Category: विश्व

  • म्याक्रोँ ‘थाइ नरेश सामु घुँडा टेकेको दाबी’को थाइल्याण्डको विदेश मन्त्रालयद्वारा खण्डन

    म्याक्रोँ ‘थाइ नरेश सामु घुँडा टेकेको दाबी’को थाइल्याण्डको विदेश मन्त्रालयद्वारा खण्डन

    बैङ्कक, १९ असार (रासस–एएफपी) । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले यो हप्ता पेरिसको राजकीय भ्रमणका क्रममा थाइल्याण्डका राजासामु घुँडा टेकेको भन्दै भाइरल बनेको एआईद्वारा निर्मित तस्वीर भएको थाइल्याण्डको विदेश मन्त्रालयले बिहीबार जानकारी गराएको छ । राजा महा वजिरालोङ्कोर्ण र रानी सुथिदाको यो भ्रमण सन् १९६० यता थाइ नरेशद्वारा गरिएको फ्रान्सको पहिलो औपचारिक भ्रमण थियो । दुई देशबीचको औपचारिक कूटनीतिक सम्बन्धको १७० औँ वर्षगाँठ मनाउने सन्दर्भमा थाइ नरेशको फ्रान्स भ्रमण भएको थियो ।

    थाइ सञ्चारमाध्यमका अनुसार राष्ट्रपति भवनमा आयोजित भोजमा म्याक्रोँले ७३ वर्षीय राजालाई फ्रान्सको सर्वोच्च सम्मान ‘ग्रान्ड क्रस अफ द लिजन अफ अनर’ र रानी सुथिदालाई ‘ग्रान्ड क्रस अफ द नेशनल अर्डर अफ मेरिट’ प्रदान गरेका थिए । थाइल्याण्डमा अनलाइनमार्फत् व्यापक रूपमा फैलाइएको एउटा तस्वीरमा म्याक्रोँले पुरस्कार दिँदै घुँडा टेकेको देखाइएको थियो ।

    यसै सम्बन्धी बुधबार पोस्ट गरिएको एउटा थाइ भाषाको फेसबुक पोस्टले २४ घण्टामा ४० हजारभन्दा बढी ‘लाइक्स’ र दुई हजारभन्दा बढी शेयर पाएको थियो । पोस्ट २० लाखभन्दा बढी ‘फलोअर’ भएको, प्रायः सेना समर्थक र राष्ट्रवादी टिप्पणी प्रकाशित गर्ने पेजले पनि शेयर गरेको थियो । पोष्टबारे एक व्यक्तिको प्रतिक्रियामा भनिएको छ, “म अत्यन्त खुसी र भावुक भएको छु कि फ्रान्स जस्तो हाम्रोभन्दा धेरै धनी र विकसित देशले पनि हाम्रो देशलाई यति महत्व दिन्छ ।”

    अर्को व्यक्तिले म्याक्रोँलाई ‘अत्यन्त आकर्षक’ भनेर ‘थाइ दिल जितेको’ टिप्पणी गरेका पाइन्छ । तर थाइल्याण्डको विदेश मन्त्रालयका अधिकारीले तस्वीर एआई निर्मित भएको पुष्टि गरेका छन् । “इम्यानुएल म्याक्रोँले राजकीय सम्मान प्रदान गर्दै घुँडा टेकेको कुनै तस्वीरको प्रमाण छैन,” थाई अधिकारीले एएफपीसँग बताए । एएफपीकोे तथ्य परीक्षण सेवाले तस्वीर ओपन एआईको तस्वीर प्रमाणिकरण उपकरणमा जाँच्दा ओपन एआईबाट बनाइएको पत्ता लगाएको थियो ।

    एएफपीले अनलाइन पोस्टमा रानी सुथिदाजस्तो देखिने महिलाको पोशाकलाई भ्रमणका क्रममा खिचिएका एआई तस्वीरहरूसँग तुलना गर्दा मुख्य भिन्नता फेला पारेको थियो । थाइ विदेश मन्त्रालयले प्रकाशित गरेको औपचारिक तस्वीरहरूमा पनि म्याक्रोँले थाई नरेश सामु घुँडा टेकेको कुनै दृश्य छैन ।

  • गुगललाई ४.१ अर्ब युरो जरिवाना गर्ने निर्णय यथावत

    गुगललाई ४.१ अर्ब युरो जरिवाना गर्ने निर्णय यथावत

    ब्रसेल्स, १९ असार (रासस–एएफपी) । युरोपेली सङ्घ (इयू) को सर्वोच्च अदालतले गुगलको ‘एन्ड्रोइड’ को सञ्चालन प्रणालीसँग जोडिएको अविश्वासिलो अभ्यासका लागि दिइएको रेकर्ड ४.१ अर्ब युरो (४.७ अर्ब अमेरिकी डलर) को जरिवानालाई बिहीबारको फैसलाद्वारा कायम गरेको छ । युरोपेली अदालत (युरोपियन कोर्ट अफ जस्टिस) ले अमेरिकी प्रविधि कम्पनी गुगलको दोस्रो पटकको पुनरावेदन खारेज गर्दै सन् २०१८ मा युरोपेली आयोगले लगाएको जरिवाना सदर गरेको हो । यो अझै पनि इयूको सबैभन्दा ठूलो विश्वासविरोधी जरिवाना हो ।

    “कोर्ट अफ जस्टिस’ ले गुगल र अल्फाबेटको अपील खारेज गर्दै उनीहरूमाथि लगाइएको जरिवाना कायम गर्ने निर्णय लिएको छ,” अदालतले भनेको छ । गुगलको मातृ कम्पनी अल्फाबेटलाई पनि केही रकमको लागि संयुक्त रूपमा जिम्मेवार ठहर गरिएको थियो । यूरोपेली २७ राष्ट्रको समूहको विश्वासविरोधी कानूनको नियामक निकाय आयोगले गुगललाई आफ्नो एन्ड्रोइडको लोकप्रियता दुरुपयोग गरेर प्रतिस्पर्धा सीमित गरेको आरोप लगाएको थियो।

    आयोगले गुगलले एन्ड्रोइड प्रयोग गर्ने फोन निर्मातालाई आफ्नो ‘सर्च इन्जिन’ र क्रोम ब्राउजरको पहिल्यै सेटअप गर्न दबाब दिएको र यसले अन्य प्रतिस्पर्धीहरूलाई पहुँचबाहिर राखेको भन्दै ४।३ अर्ब युरो जरिवाना तोकेको थियो। सन् २०२२ मा अदालतले यो फैसला कायम राख्दै जरिवाना केही घटाएर ४।१ अर्ब युरो बनाएको थियो । गुगलले सर्वोच्च अदालतमा नयाँ चुनौती दिँदै मुद्दा आधारहीन भएको र जरिवानाले नवप्रवर्तनलाई सजाय दिएको दाबी गरेको थियो।

    पहिलो चरणमा कम्पनीले एप्पलको आफ्नै सेवाहरू आइफोनमा सफारीलाई प्राथमिकता दिने अभ्यासप्रति इयूले वेवास्ता गरेको आरोप लगाएको थियो ।
    ग्राहकहरूलाई गुगलका उत्पादन प्रयोग गर्न बाध्य नभएको र प्रतिस्पर्धी एप डाउनलोड गर्न मात्र एक कदम टाढा भएको पनि उसको तर्क थियो ।
    इयूको सर्वोच्च अदालतले पहिलो चरणको फैसलाले ‘एन्ड्रोइडसँगको सम्झौताहरूमा राखिएका पहिल्यै सेटअप गर्नुपर्ने शर्तहरूको विश्वासविरोधी प्रभाव’ मूल्याङ्कन गर्दा कानुनी गल्ती नगरेको ठहर गरेको छ।

    गुगलका अन्य सबै कानुनी तर्क खारेज गर्दै आयोगको कानुनी खर्च तिर्न निर्देशन दिएको छ । गुगलले फैसलाले ‘एन्ड्रोइड लाई खुला, सामानजस्यपूर्ण र निःशुल्क राख्न आफ्नो ठूलो लगानीलाई मान्यता नदिएको’ बताएको छ। “जुनसुकै भए पनि, हामीले सन् २०१८ मै सुरुको निर्णयअनुसार हाम्रा सम्झौताहरू परिवर्तन गरेका छौँ र हाम्रा प्रयोगकर्ता, साझेदार तथा विकासकर्ताहरूका लागि नवप्रर्वतन र खुलापनमा केन्द्रित छौँ,“ कम्पनीले प्रवक्ताद्वारा जारी एक सन्देशमार्फत् जानकारी गराएको छ।

    यो फैसला पूर्ण आश्चर्यजनक थिएन। गत वर्ष जुनमा इयू सर्वोच्च अदालतका सल्लाहकारले जरिवाना कायम राख्न सिफारिस गरेका थिए र गुगलका तर्कहरूलाई ‘अप्रभावकारी’ भनेका थिए। युरोपेली उपभोक्ता समूहले यसलाई ‘युरोपका लागि ठूलो जित’ भनेको छ तर ठूला प्रविधि कम्पनीहरूलाई नियन्त्रण गर्न छिटो कारबाही आवश्यक रहेको बताएको छ ।

  • हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा

    हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा

    जेनेभा, १९ असार (रासस–एएफपी) । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले स्पेनको क्यानरी आइल्यान्ड्सको टेनेरिफमा पुगेको एक पानीजहाजसँग सम्बन्धित हान्टाभाइरस प्रकोप समाप्त भएको बिहीबार घोषणा गरेको छ। भाइरस सङ्क्रमित अन्तिम व्यक्ति निको भई क्वारेन्टाइनबाट निस्केपछि यो घोषणा गरिएको हो। अर्जेन्टिनाबाट स्पेनका लागि छुटेको एमवी जहाजमा सङ्क्रमणको हल्लापछि जहाजका सङ्क्रमणको आशङ्का लागेका र अन्य यात्रुलाई क्वारेन्टाइनमा राखेर उनीहरूको परीक्षण गरिएको थियो ।

    परीक्षणबाट १२ पुष्टि भएका र एक सम्भावित सङ्क्रमण् देखिएको थियो, जसमध्ये तीन जनाको मृत्यु भएको थियो। प्रकोप समाप्त भए पनि वैज्ञानिक र विज्ञहरूका लागि काम भने अझै सुरु मात्र भएको छ। उनीहरूले विश्वव्यापी स्वास्थ्य चेतावनी निम्त्याएको यो घटनाबाट पाठ सिक्न प्रयास गरिरहेका छन्।

