Category: स्वास्थ्य

  • मौन पीडामा रहेकी कालिमायाको याचना…..

    मौन पीडामा रहेकी कालिमायाको याचना…..

    रासस
    दमौली (तनहुँ), ६ पुस । यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन बिताउन बाध्य छन्, झलक विक । छब्बीस वर्षीय उनका लागि हिँडडुल गर्नु, मनका भावनालाई साटासाट गर्नु र अन्य दैनिकी काम गर्नु अकल्पनीय कुरा हुन् । उनी आफ्नो शरिरलाई आफै नियन्त्रण गर्न सक्दैनन् र घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् । सौच लगाएकै कपडामा हुन्छ ।

    कालिमायाले झलकलाई देखाउँदै भनिन्, ‘देखिहाल्नुभयो, झलकको अवस्था । यसरी बाँधेर राख्न मलाई रहर होला ? ” उनका अनुसार झलकलाई दुर्घटनामा पर्ने डर, अनियन्त्रित अवस्था र आफैँ खेतबारी तथा वस्तुभाउका काममा जानुपर्ने बाध्यताले यस्तो गर्नुपरेको हो ।

    कालिमायाको पीडा व्यथाका कथा कहालीलाग्दो छ । झलक चार वर्षका हुँदा उनीले जीवनसाथी अर्थात् श्रीमान् गुमाउनु प¥यो । उनले भनिन्, ‘श्रीमानले अकल्पनीय रुपमा सदाका लागि छाडेर जानुभएपछि मैले नै फरक क्षमता (अपाङ्गता) भएको बाबुको हेरचाह गर्दै आएको छु । बाबुको सहायताका लागि विभिन्न निकाय धाए, सहायताको याचन मागे । आजसम्म आश्वासन र सहानुभूतिमात्र पाएको छु । ”

    केही समयअघि एक सस्थाले झलकका लागि ह्वीलचियर उपलब्ध गरायो । तर यो सहायताले पनि कालिमायाको आशामा पूरै उज्यालो थप्न सकेन । उनले भनिन्, “ह्वीलचियरमा चढाउन र झार्न सकिँदैन, लड्ने डर झनै बढी हुन्छ । अहिले त्यो ह्वीलचियर घरको कुनामा थन्किएको छ । ”

    कालिमायाको माग धेरै छैन । उनलाई चाहिएको छ, झलकका लागि सुरक्षित र व्यवस्थित कोठा । बाहिर निस्केर घाम ताप्न मिल्ने बरन्डा, भित्र सुत्न मिल्ने ठाउँ र शौचालय । उनले भनिन्, “जग्गा म आफैँ व्यवस्थापन गर्छु । तर कोठा बनाउन सहयोग चाहिएको हो ।” झलकको अवस्था देखेपछि अधिकारकर्मीद्वय ईश्वर बाँस्तोला र सङ्गीता शर्माले सरोकारवाला निकायसँग समन्वय गरी झलकका लागि कोठा निर्माणका लागि पहल गरिने आश्वासन दिएका छन् ।

  • जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

    जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

    काठमाडौँ, ६ पुसः दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त राष्ट्रसङ्घमा विशेष प्रस्तुती दिएको छ । नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घमा शुक्रबार ध्यानसम्बन्धी अलग ÷अलग दुई कार्यक्रम आयोजना गरेको छ । नेपालको तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापकद्वय रमेश नेपाल र एलपी भानु शर्माले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित विशेष कार्यक्रममा ‘विश्वव्यापी शान्ति र सद्भावका लागि ध्यान’ विषयमा विशेष प्रवचन,योगाभ्यास एवं ध्यान गराए ।

    प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिमा सो कार्यक्रमबाट नेपाल उद्गमस्थल रहेको योग, ध्यान, समाधिलगायतका आध्यात्मिक चेतना विश्वभर प्रचारप्रसार गर्न सहयोग पुगेको जनाइएको छ । ‘विश्वव्यापी शान्ति र सद्भावको लागि ध्यान’ कार्यक्रममा गुरु भानुले आधुनिक विश्वका चुनौतीहरूको सामना गर्न प्रत्येक मानवको मन स्थिर हुनुपर्ने स्पष्ट पार्दै त्यसका लागि ध्यान गर्न आह्वान गरे ।


    संयुक्त राष्ट्रसङ्घले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा मनाउन थाल्नु वैश्विक चेतनाको ऐतिहासिक क्षण भएको जनाउँदै उनले परम्परागत कूटनीति र नीति निर्माणसँगै अब आन्तरिक जागरण, ध्यान र मानसिक स्वास्थ्यलाई पनि विश्व शान्तिको पूर्वाधारका रूपमा स्वीकार गरिएकामा खुसी व्यक्त गरे ।


    उनले भने, “ध्यानको अभ्यासले मात्र विश्वव्यापी शान्ति निर्माणमा निर्णायक भूमिका खेल्छ । शान्ति र द्वन्द्व समाधानमा आन्तरिक रूपान्तरणको अपरिहार्यता हुन्छ । बुद्ध भूमि नेपाललाई पूर्वीय ज्ञान र आधुनिक विज्ञानको सेतुका रूपमा प्रस्तुत गर्नुपर्दछ । ध्यानको प्रायोगिक रूपान्तरण, नेपालद्वारा विश्वलाई जागरणको आह्वान र मानसिक स्वास्थ्यलाई वैश्विक पूर्वाधारका रूपमा विकास गरिनुपर्छ । ”

    कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, एण्डोरा र मेक्सिकोका संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधिले ध्यान दिवसको महत्वबारे चर्चा गरेका थिए । कार्यक्रममा एलपी भानु शर्मासँगै भारतका रवि शङ्करलगायत विभिन्न देशका गुरु समेत प्रस्तुति थियो । यस्तै संयुक्त राष्ट्रसङ्घको मुख्यालयमै विभिन्न समुदायका लागि नेपालले आयोजना गरेको ‘जागृत मनः शान्ति, स्वास्थ्य र सद्भावको बाटो’ कार्यक्रममा सहभागीलाई गुरु रमेश नेपालले ध्यानका महत्वका बारेमा विशेष प्रवचन दिँदै सहभागीलाई ध्यान तथा योगाभ्यास गराए । सो अवसरमा उनले ध्यानले शरीरमा रहेको शक्ति जगाउने र सक्रिय गराउने बताए । उनले भने, “ध्यानले मनलाई शान्ति र सकारात्मकता दिन्छ । जीवनी शक्ति सबल बनाउने ध्यानको उद्देश्य हो । ”

    उनले ध्यानको अभ्यासलाई मानिसको दैनिक जीवनसँग जोड्नसके संसारबाट अशान्ति, कलह र तनावको अन्त्य हुने जनाउँदै ध्यानलाई विश्वव्यापी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा गुरु भानुले ध्यानका विभिन्न आयामको चर्चा गर्दै व्यक्तिभित्रका सम्भावना जगाउन शरीरका ऊर्जा केन्द्रहरू चिन्ने र सक्रिय गराउने स्वजागरण अभियान विश्वभर प्रयोग गर्नुपर्ने बताए ।

    यसका लागि नेपालका तर्फबाट जीवन विज्ञानले स्वजागरण अभियान सुरु गरेको जानकारी दिए । सो कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अटुल खरे, संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापा, जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी गुरुमालगायत विभिन्न देश र समुदायका प्रतिनिधिहरूको सहभागिता थियो । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा घोषणा गरेको विश्व ध्यान दिवस हरेक वर्ष डिसेम्बर २१ मा मनाइन्छ ।

    जीवन विज्ञानका सचिव किरण रुपाखेतीद्वारा जारी विज्ञप्तिमा यस कार्यक्रमबाट नेपाल उद्गमस्थल रहेको योग, ध्यान, समाधिलगायतको आध्यात्मिक चेतना विश्वभर प्रचारप्रसार हुने उल्लेख छ । साथै यसबाट परापूर्वकालदेखि प्रयोग र अभ्यास हुँदै आएका अध्यात्म, आयुर्वेद र प्राकृतिक चिकित्साबाट विश्वले लाभ लिन सक्ने जनाइएको छ ।

  • रिहा भएर काठमाडौं आउनासाथ रविले भेटे जेन जी आन्दोलनका घाइते र शहीद परिवार

    रिहा भएर काठमाडौं आउनासाथ रविले भेटे जेन जी आन्दोलनका घाइते र शहीद परिवार

    ५ पुस, काठमाडौं । कारागारबाट रिहा भएर चितवन हुँदै काठमाडौं आए लगत्तै रास्वपा सभापति रवि लामिछाने भेटघाटमा सक्रिय भएका छन् । उनले जेनजी आन्दोलनका घाइते र शहीदका परिवारलाई भेटेका छन् । उनले शनिबार उपत्यकाका विभिन्न अस्पतालमा उपचारार्थ जेनजी घाइतेसँग भेट गरी अवस्थाबारे जानकारी लिए । घाइते भेट्नुअघि उनले बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुरेर जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका थिए ।

    सहकारी ठगी प्रकरणमा भैरहवा कारागार रहेका लामिछानेलाई अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । सो क्रममा रविले सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको बताए । उनले जेनजी घाइतेहरूलाई आफू साथमा रहेको बताउँदै सपना पूरा गर्न लागिपर्ने पनि बताए ।

    शहीद परिवारसँगको छलफलपछि पत्रकारसँग बोल्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरुलाई हत्या गरिएको भन्दै शहीद परिवारको न्यायका लागि लड्ने बताए। सुशासन कायम गर्ने कुरामा सरकारलाई रास्वपाको पूर्ण साथ रहेको उनको भनाइ छ । उनले जेनजी र जेनजी शहीद परिवारको मागलाई पुरा गर्नका लागि रास्वपा र आफ्नो ऐक्यबद्धता रहेको बताए । शहीद परिवारले जेनजी आन्दोलनका क्रममा छानिछानि हत्या हुँदा पनि कारवाही गर्न सरकारले अग्रसरता नदेखाएको गुनासो गरेको लामिछानेले बताए ।

  • गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा

    गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा

    गाजा, ५ पुस (रासस) सिन्ह्वा । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिएका छन् । उनले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बताए । “ हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ र धेरै मानिसहरूले जीवित रहन आवश्यक खाना प्राप्त गर्न सक्षम भएका छन् ।” संयुक्त राष्ट्र र उसका साझेदार संस्थाहरूले दैनिक रूपमा लाखौँ मानिसलाई तातो भोजन उपलब्ध गराइरहेका छन् र सम्पूर्ण गाजामा खाद्य सहायता वितरण गरिरहेका छन् ।

    महासचिव गुटेरेसले भने, “ स्वच्छ पानी थप समुदायसम्म पुग्न थालेको छ, केही स्वास्थ्य सेवा केन्द्रहरू पुनः सञ्चालनमा आएका छन् । ” उनले यस सुधारको श्रेय मानवीय कामदार, सदस्य राष्ट्र र नागरिक–सैन्य समन्वय केन्द्रबीचको सहकार्यलाई दिए । तर उनले सावधानीका साथ यी उपलब्धिहरू अझै नाजुक छन् र जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गरे ।


