Category: खेलकुद

  • राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

    राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

    काठमाडौँ, ३१ असोजः नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा राष्ट्रिय टोलीसम्म पुर्‍याउन निकै लामो र कठिन सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै विमलले देशका लागि मनदेखि खेलेको बताएका छन् ।

    “बुटवलबाट सुरु भएको मेरो फुटबल यात्रा काठमाडौँ हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा निकै लामो र कठिन रह्यो । मैले देशका लागि मनैदेखि खेलेँ र आफ्नो सबैथोक फुटबललाई नै दिएँ”, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    फुटबलप्रेमी तथा शुभचिन्तकले दिएको माया र साथप्रति आभार व्यक्त गर्दै उनले खेलजीवन टुङ्ग्याउने निर्णय लिँदा आफू निकै भावुक भएको पनि बताएका छन् । “आज यो निर्णय लिँदा म धेरै नै भावुक भएको छु । सबैलाई एकमुष्ट धन्यवाद दिँदै मैले फुटबलको यात्रा यहीँसम्म टुङ्ग्याएको छु”, विमलले लेखेका छन् । उनले सन् २०१२ मा बङ्गलादेशविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । राष्ट्रिय टोलीबाट ४४ खेल खेलेका विमलले नौ गोल गरेका छन् । उनले सन् २०१५ मा यु–१९ साफ च्याम्पियनसिप, सन् २०१६ मा बङ्गबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुदमा स्वर्ण र एएफसी सोलिडारिटी कपको उपाधि जितेका थिए । घरेलु फुटबलमा मच्छिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेका विमलले नेदरल्याण्ड्समा युवा फुटबल खेलेका थिए ।

  • एनपिएललाई आइसिसीको मान्यता

    एनपिएललाई आइसिसीको मान्यता

    काठमाडौँ, ३० असोजः अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणलाई मान्यता दिएको छ । नेपाल क्रिकेट सङ्घका अनुसार आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म आयोजना हुने एनपिएलको तेस्रो संस्करणलाई आइसिसीको मान्यता दिएको हो । क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आइसिसीबाट प्राप्त मान्यताले नेपाली क्रिकेटको विकासका साथै अन्तरराष्ट्रिय पहिचानलाई विस्तार गरेको छ ।

  • बाढीपीडितको सहयोगार्थ यूएईमा महिला भलिबल प्रतियोगिता

    बाढीपीडितको सहयोगार्थ यूएईमा महिला भलिबल प्रतियोगिता

    यूएई । नेपालको भोटेकोशीमा आएको बाढीबाट पीडित परिवार तथा समुदायको सहयोगार्थ यूएईमा सेप्टेम्बर १८ मा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता दुबईस्थित अलबर्षाको अल क्विेम स्कुलको खेलमैदानमा भएको थियो ।
    प्रतियोगिताको विजेताको उपाधि एंगेल्स् टच समूहले पाएको छ भने उपविजेता दुबई मिक्सर र दोस्रो उपविजेता टिम भीएसले प्राप्त गरेको छ ।

    भलिबल खेलाडीहरु मुन बम्जन, निशान शाह र सरिता राईको आयोजनामा सम्पन्न प्रतियोगितामा यूएईमा रहेका विभिन्न देशका खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा ११ वटा महिला भलिबल टोलीले सहभागिता जनाएका थिए ।
    नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायलाई सहयोग पु¥याउने उद्देश्यले प्रतियोगितामार्फत सहयोग संकलन गरिएको आयोजकले जनाएको छ ।

    खेलाडी, समर्थक, स्वयंसेवक तथा नेपाली समुदायका सदस्यले अभियानमा साथ दिएका थिए । प्रतियोगितामा संकलन भएको रकम ४२०० दिहराम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको थियो ।


    खेलकुदको माध्यमबाट विभिन्न पृष्ठभूमिका मानिसलाई एकजुट गर्दै नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । आयोजकहरुले प्रतियोगितामा सहभागी सबै ११ टोली, खेलाडी, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।
    ‘नेपालबाट टाढा रहे पनि हाम्रो मन मातृभूमिमै छ ।

    भलिबलमार्फत मानिसलाई एकजुट गर्दै बाढीपीडितलाई सहयोग गर्ने हाम्रो उद्देश्य हो’, आयोजकले भने । प्रतियोगिताले यूएईमा रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायबीचको सहकार्य र मानवीय भावनालाई समेत उजागर गरेको आयोजकको भनाइ छ ।

  • गोर्खाली राइनोजलाई जीसीडी नेपाली प्रिमियर लिगको उपाधि

    गोर्खाली राइनोजलाई जीसीडी नेपाली प्रिमियर लिगको उपाधि

    यूएई । संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहमा सम्पन्न पहिलो ‘जीसीडी नेपाली क्रिकेट प्रिमियर लिगको उपाधि जीसीडी गोर्खाली राइनोजले जितेको छ ।
    भदौ २० देखि शुरु भएको प्रतियोगितामा काडोस एनसीसी हार्ड हिटर्स, एभरेस्ट वारियर्स अबुधाबी क्रिकेट क्लब, जीसीडी गोर्खाली राइनोज क्रिकेट क्लब र ग्रेस इन्टरनेशनल नेपाल टाइटन्स सहभागी थिए । प्रतियोगितामा जम्माजम्मी ७ खेल भएका थिए ।


    प्रतियोगिताको उत्कृष्ट बलर काडोस एनसीसी हार्ड हिटर्सका समिर सिंजापतिले प्राप्त गरेका थिए । उनले ४ खेलमा ८ विकेट लिएका थिए । त्यसैगरी उत्कृष्ट फिल्डर काडोस एनसीसी हार्ड हिटर्सका रोहित शर्माले प्राप्त गरे भने उत्कृष्ट ब्याटरको उपाधि काडोस एनसीसी हार्ड हिटर्सकै राजाराम सुवेदीले प्राप्त गरे । उनले ४ खेलमा १७५ रन बनाएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी जीसीडी गोर्खाली राइनोज क्रिकेट क्लबका मोसिन मत्तोले प्राप्त गरेका थिए उनले ३ खेलमा १२७ रन र ७ विकेट लिएका थिए ।


    शारजाहस्थित अल फरहान क्रिकेट मैदानमा भएको फाइनलमा काडोस एनसीसी हार्ड हिटर्सलाई हराउँदै जीसीडी गोर्खाली राइनोजले उपाधि जितेको हो । २६ सेप्टेम्बरमा भएको फाइनल खेलपश्चात् भव्य समारोहका बीच पुरस्कार वितरण गरिएको थियो ।


    उक्त कार्यक्रममा नेपाली महावाणिज्यदूतावास दुबईका उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागाईंको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगिताको विजेतालाई ५ हजार दिराम र उपविजेतालाई २ हजार दिराम पुरस्कार, ट्रफी र मेडल वितरण गरिएको थियो । समापन कार्यक्रममा नेपाली पञ्चेबाजा, नेपाली भजन र विभिन्न झाँकीहरु प्रस्तुत गरिएको थियो ।

  • अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

    अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

    काठमाडौँ, २४ असोजः अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा काठमण्डु गोर्खाजबाट खेल्ने भएका छन् । काठमण्डुले सामाजिक सञ्जालमार्फत बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो । बोसिस्टोले एनपिएलको अघिल्ला दुई संस्करणमा कर्णाली याक्सबाट खेलेका थिए । तेस्रो संस्करणमा भने उनी नयाँ टोलीबाट मैदान उत्रनेछन् । काठमाण्डुले यसअघि अष्ट्रेलियाका अनुभवी ब्याटर डेविड वार्नर, श्रीलङ्काका सहान अराचिङ्गे र भारतका केएस भरतलाई पनि टोलीमा समेटिसकेको छ ।

    तेत्तिस वर्षीय बोसिस्टो ब्याटिङसँगै अफब्रेक बलिङ गर्ने क्षमता भएका खेलाडी हुन् । उनले अष्ट्रेलियाको उमेर समूहको क्रिकेटमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् २०१२ मा अस्ट्रेलियाको यु–१९ टोलीको कप्तानी गरेका उनले सोही वर्षको यु–१९ विश्वकप खेलेका थिए । बोसिस्टोले अस्ट्रेलियाको घरेलु क्रिकेटमा फस्र्ट क्लास, लिस्ट ‘ए’ र टी–२० प्रतियोगिता खेलेका छन् । उनले फस्र्ट क्लास क्रिकेटका २८ खेलमा एक हजार १०० भन्दाबढी रन बनाउनुका साथै अफब्रेक बलिङबाट १७ विकेट लिएका छन् ।

  • काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

    काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

    काठमाडौँ, २३ असोज । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते शनिबार आयोजना हुने ‘काठमाडौँ म्याराथन’ लाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन विशेष ट्राफिक सचेतना तथा सडक सुरक्षा योजना अघि सारेको छ । म्याराथनमा ठूलो सङ्ख्यामा धावक, दर्शक तथा सर्वसाधारणको सहभागिता हुने भएकाले प्रतियोगिता हुने सडकमा सवारी आवागमन प्रभावित हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले म्याराथनका क्रममा तोकिएका सडक तथा मार्गमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाइने जानकारी दिए । “काठमाडौँ म्याराथनलाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन हामीले विशेष ट्राफिक सचेतना तथा सडक सुरक्षा योजना अघि सारेका छौँ”, उनले भने, “बृहत् नागरिक सचेतना अभियानअन्तर्गत ट्राफिक प्रहरीले जनचेतनामूलक सन्देशसहित म्याराथनमा विषेश सहभागिता जनाउने छ ।”

    म्याराथन धावकको टिसर्ट पछाडिको भागमा ट्राफिक प्रहरीको लोगो र ‘फलो ट्राफिक रुल्स, सेभ लाइफ’ भन्ने नारा राखिएको ट्राफिक प्रहरी प्रमुख काफ्लेले बताए । ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदीका अनुसार म्याराथनको रुटमा आवश्यक ट्राफिक सुरक्षा व्यवस्थापनको तयारी पूरा भएको छ । उनले धावकलाई निर्धारित मार्ग र लेनको प्रयोग गर्न तथा ट्राफिक प्रहरी र स्वयंसेवकले दिएको निर्देशन पालना गर्न आग्रह गरे ।


    उनले भने, “दर्शक तथा सर्वसाधारणलाई सडकमा जथाभावी नउभिन, धावकको मार्ग अवरुद्ध नगर्न तथा सडक पार गर्दा तोकिएको स्थान र जेब्राक्रसिङको प्रयोग गर्न अनुरोध गरेका छौँ । सवारी चालकलाई प्रतियोगिताका क्रममा धैर्य र संयमता अपनाएर सवारी सञ्चालन गर्न हाम्रो आग्रह छ ।” म्याराथनका कारण केही स्थानमा सवारी चाप बढ्नसक्ने भएकाले अत्यावश्यक कामबाहेक वैकल्पिक मार्ग प्रयोग गर्न र गन्तव्यमा पुग्नुपर्ने यात्रुलाई केही समयअगावै घरबाट निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

