Category: विश्व

  • संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी

    संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी

    यमन, २४ साउन (रासस–सिन्ह्वा) । यमनका लागि संयुक्त राष्ट्रका विशेष दूत हान्स ग्रुन्डबर्गले साउदी ट्याङ्कर र यमनी सरकारी फौजविरुद्ध हुथी समूहको बढ्दो आक्रमणको बीचमा यमनमा द्वन्द्वको बढ्दो जोखिमको चेतावनी दिनु भएको छ । विज्ञप्ति जारी गर्दै ग्रुन्डबर्गले मारिब र हदरामाउट प्रान्तमा हुथी समूहले गरेको पछिल्लो आक्रमणलाई औंल्याउनु भएको छ जसले नागरिकहरू लगायत लाल सागर र एडनको खाडीमा व्यावसायिक ढुवानीमा आक्रमण गरेको बताइएको छ ।

    उहाँले विमानस्थलसहित नागरिक पूर्वाधारमा आक्रमण र क्षेत्रीय तनाव बढेकोमा चिन्ता व्यक्त गर्नु भएको छ । आक्रमण जारी रहेमा यस्ता घटनाक्रमले सन् २०२२ को युद्ध(विरामको उपलब्धिलाई जोखिममा पार्ने खतरा रहेको बताउदै ग्रन्डबर्गले उनीहरूले यमनलाई व्यापक क्षेत्रीय द्वन्द्व मा ल्याउन सक्ने चेतावनी दिनु भएको छ ।

    ग्रन्डबर्गले पछिल्लो समयमा यमनका दलहरू, क्षेत्रीय अभिनेता र अन्तर्राष्ट्रिय साझेदारहरूसँग सम्झौताका लागि विकल्पहरू खोज्न गहन छलफल गरेको उल्लेख गर्नु भएको छ । उहाँले सबै सम्बन्धित पक्षहरूलाई अधिकतम संयमता अपनाउन, सैन्य प्रतिशोधलाई उत्प्रेरित गर्न सक्ने कार्यहरू रोक्न र संयुक्त राष्ट्रको तत्वावधानमा सद्भावपूर्ण वार्तामा संलग्न हुन आह्वान गर्नुभएको छ । सन् २०१४ को अन्त्यमा हुथीहरूले राजधानी सानासहित उत्तरी यमनको धेरै भाग कब्जा गरे देखि यमन द्वन्द्वमा फसेको जनाइएको छ ।

    एक संयुक्त राष्ट्रसङघ्को मध्यस्थतामा सन् २०२२ मा गरिएको युद्ध–विराम सोहि वर्षको अक्टोबर देखि लागु भए पछि युद्ध केहि हद सम्म नियन्त्रणमा आएको जनाइएको छ । हुथी समूहले हुथी नियन्त्रित क्षेत्रहरूमा कायम साउदी नाकाबन्दीलाई उद्धृत गर्दै जुलाईमा साउदी जहाजमा समुद्री प्रतिबन्धको घोषणा गरेको थियो भने यो दाबीलाई रियादले दृढतापूर्वक अस्वीकार गरेको थियो ।

  • जादुमयी फुटबल स्टार मेस्सीलाई पितृशोकः जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन

    जादुमयी फुटबल स्टार मेस्सीलाई पितृशोकः जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन

    ब्यूनर्स आयर्स, अर्जेन्टिना, (रासस–एएफपी) । आठ पटक बलोन डी’ओर विजेता लियोनल मेस्सीका बुबा जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ । जर्ज मेस्सीका मृत्युको खबर अर्जेन्टिनी स्ट्राइकर मेस्सीको बाल्यकालको क्लब न्यूवेल्स ओल्ड ब्वाईजले शनिबार पुष्टि गरेको छ । अर्जेन्टिनी मिडियाका अनुसार जर्ज मेस्सीको निधन शुक्रबार रोसारियोको एक अस्पतालमा भएको हो। न्यूवेल्स ओल्ड ब्वाईजले सामाजिक सञ्जालमा लेखेको छ, “उहाँको निरन्तर साथ र पर्दा पछाडिको नेतृत्व लियोनलका हरेक कदममा सहयोगी बनेको थियो।”

    मेस्सी परिवारले हालैको विश्वकपका क्रममा जर्जको स्वास्थ्यबारे लगातार अफवाह फैलिरहेका बेला मिडियालाई ‘मानवता’ देखाउन आग्रह गरेको थियो।
    स्पेनिश फुटबल सङ्घ (आरएफईएफ) ले मेस्सी परिवारप्रति ‘समवेदना’ व्यक्त गरेको छ। आरएफईएफ ले विज्ञप्तिमा भनेको छ, ‘स्पेनिश फुटबलको तर्फबाट हामी लियोनल र उहाँका प्रियजनहरूप्रति यस गहिरो शोकको घडीमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छाँैं।”

    पूर्व धातु कारखाना मजदुर जर्ज मेस्सी आफ्नो छोराका अर्जेन्टिनामा पहिलो प्रशिक्षक थिए । बाल्यकालमै बार्सिलोना जाँदा उनका एकमात्र साथी थिए । पछि उनी मेस्सीका लागि एजेन्टको भूमिकामा देखिए । सन् २००० मा जर्जले अर्जेन्टिनाको स्थायी जागिर, श्रीमती र अन्य तीन सन्तान छाडेर १३ वर्षीय छोरासँग स्पेन गए । निजी स्वभावका जर्ज मेस्सीले विरलै अन्तर्वार्ता दिन्थे । उनले सार्वजनिक रूपमा आफ्नो छोरा (अहिले ३९ वर्ष) सँगको अटुट सम्बन्धबारे बोल्थे, त्यसबेला उनी निकै भावुक हुन्थे ।

  • टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द

    टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द

    बेइजिङ, २३ साउन (रासस–एपी) । टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन् । आँधीको जोखिमलाई ध्यानमा राख्दै विद्यालय तथा पर्यटकीयस्थलहरू बन्द गरिएको छ । आँधीको अधिकतम निरन्तर हावाको गति करिब १६२ किलोमिटर प्रतिघण्टा पुग्ने अनुमान गरिएको छ । आँधीसँगै भारी वर्षा हुने र त्यसबाट बाढी तथा पहिरोको जोखिम बढ्ने अधिकारीहरूले बताएका छन् ।

    टाइफुन आइतबार राति झेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ । चीनको प्रमुख आर्थिक सहर साङ्घाई पनि आँधीको सम्भावित मार्गमा रहेको छ । अधिकारीहरूले टाइफुनको जोखिमलाई ध्यानमा राख्दै तेस्रो तहको आपत्कालीन प्रतिक्रिया घोषणा गरेका छन् । चीनको चार तहको आपत्कालीन प्रणालीमा यो दोस्रो न्यून स्तर हो ।

    झेजियाङ प्रान्तका धेरै पर्यटकीयस्थल शनिबार र आइतबार बन्द गरिएको छ । फेरि तथा क्रुजलगायत पानीमा सञ्चालन हुने सबै गतिविधि पनि रोकिएको छ । प्रान्तको प्रमुख सहरमध्ये एक निङ्बोमा सप्ताहन्तभर विद्यालय तथा अन्य शैक्षिक संस्था बन्द गर्न आदेश दिइएको छ । अधिकारीहरूले भारी वर्षा र तीव्र हावाबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न आवश्यक सुरक्षा तथा उद्धार तयारीलाई तीव्र बनाएका छन् ।

  • बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु

    बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु

    नोनथाबुरी, २३ साउन (रासस–एपी) । थाइल्यान्डको राजधानी बैङ्कक नजिकै एक विद्यालयमा १४ वर्षीय विद्यार्थीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । उक्त घटनाअघि सोही विद्यार्थीले घरमा आफ्ना हजुरबुबा–हजुरआमाको पनि हत्या गरेको अधिकारीहरूले बताएका छन् । नोनथाबुरी प्रान्तस्थित डेब्सिरिन नोनथाबुरी विद्यालयमा शुक्रबार बिहान करिब १० बजे गोली प्रहार भएको थियो । घटनामा शिक्षक तथा प्रशासनिक कर्मचारीसहित विद्यालयका पाँच जनाको मृत्यु भएको उपगृहमन्त्री पोलापी सुवान्च्वीले बताए ।


    विद्यालयबाट करिब पाँच किलोमिटर टाढा रहेको बाङयाई अस्पतालका अनुसार घटनामा २३ जना घाइते भएका छन् । तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको र अधिकांशलाई गोली लागेको अस्पतालले जनाएको छ । विद्यालयमा गोली चलाउनुअघि विद्यार्थीले आफू बस्दै आएको घरमा हजुरबुबा–हजुरआमालाई गोली हानेको अधिकारीहरूले बताएका छन् । क्षेत्रीय प्रहरी कमान्डर वट्टाना यीजीनका अनुसार प्रहरीले घरमा दुवै जनालाई मृत अवस्थामा फेला पारेको थियो ।

    विद्यालयमा गोली चलाएपछि ती विद्यार्थीले आफैँलाई गोली हानी आत्महत्या गरेको प्रधानमन्त्री अनुतिन चार्नभिराकुलले पुष्टि गरे । उनका अनुसार विद्यार्थीमा विद्यालयसँग सम्बन्धित तनावका लक्षण देखिएका थिए । प्रहरीका अनुसार घटनामा प्रयोग भएको सानो आकारको बन्दुक कानुनी रूपमा उनका हजुरबुबाको नाममा दर्ता भएको थियो । प्रहरी प्रवक्ता ट्राइरोङ पिवपानले विद्यार्थीले २० भन्दा बढी गोली चलाएको र पछि प्रहरीले घटनास्थलबाट करिब ३० राउन्ड गोली बरामद गरेको बताए ।


    प्रत्यक्षदर्शीका अनुसार गोली चलेपछि विद्यार्थीहरू कक्षाकोठाभित्र लुकेका थिए । पछि प्रहरीले ढोका खोलेर उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको थियो । विद्यालयनजिकै रेस्टुरेन्ट सञ्चालन गर्ने अम्पन नियामफुङले सुरुमा एकपटक गोली चलेको आवाज सुनेको र केही समयपछि लगातार गोली चलेको बताए । उनका अनुसार गोली चलेपछि विद्यार्थीहरू डराउँदै सडकतर्फ भागेका थिए ।

    घटनापछि विद्यालयले अगस्त १० देखि १४ सम्म सबै कक्षा स्थगित गर्ने जनाएको छ । उक्त अवधिमा विद्यालयका कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ । विद्यालयमा १२ देखि १८ वर्ष उमेर समूहका करिब तीन हजार विद्यार्थी अध्ययनरत छन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । परिवारका सदस्यहरूले विद्यार्थी सामान्यतया शान्त स्वभावको र पढाइमा राम्रो रहेको बताएका छन् । उनीहरूले विद्यार्थीले घर वा विद्यालयमा कुनै समस्या सामना गरिरहेको जानकारी आफूहरूलाई नभएको बताएका छन् ।

    थाइल्यान्डमा उच्च बन्दुक स्वामित्व
    थाइल्यान्डमा एसियाका अन्य धेरै मुलुकको तुलनामा नागरिकस्तरमा बन्दुक स्वामित्वको दर उच्च छ । सन् २०१७ मा गरिएको सानो आम्र्स सर्भेको अध्ययनअनुसार थाइल्यान्डमा प्रति १०० जनामा करिब १५ दशमलव एक नागरिकसँग बन्दुक रहेको पाइएको थियो । पछिल्ला वर्षमा थाइल्यान्डमा विद्यालय तथा सार्वजनिक स्थलमा गोली प्रहारका घटना दोहोरिएका छन् ।

    गत फेब्रुअरीमा १७ वर्षीय किशोरले दक्षिणी थाइल्यान्डको एक सरकारी माध्यमिक विद्यालयमा गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । यसअघि सन् २०२३ मा पनि १४ वर्षीय किशोरले बैङ्ककको एक प्रमुख सपिङ मलमा गोली चलाएका थिए ।

  • भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु

    भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु

    नयाँदिल्ली, २३ साउन (रासस–सिन्ह्वा) । उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना ग्रस्तहँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटना हिमाचल प्रदेशको राजधानी शिमलाबाट करिब ३९३ किलोमिटर उत्तरमा चम्बा जिल्लाको पाहाडी क्षेत्रमा भएको जनाइएको छ । यात्रुबहाक बसमा दुर्घटनाको समयमा १८ जना सवार रहेको बताइएको छ ।

    दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । यसैबीच, हिमाचल प्रदेशमा भारी वर्षाका कारण १८५ वटा सडक बन्द भएको जनाइएको छ । राज्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार जुन –३० मा मनसुन सुरु भएदेखि हिमाचल प्रदेशमा १४३ जनाको मृत्यु भएको थियो । ती मध्ये ६५ जनाको वर्षासँग सम्बन्धित घटनामा मृत्यु भएको थियो भने ७८ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

  • जन्म पर्यटनविरुद्ध ट्रम्पको नयाँ आदेश

    जन्म पर्यटनविरुद्ध ट्रम्पको नयाँ आदेश

    वासिङ्टन, २२ साउन (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको दायरालाई थप सीमित गर्ने आफ्नो अभियानलाई अघि बढाउँदै पर्यटनको उद्देश्यमा अमेरिका प्रवेश गरी सन्तान जन्माएर नागरिकता प्राप्त गर्ने अभ्यास (जन्म पर्यटन)लाई लक्षित गरिएको नयाँ कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गरेका छन् । अमेरिकी सर्वोच्च अदालतले यसअघि उहाँको जन्मसिद्ध नागरिकतासम्बन्धी आदेशलाई असंवैधानिक ठहर गर्दै कार्यान्वयनमा रोक लगाएपछि ट्रम्प प्रशासनले नयाँ स्वरूपमा नीति अघि सारेको हो ।

    ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले जन्मसिद्ध नागरिकताको व्यवस्थाको दुरुपयोग भइरहेको दाबी गरे । उनले यस व्यवस्थालाई धेरै व्यक्तिले मजाकको विषय बनाएको उल्लेख गर्दै सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई ‘धेरै दुर्भाग्यपूर्ण’ भएको टिप्पणी गरे । अदालतको निर्णयपछि प्रशासनले कानूनी सीमाभित्र रहेर नीति समायोजन गरिरहेको उनको भनाइ थियो ।

    राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार स्टिफन मिलरका अनुसार नयाँ आदेशको उद्देश्य जन्मसिद्ध नागरिकताको अधिकारलाई थप सीमित गर्नु हो । उनले विदेशी आतङ्कवादी सङ्गठनसँग आबद्ध व्यक्तिका सन्तान, विदेशी सरकारको तर्फबाट लबिङ गर्ने वा काम गर्ने व्यक्तिका सन्तानलगायत केही श्रेणीका व्यक्तिलाई यस व्यवस्थाबाट बाहिर राख्ने लक्ष्य रहेको बताए । यसबाट हालसम्म गलत रूपमा जन्मसिद्ध नागरिकताको सुविधा पाउँदै आएका ठूलो सङ्ख्याका व्यक्तिहरू भविष्यमा त्यसका लागि योग्य नहुने उनको दाबी छ ।

