नेपाली सेफको विश्वभर दबदबा : विलासी होटलदेखि राष्ट्रप्रमुखको भान्सासम्म

सेरिका थापा/ काठमाडौं

२० असार । नेपाली जनशक्ति वैदेशिक रोजगारीमा इमानदार, मेहनती र परिपक्वरुपमा परिचित हुँदै आएका छन् । पछिल्ला वर्षहरुमा विशेषगरी होटल तथा आतिथ्य क्षेत्रमा नेपाली सेफहरुको उपस्थितिले अन्तर्राष्ट्रिय स्तरमै अलग पहिचान बनाइरहेको छ । संसारका विभिन्न मुलुकका पाँचतारे होटल, रिसोर्ट, क्रुज, एयरलाइन क्याटरिङ सेवा तथा रेस्टुरेन्टहरुमा नेपाली सेफहरुको माग उल्लेख्य रुपमा बढ्दै गएको छ ।


नेपाली सेफहरु केवल श्रम आपूर्ति गर्ने कामदारका रुपमा मात्र नभई स्वाद, अनुशासन, मेहनत र व्यावसायिक दक्षताका कारण अन्तर्राष्ट्रिय बजारमा विश्वसनीय ब्राण्डकै रुपमा स्थापित हुन थालेका छन् । खाडी मुलुकदेखि युरोप, अमेरिका, अष्ट्रेलिया र एसियाली राष्ट्रसम्म नेपाली सेफहरुले आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् ।


तर, विश्वभर कति नेपाली सेफ कार्यरत छन् भन्नेबारे सरकारसँग यकिन तथ्यांक भने छैन । नेपाल सरकारसँग विदेशमा रहेका नेपालीहरुको समेत पूर्ण विवरण नरहेको अवस्थामा सेफहरुको अलग आधिकारिक अभिलेख तयार हुन नसक्नु सामान्य मान्नु पर्छ । सरकारी निकायहरुसँग विभिन्न देशमा रहेका नेपालीहरुको अनुमानित संख्या मात्रै उपलब्ध हुने गरेको छ ।


यद्यपि, नेपाली सेफहरुलाई संगठित गर्ने प्रयास भने तीव्र रुपमा अघि बढिरहेको छ । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी र नेपाल सेफ सोसाइटीमार्फत हजारौं नेपाली सेफहरु एउटै सञ्जालमा आबद्ध भएका छन् । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीका अनुसार संस्थाले हालसम्म ४५ देशमा आफ्नो कार्यसमिति विस्तार गरिसकेको छ । उनले नेपाली सेफहरु संसारभर फैलिएको भए पनि उनीहरुबीच पेशागत एकता, अनुभव आदान–प्रदान र क्षमता अभिवृद्धिका लागि संस्थागत संरचना आवश्यक महसुस भएपछि अभियान अघि बढाइएको बताए ।


अधिकारीका अनुसार नेपाल सेफ सोसाइटीले पनि देशभर संगठन विस्तार अभियान सञ्चालन गरिरहेको छ । पहिलो चरणमा प्रदेश र त्यसपछि जिल्लास्तरमा शाखा विस्तार गर्दै युवा सेफहरुलाई व्यावसायिक रुपमा संगठित गर्ने योजना अघि बढाइएको उनले जानकारी दिए । संस्थामा सदस्यता प्राप्त गर्न होटल तथा रेस्टुरेन्ट क्षेत्रमा कम्तीमा पाँच वर्ष सेफको रुपमा कार्य गरेको अनुभव अनिवार्य गरिएको छ । यसले संस्थामा अनुभवी तथा पेशागत रुपमा सक्रिय व्यक्तिहरुलाई मात्र समेट्ने उद्देश्य राखिएको छ ।

संगठनात्मक पहल
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको स्थापना सन् २०१८ मा संयुक्त अरब इमिरेट्सबाट भएको हो । विदेशमा कार्यरत नेपाली सेफहरुलाई साझा प्लेटफर्ममा ल्याउने उद्देश्यले शुरु गरिएको संस्था पछि विस्तार हुँदै विभिन्न महादेशसम्म पुगेको हो । त्यसपछि सन् २०२४ मा नेपालमा औपचारिक रुपमा दर्ता गरेर संस्थाले आफ्नो गतिविधि थप व्यवस्थित बनाएको अध्यक्ष अधिकारीले बताए ।