    सडकको सही प्रयोग, ट्राफिक नियमको पालना तथा धावक, दर्शक, सवारी चालक र सर्वसाधारणको सहयोगबाट म्याराथनलाई सुरक्षित र व्यवस्थित बनाउन सकिने भएकाले सडक सुरक्षा अभियानमा सहयोग गर्न ट्राफिक प्रहरी प्रमुख काफ्लेले आग्रह गरेका छन् । सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको उक्त प्रतियोगितालाई नेपालकै ठूलो सिटी म्याराथनका रूपमा लिइन्छ । प्रतियोगिताको व्यवस्थापन एनआरएस स्पोट्र्स फाउन्डेसनले गरिरहेको छ ।

  • विश्व वरियतामा नेपाल १६औँ स्थानमा

    विश्व वरियतामा नेपाल १६औँ स्थानमा

    काठमाडौँ, २२ असोजः अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको आइसिसी एकदिवसीय विश्व वरियतामा नेपाल १६ स्थानमा उक्लिएको छ । पुरुष एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको हो । नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ ।

    नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ । एकदिवसीय विश्व वरियतामा भारत शीर्ष स्थानमा रहँदा न्यूजील्याण्ड दोस्रो स्थानमा छ । त्यसैगरी दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ भने अष्ट्रेलिया चौथो तथा पाकिस्तान पाँचौँ स्थानमा छन् ।

  • आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली

    आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली

    काठमाडौँ, २२ असोजः नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तरराष्ट्रिय मान्यता पाउने आशामा पनि छ ।

    त्यसका लागि आइसिसीले माग गरेका आवश्यक कागजातसमेत क्यानले पठाइसकेको छ । अब क्यान आइसिसीको औपचारिक निर्णयको पर्खाइमा रहेको सचिव पारस खड्काले जानकारी दिनुभयो । “राम्रो खेलाडी ल्याउन टोलीहरू कोसिस गरिरहनुभएको छ । तर, अहिले खेलाडीलाई कन्ट्याक्ट गरेर राखेका अवस्थामा अफिसियली स्याङ्कसन (आइसिसी मान्यता) आएपछि मात्रै उहाँहरूलाई अनाउन्समेन्ट गर्ने कुरा आउँछ’’, खड्काले रासससँग भन्नुभयो, “धेरैजसो टिम यही प्रतीक्षामा हुनुहुन्छ । आशा गरौँ, चाँडोभन्दा चाँडो सकारात्मक खबर आओस् ।”

    आइसिसीको स्वीकृति आएपछि एनपिएलका टोलीलाई थप स्तरीय विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुने उहाँको भनाइ छ । त्यसले प्रतियोगिताको स्तरसँगै नेपाली क्रिकेटको अन्तरराष्ट्रिय चर्चा बढाउन सहयोग पुग्ने खड्काले बताउनुभयो ।

    आइसिसीबाट मान्यता प्राप्त भएमा एनपिएलका टोलीलाई टेस्ट राष्ट्रका चर्चित विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुनेछ । त्यसैले क्यानसँगै एनपिएलका टोलीसमेत आइसिसीको निर्णयको प्रतीक्षामा छन् । निर्णयमा ढिलाइ हुँदा विदेशी खेलाडीको अन्तिम टुङ्गो लगाउन केही समस्या भइरहेको टोलीको भनाइ छ ।

    एनपिएल टोली जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडा पनि आइसिसीको निर्णयको पर्खाइमा हुनुहुन्छ । उहाँले आइसिसीबाट छिट्टै सकारात्मक निर्णय आउने अपेक्षा व्यक्त गर्नुभयो ।

    “आशा छ आइसिसीले छिटो एनपिएललाई अन्तरराष्ट्रिय मान्यता दिनेछ । त्यसोहुँदा हामीले आवश्यकपर्ने थप विदेशी स्टारलाई भित्र्याउन सहज हुनेछ”, खतिवडाले भन्नुभयो । यसपटक एनपिएलमा डेविड वार्नर, मोइन अली, सिकन्दर राजा, इफ्तिखार अहमदलगायत अन्तरराष्ट्रियस्तरका चर्चित खेलाडी जोडिँदै छन् । ठूला विदेशी खेलाडीको सहभागिताले एनपिएलको चर्चा नेपालमा मात्र नभई अन्तरराष्ट्रियस्तरमा समेत बढ्ने क्यानको अपेक्षा छ ।

    क्यानका सचिव खड्काले एनपिएललाई खेलकुदसँगै पर्यटन प्रवर्द्धनका माध्यमका रूपमासमेत विकास गर्न सकिने बताउनुभयो । यसअघि एनपिएलमा सहभागी हुन आएका विदेशी खेलाडी, अम्पायर तथा कमेन्टेटरले नेपालबारे सकारात्मक अनुभव लिएर फर्किएका थिए । “इन्टरनेसनल खेलाडी लगभग ५५–६० जना, अम्पायरहरू, कमेन्टेटरहरू गर्दा ६०–७० जना विभिन्न देशका नागरिक यसअघि पनि आएर एकदमै प्लेजेन्ट मेमोरिज लिएर फर्किनुभएको छ”, सचिव खड्काले भन्नुभयो ।

    विदेशी खेलाडीको नेपाल आगमनले खेल पर्यटनलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । अन्तरराष्ट्रियस्तरका खेलाडीले नेपालबारे सकारात्मक धारणा व्यक्त गर्दा त्यसको प्रभाव विदेशी पर्यटकमासमेत पर्नसक्ने सचिव खड्काले बताउनुभयो ।

    “स्पोट्र्स टुरिजमको जुन एउटा कन्सेप्ट छ, त्यसलाई नेपाल प्रिमियर लिग र नेपाल क्रिकेटले सुरुदेखि नै प्रवर्द्धन गरिरहेकै छ”, उहाँले भन्नुभयो, “विश्वस्तरीय खेलाडी जब आउनुहुन्छ, उहाँहरूले नेपालका बारेमा अन्तरराष्ट्रिय कम्युनिटीमा चर्चा गर्नुहुनेछ । त्यसले देशको अर्थतन्त्र र पर्यटनमा सहयोग गर्छ ।” सचिव खड्काले एनपिएलमार्फत नेपाल सुरक्षित रहेको सन्देश अन्तरराष्ट्रिय समुदायमा दिन सकिने पनि बताउनुभयो । विभिन्न चुनौतीपछि पनि नेपाल अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम रहेको सन्देश एनपिएलले दिने उहाँको भनाइ छ ।

    “इन्टरनासेनल प्लेयर्सहरू आएर नेपाल इज सेफ, नेपाल इज सेक्युर भन्ने मेसेज हामी दिन सक्छौँ”, खड्काले रासससँग भन्नुभयो, “नेपाल फेरि तयार भयो र हामी अगाडि बढ्नेछौँ भन्ने सन्देश पनि यो प्रतियोगिताबाट दिने प्रयास गर्नेछौँ ।”

    एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमा सुरु हुँदैछ । प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गते हुनेछ । एनपिएल–३ मा पनि आठ वटा टोलीबीच प्रतिस्पर्धा हुने क्यानले जनाएको छ । लिगको उद्घाटन खेलमा कात्तिक ९ गते गत संस्करण विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुने तालिका छ ।

  • एनपिएलको तयारी अन्तिम चरणमा

    एनपिएलको तयारी अन्तिम चरणमा

    काठमाडौँ, २१ असोजः नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काका अनुसार प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको हो ।

    प्रतियोगिताको हरेक संस्करण बृहद् बन्दै गएकाले दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई विगतभन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको उनले बताए । “तयारीको अन्तिम चरणमा छौँ । प्रतियोगितालाई राम्रोसँग सम्पन्न गर्नुपर्ने अपेक्षा धेरै छ । प्रतियोगिता जति ठूलो हुँदै गयो, त्यति नै हाम्रो जिम्मेवारी पनि बढेको छ”, सचिव खड्काले रासससँग भने, “दसँैसम्म सबै काम सकेर तेस्रो संस्करणका लागि पूर्ण रूपमा तयार हुने हाम्रो योजना छ ।”

    गत संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्दै यस पटक मैदानमा केही नयाँ संरचना थपिने भएका छन् । एनपिएलका खेलमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने प्रयास गरिएको सचिव खड्काले जानकारी दिए । मैदान परिसरमा थप दर्शक अटाउन मिल्ने स्थान पहिचान गरी आवश्यक संरचनात्मक परिवर्तन भइरहेको उनको भनाइ छ ।

    यसैगरी, मैदान प्रवेश गर्ने बाटो तथा गेट व्यवस्थापनमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सुधारको पहल भइरहेको सचिव खड्काले बताए । टिकट लिएर मैदान पुग्ने दर्शकलाई प्रवेशदेखि खेल हेरेर फर्किंदासम्म सहज वातावरण मिलाउने गरी व्यवस्थापनमा विशेष ध्यान दिइएको क्यानले जनाएको छ । गत संस्करणमा दर्शकले शौचालय तथा आवतजावतका क्रममा धुलोलगायतका समस्या भोग्नु परेको थियो । यसपटक त्यस्ता समस्या दोहोरिन नदिन क्यानले पहल गरेको सचिव खड्काले बताए ।

    दसैँलगत्तै एनपिएल

    दसैँ–तिहारको बीचमा एनपिएल आयोजना हुँदा दर्शकको उपस्थिति प्रभावित हुन सक्ने आकलन भए पनि नेपाल क्रिकेट सङ्घ (क्यान) भने यसप्रति धेरै चिन्तित छैन । क्यानका सचिव खड्का नेपाली क्रिकेटको ‘फ्यान बेस’ बलियो भएकाले चाडपर्वको समय भए पनि दर्शकको उत्साहमा कमी नआउने विश्वास व्यक्त गर्छन् ।


    उनका अनुसार एनपिएलको मिति तय गर्दा अन्तरराष्ट्रिय क्रिकेट र अन्य फ्रेन्चाइज लिगको तालिका तथा विदेशी खेलाडीको उपलब्धतालाई मुख्य आधार बनाइएको हो । यी सबै पक्षलाई हेर्दा यस वर्षका लागि दसैँ–तिहारको बीचको समय नै प्रतियोगिता आयोजना गर्नु उपयुक्त देखिएको उनको भनाइ छ ।तेस्रो संस्करणमा सहभागी टोलीले अन्तरराष्ट्रिय क्रिकेटका चर्चित खेलाडीलाई अनुबन्ध गर्ने क्रम तीव्र पारेका छन् । विदेशी खेलाडीको उपस्थितिले यसपटक एनपिएलप्रति दर्शकको आकर्षण थप बढ्ने क्यानको अपेक्षा छ ।

    टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाडीलाई आफ्नै मैदानमा प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई मैदानसम्म तान्ने सचिव खड्काको विश्वास छ । “यसपालि ठूलाभन्दा ठूला खेलाडी हरेक टोलीले ल्याइरहेका छन् । टिभीमा हेरिरहेका खेलाडीलाई अब कीर्तिपुर अन्तरराष्ट्रिय क्रिकेट मैदानमै प्रत्यक्ष देख्न सक्ने अवस्था बनेको छ”, उनले भने । एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक नौदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।

  • यस्तो रह्यो मेसीको बिदाई खेल (फोटो फिचर)

    यस्तो रह्यो मेसीको बिदाई खेल (फोटो फिचर)

    २१ असोज, काठमाडौं । विश्व फुटबलका महानतम खेलाडीमध्येका एक लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट भावुक र सुखद बिदाइ लिएका छन्। बुधबार बिहान अर्जेन्टिनाको ब्युएनोस आयर्सस्थित ऐतिहासिक एस्टाडियो मास मोनुमेन्टल रंगशालामा सम्पन्न बिदाइ मैत्रीपूर्ण म्याचमा अर्जेन्टिनाले बेनिनलाई ३–० गोल अन्तरले पराजित गर्‍यो।

    Argentina’s Lionel Messi, center, and Benin’s Imourane Hassane battle for the ball during Messi’s final match for the national team, a soccer friendly against Benin, in Buenos Aires, Argentina, Tuesday, Oct.6, 2026. (AP Photo/Gustavo Garello)

    आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेललाई यादगार बनाउने क्रममा ३९ वर्षीय कप्तान मेसीले टोलीका लागि १ गोल गरे भने बाँकी २ गोलमा उत्कृष्ट पास (एसिस्ट) मिलाइदिए । खेलको मुख्य क्षण र मेसीको प्रदर्शनघरेलु समर्थकको अपार उपस्थिति र नाराबाजीका बीच मैदान उत्रिएको अर्जेन्टिनाले सुरुदेखि नै अफ्रिकी टोली बेनिनमाथि दबाब बनाएको थियो।

    Argentina’s Lionel Messi, center, makes his final appearance for the national team, a soccer friendly against Benin, in Buenos Aires, Argentina, Tuesday, Oct.6, 2026. (AP Photo/Gustavo Garello)

    पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्‍यो । ४८औँ मिनेटमा लियोनल मेसीको उत्कृष्ट फ्रिकिक क्रसमा डिफेन्डर निकोलस ओतामेन्दीले हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । ६१औँ मिनेटमा मेसीले मिलाइदिएको पासमा युवा प्रतिभा निको पाजले बक्सभित्रबाट आकर्षक गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। ७१औँ मिनेटमा बेनिनका डिफेन्डरले बक्सभित्र ह्यान्डबल गरेपछि अर्जेन्टिनाले पेनाल्टी प्राप्त गर्‍यो।

    A child looks at the statue of Argentina’s Lionel Messi before an international friendly soccer match against Benin, marking his farewell appearance for the national team, in Buenos Aires, Argentina, Tuesday, Oct.6, 2026. (AP Photo/Rodrigo Abd)


    घरेलु दर्शकको गुञ्जयमान हुटिङका बीच मेसीले पेनाल्टीलाई सहजै गोलमा परिणत गर्दै आफ्नो बिदाइ खेललाई अझ विशेष बनाए।निर्धारित ९० मिनेटको खेल सकिएपछि रंगशालामा उपस्थित हजारौँ दर्शक र सहकर्मी खेलाडीहरूले मेसीलाई उभिएर सम्मान दिएका थिए। खेलको अन्तिम ह्विसल बजेलगत्तै मेसी भावुक बनेका थिए।


    एक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्राको अन्त्यसन् २००५ मा अर्जेन्टिनाको सिनियर टोलीबाट डेब्यु गरेका मेसीले राष्ट्रिय जर्सीमा कुल २०८ म्याच खेल्दै १२५ गोल प्रहार गरे। अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकप तथा २०२१ र २०२४ को कोपा अमेरिकाको उपाधि दिलाउन मेसीको योगदान अतुलनीय रह्यो।

    Argentina’s Lionel Messi, left, makes an attempt to score during his final match for the national team, a soccer friendly against Benin, in Buenos Aires, Argentina, Tuesday, Oct.6, 2026. (AP Photo/Natacha Pisarenko)

    उनले खेलपछि भने, ‘अर्जेन्टिनाको यो नीलो र सेतो जर्सी लगाएर मैदान उत्रिन पाउनु मेरो जीवनको सबैभन्दा ठूलो गर्वको कुरा हो। आज म मैदानबाट बिदा भए पनि मेरो मुटु सधैँ यो टोलीसँगै रहनेछ।’ मेसीको यो अन्तिम अन्तर्राष्ट्रिय उपस्थिति, जसलाई ‘द लास्ट ट्याङ्गो’ नाम दिइएको थियो, सँगै अर्जेन्टिनी फुटबलको एउटा स्वर्णिम युगको अन्त्य भएको छ। यद्यपि, मेसीले क्लब फुटबलतर्फ अमेरिकी क्लब इन्टर मियामीबाट भने निरन्तरता दिनेछन्।

  • लियोनल मेसीको भब्य बिदाई, अन्तिम खेलमा गरे गोल

    लियोनल मेसीको भब्य बिदाई, अन्तिम खेलमा गरे गोल

    २१ असोज, काठमाडौं । अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीको भब्य बिदाई गरिएको छ । बेनिन्विरुद्धको खेलमा मेसी उपस्थित भए । यस खेलका लागि अर्जेन्टाइन फुटबल संघले मेसीलाई विशेष आमन्त्रण गरेको थियो । जसमा मेसीले दुई असिस्ट र एक गोल समेत गर्दै आफ्नो २१ वर्षे करियर टुङ्ग्याएका छन् । खेल अघि र पछि भब्य कार्यक्रम आयोजना गरियो ।

    खेलपछि उनले केहीबेर सम्बोधन समेत गरेका थिए । विश्वबिजेता मेसी सर्वकालिन महान फूलबलरमध्ये एक मानिन्छन् । लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि आफ्नो बिदाइ खेलमा गोल गर्दा समग्रमा अर्जेण्टिना ३–० गोल अन्तरले विजयी भएको हो । निकोलस ओटामेन्डी र निको पाजले १–१ गोल गरे । मेसीले गत महिना अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । अर्जेण्टिनाले सन् २०२२ मा विश्वकप उचाल्दा मेसी कप्तान थिए ।

  • पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता

    पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता

    गण्डकी, २० असोज । कास्कीका ऐतिहासिक पाँच कोटलाई समेटेर आगामी आइतबार ‘पोखरा पाँचकोट ५० किमि अल्ट्रा ट्रेल रेस–२०८३’ आयोजना हुँदैछ । नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराको आयोजना र विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको विशेष सहयोगमा उक्त दौड प्रतियोगिता आयोजना गरिएको हो ।

    मङ्गलबार नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरमा आयोजित समन्वयात्मक बैठकमा पृतनापति उपरथी भोलानाथ थापाले नेपाल भूतपूर्व खेलाडी मञ्चको अगुवाई र निजी क्षेत्रलगायतको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको बताए । उनले पहिलोपटक हुन लागेको यस अल्टा ट्रेल दौडले पोखराको खेल पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।


    नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखराका पूर्वअध्यक्ष एवं प्रतियोगिताका ‘रेस डाइरेक्टर’ तेज गुरुङले नेपालको शाहवंशीय इतिहाससँग जोडिएको कास्कीकोटसहित ऐतिहासिक महत्त्वका सराङकोट, झुप्राङकोट, अर्मलाकोट र काहुँकोटलाई समेटेर अल्ट्रा ट्रेल दौड आयोजना गरिएको बताए । यस दौड प्रतियोगिताले प्रकृति, संस्कृति र साहसिकतासँगै इतिहासलाई पनि जोडेको उनको भनाइ छ ।

    उनका अनुसार ५० किमिको दौड पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोटबाट सुरु भई सराङकोट, विन्ध्यवासिनी मन्दिर, जौबारी पुल, पानी ट्याङ्की, घार्मीडाँडा, ढिकीडाँडा, झुप्राङकोट, बलायँखर्क, महापुरुष डाँडा, च्होगो डाँडा, अर्मलाकोट, कुरा गाउँ, पिपलडाली, र्‍यालेचौर, काहुँकोट हुँदै नेपाली सेनाको फूलबारी ब्यारेकमा पुगेर सकिनेछ ।

    ५० किमि दुरीमा दौड पार गर्न नसक्ने धावकका लागि १६ किमि दुरी निर्धारण गरिएको मञ्चका पूर्वअध्यक्ष गुरुङले बताए । जसमा कास्कीकोटबाट सुरु भई सराङकोट, विन्ध्यवासिनी मन्दिर, हरिचोक, सिम्पानीचोक, बगर ट्याक्सीचोक, पृथ्वीनारायण क्याम्पस, बालमन्दिर माध्यमिक विद्यालय, नारायण थान, पहेँलो पुल हुँदै पोखरा महानगरपालिका–११ स्थित फूलबारी ब्यारेकमा गई समाप्त हुनेछ ।

    प्रतियोगिताका विजेतालाई पुरुष र महिला गरी दुवैतर्फ समान रूपमा पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । ५० किमि दौडमा प्रथम स्थान गर्ने पुरुष र महिला धावकले रु. एक लाख ५० हजार नगदसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो स्थान प्राप्त गर्नेलाई रु. एक लाख, तेस्रो हुनेलाई रु. ७५ हजार, चौँथोलाई रु २५ हजार र पाँचौँ स्थान हासिल गर्नेलाई रु. १५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

    १६ किमि दौडमा प्रथम स्थान गर्ने पुरुष र महिला धावकले रु २५ हजार, दोस्रो हुनेले रु। १५ हजार, तेस्रो र चौँथो हुनेले क्रमशः रु १० हजार र पाँच हजार नगदसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । दौड पूरा गर्ने सबै धावकलाई ‘फिनिसर्स मेडल’ प्रदान गरिने मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा १८ वर्ष उमेर पुगेका धावकले मात्र भाग लिन पाउने भएका छन् । यही असोज २२ गते दिउँसो ४ बजेसम्म नाम दर्ताका लागि समयावधि तोकिएको छ ।

