Category: विश्व

  • दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ

    दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ

    जेनेभा, २४ असार (रासस–एएफपी) । संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि विश्वव्यापी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढेको जनाएको छ । तर उक्त सुधार सीमित, कमजोर र असमान रहेको भन्दै संस्थाले सावधानी अपनाउन आग्रह गरेको छ ।

    संयुक्त राष्ट्र सङ्घको व्यापार तथा विकास निकाय (यूएनसीट्याड)ले सार्वजनिक गरेको ‘विश्व लगानी प्रतिवेदन–२०२६’ अनुसार सन् २०२५ मा विश्वव्यापी एफडीआइ छ प्रतिशतले बढेर एक दशमलव छ ट्रिलियन अमेरिकी डलर पुगेको छ ।

    प्रतिवेदनअनुसार गत वर्षको कुल एफडीआइमध्ये ८० प्रतिशतभन्दा बढी हिस्सा २० वटा देशमा मात्र केन्द्रित भएको थियो । लगानी वृद्धि मुख्यतः सीमित क्षेत्र र केही ठूला परियोजनामा केन्द्रित रहँदा अधिकांश क्षेत्रमा नयाँ लगानी परियोजनाको विस्तार सुस्त रहेको उल्लेख गरिएको छ ।

    यूएनसीट्याडले बढ्दो भू–राजनीतिक तनाव, व्यापार नीतिमा अनिश्चितता, पुँजीको उच्च लागत र तीव्र प्राविधिक प्रतिस्पर्धालाई लगानी विस्तारमा चुनौतीका रूपमा औँल्याएको छ ।

    प्रतिवेदनको प्रस्तावनामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२५ को एफडीआई वृद्धिले देश, क्षेत्र र उद्योगबीच विद्यमान असमानतालाई ढाक्न नसक्ने उल्लेख गरेका छन् । उनले लगानी वृद्धि मुख्यतः कृत्रिम बुद्धिमत्तासम्बन्धी पूर्वाधारलगायत केही ठूला परियोजनाबाट प्रेरित भएको बताए । प्रतिवेदनका अनुसार डाटा सेन्टर, तेल तथा ग्यास र सेमिकन्डक्टर क्षेत्रमा लगानी बढे पनि नवीकरणीय ऊर्जा, पूर्वाधार र उत्पादनमूलक उद्योगलगायत अधिकांश क्षेत्रमा लगानी घटेको छ ।

    विकसित अर्थतन्त्रमा सन् २०२५ मा एफडीआई ११ प्रतिशतले बढ्दा विकासोन्मुख अर्थतन्त्रमा भने दुई प्रतिशत मात्र वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । विकासोन्मुख देशहरूले ९०१ अर्ब अमेरिकी डलर बराबरको लगानी प्राप्त गरेका छन् ।

    क्षेत्रगत रूपमा विकासोन्मुख एसिया ६४४ अर्ब अमेरिकी डलर भित्र्याउँदै सबैभन्दा बढी लगानी प्राप्त गर्ने क्षेत्र बनेको छ । ल्याटिन अमेरिका र क्यारिबियनमा लगानी १४ प्रतिशतले बढेर १८८ अर्ब डलर पुगेको छ भने अफ्रिकाले करिब ७० अर्ब डलर लगानी प्राप्त गरेको छ । कम विकसित देशमा एफडीआई २१ प्रतिशतले बढेर ४३ अर्ब डलर पुगे पनि यो विश्वव्यापी लगानीको दुई दशमलव सात प्रतिशत मात्र रहेको प्रतिवेदनले जनाएको छ ।

    यूएनसीट्याडका अनुसार गत वर्ष विश्वभर २२९ वटा नयाँ लगानी नीतिगत उपाय लागू गरिएका थिए । तीमध्ये अधिकांश लगानीमैत्री भए पनि धेरै नीति रणनीतिक उद्योगमा लगानी आकर्षित गर्ने, घरेलु आर्थिक प्राथमिकता प्रवद्र्धन गर्ने तथा आर्थिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले ल्याइएको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनले नयाँ लगानी प्रवृत्तिले विकासशील मुलुकका लागि अवसर सिर्जना गरे पनि पूँजी र प्रविधिमा आधारित लगानीको बढ्दो प्रवृत्तिका कारण धेरै विकासशील अर्थतन्त्रपछि पर्न सक्ने चेतावनी दिएको छ । 

  • इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

    जकार्ता, २४ असार (रासस–एएफपी) । भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक सहकार्य विस्तार गर्ने सहमति गरेका छन् । यसअन्तर्गत भारतले इन्डोनेसियालाई ब्रह्मोस लामो दूरीको क्षेप्यास्त्र प्रणाली उपलब्ध गराउने सम्झौता भएको भारतीय पक्षले जनाएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तीनदिने राजकीय भ्रमणका क्रममा जकार्तामा राष्ट्रपति प्रबोवो सुबियान्तोसँग भएको वार्तापछि उक्त सहमति सार्वजनिक गरिएको हो ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ब्रह्मोस क्षेप्यास्त्र प्रणालीमा सहकार्यसम्बन्धी सम्झौता भएको जानकारी दिए । साथै, दुवै देशबीच हावाबाट हावामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र प्रणालीसम्बन्धी प्रविधि तथा रक्षा क्षमता अभिवृद्धिका लागि पनि सहकार्य गर्ने सहमति भएको उनले बताए । सम्झौताका विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । इन्डोनेसियाको रक्षा मन्त्रालयले यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन ।

    वार्तापछि प्रधानमन्त्री मोदीले भारत र इन्डोनेसियाबीच रक्षा, सुरक्षा तथा समुद्री मामिलामा आपसी विश्वास सुदृढ हुँदै गएको बताए । उनले रक्षा आदानप्रदान, विपद् व्यवस्थापन तथा औद्योगिक सहकार्य विस्तार गर्ने सहमति भएको जानकारी दिए । दुवै देशका तटरक्षक निकायले हिन्द महासागर क्षेत्रमा समुद्री सुरक्षा र सुरक्षासम्बन्धी सहकार्य पनि बढाउने भएका छन् ।

    दुवै पक्षले महत्वपूर्ण खनिज, स्टेनलेस स्टिल तथा दुर्लभ पृथ्वीजन्य चुम्बक (रेयर अर्थ म्याग्नेट) उत्पादन र विकासमा निजी क्षेत्रबीच साझेदारी प्रवद्र्धन गर्ने सहमति गरेका छन् ।

    राष्ट्रपति प्रबोवोले आर्थिक सहकार्यलाई द्विपक्षीय सम्बन्धको प्रमुख आधारमध्ये एक भएको उल्लेख गर्दै द्विपक्षीय व्यापार विस्तार तथा प्राथमिकतापूर्ण व्यापार सम्झौतासम्बन्धी वार्तालाई तीव्रता दिने सहमति भएको बताए । दुवै नेताले योग्याकार्तास्थित युनेस्को विश्व सम्पदा सूचीमा रहेको प्रम्बानन मन्दिरको पुनःस्थापनाका प्रयासको स्वागत गर्दै बुधबार संयुक्त रूपमा त्यसको भ्रमण गर्ने कार्यक्रम रहेको छ । भारतीय विदेश मन्त्रालयका अनुसार इन्डोनेसियाको भ्रमणपछि प्रधानमन्त्री मोदी अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणमा जाने कार्यक्रम छ । 

  • युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

    युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

    ब्रसेल्स, २४ असार (रासस–एएफपी) । युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली कन्डम युरोपमा भित्र्याउने एउटा सञ्जालको पर्दाफास गरेको जनाएको छ । ईयूको ठगीविरोधी कार्यालय (ओएलएएफ)का अनुसार रोमानिया, सर्बिया र स्पेनमा ती नक्कली कन्डम बरामद गरिएको छ । अनुसन्धानबाट ती सामग्री चीनस्थित एक आपूर्तिकर्तासँग सम्बन्धित रहेको पत्ता लागेको छ ।

    ओएलएएफका अनुसार ती कन्डममा एउटा प्रसिद्ध ब्रान्डको लोगो प्रयोग गरिएको थियो भने जाँचबाट बच्न तिनलाई ‘खेलौना’ भनेर लेबल लगाइएको थियो । चिनियाँ अधिकारीको सहयोगमा अनुसन्धान अघि बढाइएको र सञ्जालको स्रोत पत्ता लगाइएको ओएलएएफले जनाएको छ ।

    ओएलएएफका महानिर्देशक पेटर क्लेमेन्टले नक्कली कन्डम स्वास्थ्यका लागि जोखिमपूर्ण हुने बताए । उनले परीक्षण र गुणस्तर नियन्त्रणबिनाका यस्ता सामग्रीले यौनजन्य सङ्क्रमण फैलिन सक्ने चेतावनी दिए । ओएलएएफले नक्कली कन्डम आपूर्ति गर्ने चिनियाँ आपूर्तिकर्ता वा सञ्जालमा सङ्लग्न व्यक्तिमाथि गरिएको कारबाहीबारे भने विस्तृत जानकारी दिएको छैन । 

  • मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड

    मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड

    लन्डन, २४ असार (रासस–एएफपी) । ‘बैङ्क अफ इङ्गल्याण्ड’ (बीओई)ले मध्यपूर्व द्वन्द्वबाट उत्पन्न आर्थिक तथा वित्तीय जोखिम अझै कायम रहेको चेतावनी दिएको छ । बीओइले मङ्गलबार सार्वजनिक गरेको पछिल्लो वित्तीय स्थिरता प्रतिवेदनमा अमेरिका र इरानबीच भएको युद्धविरामसम्बन्धी समझदारीपछि ऊर्जा मूल्य द्वन्द्वअघिको स्तरभन्दा केही माथि आए पनि अनिश्चितता कायमै रहेको उल्लेख गरेको छ ।

    बैङ्कको वित्तीय नीति समितिले मध्यपूर्वमा हुने थप घटनाक्रमले वित्तीय बजारमा रहेका जोखिमपूर्ण अवस्थालाई थप प्रभावित पार्न सक्ने जनाएको छ । साथै, सम्भावित कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धी बजार असन्तुलनसँग अन्य आर्थिक जोखिम जोडिएमा चुनौती बढ्न सक्ने चेतावनी दिएको छ ।

    प्रतिवेदनमा एआइसम्बन्धी कम्पनीहरूको मूल्याङ्कन उच्च रहेको र ती मूल्याङ्कन आगामी वर्षमा निरन्तर बलियो नाफा वृद्धिको अपेक्षामा आधारित रहेको उल्लेख गरिएको छ । यसका लागि आवश्यक पूर्वाधार विकास र प्रविधिको व्यापक प्रयोग महत्वपूर्ण हुने बैङ्कले जनाएको छ ।

