Category: विश्व

  • फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाख ५० हजारभन्दा बढी विस्थापित

    फ्रान्स र स्पेनमा भीषण डढेलो, २ लाख ५० हजारभन्दा बढी विस्थापित

    १० साउन, काठमाडौं । दक्षिण पश्चिम फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू संघर्षरत छन् । तीव्र हावा र उच्च तापक्रमका कारण आगो थप फैलिँदै जाँदा फ्रान्सको बोर्डो सहरसमेत जोखिममा परेको छ । स्पेनमा आपतकाल घोषणा गरिएको छ । फ्रान्सका एक अधिकारीले आगलागी अझै नियन्त्रणमा आउन धेरै समय लाग्ने संकेत गर्दै ‘हामी आगो नियन्त्रणको अवस्थाबाट अझै धेरै टाढा छौं’ भनेका छन् ।

    डढेलोका कारण फ्रान्स र स्पेनमा हालसम्म २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएको बीबीसीले जनाएको छ । फ्रान्समा बोर्डोको पश्चिमका सात वटा नगरका बासिन्दालाई शनिबार राति घर छाड्न निर्देशन दिइएको थियो । शनिबार बिहानसम्म डढेलो बोर्डोबाट करिब ४० देखि ५० किलोमिटर टाढा पुगेको थियो । यद्यपि तीव्र हावाका कारण धुवाँ सहरसम्म पुगेपछि स्थानीयले हावामा पोलिएको गन्ध महसुस गरेको बताएका छन् ।

    डढेलोबाट परिवारसहित सुरक्षित स्थानमा पुगेका एक पर्यटकले बीबीसीसँग कुरा गर्दै आगोको अवस्था ‘डरलाग्दो’ रहेको बताएका छन् । उनले करिब १०० माइल टाढा पुगे पनि डढेलोको गन्ध अझै आइरहेको बताएका छन् । बोर्डोमा बिदा मनाइरहेका बेलायती दम्पतीले पनि शुक्रबार साँझदेखि आगोको प्रभाव तीव्र भएको बताएका छन् । उनीहरूका अनुसार खरानीले घरको स्विमिङ पुल ढाकेको छ भने बाहिर निस्कँदा खुट्टा कालो हुने अवस्था रहेको छ । धुवाँले सास फेर्नसमेत कठिन बनाएको उनीहरूको भनाइ छ ।

    बोर्डो नजिकैको सेन्ट–ओबाँ–दे–मेडोक क्षेत्रका स्थानीयले परिस्थितिलाई तनावपूर्ण र ‘विपत्ति’को संज्ञा दिएका छन् । फ्रान्सको गिरोन्दे र लान्देस क्षेत्रमा मात्रै करिब २ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सरकारले डढेलो नियन्त्रणका लागि सेना परिचालन गरेको छ । सैनिकहरूले झाडी फाँड्ने, आगो फैलिन नदिन फायर ब्रेक बनाउनेलगायतका काम गरिरहेका छन् ।

    देशभर करिब ३० वटा डढेलो सक्रिय रहेकाले राष्ट्रपति इमानुएल म्याक्रोनले मन्त्रीहरूसँग आपत्कालीन बैठक बोलाउने तयारी गरेका छन् । सरकारले अहिलेको अवस्था अभूतपूर्व भएको जनाएको छ ।

    यसैबीच, आइतबार हुने टुर डी फ्रान्स साइकल प्रतियोगिताको अन्तिम चरण १३३ किलोमिटरबाट घटाएर ८९ किलोमिटर मा सीमित गरिएको छ, ताकि सुरक्षाकर्मीलाई डढेलो प्रभावित क्षेत्रमा परिचालन गर्न सकियोस् ।

    डढेलोका कारण स्पेनमा आपतकाल घोषणा गरिएको छ । राजधानी म्याड्रिड आसपासको क्षेत्रमा मौसममा आएको सुधारले डढेलो नियन्त्रणमा केही सहज भएको अधिकारीहरूले बताएका छन् । क्षेत्रीय सरकारले हावा कम चलेको, आद्रता बढेको र तापक्रम घटेकाले आगोको तीव्रता कम भएको जनाएको छ ।

    प्रधानमन्त्री पेद्रो सान्चेजले अहिले डढेलो नियन्त्रणका लागि ‘महत्वपूर्ण अवसर’ प्राप्त भएको बताए पनि आगामी दिन अझै चुनौतीपूर्ण रहने स्वीकार गरेका छन् ।

    तर स्पेनको भ्यालेन्सिया क्षेत्रमा डढेलोमा परी ७० वर्ष आसपासका एक पुरुषको मृत्यु भएको पुष्टि भएको छ । उनी आगो निभाउने क्रममा आफ्नै कारभित्र मृत अवस्थामा फेला परेका थिए । स्पेनको गृह मन्त्रालयका अनुसार हालसम्म म्याड्रिड र आविला क्षेत्रबाट करिब ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने २८ हजारभन्दा बढी अझै घरभित्रै बस्न बाध्य छन् ।

    म्याड्रिडकी क्षेत्रीय प्रमुख इसाबेल डियाज आयुसोले यसलाई ‘क्षेत्रकै इतिहासको सबैभन्दा ठूलो डढेलो’ भनेकी छन् । सान्चेजका अनुसार स्पेनमा सन् २०२६ को सुरुदेखि हालसम्म १ लाख ३० हजार हेक्टर वन क्षेत्र जलेको छ, जुन पछिल्लो दशकको वार्षिक औसत १ लाख हेक्टर भन्दा धेरै हो ।

    फ्रान्सका गृहमन्त्री लरेन नुनेजका अनुसार फ्रान्समा पनि यस वर्षको सुरुदेखि ९८ हजार हेक्टर क्षेत्र डढेलोले नष्ट गरिसकेको छ । उता इटालीको सिसिली द्वीपमा पनि ३५० भन्दा बढी स्थानमा आगलागी भएको छ, जसमा १० वटा ठूलो डढेलो रहेका छन् । स्कटल्यान्डको केर्नगोर्म्स राष्ट्रिय निकुञ्जमा १० दिनदेखि लागेको डढेलो नियन्त्रणका लागि पनि ठूलो स्तरमा उद्धार तथा नियन्त्रण अभियान जारी छ ।

    युरोपेली संघ (ईयू) की संकट व्यवस्थापन आयुक्त हद्जा लाहबिबले यस वर्ष युरोपमा डढेलोबाट हुने क्षति विगतका सबै रेकर्ड पार गर्न सक्ने चेतावनी दिएकी छन् । उनका अनुसार गत वर्ष गर्मीयाममा करिब १० लाख हेक्टर क्षेत्र जलेको थियो भने यस वर्ष गर्मी सुरु हुनुअघि नै डढेलो फैलिन थालेकाले अवस्था अझ गम्भीर हुन सक्ने देखिएको छ । डढेलो नियन्त्रणका लागि ईयूले फ्रान्समा क्रोएसियाबाट तीन वटा क्यानाडेयर पानी बर्साउने विमान, पोर्चुगलबाट दुई वटा एयर ट्याक्टर, चेक गणतन्त्र र स्लोभाकियाबाट ब्ल्याक हक हेलिकोप्टर तथा रोमानियाबाट वन डढेलो नियन्त्रण टोली पठाएको छ ।

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले ईयूको संयुक्त अग्निनियन्त्रण बेडाबाट फ्रान्स र स्पेनमा ११ वटा विमान तथा हेलिकोप्टर परिचालन गरिएको जानकारी दिएकी छन् ।

  • भारतमा जेनजी विद्रोहको तहल्का, शिक्षा मन्त्रीले दिए राजिनामा

    भारतमा जेनजी विद्रोहको तहल्का, शिक्षा मन्त्रीले दिए राजिनामा

    ९ साउन, काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। उनीविरुद्ध करिब एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शन चलिरहेको थियो। नीट प्रश्नपत्र चुहावटको विषयलाई लिएर देशभर धर्मेन्द्र प्रधानको राजीनामा माग्दै प्रदर्शन भइरहेका थिए। धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफूले प्रधानमन्त्रीलाई राजीनामा पठाएको जानकारी दिएका छन् ।

    उनले एक्समा लेखेका छन्, ‘जन्तर–मन्तर र देशमा जुन परिस्थिति बनेको छ, त्यसको फाइदा राष्ट्रविरोधी शक्तिहरूले नउठाऊन्, देशको एकता कायम रहोस्, भारतका कुनै पनि विद्यार्थीको भविष्य कानुनी उल्झनमा नपरोस्, हाम्रा बालबालिकाले आफ्नो समय पढाइमा लगाऊन् र करियर बनाउनमा केन्द्रित होऊन् भन्ने कुरालाई विचार गर्दै मैले आफ्नो राजीनामा माननीय प्रधानमन्त्रीज्यूलाई पठाएको छु।’

    उनले लेखेका छन्, ‘म विगत ४ दशकभन्दा बढी समयदेखि विद्यार्थी, शिक्षक र शिक्षा सुधारका लागि समर्पित छु। एक सशक्त, समावेशी र दूरदर्शी शिक्षा व्यवस्था नै सशक्त राष्ट्रको आधारशीला हो भन्ने मेरो सधैँ विश्वास रहिआएको छ।’ उनले भनेका छन्, ‘म देशका युवाहरूको आकाङ्क्षा, भावना र उनीहरूको न्यायोचित अपेक्षाको गहिरो सम्मान गर्छु। भारतको युवा पुस्ताको सपना साकार पार्नु हामी सबैको राजनीतिक एवं सामाजिक जीवनको नैतिक सङ्कल्प रहिआएको छ। आदरणीय प्रधानमन्त्रीज्यूको दूरदर्शी नेतृत्वमा राष्ट्रको सेवा गर्ने जुन अवसर मैले प्राप्त गरेँ, त्यसका लागि म प्रधानमन्त्रीज्यूलाई आभार प्रकट गर्दछु।’

    नीट प्रश्नपत्र चुहावटको विषयमा धर्मेन्द्र प्रधानले भने, ‘पहिलो दिनदेखि नै मैले यसको जिम्मेवारी लिएँ र यो परिस्थितिबाट कहिल्यै मुख मोडिँन। कुनै पनि मेधावी विद्यार्थीको सम्भावना परीक्षा माफियाका कारण बिग्रिन नदिने र कुनै पनि विद्यार्थीमाथि अन्याय हुन नदिने मेरो सङ्कल्प थियो। तर यसबीचमा पनि धेरै विद्यार्थीहरूलाई गुमराह गर्न जिम्मेवार पदमा बसेका व्यक्तिहरूले बाधा पुर्‍याउने कोसिस गरे, जसले गर्दा मन अत्यन्त व्यथित भयो।’

    कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीपकेले भनेका छन्, ‘हामीले गरेर देखायौँ। धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्।’ अभिजित दीपकेले भने, “धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन्। यो यस कुराको प्रमाण हो कि यदि तपाईं डराउनुहुन्न, यदि तपाईं यो सरकारसामु झुक्नुहुन्न भने, तपाईंले जोसुकैलाई पनि राजीनामा दिन बाध्य पार्न सक्नुहुन्छ। लोकतन्त्रमा डराउनु पर्दैन।’

    यसअघि कांग्रेसलगायत सम्पूर्ण विपक्षी दलहरू पनि उनको राजीनामाको मागमा अडिग थिए। यसअघि देशका १०० प्रमुख लेखक, कलाकार र बुद्धिजीवीहरूले सार्वजनिक परीक्षाहरूमा पारदर्शिता, जवाफदेहिता र व्यापक सुधारको माग गरिरहेका विद्यार्थीहरूको समर्थनमा संयुक्त वक्तव्य जारी गरेका थिए।

    वक्तव्यमा भनिएको थियो कि प्रश्नपत्र चुहावट र परीक्षा प्रक्रियामा लगातार बाहिर आइरहेका अनियमितताहरूले सार्वजनिक संस्थाहरूको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेका छन्। शुक्रबार दिल्लीमा कक्रोच जनता पार्टी र केन्द्र सरकारका प्रतिनिधिहरूबीच करिब २ घण्टासम्म कुराकानी भएको थियो। यसमा सीजेपीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागबाट पछि नहट्ने स्पष्ट पारेको थियो।

    केन्द्र सरकारको तर्फबाट वार्तामा सहभागी जेपी नड्डाले पत्रकारहरूलाई सीजेपीको मागमा छलफल गरेपछि शनिबार दिउँसो फेरि कुराकानी गर्ने बताएका थिए। शनिबार पनि सरकारसँगको तेस्रो चरणको वार्ताअघि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागलाई ‘नन–नेगोसिएबल’ बताइएको थियो।

    नीट–युजी परीक्षाको प्रश्नपत्र चुहावट भएको विषयमा कक्रोच जनता पार्टीले जुन २० देखि दिल्लीको जंतर–मन्तरमा प्रदर्शन गरिरहेको थियो। यी प्रदर्शनहरूमा लद्दाखका शिक्षाविद् तथा सामाजिक कार्यकर्ता सोनम वाङचुक पनि सहभागी भई अनशन बसेका थिए। यसबीच चलचित्र, शिक्षा, कला, खेलकुद र अन्य क्षेत्रका धेरै व्यक्तिहरूले सीजेपीको आन्दोलनप्रति आफ्नो समर्थन जनाएका थिए।

    केन्द्र सरकारमाथि जन्तर(मन्तरको आन्दोलनका कारण मात्र दबाब देखिएको थिएन, देशका विभिन्न भागमा शिक्षामन्त्रीको राजीनामा माग्दै युवाहरू सडकमा उत्रिएका थिए। यसबाहेक संसद्‌भित्र र बाहिर पनि विपक्षी दलहरूले शिक्षामन्त्रीको राजीनामालाई लिएर सरकारमाथि दबाब बनाएका थिए।

    शनिबार कांग्रेस सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कटाक्ष गर्दै भनेका थिए कि उनले मेट्रो, पसल, इन्टरनेट, बाटो र खाना बन्द गरे, तर प्रश्नपत्र चुहावट बन्द गर्न सकेनन्। जन्तर–मन्तरमा चलिरहेको प्रदर्शनको बीच राहुल गान्धीले शनिबार बिहान सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका थिए कि सरकारले विद्यार्थीहरूविरुद्ध क्रुर कदम चालेको छ। उनले लेखे, ‘मेट्रो बन्द गर। बाटो बन्द गर। पसलहरू बन्द गर। इन्टरनेट बन्द गर। खाना बन्द गर। आफ्नो हक मागिरहेका विद्यार्थीहरूविरुद्ध सरकारले यी क्रुर कदमहरू चाल्यो। एउटा कुरा मात्र बन्द गर्न सक्नुभएन मोदीजी ः प्रश्नपत्र चुहावट।’

