Category: विश्व

  • हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    पेरिस, २४ भदौ (रासस–एपी) । हिन्दू प्रतिनिधिमण्डलको भ्रमणका क्रममा महिला कर्मचारीको उपस्थिति सीमित गर्ने व्यवस्थापनको निर्देशनको विरोधमा भएको हड्तालपछि आइफेल टावर मङ्गलबार पुनः सञ्चालनमा आएको छ । कर्मचारीले उक्त निर्देशनलाई अस्वीकार्य भन्दै विरोध गरेका थिए । सिजिटी युनियनकी प्रतिनिधि डायन डेभोइनले एसोसिएटेड प्रेसलाई बताएअनुसार, सप्ताहन्तमा आइफेल टावरका कर्मचारीबीच व्यवस्थापनको निर्देशनलाई लिएर असन्तुष्टि बढेको थियो । व्यवस्थापनले करिब ३३० मिटर अग्लो टावरमा आउने बोचासनवासी श्री अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बापस)को प्रतिनिधिमण्डलसँग महिला कर्मचारीलाई सम्पर्कमा नआउन निर्देशन दिएको उनको भनाइ छ ।

    बापस स्वामीनारायण सम्प्रदायअन्तर्गतको विश्वव्यापी धार्मिक तथा सामाजिक संस्था हो । संस्थाले फ्रान्सेली राजधानीमा परम्परागत हिन्दू ढाँचामा निर्माण गरिएको मन्दिरको उद्घाटनका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । मङ्गलबार एपीलाई पठाइएको लिखित विज्ञप्तिमा बापसले प्रतिनिधिमण्डलको भ्रमणका क्रममा कर्मचारी र अन्य आगन्तुकलाई हुने सम्भावित असुविधा कम गर्न आइफेल टावर व्यवस्थापनसँग समन्वय गरिएको जनाएको छ ।

    उक्त समन्वय लैङ्गिक आधारमा कुनै अनुरोध गर्ने उद्देश्यले नभएको संस्थाले स्पष्ट पारेको छ । “कुनै पनि अवस्थामा लैङ्गिक आधारमा अनुरोध गरिएको थिएन,” विज्ञप्तिमा भनिएको छ । बापसले आफू “लैङ्गिकता, पृष्ठभूमि वा धार्मिक आस्थाको पर्वाह नगरी समानता, पारस्परिक सम्मान र सबैको सेवाको सिद्धान्तप्रति दृढ प्रतिबद्ध,” रहेको जनाएको छ । संस्थाले यस घटनाबाट कसैलाई चोट वा असहजता पुगेको भए त्यसप्रति क्षमा मागेको छ ।

    आइफेल टावर सञ्चालन गर्ने कम्पनीले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । करिब १३७ वर्ष पुरानो आइफेल टावरमा हरेक वर्ष झन्डै ७० लाख पर्यटक पुग्ने गर्छन् । सिजिटीकी डेभोइनका अनुसार आइफेल टावरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, विभिन्न राजपरिवारका सदस्य तथा ब्रिट्नी स्पियर्सजस्ता चर्चित व्यक्तिसहित विशेष प्रतिनिधिमण्डलको नियमित रूपमा स्वागत गर्दै आएको छ । कर्मचारी त्यस्ता भ्रमणका लागि आवश्यक व्यवस्थापन गर्न तयार रहने भए पनि शनिबार दिइएको निर्देशन असामान्य र अस्वीकार्य रहेको उनको भनाई छ ।


    पेरिसका मेयर इमानुएल ग्रेगोइरले सामाजिक सञ्जाल ‘एक्स’मा घटनाबारे अनुसन्धान गर्ने बताए । “हाम्रा ऐतिहासिक स्मारकको परिसरमा वा यस शहरका अन्य कुनै पनि स्थानमा लैङ्गिक समानता रोकिने छैन,” उनले भनेको छन् । उनले यो सिद्धान्त “सबैतिर र सबैका लागि, कुनै अपवादबिना” लागू हुने सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाए । औद्योगिक विवादका कारण आइफेल टावर बन्द भएको यो पहिलो घटना भने होइन । टावरको उचित मर्मतसम्भार र उच्च पारिश्रमिकको माग गर्दै कर्मचारीले गरेको हड्तालका कारण सन् २०२४ को फेब्रुअरीमा पनि आइफेल टावर छ दिनसम्म बन्द भएको थियो ।

  • इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

    इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु


    लेबनान, २३ भदौ (रासस–एएफपी) । लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी लेबनानको एउटा गाउँमा रातभर भएको इजरायली हवाई आक्रमणमा दुई शिशुसहित ११ जनाको मृत्यु भएको छ । यसअघि भएका छुट्टाछुट्टै आक्रमणमा थप सात जनाको मृत्यु भएको जनाइएको छ । इजरायलले बिहीबार हिजबुल्लाहको नियन्त्रणमा रहेको रणनीतिक महत्वको ‘अली अल–ताहेर’ पहाडी क्षेत्र कब्जामा लिएको दाबी गरेपछि दक्षिणी नबातिह क्षेत्रमा आक्रमण तीव्र पारेको हो । इरानसमर्थित हिजबुल्लाहले भने उक्त दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन ।

    इरानको समर्थनमा रहेको हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि मार्चमा लेबनानमा पुनः द्वन्द्व चर्किएको थियो । जुनमा वासिङ्टन र तेहरानबीच भएको समझदारी तथा सोही महिनाको अन्त्यतिर इजरायल र लेबनानबीच भएको रूपरेखा सम्झौतापछि लडाइँ केही मत्थर भएको थियो । तर इजरायलको विदेश मन्त्रालयले सोमबार हिजबुल्लाहले बारम्बार ड्रोन आक्रमण गरेको र दक्षिण लेबनानमा आफ्नो सैन्य क्षमता पुनःनिर्माण गर्ने प्रयास गरेको आरोप लगाएको छ ।

    मन्त्रालयले हिजबुल्लाहले इजरायल र लेबनानबीच भएको युद्धविराम सम्झौताको उल्लङ्घन गरेको बताएको छ । उक्त सम्झौतामा हिजबुल्लाहलाई निशस्त्रीकरण गर्ने प्रावधानसमेत समावेश छ । लेबनानको आधिकारिक नेसनल न्युज एजेन्सी (एनएनए)का अनुसार, नबातिह नजिकैको फार रुम्मानमा रातभर भएको आक्रमणमा तीनतले आवासीय भवन ध्वस्त हुँदा नौ जनाको मृत्यु भएको थियो ।

    आक्रमणमा लक्षित एउटा गाडीमा रहेका दुई उद्धारकर्मीको पनि मृत्यु भएको एनएनएले जनाएको छ । एएफपीका एक फोटोग्राफरका अनुसार भवन पूर्ण रूपमा ध्वस्त भएको थियो भने भग्नावशेषमा विद्यालयका किताब र फर्निचरका टुक्रा छरिएका थिए । सोमबार बिहान उद्धार टोलीहरूले भग्नावशेष हटाउँदै अन्य पीडितको खोजी गरिरहेका थिए । द्वन्द्वका कारण विस्थापित भएका फार रुम्मानका बासिन्दा जुनमा भएको युद्धविरामपछि घर फर्किएका थिए । “यहाँ फर्किएदेखि नै हामी डरको वातावरणमा बाँचिरहेका छौँ”, स्थानीय बासिन्दा फुवाद चाकारोनले एएफपीलाई बताए ।

    उनका अनुसार आक्रमणमा परेको भवनमा “कसैसँग कुनै सम्बन्ध नभएका शान्तिप्रिय मानिसहरू” बस्दै आएका थिए । आक्रमणपछि छिमेकीहरू घर छाडेर भागेका थिए । एएफपीका फोटोग्राफरका अनुसार विस्फोटका कारण आसपासका अन्य भवनमा समेत क्षति पुगेको थियो । इजरायलले फार रुम्मानमा आक्रमण गर्नुअघि कुनै चेतावनी जारी नगरेको जनाइएको छ । तर नजिकैको देइर जाहरानीमा भएको अर्को आक्रमणअघि भने बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिइएको थियो ।

    इजरायली सेनाका अनुसार उसका सैनिकलाई लक्षित गरी विस्फोटक बोकेको ड्रोन प्रहार गरिएको थियो । सेनाले “हिजबुल्लाहको आतङ्कवादी गतिविधिले इजरायली रक्षा बल (आईडीएफ)लाई उनीहरूविरुद्ध कडा कदम चाल्न बाध्य पारेको” बताएको छ । घटनामा कुनै इजरायली सैनिक घाइते भए वा नभएकोबारे भने सेनाले जानकारी दिएको छैन। सेनाले अरबी भाषामा जारी गरेको सन्देशमा आफूले हिजबुल्लाहको आतङ्कवादी अखडा लक्षित गरिरहेको भन्दै उक्त क्षेत्रमा रहेका मानिसहरू जोखिममा रहेको चेतावनी दिएको थियो ।

    एनएनएका अनुसार चेतावनी जारी भएको २२ मिनेटपछि इजरायली आक्रमणमा देइर जाहरानीस्थित एउटा भवन ध्वस्त भएको थियो । आइतबार लेबनानका राष्ट्रपति जोसेफ आउनले इजरायली आक्रमण रोक्न सहयोग गर्न अमेरिका र अन्तरराष्ट्रिय समुदायसँग आग्रह गरेका थिए । बेरुतका अनुसार मार्चदेखि लेबनानमा भएका इजरायली हवाई तथा स्थल आक्रमणमा चार हजार ३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । इजरायली सेनाले सीमा क्षेत्रमा लेबनानभित्र करिब १० किलोमिटर (६ माइल) सम्म फैलिएको आफ्नो स्वघोषित सुरक्षा क्षेत्रमा कारबाही जारी राखेको छ ।

  • खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छः कतार

    खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छः कतार


    आबुधाबी, २३ भदौ (रासस–एएफपी) । खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा अन्य अन्तरराष्ट्रिय गठबन्धनमा मात्र निर्भर रहन नसक्ने र सुरक्षा क्षेत्रमा अझ बढी आत्मनिर्भर बन्नुपर्ने कतारको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार बताएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीमा आयोजित ‘हिली फोरम’ मा बोल्दै प्रवक्ता माजिद अल–अन्सारीले खाडी क्षेत्रमा अन्तरराष्ट्रिय सेनाको उपस्थिति र अमेरिकासँगको रणनीतिक गठबन्धन महत्वपूर्ण भए पनि त्यसले मात्र क्षेत्रको सुरक्षा सुनिश्चित गर्न नसक्ने बताए ।


    “हामीलाई हाम्रा साझेदार र सहयोगीहरूको आवश्यकता छ । तर आफ्नो सुरक्षाका लागि हामी उनीहरूमा मात्र निर्भर रहन सक्दैनौँ”, उनले भने। उनका अनुसार सुरक्षा क्षेत्रमा आत्मनिर्भरता नै अघि बढ्ने मुख्य बाटो हो । कतार अमेरिका–इरान द्वन्द्वमा प्रमुख मध्यस्थकर्ताका रूपमा सक्रिय रहँदै आएको छ । यस क्रममा उसले आफ्ना ऊर्जा पूर्वाधारलाई लक्षित गरी इरानबाट भएका आक्रमणसमेत सामना गरेको छ ।


    सानो तर धनी ग्यास उत्पादक राष्ट्र कतारले मध्यपूर्वमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य आधारमध्ये एकलाई आश्रय दिँदै आएको छ । द्वन्द्वका क्रममा इरानले अमेरिकी आक्रमणको जवाफमा अमेरिकी सैन्य आधार तथा क्षेत्रका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण गरेको छ ।

    छ महिनादेखिको द्वन्द्वपछि अमेरिका र इरान गतिरोधमा पुगेका छन् । इरानले रणनीतिक महत्वको हर्मुज जलसन्धिमा जहाज आवतजावतमा अवरोध पु¥याइरहेको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथि नाकाबन्दीको दबाब बढाइरहेको छ । गत महिना मध्यस्थता प्रयासस्वरूप कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी तेहरान पुगेका थिए । त्यसअघि हर्मुज जलसन्धिसँग सीमा जोडिएका इरान र ओमानले अस्थायी समुद्री मार्ग ९सिपिङ करिडोर० सञ्चालन तथा जलसन्धिमा रहेका बारुदी सुरुङ हटाउने विषयमा छलफल गरिरहेको बताएका थिए ।

  • होर्मुज जलडमरूमध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी

    होर्मुज जलडमरूमध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी


    कायरो, २३ भदौ (रासस–एपी) । इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित गर्दै जलडमरूमध्य बाहिर नयाँ ‘निषेधित क्षेत्र’ घोषणा गर्ने तयारी गरेको जनाएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नयाँ प्रमुख मोहसेन रेजाईले आइतबार सरकारी सञ्चारमाध्यममार्फत यस्तो जानकारी दिए । उनका अनुसार आगामी केही दिन वा साताभित्र उक्त क्षेत्र घोषणा गरिनेछ । रेजाईका अनुसार निषेधित क्षेत्र अमेरिकी नौसैनिक नाकाबन्दीको सीमाबाट सुरु भएर होर्मुज जलडमरूमध्यतर्फ फैलिनेछ र त्यस क्षेत्रबाट फारसको खाडीतर्फ पनि विस्तार हुनेछ ।

    उनले होर्मुज जलडमरूमध्य पार गर्ने उद्देश्यले उक्त क्षेत्रमा प्रवेश गर्ने र पहिचान हुने कुनै पनि पानीजहाजलाई इरानको प्रतिबन्ध सूचीमा राखिने चेतावनी दिए । यद्यपि, इरानले उक्त क्षेत्रको सीमा कहाँबाट सुरु हुने भनेर स्पष्ट गरेको छैन । अमेरिकी नाकाबन्दी इरानी बन्दरगाहलाई लक्षित गर्दै इरानलाई तेल निर्यात गर्नबाट रोक्ने उद्देश्यले सञ्चालन भइरहेको बताइएको छ । अमेरिकी सेनाका अनुसार नाकाबन्दीलाई २० भन्दा बढी युद्धपोतले सहयोग गरिरहेका छन् ।

