Category: विश्व

  • फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश

    काठमाडौँ, ३१ असारः फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे । खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए ।

    उनले खेलको २२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । फ्रान्सका लुकास डिग्नेले लामिन यमालविरुद्ध ‘फाउल’ गरेपछि स्पेनले ‘पेनाल्टी’ पाएको थियो । त्यसपछि खेलको ५८औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र स्पेनले फ्रान्समाथि २–० को जित हासिल गर्दै फाइनल यात्रा तय गरेको हो ।

  • रूसः सेप्टेम्बरमा हुने निर्वाचनमा भाग लिन तयारीमा रहेको क्रेमलिन विरोधी नेता पक्राउ

    रूसः सेप्टेम्बरमा हुने निर्वाचनमा भाग लिन तयारीमा रहेको क्रेमलिन विरोधी नेता पक्राउ

    मस्को, ३० असार (रासस–एएफपी) । रूसी प्रहरीले सोमबार एक युद्धविरोधी क्रेमलिन आलोचकलाई पक्राउ गरेको छ । दुई महिनापछि हुने संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको निकट समूहविरुद्ध भाग लिने योजना बनाइरहेका ६३ वर्षीय बोरिस नादेज्दिनलाई सोमबार पक्राउ गरिएको थिए र दुई महिनापछि हुने संसदीय निर्वाचनमा भाग लिने योजना बनाइरहेका थिए।

    अप्रत्याशित रूपमा समर्थन जुटाएर पुटिनविरुद्ध राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन खोजेका नादेज्दिनले सन् २०२४ मा विपक्षी नेताका रूपमा चर्चा कमाएका थिए । छोटो अभियानपछि नै उनलाई उम्मेदवार बन्नबाट रोकिएको छ । उनी रूसमा पुटिनको शासन र मस्कोको युक्रेन युद्धको खुल्लमखुल्ला आलोचना गर्ने थोरै व्यक्तिहरूमध्ये एक हुन्, तर जेल वा निर्वासनमा भने जानुपरेको छैन ।

    “प्रहरी आएको छ,” नादेज्दिनले पक्राउपूर्व टेलिग्राममा लेखेका छन्। पछि उनले सन् २०२३ को एउटा भिडियोमा ‘उग्रवादी प्रतीक प्रदर्शन’ गरेको आरोप लगाइएको एउटा कागजात सार्वजनिक गरेका छन् । उक्त भिडियोमा उनले दिवङ्गत विपक्षी नेता एलेक्सी नाभाल्नीको फोटो थियो । नाभाल्नीको सन् २०२४ को फेब्रुअरीमा राष्ट्रपति निर्वाचनको केही दिनअघि आर्कटिक जेलमा मृत्यु भएको थियो । एक वकिलले रूसी स्वतन्त्र मिडियालाई बताएअनुसार नादेज्दिनलाई सोमबार नै अदालतमा उपस्थित गराइनेछ।

    यो पक्राउ अधिकारीहरूले नादेज्दिनलाई ‘विदेशी एजेन्ट’ घोषित गरेका तीन दिनपछि भएको हो । यो क्रेमलिनले असन्तोष नागरिकलाई दबाउन प्रयोग गर्ने एउटा आरोप हो । नादेज्दिन सेप्टेम्बरमा हुने तल्लो सदनको निर्वाचनका लागि उम्मेदवार बन्न हस्ताक्षर सङ्कलन गरिरहेका थिए । यो मतदान युद्धको पाँचौं वर्षमा हुन लागेको छ, जसमा युक्रेनी हमलाहरूले सामान्य जीवनलाई अझ बढी प्रभावित पारिरहेका छन्।

    गत हप्ता नादेज्दिनले भनेका थिए, “‘विदेशी एजेन्ट’ को ‘ट्याग’ले उनलाई हस्ताक्षर सङ्कलन गर्न रोक्न सक्दैन र उनी यो ‘मूर्खतापूर्ण’ आरोप खेप्न र न्यायका लागि अदालतमा लड्न तयार छन् । “म रूसमा हस्ताक्षर सङ्कलन गरेर उम्मेदवारी दिन खोजिरहेको एकमात्र स्वतन्त्र विपक्षी उम्मेदवार हुँ,” उनले युट्युबमा एउटा भिडियोमा भनेका थिए । उनले मस्कोको उत्तरी उपनगरीय क्षेत्रबाट चुनाव लड्ने योजना बनाइरहेका छन् । भिडियोमा उनले पुटिनको प्रत्यक्ष आलोचना गरेका थिए ।
    “युद्धका परिणामहरू सबैलाई स्पष्ट छन्”, उहाँले युक्रेनी ड्रोन हमलाका कारण उत्पन्न भएको ‘पेट्रोल सङ्कट’ र बढ्दो मूल्यको उदाहरण दिँदै भने ।
    “पुटिनले यी २५ वर्षदेखि देशलाई जुन बाटोमा लगिरहनुभएको छ, त्यो सैन्यीकरण, अलगाववाद र निरंकुशताको बाटो हो,” उनले भने । राष्ट्रपति पुटिनले संसदीय निर्वाचन २० सेप्टेम्बरका लागि तोकेका छन् ।

  • मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

    मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

    वासिङ्टन, २९ असार (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक गर्मीको लहरको चपेटामा परेको छ । उत्तरी समथर भूभागदेखि रकी पर्वतीय क्षेत्रसम्म तापक्रमले विगतका कीर्तिमान तोडेको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ । प्रारम्भिक तथ्याङ्कअनुसार, युटा राज्यको राजधानी साल्ट लेक सिटी र मोन्टाना राज्यको सबैभन्दा ठूलो सहर बिलिङ्समा तापक्रम १०९ डिग्री फरेनहाइट (४३ डिग्री सेल्सियस) पुगेको छ ।

    मौसम सेवाका अनुसार, दुवै सहरमा १५० वर्षभन्दा बढी समयदेखि राखिएको अभिलेखमा यो अहिलेसम्मकै उच्च तापक्रम हो । यसअघि साल्ट लेक सिटीमा १०७ डिग्री फरेनहाइट (४२ डिग्री सेल्सियस) र बिलिङ्समा १०८ डिग्री फरेनहाइट (४२ डिग्री सेल्सियस) को कीर्तिमान रहेको थियो ।

    उच्च तापक्रमका कारण कोलोराडो र युटाका विभिन्न क्षेत्रमा फैलिएका डढेलो नियन्त्रणको प्रयास प्रभावित भएको छ । मौसमविद्हरूले अत्यधिक गर्मी मङ्गलबारसम्म कायम रहने अनुमान गरेका छन् । एक साताअघि पूर्वी अमेरिकामा पनि अर्को गर्मीको लहर चलेको थियो । त्यस क्रममा न्युयोर्क र फिलाडेल्फियामा तापक्रम करिब १०४ डिग्री फरेनहाइट पुगेको थियो ।

    वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण विश्वभर अत्यधिक गर्मीका लहरहरू अझ बारम्बार, लामो समयसम्म रहने र तीव्र हुने प्रवृत्ति बढ्दै गएको छ । जीवाश्म इन्धनको दहनबाट हुने हरितगृह ग्यास उत्सर्जनलाई यसको मुख्य कारण मानिएको छ । यसैबीच, पश्चिमी युरोपले हालसम्मकै सबैभन्दा तातो जुन महिनाको अनुभव गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार त्यहाँको हालैको गर्मीको लहरका कारण एक हजार तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

  • युक्रेन सरकारको पुनः गठन, नयाँ प्रधानमन्त्री पनि नियुक्त गरिने

    युक्रेन सरकारको पुनः गठन, नयाँ प्रधानमन्त्री पनि नियुक्त गरिने

    किएभ, २९ असार (रासस–एएफपी) । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार सरकारको व्यापक पुनर्गठनको घोषणा गरेका छन् । उनले प्रधानमन्त्री युलिया स्विरिडेन्कोको प्रतिस्थापन र केही कानून प्रवर्तन निकायका प्रमुखहरूलाई हटाउने प्रस्ताव गरेका छन् ।

    “जेलेन्स्कीले स्विरिडेन्कोको स्थानमा कसलाई ल्याउने भन्ने जानकारी भने दिइसकेका छैनन् । परिवर्तनको कारण पनि खुलाएका छैनन् । उनले भनेका छन्, “म स्विरिडेन्कोलाई प्रधानमन्त्रीको रूपमा उनको स्पष्ट, स्थिर र प्रभावकारी कामको लागि, युक्रेनको टोलीमा उनको वर्षौंको उत्पादक सेवा र मुख्य साझेदारसँगको नयाँ तथा महत्वपूर्ण क्षेत्रको नेतृत्व गर्ने अवसर प्रस्ताव गरेको छु ।” उनले भने, “म आशा गर्दछु,सांसदहरूसँग मिलेर हामी युक्रेन सरकारमा सम्बन्धित परिवर्तन गर्नेछौँ। कानून प्रवर्तन निकायका प्रमुखहरूमा पनि परिवर्तन हुनेछ ।”

    जेलेन्स्कीले गत वर्ष स्विरिडेन्कोलाई प्रधानमन्त्रीको पदमा नियुक्त गरेका थिए । एक्समा जारीे विज्ञप्तिमा जेलेन्स्कीले युक्रेनले गर्नुपर्ने केही महत्वपूर्ण कार्यहरू उल्लेख गरेका छन् । यसमध्ये युरोपेली सङ्घमा सामेल हुने प्रगति र सीमा क्षेत्रलाई बलियो बनाउने उल्लेख छ ।

    उनले विदेश नीतिका विभिन्न क्षेत्रहरू व्यवस्थापन गर्न फरक–फरक व्यक्तिहरूलाई जिम्मेवारी दिने योजना बनाएको पनि बताए । “हामीले यी परिवर्तनहरूका लागि मन्त्रिपरिषद्को नवीकरण आवश्यक ठान्दै यसलाई पुर्नगठन गरेका छौँ,” जेलेन्स्कीले थप स्पष्ट पार्दै भने । मन्त्रिपरिषद् पुनर्गठनका लागि संसदको अनुमति आवश्यक पर्छ। तर रूसको आक्रमणपछि सांसदहरू ठूलो रूपमा जेलेन्स्कीको वरिपरि गोलबद्ध भएका छन् र सामान्यतया उनको एजेन्डालाई रोक्दैनन् ।

  • खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक

    खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक

    तेहरान, २९ असार (रासस–एएफपी) । इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको बदलाका लागि लक्षित गरिने भन्दै अमेरिकी, इजरायली तथा युरोपेली नेताको नाम समेटिएको सूची सार्वजनिक गरेको छ । गत फेब्रुअरी २८ मा अमेरिकी–इजरायली आक्रमणमा खामेनीको मृत्यु भएपछि उनका छोरा तथा उत्तराधिकारी मोजताबा खामेनीले बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।


    यसैसाता सम्पन्न अन्त्येष्टिपछि जारी आफ्नो पहिलो सन्देशमा मोजताबाले भने, “बदला लिनु हाम्रो राष्ट्रको चाहना हो र यो अवश्य कार्यान्वयन हुनेछ । उनले सूचीमा रहेका व्यक्तिले आफ्नो ओछ्यानमै शान्तिपूर्ण मृत्युको अपेक्षा गर्न नसक्ने चेतावनी दिए । तेहरान महानगरपालिकाको स्वामित्वमा प्रकाशित ‘हमशहरी’ पत्रिकाले शनिबार राति आफ्नो अनलाइन संस्करणमा मोजताबाको उक्त भनाइसँगै १३ विदेशी नेताको तस्बिर समावेश गरिएको ‘इन्फोग्राफिक’ सार्वजनिक गरेको हो ।

    यद्यपि, सर्वोच्च नेताको सन्देशमा लक्षित व्यक्तिको सूची तयार गरिएको उल्लेख भए पनि कुनै नाम सार्वजनिक गरिएको थिएन । पत्रिकाले सार्वजनिक गरेको सूचीलाई इरानी सरकार वा अन्य आधिकारिक निकायले अनुमोदन गरेको सङ्केत पनि छैन । उक्त सूची पत्रिकाको आइतबारको मुद्रित संस्करणमा समावेश गरिएको छैन ।

    ‘इन्फोग्राफिक’मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, बेलायती प्रधानमन्त्री केयर स्टार्मर, अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी तथा जर्मनीका चान्सलर फ्रेडरिक मर्जलगायतका नेता समावेश छन् ।

    युद्धका क्रममा इरानले युरोपेली मुलुकले आफ्नो भूमिमाथि भएका आक्रमणको निन्दा नगरेको तथा अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिएर आक्रमणमा सहयोग पु¥याएको आरोप लगाउँदै आएको छ । समाचारका अनुसार मोजताबा खामेनी युद्ध सुरु भएयता सार्वजनिक रूपमा देखा परेका छैन । उनका पिता मारिएको आक्रमणमा उनी पनि घाइते भएको बताइएको छ।

  • भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

    भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

    काराकस, २७ असार (रासस–एएफपी) । भेनेजुएलामा आएको दोहारो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या चार हजार पुगेको भेनेजुयला सरकारले जनाएको छ । गत जुन –२४ मा आएको भूकम्पकाकारण कम्तिमा चार हजार ११८ जनाको मृत्यु भएको पुष्टि गर्दै १६ हजार ७४० जना घाइते भएको र तटीय राज्य ला गुइराका सम्पूर्ण जिल्लाहरूलाई प्रभावित गराएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राम मार्फत जनाउनु भएको छ । उहाँका अनुसार थप हजारौँ मानिसहरु बेपत्ता भएकाले खोजि तथा उद्धार कार्य जारी रहेको छ ।

    यद्यपि उद्धार टोलीहरूले अव जिवित व्यक्तिहरूको सम्भावना नरहेको जनाएका छन् भने परिवारका सदस्यहरूले उनीहरूलाई सम्मान जनक सस्कार गर्ने आशामा आफ्नो परिवारका सदस्यहरुलाइ भग्नावशेषमा खोज्ने कार्य जारी राखेका छन् । पछिल्लो समयमा भेनेजुएलाले भूकम्पिय जोखिमको सामना गरिरहेको छ जहाँ लामो समय देखि चलिरहेकोे आर्थिक संकटले राज्य सेवाहरूलाई गम्भीर रूपमा बिगारेको जनाइएको छ ।

    यसैबीच संयुक्त राष्ट्र सङ्घले भेनेजुयलामा भूकम्प राहत कार्यका लागि लगभग ३० करोड डलरको तत्कालीन अपिल जारी गरेको छ । भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले विदेशमा राखिएको फ्रिज गरिएका सम्पत्ति फिर्ता गर्न आह्वान गर्नु भएको छ ।

  • न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा

    न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा

    अकल्यान्ड, २८ असार (रासस–एएफपी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले रक्षा र सुरक्षासहित विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले शनिबार ‘रणनीतिक साझेदारी’ घोषणा गरेका छन् ।

    न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्युजिल्यान्डको आदिवासी माओरी परम्पराअनुसार स्वागत गर्दै सम्मान गारद (गार्ड अफ अनर) प्रदान गरे । गत अप्रिलमा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि दुई देशबीचको सम्बन्ध विस्तारको प्रयास भइरहेका बेला लक्सनले उक्त सम्झौतालाई आर्थिक लाभको महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरे ।


    जुलाई ६ देखि जुलाई ११ सम्मको मोदीको भ्रमण इन्डोनेसिया र अस्ट्रेलियाको यात्रासहितको कार्यक्रमको अन्तिम चरण हो । प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिबारे चिन्ता बढिरहेका बेला मोदीको न्युजिल्यान्ड भ्रमण भएको हो । चालिस वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीले गरेको यो पहिलो न्युजिल्यान्ड भ्रमण हो । यसले प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका बीच भारतको कूटनीतिक सक्रियतालाई पनि सङ्केत गरेको छ ।

    अकल्यान्डस्थित गभर्नमेन्ट हाउसमा मोदीको स्वागत गर्दै प्रधानमन्त्री लक्सनले भारत–न्युजिल्यान्ड साझेदारीले सम्बन्धलाई नयाँ दिशा र व्यापकता प्रदान गर्ने बताए । मोदीले दुई देशबीचको सम्बन्धलाई ‘थप ऊर्जा र आत्मविश्वास प्रदान गर्ने महत्वपूर्ण कोशेढुङ्गा’ को सङ्ज्ञा दिए । उनले भने, “लोकतान्त्रिक मूल्यप्रतिको हाम्रो साझा प्रतिबद्धताले हामीलाई स्वाभाविक साझेदार बनाएको छ ।”

    दुवै देशले जारी गरेको संयुक्त वक्तव्यमा रक्षा सहकार्य, नौसेना अभ्यास, व्यापार, कूटनीति, संस्कृति, खेलकुद र विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्ने उल्लेख गरिएको छ । दुवै नेताले “स्वतन्त्र, खुला, शान्तिपूर्ण र समृद्ध इन्डो–प्यासिफिक क्षेत्र” निर्माणमा साझा चासो रहेको बताएका छन् ।

    व्यापार सम्झौतामाथि बहस

    मोदीको भ्रमणका क्रममा अकल्यान्डस्थित स्पार्क एरेनामा भारतीय समुदायलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । न्युजिल्यान्डमा बसोबास गर्ने करिब तीन लाख भारतीय समुदायमध्ये हजारौँ सहभागी हुने अपेक्षा गरिएको छ । यसअघि अस्ट्रेलियाको मेलबर्नमा भएको कार्यक्रममा करिब ३० हजार भारतीय समुदायका मानिस सहभागी भएका थिए ।

    नोभेम्बरमा हुने आमनिर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्री लक्सनले भारतसँगको स्वतन्त्र व्यापार सम्झौताबाट रोजगारी र आर्थिक लाभ हुने बताउँदै आउनुभएको छ । तर, उक्त सम्झौताका केही प्रावधान, विशेषगरी भारतीय विद्यार्थी र कामदारका लागि आप्रवासन तथा भिसा सहज बनाउने विषयमा न्युजिल्यान्डभित्र आलोचना भइरहेको छ ।

    लक्सन नेतृत्वको गठबन्धनमा रहेको ‘न्युजिल्यान्ड फस्र्ट’ पार्टीका केही सांसदले सम्झौताका प्रावधानप्रति असन्तुष्टि जनाएका छन् । सरकारीमन्त्री शेन जोन्सले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै सम्झौताबारे आफ्नो आपत्ति जनाएका थिए । उनको भनाइलाई लिएर भारतीय समुदायका केही नेताले जातीय विभेदपूर्ण टिप्पणी भएको आरोप लगाएका छन् ।

    यसैबीच, न्युजिल्यान्डका विवादास्पद धार्मिक नेता ब्रायन तामाकीले मोदीको भ्रमणको विरोध गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनको टिप्पणीलाई न्युजिल्यान्डका जातीय सम्बन्ध आयुक्तले कडा आलोचना गर्दै ‘अत्यन्त आपत्तिजनक’ भनेका छन् ।

    प्रधानमन्त्री लक्सनले भने मोदीको भ्रमणलाई दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा प्रस्तुत गरेका छन् । “यो भ्रमण न्युजिल्यान्ड र भारतबीचको सफल साझेदारीको उत्सव हो, जसले दुवै देशका नागरिकका लागि समृद्धि र सुरक्षामा योगदान पु¥याउनेछ”, उनले भने ।

  • भियतनाममा डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

    भियतनाममा डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

    हनोई, २८ असार (रासस–सिन्ह्वा) । भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार दिउँसो पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम ‘भिएनएक्सप्रेस’ले जनाएको छ । डुङ्गामा ३२ जना भारतीय पर्यटकसहित चालक दल र सेवाकर्मी गरी ३६ जना सवार थिए । दुर्घटनापछि २१ जनाको सकुशल उद्धार गरिएको छ भने १५ जनाको शव फेला परेको छ ।

    घटनापछि स्थानीय अधिकारी, तटरक्षक बल तथा आसपास रहेका अन्य डुङ्गाको सहयोगमा उद्धार अभियान सञ्चालन गरिएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।

  • पोल्याण्डले ‘युक्रेनी नरसंहार’ मा मारिएकाहरूको सम्मानमा स्मारक बनाउने

    पोल्याण्डले ‘युक्रेनी नरसंहार’ मा मारिएकाहरूको सम्मानमा स्मारक बनाउने

    वार्सा, २८ असार (रासस–एएफपी) । दोस्रो विश्वयुद्धमा ‘युक्रेनी राष्ट्रवादी’ समूहद्वारा गरिएको ‘नरसंहार’ मा शाहदत भएका पोल्याण्डका नागरिकहरूको सम्झनामा नयाँ स्मारक निर्माण गर्ने घोषणा गरेको छ । दोस्रो विश्वयुद्धमा ‘युक्रेनी राष्ट्रवादी’ समूहद्वारा गरिएको ‘नरसंहार’ मा ज्यान गुमाउने नागरिक लागि नयाँ स्मारक निर्माण गर्ने घोषणा पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले शनिबार गरेका हुन् ।


    “वार्सामा सम्झनाको पर्खाल खडा गरिनेछ, जसमा सधैं बलिरहने ज्वाला र फेला परेका तथा पहिचान गरिएका हरेक पीडितको नाम लेखिनेछ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् । वार्सा र किएभ दोस्रो विश्वयुद्धका क्रममा दुवै पक्षका नागरिक हत्याकाण्डबारे दशकौँदेखि विवादमा छन्, जसले उनीहरूको सम्बन्धमा तगारो देखिँदै आएको छ ।

    पोल्यान्डले रुसको आक्रमणविरुद्ध लडिरहेको आफ्नो छिमेकी युक्रेनलाई समर्थन गरिरहेका समय यो विवादले अझ बढी महत्व पाएको छ । टस्कको यो घोषणा सन् १९४३ को ‘ब्लडी सन्डे’ को पूर्व सन्ध्यामा आएको हो, जतिबेला युक्रेनी इन्सर्जेन्ट आर्मी ९युपिए० र युक्रेनी राष्ट्रवादी सङ्गठन (ओयुएन)का इकाइहरूले युक्रेनको उत्तर–पश्चिम क्षेत्रको भोल्हिनियामा हजारौँ पोल्याण्डबासीलाई मारेका थिए।

    पोल्यान्डका अनुसार सन् १९४३ देखि १९४५ सम्म ७० हजार देखि एक लाख नागरिक मारिएका थिए भने प्रतिकारमा करिब १२ हजार युक्रेनीको पनि ज्यान गएको अनुमान गरिएको थियो । युपिए र ओयुएनलाई युक्रेनमा रेड आर्मी र सोभियत सङ्घविरुद्ध स्वतन्त्रताको लागि लडेका समूहको रूपमा हेरिन्छ ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मे महिनामा युपिएको नाममा एउटा सैन्य इकाई नामकरण गर्ने घोषणा गरेपछि पोल्यान्डमा ठूलो आक्रोश उत्पन्न भएको थियो। प्रतिकारस्वरूप, पोल्यान्डका राष्ट्रपति कारोल नावरोकीले जेलेन्स्कीलाई देशको सर्वोच्च सम्मानको सूची ‘अर्डर अफ द ह्वाइट इगल’ बाट हटाउनुभएको थियो ।

    –घाउ निको पार्ने पहल–

    युरोपेली परिषद्का पूर्व अध्यक्ष तथा रुसविरुद्ध युक्रेनका दृढ समर्थक डोनाल्ड टस्कले भने, “स्मृति र सत्यले हामीलाई घृणा र तिरस्कारबिना राम्रो भविष्य निर्माण गर्न मद्दत गर्नुपर्छ।” “शान्ति र पारस्परिक सम्मानको युरोप, दोस्रो विश्वयुद्धपछि मिलाप गरेको युरोप, सत्य र कुराहरूलाई सही नामले बोलाउने माध्यमबाट सम्भव भएको हो”, टस्कले भने, “यो समुदायमा सामेल हुन चाहने जो कोहीले पनि यो सत्यको लागि तयार हुनुपर्छ।”

    उत्तर–पश्चिम युक्रेनको ओलिका शहरमा, पोल्यान्डका रक्षामन्त्री व्लाडिसलाभ कोसिनियाक–कामिस्जले युद्धमा मारिएका नागरिकहरूको सम्झनामा आयोजित समारोहलाई सम्बोधन गर्दै वार्सा र किएभले ‘अतीतको भूमिका स्वीकार गरेर राम्रो भविष्य निर्माण गर्न’ सँगै अगाडि बढ्नुपर्ने बताए । “मित्रता भनेको एकअर्कालाई सत्य बताउनु हो र यो कठिन यथार्थ हो,” उनले भने, “म पुराना घाउहरू खोल्न होइन, निको पार्न’ यहाँ आएको हुँ।”

    किएभसँगको मुख्य रेल लिङ्क रहेको पोल्यान्डको दक्षिण–पूर्वी सीमावर्ती शहर चेल्ममा पनि भोल्हिनियामा मारिएकाहरूका लागि प्रस्तावित सङ्ग्रहालयस्थलमा समारोहहरू आयोजना भएका छन् । शहरका मेयर याकोब बनान्स्जेकले भने, “यी सम्झनाहरू आजको युक्रेन वा यसका नागरिकहरूविरुद्ध लक्षित छैनन् र विभाजन वा शत्रुता फैलाउन होइनन्। यी त केवल ऐतिहासिक घटनाका पीडितहरूको सम्झनाको अभिव्यक्ति मात्र हुन् ।”

  • म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि सामान्य जनजीवन प्रभावित

    म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि सामान्य जनजीवन प्रभावित

    क्याउकटाव, म्यान्मा, २८ असार (रासस–एएफपी) । देशको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक बर्षापछि बाढी आएको बताउँदै म्यान्माका उद्धारकर्मीहरूले शनिबार नदी र होचा समथर भूभागमा पानीको सतह बढ्दै गएको चेतावनी दिएका छन् ।

    जातीय अल्पसंख्यक विद्रोही समूह अराकान आर्मीको मानवीय सेवाले बिहीबार जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। “विशेष गरी वृद्ध, बिरामी, गर्भवती र निम्न क्षेत्रमा बस्नेहरूलाई सुरक्षित स्थानमा सार्नुपर्दा पानीको स्तर अझ बढे के हुन्छ भन्ने हाम्रो चिन्ता हो,” स्थानीय उद्धारकर्मी बो आउङ थे इनले क्याउकटाव नगरको शे ता ले गाउँबाट एएफपीलाई जानकारी दिए ।


    सन् २०२१ को सैन्य ‘कू’ पछि गृहयुद्धले ग्रस्त म्यान्माले यातायात तथा सञ्चारका धेरै समस्या सामना गरिरहेको छ र संयुक्त राष्ट्रसङ्घका अनुसार जनसङ्ख्याको एक तिहाइभन्दा बढी मानिसले खाद्यान्नको असुरक्षाको महशुस गरिरहेका छन्।

    “हाम्रो गाउँमा करिब २०० घर छन्, जसमध्ये एक वा दुईवटा मात्र डुबेका छैनन्। बाँकी सबै डुबेका छन्। सबै धानका खेतहरू पनि डुबेका छन्,” क्याउक क्यात गाउँका ४९ वर्षीय बासिन्दा मे थे इन याइनेले भने । “घरमा साना बच्चाहरू छन्। यदि राति पानी अझ बढेर आयो भने हामीसँग आश्रय लिने ठाउँ र भाग्ने कुनै बाटो नै हुँदैन भन्ने डर लागिरहेको छ,” २४ वर्षीया थुजार ब्थभले बताए ।

  • विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय :  यामाल

    विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

    लस एन्जलस, २८ असार (रासस–एएफपी) । स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र आफ्नो देशले विश्वकप जितेमा आफूले गोल गर्न नसकेको कुरालाई कसैले पनि मतलब नगर्ने स्पेनी सुपरस्टार लामिने यामालले बताएका छन् । बिहीबार बेल्जियमविरुद्ध २–१ को क्वार्टरफाइनल जितमा उनले गोल गर्न नसकेपछि सञ्चारकर्मीले गरेको प्रश्नको जवाफमा फुटबलमा सामूहिक प्रदर्शनबाट राम्रो नतिजा निकाल्ने प्रयास हुने बताउँदै व्यक्तिगत गोल सङ्ख्याको दौडमा लाग्नु सही नहुने बताए ।


    लियोनेल मेस्सी, किलियन एम्बाप्पे, एर्लिङ हालान्ड र ह्यारी केनजस्ता स्टारहरू गोल गर्न व्यस्त रहेको यो प्रतियोगितामा १८ वर्षीय यामालले अहिलेसम्म जम्मा एक गोल मात्र गरेका छन् । साउदी अरबविरुद्धको ४–० को सामान्य जितमा उनले विश्वकपका लागि पहिलो गोल गरेका थिए । “म गोल गर्न चाहन्छु तर मैदानमा जाँदा म यसैबारे सोच्दिनँ। म टिमलाई सहयोग गर्न सोच्छु,” यामालले भने । बार्सिलोनाका स्टारले लस एन्जलसमा फ्रान्ससँग सेमिफाइनल खेल्ने गरी भएको जितपछि भने, “महत्वपूर्ण कुरा जित हो । यदि हामी विश्वकप जित्यौं भने मैले गोल गरे वा नगरेको कसैलाई याद रहँदैन ।”

    उनले भने, “मलाई थाहा छ कि गोल नगरे पनि म टिमलाई योगदान दिन सक्छु। मेरो गतिविधिले धेरै प्रतिद्वन्द्वीलाई तान्छ, त्यसैले म आफ्नो देशको टोलीको लागि सबै योगदान गर्न तयार हुन्छु।” सन् १६ वर्षको उमेरमा नै यामाल स्पेनको ‘युरोपियन च्याम्पियनसिप’ जित्ने टिमका लागि उदियमान फुटबलस्टार बन्न सफल भएका थिए । उक्त जितमा उनले फ्रान्सविरुद्ध सेमिफाइनलमा गरेको शानदार गोल समग्र प्रतिस्पर्धाको जम्मा एक गोल मात्र थियो ।

    उनले भने, “धेरैले मलाई धेरै गोल गर्नुपर्छ भन्ने धारणा राख्छन्, तर युरोमा पनि मैले एक गोल गरेर टिमले जितेको थियो। यहाँ पनि मेरो एक गोल भइसकेको छ, त्यसैले म शान्त छु ।” स्पेनले यस विश्वकपमा धेरै गोल गर्ने समूह फ्रान्सलाई हराउन चाहन्छ भने यामालबाट थप गोलको आशा गरिएको छ। उनी सेमिफाइनल अघिल्लो दिन १९ वर्ष पुग्दैछन् । यामालले भने, “उनीहरूले लगातार तीन विश्वकप फाइनलमा पुग्नेछन् वा हामीले उनीहरूलाई तीन पटक हराउँनेछौँ भन्ने अहिले दुई सम्भावना रहेका छन् । हेर्न बाँकी छ।”

  • नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी व्यक्तिको मृत्यु

    नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी व्यक्तिको मृत्यु

    गुसाउ, नाइजेरिया, २८ असार (रासस–एएफपी) । नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको कारबाहीमा अपहरण तथा गाई चोरी गर्ने गिरोहका ३०० भन्दा बढी सदस्यहरू मारिएको अधिकारीले शनिबार बताएका छन् । सेनाले गुम्मी जिल्लामा दुई दिनसम्म चलेको कारबाहीमा ‘३०० भन्दा बढी आतङ्ककारीहरूको सफाया’ गरेको जाम्फारा राज्यका सूचना आयुक्त महमुद मुहम्मद दान्तावासाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    जिहादी तथा ‘डाँका’ समूहका गिरोहहरूले उत्तर तथा मध्य नाइजेरियाका समुदायहरूलाई आतङ्कित बनाएका छन्। उनीहरूले घातक हमला गर्ने, अपहरण गरी फिरौती असुल्ने र किसानहरूलाई आफ्नै खेतमा जानका लागि कर लगाउने गर्छन्। सुरक्षा विश्लेषकहरूका अनुसार मुख्य रूपमा आर्थिक लाभका लागि सक्रिय अपराधी गिरोह र जिहादीहरूबीच बढ्दो सहकार्य भइरहेको छ । जिहादीहरूले पूर्वोत्तरमा १७ वर्षदेखि विद्रोह गरिरहेका छन् ।

    गुम्मीका बासिन्दा अबुबकर मुहम्मदले बताउनुभयो, “सेना र स्थानीयहरूले सयौँ चोरीका गाईहरू लिएर आफ्नो शिविरबाट अन्यत्र सरिरहेका करिब एक हजार डाँका समूहका सदस्यहरूसँग बुधबार रातिदेखि बिहीबारसम्म झडप भएको थियो । “सेना र गाउँलेहरूले रातभरि र भोलिपल्ट बिहानसम्म चलेको लडाइँमा लुटेरा समूहका ३०० भन्दा बढी सदस्यहरूलाई सफाया गरेको छन्,” मुहम्मदले एएफपीलाई बताए । अर्का बासिन्दा अबुबकर कुदी–कासाले भने, “बुधबार राति सवा नौ बजेतिर कारबाही सुरु भएको थियो र गोली तथा बिस्फोटको आवाजले सारा गाउँ रातभर जागा रहेको थियो।”

    “लुटेराहरू अझै सेना र गाउँलेहरूको घेराबन्दीमा छन्,” कुदी–कासाले अगाडि भने । दुई हप्ता अघि सेनाले लुटेराहरूको शिविरमा हमला गर्न खोजेको थियो तर “अत्यधिक सङ्ख्या र राम्रोसँग सुसज्जित सशस्त्र’ लुटेरासँग लड्ने बल नपुग्ने अनुमानपछि फिर्ता हुनुपरेको थियो।

    “सेनाले राम्रो तयारी गरेर फर्किएर उनीहरूमाथि कडा प्रहार ग¥यो,” उनले भने । अर्का बासिन्दा शेहु दान्दारेले पनि सेनाले ‘गिरोहहरूलाई बमबारी’ गरेर ३०० भन्दा बढी मारिएको बताए । गत वर्ष जुलाईमा नाइजेरियाली सेनाले केब्बी राज्यमा ३५० जति ल्ुटेराहरूको ठूलो समूहलाई घेराबन्दीमा पारी कम्तीमा १५० जनालाई मारिदिएको थियो।

    एक महिनापछि जाम्फाराको बुककुयुम क्षेत्रमा सेनाले ४०० भन्दा बढी गिरोह सदस्यहरू भएको जङ्गली शिविरमा हवाई हमला र स्थलगत कारबाही गरी १०० भन्दा बढीलाई मारिदिएको संयुक्त राष्ट्रसङ्घलाई बुझाउन तयार पारिएको सुरक्षा रिपोर्टमा उल्लेख छ । जाम्फारा सरकारले यो हप्ताको कारबाहीलाई हिंसात्मक अपराधविरुद्धको ‘महत्वपूर्ण सफलता’ भनेको छ ।

    अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरिया बहुविध सुरक्षा सङ्कटसँग जुधिरहेको छ। पूर्वोत्तर नाइजेरियामा सन् २००९ देखि सुरुमा बोको हराम, त्यसपछि यसको शाखा तथा प्रतिद्वन्द्वी इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स नामक इस्लामिक चरमपन्थी विद्रोह चलेको छ । हालैका महिनाहरूमा नाइजेरियाले जिहादीहरूलाई मार्न सफलता पाएको दाबी गरेको छ।

    यसअघि क्रिसमसको दिन अमेरिकी हवाई हमला र नाइजेरियाली सेनाको सहकार्यमा सोकोतो राज्यमा गरिएको कारबाहीमा लुटेरा समूहतर्फ ठूलो क्षति भएको थियो । अमेरिकाले नाइजेरियाली सेनालाई सहयोग र तालिम दिन सयौँ सैनिक खटाएको छ। अमेरिका–नाइजेरिया संयुक्त कारबाहीमा इस्लामिक स्टेट समूहको विश्व स्तरको दोस्रो कमान्डरसहित करिब २०० लडाकुहरू मारिएका थिए।

  • बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी

    बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी

    तेहरान, २८ असार । रासस–एएफपी) । इरानका सर्वोच्च नेता मोक्तबा खामेनीले शनिबार आफ्ना बुबा तथा पूर्व सर्वोच्च नेता अलि खामेनीको अमेरिका–इजरायलद्वारा हत्या गरिएको घटनाको बदला लिने चेतावनी दिएका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हत्या गर्ने कुनै पनि प्रयासविरुद्ध चेतावनी दिएका थिए ।


    यो हप्ता भएको हवाइ आक्रमणपछि दुवै पक्षको बयानबाजी बढेको छ, जसले युद्ध समाप्त गर्ने अन्तरिम सम्झौतालाई प्रभावित गरेको छ। यो युद्ध गत फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायलको ठूलो हमलाबाट सुरु भएको थियो। राष्ट्रपति ट्रम्पले दुवै पक्षबीचको युद्धविराम समाप्त भएको घोषणा गरेका छन् । मध्यस्थकर्ताहरू कूटनीति बचाउन प्रयासरत छन्। इरानी मिडियाका अनुसार कतारको एक प्रतिनिधिमण्डल शुक्रबार इरान पुगेको छ ।

    “बदला लिने कुरा हाम्रो राष्ट्रको इच्छा हो र यसलाई अपरिहार्य रूपमा कार्यान्वयन गर्नुपर्छ,” मोक्तबा खामेनीले लिखित सन्देशमा भनेका छन् ।
    बुबा अलि खामेनीको गत फेब्रुअरीमा अमेरिका–इजरायलको हमलामा हत्या भएपछि उनी इरानका सर्वोच्च नेता बनेका थिए । तर उनी युद्ध सुरु हुनुभन्दा पहिलेदेखि नै सार्वजनिक रूपमा देखिएका छैनन् ।


    “यो कुरा मेरो व्यक्तिगत अस्तित्व वा अन्य अधिकारीहरूको अस्तित्वमा निर्भर गर्दैन। हामी जिउँदो रहनेछौँ वा छैनौँ, यो घटना अवश्य हुनेछ,” यो हप्ता बुबाको अन्त्येष्टिपछि उनले पहिलो पटक सार्वजनिक सन्देशमा लेखेका छन् । उनले इरानले लक्षित व्यक्तिहरूको सूची तयार पारेको बताए ।

    –राष्ट्रपति ट्रम्पको चेतावनी–

    केही घण्टाअघि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल (ट्रुथ सोसल प्लेटफर्म)मा पोस्ट गर्दै भनेका थिए, उनको हत्या गर्ने कुनै पनि प्रयास भएमा संयुक्त राज्य अमेरिकाले इरानलाई ‘पूर्ण रूपमा ध्वस्त’ पारिदिनेछ। उनले लेखेका छन्, “यदि इरानी सरकारले विश्वका विभिन्न ठाउँमा दिएको धम्कीअनुसार संयुक्त राज्य अमेरिकाको राष्ट्रपति मलाई हत्या गर्ने वा हत्या गर्ने प्रयास गर्ने हो भने एक हजार मिसाइलहरू तयारी अवस्थामा छन् र इरानलाई लक्षित गरिएका छन् । थप हजारौँ मिसाइलहरू तुरुन्त पछ्याउन तयार छन्।”

    “आदेश पहिले नै दिइसकिएको छन् र अमेरिकी सेना एक वर्षसम्म र आवश्यक परे थप लम्ब्याएर इरानका सबै क्षेत्रहरूलाई पूर्ण रूपमा ध्वस्त पार्न र नष्ट गर्न तयार र सक्षम छ।”

    –कुटनीतिक प्रयास जारी–

    दुवै देशले धम्की बढाउँदै गएका बेला मध्यस्थकर्ताहरू कूटनीति फर्काउन प्रयत्न गरिरहेका छन्। इरानको तस्निम समाचार एजेन्सीले शुक्रबार रिपोर्ट गरेको छ कि कतारी प्रतिनिधिमण्डल ‘मध्यस्थकर्ताको रूपमा कतारको भूमिका मजबुत बनाउन’ इरान भ्रमणमा गएको छ। ट्रम्पले इरानसँगको वार्ता जारी रहने तर त्यसलाई ‘समयको दुरुपयोग’ भनेका छन् ।


    यसबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले गत महिना दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएपछि तेहरानले आफ्नो तर्फको प्रतिबद्धता पूरा गरेको दाबी गरेका छन् । “तेहरानले अहिलेसम्म आफ्नो वाचा कायम राखेको छ,” उनले भने, “वास्तविकताको जाँचः केवल पारस्परिक अनुपालन मात्र हुन सक्छ।”

    – हर्मुजमा अल्झन –

    समझदारी पत्रमा हस्ताक्षर भएपछि अमेरिका र इरानका प्रतिनिधिमण्डलहरूले स्विट्जरल्यान्डमा एक चरणको प्रत्यक्ष वार्ता र कतारमा अप्रत्यक्ष वार्ता गरेका छन् तर त्यसपछि कुनै कूटनीतिक प्रगति देखिएको छैन । अन्तिम सम्झौताको मुख्य बाधा हर्मुजको जलडमरुमध्यको भविष्य हो।

    युद्धका क्रममा इरानले अमेरिका–इजरायल हमलाको प्रतिकारमा यसलाई व्यावसायिक जहाज आवतजावतका लागि बन्द गरेको थियो। यो जलमार्ग ऊर्जायुक्त खाडी देशहरूबाट तेल र ग्यास निर्यातको महत्वपूर्ण मार्ग हो र यसको बन्दले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ।

  • स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेण्टिना सेमिफाइनलमा

    स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेण्टिना सेमिफाइनलमा

    २८ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेल र लाउटारो मार्टिनेजले गोल गरे । खेलको १०औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई पहिलो अग्रता दिलाएका थिए । कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् ।

    स्विट्जरल्यान्डले ६७औं मिनेटमा बराबरी गोल फर्कायो । रिकार्डो रोड्रिगको असिस्टमा डान एनडोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरीमा फर्काए ।

    खेलको ७२औं मिनेटमा ब्रेल एम्बोलोले दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलमा झरेको थियो । निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलियो । अल्भारेलले डिबक्सभन्दा बाहिरबाट उत्कृष्ट प्रहार गर्दे गोल गर्न सफल भए । इन्जुरी समयमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ३–१ को जित निकाले । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग खेल्नेछ ।

  • इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

    इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

    काठमाडौँ, २८ असारः इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको क्वार्टरफाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गरका हुन् । यससँगै आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

    पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । अब इङल्यान्डको सामना अर्जेन्टिना र स्विट्जरल्यान्डबीच हुने क्वार्टरफाइनलको विजेतासँग हुनेछ । अहिले अर्जेन्टिना र स्विटजरल्यान्डबीच खेल जारी छ । अर्जेन्टिना एक गोलका साथ अग्रपङ्तिमा छ ।

  • एक वर्षयता एक करोड महिला तथा बालिकाहरूले मानवीय सहायतामा पहुँच गुमाए

    एक वर्षयता एक करोड महिला तथा बालिकाहरूले मानवीय सहायतामा पहुँच गुमाए

    जेनेभा, २७ असार (रासस–एएफपी) । सन् २०२५ जनवरीभन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा एक करोड महिला र बालिकाहरूले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार चेतावनी दिएको छ । एउटा नयाँ रिपोर्टमा युन वुमेनले आवश्यकता बढिरहेको बेला महिला सङ्गठनहरू खारेज भएकोमा दुख व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गरेका छन् भने अन्य प्रमुख दाता देशहरूले पनि आफ्नो खर्च घटाएका छन् ।

    “संसारका सबैभन्दा गम्भीर मानवीय सङ्कटहरूको अग्रपंक्तिमा रहेका महिला सङ्गठनहरू बन्द हुने जोखिममा छन्,” युन वुमेनकी मानवीय सहायता प्रमुख सोफिया काल्टोर्पले एक विज्ञप्तिमा भनेकी छिन् । उनले भनिन्, “महिला सङ्गठनहरूबाट हटाइएको प्रत्येक डलर भनेको द्वन्द्वसम्बन्धी यौनिक हिंसाका पीडित, विस्थापित आमा, विद्यालयबाट बाहिरिन बाध्य बालिका र बाँच्न सङ्घर्ष गरिरहेका समुदायहरूबाट हटाइएको डलर हो।”

    संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर सशस्त्र द्वन्द्वहरू दोस्रो विश्वयुद्ध यताकै उच्च स्तरमा रहेको यो समयमा करिब १२ करोड महिला र बालिकाहरूलाई मानवीय सहायता र संरक्षणको आवश्यकता छ । सङ्कटग्रस्त विभिन्न ५२ वटा देशहरूका ८५५ महिला नेतृत्वका तथा महिला अधिकार सङ्गठनहरूबाट प्राप्त जवाफहरूमा आधारित यो रिपोर्टले देखाएको छ कि ८४ प्रतिशत समूहले सन् २०२५ जनवरी यता आफ्ना सेवाहरूको माग बढेको अनुभव गरेका छन् ।

    “लगभग ९० प्रतिशतले उनीले हालको आवश्यकता पूरा गर्न नसक्ने बताउँछन्,” एजेन्सीले भनेको छ, “ सर्वेक्षण गरिएका मध्ये दुईमा एक (४० प्रतिशत) सङ्गठनले आगामी एक वर्षभित्र अस्थायी वा स्थायी रूपमा बन्द हुने अपेक्षा गरेका छन् ।” यी सङ्गठनहरूलाई जोगाउनका लागि नेतृत्व र कर्मचारीहरूले आफ्नै श्रम र स्वास्थ्यको मूल्य चुकाइरहेका छन् । पूर्ण ६५ प्रतिशत महिला नेतृत्वका सङ्गठनहरूले सेवाहरू सञ्चालन गर्न कर्मचारी बिना तलब काम गरिरहेको रिपोर्ट गरेका छन् भने लगभग आधाले कर्मचारीहरूमा बढ्दो थकान रिपोर्ट गरेका छन् ।

    युन वुमेनको विज्ञप्तिमा भनिएको छ, “सन् २०२५ मा पीडितहरूलाई संरक्षण गर्ने प्रणाली भत्किरहेको बेला द्वन्द्वसम्बन्धी यौनिक हिंसा दोब्बर बढेको छ।”
    झण्डै ८६ प्रतिशत महिला सङ्गठनहरूले आफूले सेवा गरिरहेका समुदायमा लैङ्गिक हिंसा बढेको रिपोर्ट गरेका बताइएको छ । यो सङ्गठनले सहायता कटौतीले विनाशकारी परिणाम ल्याइरहेकोमा जोड दिएको छ ।

    “हिंसाबाट आश्रय खोजिरहेको महिला बन्द भएको आश्रय केन्द्रको ढोकामा पुग्न सक्छिन्, गर्भवती महिलालाई स्वास्थ्य क्लिनिक पुग्न घण्टौं हिँड्नुपर्ने हुन सक्छ, वा आमाले आफ्ना बच्चाहरूलाई खाना दिन अस्वीकार गर्नुपर्ने हुन सक्छ,” सङ्गठनले भनेको छ । यी कटौतीहरूको प्रभाव केवल मानवीय प्रतिक्रियालाई कमजोर पार्नेमा मात्र सीमित नहुने सङ्गठनले जोड दिएको छ ।

    “महिला सङ्गठनहरूको विघटन कुनै खाली ठाउँमा होइन, बरु महिला र बालिकाहरूको अधिकारमाथि विश्वव्यापी प्रतिक्रियावादको बिरुद्धमा भइरहेको छ,” यसले भनेको छ । हरेक पाँचमा एक (२० प्रतिशत) सङ्गठनहरूले महिला नेतृत्व र लैङ्गिक समानता अघि बढाउने काम पहिले नै स्थगित गरेका छन् भने आधाभन्दा बढीले समुदायको नेतृत्व र स्थानीय निर्णय प्रक्रियामा महिलाहरूको सहभागिता घट्दै गएको देखेको सङ्गठनको दावी छ ।

