Category: विश्व

  • रुस र युक्रेनले ‘ऊर्जा युद्धविराम’ का लागि सहमति जनाएको ट्रम्पको दावी

    रुस र युक्रेनले ‘ऊर्जा युद्धविराम’ का लागि सहमति जनाएको ट्रम्पको दावी

    वासिङ्टन, २६ असोज (रासस–एएफपी) । रुस र युक्रेनले एकअर्काको ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्न सहमत भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताएका छन् । उनले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेखेका छन्, “तत्काल प्रभावकारी हुने गरी रुस र युक्रेनबीचको युद्ध अन्तर्गत ‘ऊर्जा युद्धविराम’ हुन गइरहेको छ । दुवै पक्ष यसका लागि सहमत भएका छन् ।” युद्धमा घातक आक्रमण बढेपछि आएको यस सहमतिबारे युक्रेन वा रुसबाट तत्काल कुनै पुष्टि भएको छैन।

    आइतबार नै युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले भने, “यदि रुसले युक्रेनको ऊर्जा पूर्वाधारमाथि आक्रमण घटाए, युक्रेन रुसी तेल रिफाइनरीमाथि आक्रमण रोक्न तयार छ।” जेलेन्स्कीको यो टिप्पणी ट्रम्प र युक्रेनी नेताबीचको विवादका बीच आएको हो । जेलेन्स्कीले यसअघि रुसी डिजेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पार्ने अमेरिकी कदमको निन्दा गरेका थिए ।


    एक्सियोसका पत्रकार बाराक राविदका अनुसार जेलेन्स्कीले भनेका छन्, “युद्धविरामको घोषणा मेरा लागि समाचार थियो। तर यदि रुसीहरू ऊर्जा युद्धविराममा सहमत भए भने युक्रेन सहमत हुनेछ। यदि राष्ट्रपति ट्रम्पले पुटिनसँग यसबारे वार्ता गर्नुभएको छ भने कृपया हामीलाई युद्धविराम कहिले सुरु हुन्छ भनेर बताउनुहोस्। हामी यसलाई कार्यान्वयन गर्न तयार छौँ र हामी यसलाई स्वीकार गर्नेछौँ।”

  • सोमबार विपक्षी प्रदर्शन सर्वोच्च अदालतसम्म पुग्नेछः गान्धी

    सोमबार विपक्षी प्रदर्शन सर्वोच्च अदालतसम्म पुग्नेछः गान्धी

    नयाँ दिल्ली, २६ असोज (रासस–एएफपी) । लोकसभामा विपक्षी नेता राहुल गान्धीले सोमबार दिल्लीमा सर्वोच्च अदालतसम्म प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
    उनले भने, “विपक्षी दल, नागरिक समाजका सङ्गठन र आम नागरिक ‘भोट चोरी’ रोक्न, मतदाता सूचीको विशेष गहन पुनरावलोकन (एसआईआर) तुरुन्तै बन्द गर्न र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै सर्वोच्च अदालतसम्म मार्च गर्नेछन्।” उनले भने, “प्रदर्शनका क्रममा भारतका प्रधान न्यायाधीशलाई एक ज्ञापन बुझाइनेछ, जसमा ‘भोट चोरी’ रोक्न, एसआईआर प्रक्रिया बन्द गर्न र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गरिनेछ।”

    सामाजिक सञ्जाल प्लेटफर्म एक्समा गरेको एक पोस्टमा राहुल गान्धीले शनिबार दिल्लीमा शान्तिपूर्ण प्रदर्शन गर्न पुगेका युवाहरूमाथि प्रहरी र बीजेपी कार्यकर्ताहरूले आक्रमण गरेको दावी गरेका थिए । उनले भने, “प्रदर्शनकारीहरू घृणा वा रिससँग आएका थिएनन्, बरु प्रेम र लोकतान्त्रिक मूल्यहरूको भावनासहित आएका थिए।” उनले मानिसहरूलाई पार्टी, जाति, धर्म, समुदाय, राज्य र लैङ्गिक पहिचानभन्दा माथि उठेर यस मार्चमा सामेल हुन अपील गरे ।

    शनिबार भएको प्रदर्शनका क्रममा दिल्लीमा गान्धीको उपस्थिति नभएको विषयमा उनको रणनीतिमाथि प्रश्न उठाइएका थिए । काङ्ग्रेसले भनेको थियो, “गान्धी चेन्नईमा विद्यार्थीहरूलाई सम्बोधन गर्ने पहिले नै तय भएको कार्यक्रमका लागि गएका थिए । गान्धीले शनिबार भएका प्रहरी कारबाहीबारे एक भिडियो सन्देश जारी गरी आलोचना गरेका थिए ।

  • यमनमा सरकारी सेनाको दाबी : २४ घण्टामा एक हजार १५० भन्दा बढी हुथी लडाकुको मृत्यु

    यमनमा सरकारी सेनाको दाबी : २४ घण्टामा एक हजार १५० भन्दा बढी हुथी लडाकुको मृत्यु

    एडेन, यमन,२५ असोज (रासस–सिन्ह्वा) । यमनको सरकारी सेनाले पछिल्लो २४ घण्टामा हुथी समूहविरुद्ध एक हजार ९०० भन्दा बढी सैन्य आक्रमण गरिएको र त्यसक्रममा एक हजार १५० भन्दा बढी लडाकुको मृत्यु भएको दाबी गरेको छ। सरकारी सेनाका प्रवक्ता माजेद अल–नुजाइलीले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा पूर्वी, पश्चिमी तथा दक्षिणपश्चिमी मोर्चामा सञ्चालन गरिएका आक्रमणमा हुथी समूहका हतियार भण्डार, सैन्य शिविर, किल्लाबन्दी, तोपखाना तैनाथ क्षेत्र, सैनिक जमघट तथा आपूर्ति मार्गलाई लक्षित गरिएको बताएका छन् ।

    उनका अनुसार हुथीको नियन्त्रणमा रहेका क्षेत्रभित्रका महत्त्वपूर्ण सैन्य लक्ष्यमा समेत आक्रमण गरिएको थियो। कारबाहीका क्रममा १८० भन्दा बढी सैन्य तथा रसदसम्बन्धी सवारीसाधन नष्ट वा क्षतिग्रस्त भएको सरकारी सेनाको दाबी छ।

    प्रवक्ता अल–नुजाइलीले यी कारबाहीले हुथी समूहको सैन्य गतिविधि तथा अग्रपङ्क्तिमा आवश्यक सामग्री आपूर्ति गर्ने क्षमतामा असर पार्ने बताए । सरकारी सेनाले विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै रणनीतिक स्थानहरूमा नियन्त्रण सुदृढ बनाउने प्रयास जारी राखेको पनि जनाएको छ। यद्यपि, सरकारी सेनाले सार्वजनिक गरेका हताहती तथा क्षतिसम्बन्धी विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। यस विषयमा हुथी समूहको प्रतिक्रिया पनि सार्वजनिक भएको छैन।

    यमन सरकारले सोमबारदेखि हुथी नियन्त्रणमा रहेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा ल्याउने उद्देश्यसहित ठूलो स्तरको सैन्य अभियान सुरु गरेको थियो। दक्षिणपश्चिमी यमनस्थित रणनीतिक महत्त्वको बाब अल–मन्देब जलडमरूमध्य आसपास दुवै पक्षबीच तीव्र भिडन्त भइरहेको बताइएको छ। यसैबीच, यमन सरकारलाई समर्थन गर्दै साउदी अरबले हवाई सैन्य कारबाही तीव्र बनाएको छ। हुथी समूहले पनि साउदी अरबभित्रका विभिन्न लक्ष्यमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण बढाएको छ। तीमध्ये राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई समेत निशाना बनाइएको समाचारमा उल्लेख छ।

    यमनमा सन् २०१४ को अन्त्यदेखि द्वन्द्व जारी छ। त्यस समयमा हुथी समूहले राजधानी साना र देशको उत्तरी भूभागको ठूलो हिस्सामा नियन्त्रण कायम गरेको थियो। सन् २०१५ मा साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा सैन्य हस्तक्षेप गरेको थियो। हाल उक्त सरकार दक्षिणी बन्दरगाह सहर एडेनमा आधारित छ।

  • रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

    रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

    रियाद,२५ असोज (रासस–एपी) । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार बिहान उक्त जानकारी दिएका हुन्। समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार, विमानस्थलको आन्तरिक उडानका लागि प्रयोग हुने टर्मिनल ३ र ४ रहेको परिसरमा क्षेप्यास्त्र प्रहार भएको थियो। घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

    मृत्यु हुनेमा चार जना साउदी नागरिक र आठ जना विदेशी नागरिक रहेका छन्। विदेशी मृतकमध्ये बंगलादेशका दुई जना तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक–एक जना छन्। साउदी नेतृत्वको गठबन्धनले आक्रमणका लागि छिमेकी यमनमा सक्रिय इरान समर्थित हुथी विद्रोहीलाई जिम्मेवार ठहर गरेको छ। पछिल्लो एक सातामा विमानस्थलमा भएका विभिन्न आक्रमणमध्ये यो सबैभन्दा घातक घटना भएको समाचारमा उल्लेख छ।

    आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीविरुद्ध साउदी अरबले गर्ने सैन्य कारबाहीमा अमेरिका सहभागी हुने वा नहुनेबारे विचार गरिरहेको बताए । उनले घटनाबारे जानकारी प्राप्त भएको र आवश्यक निर्णय छिट्टै गरिने उल्लेख गरे ।
    ट्रम्पले शनिबार साउदी युवराज मोहम्मद बिन सलमानसँग पनि कुराकानी गर्ने योजना रहेको बताए । उनले साउदी अरबमा भएको घटना स्वीकार्य नभएको प्रतिक्रिया दिए । यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गर्दै घटनाको निन्दा गरेका छन् । यमनमा साउदी समर्थित सरकारी सेनाले हुथी विद्रोहीसँग लडाइँ गरिरहेका बेला पछिल्लो आक्रमणले क्षेत्रीय तनाव थप बढाउने देखिएको छ। खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण साउदी अरब र उसका सहयोगी राष्ट्रहरूको सुरक्षा चुनौतीसमेत बढेको छ।

  • ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

    ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

    नयाँदिल्ली, २५ असोज (रासस–एएनआई) । मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच विपक्ष पछि नहट्ने कुरामा जोड दिँदै लोकसभाका विपक्षी नेता राहुल गान्धीले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबै प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्न चुनौती दिएका छन् । उनीहरूले संविधानको रक्षा तथा भारतीय जनताको आवाजको सुरक्षाका लागि आफ्नो सङ्घर्ष जारी राख्ने उनले दाबी गरे ।


    उनले प्रदर्शनरत युवाहरूप्रति एकता कायम गर्न आग्रह गर्दै उनीहरूलाई आफ्नो प्रदर्शन जारी राख्न आग्रह गरे । एक्समा एक पोस्टमा गान्धीले आफू एक दशकभन्दा बढी समयदेखि प्रधानमन्त्री मोदी र आरएसएसविरुद्ध लडिरहेको बताए । आफ्ना राजनीतिक विरोधीहरूलाई ‘भित्रसम्म’ बुझेको दाबी गरे ।


    गान्धीले भने, “म एक दशकभन्दा बढी समयदेखि नरेन्द्र मोदी र आरएसएसविरुद्ध लडिरहेको छु। म उनीहरूलाई गहिरोरूपमा बुझ्छु । यी मानिसहरूको मुख्य विशेषता कायरता हो । नरेन्द्र मोदी, अमित शाह, मोहन भागवत, ज्ञानेश कुमार र अजित डोभाल बिस्तारै आफ्नो वरिपरिको ठाउँ साँघुरो हुँदै गएको महसुस गर्दैछन्। हामी त्यो ठाउँ साँघुरो बनाउँदैछौँ । मोदीजी, तपाईं जे चाहनुहुन्छ गर्नुहोस्। सबै प्रहरी बोलाउनुहोस्ः १० हजार, २० हजार, ५० हजार, जति चाहनुहुन्छ। सबै नेताहरूलाई गिरफ्तार गर्नुहोस्। सबै युवालाई गिरफ्तार गर्नुहोस्। हामी सबैलाई गिरफ्तार गर्नुहोस्, तर आन्दोलन जारी रहन्छ ।”

    उनले आफ्नो पक्षसँग पहिले नै आवश्यक जानकारी रहेको दाबी गर्दै संविधानको रक्षा र भारतीय जनताको आवाजको सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “हामी तपाईंलाई घेर्दैछौँ र हामी पछि हट्ने छैनौँ । मेरो कुरा याद राख्नुहोस्ः हामीसँग पहिले नै आवश्यक जानकारी छ । हामी आफ्नो संविधानको रक्षा गर्नेछौँ। हामी भारतीय जनताको आवाजको सुरक्षा गर्नेछौँ। र हामी सुनिश्चित गर्नेछौँ कि विगत १०–१५ वर्षमा भारतसँग जे गरियो, त्यो फेरि कहिल्यै हुने छैन ।

    आन्दोलनकारी समूहलाई सम्बोधन गर्दै उनले भने, “भारतका युवाहरू, म तिमीहरूमाथि गर्व गर्छु । प्रदर्शन जारी राख्नुहोस् । हामी तपाईँहरूसँग उभिएका छौँ। हामी सुनिश्चित गर्नेछौँ कि यो शासन र हाम्रो संविधानमाथि आक्रमण गर्नेहरू पराजित हुनेछन्।” यसैबीच, मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा जन्तर मन्त्रतर्फ मार्च गर्ने प्रयास गर्दा राजधानी दिल्लीभरि समाचार तयार पार्दासम्म करिब एक हजार प्रदर्शनकारीहरूलाई हिरासतमा लिइएको दिल्लीको प्रहरी स्रोतहरूले शनिबार जानकारी दिएका छन् ।

  • भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

    भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

    नयाँदिल्ली, २४ असोज (रासस–एएफपी) । मतदाता नामावली संशोधनमा अनियमितता भएको आरोप लगाउँदै भारतको निर्वाचन प्रमुख ज्ञानेश कुमारको राजीनामा मागेर शनिबार राजधानी नयाँदिल्लीमा प्रदर्शनको तयारी गरिएको छ । प्रदर्शनलाई ध्यानमा राख्दै राजधानीमा ठूलो संख्यामा प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ ।


    युवा नेतृत्वको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले आह्वान गरेको प्रदर्शन निर्वाचन आयोगमाथि लागेको अनियमितताको आरोपपछि सुरु भएको आन्दोलनको निरन्तरता हो । भारतको निर्वाचन आयोगले भने आरोप अस्वीकार गर्दै मतदाता नामावलीको विशेष पुनरावलोकन दोहोरो नाम हटाउन र अयोग्य मतदातालाई सूचीबाट बाहिर राख्न गरिएको जनाएको छ । विपक्षी दल तथा आलोचकहरूले भने यस प्रक्रियाले वास्तविक मतदाताहरू मतदानको अधिकारबाट वञ्चित हुन सक्ने र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई फाइदा पुग्न सक्ने आशंका व्यक्त गरेका छन् ।

    प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीका दर्जनौँ मेट्रो स्टेसन बन्द गर्ने आदेश दिइएको छ भने केही रेल सेवा पनि रद्द गरिएका छन् । भारतको सर्वोच्च अदालतले भने सबै मेट्रो स्टेसन एकैपटक बन्द नगर्न र केही रेल सेवा सञ्चालनमा राख्न निर्देशन दिएको छ । सीजेपीले देशभर कम्तीमा १० हजार समर्थकलाई नियन्त्रणमा लिइएको आरोप लगाएको छ । प्रहरीले यस आरोपबारे विस्तृत प्रतिक्रिया दिएको छैन ।

