Category: स्वास्थ्य

  • पाँच वर्षमा स्वास्थ्यमा आठ प्रतिशत बजेट पुर्याउने सरकारको प्रतिबद्धता

    पाँच वर्षमा स्वास्थ्यमा आठ प्रतिशत बजेट पुर्याउने सरकारको प्रतिबद्धता

    काठमाडौँ, २ वैशाखः सरकारले स्वास्थ्य क्षेत्रको बजेट हिस्सा विसं २०८८ सम्म आठ प्रतिशत पु¥याइने प्रतिबद्धता जनाएको छ । सरकारले आज सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा पाँच वर्षमा स्वास्थ्य क्षेत्रमा आठ प्रतिशत बजेट पुर्याउने उल्लेख गरेको हो । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन गर्नुपर्ने हुन्छ ।

    प्रतिबद्धतामा स्वास्थ्य बिमा कार्यक्रमलाई थप सुदृढ मोडलमा गुणस्तरीय तथा प्रत्येक नागरिकको पहुँच पुग्ने गरी विस्तार गरिने उल्लेख छ । ‘एक नागरिक एक डिजिटल स्वास्थ्य प्रोफाइल’ लागू गरिनाका साथै छरिएर रहेका स्वास्थ्यसम्बन्धी सुविधा र सहुलितयलाई सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने पनि उल्लेख गरिएको छ ।

    यसैगरी प्रत्येक प्रदेशमा एक अत्याधुनिक अपाङ्गता पुनःस्थापना विशिष्टीकृत स्रोत केन्द्र स्थापना गरी एकीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिने उल्लेख छ ।

    जलन पीडितलाई निःशुल्क उपचार

    सरकारले जलन पीडितलाई निःशुल्क र गुणस्तरीय उपचार तथा मानसिक स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्याइने जनाइएको छ । प्रतिबद्धतामा ज्येष्ठ नागरिक तथा अशक्त नागरिकको घरदैलोमा आधारभूत स्वास्थ्य सेवा पुर्याइने, समग्र स्वास्थ्य प्रणाली सुधारका लागि आधारभूत स्वास्थ्यमा न्यूनतम मापदण्ड तयार गरी एकीकृत मोडल लागू गरिने, सङ्घ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संरचनाको पुनःसंरचना गरी स्वास्थ्यकर्मी, उपकरण, भवन तथा सेवाको वर्गीकरण गुणस्तर निर्धारण गरिने उल्लेख छ । ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच विशेष प्राथमिकताका साथ सञ्चालन गरिने छ ।

    प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक

    प्रतिबद्धतामा प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा कम्तीमा एक जना चिकित्सा शिक्षामा स्नातकोत्तर तह उत्तीर्ण गरेका एमडिपिजी चिकित्सक, नर्स, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध गराइने बताइएको छ । यस्तै, गरिब, मजदुर, किसान, अपाङ्गता भएका व्यक्तिको बिमा वा निःशुल्क उपचार तथा अनिवार्य श्रम गर्नेलाई निःशुल्क स्वास्थ्य सेवाको नीति लागू गरिने प्रतिबद्धतामा उल्लेख छ । रोग लागेपछि उपचार होइन रोग नै लाग्न नदिने अवस्था सृजना, स्वस्थ हावापानी, वातावरण र सक्रिय जीवनशैली प्रोत्साहन गरी ‘म स्वस्थ मेरो परिवार स्वस्थ्य’ भन्ने महाअभियान सञ्चालन गरिने प्रतिबद्धतामा उल्लेख छ ।

    स्वास्थ्य सेवामा आयुर्वेद, प्राकृतिक उपचार र योगध्यानलाई जोडी प्रमुख पर्यटकीय क्षेत्रहरूमा ‘वेलनेस जोन’ र योग प्रयोगशाला निर्माण गरिनाका साथै पाठ्यक्रममा योग, ध्यान र आयोग्य पर्यटन समावेश गरिने प्रतिबद्धतामा उल्लेख छ । उक्त प्रतिबद्धतालाई आगामी आर्थिक वर्ष २०८३\८४ को र त्यसपछिका वार्षिक नीति तथा कार्यक्रम, बजेट र सुधार ‘एजेन्डा’मा आबद्ध गरिने जनाइएको छ ।

  • अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया

    अध्यक्ष ओलीको पत्थरीको शल्यक्रिया

    काठमाडौँ, ३० चैतः नेपाल कम्युनष्टि पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएको छ ।
    गत दुई सातादेखि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीको चिकित्सकको परामर्शमा शल्यक्रिया गरिएको हो । अध्यक्ष ओलीको सचिवालयले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।

  • ‘आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्नु’

    ‘आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्नु’

    काठमाडौँ, २९ चैतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार पनि नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले केही अस्पतालले सार्वजनिक बिदाको दिन (आइतबार) बहिरङ्ग (ओपिडी) सेवा बन्द गरेकाले सेवाग्राही मर्कामा परेका भन्दै नियमित सञ्चालन गर्न आग्रह गरिएको बताए । “स्वास्थ्य अत्यावश्यक तथा निरन्तर प्रदान गर्नुपर्ने सेवा भएकाले बिरामीलाई थप सहजता बनाउनुपर्ने आवश्यक छ”, उनले भने, “त्यही भएर बिरामीहरूलाई असहजता नहोस् भन्ने उद्देश्यले आइतबारको दिन पनि स्वास्थ्य सेवा सञ्चालन गर्ने आग्रह गरिएको हो ।”

    सहप्रवक्ता डा अधिकारीले आइतबार पनि स्वास्थ्य संस्था सञ्चालन गर्ने मन्त्रालयको निर्णयप्रति चिकित्सक, स्वास्थ्यकर्मी तथा केही सेवा प्रदायक अस्पतालले राखेका चासोलाई सम्बोधन गर्न मन्त्रालय सकारात्मक एवं प्रतिबद्ध रहेको बताए । उनले चाँडै नै सार्वजनिक बिदाको दिन आइतबार स्वास्थ्य सेवा सञ्चालन गर्ने कार्यविधि जारी गर्ने जानकारी दिए ।


    “नागरिकको सर्वोत्तम हितलाई ध्यानमा राखी स्वास्थ्य सेवाजस्तो संवेदनशील तथा अत्यावश्यक सेवा यथासम्भव निरन्तर रूपमा प्रदान गर्नु हामी सबैको प्रमुख दायित्व हो भन्ने तथ्य पनि उत्तिकै महत्वपूर्ण छ”, सहप्रवक्ता डा अधिकारीले भने, “सबै सरोकार भएकाहरूको सहकार्य र समन्वयमा स्वास्थ्य सेवा प्रवाहलाई व्यवस्थित, सन्तुलित र दिगो बनाउने उद्देश्यले आवश्यक कार्यविधि यथाशीघ्र तयार गरी कार्यान्वयनमा ल्याउने तयारी मन्त्रालयले गरिरहेको ब्यहोरा सबैमा जानकारी गराउँदछौँ ।”

    सहप्रवक्ता डा अधिकारीले कार्यविधि तयार नभएसम्म बिरामीको हितलाई सर्वोपरि राखी आ–आफ्नो अस्पतालबाट उपलब्ध जनशक्ति र कार्यभारको आधारमा यथासम्भव स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउनसमेत अनुरोध गरे । उनले स्वास्थ्यकर्मीको विश्रामको अधिकार सुरक्षित गर्दै अस्पताल सेवा निरन्तर राख्ने सन्तुलित व्यवस्थापन सरकारको प्राथमिकता रहेको बताए ।

  • अस्पताल सेवा सुधार कार्यविधि जारी

    अस्पताल सेवा सुधार कार्यविधि जारी

    काठमाडौँ, २८ चैतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य प्रभावकारी बनाउन कार्यविधि जारी गरिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ अनुरुप कार्यविधि जारी गरेको हो ।

    कार्यविधिअनुसार अस्पतालले प्रत्येक नागरिकलाई गुणस्तरीय सेवा सहज रुपमा उपलब्ध गराउनुपर्ने छ । बिरामीको उपचार अभिलेख र ‘फलोअप’ व्यवस्थित गर्न एकीकृत विद्युतीय अभिलेख प्रणालीको विकास, प्रयोगशाला प्रतिवेदन २४ सै घण्टा उपलब्ध गराउने, अस्पतालको फार्मेसीमा पाइने औषधि मात्र चिकित्सकले सिफारिस गर्नुपर्ने छ ।

    यसैगरी, बिरामीलाई ‘रिफर’ गर्नुपर्ने भएमा ‘रिफर स्लिप’सहित सरकारी अस्पतालमा पठाउनुपर्ने, अस्पतालमा दैनिक आवश्यक पर्ने औषधि फार्मेसीमा मौज्दात हुनुपर्ने, कार्यालय समयभित्र र सेवा प्रवाहका बेला औषधि बिक्री प्रवद्र्धक (एमआर)लाई प्रवेश दिन पाइने छैन ।

  • हिरासतमुक्त एमाले अध्यक्ष ओली केही दिन अस्पताल मै रहने

    हिरासतमुक्त एमाले अध्यक्ष ओली केही दिन अस्पताल मै रहने

    काठमाडौं, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहने भएका छन् । जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका उनी आज रिहा भएका थिए । उनी पक्राउ परेदेखि नै अस्पतालमा उपचाररत थिए ।

    अध्यक्ष ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्णरूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको उल्लेख गरेका छन् ।

    सर्वोच्च अदालतको परमादेश बमोजिम रिहा भएपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैमा धन्यवाद दिएका छन् । आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयका आधारमा प्रहरीले अध्यक्ष ओलीलाई भक्तपुरको गुण्डुबाट यही चैत १४ गते नियन्त्रणमा लिएको थियो ।

