बागमती किनारबाट विस्थापितलाई रंगशालामा स्वास्थ्य शिविर

१८ वैशाख, काठमाडौं । बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूका लागि सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा बालरोग, स्त्रीरोग, दन्त उपचार, र मनोसामाजिक परामर्श दिइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सो कार्यमा ​संलग्न अस्पताल शुक्रराज ट्रपिकल (नेतृत्वदायी भूमिका), कान्ति बाल अस्पताल, परोपकार प्रसुती गृह, र पाटन मानसिक अस्पतालका विशेषज्ञ टोलीहरू खटिएका छन्। सचिवालयका अनुसार उपचार प्रक्रिया शिविरमै औषधी र परामर्श दिने तथा जटिल समस्या भएमा सरकारी अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको छ। अहिले सम्म ६८ जनाले सेवा लिइसकेका छन्।

बसोबास गुमाउँदा हुन सक्ने मनोसामाजिक तनाव र अन्य संक्रमणलाई ध्यानमा राख्दै पाटन मानसिक अस्पतालको टोलीले परामर्श सेवा दिइरहेको छ। उता, ​कीर्तिपुर क्षेत्रमा पनि वीर अस्पतालको नेतृत्वमा अर्को शिविर सञ्चालन भइरहेको बताइएको छ । जहाँ आँखा र दाँतको उपचार गरिएको छ । काठमाडौं महानगरपालिका र स्वास्थ्य सेवा विभागसँगको समन्वयमा पर्याप्त जनशक्ति र औषधीको व्यवस्था गरिएको छ।