Category: स्वास्थ्य

  • अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

    कञ्चनपुर, ५ असारः अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा १२ दिन बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार यही असार ८ गतेदेखि असार १९ गतेसम्म गर्मी तथा वर्षे बिदा एकमुष्ट मिलाएर विद्यालयमा बिदा दिने गर्ने निर्णय गरिएको हो ।

    उक्त बिदा विद्यालयको वार्षिक बिदा (लामो बिदा) बाट कट्टा हुनेछ। पछिल्ला दिनमा अत्यधिक गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउजाउ गर्न कठिनाइ हुन थालेपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत बमले जानकारी दिए । नगरपालिकाले मौसमको अवस्था सामान्य भएपछि पूर्वनिर्धारित तालिकाअनुसार विद्यालय सञ्चालन हुने जनाएको छ ।

  • जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो

    किन्सासा, ५ असार (रासस–सिन्ह्वा) । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोलाबाट सङ्क्रमितको सङ्ख्या ८०८ पुगेको छ भने १९२ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । इबोला भाइरस सङ्क्रमणको प्रकोपको स्थितिबारे जारी प्रतिवेदन नम्बर ३१ अनुसार आइतबार २६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र ११ जनाको मृत्यु भएको छ ।

    यसले सङ्क्रमणको मृत्यु दर २३.८ प्रतिशत पुर्याएको छ । आइतबारसम्म कुल ३६३ बिरामीहरू आइसोलेसनमा रहेका थिए भने ४८ बिरामीहरू प्रकोप सुरु भएदेखि निको भएका थिए । इटुरी, उत्तरी किभु र दक्षिण किभु गरी तीन प्रभावित प्रान्तमा यो इबोला नियन्त्रणको लागि अभियान जारी छ । बुन्डिबुग्यो इबोला भाइरसका कारण फैलिएको प्रकोप देशमा मे १५ मा आधिकारिक रूपमा घोषणा गरिएको थियो।

  • सरकारले स्वास्थ्य क्षेत्रलाई विगतभन्दा उच्च प्राथमिकतामा राखेको छः मन्त्री मेहता

    सरकारले स्वास्थ्य क्षेत्रलाई विगतभन्दा उच्च प्राथमिकतामा राखेको छः मन्त्री मेहता

    काठमाडौँ, ३ असारः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले वर्तमान सरकारले स्वास्थ्य क्षेत्रलाई विगतभन्दा उच्च प्राथमिकतामा राखेको बताएकी छिन् । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३\८४ को मन्त्रालयगत विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै आज मन्त्री मेहताले सरकार सुशासन, जवाफदेहिता र पारदर्शितालाई मुख्य सिद्धान्त मानेर स्वास्थ्य प्रणालीमा व्यापक सुधार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

    नेपाली जनस्वास्थ्यका ८० प्रतिशतभन्दा बढी समस्याहरु प्रदूषण, जथाभावी विषादीको प्रयोग र प्रति जैविकी प्रतिरोधजस्ता स्वास्थ्य मन्त्रालयका नियन्त्रण बाहिरका कारक तत्वबाट हुने गरेकाले स्वास्थ्य तथा त्यसबाहेकका अन्य निकाय पनि उत्तिकै जिम्मेवारी र प्रतिबद्धतासहित लाग्नुपर्ने मन्त्री मेहताको भनाइ थियो ।

    देशमा अहिले कुल १४ हजार ४७४ भाइरल रेबिज भ्याक्सिन मौज्दात रहेको जानकारी दिँदै मन्त्री मेहताले तत्कालको अभाव टार्न विश्व स्वास्थ्य सङ्गठनबाट आगामी साता चार हजार ५०० उक्त खोप सहायता प्राप्त हुने अन्तिम चरणमा पुगेको बताइन् । साथै केन्द्रीयस्तरको खरिद सम्पन्न हुनासाथ रेविजको औषधि आपूर्ति पूर्ण रूपमा सहज हुने मन्त्री मेहताले बताइन् । आगामी दिनमा यस्तो अभाव हुन नदिन सरकारले ‘बहुवर्षीय खरिद प्रक्रिया’ अघि बढाएको उनको भनाइ थियो ।

    क्यान्सरको औषधि अभाव हुन नदिइने

    जवाफका क्रममा मन्त्री मेहताले क्यान्सर रोगको उपचारमा प्रयोग हुने कार्बोप्ल्याटीन, किसप्लाटिन तथा ओक्ला प्लाटिनजस्ता अत्यावश्यक औषधिको बजार अभावप्रति मन्त्रालय गम्भीर रहेको बताइन् । विगत एक दशकदेखि मूल्य समायोजन नभएको र विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध आएकाले यो समस्या देखिएको उल्लेख गर्दै मन्त्री मेहताले यसको दीर्घकालीन समाधानका लागि सरकार लागिपरेको जानकारी दिइन् ।

    एक सय नौ स्थानीय तहमा अस्पताल निर्माण

    देशका ६५७ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य रहेकामा हालसम्म १०९ स्थानमा निर्माण सम्पन्न भइसकेको मन्त्री मेहताले सदनलाई जानकारी दिइन् । हाल ३३६ स्थानमा अस्पताल निर्माणको काम भइरहेको मन्त्री मेहताले बताइन् । संविधानतः आधारभूत स्वास्थ्य सेवा स्थानीय तहको एकल अधिकारभित्र पर्ने भए पनि कतिपय स्थानीय तहबाट गरिएको डायलाइसिस तथा सघन उपचार कक्षजस्ता विशिष्टीकृत सेवा सबै स्थानीय तहमा सम्भव नरहेको उनले स्पष्ट पारिन् ।

    जलन उपचारका लागि २० करोड

    जलन उपचारलाई मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री मेहताले आगामी आर्थिक वर्षमा ‘जलन कोष’ स्थापना एवं सञ्चालनका लागि रु २० करोड विनियोजन गरिएको जानकारी दिइन् । यसबाट जलनका बिरामीले निःशुल्क उपचार पाउने र कीर्तिपुरस्थित बर्न अस्पतालका लागि रु दुई करोड तथा वीर अस्पतालका लागि बजेटको व्यवस्था गरिएको उनले बताइन् ।


    हाल १४ सङ्घीय अस्पतालमा जलन उपचार युनिट स्थापना गरी स्वास्थ्यकर्मीलाई तालिम दिने काम तीव्र पारिएको र आगामी आर्थिक वर्षभित्रै जलनसम्बन्धी विधेयक सदनमा टेबल गरिने मन्त्री मेहताले प्रतिबद्धता व्यक्त गरिन् । यसैगरी, दुर्गम जिल्लामा विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउन मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गरेको र प्रविधिमैत्री स्वास्थ्य सेवाका लागि विभिन्न सफ्टवेयर तथा एप्लिकेसनको प्रयोग गरिने मन्त्री मेहताले उल्लेख गरिन् । स्वास्थ्य बिमासम्बन्धी समस्या समाधानका लागि मन्त्रालयले सुविधा थैली परिमार्जन, निजी स्वास्थ्य संस्थामा नियमित बिमा स्थगन, प्रभावकारी अनुगमन र प्रविधि व्यवस्थापनजस्ता अल्पकालीन उपाय अपनाउने उनले जानकारी दिइन् ।


    यस्तै स्वास्थ्य बिमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बिमाबाट अलग गर्ने र सबै क्षेत्रलाई अनिवार्य स्वास्थ्य बिमा गर्नेलगायत दीर्घकालिन सुधारका उपायहरू पैरवी गरिरहेको मन्त्री मेहताले सदनलाई जानकारी दिइन् । मन्त्री मेहताको जवाफपछि सांसदहरु ताहिर अली अन्सारी र हर्कराज राईले पूरक प्रश्न रेका थिए । त्यसकोसमेत जवाफ दिँदै मन्त्री मेहताले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाता ऐन आएपछि अस्पतालको प्राज्ञिक स्तरोन्नति हुने, मन्त्रालयले जनचेतनाको काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामार्फत गरिएको र प्रदेश तथा जिल्ला र स्थानीय तहको क्षेत्राधिकार भित्रका अस्पतालमा मन्त्रालयले सोझै बजेट नराखे पनि सहजीकरण गरिदिने बताइन् ।


    यसका साथै वैदेशिक रोजगारीमा गएकाको मिर्गौलासम्बन्धी समस्या पानी नखाने आदि भएकाले जनचेतना जगाउन विशेष पहल गरिने र डायलाइसिस गर्नुपर्ने बिरामीलाई पुग्नेगरी डाइलाइजर मेसिन ल्याउने प्रयासमा सरकार लागि परेको मन्त्री मेहताले बताइन् । यस्तै, उपचार शुल्कको समानताका लागि सबै अस्पतालको वर्गिकरण गरी शुल्क निर्धारण गर्ने प्रयोजनका लागि अध्ययन सुरु भएको मन्त्री मेहताले सदनलाई जानकारी गराइन् ।

  • विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

    काठमाडौँ, ३१ जेठः आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क तथा स्वेच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायम छ । डब्लुएचओले सङ्कलन गरेको १३२ देशको तथ्याङ्कअनुसार सन् २०१३ देखि २०२३ सम्म विश्वभर रगत सङ्कलन करिब १९ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा प्राप्त अनुमानित १२ करोड रक्तदानमध्ये ८५ प्रतिशतभन्दा बढी योगदान स्वेच्छिक तथा निःशुल्क रक्तदाताबाट आएको छ ।

    सुरक्षित रगत तथा रगतजन्य पदार्थमा पहुँच विश्वका सबै क्षेत्रमा समान छैन । विशेषगरी कम आय भएका मुलुकमा प्रसूतिको समयमा अत्यधिक रक्तस्राव भएका महिला, गम्भीर रक्तअल्पताबाट पीडित बालबालिका, दुर्घटना तथा आगलागीका घाइते, शल्यक्रिया गराइरहेका बिरामी तथा ‘थालासेमिया, हेमोफिलिया,’ रोग प्रतिरोधात्मक कमजोरी र केही प्रकारका क्यान्सरबाट प्रभावित बिरामीले आवश्यक रगत समयमै प्राप्त गर्न कठिनाइ भोगिरहेका छन् ।

    डब्ल्युएचओका महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयससले सुरक्षित रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपर्ने बताएका छन् । विश्व रक्तदाता दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले स्वेच्छिक तथा निःशुल्क रक्तदाताको बढ्दो सहभागिताले उत्साहजनक प्रगति देखाएको भए पनि व्यक्तिले बसोबास गर्ने स्थानले अझै आवश्यक रक्तसञ्चार सेवा प्राप्त हुने वा नहुने अवस्था निर्धारण गरिरहेको उल्लेख गरेका छन् । उनले सरकारहरूलाई दिगो राष्ट्रिय रक्त प्रणाली निर्माण तथा स्वेच्छिक रक्तदातालाई प्रोत्साहन गर्न लगानी बढाउन आग्रह गरेका छन् ।
    डब्ल्युएचओका अनुसार विश्वको कुल जनसङ्ख्याको केवल १५ प्रतिशत हिस्सा ओगटेका उच्च आय भएका देशहरूले विश्वभर सङ्लित कुल रक्तदानको ३६ प्रतिशत सङ्कलन गर्छन् । यसको विपरीत, सीमित वित्तीय स्रोत, कमजोर पूर्वाधार, ढुवानी तथा व्यवस्थापनसम्बन्धी चुनौती र पर्याप्त रक्तदाता अभावका कारण धेरै कम आय भएका देशहरूमा रगतको आपूर्ति अपुग हुने समस्या कायम छ ।

    देशअनुसार रक्तदान दरमा पनि ठूलो भिन्नता देखिएको छ । केही देशमा प्रति एक हजार जनसङ्ख्यामा शून्य दशमलब चार पटक मात्र रक्तदान हुने गरेको छ भने केही देशमा यो दर ५३ सम्म पुगेको छ । चौबिस देशले प्रति एक हजार जनसङ्ख्यामा पाँचभन्दा कम रक्तदान सङ्कलन गरेको डब्ल्युएचओले जनाएको छ ।