    गुटेरेसका अनुसार अक्टोबरदेखि संयुक्त राष्ट्रले सेवा निरन्तर सञ्चालनमा राख्ने प्रयास गरिरहेको छ, तर आवश्यकताहरूको वृद्धि सहयोगको क्षमताभन्दा छिटो भइरहेको छ । महासचिवले दीर्घकालीन युद्धविराम आवश्यक भएको र थप प्रवेश नाका खोल्ने, अत्यावश्यक सामग्रीमाथि लगाइएको प्रतिबन्ध हटाउने, प्रशासनिक झन्झट कम गर्ने, गाजाभित्र सुरक्षित आवागमन सुनिश्चित गर्ने, दीगो वित्तीय सहयोग सुनिश्चित गर्ने र अवरोधरहित मानवीय पहुँच प्रदान गर्ने आवश्यकता औँल्याए ।


    त्यसैगरी, उहाँले पश्चिमी किनारामा पनि अवस्था संवेदनशील रहेको र त्यहाँ प्यालेस्टिनीहरूले बढ्दो हिंसा, जमिन कब्जा, घर भत्काइ र कडा आवागमन प्रतिबन्धको सामना गरिरहेको बताए । उनले कब्जामा रहेका प्यालेस्टिनी भूभाग, पूर्वी यरूशलेमसहित, अन्तर्राष्ट्रिय कानुन, मानवीय कानुन र मानवअधिकार कानुनको पूर्ण पालना हुनुपर्नेमा जोड दिए ।

    महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय न्यायालयको सन् २०२५, अक्टोबर २२ को सल्लाहात्मक मतको स्मरण गर्दै भने, “इजरायलले मानवीय सहायता सहज रूपमा प्रवेश गराउने, संयुक्त राष्ट्रसँग सहकार्य गर्ने र सशस्त्र द्वन्द्वको अवस्थामा समेत संयुक्त राष्ट्र र उसका कर्मचारीको अधिकार र सुरक्षा सम्मान गर्नुपर्छ । यी दायित्वहरू बाध्यकारी छन् र तुरुन्त कार्यान्वयन हुनुपर्छ । यो सङ्कट मानवीय निर्णयबाट उत्पन्न भएको हो, र राजनीतिक इच्छाशक्ति भएमा यसको समाधान सम्भव छ ।”

  • जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

    जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

    काठमाडौँ, ४ पुसः सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेनजीद्वारा गरिएको प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरणलाई तीव्रताका साथ अघि बढाएको छ । जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको अपाङ्गताको अवस्था तथा गम्भीरताको आधारमा आर्थिक सहायतासहित जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउने सन्दर्भमा मन्त्रिपरिषद्ले गत मङ्सिर २२ गते स्वीकृत गरेको कार्यविधिका आधारमा वर्गीकरणलाई तीव्रता दिइएको गृह मन्त्रालयले जनाएको छ ।

    गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका अनुसार जिल्ला प्रशासन कार्यालयहरूले वर्गीकरणको सिफारिस गर्ने र सोही आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रमाणित गर्नेछ । कार्यविधि अनुसार घाइते भएका व्यक्तिको अपाङ्ताको आधारमा वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्राविधिक समिति रहने छ । उक्त समितिले घाइतेलाई साधारण, मध्यम, गम्भीर र अतिगम्भीर गरी चार किसिममा वर्गीकरण गर्ने व्यवस्था गरेको छ ।

    गम्भीर घाइतेले मासिक रु नौ हजार र अतिगम्भीर घाइतेले जीविकोपार्जन भत्ताबापत मासिक रु १८ हजार प्राप्त गर्ने व्यवस्था गरिएको गृहमन्त्रालयले जनाएको छ । कार्यविधि अनुसार मध्यम प्रकृतिका घाइतेले मासिक रु चार हजार भत्ता पाउने व्यवस्था कार्यविधिमा छ ।

    गृहमन्त्री अर्यालको सक्रियतामा जेनजी घाइतेहरूको जनभावना अनुरूप वर्गीकरणका लागि मन्त्रालयले सम्बद्ध निकायलाई घाइतेहरूको वर्गीकरण गर्ने कार्यलाई तीव्रता दिन निर्देशन भए बमोजिम प्रक्रिया अघि बढाइएको वर्गीकरण सहजीकरण समितिले जनाएको छ ।

  • अमेरिकामा मौसमी फ्लु प्रकोप : अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो

    अमेरिकामा मौसमी फ्लु प्रकोप : अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो

    लस एन्जलस, २८ मङ्सिर (रासस–सिन्ह्वा) । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पछिल्लो अनुमानअनुसार, हाल मौसमी फ्लुका कारण संयुक्त राज्य अमेरिकामा करिब २९ लाख व्यक्ति सङ्क्रमित भएका छन्, जसमा तीस हजार जना अस्पताल भर्ना भएका छन् भने एक हजार दुई सय जनाको मृत्यु भएको छ ।

    केन्द्रका अनुसार मौसमी इन्फ्लुएन्जा देशका अधिकांश भागमा बढ्दो क्रममा छ र यस सिजनमा इन्फ्लुएन्जा ए (एच३एन२) प्रमुख भाइरसको रूपमा फैलिरहेको छ । छ डिसेम्बरसम्मको हप्तामा अमेरिकी सार्वजनिक स्वास्थ्य प्रयोगशालाहरूले राष्ट्रव्यापी रूपमा पाँच सय सत्तालिस इन्फ्लुएन्जा भाइरस पत्ता लगाएका छन् । यसै हप्तामा यस सिजनको पहिलो बालबालिका मृत्युसँग सम्बन्धित फ्लुको रिपोर्ट पनि आएको छ ।

    केन्द्रले विशेष गरी छ महिना भन्दा माथिका व्यक्तिलाई, वार्षिक फ्लु खोप लगाउन सिफारिस गरेको छ । त्यसैगरी, केन्द्रका अनुसार, फ्लु उपचारका लागि केही औषधिहरू उपलब्ध छन् । यी औषधिहरू समयमै सुरु गर्दा सबैभन्दा प्रभावकारी हुन्छन् र विशेषगरी ती व्यक्तिहरूका लागि महत्वपूर्ण छन्, जसलाई गम्भीर फ्लु–सम्बन्धित जटिलता हुने जोखिम बढी हुन्छ ।

  • बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु

    बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु

    ढाका, २५मङ्सिर (रासस–सिन्ह्वा) । बङ्गलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) ले जारी गरेको तथ्याङ्क अनुसार दक्षिण एसियाली मुलुक बङ्गलादेशमा जनवरी देखि डेङ्गु ज्वरोका सङ्क्रमितको सङ्ख्या ९८ हजार ७०५ पुगेको छ । बङ्गलादेशमा पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको र थप ४२१ जनालाई डेंगु संक्रमण भएको रेकर्ड गरेको जनाइएको छ ।

    डिजिएचएसका अनुसार डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ४०१ नागेको छ, जसमा डिसेम्बरमा १९ र नोभेम्बरमा १०४ र अक्टोबरमा ८० जनाको मृत्यु भएको छ । नोभेम्बरमा २४ हजार ५३५ जनालाई नयाँ सङ्क्रमण भएकोमा डिसेम्बरमा अहिलेसम्म ४ हजार ३०८ जना सङ्क्रमित भेटिएको जनाइएको छ ।


    तिव्र डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न बङ्गलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न र लार्भा विरोधी अपरेसनहरू सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । डेङ्गु ज्वरो सङक्रमित एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यस रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने थकान, गम्भीर मांसपेशी र जोर्नी दुख्ने, बान्ता हुने चक्कर लमग्ने जस्ता लक्षणहरूसहित मानिसहरुलाई सिथिल बनाउने जनाइएको छ ।

  • मोरङमा बालिकाको बलात्कार र हत्या अभियोगमा ५८ वर्षिय पुरुष पक्राउ

    मोरङमा बालिकाको बलात्कार र हत्या अभियोगमा ५८ वर्षिय पुरुष पक्राउ

    काठमाडौँ, २१ मङ्सिरः नेपाल प्रहरीले १२ वर्षीया बालिकाको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले मोरङको लेटाङ नगरपालिका–२ का नवीन गौतमकी १२ वर्षीया छोरीको हत्यामा संलग्न ५८ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    गत असोज २१ गते दिउँसो हराएकी बालिकाको कात्तिक ७ गते लेटाङ–२ स्थित बेलबारी चिसाङ सामुदायिक वनभित्र शव फेला परेको थियो । घटनास्थलमा बरामद भएका कपडा हाफ पाइन्ट, चप्पल र घडीका आधारमा अनुसन्धान गर्दै जाँदा अधिकारीलाई पक्राउ गरिएको ब्युरोका सहप्रवक्ता प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए ।


    पक्राउ परेका अधिकारीले बालिकालाई विभिन्न प्रलोभन देखाएर घरभन्दा चार दशमलव पाँच किलोमिटर पर रहेको उक्त जङ्गलमा लगेर हसियाँले घाँटी रेटी हत्या गरेको अनुसन्धानमा खुलेको सहप्रवक्ता भट्टले बताए । उक्त घटनाका सन्दर्भमा प्रहरीले ज्यानसम्बन्धी कसुर मुद्दा शीर्षकमा मुद्दा दर्तागरी अनुसन्धान गरिरहेको ब्युरोले जनाएको छ । बलात्कार प्रतिकार गर्दा बालिकाको हत्या गरेको आरोपितले स्वीकार समेत गरेका छन् ।

  • कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

    कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

    काठमाडौँ, १९ मङ्सिर । काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र जीवनशैलीसम्बन्धी सर्वेक्षण सुरु गरेको छ । कामपाको कृषि तथा पशुपन्छी विभागले यही मङ्सिर १६ गतेदेखि उक्त कार्यक्रम सुरु गरेको हो । कार्यक्रम यही मङ्सिर २६ गतेसम्म सञ्चालन हुनेछ । यसमा २१ गतेसम्म कर्मचारी, २२ गते कर्मचारी र जनप्रतिनिधि तथा २३, २४ र २५ गते जनप्रतिनिधिका लागि समय विभाजन गरिएको छ । छुटेका सबैलाई २६ गते सहभागी गराउने कार्यक्रम रहेको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।
    सहरी जीवन क्रमशः निष्क्रिय बन्दै गएको, यसैकारण मुटु, मधुमेह, क्यान्सर, श्वासप्रश्वाससहित दीर्घरोगको जोखिम उच्च रहेकाले यसबाट बच्ने उपाय खोजी गर्न सर्वेक्षण गरिएको न्यौपानेको भनाइ छ । सर्वेक्षणबाट प्राप्त हुने नतिजाले कार्यस्थलमा स्वास्थ्य प्रवर्द्धनको नीतिगत सिफारिसका लागि तथ्य प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    सर्वेक्षणमा उचाइका आधारमा तौल (बीएमआइ बडी मास इन्डेक्स_ मापन, उमेर र लिङ्गका आधारमा बीआइए (बायोइलेक्ट्रिकल इम्पेन्डेन्स एनलाइसिस) गरेर ‘बडीफ्याट’, ‘भिसेरल फ्याट इन्डेक्स’, ‘फ्याट फ्री मास’, ‘टोटल बडी वाटर’को प्रोफाइल तयार पारिन्छ । यसरी तयार पारिने प्रोफाइलमा कामको प्रकृतिअनुसारको मोटोपना, रक्तअल्पता र जीवनशैलीका सूचक पनि समावेश हुन्छन् ।

