Category: स्वास्थ्य

  • अमेरिकी पूर्व राष्ट्रपति बाइडेनको प्रोस्टेट क्यान्सरको उपचारका लागि ‘रेडिएसन थेरापी’ दिँइँदै

    अमेरिकी पूर्व राष्ट्रपति बाइडेनको प्रोस्टेट क्यान्सरको उपचारका लागि ‘रेडिएसन थेरापी’ दिँइँदै

    वासिङ्टन, २५ असोज (रासस÷एएफपी) । अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनले प्रोस्टेट क्यान्सरसँग लड्न विकिरण र हार्मोन थेरापी लिइरहेको उनका प्रवक्ताले जानकारी गराएका छन् । “प्रोस्टेट क्यान्सरको उपचार योजनाको एक भागको रूपमा, राष्ट्रपति बाइडेन हाल ‘रेडिएसन थेरापी’ र हर्मोन उपचार गराइरहेको समेत उनले बताए ।


    गत मे महिनामा ८२ वर्षीय पूर्व राष्ट्रपतिको कार्यालयले बाइडेनलाई हड्डीसम्म फैलिएको प्रोस्टेट क्यान्सरको आक्रामक रूप पत्ता लागेको घोषणा गरेको थियो ।
    “क्यान्सरले हामी सबैलाई छुन्छ। तपाईंमध्ये धेरैले जस्तै जिल र मैले पनि थाहा पाएका छौं कि हामी पीडा सहनका लागि सबैभन्दा बलियो स्थानमा छौँ,” बाइडेनले भने । स्मरण रहोस्, पूर्व राष्ट्रपति बाइडेनका छोरा ब्यू बाइडेनको सन् २०१५ मा क्यान्सरका कारण मृत्यु भएको थियो।

    “हाम्रा लागि प्रेम र सहयोगसहित प्रार्थना गरिदिनुभएकोमा सबै शुभेच्छुकलाई धन्यवाद छ,” उनले भने । गत वर्ष डोनाल्ड ट्रम्पविरुद्ध दोस्रो पटक राष्ट्रपति पदका लागि चुनाव प्रचार गर्दा बाइडेनको स्वास्थ्य बिग्रँदै गएको अनुभव गरिएको थियो । सन् २०२४ जुलाईमा बाइडेनले ट्रम्पसँगको बहसमा कमजोर प्रदर्शनपछि उनी दौडबाट बाहिरिने घोषणा गरेका थिए । राष्ट्रपति पदका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका थिए ।


    डेमोक्र्याटिक नेता ह्यारिसले छोटो समयमा राष्ट्रपति ट्रम्पसँगको प्रतिस्पर्धालाई उत्कर्षमा लगेपनि अन्ततः ट्रम्पसँग पराजित भइन् । ट्रम्पले सन् २०२५ को जनवरीदेखि आफ्नो दोस्रो कार्यकाल सुरु गरेका हुन् ।


    अमेरिकी अवुध रोग समाज (क्यान्सर सोसाइटी)का अनुसार प्रोस्टेट क्यान्सर पुरुषहरूमा सबैभन्दा सामान्य क्यान्सर हो। यो समस्या ८० वर्षभन्दा माथिका ८० प्रतिशत पुरुषको प्रोस्टेट ग्रन्थीमा हुने गरेको अनुसन्धानहरूले देखाएका छन् । प्रारम्भिक चरणमा रोग लागेको पत्ता लागेमा यसको उपचार सम्भव भए पनि यो पुरुषमा क्यान्सरको मृत्युको दोस्रो प्रमुख कारण भएको सङ्गठनले जनाएको छ ।

    हार्मोन थेरापी एक सामान्य उपचार हो जसले ट्यूमरलाई खुम्च्याउन सक्छ र क्यान्सरको वृद्धिलाई ढिलो गर्न सक्छ, तर यो उपचार होइन। राष्ट्रपतिमा निर्वाचित ७९ वर्षीय ट्रम्पको पदबहालपछि शुक्रबार दोस्रो पटक स्वास्थ्य परीक्षण गरिएको छ ।

  • जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

    जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

    काठमाडौँ, २४ असोजः जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए ।


    जापनिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् २०१७ मा एक जनाको मात्र निधन भएको थियो । सन् २०१८ देखि २०२२ सम्म जापानिज इन्सेफ्लाइटिसबाट कसैको पनि मृत्यु भएको थिएन । “विगत १० वर्षको तुलनामा अहिले मृत्यु हुनेको सङ्ख्या धेरै हो”, उनले भने, “मृत्यु हुनेमा खोप नलगाएका ४० वर्षभन्दा माथिका रहेका छन् ।”

    उनका अनुसार यस वर्ष जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण १६४ र गत वर्ष ८६ जनामा देखिएको थियो । खोप शाखा प्रमुख डा गौतमले खोप लगाएकामा विस्तारै खोपले काम गर्न छाडेपछि पनि सङ्क्रमणले गर्दा मृत्यु भइरहेको बताउनुभयो । जापनिज इन्सेफ्लाइटिस अहिले ४२ जिल्लाका ११० पालिकामा फैलिएको छ ।

    “विगतको तथ्याङ्क हेर्दा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गइरहेको छ”, उनले भने, “लामखुट्टे सक्रिय भएर हो कि, सुँगुर वा हाँसको पालनले गर्दा हो त्यसको अध्ययन हामीले गरिरहेका छौँ ।” उनका अनुसार यस वर्ष कोशी प्रदेशमा चार, मधेस प्रदेशमा तीन, बागमती प्रदेशमा पाँच, गण्डकी प्रदेशमा पाँच, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई गरी ३१ जनाको मृत्यु भएको छ ।

    इन्सेफ्लाइटिसबाट २८ जिल्ला उच्च जोखिमका रहेका छन् । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइएको छ । नेपालमा सन् १९९८ देखि वर्ष मुनिका बालबालिकालाई नियमित जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइँदै आइएको छ । नेपालमा सन् १९७८ मा पहिलो पटक रुपेन्देहीमा जापानिज इन्सेफ्लाइटिस रोग देखिएको हो । जापानमा भने सन् १८६१ मा देखिएको थियो ।

    खोपशाखा प्रमुख डा गौतमले जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमण सन् १९९० देखि धेरै नै देखिने थालेको बताए । त्यसपछि सरकारले राष्ट्रिय खोपमा इन्सेफ्लाइटिसविरुद्धको खोप पाँच वर्ष मुनिका बालबालिकालाई प्रत्येक वर्ष नियमित दिँदै आएको हो ।