    सन् २०२५ मा सुरु भएको मतदाता नामावली पुनरावलोकनका क्रममा प्रारम्भिक सूचीबाट १३ करोड ३० लाखभन्दा बढी नाम हटाइएको बताइएको छ । यस घटनाले भारतमा निर्वाचन प्रक्रियाको पारदर्शिता र मतदान अधिकारसम्बन्धी बहसलाई थप चर्काएको छ ।

  • भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ

    भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ

    नयाँदिल्ली, २४ असोज (रासस–एएफपी) । भारतको निर्वाचन आयोगविरुद्ध आह्वान गरिएको ठूलो विरोध प्रदर्शनअघि शनिबार व्यङ्ग्यात्मक अनलाइन अभियान ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का प्रमुखसहित तीन नेतालाई प्रहरीले नियन्त्रणमा लिएको पार्टीले जनाएको छ । युवाहरूको नेतृत्वमा रहेको सीजेपीले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार, प्रदर्शनमा सहभागी हुन नयाँदिल्ली पुगेका अभिजित दिपकेसहित तीन नेतालाई विमानबाट ओर्लिनेबित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो ।

    भारतीय निर्वाचन आयोग (ईसीआई)ले देशभर मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता गरेको आरोप लगाउँदै विपक्षी दलहरूले केही सातादेखि सञ्चालन गर्दै आएको अभियानको निरन्तरताका रूपमा यी प्रदर्शन हुन लागेका हुन् । विपक्षी दल र आलोचकहरूले मतदाता नामावली पुनरावलोकनका कारण लाखौँ मतदाता मताधिकारबाट वञ्चित हुन सक्ने र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तारूढ हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी ९भाजपा० लाई फाइदा पुग्न सक्ने आरोप लगाएका छन् ।

    तर, निर्वाचन आयोगले भने ‘विशेष सघन पुनरावलोकन’ प्रक्रियामा अनियमितता भएको आरोप अस्वीकार गर्दै दोहोरो नाम भएका तथा अयोग्य मतदाताको नाम हटाउनु यसको मुख्य उद्देश्य रहेको बताएको छ । विपक्षी आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले विज्ञप्ति जारी गर्दै सरकारको कदमको आलोचना गरेका छन् ।


    “यो आधिकारिक भयो.. हामी मोदीको पूर्ण तानाशाही शासनमा बाँचिरहेका छौँ,” केजरीवालले भने । विमानबाट ओर्लिनेबित्तिकै आन्दोलनकारीलाई पक्राउ गरिनुले सरकारमा अभूतपूर्व स्तरको डर रहेको देखाएको उनको भनाइ थियो ।

    प्रदर्शनकारीलाई राजधानीको मध्य भागमा रहेको मुख्य प्रदर्शनस्थलसम्म पुग्न नदिन शुक्रबारदेखि नै दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यसका लागि हजारौँ प्रहरी र अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । अधिकारीहरूले दर्जनौँ मेट्रो स्टेसन बन्द गर्नुका साथै दिल्ली आउने विभिन्न रेल सेवा रद्द गरेका छन् । प्रदर्शनस्थल आसपासका क्षेत्रमा अस्थायी रूपमा मोबाइल इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।

    शनिबार प्रसारित टेलिभिजन दृश्यहरूमा प्रहरीले मध्य दिल्लीका विभिन्न क्षेत्रमा प्रदर्शनकारीलाई लखेट्दै र उनीहरूलाई सवारीसाधनमा राख्दै गरेको देखिएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार, हालसम्म २०० भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ । यी प्रदर्शनलाई गत जुलाईमा सीजेपीले गरेको व्यापक जनपरिचालनको निरन्तरताका रूपमा हेरिएको छ । उक्त आन्दोलन परीक्षासम्बन्धी विवादपछि चर्किएको थियो र त्यसले शिक्षा मन्त्रीलाई राजीनामा दिन बाध्य पारेको थियो । यसपटक आन्दोलनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

  • भेनेजुएलाका पूर्व नेता मादुरो र मादुरोकी पत्नीविरुद्ध नयाँ यातना आरोप दर्ता

    भेनेजुएलाका पूर्व नेता मादुरो र मादुरोकी पत्नीविरुद्ध नयाँ यातना आरोप दर्ता

    न्यूयोर्क, २३ असोज (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाले बिहीबार भेनेजुएलाका पदच्युत राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध नयाँ यातना आरोप दर्ता गरेको छ । यसले अमेरिकी हिरासतमा रहेका यी दुईविरुद्ध बढ्दो आपराधिक मुद्दालाई थप बलियो बनाएको छ । मादुरो र फ्लोरेसले जनवरीमा काराकासको आफ्नो परिसरबाट असाधारण अमेरिकी सैन्य छापामार्फत पक्राउ परेपछि पहिले नै संयुक्त राज्य अमेरिकामा लागूऔषध तस्करी र हातहतियारसम्बन्धी आरोपहरू सामना गरिरहेका छन्।

    बिहीबार सार्वजनिक भएको अदालती कागजातले दुवैलाई अब यातनाको षड्यन्त्रको अतिरिक्त आरोप लगाइएको छ । कागजातमा भनिएको छ, “उनीहरूले ‘गम्भीर शारीरिक र मानसिक पीडा तथा कष्ट’ पु¥याएका थिए।” आरोपमा भनिएको छ, “मादुरोको कथित उद्देश्य ‘राजनीतिक विपक्षीलाई दमन र सजाय दिनु, असहमति र कथित असहमतिलाई मौन पार्नु, सरकारका सदस्यहरूको शक्ति र अधिकार संरक्षण तथा रक्षा गर्नु, तथा अपहरणमार्फत आफ्ना विरोधीहरूलाई डरत्रास, उत्पीडन र निष्क्रिय पार्नु’ थियो।”

    अभियोजकहरूले अमेरिकी नागरिकसमेत अज्ञात पीडितहरूलाई भेनेजुएली हिरासतमा विद्युतीय झट्का दिने, ‘वाटरबोर्डिङ’ गर्ने र कुटपिट गर्ने जस्ता घटनाहरूको विवरण दिएका छन् । मादुरो र फ्लोरेसविरूद्धको मुद्दाको सुनुवाई आगामी जुन महिनामा न्यूयोर्कमा हुने योजना छ । उनीहरू हाल ब्रुकलिन जेलमा थुनामा छन्।

  • बलिउड अभिनेता नाना पाटेकरको निधन

    बलिउड अभिनेता नाना पाटेकरको निधन

    पणजी (भारत), २२ असोज (रासस–एएनआई) । हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन् । मणिपाल अस्पतालको ओन्कोलोजी विभागका प्रमुख डा शेखर साल्करका अनुसार बिहान निवासमा अस्वस्थ भएपछि पाटेकरलाई अस्पताल ल्याइएको थियो । अस्पताल पुर्‍याउँदा उनको अवस्था गम्भीर भइसकेको थियो । चिकित्सकको टोलीले करिब ४५ मिनेटदेखि एक घण्टासम्म उनलाई पुनर्जीवित गर्ने प्रयास गरे पनि बचाउन नसकिएको डा साल्करले बताए ।


    उनका अनुसार पाटेकरले बिहान करिब २ः३० बजे आफूलाई असहज भइरहेको भन्दै एक साथीलाई सन्देश पठाएका थिए । रातको समय भएकाले साथीले तत्काल सन्देश देखेनन् । त्यसपछि उनले पाटेकरलाई फोन गरे र बिहान करिब ४ बजे उनको निवासमा पुगे । त्यतिबेला पाटेकरलाई अत्यधिक पसिना आएको र उनी बिस्तारै बेहोस हुँदै गएका थिए ।


    अस्पतालको आपत्कालीन टोलीले निवासमै पुगेर उनलाई सिपिआर दिएको थियो । त्यसपछि बिहान करिब ४ः२० देखि ४ः३० बजेको बीचमा अस्पताल ल्याइएको थियो । “उहाँ पूर्ण रूपमा अनुत्तरदायी अवस्थामा हुनुहुन्थ्यो । अस्पताल ल्याएपछि पनि हामीले सक्दो प्रयास गर्‍यौँ, तर उहाँलाई मृत अवस्थामा ल्याइएको थियो”, डा साल्करले भने ।


    पाटेकरको निधनपछि मेडिको–कानूनी प्रक्रिया अघि बढाइएको र शव पोस्टमार्टमका लागि गोवा मेडिकल कलेजमा लगिएको चिकित्सकले बता्रए । उनका परिवारका सदस्य त्यतिबेला उपस्थित नभए पनि साथी र हेरचाहकर्ता भने साथमा रहेको जनाइएको छ । पाटेकरले सन् १९७८ मा ‘गमन’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका थिए ।

    उनले ‘परिन्दा’, ‘प्रहार’, ‘क्रान्तिवीर’, ‘तिरङ्गा’, ‘खामोशी’ र ‘अब तक छप्पन’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । पछिल्ला वर्षमा पनि उनी चलचित्र क्षेत्रमा सक्रिय थिए । ‘हाउसफुल ५’, विशाल भारद्वाजको ‘ओ’ रोमियो’ तथा ‘सुबेदार’ मा अभिनय गरेका थिए ।

  • यस्तो रह्यो मेसीको बिदाई खेल (फोटो फिचर)

    यस्तो रह्यो मेसीको बिदाई खेल (फोटो फिचर)

    २१ असोज, काठमाडौं । विश्व फुटबलका महानतम खेलाडीमध्येका एक लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबल करिअरबाट भावुक र सुखद बिदाइ लिएका छन्। बुधबार बिहान अर्जेन्टिनाको ब्युएनोस आयर्सस्थित ऐतिहासिक एस्टाडियो मास मोनुमेन्टल रंगशालामा सम्पन्न बिदाइ मैत्रीपूर्ण म्याचमा अर्जेन्टिनाले बेनिनलाई ३–० गोल अन्तरले पराजित गर्‍यो।

    Argentina’s Lionel Messi, center, and Benin’s Imourane Hassane battle for the ball during Messi’s final match for the national team, a soccer friendly against Benin, in Buenos Aires, Argentina, Tuesday, Oct.6, 2026. (AP Photo/Gustavo Garello)

    आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेललाई यादगार बनाउने क्रममा ३९ वर्षीय कप्तान मेसीले टोलीका लागि १ गोल गरे भने बाँकी २ गोलमा उत्कृष्ट पास (एसिस्ट) मिलाइदिए । खेलको मुख्य क्षण र मेसीको प्रदर्शनघरेलु समर्थकको अपार उपस्थिति र नाराबाजीका बीच मैदान उत्रिएको अर्जेन्टिनाले सुरुदेखि नै अफ्रिकी टोली बेनिनमाथि दबाब बनाएको थियो।

    Argentina’s Lionel Messi, center, makes his final appearance for the national team, a soccer friendly against Benin, in Buenos Aires, Argentina, Tuesday, Oct.6, 2026. (AP Photo/Gustavo Garello)

    पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्‍यो । ४८औँ मिनेटमा लियोनल मेसीको उत्कृष्ट फ्रिकिक क्रसमा डिफेन्डर निकोलस ओतामेन्दीले हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । ६१औँ मिनेटमा मेसीले मिलाइदिएको पासमा युवा प्रतिभा निको पाजले बक्सभित्रबाट आकर्षक गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। ७१औँ मिनेटमा बेनिनका डिफेन्डरले बक्सभित्र ह्यान्डबल गरेपछि अर्जेन्टिनाले पेनाल्टी प्राप्त गर्‍यो।

    A child looks at the statue of Argentina’s Lionel Messi before an international friendly soccer match against Benin, marking his farewell appearance for the national team, in Buenos Aires, Argentina, Tuesday, Oct.6, 2026. (AP Photo/Rodrigo Abd)


    घरेलु दर्शकको गुञ्जयमान हुटिङका बीच मेसीले पेनाल्टीलाई सहजै गोलमा परिणत गर्दै आफ्नो बिदाइ खेललाई अझ विशेष बनाए।निर्धारित ९० मिनेटको खेल सकिएपछि रंगशालामा उपस्थित हजारौँ दर्शक र सहकर्मी खेलाडीहरूले मेसीलाई उभिएर सम्मान दिएका थिए। खेलको अन्तिम ह्विसल बजेलगत्तै मेसी भावुक बनेका थिए।


    एक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्राको अन्त्यसन् २००५ मा अर्जेन्टिनाको सिनियर टोलीबाट डेब्यु गरेका मेसीले राष्ट्रिय जर्सीमा कुल २०८ म्याच खेल्दै १२५ गोल प्रहार गरे। अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकप तथा २०२१ र २०२४ को कोपा अमेरिकाको उपाधि दिलाउन मेसीको योगदान अतुलनीय रह्यो।

    Argentina’s Lionel Messi, left, makes an attempt to score during his final match for the national team, a soccer friendly against Benin, in Buenos Aires, Argentina, Tuesday, Oct.6, 2026. (AP Photo/Natacha Pisarenko)

    उनले खेलपछि भने, ‘अर्जेन्टिनाको यो नीलो र सेतो जर्सी लगाएर मैदान उत्रिन पाउनु मेरो जीवनको सबैभन्दा ठूलो गर्वको कुरा हो। आज म मैदानबाट बिदा भए पनि मेरो मुटु सधैँ यो टोलीसँगै रहनेछ।’ मेसीको यो अन्तिम अन्तर्राष्ट्रिय उपस्थिति, जसलाई ‘द लास्ट ट्याङ्गो’ नाम दिइएको थियो, सँगै अर्जेन्टिनी फुटबलको एउटा स्वर्णिम युगको अन्त्य भएको छ। यद्यपि, मेसीले क्लब फुटबलतर्फ अमेरिकी क्लब इन्टर मियामीबाट भने निरन्तरता दिनेछन्।

  • लियोनल मेसीको भब्य बिदाई, अन्तिम खेलमा गरे गोल

    लियोनल मेसीको भब्य बिदाई, अन्तिम खेलमा गरे गोल

    २१ असोज, काठमाडौं । अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीको भब्य बिदाई गरिएको छ । बेनिन्विरुद्धको खेलमा मेसी उपस्थित भए । यस खेलका लागि अर्जेन्टाइन फुटबल संघले मेसीलाई विशेष आमन्त्रण गरेको थियो । जसमा मेसीले दुई असिस्ट र एक गोल समेत गर्दै आफ्नो २१ वर्षे करियर टुङ्ग्याएका छन् । खेल अघि र पछि भब्य कार्यक्रम आयोजना गरियो ।

    खेलपछि उनले केहीबेर सम्बोधन समेत गरेका थिए । विश्वबिजेता मेसी सर्वकालिन महान फूलबलरमध्ये एक मानिन्छन् । लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि आफ्नो बिदाइ खेलमा गोल गर्दा समग्रमा अर्जेण्टिना ३–० गोल अन्तरले विजयी भएको हो । निकोलस ओटामेन्डी र निको पाजले १–१ गोल गरे । मेसीले गत महिना अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । अर्जेण्टिनाले सन् २०२२ मा विश्वकप उचाल्दा मेसी कप्तान थिए ।

  • विश्वव्यापी तेल आपूर्तिमा दबाब बढ्दै, मौज्दात न्यून रहेको चेतावनी

    विश्वव्यापी तेल आपूर्तिमा दबाब बढ्दै, मौज्दात न्यून रहेको चेतावनी

    लन्डन, २० असोज (रासस–एएफपी) । जी–७का राष्ट्रले आफ्नो मौज्दातबाट थप तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनपछि साउदी आरामकोका प्रमुख कार्यकारी अमिन नासेरले विश्वव्यापी तेल मौज्दात ‘डरलाग्दो हदसम्म न्यून’ रहेको बताएका छन् । आपूर्ति अभावको जोखिम अझै कायम रहेको उनको भनाइ छ ।