    यसअघि ट्रम्प प्रशासनले जारी गरेको अर्को कार्यकारी आदेशमा अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका वा अस्थायी भिसामा रहेका अभिभावकबाट जन्मिएका बालबालिकाले स्वतः अमेरिकी नागरिकता नपाउने व्यवस्था गर्न खोजिएको थियो । तर तल्लो अदालतले अमेरिकी संविधानको १४औँ संशोधनको नागरिकतासम्बन्धी व्यवस्थाको आधारमा उक्त आदेश कार्यान्वयनमा रोक लगाएको थियो । अदालतले अमेरिकी भूमिमा जन्मिएका अधिकांश व्यक्तिले जन्मसिद्ध रूपमा नागरिकता पाउने संवैधानिक अधिकार रहेको स्पष्ट पारेको थियो ।

    त्यसपछि सर्वोच्च अदालतले पनि तल्लो अदालतको निर्णयलाई सदर गरेको थियो । प्रधानन्यायाधीश जोन रोबट्र्सले लेख्नुभएको बहुमतको रायमा दुई जना रूढीवादी र तीन जना उदारवादी न्यायाधीशले समर्थन जनाएका थिए । अमेरिकी संविधानको १४औँ संशोधनमा “संयुक्त राज्य अमेरिकामा जन्मेका वा कानूनी रूपमा प्राकृतिककरण भएका तथा अमेरिकी क्षेत्राधिकारअन्तर्गत रहेका सबै व्यक्ति संयुक्त राज्यका नागरिक हुनेछन्” भन्ने व्यवस्था छ ।

    यद्यपि उक्त व्यवस्था विदेशी कूटनीतिज्ञका सन्तानजस्ता अमेरिकी क्षेत्राधिकारअन्तर्गत नपर्ने व्यक्तिमा लागू नहुने कानूनी प्रावधान छ । साथै अमेरिकी अध्यागमन कानूनअनुसार कुनै व्यक्तिले मुख्य उद्देश्य सन्तान जन्माएर नागरिकता दिलाउने नियतले अमेरिका यात्रा गर्न लागेको ठहरिएमा कन्सुलर अधिकारीले भिसा अस्वीकार गर्न सक्ने व्यवस्था पनि विद्यमान छ ।

    ट्रम्प प्रशासनले १४औँ संशोधन सन् १८६१–१८६५ को गृहयुद्धपछि पूर्वदासहरूको नागरिकताको अधिकार सुनिश्चित गर्न ल्याइएको तर्क गर्दै त्यसको उद्देश्य कागजातविहीन आप्रवासी वा अस्थायी आगन्तुकका सन्तानलाई जन्मसिद्ध नागरिकता प्रदान गर्नु नभएको जिकिर गर्दै आएको छ । प्रशासनले अमेरिकामा अवैध रूपमा रहेका वा अस्थायी भिसामा प्रवेश गरेका व्यक्तिहरू अमेरिकी संविधानले उल्लेख गरेको ‘क्षेत्राधिकारको अधीनमा’ नपर्ने व्याख्या गर्दै आएको छ ।

    जन्मसिद्ध नागरिकतामाथि नियन्त्रण गर्ने ट्रम्प प्रशासनको पछिल्लो प्रयासलाई उनको कडा आप्रवासन नीतिको निरन्तरता मानिएको छ । उक्त अभियानअन्तर्गत लाखौँ कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने, विभिन्न देशका नागरिकलाई दिइँदै आएको निर्वासन सुरक्षा हटाउने तथा आप्रवासन प्रणालीलाई थप कडा बनाउने नीति अघि बढाइएको छ ।

  • साइनाइडले हात्ती मारेको दाबीमा विवाद

    साइनाइडले हात्ती मारेको दाबीमा विवाद

    किमाना (केन्या), २२ साउन (रासस–एपी) । केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्ज आसपास एक महिनाको अवधिमा १५ वटा हात्ती मरेपछि प्रारम्भिक परीक्षणमा साइनाइड विषाक्तता देखिए पनि त्यसको स्रोत र मृत्युको वास्तविक कारणबारे विवाद उत्पन्न भएको छ । वन्यजन्तु अधिकारीहरूले हात्तीले खेतमा उब्जाइएको टमाटर खाएको र तिनको पेटमा साइनाइड भेटिएको जनाएका छन् भने किसानहरूले आफ्ना बालीमा प्रयोग हुने रसायनबाटै हात्ती मरेको दाबीमा प्रश्न उठाएका छन् ।

    अम्बोसेली राष्ट्रिय निकुञ्ज नजिकैको धुलाम्मे सडकमा एउटा हात्तीको शव अझै देखिन्छ भने अर्को हात्तीको शव सफा गर्ने जनावरले खाइसकेपछि खप्पर मात्र बाँकी रहेको छ । यी हात्तीहरू नजिकैका खेतमा टमाटर खाएपछि साइनाइड विषाक्तताको आशङ्कामा मरेका १५ मध्येका हुन् । हात्तीको मृत्युमा साइनाइड कसरी संलग्न भयो र उक्त रसायन कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको छ । घटनाले वन्यजन्तु र मानिसबीच बढ्दो द्वन्द्वको जोखिमलाई समेत उजागर गरेको छ । अम्बोसेली क्षेत्रमा खेती विस्तार भइरहेका बेला हात्ती र किसानबीचको लामो समयदेखिको सहअस्तित्वमाथि पनि प्रश्न उठेको छ ।

    केन्याले विगतमा चोरी–सिकारी नियन्त्रण तथा संरक्षणका प्रभावकारी प्रयासमार्फत हात्तीको सङ्ख्या ऐतिहासिक न्यून अवस्थाबाट बढाएर ३६ हजारभन्दा बढी पुर्‍याएको छ । तर कृषि क्षेत्र विस्तार र मानव बस्ती वन्यजन्तुको बासस्थानतर्फ फैलिँदै जाँदा संरक्षणका चुनौती फेरि बढिरहेका छन् ।

    किमाना क्षेत्रमा दुई दशकदेखि खेती गर्दै आउनुभएका किसान एल्भिस मुचाईले किसानहरूले वन्यजन्तुलाई विष दिएको घटना आफूले कहिल्यै नसुनेको बताए । उनले गत महिना १५ हात्ती साइनाइड विषाक्तताका कारण मरेको समाचारप्रति आफूलाई शङ्का लागेको बताए ।


    उनका अनुसार सुक्खा मौसममा हात्तीहरूले निकुञ्जको विद्युतीय बार पार गरेर खेतमा प्रवेश गर्ने र बालीमा क्षति पुर्‍याउने गरेका छन् । त्यसका बाबजुद स्थानीय समुदाय लामो समयदेखि हात्तीहरूसँग सहअस्तित्वमा रहँदै आएको उनको भनाइ छ । “हामी हाम्रा खेतबाट खाने जनावरहरूसँग अभ्यस्त भइसकेका छौँ”, उनले भने ।
    एक महिनामा १५ हात्तीको मृत्यु –

    केन्या वन्यजन्तु सेवाले गत महिना अम्बोसेली पारिस्थितिक प्रणालीमा एक महिनाभित्र १५ हात्ती मरेको जानकारी दिएको थियो । प्रारम्भिक प्रयोगशाला परीक्षणमा साइनाइड भेटिएको थियो भने पोस्टमार्टम परीक्षणका क्रममा हात्तीको पेटमा टमाटरसमेत फेला परेको थियो । केन्या वन्यजन्तु सेवाका पशु चिकित्सा प्रमुख डा। आइज्याक लेकोलुलका अनुसार मर्नुअघि हात्तीहरूमा पक्षाघात र सास फेर्न कठिनाइ देखिएको थियो । प्रारम्भिक परीक्षणले साइनाइड विषाक्तताको सम्भावना देखाए पनि शरीरमा साइनाइडको मात्रा कति थियो भन्ने यकिन गर्न थप परीक्षण भइरहेको उनले बताए ।


    “साइनाइड कहाँबाट आयो भन्ने कुरा हामीले अझै पत्ता लगाउन सकेका छैनौँ”, उनले भने । हात्तीहरूले तरबुजासमेत खाएको जानकारी दिँदै उनले खेतमा प्रयोग हुने विषादी र अन्य रसायनको भण्डारण तथा प्रयोगमा विशेष सावधानी अपनाउन किसानलाई आग्रह गरे ।


    किमाना अम्बोसेली निकुञ्जसँग जोडिएको केन्याको प्रमुख कृषि क्षेत्रमध्ये एक हो । यहाँ टमाटर, प्याज र फ्रान्सेली सिमी उत्पादन गरी राजधानी नैरोबीसहित विभिन्न बजारमा पठाइन्छ । डा. लेकोलुलका अनुसार विषाक्त रसायन परीक्षणका लागि हात्तीको पेटभित्रको सामग्रीबाट नमूना लिइएको छ भने रगतका नमूनाको परीक्षण जारी छ । खानीमा प्रयोग हुने र सरकारबाट नियमन गरिने साइनाइड अवैध खानी गतिविधिका कारण निकुञ्ज क्षेत्रमा पुगेको हुनसक्ने यसअघिका दाबीबारे भने उहाँले स्पष्ट प्रमाण नभएको बताए ।


    केन्याको राष्ट्रिय हात्ती संरक्षण योजनाले निकुञ्ज आसपास खेती विस्तार भइरहेका कारण मानिस र हात्तीबीचको द्वन्द्व बढेको जनाएको छ । चोरी–सिकारपछि मानव–वन्यजन्तु द्वन्द्व हात्तीको मृत्युको दोस्रो प्रमुख कारण बनेको योजनामा उल्लेख छ । सन् २००० देखि २०२० सम्म मानिसले आफ्नो बाली, सम्पत्ति र जीवन जोगाउने क्रममा आत्मरक्षा वा प्रतिशोधस्वरूप गरिएका घटनामा कम्तीमा एक हजार १६० हात्ती मरेको उल्लेख गरिएको छ ।

    तर केन्या वन्यजन्तु सेवाका सञ्चार निर्देशक डङ्कन जुमा भने पछिल्लो हात्ती मृत्युमा मानव–वन्यजन्तु द्वन्द्वलाई प्रत्यक्ष कारण मान्न असहमत हुनुहुन्छ । “समुदायले यी जनावरलाई माया गर्छ”, उनले भने ।


    सहअस्तित्वको चुनौती –
    पशु कल्याणका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडब्लु)ले सन्दिग्ध साइनाइड विषाक्तताको घटनाले मानिस र वन्यजन्तुबीचको द्वन्द्वका मूल कारण सम्बोधन गर्न तत्काल आवश्यक रहेको देखाएको जनाएको छ । आइएफएडब्लुले मानिस र हात्तीले बढ्दो रूपमा एउटै भूभाग प्रयोग गर्नुपरेको अवस्थामा वन्यजन्तु संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जनको सुरक्षा पनि सुनिश्चित गर्नुपर्ने बताएको छ ।

    आइएफएडब्लुका पूर्वी अफ्रिका निर्देशक बेन वान्डागोले साइनाइड विषाक्तताको घटनाको तत्काल र विस्तृत अनुसन्धान गर्न तथा निकुञ्ज आसपास बसोबास गर्ने समुदायका लागि मानिस र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्ने उपाय लागू गर्न आग्रह गरे । उनले अत्यन्त विषालु पदार्थ प्राकृतिक वातावरणमा पुग्न नदिन त्यस्ता रसायनको कडा नियन्त्रण र जिम्मेवार व्यवस्थापन आवश्यक रहेको बताए ।


    तर किसानहरूले साइनाइड सामान्य कृषि रसायनबाट आएको हुनसक्नेमा समेत शङ्का व्यक्त गरेका छन् । मुचाईले आफूले क्षेत्रका किसानलाई बिक्री गरिने विषादी वा अन्य कृषि रसायनमा साइनाइडबारे कहिल्यै नसुनेको बताए । उनका अनुसार बजारमा बिक्री हुने कृषि रसायन केन्या सरकारबाट नियमन हुने भएकाले त्यसबाट हात्तीको मृत्यु भएको दाबी पुष्टि हुन बाँकी छ।

    “उनीहरूले जुन रसायनको कुरा गरिरहेका छन्, हामीले यहाँ त्यस्तो रसायन कहिल्यै देखेका वा सुनेका छैनौँ”, उनले भने । गत सिजन मात्रै हात्तीले आफ्नो करिब आधा एकड टमाटर खेती नष्ट गरेको मुचाईले बताए । त्यसबाट उहाँलाई करिब पाँच लाख केन्याली सिलिङ अर्थात् तीन हजार आठ सय अमेरिकी डलर बराबरको क्षति भएको थियो ।

    हात्तीले खेतमा प्रवेश गरेर बाली नष्ट गर्ने समस्या लामो समयदेखि रहे पनि किसान र वन्यजन्तुबीचको सम्बन्ध अहिलेसम्म सामान्य रहेको उनको भनाइ छ । “हामी यी जनावरसँग वर्षौंदेखि बस्दै आएका छौँ । यदि विष दिइएको हो भने हात्ती मात्र किन प्रभावित भए रु”, उनले प्रश्न गरे । घटनाको अनुसन्धान जारी रहेकाले हात्तीको मृत्युमा साइनाइडको भूमिका, त्यसको स्रोत तथा कृषि क्षेत्रसँग यसको सम्बन्धबारे थप प्रयोगशाला परीक्षणपछि मात्र स्पष्ट निष्कर्ष आउने अपेक्षा गरिएको छ ।

  • विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती

    विस्फोटक ड्रोनले जर्मन विमानस्थलमा सुरक्षा चुनौती

    बर्लिन, २१ साउन (रासस–एपी) । जर्मनीको लाइपजिग–हाले विमानस्थलमा विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि त्यसलाई सुरक्षित रूपमा निष्क्रिय गरिएको छ । घटनापछि जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले यसलाई देशको हवाई सुरक्षासामु देखा परेको ‘खतराको नयाँ गुणस्तर’ भएको चुनौतीका रूपमा वर्णन गरेका छन् ।


    मङ्गलबार राति विमानस्थल आसपास शङ्कास्पद उड्ने वस्तु देखिएपछि प्रमुख कार्गो केन्द्रका दुवै रनवे तत्काल बन्द गरिएका थिए । त्यसका कारण एउटा यात्रुवाहक विमानसहित केही उडानहरू वैकल्पिक विमानस्थलतर्फ मोडिएका थिए । दक्षिणी रनवे नजिक शङ्कास्पद वस्तु रहेको सूचनापछि विस्फोटक निष्क्रिय पार्ने रोबोट परिचालन गरिएको थियो ।

    क्षेत्रीय प्रहरी र सरकारी अभियोजन कार्यालयका अनुसार विमानस्थलका एक कर्मचारीले दक्षिणी रनवे नजिकै अज्ञात विस्फोटक उपकरण बोकेको ड्रोन फेला पारेका थिए । त्यसपछि सुरक्षा निकायले ड्रोन नियन्त्रणमा लिएर त्यसमा जडान गरिएको डेटोनेटर हटाई सुरक्षित रूपमा निष्क्रिय पारेको थियो । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

    घटनास्थल पुग्न बिदा नै स्थगित गर्नुभएका गृहमन्त्री डोब्रिन्डले विमानस्थलमा विस्फोटक बोकेको ड्रोन भेटिनु विगतका घटनाभन्दा फरक प्रकृतिको सुरक्षा जोखिम भएको बताए । उनका अनुसार ड्रोनबाट उत्पन्न हुन सक्ने खतरा पहिलेदेखि नै चिनिएको भए पनि विस्फोटकसहित विमानस्थलभित्र प्रवेश गर्नु सुरक्षा चुनौतीको नयाँ स्वरूप हो ।

