Category: स्वास्थ्य

  • मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

    मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

    काठमाडौँ, ३० असोजः मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई व्यवसायीलाई उक्त विवरण उपभोक्ताले स्पष्ट देख्ने गरी मिठाई राख्ने सोकेस वा काउन्टरमा राख्न निर्देशन दिएको हो । विभागले शुक्रबार एक सूचना जारी गर्दै मिठाईमा प्रयोग गरिएको मुख्य कच्चा पदार्थको मिश्रण, कुन तेल वा घिउ प्रयोग गरिएको हो, मिठाई कहिलेसम्म उपभोग गर्न सकिन्छ र प्रतिकिलो मूल्य कति हो भन्ने विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने जनाएको छ ।

    यस्तो व्यवस्था होटल, मिठाई पसल तथा मिठाई भण्डारलगायत मिठाई बिक्री वितरण गर्ने व्यवसायीका लागि लागू हुनेछ । विभागले निर्देशन पालना नगरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने जानकारीसमेत दिएको छ । विभाग वा मातहतका कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताका आधारमा स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्नसमेत विभागले आग्रह गरेको छ ।

  • ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

    ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

    काठमाडौँ, ३० असोजः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । उहाँले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशका विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार गर्ने र उपचारपछि सामान्य जीवनमा फर्किन सहयोग पुर्‍याउन पुनःस्थापना केन्द्र निर्माण गर्ने काम अघि बढाइएको बताउनुभयो ।

    ट्रमा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री मेहताले राजधानीमा मात्र नभई देशका विभिन्न भूभागमा रहेका नागरिकले पनि समयमै आकस्मिक स्वास्थ्य सेवा पाउने व्यवस्था गर्न ट्रमा उपचार सेवाको पहुँच विस्तार गरिरहेको बताउनुभयो ।

    मन्त्री मेहताले भन्नुभयो, “दुर्घटनापछि घाइतेको जीवनरक्षा गर्न समयमै उद्धार, घटनास्थलमै प्राथमिक उपचार, शीघ्र अस्पताल पुर्‍याउने व्यवस्था र गुणस्तरीय आकस्मिक उपचारको महत्त्वपूर्ण भूमिका रहन्छ ।” सडक सुरक्षा, ट्राफिक नियमको पालना, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग र मादक पदार्थ सेवन गरेर सवारी नचलाउने विषयमा जनचेतना अभिवृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो । दुर्घटनास्थलमै प्राथमिक उपचार उपलब्ध गराउन सक्ने जनशक्ति विकास गर्नुका साथै समुदायस्तरमा प्राथमिक उपचारसम्बन्धी ज्ञान विस्तार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।राससबाट

  • राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन

    राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन


    काठमाडौं, असोज २९। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ।


    विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणका लागि स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खाना, खाजा र पेय पदार्थ बिक्री-वितरण गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरिएको छ।


    सूचनाअनुसार होटल तथा रेस्टुरेन्टले ग्राहकले सहजै देख्न सक्ने स्थानमा मूल्यसूची राख्नुपर्नेछ। बिक्री गरिएका वस्तु तथा प्रदान गरिएका सेवाको वास्तविक मूल्य खुल्ने गरी ग्राहकलाई अनिवार्य रूपमा बिल वा बिजक दिनुपर्नेछ।


    त्यस्तै, खाद्यवस्तुको तयारी, भण्डारण तथा बिक्री-वितरणमा स्वच्छता र गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्न, भान्सा, भोजन कक्ष, भाँडाकुँडा, खानेपानी र शौचालयमा सरसफाइ कायम राख्न तथा म्याद गुज्रिएका, दूषित र खान अयोग्य खाद्यवस्तु बिक्री नगर्न विभागले निर्देशन दिएको छ।


    विभागले उपभोक्तालाई मर्यादित, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्न पनि व्यवसायीहरूलाई आग्रह गरेको छ। अनुगमनका क्रममा प्रचलित कानुन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी व्यवस्थाको उल्लङ्घन भएको पाइएमा कानुनबमोजिम आवश्यक कारबाही गरिने विभागले जनाएको छ।


    विभागको यस कदमले राजमार्गमा यात्रा गर्ने उपभोक्तालाई स्वच्छ खाद्यवस्तु, उचित मूल्य र पारदर्शी सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु

    जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु

    घोराही (दाङ), २४ असोजः जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका १ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए । उनका अनुसार गढवा वनघुस्री निवासी ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उनकी तीन वर्षीया छोरी लक्ष्मी जङ्गली च्याउ खाएपछि बिरामी परेका थिए ।

    तीनै जनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो । सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गएराति चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए । आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

  • अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

    अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

    चितवन, २४ असोजः मानव स्वास्थ्यका लागि अत्यावश्यक ‘अण्डा’को उत्पादन र खपत बढाउनु पर्ने कुरामा जोड दिइएको छ । मानव शरीरका लागि अत्यावश्यक पोषण तत्व ‘अण्डा’बाट प्राप्त हुने भएकाले यसको उत्पादन बढाएरसँगै खपत पनि बढाउनु पर्नेमा सरोकारवालाहरुले सुझाव छ । यसै सन्दर्भमा नेपालमा ‘अण्डा’को उत्पादन र खपत बढाउन यहाँ बहस कार्यक्रम आयोजना गरिएको छ । विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक संघद्वारा शुक्रबार यहाँ आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवालाहरुले निजी क्षेत्र र सरकारी निकायको संयुक्त प्रयासमा ‘अण्डा’ उत्पादन बढाउन र यसको खपत बृद्धि गर्न आवश्यक रहेकामा जोड दिएका छन् ।

    कार्यक्रममा नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सरकारले सहयोग र साथ दिएमा ‘अण्डा’ उत्पादन बढाउन आफूहरुले सक्ने जानकारी दिए । उनले भने “‘अण्डा’ उपभोग बढाउन आफूहरुले गर्ने आग्रहलाई व्यवसायसँग जोड्ने भएकाले सरकारी तवरबाट जे हो त्यस विषयलाई आम जनतासम्म पु¥याइदिनुपर्छ । ” उनले ‘अण्डा’ ले लागत अनुसारको मूल्य पाउन थालेपछि किसानहरू पनि आर्कषित हुन थालेको जनाउँदै केही नाफा आएसँगै कृषकको संख्या पनि बढ्ने जानकारी दिए । अध्यक्ष पोखरेलले भने, “भारतबाट भन्सार छलेर आउने ‘अण्डा’ गत वैशाखदेखि रोकिएपछि किसानहरूले राहत महसुस गरेका छन् । विद्यार्थीहरुको दिवा खाजामा सबै दिन अण्डा खुवाउने व्यवस्था सरकारी तर्फबाट भएमा प्रति अण्डा रु। ५ किसानको तर्फबाट छुट दिन आफूहरु तयार छौँ ।”

    उहाँका अनुसार हाल नेपालमा दैनिक ३८ लाख हाराहारी ‘अण्डा’ उत्पादन हुने गरेको छ । देशभरका लेयर्स पाल्न किसानहरूलाई संगठित गरेर कोभिड–१९को महामारी पूर्वको अवस्था जस्तो दैनिक ६५ देखि ७० लाख ‘अण्डा’ उत्पादन गर्ने नीति अनुरूप काम भइरहेको छ । चार वर्ष अघिसम्म १२० को हाराहारीमा रहेका लेयर्स कुखुरापालक ठूला किसानको संख्या अहिले बढेर १८० पुगेको छ भने ‘अण्डा’ का बजारमा मूल्य प्रति क्यारेट (३० वटा) करिब ६ सयको हाराहारीमा पुगेको छ । व्यवसायीहरूको प्रति ‘अण्डा’ को लागत मूल्य रु.१९.१२ याँ पर्ने संघका अध्यक्ष पोखरेलले जानकारी दिए । चार वर्ष अघि ‘अण्डा’ उत्पादन गर्ने किसान अधिकांश विस्थापित भएर रहेका केही मिलेर संगठित भई बजारीकरण गरेकै कारण आज लागत मूल्य पाउने अवस्थामा आफूहरु पुगेको उनले बताए ।
    नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ ‘अण्डा’ खपत

    पोषण विज्ञ डा दिनेश गौतमले अन्य देशको तुलनामा नेपालमा ‘अण्डा’ को खपत निकै कम रहेको तथ्यांक प्रस्तुत गरे । उनका अनुसार विश्वमा प्रतिवर्ष सरदर खपत १८५ वटा छ । एसियाको तथ्यांक हेर्दा विश्वको तुलनामा दुई वटा बढी अर्थात् १८७ रहेको छ । दक्षिण एसियामा जम्मा ८७ मात्रै छ । यो विश्वको तथ्यांकलाई हेर्दा ९८कम हो ।

    नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ ‘अण्डा’ खपत हुने गरेको छ । यो विश्वको तथ्यांकलाई हेर्दा ११६ कम हो । भारतमा ११२, श्रीलंकामा १३२, बंगलादेशमा १३७, पाकिस्तानमा ४८ र अफ्रिकामा ४० मात्रै खपत हुने गरेको उनले बताए । सन् २०१५ मा नेपालमा वार्षिक प्रतिव्यक्ति ६० ‘अण्डा’ खपत हुने गरेकामा अहिले बढेर ६९ पुगेको पोषण विज्ञ डा गौतम भनाइ छ । १५ प्रतिशत बृद्धि भएपनि यस अवधिमा जनसंख्या बृद्धि ६ प्रतिशत रहेको उहाँले बताउनुभयो । विश्वमा सबैभन्दा बढी चीनमा ‘अण्डा’ उत्पादन हुन्छ भने दोस्रोमा भारत रहेको छ । ती देशमा उत्पादन बढी हुँदै गर्दा नेपालमा ‘अण्डा’ उत्पादन बढाएर खपत समेत बढाउनु पर्ने उनका भनाइ थियो ।

    कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा।रामानन्द तिवारीले ‘अण्डा’ को उत्पादन मात्रै बढाएर नपुग्ने जनाउँदै खपत बढाउनु पर्नेमा जोड दिए । उनले भने, “सरकारी तवरबाट समेत ‘अण्डा’ को प्रयोग बढाउन प्रचारात्मक काम गरिएको छ । कृषकहरुलाई प्रोत्साहन गर्ने गरी कृषि ऐन जारी गर्न लागिएको छ । यसले किसानका सन्तानलाई छात्रावृत्ति, कृषि ढुवानीका साधनलाई छुट्टै नम्बर, कृषक र परिवारलाई यातायातमा छुट जस्तो विषय समावेश गरिएको छ र कृषि पेशालाई गर्व गर्न योग्य बनाईने छ । ”

    ‘अण्डा’ प्रोटिनको स्रोत ः चिकित्सक

    सो अवसरमा बरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले ‘अण्डा’ प्रोटिनको स्रोत मात्र नभई शरीरको वृद्धि, विकास र समग्र स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक तत्वको महत्वपूर्ण स्रोत भएको बताए । उनले ‘अण्डा’ शरीरलाई आवश्यक पर्ने उच्च गुणस्तरको प्रोटिनको सहज तथा तुलनात्मक रूपमा सुलभ स्रोत भएकाले यसको महत्वबारे सही जानकारी आम नागरिकसम्म पु¥याउन आवश्यक रहेको बताए । उनले भने, “एउटा अण्डामा करिब ६ ग्राम प्रोटिनसँगै भिटामिन ए, बी समूह, डी, ई, फोलेट, फस्फोरस, सेलेनियम, जिंक लगायतका विभिन्न पोषक तत्व पाइन्छन् ।”

    एउटा ‘अण्डा’ को पहेँलो भाग समेत खान हुने जनाउँदै उनले दुई वर्ष पुगेपछि बच्चालाई ‘अण्डा’ खुवाउन मिल्ने बताए । उनले भने, “अण्डाका परिकार बनाउँदा नै दुइ ‘अण्डा’लाई एउटा सम्झेर बनाउनु पर्छ ।” युसेक अमेरिकन सोयका कन्ट्री मार्केट लिड डा अशेष भट्टराईले नेपालको ‘अण्डा’ उत्पादन र बजारीकरणमा आफूहरुले सहयोग गर्दै आएको जनाउँदै निजी र सरकारी क्षेत्रको साझेदारीमा मात्रै उत्पादन र खपत बढाउन सकिने बताए । ‘अण्डा’ मा हुने गुणका विषयमा आम नागरिकसम्म पु¥याउन उनको जोड थियो । सहभागीहरुले विद्यालयका पाठ्यक्रमहरुमा ‘अण्डा’को महत्व समावेश गरी पठनपाठनको व्यवस्था गर्नुपर्ने, अण्डाले लागत मूल्य पाउनु पर्ने परिस्थिति सरकारले सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।

  • विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

    विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

    काठमाडौँ, २२ असोजः विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले कैदीबन्दी, ज्येष्ठ नागरिक र विद्यार्थीको आँखा परीक्षण गरेको छ । समुदायस्तरमा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले अस्पतालले ललितपुरस्थित नख्खु कारागार, सुकेधारास्थित एजिङ केयर सेन्टर र गोकणेश्वरस्थित चामुण्डा माध्यमिक विद्यालयका विद्यार्थी गरी कूल दुई हजार ८२३ जनाको आँखा परीक्षण गरेको हो ।

    नख्खु कारागारमा तीन दिनसम्म सञ्चालित शिविरमा ९०७ कैदीबन्दीको आँखा परीक्षण गरी २० जनालाई थप उपचारको सिफारिस र १४६ जनालाई चस्मा र औषधि निःशुल्क वितरण गरिएको अस्पतालले जनाएको छ । यस्तै सुकेधारास्थित एजिङ केयर सेन्टरमा ८४ जना ज्येष्ठ नागरिक, चामुण्डा माध्यमिक विद्यालयमा ९५४, बुद्ध प्रकाश माध्यमिक विद्यालयमा १३६ र जलुपा माध्यमिक विद्यालयमा ७४२ जनाको आँखा परीक्षण गरी चस्मा र आवश्यक औषधि वितरण गरिएको छ ।

  • सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

    सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

    सङ्खुवासभा, २२ असोजः जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको छ । साउनयता स्क्रब टाइफसका सङ्क्रमित ५६० जना बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेश श्रेष्ठले जानकारी दिए । वर्षायामको समयमा घाँसपात तथा झाडी बढ्नुका साथै त्यसमा काम गर्ने क्रम बढ्ने भएकाले स्क्रब टाइफस सङ्क्रमित बढेका उनको भनाइ छ ।

    चालु आर्थिक वर्षमा कोशी प्रदेशका १४ जिल्लामध्ये सङ्खुवासभामा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन् । सङ्खुवासभा कोशी प्रदेशको पहिलो र देशभरमा तेस्रो स्थानमा रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार साउनदेखि असोज २१ गतेसम्म जिल्ला अस्पतालमा ३९३ र जिल्लाका विभिन्न पालिकास्थित स्वास्थ्य संस्थामा १६७ जनामा स्क्रब टाइफस पुष्टि भएको हो ।

    पछिल्लो समय जिल्लाको सभापोखरी गाउँपालिका स्क्रब टाइफसको उच्च जोखिममा परेको सूचना अधिकारी श्रेष्ठले बताए । जिल्लाका १० स्थानीय तहमध्ये सभापोखरी गाउँपालिकामा सबैभन्दा बढी ११० र चैनपुर नगरपालिकामा ४३ जनामा स्क्रब टाइफस पुष्टि भएको उनले जानकारी दिए । जिल्ला अस्पतालमा आर्थिक वर्ष २०८०–८१ मा ५४८, आव २०८१–८२ मा ३४१ र आव २०८२–८३ मा ४६७ जना स्क्रब टाइफसका सङ्क्रमित भेटिएका थिए ।

    चालु आवको तीन महिनामा ५६० जना बिरामी भेटिएका जनाउँदै श्रेष्ठले यो सङ्ख्या गत आर्थिक वर्षभरि जिल्ला अस्पतालमा भेटिएका सङ्क्रमितभन्दा बढी रहेको बताए । जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमणका कारण बिरामीको मृत्यु भने नभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा सङ्क्रमित बढ्दै गएपछि नियमित रूपमा अद्यावधिक गर्न थालिएको सूचना अधिकारी श्रेष्ठले बताए । स्वास्थ्यकर्मीका अनुसार बिरामीको सङ्ख्या र सङ्क्रमणको अवस्थालाई हेर्दा जिल्लामा स्क्रब टाइफसको जोखिम अझै कायम छ ।

    वर्षायाम र वर्षापछिको समयमा यसको जोखिम बढी हुने भएकाले लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन उनले आग्रह गरे ।
    उनका अनुसार उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, जाडो लाग्ने, ग्रन्थि सुन्निने, छालामा बिमिरा आउने तथा किर्नोले टोकेको स्थानमा कालो खटिरा जस्तो दाग देखिनु स्क्रब टाइफसका प्रमुख लक्षण हुन् । “स्क्रब टाइफस ओरिएन्सिया त्सुत्सुगामुसी नामक ब्याक्टेरियाले लाग्ने रोग हो । सङ्क्रमित लार्भा अवस्थाको सूक्ष्म माइटको टोकाइबाट मानिसमा यो सङ्क्रमण सर्दछ”, उनले भने ।

  • ‘अप्टोजेनेटिक्स’सम्बन्धी अनुसन्धानका लागि यस बर्षको नोबेल चिकित्सा पुरस्कार डाइसरोथ, हेगेमान नागेललाई

    ‘अप्टोजेनेटिक्स’सम्बन्धी अनुसन्धानका लागि यस बर्षको नोबेल चिकित्सा पुरस्कार डाइसरोथ, हेगेमान नागेललाई

    स्टकहोम, १९ असोज (रासस–एएफपी) । यस बर्षको नोबेल चिकित्सा पुरस्कार सोमबार घोषणा गरिएको छ । अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइसरोथ, उनका जर्मन सहकर्मी पिटर हेगेमान र जर्ज नागेललाई अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि यो पुरस्कार प्रदान गरिएको चिकित्सातर्फको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ । जीवित मस्तिष्कमा स्नायु कोषहरूले कसरी स्मृति, भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ ।

  • चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल

    चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल


    बर्दिया, १९ असोजः जिल्ला अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा सघन उपचारकक्ष (आइसीयू)को सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई उपचारका लागि नेपालगन्ज र कोहलपुरलगायतका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ । अस्पतालमा दैनिक औसतमा २५० जना बिरामी उपचारका लागि आउने गरे पनि आवश्यक जनशक्ति र आइसीयू सुविधा नहुँदा जटिल अवस्थाका बिरामीले समयमै उपचार पाउन कठिनाइ हुने गरेको छ ।

    बर्दियाको मधुवन नगरपालिका–४ का मस्तराम चौधरीका बुबा गत भदौ १७ गते रक्तचाप कम भएपछि उपचारका लागि बर्दिया अस्पताल ल्याइएको थियो । बिरामीको शरीरमा अक्सिजनको मात्रा कम भएकाले आइसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था भए पनि जिल्ला अस्पतालमा सो सुविधा नभएपछि चिकित्सकले थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज रेफर गरेको मस्तरामले बताए ।


    त्यस्तै, गत असारमा राजापुर नगरपालिका–५ पहाडीपुरका सूर्यलाल चौधरी मिर्गौलासम्बन्धी समस्याका कारण उपचारका लागि जिल्ला अस्पताल पुग्नुभएको थियो । अस्पतालमा आवश्यक उपचार हुन नसकेपछि, उहाँलाई पनि भेरी अस्पताल नेपालगन्ज रेफर गरिएको उहाँका नाति मनोज चौधरीले बताए ।
    चिकित्सक तथा आइसीयू सुविधा नहुँदा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुवास पाण्डेले बताए ।

    “अस्पतालमा गम्भीर अवस्थाका बिरामी आउने गरेका छन् । दरबन्दीअनुसारका चिकित्सक र आइसीयू सुविधा नहुँदा बिरामीलाई रेफर गर्न बाध्य छौँ”, उनले भने ।
    अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा जटिल अवस्थाका बिरामीलाई आवश्यक उपचार दिन समस्या भएको डा पाण्डेले बताए । चिकित्सकको अभावकै कारण आइसीयू सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।

    अस्पतालमा आवश्यक चिकित्सकसहित आइसीयू सञ्चालनको माग हुँदै आएको छ । बर्दिया क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद ठाकुरसिंह थारूले सो अस्पतालमा आइसीयू, चिकित्सक तथा स्वास्थ्यकर्मी उपलब्ध गराउन माग गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा माग गरेका छन् । गत भदौ ९ गते दर्ता गरिएको निवेदनमा बर्दिया अस्पतालमा आइसीयू तथा चिकित्सकको अभावका कारण बिरामीले सास्ती भोग्नुपरेको उल्लेख गरेका छन् ।


    आइसीयू सञ्चालनका लागि सबैभन्दा पहिले गम्भीर अवस्थाका बिरामीको उपचार गर्न आवश्यक विशेषज्ञ चिकित्सकको व्यवस्था हुनुपर्ने डा पाण्डेले बताए । उनका अनुसार हाल अस्पतालमा एक जना स्त्रीरोग विशेषज्ञ, एक जना फिजिसियन र एक जना एनेस्थेसियोलोजिस्ट डाक्टर आवश्यक छ । त्यस्तै, आइसीयू सञ्चालनका लागि चार जना मेडिकल अधिकृत, आठ नर्स र चार जना कार्यालय सहयोगी आवश्यक पर्ने उनले बताए ।


    जिल्लाका बिरामीलाई सेवा दिने उद्देश्यले स्थापना गरिएको अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र आइसीयू सुविधा नहुँदा बिरामीले उपचारका लागि नेपालगन्ज तथा कोहलपुर पुग्नुपर्ने बाध्यता रहेको स्थानीय समाजसेवी सोमाई थारूले बताए । उनले भने, “अस्पतालमा आवश्यक उपचार नहुँदा बिरामीले सास्ती भोग्नुपरेको छ । जटिल समस्या देखिएपछि रेफर गरिएका बिरामीलाई नेपालगन्ज लैजाँदै गर्दा बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था आउने गरेको छ ।”

    उनले जिल्लाका बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी पठाउनुका साथै आवश्यक उपकरण र सुविधा विस्तार गर्न माग गरे । जिल्ला अस्पताल ५० शय्याको हो । अस्पतालमा अधिकांश दरबन्दी रिक्त छ । अस्पतालमा भौतिक पूर्वाधार पर्याप्त भए पनि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा उपकरणको अभाव रहेको अस्पतालले जनाएको छ ।

  • दाउन्नेमा बस दुर्घटना, कम्तिमा छ जनाको मृत्यु

    दाउन्नेमा बस दुर्घटना, कम्तिमा छ जनाको मृत्यु

    नवलपुर (नवलपरासी), १७ असोजः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको यात्रीवाहक बस विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल पण्डितले राससलाई जानकारी दिए । घाइतेलाई मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याइएको छ । मृतकहरुको सनाखत भइसकेको छैन ।

  • रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

    रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय


    रसुवा, १३ असोजः भोटेकोशी नदीमा आएको विनासकारी बाढी र विपद्पछि सिर्जित जटिल अवस्थालाई सम्बोधन गर्न जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाले १२ बुँदे निर्णय गरेको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख निरध्वज घर्तीमगरको अध्यक्षतामा बसेको सरोकार भएका निकायका प्रतिनिधि सहभागी बैठकले बाढीबाट भएको क्षति, स्वास्थ्य सेवा प्रवाह तथा आगामी कार्ययोजनासम्बन्धी निर्णय पारित गरेको हो ।

    बैठकले गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाउने स्वास्थ्यकर्मी, कर्मचारी तथा सर्वसाधारणप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बाढीका कारण नौकुण्ड गाउँपालिकामा भौतिक क्षति नभए पनि मानवीय, स्वास्थ्य तथा जनजीवनमा गम्भीर असर पुगेकाले उक्त गाउँपालिकालाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न सम्बन्धित अधिकारप्राप्त निकायसमक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको जनस्वास्थ्य प्रमुख घर्तीमगरले जानकारी दिए ।


    उनका अनुसार बाढीका कारण सडक सञ्जाल विच्छेद भई गम्भीर बिरामीहरूको प्रेषण (रेफर)मा जटिलता उत्पन्न भएकाले न्यूनतम छ महिनाका लागि जीवजिवे ग्रामीण अस्पताल र दोबो तेम्बा फुर्पु आधारभूत अस्पतालमा विशेषज्ञ चिकित्सक (एमडिजिपी), एनेस्थेसिया सहायक तथा छात्रवृत्ति करारका मेडिकल अधिकृत उपलब्ध गराउन बागमती प्रदेश सरकारसँग माग गरिएको छ ।

    भौगोलिक विकटताका बीच स्वास्थ्य सेवा पुर्याउन दोबोतेम्बा फुर्पु आधारभूत अस्पतालमा सञ्चालित टेलिमेडिसिन कार्यक्रमलाई थप सुदृढ गरिने भएको छ । बाढीले स्याफ्रुबेँसी स्वास्थ्यचौकी पूर्ण रूपमा क्षतिग्रस्त भएकाले खोप सेवाको निरन्तरताका लागि गोसाइँकुण्ड गाउँपालिकाको कोल्डचेन सबसेन्टर रसुवा स्वास्थ्यचौकीमा कायम गर्ने निर्णय गरिएको छ । साथै, बाढी प्रभावित क्षेत्रमा सञ्चालन हुने स्वास्थ्य शिविरहरूमा ‘सामुदायिक आँखा केन्द्र, रसुवा’लाई पनि सहभागी गराइने कार्यालयले जनाएको छ ।

    बैठकले आर्थिक वर्ष २०८२–८३ को जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रम आगामी असोज २१ र २२ गते आयोजना गर्ने निर्णयसमेत गरेको छ । बाढीका कारण गोसाइँकुण्ड गाउँपालिकाले समीक्षा गर्न नसकेको अवस्थामा सहज भएपछि मात्र गर्ने र अन्य पालिकाहरूमा दसैँलगत्तै पालिकास्तरीय समीक्षा गरिने जनस्वास्थ्य प्रमुख घर्तीमगरले बताए । बाढीबाट क्षति पुगेका स्वास्थ्य संस्थाहरूको तथ्याङ्क सङ्कलन र प्रतिवेदन प्रणालीलाई नियमित गर्न पालिकाका तथ्याङ्क फोकल पर्सनहरूलाई जिम्मेवारी दिइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

  • उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौँ, ८ असोजः सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुनसक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचनालाई दृष्टिगत गर्दै उक्त मन्त्रालयले प्रदेशका स्वास्थ्य, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सङ्घीय अस्पताललाई सम्भावित जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्यका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

    मन्त्रालयले सार्वजनिक बिदाका दिनमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यकताअनुसार सम्पर्कमा रहने र विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्नेगरी पूर्वतयारी गर्न निर्देशन दिएको छ । प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

  • आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

    आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल


    राँझा (बाँके), ५ असोजः स्तन क्यान्सर पहिचान भएपछि निरास नेपालन्ज उपमहानगरपालिका–२१ निवासी डिगम्बर देवसिंह राना खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सफल उपचारपछि अहिले सामान्य जीवनयापन गरिरहेका छन् । दुई वर्षअघि शल्यक्रिया गरेका रानाले नियमित रूपमा किमोथेरापी र भित्री सेकाई .ब्रेकीथेरापी) गरेपश्चात् अहिले सामान्य अवस्थामा फर्किएका छन् । क्यान्सरजस्तो प्राणघातक रोगको घरनजिकै रहेको अस्पतालबाट उपचार सेवा पाउँदा उनलाई ठूलो राहत मिलेको छ ।