    साउदी सरकारको बहुमत स्वामित्व रहेको प्रमुख तेल उत्पादक कम्पनीका प्रमुख नासेरले सोमबार लन्डनमा आयोजित ‘इनर्जी इन्टेलिजेन्स फोरम’मा अहिले नै विश्वव्यापी तेल आपूर्ति प्रणालीमा दबाब बढिरहेको बताए । ऊर्जा क्षेत्रका नेता सहभागी दुईदिने सम्मेलनमा उनले विश्वसँग तेल आपूर्तिका अन्य विकल्प अत्यन्त सीमित रहेकाले आपूर्ति व्यवस्थाको लचिलोपन र सुरक्षा घेरा निकै कमजोर रहेको बताए ।
    अमेरिका–इरान द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा उत्पन्न चिन्ता कम गर्न जी–७का राष्ट्रले अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आईइए)सँगको समन्वयमा शुक्रबार तत्काल १० करोड ब्यारेल डिजेल र कच्चा तेल बजारमा ल्याउने सहमति गरेका थिए । अमेरिकासहितको जी–७को उक्त निर्णयअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घलाई आफ्नो रणनीतिक डिजेल मौज्दात प्रयोग गर्न वा अमेरिकी डिजेल निर्यात प्रतिबन्धको सामना गर्न दबाब दिएका थिए ।

    सामुद्रिक गतिविधि निगरानी गर्ने संस्था केप्लरका अनुसार हर्मुज जलसन्धिमा जहाजमाथि आक्रमण भए पनि गत साता इरानबाहेक मध्यपूर्वका देशबाट भएको तेल निर्यात युद्धपूर्वको स्तरभन्दा माथि पुगेको थियो । नासेरले मौज्दातसम्बन्धी कुल तथ्याङ्कलाई मात्र आधार नमान्न चेतावनी दिँदै वास्तविक रूपमा प्रयोग गर्न मिल्ने तेल मौज्दात १० प्रतिशतभन्दा कम रहेको बताए ।


    उनका अनुसार विभिन्न देशले रिपोर्ट गरेको मौज्दातको ठूलो हिस्सा पूर्वाधार सञ्चालनका लागि आवश्यक न्यूनतम परिमाण हो । जी–७सहित ३२ राष्ट्र सदस्य रहेको आईइएले शुक्रबार घोषणा गरेको १० करोड ब्यारेलतर्फ सङ्केत गर्दै नासेरले भने, “त्यसैले उनीहरू १० करोड ब्यारेल व्यवस्थापन गर्न सङ्घर्ष गरिरहेका छन् ।” उनले आपत्कालीन मौज्दातले आगामी जाडोयाम पार गर्न केही सहयोग गर्न सक्ने भए पनि दीर्घकालीन तेल आपूर्तिको समस्या समाधान गर्न नसक्ने बताए ।

  • पश्चिमी डीआर कङ्गोमा दुई डुङ्गा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु, धेरै बेपत्ता

    पश्चिमी डीआर कङ्गोमा दुई डुङ्गा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु, धेरै बेपत्ता

    किन्शासा, २० असोज (रासस–सिन्ह्वा) । पश्चिमी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो)को कङ्गो नदीमा दुई डुङ्गा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने धेरैजना बेपत्ता भएका छन् । प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै डीआर कङ्गोको सरकारी समाचार संस्थाले सोमबार जनाएको हो ।

    इक्वाटर प्रान्तमा शनिबार रातिदेखि आइतबार बिहानको बीचमा दुर्घटना भएको हो । प्रान्तका आन्तरिक मामिलामन्त्री क्रिस्पिन म्पुतुले प्रारम्भिक विवरणअनुसार करिब १० जनाको मृत्यु भएको, धेरैजना बेपत्ता रहेको र ५७ जनालाई जीवितै उद्धार गरिएको बताए । अधिकारीका अनुसार राजधानी किन्शासाबाट आएको एउटा डुङ्गा र छिमेकी सुद–उबाङ्गी प्रान्तको बुसिङ्गाबाट आएको अर्को डुङ्गा आपसमा ठोक्किएका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार बेपत्ताको खोजी तथा उद्धारकार्य जारी छ ।

  • भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा

    भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा

    २० असोज, नयाँ दिल्ली, भारत, (रासस–एएनआई) ।
    भारतीय जनता पार्टी (भाजपा) को दिल्ली इकाईले प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा सेवा सङ्कल्प अभियानअन्तर्गत राष्ट्रिय राजधानीमा विभिन्न कार्यक्रमहरूको तयारी गरिरहेको छ । यसको सुरुवात इन्दिरा गान्धी इनडोर स्टेडियममा ठूलो ‘सेवा ज्योति’ कार्यक्रमबाट हुनेछ ।

    एक शीर्ष भाजपा स्रोतले प्रधानमन्त्री नरेन्द्र मोदी अक्टोबर ७ मा ‘इन्दिरा गान्धी इनडोर स्टेडियम’ बाट ‘सेवा ज्योति’ कार्यक्रमअन्तर्गत प्रधानमन्त्री मोदीले राष्ट्रलाई सम्बोधन गर्न सक्ने सम्भावना रहेको बताएको छ । दिल्ली भाजपाले त्यहाँ करिब पाँच जनाको सहभागिताका लागि व्यवस्था मिलाइरहेको छ ।

    मुख्य कार्यक्रमअघि दिल्लीभरका सबै सङ्गठनात्मक मण्डलबाट ‘सेवा ज्योति’ जुलुस निकालिनेछ । भाजपा कार्यकर्ता र समर्थकहरू जुलुसमा सहभागी भई मुख्य स्थल पुग्ने अपेक्षा गरिएको छ ।

    स्रोतहरूका अनुसार, दिल्ली भाजपा अध्यक्ष हर्ष मल्होत्रा, मुख्यमन्त्री रेखा गुप्ता, दिल्लीका सबै सांसद र विधायकहरूका साथै भाजपाका राष्ट्रिय तथा राज्य स्तरीय पदाधिकारीहरू कार्यक्रममा सहभागी हुने अपेक्षा छ ।

    दिल्ली भाजपाले सेवा सङ्कल्प अभियानअन्तर्गत आगामी दिनहरूमा थप कार्यक्रमहरूको योजना बनाएको छ । अक्टोबर ८ मा सङ्घीय स्वास्थ्य मन्त्री जेपी नड्डा दिल्लीको भारत मण्डपममा हुने कार्यक्रममा सहभागी हुने तालिका छ भने अक्टोबर ९ मा केन्द्रीय गृहमन्त्री अमित शाह माटियाला विधानसभा क्षेत्रमा जाने तालिका छ । त्यहाँ उहाँले करिब १३ हजार करोड भारतीय रुपैयाँको ढल प्रशोधन प्लान्टको परियोजना उद्घाटन गर्ने अपेक्षा स्रोतहरूले बताएका छन् ।

    अक्टोबर १० मा प्रधानमन्त्री नरेन्द्र मोदी पूसामा हुने कार्यक्रममा सहभागी हुने तालिका छ । स्रोतहरूका अनुसार, वडनगर र वाराणसीबाट मोटरसाइकल ¥यालीमा सहभागी करिब एक हजार २०० जना उक्त कार्यक्रममा उपस्थित हुने र प्रधानमन्त्रीले उनीहरूलाई सम्बोधन गर्नुहुनेछ ।

    यी कार्यक्रमहरू प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा भएको अवसरमा भाजपाको व्यापक उत्सवको भाग हुन् । पार्टीले दिल्लीभर सेवा, सार्वजनिक सहभागिता र जनसम्पर्क गतिविधिमा जोड दिएको छ ।

    दिल्ली भाजपाले यी कार्यक्रमहरूका लागि आफ्ना सङ्गठनात्मक इकाई र वरिष्ठ नेताहरूसँग समन्वय गरिरहेको छ । साताव्यापी गतिविधिहरूमा पार्टी कार्यकर्ता र जनताको ठूलो सहभागिताको अपेक्षा गरिएको छ ।

  • नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

    नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

    अबुजा,२० असोज (रासस–सिन्ह्वा) । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा भएको सैन्य विमान दुर्घटनामा विमानमा सवार ३२ जनाको निधन भएको पुष्टि गरेका छन् । उड्डयन तथा एरोस्पेस विकासमन्त्री फेस्टस केयामोका अनुसार २५ जना यात्रु र सात जना चालक दलका सदस्य सवार रहेको उक्त सैन्य विमान ओन्डो राज्यको नदी किनारमा अवस्थित इग्बोकाडा समुदायको नौसैनिक आधार नजिक दुर्घटनाग्रस्त भएको हो।

    राष्ट्रपति टिनुबुले जारी गर्नुभएको छुट्टै विज्ञप्तिमा यो सशस्त्र बल तथा सम्पूर्ण राष्ट्रका लागि अत्यन्तै दुःखद् क्षण भएको बताए । उनले दुर्घटनामा ज्यान गुमाएका वायुसेनाका सदस्यहरूको बलिदान कहिल्यै बिर्सन नसकिने उल्लेख गरे । नाइजेरियाली वायुसेनाका अनुसार सुरुमा हेलिकोप्टर भएको अनुमान गरिएको उक्त विमान दुई इन्जिनयुक्त टर्बोप्रप विमान रहेको पुष्टि भएको छ। उक्त विमान दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ नियमित उडानमा रहेका बेला दुर्घटनामा परेको हो। राष्ट्रपति टिनुबुले दुर्घटनापछि तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गरेको वायुसेनाको प्रशंसा गरेका छन् ।

  • अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा बीच अमेरिकामा भेट

    अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा बीच अमेरिकामा भेट

    २० असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बाङ्गा बीच अमेरिकाको वासिङ्टन डी.सी.मा भेटवार्ता भएको हो। 


    भेटघाटका क्रममा अर्थमन्त्री डा. वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त बनेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण, वृहत् आर्थिक सुधार र बीमा एवं सामाजिक संरक्षणका लागि करिब एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालनबारे छलफल गरे ।


    उक्त अवसरमा विश्व बैंकका अध्यक्ष बाङ्गाले नेपालमा बाढी विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाए । नयाँ सरकारले नीतिगत तथा संस्थागत सुधारका लागि चालेका कदमहरूको प्रशंसा गर्दै उनले पूर्वाधारमा लगानी विस्तार र स्वदेशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिए ।


    अध्यक्ष बाङ्गाले एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय वित्त निगम लगायतका विकास साझेदारहरूसँग समन्वय गरी नेपालको प्राथमिकताका क्षेत्रमा संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारी दिए । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकको अवधिमा विश्व बैंकका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो नै पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो। भेटघाट कार्यक्रममा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमद लगायतका उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।

  • ‘अप्टोजेनेटिक्स’सम्बन्धी अनुसन्धानका लागि यस बर्षको नोबेल चिकित्सा पुरस्कार डाइसरोथ, हेगेमान नागेललाई

    ‘अप्टोजेनेटिक्स’सम्बन्धी अनुसन्धानका लागि यस बर्षको नोबेल चिकित्सा पुरस्कार डाइसरोथ, हेगेमान नागेललाई

    स्टकहोम, १९ असोज (रासस–एएफपी) । यस बर्षको नोबेल चिकित्सा पुरस्कार सोमबार घोषणा गरिएको छ । अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ, उनका जर्मन सहकर्मी पिटर हेगेमान र जर्ज नागेललाई अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि यो पुरस्कार प्रदान गरिएको चिकित्सातर्फको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ । जीवित मस्तिष्कमा स्नायु कोषहरूले कसरी स्मृति, भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ ।

  • एआईको प्रयोग गरिएको मध्यम दूरीको रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दावी

    एआईको प्रयोग गरिएको मध्यम दूरीको रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दावी


    सियोल, १८ असोज (रासस–एएफपी) । सियोलले प्योङ्याङले व्यालेस्टिक मिसाइल परीक्षण गरेको केही घण्टापछि उत्तर कोरियाले एआईको प्रयोग गरिएको मध्यम दूरीको रणनीतिक क्षेप्यास्त्र शनिबार परीक्षण गरेको पुष्टि गरेको छ। सियोलले तीन दक्षिण कोरियाली सेना घाइते हुने गरी गैर–सैनिक क्षेत्रमा भएको आक्रमणमा उत्तर कोरिया जिम्मेवार रहेको भन्दै यसका लागि क्षमा याचना गर्न प्योङयाङलाई दवाव दिइरहृका समय यो अर्को परीक्षण भएको हो ।

    घटनामा आफ्नो संलग्नता नरहेको प्योङयाङले जनाएको छ । प्योङयाङले गत महिनाको विस्फोटको जिम्मेवारी अस्वीकार गर्दै शुक्रबार दक्षिण कोरियालाई ‘नीच’ अभिव्यक्ति नदिन चेतावनीसमेत दिएको छ । पछिल्लो विवादले संवाद पुनः सुरु गर्न खोजिरहेको सियोलको नागरिक नेतृत्वको प्रयासलाई कमजोर बनाएको छ ।

    शनिबार बिहानै सियोलको प्रमुख संयुक्त सैन्य कार्यालयले भनेको थियो, “हाम्रो सेनाले जापान सागर पनि भनिन उत्तर कोरियाको वोनसान क्षेत्रबाट पूर्वी समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको पत्ता लगाएको छ।” “दक्षिण कोरिया, अमेरिका र जापान उत्तर कोरियाली ब्यालेस्टिक मिसाइलबारे नजिकबाट सूचना आदानप्रदान गर्दै बलियो रक्षा अवस्था कायम राखिरहेका छन्,” कार्यालयले थप्यो। मिसाइल ७०० किलोमिटरभन्दा बढी उडेको बताइएको छ।

    केही घण्टापछि प्योङयाङका नेता किम जोङ उनकी बहिनी किम यो जोङले बिहान प्रक्षेपण गरिएको मिसाइल ‘मध्यम–दूरीको रणनीतिक मिसाइल’ भएको बताइन् । उनले उक्त प्रक्षेपास्त्र ‘कम उचाइमा उडान मार्ग परिवर्तन गर्न सक्षम’ भएको र त्यसमा ‘एआईको प्रविधिलाई प्रयोग गरिएको’ दाबी गरिन् । तर एआईको प्रयोगबारे थप विवरणबारे भने व्याख्या गरिनन् ।


    उनले यसको अर्थ ‘मिसाइलको आक्रमणबाट बच्ने कुनै उपाय नभएको’ दावी गरिन् । ‘कम्तीमा केही वर्षसम्म’ विश्वको कुनै पनि देशले यस्तो प्रविधि प्राप्त गर्न नसक्ने’ विश्वास किम जोङ उनले गरेको दाबी गरिन् । उनको यो वक्तव्य किम जोङ उनले गत महिना देशका हतियार प्रणालीमा ‘कृत्रिम बुद्धिमत्ता (एआई)को स्तर बढाउनुपर्ने’ आवश्यकता औँल्याएको टिप्पणीपछि आएको हो।

    किम यो जोङको दावी गर्दै भने। “उत्तर कोरियाले ‘तरङ्ग (वेभ) जस्तो उडानको स्वरूप’ प्रयोग गर्दा दक्षिण कोरियाले ‘पहिलो बिन्दुबाटै लक्ष्यहरू पछ्याउन असफल’ भएको थियो।” विश्लेषकहरूका अनुसार उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा रूस पठाएबापत रूसी सैन्य सहयोगबाट आफ्नो मिसाइल प्रविधि तीव्र रूपमा अघि बढाइरहेको हुन सक्छ।