    शनिबार पनि दिल्लीमा बिहान साढे सात बजेदेखि अर्को आदेश नभएसम्मका लागि १८ वटा मेट्रो स्टेसन बन्द गरिएका थिए। यस्तै, सीजेपी र यसका समर्थकहरूले प्रदर्शनस्थल वरपर इन्टरनेट अवरुद्ध भएको दाबी गर्दै आएका थिए।

    ‘कक्रोच एकपटक छिरेपछि निस्किँदैन’

    जन्तर–मन्तरमा अभिजित दीपकेले भने, ‘मन्त्रीको राजीनामा त भयो, तर हाम्रा थप दुईवटा माग छन्। हामी यत्तिकै जाँदैनौँ, कक्रोच (साङ्लो) एकपटक छिरेपछि निस्किँदैन। आत्महत्या गरेका बालबालिकाका परिवारले एक करोड क्षतिपूर्ति पाउनुपर्छ। प्रहरीहरूमाथि कारबाही हुनुपर्छ।’ उनले थपेका छन्, ‘दिल्ली प्रहरीका अधिकारीहरूले याद राखून्, उनीहरूले कक्रोचसँग निहुँ खोजेका छन्। हामीले त एक मन्त्रीको राजीनामा लियौँ भने तिमीहरू के कुरा हौ र। विद्यार्थीहरूमाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्छ। दाइ, यो लोकतन्त्र हो। मलाई एक महिनादेखि मानिसहरू सोध्थे ? के गरिरहेका छौ, कहिलेसम्म बस्छौ, यिनले राजीनामा दिँदैनन्, यो स्वेच्छाचारी सरकार हो। तर हामीले गरेर देखायौँ।’

  • नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : न्युयोर्क मेयर

    नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : न्युयोर्क मेयर

    न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले जारी गरेको पक्राउ पुर्जी कार्यान्वयन गर्ने स्वतन्त्र कानूनी अधिकार न्युयोर्क सहरसँग नरहेको स्पष्ट पार्दै त्यसका लागि अमेरिकी सङ्घीय सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउनुभएको छ ।

    सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको भिडियो सन्देशमा मेयर ममदानीले नेतान्याहु न्युयोर्क आएमा आइसिसीको पक्राउ पुर्जी कार्यान्वयन गर्न सकिने वा नसकिने विषयमा आफ्नो प्रशासनले लागू कानूनका सबै पक्षको समीक्षा गरेको जानकारी दिनुभयो । त्यसक्रममा न्युयोर्क सहरसँग उक्त पक्राउ पुर्जी कार्यान्वयन गर्ने स्वतन्त्र कानूनी अधिकार नभएको निष्कर्षमा पुगेको उहाँले बताउनुभयो । उहाँले सङ्घीय सरकारसँग भने यस्तो अधिकार रहेको उल्लेख गर्दै संयुक्त राज्य अमेरिकालाई आइसिसीसँग सहकार्य गरी पक्राउ पुर्जी कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

    हेगस्थित आइसिसीले सन् २०२४ मा गाजा युद्धसँग सम्बन्धित कथित युद्ध अपराध तथा मानवताविरुद्धका अपराधमा नेतान्याहु जिम्मेवार रहेको विश्वास गर्ने पर्याप्त आधार रहेको भन्दै उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यो मुद्दा सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीसँग सम्बन्धित छ ।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नेतान्याहु आगामी सेप्टेम्बरमा न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भए पक्राउको सामना गर्नुपर्ने अवस्था नआउने आश्वासन दिनुभएको थियो । मेयर ममदानीले भिडियो सन्देशमा गाजामा भएको विनाशलाई विश्वले गम्भीर रूपमा हेर्नुपर्ने बताउँदै आफू आइसिसीको धारणा अनुसार नेतान्याहुलाई पक्राउ गरी आरोपबमोजिम कानूनी प्रक्रिया अघि बढाइनुपर्ने पक्षमा रहेको उल्लेख गर्नुभयो ।

    उहाँले आइसिसीले आरोप लगाएका अन्य सबै व्यक्तिको हकमा पनि समान कानूनी मापदण्ड लागू हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । यता, नेतान्याहुको कार्यालयले भने मेयर ममदानीको अभिव्यक्तिलाई अस्वीकार गर्दै आइसिसीलाई ‘कङ्गारु अदालत’ को संज्ञा दिएको छ ।

  • अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

    अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

    अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट एउटै निषेचित अण्डा चार भागमा विभाजित भई समान चम्ल्याहा (चार) छोरी जन्मिएका छन् । चिकित्सकहरूका अनुसार यस्तो गर्भधारण करिब एक करोड ५० लाखमध्ये एकमा मात्र हुने सम्भावना रहने भएकाले यसलाई अत्यन्त असाधारण घटना मानिएको छ ।

    क्विन्सल्यान्डस्थित रोयल ब्रिस्बेन एन्ड वुमेन्स अस्पतालमा ३४ वर्षीया जेनिटर साउ नामोनाले गत १४ जुलाईमा सिजेरियन शल्यक्रियामार्फत चार छोरीलाई जन्म दिनुभएको हो । यसअघि नै चार सन्तानकी आमा रहनुभएकी नामोना र उहाँका पति जोर्थमले थप सन्तान जन्माउने योजना नबनाएका बेला चौगुना गर्भ रहेको जानकारी पाएपछि परिवार नै आश्चर्यमा परेको अस्पतालले जनाएको छ ।

    नामोनाको उपचारमा संलग्न मातृ–भ्रूण विशेषज्ञ डा. एलेक्सा बेन्डलका अनुसार चारै शिशु एउटै निषेचित अण्डाबाट विकसित भएका हुन् । गर्भाधानपछि अण्डा चार भागमा विभाजित हुँदा समान चम्ल्याहा शिशुको जन्म भएको उहाँले बताउनुभयो ।

    उहाँका अनुसार यस्तो घटना विश्वमै अत्यन्त दुर्लभ मानिन्छ र अस्ट्रेलियामा यसअघि यस्तै चिकित्सकीय तथ्याङ्कअनुसार प्राकृतिक रूपमा चम्ल्याहा गर्भधारण हुने सम्भावना करिब सात लाखमध्ये एक मात्र हुन्छ । तर एउटै निषेचित अण्डाबाट समान चम्ल्याहा (चार) शिशु जन्मिने सम्भावना अझ निकै कम रहने भएकाले यस घटनाले चिकित्सकहरूको समेत ध्यान आकर्षित गरेको छ ।

    अधिकांश चम्ल्याहा गर्भधारण भने सहायक प्रजनन प्रविधिको प्रयोगपछि हुने गरेका छन् । चारै भ्रूणले एउटै प्लेसेन्टा साझा गरेका कारण नामोनाको गर्भावस्था उच्च जोखिमयुक्त थियो । यस्ता अवस्थामा समयपूर्व प्रसूति, गर्भपतन, जन्मजात समस्या तथा अन्य जटिलता देखिने जोखिम उच्च हुने भएकाले गर्भावस्थाको १०औँ सातादेखि नै विशेषज्ञ चिकित्सकहरूको टोलीले उहाँको नियमित निगरानी गरेको थियो ।

    २५औँ सातामा उहाँलाई अस्पतालमै भर्ना गरी निरन्तर उपचार तथा निगरानी गरिएको थियो । डा. बेन्डलले २८ हप्ता चार दिनको गर्भावस्थामै चार स्वस्थ शिशुको जन्म हुनु निकै उत्साहजनक उपलब्धि भएको बताउनुभयो । शल्यक्रियाका क्रममा आमामा सामान्य रक्तस्राव भए पनि अवस्था नियन्त्रणमै रहेको र अहिले उहाँको स्वास्थ्य राम्रो रहेको उहाँले जानकारी दिनुभयो ।

    हाल चारै नवजात शिशुको सघन उपचार कक्ष (एनआइसीयू) मा उपचार भइरहेको छ । उनीहरूको नाम एमिली, ह्यारिएट, क्याथरिन र एलेक्सा राखिएको छ । तीमध्ये एक शिशुको नाम आफ्नो सम्मानमा राखिएको जानकारी दिँदै डा. बेन्डलले यसलाई सुन्दर सम्मानका रूपमा लिनुभएको बताउनुभयो ।

    उहाँले चिकित्सकीय रूपमा यो घटना अत्यन्त अध्ययनयोग्य भए पनि आफूका लागि सबैभन्दा ठूलो खुसी स्वस्थ आमासहित चार स्वस्थ शिशुलाई सुरक्षित रूपमा संसारमा ल्याउन सफल हुनु रहेको उल्लेख गर्नुभयो जन्म भएको जानकारी उहाँहरूसँग छैन ।

  • मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि

    मध्यपूर्व युद्ध विस्तार गर्ने हुथीको धम्की पछि इरानद्वारा अमेरिकी सैन्य सुविधा केन्द्रित आक्रमणमा वृद्धि


    तेहरान, ५ साउन (रासस/एएफपी) :

    यमनका हुथी विद्रोहीहरूले साउदी बन्दरगाहमा नाकाबन्दी गरेर युद्ध भड्काउने खतरा उत्पन्न भए पछि इरानले खाडीमा अस्थित अमेरिकी राडार, हवाई रक्षा प्रतिष्ठानहरू लगायत सैन्य सुविधाहरुलाई निशाना बनाएर थप निर्णायक र शक्तिशाली आक्रमण गर्ने चेतावनी दिएको छ । इरानको रिभोलुसनरी गार्ड्सले उनीहरूले होर्मुजको जलमार्ग पार गर्ने प्रयास गरिरहेका दुई वटा तेल ट्याङ्करहरू मा आक्रमण गरी रोकेको जनाइएको छ ।

    पछिल्लो समयको झडपमा कम्तिमा तीन जना अमेरिकी सैनिकको मृत्यु भए पछि, संयुक्त राज्य अमेरिकाले इरान विरुद्ध नयाँ चरणको आक्रमण सुरु गरेको छ भने आक्रमणको उदेश्य हर्मुज जलमार्गमा व्यापारिक जहाजमा आक्रमण गर्ने इरानी सैन्य क्षमतालाई कमजोर पार्नु भएको जनाइएको छ । यसअघि इरानी सेनाले कुवेत र बहराइनमा हवाई रक्षा प्रणाली, राडार स्थापना र प्रशासनिक भवनहरूसहित अमेरिकी सुविधालाई लक्षित गरी आक्रमण गरेको बताएको थियो ।

    मिसाइल आक्रमणको अझै निर्णायक र शक्तिशाली तयारी थालिएको आईआरएनएले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले द्वन्द्वमा मारिएका प्रत्येक अमेरिकी सैनिकका लागि चर्को मुल्य तिर्नुपर्ने चेतावनी दिनु भएको थियो भने इरानी राष्ट्रपति मसूद पेजेस्कियनले द्वन्द्व पूर्णरूपमा भड्किएको बताउनुभएको थियो ।

    द्वन्द्वका कारण गत जुलाई –७ देखि लगभग एक सय जना अमेरिकी सैनिकहरू घाइते भएको पेन्टागनले जनाएको छ । यसैबिच तेहरानका यमनी सहयोगी, हुथी विद्रोहीहरूले साउदी बन्दरगाहहरू अवरुद्ध गर्ने घोषणा गर्दै युद्धको विस्तार गर्ने धम्की दिएका छन् । हुथीहरूको यस्तो कदमले रियादको केही तेल निर्यातका लागि हर्मुजको क्षमतालाई जोखिममा पारी विश्वव्यापी अर्थतन्त्रमा ठुलो असर पार्ने आकलन गरिएको छ ।

    साउदी अरेबियाले भने हुथी विद्रोहिको खतराको कडा निन्दा गर्दै यसले भाइचारा यमनी जनता र उनीहरूको सरकारलाई समर्थन गरिरहेको बताएको छ । अप्रिलमा जारी गरिएको युद्धविराम र जुनमा गरिएको सम्झौता ध्वस्त भए पछि मध्यपूर्व युद्ध पुनः भड्किएको छ ।

    तेहरानले हर्मुजको जलमार्गमा आफ्नो नाकाबंदी पुनः लागु गरेको छ भने वासिङ्टनले इरानका बन्दरगाहहरू अवरुद्ध गरेर प्रतिक्रिया दिइ रहेको छ । विश्व वजारमा तेलको आयात गर्ने मुख्य जलमार्ग प्रभावितहुने गरी भएको लामो युद्धले तेलको मूल्य बढेर उच्च स्तरमा पुगेको थियो ।

    हाल हर्मुज अवरुद्ध भएता पनि साउदी अरेबियाले यसको लाल सागर बन्दरगाह यानबु हुँदै लाखौं ब्यारेल तेल निर्यात जारी राख्न सक्षम भएको जनाइएको छ । कूटनीतिक आदान–प्रदान बिच, हर्मुजको जलमार्गमा, रिभोलुसनरी गार्ड्सले मङ्गलबार जलमार्ग पार गर्ने प्रयास गरिरहेका दुई वटा ट्याङ्करमा विस्फोटको गराउदा ठुलो आगलागी हुनुका साथै तिनीहरूलाई नियन्त्रणमा लिएको जनाइको छ ।

    युके मेरिटाइम ट्रेड अपरेसन एजेन्सी (युकेएमटीओ) ले यस अघि ओमानको तटमा एउटा अज्ञात प्रक्षपण तेल ट्याङ्करमा ठोक्किएको रिपोर्ट गरेको थियो । पछिल्लो लडाइँको बावजुद, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मध्यस्थकर्ताहरू मार्फत वासिङ्टनसँग कूटनीतिक आदान–प्रदान जारी रहेको बताउनुभएको छ ।

    इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमेनी दुई दिने भ्रमणका लागि इस्लामाबादमा रहेको जनाइएको छ भने उहाँले पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र सेना प्रमुख असीम मुनीरलाई भेट्ने कार्यक्रम तय भएको जनाइएको छ । यसैबीच लेबनानका राष्ट्रपति जोसेफ आउनले मङ्गलबार वासिङ्टनमा ट्रम्पसँग भेट्ने कार्यक्रम तय भएको जनाइएको छ ।

  • निराश रोहिङ्ग्याको समुद्री पलायन

    निराश रोहिङ्ग्याको समुद्री पलायन

    कक्स बजार (बङ्गलादेश), ५ साउन (रासस/एएफपी । म्यान्मामा जारी द्वन्द्व, बङ्गलादेशका शरणार्थी शिविरमा बढ्दो अभाव र मानव बेचबिखनको जालोका कारण हजारौँ रोहिङ्ग्या शरणार्थीले जीवनको जोखिम मोलेर समुद्री मार्ग हुँदै दक्षिणपूर्वी एसियातर्फ पलायन गर्ने क्रम तीव्र बनेको छ ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ समुद्री यात्राका क्रममा रोहिङ्ग्याका लागि सबैभन्दा घातक वर्ष बनेको थियो भने सन् २०२६ मा पनि मृत्यु र बेपत्ताको क्रम रोकिएको छैन । २५ वर्षीया राहेला बेगम त्यही जोखिमपूर्ण यात्राबाट जीवित फर्किन सफल हुनुभएकामध्ये एक हुनुहुन्छ ।