  • मदिरा सेवनका कारण हरेक वर्ष २२ हजार श्रीलङ्कालीको मृत्यु

    मदिरा सेवनका कारण हरेक वर्ष २२ हजार श्रीलङ्कालीको मृत्यु

    कोलम्बो, १७ असोज (रासस\सिन्ह्वा)

    मदिरा सेवनका कारणले उत्पन्न समस्याका कारणले गर्दा वार्षिक करिब २२ हजार श्रीलङ्कालीहरूको मृत्यु हुने गरेको तम्बाकू र मदिरा सम्बन्धी राष्ट्रिय प्राधिकरणका अधिकारीहरुले शुक्रबार जनाएका छन् । श्रीलङ्काले विश्व आत्म संयम दिवस मनाउँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै, नेशनल अथोरिटी अन टोब्याको एन्ड अल्कोहलका अध्यक्ष डा आनन्द रत्नयाकाले रक्सीको प्रयोग देशमा सार्वजनिक स्वास्थ्यका लागि महत्त्वपूर्ण खतरा बनेको उल्लेख गर्दै २१ प्रतिशत जनसङ्ख्याले रक्सी पिउँने गरेको बताउनु भएको छ ।

    श्रीलङ्कामा मदिरा सेवनका खतराहरूबारे चेतना जगाउने र स्वस्थ जीवन शैलीलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्रव्यापी कार्यक्रमहरूको श्रृङ्खलाका साथ देश भरि विश्व समानुभूति दिवस मनाइन्छ । यस पर्वको अवसरमा श्रीलङ्का भरिका सबै मदिरा पसलहरू शुक्रबार बन्द रहन्छन् ।

  • श्रीलङ्कामा पर्यावरण संरक्षणका लागि चार प्रकारका माछा प्रतिबन्धित

    श्रीलङ्कामा पर्यावरण संरक्षणका लागि चार प्रकारका माछा प्रतिबन्धित

    एजेन्सी
    २ असोज, कोलम्बो । श्रीलङ्काले आफ्ना नदी र तालमा हुने असर रोक्न चार प्रकारका विदेशी माछामा प्रतिबन्ध लगाउने भएको छ । मत्स्यमन्त्री रामलिङ्गम चन्द्रशेखरले बुधबार भने, “हामी हाम्रो जलाशयहरूलाई विदेशी प्रजातिबाट जोगाउन चाहन्छौं । यो निर्णय स्थानीय माछा मार्ने समुदायको जीविकोपार्जन जोगाउनका लागि पनि हो ।” शनिबारदेखि रेडलाइन स्नेकहेड, नाइफ फिश, एलीगेटर गार र पिरान्हा माछाको आयात, बिक्री र यातायातमा पूर्ण प्रतिबन्ध लाग्ने छ । यी माछा मुख्य रूपमा दक्षिणपूर्वी एसियाबाट ल्याइएका हुन् ।

    स्नेकहेड माछा उत्तरपश्चिमी श्रीलङ्काको डेदुरु ओया तालमा देखिएको छ, जहाँ यसले स्थानीय जैविक सन्तुलनमा असर पु¥याएको छ । ती माछा पाल्न नसकेका व्यक्तिहरूले तालमा छाडेका हुन सक्ने आशङ्का गरिन्छ । सरकारले शनिबार स्नेकहेड माछा समात्ने प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ । स्थानीय मानिसहरू यस्ता माछा साना माछा र अन्य जलचरहरू खाएर वातावरणमा असन्तुलन ल्याइरहेका बताएका छन् । सरकारले यस्ता माछा घरमा पालिरहेका व्यक्तिहरूलाई सम्बन्धित निकायमा जानकारी गराई ती माछा सरकारी एक्वेरियममा बुझाउन अनुरोध गरेको छ ।

  • मन्त्रीद्वय घिसिङ र अर्यालद्वारा प्रहरी अस्पताल निरीक्षण

    मन्त्रीद्वय घिसिङ र अर्यालद्वारा प्रहरी अस्पताल निरीक्षण

    १ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले आज महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनीहरुले आज बेलुका त्यहाँ पुगेर अस्पतालको निरीक्षणसँगै गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनका क्रममा घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । हाल सो अस्पतालमा १६ प्रहरी र एक जना सर्वसाधारण घाइतेको उपचार भइरहेको छ । जेनजीले गरेको प्रदर्शनका क्रममा हालसम्म ७४ जना युवाको मृत्यु भएको छ ।

  • प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने : हाम्रो योगदान खेर नजाओस्

    प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने : हाम्रो योगदान खेर नजाओस्

    २८ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले राससलाई जानकारी दिए ।
    “प्रधानमन्त्रीले घाइतेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । त्यसक्रममा उहाँहरूले आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै आफूले देशका लागि दिएको बलिदान खेर नजाओस्, प्रधानमन्त्रीले देशलाई निकास दिनुपर्छ । पुनःअर्को पुस्ताले आन्दोलन गर्नु नपरोस्,” डा रेग्मीले भने । प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था परिवर्तन गर्न हरसम्भवन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
    कार्यकारी निर्देशक रेग्मीका अनुसार गत सोमबार यता चार सय ५७ घाइते अस्पताल पुगेकामा ४४ जनालाई अन्यत्र ‘रेफर’ गरिएको थियो । तीन सय ६४ जना उपचारपछि घर फर्किसकेका छन् । अस्पताल भर्ना भएका ४९ मध्ये ११ जना हाल उपचाररत छन् । गम्भीर घाइते एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ भने ४५ जनाको शल्यक्रिया तथा सात जनाको पुनः शल्यक्रिया गरिएको छ । निजामती अस्पतालमा उपचारका क्रममा छ जनाको मृत्यु भएको थियो ।

  • प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी

    प्रधानमन्त्रीले ट्रमा सेन्टर पुगेर घाइतेको स्वास्थ्यबारे लिइन् जानकारी

    २८ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएका युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

    सेन्टरका प्रमुख डा बद्री रिजालका अनुसार सेन्टरमा भर्ना भएका ३६ जना घाइतेमध्ये छ जनाको सघन उपचार कक्षमा उपचार जारी छ । उनले दुई जनाको अवस्था गम्भीर रहेको जानकारी प्रधानमन्त्रीलाई गराए । प्रमुख डा रिजालले प्रधानमन्त्रीलाई केही बिरामीको शल्यक्रिया गर्नुपर्ने तर गम्भीर चोटका कारण तत्काल शल्यक्रिया गर्न नसकिने जानकारी गराएको राससलाई बताए ।

  • जेन–जी आन्दोलन : ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँचको खुल्यो पहिचान

    जेन–जी आन्दोलन : ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठको मृत्यु, पाँचको खुल्यो पहिचान

