Category: समाचार

  • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

    नारायणगढ (चितवन), २ कात्तिक : चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ । करिब दुई किलोमिटर दूरी रहेको उक्त स्थानमा आइएमई ग्रुपले केबलकार निर्माण गर्ने भएको हो । ग्रुपका अनुसार दुई वर्षभित्र केबलकार निर्माण गरिनेछ ।

    कम्पनील हाल गैँडाकोटको बटम स्टेसनबाट मौलाकालिका मन्दिर नजिकै रहेको इला होटलसम्म केबलकार सञ्चालन गरिरहेको छ । अब देवघाटबाट समेत मौलाकालिका पुग्न सकिने गरी नयाँ केबलकार परियोजना अघि बढाइएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देवघाट र मौलाकालिकालाई जोड्ने केबलकार परियोजनाको काम अगाडि बढेको बताउनुभयो ।

    उहाँका अनुसार परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढिरहेको छ । अध्यक्ष ढकालले परियोजना सञ्चालनमा आएपछि देवघाट र मौलाकालिका क्षेत्रबीचको धार्मिक तथा पर्यटकीय आवागमन बढ्ने विश्वास गरिएको छ । देवघाट र मौलाकालिका दुवै धार्मिक आस्थाका महत्त्वपूर्ण केन्द्र हुन् ।

  • जुम्लामा मार्सीधान काट्ने चटारो

    जुम्लामा मार्सीधान काट्ने चटारो

    जुम्ला, १ कात्तिक : जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताउनुभयो । किसानहरुको दैनिकी अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ ।

    पाण्डेका अनुसार किसानहरु दशैं मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मार्सीधान जुम्लाको पहिचानसँग पनि जोडिने बताउनुभयो ।

    उहाँका अनुसार मार्सीधानखेती गर्ने आफ्नै समय छ, सोही आधारमा जिल्लाका किसानहरू धान भित्र्याउन फाँटहरूमा व्यस्त हुने गरेको बताउनुभयो । जिल्लाभर दुई हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा पछिल्ला वर्षहरूमा क्रमशः मार्सीधान लगाउने क्षेत्रफल बढ्दै गएको कार्यालयले जनाएको छ । गत वर्ष एक हजार ५०० हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष भने एक हजार २०० हेक्टरमा मात्र खेती भएको कृषि विकास कार्यालयले जनाएको छ । अहिले यहाँका किसानले मार्सीधानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको जातमध्ये चन्दननाथ–१ र चन्दननाथ–३ का साथै लेकाली–१ र लेकाली धान रोप्ने गरिन्छ ।

  • दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

    मुस्ताङ, १ कात्तिक : यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ । कृषि तथा पशु विकास कार्यालयका अनुसार यसवर्ष उक्त मूल्य बराबरका १३ हजार २७९ भेडा च्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरिएका छन् ।

    कार्यालयका प्रमुख डा लालमणि अर्यालका अनुसार मुस्ताङ मार्ग हुँदै ११ हजार १६४ च्याङ्ग्रा र दुई हजार ११५ वटा भेडा बिक्रीका लागि बेसीतर्फ झारिएको हो । उहाँले मुस्ताङबाट रु २२ करोडभन्दा बढी र कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट रु १३ करोड मुल्य बराबरको भेडा, च्याङ्ग्रा र च्यालु (माउ) यही बाटो हुँदै निकासी भएको जानकारी दिनुभयो ।

    कार्यालयका अनुसार मुस्ताङबाट मात्रै सात हजार ९६४ च्याङ्ग्रा र एक हजार २०४ भेडा निकासी भएको छ । जसमध्ये मुस्ताङका किसानले पालेको खोरपाला र तिब्बतबाट कोरलानाका हुँदै भित्र्याइएका ४०० भन्दाबढी भेडा च्याङ्ग्रा मुस्ताङका व्यापारीहरुले पोखरा र काठमाडौँलगायतका स्थानमा निकासी गरेका छन् ।

    यसैगरी डोल्पाबाट दुई हजार ६८० च्याङ्ग्रा र ८७१ भेडा, जुम्लाबाट ३०० च्याङ्ग्रा र मुगुबाट ३२० च्याङ्ग्रा र ४० वटा भेडा निकासी गरिएको छ । कार्यालयका अनुसार यसवर्ष च्याङ्ग्राको औसत मूल्य रु ३३ हजार, भेडाको रु २२ हजार र च्यालु (रमा÷माउ)को रु १० हजार कायम गरी निकासी गरिएको हो ।

  • सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

    सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

    खोटाङ, १ कातिक : काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा खस्दा मृत्यु हुने तीन जना र बेपत्ताको पहिचान खुलेको छ । मृत्युु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित दुवेकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तीका विश्वकर्मा हुनुहुन्छ ।

    लफ्याङका स्थानीय जनक राईले दिनुभएको जानकारीअनुसार युपना र दिव्या काठमाडौँ बसेर अध्ययनसँगै सामान्य रोजगारीको काम गर्दै आउनुभएको थियो । स्वस्तीका काठमाडौँ बसेर माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारीमा हुनुहुन्थ्याे ।

    गएराति करिब २ः३० बजे नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल सुमो खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनाका परी तीन बेपत्ता हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार बेपत्ता हुनेमा लफ्याडका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई हुनुहुन्छ ।

    दुर्घटनाम परी घाइते हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उहाँकी १२ वर्षीया छोरी शिवानी राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका १३ वर्षीय अङ्कित विश्वकर्मा, चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा हुनुहुन्छ । प्रहरीले दिएको जानकारीअनुसार घाइतेहरूमध्ये चालक आशीष बेहोस छन् भने, सम्झनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    सिन्धुलीस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सम्झनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाएको प्रहरीले जनाएको छ । घाइते शिवानी र अङ्कितको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिनुभएको छ ।

    काठमाडौँबाट गएराति करिब ११ बजे हिँडेको सुमोमा चालकसहित १० जना यात्रु सवार रहेको प्रहरी जनाएको छ । सुमोका चालक निदाएर दुर्घटना भएको हुन सक्ने घटनास्थल पुगेका प्रहरीको अनुमान छ ।

  • नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    काठमाडौँ, २ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहो¥याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । कात्तिक २ गते नवरात्रको नवौ दिन भएपनि कर्म भने आठौँ दिनमा गरिने नै गर्नुपर्छ । दशैँ घर पूजा कोठामा कात्तिक २ गते सोमबार पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ । अन्य कर्म पनि महाअष्टमीकै दिनमा गरेका कर्मलाई दोहोे¥याउनुपर्ने पनि उहाँले बताउनुभयो । आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ ।

    विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ । देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्हरुको भनाइ छ । हनुमानढोकामा कालरात्रि पूजा सोमबार राति राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्पराअनुसार यही कात्तिक २ गते सोमबार राति गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले राससलाई जानकारी दिनुभयो ।

    हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिनमा महानवमीको पूजा, आराधनालगायत कर्म गर्ने परम्परा रहेकाले यस्तो निर्णय गरिएको जानकारी पनि उहाँले दिनुभयो । हनुमानढोका दरबारको दशैँ घरमा कात्तिक १ गते आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको छ । मूल पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ ।

    महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा, आराधना गर्ने परम्परा रही आएको छ ।

  • पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

    पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

    काठमाडौँ, ३१ असोजः आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो ।

    घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

    नवपत्रिकाको नामलेसमेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ ।

    फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले बताउनुभयो ।

    हनुमानढोकाको दसैँ घरमा भित्र्याइयो फूलपाती यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना हुने हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिनुभयो ।

    जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, नेपालीको सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याइएको हो । यसवर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उहाँले बताउनुभयो ।

    हनुमानढोका दरबारको नासलचोकमा पूजा, मूल चोकमा बलिसहित पूजा गरेपछि दसैँ घरमा फूलपाती भित्र्याइएको हो । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने कहिले संस्कृतिमन्त्री त कहिले सचिव उपस्थित हुने गरेकामा यसवर्ष मन्त्री र सचिव उपत्यका बाहिर रहनुभएकाले मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सौभाग्य प्रधानागङलगायत अधिकारीहरुको सहभागिता रहेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

    हनुमानढोकामा भित्र्याउन आज बिहानको साइतमा गोरखाबाट फूलपाती काठमाडौँ ल्याइएको थियो । नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट राजकाज सुरु गरेपछि गोरखाबाट फूलपाती ल्याई भित्र्याउने गरिएको हो ।

    आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गरेको छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कनेक्रम अझ तीव्र भएको छ ।

    फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गे पिङ र रोटेपिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ । बजारमा आज पनि किनमेल गर्नेको भीड देखिन्छ । विशेषगरी खाद्यसामग्री र कपडा, जुत्ता, चप्पलका पसलमा मानिसको भीड छ ।

  • राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

    राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

    काठमाडौँ, ३१ असोजः नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा राष्ट्रिय टोलीसम्म पुर्‍याउन निकै लामो र कठिन सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै विमलले देशका लागि मनदेखि खेलेको बताएका छन् ।