    सन् २०१७ मा म्यान्माको राखाइन राज्यबाट भागेर बङ्गलादेशको कक्स बजार शरणार्थी शिविरमा पुग्नुभएकी उहाँले शिविरमा बढ्दो कठिनाइपछि गत अप्रिलमा मलेसिया जाने उद्देश्यले समुद्री यात्रा सुरु गर्नुभएको थियो । करिब २८० जना यात्रु बोकेको डुङ्गा चार दिनपछि अन्डमान सागरमा डुबेपछि उहाँ दुई दिन र एक रात काठको एउटा पाटामा अडिएर समुद्रमा बग्नुभएको थियो ।

    अन्ततः उद्धार जहाजको ध्यानाकर्षण भएपछि उहाँको ज्यान जोगिएको थियो । “मैले एउटा काठको फलेक समात्न सफल भएँ । त्यसैको सहारामा दुई दिन र एक रात बिताएँ । म मृत शरीरजस्तै समुद्रमा तैरिरहेको थिएँ, धेरै प्रयासपछि मात्र टाउको उठाएर उद्धारकर्ताको ध्यान खिच्न सकेँ”, उहाँले भन्नुभयो ।

    हाल कक्स बजार क्षेत्रमा १० लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थी बसोबास गरिरहेका छन् । बङ्गलादेश सरकारले उनीहरूलाई शिविरबाहिर स्वतन्त्र रूपमा आवतजावत गर्न वा रोजगारी गर्न नदिने नीति अपनाएको छ । यही अवस्थाले धेरैलाई समुद्री मार्गबाट मलेसिया, इन्डोनेसिया र थाइल्यान्ड पुग्ने जोखिमपूर्ण निर्णय गर्न बाध्य बनाइरहेको छ ।

    संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) का अनुसार सन् २०२५ मा छ हजार ५०० भन्दा बढी रोहिङ्ग्याले समुद्री मार्गबाट शिविर छोड्ने प्रयास गरेका थिए । तीमध्ये करिब ९०० जनाको मृत्यु भएको वा उनीहरू बेपत्ता भएका थिए । यो अहिलेसम्मकै सबैभन्दा उच्च सङ्ख्या हो ।

    यस वर्ष जनवरीदेखि मेसम्म मात्रै कक्स बजारका शिविरबाट दुई हजार ३०० जनाले समुद्री यात्रा थालेका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर हो । मानव बेचबिखन गर्ने गिरोहले राम्रो जीवनको आश्वासन दिँदै शरणार्थीलाई प्रलोभनमा पार्ने गरेका छन् ।

    कक्स बजारबाट करिब एक घण्टाको दूरीमा रहेको टेकनाफबाट यात्रुहरूलाई ट्रलरमार्फत समुद्रमा पु¥याइन्छ र त्यसपछि ठूला जहाजमा सारेर दक्षिणपूर्वी एसियातर्फ पठाइने गरेको छ ।

    नाम नखुलाउने सर्तमा एक तस्करले प्रत्येक यात्राबाट आफूले दुई लाख ५० हजार टकासम्म आम्दानी गर्ने गरेको स्वीकार गर्नुभयो । उहाँका अनुसार यस्तो सञ्जाल बङ्गलादेश, म्यान्मा, थाइल्यान्ड र मलेसियासम्म फैलिएको छ । बङ्गलादेशी अधिकारीहरूले भने मानव बेचबिखन नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका छन् ।

    तटरक्षक बलका लेफ्टिनेन्ट मोहम्मद रनक रहमानका अनुसार यस वर्ष मात्रै ६१८ जना मानव बेचबिखनका पीडितको उद्धार गरिएको छ । नाफ नदी क्षेत्रमा नियमित गस्ती भइरहेको र थप घटना रोक्न अधिकतम सतर्कता अपनाइएको उहाँले बताउनुभयो ।

    यद्यपि स्थानीय अधिकारीहरूले सीमित स्रोतसाधनका कारण मानव बेचबिखनको सञ्जाल नियन्त्रण गर्न कठिन भइरहेको स्वीकार गरेका छन् । कक्स बजार अदालतका सरकारी वकिल तौहिदुल अन्वरका अनुसार हाल करिब ५०० वटा मानव बेचबिखनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छन् ।

    उहाँले अनुसन्धानमा प्रमाण जुटाउन कठिन हुने र तस्करहरूको प्रभाव बलियो रहेकाले कारबाही चुनौतीपूर्ण बनेको बताउनुभयो । स्थानीय प्रहरी प्रमुख ए.एन.एम. साजेदुर रहमानले रोहिङ्ग्याहरू जुनसुकै मूल्य चुकाएर पनि शिविरबाट बाहिरिन चाहने भएकाले समस्या अझ जटिल बनेको उल्लेख गर्नुभयो ।

    युनाइटेड रोहिङ्ग्या काउन्सिलका अध्यक्ष सैयद उल्लाले शिविरको कठोर जीवन नै पलायनको मुख्य कारण भएको बताउनुभयो । उहाँका अनुसार धेरै शरणार्थी दैनिक दुई छाक खाना र अत्यन्त न्यून आर्थिक सहयोगमा जीवन गुजार्न बाध्य छन्, त्यसैले राम्रो भविष्यको आशामा उनीहरू जोखिमपूर्ण यात्रा रोजिरहेका छन् ।

    उहाँले रोहिङ्ग्या सङ्कटको दीर्घकालीन समाधान म्यान्मामा स्थायी शान्ति स्थापना र सुरक्षित स्वदेश फिर्ती नै भएको बताउनुभयो । तर सन् २०२१ को सैन्य ‘कू’ पछि म्यान्मामा जारी द्वन्द्व अझै रोकिएको छैन ।

    अमेरिकास्थित संस्था एसीएलइडीका अनुसार उक्त द्वन्द्वमा हालसम्म एक लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । कक्स बजारस्थित बाँस र त्रिपालले बनेको आफ्नो अस्थायी बासमा फर्किनुभएकी राहेला बेगमले समुद्री दुर्घटनासँगै आफ्नो स्वतन्त्र जीवनको सपना पनि डुबेको बताउनुभयो । “भगवानले मलाई कतै पनि शान्ति दिनुभएन । आफ्नै देशमा पनि होइन, यहाँ पनि होइन”, उहाँले पीडाभाव व्यक्त गर्नुभयो ।

  • वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान

    वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान


    तेहरान, ५ साउन । रासस/सिन्ह्वा । इरान र अमेरिकाबीच लगातार जवाफमा हमलाहरू भइरहेको समय इरानले मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि कुटनीतिक प्रस्तावहरू प्राप्त गरेको जनाएको छ ।

    विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइले सोमबार तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा कतारले अमेरिका–इरान वार्ता पुनः सुरु गर्न र १० दिनको युद्धविरामका लागि नयाँ प्रस्ताव ल्याएको रिपोर्टबारे उहाँलाई सोधिएको प्रश्नको जवाफमा अन्य विवरण नदिई मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि कुटनीतिक प्रस्तावहरू प्राप्त गरेको पुष्टि गर्नुभएको हो । बघाइले इरानको कूटनीतिक संयन्त्र अमेरिकाको हमलाको सैन्य जवाफसँगै सक्रिय रहेको बताउनुभएको होे ।

    उहाँले अमेरिकाले हालै गरेको नागरिक पूर्वाधार (पुल र चिकित्सा केन्द्र) माथिको हमलाको निन्दा गर्दै यसलाई ‘जनताको जीवन, सुरक्षा र मानवीय सम्मानको अधिकार’ को उल्लङ्घनको संज्ञा दिनुभयो । जुन १८ मा वाशिङ्टनसँग हस्ताक्षर गरिएको शान्ति समझदारी पत्रबारे उहाँले भन्नुभयो, “उक्त सम्झौताको ‘पाठ पूर्ण रूपमा स्पष्ट छ’ र सम्झौताको वाचा तोड्न वाशिङ्टनसँग कुनै बहाना छैन।” उहाँले तेहरानले ‘प्रतिबद्धता’ अनुसार अघि बढेको उहाँले बताउनुभयो ।

    वाशिङ्टनले बारम्बार आफ्नो प्रतिबद्धता तोडेपछि तेहरानले पनि आफ्नो दायित्व रोकेको बताउनुभयो । हरमुज जलडमरूमध्यबारे उहाँले इरानले उक्त जलमार्गमाथि आफ्नो सार्वभौमिकता प्रयोग गर्ने र आफ्नो हितविरुद्ध कुनै ‘दुरुपयोग’ रोक्ने अडान दोहो¥याउनुभयो ।

  • शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता

    शनिबारको खेलमा फ्रान्सका स्ट्राइकर एम्बाप्पे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता

    न्यूयोर्क, ३ साउन (राससएएफपी) । फिफा विश्व कप २०२६ मा गोलको नयाँ रेकर्ड बनेका छन् । शनिबार रातिको खृलबाट फ्रान्सका अग्र पङ्तीका किलियन एम्बाप्पेले २२ गोल गर्दै विश्वकप इतिहासमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड आफ्नो नाममा दर्ता गरेका छन् । अर्जेन्टिनाका लियोनल मेसी २१ गोलसहित उनको ठीक पछाडि छन् । तर उनले फाइनलको एक खेल खेल्न अझै बाँकी छ । फाइनल दुवै खेलाडीको रेकर्ड चर्चाको केन्द्र बनेको छ ।

    फिफा विश्वकप सन् १९३० देखि नै विश्वका महान फुटबल खेलाडीहरूको सबैभन्दा ठूलो मञ्च रहँदै आएको छ । यस प्रतियोगितामा धेरै दिग्गजले गोलबाट इतिहास रचेका छन्, तर २०२६ विश्वकपले गोल रेकर्डको तस्बिर पूरै बदलिदिएको छ ।

    लामो समयसम्म १६ गोलसहित शीर्ष स्थानमा रहेका जर्मनीका मिरोस्लाभ क्लोजलाई यो बर्षको खेलमा पहिले मेसी र पछि एम्बाप्पेले उछिनेका छन्। मेसीले एक पटक फेरि एम्बाप्पेलाई पछाडि पार्न सम्भव छ वा एम्बाप्पेले यस शीर्षकमा जादुमयी फुटबलर मेसीलाई उछिन्नेछन् । नेपाली समय अनुसार आइतबार राती १२ः४५ बजे सुरु हुने विश्वकप फाइनलअघि सबैको ध्यान यो कुरामा छ ।

    –सर्वाधिक गोलकर्ता एम्बाप्पे–

    फ्रान्सका स्टार स्ट्राइकर एम्बाप्पेले सन् २०२६ को विश्वकपमा १० गोल गर्दै आफ्नो कुल गोल सङ्ख्या २२ पु¥याएका छन् । उनले २०१८ मा चार गोल, सन् २०२२ मा आठ गोल र सन् २०२६ मा १० गोल गरेका छन् । उल्लेखनीय कुरा के छ भने उनले यो उपलब्धि मात्र २२ खेलमा हासिल गर्दै अहिलेसम्म विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बने ।

    –मेसीलाई फाइनलमा रेकर्ड फर्काउने मौका–

    अर्जेन्टिनाका कप्तान लियोनल मेसीले छ वटा विश्वकप खेल्नुभएको छ र ३३ खेलमा २१ गोल गरेका छन् । सन् २०२६ को संस्करणमा उनले आठ गोल गर्दै क्लोजको रेकर्ड तोडेर अग्रस्थान लिएका थिए । तर एम्बाप्पेले पछि उनीहरूलाई उछिने । अब स्पेनविरुद्धको फाइनलमा मेसीसँग फेरि नम्बर–१ बन्ने सुनौलो अवसर छ। उहाँलाई यसका लागि दुई गोल चाहिन्छ ।

    –क्लोज र ब्राजिलका रोनाल्डो क्रमशः तेस्रो र चौथो स्थानमा–

    जर्मनीका मिरोस्लाभ क्लोज १६ गोलसहित तेस्रो स्थानमा झर्नुभएको छ भने ब्राजिलका महान स्ट्राइकर रोनाल्डो नाजारियो १५ गोलसहित चौथो स्थानमा छन् । इङ्ल्याण्डका ह्यारी केन, जर्मनीका गर्ड म्युलर र फ्रान्सका जस्ट फोन्टेन पनि विश्वकप खेल इतिहासमा धेरै गोलकर्तामध्येको सूचीमा छन् । इङ्ल्यान्डका कप्तान ह्यारी केन र पश्चिम जर्मनीका गर्ड म्युलर १४ गोलसहित संयुक्त पाँचौं स्थानमा रहेका छन् । फ्रान्सका जस्ट फोन्टेनले सन् १९५८ मा एकै विश्वकपमा १३ गोलको रेकर्ड बनाउनुभएको थियो । यो रेकर्ड अहिलेसम्म कायम छ ।

    अब सबैको ध्यान स्पेन र अर्जेन्टिनाबीच हुने फाइनलमा छ। यदि मेसीले यो फाइनलमा दुई वा सोभन्दा बढी गोल गरे भने उनी एम्बाप्पेलाई पछाडि पारेर फेरि विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्न सक्नेछन् ।

  • इङ्याण्ड तेस्रो बन्यो, फ्रान्सविरुद्धको खेलमा गोल वर्षा

    इङ्याण्ड तेस्रो बन्यो, फ्रान्सविरुद्धको खेलमा गोल वर्षा

    ३ साउन, काठमाडौं । फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो । इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरे । पहिलो हाफमा दुई गोल गरेका शाकाले ८७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । खेलको तेस्रो मिनेटमा राइसले गोल गर्दै सुरुवातमै अग्रता लिएको इंग्ल्यान्डले त्यसपछि लगातार गोल ग¥यो । १८औं मिनेटमा कोन्शाले हेडरमार्फत गोल गर्दै इंग्ल्यान्डलाई दुई गोलको अग्रता दिलाए ।

    त्यसपछि शाकाले ३७औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमै चार गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा फ्रान्सले लगातार तीन गोल फर्कायो । ४८औं मिनेटमा कप्तान किलियन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल फर्काए । ब्राडली बारकोलाले ५४औं मिनेटमा र कप्तान एमबाप्पेले ६६औं मिनेटमा गोल गर्दै खेललाई ४–३ को स्थितिमा पु¥याए । खेलको ८७औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीमार्फत गोल गर्दै अग्रताको दुरी बढायो ।

    पेनाल्टीमा शाकाले गोल गर्दा दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउन प्रयास गरे । तर, अन्तिम समयमा जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई ६–४ को जित दिलाए । सन् १९६६ मा विश्वकपको उपाधि जितेको इंग्ल्यान्ड त्यसपछिका उत्कृष्ट स्थान हासिल गरेको हो । यसअघि सन् २०१८ मा इंग्ल्यान्ड चौथो भएको थियो ।

  • भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

    भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो

    काराकास, २ साउन (रासस–एएफपी) । गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ३४ करोड ६० लाख अमेरिकी डलर उपलब्ध गराएको अधिकारीहरूले शनिबार बताएका छन् । गत जुन २४ मा एक मिनेटको अन्तरालमा सात दशमलव दुई र सात दशमलव पाँच म्याग्निच्युडका दुई भूकम्प जाँदा राजधानी काराकासको उत्तरमा रहेको तटीय राज्य ला गुआइरा सबैभन्दा बढी प्रभावित भएको थियो ।

    नेसनल एसेम्बलीका प्रमुख जर्ज रोड्रिगेजका अनुसार भूकम्पमा परी हालसम्म पाँच हजार ६९ जनाको मृत्यु भएको छ । अधिकांश मृतक तटीय क्षेत्रका बासिन्दा रहेका छन् । भूकम्पमा घाइते हुनेको सङ्ख्या १६ हजार ७४० पुगेको छ । यद्यपि अधिकांश घाइते उपचारपछि अस्पतालबाट घर फर्किसकेको अधिकारीहरूले जनाएका छन् ।

    अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पपछिको पुनर्निर्माणका लागि आइएमएफबाट ३४ करोड ६० लाख अमेरिकी डलर प्राप्त भएको जानकारी दिए । आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले उक्त रकम उपलब्ध गराइएको पुष्टि गर्दै तत्काल मानवीय आवश्यकताको सम्बोधनका लागि भेनेजुएलाको आफ्नै सञ्चित स्रोत (रिजर्भ ट्राञ्च) प्रयोग गर्न सहयोग गरिएको बताए ।
    भूकम्पका कारण करिब २० हजार मानिस घरबारविहीन भएका छन् ।

    उनीहरू अस्थायी शिविरमा बस्दै आएका छन्, जहाँ खानेपानी र सरसफाइको पर्याप्त व्यवस्था नभएको जनाइएको छ । भेनेजुएलासँग आइएमएफमा करिब पाँच अर्ब १० करोड अमेरिकी डलर बराबरको विशेष आहरण अधिकार (एसडीआर) मौज्दात रहेको छ । निकोलस मादुरोलाई राष्ट्रपति नमानिएका कारण यसअघि उक्त स्रोतको उपयोग रोकिएको थियो । यस वर्ष जनवरीमा निकोलस मादुरो सत्ताच्युत भएपछि आइएमएफ र विश्व बैंकले अप्रिलमा भेनेजुएलासँगको सहकार्य पुनःसुरु गरेका थिए । सन् २०१९ देखि यी संस्थासँगको सम्बन्ध स्थगित रहेको थियो ।

  • म्यान्माका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का

    म्यान्माका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का

    जेनेभा, १ साउन, (रासस–एएफपी) । संयुक्त राष्ट्रसङ्घले म्यान्माबाट रोहिङ्ग्या शरणार्थी बोकेर गएका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी मानिसको ज्यान गएको वा बेपत्ता भएको आशङ्का व्यक्त गर्दै यसलाई सम्भावित मानवीय विपत्ति भएको जनाएको छ । घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहे पनि प्रारम्भिक विवरणले ठूलो मानवीय क्षतिको सङ्केत गरेको राष्ट्रसङ्घीय निकायहरूले बताएका छन् ।

    आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले संयुक्त वक्तव्य जारी गर्दै जुनको अन्त्यतिर द्वन्द्वग्रस्त म्यान्माको राखाइन राज्यबाट प्रस्थान गरेका दुई डुङ्गा दुर्घटनामा परेको आशङ्का गरिएको जनाएको हो ।

    ती डुङ्गामा अधिकांश यात्रु रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यक समुदायका सदस्य रहेको बताइएको छ । केही यात्रु बङ्गलादेशको कोक्स बजारस्थित विशाल शरणार्थी शिविरबाट यात्रा थालेका थिए । कोक्स बजारस्थित शरणार्थी शिविरमा १० लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थी बसोबास गर्दै आएका छन् ।

    राष्ट्रसङ्घका अनुसार करिब २५० यात्रु रहेको एउटा डुङ्गासँग यात्रा सुरु गरेको केही समयमै सम्पर्क विच्छेद भएको थियो । अर्को करिब २८० यात्रु बोकेको डुङ्गा जुलाई ८ मा म्यान्माको अय्यारवाडी तट नजिक डुबेको अनुमान गरिएको छ । युएनएचसीआर र आइओएमले घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहे पनि सम्भावित ठूलो जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । दुवै निकायले यी यात्रा सामान्य समुद्री यात्राको मौसमभन्दा बाहिर गरिएको उल्लेख गर्दै त्यसबेला समुद्रको अवस्था अत्यन्त जोखिमपूर्ण हुने र पछिल्लो समय परेको अविरल वर्षा तथा बाढीले जोखिम अझ बढाएको बताएका छन् ।

    यदि घटनाको पुष्टि भएमा यस वर्ष अन्डमान सागर र बङ्गालको खाडी क्षेत्रमा रोहिङ्ग्या शरणार्थी तथा बङ्गलादेशी नागरिक गरी बेपत्ता वा मृत्यु हुनेको सङ्ख्या करिब ३०० ले थप वृद्धि हुने राष्ट्रसङ्घले जनाएको छ । रोहिङ्ग्या समुदायका मानिसहरू हरेक वर्ष सुरक्षित जीवन र राम्रो अवसरको खोजीमा मानव तस्करहरूले सञ्चालन गर्ने जोखिमपूर्ण समुद्री यात्रामा निस्कने गरेका छन् । युएनएचसीआरका अनुसार गत वर्ष मात्रै छ हजार ५०० भन्दा बढी रोहिङ्ग्यामध्ये करिब ९०० जना उत्तर हिन्द महासागर पार गर्ने क्रममा बेपत्ता भएका वा मृत्यु भएको विवरण प्राप्त भएको थियो ।

    राष्ट्रसङ्घीय निकायहरूले म्यान्मामा जारी द्वन्द्व, बिग्रँदो मानवीय अवस्था, बङ्गलादेशका शरणार्थी शिविरमा सीमित सहायता तथा अवसरका कारण रोहिङ्ग्याहरू जोखिमपूर्ण समुद्री यात्रा गर्न बाध्य भइरहेको उल्लेख गरेका छन् । साथै, मानव तस्करी र अवैध ओसारपसार गर्ने सञ्जालहरूले उनीहरूको निराशाको फाइदा उठाइरहेकोप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

    आइओएम र युएनएचसीआरले खोज तथा उद्धार अभियान विस्तार गर्न, शरण र संरक्षणमा पहुँच सुनिश्चित गर्न तथा मानव तस्करी र अवैध ओसारपसार गर्ने सञ्जालविरुद्ध प्रभावकारी कारबाही गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । साथै, वर्षौंदेखि रोहिङ्ग्या शरणार्थीलाई आश्रय दिँदै आएको बङ्गलादेशको प्रशंसा गर्दै शरणार्थी र उनीहरूलाई आश्रय दिने समुदायका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग तथा जबर्जस्ती विस्थापनका मूल कारण समाधान गर्न थप प्रयास आवश्यक रहेकोमा जोड दिएका छन् ।

  • करिब तीन हप्तादेखि अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

    करिब तीन हप्तादेखि अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

    नयाँदिल्ली, १ साउन, (रासस–एएफपी) । नयाँदिल्लीको एक अदालतले बिहीबार भारतको परीक्षा प्रणालीविरुद्ध अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न सरकारी चिकित्सकहरूलाई आदेश दिएको छ । उनको तीन हप्तादेखि जारी अनशनका कारण समर्थकहरूले स्वास्थ्यबारे चिन्ता व्यक्त गरेका छन् । उनी भारतको परीक्षा प्रणालीविरुद्ध अनशनरत छन् ।


    जुन २८ देखि अनशन सुरु गरेका ५९ वर्षीय वाङचुकले चिकित्सा प्रवेश परीक्षामा कथित अनियमितता र अन्य सुधारका माग गर्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन् । भारतभरिका रिसाएका विद्यार्थीहरूले हालै केही सातादेखि ‘ककरोच जनता पार्टी’ नामक व्यंग्यात्मक अनलाइन आन्दोलनद्वारा आयोजित प्रदर्शनमा सहभागी भएका छन्। धेरै विद्यार्थीले बारम्बार प्रश्नपत्र बाहिरिँदा परीक्षार्थीहरूले परीक्षा प्रणालीप्रति विश्वास गुमाएको बताएका छन् ।


    नयाँदिल्लीको प्रसिद्ध प्रदर्शन स्थल जन्तर मन्तरमा स्टेजमा अनशनरत वाङचुक बिहीबार निकै कमजोर विरामीजस्तो देखिएका थिए । सहयोगका लागि अनशनस्थलमा पुगेका समर्थकहरूलाई हात हल्लाउँदै हौसला दिएका थिए । “सोनम वाङचुकको ज्यान बचाउन जुनसुकै चिकित्सकीय हस्तक्षेप आवश्यक परे पनि गर्नुपर्छ,” एक याचिकापछि दिल्ली उच्च अदालतले बिहीबार आदेश दिएको छ ।

    अदालतले ‘कुनै पनि नागरिकको ज्यान अमूल्य हुन्छ’ भनेको छ। यो साता अभियन्ताका वकिल राकेश कुमार सैनीले दायर गरेको याचिकामा वाङचुकले अनशन नतोडे उनको जीवन निकै जोखिममा रहेको चेतावनी दिइएको थियो । वाङचुकका केही समर्थक र आन्दोलनका सदस्यहरूले पनि उनलाई अनशन तोड्न आग्रह गरेका छन् । पेशाले इन्जिनियर वाङचुक हिमालयमा पानी संरक्षण परियोजनाहरूको अग्रणीको रूपमा प्रसिद्ध छन् ।


    उनले सन् २०१८ मा हिमालय क्षेत्र लद्दाखमा पर्यावरण संरक्षण र स्थानीय विद्यालय प्रणाली सुधारमा योगदान पु¥याएकोमा प्रतिष्ठित रामोन म्याग्सेसे पुरस्कार प्राप्त गरेका छन् । वाङचुकसँगै करिब एक दर्जन विद्यार्थीहरूले पनि अनशन गरेका छन्, जसमा उत्तर प्रदेशका बहादुर सिंह पनि छन् । “म आफ्नो लागि अनशन गरेको होइन यो प्रणालीप्रति आशा गुमाएका हरेक विद्यार्थीको लागि हो,” २९ वर्षीय सिंहले एएफपीसँग भने । गत महिना करिब २२ लाख आकाङ्क्षी चिकित्सा विद्यार्थीहरूले कडा सुरक्षा बीच पुनः परीक्षा दिएका थिए। अघिल्लो परीक्षाको प्रश्नपत्र बाहिरिएपछिको व्यापक आक्रोशपछि उक्त परीक्षा रद्द गरिएको थियो ।

    अत्यधिक प्रतिस्पर्धात्मक यो परीक्षाको असफलता र उच्च विद्यालय परीक्षामा अलग्गै मार्किङ घोटालाले ठूलो आक्रोश उत्पन्न गरेको थियो र युवा आन्दोलनलाई बल दिएको थियो। विपक्षी दलका केही सदस्यहरूले वाङचुक र विद्यार्थी कार्यकर्ताहरूलाई समर्थन जनाएका छन् । वाङचुकको अभियानमा समर्थन जनाउँदै भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीका शशि थरुरले सामाजिक सञ्जालमा लेखेका छन्, “यो देशले तपाइलाई सुन्छ ।” “तपाइको रिस अनुशासनहीनता होइन, यो एउटा पुस्ताको पीडा हो जसले सबै ठीक ग¥यो तर पनि धोका पायो ।”

  • फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

    फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

    लन्डन, १ साउन, (रासस–एएफपी) । अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (फकल्याण्ड्स अर्जेन्टिनाको हो) लेखिएको ब्यानर देखाएको घटनाप्रति बेलायती एक मन्त्रीले फिफालाई यसबारे छानबिन गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री केइर स्टार्मरको डाउनिङ स्ट्रिट कार्यालयले बिजनेस मन्त्री पिटर काइलको आग्रहलाई समर्थन गरेको छ। यो विश्वकप सेमिफाइनल खेलपछि भएको हो।

    काइलले मैदानमा राजनीतिक प्रतीक देखाउन निषेध गर्ने फिफा नियमको ‘घोर उल्लङ्घन’ भएको बताए । डाउनिङ स्ट्रिटका प्रवक्ताले भने, “विश्वकप हाम्रो नहुन सक्छ, तर फकल्याण्ड टापुहरू निश्चित रूपमा हाम्रा हुन्।” अर्जेन्टिनाले सन् १९८२ मा दक्षिण एटलान्टिकमा रहेको यो बेलायती विदेशी क्षेत्रमा आक्रमण गरेको थियो। तर मार्गरेट थ्याचरको नेतृत्वमा बेलायतले छोटो युद्धपछि टापुहरू पुनः कब्जा गरेको थियो।

    काइलले बुधबार एटलान्टामा भएको खेलपछि फिफालाई यो घटनाको छानबिन गर्न आग्रह गरेका छन् । उनले भने, “फुटबलबाट राजनीति अलग राख्नुपर्छ। विश्वकपको मुख्य सिद्धान्त नै यो हो।” उनले थपे, “यो अब फिफाको विषय हो । हामीले फिफाले छानबिन गर्ने अपेक्षा गरेका छौँ ।” फिफाले अहिलेसम्म घटनामा कुनै प्रतिक्रिया दिएको छैन ।

    बेलायतले १९ औँ शताब्दीमा फकल्याण्ड कब्जा गरेको थियो, तर अर्जेन्टिनाले टापुहरूलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ। सन् १९८२ को द्वन्द्वमा ६४९ अर्जेन्टिनी र २५५ बेलायतीको मृत्यु भएको थियो। विश्वकप सेमिफाइनल जितपछि अर्जेन्टिनाका विदेशमन्त्रीले फकल्याण्ड नजिक बेलायती युद्धपोत रहेको भन्दै औपचारिक विरोध दर्ता गरेको बताए । विदेशमन्त्री पाब्लो किर्नोले एक्समा पोस्ट गर्दै अपतटीय गस्ती जहाज ‘एचएमएस मेडवे’को ‘अपरामर्श र अवैध’ यात्राको ‘सबैभन्दा कडा विरोध’ गरेका छन् ।

  • कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या दुई हजार नाग्यो : डब्लुएचओ

    कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या दुई हजार नाग्यो : डब्लुएचओ

    किन्शासा (कङ्गो) ३२ असार (रासस–सिन्ह्वा) । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्रकोपको वास्तविक मात्रा रिपोर्ट गरिएको भन्दा दुई देखि चार गुणा बढी हुन सक्ने चेतावनी दिँदै कङ्कोमा इबोला सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको पुष्टि गरेको छ । देशका स्वास्थ्य अधिकारीहरूले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०११ मा ७५४ जनाको मृत्यु सहित कुल सङ्क्रमितको पुष्टि भएको थियो ।