    सर्वेक्षणमा जीवनशैली र आचरणअन्तर्गत शारीरिक व्यायाम, कामको तनाव, धुमपान तथा मद्यपानको आदत, सुत्ने समय, ‘डिजिटल ग्याजेट’हरूमा बिताउने समय, कार्यस्थलको वातावरणसम्बन्धी विवरण सङ्कलन हुने न्यौपानेले जानकारी दिए ।

    मधुमेह, हेमोग्वोविन परीक्षणबाट रक्तअल्पता जाँच गरिन्छ । खानाको रुचिका आधारमा आहार मूल्याङ्कन र खाद्य समूहको अभिलेखन गरिन्छ । सर्वेक्षणमा सहभागी ‘भर्टेक्स फुड्स’का अनुसन्धान व्यवस्थापक प्रतीक निरौलाका अनुसार स्थानीयस्तरमा उत्पादन भएका खानेकुरामा प्राकृतिक तत्वहरू धेरै पाइन्छ । जसकारण स्वास्थ्यका लागि बढी लाभदायक हुन्छन् । यस्ता खानेकुराको मूल्य तुलनात्मक रूपमा सस्तो हुन्छ । आफ्नो स्वादअनुसार खानेकुरा तयार पारेर खाने हो भने स्वास्थ्यका लागि राम्रो हुन्छ ।

    कामपाका कर्मचारी र जनप्रतिनिधिका लागि गरिने यो परीक्षण क्रमशः नागरिक समक्ष पुर्याएर खाद्य आचरण र जीवनशैली सुधारका लागि काम गर्ने कामपाले योजना रहेको छ ।

  • अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    काठमाडौँ, १७ मङ्सिरः अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तरराष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गताभएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो ।

    यस वर्ष यस दिवसको नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ । हरेक वर्ष डिसेम्बर ३ मा विश्वभर मनाइने यो दिवसले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ । अपाङ्गता भएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उहाँहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनुपर्ने अनिवार्य आवश्यकता रहेको छ ।

    नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको भएपनि व्यवहारिक रुपमा पूर्ण कार्यान्वयन हुनुपर्ने माग उठ्दै आएको छ ।

  • हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ

    हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ

    हङकङ, १६ मङ्सिर (रासस–सिन्ह्वा) । हङकङको वाङ फुक कोर्टमा आगलागीमा लापरवाही गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
    उक्त जानकारी सोमबार स्थानीय अधिकारीहरूले पत्रकार भेटघाटमार्फत दिएका हुन् । प्रहरीले जनाएको अनुसार घटनाको विस्तृत अनुसन्धान अझै जारी रहेको छ, र आवश्यक परे थप व्यक्तिहरूलाई समेत पक्राउ गर्न सकिने सम्भावना छ ।

    आगो लागेका भवनबाट सङ्कलित २० वटा निर्माण जालीका नमूनामध्ये ७ वटा जाँचका क्रममा आगो प्रतिरोधको न्यूनतम मापदण्ड समेत पुरा नगरेको पुष्टि भएको अधिकारीहरूले बताएका छन् । यिनै कमजोर निर्माण जालीका कारण आगो अत्यन्त तीव्र गतिमा फैलिएको हुन सक्ने प्रारम्भिक निष्कर्ष आएको छ ।

  • जिपि कोईराला फाउन्डेशनको वृहत रक्तदान कार्यक्रम

    जिपि कोईराला फाउन्डेशनको वृहत रक्तदान कार्यक्रम

    बिष्णु सिंह, न्युयोर्क

    गत १५ नोभेम्बरमा जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको आयोजनमा न्यूयोर्क क्विन्सस्थित उडसाईड्समा रहेको आफ्नै कार्यालय हातामा न्युयोर्क ब्लड सेन्टरसँग सहकार्य गरी एक वृहत रक्तदान कार्यक्रम गर्यो। कार्यक्रम विहान ११ बजे शुरुभएर साँझ ६ बजेसम्म जारी थियो। कार्यक्रममा ९२ जनाले रक्तदानको इच्छा देखाए पनि स्वास्थ्य जाँच पश्चात ६१ जना दाताले मात्र रक्तदान गर्न सफल हुनुभयो।

    एकजनाले दान गरेको एक पीन्ट स्वच्छ (५०० मिलीलीटर) रगतले ३ जनाको रगत अभावको कारणले जोखीममा परेको ज्यान जोगाउन सकिन्छ। यस हिसाबले ६१ नेपाली रक्तदाताको रगतले ३०५ जनाको जीवन बचाउन सफल हुने देखिन्छ।

    फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले आफुलगायत फाउन्डेशन परिवारले न्युयोर्क ब्लड सेन्टरसँग कार्यक्रमको टुंगो लगाएपछि निरन्तर समाजका ईच्छुक र योग्य रक्तदाता महानुभावहरुसँग सम्पर्क र संवाद गरि खटिनुको परिणाम नै आजको रक्तदान वृहतरुपमा सम्पन्न हुनु हो भन्दै आगामी दिनहरुमा पनि फाउन्डेशनले समाजका लागि मानवीय कार्यमा अझ सकृय भुमिका निर्वाह गर्नेकुरा प्रष्ट पार्नुभयो।

    फाउन्डेशनका कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्री फाउन्डेशनका तर्फवाट रक्तदान कार्यक्रम संयोजकको भुमिकामा खटिनुभएको थियो। सो कार्यक्रममा एनआरएनए अमेरिकाकी सचिव लक्ष्मीथापा, कम्युनिटी नेता एंव छाँया सीडीसीका कम्युनिटी डाईरेक्टर उर्गेन शेर्पा, क्विन्स रोटरी क्लबका अध्यक्ष कर्मा लामा, सुदुर पश्चिम समाज अमेरिकाका पुर्व अध्यक्ष एंव सल्लाहाकार राम बहादुर देउवा लगायतले रक्तदान गरी कार्यक्रम आयोजकलाई संस्थाको तर्फबाट यो पुण्य कार्यको लागि धन्यवाद दिनुभएको थियो भने न्युयोर्क च्याप्टरका अध्यक्ष वाशु लामिछाने उपस्थित भै रक्तदातालाई हौसला प्रदान गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो। फाउण्डेशनको प्रथम पटक रक्तदान कार्यक्रम भव्य र सभ्य रुपले सफलतापुर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सबै रक्तदाताहरु, स्वयंसेवकहरू, विभिन्न संघसंस्थाका अध्यक्षज्युहरु तथा प्रतिनिधिहरू, प्रायोजकहरू, पत्रकारहरु र फाउण्डेशनका साथीहरुलाई धन्यवाद एवं आभार प्रकट गर्नु भयो।

    फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरे र कार्यसमितिका पदाधिकारीहरु क्रमश: राजेश आचार्य, प्रेम अधिकारी क्षेत्री, सुर्य सिंमखडा, फुदोमा शेर्पा, हिरा तामाड॰ एवं स्वयंसेवकहरु क्रमश: शेखर कार्की, टेक कार्की, लाक्पा जी शेर्पा, आड॰तुला शेर्पा गुरुड॰, डा. रमेश चित्रकार लगयत बिहान शुरुदेखि नै कार्यक्रम चरणबद्ध रुपमा सफलपार्न लागीपरेका थिए भने न्युयोर्क ब्लड सेन्टरका आबद्द कर्मचारी एवं स्वास्थ्यकर्मीहरु उत्साहपुर्ण रुपमा क्रमशः लामबद्द रक्तदाताहरुलाई सेवा दिईरहेका थिए।

  • तीन वर्षमा तीन पटक म्याद थप : स्वास्थ्य चौकी भवन अधुरै

    तीन वर्षमा तीन पटक म्याद थप : स्वास्थ्य चौकी भवन अधुरै

    गलकोट (बागलुङ) । १३ मङ्सिरः एक वर्षभित्र सक्नेगरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकीको भवन तीन वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन । साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको बागलुङ नगरपालिका–१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीको भवन कहिले सम्पन्न हुन्छ भन्ने अझै टुङ्गो लाग्न सकेको छैन । निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तकीका कारण तीन वर्ष बित्दासमेत भवन निर्माण अधुरै छ । अहिले उक्त भवन ढलान र पर्खालको काम मात्रै सकिएको छ ।

    सङ्घीय सरकारको विशेष अनुदानमा निर्माण थालिएको भवन अझै सम्पन्न नभएको बागलुङ नगरपालिकाले जनाएको छ । विसं २०७९ माघ ६ गते एक वर्षमा सक्ने गरी निर्माण थालेको भवन अझै सम्पन्न हुन नसकेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिए । उनका अनुसार दुई पटक थपेको म्यादसमेत अहिले सकिएकाले भवन निर्माणमा अझै अन्योलता छाएको छ ।

    “एक वर्षमा सकिने भवन तीन वर्षमा सकिएको छैन, दुई पटकसम्म थपेको म्यादसमेत कात्तिक मसान्तमा सकिएको छ, भवनमा प्लाष्टरको काम अझै सकिएको छैन, तिहार यता कामदार भवनमा देखिएका छैनन्” घर्तीले भने, “भवन समयमा नबन्दा ठेक्का तोड्ने वा म्याद थप्ने विषयमा छलफल भइरहेको छ, नगरपालिकाले निर्माण व्यवसायीलाई धरौटी जफत गरेर भएपनि सम्पन्न गर्ने योजनामा छ ।”

    भवन निर्माणका लागि दोस्रो पटक थप गरिएको म्यादसमेत कात्तिक मसान्तमा सकिएको छ । निर्माण व्यवसायी डिएनप्रसाद जेभीसँग रु एक करोड ८२ लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माण व्यवसायीले थोरै कामदार परिचालन गर्ने, सम्पर्क बिहिन हुने लगायतका कारण भवन समयमै बन्न नसकेको हो ।

    नगरपालिकाकै नमूना स्वास्थ्य चौकीको रुपमा रहेको नारायणस्थान स्वास्थ्य चौकी अहिले साँघुरो भवनबाट सेवा प्रभाह भइरहेको स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले जानकारी दिए । भवन सम्पन्न भए गुणस्तरीय सेवा प्रभाह गर्न सहज हुने उनको भनाइ छ । जनताले चन्दा उठाएर रु २१ लाख सङ्कलन गरी स्वास्थ्य चौकीको नाममा जग्गा खरिद गरेर भवन निर्माणका लागि काम थालेपनि समयमा भवन नबन्दा सेवा प्रवाहमा समस्या भएको शर्माले बताए ।

  • विश्वव्यापी एचआइभी प्रतिक्रियालाई ‘दशकौँकै सबैभन्दा ठूलो झट्का’

    विश्वव्यापी एचआइभी प्रतिक्रियालाई ‘दशकौँकै सबैभन्दा ठूलो झट्का’

