Category: स्वास्थ्य

  • बालबालिकामा कुपोषण बढ्यो

    बालबालिकामा कुपोषण बढ्यो

    काठमाडौँ, ७ जेठः सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ मा कुपोषण हुने बालबालिकाको सङ्ख्या बढेको पाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता सञ्चालन गरेको अभियानमा बालबालिकामा विगतको भन्दा बढी सङ्ख्यामा कुपोषण देखिएको हो । स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतभन्दा यसपटक कुपोषणको भएका बालबालिकाको सङ्ख्या बढेको बताए । उनका अनुसार कडा शीघ्र कुपोषण चार प्रतिशत बालबालिकालाई देखिएको छ । यसअघि उक्त सङ्ख्या एक प्रतिशतमा रहेको थियो ।

    “यसपटक हामीले देशभरि नै अभियान सञ्चालन गरेकाले कडा शीध्र कुपोषणका बालबालिकालाई धेरै देखिएको हो”, शाखा प्रमुख थापाले भने, “पहिले हामी प्रदेशमा मात्र कुपोषणको अवस्था पत्ता लगाउने गर्दथ्यौँ र कम देखिएका हुन् ।” उनका अनुसार कडा शीघ्र कुपोषण कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा बढी देखिएका छन् । कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे र करङ देखिने खालको हुने गर्दछन् ।

    कडा शीघ्र कुषोषण लागेका बालबालिकालाई ‘तयारी उपचारात्मक खाना’ दिने र उक्त तयारी खाना खाएपछि बालबालिकालाई स्वस्थ्य हुने उनको भनाइ छ । तयारी खाना दिँदा पनि पहिलेको अवस्थामा नआएका बालबालिकालाई देशतिर २५ वटा पुनःस्थापना केन्द्रमा आमा र बच्चा दुवैलाई राखेर दैनिक रूपमा हेरेर तयारी खाना खुवाइने थापाले बताए । यसैगरी, मध्यम कुपोषण १२ प्रतिशत बालबालिकामा देखिएको छ । मध्यम शीघ्र कुपोषण भएका बालबालिका दुब्लाउने, उमेरअनुसार तौल नहुने तथा लुरे हुने गर्दछन ।

    अभियान जेठसम्म

    शाखा प्रमुख थापाका अनुसार साधनस्रोतको कमीले जेठ महिनासम्म अभियान सञ्चालन गरिने छ । सरकारले पोषण पत्ता लगाउन पहिलो पटक गत वैशाख १५ देखि ३० गतेसम्म अभियान सञ्चालन गरेको थियो । बालबालिकाको उचाइ र तौल लिने उपकरणको अभावमा सबै पालिकामा अभियान सञ्चालन गर्न नसकिएकाले जेठ महिनासम्म अभियान विस्तार गरिएको हो ।

    अर्को वर्षदेखि यसलाई कार्यक्रमका रूपमा राखिने जानकारी दिए । सरकारले छ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकाको पोषण अवस्था जाँच गरी शीघ्र कुपोषणको समयमै पहिचान र उपचार गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको हो । यस अभियानअन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्थामार्फत बालबालिकाको पाखुराको मध्य भागको घेरा नापेर पोषणको स्थिति पत्ता लगाउने गरिएको छ ।

  • ‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम नेपालमा न्यून

    ‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम नेपालमा न्यून

    काठमाडौँ, ६ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टाभाइरस सङ्क्रमणको जोखिम न्यून रहेको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हान्टाभाइरस समूहको ‘एन्डिज भाइरस’बाट सङ्क्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टाभाइरसको जोखिम अत्यन्त न्यून रहेको बताए । उनका अनुसार नेपालमा हान्टाभाइरस सङ्क्रमणको अझै पुष्टि भएको छैन । यो एक प्रकारको दूर्लभ भाइरस हो ।

    यो भाइरस मुख्यतः सङ्क्रमित मुसाको पिसाब, दिसा र ¥यालबाट मानिसमा सर्ने गर्दछ । तर वैज्ञानिक अध्ययन अनुसार मानिसबाट मानिसमा सङ्क्रमण सीमित अवस्थामा मात्र सम्भव हुने र सामान्यतया अत्यन्त नजिकको सम्पर्कमा मात्र सर्ने सम्भावना रहेको हुन्छ । मन्त्रालयले अफवाहको पछि नलाग्न तथा अनावश्यक आतङ्क सिर्जना नगर्न सबैमा अनुरोध गरेको छ । साथै मन्त्रालय तथा आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ ।

    त्यसैगरी, मन्त्रालयले हान्टाभाइरस सङ्क्रमणको सावधानी अपनाउन समेत अनुरोध गरेको छ । मन्त्रालयले घर तथा वरपरको वातावरण सफा गर्न, मुसा प्रवेश गर्ने सम्भावित स्थान बन्द गर्न, मुसाको फोहोर सफा गर्दा मास्क तथा पञ्जा प्रयोग गर्न, हात साबुनपानीले नियमित धुने बानी गर्न, ज्वरो, श्वासप्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।

  • विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    किन्शासा, ५ जेठ (रासस–एएफपी) । कङ्गो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको घातक इबोला सङ्क्रमणले अन्तर्राष्ट्रिय चिन्ता बढाएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आइतबार ‘विश्वव्यापी सार्वजनिक स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको छ । हालसम्म ८० भन्दा बढीको ज्यान लिइसकेको यो प्रकोप सीमापार फैलिन सक्ने जोखिम बढ्दै जाँदा विश्व स्वास्थ्य क्षेत्र पुनः उच्च सतर्कतामा पुगेको हो ।

    अझ चिन्ताजनक पक्ष, फैलिएको ‘बुन्डिबुग्यो’ प्रकारको इबोलाविरुद्ध अहिलेसम्म कुनै प्रभावकारी खोप उपलब्ध छैन । रुवान्डा समर्थित एम२३ विद्रोही समूहको नियन्त्रणमा रहेको पूर्वी कङ्गोको प्रमुख सहर गोमामा सङ्क्रमण पुष्टि भएपछि अवस्था थप संवेदनशील बनेको छ । अत्यधिक जनघनत्व भएको गोमामा सङ्क्रमण देखिएसँगै यो प्रकोप कङ्गोभित्र सीमित नरही क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सङ्कटमा रूपान्तरण हुन सक्ने चेतावनी स्वास्थ्य निकायहरूले दिएका छन् ।

    अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ वटा शङ्कास्पद सङ्क्रमणका घटना दर्ता भएका छन् । सङ्क्रमणको वास्तविक दायरा अझै स्पष्ट नभएको भन्दै अधिकारीहरूले सङ्क्रमितको सङ्ख्या अझ धेरै हुन सक्ने अनुमान गरेका छन् । कङ्गोको राष्ट्रिय जैविक अनुसन्धान संस्थानका निर्देशक प्राध्यापक जीन–ज्याक मुयेम्बेले एएफपीसँग कुरा गर्दै गोमामा एउटा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार सङ्क्रमित महिला बुनियामा इबोलाबाट मृत्यु भएका पुरुषकी पत्नी हुन् । पतिमा सङ्क्रमण पुष्टि भएपछि उनी गोमा पुगेकी थिइन्, जहाँ परीक्षणपछि उनमा पनि सङ्क्रमण पुष्टि भएको हो ।

    विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सङ्क्रमण तीव्र रूपमा फैलिरहेको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यो अवस्थालाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कटकाल’ घोषणा गरिएको बताए । यद्यपि उनले हालको अवस्थाले अझै पूर्ण ‘महामारी’ को स्तर भने नपुगेको स्पष्ट पारे । जेनेभास्थित विश्व स्वास्थ्य सङ्गठनले अहिले आफ्नो दोस्रो उच्च सतर्कता लागू गरेको छ । सङ्गठनका अनुसार सङ्क्रमित व्यक्तिको वास्तविक सङ्ख्या र सङ्क्रमण फैलिएको भौगोलिक क्षेत्रबारे अझै ठूलो अनिश्चितता कायम छ ।

    चिकित्सा सहायता संस्था ‘डाक्टर्स विदआउट बोर्डर्स’ अर्थात् एमएसएफले सङ्क्रमणको फैलावटलाई ‘अत्यन्त चिन्ताजनक’ भन्दै ठूलो स्तरको स्वास्थ्य प्रतिकार योजना अघि बढाइरहेको जनाएको छ । कङ्गोका स्वास्थ्यमन्त्री सामुएल–रोजर कम्बाका अनुसार यो प्रकोप निम्त्याउने बुन्डिबुग्यो प्रकारको इबोलामा मृत्युदर अत्यन्त उच्च छ, जुन ५० प्रतिशतसम्म पुग्न सक्छ । यो प्रकार पहिलो पटक सन् २००७ मा पहिचान गरिएको थियो ।

    अधिकारीहरूका अनुसार यही सङ्क्रमणले छिमेकी युगान्डामा पनि एक कङ्गोली नागरिकको ज्यान लिइसकेको छ । सङ्क्रमण फैलिन सक्ने जोखिम बढेपछि युगान्डाले आइतबार वार्षिक शहीद दिवस तीर्थयात्रा स्थगित गर्ने घोषणा गरेको छ । उक्त धार्मिक कार्यक्रममा सामान्यतया पूर्वी कङ्गोबाट हजारौँ श्रद्धालु सहभागी हुने गर्दछन् । हाल उपलब्ध इबोला खोपहरू भने केवल ‘जाइर’ प्रकारको भाइरसविरुद्ध मात्र प्रभावकारी मानिन्छन् । सन् १९७६ मा पहिचान गरिएको उक्त प्रकारको इबोलामा मृत्युदर ६० देखि ९० प्रतिशतसम्म पुग्ने गरेको छ ।

    अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार पछिल्लो सङ्क्रमण पहिलो पटक उत्तरपूर्वी कङ्गोको इटुरी प्रान्तमा पुष्टि भएको थियो । युगान्डा र दक्षिण सुडानको सीमासँग जोडिएको यो क्षेत्र अहिले सङ्क्रमणको मुख्य केन्द्र बनेको छ । स्वास्थ्यमन्त्री कम्बाका अनुसार पहिलो सङ्क्रमित एक नर्स थिइन्, जसले अप्रिल २४ मा इटुरी प्रान्तको राजधानी बुनियास्थित स्वास्थ्य केन्द्रमा ज्वरो, रक्तस्राव र बान्ताजस्ता लक्षणसहित उपचारका लागि सम्पर्क गरेकी थिइन् । पछि परीक्षण गर्दा उनमा इबोला सङ्क्रमण पुष्टि भएको थियो ।

