Category: स्वास्थ्य

  • आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु

    आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु

    काठमाडौं/ नेपालमा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक कानुनी तथा नीतिगत छलफल गरेको छ।


    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा मन्त्रालयमा शुक्रबार आयोजित छलफलमा नेपालमा सञ्चालनमा रहेका आईभीएफ सेवाको वर्तमान अवस्था, पूर्वाधार, सेवा मापदण्ड तथा नियमनका विषयमा विस्तृत समीक्षा गरिएको हो।


    छलफलमा आईभीएफ सेवाको प्रभावकारी नियमनका लागि आईभीएफ सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्ने तथा दीर्घकालीन रूपमा आईभीएफ सेवालाई कानुनी दायरामा ल्याउन छुट्टै ऐन निर्माण गर्ने विषयमा छलफल भएको हो।
    मन्त्री मेहताले प्रजनन स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सेवाग्राहीको सुरक्षा, उपचारको गुणस्तर र नैतिक अभ्यास सुनिश्चित गर्न स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको बताइन । उनले आईभीएफ सेवामा हुन सक्ने सम्भावित अनियमितता रोक्दै सुरक्षित तथा जिम्मेवार प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरिन ।


    बैठकमा हाल सेवा सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्ड, अनुगमन प्रणाली र अनुमति प्रक्रियालाई थप व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको थियो।
    छलफलमा डा. श्रीप्रसाद अधिकारी, डा. ज्योति थापा र डा. बिनिता थापाको सहभागिता रहेको थियो।

  • आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल

    आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल

    काठमाडौँ, ६ साउनः आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन र स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने विषयमा आज उच्चस्तरीय छलफल भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा छलफल भएको हो ।

    सो क्रममा नेपाललाई आयुर्वेदिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइएको छ । मन्त्री मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपाल आयुर्वेदको उद्गमस्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताउनुभएको छ ।

    सरकार यस क्षेत्रको विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । पोखरास्थित गण्डकी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेदिक स्वास्थ्य पर्यटनका प्रमुख केन्द्रका रूपमा विकास गर्ने विषयमा पनि विशेष जोड दिइएको छ ।

    ती संस्थाहरूको पूर्वाधार, सेवा, विशेषज्ञ जनशक्ति र अन्तरराष्ट्रियस्तरको वेलनेस सेवाको क्षमता अभिवृद्धि गर्दै नेपाललाई आयुर्वेदिक स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने रणनीतिमा मन्त्रालयले काम अघि बढाउने जनाएको छ । यसका साथै आयुर्वेद सेवालाई स्वास्थ्य बिमा कार्यक्रममा समावेश गर्ने, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्ने, मन्त्रालयमा आयुर्वेदसम्बन्धी संस्थागत संरचना सुदृढ गर्ने, जडीबुटी उत्पादनदेखि प्रशोधन र औषधि उत्पादनसम्मको मूल्य शृङ्खला विकास गर्ने तथा विश्व स्वास्थ्य सङ्गठन मापदण्डअनुसार उत्पादन प्रणाली सुदृढ गर्ने विषयमा सहभागीहरूले सुझाव दिएका थिए ।

  • पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया

    पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया

    काठमाडौँ, ३२ असारः मुटुसम्बन्धी समस्याका कारण बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको आकस्मिकरुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया गरिएको छ । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष शाक्यको आज बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया गरिएको हो ।

    हाल नेत्री शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अस्पतालका मुटुरोग विभागका प्रमुख डा अशोक अधिकारीका अनुसार नेत्री शाक्यलाई बिहान छाती दुखेका कारण अस्पताल ल्याइएकामा परीक्षणबाट ‘हार्ट अट्याक (एक्युट मायोकोर्डियल इन्फरक्सन’ भएकाले ‘एन्जियोप्लाष्टी’ गरिएको हो । शल्यक्रियामा डा अधिकारी, डा प्रबिन्द्र महर्जन, डा आनन्द जिसीको टोली संलग्न थियो ।

  • कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या दुई हजार नाग्यो : डब्लुएचओ

    कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या दुई हजार नाग्यो : डब्लुएचओ

    किन्शासा (कङ्गो) ३२ असार (रासस–सिन्ह्वा) । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले प्रकोपको वास्तविक मात्रा रिपोर्ट गरिएको भन्दा दुई देखि चार गुणा बढी हुन सक्ने चेतावनी दिँदै कङ्कोमा इबोला सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको पुष्टि गरेको छ । देशका स्वास्थ्य अधिकारीहरूले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०११ मा ७५४ जनाको मृत्यु सहित कुल सङ्क्रमितको पुष्टि भएको थियो ।

    पत्ता नलागेको सङ्क्रमण, सामुदायिक मृत्यु र द्रुत भौगोलिक विस्तारले प्रतिक्रियालाई महामारीको उच्च खतराको रुप दिदै डब्लुएचओले तथ्याङ्क घोषणा गरेको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन आपतकालिन स्वास्थ्य कार्यक्रमा कार्यकारी निर्देशक चिकवे इहक्वियाजुले बुन्डिबुग्यो इबोला भाइरसका कारण हालको प्रकोप कुनै पनि इबोला प्रकोप भन्दा तीव्र गतिमा बढिरहेको बताए ।


    गत मे महिनाको मध्यमा घोषणा गरिएको यो प्रकोप पाँच प्रान्तमा फैलिएको छ भने विश्व स्वास्थ्य संगठनका अनुसार यो अहिले सम्म रेकर्ड गरिएको तेस्रो ठूलो इबोला प्रकोप हो । यो प्रकोप इटुरी प्रान्तमा यसको मूल केन्द्रभन्दा बाहिर प्रगतिशील भौगोलिक विस्तारको विशेषता रहेको “नयाँ चरण“ मा प्रवेश गरिरहेको देखिन्छ, अफ्रिकाका लागि डब्ल्यूएचओको क्षेत्रीय कार्यालयले मङ्ंगलबार जारी गरेको साप्ताहिक अवस्था रिपोर्टले जनाएको छ ।

    प्रकोप थप दुई वटा प्रान्तहरू, सोपो र हाट–उलेमा फैलिएको जनाइएको छ, जसले प्रतिक्रियाको जटिलता बढाउनुका साथै थप राष्ट्रिय र सीमापार फैलावटको जोखिम बढाएको छ, प्रतिवेदनमा उल्लेख गरिएको छ । कङ्गो स्वास्थ्य अधिकारीहरूले हाट–उलेमा नयाँ सङ्क्रमण देखिएको र अहिलेसम्म १४ जनामा सङ्क्रमणदर्ता भएकोमा १३ जनाको मृत्यु भएको जनाएका छन् ।

    १६ लाख भन्दा बढी मानिसहरूको बसोबास रहेको सहर किसाङ्गानीमा नयाँ सङ्क्रमणहरु पत्ता लागेकोले कङ्गो नदी लगायत प्रमुख यातायात मार्गमा व्यापक प्रसारणको जोखिम रहेको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालयले चेतावनी दिएको छ ।

  • जुम्ल्याहा शिशुको हत्या आरोपमा अमेरिकामा आमा पक्राउ

    जुम्ल्याहा शिशुको हत्या आरोपमा अमेरिकामा आमा पक्राउ

    लस एन्जलस, ३२ असार (रासस–एएफपी) । अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी एक आमालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । ती आमाले आफ्ना शिशुको मृत्यु खोपका कारण भएको दाबी गर्दै आएकी भए पनि अनुसन्धानपछि प्रहरीले उहाँमाथि शिशुको श्वास अवरुद्ध गरी हत्या गरेको अभियोग लगाएको हो ।

    प्रहरीका अनुसार २३ वर्षीया एन्ड्रिया शाले फ्लू, हेपाटाइटिस–ए र टिटानससहितका नियमित बाल खोप लगाएको आठ दिनपछि आफ्ना जुम्ल्याहा शिशुको मृत्यु भएको दाबी गरेकी थिइन् । उनी खोपविरोधी संस्था ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ ले दायर गरेको मुद्दाकी मुख्य वादीसमेत हुन् । उक्त संस्थाको स्थापना तथा नेतृत्व वर्तमान अमेरिकी स्वास्थ्यमन्त्री बन्नुअघि रोबर्ट एफ केनेडी जुनियरले गरेका थिए ।


    अमेरिकाको उत्तरपश्चिमी इडाहो राज्यस्थित पेएट प्रहरी विभागले लामो र विस्तृत अनुसन्धानपछि शालाई पक्राउ गरी अभियोग दर्ता गरिएको जनाएको छ । प्रहरीले शिशुको मृत्यु प्राकृतिक नभई श्वास रोकी हत्या गरिएको निष्कर्ष निकालेको बताएको छ । मङ्गलबार भएको अदालतको सुनुवाइमा शाका कानून व्यवसायी जोसेफ फिलिसेट्टीले उनलाई ‘मायालु र जिम्मेवार आमा’ भएको दाबी गर्दै राज्यले प्रस्तुत गरेको चित्रण वास्तविकताभन्दा फरक रहेको बताए ।