    आइतबारसम्म उक्त नाकाबन्दीका कारण ९२ वटा व्यापारिक पानीजहाजको मार्ग परिवर्तन गरिएको र तीनवटा पानीजहाजलाई सञ्चालन गर्न नसक्ने बनाइएको जनाएको छ । अमेरिका र इरानबीचको तनाव बढिरहेका बेला पछिल्लो घोषणा आएको हो । वार्ता विफल भएपछि अमेरिकाले इरानमाथि थप आर्थिक दबाब सिर्जना गर्ने उपायहरू अघि बढाइरहेको छ ।

    यसैबीच, इरानले होर्मुज जलडमरूमध्य पार गर्न खोज्ने केही पानीजहाजमाथि आक्रमण जारी राखेको छ । विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक रहेको होर्मुज जलडमरूमध्य अहिले जारी युद्धमा इरानका लागि महत्वपूर्ण रणनीतिक दबाबको माध्यम बनेको छ ।

    इरानी सरकारी सञ्चारमाध्यमले आइतबार होर्मुज जलडमरूमध्य प्रवेश गर्न खोजेको एउटा मानवरहित अमेरिकी पानीजहाजमाथि आक्रमण गरेको दाबी गरेको थियो । तर अमेरिकी सेनाले उक्त दाबीलाई पूर्ण रूपमा झुटो भन्दै अस्वीकार गरेको छ । इरान र अमेरिकाबीचको पछिल्लो तनाव फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धसँग जोडिएको छ ।

  • दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

    दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

    सियोल, २३ भदौ (रासस–एपी) । अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु गरेकै दिन उत्तर कोरियाले दोस्रो अत्याधुनिक नौसैनिक विध्वंसक सेवामा प्रवेश गराउँदै आणविक प्रतिरोध क्षमता थप सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले आइतबार पूर्वी बन्दरगाह सहर वोनसनमा आयोजित समारोहमा ‘काङ कोन’ नामक विध्वंसकलाई नौसेनामा समावेश गर्नुभएको राज्य सञ्चारमाध्यमले जनाएको छ । समारोहमा उनकी किशोरी छोरी पनि सहभागी थिइन् ।

    उनकी छोरीलाई दक्षिण कोरियाली जासुसी सेवाले सम्भावित उत्तराधिकारीका रूपमा हेर्दै आएको छ । समारोहमा किमले आणविक हतियारसहितका युद्धपोतले उत्तर कोरियाको आणविक प्रतिरोधलाई अझ विविध र व्यावहारिक बनाउने बताउँदै समुद्री रक्षा तथा युद्ध प्रतिरोधका लागि शक्तिशाली र भरपर्दो आणविक क्षमता निर्माण गर्नुपर्नेमा जोड दिए । “शत्रुहरूको चिन्ता निश्चित रूपमा गहिरो हुनेछ”, उनले भने ।


    गत जुनमा सेवामा प्रवेश गरेको ‘चो ह्योन’ र नयाँ ‘काङ कोन’ दुवै करिब पाँच हजार टनका विध्वंसक हुन् । उत्तर कोरियाका अनुसार दुवै आणविक क्षमता भएका क्षेप्यास्त्रले सुसज्जित छन् । यसैबीच अमेरिका, दक्षिण कोरिया र जापानले दक्षिण कोरियाको जेजु टापुनजिक पाँचदिने ‘फ्रिडम एज’ सैन्य अभ्यास सुरु गरेका छन् । दक्षिण कोरियाले अभ्यास रक्षात्मक रहेको र उत्तर कोरियाको आणविक खतराविरुद्ध संयुक्त प्रतिक्रिया क्षमता बढाउनु यसको उद्देश्य भएको जनाएको छ ।

    उत्तर कोरियाले भने उक्त अभ्यासलाई अमेरिकाको शत्रुतापूर्ण नीतिको निरन्तरता भन्दै आलोचना गरेको छ । यसअघि अमेरिका र दक्षिण कोरियाले वार्षिक ‘उल्ची फ्रिडम सिल्ड’ अभ्यास निर्धारित समयभन्दा छ दिनअघि समाप्त गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अभ्यास ‘पर्याप्त रूपमा घटाउन’ निर्देशन दिएको बताएका थिए । तर किमकी बहिनी तथा वरिष्ठ अधिकारी किम यो जोङले अभ्यास छोट्याउँदैमा यसको ‘उत्तेजक र आक्रामक प्रकृति’ नबदलिने बताउनुभएको थियो । त्यसपछि उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।

    किमले अमेरिकाले आफ्नो ‘शत्रुतापूर्ण नीति’ त्यागेर उत्तर कोरियाको आणविक राष्ट्रको हैसियतलाई सम्मान गरे वार्तामा फर्कन सक्ने बताउँदै आएका छन् । सन् २०१९ मा सीमित आणविक निशस्त्रीकरणका बदलामा आर्थिक लाभ दिने विषयमा सहमति नहुँदा दुई देशबीचको कूटनीति विफल भएको थियो । अहिले उत्तर कोरियाको विकसित आणविक कार्यक्रम तथा रुस र चीनसँगको बढ्दो सम्बन्धले किमलाई वार्तामा थप लाभको अवस्थामा पुर्‍याएको विज्ञहरूको भनाइ छ ।

  • युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

    युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी


    ओम्दुरमान, २२ भदौ (रासस–एपी) । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो समयसम्म हुने विद्युत कटौतीबाट जोगिन सर्वसाधारण सौर्य ऊर्जातर्फ आकर्षित हुन थालेका छन् । तर, सौर्य प्यानल, ब्याट्री र इन्भर्टर जडानको उच्च लागतका कारण अधिकांश परिवारका लागि यो विकल्प अझै पहुँचबाहिर छ । राजधानी खार्तुम नजिकैको ओम्दुरमानमा तीन छोराछोरीसँग बस्दै आएकी ३१ वर्षीया गृहिणी रान्दा अल–मन्सुरले करिब एक वर्षदेखि घरको छतमा जडान गरिएको सौर्य प्रणाली प्रयोग गर्दै आएकी छिन् ।


    “हामी निकै कष्ट भोगिरहेका छौँ”, उनले भनिन्, “बिहान विद्यालय पुग्दा बिजुली हुँदैन, त्यसैले बालबालिकाहरू घर फर्कन बाध्य हुन्छन् । घरमा पनि बिजुली हुँदैन । यस्तो उच्च तापक्रममा उनीहरूलाई पढ्न निकै गाह्रो हुन्छ ।” सुडानी सेना र अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीच सन् २०२३ अप्रिलदेखि जारी युद्धले देशको कमजोर विद्युत पूर्वाधारलाई थप क्षति पु¥याएको छ ।

    यस युद्धमा कम्तीमा ५९ हजार मानिसको मृत्यु भएको अनुमान छ भने करिब एक करोड ३० लाख मानिस विस्थापित भएका छन् । सहायता समूहहरूले वास्तविक मृतक सङ्ख्या अझ बढी हुन सक्ने बताएका छन् ।

    विद्युत उत्पादनमा ठूलो गिरावट

    संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) का अनुसार युद्धका कारण सुडानको विद्युत प्रणालीमा भएको क्षति करिब ८८३ अर्ब अमेरिकी डलर बराबरको छ । विद्युत विभागका अधिकारीहरूका अनुसार युद्धअघि करिब चार हजार ४०० मेगावाट रहेको विद्युत उत्पादन क्षमता अहिले घटेर करिब एक हजार १०० मेगावाटमा सीमित भएको छ । धेरै विद्युत केन्द्र आरएसएफले प्रहार गरेका ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएका छन् ।

    युद्धका कारण विद्युत क्षेत्रका दक्ष जनशक्तिको पनि ठूलो कमी भएको छ । अधिकारीहरूका अनुसार देशका करिब आधा दक्ष विद्युत इन्जिनियर तथा प्राविधिक सन् २०२३ यता देश छाडिसकेका छन् ।फलस्वरूप, हालैका महिनाहरूमा सुडानका कतिपय क्षेत्रमा दैनिक १६ घण्टासम्म विद्युत कटौती हुने गरेको छ ।

    सौर्य ऊर्जाको माग बढ्दो

    विद्युत सङ्कट गहिरिँदै गएपछि राजधानीका सडकमा सौर्य प्यानल, ब्याट्री र इन्भर्टर बिक्री गर्ने कम्पनीका विज्ञापन तथा होर्डिङ बोर्ड बढेका छन् । खार्तुममा सौर्य ऊर्जा प्रणालीको व्यवसाय सञ्चालन गर्ने मोहे एडिन अबु–बर्कका अनुसार कम आय भएका परिवारका लागि सौर्य प्रणाली जडान गर्नु ठूलो आर्थिक बोझ भए पनि धेरैका लागि यो आवश्यक विकल्प बनेको छ । उनका अनुसार सामान्य घरका लागि करिब दश किलोवाट क्षमताको सौर्य प्रणाली जडान गर्न करिब पाँच हजार डलर खर्च लाग्न सक्छ ।

    “कम आय भएको परिवारका लागि यो ठूलो त्याग हो”, अबु–बर्कले भने, “तर यो अपरिहार्य विकल्प पनि बनेको छ ।” तर, सबै परिवारले उक्त रकम जुटाउन सक्दैनन् । साउदी अरबमा कार्यरत श्रीमान्ले पठाउने रकमबाट घर खर्च चलाउँदै आएकी अल–मन्सुरले आफूहरूले सौर्य ऊर्जा रोजे पनि सुडानका सबै परिवारले यस्तो प्रणाली जडान गर्न नसक्ने बताए ।


    विद्युत सङ्कटको असर घरायसी जीवनमा मात्र सीमित छैन । स्वास्थ्य क्षेत्रमा समेत यसको गम्भीर प्रभाव परेको छ । ४३ वर्षीया सरकारी कर्मचारी तथा मधुमेहकी बिरामी मनहेल मदनीलाई इन्सुलिन सुरक्षित राख्न निरन्तर विद्युत आवश्यक पर्छ । तर, बारम्बार हुने विद्युत कटौतीका कारण औषधि बिग्रिनुएपछि पटक–पटक फाल्नुपरेको बताइन् ।


    “हरेक तीन–चार दिनमा गर्मी र विद्युत कटौतीका कारण बिग्रिएको इन्सुलिनको सम्पूर्ण स्टक फाल्न बाध्य हुन्छु”, उनले भनिन्, ओम्दुरमानमा आमा र बहिनीसँग दुई शयनकक्षको घरमा बस्ने मदनीका लागि गर्मीबाट बच्नु पनि चुनौतीपूर्ण बनेको छ । विद्युत नहुँदा उनीहरू घरभित्रको चर्को गर्मी छल्न आँगनमा सुत्ने गर्छन् । उनका अनुसार धेरै फार्मेसीले औषधि भण्डारणका लागि आवश्यक सौर्य प्रणाली जडान गर्न सक्दैनन् । यसले अत्यावश्यक औषधिको उपलब्धतामा समेत असर परेको छ ।

    सुडान डाक्टरहरूको नेटवर्कले पनि लगातार विद्युत कटौतीका कारण अस्पतालमा उपचाररत बिरामी प्रभावित हुन सक्ने चेतावनी दिएको छ । विशेषगरी निरन्तर उपचार र उपकरणको आवश्यकता पर्ने मिर्गौलाका बिरामी जोखिममा रहेको उसले जनाएको छ । विश्व बैङ्कका अनुसार सुडानको कम्तीमा ३० प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच छैन, जसको सबैभन्दा ठूलो असर ग्रामीण क्षेत्रमा परेको छ ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार वर्षमा चार हजार घण्टाभन्दा बढी घाम लाग्ने भएकाले सुडानमा सौर्य ऊर्जा उत्पादनको ठूलो सम्भावना छ । तर, आयातित सौर्य प्रणालीको उच्च प्रारम्भिक लागत र स्थानीय मुद्राको निरन्तर अवमूल्यनले सर्वसाधारणका लागि सौर्य ऊर्जामा सङ्क्रमण कठिन बनाएको छ ।

  • यमनका पछिल्ला झडपमा १४० भन्दा बढीको मृत्युः सेना

    यमनका पछिल्ला झडपमा १४० भन्दा बढीको मृत्युः सेना

    दुबई, २२ भदौ (रासस–एएफपी) । दक्षिण–पश्चिम यमनमा यमनी सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीहरूबीच शनिबार दिउँसोदेखि आइतबार बिहानसम्म भएको लडाइँमा १४० भन्दा बढी सेना र विद्रोही लडाकुहरूको मृत्यु भएको सैन्य स्रोतहरूले बताएका छन् । साउदी समर्थित सरकारी सेनाका दुई सैन्य अधिकारीहरूले एएफपीलाई बताएअनुसार उनीहरूतर्फ ८४ सैनिक मारिएका छन्, जसमध्ये अधिकांश मिसाइल आक्रमणमा परेका हुन् । यसैबीच चार हुथी सैन्य स्रोतहरूले सोही अवधिमा ५७ विद्रोही लडाकुहरू मारिएको पुष्टि गरेका छन् ।

    इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि बन्द गरेसँगै विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरब बाब अल–मन्डब चेकपोइन्टको तेलको पारवहन मार्गको रूपमा महत्त्वपूर्ण बनेको छ । शनिबार एक सैन्य अधिकारीले एएफपीलाई बताएअनुसार एडेनस्थित सरकारको प्रमुख समर्थक साउदी अरबले ताइजमा हालै हुथीहरूले कब्जा गरेका स्थानहरूमाथि तीन हवाई आक्रमण गरेको थियो ।

    विद्रोहीहरूले राजधानी सानाका लागि इरानी विमानलाई प्रवेश दिएपछि र जुलाईमा हुथी विद्रोही र यमन सरकारबीच भएको युद्धविराम उल्लङ्घन भएपछि आक्रमणको श्रृङ्खला सुरु भएको थियो । इरान–समर्थित हुथीहरू र अमेरिका सहयोगी साउदी अरबद्वारा समर्थित सरकारी सेनाबीचको यो लडाईँले फराकिलो मध्यपूर्वी युद्धको नयाँ युद्ध मोर्चाको उदयलाई सङ्केत गर्छ ।

    फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले इरानमा गरेको संयुक्त आक्रमणपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविरलाई लक्षित गरी आक्रमण गर्दै आएको छ भने इरानका धेरै क्षेत्रमा अमेरिकी आक्रमणको प्रभाव परेको छ । इरानमाथि भएको अमेरिकी आक्रमणपछि यस क्षेत्रमा इरान निकट समूहहरू सक्रिय भएका छन् । इरानको समर्थनमा हुथीहरूले साउदी अरबको समुद्री नाकाबन्दी पनि घोषणा गरेका छन् र त्यसका जहाज तथा क्षेत्रमाथि आक्रमण सुरु गरेका छन् ।

  • अमेरिकी प्रतिनिधिहरू किएभमा, राष्ट्रपति जेलेन्स्कीसँग छलफल

    अमेरिकी प्रतिनिधिहरू किएभमा, राष्ट्रपति जेलेन्स्कीसँग छलफल


    किएभ, २२ भदौ (रासस–एएफपी) । अमेरिकी प्रतिनिधि जारेड कुश्नर र स्टिभ विट्कफले आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रुससँगको युद्ध अन्त्य गर्ने सम्बनधमा वार्ता गरेका छन् । उनीहरूले शनिबार रुसका भ्लादिमिर पुटिनसँग भेटेपछि किएभको भ्रमण गरेका हुन्।

    अमेरिकीहरूले ग्रीष्मकालीन तनाव बढेपछि दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा खराब द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु गर्ने आशामा रूसबाट रेलमार्ग हुँदै युक्रेनी राजधानी किएभ पुगेका थिए । नेता जेलेन्स्कीले किएभको मध्य क्षेत्रमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ कुश्नर र व्यापारिक साझेदार विट्कफसँग भेटको भिडियो सार्वजनिक गर्दै ‘वार्ता सुरु भएको बताएका छन् ।
    विट्कफ र कुश्नरले मस्कोकोे आठ पटक भ्रमण गरेका थिए तर रुसको फेब्रुअरी २०२२ आक्रमणपछि घातक प्रहार खेपेको किएभमा यसभन्दा पहिले वार्ताका लागि पुगेका पाइदैन । वार्तामा युक्रेनका उच्च सुरक्षा अधिकारी र वार्ताकारहरूका साथै केही युरोपेली राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि उपस्थित थिए।

    जेलेन्स्कीले अमेरिकी प्रतिनिधिहरूलाई किएभको ऐतिहासिक सेन्ट सोफिया क्याथेड्रलको अवलोकन भ्रमणमा साथ दिनुभएको थियो, जसको अगाडि शुक्रबार रुसी ड्रोन प्रहारबाट क्षतिग्रस्त एसबीयू सुरक्षा भवन छ। मस्कोको युक्रेन आक्रमणले लाखौँ मानिसको ज्यान लिएको छ र करोडौँलाई विस्थापित बनाएको छ।

    विट्कफ र कुश्नरले शनिबार पुटिनसँग ‘रुस–युक्रेन युद्धमा शान्तिका लागि राष्ट्रपति ट्रम्पको एजेन्डा अगाडि बढाउन’ भेट गरेको ह्वाइट हाउसका एक अधिकारीले एएफपीलाई उपलब्ध गराएको वक्तव्यमा उल्लेख छ । दुवै पक्षले आगामी कदमका लागि ठोस योजनाहरूबारे छलफल गरेका छन्, जुन आउँदा हप्ताहरूमा घोषणा गरिनेछ र भोलि युक्रेनी अधिकारीसँग पनि उत्तिकै उत्पादक भेटघाटको आशा गरिएको छ।”

    क्रेमलिनका सहायक युरि उशाकोभले वार्तालाई ‘अत्यन्तै खुला’ बताउँदै अमेरिकीहरूले ‘सम्झौताका सम्भावित मार्गहरूबारे केही विचार अगाडि सारेका’ तर विस्तृत जानकारी नदिएको बताए । रुसी पक्षले अमेरिकीहरूलाई मस्कोले पूर्वी युक्रेनको बाँकी भाग कब्जा गर्ने आफ्ना सैन्य लक्ष्य हासिल गर्न ‘आत्मविश्वास’ राखेको बताएको उशाकोभले थपे ।


    रुस र युक्रेन दुवैले अमेरिकी प्रतिनिधिहरूको भ्रमण वरिपरिका तीन दिनसम्म एकअर्काको राजधानीमाथि प्रहार नगर्ने प्रतिबद्धता जनाएका छन्।
    जेलेन्स्कीले आइतबार युक्रेन ‘वार्ताका लागि तयार’ रहेको बताए । “युक्रेन सधैँ रचनात्मक रहँदै आएको छ र रहिरहनेछ,” नेता जेलेन्स्कीले अमेरिकी कुटनीतिज्ञको भ्रमणअघि सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।


    मस्कोले युद्ध सुरु गरेदेखि देशको हवाई क्षेत्र बन्द छ र भ्रमणमा आउने नेताहरू रेलबाट आइरहेका छन्। धेरै युक्रेनीहरूका लागि सफलताको आशा अझै कमजोर छ। “अहिले यसले मलाई कुनै आशा दिँदैन। पहिले नै धेरै वार्ता भइसकेका छन्,” किएभवासी २९ वर्षीय यारोस्लाभले एएफपीसँग भने ।

    –ट्रम्पलाई धन्यवाद–

    अमेरिकी प्रतिनिधिसँगको वार्ताअघि टेलिभिजनमार्फत रूसी राष्ट्रपति पुटिनले रुसले किएभमा प्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्ने बताएका थिए । “वार्ता प्रक्रिया र तपाईंहरूजस्ता मध्यस्थकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न हामीले गर्न सक्ने सबै कुरा गर्नेछौँ,” पुटिनले विट्कफ र कुश्नरसँगको भेटमा भने । शनिबार अघि राष्ट्रपति पुटिनले युद्ध अन्त्य गर्न ‘सजिलो नभए पनि’ प्रयास जारी राखेकोमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिए ।

    प्रतिनिधिहरूको किएभ यात्राबारे उनले भने, “अगाडि जे भए पनि, यस्ता सम्पर्कहरू निःसन्देह सधैं लाभदायक हुन्छन्।” ट्रम्पले शुक्रबार आफ्ना प्रतिनिधिहरू लडाइँ अन्त्य गर्ने ‘प्रस्ताव’ लिएर जाँदै गरेको बताएका थिए । “हामीसँग शान्तिका लागि एउटा विचार छ,” उनले विस्तृत जानकारी नदिई भने ।


    अमेरिकी प्रयासहरूले अहिलेसम्म युद्धमा सफलता ल्याउन सकेका छैनन् र शान्ति प्रयासहरू अवरुद्ध भएका छन्, जसको आंशिक कारण वासिङ्टनको इरानसँगको युद्ध पनि हो। रुसले पूर्वी र दक्षिणी युक्रेनका ठूला भागहरू कब्जा गरेको छ र नेता पुटिनले मस्को पूर्वी युक्रेनको बाँकी भाग कब्जा गर्न दृढ रहेकोबारे जोड दिएका छन् ।

  • ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको मुख्य विमानस्थलका सेवा स्थगित

    ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको मुख्य विमानस्थलका सेवा स्थगित

    जकार्ता, २२ भदौ (रासस–एएफपी) । इन्डोनेसियाले आइतबार आफ्नो मुख्य अन्तर्राष्ट्रिय विमानस्थल र अन्य सात विमानस्थल बन्द गरेपछि करिब एक लाख ७० हजार यात्री अलपत्र परेका छन् । माउन्ट अनाक क्राकातोआबाट १५० किलोमिटरभन्दा टाढाबाट ज्वालामुखी खरानी र लाभाको बादल उठेपछि सयौँ उडान रद्द भएका हुन् । इन्डोनेसियाको भूगर्भ विज्ञान सर्भेक्षण तथा अनुसन्धान निकायले दिएको वक्तव्यअनुसार माउन्ट अनाक क्राकातोआमा शनिबार ज्वालामूखी विस्फोट भयो, जसबाट लाभाको फोहोरा निस्कियो र सयौँ किलोमिटर टाढासम्म गर्जन सुनियो।

    ज्वालामुखीमामिला अध्ययन तथा अनुसन्धान निकायले आइतबार पनि थप दुई विस्फोट भएको जानकारी दिएको छ। ज्वालामुखीबाट निस्केको खरानी सुएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल वरपरको हवाई क्षेत्रमा देखिएपछि अधिकारीहरूले सुरूमा आइतबार बिहान १ः३० बजेदेखि ५ः३० बजेसम्मका लागि सेवा सञ्चालन स्थगित गरेका थिए। यातायात मन्त्रालयले दिएको वक्तव्यअनुसार स्थगन पटक–पटक थपियो र पछिल्लो सूचनापछि यो मध्यरातसम्म कायम रहनेछ ।

    मन्त्रालयले बान्डुङको हुसेन सास्त्रानेगारा विमानस्थल र सुमात्राको बन्दर लाम्पुङ नजिकको रादिन इन्तेन द्वितीय विमानस्थल सहित अन्य सात विमानस्थलमा पनि सेवा सञ्चालन स्थगित गरिएको बताएको छ । “ज्वालामूखीका कारण हालसम्म प्रभावित आठ विमानस्थलमा एक हजार ५५८ उडान ढिला भएका छन् जसका कारण एक लाख ७० हजार यात्री अलपत्र परेका छन्,” मन्त्रालयले भनेको छ।

    अधिकांश स्थगित उडानमध्ये ९०० भन्दा बढी प्रभावित उडान सुएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र त्यहाँबाट उडान भर्ने रहेका थिए । यातायात मन्त्री डुडी पुर्वागान्धीले सेमाराङ र सुराबायालगायतका शहरका केही विमानस्थलहरूलाई ‘अवतरणका वैकल्पिक स्थान’ का रूपमा तयार पारिएको बताए ।
    अवरोधका कारण केही यात्री वैकल्पिक उडान खोज्न बाध्य भएका बताइएको छ । आफ्नी आमालाई लिएर गृहनगर फर्कने आशा गरेकी ४४ वर्षीया हेन्नी येन्सानले ‘सबै निराश भएको’ तर ‘कसैले पनि रिस नदेखाएको’ बताए । यो अन्ततः प्राकृतिक विपद् थियो त्यसैले निराश भएर पनि पर्खनुको विकल्प भने थिएन ।

    शुक्रबारदेखि लोम्बोकमा व्यापारिक यात्रामा रहेका डानोनका कार्यकारी सामुएल गिबेर्तोले राजधानी फर्कने वैकल्पिक उडान खोज्दै गरेको बताए । उनले विकल्प खोजेपनि ‘अहिले केही निश्चित छैन’ भने । “मैले सिटीलिङ्कमा अर्को उडान फेला पारेको थिएँ तर त्यो पनि रद्द भयो,” ४७ वर्षीय एक व्यक्तिले फोनमार्फत् एएफपीसँग भने । उनले भने, “अहिलेलाई लोम्बोकमै बस्नुको विकल्प छैन ।” ज्वालामुखी खरानी सुमात्राको दक्षिणी छेउमा रहेको बन्दर लाम्पुङ शहरसम्म पुगेको छ, जसले पार्किङ गरिएका कार र सडकका छेउहरू ढाकेको छ ।

  • बाढीले चीनतर्फ ३१ जनाको मृत्यु, ५३१ बेपत्ता

    बाढीले चीनतर्फ ३१ जनाको मृत्यु, ५३१ बेपत्ता

    गिरोेङ, सिजाङ, २० भदौ (रासस–सिन्ह्वा) । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन–नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बढीका कारण शुक्रबार साँझ ६ बजेसम्म ३१ जनाको मृत्यु भएको पुष्टि स्थानीय विपत् व्यवस्थापन तथा उद्धार केन्द्रले जनाएको छ । कमाण्ड सेन्टरका अनुसार हिमपहिरोपछि नदीमा आएको बाढीमा ५३१ जना बेपत्ता रहेका छन् । उद्धारकर्मीहरूले उक्त क्षेत्रबाट ९८७ वटा व्यक्तिगत सामान भेट्टाएको बताएका छन् ।

    बुधबारसम्म जी–२१६ उद्धार मार्गमा निरीक्षण गर्दा ५८ वटा सम्भावित भूगर्भीय विपत्का स्थल पहिचान भएका केन्द्रका अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले प्रभावित तीन गाउँका सम्भावित जोखिमहरूको निरीक्षण र जोखिम मूल्याङ्कन पनि पूरा गरेका छन् भने यसका लागि दुई अस्थायी आपतकालीन आश्रयस्थलका लागि स्थान चयन गरेका छन् । उनीहरूले त्यहाँका लागि आपतकालीन आपूर्ति सेवा व्यवस्थापनका लागि मार्गदर्शनसमेत गरेका छन् ।

    सम्भावित द्वितीयक विपत्का जोखिम पहिचान र रोकथामका लागि मौसम, प्राकृतिक स्रोत, जलस्रोत र आपतकालीन व्यवस्थापन अधिकारीहरूका साथै चाइनिज साइन्स एकेडेमी र चीन सुरक्षा विज्ञान तथा प्रविधि एकेडेमीका १७२ विज्ञ र प्राविधिक जनशक्ति बुधबार दिउँसो ४ बजेसम्म उक्त स्थलमा खटिएका छन् । हिमाली षेत्रमा बरफ–चट्टान पहिरोका कारण आएको यो विनाशकारी पहिरोले गिरोङ बन्दरगाह भएर बग्दै भवनहरू, विद्युत आपूर्ति र गिरोङ बन्दरगाहतर्फ जाने जी२१६ राजमार्गको एक खण्ड नष्ट गरेको थियो, जसले विपत् व्यवस्थापन र उद्धार कार्यलाई गम्भीर रूपमा बाधा पु¥याएको थियो ।