    हालसम्म केही विदेशीसहित ५० भन्दा बढी धावकले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालका चर्चित अल्ट्रा धावकहरूको पनि सहभागिता रहने अध्यक्ष गुरुङले बताए । करिब दुई सयजना धावकले प्रतियोगितामा भाग लिने अनुमान गरिएको उनको भनाइ छ । यस दौडमा भाग लिने धावकहरूले प्रकृतिको सुन्दरता, स्थानीय संस्कृति र ग्रामिण जीवनशैलीलाई नजिकबाट नियाल्न पाउने अध्यक्ष गुरुङले बताए ।

  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ खेल समावेश

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ खेल समावेश

    कर्णाली, १८ असोजः आगामी मङ्सिर १६–२७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा ३२ खेल समावेश गरिएका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत राखेपका सदस्य सचिव रामचरित्र मेहताले प्रतियोगितामा समावेश खेलमध्ये २८ कर्णाली र बाँकी चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने बताए ।


    एथ्लेटिक्स, ब्याटमिन्टन, बक्सिङ, बास्केटबल, क्रिकेट, फुटबल, ह्याण्डबल, रग्बी, तेक्वान्दो, भलिबल, उसु, कुस्ती, कबड्डी, कराते, फूल कन्ट्याक्ट कराते, हक्की, ई–स्पोट्स, स्क्वास, साइक्लिङ, जिम्न्यास्टिक र सेपाकताक्रो गरी २१ खेल सुर्खेत जिल्लामा सञ्चालन हुने सदस्य सचिव मेहताले बताए । त्यसैगरी, शारीरिक सुगठन कालीकोट, जुडो जाजरकोट, खो खो रुकुमपश्चिम, आइटिएफ तेक्वान्दो तथा बुद्धिचाल दैलेख, टेबलटेनिस सल्यान र आर्चरी जुम्ला गरिने उनको भनाइ छ ।

    सदस्य सचिव मेहताका अनुसार पौडी, भारत्तोलन, टेनिस र सुटिङ लुम्बिनी प्रदेशको नेपालगञ्जमा सञ्चालन गर्ने प्रारम्भिक छलफल भएको छ । यद्यपि प्राविधिक समितिको थप छलफलपछि ती खेलहरु पनि कर्णालीमै हुनसक्ने उनले बताए । उक्त खेलका लागि सङ्घीय सरकारको रु ७१ करोड र राष्ट्रिय पारा खेलका लागि रु तीन करोड बजेट विनियोजन भएको सदस्य सचिव मेहताले बताए । खेलमा खेलाडी र अफिसियल्स गरी करिब नौ हजारको सहभागिता रहने आयोजकले जनाएको छ ।

    पत्रकार सम्मेलनमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले रङ्गशालाको काम शतप्रतिशत सम्पन्न भएको बताउँदै आवास व्यवस्थापनको चुनौती समाधानको तयारी थालिएको बताए । परिषद्का उपाध्यक्षको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन गरिएको र त्यसले भएका समस्या पहिचान गर्ने तथा प्रदेश सरकारले त्यसको समाधान गर्ने बताए ।

  • चीनलाई २८ वर्षपछि पहिलो फुटबल पदक, भविष्य उज्ज्वल रहेको प्रशिक्षकको दावी

    चीनलाई २८ वर्षपछि पहिलो फुटबल पदक, भविष्य उज्ज्वल रहेको प्रशिक्षकको दावी

    नागोया, जापान, १८ असोज (रासस–एएफपी) । चीनले शनिबार झण्डै तीन दशकपछि पहिलो एसियाली खेलकुद पदक जितेको छ । उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशिक्षकले दावी गरे । फुटबलमा ठूलो कम उपलब्धि हासिल गर्ने चीनले सन् २००२ मा विश्वकपमा एक पटक मात्र पुग्न सफल भएको थियो ।

    चीनले हालै युवा स्तरमा सापेक्षिक सफलता हासिल गरेको छ र फेब्रुअरीमा अन्डर–२३ एसियन कपमा उपविजेता बनेपछि जापानमा भएको एसियाली खेलकुदमा कास्य पदक जितेको हो । चीनले उज्बेकिस्तानलाई २–२ को बराबरीपछि पेनाल्टीमा हरायो र प्रशिक्षक एन्टोनियो पुचेले नयाँ पुस्ताले अझ ठूला र राम्रा उपलब्धि हासिल गर्ने अपेक्षा गरेको बताए ।


    “मेरो विचारमा यी खेलाडीहरूको अत्यन्त उज्ज्वल भविष्य छ,” स्पेनी प्रशिक्षकले जीत पछि भने । “हामीले काम गर्नुपर्छ, उनीहरूलाई अगाडि बढाउनुपर्छ किनकि हामीसँग उच्च गुणस्तर र ठूलो हृदय भएका खेलाडीहरू छन्, र फुटबलमा यो निकै महत्वपूर्ण हुन्छ।” एसियाली खेलकुद फुटबलमा अन्डर–२३ टोलीहरू हुन्छन् जसमा तीन जना माथिल्लो उमेरका खेलाडी समावेश गर्न सकिन्छ ।

    पुचेको आइची–नागोया टोलीमा पूर्ण राष्ट्रिय टोलीका नियमित खेलाडीहरू पनि थिए। ‘अग्रणी समूह’ ले युवा खेलाडीको अनुपस्थितिमा राम्रो प्रदर्शनका लागि सफलता प्राप्त गर्न सकिरहेको छैन । गत साता घरेलु मैदानमा न्युजिल्यान्डसँग भएको मैत्रीपूर्ण खेलमा चीनको राष्ट्रिय टोली ३–० ले पराजित भएको थियो।

    पुचेले प्यालेस्टाइनसँगको हारपछि प्रशिक्षक शाओ जियाईलाई अवस्था सुधार गर्न समर्थन जनाएका थिए । “त्यो अन्तिम खेलको नतिजा राम्रो थिएन, त्यो निश्चित हो,” उनले भने । “मुख्य प्रशिक्षक अत्यन्त सक्षम र लचिलो छन्, उनले यो हारलाई टोली सुधार गर्न प्रयोग गर्नेछन् ।’ चीनले कहिल्यै एसियाली खेलकुद पुरुष फुटबलमा स्वर्ण जितेको छैन। उनीहरूले सन् १९९८ मा बैङ्ककमा काँस्य पदक जितेका थिए ।

  • प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डाको भविष्य अनिश्चित

    प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डाको भविष्य अनिश्चित

    कोपनहेगन, १६ असोज (रासस–एएफपी) । प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई सुरुवाती एघार खेलाडीको सूचीमा नराख्ने घोषणा गरेपछि बढेको विवादबीच उहाँको राष्ट्रिय टोलीमा भविष्य अनिश्चित भएको छ । पोर्चुगलका ४१ वर्षीय सुपरस्टारले प्रशिक्षकको टोली छाडेर हिँडेका बताइएको छ ।

    रोनाल्डोले बुधबार ढिलो गरी टोली छाडेको घोषणा गर्नुभएको थियो । त्यसअघि प्रेस सम्मेलनमा जेससले पाँच पटकको बलोन डी’ओर विजेता रोनाल्डोलाई लगातार दोस्रो खेलका लागि सुरुवाती ‘लाइनअप’ बाट बाहिर राख्ने पुष्टि गरेका छन् । पूर्व रियल म्याड्रिडका ‘फरवार्ड’ रोनाल्डोले युइएफए नेसन्स लिगअन्तर्गत डेनमार्कविरुद्धको खेलको अघिल्लो दिन पार्केन स्टेडियममा साथीहरूसँग प्रशिक्षण गर्नुपर्ने थियो तर जेससको खेल योजना घोषणापछि उनी हिडेका थिए ।

    “राष्ट्रिय टोलीका प्रशिक्षकको प्रेस सम्मेलनपछि र पोर्चुगाली फुटबल संघका अध्यक्षसँगको कुराकानीपछि मैले राष्ट्रिय टोलीको भूमिका छाड्ने निर्णय गरेको छु,” रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन् । रोनाल्डोले आइतबार नर्वेविरुद्धको २–१ को नेसन्स लिग जितमा पुरै समय बेन्चमा बिताए । त्यसअघि गत बिहीबार वेल्सविरुद्धको १–० को घरेलु जितमा उनी कप्तान थिए । यी खेलहरू विश्वकप वा युरोपियन च्याम्पियनशिप जत्तिको महत्त्व नभएकाले राष्ट्रिय टोलीका कोचहरूले खेलाडीहरूलाई घुमाएर खेलाउनु सामान्य हो।

    तर रोनाल्डोले जेससको निर्णयका कारणहरू गहिरो रहेको सङ्केत गरे । “उचित समयमा म पोर्चुगाली जनतालाई मैले सधैँ आफूलाई समर्पित गरेको मेरो राष्ट्रिय टोली छाड्नुका कारणहरूको सत्य बताउनेछु,” उनले भने । यसले उनी अन्तर्राष्ट्रिय खेल मञ्चबाट स्थायी रूपमा बाहिरिने सङ्केत गरेको छ।

    “कुनै अपवादबिना अहिले पोर्चुगल र मेरा सबै साथी खेलाडीहरूलाई भविष्यका लागि शुभकामना दिने समय हो,” उनले भने । स्पेनी खेलकुद दैनिक मार्काले जेसस र पोर्चुगाली संघका अध्यक्ष पेड्रो प्रोएन्काले रोनाल्डोलाई टोलीमा रोक्न कोपनहेगन विमानस्थलसम्म पछ्याएको बताएको छ तर उनी आफ्नो निजी जेटमा चढेका थिए ।
    जुलाईमा नियुक्त भएका ७२ बर्षीय जेससले बुधबार सुरुमै आफू र रोनाल्डोबीच कुनै मतभेद नभएको जोड दिँदै नर्वेविरुद्ध बेन्चमा बस्दा कप्तान निराश भएको स्वीकार गरे । समाचारले सामाजिक सञ्जालमा आक्रोसको लहर र रोनाल्डोकी बहिनी एल्मा अवेइरोबाट क्रोधित प्रतिक्रिया जन्मायो।

    ‘उनीहरूले कुनै पनि कुराको उत्कृष्टता पाउन लायक छैनन्,” उनले इन्स्टाग्राममा पोर्चुगाली जनतालाई सङ्केत गर्दै भनिन् । ‘हामी ईष्र्यालु, घृणायुक्त र अज्ञानी छौँ र सीआर–७ अघिको फुटबल युगको मध्यमत्वमा फर्कन लायक छौँ।’ ओस्लोको खेल नोभेम्बर २०२४ पछिको पहिलो अवसर थियो जब रोनाल्डो घाइते वा निलम्बित नभई पनि पोर्चुगलका लागि खेखेनन् ।
    “कुनै घटना नै भएन,” जेससले त्यो खेलपछि पत्रकारहरूलाई भने । उनले रोनाल्डोलाई साउदी क्लब अल–नस्रमा एक वर्ष कोच गरेको पछि पोर्चुगलको जिम्मेवारी लिएका थिए । “म आफैं पनि खेलाडी थिएँ । मलाई थाहा छ कुनै पनि खेलाडी जब २० वा ३० मिनेट वार्मअप गर्छ र त्यसपछि मैदानमा आउन्न त्यसमा कोही खुसी हुँदैन,” जेससले बुधबार भने ।
    पोर्चुगाली प्रशिक्षकले खेलअघि रोनाल्डोलाई सुरुवाती एघार पहिलो चरणको खेलाडीको सूचीमा नराखिएको सायद पछि झारिने बताएको पनि बताए । जेससले भने, “प्रशिक्षकको हैसियतमा मैले पछि उनलाई नखेलाउने निर्णय गरेँ। यो हल्ला मच्चाउने कुरा होइन।”