    “आज एमवी होन्डियस जहाजमा हान्टाभाइरसबाट प्रभावित अन्तिम व्यक्तिले क्वारेन्टाइन अवधि पूरा गरेपछि गरिएको परीक्षणमा भाइरस नभेटिएपछि उहाँलाई घर फर्काइएको छ,” डब्ल्युएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले पत्रकार सम्मेलनमा भने । “मे २५ यता थप कुनै केस रिपोर्ट भएको छैन,” उनले भने । उनले थपे, “त्यसैले हामी खुशीसाथ भन्न सक्छौं कि डब्ल्युएचओले हान्टाभाइरस प्रकोप समाप्त भएको ठानेको छ।”

    डच झण्डा भएको यो जहाज अप्रिल १ मा अर्जेन्टिनाको उशुआइबाट प्रस्थान गरेको थियो र जहाज दक्षिण अटलान्टिक महासागरका दुर्गम टापुहरू ट्रिस्टन दा कुन्हा लगायत हुँदै स्पेनको क्यानरी आइल्यान्ड्सको टेनेरिफ पुगेको थियो, जहाँ बाँकी यात्रुहरूलाई सुरक्षित निकालिएको थियो। टेड्रोसका अनुसार ३३ देश तथा क्षेत्रका स्वास्थ्य अधिकारीहरूले ६५० भन्दा बढी सम्पर्क व्यक्तिहरूको पहिचान गरी अनुसरण गरेका थिए।

    उनले डब्ल्युएचओले प्रकोप र भाइरसबारे थप बुझ्न काम जारी राख्ने बताए । टेड्रोसले भने, “हामी २१ देशसँग मिलेर एउटा अध्ययन समन्वयन गर्दैछौँ, जसले रोग कसरी विकास हुन्छ भन्ने बुझ्न मद्दत गर्नेछ। यसले भविष्यका प्रकोपहरूका लागि निदान, उपचार र खोप विकासमा सहयोग पु¥याउनेछ।” मुसाबाट फैलिने हान्टाभाइरस एक दुर्लभ भाइरस हो। यसको अहिलेसम्म कुनै खोप वा विशिष्ट उपचार उपलब्ध छैन।

    होन्डियस प्रकोपको पछाडि रहेको एन्डिस प्रजाति नै हान्टाभाइरसको एकमात्र त्यस्तो स्ट्रेन हो जुन भाइरस मानिसबाट मानिसमा सर्न सक्छ । जहाज मे १८ मा नेदरल्यान्ड्सको रोटरडाम बन्दरगाहमा पुगेको थियो ।

  • क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    काठमाडौँ, १९ असारः फिफा विश्वकप २०२६ अन्तर्गत आज भएको खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । क्यानडाको टोरन्टो स्टेडियममा आज भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले समान एक एक गोल गरे । खेलमा पहिलो अग्रता भने क्रोएसियाले लियो । खेलको ५३ औँ मिनेटमा इभान पेरिसिसचले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए ।

    त्यसपछि खेलको ६८ औँ मिनेटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा रामोसले गोल गरे । त्यसयता खेलमा गोल हुन सकेन र पोर्चुगलले क्रोएसियामाथि २–१ गोलको जित हासिल गर्यो । अब पोर्चुगलले अन्तिम १६ मा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

  • इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

    इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

    काठमाडौँ, १८ असार । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा आज भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो । डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बने । उनले इंग्ल्यान्डका लागि दुवै गोल गरे । खेलमा पहिलो अग्रता भने कंगोले लियो ।

    खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७५औं मिनेटमा डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । खेलको ८६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि दुवै टोलिबाट गोल हुन सकेन । यस हार सङै कंगो बिश्वकपबाट बाहिरिएको छ ।

  • लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

    लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

    लाहोर, १७ असार (रासस–एपी) । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत खस्दा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । प्रहरीका अनुसार भग्नावशेषमा थप बालबालिका फसेको आशङ्कामा उद्धार कार्य जारी छ । घटनापछि शिक्षण केन्द्रका सञ्चालक र अर्का एक जनालाई पक्राउ गरिएको छ ।

    वरिष्ठ प्रहरी अधिकारी फैसल कामरानका अनुसार पुरानो भवनमा सञ्चालन भइरहेको शिक्षण केन्द्रको अपूर्ण दोस्रो तलाको छत कमजोर निर्माणका कारण भत्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घाइते बालबालिकाको अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । छत खस्नेबित्तिकै एम्बुलेन्स, सुरक्षाकर्मी र उद्धार टोली घटनास्थलमा पुगेका थिए । स्थानीय बासिन्दाले पनि बेलचा र खाली हातले भग्नावशेष हटाउँदै फसेका बालबालिकाको खोजीमा सहयोग गरेका थिए ।

    घटनापछि अस्पताल र शिक्षण केन्द्र रहेको क्षेत्रमा शोकको वातावरण छाएको छ । बालबालिकाको शव परिवारलाई बुझाइँदा आफन्तहरू भावविह्वल बनेका थिए । अधिकांश पीडित स्थानीय बासिन्दा भएकाले मङ्गलबार नै अन्त्येष्टि गरिने तयारी गरिएको थियो । स्थानीय बासिन्दाले असुरक्षित र जीर्ण भवनमा कक्षा सञ्चालन गरेको आरोप लगाउँदै शिक्षण केन्द्रका सञ्चालकमाथि कडा कारबाहीको माग गरेका छन् । एक स्थानीय बासिन्दा जफर इकबालले एउटै टोलका धेरै परिवारले आफ्ना सन्तान गुमाएकाले कसको घरमा पहिले समवेदना व्यक्त गर्न जाने भन्ने अवस्था समेत नरहेको बताए ।


    पाकिस्तानमा कमजोर निर्माण गुणस्तर, सुरक्षा मापदण्डको बेवास्ता र जीर्ण भवनका कारण भवन भत्किने घटना पटक–पटक हुने गरेका छन् । राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता दुर्घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था लागू गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

  • भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

    भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

    वाशिंगटन, १७ असार (रासस–एएफपी) । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्याङ्को प्रारम्भिक मूल्याङ्कन अनुसार गत हप्ता भेनेजुएलामा आएका शक्तिशाली दुई वटा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरूलाई क्षतिग्रस्त भएको उल्लेख गरिएको छ । भेनेजुएलामा गत हप्ता ७।२ र ७।५ म्याग्निच्युडको भूकम्पमा परी एक हजार ७०० जनाको मृत्यु भएको पुष्टि हुनुका साथै हजारौं अझै बेपत्ता भएको बताइएको छ ।

    ओरेगन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ता कोरी शेर र जामोन भान डेन होकका अनुसार भूकम्पको भोलिपल्ट जुन –२५ मा सङ्कलन गरिएको उपग्रह राडार तथ्याङ्को आधारमा “प्रभावित क्षेत्रमा लगभग ५८ हजार ८७० वटा भवनहरू क्षतिग्रस्त भएको जनाइएको हो । युरोपेली अन्तरिक्ष एजेन्सीको “उच्च–रिजोल्युसन राडार इमेजरी उपग्रह सेन्टिनेल–१” बाट तथ्याङ्क उद्धृत गरिरहेको जनाइएको छ ।

    यो प्रारम्भिक तथाङ्क द्रुत मूल्याङ्कनले क्षतिसँग मिल्दोजुल्दो अवस्थालाई प्रतिबिम्बित गर्ने अनुसन्धानकर्ताहरूले जनाइएका छन् उनीहरुका अनुसार यो तथ्याङ् प्रमाणित हुने प्रक्रिया अझै बाँकी नै छ । नासाले उपग्रहहरूले “जमिनमा रहेका उद्धार टोलीहरूलाई प्रभावहरूको मूल्याङ्कन गर्न र प्रतिक्रिया प्रयासहरूलाई मार्ग–दर्शन गर्न मद्दत गर्नको लागि महत्वपूर्ण तथ्याङ्क उपलब्ध गराएको जनाएको छ ।

  • येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान

    येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान

    टोकियो, १७ असार (रासस–एएफपी) । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै न्यून स्तरमा पुगेपछि जापानले आवश्यक परे विदेशी विनिमय बजारमा हस्तक्षेप गर्न तयार रहेको जनाएको छ । जापानका अर्थमन्त्रीले मङ्गलबार अधिकारीले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको र आवश्यक परे उपयुक्त कदम चालिने बताए । स्थानीय सञ्चारमाध्यमका अनुसार आवश्यकता अनुसार जुनसुकै बेला उचित हस्तक्षेप गर्न सकिने सङ्केत दिएका छन् ।


    मध्यपूर्वमा जारी द्वन्द्व तथा अमेरिका र जापानबीचको ब्याजदर अन्तरका कारण पछिल्ला वर्षमा येनमाथि निरन्तर दबाब पर्दै आएको छ । गत सोमबार लन्डन बजारमा एक अमेरिकी डलर बराबर १६१ दशमलव ९६ येन पुगेपछि जापानी मुद्रा सन् १९८६ यताकै कमजोरस्तरमा पुगेको थियो । मङ्गलबार एसियाली कारोबारका क्रममा डलरको विनिमय दर १६२ दशमलव ४० येनसम्म पुगेपछि केही सुधार भई १६२ दशमलव १७ येनमा कारोबार भएको थियो ।

    बजारलाई सन्देश दिन जापान सरकारले गत महिना ७० अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्दै येनलाई समर्थन गर्न हस्तक्षेप गरेको थियो । पछिल्लो अभिव्यक्तिलाई पनि आवश्यक परे पुनः हस्तक्षेप गर्न सकिने सङ्केतका रूपमा हेरिएको छ । कमजोर येनका कारण ऊर्जा तथा कच्चा पदार्थ आयातमा निर्भर जापानमा आयात लागत बढेको छ । विशेषगरी अमेरिकी डलरमा कारोबार हुने पेट्रोलियम पदार्थ महँगो बनेको छ । यसबाट उपभोक्तालाई राहत दिन प्रधानमन्त्री साने ताकाइची नेतृत्वको सरकारले इन्धन तथा ऊर्जामा अनुदान उपलब्ध गराउँदै आएको छ ।