    “बुटवलबाट सुरु भएको मेरो फुटबल यात्रा काठमाडौँ हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा निकै लामो र कठिन रह्यो । मैले देशका लागि मनैदेखि खेलेँ र आफ्नो सबैथोक फुटबललाई नै दिएँ”, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    फुटबलप्रेमी तथा शुभचिन्तकले दिएको माया र साथप्रति आभार व्यक्त गर्दै उनले खेलजीवन टुङ्ग्याउने निर्णय लिँदा आफू निकै भावुक भएको पनि बताएका छन् । “आज यो निर्णय लिँदा म धेरै नै भावुक भएको छु । सबैलाई एकमुष्ट धन्यवाद दिँदै मैले फुटबलको यात्रा यहीँसम्म टुङ्ग्याएको छु”, विमलले लेखेका छन् । उनले सन् २०१२ मा बङ्गलादेशविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । राष्ट्रिय टोलीबाट ४४ खेल खेलेका विमलले नौ गोल गरेका छन् । उनले सन् २०१५ मा यु–१९ साफ च्याम्पियनसिप, सन् २०१६ मा बङ्गबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुदमा स्वर्ण र एएफसी सोलिडारिटी कपको उपाधि जितेका थिए । घरेलु फुटबलमा मच्छिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेका विमलले नेदरल्याण्ड्समा युवा फुटबल खेलेका थिए ।

  • राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

    राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

    काठमाडौँ, ३१ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

    बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यसपर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुद बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । बडादसैँले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न मद्धत पु¥याएको उनको भनाइ छ । राष्ट्रपति पौडेलले विजया दशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन स्मरण गराउँदै दसैँ अन्यायमाथि न्यायको एवम् असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा मनाइने उल्लेख गरेका छन् । दसैँमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुशीयाली र हार्दिकता साटासाट गरिने उल्लेख गर्दै राष्ट्रपतिले पारिवारिक, समाजिक, धार्मिक, साँस्कृतिक एवम् राष्ट्रियताका हिसाबले दसैँको अत्यन्तै महत्व रहेको बताएका छन् । साथै, देशका विभिन्न भागमा आएको विनासकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । राष्ट्रपतिले बाढी प्रभावित व्यक्तिको पुनःस्थापनाका लागि एकताबद्ध भई अघि बढ्न सबै पक्षलाई अपिल गरे ।

  • एनपिएललाई आइसिसीको मान्यता

    एनपिएललाई आइसिसीको मान्यता

    काठमाडौँ, ३० असोजः अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणलाई मान्यता दिएको छ । नेपाल क्रिकेट सङ्घका अनुसार आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म आयोजना हुने एनपिएलको तेस्रो संस्करणलाई आइसिसीको मान्यता दिएको हो । क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आइसिसीबाट प्राप्त मान्यताले नेपाली क्रिकेटको विकासका साथै अन्तरराष्ट्रिय पहिचानलाई विस्तार गरेको छ ।

  • ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

    ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

    काठमाडौँ, ३० असोजः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । उहाँले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशका विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार गर्ने र उपचारपछि सामान्य जीवनमा फर्किन सहयोग पुर्‍याउन पुनःस्थापना केन्द्र निर्माण गर्ने काम अघि बढाइएको बताउनुभयो ।

    ट्रमा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री मेहताले राजधानीमा मात्र नभई देशका विभिन्न भूभागमा रहेका नागरिकले पनि समयमै आकस्मिक स्वास्थ्य सेवा पाउने व्यवस्था गर्न ट्रमा उपचार सेवाको पहुँच विस्तार गरिरहेको बताउनुभयो ।

    मन्त्री मेहताले भन्नुभयो, “दुर्घटनापछि घाइतेको जीवनरक्षा गर्न समयमै उद्धार, घटनास्थलमै प्राथमिक उपचार, शीघ्र अस्पताल पुर्‍याउने व्यवस्था र गुणस्तरीय आकस्मिक उपचारको महत्त्वपूर्ण भूमिका रहन्छ ।” सडक सुरक्षा, ट्राफिक नियमको पालना, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग र मादक पदार्थ सेवन गरेर सवारी नचलाउने विषयमा जनचेतना अभिवृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो । दुर्घटनास्थलमै प्राथमिक उपचार उपलब्ध गराउन सक्ने जनशक्ति विकास गर्नुका साथै समुदायस्तरमा प्राथमिक उपचारसम्बन्धी ज्ञान विस्तार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।राससबाट

  • लगानी बोर्डले भन्यो– उपहार लिनेदिने कार्य स्वीकार्य छैन

    लगानी बोर्डले भन्यो– उपहार लिनेदिने कार्य स्वीकार्य छैन

    काठमाडौँ, ३० असोजः लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने प्रचार भ्रामक र तथ्यहीन भएको जनाएको छ । कार्यालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज २९ गते कार्यालयको जानकारी र अनुमति बिना मिठाइ तथा बिस्कुटका टोकरी ल्याइएको र त्यसैलाई आधार बनाएर कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रचार गरिएको उल्लेख छ ।

    कार्यालयका अनुसार बिहीबार दिउँसो १४ः३० बजे प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबसहित कर्मचारीहरू बैठकमा रहेका बेला युट्युब च्यानलका व्यक्ति अनुमति बिना कार्यालय प्रवेश गरी भिडियो खिचेका थिए ।

    उनले कर्मचारीले ठेकेदारबाट रक्सी, आइफोन र मिठाईलगायतका उपहार लिएको आरोप लगाउँदै भिडियो प्रसारण गरेका थिए । कार्यालयका सहसचिव एवं प्रवक्ता भुपेन्द्र थापाका अनुसार परियोजनाका प्रतिनिधि बताउने व्यक्तिले अनुमति र जानकारी बिना मिठाइ तथा बिस्कुटका टोकरी कार्यालयमा ल्याएका थिए ।

    उक्त घटनालाई कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रस्तुत गर्नु गलत भएको कार्यालयको भनाइ छ । कार्यालयले कर्मचारीका लागि कुनै पनि किसिमका उपहार लिनेदिने कार्य स्वीकार्य नहुने स्पष्ट पार्दै घटनाबारे भ्रामक प्रचार गरी कर्मचारीको मानमर्दन र मनोबल गिराउने गतिविधि रोक्न आग्रह गरेको छ । अन्यथा आवश्यक कानुनी उपचार खोज्ने चेतावनी दिँदै कार्यालयले सुशासन कायम गर्ने सरकारी अभियानप्रति आफूहरू प्रतिबद्ध रहेको जनाएको छ ।

  • प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

    प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

    काठमाडौँ, ३० असोजः प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले आज सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताउँदै मितिका सम्बन्धमा भने सार्वजनिक समाचारमा उल्लेख भएकै आसपासको मितिमा हुने उल्लेख गरे । विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने समाचारहरू सार्वजनिक भएका छन् । मन्त्री खनालले भने, “तर आजका दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिरसकेका छ्रैनौँ ।”

    वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी गराउँदै उनले प्रधानमन्त्रीको आगामी भ्रमण परिणाममुखी र उपलब्धिमूलक हुने आफूहरूको चाहना रहेको बताए । “भ्रमणका दौरान ‘ट्रेड र ट्रान्जिट’, कनेक्टिभिटी, ऊर्जा, सीमालगायत विषयमा केही न केही सकारात्मक प्रगती होस् भन्ने छ”, मन्त्री खनालले भने। भ्रमणका क्रममा ठूला पूर्वाधार तथा जलविद्युत् परियोजनाको उद्घाटन र शिलान्याससँगै विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । गत १३ चैतमा वर्तमान सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री शाहको पहिलोपटक भारत भ्रमण हुन लागेको हो ।

  • भूमि बैंक स्थापना गर्ने स्थानीय तहको सङ्ख्या नौ पुग्यो

    भूमि बैंक स्थापना गर्ने स्थानीय तहको सङ्ख्या नौ पुग्यो

    काठमाडौँ, २९ असोजः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप चार स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ ।

    मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका र पाल्पाको रिब्दीकोट गाउँपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको हो ।

    यससँगै स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने पालिकाको सङ्ख्या नौ पुगेको छ । भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ ।

    त्यस सन्दर्भमा जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने र त्यसबापत जग्गाधनीले तोकिएको प्रतिफल प्राप्त गर्ने व्यवस्था गरिने छ ।

    उक्त मन्त्रालयका अनुसार भूमि बैंकले जग्गा आवश्यक भएका भूमिहीन तथा सुकुमबासी परिवार, साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै जग्गा उपलब्ध गराउन सहजीकरण गर्नेछ । त्यसरी उपलब्ध जग्गामा भूउपयोग वर्गीकरणअनुसार अन्न, तरकारी, नगदेबाली, फलफूलखेती तथा माछा र पशुपन्छीपालनजस्ता कृषि गतिविधि सञ्चालन गर्न प्रोत्साहन गरिनेछ । स्थानीय तहबाट उपलब्ध हुने बीउ, मल, प्राविधिक सहयोग तथा अन्य सहुलियतलाई समेत भूमि बैंकमार्फत लक्षित वर्गमा पुर्याइने छ ।

    यसअघि तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका,  सिन्धुलीको फिक्कल गाउँपालिका, कास्कीको रुपा गाउँपालिका र बाजुराको बडिमालिका नगरपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिइएको थियो ।

    बाँझो जमिनलाई उत्पादनसँग जोड्दै भूमिको अधिकतम उपयोग, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्यले भूमि बैंक स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

  • दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

    दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार


    बागलुङ, २९ असोजः दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ ।

    कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ रु ४५ देखि ५० हजार पर्ने डोल्पा-मुस्ताङ हुँदै २५ दिनको पैदलयात्रामार्फत बागलुङ च्याङ्ग्रा बिक्रीका लागि आउनुभएका तेन्जिङ तार्के तामाङले बताए ।