    पत्ता नलागेको सङ्क्रमण, सामुदायिक मृत्यु र द्रुत भौगोलिक विस्तारले प्रतिक्रियालाई महामारीको उच्च खतराको रुप दिदै डब्लुएचओले तथ्याङ्क घोषणा गरेको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन आपतकालिन स्वास्थ्य कार्यक्रमा कार्यकारी निर्देशक चिकवे इहक्वियाजुले बुन्डिबुग्यो इबोला भाइरसका कारण हालको प्रकोप कुनै पनि इबोला प्रकोप भन्दा तीव्र गतिमा बढिरहेको बताए ।


    गत मे महिनाको मध्यमा घोषणा गरिएको यो प्रकोप पाँच प्रान्तमा फैलिएको छ भने विश्व स्वास्थ्य संगठनका अनुसार यो अहिले सम्म रेकर्ड गरिएको तेस्रो ठूलो इबोला प्रकोप हो । यो प्रकोप इटुरी प्रान्तमा यसको मूल केन्द्रभन्दा बाहिर प्रगतिशील भौगोलिक विस्तारको विशेषता रहेको “नयाँ चरण“ मा प्रवेश गरिरहेको देखिन्छ, अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालयले मङ्ंगलबार जारी गरेको साप्ताहिक अवस्था रिपोर्टले जनाएको छ ।

    प्रकोप थप दुई वटा प्रान्तहरू, सोपो र हाट–उलेमा फैलिएको जनाइएको छ, जसले प्रतिक्रियाको जटिलता बढाउनुका साथै थप राष्ट्रिय र सीमापार फैलावटको जोखिम बढाएको छ, प्रतिवेदनमा उल्लेख गरिएको छ । कङ्गो स्वास्थ्य अधिकारीहरूले हाट–उलेमा नयाँ सङ्क्रमण देखिएको र अहिलेसम्म १४ जनामा सङ्क्रमणदर्ता भएकोमा १३ जनाको मृत्यु भएको जनाएका छन् ।

    १६ लाख भन्दा बढी मानिसहरूको बसोबास रहेको सहर किसाङ्गानीमा नयाँ सङ्क्रमणहरु पत्ता लागेकोले कङ्गो नदी लगायत प्रमुख यातायात मार्गमा व्यापक प्रसारणको जोखिम रहेको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालयले चेतावनी दिएको छ ।

  • जुम्ल्याहा शिशुको हत्या आरोपमा अमेरिकामा आमा पक्राउ

    जुम्ल्याहा शिशुको हत्या आरोपमा अमेरिकामा आमा पक्राउ

    लस एन्जलस, ३२ असार (रासस–एएफपी) । अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी एक आमालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । ती आमाले आफ्ना शिशुको मृत्यु खोपका कारण भएको दाबी गर्दै आएकी भए पनि अनुसन्धानपछि प्रहरीले उहाँमाथि शिशुको श्वास अवरुद्ध गरी हत्या गरेको अभियोग लगाएको हो ।

    प्रहरीका अनुसार २३ वर्षीया एन्ड्रिया शाले फ्लू, हेपाटाइटिस–ए र टिटानससहितका नियमित बाल खोप लगाएको आठ दिनपछि आफ्ना जुम्ल्याहा शिशुको मृत्यु भएको दाबी गरेकी थिइन् । उनी खोपविरोधी संस्था ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ ले दायर गरेको मुद्दाकी मुख्य वादीसमेत हुन् । उक्त संस्थाको स्थापना तथा नेतृत्व वर्तमान अमेरिकी स्वास्थ्यमन्त्री बन्नुअघि रोबर्ट एफ केनेडी जुनियरले गरेका थिए ।


    अमेरिकाको उत्तरपश्चिमी इडाहो राज्यस्थित पेएट प्रहरी विभागले लामो र विस्तृत अनुसन्धानपछि शालाई पक्राउ गरी अभियोग दर्ता गरिएको जनाएको छ । प्रहरीले शिशुको मृत्यु प्राकृतिक नभई श्वास रोकी हत्या गरिएको निष्कर्ष निकालेको बताएको छ । मङ्गलबार भएको अदालतको सुनुवाइमा शाका कानून व्यवसायी जोसेफ फिलिसेट्टीले उनलाई ‘मायालु र जिम्मेवार आमा’ भएको दाबी गर्दै राज्यले प्रस्तुत गरेको चित्रण वास्तविकताभन्दा फरक रहेको बताए ।


    मृत्युदण्डसम्मको सजाय हुन सक्ने अभियोग सामना गरिरहेकी शाले २० लाख अमेरिकी डलर बराबरको धरौटी रकम घटाइदिन आग्रह गरेकी थिइन् । पक्राउ पर्नुभन्दा केही दिनअघि जन्मिएकी आफ्नी नवजात छोरीसँग बस्न पाउने आधारमा उनले यस्तो अनुरोध गरेकी थिइन् । तर न्यायाधीश किली स्टुचलिकले घटनाको गम्भीरताप्रति चिन्ता व्यक्त गर्दै धरौटीको सुविधा नदिई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिनुभएको इडाहो स्टेट्सम्यानले जनाएको छ ।

    सन् २०२५ को मे महिनामा जुम्ल्याहा शिशुको मृत्यु भएपछि शाले आफूले उनीहरूलाई ओछ्यानमा अचेत अवस्थामा फेला पारेको बताउँदै सार्वजनिक रूपमा खोपकै कारण मृत्यु भएको दाबी गरेकी थिइन् । यद्यपि स्वास्थ्य विज्ञहरूले नियमित बाल खोपले श्वासप्रश्वास रोकिने वा अवरुद्ध हुने जोखिम बढाउँदैन भन्ने वैज्ञानिक प्रमाण रहेको दोहो¥याएका छन् ।

    उनीहरूले आनुवंशिक रूपमा समान नभएका जुम्ल्याहा शिशुको एउटै समयमा खोपको प्रतिकूल प्रतिक्रियाबाट मृत्यु भएको दाबी पनि अस्वाभाविक भएको बताएका छन् । खोप र अटिजमबीच सम्बन्ध रहेको दाबी गर्दै आएका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले यस घटनाबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । यस्तै, चिल्ड्रेन्स हेल्थ डिफेन्सले पनि एएफपीको प्रतिक्रिया मागको जवाफ दिएको छैन ।

  • मोन्टेनेग्रोको चराको आश्रय सङ्कटमा

    मोन्टेनेग्रोको चराको आश्रय सङ्कटमा

    उल्सिन्ज (मोन्टेनेग्रो), ३२ असार (रासस–एएफपी) । मोन्टेनेग्रोको उल्सिन्ज सेलिना क्षेत्रमा रहेको भूमध्यसागरकै ठूलो नुन उत्पादन क्षेत्र संरक्षण अभावका कारण तीव्र रूपमा नष्ट हुँदै गएको भन्दै वातावरणविद्हरूले तत्काल पुनःस्थापनाको माग गरेका छन् । उनीहरूका अनुसार समयमै आवश्यक कदम नचालिए युरोपका लागि अत्यन्त महत्त्वपूर्ण प्रवासी चराको प्रमुख विश्रामस्थल गुम्ने जोखिम बढेको छ ।

    हरेक वर्ष हजारौँ फ्लेमिङ्गो, पेलिकन तथा अन्य प्रवासी चरा अफ्रिका र युरोपबीचको बसाइँसराइका क्रममा उल्सिन्ज सेलिनामा विश्राम गर्छन् । तर सन् २०१३ मा नुन उत्पादन बन्द भएपछि नुनिलो पानीको व्यवस्थापन रोकिँदा चराहरूको प्राकृतिक बासस्थान क्रमशः बिग्रँदै गएको वातावरणविद्हरूले बताएका छन् ।

    वातावरण अभियन्ता जेनेपा लिकाले अहिलेको अवस्थालाई तत्काल सुधार नगरे केही वर्षमै यस क्षेत्रको मौलिक स्वरूप हराउन सक्ने चेतावनी दिनुभयो । उहाँका अनुसार नुन उत्पादन बन्द भएसँगै जलाशयको नियमित व्यवस्थापन रोकिएकाले जैविक विविधता निरन्तर घटिरहेको छ ।

    उल्सिन्जमा करिब एक शताब्दीअघि नुन उत्पादन सुरु भएको थियो । नुनिलो पानी पम्प गरेर सञ्चालन गरिने कृत्रिम जलाशयले नुन उत्पादनसँगै प्रवासी चराका लागि उपयुक्त वातावरण पनि सिर्जना गरेको थियो । यही कारण यो क्षेत्र युरोपका प्रमुख चराको बसाइँसराइ मार्गमध्ये एकको महत्त्वपूर्ण विश्रामस्थलका रूपमा विकसित भएको थियो ।

    विज्ञहरूका अनुसार सेलिनाले कम्तीमा सात प्रजातिका चराको विश्वव्यापी जनसङ्ख्याको एक प्रतिशतभन्दा बढी हिस्सा आश्रय दिने भएकाले यसको अन्तर्राष्ट्रिय संरक्षण महत्त्व छ । सन् २०१९ मा यस क्षेत्रलाई रामसर महासन्धिअन्तर्गत अन्तर्राष्ट्रिय महत्त्वको सिमसार क्षेत्रका रूपमा सूचीकृत गरिएको थियो । तर कानूनी मान्यता पाए पनि संरक्षणका लागि आवश्यक व्यवस्थापन प्रभावकारी रूपमा हुन नसकेको वातावरणविद्हरूको भनाइ छ ।

    स्थानीय बासिन्दाका लागि नुन उद्योग रोजगारी, पहिचान र गर्वको विषय पनि थियो । तर कम्पनी आर्थिक सङ्कटमा परेर बन्द भएपछि विशाल नुन गोदाम, जलाशय र अन्य संरचना जीर्ण बनेका छन् । पूर्व नुन उद्योगका कर्मचारीहरूले संरक्षणसँगै नुन उत्पादन पुनः सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।

    यसै वर्ष मोन्टेनेग्रो सरकार र उल्सिन्ज नगरपालिकाले करिब ४० लाख युरोको संयुक्त लगानीमा क्षेत्रलाई प्रकृति आरक्षका रूपमा सञ्चालन गर्दै नुन उत्पादन पुनः सुरु गर्ने योजना सार्वजनिक गरेका छन् । युरोपेली सङ्घ ९इयु० को सदस्यता प्रक्रियासँग सम्बन्धित वातावरणीय मापदण्ड पूरा गर्न पनि यो परियोजनालाई महत्त्वपूर्ण मानिएको छ ।

    तर स्थानीय पत्रकार मुस्तफा कान्काले प्रस्तावित बजेट पर्याप्त नहुने बताउँदै नुन उद्योग पुनः सञ्चालन र सम्पूर्ण क्षेत्रको पुनःस्थापनाका लागि यसभन्दा धेरै लगानी आवश्यक पर्ने धारणा राखे । उनले समस्या समाधानका लागि आवश्यक अध्ययन भइसकेकाले अब निर्णय कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताए ।

    उनका अनुसार लामो समयदेखि भइरहेको ढिलाइका कारण नुन उद्योग सञ्चालनको अनुभव भएका अधिकांश दक्ष जनशक्ति अवकाश लिइसकेका वा निधन भइसकेका छन् । त्यसैले उनीहरूको ज्ञान र अनुभव उपयोग गर्दै पुनःस्थापना प्रक्रिया तत्काल अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।


    एएफपीले यस विषयमा स्थानीय तथा केन्द्रीय सरकारसँग प्रतिक्रिया मागे पनि कुनै जवाफ प्राप्त भएको छैन । वातावरण अभियन्ता लिकाले उल्सिन्ज सेलिनालाई चराहरूका लागि ‘हिथ्रो विमानस्थल’ सरहको विश्रामस्थलको संज्ञा दिँदै समयमै संरक्षण र पुनःस्थापना गर्न नसके युरोपकै एक महत्त्वपूर्ण प्राकृतिक सम्पदा गुम्ने चेतावनी दिए ।

  • अमेरिकाद्वारा होर्मुजमा सैनिक नाकाबन्दी नवीकरण

    अमेरिकाद्वारा होर्मुजमा सैनिक नाकाबन्दी नवीकरण

    तेहरान, ३२ असार (रासस–एएफपी) । अमेरिकी सेनाले इरानमा आक्रमण जारी राख्दै होर्मुजलगायतका बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी पुनः लागू गरेको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्मुज जलमार्ग प्रयोग गर्ने जहाजहरूमा २० प्रतिशत कर लगाउने आफ्नो योजना फिर्ता लिएको केही घन्टा पछि पुनः आक्रमण भएको थियो भने मध्य पूर्वमा भड्किएको युद्धले विश्वव्यापी ऊर्जाको मूल्यमा उछाल ल्याएको जनाइएको छ ।

    तेहरानले प्रमुख तेल ढुवानी कोरिडोर हार्मुजलाई नियन्त्रण गर्ने कुरामा जोड दिएको छ भने जुन गत फेब्रुअरीको अन्त्यमा अमेरिका– इजरायली आक्रमणले द्वन्द्व निम्त्याउनु अघि स्वतन्त्र आवागमनका लागि खुला थियो । इरानको रिभोलुसनरी गाड्र्सले नयाँ अमेरिकी नाकाबन्दीले अमेरिकाका आर्थिक प्रतिद्वन्द्वीहरू सहित विश्वमा तेल तथा ग्याँसको निर्यातमा कटौती गर्दै अमेरिका र सहयोगीहरूको अन्य सेवा मार्गहरू पनि बन्द हुन सक्ने चेतावनी दिएको छ ।

    यस क्षेत्रबाट हुने तेल र ग्यास निर्यात सहज भए सबैका लागि उपलब्ध हुने तर युद्ध भड्किए कसैका लागि पनि उपलब्ध नहुने जनाइएको छ । इरानी उपविदेशमन्त्री काजेम गरिबाबादीले गत महिना शत्रुता रोक्न र शान्ति वार्तालाई अगाडि बढाउनका लागि भएको अन्तरिम सम्झौतालाई उल्लेख गर्दै नाकाबन्दी पुनस्र्थापना गर्ने अमेरिकी निर्णयले इस्लामाबाद सम्झौतालार्ई ध्वस्त पारेको बताएका छन् ।