    जेनेभा, ११ मङ्सिर (रासस–एएफपी) । अचानक र नाटकीय रूपमा अन्तर्राष्ट्रिय कोष कटौतीले एचआइभी र एड्स विरुद्धको विश्वव्यापी प्रयासमा विनाशकारी परिणाम निम्त्याएको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ । युएनएड्सका कार्यकारी निर्देशक विनी ब्यानिमाले जेनेभामा पत्रकारहरूसँग भन्नुभयो, “एचआइभीविरुद्धको विश्वव्यापी प्रतिक्रियाले दशकौँयताकै सबैभन्दा ठूलो धक्का बेहोरेको छ ।” नयाँ प्रतिवेदन प्रस्तुत गर्दै उहाँले ‘धेरै अन्तर्राष्ट्रिय दातृ निकायका लागि अचानक अन्तर्राष्ट्रिय कोष कटौतीको विनाशकारी परिणाम’ हुने चेतावनी दिँदै भन्नुभएको छ, “यसले न्यून तथा मध्यम आय भएका मुलुकहरूलाई स्तब्ध बनाएको छ ।”

    ब्यानिमाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वर्षको सुरुमै ह्वाइट हाउस फर्केपछि ‘संयुक्त राज्य अमेरिकाको अचानक रोक’ लाई औँल्याउनुभयो, तर अन्य प्रमुख दाताहरूले पनि उनीहरूको वैदेशिक सहायता खर्चमा उल्लेखनीय कटौती गरेको बताउनुभयो । “कटौतीहरू बोर्डमा नाटकीय छन्”, उहाँले भन्नुभयो, “यस वर्षको सुरुदेखि नै दर्जनौँ न्यून र मध्यम आय भएका देशहरूमा एचआइभी सेवालाई निरन्तरता दिने जटिल पारिस्थितिक प्रणाली भित्रसम्म हल्लिएको छ ।”

    ब्यानिमाले एचआइभी रोकथाम सेवाहरूमा ‘कमी’ भएको बारेमा विशेष चिन्ता व्यक्त गर्नुहुँदै भन्नुभयो, “यदि यसलाई सम्बोधन गरिएन भने सन् २०३० सम्ममा ‘३३ लाख थप नयाँ सङ्क्रमण’ हुने जोखिम हुन्छ ।

  • सर्लाहीमा आत्मदाहको प्रयास गरेका पुरुषको मृत्यु

    सर्लाहीमा आत्मदाहको प्रयास गरेका पुरुषको मृत्यु

    १० मंसिर, काठमाडौं । सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका–२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्दागर्दै मृत्यु भएको हो । आगोले जलेर गम्भीर घाइते भएका पोखरेललाई लालबन्दीको एक स्वास्थ्य संस्थामा सामान्य उपचारपश्चात प्रहरीले मङ्गलबार राति ९ बजे थप उपचारका लागि प्रदेश राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालतर्फ लगिएको थियो ।

    पोखरेलको उपचारकै क्रममा बुधबार बिहान २ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए । मङ्गलबार साँझ पौने ८ बजेतिर डुमडुमे मन्दिर अगाडि बेवारिसे पुरुषले शरीरमा पेट्रोल छर्किएर आगो लगाएपछि छेउछाउमा रहेका स्थानीयले हतारहतार पानी र बालुवा हालेर आगो निभाएको प्रत्यक्षदर्शी रोशन बोहोराले जानकारी दिए । लालबन्दीमा एक घण्टाभन्दा बढी समय राख्दासमेत जलेर घाइते पुरुषको पहिचान नभएपछि प्रहरीले एम्बुलेन्सको व्यवस्था गरी थप उपचारका लागि जनकपुर पठाएको थियो । प्रहरी निरीक्षक जोहारीका अनुसार मृतकको परिवार बुधबार बिहान मात्रै सम्पर्कमा आएपछि परिचय खुलेको हो ।

    आत्मदाहको कारण खुल्न सकेको छैन । प्रारम्भिक जानकारी अनुसार पोखरेल केही समयदेखि प्रायः घरमा नबस्ने र मठ, मन्दिरमा बस्ने गरेको पाइएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको छ । मृतकका आफन्त अहिले बिहान झापाबाट जनकपुरका लागि प्रस्थान गरेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

  • बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द : चार जिल्लाका गर्भवती समस्यामा

    बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द : चार जिल्लाका गर्भवती समस्यामा

    सन्तोष गौतम–रासस
    म्याग्दी, ७ मङ्सिर । प्रदेश सरकारले समयमा चिकित्सकका व्यवस्थापनमा ध्यान नदिँदा जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पताल बेनीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । अस्पतालको तथ्याङ्कअनुसार वार्षिक एक सय २० देखि एक सय ५० गर्भवतीले शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिँदै आएका छन् । यसबाट म्याग्दी ,मुस्ताङ सहित पर्वतको जलजला, बागलुङको ताराखोलाका सेवाग्राही समस्यामा परेका छन् ।

    जिल्लाको एकमात्र अस्पतालमा कार्यरत चिकित्सकले कात्तिकमा राजीनामा दिएर गएपछि अब प्रसूति सेवा लिन बागलुङ र पोखरा जानुपर्ने बाध्यता सृजना भएको हो । प्रसूति ब्यथाले छटपटिएका गर्भवतीलाई बागलुङ र पोखरा पुर्याउनुपर्ने अवस्था आएको अन्नपूर्ण गाउँपालिका–४ का प्रेम गुरुङले गुनासो गरे ।
    “विशेषज्ञ चिकित्सक नभएकाले उपचार सम्भव नहुने जनाउँदै पठाएपछि बागलुङ लैजान बाध्य भए”, उनले भने, “प्रसूति सेवाका लागि जिल्लाबाहिर जानुपर्दा समय र आर्थिक भार बढेको छ ।” गुरुङले श्रीमतीलाई प्रसूति गराउन बागलुङ लैजानु परेको गुनासो गरे ।

    केही वर्ष अगाडि धवलागिरि अस्पताल बागलुङ र पर्वत जिल्ला अस्पतालले समेत पोखरा रिफर गरेको गर्भवतीको बेनीमा सफल शल्यक्रिया भएको थियो । बेनी अस्पतालका निमित्त प्रमुख डा रामु सापकोटाले स्त्री तथा प्रसूति रोग विशेषज्ञ नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए । “हामीले गरेको विज्ञापनमा कोही आउनुभएन”, उनले भने, “प्रदेशको स्वास्थ्य मन्त्रालयमा समस्याका बारेमा जानकारी गराए पनि हालसम्म चिकित्सक आउनुभएको छैन ।” ‘निक साइमन इस्टिच्युट’को सहयोगमा २०७१ सालदेखि बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा सुरु भएको थियो । दाताको कार्यक्रम सकिएपछि यो कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिँदै आएको छ ।

    जनशक्ति अभावमा हाल हाडजोर्नी तथा नशारोगबाहेक अन्य शल्यक्रिया सेवा पनि बन्द भएको छ । गत भदौदेखि बेनीलगायत गण्डकी प्रदेश सरकारमातहतका अस्पतालको व्यवस्थापन समिति नेतृत्वविहीन छ । सम्बन्धित जिल्लाको समन्वय समितिका प्रमुख समितिको अध्यक्ष रहने कार्यविधि खारेज भएपछि अस्पतालहरू नेतृत्वविहीन भएका हुन् ।

    प्रदेश सरकारको बेवास्ता : प्रदेशसभा सदस्य भण्डारी

    गण्डकी प्रदेशका ११ वटै जिल्लाका अस्पताल व्यवस्थापन समिति नेतृत्वविहीन छ । अस्पताल व्यवस्थापन समिति रिक्त हुँदा अस्पताल सञ्चालनमा समस्या भएको र प्रदेश अस्पताल बेनीमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव भएको विषयमा कात्तिक तेस्रो साता बसेको गण्डकी प्रदेशसभाको बैठकमा म्याग्दी क्षेत्र नं १ (क) बाट निर्वाचित हरिबहादुर भण्डारीले ध्यानाकर्षण गराएका थिए ।


    उहाँले भन्नुभयो,“मैले शनिबार मात्र स्वास्थ्यमन्त्री कृष्ण पाठकलाई फोनमार्फत तत्काल समस्याका विषयमा जानकारी गराएँ , उहाँले एकहप्ताभित्र समस्याको समाधान गर्छु भन्नुभएको छ । यसमा प्रदेश सरकार गम्भीर बन्नुपर्छ । स्वास्थ्य जस्तो विषयमा सरकारले वेवास्ता ग¥यो ।” बेनी अस्पतालले अन्तरङ्ग र बहिरङ्गसहित हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचारकक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलायसिस सेवा सञ्चालन गर्दै आएको छ । यस अस्पतालमा बर्सेनि ६० हजारभन्दा बढीले सेवा लिने गरेका छन् ।

  • फर्किएको रैथाने खान्कीको रौनक

    फर्किएको रैथाने खान्कीको रौनक

    अच्युत रेग्मी\रासस

    काठमाडौँ, २ मङ्सिरः एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे, अथवा ढिँडो खाएको कुरा खुलेआम भन्न रुचाउँदैथे । गाउँघरमा समेत यस्तै अवस्था थियो । किनभने ढिँडो गरिबको खान्की हो भन्ने मानसिकता थियो । त्यो समयमा चामलको भात धनी अर्थात् सम्पन्नहरुले र कोदो गरिबले खान्छन् भन्ने थियो । यसकारण गाउँघरमा कतैकतै त घरभित्र ढिँडो खाने र बाहिर कुकुरलाई चाहिँ एकगाँस दूधभात दिने गरेको तथ्यहरु पनि सुन्न पाइन्थ्यो ।

    अहिले जमाना बदलिएको, छ, समय फेरिएको छ । मानिस गाउँघरको त के कुरा सहर बजारका ठूलै होटलमा पनि ढिँडो खोज्दै जान थालेका छन् । ढिँडो अब लुकेर र लुकाएर खाने खान्की नभएर मनपर्ने खाना मात्र नभएर रोजाइको खानामा पर्न थालेको छ । त्यसैले मानिसले अहिले ढिँडो खाँदा गर्व गर्छन् र सामाजिक सञ्जालमा आज ढिँडो खाइयो भनेर तस्बिर पोष्ट गर्ने गर्छन् ।

    पहिले दुर्लभ मानिएको भात अहिले विकल्पको खाना भएको छ । घरमा होस् या होटलमा, मानिसहरुले सकेसम्म भात खाँदैनन् । रोटी, च्याख्ला या ढिँडो नै रोजाइमा पर्न थालेको छ । पहिलेको धनीमानी तथा सानको खाना भातलाई अहिले मानिस रोगको घरका रुपमा लिन्छन् । किनभने चिकित्सकहरु नै धेरै भात नखान सुझाउँछन् । सकेसम्म अर्गानिक खाना, रैथाने उत्पादनको खान्की र सकेसम्म भात थोरै खानुपर्ने चिकित्सकहरुको सल्लाह छ ।

    पहिलेको तुलनामा अहिले मानिसमा आफ्नो स्वास्थ्यसम्बन्धी चेतनामा वृद्धि भएको देखिन्छ । त्यसैले मानिस विषादी प्रयोग नभएको, रैथाने उत्पादन तथा कार्बोहाइड्रेट धेरै नभएका खानेकुरा रोज्न थालेका छन् । खाद्य, पोषण तथा जनस्वास्थ्यविद् डा अरुणा उप्रेती पछिल्लो समय पहिलेका रैथाने अन्न जस्तै कोदो, फापर, गुद्रुक, मकै तथा च्याख्ला र दाल भात धेरैको रोजाइमा पर्न थालेको बताउनुहुन्छ । रक्तचाप, मधुमेहलगायत रोगबाट जोगिनका लागि पनि बजारका र आधुनिक खानेकुराभन्दा रैथाने खाना नै खानुपर्छ भन्ने चेतना मानिसमा बढ्दै गएको उहाँको अनुभव छ ।