    रोनाल्डोको प्रस्थानपछि पोर्चुगाली फुटबल संघले भनेको छ, “डेनमार्क र नर्वेविरुद्धका दुई खेलको तयारी बाँकी २४ खेलाडीसहित योजनाअनुसार जारी छ।”
    “पूरै प्रतिनिधिमण्डल राष्ट्रिय टोलीका आगामी खेलहरू र निर्धारित उद्देश्य हासिल गर्न पूर्ण रूपमा केन्द्रित छ,” संघले भनेको छ । जेससले पहिले नै डेनमार्कविरुद्ध एसी मिलानका स्ट्राइकर गोन्कालो रामोसलाई फेरी सुरुवात गराउने बताएका थिए । उनले नर्वेमा विजयी गोलका लागि योगदान गरेका थिए ।

    “यदि सबै योजनाअनुसार भयो भने गोन्कालो नै खेल्नेछन्,” उनले भने । उनले रोनाल्डोबारे भने, “यदि मलाई उनको आवश्यकता भयो भने उनी आउन सम्भव छ । आवश्यकता महशुस नभए बोलाइनेछैन ।” रोनाल्डोले हालै यो सिजन ‘सम्भवतः आफ्नो फुटबलको अन्तिम वर्ष’ हुने घोषणा गरिसकेका थिए । उनी पोर्चुगलका सर्वाधिक गोलकर्ता र सर्वाधिक प्रसिद्ध खेलाडी हुन् । उनले पोचुगलका लागि खेलेका २३४ खेलमा १४६ गोल गरेका छन् । पूर्व स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल र युभेन्टस स्ट्राइकरले २००३ मा १८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।
    त्यसको अर्को वर्ष उनी युरो २००४ को फाइनलमा घरेलु टोलीका रूपमा ग्रीससँग पराजित पोर्चुगल टोलीमा खेलेका थिए । उहाँको कप्तानीमा सन् २००६ को विश्वकप सेमिफाइनलसम्म पुगेको थियो । उनले सन् २०१६ को युरोमा देशलाई विजय दिलाए । रोनाल्डो र पोर्चुगल यस वर्षको विश्वकपमा अन्तिम १६ मा स्पेनसँगको खेलबाट बाहिरिएका थिए।

  • यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

    यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

    काठमाडौँ, १६ असोजः नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आइसिसी यु–१९ महिला विश्वकप र तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०को तयारीमा जुटेको छ । आगामी पुसमा आयोजना हुने आइसिसी यु–१९ महिला विश्वकप नेपालले पहिलोपटक आयोजना गर्दैछ ।

    एनपिएलको तेस्रो संस्करण कात्तिकदेखि सुरु हुने तालिका छ । यी दुवै प्रतियोगितालाई लक्षित गर्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानको स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माणको काम तीव्र पारिएको क्यानका उपाध्यक्ष रोशनबहादुर सिंहले राससलाई जानकारी दिए ।
    उनले आगामी अन्तरराष्ट्रिय प्रतियोगितालाई लक्षित गरी मैदानलाई व्यवस्थित बनाउने काम भइरहेको बताए । विशेषगरी एनपिएलका अघिल्ला संस्करणमा देखिएको दर्शक तथा व्यवस्थापनसम्बन्धी समस्या यसपटक दोहोरिन नदिन आवश्यक तयारी भइरहेको उनको भनाइ छ ।

    “विगतमा जुन–जुन ठाउँमा त्रुटि भएको थियो त्यसलाई यसपटक सच्याउने प्रयास हामी गर्नेछाँै । दर्शकलाई सुविधा दिने प्रयास गर्नेछौँ किनकि उहाँहरूले पैसा तिरेर खेल हेर्नुहुन्छ”, उपाध्यक्ष सिंहले भने । दर्शकको सुविधाका लागि पार्किङदेखि अन्य व्यवस्थापनका काम व्यवस्थित गर्न लागिपरेको उनले बताए । “बाइक स्ट्यान्ड, सवारी पार्किङलाई व्यवस्थित गर्न लागेका छाँै । दर्शकलाई अप्ठ्यारो कहाँ–कहाँ हुन्छ र त्यसमा कसरी सुधार गर्न सकिन्छ भन्नेमा हामीले ध्यान केन्द्रित गरेका छौँ”, उनले भने ।


    एनपिएलका पहिलो र दोस्रो संस्करणमा देखिएका कमजोरीलाई सुधार गर्दै यसपटक मैदानमा कुनै पनि किसिमको त्रुटि नहोस् भन्नेमा क्यानले ध्यान दिएको उपाध्यक्ष सिंहले बताए । नेपालले पहिलोपटक आयोजना गर्ने यु–१९ महिला विश्वकपका खेल टियु र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् । मूलपानीको तुलनामा टियु मैदानमा बढी खेल सञ्चालन हुने उपाध्यक्ष सिंहले बताए ।

    प्रतियोगितालाई लक्षित गरी मैदानमा प्यारापिट, टोलीका लागि विश्रामस्थल तथा अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी), एसियाली क्रिकेट परिषद् (एसिसी) र खेलाडीका अभिभावकका लागि भिआइपी संरचना निर्माण भइरहेको उनले बताए ।
    मूलपानी क्रिकेट मैदान लामो समयदेखि निर्माण तथा स्तरोन्नतिका क्रममा रहे पनि अझै पूर्ण रूपमा तयार हुन नसकेमा उपाध्यक्ष सिंहले सरकारको ध्यानाकर्षण गराए ।

    उनले मैदान निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यान जानुपर्ने बताबताए । क्रिकेटले नेपाललाई अन्तरराष्ट्रिय रूपमा चिनाउनुका साथै नेपालीमा खुसी दिएको उल्लेख गर्दै उनले क्रिकेट पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे । “क्रिकेटले देशलाई चिनाएको छ । क्रिकेटले एउटा खुसी दिएको छ”, उपाध्यक्ष सिंहले भने ।


    उनले मूलपानी क्रिकेट मैदानको निर्माणलाई छिटोभन्दा छिटो अघि बढाउनुपर्नेमा जोड दिए । नेपालमा अन्तरराष्ट्रियस्तरका थप क्रिकेट मैदान निर्माण भएमा भविष्यमा ठूला अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्न सहज हुने उनको भनाइ छ ।

    “चाँडोभन्दा चाँडो मैदान निर्माण गरेर अन्तरराष्ट्रिय जगत्मा नेपालमा पनि कम्तीमा दुईवटा ठूला ग्राउन्ड भएको देखाउनुपर्छ”, उनले भने । नेपालमा कम्तीमा दुईवटा ठूला क्षमताका अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माण भएमा विश्वकप, एसिसी प्रिमियर कप, एसिया कप, विश्वकप छनोटलगायतका ठूला प्रतियोगिता आयोजना गर्न सकिने क्यानको विश्वास छ । त्यस्ता प्रतियोगिता नेपालमा आयोजना हुँदा आर्थिक गतिविधिमा योगदान पुग्ने उपाध्यक्ष सिंहले बताए ।


    “भोलिको दिनमा भारत र पाकिस्तान, एसिसी कप, विभिन्न टुर्नामेन्ट नेपालले होस्ट गर्न पाउँछ । त्यसबाट आर्थिक लाभ हुन्छ”, उनले रासससँगको कुराकानीमा भने । ठूला प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार निर्माणमा सरकार, स्थानीय तह तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ । मूलपानी मैदानको निर्माणले पूर्णता पाएमा नेपालको क्रिकेट पूर्वाधार थप बलियो हुने क्यानले जनाएको छ ।

  • नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    काठमाडौँ, १६ असोजः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको छ । नेपाली टोली आज राति जापानको टोकियोबाट स्वदेश आइपुगेको हो । खेलाडीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गर्नुभयो । नेपाली क्रिकेट टोलीले यस संस्करणको एसियाली खेलकुदमा पदक जित्न नसके पनि समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्यो ।

    नेपालले टेष्ट राष्ट्र अफगानिस्तानलाई १२ वर्षपछि हराउन सफल भयो । नेपालले यसपटक अफगानिस्तानलाई पाँच विकेटले हराएको हो । समूह चरणको अन्तिम खेलमा भने वर्षा बाधक बन्दा नेपालले आयोजक जापानसँग अङ्क बाँडेको थियो । समूह विजेताका साथ क्वार्टरफाइनलमा प्रवेश गरेको नेपालले श्रीलङ्कालाई प्रतिस्पर्धी पाएको थियो । श्रीलङ्कासँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरियो ।

    नेपाल आइसिसी टी–२० वरियतामा श्रीलङ्काभन्दा पछाडि रहेका कारण क्वार्टरफाइनलबाट बाहिरिएको हो । नेपालले एसियाली खेलकुदको क्रिकेटतर्फ हालसम्म क्वार्टरफाइनल चरण पार गर्न सकेको छैन ।

  • एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो

    एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो

    काठमाडौँ, १३ असोजः जापानमा जारी बीसौँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलङ्कासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नागोयास्थित कोरोगी स्पोर्टस पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण सुरु हुन सकेन । लगातारको वर्षाका कारण टससमेत हुन नसकेपछि खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । योसँगै सेमिफाइनल पुग्ने नेपालको सपना यसपालि पनि अधुरै रहेको छ ।

    प्रतियोगिताको नियमअनुसार खेल सञ्चालन हुन नसकेको अवस्थामा ट्वान्टी–२० अन्तरराष्ट्रिय वरियतामा माथिल्लो स्थानमा रहेको टोलीलाई विजेता मान्दै अघिल्लो चरणमा प्रवेश गराउने प्रावधान छ । सोही प्रावधानअनुसार श्रीलङ्का सेमिफाइनलमा प्रवेश गर्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । हालको ट्वान्टी–२० विश्व वरियतामा श्रीलङ्का नवौँ तथा नेपाल १४औँ स्थानमा छन् । नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण शनिबार नेपाल र जापानबीचको समूह चरणको खेलसमेत प्रभावित भएको थियो । समूह चरणको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा जापानसँग अङ्क बाँड्नु परेपछि नेपाल समूहबाट अघि बढेको थियो ।