    उनले घटनालाई ‘हाइब्रिड आक्रमणको परिदृश्य’ का रूपमा उल्लेख गरे । यसबारे थप विवरण सार्वजनिक नगरिएको र ड्रोनको उत्पत्ति, प्रयोग गरिएको विस्फोटकको प्रकृति तथा सम्भावित संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेकाले अहिले नै निष्कर्षमा पुग्न नसकिने उनले बताए । स्याक्सोनी राज्यका गृहमन्त्री आर्मिन सुस्टरले सुरक्षा निकायले सम्भावित दोस्रो ड्रोनका अवशेष वा भागहरू खोजी गरिरहेको जानकारी दिए ।

    यसैबीच, रनवे बन्द भएपछि अवतरण गर्न नसकेको एउटा मालवाहक विमान अर्को उड्ने वस्तुसँग ठोक्किएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । उक्त विमानलाई करिब २०० किलोमिटर टाढाको हनोभर विमानस्थलमा अवतरण गराइएको थियो । त्यहाँ निरीक्षणका क्रममा सामान्य क्षति देखिएको अधिकारीहरूले बताएका छन् ।

    लाइपजिग÷हाले विमानस्थलको उत्तरी रनवे करिब दुई घण्टापछि पुनः सञ्चालनमा ल्याइएको थियो भने दक्षिणी रनवे पूर्वनिर्धारित मर्मत कार्यका कारण बुधबार पनि बन्द रहने तय गरिएको थियो । घटनाबाट यात्रु वा विमानस्थलका कर्मचारीको सुरक्षामा कुनै प्रत्यक्ष असर नपरेको तथा नियमित उडान सञ्चालनमा उल्लेखनीय अवरोध नआएको अधिकारीहरूले बताएका छन् ।

    घटनास्थलबाट सार्वजनिक तस्बिरमा युक्रेनी एन्टोनोभ विमान नजिकै विस्फोटक निष्क्रिय पार्ने रोबोटसहित सुरक्षा प्राविधिक परिचालित भएको देखिएको छ । लाइपजिग–हाले विमानस्थल युरोपकै प्रमुख कार्गो केन्द्रमध्ये एक हो र यहाँ युक्रेनी एन्टोनोभका मालवाहक विमानहरूको नियमित आवागमन हुने गर्दछ । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) ले घटनाबारे आफूलाई जानकारी प्राप्त भएको जनाएको छ । सङ्गठनले थप विवरणका लागि जर्मन अधिकारीहरूसँग समन्वय गरिरहेको बताएको छ ।

    यसअघि सन् २०२४ मा पनि यही विमानस्थलको लजिस्टिक केन्द्रमा आगो लगाउने उपकरण प्रयोग गरिएको घटना भएको थियो । पश्चिमी सुरक्षा अधिकारीहरूले त्यस घटनालाई रूसी गुप्तचर निकायसँग जोडिएको सम्भावित तोडफोड अभियानको हिस्सा हुन सक्ने आशङ्का व्यक्त गरेका थिए । पश्चिमी मुलुकहरूले रुसले युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेयता युरोपभर यस्ता अनेकौँ तोडफोड, आक्रमण तथा सुरक्षा चुनौती सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएका छन् ।

  • डिसेम्बरमा फर्कने हसिनाको घोषणाको राजनीतिक अर्थ के ?

    डिसेम्बरमा फर्कने हसिनाको घोषणाको राजनीतिक अर्थ के ?

    नयाँदिल्ली, २१ साउन (रासस–एपी) । बङ्गलादेशकी पदच्युत पूर्वप्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराध अभियोगमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइए पनि आगामी डिसेम्बरमा भारतबाट स्वदेश फर्कने घोषणा गरेकी छिन् । उनको घोषणासँगै बङ्गलादेश सरकारले भारतमा उनको सार्वजनिक राजनीतिक गतिविधिप्रति तीव्र आपत्ति जनाएको छ ।

    सन् २०२४ को विद्यार्थी नेतृत्वको आन्दोलनबाट आफ्नो सरकार हटाइएको दोस्रो वर्षका अवसरमा नयाँदिल्लीमा आयोजित कार्यक्रममा अडियो सन्देशमार्फत सम्बोधन गर्दै हसिनाले आफूविरुद्धको फैसला हुँदाहुँदै पनि जनताप्रतिको जिम्मेवारी पूरा गर्न स्वदेश फर्किनुपर्ने बताइन् । “मलाई जेल हाल्न सक्छन्, मार्न पनि सक्छन् वा अन्य जे पनि हुन सक्छ, तर मैले फर्किनैपर्छ । डरले जनताप्रतिको मेरो कर्तव्य निर्धारण गर्न सक्दैन”, उनले भनिन् ।


    उनले आफ्नो दल अवामी लिगमाथिको प्रतिबन्ध हटाउन र राजनीतिक बन्दीहरूलाई रिहा गर्न पनि आग्रह गरिन् । हसिनाले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै आएकी छिन् । हसिनाको सम्बोधनपछि बङ्गलादेशको विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिँदै भारतीय भूमिबाट उनी र उनका सहयोगीहरूले बङ्गलादेश तथा त्यहाँका जनताविरुद्ध ‘विषाक्त अभिव्यक्ति’ दिएको आरोप लगाएको छ ।

    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जुलाई क्रान्तिको दोस्रो वार्षिकोत्सवकै दिन यस्तो कार्यक्रम हुनुलाई बङ्गलादेशको सार्वभौमसत्तामाथिको अपमान र आन्दोलनका शहीदहरूप्रतिको अनादरका रूपमा व्याख्या गरिएको छ । साथै यसले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पार्न सक्ने चेतावनी पनि दिइएको छ ।

    विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा सन् २०२४ मा हसिना भारत पुगेपछि उनी त्यहीँ निर्वासनमा बस्दै आएकी छिन् । त्यसपछि सन् २०२५ मा बङ्गलादेशको अदालतले आन्दोलनमाथिको दमनसँग सम्बन्धित मानवताविरुद्धको अपराध अभियोगमा उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनअनुसार त्यस दमनका क्रममा करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो ।

    बङ्गलादेशले पटक–पटक हसिनाको सुपुर्दगी माग गरे पनि भारतले हालसम्म उनलाई जिम्मा लगाएको छैन । यसैबीच, बुधबार बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले ढाकास्थित हसिनाको पूर्व सरकारी निवासमा स्थापना गरिएको ‘जुलाई सामूहिक विद्रोह स्मारक सङ्ग्रहालय’ उद्घाटन गरे ।

    नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले सुरु गरेको उक्त परियोजनामा सन् २०२४ को आन्दोलनसँग सम्बन्धित अडियो–भिडियो सामग्री, आन्दोलनमा ज्यान गुमाएकाहरूका व्यक्तिगत सामग्री तथा त्यस समयका अभिलेखहरू राखिएका छन् । सङ्ग्रहालयमा हसिनाको १५ वर्षे शासनकालमा भएको भनिएको राजनीतिक दमनसम्बन्धी सामग्री पनि समावेश गरिएको छ ।

    पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा रहमान अन्तरिम सरकारको निगरानीमा सम्पन्न फेब्रुअरीको निर्वाचनमा ठूलो बहुमतसहित सत्तामा आएका थिए । उक्त निर्वाचनमा हसिनाको अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएको थियो ।

  • क्यारोलिनामा अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु, केही घाइते

    क्यारोलिनामा अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु, केही घाइते

    नर्थ क्यारोलिना, संयुक्त राज्य अमेरिका, २१ साउन (रासस–एएफपी) । अमेरिकाको नर्थ क्यारोलिना राज्यको क्यासवेल काउन्टीमा बुधबार बिहान एउटा घरमा भएको अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु भएको छ । घटनापछि पूरै क्षेत्रमा कोलाहल मच्चिएको थियो । प्रहरी र अनुसन्धान निकायहरू घटनास्थलमा पुगेर उक्त घटनाबारे अनुसन्धान शुरू गरिसकेका छन् ।

    नर्थ क्यारोलिना राज्य अनुसन्धान विभागका अनुसार स्थानीय समय बुधबार बिहान करिब ८ बजे प्रहरीलाई एउटा घरमा गोली चलेको सूचना मिल्यो । सूचना मिल्ने बित्तिकै प्रहरी र अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुग्यो । त्यहाँ थुप्रै मानिस गोली लागेर घाइते भएका भेटिए । सख्त घाइतेहरूमध्ये एक व्यक्तिलाई तुरुन्त अस्पताल लगियो भने थुप्रै अन्य मानिसको घटनास्थलमै मृत्यु भएको थियो ।

    –पारिवारिक विवादको आशङ्का–

    क्यासवेल काउन्टीका अनुसन्धान अधिकारी टोनी डर्डनलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन्, “घटनामा कूल तीन परिवारका सदस्यको मृत्यु भएको छ भने मृतकहरूमध्ये एक संदिग्ध हमलाकारी रहेको बुझिएको छ । आक्रमणमा संलग्न अर्को एक आफन्तलाई घाइते भएर अस्पतालमा भर्ना गरिएको छ । गोली चल्नुको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन।”

    अमेरिकामा बन्दुक हिंसा लामो समयदेखि गम्भीर समस्या बनेको छ । हरेक वर्ष देशमा सयौँ व्यक्तिले सामूहिक रूपमा गोली चल्दा ज्यान जाने गरेको छ । हालैका दिनहरूमा पनि यस्ता थुप्रै घटनाहरू भएका छन् । ओरेगनको पोर्टल्यान्डमा एउटा आवासीय क्षेत्रमा अगस्ट २ मा भएको गोली काण्डमा एक व्यक्तिको मृत्यु भएको थियो र पाँच अन्य घाइते भएका थिए । घाइतेहरूमध्ये एक किशोर पनि रहेका बताइएको छ ।

    आइडाहोको ट्विन फल्स शहरस्थित एउटा ‘इन–एन–आउट बर्गर रेस्टुराँ’मा अगस्ट १ मा भएको गोलीबारीमा तीन जनाको मृत्यु भएको थियो भने सात अन्य घाइते भएका थिए । यी निरन्तर भइरहेका घटनाहरूले अमेरिकामा बन्दुक नियन्त्रण कानुन र सार्वजनिक सुरक्षाबारे बहसलाई फेरि तीव्र बनाएको छ । अहिले प्रहरी घटनास्थलबाट प्रमाण जुटाइरहेको छ र आसपासका मानिसहरूसँग सोधपुछ गरिरहेको छ । अधिकारीहरूले भनेका छन् अनुसन्धान पूरा भएपछि मात्र घटनाका कारणहरू खुलासा गरिनेछ ।

  • जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

    जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

    वेलिङ्टन, २१ साउन (रासस–एपी) । अष्ट्रेलियाली कम लागतको वायुसेवा कम्पनी जेटस्टारले आगामी फेब्रुअरी २०२७ देखि विमानको ओभरहेड लकर (सिटमाथिको सामान राख्ने ठाउँ)मा क्यारी–अन झोला राखेबापत यात्रुबाट शुल्क लिने भएको छ। कम्पनीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार यात्रु र कर्मचारीले गेटमा झोलाको तौल जाँच गराउनु तथा ओभरहेड लकरमा ठाउँ खोज्नुपर्ने अवस्थालाई विमानस्थल अनुभवको सबैभन्दा तनावपूर्ण पक्षका रूपमा औँल्याएपछि यो निर्णय गरिएको हो।

    यससँगै जेटस्टार क्यारी–अन झोला ओभरहेड लकरमा राख्न शुल्क लिने पछिल्लो कम लागतको एयरलाइन बनेको छ। अमेरिका र युरोपका धेरै बजेट एयरलाइनले यसअघि नै यस्तो व्यवस्था लागू गरिसकेका छन्। जेटस्टारका अनुसार तोकिएको मापदण्डभित्र पर्ने पर्स, ल्यापटप झोला वा सानो ब्याकप्याक भने यात्रुले आफ्नै अगाडिको सिटमुनि निःशुल्क राख्न सक्नेछन्। ओभरहेड लकर प्रयोग गरेबापत लाग्ने शुल्क एकतर्फी यात्राका लागि २५ अष्ट्रेलियाली डलर (१८ अमेरिकी डलर)बाट सुरु हुनेछ भने गन्तव्यअनुसार फरक पर्नेछ।

    ओभरहेड लकरमा राखिने झोलाको अधिकतम तौल १० किलोग्राम हुनेछ। बोर्डिङका क्रममा कर्मचारीले ती झोलाको तौल जाँच गर्ने छैनन्। सिटमुनि राखिने साना झोलामा हाल कायम रहेको सात किलोग्रामको तौल सीमा भने हटाइने कम्पनीले जनाएको छ। अष्ट्रेलिया र न्युजिल्यान्डका अधिकांश एयरलाइनले चेक्ड लगेज, सिट छनोट तथा खाना–पेयजस्ता अतिरिक्त सेवाका लागि शुल्क लिँदै आएका छन् । तर उद्योग विश्लेषकका अनुसार ओभरहेड लकर प्रयोगबापत शुल्क लिने जेटस्टार पहिलो एयरलाइन हो।

    ‘एयरलाइन रेटिङ्स डट कम’की प्रमुख कार्यकारी अधिकृत शेरोन पिटरसनले यस निर्णयले केही यात्रुमा असन्तुष्टि उत्पन्न हुन सक्ने बताए । उनका अनुसार अष्ट्रेलियाली यात्रु लामो समयदेखि पूर्ण–सेवा सुविधा दिने एयरलाइनको सेवामा अभ्यस्त छन्। जेटस्टारका प्रमुख कार्यकारी अधिकृत स्टेफनी टुलीले नयाँ व्यवस्थाले ओभरहेड लकरको प्रभावकारी उपयोग, बोर्डिङ प्रक्रिया सहज बनाउन तथा उडान समयमै सञ्चालन गर्न सहयोग पुग्ने बताए ।


    उनका अनुसार नयाँ नीतिले यात्रुलाई आफूले आवश्यक परेका सेवाका लागि मात्र शुल्क तिर्ने व्यवस्था सुनिश्चित गर्नेछ। यद्यपि पिटरसनले जेटस्टारको आधारभूत हवाई भाडा युरोपका रायनएयर वा विज एयरजस्ता कम लागतका एयरलाइनको तुलनामा अझै महँगो रहेको टिप्पणी गरे । उनका अनुसार अष्ट्रेलियामा सीमित प्रतिस्पर्धा तथा उच्च सञ्चालन खर्चका कारण यस्तो अवस्था रहेको हो।

  • इन्धन निर्भरता घटाउने योजनामा पाकिस्तान, २०३५सम्म ९० प्रतिशत स्वच्छ ऊर्जाको लक्ष्य

    इन्धन निर्भरता घटाउने योजनामा पाकिस्तान, २०३५सम्म ९० प्रतिशत स्वच्छ ऊर्जाको लक्ष्य

    इस्लामाबाद, २१ साउन (रासस–सिन्ह्वा) । पाकिस्तानले सन् २०३५ सम्ममा आफ्नो राष्ट्रिय ऊर्जा मिश्रणमा स्वच्छ विद्युत्को हिस्सा ९० प्रतिशत पुर्याउने लक्ष्य राखेको ऊर्जा विभागका मन्त्री सरदार ओवैस अहमद खान लेघारीले बताएका छन् । मङ्गलबार इस्लामाबादमा आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै उनले ऊर्जा सुरक्षा सुदृढ गर्न सरकारले ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीइएसएस), स्वदेशी उत्पादन र नियामकीय सुधारमा ध्यान केन्द्रित गरिरहेको बताए ।