    “डोल्पा र मुस्ताङका २०० च्याङ्ग्रा ल्याएका थिएँ, जसमध्ये १०० बागलुङ र १०० च्याङ्ग्रा पोखरा पठाएको छु । बागलुङमा बिक्री नभए सबै पोखरा पुग्छ, हाम्रो मुख्य बजार भनेको पोखरा हो”, तामाङले भने, “तीन वर्षदेखि च्याङ्ग्राको कारोबार गर्दै आएको छु, दसैँको समयमा बागलुङ र पोखरालाई डोल्पा र मुस्ताङका च्याङ्ग्रा ल्याउँछु । अहिले पनि गोठमै रु ३७ हजारसम्म च्याङ्ग्राको मूल्य परेको छ, माग भने घटेको छैन । दसैँअघि बिक्री गरिसक्ने योजना छ ।” उनका अनुसार रु ३२ हजारदेखि रु ३७ हजारका दरले गोठबाटै च्याङ्ग्रा खरिद गरेर ल्याउने गरिएको छ ।

    हिमपातले यसपटक च्याङ्ग्रा ल्याउन समस्या भएको उनको  अनुभव रहेको छ । गत वर्षभन्दा यसपटक च्याङ्ग्राको आयात कम भएकाले व्यापार बढ्ने उनको आकलन रहेको छ ।

    बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसैँ लक्षित गरी प्रतिकिलो रु दुई हजार २०० मा मासु बिक्री गरिरहेको बताए । यसपटक मूल्य बढेकाले च्याङ्ग्रा थोरै लिएको उनको भनाइ छ । यस वर्ष मुस्ताङबाट बडादसैँलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य वृद्धि र बाढीपहिरोका कारण मुस्ताङको सडक लामो समय अवरोध हुँदाहुँदा थोरै मात्रमा च्याङ्ग्रा भित्र्याएका व्यापारी बताउछन् ।

    हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने च्याङ्ग्रा खासगरी बडादसैँ र तिहारमा बढी खपत हुने गरेको यहाँका व्यापारी बताउँछन् । दसैँमा प्रायः उपभोक्ताले मासुका लागि भेडाच्याङ्ग्रा खोज्ने गरेकाले हिमालपारिबाट घटस्थापनाको भोलिपल्टदेखि च्याङ्ग्रा भित्रिन थालेको हो ।

    “स्थानीय खसीबोकाको मासु बढी खपत भइरहेको छ, दसैँमा च्याङ्ग्रा खाने परम्परा भए पनि मूल्य वृद्धिका कारण सबैले खान सक्ने अवस्था छैन”, अहिले रोज्जा च्याङ्ग्राकै मूल्य रु ५० हजारसम्म पर्न जान्छ”, व्यापारी थापाले भन्नुभयो, “मुस्ताङको छोसेर, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरिएको छ ।”

    हिमाली भेगमा पालन गरिएका भेँडाच्याङ्ग्र्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको भनाइ छ । चाडपर्वका लागि हिमालपारिको जिल्ला मुस्ताङबाट च्याङ्ग्रा हिँडाएर बागलुङ हुँदै पोखरा लगिने गरेको छ । मुस्ताङबाट १३ हजार ८१७ भेडा च्याङ्ग्रा म्याग्दी, बागलुङ हुँदै पोखरा र काठमाडाैँ निकासी भएका छन् । अहिलेसम्म मुस्ताङबाट ११ हजार ७०० च्याङ्ग्रा र दुई हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी अन्य जिल्ला पठाइएको छ ।

  • सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

    सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

    २९ असोज, काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको महत्वाकांक्षी योजना कार्यान्वयनमा ल्याएको छ।

    दुई हजार भन्दा धेरै विद्यार्थी भएका १०९ वटा विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो। यसमध्ये पहिलो चरणमा ८९ वटा विद्यालयको पहिचान गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।

    प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा आधुनिक १२ कोठे तीन तले भवन, अत्याधुनिक प्रयोगशाला र समृद्ध पुस्तकालय निर्माण गर्ने गरी काम तीव्र पारिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभएको छ।

    ‘पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरी अत्याधुनिक १२ कोठे तीन तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइरहेका छौँ। प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा बन्ने यी भवनहरूमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ,’ मन्त्री पोखरेलले भन्नुभएको छ, ‘यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ।’

    पहिलो चरणमा निकासा भएको ८९ वटा विद्यालयको विवरण विश्लेषण गर्दा, ८९ मध्ये ३७ प्रतिशतभन्दा बढी अर्थात् ३३ वटा विद्यालय मधेश प्रदेशका परेका छन्।

    मधेश प्रदेशको साक्षरता दर, शैक्षिक सूचकांक र सरकारी विद्यालयको गुणस्तर सुधारमा अझ संवेदनशील र गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता रहेकाले बजेट तथा विद्यालय छनोटमा यस प्रदेशलाई उच्च प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ। मधेशका ठूला विद्यालयहरूमा पूर्वाधारको अभाव हटाएर पठनपाठनको वातावरण सुधार्नु नै सरकारको मुख्य लक्ष्य रहेको जनाइएको छ।

    मधेश प्रदेशपछि लुम्बिनी र कोशी प्रदेशमा पनि ठूलो संख्यामा विद्यालयहरू परेका छन्। लुम्बिनी प्रदेशका २१ वटा विद्यालय पूर्वाधार विकासका लागि छनोट भएका छन्, जसमा रुपन्देहीका ८ र दाङका ६ वटा विद्यालय समावेश छन्।

    त्यस्तै, कोशी प्रदेशबाट १८ वटा विद्यालय परेका छन्, जहाँ झापा र मोरङका ६–६ वटा सहितका विद्यालय सूचीकृत छन्।

    अन्य प्रदेशहरूको हकमा, सुदूरपश्चिम प्रदेशका ६ वटा विद्यालय (कैलालीका ३, कञ्चनपुर, दार्चुला र बाजुराका १–१ वटा) यस योजनामा परेका छन्। गण्डकी प्रदेशका ६ वटा विद्यालय (कास्कीका ३, नवलपरासी पूर्वका २ र तनहुँको १ वटा) छनोट भएका छन् भने कर्णाली प्रदेशका ३ वटा विद्यालय (सुर्खेतका २ र जुम्लाको १ वटा) परेका छन्।

    बागमती प्रदेशबाट भने दुईवटा विद्यालय मात्र परेका छन्।

    सूचीमा हेर्नुहोस्, कुन प्रदेशका कुन विद्यालय ?

    १. कोशी प्रदेश (१८ वटा विद्यालय)

    त्रियुगा नमूना माध्यमिक विद्यालय – त्रियुगा नगरपालिका, उदयपुर
    त्रिवेणी माध्यमिक विद्यालय – कटारी नगरपालिका, उदयपुर
    धुलाबारी माध्यमिक विद्यालय – मेचीनगर नगरपालिका, झापा
    हिमालय माध्यमिक विद्यालय – दमक नगरपालिका, झापा
    देवी माध्यमिक विद्यालय – विर्तामोड नगरपालिका, झापा
    महेन्द्र रत्न माध्यमिक विद्यालय – विर्तामोड नगरपालिका, झापा
    कन्काई माध्यमिक विद्यालय – कन्काई नगरपालिका, झापा
    मोहनमाया माध्यमिक विद्यालय – विर्तामोड नगरपालिका, झापा
    भानु माध्यमिक विद्यालय – फुङ्लिङ नगरपालिका, ताप्लेजुङ
    फिदिम माध्यमिक विद्यालय – फिदिम नगरपालिका, पाँचथर
    साजीलाल माध्यमिक विद्यालय – सुन्दरहरैचा नगरपालिका, मोरङ
    राधिका माध्यमिक विद्यालय – उर्लाबारी नगरपालिका, मोरङ
    पञ्चायत माध्यमिक विद्यालय – पथरीशनिश्चरे नगरपालिका, मोरङ
    सुकुना माध्यमिक विद्यालय – सुन्दरहरैचा नगरपालिका, मोरङ
    पोखरिया माध्यमिक विद्यालय – विराटनगर महानगरपालिका, मोरङ
    आदर्श माध्यमिक विद्यालय – विराटनगर महानगरपालिका, मोरङ
    जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय – बराहक्षेत्र नगरपालिका, सुनसरी
    पब्लिक हाई स्कुल – धरान उप महानगरपालिका, सुनसरी

    २. मधेश प्रदेश (३३ वटा विद्यालय)