हाल संस्थामा विभिन्न ४५ देशबाट १० हजारभन्दा बढी सेफ आबद्ध रहेका छन् । संस्थाको तथ्यांकअनुसार औसतमा प्रत्येक देशबाट करिब २ सय ५० जना सेफ संस्थासँग जोडिएका छन् । कतिपय मुलुकमा नेपाली सेफहरुको संख्या धेरै भएकाले त्यहाँ अझ बलियो संरचना निर्माण गरिएको छ ।


विशेषगरी दुबई, कतार, साउदी अरेबिया, मलेसिया, जापान, दक्षिण कोरिया, बेलायत, क्यानडा, अमेरिका र अष्ट्रेलियामा नेपाली सेफहरुको उपस्थिति उल्लेखनीय रहेको बताइन्छ । नेपाली खानाका परिकारसँगै अन्तर्राष्ट्रिय व्यञ्जनमा समेत दक्ष नेपाली सेफहरुले विदेशी होटल उद्योगमा राम्रो छाप छोडेका छन् ।

नेपालको पहिचानमा सेफहरुको उपस्थिति
आतिथ्य क्षेत्रका जानकारहरुका अनुसार नेपाली सेफहरुको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई नेपालको पहिचानसँग पनि जोडिएको विषय हो । विदेशी भूमिमा काम गर्ने नेपाली सेफहरुले नेपाली खानाको स्वाद, संस्कृति र आतिथ्य परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गरिरहेका छन् ।


तर, यो क्षेत्र अझै पनि सरकारी प्राथमिकतामा पर्याप्त रुपमा पर्न नसकेको गुनासो व्यवसायीहरुको छ । उनीहरुका अनुसार सरकारले वैदेशिक रोजगारीमा रहेका दक्ष नेपाली सेफहरुको आधिकारिक तथ्यांक संकलन, सीप प्रमाणीकरण, अन्तर्राष्ट्रिय तालिम तथा पर्यटन प्रवद्र्धनसँग जोडेर दीर्घकालीन नीति ल्याउन आवश्यक छ ।


सेफ पेशामा आकर्षण बढ्दै जाँदा नेपालभित्र पनि कुक तथा होटल व्यवस्थापन अध्ययन गर्ने युवाको संख्या बढिरहेको छ । दक्ष जनशक्ति उत्पादनसँगै नेपाली सेफहरुको अन्तर्राष्ट्रिय बजारमा प्रभाव अझ विस्तार हुने विश्वास छ ।
बेलायतमा रहेका नेपाली सेफ सन्तोष साहले बीबीसीको आयोजनामा भएको प्रतियोगितामा भाग लिएपछि नेपाली खानाको चर्चा संसारभर भएको थियो । उनले नेपालीको पहिचानको माध्यम सेफ पेशा पनि भएकाले यसमा राज्यको तर्फबाट पनि लगानी आवश्यक रहेको जोड दिएका छन् ।

विलासी होटलदेखि राष्ट्रप्रमुखको भान्सासम्म
अन्तर्राष्ट्रिय आतिथ्य उद्योगमा नेपाली सेफहरुको प्रभाव केवल संख्या वा उपस्थितिमा मात्र सीमित छैन, उनीहरुको दक्षता, अनुशासन र स्वादको कलाले विश्वस्तरमै अलग पहिचान बनाएको छ । विश्वभर कार्यरत नेपाली सेफहरुलाई अत्यन्त मेहनती, इमानदार तथा पाहुनाको स्वाद र मनोविज्ञान बुझेर परिकार तयार गर्न सक्ने व्यावसायिक जनशक्तिका रुपमा हेरिने गरिएको छ ।


विशेषगरी पाँचतारे तथा विलाशी होटलहरुमा समेत नेपाली सेफहरुले नेतृत्वदायी भूमिकासमेत निर्वाह गरिरहेका छन् । उच्चस्तरीय होटल उद्योगमा काम गर्ने नेपाली सेफहरुले विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुख, कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय खेलाडी, कलाकार तथा प्रतिष्ठित व्यक्तित्वलाई परिकार तयार गरेर सेवा दिइसकेका छन् ।