    यद्यपि कमजोर येनका कारण जापान विदेशी पर्यटकका लागि तुलनात्मक रूपमा सस्तो गन्तव्य बनेको छ, जसले पर्यटन तथा उपभोगमा सकारात्मक प्रभाव पारेको छ । यसै महिना जापानको केन्द्रीय बैंकले ब्याजदर ३१ वर्षयताकै उच्च स्तरमा पु¥याए पनि अमेरिकी सङ्घीय रिजर्भले यस वर्ष थप ब्याजदर वृद्धि गर्न सक्ने अपेक्षा गरिएको छ । यसले दुई देशबीचको ब्याजदर अन्तर कायम रहने र येनमाथिको दबाब तत्काल कम नहुने विश्लेषण गरिएको छ ।यसैबीच, जापानको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे २८ देखि जुन २६ सम्मको अवधिमा विदेशी विनिमय बजारमा कुनै हस्तक्षेप गरिएको थिएन ।

  • मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

    मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

    बेरूत, १७ असार (रासस–सिन्ह्वा) । मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब अमेरिकी डलरसम्मको क्षति पु¥याउन सक्ने संयुक्त राष्ट्रसङ्घका एजेन्सीले चेतावनी दिएका छन् । सङ्कटले श्रम बजारमा असमानता बढाउँदै महिलाको रोजगारीमा गम्भीर असर पार्ने राष्ट्रसङ्घीय प्रतिवेदनमा उल्लेख छ । ‘युएन वुमन’ र ‘युनाइटेड नेशनस् इकोनोमिक एण्ड सोसियल कमिसन् फर वेष्टर्न एसिया’ले मङ्गलबार सार्वजनिक गरेको नीतिगत विवरणमा सङ्कटका कारण अरब मुलुकमा ३६ लाख रोजगारी जोखिममा पर्न सक्ने र थप ४० लाख मानिस गरिबीको चपेटामा पर्न सक्ने अनुमान गरिएको छ ।

    प्रतिवेदन अनुसार श्रम बजारमा विद्यमान संरचनागत असमानता, अनौपचारिक रोजगारीको उच्च हिस्सा तथा कमजोर आर्थिक क्षेत्रमा महिलाको बढी संलग्नताका कारण उनीहरू सङ्कटबाट असमान रूपमा प्रभावित हुनेछन् । इराक, जोर्डन, लेबनान, प्यालेस्टाइन र सिरियामा अल्पकालीन अवधिमा ३४ हजारदेखि ५६ हजार महिलाको रोजगारी गुम्न सक्ने अनुमान गरिएको छ । सङ्कट अझ गहिरिएमा यो सङ्ख्या करिब ८० हजारसम्म पुग्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

    कडा वित्तीय अवस्थाका कारण शिक्षा, स्वास्थ्य र सार्वजनिक प्रशासन क्षेत्रमा महिलाको रोजगारी थप प्रभावित हुनसक्ने जनाइएको छ । यसबाट नयाँ नियुक्ति रोक्ने, तलब कटौती गर्ने तथा पारिश्रमिक भुक्तानीमा ढिलाइ हुने अवस्था आउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

    अरब राज्यका लागि संयुक्त राष्टसङ्घीय महिला निकायकी क्षेत्रीय निर्देशक मोएज डोरेडले आर्थिक सङ्टको प्रभाव सबै वर्गमा समान रूपमा नपर्ने बताउँदै महिलाको जीविकोपार्जन सुरक्षाका लागि लक्षित कार्यक्रम आवश्यक रहेको बताए । उनले पर्याप्त उपाय नअपनाए सङ्कटले विद्यमान असमानता अझ गहिरो बनाउने र महिलाको आर्थिक सशक्तीकरणमा भएका प्रगतिलाई पछाडि धकेल्न सक्ने चेतावनी दिए ।

    प्रतिवेदनले अनौपचारिक तथा निजी क्षेत्रमा कार्यरत महिलाका लागि आयस्रोतको सुरक्षा विस्तार गर्न, शिक्षा र स्वास्थ्य क्षेत्रको खर्च संरक्षण गर्न, महिला नेतृत्वका व्यवसायलाई सहयोग गर्न तथा लैङ्गिक आधारमा विभाजित श्रम बजारको निगरानी प्रणाली बलियो बनाउन सुझाव दिएको छ ।

  • युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

    युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

    पेरिस, १७ असार (रासस–एएफपी) । युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको लहरका कारण आज नौ करोड ५० लाखभन्दा बढी मानिसले ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमको सामना गर्ने अनुमान गरिएको छ । एएफपीको विश्लेषणअनुसार सोमबार १३ करोडभन्दा बढी मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम अनुभव गरेको अनुमान गरिए पनि आज प्रभावित जनसङ्ख्या केही घट्ने देखिएको छ । यद्यपि युरोप (टर्कीबाहेक)का करिब पाँचमध्ये दुई जनाले ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सामना गर्ने अपेक्षा गरिएको छ ।

    युरोपमा विशेषगरी ग्रीष्मयामको सुरुआतमै यस्तो उच्च तापक्रम असामान्य मानिन्छ । यसले अत्यधिक मृत्यु, विद्यालय बन्द तथा बाहिरी गतिविधि रद्द गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । ‘वल्र्ड वेदर अट्रिब्युसन ग्रुप’का वैज्ञानिकले जलवायु परिवर्तन नभएको भए जुन महिनामा यति तीव्र गर्मीको लहर आउनु ‘लगभग असम्भव’ हुने बताएका छन् ।

    आजको गर्मीको लहरबाट मुख्य रूपमा युरोपका पूर्वी र दक्षिणी क्षेत्र प्रभावित हुने जनाइएको छ । हङ्गेरीमा लगभग सम्पूर्ण जनसङ्ख्याले ३५ डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रमको सामना गर्ने अनुमान गरिएको छ । यस्तै स्लोभाकिया, मोल्डोभा, युक्रेन, रोमानिया, सर्बिया र क्रोएसियामा पनि तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ । साथै स्पेन र इटालीमा पनि लाखौँ मानिस उच्च तापक्रमबाट प्रभावित हुने अनुमान छ ।

    एएफपीले यो विश्लेषण जर्मनीको राष्ट्रिय मौसम सेवा ‘ड्यूचर वेटरडिएन्स्ट’को मौसम पूर्वानुमान तथा संयुक्त अनुसन्धान केन्द्रको जनघनत्वसम्बन्धी तथ्याङ्कका आधारमा तयार गरेको जनाएको छ । विश्लेषणमा कुनै स्थानमा दिउसोको समयमा ३० देखि ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम पुग्ने पूर्वानुमान भए त्यहाँका बासिन्दालाई प्रभावित जनसङ्ख्यामा समावेश गरिएको जनाइएको छ ।

  • समझदारीपत्र उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी

    समझदारीपत्र उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी

    तेहरान, १७ असार (रासस–एएफपी) । मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको समझदारीपत्र (एमओयू)को अमेरिकाले कुनै पनि उल्लङ्घन गरे त्यसको जवाफ दिइने इरानले चेतावनी दिएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा समझदारीपत्रको उल्लङ्घन भए त्यसलाई बेवास्ता नगरिने बताए । “हामी कुनै पनि कार्यलाई अनुत्तरित छोड्ने छैनौँ । इस्लामिक गणतन्त्र इरानका उद्देश्यविरुद्ध हुने कुनै पनि आक्रामक कदमको तत्काल र निर्णायक जवाफ दिइनेछ,” उनले भने ।


    प्रवक्ता बकाइले त्यस्ता गतिविधि समझदारीपत्रको पहिलो धाराको उल्लङ्घन हुने बताउँदै उल्लङ्घन दोहोरिएमा सम्झौता कार्यान्वयन प्रक्रियाअघि बढाउन कठिनाइ उत्पन्न हुनसक्ने चेतावनी दिए । यसैबीच, उक्त समझदारी कार्यान्वयनका विषयमा छलफल गर्न दुवै पक्षका प्रतिनिधिमण्डलबीच कतारमा अप्रत्यक्ष वार्ता हुने अपेक्षा गरिएको छ । पछिल्लो घटनाक्रमले मध्यपूर्वमा जारी तनाव कम गर्ने प्रयासमा नयाँ चुनौती थपिन सक्ने देखिएको छ ।

  • विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित

    काठमाडौँ, १७ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित ग¥यो । फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ । अन्तिम–३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

  • विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

    विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित

    काठमाडौँ, १७ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ ।
    अमेरिकाको डलास रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित ग¥यो । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे ।

    खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियाल्लोले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेलको ८६औँ मिनेटमा एर्लिङ हल्याण्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै पनि गोल भएन र नर्वे अन्तिम १६ मा पुग्यो । अब अन्तिम १६ मा नर्वेले ब्राजिलको सामना गर्नेछ ।

  • मलेसियामा फिफा विश्वकप सँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ

    मलेसियामा फिफा विश्वकप सँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ

    कोलालम्पुर, १६ असार (रासस–सिन्ह्वा) । फिफा विश्व कप सन् २०२६ सँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी सुरु गरीएको राष्ट्रव्यापी अपरेसनमा ३३१ जनालाई पक्राउ गरिएको मलेसियन अधिकारीहरूले घोषणा गरेका छन् । उनीहरुको बीचबाट लगभग ३५ हजार अमेरिकी डलर नगद जफत गरिएको तथा छ लाख ४० हजार अमेरिकी डलर भन्दा बढीको सट्टेबाजी लेनदेनको पर्दाफास भएको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले विज्ञप्ति मार्फत जनाउनु भएको छ ।

    मलेसियन कम्युनिकेसन एण्ड मल्टिमेडिया कमिसन ९एमसीएमसी० को सहकार्यमा गत जुन –११ मा सुरु भइ जुलाई –१९ सम्म जारी रहने अपरेसनले देशव्यापी रुपमा २९३ वटा छापा मारी वेबसाइट र सामाजिक सञ्जाल मार्फत जुवा सम्बन्धी विज्ञापन र प्रचार गतिविधिहरूको निगरानी गरिएको उनले बताए । उनका अनुसार अधिकारीहरूले १८५ वटा वेबसाइटहरू, विभिन्न अनलाइन प्लेटफर्महरू, र सामाजिक सञ्जालका खाताहरू फुटबल सट्टेबाजी र जुवा प्रचारका लागि प्रयोग भइरहेको पहिचान गरेको उल्लेख गरेका छन् ।

  • कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

    कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

    किन्शासा, १६ असार (रासस–सिन्ह्वा) । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक हजार ३०७ पुगेको छ । सङ्क्रमणका कारण हालसम्म ३७७ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् । सरकारका अनुसार आइतबारसम्म १८० जना उपचारपछि निको भएका छन् भने ६१५ जना उपचार तथा स्वास्थ्य निगरानीमा रहेका छन् । हाल इबोलाको मृत्युदर २८ दशमलव ८० प्रतिशत रहेको र सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान तथा अनुगमन (कन्ट्याक्ट ट्रेसिङ) दर ८१ दशमलव ३० प्रतिशत पुगेको छ ।