    इबोलाका मुख्य लक्षणमा उच्च ज्वरो, शरीरभित्र तथा बाहिरी रक्तस्राव, कमजोरी, वान्ता र अङ्ग विफलता समावेश छन् । सङ्क्रमित व्यक्ति लक्षण देखिएपछि मात्र अरूमा सङ्क्रमण फैलाउन सक्षम हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । भाइरस सङ्क्रमित व्यक्तिको रगत वा शारीरिक तरल पदार्थको सम्पर्कबाट सर्ने गर्दछ । यसको इन्क्युबेसन अवधि २१ दिनसम्म हुन सक्छ ।

    फ्रान्सभन्दा चार गुणा ठूलो भूभागमा फैलिएको कङ्गोमा कमजोर यातायात र सञ्चार पूर्वाधारका कारण स्वास्थ्य सामग्री तथा चिकित्सक परिचालन ठूलो चुनौती बनेको छ । दुर्गम क्षेत्रमा सङ्क्रमण केन्द्रित भएकाले धेरै नमूनाको परीक्षणसमेत हुन सकेको छैन । तर विश्व स्वास्थ्य सङ्गठनले प्रारम्भिक परीक्षणमा उच्च दरमा सङ्क्रमण पुष्टि भइरहेको, दुई देशमा सङ्क्रमण फैलिसकेको तथा शङ्कास्पद घटनाहरू निरन्तर बढिरहेकाले अहिले देखिएकोभन्दा धेरै ठूलो प्रकोप हुन सक्ने चेतावनी दिएको छ । सङ्गठनले यसबाट स्थानीय मात्र नभई, क्षेत्रीय र विश्वव्यापी जोखिम उत्पन्न हुन सक्ने जनाएको छ ।

    कङ्गोमा यसअघि पनि इबोलाका धेरै प्रकोप देखिएका छन् । यो देशमा पुष्टि भएको यो १७औँ इबोला प्रकोप हो । गत वर्ष अगस्टमा देखिएको अर्को प्रकोप डिसेम्बरमा नियन्त्रणमा आएको घोषणा गरिए पनि त्यस क्रममा कम्तीमा ३४ जनाको मृत्यु भएको थियो । पछिल्ला ५० वर्षमा इबोलाले अफ्रिकामा करिब १५ हजार मानिसको ज्यान लिइसकेको छ । सन् २०१८ देखि २०२० सम्म कङ्गोमा फैलिएको सबैभन्दा घातक प्रकोपमा मात्रै झण्डै दुई हजार ३०० जनाको मृत्यु भएको थियो ।

    चमेरोबाट उत्पत्ति भएको विश्वास गरिने इबोलाले शरीरमा गम्भीर रक्तस्राव, अङ्ग विफलता तथा तीव्र शारीरिक क्षति पुर्‍याउँछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विभिन्न प्रकोपमा यसको मृत्युदर २५ प्रतिशतदेखि ९० प्रतिशतसम्म पुगेको देखिएको छ ।

  • स्वास्थ्य सङ्कटबीच डब्लुएचओ बैठक

    स्वास्थ्य सङ्कटबीच डब्लुएचओ बैठक

    जेनेभा, ५ जेठ (रासस–एएफपी) । घातक हान्ता भाइरस र इबोला सङ्क्रमणको नयाँ चुनौतीसँग जुधिरहेको विश्व स्वास्थ्य क्षेत्र अहिले अर्को जटिल मोडमा पुगेको छ । अमेरिका र अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० बाट बाहिरिने घोषणा गरेपछि उत्पन्न अनिश्चितताका बीच सदस्य राष्ट्रहरू सोमबार जेनेभामा वार्षिक विश्व स्वास्थ्य सभाका लागि भेला भएका छन् । विश्वव्यापी स्वास्थ्य संयन्त्रको भविष्य, महामारी तयारी र सङ्गठनको वित्तीय स्थायित्व यसपटकको बैठकका प्रमुख चिन्ताका विषय बनेका छन् ।

    विश्व स्वास्थ्य सङ्गठनको निर्णय गर्ने सर्वोच्च निकायका रूपमा रहेको यो वार्षिक सभा शनिबारसम्म सञ्चालन हुनेछ । तर यस वर्षको बैठक नियमित स्वास्थ्य एजेन्डाभन्दा धेरै फरक र संवेदनशील विषयहरूले प्रभावित बनेको छ । विश्वव्यापी ध्यान तानेको क्रुज जहाजमा फैलिएको दुर्लभ हान्ता भाइरसको सङ्क्रमण औपचारिक एजेन्डामा नरहे पनि बैठकका अधिकांश छलफलमा यसको प्रभाव देखिने अपेक्षा गरिएको छ । त्यस्तै, कङ्गो लोकतान्त्रिक गणतन्त्रमा पुनः देखिएको इबोला सङ्क्रमणले पनि सदस्य राष्ट्रहरूको चिन्ता बढाएको छ ।

    कूटनीतिक स्रोतहरूका अनुसार डब्लुएचओले यस्ता महामारी र स्वास्थ्य सङ्कटलाई विश्वव्यापी सहकार्य तथा संस्थागत समर्थनको आवश्यकता देखाउने अवसरका रूपमा प्रयोग गर्ने सम्भावना छ । एक कूटनीतिक स्रोतले नाम नखुलाउने सर्तमा एएफपीसँग कुरा गर्दै अमेरिका र अर्जेन्टिनालाई सङ्गठन नछाड्न दबाब सिर्जना गर्न यस्ता सङ्कटले भूमिका खेल्न सक्ने सङ्केत गर्‍यो ।

    विश्व स्वास्थ्य सङ्गठनका लागि पछिल्लो वर्ष अत्यन्त चुनौतीपूर्ण रह्यो । अमेरिकी फिर्ती घोषणासँगै वित्तीय सहयोग कटौती भएपछि संस्थाले बजेट घटाउनुका साथै कर्मचारी सङ्ख्या पनि कम गर्नुपरेको थियो । त्यसले विश्वव्यापी स्वास्थ्य कार्यक्रमहरूमा प्रत्यक्ष असर पारेको थियो । यद्यपि डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले अप्रिल अन्त्यमा संस्थाले अहिले स्थायित्वतर्फ फर्कँदै अगाडि बढिरहेको दाबी गरे । उनका अनुसार सङ्गठनले कठिन अवस्थाबीच पनि आवश्यक कार्यलाई निरन्तरता दिन सक्ने अवस्था बनाएको छ ।

    कूटनीतिज्ञ र स्वास्थ्य क्षेत्रका पर्यवेक्षकहरूले पनि अहिलेको अवस्था अझै संवेदनशील भए पनि डब्लुएचओले आगामी दुई वर्षका लागि आवश्यक अधिकांश स्रोत जुटाउन सफल भएको बताएका छन् । जेनेभास्थित ग्राजुएट इन्स्टिच्युटको विश्व स्वास्थ्य केन्द्रकी सह–निर्देशक सुरी मुनले हान्ता भाइरस सङ्कटले प्रभावकारी, निष्पक्ष र पर्याप्त वित्तीय स्रोत भएको विश्व स्वास्थ्य सङ्गठन किन आवश्यक छ भन्ने कुरा फेरि स्पष्ट पारेको बताए ।


    तर संस्थाभित्रका विभाजनहरू भने अझै कायम छन् । विशेषगरी धनी र विकासशील राष्ट्रबीचको मतभेदले सन् २०२५ मा पारित ऐतिहासिक महामारी सन्धिको महत्त्वपूर्ण अधुरो पक्षमा सहमति जुट्न सकेको छैन । त्यससम्बन्धी वार्ता अब अर्को वर्षसम्म लम्बिने अपेक्षा गरिएको छ । अमेरिका र अर्जेन्टिनाको फिर्ती घोषणाले पनि बैठकमा विशेष चासो पाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०२५ मा कार्यकाल सुरु गरेको पहिलो दिन नै अमेरिकालाई डब्लुएचओबाट बाहिर निकाल्ने सूचना दिनुभएको थियो । त्यसको केही समयपछि अर्जेन्टिनाले पनि त्यही बाटो अपनाएको थियो ।


    यद्यपि डब्लुएचओको संविधानमा सदस्य राष्ट्र बाहिरिने स्पष्ट व्यवस्था नरहेकाले संस्थाले अहिलेसम्म ती फिर्तीलाई औपचारिक रूपमा स्वीकार गरेको छैन । अमेरिका सन् १९४८ मा डब्लुएचओमा आबद्ध हुँदा एक वर्षअघि सूचना दिएर र बाँकी वित्तीय दायित्व पूरा गरेर बाहिरिन सक्ने अधिकार सुरक्षित राखिएको थियो । तर सूचना अवधिको समय सकिँदासमेत वासिङ्टनले २०२४ र २०२५ का लागि तिर्न बाँकी करिब २६ करोड अमेरिकी डलर बुझाएको छैन । यसले अमेरिकाको कानूनी स्थिति अझ अन्योलपूर्ण बनाएको छ ।

    यसैबीच जनवरीमा बसेको डब्लुएचओ कार्यकारी बोर्ड बैठकमा इजरायलले अर्जेन्टिनाको फिर्तीलाई अनुमोदन गर्ने प्रस्ताव पेश गरेको थियो । त्यस विषयमा अहिलेको सभामा छलफल हुन सक्ने अनुमान गरिएको छ । तर अमेरिकाको बहिर्गमनबारे भने औपचारिक रूपमा कुनै प्रस्ताव अघि सारिएको छैन । कूटनीतिज्ञहरूका अनुसार धेरै देश अहिले अमेरिकाको स्थिति अस्पष्ट नै रहन दिन इच्छुक देखिएका छन् । एक युरोपेली कूटनीतिज्ञले नाम नखुलाउने सर्तमा अमेरिका चुपचाप संस्थाबाट अलग हुने अवस्था बनोस् भन्ने अपेक्षा रहेको बताए ।


    यसपटकको सभा अर्को महत्त्वपूर्ण कारणले पनि चासोको केन्द्रमा छ । आगामी वर्ष डब्लुएचओको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुँदैछ । अहिलेसम्म कसैले उम्मेदवारी घोषणा नगरे पनि सेप्टेम्बर २४ को मनोनयन समयसीमाअघि यसै साताभित्र केही नाम सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ । बैठकमा युक्रेन, प्यालेस्टिनी भूभाग र इरानसँग सम्बन्धित संवेदनशील प्रस्तावहरू पनि प्रस्तुत हुने भएका छन् ।