    “एआई विश्वभर सैन्य प्रविधिमा बढ्दो रूपमा समावेश हुँदैछ र ब्यालेस्टिक मिसाइल पनि यसबाट अछुतो छैनन्,” सियोलस्थित कोरिया सैन्य मामिला संस्थानका वरिष्ठ अनुसन्धानकर्ता होङ सुङ–प्योले एएफपीसँग भने । उनले भने, “एआईले लक्ष्य जानकारी र प्रक्षेपण सञ्चालनमा सहयोग गर्न सक्छ। युक्रेन र इरानका युद्धहरूले एआईलाई ड्रोन र मिसाइलसँग जोड्दा तिनीहरूको प्रभावकारिता कसरी बढ्छ भन्ने देखाएका छन्।”

    होङले उत्तर कोरियाका मिसाइल क्षमतासम्बन्धी दाबी सही छन् भनी निष्कर्ष निकाल्न अझै चाँडो भएको बताए । “अग्रणी सैन्य शक्तिहरूको तुलनामा उत्तर कोरियाको मिसाइल प्रविधि विशेष रूपमा उन्नत छैन,” उनले भने । उनले थपे, “टर्मिनलमा नै रहँदाको चरणमा गति परिवर्तन गर्ने मिसाइलहरूलाई रोक्न गाह्रो हुन्छ, तर त्यसको अर्थ तिनीहरू पूर्ण सटीकताका साथ लक्ष्यमा हिर्काउन सक्छन् भन्ने होइन।”

    सियोल र अमेरिका नेतृत्वको संयुक्त राष्ट्रिय कमान्डले गत महिना ‘डीएमजेड’ भित्रको विस्फोट दक्षिण सीमापारि उत्तर कोरियाले राखेका बारुदी सुरुङका कारण भएको निष्कर्ष निकालेको थियो । उत्तर कोरियाली सेनाले सन् २०२४ मा नेता किम जोङ उनले दक्षिण कोरियालाई आफ्नो देशको ‘मुख्य शत्रु’ घोषणा गरेपछि सीमा स्थायी रूपमा बन्द गर्ने प्रयासअन्तर्गत सीमामा बारुदी सुरुङ र ट्याङ्कविरोधी अवरोधहरू राखेको छ।

    दक्षिण कोरियाका रक्षा मन्त्री काङ सिन–चुलका अनुसार तीन सैनिक घाइते बनाएको विस्फोटका लागि जिम्मेवार बारुदी सुरुङहरू प्योङयाङको सीमा सुदृढीकरण कार्यको भागका रूपमा राखिएको विश्वास गरिएको छ । दक्षिण कोरियाका नरमपन्थी राष्ट्रपति ली जे–म्युङले बिहीबार सेनाले माफी माग्न माग गरेको भोलिपल्ट पनि प्योङयाङलाई संवादमा फर्कन आग्रह गरेका छन् ।


    किम यो जोङले शुक्रबार सियोललाई ‘साँच्चिकै नीच’ भन्दै फेरि विस्फोटको दोष अस्वीकार गरेका थिए । उनले लीको पछिल्लो आग्रहलाई ‘सबैले हेर्नुपर्ने नाटकको चरमबिन्दु’ भन्दै उपहास गर्नुभयो र दक्षिण कोरियाको सेनाको माफीको मागलाई ‘एकदम हाँस्यास्पद’ कुरा भने । किमले प्योङयाङ बारुदी सुरुङ विस्फोटमाथि सियोलले गर्न सक्ने ‘हरेक कुराका लागि तयार’ रहेको चेतावनी पनि दिए । यी टिप्पणीको केही घण्टापछि भोलिपल्ट बिहानै प्योङयाङले मिसाइल प्रक्षेपण गरेको हो ।

    विश्लेषकहरूले यो प्रक्षेपणलाई दक्षिण कोरियाली सरकारका कूटनीतिक प्रयासको जवाफमा शक्ति प्रदर्शनका रूपमा हेरिने बताएका छन् । यसले विस्फोटमा संलग्नतालाई प्रभावकारी रूपमा अस्वीकार गरेको छ । “सियोलले तनाव कम गर्न आग्रह गर्‍यो, तर प्योङयाङले तनाव बढाएर जवाफ दियो,” सियोलस्थित उत्तर कोरिया अध्ययन विश्वविद्यालयका पूर्व अध्यक्ष याङ मु–जिनले एएफपीसँग भने । “उत्तर कोरियाले सद्भावनाको जवाफमा टकराव अघि बढाइरहेको छ भन्ने सन्देश क्षेप्यास्त्र परीक्षणले दिएको छ,” उनले थपे ।

  • चीनलाई २८ वर्षपछि पहिलो फुटबल पदक, भविष्य उज्ज्वल रहेको प्रशिक्षकको दावी

    चीनलाई २८ वर्षपछि पहिलो फुटबल पदक, भविष्य उज्ज्वल रहेको प्रशिक्षकको दावी

    नागोया, जापान, १८ असोज (रासस–एएफपी) । चीनले शनिबार झण्डै तीन दशकपछि पहिलो एसियाली खेलकुद पदक जितेको छ । उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशिक्षकले दावी गरे । फुटबलमा ठूलो कम उपलब्धि हासिल गर्ने चीनले सन् २००२ मा विश्वकपमा एक पटक मात्र पुग्न सफल भएको थियो ।

    चीनले हालै युवा स्तरमा सापेक्षिक सफलता हासिल गरेको छ र फेब्रुअरीमा अन्डर–२३ एसियन कपमा उपविजेता बनेपछि जापानमा भएको एसियाली खेलकुदमा कास्य पदक जितेको हो । चीनले उज्बेकिस्तानलाई २–२ को बराबरीपछि पेनाल्टीमा हरायो र प्रशिक्षक एन्टोनियो पुचेले नयाँ पुस्ताले अझ ठूला र राम्रा उपलब्धि हासिल गर्ने अपेक्षा गरेको बताए ।


    “मेरो विचारमा यी खेलाडीहरूको अत्यन्त उज्ज्वल भविष्य छ,” स्पेनी प्रशिक्षकले जीत पछि भने । “हामीले काम गर्नुपर्छ, उनीहरूलाई अगाडि बढाउनुपर्छ किनकि हामीसँग उच्च गुणस्तर र ठूलो हृदय भएका खेलाडीहरू छन्, र फुटबलमा यो निकै महत्वपूर्ण हुन्छ।” एसियाली खेलकुद फुटबलमा अन्डर–२३ टोलीहरू हुन्छन् जसमा तीन जना माथिल्लो उमेरका खेलाडी समावेश गर्न सकिन्छ ।

    पुचेको आइची–नागोया टोलीमा पूर्ण राष्ट्रिय टोलीका नियमित खेलाडीहरू पनि थिए। ‘अग्रणी समूह’ ले युवा खेलाडीको अनुपस्थितिमा राम्रो प्रदर्शनका लागि सफलता प्राप्त गर्न सकिरहेको छैन । गत साता घरेलु मैदानमा न्युजिल्यान्डसँग भएको मैत्रीपूर्ण खेलमा चीनको राष्ट्रिय टोली ३–० ले पराजित भएको थियो।

    पुचेले प्यालेस्टाइनसँगको हारपछि प्रशिक्षक शाओ जियाईलाई अवस्था सुधार गर्न समर्थन जनाएका थिए । “त्यो अन्तिम खेलको नतिजा राम्रो थिएन, त्यो निश्चित हो,” उनले भने । “मुख्य प्रशिक्षक अत्यन्त सक्षम र लचिलो छन्, उनले यो हारलाई टोली सुधार गर्न प्रयोग गर्नेछन् ।’ चीनले कहिल्यै एसियाली खेलकुद पुरुष फुटबलमा स्वर्ण जितेको छैन। उनीहरूले सन् १९९८ मा बैङ्ककमा काँस्य पदक जितेका थिए ।

  • फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो, गोली हानी मारिएको दावी

    फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो, गोली हानी मारिएको दावी

    लिल, फ्रान्स, १८ असोज (रासस–एएफपी) । उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती व्यापारीको भ्यानभित्र एक पुरुषको मृत शरीर फेला परेको छ। उक्त भ्यानमा अवैध आप्रवासीहरू पनि रहेको अधिकारीहरूले शनिबार बताएका छन् । उक्त व्यक्तिलाई गोली हानी मारिएको अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानपछि खुल्न आएको छ।

    स्थानीय अभियोजक कार्यालयका अनुसार उक्त सवारी साधन शुक्रबार ट्रोयेस सहरबाट करिब ३० किलोमिटर उत्तरमा फेला परेको थियो । ट्रोयेस पेरिसको दक्षिण–पूर्वमा अवस्थित छ र इङ्लिस च्यानलबाट करिब ३०० किलोमिटर टाढा छ। ‘अपराध स्थलमा उपस्थित भएको विश्वास गरिएको’ एक शङ्कास्पद व्यक्तिलाई शुक्रबार बिहानै पक्राउ गरिएको ट्रोयेसकी अभियोजक इसाबेल भेरिसिमोले बताए ।


    उनले भने, “बिहान करिब ५ बजे भ्यानको सिटमा ४७ वर्षीय पुरुषको मृत शरीर ‘टाउकोमा गोली लागेको’ अवस्थामा फेला परेको थियो । उक्त भ्यानमा बेलायती नम्बर प्लेट थियो ।” सवारी साधनभित्र प्रहरीले ‘फ्रान्सेली भूमिमा अवैध रूपमा रहेका करिब १० जना विदेशी नागरिक’ फेला पारेको थियो। उनले मृतक वा ती विदेशीहरूको राष्ट्रियता उल्लेख गरेनन् ।


    प्रारम्भिक अनुसन्धानले बेलायती भ्यान ‘च्याम्प ल’ एपे विश्रामस्थलमा पार्क गर्न रोकिँदा गोली चलेको र त्यसपछि धेरै व्यक्ति घटनास्थलबाट भागेको सङ्केत पाइएको अभियोजकको विज्ञप्तिमा उल्लेख छ। अपराध भएको स्थानभन्दा उत्तरमा रहेको रेम्सको कानुन प्रवर्तन कार्यालयलाई उक्त घटनाको अनुसन्धानको जिम्मेवारी दिइएको छ ।

    ट्रोयेस अभियोजक कार्यालयले शनिबार ‘हत्या, हत्या प्रयास, बिना अनुमति हतियार कब्जा, सङ्गठित समूहको रूपमा विदेशीलाई फ्रान्समा अवैध प्रवेश, आवतजावत र बसोबासमा सहयोग तथा सङ्गठित समूहको रूपमा मानव तस्करी’ का लागि फौजदारी मुद्दा दायर गर्ने बताएको छ ।

  • यूएई अनुसन्धानकर्ताहरूले फ्लाईदुबई सह–चालकले ‘आतङ्कवादी कार्य’ योजना गरेको दावी

    यूएई अनुसन्धानकर्ताहरूले फ्लाईदुबई सह–चालकले ‘आतङ्कवादी कार्य’ योजना गरेको दावी

    दुबई, १८ असोज (रासस–एएफपी) । युनाइटेड अरब इमिरेट्स (यूएई) का अनुसन्धानकर्ताहरूले यस साता इजरायल जाँदै गरेको फ्लाईदुबई उडानका सह–चालकले ‘आतङ्कवादी कार्य’ गर्ने योजना बनाएको र क्याप्टेनमाथि ककपिटको आपतकालीन हतियार ‘बञ्चरा’ ले आक्रमण गरेको बताएका छन्। तर आक्रमण गर्ने सहचालकले के गर्न खोजेको भन्ने उद्देश्य भने उनीहरूले अझै खुलाएका छैनन् ।

    बुधबारको उडानमा भारतीय विमान चालक (क्याप्टेन) माथि सह–चालकले आक्रमण गरेपछि चालकले ककपिटको ढोका खोल्न सफल हुँदा विमान ठूलो दुर्घटना हुनबाट जोगिएको थियो । त्यसपछि यात्रु र चालक दलका अन्य सदस्यले आक्रमणकारीलाई नियन्त्रणमा लिई साउदी अरबमा आपतकालीन अवतरण गरिएको थियो ।

    शनिबार देशको सरकारी समाचार एजेन्सी वामको रिपोर्ट अनुसार यूएई अनुसन्धानका प्रारम्भिक निष्कर्षमा सह–चालकको राष्ट्रियता खुलाइएको छैन तर एउटा साउदी स्रोतले एएफपीलाई सह–चालक ओमानी भएको पुष्टि गरेको छ । मिडिया रिपोर्टहरूले उनलाई गृह राष्ट्रमा चरमपन्थी विचारका कारण उडान गर्न प्रतिबन्ध लगाइएको पनि उल्लेख गरेका छन् ।

    यी रिपोर्टहरू आएका बेला संयुक्त अरब इमिरेट्सबाट इजरायलीहरूलाई घर लैजाने पहिलो उडान तेल अभिभ अवतरण गरेको इजरायली विमानस्थल प्राधिकरणले जनाएको छ । आक्रमणपछि सेवाहरू स्थगित गरिएका थिए ।

    “‘सह–चालकले आतङ्कवादी कार्य गर्ने प्रयास गरेका’ र ‘ककपिटमा क्याप्टेनमाथि आपतकालीन बञ्चराले आक्रमण गरी विमानको नियन्त्रण लिन खोजेको देखिन्छ,” वामले यूएईका महान्यायाधिवक्ता हमद सैफ अल शाम्सीलाई उद्धृत गर्दै अनुसन्धानका प्रारम्भिक निष्कर्षबारे बताएको छ ।

    यात्रुहरूले ककपिटतर्फ गई नियन्त्रणका भूमिका निभाएको बताएका थिए । चालकमाथि आक्रमणपछि विमान एक मिनेटमै करिब १७ हजार फिट उचाइ गुमाएर आकाशमा तल झरेको फ्लाइटराडर–२४ नामक वेबसाइटको तथ्याङ्कले देखाएको छ। ककपिटको ढोका खोलेका घाइते क्याप्टेनलाई नायकका रूपमा सम्मान गरिएको छ । शनिबार यूएईका उपप्रधानमन्त्री हमदान बिन मोहम्मदले अस्पतालको शैयामा उनलाई भेटेको तस्बिर सार्वजनिक भएको छ ।

    चालक स्मित मच्छरले ‘साहस, जिम्मेवारी र मानव जीवनप्रतिको हेरचाहको उच्चतम स्तर’ प्रदर्शन गरेको यूएई अधिकारीले एक्समा पोस्ट गरेका छन्।
    यता सह–चालकलाई यूएईमा हिरासतमा राखिएको छ । धेरै मिडिया आउटलेटहरूले आक्रमणकारी सह–चालकलाई हमाम अल–हम्मामी भनेर पहिचान गरेका छन् र ओमानमा चरमपन्थी विचारका कारण उडान गर्न प्रतिबन्ध लगाइएको बताएका छन् ।

    ‘चरमपन्थी प्रभावबाट ग्रसित’

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आक्रमणकारी सहचालकलाई शङ्कास्पदे ‘इस्लामी चरमपन्थी विचार’ भएका व्यक्तिले परिचालित गरेको र विमान दुर्घटना गराउने प्रयास गरेको बताएका छन् । वाल स्ट्रिट जर्नलले विषयसँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै शुक्रबार ओमानी अधिकारीहरूले उआक्रमणकारी सह–चालक चरमपन्थी वैचारिक दृष्टिकोण अपनाएको शङ्कामा उडान गर्न प्रतिबन्ध लगाएको रिपोर्ट गरेको छ ।

    सीएनएनले दुई स्रोतलाई उद्धृत गर्दै गत वर्ष ओमानको राष्ट्रिय एयरलाइनबाट उनलाई जागिरबाट हटाइएको रिपोर्ट गरेको छ। अल अरेबियाले पनि सूचित स्रोतलाई उद्धृत गर्दै ओमानी अधिकारीहरूले सह–चालकले चरमपन्थी विचार राख्ने गरेको निष्कर्ष निकालेको बताएको छ । प्रसारकले उनले सिरियामा समय बिताएको र त्यहाँका चरमपन्थी समूहहरूबाट प्रभावित भएको आशङ्का गरिएको उल्लेख गरेको छ।

    एबीसी न्यूजले अनुसन्धानसँग परिचित वरिष्ठ खुफिया र कानुन प्रवर्तन अधिकारीहरूलाई उद्धृत गर्दै शङ्कास्पद व्यक्तिसँग तालिमका क्रममा उपलब्ध गराइएका चरमपन्थी विचारसँग मेल खाने सामग्री भेटिएको आरोप लगाएको रिपोर्ट गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरान आक्रमणसँग जोडिएको पाइए तेहरानलाई ‘धेरै कडा प्रहार’ गरिने चेतावनी दिएका थिए ।


    नेतन्याहूले सह–चालकलाई देशका उडानहरूमा काम गर्न कसरी अनुमति दिइएको थियो अनुसन्धान थालिने बताएका छन् । “हामीसँग यस्ता प्रतिबन्धहरू छन् कि इजरायलसँग कूटनीतिक सम्बन्ध नभएका देशका चालकहरू हुन सक्दैनन्,” नेतन्याहूले फक्स न्यूजलाई भने, “स्पष्ट रूपमा ती सह–चालकले त्यसलाई छल्न सफल भएको पाइएको छ ।”

  • विश्वव्यापी तापक्रम वृद्धिको मारमा नेपाल : चीन, अमेरिका र भारत प्रमुख उत्सर्जक राष्ट्र

    विश्वव्यापी तापक्रम वृद्धिको मारमा नेपाल : चीन, अमेरिका र भारत प्रमुख उत्सर्जक राष्ट्र

    मेघराज सापकोटा

    १७ असोज, काठमाडौं । हिमालमा वातावरणीय असरका कारण निम्तिएको रसुवाको भोटेकोशी नदीको विपत्तिले नेपाल नै स्तब्ध छ । औद्योगिक देशका कारण निम्तिएको समस्याको रुपमा हिमाली देश नेपाललाई अन्यायपूर्ण असर गरेको छ । नेपालको विपत्तिपछि यो विषयमा संसारभर बहस पैरवी भइरहेको छ । नेपालको उत्तरी सिमानामा अवस्थित रसुवा जिल्लाको लाङटाङ लिरुङ आसपासको उच्च हिमाली भुगोलमा भदौ दोस्रो साता विनाशकारी बज्रपात कुनै सामान्य मौसमी फेरबदल थिएन । यो औद्योगिक देशका कारण निम्ताइएको प्रलय नै हो ।


    उच्च हिमाली भेगमा वायुमण्डलीय तापक्रममा आएको अप्रत्याशित वृद्धिका कारण विशाल हिम चट्टानी पहिरो खसेर लेन्दे र रसुवाको भोटेकोशी नदीको बहावमा एक्कासी प्रतिघन्टा झण्डै २ सय किलोमिटरको गति पैदा भयो । त्यसपछि नदी आसपासका हजारौं नागरिकलाई बाढीले बगायो । भौतिक क्षतिको त कुरा भनिसाध्य नै छैन । हजारौं मानिसले ज्यान गुमाएका छन् ।

    नेपाल सरकारको आधिकारिक तथ्याङ्कअनुसार अहिलेसम्म विपत्तिमा परेर १ हजार ३ सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने हजारौं स्थानीय बासिन्दा बेपत्ता भएका छन् । अर्बौं रुपैयाँ लागतका जलविद्युत् आयोजना, पक्की पुल, राजमार्ग, बस्ती र खेतीयोग्य जमिन छिनभरमै बालुवा र लेदोमा परिणत भए ।


    वैज्ञानिक अध्ययनहरुले के देखाएको छ भने, रसुवामा फुटेको यो पहरा र बहुलाएको यो नदीको कारक स्थानीय स्तरमा पानी पर्नु वा पहिरो जानु मात्र होइन । यो त विगत दुई सय वर्षदेखि विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुले आफ्नै विकास र समृद्धिका लागि गरेको अनियन्त्रित वातावरण दोहन, कार्बन उत्सर्जन र त्यसका कारण बढेको विश्वव्यापी तापक्रमको सबैभन्दा ठूलो असर हो । नेपाल जस्तो नगण्य प्रदूषण गर्ने सानो हिमाली देशले अरुले गरेको कामको क्रूर र अन्यायपूर्ण मूल्य चुकाउनुपर्छ भन्ने कुराको प्रत्यक्ष प्रमाण अहिलेको विनाश हो ।

    बाढीले बगरमा परिणत गरेको रसुवाको स्याफ्रुबेसी बजार क्षेत्र स्याफ्रुबेसी (रसुवा), भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगरमा परिणत गरेको रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेसी बजार क्षेत्र। तस्बिरः घनश्याम श्रेष्ठ/रासस

    ओजोन तहको विनाशले बजायो खतराको घन्टी
    दुई शताब्दीदेखिको औद्योगिक उन्माद र ओजोन तहको विनाशले पृथ्वीको वातावरणलाई दीर्घकालीन असर गरिरहेको छ । सन् १७५० को आसपासमा यूरोप र अमेरिकाबाट शुरु भएको औद्योगिक क्रान्तिले विश्व अर्थतन्त्रलाई आधुनिकतातर्फ डो¥यायो । तर, यो समृद्धिको जग कोइला, खनिज तेल, डिजेल, पेट्रोल र प्राकृतिक ग्याँस जस्ता इन्धनको अत्यधिक र अन्धाधुन्ध दोहनमा उभिएको थियो ।


    विगत दुई सय वर्षदेखि विकसित देशहरुले आफ्ना कलकारखाना, तापीय विद्युत् गृह, यातायातका साधन र ठूला उद्योगहरु सञ्चालन गर्ने क्रममा वायुमण्डलमा खर्बौं टन हरितगृह ग्यासहरु (विशेषगरी कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड) छाडे । यसले पृथ्वीलाई प्राकृतिक रुपमा सुरक्षा दिने ओजोन तहमा क्षयीकरण र प्वाल पार्ने काम मात्र गरेन, समग्र पृथ्वीको वायुमण्डललाई एउटा विशाल हरितगृह ग्याँसमा परिणत गरिदियो ।


    वायुमण्डलमा थुप्रिएका यी ग्याँसहरुले सूर्यको तापक्रमलाई बाहिर फर्किन नदिई भित्रै सोसेर राख्न थाले, जसका कारण पृथ्वीको औसत तापक्रम निरन्तर बढ्न थाल्यो । आज विश्वभर देखिइरहेका अप्रत्याशित खडेरी, अतिवृष्टि, भीषण डढेलो र हिमाली क्षेत्रमा हिमनदी पग्लेर आउने बाढी दुई शताब्दी लामो औद्योगिक उन्मादको प्रत्यक्ष उपज हो ।

    कुन देशको भूमिका कति ?
    विश्वव्यापी कार्बन उत्सर्जनमा विश्वका केही ठूला र शक्तिशाली अर्थतन्त्र भएका देशहरुले उत्सर्जन गर्ने कार्बनको मात्रा र बाँकी सिङ्गो संसारको तुलनामा तीन वटा देशको नाम अगाडि आउँछ । उत्तरी छिमेकी चीन, संयुक्त राज्य अमेरिका, भारत, युरोपेली युनियनका देशहरु र रुस नै विश्वव्यापी रुपमा हुने कुल कार्बन उत्सर्जनका प्रमुख जिम्मेवार हुन् । चीनले विश्वको लगभग एक तिहाई कार्बन एक्लै उत्सर्जन गर्छ भने अमेरिका दोस्रो स्थानमा छ । भारत तेस्रो ठूलो उत्सर्जक देश बनेको छ ।

    यसको तुलनामा नेपाल जस्तो भूपरिवेष्ठित हिमाली देशको उत्सर्जन भने नगण्य छ ।
    विश्वव्यापी तापक्रम वृद्धिका लागि कुन देशका नागरिक कति जिम्मेवार छन् भन्ने कुरा केवल देशको कुल उत्सर्जनले मात्र देखाउँदैन । यसको वास्तविक ऐना प्रतिव्यक्ति कार्बन उत्सर्जनको आँकडा हो । अमेरिका, कतार, अष्ट्रेलिया वा क्यानाडाजस्ता अति विकसित र उपभोगवादी देशका एक नागरिकले वर्षभरिमा गर्ने औसत उत्सर्जनको तुलनामा नेपालका नागरिकले गर्ने उत्सर्जन ज्यादै न्यून छ ।

    एक औसत अमेरिकी नागरिकले वर्षमा जति कार्बन डाइअक्साइड वायुमण्डलमा छाड्छन्, त्यति उत्सर्जन गर्नका लागि २७ जना नेपाली नागरिक लाग्छ । विडम्बना के छ भने, जलवायु परिवर्तनका कारण निम्तिने विपद् र जोखिमका हिसाबले नेपाल विश्वकै सबैभन्दा बढी संकटापन्न देशहरुको अग्रपंक्तिमा पर्छ ।

    नेपालको हिमालय क्षेत्रमा भारतीय कालो धुवाँको असर
    हिमाल पगाल्ने अदृश्य आगोको रुपमा कालो धुवाँलाई लिने गरिन्छ । नेपालको हिमालय रेन्जमा त्यहीँ कालो धुवाँले हिमाल पगाल्ने आगोको काम गरिरहेको वैज्ञानिकहरुले बताएका छन् । यो क्षेत्रमा लामो समयदेखि कार्यरत वैज्ञानिकहरु, जलवायु अध्ययन संस्थानहरु र वातावरणविद्हरुका अनुसार नेपालका हिमालहरु पग्लिनु र रसुवामा जस्तै भीषण लेदो बाढी आउनुमा केवल विश्वव्यापी कार्बन उत्सर्जन मात्र जिम्मेवार छैन ।

    यसमा हाम्रो दक्षिणी छिमेकी देश भारत र समग्र गंगाको मैदानबाट उडेर आउने ‘कालो धुवाँका कण’को ठूलो र प्रत्यक्ष भूमिका छ । इन्धन, दाउरा, पराल र पटाका पूर्णरुपमा नजल्दा निस्कने कालो धुवाँलाई ‘ब्ल्याक कार्बन’ भनिन्छ । यी कालो धुवाँका सूक्ष्म कणहरु वायुमण्डलमा तैरिएर हावासँगै उत्तरतर्फ बहन्छन् र उच्च हिमाली क्षेत्रका सेता हिमनदी र हिउँमा गएर जम्मा हुन्छन् ।

    सामान्यतया, सेतो हिउँले सूर्यको किरणलाई करिब ८० देखि ९० प्रतिशतसम्म परावर्तन गरेर हावापानीलाई चिसो राखिराख्छ । तर जब हिउँमा कालो धुवाँका कणहरु थुप्रिन्छन्, हिउँको रङ्ग धमिलो वा कालो बन्छ । यसले सूर्यको तापक्रम परावर्तन गर्नुको सट्टा आफैं सोस्न थाल्छ । नतिजास्वरुप, हिउँ र वरपरको वायुमण्डल द्रुत गतिमा तात्छ, जसले गर्दा हिमनदीहरु सोंचेभन्दा कयौं गुणा तीव्र गतिमा पग्लेर हिमतालहरु फुट्ने र ठूला चट्टानी पहिरो खस्ने गर्छन् ।


    भारतसहित दक्षिण एसियाली क्षेत्रबाट ब्ल्याक कार्बन उत्सर्जन हुने मुख्य स्रोतहरु विभिन्न प्रकारका रहेका छन् । भारत र सीमावर्ती क्षेत्रमा तिहार तथा दीपावलीका बेला एकैपटक पड्काइने करोडांै पटाका र पटाकाबाट निस्कने विषाक्त कालो धुवाँ र रसायनहरु सोझै वायुमण्डलमा फैलिन्छन् । भारतका पञ्जाब, हरियाणा, उत्तर प्रदेश र बिहारका किसानहरुले हिउँदे बाली लगाउनुअघि धान र गहुँको बाँकी पराल खेतमै जलाउने गर्छन् । यसबाट निस्कने विशाल कालो धुवाँको बादल मनसुनी र पश्चिमी वायुसँगै सोझै हिमालय क्षेत्रमा पुग्छ ।


    भारतमा हाल ३० करोडभन्दा बढी सवारीसाधनहरु सञ्चालनमा छन् । यीमध्ये पुराना र डिजेलबाट चल्ने गाडीहरुबाट निस्कने कालो धुवाँ ब्ल्याक कार्बनको ठूलो स्रोत हो । त्यस्तै, राजस्थानको थार मरुभूमिबाट उड्ने धुलिया कणहरु र औद्योगिक करिडोरहरुबाट निस्कने धुवाँ हिमाली टाकुराहरुमा पुगेर हिउँमा बाक्लो लेयरका रुपमा जम्मा हुन्छ ।

    अन्तर्राष्ट्रिय मञ्चमा नेपालको निरन्तर आवाज, सुन्न कोही तयार छैन


    संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय मञ्चमा नेपालको तीन दशकदेखि निरन्तर जलवायु परिवर्तनले नेपाललाई पारेको असरका विषयमा आवाज उठाउँदै आएको छ । वर्तमान प्रधानमन्त्री बालेन शाहले पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपाललाई परिरहेको असरका विषयमा प्रष्ट कुरा राखेका छन् ।

    यसअघिका प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रसंघ महासभामा यस विषयमा गम्भीरताका साथ आवाज उठाएका छन् । तत्कालीन प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा नेपाल आएका राष्ट्रसंघ महासचिव एन्टिनियो गुट्रेसले महासभामै नेपाल पुगेर आफूले दिएको चेतावनीका बारेमा स्मरण गराएका छन् ।


    नेपालले आफूले नगरेको अपराधको सजाय पाइरहेको यो विषय आज मात्र उठाएको होइन । विगत तीन दशकदेखि नेपालले संयुक्त राष्ट्रसंघ र विभिन्न अन्तर्राष्ट्रिय जलवायु सम्मेलनहरुमा आफ्नो आवाज निरन्तर उठाउँदै आएको छ । सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ढाँचा महासन्धिसँगै नेपालले ‘प्रदूषकले क्षतिपूर्ति तिर्नुपर्छ’ र ‘साझा तर भिन्न उत्तरदायित्व’को सिद्धान्तलाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो अधिकार मागेको थियो ।