    सङ्क्रमण नियन्त्रणका लागि सरकारले राजधानी किन्शासासहित त्सोपो, हाउत–उले र बास–उले प्रान्तमा सामूहिक जमघटमा प्रतिबन्ध लगाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गृह मन्त्रालयले जारी गरेको परिपत्रमार्फत उक्त निर्णय कार्यान्वयनमा ल्याइएको हो ।

    आन्तरिक मामिलामन्त्री ज्याकमेन शाबानीले प्रभावित प्रान्तका गभर्नरलाई पठाएको पत्रमा इबोलाको सङ्क्रमणबाट उत्पन्न बढ्दो स्वास्थ्य जोखिमलाई दृष्टिगत गर्दै प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । प्रतिबन्धअन्तर्गत राजनीतिकसभा, सार्वजनिक प्रदर्शन, जुलुस तथा अन्य सामूहिक कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।

    राष्ट्रपति फेलिक्स शिसेकेदीले सोमबार राष्ट्रको स्वतन्त्रता दिवसका अवसरमा सम्बोधन गर्दै इबोला नियन्त्रणका लागि ३१९ मिलियन अमेरिकी डलर बराबरको विस्तृत कार्ययोजना तयार गरिएको जानकारी दिए । उनले प्रारम्भिक आपत्कालीन कोष परिचालन गरिसकिएको र त्यसबाट प्रभावित क्षेत्रमा नियन्त्रण अभियान सञ्चालन तथा जीवनरक्षा कार्यक्रमलाई सहयोग पुगिरहेको बताए ।


    राष्ट्रपति शिसेकेदीले इबोला कुनै अफवाह वा लाजमर्दो विषय नभई गम्भीर सार्वजनिक स्वास्थ्य सङ्कट भएको उल्लेख गर्दै स्वास्थ्यसम्बन्धी निर्देशन पालना गर्न, शङ्कास्पद बिरामीबारे तत्काल जानकारी दिन तथा भ्रमपूर्ण सूचनाको पछि नलाग्न नागरिकलाई आग्रह गरे । डीआरसीले गत मे महिनाको मध्यतिर हालको इबोला प्रकोप घोषणा गरेको थियो । त्यसयता स्वास्थ्य अधिकारीले समुदायस्तरमा भइरहेको सङ्क्रमण, जनसङ्ख्याको आवतजावत तथा केही प्रभावित क्षेत्रमा सीमित पहुँचका कारण नियन्त्रण अभियान चुनौतीपूर्ण बनेको बताएका छन् ।

  • इराकले इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गर्न सेप्टेम्बर ३० सम्मको समयसीमा दियो

    इराकले इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गर्न सेप्टेम्बर ३० सम्मको समयसीमा दियो

    बगदाद, १६ असार (रासस–एएफपी) । इराक सरकारले देशमा सक्रिय इरान समर्थक सशस्त्र समूहलाई आगामी सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण प्रक्रिया पूरा गर्न समयसीमा तोकेको छ। उक्त मिति अमेरिकाको नेतृत्वमा रहेको जिहादीविरोधी अन्तरराष्ट्रिय गठबन्धनको इराकस्थित सैन्य मिसन समाप्त हुने दिनसँग पनि मेल खान्छ।

    सरकारका प्रवक्ता हैदर अल–अबौदीले सोमबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सबै सशस्त्र समूहलाई सेप्टेम्बर ३० सम्म निशस्त्रीकरणसम्बन्धी प्रक्रिया पूरा गर्न जानकारी गराइएको बताए । उनका अनुसार त्यसपछि राज्यको नियन्त्रणबाहिर रहेका सबै हतियार कानुनी कारबाहीको दायरामा पर्नेछन्।
    यो घोषणा प्रधानमन्त्री अली अल–जैदीको संयुक्त राज्य अमेरिका भ्रमणअघि गरिएको हो। वाशिङ्टनले लामो समयदेखि बगदादलाई इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गरी राज्यको नियन्त्रणमा ल्याउन दबाब दिँदै आएको छ।

    इराकमा सक्रिय दर्जनौँ इरान समर्थक सशस्त्र समूहमध्ये धेरैजसो ‘पपुलर मोबिलाइजेसन फोर्स’ (पीएमएफ) वा ‘हशेद अल–शाबी’ अन्तर्गत आबद्ध छन्। सन् २००३ मा अमेरिकी नेतृत्वको आक्रमणपछि उदाएका यी समूहले सन् २०१४ देखि इस्लामिक स्टेट (आईएस) विरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका खेलेका थिए। हालैका महिनामा इराक सरकारले पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा पूर्ण रूपमा समायोजन गर्ने प्रयासलाई तीव्र बनाएको छ। सरकारको लक्ष्य पीएमएफ बाहिर सञ्चालनमा रहेका सशस्त्र समूहलाई पनि राज्यको सुरक्षा संरचनाभित्र समेट्नु रहेको बताइएको छ।

    यसअघि केही इरान समर्थक समूहले इराकमा रहेका अमेरिकी स्वार्थमाथि आक्रमण गरेपछि वाशिङ्टनले पनि ती समूहविरुद्ध सैन्य कारबाही गरेको थियो। त्यसयता इराकी सरकारले राज्यबाहिर रहेका हतियारलाई नियन्त्रणमा ल्याउने प्रयासलाई प्राथमिकता दिएको छ। यसै महिनाको सुरुमा इराकी अधिकारीहरूले इरान समर्थक समूह कताइब इमाम अलीसँग सम्बन्धित हतियारको विवरण सङ्कलन गरिएको जानकारी दिएका थिए, जसलाई ती समूहलाई राज्य सेनामा समायोजन गर्ने योजनाको पहिलो चरणका रूपमा हेरिएको छ।

    कताइब इमाम अली र असाइब अहल अल–हकले पनि आफ्ना केही ब्रिगेडको प्रशासनिक जिम्मेवारी राज्यलाई हस्तान्तरण गर्ने घोषणा गरिसकेका छन्।सन् २०१४ मा इस्लामिक स्टेटले इराकका ठूलो भूभाग कब्जा गरेपछि विभिन्न सशस्त्र समूहलाई एकीकृत गर्दै ‘पपुलर मोबिलाइजेसन फोर्स’ गठन गरिएको थियो।

  • फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश, जापान पराजित

    फिफा विश्वकपको अन्तिम १६ मा ब्राजिल प्रवेश, जापान पराजित

    काठमाडौँ, १६ असारः फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापालाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा आज भएको खेलमा ब्राजिलले जापालाई २१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै जित हासिल गरेको हो ।

    जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलिलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ५६आँ मिनेटमा ब्राजिलका कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा गाब्रीएल माटीनेलीले निर्णायक गोल गरेपछि जापानलाई २-१ ले पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।

  • जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु

    जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु

    स्टेड (जर्मनी), १५ असार (रासस–एएफपी) । जर्मनीको उत्तरी सहर स्टेडस्थित एक युवा कल्याण केन्द्रमा सोमबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ । घटनामा सङ्गलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोलीकाण्डमा पाँच जना घाइते भएका छन् भने केही अन्य व्यक्तिले पनि सामान्य चोटपटक भोगेका छन् । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र हाल सर्वसाधारणका लागि कुनै सुरक्षा जोखिम नरहेको जनाइएको छ ।


    घटनापछि ह्याम्बर्गबाट करिब ५० किलोमिटर पश्चिममा रहेको स्टेड सहरमा ठूलो सङ्ख्यामा प्रहरी, एम्बुलेन्स र उद्धार टोली परिचालन गरिएको थियो । स्थानीय सञ्चारमाध्यमले घटनास्थल वरपर हेलिकप्टरसमेत परिचालन गरिएको जनाएका छन् । प्रहरीले सर्वसाधारणलाई घटनास्थलबाट टाढा रहन र सुरक्षाका लागि सम्बन्धित क्षेत्र खाली गर्न आग्रह गरेको थियो ।

    जर्मनीमा युरोपकै कडा बन्दुक नियन्त्रण कानुन लागू छ । २५ वर्षभन्दा कम उमेरका व्यक्तिले बन्दुकको अनुमतिपत्र लिनुअघि अनिवार्य रूपमा मनोवैज्ञानिक परीक्षण उत्तीर्ण गर्नुपर्छ । त्यसका बाबजुद समय–समयमा यस्ता सामूहिक गोलीकाण्डका घटना हुने गरेका छन् । फेब्रुअरी २०२० मा मध्यजर्मनीको हानाउ सहरमा एक अतिदक्षिणपन्थी आक्रमणकारीले नौ जनाको गोली हानी हत्या गरेको थियो । त्यसैगरी मार्च २०२३ मा ह्याम्बर्गमा यहोवाका साक्षीको प्रार्थना सभामा भएको गोलीकाण्डमा छ जनाको मृत्यु भएको थियो ।

  • अफगानिस्तानमा पाकिस्तानी आक्रमण

    अफगानिस्तानमा पाकिस्तानी आक्रमण

    इस्लामाबाद, १५ असार (रासस–एएफपी) । पाकिस्तानले पूर्वी अफगानिस्तानमा रातभर गरेको हवाई तथा स्थलगत कारबाहीपछि दुई छिमेकी मुलुकबीचको तनाव फेरि चर्किएको छ । पाकिस्तानले उक्त कारबाही आतङ्कवादी समूहविरुद्ध लक्षित रहेको दाबी गरेको छ भने तालिबान नेतृत्वको अफगान सरकारले हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारण मारिएको वा घाइते भएको जनाएको छ ।

    पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले कराचीमा सप्ताहन्तमा भएको घातक आक्रमणमा संलग्न समूहलाई निशाना बनाएर अफगानिस्तानको पाक्तिया, पाक्तिका र कुनार प्रान्तमा सटीक हवाई आक्रमण गरिएको बताए । उनका अनुसार उक्त कारबाहीमा २५ जना आतङ्कवादी मारिएका छन् भने सीमावर्ती क्षेत्रमा सञ्चालन गरिएको स्थलगत कारबाहीमा थप चार जना लडाकू मारिएका छन् । पाकिस्तानले प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) बाट अलगिएको जमात–उल–अहरार समूहलाई लक्षित गरिएको जनाएको छ ।

    यता तालिबान सरकारले तीनवटै पूर्वी प्रान्तमा भएका आक्रमणका कारण ठूलो मानवीय क्षति भएको दाबी गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सैन्य कारबाहीको निन्दा गर्दै यसलाई ‘कायरतापूर्ण आक्रमण’ को संज्ञा दिएका छन् । अफगान अधिकारीहरूले आफ्नो भूमिमा विदेशी विद्रोही समूहलाई आश्रय दिएको आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् ।

    सन् २०२१ मा तालिबान पुनः सत्तामा आएयता पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध निरन्तर तनावपूर्ण रहँदै आएको छ । फेब्रुअरीमा एक सातासम्म चलेको भीषण सङ्घर्षपछि दुवै देशले मार्चमा युद्धविराममा सहमति गरेका थिए, तर त्यसयता सीमावर्ती क्षेत्रमा छिटफुट हिंसात्मक घटना दोहोरिँदै आएका छन् । अफगान अधिकारीहरूका अनुसार जुन महिनामा भएको पाकिस्तानी आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको थियो ।

    पछिल्लो घटनाको पृष्ठभूमिमा कराचीस्थित रेन्जर्स अर्धसैनिक शिविरमा शनिबार भएको आक्रमणलाई लिइएको छ । विस्फोटक पदार्थ र गोली प्रहार गरिएको उक्त घटनामा तीन जना अर्धसैनिक जवान मारिएका थिए । पाकिस्तानले घटनामा संलग्न व्यक्तिहरूमध्ये एक अफगान नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

    इस्लामाबादले वर्षौंदेखि पाकिस्तानविरुद्ध हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका टिटिपीका लडाकूहरूको आश्रयस्थल र हतियार भण्डारलाई लक्षित गरेर सीमापार सटीक कारबाही गर्न बाध्य भएको बताएको छ । तर अफगान पक्षले आफ्ना भूभागलाई उग्रवादीहरूले प्रयोग गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला महिनाहरूमा भएका पाकिस्तानी कारबाही तथा सीमावर्ती सङ्घर्षका कारण सयौँ व्यक्तिको ज्यान गइसकेको छ । फेब्रुअरीको अन्त्यतिर भएको युद्धमा सयौँ मानिस मारिनुका साथै दशौँ हजार नागरिक विस्थापित भएका थिए । त्यसक्रममा सीमाक्षेत्रमा तीव्र लडाइँ भएको थियो भने तालिबानका सर्वोच्च नेता बस्ने दक्षिणी सहर कान्दाहारसहित विभिन्न अफगान सहरहरूमा अभूतपूर्व पाकिस्तानी हवाई आक्रमण भएका थिए ।

    चीनसहित विभिन्न देशहरूले मध्यस्थताको प्रयास गरे पनि दुई छिमेकी राष्ट्रबीच स्थायी समाधानको पहल सफल हुन सकेको छैन । गत अक्टोबरमा सीमापार हिंसा बढेपछि अधिकांश सीमा नाकाहरू आंशिक वा पूर्ण रूपमा बन्द भएका छन् र दुवै देशबीचको अविश्वास अझ गहिरिँदै गएको छ ।

  • बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिना यसै बर्ष स्वदेश फर्किने

    बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिना यसै बर्ष स्वदेश फर्किने

    नयाँ दिल्ली, १५ असार (रासस–एएफपी) । विद्यार्थी नेतृत्वको विद्रोहपछि भारतमा निर्वासनमा रहेकी बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाले यो वर्ष आफ्नो देश फर्किने प्रतिबद्धता जनाएकी छिन् । उनले आइतबार प्रकाशित एक अन्तर्वार्तामा आफू यसै बर्ष स्वदेश फर्किने उल्लेख गरेकी छिन् ।

    उनीविरुद्ध गत महिनाहरूमा मानवता विरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइएको थियो । सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहले ७८ वर्षीया आवामी लिगकी नेतृसमेत रहेकी पूर्वप्रधानमन्त्री हसीनाको १५ वर्ष लामो कठोर शासन अन्त्य गरेपछि सुरक्षाका लागि केही निकट आफन्तसहित उहाँ छिमेकी भारततर्फ भागेकी थिइन् ।


    त्यसपछि नयाँ दिल्लीको एउटा पत्रकार सम्मेलनमा जनवरीमा प्रसारित सम्बोधनमा बाहेक उनी सार्वजनिक रूपमा देखिएकी छैनन्् । भारतीय ब्रोडकास्टर एनडिटिभीसँगको अन्तर्वार्तामा हसीनाले आफू मृत्युसँग नडराउने बताइन् । उनले आफूलगायतका आफ्ना सहयोगीविरुद्धको फैसलालाई ‘अवैध, असंवैधानिक र राजनीतिक रूपमा प्रेरित’ प्रक्रियाको एक भाग भनेकी छिन् ।


    हसीनाले भनिन्, “मेरो विरुद्ध धेरै षड्यन्त्र रचिएका छन् । तर हरेक षड्यन्त्रको जाल तोड्दै मलाई जनताको मतबाट पाँच पटक प्रधानमन्त्री चुनिएको छ र मैले लामो समय देशको अभूतपूर्व विकासमा काम गरेको छु।” पूर्व प्रधानमन्त्री हसीनाले भनिन्, “म स्पष्ट रूपमा भन्न चाहन्छुः हरेक बाधा र हरेक षड्यन्त्रलाई पार गर्दै यो वर्ष म आफ्नो देश फर्किनेछु।” गत नोभेम्बरमा ढाका अदालतले हसीनालाई उत्तेजना फैलाउने, हत्या आदेश दिने र अत्याचार रोक्न नसकेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

    एक समय देशको सबैभन्दा लोकप्रिय दल उनको पूर्व सत्तारूढ दल अवामी लिगलाई कुनै गतिविधि गर्न अहिले प्रतिबन्धित गरिएको छ । हसीनाको भारत पलायनपछि बनेको अन्तरिम सरकारका समय नेतृ हसीनालाई सुपुर्दगी गर्न तत्कालिन सरकारले भारतमाथि दवाव दिएपछि विग्रिएको भारत र बङ्गलादेशबीचको सम्बन्ध अहिले निर्वाचित सरकार आएसँगै सुधारिएको छ ।

    फेब्रुअरीमा प्रधानमन्त्री तारिक रहमानले १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशको प्रधानमन्त्री बन्न भारी मतले चुनाव जितेपछि यो सुधार भएको हो । यद्यपि, तनाव अझै कायम छ । बङ्गलादेशले बारम्बार हसीनाको सुपुर्दगीको माग गरिरहेको छ ।

  • भ्रष्टाचार विरुद्धको अभियानमा इराकमा ४७ अधिकारी पक्राउ

    भ्रष्टाचार विरुद्धको अभियानमा इराकमा ४७ अधिकारी पक्राउ

    बग्दाद, १५ असार (रासस–एएफपी) । इराकी सुरक्षा निकायले भ्रष्टाचार विरुद्ध सञ्चालन गरिएको अभियानका क्रममा संसद्का सदस्यसहित ४७ जना अधिकारीलाई पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । हालै प्रधानमन्त्री नियुक्त हुनुभएका अली अल–जैदीले पदभार ग्रहण गरेसँगै भ्रष्टाचार नियन्त्रण र राज्यको सुरक्षा संयन्त्रलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनको नेतृत्वमा सञ्चालन गरिएको यो अभियान आगामी महिना हुने अपेक्षित संयुक्त राज्य अमेरिकाको भ्रमणअघि सुरु गरिएको हो ।

    सरकारी समाचार संस्था आईएनएका अनुसार भ्रष्टाचारसम्बन्धी आरोपमा पक्राउ परेकामध्ये संसद्का सदस्य, विभिन्न सरकारी अधिकारी तथा तेल मन्त्रालयका कम्तीमा एक अधिकारी रहेका छन् । आइतबार बिहान बग्दादस्थित उच्च सुरक्षा व्यवस्था रहेको ‘ग्रीन जोन’ तथा राजधानीका अन्य क्षेत्रमा आतंकवादविरोधी एकाइसहितका सुरक्षा बलले छापा मारेपछि पक्राउ प्रक्रिया सुरु भएको थियो ।


    ग्रीन जोनमा अमेरिकी दूतावास, अन्य कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय संस्थाका कार्यालय तथा सरकारी निकाय रहेका छन् । उच्चपदस्थ सरकारी अधिकारी र राजनीतिज्ञहरूको आवास पनि यही क्षेत्रमा छ । स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा सुरक्षा बललाई बख्तरबन्द सवारीसाधनसहित ग्रीन जोनका विभिन्न स्थानमा परिचालन गरिएको देखिएको छ ।


    बग्दादस्थित एक कूटनीतिक स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार प्रधानमन्त्री जैदीको भ्रष्टाचारविरुद्धको अभियानलाई उहाँको वासिङ्टन भ्रमणको तयारी तथा सुधारप्रतिको प्रतिबद्धता प्रदर्शनका रूपमा पनि हेरिएको छ । यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीको बग्दाद भ्रमणसँगै उक्त अभियान सञ्चालन गरिएको हो । उनले नयाँ इराकी सरकारसँग सबै क्षेत्रमा सहयोग विस्तार गर्न तेहरान प्रतिबद्ध रहेको बताए ।

    इराक लामो समयदेखि आफ्नो छिमेकी इरान र संयुक्त राज्य अमेरिकाबीचको प्रतिस्पर्धी प्रभावको सन्तुलन कायम गर्ने प्रयासमा रहेको छ । एक सुरक्षा अधिकारीका अनुसार पछिल्लो अभियान भ्रष्टाचार नियन्त्रणका साथै अवैध वित्तीय कारोबार, अमेरिकी डलर तथा इरानी तेल तस्करीमा संलग्न समूह विरुद्धको व्यापक कारबाहीको पनि हिस्सा हो ।

  • अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण

    अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण

    वाशिङ्गटन, १४ असार (रासस–एएफपी) । अमेरिकाले शनिबार इरानमा ‘केही स्थानमा’ नयाँ आक्रमण गरेको जनाएको छ । यो आक्रमण स्ट्रेट अफ हर्मुज हुँदै गन्तव्यतर्फ गइरहेको एउटा जहाजमाथिको पछिल्लो आक्रमणको जवाफमा गरिएको हो । “व्यावसायिक ढुवानीविरुद्ध इरानको निरन्तर आक्रामकताको प्रत्यक्ष जवाफमा अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले आइतबार इरानमाथि आक्रमण गरेको छ,” सेन्टकमले भनेको छ ।