    २४ भदौ, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ भने हालसम्म पाँच जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौँ कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौँ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो । अन्यको भने पहिचान नखुलेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डण्ट डा बद्री रिजालले जानकारी दिए । उनका अनुसार ट्रमा सेन्टरमा उपचारका लागि ५६ जना घाइते पुगेका थिए ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका छन् । काठमाडौँको सिभिल अस्पतालमा तीन, ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, केएमसीमा दुई, त्रिवी शिक्षण अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई जनाको निधन भएको थियो । सरकारले जेनजीको प्रदर्शनमा घाइते भएकाहरूको निःशुल्क उपचारको प्रबन्ध गर्ने निर्णय गरिसकेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

  • काठमाडौँमा रगतको अभाव भएपछि एकहत्तर पाउण्ड रगत झापाबाट पठाइयो

    काठमाडौँमा रगतको अभाव भएपछि एकहत्तर पाउण्ड रगत झापाबाट पठाइयो

    २४ भदौ, सुरुङ्गा । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौँ पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो ।

    काठमाडौँमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौँ पठाइको सभापति ढकालले जानकारी दिए ।

    जेनजी पुस्ताले सोमबार झापामा समेत आन्दोलन गरेका थिए । सो क्रममा दमकमा केही युवा घाइते भएका थिए । जिल्ला प्रशासन कार्यालयले गए रातिबाट आज बिहान ५ः०० बजेसम्मका लागि दमक र बिर्तामोडका निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञा आज बिहानबाट हटाइएको प्रमुख जिल्ल अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

  • टेकु अस्पतालबाट चार चिकित्सकसहित ६ स्वास्थ्यकर्मी सिभिल अस्पतालमा खटाइयो

    टेकु अस्पतालबाट चार चिकित्सकसहित ६ स्वास्थ्यकर्मी सिभिल अस्पतालमा खटाइयो

    २३ भदौ, काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाको उपचारका लागि टेकु अस्पतालबाट चार चिकित्सकसहित ६ स्वास्थ्यकर्मीको टोली सिभिल अस्पतालमा खटाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको निर्देशनमा प्रदर्शनका क्रममा घाइते भएकाको उपचारका लागि आज साँझ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइएको हो । आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको छ भने ४२२ जना घाइते भएका छन् ।

    घाइतेमध्ये १७० जनाको सिभिल अस्पताल, १० जनाको वीर अस्पताल, ५९ जनाको ट्रमा सेन्टर, १०२ जनाको एभरेष्ट अस्पताल, ६ जनाको पाटन अस्पताल, ३१ जनाको काठमाडौँ मेडिकल कलेज, १८ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । यस्तै, ३ जनाको नर्भिक अस्पताल, चारजनाको अन्नपूर्ण न्यूरो अस्पताल, एक जनाको गण्डकी मेडिकल कलेज, सात जनाको दमक अस्पताल, चार जनाको विपी कोइराला अस्पताल धरान र चार जनाको विराट मेडिकल कलेजमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • प्रा डा केसीद्वारा सत्याग्रह सुरु

    प्रा डा केसीद्वारा सत्याग्रह सुरु

    १५ भदौ, सुदूरपश्चिम । प्राध्यापक डा गोविन्द केसीले आज कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा सत्याग्रह सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका उनले आज पत्रकार सम्मेलन गर्दै तीनदिने २३औँ सत्याग्रह सुरु गरेको घोषणा गरे । डा केसीले सरकारले गलत ढङ्गले निजी मेडिकल कलेजलाई विद्यार्थी सङ्ख्या वृद्धि गर्न गरेको निर्णय तुरन्त फिर्ता लिन र शुल्क वृद्धि नगर्न माग गर्दै सत्याग्रह सुरु गरेको बताए ।


    यसैगरी, विगतमा भएको सम्झौताअनुसार इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज स्थापना तथा गेटा मेडिकल विश्वविद्यालयमा तत्काल पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्न उनको माग छ ।

    यस्तै, एकीकृत स्वास्थ्य शिक्षा र विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन पारित गर्न, ऐनअनुसार मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउन र सरकारी अस्पताललगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गरी सेवा प्रवाह गर्नेलगायत यसअघिका सम्झौता कार्यान्वयन गर्न डा केसीले आग्रह गरे । चिकित्सा शिक्षाको सुधारको माग गर्दै विगतमा पनि उनी पटकपटक अनशन बसेका छन् ।

  • साढे चार सय हैजा सङ्क्रमित उपचारपछि घर फर्किए

    साढे चार सय हैजा सङ्क्रमित उपचारपछि घर फर्किए

    १३ भदौ, वीरगञ्ज । वीरगञ्जका अस्पतालमा भर्ना भएका करिब साढे चार सय हैजा सङ्क्रमितहरु उपचारपछि निको भएर घर फर्केका छन् । वीरगञ्ज महानगर आसपासमा हैजा सङ्क्रमण फैलिएपछि यहाँका १८ वटा अस्पतालमा उपचारपछि घर फर्किएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

    उनका अनुसार आज विहान १० बजेसम्म हैजा सङ्क्रमित ६७६ जना अस्पतालमा भर्ना भएका थिए । “अहिले यहाँका विभिन्न अस्पतालमा हैजा सङ्क्रमित ३२ जना विरामी सघन उपचार कक्ष (आइसियू)मा उपचारत हुनुहुन्छ भने सात जना उच्च हेरचाह कक्ष (एचडियू)मा उपचाररत हुुनुहुन्छ”, उनले भने, “यहाँका डेढ दर्जन अस्पतालको जनरल वार्डमा १८९ विरामी छन् ।” साथै वीरगञ्ज आसपासमा २२८ हैजाका बिरामी उपचारत छन् ।

    स्वास्थ्य कार्यालय पर्साका अनुसार १५२ वटा नमुना आरडिटीमार्फत कोलेरा जाँच गर्दा हैजाका सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये ७६ जना डिस्चार्ज तथा रेफर भएका छन् भने ७४ जनामा सङ्क्रमण देखिएको छ । यहाँका ३२ वटा बिरामीको दिसाको नमुना ‘कल्चर’ जाँचका लागि पठाइएका मध्ये २० जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

  • वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत

    वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत

    १२ भदौ, वीरगञ्ज । यहाँस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी उपचाररत रहेका छन् । अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्था सामान्य छन् । उक्त अस्पतालमा यही भदौ ६ देखि ११ गतेसम्म २२६ जना झाडाका बिरामी आएकामा १६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका उहाँले जानकारी दिनुभयो ।