    शंकट मोचन देवशरण माध्यमिक विद्यालय – जनकपुरधाम उप महानगरपालिका, धनुषा
    जनता मोडेल माध्यमिक विद्यालय – विदेह नगरपालिका, धनुषा
    विद्यानाथ देवनारायण जनता मोडेल विद्यालय – मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा
    गोगल प्रसाद नमुना माध्यमिक विद्यालय – जनकपुरधाम उप महानगरपालिका, धनुषा
    याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय – जनकपुरधाम उप महानगरपालिका, धनुषा
    नरसिंह माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा
    त्रिजुद्ध महावीर रघुवीर दास माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा
    जिल्ला उचाङ्गाल रामदेव – कलवार माध्यमिक विद्यालय – पोखरिया नगरपालिका, पर्सा
    माइस्थान विद्यापिठ माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा
    नेपाल राष्ट्रिय मोडल माध्यमिक विद्यालय – जितपुर सिमरा उप महानगरपालिका, बारा
    दुर्गा माध्यमिक विद्यालय – कलैया उप महानगरपालिका, बारा
    गौरीशंकर माध्यमिक विद्यालय – निजगढ नगरपालिका, बारा
    गढीमाई महेन्द्र प्राविधिक माध्यमिक विद्यालय – महागढीमाई नगरपालिका, बारा
    श्री ३ चन्द्र माध्यमिक विद्यालय – कलैया उप महानगरपालिका, बारा
    भेरुखी माध्यमिक विद्यालय – लोहरपट्टी नगरपालिका, महोत्तरी
    राष्ट्रिय माध्यमिक विद्यालय – साम्सी गाउँपालिका, महोत्तरी
    महेन्द्र रा माध्यमिक विद्यालय – रामगोपालपुर नगरपालिका, महोत्तरी
    सरस्वती माध्यमिक विद्यालय – गढीमाई नगरपालिका, रौतहट
    कटहरिया माध्यमिक विद्यालय – कटहरिया नगरपालिका, रौतहट
    जनता माध्यमिक विद्यालय सोनरनिया – मौलापुर नगरपालिका, रौतहट
    जुद्द माध्यमिक विद्यालय – गौर नगरपालिका, रौतहट
    नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय – राजदेवी नगरपालिका, रौतहट
    रामचन्द्र माध्यमिक विद्यालय – गरुडा नगरपालिका, रौतहट
    नमुना माध्यमिक विद्यालय वरगजवा – वृन्दावन नगरपालिका, रौतहट
    जनज्योति माध्यमिक विद्यालय – चन्द्रपुर नगरपालिका, रौतहट
    जय किसन माध्यमिक विद्यालय – देबाही गोनाही गाउँपालिका, रौतहट
    माध्यमिक विद्यालय पथरा बुधराम – मौलापुर नगरपालिका, रौतहट
    सरस्वती माध्यमिक विद्यालय – दुर्गा भगवती गाउँपालिका, रौतहट
    नारायण माध्यमिक विद्यालय – ईश्वरपुर नगरपालिका, सर्लाही
    जनज्योती माध्यमिक विद्यालय – लालबन्दी नगरपालिका, सर्लाही
    बेनीभोला मोडेल माध्यमिक विद्यालय – गोडैता नगरपालिका, सर्लाही
    मोहन माध्यमिक विद्यालय – मिर्चैया नगरपालिका, सिरहा
    चन्द्र माध्यमिक विद्यालय – सिरहा नगरपालिका, सिरहा

    ३. बागमती प्रदेश (२ वटा विद्यालय)

    गान्धी माध्यमिक विद्यालय – कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं
    नारायणी नमूना माध्यमिक विद्यालय – भरतपुर महानगरपालिका, चितवन

    ४. गण्डकी प्रदेश (६ वटा विद्यालय)

    अमरसिंह माध्यमिक विद्यालय – पोखरा महानगरपालिका, कास्की
    कालिका माध्यमिक विद्यालय – पोखरा महानगरपालिका, कास्की
    छोरेपाटन माध्यमिक विद्यालय – पोखरा महानगरपालिका, कास्की
    जनक माध्यमिक विद्यालय – गैडाकोट नगरपालिका, नवलपरासी पूर्व
    भीमसेन आदर्श माध्यमिक विद्यालय – देवचुली नगरपालिका, नवलपरासी पूर्व
    सत्यवती माध्यमिक विद्यालय – व्यास नगरपालिका, तनहुँ

    ५. लुम्बिनी प्रदेश (२१ वटा विद्यालय)

    नेपाल आदर्श माध्यमिक विद्यालय – शिवराज नगरपालिका, कपिलवस्तु
    जनता माध्यमिक विद्यालय – बाणगंगा नगरपालिका, कपिलवस्तु
    पद्मोदय पब्लिक माध्यमिक विद्यालय – घोराही उप महानगरपालिका, दाङ
    माध्यमिक विद्यालय रजेना – घोराही उप महानगरपालिका, दाङ
    माध्यमिक विद्यालय तुलसीपुर सेन्टर – तुलसीपुर उप महानगरपालिका, दाङ
    सिद्द रत्न माध्यमिक विद्यालय – तुलसीपुर उप महानगरपालिका, दाङ
    गुरु जजुर माध्यमिक विद्यालय – तुलसीपुर उप महानगरपालिका, दाङ
    बाल विकास माध्यमिक विद्यालय – घोराही उप महानगरपालिका, दाङ
    रामतुलसी माध्यमिक विद्यालय – रामपुर नगरपालिका, पाल्पा
    त्रिभुवन माध्यमिक विद्यालय – कोहलपुर नगरपालिका, बाँके
    धम्बोझी माध्यमिक विद्यालय – नेपालगञ्ज उप महानगरपालिका, बाँके
    मङ्गलप्रसाद माध्यमिक विद्यालय – नेपालगञ्ज उप महानगरपालिका, बाँके
    कालिका मानव ज्ञान माध्यमिक विद्यालय – बुटवल उप महानगरपालिका, रुपन्देही
    नविन औद्योगिक रिता माध्यमिक विद्यालय – बुटवल उप महानगरपालिका, रुपन्देही
    शान्ति नमुना माध्यमिक विद्यालय – तिलोत्तमा नगरपालिका, रुपन्देही
    कान्ति भैरम माध्यमिक विद्यालय – बुटवल उप महानगरपालिका, रुपन्देही
    पब्लिक माध्यमिक विद्यालय – सियारी गाउँपालिका, रुपन्देही
    रामापुर माध्यमिक विद्यालय – सैनामैना नगरपालिका, रुपन्देही
    सैनामैना माध्यमिक विद्यालय – सैनामैना नगरपालिका, रुपन्देही
    रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय – सिद्धार्थनगर नगरपालिका, रुपन्देही
    बालकल्याण माध्यमिक विद्यालय – रोल्पा नगरपालिका, रोल्पा

    ६. कर्णाली प्रदेश (३ वटा विद्यालय)

    चन्दननाथ माध्यमिक विद्यालय – चन्दननाथ नगरपालिका, जुम्ला
    अमरज्योति माध्यमिक विद्यालय – वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
    जन माध्यमिक विद्यालय – वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

    ७. सुदूरपश्चिम प्रदेश (६ वटा विद्यालय)

    महेन्द्रनगर माध्यमिक विद्यालय – भीमदत्त नगरपालिका, कञ्चनपुर
    त्रिनगर माध्यमिक विद्यालय – धनगढी उप महानगरपालिका, कैलाली
    दुर्गालक्ष्मी मोडेल माध्यमिक विद्यालय – गोदावरी नगरपालिका, कैलाली
    कर्णाली माध्यमिक विद्यालय – टीकापुर नगरपालिका, कैलाली
    महेन्द्र मोडल माध्यमिक विद्यालय – महाकाली नगरपालिका, दार्चुला
    मालिका माध्यमिक विद्यालय – बडीमालिका नगरपालिका, बाजुरा

  • राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन

    राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन


    काठमाडौं, असोज २९। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ।


    विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणका लागि स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खाना, खाजा र पेय पदार्थ बिक्री-वितरण गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरिएको छ।


    सूचनाअनुसार होटल तथा रेस्टुरेन्टले ग्राहकले सहजै देख्न सक्ने स्थानमा मूल्यसूची राख्नुपर्नेछ। बिक्री गरिएका वस्तु तथा प्रदान गरिएका सेवाको वास्तविक मूल्य खुल्ने गरी ग्राहकलाई अनिवार्य रूपमा बिल वा बिजक दिनुपर्नेछ।


    त्यस्तै, खाद्यवस्तुको तयारी, भण्डारण तथा बिक्री-वितरणमा स्वच्छता र गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्न, भान्सा, भोजन कक्ष, भाँडाकुँडा, खानेपानी र शौचालयमा सरसफाइ कायम राख्न तथा म्याद गुज्रिएका, दूषित र खान अयोग्य खाद्यवस्तु बिक्री नगर्न विभागले निर्देशन दिएको छ।


    विभागले उपभोक्तालाई मर्यादित, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्न पनि व्यवसायीहरूलाई आग्रह गरेको छ। अनुगमनका क्रममा प्रचलित कानुन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी व्यवस्थाको उल्लङ्घन भएको पाइएमा कानुनबमोजिम आवश्यक कारबाही गरिने विभागले जनाएको छ।


    विभागको यस कदमले राजमार्गमा यात्रा गर्ने उपभोक्तालाई स्वच्छ खाद्यवस्तु, उचित मूल्य र पारदर्शी सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • उद्योगमन्त्री ई. दीपक कुमार साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

    उद्योगमन्त्री ई. दीपक कुमार साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

    काठमाडौं, असोज २९। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
    भेटवार्ताका क्रममा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
    छलफलमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार, औद्योगिक विकास र आर्थिक साझेदारीका सम्भावनालाई अघि बढाउने विषयले महत्त्व पाएको छ।
    त्यसैगरी, उद्योग तथा पूर्वाधार क्षेत्रमा लगानीका अवसर पहिचान गर्ने, व्यापारिक सहकार्यलाई थप प्रभावकारी बनाउने र दुवै देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सहकार्यको सम्भावनाबारे विचार आदानप्रदान भएको छ।
    भेटवार्ताले नेपाल–चीनबीचको पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी हित र आर्थिक समृद्धिका क्षेत्रमा सहकार्य अघि बढाउने महत्त्वलाई उजागर गरेको छ।

  • निकुञ्जमा जिप सफारी सुरु

    निकुञ्जमा जिप सफारी सुरु

    चितवन, २६ असोजः चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुन ःसुरुआत गरिएको छ । बर्सातसँगै असार १७ गतेदेखि बन्द गरिएको निकुञ्ज भित्रको जिप सफारी यही असोज २३ गतेदेखि सुरु गरिएको हो । बर्सातले बिग्रिएका निकुञ्ज भित्रका सडकहरु मर्मत गरेर जिप सफारी सुरु गरिएको हो । वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटोहरु मर्मत, ढलेका रूख पन्छाउने, झाडी फाँड्ने लगायतका कामहरु सकिएसँगै जिप सफारी सुरु गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । यही असोजको दोस्रो साता आएको बाढीले जङ्गल सफारी गर्ने रुटहरू भत्काएका कारण जङ्गल सफारी खुला गर्न समय लागेको उनले बताए ।


