलका केही टुक्रा सलादका रूपमा राख्ने रम्परा छ । परिकारको विविधता मात्र नभई तिनलाई निश्चित क्रममा पस्कने र खाने शैली पनि सुकुल भोजको विशेषता हो ।

    कहिलेदेखि सुरु भयो सुकुल भोज ?

    सुकुल भोजको सुरुवात ठ्याक्कै कुन समयदेखि भयो भन्ने यकिन प्रमाण नरहेको संस्कृतिविद्हरु बताउँछन् । नेवार समुदायले आफ्नो परम्परा, सामाजिक संरचना र सभ्यताको विकास गर्ने क्रममा सामूहिक रूपमा खाना खाने संस्कृतिको विकाससँगै सुकुल भोजको परिकल्पना गरेको हुनसक्ने उहाँहरुको भनाइ छ । सुकुल भोजसँग जोडिएको सामूहिकता, आत्मीयता, परम्परागत खानपान र सामाजिक सहभागिता नेवार समुदायको सांस्कृतिक पहिचानको महत्वपूर्ण पक्ष हो । आधुनिक जीवनशैलीसँगै यसको अभ्यास घट्दै गए पनि यसको मौलिक स्वरूप र सांस्कृतिक महत्वलाई नयाँ पुस्तासम्म पु¥याउनसके संरक्षण गर्न सकिने संस्कृतिविद्हरू बताउँछन् ।

    प्राचीनकालमा काठमाडौँ उपत्यकाका राजाहरूले राज्यमा सम्पन्नता र एकता झल्काउन ठूला–ठूला सामूहिक भोजहरूको आयोजना गर्दथे । सुरुका दिनहरूमा भोजमा बस्दा धनी, गरिब, उच्च ओहोदाका र सर्वसाधारण व्यक्तिहरूबीच विभेद हुने गथ्र्यो । हुनेखानेहरू चकटी वा महङ्गा कपडाका आसनमा बस्थे भने गरिबहरू खाली भूइँमा बस्नुपथ्र्यो । यो विभेद र असमानतालाई हटाउन मल्ल राजा र तत्कालीन संस्कृतिविद्हरूले एउटा नियम बनाए—भोजमा सरिक हुने सबैजना परालबाट बुनिएको एउटै लामो सुकुलमा लहरै बस्नुपर्ने । सुकुलमा बसेपछि राजा, मन्त्री, धनी वा गरिब कोही पनि सानो–ठूलो नहुने र सबैको हैसियत समान हुने मान्यता राखियो । यही सामाजिक समानता र आत्मीयताको भावना जगाउन नै ‘सुकुल भोज’ को सुरुवात भएको किम्बदन्ती छ ।

  • ‘शताब्दी घर’मा लाखेको बिदाइ….

    ‘शताब्दी घर’मा लाखेको बिदाइ….

    गण्डकी, ३० भदौः तीज पर्वसँगै नेवार समुदायमा भदौरे जात्राको मैजारो भएको छ । बर्खे नाचले चिनिने यस जात्रामा लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायतका नाच तथा झाँकी प्रदर्शन गर्ने गरिन्छ । जनैपूर्णिमाको भोलिपल्टदेखि भदोरै जात्राको रौनक सुरु हुने भएपनि नेवार जातिको लोकप्रिय नाच लाखे भने गठेमङ्गल पर्वदेखि नचाउने चलन छ ।

    ठूला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले पर्वमय माहोलको छनक दिने गर्छन् । पर्वतको कुश्मास्थित ‘शताब्दी घर’को आँगन पनि सोमबार साँझ लाखे नाचले गर्मायो । पुरानो बजार क्षेत्रमा सक्रिय लाखे एकीकृत समाजले यस वर्षको अन्तिम लाखे नाच प्रदर्शन गरेको थियो । यससँगै वर्षदिनका लागि लाखे नाचलाई बिदाइ गरिएको स्थानीयवासी जयन्द्रकुमार जोशीले बताए ।