    ऊर्जाको खुद आयातकर्ता मुलुक भएकाले बेलायत मध्यपूर्व द्वन्द्वका कारण हुने ऊर्जा मूल्य वृद्धिबाट प्रभावित हुन सक्ने बीओइले जनाएको छ । यद्यपि, यी चुनौतीका बाबजुद बेलायतको वित्तीय प्रणाली अझै लचिलो अवस्थामा रहेको बैङ्कले उल्लेख गरेको छ ।

    यसैबीच, बीओइले प्रमुख बेलायती बैङ्कहरूका लागि वित्तीय सुरक्षासम्बन्धी ‘बफर’ नियमलाई केही खुकुलो बनाउने प्रस्ताव गरेको छ । वित्तीय सङ्कटपछि लागू गरिएका यी नियमले बैङ्कलाई सङ्कटको समयमा थप वित्तीय क्षमता उपलब्ध गराउने उद्देश्य राखेका थिए । 

  • मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च

    मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च

    वासिङ्टन, २४ असार (रासस–एएफपी) । आयातमा भएको उल्लेख्य वृद्धिका कारण मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षभन्दा बढी समययताकै उच्चस्तरमा पुगेको छ । विश्लेषकले सम्भावित नयाँ भन्सार महसुल ९ट्यारिफ० लागू हुनुअघि व्यवसायहरूले आयात बढाएको हुन सक्ने बताएका छन् ।

    अमेरिकी वाणिज्य विभागका अनुसार मे महिनामा व्यापार घाटा अघिल्लो महिनाको तुलनामा ४२ दशमलव दुई प्रतिशतले बढेर ७७ दशमलव छ अर्ब अमेरिकी डलर पुगेको छ ।

    मे महिनामा आयात तीन दशमलव तीन प्रतिशतले बढेर ३९५ दशमलव तीन अर्ब डलर पुगेको छ भने निर्यात तीन दशमलव दुई प्रतिशतले घटेर ३१७ दशमलव सात अर्ब डलरमा सीमित भएको छ ।

    विश्लेषकका अनुसार कम्प्युटर उपकरण, सेमिकन्डक्टर तथा कृत्रिम बुद्धिमत्ता ९एआइ०सम्बन्धी हार्डवेयरको माग बढेसँगै पुँजीगत वस्तुको आयात उल्लेख्य रूपमा बढेको छ । उपभोक्ता वस्तुमध्ये औषधिजन्य सामग्रीको आयातमा पनि उल्लेखनीय वृद्धि भएको छ ।

    अक्सफोर्ड इकोनोमिक्सकी अर्थशास्त्री ग्रेस ज्विमरका अनुसार जुलाई अन्त्यदेखि लागू हुने प्रस्तावित उच्च भन्सार महसुलबाट बच्न व्यवसायीले औषधिजन्य सामग्रीको आयात अग्रिम रूपमा बढाएको हुन सक्छ ।

    विश्लेषकले अमेरिकी घरेलु माग बलियो रहेकाले पनि आयात वृद्धि भएको जनाएका छन् । साथै, सम्भावित ट्यारिफ वृद्धिअघि नै सामान भित्र्याउने व्यवसायको रणनीतिले पनि व्यापार घाटा बढाउन योगदान दिएको उनीहरूको भनाइ छ ।

    यसैबीच, मध्यपूर्वमा उत्पन्न तनावका क्रममा अमेरिकी कच्चा तेल तथा पेट्रोलियम पदार्थको निर्यात बढेको थियो । अमेरिका र इरानबीचको समझदारीपछि होर्मुज जलसन्धिमा ढुवानी क्रमशः सामान्य बन्दै जाँदा पेट्रोलियम निर्यात पनि युद्धपूर्वको अवस्थातर्फ फर्किन थालेको विश्लेषकहरूले बताएका छन् ।

  • ‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

    ‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा

    तेहरान–दोहा, २४ असार (रासस–सिन्ह्वा) । इरानको अर्धसरकारी समाचार संस्था फर्सका अनुसार इस्लामिक रिभोलुसन गार्ड कप्र्स (आइआरजीसी)को नौसेनाले सोमबार राति ‘स्ट्रेट अफ होर्मुज’ पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्करमाथि कारबाही गरेको जनाएको छ ।

    फर्सका अनुसार अमेरिका–समर्थित ओमानी मार्ग प्रयोग गर्दै ‘स्ट्रेट अफ होर्मुज’ पार गर्न खोजेका ती ट्याङ्करले चेतावनीको बेवास्ता गरेपछि कारबाही गरिएको हो ।

    फर्सले स्वतन्त्र सैन्य पर्यवेक्षक मेन्चओसिन्टले सार्वजनिक गरेका स्याटेलाइट तस्बिर तथा समुद्री आवागमनसम्बन्धी तथ्याङ्क उद्धृत गर्दै घटनापछि जापान, भारत तथा अन्य पश्चिमी मुलुकका केही जहाजले आफ्नो मार्ग परिवर्तन गरी इरानले तोकेको जलमार्ग प्रयोग गरेको जनाएको छ ।

    विभिन्न सञ्चारमाध्यमका अनुसार घटनापछि ‘स्टे«ट अफ होर्मुज’ नजिक कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको एक ट्याङ्कर र साउदी अरबको झण्डावाहक कच्चा तेल बोकेको अर्को ट्याङ्करमा क्षति पुगेको छ ।

    ‘अल–रेकाय्यात’ नामको कतारी जहाजमा प्रहार भएपछि त्यसले सङ्कट सङ्केत (डिस्ट्रेस सिग्नल) पठाएको बताइएको छ ।

    कतारले उक्त आक्रमणको निन्दा गर्दै यसलाई अन्तरराष्ट्रिय कानुनको उल्लङ्घन तथा अन्तरराष्ट्रिय समुद्री आवागमन र विश्वव्यापी ऊर्जा सुरक्षामाथिको खतरा भएको जनाएको छ ।

    कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जारी विज्ञप्तिमा घटनाका लागि इरानलाई पूर्ण रूपमा कानुनी रूपमा जिम्मेवार ठहर गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेका छन् । 

  • अमेरिकामा आँधीका कारण हजारौ प्रभावित

    अमेरिकामा आँधीका कारण हजारौ प्रभावित

    अमेरिका २४ असार (रासस–एएफपी) । अमेरिकी प्रशान्त क्षेत्रमा आएको आधी (सुपर टाइफुन) बावीका कारण गुआम र उत्तरी मारियानासमा मङ्गलबार दशौं हजार मानिसहरू बिजुली विहीन भएको जनाइएको छ भने हाल सम्म कुनै हताहत नभएको जनाइएको छ ।

    सबै भन्दा धेरै प्रभावित रोटाको सानो टापु थियो जहाँ सोमबार प्रति घण्टा २९० किलोमिटर सम्मको हावाले प्रहार गरेको थियो । यसको परिणाम स्वरुप रूखहरू तथा बिजुलीका पोलहरु ढलेकाले लाइनहरू विगे्रको र पानीको आपूर्ति समेत प्रभावित भएको जनाइएको छ ।

    आधीका कारण धेरै घरहरूमा गम्भीर क्षति भएको र घरका छतहरू भत्किएको जनाइएको छ । प्रभावित क्षेत्रका स्थानीय वासीहरुले बिजुली, पानी र मोबाइल नेटवर्क जस्ता अत्यावश्यक सेवा नभएकाले जन–जिवन कष्टकर भएको बताएका छन् ।

    उत्तरी मारियानासका दुई मुख्य टापु साइपान र टिनियनका साथै नजिकैको गुआमका केही भागहरू पनि बिजुली विहीन भएको जनाइएको छ जुन प्रमुख अमेरिकी सैन्य आधारहरू भएकोे अमेरिकी क्षेत्र हो ।

  • फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

    फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

    काठमाडौँ, २४ असारः कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा स्वीट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

    खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । स्वीट्जरल्यान्डको जितमा ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गरे । त्यस्तै म्यानुअल अकांजीको प्रहार भने बहिरियो ।

    प्रतियोगितामा कोलम्बियाका लागि जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गर्दा डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार बाहिरियो । यससँगै विश्वकपको अन्तिम १६ को खेल सकिएको छ । 

  • इजिप्टमाथि अर्जेन्टिनाको रोमाञ्चक जित

    इजिप्टमाथि अर्जेन्टिनाको रोमाञ्चक जित

    काठमाडौँ, २४ असारः इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा आज भएको खेलमा इजिप्टलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलम प्रवेश गरेको हो । खेलमा पहिलो अग्रता भने इजिप्टले लिएको थियो । खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो ।

    खेलको ६७औँ मिनेटमा मुस्तफा जिकोले गोल थप्दै इजिप्टलाई २–० को बलियो अवस्थामा पुर्‍याए । त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो । क्रिस्टियन रोमेरोले खेलको ७९औँ मिनेटमा गोल गर्दै अन्तर घटाए भने लियोनेल मेस्सीले खेलको ८३औँ मिनेटमा बराबरी गोल गरे ।

    त्यसपछि खेल दोस्रो हाफको अतिरिक्त समयमा पुगेपछि एन्जो फर्नान्डेजले ९०ं३ औँ मिनेटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाए ।

  • कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला

    कम्बोडियाको वन्यजन्तु अध्ययनमा एसियाली हात्तीसहित १४ दुर्लभ प्रजाति फेला

    बेइजिङ, २३ असार (रासस–एएफपी) । कम्बोडियाको कार्डामम माउन्टेन्स राष्ट्रिय निकुञ्जमा गरिएको ‘क्यामेरा ट्र्याप’ अध्ययनमा १४ वटा दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु प्रजाति फेला परेका छन् । वातावरण मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

    अप्रिलको सुरुदेखि जुनको अन्त्यसम्म सञ्चालन गरिएको अध्ययनले निकुञ्जको समृद्ध जैविक विविधता तथा प्राकृतिक स्रोत संरक्षणको महत्त्वलाई पुनः उजागर गरेको विज्ञप्तिमा उल्लेख छ ।

    फेला परेका दुर्लभ तथा लोपोन्मुख प्रजातिहरूमा एसियाली हात्ती, गौर (जङ्गली राँगो), दक्षिणी सेरो, साम्बर मृग, सन बियर, एसियाली कालो भालु, मार्बल्ड बिरालो, ढोल (जङ्गली कुकुर), स्पटेड लिन्साङ, लामो पुच्छर भएको मकाक, उत्तरी पिग–टेल्ड मकाक, ठूलो भारतीय सिभेट, सुन्डा प्याङ्गोलिन र चिल्लो भुवा भएको ओटर समावेश छन् ।