  • अष्ट्रेलियामा मानसिक स्वास्थ्य सेवामा सुधार ल्याउने नयाँ नीति सार्वजनिक

    अष्ट्रेलियामा मानसिक स्वास्थ्य सेवामा सुधार ल्याउने नयाँ नीति सार्वजनिक

    मेलबर्न, २६ चैत (रासस–एएफपी) । अष्ट्रेलियाले युवाहरूमा बढ्दो मानसिक स्वास्थ्य सङ्कटलाई सम्बोधन गर्न पहिलो पटक चिकित्सकीय अभ्याससम्बन्धी मार्गदर्शन जारी गरेको छ । देशभर आत्महानिको उद्देश्यले अस्पताल भर्ना हुने घटनाहरू बढ्दै गएपछि यस्तो कदम चालिएको हो ।

    अष्ट्रेलियाको एक प्रमुख अनुसन्धान संस्थाले सार्वजनिक गरेको जानकारी अनुसार, नयाँ मार्गदर्शनले स्वास्थ्यकर्मीहरूलाई १९ वर्षसम्मका युवाहरूमा देखिने मानसिक स्वास्थ्य समस्याहरू पहिचान, मूल्यांकन र व्यवस्थापन गर्न सहयोग पुर्‍याउनेछ । यो मार्गदर्शन तयार पार्दा आत्महत्यासम्बन्धी सोच वा अस्पताल भर्नाको अनुभव भएका युवाहरूको प्रत्यक्ष सुझावलाई पनि समावेश गरिएको छ । यसले व्यवहारिक अनुभव र वैज्ञानिक प्रमाणबीचको दूरी घटाउने उद्देश्य राखेको छ ।

    अनुसन्धानकर्ताहरूका अनुसार, यस मार्गदर्शनले व्यवहारिक र तुरुन्त प्रयोग गर्न सकिने सिफारिसहरू प्रदान गर्छ, जसले मानसिक स्वास्थ्य सेवा सुधार गर्न मद्दत गर्नेछ । नयाँ सिफारिसहरूमा व्यक्तिगत अवस्थाअनुसार जोखिम मूल्याङ्कन गर्ने उपाय, आत्महत्या वा आत्महानिको अवस्थासँग जुधिरहेका युवाहरूलाई समुदायमै सहयोग गर्ने तरिका तथा आपतकालीन अवस्थामा एकरूप सेवा र औषधि प्रयोगसम्बन्धी निर्देशनहरू समावेश छन् ।

    विशेषज्ञहरूका अनुसार, धेरै युवाहरूले आवश्यक र उपयुक्त सेवा नपाउँदा आफूहरूलाई उपेक्षित र पीडित महसुस गरेका छन् । अनुसन्धानकर्ताहरूले युवाहरूको मानसिक स्वास्थ्य सुधार गर्न नीति निर्माता, स्वास्थ्यकर्मी र परिवारबीच सहकार्य आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार, सम्पूर्ण सेवा प्रणालीलाई सुदृढ बनाउन संयुक्त प्रयास अनिवार्य छ ।

  • दादुराविरुद्ध बङ्गलादेशको आपतकालीन अभियान

    दादुराविरुद्ध बङ्गलादेशको आपतकालीन अभियान

    ढाका, २५ चैत (रासस–एपी) । एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी फैलिएको दादुरा प्रकोप नियन्त्रण गर्न बङ्गलादेशले देशव्यापी आपतकालीन खोप अभियान सुरु गरेको छ । तीव्र रूपमा बढ्दो सङ्क्रमणलाई नियन्त्रणमा लिन सरकारले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर उच्च जोखिम क्षेत्रबाट अभियान अघि बढाइरहेको छ ।

    सरकारले विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र गाभी खोप गठबन्धनसँगको सहकार्यमा आइतबारदेखि १८ उच्च जोखिममा रहेका जिल्लाहरूमा छ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन सुरु गरेको जनाएको छ । यो अभियान अर्को महिनादेखि चरणबद्ध रूपमा देशभर विस्तार गरिने योजना रहेको छ ।

    युनिसेफका प्रतिनिधि राणा फ्लावर्सले सङ्क्रमण तीव्र गतिमा बढिरहेकोप्रति गहिरो चिन्ता व्यक्त गरे । उनका अनुसार यो प्रकोपले विशेष गरी खोप नलगाइएका वा न्यून खोप लगाइएका बालबालिकामा रहेको प्रतिरक्षात्मक खाडल उजागर गरेको छ । साथै, नौ महिनाभन्दा कम उमेरका शिशुहरूमा सङ्क्रमण देखिनु झन् चिन्ताजनक भएको उनले बताए । किनकि उनीहरू नियमित खोपका लागि अझै योग्य हुँदैनन् ।

    सरकारी तथ्याङ्कअनुसार करिब १७ करोड जनसङ्ख्या रहेको देशमा मार्च १५ यता सात हजार ५०० भन्दा बढी शङ्कास्पद सङ्क्रमित फेला परेका छन् । तीमध्ये ९०० भन्दा बढीमा दादुरा पुष्टि भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार दादुरा अत्यन्तै सङ्क्रामक वायुजन्य रोग हो, जसले ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या र शरीरमा विशेष प्रकारको बिमिरा ल्याउँछ । साना बालबालिकामा यसले गम्भीर जटिलता र मृत्यु समेत निम्त्याउन सक्छ ।

    रोगको फैलावट रोक्न कम्तीमा ९५ प्रतिशत जनसङ्ख्यामा खोप कभरेज आवश्यक हुने बताइएको छ । तर बङ्गलादेशमा खोप पहुँचमा असमानता कायम रहँदा जोखिम अझै उच्च रहेको देखिएको छ । स्वास्थ्यमन्त्री सरदार मोहम्मद सखावत हुसेनले संसद्मा जवाफ दिँदै वर्तमान प्रकोप विगतका सरकारहरूको कमजोर व्यवस्थापनको परिणाम भएको बताए । उनका अनुसार अपदस्थ प्रधानमन्त्री शेख हसिनाको नेतृत्वको अघिल्लो सरकार र त्यसपछिको अन्तरिम प्रशासनले खोप भण्डारण र आपूर्ति व्यवस्थापनमा आवश्यक निर्णय लिन नसक्दा दादुरासहित अन्य छ रोगका खोप अभाव सिर्जना भएको हो ।

    हालैको राजनीतिक अस्थिरताले पनि खोप अभियानमा अवरोध पुर्‍याएको थियो । सन् २०२४ मा भएको जनविद्रोहपछि शेख हसिना सत्ताच्युत हुनुभएको थियो भने त्यसपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । उक्त सरकारले फेब्रुअरीमा सम्पन्न निर्वाचनपछि सत्ता निर्वाचित सरकारलाई हस्तान्तरण गरेको थियो ।

    स्वास्थ्य अधिकारीहरूले अभिभावकलाई बालबालिकामा दादुराको लक्षण देखिए तत्काल अस्पताल लैजान आग्रह गरेका छन् । ढाकास्थित सङ्क्रामक रोग अस्पतालकी उपनिर्देशक एफ. ए. आसमा खानले उच्च ज्वरो देखिएमा औषधि पसलबाट आफूखुसी औषधि नलिन सुझाव दिँदै समयमै अस्पताल पुर्‍याउन आग्रह गरिन् ।

    उनका अनुसार अस्पतालमा उपलब्ध चिकित्सकीय सेवाले उचित उपचार सुनिश्चित गर्न सक्छ । बङ्गलादेशले सन् १९७९ देखि खोप अभियान सञ्चालन गर्दै आएको छ, जसले खोप कभरेज दुई प्रतिशतबाट बढेर ८१.६ प्रतिशत पुर्‍याउन सफल भएको छ । तर युनिसेफले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा देशले प्रगति गरे पनि खोप पहुँचमा गहिरो असमानता अझै कायम रहेको चेतावनी दिएको थियो।

  • स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

    स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

    काठमाडौँ, २० चैत । सरकारले जारी गरेको शासकीय सुधारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित गरेको कामको पहिलो चरणको प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले शासकीय सुधारको बुँदा नं ८५ मा रहेका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कामको पहिलो चरणको प्रगति विवरण आज सार्वजनिक गरिएको बताए । “शासकीय सुधारका काम द्रुतगतिमा भइरहेको छ । हामीले अस्पताल, सरोकारवाला निकायसँग छलफल गरिरहेका छौँ । विभिन्न अस्पतालका सुधारका कार्ययोजना पनि बनाइरहेका छौँ”, उनले भने ।


    उनले शासकीय सुधारअन्तर्गत ३२ वटा अस्पताल (१९ निजी र १३ सरकारी) का १० प्रतिशत शय्यामा निःशुल्क उपचार प्रदान गरिएको विवरण मन्त्रालयको वेबसाइटमा अद्यावधिक गरिएको बताए । त्यसैगरी वीर अस्पताल, शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र, कान्ति बाल अस्पताललगायतका अस्पतालमा सेवाको गुणस्तर सुधारका लागि अनुगमन गरी आवश्यक सुधारका लागि पृष्ठपोषण गरिएको मन्त्रालयका सूचना अधिकारी केसीले बताए । मन्त्रालयले अस्पताल सेवा सुधार निर्देशिकाको प्रारम्भिक मस्यौदा तयार गरेको छ ।

    जलन शय्या सञ्चालन

    सुधारअन्तर्गत मन्त्रालयले सुदूरपश्चिम प्रदेशको टीकापुर अस्पताल, महाकाली प्रादेशिक र सेती प्रादेशिक अस्पतालका साथै मधेस प्रदेशको कलैया अस्पतालमा जलन शय्या स्थापना तथा सेवा सञ्चालनको तयारी सुरु गरिएको उनले बताए । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरमा अवरुद्ध जलन उपचार सेवा पुनः सञ्चालन गरिएको उनको भनाई छ ।

    हवाई एम्बुलेन्स

    मन्त्रालयले सुदूरपश्चिम, मध्य तथा पूर्वी नेपालका पहाडी क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवाका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखेको जनाएको छ ।
    शासकीय सुधारअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिमा आवश्यक संशोधन गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग परामर्श तथा समन्वय गरिएको सूचना अधिकारी केसीले बताए ।

  • दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

    दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

    काठमाडौँ, २० चैत । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी थालेको छ । बिरामी भएका ठाउँमा चारपाङ्ग्रे एम्बुलेन्स पुग्नुअघि नै स्वास्थ्यकर्मी पुग्न दुईपाङ्ग्रे एम्बुलेन्स सञ्चालन गर्न लागिको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उनले त्यस्तो एम्बुलेन्स सञ्चालनमा ल्याउनेबारे सम्बन्ध भएका निकायसँग छलफल गरिसकेको जानकारी दिइन् ।


    डङ्गोलले एम्बुलेन्स सञ्चालनको वैज्ञानिकताका लागि अध्ययन गर्नुपर्ने बताउँदै जटिल स्वास्थ्य अवस्था आएर आपत् सृजना भएका ठाउँमा स्वास्थ्यकर्मीलाई छिटो पुग्नका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गर्न स्वास्थ्य विभागलाई निर्देशनसमेत दिइन् ।

    “बिरामी भएका ठाउँमा सकेसम्म छिटो एम्बुलेन्स पुर्याउन, आफूले बोलाएको एम्बुलेन्स कहाँ आउँदैछ ? एम्बुलेन्समा कोको छन्, बिरामीका आफन्तले थाहा पाउने प्रणाली कार्यान्वयनमा ल्याऔँ”, उनले भनिन्, “सवारी चापका कारण एम्बुलेन्स पुग्न समय लाग्ने अवस्थामा मोटरसाइकल एम्बुलेन्सबाट बिरामी भएका ठाउँमा तत्काल चिकित्सक पुग्ने संयन्त्र तत्काल निर्माण गरौँ ।” कामपाले एम्बुलेन्स सेवा भने २०७६ वैशाखबाट नै अत्यावश्यक पर्दा निःशुल्क सेवा सञ्चालन गर्दै आएको छ ।

    छलफलमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले कामपाको सेवामा उपत्यकाका अन्य पालिकाको आर्थिक साझेदारिताको सम्भावनामा छलफल गर्नुपर्ने खाँचो देखाए । वित्त विभागका प्रमुख डा शिवराज अधिकारीले लागत घटाएर गुणस्तर सेवा बढाउने विषयमा अध्ययन गरिनुपर्ने बताए ।

    सहकार्यबाट प्राप्त उपलब्धिका विषयमा एम्बुलेन्स सेवाका सदस्य डा आशिष श्रेष्ठ र कार्यालय प्रमुख अमित जोशीले कामपासँग सहकार्य भएपछि ८४ हजार ४८९ जना बिरामीलाई सेवा प्रदान गरिएको बताए । यस क्रममा ६९ जना गर्भवतीले एम्बुलेन्समै बच्चालाई जन्म दिएको पनि जानकारी दिए । कोभिड–१९ का समयमा २३ हजार ५०० जनालाई सेवा प्रदान गरिएको थियो । अहिले कामपाको सातवटा, कीर्तिपुर अस्पतालमा एउटा, ललितपुरको सातदोबाटोमा एउटा र भक्तपुरको सल्लाघारीमा एउटा एम्बुलेन्स राखेर सेवा दिइँदै आएको छ ।

    सम्पर्क गरेपछिको आठ मिनेटमा बिरामी भएको ठाउँमा एम्बुलेन्स पुग्न सक्ने मापदण्डबमोजिम उक्त सेवा सञ्चालन गर्न उपत्यकाका लागि ४९ वटा एम्बुलेन्स आवश्यक पर्छ । अध्ययनमा छलफल गर्दै सवारी चापले सृजना गर्ने चुनौतीको सामना गर्ने रणनीति बनाउन आवश्यक रहेको बताइएको छ ।

  • आज विश्व अटिजम सचेतना दिवस

    आज विश्व अटिजम सचेतना दिवस

    काठमाडौं, १९ चैतः आज विश्व अटिजम सचेतना दिवस हो । यो मस्तिष्क विकाससँग सम्बन्धित छ । विशेषज्ञहरूका अनुसार अटिजम भनेको व्यक्तिको यस्तो अवस्था हो जसमा उसले सामान्य मानिसभन्दा पृथक रूपमा व्यवहार गर्दछ । बोल्ने र सोच्ने शैली फरक हुन्छ । अटिजम भएकाहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।


    राष्ट्रसङ्घले अटिजम भएका हरेक व्यक्तिको योगदान र अधिकारलाई सम्मान गर्ने सन्देश प्रवाहका निम्ति यस वर्ष यो दिवस मनाउन सदस्य राष्ट्रहरूसँग अनुरोध गरेको छ । यसै अवसरमा आज एक सन्देश जारी गर्दै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले मानवअधिकार र मौलिक स्वतन्त्रताको पूर्ण कार्यान्वयनलाई प्रवर्द्धन गर्दै अटिजम भएकाहरूको समाजमा समान सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ ।
    –––तस्बिरः संयुक्त राष्ट्रसङ्घ

  • एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

    एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

    काठमाडौँ, १५ चैतः हृदयको धडकन असामान्य भएको समस्याका साथ हिजो शनिबार अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अध्यक्ष ओलीको स्वास्थ्यस्थितिबारे एक विज्ञप्ति जारी गर्दै उहाँ चिकित्सकको अवलोकन एवं निगरानीमा रहेको जनाएको छ । “हाम्रो चिकित्सक टोलीद्वारा उपचार व्यवस्थापन भइरहेको छ”, अस्पतालले उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

  • एमाले अध्यक्ष ओली अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

    एमाले अध्यक्ष ओली अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य

    काठमाडौँ, १४ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरी उपचाररत रहनुभएका उहाँको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले जानकारी दिए । “उनको आज स्वास्थ्य परीक्षण गरियो । परीक्षण गरिएका कुरा सामान्य नै रहेको पाइयो । बिहान भर्ना हुँदा मुटुको धड्कन बढे पनि हाल ठीक भएको छ । मिर्गौला पनि ठीक रहेको छ”, उनले भने ।


    अस्पतालका प्रवक्ता डा सेढार्इंले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी देखिएकाले आज अस्पतालमा नै राखेर उपचार गरिने बताए । अध्यक्ष ओलीलाई आज प्रहरीले पक्राउ गरेर उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । उहाँलाई गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • नाइजरमा क्षयरोगको बढ्दो जोखिम

    नाइजरमा क्षयरोगको बढ्दो जोखिम

    नियामे,११ चैत )रासस–सिन्ह्वा) । पश्चिम अफ्रिकाको देश नाइजरमा सन् २०२५ मा क्षयरोगको अवस्था अझै गम्भीर रहेको पाइएको छ । त्यहाँ वर्षभरिमा कुल १७ हजार ४०६ क्षयरोगका बिरामी दर्ता भएका छन्, जसमध्ये १३ हजार ६०७ नयाँ फोक्सोसम्बन्धी बिरामी रहेका छन्, जुन सबैभन्दा छिटो सर्ने र खतरनाक प्रकार मानिन्छ । यी तथ्याङ्कहरू स्वास्थ्यमन्त्री गार्बा हाकिमीले विश्व क्षयरोग दिवसको अवसरमा सार्वजनिक गरेका छन् । उनका अनुसार क्षयरोग अझै पनि देशका लागि ठूलो सार्वजनिक स्वास्थ्य समस्याका रूपमा रहेको छ, तर यसलाई नियन्त्रण गर्न सकिने सम्भावना पनि रहेको छ ।

    विश्व स्तरमा हेर्दा विश्व स्वास्थ्य सङ्गठनका अनुसार क्षयरोग अझै पनि संसारकै सबैभन्दा घातक सङ्क्रामक रोगमध्ये एक हो । यसले विश्वभर स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती सिर्जना गरेको छ, विशेषगरी कमजोर स्वास्थ्य सेवा भएका देशहरूमा यसको प्रभाव बढी देखिएको छ ।यस समस्यालाई नियन्त्रण गर्न नाइजर सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । देशमा बहु–क्षेत्रीय उत्तरदायित्व प्रणाली लागू गरिएको छ, जसले रोगको पहिचान, जाँच, उपचार र हेरचाहलाई अझ प्रभावकारी बनाएको छ । यसको परिणामस्वरूप क्षयरोगको जाँच दर सन् २०२१ को ६० प्रतिशतबाट बढेर सन् २०२५ मा ८७ प्रतिशत पुगेको छ, जुन उल्लेखनीय प्रगति हो । यसले धेरै बिरामीहरूलाई समयमै पत्ता लगाएर उपचार सुरु गर्न सहयोग पुगेको देखिन्छ ।

    स्वास्थ्यमन्त्रीका अनुसार क्षयरोग अन्त्य गर्नका लागि निरन्तर प्रयास, पर्याप्त बजेट, जनचेतना वृद्धि, प्रारम्भिक जाँच र गुणस्तरीय उपचार अत्यन्त आवश्यक छन् । यदि यी सबै क्षेत्रमा सशक्त रूपमा काम गरियो भने भविष्यमा क्षयरोगलाई पूर्ण रूपमा नियन्त्रण गर्न वा अन्त्य गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।

  • कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुर (काठमाडौँ), ११ चैतः कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका कागहरूमा बर्डफ्लु सङ्क्रमित भएको पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मृत फेला परेका ६८ वटा काग सङ्कलन गरी पुरेको छ ।


    “त्यहाँ अझै मरेका काग भेटिएका छन्, मरेका सबै काग आज सङ्कलन गर्न नसकिएकाले भोलि पनि काम जारी राख्ने छौँ”, रासससँग कुरा गर्दै नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेले बताइन् । उनका अनुसार शाखामा एक साताअघि स्थानीय व्यक्तिले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यानमा कागहरू मरेको खबर गरेका थिए ।