    “पहिला रैथाने खाना खाँदा अपहेलित हुने अवस्था पनि थियो । तर अहिले त्यस्तो छैन, सञ्चारमाध्यमले गर्दा रैथाने खानातर्फ मानिस आकर्षित भएका छन् । पहिला मैले कोदो खाएँभन्दा मान्छेलाई अपमान महसुुस पनि हुने गरेको थियो । अहिले भने पाँचतारे होटलमै पनि कोदो, फापरको रोटी ढिँडो पाउन सकिन्छ । मेन्युमा नै पनि यस्ता परिकार लेख्न थालिएको देखिन्छ”, उहाँ भन्नुहुन्छ ।

    मानिसमा शारीरिक व्यायाम आदि कम हुँदै गएको र बजारका खानेकुराको मात्रा बढ्दै गएकाले अर्गानिक तरिकाबाट उत्पादन गरिएका यस्ता स्थानीय, रैथाने खानाले स्वास्थ्यलाई राम्रो गर्ने उहाँको सुझाव छ । केही वर्ष पहिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापास्थित आफ्नो घरमा नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन नेताद्वय एवं पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएको विषयले चर्चा पायो ।

    प्रसाईंले दुई पूर्वप्रधानमन्त्रीसँगै बसेर मार्सी चामलको भात खाएको फोटो सार्वजनिक भएसँगै बजारमा मार्सी चामलको चर्चा चुलियो । मार्सी चामलको ‘ब्राण्डिङ’ गरेर अहिले ललितपुरको झम्सिखेलमा ‘मार्सी थकाली’ सञ्चालनमा आएको छ ।

    मार्सी धान विशेषतः चिसो हावापानीमा उत्पादन हुने धान हो । चिसो हावापानीमा उत्पादन हुने भएकाले मार्सी चामलको खाना स्वादिलो हुने गरेको छ । मार्सी थकालीका सञ्चालक मधुसुदन ढकाल हिमाली क्षेत्रमा उत्पादित हुने धानलाई आफ्नो रेष्टुरेन्टले ‘ब्राण्ड’ बनाएर अगाडि बढाएको बताउनुहुन्छ । मार्सी थकालीमा मार्सी खानासहित स्थानीयस्तरमा उत्पादित गुन्द्रुक, कालिज, बँधिया कुखुरा, बट्टाई, च्याङ्ग्राको सुकुटी, गँगटा, घुँगी, लोकल कुखुरालगायत रैथाने स्वाद लिन पाइन्छ ।

    काठमाडौँको लाजिम्पाटस्थित बुकी बुटिक होटलका व्यवस्थापक मनिष श्रेष्ठ केही वर्षअघिसम्म मानिस होटलमा विशेषगरी भात खान नै आउने गरेकामा अहिले उनीहरुको खानपिनमा निकै परिवर्तन आएको आफूले पाएको अनुभव सुनाउनुहुन्छ ।

    माानिस बढी त लोकल अथवा रैथाने उत्पादनमा नै बढी आकर्षित हुने गरेको बताउँदै श्रेष्ठ भात नै खोजे पनि मानिसले मार्सी चामल या अरु नै त्यस्तै रैथाने चामलको भात खोज्ने नत्र ढिँडोलगायत अरु खानेकुरा मन पराउने गरेको बताउनुहुन्छ ।

    त्यसैले आफूले स्थानीय उत्पादन, मार्सी चामलको थाली, लोकल कुखुरा तथा गाउँघरबाटै रैथाने गेडागुडी, कालो मासको दाल र लोकल सागहरु मगाउने गरेको उहाँको भनाइ छ । यही कारणले अहिले सो होटल परिसरमा हरेक शनिबार बिहान स्थानीय एवं रैथाने उत्पादन जस्तै जुम्लाको सिमी, मुस्ताङको आलु, जुम्ली मार्सी चामल, फापर एवं काठमाडौँकै पनि काँठतिरका सागसब्जी र गेडागुडीका अर्गानिक उत्पादनको बजार लाग्ने गरेको श्रेष्ठ बताउनुहुन्छ ।

    सेफ्स एशोसियसन नेपालका पूर्वअध्यक्ष एवं काठमाडौँको नागार्जुनस्थित नागार्जुन रिसोर्टका सल्लाहकार सेफ गोविन्दनरसिंह केसी रैथाने खाना खानेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको बताउनुहुन्छ ।

    “पहिले त होटलमा गएर खाने भनेको ठूलाबडाले मात्र हो भन्ने थियो, किनभने मानिससँग पैसा नै हुँदैनथ्यो । कहिलेकाहीँ होटल जानेहरुले पनि रैथानेभन्दा पनि होटलको आधुनिक परिकार नै खोज्थे । तर अहिले त्यस्तो छैन । मानिस ठूलै होटलमा गएर पनि अर्गानिक तथा रैथाने खाना खोज्ने गरेका छन् । यो चाहिँ स्वास्थ्यसम्बन्धी एक प्रकारको चेतना पनि हो”, उहाँ भन्नुहुन्छ ।

    विगतमा सोल्टी होटलको सेफसमेत रहनुभएका केसी पहिले अहिलेजस्तो तरकारी आदिमा विषादी प्रयोग गर्ने चलन नरहेकाले होटलको खाना पनि त्यति अस्वस्थ हुँदैनथ्यो भन्नुहुन्छ । केसीको अनुभवमा अहिले उत्पादन बढाउन अनेकथरि औषधि, मलको प्रयोगले गर्ने र यस्ता समाचारले मानिसमा चेतना बढेको बताउँदै काठमाडौँका मानिस रैथाने खाना तथा स्थानीय उत्पादन खोज्दै अहिले नागार्जुन रिसोर्ट जस्तै काँठ क्षेत्रका होटलमा पुग्ने गरेका छन् ।

    काठमाडौँको डाँडागाउँस्थित रोयल भिल्ला रिसोर्टका सञ्चालक पुष्कल मल्लको अनुभव पनि त्यस्तै छ । काठमाडौँको भिडभाडबाट केही पर जङ्गल नजिक रहेको आफ्नो रिसोर्टमा पनि स्थानीय एवं नेपाली स्वादका खानामा ‘इञ्जोय’ गर्न मानिस आउने गरेको बताउनुहुन्छ ।

    “पछिल्लो समय नेपाली खानाप्रति मानिसको रुचि बढेको देख्छु । हामीकहाँ पनि धेरै गेष्ट काठमाडौँबाटै आउनुहुन्छ र नेपाली मात्र नभएर रैथाने र अर्गानिक खाना नै खोज्नुहुन्छ, ढिँडो, गुद्रुक, सिस्नु फापर, मार्सी चामलको भात, लोकल कुखुराको झोल आदि खाने प्रचलन अहिले धेरै बढेको छ । धेरैको रोजाइ टिपिकल खाना पर्ने गर्दछ”, मल्ल भन्नुहुन्छ ।

    केही वर्षयता राजधानी काठमाडौँ सहरभित्रभन्दा पनि काँठ क्षेत्रमा बढी नै मात्रामा होटल रेष्टुरेन्टहरु खुलेका छन् । ती होटलमा सहरका तुलनामा धेरै नै पाहुना जाने गरेको सञ्चालकहरुको अनुभव छ ।

    राजधानी काठमाडौँबाहेक नेपालको प्रमुख पर्यटकीय नगरी पोखराको विमानस्थल नजिक रहेको ‘एयरपोर्ट’ थकाली, चिप्लेढुङ्गाको मन्त्र थकाली, फेवाताल ड्यामसाइडस्थित मोनालिसा थकाली, पोखराको नौडाँडामा रहेको भण्डारी भान्सा घर, चितवनको भरतपुरस्थित पाते ढिँडो थकाली, भरतपुरमै रहेको बाजेको माछा महललगायत थुप्रै होटल तथा रेष्टुरेन्टहरुले पारखीहरुलाई स्थानीय रैथाने खानाको स्वाद चखाइरहेका छन् ।

  • सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि

    सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि

    काठमाडौँ, २९ कात्तिकः सुक्खायाम शुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्रै देशभर सात स्थानमा आगलागीको घटना भएको छ । प्राधिकरणका अनुसार, मोरङ, सुनसरी, उदयपुर, भक्तपुर, रोल्पा, सुर्खेत, कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको छ ।

    प्राधिकरणको विवरणअनुसार कात्तिक २७ गते देशभर, १६ स्थानमा आगलागीका घटना भएका छन् । त्यसदिन बारा र रुपन्देहीका दुई स्थानमा आगलागीको घटना भएको थियो । त्यस्तै, पाँचथर, झापा, मोरङ, उदयपुर, धनुषा, रौतहट, भक्तपुर, रसुवा, कास्की, स्याङजा, बाग्लुङ र हुम्लामा भएको आगलागीका कारण भौतिक सम्पत्ति जलेर नष्ट भएको छ ।

    प्राधिकरणका अनुसार, कात्तिक २६ गते देशभर ११ स्थानमा आगलागीका घटना भए । कात्तिक २५ गते आठ स्थानमा, कात्तिक २४ गते देशभर नौ स्थानमा आगलागीका घटना भएका थिए । जनचेतना र असावधानीका कारण आगलागीका घटना भएको भन्दै प्राधिकरणले सबैलाई सचेत गराएको छ । यस्तै, शुक्रबार मात्रै ताप्लेजुङमा लेक लागेर तीन जना बिरामी परेका छन् ।

    कञ्चनजङ्घा आधार शिविर जानेक्रममा स्थानीय खामाचेन भन्ने स्थानमा दुई जापानी नागरिक लेक लागेर बिरामी परेका छन् । त्यस्तै, कञ्चनजङ्घा आधार शिविरबाट फर्कने क्रममा एक अमेरिकी नागरिकसमेतलाई लेक लागेको छ । मोरङ, सिन्धुपाल्चोक, म्याग्दी र बर्दियामा जनावर आक्रमणका कारण तीन जना घाइते भएका छन् ।

  • सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव

    सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव

    कास्की, २९ कात्तिकः विश्व मधुमेह दिवस९नोभेम्बर १४० का अवसरमा शुक्रबार पोखरामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ ।
    पोखरा महानगरपालिका–५स्थित सूर्यचन्द्र विकास समाजले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा २०५ जनाको निःशुल्क मधुमेह तथा युरिकसम्बन्धी रक्त जाँच गरिएको थियो ।