    छ जनाको सघन उपचारकक्षमा उपचार भइरहेको छ । बुधबार साँझसम्म ११० जनाको ‘कोलेरा आरडिटी’ गरिएकामा ४८ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । आरडिटी पोजिटिभमध्ये १५ जनाको नमूना ‘कल्चर’का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइकामा १२ जनामा ‘भिब्रिओ कोलेरा’ भेटिएको छ ।

  • देवचुलीमा सुविधासम्पन्न ‘ट्रमा सेन्टर’ निर्माण सुरु

    देवचुलीमा सुविधासम्पन्न ‘ट्रमा सेन्टर’ निर्माण सुरु

    १२ भदौ, नवलपुर । यहाँको देवचुली नगरपालिका–१७ मा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माणको काम धमाधम सुरु भएको छ । गत असार ३० गते निर्माण सुरु भएको १८ महिनामा काम सम्पन्न गर्नेगरी नेपाल सरकारसँग भएको सम्झौताअनुसार काम धमाधम भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी इन्जिनियर द्रोण मानदेव कटुवालले मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु १० करोड ३५ लाखमा निर्माणसम्पन्न गर्नेगरी चितवनको बिबिएस जेभीले निर्माणको काम गरिरहेको जानकारी दिए । “हाल जग खन्ने काम भइरहेको छ, निर्माण कम्पनीले डन्डी झार्ने, फाउन्डेसन तयार पार्ने काम गरिरहेको छ । अबको केही दिनमा जग ढलानको काम हुन्छ”, उनले भने ।


    वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्दा विभिन्न प्रजातिका ६४६ वटा रूख÷पोल कटान गर्नुपर्ने प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्बाट निर्णय भएपछि काम अगाडि बढेको कटुवालले बताए । मन्त्रिपरिषद्बाट रूख कटानको अनुमति पाएको भए पनि हाल भवन निर्माण हुने ठाउँको मात्रै रूख काटेर काम भइरहेको उनले बताए । ट्रमा सेन्टरका साइट इन्जिनियर अविशेककुमार चौरसियाका अनुसार झराही सामुदायिक वनको करिब तीन बिघा क्षेत्रफलमा ट्रमा सेन्टर निर्माण भइरहेको छ । यस्तै, १५ शय्या क्षमताको साढे दुई तलाका भवन एक हजार वर्गमिटर क्षेत्रफल ओगट्ने गरी बनाइँदैछ ।

    जसमा भुइँतल्लामा बिरामीको उपचार, पहिलो तल्लामा अस्पताल प्रशासन, बहुउद्देश्यीय सभाकक्ष तथा अस्पताल वार्ड एवम् माथिल्लो तल्लामा कर्मचारीको आवास हुनेछ । अस्पतालमा एक्स–रे कक्ष, शल्यक्रिया कक्ष (अपरेसन थिएटर), प्रयोगशालाका लागि आवश्यक पर्ने कोठाहरू निर्माण हुनेगरी नक्सा तयार भई काम अगाडि बढेको उनले बताए । पूर्वपश्चिम राजमार्गसँगै निर्माण हुन लागेको ट्रमा सेन्टरबाट नवलपुर र छिमेकी जिल्लामा हुने दुर्घटनाका बिरामीलाई फाइदा पुग्ने जनाइएको छ ।

  • ‘कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा’

    ‘कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा’

    कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११ दशमलव सात प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको पाइएको छ । स्विस सरकार तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी नेपाल)को आर्थिक एवं प्राविधिक सहयोगमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा बुधबार आयोजित ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना २०७९–२०८७ को मध्यकालीन समीक्षा तथा अन्तरक्रियामा यस्तो तथ्यबारे जानकारी दिइएको हो ।

    सिएमसी नेपालका निर्देशक डा पशुपति महत मानसिक स्वास्थ्य, यसको राष्ट्रिय नीति तथा रणनीतिबारे आफ्नो प्रस्तुति राख्दै राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को तथ्याङ्कअनुसार कर्णालीमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी भएको बताए । ११ दशमलव सात प्रतिशत मानिसहरु कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको जनाउँदै उनले यसको रोकथामका लागि सबै तहका सरकारले लगानी गर्नुपर्ने धारणा राखे ।


    कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानसिक स्वास्थ्य समस्या समाधानमा साझा प्रयास आवश्यक रहेको बताए । उनले भने, “हाल रोग लाग्नेभन्दा पनि लुकाउने समस्या छ, यो सोचनीय कुरा हो । धेरै थोरै मात्र हो सबै मानिसमा मानसिक स्वास्थ्य समस्या छ । यसमा समयमै गम्भीर बनौँ”, उनले भने ।


    मन्त्री भण्डारीले कर्णाली प्रदेशले देशका सात प्रदेशमध्ये पहिलोपटक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति तथा कार्ययोजना निर्माण गरी कार्यान्वयनस्तरमा पुर्याएको बताए । सोही मन्त्रालयका सचिव धोलकराज ढकालले मानसिक स्वास्थ्य आधारभूत अधिकार भएको बताए । स्वास्थ्यले तत्काल र शिक्षाले दीर्घकालीन प्रभाव पार्ने भएकाले जतिसक्दो मानव स्वास्थ्य संरक्षणका लागि सबै सरोकार भएकाहरू सचेत बन्नुपर्ने उनको भनाइ थियो ।

    प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र सुर्खेतका निर्देशक शक्ति सुवेदीले प्रदेशका विभिन्न जिल्लाका समस्याबारे अध्ययन गरेर विभिन्न प्रकारका औषधि आपूर्तिको काम भइरहेको बताए । राष्ट्रिय मानव अधिकार आयोगका कर्णाली प्रदेश कार्यालय प्रमुख रमेश थापाले मर्यादित जीवन जिउन पाउने अधिकार सुनिश्चितताका लागि सबै लाग्नुपर्ने बताए ।

  • वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण भेट्टियो

    वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण भेट्टियो

    १० भदौ, वीरगञ्ज । वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा सङ्क्रमण पुष्टि भएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १० वटा नमूनामध्ये आठवटा नमूनामा हैजाको सङ्क्रमण पुष्टि भएको जानकारी दिए । “वीरगञ्जबाट हैजाका लक्षण देखापरेका बिरामीको दिसा सङ्कलन गरेर नमूना परीक्षण गर्न प्रयोगशालामा पठाइएको थियो”, उनले भने, “प्रयोगशालामा रहेको ‘भाइटेक’ प्रविधिबाट कल्चर गर्दा १० नमूनामध्ये आठमा सङ्क्रमण भेट्टिएको छ ।”

    निर्देशक डा भट्टले स्थानीय अस्पतालले यसअघि नै ‘आरडिटी’ गरेर हैजा भएको पुष्टि गरे पनि थप पुष्टि गर्न नमूना परीक्षण गरिएको जानकारी दिए । “वीरगञ्जका स्थानीय अस्पतालले आरडिटी गरेर हैजा भएको त थाहा पाएका थिए । कहिलेकाहीँ त्यसमा केही रिजल्ट फरक आउन सक्ने भएकाले थप पुष्टिका लागि यहाँ कल्चर गरिएको हो,” उनले भने ।

  • वीरगञ्जमा ९३ जनामा देखियो हैजा

    वीरगञ्जमा ९३ जनामा देखियो हैजा

    रासस
    १० भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् ।

    नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ । अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् ।

    त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।

  • पर्सामा महामारी : स्वास्थ्यकर्मीको अत्यावश्यक बाहेकका बिदा कटौती

    पर्सामा महामारी : स्वास्थ्यकर्मीको अत्यावश्यक बाहेकका बिदा कटौती

    ९ भदौ, वीरगञ्ज । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यहाँ झाडापखाला र हैजाको सङ्क्रमण देखिएपछि आवश्यक पर्ने स्थानीय तहका स्वास्थ्यकर्मीलाई केन्द्रिकृत रूपमा तोकिएको स्वास्थ्य संस्थामा खटाउन सकिने निर्णय गरेको हो । सो बैठकमा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसादसिंहको पनि उपस्थिति थियो ।

    निमित्त प्रजिअ कार्कीले झाडा पखाला, कोलेरा (हैजा) रोकथामका लागि सबै निकायसँगको समन्वयमा आवश्यक सामग्री व्यवस्थापन गरी माइकिङ, घरदैलो एवम् सचेतना जागरण तत्कालै सञ्चालन गर्ने निर्णय गरिएको बताए । सोही बैठकले सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त थप जनशक्ति तथा स्रोत साधनको ‘पुल’ खडा गरी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिमार्फत वितरण, व्यवस्थापन एवं अनुगमन गर्ने निर्णय गरेको छ ।

    हाल फैलिरहेको महामारीको ‘सोर्स अफ इन्फेक्सन आइडेन्टिफिकेसन’का लागि महामारीको अनुसन्धान, सम्बन्धित स्थानीय तहले गर्ने तथा सोको लागि आवश्यक प्राविधिक सहयोग प्रदेश तथा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय भएको जनाइएको छ ।

  • त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप

    त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप

    ८ भदौ, गाईघाट । त्रियुगा नगरपालिका क्षेत्रसहित अन्य क्षेत्रमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्ला अस्पतालका अनुसार साउन अन्तिम हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिकासहित जिल्लाको अन्य क्षेत्रमा पनि फैलन थालेपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

    जिल्ला अस्पतालका प्रमुख वीरेन्द्र मण्डलका अनुसार निरन्तर पानी पर्न थालेपछि सामान्य जमिनको पानीमा प्रदूषण र पिउने पानीको प्रदूषणका कारण पनि भाइरलको प्रकोप बढ्न थालेको हो । जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेका अनुसार अहिले दैनिक चार सय ५० देखि पाँच सय सयको सङ्ख्यामा भाइरलका बिरामी उपचार गर्न अस्पताल आउने गरेका छन् । अस्पतालमा आकस्मिक, ओपिडीसहित अन्य कक्षमा गरेर दैनिक पाँच सयका हाराहारीमा बिरामी बढ्दै गएपछि उनीहरूलाई बेडमा राखेर उपचार गर्न पनि समस्या हुन थालेको अस्पताल प्रशासनले जनाएको छ ।

    साउनको अन्तिम हप्तादेखि फाटफुट्ट भाइरलका बिरामी अस्पतालमा उपचारमा आउन थालेका र भदौ सुरु हुनासाथ वृद्धि भएर चार सय ५० देखि दैनिक पाँच सयको सङ्ख्यामा बिरामी वृद्धि भएको सूचना अधिकारी पाण्डेले बताउनुभयो । भदौ लागेसँगै भाइरलको प्रकोप बढ्न थालेपछि जिल्ला अस्पतालसहित स्थानीय निजी अस्पताल, क्लिनिक र स्वास्थ्यचौकीमा पनि भाइरलका बिरामी उपचारमा आउने सङ्ख्या बढ्दै जान थालेको स्थानीय निजी अस्पताल तथा क्लिनिकले जनाएका छन् ।

    वर्षासँगै मौसम प्रदूषण भएपछि अहिले त्रियुगा नगरपालिका क्षेत्रका वडा नं १ जोगीदह, ३ मोतिगडा, २ खैजनपुर, ७ चुहाडे, ८ शाहीखोला, राजाबास, असारी, पोर्ताह, गाईघाट, लक्ष्मीपुरसहितका क्षेत्रमा भाइरलको प्रकोप फैलन थालेपछि विद्यालय जाने उमेरकालाई समेत प्रभाव पार्न थालेको त्रियुगा–१२ का वडाध्यक्ष नवीनकुमार राईले बताए ।
    त्यसैगरी बेलका नगरपालिकाको भागलपुर, परनदह, आम्बासी, तपेस्वरीसहित चौदण्डीगढी नगरपालिकाका हँढिया, सुन्दरपुर, सिवाई बेलही देवधार क्षेत्रमा भाइरलको प्रकोप फैलन थालेको हँडियाका समाजसेवी युवा देवनारायण चौधरीले बताए । रासस

  • पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

    पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

    ७ भदौ, वीरगञ्ज । पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु भएको छ । नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको आज मृत्यु भएको जानकारी दिए । उनले बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको बताए । यस्तै, वीरगञ्ज हेल्थ केयरमा उपचाररत अर्का एक बिरामीको शुक्रबार मृत्यु भएको बताइएको छ । स्वास्थ्य कार्यालयले झाडापखालाका कारण मृत्यु भए पनि हैजा थियो वा थिएन भन्नेबारे जाँच भइनसकेको जनाएको छ ।

    जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिले हैजा र झाडापखालाका बिरामीलाई यहाँका सबै अस्पतालमा ‘डेडिकेटेड बेड’ छुट्याएर उपचार गर्न निर्देशन दिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले हैजाको सङ्क्रमण बढेको अवस्थामा उपचारका लागि पर्याप्त रूपमा ‘डेडिकेटेड बेड’ छुट्याई उपचार गर्न र जनशक्ति व्यवस्थापन गर्न सबै अस्पताललाई निर्देशन दिएको हो ।

    बैठकले झाडापखाला रोकथामका लागि सबै सरोकार भएका निकायको समन्वयमा जनचेतनामूलक घरदैलो कार्यक्रम सुुरु गर्ने निर्णय गरेको निमित्त प्रजिअ कार्कीले जानकारी दिए । सरसफाई प्रवर्द्धनका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकारवाला निकायलाई प्रभावकारी परिचालन गर्न वीरगञ्ज महानगरपालिकालाई अनुरोध गरेको पनि उनले बताए ।


