Category: विश्व

  • सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ

    सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ

    अन्तर्राष्ट्रिय सहायतामा ठूलो कटौतीका कारण खडेरीग्रस्त सोमालियाभर २०० भन्दा बढी स्वास्थ्य तथा पोषण सुविधा केन्द्रहरू बन्द हुन पुगेका छन् । यसले यहाँका थप बालबालिकाहरूको ज्यान जोखिममा पार्ने कुपोषणको सामना गर्न बाध्य बनाएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार बताएको छ ।

    राष्ट्रसङ्घको बालबालिकामामिला हेर्ने निकायले गत वर्षदेखि अन्तर्राष्ट्रिय सहायता कोषमा भएको नाटकीय कटौतीको ‘मूल्य सोमालियाका बालबालिकाले चुकाइरहेका’ चेतावनी दिएको छ।” “आज सोमालियामा सहायता कटौतीले स्वास्थ्य सेवाका ढोका बन्द गर्दै छ, पोषण सेवाहरू बन्द गर्दै छ र पानी, शिक्षा तथा संरक्षणलाई अझ टाढा पु¥याउँदै छ,” प्रवक्ता जेम्स एल्डरले नैरोबीबाट जेनेभामा उपस्थित पत्रकारहरूको चासोलाई सम्बोधन गर्दै बताउनुभयो ।

    उहाँले भन्नुभयो, “कुल २०५ वटा स्वास्थ्य तथा पोषण सुविधा केन्द्रहरू पहिले नै बन्द भइसकेका छन्।” बालबालिकामा ‘तत्काल’ प्रभाव पर्ने भएको उहाँले चेतावनी दिनुभयो । यसै कारण यो वर्षको पहिलो छ महिनामा गम्भीर तीव्र कुपोषणका कारण स्थिरीकरण केन्द्रहरूमा भर्ना हुने बालबालिकाको सङ्ख्या ३२ प्रतिशतले बढेको देखिएको छ।

    सुविधा केन्द्रको कटौतीले आमा र बच्चाहरूका लागि लामो यात्रा (आयु) अर्थ राख्छ; ढिलो उपचार; ढिलो उपचारका कारण अझ गम्भीर बिरामी र रोक्न सकिने मृत्युको बढी जोखिम हुने देखिएको एल्डरले औँल्याउनुभयो । जुन महिनामा राष्ट्रसङ्घ समर्थित विशेषज्ञहरूले करिब एक तिहाइ सोमालीयाली नागरिकहरू खाद्य असुरक्षाको सामना गरिरहेका छन्, किनकि देशले वर्षौँयताको सबैभन्दा खराब खडेरीमध्ये एक देखेको अनुमान गरेका थिए ।

    यस वर्ष सोमालियामा करिब १९ लाख बालबालिका कुपोषणबाट प्रभावित हुने प्रक्षेपण गरिएको छ, जसमा करिब पाँच लाख जना सबैभन्दा घातक स्वरूपबाट पीडित छन्, एल्डरले भन्नुभयो । सोमालियाले ‘खराब जलवायु सङ्कट, उत्तरका केही भागमा गम्भीर खडेरी, द्वन्द्व र विस्थापन’ को सामना गरिरहेको उल्लेख गर्दै यो ‘पछि हट्ने गलत समय भएको’ उहाँले जोड दिनुभयो ।

    “इरान युद्धले इन्धन र मलको मूल्य बढाइरहेको छ भने अहिलेसम्मकै उच्च प्रभाव पार्ने एल निनो जलवायु ढाँचाले आउने महिनाहरूमा गम्भीर बाढीको पूर्वानुमानसहित सोमालियाको जारी मानवीय सङ्कटलाई थप जटिल बनाउने अपेक्षा गरिएको छ,” उहाँले भन्नुभयो । सहायता कटौतीले पहिले नै स्वास्थ्य तथा पोषण सेवाको कभरेजमा ३० प्रतिशत कमी ल्याएको छ भने एल्डरले स्थिति अझ बिग्रन सक्ने चेतावनी दिनुभयो ।

    “गम्भीर कोष परिदृश्यमा देशभर ६१८ वटासम्म स्वास्थ्य सुविधा केन्द्रहरू बन्द हुन सक्छन्,” उहाँले भन्नुभयो । पाँच वर्षमुनिका करिब १० लाख बालबालिका, किशोरी र महिलाहरू पोषण सेवाबाट वञ्चित हुने जोखिममा रहेको पनि उहाँको दावी छ । शिक्षा, कृषि क्षेत्र पनि कटौतीबाट गम्भीर प्रभावित भएको छ, एल्डरले भन्नुभयो, “७८ हजारभन्दा बढी विद्यार्थी पहिले नै विदालय छाडिइसकेका छन् र थप छ लाख ६० हजार जोखिममा छन् ।” सहायता कटौतीका कारण सशस्त्र समूहसँग पहिले सम्बन्धित वा भर्तीको जोखिममा रहेका बालबालिकालाई पुनः एकीकृत गर्न मद्दत गर्ने दर्जनौँ बाल संरक्षण सुविधा केन्द्रहरू पनि बन्द भएका छन्।

  • स्विडेनको विद्यालयमा तरवार आक्रमण, कैयौ घाइते

    स्विडेनको विद्यालयमा तरवार आक्रमण, कैयौ घाइते


    स्टकहोम, ६ भदौ (रासस–एएफपी) । मध्य स्विडेनको उच्च शिक्षा पढाई हुने एक विद्यालयमा शुक्रबार तरवारसहितको आक्रमणकारीले धेरै व्यक्ति घाइते हुनेगरी आक्रमण गरेको स्विडेनी अधिकारीहरूले बताएका छन् । सञ्चारमाध्यमका अनुसार आक्रमणकारीलाई प्रहरीले गोली हानी घाइते अवस्थामा नियन्त्रणमा लिएको उल्लेख गरेका छन् ।

    “तरवारसहितको आक्रमणकारी विद्यालय (ब्रिनेल्स्कुलान) मा प्रवेश गरी धेरै व्यक्तिलाई घाइते बनाएको छ भने आक्रमणकारीलाई प्रहरीले हिरासतमा लिएको छ,” फागेरस्टा नगरपालिकाद्वारा जारीे विज्ञप्तिमा जानकारी गराइएको छ । स्थानीय अफ्टनब्लाडेट पत्रिकाले हतियार बोकेको व्यक्तिलाई प्रहरीले खुट्टामा गोली हानेको रिपोर्ट गरेको छ। नगरपालिकाले घाइतेको सङ्ख्या खुलाएको छैन तर प्रहरी विद्यालय खोजिरहेको र क्षेत्रका अन्य विद्यालयहरू तत्काल बन्द गरिएको बताएको छ।

    सार्वजनिक प्रसारक एसभिटीले करिब १२ हजार बासिन्दा भएको सानो शहरको विद्यालय बाहिर एम्बुलेन्स, प्रहरी गाडी तथा प्रहरी हेलिकोप्टर रहेको बताएको छ। स्विडेनमा शैक्षिक संस्थाहरूमा उल्लेख्य केही हिंसात्मक आक्रमणहरू हुने गरेका छन्। सन् २०२५ फेब्रुअरीमा ओरेब्रोको वयस्क शिक्षा केन्द्रमा ३५ वर्षीय एक व्यक्तिले १० जना गोली हानी हत्या गरेको घटना उनीहरूबचि ताजै छ । यो स्विडेनको सबैभन्दा खराब सुरक्षा समस्या सामूहिक गोलीकाण्ड हो । प्रहरीले यो घटना हत्याराको आर्थिक तथा मनोवैज्ञानिक समस्याका कारण आफ्नो जीवन अन्त्य गर्ने चाहनाबाट प्रेरित भएको बताएको थियो।

    सन् २०२२ मार्चमा दक्षिणी शहर माल्मोको माध्यमिक विद्यालयमा १८ वर्षीय विद्यार्थीले दुई शिक्षकलाई घातक चक्कु प्रहार गरेका थिए। त्यसैगरी, सन् २०१५ अक्टोबरमा पश्चिमी सहर ट्रोलह्याटनको विद्यालयमा जातीय रूपमा प्रेरित आक्रमणमा तरवार बोकेको आक्रमणकारीले तीन जनाको हत्या गरेको थियो भने आक्रमणकारीको प्रहरीको गोली लागि मृत्यु भएको थियो ।

  • मङ्गोलियामा विद्यालयमा सामाजिक सञ्जाल रोक

    मङ्गोलियामा विद्यालयमा सामाजिक सञ्जाल रोक

    तेहरान, ५ भदौ (रासस–सिन्ह्वा) । मङ्गोलियाले विद्यार्थीको अनलाइन सुरक्षा र स्क्रिनमा निर्भरता घटाउने उद्देश्यले आगामी शैक्षिक वर्षदेखि देशभरका विद्यालयमा सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । शिक्षा तथा विज्ञानमन्त्री लुभ्सान्तेरेन एन्ख–अमगालनले बुधबार यस्तो निर्णय भएको बताए । सन् २०२६–२०२७ को शैक्षिक वर्षदेखि शिक्षक, विद्यार्थी र अभिभावक सहभागी सामाजिक सञ्जालका च्याट समूह तथा पृष्ठ सञ्चालन गर्नसमेत रोक लगाइने उनले बताए । मङ्गोलियामा फेसबुक, इन्स्टाग्राम र टिकटक बढी प्रयोग हुने सामाजिक सञ्जाल हुन् ।

    विद्यालयमा शिक्षकहरूले फेसबुक समूह तथा च्याटमार्फत विद्यार्थी र अभिभावकसँग सम्पर्क गर्ने तथा गृहकार्य पठाउने अभ्यास रहेकाले नयाँ व्यवस्थाले विद्यालय र अभिभावकबीचको सञ्चारमा समेत परिवर्तन ल्याउनेछ । मङ्गोलियामा नयाँ शैक्षिक वर्ष सामान्यतया सेप्टेम्बर १ देखि सुरु हुन्छ ।

  • इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड

    इरानमा विदेशी नागरिकलाई मृत्युदण्ड

    तेहरान, ५ भदौ (रासस–एएफपी) । इरानले जनवरीमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा चार प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा एक विदेशी नागरिकलाई बिहीबार मृत्युदण्ड दिएको छ । इरानी न्यायपालिकाको मिजान अनलाइनका अनुसार घेम हुसेनीलाई मुद्दा पुनरावलोकनपछि सर्वोच्च अदालतले मृत्युदण्डको सजाय कायम राखेपछि फाँसी दिइएको हो ।

    मध्य इस्फहान प्रान्तमा प्रहरी अधिकारीको मृत्यु भएको घटनामा संलग्न भएको अभियोगमा दोषी ठहरिएका हुसेनीमाथि हतियार प्रयोग गरी भय र आतङ्क फैलाएको, असुरक्षा सिर्जना गरेको तथा सार्वजनिक व्यवस्था र राष्ट्रिय सुरक्षामा गम्भीर क्षति पुर्‍याएको आरोप लगाइएको थियो । उनको राष्ट्रियता भने सार्वजनिक गरिएको छैन ।

    इरानले यही घटनासँग सम्बन्धित अभियोगमा गत जुलाईयता अन्य चार जनालाई समेत मृत्युदण्ड दिइसकेको छ । पछिल्लो समय प्रदर्शनसँग सम्बन्धित मुद्दामा मृत्युदण्डको सङ्ख्या बढेको छ । इरानी अधिकारीका अनुसार जीवनयापनको बढ्दो लागतविरुद्ध सुरु भएको प्रदर्शन व्यापक सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो । आन्दोलनमा तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

    नर्वेस्थित इरान ह्युमन राइट्स र पेरिसस्थित टुगेदर अगेन्स्ट द डेथ पेनाल्टीका अनुसार इरानले गत वर्ष कम्तीमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिएको थियो । यो सन् १९८९ यताकै उच्च सङ्ख्या भएको संस्थाहरूको दाबी छ । एम्नेस्टी इन्टरनेसनलका अनुसार चीनपछि इरान विश्वमा सबैभन्दा बढी मृत्युदण्ड दिने मुलुक हो ।

  • खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

    खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका


    वासिङ्टन, ५ भदौ (रासस–एएनआई) । इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले पर्सियन खाडीमा दशकौँदेखि कायम अमेरिकी सैन्य उपस्थितिको पुनर्मूल्याङ्कन थालेको छ । द वासिङ्टन पोस्टका अनुसार युद्धपछि अमेरिकी सैन्य संरचना कस्तो बनाउने भन्ने विषयमा विभिन्न विकल्पमाथि प्रारम्भिक छलफल भइरहेको छ । पेन्टागनको नीति शाखा, ज्वाइन्ट स्टाफ र अमेरिकी सेन्ट्रल कमान्डले क्षतिग्रस्त सैन्य आधार पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने वा अमेरिकी सैन्य उपस्थितिको स्वरूप परिवर्तन गर्नेबारे अध्ययन गरिरहेका छन् । यो अध्ययन औपचारिक समीक्षा भने होइन ।

    अमेरिकाले जोर्डनदेखि ओमानसम्म करिब २० सैन्य प्रतिष्ठानमा ४० हजार सैनिक तथा अन्य कर्मचारी तैनाथ गर्दै आएको छ । बहराइनमा अमेरिकी पाँचौँ बेडाको मुख्यालय छ भने कुवेत, कतारलगायत खाडी मुलुकमा अमेरिकी सेना र वायुसेनाका महत्त्वपूर्ण संरचना छन् । इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणले भने यी सैन्य आधारको जोखिम बढाएको छ ।