    “चितवन वा काठमाडौँ जानुपरेको भए धेरै दुःख र आर्थिक नोक्सानी हुने थियो, यहाँ घरबाटै आउनेजाने गरेर सजिलैसँग उपचार पाइयो”, रानाले भने, “यो अस्पताल सञ्चालनमा आएपछि मजस्ता हजारौँ नागरिकलाई सजिलो भएको छ ।” अस्पतालका सूचना अधिकारी डा प्रवीणकुमार गुप्ताका अनुसार नयाँ प्रविधि र विशेषज्ञ चिकित्सकको टोलीमार्फत क्यान्सरका बिरामीलाई आवश्यक सबैखाले उपचार खजुरामै सम्भव भएपछि पश्चिम नेपालका नागरिकको समय र पैसा दुवै बचत भएको छ । यसले सर्वसाधारणलाई आर्थिक र मानसिक दुवै हिसाबले ठूलो राहत मिलेको छ ।

    अस्पतालले क्यान्सरसम्बन्धी अत्याधुनिक विशेषज्ञ सेवा निरन्तर विस्तार गरेसँगै यहाँ बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । पहिलेपहिले क्यान्सर उपचारका लागि काठमाडौँ वा चितवन धाउनुपर्ने बाध्यतामा रहेका पश्चिम नेपालका क्यान्सरपीडितका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आशा र भरोसाको केन्द्र बन्दै गएको उनको भनाइ छ ।

    अस्पतालमा हाल अत्याधुनिक उपकरणसहितका आइसीयू, इमर्जेन्सी, शल्यक्रिया, किमोथेरापी, ब्रेकीथेरापी, सिटीस्क्यान, म्यामोग्राफी, भिडियो एक्स–रे तथा रेडियोथेरापीजस्ता महत्त्वपूर्ण सेवा उपलब्ध छ । ब्रेकीथेरापी मेसिन जडान गरेर शल्यक्रियाको समेत दायरा फराकिलो पारिएपछि यहाँ आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । प्राविधिक समस्याका कारण केही समय प्रभावित बनेको रेडियोथेरापी सेवा पुनः सुरु भएको सूचना अधिकारी गुप्ताले बताए ।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीलाई लक्षितगरी बाँकेको खजुरा गाउँपालिका–७ मा सञ्चालित पश्चिम नेपालकै प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा स्थापित भइरहेको अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा मुकेश यादवले जानकारी दिए ।

    अस्पतालमा गम्भीर बिरामीका लागि अत्याधुनिक सघन उपचारकक्ष (आइसीयू), निरन्तर निगरानी र भेन्टिलेटर सुविधा उपलब्ध छ । त्यसैगरी, आकस्मिक बिरामीका लागि २४सै घण्टा इमर्जेन्सी, डेकेयर, शल्यक्रिया, रक्तसञ्चार, इसिजी तथा इको सेवा सञ्चालनमा छन् । यस्तै, २४सै घण्टा फार्मेसी, प्रयोगशाला, एक्स–रे र एम्बुलेन्स सेवा उपलब्ध गराएर अस्पतालले बिरामीलाई एकीकृत सेवा प्रदान गर्दै आएको डा यादवले बताए ।


    सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना र विकासको इतिहास प्रेरणादायी छ । सुरुमा स्थानीयस्तरको पहलमा ‘नेपाल क्यान्सर अस्पताल’का रूपमा अघि बढाइएको यस अस्पताललाई २०७३ फागुन १५ गते गठन आदेशमार्फत सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नामकरण गरिएको हो ।

    विसं २०७४ असार ११ गते तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवबाट बहिरङ्ग (ओपिडी) सेवाको उद्घाटन भएसँगै अस्पतालमा औपचारिक स्वास्थ्य सेवा सुरु भएको थियो । यस्तै, २०७७ मङ्सिर ५ गतेदेखि अस्पतालले आफ्नै अपरेसन थिएटरबाट शल्यक्रिया सेवा दिन थालेको अस्पतालका संस्थापक अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

    अस्पतालले सेवा विस्तार गरेसँगै पश्चिम नेपालका जनतालाई क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र सङ्घीय राजधानी काठमाडौँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको कक्षपतिले बताए । हालसम्म अस्पतालमा स्थायी दरबन्दी कायम नभएको उल्लेख गर्दै उनले अस्थायी, करार र ज्यालादारी कर्मचारीबाट सेवा प्रवाह हुँदै आएको बताए । अस्पतालमा जनशक्तिको लागि स्थायी दरबन्दी र पूर्वाधार विकासको लागि सरकारले ध्यान दिनसके सेवा अझै प्रभावकारी र सहज हुने उनको भनाइ छ।

  • सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

    सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन


    भोजपुर, ४ असोजः भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित ग्रामीण भेगका किसानलाई लक्षित गरी भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पशुपालक किसान सहज रूपमा घरदैलोमा सेवा उपलब्ध गराउने लक्ष्यले शिविर सञ्चालन गरिएको हो ।

    शिविरका अवसरमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका डा देवकुमार दर्लामी तथा गाउँपालिकाका डा रामकृष्ण पौडेलले किसानलाई पशु स्वास्थ्य, जैविक सुरक्षा र आधुनिक पशुपालनका व्यावहारिक विषयमा जानकारी गराउनुभएको हो । शिविरमार्फत गोबर परीक्षणसँगै नाम्ले, जुका, भिटामिनका साथै पछिल्लो समय महामारीका रूपमा फैलिएको ‘लम्पी स्किन’ रोगविरुद्धको औषधि निःशुल्क वितरण गरिएको छ ।

    औषधिसँगै पशुमा लाग्ने सम्भावित सरुवा रोग, तिनका लक्षण र रोकथामका उपायबारे किसानलाई विशेषज्ञ परामर्शसमेत प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भोजपुरका प्रमुख पुष्पराज दाहालले दूरदराजका किसानलाई प्रत्यक्ष रूपमा सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको बताए । शिविरमार्फत एक हजार २७० पशुपन्छीलाई सेवा उपलब्ध गराइएको उनले बताए ।


    “दुर्गम भेगका नागरिकलाई सहज सेवा दिन शिविर सञ्चालन गरेका हौँ”, प्रमुख दाहालले भने, “व्यावसायिक पशुपालनमा संलग्न किसानलाई प्राविधिक सहयोग, परामर्श पुर्याउन शिविरले सहयोग पुगेको छ ।” गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले गाउँघरमै विशेषज्ञ सेवा पुग्दा किसानलाई सहयोग पुगेको बताए । गाउँपालिकाभित्र धेरै किसानले व्यावसायिक रूपमा गाईभैँसी, बङ्गुर र बाख्रापालन गरिरहेकाले शिविर निकै उपयोगी बनेको उनको भनाइ छ ।

    “हाम्रो पालिकाको मुख्य आर्थिक आधार नै कृषि र पशुपालन हो”, उपाध्यक्ष राईले भने, “यहाँका धेरै किसानले व्यावसायिक रूपमा पशुपालन गरिरहनुभएको छ । किसानलाई लक्षित गरेर सञ्चालन भएको शिविर लाभदायक बनेको छ ।” शिविरमा सानोदुम्माका साथै आसपासका बस्तीबाट उपस्थित भएका किसानले घरदैलोमै औषधि र परामर्श पाएपछि खुसी व्यक्त गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रको आयोजना तथा पशु सेवा शाखा पौवादुङमाको सहआयोजनामा एकदिने शिविर सञ्चालन गरिएको हो ।

  • विश्वको पानी चक्र अनियमित बन्दै

    विश्वको पानी चक्र अनियमित बन्दै


    जेनेभा, २ असोज (रासस–एएफपी) । विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको र कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थालेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा जोखिम अझ बढ्नसक्ने चेतावनी दिएको छ ।

    डब्लुएमओका अनुसार सन् २०२५ विश्वका नदीहरूका लागि तीन दशकभन्दा बढी अवधिमध्येकै सबैभन्दा सुक्खा वर्षमध्ये एक रह्यो । गत वर्ष विश्वका सबै क्षेत्रमा हिमनदी खुम्चिएका छन् भने धेरै स्थानमा भूमिगत पानीको सतह पनि लगातार घटिरहेको छ । पृथ्वीको ताजा पानीको भण्डारणमा दशकौँदेखि देखिएको गिरावटसमेत निरन्तर रहेको प्रतिवेदनले जनाएको छ ।

    डब्लुएमओका महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदीजस्ता दीर्घकालीन पानी भण्डार घट्दै जानु विशेष चिन्ताको विषय भएको बताए । उनका अनुसार यस्ता भण्डारले खडेरी वा सुक्खा मौसममा पानीको अभाव तत्काल सङ्कटमा परिणत हुन नदिने ‘बचत खाता’ को काम गर्दै आएका थिए । “अब हामी त्यो बचत खाता खाली गर्दैछौँ, हाम्रा पानीका भण्डार खर्च गरिरहेका छौँ”, उनले भने ।