    झाडापखाला, हैजाका लागि जिम्मेवार मानिएको भिब्रिओ कोलेरा जीवाणु रोकथामका लागि सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेसागत सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्थालगायतको समन्वयमा आवश्यक सामग्रीको व्यवस्थापन गरी जागरण अभियानसमेत सञ्चालन गरिने जनाइएको छ ।

  • नक्कली डाक्टरको आशंकामा डेण्टल केयर बन्द

    नक्कली डाक्टरको आशंकामा डेण्टल केयर बन्द

    चितवन । यहाँस्थित भरतपुरको हाकिमचोकमा ‘नक्कली डाक्टर’ बनेर उपचार गरेको आशंकामा एक डेण्टल क्लिनिक बन्द गराइएको छ । नेपाल मेडिकल काउन्सिलले हेल्दी स्माईल डेण्टल केयर सेन्टरमा अनुगमन गर्दा दर्ता नभएको पाइएपछि बन्द गराएको हो । नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष तथा काउसिन्लका सदस्य डा. अनिलविक्रम कार्कीका अनुसार विषम चौधरीले सञ्चालन गरेको डेण्टल क्लिनिक कुनै पनि निकायमा दर्ता भएको पाइएन । अनुगमनका क्रममा उक्त क्लिनिकमा कोही चिकित्सक नभेटिएको कार्कीले जानकारी दिए । सञ्चालक चौधरीले आफूले भारतको छत्तिसगढबाट बिडिएस र कान्तिपुर डेण्टलबाट सिडिएस अध्ययन गरेको दाबी गरेको उनको भनाइ छ । डा कार्कीका अनुसार चौधरी काउन्सिलमा दर्ता भएका छैनन् ।

    नेपाल डेण्टल एशोसिएशनका अध्यक्ष एवं काउन्सिलका सदस्य अजयकुमार साह, नेपाल मेडिकल काउन्सिलका सदस्य डा विक्रान्त ढकाल, जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधिसहितले अनुगमन गरेका थिए । काउन्सिलमा परेको उजुरीका आधारमा अनुगमन गरिएको जनाइएको छ । अनुगमनपछि क्लीनिकमा रहेको सिसी टिभीको हार्डडिस्क जफत गरेर काउन्सिलमा पठाइएको छ । उक्त हार्डडिस्को अध्ययन गरेपछि थप विषय थाहा हुने उनले बताए । उक्त क्लिनिकमा उपचारको क्रममा फलोअप गर्न आएका बिरामीसँग सोधपुछ गर्दा निज चौधरीले ‘म चिकित्सक हुँ’ भन्दै उपचार गर्ने गरेको पाइएको छ । चौधरीसहित अन्य दुई कर्मचारी त्यहाँ कार्यरत थिए ।

  • जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार जनाको मृत्यु

    जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार जनाको मृत्यु

    ६ भदौ, चितवन । जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा चार जनाको मृत्यु भएको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयका आनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नतिजाअनुसार आज थप एक जनाको मृत्यु भएको हो । कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार आज आएको नतिजा अनुसार भरतपुर महानगरपालिका–२२ का ७० वर्षीय वृद्धको जापानिज इन्सेफ्लाइटिसका कारण मृत्यु भएको हो । उनले भने, “जिल्लामा हालसम्म चार जनाको मृत्यु भइसकेको छ भने १३ जनामा यो रोगको सङ्क्रमण देखिएको छ ।”

    कार्यालयका कीट नियन्त्रक राम केसीले यसअघि मृत्यु हुनेमा कालिका नगरपालिका–५ का ८९ वर्षीय वृद्ध, राप्ती नगरपालिका–१२ की ७० वर्षीया वृद्धा र भरतपुर महानगरपालिका–१२ की ८१ वर्षीया वृद्धा रहेका जानकारी दिए । उनीहरुको गत साउनयता मृत्यु भएको जनाउँदै उनले गत आर्थिक वर्षमा चितवनमा देखिएका तीन सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको बताए ।


    जापानिज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका नागरिकामा देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । कालिका नगरपालिकामा दुई जनालाई सङ्क्रमण देखिएको छ भने भरतपुरका चार, राप्तीका दुई, खैरहनी र माडी नगरपालिकाका एक\एक जनामा सङ्क्रमण देखिएको कार्यालय प्रमुख रुपाखेतीले जानकारी दिए ।


    उनका अनुसार यो रोग ‘क्युलेक्स’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । “यो लामखुट्टे घर बाहिर बस्न रुचाउने, घर बाहिर हुँदा नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । यो लामखुट्टेले सुँगुर, बङ्गुर, हाँस जस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । धानखेतीमा यो लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने हुँदा बाहिर काम गर्दा विशेष सर्तकता अपनाउनु पर्दछ”, उनले भने ।

  • एम्बुलेन्स सेवाका लागि अब देशभर एउटै नम्बर ‘१०२’

    एम्बुलेन्स सेवाका लागि अब देशभर एउटै नम्बर ‘१०२’

    ५ भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गरेका छन् । एम्बुलेन्स सेवालाई थप व्यवस्थित, एकीकृत र पहुँचयोग्य बनाउन निर्देशिका जारी गरिएको हो । निर्देशिकाले देशभर सञ्चालित एम्बुलेन्सलाई एकीकृत प्रेषण केन्द्रमार्फत सञ्चालन गर्ने गरी एकद्वार प्रणालीको व्यवस्था गरेको छ । साथै, जुनसुकै ठाउँबाट सेवा लिनका लागि ‘१०२’ नम्बरमा सम्पर्क गर्न सकिने र सबै एम्बुलेन्स जीपीएस प्रणालीमा आबद्ध हुनुपर्ने प्रावधान राखिएको छ ।

    सेवाको गुणस्तरमा एकरूपता ल्याउन र नियमन गर्न निर्देशिकाले एम्बुलेन्सको वर्गीकरण गरेको छ । निर्देशिकाले एम्बुलेन्स सेवावापत लाग्ने शुल्कमा एकरूपता र नियमनको व्यवस्था गरेको छ । गरिब, असहाय तथा विपद्मा परेका बिरामीलाई निःशुल्क सेवा प्रदान गर्नुपर्ने प्रावधान निर्देशिकामा राखिएको छ । आकस्मिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन यो निर्देशिका जारी गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।