    द वासिङ्टन पोस्टका अनुसार मार्चमा कुवेतस्थित अमेरिकी सैन्य स्थलमा भएको आक्रमणमा छ अमेरिकी सैनिक मारिएका थिए । युद्धका क्रममा २०० भन्दा बढी अमेरिकी सैन्य प्रतिष्ठानमा क्षति पुगेको वा ती नष्ट भएको जनाइएको छ । पेन्टागनले इरानी आक्रमण रोक्न एक हजारभन्दा बढी हवाई प्रतिरक्षा इन्टरसेप्टर प्रयोग गर्दा प्याट्रियट र टर्मिनल हाई अल्टिट्युड एरिया डिफेन्स प्रणालीको भण्डारमा समेत दबाब बढेको छ ।

    युद्धबाट भएको क्षतिलाई अमेरिकी सैन्य तैनाथीको स्वरूप पुनर्विचार गर्ने अवसरका रूपमा लिइएको छ । एउटा प्रस्तावमा जोर्डन, इजरायल वा साउदी अरेबियाको लालसागर आसपासतर्फ केही सैनिक र सैन्य उपकरण सार्ने तथा इरानी क्षेप्यास्त्र र ड्रोनको पहुँचमा रहेका कुवेतजस्ता केही आधार बन्द गर्ने विकल्प अघि सारिएको छ ।

    अमेरिकी सैन्य उपस्थितिबारेको बहसले ट्रम्प प्रशासनभित्रको मतभेदसमेत देखाएको छ । एक पक्षले अमेरिकी भूमिको सुरक्षा र चीनलाई रोक्न प्राथमिकता दिँदै मध्यपूर्वमा सुरक्षा प्रतिबद्धता घटाउनुपर्ने धारणा राखेको छ भने अर्को पक्षले इजरायललगायत क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति थप बलियो बनाउनुपर्ने बताएको छ । इजरायलमा सैन्य क्षमता बढाउँदा गुप्तचर जोखिम बढ्न सक्ने भन्दै त्यसको विरोधसमेत भइरहेको छ ।

    अमेरिकी सैन्य उपस्थिति घटे खाडी मुलुकमा त्यसको रणनीतिक प्रभाव पर्नेछ । ती देशहरू दशकौँदेखि क्षेत्रीय सुरक्षाका लागि अमेरिकी सेनामा निर्भर छन् । यद्यपि सेना घट्दैमा सुरक्षा सम्बन्ध अन्त्य हुने छैन र हतियार खरिद, गुप्तचर सहकार्य तथा अन्य रक्षा सम्झौतामार्फत साझेदारी कायम रहन सक्नेछ ।

    पेन्टागनको अनुमानअनुसार सेप्टेम्बरको अन्त्यसम्म इरानसँगको युद्धको लागत करिब ३७ अर्ब ५० करोड अमेरिकी डलर पुग्नेछ । यसमा ध्वस्त पूर्वाधार पुनर्निर्माणको खर्च समावेश छैन । त्यसैले क्षतिग्रस्त आधार पुनर्निर्माण गर्ने वा अमेरिकी सैन्य उपस्थितिको स्वरूप नै परिवर्तन गर्ने निर्णय वासिङ्टनका लागि महत्त्वपूर्ण रणनीतिक विषय बनेको छ । स्थायी परिवर्तनका लागि वरिष्ठ प्रशासनिक नेतृत्वको स्वीकृति आवश्यक पर्नेछ ।

  • ह्यारी–मेघन बेलायत फर्कने

    ह्यारी–मेघन बेलायत फर्कने


    लन्डन, ५ भदौ (रासस–एएफपी) । राजपरिवारको आधिकारिक जिम्मेवारी त्यागेको छ वर्षपछि बेलायती राजकुमार ह्यारी र उहाँकी पत्नी मेघन मार्कल आफ्ना दुई सन्तानसहित बेलायत फर्किने तयारीमा छन् । बेलायती सञ्चारमाध्यमका अनुसार दम्पतीले केही साताभित्र क्यालिफोर्निया छाडेर लन्डनबाहिरको निजी तथा गैरशाही निवासमा बसोबास गर्ने योजना बनाएका छन् ।


    द टेलिग्राफका अनुसार उनीहरुले नयाँ घरसमेत छनोट गरिसकेका छन् । बिबिसीसहितका सञ्चारमाध्यमले ह्यारी–मेघनका सात वर्षीय राजकुमार आर्ची र पाँच वर्षीया राजकुमारी लिलिबेटलाई सेप्टेम्बरमा सुरु हुने शैक्षिक सत्रका लागि बेलायती विद्यालयमा भर्ना गरिसकिएको जनाएका छन् ।

    ह्यारी र मेघनले सन् २०२० मा राजपरिवारको आधिकारिक जिम्मेवारी त्यागेर अमेरिका बस्न थालेका थिए । पारिवारिक विवादका बीच बेलायत छाडेका उनीहरूको शाही परिवारसँगको दूरी ह्यारीको संस्मरण ‘स्पेयर’ तथा अमेरिकी टेलिभिजन प्रस्तोता ओप्रा विन्फ्रेसँगको अन्तर्वार्तापछि थप बढेको थियो ।

    प्रेस एसोसिएसनका अनुसार राजा चार्ल्स तृतीयलाई दम्पतीले बेलायत फर्किएर बस्ने योजना बनाएको जानकारी दिइसकिएको छ । राजाले परिवारका सदस्यसँग भेटघाट गर्ने अवसरलाई स्वागत गर्ने भए पनि ह्यारी र मेघनको शाही हैसियतमा कुनै परिवर्तन हुने छैन र उनीहरूले राजपरिवारको आधिकारिक जिम्मेवारी सम्हाल्ने छैनन् ।
    बेलायतमा परिवारसहित फर्कन आफू सुरक्षित महसुस नगरेको ह्यारीले यसअघि बताएका थिए । सरकारी खर्चमा उपलब्ध हुने प्रहरी सुरक्षासम्बन्धी कानूनी विवादमा पराजित भएपछि उनले परिवारलाई सुरक्षित रूपमा बेलायत ल्याउन कठिन रहेको बताएका थिए । गृह मन्त्रालयले भने सुरक्षा व्यवस्था आवश्यकताअनुसार कडा र उपयुक्त रहेको जनाएको छ ।

    ह्यारी–मेघनको पछिल्लो बेलायत भ्रमण जुलाईको सुरुआतमा भएको थियो । त्यस क्रममा उनीहरूले राजा चार्ल्ससँग निजी भेट गरेका थिए । राजा चार्ल्सलाई दुई वर्षअघि क्यान्सर भएको पत्ता लागेपछि उपचार गराउँदै आएका छन् । ह्यारीका दाजु तथा सिंहासनका उत्तराधिकारी राजकुमार विलियम र उनकी पत्नी क्याथरिनलाई दम्पतीको फर्किने योजनाबारे जानकारी दिइएको थियो वा थिएन भन्ने स्पष्ट छैन । ह्यारी र विलियमबीच लामो समयदेखि दूरी रहेको बताइन्छ ।

    राजपरिवारसम्बन्धी टिप्पणीकार रिचर्ड फिट्जविलियम्सले ह्यारी–मेघनको सम्भावित पुनरागमनलाई ‘असाधारण विकास’ भनेका छन् । उनले दम्पतीले अमेरिकामा अपेक्षित सफलता हासिल गर्न नसकेको टिप्पणी गरेका छन् । सन् २०२० मा नेटफ्लिक्ससँग करिब १० करोड अमेरिकी डलरको सम्झौता गरे पनि उनीहरूका केही परियोजनाले अपेक्षाअनुसार दर्शक आकर्षित गर्न नसकेको बताइएको छ ।

    द सनका अनुसार दम्पतीले क्यालिफोर्नियाको मोन्टेसिटोस्थित घर र पोर्चुगलको घर पनि कायम राख्नेछन् । यसैबीच, ह्यारीकी आमा राजकुमारी डायनाका भाइ चार्ल्स स्पेन्सरले डायनाको जीवनबारे ‘स्वान सङः डायना, माई सिस्टर’ नामक पुस्तक प्रकाशन गर्ने घोषणा गरेका छन् । पुस्तक सेप्टेम्बर २२ मा १२ भाषामा प्रकाशित हुनेछ । जुलाईको सुरुआतमा ह्यारी, मेघन र उनीहरूका सन्तानले मध्य इङ्ल्यान्डस्थित अल्थर्पमा रहेको स्पेन्सर परिवारको पैतृक घर भ्रमण गरी डायनाको समाधिस्थलमा श्रद्धाञ्जलि अर्पण गरेको बताइएको छ ।

  • इरानका साझेदारलाई ट्रम्पको चेतावनी

    इरानका साझेदारलाई ट्रम्पको चेतावनी

    वासिङ्टन, ५ भदौ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार गर्ने कुनै पनि देशले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने चेतावनी दिँदै तेहरानलक्षित नयाँ आर्थिक दबाब अभियान घोषणा गरेका छन् । युद्ध छैटौँ महिनातर्फ अघि बढिरहेका बेला र हर्मुजको महत्त्वपूर्ण जलघाँटीबाट हुने आवागमन अझै प्रभावित भइरहेका बेला उहाँको घोषणाले इरानमाथिको आर्थिक दबाब थप बढाउने सङ्केत गरेको छ ।

    ट्रम्पले बुधबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत कुनै पनि देशले आफ्ना वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायलाई इरानलाई कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउन दिएमा ती देशले कडा आर्थिक परिणाम भोग्नुपर्ने बताए । उनले आफ्नो कदमलाई अहिलेसम्मकै ठूलो आर्थिक अभियानका रूपमा प्रस्तुत गर्दै अभूतपूर्व स्तरमा आर्थिक युद्ध र इरानको अलगाव अघि बढाउने घोषणा गरेका छन् । यद्यपि, इरानबाहेक कुन देश वा संस्थामाथि कस्तो कारबाही गरिनेछ भन्ने उनले बताएका छैनन् ।


    ट्रम्पले तेल तस्करी, स्वाप लाइन, नगद स्थानान्तरण, एक्सचेन्ज हाउस, जहाज दर्ता तथा इरानले प्रयोग गर्ने अगाडिका कम्पनीलगायत गतिविधि तत्काल रोक्नुपर्ने बताएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि गत साता अमेरिकी नौसेनाको नाकाबन्दीसँगै इरानलाई आर्थिक रूपमा अलग्याउने अभियान तीव्र पारिने बताएका थिए । उनले यसलाई विश्वले यसअघि कहिल्यै नदेखेको स्तरको आर्थिक अलगावको प्रयासका रूपमा व्याख्या गरेका थिए ।


    अमेरिकी अर्थ मन्त्रालयले केही महिनादेखि ‘अपरेसन इकोनोमिक फ्युरी’ नामक अभियान सञ्चालन गर्दै लक्षित प्रतिबन्धमार्फत इरानको आर्थिक स्रोत सीमित गर्ने प्रयास गरिरहेको छ । यसैबीच, अमेरिकी सैन्य कारबाहीको महिनौँ सामना गरेपछि इरानले पनि कडा प्रतिक्रिया जनाउँदै आएको छ । अमेरिकी सञ्चारमाध्यमले युद्धका कारण अमेरिकी हतियार भण्डारमा उल्लेखनीय कमी आएको दाबी गरे पनि पेन्टागनले त्यसलाई अस्वीकार गरेको छ ।

    द्वन्द्व फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको थियो । त्यसको जवाफमा इरानले क्षेत्रका विभिन्न स्थानमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो । इरानी क्षेप्यास्त्र तथा ड्रोनको जोखिमका कारण हर्मुज जलघाँटी हुँदै हुने ढुवानीमा ठूलो कमी आएको थियो । जलघाँटी पुनः खोल्न अमेरिका र इरानबीच भएको सम्झौताको प्रयाससमेत असफल भएको छ ।

    यद्यपि, ट्रम्पले बुधबार हर्मुज हुँदै जहाज सञ्चालनमा सहयोग गर्न अमेरिकी सेनाले गरिरहेको प्रयासको बचाउ गर्दै अहिले धेरै जहाज आवतजावत गरिरहेको बताएका थिए । डिजिटल सञ्चारमाध्यम एक्सियोसका अनुसार अमेरिकी सेनाले पछिल्ला साताहरूमा दैनिक करिब १५ देखि २० वटा जहाजलाई हर्मुजभित्र र बाहिर आवतजावत गर्न सहज बनाइरहेको छ । ती जहाजले युद्धअघिको तुलनामा करिब आधा परिमाणमा तेल ढुवानी गरिरहेको जनाइएको छ ।

    अमेरिका र इरानबीच पछिल्ला दिनमा सन्देश आदानप्रदान भइरहेको बताइए पनि ट्रम्पले मङ्गलबार वार्ता रोकिएको दाबी गरेका थिए । उनले सामाजिक सञ्जालमा हर्मुज जलघाँटीलाई अमेरिकाको नयाँ क्षेत्रका रूपमा स्थापित गर्न सकिने सङ्केतसमेत गरेका थिए । यसैबीच, संयुक्त अरब इमिरेट्स (युएई) ले मङ्गलबार इरानमाथि दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै तेहरानसँगका सबै आर्थिक सम्झौता स्थगित गर्ने घोषणा गरेको थियो ।