    मन्त्री लेघारीका अनुसार हाल जलविद्युत्, आणविक, वायु र सौर्य ऊर्जालगायत स्वच्छ स्रोतले पाकिस्तानको कुल विद्युत् उत्पादनमा करिब ५५ प्रतिशत हिस्सा ओगटेको छ। उपभोक्ता–नेतृत्वको लगानीमार्फत करिब ३८ गिगावाट क्षमताको सौर्य ऊर्जा प्रणालीसमेत जडान भइसकेको उनले बताए ।


    उनले दिउँसो उत्पादन हुने अतिरिक्त सौर्य ऊर्जालाई उच्च माग हुने समयमा प्रयोग गर्न तथा आयातित इन्धनमाथिको निर्भरता घटाउन ब्याट्री ऊर्जा भण्डारण प्रणाली आवश्यक रहेको बताए ।


    मन्त्रीले प्राथमिकताका परियोजना पहिचान गर्न र राष्ट्रिय ऊर्जा भण्डारण नीति तयार गर्न बीइएसएससम्बन्धी राष्ट्रिय निर्देशक समिति तथा प्राविधिक र नियामकीय कार्यदल गठन गरिने जानकारी दिए । सरकारले स्वदेशी ब्याट्री उत्पादनलाई प्रोत्साहन गर्ने नीति अघि बढाइरहेको र वितरण कम्पनीसँगको सहकार्यमा परीक्षणका रूपमा ऊर्जा भण्डारण परियोजना सञ्चालन गर्न स्वीकृति दिइसकेको उनले बताए ।

  • ‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’

    ‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’

    लन्डन, २१ साउन (रासस–एएफपी) । रियल म्याड्रिड र बार्सिलोनाका पूर्वस्टार लुइस फिगोले विवादमा तानिएका फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पद छोड्न आग्रह गरेका छन् । उनले इन्फान्टिनोमाथि ‘धोकेबाज’ व्यवहार गरेको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने बताए ।

    विश्वकपको स्वामित्वको केही हिस्सा निजी इक्विटी लगानीकर्तालाई बिक्री गर्ने योजनाको तीव्र विरोधपछि इन्फान्टिनो दबाबमा परेका हुन् । छपन्न वर्षीय इन्फान्टिनोले आफ्नो ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपको २० प्रतिशत हिस्सेदारी बिक्री गर्ने योजना अघि सारेका थिए । उक्त प्रस्तावलाई तीन महादेशीय फुटबल महासङ्घले अस्वीकार गरेपछि उनी योजना स्थगित गर्न बाध्य भएको थिए ।


    आफ्नो योजनापछि गुमेको समर्थन पुनः प्राप्त गर्ने प्रयासमा इन्फान्टिनोले बुधबार मोरक्कोमा फिफाका निर्देशकसँग आकस्मिक छलफल गरेको स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। पोर्चुगलका पूर्वफरवार्ड फिगोले भने उक्त योजनाको आलोचना गर्दै इन्फान्टिनोको राजीनामा माग गरेका छन् । “फिफाका समस्याबारे म १० हजार शब्द लेख्न सक्छु। तर समाधानका लागि तीन शब्द पर्याप्त छन, इन्फान्टिनो जानुपर्छ,” फिगोले बेलायती अखबार ‘डेली मेल’मा लेखेका छन् ।


    उनले इन्फान्टिनोले फुटबलको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाए । “जसले आफू र आफ्ना सहयोगीलाई धनी बनाउन खेलमा यस्ता ठूला परिवर्तन जबर्जस्ती लागू गर्न खोज्छ, उसले फुटबलको भविष्यमा भूमिका खेल्नु हुँदैन,” फिगोले भने । इन्फान्टिनोले भने आफ्नो प्रस्तावले फिफाका सदस्य राष्ट्रको आम्दानी बढाउने दाबी गरेका थिए । तर विश्वभरका फुटबल सङ्घसँग पर्याप्त परामर्श नगरी योजना अघि बढाएको भन्दै उनको आलोचना भएको थियो।

    हरेक चार वर्षमा आयोजना हुँदै आएको विश्वकपलाई दुई–दुई वर्षमा आयोजना गर्ने सम्भावनाबारेको बहसले पनि फुटबल जगतमा विवाद सिर्जना गरेको थियो। फिफाका अन्य वरिष्ठ अधिकारी तथा आर्सनलका पूर्वप्रबन्धक आर्सन वेङ्गरले समेत इन्फान्टिनोको कार्यशैलीको आलोचना गरेका छन् । सन् २०१५मा फिफा अध्यक्षको दौडबाट बाहिरिएका फिगोले इन्फान्टिनोले संस्थाको प्रतिष्ठा कमजोर बनाएको आरोप लगाए ।


    “इन्फान्टिनोले फिफा अध्यक्ष पदको गरिमा घटाएका छन्, जुन पदलाई उँचो बनाउने वाचा गरेका थिए,” फिगोले भने, “फुटबललाई जोगाउन अझै ढिलो भएको छैन, उनी पदबाट बाहिरिनुपर्छ ।”

  • रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु

    रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु

    किएभ (मस्को), २१ साउन (रासस–सिन्ह्वा) । युक्रेनी अधिकारीले रातभर किएभ र आसपासका क्षेत्रमा रुसले गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको बुधबार बताएका छन्। युक्रेनको राज्य आपतकालीन सेवा विभागका अनुसार आक्रमणबाट गोदाम, रसद केन्द्र, व्यावसायिक भवन तथा औद्योगिक संरचनामा क्षति पुगेको छ। सबैभन्दा बढी क्षति किएभ क्षेत्रमा भएको र त्यहाँ १६ जनाको मृत्यु तथा ३० जना घाइते भएको विभागले जनाएको छ।

    किएभ क्षेत्रीय सैन्य प्रशासनका अनुसार ब्रोभरी जिल्लामा मात्रै नौ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। यता, किएभका मेयर भिताली क्लिट्स्कोले राजधानीमा एक जनाको मृत्यु र २६ जना घाइते भएको जानकारी दिए । युक्रेनी वायुसेनाका अनुसार रुसले रातभर ११५ वटा ड्रोन, २४ वटा इस्कान्डर–एम÷एस–४०० ब्यालिस्टिक क्षेप्यास्त्र तथा चारवटा जिरकोन÷ओनिक्स जहाजविरोधी क्षेप्यास्त्र प्रहार गरेको थियो।

    रुसको रक्षा मन्त्रालयले भने किएभ र आसपासका क्षेत्रमा रहेका यातायात तथा रसद पूर्वाधारलाई लक्षित गरी ठूलो स्तरको आक्रमण गरिएको जनाएको छ। मन्त्रालयका अनुसार आक्रमणमा ड्रोनका पार्टपुर्जा, रोबोटिक प्रणाली, विद्युतीय युद्ध उपकरण तथा अन्य सैन्य सामग्री भण्डारण र वितरण गर्ने केन्द्रलाई निशाना बनाइएको थियो।

    रुसी रक्षा मन्त्रालयले ओडेसाको दक्षिणी क्षेत्रमा कालो सागरमा रहेका सैन्य सामग्री बोकेका युक्रेनका तीनवटा सुक्खा मालवाहक जहाजमा प्रहार गरिएको तथा ओचाकिभको दक्षिणपूर्वी क्षेत्रमा दुईवटा मानवरहित जलयान नष्ट गरिएको पनि दाबी गरेको छ।

  • झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

    झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

    नयाँदिल्ली, २१ साउन (रासस–सिन्ह्वा) । भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार मङ्गलबार दिउँसो आएको भारी वर्षा र आँधीबेहरीसँगै परेको चट्याङबाट राज्यका गिरिडीह, दुम्का र लातेहार जिल्ला प्रभावित भएका छन्। भारतको मौसम विज्ञान विभागले बुधबारदेखि शनिबारसम्म झारखण्डसहित विभिन्न क्षेत्रमा व्यापक वर्षा हुने पूर्वानुमान गरेको छ। भारतमा मनसुन सुरु भएपछि चट्याङका घटनामा हरेक वर्ष सयौँ मानिसको मृत्यु हुने गरेको छ।

  • ब्रोड पिकमा मृत्यु भएका चार पर्वतारोहीको शव आधार शिविर ल्याइयो

    ब्रोड पिकमा मृत्यु भएका चार पर्वतारोहीको शव आधार शिविर ल्याइयो

    स्कर्दु, २१ साउन (रासस–एएफपी) । खोज टोलीले प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा र उनको टोलीका तीन सदस्यको शव हिमपहिरोमा परेर मृत्यु भएको हिमालको आधार शिविरमा पु¥याएको पाकिस्तानको अल्पाइन क्लबले बुधबार जनाएको छ । जुलाई ३०मा हिमपहिरो गएको थियो, जसले गर्दा विश्वको अग्लो हिमालमध्ये एक ब्रोड पिकमा ४३ वर्षीय नेपाली पर्वतारोही पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तरराष्ट्रिय अभियानसँग सम्पर्क विच्छेद भएको थियो । उनको कम्पनीले कोही पनि जीवित नभएको पुष्टि गरेको छ ।

    पाकिस्तानको अल्पाइन क्लब (एसीपी)ले ब्रोड पिकमा अत्यन्त चुनौतीपूर्ण र प्राविधिक रूपमा जटिल उद्धार अभियानपछि नेपाली पर्वतारोही निर्मल पुर्जा, निमा शेर्पा, किलु शेर्पा तथा चिनियाँ पर्वतारोही झोङ वाङको शव सफलतापूर्वक निकालेर आधार शिविरमा सुरक्षित रूपमा ल्याइएको जनाएको छ । एसीपीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो ।

    “आजको दिन एउटा महत्त्वपूर्ण उपलब्धि हो, तर तीन जना पर्वतारोही अझै पनि बेपत्ता छन्,” क्लबले भन्यो । “हामी परिस्थितिले अनुमति दिएसम्म उनीहरूलाई पत्ता लगाउन र पुनः प्राप्ति गर्न सबै सम्भावित प्रयासलाई समर्थन गर्न प्रतिबद्ध छौँ, ताकि उनीहरूलाई पनि आफ्ना प्रियजनकहाँ घर फर्काउन सकियोस्,” क्लबले भनेको छ ।

    टोलीका अन्य तीन सदस्य एक अमेरिकी महिला, एक ओमानी महिला र एक नेपाली पुरुषका शव पहिले नै पहाडबाट उत्तरी पाकिस्तानी शहर स्कार्दुमा उडाइएको थियो । दुई नेपाली नागरिक र एक पाकिस्तानी नागरिकको शव अझै फेला परेको छैन । उत्तरी पाकिस्तानको काराकोरम पर्वतमालामा अवस्थित ब्रोड पिक विश्वको १२औँ अग्लो हिमाल हो र यसलाई आठ हजार मिटरभन्दा बढी अग्ला आरोहणमध्ये सबैभन्दा कठिन र प्राविधिक आरोहणमध्ये एक मानिन्छ । यो हिमालमा पहिलो पटक १९५७ मा अस्ट्रियाली टोलीले आरोहण गरेको थियो ।

  • अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

    अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार

    कायरो, १९ साउन (रासस–एपी) । ‘स्ट्रेट अफ होर्मुज’मा ओमानको तट नजिकै एउटा कार्गो जहाजमा अज्ञात वस्तुले प्रहार गरेको बेलायती समुद्री निगरानी निकायले जनाएको छ । यो घटना अमेरिका र इरानबीच वार्ता भइरहेको विषयमा दुवै पक्षबाट परस्परविरोधी दाबी आइरहेका बेला भएको हो ।

    युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)का अनुसार स्थानीय समयअनुसार बिहान करिब २ बजे ओमानको अल–खासाबबाट ३७ किलोमिटर उत्तरपूर्वमा रहेको कार्गो जहाजमा अज्ञात वस्तुले प्रहार गरेको सूचना प्राप्त भएको हो । यूकेएमटीओले जहाजको झण्डा, कार्गो वा अन्य विवरण सार्वजनिक गरेको छैन । बेलायती समुद्री सुरक्षा कम्पनी एम्ब्रेले जहाजमा क्षति पुगेको जनाए पनि थप विवरण खुलाएको छैन ।

    ‘स्ट्रेट अफ होर्मुज’ विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा ढुवानी मार्गमध्ये एक हो । युद्धअघि विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने गरेको थियो । फेब्रुअरीयता इरानसँगको द्वन्द्वका कारण यस क्षेत्रमा समुद्री सुरक्षा चुनौतीपूर्ण बनेको छ ।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यले पुनः वार्ता सुरु भएको बताउनुभएको छ । तर इरानले अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नभएको स्पष्ट गर्दै आफूले ओमानसँग मात्र ‘स्ट्रेट अफ होर्मुज’मा सुरक्षित जलयात्रासम्बन्धी विषयमा छलफल गरिरहेको जनाएको छ ।

    इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेइले अमेरिकासँग वार्ता भइरहेको दाबी अस्वीकार गरे । ट्रम्पले भने इरानले वार्ताको प्रस्ताव गरेको दाबी गर्दै तेहरानको सार्वजनिक अभिव्यक्तिप्रति असन्तुष्टि जनाए । कतारका विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले सबै पक्षसँग कूटनीतिक मध्यस्थताको प्रयास जारी रहेको बताए । उनले समाधानका लागि संवादलाई प्राथमिकता दिइएको उल्लेख गरे पनि वार्तासम्बन्धी थप विवरण खुलाएनन् ।

    यसैबीच, इरान समर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको नज्रान विमानस्थलस्थित एक ‘संवेदनशील लक्ष्य’मा ड्रोन आक्रमण गरेको दाबी गरेका छन् । साउदी अरबले उक्त दाबीबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । उता गाजामा सन् २०२३ को इजरायली हवाई आक्रमणमा मारिएकामध्ये भग्नावशेषमुनि पुरिएका ११२ प्यालेस्टिनीको शव निकालिएपछि सामूहिक अन्त्येष्टि गरिएको छ । उद्धार टोलीले १३६ घण्टासम्म खोजी गरेपछि शव फेला पारेको गाजाको सिभिल डिफेन्सले जनाएको छ ।

    यस्तै, लेबनानको बेरुत बन्दरगाह विस्फोटको पाँचौँ वर्षमा पीडित परिवारजनले घटनास्थलमा श्रद्धाञ्जलि अर्पण गरेका छन् । सन् २०२० मा भएको उक्त विस्फोटमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । अनुसन्धान अझै टुङ्गोमा नपुगे पनि यस वर्षभित्र अभियोगपत्र दर्ता गर्ने प्रतिबद्धता लेबनान सरकारले जनाएको छ ।

  • फिफा विश्वकप २०२६ : तथ्यांक, विवाद र भविष्य

    फिफा विश्वकप २०२६ : तथ्यांक, विवाद र भविष्य

    कुमार न्यौपाने
    हाल : न्यूयोर्क

    विश्व फुटबलको नयाँ युगको शुरुवात
    फुटबललाई विश्वकै सबैभन्दा लोकप्रिय खेल मानिन्छ । भाषा, धर्म, संस्कृति र भौगोलिक सीमाभन्दा माथि उठेर मानिसलाई एउटै भावनामा बाँध्ने शक्ति फुटबलसँग छ । प्रत्येक चार वर्षमा आयोजना हुने फिफा विश्वकप केवल एउटा खेल प्रतियोगिता मात्र होइन, यो विश्वव्यापी सांस्कृतिक उत्सव पनि हो । सन् २०२६ को फिफा विश्वकपले यस परम्परालाई नयाँ उचाइमा पु¥यायो ।