    मृत्युदण्डसम्मको सजाय हुन सक्ने अभियोग सामना गरिरहेकी शाले २० लाख अमेरिकी डलर बराबरको धरौटी रकम घटाइदिन आग्रह गरेकी थिइन् । पक्राउ पर्नुभन्दा केही दिनअघि जन्मिएकी आफ्नी नवजात छोरीसँग बस्न पाउने आधारमा उनले यस्तो अनुरोध गरेकी थिइन् । तर न्यायाधीश किली स्टुचलिकले घटनाको गम्भीरताप्रति चिन्ता व्यक्त गर्दै धरौटीको सुविधा नदिई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिनुभएको इडाहो स्टेट्सम्यानले जनाएको छ ।

    सन् २०२५ को मे महिनामा जुम्ल्याहा शिशुको मृत्यु भएपछि शाले आफूले उनीहरूलाई ओछ्यानमा अचेत अवस्थामा फेला पारेको बताउँदै सार्वजनिक रूपमा खोपकै कारण मृत्यु भएको दाबी गरेकी थिइन् । यद्यपि स्वास्थ्य विज्ञहरूले नियमित बाल खोपले श्वासप्रश्वास रोकिने वा अवरुद्ध हुने जोखिम बढाउँदैन भन्ने वैज्ञानिक प्रमाण रहेको दोहो¥याएका छन् ।

    उनीहरूले आनुवंशिक रूपमा समान नभएका जुम्ल्याहा शिशुको एउटै समयमा खोपको प्रतिकूल प्रतिक्रियाबाट मृत्यु भएको दाबी पनि अस्वाभाविक भएको बताएका छन् । खोप र अटिजमबीच सम्बन्ध रहेको दाबी गर्दै आएका स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले यस घटनाबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । यस्तै, चिल्ड्रेन्स हेल्थ डिफेन्सले पनि एएफपीको प्रतिक्रिया मागको जवाफ दिएको छैन ।

  • मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

    मध्य अमेरिकामा अत्यधिक गर्मीको लहर, १५० वर्षयताकै तापक्रमको कीर्तिमान भङ्ग

    वासिङ्टन, २९ असार (रासस–एएफपी) । संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्र आइतबार कीर्तिमानी अत्यधिक गर्मीको लहरको चपेटामा परेको छ । उत्तरी समथर भूभागदेखि रकी पर्वतीय क्षेत्रसम्म तापक्रमले विगतका कीर्तिमान तोडेको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ । प्रारम्भिक तथ्याङ्कअनुसार, युटा राज्यको राजधानी साल्ट लेक सिटी र मोन्टाना राज्यको सबैभन्दा ठूलो सहर बिलिङ्समा तापक्रम १०९ डिग्री फरेनहाइट (४३ डिग्री सेल्सियस) पुगेको छ ।

    मौसम सेवाका अनुसार, दुवै सहरमा १५० वर्षभन्दा बढी समयदेखि राखिएको अभिलेखमा यो अहिलेसम्मकै उच्च तापक्रम हो । यसअघि साल्ट लेक सिटीमा १०७ डिग्री फरेनहाइट (४२ डिग्री सेल्सियस) र बिलिङ्समा १०८ डिग्री फरेनहाइट (४२ डिग्री सेल्सियस) को कीर्तिमान रहेको थियो ।

    उच्च तापक्रमका कारण कोलोराडो र युटाका विभिन्न क्षेत्रमा फैलिएका डढेलो नियन्त्रणको प्रयास प्रभावित भएको छ । मौसमविद्हरूले अत्यधिक गर्मी मङ्गलबारसम्म कायम रहने अनुमान गरेका छन् । एक साताअघि पूर्वी अमेरिकामा पनि अर्को गर्मीको लहर चलेको थियो । त्यस क्रममा न्युयोर्क र फिलाडेल्फियामा तापक्रम करिब १०४ डिग्री फरेनहाइट पुगेको थियो ।

    वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण विश्वभर अत्यधिक गर्मीका लहरहरू अझ बारम्बार, लामो समयसम्म रहने र तीव्र हुने प्रवृत्ति बढ्दै गएको छ । जीवाश्म इन्धनको दहनबाट हुने हरितगृह ग्यास उत्सर्जनलाई यसको मुख्य कारण मानिएको छ । यसैबीच, पश्चिमी युरोपले हालसम्मकै सबैभन्दा तातो जुन महिनाको अनुभव गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार त्यहाँको हालैको गर्मीको लहरका कारण एक हजार तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

  • मर्यादित महिनावारी प्रवर्द्धनका लागि राष्ट्रिय कार्यविधि निर्माण अन्तिम चरणमा : मन्त्री सिता बादी

    मर्यादित महिनावारी प्रवर्द्धनका लागि राष्ट्रिय कार्यविधि निर्माण अन्तिम चरणमा : मन्त्री सिता बादी

    २७ असार, काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मर्यादित महिनावारी प्रवर्द्धन, महिनावारीसम्बन्धी विभेद अन्त्य तथा महिला र किशोरीको सम्मानजनक जीवन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।

    राष्ट्रिय सभामा मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै मन्त्री सिता बादीले महिनावारी महिला तथा किशोरीमा हुने प्राकृतिक तथा जैविक प्रक्रिया भए पनि यससँग जोडिएका अन्धविश्वास, छाउपडी प्रथा, सामाजिक तथा धार्मिक विभेदजस्ता हानिकारक अभ्यासहरू अन्त्य गर्न मन्त्रालयले आवश्यक नीतिगत तथा कार्यक्रमगत पहल अघि बढाइरहेको जानकारी दिइन् ।


    मन्त्री बादीले मर्यादित महिनावारी भन्नाले महिनावारीलाई सामान्य प्राकृतिक प्रक्रियाका रूपमा स्वीकार गर्दै यससँग सम्बन्धित सबै प्रकारका विभेद, हिंसा र अवैज्ञानिक मान्यताको अन्त्य गर्ने अवस्था रहेको स्पष्ट पारिन् । महिला तथा किशोरीमाथि हुने महिनावारीसम्बन्धी विभेद र हिंसा न्यूनीकरणका लागि मन्त्रालयले मर्यादित महिनावारी प्रवर्द्धनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेको मन्त्री बादीज्यूले जानकारी दिइन् ।


    उक्त कार्यविधिमा संघ, प्रदेश र स्थानीय तहमा समन्वय तथा अनुगमन संयन्त्र निर्माण गर्ने, मर्यादित महिनावारी प्रवर्द्धनसम्बन्धी प्रवर्द्धनात्मक, निरोधात्मक, संरक्षणात्मक तथा उपचारात्मक कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहमा भएका गतिविधिको तथ्याङ्क संकलन तथा अनुगमन गर्ने र अभियानमुखी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था समेटिएको छ।

    मन्त्रालयले तयार गरेको कार्यविधिको मस्यौदामाथि प्रदेशस्तरमा छलफल सम्पन्न भइसकेको र प्राप्त सुझावका आधारमा अन्तिम रूप दिने प्रक्रिया अघि बढाइएको मन्त्री बादीले राष्ट्रिय सभालाई जानकारी गराइन् । सामाजिक कुरीति अन्त्य तथा जनचेतना अभिवृद्धिका लागि मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, राष्ट्रिय सञ्चार माध्यममार्फत नियमित रूपमा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भइरहेको छ।

    यसै आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा मर्यादित महिनावारी प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न गरिएको र आगामी दिनमा प्रदेश सरकार, स्थानीय तह तथा यस क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थासँगको सहकार्यमा अभियानलाई थप प्रभावकारी बनाइने मन्त्री बादीले बताइन् । राष्ट्रिय सभामा मन्त्री सिता बादीले मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा जवाफ दिँदै मर्यादित महिनावारी प्रवर्द्धन तथा सामाजिक विभेद अन्त्यका लागि सरकारले अघि बढाएका नीति, कार्यक्रम र प्रयासबारे जानकारी गराइन् ।

  • जलनबाट घाइते नेपालीको निधन, संसदमा विपक्षीको हंगामा

    जलनबाट घाइते नेपालीको निधन, संसदमा विपक्षीको हंगामा

    काठमाडौँ, २६ असारः जलनबाट घाइते भई वीर अस्पतालमा उपचार गराइरहेका मुगुका युवा गणेश नेपालीको निधन भएको छ । काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार आफैँले शरीरमा आगो लगाएका नेपालीको ‘आइसियु’मा राखेर उपचार गरिरहेका अवस्थामा आज निधन भएको वीर अस्पतालका प्रवक्ता डा प्रकाश बुढाथोकीले पुष्टि गरे ।
    सो अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालले निरन्तर रुपमा अथक प्रयास गरे पनि बिहान ११ः१९ बजे नेपालीको निधन भएको जानकारी दिए । डा दाहालले भने, “उहाँको जीवनरक्षाका लागि चिकित्सक, अस्पताल, प्रशासन र सरकारले बिहीबारदेखि निरन्तर प्रयास गर्‍यो तर बचाउन सकिएन, उहाँको शरीर गम्भीर रुपमा जलेको थियो ।”