    ती विषयमा सदस्य राष्ट्रबीच चर्को बहस हुन सक्ने अनुमान गरिएको छ । यस वर्षको सभाको मुख्य केन्द्र भने विश्व स्वास्थ्य संरचनाको पुनर्गठन बन्ने देखिएको छ । विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य निकायबीचको समन्वय अभाव, कार्य दोहोरिने प्रवृत्ति र जिम्मेवारीको अस्पष्टतालाई सुधार गर्ने औपचारिक प्रक्रिया सुरु गर्ने कि नगर्ने भन्ने विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ ।

    महामारी तयारी तथा प्रतिकारसम्बन्धी स्वतन्त्र प्यानलकी सह–अध्यक्ष तथा न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले विश्वव्यापी र क्षेत्रीय तहमा कुन काम कसरी प्रभावकारी रूपमा गर्न सकिन्छ भन्नेबारे स्पष्ट जिम्मेवारी निर्धारण आवश्यक रहेको बताए । क्यानाडाकी स्वास्थ्यमन्त्री मार्जोरी मिचेलले पनि प्रमुख सदस्य राष्ट्रहरूको बहिर्गमनले डब्लुएचओलाई आफ्ना सदस्य राष्ट्रसँग रणनीति पुनरावलोकन गर्ने अवसर प्रदान गरेको बताइन् । अन्तर्राष्ट्रिय सहायता कोष घट्दै गएको अवस्थामा जलवायु परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य अधिकारजस्ता विवादास्पद मानिएका विषयहरू उपेक्षामा नपरोस् भन्ने विषयमा पनि सदस्य राष्ट्रहरू सचेत देखिएका छन् ।

    एक कूटनीतिक स्रोतका अनुसार स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न निकायबीच राम्रो समन्वय सुनिश्चित गर्दै कुनै समुदाय वा स्वास्थ्य कार्यक्रम पछाडि नछुटोस् भन्ने उद्देश्यसहित सुधार प्रक्रिया अघि बढाउन खोजिएको हो । तर ‘नलेज इकोलोजी इन्टरनेसनल’ नामक गैरसरकारी संस्थाका थिरु बालासुब्रमण्यमले डब्लुएचओले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी केही गतिविधि पहिले नै सीमित बनाउन थालेको आरोप लगाए । उनका अनुसार वित्तीय सङ्कट गहिरिँदै जाँदा कतिपय संवेदनशील स्वास्थ्य कार्यक्रमहरू प्रभावित हुन थालेका छन् ।

  • क्यानडामा पहिलो हान्ताभाइरस सङ्क्रमण पुष्टि, क्रुज जहाजमा तीन जनाको मृत्यु

    क्यानडामा पहिलो हान्ताभाइरस सङ्क्रमण पुष्टि, क्रुज जहाजमा तीन जनाको मृत्यु

    ओटावा, ४ जेठ (रासस–सिन्ह्वा) । क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पीएचएसी) ले हान्ताभाइरसको पहिलो पुष्टि भएको सङ्क्रमण फेला परेको जनाएको छ । सङ्क्रमित व्यक्ति हाल ब्रिटिश कोलम्बियामा आइसोलेसनमा रहेका एक क्रुज यात्रु हुन् । पीएचएसीले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, ब्रिटिश कोलम्बियाबाट संकलन गरिएका नमूनाहरू पुष्टि परीक्षणका लागि विनिपेगस्थित राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालामा पठाइएको थियो ।

    प्रयोगशाला परीक्षणपछि एक व्यक्तिमा शनिबार हान्ताभाइरस संक्रमण पुष्टि भएको एजेन्सीले जनाएको छ । सङ्क्रमित व्यक्तिसँगै यात्रा गरेका अर्का व्यक्तिको परीक्षण भने नेगेटिभ आएको छ । हालसम्म थप सङ्क्रमित फेला नपरेको जनाइएको छ । पीएचएसीका अनुसार, उच्च जोखिममा रहेका सम्पर्कहरू आइसोलेसनमा छन् र स्थानीय स्वास्थ्य अधिकारीहरूले उनीहरूको निरन्तर निगरानी गरिरहेका छन् । साथै, क्यानडाको सर्वसाधारण जनतामा हालका लागि संक्रमणको जोखिम कम रहेको एजेन्सीले स्पष्ट पारेको छ ।

    यो सङ्क्रमण ध्रुवीय क्षेत्रमा भ्रमण गर्ने ‘एमभी होन्डियस’ नामक अभियानात्मक क्रुज जहाजमा देखिएको हो । यस प्रकोपका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको बताइएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार, हान्ताभाइरसको इन्क्युबेशन अवधि सामान्यतया एकदेखि आठ सातासम्म हुन सक्छ ।

    यो भाइरस प्रायः संक्रमित मुसा वा अन्य कृन्तक जनावरको पिसाब, दिसा वा र्‍यालसँग सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्दछ । हान्ताभाइरस संक्रमणले ज्वरो, टाउको दुखाइ, मांसपेशी दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका गम्भीर लक्षण निम्त्याउन सक्छ । गम्भीर अवस्थामा यसले फोक्सो र मुटुमा असर पुर्‍याएर ज्यानसमेत लिन सक्छ ।

  • कङ्गो र युगान्डामा इबोला फैलिँदै, ८८ जनाको मृत्यु

    कङ्गो र युगान्डामा इबोला फैलिँदै, ८८ जनाको मृत्यु

    अबुजा, ५ जेठ (रासस–एपी) । विश्व स्वास्थ्य सङ्गठनले कङ्गो र छिमेकी युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । दुर्लभ भाइरसका कारण फैलिएको यस प्रकोपमा हालसम्म ३०० भन्दा बढी शङ्कास्पद सङ्क्रमण र ८८ जनाको मृत्यु भइसकेको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, यो प्रकोप हालको अवस्थामा कोरोना महामारीजस्तो विश्वव्यापी महामारीको स्तरमा नपुगेको भए पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ्दै गएको छ । सङ्गठनले देशहरूलाई अन्तर्राष्ट्रिय सीमा बन्द नगर्न पनि आग्रह गरेको छ ।

    सङ्गठनले कङ्गोको राजधानी किन्शासामा समेत प्रयोगशालाबाट पुष्टि भएको इबोला सङ्क्रमण भेटिएको जनाएको छ । किन्शासा, प्रकोपको केन्द्र मानिएको पूर्वी इतुरी प्रान्तबाट करिब एक हजार किलोमिटर टाढा पर्छ । सङ्क्रमित व्यक्ति इतुरीबाट यात्रा गरेर आएको बताइएको छ । उत्तरी किभु प्रान्तमा पनि शङ्कास्पद बिरामीहरू फेला परेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । उक्त क्षेत्र कङ्गोको अत्यधिक जनसङ्ख्या भएको क्षेत्रमध्ये एक हो र इतुरीसँग सीमा जोडिएको छ ।

    पूर्वी कङ्गोको सबैभन्दा ठूलो शहर गोमामा पनि पहिलो इबोला सङ्क्रमण पुष्टि भएको स्थानीय प्रशासनले जनाएको छ । सङ्क्रमित व्यक्ति इतुरीबाट आएको र हाल आइसोलेसनमा राखिएको बताइएको छ । गोमा शहर सन् २०२५ मा विद्रोही समूहहरूको तीव्र आक्रमणको केन्द्र बनेको थियो । कङ्गो सरकार र रुवाण्डा समर्थित एम–२३ विद्रोही समूहबीचको द्वन्द्वका कारण लाखौँ मानिस विस्थापित भएका छन् ।

    इबोला अत्यन्त सङ्क्रामक रोग मानिन्छ । सङ्क्रमित व्यक्तिको रगत, बान्ता, वीर्य तथा अन्य शारीरिक तरल पदार्थमार्फत यो भाइरस सर्ने गर्दछ । यो रोग दुर्लभ भए पनि गम्भीर र प्रायः घातक हुने चिकित्सकहरूले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनको आपत्काल घोषणाले अन्तर्राष्ट्रिय सहायता निकाय र विभिन्न देशहरूलाई तत्काल सहयोग र समन्वयका लागि दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

    अफ्रिकास्थित विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय कार्यालयले ३५ जना विशेषज्ञहरूको टोली इतुरी प्रान्तको राजधानी बुनियामा पुगेको जनाएको छ । टोलीसँग सात टन आपत्कालीन औषधि तथा स्वास्थ्य सामग्री पनि पठाइएको छ । यसअघि पनि अफ्रिकामा विभिन्न संक्रामक रोग फैलिँदा विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । तर आवश्यक खोप, परीक्षण सामग्री र औषधि प्रभावित देशहरूमा समयमै नपुगेको भन्दै आलोचना हुने गरेको छ ।

  • झापामा आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग

    झापामा आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग

    रासस
    झापा, ५ जेठः चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिम देखिने खतरा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल आयोडिनविहीन नुन बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले नेपाल भारत खुला सीमाका कारण यहाँका व्यापारिक ‘सुपर मार्केट’ तथा खाद्यन्न पसलमा आयोडिनविहीन भारतीय नुन खुलमखुला बिक्री वितरण भइराखेकामा चिन्ता व्यक्त गर्दै आम उपभोक्ताको स्वास्थ्यमा असर पु¥याउन यस्ता नुनलाई बजार अनुगमन गरेर जफतसमेत गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन् ।

    अर्कोतर्फ सरकारले नुन बिक्री वितरणमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बजारमा मापदण्ड एवं गुणस्तरअनुसार आयोडिनको मात्रा नभएको नुन बिक्रीवितरण हुँदा भविष्यमा आयोडिनको कमीले हुने स्वास्थ्य समस्या जटिल रूपमा देखिने खतरा बढेको उनीहरुको तर्क छ । बालरोग विशेषज्ञ डा टङ्क बह्राराकोटीले आयोडिनविहीन नुनको प्रयोग बढ्ने हो भने विशेष गरेर बालबालिका तथा गर्भवतीको स्वास्थ्य जोखिममा पर्न सक्ने औँल्याए । राष्ट्रिय उपभोक्ता मञ्चद्वारा सोमबार यहाँ आयोजित ‘बजारमा उपलब्ध नुनको गुणस्तर र यसको उपभोगबाट हुनसक्ने स्वास्थ्यसम्बन्धी’कार्यक्रममा उनले भने, “आयोडिनविहीन नुनको प्रयोग बढ्ने हो भने आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिम देखिन सक्छ । यसलाई गम्भीरतापूर्वक लिइनुपर्छ । तत्काल आयोडिनविहीन नुन बिक्री वितरणमा प्रतिबन्ध लगाइनुपर्छ । ”