    निकुञ्जभित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने जिप तथा हात्ती सफारी सबै समयमा यथावत् अवस्थामा हुने गर्दछ । निकुञ्जमा सौराहा क्षेत्रबाट ३२ वटा, कसराबाट २२ वटा यस्तै मेघौलीबाट ११ वटा, अमलटारीबाट आठवटा र माडीबाट एउटा जिपहरू निकुञ्जभित्र चल्ने गर्दछन् । ती जिपमा चढेर पर्यटकले निकुञ्ज घुम्ने गर्दछन् । यहाँ मुख्य रुपमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् ।

  • बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्रः नेपाल रेडक्रस

    बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्रः नेपाल रेडक्रस

    काठमाडौँ, २६ असोजः नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको खोज तथा उद्धार, राहत वितरण सहित प्रतिकार्यलाई तीव्रता दिएको छ । आइतबार बिहान गोरखाको चुमनुव्री गाउँपालिका ६ स्थित लोक्पा र चुम्लिङको बीचमा गएको पहिरोका कारण बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी गएको थियो।

    बाढीका कारण तल्लो तटीय क्षेत्रमा ठूलो भौतिक क्षति भएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणको प्रारम्भिक विश्लेषणअनुसार बाढीबाट पाँच जना सम्पर्कविहीन भएका छन् भने दुई पक्की पुल, दुई झोलुङ्गे पुल, तीन जलविद्युत् आयोजना, चार हवन कुण्ड, ४५ घर पूर्ण क्षति २७ आंशिक क्षति, ३४ गोठ र तीन सवारीसाधनमा क्षति भएको छ ।

    नेपाली सेनाको चारवटा हेलिकप्टरमार्फत नौजना विदेशीसहित ८२ जनालाई तत्काल उद्धार पनि गरिएको छ । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालले बाढीको क्षतिको आकलनसहित तत्काल बाढी प्रतिकार्यमा नेपाल रेडक्रसका स्वयंसेवक परिचालन गरिएको र गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पु¥याउन काम भएको जानकारी दिए । उनले भने, “बाढी गएको सूचना प्राप्त गर्नासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपुर पूर्व र पश्चिमका स्वयंसेवकलाई परिचालन ग¥यौँ । उहाँहरुले पूर्वसूचना प्रवाहित गर्नुभयो । प्रतिकार्य जारी छ ।”

    बाढीको तत्काल प्रतिकार्यका लागि गैरखाद्य सामग्री सहित अन्य सामग्री प्रभावित क्षेत्रमा पठाउने काम भएको र यो कार्य जारी रहेको नेपाल रेडक्रसले जनाएको छ । महामन्त्री खनालका अनुसार हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकण र नेपाली सेनाको सहकार्य र समन्वयमा आइतबार नै गैरखाद्य सामग्री त्रिपाल (तारपोलियन)ं, म्याट्रेस, ब्ल्याङ्केट, डिग्निटी किटलगायत प्रभावित क्षेत्रमा पठाइएको छ । साथै अस्पताल सञ्चालन गर्न सकिने ठूला ÷ठूला दुईवटा टेन्ट पनि प्रभावित क्षेत्रमा पठाइएको उनले बताए ।


    महामन्त्री खनालले भने, “ क्षतिको अध्ययन गर्न विज्ञ जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिसकिएको र थप आवश्यक गैरखाद्य सामग्री आज सरकारको समन्वयमा पठाइँदै छ । प्रभावित क्षेत्रमा मानवीय सेवा पु¥याउन स्वयंसेवक तल्लीन छन् । बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण जारी छ । ”

  • नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

    नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

    काठमाडौँ, २६ असोजः बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् । नयाँ बसपार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो ।

    नयाँबसपार्क सञ्चालन गरेको संस्था लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले यही असोज १७ देखि २५ गतेसम्म नयाँबसपार्कबाट मात्र दुई लाख सात हजार २५१ यात्रु बाहिरिएको राससलाई जानकारी दिए । उनका अनुसार असोज १७ गते १८ हजार ७२९, असोज १८ गते १९ हजार ५३०, असोज १९ गते २३ हजार १६, असोज २० गते २९ हजार ६०२, असोज २१ गते २२ हजार २८८, असोज २२ गते २५ हजार २०१, असोज २३ गते ३१ हजार २३५, असोज २४ गते १६ हजार ९७० र असोज २५ गते २९ हजार ३८० यात्रु बाहिरीएका छन् ।

    दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताए । यही असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमा रोकिँदा समस्या भएको महासचिव गौतमले बताए ।
    महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ । दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ ।

  • दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    काठमाडौँ, २६ असोजः नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

    संसारका समग्र प्राणीलाई सच्चिदाननद रूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आरधना गरिने हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

  • भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

    भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

    म्याग्दी, २६ असोजः बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ ।

    पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्य पहाडी लोकमार्ग भएर बागलुङ, रुकुम पुर्व–पश्चिम, जाजरकोटका पोखरा–काठमाडौँ जाने–आउने सवारीसाधनहरुले पनि बागलुङ–बेनी–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गरिरहेका छन् । बेनी –२ खबराका कमल सुवेदीले सडक दवेको ठाउँमा हिलोमा गाडी फस्ने, उकालो उक्लने नसक्ने, सवारीसाधनको जाम हुने, साँघुरो भएकाले दुर्घटनाको पनि जोखिम भएको बताए ।


    “नदी कटान र पहिरोका कारण एक सय मिटर दूरीमा सडक साविकको भन्दा दुईदेखि तीन मिटर भासिएको र दबेको छ,” उनले भने, “सवारीसाधनको चाप बढेको हुँदा घण्टौँ जाम हुने गरेको छ ।” आर्थिक वर्ष २०८१–८२ मा सडक डिभिजन कार्यालय बागलुङले भसभसे पहिरोको भूमिगत पानी व्यवस्थापन र हिलोमा ढलान गरेको थियो । हाल ढलान गरेको सडक सबै भासिएको छ । जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले भसभसेमा यातायात व्यवस्थापनका लागि सडक डिभिजन कार्यालयले मर्मत र उपकरण परिचालन गरे पनि प्रतिकूल भूगोलका कारण समाधान हुन नसकेको बताए ।


    “सडक डिभिजनले ग्राभेल राखे पनि दबेर भोलिपल्ट पहिलेको जस्तो अवस्था हुन्छ,” उनले भने, “सडक भासिने र दब्ने क्रम नरोकिएकाले फसेका गाडीलाई डोजरको सहयोगले तार्ने गरिएको छ ।” भसभसे पहिरोका कारण खबरा गाउँ पनि जोखिममा परेको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पक्की पर्खाल गरेर तटबन्धका साथै पहिरोग्रस्त ठाउँमा ग्रेड मिलाउने र पक्की बनाउन सडक डिभिजन कार्यालयमार्फत पहल गरिएको कार्यवाहक जिसस प्रमुख खत्रीले बताए ।

  • नौ वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिकलाई

    नौ वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिकलाई

    कञ्चनपुर, २६ असोजः कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशिफ कुँवर (भुन्टु)ले नौ वर्षदेखि आफूले पाउँदै आएको तलबभत्ताबापतको रकम वडाका जेष्ठ नागरिक र अपाङ्गा भएका व्यक्तिलाई वितरण गर्दै आएका छन् । पहिलोपटक २०७४ सालमा वडाध्यक्षमा निर्वाचित भएपछि कुँवरले राज्यबाट प्राप्त हुने तलबभत्ता तथा सेवा सुविधा नलिने घोषणा गरेका थिए । त्यसयता उनले आफूले पाउँदै आएको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आएका छन् ।


    विसं २०७९ को निर्वाचनमा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित हुनुभएका कुँवरले जनप्रतिनिधिका रूपमा प्राप्त हुने सबै सुविधा वितरण गर्दै आएका छन् । वर्षभरिको तलबभत्ता जम्मा गरेर दसैँका बेला वितरण गर्ने उनले आइतबार घटस्थापनाको अवसर पारेर वडाका १५८ जना ज्येष्ठ नागरिक र सात जना अपाङ्गता भएका व्याक्तिलाई जनही रु एक हजार ५०० का दरले वितरण गरे ।


    “हामी बूढापाकाले दसैँको बेला सहयोग प्राप्त गर्दा असाध्यै खुसी छौं, स्थानीय लीला लामिछानेले भने, “अध्यक्षले हरेक वर्ष दसैँमा यसरी नै सहयोग गर्दै आउनुभएको छ ।” स्थानीय तहमा जनप्रतिनिधिले पाउने सेवा सुविधाका बारे विभिन्न बहस भइरहेका बेला कुँवरको यो अभ्यासको स्थानीयले प्रशंसा गरेका छन् । स्थानीय तुलसी बोहराले भने, “ठूलो पदमा पुगे अझै हाम्रो वडाका काम गर्नुहुथ्यो ।”

    ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई वितरण गरिएको रकमले चाडपर्वका बेला आवश्यक सामग्री खरिद गर्न केही सहयोग पुग्ने उनले बताए । वडाअध्यक्ष कुवँरले राज्य सङ्कटमा रहेका बेला जनप्रतिनिधिले सेवा सुविधा लिनु उचित नहुने बताए । “जनप्रतिनिधि जनताका सेवक हुन्, जनप्रतिनिधिले राज्यको सेवा सुविधा लिनुभन्दा पनि जनताका लागि सेवा गर्ने हो”, अध्यक्ष कुवँरले भने । “२०७४ सालमा पहिलोपटक निर्वाचित हुँदादेखि नै मैले एक वर्षको पारिश्रमिक जम्मा गरेर चाडपर्वका बेला वडाका ज्येष्ठ नागरिक र असहायलाई वितरण गर्दै आएको छु ।”

  • आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

    आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

    दमौली (तनहुँ), २६ असोजः दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । फूलखेतीले स्थानीय ४५ महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढाएको छ ।

    सामूहिक रूपमा फूलखेती गर्दै आएका महिला यतिबेला फूल टिप्न र बजारमा बिक्री गर्न व्यस्त छन् । पहिलो टिपाइमै ५० किलो फूलको माग आएपछि समूहमा उत्साह थपिएको छ । स्थानीयस्तरमै उत्पादन भएको फूल बिक्री गरेर आम्दानी गर्न पाउँदा महिलालाई आफ्नै श्रमबाट आर्थिक रूपमा सबल बन्ने अवसर मिलेको छ ।

    महिला समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार फूलखेतीलाई व्यावसायिक रूपमा अघि बढाउँदै आएका महिला शनिबारदेखि फूल टिप्ने र बिक्री गर्ने काममा जुटेका हुन् । पहिलो टिपाइमै माग आउनुले फूलखेतीको बजार सम्भावनालाई थप उत्साहजनक बनाएको उनले बताइन् । “दमौलीमा कोसेली घर सञ्चालन गर्दै आउनुभएकी उद्यमी कल्पना गौलीले ५० किलो फूलको माग गर्नुभएकाले फूल टिप्न सुरु गरेका छौँ”, गुरुङले भनिन् ।


    महिलालाई सामूहिक उद्यममा जोड्दै स्थानीयस्तरमा आयआर्जनको अवसर सृजना गर्ने उद्देश्यले सुरु गरिएको फूलखेतीले आर्थिक आत्मनिर्भरतामा सहयोग पुर्याएको उनको भनाइ छ । सामूहिक रूपमा खेती गर्दा श्रम र अनुभव साटासाट गर्न सहज हुनुका साथै स्थानीय स्रोतसाधनको उपयोगबाट आम्दानी गर्ने अवसर मिलेको उनले बताइन् ।


    गुरुङका अनुसार फूलखेतीलाई निरन्तरता दिँदै उत्पादन बढाउन र बजार विस्तार गर्नसके महिलाको आम्दानी विस्तार गर्न सकिन्छ । स्थानीयस्तरमै सयपत्री फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता हटेको उनले बताइन् । उनका अनुसार फूल प्रतिकिलो रु ४०० सम्म बिक्री हुने गरेको छ ।

    आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार आँधीमूल यानचोकमा विगत तीन वर्षदेखि सयपत्री फूलखेती हुँदै आएको छ । महिलाको सहभागितामा विस्तार हुँदै गएको यस खेतीले उनीहरूलाई उत्पादनमूलक कामसँग जोड्नुका साथै आयआर्जनको अवसर सृजना गरेको उनले बताए ।


    केसीका अनुसार यहाँ उत्पादित फूलको बजारमा समस्या छैन “फूलखेतीले स्थानीय महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्याएको छ । यहाँ उत्पादित फूलको बजारमा समस्या छैन”, उनले भने । स्थानीयस्तरमा फूल उत्पादन र बिक्रीको सम्भावना देखिएसँगै खेतीलाई थप व्यवस्थित बनाउँदै लैजान सकिने उनले बताए । महिलाको सहभागिता बढ्दै जाँदा आफ्नै श्रम र उत्पादनबाट आम्दानी गर्ने अवसर विस्तार हुँदै गएको उनको भनाइ छ।

  • सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

    सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार

    भूमिराज पिठातोली–रासस
    बझाङ, २६ असोजः घरमा आमा छिन् । परिवार छ । आफन्त छन् । दसैँमा टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्ने रहर पनि छ । तर बझाङको साइपाल गाउँपालिकाका घुरनबहादुर बोहराका लागि चाडपर्व घर फर्किने समय होइन, व्यापारका लागि घर छाड्ने समय हो । घुरन भेडाच्याङ्ग्राको बथान लिएर पोखरा र काठमाडौँ पुग्छन् । सहरका भान्सामा हिमालका भेडाच्याङ्ग्राको मासु पाकिरहँदा आफ्नै घरमा आमाको हातबाट टीका थाप्न र परिवारसँगै बसेर दसैँ मनाउनबाट वञ्चित हुनुपर्छ ।

    घुरनसहितका व्यापारीको श्रमले सहरको चाडलाई स्वाद दिन्छ, तर त्यही व्यापारले आफ्नै चाडको खुसी खोसिदिन्छ । साइपाल गाउँपालिका–१ धलौनका घुरनबहादुरले दसैँमा आमाको हातबाट टीका नथापेको १५ वर्षभन्दा बढी भइसक्यो । भेडाच्याङ्ग्राको व्यापार उहाँका लागि आम्दानीको महत्त्वपूर्ण स्रोत हो । त्यसैले चाडपर्वमा घर फर्किने रहर भएर पनि व्यापारको जिम्मेवारीले बजारतर्फ डोहोर्याउँछ । आमाको आशीर्वाद फोनबाटै लिनुपर्छ । सन्तानलाई शुभकामना पनि फोनबाटै दिनुपर्छ । “घरको एक्लो छोरो, त्यो पनि घर नहुँदा आमालाई दसैँ आएजस्तो नै लाग्दैन । परिवारको मुख्य व्यक्ति नहुँदा चाडपर्व टाढिएकै जाती भन्छन्”, घुरन सुनाउँछन् ।


    साइपाल गाउँपालिका–२ धलौनका उज्ज्वल बोहराको अनुभव पनि उस्तै छ । उहाँले पनि डेढ दशकदेखि दसैँ–तिहार परिवारसँग बसेर मनाउन पाएका छैनन् । दसैँ बाटोमै बित्छ, तिहार सहरकै व्यस्ततामा सकिन्छ । “वर्षभरिको आम्दानी हुने चाडवाडको बेला दसैँ सम्झेर घरमै बस्न सकिँदैन । परिवारलाई सम्झनुपर्छ र बाटो लाग्नुपर्छ”, उज्ज्वल भन्छन् ।


    घुरन, उज्ज्वल, राजेन्द्र, सुरेन्द्रजस्ता व्यापारी तथा सहयोगी साइपालमा सय जनाभन्दा बढी छन् । साइपालबाट भेडाच्याङ्ग्रा लिएर पोखरा र काठमाडौँ जानेको सङ्ख्या डेढ सयभन्दा बढी हुन्छ । ट्रक चालकहरू बजार पुगेको भोलिपल्टै फर्किए पनि भेडा च्याङ्ग्राका साहु र सहयोगीलाई बिक्री गर्न समय लाग्छ । उनीहरूको दसैँ–तिहार बाटोमै सकिन्छ ।

    “बीचमा कसैले टीका लगाइदिएमा कानमा जमरा सिउरिएर पर्व मनाएको अनुभूति गर्न पाइन्छ”, साइपाल–१ का रमेश धामीले भने, “नत्र निधारमा टीका र कानमा जमरा नलगाई चाड बित्छ । परिवारसँगको भेटघाट र सामूहिक खुसी व्यापारको व्यस्तताले टाढा पुर्याउँछ ।” साइपालबाट व्यावसायिक रूपमा भेडाच्याङ्ग्रा पोखरा पठाउन थालिएको २०६८ सालदेखि हो । त्यसअघि साइपालका युवा मुगु, हुम्ला र जुम्लाका व्यापारीसँग सहयोगीका रूपमा पोखरा जाने गर्थे । स्थानीय भेडाच्याङ्ग्रा खरिद गर्न आउने व्यापारीले पशुको हेरचाह र ढुवानीमा सहयोग गर्ने मानिस खोज्थे ।

    घुरनबहादुरले पनि २०६४ सालमा सहयोगीका रूपमा पोखरा पुगेर यो व्यवसायको अनुभव बटुटेका थिए । “म सुरुमा २०६४ सालमा सहयोगीको रूपमा पोखरा पुगेको थिएँ”, उनी भन्छन्, “मुगु, हुम्ला, जुम्लाका व्यापारी हाम्रै भेडाच्याङ्ग्रा किन्न आउँथे । भेडासँगै सहयोगी पनि खोज्थे । उहाँहरूसँग आफ्नै भेडाच्याङ्ग्राका सहयोगी भएर गन्तव्यमा पुग्थ्यौँ । साहुले काम गरेको पैसा दिन्थे र फर्किन्थ्यौँ ।”

    सहयोगीका रूपमा काम गर्दा पशु खरिद, ढुवानी र बिक्रीको अनुभव हासिल गरेको उनी बताउँछन् । “सहयोगीका रूपमा चार वर्षको अनुभवपछि आफैँले टिम बनाएर व्यावसायिक रूपमा भेडाच्याङ्ग्रा निर्यातमा लागेँ ।” “सुरुको वर्ष कर्णालीका विभिन्न जिल्ला हुँदै पोखरा भेडा हिँडाएर पुर्यायौँ । त्यो बेलामा बेच्दै हिँड्दै गर्यौँ । ठ्याक्कै एक महिना लागेको थियो”, उनी भन्छन् । पहिले पशु हिँडाएरै लामो दूरी पार गर्नुपर्ने अवस्था थियो । अहिले भने ट्रकमा ढुवानी गरिने उनले बताए ।