    सन् २०२५ मा विश्वका सबै क्षेत्रमा हिमनदीले लगातार चौथो वर्ष उल्लेख्य मात्रामा बरफ गुमाएका छन् । सन् २०२३ देखि २०२५ सम्म हिमनदीहरूले करिब एक हजार चार सय गिगाटन पानीबराबरको द्रव्यमान गुमाएको अनुमान गरिएको छ । विश्वभर अनुगमन गरिएका करिब दुई तिहाइ कुवामा सन् २०२५ मा ऐतिहासिक अवस्थाभन्दा फरक स्थिति देखिएको साउलोले बताए ।


    यसबीच एल निनोको सम्भावित प्रभावले पानीसम्बन्धी जोखिम अझ बढाउन सक्ने उनले चेतावनी दिए । करिब चार दशकयताकै शक्तिशाली एल निनो विकसित हुने अपेक्षा गरिएको भन्दै उनले यसका कारण केही क्षेत्रमा खडेरी र अन्य क्षेत्रमा बाढीको जोखिम बढ्ने बताए ।


    डब्लुएमओका अनुसार एल निनोको प्रभाव देखिनुअघि नै विश्वका नदीमा पानीको प्रवाह असामान्य बनेको थियो । सन् २०२५ पछिल्लो ३५ वर्षमा नदीहरूका लागि सबैभन्दा सुक्खा तीन वर्षमध्ये एक रह्यो । लगातार सातौँ वर्ष विश्वभर सामान्य नदी प्रवाह भएका जलाधारको सङ्ख्या अल्पमतमा रह्यो । प्रतिवेदनअनुसार करिब ३६ प्रतिशत नदी बेसिनमा मात्र सामान्य प्रवाह देखिएको थियो भने सोही अनुपातमा सामान्यभन्दा कम र २१ प्रतिशतमा सामान्यभन्दा बढी प्रवाह थियो ।

    डब्लुएमओले पानी चक्रको अवस्था बुझ्न र जोखिमको पूर्वानुमान गर्न थप गुणस्तरीय तथ्याङ्क तथा देशहरूबीच सहकार्य आवश्यक रहेको जनाएको छ । साउलोले पानीको चक्रले राजनीतिक सीमा नमान्ने भएकाले साझा तथ्याङ्क, मापदण्ड र पूर्वचेतावनी प्रणाली आवश्यक रहेको बताए । उनले एउटा देशमा हुने हिमनदीसम्बन्धी विपद्ले अर्को देशमा समेत ठूलो क्षति पुर्‍याउन सक्ने उल्लेख गर्दै हालै चीन र नेपालमा देखिएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे ।

  • सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

    सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

    बागलुङ, ३१ भदौः नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारमा तीव्र रुपमा डेङ्गु फैलिएको छ । बागलुङमा साउनयता मात्रै एक हजार ४०३ जनामा डेङ्गु फैलिएको छ । जुन तथ्याङ्क नेपालमा नै उच्च रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    बागलुङ जिल्ला सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा मात्रै एक हजार २२४ जनामा सङ्क्रमण पुष्टि भएको हो । सदरमुकाममा हाल घरैपिच्छे डेङ्गु सङ्क्रमण फैलिएपछि उच्च सतर्कता अपनाइएको छ । दैनिकजसो डेङ्गु फैलाउने लामखुट्टे खोज र नष्ट गर अभियान चलाइए पनि सङ्क्रमण बढिरहेको पाइएको छ ।

    गत वर्ष पाँच जनामा देखिएको स्क्रब टाइफसको सङ्क्रमण बागलुङमा यो वर्षको साउनयता मात्रै २८२ जनामा पुष्टि भएको छ । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङ्कले देखाउँछ । स्क्रब टाइफसको ५० प्रतिशत सङ्क्रमित गलकोट नगरपालिकामा देखिएको छ ।

    नेपालमै सबैभन्दा बढी डेङ्गु फैलिएको जिल्लाका रुपमा बागलुङ र पालिकाका रुपमा बागलुङ नगरपालिका रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए । उनले बागलुङ डेङ्गुसहित स्क्रब टाइफसको उच्च जोखिममा रहेको छ । “हामीले उच्च सतर्कता अपनाउँदै गए पनि सङ्क्रमणको दर उच्च रहेको छ भने धौलागिरि अस्पतालमा डेङ्गुका बिरामीको चाप उच्च रहेको छ,” शर्माले भने, “बागलुङ बजारमा लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेसँगै ग्यारेजका टायरसमेत जफत गर्न थालिएको छ ।”

    जिल्ला सदरमुकाममा दैनिक ३० देखि ५० जना सम्ममा डेङ्गु देखिन थालेको धौलागिरि अस्पताल बागलुङका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिए । डेङ्गु नियन्त्रणमा तदारुकता नदेखाउने ग्यारेजबाट चार ट्याक्टर टायर जफत गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।

  • भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

    भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन


    काठमाडौँ, २१ भदौः रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले बाढीमा परेर ज्यान गएकामध्ये २४४ शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिए । अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ । यस्तै, २४ शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डा चौधरीले बताए । यस्तै, हाल ५९ शवहरु अस्पतालमै रहेका छन् । केही शवहरुको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टमपछि उक्त शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ ।

  • भोटेकोशी बाढीः एक हजार ३३९ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

    भोटेकोशी बाढीः एक हजार ३३९ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता


    काठमाडौँ, २१ भदौः रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३३९ जनाको शव फेला परेको छ भने चार हजार ४४ जना अझै सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये ३२५ महिला, ५२३ पुरुष तथा ४९३ शव चिन्न नसकिने अवस्थाका फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनको अनुसार अझै चार हजार ४४ जना सम्पर्कविहीन छन् ।

    सम्पर्कविहीनमध्ये स्वदेशी पुरुष दुई हजार ८६३, महिला ५७५ तथा विदेशी नागरिकतर्फ पुरुष २६९ र महिला ३३२ र अन्य पाँच जना रहेका प्रवक्ता काफ्लेले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ ।
    फेला परेकामध्ये एक हजार ३७ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।

    बाढीपछि हालसम्म नौ हजार १५१ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ । यसैगरी, मृतक एक हजार २८६ जना तथा मृतकका आफन्त एक हजार १८६ जना गरी दुई हजार ४७२ जनाको ‘डिएनए’ नमूना सङ्कलन गरिएको छ । बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि ‘डिएनए’ नमूना सङ्कलनलाई प्राथमिकताका साथ अघि बढाइएको प्रवक्ता काफ्लेले बताए । भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी बेपत्ता भएकाको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र सम्बन्धित विभिन्न सरकारी निकाय निरन्तर परिचालित भइरहेका छन् ।

  • चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तकोे ‘डिएनए’ नमूना सङ्कलन

    चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तकोे ‘डिएनए’ नमूना सङ्कलन


    नारायणगढ (चितवन), २१ भदौः रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, ‘डिएनए’ नमूना सङ्कलन र पहिचान गर्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा ३६२ शव फेला परेका छन् । तीमध्ये ३३३ शवको व्यवस्थापन गरिसकिएको छ भने १४ वटा शवको सनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ ।

    शवहरूको वैज्ञानिक पहिचानका लागि यही भदौ १६ गतेदेखि डिएनए नमूना सङ्कलन सुरु गरिएको थियो । यादवका अनुसार भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका आफन्त ६८ जनाको डिएनए नमूना सङ्कलन गरिएको छ । उनका अनुसार भदौ १६ गते सात पुरुषको नमूना सङ्कलन गरिएको थियो । भदौ १७ गते २६ जनाको नमूना सङ्कलन गरिएकोमा दुई महिला, २२ पुरुष र दुई पुरुष भारतीय नागरिक रहेका छन् । भदौ १८ गते २२ जनाको नमूना सङ्कलन गरिएकामा चार महिला, १४ पुरुष, एक बालक र तीन भारतीय पुरुष नागरिक छन् ।

    यस्तै, भदौ १९ गते सात जनाको नमूना सङ्कलन गरिएकामा एक महिला, चार पुरुष, एक बालक र एक भारतीय पुरुष नागरिक रहेका छन् । भदौ २० गते छ जनाको नमूना सङ्कलन गरिएकामा दुई महिला, एक पुरुष र तीन बालक रहेका छन् । प्रहरी नायब उपरीक्षक यादवका अनुसार हाल पनि खोजी, शवहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण, हराइरहेका व्यक्तिको विवरण सङ्कलन र अन्य समन्वयात्मक प्रक्रिया निरन्तर छ ।

  • टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण

    टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण


    भोजपुर, २१ भदौः महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान तथा रोकथाम गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिएको छ । ‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत सञ्चालन गरिएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाका १३७ महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको हो ।

    दुर्गम क्षेत्रका महिलालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै क्यान्सरको प्रारम्भिक अवस्था पहिचान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको ‘कल्प इम्पावर वुमन नेपाल’की अध्यक्ष पूजा कोइरालाले बताइन् । महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गर्नसके उपचार प्रभावकारी हुने भएकाले अभियानलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