    रक्त प्रणालीको सुशासन, नियमन र वित्तीय व्यवस्थापनमा समेत कमजोरी देखिएको, विश्वका करिब एकतिहाइ देशमा रगत तथा रगतजन्य पदार्थको सुरक्षा र गुणस्तर सुनिश्चित गर्ने स्पष्ट कानुनी व्यवस्था नभएको तथा केवल ६४ प्रतिशत देशमा रक्त सेवाको नियमित अनुगमन प्रणाली रहेको, ६२ प्रतिशतमा अनुमतिपत्र प्रणाली लागू भएको र ४० प्रतिशत देशमा मात्र केही रक्तसञ्चार सेवालाई मान्यता दिइएको छ ।

    डब्ल्युएचओका अनुसार सातमध्ये एकभन्दा बढी देशमा रक्त सेवाका लागि छुट्टै सरकारी बजेट वा लागत व्यवस्थापनको प्रणाली नरहेको पाइएको छ, जसले दीर्घकालीन रक्त आपूर्तिको स्थायित्वप्रति चिन्ता बढाएको छ । प्रत्येक रक्तदानले बिरामीको जीवन बचाउनुका साथै समुदायलाई सुदृढ बनाउने र स्वास्थ्य प्रणालीलाई थप सबल बनाउन योगदान पु¥याउने छ ।

    डब्ल्युएचओले सबै देशलाई रक्त सेवाको सुशासन र नियमन सुदृढ गर्न, दिगो वित्तीय स्रोत सुनिश्चित गर्न, गुणस्तर प्रत्याभूति कार्यक्रम विस्तार गर्न, सुरक्षित रक्तसञ्चार अभ्यास प्रवद्र्धन गर्न तथा तथ्यमा आधारित निर्णयका लागि निगरानी र सूचना प्रणाली सुदृढ बनाउन आह्वान पनि गरेको छ ।

  • सडकबाट उद्धार गरिएकामध्ये ४० प्रतिशतको परिवारसँग पुनर्मिलन

    सडकबाट उद्धार गरिएकामध्ये ४० प्रतिशतको परिवारसँग पुनर्मिलन

    काठमाडौँ, २९ जेठः उद्धार गरिएकामध्ये सडक सहयोगापेक्षी मानव ४० प्रतिशतलाई मात्रै परिवारसँग पुनर्मिलन गराउन सकिने बताइएको छ । मानव सेवा आश्रम उपत्यका इन्चार्ज कृष्ण पौडेलका अनुसार सडक आश्रित मानव अहिले परिवार भएर पनि विभिन्न बहाना वा समस्याका कारण सडकमा आउने गरेका छन् । उनीहरू परिवारसँग त्यति सजिलै जान मान्दैनन् । पटकपटकको प्रयासपछि बढीमा ४० प्रतिशतलाई परिवारसँग पुनर्मिलन गराउन सकिन्छ ।

    उद्धार गरीएकामध्ये बढीभन्दा बढीलाई परिवारसँग मिलन गराउने आश्रको दायित्व र उद्देश्य हो, त्यसका लागि अहिले सडक सहयोगापेक्षीहरूको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । हाल काठमाडौँ उपत्यकामा दुईवटा होल्डिङ सेन्टर सञ्चालनमा रहेको छ ।

    कामपा, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले गत वैशाख २३ गतेदेखि संयुक्त रूपमा वडा नं ८ तिलगङ्गामा सञ्चालन गरिएको सेन्टरमा पहिलो २८ जनालाई सेन्टरमा राखेर पहिचान गरिएको थियो । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सेन्टरमा पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन र सहयोगापेक्षीका अपेक्षाका विषयमा जानकारी लिँदै उनले भने, “हामी काठमाडौँलाई सहयोगापेक्षी मुक्त बनाउन नेतृत्व गरिरहेका छौँ । सहरमा काम गर्न सक्ने व्यक्तिले श्रम गरेर खाने, श्रम बजारमा जान नसक्ने र दायित्व लिने कोही नभएकाको मानवोचित बसोबासका लागि कामपाले व्यवस्था मिलाउनेछ । यो कामलाई सफल बनाउन व्यक्ति परिवार, साझेदार सबैको समन्वय आवश्यक छ । मिलेर काम गरौँ ।”

    “पारिवारिक पुनर्मिलन पहिलो लक्ष्य हो, असहाय र बेवारिसेलाई मात्र आश्रममा राख्ने हो”, उनले उद्धार गरिएकाहरूसँग कुरा गर्दै, पारिवारिक अवस्था, सडकमा आउनुपर्नाको कारण, शारीरिक अवस्था, परिवार र सरकारसँगका अपेक्षालगायत विषयमा जानकारी लिएका थिए । खानपान र बसोबास व्यवस्थाको कुरा गर्दै उनले बिरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशनसमेत दिए ।


    उक्त दिन उद्धार गरिएकामध्ये चार जनामा मानसिक समस्या छ । एक ज्येष्ठ नागरिकलाई कुकुरले टोकेर घाइते बनाएको छ । उद्धारबाट ह्वीलचेयर प्रयोगकर्ता र वैशाखी प्रयोगकर्तालाई समेत सेन्टरमा ल्याइएको मानव सेवा आश्रमका इन्चार्ज पौडेलले जानकारी दिए । उद्धार भएका छ जना महिला र बाँकी सबै पुरुष छन् ।ठेगाना हेर्दा सोलुखुम्बु, सर्लाही, मकवानपुर, साँखु, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत, दोलखासहित स्थानका व्यक्ति छन् ।

  • स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

    स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

    काठमाडौँ, २८ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधिको सहज उपलब्धता गराउन सहजीकरण गरेको छ । औषधि व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने ‘कार्बोप्लाटिन’ औषधिको बिरामीलाई सहज उपलब्धता गराउन सजीकरण गरेको हो । विभागमा सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सर अस्पतालमा ‘कार्बोप्लाटिन’ औषधिको सहज उपलब्धताका लागि सहजिकरण गर्न सम्पर्क व्यक्ति तोकिएको जानकारी दिए ।

    उनले विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारणले क्यान्सर उपचारमा प्रयोग हुने औषधि अभाव देखिएपछि सहजीकरण गरिएको बताए । उनका अनुसार जानकी अस्पताल नेपालगञ्ज, पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोड, विराट मेडिकल कलेज विराटनगर, वविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्रालि भरतपुर, मल्ल फर्मास्युटिकल्स पोखरा, ताज नेपाल प्रालि काठमाडौँ, डिकेएम फर्मास्युटिकल्स प्रालि काठमाडौँ, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौँलाई औषधि सहजताका लागि सम्पर्क गर्न तोकिएको छ ।

    “बजारमा अहिले ‘कार्बोप्लाटिन’ औषधि नियमित उपलब्धता सुनिश्चिता गर्न र आवश्यक समन्वय गर्न सम्पर्क संस्था ताकिएको छ”, उनले भने, “जसले गर्दा बिरामीलाई औषधि उपलब्धता सहज हुन्छ ।” भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा क्यान्सर रोगको किमोथेरापीमा उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको हो ।

    नेपाल औषधि आपूर्तिकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले विभागसँगको समन्वयमा अभाव भएको क्यान्सरको औषधि बिरामीलाई उपलब्ध गराइने बताए । “अन्तरराष्ट्रय रुपमा ती औषधिको मूल्य बढेकाले नेपालमा पहिलेकै मूल्यमा औषधि बिक्री गर्न नसकिएकाले अहिले निर्यातमा समस्या देखिएको हो”, उनले भने, “तर बिरामी उपचारमा ध्यान दिएर हामीले सहज उपलब्ध गराउन अस्पताल र फार्मेसी तोकेका छौँ ।” उहाँले औषधिको मूल्य समायोजन हुनसाथ औषधि नेपालमा आयात गर्ने बताए ।

  • कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    बुनिया (कङ्गो), २७ जेठ (रासस–एपी) । पूर्वी कङ्गोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक महिनाभन्दा कम समयमा कम्तीमा १०० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । पछिल्लो तथ्याङ्कले सङ्क्रमण तीव्र रूपमा फैलिरहेको सङ्केत गरे पनि वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने आशङ्का गरिएको छ । स्थानीय स्वास्थ्य निकायका अनुसार आइतबारसम्म ५५० जना सङ्क्रमित पुष्टि भएका छन् । तीमध्ये १०१ जनाको मृत्यु भइसकेको र १९ जना निको भएका छन् । यो विवरण सोमबार सार्वजनिक पछिल्लो अवस्था प्रतिवेदनमा उल्लेख गरिएको हो ।

    यसअघि प्रकोप घोषणा भएको केही हप्तामै सङ्क्रमण फैलिन थाले पनि औपचारिक पुष्टि ढिलो भएको अधिकारीहरूको भनाइ छ । त्यही कारण रोग नियन्त्रण र रोकथामका प्रयासहरू थप जटिल बनेका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाबाट आक्रोशित प्रतिक्रिया, स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना तथा सशस्त्र समूहको सक्रियताले नियन्त्रण अभियानलाई गम्भीर चुनौती दिएको छ । धेरै क्षेत्रमा विश्वासको कमीका कारण परीक्षण, उपचार र सम्पर्क ट्रेसिङ कार्य प्रभावित भएको छ ।

    विशेषज्ञहरूले सङ्क्रमणको वास्तविक सङ्ख्या आधिकारिक तथ्याङ्कभन्दा धेरै बढी हुन सक्ने चेतावनी दिएका छन् । प्रभावित क्षेत्रमा समयमै पहिचान नहुनु र सुरक्षा अवस्थाका कारण स्वास्थ्य सेवा पहुँच सीमित भएकाले अवस्था नियन्त्रणबाहिर जान सक्ने जोखिम बढेको बताइएको छ । यो पछिल्लो प्रकोप दुर्लभ बुन्डिबुग्यो प्रकारको इबोला भाइरसका कारण भएको हो । यो प्रकारको भाइरस कङ्गोमा पहिले देखिने जाइर प्रकारभन्दा फरक हो । जाइर प्रकारका लागि खोप र उपचार उपलब्ध रहेको छ ।

    तर बुन्डिबुग्यो प्रकारका लागि हालसम्म कुनै स्वीकृत खोप वा विशेष उपचार उपलब्ध नभएकाले रोकथाम र नियन्त्रण कार्य अझै कठिन बनेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ । विश्लेषकहरूका अनुसार लामो समयदेखि सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य पूर्वाधार र जनविश्वासको कमीका कारण कङ्गोमा इबोला नियन्त्रण अभियान पटक–पटक चुनौतीमा पर्ने गरेको छ । यसपटक पनि त्यही अवस्थाले महामारी नियन्त्रण प्रयासलाई गम्भीर रूपमा प्रभावित गरेको देखिएको छ ।

  • युद्धपीडित गाजामा शौचालयको अभाव, पालभित्रै शौच गर्न बाध्य परिवार

    युद्धपीडित गाजामा शौचालयको अभाव, पालभित्रै शौच गर्न बाध्य परिवार

    गाजा, २६ जेठ (रासस–एपी) । इजरायल–हमास युद्धका कारण घरबारविहीन बनेका गाजाका लाखौं प्यालेस्टिनीहरू अहिले विशाल पाल शिविरहरूमा अत्यन्त कठिन र अस्वस्थकर अवस्थामा जीवन बिताउन बाध्य छन् । विशेषगरी उचित शौचालयको अभावले स्वास्थ्य, सरसफाइ र मानवीय मर्यादामाथि गम्भीर असर पारेको छ । दक्षिणी गाजाको खान युनिस क्षेत्रमा बस्ने ३८ वर्षीय मुस्तफा शाबानले आफ्नो परिवारका लागि पालभित्रै अस्थायी शौचालय निर्माण गरेका छन् ।