आतिथ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुका अनुसार नेपाली सेफहरुको विशेषता भनेकै कठिन परिस्थितिमा पनि निरन्तर काम गर्न सक्ने क्षमता, टोलीमा घुलमिल हुने व्यवहार, नयाँ स्वाद सिक्ने लचकता तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गर्ने दक्षता हो । यही कारण अन्तर्राष्ट्रिय होटल चेन तथा लक्जरी रिसोर्टहरुमा नेपाली सेफप्रति विश्वास बढ्दो छ ।

चर्चा कमाएका नेपाली सेफहरु
विभिन्न मुलुकमा आफ्नो पेशागत क्षमता र नेतृत्वका कारण नेपाली सेफहरुले उल्लेखनीय सफलता हासिल गरेका छन् । साउदी अरबमा कार्यरत सरोज थापा, संयुक्त अरब इमिरेट्सका ह्युमन लिम्बु, बेलायतका विनोद बराल, अष्ट्रेलियाका श्याम अम्माइ, माल्दिभ्सका बरुण सिंह र समिस बुढाथोकी, जापानका अमरदीप कार्की, न्युजिल्याण्डका कृष्णहरि सापकोटा, नाइजेरियाका कृष्णकुमार थापामगर, कतारका सूर्य भण्डारी, ओमानका विमल कार्की चर्चामा छन् ।


त्यस्तै अमेरिकाका सोब थापा, क्यानडाका अनिल तिवारी, साइप्रसका रेशम लामा, यूएईका प्रकाश बुढाथोकी, भारतका शाइकुमार शर्मा, अष्ट्रियाका रामकुमार जोशी, जर्मनीका रामकाजी गोसाइँ, फिनल्याण्डका युवराज पाण्डे, जिबुटीका गोविन्द राई, मकाउका बाबुराम कार्की तथा अष्ट्रेलियाका भवी खनाललाई चर्चित नेपाली सेफका रुपमा लिइन्छ ।


यी सेफहरुले सम्बन्धित मुलुकका उच्च पदस्थ व्यक्तित्वदेखि विदेशी पाहुनाका रुपमा आउने राष्ट्रप्रमुख, सरकार प्रमुख, अन्तर्राष्ट्रिय कलाकार तथा खेलकुद क्षेत्रका चर्चित हस्तीलाई समेत विभिन्न परिकार तयार गरेर खुवाइसकेका छन् । कतिपय नेपाली सेफहरु अन्तर्राष्ट्रिय होटल समूहका कार्यकारी सेफ, किचेन म्यानेजर तथा फुड कन्सल्टेन्टको भूमिकामा समेत कार्यरत छन् ।


भारतमा कार्यरत शाइकुमार शर्माले २८ वटा पाँचतारे होटलका सेफहरुको नै नेतृत्व गरिरहेको तथ्यलाई नेपाली सेफहरुको अन्तर्राष्ट्रिय सफलता र नेतृत्व क्षमताको उदाहरणका रुपमा हेरिएको छ । बहुराष्ट्रिय होटल चेनअन्तर्गत सञ्चालन भएका होटलहरुको भान्सा व्यवस्थापन, मेनु विकास, गुणस्तर नियन्त्रण र अन्तर्राष्ट्रिय स्वादको संयोजनमा उनको भूमिका महत्वपूर्ण रहेको छ ।


अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारी स्वयं पनि अन्तर्राष्ट्रिय स्तरमा परिचित सेफ हुन् । उनी संयुक्त अरब इमिरेट्सस्थित सिडयाट आइल्याण्ड होटलमा सेफका रुपमा कार्यरत छन् । लामो समयदेखि अन्तर्राष्ट्रिय होटल उद्योगमा काम गर्दै आएका अधिकारीले नेपाली सेफहरुको पेशागत पहिचानलाई विश्वव्यापी बनाउन संस्थाको नेतृत्वमा रहेर सक्रियता देखाएको बताउँछन् । नेपाली सेफहरु अब केवल श्रमिकका रुपमा सीमित छैनन्, बरु अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको नेतृत्व तहसम्म पुग्न थालेका छन् । उनी भन्छन्, ‘नेपाली सेफहरुको मेहनत, अनुशासन र स्वादको समझ अन्तर्राष्ट्रिय बजारमा स्थापित भइसकेको छ ।’