    यसका अतिरिक्त, स्तनधारी, चराचुरुङ्गी र सरीसृप वर्गका अन्य धेरै कम जोखिममा रहेका प्रजातिहरू पनि सो निकुञ्जमा बसोबास गर्ने तथ्य अध्ययनले देखाएको छ ।

    वातावरण मन्त्रालयका उपसचिव तथा प्रवक्ता ख्वाइ अतित्याले यी प्रजातिहरूको उपस्थितिले कम्बोडियाको वन्यजन्तु संरक्षणप्रतिको प्रतिबद्धता र भावी पुस्ताका लागि पारिस्थितिक प्रणालीको दिगोपन सुनिश्चित गर्ने सरकारी प्रयासलाई प्रस्ट पार्ने बताए । 

  • सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

    सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

    कायरो, २३ असार (रासस–एपी) । सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो छ महिनामै ३०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । तीमध्ये अधिकांशको ज्यान ड्रोन आक्रमणमा गएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले सोमबार जनाएको छ । युद्ध थप तीव्र बन्दै जाँदा बालबालिका हिंसा, विस्थापन र मानवीय सङ्कटको सबैभन्दा ठूलो मारमा परिरहेका छन् ।

    सन् २०२३ को अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल ९आरएसएफ० बीच जारी द्वन्द्व अहिले मुख्यतः कोर्डोफान, डार्फर र ब्लू नाइल राज्यमा केन्द्रित छ । युनिसेफका अनुसार हालका महिनामा ड्रोन युद्ध तीव्र बनेको छ र कुल हताहतमध्ये करिब ६० प्रतिशत घटना ड्रोन आक्रमणसँग सम्बन्धित छन् ।

    रणनीतिक महत्त्वको उत्तर कोर्डोफानस्थित एल–ओबिड सहरको नियन्त्रणका लागि सेना र आरएसएफबीच चर्किएको लडाइँका क्रममा सम्भावित युद्ध अपराध र मानवअधिकार उल्लङ्घनबारे संयुक्त राष्ट्रसङ्घ, अमेरिका, बेलायतलगायत अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

    यस युद्धमा हालसम्म कम्तीमा ५९ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब एक करोड ३० लाख नागरिक विस्थापित भएका छन् । द्वन्द्वका कारण सुडानका धेरै क्षेत्र अनिकालतर्फ धकेलिएका छन् र तीन करोडभन्दा बढी मानिस मानवीय सहायताको भरमा बाँच्न बाध्य छन् ।

    ड्रोन आक्रमण र गोलाबारीका क्रममा विद्यालय, बजार, इन्धन भण्डारण केन्द्र तथा खानेपानीका संरचनासमेत निशाना बनाइएकाले पाँच लाखभन्दा बढी नागरिक प्रत्यक्ष जोखिममा परेका छन् । धेरै क्षेत्रमा सर्वसाधारणले एक वर्षभन्दा बढी समयदेखि घेराबन्दीजस्तै कठिन अवस्था सामना गरिरहेका छन् ।

    सुडानका लागि युनिसेफका प्रतिनिधि शेल्डन येटले बालबालिका हिंसा, विस्थापन र अभावको अन्तहीन चक्रमा फसेको बताउँदै उनीहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो । संयुक्त राष्ट्रसङ्घले पनि द्वन्द्वरत पक्षहरूलाई नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न, मानवीय सहायता निर्बाध रूपमा पुग्ने वातावरण बनाउन र बालबालिकालाई थप क्षतिबाट जोगाउन सबै सम्भव उपाय अपनाउन आह्वान गरेको छ । 

  • दक्षिणी युरोपमा डढेलोको कहर

    दक्षिणी युरोपमा डढेलोको कहर

    एथेन्स, २३ असार (रासस–एपी) । पोर्चुगल, ग्रिस र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणबाहिर जाने जोखिम बढ्दै गएको छ । सयौँ अग्निनियन्त्रक, दर्जनौँ हवाई साधन र अन्तर्राष्ट्रिय सहयोग परिचालन गरिए पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । ग्रिसमा भने डढेलोसँगै विषाक्त धुवाँको खतरा बढेपछि केही क्षेत्रमा स्थानीयवासीलाई घरभित्रै बस्न र झ्याल–ढोका बन्द गर्न निर्देशन दिइएको छ ।

    ग्रिसको दोस्रो ठूलो सहर थेस्सालोनिकीस्थित ओराइओकास्ट्रो उपनगर नजिक रहेको रिसाइक्लिङ प्लान्टमा शनिबार साँझ सुरु भएको आगो तीव्र हावाका कारण फैलिएको थियो । त्यसबाट निस्किएको विषाक्त धुवाँका कारण आसपासका तीन उपनगर र १५७ अपाङ्गता भएका व्यक्तिहरू बसोबास गर्ने आवासका लागि सतर्कता तथा आंशिक स्थानान्तरणको सूचना जारी गरिएको छ ।

    आगो नियन्त्रणका लागि करिब १६० अग्निनियन्त्रक रातभर खटिएका थिए भने बिहानदेखि पानी बोक्ने विमान परिचालन गरिएको थियो । स्थानीय मेयर पान्डेलिस साकिरिसका अनुसार केही घर र व्यवसायमा क्षति पुगेको छ, यद्यपि विस्तृत विवरण आउन बाँकी छ ।

    यसैबीच, एथेन्सको पश्चिमस्थित मन्द्रा क्षेत्रमा देवदारको जङ्गलमा लागेको अर्को डढेलो नियन्त्रण गर्न २१० अग्निनियन्त्रक, स्वयंसेवक, विशेष टोली तथा २९ हवाई साधन परिचालन गरिएको छ । रात परेपछि हवाई उद्धार प्रभावित हुने भएकाले अधिकारीहरूले साँझअघि नै आगो नियन्त्रणमा ल्याउने प्रयास तीव्र पारेका छन् ।

    पोर्चुगलको मध्य भाउजेला क्षेत्रमा बिहीबारदेखि लागेको डढेलो निभाउन एक हजार २०० भन्दा बढी अग्निनियन्त्रक, करिब ४०० सवारीसाधन र १५ वटा विमान परिचालन गरिएको छ । युरोपेली सङ्घ (इयु)को कोपर्निकस स्याटेलाइट प्रणालीका अनुसार आइतबारसम्म आगोले करिब १२ हजार हेक्टर क्षेत्र जलाइसकेको छ ।

    पोर्चुगललाई सहयोग गर्न स्पेनले १२० अग्निनियन्त्रक र ४५ सवारीसाधन पठाएको छ भने इटाली र स्पेनबाट तीनवटा अग्निनिवारण विमान पनि परिचालन गरिएका छन् । अधिकारीहरूका अनुसार आगोको तीव्रता केही घटे पनि केही स्थानमा अझै तातो केन्द्रहरू बाँकी छन् ।

    स्पेनको उत्तरपूर्वी गिरोना क्षेत्रमा शुक्रबारदेखि फैलिएको डढेलोले करिब दुई हजार २०० हेक्टर क्षेत्र जलाइसकेको छ । क्याटालोनिया अग्नि सेवाका अधिकारी एडवर्ड मार्टिनेजका अनुसार आगोको परिधि करिब ४० किलोमिटर पुगेको छ र तत्काल नियन्त्रणमा आउने सम्भावना कम देखिएको छ ।

    ग्रिसको अग्निशमन विभागले थेस्सालोनिकीको आगलागी सडकछेउको वनस्पतिमा गाडीबाट निस्किएको स्पार्कका कारण सुरु भएको आशङ्कामा ७६ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । केही दिनअघि सोही क्षेत्रनजिकै अर्को डढेलोमा १२ वर्षीय बालक र उनका बुबाको मृत्यु भएको थियो ।

    अग्निशमन विभागका प्रवक्ता ब्रिगेडियर आयोनिस आर्टोपियोसका अनुसार ग्रिसका करिब ८५ प्रतिशत डढेलो मानवीय लापरवाहीका कारण लाग्ने गरेका छन् । कृषि उपकरणबाट निस्कने स्पार्क, चुरोटका ठुटा र खुला स्थानमा बारबेक्यु गर्दा हुने असावधानी प्रमुख कारण रहेको उनले बताए । अधिकांश आगलागी सचेतना अपनाए रोक्न सकिने उनको भनाइ छ ।

    ग्रिसले हरेक वर्ष गर्मीयाममा विनाशकारी डढेलोको सामना गर्दै आएको छ । सन् २०१८ मा एथेन्सनजिकैको डढेलोमा १०० भन्दा बढीको मृत्यु भएको थियो भने सन् २०२३ मा उत्तरपूर्वी ग्रिसमा लागेको डढेलो इयुकै इतिहासमा सबैभन्दा ठूलो वनडढेलो बनेको थियो । जलवायु परिवर्तनसँगै बढ्दो जोखिमलाई मध्यनजर गर्दै ग्रिसले हालै प्रक्षेपण गरिएका चार उपग्रहमार्फत डढेलो निगरानी प्रणाली सुदृढ बनाउने तयारी पनि गरेको छ । 

  • बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै

    बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै

    ढाका, २३ असार (रासस–एएनआई) । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पठाएको औपचारिक निमन्त्रणा स्वीकार गर्दै बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरबको भ्रमणमा जाने कार्यक्रम तय भएको सोमबार प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुमायुन कबिरले जानकारी गराएका छन् ।

    बैठक बारे विस्तृत जानकारी दिँदै कबिरले भने, “बङ्गलादेशका लागि साउदी अरबका महामहिम राजदूत डा. अब्दुल्लाह जाफर एच। बिन अबियाहले आज बिहान प्रधानमन्त्री तारिक रहमानलाई भेटी राजकुमार बिन सलमानले प्रधानमन्त्री तारिक रहमानलाई साउदी अरबको औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन् । ”

    सल्लाहकार कबिरले यो कूटनीतिक भेटलाई दुवैतर्फी उच्चस्तरीय भ्रमणको रूपमा व्याख्या गरे । विदेश मामिला सल्लाहकारले अगाडि भने, “राजदूतले राजकुमार बिन सलमान बङ्गलादेश भ्रमण गर्न इच्छुक छन्, उनले उपयुक्त समयमा बङ्गलादेश आउन चाहेको बताएका छन् ।”

    दुई देशबीचको पुरानो सम्बन्धलाई जोड दिँदै कबिरले भने, “यो आदानप्रदानबाट हामी साउदी अरबसँग रणनीतिक सहयोग र साझेदारी गर्न अत्यन्त सकारात्मक छौँ । ऐतिहासिक रूपमा हाम्रो द्विपक्षीय सम्बन्ध सधैँ राम्रो रहिआएको छ। हामी यसलाई थप मजबुत बनाउनेछौँ र इन्शाअल्लाह नयाँ उचाइमा पुर्‍याउनेछौँ।”