    सरकारले जलनबाट घाइते नेपालीको उपचारमा विशेष चासो राखेपछि संयोजक डा दाहालको नेतृत्वमा प्लास्टिक विभाग, क्रिटिकल केयर, एनेस्थेसिया र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सकीय टोली खटिएको थियो । यसअघि सो अस्पतालले पत्रकार सम्मेलन गरी शरीरको करिब ५५ प्रतिशत भाग जलेको नेपालीको स्वास्थ्यावस्था गम्भीर रहेको जानकारी दिँदै विशेष टोलीको व्यवस्थासहित ज्यान जोगाउन अथक प्रयास गरे पनि सम्भव नभएको बताएको थियो ।

    नेपाल सरकारले थप उपचारका लागि एयर एम्बुलेन्सको व्यवस्थासहित भारत लैजाने तयारी पूरा गरे पनि चिकित्सकहरुले उनको अवस्था निकै जटिल रहेकाले तत्काल सघन उपचार कक्षबाट निकाल्न नहुने सुझाव दिएपछि नयाँदिल्लीस्थित एम्स अस्पताल लैजान नसकिएको दावि गरिएको छ ।

  • गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, उपचार खर्च सरकारले बेहोर्ने

    गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर, उपचार खर्च सरकारले बेहोर्ने

    २६ असार, काठमाडौं । सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ। उनको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ुएम्सु अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो।

    ​उनलाई तत्कालै विमानस्थल पुर्‍याउन गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरेका थिए ।
    साथै सरकारले उनका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गरेको थियो। त्यसअघि सरकाले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै ब्यहोर्ने बताएको थियो। भारतको विमानस्थलबाट नेपालीलाई एम्स अस्पतालसम्म लैजाने सबै बन्दोबस्त समेत गरिएको थियो।

    तर, वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलग्ने भएको हो। चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएका छन् ।


    त्यसैले गृहमन्त्री गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा (स्ट्यान्ड बाइ)गएरातीदेखि निरन्तर खटिरहेका थिए । बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशत जलेको छ।

    हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली उनको जीवन रक्षाका लागि खटिएको छ। चिकित्सकहरूको टोलीले उहाँको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर विशेष औषधिहरू चलाइरहेको छ।

  • युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

    युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

    ब्रसेल्स, २४ असार (रासस–एएफपी) । युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली कन्डम युरोपमा भित्र्याउने एउटा सञ्जालको पर्दाफास गरेको जनाएको छ । ईयूको ठगीविरोधी कार्यालय (ओएलएएफ)का अनुसार रोमानिया, सर्बिया र स्पेनमा ती नक्कली कन्डम बरामद गरिएको छ । अनुसन्धानबाट ती सामग्री चीनस्थित एक आपूर्तिकर्तासँग सम्बन्धित रहेको पत्ता लागेको छ ।

    ओएलएएफका अनुसार ती कन्डममा एउटा प्रसिद्ध ब्रान्डको लोगो प्रयोग गरिएको थियो भने जाँचबाट बच्न तिनलाई ‘खेलौना’ भनेर लेबल लगाइएको थियो । चिनियाँ अधिकारीको सहयोगमा अनुसन्धान अघि बढाइएको र सञ्जालको स्रोत पत्ता लगाइएको ओएलएएफले जनाएको छ ।

    ओएलएएफका महानिर्देशक पेटर क्लेमेन्टले नक्कली कन्डम स्वास्थ्यका लागि जोखिमपूर्ण हुने बताए । उनले परीक्षण र गुणस्तर नियन्त्रणबिनाका यस्ता सामग्रीले यौनजन्य सङ्क्रमण फैलिन सक्ने चेतावनी दिए । ओएलएएफले नक्कली कन्डम आपूर्ति गर्ने चिनियाँ आपूर्तिकर्ता वा सञ्जालमा सङ्लग्न व्यक्तिमाथि गरिएको कारबाहीबारे भने विस्तृत जानकारी दिएको छैन । 

  • नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

    नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा

    काठमाडौँ, २४ असारः नेपालको आँखा उपचार सेवाको कम्बोडियाको विदेश तथा अन्तरराष्ट्रिय सहयोग मन्त्रालयको स्थायी सचिव तथा प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले उच्च प्रशंसा गरेकी छिन् । 

    थाइल्यान्डका लागि नेपाली राजदूत (कम्बोडियाका समेत) धनबहादुर ओलीसँग हालै भएको भेटमा उनले नेपालको आँखा उपचार सेवा एवं शिक्षाको उच्च प्रशंसा गरेकी हुन् । थाइल्यान्डस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्ति अनुसार सो भेटमा स्थायी सचिव सोफियाले यही असार २० र २१ गते कम्पोङ चाम प्रान्तमा निःशुल्क आँखा उपचार शिविरबाट कम्बोडियाली नागरिक लाभान्वित भएको र शिविर सफलतापूर्वक आयोजना गरेकामा नेपालको उच्च प्रसंशा गरिन् । 

    कम्बोडियाका साझेदारहरूसँगका सहकार्यमा नेपाल नेत्रज्योति सङ्घ, लुम्बिनी आँखा संस्थान तथा अनुसन्धान केन्द्र (रण अम्बिका शाह आँखा अस्पताल) तथा राजदूतावासको संयुक्त प्रयासमा सो शिविर सम्पन्न भएको थियो । 

    भेटमा उनीहरुबीचमा आँखा उपचार लगायत जनस्वास्थ्यको क्षेत्रमा थप सहयोगको खोजी गर्ने शिक्षा, कृषि, पर्यटन र आपसी हितका अन्य क्षेत्रमा सहयोग विस्तार गर्ने र दुई देशबीचको आर्थिक तथा व्यापारिक सहयोग बढाउने क्षेत्रमा पनि कुराकानी भएको विज्ञप्तिमा उल्लेख छ ।

    सो अवसरमा राजदूत ओलीले आँखा स्वास्थ्यको क्षेत्रमा कम्बोडियाको क्षमता सुदृढ गर्न तालिम तथा अन्य आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएर सहयोग विस्तार गर्न नेपाल तयार रहेको जानकारी गराएका थिए । उनले कम्बोडियाका जनतामा यस्ता सेवाको अत्यधिक मागलाई ध्यानमा राख्दै निकट भविष्यमा अर्को आँखा उपचार शिविर आयोजना गर्न नेपाल तयार रहेको स्थायी सचिव सोफियलाई अवगत गराए ।

    साथै दुई देशबीचको पर्यटन सम्भावनालाई उजागर गर्दै उनीहरुले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको विश्वप्रसिद्ध सांस्कृतिक तथा धार्मिक सम्पदा क्षेत्र अङ्कोर वाटबीचको सम्बन्धलाई सुदृढ गर्दै बौद्ध तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने महत्त्वमा जोड दिए । यसक्रममा नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको प्राविधिक सहकार्य तथा थाइल्यान्डस्थित नेपाली राजदूतावास ९कम्बोडियासमेत०को समन्वयमा कम्बोडियाको कम्पोङ चाम प्रान्तमा दुईदिने निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।

    यही असार २० र २१ गते कम्पोङ चाम प्रान्तीय अस्पतालमा पहिलोपटक सञ्चालन गरिएको उक्त शिविरमार्फत एक हजार दुई कम्बोडियाली नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए । सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार शिविरमा सेवा लिनेमा ६४१ महिला र ३६१ पुरुष रहेका थिए ।

    उनले आँखा परीक्षणका क्रममा ३७३ जनालाई निःशुल्क औषधि, ४०७ जनालाई चश्मा तथा १९२ जनालाई औषधिसहित चश्मा वितरण गरिएको जानकारी दिए । उनका अनुसार शिविरमा ९३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ । उनीहरूलाई थप उपचारका लागि स्थानीय अस्पतालमा ‘रेफर’ गरिएको थियो । शिविरको शुभारम्भ राजदूत ओली र कम्पोङ चाम प्रान्तका गभर्नर उन चान्दाले संयुक्त रूपमा गरेका थिए । 

  • कङ्गोमा इबोला सङ्क्रमित ५०० भन्दा बढीको मृत्यु

    कङ्गोमा इबोला सङ्क्रमित ५०० भन्दा बढीको मृत्यु

    जेनेभा, २२ असार (रासस–एएफपी) । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला महामारीबाट ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को सोमबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य निकायले जारी गरेको अद्यावधिक तथ्याङ्कअनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भएयता कङ्गोमा एक हजार ५६१ जना सङ्क्रमित भएका छन्, जसमध्ये ५०६ जनाको मृत्यु भएको छ ।

    छिमेकी देश युगान्डामा पनि दुई जनाको मृत्यु भएको छ। त्यहाँ अवस्था अपेक्षाकृत स्थिर छ र २० जना संक्रमितमध्ये १६ जना निको भएका छन् । कङ्गोको तथ्याङ्कअनुसार यो महामारीमा सङ्क्रमितमध्येबाट भएको मृत्युदर ३२ प्रतिशत रहेको छ। २५४ जना बिरामी निको भएका छन् भने घातक ज्वरोका ३५४ जना शङ्कास्पद विरामीहरूको अनुसन्धान भइरहेको छ ।