नेपाली खानामा विदेशीको आकर्षण
पछिल्ला वर्षहरुमा नेपाली खानाका परिकारप्रति विदेशीहरुको आकर्षण बढ्दै गएको छ । मोमो, थुक्पा, नेपाली थाली, गुरुङ तथा नेवारी परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न नेपाली सेफहरुले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । कतिपय नेपाली सेफहरुले आफ्नै रेस्टुरेन्ट सञ्चालन गरेर नेपाली भोजन संस्कृतिलाई विश्व बजारमा विस्तार गरिरहेका छन् ।


आतिथ्य क्षेत्रका जानकारहरुका अनुसार यदि राज्यले दक्ष सेफ उत्पादन, अन्तर्राष्ट्रिय प्रमाणीकरण, पाककला प्रशिक्षण तथा पर्यटनसँग जोडेर दीर्घकालीन नीति अघि बढाउने हो भने नेपाली सेफहरु नेपालको ‘सफ्ट पावर’का रुपमा अझ प्रभावशाली बन्न सक्छन् । नेपाली स्वाद र आतिथ्य संस्कृतिमार्फत विश्वमा नेपालको पहिचान विस्तार गर्न यो क्षेत्र महत्वपूर्ण माध्यम बन्न सक्ने उनीहरुको बुझाइ छ ।

नेपाली खानाको अन्तर्राष्ट्रियकरणको पहल
होटल तथा आतिथ्य क्षेत्रमा नेपाली सेफहरुको प्रभाव बढ्दै जाँदा उनीहरुको भूमिका अब केवल जागिरे कामदारमा सीमित छैन । विश्वका विभिन्न मुलुकमा कार्यरत नेपाली सेफहरु नेपाली खानाका अन्तर्राष्ट्रिय प्रचारकका रुपमा स्थापित हुन थालेका छन् । उनीहरुले विदेशी भूमिमा नेपाली स्वाद, संस्कृति र भोजन परम्परालाई चिनाउने काम गरिरहेका छन् ।


विशेषगरी बेलायतमा रहेका चर्चित नेपाली सेफ सन्तोष साहलाई नेपाली खानालाई विश्वमाझ स्थापित गराउने सफल उदाहरणका रुपमा लिइन्छ । अन्तर्राष्ट्रिय पाककला प्रतिस्पर्धा तथा प्रतिष्ठित होटल–रेष्टुराँमार्फत उनले नेपाली परिकारलाई विश्वस्तरमा परिचित गराउँदै व्यक्तिगत सफलतासँगै नेपालको पहिचान निर्माणमा समेत योगदान दिएका छन् । उनले काठमाडौं उपत्यकामा पनि रेष्टुरेन्ट खोलेर व्यवसाय सुरु गरिसकेका छन् ।


अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीका अनुसार संस्थाले नेपाली खानाको अन्तर्राष्ट्रियकरणका लागि विशेष अभियान सुरु गरेको छ । त्यसका लागि ५५ सदस्यीय विशेषज्ञ टोली गठन गरिएको उनले जानकारी दिए । उनका अनुसार टोलीमा अनुभवी सेफहरुसँगै फुड साइन्सका विज्ञहरु पनि सहभागी छन् । नेपाली खानाको मौलिकता, स्वाद, सामग्री, पोषण र अन्तर्राष्ट्रिय प्रस्तुतीकरणलाई वैज्ञानिक ढंगले स्थापित गर्ने उद्देश्यले काम अघि बढाइएको उनले बताए ।


‘हामीले नेपाली खानाको व्यवस्थित मेनु तयार गर्ने काम शुरु गरेका छौं । नेपाली खानाको प्रमाणीकरण र पहिचान निर्माणमा पनि काम गरिरहेका छौं,’ अध्यक्ष अधिकारीले भने । उनका अनुसार हालसम्म नेपाली खानाको स्पष्ट अन्तर्राष्ट्रिय मानक तय हुन सकेको छैन । विश्व बजारमा ‘नेपाली खाना’ भनेर औपचारिक रुपमा चिनिने साझा मापदण्ड, प्रस्तुति शैली र प्रमाणीकरण प्रणाली अभाव रहेको उनी बताउँछन् ।