    सेन्टकमले दिएको थप जानकारीमा भनिएको छ, “इरानले २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल बोकेको पानामाको झन्डा भएको तेल ट्याङ्कर ‘किकु’ माथि शनिबार आक्रमण गरेको थियो । इरानले इन्धन बोकेको ट्याङ्करलाई आक्रमण गरेपछि आइतबार अमेरिकाले प्रतिक्रियास्वरूप इरानका निश्चित स्थानमा हवाई आक्रमण गरेको वासिङ्टनले बताएको छ ।

    सेन्टकमले पछि ट्विटरमा ३५ सेकेन्डको एउटा धमिलो भिडियो पोस्ट गरेको थियो, जसमा आकाशबाट खिचिएको विभिन्न क्षेत्रमा भएको विस्फोट देखिन्छ।
    “किकु माथि इरानको ड्रोन आक्रमणको जवाफमा अमेरिकी नौसेना र वायुसेनाका लडाकु जेटहरूले स्थानीय समय अनुसार शनिबार राति स्ट्रेट अफ हर्मुज र आसपासका क्षेत्रमा १० वटा इरानी सैन्य लक्ष्यहरूमाथि आक्रमण गरेका छन्,” पोस्टमा लेखिएको छ ।

    अमेरिकी सेनाले यो पछिल्लो आक्रमणले इरानको निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा स्थल, ड्रोन भण्डारण सुविधा र समुद्रमा विस्फोटक पदार्थ बिछ्याउने क्षमतालाई लक्षित गरेको थियो। इरानी सञ्चार माध्यमहरूले दक्षिणी इरानको सिरिक र केश्म क्षेत्रमा धेरै विस्फोटहरू भएको रिपोर्ट गरेका छन्।

    संयुक्त राज्य अमेरिकाले शुक्रबार पनि इरानले अर्को जहाज ‘एभर लभ्ली’ माथि गरेको आक्रमणको जवाफमा आक्रमण गरेको थियो ।

    –अमेरिकी आक्रमणको बदलामा कुवेत र बहारिनमाथि आक्रमणः इरान–

    यसैबीच, इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्सले आइतबार अमेरिकाले इरानी भूमिमाथि गरेको आक्रमणको बदलामा कुवेत र बहारिनमाथि आक्रमण गरेको जनाएको छ । यसका साथै गाड्र्सले कुनै पनि थप आक्रामकता भए ‘कडा’ जवाफ दिने चेतावनी दिएको छ । गाड्र्सले आफ्नो विज्ञप्तिमा भनेको छ, “उनीहरूले कुवेतको अलि अल–सलेम र बहराइनको पोर्ट सलमानमा रहेको अमेरिकी नौसेना अड्डा (फिफ्थ फ्लिट) मा रहेका आठ महत्वपूर्ण अमेरिकी सैन्य सुविधाहरूमा भारी विस्फोटक पदार्थले प्रहार छन्। “कुनै पनि शत्रुको आक्रमण, जुनसुकै बहानामा भए पनि, नगण्य लक्ष्यमा भए पनि।।। त्यसको चकनाचुर पार्ने जवाफ दिइनेछ,“ गाड्र्सले थप भनेका छन्।

  • युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित

    युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित

    पेरिस, १४ असार (रासस–एएफपी) । युरोपका विभिन्न भागमा शनिबार कम्तीमा १९ करोड ३० लाख मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ । जर्मनीमा मात्र करिब ७ करोड ५० लाख व्यक्ति उच्च तापक्रमका कारण प्रभावित भएका थिए । एएफपीले प्राप्त गरेको तथ्याङ्कको विश्लेषण अनुसार उष्ण लहर पूर्वतर्फ सर्दै गरेकाले यो सङ्ख्या शुक्रबारको तुलनामा बढेको अनुमान गरिएको छ ।

    टर्की बाहेकका युरोपमा शनिबार ४० करोड ४० लाखभन्दा बढी मानिसले ३० डिग्री सेल्सियसभन्दा माथिको अधिकतम तापक्रमको सामना गर्नेछन्, जुन शुक्रबारको तुलनामा केही कम हो । जर्मन मौसम विज्ञान सेवाको पूर्वानुमान र संयुक्त अनुसन्धान केन्द्रको सन् २०२५ जनसङ्ख्या प्रक्षेपणमा आधारित एएफपीको यो विश्लेषण अस्ट्रियन एनजीओ ‘क्लिमाड्यासबोर्ड’ को तथ्याङ्कसँग मिल्दोजुल्दो छ।

  • अमेरिका–इजरायल–लेबनानबीचको सम्झौता ‘गम्भीर भुल’ : हिजबुल्लाह प्रमुख

    अमेरिका–इजरायल–लेबनानबीचको सम्झौता ‘गम्भीर भुल’ : हिजबुल्लाह प्रमुख

    हिजबुल्लाहका नेता नइम कासेमले शनिबार अमेरिका–इजरायल–लेबनानबीचको प्रस्तावित सम्झौताको विरोध गर्दै यसलाई बेरुतले गरेको ठूलो गल्ती बताएका छन् । उनले आफ्नो समूहले उक्त सम्झौतालाई अमान्य भन्दै यसलाई आफ्नो समूहले नमान्ने घोषणा गरे ।

    कासेमले भने, “वाशिङ्टनमा भएको फ्रेमवर्क सम्झौता अपमानजनक, लज्जास्पद र सार्वभौमिकताको आत्मसमर्पण हो। यो सम्झौता अमान्य र लेवनानीका लागि यसको शून्य उपलब्धी रहेको छ । सम्झौतामा इरानी–अमेरिकी समझदारीमा भएका प्रावधानहरू लागू गर्नुपर्छ।” उनले लेबनानी अधिकारीहरूलाई यो ‘गम्भीर भूल’ भई गरीएको सम्झौतामार्फत इजरायली कब्जालाई वैधानिकता दिन खोजेको आरोप लगाउनुभएको छ।

  • भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

    भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

    भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति शाली दुईवटा भूकम्पले भत्काएको भवनको भग्नावशेषबाट घटनाको ३२ घण्टापछि एउटा नवजात शिशुलाई सकुशल उद्धार गरिएको छ । सामाजिक सञ्जालमा शुक्रबार साझा गरिएको भिडियोमा उद्धारकर्ताहरूले भत्किएको भवनमाथि ‘फ्लडलाइट’ को उज्यालोमा काम गर्दै शिशुलाई बाहिर निकालेको देखिन्छ । राजधानी काराकासको उत्तरमा रहेको सबैभन्दा बढी प्रभावित शहर ला ग्वाइरामा शुक्रबार राति उद्धारकर्मी शिशुको उद्धार गर्न सफल भएपछि उपस्थित मानिसहरूले खुशी व्यक्त गरेका थिए ।

    भिडियोमा उद्धारकर्ताहरूले कम्बलले बेरेर शिशुलाई एक व्यक्तिबाट अर्को व्यक्तिमा सतर्कतापूर्वक हस्तान्तरण गरेका देखिन्छ । शिशुलाई निकालेपछि हल्का र नरम कागजले धुलैधुलो भएको बच्चालाई पुछेर सफा गरेको देखिन्छ। भिडियो सार्वजनिक गर्ने युजर एन्ड्रेइना किन्टेरोका अनुसार शिशु मात्र १८ दिनको थियो र ३२ घण्टासम्म भग्नावशेषमा फसे पनि उसलाई कुनै चोट लागेको छैन। शिशुको आमालाई बच्चा उद्धार भएको एक घण्टापछि उद्धार गरिएको थियो ।

    शुक्रबारको अर्को फलोअप भिडियोमा किन्टेरोले आमालाई अस्पतालको बेडमा देखाउनुभएको छ भने एक स्वास्थ्यकर्मीले बच्चालाई कुनै चोट नलागेको बताएका छन् । स्वास्थ्यकर्मीले आमाले आफ्नो शरीर वा अर्को कुनै वस्तुले बच्चालाई ढाकेर जोगाएको अनुमान गरेका छन् । बुधबार आएको ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्पबाट कम्तीमा ९२० जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् वा बेपत्ता छन्।

  • अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प

    अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प

    काबुल, १४ असार (रासस–एएफपी) । अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (युएसजिएस) का अनुसार शनिबार अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी काबुल र अन्य क्षेत्रमा पनि भूकम्पको बलियो कम्पन महसुस गरिएको स्थानीय अधिकारीले बताएका छन् । अफगानिस्तानका विभिन्न प्रान्तहरूमा साथै पाकिस्तानको राजधानी इस्लामाबादमा रहेका एएफपीका पत्रकारहरूले भूकम्पको दह्रो कम्पनले आफूहरूलाई त्रसित बनाएको बताएका छन् । युएसजिएसले भूकम्पको केन्द्रविन्दु पूर्वोत्तर अफगानिस्तानमा २०८।३ किलोमिटरको गहिराइमा रहेको बताएको छ ।

    भूकम्पका कारण काबुलमा भवनहरू हल्लिएका थिए। एक एएफपी पत्रकारले कैयौँ घरहरूको भित्री पर्खालमा ठूलाठूला चिरा परेको रिपोर्ट गरेका छन् । बल्ख र बदख्शान प्रान्तमा पनि भूकम्पको महसुस गरिएको थियो । यी प्रान्तहरूको ताजिकिस्तान र पाकिस्तानसँग सीमा जोडिएको छ । पूर्वतर्फ नान्गाहर र खोस्ट प्रान्तमा पनि कम्पन महसुस गरिएको थियो ।

    भूकम्पबाट भएको क्षति र मानवीय क्षतिको विवरण तत्काल उपलब्ध हुनसकेको छैन । विशेष गरी हिन्दुकुश पर्वत शृङ्खलामा पर्ने अफगानिस्तानमा भूकम्प सामान्य घटना हो, जहाँ युरेसियाली र भारतीय टेक्टोनिक प्लेटहरू भेटिन्छन् । अप्रिलमा बदख्शान प्रान्तमा गएको ५.८ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको थियो र देशका धेरै भाग प्रभावित भएका थिए । त्यस्तै सन् २०२५ अगस्टमा देशको पूर्वी भागमा गएको ६.० म्याग्निच्युडको भूकम्पले पहाडी गाउँहरू ध्वस्त पारेको थियो भने दुई हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएकोे थियो । यसको केही साता पछि देशको उत्तरी क्षेत्रमा गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा २७ जनाको मृत्यु भएकोे थियो ।