    श्रीलङ्काले हाल आयोडिनविहीन नुनले उत्पन्न गरेको जनस्वास्थ्य समस्या भोगिरहेका छ । यस्तो नियति नेपालमा आउन दिन नहुने उनको तर्क छ । सरकारले २०८२ साल साउन १ गतेदेखि निजी क्षेत्रलाई आयोडिनयुक्त नुन उत्पादन तथा बिक्रीवितरण गर्न बाटो खुलाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँले गत वैशाख ४ गते मात्र ‘हिमालयन पिङ्क रक साल्ट’को गुणस्तर परीक्षण गर्दा आयोडिनको मात्रा नभेटिएको ‘रिपोर्ट’ सार्वजनिक समेत गरेको जनाइएको छ ।

    यहाँका बजारमा ‘ब्लाक साल्ट’ नामका भारतीय गुणस्तरहीन र मापदण्डविपरीतका नुन खुला बिक्री वितरण हुँदै भएका छन् । भारतीय सरकारले नुनमा उत्पादन तहमा ३० पिपिएम र भान्सामा पुग्दा १५ पिपिएम निर्धारण गरेको छ । विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नेपाल सरकारले विसं २०५७ माघ २३ देखि आयोडिनयुक्त नुन उत्पादन तहमा ५० पिपिएम हुनुपर्ने, बिक्री गर्ने स्थानसम्म आइपुग्दा ३० पिपिएम र उपभोक्ताले प्रयोग गर्दासम्म अनिवार्य १५ पिपिएम हुनुपर्ने नियम कार्यान्वयन गरिरहेको छ । चिकित्सकका अनुसार आयोडिनयुक्त नुनमा जलांश अधिकतम छ प्रतिशत, सोडियम क्लोराइड न्यूनतम ९६ प्रतिशत, पानीमा नघुल्ने पदार्थ अधिकतम एक प्रतिशत हुनुपर्छ । यदि ९६ प्रतिशत सोडिमय नभएको अवस्थामा रक्तचापसम्बन्धी समस्या हुने गर्छ ।

    साधारण नुनका हकमा पनि जलांश, सोडियम क्लोराइड र अन्य घुलनशील पदार्थको सीमा सरकारले निर्धारण गरेको छ । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वअतिरिक्त सचिवसमेत रहनुभएका डा बह्राराकोटीका अनुसार ‘आयोडिन’ शरीरलाई दैनिकरूपमा नभई नहुने सूक्ष्म पोषक तत्व हो । नुनले थाइरोड ग्रन्थीबाट थाइरोेइड हर्मोनहरु निकाल्न मद्दत गर्दछ । शरीरको नियमित क्रियाको लागि जस्तै कोशिकाहरूको कार्य सुचारु राख्न, दिमागको वृद्धि र विकास गर्नजस्ता मुख्यमुख्य काममा सहयोग गर्दछ । शारीरिक र मानसिक विकासका लागि चाहिने हर्मोन उत्पादनका लागि पनि आयोडिनको आवश्यकता पर्दछ ।

    उनले भने, “बालबालिका तथा गर्भवतीलाई आयोडिन नुनको आवश्यकता पर्दछ । यस्तो अवस्थामा दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नुन सही मात्रा मिलाएर खानुपर्छ ।” सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्दै दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नुन मात्र खान आग्रह गर्दै आएको छ । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालका प्रमुख वृजकुमार दासले बालबालिकामा आयोडिनको कमी हुँदा मानसिक विकास राम्ररी नहुने, पढाइमा कमजोर हुने, सुस्त मनस्थिति, बोल्न नसक्ने, आँखा डेढो हुने र शारीरिक विकासमा पनि बाधा पुग्ने बताए ।

    उनले भने, “वयस्कमा आयोडिनको कमी भएमा गलगाँड आउने, थाइराइड, मानसिक, शारीरिक क्षमतामा कमीजस्ता असर देखिन्छन् । बालबालिकामा हुने न्यूरोलोजिकल क्रेटिनिज्मको मुख्य कारण आयोडिनको कमी नै हो । थाइराइडका क्यान्सर, प्रजनन क्षमतामा ह्रास, गर्भपतनजस्ता समस्या पनि देखिन सक्छ । यस्तो अवस्थालाई न्यून गर्न साल्ट ट्रेडिङ कर्पोरेशनको दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नुन मात्रा मिलाएर प्रयोगमा ल्याउनुपर्छ ।” जथाभावी नुनको प्रयोग नगर्न उनले आग्रह गर्दै आयोडिनको कमी हुँदा जनस्वास्थ्यमा समस्याको जोखिम देखिनसक्ने बताए ।
    कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईँले बजार अनुगमन गरेर स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने आयोडिनविहीन नुन बिक्रीवितरण गर्न नदिईने प्रतिवद्धता व्यक्त गरे । उनले भने, “दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नुन मात्र भान्सामा सही रुपमा प्रयोग गर्नलाई जनचेतना जगाउनुपर्छ ।”

    सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँले सीमानाकाका भन्सारबाट नुन आयातमा कडाइ र आयोडिनविहीन नुन बिक्रीवितरण रोक्न बजार अनुगमन गरिने जानकारी दिँदै यसका लागि उपभोक्ता स्वयं सचेत बन्नुपर्छ भने । अन्य प्रयोजनका लागि भनेर व्यापारीले भन्सारबाट नुन ल्याउने जनाइएको छ ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग झापाका प्रमुख सुवासचन्द्र ओस्तीले मानव शरीरलाई अति आवश्यक पर्ने सूक्ष्म पोषकतत्व आयोडिनयुक्त नुन भएकाले यसको प्रयोगका बारेमा सचेतना आवश्यक पर्ने जनाउँदै नुन आयातमा अनुमति नदिएको जानकारी दिए । उनले भने, “नुन आयातमा अनुमति नदिए पनि बजारमा आयोडिनविहीन नुन देखिन्छ । यसलाई निरुत्साहित गर्नुपर्छ ।”

    कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन कर्पोरशनका सहायक प्रबन्धक ब्रजेश झाले हालसम्म विषम अवस्थामा पनि नुनको आपूर्ति भेराखेको जानकारी दिए । उनका अनुसार गत आवमा कर्पोरेशनले दुई लाख १० हजार टन आयोडिनयुक्त नुन बिक्री वितरण गरेको थियो । अर्कोतर्फ कर्पोरेशनले नुन आपूर्तिमा तत्काल अवरोध आउन नदिन छ महिनासम्मलाई पुग्ने नुन आफ्ना गोदाममा मौज्दातमा राख्दै आएको छ । उनले भने, “सरकारको कार्यादेशअनुसार नै आयोडिनयुक्त नुनको नियमित आपूर्ति र वितरण हुँदै आएको छ ।”

    कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले आयोडिनयुक्त नुनको अर्को विकल्प नभएको चर्चा गर्दै तत्काल बजार अनुगमन गरेर आयोडिनविहीन नुन जफत गर्नुपर्छ भने । उनले भने, “नुनको विक्री वितरणमा निजी क्षेत्रलाई प्रवेश गराउँदा उपभोक्ताको स्वास्थ्यमा खेलवाड भयो । बजारमा आयोडिनविहीन नुन देखिन थाल्यो । यस्तो अवस्थालाई तत्काल रोक्नुपर्छ । ”

    पहुँच शतप्रतिशतः गलगाँडको समस्या शून्य

    पछिल्ला दशकका नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलताप्राप्त गरेको छ । सन् १९६५ भन्दा अघिसम्म दुई जनामध्ये एक जनालाई आयोडिनको कमीले हुने विभिन्न किसिमका रोग लाग्ने गर्दथ्यो । अनुसन्धानले ५५ प्रतिशत मानिसलाई गलगाँड भएको पुष्टि भएपछि सन् १९७३ देखि अनिवार्य रूपमा आयोडिन भएको नुनको आयात गर्न निर्देशन दिएको थियो ।

    विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी एवं हिमाली भू–भागका बहुसङ्ख्यक नागरिकले गलगाँड रोगको चरम समस्यालाई झेल्नुपर्दथ्यो । घाँटीको अघिल्लो भागमा गलगाँड ९डल्लो० नहुनुलाई अस्वाभाविक ठानिन्थ्यो । गलगाँडलाई एक प्रकारले सुन्दरताको प्रतीक मानिन्थ्यो । यस्तो विकृतिका विरुद्धमा सरकारले कण्ठरोग नियन्त्रण कार्यक्रममार्फत आयोडिनयुक्त नुनको वितरण अभियानलाई देशव्यापि सञ्चालन गरेपछि पछिल्लो दशकमा गलगाँडको समस्या शून्यमा झरेको छ ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो अध्ययन प्रतिवेदनका अनुसार आयोडिनयुक्त नुनको पहुँच लगभग शतप्रतिशत पुग्दा आयोडिनयुक्त नुनको कमीबाट देखिने गलगाँडको समस्या निवारण भएको हो । सरकारको आयोडिनयुक्त नुनको सर्वसुलभ पहुँच आम नागरिकसम्म पु¥याउने नीति र यस नीतिलाई कार्यान्वयन गर्ने साल्ट ट्रेडिङ कर्पोरेशनको चुस्त वितरण व्यवस्थापनका कारण ग्रामीण क्षेत्रमा गलगाँडको समस्या शून्यमा झरेको हो ।

    राष्ट्रिय योजना आयोगद्वारा गरिएको सो कार्यक्रमको ‘आन्तरिक मूल्याङ्कन प्रतिवेदन २०७३’ अनुसार दुर्गम क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेशनको चुस्त नुन वितरण प्रणालीका कारण कार्यक्रमले सफलता पाएको हो । दशकमा विशेष गरेर पहाडी एवं हिमाली क्षेत्रमा आयोडिनको कमीले हुने गलगाँड शून्यमा झरेको छ भने अन्य ‘हाइपरथाइरोइडिज्म’, मानसिक तथा शारीरिक क्षमतामा कमी आउने समस्यामा गिरावट हुँदै गएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७०÷०७१ देखि गत आर्थिक वर्षसम्म कण्ठरोग निवारणका कार्यक्रमले शतप्रतिशत नै सफलता प्राप्त गरेको छ ।

  • किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

    किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

    बेनी (म्याग्दी) ४ जेठ । यहाँको बेनी नगरपालिका–३ भकिम्लीमा पशुपालन गर्ने किसानका घरदैलोमा पुगेर पशुपन्छीको उपचार गरिएको छ । सदरमुकाम बेनीबाट भौगोलिक रूपमा टाढाको दूरीमा पर्ने भकिम्लीमा निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरेर नगरपालिकाले घरदैलोमै पशुपन्छीको उपचार गरेको हो । आइतबार आयोजित शिविरमा ७७ जना किसानका करिब तीन हजार ५०० पशुपन्छीका लागि औषधि वितरण गरिएको नगरपालिकाका सहायक पशु चिकित्सक प्रदीप गौतमले जानकारी दिए । उनका अनुसार शिविरमा गाईभैँसी, बाख्रा, कुखुरालगायतका लागि औषधि वितरणका साथै घरदैलो गरी पशुपन्छीको स्वास्थ्य जाँच तथा उपचारसमेत गरिएको छ ।

    शिविरमा नगरपालिकाका पशु चिकित्सक डा सुदीप पौडेल, सहायक पशु चिकित्सक गौतम, प्राविधिक सूर्यलाल नेपाली, हरिकृष्ण पौडेल, महित मल्लिकसहित प्रशिक्षार्थी प्राविधिक करुणा पुन र भूमिका पुनले पशुपन्छीको उपचार तथा किसानलाई औषधि वितरण गरेका थिए । ग्रामीण भेगमा पशुपालन गर्ने किसानलाई घरदैलोमा औषधोपचार सेवा दिन शिविर सञ्चालन गरी सेवा प्रदान गरिएको नगरपालिकाका पशु चिकित्सक पौडेलले जानकारी दिए । उनका अनुसार शिविरमा किसानलाई पशुपालनका सम्बन्धमा प्राविधिक परामर्श पनि प्रदान गरिएको छ ।

    शिविरमा आन्तरिक तथा बाह्य परजिवी नियन्त्रण तथा बाँझोपन निवारणको औषधि वितरण गर्नुका साथै पाचक, क्याल्सियम, मिनरललगायत औषधि वितरण गरिएको थियो । शिविरका क्रममा भकिम्लीका विभिन्न टोलबस्तीमा पशु प्राविधिकको टोलीद्वारा घरदैलो गरी पशुको स्वास्थ्योपचार, गर्भ परीक्षण, गाइभैँसीको पेटमा किल्लाकाँटीको परीक्षणका साथै गाईभैँसी र बाख्रामा जुम्रा, किर्ना, उपियाँ, लुतोलगायत समस्याको समेत औषधोपचार गरिएको थियो ।

    भकिम्लीमा व्यावसायिक रूपमा बाख्रा, कुखुरा, गाइभैँसीपालन हुँदै आएको छ । नयाँ किसान प्राविधिक ज्ञान नहुँदा पशुपन्छीको स्वास्थ्योपचारमा अनविज्ञ भएको अवस्थामा शिविरबाट पशुपन्छीको उपचारसँगै प्राविधिक परामर्श सेवाबाट लाभान्वित बनेको वडाध्यक्ष पदमबहादुर पुनले बताए । बेनी नगरपालिकाले पशु सेवा शाखामार्फत वडा तहमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेर पशुपालक किसानको समस्यामा सहजीकरण गर्दै आएको छ । नगरपालिकाले किसानलाई उत्पादनमा आधारित नगद अनुदानसमेत वितरण गर्दै आएको छ ।

  • कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

    कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा

    कङ्गो, ४ जेठ (रासस–एएफपी) । डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला रोगका कारण ८० भन्दा बढी मानिसको मृत्यु भएको छ । अवस्था गम्भीर बन्दै गएपछि विश्व स्वास्थ्य सङ्गठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । हालसम्म ८८ जनाको मृत्यु भइसकेको र ३३६ जनामा संक्रमणको शंका गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रोग तीव्र रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
    स्वास्थ्य मन्त्रीका अनुसार यो इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन । यस रोगको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ ।

    स्वास्थ्य सहायता संस्थाहरूले ठूलो मात्रामा सहयोग र उपचार टोली पठाउने तयारी गरिरहेका छन् । यो प्रकोप कङ्गोको इटुरी क्षेत्रमा सुरु भएको हो, जुन युगान्डा र दक्षिण सुडानसँग सीमा जोडिएको छ । प्रारम्भिक बिरामी एक स्वास्थ्यकर्मी भएको बताइएको छ । स्थानीय मानिसहरूले उपचार केन्द्र र आइसोलेसनको अभावका कारण बिरामीहरू घरमै मृत्यु भइरहेको बताएका छन्, जसले रोग अझ फैलिने खतरा बढाएको छ । विश्व स्वास्थ्य सङ्गठनले यो अवस्था अझै फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

  • जङ्गली फल सेवन गर्दा एकको मृत्यु, आठ बिरामी

    जङ्गली फल सेवन गर्दा एकको मृत्यु, आठ बिरामी

    गलकोट (बागलुङ), ३ जेठ । यहाँको बडिगाड गाउँपालिका–५ खाराबजारका भोजराज घिमिरेको घरमा जङ्गलमा पाइने फल (जङ्गली भ्याकुर) खाँदा आज एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी भएका छन् । भ्याकुर फल सेवन गरिसकेपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, वान्ता हुने गरेपछि बडिगाड गाउँपालिका–५ निवासी ७२ वर्षीया फिरककुमारी घिमिरेको मृत्यु भएको छ ।

    यस्तै बडिगाड गाउँपालिका–५ का दुरपती कामी, विष्णु घिमिरे, शारदा न्यौपाने, अबिसन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक, पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी भएका छन् । बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

  • कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु

    कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु

    किन्शासा (कङ्गो), ३ जेठ (रासस–क्युएनए) । लोकतान्त्रिक गणतन्त्रको कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु हुनेहरुको सङ्ख्या ८० जना पुगेको कङ्गो स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ । कङ्गोलका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले विज्ञप्ति जारी गर्दै विशेष प्रयोगशाला परीक्षणहरूले गत हप्ताको अन्तमा इबोला भाइरसको आठ वटा प्रारम्भिक घटनाहरू पुष्टि गरेको छ । संक्रमण रुवाम्पारा, मोङ्ग्वालु र बुनियाको स्वास्थ्य क्षेत्रमा पत्ता लागेको जनाउदै स्वास्थ्य अधिकारीहरूले हाल कम्तिमा २४६ वटा शंकासस्पद केसहरुमा निगरानी गरिरहेको बताएका छन् ।

    प्रकोपको प्रतिक्रियामा, कङ्गो सरकारले भाइरसको फैलावट रोक्न मद्दत गर्न आफ्नो जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरेको छ । यसै गरी विकेन्द्रीकृत निदान परीक्षणको विस्तार, महामारी विज्ञान निगरानीलाई सुदृढ पार्नु, र प्रभावित क्षेत्रहरूमा द्रुत प्रतिक्रिया टोलीहरू तैनाथ गर्ने लगायतका कार्य गरेको जनाएको छ । अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सिडिसि) ले उत्तरपूर्वी इटुरी प्रान्तमा प्रकोपलाई आधिकारिक रूपमा सक्रिय क्षेत्रीय स्वास्थ्य आपतकालको रूपमा वर्गीकृत गरेपछि यो कदम चालिएको हो ।

  • भारतको हैदरावादमा ‘धेरै बच्चा जन्माउनेलाई आर्थिकरूपमा प्रोत्साहन गरिने’

    भारतको हैदरावादमा ‘धेरै बच्चा जन्माउनेलाई आर्थिकरूपमा प्रोत्साहन गरिने’

    हैदरावाद, ३ जेठ (रासस–एएनआई) । चन्द्रबाबु नायडुले दक्षिण भारतका राज्यहरूमा युवाको घट्दो जनसंख्याप्रति चिन्ता व्यक्त गर्दे धेरै सन्तान जन्माउनेलाई प्रोत्साहनवरूप आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । श्रीकाकुलम जिल्लामा एक कार्यक्रममा बोल्दै नायडुले भने, “तेस्रो बच्चा जन्मिएपछि अभिभावकलाई ३० हजार र चौथो बच्चा जन्ममा ४० हजार भारतीय रूपैयाँ प्रोत्साहन दिइनेछ।” चन्द्रबाबुले भन्नुभयो, “धेरै मानिसहरुलाई धेरै बच्चा जन्माउनु बोझ हो भन्ने लाग्छ तर यो सत्य होइन ।”

    दक्षिणी राज्यहरू आन्ध्र प्रदेश र तमिलनाडुले लामो समयदेखि जनसङ्ख्या नियन्त्रण र यसको परिणामबारे कुनै न कुनै रूपमा आवाज उठाउँदै आएका छन्। चन्द्रबाबु नायडु र तमिलनाडुका पूर्व मुख्यमन्त्री एमके स्टालिनले विगत केही वर्षदेखि लगातार यस विषयलाई विशेष चासो दिएर पहल गर्न जोड दिने गरेको पाइन्छ ।

    मुख्यमन्त्री नायडुले विगतमा धेरै पटक ‘दक्षिणी राज्यहरूमा युवाहरूको सङ्ख्या बिस्तारै घटिरहेको छ र वृद्धहरूको सङ्ख्या बढिरहेको’ यसलाई सम्बोधन गर्न पहल थाल्न ढिलो गर्नुनहुने बताउँदै आएका छन् । उनले जापान र चीनजस्ता धेरै देश यो समस्यासँग जुधिरहेको पनि बताए ।

  • मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

    मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

    सुरेश झा\रासस
    जनकपुरधाम, २ जेठः मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी÷एड्स सङ्क्रमित बिरामीको सङ्ख्या सबैभन्दा बढी रहेको पाइएको छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा मात्र एक हजार ५०४ जना एचआइभी÷एड्सका बिरामी छन् । निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा मधेस प्रदेशमा कूल चार हजार ६८० जना एचआइभी सङ्क्रमित बिरामी एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) उपचारमा छन् । प्रदेशअन्तर्गत धनुषामा ८८६, सर्लाहीमा ५५८, सिरहामा ४५७, रौतहटमा ४२२, महोत्तरीमा ३७१, बारामा २८८ तथा सप्तरीमा १९४ जना सङ्क्रमित रहेका छन् ।