    पहिलो पटक ४८ राष्ट्रको सहभागिता, तीन देशले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिता, १०४ खेल, करोडौं दर्शक तथा नयाँ आर्थिक कीर्तिमानका कारण विश्वकप २०२६ इतिहासकै सबैभन्दा ठूलो संस्करण बन्यो । तर यो विश्वकप केवल सफलताको कथा मात्र थिएन । प्रतियोगितामा उत्कृष्ट फुटबलसँगै विवाद, रेफ्री निर्णयमाथिको बहस, खेल भावना, मौसम, टिकट व्यवस्थापन तथा सामाजिक सञ्जालमा फैलिएका तीव्र प्रतिक्रियाहरु पनि देखिए । त्यसैले विश्वकप २०२६ लाई उपलब्धि र आलोचना दुवै दृष्टिकोणबाट अध्ययन गर्नु आवश्यक छ ।


    विश्वकपको शुरुवात सन् १९३० जुल्स रिमेटको नेतृत्वमा उरुग्वेबाट भएको थियो । त्यसबेला ग्रेट डिप्रेसनका कारण केवल १३ राष्ट्रले सहभागिता जनाएका थिए । त्यसपछि प्रतियोगिता विस्तार हुँदै गयो । १९९८ देखि २०२२ सम्म ३२ टोली सहभागी भए । २०२६ मा पहिलो पटक सहभागी टोलीको संख्या ४८ पु¥याइयो । यस विस्तारको मुख्य उद्देश्य थियो– बढी राष्ट्रलाई अवसर दिनु, फुटबलको विश्वव्यापी विकास गर्नु, नयाँ बजार विस्तार गर्नु र आर्थिक आम्दानी बढाउनु नै हो ।

    आयोजक राष्ट्रहरु
    विश्वकप २०२६ को आयोजना संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा गरे । विश्वकप इतिहासमा पहिलो पटक तीन देशले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका थिए । अमेरिकाले अधिकांश खेल आयोजना ग¥यो । मेक्सिकोले तेस्रो पटक विश्वकप आयोजना गर्ने गौरव प्राप्त ग¥यो भने क्यानडाले पहिलो पटक पुरुष विश्वकपका खेलहरु आयोजना ग¥यो ।


    यसपटक विश्वकपको स्वरुप पूर्ण रुपमा परिवर्तन गरियो । ४८ टोली, १२ समूह, प्रत्येक समूहमा ४ टोली र प्रत्येक समूहका शीर्ष दुई टोली तथा उत्कृष्ट तेस्रो स्थानका टोलीहरु नकआउट चरणमा प्रवेश पाए । यस कारण प्रतियोगितामा कुल खेल संख्या ६४ बाट बढेर १०४ पुग्यो । २.९६ औसतले जम्मा ३ सय ८ गोल भएको यो विश्वकप स्वाभाविक रुपमा धेरै गोल भएको प्रतियोगिता बन्यो । यसले दर्शकलाई धेरै खेल हेर्ने अवसर दियो तर खेलाडीको शारीरिक थकान र प्रतियोगिताको अवधि बढेको भन्दै केही आलोचना पनि भयो । हाइड्रेसन ब्रेक अर्को चर्चा र आलोचनाको विषय बन्यो ।


    मेक्सिको सिटीको उद्घाटन समारोह अत्यन्त भव्य बनाइएको थियो । आधुनिक प्रविधि, संगीत, सांस्कृतिक प्रस्तुति तथा तीन आयोजक राष्ट्रको सांस्कृतिक विविधता प्रदर्शन गरिएको थियो । विश्वभर करोडौं मानिसले प्रत्यक्ष प्रसारण हेरे । समूह चरणमा धेरै अप्रत्याशित नतिजा देखिए । कतिपय परम्परागत बलिया टोली संघर्षमा परे भने केही साना राष्ट्रहरुले उत्कृष्ट प्रदर्शन गर्दै विश्वलाई चकित बनाए । विशेषगरी जापान, मोरक्को, नर्वे, केप भर्डे, क्यानडा, इजिप्ट, कुरासाओ र अमेरिका जस्ता टोलीहरुको प्रदर्शन प्रशंसनीय रह्यो ।

    प्रमुख टोलीहरुको प्रदर्शन
    न्यूयोर्क: न्यूजर्सीको मेट लाइफ स्टेडियममा दोस्रो पटक विश्वकप जित्दै गर्दा स्पेनले प्रतियोगिताभर उत्कृष्ट बल नियन्त्रण, छोटो पास (टिकीटाका) अनुशासित रक्षा तथा सामूहिक खेल प्रदर्शन ग¥यो । स्पेनको मिडफिल्ड विश्वकै उत्कृष्टमध्ये एक मानियो । उनीहरुले बलिया टोलीविरूद्ध दबाबमा पनि खेलको गति नियन्त्रण गर्न सके ।
    अर्जेन्टिनाले लगातार दोस्रो पटक फाइनल पुगेर आफ्नो फुटबल यात्रा अन्तिमसम्म कायम राख्यो ।

    टोलीले आक्रामक फुटबल खेले पनि केही खेलमा अत्यधिक शारीरिक खेल, रेफ्रीसँग बहस, राजनैतिक र सीमाका कुरा तथा समय व्यवस्थापनलाई लिएर आलोचना पनि खेप्नुप¥यो । यस्ता आलोचनाहरु प्रतियोगिताका विभिन्न टोलीहरुतर्फ पनि निर्देशित थिए, तिनको मूल्यांकन गर्दा तथ्य र आधिकारिक निर्णयलाई आधार बनाउनुपर्छ । फाइनलको फितलो प्रदर्शनले ६ विश्वकप खेलेका अर्जेन्टिनाका विश्वप्रसिद्ध खेलाडी मेस्सी सर्वाधिक गोल गर्ने सूचीको दोस्रो नम्बरमा रहन बाध्य भए ।
    फ्रान्स फेरि एकपटक बलियो टोलीको रुपमा देखा प¥यो । एक अत्यधिक रूचाएको टोली भइकन आफ्नो स्तरमा निरन्तर सन्तुलन कायम गर्न नसक्दा उनीहरुको गति, काउन्टर अट्याक तथा व्यक्तिगत क्षमता प्रभावशाली हुँदाहुँदै सेमिफाइनलबाटै घर फर्किनुप¥यो । फ्रान्सका एम्बाप्पे समग्रमा मिरोस्लाभ क्लोज र मेस्सीलाई पछि पार्दै सर्वाधिक गोल गर्ने खेलाडी बने ।

    ARLINGTON, TEXAS – JUNE 22: Lionel Messi #10 of Argentina celebrates with teammate Leandro Paredes #5 after scoring his team’s second goal during the FIFA World Cup 2026 Group J match between Argentina and Austria at Dallas Stadium on June 22, 2026 in Arlington, Texas. Francois Nel/Getty Images/AFP (Photo by Francois Nel / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)


    इङ्ल्याण्डले १९६६ पछि आफूलाई दोस्रो विश्वकप जित नजिक पु¥याएको थियो । निकै समयपछि स्थिर प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा ग¥यो । युवा बेलिङ्घम र अनुभवी केनको उत्कृष्ट प्रदर्शन हेर्न लायक थियो । ब्राजिल आफूसँग प्रतिभाशाली खेलाडीहरुको बाबजुद अपेक्षितरुपमा अगाडि बढ्न सकेन । निरन्तर चोटसँगको समस्याले जुधिरहेका नेयमार केही समय मात्र मैदानमा देखिए । उनी लगायत क्रिस्टियानो रोनाल्डो, मेस्सी, मोर्डिच र अन्य केही विश्वप्रसिद्ध खेलाडीहरुको यो विश्वकप नै अन्तिम रह्यो ।


    दर्शक सहभागिताको विषयमा पनि यो विश्वकप रोचक बन्यो । विशेषगरी अमेरिकाको भिसा कडाइ नीतिको बाबजुद विश्वकप २०२६ ले दर्शक उपस्थितिको नयाँ इतिहास बनायो । करिब ७० लाखभन्दा बढी दर्शक स्टेडियम पुगे । औसत दर्शक संख्या करिब ६५ हजार प्रतिखेल रह्यो । अधिकांश खेल पूर्ण क्षमतामा भरिएका थिए । यसले विश्व फुटबलको लोकप्रियता झन् बढेको पुष्टि ग¥यो ।


    विश्वकपले आयोजक राष्ट्रहरुको अर्थतन्त्रमा ठूलो प्रभाव पा¥यो । सम्बन्धित देशहरु तथा स्वयं फिफाले राम्रै आर्थिक लाभ हासिल ग¥यो । मुख्य लाभ भएका क्षेत्रहरु जस्तै– पर्यटन, होटल व्यवसाय, यातायात, रेस्टुरेन्ट, खुद्रा व्यापार, खेल सामग्री, डिजिटल प्रसारण र विज्ञापनमा नयाँ–नयाँ रेकर्डहरु बने । लाखौं पर्यटकहरुले तीन देशको भ्रमण गरे । सामाजिक र संस्कृति, कलाको आदानप्रदान भयो । बृहत रुपमा यसले स्थानीय व्यवसायलाई उल्लेखनीय आर्थिक लाभ पु¥यायो ।

    प्रविधिको प्रयोग
    यस विश्वकपमा आधुनिक प्रविधिको प्रयोग व्यापक भयो। भीएआर, अर्धस्वचालित अफसाइड प्रणाली, स्मार्ट बल, उच्च गुणस्तरीय क्यामेरा, कृत्रिम बुद्धिमत्तामा आधारित तथ्यांक विश्लेषण । यी प्रविधिले निर्णयलाई छिटो र सही बनाउन सहयोग गरे । यद्यपि भीएआरसम्बन्धी केही निर्णयमाथि बहस भने जारी रह्यो ।


    विश्वकप २०२६ ले फुटबल इतिहासमा नयाँ अध्याय शुरु ग¥यो । प्रतियोगिताको विस्तार सफल देखिए पनि यसले भविष्यका लागि केही चुनौती पनि देखायो । विशेषगरी खेलाडीको थकान, केही खेलाडीहरुमा खेल भावनाको चरम अभाव, जसरी पनि जित्ने नीति, लामो प्रतियोगिता, रेफ्रीमाथिको दबाब तथा व्यवस्थापनसम्बन्धी विषयहरु ।


    तर एउटा कुरा स्पष्ट थियो । विश्व फुटबलको लोकप्रियता अझै बढिरहेको छ । आगामी २०३० मा स्पेन, पार्चुगल र मोरोक्कोमा हुन गइरहेको विश्वकपमा ६४ देशको सहभागी हुन पाउने निर्णयले विश्व फुटबल झनै उद्वेलित भएको छ । एक–एक खेल अर्जेन्टिना, पाराग्वे र उरूग्वेमा खेलाई विश्वकपको १०० वर्षे संस्करण ३ महादेशमा हुने कुरा अर्को रोचक विषय हो । नयाँ राष्ट्रहरुको उदय, युवा प्रतिभाको आगमन र करोडौं, अरबौं समर्थकको उत्साहले फुटबललाई विश्वकै सबैभन्दा प्रभावशाली खेलको रुपमा पुनः स्थापित ग¥यो र यो निरन्तर अगाडि बढ्नेछ ।

  • अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

    अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

    सियोल, १९ साउन (रासस–एपी) । अमेरिकी सैन्य आधार शिविरमा गैरकानुनी रूपमा प्रवेश गरेको आरोपमा मङ्गलबार आठ जना दक्षिण कोरियाली विद्यार्थीलाई पक्राउ गरिएको दक्षिण कोरियाली अधिकारीले बताएका छन् । पक्राउ पर्ने क्रममा उनीहरूले अमेरिका विरोधी नारा लगाएको जनाइएको छ । राजधानी सियोल नजिकै रहेको ओसान एयर बेसमा प्रवेश गरेको आरोपमा अमेरिकी सैन्य कर्मचारीले चार पुरुष र चार महिला विद्यार्थीलाई नियन्त्रणमा लिएका थिए । पछि उनीहरूलाई दक्षिण कोरियाली प्रहरीको जिम्मा लगाइएको थियो ।

    प्रहरीका अनुसार दक्षिण कोरियाको सैन्य संरचनाको सुरक्षा कानुनअन्तर्गत उनीहरूमाथि अनुसन्धान भइरहेको छ । सोधपुछका क्रममा सबै विद्यार्थीले आफ्नो कानुनी अधिकार प्रयोग गर्दै बयान दिन अस्वीकार गरेका छन् । प्रहरीका अनुसार विद्यार्थीहरूले घटनास्थलमा “अमेरिकी सातौँ वायुसेनालाई ध्वस्त पारौँ”लगायतका नारा लगाएको जनाएको छ ।

    अमेरिकी सेनाले जारी गरेको विज्ञप्तिमा उक्त समूहले आधार शिविरको मुख्य प्रवेशद्वारबाट अनधिकृत रूपमा प्रवेश गर्ने प्रयास गरेको उल्लेख गर्दै अमेरिकी सैन्य संरचनामा गैरकानुनी प्रवेशको प्रयासलाई गम्भीर रूपमा लिइने बताएको छ । घटनालाई लागू हुने अमेरिकी र दक्षिण कोरियाली कानुनअनुसार सम्बोधन गरिने सेनाले जनाएको छ ।

    ‘कोरियन प्रोग्रेसिभ युनिभर्सिटी स्टुडेन्ट युनियन’ले सामाजिक सञ्जालमार्फत पक्राउ परेका विद्यार्थी आफ्ना सदस्य रहेको जनाएको छ । उक्त समूहका अनुसार उनीहरूले दक्षिण कोरियाको सेमीकन्डक्टर क्लस्टर परियोजनासम्बन्धी अमेरिकी सेनाको भूमिकाको विरोधमा प्रदर्शन गर्ने तयारी गरेका थिए ।

    दक्षिण कोरियाली प्रहरीले उक्त समूहको दाबीबारे टिप्पणी गर्न अस्वीकार गरेको छ भने अमेरिकी सेनाले पनि यसबारे प्रतिक्रिया दिएको छैन ।

    दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार, अमेरिकाले सेमीकन्डक्टर परियोजनाका कारण स्थानान्तरण गर्न लागिएको सैन्य विमानस्थलमा आफ्नो महत्त्वपूर्ण चासो रहेको जनाएको छ । उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणलाई रोक्न सहयोग गर्ने उद्देश्यले दक्षिण कोरियामा करिब २८ हजार ५०० अमेरिकी सैनिक तैनाथ छन् ।

    सन् १९५०–५३ को कोरियाली युद्ध युद्धविराममा टुङ्गिएपछि दक्षिण कोरियामा अमेरिकी सैन्य उपस्थिति कायम रहँदै आएको छ । दक्षिण कोरियामा अधिकांश नागरिकले अमेरिका–दक्षिण कोरिया सैन्य गठबन्धनको समर्थन गर्ने सर्वेक्षणले देखाए पनि अमेरिकी सैन्य उपस्थिति र दुई देशबीचका केही मुद्दाले समय–समयमा अमेरिका विरोधी भावना उत्पन्न गराउँदै आएका छन् । सन् २०१९ मा पनि अमेरिकी सैन्य खर्चसम्बन्धी विवादको विरोध गर्दै अमेरिकी राजदूतको निवासमा प्रवेश गरेका चार दक्षिण कोरियाली विद्यार्थी पक्राउ परेका थिए ।

  • दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

    दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

    १९ साउन, काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
    समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका ७ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

    त्यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साउन १ गते देखि १५ गतेसम्म विभिन्न सहकारीबाट ६५ जना ऋणीहरुबाट रकम असुलिएको जनाएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । 

    समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।

  • अष्ट्रेलियामा एच ५ एन १ बर्डफ्लुका कारण समुद्री चराको सामूहिक मृत्यु पुष्टि

    अष्ट्रेलियामा एच ५ एन १ बर्डफ्लुका कारण समुद्री चराको सामूहिक मृत्यु पुष्टि

    क्यानबेरा, १९ साउन (रासस–सिन्ह्वा) । दक्षिण अष्ट्रेलियाको तट नजिकै रहेको एक टापुमा ठूलो सङ्ख्यामा समुद्री चराको मृत्यु एच५ एन१ बर्डफ्लुका कारण भएको पुष्टि भएको अधिकारीले सोमबार बताएका छन् । कृषि, मत्स्य तथा वनमन्त्री जुली कोलिन्स र वातावरण तथा जलमन्त्री मरे वाटले पत्रकार सम्मेलनमा ‘ग्रेटर क्रेस्टेड टर्न’ प्रजातिका चरामा अत्यधिक सङ्क्रामक एच ५ एन १ एभियन इन्फ्लुएन्जा सङ्क्रमण देखिएको जानकारी दिए । दक्षिण अष्ट्रेलियामा एच५ एन१ सङ्क्रमण फैलिरहेका बेला शुक्रबार राज्यको दक्षिण–पूर्वी तटबाट करिब पाँच किलोमिटर टाढा रहेको एक सानो टापुमा हवाई निगरानीका क्रममा ४९ वटा मृत र ३५ वटा बिरामी चरा फेला परेका थिए ।

    मन्त्री कोलिन्सले जुनको मध्यतिर अष्ट्रेलियाको मुख्य भूमिमा पहिलो पटक एच५ एन१ भाइरस देखिएपछि वन्यजन्तुमा यस्तो सामूहिक मृत्युको घटना हुनसक्ने अनुमान गरिएको बताए । “जब एच ५ बर्डफ्लु वन्यजन्तु र प्राकृतिक वातावरणमा फैलिन्छ, त्यसबाट हुने ठूलो क्षति रोक्न कठिन हुन्छ । अहिले हामी त्यही अवस्था देखिरहेका छौँ”, उनले भने । उनले अष्ट्रेलियालीहरूले आगामी दिनमा भाइरस थप फैलिन सक्ने र प्रभावित वन्यजन्तुको सङ्ख्या बढ्न सक्ने अवस्थाका लागि तयार रहनुपर्ने बताए ।


    अष्ट्रेलिया सरकारले मुख्य भूमिमा भाइरस देखिनुअघि नै एच५ एन१ प्रकोपको निगरानी, प्रतिकार्य र पूर्वतयारीका लागि ११ करोड ३० लाख अष्ट्रेलियाली डलर (करिब ७ करोड ९५ लाख अमेरिकी डलर) विनियोजन गरेको थियो। मन्त्री वाटका अनुसार भाइरस नियन्त्रणका लागि राष्ट्रिय योजना कार्यान्वयनमा ल्याइएको छ भने थप २ करोड ४० लाख अष्ट्रेलियाली डलर (करिब १ करोड ६९ लाख अमेरिकी डलर) बजेट छुट्याइएको छ ।

  • सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

    सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

    कायरो, १९ साउन (रासस–एपी) । सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी सेनाको ड्रोन आक्रमणले कम्तीमा ३५ जनाको मृत्यु भएको मानवअधिकार समूहले बताएको छ । सुडानमा अत्याचारहरूको दस्तावेजीकरण गर्ने स्वतन्त्र समूह ‘इमर्जेन्सी लयर्स’ ले आइतबार दिउँसो भनेको छ, “ड्रोनहरूले उत्तरी डार्फर राज्यको अल–जाविया गारा गाउँमा रहेको नागरिक अदालतको मुख्यालयलाई निसाना बनाए, जुन ‘यस क्षेत्रमा न्यायिक र सामाजिक भूमिका खेल्ने नागरिक सुविधा’ हो ।

    समूहले वक्तव्यमा घटनाको अनुसन्धानको माग गर्दै भनेको छ, “नागरिक र सार्वजनिक निकायहरूविरुद्ध आक्रमण निर्देशित गर्नु अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन हो ।” सुडान सन् २०२३ अप्रिलमा अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस र सुडानी सेनाबीच पूर्ण युद्धमा फसेको थियो। सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्क (एसिएलइडी) नामक द्वन्द्व अनुगमन समूहका अनुसार कम्तीमा ५९ हजार मानिसको मृत्यु भएको छ । सहायता समूहहरू भन्छन्, “यो सङ्ख्या कम अनुमानित हो र वास्तविक सङ्ख्या धेरै गुणा बढी हुन सक्छ।”

    ड्रोन युद्ध यस देशको लडाइँको एक प्रमुख विशेषता बनेको छ, जहाँ दुवै पक्षले आक्रमण गर्छन्। संयुक्त राष्ट्रसङ्घका अनुसार युद्ध अहिले सुडानमा मृत्युको प्रमुख कारण हो, जसले सन् २०२६ को पहिलो चार महिनामा नागरिकहरूको मृत्युको ८० प्रतिशत हिस्सा ओगटेको छ । सुडानी सेनाले टिप्पणीका लागि गरिएका अनुरोधहरूको जवाफ दिएको छैन ।

  • इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्गबारे सम्झौताका लागि छलफल अन्तिम चरणमा

    इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्गबारे सम्झौताका लागि छलफल अन्तिम चरणमा

    वासिङ्टन\तेहरान, १९ साउन (रासस–सिन्ह्वा) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी समय अनुसार सोमबार दिउँसो वार्ता पुनः सुरु हुने बताएका छन् । तेहरानले ओमानसँग हर्मुज जलमार्गमार्फत नयाँ ढुवानी मार्गबारे सम्झौता अन्तिम चरणमा पुगेको बताएको छ ।

    राष्ट्रपति ट्रम्पले भने, “इरानी प्रतिनिधिहरूसँग सोमबार दिउँसो वार्ता सुरु हुनेछ ।” उनले वार्ता कहाँ हुने वा कसको सहभागिता रहने भन्ने कुरा भने बताएका छैनन् । यो घोषणा केही दिनखेखि बढेको आक्रामक बयानबाजी र पछिल्लो कूटनीतिक प्रयासपछि आएको हो ।

    ट्रम्पले वार्ताका लागि थप समय दिन सहमत हुनुअघि इरानविरुद्ध थप सैन्य कारबाहीको चेतावनी दिएका थिए । साउदी अरबसहित खाडी देशहरूले क्षेत्रमा थप तनाव रोक्न संवादको माग गरेका थिए। सामाजिक सञ्जालमा गरिएको पोस्टमा ट्रम्पले प्रस्तावित सम्झौतामा हर्मुज जलमार्ग तत्काल र पूर्ण रूपमा पुनः खोल्ने तथा इरानको आणविक कार्यक्रमसम्बन्धी चिन्ताहरूलाई सम्बोधन गर्ने कुरा समावेश हुने बताए ।
    तेहरानले संयुक्त राज्य अमेरिकासँग वार्ता आसन्न भएको पुष्टि गरेको छैन। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमबार आफ्नो देश हाल वासिङ्टनसँग वार्तामा संलग्न भइनसकेको बताएका छन् । यसअघि इरानी अधिकारीहरूले ट्रम्पको यो दाबी अस्वीकार गरेका थिए र संयुक्त राज्य अमेरिकालाई योजनाबद्ध आक्रमण रद्द गर्न अनुरोध गरेका थिए ।

    इरानी राष्ट्रपति मौसुद पेजेश्कियानले आइतबार भनेका थिए, “संयुक्त राज्य अमेरिकासँगको प्रस्तावित विद्यमान सम्झौताले वासिङ्टनसँग भविष्यको वार्तामा संलग्नताका लागि आधार प्रदान गर्न सक्छ।” धेरै पर्यवेक्षकहरूले पछिल्लो कूटनीतिक प्रयासले दिगो सम्झौता उत्पादन गर्ने हो कि होइन भन्ने प्रश्न गरेका छन्।

    जोन्स हकिन्स विश्वविद्यालयका इरान विशेषज्ञ वाली नस्रले ट्रम्पका लक्ष्य हासिल गर्न ‘कुनै स्पष्ट बाटो’ नभएको बताए । नस्रले भने, “उहाँ (ट्रम्प) अहिले सैन्य तनाव बढाउनबाट बच्न कूटनीतिक समाधानमा हात हालिरहेका छन् । तर कूटनीतिक वा सैन्य दुवै रूपमा ट्रम्पलाई विजय घोषणा गर्न सकिने ठाउँमा पु¥याउने स्पष्ट बाटो छैन ।”

    यो घोषणा राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच कुनै फोन वार्ता नभएको अवस्थामा आएको हो। नेतन्याहु इरानमाथि दबाब कायम राख्ने सबैभन्दा बलियो पक्षधरहरूमध्ये एक हुन् । इजरायलले कुनै पनि सम्झौताले इरानलाई आणविक कार्यक्रम र ब्यालिस्टिक मिसाइल क्षमता अगाडि बढाउनबाट रोक्नुपर्ने जोड दिँदै आएको छ। इजरायली ऊर्जा मन्त्री एली कोहेनले ‘सम्झौतासहित वा बिना’ इरानले यस्ता प्रयास अगाडि बढाउन खोजेमा इजरायलले कारबाही गर्ने बताए ।
    –हर्मुज मार्गबारे वार्ता–

    यसैबीच इरान र ओमान हर्मुज जलडमरुमार्फत नयाँ मार्ग खुलाउनेबारे सम्झौता नजिक पुगेका छन्। इरानी विदेशमन्त्री अब्बास अराघचीले ओमानसँग जहाजहरूलाई जलमार्ग पार गर्न दिने संयन्त्रबारे वार्ता ‘अन्तिम चरणमा पुगेको र पूरा हुन लागेको’ बताएका सञ्चारमाध्यमले जनाएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता बाघाईले इरान र ओमान दुवै पक्षलाई स्वीकार्य मार्गबारे समझदारीतर्फ काम गरिरहेको बताए । यसले सार्वभौमिकताको सम्मान गर्ने र राष्ट्रिय हित तथा सुरक्षाको रक्षा गर्नेछ। उनले भने, “यो व्यवस्था हर्मुज जलडमरु तुरुन्तै पुनः खोल्ने अर्थमा हुनेछैन, जहाँ जहाज आवागमनको व्यवस्थालाई लिएर विवाद अझै समाधान भएका छैनन्।”

    यो जलमार्ग द्वन्द्वको केन्द्रमा रहेको छ। वासिङ्टनले अन्तर्राष्ट्रिय स्वतन्त्र आवागमनको माग गर्दै आएको छ भने तेहरानले रणनीतिक मार्गमार्फत पारवहन व्यवस्थापनमा आफ्नो भूमिका कायम राख्ने अडान लिएको छ। ओमान, कतार र साउदी अरबसहित क्षेत्रीय देशहरूले तनाव घटाउन र वासिङ्टन तथा तेहरानबीच सम्झौता सहज बनाउन प्रयास जारी राखेका छन्।

  • अमेरिका र इजरायलबीच इरानमा आक्रमण रोक्ने सहमति

    अमेरिका र इजरायलबीच इरानमा आक्रमण रोक्ने सहमति

    १७ साउन, वाशिङ्टन । संयुक्त राज्य अमेरिका र इजरायलले महिनौंदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने सम्झौता छिट्टै हुनुपर्ने शर्तसहित इरानमा नयाँ आक्रमण रोक्न सहमति जनाएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानलाई ‘धेरै कडा’ प्रहार गर्ने धम्की दिएपछि र ऊर्जा पूर्वाधारसहित नयाँ भारी आक्रमणको विचार गरिरहेको रिपोर्ट आएपछि लडाइँ फेरि बढ्न सक्ने डर बढेको थियो । साउदी अरबका युवराजसँग कुराकानी गरेपछि र तेहरानले पनि रियाद तथा मध्यस्थ कर्ता पाकिस्तान र टर्कीसँग कुरा गरेपछि अमेरिकी नेताको धारणा परिवर्तन भएको देखिन्छ ।

    राष्ट्रपति ट्रम्पले भने, “अमेरिका ‘इरानविरुद्ध लड्न तयार छ र हतियारले सुसज्जित छ । हामीलाई इरान र अन्य मध्य पूर्वी देशले कुनै पनि आक्रमण रोक्न अनुरोध गरेका र मध्यपूर्वको शान्तिका लागि आक्रमण रोक्ने सहमति भएको छ ।” “यस अनुरोधका आधारमा विश्वको भविष्यको हित र सफल तथा समृद्ध इरानको अस्तित्वका लागि मैले आक्रमण रद्द गर्न सहमत भएको छु, तर यसका लागि छिट्टै सम्झौता हुन सक्ने शर्त राखिएको छ,” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गर्दै भनेका छन् ।


    इरानको मेहर समाचार एजेन्सीले सैन्य अधिकारीहरूको हवाला दिँदै ट्रम्पको दाबीलाई ‘नयाँ झुट मात्र’ भनेको छ र इरानको सेना ‘उच्च सतर्कतामा छ र कुनै पनि परिस्थितिका लागि तयार छ’ भनेको छ । इरानी राष्ट्रिय सञ्चार माध्यमले साउदी र इरानी विदेश मन्त्रीबीच फोनवार्ता भएको र तेहरानले पाकिस्तान तथा टर्कीसँग पनि ‘क्षेत्रमा तनाव र असुरक्षा बढ्ने जोखिम’ बारे कुरा गरेको बताएको छ ।

    साउदी अरबको आधिकारिक प्रेस एजेन्सी (एसपीए)ले युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग फोनवार्ता गर्दा ‘तनाव घटाउन संवादलाई प्राथमिकता दिनुपर्ने आवश्यकता र कूटनीतिक समाधानका लागि बाटो खोल्ने युद्धविराम हासिल गर्न सबै सम्भव प्रयास गर्नुपर्ने महत्व’ मा जोड दिएको बताएको छ । अमेरिकी राष्ट्रपतिले सम्झौतामा ‘हर्मुज जलमार्गको आवागमन पूर्ण रूपमा तत्काल खोल्ने’ र ‘इरानको आणविक खतरा अन्त्य गर्ने’ कुरा समावेश हुनुपर्छ ।

    “इजरायल पनि यस प्रतिबद्धतामा मसँग सामेल छ,” उहाँले थप्नुभयो । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरानमा आक्रमण गरेपछि सुरु भएको पाँच महिनाभन्दा बढीको युद्धपछि द्वन्द्वको अन्त्य हुन सकेको छैन । हर्मुज जलमार्ग खोल्नेसहित समान शर्तसहितको अघिल्लो युद्धविराम सम्झौता असफल भएको थियो र पछिल्ला हप्तामा दुई देशबिच आक्रमण पुनः सुरु भएपछि इरानले महत्वपूर्ण जलमार्गमाथि आफ्नो नियन्त्रण कडा बनाएको छ ।