    कुश्मामा साउन कृष्ण औँशी अर्थात् भुते औँशीदेखि तीजसम्म लाखे नाच देखाउने परम्परा रहेको उनको भनाइ छ । यसबीचमा रोपाइँ जात्रा, गाईजात्रा, बाघ जात्रा र हनुमान नाच प्रदर्शन गर्ने गरिएको जोशीले बताए । करिब अढाई वर्षदेखि कुश्मामा लाखे नाचको सुरुवात भएको मानिन्छ । “हामीले जान्दैखेरी लाखे नाच देखाउन सुरु गरिएको थियो, नेवारी संस्कृतिको संरक्षण गर्न बर्सेनि लाखे नाच प्रदर्शन गर्दै आएका छौँ”, उनले भने ।


    नेवार समुदायले निकाल्ने लाखे नाचमा अन्य जातजातिको पनि सहभागिता रहने गरेको छ । लाखे बनेर नाच्ने काम नेवार समुदायका व्यक्तिबाट हुने भए पनि यसको तयारीदेखि व्यववस्थापकीय काममा कुश्मावासी सबैको हातेमालो रहँदै आएको छ । संस्कृतिकर्मी शान्तिनारायण श्रेष्ठका अनुसार भदौरे जात्रामा लाखे नाचसहित गाईजात्रा, नागा नाच, रोपाइँ जात्रा, बाघ जात्रा, कृष्ण जात्रा, हनुमान नाच, बकुल्ला नाच आदि पर्छन् ।

    संरक्षण अभावमा बकुल्ला नाच र हनुमान नाच भने लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । विगतका वर्षमा झैँ यस वर्ष पनि लाखे नचाउँदै नगर परिक्रमा गर्ने, विविध परम्परागत वेषभूषा र चरित्रमा लाखे नाच देखाइएको लाखे एकीकृत समाजका कार्यक्रम संयोजक रजतमान श्रेष्ठले बताए । “किंवदन्ती अनुसार भूतप्रेतहरू मानिसमा लागेर सताउने भएकाले उनीहरूले मानिसलाई दुःख नदिउन् भन्नका लागि लाखे नाचको प्रचलन सुरु भएको हो”, उनले भने ।

    उनले लाखे नाचजस्ता नेवार समुदायमा प्रचलित परम्परागत नाच र संस्कृति पुस्तान्तरणको खाँचो औँल्याए । संरक्षणकर्मी आरके अदीप्त गिरीले लाखे नाच अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेको बताए । “२५० वर्षअघि भक्तपुरबाट आएको यो परम्परालाई जोगाउन नेवार समुदायको सक्रियता मात्र पर्याप्त छैन”, उनले भने, “यसका लागि राज्यले नीतिगत प्रबन्धसहित दीर्घकालीन सहयोग गर्न आवश्यक छ ।”

    सदियौँदेखि मनाउँदै आइएका स्थानीय मौलिक कला, संस्कृति, पर्व, परम्परा र वेषभूषाको संरक्षण एवं सम्वद्र्धनका ‘शताब्दी घर’को परिकल्पना एवं संरक्षण गरिएको गिरीले बताए । लाखे जस्तै विभिन्न समुदायमा प्रचलित नाचगानलाई जोडेर ‘शताब्दी घर’ मा मासिक शृङ्खला सञ्चालन गर्ने योजना बनाइएको उनको भनाइ छ । समुदायसँगै स्थानीय तहले पनि कला, संस्कृति र सम्पदा संरक्षणमा ध्यान दिनुपर्ने गिरीले बताए ।
    के हो लाखे नाच ?