यही कारण नेपाली खानाको मौलिक पहिचानलाई वैज्ञानिक तथा व्यावसायिक रुपमा स्थापित गर्न फुड साइन्स विज्ञहरूसँग सहकार्य गरिएको हो ।
सोसाइटीका अनुसार अहिले विदेशी बजारमा मोमो बाहेक धेरै नेपाली परिकार अझै व्यवस्थित रुपमा ब्रान्डिङ हुन सकेका छैनन् । थकाली खाना, नेवारी परिकार, हिमाली भोजन, गुरुङ समुदायका परम्परागत स्वाद तथा विभिन्न जातीय खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सम्भावना ठूलो भए पनि त्यसका लागि राज्य र निजी क्षेत्रको समन्वित पहल आवश्यक रहेको उनीहरुको भनाइ छ ।

शिक्षा र सीपबीचको भिन्नताले समस्या
नेपाली सेफहरुको अन्तर्राष्ट्रिय सफलताका बाबजुद राज्यले यो क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो व्यवसायी तथा सेफहरुको छ । अध्यक्ष अधिकारीका अनुसार नेपालमा पाककला शिक्षा र व्यवहारिक सीपबीच ठूलो दूरी छ । ‘पढाइ भएकासँग व्यवहारिक सीप छैन, सीप भएकाहरुसँग औपचारिक शिक्षा छैन,’ उनले भने, ‘यी दुई पक्षलाई संयोजन गर्ने काम सरकारले गर्नुपर्ने थियो । तर, सेफ पेशा अझै पनि सरकारी प्राथमिकतामा परेको छैन ।’


नेपालमा होटल व्यवस्थापन तथा कुक शिक्षा दिने संस्थाहरु बढिरहेका भए पनि अन्तर्राष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक व्यावहारिक प्रशिक्षण, आधुनिक उपकरण, उद्योगसँगको सहकार्य र प्रमाणीकरण प्रणाली अझै कमजोर छ ।
क्षमता, अनुभव र दक्षता हुँदाहुँदै पनि ‘कमजोर पासपोर्ट’ अर्थात् नेपालको सीमित अन्तर्राष्ट्रिय प्रभावका कारण धेरै नेपाली सेफहरु नेतृत्व तहमा पुग्न संघर्ष गर्न बाध्य छन् । समान योग्यता हुँदाहुँदै पनि विकसित मुलुकका नागरिकले प्राथमिकता पाउने अनुभव उनीहरुले सुनाउने गरेका छन् ।


यद्यपि, अन्तर्राष्ट्रिय बजारमा नेपाली सेफहरुको माग भने अत्यधिक रहेको सोसाइटीले जनाएको छ । अध्यक्ष अधिकारीका अनुसार अहिले विश्व बजारमा नेपाली सेफको माग लाखांैको संख्यामा भए पनि त्यसअनुसार दक्ष जनशक्ति उत्पादन हुन सकेको छैन । उनले वैदेशिक रोजगारीको वर्तमान संरचनामाथि प्रश्न उठाउँदै दक्ष जनशक्तिमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याए । ‘खाडीमा १ हजार जना सामान्य श्रमिक पठाउनुको सट्टा २० जना दक्ष सेफ पठाउँदा पनि आर्थिक रुपमा ती २० जना धेरै प्रभावकारी हुन्छन्,’ उनले भने ।

अन्तर्राष्ट्रिय बजारमा आपूर्ति गर्न सकिने
सेफ पेशामा आम्दानी, सीप विकास र दीर्घकालीन करिअर सम्भावना उच्च हुने भएकाले यसलाई नेपालको वैदेशिक रोजगार नीतिसँग जोड्नुपर्ने उनको धारणा छ । सोसाइटीले यदि व्यवस्थित रुपमा सेफ उत्पादन, तालिम र अन्तर्राष्ट्रिय बजारमा आपूर्ति गर्न सकिने हो भने नेपालको रेमिट्यान्स आय अहिलेको तुलनामा उल्लेखनीय रुपमा बढ्न सक्ने दाबी गरेको छ ।


आर्थिक क्षेत्रका विशेषज्ञहरुका अनुसार आतिथ्य उद्योग विश्वकै तीव्र गतिमा विस्तार भइरहेको क्षेत्रमध्ये एक हो । पर्यटन, होटल, क्रुज, एयरलाइन क्याटरिङ र लक्जरी रेष्टुरेन्ट क्षेत्रमा दक्ष सेफहरुको माग निरन्तर बढिरहेको अवस्थामा नेपालले यसलाई रणनीतिक अवसरका रुपमा लिन सक्ने सम्भावना छ । तर, समाजमा अझै पनि होटल तथा रेष्टुरेन्ट क्षेत्रमा काम गर्नेलाई हेय दृष्टिले हेर्ने प्रवृत्ति कायम रहेको सेफहरु बताउँछन् । यही सोंच, राज्यको कमजोर प्राथमिकता तथा दक्ष जनशक्ति उत्पादनमा लगानी अभावका कारण नेपाली सेफहरुको संख्या र गुणस्तर अपेक्षाअनुसार बढ्न नसकेको उनीहरुको निष्कर्ष छ ।