    उनले बालुवायुक्त जमिनमा खाल्डो खनेर वरिपरि सिमेन्ट हालेर एउटा प्वालयुक्त संरचना बनाएका छन् । त्यसमाथि पुरानो प्लास्टिकको शौचालय सिट राखिएको छ । यो शौचालय परिवार सुत्ने, खाना पकाउने र बस्ने स्थानबाट केही कदमको दूरीमै छ । दुर्गन्ध, झिंगा र लामखुट्टेको समस्या निरन्तर रहे पनि सार्वजनिक शौचालय प्रयोग गर्नुभन्दा यही विकल्प रोज्नुपरेको शाबान बताउँछन् । प्रत्येक हप्ता उनले आफैंले शौचालयको फोहोर निकालेर व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।


    उनका अनुसार सार्वजनिक शौचालयमा जानु विशेषगरी महिला र बालबालिकाका लागि अपमानजनक र असुरक्षित छ । त्यसैले कठिनाइ हुँदाहुँदै पनि परिवारका लागि निजी शौचालय बनाइएको हो । युद्धले गाजाका करिब १७ लाख नागरिकलाई विस्थापित बनाएको छ । तीमध्ये अधिकांश मानिस अस्थायी पाल शिविरहरूमा बसिरहेका छन्, जहाँ व्यवस्थित शौचालय, ढल निकास र सरसफाइका आधारभूत सुविधा लगभग छैनन् । धेरै परिवारले आफैं खाल्डो खनेर शौचालय बनाएका छन् भने कतिपयले एउटै शौचालय धेरै परिवारबीच साझा गर्नुपरेको छ ।


    सार्वजनिक शौचालयहरूमा बिहानदेखि बेलुकासम्म लामो लाइन लाग्ने गरेको छ । पुरुष, महिला र बालबालिका सबैले पालो कुर्नुपर्छ । सामान्य कपडा वा पातलो टिनको पर्खालले मात्र छेकिएका यी शौचालयहरूमा गोपनीयता अत्यन्त कम छ । विशेषगरी महिलाहरू रातिको समयमा शौचालय जान डराउने गरेका छन्, किनभने शिविरहरूमा पर्याप्त सुरक्षा र बत्तीको व्यवस्था छैन ।


    सरसफाइको अभावले संक्रामक रोग फैलिने जोखिम पनि बढाएको छ । फोहोर पानी, खुला ढल र अस्थायी शौचालयका कारण बालबालिका तथा वृद्धहरू विशेष जोखिममा रहेको मानवीय सहायता संस्थाहरूले चेतावनी दिएका छन् । लगातारको युद्ध, पूर्वाधारको विनाश र मानवीय सहायता सामग्रीको सीमित पहुँचका कारण गाजाका लाखौं नागरिक अझै पनि आधारभूत मानव आवश्यकताबाट वञ्चित छन् । शौचालयजस्तो सामान्य सुविधा समेत दुर्लभ बनेको अवस्थामा विस्थापित परिवारहरू दैनिक जीवनका न्यूनतम आवश्यकताका लागि संघर्ष गरिरहेका छन् ।

  • इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना

    इबोला नियन्त्रणका लागि ५१ करोड ८० लाख डलर योजना

    नयाँदिल्ली, २६ जेठ (रासस–एएनआई) । कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा फैलिएको इबोला प्रकोप नियन्त्रण र तयारी क्षमता बलियो बनाउन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ५१ करोड ८० लाख अमेरिकी डलरको व्यापक क्षेत्रीय योजना सार्वजनिक गरेको छ । योजना २०२६ जुनदेखि नोभेम्बरसम्म लागू हुने गरी तयार गरिएको हो ।

    डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले इबोला नियन्त्रण केवल चिकित्सा प्रतिक्रिया मात्र नभई राजनीतिक प्रतिबद्धता, दीगो वित्तपोषण र समुदायको सक्रिय सहभागितामा निर्भर रहने स्पष्ट पारेका छन् । उनका अनुसार अफ्रिका सीडीसी र डब्लुएचओले साझेदार संस्थाहरूसँग मिलेर तयार पारेको यो योजना महामारी रोकथाम, शीघ्र पहिचान र उपचार क्षमतामा केन्द्रित छ ।

    उनले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको सन्देशमा इबोला नियन्त्रणका लागि स्थानीय समुदायसँग विश्वास निर्माण, अग्रपङ्क्तिका स्वास्थ्यकर्मीको परिचालन र सङ्क्रमण रोकथामका उपायहरूलाई सुदृढ पार्नुपर्ने आवश्यकता औँल्याए । साथै, सङ्क्रमित व्यक्तिलाई समयमै उपचारमा ल्याउन सके मृत्युदर घटाउन सकिने उनले उल्लेख गरे ।


    टेड्रोसले डीआरसीका राष्ट्रपति फेलिक्स त्सेसेकेडीसँग हालै बुन्डिबुग्यो क्षेत्रमा देखिएको इबोला प्रकोपबारे विस्तृत छलफल भएको जानकारी पनि दिए । उक्त छलफलमा उपचार सेवा विस्तार, निदान क्षमता वृद्धि र स्वास्थ्य संरचनाको सुधारबारे प्रगति समीक्षा गरिएको थियो । उनका अनुसार केही बिरामी पहिले नै उपचारपछि निको भएर घर फर्किएका छन् । यसले प्रारम्भिक उपचार प्रभावकारी हुने सङ्केत दिएको छ । उनले महामारी नियन्त्रणसँगै अन्य स्वास्थ्य तथा मानवीय सेवाहरूलाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।


    डब्लुएचओ प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई समन्वित सहयोग गर्न आग्रह गर्दै यात्रा वा व्यापारमा अनावश्यक प्रतिबन्धले राहत तथा उपचार प्रयासमा बाधा पु¥याउन सक्ने चेतावनी पनि दिए । इबोला एक गम्भीर भाइरल रक्तस्रावी ज्वरो हो । यो विशेषगरी बुन्डिबुग्यो स्ट्रेनबाट फैलिन सक्छ र उच्च मृत्युदरका कारण जोखिमपूर्ण मानिन्छ । हालसम्म यस स्ट्रेनविरुद्ध पूर्ण रूपमा स्वीकृत खोप वा विशेष उपचार उपलब्ध छैन ।

  • बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन

    बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन

    कीर्तिपुर (काठमाडौँ), २६ जेठः सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र अन्यत्र फैलिन नदिन आकस्मिक कार्य सुरु गरेको छ । पशुसेवा विभागका महानिर्देशक डा उमेश दाहालले रोग पुष्टि भएका १० जिल्लामा ७२ फार्मका करिब पाँच लाख १५ हजार पन्छी नष्ट गरिएको जानकारी दिए । सबैभन्दा बढी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा बढी प्रभावित देखिएका छन् ।

    सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ ले सात लाख अण्डा र एक सय ८३ टन दाना पनि नष्ट गरेको उनले बताए । दाहालका अनुसार केही सातअघि झापा, मोरङ, सुनसरी जिल्लामा देखिएको बर्डफ्लुपछि महोत्तरी, बारा, चितवन हुँदैपछि काठमाडाँै, भक्तपुर, ललितपुर र पछिल्लो समय नवलपरासी जिल्लामा बर्डफ्लु फैलिएको छ ।

    “यसको उपचार नै छैन । एकमात्र उपाय रोग देखिनासाथ जतिसक्दो छिटो नियन्त्रण गरेर फैलन नदिनु हो । त्यसैले पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन । त्यसैले रोग नियन्त्रणका लागि पशु चिकित्सक र पशु स्वास्थ्यकर्मी अहोरात्र खटिएका छन्”, उनले भने ।

    पछिल्लो समय काठमाडौँ उपत्यका बर्डफ्लुुको जोखिममा छ । चितवन र मुलुकका अन्य भागमा भने करिब करिब रोग नियन्त्रणमा आइसकेको पौडेलले जानकारी दिए । थप सङ्क्रमण नहोस् भन्नका लागि प्रभावित क्षेत्रको सम्पूर्ण पन्छीजन्य उत्पादन नष्ट भएको करिब दुईमहिना पछि मात्रै व्यवसाय पुनः सुरु गर्न पाउने व्यवस्था रहेको पनि उनले जानकारी दिए ।
    किसानलाई राहत

    बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ अनुसार यसरी पन्छीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको ७५ प्रतिशत राहत दिने व्यवस्था गरिएको छ । लागत मूल्य जिल्लाअनुसार फरक पर्नसक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारीलगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको महानिर्देशक दाहालले बताए ।

  • फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता

    फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता

    मनिला, २६ जेठ (रासस–एएफपी) । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् । राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार कम्तीमा एक दर्जन व्यक्ति अझै हराइरहेका छन् भने १३४ जना घाइते भएका छन् ।


    करिब सात लाख २० हजार जनसङ्ख्या रहेको जनरल सान्तोसको दक्षिणमा गएको भूकम्पले कम्तीमा नौ जनाको ज्यान लिएपछि फिलिपिन्सका अधिकारीहरूले प्रभावित तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान आग्रह गरेका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० का अनुसार भूकम्प गएको करिब दुई घण्टापछि ६.५ म्याग्निच्युडको शक्तिशाली पराकम्प गएको थियो ।

    जनरल सान्तोसमा एएफपीका एक पत्रकारले सोमबार दिउँसो उद्धारकर्मीहरूले ग्राहकहरूको भीडभाड भइरहने एक लोकप्रिय किराना पसल भत्किँदा भग्नावशेषमा पुरिएका भनिएका दुई कर्मचारीको मृत शरीरलाई निकाल्ने प्रयास गरिरहेका देखेको बताए । अति प्रभावित सारङ्गानी प्रान्तका विपद् प्रमुख रेने पुन्जालानले एएफपीलाई बताएअनुसार ग्लान नगरपालिकामा मात्रै पहाडको फेदमा पहिरोले घर पुरिँदा १४ जनाको मृत्यु भएको छ ।

    “भूकम्पलगत्तै पहिरो खसेको थियो, धेरै मानिसको ज्यान गइसकेको छ”, उनले भने, “केही क्षेत्रमा मानवीय क्षति भए÷नभएको विवरण आउन बाँकी छ ।”
    “सबैभन्दा ठूलो चुनौती भनेको सञ्चार हो। बिजुली काटिएको छ, त्यसैले घटनाबाट थप अपडेटहरू प्राप्त गर्न गाह्रो छ,” पुन्जालानले भने । “हामी पराकम्पबाट हुनसक्ने थप क्षतिप्रति चिन्तित छौँ”, उनले भने, “हामी बासिन्दाहरू त्रासबीच सहयोगको पर्खाईमा रहेको महसुस गर्न सक्छौँ।”

    सामाजिक सञ्जालमा पोस्ट गरिएको र एएफपीले प्रमाणित गरेको भिडियोमा जनरल सान्टोस सिटीमा जोलिबी फास्ट फूड रेष्टुरेन्ट भएको सपिङ सेन्टर भग्नावशेषमा परिणत भएको देखिएको छ भने विद्यालयको एउटा भवन भत्किएर अर्को भवनमाथि परेको देख्न सकिन्छ । एएफपीले प्राप्त गरेको अर्को भिडियोमा भूकम्पले उनीहरूलाई यताउता पछाडि पछाडि हल्लाउँदै गर्दा साना स्कुले बालबालिकाहरू शिक्षकको काखमा चिच्याएको देख्न सकिन्छ ।

    स्कूलको आधिकारिक फेसबुक पेजमा अपलोड गरिएको भिडियोको अन्त्यमा विद्यालय परिसरको पृष्ठभूमिमा एक कमजोर धातुको संरचना भत्किएको देखिएको थियो तर त्यसमा कोही नपरेको बताइएको छ। सारङ्गानी प्रकोप प्रमुख पुन्जालानले एएफपीलाई बताए । “बिहानको सुनामीको चेतावनीका कारण दुई हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ र उनीहरू आफ्नो घर फर्कन सूचनाको पर्खाइमा छन् ।”