  • प्रधान सेनापति ट्रफि शुभारम्भ

    प्रधान सेनापति ट्रफि शुभारम्भ

    काठमाडौँ, १२ असोजः प्रधान सेनापति अशोकराज सिग्देलले आज लगनखेलस्थित खेल मैदानमा आयोजित प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ २०६५ सालदेखि प्रधान सेनापति ट्रफिको सुरुआत भएको हो । एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी आठ वटा विधा समावेश गरी सञ्चालन भएको उक्त प्रतियोगितामा पृतना तथा बाहिनीका १४ वटा टोली सहभागी छन् ।

    प्रतियोगिताअन्तर्गत आज सम्पन्न पाँच किलोमिटर दौडमा महिलातर्फ मध्य पूर्वी पृतनाका प्यूठ निर्मला केसी र पुरुषतर्फ उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढा पहिलो भए । उनीहरुलाई प्रधान सेनापति सिग्देलले पुरस्कार वितरण गरे । समारोहमा रथीबृन्द, अधिकृत, निर्णायक मण्डल तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।

  • नेपालगञ्ज रङ्गशालामा फ्लड लाइट जडान गरिँदै

    नेपालगञ्ज रङ्गशालामा फ्लड लाइट जडान गरिँदै

    नेपालगञ्ज (बाँके), १२ असोज । नेपालगञ्ज रङ्गशालामा उच्च क्षमताको प्रकाश प्रणाली (फ्लडलाइट) जडान गरिँदैछ । सरकारले मुख्य सहरमा व्यावसायिक खेलकुदको विकाससँगै रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने योजनाअन्तर्गत यहाँको रङ्गशालालाई फ्लडलाइट जडानसहित स्तरोन्नति गर्न लागेको हो ।

    फ्लडलाइट जडानपछि रात्रिकालीन समयमा खेलकुद गतिविधि सञ्चालन गर्न सहज भइ खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम ओलीले फ्लडलाइट जडानले यहाँको खेलकुद गतिविधिलाई नयाँ गति दिने बताए । “यहाँ गर्मीका कारण दिउँसो खेलकुद गतिविधि सञ्चालन गर्न कठिन छ । फ्लडलाइट जडान भएपछि राति पनि नियमित खेल, अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सकिनेछ ।” उनले भने, “यसले खेलकुदको दायरा विस्तारका साथै नेपालगञ्जलाई खेल पर्यटन गन्तव्यका रूपमा विकास गर्न समेत सहयोग पुर्याउनेछ ।”

    यस्ता कार्यक्रम आधुनिक पूर्वाधार विस्तारसँगै खेलाडी, दर्शक तथा आयोजकलाई समेत सहज वातावरण निर्माण हुनेछ । उक्त प्रविधिको जडानसँगै फुटबल मैदानको आधारभूत पूर्वाधार सुधारमा ध्यान दिइनुपर्ने आवश्यकता औँल्याइएको छ । जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्वअध्यक्ष मोहित शाहले मैदानको सतह, पानी निकासलगायतका पक्षमा सुधारको खाँचो औँल्याए । त्यस रङ्गशालामा खेलकुद तथा अन्य कार्यक्रम सञ्चालनबाट आम्दानीका स्रोत बढ्न गई मर्मत सम्भारलाई निरन्तरता दिन सकिने सरोकारवालाको भनाइ छ ।

    नेपाल सरकारको खेलकुद पूर्वाधार विकास योजनाअन्तर्गत पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीच यसै साता खेलकुद संरचनाको निर्माण तथा स्तरोन्नतिका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी तीन वर्षभित्र रङ्गशालालगायत निश्चित खेलकुद पूर्वाधारमा रु २५ करोडसम्म लगानी गरी आधुनिक फ्लडलाइट जडान तथा मर्मत सम्भारका काम गर्ने लक्ष्य राखिएको छ । लामो समयदेखि रङ्गशालालाई आधुनिक र सुविधा सम्पन्न बनाउन पर्ने माग हुँदै आएको थियो ।

  • पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    कास्की, ६ असोजः विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ । आगामी आइसिसी मेन्स टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोली पोखरा आउन लागेको हो ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) को सहयोग तथा गण्डकी प्रदेश प्रादेशिक सङ्घको आयोजनामा भुटानी टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए । उनका अनुसार आगामी अक्टोबर ३ देखि मलेसियामा सुरु हुने प्रतियोगिताको तयारीस्वरूप भुटानले पोखरालाई अभ्यास गन्तव्यका रूपमा छनोट गरेको हो । पोखरामा हुने अभ्यास खेलले यहाँको क्रिकेट विकाससँगै खेल पर्यटन प्रवर्द्धन तथा पोखरालाई अन्तरराष्ट्रिय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    “पोखराको क्रिकेट पूर्वाधार, खेलकुद गतिविधि तथा पर्यटनबीचको सम्बन्धलाई थप मजबुत बनाउन यो अभ्यास खेल महत्वपूर्ण हुनेछ”, अध्यक्ष सिग्देलले भने । तालिका अनुसार भुटानले असोज ११ र १२ गते गण्डकी प्रदेश क्रिकेट टोलीसँग, तथा असोज १४ र १५ गते क्यान–११ सँग अभ्यास खेल खेल्नेछ । सबै खेल पोखरा क्रिकेट मैदानमा आयोजना हुनेछन् ।

    सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवसका दिन पोखरा क्रिकेट मैदानमा भुटान र गण्डकी प्रदेशबीच हुने पहिलो अभ्यास खेललाई क्रिकेट र पर्यटनलाई जोड्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घले पोखरालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेट गतिविधिको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखेको सङ्घका सचिव सुमनराज कार्कीले बताए ।


    “भुटानको राष्ट्रिय टोलीको पोखरा भ्रमणबाट खेल पर्यटन प्रवर्द्धन, अन्तरराष्ट्रिय खेलकुद सम्बन्ध विस्तार तथा पोखराको राष्ट्रिय–अन्तरराष्ट्रिय पहिचान थप मजबुत बनाउन योगदान पुग्ने विश्वास लिएका छौँ । यसबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेट गतिविधिको नियमित आयोजना गर्ने वातावरण निर्माण हुनेछ”, सचिव कार्कीले भने ।

  • एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री

    एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री

    नागोया, ३ असोज (रासस–सिन्ह्वा) । अन्तरराष्ट्रिय ओलम्पिक समिति (आईओसी)की अध्यक्ष क्रिस्टी कोभेन्ट्रीले महादेशीय खेलकुदले ओलम्पिक अभियानसँगको सम्बन्ध थप सुदृढ गर्दै ओलम्पिक खेलकुदमा योगदान पु¥याउने दिशामा अघि बढ्नुपर्ने बताएकी छिन् । सन् २०२६ को आइची–नागोया एसियाली खेलकुदमा ४३ खेल समावेश छन् । पेरिस ओलम्पिकमा भने ३२ खेल समावेश थिए । एसियाली खेलकुदमा १७ हजारभन्दा बढी खेलाडी तथा अधिकारी सहभागी हुँदैछन् । खेलको सङ्ख्या र संरचनालाई लिएर एसियाली खेलकुदलाई थप व्यवस्थित र ओलम्पिकसँग नजिक बनाउने विषयमा बहस भइरहेका बेला कोभेन्ट्रीको यस्तो धारणा आएको हो ।

    “महादेशीय खेलकुदसम्बन्धी निर्णय सम्बन्धित महादेशले नै गर्नुपर्छ । महादेशीय सङ्घहरूको आफ्नै स्वायत्तता हुन्छ । तर भविष्यमा महादेशीय खेलकुदले ओलम्पिक अभियानमा कसरी योगदान पु¥याउन सक्छ भन्ने पक्षलाई अझ बलियो बनाउन आवश्यक छ”, कोभेन्ट्रीले सिन्ह्वासँगको अन्तर्वार्तामा भनिन् । उनले ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले एसियाली खेलकुदलाई ओलम्पिकभन्दा एक वर्षअघि आयोजना गर्ने प्रयास गरिरहेको उल्लेख गरिन् । यसो गर्दा एसियाली खेलकुदलाई ओलम्पिक छनोट प्रतियोगिताका रूपमा समेत प्रयोग गर्न सकिने उनको भनाइ छ ।

    “महादेशीय सङ्घहरूले आफ्ना प्रतियोगिता ओलम्पिकभन्दा एक वर्षअघि आयोजना गर्न जोड दिइरहेका छन्, ताकि तिनलाई ओलम्पिक छनोटका लागि प्रयोग गर्न सकियोस् । यो ओलम्पिक अभियानलाई सुदृढ बनाउने उत्कृष्ट माध्यम हुन सक्छ”, उनले भनिन् । यद्यपि, खेल कार्यक्रम निर्धारण गर्ने अधिकार सम्बन्धित महादेशीय निकाय र आयोजक राष्ट्रमै रहने कोभेन्ट्रीले स्पष्ट पारिन् । उनका अनुसार प्रत्येक महादेश र आयोजक राष्ट्रका खेलसम्बन्धी आफ्नै प्राथमिकता हुने भएकाले कार्यक्रम निर्धारण गर्दा विभिन्न पक्षबीच सन्तुलन आवश्यक हुन्छ ।

    कोभेन्ट्री शुक्रबार साँझ नागोया पुगेकी थिइन् । शनिबार उनले मुख्य मिडिया केन्द्रमा एसियाका आईओसी सदस्यहरूसँग भेट गरिन्, मुख्य प्रेस केन्द्र तथा अन्तरराष्ट्रिय प्रसारण केन्द्रको अवलोकन गरिन् । उद्घाटन समारोहप्रति उत्साहित रहेको बताउँदै उनले खेलाडीहरूलाई प्रत्यक्ष हेर्न आफू आतुर रहेको बताइन् । उनले बास्केटबल र पौडीसहित अन्य केही प्रतियोगिता अवलोकन गर्ने कार्यक्रम रहेको जानकारी दिइन् । एसियाली खेलकुदको स्वर्ण पदक तालिकामा चीन लगातार ११ संस्करणदेखि शीर्ष स्थानमा रहँदै आएको छ । चीनको निरन्तर सफलताबारे सोधिएको प्रश्नमा कोभेन्ट्रीले चीनको प्रदर्शन आफैँमा स्पष्ट रहेको बताउँदै आगामी दिनमा पनि उसको सफलताको कामना गरिन् ।

  • नेपाली क्रिकेट टोलीको बिदाइ

    नेपाली क्रिकेट टोलीको बिदाइ

    काठमाडौँ, ३ असोजः जापानमा आयोजित बीसौँ संस्करणको एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
    राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई राखेपका सदस्य सचिव रामचरित्र मेहता, नेपाल क्रिकेट सङ्घ (क्यान) सचिव पारस खड्कालगायतले बिदाइ गरेका हुन् । बिदाइ समारोहमा राखेपका सदस्य सचिव मेहताले टोलीलाई शुभकामना दिए । प्रतियोगितामा टोलीले राम्रो प्रदर्शन गर्ने उल्लेख गर्दै पदकको आशा राखेको बताए ।