    युएई र इरानबीच गहिरो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहे पनि युद्धअघि युएई अमेरिकी प्रतिबन्धमा रहेको इरानको प्रमुख व्यापारिक साझेदारमध्ये एक थियो । युएईमा ठूलो इरानी समुदायसमेत बसोबास गर्दै आएको छ । ट्रम्पले इरानको खतरा अलग्याउन र पराजित गर्न अमेरिकाका सबै सहयोगीले अमेरिकाको साथ दिनुपर्ने बताएका छन् । उनको पछिल्लो घोषणाले इरानमाथि मात्र नभई उससँग आर्थिक कारोबार गर्ने देशहरूमाथि समेत अमेरिकी दबाब बढ्ने सङ्केत गरेको छ ।

  • आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

    काठमाडौँ, ५ भदौः आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज विश्वका विभिन्न मुलुकमा ‘आतङ्कवादका पीडितको सम्झना र सम्मानको अन्तरराष्ट्रिय दिवस’ विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले आतङ्कवादका पीडित तथा बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगष्ट २१ मा यो दिवस मनाउने निर्णय गरेको हो ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महासभाको प्रस्तावअनुसार सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनमा आतङ्कवादका पीडितलाई सहयोग गर्न अन्तरराष्ट्रिय सहकार्य अभिवृद्धिमा जोड दिइएको छ । संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी आतङ्कवादविरोधी रणनीतिको द्विवार्षिक समीक्षाका क्रममा सदस्य राष्ट्रहरूले आतङ्कवादविरुद्धको प्रयास, हिंसात्मक अतिवादको रोकथाम, अन्तरराष्ट्रिय ऐक्यबद्धता प्रवद्र्धन तथा पीडितका मानव अधिकारको संरक्षणमा उनीहरूको महत्वपूर्ण भूमिकालाई जोड दिँदै आएका छन् ।

    सन् २०१८ मा रणनीतिको छैटौँ समीक्षा भएयता अन्तरराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय तहमा आतङ्कवादका पीडितप्रतिको सहयोग औपचारिक ऐक्यबद्धतामा मात्र सीमित नरही उनीहरूको अधिकार र आवश्यकतालाई सम्बोधन गर्ने दिशामा अघि बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सन् २०१९ मा ‘ग्रुप अफ फ्रेन्ड्स अफ भिक्टिम्स अफ टेरोरिजम’ स्थापना हुनु तथा आतङ्कवादका पीडितलाई सहयोगसम्बन्धी महासभाको प्रस्ताव पारित हुनु यस दिशाका महत्वपूर्ण प्रयास हुन् ।

    सन् २०२३ जुन २२ मा पारित महासभाको आठौँ समीक्षा प्रस्तावले विशेषगरी महिला, बालबालिका तथा आतङ्कवादीबाट हुने यौन तथा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको अधिकार संरक्षण र आवश्यकतामा ध्यान दिनुपर्नेमा जोड दिएको छ । प्रस्तावले सदस्य राष्ट्रलाई आतङ्कवादका पीडित तथा उनीहरूका परिवारका तत्कालीन, अल्पकालीन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्न राष्ट्रियस्तरमा समग्र सहायता योजना बनाउन प्रोत्साहन गरेको छ ।

    सन् २०२२ सेप्टेम्बरमा राष्ट्रसङ्घको मुख्यालयमा पहिलो विश्वव्यापी आतङ्कवाद पीडित सम्मेलन आयोजना गरिएको थियो । राष्ट्रसङ्घीय आतङ्कवादप्रतिरोध कार्यालयले विश्वव्यापी पीडित सहायता कार्यक्रम र ‘युनाइटेड नेसन्स भिक्टिम्स अफ टेरोरिजम सपोर्ट पोर्टल’ मार्फत आतङ्कवादका पीडितका अधिकार र आवश्यकताबारे चेतना अभिवृद्धि गर्दै आएको छ ।

    राष्ट्रसङ्घीय आतङ्कवादप्रतिरोध कार्यालयले सदस्य राष्ट्र तथा संयुक्त राष्ट्रसङ्घीय निकायलाई आतङ्कवादविरुद्धको विश्वव्यापी रणनीति कार्यान्वयन गर्न रणनीतिक नेतृत्व, समन्वय र क्षमता अभिवृद्धिमा सहयोग गर्दै आएको छ । साथै, पीडितलाई सहयोग गर्न नागरिक समाज र निजी क्षेत्रका संस्थासँगको सहकार्यलाई पनि यो संस्थाले प्रोत्साहन गरेको छ ।

    तस्बिरः संयुक्त राष्ट्रसङ्घ

  • अस्ट्रेलियामा बेरोजगारी बढ्यो

    अस्ट्रेलियामा बेरोजगारी बढ्यो

    क्यानबेरा, ५ भदौ (रासस–सिन्ह्वा) । अस्ट्रेलियामा बेरोजगारी दर जुलाईमा बढेर ४।५ प्रतिशत पुगेको छ । बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार अर्थशास्त्रीहरूले दर ४।४ प्रतिशतमा स्थिर रहने अनुमान गरे पनि बेरोजगारी बढेको हो । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) का अनुसार जुनदेखि जुलाईसम्म रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या १५ हजार ८०० ले घट्दा बेरोजगारको सङ्ख्या चार हजार २०० ले बढेको छ । जुलाईको बेरोजगारी दर सन् २०२१ को नोभेम्बरपछि उच्चमध्ये एक हो ।

    एबीएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकका अनुसार जुलाईमा पुरुषको रोजगारी ११ हजार र महिलाको पाँच हजारले घटेको छ । आंशिक समय काम गर्ने महिलाको सङ्ख्या २२ हजारले घटे पनि पूर्ण समय काम गर्ने महिलाको सङ्ख्या १७ हजारले बढेको उनले बताए । यस अवधिमा कुल काम गर्ने समय शून्य दशमलव छ प्रतिशतले घटेर एक अर्ब ९९ करोड घण्टामा झरेको छ । रोजगारीमा रहेका वा काम खोजिरहेका काम गर्ने उमेर समूहको सहभागिता दर पनि जुनको ६७ प्रतिशतबाट घटेर जुलाईमा ६६।९ प्रतिशतमा पुगेको एबीएसले जनाएको छ ।

  • ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वासिङ्टन, ४ भदौ (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किम जोङ–उनसँग भेटवार्ता गर्ने बताउनुभएको छ । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उहाँले किमसँग प्रत्यक्ष संवाद गर्नु महत्त्वपूर्ण रहेको बताउनुभएको हो । सम्भावित भेटको समय र स्थान भने खुलाइएको छैन ।

    वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले नोभेम्बरमा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको शेन्जेन जाने क्रममा किमसँग भेट गर्ने सम्भावना खोजिरहनुभएको छ । ट्रम्पले पहिलो कार्यकालमा किमसँग तीनपटक भेट गर्नुभएको थियो । दुवै नेताबीचको अन्तिम भेट सन् २०१९ मा भएको थियो ।

    ट्रम्पले प्योङयाङसँग करिब ५७ वटा ‘अत्यन्त शक्तिशाली’ आणविक हतियार रहेको बताउनुभएको छ । तर दक्षिण कोरियाका रक्षामन्त्री अहन ग्यु–ब्याकले प्योङयाङसँग ८० देखि १२० वटासम्म आणविक हतियार रहेको सियोलको अनुमान रहेको बताउनुभएको छ ।

    अमेरिकाले उत्तर कोरियासँग आणविक हतियार रहेको स्वीकार गरे पनि उसलाई औपचारिक रूपमा आणविक हतियार सम्पन्न राष्ट्रको मान्यता दिएको छैन । ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न रोक्नु आवश्यक रहेको बताउँदै उत्तर कोरियासँग भने आफूले राम्रो सम्बन्ध कायम गरेको उल्लेख गर्नुभएको छ ।

    दक्षिण कोरियाका रक्षामन्त्रीले अमेरिकाले उत्तर कोरियाको आणविक निशस्त्रीकरण प्रयासबाट पछि नहटेको बताउनुभएको छ । राष्ट्रपति ली जे म्युङले पनि उत्तर कोरियासँग शान्ति स्थापना गर्ने ट्रम्पको प्रयासमा सहयोग गर्ने बताउनुभएको छ । यसअघि ट्रम्पले किमसँगको सम्बन्धलाई सकारात्मक रूपमा प्रस्तुत गर्दै आउनुभएको थियो ।

    पहिलो कार्यकालमा किमलाई ‘रकेट म्यान’ भन्दै उत्तर कोरियामाथि ‘फायर एन्ड फ्युरी’ को चेतावनी दिनुभएका उहाँले पछि दुवैबीच सम्बन्ध सुधारिएको बताउनुभएको थियो । उच्चस्तरीय भेटले विश्वव्यापी ध्यान खिचे पनि उत्तर कोरियाको आणविक कार्यक्रमबारे ठोस प्रगति भने हुन सकेको थिएन । यसैबीच, किमकी बहिनी किम यो जोङले आफ्ना भाइ र ट्रम्पबीच हाल कुनै कुराकानी भइरहेको जानकारी आफूलाई नभएको बताउनुभएको छ ।

    उहाँले किमसँग ट्रम्पप्रति अझै राम्रो सम्झना र भावना रहेको तथा दुई नेताबीचको सम्बन्ध उत्कृष्ट रहेको उल्लेख गर्नुभएको छ । किम यो जोङको भनाइ दक्षिण कोरिया र अमेरिकाले वार्षिक उल्ची फ्रिडम सिल्ड सैन्य अभ्यास निर्धारित समयभन्दा करिब एक साताअघि समाप्त गर्ने घोषणा गरेपछि आएको हो ।

    पेन्टागनले अभ्यास अवधि घटाइए पनि सैन्य प्रशिक्षणका उद्देश्यमा कुनै कमी नआउने बताएको छ । उत्तर कोरियाले यस्ता संयुक्त सैन्य अभ्यासलाई सम्भावित आक्रमणको तयारी भन्दै लामो समयदेखि विरोध गर्दै आएको छ। दक्षिण कोरियामा अमेरिकाले करिब २८ हजार ५०० सैनिक तैनाथ गर्दै आएको अवस्थामा ट्रम्पको किमसँग पुनः भेट गर्ने तयारी र सैन्य अभ्याससम्बन्धी पछिल्ला कदमलाई अमेरिका–उत्तर कोरिया सम्बन्धमा नयाँ कूटनीतिक पहलको सङ्केतका रूपमा हेरिएको छ ।

  • युक्रेनमा युद्धकालीन चुनावको माग

    युक्रेनमा युद्धकालीन चुनावको माग

    सियोल, ४ भदौ (रासस/एपी) : रुससँग युद्ध जारी रहेका बेला युक्रेनमा शासन प्रणाली नै सङ्कटमा परेको भन्दै अपदस्थ रक्षामन्त्री मिखाइलो फेडोरोभले युद्धकालमै चुनाव गराउन आह्वान गर्नुभएको छ । हालसम्म राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका निकट सहयोगीमध्ये एक मानिनुभएका फेडोरोभको यो सार्वजनिक आह्वान युद्ध सुरु भएपछि जेलेन्स्की सरकारसामु देखिएको महत्त्वपूर्ण आन्तरिक चुनौतीका रूपमा आएको छ ।

    फेडोरोभले जुलाईमा रक्षामन्त्रीको पद गुमाउनुभएको थियो । उहाँले युट्युबमा सार्वजनिक गर्नुभएको भिडियो सन्देशमार्फत लामो युद्धका बीच पनि युक्रेनमा लोकतान्त्रिक प्रक्रिया पुनःस्थापित गर्न कानूनी, सुरक्षित र व्यावहारिक उपाय खोज्नुपर्ने बताउनुभएको छ । युक्रेनी कानूनअनुसार देशमा मार्सल ल लागू रहेसम्म चुनाव गराउन रोक लगाइएको छ । रुसले पूर्ण रूपमा आक्रमण सुरु गरेको दिन अर्थात् फेब्रुअरी २४, २०२२ देखि युक्रेनमा मार्सल ल लागू छ ।

    फेडोरोभले वर्तमान शासन प्रणाली आत्मरक्षा र परिवर्तनको प्रतिरोधमा केन्द्रित भएको आरोप लगाउँदै देशले शासन सञ्चालनकै विषयमा प्रणालीगत सङ्कट सामना गरिरहेको बताउनुभयो । उहाँले कुनै अधिकारीको नाम नलिई सरकारी निकायमा व्याप्त भ्रष्टाचारको समेत आलोचना गर्नुभयो । युद्धका बेला हुने भ्रष्टाचारले युक्रेनको युद्ध लड्ने क्षमतालाई कमजोर बनाउने उहाँको भनाइ छ ।

    “युद्धका बेला भ्रष्टाचार आर्थिक विषय मात्र होइन, यो हाम्रो बाँच्ने र जित्ने क्षमतासँग जोडिएको विषय हो”, फेडोरोभले भन्नुभयो । रक्षाका लागि छुट्याइएको प्रत्येक रिभ्निया देशको सुरक्षामै खर्च हुनुपर्ने र निजी स्वार्थमा प्रयोग हुन नहुने उहाँले बताउनुभयो । फेडोरोभले आफूलाई पदबाट हटाइनुको एउटा कारण रक्षा मन्त्रालयको खरिद प्रणालीमा आफूले नेतृत्व गरेको भूमिका पनि भएको बताउनुभयो ।