    पाँचौँ दिनमा प्रवेश गरेको लगातारको झडपमा, युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले “व्यापारिक जहाज र नागरिक कर्मचारीहरूलाई धम्की दिने इरानको क्षमतालाई कम गर्न“ देशको तटमा रहेको जलमार्ग र अन्य दर्जनौँ इरानी सैन्य लक्ष्यहरू प्रहार गरेको बताएको छ । इरानी मिडियाले बन्दरगाह सहर बन्दर अब्बास नजिकै, केशम टापु र बन्दर इमाम खोमेनीमा विस्फोट भएको रिपोर्ट गरेका छन् । आक्रमणको लगत्तै पछि बहराइनमा साइरन बजेर कुवेत र जोर्डनले इरानबाट फायर गरिएका ड्रोन तथा मिसाइलहरू रोकेको रिपोर्ट गरिएको छ ।

    आईआरएनए समाचार एजेन्सीले इरानी सेनाले जोर्डनको सैन्य अड्डामा ड्रोन आक्रमण गरेको रिपोर्ट गरेको छ जहाँ अमेरिकी लडाकु विमानहरू राखिएको छ । यदि तेहरान वार्ताको टेबलमा फर्किएन भने ट्रम्पले अर्को हप्ता पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने चेतावनी दिएको फक्स न्यूजले जनाएको छ ।

    लडाकुहरूको जवाफी कारबाही जारी रहनेछ, र संयुक्त राज्य अमेरिकाले आफ्नो आक्रमणको कार्यहरू अन्त्य नगरे सम्म स्ट्रेट अफ होर्मुज बन्द रहने गार्डहरूले विज्ञप्ति जारी गर्दै जनाएका छन् । सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरले गत हप्तामा इरानले सात वटा व्यावसायिक जहाजहरूमा आक्रमण गरेर जानाजानी यस क्षेत्रका नागरिकहरूलाई लक्षित गरेको छ जसको परिणामस्वरूप लगभग एक दर्जन नागरिक चालक दलका सदस्यहरू मारिएको बताउनुभएको छ ।

    अमेरिकी सेनाले निर्दोष जनताहरुको जीवनलाई खतरामा पार्ने अनावश्यक आक्रमणका लागि इरानलाई जवाफदेही बनाउन खोजिरहेको उनले बताए ।
    मङ्गलबार ओमानको तटमा अज्ञात उपकरणले गर्दा भएको विस्फोटले नर्वेको ट्याङ्करमा ठोक्किएको संकट प्रतिक्रिया कम्पनी एमटिआई नेटवर्कले जनाएको छ ।

    यसै गरी कुवेतले इरानी क्षेप्यास्त्र र ड्रोन ब्यारेजको क्रममा यसको एउटा नौसेना जहाजमा प्रहार भएको र चालक दलका चार सदस्य घाइते भएको बताएको छ । यसै बिच ट्रम्पले सोमबार घोषणा गरेको होर्मुजको जलमार्गबाट जाने जहाजहरूमा लगाइएको योजनाबद्ध शुल्कलाई खाडीका सहयोगीहरूसँग व्यापार सम्झौताको साथ प्रतिस्थापन गर्दै आफूले खारेज गरिरहेको बताए ।

    इरानी मिडिया र आधिकारिक घोषणाहरूलाई यदृत गर्दै एएफपीले गत हप्ता देखि इरानमा नयाँ अमेरिकी आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको जनाएको छ । इरानको आणविक महत्वाकाक्षाका कट्टर विरोधी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मङ्गलबार इरानी नेताहरूलाई चेतावनी दिदै यदि उनीहरूले आफ्नो देशमा आक्रमण गरे भने इजरायलले ठुलो प्रहार गर्ने बताए ।

  • एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा

    एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा

    सिड्नी, ३३ असार (रासस–एएफपी) । अष्ट्रेलियाले “आर्टिफिसियल इन्टेलिजेन्स” (ए आई) प्रयोग गर्न मार्ग दर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न आवाश्यक कानून बनाउने तयारीमा रहेको प्रधानमन्त्री एन्थोनी अल्बनिजले घोषण गरेका छन् । सरकारको नीति तथा कार्यक्रम निर्धारण सम्बन्धि भाषणमा, अल्बेनिजले एआईमाथि जनताको चिन्ता कम गरी यसलाई राष्ट्रिय हित तर्फ अघि बढाउने तरिका अपनाउन सकिने बताएका छन् ।


    एआईमा विश्वास निर्माण गर्न र राष्ट्रिय सुरक्षाको रक्षा गर्न अर्को वर्ष पेस गरिने प्रस्तावित नयाँ कानुनबारे छलफल गर्न अस्ट्रेलियाका राज्य र क्षेत्रका नेताहरूबीच छलफल हुने जनाइएको छ । अस्ट्रेलियाले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्द लगाउन अन्य देशहरूको नेतृत्व गरेको उल्लेख गर्दै उहाँले तर अस्ट्रेलियाको सन्दर्भमा एआईलाई आकार नियमन गर्ने चुनौती अझै ठूलो भएको जनाइएको छ ।

    अमेरिकी स्टार्टअप एन्थ्रोपिकले एआई मोडेलहरूको प्रशिक्षणमा सहयोग गर्न प्रतिलिपि अधिकार कानुन परिवर्तन गर्न अष्ट्रेलियाका अधिकारीहरूसँग समन्वय गरेको कुरा यस हप्ता बाहिर आएपछि अल्बनिजको घोषणा आएको हो । यसैबीच सङ्गीतकार, लेखक तथा प्रकाशकहरूले यस्तो दबाबको प्रतिरोध गर्न र आफ्नो कामको रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् ।

    कुनै पनि कम्पनीले कलाकारको नियन्त्रणबिना एआई निर्माण गर्न वा तालिम दिन अस्ट्रेलियाली पुस्तक, सङ्गीत, कला वा समाचार प्रयोग गर्नु नहुने बताउदै यस्ता कार्यहरु गौर कानूनी भएको उनले बताएका छन् । सरकारी तथ्याङ्क अनुसार मार्च सम्मका तीन महिनामा देशको आर्थिक वृद्धिमा डाटा सेन्टरमा भएको लगानी सबैभन्दा ठुलो योगदान भएको जनाइएको छ । अल्बनिजले सरकारले अष्ट्रेलियाको रोजगार बजारमा एआईको प्रभाव अहिलेसम्म नदेखेको बताएका छन् । सरकारले आफ्नो विभागको नीति निरीक्षण गर्न समर्पित कार्यालयसहित एआइ प्रति आफ्नो प्रतिक्रिया अगाडी बढाउने उनले बताए ।

  • इरानमाथि अमेरिकी आक्रमण तीव्र

    इरानमाथि अमेरिकी आक्रमण तीव्र

    तेहरान, ३२ असार (रासस–एएफपी) । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने–जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको सहमति प्रभावकारी रूपमा समाप्त भएको जनाएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले वार्तामा नआए अर्को सातादेखि इरानका विद्युत् उत्पादन केन्द्र र रणनीतिक पुलहरूलाई लक्षित गरी आक्रमण अझ विस्तार गरिने चेतावनी दिएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा उहाँले इरान वार्तामा सहमत नभएसम्म ऊर्जा पूर्वाधार र पुलहरू निष्क्रिय बनाउने अभियान जारी रहने बताए । यसअघि हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि अतिरिक्त शुल्क लगाउने योजना भने उनले फिर्ता लिए ।


    अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले पछिल्लो आक्रमणको उद्देश्य हर्मुज जलघाँटीमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग हुने इरानी सैन्य क्षमता कमजोर पार्नु रहेको जनाएको छ । सेन्टकमका अनुसार गत साताभित्र इरानले सातवटा व्यापारिक जहाजमाथि आक्रमण गर्दा करिब एक दर्जन चालकदलका सदस्यको मृत्यु, बेपत्ता वा घाइते भएका छन् । निर्दोष नागरिकको ज्यान जोखिममा पार्ने गतिविधिका लागि इरानलाई जवाफदेही बनाइएको सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरले बताए ।


    इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, हर्मुज नजिकको केशम टापु तथा अन्य स्थानमा विस्फोट भएको जनाएका छन् । स्थानीय अधिकारीहरूका अनुसार अमेरिकी आक्रमण बुसेहर प्रान्तका विभिन्न स्थान, त्यहाँ रहेको इरानको एकमात्र नागरिक आणविक विद्युत् केन्द्र तथा इराक र कुवेत सीमावर्ती क्षेत्रमा समेत केन्द्रित थियो ।

    इरानी सरकारी समाचार एजेन्सी इरनाले त्यसको प्रत्युत्तरमा इरानी सेनाले जोर्डनस्थित अमेरिकी लडाकू विमान रहेको सैन्य अड्डामा ड्रोन आक्रमण गरेको जनाएको छ । रिभोलुसनरी गार्ड्सले बहराइनमा अमेरिकी सैन्य सुविधा र आवासीय संरचनालाई लक्षित गरी मिसाइल तथा ड्रोन प्रहार गरिएको दाबी पनि गरेको छ ।

    इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू गर्ने निर्णयले वासिङ्टनसँग द्वन्द्व रोक्न भएको इस्लामाबाद सम्झौतालाई प्रभावहीन बनाएको बताए । यसैबीच अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका अनुसार हर्मुज जलघाँटीमा दुईवटा जहाजमाथि भएको आक्रमणमा दुई चालकदल सदस्यको मृत्यु भएको छ । ओमानको तट नजिक अज्ञात विस्फोटका कारण नर्वेली तेल ट्याङ्करमा क्षति पुगेको एमटिआई नेटवर्कले जनाएको छ भने कुवेतले इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणका क्रममा आफ्नो एउटा नौसैनिक जहाजमा प्रहार हुँदा चार सैनिक घाइते भएको जनाएको छ ।

    ट्रम्पले सोमबार हर्मुज हुँदै आवतजावत गर्ने जहाजमाथि प्रस्तावित २० प्रतिशत शुल्क हटाएर त्यसको सट्टा खाडीका साझेदार राष्ट्रहरूसँग व्यापार तथा लगानी सम्झौता गर्ने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार ती सम्झौतामार्फत अमेरिकी अर्थतन्त्रमा थप लगानी भित्र्याइनेछ । इरानी सञ्चारमाध्यम र सरकारी विवरणका आधारमा एएफपीले सङ्कलन गरेको तथ्याङ्कअनुसार गत सातादेखिको अमेरिकी आक्रमणमा इरानमा कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ ।

    तनाव क्षेत्रीय रूपमा फैलिँदै जाँदा बहराइनले इरानबाट प्रहार गरिएका धेरै हवाई आक्रमणहरू निष्क्रिय बनाइएको दाबी गरेको छ भने जोर्डनले पनि इरानबाट प्रहार गरिएका चारवटा क्षेप्यास्त्र खसालिएको जनाएको छ । यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले इजरायलमाथि आक्रमण गरे कडा प्रतिकार गरिने चेतावनी दिएका छन् । दक्षिणी सहर डिमोनाबाट सम्बोधन गर्दै उहाँले इजरायलमाथि हुने कुनै पनि आक्रमणको निर्णायक जवाफ दिइने र विगतजस्तो मौन नबस्ने स्पष्ट पारे ।

  • अमेरिकी आक्रमण नरोकेसम्म हर्मुज नखुल्ने इरानको चेतावनी

    अमेरिकी आक्रमण नरोकेसम्म हर्मुज नखुल्ने इरानको चेतावनी

    तेहरान, ३२ असार (रासस–एएफपी) । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’ अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये एक हर्मुज जलघाँटी बन्द रहने चेतावनी दिएको छ । साथै, अमेरिकाको हितसँग जोडिएका अन्य क्षेत्रीय तेल तथा ग्यास निर्यात मार्गहरू पनि निशानामा पर्न सक्ने आइआरजिसीको भनाइ छ ।

    फेब्रुअरीको अन्त्यदेखि जारी अमेरिका–इरान द्वन्द्वका कारण खाडी क्षेत्रबाट हुने तेल तथा ग्यास ढुवानीमा गम्भीर असर परेको छ । विशेषगरी विश्व ऊर्जा आपूर्तिको महत्त्वपूर्ण मार्ग मानिने हर्मुज जलघाँटीमा अवरोध उत्पन्न भएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत चिन्ता बढेको छ । इरानी सरकारी टेलिभिजन आइआरआइबीका अनुसार आइआरजिसीले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप बहराइन र कुवेतस्थित अमेरिकी सैन्य सुविधामाथि आक्रमण गरिएको जनाएको छ । त्यससँगै अमेरिकाको आर्थिक तथा रणनीतिक हितसँग सम्बन्धित समुद्री ऊर्जा मार्गहरू थप जोखिममा पर्न सक्ने चेतावनी पनि दिइएको छ ।

    आइआरजिसीले जारी गरेको विज्ञप्तिमा अमेरिकाले आफ्नो समुद्री गतिविधिमार्फत विश्वव्यापी तेल तथा ग्यास आपूर्ति शृङ्खलामा प्रभाव पार्ने प्रयास गरेको आरोप लगाउँदै त्यसको परिणामस्वरूप अमेरिकाका सहयोगी राष्ट्रहरूले प्रयोग गर्ने अन्य ऊर्जा निर्यात मार्गहरू पनि अवरुद्ध हुन सक्ने उल्लेख गरिएको छ । यद्यपि कुन–कुन मार्ग प्रभावित हुन सक्छन् भन्नेबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।

    विज्ञप्तिमा ‘यस क्षेत्रबाट हुने तेल र ग्यास निर्यात या त सबैका लागि हुनेछ वा कसैका लागि पनि हुनेछैन’ भन्ने चेतावनीसमेत दिइएको छ । आइआरजिसीले आफ्नो प्रतिकारात्मक कारबाही निरन्तर जारी रहने र अमेरिकाले आक्रमण नरोकेसम्म हर्मुज जलघाँटी बन्द रहने स्पष्ट गरेको छ । यता, अमेरिकी अधिकारीहरूले भने इरानले हर्मुज जलघाँटीमा पूर्ण नियन्त्रण कायम गर्न सक्ने दाबी अस्वीकार गर्दै अन्तर्राष्ट्रिय समुद्री ढुवानी मार्गहरू खुला राख्न आवश्यक सबै कदम चालिने बताउँदै आएका छन् ।

  • अर्जेन्टिना लगातार दोस्रो विश्वकप फाइनल प्रवेश

    अर्जेन्टिना लगातार दोस्रो विश्वकप फाइनल प्रवेश

    काठमाडौँ, ३२ असारः इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङल्यान्डलाई २–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो । अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुगेको छ । यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो ।

    खेलको सुरुआती अग्रता भने इङल्यान्डले लिएको थियो । खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इङल्यान्डलाई अघि बढाएका थिए । तर ८५औँ मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले गोल गर्दै खेल बराबरीमा ल्याए । अतिरिक्त समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए । यससँगै अर्जेन्टिनाले विश्वकप फाइनलमा स्थान पक्का गरेको हो ।