    संस्थाले विशेषगरी महिला स्वास्थ्य तथा महिलाको नेतृत्व क्षमता विकासका क्षेत्रमा काम गर्दै आएको अध्यक्ष कोइरालाले जानकारी दिइन् । संस्थाले हालसम्म करिब २५ हजार महिलालाई स्वास्थ्य सेवा प्रदान गरिसकेको र यस वर्ष थप १० हजार महिलासम्म सेवा पुर्याउने लक्ष्य राखेर ‘मातृत्व जोगाउने अभियान’ सञ्चालन गरिरहेको उनले बताइन् ।


    गाउँपालिकाका महिलाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्तन तथा पाठेघरको मुखको क्यान्सरको खोजी, पहिचान र रोकथामका लागि शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । यस्ता शिविरले सहज रूपमा सेवा पाउनुका साथै समयमा नै रोगको पहिचान गरी उपचारसमेत सहयोग पुग्ने उनको भनाइ छ ।

    “पाठेघर र स्तन क्यान्सरको खोजी तथा पहिचान गर्न शिविरमार्फत सेवा दिएका हौँ”, अध्यक्ष बस्नेतले भने, “शिविरले क्यान्सर रोकथाममा सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा हो ।” शिविरसँगै महिलालाई स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जानकारी दिने उद्देश्यले ‘सी क्यान’ (उनी सक्छिन्) अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ । यस्तै, किशोरीलाई समुदाय तथा सामाजिक विषयवस्तुबारे जानकारी दिन सामुदायिक स्वास्थ्य साक्षरता कार्यक्रम पनि सञ्चालन गरिएको छ । कार्यक्रममार्फत घरघर तथा समुदायस्तरमा पुगेर पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा महिला स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको बताइएको छ ।

    स्वास्थ्य परीक्षणका क्रममा दुई महिलामा पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित प्रारम्भिक शङ्कास्पद लक्षण फेला परेको विराट मेडिकल कलेज टिचिङ अस्पतालकी डा रेखा साहले जानकारी दिनुभयो । अभियानका क्रममा महिलालाई क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण, प्रजनन स्वास्थ्य तथा समयमै उपचार गराउँदा हुने फाइदाबारे जानकारी प्रदान गरिएको छ ।

  • कास्कीमा ‘डिनएन’ नमूना सङ्कलन प्रहरी कार्यालयबाट

    कास्कीमा ‘डिनएन’ नमूना सङ्कलन प्रहरी कार्यालयबाट

    गण्डकी, २१ भदौः रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालयबाट आफन्तको ‘डिएनए’ नमूना सङ्कलन सुरु गरिएको छ । ‘डिनएन’का लागि निवदेन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्यालयबाटै सुरु गरिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

    यसअघि उक्त सेवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सञ्चालन गरिँदै आएकामा ‘डिएनए’ नमूना सङ्कलनलाई सहज र सरल बनाउने उद्देश्यले एकीकृत सेवा सञ्चालन गरिएको उनले बताए । बाढीमा परी मृत्युवरण गरेका ७६ जनाको शव यही भदौ १६ गते पोखरा महानगरपालिका–१६ लामाचौरको वन क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको थियो ।

    जमिनमुनि व्यवस्थापन गरिएका शवको ‘डिएनए’ नमूना सङ्कलन गरिएकाले शव पहिचानका लागि आउने आफन्तको ‘डिएनए’ नमूना सङ्कलनका लागि आवश्यक प्रबन्ध गरिएको हो । शवबाट सङ्कलन गरिएको ‘डिएनए’ नमूना राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । आफन्तको ‘डिएनए’सँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्नेगरी शव व्यवस्थापन गरिएको प्रहरी नायब उपरीक्षक पासवानले बताए ।

    बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको थियो । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएकामा ७६ शवलाई जमिनमुनि व्यवस्थापन गरिएको थियो भने अन्य शव पहिचान गरी आफन्तलाई बुझाइएको थियो ।

  • नाइजेरियामा शङ्कास्पद विषाक्त धुवाँबाट करिब ४० जनाको मृत्यु

    नाइजेरियामा शङ्कास्पद विषाक्त धुवाँबाट करिब ४० जनाको मृत्यु


    अबुजा, १९ भदौ (रासस–सिन्ह्वा) । नाइजेरियाको तेलका लागि समृद्ध मानिने रिभर्स राज्यमा पेट्रोलियम पदार्थबाट निस्केको विषाक्त रासायनिक धुवाँका कारण बिहीबार बिहान करिब ४० जनाको मृत्यु भएको आशङ्का स्थानीय अधिकारीहरूले गरेका छन् । रिभर्स राज्यका प्रहरी प्रवक्ता ब्लेसिङ आगाबेले सिन्ह्वालाई टेलिफोनमार्फत बताए अनुसार घटना ओक्रिका स्थानीय सरकार क्षेत्रको कच्चा तेल प्रशोधन केन्द्र स्थल नजिक भएको हो।

    पीडितहरूले उच्च मात्रामा खतरनाक ग्यास ह्वासप्रश्वासका क्रममा निलेको आशङ्का गरिएको छ। प्रहरी तथा स्थानीय स्वास्थ्य र आपतकालीन अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेका छन्। केही घाइतेलाई नजिकैको अस्पताल लगेर उपचार गरिएको आगाबेले बताए ।

    समुदायका स्रोतहरूलाई उद्धृत गर्दै नाइजेरियाको राष्ट्रिय दैनिक द नेसन पत्रिकाले रिपोर्ट गरे अनुसार बिहीबार बिहान करिब २०० जना युवा स्थानीय रूपमा बनेका डुङ्गाबाट आएर नदीकिनारमा जहाजबाट अवैध रूपमा निकालिएको पेट्रोलियम पदार्थ लोड गर्न पुगेका थिए। लोड गर्ने क्रममा उक्त पट्रोलियम पदार्थबाट निस्केको तीतो धुवाँ हावामा फैलियो र नजिकमा रहेका पीडितहरूले तत्कालै श्वासप्रश्वास गर्न कठिन भएको बताएका थिए ।

    स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै पत्रिकाले लेखेकोछ, “घटनास्थलबाट ओक्रिकाका बासिन्दा पहिचान भएका कम्तीमा ३७ शव निकालिएका छन् भने केही अझै बेपत्ता छन् ।

  • त्रिशूली ३ एको सुरुङबाट एक जनाको जिवितै उद्धार

    त्रिशूली ३ एको सुरुङबाट एक जनाको जिवितै उद्धार

    १९ भदौ, काठमाडौं । त्रिशूली ३ एको सुरुङ भित्रबाट एक जनाको जिवित उद्धार गरिएको छ । सांसद श्रीराम न्यौपानेका अनुसार उनी सञ्जय साह हुन् । अन्य पनि भित्र रहेको जानकारी आएको छ । अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ । १० औं दिनमा मजदूरहरु निकाल्न उद्धार टोली सफल भएको छ ।

  • भोटेकोशी बाढी : पाँच हजार ३८४ जनाको उपचार

    भोटेकोशी बाढी : पाँच हजार ३८४ जनाको उपचार


    काठमाडौँ, १९ भदौः भोटेकोशी बाढीबाट प्रभावितमध्ये हालसम्म पाँच हजार ३८४ जनाको उपचार गरिएको छ । बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ मानिस प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावितमध्ये विभिन्न अस्पतालमा ३०४ जना उपचाररत छन् ।

    यस्तै, नेपाली सेनामार्फत तीन हजार २०६ जना र सशस्त्र प्रहरी बल नेपालमार्फत एक हजार ८७४ जनाले स्वास्थ्योपचार सेवा पाएका छन् । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढीपछि पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजारभन्दा बढी व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएका व्यक्तिलाई सुरक्षित स्थानमा राखेर आवश्यक स्वास्थ्योपचार, खाना तथा अन्य आधारभूत सेवा उपलब्ध गराउने कार्य भइरहेको छ । सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित निकाय परिचालन छन् ।

    यसैगरी, भोटेकोशी बाढीमा परी बिहीबार साँझसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासीपूर्व र नवलपरासीपश्चिममा गरी एक हजार २९० शव फेला परेका छन् । भारतमा फेलापरेका शवसमेत उक्त विवरणमा समावेश गरिएको प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार फेलापरेका शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन् । त्यस्तै, ५३२ आंशिक अङ्गसहितका शव फेलापरेका छन् । उपचारका क्रममा अस्पतालमा मृत्यु भएका दुई जनाको विवरण पनि त्यसमा समावेश गरिएको छ ।

    भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी, उद्धार, उपचार तथा राहतको कामलाई थप तीव्र पारिएको छ । प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै विस्थापितको उद्धार गरिएकाको तत्कालीन व्यवस्थापन र बेपत्ताको खोजी अहिले मुख्य प्राथमिकतामा छ ।

  • भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन

    भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन


    जनकपुरधाम, १८ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका १९२ जनामध्ये ३० जना टेलिफोनमार्फत सम्पर्कमा आएको र १६२ जना अझै सम्पर्कविहीन रहेका छन् ।

    सम्पर्कविहीनमध्ये पर्साको वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ, श्याम मोक्तान, बाराको कलैया उपमहानगरपालिका–२२ का सत्यम राम, स्वर्ण गाउँपालिका–३ का रुपेश गुप्ता सम्पर्कमा आएको प्रवक्ता ढकालले बताए । रौतहटको गढीमाई नगरपालिका–७ का मोविदा खातुन, सकिना खातुन, सलमान अन्सारी, रौतहटकै ईशनाथ नगरपालिका–४ का सेख मजिद, रौतहटको चन्द्रपुर नगरपालिका पवित्रा नेपाल सिलवाल र सम्राट सिलवाल पनि सम्पर्कमा आएको प्रवक्ता ढकालले बताए ।