    इरानको फार्स समाचार एजेन्सीले इरानी वार्ताकार नजिकको स्रोतको हवाला दिँदै भनेको छ, “अमेरिकाले आफ्नो शत्रुतापूर्ण कार्य जारी राखेसम्म हर्मुज बन्द रहनेछ ।” शत्रुता पुनः सुरु भएपछि प्रारम्भिक युद्धविरामका बेला घटेका विश्वव्यापी तेलको मूल्य फेरि बढेको छ । यो सहमतिको आदानप्रदान अमेरिकामा मध्यावधि चुनाव हुनुभन्दा तीन महिनाअघि मात्र भइरहेको छ, जसले ट्रम्पको रिपब्लिकन पार्टीका लागि चुनौती हुन सक्छ ।

    सम्झौता गर्न उत्सुक

    मध्य पूर्वका राजधानीमा रहेका अमेरिकी दूतावासले शनिबार आफ्ना नागरिकलाई क्षेत्रीय द्वन्द्वमा ‘अप्रत्याशित वृद्धि’बाट सतर्क रहन र ती देश छोड्न तयार रहन चेतावनी दिएका थिए । इरान र अमेरिकाबिच गत महिना केही दिनको शान्तिपछि गोलीबारी पुनः सुरु भएको थियो, यद्यपि शुक्रबारदेखि आइतबारसम्म कुनै आक्रमणको रिपोर्ट आएको छैन ।

    बुधबार इजिप्टको बन्दरगाहमा रहेको अमेरिकी स्वामित्वको ग्यास जहाजमा ड्रोनद्वारा भएको आक्रमणले जहाजमा आगो लागेको थियो । इजिप्टले अनुसन्धान गरिरहेको छ तर अहिलेसम्म कुनै समूहलाई आरोप लगाएको छैन । यसैबिच, ओमानको तट नजिकै ट्याङ्करमा ‘अज्ञात प्रक्षेप्य’ ले प्रहार गरेको बेलायती समुद्रीमामिला हेर्ने निकायले शनिबार बताएको छ ।

    युद्ध सुरु भएदेखि नै इरानले हर्मुजमार्फत नौ वहनमा प्रभावकारी नियन्त्रण कायम गरेको छ र जहाजलाई अनुमति लिन तथा पारवहन शुल्क तिर्न बाध्य बनाएको छ । समुद्री व्यापार ट्र्याकिङ फर्म केप्लरले शुक्रबार भनेको छ, “हर्मुज जलमार्गमार्फत हुने ट्राफिक तीव्ररूपमा घटेको छ ।”

    साउदी अरबको तेलका लागि वैकल्पिक मार्गका रूपमा महत्वपूर्ण बाब एल(मन्देब जलमार्गमा यमनका इरान समर्थित हुथी विद्रोहीले शनिबार यसबाट जहाजसँग शुल्क उठाउने प्रयास नगरेको दावी गरेको छ । यो साँघुरो जलमार्गले रेड सीलाई हिन्द महासागरसँग र सुएज नहरमार्फत भूमध्यसागरसँग जोड्छ । राससरएएफपी

  • प्यालेस्टिनी झण्डा प्रदर्शनपछि ‘म्यासिभ अट्याक’लाई सिङ्गापुरमा प्रतिबन्ध

    प्यालेस्टिनी झण्डा प्रदर्शनपछि ‘म्यासिभ अट्याक’लाई सिङ्गापुरमा प्रतिबन्ध

    १७ साउन, सिङ्गापुर । कन्सर्टका क्रममा प्यालेस्टिनी झण्डा प्रदर्शन गरेको पुष्टि भएपछि बेलायती ट्रिप–हप ब्यान्ड ‘म्यासिभ अट्याक’ लाई सिङ्गापुरमा भविष्यमा प्रस्तुति दिन प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ । प्रहरीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार आयोजित कन्सर्टका क्रममा मञ्चमा प्यालेस्टिनी झण्डा प्रदर्शन गर्ने ब्यान्डका दुई सदस्यलाई कडा चेतावनी दिइएको छ । साथै उनीहरूलाई सिङ्गापुरमा पुनःप्रवेश गर्न पनि प्रतिबन्ध लगाइएको छ । यद्यपि, उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।

    सार्वजनिक सभा तथा अभिव्यक्तिसम्बन्धी कडा कानुनका लागि परिचित सिङ्गापुरमा सरकारी अनुमति बिना विदेशी झण्डा, राष्ट्रिय प्रतीक वा ब्यानर सार्वजनिक रूपमा प्रदर्शन गर्न निषेध छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ब्यान्डका दुई सदस्यले मञ्चमा प्यालेस्टिनी झण्डा फहराएको तथा तीमध्ये एकले ‘फ्रि प्यालेस्टाइन’ भन्ने नारा लगाएको देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

    अनुसन्धान पूरा गरी सरकारी वकिलसँग परामर्श गरेपछि प्रहरीले दुवै सदस्यलाई चेतावनी दिँदै सिङ्गापुर प्रवेशमा प्रतिबन्ध लगाइएको जनाएको छ । सिङ्गापुरको मिडिया नियामक निकायले पनि कन्सर्ट आयोजकले लाइसेन्सका सर्त उल्लङ्घन गरेको हुन सक्ने विषयमा छुट्टै अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार आयोजकले लाइसेन्सका सबै सर्त स्वीकार गरे पनि कार्यक्रमका क्रममा ब्यान्डका सदस्यहरूले विदेशी झण्डा प्रदर्शन गरेका थिए । यसैलाई आधार बनाएर भविष्यमा उक्त ब्यान्डलाई सिङ्गापुरमा प्रस्तुति दिन अनुमति नदिने निर्णय गरिएको छ ।

    कन्सर्ट आयोजकले एएफपीको प्रतिक्रिया माग्ने अनुरोधको तत्काल जवाफ दिएको छैन । गाजामा इजरायली सैन्य कारबाहीको आलोचना गर्दै आएको ‘म्यासिभ अट्याक’ प्यालेस्टिनी पक्षको समर्थनमा खुलेर आवाज उठाउने ब्यान्डका रूपमा परिचित छ ।

    गत अप्रिलमा बेलायतमा प्रतिबन्धित अभियानकारी समूह ‘प्यालेस्टाइन एक्सन’को समर्थनमा लन्डनको ट्राफलगर स्क्वायरमा आयोजित प्रदर्शनमा पक्राउ परेका २०० भन्दा बढी व्यक्तिमध्ये ब्यान्डका प्रमुख गायक रोबर्ट डेल नाजा पनि थिए । दक्षिण–पूर्वी एसियाको प्रमुख कन्सर्ट गन्तव्यका रूपमा परिचित सिङ्गापुरले हालै टेलर स्विफ्ट, कोल्डप्ले, एड शिरान र ब्रुनो मार्सजस्ता अन्तरराष्ट्रिय कलाकारका प्रस्तुति आयोजना गरेको छ । प्रहरीले विदेशी नागरिकसहित सबैलाई विदेशी राजनीतिक मुद्दालाई सिङ्गापुरमा नल्याउन आग्रह गर्दै त्यसले सामाजिक सद्भाव र कानुनको शासनमा असर पार्न सक्ने चेतावनी दिएको छ । रासस-एएफपी

  • अमेरिकी भिसा पाउन नेपालसहित ५० देशका नागरिकले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

    अमेरिकी भिसा पाउन नेपालसहित ५० देशका नागरिकले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

    १७ साउन, काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरेको पर्यटकीय तथा व्यापारिक भिसासम्बन्धी ‘भिसा धरौटी’ प्रणालीलाई स्थायी बनाउने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले एक वर्षसम्म सञ्चालन गरिएको परीक्षण कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै उक्त व्यवस्थालाई स्थायी नियमका रूपमा लागू गर्ने निर्णय गरेको हो ।

    नयाँ व्यवस्थाअनुसार अमेरिका भ्रमण वा व्यापारिक प्रयोजनका लागि बी–१ र बी–२ भिसाका लागि आवेदन दिने नेपाली नागरिकले भिसा प्राप्त गर्नुअघि अनिवार्य रूपमा कम्तीमा १० हजारदेखि अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्नेछ । नेपाली रुपैयाँमा यो रकम करिब ३० लाख रुपैयाँसम्म पुग्न सक्छ ।

    यसअघि परीक्षण कार्यक्रम सञ्चालनका क्रममा कन्सुलर अधिकारीको विवेकमा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्ने व्यवस्था थियो । तर नयाँ नियम लागू भएपछि ५ हजार डलरको विकल्प हटाइएको छ । अब १० हजार र २० हजार अमेरिकी डलर गरी दुईवटा विकल्प मात्र कायम गरिएको छ ।

    यो रकम भिसा अन्तर्वार्ताअघि नै जम्मा गर्नुपर्नेछ । भिसा अस्वीकृत भएमा वा अमेरिका प्रवेश गरेपछि भिसाको अवधि समाप्त हुनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

    यो व्यवस्था मुख्य रूपमा अमेरिका भ्रमण, पर्यटन तथा व्यापारिक प्रयोजनका लागि बी–१ र बी–२ भिसा आवेदन दिने नागरिकका लागि लागू हुनेछ । दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटान यस सूचीमा परेका छन् । त्यस्तै, अफ्रिकाका अधिकांश मुलुकसहित विश्वका ५० देशका नागरिकलाई यो व्यवस्थाको दायरामा राखिएको छ ।

    अमेरिकाले भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने अर्थात् ‘भिसा ओभरस्टे’ गर्ने प्रवृत्ति नियन्त्रण गर्न यो व्यवस्था लागू गरेको जनाएको छ । अमेरिकी सरकारी तथ्यांकअनुसार भिसाको अवधि नाघेर बसेका व्यक्तिलाई पक्राउ गरी स्वदेश फिर्ता गर्न प्रतिव्यक्ति करिब १८ हजार अमेरिकी डलर खर्च हुने भएकाले यस्तो व्यवस्था गरिएको हो ।

  • २४ घण्टामा ६० हजार आप्रवासी स्पेन छिरे

    २४ घण्टामा ६० हजार आप्रवासी स्पेन छिरे

    १५ साउन, काठमाडौं । विगत २४ घण्टामा झन्डै ६०,००० आप्रवासीहरू जल र स्थलमार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिकास्थित स्पेनी भूभाग स्यूटामा प्रवेश गरेको अधिकारीहरूले बताएका छन्। बिहीवार हजारौँ मानिसहरू समुद्रमा पौडी खेल्दै उक्त सहरतिर आइरहेका देखिने भिडिओ र तस्बिरहरू सार्वजनिक भएका थिए। राति पनि मानिसहरू स्यूटा छिरेको विवरण स्थानीय सञ्चारमाध्यमहरूले दिएका छन्।

    केही दिनयता उक्त क्षेत्रमा पुग्ने प्रयास गर्दा कम्तीमा ३४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। स्पेनको सर्वोच्च अदालतले यसै महिना स्यूटा वा अर्को स्पेनी भूभाग मेलीया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो। विगतमा स्पेनी भूभागमा प्रवेश गर्ने प्रयास गर्नेहरूको सङ्ख्या बढेपछि स्थानीय अधिकारीहरूले सहयोगका लागि मड्रिडलाई गुहारेका थिए।

    हजारौँ मानिस ओइरिन थालेपछि बिहीवार स्यूटाको सीमा नियन्त्रण गर्ने व्यवस्था अस्तव्यस्त बन्न पुगेको थियो। स्पेनले पछि स्यूटा र मेलीयामा सुरक्षाव्यवस्था कडा पार्न सशस्त्र बल परिचालन गर्‍यो। मेलीयामा बिहीवार राति ३०० देखि ४०० मानिस प्रवेश गरेको विवरण आएको छ। स्पेनी अधिकारीले गरेको आकलनअनुसार २४ घण्टाको अवधिमा स्यूटा प्रवेश गरेका आप्रवासीहरूको सङ्ख्या उक्त सहरको कुल जनसङ्ख्याको आधाभन्दा बढी हुन सक्छ। आधिकारिक तथ्याङ्कअनुसार स्यूटामा ८३,६०० मानिसको बसोबास रहेको थियो।

    आप्रवासीहरूको ओइरो लागेकाले स्यूटामा राष्ट्रिय मानवीय सङ्कट को अवस्था उत्पन्न भएको त्यहाँका स्थानीय प्रशासकले बताएका छन्। शुक्रबार राति पनि मानिसहरू सीमा पार गर्ने क्रम जारी रहेको र सीमा क्षेत्रमा आप्रवासीहरू तथा प्रहरीबीच झडपहरू भएको विवरण स्थानीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन्। अहिले आएका आप्रवासीमध्थे अधिकांश युवा र विशेष गरी पुरुष छन्। यद्यपि भिडमा केही महिला, बालबालिका र साना शिशुहरू पनि देखिन्छन्।

    अधिकारीहरूका अनुसार विगत २४ घण्टामा अवैध रूपमा स्यूटा प्रवेश गर्नेहरूमध्ये कम्तीमा ७,००० जना नाबालिग छन्। सामान्यतया स्यूटा प्रवेश गर्ने प्रयासमा आप्रवासीहरू तटीय क्षेत्रभन्दा निकै टाढाबाट पौडी खेल्दै आउँछन्। तर यस पटक भने उनीहरू सीमा क्षेत्रको तारबारनजिकै सजिलैसँग पुग्न सकेको देखिएको छ। सुरुमा केही मानिसहरू तटबन्धमा हिँड्दै स्यूटाको सीमाभित्र छिरेका थिए। तर अधिकांश मानिसहरू भने समुद्रमा पौडी खेल्दै अर्कोतर्फ रहेको तटमा पुगेका थिए।

    त्यतिबेला त्यहाँ मोरक्कोका सीमा सुरक्षाकर्मीहरू भए नभएको अनि ठूलो हुलमा आएका आप्रवासीहरूलाई किन तितरबितर पारिएन वा रोकिएन भन्ने कुरा स्पष्ट हुन सकेको छैन। बिहीवार आप्रवासीहरू अकस्मात् ठूलो सङ्ख्यामा आउनुभन्दा केही दिनअघिदेखि नै पौडिएर स्यूटा पुग्नेहरूको सङ्ख्या बढेको देखिएको थियो। उनीहरू स्यूटा प्रवेश गर्न सफल भएको खबर द्रुत गतिमा फैलिएको देखिन्छ।
    स्यूटा मोरक्कोको उत्तरी तटमा अवस्थित छ। स्यूटा र स्पेनलाई जिब्रल्टर जलमार्गले छुट्ट्याउँछ। स्यूटा र मेलीयामा युरोप पुग्न चाहने आप्रवासीहरूको ओइरो विगतमा पनि बेलाबेलामा लाग्ने गरेको थियो। अधिकारीहरूको आकलन सही ठहरिएमा अहिले स्यूटामा आप्रवासीहरूको प्रवेश सङ्ख्या सन् २०२१ को मे महिनापछि सबैभन्दा ठूलो हो।

    त्यतिबेला पश्चिमी सहाराको सार्वभौमसत्ताको विषयमा मड्रिडसँग विवाद उत्पन्न भएपछि मोरक्कोका अधिकारीहरूले झन्डै ८,००० मानिसलाई सीमा पार गर्ने अनुमति दिएका थिए। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पश्चिम सहारा क्षेत्रको स्वतन्त्रतालाई समर्थन गर्ने एल्जिरियाको भ्रमण गरेपछि मोरक्को र स्पेनबीच फेरि कूटनीतिक विवाद उत्कर्षमा पुगेको छ।