    उनले आगामी उच्चस्तरीय भ्रमणले ठूलो आर्थिक अवसर खोल्ने पनि बताए । भ्रमण कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने, व्यापार तथा लगानीको मात्रालाई बढाउने, साउदी अरबको निजी क्षेत्र र सरकार दुवैबाट बङ्गलादेशमा लगानी गर्ने सम्बन्धमा छलफल हुनेछ”, कबिरले भने, “साउदी अरबको निजी क्षेत्र र सरकार दुवैबाट लगानीका लागि व्यापक चासो दिएकोे देखिएको छ ।”

    “यो हाम्रो द्विपक्षीय सम्बन्धको लागि महत्वपूर्ण क्षण हो। प्रधानमन्त्रीलाई साउदी अरब भ्रमणको निमन्त्रणा मात्र होइन, साउदी राजकुमार विन सलमानले पनि बङ्गलादेश भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको छ। यो दुवैतर्फी हो,” सल्लाहकार कबिरलेले थपे ।

    नयाँ सरकार गठन भएपछि गरिएका कूटनीतिक प्रयासबारे बोल्दै कबिरले भने, “पछिल्ला चार महिनामा हाम्रो सरकारले मध्यपूर्वमा भाइचारा सम्बन्ध स्थापित गरेको छ। प्रधानमन्त्रीले विशेष दूतमार्फत मध्यपूर्वका देशहरूको भ्रमण गर्नुभयो, जसले ठूलो सद्भावना सिर्जना गरेको छ।” “यसको परिणामस्वरूप हामी साउदी अरबसँग रणनीतिक सञ्चार र साझेदारीलाई थप मजबुत र विस्तार गर्न लागेका छौं,” उनले भने । 

  • पूर्व चिनियाँ अधिकारीलाई मृत्युदण्ड

    पूर्व चिनियाँ अधिकारीलाई मृत्युदण्ड

    नान्जिङ, २३ असार (रासस–सिन्ह्वा) । पूर्वी चीनको जियाङ्सु प्रान्तको नान्जिङ विकास क्षेत्र प्रशासनिक समितिका पूर्व कार्यकारी उपनिर्देशक याङ योउलिन लाई घुसखोरी गरेको अभियोगमा सोमबार मृत्युदण्डको फैसला सुनाइएको छ ।

    जियाङ्सुको चाङझाउ शहरको मध्यवर्ती जन अदालतले याङलाई आजीवनका लागि राजनीति अयोग्य रहने गरी अधिकार खोस्ने र उहाँको सम्पत्ति जफत गर्ने पनि आदेश दिएको छ ।

    अदालतको फैसलाअनुसार याङलाई भ्रष्टाचार, सार्वजनिक कोषको दुरुपयोग, शक्ति दुरुपयोग र सम्पत्ती शुद्धिकरणसम्बन्धी मुद्दामा दोषी ठहर गरिएको छ ।

    अदालतका अनुसार सन् १९९३ देखि सन् २०२३ सम्म याङले जियाङ्सुको राजधानी नान्जिङमा विभिन्न पदमा रहेर इन्जिनियरिङ ठेक्का, व्यवसाय सञ्चालन, जग्गा हस्तान्तरण र वित्तीय सहयोग जस्ता काममा संस्था तथा व्यक्तिहरूलाई पदीय मर्यादा विपरीत सहयोग गर्नुभएको र त्यसक्रममा उहाँले कुल २२१ करोड युआन (झन्डै ३२ करोड ५० लाख अमेरिकी डलर) बराबरको घुस र अवैध सम्पत्ति जम्मा गरेको ठहर गरिएको छ ।

    यसबाहेक उहाँले सरकारी कोष ठगी गर्न अरूसँग मिलेमतो गरेको, सरकारी कर्मचारीहरूलाई अनुचित लाभका लागि घुस दिएको, सरकारी कम्पनीको रकम दुरुपयोग गरेको र जग्गा भत्काउने तथा विकास परियोजनाहरू अवैध रूपमा व्यवस्थापन गरेको पनि पाइएको छ, जसले समाजमा गम्भीर प्रभाव पारेको थियो।

    याङले जग्गा हस्तान्तरण शुल्क अवैध रूपमा फिर्ता दिएर राज्यलाई ठूलो आर्थिक क्षति पुर्‍याएको र घुसबाट प्राप्त रकम आफ्नो नियन्त्रणमा रहेका कम्पनीहरूलाई ऋण दिएर लुकाएको र पछि आफ्नो आम्दानीका रूपमा देखाएको फैसलामा उल्लेख छ।

    अदालतले भनेको छ, “याङले अत्यधिक ठूलो रकम घुस लिएको पुष्टि भएको छ । उनको अपराधको प्रकृति अत्यन्त गम्भीर थियो, सामाजिक प्रभाव निकै नकारात्मक थियो र राज्य तथा जनताको हितमा अत्यधिक ठूलो क्षति पुर्‍याएको थियो। त्यसैले कानुनबमोजिम उहाँलाई मृत्युदण्ड दिनुपर्ने फैसला भएको छ ।”

    यद्यपि उनले अरूको अपराधबारे रिपोर्ट गर्नुभएको थियो र त्यो पनि सत्य ठहरिएको छ, तर समग्रमा उनको घुसखोरीको गम्भीरता, प्रकृति र सामाजिक हानिलाई हेर्दा कुनै छुट दिन मिल्ने अवस्था नदेखिएको अदालतले जनाएको छ ।

    यो मुद्दाको सार्वजनिक सुनुवाइ मार्च १८ र अप्रिल २८ मा भएको थियो। मुद्दाको सुनुवाइका क्रममा अभियोजनकर्ता, प्रतिवादी र उनका वकिलले प्रमाणबारे बहस गरेका थिए । याङले अन्तिम बयानमा आफू दोषी रहेको स्वीकार गर्दै पश्चाताप व्यक्त गरेका छन् । 

  • दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्य

    दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्य

    ढाका, २३ असार (रासस–सिन्ह्वा) । भारी वर्षाका कारण दक्षिण–पूर्वी बङ्गलादेशको कोक्स बजार जिल्लामा रहेका रोहिङ्ग्या शिविरहरूमा सोमबार बिहान गएको पहिरोमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृतकमध्ये सात जना दुई परिवारका सदस्य रहेको प्रहरीले अधिकारीले बताएका छन्।

    कोक्स बजार जिल्लाका प्रहरी अधीक्षक एएनएम शजादुर रहमानले सिन्ह्वालाई बताएअनुसार भारी बर्षापछि पहिरोमा परी आठ जनाको मृत्यु रोहिङ्ग्या शरणार्थी शिविरमा भएको र अन्य एक जनाको मृत्यु कोक्स बजार नगरपालिकामा भएको छ। उनले भने, “पहिरोका कारण शिविरमा धेरै घरहरू पनि क्षतिग्रस्त भएका छन्।”

    जिल्लामा सोमबार बिहानसम्मको २४ घण्टामा २५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो। यो भारी वर्षा अझै दुई दिनसम्म जारी रहने पूर्वानुमान गरिएको छ । अधिकारीले जोखिमपूर्ण पहाडी किनारमा बस्नेहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको बताएका छन् ।

    बङ्गलादेशको पहाडी क्षेत्रमा जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनको समयमा बाढी पहिराका घटनालाई सामान्य घटना मानिन्छ तर कहिलेकाही यो विशाल प्रकृतिक विपत्का रूपमा आउने गर्छ । अव्यवस्थित वस्ती, भिरालो क्षेत्रमा मेसिनको प्रयोग गरी सडक विस्तार र जङ्गल फँडानी र तटीय क्षेत्रमा बसाइएका बस्तीका कारण यहाँ जोखिम बढुदो रहेको छ ।

  • विश्वकपमा विवादित रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको राष्ट्रपति ट्रम्पको दावी

    विश्वकपमा विवादित रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको राष्ट्रपति ट्रम्पको दावी

    वाशिङ्टन, २३ असार (रासस–एएफपी) । राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी ‘स्ट्राइकर’ फोलारिन बालोगुनलाई रातो कार्ड दिने रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको बताएका छन् । 

    ट्रम्पले फिफालाई रातो कार्ड दिने निर्णय पुनरावलोकन गर्न दबाब दिएको बचाउ गर्दै भने, “यो रेफ्रीको विगत जाँच गर्दा अलिकति शङ्कास्पद देखिन्छ । म विवाद सिर्जना गर्न मन पराउँदिन, त्यसैले म सबै कुरा भन्न चाहन्न । तर उनी अत्यन्त शङ्कास्पद देखिएका छन् ।” 

    ब्राजिलका रेफ्री राफेल क्लाउसले अमेरिकी स्टार बालोगुनले ‘ट्याकल’ गर्ने क्रममा प्रतिद्वन्द्वी खेलाडीको खुट्टाको गोलिगाँठामा कुल्चिएपछि रेफ्रीको अधिकार प्रयोग गर्दै उनलाई रातो कार्ड दिँदै मैदानबाट बाहिर पठाएका थिए ।

  • भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर

    भारतद्वारा पाकिस्तानी लडाकु समूहका नेताविरुद्ध मुद्दा दायर

    नयाँ दिल्ली, २३ असार (रासस–एएफपी) । भारतले गत वर्ष भारत नियन्त्रित कश्मीरमा पर्यटकहरूमाथि भएको घातक हमलासँग जोडेर पाकिस्तानस्थित एक लडाकु समूहका संस्थापकविरुद्ध सोमबार मुद्दा दायर गरेको छ। सन् २०२५ एप्रिलमा पहलगाम नजिकको पर्यटकीय क्षेत्रमा भएको हमलामा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश हिन्दू पर्यटक थिए। यस घटनाले आणविक शक्ति भएका दुई देशबीच चार दिनसम्म तीव्र द्वन्द्व निम्त्याएको थियो।

    नयाँ दिल्लीले पाकिस्तानले आक्रमणलाई समर्थन गरेको आरोप लगाएको छ, जसलाई इस्लामावादले पटक–पटक अस्वीकार गर्दै आएको छ । भारतको राष्ट्रिय अनुसन्धान निकाय ९एनआईए० ले हाफिज सईद लाई ‘व्यक्तिगत रूपमा तथा आतङ्ककारी सङ्गठनको प्रतिबन्धित समूह लश्कर–ए–तैबाको प्रमुख र र उक्त सङ्गठनको सक्रिय छद्म सङ्गठन ‘द रेसिस्टेन्स फ्रन्ट’का विरूद्ध मुद्दा दायर गरेको जनाएको छ ।