पाककला क्षेत्रका जानकारहरु भने नेपाली सेफहरुलाई व्यवस्थित रुपमा प्रोत्साहन गर्न सके नेपालको पर्यटन, सांस्कृतिक कूटनीति र वैदेशिक रोजगार तीनै क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सकिने बताउँछन् । ‘नेपाली स्वाद’ विश्व बजारमा नेपालको नयाँ पहिचान बन्न सक्ने सम्भावना बलियो छ ।

लोपोन्मुख खानादेखि संगठन विस्तार योजना
नेपाली सेफहरुको प्रभाव बढ्दै गएसँगै उनीहरुलाई संगठित गर्ने अभियान पनि तीव्र बन्दै गएको छ । विश्वका विभिन्न मुलुकमा कार्यरत नेपाली सेफहरुलाई एउटै व्यावसायिक सञ्जालमा जोड्दै उनीहरुको क्षमता विकास, पेशागत अधिकार र नेपाली खानाको अन्तर्राष्ट्रिय ब्रान्डिङलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले आफ्नो गतिविधि विस्तार गरिरहेको छ ।


संस्थाका अध्यक्ष अधिकारीका अनुसार हाल सोसाइटीको मुख्य ध्यान संगठन विस्तारमा केन्द्रित छ । विदेशका ४५ देशमा कार्यसमिति निर्माण गरिसकेको संस्थाले अब नेपालभित्र पनि प्रदेशदेखि जिल्लास्तरसम्म संगठन विस्तार अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

प्रत्येक प्रदेशमा समिति गठन गर्ने तथा होटल, रेष्टुराँ र पर्यटन क्षेत्रमा कार्यरत सेफहरुलाई स्थानीय स्तरमै संगठित गर्ने काम भइरहेको छ । ‘नेपालका धेरै सेफहरु अझै असंगठित छन् । उनीहरुलाई पेशागत रुपमा जोड्ने, अनुभव आदान–प्रदान गर्ने र नयाँ पुस्तालाई प्रेरित गर्ने उद्देश्यले संगठन विस्तार अभियान चलाइएको हो,’ अध्यक्ष अधिकारीले भने ।


संस्थाको उद्देश्य केवल सेफहरुलाई एउटै छातामुनि ल्याउने मात्र नभई उनीहरुको व्यक्तित्व विकास, पेशागत दक्षता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने रहेको उनले बताए । साथै, नेपाली खानालाई विश्व बजारमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।

सोसाइटीले विशेषगरी नेपाली मौलिक तथा लोपोन्मुख खानाको संरक्षण र ब्रान्डिङमा पनि ध्यान केन्द्रित गर्न थालेको छ । आधुनिक खानपान संस्कृतिको प्रभावसँगै हराउँदै गएका परम्परागत नेपाली परिकारको खोज, दस्तावेजीकरण र प्रवद्र्धनका लागि अभियान अघि बढाइएको संस्थाले जनाएको छ ।

प्रवद्र्धनका लागि नेपालमै फूड फेस्टिभल
नेपाली समाजका विभिन्न जातीय समुदायसँग जोडिएका परम्परागत स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने सम्भावना रहेको भन्दै संस्थाले त्यसको व्यावसायिक प्रस्तुतीकरणमा काम गरिरहेको छ । नेपालमै फूड फेस्टिभल आयोजना गरेर विभिन्न स्थानीय तथा मौलिक परिकारलाई प्रवद्र्धन गर्ने प्रयास गरिएको छ । यस्ता कार्यक्रममार्फत नयाँ पुस्तालाई नेपाली खानाको मौलिकता बुझाउने तथा विदेशी पर्यटकलाई नेपाली स्वादसँग परिचित गराउने लक्ष्य राखिएको उनले बताए ।