    यद्यपि स्पेनको गृह मन्त्रालयले आफ्नो भूभागमा गैरकानुनी रूपमा प्रवेश गरेका सबै मानिसहरूलाई यथाशीघ्र फिर्ता पठाउन मोरक्कोसँग सहकार्य गरिरहेको जनाएको छ। स्पेनका प्रधानमन्त्री शुक्रवार स्यूटाको भ्रमण गर्ने योजनामा छन्। मोरक्कोले पनि स्यूटा र मेलीयामाथि आफ्नो स्वामित्व रहेको दाबी गर्दै आएकाले यी दुई सहर मोरक्को र स्पेनबीचको कूटनीतिक सम्बन्धमा लामो समयदेखि विवादको विषय रहँदै आएका छन्।

    मड्रिडले ती दुवै क्षेत्रहरू स्पेनका अभिन्न अङ्ग भएको बताउने गरेको छ। ती दुई सहरले स्पेनको मुख्य भूभागमा रहेका अर्धस्वायत्त क्षेत्रहरूसरह मान्यता पाएका छन्। ईयू र अफ्रिकाको स्थलसीमा स्यूटा र मेलीयाबाहेक अरू भूभाग पर्दैन।
    बीबीसीबाट

  • जापानमा शक्तिशाली भूकम्पपछि यस्तो छ अहिलेसम्मको क्षतिको विवरण

    जापानमा शक्तिशाली भूकम्पपछि यस्तो छ अहिलेसम्मको क्षतिको विवरण

    १३ साउन, काठमाडौं । जापानको दक्षिणी कुमामोटो प्रदेशमा मंगलबार ७।१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् । कुमामोटो प्रान्तीय सरकारले बुधबार बिहान दिएको जानकारीअनुसार भूकम्पपछि एइअन मलमा भएको विस्फोटपछि रातभर सञ्चालन गरिएको उद्धार अभियानमा आठ जनालाई जीवित उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये २० वर्ष उमेर समूहका दुई महिलाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना कार्डियोपल्मोनरी अरेस्ट (हृदय र श्वासप्रश्वास बन्द भएको अवस्था) मा भेटिएका छन् ।

    अन्य पाँच जना घाइते भए पनि उनीहरूको अवस्था गम्भीर नरहेको जनाइएको छ । जापानको अग्नि नियन्त्रण निकाय, प्रहरी र सेल्फ डिफेन्स फोर्सले रातभर उद्धार अभियान सञ्चालन गरेका थिए । भवनभित्रबाट सहयोगको आग्रह आएको स्थानलाई केन्द्रित गरेर खोज तथा उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन् ।

    जापानी प्रधानमन्त्री सानाए ताकाइचीले क्षतिको पूर्ण विवरण संकलन भइरहेको बताउँदै केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको, आगलागी भएको तथा सडक, पुल र भवनमा व्यापक क्षति पुगेको जानकारी दिइन् । भूकम्पपछि करिब तीन लाख मानिसलाई सुरक्षित स्थान तथा अस्थायी आश्रय केन्द्रमा जान निर्देशन दिइएको छ । क्युसु क्षेत्रमा लगातार परकम्प (आफ्टरसक) आइरहेकाले उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

    करीब २०० पसल रहेको एइअन सपिङ मलको एक भाग विस्फोटपछि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । भवनको बाहिरी भाग भत्किँदा फलामका संरचना बाहिर निस्किएका र पार्किङ क्षेत्रमा भग्नावशेष छरिएको दृश्य सार्वजनिक भएका छन् । मल सञ्चालक कम्पनीले भूकम्पलगत्तै ग्राहक र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाएको छ । विस्फोटको कारण अझै खुल्न नसके पनि ग्यास चुहावटका कारण विस्फोट भएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको छ ।

    घटनास्थल नजिकै रहेका एक प्रत्यक्षदर्शीले भूकम्पपछि भाँडा सफा गरिरहेको बेला ठूलो विस्फोट भएको र धुवाँको मुस्लो उड्दा ज्वालामुखीको खरानी झरेजस्तै वातावरण बनेको बताएका छन् । यसैबीच, निप्पोन पेपर इन्डस्ट्रिजको एक कारखानामा चिम्नी भत्किँदा केही कर्मचारी सम्पर्कविहीन भएका छन् । दुई अस्पतालमा ५० भन्दा बढी घाइतेको उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । भूकम्पका बेला सञ्चालनमा रहेका तीव्र गतिको रेलका केही यात्रु पनि घाइते भएका छन् ।

    भूकम्पपछि विभिन्न स्थानमा भवनहरू आंशिक रूपमा भत्किएका तथा आगलागीका घटना भएका छन् । केन्द्रबिन्दु नजिकैको एक सहरमा भवन भत्किँदा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मुख्य राजमार्गमा ठूला चिरा परेपछि सडक यातायात प्रभावित भएको छ । रेल सेवा स्थगित गरिएको छ भने कुमामोटो विमानस्थलको धावनमार्ग बन्द भएपछि धेरै उडान रद्द तथा अन्यत्र मोडिएका छन् ।

    भूकम्पपछि विश्वकै ठूलो चिप उत्पादन गर्ने कम्पनी टीएसएमसी, सोनी र फुजिफिल्मले आफ्ना कारखानाबाट कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालेका छन् । टीएसएमसीले आफ्नो उत्पादन केन्द्रमा ठूलो क्षति नभएको र क्रमशः उत्पादन पुनः सञ्चालन भइरहेको जनाएको छ । टोकियो इलेक्ट्रोनले भने कुमामोटोस्थित आफ्ना दुई कारखानाको सञ्चालन बुधबारसम्मका लागि स्थगित गरेको छ ।

    होन्डाले पनि मोटरसाइकल कारखानाको उत्पादन अस्थायी रूपमा रोकेको जनाएको छ । भूकम्पको केन्द्रबिन्दु कुमामोटो सहरबाट करिब २० किलोमिटर दक्षिणमा रहेको जापानको मौसम विज्ञान निकायले जनाएको छ । प्रभावित क्षेत्रमा आगामी एक सातासम्म शक्तिशाली परकम्प आउन सक्ने तथा पहिरोको जोखिम उच्च रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

    क्युसु इलेक्ट्रिक पावरका अनुसार भूकम्पपछि करिब ४८ हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । यद्यपि, प्रभावित क्षेत्रमा रहेका कुनै पनि आणविक विद्युत् केन्द्रमा असामान्य अवस्था नदेखिएको जापानको आणविक नियमन प्राधिकरणले जनाएको छ । कुमामोटोमा एक दशकअघि आएको विनाशकारी भूकम्पमा २७५ जनाको मृत्यु भएको थियो भने हजारौं भवन क्षतिग्रस्त भएका थिए । यसपटक पनि ठूलो क्षति हुन सक्ने अनुमान अधिकारीहरूले गरेका छन् ।

  • ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

    ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

    १३ साउन, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग मङ्गलबार ह्वाइट हाउसमा छुट्टाछुट्टै उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । युक्रेन युद्ध, इरानसँगको तनाव तथा पश्चिम एसियाको सुरक्षा अवस्था यी भेटवार्ताका मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ । ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्प–जेलेन्स्की भेटवार्ता मुख्य रूपमा रुस–युक्रेनबिच जारी शान्ति प्रक्रियामा केन्द्रित हुनेछ । अधिकारीले अब युद्ध अन्त्य गर्ने समय आएको धारणा व्यक्त गरेका छन् ।


    उता, ट्रम्प र नेतान्याहुबिचको वार्तामा इरानसँगको द्वन्द्व, इजरायल–लेबनान वार्ताको प्रगति तथा अब्राहम सम्झौता विस्तारका विषय प्राथमिकतामा रहनेछन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानका केही विषयमा नेतान्याहुसँग सामान्य मतभेद भए पनि दुवै देशबीचको गठबन्धन अत्यन्त निकट रहेको बताएका छन् । यसअघि सोमबार नेतान्याहु उच्चस्तरीय वार्ताका लागि वासिङ्टन पुग्नुभएको थियो । प्रस्थानअघि उहाँले इरानबाट उत्पन्न सुरक्षा चुनौती नै आफ्नो भ्रमणको प्रमुख विषय हुने स्पष्ट पार्दै इजरायलको सुरक्षा सुदृढ गर्नु र क्षेत्रीय शान्तिको दायरा विस्तार गर्नु भ्रमणको उद्देश्य रहेको बताएका थिए ।

    यो भेट ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि उनी र नेतान्याहुबिच हुने आठौँ आमनेसामने द्विपक्षीय बैठक हो र यो भेटले वासिङ्टन र जेरुसेलमबीचको घनिष्ठ समन्वयलाई थप पुष्टि गर्ने अपेक्षा गरिएको छ । यसैबिच, ट्रम्पले जेलेन्स्कीले लगाएको रुसले इरानलाई अमेरिकी सैन्य अड्डामाथि आक्रमण गर्न खुफिया सूचना उपलब्ध गराएको आरोपलाई तत्काल स्वीकार गर्न अस्वीकार गरेका छन् । उनले त्यस्तो गतिविधि उच्च तहबाट भएको आफूलाई नलागेको बताउँदै आवश्यक परे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यसबारे प्रत्यक्ष सोध्ने जानकारी दिए ।


    जेलेन्स्कीले मस्कोले इरानलाई अमेरिकी सैन्य चौकी तथा खाडी क्षेत्रका पूर्वाधारमाथि आक्रमण गर्न स्याटेलाइटमार्फत खुफिया सूचना उपलब्ध गराएको आरोप लगाएका थिए । उनले रुसले आफ्नो सैन्य क्षमता सुदृढ बनाउन उत्तर कोरियाबाट ३० हजार सैनिक परिचालन गर्ने तयारी गरिरहेको दाबी पनि गरे ।

    एयर फोर्स वनमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमता कमजोर बनाएको दाबी दोहोर्‍याउँदै रुसबाट सहयोग प्राप्त भए पनि त्यसले तेहरानलाई निर्णायक लाभ नदिएको टिप्पणी गरे । उनले जेलेन्स्कीको आरोप सत्य भए–नभएको विषयमा आवश्यक जानकारी सङ्कलन गरिने पनि बताए । ह्वाइट हाउसको भेटवार्तापछि ट्रम्प, जेलेन्स्की र नेतान्याहु वासिङ्टनमा आयोजित अमेरिकी सिनेटर स्वर्गीय लिन्डसे ग्राहमको अन्त्येष्टि कार्यक्रममा पनि सहभागी हुने अपेक्षा गरिएको छ । राससएएनआई

  • बर्लिन प्राइड कार्यक्रममा कार जोतिँदा एक जनाको मृत्यु र कैयौँ घाइते

    बर्लिन प्राइड कार्यक्रममा कार जोतिँदा एक जनाको मृत्यु र कैयौँ घाइते

    १० साउन, काठमाडौं । बर्लिन प्राइड कार्यक्रमको भीडमा एउटा कार जोतिँदा एक जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको प्रहरीले जनाएको छ।
    प्रहरीले एक सन्दिग्ध व्यक्तिको पहिचान गरेको जनाए तापनि हालसम्म कसैलाई पनि पक्राउ नगरिएको बताएको छ। त्यससँगै जर्मनीको राजधानीमा ती व्यक्तिको व्यापक खोजी भइरहेको छ। घटना शनिवार स्थानीय समय अनुसार राति १० बजेतिर प्रतिष्ठित ब्रान्डनबर्ग गेट नजिकै रहेको टियरगार्टन पार्कमा भएको थियो।

    ूसेतो गाडीका चालकले धेरै मानिसहरूलाई ठक्कर दिएको भनिएको छ । धेरै जना घाइते हुनुका साथै कैयौँलाई प्राणघातक हुनसक्ने चोट लागेको छ, प्रहरीले सामाजिक सञ्जालमा भनेको छ। जर्मन चान्सलर फ्रिडरिख मेर्ट्सले घटनालाई भयानक कार्य भन्दै त्यसको पूर्ण रूपबाट अनुसन्धान गर्ने वाचा गरेका छन्। बर्लिनका मेयर खाई भेग्नरले उक्त घटनालाई स्वतन्त्र र खुला विचारधारा भएको समाजमाथिको आक्रमण भनेका छन्। घटना भएपछि उक्त कार्यक्रम रद्द गरिएको छ। बर्लिन प्रहरीले सामाजिक सञ्जालमा जारी गरेको एक विज्ञप्तिमा उनीहरूले एक सन्दिग्ध व्यक्ति पहिचान गरेको र तिनको खोजीकार्य जारी रहेको जनाएको छ।

    ती व्यक्ति २१ वर्षीय पुरुष अब्दुल बी हुन् र प्रहरीले ती व्यक्ति परिचित रहेको जनाएको छ। प्रहरीले ती व्यक्तिलाई इस्लामवादी विचारधारासँग सम्बद्ध भनेर व्याख्या गरेको छ। हालसम्म ती व्यक्ति पक्राउ परेका छैनन् वा त्यस घटनापछाडिको उद्देश्यबारे केही बताइएको छैन। प्रहरीका अनुसार कम्तीमा एक जना हमलाकारी गाडीबाट निस्कँदै घटनास्थलबाट भाग्ने क्रममा केही व्यक्तिहरूलाई छुरा प्रहार गर्दै घाइते बनाएका थिए।

    बर्लिनमा रहेको डीडब्ल्यूका एक जना रिपोर्टर जारेड रीडले बीबीसी न्यूजलाई बताएअनुसार हजारौँको सङ्ख्यामा प्रहरीले मध्य बर्लिनको धेरै ठूलो भागमा सन्दिग्ध वा सन्दिग्ध व्यक्तिहरूको खोजी गरिरहेका छन्। एक जना प्रहरी प्रवक्ताले समाचार संस्था एएफपीलाई बताए अनुसार घटनाका खोजीका क्रममा हेलिकप्टर र थर्मल(इमेजिङ क्यामेराहरू प्रयोग गरिराखिएको छ। प्रहरीले प्रत्यक्षदर्शीहरूलाई तस्बिर वा भिडिओहरू पठाउन भनेको छ।

    बर्लिनमा वार्षिक रूपमा आयोजना गरिने उक्त एलजीबीटी कार्यक्रममा सामान्यतया करिब १० लाख मानिसहरू आउने अपेक्षा गरिने बताइन्छ। यस कार्यक्रम सन् १९६९ मा न्यूयोर्क सहरको क्रिस्टोफर स्ट्रीटमा रहेको स्टोनवाल इनमा समुदायमा भएको पहिलो ज्ञात विद्रोहको सम्झनामा मनाइन्छ।

    प्रहरीले त्यस छापा मारेपछि मानिसहरूले दङ्गा र विरोध प्रदर्शन गरे जुन पछि एक ऐतिहासिक स्थल बन्यो। जसकै सम्झनामा मनाइने बर्लिनको कार्यक्रममा साङ्गीतिक प्रदर्शन, राजनीतिक भाषण र सहरमा एक विशाल परेड समावेश थिए जुन जुन पार्क नजिकै समाप्त भए। र त्यसपछि साँझ अन्य कार्यक्रमहरू र उत्सवहरूको शृङ्खला समावेश थिए। क्रिस्टोफर स्ट्रिट डे परेडको समापन ब्रान्डनबर्ग गेट अगाडि हुन्छ जुन पुनः टिअरगार्टन पार्कमा फर्कन्छ। बीबीसीको सहयोगमा