    प्रमुख गैरेका अनुसार परीक्षणका लागि १० वटा मृत काग पशुसेवा विभागको प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालामा परीक्षण गरेपछि ती कागमा बर्डफ्लु पुष्टि भएको हो । त्यसपछि नगरपालिका र पशुसेवा विभागका टोलीले आज मरेका काग सङ्कलन गर्ने निर्णय गरेको थियो । साथै सोही स्थानमा अन्य पंक्षी मृत भेटिएमा सोको नमूना सङ्कलन गर्न निर्देशन पनि टोलीलाई दिइएको थियो । सोहीअनुसार आज अपराह्न ३ बजेदेखि मृत काग सङ्कलन गर्न थालिएको थियो । आज सङ्कलन गरिएका ६४ वटा काग खाल्डो खनी गाडिएको छ ।

    उद्यानमा अन्य चरा भने त्यसरी मरेको नभेटिएको प्रमुख गैरेले बताइन् । “खुला स्थानमा जताततै उड्ने पंक्षी भएकाले कुखुरामा देखिने बर्डफ्लुभन्दा यसको नियन्त्रण जटिल हुन्छ”, उनले भनिन् । उनका अनुसार कीर्तिपुर नगरपालिका क्षेत्रमा कुखुराका दाना ओसारपसार नगर्न सार्वजनिक सूचनासमेत जारी गरेको छ ।


    यसबारेमा रासससँग कुरा गर्दै पशुसेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले मृत कागमा एचफाइ एन वान र एच नाइन गरी दुवै खालको बर्डफ्लु भाइरस देखिएको जानकारी दिए । डुलुवा पंक्षीमापर्ने कागमा फिरन्ते चराबाट बर्डफ्लु सङ्क्रमण भएको हुनसक्ने उनको अनुमान छ । केही वर्षअघि राजधानीस्थित बेलायती राजदूतावास परिसरमा पनि यसै गरेर कागमा सङ्क्रमण देखिएको जानकारी पनि उनले बताए ।


    यस्तो समस्या विभिन्न समयमा देखिने बताउँदै उपाध्यायले त्यसले अरु चरालाई सार्ने जोखिम पनि उत्तिकै रहेको समेत बताए । “त्यसैले कुखुरा, बटाई वा कालिजपालक किसानलाई जङ्गली चराचुरुङ्गी, कुकुर वा बिराला जान नसक्ने गरी खोरको व्यवस्थापन गर्न तथा खुल्ला ढङ्गले चराचुरुङ्गी नपाल्न आग्रह गरिएको छ”, उनले भने । सङ्क्रमण भयो भन्दैमा अन्यत्रका पनि कागलाई खोजी खोजी मार्ने जस्ता काम भने गर्न नहुने भनाइ उनको छ । साथै मरेका कुखुरा बङ्गुरलाई खुवाउने वा कुन स्रोतबाट आएको भन्ने थाहा नभइ सस्तो पाएकै भरमा कुखुराको मासु उपभोग नगर्न पनि उनले आग्रह गरे ।

  • देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

    देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

    काठमाडौँ, ८ चैतः राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिए । उनका अनुसार देशभरिका निजी सही सामुदायिक अस्पतालले गणकबाट सर्वेक्षण गरिनेछ । उनका आगामी वैशाखदेखि असार मसान्तसम्म तथ्याङ्क सङ्कलनको काम गर्ने दिए । “अहिले कर्मचारी करारमा लिएका छनोट गर्ने कार्य भइरहेको छ । ती कर्मचारीलाई तालिम दिनेछौँ”, उनले भने, “अनि हामी ती कर्मचारीलाई तथ्याङ्क सङ्कलन गर्न अस्पतामा पठाउँछौँ ।”

    उनका अनुसार सर्वेक्षणबाट अस्पतालको आर्थिक अवस्था, अस्पतालले प्रदान गर्ने रोजगारी सङ्ख्यालगायत तथ्याङ्क सङ्कलन गरिनेछ । कार्यालयले प्रत्येक १०÷१० वर्षमा निजी स्वास्थ्य संस्थाको सर्वेक्षण गर्ने भने तापनि केही वर्ष ढिलाइ भएको उनको भनाइ छ । सन् २०१३ मा भएको सर्वेक्षणमा निजी स्वास्थ्य संस्थाको मुलुकको कुल गार्हस्थ उत्पदानमा एक प्रतिशतभन्दा कम योगदान रहेको कार्यालयका निर्देशक बरालले जानकारी दिए । त्यतिबेला एकसय वटा अस्पतालमा सर्वेक्षण गरिएको थियो । यसपटक भने देशभरि दुई हजार ५५१ अस्पतालमा सर्वेक्षण गरिने तयारी गरिएको छ ।

  • घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा. चेवन

    घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा. चेवन

    चन्द्रकला भण्डारी–रासस
    झापा, ८ चैत । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय बनेको छ । पूर्णटुङ्ग बिर्तासिटी हस्पिटलको सघन उपचारकक्षमा कार्यरत २७ वर्षीय डा चेवनराज कार्कीले डेढ वर्षअघि बिर्तामोडमा आफ्ना केही साथीसँग मिलेर सरकारी निकायमा संस्था दर्ता गरी होम केयर सेवा सुरु गरेका थिए । हाल झापाभर उपलब्ध यो सेवा कोशी प्रदेशका विभिन्न जिल्लामा विस्तारका क्रममा रहेको जनाइएको छ ।

    अस्पताल जान नसक्ने र अस्पतालबाट डिस्चार्ज भएका बिरामीका लागि ‘जीवन रक्षा होम केयर’ले ‘पेन म्यानेजमेन्ट’देखि शल्यक्रियापछिको ड्रेसिङ, फिजियोथेरापी र स्लाइन चढाउनेसम्मका उपचार सेवा घरमै उपलब्ध गराउँदै आएको संस्थाका संस्थापक एवं कार्यकारी प्रमुख डा चेवनराज कार्कीले बताए । घरै बसेर स्वास्थ्यलाभ गरिरहेका क्यान्सरका बिरामीका लागि होम केयरले प्रदान गर्ने उपचार सेवा वरदान सावित हुने गरेको छ । जुनसुकै समयमा खबर आउनासाथ होम केयरको चिकित्सा टोली आवश्यक उपकरण र औषधिसहित बिरामीको घरमै पुग्ने गरेको उनले बताए ।


    होम केयरको चिकित्सा टोलीमा अनुभवी चिकित्सकसहित १५ जनाभन्दा बढी नर्स, हेल्थ असिस्टेन्ट र कर्मचारी प्रत्यक्ष रूपमा जोडिएका छन् । जिल्लाको विभिन्न सहरका स्थानीय अनुभवी नर्स र हेल्थ असिस्टेन्टहरू होम केयरको नेटवर्कमा जोडिएको हँुदा जुनसुकै बेला र अवस्थामा जहाँ पनि उपचार पुर्याउन सहज भएको उनले बताए ।


    टोलीले एम्बुलेन्स, अल्ट्रासाउन्ड, इसिजी, ड्रेसिङलगायतका सेवा घरमै उपकरण पुर्याएर दिने गरेको छ भने रगत, पिसाब, दिसालगायत जाँच ‘सेम्पल’ लिएर प्रयोगशालामा जाँच गरी घरमै रिपोर्ट उपलब्ध गराउँदै आएको छ । “यो एकप्रकारको घरमै अस्पताल पुर्याउने प्रयास हो”, डा कार्की भन्छन्, “शल्यक्रियापछि लामो समय अस्पताल बसेर घर फर्किएका बिरामीलाई सानो विषयमा पनि पटकपटक अस्पताल धाइरहनुपर्ने झन्झट नहोस् भनेर हामीले घरमै अस्पतालको सेवा पुर्याएका हौँ ।”

    रोजगरीका क्रममा छोराछोरी टाढा रहेको परिवारका वृद्धावस्थाका बुबाआमा बिरामी पर्दा एम्बुलेन्स खोजेर अस्पताल पुर्याउने र कुरुवा बस्ने आफन्त तत्काल पाउन पनि कठिनाइ पर्न सक्छ । यस्तो अवस्थामा होम केयरको सेवा झनै प्रभावकारी हुने गोमेन्द्र महाविद्यालयका अध्यापक आशीष शर्मा बताउँछन् ।
    “विदेशतिर होम केयर सेवा प्रचलित नै हुन्छ, तर हाम्रो ठाउँमा नयाँ हो”, उनी भन्छन्, “हाम्रो परिवारले पनि जीवन रक्षा होम केयरको सेवा लिएको छ । डा कार्कीको टिमको सेवाभाव प्रशंसनीय लाग्यो ।”

    होम केयरको चिकित्सा टोलीले भेन्टिलेटरसहितको एम्बुलेन्समा जटिल बिरामीलाई काठमाडौँ, विराटनगर, धरान र सिलीगुढीका सुविधासम्पन्न अस्पतालमा सुरक्षित पुर्याउने सेवासमेत प्रदान गर्दै आएको छ भने जिल्लाकै कुनै पनि अस्पतालमा भर्ना भएका बिरामीको हेरचाह गरिदिने कुरुवा सेवा दिँदै आएको छ ।

    होम केयर सेवालाई व्यापार गर्ने थलो नबनाउने र सामाजिक सेवाको माध्यम बनाउने संस्थापक डा कार्कीको भनाइ छ । घरमै सेवा पुर्याएबापत होम केयरले लिने सेवा शुल्क महँगो छैन । सामान्य ड्रेसिङका लागि रु ३०० देखि ३५० र डाक्टर भिजिटको न्यूनतम शुल्क लिएर होम केयरले अहोरात्र जुनसुकै देहाती बस्तीमा स्वास्थ्य सेवालाई सर्वसुलभ पुर्याइरहेको छ । वृद्धाश्रमहरूमा ‘बेसलाइन रेट’मा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य राखेर विर्तामोडका विभिन्न वृद्धाश्रमहरूमा होम केयरले प्रस्ताव पठाएको जनाएको छ ।