    “अधिकारीहरू अझै उनीहरूलाई घर पठाउन ठीक हुन्छ कि हुँदैन भनी स्थितिको आँकलन गरिरहेका छन्,” उनले भने । प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले जारी गरेको सूचनामा फिलिपिन्स, इन्डोनेसिया, पलाउ, ताइवान र पपुवा न्युगिनीको तटीय क्षेत्रमा सुनामीको लहर आउने सम्भावना रहेको उल्लेख गरिएको थियो ।

  • अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित

    अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित

    किन्सासा, २४ जेठ (रासस–एएफपी) । अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारीले गम्भीर रूप लिँदै गएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको पछिल्लो विश्लेषणअनुसार संक्रमित व्यक्तिहरूलाई समयमै पहिचान गरी अलग राख्ने कार्य प्रभावकारी हुन नसकेमा आगामी तीन महिनाभित्र सङ्क्रमितको संख्या २० हजारभन्दा बढी पुग्न सक्ने जोखिम रहेको छ । केन्द्रका अनुसार हालको कमजोर नियन्त्रण अवस्थालाई निरन्तरता दिइएमा संक्रमित संख्या २० हजार नाघ्ने सम्भावना ६५ प्रतिशतसम्म रहेको छ ।

    विशेषज्ञहरूले इबोला सङ्क्रमितलाई छिटो पहिचान गरी उपचार केन्द्रमा अलग राख्नु महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन् । तर प्रभावित क्षेत्रहरूमा स्वास्थ्य सेवाको पहुँच सीमित हुनु, जनशक्तिको अभाव तथा असुरक्षाका कारण संक्रमितहरूको वास्तविक संख्या यकिन गर्न कठिन भइरहेको छ । इबोला नियन्त्रण अभियानमा संलग्न वरिष्ठ अधिकारी सतीश पिल्लईले संक्रमणको वास्तविक अवस्था अझै पूर्ण रूपमा स्पष्ट नभएको बताए ।

    उनका अनुसार उपचार र अलग राख्नुपर्ने संक्रमितहरूको सङ्ख्या अनुमानभन्दा बढी हुन सक्ने संकेतहरू देखिएका छन् । स्थलको अवस्थाले हाल संक्रमितहरूलाई अलग राख्ने कार्य पर्याप्त प्रभावकारी नभएको देखाएको उनले उल्लेख गरे ।
    यसैबीच, विश्व स्वास्थ्य संगठन र अफ्रिकी संघको सार्वजनिक स्वास्थ्य निकायले कंगो तथा छिमेकी मुलुकहरूमा फैलिएको इबोला महामारी नियन्त्रण गर्न आगामी छ महिनाका लागि ५१ करोड ८० लाख अमेरिकी डलर आवश्यक पर्ने जनाएको छ । उक्त रकम उपचार, निगरानी, खोप अभियान, जनचेतना अभिवृद्धि तथा सीमा क्षेत्रमा स्वास्थ्य सुरक्षा सुदृढीकरणका लागि खर्च गरिने बताइएको छ ।

    यो महामारी गत मे १५ मा कङ्गोको उत्तरपूर्वी क्षेत्रमा औपचारिक रूपमा घोषणा गरिएको थियो । यद्यपि दुर्लभ बन्डिबुग्यो प्रजातिको इबोला भाइरस घोषणा हुनुभन्दा केही समयअघिदेखि नै समुदायमा फैलिइरहेको स्वास्थ्य अधिकारीहरूको अनुमान छ । पछिल्लो तथ्यांकअनुसार कङ्गोमा हालसम्म ३८१ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ६४ जनाको मृत्यु भइसकेको छ । संक्रमण विशेषगरी तीन प्रान्तमा फैलिएको छ, जसमध्ये इटुरी प्रान्त सबैभन्दा बढी प्रभावित बनेको छ । कुल संक्रमितमध्ये करिब ९० प्रतिशत र मृत्यु भएका व्यक्तिमध्ये ७६ प्रतिशत इटुरी प्रान्तकै रहेका छन् ।

    छिमेकी मुलुक युगान्डामा पनि संक्रमण फैलिन थालेको छ । त्यहाँ हालसम्म १६ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । यद्यपि उपचारपछि कंगोमा सात जना र युगान्डामा दुई जना सङ्क्रमित पूर्ण रूपमा निको भएका छन् । स्वास्थ्य अधिकारीहरूले महामारी अझै नियन्त्रणबाहिर जाने जोखिम रहेको चेतावनी दिँदै संक्रमितको खोजी, सम्पर्कमा आएका व्यक्तिहरूको निगरानी, उपचार सेवाको विस्तार र जनचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन् ।

  • दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

    दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

    काठमाडौँ, २४ जेठः दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । यही सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ ।

    संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा एक प्रस्ताव पारित गर्दै जुन ७ लाई विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरेअनुरुप सन् २०१९ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । दिवसको प्रवद्र्धन तथा समन्वय विश्व स्वास्थ्य सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले संयुक्त रूपमा गर्दै आएका छन् ।

    पर्याप्त मात्रामा सुरक्षित र पोषणयुक्त खाद्यवस्तुमा पहुँच मानव जीवन, स्वास्थ्य र समग्र कल्याणका लागि अपरिहार्य मानिन्छ । दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्ने ब्याक्टेरिया, भाइरस, परजीवी तथा रासायनिक पदार्थका कारण विभिन्न खाद्यजन्य रोग फैलिने गर्छन् । यस्ता जोखिमहरू प्रायः नाङ्गो आँखाले देख्न नसकिने भएकाले खाद्य सुरक्षालाई अझ चुनौतीपूर्ण विषयका रूपमा हेरिएको छ ।

    डब्ल्युएचओका अनुसार पाँच वर्षमुनिका बालबालिकाले खाद्यजन्य रोगको कुल भारको करिब ४० प्रतिशत हिस्सा वहन गर्छन् । यस्ता रोगका कारण हरेक वर्ष करिब एक लाख २५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । खाद्यजन्य रोगले विशेषगरी महिला, बालबालिका, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्गलाई असमान रूपमा प्रभावित गर्ने गरेको बताइएको छ ।

    विशेषज्ञहरूका अनुसार खाद्य सुरक्षा उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण खाद्य शृङ्खलासँग सम्बन्धित विषय हो। खाद्यवस्तुको उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी तथा उपभोगका हरेक चरणमा सुरक्षा मापदण्ड पालना गरिएमा खाद्यजन्य रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ ।

    यो दिवसका अवसरमा खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानीमा पहुँच, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली तथा उपभोक्ता सचेतनासँग जोडेर हेरिनुपर्नेमा जोड दिइएको छ । सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्यवस्तुको सुनिश्चितता गर्न सकिने विज्ञहरूको भनाइ छ ।

    ‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने सन्देशका साथ मनाइने यस दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन र दिगो विकासबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्यवस्तुको सुनिश्चितताका लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।

  • इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता

    इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता

    काठमाडौँ, २१ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।अफ्रिकी मुलुकमा इबोला भाइरस सङ्क्रमण देखिएपछि त्यसको जोखिम नेपाल पनि हुनसक्ने भन्दै मन्त्रालयले सम्भावित जोखिम हुन नदिनका लागि उच्च सतर्कता अनपाएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

    उनका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र सीमानाकामा निगरानी तथा उच्च सतर्कता अपनाइएको छ । “अहिले जहाँ सङ्क्रमण देखिएको त्यो देशभन्दा हामी टाढा रहेका छाँै । तर पनि हामी नेपालमा भाइरसको सङ्क्रमणको प्रवेश नगरोस् भनेर उच्च सतर्कता अपनाएका छौँ”, उनले भने, “स्वास्थ्यकर्मी अभिमुखीकरणसहित उपचार व्यवस्थापन तथा सङ्क्रमण नियन्त्रणका उपायबारे पनि छलफल गरिएको छ ।”

    उनले इवोला सङ्क्रमण भएको ठाउँमा जान सक्ने नेपालीको व्यवस्था र मापदण्डका विषयमा समन्वय भइरहेको बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले अन्तरराष्ट्रिय सरोकारको जनस्वास्थ्य आपत्कालीन अवस्था घोषणा गरेको छ ।

    मन्त्रालयले सङ्क्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित प्रवेशविन्दुमा स्वास्थ्यकर्मी परिचालन गरी शङ्कास्पद बिरामीको परीक्षणसमेत गरिरहेको उहाँले बताउनुभयो । नेपालमा अहिलेसम्म इबोला भाइरसको सङ्क्रमणको पृष्टि भएको छैन ।

    लक्षण

    अचानक कडा ज्वरो आउने र अत्यधिक कमजोरी महसुस हुने, वान्ता हुने, पाखला लाग्ने र पेट दुख्ने, टाउको मासपेशी तथा घाँटी दुख्ने, छालामा डाबर देखिने, कलेजो तथा मिर्गौलाको कार्यमा असर पुग्ने, केही बिरामीमा आन्तरिक वा बाह्य रक्तश्राव हुने गर्दछ ।

  • केन्यामा इबोला केन्द्रविरुद्ध प्रदर्शन

    केन्यामा इबोला केन्द्रविरुद्ध प्रदर्शन

    नैरोबी, १९ जेठ (रासस–एपी) । अमेरिकी नागरिकहरूका लागि केन्यामा इबोला सङ्क्रमितहरूलाई अलग्गै राखेर उपचार तथा निगरानी गर्ने केन्द्र स्थापना गर्ने योजनाविरुद्ध विरोध चर्किएको छ । केन्याको मध्य क्षेत्रीय सहर नान्युकीमा सयौँ युवाहरूले सोमबार सडकमा उत्रिएर प्रस्तावित केन्द्रको विरोध गरेका छन् भने अदालतले यसअघि नै सुविधा स्थापना र विदेशी बिरामीहरूको आगमन अस्थायी रूपमा रोक्न आदेश दिएको थियो ।

    प्रदर्शनकारीहरूले इबोलाविरुद्ध नाराबाजी गर्दै लाइकीपिया एयर बेसको मुख्य प्रवेशद्वारसम्म पदयात्रा गरेका थिए । यही सैन्य आधार क्षेत्रमा अमेरिकी नागरिकसहित विदेशी इबोला सङ्क्रमितहरूलाई अलग्गै राखेर उपचार र निगरानी गर्न मिल्ने नयाँ केन्द्र स्थापना गर्ने योजना सार्वजनिक भएपछि स्थानीय असन्तोष बढेको हो ।

    यो विरोध प्रदर्शन केन्याको उच्च अदालतले सुविधा सञ्चालन र विदेशी बिरामी ल्याउने प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेको दुई दिनपछि भएको हो । अदालतमा केन्याको ल सोसाइटी र एक संवैधानिक निगरानी संस्थाले दायर गरेको मुद्दामाथि सुनुवाइ भइरहेका बेला यो आदेश आएको थियो ।

    मुद्दा दायर गर्ने संस्थाहरूले केन्याको स्वास्थ्य प्रणाली अझै पर्याप्त रूपमा सक्षम नरहेको तर्क गरेका छन् । उनीहरूको भनाइमा देशको सीमित स्वास्थ्य पूर्वाधारलाई ध्यानमा राख्दा विदेशी इबोला बिरामीहरूलाई केन्यामा ल्याएर अलग्गै निगरानी र उपचारमा राख्नु जोखिमपूर्ण हुन सक्छ ।

    अमेरिकी अधिकारीहरूले गत बिहीबार संयुक्त राज्य अमेरिकाले विदेशमा रहँदा इबोलाबाट सङ्क्रमित भएका आफ्ना नागरिकहरूलाई तत्काल अमेरिका फिर्ता पठाउनुको सट्टा केन्यास्थित नयाँ केन्द्रमा राख्ने योजना बनाइरहेको बताएका थिए । प्रशासनिक योजनाबारे जानकारी दिन नाम सार्वजनिक नगर्ने सर्तमा बोल्दै उनीहरूले यो सुविधा लाइकीपिया एयर बेसमा सञ्चालन हुने र शुक्रबारसम्म ५० वटा अलग्गै उपचार र निगरानीका शय्यासहित तयार हुने बताएका थिए ।