    त्यस्तै, सर्लाहीको लालबन्दी नगरपालिका–१ का वृजकिशोर दास, सुनिता दास, बागमती नगरपालिका–६ का दिपेश थापा, महोत्तरीको जलेश्वर नगरपालिका–१ का राकेशकुमार यादव, ई विपीनकुमार मण्डल, श्रीकेश यादव, लोहारपट्टी गाउँपालिका युवराज पाण्डे, ओेरही गाउँपालिका–९ का सचिनकुमार यादव, गौशाला नगरपालिका–६ का आदित्यनारायण यादव र बर्दिवास नगरपालिकाका विकास भारती सम्पर्कमा आएको प्रवक्ता ढकालको भनाइ छ ।

    यस्तै, धनुषाको सबैला नगरपालिका लक्ष्मण मेहता, हंसपुर नगरपालिकाका दयावतीदेवी यादव, विजयकुमार यादव, सुरेश पजियार, जनकपुरधाम उपमहानगरपालिका–४ का रीतिक झा, विक्रम ठाकुर, जनकपुरधाम उपमहानगरपालिका–११ का सुशान्त यादव, सिरहाको गोलबजार नगरपालिका–१० का टार्जन बलम्पाकी, लहान नगरपालिका–४ का उमेश यादव र कञ्चनरुप नगरपालिका–८ का अजय मरिक पनि टेलिफोनमार्फत सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

    हालसम्म सप्तरीका ४८ जना, पर्साका ३८ जना, रौतहटका १३ जना, बाराका २३ जना, सर्लाहीका १८ जना, महोत्तरीका १० जना, धनुषाका सात जना तथा सिरहाका १२ जना अझै सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको प्रवक्ता ढकालले बताए । मधेस प्रदेशका जिल्लाबाट थुप्रै नागरिक सम्पर्कविहीन भएको सूचनाहरु आउने थालेपछि प्रहरी कार्यालयले सम्पर्कविहीन भएकाहरुको विवरण सङ्कलन गर्न थालेको छ । बाढी तथा पहिरोपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजीका लागि विवरण सङ्कलन गर्न थालिएको उनले बताए ।

  • गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी

    गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी


    जेनेभा, १८ भदौ (रासस–क्यूएनए) । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजा पट्टीमा नजिकिदै गरेको वर्षाको मौसमसँगै रोग उत्पन्न हुने चिन्ता व्यक्त गर्दै यसले स्वास्थ्य जोखिम बढाउन सक्ने चेतावनी दिएको छ । सङ्गठनले गाजाका अधिकांश मानिसहरू अत्यन्त कठिन परिस्थितिमा बाँचिरहेको उल्लेख गर्दै वर्षाको मौसममा झनै जोखिम बढ्न सक्ने जनाएको हो ।

    कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरूका लागि डब्ल्यूएचओका प्रतिनिधि रेन्हिल्डे भ्यान डे वेड्र्टले अझै पनि उनीहरूलाई आवश्यक पर्ने न्यूनतम मात्रामा पानी उपलब्ध गराउन डब्ल्यूएचओ असमर्थ रहेको उल्लेख गर्दै पानीको गुणस्तर र प्रदूषण गाजामा प्रमुख विषय भएको जनाएका छन् । उनले यो अवधिमा झाडापखालाको सङ्क्रमणमा उल्लेखनीय वृद्धि भएको जनाउँदै मार्चमा २७ हजार वटा सङ्कमणका घटनाहरु दुई गुणाले बढेर गत अगस्तमा ४८ हजार भन्दा बढी पुगेको बताए ।


    वर्षाको मौसम र जाडो नजिकिँदै जाँदा गाजाको अधिकांश जनसङ्ख्या अत्यन्त भीडभाड भएको शिविर र अस्थायी टहराहरुमा बस्ने गरेको भ्यान डे वेर्डले बताए । वर्षाले भीडभाडयुक्त शिविरहरूमा बाढी ल्याउने र बासिन्दाहरू सुत्ने ठाउँहरूमा ढल, फोहोर र दूषित पानी फैलाउने, पानीजन्य रोगहरूको जोखिम बढाउने भविष्यवाणी गर्दै उहाँले आश्रयस्थलमा फोहोर धेरै जम्मा भएको बताए ।


    गाजाको जीर्ण स्वास्थ्य प्रणालीले रोग प्रकोपको सामना गर्न असमर्थ रहेको कुरामा जोड दिँदै भ्यान डे वेड्र्टले आगामी वर्षाको मौसममा गाजा पट्टीमा किरा, लामखुट्टे र ब्याक्टेरियाहरू फैलिने भविष्यवाणी गरेका छन् । उनले रोगको नियन्त्रण गर्न द्रुत रूपमा प्रयोगशालाहरूको आवश्यकता पूरा गर्नुका साथै मात्रा र गुणस्तर दुवैको सन्दर्भमा थप स्थायी आश्रय, दिगो पानी आपूर्ति र फोहोर व्यवस्थापन प्रणालीको तत्काल आवश्यकता रहेको विषयमा जोड दिनु भएको छ ।

    इजरायली कब्जाले गाजामा आवश्यक प्रयोगशाला र निदान आपूर्तिको प्रवेशमा प्रतिबन्ध लगाएको छ, जसमा परीक्षणका लागि आवश्यक उपकरणहरु समावेश रहेको अधिकारीहरुले बताएका छन् । डब्ल्यूएचओले गाजामा माइक्रोबायोलोजिकल प्रदूषण जनवरी र अगस्टको बीचमा तीन गुणा बढेर छ हजार ७०० भन्दा बढी पुगेको पानीको नमूनाहरूको विश्लेषणले देखाएको छ भने जनवरीमा प्रदूषण ६५ बाट बढेर अगस्टमा १८५ भन्दा बढी पुगेको छ । यसले इजरायली कब्जालाई पट्टीमा व्यापक रूपमा र कुनै बाधाबिना औषधि र आवश्यक आपूर्तिको प्रवेशलाई छिटो गर्न आह्वान गरेको छ ।

  • बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण


    काठमाडौँ, १६ भदौः विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरुलाई आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’, मनोसामाजिक परामर्श लगायत सेवा प्रभावित क्षेत्रमा प्रदान गर्न थालिएको छ । यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीमा बच्न सफल भएका उनीहरुलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) को सहकार्यमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले आवश्यक पर्ने सामग्री वितरण जारी राखेका छन् ।

    आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य परियोजनामार्फत घरबारसहित आफन्तजन गुमाएर पीडामा रहेका महिलाहरुलाई मर्यादा सामग्री (डिग्निटी कीट), किशोरीहरुलाई ‘किशोरी कीट’ सहित तालपोलियन वितरण जारी रहेको छ । साथै प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सेवा (हेल्थ क्याप) सञ्चालन गरेर उनीहरुको स्वास्थ्य रक्षा गर्न लागिएको छ ।

    हालसम्म दुईहजार ‘डिग्निटी कीट’, चारसय ‘किशोरी कीट’ र तीनहजार तारपोलियन वितरण भैसकेको यहाँस्थित ‘युएनएफपिए’ ले जनाएको छ । स्वास्थ्य शिविर सेवा अत्यावश्यक स्वास्थ्य सेवासहित मनोसामाजिक परामर्श, यौन तथा प्रजनन स्वास्थ्य सेवा जारी छ । नुवाकोटका विभिन्न अस्थायी आश्रयस्थलमा आश्रित भएका महिला तथा किशोरीका दैनिक आवश्यकतालाई ध्यानमा राख्दै ती सेवा जारी रहेको ‘युएनएफपिए’ उल्लेख गरेको छ ।

    अस्थायी आश्रयस्थल–ककनी÷किस्पाङ क्षेत्र, त्रिभुवन मावि, विदुर, बट्टार तामाङ प्लाजा र सामुदायिक बहुउद्देश्यीय भवन विदुरलगायतका स्थानमा रहेका प्रभावित महिला तथा किशोरीहरूलाई ‘डिग्निटी कीट’ उपलब्ध गराइएको र धादिङ र रसुवाका प्रभावित महिला तथा किशोरीहरूका लागि समेत ‘डिग्निटी कीट’ वितरण गर्ने तयारी भइरहेको छ नेपाल रेडक्रसले जनाएको छ ।

  • भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह

    भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह


    काठमाडौँ, १५ भदौः नेपाल प्रहरीले भोटेकोशी बेसिन नदीका माछा एवं नदीजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ । भोटेकोशीमा बाढीसँगै बगेर आएका शव, मृत जीवजन्तु तथा अन्य फोहोरजन्य र प्रदूषित पदार्थका कारण पानीमा हानिकारक कीटाणु मिसिएकाले नदीबाट निकालिएका माछा तथा अन्य खाद्यपदार्थ नखान, नदीको पानी नपिउन प्रहरीले आग्रह गरेको हो ।