    बिर्तामोडबाट सुरु भएको ‘जीवन रक्षा होम केयर’को सेवालाई विराटनगरमा पुर्याइसकेको र धरानमा चाँडै पुर्याउने लक्ष्य रहेको डा कार्कीले सुनाए । होम केयर सेवा दिने कोशी प्रदेशकै पहिलो संस्था ‘जीवन रक्षा होम केयर’ले विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा पुर्याइरहेको छ । स्वास्थ्यसम्बन्धी जनचेतना जगाउने विभिन्न कार्यक्रमसमेत यसले गर्दै आएको छ ।

    पूर्वाञ्चल युनिभिर्सिटीमा एमबीए अध्ययनरत डा कार्की व्यवस्थापकीय रूपमा पनि स्वास्थ्य क्षेत्रलाई नयाँ प्रविधिमार्फत सुधार्ने प्रयास गरिरहेको बताउँछन् । मोबाइल एपमार्फत ‘टेलिमेडिसिन’ सेवा दिने र कारागार तथा सुधारगृहमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको उद्देश्य रहेको उनले बताए । ‘जीवन रक्षा होम केयर’को स्थापना गरेर स्वास्थ्य क्षेत्रमा उत्कृष्ट र नयाँ सेवा प्रदान गरेको कारण डा कार्कीले हालै वर्ष उत्कृष्ट व्यक्तिका रूपमा ‘पौरखी जेनजी सम्मान’ प्राप्त गरेका छन् । उनी भन्छन्, “अहिलेसम्मका काममा सबैको हौसला प्राप्त भइरहेको छ । भविष्यमा हामी अझ धेरै राम्रा योजनाका साथ समाजको सेवा आउनेछौँ ।”

  • रसुवा अस्पतालद्वारा सेवा विस्तार

    रसुवा अस्पतालद्वारा सेवा विस्तार

    रसुवा, ८ चैत । धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन थालेपछि स्थानीयवासीलाई सहज भएको छ । आर्थिक वर्ष २०८१–८२ देखि चालु आवको पुस मसान्तसम्म अस्पतालको बाहिरङ्ग सेवा ११ हजार ५९८ र अन्तरङ्ग सेवातर्फ तीन हजार ६६ बिरामीले सेवा लिएका छन् । सोही अवधिमा ११५ शल्यक्रिया गरिएका थिए ।

    अस्पतालद्वारा हालै आयोजित सामाजिक जवाफदेहिता सम्बन्धी कार्यक्रममा दिइएको जानकारी अनुसार १७ शय्याको सो अस्पतालले सामाजिक सेवाअन्तर्गत १८५ प्रकारका औषधि वितरण गरिरहेको छ । त्यस्तै, ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गत ३० वर्षभन्दा माथिका ६६ नागरिकलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको छ ।

    विसं २०२१ मा ‘हेल्थपोस्ट’बाट सुरुआत भएको स्वास्थ्य सेवा विस्तारका क्रममा विसं २०४२ मा अस्पताल बनाइएको थियो । तत्कालीन समयमा डा विजय खनालले अस्पतालमा पहिलो सेवा प्रदान गर्नुभएको जनाइएको छ । कार्यक्रमका सहभागीहरूले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव दिँदै तत्काल नयाँ एम्बुलेन्स उपलब्ध गराउन माग गरेका थिए । सो अस्पतालाई निक साइमन संस्थाले चिकित्सकीय एव अन्य सहयोग गर्दै आएको छ । अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, घाउ–खटिरालगायतका शल्यक्रिया सेवा नियमित रूपमा सञ्चालनमा छन् । साथै भिडियो एक्स–रे, दन्त सेवा र प्रयोगशाला सेवा पनि विस्तार गरिएको छ ।

    कार्यक्रममा जनस्वास्थ्य अधिकृत झमप्रसाद आचार्यले अस्पतालको सेवा सुधार हुँदै जानकारी दिनुभयो । नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले विगतमा धामीझाँक्रीको निर्भर रहनुपर्ने अवस्थाबाट अहिले आधुनिक उपचार सेवा उपलब्ध हुनु सकारात्मक परिवर्तन भएको बताए । विसं २०७२ को विनाशकारी भूकम्पले अस्पतालका पुराना संरचना पूर्ण रूपमा ध्वस्त बनाएको थियो ।

    यसपछि करिब दुई वर्षसम्म ‘टेन्ट’मै बिरामी राखेर सेवा दिनुपरेको अवस्था थियो । अस्पतालको सेवा तत्काल सुचारु गर्न तत्कालीन वरिष्ठ जनस्वास्थ्य अधिकृत डा गुण शर्माले अथक योगदान दिएका थिए । नेपाल रेडक्रस सोसाइटी र विदेशी दातृ संस्थाको सहयोगमा प्रिफेब्रिकेटेड मोडेलको अस्पताल निर्माण भएपछि सेवा प्रवाह सहज बनेको हो ।

    अस्पतालका मेसु डा अमितकुमार साहले अस्पतालमा जटिल उपचार सेवासमेत सम्भव भएको बताए । कार्यक्रममा डा सुनिलकुमार दास, सञ्चालक समिति अध्यक्ष निवेश श्रेष्ठ, जनस्वास्थ्य अधिकृत आचार्यलगायतले अस्पतालको सेवा सुधारका बारेमा जानकारी दिँदै आगामी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी दिए । पत्रकार महासङ्घका अध्यक्ष केशवप्रसाद पौडेल तथा विभिन्न सञ्चारकर्मीहरूले अस्पतालको पारदर्शिता र सामाजिक जवाफदेहिताको अभ्यास प्रशंसनीय रहेको बताए ।

  • राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

    राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

    काठमाडौँ, ८ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घसंस्था तथा आमनागरिकलाई आपसी सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गरेका छन् । विश्व पानी दिवस, २०२६ (२२ मार्च) का अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले खानेपानी व्यवस्थापनका हरेक तहमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकतासमेत औँल्याए ।


    राष्ट्रपति पौडेलले भने, “पानी जीवन, स्वास्थ्य, समृद्धि र सामाजिक न्यायको आधार हो, मानव सभ्यताको विकासदेखि आजसम्म पानीले जीवनयापनका हरेक पक्षलाई दिशानिर्देश गरेको छ । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए, वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्ने कार्य चुनौतीपूर्ण बन्दै गइरहेको छ ।”

    भूमिगत जलस्रोत महत्त्वपूर्ण प्राकृतिक सम्पदा भएको र जसले पारिस्थितिकीय प्रणालीलाई दिगो बनाउने र नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत पुर्याउने राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् । बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनास, जलवायु परिवर्तन एवं प्रदूषणका कारण पानीका स्रोतहरू सुक्दै गइरहेको उनको भनाइ छ ।

    सन्देशमा भनिएको छ, “भूमिगत जलस्रोतको अतिदोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की भौतिक संरचनाका कारण पुनर्भरणमा अवरोध उत्पन्न हुँदा जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको छ, साथै अव्यवस्थित मानव बस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएको छ ।” भविष्यमा आउनसक्ने जलसङ्कटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाहरूको निर्माण गर्नेजस्ता परम्परागत विधिको संवर्द्धन गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

    समस्त जीवन र जगत्को अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ तारिखलाई विश्व समुदायले पानी दिवसका रूपमा मनाउँदै आएको छ । नेपालमा यस वर्ष ‘लैङ्गिक समानताका लागि पानीको महत्त्वपूर्ण भूमिका’ सन्देशका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइँदै छ ।

  • जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    काठमाडौँ, ६ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ ।
    जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्पवमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५ र १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण भइसकेको छ ।

    जिल्ला प्रशासन कार्यालयले ती दिनमा विविध कारणले वर्गीकरण लागि उपस्थित हुन नसकनी छुट भएका घाइतेको अन्तिम वर्गीकरण यही चैत २० गते शुक्रबार हुने सूचनामा उल्लेख छ । त्यस दिन जिल्ला प्रशासन कार्यालय काठमाडौँको सभाहलमा आफूले उपचार एवं परीक्षण गरेका कागजात र जेनजी घाइते परिचयपत्रसहित उपस्थित हुन सो आन्दोलनका घाइतेलाई आग्रह गरिएको छ ।

  • अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न अनुदान दिँदै महानगर

    अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न अनुदान दिँदै महानगर

    काठमाडौँ, ६ चैत । काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले प्रसूति तथा स्त्रीरोग अस्पतालबीच सहकार्य सम्झौता गरेको छ । कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा कापमा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीबीच अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    सम्झौताबमोजिम अस्पतालबाट उत्पादित हानिकारक फोहरसँगै महानगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट उत्पादित हानिकारक फोहरको पनि यही प्लान्टबाट व्यवस्थापन हुनेछ । सम्झौताअनुसार कामपाले प्रदान गर्ने अनुदान रकम अस्पतालले उपकरण खरिद र फोहर व्यवस्थापनस्थलमा ट्रस निर्माणकार्यका लागि खर्च गर्न पाउने बताइएको छ । उक्त सम्झौता चालु आर्थिक वर्षको असार १५ गतेसम्म मान्य हुनेछ ।

    सम्झौतापछि कार्यवाहक प्रमुख डङ्गोलले, काठमाडौँमा हानिकारक फोहर व्यवस्थापन प्लान्ट सञ्चालन गर्ने स्थान अभाव रहेको उल्लेख गर्दै उपलब्ध स्थानमा मापदण्डबमोजिमका प्रशोधन प्लान्ट सञ्चालन गरेर समस्यामा निकास दिनुपर्ने अवस्था रहेको बताइन् । सम्झौताबाट अस्पताल र महानगरपालिका दुवैलाई लाभ उनको भनाइ थियो ।

  • खोप कार्यक्रम गलत सूचनाको मारमा : डब्ल्युएचओ

    खोप कार्यक्रम गलत सूचनाको मारमा : डब्ल्युएचओ

    जेनेभा, ५ चैत (रासस–एएफपी) । बढ्दो गलत सूचना र अनुसन्धान कोषको लागि अनिश्चित पाइपलाइनले खोप कार्यक्रमहरूलाई चुनौती दिइरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का खोप विज्ञहरूले बुधबार बताएका छन् । मध्यपूर्वमा युद्धले पोलियो विरुद्धको लडाईमा बाधा पुर्याउने देखिएको डब्ल्युएचओको खोप विशेषज्ञहरूको रणनीतिक सल्लाहकार समूह (एसएजिई) ले जनाएको छ। समूहले गत हप्ता आफ्नो द्विवार्षिक बैठक आयोजना गरेको थियो भने कोभिड–१९ खोपको सिफारिसहरू, टाइफाइड खोपको मात्रा तालिका र नियमित खोपमा मुखबाट दिइने पोलियो खोपको मात्रामा ध्यान केन्द्रित गरिएको थियो।

    “भविष्यका लागि उदीयमान चुनौतीहरूमा खोप अनुसन्धान र विकासको लागि अनिश्चित कोष र गलत एवं विकृत सूचना रहेका देखिएको छ, जसले खोपमा जनताको विश्वास घटाउँछ,” एसएजिईले बताएको छ । “विश्वासको रक्षा गर्नु र गलत सूचनाको सामना गर्नु सङ्गठनको सन् २०२६ मा प्रमुख लक्ष्य हुनेछ,” समूहले बताएको छ।

    डब्ल्यूएचओका खोप प्रमुख केट ओब्रायनले यस वर्ष खास खोप कार्यक्रमहरूको तैनाथीकोे लागि संसाधनहरू लक्षित गरिने बताए । “हामी सङ्क्रामक रोगहरू र खोप कार्यक्रमहरूका लागि साँच्चिकै गहिरो परिवर्तनशील संसारमा छौँ”, उनले भने, “द्वन्द्व, आर्थिक चुनौती र स्वास्थ्य बजेटमा कटौती भइरहेको छ।” खोपमाथिको विश्वास गलत सूचनाका कारण खतरामा परेको उनले बताए ।


    अमेरिकी स्वास्थ्य प्रमुख रोबर्ट एफ केनेडी जुनियरले लामो समयदेखि खोप विरोधी बयानबाजी र खोप तथा अटिजमसँग सम्बन्धित गलत दाबीहरूविरूद्ध आवाज उठाउँदै आएका छन् । डब्ल्यूएचओले डिसेम्बरमा जारी गरिएका सबै उपलब्ध प्रमाणहरूको समीक्षाले संयुक्त राज्य अमेरिका र बाहिर प्रचार भइरहेको सिद्धान्तको विपरीत खोप र अटिजमबीच कुनै सम्बन्ध छैन भनेर पुष्टि गरेको थियो ।

    “खोपहरूले अटिजम निम्त्याउँदैन र यसले कहिल्यै अटिजम निम्त्याएको छैन,” ओब्रायनले जोड दिए । उनले विगत ५० वर्षमा खोपले १५ करोड ४० लाखको ज्यान बचाएको र खोपमार्फत ३० भन्दा बढी रोगबाट बच्न सकिने बताए । उनले भने, “जोखिम पछाडि हट्ने वा देशहरूले आफ्नो कार्यक्रममा रहेका सबै खोपहरू किन्न नसक्ने भनी निर्णय गर्ने पनि गरेका छन् ।”

    – सङ्कट र प्रतिक्रिया चक्र –

    समूहले पाकिस्तान र अफगानिस्तानमा ‘वाइल्ड पोलियो भाइरस’को जारी प्रचार र धेरै अफ्रिकी देशहरूमा खोप–व्युत्पन्न टाइप–२ पोलियो भाइरसको लगातार पत्ता लागेकोप्रति चिन्ता व्यक्त गर्यो, जुन खुवाइने पोलियो खोपहरूमा निहित कमजोर जीवित पोलियो भाइरससँग सम्बन्धित एक स्ट्रेन हो। “मध्य पूर्वमा द्वन्द्वले पोलियो भाइरसको थप फैलावटलाई निम्त्याउन सक्छ, जसले त्यसपछि त्यो उन्मूलन लक्ष्यमा पुग्नको लागि बोझ बढाउनेछ,” एसएजिईका अध्यक्ष एन्थोनी स्कटले पत्रकारहरूसँग बताए ।
    ओब्रायनले थपे, “युद्धको माध्यमबाट जीवन नष्ट गर्न दिनहुँ अर्बौँ र अरब डलर खर्च भइरहेको छ ।” उनले सोधे, “के हामीले केमा लगानी गरिरहेका छौं भन्ने बारेमा विश्वको प्राथमिकता सिधा छ ?” कोभिड खोपको सन्दर्भमा एसएजिईले भनेको छ, “देशहरूले गम्भीर रोगको उच्च जोखिममा रहेका समूहहरूका लागि वर्षमा दुई पटक नियमित खोपको बारेमा विचार गर्नुपर्दछ, किनकि छ महिनाभन्दा बढी सुरक्षा स्तर घट्दै गएको छ।”

    ओब्रायनले भने, “कोभिड–१९ खोपको बजार सीमित सङ्ख्यामा निर्माता र प्रकारहरूमा खुम्चिएको र एमआरएनए खोपहरू प्रमुख रूपमा रहेका छन्।”
    उनले कोभिड खोपमा थप लगानीको लागि आह्वान गरे । एक प्राथमिकता कोभिड–१९ भन्दा बढी समाधान गर्ने स्वास्थ्य सेवा र वृद्धहरूमा दोहो¥याइएको खोपको बोझ कम गर्न लामो समयसम्म टिक्ने इन्जेक्सन र प्यान–कोरोनाभाइरस खोपहरू विकास गर्नु हो । “तर अनुसन्धान र विकास कोषले प्रमुख प्रकोपहरू पछ्याउँछ, जसको अर्थ ‘हामी सँधै सङ्कट र प्रतिक्रियाको चक्र’मा छौँ,” उनले भने । एसएजिईका कार्यकारी सचिव एनेलिस वाइल्डर–स्मिथले भने, “हामीलाई वास्तवमै कोभिड खोपहरू चाहिन्छ जसले हल्का रोगमा ठूलो प्रभाव पार्दछ र भाइरसको प्रसारण कम गर्दछ।”

  • डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन

    डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन

    काठमाडौँ, ५ चैत । सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले डेङ्गु सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई सचेतना कार्यक्रम गर्न निर्देशन दिइएको बताए ।
    “सचेतना कार्यक्रमले डेङ्गु सङ्क्रमण घट्दै गएको पाइएको छ,” उनले भने, “गर्मी सुरुसँगै डेङ्गु सङ्क्रमण जोखिम रहेका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेका छौँ ।”

    पाँच गुणाले घट्यो सङ्क्रमण

    महाशाखाका अनुसार अघिल्ला वर्षको तुलनामा गतवर्ष डेङ्गु सङ्क्रमण पाँच गुणा घटेको पाइएको छ । सन् २०२४ को अनुपातमा सन् २०२५ मा पाँच गुणा डेङ्गु सङ्क्रमण घटेको छ । सन् २०२४ मा ४१ हजार ८६५ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो भने सन् २०२५ मा त्यसको करिब पाँच गुणा कम आठ हजार ५७६ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो ।

    शाखा प्रमुख डा दाहालले सरकारको डेङ्गु सङ्क्रमणविरुद्ध सञ्चालन गरेको अभियानले गर्दा घटेको बताए । “डेङ्गु सङ्क्रमण फैलिन नदिनका लागि डेङ्गु सार्ने लामखु्ट्टेको लार्भा नष्ट गर्ने अभियानमा सबैका सहयोगभयो”, उहाँले भन्नुभयो, “जसले गर्दा डेङ्गु सङ्क्रमण सार्ने लामखुट्टे फैलिन पाएन र डङ्गु सङ्क्रमण कम भयो ।”

    सरकारले प्रत्येक शुक्रबार सरकारी कार्यालयमा डेङ्गु सङ्क्रमण सार्ने लार्भा खोज र नष्ट गरे अभियान सञ्चालन गरेको थियो । शाखाका प्रमुख डा दाहालले समुदायको पहलमा नै डेङ्गु सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न सकिएको बताए । उनले प्रत्येक वर्ष डेङ्गु सङ्क्रमण कम हुँदै गएको बताए ।

    उनका अनुसार सन् २०२३ मा ५२ हजार ७९० जना, सन् २०२२ मा ५४ हजार ७८४ जनामा डङ्गु सङ्क्रमण देखिएको थियो । यस्तै गत असारदेखि भदौसम्म एक हजार युवा परिचालन गरेर डङ्गु सार्ने लामखुट्टे नियन्त्रण र जनस्तरमा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो ।

    यसवर्ष पनि गर्मीयाम सुरुसँगै डङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेको उनले बताए । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेङ्गु रोग लाग्दछ ।

  • अर्जेन्टिना विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरियो

    अर्जेन्टिना विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरियो

    ब्युनस आयर्स, अर्जेन्टिना, (रासस–एएफपी) । अर्जेन्टिनाले मङ्गलबार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)बाट औपचारिक रूपमा आफ्नो सदस्यता फिर्ता लिएको छ । अजेन्टिनाका विदेशमन्त्रीले संयुक्त राज्य अमेरिकालाई पछ्याउँदै अर्जेन्टिनाले पनि आफ्नो डब्ल्युएचओ सदस्यता परित्याग गरेको छ । अमेरिकाले यस वर्षको सुरुमा यही कदम चालेको थियो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निकट सहयोगी राष्ट्रपति ज्याभियर माइलीको सरकारले कोभिड–१९ को महामारी नियन्त्रणमा विश्व स्वास्थ्य सङ्गठनको आलोचना गर्दै एक वर्षअघि संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य संस्था छोड्ने घोषणा गरेको थियो ।

    अर्जेन्टिनाको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय सन्धिले तोकेको समयसीमाभित्र फिर्ताको प्रक्रिया पूरा भएको जनाएको छ । “अर्जेन्टिनाले आफ्नो सार्वभौमिकता र स्वास्थ्य नीतिहरूको बारेमा निर्णय गर्ने क्षमतालाई पूर्ण रूपमा संरक्षण गर्दै द्विपक्षीय सम्झौताहरू र क्षेत्रीय मञ्चहरू मार्फत स्वास्थ्यमा अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिने कार्यलाई जारी राख्नेछ,” विदेश मन्त्री पाब्लो क्विर्नोले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
    गत वर्ष अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनका सिफारिसहरू विज्ञानमा आधारित नभएर राजनीतिक स्वार्थमा आधारित भएकाले प्रभावकारी नभएको घोषणा गरेको थियो । ट्रम्पले ह्वाइट हाउसमा फर्केपछि बहुराष्ट्रिय समूहबाट बाहिरिने कार्यकारी आदेशमा हस्ताक्षर गरेको एक वर्षपछि अमेरिकाले जनवरीमा डब्लुएचओबाट बाहिरिने औपचारिक घोषणा गरेको थियो।

    विश्व स्वास्थ्य सङ्गठनले बिफर उन्मूलन र पोलियो, एचआईभी, इबोला र क्षयरोगलगायतका रोग र जनस्वास्थ्यसम्बन्धी खतराहरूको सामना गर्न विशेष भूमिका खेलेको छ । गत जनवरीमा विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेहब्रेयससले यस कदमप्रति गहिरो खेद व्यक्त गर्दै यसले संयुक्त राज्य अमेरिका र बाँकी विश्वलाई असुरक्षित बनाउने बताएका थिए ।

  • काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

    काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

    काठमाडौँ, २ चैतः काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका लागि महानगरपालिकाले १० वडाबाट छुट्टै सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु गर्न थालेको छ । यसरी सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट ल्यान्डफिल साइटमा दैनिक करिब ३.१९ मेट्रिक टन कम फोहर व्यवस्थापन हुन थालेको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले जानकारी दिइन् ।

    महानगरपालिकाले ३२ वटै वडाबाट घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न आफ्नो भौगोलिक क्षेत्रलाई सात क्षेत्रमा वर्गीकरण गरेर छुट्टाछुट्टै प्रतिस्पर्धाबाट करसहित वार्षिक रु ६ करोड आठ लाख ७२ हजारमा आय ठेक्का लगाएको उनले बताइन् ।


    अहिले महानगरपालिका–७, १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ वडाबाट सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु गरिएको छ । हरेक क्षेत्रमा एक–एकवटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापन केन्द्रसमेत राखिएको छ । आय ठेक्का कार्यविधि २०७९ बमोजिम प्रतिस्पर्धीमध्येबाट क्षेत्र नं १ का लागि नेप्सेम्याक सेवा प्रालि छानिएको छ ।

    यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन् । क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालि छनोटमा परेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् । क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रालिले वार्षिक रु ५५ लाख ३५ हजार ८९१ आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् ।

    क्षेत्र नम्बर ४ मा मेची पोली इन्डष्ट्रीले रु एक करोड १५ लाख चार हजार ४०४ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् । वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ मा तोकिएको छ । क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले जिम्मा लिएको छ । वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । यस क्षेत्रमा पोली वेस्ट म्यानेजमेन्टले जिम्मा पाएको छ ।

  • ‘वायु प्रदूषणले लिन्छ नेपालमा बर्सेनि ४२ हजार मानिसको ज्यान

    ‘वायु प्रदूषणले लिन्छ नेपालमा बर्सेनि ४२ हजार मानिसको ज्यान

    काठमाडौँ, २९ फागुनः वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताए । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या देखिने गरेको उनले बताए ।


    प्रदूषणका कारण बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिनु, मुटुसम्बन्धी रोग हुने सम्भावना बढ्नु, शिशु बिरामीदर बढ्नु, बाल्यकालमा क्यान्सरको जोखिम हुनु, मस्तिष्क विकासमा ढिलाइ र असामान्य व्यवहार देखिनु, कुपोषणको देखिनु जस्ता समस्या पनि देखिने गरेका विज्ञहरूले बताउने गरेका छन् । यस्तै, कम तौलको बच्चा जन्मिनु, रक्तअल्पता हुनु, बाँझोपन हुनु, गर्भकालीन मधुमेह हुनु, मानसिक स्वास्थ्य समस्या देखिनु जस्ता समस्या आउने गरेका छन् ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्डभन्दा नेपालमा वायु प्रदूषण आठ गुणा बढी देखिएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिए । नेपालमा बिहीबार वायु गुणस्तर सूचक १८५ सम्म देखिएको उनले बतए । डब्लुएचओको मापदण्डअनुसार स्वास्थ्यका लागि हानिकारक मानिने सूक्ष्म कणको वार्षिक औसत मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन । सूक्ष्म कण त्योभन्दा कम भएमा हावामा तैरने सक्ने र जसले स्वासप्रश्वास प्रक्रियामा फोक्सोसम्म पुग्ने गरेको डा बुढाथोकीले बताए । नेपालमा डब्लुएचओको मापदण्डभन्दा बढी नै प्रदूषण भएको उनले बताए ।


    वायु गुणस्तर सूचक ० देखि ५० सम्म स्वस्थ, ५१ देखि १०० सचेत, १०१ देखि १५१ सम्म जोखिम समूह (ज्येष्ठ नागरिक, दीर्घरोग र बालबालिका) का लागि हानिकारक मानिन्छ । वायु गुणस्तर सूचक १५१ भन्दामाथि भएमा अस्वस्थ्य मानिने गरिएको छ । यसलाई डब्लुएचओको मापदण्डभित्र पुर्याउन सके हरेक वर्ष नेपालीको आयु तीन दशमलव तीन वर्षले बढ्ने अनुमान गरिएको छ । वायु प्रदूषणकै कारणले वार्षिक ७९ लाख मानिसको मृत्यु हुने गरेको र तीमध्ये ९० प्रतिशत कम र मध्यम आय भएका देशका नागरिक पर्दछन् ।

    वायु प्रदूषण सवारीसाधनबाट निस्केको धुँवा, औद्योगिक उत्सर्जन, खुला रूपमा फोहर तथा जैविक पदार्थ जलाउँदा निस्कने धुँवा, सडक र निर्माण कार्यको धुलो, वन डढेलो र किटनाशक र विषादीको प्रयोगलगायतबाट हुने गरेको छ ।

  • मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

    मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

    काठमाडौँ, १६ फागुनः हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पिएम’ (प्रदूषणका मसिना कणहरु) दुई दशमलव पाँच पुगेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ ।

    विभागले आज एक अपिलमार्फत वायु प्रदूषण बढी भएको समयमा घरबाहिर निस्किँदा मास्कको प्रयोग गर्न, आफ्ना सवारीसाधनको नियमित मर्मतसम्भार गर्न र फोहोर तथा बालीनालीका अवशेषहरु नजलाउने र जलाउने प्रवृत्ति सबैको पहलमा रोक्न अनुरोध गरेको छ । त्यसैगरी, वन–जङ्गलमा डढेलो नलगाउने र लागिहालेमा तत्काल निभाउने प्रयास गर्न, निर्माण गतिविधिहरु गर्दा धुलो–धुवाँ नउड्ने व्यवस्था गर्न, उद्योग कलकारखाना सञ्चालन गर्दा सरकारले तोकेका मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन गर्न विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सबैमा अनुरोध गरे ।
    वायु प्रदूषण न्यूनीकरणका लागि जिम्मेवार सबै निकाय र आम नागरिकको सहकार्य र सकारात्मक प्रयास भएमा मात्र प्रदूषण न्यूनीकरण गर्न सम्भव र सहज हुने भएकाले त्यसका लागि सबैमा अनुरोध गरिएको उनले बताए । प्रदूषण बिहान–बेलुका समयमा उच्च हुने गरेको छ । चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने तथा विगत लामो समयदेखि वर्षा नभएका कारण यो याममा वायु प्रदूषण हुने गरेको विभागको भनाइ छ ।

  • प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

    प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

    काठमाडौँ, १९ फागुनः चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ । वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताए । अस्पतालले आकस्मिक विभागका प्रमुख डा सुरेशप्रसाद नेपालको संयोजकत्वमा २६ सदस्यीय टोली गठन गरेको हो । औषधि र उपकरणसहितको टोलीमा विशेषज्ञ चिकित्सक, नर्सिङ प्रशासक, औषधि व्यवस्थापन प्रमुख छन् ।

  • मुग्लिन–मलेखु सडक दुर्घटनाका घाइते भरतपुर ल्याउन सहज

    मुग्लिन–मलेखु सडक दुर्घटनाका घाइते भरतपुर ल्याउन सहज

    चितवन, १२ फागुन । पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्डमा हुने दुर्घटनाका घाइतेको उपचार भरतपुर ल्याउन सहज र छिटो हुने देखिन्छ । नारायणगढ–मुग्लिन सडक सहज भएकाले दूरीका हिसाबले काठमाडौँभन्दा भरतपुर छिटो ल्याउन सकिन्छ । भरतपुरमा रहेको सङ्घीय अस्पताल भरतपुर अस्पतालले ट्रमा सेन्टर सञ्चालन गरेको छ ।

    यससँगै यहाँका दुई मेडिकल कलेज र साना अस्पतालहरू समेत दुर्घटनाका घाइतेको उपचार गर्न सक्षम छन् । भरतपुर अस्पतालमा मात्र २० जना अर्थोपेडिक सर्जन र २१ जना जनरल सर्जन रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार सिटी स्क्यान, एमआरआईलगायतका उपकरणमा कमी छैन ।

    यससँगै मुटु, नसालगायतका जटिल उपचार यहाँ हुन्छ । यस्तै ट्रमाको धेरै उपचार गर्ने चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसले पनि दुर्घटनाका घाइतेको उपचारका लागि आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखेका छन् । समयमा उपचार हुँदा घाइते बचाउन सक्ने चिकित्सकहरू बताउँछन् ।