    यद्यपि केन्या सरकारले यो केन्द्र केवल अमेरिकी नागरिकका लागि बनाइएको भन्ने धारणा अस्वीकार गरेको छ । केन्याका स्वास्थ्य मन्त्री एडेन डुअलेले आइतबार उक्त सुविधा ‘सबैका लागि’ बनाइने र यसलाई केवल अमेरिकी नागरिकहरूसँग जोडेर हेर्न नहुने स्पष्ट पारेका छन् । यसैबीच अमेरिकी सरकारले केन्याको इबोला प्रतिकार तथा तयारी कार्यक्रमलाई आर्थिक सहयोग गर्ने प्रस्ताव पनि अघि सारेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जारी गरेको विज्ञप्तिअनुसार वासिङ्टनले केन्याको इबोला तयारी प्रयासका लागि ३५ लाख अमेरिकी डलर सहयोग प्रतिबद्ध गर्न चाहेको छ ।

    केन्यामा प्रस्तावित इबोला केन्द्रलाई लिएर अहिले सार्वजनिक स्वास्थ्य, राष्ट्रिय सुरक्षा, विदेशी सहयोग र स्वास्थ्य प्रणालीको क्षमता सम्बन्धी बहस तीव्र बनेको छ । स्थानीय स्तरमा विरोध जारी रहेकाले आगामी दिनमा अदालतको निर्णय र सरकारी कदममाथि विशेष चासो केन्द्रित भएको छ ।

  • विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका जोखिममा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका जोखिममा

    काठमाडौँ, १७ जेठः आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति, सुर्ती नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्युएचओ०ले गरिरहेका प्रयास तथा स्वस्थ जीवनयापन र भावी पुस्ताको संरक्षणका लागि आवश्यक कदमबारे चेतना फैलाउनु हो ।

    डब्ल्युएचओ सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थको महामारी तथा यसबाट हुने रोक्न सकिने मृत्यु र रोगप्रति ध्यानाकर्षण गराउन यो दिवसको सुरुआत गरेका हुन्। सन् १९८७ मा विश्व स्वास्थ्य सभाले पारित गरेको प्रस्ताव डब्लुएचए ४०–३८ ले सन् १९८८ अप्रिल ७ लाई ‘विश्व धूमपानरहित दिवस’का रूपमा मनाउने निर्णय गरेको थियो। त्यसपछि सन् १९८८ मा पारित प्रस्ताव डब्लुएचए ४२–१९ अनुसार हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाउन थालिएको हो ।

    डब्ल्युएचओका अनुसार हाल विश्वभर करिब ८८१ अर्ब ३० करोड मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गरेका छन् । तीमध्ये अधिकांश निम्न तथा मध्यम आय भएका देशमा बसोबास गर्छन् । पछिल्ला वर्षहरूमा सुर्तीजन्य पदार्थको प्रयोग घट्दै गए पनि अझै विश्वका पाँचमध्ये एक वयस्क कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रयोगमा संलग्न हुने गरेको छ । सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ, जसमा करिब १२ लाख जनाको मृत्यु निष्क्रिय धूमपानका कारण हुने गरेको छ ।

    यस वर्षको दिवसको अवसरमा डब्ल्युएचओेले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ । सङ्गठनका अनुसार विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका कम्तीमा ८८चार करोड बालबालिकाले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छ भने विद्युतीय चुरोट (ई–सिगरेट) र निकोटिन पाउचको प्रयोग युवा पुस्तामाझ निरन्तर बढिरहेको छ ।

    डब्ल्युएचओले सुर्ती तथा निकोटिन उत्पादन गर्ने कम्पनीहरूले आफ्ना उत्पादनलाई अझ आकर्षक, प्रयोग गर्न सहज र छोड्न कठिन बनाउने गरी विकास गरिरहेका जनाएको छ । विशेषगरी स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच तथा अन्य निकोटिनजन्य उत्पादनमार्फत तिनले किशोर र युवालाई अम्मली बनाएका सङ्गठनको भनाइ छ ।

    डब्ल्युएचओका स्वास्थ्य निर्धारक, प्रवद्र्धन तथा रोकथाम विभागका निर्देशक डा। एटिएन क्रुगले सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष लाखौँ मानिसको मृत्यु भइरहे पनि ठूला कम्पनीहरूले आफ्नो व्यापारिक रणनीति परिवर्तन गर्दै नयाँ पुस्तालाई निकोटिनको लतमा फसाउने प्रयास गरिरहेको बताउनुभएको छ । उहाँका अनुसार स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच र अन्य निकोटिनजन्य उत्पादनको आक्रामक बजार विस्तारले युवापुस्तालाई लक्षित गरिरहेको छ ।

    निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले विशेषगरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका, किशोर तथा युवाका लागि यसको असर गम्भीर हुनसक्ने डब्लुएचओले जनाएको छ । हाल विश्वभर १० करोडभन्दा बढी मानिसले ई–सिगरेट प्रयोग गर्ने अनुमान गरिएको छ भने किशोर उमेर समूहमा यसको लोकप्रियता तीव्र गतिमा बढिरहेको छ।

    डब्ल्युएचआले हालै सार्वजनिक गरेको निकोटिन पाउचसम्बन्धी प्रतिवेदनमा सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिमार्फत यसको व्यापक प्रचारप्रसार भइरहेको उल्लेख गरिएको छ । आकर्षक प्याकेजिङ, मिठाईजस्ता स्वाद तथा जीवनशैलीसँग जोडिएका विज्ञापन अभियानमार्फत युवालाई आकर्षित गर्ने रणनीति अपनाइएको प्रतिवेदनमा जनाइएको छ ।

    प्रतिवेदनअनुसार विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी तथा नियमनको व्यवस्था छैन । विश्वव्यापी रूपमा यसको बिक्री तीव्र गतिमा बढिरहे पनि पर्याप्त नियमन नहुँदा लाखौँ मानिस जोखिममा छन् ।

    डब्ल्युएचओले सरकारहरूलाई स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन, प्रवद्र्धन तथा प्रायोजन रोक्न, सार्वजनिक भित्री स्थानलाई पूर्ण रूपमा धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न तथा कानुनी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ । सुर्ती तथा निकोटिनजन्य पदार्थको बढ्दो प्रयोग नियन्त्रण गर्न नसके भावी पुस्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी दिँदै डब्ल्युएचओले स्वस्थ र सुरक्षित समाज निर्माणका लागि सबै पक्षको साझा प्रयासमा जोड दिएको छ ।
    तस्विरः डब्ल्युएचओ

  • निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन

    निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम स्थगन

    काठमाडौँ, १३ जेठः स्वास्थ्य बिमा बोर्डले निजी (स्वास्थ्य संस्था) अस्पतालबाट प्रदान गरिने स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै निजी अस्पतालमा जेठ १६ देखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको जानकारी दिइन् ।


    उनले बोर्डको बढ्दो वित्तीय सङ्कटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको बताइन् । बोर्डका सूचना अधिकारी विकेश मल्लले बोर्डमा ३६ वटा निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए । उनका अनुसार बोर्डमा ५०५ स्वास्थ्य संस्थामध्ये ४४२ सरकारी र २७ सामुदायिक स्वास्थ्य संस्था बीमा बोर्डमा आबद्ध छन् ।

    उनले बोर्डको सङ्कट टार्नका लागि व्ययभार तत्कालका लागि निजी स्वास्थ्य संस्थामा बीमा कार्यक्रम स्थगित गरिएको बताए । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानका आधारमा रु एक लाखसम्मको स्वास्थ्य सेवासुविधा उपलब्ध गराइन्छ । यस्तै थप प्रतिसदस्य रु ७०० का दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य रु २० हजार बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बिमा कार्यक्रममा ५९ लाख ७० हजार ४०३ बीमित रहेका छन् ।

  • कङ्गोमा इबोला फैलिँदै, स्वास्थ्य केन्द्रमाथि आक्रमण

    कङ्गोमा इबोला फैलिँदै, स्वास्थ्य केन्द्रमाथि आक्रमण

    बुनिया (कङ्गो),१२ जेठ (रासस–एपी) । कङ्गोको पूर्वी भागमा ुइबोलाु भाइरसको प्रकोप तीव्र बन्दै गएको छ । संक्रमितको संख्या झण्डै एक हजार नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीय विरोध र आक्रमणका कारण प्रभावित भइरहेका छन् । स्वयंसेवी स्वास्थ्यकर्मीहरूले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुंगा हान्ने, गालीगलौज गर्ने जस्ता व्यवहार सामना गर्नुपरेको छ । कतिपय मानिसहरू रोगप्रति शंका व्यक्त गर्दै स्वास्थ्यकर्मीमाथि अविश्वास देखाइरहेका छन् ।

    स्वास्थ्य केन्द्र र उपचार शिविरहरूमाथि आक्रमण र आगजनीका घटना पनि भएका छन् । केही स्थानमा संदिग्ध बिरामी राखिएका केन्द्रहरू जलाइएको छ भने कतिपय ठाउँमा अस्पतालबाट बिरामीहरू भाग्न बाध्य भएका छन् । विशेषज्ञहरूका अनुसार स्थानीय समुदायमा डर, भ्रम र अविश्वास बढेकाले रोग नियन्त्रण झनै कठिन बनेको छ ।

    साथै सुरक्षा चुनौती र मानवीय द्वन्द्वले पनि स्वास्थ्य अभियानलाई असर पारेको छ । यस प्रकोपमा देखिएको इबोला प्रकार दुर्लभ मानिन्छ र यसका लागि प्रभावकारी खोप वा उपचार सीमित रहेको बताइएको छ । स्वास्थ्यकर्मीहरू भने जोखिमका बाबजुद पनि सङ्क्रमण रोकथाम र जनचेतना फैलाउने प्रयास जारी राखिरहेका छन् ।

  • विषाक्त खानाले एकै घरका चार बिरामी, एकको अवस्था गम्भीर

    विषाक्त खानाले एकै घरका चार बिरामी, एकको अवस्था गम्भीर

    गाईघाट (उदयपुर), ११ जेठः त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ । साधना टोलका स्थानीय छिमेकी राधा बुढाथोकीका अनुसार विषाक्त खानाका कारण २३ वर्षीय हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी र नन्दहरु १४ वर्षीय यशोदा र अर्का ९ वर्षीय यासिका बुढाथोकी रहेका छन् ।

    छिमेकी राधा बुढाथोकीका अनुसार शनिबार हेमा बुढाथोकीले घरमा बजारबाट ल्याएको मुसुरोको दालसहितको खाना खाएको र शनिबार रातिदेखि नै बान्ता तथा बेहोस हुने लक्षण देखिएपछि परिवारका सबै बिरामीलाई आफन्त र छिमेकीले उपचारका लागि जिल्ला अस्पतालमा लगेको राधा बुढाथोकीले बताए ।

    तीन जना योगेश, यासिका र यशोदाको उपचारपछि घर फर्केको जिल्ला अस्पताल उदयपुरले बताएको छ । तर, २३ वर्षीया हेमा बुढाथोकीको अवस्था चिन्ताजनक भएका कारण थप उपचारका लागि विराटनगर पठाइएको उदयपुरका प्रमुख डा मुकेश झाले बताए । हेमाको श्रीमान् युवराज बुढाथोकी वैदेशिक रोजागारमा विदेशमा रहेका छन भने घरमा हेमासहित छोरा योगेश र नन्दहरु यशोदा र यसिकासहित बस्दै आएको छिमेकीहरुले बताएका छन् ।