    सन् २००८ मा क्योटो सम्झौता लागू भएपछि नेपालले अति कम विकसित देशहरुको समूहमा रहेर धनी देशहरुले अनिवार्य रुपमा कार्बन उत्सर्जन घटाउनुपर्ने र नेपाल जस्ता साना देशहरुलाई अनुकूलनका लागि आर्थिक सहयोग दिनुपर्ने अडान राखेको छ । सन् २०११ मा नेपालले अतिकम विकसित देशहरुको अध्यक्षको रुपमा जलवायु वित्तमा हिमाली देशहरुको पहुँच सोझै र बिनासर्त हुनुपर्ने मागको नेतृत्व ग¥यो । सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको ऐतिहासिक सम्झौतामा नेपालले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि बढ्न दिन नहुने र हिमाली पर्यावरणलाई विशेष संकटापन्न क्षेत्र घोषणा गरिनुपर्ने अडान राखेको थियो ।
    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सन् २०२३ को अक्टोबरमा नेपालको अन्नपूर्ण आधार शिविर र सोलुखुम्बु क्षेत्रको भ्रमण गरेका थिए । भ्रमणका क्रममा हिमालको प्रत्यक्ष अवस्था देखेका गुटेर्रेसले अन्नपूर्णको काखबाटै विश्वलाई सम्बोधन गर्दै भनेका थिए– ‘विश्वको छत पग्लिरहेको छ, अब विश्वका धनी देशहरु जाग्नुपर्छ ।’

    प्रधानमन्त्री शाह र राष्ट्रसंघ महासचिवद्वारा महासभामा चेतावनी
    २०२६ सेप्टेम्बरमा न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ८१औैं महासभामा हालै रसुवामा आएको प्रलयकारी बाढी र त्यसले निम्त्याएको संकट बहसको केन्द्रीय विषय बन्यो । महासचिव एन्टोनियो गुटेर्रेसले महासभाको उद्घाटन सत्रमा बोल्दै तीन वर्षअघि नेपालका हिमालमा पुगेर दिएको चेतावनी स्मरण गरे । गुटेर्रेसले गम्भीर बन्दै भने, ‘मैले तीन वर्षअघि सगरमाथा र अन्नपूर्णको काखमा उभिएर विश्वको छत भत्किँदैछ भनेर चिच्याएको थिएँ ।

    तर विश्वका ठूला र धनी शक्तिहरुले त्यस चेतावनीलाई बेवास्ता गरे । आज नेपालको रसुवामा भएको विनाश र सयौं निर्दोष मानिसको मृत्यु त्यसैको परिणति हो । प्रदूषण गर्ने औद्योगिक राष्ट्रहरुले आफ्नो प्रतिबद्धता र क्षतिपूर्ति पूरा नगर्दासम्म यो प्रलय रोकिने छैन ।’


    महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीको दर्दनाक चित्र विश्वसामु राखे । उनले कूटनीतिक औपचारिकताभन्दा माथि उठेर धनी देशहरुलाई सोझै प्रश्न गरे । प्रधानमन्त्री शाहले राष्ट्रसंघमा भने, ‘म यहाँ केवल विकास र लोकतन्त्रका कुरा गर्न आएको होइन, माटो र लेदोमुनि पुरिएका आफ्ना प्रियजनको शव खोजिरहेका हिमाली जनताको कारुणिक रोदन लिएर आएको हुँ ।’

    जलवायु न्यायका लागि राहत, पुनस्र्थापना, पुनर्निर्माण, जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता हुनुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय शक्तिराष्ट्रहरुको दोहोरो चरित्रमाथि प्रधानमन्त्री शाहले प्रहार गरे । उनले भने, ‘विश्वका ठूला शक्तिहरुले युद्धका लागि ७२ घण्टाभित्र गोलाबारुद र क्षेप्यास्त्र संसारको जुनसुकै कुनामा पु¥याउन सक्छन्, तर जलवायु विपद्बाट घरबारविहीन भएका गरिब र निर्दोष मानिसका लागि क्षतिपूर्ति रकम वर्षौंसम्म कागजी प्रक्रियामा अल्झाइन्छ । यो अन्तर्राष्ट्रिय अन्याय हो ।’


    नेपालले कुल भूभागको झण्डै ५० प्रतिशत बनजंगल जोगाएको, जलविद्युत् र विद्युतीय सवारीलाई तीव्रता दिएर कार्बन न्युट्रल बन्ने दिशामा काम गरिरहेको तर बदलामा विनाश मात्र भोग्नुपरेको उनले स्पष्ट पारे । प्रधानमन्त्री शाहले नेपाल, भारत र चीन मिलेर हिमाल जोगाउन र विपद् व्यवस्थापन गर्न एक साझा प्राविधिक तथा वित्तीय संयन्त्र बनाउनुपर्ने ठोस प्रस्ताव गरे ।

    इसिमोडको प्रतिवेदन– हिमालय क्षेत्रमा प्रलय नजिक छ
    अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले मार्च २०२६ मा सार्वजनिक गरेको ‘हिन्दुकुश हिमालय हिमनदी परिदृश्य २०२६’ प्रतिवेदनले हिमाली क्षेत्रको भयावह अवस्था सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार हिउँ पग्लिने गति दुई गुणाले बढेको छ । सन् २००० यता हिन्दुकुश हिमालय क्षेत्रमा हिमनदी पग्लेर हिउँ रित्तिने दर पहिलोको तुलनामा दुई गुणाले बढेको छ ।


    हिमालय क्षेत्रमा १ देखि २ डिग्री सेल्सियस तापक्रम बढ्दा हुने सम्भावित महाविपत्तिको चित्र प्रतिवेदनले सार्वजनिक गरेको छ । १ डिग्री तापक्रम बढेमा हिन्दुकुश हिमालय क्षेत्रका ३३% देखि ५०% हिमनदीहरु यो शताब्दीको अन्त्यसम्ममा पूर्ण रुपमा लोप हुनेछन् । हिमतालहरु फुटेर लेदोसहितको बाढी आउनेछ, जसले पहाडी बस्ती र जलविद्युत् आयोजनाहरु ध्वस्त पार्नेछ ।


    २ डिग्री सेल्सियस वृद्धि भएमा ५०% देखि ६०% भन्दा बढी हिमनदीहरु पग्लेर सदाका लागि समाप्त हुनेछन् । शुरुमा विनाशकारी बाढी आउनेछ भने पछि गंगा, सिन्धु र ब्रह्मपुत्र जस्ता ठूला नदीहरु सुक्नेछन् । दक्षिण एसियाका पौने दुई अर्ब मानिसहरु खानेपानी र कृषि संकटमा परी ’जलवायु शरणार्थी’ बन्न बाध्य हुने कुरा प्रतिवेदनमा छ ।

    नेपालले अब के गर्ने त ?
    नेपालले धनी देशहरुसँग दया, भिख वा अनुदान माग्ने होइन । नेपालले आफ्ना अधिकारका रुपमा दुई प्रमुख कोषबाट क्षतिपूर्ति पाउन पहल गर्नुपर्छ । पहिलो अनुकूलन कोष र दोस्रो हानि तथा नोक्सानी कोषबाट क्षतिपूर्ति पाउनुपर्छ । अनकूलन कोषबाट जलवायु परिवर्तनका असरहरुसँग जुध्न, नदीहरुमा तटबन्ध निर्माण गर्न, पूर्वसूचना प्रणाली जडान गर्नका लागि नेपालजस्ता देशलाई तत्काल शतप्रतिशत अनुदानका रुपमा रकम हस्तान्तरण गरिनुपर्छ ।


    रसुवामा जस्तै आएको प्राकृतिक विपत्ति, जहाँ पूर्वतयारी वा अनुकूलनका उपायहरुले काम गर्दैनन् र सोझै जीवन तथा पूर्वाधारको विनाश हुन्छ, त्यसको प्रत्यक्ष आर्थिक भर्पाइ हानि तथा नोक्सानी कोषमार्फत धनी राष्ट्रहरुले गर्नुपर्छ । नेपालले ऋण लिएर विपद्को पुनर्निर्माण गर्ने होइन, बरु विश्वका धनी र बढी उत्सर्जनकर्ता देशहरुबाट ऋणमुक्त सोझै अनुदान र क्षतिपूर्ति पाउन पहल गर्नुपर्नेमा विज्ञहरुको जोड छ ।

    अविरल वर्षा रोकिएर माैसम खुलेसँगै पोखरामा आइतबार बिहान देखिएकाे माछापुच्छ्रे । राधिका कँडेल पोखरा,११ असोज(रासस):


    रसुवाको विनाशकारी बाढी कुनै सामान्य प्राकृतिक दुर्घटना मात्र होइन, यो विश्वका औद्योगिक देशहरुले गरेको वातावरणीय अपराधको परिणति हो । प्रदूषण अरुले गर्ने र त्यसको भयानक मूल्य नेपालका निर्दोष नागरिकले ज्यान दिएर चुकाउनुपर्ने यो व्यवस्था घोर अन्यायपूर्ण छ । यदि विश्वका धनी र औद्योगिक राष्ट्रहरुले तत्काल आफ्नो कार्बन उत्सर्जनमा कटौती गरेनन् र नेपालजस्ता हिमाली देशहरुलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराएनन् भने हिमालबाट शुरु भएको यो विनाशको लपेटोले भोलि सिङ्गो पृथ्वी र तिनै धनी राष्ट्रहरुलाई पनि असर पर्नेछ ।


    हिमाल भूगोलका हिसाबले नेपालमा धेरै छ । तर, यसको असर संसारका सबै देशमा पर्ने गरेको छ । हिमाल केवल नेपालको मात्र होइन, सिङ्गो मानव सभ्यताको पानीको स्रोत हो । हिमाल बाँचे मात्र पृथ्वी बाँच्नेछ । त्यसैले नेपाल सरकारले जलवायु परिवर्तनबाट परेका असरका विषयमा आफैंले पनि अन्तर्राष्ट्रिय फोरमहरु तयार गरेर बहस चलाउनु पर्छ ।

    (वातावरणीय क्षेत्रमा क्रियाशील वैज्ञानिक तथा नेपाली विज्ञसँगको कुराकानी, इसिमोडलगायत विभिन्न संघसंस्थाका प्रतिवेदन, संयुक्त राष्ट्रसंघका निर्णय र विभिन्न अनुसन्धान रिपोर्टका आधारमा यो समाचार तयार गरिएको हो । –सम्पादक)

  • इराकबाट अमेरिकी सेना फिर्ता

    इराकबाट अमेरिकी सेना फिर्ता


    वासिङ्टन, १६ असोज (रासस–क्युएनए) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा इस्लामिक स्टेट (आइएसआइएस) विरुद्धको सैन्य अभियान पूरा भएको दाबी गर्दै त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गरेका छन् । उनले अमेरिकी सेना फिर्तीलाई संयुक्त राज्य अमेरिका र इराक दुवैको विजयका रूपमा चित्रण गरे । ट्रम्पले बिहीबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत इराकबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गरे । उनका अनुसार आइएसआइएसलाई परास्त गर्ने अमेरिकी सेनाको मिसन पूरा भएपछि ‘अपरेसन इनहेरन्ट रिजोल्व’ अन्त्य गरिएको हो ।

    उनले इराकबाट अमेरिका फर्किने निर्णयलाई आफ्नो पहिलो कार्यकालमा सुरु गरिएको अभियानको निष्कर्षका रूपमा प्रस्तुत गरेका छन् । ट्रम्पले आफ्नो पहिलो प्रशासनका क्रममा आइएसआइएसलाई पूर्ण रूपमा परास्त गरिएको दाबी गर्दै त्यसका लागि आवश्यक सैन्य उपकरण उपलब्ध गराउनुका साथै अमेरिकी सेनाको अस्थायी उपस्थिति स्थायी बन्न नदिने स्पष्ट नीति लिएको बताए ।


    ट्रम्पले इराकमा अमेरिकी सेना राखिरहने वा स्वदेश फर्काउनेमध्ये एउटा विकल्प रोज्नुपर्ने अवस्था आएको उल्लेख गर्दै अब अमेरिकी सेना घर फर्कने समय भएको निष्कर्षमा पुगेको बताए । उनले इराकमा नयाँ प्रधानमन्त्रीको नेतृत्वमा नयाँ अवस्था सिर्जना भएको उल्लेख गर्दै आफूले सुरुदेखि नै उनलाई समर्थन गरेको र अहिले पनि पूर्ण समर्थन रहेको बताए ।


    यसअघि अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इराकमा ‘अपरेसन इनहेरन्ट रिजोल्व’ अन्तर्गतको मिसन अन्त्य भएको घोषणा गरेको थियो । सेन्टकमका अनुसार इराकको इरबिल एयर बेसबाट अमेरिकी सेना तथा सैन्य उपकरण फिर्ता गर्ने काम व्यवस्थित रूपमा सम्पन्न भएको छ । ट्रम्पले अमेरिकी सेना फिर्तीलाई आइएसआइएसमाथिको निर्णायक विजयसँग जोड्दै संयुक्त राज्य अमेरिका र इराक दुवैका लागि उपलब्धिका रूपमा व्याख्या गरेका छन् ।

  • प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डाको भविष्य अनिश्चित

    प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डाको भविष्य अनिश्चित

    कोपनहेगन, १६ असोज (रासस–एएफपी) । प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई सुरुवाती एघार खेलाडीको सूचीमा नराख्ने घोषणा गरेपछि बढेको विवादबीच उहाँको राष्ट्रिय टोलीमा भविष्य अनिश्चित भएको छ । पोर्चुगलका ४१ वर्षीय सुपरस्टारले प्रशिक्षकको टोली छाडेर हिँडेका बताइएको छ ।

    रोनाल्डोले बुधबार ढिलो गरी टोली छाडेको घोषणा गर्नुभएको थियो । त्यसअघि प्रेस सम्मेलनमा जेससले पाँच पटकको बलोन डी’ओर विजेता रोनाल्डोलाई लगातार दोस्रो खेलका लागि सुरुवाती ‘लाइनअप’ बाट बाहिर राख्ने पुष्टि गरेका छन् । पूर्व रियल म्याड्रिडका ‘फरवार्ड’ रोनाल्डोले युइएफए नेसन्स लिगअन्तर्गत डेनमार्कविरुद्धको खेलको अघिल्लो दिन पार्केन स्टेडियममा साथीहरूसँग प्रशिक्षण गर्नुपर्ने थियो तर जेससको खेल योजना घोषणापछि उनी हिडेका थिए ।

    “राष्ट्रिय टोलीका प्रशिक्षकको प्रेस सम्मेलनपछि र पोर्चुगाली फुटबल संघका अध्यक्षसँगको कुराकानीपछि मैले राष्ट्रिय टोलीको भूमिका छाड्ने निर्णय गरेको छु,” रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन् । रोनाल्डोले आइतबार नर्वेविरुद्धको २–१ को नेसन्स लिग जितमा पुरै समय बेन्चमा बिताए । त्यसअघि गत बिहीबार वेल्सविरुद्धको १–० को घरेलु जितमा उनी कप्तान थिए । यी खेलहरू विश्वकप वा युरोपियन च्याम्पियनशिप जत्तिको महत्त्व नभएकाले राष्ट्रिय टोलीका कोचहरूले खेलाडीहरूलाई घुमाएर खेलाउनु सामान्य हो।

    तर रोनाल्डोले जेससको निर्णयका कारणहरू गहिरो रहेको सङ्केत गरे । “उचित समयमा म पोर्चुगाली जनतालाई मैले सधैँ आफूलाई समर्पित गरेको मेरो राष्ट्रिय टोली छाड्नुका कारणहरूको सत्य बताउनेछु,” उनले भने । यसले उनी अन्तर्राष्ट्रिय खेल मञ्चबाट स्थायी रूपमा बाहिरिने सङ्केत गरेको छ।