  • अफगानिस्तानमा एक करोड भन्दा बढी महिलाहरु सहायताको पर्खाइमा

    अफगानिस्तानमा एक करोड भन्दा बढी महिलाहरु सहायताको पर्खाइमा

    संयुक्त राष्ट्रसङ्घ ३१ असार (रासस–सिन्ह्वा) । अफगानिस्तानमा एक करोड ७० लाख भन्दा बढी महिला तथा बालिकाहरूलाई मानवीय सहायताको आवश्यकता रहेको अफगानिस्तानमा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्र कार्यालयले जनाएको छ । टोलो न्यूजले संयुक्त राष्ट्र सङ्घीय मनव अधिकार कार्यलयलाई उद्धृत गर्दै मङ्गलबार स्वास्थ्य, सुरक्षा र अन्य आवश्यक सेवाहरूको बढ्दो आवश्यकताका साथ महिला तथा बााबललिकाहरू देशको मानवीय संकटको बोझ झेलिरहेको जनाइएको् छ ।

    महिला स्वास्थ्य कार्यकर्ताको अभाव, घट्दो कोष र स्वास्थ्य सेवामा सीमित पहुँचले अफगानिस्तानको मातृ शिशु स्वास्थ्य सेवा प्रणालीलाई बढ्दो तनावमा पारेको संयुक्त राष्ट्रसङ्घघीय मानव अधिकार कार्यलयले जनाएको छ । यसले चुनौतीहरूले मातृ र नवजात मृत्युको सम्भावित स्वास्थ्य समस्या वृद्धिमा चिन्ता बढाएको तथा देशको स्वास्थ्य र मानवीय आवश्यकताहरू सम्बोधन गर्न दिगो मानवीय सहयोगको आवश्यकतामा ध्यान आकर्षण गरेको जनाएको छ ।

  • मध्यपूर्व द्वन्द्वको बीचमा लेबनान र इजरायलद्वारा रोममा नयाँ वार्ता सुरु

    मध्यपूर्व द्वन्द्वको बीचमा लेबनान र इजरायलद्वारा रोममा नयाँ वार्ता सुरु

    बेरुत (लेबनान), ३१ असार (रासस–एएफपी) । अमेरिकी मध्यस्थताको साथमा लेबनान र इजरायलले रोममा मङ्गलबार नयाँ वार्ता सुरु भएको जनाइएको छ भने वाशिङ्गटन र तेहरान बीचको क्षेत्रीय तनाव अझै चुलिएको छ । इजरायल र इरान समर्थित हेजबुल्लाहबिचको युद्धको अन्त्य गर्ने र शान्तिको लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले वासिङ्टनमा पाँच चरणको वार्ता पछि गत जुन २६ मा सम्झौतामा पुगेका थिए भने दुई देशहरू आधिकारिक रूपमा दशकौँ देखि युद्धमा थिए ।

    तर हेजबुल्लाहले उक्त सम्झौतालाई अस्वीकार गरेको छ । सम्झौतामा हेजबुल्लाहको निशस्त्रीकरणको आह्वान गरिएको छ भने दक्षिणी लेबनानका विभिन्न क्षेत्रबाट इजरायली सेनाको फिर्ती सुरु हुने तय गरिएको छ । लेबनानका राष्ट्रपतिले यस अघि रोमका लागि यसको प्रतिनिधिमण्डललाई कुनै पनि थप छलफल अघि यी क्षेत्रहरूबाट इजरायली सेनाको तत्काल फिर्ता सुरु गर्न माग गर्न निर्देशन दिइएको जनाइएको छ ।

    वार्तासँग परिचित लेबनानी कूटनीतिक स्रोतका अनुसार, लेबनानी सेना बिस्तारै इजरायली सेना फिर्ता लिने इलाकाहरूको नियन्त्रण लिन तयार छ ।
    स्रोतका अनुसार इजरायलले लेबनानी सेनासँगको एक तटस्थ क्षेत्र र एक तटस्थ स्थानको रूपमा राख्न सक्ने क्षमता छ कि छैन भनेर पनि सुनिश्चित गर्न खोजेको जनाइएको छ ।

    एक अमेरिकी सैन्य प्रतिनिधिमण्डलले शनिबार बेरुतमा लेबनानी सेनासँग यी मुख्य क्षेत्र मध्ये एक बाट इजरायली सेनाको फिर्तीको प्रक्रियामा छलफल सुरु गरिसकेको जनाएको छ । यस अघि हेजबुल्लाह र इजरायल बीचको युद्धमा युद्धविराम लागु भए पछि सम्झौता सम्पन्न भएको थियो ।

    लेबनानी मिडियाका अनुसार इजरायली सेनाले दक्षिणमा सीमित आक्रमणहरू जारी राखेको छ भने आफ्नो कब्जामा रहेका गाउँहरूमा विध्वंस गरिरहेको छ । लेबनानी अधिकारीहरूका अनुसार मार्चको सुरुमा युद्ध सुरु भए देखि इजरायलको आक्रमणका कारण चार हजार ३०० भन्दा बढी मानिसहरूको ज्यान गएको छ ।

    तेहरानले जुन –१७ मा वासिङ्टनसँग समझदारी ज्ञापनपत्र सम्पन्न गर्न लेबनानमा युद्धविरामको माग गरेको थियो । तर पछिल्लो समयमा अमेरिकाले मङ्गलबार इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबंदीको योजना बद्ध पुनस्र्थापना गर्नु अघि इरान विरुद्ध लगातार तेस्रो रात सम्म आक्रमण गरेको छ । हेजबुल्लाहले इरानको समर्थनमा इजरायलको रूपमा क्षेप्यास्त्र प्रक्षेपण गरेर मार्च –२ मा लेबनानलाई क्षेत्रीय युद्धमा तानेको थियो ।

    तेहरानले हेजबुल्लाहलाई दीर्घकालीन प्रतिरोधात्मक औजारको रूपमा राख्न चाहेकोले र यसलाई तुरुन्तै नयाँ तरिका बाट अगाडी बढ्न नदिने योजनामा रहेको पनि आकलन गर्न थालिएको जनाइएको छ ।

  • हर्मुजबारे इरानी संसद्मा विधेयक

    हर्मुजबारे इरानी संसद्मा विधेयक

    तेहरान, ३१ असार (रासस–एएफपी) । हर्मुज जलघाँटीको नियन्त्रण र व्यवस्थापनलाई लिएर अमेरिका–इरानबीच तनाव चुलिरहेका बेला इरानी संसद्मा उक्त रणनीतिक समुद्री मार्गको सुरक्षा तथा व्यवस्थापनसम्बन्धी विधेयक दर्ता गरिएको छ । इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजिजीले यो विधेयकलाई देशको ‘रेड लाइन’ संरक्षणतर्फको पहिलो कदम भएको बताएका छन् ।


    अजिजीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी ड्रोन खसालिएको घटनापछि ‘हर्मुज जलघाँटी र पर्सियन खाडीको सुरक्षा तथा दिगो प्रगतिका लागि रणनीतिक कार्य’ सम्बन्धी विधेयक औपचारिक रूपमा संसद्मा दर्ता गरिएको जानकारी दिए । उनले विशेषगरी हर्मुज जलघाँटीको व्यवस्थापनका विषयमा इरान आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पार्दै आवश्यक परे थप कदम पनि चालिने बताए ।


    हर्मुज जलघाँटीको व्यवस्थापनलाई लिएर गत सातादेखि अमेरिका र इरानबीच पुनः तनाव बढेको छ । यसले गत महिना मध्यपूर्वको युद्ध अन्त्य गर्ने उद्देश्यले भएको रूपरेखा सम्झौताको भविष्यसमेत अन्योलमा पारेको छ । इरानले हर्मुज जलघाँटीको निगरानी तथा व्यवस्थापन आफ्नै नियन्त्रणमा हुनुपर्ने र त्यहाँबाट आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने अडान राख्दै आएको छ । तर अमेरिकाले उक्त प्रस्तावलाई अन्तर्राष्ट्रिय समुद्री कानूनविपरीत भन्दै अस्वीकार गरेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकाले हर्मुज जलघाँटीको सुरक्षा जिम्मेवारी लिएको, इरानी बन्दरगाहमाथि पुनः नाकाबन्दी लागू गरिएको तथा जलमार्ग प्रयोग गर्ने कार्गोमा २० प्रतिशत शुल्क लगाइने घोषणा गरेका थिए । यसअघि अमेरिका–इरानबीच स्थायी शान्ति सम्झौता गर्ने उद्देश्यले वार्ता चलिरहेका बेला इरानले जलघाँटी पुनः खुला गरेको थियो । तर आइतबार तेहरानले उक्त मार्ग पुनः बन्द गरिएको घोषणा गरेको थियो ।

    फेब्रुअरीको अन्त्यमा युद्ध सुरु भएपछि स्थगित भएको इरानी संसद्को बैठक सोमबारदेखि पुनः सुरु भएको हो । संसद्को नेतृत्व मोहम्मद बाघेर गालिबफले गरिरहेका छन् । उनी अमेरिका–इरान वार्ताका प्रमुख वार्ताकारसमेत हुनुहुन्छ, जसका कारण पछिल्ला महिनाहरूमा उनी राजनीतिक बहसको केन्द्रमा रहेका थिए । यद्यपि संसद्का धेरै सदस्यहरूले अमेरिकासँगको वार्ताप्रति असहमति जनाउँदै आएका छन् । उनीहरूले वासिङ्टनसँग भएको समझदारीपत्रमा संसद्को भूमिका नरहेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

  • युरोपेली युनियनद्वारा गाजाका विशेष लागि पहल सुरु

    युरोपेली युनियनद्वारा गाजाका विशेष लागि पहल सुरु

    ब्रसेल्स, ३१ असार (रासस–क्यूएनए) । युरोपेली युनियनले ८८ करोड ३६ लाख युरोको प्रारम्भिक रकमका साथ १५ वटा साझेदारहरू सँग मिलेर गाजाकोलागि विशेष पहल समुह “टीम गाजा इनिसिएटिभ“ सुरु गर्ने घोषणा गरेको जनाइएको छ । प्रेस विज्ञप्ती जारी गर्दै युरापेली युनियनले गाजाका जनताका लागि चलिरहेको र योजना–बद्ध प्रारम्भिक सुधार तथा पुनःस्थापना परियोजनाहरूको कार्यान्वयनलाई समर्थन गर्न ब्रसेल्समा प्यालेस्टाइन दाता समुहको बैठकमा पहल सुरु गरिएको उल्लेख गरेको हो ।

    आफू लगातय युरोपेली युनियनले जापान, युरोपेली लगानी बैङ्क र विश्व बैङ् १२ वटा युरोपेली देशहरू यस पहलमा सहभागि भएको बताएको छ । प्यालेस्टाइन दाता समुह (पिडिजीं) को दोस्रो बैठकको सह–अध्यक्षता प्यालेस्टिनी प्राधिकरण (पीए) का प्रधानमन्त्री मोहम्मद मुस्तफा र भूमध्यसागरीय आयुक्त डुब्राभ्का सुइकाले गरेका थिए ।

    बैठकमा विदेश मामिला तथा सुरक्षा नीतिका लागि ईयूका उच्च प्रतिनिधि र दाता देशहरू, दाता संस्थाहरू र अन्तर्राष्ट्रिय साझेदारहरूका प्रतिनिधिहरूले प्यालेस्टिनी सरकारलाई सहयोग गर्न र गाजा पट्टीमा प्रारम्भिक सुधार र पुनः र्निर्माणको आवश्यक प्रतिक्रियालाई सुदृढ पार्न छलफल गरेको जनाइएको छ ।

  • उत्तर कोरियामा बावी आँधी नजिकिँदै जाँदा उच्च सतर्कता अपनाउन आग्रह

    उत्तर कोरियामा बावी आँधी नजिकिँदै जाँदा उच्च सतर्कता अपनाउन आग्रह

    सियोल, ३१ असार (रासस–एएफपी) । उत्तर कोरियाले मङ्गलबार टाइफुन बावी नजिकिँदै गर्दा भारी वर्षा र तीव्र हावाको चेतावनी जारी गरिएको छ भने उत्तरकोरियाली नेता किम जोङले क्षति रोक्न “अधिकतम सतर्कता“ अपनाउन आग्रह गरेका छन् । प्राकृतिक प्रकोपहरूले उत्तर कोरियाको पूर्वाधार तथा अर्थतन्त्रका अत्यधिक प्रभाव पार्ने गरेको जनाइएको छ ।

    प्योङयाङको सरकारी रोडोङ सिनमुन अखबारका अनुसार मङ्गलबार र बुधवारको बीचमा पहेंँलो सागर हुँदै देशको मध्य क्षेत्र पार गर्नु अघि टाइफुन कमजोर भएर कम चापको प्रणालीमा परिणत हुने अपेक्षा गरिएको छ । उत्तर कोरियाको मौसम विज्ञान विभागले भारी वर्षा र तीव्र हावाको चेतावनी जारी गरेको जनाइएको छ ।

    उत्तरकोरियाका अधिकारी तथा श्रमिकहरुलाई यो समयमा “अधिकतम सतर्क रहन र क्षति कम गर्न आवाश्यक कदम चाल्न आग्रह गरिएको किमलाई उद्धृत गर्दै विभागले जनाएको छ । यसैबीच मङ्गलबार उत्तरकोरियाको उत्तरी र मध्य क्षेत्रका केही भागहरूमा ८०–१२० मिलिमिटर ३०–६० मिलिमिटर प्रति घण्टाको दरमा वर्षा हुने पूर्वानुमान गरिएको जनाइएको छ ।

    दक्षिणी क्षेत्रहरूमा १५०–२०० मिलिमिटर वर्षाका साथै पश्चिमी तट र केही भित्री क्षेत्रहरूमा १०–१५ मिटर प्रति सेकेन्डको दरमा हावा आउने अनुमान गरिएको छ । यसैबीच उत्तर कोरियाले विपद् रोकथाम प्रयासहरू उच्च बनाएको कोरियन सेन्ट्रल न्यूज एजेन्सीले अस अघिनै रिपोर्ट गरेको थियो ।

    पछिल्लो समयमा दक्षिण कोरियामा आएको भारी वर्षाले केही क्षेत्रमा २०० मिलिमिटर सम्म माटो बगाएको जनाइएको छ । मध्य चुङचेओङ प्रान्तका सयौँ बासिन्दाहरूले प्रभावित क्षेत्र खाली गरेको जनाएका छन् । केबिएसका अनुसार ग्योंगसाङको दक्षिणी क्षेत्रमा उच्च बहावको नदीले बगाउदा एक जना व्यक्ति बेपत्ता भएको बताइएको छ ।

    सियोलको मौसम विज्ञान विभागले मङ्गलबार देखि बुधवार सम्म देश भरि वर्षाको पूर्वानुमान गर्दै मध्य क्षेत्र र दक्षिणी प्रान्त जियोल्लामा भारी वर्षाको पूर्वानुमान गरिएको छ । वैज्ञानिकहरूले मानवीय क्रियाकलापका कारण भएको जलवायु परिवर्तनले चरम मौसमी जोखिमलाई बारम्बार, निम्त्याउने गरेको जनाएका छन् ।