  • चीनद्वारा पुनः प्रयोग गर्न मिल्ने रकेटलाई सफलतापूर्वक अवतरण

    चीनद्वारा पुनः प्रयोग गर्न मिल्ने रकेटलाई सफलतापूर्वक अवतरण

    बेइजिङ, २७ असार (रासस–एएफपी) । चीनले शुक्रबार पहिलोपटक पुनः प्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अवतरण गरेको चीनको अन्तरिक्ष निकायले जनाएको छ । यो चीनका लागि अन्तरिक्ष महत्वाकाङ्क्षा र प्रक्षेपण लागत घटाउने दिशामा ठूलो उपलब्धि हो। यो सफलतापछि एसियाली महाशक्ति अमेरिकाको पुनः प्रयोग योग्य रकेट क्षेत्रमा रहेको प्रभुत्वलाई चुनौती दिन सक्ने अवस्थामा पुगेको छ । हालसम्म यो क्षेत्रमा एलन मस्कको स्पेसएक्स र जेफ बेजोसको ब्लु ओरिजिनले नेतृत्व गर्दै आएका थिए।

    चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएअनुसार लङ मार्च–१०बी रकेट चिनियाँ समय अनुसार दिउँसो १२ः१५ बजे हाइनानको प्रक्षेपण स्थलबाट उडान भरेको थियो। यसले एउटा उपग्रहलाई कक्षमा स्थापित गरेको थियो । रकेटको पहिलो भागलाई समुद्रमा रहेको प्लेटफर्ममा ‘नेट–क्याप्चर प्रणाली’ मार्फत सफलतापूर्वक फिर्ता ल्याइएको थियो।

    चीनको राज्य प्रसारक सीसीटीभीले हवाई फुटेज प्रसारित गरेको थियो जसमा रकेटको पहिलो भाग प्लेटफर्ममा सहज रूपमा अवतरण गरेको देखिन्थ्यो।

    सीएनएसएले भनेको छ, “यो मिसन चीनको लागि ढुवानी रकेटको पहिलो चरणलाई नियन्त्रित रूपमा फिर्ता ल्याउने पहिलो सफल प्रयास हो। साथै यो विश्वकै पहिलो समुद्रमा नेट प्रणालीबाट रकेट फिर्ता ल्याउने घटना हो ।” चिनियाँ अन्तरिक्ष प्रशासनले यसलाई ‘पुनः प्रयोग योग्य रकेट प्रविधिमा चीनको ठूलो सफलता’ भनेको छ।

    स्पेसएक्सको फाल्कन ९ रकेटभन्दा फरक, लङ मार्च–१०बी रकेटमा अवतरणका लागि खुट्टा (ल्याण्डिङ लेग्स) प्रयोग गरिएको छैन । ‘चीन एकेडेमी अफ लञ्च भेइकल टेक्नोलोजी’का प्राविधिक विशेषज्ञ चेन मुयेको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, “नेटबाट सञ्चालित ‘रिकभरी’ प्रणालीले विशेष फाइदा दिन्छ ।”

    विशेषज्ञ चेनले भने, “हालका मुख्य रिकभरी समाधानहरूको तुलनामा नेटबाट सञ्चालित प्रणाली रकेटको अवतरण आवश्यकताअनुसार बढी अनुकूलन योग्य छ।” सामान्यतया धेरैजसो रकेट एक पटक मात्र प्रयोग गर्नका लागि डिजाइन गरिन्छन्। तिनका भागहरू प्रयोगपछि समुद्रमा खस्छन्, वातावरणमा जलेर नष्ट हुन्छन् वा कक्षमा फोहोरका रूपमा रहन्छन्। रकेटको पहिलो भाग सबैभन्दा महँगो मानिन्छ।

    चेनले भने, “नेटबाट सञ्चालन हुने रिकभरीले रकेटको आन्तरिक संरचनालाई सरल बनाउँछ। यसमा अवतरणका लागि खुट्टा आवश्यक नपर्ने भएकाले रकेटको तौल पनि घटाउन सकिन्छ।” उनले घटेको तौलले ‘पेलोड’ क्षमता र सञ्चालन दक्षता बढाउन मद्दत गर्ने बताए । रकेटको केही भाग पुनः प्रयोग गर्न सकिँदा उपग्रह वा अन्तरिक्ष यान प्रक्षेपणको लागत घट्छ। लङ मार्च–१० श्रृङ्खलाका रकेटहरू विशेष गरी चीनको भावी चन्द्रमाको मानव मिसनका लागि बनाइएका हुन् ।

  • घातक आँधीपछि चीनमा टाइफुनको खतरा

    घातक आँधीपछि चीनमा टाइफुनको खतरा

    बेइजिङ, २७ असार (रासस–एपी) । एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा ५० जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन ‘बवी’ पूर्वी तटतर्फ अघि बढेपछि उच्च सतर्कता अपनाइएको छ । अधिकारीहरूले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ ।

    प्रतिघण्टा १६२ किलोमिटरको अधिकतम निरन्तर गतिमा बहिरहेको टाइफुन ‘बवी’ शुक्रबार ताइवानको उत्तर भाग हुँदै अघि बढ्ने र त्यसपछि शनिबार राति चीनको फुजियान र झेजियाङ प्रान्तको सीमाक्षेत्र नजिकै स्थलभागमा प्रवेश गर्ने अनुमान गरिएको छ । यसअघि यसले साइपनसहित प्रशान्त क्षेत्रका अमेरिकी भूभागमा सुपर टाइफुनका रूपमा तीव्र हावा र वर्षा गराएको थियो ।

    ताइवानमा भारी वर्षाको पूर्वानुमानसँगै राजधानी ताइपेईका विद्यालय बन्द गरिएका छन् । उत्तरी तटमा माछा मार्ने डुङ्गाहरू बन्दरगाहमा बाँधिएका छन् भने जापान, हङकङलगायतका गन्तव्यका धेरै उडान शनिबारसम्म रद्द गरिएका छन् । चीनको झेजियाङ प्रान्तमा १७ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।

    करिब एक लाख ७० हजार उद्धारकर्मीलाई सम्भावित विपद्का लागि तयारी अवस्थामा राखिएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । फुजियान प्रान्तले तीव्र हावा र उग्र समुद्री अवस्थाका कारण केही जलमार्ग सेवा स्थगित गर्नुका साथै सबै माछा मार्ने डुङ्गालाई बन्दरगाह फर्किन निर्देशन दिएको छ ।

    यसअघि दक्षिणी चीनमा आएको उष्णकटिबन्धीय आँधी ‘मेसाक’ का कारण गुआङ्सी क्षेत्रमा आएको बाढीमा कम्तीमा ३९ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । अत्यधिक वर्षाले जलाशयहरू फुटेका थिए भने हेङ्झाउस्थित बाँधको एक भाग भत्किएपछि ठूलो क्षेत्रमा बाढी फैलिएको थियो । धेरै मानिसहरू भवनका माथिल्ला तलामा दिनौँसम्म फसेका थिए र विद्युत् सेवा समेत अवरुद्ध भएको थियो ।

    यस्तै, मध्य चीनको हुबेई प्रान्तमा सोमबार राति आएको भीषण आँधीका कारण थप ११ जनाको मृत्यु भएको थियो । यसैबीच, पश्चिमी चीनको गान्सु प्रान्तमा मङ्गलबार आएको भूस्खलनमा २१ जना वनकर्मीको मृत्यु भएको छ । उक्त घटना टाइफुनसँग प्रत्यक्ष सम्बन्धित नभए पनि प्रतिकूल मौसमका कारण उद्धार कार्य प्रभावित भएको जनाइएको छ ।

  • भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    भारतीय प्रधानमन्त्री ४० वर्षपछि न्यूजील्यान्डमा

    अकल्यान्ड, न्यूजिल्यान्ड, २७ असार (रासस–एएफपी) । दुई देशबीच व्यापार, लगानी र रणनीतिक साझेदारी द्रुत गतिमा मजबुत हुँदै गइरहेको समय करिब ४० वर्षपछि प्रधानमन्त्री नरेन्द्र मोदीको न्यूजील्यान्ड भ्रमण जारी छ । हालै भएको स्वतन्त्र व्यापार सम्झौताले दुवै देशको आर्थिक सम्बन्धलाई नयाँ गति दिने अपेक्षा गरिएको छ ।

    भारतीय प्रधानमन्त्रीका हैसियतमा भएको प्रधानमन्त्री नरेन्द्र मोदीको न्यूजील्यान्डको भ्रमण पहिलो औपचारिक भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र न्यूजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच अकल्यान्डमा द्विपक्षीय वार्ता हुने बताइएको छ । दुवै नेताले व्यापार, लगानी, रक्षा, शिक्षा, सुरक्षा र अन्य क्षेत्रमा सहयोगको समीक्षा गर्नेछन् ।

    –किन विशेष–

    न्यूजील्यान्ड दक्षिण–पश्चिम प्रशान्त महासागरमा अवस्थित एउटा टापु राष्ट्र हो, जुन अस्ट्रेलियाबाट करिब एक हजार ६०० किलोमिटर टाढा छ ।
    वल्र्डओमीटरका अनुसार यहाँको जनसङ्ख्या करिब ५२।९ लाख ९५२ लाख ९१ हजार० छ । यो विश्वका सबैभन्दा विकसित देशहरूमा पर्छ र राम्रो जीवनस्तर, पारदर्शी शासन, मानव विकास र नागरिक स्वतन्त्रताका लागि प्रसिद्ध छ ।

    अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार, सन् २०२६ मा न्यूजील्यान्डको अर्थव्यवस्था (जीडीपी) करिब २७८.६४ अर्ब अमेरिकी डलर रहने अनुमान छ भने आर्थिक वृद्धिदर २।१ प्रतिशत रहने अपेक्षा गरिएको छ ।

    –भारत र न्यूजील्यान्डबीचको सम्बन्ध–

    भारत र न्यूजील्यान्डबीचको सम्बन्ध लामो समयदेखि मित्रवत् छ । दुवै देश एक समय बेलायती साम्राज्यका अंश थिए। दुवै कमनवेल्थका सदस्य हुन् र उनीहरूबीच लोकतन्त्र, सामान्य कानुन, अङ्ग्रेजी भाषा, खेलकुद र जनस्तरको सम्बन्धजस्ता धेरै समानताहरू साझा गर्छन्।

    दुवै देशबीच कूटनीतिक सम्बन्ध सन् १९५२ मा स्थापित भएको हो। यद्यपि सन् १९५० मै ट्रेड कमिसन सुरु भइसकेको थियो, जसलाई पछि उच्च आयोग दर्जा दिइयो । समयक्रममा दुवै देशले राजनीतिक, आर्थिक र रणनीतिक सहयोगलाई निरन्तर अगाडि बढाएका छन् ।

    न्यूजील्यान्डले भारतलाई द्रुत गतिमा वृद्धि भइरहेको अर्थव्यवस्था र विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या भएको देशका रूपमा हेर्छ। भारतको बढ्दो वैश्विक प्रभाव, बलियो अर्थव्यवस्था र इन्डो–प्यासिफिक क्षेत्रमा बढ्दो भूमिकाले न्यूजील्यान्डका लागि भारतको महत्वलाई निरन्तर बढाइरहेको छ।

    यसै कारण सन् २०११ मा न्यूजील्यान्डले ’भारतका लागि नयाँ अवसर खोल्ने नीति’ अन्तर्गत भारतलाई प्राथमिकता प्राप्त देशमा समावेश गरेको थियो।

    त्यसपछि ‘न्यूजील्यान्ड–इन्डिया स्ट्राटेजी’ र ’भारत–न्यूजील्यान्ड २०२५ः सम्बन्धमा लगानी’ जस्ता रणनीतिमार्फत दुवै देशले व्यापार, लगानी र आपसी सहयोगलाई थप मजबुत बनाउने लक्ष्य राखेका छन्।

    –सहकार्य–

    दुवै देश व्यापार, लगानी, रक्षा, शिक्षा, पर्यटन, कृषि, प्रविधि, स्वास्थ्य, संस्कृति र खेलकुद जस्ता क्षेत्रमा सहकार्य गरिरहेका छन् ।