    एनआईएको वक्तव्यअनुसार सईदलाई ‘भारतविरुद्ध युद्ध छेड्ने र सीमापारिबाट षड्यन्त्र रचेको’ आरोप लगाइएको छ। पाकिस्तानको विदेश मन्त्रालयले टिप्पणीका लागि गरेको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन। तर इस्लामावादले यसअघि स्वतन्त्र छानबिनको माग गर्दै हमलामा पाकिस्तानी संलग्नता नभएको बताएको थियो।

    संयुक्त राष्ट्रसङ्घले सन् २००५ मा अल–कायदा र तालिबानसँगको सम्बन्धका कारण लश्कर–ए–तैबालाई प्रतिबन्ध लगाएको थियो। सन् २००८ मा अमेरिकाले हाफिज सईदलाई विश्वव्यापी आतङ्ककारी सूचीमा राखेको थियो। लश्कर–ए–तैबा भारतको वित्तीय राजधानी मुम्बईमा सन् २००८ मा भएको हमलाका लागि सबैभन्दा बढी चर्चित छ। उक्त हमलामा १० जना बन्दुकधारीले तीन दिनसम्म शहरमा आतङ्क मच्चाएका थिए र कम्तीमा १६६ जनाको मृत्यु भएको थियो।

    यो समूहले सन् २००१ मा भारतीय संसद्माथि, सन् २००५ मा नयाँ दिल्ली र बेङ्गलुरुमा तथा सन् २००६ मा मुम्बईको रेलमा भएको हमलामा पनि संलग्नता देखाएको थियो। पाकिस्तानले सन् २०२० मा ७६ वर्षीय सईदलाई आतङ्ककारी गतिविधिका लागि आर्थिक सहयोग गरेको अभियोगमा दोषी ठहर गरेको थियो।

    गत वर्षको पहलगाम हमलाले भारत र पाकिस्तानबीच कूटनीतिक प्रतिशोधका कदमहरू निम्त्याएको थियो । यो मिसाइल, ड्रोन र तोपको गोलीबारीमा परिणत भएको थियो । द्वन्द्वमा दुवै पक्षबाट ७० जनाभन्दा बढी को मृत्यु भएको थियो।

    मुस्लिम बहुल कश्मीर क्षेत्र सन् १९४७ मा बेलायती शासनबाट स्वतन्त्र भएपछि दुई देशबीच विभाजित छ। दुवै देशले पूरै क्षेत्र आफ्नो दाबी गरेका छन् र यसको नियन्त्रणका लागि दुई पटक युद्ध पनि लडेका छन्। सन् १९८९ देखि केही विद्रोही समूहहरूले क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँगको विलयको माग गर्दै विद्रोह गरिरहेका छन्। 

  • कङ्गोमा इबोला सङ्क्रमित ५०० भन्दा बढीको मृत्यु

    कङ्गोमा इबोला सङ्क्रमित ५०० भन्दा बढीको मृत्यु

    जेनेभा, २२ असार (रासस–एएफपी) । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला महामारीबाट ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को सोमबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य निकायले जारी गरेको अद्यावधिक तथ्याङ्कअनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भएयता कङ्गोमा एक हजार ५६१ जना सङ्क्रमित भएका छन्, जसमध्ये ५०६ जनाको मृत्यु भएको छ ।

    छिमेकी देश युगान्डामा पनि दुई जनाको मृत्यु भएको छ। त्यहाँ अवस्था अपेक्षाकृत स्थिर छ र २० जना संक्रमितमध्ये १६ जना निको भएका छन् । कङ्गोको तथ्याङ्कअनुसार यो महामारीमा सङ्क्रमितमध्येबाट भएको मृत्युदर ३२ प्रतिशत रहेको छ। २५४ जना बिरामी निको भएका छन् भने घातक ज्वरोका ३५४ जना शङ्कास्पद विरामीहरूको अनुसन्धान भइरहेको छ ।

    उत्तर–पूर्वी कङ्गोमा फैलिएको यो महामारी चार प्रान्तमा पुगेको छ तर मुख्य रूपमा इटुरी प्रान्तमा केन्द्रित छ । ‘बुन्डिबुग्यो’ प्रजातिको इबोलाबाट यो महामारी फैलिएको हो, जसको लागि अहिलेसम्म कुनै स्वीकृत खोप वा उपचार उपलब्ध छैन। बुन्डिबुग्यो इबोलाको दुई सम्भावित उपचारको परीक्षण गत बिहीबारदेखि कङ्गोमा सुरु भएको छ।

    यो परीक्षणमा ‘मोनोक्लोनल एन्टिबडी एमबीपी १३४’ र ‘एन्टिभाइरल’ औषधि ‘रिमडेसिभिर’ को एक्लै र संयोजनमा सुरक्षा र प्रभावकारिता जाँच गरिँदैछ। पाँच सय जनाको मृत्युको यो आँकडा आउँदा डब्ल्यूएचओ सदस्य राष्ट्रहरू गत वर्ष कोभिड–१९ महामारीको जस्तो अन्तर्राष्ट्रिय अव्यवस्था दोहोरिन नदिनका लागि तयार पारिएको महामारीबारे सम्झौताको बाँकी भागमा छलफल गर्न फेरि भेला भएका छन्।

    डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले सोमबार सदस्य राष्ट्रहरूलाई चेतावनी दिँदै भने, “अर्को महामारीले हामीलाई तयार हुनका लागि पर्खने छैन।”

    उनले भने, अहिले कङ्गोमा भइरहेको इबोला महामारी यसको प्रमाण हो। यो कुनै टाढाको काल्पनिक घटना होइन, यो वास्तवमै भइरहेको छ।” उनले अगाडि भन्नुभयो, “इबोला अर्को महामारी नहुन सक्छ। तर यो एउटा दुःखद सम्झना हो कि खतरा कहिल्यै पूर्ण रूपमा हराउँदैन।”

    कङ्गोको यो १७औँ इबोला महामारी गत मे १५ मा खनिज सम्पन्न तर अशान्त इटुरी प्रान्तमा केही अज्ञात कारणले मृत्यु भएपछि घोषणा गरिएको थियो। यो भाइरस निकट सम्पर्क र सङ्क्रमित शारीरिक तरल पदार्थबाट फैलिन्छ। फ्रान्सको स्वास्थ्य मन्त्रीले शनिबार बताएअनुसार डीआर कङ्गोबाट फ्रान्स गएर इबोला सङ्क्रमण पुष्टि भएको पहिलो चिकित्सकलाई निको भएपछि अस्पतालबाट घर पठाइएको छ । उनी जुन २३ मा कङ्गोबाट फ्रान्स जाने भएका थिए ।

  • आयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनल प्रवेश

    आयोजक अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनल प्रवेश

    काठमाडौँ, २३ असारः फिफा विश्वकपको राउन्ड अफ १६ अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै अमेरिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यस हारसँगै अमेरिकाको विश्वकप यात्रा अन्तिम–१६ मै टुङ्गिएको छ ।

    बेल्जियमको जितमा चाल्र्स डे केटलेरले दुई गोल गरे भने हान्स भानकेन र रोमेलु लुकाकुले समान एकएक गोल गरे । खेल सुरुआती नवौँ मिनेटमा चाल्र्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३१औं मिनेटमा अमेरिकाको मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै खेललाई एक–एक बराबरीमा ल्याए ।

    त्यसको दुई मिनेटमै बेल्जियमले दोस्रो अग्रता बनायो । खेलको ३३ औँ मिनेटमा केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ५७औँ मिनेटमा भानकेनले गोल गर्दै बेल्जियमको अग्रता तेब्बर बनाए ।

    त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा लुकाकुले गोल गरेपछि बेल्जियमले अमेरिकामाथि ४–१ को जित निकाल्यो ।

  • पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

    पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

    काठमाडौँ, २३ असारः फिफा विश्वकपको राउन्ड अफ(१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

    अमेरिकाको डलास खेलमैदानमा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने सङ्केत देखिएको थियो । तर खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए ।

    यो जितसँगै स्पेन विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा राउन्ड अफ–१६ मै समाप्त भएको छ । यसैबीच, स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २०१० मा विश्वकप च्याम्पियन बनेको स्पेन त्यसयता क्वाटरफाइनलमा पुग्न सकेको थिएन । अन्तिम समयमा विजयी स्पेन विजयी भएसँगै पोर्चुगल विश्वकपबाट बाहिरिएको छ ।

  • खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

    खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस

    तेहरान, २२ असार (रासस–एपी) । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि सोमबार राजधानी तेहरानमा विशाल शोक जुलुस सुरु भएको छ । खामेनीको पार्थिव शरीरलाई राष्ट्रिय झण्डाले ढाकिएको कफिनमा राखी परिवारका सदस्यहरूसहित ट्रकमार्फत तेहरानका मुख्य सडक हुँदै मेहराबाद अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ । फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले सुरु गरेको युद्धको प्रारम्भिक चरणमा भएको हवाई आक्रमणमा उनको मृत्यु भएको थियो ।

    इरानी राज्य सञ्चारमाध्यमका अनुसार जुलुस सुरु भइसकेको छ भने सरकारप्रति जनसमर्थन प्रदर्शन गर्ने उद्देश्यले ठूलो सङ्ख्यामा नागरिकलाई सहभागी गराइएको छ । शोक अवधिलाई मध्यनजर गर्दै सडक, हवाई क्षेत्र तथा सार्वजनिक गतिविधिमा विशेष प्रतिबन्ध लगाइएको छ । शनिबारदेखि सुरु भएको राष्ट्रिय शोक बिहीबारसम्म रहनेछ । त्यसपछि ८६ वर्षीय खामेनीलाई उहाँको जन्मस्थान मशहदस्थित इमाम रेजा मन्दिर परिसरमा अन्त्येष्टि गरिनेछ ।

    यसबीच, संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पूर्ण रूपमा पुनः सञ्चालन, इरानको विवादित आणविक कार्यक्रम नियन्त्रण तथा युद्धको स्थायी अन्त्यका लागि वार्ता अघि बढाउन दबाब दिइरहे पनि अन्त्येष्टि सम्पन्न नभएसम्म वार्ता स्थगित रहने सङ्केत देखिएको छ । अन्त्येष्टिको वातावरणबीच खामेनीको मृत्युको बदला लिनुपर्ने आवाज पनि चर्किएको छ । जुलुसमा सहभागी केही शोकाकुल व्यक्तिहरूले बोकेका प्लेकार्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध आक्रोश व्यक्त गरिएको थियो । अमेरिकी अधिकारीहरूले सन् २०२० मा जनरल कासिम सुलेमानीको हत्या भएपछि ट्रम्प र अन्य अधिकारीविरुद्ध इरानबाट आउने सम्भावित धम्कीहरू लामो समयदेखि निगरानीमा राख्दै आएका छन् । यद्यपि इरानले ट्रम्पको हत्या गर्ने कुनै षड्यन्त्र रहेको आरोप निरन्तर अस्वीकार गर्दै आएको छ ।