    यस्ता कठिनाइका बाबजुद चीनले तुरुन्तै हेलिकोप्टर, स्पिडबोट र रबरको डुङ्गा परिचालन गरी उद्धारकर्मीहरूलाई पहिरो प्रभावित बन्दरगाहमा पु¥याएको छ । स्थलगत उद्धार टोलीले १२ घण्टा ठाडो पहाडी सडक पार गर्दै पैदल उक्त क्षेत्रमा पुगेका थिए । उक्त क्षेत्रमा करिब दुई हजार ३०० उद्धारकर्मी, ४०० भन्दा बढी खोज तथा उद्धार सवारीसाधन, आठ हजारभन्दा बढी व्यावसायिक उपकरणका सेट, ८०० भन्दा बढी ड्रोन उडान र २४ हेलिकोप्टर उडान परिचालन गरिएका छन्।

  • संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

    संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने


    काठमाडौँ, १९ भदौः संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड ९६ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ । राष्ट्रसङ्घले मानवीय सहायताका साझेदार निकायसँग बाढीपछि सिर्जित विपद्को राहतका लागि उक्त रकम सहयोगका लागि सहयोगको अपिल गरेको हो । भोटेकोशी तथा त्रिशूली नदीमा गएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित ८४ हजारभन्दा बढी नागरिकसम्म जीवनरक्षक सहायता पुर्‍याउन अन्तरराष्ट्रिय निकायसँग आज राष्ट्रसङ्घले अपिल गरेको हो ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद सुरु हुनुअघिका लागि (चार महिने) योजनालाई उक्त सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालस्थित राष्ट्रसङ्घको कार्यालयले जनाएको छ । उच्च हिमाली भेगका बस्तीमा हिउँद सुरु हुनुअघि हुनसक्ने कष्ट र सरुवा रोगको जोखिम रोक्नु यसको मुख्य उद्देश्य रहेको राष्ट्रसङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    संयुक्त राष्ट्रसङ्घ र मानवीय सहायताका साझेदार निकायहरू नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यसँगै समन्वयमा रहेर काम गरिरहेका छन् । यही भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण निम्तिएको विपद्मा हालसम्म रसुवा, नुवाकोट र धादिङ जिल्लाका थुप्रै बस्ती विस्थापित भएका छन् । भौतिक पूर्वाधारमा भएको व्यापक क्षतिका कारण यातायातका मार्ग अवरुद्ध छन्, विद्युत् प्रणालीमा असर परेको छ भने खानेपानी तथा सरसफाइका संरचना बगेका छन् । यसले विकट भेगका बासिन्दालाई आधारभूत आवश्यकताबाट समेत वञ्चित बनाएको छ ।

    “जोखिममा रहेका समुदायको सुरक्षा गर्न यो संयुक्त योजनाले विभिन्न क्षेत्रका अत्यावश्यक मानवीय आवश्यकतालाई सम्बोधन गर्नेछ । स्थानीय बजार सञ्चालनमा रहेका ठाउँमा प्रभावित परिवारलाई प्रत्यक्ष नगद उपलब्ध गराइनेछ । हिउँद लाग्नुअघि विस्थापित परिवारलाई जाडोबाट जोगाउने अस्थायी आवास सामग्री वितरण गरिनेछ भने विद्युत् नपुगेका ठाउँमा घरपरिवारलाई सौर्य उपकरण उपलब्ध गराइ बत्ती र आधारभूत ऊर्जाको व्यवस्था मिलाइनेछ”, राष्ट्रसङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    यस योजनाबाट क्षतिग्रस्त खानेपानी प्रणालीको मर्मत, द्रुत पानी शुद्धीकरण प्रणालीको जडान र सरसफाइ सामग्री वितरणमार्फत पानीजन्य रोगको फैलावट रोकिने अपेक्षा गरिएको छ । त्यस्तै घुम्ती स्वास्थ्य शिविरमार्फत तत्काल उपचार र पोषण सहयोग उपलब्ध गराइनेछ भने परिवारबाट छुट्टिएका बालबालिकालाई पुनर्मिलन गराउन संरक्षण समूह परिचालित हुनेछन् । यसका साथै आकस्मिक खाद्य सहायता वितरण र बाँचेका पशुधनको व्यवस्थापनमार्फत ग्रामीण जीविकोपार्जन जोगाउने काम हुनेछ ।

    “भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट परिवारहरूले केही क्षणमा आफ्ना परिवारजन, घर र बाँच्ने आधार गुमाएका छन्”, नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाले भनिन्, “यो अपिलको मुख्य प्राथमिकता भनेको सरकारकै नेतृत्वमा हिउँद लाग्नुअघि सबैभन्दा दुर्गम बस्तीसम्म ओत, उपचार, सफा पानी र नगद सहयोग पुर्‍याउनु हो ।”

  • अमेरिकी व्यापार घाटा वृद्धि

    अमेरिकी व्यापार घाटा वृद्धि


    वासिङ्टन, १९ भदौ (रासस–एएफपी) । जुलाईमा अमेरिकी व्यापार घाटा सन् २०२५ मार्च यताको सबैभन्दा उच्च स्तरमा पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । एआई प्रविधिको तीव्र विस्तारका कारण आयात बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प गत वर्ष ह्वाइट हाउस फर्केपछि मित्र र प्रतिस्पर्धी देशहरूमा व्यापक भन्सार शुल्क लगाएर व्यापार घाटा घटाउने प्रयास गर्नुभएको थियो । त्यसयता अमेरिकी व्यापारमा ठूला उतारचढाव देखिएका छन् ।

    विश्वको सबैभन्दा विशाल अर्थतन्त्रको व्यापार घाटा जुलाईमा ८८.६ अर्ब डलर पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा २४.४ प्रतिशतको वृद्धि हो । कच्चा तेल र सुनको निर्यात घटेको छ भने प्रविधि उत्पादनको आयात बढेको छ । अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार निर्यात २.१ प्रतिशत घटेर तीन खर्ब १० अर्ब ७० करोड डलर पुगेको छ । आयात २.८ प्रतिशत बढेर तीन खर्ब ९९ अर्ब ३० करोड डलर पुगेको छ । कम्प्युटर, कम्प्युटर सहायक सामग्री र सेमिकन्डक्टरको आयातले यसलाई बढाएको हो।

    चिप्सको प्रमुख उत्पादक ताइवानसँगको अमेरिकी घाटा त्यो महिनाको लागि उच्च २०.७ अर्ब डलर पुगेको छ । मेक्सिको, भियतनाम, थाइल्याण्ड, दक्षिण कोरिया र मलेसियासँगको व्यापार घाटा पनि उच्च स्तरमा पुगेको छ। राष्ट्रपति ट्रम्पका भन्सार शुल्कले अमेरिकी व्यापारको अधिकांश हिस्सा ओगट्ने अर्थतन्त्रहरूलाई असर गरेको भए पनि अमेरिकी अधिकारीहरूले चिप्स, स्मार्टफोन र अन्य इलेक्ट्रोनिक्स जस्ता उत्पादनहरूलाई छुट दिएका छन् ।

    वाणिज्यमन्त्री होवर्ड लटनिकले बुधबार सीएनबीसीलाई बताए अनुसार वासिङ्टन सेमिकन्डक्टरमा नयाँ भन्सार शुल्क लगाउने योजना बनाइरहेको छ। गत एक वर्षमा व्यवसायहरूले नयाँ अमेरिकी शुल्क लागू हुनुअघि आयात बढाउन हतार गरेका थिए। केही कम्पनीहरूले ट्रम्पको नीति व्यवस्थापन गर्न थप चुनौतीको अपेक्षा गरेका छन्। यसले व्यवसायिक लागत बढाएको छ, ‘इन्स्टिच्युट फर सप्लाई म्यानेजमेन्ट’को सेवा क्षेत्र सर्वेक्षण अनुसार अगस्टमा यो क्षेत्रको गतिविधि बढेको छ।

    अमेरिकी सर्वोच्च अदालतले फेब्रुअरीमा ट्रम्पका धेरै विश्वव्यापी भन्सार शुल्क खारेज गरेको थियो। तर अधिकारीहरूले जुलाईमा ६० व्यापार साझेदारहरूलाई लक्षित नयाँ शुल्क लगाएका थिए । चीन, युरोपेली सङ्घ र ताइवानसहित १६ साझेदारहरूलाई लक्षित छुट्टै व्यापार अनुसन्धानले थप भन्सार शुल्क लगाउने निर्णय गर्नसक्ने मन्त्रालयले बताएको छ।

    अमेरिका छिमेकी क्यानडासँग व्यापार युद्धमा छ । जुलाईमा त्यससँगको घाटा घटेको छ । गत महिना ट्रम्पले अर्बौं डलरको क्यानडाली वस्तुमा ५० प्रतिशत शुल्क लगाए, जसले ओटावाको जवाफी कारबाहीको योजना निम्त्यायो। मध्यपूर्व युद्धको असरले पनि व्यापार प्रवाहमा प्रभाव पारिरहेको छ । इरानले विश्वव्यापी ऊर्जा र मल यातायातको प्रमुख मार्ग हर्मुज जलमार्ग लगभग अवरुद्ध गरेको छ ।

  • यमनमा हुथी समूहको आक्रमणमा १३ सैनिकको मृत्यु

    यमनमा हुथी समूहको आक्रमणमा १३ सैनिकको मृत्यु

    दुबई, १९ भदौ (रासस–एएफपी) । यमनको हुथी लडाकु समूहसँगको झडपमा बिहीबार यमनी सेनाका १३ जवान मारिएको एक सैन्य स्रोतले एएफपीलाई बताएको छ । स्रोतका अनुसार समूहले यमनको महत्वपूर्ण बाब अल–मन्दाब जलमार्ग छेउका क्षेत्र कब्जा गर्न आक्रमण गरेको आरोप लगाइएको छ । “प्रारम्भिक अनुमानअनुसार हुथी लडाकू समूहको आक्रमणमा परी दुई वरिष्ठ अधिकारीसहित १३ सैनिक मारिएका छन्,” सुरक्षाको कारण नाम उल्लेख नगर्न आग्रह गर्दै उक्त स्रोतले भन्यो ।

    अर्को स्रोतका अनुसार अधिकांश मारिनेहरू मोखा बन्दरगाह शहर र भित्री शहर ताइज बीचको अग्रपङ्क्तिमा रहेका थिए भने बाँकी रेड सी तट नजिकैका झडपमा मारिएका थिए ।

  • नाइजेरियामा शङ्कास्पद विषाक्त धुवाँबाट करिब ४० जनाको मृत्यु

    नाइजेरियामा शङ्कास्पद विषाक्त धुवाँबाट करिब ४० जनाको मृत्यु


    अबुजा, १९ भदौ (रासस–सिन्ह्वा) । नाइजेरियाको तेलका लागि समृद्ध मानिने रिभर्स राज्यमा पेट्रोलियम पदार्थबाट निस्केको विषाक्त रासायनिक धुवाँका कारण बिहीबार बिहान करिब ४० जनाको मृत्यु भएको आशङ्का स्थानीय अधिकारीहरूले गरेका छन् । रिभर्स राज्यका प्रहरी प्रवक्ता ब्लेसिङ आगाबेले सिन्ह्वालाई टेलिफोनमार्फत बताए अनुसार घटना ओक्रिका स्थानीय सरकार क्षेत्रको कच्चा तेल प्रशोधन केन्द्र स्थल नजिक भएको हो।

    पीडितहरूले उच्च मात्रामा खतरनाक ग्यास ह्वासप्रश्वासका क्रममा निलेको आशङ्का गरिएको छ। प्रहरी तथा स्थानीय स्वास्थ्य र आपतकालीन अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेका छन्। केही घाइतेलाई नजिकैको अस्पताल लगेर उपचार गरिएको आगाबेले बताए ।

    समुदायका स्रोतहरूलाई उद्धृत गर्दै नाइजेरियाको राष्ट्रिय दैनिक द नेसन पत्रिकाले रिपोर्ट गरे अनुसार बिहीबार बिहान करिब २०० जना युवा स्थानीय रूपमा बनेका डुङ्गाबाट आएर नदीकिनारमा जहाजबाट अवैध रूपमा निकालिएको पेट्रोलियम पदार्थ लोड गर्न पुगेका थिए। लोड गर्ने क्रममा उक्त पट्रोलियम पदार्थबाट निस्केको तीतो धुवाँ हावामा फैलियो र नजिकमा रहेका पीडितहरूले तत्कालै श्वासप्रश्वास गर्न कठिन भएको बताएका थिए ।

    स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै पत्रिकाले लेखेकोछ, “घटनास्थलबाट ओक्रिकाका बासिन्दा पहिचान भएका कम्तीमा ३७ शव निकालिएका छन् भने केही अझै बेपत्ता छन् ।

  • रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने

    रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने


    किएभ, युक्रेन, १८ भदौ (रासस–एएफपी) । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन गतिविधिका कारण रूसको हवाई क्षेत्र नागरिक उड्डयनका लागि असुरक्षित बन्न सक्ने बताएका छन् । मंगलबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै जेलेन्स्कीले रूसको हवाई क्षेत्र प्रयोग गर्ने एयरलाइन्स, बीमा कम्पनी तथा प्रमुख विमानस्थल सञ्चालनसँग सम्बन्धित पक्षहरूलाई सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरे । उनले युक्रेनले नागरिक विमानलाई लक्षित नगर्ने स्पष्ट पार्दै रुसी आकाशमा ड्रोन गतिविधि बढ्न सक्ने भएकाले नागरिक उड्डयनमा त्यसको प्रभाव पर्न सक्ने बताए ।

    पछिल्ला महिनाहरूमा युक्रेनी ड्रोनको गतिविधिका कारण रूसका विभिन्न विमानस्थलमा हवाई सेवा पटक–पटक प्रभावित हुँदै आएको छ । जेलेन्स्कीले युद्ध जारी रहेसम्म यस्तो जोखिम कायम रहन सक्ने बताए । जेलेन्स्कीको भनाइप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आपत्ति जनाउँदै त्यसलाई ‘राज्य आतंकवादको घोषणा’का रूपमा व्याख्या गरे । उनले युक्रेनसँग वार्ताका लागि प्रयास भइरहे पनि यस्तो परिस्थितिमा वार्ता अघि बढाउन कठिन हुने संकेत गरे ।