    निर्देशनालयका एचआइभी÷एड्स फोकल पर्सन राजवीर यादवका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा मधेस प्रदेशमा १४ हजार जनाको एचआइभी परीक्षण गरिएको थियो । उक्त सङ्ख्या बढेर आर्थिक वर्ष २०८१\८२ सम्ममा ७६ हजार ७९२ पुगेको छ । आर्थिक वर्ष २०७५\७६ मा ४००, २०७७\७८ मा ४७५, २०७८\७९ मा ६७५, २०७९\८० मा ६०६, २०८०\८१ मा ५१० तथा २०८१\८२ मा ४७९ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए ।


    चालु आर्थिक वर्षमा १६ जना गर्भवती महिलामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । समयमै परीक्षण तथा उपचार नभए आमाबाट शिशुमा समेत सङ्क्रमण सर्न सक्ने जोखिम रहेको स्वास्थ्यकर्मीले बताएका छन् । मधेस प्रदेशमा १८ वर्षमुनिका १७५ बालबालिकामा एचआइभी सङ्क्रमण रहेको छ । तीमध्ये ४७ जना एकल अभिभावकविहीन तथा २० जना पूर्ण अनाथ रहेका छन् । सङ्क्रमित बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा पोषणका लागि मासिक रु एक हजार नगद सहायता उपलब्ध गराइँदै आएको छ ।

    मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले खुला सीमा, वैदेशिक रोजगारी, लागुऔषधको प्रयोग, असुरक्षित यौन सम्पर्कका कारण सङ्क्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको बताए । प्रदेशमा हाल १० वटा सरकारी तथा एउटा गैरसरकारी एआरटी केन्द्र सञ्चालनमा छन् । एचआइभी परीक्षण तथा परामर्श सेवा, भाइरल लोड परीक्षण तथा प्रारम्भिक शिशु परीक्षण सेवा आठै जिल्लामा उपलब्ध छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट नियन्त्रणका प्रयास भइरहे पनि समस्या समाधानमा अपेक्षित सुधार नभएको सर्लाहीका जनस्वास्थ्य अधिकृत नवलकिशोर झाले बताए ।

  • कङ्गोमा फेरि फैलियो इबोला

    कङ्गोमा फेरि फैलियो इबोला

    किन्शासा, २ जेठ (रासस–एपी) । कङ्गोको दुर्गम इटुरी प्रान्तमा नयाँ इबोला प्रकोप पुष्टि भएपछि अफ्रिकी स्वास्थ्य अधिकारीहरू उच्च सतर्कतामा पुगेका छन् । अफ्रिका सीडीसीका अनुसार हालसम्म २४६ वटा संदिग्ध सङ्क्रमण देखिएको छ भने कम्तीमा ६५ जनाको मृत्यु भइसकेको छ । सीमित स्वास्थ्य पहुँच, असुरक्षा र सीमापार आवागमनका कारण रोग अझ फैलिन सक्ने जोखिम बढेको भन्दै क्षेत्रीय समन्वय तीव्र पारिएको छ । अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (अफ्रिका सीडीसी)ले शुक्रबार जारी गरेको वक्तव्यमा अधिकांश मृत्यु तथा संदिग्ध सङ्क्रमण मोङ्गवालु र रुवाम्पारा स्वास्थ्य क्षेत्रमा फेला परेको जनाएको छ ।

    इबोला अत्यधिक सङ्क्रामक भाइरस हो । यो बान्ता, रगत, वीर्य वा अन्य शारीरिक तरल पदार्थमार्फत सर्न सक्छ । यसले गम्भीर र प्रायः ज्यानै जाने प्रकृतिको रोग निम्त्याउने भएकाले स्वास्थ्य अधिकारीहरूले यसलाई अत्यन्त संवेदनशील प्रकोपका रूपमा लिएका छन् । एजेन्सीका अनुसार प्रयोगशालाबाट पुष्टि भएका बिरामीमध्ये चार जनाको मृत्यु भइसकेको छ । साथै इटुरी प्रान्तको राजधानी बुनियामा पनि केही संदिग्ध सङ्क्रमण देखिएको बताइएको छ, यद्यपि ती अझै पुष्टि हुन बाँकी छन् ।
    प्रारम्भिक परीक्षणका क्रममा जाँच गरिएका २० नमूनामध्ये १३ वटामा इबोला भाइरस पुष्टि भएको अफ्रिका सीडीसीले जनाएको छ । यो प्रकोप कङ्गोमा अघिल्लो इबोला महामारी अन्त्य भएको घोषणा गरिएको करिब पाँच महिनापछि देखिएको हो । त्यसअघिको प्रकोपमा ४३ जनाको मृत्यु भएको थियो । इटुरी प्रान्त कङ्गोको पूर्वी दुर्गम क्षेत्रमा पर्छ, जहाँ सडक सञ्जाल कमजोर छ र राजधानी किन्शासाबाट एक हजार किलोमिटरभन्दा बढी दूरीमा रहेको छ । यातायात र स्वास्थ्य पूर्वाधार कमजोर भएकाले त्यहाँ रोग नियन्त्रण थप कठिन बन्ने चिन्ता व्यक्त गरिएको छ ।

    अफ्रिका सीडीसीले तीव्र जनसङ्ख्या आवागमन, मोङ्गवालु क्षेत्रमा हुने खानी गतिविधि, असुरक्षा अवस्था, सम्पर्कमा आएका व्यक्तिको पूर्ण सूची तयार गर्न नसकिएको अवस्था तथा नियन्त्रणसम्बन्धी चुनौतीहरूले रोग थप फैलिन सक्ने जोखिम बढाएको जनाएको छ । युगान्डा र दक्षिण सुडानसँग प्रभावित क्षेत्रको भौगोलिक निकटताले सीमापार सङ्क्रमणको खतरा पनि बढाएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।

    यसै कारण अफ्रिका सीडीसीले शुक्रबार कङ्गो, युगान्डा र दक्षिण सुडानका स्वास्थ्य अधिकारीहरूसँग संयुक्त राष्ट्रसङ्घीय निकाय र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूलाई समेटेर उच्चस्तरीय समन्वय बैठक बोलाएको छ । एजेन्सीका अनुसार बैठकमा तत्काल प्रतिकार्य योजना, सीमापार समन्वय, निगरानी, प्रयोगशाला सहयोग, सङ्क्रमण रोकथाम, जोखिम सञ्चार, सुरक्षित र सम्मानजनक अन्त्येष्टि तथा आवश्यक स्रोत परिचालनका विषयमा विशेष ध्यान केन्द्रित गरिनेछ ।

    सन् १९७६ मा पहिलोपटक इबोला पुष्टि भएयता कङ्गोमा यो १७औँ प्रकोप हो । सन् २०१८ देखि २०२० सम्म पूर्वी कङ्गोमा फैलिएको इबोलाले एक हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो । त्यसभन्दा अघि सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको ठूलो इबोला महामारीमा ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो क।

    नयाँ प्रकोपले पहिले नै हिंसा र अस्थिरतासँग जुधिरहेको कङ्गोका लागि थप चुनौती सिर्जना गरेको छ । देशको पूर्वी क्षेत्रमा एम–२३ विद्रोही समूहसहित विभिन्न सशस्त्र समूह सक्रिय छन् । एम–२३ ले गत वर्षदेखि तीव्र आक्रमण गर्दै केही महत्त्वपूर्ण सहर कब्जा गरेको थियो । विशेषगरी इटुरी क्षेत्रमा इस्लामिक स्टेटसँग सम्बन्धित मानिने एलाइड डेमोक्रेटिक फोर्स समूहको हिंसात्मक गतिविधिले पनि स्थानीय अवस्था असुरक्षित बनाएको छ । यस समूहको आक्रमणमा पूर्वी कङ्गोका विभिन्न क्षेत्रमा दर्जनौँ मानिस मारिइसकेका छन् ।

    अफ्रिकाको दोस्रो ठूलो भूभाग भएको कङ्गोले स्वास्थ्य सङ्कटका बेला बारम्बार रसद र पहुँचसम्बन्धी समस्या झेल्दै आएको छ । गत वर्षको तीन महिने इबोला प्रकोपका क्रममा पनि विश्व स्वास्थ्य सङ्गठनले सीमित पहुँच र अपर्याप्त बजेटका कारण खोप वितरणमा गम्भीर कठिनाइ सामना गर्नुपरेको थियो ।

  • जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

    सिरहा, ३१ वैशाखः सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले मेसिन भएर पनि सेवा दिन नसक्दा जनमानसमा गलत सन्देश गएकाले जनशक्ति व्यवस्थापनका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।


    “आमनागरिकले सस्तो र सुलभ मूल्यमा विशेषज्ञ सेवा पाऊन् भन्ने पवित्र उद्देश्यले धेरै पहल गरेर मेसिन त ल्यायौँ, तर सञ्चालन गर्ने प्राविधिक जनशक्ति नहुँदा अप्ठेरोमा परेका छौँ”, उनले भने । अस्पताल प्रशासनका अनुसार यो सेवा पूर्ण रूपमा सञ्चालन गर्न कम्तीमा एक जना रेडियोलोजिस्ट, एक जना रेडियो प्राविधिक र अर्को एक जना सहयोगी गरी तीन जना कर्मचारीको तत्काल आवश्यकता छ । हालै (जेठ २४ गते) कार्यभार सम्हाएकी अस्पताल प्रमुख डा वर्षा प्रकाशले जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारको विषयगत मन्त्रालयमा पहल भइरहेको बताइन् ।

    उनले भने, “हामीले आवश्यक जनशक्तिका लागि सम्बन्धित प्रदेश मन्त्रालयमा निरन्तर समन्वय र ताकेता गरिरहेका छौँ, तर यस विषयका दक्ष जनशक्ति ९रेडियोलोजिस्ट० प्रदेशभरि नै अभाव रहेकाले मन्त्रालयले कहिलेसम्म कर्मचारी पठाउँछ भन्ने टुङ्गो लाग्न सकेको छैन ।”

    मधेस प्रदेशमा कर्मचारी समायोजनबाट आएका एक्ला वरिष्ठ रेडियोलोजिस्ट डा बृजेन्द्रकुमार साह यसअघि यही अस्पतालमा निमित्त मेसुका रूपमा कार्यरत थिए । प्रदेश सरकारले डा साहकै विज्ञतालाई हेरेर लहानमा सिटी स्क्यान मेसिन पठाएको थियो, तर गत माघ २ गते मन्त्रालयले डा साहलाई सर्लाहीको मलङ्गवास्थित प्रादेशिक अस्पतालमा सरुवा गरेपछि समस्या भएको जानकारहरू बताउँछन् ।