    नेपालले प्रतियोगिताको समूह चरणमा अफगानिस्तान र जापानविरुद्ध खेल्ने तालिका छ । नेपाली क्रिकेट टोलीले चौथोपटक एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले क्रिकेटतर्फ हालसम्म एसियाली खेलकुदमा क्वार्टरफाइनलसम्मको यात्रा गरेको छ । यसपालि प्रतियोगितामा स्वर्णपदक जित्ने लक्ष्य रोखेको टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले बताए ।

    एसियाली खेलकुदका लागि नेपालको टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, गुलशनकुमार झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललितनारायण राजवंशी र शेर मल्ल रहेका छन् ।

  • बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

    बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

    काठमाडौँ, ३ असोजः बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु हुँदैछ । प्रतियोगिता ४ अक्टोवर (असोज १८ गते)सम्म आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुन लागेको हो । प्रतियोगिताको उद्घाटन समारोह आजै नागोया सिटी मिजुहोपार्क एथलेटिक खेल मैदानमा हुनेछ । समारोह स्थानीय समयअनुसार आज साँझ ६ः०० बजे सुरु हुनेछ । प्रतियोगिताका केही खेल भने उद्घाटन समारोहअघि सुरु भइसकेका छन् ।

    नेपालबाट १३५ खेलाडीको सहभागिता

    यस संस्करणको एसियाली खेलकुदमा नेपालबाट २१ खेलमा १३५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालबाट सहभागी हुने खेलाडीमा ५७ महिला र ७८ पुरुष जनाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले टोलीमा खेलाडीबाहेक प्रशिक्षक, व्यवस्थापक, प्राविधिक तथा मेडिकल प्रतिनिधिसहित २११ जना रहने बताए । उनका अनुसार यसपटक छनोट प्रक्रियाका कारण अघिल्लो संस्करणको तुलनामा नेपालको खेलाडी सङ्ख्या घटेको हो ।

    सन् २०२३ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा नेपालबाट २५३ खेलाडी सहभागी भएका थिए । सदस्यसचिव मेहताका अनुसार नेपालबाट कबड्डीमा सबैभन्दा बढी २४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ तथा बक्सिङमा सात खेलाडी सहभागी हुँदैछन् ।

    साथै एथलेटिक्स, जुडो, टेबलटेनिस र कुस्तीमा छ-छ तथा पौडी र टेनिसमा पाँच-पाँच खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । यस्तै ब्याडमिन्टन, गल्फ र सफ्ट टेनिसमा चार–चार, तेक्वान्दोमा तीन तथा आर्चरी, साइक्लिङ, र्‍याफ्टिङ एण्ड क्यानोइङ, स्केट एण्ड स्केट बोर्डिङ र स्क्वासमा दुई–दुई खेलाडीले प्रतिस्पर्धा गर्ने उनले बताए ।


    उद्घाटन समारोहमा बक्सिङका चन्द्रबहादुर थापामगर र कबड्डीकी मानमती विष्टले नेपालको राष्ट्रिय झण्डा बोक्नेछन् । थापामगरले गत वर्ष दुबईमा भएको विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए भने विष्टको कप्तानीमा नेपाली महिला कबड्डी टोलीले सन् २०२३ को हाङझाउ एसियाली खेलकुदमा कास्य पदक जितेको थियो ।

    नेपालले यसपटक एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्य राखेको छ । आइची–नागोया एसियाली खेलकुदमा ४३ खेल समावेश छन् । प्रतियोगितामा ४५ देश तथा क्षेत्र र एक शरणार्थी टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

  • बाढीमा ज्यान गुमाएकाहरूको आत्माशान्तिको कामनासहित साइकल यात्रा

    बाढीमा ज्यान गुमाएकाहरूको आत्माशान्तिको कामनासहित साइकल यात्रा

    बागमती, १ असोजः गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण दिवङ्गत भएकाहरूको आत्माशान्तिको कामना तथा प्रभावितको शीघ्र पुनःस्थापनाको मागसहित लमजुङसम्मको साइकल यात्रामा निस्किएको निजगढ साइकल क्लबको टोलीलाई आज हेटौँडामा स्वागत गरिएको छ । निजगढ राइडर्स क्लबका उपाध्यक्ष भूपेन्द्र सापकोटा नेतृत्वको पाँच सदस्यीय टोलीलाई हिमालयन राइडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राजु थापामगरसहितको टोलीले हेटौँडामा स्वागत गरेको हो ।

    साइकल यात्रामार्फत ७५ वर्षीय नवीन लम्सालसहितको टोली लमजुङको घलेगाउँसम्म पुग्ने क्लबका सल्लाहकार उत्तम शर्माले जानकारी दिए ।
    देशमा रहेका साइकल क्लबहरू समाजका हरेक सुखदुःखमा सँगै छन् भन्ने सन्देश प्रवाहका लागि पनि यो साइकल यात्रा गरिएको भन्दै यसले दिने सहकार्य र एकताको सन्देश दिने हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष थापाले विश्वास व्यक्त गरे ।

    लमजुङ जिल्ला साइकल सङ्घको आयोजनामा आन्तरिक पर्यटन प्रवर्द्धनको लक्ष्यका साथ देशभरका साइकल सङ्घका प्रतिनिधिहरू लमजुङमा जम्मा हुन लागेका जानकारी दिँदै उनले देशका विभिन्न स्थानबाट करिब ५०० साइकल यात्री यहाँ आउने बताए । सोसाइटीका तर्फबाट लमजुङको साइकल यात्रामा ५० जनाको सहभागिता हुने उनले बताए ।

  • एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

    एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

    काठमाडौँ, १ असोजः फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै एन्फालाई स्वतन्त्र रूपमा सञ्चालन गर्ने वातावरण बनाउन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सरकारसँग आग्रह गरेको छ । एन्फाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेनलमा एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले एन्फा बन्द हुँदा खेलाडी र राष्ट्रिय टोलीको तयारी मात्र नभई त्यहाँ कार्यरत कर्मचारीको दैनिक जीवन पनि प्रभावित भएको बताए ।

    उनले बङ्गलादेशमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालको सहभागिता अन्योल भएको भन्दै यस विषयमा नेपालको सहभागिता सुनिश्चित गर्न तत्काल निर्णय आवश्यक रहेको बताए । “एन्फा बन्द हुँदा खेलाडी र राष्ट्रिय टोलीको तयारी मात्र होइन, त्यहाँ कार्यरत कर्मचारीको दैनिक जीवन प्रभावित भएको छ,” तुलाधरले भने । एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलाधरले आर्थिक कठिनाइका कारण कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूमा गम्भीर तनाव उत्पन्न हुन सक्ने अवस्थातर्फ सरकारको ध्यानाकर्षण गराए ।


    त्यसैगरी, एन्फाका महासचिव किरण राईले साफ च्याम्पियनसिपमा नेपालको सहभागिताबारे सरकारले तत्काल स्पष्ट निर्णय गर्नुपर्ने बताए । “अब नेपाली फुटबलको विषयमा स्पष्ट हुनुपर्छ । यस विषयमा सरकारसँग छलफल गर्न हामी तयार छौँ,” राईले भने । एन्फा निलम्बनको समस्या समाधानका लागि फिफा र एएफसीसँगको औपचारिक संवाद र समन्वयमा आवश्यक रहेको बताए ।
    त्यस्तै, एन्फा महासचिव राईले एन्फा सञ्चालनमा नआउँदा राष्ट्रिय टोलीको तयारीदेखि एन्फा एकेडेमीमा रहेका बालबालिकाको दैनिक जीवनसम्म प्रभावित भएको उल्लेख गरे ।

    फिफाको निलम्बनका कारण नेपालले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगिता गुमाइसकेको छ । फिफा सिरिज महिला प्रतियोगिता २०२६, नेपाल–हङकङ अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल, एएफसी यू–१७ महिला एसियन कप २०२७ छनोट, एएफसी यू–२० महिला एसियन कप २०२६ छनोट तथा एएफसी यू–२० एसियन कप २०२७ पुरुष छनोटलगायत प्रतियोगितामा नेपालको सहभागिता प्रभावित भएको एन्फाले जनाएको छ ।

    त्यस्तै, एन्फाका कर्मचारी, राष्ट्रिय महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र रेफ्रीले पारिश्रमिक तथा भत्ता प्राप्त गर्न नसकेको र खेलाडीको उपचारमा पनि समस्या देखिएको एन्फाले जनाएको छ । एन्फाका अनुसार फिफाले निलम्बन फुकुवाका लागि दुई प्रमुख सर्त अघि सारेको छ । जसमा पहिलो, २५ मार्च २०२६ मा राष्ट्रिय खेलकुद परिषद्ले गरेको निर्णय पूर्ण रूपमा खारेज गरी हालको एन्फा कार्यसमितिलाई पुनर्बहाली गर्नुपर्नेछ । दोस्रो, एन्फाले आफ्नो विधान तथा नियमअनुसार यसअघि सुरु भइसकेको निर्वाचन प्रक्रिया यथाशीघ्र पूरा गर्न पाउनुपर्नेछ ।

    फिफा निलम्बनको विषयमा सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तत्काल पहल गरी फिफा तथा एएफसीसँग समन्वय गरेर निलम्बन फुकुवा गर्न र नेपाली फुटबलका गतिविधि नियमित रूपमा सञ्चालन हुने वातावरण बनाउन आग्रह गरेको गरेको छ ।

  • एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित

    एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित

    काठमाडौँ, १ असोजः जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला भलिबल खेलमा नेपाल पराजित भएको छ । यो नेपालको लगातार दोस्रो हार हो । नेपाल आज सम्पन्न खेलमा इन्डोनेसियाविरुद्ध ३–० को सोझो सेटमा पराजित भयो । बुधबार भएको पहिलो खेलमा जापानविरुद्ध पनि नेपाल सोझो सेटमा पराजित भएको थियो । आइचीस्थित पार्क एरिना कोमाकीमा भएको इन्डोनेसियासँगको खेलमा नेपालले पहिलो सेट २५–१२, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२० ले गुमायो ।

    लगातार दोस्रो पराजयसँगै भलिबलमा पदक जित्ने नेपालको सम्भावना सकिएको छ । नेपालले अब वरियताका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले खेल्ने टोलीको टुङ्गो लाग्न बाँकी छ । नेपालले सन् २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा ११औँ स्थान हासिल गरेको थियो ।

  • अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती

    अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती

    रासस
    काठमाडौँ, ३१ भदौः आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको खराब प्रदर्शनपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले गरेको कप्तान परिवर्तनको निर्णय सही दिशातर्फ गएको देखिन थालेको छ । क्यानले गत साउनमा रोहितकुमार पौडेललाई कप्तानबाट हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी दिएको थियो । अन्तरराष्ट्रिय क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन, चर्चित विदेशी व्यावसायिक क्रिकेट लिगको अनुभवलगायत कारण कप्तानमा सन्दीपको पुनरागमन सम्भव भयो । क्यानले एकदिवसीय टोलीमा कप्तानमात्र नभई केही खेलाडीसमेत परिवर्तन गरेको थियो । कप्तानमा नियुक्त भएलगत्तै उहाँको सामु सर्वाधिक ठूलो चुनौती थियो, एसिसी एसिया कपमा छनोट हुनु ।

    नयाँ र पुराना खेलाडी मिश्रित टोली व्यवस्थापनको चुनौतीबीच पनि सन्दीपले दुईवटै भूमिकामा उत्कृष्ट प्रदर्शन गर्नुभयो । उहाँ नेतृत्वको नेपालले एसिसी प्रिमियर कप २०२६ मा कुल छ खेल खेल्यो । जसमा नेपालले पाँचमा जित र एक खेलमा मात्र पराजय व्यहोयो । समूह विजेताको हैसियतामा टोलीले सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा पनि सानदार प्रदर्शन गरेर नेपालले सहजै फाइनलमा स्थान सुरक्षित गर्यो ।

    फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)लाई ४४ रनले हराउँदै उपाधिमात्र जितेन दोस्रोपटक एसिया कपमा पनि स्थान बनायो । नेपालले एसिया कपको यात्रा गर्नुमा कप्तान लामिछानेको भूमिका प्रमुख रह्यो । उनले बलिङमा हरेक खेलमा विपक्षी टोलीविरुद्ध दबाब राखे । सन्दीपले प्रतियोगिताको छ खेलमा २.९८ को सानदार इकोनमी रेटमा सबैभन्दा बढी १७ विकेट लिए । टोलीको सफलतामा निर्णायक प्रदर्शन गरेका कप्तान लामिछाने प्रतियोगिताकै ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए । उनी एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कपमा लगातार दोस्रोपटक ‘सर्वोत्कृष्ट खेलाडी’ चयन भएका हुन् ।


    कप्तान लामिछानेले सन् २०२३ को संस्करणमा पनि उक्त अवार्ड प्राप्त गरेका थिए । उनले यसपटक व्यक्तिगत प्रदर्शनमात्र नभई कप्तानको भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्दा नेपालले उपाधि जित्न सफल भएको राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरीको भनाइ छ । “एसिसी प्रिमियर कपमा नेपालको नतिजा कप्तानमा सन्दीप सफल देखिएको प्रमाण हो । उनले जुन प्रकारले टोलीको नेतृत्व गरिरहेका छन्, त्यसले अरू खेलाडीलाई पनि मद्दत पुगिरहेको छ”, चौधरीले रासससँग भने, “प्रतियोगितामा सन्दीपले बलरको सही सदुपयोग गरे, टोलीमा धेरै नयाँ खेलाडी हुँदा पनि उनको कप्तानी उत्कृष्ट रह्यो । आगामी प्रतियोगिताहरूमा पनि यस्तै नतिजाको आशा छ ।”

    क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजकसमेत रहेका चौधरीले एसिसी प्रिमियर कपमा अन्य खेलाडीको प्रदर्शन पनि उत्कृष्ट रहेको बताए । टोली एकढिक्का भएर खेल्दा सकारात्मक नतिजा आउने उल्लेख गर्दै उनले दबाबमा पनि खेलाडीले धैर्य भएर खेल्दा नेपालले उपाधि जितेको बताए । “सन्दीपको उत्कृष्ट कप्तानी त रह्यो नै टोलीको सफलतामा अरू खेलाडीको प्रदर्शनलाई पनि नजरअन्दाज गर्न मिल्दैन । बसिर अहमद, करण केसी, गुलशन झा, आसिफ शेख, अर्जुन कुमाललगायतको प्रदर्शन पनि टोलीले उपाधि जित्नमा अहम् रह्यो”, चौधरीले भने ।


    उनले अब सन्दीपसामु आइसिसी विश्वकप लिग–२ को अन्तिम शृङ्खलामा उत्कृष्ट नतिजा ल्याउनुपर्ने चुनौती रहेको बताए । नेपाली टोली अहिले एकदिवसीय मान्यता जोगाउन तालिकाको शीर्ष छभित्र पर्नैपर्ने दबाबमा छ । “नेपालले अब विश्वकप लिग–२ को जारी चक्रमा एउटा शृङ्खलामात्र खेल्न बाँकी छ । जुन सिरिजमा हामीले ओमान र क्यानडाको सामना गर्नेछौँ । यी दुई टोलीको पछिल्लो प्रदर्शन हेर्दा त्यति उत्कृष्ट छैन ।

    एसिसी प्रिमियर कप जितेकाले नेपाली टोलीमा आत्मविश्वास उच्च छ । नेपालले त्यसको फाइदा उठाउन सक्छ”, पूर्वखेलाडी चौधरीले भने । ताजा अवस्थामा नेपाल विश्वकप लिग–२ तालिकाको सातौँ स्थानमा छ । नेपालले ३२ खेल खेल्दा १९ मा हार र ११ खेलमा जित निकालेको छ । नेपालले दुई खेलमा भने अङ्क बाँडेको छ । शीर्ष ६ मा परेर एकदिवसीय मान्यता जोगाउन नेपालले अब कम्तीमा तीन खेल जित्नुपर्ने समीकरण बनेको छ । नेपालले लिग–२ को अन्तिम शृङ्खला आगामी अक्टोबरमा खेल्ने तालिका छ ।

  • नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

    नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

    काठमाडौँ, २० भदौः किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन् । जापानको नागोया सहरको करिया हलमा आज साँझ सम्पन्न ‘हिट किक बक्सिङ– ५९ अन्तरराष्ट्रिय खेलकुद किक बक्सिङ महासङ्घ, विश्व च्याम्पियनसिपको मेन इभेन्ट प्रतियोगितामा ‘हिमालयन चितुवा’ ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन चोइनार्डलाई नक आउटमा पराजित गर्दै नयाँ इतिहास कायम गर्न सफल हुनुभएको छ ।

    प्रतिस्पर्धी बक्सर चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन खेलाडी हुन् । दोस्रो राउण्डको दोस्रो मिनेटमा बक्सर घिमिरले कडा मुक्का प्रहार गर्दै प्रतिस्पर्धी चोइनार्डलाई नकआउटमा पराजित गर्न सफल हुनुभयो । हालसम्म २९ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिएका उहाँ २१ खेलमा विजय हासिल गर्दा २० मा नकआउट गर्दै जित्ने एक मात्र नेपाली खेलाडी हुनुहुन्छ ।

    नेपालको गौरव, नेपालको साहस र नेपाली शानलाई किक बक्सिङ खेलमार्फत देशको पहिचान अन्तरराष्ट्रिय जगतमा पुर्याउने बक्सर घिमिरे नेपालको चम्किला तारा बनेका छन् । विजय प्राप्त गरेपछि बक्सर घिमिरेले हालै रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने जानकारी दिनुभयो । साथै हालसम्म आइ आफ्नो खेललाई साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।

  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा


    काठमाडौँ, १९ भदौः जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड)को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ । टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित राखेपका पदाधिकारीले शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गरे । शिक्षामन्त्री पोखरेलको विषेश पहलमा एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीले पहिलोपटक ‘भिआइपी’ पहुँचको सुविधा प्राप्त गर्ने अवसर पाएका छन् ।

    “खेलाडीप्रतिको सम्मानको सानो प्रयासस्वरूप पहिलोपटक विमानस्थलमा ‘भिआइपी’ पहुँचको सुविधा उपलब्ध गराउन पाउँदा खुसी छौँ । सम्पूर्ण खेलाडीलाई हार्दिक शुभकामना”, मन्त्री पोखरेलले फेसबुकमा लेखेका छन् । शिक्षामन्त्री पोखरेलका अनुसार राष्ट्रिय खेलाडीहरूको सम्मान र प्रोत्साहनस्वरूप गरिएको यस पहलले अन्तरराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले भिआइपी कक्षको प्रयोगको व्यवस्था गरिएको हो ।

    मन्त्री पोखरेलले नेपाली खेलाडीहरूलाई ठूलो अन्तरराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिरहेकामा गर्व व्यक्त गर्दै उनीहरूले आफ्नो सम्पूर्ण क्षमता र समर्पणका साथ प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गरे । खेलाडीहरूले पाएको ‘भिआइपी’ पहुँचलाई देशका लागि मिहिनेत गर्ने खेलाडीप्रतिको सम्मानको एउटा सानो प्रयासका रूपमा लिइएको उल्लेख गर्दै मन्त्री रोखरेलले अन्तरराष्ट्रिय प्रतियोगितामा खेलाडीको मनोबल बढाउन यस्ता पहल महत्त्वपूर्ण हुने विस्वास व्यक्त गरे ।
    एसियाडमा नेपालबाट सहभागी हुने २२ खेलमध्ये जापान पुग्ने कराते पहिलो टोली हो । टोलीले टोकियोस्थित विश्व सितोरियो करातेको मुख्य डोजोमा सेप्टेम्बर ६ देखि १६ तारिखसम्म प्रशिक्षण गर्नेछ । प्रशिक्षणपछि टोली सेप्टेम्बर १७ तारिख टोकियोबाट एसियाड आयोजना हुने नागोया प्रस्थान गर्नेछ । कराते प्रतियोगिता सेप्टेम्बर २० देखि २३ तारिखसम्म सञ्चालन हुनेछ ।

    नेपालबाट पुरुषतर्फ ५५ केजीमुनि राकेश मानन्धर, ६० केजीमुनि मीनबहादुर तामाङ र ८४ केजीमाथि तेन्जिङ शेर्पाले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ ६८ केजीमाथि एरिका गुरुङ, ६८ केजीमुनि निरुपा दोङ तामाङ र एकल कातामा सानुमाया थिङले प्रतिस्पर्धा गर्नेछिन् । टिम कातामा सानुमाया थिङ, एलिसा रास्कोटी र मेघा लिम्बू सहभागी हुनेछन् । टोलीका प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन् ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, सल्लाहकार राजु सिंहलगायतले टोलीलाई बिदाइ गरे । राखेपका पूर्वसदस्यसचिव एवं नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ तथा नेपाल कराते महासङ्घका महासचिव दावा गुरुङलगायत पनि टोलीलाई बिदाइ गर्न विमानस्थल पुगेका थिए ।