    यसैबीच, रूस र युक्रेनबीच पछिल्ला महिनाहरूमा लामो दूरीका क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र भएका छन् । पछिल्लो रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा किभ र आसपासका क्षेत्रमा कम्तीमा १२ जनाको मृत्यु भएको बताइएको छ । रुसले ब्यालिस्टिक क्षेप्यास्त्रको प्रयोग बढाउँदै आएको छ भने युक्रेनले हवाई प्रतिरक्षाका लागि आवश्यक सामग्रीको अभाव सामना गरिरहेको जनाएको छ । त्यसको प्रतिक्रियास्वरूप युक्रेनले रूसभित्रका पूर्वाधार, बन्दरगाह तथा अन्य संरचनालाई लक्षित गर्दै ड्रोन आक्रमण बढाएको छ ।


    राष्ट्रपति पुटिनले युक्रेनी आक्रमणका कारण रूसका केही नागरिक पूर्वाधार तथा तेल प्रशोधन केन्द्रमा क्षति पुगेको स्वीकार गरे । यद्यपि, उनले रुसी सेनाले युद्धको अग्रभागमा आफ्नो सैन्य गतिविधिको गति बढाइरहेको दाबी गरेका छन् । यता, जेलेन्स्कीले कूटनीतिक पहललाई सहयोग पु¥याउन आवश्यक परे निश्चित समय र क्षेत्रमा ड्रोन गतिविधि रोक्न सकिने संकेत गरे । रूस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाको मध्यस्थतामा भइरहेका कूटनीतिक प्रयास भने हालसम्म ठोस निष्कर्षमा पुग्न सकेका छैनन् ।

  • जलवायु सङ्कटले बढायो खाद्य र खानेपानी अभावको जोखिम

    जलवायु सङ्कटले बढायो खाद्य र खानेपानी अभावको जोखिम


    पालाउ, १८ भदौ (रासस–एएफपी) । विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न विश्व असफल हुने देखिएसँगै प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य अभाव र खानेपानीको सङ्कट गहिरिने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) को नयाँ प्रतिवेदनअनुसार औद्योगिक युगअघि‍को तुलनामा विश्वको तापक्रम अधिकतम १.८ डिग्री सेल्सियससम्म बढ्न सक्ने अनुमान गरिएको छ । यो पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यभन्दा माथि हो ।

    पालाउमा जारी प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलनमा वैज्ञानिकहरूले तापक्रम १।.५ डिग्रीको सीमाभन्दा माथि पुगे त्यसको प्रत्यक्ष असर प्रशान्त टापु राष्ट्रहरूको अर्थतन्त्र, खाद्य सुरक्षा र जनजीवनमा पर्ने बताएका छन् । द प्यासिफिक कम्युनिटीका उपमहानिर्देशक एन्ड्र्यु जोन्सका अनुसार समुद्री तापक्रम बढ्दै जाँदा टुना माछा पूर्वतर्फ सर्नेछ । विश्वको करिब एकतिहाइ टुना माछा प्रशान्त क्षेत्रमै उत्पादन हुने भएकाले यसको स्थानान्तरणले टापु राष्ट्रहरूको आम्दानीमा ठूलो असर पार्नेछ ।

    उनका अनुसार माछा मार्ने अनुमतिपत्रबाट प्राप्त हुने शुल्कमा करिब ९ करोड अमेरिकी डलर कमी आउन सक्छ, जुन यस क्षेत्रका सरकारहरूको कुल राजस्वको करिब १३ प्रतिशत हो । यसले गम्भीर आर्थिक संकट निम्त्याउन सक्ने उनले बताए । तटीय क्षेत्रमा माछा मारेर जीविकोपार्जन गर्ने समुदायको उत्पादनसमेत करिब ६५ प्रतिशतले घट्न सक्ने अनुमान गरिएको छ । यसबाट स्थानीय बासिन्दाको खाद्य सुरक्षामा प्रत्यक्ष असर पर्नेछ ।

    जोन्सले यस्तो अवस्थाले प्रत्येक परिवारले सातामा करिब दुई छाकका लागि पाउने स्वस्थ र पौष्टिक प्रोटिनको स्रोत गुम्न सक्ने बताए । वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण विनाशकारी बाढीको जोखिम बढ्नुका साथै समुद्री नुनिलो पानी जमिनभित्र पस्दा खानेपानीका स्रोतसमेत प्रभावित हुने चेतावनी दिएका छन् । यसले प्रशान्त क्षेत्रका तल्लो भूभागमा रहेका टापुहरूमा मानव बसोबास नै कठिन बनाउने उनीहरूको भनाइ छ ।

    तल्लो भूभागमा रहेको टुभालुका जलवायु परिवर्तनमन्त्री माइना तालियाले जलवायु संकट भविष्यको समस्या नभई अहिले नै वास्तविकतामा परिणत भइसकेको बताइन् । प्रशान्त टापु राष्ट्रहरूले जलवायु परिवर्तनसँग अनुकूलन गर्न थप आर्थिक सहयोग तथा विकसित देशहरूले जीवाश्म इन्धनको प्रयोग घटाउन ठोस कदम चाल्नुपर्ने माग गरेका छन् ।

    मार्सल आइल्यान्ड्सकी जलवायु दूत टिना स्टेजेले १.५ डिग्री सेल्सियसको लक्ष्य जोगाउन तत्काल थप प्रयास आवश्यक रहेको बताइन् । भानुआतुका जलवायु परिवर्तनमन्त्री राल्फ रेगेनभानुले प्रशान्त क्षेत्रको प्रमुख सदस्य तथा कोइला र ग्यासको ठूलो निर्यातकर्ता अस्ट्रेलियाले जीवाश्म इन्धनको निर्यात विस्तार रोक्नुपर्ने बताए ।
    उनले अस्ट्रेलियाले जलवायु संकट समाधानका लागि पर्याप्त कदम नचालेको आरोप लगाए । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजीले देशको ऊर्जा प्रणालीलाई नवीकरणीय ऊर्जातर्फ रूपान्तरण गर्न समय लाग्ने बताए । उनले ऊर्जा संक्रमणका क्रममा ग्यासको पनि भूमिका रहने उल्लेख गर्दै जलवायु परिवर्तन नियन्त्रणका लागि सबै देशले अझ बढी प्रयास गर्नुपर्ने बताए । “हामी सबैले अझ धेरै गर्न आवश्यक छ,” अल्बानीजीले भने ।

  • रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै

    रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै


    लन्डन, १८ भदौ (रासस–एएनआई) । रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको पाइएको छ । फाइनान्सियल टाइम्सका अनुसार सन् २०२३ देखि सञ्चालनमा रहेको ‘सी४३०एल’ नामक बहुवर्षीय कार्यक्रममा रुसका अनुभवी मिसाइल विशेषज्ञ संलग्न छन् । कार्यक्रमअन्तर्गत इरानलाई ध्वनिको गतिभन्दा कैयौँ गुणा तीव्र गतिमा उड्न सक्ने मिसाइलका लागि आवश्यक रामजेट इन्जिन प्रविधि विकास गर्न सहयोग भइरहेको छ ।

    रूसी पत्राचार, यात्रा विवरण र सैन्य पेटेन्टको विश्लेषणमा आधारित प्रतिवेदनअनुसार अमेरिका–इजरायल र इरानबीच सैन्य द्वन्द्व भइरहेका बेला पनि उक्त कार्यक्रम जारी रहेको थियो । इरानी मिसाइल विज्ञ तथा कन्फ्लिक्ट आर्मामेन्ट रिसर्चका वरिष्ठ विश्लेषक फेबियन हिन्जले यसलाई रुसबाट इरानतर्फ भएको अत्यन्त रणनीतिक सैन्य प्रविधिको महत्त्वपूर्ण हस्तान्तरणका रूपमा व्याख्या गर्नुभएको छ । उहाँका अनुसार यस्तो कार्यक्रम सञ्चालनका लागि रूसी नेतृत्वको उच्च राजनीतिक स्वीकृति आवश्यक हुन्छ ।

    रामजेट प्रविधि जहाजविरोधी तथा स्थल आक्रमण गर्ने क्रुज मिसाइलमा प्रयोग गर्न सकिन्छ । सुपरसोनिक मिसाइलले उच्च गति र कम उचाइमा उड्ने क्षमता प्रयोग गर्ने भएकाले हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई त्यसको पहिचान र अवरोध गर्न कम समय मात्र उपलब्ध हुन्छ । खाडी क्षेत्रमा अमेरिकी तथा सहयोगी सेनाका उन्नत प्रतिरक्षा प्रणाली तैनाथ रहेकाले यो प्रविधि इरानका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

    फाइनान्सियल टाइम्सका अनुसार इरानले रामजेट इन्जिन प्रणाली निर्माण र उडान परीक्षण गरिसकेको छ । यद्यपि रूसी सहयोगमा विकसित सुपरसोनिक क्रुज मिसाइल तैनाथ भइसकेको प्रमाण भने भेटिएको छैन । सीआईएका पूर्व इरानकेन्द्रित सैन्य विश्लेषक जिम ल्यामसनले यस्तो प्रविधिले इरानलाई अमेरिकी नौसेनाका जहाजविरुद्ध नयाँ स्तरको रणनीतिक क्षमता प्रदान गर्न सक्ने बताउनुभएको छ । चुहिएको रूसी पत्राचारले यस गर्मीयामसम्म पनि कार्यक्रमबारे छलफल भइरहेको देखाएको छ ।

    रुस र इरानबीच बढ्दो सैन्य सहकार्यका बीच यो विवरण सार्वजनिक भएको हो । इरानले रुसलाई ‘साहेद’ आक्रमण ड्रोन आपूर्ति गर्दै आएको छ र यी ड्रोन युक्रेनविरुद्धको रूसी युद्धमा प्रयोग हुँदै आएका छन् । पश्चिमी अधिकारीहरूले रुसले इरानलाई स्याटेलाइट तस्बिर, ड्रोन सहयोग र हतियारका सामग्री उपलब्ध गराएको आरोप पनि लगाउँदै आएका छन् ।

    यसैबीच, अमेरिकाले इरानी सैन्य संरचनाविरुद्ध आक्रमण तीव्र पारेको छ । अमेरिकी सेन्ट्रल कमान्डले इरानी हवाई प्रतिरक्षा, समुद्री खानी राख्ने क्षमता तथा सञ्चार संरचनालाई लक्षित गरी कारबाही गरिएको जनाएको छ । सेन्टकमका अनुसार हर्मुज जलघाँटीमा व्यापारिक जहाज र अमेरिकी सैनिकविरुद्ध आइआरजिसीले गरेको प्रयास आक्रमणपछि ती कारबाही भएका हुन् ।

    तर इरानी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी आक्रमणले सिरिकमा आयोजित विवाह समारोहलाई समेत निशाना बनाएको र त्यसबाट ५० भन्दा बढी व्यक्ति मारिएका वा घाइते भएको दाबी गरेका छन् । इरानको सरकारी समाचार संस्था इरनाले अमेरिकी आक्रमणको जवाफमा आइआरजिसी एयरोस्पेस फोर्सले जोर्डनस्थित अमेरिकी प्रिन्स हसन एयर बेसमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज आसपासका इरानी लक्ष्यविरुद्ध नयाँ आक्रमण सुरु गरिएको बताएका छन् । इरानले जलघाँटीमा थप समुद्री खानी बिछ्याउने तयारी गरेको दाबी गर्दै उहाँले त्यसको जवाफमा कारबाही गरिएको बताए । उनले अमेरिकी आक्रमणको जवाफमा इरानबाट हुने कुनै पनि प्रतिक्रियाको कडा प्रतिकार गरिने चेतावनी दिँदै तेहरानविरुद्ध अझ ठूलो कारबाही हुन सक्ने सङ्केतसमेत गरे ।

  • गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी

    गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी


    जेनेभा, १८ भदौ (रासस–क्यूएनए) । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजा पट्टीमा नजिकिदै गरेको वर्षाको मौसमसँगै रोग उत्पन्न हुने चिन्ता व्यक्त गर्दै यसले स्वास्थ्य जोखिम बढाउन सक्ने चेतावनी दिएको छ । सङ्गठनले गाजाका अधिकांश मानिसहरू अत्यन्त कठिन परिस्थितिमा बाँचिरहेको उल्लेख गर्दै वर्षाको मौसममा झनै जोखिम बढ्न सक्ने जनाएको हो ।

    कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरूका लागि डब्ल्यूएचओका प्रतिनिधि रेन्हिल्डे भ्यान डे वेड्र्टले अझै पनि उनीहरूलाई आवश्यक पर्ने न्यूनतम मात्रामा पानी उपलब्ध गराउन डब्ल्यूएचओ असमर्थ रहेको उल्लेख गर्दै पानीको गुणस्तर र प्रदूषण गाजामा प्रमुख विषय भएको जनाएका छन् । उनले यो अवधिमा झाडापखालाको सङ्क्रमणमा उल्लेखनीय वृद्धि भएको जनाउँदै मार्चमा २७ हजार वटा सङ्कमणका घटनाहरु दुई गुणाले बढेर गत अगस्तमा ४८ हजार भन्दा बढी पुगेको बताए ।


    वर्षाको मौसम र जाडो नजिकिँदै जाँदा गाजाको अधिकांश जनसङ्ख्या अत्यन्त भीडभाड भएको शिविर र अस्थायी टहराहरुमा बस्ने गरेको भ्यान डे वेर्डले बताए । वर्षाले भीडभाडयुक्त शिविरहरूमा बाढी ल्याउने र बासिन्दाहरू सुत्ने ठाउँहरूमा ढल, फोहोर र दूषित पानी फैलाउने, पानीजन्य रोगहरूको जोखिम बढाउने भविष्यवाणी गर्दै उहाँले आश्रयस्थलमा फोहोर धेरै जम्मा भएको बताए ।