    यहाँ मधेस प्रदेशका तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहको कार्यकालमा आर्थिक वर्ष २०८१÷८२ मा रु १२ करोड लागतमा दुई वटा सिटी स्क्यान मेसिन खरिद गरिएको थियो । तीमध्ये एउटा मेसिन जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र अर्को लहान अस्पतालमा पठाइएको तत्कालीन प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक डा सुनिलप्रसाद कुशवाहाले जानकारी दिए ।

  • स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गरिने

    स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गरिने

    काठमाडौँ, वैशाख २८ गते । सरकारले स्वास्थ्य बिमा कार्यक्रमको पुनःसंरचना गर्ने घोषणा गरेको छ । आज सङ्घीय संसद्का दुवै सदनको सयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो । यस्तै, मुलुकको स्वास्थ्य प्रणालीलाई एकीकृत सेवा मोडलमा लैजाने, स्वास्थ्य सेवा लागत प्रभावकारी र नागरिकमैत्री बनाउने गरी सबै स्थानीय तहमा आधारभूत अस्पतालसम्मको पहुच सुनिश्चत गरिने छ ।

    सामुदायिक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता सङ्ख्या र सेवा दायरा विस्तार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । ‘टेलिहेल्थ’मार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेष परामर्श सेवा उपलब्ध गराइने, रोग निगरानी र नियन्त्रणका लागि ‘सेन्टर फर डिजिटल कन्ट्रोल’ तथा स्वास्थ्य सेवा गुणस्तर बनाउका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायोजन प्राधिकरण गठन गरिने उल्लेख छ ।

    यस्तै, सङ्घीय तहमा जैविक अध्ययन र महामारी नियन्त्रण क्षमता बढाउनका लागि राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिने छ । क्यान्सर तथा नसर्ने रोगको नियन्त्रण र रोकथामका लागि उपचारभन्दा रोकथाम, जनचेतना, नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गरिने पनि उल्लेख छ ।

    यसैगरी मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अङ्गका रूपमा मान्दै राष्ट्रिय मानसिक स्वास्थ्य नीति कार्यान्वयन, योग, ध्यान र सामुदायमा आधारित स्वास्थ्य कार्यक्रमको विस्तार तथा प्रवर्द्धन गरिने विषय पनि कार्यक्रममा समावेश छ । साथै, अत्याधुनिक अपाङ्गता पुनःस्थापना केन्द्रको स्थापना तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहायक प्रविधिसहित विशेष कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । रासस

  • जगदिश प्रसाद अग्रवाल बने प्रधानमन्त्री बालेनको अवैतनिक स्वास्थ्य सल्लाहकार

    जगदिश प्रसाद अग्रवाल बने प्रधानमन्त्री बालेनको अवैतनिक स्वास्थ्य सल्लाहकार

    २४ वैशाख, काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्व डीन समेत रहेका डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन् ।


    उक्त नियुक्तिबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले भनिन्, ‘स्वास्थ्य क्षेत्रका अनुभवी र विज्ञ व्यक्तित्व प्रा. डा. जगदिश प्रसाद अग्रवालको नियुक्तिले प्रधानमन्त्रीलाई मुलुकको स्वास्थ्य नीति र सेवा सुधारका लागि महत्त्वपूर्ण प्राविधिक सहयोग र सुझाव प्राप्त हुने विश्वास लिएका छौँ। आइओएम जस्तो गरिमामय संस्थाको नेतृत्व गरिसक्नुभएका उहाँले अवैतनिक रूपमा आफ्नो विज्ञता र समय राज्यलाई उपलब्ध गराउनुहुनेछ।’

    प्रधानमन्त्री शाहले सार्वजनिक स्वास्थ्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेको सन्दर्भमा डा. अग्रवालको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। डा. अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विशेषज्ञका रूपमा आफ्नो सेवा पुर्‍याउनेछन् ।

  • स्वास्थ्य मन्त्री र विश्व बैंकका निर्देशकबिच भेट, के भयो कुराकानी ?

    स्वास्थ्य मन्त्री र विश्व बैंकका निर्देशकबिच भेट, के भयो कुराकानी ?

    २३ वैशाख, काठमाडौं । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र विश्व बैङ्कका निर्देशक डेभिड सिस्लेनबिच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । आज मन्त्रालयमा भएको भेटका क्रममा स्वास्थ्य बिमा कार्यक्रमको सुदृढीकरण, डिजिटल प्रविधिको उच्चतम प्रयोग तथा दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अगाडि बढाउने विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालको स्वास्थ्य रणनीतिक योजना, स्वास्थ्य वित्त रणनीति तथा गुणस्तरीय स्वास्थ्य प्रणाली निर्माणमा पुर्‍याएको वित्तीय तथा प्राविधिक सहयोगप्रति मन्त्री मेहताले धन्यवाद व्यक्त गरिन् ।


    भेटका क्रममा विश्व बैङ्कका निर्देशक सिस्लेनले मन्त्री मेहतालाई बधाई ज्ञापन गर्दै सरकारको १०० बुँदे मार्गचित्र तथा प्राथमिकताका क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको प्रतिबद्धता व्यक्त गरे । छलफलका क्रममा स्वास्थ्य पूर्वाधारलाई जलवायु तथा विपद् प्रतिरोधी बनाउने, अस्पतालहरूमा खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्थामा सुधार ल्याउने लगायतमा सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ ।

  • बागमती किनारबाट विस्थापितलाई रंगशालामा स्वास्थ्य शिविर

    बागमती किनारबाट विस्थापितलाई रंगशालामा स्वास्थ्य शिविर

    १८ वैशाख, काठमाडौं । बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूका लागि सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा बालरोग, स्त्रीरोग, दन्त उपचार, र मनोसामाजिक परामर्श दिइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    सो कार्यमा ​संलग्न अस्पताल शुक्रराज ट्रपिकल (नेतृत्वदायी भूमिका), कान्ति बाल अस्पताल, परोपकार प्रसुती गृह, र पाटन मानसिक अस्पतालका विशेषज्ञ टोलीहरू खटिएका छन्। सचिवालयका अनुसार उपचार प्रक्रिया शिविरमै औषधी र परामर्श दिने तथा जटिल समस्या भएमा सरकारी अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको छ। अहिले सम्म ६८ जनाले सेवा लिइसकेका छन्।

    बसोबास गुमाउँदा हुन सक्ने मनोसामाजिक तनाव र अन्य संक्रमणलाई ध्यानमा राख्दै पाटन मानसिक अस्पतालको टोलीले परामर्श सेवा दिइरहेको छ। उता, ​कीर्तिपुर क्षेत्रमा पनि वीर अस्पतालको नेतृत्वमा अर्को शिविर सञ्चालन भइरहेको बताइएको छ । जहाँ आँखा र दाँतको उपचार गरिएको छ । काठमाडौं महानगरपालिका र स्वास्थ्य सेवा विभागसँगको समन्वयमा पर्याप्त जनशक्ति र औषधीको व्यवस्था गरिएको छ।

  • विदेशी पासपोर्ट लिएका नेपालका १९ डाक्टरको दर्ता रद्द, सूचिसहित

    विदेशी पासपोर्ट लिएका नेपालका १९ डाक्टरको दर्ता रद्द, सूचिसहित

    १८ वैशाख, काठमाडौं । नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १९ जना डाक्टरको दर्ता खारेज भएको छ । नेपाल मेडिकल काउन्सिलले आज सूचना जारी उनीहरुको दर्ता खारेज भएको जानकारी दिएको हो । सूचना अनुुसार उनीहरुले नेपाली नागरिकता त्यागेर ब्रिटिश, क्यानेडियन, अमेरिकन, न्युजिल्याण्ड, जर्मन, अष्ट्रेलियन र भारतीय पासपोर्ट लिएकाले दर्ता खारेज गरिएको हो ।

    दर्ता खारेज भएका डाक्टरहरुमा सुमिन्द्रा पुन, शैलेश कुमार जयसवाल, भूपेश खड्का, आरती रानाभाट, रमेश राज पहारी, सन्जोक घले, ऋषिराज बराल, प्रभु पाण्डे, तृप्ति महर्जन, सृजना श्रेष्ठ लगायत छन् ।

    यसैगरी सुनिता विष्ट, दिपा मल्ल, सौरब जीसी, जेनिशा श्रेष्ठ, प्रभास रेग्मी, दिपिका ज्ञवाली, हेमु चौरसिया, समिक्षा शर्मा र मनोरमा पाण्डेको पनि मेडिकल काउन्सिलले दर्ता खारेज गरेको छ ।

  • शुक्रबार सबै सरकारी अस्पतालको ओपिडी खोल्न मन्त्रालयको निर्देशन

    शुक्रबार सबै सरकारी अस्पतालको ओपिडी खोल्न मन्त्रालयको निर्देशन

    १७ वैशाख, काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते देशभरका सरकारी अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । भोलि सार्वजनिक बिदा भए पनि बिरामीले स्वास्थ्य सेवा पाउन असुविधा नहोस् भन्ने उद्देश्यले ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । लगातार तीन दिन सार्वजनिक बिदा परेकाले सरकारी अस्पतालहरूमा ओपीडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था देखिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

    स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

    १५ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ ।
    स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्री निशा मेहताले दुरुपयोग गरिएका सबै सवारी साधन मन्त्रालयमा ल्याउन निर्देशन दिएपछि दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय फिर्ता ल्याउन थालिएको हो ।

    सवारी साधनको सुविधा नपाउने कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी गाडी प्रयोग गर्दै आएको जानकारी प्राप्त भएपछि मन्त्री मेहताले निर्देशन दिएकी थिइन् । फिर्ता ल्याइएका सवारी साधन हाल मन्त्रालयमै राखिएको छ । गाडीहरू आवश्यकताका आधारमा कानुन बमोजिम मन्त्रालयका कर्मचारीले प्रयोग गर्ने छन् । कानुन अनुसार, सह(सचिव र सो भन्दा माथिका पदाधिकारीहरूले मात्रै सरकारी सवारी साधन प्रयोग गर्ने व्यवस्था रहेको छ ।