आतिथ्य तथा खाद्य क्षेत्रका विज्ञहरुका अनुसार नेपालमा अझै पनि थुप्रै स्थानीय परिकार व्यवस्थित रुपमा अभिलेखीकरण हुन सकेका छैनन् । हिमाली, पहाडी र तराई क्षेत्रका विविध परिकारको वैज्ञानिक अध्ययन, पोषण विश्लेषण र अन्तर्राष्ट्रिय प्रस्तुतीकरण आवश्यक रहेको उनीहरु बताउँछन् । यसैबीच, सोसाइटीले खाद्य सुरक्षा र अनुगमनको विषयलाई पनि प्राथमिकतामा राखेको छ । विश्वका धेरै देशमा खाद्यान्न गुणस्तर अनुगमन संयन्त्रमा अनिवार्य रुपमा पेशागत सेफहरुको सहभागिता रहने प्रावधान रहेको उल्लेख गर्दै संस्थाले नेपालमा पनि त्यस्तो व्यवस्था आवश्यक रहेको जनाएको छ ।


संस्थाका अनुसार खाद्य उत्पादन, भण्डारण, पकाउने प्रक्रिया, सरसफाइ र प्रस्तुतीकरणसम्बन्धी व्यावहारिक ज्ञान सेफहरुसँग हुने भएकाले खाद्य अनुगमन प्रणालीमा उनीहरुको भूमिका प्रभावकारी हुन सक्छ । नेपालमा भने हाल खाद्य अनुगमन मुख्यतः प्रशासनिक र प्राविधिक निकायमा सीमित रहेको भन्दै सोसाइटीले स्थानीय तहसम्म हुने अनुगमन प्रक्रियामा पेशागत सेफहरुको सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।


अध्यक्ष अधिकारीका अनुसार संस्थाले नेपाल सरकारका जिम्मेवार निकायसँग समन्वय गर्दै हरेक पालिकामा हुने खाद्य अनुगमन तथा निरीक्षण प्रक्रियामा सेफहरुको प्रतिनिधित्व र सहयोगको प्रस्ताव अघि सारेको छ । ‘खाद्य सुरक्षासँग प्रत्यक्ष काम गर्ने पेशागत जनशक्ति सेफहरु नै हुन् । त्यसैले अनुगमन र मापदण्ड निर्माणमा हाम्रो अनुभव उपयोगी हुन सक्छ,’ उनले बताए ।

सरकारी दृष्टिकोण बदल्नुपर्ने
नेपालमा होटल, रेष्टुराँ तथा खाद्य व्यवसाय तीव्र रुपमा विस्तार भइरहेका बेला खाद्य सुरक्षा, गुणस्तर र अन्तर्राष्ट्रिय मापदण्ड पालनाको विषय अझ महत्वपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा प्रशिक्षित सेफहरुको संस्थागत सहभागिताले खाद्य क्षेत्रलाई थप व्यवस्थित बनाउन सहयोग पुग्न सक्ने उनीहरुको धारणा छ ।


नेपाली सेफहरुको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढिरहेका बेला सरकारले अझै यो क्षेत्रलाई रणनीतिक प्राथमिकतामा राख्न नसकेको गुनासो व्यवसायीहरुको छ । उनीहरुका अनुसार आतिथ्य क्षेत्रलाई सामान्य श्रम बजारका रुपमा हेर्ने दृष्टिकोण बदल्न आवश्यक छ । दक्ष सेफ उत्पादन, आधुनिक पाककला शिक्षा, अन्तर्राष्ट्रिय प्रमाणीकरण, अनुसन्धान तथा नेपाली खानाको ब्रान्डिङमा राज्यले लगानी गर्न सके नेपालले पर्यटन र वैदेशिक रोजगारी क्षेत्रमा उल्लेखनीय लाभ लिन सक्ने विज्ञहरुको भनाइ छ ।


विशेषगरी विश्वबजारमा नेपाली सेफहरुको बढ्दो मागलाई अवसरका रुपमा उपयोग गर्न सकिए नेपालले उच्च आम्दानी दिने दक्ष जनशक्ति निर्यात गर्ने देशका रुपमा नयाँ पहिचान बनाउन सक्ने सम्भावना देखिएको छ । त्यसैले सरकारको ध्यान सेफहरुको हक–अधिकारको रक्षा र प्रवद्र्धनमा केन्द्रित हुनुपर्छ ।