    गाजाको जीर्ण स्वास्थ्य प्रणालीले रोग प्रकोपको सामना गर्न असमर्थ रहेको कुरामा जोड दिँदै भ्यान डे वेड्र्टले आगामी वर्षाको मौसममा गाजा पट्टीमा किरा, लामखुट्टे र ब्याक्टेरियाहरू फैलिने भविष्यवाणी गरेका छन् । उनले रोगको नियन्त्रण गर्न द्रुत रूपमा प्रयोगशालाहरूको आवश्यकता पूरा गर्नुका साथै मात्रा र गुणस्तर दुवैको सन्दर्भमा थप स्थायी आश्रय, दिगो पानी आपूर्ति र फोहोर व्यवस्थापन प्रणालीको तत्काल आवश्यकता रहेको विषयमा जोड दिनु भएको छ ।

    इजरायली कब्जाले गाजामा आवश्यक प्रयोगशाला र निदान आपूर्तिको प्रवेशमा प्रतिबन्ध लगाएको छ, जसमा परीक्षणका लागि आवश्यक उपकरणहरु समावेश रहेको अधिकारीहरुले बताएका छन् । डब्ल्यूएचओले गाजामा माइक्रोबायोलोजिकल प्रदूषण जनवरी र अगस्टको बीचमा तीन गुणा बढेर छ हजार ७०० भन्दा बढी पुगेको पानीको नमूनाहरूको विश्लेषणले देखाएको छ भने जनवरीमा प्रदूषण ६५ बाट बढेर अगस्टमा १८५ भन्दा बढी पुगेको छ । यसले इजरायली कब्जालाई पट्टीमा व्यापक रूपमा र कुनै बाधाबिना औषधि र आवश्यक आपूर्तिको प्रवेशलाई छिटो गर्न आह्वान गरेको छ ।

  • अमेरिकी आक्रमणपछि इरान आक्रामक, ‘कडा प्रहार’ गर्ने चेतावनी

    अमेरिकी आक्रमणपछि इरान आक्रामक, ‘कडा प्रहार’ गर्ने चेतावनी


    तेहरान, १८ भदौ (रासस–सिन्ह्वा–एएफपी) । इरानको इस्लामिक ‘रिभोलुसन गाड्र्स’ ले अमेरिकाले इरानका सैन्य लक्ष्यमाथि गरेको हमलाको जवाफमा प्रतिकार सुरु गरिसकेको जनाएको छ । इरानी सैन्य नेतृत्वले अमेरिकाविरुद्ध ‘कुचल्ने र चकनाचुर पार्ने’ गरी कडा प्रहार गर्ने चेतावनी दिएको छ । इरानी सैन्य सङ्गठनका अनुसार, उसको वायु रक्षा प्रणालीले अमेरिकी मानवरहित विमान खसालेको छ । त्यसैगरी, इरानी हवाई तथा अन्तरिक्ष सेनाले मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार तथा अन्य सैन्य संरचनामाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।
    इरानले अमेरिकाले मंगलबार दक्षिणी क्षेत्रमा गरेको हवाई हमलापछि प्रतिकार सुरु गरिएको जनाएको हो । इरानी पक्षका अनुसार उक्त अमेरिकी हमलामा ५४ जनाभन्दा बढी मानिस मारिएका तथा घाइते भएका छन् । अर्धसरकारी समाचार संस्थाले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै होर्मोजगान प्रान्तको सिरिक जिल्लामा भइरहेको विवाह समारोहलाई लक्षित गरी गरिएको अमेरिकी हमलामा कम्तीमा चार जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा एक बालक र एक महिला रहेको तथा ५० भन्दा बढी मानिस घाइते भएको बताइएको छ ।


    अमेरिकी सेनाको मध्यपूर्व कमाण्डले इरानी सैन्य लक्ष्यमाथि हमला सुरु गरेको घोषणा गरेपछि मंगलबार साँझ दक्षिणी इरानका विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । होर्मोजगान, सिस्तान तथा बलुचिस्तान, केरमान र बुशेहर प्रान्तका विभिन्न स्थानमा विस्फोट भएको खबर आएको छ । कोनाराक तथा क्युशम द्वीप आसपास पनि धेरै विस्फोट भएको बताइएको छ । यद्यपि, ती विस्फोटको वास्तविक स्थान र कारणबारे तत्काल स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन ।

    इरानको मुख्य सैन्य कमाण्डले अमेरिकी ‘हवाई आक्रमण’ को जवाफमा आफ्ना सशस्त्र सेनाले अमेरिकाविरुद्ध निर्णायक र कडा प्रहार गर्ने जनाएको छ ।
    यसैबीच, अमेरिकी सेनाको मध्यपूर्व कमाण्डले सामाजिक सञ्जालमार्फत इरानी सैन्य लक्ष्यमाथि हमला सुरु गरिएको पुष्टि गरेको छ । उसका अनुसार, हालै इरानी सैन्य संगठनले होर्मुज जलडमरूमध्यमा व्यावसायिक पानीजहाज तथा मध्यपूर्व क्षेत्रमा तैनाथ अमेरिकी सैनिकमाथि आक्रमणको प्रयास गरेपछि पछिल्लो सैन्य कारबाही गरिएको हो ।

  • थाइल्याण्डले १५ सेप्टेम्बरदेखि ६० भन्दाबढी देशका नागरिकको भिसाबिनाको बसाइ अवधि घटाउँदै

    थाइल्याण्डले १५ सेप्टेम्बरदेखि ६० भन्दाबढी देशका नागरिकको भिसाबिनाको बसाइ अवधि घटाउँदै


    बैङ्कक, १७ भदौ (रासस–एएफपी) । थाइल्याण्डले ६० भन्दाबढी देशका नागरिकलाई दिँदै आएको भिसाबिनाको बसाइको अवधि आधा घटाएर ३० दिनमा सीमित गर्ने भएको छ । उक्त व्यवस्था आगामी १५ सेप्टेम्बरदेखि लागू हुनेछ । पर्यटन दक्षिणपूर्वी एसियाली मुलुक थाइल्याण्डको अर्थतन्त्रको महत्वपूर्ण आधार भए पनि विदेशी नागरिकबाट हुने अपराध नियन्त्रण गर्ने प्रयासस्वरूप यो कदम चालिएको अधिकारीले बताएका छन् ।

    पछिल्ला दिनमा भएको पक्राउमा लागुऔषधसम्बन्धी कसुर, यौन बेचबिखन तथा आवश्यक अनुमतिबिना होटल र विद्यालयजस्ता व्यवसाय सञ्चालन गरेको आरोप लागेका विदेशी नागरिकसमेत छन् । हालको पर्यटन योजनाअनुसार युरोपको २९ सदस्यीय सेन्जेन क्षेत्र, चीन, भारत, संयुक्त राज्य अमेरिका तथा दक्षिण अमेरिकाका केही मुलुकसहित ९० भन्दाबढी देशका नागरिकले थाइल्याण्डमा भिसाबिना ६० दिनसम्म बस्न पाउने व्यवस्था छ ।

    थाइ विदेश मन्त्रालयको कन्सुलर मामिला विभागले मङ्गलबार जनाएअनुसार चीन, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घका २७ सदस्य राष्ट्रसहित ६० भन्दाबढी देश तथा क्षेत्रका नागरिकका लागि भिसाबिनाको बसाइ अवधि ३० दिनमा सीमित गरिनेछ । करिब २० अन्य देशका लागि भिसाबिनाको सुविधाको अवस्था भने अझै स्पष्ट छैन । यसबारे विदेश मन्त्रालयका एक अधिकारीले टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

    पेरु, ब्राजिल र दक्षिण कोरियाका नागरिकले भने अब ९० दिनसम्म बिना भिसा थाइल्याण्डमा बस्न पाउनेछन् । यसअघि उनीहरूलाई ६० दिनसम्म बस्न पाउने व्यवस्था थियो । पर्यटकले अध्यागमन अधिकारीको स्वीकृतिमा आफ्नो बसाइको अवधि एकपटक थप गर्न सक्नेछन् । मन्त्रिपरिषद्ले उक्त व्यवस्था स्वीकृत गरेपछि मे महिनामा सरकारी प्रवक्ताले एएफपीलाई यसबारे जानकारी दिनुभएको थियो ।

    विदेशमन्त्री सिहासाक फुवाङकेटकेओले मे महिनामै भिसाबिना बसाइको अवधि घटाउने योजना भिसा प्रणालीको दुरुपयोग गरी थाइल्याण्डमा अपराध गर्ने व्यक्तिविरुद्धको कारबाहीको एक हिस्सा भएको बताए । पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार यस वर्षको सुरुदेखि हालसम्म थाइल्याण्डमा दुई करोड नौ लाख विदेशी पर्यटक पुगेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा तीन प्रतिशत कम हो ।

  • मध्यपूर्वको बढ्दो तनावले तेल बजार र सेयर बजार प्रभावित

    मध्यपूर्वको बढ्दो तनावले तेल बजार र सेयर बजार प्रभावित

    बैङ्कक, १७ भदौ (रासस–एपी) । इरानसँगको द्वन्द्वमा एक महिनाभन्दा बढी समयसम्म उल्लेखनीय भीडन्त नभए पनि पुनः हिंसा भड्किएपछि भविष्यलाई लिएर अनिश्चितता बढेको छ । यसको प्रभाव विश्व बजारमा परेको छ । मङ्गलबार तेलको मूल्य करिब दुई प्रतिशतले बढ्दा विश्वभरका सेयर बजारमा गिरावट आएको छ ।

    अनलाइन ‘फास्ट फेसन’ खुद्रा विक्रेता ‘शिन’को सेयर मङ्गलबार हङकङमा कारोबार सुरु भएलगत्तै १० प्रतिशतसम्म घटेको थियो । कारोबार बन्द हुँदा यसको मूल्य चार प्रतिशतले घटेको थियो । ब्रेन्ट कच्चा तेलको मूल्य दुई प्रतिशतले बढेर प्रतिब्यारेल ९२ दशमलव ३५ अमेरिकी डलर पुगेको छ । आइतबार अमेरिकाले इरानी टापुमा रहेका रकेट प्रक्षेपण केन्द्रमा आक्रमण गरेपछि सोमबार पनि तेलको मूल्य दुई दशमलव सात प्रतिशतले बढेको थियो । अमेरिकाले ती प्रक्षेपण केन्द्रबाट ‘स्ट्रेट अफ हर्मुज’मा समुद्री सुरुङ बम (माइन) बिछ्याउने तयारी भइरहेको दाबी गरेको थियो ।

    त्यसको जवाफमा इरानले जोर्डनस्थित अमेरिकी अखडामा क्षेप्यास्त्र प्रहार गरेको थियो । ती क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाइएको छ । द्वन्द्वका कारण ‘स्ट्रेट अफ हर्मुज’ हुँदै हुने आवागमन सीमित भएको छ । विश्वको कुल तेल ढुवानीको करिब २० प्रतिशत यही मार्ग हुँदै हुने गरेको छ । द्वन्द्व सुरु भएयता तेलको मूल्य उच्च रहँदा पेट्रोलियम पदार्थदेखि ढुवानी गरिने सामानसम्मको मूल्य बढेको छ । अमेरिकी बेन्चमार्क कच्चा तेलको मूल्य दुई दशमलव पाँच प्रतिशतले बढेर प्रतिब्यारेल ८७ दशमलव ८४ डलर पुगेको छ ।

    युरोपेली बजारको प्रारम्भिक कारोबारमा जर्मनीको ड्याक्स सूचकाङ्क एक दशमलव एक प्रतिशतले घटेर २५,९८२ दशमलव २८ मा झरेको छ । पेरिसको क्याक ४० सूचकाङ्क शून्य दशमलव चार प्रतिशतले घटेर ८,३०३ दशमलव ६५ मा सीमित भएको छ । बेलायतको एफटीएसई १०० सूचकाङ्क पनि एक दशमलव एक प्रतिशतले घटेर १०,७०२ दशमलव २५ मा आएको छ ।

    एसियाली सेयर बजारमा हङकङको हाङ सेङ सूचकाङ्क शून्य दशमलव नौ प्रतिशतले घटेर २५,३२९ दशमलव ७३ मा झरेको छ भने सांघाई कम्पोजिट सूचकाङ्क शून्य दशमलव दुई प्रतिशतले घटेर ३,९७९ दशमलव ८९ मा सीमित भएको छ ।

    टोकियोको निक्केई २२५ सूचकाङ्कले सुरुवाती वृद्धि गुमाउँदै शून्य दशमलव प्रतिशतको गिरावटसहित ६६,२१५ दशमलव ३४ मा झरेको छ । दक्षिण कोरियाको कोस्पी सूचकाङ्क भने शून्य दशमलव दुई प्रतिशतले बढेर ६,८३५ दशमलव ८० पुगेको छ । अस्ट्रेलियाको एसएन्डपी÷एएसएक्स २०० सूचकाङ्क शून्य दशमलव एक प्रतिशतले घटेर ९,०६६ दशमलव ७० मा आएको छ ।

    यसबीच ऊर्जा क्षेत्रका कम्पनीको सेयर मूल्य भने बढेको थियो । एक्सन मोबिलको सेयर दुई दशमलव सात प्रतिशत र सेभ्रोनको दुई दशमलव एक प्रतिशतले बढेको थियो ।

    ऊर्जाको मूल्यवृद्धिले यसअघि नै उच्च रहेको मुद्रास्फीतिमा थप दबाब सिर्जना गरेको छ । मुद्रास्फीति अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भको दुई प्रतिशतको लक्ष्यभन्दा अझै माथि छ । ऊर्जाको मूल्यवृद्धिले घरायसी खर्च र उपभोक्ता विश्वासमा दबाब बढाउनुका साथै फेडरल रिजर्भको ब्याजदर नीतिसम्बन्धी निर्णयलाई थप जटिल बनाएको छ ।