    सन् २०२३ मा इरान सीमासँग जोडिएको पश्चिमी हेरात र सन् २०२२ मा पूर्वी नान्गाहारमा गएका ठूला भूकम्पहरूले सयौँको ज्यान लिएका थिए र हजारौँ घरहरू ध्वस्त भएका थिए । युद्धबाट दशकौँदेखि प्रभावित यो देशमा मुख्य रूपमा ग्रामीण क्षेत्रमा धेरै घरहरू कमजोर र निम्न गुणस्तरका छन् । पहाडी भूगोल, कमजोर सञ्चार सञ्जाल र पूर्वाधारका कारण विगतमा विपद् प्रतिकार्यमा ठूलो कठिनाइ भएको थियो । अधिकारीहरूलाई टाढाका गाउँहरूमा पुग्न घण्टौँ वा कैयौँ दिन लाग्ने गर्छ ।

  • अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

    अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

    सिड्नी, १४ असार (रासस–एएफपी) । अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि लागू गरेको सामाजिक सञ्जाल प्रतिबन्धको उल्लङ्घन गर्नेलाई रोक्न प्लेटफर्महरूलाई पहिलेको भन्दा दोब्बर बढी आर्थिक जरिवाना लगाउने घोषणा गरेको छ । सरकारले शनिबार यो जानकारी दिएको हो।

    नयाँ कानुनले प्रणालीगत उल्लङ्घनमा अधिकतम जरिवाना अस्ट्रेलियन डलर ९९ मिलियन (६८ मिलियन अमेरिकी डलर) पुर्‍ याउने छ र अनलाइन नियामक निकाय इ–सेफ्टीलाई प्लेटफर्महरूलाई नियमन गर्न थप सशक्त बनाउनेछ । सरकारले जारी गरेको विज्ञप्तिमा स्वतन्त्र नियामकले फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक र युट्युबको सम्भावित गैर–अनुपालनको ‘सक्रिय अनुसन्धान’ गरिरहेको जनाएको छ।

    यसैसम्बन्धमा प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने, “ठूला प्रविधि कम्पनीहरूले कानुन पालना गर्न पर्याप्त प्रयास नगरेको स्पष्ट छ । अझै पनि धेरै बच्चाहरू सामाजिक सञ्जालमा सक्रिय छन् ।” “यी परिवर्तनहरूले सामाजिक सञ्जाल कम्पनीहरूको कुनै पनि असफलतालाई हामीले कति गम्भीर रूपमा लिएका छौँ भन्ने देखाउँछ,” उनले भने । किशोरहरूले प्रतिबन्ध छल्न अन्य व्यक्तिका पुराना अकाएनटलाई सक्रिय बनाई प्रयोग गर्ने, नक्कली खाता खोल्ने वा प्राइभेट ब्राउजरबाट लगिन गर्ने गरेका अधिकारीले बताएका छन् ।

    अष्ट्रेलियाको यो प्रतिबन्धको सफलताप्रति बेलायत, इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स र न्यूजिल्यान्ड जस्ता देशहरूले पनि गहिरो चासो राखिरहेका छन् जसले यस्तै प्रतिबन्ध लागू गरेका वा लागू गर्ने विचार गरिरहेका छन् । यो महिना बेलायतको एक मेडिकल जर्नलमा प्रकाशित अष्ट्रेलियाली प्रतिबन्धको पहिलो स्वतन्त्र मूल्याङ्कनले किशोरहरूको सामाजिक सञ्जाल प्रयोगमा ‘अपर्याप्त प्रमाण रहेको निष्कर्ष निकालेको छ।

    अनुसन्धानकर्ताहरूले प्रतिबन्ध लागू हुनुअघि ४०० भन्दा बढी युवालाई सर्वेक्षण गरिएको थियो र तीन महिनापछि फेरि सर्वेक्षण गर्दा ‘नियमको व्यापक उल्लङ्घन’ भएको पाइएको थियो । प्रतिबन्धपछि १२–१३ वर्ष समूहका प्रयोगकर्तामा प्रयोगमा खासै परिवर्तन देखिएन, १४–१५ वर्षका समूहमा सामान्य कमी आयो भने १६ वर्ष र माथिका प्रयोगकर्तामा प्रयोग बढेको थियो।

    –न्यूनतम प्रयास–

    सरकारले ५० लाखभन्दा बढी १६ वर्षमुनिका किशोरकिशोरीका अकाउन्टहरू रोक्का गरिसके पनि नियामकलाई थप शक्ति चाहिने बताएको छ । प्रतिबन्ध गत १० डिसेम्बरमा लागू भएको थियो। नयाँ कानुनले प्रतिवन्ध कार्यान्वयनका लागि इ–सेफ्टीका प्रमुख आयुक्तले सामाजिक सञ्जाल कम्पनीहरूलाई १६ वर्षमुनिका प्रयोगकर्तालाई खाता खोल्न रोक्न के कदम चालेका छन् भन्ने प्रमाण पेश गर्न बाध्य पार्न सक्नेछ ।

    यो निकायले सामाजिक सञ्जाल कम्पनीहरूबाट तथा उमेर प्रमाणीकरण वा एप स्टोर प्रदायकजस्ता तेस्रो पक्षबाट जानकारी र कागजात माग्न सक्नेछ ।
    सञ्चार मन्त्री अनिका वेल्सले प्लेटफर्महरूले पर्याप्त काम नगरेकोमा असन्तुष्टि व्यक्त गरे । इ–सेफ्टीका आयुक्तबाट मलाई प्राप्त नियमित अपडेटका आधारमा मलाई स्पष्ट जानकारी मिलेको छ कि सामाजिक सञ्जाल प्लेटफर्महरू ठूला प्रविधि कम्पनीहरूको प्लेबुकबाट उपायहरू अपनाएर कम प्रयोग गरेको देखिने न्यूनतम प्रयास मात्र गरिरहेका छन्,” वेल्सले भने ।


    “सामाजिक सञ्जाल प्लेटफर्महरू विश्वका सबैभन्दा धनी र शक्तिशाली कम्पनीहरू हुन् तर पनि हामी उनीहरूलाई जवाफदेही बनाउन गम्भीर छौँ,” उनले थपे । उनले भने, “यी कडा नयाँ जरिवाना र उपायहरूले हामी प्रतिवन्धबारे पूर्व निर्णयबाट पछि नहट्ने पुष्टि गरेको छ । हामी ठूला प्रविधिलाई जवाफदेही बनाउने प्रयास दोब्बर बढाउँदैछौँ ।”

    अनलाइनमा धेरै समय बिताउँदा किशोरकिशोरीहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको विभिन्न अध्ययनले देखाएका छन् र अष्ट्रेलियाको प्रतिबन्धलाई आफ्ना बच्चाहरू फोनमा झुन्डिरहेको देखेर हैरान अभिभावकहरूका लागि वरदान मानिएको छ । प्लेटफर्महरूले कानुन पालना गर्ने प्रतिबद्धता जनाएका छन्, तर यसले किशोरहरूलाई इन्टरनेटको उपयोगबाट सूसुचित हुने अवस्थाबाट अन्धकारपूर्ण र अनियमित अवस्थातर्फ धकेल्न सक्ने चेतावनी दिएका छन् ।

    अष्ट्रेलियामा रहेका सामाजिक सञ्जाल प्रयोगकर्ता १६ वर्ष वा माथिका छन् कि छैनन् भन्ने जाँच्ने एकमात्र जिम्मेवारी सामाजिक सञ्जाल कम्पनीहरूको हो र उनीहरूले ‘उचित कदम’ चालेको प्रमाणित गर्नुपर्नेछ । प्रतिवन्धको पालना गर्न केही प्लेटफर्महरूले फोटोबाट उमेर अनुमान गर्न एआई उपकरण प्रयोग गरिरहेका छन् भने प्रयोगकर्ताहरूलाई सरकारले उपलब्ध गराएका परिचयपत्र अपलोड गरेर पनि उमेर प्रमाणित गर्न सक्छन् ।

  • भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

    भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

    काराकास, १३ असार (रासस–एएफपी) । भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरूले पुष्टि गरेका छन् । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पमा पोर्चुगिज नागरिक वा पोर्चुगिज मूलका १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । पोर्चुगलको विदेश मन्त्रालयले यसअघि नौ जनाको मृत्यु र ५६ जना बेपत्ता रहेको जनाएको थियो ।


    चीनको सरकारी प्रसारक सिसीटिभीले काराकासस्थित चिनियाँ दूतावासलाई उद्धृत गर्दै सात चिनियाँ नागरिकको मृत्यु भएको जनाएको छ । दूतावासले भेनेजुएलामा रहेका आफ्ना नागरिकलाई पराकम्पन तथा अन्य सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ ।

    स्पेनले पनि आफ्ना कम्तीमा पाँच नागरिकको मृत्यु भएको तथा ११९ जना अझै बेपत्ता रहेको जनाएको छ । भग्नावशेषबाट १४ जनालाई फेला पारिएको स्पेनी अधिकारीहरूले बताएका छन् । स्पेनले राहतका लागि १० लाख युरो सहयोग घोषणा गरेको छ । आधिकारिक तथ्याङ्कअनुसार भेनेजुएलामा करिब एक लाख ४७ हजार स्पेनी नागरिक बसोबास गर्दै आएका छन् ।

    ब्राजिलको विदेश मन्त्रालयले भूकम्पमा आफ्ना दुई नागरिक–एक पुरुष र एक महिलाको मृत्यु भएको पुष्टि गर्दै उनीहरूका परिवारलाई कन्सुलर सहयोग उपलब्ध गराइरहेको जनाएको छ ।

    इटालीको विदेश मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रभावित ला गुएरा क्षेत्रमा भवन भत्किँदा काराकासमा जन्मिएका तथा इटालियन र भेनेजुएली दुवै नागरिकता भएका ५० वर्षीय एक पुरुषको मृत्यु भएको छ । इटालीका करिब एक लाख ७० हजार राहदानीवाहक भेनेजुएलामा बसोबास गर्दै आएको अनुमान गरिएको छ ।

  • भेनेजुएलाको भूकम्पमा ज्यान जानेको संख्या ९२० पुग्यो, ५० हजार बेपत्ता

    भेनेजुएलाको भूकम्पमा ज्यान जानेको संख्या ९२० पुग्यो, ५० हजार बेपत्ता

    ला ग्वाइरा, भेनेजुएला, १३ असार (रासस–एएफपी) । भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ भने हजारौँ मानिस बेपत्ता रहेको रिपोर्ट प्राप्त भएको छ । सहयोगका लागि भेनेजुएला पुगेका अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी तथा उद्धारका लागि प्रयास तीव्र पारेका छन् । काराकासका बासिन्दाहरूले अन्तरिम नेतृ डेल्सी रोड्रिगेजसँग सरकारको तर्फबाट पर्याप्त प्रतिक्रिया नआएको भन्दै आक्रोश जनाएका छन् ।

    संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले एएफपीसँग भन्नुभयो, “गत बुधबार साँझ एक मिनेटको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पमा परी ५० हजार भन्दा बढी मानिस बेपत्ता छन् । यी भूकम्पले देशको उत्तरी भागमा धेरै भवनहरू ध्वस्त पारेका छन् ।” राजधानी काराकास नजिकैको तटीय क्षेत्र ला ग्वाइरा सबैभन्दा बढी प्रभावित भएको छ । बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई ठूला भूकम्पले एकपछि अर्को गर्दै भवनहरूमा क्षति पु¥याएको थियो ।

    आन्तरिक मन्त्री डियोस्डाडो काबेल्लोले टेलिभिजन सम्बोधनमा शुक्रबार राति ८ बजेदेखि क्षतिग्रस्त क्षेत्रमा प्रवेश प्रतिबन्धित गरिएको घोषणा गर्नुभएको छ । चारवटा अग्ला भवन र सयौँ अपार्टमेन्ट रहेको ला ग्वाइराको एउटा आवासीय कम्प्लेक्समा अधिकांश भवनहरू लगभग पूरै ध्वस्त भएका छन् ।


    “दुखद कुरा, भवन पूर्ण रूपमा भत्किएका छन् र बाँचेकाहरू भेट्टाउने सम्भावना निकै कम छ । अब हाम्रो प्रयास मृतकहरूको शव निकाल्नेमा केन्द्रित हुनेछ,” उद्धार टोली प्रमुख नाडियोमार पोलान्कोले भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीब्रता दिइरहेको बताउँदै भन्नुभयो ।

    अन्यत्र भने परिवारका सदस्यहरू, छिमेकीहरू र स्वयंसेवकहरूले आफ्नो खाली हातले बाँचेकाहरूलाई निकाल्ने प्रयास गरिरहेका छन् । उनीहरूले ठूला मेसिनरी सहयोग नभएकोमा दुःख व्यक्त गरेका छन् । “म मेरो सानो गाएललाई खोजिरहेको छु । ऊ मात्र पाँच महिनाको थियो,” ४० वर्षीया मार्जोस्ली सालाजारले दुःख व्यक्त गर्दै भन्नुभयो । भूकम्पमा परेकी उहाँकी अर्की १६ वर्षीया छोरीे मृत अवस्थामा भेटिएकी थिइन् । सालाजारको छोरा र भतिजी दुवै बेपत्ता छन् ।

    उहाँले भन्नुभयो, “हामीलाई यहाँ सहयोग चाहिएको छ । स्तम्भहरू उठाउन मेसिनहरू चाहिएका छन् । तर हामीले यहाँ कुनै एक जना पनि सरकारी अधिकारी देखेका छैनौँ ।” काराकासको एक उच्च वर्गीय समुदायको बसोबास रहेको काराकासको छिमेकमा पुग्दा कार्यबाहक राष्ट्रपति रोड्रिगेजविरूद्ध नारा लगाउँदै भग्नावशेषमुनि आफ्ना आफन्तहरू फसेका परिवारका सदस्यहरूको भीडले आक्रोस पोख्यो । “सरकारले जनताका लागि केही पनि गरिरहेको छैन,” उनीहरूले भग्नावशेष भएको भवन नजिकको घेराबार पछाडिबाट चिच्याउँदै भने ।

  • लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    रासस
    भैरहवा (रूपन्देही), १३ असार । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा शिलान्यास गरिएको छ । भुटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भुटानका धर्मगुरु उप महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री खड्गराज अधिकारी (गणेश) पौडेलको उपस्थितिमा विशेष धार्मिक विधिअनुसार गुम्बा निर्माणको शुभारम्भ गरे ।

    शिलान्यास कार्यक्रममा भुटानी लामागुरुहरूले धार्मिक अनुष्ठान गर्दै भूमि पूजन गरेका थिए । गुम्बा निर्माणलाई भुटान र नेपालबीचको सांस्कृतिक, धार्मिक तथा कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा हेरिएको छ ।

    भुटान सरकारको गृह मन्त्रालयअन्तर्गत संस्कृति तथा जोङ्खा विकास विभागकी महानिर्देशक म्याक्सुद ओजीले लुम्बिनीमा भुटानी मन्दिर निर्माण सुरु हुनु भुटानका लागि अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि भएको बताइन् । उनले भनिन्, “लुम्बिनी परिसरमा नयाँ भुटानी मन्दिर निर्माण कार्य सुरु गर्नका लागि भूमि देवीको आशीर्वाद लिन हामी यहाँ उपस्थित भएका छौँ । यो परियोजनाले भुटानी बौद्ध परम्परा र संस्कृतिलाई बुद्धको जन्मभूमिसँग जोड्नेछ ।”

    भुटान सरकार र लुम्बिनी विकास कोषबीच गतवर्ष गुम्बा निर्माणसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । उक्त सम्झौताअनुसार चालु वर्षभित्रै परियोजना सुरु गर्ने प्रतिबद्धता कार्यान्वयन गर्दै निर्माण प्रक्रिया अघि बढाइएको उनले बताइन् । परियोजनाको पहिलो चरणअन्तर्गत गुम्बा परिसरको सीमा पर्खाल निर्माण कार्य सम्पन्न भइसकेको छ भने अब मुख्य मन्दिर निर्माणको काम सुरु गरिएको छ । भुटान सरकारले आगामी दुई वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको ओजीले बताइन् ।


    प्रस्तावित गुम्बामा भुटानको मौलिक वास्तुकला, धार्मिक कला तथा सांस्कृतिक विशेषतालाई समेटिने बताइएको छ । भुटानी शैलीका संरचना, प्रार्थना कक्ष, सांस्कृतिक प्रदर्शनी क्षेत्र तथा धार्मिक गतिविधिका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछन् । महानिर्देशक ओजीका अनुसार गुम्बा निर्माण सम्पन्न भएपछि लुम्बिनी भ्रमणमा आउने विश्वभरका बौद्ध तीर्थयात्री तथा पर्यटकहरूले भुटानी संस्कृति, कला र आध्यात्मिक परम्पराको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।

    “एक बौद्ध राष्ट्रका रूपमा हामी हाम्रो विशिष्ट वास्तुकला र बुद्धप्रतिको श्रद्धालाई यहाँ प्रस्तुत गर्न चाहन्छौँ”, उनले भनिन्, “यसले लुम्बिनीलाई अझ अन्तरराष्ट्रिय र बहुसांस्कृतिक बौद्ध केन्द्रका रूपमा स्थापित गर्न मद्दत पु¥याउनेछ ।”

    द्विपक्षीय वार्तामा पर्यटन सहकार्यमा जोड

    गुम्बा शिलान्याससँगै नेपाल र भुटानका उच्च सरकारी प्रतिनिधिबीच लुम्बिनीमा द्विपक्षीय भेटवार्ता पनि सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल र भुटानका गृहमन्त्री ल्योन्पे छिरिङबीच भएको छलफलमा पर्यटन, सांस्कृतिक आदानप्रदान तथा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित रहेर विचार विमर्श भएको थियो ।

    लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानीन राईका अनुसार वार्ताका क्रममा नेपालले दुई महत्त्वपूर्ण प्रस्ताव भुटानी पक्षसमक्ष राखेको थियो । मन्त्री पौडेलले भुटानको पारो अन्तरराष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबीच सिधा हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

    कोषका निमित्त सदस्य सचिव राईका नेपाली पक्षले पारो–लुम्बिनी–बोधगया धार्मिक पर्यटन सर्किट विकास गर्न सके दक्षिण एशियाली बौद्ध पर्यटनमा नयाँ सम्भावना सिर्जना हुने धारणा राखेको थियो । हाल भुटानको राष्ट्रिय ध्वजावाहक ड्रक एअरले पारो–काठमाडौँ उडान सञ्चालन गर्दै आएको सन्दर्भमा लुम्बिनीलाई अन्तरराष्ट्रिय बौद्ध गन्तव्यका रूपमा प्रत्यक्ष हवाई सञ्जालमा जोड्नुपर्ने आवश्यकता नेपाली पक्षले औँल्याएको थियो ।

    भुटानले विदेशी पर्यटकहरूमाथि लागू गर्दै आएको दिगो विकास शुल्क (एसडीएफ) सम्बन्धी थियो । हाल नेपाली नागरिकहरूले पनि भुटान भ्रमण गर्दा प्रतिव्यक्ति प्रतिदिन १०० अमेरिकी डलर बराबरको शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ । नेपालले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई ध्यानमा राख्दै नेपाली नागरिकका लागि उक्त शुल्क हटाउन वा विशेष सहुलियतको व्यवस्था गर्न आग्रह गरेको छ । भारत र बङ्गलादेशका पर्यटकका लागि छुट्टै व्यवस्था रहेको उदाहरण प्रस्तुत गर्दै नेपाली पक्षले नेपाली पर्यटकलाई सहज पहुँच उपलब्ध गराउन आग्रह गरेको थियो ।

    भुटानका गृहमन्त्री ल्योन्पे छिरिङले नेपालले उठाएका विषयहरूलाई सकारात्मक रूपमा लिइएको बताउँदै आवश्यक सरकारी तहमा थप छलफल गरिने प्रतिबद्धता व्यक्त गरे । उनले लुम्बिनीमा भुटानी गुम्बा निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराएको जग्गा तथा सहयोगप्रति भुटान सरकारको तर्फबाट आभार व्यक्त गरे । उनले लुम्बिनी र भुटानबीचको धार्मिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै बौद्ध सम्पदा संरक्षण, तीर्थ पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य बढाउने प्रतिबद्धता पनि जनाए ।


    द्विपक्षीय भेटवार्तामा नेपालका तर्फबाट लुम्बिनी क्षेत्रबाट निर्वाचित सांसद तौफिक अहमद खाँन र रूपन्देही–४ बाट निर्वाचित सांसद कन्हैया बनियाको सहभागीता रहेको थियो । यसै गरि भुटानका तर्फबाट नेपालका लागि भुटानका राजदूत मेजर जनरल भेत्सोप नामग्येल, भुटान सरकारका गृह सचिव लगायतको सहभागिता रहेको थियो ।