    “कुनै अपवादबिना अहिले पोर्चुगल र मेरा सबै साथी खेलाडीहरूलाई भविष्यका लागि शुभकामना दिने समय हो,” उनले भने । स्पेनी खेलकुद दैनिक मार्काले जेसस र पोर्चुगाली संघका अध्यक्ष पेड्रो प्रोएन्काले रोनाल्डोलाई टोलीमा रोक्न कोपनहेगन विमानस्थलसम्म पछ्याएको बताएको छ तर उनी आफ्नो निजी जेटमा चढेका थिए ।
    जुलाईमा नियुक्त भएका ७२ बर्षीय जेससले बुधबार सुरुमै आफू र रोनाल्डोबीच कुनै मतभेद नभएको जोड दिँदै नर्वेविरुद्ध बेन्चमा बस्दा कप्तान निराश भएको स्वीकार गरे । समाचारले सामाजिक सञ्जालमा आक्रोसको लहर र रोनाल्डोकी बहिनी एल्मा अवेइरोबाट क्रोधित प्रतिक्रिया जन्मायो।

    ‘उनीहरूले कुनै पनि कुराको उत्कृष्टता पाउन लायक छैनन्,” उनले इन्स्टाग्राममा पोर्चुगाली जनतालाई सङ्केत गर्दै भनिन् । ‘हामी ईष्र्यालु, घृणायुक्त र अज्ञानी छौँ र सीआर–७ अघिको फुटबल युगको मध्यमत्वमा फर्कन लायक छौँ।’ ओस्लोको खेल नोभेम्बर २०२४ पछिको पहिलो अवसर थियो जब रोनाल्डो घाइते वा निलम्बित नभई पनि पोर्चुगलका लागि खेखेनन् ।
    “कुनै घटना नै भएन,” जेससले त्यो खेलपछि पत्रकारहरूलाई भने । उनले रोनाल्डोलाई साउदी क्लब अल–नस्रमा एक वर्ष कोच गरेको पछि पोर्चुगलको जिम्मेवारी लिएका थिए । “म आफैं पनि खेलाडी थिएँ । मलाई थाहा छ कुनै पनि खेलाडी जब २० वा ३० मिनेट वार्मअप गर्छ र त्यसपछि मैदानमा आउन्न त्यसमा कोही खुसी हुँदैन,” जेससले बुधबार भने ।
    पोर्चुगाली प्रशिक्षकले खेलअघि रोनाल्डोलाई सुरुवाती एघार पहिलो चरणको खेलाडीको सूचीमा नराखिएको सायद पछि झारिने बताएको पनि बताए । जेससले भने, “प्रशिक्षकको हैसियतमा मैले पछि उनलाई नखेलाउने निर्णय गरेँ। यो हल्ला मच्चाउने कुरा होइन।”

    रोनाल्डोको प्रस्थानपछि पोर्चुगाली फुटबल संघले भनेको छ, “डेनमार्क र नर्वेविरुद्धका दुई खेलको तयारी बाँकी २४ खेलाडीसहित योजनाअनुसार जारी छ।”
    “पूरै प्रतिनिधिमण्डल राष्ट्रिय टोलीका आगामी खेलहरू र निर्धारित उद्देश्य हासिल गर्न पूर्ण रूपमा केन्द्रित छ,” संघले भनेको छ । जेससले पहिले नै डेनमार्कविरुद्ध एसी मिलानका स्ट्राइकर गोन्कालो रामोसलाई फेरी सुरुवात गराउने बताएका थिए । उनले नर्वेमा विजयी गोलका लागि योगदान गरेका थिए ।

    “यदि सबै योजनाअनुसार भयो भने गोन्कालो नै खेल्नेछन्,” उनले भने । उनले रोनाल्डोबारे भने, “यदि मलाई उनको आवश्यकता भयो भने उनी आउन सम्भव छ । आवश्यकता महशुस नभए बोलाइनेछैन ।” रोनाल्डोले हालै यो सिजन ‘सम्भवतः आफ्नो फुटबलको अन्तिम वर्ष’ हुने घोषणा गरिसकेका थिए । उनी पोर्चुगलका सर्वाधिक गोलकर्ता र सर्वाधिक प्रसिद्ध खेलाडी हुन् । उनले पोचुगलका लागि खेलेका २३४ खेलमा १४६ गोल गरेका छन् । पूर्व स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल र युभेन्टस स्ट्राइकरले २००३ मा १८ वर्षको उमेरमा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।
    त्यसको अर्को वर्ष उनी युरो २००४ को फाइनलमा घरेलु टोलीका रूपमा ग्रीससँग पराजित पोर्चुगल टोलीमा खेलेका थिए । उहाँको कप्तानीमा सन् २००६ को विश्वकप सेमिफाइनलसम्म पुगेको थियो । उनले सन् २०१६ को युरोमा देशलाई विजय दिलाए । रोनाल्डो र पोर्चुगल यस वर्षको विश्वकपमा अन्तिम १६ मा स्पेनसँगको खेलबाट बाहिरिएका थिए।

  • फ्लाई दुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ दिने घोषणा

    फ्लाई दुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ दिने घोषणा

    जेरुसेलम, १६ असोज (रासस–एएफपी) । इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’ पुरस्कार दिने घोषणा गरेका छन् । ती यात्रुले फ्लाईदुबईको सह–चालकलाई नियन्त्रणमा लिई उनीहरू सवार विमान दुर्घटना गराउने प्रयास रोकेका थिए । “तपाईंहरूले अरूलाई बचाउन आफूलाई जोखिममा पार्नुभयो र ठूलो विपत्ति रोक्नुभयो। आज संसारले इजरायली समाजको सुन्दर र साहसी अनुहार देख्यो,” इररायलमा मुख्यतया औपचारिक भूमिकामा रहने राष्ट्रपति हर्जोगले जारी गरेको एक वक्तव्यमा भनेका छन् ।


    उनले भने, “म तपाईंहरूमाथि गर्व गर्छु र इजरायलको तर्फबाट धन्यवाद दिन्छु।” उनले विमान चालक भारतीय नागरिक स्मित मच्छाको पनि मुक्तकण्ठाले प्रशंसा गरे । इजरायली अधिकारीहरूका अनुसार सह–पाइलटले चक्कु प्रहार गरेपछि उनले ककपिटको ढोका खोली यात्रु र चालकदलका सदस्यलाई सूचना गरी उनीहरूको सहयोगमा आक्रमणकारीलाई नियन्त्रणमा लिएर विमान बचाउन सफल भएका थिए ।
    हर्जोगको कार्यालयले सुरुमा चार जना पुरस्कार विजेताको नाम घोषणा गरेको थियो तर पछि पाँचौं व्यक्तिको रूपमा ताली मानेसको नाम थपेको थियो । उनका पतिलाई पहिले पुरस्कार दिने घोषणा गरिएका चार जनामा समावेश गरिएको थियो । राष्ट्रपतिको कार्यालयका अनुसार मानेसले ककपिटमा हल्लीखल्ली सुनेर पहिलो पटक यात्रुहरूलाई सचेत गराएकी थिइन् र सहयोग मागेकी थिइन् ।


    राष्ट्रिय नागरिक वीरता पुरस्कार पाउने अन्य इजरायलीहरूमा यानिभ हायुन पनि रहेका छन् । उनी पेशाले प्लम्बर हुन, तर उहाँले नै ककपिटमा पसेर सह–चालकलाई नियन्त्रणमा लिन पहिलो पहल गरेका थिए । हायुनलाई रगत लागेको सर्टमा नै बुधबार इजरायल फर्केपछि बेन गुरियन विमानस्थलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले व्यक्तिगत रूपमा स्वागत गरेका थिए ।


    यात्रुहरूले एक महिलाले चिच्याएर चालकमाथि चक्कु प्रहार भएको बताएपछि हायुन ककपिटतिर दौडेर गई आक्रमणकारी सहचालकलाई बचाउन सहयोग गरेका थिए । “यो असाधारण घटना थियो,” आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गर्ने र पुरस्कार पाउने आसफ राजुआनले उद्धारकार्यबारे राष्ट्रपतिसँगको प्रतिक्रियामा भने । उनले भने, “हामी असहाय महसुस गर्दै थियौँ, हावामा तैरिरहेका थियौँ र यो कार्य आफु बाँच्न, परिवार, मानिस र बच्चाहरूलाई बचाउन निर्विकल्प कार्य थियो ।”

  • ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा

    ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा

    वासिङ्टन, १६ असोज (रासस–एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाईदुबईको उडानमा सह–पाइलटको आक्रमणपछि विमानलाई सम्भावित दुर्घटनाबाट जोगाउन साहस देखाएका भारतीय क्याप्टेन स्मित मच्छरको प्रशंसा गरेका छन् । उनले घटनाबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुराकानी गरेको बताउँदै आक्रमणकारी सम्भावित आतङ्कवादी वा असामान्य व्यक्ति हुन सक्ने टिप्पणी गरे ।


    फ्लाईदुबईको एफजेड१०७३ उडानमा सह–पाइलटले ककपिटभित्र क्याप्टेन मच्छरमाथि छुरा प्रहार गरेपछि विमान हजारौँ फिट तल झरेको थियो । त्यसपछि यात्रु तथा चालक दलका सदस्यले हस्तक्षेप गरी आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमानलाई साउदी अरेबियामा सुरक्षित अवतरण गराइएको थियो ।

    ट्रम्पले गम्भीर घाइते भए पनि क्याप्टेन मच्छरले ककपिटको ढोका खोल्न सफल भएको र यात्रुहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिन महत्त्वपूर्ण भूमिका खेलेको बताए । एक इजरायली यात्रुले उडानको कुनै अनुभव नभए पनि ककपिटमा पुगेर आक्रमणकारीलाई पाइलटको सिटबाट हटाउन सहयोग गरको थिए ।

    इजरायली प्रधानमन्त्री नेतान्याहुले यात्रु यानिव हयुनलाई ‘साँचो नायक’ भन्दै उनको साहसको प्रशंसा गरे । घटनामा विमानमा रहेका १७४ जनाको ज्यान जोगाउन क्याप्टेन, यात्रु तथा चालक दलका सदस्यको संयुक्त प्रयास महत्त्वपूर्ण भएको इजरायलको विदेश मन्त्रालयले जनाएको छ ।

    इजरायलस्थित भारतीय दूतावास तथा भारतका लागि इजरायली राजदूत रुभेन अजारले क्याप्टेन मच्छरको साहस, संयम र कर्तव्यप्रतिको समर्पणको प्रशंसा गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । संयुक्त राज्य अमेरिकाका लागि भारतका राजदूत विनय मोहन क्वात्राले पनि उनीलगायत अन्य यात्रुको प्रयासले सम्भावित ठूलो दुर्घटना टार्न सहयोग पुगेको बताए ।


    क्याप्टेन मच्छरसँग १३ वर्षभन्दा बढीको व्यावसायिक उड्डयन अनुभव र बोइङ–७३७ विमानमा करिब नौ हजार ७५० घण्टाको उडान अनुभव रहेको बताइएको छ । उनले फ्लाईदुबईमा आबद्ध हुनुअघि भारतीय एयरलाइन्समा ११ वर्ष काम गरेका थिए । घटनाको अनुसन्धान भइरहेकाले फ्लाईदुबईले इजरायल जाने तथा इजरायलबाट हुने उडान अस्थायी रूपमा स्थगित गर्ने जनाएको छ ।

  • प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दावी

    प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दावी

    पेरिस, १३ असोज (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्रमाथि लगाएको प्रतिबन्ध सफल भएको बताएको छ । अमेरिकाले सेप्टेम्बरको सुरुमा इरानको सम्पूर्ण उड्डयन क्षेत्रमाथि प्रतिबन्ध लगाएको थियो । यो दवावपूर्ण अभियान अन्तर्गत इरानले ‘आर्थिक श्वासरोध’ हुने दाबी अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले गरेका थिए । वासिङ्टनले विदेशी कम्पनीहरूलाई सेप्टेम्बर २३ सम्म यो प्रतिवन्धलाई पालना गर्न समय दिएको थियो । त्यसपछि बेसेन्टले सबै इरानी एयरलाइन्सहरू ‘विश्वभरि बन्द हुने’ दावी गरेका थिए ।


    उनले भने, “यदि उनीहरू अवतरण गर्छन् भने, “तपाईंले उनीहरूलाई इन्धन नदिनूहोस्, अवतरण सेवा नदिनूहोस्, टिकट नबेच्नुहोस् । अन्यथा तपाईं डलर प्रणालीबाट बाहिरिनुहुनेछ।” अमेरिकी कदमलाई अवैध भन्दै तेहरानले सोमबार संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय न्यायालयमा उजुरी दिएको घोषणा गरेको छ।

    –तेहरानबाट ३० अन्तराष्ट्रिय गन्तव्यतर्फ उडान–

    इरानले भने तेहरानबाट मात्रै करिब ३० अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सेवा जारी राखेको दाबी गरेको छ । ‘ट्र्याकिङ वेबसाइट’ फ्लाइटरडार–२४ का अनुसार आइतबार तेहरान अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल ४१ उडान उडे वा अवतरण गरेका थिए । प्रतिबन्ध लागू हुनुअघिका दुई दिनको दैनिक औसत ८० देखि ९० उडानको तुलनामा यो कम हो।

    दुई मुख्य इरानी एयरलाइन्स इरान एयर र निजी स्वामित्वको महान एयर प्रतिवन्धबाट सबैभन्दा बढी प्रभावित भएका बताइएको छ । आइतबार तेहरान विमानस्थलबाट उडेका २४ उडानमध्ये केवल पाँच महान एयर र दुई इरान एयरद्वारा सञ्चालित थिए । प्रतिबन्धअघि प्रत्येकले करिब १० उडान भर्थे ।

    यी आँकडाले बेसेन्टले भनेको ८० देखि ९० प्रतिशत उडान अवरूद्धता भएको भनेभन्दा बढी सङ्कट देखिन्छ भने तेहरान विमानस्थलले आइतबार ६० उडान सञ्चालन गरेको दाबीभन्दा यो निकै कम हो । इरानी राष्ट्रिय टेलिभिजनमा प्रशारित समाचारमा विमानस्थल निर्देशकलाई उद्धृत गर्दै भनिएको छ “करिब ३० वा त्योभन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यहरूमा अझै सेवा दिइँदै आएको छ।”

    –चीन, रूस र टर्कीद्वारा प्रतिबन्ध अस्वीकार–

    तेहरानको प्रमुख आर्थिक सहयोगी बेइजिङले अमेरिकी प्रतिबन्धलाई ‘अवैध र एकपक्षीय’ भन्दै यसलाई पालना गर्न पूर्ण रूपमा अस्वीकार गरेको छ । महान एयरका उडानहरूले चिनियाँ विमानस्थलहरूमा सेवा जारी राखिरहेका छन् । रूस र पाकिस्तानका उडानहरू पनि जारी छन्, यद्यपि कुनै पनि देशले प्रतिबन्धबारे टिप्पणी गरेको छैन । महान एयरलाइन्सका अनुसार महान एयरले टर्कीका अधिकारीहरूको अनुरोधमा टर्कीका उडानहरू रोकेको छ ।

    इरान एयरले भने इस्तानबुलमा दैनिक उडान जारी राखेको छ। साना इरानी ध्वजाबाहकहरूले पनि टर्कीका अन्य शहरहरूमा सेवा दिइरहेका छन्। अर्मेनिया, अफगानिस्तान, बेलारुस र मलेसियामा प्रतिबन्ध अझै लागू भएको छैन । यी देशहरूमा मुख्य रूपमा साना इरानी एयरलाइन्सहरूद्वारा सेवा दिइन्छ । वासिङ्टनले प्रतिबन्ध पालना नगर्ने देशहरूविरुद्ध कुनै कारबाही गर्ने कि नगर्ने घोषणा गरेको छैन ।