    लाखे नाच घण्टाकर्ण (गठेमङ्गल) पर्वमा सुरु गरी तीजमा अस्ताउने चलन छ । राजाका सिपाहीले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति बियोगमा व्युहल बनेकी उनकी श्रीमती लाखे बनेर नाचेको किम्बदन्ती पाइन्छ । त्यसकै प्रतिक स्वरूप नेवार समुदायले बर्सेनि लाखे नाच प्रदर्शन गर्दै आएका छन् । नेवार जाति बसोबास गर्ने ठाउँ अनुसार फरक–फरक तरिकाले लाखे नाच नचाउने गरिन्छ । लाखे नाचको प्रचलन र यसको इतिबासबारे पनि विभिन्न तर्क पाइन्छन् ।

    लाखे नाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल हुन्छन् । राक्षसको स्वरूप झल्कने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिँगारेर लाखे नचाउने गरिन्छ । नेवार समुदायले आफ्नो पुस्तैनी संस्कृतिका रूपमा लाखे नाचको परम्परालाई धान्दै आएका छन् । सयौँ वर्षअघि भक्तपुर, धुलिखेल र भादगाउँबाट आएका नेवार जातिले पर्वत, बागलुङलगायत ठाउँमा लाखेसहित विभिन्न जात्राका थिती बसालेको संस्कृतिकर्मी प्रेम छोटा बताउँछन् । यस्ता पर्व तथा जात्रालाई भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रूपमा लिइने गरिएको छ । हरेक नाचका आ–आफ्नै परम्परा र ऐतिहासिक मान्यता छन् ।

    जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग, पौराणीक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ । नाचको कथा, पृष्ठभूमि, स्वरूप र शैली भने बेग्लाबेग्लै पाइन्छ । पछिल्लो समय जात्राको रौनक खुम्चदैँ गएपनि संस्कृति र परम्परा जोगाउन नेवार समुदाय लागिपरेको छ । संरक्षण अभावमा कतिपय नाच भने हराएर गएको नेवार अगुवा बताउँछन् । नयाँ पुस्तामा पुरानो संस्कृतिप्रतिको मोह कम हुँदै जाँदा परम्परागत नाच संरक्षणमा चुनौती थपिएको छ ।

  • ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

    ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

    काठमाडौँ, ३० भदौः भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । बागमती, मनोहरा, रुद्रमतीलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् ।

    रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन् । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भनिएको हो ।

    रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहिआएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन् ।


    आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमामा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । ऋषिपञ्चमीसँगै चार दिन लामो तीज पर्व पनि आजैदेखि समापन भएको छ ।

  • यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

    यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी


    तुलसीपुर (दाङ), ३० भदौः दाङको तुलसीपुर उपमहानगरपालिका–७ खर्चवामा बर्सेनि तीजको समयमा मादल र बाँसुरी बजाइन्थ्यो । त्यसमाथि स्थानीयले गीत गाउँदा तीजको छुट्टै रौनक हुन्थ्यो । त्यही नाच हेर्न दाङका विभिन्न स्थानबाट दर्शक स्रोता आउँथे । तर, यसपटक न मादल बज्यो, न त बाँसुरी बज्यो । ‘साउन्ड सिस्टम’को सहायताले नाचगान गरियो । त्यसमा पनि न्यून सहभागिता थियो ।

    “विगतमा बाँसुरी, मादल बज्थे, तीजको रौनक नै फरक हुन्थ्यो”, स्थानीय आशिष केसीले भने, “तर अहिले केही बजेनन्, उफरको सहायताले नाचगान भयो, विगतजस्तो सहभागिता पनि भएन ।” त्यस्तै तुलसीपुर–१९ सङ्क्राम पनि तीजमा नाचगान हुने चर्चित ठाउँ हो । त्यहाँ पनि जिल्लाका विभिन्न स्थानबाट नाचगानका लागि मानिस आउँथे । तर, यसपटक गाउँकै सीमित मानिसमात्रै भेला भए । एकछिन उफरबाट नाचगान गरे, अनि घरतिर हिँडे । त्यस्तो दृश्य देख्दा बाहिरबाट नाच हेर्न आएका पनि अचम्ममा परे ।