  • किओच काठमाडौँ बाल अस्पतालको भवन हस्तान्तरण

    किओच काठमाडौँ बाल अस्पतालको भवन हस्तान्तरण

    काठमाडौँ, ९ जेठः काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन हस्तान्तरण गरिएको छ । बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा रहेको अस्पतालको उक्त भवन समाजसेवी मीनबहादुर गुरुङ र सावित्री गुरुङ तथा पहलमान गुरुङ र सरला गुरुङले निर्माण गरिदिएका हुन् । आज यहाँ आयोजित कार्यक्रममा जगत्गुरु शङ्कराचार्य श्री विधुशेखर भारतीले सो भवनको समुद्घाटन गरे । व्यवसायी गुरुङको स्वामित्वमा रहेको भाटभटेनीले उक्त भवन निर्माण गर्न रु ७१ करोड चार लाख ४२ हजार २४४ खर्चेको थियो ।

    कार्यक्रममा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अस्पताल स्थापनासँगै गरिब तथा बालबालिकाले सर्वसुलभ स्वास्थ्य सेवा पाउने वातावरण सुनिश्चित भएको बताइन् । अस्पतालका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्राडा भगवान कोइरालाले गैरनाफामूलक संस्थाका रुपमा रहेको यस संस्थाले विशिष्टीकृट स्वास्थ्य सेवा उपलब्ध गराउने बताए । व्यवसायी गुरुङले सर्वसाधरण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि अस्पताल स्थापना गरिएको बताए ।

    काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ मुनाफारहित कम्पनीका रूपमा दर्ता तथा समाज कल्याण परिषद्मा आबद्ध भई गैरसरकारी सामाजिक संस्थाका रूपमा सञ्चालनमा छ । उक्त इन्स्टिच्युटको काठमाडौँ उपत्यकामा विशिष्टकृट सेवासहित बाल अस्पताल तथा सातवटै प्रदेशमा भौतिक संरचनासहित बाल अस्पताल सञ्जाल निर्माण गरिरहेको छ । देशभरका सबै वर्गका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याई उनीहरूको स्वास्थ्य अवस्थामा सुधार गर्ने र शिशु तथा बाल मृत्युदर घटाउने लक्ष्यका साथ उक्त अस्पताल स्थापना गरिएको हो ।

  • ‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको छलफल

    ‘गाभी’को उच्चस्तरीय टोलीसँग स्वाथ्यमन्त्री मेहताको छलफल

    काठमाडौँ, ९ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा खोपको प्रभावकारी उपलब्धताका बारेमा ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)का उच्चस्तरिय टोलीसँग छलफल गरेकी छिन् । स्विट्जरल्यान्ड जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७९औँ विश्व स्वास्थ्यसभामा भाग लिनेक्रममा गाभीका उच्चस्तरीय टोलीसँगको छलफलमा उनले सङ्क्रमणकालमा खोप कार्यक्रमलाई प्रभावित हुन नदिन गाभीसँगको निरन्तर सहयोग अपरिहार्य रहेको बताइन् ।


    उनले नेपालको सार्वजनिक स्वास्थ्य खर्च अझै पनि कुल गार्हस्थ्य उत्पादनको करिब पाँच प्रतिशतको हाराहारीमा मात्र सीमित रहेको अवस्थामा गाभीसँगको निरन्तर सहयोग र घनिष्ठ समन्वय अपरिहार्य रहेको बताउनुभएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए । मन्त्री मेहताले स्वास्थ्य क्षेत्रको स्तरोन्नतिसँगै अन्तरराष्ट्रिय अनुदानको ढाँचा परिवर्तन हुने र खोप खरिदमा नेपालले आफ्नै आन्तरिक लगानी क्रमशः बढाउँदै लगेर अन्ततः आफैँ सक्षम हुनुपर्ने अवस्था रहेको बताउनुभयो ।

    छलफलमा पारस्परिक सहकार्यलाई निरन्तरता दिने र सङ्क्रमणकालीन वित्तीय व्यवस्थापनलाई अवरोध नहुने विषयमा सहमति भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । बैठकले नेपालको राष्ट्रिय स्वास्थ्य प्रणालीलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री मेहताले बताएको उनले जानकारी दिए । आर्थिक स्तरोन्नतिको समयमा पनि जीवनरक्षक स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्न र दुई दशकभन्दा लामो नेपाल र गाभीबीचको साझेदारीलाई अझ विस्तार गर्न छलफलमा दुवै पक्ष प्रतिबद्ध देखिएकोे थियो ।

    दुई पक्षको सहकार्यले समग्र नेपाली जनताको स्वास्थ्य र भलाइमा दीर्घकालीन योगदान पु¥याउने सुनिश्चित गरेको मन्त्री मेहताले उल्लेख गरेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । गाभीले सन् २००० यता नेपालको राष्ट्रिय खोप कार्यक्रमको एक प्रमुख साझेदार रहँदै आएको छ । सन् २०२५ मा नेपालले हासिल गरेको ‘रुबेला निवारण’ लगायत एचपिभी र अन्य जीवनरक्षक खोपको सफल विस्तारमा गाभीको महत्त्वपूर्ण प्राविधिक तथा वित्तीय भूमिका रहेको मन्त्री मेहताले उल्लेख गरेकी छिन् ।

    “आगामी सन् २०२६ नोभेम्बरमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सङ्घारमा रहेको परिप्रेक्ष्यमा यो वार्ताले विशेष रणनीतिक महत्त्व राख्दछ,” मन्त्री मेहताले भनिन् । यही जेठ ३ गते सभामा सहभागी हुन गएकी मन्त्री मेहताले विभिन्न देशबाट आएका आफ्ना समकक्षी, दातृ निकायका प्रमुखसँग ‘साइडलाइन’ वार्ता गरिरहेकी छिन् ।

  • तालिमका क्रममा बेहोस भएका प्रहरी भेट्न सुधन गुरुङ पुगे अस्पतालमा

    तालिमका क्रममा बेहोस भएका प्रहरी भेट्न सुधन गुरुङ पुगे अस्पतालमा

    ९ जेठ, काठमाडौं । तालिमका क्रममा अचानक बेहोस भई उपचार गराइरहेका सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य स्थिति बुझ्न पूर्वगृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेल नेपाल एपीएफ अस्पताल, बलम्बु पुगेका छन् । जेठ ८ गते बिहीबार अस्पताल पुगेर उनीहरुलले हाँबिरामी जवानहरूको उपचार प्रक्रिया र वर्तमान स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिएका हुन् ।

    गृह मन्त्रालयको जिम्मेवारीबाट बिदा भइसके तापनि राष्ट्रसेवक सुरक्षाकर्मीहरूप्रति पूर्वगृहमन्त्री गुरुङको आत्मीयता र चासो उत्तिकै प्रगाढ देखिएको छ। नेपाली संस्कार र परम्परालाई आत्मसाथ गर्दै उनी बिरामी प्रहरी जवानहरूलाई भेट्न फलफूल र पौष्टिक आहारसहित अस्पताल पुगेका थिए । पदमा रहँदा मात्र नभई पदबाहिर रहँदा पनि सुरक्षा संगठन र यसका जनशक्तिप्रति उनले देखाएको सद्भाव र अभिभावकत्वलाई अस्पताल परिसरमा उपस्थित सुरक्षाकर्मी र बिरामीका आफन्तहरूले सकारात्मक रूपमा लिएको गुरुङको सचिवालयले लेखेको छ ।

  • तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी : सावधानी अपनाउन अनुरोध

    तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन जारी : सावधानी अपनाउन अनुरोध

    काठमाडौँ, ९ जेठ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर ९लु०सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ । विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार शुक्रबार साँझ जारी बुलेटिनमा आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध गरेको हो ।

    विभागका मौसमविद् सञ्जिव अधिकारीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागहरूमा आगामी ३ दिनसम्म मध्यम तातो लहर तथा पहाडी भू–भागमा तातो दिन हुने सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विशेष बुलेटिनमार्फत अनुरोध गरिएको बताए । उनका अनुसार सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मिति यही ६ गतेदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । साथै सुदुरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ ।

    प्रभावित जिल्लाहरू

    विभागका अनुसार सतर्कता अपनाउनुपर्ने जिल्लाहरुमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अध्यावधिक गर्नुुपर्ने जिल्लाहरुमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु रहेका छन् ।

    विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न पनि अनुरोध गरेको छ ।

    विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा) लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउन भनेको छ ।

    यस्तै नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ । विभागले मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिन नियमित रूपमा अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरेको छ ।

  • न्युयोर्कमा योगी आचार्य राजन शर्माको योगा थेरापि हुने

    न्युयोर्कमा योगी आचार्य राजन शर्माको योगा थेरापि हुने

    मेनका पराजुली, न्युयोर्क

    नेपाल तथा भारतमा समेत ख्यातिप्राप्त योग गुरु राजन शर्माको नि:शुल्क योगाभ्यास तथा ध्यान साधना न्युयोर्कमा हुने भएको छ।
    रिजउडस्थित नेपाली दुर्गा मन्दिर र उडसाइडमा अवस्थित दिव्यधाम मन्दिरमा यही सोमबार मे २५ तारिख विहान र साँझ गरेर दुइ चरणमा सम्पन्न गरिने छ ।
    आयोजकका अनुसार यो शिविर कोलाहल र चिन्तायुक्त जीवनशैलीबाट मुक्त हुने अत्यन्तै दिव्य सुनौलो अवसर तथा निशुःल्क सनातन संस्कृतिको अध्यात्म विज्ञान बुझ्ने अवसर समेत भएकोले सबैको उपस्थिति अपेक्षा गरिएको छ ।

    प्रभावशाली विश्व योग प्रशिक्षक, मोटिभेटर, रिसर्चर, प्रोफेसर आचार्य राजन शर्माज्यूको विशेष निर्देशन तथा सानिध्यमा रोग विशेष योग, ध्यान, आर्युवेद जीवन जिउने उच्च शैली, बालबालिकाका लागि गणित, विज्ञान मेमोरी तथा तनाव व्यवस्थापन खुसी र सुखी हुने कला सम्वन्धि जानकारी रहने भएकोले सबैको गरिमामय उपस्थितिको लागि आह्वान समेत गरेको छ ।
    दूर्गा मन्दिर न्युयोर्क परिवार र The Global Society For Peace & Spiritual Sciences (GSPSS) NY Chapter अमेरिकाको संयुक्त आयोजनामा गरिने कार्यक्रमको तालिका संप्रेषित फ्लायरमा राखिएको छ ।

  • गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

    गर्मीले भारतमा बिजुली खपतको कीर्तिमान

    नयाँदिल्ली, ८ जेठ (रासस–एएफपी) । भारतमा बढ्दो गर्मीका कारण शीतलन उपकरणको प्रयोग तीव्र रूपमा बढेपछि देशको बिजुली मागले लगातार नयाँ कीर्तिमान बनाएको छ । भीषण गर्मीबीच ऊर्जा उत्पादकहरूले रेकर्ड स्तरमा विद्युत् उत्पादन गर्दै देशको अहिलेसम्मकै उच्च माग पूरा गरेका छन् । भारतको ऊर्जा मन्त्रालयका अनुसार बिहीबार लगातार चौथो दिन देशको चरम बिजुली मागले नयाँ सर्वकालिक उच्च रेकर्ड कायम गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बिहीबार दिउँसो ३ः४५ बजे भारतको चरम बिजुली माग २७०.८२ गिगावाट पुगेको थियो, जुन सफलतापूर्वक आपूर्ति गरिएको बताइएको छ ।

    उक्त समयमा राजधानी नयाँदिल्लीको तापक्रम ४५.३ डिग्री सेल्सियस पुगेको थियो । मन्त्रालयले यो स्तरलाई भारतको इतिहासकै सबैभन्दा उच्च चरम बिजुली मागको रूपमा वर्णन गरेको छ । यसअघि बुधवार २६५.४४ गिगावाटको रेकर्ड कायम भएको थियो, जसलाई एक दिनमै उछिन्दै नयाँ कीर्तिमान बनेको हो ।ऊर्जा मन्त्रालयले बढ्दो तापक्रमका कारण एयर कन्डिसनर, कुलर तथा अन्य शीतलन उपकरणहरूको प्रयोग अत्यधिक बढेकाले बिजुलीको माग अस्वाभाविक रूपमा चुलिएको जनाएको छ ।

    मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणमा माग वृद्धिको मुख्य कारण यही भएको उल्लेख गरिएको छ । भारतको कुल विद्युत् उत्पादनमा अझै पनि थर्मल पावर, विशेषगरी कोइलामा आधारित उत्पादनको प्रभुत्व रहेको छ । हाल देशको कुल बिजुली उत्पादनमध्ये ६२ प्रतिशत हिस्सा कोइलाजन्य थर्मल पावरबाट प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ । सौर्य ऊर्जाबाट २२ प्रतिशत, हावा र जलविद्युत्बाट पाँच प्रतिशत तथा बाँकी अन्य स्रोतहरूबाट उत्पादन भइरहेको छ ।

    विश्वकै तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जक भारतले सन् २०७० सम्म ‘शुद्ध–शून्य उत्सर्जन’ हासिल गर्ने प्रतिबद्धता जनाएको भए पनि ऊर्जा सुरक्षाका लागि अझै कोइलामाथि ठूलो निर्भरता कायम रहेको देखिएको छ । रेकर्ड स्तरमा बिजुली उत्पादन भइरहेको सरकारी दाबीबीच सामाजिक सञ्जाल एक्समा धेरै प्रयोगकर्ताले भने आफ्ना क्षेत्रमा अझै पनि विद्युत् कटौती भइरहेको गुनासो गरेका छन् । अत्यधिक गर्मीका कारण पुराना विद्युत् तार र ट्रान्सफर्मरहरूमा अत्यधिक चाप परेर स्थानीय स्तरमा ब्ल्याकआउट हुने जोखिम बढिरहेको बताइएको छ ।

    दक्षिण एसियाको एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा अप्रिलदेखि जुनसम्म तीव्र गर्मी सामान्य मानिए पनि पछिल्ला वर्षहरूमा तापक्रमको तीव्रता र अवधि दुवै बढ्दै गएको छ । वैज्ञानिक अनुसन्धानहरूले जलवायु परिवर्तनका कारण तातो हावाका लहरहरू अझ लामो, बारम्बार र खतरनाक बन्दै गएको निष्कर्ष निकालेका छन् । भारतको मौसम विभागका अनुसार बिहीबार उत्तर प्रदेश राज्यको बान्दा सहरमा अधिकतम तापक्रम ४७.६ डिग्री सेल्सियस मापन गरिएको थियो । यो हप्ताको सुरुआतमा त्यही क्षेत्रमा पुगेको ४८.२ डिग्री सेल्सियसभन्दा केही कम भए पनि अवस्था अझै अत्यन्त गर्मीपूर्ण रहेको विभागले जनाएको छ ।

    भारतमा हालसम्म आधिकारिक रूपमा मापन गरिएको सबैभन्दा उच्च तापक्रम राजस्थानको फलोदीमा सन् २०१६ मा रेकर्ड गरिएको ५१ डिग्री सेल्सियस हो । यसैबीच, अन्तर्राष्ट्रिय वायु गुणस्तर अनुगमन प्लेटफर्म ‘एक्युआई’ ले अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदनमा विश्वका सबैभन्दा तातो ५० सहरमध्ये सबै भारतमै रहेको उल्लेख गरेको थियो । तापक्रम, सौर्य विकिरण, हावाको अवस्था, वर्षा र आद्र्रतासहितका विभिन्न सूचकलाई आधार बनाएर तयार गरिएको दैनिक ‘गर्मी सूचकाङ्क’ मा भारतीय सहरहरू अत्यधिक तापको चपेटामा परेको देखाइएको थियो ।

  • ‘विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध’

    ‘विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध’

    काठमाडौँ, ८ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयेससबीच भेटवार्ता भएको छ । स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठनले आयोजना गरेको ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा उनीहरुबीच भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।


    मन्त्री मेहताले विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेड्रोससँगको भेट अत्यन्त फलदायी रहेको बताइन् । भेटमा महानिर्देशक डा टेड्रोसेले विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । मन्त्री मेहताले सभामा नै यसअघि भारतीय र चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । मन्त्री मेहता तीन सदस्यीय टोलीको नेतृत्व गर्दै सभामा भाग लिन जेनेभा गएकी हुन् ।

  • लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

    लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

    रासस
    सिरहा, ८ जेठ । यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।

    नगरपालिका र निर्माण व्यवसायीबीच भएको सम्झौताअनुसार आगामी असार १५ गतेभित्रै भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । हाल लहानमा प्रादेशिक अस्पताल सञ्चालनमा छ । तर, उक्त अस्पतालमा सिरहाका मात्र नभई छिमेकी जिल्ला सप्तरी र उदयपुरसम्मका नागरिक उपचारका लागि आउने गरेका छन् । तीनवटा जिल्लाको साझा उपचार केन्द्रजस्तो बनेकाले प्रादेशिक अस्पतालमा दैनिक रूपमा बिरामीको अत्यधिक चाप हुने गरेको छ, जसका कारण सर्वसाधारणले समयमा पालो नपाउने र सास्ती खेप्नुपर्ने बाध्यता छ ।

    अब सुविधासम्पन्न नगर अस्पताल बनेपछि प्रादेशिक अस्पतालमा बिरामीको चाप निकै घट्ने र व्यवस्थापन सहज हुने विश्वास लिइएको छ । लहान नगरवासीले आफ्नै नगर अस्पतालबाट आकस्मिक र विशेषज्ञ सेवा पाउने भएपछि प्रादेशिक अस्पतालमा छिमेकी जिल्लाबाट आउने सर्वसाधारणले पनि छिटोछरितो सेवा पाउने वातावरण बन्नेछ ।

    निर्माणाधीन नगर अस्पतालको भवन मूल्य अभिवृद्धि कर ९भ्याट०सहित कुल १२ करोड ५२ लाख १९ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको हो । लहान नगरपालिका र निर्माण कम्पनी मल्टिटेक कन्स्ट्रक्सन एन्ड सप्लायर्सबीच २०८० साल चैत १५ गते यसको निर्माण सम्झौता भएको थियो । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले यस अस्पताललाई आफ्नो कार्यकालको एक महत्त्वपूर्ण र गौरवको आयोजनाका रूपमा लिएको बताए । नगरप्रमुख चौधरीका अनुसार यो अस्पताल विशेषगरी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित गरिब, विपन्न र ग्रामीण क्षेत्रका नागरिकका लागि वरदान सावित हुनेछ ।

    उनले भने, “लहानमा प्रादेशिक अस्पताल भए पनि छिमेकी जिल्ला सप्तरी र उदयपुरदेखिका बिरामी आउने भएकाले त्यहाँ सधैँ चाप हुन्थ्यो । हाम्रा नगरवासीले सामान्य उपचारका लागि पनि लामो समय कुर्नुपर्ने अवस्था थियो । नगरमै यो अर्को सुविधासम्पन्न अस्पताल बनेपछि त्यो चाप स्वतः सहज हुनेछ । यो १५ शय्याको अस्पतालमा मुख्य रूपमा प्रसूति (मातृशिशु) तथा बालरोगसम्बन्धी विशिष्टीकृत सेवा उपलब्ध गराइनेछ । अहिले दुई तलाको काम सकिन लागेको छ भने तेस्रो तलामा आवश्यकताअनुसार थप संरचना व्यवस्थापनका लागि ट्रष्ट हाल्ने नगरको योजना छ ।”

    अस्पताल भवनको प्राविधिक तथा भौतिक संरचना निकै सुविधासम्पन्न र वैज्ञानिक ढङ्गले डिजाइन गरिएको छ । निर्माण व्यवसायी मल्टिटेक कन्स्ट्रक्सन एन्ड सप्लायर्सका प्रबन्धक महेशकुमार देवका अनुसार अस्पतालमा कोठाको सङ्ख्या र व्यवस्थापन बिरामी तथा चिकित्सकलाई सहज हुनेगरी मिलाइएको छ ।
    प्रबन्धक देवले निर्माणको प्रगतिबारे जानकारी दिँदै भने, “हामीले गुणस्तरमा कुनै सम्झौता नगरी दिनरात काम गरिरहेका छौँ ।

    अस्पतालको पहिलो तलामा प्रशासनिक, आकस्मिक (इमर्जेन्सी) र ओपिडी सेवासहित ४० वटा कोठा रहनेछन् भने दोस्रो तलामा जनरल वार्ड, प्रसूतिगृह र अपरेसन थियटरसहित ६२ वटा कोठा रहनेछन् । सम्झौताको म्याद आगामी असार १५ गतेसम्ममात्र छ । हामी निर्धारित समयभित्रै सम्पूर्ण काम दुरुस्त पारेर स्थानीय सरकारलाई भवन हस्तान्तरण गर्ने दाबी गर्दछौँ ।”

    हाल लहान नगरपालिकाको कुल जनसङ्ख्या एक लाख १० हजारभन्दा बढी छ । यो अस्पताल सञ्चालनमा आएपछि नगरका २४ वटै वडाका नागरिकले प्रत्यक्ष रूपमा गुणस्तरीय र सुलभ स्वास्थ्योपचार सेवा पाउनेछन् । विशेषगरी लहानको उत्तरी भेग र ग्रामीण क्षेत्रका गर्भवती तथा बालबालिका सामान्य उपचार र प्रसूति सेवाका लागि पनि टाढाका सहर वा निजी क्लिनिकमा महँगो शुल्क तिर्न बाध्य छन् । नगरले भवन हस्तान्तरणलगत्तै अस्पतालको आन्तरिक व्यवस्थापन र जनशक्ति मिलाएर सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

  • उत्तर भारतमा भीषण गर्मीले जनजीवन प्रभावित

    उत्तर भारतमा भीषण गर्मीले जनजीवन प्रभावित

    नयाँदिल्ली, ७ जेठ (रासस–एपी) । उत्तर भारतमा चर्किएको अत्यधिक गर्मीको लहरले दैनिक जनजीवन अस्तव्यस्त बनाएको छ । दिनको समयमा सडक र बजारहरू प्रायः सुनसान बनेका छन् भने किसानदेखि व्यापारीसम्मले असह्य तापक्रमबाट बच्न आफ्नो काम गर्ने समय नै राततर्फ सार्न बाध्य भएका छन् । तापक्रम निरन्तर बढ्दै जाँदा भारतका धेरै भागमा जीवनशैलीमै ठूलो परिवर्तन देखिएको छ ।

    भारतको मौसम विभागले राजधानी नयाँदिल्लीमा बिहीबार अधिकतम तापक्रम करिब ४५ डिग्री सेल्सियस (११३ फरेनहाइट) पुग्ने पूर्वानुमान गरेको छ । अत्यधिक गर्मीको जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले नागरिकलाई राहत दिन विभिन्न स्थानमा अस्थायी ‘कुलिङ जोन’ स्थापना गरेका छन् । त्यस्ता ठाउँमा मानिसहरूले केही समय शीतल वातावरणमा बिताउन सक्ने व्यवस्था गरिएको छ ।

    मौसम विभागले आगामी दिनहरूमा उत्तरी क्षेत्रका धेरै स्थानमा तापक्रम मौसमी औसतभन्दा अझै माथि रहने चेतावनी दिएको छ । अधिकारीहरूले विशेषगरी दिउँसोको अत्यधिक गर्मीमा घरभित्रै बस्न, अनावश्यक बाहिर ननिस्कन र गर्मीजन्य स्वास्थ्य समस्या रोक्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । भारतमा मैदानी क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस (१०४ फरेनहाइट) र पहाडी क्षेत्रमा ३० डिग्री सेल्सियस (८६ फरेनहाइट) वा सोभन्दा बढी पुगेको अवस्थालाई गर्मीको लहर (हीटवेभ) घोषणा गरिन्छ ।