    उक्त प्रणालीमार्फत सैन्य उपकरण खरिदमा खर्च हुने अर्बौँ डलरको निगरानी हुँदै आएको थियो । फेडोरोभको सम्बोधन युक्रेनी संसद्ले नयाँ रक्षामन्त्रीका रूपमा येभहेनी ख्मारालाई मनोनयन गरेको केही घन्टापछि आएको हो । संसद्का अध्यक्ष रुस्लान स्टेफानचुकले मङ्गलबार सामाजिक सञ्जालमार्फत नयाँ रक्षामन्त्रीको मनोनयनबारे जानकारी दिनुभएको थियो । फेडोरोभको सम्बोधनप्रति जेलेन्स्कीको कार्यालयले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

    फेडोरोभलाई अचानक पदबाट हटाइएपछि गत महिनादेखि राजधानी किएभमा सरकारविरुद्ध प्रदर्शन हुँदै आएका छन् । प्रदर्शनको सुरुआती भीड केही घटे पनि सप्ताहन्तमा अझै हजारौँ मानिस सडकमा उत्रिने गरेका छन् । प्रदर्शनकारीहरूले फेडोरोभलाई पुनः पदमा फर्काउन माग गर्दै जेलेन्स्कीविरुद्ध नाराबाजी तथा हस्तनिर्मित प्लेकार्ड प्रदर्शन गर्दै आएका छन् ।

    युद्ध जारी रहेका बेला चुनाव गराउने विषय भने युक्रेनका लागि सुरक्षा, कानूनी र राजनीतिक रूपमा जटिल मानिन्छ । फेडोरोभको पछिल्लो आह्वानले युद्ध सञ्चालनसँगै लोकतान्त्रिक प्रक्रिया र शासन प्रणालीबारे युक्रेनभित्र बढिरहेको बहसलाई थप सतहमा ल्याएको छ ।

  • युएईले इरानसँग कारोबार रोक्यो

    युएईले इरानसँग कारोबार रोक्यो

    दुबई, ४ भदौ (रासस/एएफपी) :
    संयुक्त अरब इमिरेट्स (युएई) ले इरानतर्फबाट क्षेप्यास्त्र आक्रमण भएको आरोप लगाएपछि तेहरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को सूचना नभएसम्मका लागि रोक्ने घोषणा गरेको छ । पछिल्ला केही महिनादेखि तुलनात्मक रूपमा शान्त रहेको युएईमा पुनः सुरक्षा तनाव बढेपछि अबु धाबीले इरानविरुद्ध यस्तो कडा कदम चालेको हो ।

    युएईको विदेश मन्त्रालयकी सञ्चार निर्देशक अफ्रा अल हमेलीले क्षेत्रीय तनाव बढेको भन्दै इरानसँगको सबै व्यापार, व्यापारिक आदानप्रदान तथा वित्तीय कारोबार स्थगित गरिएको बताउनुभयो । अबु धाबीले पछिल्ला केही सातामा इरानले समुद्रमा आफ्ना ट्याङ्करहरूलाई पटक–पटक निशाना बनाएको आरोप लगाउँदै आएको छ ।

    युएईको पछिल्लो निर्णय दुई देशबीचको लामो समयदेखिको व्यापारिक तथा सामाजिक सम्बन्धका बीच आएको हो । युएईमा ठूलो इरानी समुदायको बसोबास छ र युद्धअघि अमेरिकी प्रतिबन्धमा रहेको इरानका लागि युएई प्रमुख व्यापारिक साझेदारमध्ये एक थियो ।

    समुद्री तटीय समुदाय, व्यापारिक मार्ग र पारिवारिक सम्बन्धका कारण दुई देशबीच शताब्दीयौँ पुरानो सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धसमेत रहँदै आएको छ । मङ्गलबारको घोषणा इरानविरुद्ध युएईले चालेको पछिल्लो कदम हो । द्वन्द्व सुरु भएपछि युएईले आफ्ना राजदूत फिर्ता बोलाउनुका साथै इरानसँग सम्बन्धित केही विद्यालय र अस्पताल बन्द गरेको थियो । मार्चमा युद्ध चर्किएका बेला दुबईस्थित इरानी राज्यसँग सम्बन्धित अस्पताल बन्द गर्न अधिकारीहरूले आदेश दिएका थिए । विद्यालय तथा सामुदायिक केन्द्र पनि बन्द गरिएका थिए ।

    त्यसबेला युएईका एक अधिकारीले इरानी सरकार र इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आइआरजीसी) सँग प्रत्यक्ष सम्बन्ध भएका तथा युएईको कानून उल्लङ्घन गरेको पाइएका केही संस्थालाई लक्षित उपायअन्तर्गत बन्द गरिएको बताएका थिए । यसैबीच, अबु धाबीले मङ्गलबार इरानले युएईतर्फ दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाएको छ ।

    युएईका अनुसार मेयता देशतर्फ लक्षित भएको यो पहिलो क्षेप्यास्त्र आक्रमण हो । पछि युएईले ती क्षेप्यास्त्र समुद्री क्षेत्रमा रहेका जहाज वा समुद्री नेभिगेसनलाई लक्षित गरिएको जनाएको थियो । तर तेहरानले युएईतर्फ क्षेप्यास्त्र प्रहार गरेको आरोप अस्वीकार गरेको छ ।

    युएईको हवाई सुरक्षा प्रणालीले इरानबाट प्रहार गरिएका दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र पत्ता लगाएको र तीमध्ये एउटा आफ्नो क्षेत्रीय जलक्षेत्रबाहिर तथा अर्को क्षेत्रीय जलक्षेत्रभित्र खसेको युएई मन्त्रालयले सामाजिक सञ्जालमार्फत जनाएको छ । त्यसपछि जारी अर्को विज्ञप्तिमा क्षेप्यास्त्र समुद्री नेभिगेसनलाई लक्षित गर्दै समुद्रमा खसेको उल्लेख गरिएको थियो ।

    इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले युएईले इरानमाथि लगाएको क्षेप्यास्त्र प्रहारको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्नुभयो । उहाँले यस्तो दाबीले क्षेत्रीय विश्वास र सुरक्षा कायम गर्ने प्रयासमा नकारात्मक असर पार्ने बताउनुभयो । युएईको पहिलो आधिकारिक बयान आउनुभन्दा करिब दुई घन्टा अघि त्यहाँका बासिन्दालाई मोबाइल फोनमार्फत ‘सम्भावित क्षेप्यास्त्र खतरा’ बारे चेतावनी दिइएको थियो ।

    जुनमा जारी भएको गलत चेतावनी र जुलाईमा आक्रमणको सम्भावनासम्बन्धी सूचनापछि यो पहिलो यस्तो चेतावनी थियो । यद्यपि त्यसपटक क्षेप्यास्त्र युएईको भूभागमा प्रवेश गरेको थिएन । त्यसअघि पछिल्लो क्षेप्यास्त्र चेतावनी मेको सुरुआतमा जारी गरिएको थियो । यद्यपि पछिल्ला केही सातामा युएईको सरकारी स्वामित्वको तेल कम्पनी एडनोकसँग सम्बन्धित ट्याङ्करहरूलाई समुद्रमा पटक–पटक निशाना बनाइएको अबु धाबीले आरोप लगाउँदै आएको छ ।

    समुद्री मार्ग र ऊर्जा पूर्वाधारसँग सम्बन्धित यस्ता घटनाले युएईको सुरक्षा चिन्ता बढाएको छ । मध्यपूर्वमा युद्ध सुरु हुँदा युएईले इरानी आक्रमणको ठूलो दबाब सामना गरेको थियो । फेब्रुअरी २८ मा युद्ध सुरु भएयता करिब तीन हजार क्षेप्यास्त्र तथा ड्रोन युएईतर्फ लक्षित गरिएको बताइएको छ । यो क्षेत्रका अन्य मुलुकको तुलनामा बढी थियो ।

    तर जुनमा इरान र अमेरिकाबीच समझदारी ज्ञापनपत्र कार्यान्वयनमा आएपछि युएईले अन्य खाडी मुलुकको तुलनामा प्रत्यक्ष आक्रमणको खबर कमै मात्र सामना गरेको थियो । उक्त समझदारी पछि भत्किए पनि युएईमा लामो समयसम्म तुलनात्मक शान्ति कायम रहेको थियो । इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार रोक्ने पछिल्लो निर्णयले भने दुई देशबीचको व्यापारिक सम्बन्धमा प्रत्यक्ष असर पार्ने भएको छ । साथै, समुद्री सुरक्षा र क्षेत्रीय तनाव थप बढ्ने चिन्ता पनि उत्पन्न भएको छ ।

  • जारी तनावबीच आठ लाखभन्दा बढी विस्थापित लेबनान फर्किए

    जारी तनावबीच आठ लाखभन्दा बढी विस्थापित लेबनान फर्किए

    जेनेभा, ४ भदौ (रासस/एएनआई) :

    पश्चिम एसियामा जारी तनावका बीच करिब आठ लाख ६० हजार विस्थापित व्यक्ति आफ्नो मूल क्षेत्रमा फर्किएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) ले जनाएको छ । यद्यपि, दक्षिणी लेबनानमा पछिल्ला इजरायली हवाई आक्रमणले पुनः विस्थापनको जोखिम बढाएको तथा मानवीय सङ्कट कायमै रहेको कार्यालयले जनाएको छ । युएनएचसीआरका अनुसार, द्वन्द्वको चरम समयमा लेबनानभित्र १० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए ।

    अहिले फर्किएकामध्ये करिब २२ हजार व्यक्ति सामूहिक आश्रयस्थलमा बसिरहेका छन् भने करिब ३६ हजार अझै आफन्तको घर वा भाडाको आवासमा विस्थापित अवस्थामा छन् । युएनएचसीआरले सामाजिक सञ्जाल ‘एक्स’ मा युद्धविराम घोषणा भए पनि सप्ताहन्तमा दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली हवाई आक्रमणपछि सयौँ परिवार सुरक्षाको खोजीमा उत्तरतर्फ गएको जनाएको छ । नयाँ विस्थापनले लामो समयदेखि जारी विस्थापन सङ्कट थप जटिल बनाएको र घर फर्किएका समुदायमा अनिश्चितता बढाएको कार्यालयले उल्लेख गरेको छ ।

    असुरक्षा, आफ्नो समुदायसम्मको पहुँचमा कठिनाइ तथा घर र पूर्वाधारमा भएको व्यापक क्षतिका कारण धेरै परिवार अझै घर फर्कन असमर्थ छन् । द्वन्द्वका कारण स्वास्थ्य, खानेपानी र विद्युत् सेवासमेत प्रभावित भएका छन् । युएनएचसीआरका अनुसार, सुरक्षित र स्थायी रूपमा घर फर्कन सकिन्छ कि सकिँदैन भन्ने निर्णय गर्नुअघि कतिपय मानिसहरू विस्थापित क्षेत्र र आफ्नो मूल स्थानबीच पटक–पटक आवतजावत गरिरहेका छन् ।

    दक्षिणी लेबनान र बेका क्षेत्रका केही भागमा हवाई आक्रमण, आवागमन प्रतिबन्ध, सैन्य गतिविधि तथा युद्धका विस्फोटक अवशेषका कारण सुरक्षा जोखिम कायमै रहेको युएनएचसीआरले जनाएको छ । द्वन्द्वको तीव्रता घटे पनि यी जोखिमले प्रभावित समुदायको सुरक्षित पुनरागमन र दीर्घकालीन पुनःस्थापनामा अवरोध सिर्जना गरेको छ ।

    मानवीय सहयोगमा सङ्लग्न संस्थाहरूले समेत स्रोतसाधनको अभाव झेलिरहेका कारण विस्थापित तथा घर फर्किएका परिवारलाई आवश्यक सहायता पु¥याउने क्षमता सीमित भएको कार्यालयले जनाएको छ । युएनएचसीआरले विस्थापित परिवार, घर फर्किएका व्यक्ति तथा प्रभावित समुदायलाई आवास पुनर्निर्माण, जीविकोपार्जन पुनःस्थापना, आधारभूत पूर्वाधार निर्माण तथा दीर्घकालीन स्थायित्वका लागि निरन्तर अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको जनाएको छ ।

  • इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको खुलासा

    इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको खुलासा

    वासिङ्टन, ४ भदौ (रासस/क्युएनए) :

    संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानसँग कुनै वार्ता वा छलफलको ठोस योजना नभएको बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा इरानसँग कुनै वार्ता वा कुराकानी नभइरहेको तथा तत्काल निर्धारित वार्ता योजना नहरेको उल्लेख गर्नुभएको छ । यसैबीच ट्रम्पले होमुर्जको जलमार्गमा अमेरिकी नौसैनिक नाकाबन्दी पूर्ण शक्ति र प्रभावमा रहेको तथा होर्मुज पुर्ण रुपमा खुला र निर्वाद रुपमा सञ्चालनमा रहेको पनि बताउनुभएको छ ।