    उत्तर–पूर्वी कङ्गोमा फैलिएको यो महामारी चार प्रान्तमा पुगेको छ तर मुख्य रूपमा इटुरी प्रान्तमा केन्द्रित छ । ‘बुन्डिबुग्यो’ प्रजातिको इबोलाबाट यो महामारी फैलिएको हो, जसको लागि अहिलेसम्म कुनै स्वीकृत खोप वा उपचार उपलब्ध छैन। बुन्डिबुग्यो इबोलाको दुई सम्भावित उपचारको परीक्षण गत बिहीबारदेखि कङ्गोमा सुरु भएको छ।

    यो परीक्षणमा ‘मोनोक्लोनल एन्टिबडी एमबीपी १३४’ र ‘एन्टिभाइरल’ औषधि ‘रिमडेसिभिर’ को एक्लै र संयोजनमा सुरक्षा र प्रभावकारिता जाँच गरिँदैछ। पाँच सय जनाको मृत्युको यो आँकडा आउँदा डब्ल्यूएचओ सदस्य राष्ट्रहरू गत वर्ष कोभिड–१९ महामारीको जस्तो अन्तर्राष्ट्रिय अव्यवस्था दोहोरिन नदिनका लागि तयार पारिएको महामारीबारे सम्झौताको बाँकी भागमा छलफल गर्न फेरि भेला भएका छन्।

    डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले सोमबार सदस्य राष्ट्रहरूलाई चेतावनी दिँदै भने, “अर्को महामारीले हामीलाई तयार हुनका लागि पर्खने छैन।”

    उनले भने, अहिले कङ्गोमा भइरहेको इबोला महामारी यसको प्रमाण हो। यो कुनै टाढाको काल्पनिक घटना होइन, यो वास्तवमै भइरहेको छ।” उनले अगाडि भन्नुभयो, “इबोला अर्को महामारी नहुन सक्छ। तर यो एउटा दुःखद सम्झना हो कि खतरा कहिल्यै पूर्ण रूपमा हराउँदैन।”

    कङ्गोको यो १७औँ इबोला महामारी गत मे १५ मा खनिज सम्पन्न तर अशान्त इटुरी प्रान्तमा केही अज्ञात कारणले मृत्यु भएपछि घोषणा गरिएको थियो। यो भाइरस निकट सम्पर्क र सङ्क्रमित शारीरिक तरल पदार्थबाट फैलिन्छ। फ्रान्सको स्वास्थ्य मन्त्रीले शनिबार बताएअनुसार डीआर कङ्गोबाट फ्रान्स गएर इबोला सङ्क्रमण पुष्टि भएको पहिलो चिकित्सकलाई निको भएपछि अस्पतालबाट घर पठाइएको छ । उनी जुन २३ मा कङ्गोबाट फ्रान्स जाने भएका थिए ।

  • यूएईको अत्यधिक गर्मीबाट बच्न अपनाउनुपर्ने सावधानीहरू

    यूएईको अत्यधिक गर्मीबाट बच्न अपनाउनुपर्ने सावधानीहरू

    विश्व न्यूजको यूएई अंकमा हामीले स्वास्थ्य सचेतना सामग्री प्रकाशित गर्दै आएका छौं । यस अंकमा हामी गर्मीबाट कसरी बच्ने भन्नेबारे उल्लेख गर्दैछौं ।

    प्रशस्त मात्रामा पानी पिउने, तिर्खा लागेपछि मात्र होइन नियमित रुपमा पानी सेवन गर्ने ।
    घाममा काम गर्दा वा हिँड्दा टोपी, छाता र सनग्लास प्रयोग गर्ने ।


    हल्का, फुस्रो र सुती कपडा लगाउने ।


    दिउँसो १२ः३० देखि ३ः०० बजेसम्म सकेसम्म प्रत्यक्ष घाममा नबस्ने ।


    बाहिरी क्षेत्रमा काम गर्नेहरुले नियमित विश्राम लिने ।


    शरीरमा पानीको मात्रा कायम राख्न कागती, नुन पानी, नरिवल पानी, ओआरएस र खनिजयुक्त पेय पदार्थ सेवन गर्ने ।


    अत्यधिक चिया, कफी तथा चिनीजन्य पेय पदार्थको सेवन कम गर्ने ।
    पार्किङमा राखिएको बन्द सवारीसाधनभित्र बालबालिका वा वृद्धवृद्धालाई नछोड्ने ।
    टाउको दुख्ने, चक्कर लाग्ने, अत्यधिक पसिना आउने वा वाकवाकी लाग्ने जस्ता लक्षण देखिए तुरुन्त चिसो स्थानमा जाने ।


    घर तथा कार्यस्थलमा एसी वा पर्याप्त हावाप्रवाहको व्यवस्था गर्ने ।


    उपलब्ध गराएको सुरक्षा व्यवस्था अनिवार्य रुपमा प्रयोग गर्ने ।


    वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीहरुको विशेष हेरचाह गर्ने ।


    रमजान वा उपवासका बेला स्वास्थ्य अवस्थाअनुसार चिकित्सकको सल्लाह लिनु उपयुक्त हुने ।


    आपतकालीन अवस्थामा नजिकको स्वास्थ्य संस्था वा आपतकालीन सेवासँग तत्काल सम्पर्क गर्ने ।

    यूएई सरकारको विशेष निर्देशन

    १५ जुनदेखि १५ सेप्टेम्बरसम्म ‘मिड–डे ब्रेक’ नियम पालना गर्ने ।


    रोजगारदाताले श्रमिकका लागि छायाँ, चिसो पानी, प्राथमिक उपचार सामग्री र विश्रामस्थलको व्यवस्था गर्नुपर्ने ।


    नियम उल्लंघन गर्ने कम्पनीमाथि जरिवाना र कानुनी कारबाही हुन सक्ने ।

    यी उपायहरु अपनाउँदा अत्यधिक गर्मीका कारण हुने स्वास्थ्य जोखिमलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।

  • सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

    सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

    १९ असार, काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।

    मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न मन्त्रालयमै स्वास्थ्य सेवा इकाई राखिएको मन्त्रालयले जनाएको छ । उक्त सेवा निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायतका स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ ।

  • वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

    वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

    काठमाडौं, असार १९। वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले यो सेवा सुरु गरिएको हो। नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ८५ (घ) अनुसार सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गर्दै नारायणी अस्पतालले यो सेवा सञ्चालनमा ल्याएको हो।


    मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत अस्पतालमा उपचारका लागि आउने बिरामीले आवश्यक औषधि बजार मूल्यभन्दा सहुलियत दरमा अस्पतालबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन्। यसबाट उपचार खर्च घट्नुका साथै गुणस्तरीय औषधिमा सर्वसाधारणको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।


    यसैबीच, नारायणी अस्पतालमा क्याथ ल्याब मेसिन जडान कार्य पनि सुरु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले शासकीय सुधार कार्यसूचीअनुसार देशभरिका सरकारी अस्पतालमा चरणबद्ध रूपमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यलाई अघि बढाइरहेको जनाएको छ।

  • बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

    बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

    काठमाडौं,असार १९ । सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ। नियुक्तिपछि उहाँले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।


    अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्येबाट छनोट समितिले डा.योगेन्द्रप्रसाद सिंह, डा.अजयकुमार झा र डा.विजयचन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो। तीमध्येबाट डा.सिंह अध्यक्षमा नियुक्त भए ।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४६ वर्ष लामो सेवा गरी अवकाश प्राप्त डा. सिंह स्वास्थ्य क्षेत्रका वरिष्ठ चिकित्सक हुनुहुन्छ। पद तथा गोपनीयताको शपथ ग्रहणसँगै उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन् ।

  • बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन

    बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन

    काठमाडौं, असार १९ । बर्ड फ्लुको सङ्क्रमण पुष्टि हुन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानिसमा सङ्क्रमण फैलिन नदिन मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रवाह सुरु गरेको छ। फोन गर्दा सुनिने रिङटोनमार्फत बर्ड फ्लुबाट बच्ने उपाय, सङ्क्रमित भएका, बिरामी वा मरेका चराचुरुङ्गी तथा कुखुरासँग प्रत्यक्ष सम्पर्क नगर्न, मृत पन्छी देखेमा त्यसको नजिक नजान, शङ्का लागेमा सम्बन्धित निकायलाई जानकारी गराउन तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको मन्त्रालयले जनाएको छ।


    त्यस्तै, पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खान, बर्ड फ्लुसम्बन्धी थप जानकारी वा परामर्श आवश्यक परेमा हेलो स्वास्थ्यको टोल–फ्री नम्बर १११५ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पछिल्लो समय देशका विभिन्न जिल्लामा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भइरहेकाले जनसाधारणमा अनावश्यक त्रास फैलिन नदिन तथा सङ्क्रमणको जोखिमबारे सही जानकारी पुर्‍याउने उद्देश्यले मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रसारण सुरु गरिएको बताइन् ।