    यता ट्रम्पले पनि युद्धका क्रममा इरानविरुद्ध कडा चेतावनी दिँदै देशको सभ्यतासमेत ध्वस्त पार्ने धम्की दिएका थिए । शोक जुलुसमा सहभागी फातिमा हसनले भनिन्, “आज हामी आफ्ना नेताप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आएका छौँ । यो हाम्रो लागि अत्यन्त पीडादायी दिन हो। हामी उनलाई बिदाइ मात्र गर्न होइन, उनको मृत्युको बदला लिन पनि प्रतिबद्ध छौँ ।”

  • उत्तर कोरियाद्वारा नयाँ विध्वंसक जहाज ‘काङ कोन’ को ‘परीक्षण’

    उत्तर कोरियाद्वारा नयाँ विध्वंसक जहाज ‘काङ कोन’ को ‘परीक्षण’

    सियोल, २२ असार (रासस–एएफपी) । उत्तर कोरियाले यो हप्ता पाँचहजार टनको विध्वंसक जहाज ‘काङ कोन’ को परीक्षण गरेको कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)ं ले जनाएको छ । नेता किम जोङ उनले यो हप्ता पाँच हजार टनको विध्वंसक जहाज ‘काङ कोन’ को परीक्षणका साथै क्रुज मिसाइल प्रक्षेपण र ‘विद्युतीय युद्धसामग्री’ समेतको निरिक्षण गर्नुभएको जानकारी राज्य सञ्चालित केसिएनएले आइतबार रिपोर्ट गरेको हो ।

    यो नौसेना जहाज गत वर्ष उद्घाटन समारोहका क्रममा पल्टिएपछि पछि मर्मत गरिएको थियो । कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएअनुसार, परीक्षण शुक्रबार भएको हो। यो परीक्षण अर्को पाँच हजार टनको टनको विध्वंसक जहाज ‘चोए ह्योन’ सैन्य सेवामा प्रवेश गरेको दुई हप्ता पनि नबित्दै भएको हो।

    त्यस कमिसनिङ समारोहमा किमले आफ्नो नौसेनालाई आणविक हतियारले सुसज्जित गर्ने र नयाँ १० हजार टनका युद्धपोतहरू विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कमिसनिङ भनेको योजना र डिजाइनदेखि वास्तविक निर्माण, कार्यान्वयन वा स्थापनासम्मका सबै सञ्चालन घटकहरू जसरी काम गर्नुपर्ने हो त्यसरी नै काम गरिरहेको छ भनी सुनिश्चित गर्ने विधिगत दृष्टिकोण हो। यसको उद्देश्य निरीक्षण, दस्तावेजीकरण र परियोजनाको प्रगति परियोजना मालिकको आवश्यकता र विशिष्टताहरूसँग बराबर छ कि छैन भनेर प्रमाणित गर्नु हो।

    शुक्रबारको हतियार परीक्षणपछि किमले ‘विध्वंसक जहाजको परीक्षण प्रक्रिया जिम्मेवारीपूर्वक पूरा गर्न र दुई महिनाभित्र नौसेनालाई सुम्पन’ निर्देशन दिनुभएको केसीएनएले जनाएको छ ।

    केसीएनएले जारी गरेको फोटोमा पहेँलो टोपी लगाएका किम समुद्री टापुको एक अग्लो बिन्दुबाट हतियार परीक्षण हेर्दै गरेको देखिनुभएको छ भने उहाँको दायाँबायाँमा सैनिक अधिकारीहरू रहेका देखिन्छ ।अर्को फोटोमा काङ कोनले समुद्रमा मिसाइल प्रक्षेपण गर्दा धुवाँको मुस्लो उडिरहेको देखिन्छ।

    निरिषणपछि देशको ‘युद्ध निरोधक क्षमता’ लाई मजबुत बनाउनुपर्ने दोहो¥याउँदै किमले उत्तर कोरियाको ‘पूर्ण शक्ति’ प्रदर्शन गर्ने प्रतिबद्धता जनाएको केसीएनएले उल्लेख गरेको छ।

    काङ कोन गत वर्ष मे महिनामा दुर्घटनामा परेको थियो। किमको प्रत्यक्ष उपस्थितिमा पानीमा परीक्षण गर्दा आंशिक रूपमा पल्टिएर क्षति भएको थियो । किमले दुर्घटनाको लागि ‘पूर्ण लापरवाही’ र ‘जिम्मेवारीहीनता’ लाई दोष दिँदै दोषीहरूलाई कारबाही गर्न आदेश दिनुभएको थियो ।

    –नौसेना महत्वाकाङ्क्षा–

    विश्लेषकहरूका अनुसार किमले दुई महिनाभित्र जहाज सुम्पने निर्देशन एउटा ठूलो राजनीतिक वर्षगाँठसँग जोडिएको हुन सक्छ ।

    “उत्तर कोरियाको राजनीतिक पात्रो हेर्दा, सबैभन्दा सम्भव कुरा यो हो कि जहाजलाई देशको स्थापना भएको ७८ औं वर्षगाँठ अर्थात् सेप्टेम्बर ९ मा सेनालाई सुम्पिइने छ,” सियोलस्थित कोरिया इन्स्टिच्युट फर नेशनल युनिफिकेसनका हङ मिनले एएफपीसँग भने । एक पटक तैनाथ भएपछि यो युद्धपोत मुख्य रूपमा कोरियाली प्रायद्वीपको पूर्वी तटमा सञ्चालन हुने सम्भावना छ । “अहिलेलाई यसको फोकस कम जोखिमयुक्त, नजिकको समुद्री क्षेत्रमा सञ्चालन कौशलता बढाउनेमा रहनेछ,” उनले भने ।


    सन् २०१९ मा हनोईमा किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको शिखर वार्ता असफल भएपछि उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय’ आणविक राज्य भएको बारम्बार घोषणा गर्दै आएको छ । उत्तर कोरिया दक्षिण कोरियासँग प्राविधिक रूपमा अझै युद्धको अवस्थामा छ किनकि सन् १९५० देखि सन् १९५३ को द्वन्द्व शान्ति सन्धि भएर नभई युद्धविराममा टुङ्गिएको थियो। दक्षिण कोरियाली नौसेनासँग पाँचहजार टनभन्दा ठूला १० भन्दा बढी जहाज छन् भने उत्तर कोरियासँग मात्र दुईवटा छन् ।

  • बङ्गलादेशको निर्यातमा सामान्य कमी

    बङ्गलादेशको निर्यातमा सामान्य कमी

    ढाका, २२ असार (रासस–सिन्ह्वा) । सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको एक बर्षको समयमा बङ्गलादेशको निर्यात आम्दानीमा ०।५८ प्रतिशतले घटेर करिब ४८ अर्ब अमेरिकी डलरमा सीमित भएको छ । निर्यात प्रवद्र्धन विभागले आइतबार जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार, जुन महिनामा देशले ४.२० अर्ब डलरको सामान निर्यात गरेको छ, जुन गत वर्षको सोही महिनाको तुलनामा करिब २६ प्रतिशत बढी हो । यसको मुख्य कारण तयारी पोशाक (रेडिमेड गार्मेन्ट्स) को माग बढ्नु हो ।

    गत आर्थिक वर्षको कुल निर्यात आम्दानीमध्ये बङ्गलादेशले ३८.७० अर्ब डलर तयारी पोशाक (बुनेका गार्मेन्ट्स) बाट कमाएको छ। बङ्गलादेशले आर्थिक वर्ष २०२५–२६ को लागि कुल ५५ अर्ब डलर निर्यात लक्ष्य राखेको थियो, जसमध्ये तयारी पोशाकबाट मात्र करिब ४५ अर्ब डलर कमाउने लक्ष्य थियो । बङ्गलादेशले तयारी पोशाकबाट सबैभन्दा बढी आम्दानी गर्छ ।

  • मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

    मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

    काठमाडौँ, २२ असारः इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । दश खेलाडीमा सीमित बनेको इग्ल्याण्डले अन्तिम १६ अन्तर्गत आज भएको खेलमा सहआयोजक मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । मेक्सिको अज्टेका स्टेडियममा भर्खरै सम्पन्न खेमला नर्वेले मेक्सिकोलाई ३–२ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

    इङ्ग्ल्यान्डको जितमा जुड बेलिङहमले २६औँ र ३८औँ मिनेटमा गोल गरे भने कप्तान ह्यारीले खेलको ६०औँ मिनेटमा गोल थपे । मेक्सिकोका लागि जुलियनले खेलको ४२औँ मिनेट र राउल जिमिनेजले ६९ औँ मिनेटमा गोल गरे । इङ्ल्यान्ड खेलको ५५ औँ मिनेटदेखि दश खेलाडीमा सीमित बनेको थियो । खेलको ५४औँ मिनेटमा इङ्ग्ल्यान्डका डिफेन्डर जारेल क्वान्साहले जेसस गालार्डोमाथि ट्याकल गरेपछि रातो कार्ड पाए । इङ्ग्ल्यान्डले अब क्वाटरफाइनल खेलमा नर्वेसँग खेल्नेछ ।

  • अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम

    अमेरिकी प्रशान्त टापुहरू नजिक ’अत्यन्त खतरनाक’ आँधीको जोखिम

    संयुक्त राज्य अमेरिका, २१ असार (रासस–एएफपी) । गुआम र उत्तरी मारियानामा रहेका मानिसहरू ‘अत्यन्त खतरनाक’ आँधीको जोखिमबाट बच्न आइतबार आपतकालीन उद्धार केन्द्रहरूमा भेला हुन थालेका छन् । आँधीले गुआम र उत्तरी मारियानाको तटीय क्षेत्रलाई ध्वस्त पार्नसक्ने बताइएको छ ।

    बावी नाम दिइएको अत्यन्त्यै वेगसहितको आँधी स्थानीय समयअनुसार सोमबार बिहान करिब १०ः०० बजे यस क्षेत्र हुँदै पश्चिमतर्फ बढ्ने अनुमान गरिएको छ । यसको हावाको गति २६० किलोमिटर प्रति घण्टा रहने अनुमान गरिएको छ । यो गति पाँचौँ तहको चक्रवात (हुरिकेन) को बराबर हो ।

    अमेरिकी राष्ट्रिय मौसम सेवा (एनडब्लयुएस)ले आँधीलाई ‘अत्यन्त खतरनाक’ भनेको छ र आइतबार दिउँसो वा साँझदेखि उष्णकटिबन्धीय हावाको लहर चल्ने तथा प्रणालीको केन्द्र नजिक ‘विनाशकारी’ क्षति हुने चेतावनी दिएको छ।