    भीषण गर्मीले विशेषगरी उत्तर प्रदेशसहित उत्तर भारतका धेरै राज्यहरूमा जनजीवन ठप्प जस्तै बनाएको छ । दिउँसोको समयमा सडक र बजारहरू बन्दजस्तै भएका छन् भने मानिसहरू घरभित्रै बस्न बाध्य भएका छन् । दिउँसोको तापक्रम असहनीय बनेसँगै केही व्यापारीहरूले कामको समय बिहानतर्फ सार्न थालेका छन् भने किसानहरूले पनि खेतमा काम गर्ने समय राति सार्न थालेका छन् ।

    शिक्षा क्षेत्रमा पनि गर्मीको असर गहिरो देखिएको छ । विभिन्न स्थानका अधिकारीहरूले विद्यालयहरूमा गर्मी बिदा घोषणा गरेका छन् र कक्षाहरू स्थगित गरिएको छ । यसैबीच, मङ्गलबार बान्दा सहरमा अधिकतम तापक्रम ४८.२ डिग्री सेल्सियस (११८.८ फरेनहाइट) पुगेको थियो । यो यस वर्षको अत्यधिक उच्च रेकर्डमध्ये एक हो ।

    स्वास्थ्य अधिकारीहरूले नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । उनीहरूले दिउँसोको अत्यधिक घाममा बाहिर ननिस्कन, पर्याप्त मात्रामा पानी पिउन र चक्कर लाग्ने, अत्यधिक थकान वा उच्च ज्वरो जस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सा सहायता लिन सुझाव दिएका छन् । राजधानी नयाँदिल्लीमा समेत राहतका उपायस्वरूप विभिन्न स्थानमा शीतलन आश्रय (कुलिङ शेल्टर) स्थापना गरिएको छ । यी स्थानहरूमा एयर कुलर, पङ्खा, पिउने पानी र मौखिक पुनर्जलीकरण झोल (ओआरएस) उपलब्ध गराइएको छ, जसले नागरिक र पर्यटकलाई केही राहत दिएको छ । बुधबार एउटा शीतलन टेन्टभित्र मानिसहरू एयर कुलरको छेउमा बस्दै गर्मीबाट राहत लिइरहेका देखिएका थिए । त्यहाँ अधिकारीहरूले नुन मिसाइएको पानी वितरण गरिरहेका थिए ।

    त्यहाँ आएका २५ वर्षीय पर्यटक बशारत अहमद मल्लाले आफ्नो अनुभव सुनाउँदै अत्यधिक गर्मीका कारण बाहिर घुम्न गाह्रो भएको बताए । उनका अनुसार शीतलन केन्द्रले केही समयका लागि भए पनि सहजता प्रदान गरेको छ । जलवायु विज्ञहरूका अनुसार भारतमा देखिएको यो बढ्दो तापक्रम केवल मौसमी अवस्था मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । पछिल्ला वर्षहरूमा भारतले बारम्बार अत्यधिक गर्मीका लहरहरूको सामना गर्दै आएको छ र पछिल्लो दशक देशकै सबैभन्दा तातो दशकमध्ये एक रहेको तथ्याङ्कले देखाएको छ ।

    संयुक्त राष्ट्रसङ्घीय जलवायु प्रतिवेदनसँग सम्बन्धित तथा पुणेस्थित फ्लेम विश्वविद्यालयका सार्वजनिक नीति प्राध्यापक अञ्जल प्रकाशका अनुसार मानव–सिर्जित जलवायु परिवर्तनका कारण भारतको तापक्रम उल्लेखनीय रूपमा बढिरहेको छ । उनका अनुसार उत्तरपश्चिम भारत अन्य क्षेत्रको तुलनामा अझ तीव्र रूपमा तातिरहेको छ ।

    उनले भारत गर्मीको मौसमसँग केही हदसम्म अभ्यस्त भए पनि जलवायु परिवर्तनले चरम र व्यापक स्तरका गर्मीका घटनाहरूलाई अझ तीव्र बनाइरहेको बताए । जनस्वास्थ्य क्षेत्रका अध्ययनहरूले सन् २००८ देखि २०१९ सम्म प्रत्येक वर्ष औसत एक हजार ११६ जनाको मृत्यु गर्मीका कारण भएको देखाएको छ । तर विज्ञहरूका अनुसार वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने अनुमान छ । धेरै अवस्थामा मृत्यु प्रमाणपत्रमा गर्मीलाई प्रत्यक्ष कारणका रूपमा उल्लेख नगरेका कारण वास्तविक तथ्याङ्क आधिकारिक रूपमा कम देखिने गरेको छ ।

  • द्वन्द्वको असर गाजाको स्वास्थ्य सेवामा, ७६ प्रतिशत उपकरण निष्क्रिय

    द्वन्द्वको असर गाजाको स्वास्थ्य सेवामा, ७६ प्रतिशत उपकरण निष्क्रिय

    गाजा, ७ जेठ (रासस–सिन्ह्वा) । गाजा क्षेत्रमा जारी द्वन्द्वका कारण अस्पतालहरूमा प्रयोग हुने करिब ७६ प्रतिशत चिकित्सकीय स्क्यान उपकरण हाल सञ्चालनबाहिर रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले अत्यन्त सम्मानपूर्वक जानकारी गराएका छन्, जसले बिरामी तथा घाइतेहरूको उपचार सेवामा गम्भीर चुनौती उत्पन्न गरेको छ। गाजास्थित स्वास्थ्य निकायअन्तर्गत चिकित्सकीय स्क्यान विभागका निर्देशक इब्राहिम अब्बासका अनुसार, हाल सञ्चालनमा रहेका अस्पतालहरूमा स्वास्थ्यकर्मीहरूले अत्यन्त कठिन परिस्थितिमा सीमित स्रोतसाधनका बीच सेवा निरन्तरता दिने प्रयास गरिरहेका छन्।

    उनले अधिकांश उपकरण पुराना तथा जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै आवश्यक जगेडा पुर्जाको अभाव तथा मर्मतसम्भारमा आएको अवरोधका कारण नियमित सेवा प्रवाहमा थप कठिनाइ भइरहेको बताएका छन् । उनका अनुसार जारी द्वन्द्वका क्रममा गाजामा रहेका सबै चुम्बकीय अनुनाद स्क्यान उपकरण नष्ट भएपछि उक्त सेवा पूर्ण रूपमा बन्द भएको छ।

    साथै, गणनात्मक स्क्यान, विकिरण स्क्यान तथा जटिल शल्यक्रियामा प्रयोग हुने अन्य महत्वपूर्ण उपकरणहरूको ठूलो हिस्सा पनि सञ्चालनबाहिर रहेको जनाइएको छ। उपलब्ध विवरणअनुसार द्वन्द्वअघि रहेका उपकरणमध्ये ठूलो भाग क्षतिग्रस्त वा निष्क्रिय अवस्थामा पुगेको छ, जसका कारण आपत्कालीन अवस्था, गम्भीर घाइते तथा जटिल रोगका बिरामीहरूको समयमै परीक्षण तथा उपचारमा उल्लेखनीय कठिनाइ भएको छ।

    यस अवस्थाले अस्पतालहरूको दैनिक कार्यप्रणाली, विशेषगरी आकस्मिक उपचार र शल्यक्रियाका निर्णय प्रक्रियामा प्रत्यक्ष असर पारेको उनले उल्लेख गरेका छन् । साथै, स्वास्थ्य सेवा निरन्तरता सुनिश्चित गर्न आवश्यक मानवीय सहायता, प्राविधिक सहयोग तथा उपकरण मर्मतका लागि आवश्यक सामग्री उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग विनम्रतापूर्वक आग्रह गरिएको छ।

  • चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

    चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

    झापा, ७ जेठ । झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुने गरेका छन् । यहाँ गोमन, करेत, भाइपर र गुर्बे जस्ता यस क्षेत्रमा बर्सेनि सयौँ नागरिक बिरामी हुने गरेका छन् । नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीय समुदायको व्यवस्थापनमा सञ्चालित उक्त केन्द्र पीडितका लागि भरोसा बन्न थालेको हो । विसं २०६१ मा स्थापना भएको यस केन्द्रबाट हालसम्ममा २१ हजार ७८६ जनाले उपचार सेवा लिइसकेका छन् ।

    केन्द्र सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईका अनुसार पछिल्लो चार वर्षमा नेपाली सेनाको अरिदमन गणस्थित यस केन्द्रमा तीन हजार ८०० जनाले उपचार गराएका छन् । गत वैशाखमा मात्रै यहाँ सर्पले डसेका ४७ जना बिरामीको उपचार गरिएको छ । २१ शय्या क्षमताको यस केन्द्रमा चार जना प्राविधिक कार्यरत छन् । यहाँ उपचार गराइरहेका बिरामीलाई थप जटिलता आएमा भद्रपुरस्थित प्रादेशिक अस्पतालले आवश्यकताअनुसार निःशुल्क सघन उपचार कक्ष (आइसियू) सेवा उपलब्ध गराउँदै आएको छ ।

    केही वर्षयता तराईमा मात्र नभई इलाम, पाँचथरलगायत पहाडी जिल्लामा समेत सर्पदंशका घटना बढ्दै गएका छन् । नेपालमा पाइने ८९ प्रजातिका सर्पमध्ये १७ प्रजाति विषालु छन्, जसमा सबैभन्दा बढी विषालु गोमनका तीन प्रजाति पर्दछन् । पहिले तराईमा मात्रै सीमित गोमन सर्प अचेल पहाडी भूभागमा समेत देखिन थालेको छ । खानेपानीको पाइप, काठ तथा अन्य सामग्रीमा बेरिएर बसेका तराईका सर्पहरू मालवाहक ट्रक तथा अन्य सवारीसाधनमार्फत पहाड पुग्ने गरेको केन्द्रका अध्यक्ष भट्टराईले बताए । पहाडी क्षेत्रमा भने विशेष गरी ‘गुर्बे’ नामक सर्पको बिगबिगी छ ।

    उनका अनुसार गोमनले डस्दा मानव शरीरमा २०० मिलिग्रामसम्म विष फैलाउन सक्ने क्षमता हुन्छ । करेतले १२ मिलिग्रामसम्म विष फाल्न सक्छ । गोमन वा करेतको १२ मिलिग्राम विष मात्रै शरीरमा प्रवेश गरे पनि मानिस बेहोस हुने हुन्छ । गुर्बे र हरेउले १५० मिलिग्रामसम्म विष फाल्न सक्छन् । तराईमा गोमन, करेत र भाइपरको टोकाइ ज्यानमारा हुने गर्दछ भने पहाडको गुर्बेले मानिसलाई गम्भीर बिरामी तुल्याउँछ ।

    प्राविधिकहरूका अनुसार गोमन र करेत जस्ता विषालु सर्प घर वरपरको घाँस, पतकर, दुलो, ओछ्यान, बाकस र झोलाहरूमा लुकेर बस्ने गर्छन् । असावधानीवश छुँदा वा टेक्दा सर्पले डस्ने गरेका छन् । यस्तै, पहाडमा पाइने गुर्बे सर्प भने घाँसमा बेरिएर बस्ने भएकाले घाँस दाउरा गर्न जाने स्थानीय बढी निशानामा पर्ने गरेका छन् । अध्यक्ष भट्टराईले सर्पले डसेका बिरामीलाई धामीझाँक्री वा झारफुकको भ्रममा पारेर समय बर्बाद नगर्न आग्रह गरेका छन् । सर्पदंश भएका व्यक्तिलाई जतिसक्दो चाँडो चारआली सर्पदंश उपचार केन्द्र वा नजिकैको अस्पताल पुर्याउन सके अकाल मृत्युबाट जोगाउन सकिने उनको भनाइ छ ।