    दुवै देश संयुक्त राष्ट्रसङ्घ, विश्व व्यापार सङ्गठन र कमनवेल्थजस्ता अन्तर्राष्ट्रिय सङ्गठनका सदस्य हुन्।

    यसबाहेक इन्डो–प्यासिफिक क्षेत्रको सुरक्षा र स्थिरताका विषयमा पनि दुवै देशको साझा हित छ।

    रक्षा क्षेत्रमा पनि दुवै देशको ऐतिहासिक सम्बन्ध छ। प्रथम र द्वितीय विश्वयुद्धमा दुवै देशका सैनिकहरू सँगै लडेका थिए। अहिले दुवै देश रक्षा सहयोग र सैन्य सम्पर्क बढाउन लागिपरेका छन्।

    सन् २०२५ मार्चमा दुवै देशले बृहत् स्वतन्त्र व्यापार सम्झौता को वार्ता सुरु गर्ने घोषणा गरेका थिए र ९ महिनामा २७ अप्रिलमा यो सम्झौता पूरा भएको थियो।

    यो सम्झौता भारतका लागि धेरै हिसाबले महत्वपूर्ण मानिएको छ । यसले भारतीय निर्यातकर्ताहरूलाई न्यूजील्यान्डको बजारमा राम्रो पहुँच दिनेछ र ओसियानिया तथा प्रशान्त टापु देशहरूमा पनि बाटो खुल्नेछ ।

    भारतले न्यूजील्यान्डलाई औषधि, मेसिनरी, कपडा, सवारीसाधन, बहुमूल्य पत्थर र गहना लगायतका सामान निर्यात गर्छ।

    न्यूजील्यान्डबाट भारतले ऊन, फलाम–स्टिल, एल्युमिनियम, फलफूल, सुक्खा फल, काठजन्य सामान र अन्य वस्तु आयात गर्छ।

    दुवै देश प्रविधि, इन्जिनियरिङ, स्वास्थ्य सेवा, शिक्षा, निर्माण, कृषि, खाद्य पदार्थ, उड्डयन र प्राविधिक सेवाहरूमा नयाँ अवसर खोजिरहेका छन्।

    यो सम्झौताअन्तर्गत भारतको शतप्रतिशत निर्यातमा आयात शुल्क हटाइनेछ । यसले भारतीय उत्पादनहरूलाई न्यूजील्यान्डको बजारमा थप प्रतिस्पर्धी बनाउनेछ।

    न्यूजील्यान्डले आगामी १५ वर्षमा २० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता गरेको छ।

    कृषि उत्पादकत्व साझेदारीअन्तर्गत दुवै देश कृषि क्षेत्रमा सहयोग गर्नेछन्, जसले किसानको उत्पादकत्व बढाउन र उनीहरूलाई वैश्विक मूल्य शृङ्खलासँग जोड्न मद्दत गर्नेछ।

    प्रधानमन्त्री मोदी अकल्यान्ड पुग्नुभन्दा एक दिनअघि न्यूजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले “भारततर्फ जाने न्यूजील्यान्डको ५७ प्रतिशत निर्यात पहिलेदेखि नै शुल्कमुक्त भएको छ । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “भारतसँगको यो व्यापार सम्झौताले न्यूजील्यान्डको व्यवसायलाई ठूलो फाइदा पुर्‍याउनेछ।”

  • युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी, इरानले चाहेमा वार्ता जारी रहने

    युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी, इरानले चाहेमा वार्ता जारी रहने

    वासिङ्टन, २७ असार (रासस–एएफपी) । अमेरिका–इरानबीचको युद्धविराम अब समाप्त भइसकेको तर इरानले कुराकानी जारी राख्न चाहेमा वार्ता जारी रहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले श्क्रबार बताएका छन् । अमेरिका र इरानबीच बढ्दै गएको तनाव बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, “अमेरिका–इरानबीच लागू युद्धविराम अब समाप्त भइसकेको छ तर इरानले अमेरिकासँग कुराकानी जारी राख्न चाहेको खण्डमा हामी यसका लागि तयार छौँ ।”

    डोनाल्ड ट्रम्पले आफ्नो हस्ताक्षरसहित सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेको सन्देशमा भनिएको छ, “इस्लामिक रिपब्लिक अफ ईरानले हामीसँग कुराकानी जारी राख्न अनुरोध गरेको छ। हामी यसका लागि सहमत छौं, तर हामीले उनीहरूलाई स्पष्ट शब्दमा बताइसकेका छौं कि युद्धविराम अब समाप्त भयो।”

    अमेरिका र ईरानबीच यो तनाव अचानक बढेको होइन। पछिल्लो केही समयमा दुवै देशबीच एक अन्तरिम युद्धविराम सम्झौता भएको थियो। यसअन्तर्गत दुवै देशले शान्ति कायम राख्नुपर्ने र इरानले हर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने जहाजहरूमाथि हमला रोक्नुपर्ने उल्लेख थियो। तर पछिल्ला केही दिनमा इरानले यो समुद्री मार्गबाट आवतजावत गर्ने जहाजहरूमाथि फेरि बमबारी सुरु गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई सम्झौताको उल्लङ्घन र युद्धविराम समाप्त भएको सङ्केत भनेका छन् ।
    –आक्रमण–

    यो उक्साहटको जवाफमा अमेरिकी सेनाले पछिल्ला दुई दिनमा इरानमाथि ठूला हवाई हमला गरेको छ । अमेरिकाले इरानका १७० भन्दा बढी सैन्य ठाउँ, मिसाइल भण्डार र बुशहर परमाणु संयन्त्र नजिकका क्षेत्रहरूलाई निशाना बनाएको छ । यी हमलाहरूमा इरानका १४ सैनिकको मृत्यु भएको छ र धेरै घाइते भएका बताइएको छ ।

    आफूमाथि भएको हमलाबाट रुष्ट भएर इरानले पनि कडा रवैया अपनाएको छ। उसले कतार, कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि दर्जनौं ड्रोन र ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ । इरानको भनाइ छ, “यदि अमेरिकाले हमला गर्छ भने उसले पनि जवाफी कारबाही सहनुपर्नेछ। यो बदलाको भावना र दुवैतर्फबाट निरन्तर भइरहेका हमलाका कारण दुई देशबीचको शान्ति सम्झौता पूर्ण रूपमा टुटिसकेको छ र अब पश्चिम एशियामा ठूलो युद्धको सम्भावना देखिएको छ। यद्यपि, ट्रम्पको यो भनाइमा कुराकानीको सम्भावना अझै बाँकी रहेको सङ्केत पाइन्छ ।

  • मध्यपूर्वमा तनाव बढ्दै जाँदा सबै पक्षलाई संयमता अपनाउन पाकिस्तानको आग्रह

    मध्यपूर्वमा तनाव बढ्दै जाँदा सबै पक्षलाई संयमता अपनाउन पाकिस्तानको आग्रह

    इस्लामावाद, २६ असार (रासस–सिन्ह्वा) । मध्यपूर्वमा चलिरहेको चरणबद्ध वार्तको प्रयासको बावुजुत पुनः भड्किएको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाई वार्ता र कूटनीति मार्फत मतभेद समाधान गर्न पाकिस्तानले आग्रह गरेको छ । विज्ञप्ति जारी गर्दै पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानबिचको नयाँ द्वन्द्व “कसैको पनि हितमा नभएको बताएउदै यस्ता क्षेत्रीय शान्ति र स्थिरतालाई थप कमजोर पार्ने कार्यहरूबाट टाढा रहन सबै पक्षहरूलाई आह्वान गरेको छ । यस क्षेत्रमा शान्तिको साझा लक्ष्य हासिल गर्न निरन्तर संलग्नता, संवाद र कूटनीतिको कुनै विकल्प नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    विदेश कार्यालयले सबै पक्षहरूलाई इस्लामाबाद समझदारी ज्ञापनपत्र अनुसार आ–आफ्नो प्रतिबद्धता कायम राख्न आग्रह गर्दै समझदारी पत्रलाई यस क्षेत्रको लागि आपसी साझा समृद्धिको स्थायी आधारको रूपमा वर्णन गरेको छ । यसैबीच पाकिस्तान क्षेत्रीय शान्ति र स्थिरतालाई समर्थन गर्न आफ्नो भूमिका निर्वाह गर्न सधै तयार रहेकोसमेत जनाएको छ ।

  • अस्ट्रेलियाली युरेनियममा भारतको चासो

    अस्ट्रेलियाली युरेनियममा भारतको चासो

    मेलबर्न, २६ असार (रासस–एएफपी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको तीव्र गतिमा विस्तार हुँदै गएको आणविक ऊर्जा कार्यक्रमका लागि अस्ट्रेलियाको युरेनियम महत्त्वपूर्ण आधार बन्न सक्ने बताउँदै यस क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने अवसरलाई ‘ऐतिहासिक’ अवसरका रूपमा प्रस्तुत गरेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग हुने उच्चस्तरीय वार्ताअघि उनले यस्तो धारणा व्यक्त गरेका छन् ।


    मेलबर्नमा आयोजित व्यापार मञ्चलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतमा बढ्दो विद्युत् माग पूरा गर्न आगामी वर्षहरूमा आणविक ऊर्जा उत्पादन उल्लेखनीय रूपमा विस्तार गर्ने योजना रहेको बताए । उनले अस्ट्रेलियाको विशाल युरेनियम भण्डार भारतको आणविक ऊर्जा यात्रासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने समय आएको बताए ।


    विश्वको करिब २८ प्रतिशत युरेनियम स्रोत अस्ट्रेलियासँग रहे पनि कानूनी व्यवस्था र राजनीतिक संवेदनशीलताका कारण भारततर्फ निर्यात लामो समयदेखि सीमित रहँदै आएको छ । यद्यपि दुवै देशले ऊर्जा, व्यापार तथा रणनीतिक साझेदारीलाई विस्तार गर्ने प्रयासलाई पछिल्ला वर्षहरूमा तीव्र बनाएका छन् ।

    कार्यक्रमका क्रममा प्रधानमन्त्री मोदी र अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले सहभागीहरूसँग सेल्फीसमेत खिचेका थिए । अल्बानिजले प्रधानमन्त्री मोदीको नेतृत्वको प्रशंसा गर्दै उनको सक्रिय पहलले भारत–अस्ट्रेलिया सम्बन्धलाई नयाँ चरणमा पुर्‍याएको बताए । यसअघि पनि उहाँले मोदीलाई ‘द बोस’ भनेर सम्बोधन गर्दै उनले अमेरिकी रक गायक ब्रुस स्प्रिङ्स्टिनभन्दा ठूलो भीड आकर्षित गर्न सक्ने टिप्पणी गरेका थिए ।


    पछिल्ला वर्षहरूमा अस्ट्रेलियामा भारतीय मूलका समुदायको जनसङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । गत वर्ष सार्वजनिक तथ्याङ्कअनुसार पहिलो पटक भारतमा जन्मिएका आप्रवासी अस्ट्रेलियामा सबैभन्दा ठूलो विदेशी मूलको समुदाय बनेका छन् । अस्ट्रेलिया–इन्डिया इन्स्टिच्युटकी तिस्ता प्रकाशका अनुसार सन् २०१४ मा तुलनात्मक रूपमा सानो रहेको भारतीय डायस्पोरा अहिले अस्ट्रेलियाकै सबैभन्दा ठूलो आप्रवासी समुदाय बनेको छ । भारतीय डायस्पोराले ब्रिटिश मूलका समुदायलाई समेत उछिनेको छ ।