    एनडब्लयुएसले भनेको छ, “भारी वर्षाबाट ठूलो बाढी र तटीय क्षेत्र डुबानमा पर्ने सम्भावना छ ।” समुद्रमा करिब १० तले भवनको उचाइ जत्ति अर्थात् ३५ फिट (१०.७ मिटर)सम्मको लहरहरूले ‘अत्यन्त खतरनाक’ अवस्था सिर्जना गर्नेछ ।

    आइतबार गुआममा सडकमा थोरै गाडीहरू मात्र देखिन्थे किनकि भारी वर्षा र बलियो हावाले टापुलाई प्रभावित पारिरहेको थियो । आँधी आउने भनिएको क्षेत्रकी ५५ वर्षीया पिन्की कुबाकुबले आफ्नो रेष्टुरेन्टको झ्यालहरू बन्द गर्दै भने, “म शनिबार बिहानै ५०० डलरको प्लाईउड किनेर ढोका तथा झ्यालहरूलाई थप मजबुत् पार्दैछु ताकि आँधीबाट संरचनामा कम क्षति होस् ।”

    उहाँले एएफपीसँग भने, “म धेरै दिन घर बाहिर बस्न सक्दिनँ । यो मेरा लागि दुःखद् हुनेछ, किनकि म अहिले भर्खरै रोजगारी सुरु गरेको छु, हामीले अहिले जे कमाइरहेका छौँ त्यो भाडा, उपभोग्य सामान, कर्मचारी र अन्य सामग्रीका लागि मात्र हो। म आफैंलाई पनि तलब दिइरहेकी छैन।”

    ४८ वर्षीया कल सेन्टरकी कर्मचारी अरबेला पाउलिनोले भनिन्, “मेरी छोरीहरूले मलाई डरलाग्दो हुनेछ भनिरहेका छन्, तर मैले सबै ठीक हुनेमा आशा गरिरहेकी छु ।” “मेरो घर कङ्क्रीटको छ, त्यसैले सबैभन्दा खराब केही भएमा आँधीले झ्याल फुट्न सक्छ, अरू केही नहोला,” उनले भनिन् ।


    अर्की एक २५ वर्षीया जापानी पर्यटक मिकु सकुराईले आफ्ना साथीहरूसँग आइतबार टोकियो फर्कने तयारीमा रहेको तर मौसमका कारण उनीहरूको उडान रद्द भएपछि त्रासबीच अलपत्र बनेको बताइन् । “आँधी आउँदा हामी होटलमै बस्नेछौँ तर मलाई डर लागिरहेको छ,” उनले भनिन् ।


    गुआमको ‘तालोफोफो बे’मा रहेको एक समुद्र तटमा एक दर्जन जति सर्फरहरूले भने हावाको फाइदा उठाइरहेका थिए ।

    “पानीमा धेरै धुलो र फोहोरे छ तर धेरै रमाइलो छ,” उनीहरूमध्ये एकले भने ।
    —प्रार्थना गर्दै—

    पश्चिमी प्रशान्त महासागरमा रहेको उत्तरी मारियानाको जनसङ्ख्या करिब ४० हजार छ भने नजिकैको गुआमको जनसङ्ख्या करिब एक लाख ७० हजार रहेको छ । मध्य अप्रिलमा यो क्षेत्रमा आएको सिन्लाकुले चक्रवातले गर्दा हजारौँ मानिसको बिद्युत् सोवालाई अवरूद्ध भएको थियो, रूखहरू ढलेका थिए, गाडीहरू लडेका थिए र भवनहरूको टिनको छाना उडाएको थियो ।

    सन् २०२३ मा अर्को ठूलो आँधी ‘मावर’ले पनि ठूलो विनाश गरेको थियो। आइतबार बिहानसम्म बावीले गुआम र साइपान (उत्तरी मारियानाको मुख्य टापु) को बीचमा पर्ने सानो टापु रोटा नजिकबाट गुजर्ने अनुमान गरिएको थियो।

    “आवश्यक सावधानी अपनाएर हामी आफ्ना परिवार, छिमेकी र समुदायलाई जोगाउन सक्छौँ । हामी हाम्रा मानिसहरूको सुरक्षाको लागि प्रार्थना गर्छौं,” रोताका मेयर अउब्री होकोगले भने । संघीय आपतकालीन व्यवस्थापन निकायको टोली गुआममा खटिएको छ । उनीहरूको वितरण केन्द्रमा ११ लाख लिटर पानी, १२ लाख जनाका लागि खाना, र छ हजार ७०० ओछ्यान र ९० जेनेरेटर तयारी अवस्थामा छन्।

    टोलीले ‘उद्धार गर्न वा आश्रय खोज्ने’ समय घर्किँदै गएको’ बताएको छ । गुआमले विद्यालयहरूमा पाँच वटा उद्धार केन्द्र खोलेको छ जसको कुल क्षमता उक हजार ९०० छ । यो मुख्य रूपमा कमजोर घरहरूमा बस्नेहरूका लागि गरिएको व्यवस्थाका बन्दोबस्त हो । स्थानीय अधिकारी डेमन माइकल बोरजाले भन्नुभयो, उनीहरूले ‘मावर’ (विगतको आँधी) बाट धेरै पाठ सिकेका छन्” र अर्को सिन्लाकु नामक आँधी आउँदा राम्रो तयारी गरेका थिए ।

    “मावरको बेला सबै ठाउँमा बिजुली र पानी फर्किन करिब तीन महिना लागेको थियो भने सिन्लाकुमा करिब तीन हप्ता लागेको थियो,” उनले गुआमको आन्तरिक सुरक्षा मुख्यालयमा एएफपीसँगको कुराकानीमा भने ।

    —एल निनो—

    युरोपेली सङ्घको ‘कोपरनिकस मरिन सर्भिस’ले बुधबार विश्वका महासागरहरूमा अहिलेसम्मको रेकर्डमा सबैभन्दा तातो अनुभव गरेको रेकर्डभन्दा बढी तापक्रम बढ्ने अनुमान गरेका छन् । तातो महासागरले उष्णकटिबन्धीय आँधीहरूलाई झन् शक्तिशाली बनाउँछ र बढी आद्र्रता थप्छ जसले भारी वर्षा निम्त्याउँछ ।

    विश्व मौसम सङ्गठनले शुक्रबारे सामान्यतया प्रत्येक दुई देखि सात वर्षमा अनुभव गरिने एल निनोको चेतावनी दिएको छ । यो नौ देखि १२ महिना रहन्छ र यो उष्ण प्रशान्त क्षेत्रमा पहिले नै सुरु भइसकेको आगामी दिनमा अझ बलियो हुने सम्भावना रहनेछ । यो प्राकृतिक जलवायु घटनाले मध्य र पूर्वी भूमध्यरेखामा प्रशान्त महासागरको सतहको तापक्रम बढाउँछ जसले विश्वव्यापी रूपमा हावा, वायुको चाप र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ ।

  • अष्ट्रेलियामा नेपाली खानाको प्रवद्र्धन गर्दै टोमप्रसाद खनाल

    अष्ट्रेलियामा नेपाली खानाको प्रवद्र्धन गर्दै टोमप्रसाद खनाल

    २० असार, काठमाडौं । झापा, सुरुङ्गाका टोमप्रसाद खनाल आज अन्तर्राष्ट्रिय आतिथ्य र पाककलाको क्षेत्रमा स्थापित नाम बनेका छन् । सामान्य परिवेशबाट यात्रा शुरु गरेका खनाल अहिले अष्ट्रेलियाको प्रतिष्ठित द भिल्ली क्यासिनो रिसोर्टमा एसियन स्पेसियालिटी सेफका रुपमा कार्यरत छन् ।


    खनालको व्यावसायिक यात्रा भारतबाट भएको थियो । मुम्बईमा सलमान खान, इमरान हास्मी लगायत दर्जनौं कलाकारले उनको हातको स्वाद चाखेका छन् । दुबईमा रहँदा उनले सञ्जय दत्तलाई समेत आफ्नै परिकार पस्कने अवसर पाए । त्यति मात्र होइन, अबुधाबीका शेखहरुका लागि विशेष परिकार तयार गर्ने जिम्मेवारीसमेत उनले सम्हाले ।


    उनी एसियन स्पेसियालिटीमा विशेषज्ञका रुपमा चिनिन्छन् । हाल उनी नेपाली सेफ सोसाइटीमार्फत नेपाली खानाका परिकारलाई विश्वव्यापी रुपमा प्रचार–प्रसार गर्ने अभियानमा सक्रिय छन् ।


    नेपाली स्वाद, मसला र परम्परागत परिकारलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने उनको प्रयासले नेपाली पाकसंस्कृतिको पहिचान विस्तारमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ । यस संस्थामार्फत उनी अष्ट्रेलियामा वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर नेपाली सेफहरुलाई संगठित गर्ने, नयाँ पुस्तालाई प्रेरित गर्ने तथा नेपाली खानालाई विश्व बजारमा स्थापित गर्ने अभियानमा जुटिरहेका छन् ।

    वरिष्ठ उपाध्यक्ष,
    नेपाली सेफ सोसाइटी,
    अष्ट्रेलिया

  • भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रयविहिन : संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सी

    भेनेजुएलामा भूकम्प पछि दशौँ हजार मानिसहरु आश्रयविहिन : संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सी

    न्युयोर्क, १९ असार (रासस–क्युएनए) । संयुक्त राष्ट्रसङ्घीय सहायता एजेनसीहरुले भेनेजुएलामा गएको दुई वटा विनाशकारी भूकम्प पछि दशौँ हजार मानिसहरु पर्याप्त आश्रय स्थलविहीन भएको पुष्टि गरेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) विज्ञप्ति जारी गर्दै दिन प्रतिदिन मृतकको सङ्ख्या बढ्दै गएको उल्लेख गरेको छ । अधिकारीहरूका अनुसार लगभग दुई हजार जनाको मृत्यु भएको पुष्टि भएको छ भने अहिले सम्म छ हजार ४०० भन्दा बढी मानिसहरूलाई उद्धार गरिएको छ ।

    युएनएचसीआरले बताए अनुसार संयुक्त राष्ट्र सङ्घीय एजेन्सीहरूले सङ्कटमा आफ्नो प्रतिक्रिया तथा सेवा जारी राखेका छन् । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले तीन महिनाका लागि एक लाख मानिसहरूका लागि पर्याप्त आपूर्ति गरेको छ भने युएनएचसीआरले विस्थापित मानिसहरूलाई आश्रय प्रदान गरेको छ ।

    मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) ले दर्जनौं अन्तर्राष्ट्रिय खोजी तथा उद्धार टोलीहरू सँग समन्वय गरिरहेको छ जसले प्रभावित क्षेत्रमा आफ्नो कार्य जारी राखेको छ । संयुक्त राष्ट्रसंघीय विपद् मूल्याङ्कन तथा समन्वय टोली (युएनडिएसी) ले सबै भन्दा बढी प्रभावित समुदायहरूमा तत्कालिन आवश्यकताको आकलन गर्ने काम जारी राखेको छ ।

    संयुक्त राष्ट्र सङ्घले भूकम्पले अस्पतालहरूका साथै ४०० भन्दा बढी विद्यालयहरू र पानी सञ्जालका संरचना सहित एक हजार भवनहरू क्षति ग्रस्त वा नष्ट गरेको जनाएको छ ।

  • अक्टोबर ७ आक्रमणको एक हजार दिन

    अक्टोबर ७ आक्रमणको एक हजार दिन

    जेरुसेलम, १९ असार (रासस–एएफपी) । हमासले ७ अक्टोबर २०२३ मा गरेको आक्रमणको एक हजार दिन पुगेको अवसरमा इजरायलभर बिहीबार स्मरणसभा र विरोध प्रदर्शन आयोजना गरिएको छ । पीडित परिवार तथा बन्धकका आफन्तहरूले आक्रमणअघि र त्यसपछिका सरकारी निर्णयहरूको निष्पक्ष छानबिन गर्न राज्यस्तरीय अनुसन्धान आयोग गठनको माग दोहो¥याएका छन् ।

    कार्यक्रम बिहान ६ः२९ बजे सुरु गरिएको थियो । यो हमासले इजरायलमाथि आक्रमण थालेको समय हो । आधिकारिक इजरायली तथ्याङ्कअनुसार उक्त आक्रमणमा एक हजार २२१ जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजा लगिएको थियो । त्यसपछि सुरु भएको गाजा युद्धमा गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७३ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घले पनि मन्त्रालयका तथ्याङ्कलाई भरपर्दो मान्दै आएको छ ।

    मन्त्रालयका अनुसार गत वर्ष अक्टोबर १० मा युद्धविराम लागू भएपछि पनि कम्तीमा एक हजार ५३ प्यालेस्टिनी मारिएका छन् । इजरायली सेनाले सोही अवधिमा पाँच सैनिक र एक ठेकेदार गुमाएको जनाएको छ । हाल इजरायली सेनाले गाजाको करिब ७० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा राखेको छ ।

    अक्टोबर ७ का पीडित र बन्धकका परिवारले स्थापना गरेको ‘अक्टोबर काउन्सिल’ ले संसद् भवन र सरकारी अधिकारीहरूको निवासअगाडि प्रदर्शन आयोजना गरेको छ । काउन्सिलले राज्य अनुसन्धान आयोग गठन गरी आक्रमणका कारण र त्यसबेलाको सरकारी भूमिकाबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

    तेल अभिभको ‘होस्टेज स्क्वायर’ लाई यस अवसरमा ‘मेमोरी स्क्वायर’ नामकरण गरिएको छ । यार्कोन पार्कमा साँझ विशेष श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिँदै छ । त्यहाँ पीडित परिवार, सरकारी अधिकारी र सरकारको भूमिकाप्रति असन्तुष्ट समूहहरू सहभागी हुनेछन् । इजरायली सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले यो दिनले देशप्रतिको जिम्मेवारी र सुरक्षाको दायित्व झन् गम्भीर रूपमा सम्झाएको बताउँदै आगामी चुनौती सामना गर्न सेना तयार रहेको उल्लेख गरे ।

    यता, पूर्वसेना प्रमुख तथा आगामी निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका प्रमुख प्रतिस्पर्धी मानिएका गदी इजेनकोटले पनि आक्रमणको एक हजार दिन पूरा भएको उल्लेख गर्दै देशप्रति आफ्नो प्रतिबद्धता दोहो¥याए ।


    जनमत सर्वेक्षणहरूले अधिकांश इजरायली नागरिकले आक्रमण रोक्न राज्य संयन्त्र किन असफल भयो भन्ने विषयमा स्वतन्त्र अनुसन्धान आयोग गठन हुनुपर्ने पक्षमा रहेको देखाएका छन् । तर प्रधानमन्त्री नेतान्याहुको सरकारले हालसम्म त्यस्तो आयोग गठन गर्न अस्वीकार गर्दै आएको छ ।

  • दक्षिण अफ्रिका बस दुर्घटनाः १६ जनाको मृत्यु, दर्जनौं घाइते

    दक्षिण अफ्रिका बस दुर्घटनाः १६ जनाको मृत्यु, दर्जनौं घाइते

    केप टाउन, १९ असार (रासस–एएफपी) । दक्षिण अफ्रिकाको दक्षिण–पश्चिममा ७८ जना यात्रु बोकेको बस बिहीबार पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको प्रहरी र यातायात अधिकारीले बताएका छन् । मत्यु हुनेका केहीे बच्चाहरू पनि रहेको बताइएको छ। सडक ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार बस पर्यटकीय शहर केप टाउनबाट पूर्वी केप प्रान्तको इडुटिवामा जाँदै गर्दा बिहानको समयमा दुर्घटना भएको हो ।

    “सामान ढुवानी गर्ने गाडीसँग ठोक्किनबाट बच्न बसले घुम्ने क्रममा चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना हुन पुगेको प्ररम्भिक अनुसन्धानले देखाएको छ,” सडक ट्राफिक व्यवस्थापन कार्यालयले विज्ञप्तिमा भनेको छ । प्रहरीका अनुसार अधिकांश पीडित घटनास्थलमै मृत घोषित भएका थिए । मृतकमध्ये ७ पुरुष, ५ महिला र ३ बच्चा रहेको बताइएको छ ।

    कार्यालयले सामान्य रूपमा घाइते ४३ यात्रु घटनास्थलबाट प्राथमिक उपचारपछि घर फर्किएका छन् भने केहीलाई अस्पताल लगिएको छ । प्रहरीले दुर्घटनाको कारण अनुसन्धान भइरहेको जनाएको छ ।

    दक्षिण अफ्रिकासँग महाद्वीपकै सबैभन्दा विकसित सडक सञ्जाल छ तर अझै पनि सडक दुर्घटनामा उच्च मृत्युदर छ, जसको मुख्य कारण सवारी साधनको क्षमताभन्दा बढी अत्यधिक गति, चालकको लापरवाहीपूर्ण तरिकाले सवारी साधन हाक्ने प्रवृति, बिग्रिएका सवारी र दुर्घटना नियन्त्रणका उपायका लागि बनेका कानूनको उल्लङ्घन हो।

    सडक ट्राफिक व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार सन् २०२५ मा दक्षिण अफ्रिकामा ११ हजार ४८५ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो । यो अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतभन्दा बढीले कमी हो। उक्त बर्ष मृत्यु हुनेमध्ये धेरै पैदलयात्री थिए ।

  • शिशुलाई स्वीकार गर्न बाध्य पारिएको घटनाबारे बेलायतका प्रधानमन्त्रीद्वारा राज्यको तर्फबाट क्षमा याचना

    शिशुलाई स्वीकार गर्न बाध्य पारिएको घटनाबारे बेलायतका प्रधानमन्त्रीद्वारा राज्यको तर्फबाट क्षमा याचना

    लन्डन, १९ असार (रासस–एएफपी) । बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले अविवाहित आमाहरूबाट जन्मिएका अनुमानित एक लाख ८५ हजार शिशुहरूलाई जबरजस्ती धर्मपुत्र वा धर्मपुत्रीका रूपमा स्वीकार गराइएको घटनाको लागि औपचारिक रूपमा माफी मागेका छन् । उनले यसलाई ‘देशको इतिहासमा कलङ्क’ भनेका छन् ।


    उनले यो घटना सन् १९४९ देखि १९७६ सम्म इङ्ल्यान्ड र वेल्समा स्थानीय निकाय, स्वयंसेवी तथा धार्मिक संस्था, स्वास्थ्य र सामाजिक सेवाहरूमा प्रणालीगत रूपमा गाँसिएको बताउँदै आमाबाट छुट्टिनुपरेका सन्तानसँग माफी मागेका हुन् । “जुन आमाहरूलाई अयोग्य ठानियो, जसलाई आफूले अत्यन्त चाहेका बच्चाहरूको हेरचाह गर्नबाट रोकियो र जसले यो क्षति दशकौँदेखि बोकेका छन्, उनीहरूप्रति हामी अत्यन्त दुःखी छौँ,” स्टार्मरले बेलायतको संसद्मा सम्बोधनको क्रममा भने ।


    धर्मपुत्र वा धर्मपुत्री राख्न बाध्य पारिएका यी घटनाहरूमा धेरै किशोरी आमाहरूलाई सामाजिक, संस्थागत र पारिवारिक दबाब दिएर बच्चा त्याग्न बाध्य पारिएको थियो । उनीहरूलाई शिशुलाई धर्मपुत्र वा धर्मपुत्रीका रूपमा हस्तान्तरण गर्नु नै एकमात्र विकल्प हो भन्ने विश्वास दिलाइएको थियो ।

    “लाज तपाईंको होइन। लाज कहिल्यै तपाईंको थिएन। लाज हाम्रो हो,” स्टार्मरले पीडितलाई सङ्केत गर्दै भने । प्रधानमन्त्रीले माफीको लागि अभियान चलाउने जीवित मानिसहरूको प्रशंसा गर्दै उनीहरूले ‘दर्दनाक अनुभवहरू साझा गर्न देखाएको असाधारण साहस र सत्यका लागि पटक–पटक लडेको’ बताए ।


    “त्यागिएका सन्तान, हजारौँ आमा, बच्चा र परिवारसँग जे भयो, त्यो कहिल्यै नहुनुपथ्र्यो,” डाउनिङ स्ट्रीटस्थित प्रधानमन्त्रीको कार्यालयमा बाँचेकाहरूको समूहसँग भेटपछि उनले भने । उनले भने, “यो हाम्रो इतिहासमा कलङ्क हो। धेरै जवान, असहाय र सहयोगविहीन आमाहरूलाई जबरजस्ती, धम्की वा भ्रममा पारेर आफ्ना बच्चाहरू गुमाउन बाध्य पारियो ।”

    “जवान आमाहरूलाई भनियो कि उनीहरूले अनैतिक काम गरे र उनीहरूको बच्चा उनीहरूबिना नै सुन्दर जीवन बाँच्न सक्छन् । तर यो उनीहरूमा जीवनभरको पीडा बन्यो र यसले ठूलो प्रभाव पार्‍ यो । उनले भने, “राज्यले आफूले उपलब्ध गराएको कोष र वैधानिकता दिएको प्रणालीको जिम्मेवारी लिन्छ, जसले यस्ता अभ्यासहरूलाई सम्भव बनायो । यो प्रणालीगत असफलताका लागि म साँच्चै माफी माग्छु ।”