    “विगतमा मौलिक नाचगान हुन्थ्यो, त्यही भएर नाच हेर्न घोराहीदेखि आयौँ”, घोराही–१५ निवासी रेशम अधिकारीले भने, “तर अहिले त त्यस्तो केही देखिएन ।”

    यी त केही उदाहरणमात्रै हुन् । दाङका अधिकांश स्थानमा आयोजना गरिएका तीजका कार्यक्रममा यो वर्ष रेकर्ड गरिएका गीतमात्रै बजाइयो । मौलिकता छाडेर रेकर्ड गरिएको गीत बजाउँदा तीजको मौलिकता हराउने खतरा बढेर गएकामा सरोकारवालाले चिन्ता व्यक्त गर्ने गरेका छन् । पछिल्लो समय तीजको संस्कार र संस्कृति आधुनिकताको नाममा हराउँदै जान थालेको धर्मराउने अवस्थामा पुगेको एनप्याब्सन दाङका अध्यक्ष सालिकराम कार्कीले बताए । “आधुनिकताको नाममा तीज पर्व धर्मराउने अवस्थामा छ”, उनले भने, “सबै मिलेर तीजको मौतिलकता जोगाउनेतर्फ लाग्नुपर्छ ।”

  • गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

    गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

    काठमाडौँ, २६ भदौः काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको यहाँ भीड लागेको हो । दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्ने तथा यस दिन वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशेऔँसी भनिएको हो । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ।

    कुशे औँसीका अवसरमा आज बिहानैदेखि गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्दै तर्पण, आमान्न र पिण्डदान गर्ने पितृभक्तको घुइँचो लागेको छ । धार्मिक मान्यताअनुसार भाद्रपद कृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध तथा तर्पण गर्दा २१ पुस्तासम्मका पितृले मुक्ति पाउँछन् ।

    गोकर्णेश्वर मन्दिरका पुजारी जगदीश भट्टका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको धार्मिक विश्वास रहेको यस तीर्थमा श्राद्ध तथा तर्पण गर्दा पितृले मुक्ति पाउने धर्मशास्त्रमा वर्णन छ । बौद्ध धर्मगुरु ऐतमान लामाका अनुसार बौद्ध धर्मावलम्बी पनि बाबुको निधन भएको एक वर्षभित्र गोकर्णेश्वरमा पुगेर श्राद्ध तथा पूजाआजा गर्ने र त्यसपछि भोज खाने परम्परा छ । यस दिन गोकर्णेश्वर महादेवको दर्शन गरेमा दिवङ्गत बाबुको प्रतीकात्मक दर्शन भएको मानिन्छ ।

    भाद्र कृष्ण औँसीलाई गोकर्णेश्वरमा लाग्ने मेलाका कारण यसलाई गोकर्णे औँसी पनि भनिन्छ । धार्मिक मान्यताअनुसार पशुपतिनाथमा श्री यन्त्र र गोकर्णेश्वरमा बाल यन्त्र रहेकाले पशुपतिनाथको दर्शन गर्नेले गोकर्णेश्वरको पनि दर्शन गर्नुपर्छ ।

  • आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

    आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

    काठमाडौँ, २६ भदौः कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

    सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

    पितृसम्मान दिवस

    यसै अवसरमा आज छोराछोरीले परम्पराअनुसार आआफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

    आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको घुइँचो लाग्छ ।

    मेलाका सबै तयारी गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि लाग्ने मेला लाग्छ । बेत्रावतीमा पिता दिवङ्गत भएकाहरू तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन् । यस वर्ष भोटेकोशी बाढीका कारण बेत्रावतीमा मेला लाग्ने–नलाग्ने निश्चित भएको छैन ।

    ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने ‘बुद्धोक्त पाराजिकाय’ नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिनमा थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्वका रूपमा लिइन्छ ।

  • सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै

    सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै

    सुदूरपश्चिम, २५ भदौः भोटेकोशी बाढीका कारण स्थगित भएको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ यही भदौ ३० गतेका लागि तय भएको छ । कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक बैजनाथ सञ्चार प्रालिले यही भदौ ३० गते सो कार्यक्रम तय भएको जनाएको छ । संस्थाका प्रबन्ध निर्देशक सरस्वतीकुमारी खड्का भट्टले प्राकृतिक विपद्का कारण देश शोकमग्न र विषम परिस्थितिमा रहेकाले निर्धारित कार्यक्रम स्थगित गरिएकामा पुनः आयोजना गर्न लागिएको जानकारी दिइन् ।


    कार्यक्रममा उनले राष्ट्रिय हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, जोगेन्द्र पानवाला (शिवशङ्करप्रसाद रिजाल), मूलासाग (सुरेन्द्र केसी) लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको विशेष प्रस्तुति रहने बताए । कार्यक्रममा हास्यव्यङ्ग्य नाटक, प्रहसन, कविता, गीत–सङ्गीत, देउडा तथा सुदूरपश्चिमका मौलिक लोक तथा सांस्कृतिक प्रस्तुतिमार्फत समसामयिक सामाजिक विषयमा व्यङ्ग्यात्मक सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ ।

    ‘सुदूरपश्चिम गाईजात्रा–२’ मनोरञ्जनमा मात्र सीमित नभई समाजमा देखिएका विकृति र विसङ्गतिविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आर्थिक संयोजक शुभेष पाठकले बताए । कार्यक्रममा लागूऔषध दुव्र्यसन, भ्रष्टाचार, साइबर अपराध, घरेलु तथा महिला हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदलगायत विषयलाई हास्यव्यङ्ग्यका माध्यमबाट प्रस्तुत गरिने उनले बताए ।

    गाईजात्राको मुख्य प्रायोजकमा धनगढीस्थित माया मेट्रो हस्पिटल र प्रायोजकमा चैतन्य पाठशाला रहेको सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा टिकटबापत सङ्कलन हुने रकमको २५ प्रतिशत भोटेकोशी बाढीपीडितलाई सहयोगस्वरुप प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिने जनाइएको छ ।

  • बाढीपछि लयमा फर्किंदै नेपाली चलचित्र क्षेत्र

    बाढीपछि लयमा फर्किंदै नेपाली चलचित्र क्षेत्र


    काठमाडौँ, २२ भदौः भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीका कारण प्रभावित बनेको नेपाली चलचित्र क्षेत्र जनजीवन सामान्य बन्दै गएसँगै पुनः लयमा फर्कन थालेको छ । विपद्का कारण केही चलचित्रहरूले आफ्नो प्रदर्शन मिति सारे पनि केहीले प्रदर्शन र प्रचार–प्रसारलाई यथावत् राख्दै सिनेमा बजारलाई चलायमान बनाइरहेको अवस्थामा पुनः लयमा फर्की चलचित्र क्षेत्र गतिशील भएको हो ।

    यसै क्रममा आइतबार नयाँ नेपाली चलचित्र ‘बेहुली’ले आफ्नो आधिकारिक ‘ट्रेलर’ सार्वजनिक गरेको छ । ‘ट्रेलर’ सार्वजनिक कार्यक्रममार्फत निर्माता अर्जुन पोखरेलले चलचित्रको कुल व्यावसायिक कमाईबाट निर्माताको हिस्सामा पर्ने रकमको पाँच प्रतिशत बाढी प्रभावितका लागि राहतस्वरूप ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा प्रदान गर्ने घोषणा गरेका छन् ।


    निर्माता पोखरेलले भने, “रसुवा–त्रिशूली नदी बाढी प्रभावितलाई केही हदसम्म राहत पुगोस् भनी ‘बेहुली’ चलचित्रको कमाईबाट निर्माताको भागमा पर्ने पाँच प्रतिशत रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा प्रदान गरिने छ । हालैको अकल्पनीय बाढीपछि लयमा फर्कन लागेको चलचित्र क्षेत्रलाई अझ चलायमान र गतिशील बनाउने अभियानमा सम्बद्ध सबै क्षेत्रबाट साथसहयोग प्राप्त हुने विश्वास लिएको छु ।”