    उच्च हिमाली क्षेत्रमा जडीबुटी र प्राकृतिक घाँस खाएर हुर्किएका भेडाच्याङ्ग्राको मासुको स्वाद पोखरामा विस्तारै लोकप्रिय हुँदै गएको व्यापारीको अनुभव छ । सोही ठाउँका व्यापारी राजेन्द्रबहादुर धामी भन्छन्, “पोखराबाट सुरु भएको बजार काठमाडौँसम्म फैलिएको छ । ग्राहक बढेसँगै कतिपयले व्यापारी पुग्न ढिला भए पनि प्रतीक्षा गर्ने गरेका छन् ।” यसले हिमाली क्षेत्रका पशुपालक र व्यापारीका लागि नयाँ बजारको सम्भावना खोलेको छ । गाउँमा पालिएका पशु स्थानीय बजारमा मात्र सीमित नरही टाढाका उपभोक्तासम्म पुग्न थालेका छन् ।

    उपभोक्ताको हातमा नपुगुन्जेल दुःखैदुःख

    बझाङबाट पोखरा भेडाच्याङ्ग्रा पुर्याउन सामान्य अवस्थामा पाँच दिन लाग्छ । कतिपय अवस्थामा एक सातासम्म बाटोमै बित्छ । पशुलाई दिनभर गाडीमा राखेर लैजान सकिँदैन । बिहानदेखि दिनभर नजिकका वन तथा चरन क्षेत्रमा चराउनुपर्छ । साँझ भएपछि मात्र गाडीमा लोड गरेर यात्रा अघि बढाइन्छ । धेरै सङ्ख्यामा ल्याउँदा पनि चुनौती हुने गरेको धामी बताउँछन् ।

    धामीका अनुसार यस वर्षमात्रै साइपाल गाउँपालिकाबाट ३८ ट्रक भेडाच्याङ्ग्रा पोखरा र काठमाडौँका लागि पठाइएको छ । गत वर्ष यस्तो सङ्ख्या २८ ट्रक थियो । जिल्लाभरबाट भने करिब ६० ट्रकबराबर भेडाच्याङ्ग्रा पोखरा निर्यात हुने गरेको उनी बताउँछन् ।


    एउटा ट्रकमा औसतमा ६५ वटा भेडाच्याङ्ग्रा अटाउने व्यापारीको विवरण छ । यस हिसाबले साइपालबाट यस वर्ष पठाइएका ३८ ट्रकमा औसत क्षमताअनुसार करिब दुई हजार ४७० वटा भेडाच्याङ्ग्रा ढुवानी भए । गाउँपालिकाले भेडाच्याङ्ग्रा निर्यातबापत प्रतिगोटा रु १०० का दरले राजस्व सङ्कलन गर्ने गरेको छ । साइपाल गाउँपालिकाका नायब प्राविधिक सहायक सुमन सिंहले भने, “पालिकाको कार्यपालिकाको निर्णयअनुसार राजस्वबापत प्रतिगोटा रु १०० का दरले सङ्कलन गरेका छौँ ।”

    यसले स्थानीय तहमा व्यापार राजस्वको स्रोत देखिने उनले बताए ।
    उहाँका अनुसार बझाङको सुर्मा, छविसपाथिभेरा, बुङ्गल नगरपालिका, मस्टा, साइपाल र तलकोट गाउँपालिकाले पनि यसरी नै राजस्व सङ्कलन गर्ने गरेको छ । सङ्ख्या एकिनपछि पालिकाको सिफारिससहित आवश्यक कागजात तयार पारेर भेडाच्याङ्ग्रा निर्यात गर्ने गरेको उनले बताए ।
    एउटा पशुमा पाँच हजारसम्म अतिरिक्त खर्च

    साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीका अनुसार एउटा भेडाच्याङ्ग्राको यात्रामा रु पाँच हजारसम्म अतिरिक्त खर्च हुन्छ । गाउँमा एउटा भेडाच्याङ्ग्रा खरिद गर्न रु २५ हजारदेखि रु ३० हजारसम्म लगानी गर्नुपर्ने उनी बताउँछन् । खरिदपछि ढुवानी, चरिचरन, खाना, जनशक्ति र बाटोका अन्य खर्च थपिन्छन् । “रु २५–३० हजारसम्ममा भेडाच्याङ्ग्रा खरिद गर्नुपर्छ”, धामी भन्छन्, “तर बजारमा कहिलेकाहीँ राम्रो मूल्य नपाउँदा निकै घाटा व्यहोर्नुपर्ने हुन्छ ।”

    धेरै पशु एकैपटक खरिद गर्ने व्यापारीले ठूलो रकम लगानी गर्नुपर्छ । बजारसम्म पुग्दा थप खर्च भइसकेको हुन्छ । तर बिक्री मूल्य सुनिश्चित हुँदैन । अपेक्षित मूल्य नपाएमा लगानी उठाउन कठिन हुने गरेको धामीले बताए । व्यापारको अर्को जोखिम उपभोक्ताको धारणा पनि हो । धामीका अनुसार अघिल्लो वर्ष बझाङबाट लगिएका च्याङ्ग्रा वास्तविक नभएको भन्ने अफवाह फैलिएपछि बजार प्रभावित भएको थियो । अन्ततः व्यापारीले लिलामी गरेजस्तै गरी बेचेर फर्किनुपरेको उनले सुनाए ।


    लामो दूरीको यात्रा गर्दा व्यापारीले आर्थिक जोखिममात्रै उठाउँदैनन्, सामाजिक र व्यावहारिक कठिनाइ पनि भोग्छन् । पशुलाई बाटोमा चराउन स्थानीयसँग अनुमति लिनुपर्छ । कतिपय ठाउँमा चरन प्रयोग गरेबापत रकम तिर्नुपर्छ । तर पैसा तिरेपछि पनि व्यवहार सहज हुँदैन । “चराउन नपाए भेडा च्याङ्ग्रा बाटोमै मर्छन् । कतै बिरामी हुन्छन् । त्यस्तो अवस्थामा सबै नोक्सान हुन्छ । बाटोमा चरिचरन गर्दा स्थानीयबाट अपमान सहनुपर्छ, गाली सहनुपर्छ”, धामी भन्छन् ।


    बाटोमा सुरक्षाले पनि निकै दुःख दिने गरेको उनीहरुको बुझाइ छ । सबै प्रक्रिया पुर्याउँदा पनि बाटोमा सुरक्षा निकायले अनेक झमेला गर्छन् । धुरनले भने, “हामी जिल्लाबाट बाहिर जाँदा सबै कागजात तयार गरेर मात्रै जान्छौँ । तर, बीचमा सुरक्षा निकायले कतै कागजात नपुगेको, लाइसेन्स वा बिलबुकसम्बन्धी कतै न कतै खोट देखाएर झमेलामा अल्झाउँछन् ।”

    स्वास्थ्य परीक्षणपश्चात निर्यात

    ठूलो सङ्ख्यामा भेडाच्याङ्ग्रा एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा पशुको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । लामो दूरीको ढुवानी र विभिन्न स्थानमा पशुको जमघट हुँदा सङ्क्रमण तथा रोग फैलिन सक्ने जोखिम हुने भन्दै परीक्षण गरेरमात्रै निर्यात गर्ने गरिएको छ । पशु चिकित्सक डा रवि थारूका अनुसार जिल्लाबाट भेडाच्याङ्ग्रा पठाउँदा परीक्षण गरेर पठाउने गरिएको छ ।

    “यति ठूलो मात्रामा पठाउँदा बिनापरीक्षण पठाएमा कुनै सङ्क्रमण वा रोग फैलन सक्छ”, थारू भन्छन्, “त्यसैले पशुको परीक्षण, प्राथमिक उपचारका लागि औषधि, व्यवसायीसँग आवश्यक कागजात सबै पूरा गरेपछि मात्रै पठाउँछौँ ।” स्वास्थ्य परीक्षणले सम्भावित रोगको जोखिम कम गर्न र उपभोक्तासम्म स्वस्थ पशु पुर्याउन सहयोग गर्ने उनले बताए ।

  • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    नारायणगढ (चितवन), २६ असोजः नारायणगढ बजारमा चाडपर्वका समयमा हुने भीडभाड र अव्यवस्थित गतिविधि नियन्त्रण गरी बजारलाई व्यवस्थित बनाउन गठित बजार व्यवस्थापन कार्यदल (टास्क फोर्स) सक्रिय भएको छ । नारायणगढमा चाडपर्वका समयमा किनमेल गर्नेको चाप बढ्ने भएकाले बजार व्यवस्थापन, शान्ति–सुरक्षा, सवारी आवागमन तथा बजार अनुगमनलाई प्रभावकारी बनाउन टास्क फोर्सले सरोकारवाला निकायसँग समन्वय गरी काम अघि बढाएको हो ।

    टास्क फोर्सका संयोजक एवं चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले चाडपर्वका समयमा बजारमा हुने भीडभाडका कारण व्यवसायी तथा उपभोक्ताले भोग्नुपर्ने समस्या समाधान गर्न कार्यदल सक्रिय भएको जानकारी दिए । उनले भने, “चाडपर्वमा बजारमा भीड बढ्छ । त्यसले गर्दा ग्राहकलाई किनमेल गर्न समस्या नहोस् भनेर हामी लागेका हौँ । ठेला तथा पोके व्यापारीका कारण अन्य व्यवसायी र ग्राहकलाई आवतजावतमा समस्या पर्ने गरेको छ । यसको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै आएका छौँ ।”

    उनका अनुसार टास्क फोर्सले चाडपर्वका समयमा मात्र नभई अन्य समयमा पनि जथाभावी सञ्चालन हुने ठेला तथा पोके व्यापारलाई तोकिएको स्थान र मापदण्डअनुसार व्यवस्थित गर्ने, उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउन नियमित बजार अनुगमन गर्ने तथा सवारी चाप र भीडभाड नियन्त्रणका लागि ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्ने कामलाई प्राथमिकता दिएको छ ।