    शिविरमा सहभागीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह रोग लाग्नुका कारण, पूर्वसावधानीका उपाय र उपचार प्रक्रियाबारे जानकारी दिए । उनले सबैले मधुमेह हुनै नदिनेतर्फ लाग्न आग्रह गरे । सकेसम्म घरकै खाना खानुस्, कामका अनुपातमा खानुस् । अनावश्यक तनाव हुने काम नगर्नुस्, खानपान र जीवनशैली सुर्धानोस्, बेलाबेलामा जाँच गराउनुस्,” डा अधिकारीले भने ।
    मधुमेहका कारण अनेक समस्या आउने उल्लेख गर्दै अहिले मिर्गौला डायलाइसिस गराइरहेकामध्ये ७० प्रतिशत जति मधुमेह हुँदा हेलचेक्र्याई गर्ने भएको सुनाए । मधुमेह समाज र राष्ट्रकै लागि बोझ बनेको जनाउँदै डा अधिकारीले अब समाज, राष्ट्र, स्वास्थ्यकर्मी र आममानिसको एकीकृत प्रयासले मात्र यसको प्रभाव कम गर्न सकिने विचार राखे । मधुमेहले तत्काल असर गरेको नदेखिए पनि हेलचेक्र्याई गरे दीर्घकालसम्म अनेक असर हुने उल्लेख गरे ।


    “मधुमेह लागेपछि पनि हेलचेक्र्याई गर्दा पाँच वर्षसम्म केही असर नदेखिन सक्छ । त्यसपछि मिर्गौलामा असर, थकान, तीर्खा लाग्ने हुन सक्छ । पाँचदेखि १० वर्षसम्म आँखामा असर हुन सक्छ, रोग प्रतिरोधि शक्ति कम हुन्छ । १० वर्षसम्म पनि उपचार नगरे शरीरका सबै अङ्गमा असर गर्न थाल्छ ।” अधिकारीले भने ।
    कार्यक्रममा पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले नागरिकको स्वास्थ सरकारको मुख्य सरोकार भएको बताए ।

    वडाध्यक्ष बरालले जनस्तरबाट हुने यस खालका सचेतना र शिविरले सरकारको लक्ष्य प्राप्त गर्न सघाउने उल्लेख गरे । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले सर्वसाधारणलाई स्वास्थ्य सचेतना, निःशुल्क जाँचसँगै पोखरामा विश्वस्तरको गुणस्तरको सेवा प्रदान गर्न लागिपरेको बताए । युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब हो ।

    पोखराभित्र सात ठाउँबाट सेवा दिइरहेको युआरएलले मुख्य कार्यालयसहित गण्डकी प्रदेशका १८ स्थानबाट सेवा प्रदान गरिरहेको छ । विभिन्न सङ्घसंस्थासँग सहकार्य र आफैँसमेतले शिविर आयोजना गर्दै आएकोमा शुक्रबारको शिविर २११ औँ रहेको अध्यक्ष पन्थको भनाइ छ ।

  • गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौँ जिल्लाकै उत्कृष्ट

    गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा काठमाडौँ जिल्लाकै उत्कृष्ट

    काठमाडौँ, २६ कात्तिकः काठमाडौंँ जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट भएको हो ।

    स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताको मूल्याङ्कनका आधारमा पालिकाले अग्रस्थान हासिल गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य सेवाको क्षेत्रमा प्राप्त उत्कृष्टता नगरवासीका लागि गर्वको विषय भएको नगर प्रमुख दीपक रिसालले बताए । उनले यो उत्कृष्टताले नगरवासीलाई अझ प्रभावकारी, सुलभ र गुणस्तरिय सेवा दिन प्रोत्साहन गर्ने बताए ।


    नगरपालिकाले गुणस्तरिय स्वास्थ्य सेवाका साथै नगरवासीको शारीरिक एवं मानसिक स्वास्थ्यका लागि जीवनशैली परिवर्तन र योगका कार्यक्रमलाईसमेत उच्च महत्व दिएको नगर प्रमुख रिसालले जानकारी दिए । योग नगर घोषणा गरिएको गोकर्णेश्वर नगरपालिकाको विभिन्न ९ वटै वडामा गरी हाल ४५ वटा नियमित योग केन्द्र सञ्चालनमा रहेका छन् ।

    गोकर्णेश्वर नगर अस्पतालमार्फत नगरपालिकामा स्थायी बसोबास गर्ने नागरिकका लागि निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्नुका साथै नेपाल मेडिकल कलेज, नेपाल अर्थोपेडिक अस्पताल र शङ्करापुर अस्पतालबाट पनि उपचारमा छुटको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

    गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको गहन मूल्याङ्कन पश्चात तयार पारिएको नतिजाका आधारमा शङ्खरापुर नगरपालिका दोस्रो र टोखा नगरपालिका तेस्रो भएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७९–८० को वार्षिक समीक्षामा पनि गोकर्णेश्वर प्रथम भएको थियो ।

  • उच्च प्रदुषणका कारण दिल्लीमा ‘श्वासप्रश्वास’ मा नै असहज

    उच्च प्रदुषणका कारण दिल्लीमा ‘श्वासप्रश्वास’ मा नै असहज

    नयाँ दिल्ली, २४ कात्तिक (रासस–एएफपी) । नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको पहल उल्लेख्य नभएको भन्दै दर्जनौं प्रदर्शनकारीहरूले आइतबार मास्क लगाएर प्रदर्शनमा सहभागी भएका छन् । पछिल्ला केही दिनदेखि दिल्लीको वातावरण निकै प्रदुषित बनेको छ । खतरनाक सूक्ष्म कणहरू भएको बाक्लो तुवाँलोले दिनदिनै भारतको सङ्घीय राजधानीलाई ढाकिरहेको छ।

    भीडमा रहेका अभिभावकहरूले आफ्ना बच्चाहरूलाई प्रदर्शनमा सहभागी गराएका थिए भने ‘प्लाकार्ड’ बोकेका ती बालबालिकाहरूले वातावरण प्रदुषण नियन्त्रण गर्न सरकारलाई आग्रह गर्दै नारा लगाइरहेका थिए। उनीहरूले जुलुसमा बोकेका ‘प्लाकार्ड’मा लेखिएको थियो, “म सास फेर्नै नसक्ने अवस्थामा पुगेको छु।”

    तीन करोड बासिन्दाहरूको विशाल महानगरीय क्षेत्र नयाँ दिल्ली पछिल्लो समय निरन्तर विश्वको सबैभन्दा प्रदूषित राजधानीहरू मध्ये एक बनेको छ।
    तीतापिरोे बाक्लो धुँवाले प्रत्येक जाडोमा दिल्लीको क्षितिजलाई ढाक्ने गर्छ । चिसो ऋतुसँगै बहने चिसो हावाले प्रदूषकहरूलाई जमिनको सतहको नजिक ल्याउँछ। यो त्यतिबेला अझ विकराल बन्छ जब राजधानी वरपरका किसानहरूले हिउदे खेती लगाउनुपूर्व ‘छापो’ पोल्छन्। दिल्लीमा रहेका कारखाना र भारी ट्राफिकबाट पनि प्रदुषणको उत्सर्जनको घातक मिश्रण सिर्जना हुन्छ।

    क्यान्सर निम्त्याउने सूक्ष्म कणहरू रक्तप्रवाहमा प्रवेश गर्न सक्ने पिएम २।५ को स्तर कहिलेकाहीँ संयुक्त राष्ट्र सङ्घको दैनिक स्वास्थ्य सीमाभन्दा ६० गुणासम्म बढ्छ। छोरासँगै प्रदर्शनमा आएकी नम्रता यादवले भन्नुभयो, “आज म आमा बनेर यहाँ छु । म यहाँ छु किनभने म जलवायु शरणार्थी बन्न चाहन्न।”

    आइतवार प्रदर्शनकारीहरू भेला भएको प्रतिष्ठित युद्ध स्मारक इन्डिया गेट वरपर पीएम २।५ को स्तर विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको दैनिक अधिकतम भन्दा १३ गुणा बढी थियो। “वर्षैपिच्छे एउटै कथा छ, तर कुनै समाधान छैन”, वकिल तन्वी कुसुमले भन्नुभयो, हामी निराश भएर प्रदशैनमा आएका छौँ।”

    “सरकारले कम्तिमा यस मुद्दालाई गम्भीरतापूर्वक लिन दबाब सिर्जना गर्नुपर्छ। प्रदुषण नियन्त्रणका लागि हुने टुक्रे सरकारी पहलहरूले उल्लेखनीय प्रभाव पार्न असफल भएका छन्।

    सरकारले केही दिन पहिले जीवाश्म ईन्धनबाट चल्ने यातायात र हावाबाट सिर्जना भएका कण हटाउन कुहिरो छर्कने र पानी बोक्ने ट्रकहरूमा आंशिक प्रतिबन्धहरू लगाउने निर्णय गरेको थियो । “प्रदुषणले हाम्रो जीवन बिताइरहेको छ”, एक युवतीले आफ्नो नाम बताउन अस्वीकार गर्दै भनिन्, “उनले आफुहरूले ‘दिल्लीबासीको तर्फबाट बोलेको’ दाबी गरिन् ।”

    गत वर्ष द ल्यान्सेट प्लानेटरी हेल्थमा प्रकाशित एक अध्ययनअनुसार सन् २००९ देखि २०१९ को बीचमा भारतमा ३८ लाख मानिसको मृत्यु वायु प्रदूषणका कारण सिर्जित रोगका कारण भएको थियो । प्रदूषित हावाले बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी गम्भीर सङ्क्रमणको उच्च जोखिममा राख्ने संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले चेतावनी दिएको छ।

  • भक्तपुरमा केन्द्रीय गोदामघर तयार

    भक्तपुरमा केन्द्रीय गोदामघर तयार

    काठमाडौँ, २४ कात्तिक । नेपाल रेडक्रस सोसाइटीले चिनियाँ रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा भक्तपुरमा केन्द्रीय गोदामघर निर्माण गरेको छ । करिव रु १२ करोडका लागतमा बनेको सो गोदामघरमा विपद्का समयमा अत्यावश्यक गैरखाद्य समग्री सहित बालबालिका र महिलाका लागि ‘डिग्निटी किट’ राखिने छ ।

    नेपाल रेडक्रसका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारी र चिनियाँ रेडक्रस सोसाइटीका उपाध्यक्ष बिआन सियाओले संयुक्त रुपमा आइतबार सो गोदामघरको शुभारम्भ गर्नुभयो । भूकम्प र अन्य प्राकृतिक विपदको उच्च जोखिम रहेको नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा विपद् व्यवस्थापनका लागि गोदाम घरमा राखिने सामग्रीले राहतका काम गर्ने छ ।

    सो अवसरमा चिनियाँ रेडक्रस सोसाइटीका उपाध्यक्ष बियन साओले भने, “नेपाल रेडक्रस सोसाइटीले मानवीय सेवाका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ । यहाँ आइपर्ने विपदका समयमा मानवीय सहायता प्रदान गर्ने कार्यको एक हिस्सा बन्न पाउँदा चिनियाँ रेडक्रस अत्यन्त खुसी छ । आगामी दिनमा पनि नेपाल रेडक्रस सोसाइटीलाई आवश्यक पर्ने हरेक क्षेत्रमा साझेदारीका सम्भावनाको खोजी गर्न हामी तयार छौँ ।”

    निमित्त कार्यकारी निर्देशक विडारीले चिनियाँ रेडक्रस सोसाइटीले नेपाल रेडक्रस सोसाइटीलाई निरन्तर महत्वपूर्ण क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको छ भने । उनले भने, “नेपालमा आइपर्ने जुनसुकै विपद पश्चात् पहिलो सहायता प्रदान गर्ने साझेदार निकाय चिनियाँ रेडक्रस सोसाइटी हो ।”

    नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डेका उहाँले गोदामघर निर्माण लागि चिनियाँ रेडक्रस सोसाइटीले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि चिनियाँ रेडक्रस सोसाइटीबाट नेपाल रेडक्रसलाई प्रकोप व्यवस्थापन र अन्य क्षेत्रमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

    सो अवसरमा यहाँस्थित चीनका राजदूत वाङ् सिन , चिनियाँ रेडक्रस सोसाइटी अन्तरराष्ट्रिय सहयोग विभागका निर्देशक हाई लीमान, चिनियाँ रेडक्रस सोसाइटी विपद व्यवस्थापन विभागका निर्देशक सेई वेन्नन र नेपाल रेड्क्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका पदाधिकारी, जुनियर तथा युवा रेडक्रस सर्कलका युवा स्वयंसेवकलगायत कर्मचारीकोे उपस्थिति रहेको थियो ।

    यसैबीच, चिनियाँ रेडक्रस सोसाइटी अन्तर्गतको उच्चस्तरीय प्रतिनिधिमण्डलको टोली नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यलाई थप सुदृढ पार्ने उद्देश्यका साथ नेपाल भ्रमण रहेको छ । उक्त भ्रमण टोलीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आइबार नै आयोजित स्वागत कार्यक्रममा सहभागिता जनाउँदै दुवै संस्थाबीचको आपसी सहयोग, क्षमता विकास र आपत्कालीन तयारीका विषयमा छलफल गरेको थियो ।

    टोलीले नेपाल रेडक्रसको केन्द्रीय कार्यालयस्थित केन्द्रीय तालिम तथा गतिविधि केन्द्रको अवलोकन गरी त्यहाँको पुनः ‘डिजाइन’ र विकास योजनाबारे जानकारी लिएको थियो । त्यसपछि टोलीले भक्तपुरको केन्द्रीय गोदाम घरकोे भ्रमण गर्दै अवलोकन तथा भवन उद्घाटन समारोहमा सहभागी भएको थियो ।

  • प्रधानमन्त्रीसमक्ष डा केसीको ज्ञापनपत्र

    प्रधानमन्त्रीसमक्ष डा केसीको ज्ञापनपत्र

    काठमाडौँ, २४ कात्तिकः प्रधानमन्त्री सुशीला कार्कीसमक्ष चिकित्सा शिक्षा सुधारको माग राख्दै डा गोविन्द केसीले दशबुँदे ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री कार्कीलाई सिंहदरबारमा आज भेटेर डा केसीले ज्ञापनपत्र बुझाएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।

    ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्यमन्त्री डा सुधा गौतम तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनी झा र डा केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी तथा प्राडा जगदीशप्रसाद अग्रवाल सहभागी थिए ।

    ज्ञापनपत्रमा सरकारी अस्पताल तथा स्वास्थ सेवा संस्थाहरूमा अहिलेको आवश्यकताअनुसार जनशक्ति दरबन्दी वृद्धि गर्ने, चिकित्सकलगायत स्वास्थ्यकर्मीको रोजगारीका अवसर सिर्जना गर्नुपर्ने माग रहेका छन् ।

  • आगजनी गरिएको भाटभटेनीको भवन भत्काउँदा दुई मजदुर गम्भीर घाइते

    आगजनी गरिएको भाटभटेनीको भवन भत्काउँदा दुई मजदुर गम्भीर घाइते

    २३ कात्तिक, काठमाडौं । नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, हेटौंडा उपमहानगरपालिका–१ का ३३ वर्षीय राजकुमार स्याङ्तान र २५ वर्षीय दीपक तामाङ गम्भीर घाइते भएका हुन् । घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

    जेनजी आन्दोलनका क्रममा आगजनी भएको उक्त भवन मर्मत तथा सरसफाइका लागि भत्काउन थालिएको थियो । आगलागीले क्षतिग्रस्त भवन भत्किन थालेपछि भग्नावशेषहरू हटाउन थालिएको थियो । सो क्रममा आज दुई जना गम्भीर घाइते भएका हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका भाटभटेनी भवनमा पनि तोडफोड र आगजनी गरिएका थिए ।

  • काठमाडौंमा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

    काठमाडौंमा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

    काठमाडौँ, २३ कात्तिकः काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ । वायु प्रदूषणबाट वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाइएको कामपाको वातावरण विभागले जनाएको छ ।
    चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्नेक्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्दा वातावरण र जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले रोक लगाइएको विभागका प्रमुख सरिता राईले जानकारी दिए । उनका हाँअनुसार उक्त व्यवस्था अटेर गरेमा प्रतिपटक रु १० हजार जरिवाना हुनेछ ।

    “हरेक वर्ष जाडो महिनामा काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक बढ्ने गरेको छ । प्रदूषण बढ्नुमा यसरी खुला रूपमा बालिने प्लाष्टिकजन्य वस्तुको महत्त्वपूर्ण हिस्सा छ”, विभागका प्रमुख राईले भने, “जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यसप्रकारको निर्णय गरिएको हो ।”वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दमखोकीजस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिलाई नकारात्मक असर गर्दछ ।

    ती व्यक्तिका साथै सहरवासी सबैको स्वास्थ्य सुरक्षा र वातावरण जोगाउन पनि खुला रूपमा प्लाष्टिकजन्य वस्तु बालेर धुँवा उत्सर्जन घटाउने प्रयास कामपाले गरेको हो । राईले भने, “कामपाले जारी गरेको प्रतिबन्धसम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ ।”

  • निःशुल्क वितरण गर्ने औषधि सिंहदरबार वैद्यखानाबाट लिँदै काठमाडौं महानगर

    निःशुल्क वितरण गर्ने औषधि सिंहदरबार वैद्यखानाबाट लिँदै काठमाडौं महानगर

    काठमाडौँ, २१ कात्तिक । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि भइसकेको कामपाले जानकारी दिएको छ ।

    कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले आगामी दिनमा आधारभूत स्वास्थ्य सेवाअन्तर्गत आयुर्वेदिक औषधि वितरणमा सहज हुने विश्वास रहेको बताए । कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार अहिले कामपाले सञ्चालन गरेको आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट नेपाल सरकारले निःशुल्क वितरणका लागि तोकेका औषधि वैद्यखानाबाट उपलब्ध भएसम्म त्यहीँबाट प्राप्त गर्ने तयारीका साथ सम्झौता अघि बढाइएको हो ।

    कामपाले यसअघि नै यस्तै प्रकारको सहकार्य नेपाल औषधि लिमिटेडसँग पनि गरिसकेको ओलीले जानकारी दिए । सम्झौताबमोजिम वैद्यखानाले औषधिको ७५ प्रतिशतसम्म उपभोग अवधि बाँकी रहेका औषधि माग भएको सात दिनभित्र उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ । उक्त औषधि नै कामपाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क रूपमा वितरण गर्ने जनाएको छ । यस्तै वैद्यखानाका कार्यकारी निर्देशक डा प्रदीप केसीले औषधिको गुणस्तरीयतामा संवेदनशील भएर माग पूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरे ।

  • विवादका कारण काठमाडौंको फोहोर उठेन, घर भित्रै राख्न महानगरको आग्रह

    विवादका कारण काठमाडौंको फोहोर उठेन, घर भित्रै राख्न महानगरको आग्रह

    १४ कात्तिक, काठमाडौं । बन्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि काठमाडौंमा फोहोर उठ्न छाडेको छ । काठमाडौं महानगरपालिकाले फोहोर घर भित्रै राख्न समेत आग्रह गरेको छ । आज शहरी विकास मन्त्रालयमा स्थानीय बासी र सरकारबीच छलफल भएको थियो । छलफलमा स्थानीयले १८ बुँदे सहमति महानगरले पालना नगरेको भन्दै मेयर बालेन शाहसँग छलफल गर्ने अडान राखेका छन् । बालेन भने उपस्थित भएनन् ।


    छलफलमा सहभागी प्रभावित स्थानीयले २० वर्षदेखि संघर्ष गर्दा पनि आफूहरूलाई न्याय नदिइएको भन्दै आक्रोश पोखे। आफूहरूलाई संघीय सरकार र काठमाडौं महानगरपालिको पटकपटक झुक्याएको, भुलाएको भन्दै समस्या समाधान गर्न सक्ने आधिकारिक व्यक्तिहरू सम्मिलित वार्ताको माग गरे।

    ‘यो छलफलले समाधान दिन सक्दैन। हामीसँग यसअघि १८ बुँदे सहमति गरेका काठमाडौं महानगरपालिका मेयर, उपमेयर, कार्यकारी अधिकृतसहित संघीय सरकारका मन्त्रीहरूसँग हामी वार्ता चाहिरहेका छौं,’ छलफलमा सहभागी धुनिबेसी २ का स्थानीय सुवास पाठकले भने, ‘समाधान दिन नसक्ने यस्तो छलफलको अर्थ छैन।’

    बेलकोटगढी नगरपालिका २ का वडाध्यक्ष रामचन्द्र तिमल्सिनाले काठमाडौं महानगरपालिकालाई सोधेमा सहरी विकास मन्त्रालयलाई देखाउने, मन्त्रालयलाई सोधेमा महानगरलाई दोषारोपण गर्ने काम भइरहेको बताए। उनले पटकपटक अल्झाउने गर्दा जनता आक्रोशित भएको बताए। प्रभावित क्षेत्रका नागरिकले दुई दिन फोहोर रोक्दा काठमाडौं, भक्तपुर र बनेपासम्मका मानिसको टाउको दुख्ने, हामी २० वर्षदेखि फोहोरमा बस्दा हाम्रो समस्या कसले देख्ने ? भन्दै उनले प्रश्न गरे।

    साढे दुई घण्टासम्म चलेको छलफलका अन्त्यमा सहरी विकास मन्त्रालयका सचिव सिग्देलले समस्या समाधानका लागि मन्त्रालय र मन्त्री (कुलमान घिसिङ) गम्भीर रहेको बताए। प्रभावित क्षेत्रका जनप्रतिनिधिले पत्र पठाएर मन्त्रालयलाई समस्या समाधानको पहल गरिदिन आग्रह गरेकाले आफूहरूले छलफलको आयोजना गरेको भन्दै उनले लगातारका छलफलबाट समाधान निस्कने विश्वास व्यक्त गरे।

    यसअघि पीडित स्थानीयले गत असोज २६ गते भौतिक पूर्वाधार, शहरी विकासमन्त्री कुलमान घिसिङसमक्ष समस्या राखेका थिए। ल्यान्डफिल साइट निर्माण सम्पन्न नहुँदै फोहोर फाल्ने काम भइरहेको तर स्थानीय प्रभावितहरूसँग गरिएको सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरूले समस्या समाधानको पहल गरिदिन मन्त्री घिसिङको ध्यानाकर्षण गराएका थिए।

  • जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख रुपियाँ भैपरी खर्च निकासा

    जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख रुपियाँ भैपरी खर्च निकासा

    ४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत सरकारले ४८ लाख ५८ हजार रुपियाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चबापत प्रत्येक घाइतेलाई २० हजार रुपियाँका दरले वितरण गर्न यो रकम पठाइएको हो। पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम पठाइसकिएको गृह मन्त्रालयले जनाएको छ।