    ट्रम्पका टिप्पणी विशेष दूत जारेड कुशनरले ‘फक्स न्यूज’सँग अमेरिकी सरकार र इरानी सरकारका विभिन्न निकायबीचको वार्ता अहिले पहिलेभन्दा बढी सक्रिय रहेको बताएपछि आएका हुन् । यद्यपि, उहाँले वार्ताबाट अहिलेसम्म कुनै सहमति भइनसकेको सङ्केत गर्नुभएको छ । होर्मुज जलमार्गमा तनाव कायमै रहेका बेला इरान र अमेरिकाबीच परस्पर विरोधी धारणा सार्वजनिक भएका छन् । इरानले अमेरिकी नौसैनिक नाकाबन्दी र प्रतिबन्ध हटाउनेलगायत समझदारीपत्रमा उल्लेखित प्रतिबद्धता पूरा नभएसम्म जलमार्ग खुला नगर्ने अडान दोहोर्‍याएको छ । यसैबीच कुशनरले भने अमेरिकी सरकार र इरानी सरकार भित्रका विभिन्न पक्षहरू र विभिन्न तहमा भएको वार्तालाई वर्णन गर्नुभएको छ ।

  • गाजाका चर्चित दुई घटनामा इजरायली सेनाद्वारा आपराधिक अनुसन्धान सुरु

    गाजाका चर्चित दुई घटनामा इजरायली सेनाद्वारा आपराधिक अनुसन्धान सुरु

    इजरायली सेनाले गाजा युद्धका क्रममा पाँच वर्षीया हिन्द रजाब र १५ जना प्यालेस्टिनी स्वास्थ्यकर्मीको मृत्यु भएको घटनाबारे आपराधिक अनुसन्धान सुरु गर्ने घोषणा गरेको छ । सेनाले बुधबार गाजामा आफ्ना सैनिकको आचरणसम्बन्धी १५० घटनाको समीक्षा पूरा गरेको र पाँचवटा घटनामा थप अनुसन्धान आवश्यक देखिएको जनाएको छ । हिन्द रजाब र उनका परिवार तथा स्वास्थ्यकर्मीको मृत्युका घटना अनुसन्धानमा समेटिएका छन् ।

    सन् २०२४ को फेब्रुअरीमा गाजा सहरबाट भाग्ने क्रममा हिन्द आफ्ना आफन्तसहित सवार गाडीमाथि गोली प्रहार भएको थियो । हिन्दबाहेक गाडीमा रहेका सबैको मृत्यु भएको थियो । उद्धारका लागि प्रयास भइरहेका बेला उनीसँग सम्पर्क टुटेको र १२ दिनपछि हिन्दसहित उनका आफन्त तथा दुई स्वास्थ्यकर्मीको शव फेला परेको थियो ।

    त्यस्तै, सन् २०२५ को मेमा दक्षिणी गाजाको राफाहमा घाइते तथा मृतकलाई उद्धार गर्न गएका १५ जना प्यालेस्टिनी स्वास्थ्यकर्मीको इजरायली सेनाको गोली प्रहारबाट मृत्यु भएको थियो । उनीहरूलाई पछि सामूहिक रूपमा गाडिएको थियो । इजरायली सेनाले सुरुमा स्वास्थ्यकर्मीहरूका सवारीसाधनले बत्ती वा आपत्कालीन सङ्केत नदिई सैनिकतर्फ अघि बढेको दाबी गरेको थियो । तर घटनाको भिडियो सार्वजनिक भएपछि उक्त दाबीमाथि प्रश्न उठेको थियो ।

    सेनाले ‘वल्र्ड सेन्ट्रल किचन’ र ‘डाक्टर्स विदाउट बोर्डर्स’का सहायताकर्मीको मृत्यु भएका तीन घटनामा भने आपराधिक अनुसन्धान नगर्ने जनाएको छ । सन् २०२३ अक्टोबरमा हमासको आक्रमणपछि सुरु भएको युद्धमा गाजामा ७३ हजारभन्दा बढी मानिसको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता पनि एक हजार दुई सयभन्दा बढी मानिस मारिएका छन् ।

  • इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    रेओ (इन्डोनेसिया) ४ भदौ (रासस/एपी) :
    शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र करिब एक हजार दुई सय जना घाइते भएको चार दिनपछि पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा किराना पसल, पेट्रोल पम्प तथा अन्य व्यापारिक प्रतिष्ठान पुनः सञ्चालनमा आएका छन् । गत शनिबार बिहान गएको भूकम्पबाट हजारौँ घर तथा सार्वजनिक संरचनामा क्षति पुगेपछि ५९ हजार ६ सयभन्दा बढी मानिस अझै पाल, उद्धार केन्द्र र अस्थायी आश्रयस्थलमा बसिरहेका अधिकारीले बताएका छन् ।

    राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूकम्पबाट ११ हजार नौ सय २५ घर, १८२ स्वास्थ्य संस्था, ६५३ विद्यालय, १८४ सरकारी कार्यालय र १७३ धार्मिक स्थलमा क्षति पुगेको छ । प्रभावित समुदायमा खाद्यान्न, पारिवारिक पाल, आश्रय सामग्री र अन्य राहत सामग्रीसहित ३९८ टन राहत सामग्री पु¥याइएको एजेन्सीले जनाएको छ । पहाडी भूभाग तथा क्षतिग्रस्त र साँघुरा सडकका कारण राहत सामग्री वितरणमा भने कठिनाइ भइरहेको अधिकारीले बताएका छन् ।

    दुर्गम क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले सैन्य विमान, पानीजहाज र थप जनशक्ति परिचालन गरेको विपद् व्यवस्थापन एजेन्सीका प्रवक्ता बर्टन पानजाइतानले बताउनुभयो । पूर्वी नुसा तेङ्गरा प्रान्तका गभर्नर इमानुएल मेल्कियाडेस लाका लेनाले भूकम्प प्रभावित सातवटै क्षेत्रका स्थानीय सरकारहरूले विपद्पछिको पुनर्लाभ तथा प्रशासनिक कामलाई गति दिन पुनः काम सुरु गरेको बताए । अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो ।

    भूकम्पपछि सुनामीको चेतावनी जारी गरिए पनि पछि हटाइएको थियो । अधिकारीहरूले बुधबारसम्म तीन हजारभन्दा बढी परकम्प रेकर्ड गरेका छन् । परकम्पको त्रासका कारण टापुभरि हजारौँ मानिस राति बाहिरै सुतिरहेका छन् । उद्धारकर्मीहरूले थप पीडितको खोजी गर्दै पहिरो र भग्नावशेष हटाइरहेका छन् । आफ्ना सामान तथा पशुधन सुरक्षित राख्न धेरै मानिस क्षतिग्रस्त घरनजिकै आश्रय लिएर बसेकाले राहत वितरण थप चुनौतीपूर्ण बनेको उद्धार अभियान संयोजक फतुर रहमानले बताउनुभयो ।

    यसैबीच, मौमेरेमा बजार तथा पेट्रोल पम्प खुलेपछि ठूलो भीड लागेको छ । अत्यधिक प्रभावित मङ्गाराई रिजेन्सीको रियोमा पनि किराना पसल खुलेपछि आवश्यक सामग्री खरिद गर्न स्थानीयवासी लामबद्ध भएका छन् । इन्डोनेसिया १७ हजारभन्दा बढी टापु भएको देश हो र प्रशान्त महासागरीय ‘आगोको घेरा’मा पर्ने भएकाले यहाँ भूकम्प तथा ज्वालामुखी विस्फोटको जोखिम उच्च छ । फ्लोरेसमा सन् १९९२ मा गएको भूकम्प र त्यसपछिको सुनामीमा करिब दुई हजार पाँच सय जनाको मृत्यु भएको थियो ।

  • चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

    चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

    बेइजिङ, ४ भदौ (रासस–एपी) । चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ । अन्तरिक्ष प्रविधिमा पुनःप्रयोग गर्न सकिने रकेट विकासलाई तीव्रता दिइरहेको चीनका लागि यो महत्त्वपूर्ण उपलब्धि मानिएको छ । राज्य सञ्चारमाध्यमका अनुसार बुधबार प्रक्षेपण गरिएको ‘झुक–३’ रकेटको पहिलो चरण सफलतापूर्वक पृथ्वीमा फर्काइएको हो ।

    यसअघि जुलाईमा चीनले समुद्री प्लेटफर्ममा रकेटको पहिलो चरण पुनःप्राप्त गरेको थियो । त्यसैले भूमिमा गरिएको बुधबारको सफलता चीनले रकेट चरण पुनःप्राप्त गरेको दोस्रो अवसर हो भने भूमिमा गरिएको पहिलो सफल परीक्षण हो । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पुनःप्रयोग गर्न सकिने ‘झुक–३’ रकेट बुधबार बिहान प्रक्षेपण गरिएको थियो । त्यसपछि रकेटको पहिलो चरण पृथ्वीमा फर्किएर सुरक्षित रूपमा अवतरण गरेको हो । यस क्रममा पहिलोपटक तैनाथ गर्न सकिने अवतरण खुट्टाको प्रयोग गरिएको सिन्ह्वाले जनाएको छ । चीनले यसलाई पुनःप्रयोग गर्न सकिने रकेट प्रविधिमा महत्त्वपूर्ण सफलता मानेको छ ।

    रकेटको प्रयोगपछि पहिलो चरणलाई पुनःप्राप्त गरी फेरि प्रयोग गर्न सकिने प्रविधिले प्रक्षेपणको लागत घटाउन सहयोग गर्छ । यस क्षेत्रमा अमेरिकी कम्पनी स्पेसएक्स र ब्लु ओरिजिनले सन् २०१५ देखि रकेट पुनःप्राप्तिको प्रविधि प्रयोग गर्दै आएका छन् । उपग्रह तथा अन्य सामग्री अन्तरिक्षमा पठाएपछि रकेटलाई फ्याँक्नुपर्ने अवस्थाको अन्त्य गर्दै एउटै हार्डवेयर पुनः प्रयोग गर्न सकिने भएकाले अन्तरिक्ष प्रक्षेपण सस्तो बनाउन यस्तो प्रविधि महत्त्वपूर्ण मानिन्छ ।

    चीनले गत जुलाई १० मा ‘लङ मार्च–१०बी’ रकेटको पहिलो चरण पनि सफलतापूर्वक पुनःप्राप्त गरेको थियो । प्रक्षेपणपछि पहिलो चरण दोस्रो चरणबाट अलग भएर समुद्री प्लेटफर्ममा फर्किएको थियो । त्यसबेला रकेटलाई जालोमा समात्ने ‘नेट–क्याप्चर’ प्रणाली प्रयोग गरिएको थियो ।

    चीनसँगै जापानले पनि पुनःप्रयोग गर्न सकिने रकेट प्रविधिमा लगानी बढाइरहेको छ । जुलाई ११ मा जापानले प्रयोगात्मक पुनःप्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान गरेको थियो । उक्त रकेट उडान भरेपछि सुरक्षित रूपमा अवतरण गर्न सफल भएको थियो । दुवै देशले प्रक्षेपण लागत घटाउँदै विश्वव्यापी अन्तरिक्ष बजारमा प्रतिस्पर्धा बढाउने उद्देश्यले पुनःप्रयोग गर्न सकिने रकेट प्रविधिको विकासलाई प्राथमिकता दिएका छन् ।

  • झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक

    झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक


    बेइजिङ, ३ भदौ (रासस–एएफपी) । चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको निधनपछि उनको अन्त्येष्टिअघि मङ्गलबार बेइजिङका सरकारी भवन तथा तियानमेन स्क्वायरमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ । गत साता ९७ वर्षको उमेरमा निधन भएका झुको योगदानलाई सामाजिक सञ्जालमा पनि स्मरण गरिएको छ ।

    सन् १९९८ देखि पाँच वर्ष प्रधानमन्त्री रहनुभएका झु चिनियाँ अर्थतन्त्रको निर्णायक पुनर्गठन, भ्रष्टाचारविरुद्धको कडा अभियान र राज्यको स्वामित्वमा रहेका अक्षम संस्थान सुधारका लागि परिचित थिए । उनको कार्यकालमा चीनलाई विश्व अर्थतन्त्रसँग थप जोड्ने महत्त्वपूर्ण आर्थिक सुधार अघि बढाइएको थियो । एएफपीका पत्रकारहरूले मङ्गलबार बेइजिङका सरकारी भवनमा झण्डा आधा झुकाइएको देखेका छन् । राजधानीको केन्द्रमा रहेको तियानमेन स्क्वायरमा पनि झण्डा आधा झुकाइएको थियो । अत्यधिक सुरक्षा व्यवस्था रहने तियानमेन स्क्वायरमा झुको सम्मानमा गरिएको श्रद्धाञ्जलि चिनियाँ सामाजिक सञ्जाल वेइबोमा समेत शीर्ष चर्चाको विषय बनेको छ ।

    वेइबोमा एक प्रयोगकर्ताले झुले देशका लागि गरेको योगदानप्रति धन्यवाद दिँदै उनलाई सधैँ सम्झिइरहने उल्लेख गरेका छन् । झुप्रति व्यक्त गरिएको श्रद्धाञ्जलीले आर्थिक सुधारका क्रममा उनले खेलेको भूमिकाप्रतिको जनस्मरणलाई पनि उजागर गरेको छ ।
    चिनियाँ राज्य समाचार संस्था सिन्ह्वाले झुलाई ‘उत्कृष्ट सर्वहारा क्रान्तिकारी तथा राजनीतिज्ञ’ का रूपमा स्मरण गरेको छ । सिन्ह्वाका अनुसार झुको शव मङ्गलबार बेइजिङमा दाहसंस्कार गरिनेछ । त्यसअघि सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूको सहभागितामा औपचारिक बिदाइ कार्यक्रम आयोजना गरिनेछ ।