    सरकारले बर्ड फ्लु सङ्क्रमित कुखुरा तथा अन्य पन्छी नष्ट गर्ने, प्रभावित क्षेत्रको निगरानी बढाउने, प्राविधिक टोली परिचालन गर्ने तथा जैविक सुरक्षाका मापदण्ड कडाइका साथ पालना गराउने अभियानलाई तीव्र बनाएको जनाएको छ।

  • हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा

    हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा

    जेनेभा, १९ असार (रासस–एएफपी) । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले स्पेनको क्यानरी आइल्यान्ड्सको टेनेरिफमा पुगेको एक पानीजहाजसँग सम्बन्धित हान्टाभाइरस प्रकोप समाप्त भएको बिहीबार घोषणा गरेको छ। भाइरस सङ्क्रमित अन्तिम व्यक्ति निको भई क्वारेन्टाइनबाट निस्केपछि यो घोषणा गरिएको हो। अर्जेन्टिनाबाट स्पेनका लागि छुटेको एमवी जहाजमा सङ्क्रमणको हल्लापछि जहाजका सङ्क्रमणको आशङ्का लागेका र अन्य यात्रुलाई क्वारेन्टाइनमा राखेर उनीहरूको परीक्षण गरिएको थियो ।

    परीक्षणबाट १२ पुष्टि भएका र एक सम्भावित सङ्क्रमण् देखिएको थियो, जसमध्ये तीन जनाको मृत्यु भएको थियो। प्रकोप समाप्त भए पनि वैज्ञानिक र विज्ञहरूका लागि काम भने अझै सुरु मात्र भएको छ। उनीहरूले विश्वव्यापी स्वास्थ्य चेतावनी निम्त्याएको यो घटनाबाट पाठ सिक्न प्रयास गरिरहेका छन्।

    “आज एमवी होन्डियस जहाजमा हान्टाभाइरसबाट प्रभावित अन्तिम व्यक्तिले क्वारेन्टाइन अवधि पूरा गरेपछि गरिएको परीक्षणमा भाइरस नभेटिएपछि उहाँलाई घर फर्काइएको छ,” डब्ल्युएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले पत्रकार सम्मेलनमा भने । “मे २५ यता थप कुनै केस रिपोर्ट भएको छैन,” उनले भने । उनले थपे, “त्यसैले हामी खुशीसाथ भन्न सक्छौं कि डब्ल्युएचओले हान्टाभाइरस प्रकोप समाप्त भएको ठानेको छ।”

    डच झण्डा भएको यो जहाज अप्रिल १ मा अर्जेन्टिनाको उशुआइबाट प्रस्थान गरेको थियो र जहाज दक्षिण अटलान्टिक महासागरका दुर्गम टापुहरू ट्रिस्टन दा कुन्हा लगायत हुँदै स्पेनको क्यानरी आइल्यान्ड्सको टेनेरिफ पुगेको थियो, जहाँ बाँकी यात्रुहरूलाई सुरक्षित निकालिएको थियो। टेड्रोसका अनुसार ३३ देश तथा क्षेत्रका स्वास्थ्य अधिकारीहरूले ६५० भन्दा बढी सम्पर्क व्यक्तिहरूको पहिचान गरी अनुसरण गरेका थिए।

    उनले डब्ल्युएचओले प्रकोप र भाइरसबारे थप बुझ्न काम जारी राख्ने बताए । टेड्रोसले भने, “हामी २१ देशसँग मिलेर एउटा अध्ययन समन्वयन गर्दैछौँ, जसले रोग कसरी विकास हुन्छ भन्ने बुझ्न मद्दत गर्नेछ। यसले भविष्यका प्रकोपहरूका लागि निदान, उपचार र खोप विकासमा सहयोग पु¥याउनेछ।” मुसाबाट फैलिने हान्टाभाइरस एक दुर्लभ भाइरस हो। यसको अहिलेसम्म कुनै खोप वा विशिष्ट उपचार उपलब्ध छैन।

    होन्डियस प्रकोपको पछाडि रहेको एन्डिस प्रजाति नै हान्टाभाइरसको एकमात्र त्यस्तो स्ट्रेन हो जुन भाइरस मानिसबाट मानिसमा सर्न सक्छ । जहाज मे १८ मा नेदरल्यान्ड्सको रोटरडाम बन्दरगाहमा पुगेको थियो ।

  • सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

    सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौँ, १७ असार । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बमोजिम कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ । गृह मन्त्रालयद्वारा आज जारी परिपत्रमा कार्यविधिमा उल्लेख भएको छुट–सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुटरसहुलियत नदिने अस्पताललाई कानून बमोजिम कारवाही गर्न भनिएको छ ।

    विपन्न, असहाय र वेवारिसे नागरिकका लागि अस्पतालले छुट्ट्याउनुपर्ने कुल शैय्याको १० प्रतिशत निःशुल्क उपचार सेवालाई थप व्यवस्थित, पारदर्शी र पहुँचयोग्य बनाउन सो कार्यविधि जारी गरिएको थियो । कार्यविधिअनुसार सरकारी, गैरसरकारी, नीजी, सहकारी वा गैर नाफामुलक अस्पतालहरूबाट स्वास्थ्य उपचारका क्रममा लक्षित वर्गका नागरिकहरूले कार्यविधिमा व्यवस्था भएअनुसार छुटरसहुलियत पाउनुपर्नेमा पाउन नसकेको भन्ने गुनासो प्राप्त भएको उल्लेख गरिएको छ ।

  • युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

    युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

    पेरिस, १७ असार (रासस–एएफपी) । युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको लहरका कारण आज नौ करोड ५० लाखभन्दा बढी मानिसले ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमको सामना गर्ने अनुमान गरिएको छ । एएफपीको विश्लेषणअनुसार सोमबार १३ करोडभन्दा बढी मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम अनुभव गरेको अनुमान गरिए पनि आज प्रभावित जनसङ्ख्या केही घट्ने देखिएको छ । यद्यपि युरोप (टर्कीबाहेक)का करिब पाँचमध्ये दुई जनाले ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सामना गर्ने अपेक्षा गरिएको छ ।

    युरोपमा विशेषगरी ग्रीष्मयामको सुरुआतमै यस्तो उच्च तापक्रम असामान्य मानिन्छ । यसले अत्यधिक मृत्यु, विद्यालय बन्द तथा बाहिरी गतिविधि रद्द गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । ‘वल्र्ड वेदर अट्रिब्युसन ग्रुप’का वैज्ञानिकले जलवायु परिवर्तन नभएको भए जुन महिनामा यति तीव्र गर्मीको लहर आउनु ‘लगभग असम्भव’ हुने बताएका छन् ।

    आजको गर्मीको लहरबाट मुख्य रूपमा युरोपका पूर्वी र दक्षिणी क्षेत्र प्रभावित हुने जनाइएको छ । हङ्गेरीमा लगभग सम्पूर्ण जनसङ्ख्याले ३५ डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रमको सामना गर्ने अनुमान गरिएको छ । यस्तै स्लोभाकिया, मोल्डोभा, युक्रेन, रोमानिया, सर्बिया र क्रोएसियामा पनि तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ । साथै स्पेन र इटालीमा पनि लाखौँ मानिस उच्च तापक्रमबाट प्रभावित हुने अनुमान छ ।

    एएफपीले यो विश्लेषण जर्मनीको राष्ट्रिय मौसम सेवा ‘ड्यूचर वेटरडिएन्स्ट’को मौसम पूर्वानुमान तथा संयुक्त अनुसन्धान केन्द्रको जनघनत्वसम्बन्धी तथ्याङ्कका आधारमा तयार गरेको जनाएको छ । विश्लेषणमा कुनै स्थानमा दिउसोको समयमा ३० देखि ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम पुग्ने पूर्वानुमान भए त्यहाँका बासिन्दालाई प्रभावित जनसङ्ख्यामा समावेश गरिएको जनाइएको छ ।

  • म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा

    म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा

    म्याग्दी, १७ असारः म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । छ वटा स्थानीय तह र ४५ वडा रहेको जिल्लाका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि मङ्गलबार पूर्णखोप घोषणा गरिएको हो । जिल्लामा रहेका १५ महिनाभित्रका एक हजार ८० बालबालिकाले नियमित र पाँच वर्षमुनिका तीन हजार ९७४ जना बालबालिकाले पूर्णखोप लगाएका प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताए ।


    बालबालिकाले बिसीजी, डिपिटी, पोलियो, दादुरा, रुवेला, जेइलगायत १३ प्रकारका खोपको पूर्णमात्रा पाएको उनले बताउनुभयो । म्याग्दीमा एउटा जिल्लास्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९ स्वास्थ्य चौकी, चार सहरी स्वास्थ्य केन्द्र, २८ सामुदायिक स्वास्थ्य एकाइ, ८९ खोप केन्द्र, ४८ गाउँघर क्लिनिक छन् ।