    प्रधानमन्त्री मोदीको सम्मानमा बिहीबार मेलबर्नको एक स्टेडियममा आयोजना हुने सामुदायिक कार्यक्रममा २० हजारभन्दा बढी मानिस सहभागी हुने आयोजकहरूको अनुमान छ । यद्यपि उनको भ्रमणसँगै भारतमा हिन्दू राष्ट्रवाद र अल्पसङ्ख्यक समुदायमाथिको व्यवहारलाई लिएर विरोध प्रदर्शनको पनि तयारी गरिएको छ । अस्ट्रेलियाको एलायन्स एगेन्स्ट इस्लामोफोबियाले भारतमा अल्पसङ्ख्यकमाथि दमन भएको आरोप लगाउँदै कार्यक्रमस्थलबाहिर प्रदर्शन गर्ने जनाएको छ भने भारतीय आप्रवासनविरुद्ध अर्को छुट्टै प्रदर्शनको पनि तयारी गरिएको छ । अस्ट्रेलियाको भ्रमण सम्पन्न गरेपछि प्रधानमन्त्री मोदी न्युजिल्यान्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

  • हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त

    हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त

    तेहरान, २६ असार (रासस–एएफपी) । रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच दोस्रो दिन पनि सैन्य आक्रमण र प्रतिआक्रमण जारी रहेको छ । समुद्री मार्गको नियन्त्रण, अन्तर्राष्ट्रिय जहाजहरूको आवतजावत तथा क्षेत्रीय सुरक्षालाई लिएर दुवै पक्षबीच तनाव चुलिँदा मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ । अमेरिकी सेनाले हर्मुज जलघाँटीमा अन्तर्राष्ट्रिय जहाजहरूको स्वतन्त्र आवागमनलाई जोखिममा पार्ने इरानको क्षमता कमजोर पार्ने उद्देश्यले पछिल्लो सैन्य कारबाही गरिएको जनाएको छ ।

    अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार करिब ९० वटा सैन्य लक्ष्यमा आक्रमण गरिएको छ । इरानको उत्तरपूर्वस्थित रेल पुल, तटीय बुसेहरस्थित सैन्य आधार, बन्दर अब्बास, कोणार्क, चाबहार तथा किश टापु आसपासका क्षेत्रमा विस्फोट भएका छन् । केही स्थानमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स ९आइआरजिसी० ले त्यसको प्रत्युत्तरस्वरूप बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाएको छ । बहराइनको राजधानी मनामामा विस्फोटको आवाज सुनिएको एएफपीका संवाददाताले बताएका छन् भने कुवेतले शत्रुतापूर्ण क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू अवरोध गरिएको जनाएको छ । अमेरिकी अधिकारीका अनुसार इरानको पछिल्लो आक्रमणबाट अमेरिकी पक्षमा कुनै ठूलो क्षति वा मानवीय हताहत भएको छैन ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको बताउँदै थप वार्ताका लागि ढोका भने खुला रहेको उल्लेख गरेका छन् । उनले ट्रुथ सोसलमार्फत इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोधस्वरूप अमेरिकी कारबाही गरिएको दाबी गर्दै पुनः यस्ता गतिविधि भए अझ कडा जवाफ दिइने चेतावनी दिए । एयरफोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले इरानी पक्षबाट सम्पर्क भएको दाबी गरे पनि त्यसबारे थप विवरण सार्वजनिक गरेनन् ।


    यसैबीच, इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालीबाफले हर्मुज जलघाँटी इरानी व्यवस्थाअन्तर्गत मात्र सञ्चालन हुने स्पष्ट पारेका छन् । उनले अमेरिकाले धम्की र प्रतिबद्धता उल्लङ्घनको परिणाम नहुने ठान्न नहुने चेतावनी दिँदै इरानमाथि आक्रमण भए जवाफ पनि त्यहीअनुसार दिइने बताए । फेब्रुअरीमा अमेरिका–इजरायल आक्रमणपछि सुरु भएको युद्धयता इरानले हर्मुज जलघाँटीमाथि नियन्त्रण कायम राख्ने नीति अघि बढाउँदै आएको छ ।

    तेहरानले जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क लिने र तोकिएको मार्गबाट विचलित हुने जहाजमाथि कारबाही गर्ने चेतावनी दिँदै आएको छ । हालैका दिनमा इरानले कम्तीमा तीनवटा जहाजमा आक्रमण गरेको घटनापछि अमेरिकाले व्यापक सैन्य कारबाही थालेको हो ।

    पछिल्ला आक्रमणहरू फेब्रुअरी २८ मा युद्धको सुरुआतमै मारिएका इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको बिहीबार हुने अन्त्येष्टिअघि भएका हुन् । प्रारम्भिक आक्रमणमा दुवै पक्षले दर्जनौँ लक्ष्यमा प्रहार गरेको बताएका छन् । इरानी सरकारी टेलिभिजनका अनुसार आठ जना इरानी सैनिक मारिएका छन् भने सेन्टकमले यसअघि ८० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको जनाएको थियो ।

    क्षेत्रीय तनाव बढिरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेका छन् । अमेरिका–इरान संवादका मध्यस्थकर्तामध्ये एक पाकिस्तानले पनि तनाव नियन्त्रणका लागि कूटनीतिक पहल आवश्यक रहेको जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघची र कतारका प्रधानमन्त्रीबीच भएको टेलिफोन वार्तामा पनि क्षेत्रीय समस्या समाधानका लागि कूटनीतिक माध्यमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको इरानले जनाएको छ ।

    हर्मुजको अर्को किनारमा रहेको ओमानले बहराइन, कुवेत तथा व्यापारिक जहाजमाथि भएका आक्रमणको निन्दा गरे पनि कुनै पक्षलाई प्रत्यक्ष दोष दिएको छैन । ओमानले युद्धभरि तटस्थ भूमिका कायम राख्दै जलघाँटीको प्रशासन र समुद्री सुरक्षासम्बन्धी विषयमा वार्तालाई निरन्तरता दिइरहेको छ । अमेरिका जहाजहरूको निःशुल्क आवागमनको पक्षमा रहे पनि इरानले शुल्क प्रणाली लागू गर्नुपर्ने अडान दोहोर्‍याउँदै आएको छ ।

    गत महिना अमेरिका र इरानबीच शत्रुता अन्त्य गर्ने सहमतिपछि केही समय समुद्री यातायात पुनः सञ्चालनमा आएको थियो । तर पछिल्लो तनावपछि पुनः जोखिम बढेको छ । अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आइएमओ) का प्रमुख आर्सेनियो डोमिङ्गेजका अनुसार करिब छ हजार नाविक अहिले पनि यस क्षेत्रका विभिन्न जहाजमा फसेका छन् ।

  • फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनल प्रवेश

    फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनल प्रवेश

    काठमाडौंँ, २६ असारः कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो । एमबाप्पेले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्न सकेनन् । दोस्रो हाफमा भने गोल गर्न सफल भए भने अर्को गोलको लागि सहयोगी बने ।

    फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि फ्रान्सले सन् २०१८ मा विश्वकपको ट्रफी जितेको थियो भने २०२२ मा उपविजेता बनेको थियो । आज खेलको ६०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ६६औँ मिनेटमा उनले नै पास मिलाएपछि उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । यसपछि खेलमा थप गोल हुन सकेन र फ्रान्सले मोरक्कोमाथि २–० गोलको जित निकाल्यो । फ्रान्सले अब सेमिफाइन खेलमा बेल्जियम र स्पेनबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

  • इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जलि, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी

    इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जलि, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी

    नजफ, २५ असार (रासस–एएफपी) । इरानका दिवङ्गत सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि कार्यक्रमअन्तर्गत बुधबार इराकका पवित्र सहर नजफ र कर्बलामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा सहभागी हुन हजारौँ शोकाकुल मानिस नजफ पुगेका छन्।

    इरानले शनिबारदेखि खामेनीको सम्मानमा छ दिने सार्वजनिक अन्त्येष्टि कार्यक्रम सुरु गरेको हो। सोही कार्यक्रमअन्तर्गत बुधबार इराकमा एकदिने श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको हो। शिया समुदायका प्रमुख धार्मिक केन्द्रका रूपमा रहेका नजफ र कर्बलालाई यस कार्यक्रमका लागि विशेष महत्व दिइएको छ।

    इरानले हालैको क्षेत्रीय युद्धपछि आयोजना गरिएको लामो अन्त्येष्टि कार्यक्रमलाई राष्ट्रिय एकता र शक्ति प्रदर्शनका रूपमा प्रस्तुत गरेको छ । उक्त युद्धमा खामेनीसहित उहाँका परिवारका केही सदस्यको मृत्यु भएको थियो।

    इराकका विभिन्न क्षेत्रबाट आएका श्रद्धाञ्जलि कार्यक्रममा सहभागीहरूले खामेनीलाई क्षेत्रीय राजनीतिमा प्रभावशाली नेताका रूपमा स्मरण गरेका थिए।

    इरानी पवित्र सहर कोमबाट मङ्गलबार राति खामेनीको पार्थिव शरीर इराक ल्याइएको थियो। त्यसपछि बुधबार बिहान नजफस्थित इमाम अलीको पवित्र तीर्थस्थलमा श्रद्धाञ्जलि अर्पण गरिएको थियो। चर्को गर्मीका बाबजुद हजारौँ श्रद्धालु पार्थिव शरीरको अन्तिम दर्शनका लागि भेला भएका थिए।

    नजफपछि अन्त्येष्टि यात्रा करिब ६० किलोमिटर उत्तरमा रहेको कर्बलातर्फ लगिने कार्यक्रम छ।त्यहाँ इमाम हुसेन र अब्बासको पवित्र तीर्थस्थलमा श्रद्धाञ्जलि अर्पण गरिनेछ।

    खामेनीको अन्तिम संस्कार बिहीबार इरानको उत्तरपूर्वी सहर मशहदस्थित उहाँको गृहक्षेत्रमा गरिने कार्यक्रम छ।

    इराक र इरानबीच धार्मिक तथा राजनीतिक सम्बन्ध लामो समयदेखि घनिष्ठ रहँदै आएको छ। सन् २००३ मा सद्दाम हुसेनको शासन अन्त्य भएपछि दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको मानिन्छ। हाल पनि इरानले इराकका केही राजनीतिक दल तथा शिया सशस्त्र समूहसँग निकट सम्बन्ध कायम राखेको छ।

    यद्यपि, इराकले इरानसँगको सम्बन्धका साथै अमेरिकासँगको सहकार्यलाई पनि सन्तुलनमा राख्ने प्रयास गर्दै आएको छ। पछिल्ला क्षेत्रीय घटनाक्रमसँगै यो सन्तुलन कायम राख्ने चुनौती थप बढेको विश्लेषण गरिएको छ। 

  • सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

    सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

    कायरो, २५ असार (रासस–एपी) । सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै ड्रोन आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको अधिकारवादी समूहले जनाएका छन्। सुडानमा जारी द्वन्द्वका क्रममा मानवरहित विमान (ड्रोन)को प्रयोग बढ्दै गएको बताइएको छ।

    सुडान डक्टर्स नेटवर्कका अनुसार, बुधबार राजधानी खार्तुमको बाहिरी क्षेत्रमा विवाह समारोहमा जाँदै गरेका सर्वसाधारण चढेको सवारीसाधनमा ड्रोन आक्रमण हुँदा एउटै परिवारका पाँच महिलासहित १० जनाको मृत्यु भएको हो।

    चिकित्सा सहायता समूहले उक्त आक्रमणका लागि अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स ९आरएसएफ०लाई जिम्मेवार ठहर गरेको छ। आक्रमणपछि सवारीसाधनमा आगलागी हुँदा त्यसमा सवार सबै १० जनाको मृत्यु भएको जनाइएको छ।

    सुडान डक्टर्स नेटवर्कले आक्रमण योजनाबद्ध रूपमा गरिएको दाबी गर्दै सर्वसाधारणलाई लक्षित आक्रमण रोक्न आरएसएफ नेतृत्वमाथि अन्तरराष्ट्रिय दबाब बढाउन आग्रह गरेको छ।

    यसैबीच, अधिकारवादी संस्था ‘इमर्जेन्सी लयर्स’का अनुसार मङ्गलबार नर्थ कोर्डोफान प्रान्तमा पानी आपूर्ति केन्द्र नजिकै भएको अर्को ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ। त्यसको अघिल्लो दिन सोही प्रान्तको अल–शातउट क्षेत्रमा विवाह समारोहमा जाँदै गरेको सवारीसाधनमाथि ड्रोन प्रहार हुँदा पाँच महिलासहित १३ जनाको ज्यान गएको थियो।