    उनले भने, “छरिएर प्रदान गरिने एम्बुलेन्स सेवालाई एकद्वार प्रणालीमा ल्याउने, आकस्मिक उपचार सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने तथा आर्थिक पारदर्शिता कायम गर्ने उद्देश्यले यो निर्देशिका ल्याइएको हो ।” निर्देशिका स्वीकृत भएसँगै देशभरका एम्बुलेन्स सेवाहरू एकीकृत सञ्जालमा आउने छन् ।

  • पहाडमा पनि डेङ्गी जोखिमः बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि

    पहाडमा पनि डेङ्गी जोखिमः बैतडीमा सात जनामा सङ्क्रमण पुष्टि

    ५ भदौ, बैतडी । जिल्लामा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एकएक जना सङ्क्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।

    वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोगको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले जिल्ला सदरमुकाम र पाटन बजारमा अभियान सञ्चालन गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले बताए । अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीय सहभागी थिए । अभियान बुधबार सञ्चालन गरिएको हो ।

    यसैबीच, यहाँका स्थानीय तहहरुले पनि डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् । दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । तीन महिनासम्म सञ्चालन हुने अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकीलगायत सरकारी कार्यालयहरुलाई अनुरोध गरिएको दोगडाकेदार गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले जानकारी दिए ।

  • स्वास्थ्य मन्त्रालयले जलेश्वरस्थित प्रादेशिक अस्पतालका चार स्वास्थ्यकर्मीसँग माग्यो लिखित स्पष्टीकरण

    स्वास्थ्य मन्त्रालयले जलेश्वरस्थित प्रादेशिक अस्पतालका चार स्वास्थ्यकर्मीसँग माग्यो लिखित स्पष्टीकरण

    ४ भदौ, जनकपुर । मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा कार्यरत दुई मेडिकल अधिकृतसहित चार स्वास्थ्यकर्मीलाई लिखित स्पष्टीकरण मागेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेश प्रदेशले अस्पतालका मेडिकल अधिकृतद्वय डा शिखा अधिकारी र डा सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिकाकुमारी यादव र रञ्जिता साहलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

    सेवाग्राहीलाई उपचारमा समस्या भएको, सेवाप्रवाहमा लापरबाही भएको तथा स्वास्थ्यकर्मीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको सूचनाको आधारमा स्पष्टीकरण माग गरिएको हो । मुख्यमन्त्री सिंहलाई महोत्तरीस्थित विभिन्न सङ्घ सस्थाका प्रतिनिधि र सरोकारवालाले सो अस्पतालमा उपचार सेवा पाउन नसकी जनता अकालमा ज्यान गुमाउन बाध्य भएको व्यहोरा दर्शाउँदै गत मङ्गलबार ज्ञापनपत्र बुझाएका थिए ।

    मुख्यमन्त्री सिंहले तत्काल आवश्यक छानबिन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका थिए । स्पष्टीकरण सोधिएकामाथि सेवाग्राहीलाई उपलब्ध हुनुपर्ने स्वास्थ्य सेवा नदिएको, आचारसंहितापालना नगरेको तथा कार्यसम्पादनमा लापरबाही गरेको आरोप लागेको छ । तीन दिनभित्र स्पष्ट जवाफ नआए मन्त्रालयले आवश्यक कारबाही अघि बढाउने पत्रमा उल्लेख छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले सेवाप्रवाहमा लापरबाही गर्ने उपर मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउने बताए ।

  • जापानिज इन्सेफलाइटिस्बाट ६३ सङ्क्रमित र ११ जनाको मृत्यु

    जापानिज इन्सेफलाइटिस्बाट ६३ सङ्क्रमित र ११ जनाको मृत्यु

    ३ भदौ, काठमाडौं । जापानिज इन्सेफलाइटिस्बाट सन् २०२५ को हालसम्म ११ जनाको निधन भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले हालसम्म ६३ जनामा जापानिज इन्सेफलाइटिस् देखिएको र ११ जनाको मृत्यु भइसकेको बताए । उनका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपराली पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक\एक जना तथा चितवन तीन जनाको मृत्यु भएको छ ।

    मृत्यु भएकामध्ये आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षभन्दामाथिका नौ जना रहेका छन् । शाखा प्रमुख डा गौतमका अनुसार घरमा नै रहेका ३० प्रतिशत र अस्पताल जाँदाजाँदै २७ प्रतिशतको मृत्यु भएको छ । सन् २०२४ मा जापानिज इन्सेफलाइटिस्बाट २५ जनाको निधन भएको थियो भने ८६ जनामा सङ्क्रमण भएको थियो ।

    उनले जापानिज इन्सेफलाइटिस् खोप नलगाएकाहरूमा धेरै सङ्क्रमण देखिएको बताए । “हालसम्म २४ जिल्लामा ५० वटा स्थानीय तहमा यसको देखिएको छ । २४ वटा स्थानीय तहलाई उच्च जोखिमको रूपमा लिइएको छ । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ”, डा गौतमले भने । उनका अनुसार नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफलाइटिस्विरुद्धको खोप लगाई सकिएको छ ।

    चिकित्सकहरूका अनुसार जापानिज इन्सेफलाइटिस् मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको बताइन्छ ।

    जापानिज इन्सेफलाइटिस् गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुनसक्ने डा गौतमले बताउनुभयो । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने भए पनि धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिने गर्दछ । यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने गर्दछ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

  • नेपाल रुबेला रोग निवारण गर्न सफल

    नेपाल रुबेला रोग निवारण गर्न सफल

    २ भदौ, काठमाडौँ । नेपालले रुबेला रोग निवारण गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को नेपालस्थित कार्यालयद्वारा आज जारी विज्ञप्तिमा नेपाललाई रुबेला रोग निवारण भएको घोषणा गरिएको छ । डब्लुएचओले नेपालले खोप सेवालाई निरन्तर एवं दृढ प्रयासबाट जारी राखेकाले सम्भव भएको जनाएको छ ।

    डब्लुएचओको दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा क्याथरिना बोहमले दक्षिण–पूर्व एसिया क्षेत्रमा दादुरा र रूबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोगको सिफारिसलाई आधार मान्दै नेपालबाट रूबेला निवारण भएको प्रमाणित गगरिन् ।

    उनले भनिन्, “नेपालले प्राप्त गरेको यो सफलता नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीहरुको लगनशीलता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमजनसमुदायको चासो र सहयोगको परिणाम हो । यस उपलब्धिले शिशुहरूका लागि स्वस्थ जीवनको सुरुवात र रूबेलामुक्त भविष्य सुनिश्चित गरेको छ ।”