    बालबालिकालाई पूर्णखोप लगाउनका लागि ३७२ महिला स्वास्थ्य स्वयंसेविका परिचालन भएका थिए । यसअघि वडा र पालिकास्तरमा पनि पूूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको थियो । घोषणाअघि स्वास्थ्यकर्मीले घरदैलो गरेर खोप लगाएको÷नलगाएको विषयमा अध्ययन गरेका थिए ।

    यस वर्ष गण्डकी प्रदेशका ११ मध्ये पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्ने म्याग्दी चौथो जिल्ला बनेको जिसस म्याग्दीका कार्यवाहक प्रमुुखसमेत रहेका जिल्ला खोप समन्वय समितिका प्रमुख डिलकुमारी खत्रीले बताइन् । कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मण पाण्डेले खोप कार्यक्रमले नवजात शिशुको मृत्युघर घटाउन र रोग लाग्नबाट बचाउन महत्त्वपूर्ण योगदान गरेको बताए । खोप कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको र सर्वसाधारणले पनि यसलाई महत्वका साथ लिनुपर्ने मन्त्री पाण्डेले बताए ।


    गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले प्रदेश पूर्णखोप अभियानको निरन्तरतामा जोड दिँदै प्रदेश सरकारमातहतको बेनी अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था मिलाउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराए । मन्त्री पाण्डेले बेनी अस्पतालमा जनशक्ति र उपकरण व्यवस्थापनमा प्राथमिकता दिने प्रतिबद्धता जनाए । म्याग्दीलाई २०७१ साल चैत १५ गते नेपालको छैटाँै पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको थियो । त्यसयता म्याग्दीलाई हरेक वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणालाई निरन्तरता दिइँदै आएको छ ।

  • कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

    कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध

    किन्शासा, १६ असार (रासस–सिन्ह्वा) । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक हजार ३०७ पुगेको छ । सङ्क्रमणका कारण हालसम्म ३७७ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् । सरकारका अनुसार आइतबारसम्म १८० जना उपचारपछि निको भएका छन् भने ६१५ जना उपचार तथा स्वास्थ्य निगरानीमा रहेका छन् । हाल इबोलाको मृत्युदर २८ दशमलव ८० प्रतिशत रहेको र सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान तथा अनुगमन (कन्ट्याक्ट ट्रेसिङ) दर ८१ दशमलव ३० प्रतिशत पुगेको छ ।

    सङ्क्रमण नियन्त्रणका लागि सरकारले राजधानी किन्शासासहित त्सोपो, हाउत–उले र बास–उले प्रान्तमा सामूहिक जमघटमा प्रतिबन्ध लगाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गृह मन्त्रालयले जारी गरेको परिपत्रमार्फत उक्त निर्णय कार्यान्वयनमा ल्याइएको हो ।

    आन्तरिक मामिलामन्त्री ज्याकमेन शाबानीले प्रभावित प्रान्तका गभर्नरलाई पठाएको पत्रमा इबोलाको सङ्क्रमणबाट उत्पन्न बढ्दो स्वास्थ्य जोखिमलाई दृष्टिगत गर्दै प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । प्रतिबन्धअन्तर्गत राजनीतिकसभा, सार्वजनिक प्रदर्शन, जुलुस तथा अन्य सामूहिक कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।

    राष्ट्रपति फेलिक्स शिसेकेदीले सोमबार राष्ट्रको स्वतन्त्रता दिवसका अवसरमा सम्बोधन गर्दै इबोला नियन्त्रणका लागि ३१९ मिलियन अमेरिकी डलर बराबरको विस्तृत कार्ययोजना तयार गरिएको जानकारी दिए । उनले प्रारम्भिक आपत्कालीन कोष परिचालन गरिसकिएको र त्यसबाट प्रभावित क्षेत्रमा नियन्त्रण अभियान सञ्चालन तथा जीवनरक्षा कार्यक्रमलाई सहयोग पुगिरहेको बताए ।


    राष्ट्रपति शिसेकेदीले इबोला कुनै अफवाह वा लाजमर्दो विषय नभई गम्भीर सार्वजनिक स्वास्थ्य सङ्कट भएको उल्लेख गर्दै स्वास्थ्यसम्बन्धी निर्देशन पालना गर्न, शङ्कास्पद बिरामीबारे तत्काल जानकारी दिन तथा भ्रमपूर्ण सूचनाको पछि नलाग्न नागरिकलाई आग्रह गरे । डीआरसीले गत मे महिनाको मध्यतिर हालको इबोला प्रकोप घोषणा गरेको थियो । त्यसयता स्वास्थ्य अधिकारीले समुदायस्तरमा भइरहेको सङ्क्रमण, जनसङ्ख्याको आवतजावत तथा केही प्रभावित क्षेत्रमा सीमित पहुँचका कारण नियन्त्रण अभियान चुनौतीपूर्ण बनेको बताएका छन् ।

  • सरकारी अस्पतालहरूको गुणस्तर अनुगमन तीव्र

    सरकारी अस्पतालहरूको गुणस्तर अनुगमन तीव्र

    काठमाडौं, असार १५ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तर सुधारको अवस्थाबारे अनुगमनलाई तीव्र बनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्वमा आज वीर अस्पताल, ट्रमा सेन्टर तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अस्पताल सुधार कार्यक्रमअन्तर्गत भएका प्रगतिको स्थलगत अनुगमन गरिएको हो।
    अनुगमनका क्रममा अस्पतालहरूले प्रदान गर्ने स्वास्थ्य सेवा, सेवाग्राही सहजीकरण, भीड व्यवस्थापन, सरसफाइ तथा समग्र व्यवस्थापकीय पक्षको मूल्याङ्कन गरिएको मन्त्रालयले जनाएको छ।

    अनुगमनका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सुलभ फार्मेसी प्रभावकारी रूपमा सञ्चालन भइरहेको पाइएको छ। मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत सेवाग्राहीले गुणस्तरीय औषधि सस्तो तथा सहज मूल्यमा प्राप्त गर्न सक्नेछन्।


    मन्त्री मेहताको निर्देशनअनुसार ट्रमा सेन्टरले सोमबारदेखि सुलभ फार्मेसी सञ्चालन गर्ने भएको छ भने वीर अस्पतालमा समेत यही हप्ताभित्र सञ्चालनमा ल्याइने भएको छ।
    यसैगरी, अस्पतालहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत निःशुल्क सेवा, भीड व्यवस्थापन, सरसफाइ तथा सेवाको प्रभावकारिताबारे समेत निरीक्षण गरी आवश्यक सुधार तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको छ। यसैक्रममा, वीर अस्पतालले केडी जोशी बर्न युनिटलाई थप स्तरीय बनाउन आवश्यक सुधारका कार्य अघि बढाएको छ। साथै, बर्न उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई आवश्यक तालिमसमेत प्रदान गरिरहेको पाइएको छ।

    यसैगरी, भीड व्यवस्थापनलाई थप प्रभावकारी बनाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा काउन्टरको संख्या ३ बाट ५ पुर्‍याइएको पाइएको छ। साथै, अस्पतालमा क्युआर ९त्तच्० प्रणालीमार्फत औषधिको उपलब्धताबारे सेवाग्राहीले सहज रूपमा जानकारी लिन सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। वीर अस्पताल र टेकुमा भने क्युआर प्रणालीमार्फत नै बिरामीले आफ्नो रिपोर्टसमेत निकाल्न सक्नेछन्।

    यसैगरी, सबै अस्पतालहरूले कर्मचारीको सेवा व्यवहार सुधारका लागि सबै अस्पतालहरूले सफ्ट स्किल तालिम सञ्चालन गरिरहेका छन्।
    मन्त्रालयले सरकारी अस्पतालहरूको सेवा गुणस्तर सुधार, सेवाग्राहीमैत्री वातावरण निर्माण तथा स्वास्थ्य सेवामा आम नागरिकको पहुँच थप प्रभावकारी बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

  • कागका कारण काठमाडौँमा बर्ड फ्लु फैलियो

    कागका कारण काठमाडौँमा बर्ड फ्लु फैलियो

    काठमाडौँ, १४ असारः कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा विभागले बताएको छ । विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए । “कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिदैन”, उनले भने, “सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको छ ।”

    महानिर्देशक डा दाहाल सङ्क्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ सार्ने गरेको बताउँछन् । कागमा देखिएको सङ्क्रमण २१ दिनसम्म रहने भएकाले धेरै नै बर्डफ्लु रोग सार्न सक्ने उनको भनाइ रहेको छ । “काग मरेपछि कहाँ मरेको भन्ने थाहा हुँदैन । अनि त्यही मरेको कागले बर्डफ्लु सार्ने गरेको छ । कागको सुलिले पनि धेरै नै बर्डफ्लु सार्ने गर्दछ” उनले भने ।


    हाल काठमाडौँ उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु देखिएको छ । उनका अनुसार अहिले देशभर ११ जिल्लाका १०० ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएको छ । महानिर्देशक डा दाहालले उपत्यकामा किर्तिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्डफ्लु नियन्त्रण लिइसकेको छ । बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको एक सङ्क्रामक रोग हो । उपत्यकामा कागमा बर्डफ्लु देखिएपछि विशेष सावधानी अपनाउन आग्रह गरिएको बताए ।


    विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउँमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा बर्डफ्लु रोग नियन्त्रण अभियान सञ्चालन गरिँदै आइएको छ ।

  • कङ्गोमा इबोलाविरुद्ध दुई औषधिको परीक्षण अर्को साता सुरु हुने

    कङ्गोमा इबोलाविरुद्ध दुई औषधिको परीक्षण अर्को साता सुरु हुने

    जेनेभा, ११ असार (रासस–एएफपी) । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला सङ्क्रमण नियन्त्रणका लागि दुई उपचारात्मक औषधिको परीक्षण अर्को साता सुरु हुने जनाएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले बुधबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा परीक्षणअन्तर्गत दुई एन्टिभाइरल औषधि एमबिपिसी¬–१३४ र रेमडेसिभिरको प्रभावकारिता मूल्याङ्कन गरिने जानकारी दिए ।


    उनका अनुसार हालको प्रकोपको कारण बनेको इबोलाको बुन्डिबुग्यो प्रजातिबाट सङ्क्रमित बिरामीमा यी औषधिले मृत्युदर घटाउन सहयोग पु¥याउन सक्छन् वा सक्दैनन् भन्ने विषयमा अध्ययन गरिनेछ । डब्लुएचओले दुवै औषधिको प्रयोग छुट्टाछुट्टै तथा संयुक्त रूपमा गरेर पनि परीक्षण गरिने जनाएको छ । हाल कङ्गोमा इबोला सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य अधिकारीले विभिन्न रोकथाम तथा उपचारात्मक उपाय लागू गरिरहेका छन् ।

  • एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

    एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

    काठमाडौँ, ९ असार । चरा तथा पन्छीहरूमा लाग्ने अतिसङ्क्रामक भाइरल रोग ‘बर्ड फ्लू’ अहिलेसम्म ११ जिल्लाका ८२ स्थानमा देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार गत चैत ४ गते मोरङ जिल्लामा देखिएको बर्ड फ्लू अहिलेसम्म ११ जिल्लाको ८२ ठाउँमा फैलिएको छ ।


    झापा, मोरङ, सुनसरी, महोत्तरी, वारा, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लू देखिएको छ । हालसम्म बर्ड फ्लूबाट प्रभावित भएका पाँच लाख ६९ हजार ८५८ पन्छी र सो क्रममा नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक लाख ९५ हजार ४८५ किलो दाना नष्ट गरिएको छ ।

    कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पन्छीको ओसारपसारमा रोक लगाएकोमा हाल रोग नियन्त्रण आएपछि सोलाई खुकुुलो बनाइएको डा दाहालले बताउनुभयो । पशु क्वारेन्टाइन कार्यालयमा बर्ड फ्लू रोग सर्न उच्च सतर्कतामा रही, गस्ती परिचालन गरी अवैध रूपमा पैठारी गरिएका शङ्कास्पद पन्छीहरू नष्ट गरिएको थियो । झापा, मोरग, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासीमा रोग नियन्त्रणमा आइसकेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेका केही स्थानमा बर्ड फ्लू रोगको प्रकोप देखिएको छ ।

    सावधानी अपनाउन आग्रह

    उपत्यकामा विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ । विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा बर्ड फ्लू रोग नियन्त्रण अभियान सञ्चालन गर्ने गरेको विभागमा महानिर्देशक डा दाहालले जानकारी दिए ।


    फार्म परिसरमा जैविक सुरक्षाको विधिहरू अपनाउने, अण्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउने, ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउन पर्ने भएका पुनः निसङ्क्रमण गरेर मात्र भित्र्याउनेजस्ता कार्य गर्नुपर्दछ । यस्तै कागलगायत जङ्गली पन्छीहरू घरपालुवा पन्छीको दाना लसपस हुन नदिने गरि थुनेर पन्छीपालन गर्नुपर्दछ । पन्छीको उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नुपर्दछ ।

  • दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    रासस
    जनकपुरधाम, ९ असारः नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको करिब आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर दलित बस्तीका स्थानीय अझै खुला स्थानमा शौच गर्न बाध्य छन् । सरकारको खुला दिसामुक्त अभियान र सरसफाइ क्षेत्रमा गरिएको लगानीका बाबजुद धनुषाको सहिदनगर नगरपालिका–५ स्थित पचहर्वा मुसहर बस्तीका अधिकांश परिवार खुला स्थानमा शौच गर्न बाध्य छन् ।

    सो बस्तीका उर्मिला सदाका लागि खुला स्थानमा शौच गर्नु दैनिक जीवनको बाध्यता बनेको छ । घरमा शौचालय नहुँदा उहाँ राति वा बिहान सबेरै अँध्यारोमा शौच गर्न खेततिर जान्छिन् । “खुला ठाउँमा शौच गर्दा लाज लाग्छ, कतिपय खेतधनीले गालीसमेत गर्छन्”, उनी भन्छिन्, “यो समस्या महिलाका लागि झन् जटिल बनेको छ ।”

    एक सयभन्दा बढी घरधुरी रहेको उक्त बस्तीमा तीन घरमा मात्र शौचालय रहेको छ । बाँकी परिवारले वर्षौंदेखि खेतबारी, बाँसघारी र खोल्साका किनारामा दिसापिसाब गर्दै आएका छन् । उक्त वडा २०७५ सालमै खुला दिसामुक्त घोषणा गरिएको थियो । तर दलित समुदायको यो बस्ती भने सरसफाइ सुविधाको पहुँचबाट टाढै रहेको छ ।

    स्थानीय शोभेन्द्र सदाका अनुसार बस्तीमा करिब ३७० जनाको बसोबास छ । वृद्धवृद्धा, महिला, पुरुष र बालबालिकासमेत खुला स्थानमै शौच गर्न बाध्य छन् । कतिपय परिवारसँग शौचालय निर्माणका लागि आवश्यक जग्गा छैन भने कतिपयले आर्थिक अभावका कारण निर्माण गर्न नसकेको स्थानीय परमदेवी सदाको भनाइ छ । केहीले भने सरकारी सहयोगको आशामा शौचालय निर्माण नगरेको उनी बताउँछिन् ।
    परमदेवीका अनुसार महिला राति पुरुष सुतेपछि वा बिहान उज्यालो हुनुअघि खेततिर जान बाध्य छन् । “खुला ठाउँमा बस्दा सर्प तथा विषालु किराको डर हुन्छ, कसैले देख्ला कि भन्ने चिन्ता पनि उत्तिकै हुन्छ”, उनी भन्छिन्, “वर्षायाममा खेत डुबान हुँदा समस्या अझ गम्भीर बन्ने गर्छ ।”

    उक्त बस्तीका अधिकांश परिवार सुकुमवासी छन् । उहाँहरूसँग न पर्याप्त जग्गा छ, न शौचालय निर्माण गर्न आवश्यक आर्थिक स्रोत नै । बसोबास गरिरहेको सानो घरबाहेक अन्य जमिन नभएकाले ती बस्तीका स्थानीय अरुको खेतबारीमा निर्भर हुनुपरेको छ । यसले सरसफाइ मात्र होइन, मानव मर्यादा र सुरक्षासँग सम्बन्धित प्रश्न उठाएको स्थानीय रामदयाल सदाको भनाइ छ ।

    रामदयालका अनुसार खुला दिसापिसावका कारण बस्ती वरपरको वातावरण फोहर बन्दै गएको छ । “शौचालय अभावका कारण झाडापखाला, आउँ, टाइफाइडलगायत रोगको जोखिम बढेको छ”, उनी भन्छन्, “सरसफाइको कमीले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गरेका छन् ।”

    हरवाचरवा अधिकार मञ्चका केन्द्रीय सचिव रामदयाल सदाका अनुसार सहिदनगर नगरपालिकामा मात्रै एक हजारभन्दा बढी परिवार शौचालयविहीन छन् । धनुषाको सबैला नगरपालिका, विदेह नगरपालिका, मिथिला विहारी नगरपालिका तथा क्षीरेश्वरनाथ नगरपालिकालगायत स्थानीय तहका विपन्न बस्तीमा अझै शौचालयको समस्या रहेको उनको भनाइ छ ।

    नेपाललाई २०७५ सालमा खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको थियो । त्यसबेला दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्र बनेको दाबी गरिएको थियो । तर पचहर्वा मुसहर बस्तीको यथार्थले घोषणाको प्रभावकारितामाथि प्रश्न उठाएको छ । सरसफाइ अभियानका नाममा अर्बौं रुपैयाँ खर्च भए पनि विपन्न, दलित र सुकुमवासी समुदायसम्म आधारभूत सुविधा पुग्न नसक्नु चुनौतीका रूपमा देखिएको सहिदनगर नगरपालिकाका स्थानीय युवा कमलेश यादव बताउँछन् । विपन्न दलित समुदायको आधारभूत सरसफाइको अधिकार सुनिश्चित नभएसम्म खुला दिसामुक्त राष्ट्रको उपलब्धि पूर्ण रूपमा सार्थक हुन नसक्ने उनको भनाइ छ ।

  • फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी

    फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी

    पेरिस, ८ असार (रासस–एएफपी) । युरोपका केही भागमा बढिरहेको भीषण गर्मीको सामना गर्न फ्रान्सले आइतबार आपतकालीन सेवा र सेनालाई जङ्गली आगो ९डढेलो० को खतरासम्बन्धी चेतावनी जारी गरेको छ । सार्वजनिक स्थलहरूमा रक्सी पिउन प्रतिबन्ध लगाएको छ र केही खुला आकाशमा खेलिने खेलकुद कार्यक्रमहरू रद्द गरेको छ । आइतबार फ्रान्सको करिब एक तिहाई भागमा राष्ट्रिय मौसम सेवाको ‘तापक्रम वृद्धिसम्बन्धी खतरा’ को चेतावनी जारी गरिएको छ । पूरै देशमा अत्यधिक गर्मी छ । केही क्षेत्रमा आइतबार तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । सोमबार अझ बढी गर्मी हुने अनुमान गरिएको छ ।

    जोखिम घटाउन राष्ट्रिय तथा स्थानीय अधिकारीहरूले विभिन्न उपायहरू अपनाएका छन् । भीडलाई चिसो राख्न एफेल टावर र पेरिसका अन्य स्थानहरूमा ‘मिस्टिङ स्टेसन’ ९चिसोको फोहोरा छोड्ने मेसिन० जडान गरिएको छ ।

    –चार वर्षमा दूई लाखभन्दा बढीको गर्मीजन्य समस्याबाट मृत्यु–

    विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ० को युरोप कार्यालयले पछिल्ला चार वर्षमा युरोपमा गर्मीसम्बन्धी कारणले दुई लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको छ । सङ्गठनले यीमध्ये धेरैजसो मृत्यु रोक्न सकिने थिए भनेको छ । यो गर्मीमा औसतभन्दा बढी तापक्रम रहने अपेक्षा छ, जसले गर्मीबाट अत्यधिक थकान र घातक ‘हीट स्ट्रोक’ (लू लाग्ने) हुन सक्छ ।

    –देशहरूलाई गर्मीबाट बच्न योजना लागू गर्न सुझाव–

    डब्ल्युएचओको युरोप कार्यालयले देश तथा संस्थाहरूलाई देशहरूलाई गर्मीबाट बच्न योजना (हिट प्लान) लागू गर्न आग्रह गरेको छ । कर्मचारीहरू दिउँसोको तीव्र घामबाट बच्न सकून् भनी शीतल क्षेत्रको निर्माण गरी कामको बीचबीचमा यसको उपयोग गराउने, आराम दिने वा लचकतापूर्ण कामको समय सुरु गर्ने व्यवस्थाको थालनी गर्न सुझाब दिएको छ ।

    आइतबार फ्रान्समा हुने वार्षिक ‘म्युजिक दिवस’ अधिकारीहरूका लागि विशेष चिन्ताको विषय बनेको छ । गर्मीको सबैभन्दा लामो दिन ९समर सोल्स्टिस० को अवसरमा आयोजित यो देशव्यापी उत्सवमा गाउँका चोक र पेरिसका क्लबहरूमा हजारौँ कन्सर्टहरू हुन्छन्। यसमा ठूलो सङ्ख्यामा विदेशी पर्यटकहरू पनि आउँछन्।

    –रक्सीमा नियन्त्रणको आदेश–

    सरकारले इमर्जेन्सी सेवाहरूमाथि दबाब कम होस् र चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति सबैभन्दा कमजोर व्यक्तिहरूको हेरचाहमा ध्यान केन्द्रित गर्न सकोस्।म्युजिक डे कार्यक्रमका आयोजकहरूलाई रक्सीको प्रयोग सीमित गर्न आदेश दिएको छ।

    अधिकारीहरूलाई विशेष रूपमा गर्मीमा सडकमा बसिरहेका मानिसकासाथै नर्सिङ होममा रहेका वा घरमा एक्लै बस्ने वृद्धहरूको। वर्ष २००३ मा आएको भीषण गर्मीमा करिब १५ हजार वृद्धहरूको मृत्यु भएको थियो, जुन फ्रान्सका लागि ठूलो पाठ बनेको थियो ।

    –डढेलो र परमाणु प्लान्टमा विशेष निगरानी–

    सरकारले शनिबार जङ्गलको आगोबाट बच्ने तयारीलाई थप मजबुत बनाउने घोषणा गरेको छ र फ्रान्सका धेरै परमाणु रियाक्टरहरूमा पानी आपूर्तिमा कडा निगरानी राख्न निर्देशन दिएको छ ।

    सरकारले विद्यालय बन्द गर्ने निर्णय अन्तिम विकल्पको रूपमा लिने बताएको छ । तर दिउँसो हुने वर्षको अन्तिम परीक्षाहरूलाई अर्को बिहानसम्म सारे वा समय परिवर्तन गर्न सकिनेछ ।

    प्रधानमन्त्री सेबेस्टियन लेकोर्नूले शनिबार गर्मी सङ्कटबारे सरकारी बैठक बोलाएका थिए । आइतबार अर्को बैठक गर्ने योजना बनाएका छन् । यो कदम राष्ट्रिय मौसम सेवाले गर्मीको ’व्यापक, लामो समयसम्म चल्ने र तीव्र’ चरणको चेतावनी दिएपछि उठाइएको हो । भविष्यमा लूको राम्रोसँग सामना गर्न फ्रान्सलाई तयार पार्ने योजना बनाउन र ‘आवश्यक परे एयर कन्डिसनिङको प्रयोग’ गर्न पनि लेकोर्नूले मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

  • बर्ड फ्लु’ सङ्क्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

    बर्ड फ्लु’ सङ्क्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

    काठमाडौँ, ६ असारः सदर चिडियाखाना जावलाखेलमा ‘बर्ड फ्लु’ (एच फाइभ एन वान) को सङ्क्रमण पुष्टि भएको विषय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि छानबिन हुने भएको छ ।

    कोषको अध्यक्ष एवं कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा कोषले साहलाई चिडियाखाना प्रमुखको पदबाट हटाएको छ । कोषले चिडियाखानामा फैलिएको बर्ड फ्लूका कारण पत्तालगायत प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजक्तमा तीन सदस्यसीय छानबिन समिति बनाएको हो ।

    समितिको सदस्यहरूमा कोषका प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभागका प्रमुख डा मधु क्षेत्री सदस्य छन् । दुवै जनालाई एक हप्ताभित्र छानबिन गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहमा संवेदनशील नभएको उल्लेख गर्दै कोषले प्रमुख साहलाई केन्द्रीय कार्यालयमा तानेको छ । साहलाई जिम्मेवारीबाट हटाइएकाले चिडियाखानाको निमित्त प्रमुखको जिम्मेवारी वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई दिइएको मन्त्रालयले जनाएको छ ।

    पशु सेवा विभागमा गरिएको नमूना परीक्षणबाट चिडियाखानाका जीवजन्तुमा बर्ड फ्लू पुष्टि भएको थियो । चिडियाखानामा करिब १० दिनअघि बाटै पन्छी र जनावर मरेका भए पनि यसबारे प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई साहले कुनै जानकारी नै दिएका थिएनन् । चराचुरुङ्गीहरू मर्ने क्रम नरोकिएपछि परीक्षण गर्दा बकुल्ला, लाटोकोसेरो, गिद्ध तथा जनावरतर्फ नीरबिरालो र चरीबाघमा समेत बर्ड फ्लू फेला परेको थियो ।

    रोग सङ्क्रमणका कारण वन्यजन्तुहरू मरेको धेरै दिन बितिसक्दा कुनै जानकारी नदिइएपछि साहलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइएको छ । पछिल्ला समयमा चिडियाखानामा भएका शृङ्खलाबद्ध घटना र बर्ड फ्लूजस्तो संवेदनशील विषयमा बेलैमा केन्द्रलाई ‘रिपोर्टिङ’ नगरेका कारण कोषले साहमाथि विभागीय कारबाही गर्दै अनुसन्धान अघि बढाएको हो ।

  • निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

    निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

    ६ असार, काठमाडौं । सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको हो । 

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा व्यावसायिक कार्य योजना पेस गर्न भनिएको छ । सूचनामा भनिएको छ ,निजामती कर्मचारी अस्पताल विकास समिति (गठन)आदेश, २०६४ को दफा ६ बमोजिम निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि सोही दफा ६ र निजामती कर्मचारी अस्पताल (कार्यकारी निर्देशकको नियुक्ति, काम, कर्तव्य, अधिकार र सेवा सुविधा) विनियमावली, २०७७ बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वेबसाइटमा राखिएको विस्तृत सूचनामा उल्लेख भएका विवरणहरू सहित यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी कल्याण शाखामा सिलबन्दी खामभित्र व्यावसायिक कार्य यो जना संलग्न गरी आवेदन दस्तुर बापत रु. ५,००० जम्मा गरेको सक्कल भौचर सहित आवेदन पेस गर्नुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।