    प्राविधिक समितिले वर्गीकरण गरेपश्चात् घाइते भएका व्यक्तिहरूलाई वर्गीकरणका आधारमा उचित राहतको व्यवस्था गर्ने गरी तत्कालका लागि भैपरी खर्चबापत रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गत असोज १२ गते गरेको थियो। हालसम्म स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २ हजार ४२९ जना घाइतेको विवरण गृह मन्त्रालयमा उपलब्ध गराएको छ। गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि परिचयपत्र वितरण पनि गरेको छ। गृहले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा २ हजार ८७६ परिचयपत्र पठाएको छ। ३८ वटा परिचयपत्र अस्पतालबाट वितरण गरिएको छ।

    घाइते भएका व्यक्तिहरूको पुनस् उपचारका लागि अस्पतालहरू तोकी ती अस्पतालहरूमा जेनजी क्लिनिक सञ्चालनमा ल्याइएको छ। यसरी पुनस् उपचारमा जाने घाइतेलाई निःशुल्क आवतजावतको व्यवस्था मिलाइएको छ। घाइतेको उपचारकै लागि स्वास्थ्य मन्त्रालयले हटलाइनको व्यवस्था मिलाउनुका साथै सहजीकरणका लागि सम्पर्क व्यक्तिसमेत तोकिदिएको छ। घाइतेहरूको अवस्थाका आधारमा वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयमा प्राविधिक समिति गठन गरिँदै छ। यस समितिमा घाइतेका प्रतिनिधि पनि सामेल हुने छन्।

    सरकारले जेनजी आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गरिरहेको छ। अहिलेसम्म एक अर्बभन्दा बढी रकम घाइतेको उपचारमा खर्च भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटासहितको टोलीलाई बोलाएर घाइतेहरूको अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएका थिए ।


    मन्त्रिपरिषद्को भदौ ३० गते बसेको बैठकले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो। घाइतेलाई दीर्घकालीन पुनर्स्थापनका विषयमा पनि सरकारी निकायबिच गम्भीर छलफल भइरहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए । गृह मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ५३ जनाका परिवारलाई १५ लाख रुपैयाँका दरले आर्थिक सहायता तथा किरिया खर्च पठाएको छ। तीमध्ये ४९ जनाका परिवारले प्राप्त गरिसकेको छ र ४ जनाका परिवारलाई बुझाउने प्रक्रिया चलिरहेको छ। सहिदका आफन्तबिच सहमति कायम गरी बाँकी ४ जनालाई पनि सहायता उपलब्ध गराउने प्रयास भइरहेको छ।

    भदौ ३० कै मन्त्रिपरिषद् बैठकले मृतक नेपाली नागरिकका परिवारलाई १० लाख रुपियाँ आर्थिक सहायता र ५ लाख रुपियाँका दरले काजकिरिया तथा अन्य खर्चका लागि वितरण गर्ने निर्णय गरेको छ। आन्दोलनको मौका छोपी भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दीलाई भने यो रकम वितरण गरिने छैन। सो अनुसार हालसम्म पहिचान खुलेका ५३ जना मृतक परिवारलाई १५ लाखका दरले उक्त रकम पठाइएकोमा ४९ जनाको परिवारले बुझेको र अन्य ४ जनाको परिवारलाई बुझाउने प्रक्रियामा रहेको बताइएको छ ।


    परिवारका सदस्यहरूको आग्रह बमोजिम मृतकका शवहरूको व्यवस्थापनका लागि निःशुल्क सवारी साधन एवम् दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गरिएको थियो। यस अनुसार सङ्खुवासभा, धनकुटा, सिराहा, सुनसरी र उदयपुर जिल्लामा ६ जनाको शव हेलिकोप्टरमार्फत पठाइएर परिवारको जिम्मा लगाइएको थियो।

    सहिदको सम्मानमा गत असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक सूचना प्रकाशित गरी उक्त दिन सार्वजनिक बिदा दिइएको थियो। त्यस दिन राष्ट्रिय झण्डा आधा झुकाइएको थियो। जेनजी पुस्ताको नाममा काठमाडौँ उपत्यकाभित्रको उपयुक्त स्थानमा जेनजी जागरण स्मारक पार्क निर्माण गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। यो निर्णय कार्यान्वयनका लागि सहरी विकास मन्त्रालयले प्रक्रिया अघि बढाइरहेको छ।

    जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको छ। जसमा नेपाल प्रहरी ३ सहित पहिचान खुलेका नागरिक ५३ जना छन्। १२ जनाको अझै पहिचान खुल्न सकेको छैन। कारागारबाट भाग्न लाग्दा सुरक्षाकर्मीले चलाएको गोली लागी १० जना कैदीको मृत्यु भएको छ। एक जना विदेशीको पनि ज्यान गएको छ।

    सहिद घोषणा प्रयोजनका लागि मृतकहरूको पुष्टयाइँसहितको प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत यकिन विवरण सङ्कलनको कार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ। जेनजी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न सरकारले न्यायिक आयोग गठन गरेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगले तीव्रताका साथ काम अघि बढाएको छ।

  • ‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ गर्न कामपाको आग्रह

    ‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ गर्न कामपाको आग्रह

    काठमाडौँ, १ कात्तिक । नेपालीहरूको दोस्रो ठूलो वर्प तिहार नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्तालाई स्वच्छ खाना उपलब्ध गराउन सम्बन्ध भएको सबैलाई आग्रह गरेको छ । महानगरभित्रका मिठाई व्यवसाय सञ्चालक तथा व्यवसायसँग सम्बन्धित श्रमिकप्रति लक्षित गर्दै कामपाले आग्रह गरेको हो ।

    कामपालको ‘स्वच्छ खाना स् उत्कृष्ट व्यापार’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्नुस् कामपाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले भने । न्यौपानेले भने, “तिहारमा अघिका प्रयोग गरिने मिठाईजन्य खाद्य वस्तुलाई सुरक्षित, स्वच्छ र उपभोक्तामैत्री बनाउन व्यवसायीहरूमा कानुनको पालना गर्दै स्वच्छ खाना उपलब्ध गारउनुपर्छ ।”

    कामपाले प्राविधिक र स्वच्छता मिठाई व्यवसायसँग सम्बन्धित कानुनी प्रावधान, व्यवसाय सञ्चालनका क्रममा अपनाइने अभ्यास, खाद्य स्वच्छता कायम राख्ने तरिका, मिठाईमा प्रयोग गरिने रङ र सामग्री, बिक्री–वितरण र प्रशोधनस्थलको अवस्था, आवश्यक भौतिक संरचना, लेबलिङ प्रक्रिया परीक्षण आदिबारे विस्तृत प्रशिक्षण समेत दिईसकेको छ ।

    कामपाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीका अनुसार महानगरले व्यवसाय सुधारका लागि सशक्तीकरण, अनुगमन र नियमनलाई विशेष प्राथमिकता दिएको छ । कामपाले मिठाई व्यवसायीहरूमा स्वच्छता र गुणस्तरप्रतिको चेतना बढाउने अपेक्षासमेत गरेको छ । आगामी दिनमा यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई नियमित रूपमा निरन्तरता दिने योजना बनाएको छ । अन्य समयमा कहिलेकाहीँ मात्रै बजार अनुगमन गर्ने कामपाले चाडपर्व लागेसँगै बजार अनुगमन नियमित रूपमा गरिरहेको छ ।

    केही दिनअघि नयाँ बानेश्वर क्षेत्रमा रहेका साना होटेल तथा रेष्टुराँ व्यवसायमा अनुगमन गर्दा अधिकांश व्यवसाय मापदण्डविपरीत सञ्चालनमा रहेका पाइएको पनि कामपाले जानकारी दिएको छ । प्रमुख न्यौपानेका अनुसार कानुनविपरीत सञ्चालन गरिएको व्यवसायलाई नियमअनुसार आउन निर्देशन दिइएको र अटेर गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

    प्रमुख नुरनिधि न्यौपानेका अनुसार सङ्क्रमण सानो लापार्वाहीबाट पनि फैलिन सक्ने भएकाले सरसफाइमा ध्यान दिनु व्यवसायीकै हितमा पर्छ उनले भने, “महानगर अनुगमन गरेर व्यवसायीलाई तर्साउन चाहँदैन, सबैले आफ्नो कर्तव्य र जिम्मेवारी नबिसौँ, सरसफाइमा ध्यान दिनु उपभोक्ता र व्यवसायी दुवैको फाइदाको कुरा हो ।

  • खाल्टोको पानीमा डुबेर तीन जना बालिकाको मृत्यु

    खाल्टोको पानीमा डुबेर तीन जना बालिकाको मृत्यु

    रासस
    चन्द्रपुर, २७ साउन । रौतहटमा आज बिहान पानी भरिएको खाल्टोमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका तीन जना बालिकाको पानीको एउटै खाल्टोमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा राजदेवी नपा–८ लक्ष्मीपुर टोल बस्ने इन्दल बैठाको १३ वर्षीया छोरी आस्थाकुमारी बैठा, सोही गाउँका नवल यादवको १५ वर्षीया छोरी राघनीकुमारी यादव र रुपा बैठाको १५ वर्षीया छोरी मौसमीकुमारी बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए ।


    घाँस काट्नका लागि लक्ष्मीपुरबाट गौर नगरपालिका–१ कानुपट्टिस्थित भित्री सडक खण्डमा बाटोमा नजिकै रहेको पानीको खाल्टो तर्ने क्रममा डुबेर मुत्यु भएको प्रहरी निरीक्षक महतोले जानकारी दिए । आज बिहानै एउटै टोलका सात जना बालिका घाँस काट्न गएका थिए । जसमध्ये चार जना सकुशल पानीको खाल्टो तरेको र बाँकी तीन जना बेपत्ता भएको प्रहरी निरीक्षक महतोले जानकारी दिए ।


    सकुशल उद्धार हुनेहरूमा सोही लक्ष्मीपुर गाउँकी उमेश रामको १५ वर्षीया छोरी मुस्कानकुमारी राम, बिपत बैठाको छोरी १३ वर्षीया मुस्कानकुमारी बैठा, दिनेश रामको छोरी १० वर्षीया चन्द्रमुखीकुमारी राम र जोधन बैठाको १५ वर्षीया छोरी सुनिताकुमारी बैठा रहेको उनले जानकारी दिए ।


    बालिकाहरू पोखरीमा डुबेर बेपत्ता भएपछि भन्सार सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक गोपाल सहनी गोढीको नेतृत्वमा ६ जना, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनीको नेतृत्वमा ७ जना, सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको नेतृत्वमा ११ जना र वीर दल गण पुरेनवा ब्यारेकबाट मेजरको नेतृत्वमा १९ जनाको टोलीले बेपत्ता बालिकाहरूको उद्धार गरेको समेत उनले बताए ।


    उद्धारपछि बालिकाहरूको उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको र उपचारका क्रममा चिकित्सकहरूले परीक्षण गर्दा तीनैजना बालिकाकलाई मृत घोषणा गरेको महतोले जानकारी दिए । केही दिन अगाडि पनि रौतहटको देवाही गुनाही नगरपालिकाको कर्कच कर्मैया गाउँमा दुई जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको थियो ।