    अन्तरराष्ट्रिय मञ्चमा विभिन्न प्रतिष्ठित पुरस्कार जितेर नेपालको नाम विश्वस्तरमा उच्च बनाउन सफल चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ गत शुक्रवारदेखि देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको छ । कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ जित्न सफल यो चलचित्रले प्रतिकूल मौसमका बाबजुद पनि बक्स अफिसमा दर्शकको निकै राम्रो साथ पाइरहेको छ । गत साउन १ गते ‘रिलिज’ भई भदौ १० गतेको बाढीपछि अहिलेसम्म निरन्तर चलिरहेको गौँथली रु २५ करोड ८६ लाख व्यापार गर्न सफल भएको छ ।

    त्यस्तै, बाढीकै समयमा ‘रिलिज’ भएको अर्को नेपाली चलचित्र ‘पार्वती’लाई पनि नेपाली दर्शकले हलमा पुगेर उत्साहजनक रूपमा साथ दिइरहेका छन् भने केही विदेशी चलचित्रहरू पनि प्रदर्शनरत छन् । यतिबेला ‘बेहुली’ सँगै अन्य केही चलचित्रहरूले पनि आआफ्ना ‘ट्रेलर’ तथा गीत–सङ्गीत धमाधम सार्वजनिक गर्दै दर्शकमाझ आउने तयारी तीव्र पारेका छन् ।

    यसैबीच, नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष उदय सुब्बा मुलुकमा आइपर्ने प्राकृतिक विपत्तिको समयमा आफ्ना व्यावसायिक कर्मलाई पनि सँगै अगाडि बढाउनुपर्ने र सोही कर्मबाट आर्जित प्रतिफलमार्फत बाढी प्रभावितहरूलाई निरन्तर सहयोग गर्ने सामूहिक प्रतिबद्धतासहित प्रभावित क्षेत्रमा राहत वितरण गर्न चलचित्रकर्मीहरू हाल सक्रिय रहेको बताउँछन् । जनजीवन क्रमिक रूपमा सामान्य बन्दै गएकाले नेपाली सिनेमा हलहरूमा दर्शकको चहलपहल पुनः बढ्ने र चलचित्र उद्योगले छिट्टै पुरानै लय समात्नेमा चलचित्र सम्बद्ध सङ्घसंस्था तथा हल सञ्चालकहरू विश्वस्त देखिएका छन् ।

  • भाद्र कृष्ण नवमीः श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

    भाद्र कृष्ण नवमीः श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

    काठमाडौँ, २० भदौः श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा लाग्नेको संहार गरी सज्जनको रक्षा गर्न भगवान् श्रीकृष्णले जन्म लिनुभएको भन्ने जनविश्वाससहित भाद्र कृष्ण नवमीका दिन देशभरका कृष्ण मन्दिरमा रथयात्रा एवं शोभायात्रा निकाल्ने परम्परा सुरु गरिएको हो । यस अवसरमा उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरबाट आज विशेष रथयात्रा निकाल्ने कार्यक्रम छ ।

    यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाले पनि आज श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने तयारी गरेका छन् । यसैगरी गोकर्णेश्वर ८ स्थित बेँशीगाउँमा रहेको श्रीकृष्ण मन्दिर क्षेत्रबाट पनि आज रथयात्रा निकालिने कार्यक्रम रहेको वडाध्यक्ष नन्दलाल श्रेष्ठले राससलाई जानकारी दिए । रथयात्रामा हजारौँ मानिस सहभागी हुन्छन् ।

    बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका भगवान् श्रीकृष्णले पुतना, कङ्श, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । धर्म स्थापनाका लागि युग युगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।