    भोटेकोशी तथा आसपासका नदी किनारबाट माछा एवं अन्य नदीजन्य खाद्यपदार्थ निकाल्ने, घरमा लैजाने वा खाने जस्ता कार्य नगर्न प्रहरीले सबैलाई सूचित गरेको छ । दूषित पानी तथा खाद्यपदार्थको प्रयोगले हैजा, झाडापखाला, छालामा संक्रमणलगायत रोग फैलिन्छ ।

  • खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

    खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल


    चैनपुर (बझाङ), १५ भदौः खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन हजारदेखि तीन हजार ५०० मिटर उचाइमा फैलिएको खप्तडमा घुम्न आउने पर्यटक, गोठाला र तीर्थयात्रीका लागि सामान्य स्वास्थ्य समस्या पनि कहिलेकाहीँ ठूलो चुनौती बन्छ ।

    यसै भूगोलमा नेपाली सेनाले सञ्चालन गरेको मेडिकल भने खप्तड पुग्ने सबैका लागि भरोसाको केन्द्र बन्दै गएको छ । समरजित गुल्मले सञ्चालन गरेको मेडिकलबाट दैनिकजसो बिरामीले निःशुल्क स्वास्थ्य सेवा लिने गरेका छन् । सामान्य स्वास्थ्य समस्या लिएर आउने गोठालादेखि घुम्न आउने पर्यटकसम्म सबैका लागि उपचारको भरपर्दो गन्तव्य बनेको छ– मेडिकल ।

    बझाङको खप्तडछान्ना गाउँपालिका–६ की कला थापा सामान्य स्वास्थ्य समस्या हुँदा पनि उपचार गर्न खप्तड पुग्ने गरेको बताउँछिन् । गाउँ नजिकै स्वास्थ्यचौकी भए पनि आफूलाई सेनाको मेडिकलप्रति बढी विश्वास लाग्ने उनको अनुभव छ । “ठूलो बिरामी भएर होइन । सानोतिनो बिरामको उपचार गर्नुपर्दा सधैँ खप्तड पुग्छु”, थापा भन्छिन्, “खप्तडको दबाइले छिट्टै सञ्चो हुन्छ ।” उक्त मेडिकलमा औषधिमात्रै होइन, स्वास्थ्यकर्मीबाट राम्रो परामर्श पनि पाइने गरेको उनी बताउँछिन् ।

    खप्तडछान्नाकै तेजेन्द्र खड्काको अनुभव पनि उस्तै छ । खप्तडकोे स्वास्थ्योपचारप्रति उनको विश्वास बलियो छ । “उस्तै खालको औषधि पाए पनि खप्तडमा परामर्श असाध्यै राम्रो लाग्छ”, खड्का भन्छन्, “त्यसैले नजिकैको स्वास्थ्यचौकी छाडेर सानोतिनो बिराम लागे खप्तड पुगिहाल्छु । घरमा अरू बिरामी हुँदा पनि खप्तड लैजान्छौँ ।” हिउँदबाहेक वर्षायाममा छान्नाका विभिन्न गाउँका मान्छे नै खप्तड उपचारका लागि पुग्ने गरेको खड्काले बताए ।

    पर्यटकका लागि भरपर्दो सहारा

    खप्तडमा वर्षभरि पर्यटकको आवागमन भइरहन्छ । धार्मिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य मानिएको खप्तडमा विशेषगरी गर्मीयाममा पर्यटकको सङ्ख्या बढ्ने गर्छ । खप्तडको उचाइ, चिसो मौसम र लामो पैदलयात्राका कारण कतिपय पर्यटकलाई स्वास्थ्य समस्या देखिएपछि मेडिकल पुग्ने गर्छन् । लेक लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, शरीर कमजोर हुनेलगायतका समस्या लिएर मेडिकल पुग्ने गरेको नेपाली सेनाले जनाएको छ ।

    खप्तडछेडेदह गाउँपालिका–१ का धर्म रोकायाका लागि खप्तडमा उपचारको विषय आउँदा नेपाली सेनाको मेडिकल पहिलो विकल्प हो । “खप्तडमा आउँदा उपचारका लागिमात्र होइन, दुःखसुख पर्दा पनि नेपाली सेना नजिकको साथीजस्तो बनेको छ”, रोकाया भन्छन्, “पर्यटकका लागि त सेनाको मेडिकल निर्विकल्प जस्तै छ । कसैलाई चोटपटक लाग्दा पनि सहारा सेना नै छ ।”

    खप्तडजस्तो लेकाली तथा दुर्गम क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पाउनु आफैँमा ठूलो राहत हो । लेकमा स्वास्थ्य समस्या हुँदा फर्कन पनि कठिन हुन्छ । कतिपय अवस्थामा मौसम र भौगोलिक कठिनाइले झर्न सम्भव हुँदैन । त्यस्तो बेला सेनाको मेडिकलले स्थानीय र पर्यटकलाई तत्काल उपचार र आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउँदै आएको समरजित गुल्मका गुल्मपति विजय खत्रीले बताए ।

    मेलामा हजारौँलाई सेवा

    हरेक वर्ष खप्तडमा लाग्ने गङ्गादशहरा मेला, उकालु पूर्णिमामा लाग्ने खापर जगन्नाथ मन्दिर मेला तथा खापर जगन्नाथ ओरालु मेलामा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यी मेलामा विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा श्रद्धालु तथा पर्यटक पुग्ने गर्छन् । भीडभाड हुने समयमा स्वास्थ्य समस्या देखिन सक्ने सम्भावनालाई ध्यानमा राखेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यस्ता शिविरमा मात्रै हरेक वर्ष हजारौँ नागरिकले स्वास्थ्य सेवा लिने गरेको समरजित गुल्मले जनाएको छ ।

    शुक्रबार लागेको पूर्णिमा मेलामा मात्रै डेढ सय जनालाई निःशुल्क स्वास्थ्योपचार सेवा प्रदान गरेको थियो । “यो वर्ष मौसम प्रतिकूल हुँदा कम श्रद्धालु आए । सफा मौसम भए धेरै नै हुन्थे । उपचारमा आउनेको लाइन पनि लामै हुन्थ्यो”, सेनानी खत्रीले भने । मेलाका समयमा टाढाटाढाबाट आउने श्रद्धालु, स्थानीय तथा पर्यटकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर प्रभावकारी भएको उनले बताए ।

    सेनाको सेवा मेला र विशेष अवसरमा मात्रै सीमित नभई हरेक दिनजसो दर्जनभन्दा बढी बाहिरका बिरामीको उपचार गरिने सेनानी खत्रीले बताए ।

  • विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

    विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन


    काठमाडौँ, १३ भदौ । रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण ठूलो धनजनको क्षति भयो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो असर गरेको छ । यसबीचमा अहिले सुरक्षा निकायले उद्धार, खोज र राहतमा जुटिरहेका छन् । यद्यपि बाढीमा परेर निधन भएकाहरुको शव संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हाल बाढीमा निधन भएकाको शव विभिन्न अस्पतालमा पु¥याइएको छ भने यो क्रम जारी छ ।

    प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म फेला परेका ५७९ मध्ये ५११ जनाको शव विभिन्न अस्पतालमा पुर्याइएको छ । जसअनुसार रसुवामा फेला परेका तीन शव जिल्ला अस्पताल धुन्चे रसुवामा राखिएको छ । साथै धादिङमा संकलन गरिएका २७ शव पोखरा र १० शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । नुवाकोटमा फेला परेका ३८ शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । चितवनमा फेला परेका १७१ शव जिल्ला अस्पताल भरतपुरमा, चार शव नेशनल सिटी अस्पताल, दुई शव भरतपुर सामुदायिक अस्पताल, दुई शव नारायणी अस्पताल र ४१ शव औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानमा राखिएको छ ।


    तनहुँमा फेला परेका शवमध्ये नौ शव मणिपाल अस्पताल पोखरा, पाँच शव प्रादेशिक अस्पताल दमौली र १४ शव गण्डकी अस्पताल पोखरामा राखिएको छ । गोरखामा भेटिएका शवमध्ये २९ प्रदेश अस्पताल गोरखामा, ११ शव गण्डकी अस्पताल पोखरा र चार शव नुप अस्पताल गोरखामा राखिएको छ ।
    नवलपरासी सुस्ता पूर्वमा भेटिएका शवमध्ये ६ मध्यविन्दु नगरअस्पताल चोरमारामा, ३६ गैँडाकोट नगर अस्पतालमा, २२ मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा, चार शव जिल्ला अस्पताल पाल्पा, दुई मिसन अस्पताल पाल्पा, दुई लुम्बिनी अस्पताल पाल्पा र ४१ गण्डकी अस्पताल पोखरामा राखिएको छ ।

    पश्चिम नवलपरासीमा फेला परेका शवमध्ये ८ पृथ्वी चन्द्र अस्पताल परासी, ११ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देही, तीन वा शव भीम अस्पताल भैरहवा र ६ शव पिपरा अस्पताल कपिलवस्तुमा राखिएको प्राधिकरणले जनाएको छ । अन्य शवहरुलाई पनि पायक पर्ने अस्पतालमा लैजाने काम भइरहेको र भेटिएका शवहरु संकलन गरी सम्बन्धित स्थानमा पुर्याउने कार्य समेत भइरहेको प्राधिकरणको भनाइ छ ।