    – खाडीमुलुक –

    युरोप, एसिया वा अफ्रिका पुग्न चाहने इरानी यात्रुहरूको प्रमुख केन्द्र संयुक्त अरब इमिरेट्सले आफ्नो क्षेत्रमा सबै इरानी उडानहरू ‘थप सूचना नआएसम्म’ का लागि निलम्बन गरेको छ । कुवेत नागरिक उड्डयन महानिर्देशनालयका एक स्रोतले सोमबार एएफपीलाई बताए अनुसार सात महिनाअघि युद्ध सुरु भएदेखि नै इरानी एयरलाइन्सहरूलाई कुवेत प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

    अन्य खाडी देशहरूले कुनै घोषणा गरेका छैनन् तर उनीहरूका विमानस्थल वेबसाइटहरू अनुसार उडानहरू निलम्बन गरिएका देखिन्छन् । इरानको आईएसएनए समाचार एजेन्सीले विमानस्थल अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ, “इरानी उडानहरू अब अजरबैजान र जर्जिया तथा इराकमा जाने छैनन् । इराक भने प्रतिबन्धबाट छुट खोजिरहेको छ ।”

    इराकी सरकारले शनिबार संयुक्त राज्य अमेरिकासँग इरानी एयरलाइन्सहरूमाथिको प्रतिबन्धबाट छुट पाउन वार्ता गरिरहेको बताएको छ। यसले बिरामी, विद्यार्थी र तीर्थयात्रीहरूको यात्रा प्रभावित पारेको इराकको दावी छ । “इराकी सरकारले यी उपायहरूबाट केही इराकी विमानस्थलहरूलाई छुट दिन अमेरिकी पक्षसँग प्रत्यक्ष वार्ता गरिरहेको छ,” इराकी प्रधानमन्त्रीको मिडिया कार्यालयले भनेको छ ।

    “छुटले ‘चिकित्सा उपचार, शिक्षा, धार्मिक भ्रमण र नागरिकहरूको हित समावेश मानवीय कारण’ का लागि उडानहरू पुनः सुरु गर्न अनुमति दिनेछ,” कार्यालयले थप्यो। इरानी एयरलाइन्सहरूले मुख्य रूपमा इराकी शिया तीर्थयात्रीहरूलाई इरानका पवित्र शहरहरूमा लैजान्छन् वा इराकका पवित्र स्थलहरूमा जाने इरानीहरूलाई सेवा दिन्छन्। यी उडानहरू इरानमा पढ्ने इराकी विद्यार्थी र त्यहाँ चिकित्सा उपचार खोज्ने बिरामीहरूलाई पनि सेवा दिन्छन् ।

  • अमेरिका मध्यपूर्वबाट ‘पीडादायक प्रहार’ सहेर बाहिरिन बाध्य हुने इरानी सर्वोच्च नेता खामेनीको दावी

    अमेरिका मध्यपूर्वबाट ‘पीडादायक प्रहार’ सहेर बाहिरिन बाध्य हुने इरानी सर्वोच्च नेता खामेनीको दावी

    तेहरान, १३ असोज (रासस–एएफपी) । संयुक्त राज्य अमेरिका ‘पीडादायक प्रहार’ सहेर मध्यपूर्व छाड्न बाध्य हुने इरानका सर्वोच्च नेता मोजतबा खामेनीले सोमबार बताएका छन् । इरानी राष्ट्रिय टेलिभिजनले प्रसारित गरेको उनको वक्तव्यमा भनिएको छ, “संयुक्त राज्य अमेरिका ‘पीडादायक प्रहार’ सहेर मध्यपूर्व छाड्न बाध्य हुनेछ।” खामेनीलाई फेब्रुअरीको अन्त्यमा मध्यपूर्वी युद्ध सुरु भएदेखि सार्वजनिक रूपमा देखिएको छैन । लडाइँ अन्त्य गर्ने वार्ता पुनः सुरु गर्ने प्रयासहरू भइरहेका बेला खामेनीका यो भनाइ सार्वजनिक भएको हो ।

    संयुक्त राज्य अमेरिकाको नाम स्पष्ट रूपमा नलिइकन उनको वक्तव्यमा भनिएको छ, “अहिले वीर योद्धाहरू र हर्मुज जलमार्गको रक्षकहरूका हातबाट ‘पीडादायक प्रहार’ सहेर भएपनि उनी (शत्रु) हरू अरब सागरभन्दा पर जान हिचकिचाइरहेका छन् ।” उनले भने, “उनीहरूले यो जोखिम लिएका छन्, उनीहरूले आफैँलाई मात्र हानि पु¥याएका छन् । चाँडै नै अरब सागर पनि उनीहरूको उपस्थितिबाट मुक्त हुनेछ।” अरब सागर, अरब प्रायद्वीपबाट पूर्वतिर भारतसम्म फैलिएको, इरानका तटहरू र हर्मुज जलमार्गमा पुग्ने महत्त्वपूर्ण समुद्री मार्ग हो।

    फेब्रुअरीमा अमेरिका–इजरायली हमला इरानबाट सुरु भएदेखि मध्यपूर्वी युद्धमा इरान र संयुक्त राज्य अमेरिका हर्मुजको नियन्त्रणका लागि लडिरहेका छन् ।
    युद्ध सुरु हुनुअघि यो रणनीतिक ढुवानी मार्गले विश्वको करिब पाँच भागको एक भाग तेल र ग्यास आपूर्तीमा योगदान गर्दै आएको थियो । तर युद्ध सुरु भएपछि तेहरानले हर्मुजमा नाकाबन्दी लगायो, जसका प्रतिक्रिया स्वरूप वासिङ्टनले इरानी बन्दरगाहहरूमा आफ्नो नाकाबन्दी लगाएको घोषणा गरेको थियो ।

  • ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

    ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

    हङकङ, १३ असोज (रासस–एपी) । अमेरिका र चीनले करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार कटौती गर्ने सूची सोमबार सार्वजनिक गरेका छन् । यसले दुई देशबीचको व्यापारिक सम्बन्ध सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको केही दिनपछि यो विवरण सार्वजनिक भएको हो । गत वर्ष कुनै समय चीनबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार दर १४५ प्रतिशतसम्म पुगेको थियो । पछिल्लो समय दुई देशबीचको तनाव कम हुँदै गएपछि अमेरिकाले चीनमाथिको केही भन्सार दर घटाइसकेको छ ।

    चिनियाँ वाणिज्य मन्त्रालयले नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहयोग सुदृढ गर्न सहयोग पुग्ने जनाएको छ । चीनले अमेरिकाबाट आयात गर्ने एक हजार ६१९ प्रकारका वस्तु सूचीमा समेटिएका छन् । तीमध्ये कृषि उपज, व्यक्तिगत स्याहारका सामग्री, काठ, चिकित्सा उपकरण र कोइलालगायत छन् । त्यस्तै, अमेरिकाले चीनबाट आयात गर्ने ७७ वर्गका वस्तुमा भन्सार कटौती गरिनेछ । यसमा आतिशबाजी, भान्साका भाँडाकुँडा, सिसा तथा काठका क्रिसमस सजावटका सामग्री र फुटबललगायत छन् ।

    चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार ९० प्रतिशतभन्दा बढी वस्तुमा ‘मोस्ट फेभर्ड नेसन’ अर्थात् सबैभन्दा प्राथमिकता प्राप्त राष्ट्रको स्तरको भन्सार दर कायम गरिनेछ । यसले सम्बन्धित देशका लागि लगाइएका अतिरिक्त भन्सार दर अधिकांशतः हट्ने जनाइएको छ । अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले सूचीमा दुवै पक्षका गैरसंवेदनशील वस्तु समेटिएको बताए । उनका अनुसार नयाँ व्यवस्थाबाट अमेरिकी किसान, उत्पादक, व्यवसायी र श्रमिकले चीनको बजारमा थप पहुँच पाउन सक्नेछन् ।

    दुवै देशले आवश्यकताअनुसार सूचीमा संशोधन गर्न सकिने सहमति गरेका छन् । तर यस्तो संशोधन बढीमा वर्षमा एकपटक मात्र हुने सम्भावना रहेको बताइएको छ । चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार कृषि क्षेत्रमा थप सहकार्यका लागि दुवै देश सहमत भएका छन् । तर चिप, विद्युतीय सवारीसाधन र ब्याट्रीजस्ता रणनीतिक महत्वका क्षेत्र भने सम्झौतामा समेटिएका छैनन् ।

    द्विपक्षीय व्यापार बढ्ने अपेक्षा
    आइएनजी बैंकका ग्रेटर चाइना क्षेत्रका प्रमुख अर्थशास्त्री लिन सङले भन्सार कटौतीले दुई देशबीचको व्यापारमा उल्लेखनीय वृद्धि हुन सक्ने बताए । चीनबाट अमेरिका निर्यात हुने उपभोक्ता सामग्रीमा बढी ध्यान दिइएकाले अमेरिकी उपभोक्तालाई पनि लाभ पुग्न सक्ने विश्लेषकको भनाइ छ । फ्रान्सेली बैंक नाटिक्सिसका वरिष्ठ अर्थशास्त्री ग्यारी एनजीका अनुसार चीनबाट आयात हुने उपभोक्ता सामग्रीमा भन्सार घट्दा अमेरिकी मुद्रास्फीति नियन्त्रणमा समेत सहयोग पुग्न सक्छ । यसबाट चिनियाँ कम्पनीलाई अतिरिक्त उत्पादन निर्यात गर्ने अवसर पनि बढ्न सक्छ ।

    यद्यपि, केही विश्लेषकले दुवैतर्फ करिब ३० अर्ब डलर बराबरको कारोबार समेटिएको भए पनि यसको समग्र आर्थिक प्रभाव सीमित हुन सक्ने बताएका छन् । बीएनपी पारिबास वेल्थ म्यानेजमेन्टका एसियाली क्षेत्रका प्रमुख लगानी अधिकृत प्रशान्त भयानीका अनुसार यस वर्षको पहिलो सात महिनामा अमेरिकाबाट चीनतर्फ करिब ६८ अर्ब डलर बराबरका वस्तु निर्यात भएका छन् । पहिलो आठ महिनामा चीनबाट अमेरिकातर्फको निर्यात करिब २७० अर्ब डलर पुगेको छ ।

    चीनको व्यापार बचत उच्च रहने अपेक्षा
    गत वर्ष चीनको व्यापार बचत कीर्तिमानी एक दशमलव दुई ट्रिलियन डलर पुगेको थियो । यस वर्ष अगस्टसम्ममा यस्तो बचत करिब ८०० अर्ब डलर पुगेको विश्लेषकहरूले बताएका छन् । अमेरिकाले औद्योगिक क्षमताको अधिकतासम्बन्धी अनुसन्धानअन्तर्गत चीनसहित १६ व्यापारिक साझेदारमाथि छानबिन गरिरहेको छ । अनुसन्धानपछि चीनमाथि थप भन्सार लगाउन सक्ने सम्भावना पनि रहेको छ ।

    यसैबीच, अमेरिका र चीनले गत साता व्यापक व्यापार युद्धविरामको अवधि थप दुई महिना लम्ब्याउने सहमति गरेका थिए । आगामी नोभेम्बरमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलन र डिसेम्बरमा जी–२० शिखर सम्मेलनमा ट्रम्प र सीबीच थप भेटवार्ता हुने अपेक्षा गरिएको छ । दक्षिण चीनमा क्रिसमस सजावटका सामग्री उत्पादन गरी अमेरिका निर्यात गर्ने केही चिनियाँ व्यवसायीले नयाँ भन्सार व्यवस्थाको स्वागत गरेका छन् । यद्यपि, यस वर्षका अधिकांश क्रिसमस सामग्री मुख्य सिजनअघि नै ढुवानी भइसकेकाले तत्काल यसको प्रभाव सीमित हुन सक्ने उनीहरूको भनाइ छ ।

  • ‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक छ’

    ‘सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक छ’


    काठमाडौँ, १० असोजः नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन गर्न अन्तरराष्ट्रिय समुदायबीच सामूहिक र समन्वित प्रयास आवश्यक रहेकामा जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा ‘सगरमाथा टु द सीः अ कल टु एक्सन फर अ क्याइमेट रेजिलियन्ट फ्युचर’ शीर्षकमा नेपालले आज आयोजना गरेको विशेष कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु प्रणालीले राजनीतिक सीमालाई नचिन्ने भएकाले हिमाल, नदी, समुद्र तथा तटीय क्षेत्रलाई एउटै पारिस्थितिक प्रणालीका रूपमा हेर्नुपर्ने बताए ।
    नेपालले पछिल्ला जलवायुजन्य विपद्का घटनापछि जलवायु परिवर्तनका कारण सिर्जित जोखिम र त्यसको प्रभावलाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने सन्दर्भमा भएको उक्त कार्यक्रममा उनले गत महिना लाङटाङ क्षेत्रमा चट्टान र हिमनदीको ठूलो हिस्सा खस्दा जनधन तथा महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति भएको बताए ।


    उक्त घटनालाई ‘हिमालयन सुनामी’ का रूपमा चित्रण गर्दै उहाँले जलवायुजन्य विपद्बारे बहस अपरिहार्य भएकामा जोड दिएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ । मन्त्री खनालले हिमालय क्षेत्र ध्रुवीय क्षेत्रबाहेक विश्वको सबैभन्दा विशाल हिम भण्डार भएको वास्तविकता सुनाउँदै यस क्षेत्रबाट ६३ हजार ७०० भन्दा बढी हिमनदी बग्ने गरेका बताए । पछिल्ला तीन दशकमा नेपालले आफ्नो हिम क्षेत्रको करिब एकतिहाइ भाग गुमाइसकेको बताउँदै हिमनदीको ह्रासबाट तल्लो तटीय क्षेत्रका समुदायलाई असर पारिरहेको बताए ।


    द्विपीय तथा तटीय मुलुकहरूले समुद्री सतह वृद्धि, तटीय क्षय र विस्थापनको सामना गरिरहेको बताउँदै मन्त्री खनालले हिमाल र समुद्रलाई छुट्टाछुट्टै नभई परस्पर जोडिएको जलवायु प्रणालीका रूपमा हेर्नुपर्नेमा जोड दिए । जलवायु सङ्कट सम्बोधनका लागि विज्ञान, नीति र लगानीमा हिमाल, ताजा पानीका प्रणाली र महासागरबीचको सम्बन्धलाई समेट्नुपर्ने, जलवायु प्रक्रियामा हिमाललाई थप प्राथमिकता दिनुपर्ने तथा विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्ने लक्ष्यअनुरूप उत्सर्जन कटौतीलाई तीव्रता दिनुपर्ने उनको भनाइ थियो ।

    विकासशील मुलुकका लागि पर्याप्त, पूर्वानुमानयोग्य र सहज पहुँचयोग्य जलवायु वित्त, प्रविधि तथा क्षमता विकास आवश्यक रहेको उल्लेख गर्दै मन्त्री खनालले हानि तथा क्षतिलाई सम्बोधन गर्ने कोषलाई पर्याप्त स्रोतसहित प्रभावकारी र पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिए । “जलवायु न्याय तब मूर्त हुन्छ, जब देशहरूले प्राप्त गर्ने सहयोगमा जिम्मेवारी, क्षमता र जोखिमको स्तर प्रतिबिम्बित हुन्छ,” उनले भने ।
    जलवायु परिवर्तन न्यूनीकरण तथा वातावरण संरक्षणमा नेपालले आफ्नोतर्फबाट योगदान गरिरहेको, नेपालको करिब ४६ प्रतिशत भूभाग वनले ढाकेको, जलविद्युत् र विद्युतीय यातायातको विस्तार भइरहेको तथा समुदायको नेतृत्वमा हुने वातावरण संरक्षण एवं व्यवस्थापनलाई वर्तमान सरकारले प्राथमिकताका साथ कार्यान्वयन गरेको परराष्ट्रमन्त्री बताए ।