    उक्त संस्थाले सर्वसाधारणलाई लक्षित ड्रोन आक्रमण पछिल्लो समय बढ्दै गएको जनाएको छ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार नर्थ कोर्डोफान क्षेत्रमा भएका ड्रोन आक्रमणबाट विद्युत् पूर्वाधार, आवासीय क्षेत्र, पुल तथा आपूर्ति मार्गमा क्षति पुगेको छ।

    सुडानमा सेना र र्‍यापिड सपोर्ट फोर्स ९आरएसएफ०बीच सन् २०२३ को अप्रिलदेखि जारी द्वन्द्वमा हालसम्म कम्तीमा ५९ हजार जनाको मृत्यु भएको, करिब एक करोड ३० लाख मानिस विस्थापित भएको तथा तीन करोडभन्दा बढी मानिस मानवीय सहायताको आवश्यकता रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। 

  • तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    तेहरानद्वारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

    तेहरान, २५ असार (रासस–सिन्ह्वा) । इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा अनुगमन केन्द्रमाथि अमेरिकाले गरेको भनिएको आक्रमणको निन्दा गर्दै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।

    इरानी विदेश मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उक्त आक्रमण संयुक्त राष्ट्रसङ्घको बडापत्र र हालै भएको शान्तिसम्बन्धी समझदारीपत्र (एमओयू)को उल्लङ्घन भएको दाबी गरेको छ ।

    मन्त्रालयले अमेरिकाका पछिल्ला आक्रमण, इरानी तेल बिक्रीसम्बन्धी अनुमति खारेज गर्ने अमेरिकी निर्णय, होर्मुज जलसन्धिमा इरानी गतिविधिमाथिको अवरोध तथा लेबनानविरुद्ध इजरायली कारबाहीले समझदारीपत्रका महत्वपूर्ण पक्षलाई प्रभावित बनाएको जनाएको छ ।

    विज्ञप्तिमा इरानी सशस्त्र बलले अमेरिकी “सैन्य आक्रामकता”को स्रोत र उद्गमस्थललाई लक्षित गर्न पछि नहट्ने चेतावनी दिइएको छ ।

    मङ्गलबार रातिदेखि बुधबारसम्म अमेरिका र इरानबीच पुनःतनाव बढेको छ । इरानले होर्मुज जलसन्धिमा व्यावसायिक जहाजमाथि गरेको भनिएको आक्रमणको जवाफमा अमेरिकाले इरानका करिब ८० वटा लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।

    त्यसपछि इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्र्स (आइआरजीसी)ले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडामाथि आक्रमण गरेको दाबी गरेको छ ।

    इरानी सरकारी समाचार संस्था आइआरआइबीका अनुसार, बन्दर–ए–महशहर बन्दरगाह क्षेत्रमा भएको अमेरिकी आक्रमणमा एक आइआरजीसी सदस्यको मृत्यु भएको छ ।

    यसैबीच, नेटो शिखर सम्मेलनमा सहभागी हुन टर्कीको अङ्कारा पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धबिराम अवस्था अन्त्य भएको बताए । उनले अमेरिकाले आज राति इरानमाथि पुनः कडा आक्रमण गर्न सक्ने सङ्केत गर्दै होर्मुज जलसन्धिमा नौसैनिक नाकाबन्दी पुनः सुरु गर्ने तथा खर्ग टापुमाथि नियन्त्रण कायम गर्ने सम्भावना पनि उल्लेख गरेका थिए । 

  • पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, पाँच चालक दलका सदस्यको खोजी जारी

    पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, पाँच चालक दलका सदस्यको खोजी जारी

    इस्लामाबाद, २५ असार (रासस–एपी) । पाकिस्तानको कराची बन्दरगाह नजिकै अरब सागरमा बेपत्ता भएको कार्गो विमानको भग्नावशेष फेला परेको छ। विमानमा सवार पाँच चालक दलका सदस्यको खोजी भने जारी रहेको अधिकारीले जनाएका छन्।

    निजी विमान सेवा कम्पनी के–टु एयरवेजद्वारा सञ्चालित उक्त विमान संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहबाट उडेको थियो। मङ्गलबार राति हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क विच्छेद हुनुअघि विमानले नेभिगेसन प्रणालीमा समस्या देखिएको जानकारी दिएको थियो।

    पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार, पाकिस्तानी नौसेना तथा नागरिक खोज तथा उद्धार टोलीले अरब सागरमा करिब १२ घण्टाको खोजीपछि विमानको भग्नावशेष फेला पारेका हुन्।

    खोज अभियानमा सङ्लग्न अधिकारीले मनसुनका कारण समुद्रमा देखिएको खराब अवस्था र खोज क्षेत्रको ठूलो आकारले उद्धारकार्य चुनौतीपूर्ण बनाएको बताएका छन्।

    प्रधानमन्त्री शेहबाज सरिफले बेपत्ता चालक दलका सदस्यका परिवारप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारका लागि सबै आवश्यक स्रोत परिचालन गर्न निर्देशन दिनुभएको छ।

    के–टु एयरवेजले बेपत्ता चालक दलका सदस्यमा क्याप्टेन मोहम्मद रिजवान इद्रिस, प्रथम अधिकृत फैसल जतोई, उडान इन्जिनियर मोहम्मद हमिद र मोहम्मद आरिफ सिद्दिकी तथा विमान लोडर मोहम्मद तौफिक खान रहेको जनाएको छ।

    राडार तथ्याङ्कअनुसार, विमान कराचीबाट करिब १५५ समुद्री माइल ९झन्डै २८७ किलोमिटर० पश्चिम पुगेपछि हवाई ट्राफिक नियन्त्रणसँगको सम्पर्क टुटेको थियो। सम्पर्कविहीन हुनुअघि विमानले आफ्नो दिशा अचानक परिवर्तन गर्नुका साथै तीव्र गतिमा उचाइ घटाएको देखिएको पाकिस्तान विमानस्थल प्राधिकरणले जनाएको छ।

    उड्डयन विज्ञहरूले दुर्घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्र खुल्ने बताएका छन्। उनीहरूका अनुसार इन्जिनमा समस्या आए पनि विमान सामान्यतया केही समयसम्म ‘ग्लाइड’ गर्न सक्ने भएकाले घटनाबारे थप प्रमाण आवश्यक पर्नेछ।

    यसअघि सन् २०२० मा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको एउटा यात्रुवाहक विमान कराची विमानस्थल नजिक दुर्घटना हुँदा ९८ यात्रुसहित अधिकांशको मृत्यु भएको थियो। सरकारी अनुसन्धानले उक्त दुर्घटनामा मानवीय त्रुटि प्रमुख कारण रहेको निष्कर्ष निकालेको थियो।

  • भियतनामबाट विश्वकप सट्टेबाजीमा ८५ पक्राउ

    भियतनामबाट विश्वकप सट्टेबाजीमा ८५ पक्राउ

    हनोई, २४ असार (रासस–एएफपी) । विश्वकप फुटबल प्रतियोगिताका क्रममा बढ्दो अवैध सट्टेबाजी नियन्त्रण गर्ने अभियानअन्तर्गत भियतनामी प्रहरीले करिब १३ करोड ३० लाख अमेरिकी डलर बराबरको अवैध कारोबार सञ्चालन गर्ने दुई ठूला सट्टेबाजी गिरोहको पर्दाफास गर्दै ८५ जनालाई पक्राउ गरेको जनाएको छ ।

    मङ्गलबार सार्वजनिक गरिएको प्रहरी विज्ञप्तिअनुसार जुनको अन्त्यतिर गरिएको छापामा उच्च तहको सङ्गठित संरचना र कडा नियन्त्रणमा सञ्चालित दुई सट्टेबाजी सञ्जाललाई लक्षित गरिएको थियो । ती गिरोहले गत अक्टोबरदेखि अनलाइनमार्फत करिब १३ करोड ३० लाख अमेरिकी डलर बराबरको अवैध सट्टेबाजी कारोबार सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    प्रहरीका अनुसार गिरोहका मुख्य सञ्चालकहरूले कम्बोडियाबाट प्राप्त ‘मास्टर’ स्तरका सट्टेबाजी खाता प्रयोग गरी ती खातालाई विभिन्न एजेन्ट र सदस्यमार्फत विभाजन गरेर जुवाडेहरूलाई अनलाइन पहुँच उपलब्ध गराउने गरेका थिए ।

    भियतनाममा अनलाइन जुवा कानूनी रूपमा प्रतिबन्धित भए पनि विशेषगरी विश्वकपजस्ता अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला अवैध सट्टेबाजी उल्लेखनीय रूपमा बढ्ने गरेको छ । त्यसैले सरकारले प्रतियोगिता अवधिभर देशव्यापी निगरानी र कारबाहीलाई तीव्र बनाएको छ ।

    भियतनामको सार्वजनिक सुरक्षा मन्त्रालयका अनुसार गत सातामात्र देशभर सञ्चालनमा रहेका ७३ वटा अवैध जुवा सञ्जाल ध्वस्त पारिएको छ । विश्वकप सुरु भएको पहिलो २० दिनमै अवैध जुवा तथा फुटबल सट्टेबाजीमा संलग्न ३४६ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।

    सार्वजनिक सुरक्षा मन्त्रालयका कर्नेल बुई तुआन आनका अनुसार ती घटनामा हजारौँ अर्ब भियतनामी डोङ अर्थात् सयौँ करोड अमेरिकी डलर बराबरको अवैध कारोबार भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    यस वर्षको विश्वकप फुटबल प्रतियोगिता क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गरिरहेका छन् । प्रतियोगिताको फाइनल खेल जुलाई १९ मा हुने तालिका छ । 

  • श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

    श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

    कोलम्बो, २४ असार (रासस–एएफपी) । श्रीलङ्काको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । सरकारले घटनाको छानबिनका लागि आयोग गठन गर्नुका साथै आपराधिक अनुसन्धान पनि सुरु गरेको छ ।

    सोमबार भएको झडपमा १०० भन्दाबढी व्यक्ति घाइते भएका छन् । सुरक्षा व्यवस्था कडा पारिए पनि कारागारभित्र सशस्त्र प्रहरी परिचालन गरिएको छैन । कारागारको बाहिरी सुरक्षाका लागि भने सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

    न्यायमन्त्री हर्षना नानायक्काराले संसद्लाई जानकारी दिँदै घटनाको छानबिनका लागि सरकारी आयोग गठन गरिएको र समानान्तर रूपमा आपराधिक अनुसन्धान अघि बढाइएको बताए । 

    प्रहरीका अनुसार प्रतिद्वन्द्वी लागूऔषध कारोबारमा सङ्लग्न समूहबीच कारागारभित्र झडप भएको थियो । झडपका क्रममा कैदीले केही सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर हतियार खोसेपछि गोली चलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    नानायक्काराका अनुसार दङ्गाका क्रममा कैदीहरूले कारागारभित्र जडान गरिएका सीसीटीभी क्यामेरासमेत तोडफोड गरेका थिए ।

    अस्पतालका चिकित्सकका अनुसार गोली लागेका, धारिलो हतियारबाट घाइते भएका तथा अन्य गम्भीर चोटपटक लागेका ९७ जना नेगोम्बो अस्पतालमा उपचाररत छन् । तीमध्ये २३ जना कारागारका अधिकारी रहेका छन् । अन्य १९ जना कैदीको कोलम्बोस्थित अस्पतालमा उपचार भइरहेको छ ।

    अधिकारीले केही कैदीलाई सुरक्षा व्यवस्थापनका लागि अन्य कारागारमा स्थानान्तरण गरिएको जनाएका छन् । कारागारमा रहेका विदेशी नागरिकलाई पनि सावधानीका रूपमा अन्यत्र सारिएको छ ।

    घटनापछि श्रीलङ्काको कारागार प्रणालीमा रहेको अत्यधिक भीडभाडको समस्या पुनः चर्चामा आएको छ । सरकारी तथ्याङ्कअनुसार देशका कारागार निर्धारित क्षमताभन्दा करिब चार गुणा बढी कैदी राखेर सञ्चालन भइरहेका छन् ।