    फेडरल रिजर्भको आगामी कदमबारे लगानीकर्ताको अपेक्षालाई नजिकबाट प्रतिबिम्बित गर्ने दुई वर्षे ट्रेजरी बन्डको प्रतिफल सोमबार चार दशमलव ३४ प्रतिशतमा स्थिर रह्यो । यो शुक्रबारको अन्त्यमा पनि सोही स्तरमा थियो । सन् २०२६ को सुरुवातमा भने उक्त प्रतिफल करिब तीन दशमलव ५० प्रतिशत थियो ।

  • प्रदूषण गराएको भन्दै हर्मुजमा एक कार्गो जहाज इरानको नियन्त्रणमा

    प्रदूषण गराएको भन्दै हर्मुजमा एक कार्गो जहाज इरानको नियन्त्रणमा


    तेहरान, १६ भदौ (रासस–एएफपी) । इरानी अधिकारीहरूले हर्मुज जलमार्गमा तेल र अर्ध ठोस अवस्थाको इन्धनजन्य फोहोर फालेको भन्दै एक कार्गो जहाजलाई कब्जा गरेको इरानी सञ्चार माध्यमले सोमबार जनाएका छन् । “समुद्रमा तेल फालेका तस्बिर प्रकाशित भएपछि विशेषज्ञ र सफाइ टोली स्थलमा पठाइयो र प्रदूषण गराउने जहाज कब्जा गरियो,” दक्षिणी हर्मोज्गान प्रान्तका बन्दरगाह तथा समुद्री विभागका उपप्रमुख इस्माइल माकिजादेहले इरानी सरकारी समाचार संस्थालाई बताए ।


    “कब्जा गरिएको जहाज चिनी बोकेको विशाल जहाज रहेको र यसले जलेको तेल, प्रदुषित पानी र औद्योगिक फोहोरको मिश्रण सिधै समुद्रमा फालेको थियो,” उनले भने । उनले जहाज कुन देशको हो र त्यसमा रहेका चालक दलको राष्ट्रियता उल्लेख गरेनन् । पानीबाट फोहोर सफा गरिसकिएको र जहाज न्यायपालिकामा पठाइएको उनले बताए । इरानले पछिल्ला हप्ताहरूमा भएका धेरै तेल चुहावटपछि क्षतिपूर्तिको माग गरेको छ, जसमा केश्म टापु नजिकको घटना पनि समावेश छ।

    अगस्टको सुरुमा छिमेकी ओमान नजिक एउटा ट्याङ्कर रोकिएपछि तेलको दाग देखिएको थियो। एएफपीको अनुसन्धानले उक्त जहाज विस्फोटबाट क्षतिग्रस्त भएपछि ओमानको अल–काब्लिय–याह टापु नजिक एक हप्ताजति अलपत्र भएको पत्ता लगाएको थियो। फेब्रुअरीमा मध्यपूर्व युद्ध सुरु भएदेखि इरानले हर्मुज जलमार्गमा नियन्त्रण कायम राखेको छ । यसले पारवहन गर्ने जहाजहरूबाट शुल्क उठाएर वातावरण संरक्षणलगायत सेवाहरूको लागि रकम जुटाउने योजना बनाएको छ । अमेरिकाले जलमार्गमा कुनै पनि शुल्कको उठाउने कुराको कडा विरोध गर्छ ।

  • इजरायली नेता नेतान्याहूले अमेरिकालाई युद्धमा फसाएको इरानी विदेशमन्त्रीको दावी

    इजरायली नेता नेतान्याहूले अमेरिकालाई युद्धमा फसाएको इरानी विदेशमन्त्रीको दावी


    तेहरान, १६ भदौ (रासस–एएफपी) । इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले सोमबार इजरायली प्रधानमन्त्रीले वासिङ्टनलाई इस्लामिक गणतन्त्र इरानसँग युद्धमा फसाएको आरोप लगाउँदै बेन्जामिन नेतान्याहूलाई ‘विषालु सर्प’ को संज्ञा दिएका छन् । इरानी विदेशमन्त्री अराघचीले भने, “नेतान्याहूले हिब्रु भाषामा खुलेर गर्व गर्नुहुन्छ, उहाँले इजरायलको तर्फबाट इरानसँग युद्ध गर्न अमेरिकी प्रशासनलाई फसाउनुभएको छ ।”

    फेब्रुअरी २८ मा अमेरिका–इजरायली हमलाबाट इरानका सर्वोच्च नेता अली खामेनी र वरिष्ठ सैन्य अधिकारीहरूको मृत्यु भएपछि इरान र अमेरिकाबीच युद्ध सुरु भएको थियो । इरानले खाडी क्षेत्रभरि आक्रमण गरेर अमेरिका–इजरायली हमलाको जवाफ दियो र द्वन्द्व फैलिँदै गयो ।

    अप्रिलको युद्धविरामले सबैभन्दा तीव्र लडाइँ अन्त्य ग¥यो, तर हर्मुज जलमार्ग नजिक मुख्य रूपमा हुने छिटपुट आक्रमणले अन्तिम शान्ति सम्झौताको सम्भावना कमजोर बनाएको छ । अमेरिका हालै इरानको ‘आर्थिक सङ्कट’ निम्त्याएर दवाव दिने अभियानतर्फ लागेको छ । अमेरिकाले आइतबार राति इरानी टापु लारकमा आक्रमण गरेको थियो । यो एक महिनामा पहिलो ठूलो आक्रमण हो । जवाफमा इरानले जोर्डन र यूएईका अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको दाबी गरेको छ ।

    “इरानका नेताहरूलाई ‘जङ्गली’ जन्तुको संज्ञा दिँदै गत साता नेतान्याहूले भनेका थिए, “इरान–अमेरिका सम्झौताको कुनै सम्भावना छैन ।” नेतान्याहू लामो समयदेखि इरानसँग कूटनीति गर्नु गलत हुने धारणा राख्छन् । उनले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको सन् २०१५ को आणविक सम्झौताको खुलेर विरोध गरेका थिए । तर ट्रम्पले वार्तामार्फत समाधान खोज्दा सार्वजनिक रूपमा आलोचना गर्ने कुरामा सावधान बनेका थिए ।

  • इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’ : यूएई

    इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’ : यूएई

    दुबई, १६ भदौ (रासस–एएफपी) । संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का गरिएको इरानी ड्रोन आक्रमणको निन्दा गर्दै यसलाई ‘खतरनाक वृद्धि’ भनेको छ । यूएईमा सापेक्षिक शान्तिको केही हप्तापछि यो घटना भएको हो ।

    यो मे महिनापछि यूएईको क्षेत्रलाई लक्षित गर्ने पहिलो इरानी आक्रमण हो, यद्यपि खाडी मुलुकले यस महिना आफ्ना जहाजहरूमाथि आक्रमण भएको रिपोर्ट गरेको छ । यूएईको परराष्ट्र मन्त्रालयले एक्समा जारी वक्तव्यमा भनिएको छ, “यूएईको क्षेत्रीय जलक्षेत्रमाथि हवाई रक्षा प्रणालीले रोकेको ड्रोन संलग्न शत्रुतापूर्ण इरानी आक्रमणको कडा निन्दा गर्दछ ।”

    मन्त्रालयले यूएईले ‘जवाफ दिने पूर्ण र वैध अधिकार’ सुरक्षित राखेको पनि बताएको छ । रक्षा मन्त्रालयले इरानबाट आएको ड्रोनलाई आफ्नो जलक्षेत्रमाथि नियन्त्रण गरेको बताउँदै अमेरिकी कर्मचारी बस्ने अखडामा क्षेप्यास्त्र आक्रमण भएको अफवाह अस्वीकार गर्‍यो । सोमबारको सुरुमा इरानले अल मिन्हाद हवाई अड्डालाई ‘दर्जनौँ ड्रोन आक्रमण” बाट लक्षित गरेको दाबी गरेको थियो ।

  • मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिने घोषणा

    मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिने घोषणा

    मियामी, १६ भदौ (रासस–एएफपी) । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिन लागेको सोमबार घोषणा गरेका छन् । उनले अर्जेन्टिनालाई जुलाईमा लगातार दोस्रो विश्वकप फाइनलमा पु¥याएपछि अब धेरै नखेल्ने भनाइ सार्वजनिक हुँदै आएका थिए ।

    फुटबलका सुपरस्टार ३९ वर्षीय मेस्सीले इन्स्टाग्राममा लेखेका छन्, “यो निर्णयले मलाई पीडाबोध भएको छ र अझै पनि मेरो आत्मामा गहिरो पीडा हुनेछ । तर म बुझ्छु, यो सही समय हो।” उनले भने, “म शपथ खाएर भन्छु कि मैले सधैँ सबैथोक दिएँ, केवल पछिल्ला वर्षहरूमा जब हामीले सबै जित्यौँ मात्र होइन । त्यसभन्दा अघि पनि । मैले सधैँ यो जर्सीका लागि लडें र सबै दिएँ।”

    मेस्सीको कप्तानीमा उनले सन् २०२२ मा दोहामा फ्रान्सविरुद्ध पेनाल्टी सुटआउटमा जितेर अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाए । तर उनको टोलीले सन् २०२६ को फाइनलमा इस्ट रदरफोर्ड, न्यू जर्सीमा स्पेनसँग १–० ले हार बेहोर्‍ यो। अगस्टमा बुबा जर्जको मृत्युपछि मेस्सीले कुनै पनि प्रकारको फुटबल खेल्न ‘धेरै लामो समयसम्म’ जारी राख्नेबारे ‘गम्भीर शङ्का’ रहेको बताएका थिए ।


    मेजर लिग सकर क्लब इन्टर मियामीसँगको मेस्सीको करार सन् २०२८ को सिजनको अन्त्यसम्म चल्छ । उनले अर्जेन्टिनाका लागि २०७ खेल खेलिसकेका छन् र अर्जेन्टिनाका लागि १२५ गोल गरेर अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता पनि बनेका छन् ।

  • लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै

    लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै


    बाटम, १५ भदौ (रासस–एपी) । मध्यपूर्वमा लामो तैनाथी पूरा गरी घर फर्किरहेको अमेरिकी विमानवाहक युएसएस अब्राहम लिङ्कन आइतबार बिहान सिङ्गापुर जलमार्गहुँदै अघि बढेको छ । उक्त युद्धपोत बन्दरगाह भ्रमणका लागि थाइल्यान्डमा रोकिने अपेक्षा गरिएको छ । अमेरिकी नौसेनाका ठूला युद्धपोतमध्ये एक लिङ्कनलेइरानविरुद्धको अमेरिकी सैन्य अभियानलाई समर्थन गर्दै आएको थियो । यसको पछिल्लो तैनाथीमा लगातार २५० दिनभन्दा बढी समुद्रमा बिताएको रेकर्ड बनेको थियो ।

    लामो समयको तैनाथीका क्रममा चालक दलका सदस्यहरूको मानसिक स्वास्थ्यमा असर परेको तथा खाना र सरसफाइका सामग्रीलगायत आवश्यक आपूर्तिको अभाव भएको रिपोर्ट सार्वजनिक भएपछि लिङ्कनको तैनाथीबारे चिन्ता व्यक्त गरिएको थियो । थाई अधिकारीहरूका अनुसार लिङ्कन अमेरिकी सैन्य आधारमा फर्कनुअघि चालक दलका सदस्यलाई आराम तथा स्वास्थ्यलाभको अवसर दिन थाइल्यान्डमा रोकिनेछ ।

  • चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देशः “दुःखमा नेपाल एक्लै छैन”

    चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देशः “दुःखमा नेपाल एक्लै छैन”

    १५ भदौ, काठमाडौँ । रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। साथै, यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको सन्देश पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीले दिएका छन् । प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री ड.। स्वर्णिम वाग्लेलाई भेट गरेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको उक्त सन्देश नेपाल सरकारलाई सुनाए ।


    “बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाउनुभएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गरे । ‘बाढीमा ज्यान गुमाएकाप्रति उहाँहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ,” राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाउँदै राजदूत झाङ माओमिङले भने, “यो दुःखमा नेपाल एक्लै छैन। चीन नेपाल र नेपाली जनताको साथमा छ।” साथै, नेपालको विपद् पछिको उद्धार र राहतमा चीन सरकारले सहयोग निरन्तर जारी राख्ने पनि राजदूत माओमिङले बताए ।


    आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर)को चेक हस्तान्तरण गरे । यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँबराबर (२ लाख अमेरिकी डलर) को नगद सहयोग पनि हस्तान्तरण गरे ।


    राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए । राजदूत माओमिङले नेपालका लागि चीन सरकारले घोषणा गरेका अन्य प्रकारका सहायता सामग्रीहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए । आज मात्रै दुईवटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौँमा ओरालेको राजदूत माओमिङले बताए । साथै, थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ।

    रसुवाको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उहाँले अर्थमन्त्रीलाई अवगत गराए । त्यस्तै, जलविद्युत कम्पनीको सुरुङ (टनेल) मा फसेकाहरूको उद्धारका लागि हिजै चिनियाँ हेलिकप्टरसहितको दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप दक्ष उद्धार प्राविधिकहरू आज नेपाल आइपुगेको बताए । नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रूत गतिमा काम गरिरहेको कुरा पनि उहाँले अर्थमन्त्रीलाई जानकारी दिए ।

  • नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र

    नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र


    नयाँदिल्ली, १४ भदौ (रासस–एएफपी) । हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले चीन र नेपालसँग सीमा जोडिएका आफ्ना हिमाली क्षेत्रमा हिमनदी तथा हिमनदीजन्य तालको निगरानी बढाएको अधिकारीहरूले शनिबार बताएका छन्। युएस जियोलोजिकल सर्भेका अनुसार बुधबार तिब्बत–नेपाल सीमामा आएको विपत्ति हिमनदी खस्दा उत्पन्न लेदोसहितको तीव्र बहावका कारण भएको थियो। घटनामा करिब तीन हजार मानिस बेपत्ता भएका छन् भने ६३३ जनाको मृत्यु पुष्टि भएको छ।