    चितवन मेडिकल कलेजका निर्देशकसमेत रहनुभएका आकस्मिक विभाग प्रमुख प्रा डा दयाराम लम्साल दुर्घटनाको एक घण्टाभित्रको समयलाई ‘गोल्डेन आवर’ भन्ने गरिएको भन्दै उनले जतिसक्दो छिटो घाइते अस्पताल पुर्याउन सकेमा बचाउन सकिने सम्भावना बढी हुने बताउँछन् । उनले भने, “दूरी र सुविधाका हिसाबले जहाँ नजिक हुन्छ, त्यहाँ घाइते पठाउनुपर्छ ।” पछिल्ला दिनहरूमा एम्बुलेन्समा स्वास्थ्यकर्मी राखेर उपचार गर्दै अस्पताल पुर्याउनुपर्ने मान्यता रहेको उनको भनाइ छ ।

    भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा पौडेल मोफसल मनोविज्ञानका कारणले पनि घाइतेहरू काठमाडौँ पठाइने भन्दै उनले त्यहाँको जति सुविधा भरतपुर अस्पतालमा रहेको बताउँछन् । मुग्लिन–मलेखु सडकका घाइते काठमाडौँ पठाउँदा उकालो र अप्ठ्यारो सडक पार गर्दै लामो दूरी तय गर्नुपर्छ भने भरतपुर आउँदा छोटो दूरी र सहज सडक पर्दछ । घाइतेहरूको उद्धारपछि स्थानीय अस्पताल पुग्ने र त्यहाँबाट काठमाडौँ पठाइने गरिन्छ । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपाने एक पक्षले उद्धारको काम गर्छ भने अर्को पक्षले व्यवस्थापन गर्दैगर्दा यो विषयमा ध्यान नपुगेको बताउँछन् ।


    विगत लामो समयदेखि धादिङमा रहेर पत्रकारिता गर्दै आउनुभएका पोषनाथ अधिकारी पहिले नारायणगढ–मुग्लिन सडकखण्ड अप्ठ्यारो भएकाले घाइते काठमाडौँ पठाउने गरिएकामा अहिले पनि त्यसै गरिँदै आएको बताउँछन् । उनको भनाइमा घाइते भइसकेपछि नजिकको अस्पतालमा लैजाने गरिन्छ । यसरी लैजाँदा मुलेखु र गजुरीका अस्पतालहरूमा घाइते पुग्छन् । त्यहाँबाट काठमाडौँ दूरी छोटिँदै गएपछि सहज मानेर पनि त्यतै जाने गरेको उनको भनाइ छ ।

  • फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

    फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

    काठमाडौँ, १० फागुनः सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था (अस्पताल)लाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जेनजी आन्दोलनका क्रममा छुट भएका घाइतेको विवरण उपचारमा संलग्न सबै स्वास्थ्य संस्थालाई तत्काल स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिइएको बताए । उनका अनुसार जेनजी आन्दोलनका घाइतेहरूको उपचार र रातहलाई प्रभावकारी बनाउन गठित समन्वय समितिले यही फागुन १५ गतेभित्र घाइतेको विवरण उपलब्ध गराउने निर्णयनुसार मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो ।

    मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले घाइतेहरूको सूचीकरण र वर्गीकरण पुनःवर्गीकरणसम्बन्धी कार्य समयमा सक्नका लागि यही फागुन १ देखि १५ गतेभित्र विवरण उपलब्ध गराउन भनिएको बताए । उनले फागुन १५ गतेभित्र आएका निवेदन उपर छानबिन गरी घाइतेको अन्तिम नामावली सार्वजनिक गरिने जानकारी दिए । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार अहिलेसम्म २०० जना घाइतेको मात्र वर्गीकरण विवरण उपलब्ध भएको छ । उनले जेनजी प्रदर्शनका क्रममा धेरै घाइते भए पनि सामान्य घाइते भएकालाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएको हुनसक्ने बताए ।

    सरकारले जेनजी प्रदर्शनका क्रममा अतिगम्भीर वर्गीकरणमा परेकालाई र ती घाइतेलाई स्याहार गर्नेलाई मासिक रु नौ हजार, गम्भीर घाइतेलाई मासिक रु नौ हजार र मध्यम घाइतेलाई मासिक रु चार हजार उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता डा बुढाथोकीले जानकारी दिए । उनका अनुसार जेनजी प्रदर्शनका क्रममा दुई हजार ५९९ जना घाइते भएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

  • राजनीतिक दलका चुनावी घोषणापत्रः निःशुल्क स्वास्थ्यमा जोड

    राजनीतिक दलका चुनावी घोषणापत्रः निःशुल्क स्वास्थ्यमा जोड

    रासस
    काठमाडौँ, ९ फागुनः आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलले जनताको स्वास्थ्य सेवालाई मुख्य एजेण्डा बनाएका छन् । राजनीतिक दलले जारी गरेका घोषणापत्रमा मुख्यतः नागरिकको स्वास्थ्य उपचार निःशुल्क बनाउनेमा जोड दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जारी गरेको घोषणापत्रमा सबै विद्यालयका किशोरीलाई निःशुल्क ‘प्याड’ उपलब्ध उल्लेख गरेको छ । साथै स्वास्थ्य स्वयंसेविकालाई रु २० हजार भत्ता र सामाजिक सुरक्षासमेत उपलब्ध गराउने उल्लेख छ ।

    एमालेद्वारा सुत्केरी महिला भत्ता २० हजार र पाँच लाखसम्मको निःशुल्क जीवन बिमा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख गरिएको छ । सबै तहमा अस्पतालको पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख छ । एमालेले प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा कम्तिमा एक जना ‘जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन’ ९एमडीजिपी० चिकित्सक, नर्स, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध गराउने उल्लेख गरेको छ । जिल्ला अस्पतालको स्तरोन्नति गरी न्यूनतम सेवा उपलब्ध गराउने र प्रदेशस्तरमा प्रभावकारी ‘रिफरल’ प्रणालीको व्यवस्था गर्ने उल्लेख छ ।

    त्यस्तै नेपाली कांग्रेसले जारी गरेको ‘प्रतिज्ञापत्र’मा स्वास्थ्य उपचारमा नागरिकले खल्तिबाट पैसा तिर्नुपर्ने अवस्थाको अन्त्य गर्ने र निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उल्लेख गरेको छ । साथै प्रतिज्ञापत्रमा सबै तहका सरकारले कूल बजेटको स्वास्थ्य क्षेत्रमा १० प्रतिशत छुट्टाउनुपर्ने व्यवस्था कार्यान्वयन गरिने उल्लेख गरेको छ ।
    कांग्रेसले सबै उपचार स्वास्थ्य बिमाबाट गरिने उल्लेख गर्दै स्वास्थ्य बिमाका लागि आम्दानी नहुनेले प्रिमियम तिर्न राज्यले व्यहोर्ने प्रतिज्ञापत्रमा उल्लेख गरेको छ । सबै स्थानीय तहबाट प्रथम सेवा विन्दु सञ्चालन गर्ने, तीन वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्नेलगायत स्वास्थ्यसम्बन्धी विषय प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ ।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जारी गरेको ‘प्रतिवद्धतापत्र’ मा २०८८ सम्म सतप्रतिशतलाई स्वास्थ्य बिमामा आबद्ध गर्ने उल्लेख छ । साथै स्वास्थ्य खर्च हाल करिब ५४ प्रतिशत रहेको अवस्थालाई २०८८ सम्म ३५ प्रतिशतभन्दा कममा झार्ने लक्ष्य राखिएको छ । हरेक वडा, समुदाय र विद्यालयमा ‘मिडलेभल’ ( मध्यमस्तर) स्वास्थ्य टोली परिचालन गरिने घोषणापत्रमा उल्लेख गरिएको छ । ती टोलीमार्फत नियमित स्वास्थ्य जाँच, जीवनशैली परामर्श तथा रोग रोकथामसम्बन्धी सेवा प्रदान गरिने जनाइएको छ । साथै सरकारी अस्पतालमा बहिरङ्ग सेवा (ओपिडी) वर्षभरि बिहान ७ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन गरिने र स्वास्थ्य चौकीमा पनि ३६५ दिन सेवा विस्तार गरिने उल्लेख छ ।

    प्रतिबद्धतापत्रमा वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण निःशुल्क गरिने उल्लेख छ । नेकपाले औषधि खरिदमा हुने अनियमितता अन्त्य गर्न केन्द्रीय फ्रेमवर्क सम्झौता तथा सरकारी सरकारी खरिद प्रणाली लागू गरिने उल्लेख गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक गरेको ‘वाचापत्र’ मा स्वास्थ्यसँग सम्बन्धित सबै सामाजिक सुरक्षाका कार्यक्रमलाई एकद्वार प्रणालीमा लैजाने उल्लेख छ ।

    वाचापत्रमा क्यान्सरलगायत नसर्ने रोगलाई उपचारभन्दा पनि रोकथाममुखी रणनीति अवलम्बन गर्ने, जलन पीडितको निःशुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न जलन उपचार कोष स्थापना र एक विश्वस्तरीय विशेष जलन अस्पताल निर्माण गर्ने उल्लेख छ ।

    मानसिक स्वास्थ्य सेवालाई नागरिकको सहज पहुँचमा पुर्‍याउन छुट्टै अधिकार सम्पन्न महाशाखा स्थापना गर्ने, प्रथामिक स्वास्थ्य सेवा प्रवाहमा मानसिक प्राथमिक उपचार सबै जिल्ला अस्पतालमा विशेष चिकित्सकको व्यवस्थासहित २४सैँ घण्टा सञ्चालन हुने हेल्पलाइनमार्फत सेवा प्रवा गर्ने उल्लेख छ । योग र ध्यान कार्यक्रम सञ्चालन गर्ने र वैज्ञानिक अध्ययनमा आधारमा वैकल्पिक उपचार पद्दतिलाई संस्थागत रूपमा सञ्चालन गर्ने वाचापत्रमा उल्लेख गरिएको छ ।