    नेपाल डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौँ राष्ट्र बनेको छ । दादुराजस्तै देखिने रुबेलाअर्थात् जर्मन दादुरा, भाइरसको सङ्क्रमणबाट हुने अति सङ्क्रामक रोग हो । यो रोगले विशेषगरी गर्भवती महिलामा जटिलता निम्त्याउँछ । जसका कारण गर्भपतन हुने, मृत शिशु जन्मिने, वा बच्चालाई जीवनभर असर पार्ने अपाङ्गतालगायतका समस्या देखिन सक्छन् । तर, रूबेलालाई सुरक्षित र प्रभावकारी खोपबाट रोकथाम गर्न सकिन्छ ।

    नेपालले सन् २०१२ मा नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै देशव्यापी अभियानमार्फत रूबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो । नेपालले सन् २०२४ सम्ममा रूबेला खोपको पहिलो मात्रा ९५ प्रतिशतभन्दा बढी बालबालिकामा पु(याउन सफल भएको थियो ।

    डब्लुएचओ नेपालस्थित कार्यालयका प्रमुख डा राजेश सम्भाजिराव पाण्डवले रूबेला निवारण गर्न सफल भएकोमा नेपाललाई बधाई दिँदै जनस्वास्थ्य क्षेत्रमा हासिल भएको यो सफलता महत्त्वपूर्ण उपलब्धि भएको बताए । नेपालले सन् २०२६ सम्ममा दादुरा र रूबेला निवारण गर्ने लक्ष्य निर्धारण गरेका थियो ।

  • भब्य बन्यो बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

    भब्य बन्यो बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

    १ भदौ, म्याग्दी । प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएकोे छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ ।

    प्रदेश अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले नयाँ भवनको भुइँतलामा बहिरङ्ग र पहिलो तलामा अन्तरङ्ग सेवा सञ्चालन गरेको जानकारी दिए । “पुराना र अस्थायी भवनका साँघुरा कोठामा बिरामीलाई कठिन र स्वास्थ्यकर्मी तथा चिकित्सकलाई अप्ठ्यारो पर्नु स्वाभाविक थियो”, उनले भने, “व्यवस्थापकीय चुनौतीलाई चिर्दै शल्यक्रिया, प्रसूति र फार्मेसी कक्षलाई पनि नयाँ भवनमा सार्ने तयारीमा छौँ ।”

    अस्पताल व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने कार्यालय र निर्माण व्यवसायीसँग समन्वय गरेर नयाँ भवनमा सेवा सञ्चालन गर्न उपसमिति गठन गरेर पहल गरिएको प्रमुख डा प्रधानले बताउए । ज्येष्ठ नागरिक, बालबालिका, महिला, पुरुष र शल्यक्रिया गरेका बिरामीका लागि छुट्टाछुट्टै उपचारकक्षको व्यवस्था गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवाका अमृत गर्बुजाले नयाँ भवनमा सेवा पाउँदा सहज भएको बताए ।


    विसं २०७२ मा १५ बाट ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पताल विस्तारित क्षमताअनुसारको भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भएको थियो । पक्की भवन बनाउनका लागि २०७४ सालमा पुरानो बहिरङ्ग विभागको भवन भत्काएपछि अस्थायी भवन बनाएर सेवा सञ्चालन गरिएको थियो । तीनवटामध्ये प्रयोग गर्न मिल्ने भएको एउटा भवनलाई प्रयोगमा ल्याएको र बाँकी भवनलाई पूर्णता दिन ताकेता गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएकी जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिइन् ।


    सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले अस्पताल भवन निर्माणका लागि निर्माण कम्पनी र सहरी विकास तथा भवन आयोजना बागलुङसँग २०७३ मङ्सिर २१ गते सम्झौता भएको थियो । रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता भएको योजना लक्ष्यअनुसार २०७६ मङ्सिर २० गते सम्पन्न हुनुपर्ने थियो । पञ्चानब्बे प्रतिशत भौतिक प्रगति भएको बेनी अस्पतालको भवन निर्माण यही भदौभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको आयोजना प्रमुख कृष्णकुमार मर्हजनले बताए ।


    चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चारतले तीनवटामध्ये दुईवटा भवनको भित्री भाग पलास्टर र रङरोगन गर्न, विद्युत्, पानी जडान गर्न, झ्यालढोका र टायल राख्ने काम अन्तिम चरणमा पुगेको छ । अस्पताल प्रवेश गर्ने र बाहिरिने पाँच सय मिटर सडक प्रिमिक्स कालोपत्र गरिएको छ । भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री छ । भवनको भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा आकस्मिक, प्रयोगशाला, रेडियोलोजी, पहिलो तलामा शल्यक्रिया कक्ष, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।

    रासस

  • अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

    अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

    २९ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित ‘धरहरा टपरी मःम’का सञ्चालकलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइएपछि रु दुई लाख जरिवाना गराएको छ । काठमाडौँ महानगरपालिकाले नियमित अनुगमनका क्रममा धरहरा टपरी मःमका सञ्चालकले बिक्रीवितरणका लागि तयार गरेको मःममा धातुको औँठी फेला परेको र खाद्य पदार्थको गुणस्तर मापदण्डअनुरूप नरहेको पाइएपछि जरिवाना गरिएको महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेले जानकारी दिए । धरहरा टपरी मःमका सञ्चालकले पटकपटक महानगरपालिकाको निर्देशन उल्लङ्घन गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको उनले बताए ।


    “बजार अनुगमनका क्रममा त्रुटि भेटिएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा १०, २९ र ३० ९१० ‘ख’ बमोजिम जरिवाना तोकिएको हो”, प्रमुख न्यौपानेले भने । महानगरले उक्त व्यवसायका सञ्चालकलाई जरिवाना रकम सात दिनभित्र बैंकमार्फत जम्मा गरी सोको जानकारीसहित कामपाको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । साथै, आगामी दिनमा खाद्य स्वच्छता र मापदण्ड पूरा हुनेगरी उत्पादन र बिक्रीवितरण व्यवस्था मिलाउन पनि व्यवसायीलाई आग्रह गरेको छ ।

  • सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

    सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि


    २८ साउन, काठमाडौं । किमाथाङ्का । यहाँको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।
    बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अभाव हुँदा ‘प्यासेज’ र हलमा बिरामी राख्नुपर्ने बाध्यता भएको छ । अस्पतालका सूचना अधिकारी सुमित्रा सापकोटाका अनुसार वैशाख यता स्क्रब टाइफसका २१४, डेङ्गी सङ्क्रमित ५६ र भाइरल ज्वरोका ११७ जना बिरामी भेटिएका छन् । स्क्रब टाइफस रोग एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिनेलगायतका लक्षण देखिन्छ ।