    हिमनदी खस्नुको यकिन कारण स्पष्ट नभए पनि जलवायु परिवर्तनका कारण विश्वभर हिमनदी तीव्र गतिमा पग्लिँदा यस्ता विपत्तिको जोखिम बढिरहेको वैज्ञानिकहरूले बताएका छन्। “नेपालसँग हाम्रो सीमा जोडिएको र भौगोलिक अवस्था पनि समान भएकाले हामीले सम्बन्धित विभागलाई यस क्षेत्रका सबै हिमनदी र ज्ञात हिमनदीजन्य तालको निगरानी गर्न निर्देशन दिएका छौँ”, भारतको हिमाली राज्य उत्तराखण्डका विपत्ति व्यवस्थापनमन्त्री मदन कौशिकले भने ।


    “हामीले आफ्ना टोलीलाई सतर्क रहन र राज्यका कुनै पनि क्षेत्रमा यस्तै अवस्था सिर्जना भइरहेको छ कि छैन भनेर निगरानी गर्न भनेका छौँ”, उनले एएफपीलाई बताए । सरकारी तथ्याङ्कअनुसार उत्तराखण्डमा एक हजार २६६ हिमनदीजन्य ताल छन्। यसका कारण राज्यलाई भारतको संवेदनशील पारिस्थितिक क्षेत्रमध्ये एक मानिन्छ।

    वैज्ञानिकहरूका अनुसार हिमाली हिमनदीले विश्वका करिब दुई अर्ब मानिसलाई आवश्यक पानी उपलब्ध गराउँछन्। तर जलवायु परिवर्तनका कारण ती पहिलेभन्दा तीव्र गतिमा पग्लिरहेका छन्। यसले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायलाई अप्रत्याशित तथा विनाशकारी विपत्तिको जोखिम बढाएको छ।

  • राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

    राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

    वाशिङटन, डिसी, १२ भदौः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिकी समाचार संस्था एनबिसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन् । “नेपाललााई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ,” राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै एनबिसीले भनेको छ । उनले भोटेकोशी बाढीबाट भएको क्षतिबारे नेपालका अधिकारीहरूसँग जानकारी लिएपछि उनीहरूलाई सहयोग गर्न अमेरिका तत्पर आफूले जानकारी गराएको बताए ।

  • नेपालप्रति विश्वका नेताको ऐक्यबद्धता, बाढी प्रभावितप्रति गहिरो समवेदना

    नेपालप्रति विश्वका नेताको ऐक्यबद्धता, बाढी प्रभावितप्रति गहिरो समवेदना


    काठमाडौँ, ११ भदौः रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि विभिन्न देशका प्रधानमन्त्रीले मृतकप्रति हार्दिक समवेदना व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो दुःख व्यक्त गरेका छन् । उनीहरुले नेपालले भोगेको यस विषम परिस्थितिमा आफूहरू नेपालको साथमा रहेको पनि उल्लेख गरेका छन् ।


    जापानका प्रधानमन्त्री साने ताकाइचीले आफू नेपाल–चीनबीच गएको भीषण बाढी र त्यसबाट ठूलो क्षति भएकामा दुःखी भएको उल्लेख गरेकी छिन् । उनले बाढीका कारण ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो दुःख व्यक्त गरेकी छिन् । प्रधानमन्त्री वालेन्द्र शाहले यस दुःखद अवस्थामा ऐक्यबद्धता र समवेदनाका लागि जापानी समकक्षीप्रति आभार व्यक्त गरेका छन् । उनले यस अवस्थामा प्रधानमन्त्री ताकाइचीले देखाएको ऐक्यद्धताले दुई देशबीचको बलियो मित्रता प्रतिबिम्बित गरेको बताए ।


    बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले यस दुःखद घडीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका परिवार तथा प्रियजनहरूले बेहोर्नुपरेको अपूरणीय क्षतिप्रति गहिरो दुःख सहानुभूति व्यक्त गरेका छन् । यस कठिन परिस्थितिमा नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन पनि तयार रहेको बताए ।


    प्रधानमन्त्री शाहले यस विपत्तिको सामना गरिरहेको अवस्थामा उनले व्यक्त गरेको सहानुभूति र समवेदनाका लागि बङ्गलादेश सरकार र बङ्गलादेशी जनताप्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनले व्यक्त गरेको ऐक्यबद्धताले दुई देशबीचको गहिरो मित्रतालाई प्रतिबिम्बित गरेको बताए ।


    पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले नेपालको रसुवा जिल्ला र अन्य प्रभावित क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले यस दुःखद घटनामा ज्यान गुमाउनेहरूका शोकसन्तप्त परिवार तथा प्रभावित सबैप्रति मेरो हार्दिक समवेदना व्यक्त गरेका छन् । “यस कठिन घडीमा पाकिस्तान सरकार र पाकिस्तानी जनता नेपाल सरकार तथा नेपाली जनताको साथमा दृढतापूर्वक उभिएका छन् । प्रभावित क्षेत्रमा रहेका सबैको सुरक्षा तथा सुख–समृद्धिको लागि हामी प्रार्थना गर्दछौँ,” उनले भने ।


    प्रधानमन्त्री शाहले पाकिस्तानी समकक्षी सरिफ तथा पाकिस्तानका जनताले व्यक्त गर्नुभएको समवेदना र ऐक्यबद्धताप्रति गहिरो आभार व्यक्त गरेका छन् । साथै इस्लामावादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा बुधबार भएको दुःखद घटनाबाट प्रभावित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीर्घ स्वास्थ्यलाभको कामना गरेका छन् ।

    अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बतमा आएको ठूलो बाढीबाट प्रभावित सबैप्रति हामी गहिरो समवेदना व्यक्त गरेका छन् । उनले प्रभावित क्षेत्रमा रहेका अष्ट्रेलियाली नागरिकले स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशन तथा सल्लाह पालना गर्न अनुरोध पनि गरेका छन् । “प्रभावित क्षेत्रमा केही अष्ट्रेलियाली नागरिक रहेको हामीलाई जानकारी छ र उनीहरूको अवस्था तथा सुरक्षाबारे यथाशीघ्र पुष्टि गर्न अधिकारीहरू तत्काल काम गरिरहेका छन् । यसका लागि हामी स्थानीय अधिकारीहरू तथा भ्रमण–पर्यटन सञ्चालकहरूसँग समन्वय गरिरहेका छौँ,” उनले भनेका छन् ।


    प्रधानमन्त्री अल्बानिजले आफूहरू आवश्यक परेमा कन्सुलर सहायता उपलब्ध गराउन तयार रहेको पनि बताए । आकस्मिक कन्सुलर सहायता आवश्यक पर्ने अष्ट्रेलियाली नागरिकहरूले डिएफएटीको कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न सक्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले अष्ट्रेलियाका समकक्षीले व्यक्त गरेको हार्दिक समवेदना र ऐक्यबद्धताका लागि धन्यवाद दिँदै नेपाल सरकारले प्रभावित सबैको खोजी, उद्धार तथा राहत कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै स्रोत–साधन परिचालन गरिरहेको बताए ।


    क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले नेपालको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी अत्यन्तै विनाशकारी रहेको उल्लेख गर्दै क्यानडाका जनताका सङ्कटमा परेका सबै, आफन्त प्रियजन गुमाएका व्यक्तिहरू तथा अझै जवाफको प्रतीक्षामा रहेका सबैको साथमा रहेको बताए । उनले भनेका छन्, “हाम्रो सरकारले परिस्थितिलाई नजिकबाट नियालिरहेको छ । यस क्षेत्रमा रहेका सबै क्यानडाका नागरिकलाई यथाशीघ्र आरओसिए प्रणालीमा दर्ता हुन पनि आग्रह गर्दछ ।” उनले उद्धारका प्रयासहरू जारी रहँदा क्यानडा आवश्यक सहयोग गर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।


    प्रधानमन्त्री शाहले यस दुःखको घडीमा क्यानडाले देखाएको ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरेका छन् । नेपाल सरकारले प्रभावित सबैको खोजी, उद्धार तथा राहत कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै स्रोत–साधन परिचालन गरिरहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । जर्मनीका प्रधानमन्त्री फ्रेडरिक मर्जले नेपाल र चीनमा आएको विनाशकारी बाढीको खबरले आफू अत्यन्तै दुःखी भएको उल्लेख गरेका छन् ।

    उनले आफूहरू बाढीबाट प्रभावित पीडितहरू र उनीहरूका प्रियजनहरूसँग साथमा रहेको उल्लेख गर्दै आगामी घण्टा र दिनहरूमा स्थलमै खटिएर सहयोग गरिरहेका सबैलाई शक्ति र साहस प्राप्त होस् भन्ने कामना गरेका छन् । उनले आफूहरू नेपाललाई हामी सहयोग गर्न तयार रहेको पनि बताए ।


    प्रधानमन्त्री शाहले जर्मनीका समकक्षी कार्नीले यस घटनाप्रति देखाएको समवेदना र ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गर्दै यस कठिन घडीमा नेपालप्रति व्यक्त गरेको सद्भावपूर्ण भावना र सहयोगको प्रस्तावका कदर व्यक्त गरेका छन् ।
    लिथुनियाका प्रधानमन्त्री मिन्डाउगास सिन्केभिचियुसले नेपाल र चीनमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् । यस पीडादायी घडीमा शोकसन्तप्त परिवारहरू, प्रभावित सबै व्यक्त तथा स्थलमै खटिएर सहासपूर्वक उद्धार कार्यमा जुटिरहेका टोलीहरूप्रति धन्यवाद व्यक्त गर्दै उनले लिथुनियाको विदेश मन्त्रालयमार्फत आफूहरूले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन् ।


    प्रधानमन्त्री वालेन्द्र शाहले लिथुआनियाका समकक्षीले व्यक्त गरेको समवेदना र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गर्दै यस कठिन घडीमा लिथुआनियाले व्यक्त गरेको सद्भावपूर्ण भावना तथा निरन्तर सहयोग र चासोप्रति हामी गहिरो कदर गर्दछौँ भनेका छन् ।


    मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीबाट आफू अत्यन्तै मर्माहत भएको बताएका छन् । “मलेसिया सरकार तथा मलेसियाली जनताका तर्फबाट नेपाल र चीनका सरकार तथा जनताप्रति, साथै आफ्ना प्रियजन गुमाउनेहरू र बेपत्ता आफन्तहरूको खबरको प्रतीक्षामा रहेका सबैप्रति गहिरो समवेदना व्यक्त गर्दछ”, उनले भनेका छन् ।


    उनले काठमाडौँस्थित मलेसियाको दूतावास प्रभावित मलेसियाली नागरिकहरूलाई सहयोग गर्न सम्बन्धित अधिकारीहरूसँग नजिकबाट समन्वय गरिरहेको बताए । यी प्रयासहरूलाई स्थलमै थप सुदृढ गर्न ढाकास्थित मलेसियाली उच्चायोगका अधिकारीहरूलाई पनि परिचालन गरिएको बताए ।

    “प्रभावित मलेसियाली नागरिकहरूको अवस्थाबारे पूर्ण जानकारी प्राप्त नभएसम्म र उनीहरूका परिवारले आवश्यक सहयोग नपाएसम्म सरकार पूर्ण रूपमा संलग्न रहनेछ । अत्यन्तै कठिन परिस्थितिमा काम गरिरहेका खोज तथा उद्धारमा संलग्न कर्मचारीहरूको साहस र समर्पणको म प्रशंसा गर्दछु । प्रभावित सबैप्रति हाम्रो विचार र प्रार्थना छ,” उनले भनेका छन् । प्रधानमन्त्री शाहले मलेसियाका समकक्षीले व्यक्त गरेको ऐक्यबद्धताका लागि गहिरो आभार व्यक्त गर्दै नेपाल सरकारले प्रभावित सबैको खोजी, उद्धार तथा राहत कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै स्रोत र साधन परिचालन गरिरहेको बताए ।


    सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवार तथा प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित सिङ्गापुरका नागरिक तथा उनीहरूका परिवारलाई सहयोग गर्न विदेश मन्त्रालयले नेपाली र चिनियाँ अधिकारीहरूसँग नजिकबाट समन्वय गरिरहेको बता्रए । “हाम्रो विचार नेपाल र चीनका जनताका साथै उद्धार तथा पुनःस्थापनाका प्रयासमा खटिरहनुभएका सबैसँग छ । अझै बेपत्ता रहेकाहरू सकुशल फर्कून् भन्ने हाम्रो कामना छ,” उनले भने ।


    प्रधानमन्त्री शाहले सिङ्गापुरका समकक्षीले व्यक्त गरेको ऐक्यबद्धताका लागि गहिरो आभार व्यक्त गर्दै नेपाल सरकारले प्रभावित सबैको खोजी, उद्धार तथा राहत कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै स्रोत र साधन परिचालन गरिरहेको बताए ।


    न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भनेका छन्, “आकस्मिक बाढीपछि नेपाल र चीनबाट बाहिर आइरहेका दृश्यहरू अत्यन्तै हृदयविदारक छन् । प्रभावित सबै तथा प्रभावित समुदायहरूप्रति मेरो गहिरो समवेदना छ । प्रभावित हुन सक्ने न्युजिल्यान्डका नागरिकका सम्बन्धमा न्युजिल्यान्डले नेपालका अधिकारीहरूसँग सम्पर्कमा रहेर समन्वय गरिरहेको छ ।”

    उनले प्रभावित क्षेत्रमा रहेका न्युजिल्यान्डका नागरिकहरूले सम्भव भएसम्म आफू सुरक्षित रहेको जानकारी आफ्ना परिवार तथा साथीहरूलाई गराउन आग्रह गरेका छन् । यदि तत्काल सहयोग आवश्यक परेमा २४ घण्टा, सातै दिन उपलब्ध कन्सुलर आपत्कालीन सेवाको नम्बर ं६४ ९९ २० २० २० मा सम्पर्क गर्न पनि उनको आग्रह छ ।

    प्रधानमन्त्री शाहले न्युजिल्यान्डका समकक्षीलाई यस कठिन समयमा उनले व्यक्त गरेको समवेदना र सहयोगका लागि धन्यवाद दिँदै न्युजिल्यान्डले व्यक्त गरेको ऐक्यबद्धता र मित्रताप्रति नेपाल गहिरो आभार व्यक्त गरेका छन् ।