    सन् १९२८ मा मध्य चीनमा जन्मिएका झु सन् १९४९ मा माओत्सेतुङको नेतृत्वमा कम्युनिस्ट क्रान्ति सफल भएपछि पार्टी संरचनामा अघि बढेका थिए । उनले साङ्घाईको मेयर, राष्ट्रिय उपप्रधानमन्त्री हुँदै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । झुको प्रधानमन्त्री कार्यकाल चीनका तत्कालीन राष्ट्रपति जियाङ जेमिनको कार्यकालसँगै अघि बढेको थियो । जियाङको सन् २०२२ मा निधन भएको थियो । दुवै नेताको कार्यकालमा चीनले तीव्र आर्थिक सुधार र विश्व अर्थतन्त्रमा आफ्नो सहभागिता विस्तार गरेको थियो ।

    झुले सरकारी स्वामित्वका घाटामा रहेका तथा अक्षम कम्पनीको पुनर्संरचना र विघटनलाई अघि बढाएका थिए । यस्ता कदमले ठूलो आर्थिक तथा सामाजिक प्रभाव पारे पनि चीनको राज्य सञ्चालित अर्थतन्त्रलाई थप प्रतिस्पर्धी बनाउने प्रयासका रूपमा त्यसलाई हेरिएको थियो । उनी भ्रष्टाचारविरुद्धको कडा अडानका कारण पनि चर्चित थिए । सार्वजनिक पदमा इमानदारीलाई प्राथमिकता दिनुपर्ने उनको धारणा उहाँका सार्वजनिक अभिव्यक्तिमा देखिन्थ्यो ।

    एकपटक आफूलाई भविष्यमा कसरी सम्झिइयोस् भन्ने प्रश्नमा झुले आफूले पद छाडेपछि देशभरका मानिसले आफूलाई ‘इमानदार अधिकारी, भ्रष्ट नभएको व्यक्ति’ का रूपमा सम्झिए आफू सन्तुष्ट हुने बताएका थिए । चीनको आर्थिक रूपान्तरणका महत्त्वपूर्ण वर्षमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका झुको निधनपछि भएको औपचारिक श्रद्धाञ्जलिले उनको राजनीतिक तथा आर्थिक योगदानलाई पुनः चर्चामा ल्याएको छ ।

  • जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति

    जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति


    बर्लिन, ३ भदौ (रासस–एपी) । जर्मनीको कोब्लेन्ज जिल्ला अदालतमा मङ्गलबार सुरु भएको सुनुवाइका क्रममा ८१ वर्षीय एक वृद्धले सन् १९९४ मा अमेरिकी पर्यटकको यौन दुव्र्यवहारपछि हत्या गरेको स्वीकार गरेका छन् । जर्मनीको गोपनीयतासम्बन्धी कानुनका कारण नाम सार्वजनिक नगरिएका ती व्यक्तिले २४ वर्षीया अमेरिकी पर्यटक एमी लोपेजको हत्या गरेको स्वीकार गरेका हुन् । उनका वकिल भोल्कर क्लाइनले सुनुवाइका क्रममा अपराधको पूर्ण स्वीकारोक्ति प्रस्तुत गरेका थिए । मुख्य न्यायाधीश रूपर्ट स्टेहलिनले प्रतिवादीलाई स्वीकारोक्ति सत्य हो कि होइन भनेर सोध्दा उनले सहमति जनाएका थिए ।

    सरकारी वकिलका अनुसार सन् १९९४ सेप्टेम्बर २६ मा कोब्लेन्ज भ्रमणमा रहनुभएकी लोपेजलाई ती व्यक्तिले झुक्याएर एहरेनब्रेटस्टाइन किल्लाको एकान्त स्थानमा लगेका थिए । त्यहाँ उनले लोपेजमाथि यौन दुव्र्यवहार गरी हत्या गरेको अभियोग लगाइएको छ । लोपेजको शव घटनाको केही समयपछि नजिकै खेलिरहेका बालबालिकाले फेला पारेका थिए । लामो समयसम्म अनसुल्झिएको उक्त घटनाको अनुसन्धान नयाँ प्रविधिबाट पुरानो डीएनए पुनः विश्लेषण गरेपछि अघि बढेको हो । अनुसन्धानका क्रममा घटनास्थलमा भेटिएको डीएनए प्रतिवादीसँग मेल खाएको पाइएको जर्मन समाचार संस्था डिपिएले जनाएको छ ।

    प्रतिवादीलाई गत फेब्रुअरीको अन्त्यतिर कोब्लेन्ज क्षेत्रको एक स्याहार केन्द्रबाट पक्राउ गरिएको थियो । उनी त्यसयता पुर्पक्षका लागि थुनामा छन् । मुद्दाको सुनुवाइका लागि आठ दिन तोकिएको छ भने आगामी सेप्टेम्बरमा फैसला आउने अपेक्षा गरिएको छ ।

  • कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ

    कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ


    जेनेभा, ३ भदौ (रासस–एएफपी) । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआर कङ्गो)मा फैलिएको इबोला प्रकोप नियन्त्रणमा आउन अझै धेरै समय लाग्ने चेतावनी दिएका छन् । डब्लुएचओको आपत्कालीन बैठकमा मङ्गलबार बोल्दै टेड्रोसले यो प्रकोप इबोलाका विगतका अन्य प्रकोपको तुलनामा तीव्र गतिमा फैलिरहेको र राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा सङ्क्रमण फैलिने जोखिम उच्च रहेको बताए ।


    “यो महामारी नियन्त्रणमा आउन अझै धेरै बाँकी छ। हामी अझै पनि यसलाई पछ्याउने र नियन्त्रण गर्ने प्रयासमा पछि परिरहेका छौँ,” उनले भने । डीआर कङ्गोले सोमबार सार्वजनिक गरेको विवरणअनुसार करिब पाँच हजार सङ्क्रमितमध्ये दुई हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ। यो प्रकोप देशकै इतिहासमा सबैभन्दा घातकमध्ये एक बनेको छ।

    डीआर कङगोले गत मे १५ मा आफ्नो १७औँ इबोला प्रकोप घोषणा गरेको थियो। घोषणाभन्दा केही साताअघिदेखि नै सङ्क्रमण फैलिएको अनुमान गरिएको छ। देशका उत्तरी तथा पूर्वी क्षेत्रमा सङ्क्रमण बढी देखिएको छ। ती क्षेत्रमा कमजोर स्वास्थ्य पूर्वाधार, राज्यको सीमित उपस्थिति र लामो समयदेखि सक्रिय सशस्त्र समूहका कारण रोग नियन्त्रणमा चुनौती थपिएको छ।

    डब्लुएचओको आपत्कालीन समितिले गत मे १७ मा इबोला प्रकोपलाई ‘अन्तरराष्ट्रिय चासोको जनस्वास्थ्य आपत्काल’ घोषणा गरेको थियो। त्यसयता मङ्गलबार समितिको दोस्रो बैठक बसेको हो। समितिले बैठकपछि आफ्ना सिफारिस कहिले सार्वजनिक गर्ने भन्ने स्पष्ट भइसकेको छैन।

    डब्लुएचओका अनुसार डीआर कङ्गोमा जनस्वास्थ्य जोखिमको स्तर ‘अत्यधिक उच्च’ रहेको छ भने छिमेकी युगान्डासहित अन्य छिमेकी मुलुकका लागि ‘उच्च’ र अफ्रिकाका अन्य भाग तथा विश्वका लागि ‘न्यून’ रहेको छ। हालसम्म डीआर कङ्गोका छ वटा प्रान्तमा सङ्क्रमण देखिएको छ भने छिमेकी युगान्डामा सङ्क्रमित भेटिएका छन् । “थप राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा सङ्क्रमण फैलने जोखिम उच्च नै छ,” टेड्रोसले चेतावनी दिए ।


    डब्लुएचओका अनुसार सन् २०१८ देखि २०२० सम्म डीआर कङ्गोमा फैलिएको इबोला प्रकोपमा तीन हजार ३८१ पुष्टि भएका सङ्क्रमितमध्ये दुई हजार २९९ जनाको मृत्यु भएको थियो। यसअघि सन् २०१३ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोप सबैभन्दा घातक मानिएको थियो। लाइबेरिया, सियरा लियोन र गिनीलगायत देशमा फैलिएको उक्त प्रकोपमा ११ हजार ३०० भन्दाबढी मानिसको मृत्यु भएको थियो।

  • पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

    पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश

    इस्लामाबाद, ३ भदौ (रासस–एपी) । पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि राजधानी इस्लामाबादस्थित निजी अस्पताल लैजान तथा परिवारका सदस्यसँग साप्ताहिक भेटघाट गर्न दिन मङ्गलबार आदेश दिएको छ । तीन सदस्यीय इजलासले खानलाई आगामी दिनमा शिफा इन्टरनेसनल अस्पतालमा विशेषज्ञ चिकित्सक तथा उहाँका निजी चिकित्सकमध्ये एक फैसल सुल्तानसहितको मेडिकल बोर्डबाट स्वास्थ्य परीक्षण गराउन आदेश दिएको हो ।

    अदालतले जेल प्रशासनलाई खानलाई परिवारका सदस्यसँग साप्ताहिक भेटघाट तथा आफ्ना छोरासँग टेलिफोनमा कुराकानी गर्न अनुमति दिनसमेत निर्देशन दिएको छ । खानको स्वास्थ्य अवस्था र निजी चिकित्सक तथा परिवारका सदस्यलाई भेट्न नदिइएको विषयमा लामो समयदेखि चिन्ता व्यक्त हुँदै आएको थियो । खानका वकिल सलमान अक्रम राजाका अनुसार, स्वास्थ्य सेवामा पहुँच पाउनु उनको संवैधानिक अधिकार भएकाले अदालतले अस्पताल लैजान आदेश दिएको हो । उनले अस्पतालमा उपचारका क्रममा समर्थकलाई भीड नगर्न आग्रह गरेका छन् ।


    सम्भावित सुरक्षा खतराको सूचनापछि पाकिस्तानले यस वर्षको सुरुदेखि खानलाई राखिएको जेलमा आगन्तुकको प्रवेशमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि खानले अस्पताल स्थानान्तरण तथा निजी चिकित्सक, परिवार र वकिलसँग भेटघाटको अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।


    यसअघि आँखाको समस्याका कारण खानलाई पटकपटक सरकारी अस्पताल लगिएको थियो । गत जनवरीमा उनको दाहिने आँखाको करिब ८५ प्रतिशत दृष्टि गुमेको परिवारले दाबी गरेको थियो भने सरकारले उक्त दाबी अस्वीकार गरेको थियो । पछि अधिकारीले उहाँको दृष्टिमा सुधार आएको बताएका थिए ।

    क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खान भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि सन् २०२३ देखि जेलमा छन् । संसद्मा अविश्वास प्रस्ताव पारित भएपछि सन् २०२२ अप्रिलमा उनी प्रधानमन्त्री पदबाट हटेका हुन् । कानुनी समस्याका बाबजुद खान पाकिस्तानको राजनीतिमा प्रभावशाली व्यक्तित्वका रूपमा रहँदै आहेका र उनको समर्थनमा ठूलो जनमत रहेको छ।

  • ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक

    ट्रम्पद्वारा ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रूपमा देखाउने नक्सा सार्वजनिक


    वासिङ्टन, ३ भदौ (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्दै रणनीतिक जलमार्गमाथि अमेरिकी नियन्त्रणको सङकेत गरेका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा उक्त नक्सा पोस्ट गरेका छन् । ‘स्ट्रेट अफ होर्मुज’ विश्वको महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो, जहाँबाट सामान्य अवस्थामा विश्वको करिब पाँचौँ भाग तेल ओसारपसार हुने गर्छ ।

    इरानले फेब्रुअरीको अन्त्यमा अमेरिकासँग युद्ध सुरु भएपछि ‘स्ट्रेट अफ होर्मुज’मा पानीजहाजको आवागमन प्रभावकारी रूपमा रोकेको छ । अमेरिकाले इजरायलसँग मिलेर इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि तेहरानले जलमार्ग बन्द गरेको हो । ट्रम्पले शुक्रबार पहिलोपटक ‘स्ट्रेट अफ होर्मुज’माथि अमेरिकी नियन्त्रणको सम्भावना उल्लेख गरेका थिए । उनले त्यसलाई अमेरिकी क्षेत्र घोषणा गर्ने बताएका छन् । इरानले भने उक्त मार्ग ‘इरानी नै रहने’ प्रतिक्रिया दिएको थियो ।

    ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उक्त विचार दोहोर्‍याउँदै ‘स्ट्रेट अफ होर्मुज’ माथि अमेरिकी नियन्त्रण कायम गर्नु राम्रो हुने बताए । विदेश नीतिमा विवादास्पद कदम चाल्दै आएका ट्रम्पले यसअघि पनि विदेशी भू–भागमाथि अमेरिकी नियन्त्रणको प्रस्ताव अघि सारेका थिए । सन् २०२५ मा राष्ट्रपतिका रूपमा पुनः कार्यभार सम्हालेयता उनले क्यानडालाई अमेरिकी राज्यका रूपमा समेट्ने, ग्रीनल्यान्डमाथि नियन्त्रण कायम गर्ने तथा गाजा पट्टीको नियन्त्रण लिने प्रस्ताव गरेका छन् । यद्यपि, तीमध्ये कुनै पनि योजना कार्यान्वयन भएको छैन।

    फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु हुनुअघि ‘स्ट्रेट अफ होर्मुज’ खुला अन्तरराष्ट्रिय जलमार्गका रूपमा सञ्चालनमा थियो। इरानले भने अमेरिका र इरानबीचको वार्ता तथा जलमार्ग पुनः खोल्नुअघि आफ्ना विभिन्न माग पूरा गर्नुपर्ने अडान राख्दै आएको छ। ती मागमा इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउनुपर्ने, तेलसम्बन्धी प्रतिबन्ध अन्त्य गर्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने तथा युद्धबाट भएको क्षतिबापत क्षतिपूर्ति दिनुपर्ने विषय समावेश छन्।

  • खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु

    खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु


    किएभ, ३ भदौ (रासस–एएफपी) । उत्तरपूर्वी युक्रेनको खार्किभ क्षेत्रमा रुसी सेनाले गरेको रकेट हमलामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । युद्ध सुरु भएयताका पछिल्ला महिनामा नागरिक हताहत बढिरहेका बेला भएको यस हमलाको युक्रेनले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । खार्किभ क्षेत्रका गभर्नर ओलेग सिनेगुबोभका अनुसार रुसी सीमाबाट करिब ४० किलोमिटर टाढा रहेको पेचेनिगी गाउँमा रकेट प्रहार गरिएको थियो । उनले सामाजिक सञ्जालमार्फत प्रारम्भिक विवरणअनुसार १० जनाको मृत्यु भएको र १७ जना घाइते भएको जानकारी दिए ।

    युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले हमला व्यस्त चौबाटोमा भएको बताए । उनका अनुसार उक्त क्षेत्रमा हुलाक कार्यालय र पसलहरू रहेका थिए भने चारैतिर आवासीय भवन थिए । युक्रेनी आपत्कालीन सेवाले सार्वजनिक गरेका घटनास्थलका तस्बिरमा उद्धारकर्मीहरू भग्नावशेषमा खोज तथा उद्धार कार्यमा खटिएको देखिन्छ । आक्रमणका कारण भवनहरू ध्वस्त भएका छन् भने घटनास्थलमा धुवाँ फैलिएको र केही सवारीसाधनमा आगो लागेको देखिएको छ ।

    राष्ट्रपति जेलेन्स्कीले युक्रेनले रुसी हमलाको जवाफ दिने बताउँदै अन्तर्राष्ट्रिय साझेदार राष्ट्रहरूले पनि रुसमाथि दबाब बढाएर युक्रेनको समर्थनमा थप कदम चाल्नुपर्ने बताए । “हामी निश्चित रूपमा यो रुसी आक्रमणको जवाफ दिनेछौँ”, उनले सामाजिक सञ्जालमा भने । उनले युक्रेनको प्रतिक्रियालाई सहयोगी राष्ट्रहरूले रुसमाथि दबाब र युक्रेनलाई समर्थन गर्ने आफ्ना कदममार्फत थप बलियो बनाउनुपर्नेमा जोड दिए ।


    खार्किभ क्षेत्रको केही भूभाग रुसी सेनाको नियन्त्रणमा छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेदेखि यो क्षेत्र निरन्तर रुसी आक्रमणको निशानामा पर्दै आएको छ । यसैबीच संयुक्त राष्ट्रसङ्घले रुस–युक्रेन युद्धमा पछिल्ला महिनामा नागरिक हताहतको सङ्ख्या युद्ध सुरु भएयताकै अन्य अवधिको तुलनामा उच्च रहेको जनाएको छ । युद्ध लम्बिँदै जाँदा आवासीय क्षेत्र तथा नागरिक पूर्वाधारमाथिका आक्रमणले सर्वसाधारणको जोखिम थप बढाएको राष्ट्रसङ्घले जनाएको छ ।

  • फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

    फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

    मनिला, २ भदौ (रासस–एएफपी) । दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ । प्रहरीले विद्यालय परिसरमा प्रवेश गरेका एक विद्यार्थीले कक्षाकोठामा गोली चलाएको जनाएको छ । घटनामा कक्षा १० का एक विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ भने विद्यालयले मृतकको सङ्ख्या दुई रहेको जनाएको छ । पश्चिमी मिन्डानाओको जाम्बोआङ्गा सहरस्थित क्याथोलिक निजी संस्था एटिनो डे जाम्बोआङ्गा विश्वविद्यालयमा घटना भएको हो । पछिल्ला केही महिनामा फिलिपिन्समा भएको यो दोस्रो विद्यालय गोलीकाण्ड भएको प्रहरीले जनाएको छ ।

    क्षेत्रीय प्रहरीका अनुसार कक्षा ९ का एक विद्यार्थीले विद्यालय परिसरभित्र पिस्तोल र राइफल ल्याएर कक्षाकोठामा गोली चलाएका थिए । त्यसपछि उनले आफैँलाई गोली हानेको बताइएको छ । घटनामा एक जनाको मृत्यु भएको प्रहरीले प्रारम्भिक रूपमा जनाएको थियो । प्रहरी प्रवक्ता सेल्ला चाङले घटनाको अनुसन्धान जारी रहेको र गोली चलाउनुको उद्देश्य पत्ता लगाउने प्रयास भइरहेको बताएका छन् । उनका अनुसार घटनास्थलमा प्रमाण सङ्कलन तथा अन्य अनुसन्धान भइरहेको छ । घटनामा कति जना घाइते भए भन्ने तत्काल स्पष्ट हुन सकेको छैन ।

    स्थानीय सञ्चारमाध्यमले फेसबुकमा प्रत्यक्ष प्रसारण गरेको भिडियोमा बन्दुक बोकेको व्यक्तिले प्रथम–व्यक्ति शैलीको भिडियो गेममा जस्तै बन्दुक कक्षातर्फ सोझ्याउँदै गल्लीबाट अघि बढेको र गोली चलाएको देखिन्छ । त्यसपछि विद्यालय पोसाकमा रहेका विद्यार्थीहरू चिच्याउँदै सुरक्षित स्थानतर्फ भागेका देखिन्छन् । घटनापछि कथित बन्दुकधारीको फेसबुक खाता निष्क्रिय गरिएको छ ।

    जाम्बोआङ्गा सहरका मेयर खैमर ओलासोले स्थानीय रेडियोसँग कुरा गर्दै भिडियोमा बन्दुकधारीले सुरुमा टेबलमा बसेका शिक्षकलाई गोली हानेको देखिएको बर्ताए । उनका अनुसार पहिलो गोली लक्ष्यमा नलागेपछि बन्दुकधारी अर्को कक्षातर्फ गएको र त्यहाँ एक विद्यार्थीलाई गोली हानेको देखिएको थियो । मेयर ओलासोले सुरुमा बन्दुकधारीलाई कक्षा ७ का विद्यार्थीका रूपमा पहिचान गरेका थिए ।


    विद्यालयले छुट्टै विज्ञप्तिमार्फत दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । विद्यालयले अभिभावकसँग समन्वय गरी उनीहरूका बालबालिकालाई सुरक्षित रूपमा जिम्मा लगाउने व्यवस्था गरिएको र परिसरमा रहेका अन्य विद्यार्थी तथा कर्मचारीको सुरक्षा सुनिश्चित गरिएको जनाएको छ । फिलिपिन्समा विद्यालयमा गोली चलाउने घटना तुलनात्मक रूपमा दुर्लभ मानिन्छ । तर गत जुनमा मध्य फिलिपिन्समा भएको गोलीकाण्डमा तीन किशोर विद्यार्थीको मृत्यु भएको थियो भने अन्य २० जना घाइते भएका थिए ।

    एटिनो डे जाम्बोआङ्गा विश्वविद्यालय पनि गत महिना विद्यालयमा हुने सम्भावित गोलीकाण्डबाट जोगिन सक्रिय बन्दुकधारीसम्बन्धी अभ्यास सञ्चालन गर्ने देशभरका विद्यालयमध्ये एक बनेको थियो । त्यस्तो अभ्यास गरिएको केही समयमै विद्यालय परिसरमा वास्तविक गोलीकाण्ड भएपछि सुरक्षा व्यवस्थामाथि थप प्रश्न उठेको छ । फिलिपिन्समा कानूनी रूपमा बन्दुक राख्न कडा नियम लागू छ । यद्यपि देशमा बन्दुकको ठूलो अवैध बजार रहेको बताइन्छ, जसका कारण गैरकानूनी रूपमा बन्दुकको पहुँच रोक्नु सुरक्षा निकायका लागि चुनौती बन्दै आएको छ ।

  • टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते

    टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते


    अङ्कारा, २ भदौ (रासस–सिन्ह्वा) । टर्कीको मध्य प्रान्त सिभासको सुसेहरी जिल्लामा यात्रुवाहक मिनीबस दुर्घटना हुँदा मङ्गलबार चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । सिभासको गभर्नर कार्यालयका अनुसार सिभासबाट सुसेहरीतर्फ जाँदै गरेको मिनीबसका चालकले नियन्त्रण गुमाउँदा स्थानीय समयअनुसार दिउँसो करिब १२ः३० बजे डी–८६५ राजमार्गअन्तर्गत एल्मासेकी–चोक्राक क्षेत्रमा दुर्घटना भएको हो ।

    मिनीबस सडक छेउको बारमा ठोक्किएपछि सडकबाट तल खसेर पल्टिएको थियो । दुर्घटनाका बेला मिनीबसमा १४ जना सवार थिए । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको तथा चार जना गम्भीर र छ जना सामान्य घाइते भएका छन् । घटनालगत्तै स्वास्थ्यकर्मी, प्रहरी, जेन्डार्मेरी, दमकलकर्मी तथा विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरणका टोली उद्धारमा खटिएका थिए । घाइतेलाई उपचारका लागि नजिकैका अस्पताल तथा स्वास्थ्य केन्द्रमा लगिएको छ ।दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीले बताएका छन् ।

  • इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

    इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

    वाशिङ्टन, संयुक्त राज्य अमेरिका, २ भदौ (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार होर्मुज जलमार्गबारे इरानसँगको अमेरिकी सम्झौतामा ‘बाधा पु¥याए’े ओमानमाथि बमबारी गर्ने चेतावनी दिएका छन् । उनले इरानलाई आत्मसमर्पण गर्न आग्रह गरे । “यदि ओमानले बाधा पु¥यायो भने हामी उनीहरूमाथि व्यापक बमबारी गर्नेछौँ,” ट्रम्पले फक्स न्यूजका पत्रकार ट्रे यिङ्स्टसँग भने । यिङ्स्टले ओमान र इरानबीच जलमार्गको नियन्त्रणबारे चलिरहेको वार्तालाई उल्लेख गर्दा वासिङ्टनले पनि ओमानसँग छुट्टै वार्ता अघि बढाइरहेको छ ।

    इरानी र ओमानी अधिकारीहरू हप्ताौंदेखि समुद्री मार्गको भविष्यको नौवहन व्यवस्थाबारे कुराकानी गरिरहेका छन्। तेहरानको विदेश मन्त्रालयले सोमबार बिहान दुवै पक्ष संयुक्त घोषणापत्रमा काम गरिरहेको बताएको थियो। राष्ट्रपति ट्रम्पले बारम्बार जोड दिएका छन् । “हर्मुज जलमार्गलाई तेहरानले मध्यपूर्व युद्ध सुरु भएको दिन फेब्रुअरी २८ देखि प्रभावकारी रूपमा बन्द गरेको थियो । अमेरिकाले यसलाई आफ्नो नियन्त्रणमा रहेको बताएको छ तर यहाँ यहाँबाट स्वतन्त्ररूपमा यातायात सेवा अझै अवरुद्ध छ।

    शुक्रबार ट्रम्पले हर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने दाबी गरेका थिए भने इरानले यो महत्त्वपूर्ण ऊर्जा मार्ग ‘इरानी नै रहने’ जवाफ दिएको थियो।
    अमेरिकी–इजरायली इरान युद्ध सुरु हुनुअघि हर्मुज जलमार्ग खुला अन्तर्राष्ट्रिय जलमार्ग मानिन्थ्यो। यसबाट विश्वको ऊर्जा ढुवानीको ठूलो हिस्सा र अन्य वस्तुहरू निर्यात हुन्छन् ।

    तेहरानले जलमार्गको प्रभावकारी नियन्त्रणलाई अमेरिकी नेतृत्वको सैन्य शक्ति नष्ट गर्ने र विवादास्पद परमाणु ऊर्जा कार्यक्रम त्याग्न बाध्य पार्ने प्रयासविरुद्धको दबावका रूपमा प्रयोग गरेको छ । इरानको तट हर्मुजको उत्तरतिर छ भने ओमान दक्षिणतिर छ।

    ट्रम्पले इरानले ‘आत्मसमर्पणको सेतो झण्डा उठाउनुपर्छ’ भनेको राष्ट्रपतिसँगको अन्तर्वार्ताबारे यिङ्स्टले एक्समा पोस्ट गरेका छन् । राष्ट्रपति ट्रम्पले नोभेम्बरको अमेरिकी मध्यावधि चुनावअघि युद्ध अमेरिकीहरूबीच अत्यन्त अलोकप्रिय भए पनि सम्झौता गर्न हतार नभएको बताए । विपक्षी डेमोक्र्याट्हरूले ट्रम्पका रिपब्लिकनहरूबाट काङ्ग्रेस (संसद्) मा नियन्त्रण लिन खोजिरहेका छन्। ट्रम्पले यिङ्स्टलाई आफ्नो प्रशासन र इरानको रिभोल्युशनरी गार्डका अधिकारीहरूबीच प्रत्यक्ष ‘ब्याक–च्यानल’ रहेको बताए । “उनीहरू राम्रा पोकर खेलाडी हुन्, तर उनीहरू मरिरहेका छन्,” उनले भनेको भनाईलाई उद्धृत गरिएको छ।

  • सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

    सन् २०२५ मा ३५० सहायताकर्मी मारिएको राष्ट्रसङ्घद्वारा जानकारी

    संयुक्त राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिका, २ भदौ (रासस–एएफपी) । सन् २०२५ मा विश्वभर ३५० सहायताकर्मी मारिएका छन् संयुक्त राष्ट्र मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनाएको छ । ओसीएचएका अनुसार विश्वभर ३५० सहायताकर्मी मारिएका र सबैभन्दा बढी गाजा र सुडानमा मारिएका छन्। संयुक्त राष्ट्रसङ्घले सोमबार मानवतावादीमाथिको आक्रमणलाई ‘अस्वीकार्य’ बताएको छ ।

    यो मृत्यु सङ्ख्या भने सन् २०२४ को ३७७ भन्दा केही कम हो। संयुक्त राष्ट्र मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)ले विश्व मानवतावादी दिवसको अवसरमा अनुसन्धान र सल्लाहकार समूह ह्युम्यानिटेरियन आउटकम्सका तथ्यांक उल्लेख गर्दै यो विवरण दिएको छ। गत बर्ष सबैभन्दा धेरै गाजामा १८६ सहायताकर्मी मारिएका छन् । यो सहायताकर्मीका लागि लगातार तेस्रो वर्ष सबैभन्दा घातक ठाउँ बनेको छ । त्यसपछि सुडानमा ७१ जना सहायताकर्मीको मृत्यु भएको छ ।

    “केवल तीन वर्षमा एक हजारभन्दा बढी सहायताकर्मी मारिएका छन् र यो पूर्ण रूपमा अस्वीकार्य छ,” मानवीय मामिलाका उपमहासचिव टम फ्लेचरले वक्तव्यमा भनेका छन् । उनले भने, “यसलाई औँल्याउँदैमा अर्को सहायताकर्मीको सुरक्षा हुँदैन। राज्यहरूले अन्तर्राष्ट्रिय मानवीय कानून पालना गर्नुपर्छ र नागरिक तथा हाम्रा सहकर्मीहरूको सुरक्षाका लागि हरेक साधन प्रयोग गर्नुपर्छ । नियम तोड्नेहरूले वास्तविक कानुनी भागिदार हुनुपर्छ।”

    सन् २०२६ को सुरुदेखि विश्वभर थप ८२ सहायताकर्मी मारिएका, ९७ घाइते र ३९ अपहरण गरिएका छन् । ओसीएचएले सशस्त्र ड्रोनको व्यापक प्रयोगप्रति विशेष चिन्ता व्यक्त गरेको छ । ड्रोनले ‘घातक शक्ति अझ धेरै हातमा पु¥याउँदै शहर र नगरमा विस्फोटक हतियार पठाइरहेको छ।’

    सुडानमा सन् २०२६ का पहिला चार महिनामा सशस्त्र ड्रोनले नागरिक मृत्युको ८० प्रतिशत हिस्सा ओगटेको छ जसले बजार र स्वास्थ्य सुविधामा आक्रमण गरेको वक्तव्यमा उल्लेख छ । रूस–युक्रेन युद्धमा पनि ड्रोन आक्रमणबाट हताहत भएको उल्लेख गरिएको छ। “हतियारयुक्त ड्रोन नागरिक जीवनको जानाजान वा लापरवाहीपूर्ण विनाश बनेका छन् अर्थात् खतराको नयाँ रूप बनेका छन्,” फ्लेचरले भने ।

  • याङ्गुनमा हैजाको प्रकोपः सयौँ अस्पताल भर्ना

    याङ्गुनमा हैजाको प्रकोपः सयौँ अस्पताल भर्ना


    याङ्गुन, म्यान्मा, २ भदौ (रासस–एएफपी) । म्यान्माको सबैभन्दा ठूलो शहर याङ्गुनमा गम्भीर पखालाका कारण ५०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन् भने करिब १५० जनामा हैजाको भाइरस सङ्क्रमण पुष्टि भएको अधिकारीले सोमबार बताएका छन्। पाँच वर्षभन्दा बढी गृहयुद्धपछि म्यान्माको पूर्वाधार र स्वास्थ्य क्षेत्र कमजोर अवस्थामा छ जसमा एक लाखभन्दा बढी मानिस मारिएको अनुमान छ र अर्थतन्त्र पनि निष्क्रिय छ ।

    “अगस्ट ९ देखि करिब एक हप्ताको समयमा ५०० जना पखालाका कारण अस्पताल भर्ना भएका छन् जुन हैजाको मुख्य लक्षण हो,” क्षेत्रीय सामाजिकमामिला मन्त्री बो ह्यतेले बताए । हैजाको शङ्कास्पद पहिलो विरामी अस्पताल भर्ना भएको एक हप्ताभन्दा बढी समयपछि हैजा सङ्क्रमण भएको आधिकारिक पुष्टि भएको हो । हैजाका लागि गरिएका द्रुत परीक्षणमा सोमबार १४९ जनामा सङ्क्रमण पुष्टि भएको उनले प्रादेशिक संसदलाई बताउनुभयो । देशको सबैभन्दा ठूलो शहर याङ्गुनमा हैजाको समस्या हुनुलाई बर्षामा खानेपानीको शुद्धतासम्बन्धी समस्यासँग हेरिएको छ।

    भर्ना भएका विरामीमध्ये नौ जनालाई राष्ट्रिय स्वास्थ्य प्रयोगशालाले आधिकारिक रूपमा ‘भाइब्रियो कोलेरे केस’ का रूपमा पुष्टि गरेको उनले बताए । हैजा दूषित खाना वा पानी सेवनबाट हुने गम्भीर पखालाको संक्रमण हो जसको उपचार नगरे केही घण्टामै ज्यान जान सक्छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी सार्वजनिक स्वास्थ्य खतरा र असमानता तथा सामाजिक–आर्थिक विकासको अभावको सूचक’ भनेर वर्णन गरेको छ।

    गत बिहीबार एक सयभन्दा बढी नयाँ बिरामी अस्पताल भर्ना भएका थिए तर त्यसपछि नयाँ सङ्क्रमण दर घटेको मन्त्री ह्यतेले बताए । एक ९२ वर्षीय बिरामी पखाला लागि अस्पताल भर्ना भएपछि मृत्यु भएको खबर सार्वजनिक भएपछि आइतबार राज्यसञ्चालित ‘ग्लोबल न्यू लाइट अफ म्यान्मा’ पत्रिकाले अधिकारीहरूलाई उद्धृत गर्दै उक्त व्यक्ति अन्तर्निहित मुटु र फोक्सोको समस्याले मृत्यु भएको बताएको छ ।

    स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा ‘महामारी निगरानी र प्रकोप नियन्त्रण उपाय’ का लागि सङ्घर्ष गरिरहेका अधिकारीहरूलाई उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको छ।

  • चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने

    चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने


    बेइजिङ, १ भदौ, (रासस–एएफपी) । चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ प्रस्थान गरेको छ । नयाँ साप्ताहिक सेवाअन्तर्गत सञ्चालन हुने उक्त मार्गले चीन–युरोप समुद्री ढुवानीको समय करिब आधा घटाउने अपेक्षा गरिएको छ । यद्यपि, वातावरणीय समूहहरूले आर्कटिक समुद्री बरफमा यसबाट थप दबाब पर्न सक्ने चेतावनी दिएका छन् । ‘दुबई टावर’ नामक जहाज शनिबार साँझ चीनको पूर्वी बन्दरगाह सहर निङ्बोबाट उत्तरी दिशातर्फ प्रस्थान गरेको हो ।

    जहाज बेरिङ जलमार्ग हुँदै रुसको उत्तरी तटसँगैको आर्कटिक जलमार्गबाट पश्चिमतर्फ जानेछ । ‘सी लेजेन्ड’ले सार्वजनिक गरेको समयतालिकाअनुसार जहाज सेप्टेम्बर ७ मा बेलायतको फेलिक्सस्टो पुग्नेछ । त्यसपछि जर्मनीको ह्याम्बर्ग र पोल्याण्डको ग्दान्स्कमा रोकिनेछ । चीनबाट युरोप जोड्ने उत्तरी समुद्री मार्ग (एनएसआर) स्वेज नहर हुँदै जाने परम्परागत मार्गभन्दा छोटो छ ।

    यसले लालसागर हुँदै जानुपर्ने बाध्यता हटाउँछ, जहाँ यमनका हुथी विद्रोहीले पछिल्ला वर्षहरूमा व्यापारिक पानीजहाजलाई लक्षित गर्दै आएका छन् । तर आर्कटिक मार्ग वर्षको सीमित अवधिमा मात्र आइसब्रेकरको सहयोगबिना सञ्चालन गर्न सकिन्छ, जब समुद्री बरफ पर्याप्त रूपमा पग्लिएको हुन्छ ।


    अन्य अन्तरराष्ट्रिय ढुवानी कम्पनीहरूले पनि यसअघि आर्कटिक मार्ग प्रयोग गरिसकेका छन् । डेनमार्कको मास्र्क सन् २०१८ मा कन्टेनर जहाजमार्फत उक्त मार्ग पार गर्ने पहिलो प्रमुख ढुवानी कम्पनी बनेको थियो । व्यापारिक बीमाकर्ता एलियान्ज कमर्सियलको ढुवानीसम्बन्धी विश्लेषणअनुसार, गत वर्ष २३ वटा कन्टेनर जहाजले उत्तरी समुद्री मार्ग प्रयोग गरेका थिए, जुन सन् २०२४ मा १५ वटा थियो ।
    वातावरणीय समूहहरूले भने छोटो उत्तरी समुद्री मार्गमा जहाजको आवागमन बढ्दा आर्कटिक समुद्री बरफको क्षति थप तीव्र हुन सक्ने चेतावनी दिएका छन् ।

    विश्वव्यापी तापक्रम वृद्धिका कारण यस क्षेत्रको बरफ यसअघि नै तीव्र रूपमा घटिरहेको छ । फ्रान्सको सीएमए सीजीएम, स्विट्जरल्याण्डमा मुख्यालय रहेको एमएससी र जर्मनीको हापाग–लोयडलगायत प्रमुख ढुवानी कम्पनीहरूले आर्कटिक ट्रान्ससिपमेन्ट मार्ग प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । विश्लेषकहरूले आर्कटिकलाई भविष्यमा महत्वपूर्ण विश्व व्यापार मार्गका रूपमा विकास गर्न सकिने बताएका छन् । चीनले पनि ‘पोलर सिल्क रोड’ अवधारणामार्फत आर्कटिक क्षेत्रमा आफ्नो व्यापारिक पहुँच विस्तार गर्ने योजना अघि सारेको छ ।

  • हङ्गेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु

    हङ्गेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु


    १ भदौ । बुडापेस्ट । हङ्गेरीमा आइतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन् । प्रहरीले बस चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने जनाएको छ । पोल्यान्डको नम्बर प्लेट भएको उक्त बस हङ्गेरीको एम–३ राजमार्गमा पूर्वतर्फ गइरहेको अवस्थामा स्थानीय समयअनुसार बिहान करिब १ः०० बजे मेजोकरेसतेस सहरनजिकै सडकबाट तल खसेर खाल्डोमा पल्टिएको प्रहरीले जनाएको छ । उक्त स्थान राजधानी बुडापेस्टबाट करिब १४० किलोमिटर पूर्वमा पर्छ ।

    प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा चालक निदाएका कारण बस अनियन्त्रित भएको हुन सक्ने देखिएको छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । पोल्यान्डका विदेशमन्त्री रादोस्लाव सिकोस्र्कीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत हङ्गेरीमा पोल्यान्डका पर्यटक सवार बस दुर्घटनामा परेको जानकारी दिँदै आफ्नो मन्त्रालय हङ्गेरीका अधिकारीहरूसँग सम्पर्कमा रहेको बताए ।

    पोल्यान्डका राष्ट्रपति कारोले नाभ्रोस्कीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवार तथा आफन्तप्रति समवेदना प्रकट गरेका छन् । हङ्गेरीका प्रधानमन्त्री पेतर म्याग्यारले सामाजिक सञ्जालमार्फत दुर्घटनामा कम्तीमा १० जना गम्भीर घाइते भएको बताए । उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनास्थलमा खटिएका उद्धारकर्मीलाई धन्यवाद दिए ।