    गत वर्षको गर्मी दक्षिण कोरियाको रेकर्डमा सबै भन्दा तातो थियो, भने दुवै कोरियाहरूले आफ्नो सबै भन्दा तातो समय गत जुन महिनामा रेकर्ड गरेको जनाइएको छ । यस वर्षको एल निनोको पुनरागमन, एसियाका केही भागहरूमा गर्मी, खडेरी र भारी वर्षासँग जोडिएको प्राकृतिक ढाँचाले जोखिम बढाएको जनाइएको छ।

  • एआईको मागले चीनको निर्यातमा उछाल

    एआईको मागले चीनको निर्यातमा उछाल

    हङकङ, ३१ असार (रासस–एपी) । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ । अपेक्षाभन्दा राम्रो मानिएको यो वृद्धिले चीनको व्यापार अधिशेष पनि उल्लेखनीय रूपमा बढाएको छ ।

    चीनको भन्सार प्रशासनका अनुसार मे महिनामा १९.४ प्रतिशतले बढेको निर्यात जुनमा थप तीव्र हुँदै २७ प्रतिशत पुगेको हो । आयात पनि जुनमा ३६ प्रतिशतले बढेको छ । यो मे महिनाको २७.४ प्रतिशत वृद्धिभन्दा उच्च हो । विश्लेषकहरूले इरानसँगको द्वन्द्वका कारण विश्व बजारमा आयात लागत बढेकाले आयातको मूल्य पनि उल्लेखनीय रूपमा बढेको बताएका छन् ।

    जुन महिनामा चीनले एक खर्ब २५ अर्ब ६० करोड अमेरिकी डलर बराबरको व्यापार अधिशेष हासिल गरेको छ । यो मे महिनाको एक खर्ब पाँच अर्ब ४० करोड डलरको तुलनामा उल्लेखनीय वृद्धि हो । क्यापिटल इकोनोमिक्सका चीन अर्थतन्त्र प्रमुख जुलियन इभान्स–प्रिचार्डले एआई प्रविधिको तीव्र विस्तारका कारण सेमिकन्डक्टरको मूल्य बढ्नु व्यापार वृद्धिको प्रमुख कारण रहेको बताउनुभयो । उहाँका अनुसार त्यसबाहेक पनि चिनियाँ उत्पादनप्रति अन्तर्राष्ट्रिय बजारको माग बलियो नै रहेको देखिन्छ ।

    विशेषगरी विद्युतीय सवारीसाधन (इभी), सेमीकन्डक्टर, इलेक्ट्रोनिक उपकरण तथा अन्य प्रविधिमूलक वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । एआईको विस्तारसँगै विश्वभर सेमिकन्डक्टर र उच्च प्रविधियुक्त उपकरणको माग बढेपछि चीनका उद्योगहरूले त्यसको प्रत्यक्ष लाभ लिइरहेका छन् ।निर्यात क्षेत्रको मजबुतीले लामो समयदेखि सुस्त रहेको चीनको रियल स्टेट, घरेलु उपभोग र लगानीमा आएको कमजोरीको प्रभाव केही हदसम्म कम गर्न सहयोग पुगेको विश्लेषण गरिएको छ ।

    भन्सार तथ्याङ्कअनुसार चालु वर्षको जनवरीदेखि जुनसम्म चीनको निर्यात वार्षिक आधारमा १७.६ प्रतिशत र आयात २६.६ प्रतिशतले बढेको छ । चीनसँगको बढ्दो व्यापार घाटालाई लिएर अमेरिका र युरोपेली मुलुकहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । उच्च भन्सार महसुललगायतका अवरोध पार गर्न चिनियाँ कम्पनीहरूले युरोपलगायत अन्य क्षेत्रमा उत्पादन केन्द्र विस्तार गरिरहेका छन् । साथै चीनले दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका र अफ्रिकी बजारमा पनि निर्यात उल्लेखनीय रूपमा बढाएको छ ।

    बीएनपी पारिबास सेक्युरिटिज (चीन) का वेई लीले आगामी महिनाहरूमा निर्यात वृद्धि कायम रहने सम्भावना भए पनि यसको गति क्रमशः केही कमजोर हुन सक्ने बताए । उनका अनुसार अटोमोबाइल र एआईसँग सम्बन्धित उत्पादनको निर्यात विश्वव्यापी माग तथा विभिन्न देशका नियामकीय नीतिमा निर्भर रहनेछ ।

    जुन महिनामा दक्षिणपूर्वी एसियातर्फ चीनको निर्यात करिब ३५ प्रतिशतले बढेको छ भने युरोपेली सङ्घ (इयु) तर्फ १८ प्रतिशत र ल्याटिन अमेरिकातर्फ २८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । अमेरिकातर्फको निर्यात पनि वार्षिक आधारमा करिब १४ प्रतिशतले बढेको छ । विश्लेषकहरूका अनुसार गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च भन्सार महसुल लागू गरेपछि आएको गिरावटको आधार प्रभावका कारण पनि पछिल्लो वृद्धि देखिएको हो ।

    चीनले बुधबार अप्रिल–जुन त्रैमासिक आर्थिक वृद्धिदर सार्वजनिक गर्ने तयारी गरेको छ । चिनियाँ नेतृत्वले यस वर्ष ४.५ देखि ५ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । गत साता अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चीनको यस वर्षको आर्थिक वृद्धिदरको अनुमान ४.६ प्रतिशतमा पु¥याएको थियो भने सन् २०२७ मा ४.१ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ ।

    यद्यपि सरकारले अटोमोबाइल र घरेलु उपकरणमा ‘ट्रेड–इन’ अनुदानजस्ता कार्यक्रममार्फत उपभोक्ता खर्च बढाउने प्रयास गरिरहे पनि सुस्त आर्थिक गतिविधिका कारण धेरै चिनियाँ उपभोक्ता अझै ठूलो मूल्यका वस्तु खरिद गर्न सावधानी अपनाइरहेका छन् ।

  • पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते

    पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते

    इस्लामावाद, ३१ असार (रासस–सिन्ह्वा) । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार भएको भारी वर्षाका कारण आवासीय घर भत्किँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् । उद्धार अधिकारीहरुका अनुसार भारी वर्षाका कारण जिल्लाको लाची क्षेत्रको मालगिन क्षेत्रमा बाढी आई एउटा घर क्षेति ग्रस्त हुँदा २३ जना उक्त घरको भग्नावशेष मुनि फसेका छन् ।

    कोहाट र काराक जिल्लाका उद्धार टोलीहरूले उद्धार अभियान अन्तरगत सबै पीडितहरूलाई भग्नावशेषबाट सफलतापूर्वक उद्धार गरेर उपचारका लागि नजिकैको अस्पतालमा लगेको जनाइएको छ । मृत्यु हुनेहरुमा छ जना महिला र तीन जना बालबालिका रहेको उल्लेख गर्दै घाइते मध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने डर रहेको अधिकारीले बताएका छन् ।

    पाकिस्तानका धेरै भागहरूमा आएको मनसुनी वर्षाले निरन्तर बाढी निम्त्याउदा पूर्वाधारलाई क्षति पुग्नुका साथै दैनिक जीवन यापनमासमेत बाधा पुगेको जनाइएको छ । यस अघि प्रान्तको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले बढ्दो पानीको बहावका कारण आगामी दुई दिनमा बाँधबाट थप पानी छोड्न सक्ने चेतावनी दिएको थियो ।

  • खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी

    खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी

    वासिङ्टन, ३१ असार (रासस–एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका छोरा मोजताबा खमेनी सैन्य कारबाहीपछि ‘९० प्रतिशत निष्क्रिय’ भएको दाबी गर्दै इरानको शीर्ष सैन्य नेतृत्व लगभग समाप्त भइसकेको बताएका छन् । यो दाबी अमेरिकाले हर्मुज जलघाँटीमा पुनः समुद्री नाकाबन्दी लागू गर्ने र त्यहाँबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क उठाउने घोषणा गरेसँगै सार्वजनिक भएको हो ।

    फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीले इरानको रक्षा संरचनामा गम्भीर क्षति पुर्‍याएको दाबी गरे । उनका अनुसार इरानको नौसैनिक र वायु शक्ति, हवाई प्रतिरक्षा प्रणाली तथा सैन्य नेतृत्वको ठूलो हिस्सा नष्ट भइसकेको छ । ट्रम्पले इरानका प्रमुख रणनीतिक सैन्य कमान्डरहरू कारबाहीका क्रममा मारिएको दाबी गर्दै सर्वोच्च नेता अली खमेनीको पनि फेब्रुअरीको अन्त्यतिर भएको अमेरिका–इजरायलको हवाई आक्रमणमा मृत्यु भएको दाबी दोहोर्‍याए । मोजताबा खमेनी पनि उक्त सैन्य अभियानबाट गम्भीर रूपमा प्रभावित भएको र उनलाई ‘९० प्रतिशत समाप्त’ भएको अवस्थामा रहेको टिप्पणी गरे ।


    उनले मोजताबा खमेनी अघिल्लो हवाई आक्रमणमा लागेको गम्भीर चोटबाट उपचाररत रहेको र यस महिनाको सुरुमा इरान तथा इराकमा आयोजित सार्वजनिक अन्त्येष्टि कार्यक्रममा अनुपस्थित रहेको पनि उल्लेख गरे । यी अभिव्यक्ति अमेरिका र इरानबीच सप्ताहन्तमा पुनः मिसाइल आक्रमण आदानप्रदान भएपछि आएको हो । मिसाइल आदानप्रदानले क्षेत्रीय तनावलाई थप चर्काएको छ ।

    यसैबीच ट्रम्पले अमेरिकाले ‘इरानी नाकाबन्दी’ पुनः लागू गर्ने तथा हर्मुज जलघाँटीको सुरक्षा सुनिश्चित गर्न व्यापारिक जहाजबाट शुल्क असुल्ने नीति अघि बढाएको जानकारी दिए । उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा अमेरिका अब ‘हर्मुज जलघाँटीको संरक्षक’ को भूमिकामा रहने उल्लेख गर्दै इरानी जहाज तथा इरानसँग सम्बन्धित कार्गोको आवतजावत रोक्ने, तर अन्य मुलुकलाई जलमार्गको स्वतन्त्र प्रयोग गर्न दिने बताए ।


    ट्रम्पले जलघाँटी प्रयोग गर्ने सबै अन्तर्राष्ट्रिय कार्गोबाट मूल्यको २० प्रतिशत बराबर प्रतिपूर्ति शुल्क उठाउने प्रस्ताव पनि गरे । उनका अनुसार रणनीतिक समुद्री मार्गको सुरक्षा खर्च अन्तर्राष्ट्रिय व्यापारिक साझेदारहरूले पनि वहन गर्नुपर्छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले भने ट्रम्पको प्रस्ताव अस्वीकार गर्दै हर्मुज जलघाँटीको सुरक्षा गर्ने ऐतिहासिक र कानूनी जिम्मेवारी इरानकै रहेको प्रतिक्रिया दिए । उनले सामाजिक सञ्जालमार्फत २० प्रतिशत शुल्क अत्यधिक भएको टिप्पणी गर्दै इरानले निष्पक्ष रूपमा काम गर्ने बताए ।


    अमेरिका र इरानबीच हर्मुज जलघाँटीको नियन्त्रण, सुरक्षा र समुद्री आवागमनलाई लिएर आरोप–प्रत्यारोप तीव्र बन्दै गएको छ । विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने यस समुद्री मार्गलाई लिएर दुवै पक्षले आ–आफ्नो दाबी थप आक्रामक रूपमा प्रस्तुत गरिरहेका छन् ।

  • हर्मुज सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग

    हर्मुज सुरक्षामा अमेरिकी खर्चको क्षतिपूर्ति माग

    वासिङ्टन, ३१ असार (रासस–एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री यातायातको सुरक्षा सुनिश्चित गर्न अमेरिकाले निर्वाह गरिरहेको भूमिकाको आर्थिक प्रतिफल खाडी राष्ट्रहरूले तिर्नुपर्ने बताएका छन् । हालैको अमेरिकी सैन्य कारबाहीपछि इरानको सैन्य क्षमता व्यापक रूपमा कमजोर बनेको दाबी गर्दै उनले तेहरानलाई केही महिनाअघिको अवस्थाबाट निकै पछाडि धकेलिएको टिप्पणी गरे ।


    ओभल अफिसमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले विश्वकै सबैभन्दा संवेदनशील र रणनीतिक समुद्री मार्गमध्ये एक मानिने हर्मुज जलघाँटीको सुरक्षाका लागि अमेरिकाले ठूलो जिम्मेवारी वहन गरिरहेको उल्लेख गरे । त्यसका कारण त्यस क्षेत्रबाट प्रत्यक्ष लाभ लिने खाडी राष्ट्रहरूले अमेरिकालाई आर्थिक क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ थियो ।

    पछि न्युजम्याक्ससँगको अन्तर्वार्तामा उनले हालैको अमेरिकी सैन्य कारबाहीले इरानको सैन्य संरचनामा गम्भीर क्षति पुगेको दाबी गरे । इरानको नौसैनिक शक्ति, हवाई क्षमता, राडार प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र तथा हतियार उत्पादन गर्ने पूर्वाधारमा ठूलो असर परेको उनको भनाइ थियो।

    राष्ट्रपति ट्रम्पले इरानसँग रहेका १५९ वटा नौसैनिक जहाजमध्ये अधिकांश नष्ट भएको दाबी गर्दै अहिले ती समुद्रको सतहमुनि पुगेको टिप्पणी गरे । त्यस्तै, इरानका करिब २०० वटा विमान नष्ट भएको, राडार तथा एन्टी–एयरक्राफ्ट प्रणाली ध्वस्त पारिएको र हतियार उत्पादन गर्ने क्षमता करिब ८४ प्रतिशतसम्म कमजोर बनाइएको उनले दाबी गरे ।


    निरन्तर सैन्य अभियानपछि इरानको आक्रामक क्षमता उल्लेखनीय रूपमा घटेको भन्दै ट्रम्पले अहिलेको इरान चार महिनाअघिको इरानभन्दा पूर्ण रूपमा फरक अवस्थामा पुगेको बताए । उनका अनुसार इरानसँग अझै केही मिसाइल र सीमित सैन्य क्षमता बाँकी रहे पनि त्यसको प्रभाव पहिलेको तुलनामा निकै कम भइसकेको छ ।

    इरानलाई मध्यपूर्वको अस्थिरताको प्रमुख स्रोतका रूपमा चित्रण गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले तेहरानप्रति कडा नीति अवलम्बन गरेको दोहो¥याए । उनले इरानले आफूलाई दबाबमा पार्न नसकेको र आफ्नो प्रशासनले त्यसलाई स्वीकार नगरेको पनि बताए ।