  • चट्याङ लागेर प्यूठानमा दुई जनाको मृत्यु

    चट्याङ लागेर प्यूठानमा दुई जनाको मृत्यु

    प्यूठान, वैशाख १३ गते । प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका वडा ६ लिवाङका बाबुछोराको चट्याङ लागेर ज्यान गएको हो । ७० वर्षीय केदार बोहोरा क्षेत्री र २६ वर्षीय रामु बोहरा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । मृतकको शवलाई जिल्ला अस्पतालमा राखिएको छ । शवको सोमबार विहान पोष्टमार्टम गरिने प्यूठान अस्पतालले जनाएको छ । चट्याङ लागेर गौमुखी गाउँपालिकाकै अन्य दुई जना घाईते भएका छन ।

    गौमुखी गाउँपालिका वडा ४ निवासी २४ वर्षीया सिर्जना न्यौपाने र गौमुखी गाउँपालिका वडा ६ निवासी ५४ वर्षीया गमी बोहोराको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ । शनिबार दिउँसो माण्डवी गाउँपालिका वडा २ रातापानीका दुई जना दिदिबहिनीलाई चट्याङ लागेको थियो । २० वर्षीया कल्पना अधिकारी र १६ वर्षीया सपना अधिकारीको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ ।

  • तराई क्षेत्रमा तातो हावाको कहर

    तराई क्षेत्रमा तातो हावाको कहर

    ११ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा गर्मी बढेका कारण तातो लहर चल्ने पूर्वानुमान गरेको छ । आज मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका साथै उपत्यका र खोचहरूमा तापक्रम बढ्ने पूर्वानुमान छ । ‘लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना छ,’ विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । विभागका अनुसार लुम्बिनीका भैरहवा, कपिलवस्तु, नेपालगञ्ज, दाङ लगायतका क्षेत्रमा दिउँसोमा अत्यधिक गर्मी हुने गरेको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्ने छ । कोशी प्रदेशका हिमाली र पहाडी भागका केही, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेग, कोशी प्रदेशका तराईका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यम वर्षा एवं हिमपातको सम्भावना छ । आज राति भने हिमाली भागमा साधारणतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान छ ।

  • अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

    अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

    काठमाडौँ, वैशाख ८ गते । देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर (लु) को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म तराईका केही जिल्लामा लु चल्ने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । धनगढी र नेपालगञ्जमा ४३ डिग्री, भैरहवामा ४४ डिग्री र काठमाडौँमा ३३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

    विभागका मौसमविद् विनु महर्जनका अनुसार पूर्वी भूभागमा शनिबारसम्म र पश्चिम क्षेत्रमा अझै केही दिन बढी तातो रहने सम्भावना छ । उनले दिउँसोको समयमा अत्यावश्यकबाहेक बाहिर ननिस्कन, चिसो तथा हावादार स्थानमा बस्न, हल्का र पातलो कपडा लगाउन तथा प्रशस्त पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिए ।


    लुम्बिनी र सुदूरपश्चिमका तराई जिल्लाहरू(कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देही—मा ‘सतर्क रहनु’ स्तरको चेतावनी जारी गरिएको छ । त्यस्तै, अछाम, सुर्खेत, दैलेख, सल्यान, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, परासी, नवलपुर, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सिन्धुली र उदयपुरलगायत जिल्लामा ‘अद्यावधिक रहनु’ स्तरको चेतावनी दिइएको छ ।

    तातो हावा र उच्च तापक्रमका कारण थकान, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, आँखामा पोल्ने, चक्कर आउने तथा बेहोस हुने जस्ता समस्या देखिन सक्ने विभागले जनाएको छ । बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू विशेष जोखिममा पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । रासस

  • उदयपुरमा आगलागी, २ जनाको मृत्यु

    उदयपुरमा आगलागी, २ जनाको मृत्यु

    ८ वैशाख, काठमाडौं । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का छन् । आगोमा जलेर अस्मिता खड्का घाइते छिन् । उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ । आज बिहान करिब पौने ३ बजेबाट लक्ष्मीनारायणको घरबाट आगलागी सुरु भएको थियो । आगोले लक्ष्मीनारायणसहित रबिन कुमार दास र सकलदेवको घर समेत जलेको छ । त्यतिबेला उनीहरु सुतिरहेका थिए ।

    सुतिरहेको अवस्थामा आगलागीमा परी लक्ष्मीनारायण र पवन खड्का खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए । त्रियुगा नगरपालिका र चौदण्डीगढी नगरपालिकाका दमकल, स्थानीय र प्रहरीको संयुक्त प्रयासमा मंगलबार बिहान आगो नियन्त्रणमा लिइएको छ । विद्युत् सर्ट भएर आगो लागेको अनुमान छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

  • अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

    अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

    काठमाडौँ, ५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली उपचारपश्चात अस्पतालबाट घर फर्कनु (डिस्चार्ज) भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचार गराइरहेका उनी आज उपचारपश्चात घर फर्किएको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए । शल्यक्रियापछि अध्यक्ष ओली चिकित्सकको निगरानीमा रहेका थिए ।

    उनको शल्यक्रियापछि घरमा नै आराम गर्न चिकित्सकले सुझाव दिएको अस्पतालका प्रवक्ता डा सेढाईले बताए । गत चैत ३० गते अध्यक्ष ओलीको पित्त थैलीको शल्यक्रिया गरी पत्थरी निकालीएको थियो । गत चैत १४ गते अध्यक्ष ओली अस्पताल भर्ना भएका थिए ।

  • आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू

    आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू

    काठमाडौँ, ५ वैशाखः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको बताउनुभयो । यसअघि मन्त्रालयले गत आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

    “स्वास्थ्यकर्मीका मनोबल र हितलाई ध्यानमा राखी बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न र सरकारको हप्तामा दुईदिन सार्वजनिक बिदाको नीतिअनुरुप आइतबारका पूर्वनिर्धारित शल्यक्रियालगायतका बिरामीको सहजता हेरि ‘रिसेडयुल’ गरी अन्तरङ्ग र आकस्मिक सेवाहरु सधैँझैँ २४ घण्टा सूचारु गरिने छ”, उनले भने ।


    मन्त्रालयका प्रवक्ता बुढाथोकीले बिदाको दिनमा बिरामीले कुनै पनि सास्ती भोग्न नपरोस् भनी अस्पतालहरुले सम्भव भएसम्म सेवा प्रदान गर्नसमेत आग्रह गरे । यस्तै अस्पतालमा उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रुपमा रेफर गर्न र एम्बुलेन्सहरु हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउनसमेत सबै अस्पताललाई अनुरोध मन्त्रालयले गरेको छ । मन्त्रालयले सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाको विवरण आफ्नो वेबसाइट तथा सूचनापाटीमा राख्नसमेत अनुरोध गरेको छ ।

  • पाकिस्तानमा पोलियो अभियानमा खटियका प्रहरीमाथि आक्रमण, एक जनाको मृत्यु, पाँच घाइते

    पाकिस्तानमा पोलियो अभियानमा खटियका प्रहरीमाथि आक्रमण, एक जनाको मृत्यु, पाँच घाइते

    इस्लामावाद, २ वैशाख (रासस–सिन्ह्वा) । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समुहले पोलियो अभियानमा खटियका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभान गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्हुवाले जनाएको छ ।

    आक्रमणकारीहरूले प्रहरीलाई आक्रमण गरी अन्धा–धुन्ध गोली हान्दा छ जना कर्मचारीहरू घाइते भएको पुष्टि गर्दै प्रहरीले उपचारको क्रममा एक जना घाइतेको मृत्यु भएको जनाएको छ । सुरक्षा बलहरू घटनास्थलमा पुगेर घटनास्थलाई घेराबन्दी गरी आक्रमणकारीहरूलाई पत्ता लगाउन खोजी अभियान सुरु गरेको बताइएको छ भने अहिले सम्म कुनै समूहले आक्रमणको दाबी गरेको छैन ।

  • स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै

    स्वास्थ्यप्रति सचेतना अभिवृद्धिका साथ आज अन्तरराष्ट्रिय आरोग्य दिवस मनाइँदै

    काठमाडौँ, २ वैशाखः आज अन्तरराष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यो दिवस नेपालको अगुवाइमा यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाइँदै छ । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो ।

    हरेक वर्ष आरोग्य दिवस मनाउन नेपालले गरेको प्रस्तावलाई महासभाले गत फागुन २६ गते अनुमोदन गरेको हो । सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यास अवलम्बन गर्न सबैलाई प्रेरित गर्नु यो दिवसको लक्ष्य हो । रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिने निवारणमुखी उपाय, स्वस्थ जीवनशैली र मानिस केन्द्रित स्वास्थ्य प्रणालीमार्फत जीवन रक्षा, स्वास्थ्य खर्च न्यूनीकरण तथा रोकथामयोग्य रोग नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

    संयुक्त राष्ट्रसङ्घले आदिवासी जनजाति र स्थानीय समुदायका संस्कृतिहरू तथा परम्परागत ज्ञानको महत्त्वलाई स्वीकार गर्दै प्रमाणमा आधारित परम्परागत चिकित्सापद्धतिले स्वास्थ्य प्रणाली सुदृढ बनाउन र समग्र स्वास्थ्य प्रवद्र्धनमा योगदान पु¥याउने उल्लेख गरेको छ । राष्ट्रसङ्घका अनुसार यो दिवसले विश्वभर जनचेतना अभिवृद्धि, सांस्कृतिक आदानप्रदान र ज्ञान साझेदारीका लागि मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ । विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् ।

    राष्ट्रसङ्घले हरेक व्यक्तिको स्वास्थ्य, खुशी र समग्र कल्याणलाई विशेष महत्व दिँदै यसअघि घोषणा गरिएका अन्तरराष्ट्रिय खुशी दिवस (मार्च २०), अन्तरराष्ट्रिय योग दिवस (जुन २१) र विश्व ध्यान दिवस (डिसेम्बर २१) जस्ता दिवसले पनि समग्र आरोग्य प्रवद्र्धनमा पूरक भूमिका निर्वाह गर्ने जनाएको छ । दिगो विकास लक्ष्यको तेस्रो बुँदामा स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको छ ।

    सबै उमेर समूहका मानिसका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने यसको लक्ष्य छ । मातृ तथा शिशु स्वास्थ्य, सरुवा तथा नसर्ने रोग नियन्त्रण, आवश्यक औषधि तथा खोपमा पहुँच, मानसिक स्वास्थ्य प्रवद्र्धन र स्वास्थ्य असमानता न्यूनीकरण यस लक्ष्यका प्रमुख प्राथमिकता हुन् ।
    तस्बिरः संयुक्त राष्ट्रसङ्घ