    चाडपर्वका समयमा सर्वसाधारण तथा उपभोक्ताले सहज, सुरक्षित र सुलभ रूपमा किनमेल गर्न सक्ने वातावरण बनाउन बजार अनुगमन तथा व्यवस्थापनका कामलाई तीव्रता दिइने उनले बताए । साथै, बजार व्यवस्थापनमा सहयोग गर्न व्यवसायी तथा सर्वसाधारणलाई टास्क फोर्सको आग्रह छ ।

    भरतपुर महानगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित, मर्यादित र उपभोक्तामैत्री बनाउने उद्देश्यले गत जेठमा चितवन उद्योग वाणिज्य सङ्घको अगुवाइमा सरोकारवालाबीच बजार व्यवस्थापनसम्बन्धी अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा सहभागीहरूले बजार क्षेत्रमा बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, फुटपाथ अतिक्रमण र फोहोरमैला व्यवस्थापनलाई प्रमुख समस्याका रूपमा औँल्याएका थिए । बजारलाई सुन्दर र सुरक्षित बनाउन दीर्घकालीन पार्किङस्थलको व्यवस्था गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए ।

    अन्तरक्रियामा उठेका समस्या समाधान गर्न बजार व्यवस्थापनसम्बन्धी गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने उद्देश्यले चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ओलीको संयोजकत्वमा १३ सदस्यीय टास्क फोर्स गठन गरिएको थियो । समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी तथा टोल विकास संस्थालगायतका प्रतिनिधि सदस्य छन् । टास्क फोर्सले बजार व्यवस्थापन, सौन्दर्यीकरण, पार्किङ, फुटपाथ अतिक्रमण तथा फोहोरमैला व्यवस्थापनका विषयलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

  • बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

    बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

    प्रतीक्षा आले/रासस

    गोरखा, २५ असोजः बूढीगण्डकी बाढीमा परी उत्तरी गोरखाका १०० बढी घरहरू बगेका छन् । आइतबार बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा सुक्खा पहिरो खसेको थियो । बिहान करिब ४ः०० बजेतिर खसेको पहिरोले सो खोला थुनिएको र एक्कासी खोलिँदा बाढी आएको बाढी पूर्वानुमान महाशाखाको भनाइ छ । महाशाखाका अनुसार चुमनब्री–६ तुम्जेमा पहिरो जाँदा उङ्गिलुङ खोला थुनिएको र एक्कासी खोलिँदा बाढी आएको हो । भू–उपग्रहले लिएको तस्बिरका अनुसार शनिबार साँझ नै पहिरो गएको महाशाखाको भनाइ छ ।

    उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । चुमनुब्री गाउँपालिकाको लोक्पा, न्याकफेदी, सिर्दिबास, सल्लेरी र जगत क्षेत्रमा क्षति पुगेको हो । यस्तै, धार्चे गाउँपालिकाको दोभान, माछीखोला, यारुबगर र आरुघाट गाउँपालिकाको सोती र आरुघाट बजारमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

    दश जना सम्पर्कविहीन

    बाढीमा परेर उङ्गिलुङ भेडीगोठमा बस्ने चुमनुब्री–६ चुन्चेतका पाँच जना सम्पर्कविहीन बनेका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । सोही क्षेत्रको धाउलेमा बस्ने तीन घरका पाँच जना पनि सम्पर्कविहीन रहेको स्थानीय दिपेश लामाको भनाइ छ ।

    छ वटा पुल बगायो

    बाढी प्रभावित क्षेत्र गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा हालसम्म दुई वटा मोटरेबल र चार वटा झोलुङ्गे पुल बगाएको उल्लेख छ ।

    गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने मोटरेबल पुल बाढीले बगाएको हो । यस्तै, आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल पनि बगाएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए । बूढीगण्डकीको बाढीले धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बगाएको छ । यसैगरी, माछीखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुलर चुमनुब्रीकै घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलसमेत बगाएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् ।


    दसैँको मुखमा आएको बाढीले गाउँबस्ती जाने पुल नै बगाएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ बताउँछन् । “माछीखोलाको पुल बगाउँदा केरौँजा, लामावेशी, रुन्चेतलगायत गाउँबस्ती जाने बाटो बन्द भयो”, उनले भने । “दसैँको मुखमा हामीलाई ठूलो बिपत्ती आइपर्‍र्यो ।”

    चुमनुब्री–३ फिलिमकी कुमारी गुरुङले पनि जताततै पुल बगाउँदा दसैँमा घर जाने बाटो बन्द भएको बताइन् । “हामी त अब यहीँ थुनियौँ, तलबाट घर आउनेहरूको बाटो पनि बन्द भयो”, गुरुङले भने, “यहाँ आउने हेलीकप्टरबाहेक अन्य उपाय छैन ।” बाढीले चुमनुब्री–६ सिर्दिभीरको क्यान्टिलिभर पुलसमेत बगाएको पालिकाको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटको भनाइ छ ।

    सर्दिभीरको क्यान्टिलिभर पुल उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्लिङ र वडा नं ७ छेकम्पारका गाउँबस्ती पुग्ने एकमात्र साहारा हो ।

    विद्यालय पनि बगे

    बूढीगण्डकीको बाढीले चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित विकास आधारभूत विद्यालयको भवनसमेत बगाएको प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटाको भनाइ छ ।
    तीन हाइड्रो पावरमा क्षति

    बाढीका कारण उत्तरी गोरखाको तीन वटा हाइड्रोपावर आयोजनामासमेत क्षति पुगेको छ । चुमनुब्री–३ सल्लेरीस्थित सहज ऊर्जा प्रालिको पावर हाउस र लेबर क्यापमा बाढीले बगाएको हो । यस्तै, धार्चे गाउँपालिका–१ यारु र दोभानमा रहेको दुई वटा हाइड्रोपावर आयोजनामा क्षति पुगेको धार्चेका अध्यक्ष लक्ष्मण गुरुङले बताए । बाढीले सल्लेरीको हाइड्रोपावर बगाउँदा न्याक, फिलिम, चिसापानी, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, भालुवाङ, सिर्दिबास, जगत, उहियालगायत गाउँबस्ती विद्युत्बिहीन बनेका गुरुङको भनाइ छ ।

    सयबढी घरगोठ बगे

    बाढीले चुमनुब्री गाउँपालिकाको उङ्गिलुङ खोला क्षेत्रका चार गोठ बगाएका छन् । यस्तै, बूढीगण्डकी किनारमा पर्ने सल्लेरी, घट्टेखोला, पैँयु, दोभान र बगरका करिब ३१ घरधुरी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको भनाइ छ । शर्माका अनुसार धार्चे गाउँपालिकाको माछीखोला, यारुबगर र दोभानका करिब ५० घरधुरी र आरुघाट गाउँपालिकाको सोतीका करिब १५ घरधुरीमा क्षति पुगेको छ ।

    हेलीमार्फत उद्धार कार्य जारी

    बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलीमार्फत उद्धार कार्य जारी छ । चुमनुब्री गाउँपालिका–३ न्याकफेदीमा फसेका नौ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरेर न्याक गाउँ लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । यस्तै, धार्चे गाउँपालिका–१ यारुबगरमा फसेका एक विदेशी नागरिकसहित १८ जनाको पनि हेलीमार्फत उद्धार भएको उनले बताए । उनका अनुसार यारुबगरमा फसेका पर्यटक, स्थानीय र हाइड्रोपावरमा कार्यरत्त १८ जनालाई हेलीमार्फत हुल्चुक गाउँमा लगिएको हो ।

    हेलीले मनासलु क्षेत्रमा अलपत्र परेका ९० जना पर्यटक, गाइड र भरियाहरूको पनि उद्धार गरेको छ । बाढी प्रभावित क्षेत्र गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिकामा सेनाको चार वटा हेलिकप्टर परिचालन भएको थियो ।

  • घरघरमा जमरा राखियो

    घरघरमा जमरा राखियो

    काठमाडौँ, २५ असोजः आज बिहान ११ः ४७ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जमरा राखिएको छ । दसैँघरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडादसैँ सुरु भएको छ । यसलाई शारदीय नवरात्र पनि भनिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष चित्रा नक्षत्र र वैधृति योग परेकाले स्वस्तिशान्ति गरी घटस्थापनासहित आज नै जमरा राख्न आह्वान गरेको थियो । सामाजिक सञ्जालमा सोमबार घटस्थापना गर्ने चर्चा चलेपछि समितिले आजै त्यसो गर्नुपर्ने बताएको हो ।

    नवरात्रमा शक्तिकी अधिष्ठात्री देवीको आवाहन गरिन्छ । जौको अङ्कुर दुर्गाको प्रिय वस्तु भएकाले आज यव रोपेर विजया दशमीका दिन दुर्गालाई चढापछि टीका प्रसादका साथ समृद्धिको प्रतीक पहेँला जमरा लगाउने प्रचलन छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् तोयराज नेपालले बताए ।

    दुर्गाका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रूपको दुर्गा पक्षमा विशेष पूजा गरिन्छ ।

  • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    काठमाडौँ, २५ असोजः पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाले एक विज्ञप्ति जारी गरी बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा भीषण बाढी आउने गरी वर्षा नभएको जनाएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईले पछिल्लो २४ घण्टामा ती क्षेत्रमा छिटपुट मात्र वर्षा भएको थियो । “प्रारम्भिक सूचना तथा भू–उपग्रह तस्बिरका आधारमा माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको छ,” उनले भने ।

  • बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

    गोरखा, २५ असोजः बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् । बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले राससलाई बताए । उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् ।

    बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ । यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् । बाढीले चुमनुब्रीगाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ । बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ ।