Author: Vishwanews.com

  • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

    नारायणगढ (चितवन), २ कात्तिक : चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ । करिब दुई किलोमिटर दूरी रहेको उक्त स्थानमा आइएमई ग्रुपले केबलकार निर्माण गर्ने भएको हो । ग्रुपका अनुसार दुई वर्षभित्र केबलकार निर्माण गरिनेछ ।

    कम्पनील हाल गैँडाकोटको बटम स्टेसनबाट मौलाकालिका मन्दिर नजिकै रहेको इला होटलसम्म केबलकार सञ्चालन गरिरहेको छ । अब देवघाटबाट समेत मौलाकालिका पुग्न सकिने गरी नयाँ केबलकार परियोजना अघि बढाइएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देवघाट र मौलाकालिकालाई जोड्ने केबलकार परियोजनाको काम अगाडि बढेको बताउनुभयो ।

    उहाँका अनुसार परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढिरहेको छ । अध्यक्ष ढकालले परियोजना सञ्चालनमा आएपछि देवघाट र मौलाकालिका क्षेत्रबीचको धार्मिक तथा पर्यटकीय आवागमन बढ्ने विश्वास गरिएको छ । देवघाट र मौलाकालिका दुवै धार्मिक आस्थाका महत्त्वपूर्ण केन्द्र हुन् ।

  • पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

    मुस्ताङ, २ कात्तिक : पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ । यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरुले यसवर्ष पर्यटकीय अनुकुल याम नसकिंदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ । मुस्ताङमा बर्सेनि दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजहरुले पोखरा—जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन् ।

    जोमसोमस्थित नागरिक उड्ययन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार अघिल्लो साता तारा एयरलाइन्सले र सोमबारदेखि समिट एयरलाइन्सको नियमित हवाई उडान सेवा बन्द गरेका हुन् । मुस्ताङमा अगस्टदेखि नोभेम्बरसम्म पोखरा–जोमसोम हवाई सेवा नियमित रुपमा सञ्चालन हुने गरेको थियो ।

    प्रमुख शर्माका अनुसार तारा एयरका तीनमध्ये एउटा जहाज मर्मतका भइरहेको र समिट एयरको चारमध्ये एउटाको मर्मतका लागि लैजाने तयारी भइरहेको छ । जोमसोमस्थित समिट एयरलाइन्सनका स्टेशन इञ्चार्ज सुमन थकालीले रसुवाको विनाशकारी बाढी घटना र देशका विभिन्न स्थानमा बाढी पहिरोले सडकमार्ग अवरुद्ध हुने जस्ता घटनाका कारण हवाई यात्रुहरुले बुकिङ रद्द गरेका कारण नियमित हवाई उडान स्थगित गर्नु परेको बताउनुभयो ।

    यद्यपि चार्टर उडान भने नरोकिने उहाँको भनाइ छ । यी दुई हवाई कम्पनीले बर्सेनि एक हजार २०० भन्दा बढी नियमित हवाई उडान सेवा गर्दै आएका छन् ।

  • जुम्लामा मार्सीधान काट्ने चटारो

    जुम्लामा मार्सीधान काट्ने चटारो

    जुम्ला, १ कात्तिक : जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताउनुभयो । किसानहरुको दैनिकी अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ ।

    पाण्डेका अनुसार किसानहरु दशैं मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मार्सीधान जुम्लाको पहिचानसँग पनि जोडिने बताउनुभयो ।

    उहाँका अनुसार मार्सीधानखेती गर्ने आफ्नै समय छ, सोही आधारमा जिल्लाका किसानहरू धान भित्र्याउन फाँटहरूमा व्यस्त हुने गरेको बताउनुभयो । जिल्लाभर दुई हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा पछिल्ला वर्षहरूमा क्रमशः मार्सीधान लगाउने क्षेत्रफल बढ्दै गएको कार्यालयले जनाएको छ । गत वर्ष एक हजार ५०० हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष भने एक हजार २०० हेक्टरमा मात्र खेती भएको कृषि विकास कार्यालयले जनाएको छ । अहिले यहाँका किसानले मार्सीधानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको जातमध्ये चन्दननाथ–१ र चन्दननाथ–३ का साथै लेकाली–१ र लेकाली धान रोप्ने गरिन्छ ।

  • दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

    मुस्ताङ, १ कात्तिक : यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएको छ । कृषि तथा पशु विकास कार्यालयका अनुसार यसवर्ष उक्त मूल्य बराबरका १३ हजार २७९ भेडा च्याङ्ग्रा मुस्ताङ हुँदै बाहिरिएका छन् ।

    कार्यालयका प्रमुख डा लालमणि अर्यालका अनुसार मुस्ताङ मार्ग हुँदै ११ हजार १६४ च्याङ्ग्रा र दुई हजार ११५ वटा भेडा बिक्रीका लागि बेसीतर्फ झारिएको हो । उहाँले मुस्ताङबाट रु २२ करोडभन्दा बढी र कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट रु १३ करोड मुल्य बराबरको भेडा, च्याङ्ग्रा र च्यालु (माउ) यही बाटो हुँदै निकासी भएको जानकारी दिनुभयो ।

    कार्यालयका अनुसार मुस्ताङबाट मात्रै सात हजार ९६४ च्याङ्ग्रा र एक हजार २०४ भेडा निकासी भएको छ । जसमध्ये मुस्ताङका किसानले पालेको खोरपाला र तिब्बतबाट कोरलानाका हुँदै भित्र्याइएका ४०० भन्दाबढी भेडा च्याङ्ग्रा मुस्ताङका व्यापारीहरुले पोखरा र काठमाडौँलगायतका स्थानमा निकासी गरेका छन् ।

    यसैगरी डोल्पाबाट दुई हजार ६८० च्याङ्ग्रा र ८७१ भेडा, जुम्लाबाट ३०० च्याङ्ग्रा र मुगुबाट ३२० च्याङ्ग्रा र ४० वटा भेडा निकासी गरिएको छ । कार्यालयका अनुसार यसवर्ष च्याङ्ग्राको औसत मूल्य रु ३३ हजार, भेडाको रु २२ हजार र च्यालु (रमा÷माउ)को रु १० हजार कायम गरी निकासी गरिएको हो ।

  • सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

    सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

    खोटाङ, १ कातिक : काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा खस्दा मृत्यु हुने तीन जना र बेपत्ताको पहिचान खुलेको छ । मृत्युु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित दुवेकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तीका विश्वकर्मा हुनुहुन्छ ।

    लफ्याङका स्थानीय जनक राईले दिनुभएको जानकारीअनुसार युपना र दिव्या काठमाडौँ बसेर अध्ययनसँगै सामान्य रोजगारीको काम गर्दै आउनुभएको थियो । स्वस्तीका काठमाडौँ बसेर माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारीमा हुनुहुन्थ्याे ।

    गएराति करिब २ः३० बजे नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल सुमो खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनाका परी तीन बेपत्ता हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार बेपत्ता हुनेमा लफ्याडका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई हुनुहुन्छ ।

    दुर्घटनाम परी घाइते हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उहाँकी १२ वर्षीया छोरी शिवानी राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका १३ वर्षीय अङ्कित विश्वकर्मा, चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा हुनुहुन्छ । प्रहरीले दिएको जानकारीअनुसार घाइतेहरूमध्ये चालक आशीष बेहोस छन् भने, सम्झनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    सिन्धुलीस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सम्झनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाएको प्रहरीले जनाएको छ । घाइते शिवानी र अङ्कितको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिनुभएको छ ।

    काठमाडौँबाट गएराति करिब ११ बजे हिँडेको सुमोमा चालकसहित १० जना यात्रु सवार रहेको प्रहरी जनाएको छ । सुमोका चालक निदाएर दुर्घटना भएको हुन सक्ने घटनास्थल पुगेका प्रहरीको अनुमान छ ।

  • नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    काठमाडौँ, २ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ । समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ । कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहो¥याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । कात्तिक २ गते नवरात्रको नवौ दिन भएपनि कर्म भने आठौँ दिनमा गरिने नै गर्नुपर्छ । दशैँ घर पूजा कोठामा कात्तिक २ गते सोमबार पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ । अन्य कर्म पनि महाअष्टमीकै दिनमा गरेका कर्मलाई दोहोे¥याउनुपर्ने पनि उहाँले बताउनुभयो । आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ । अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ ।

    विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ । देवीको साधना एवं पूजा, आराधना गर्न एक दिन बढ्दा केही फरक नपर्ने धर्मशास्त्रविद्हरुको भनाइ छ । हनुमानढोकामा कालरात्रि पूजा सोमबार राति राज्यका तर्फबाट हनुमानढोकामा गरिने कालरात्रि पूजा भने समितिसँगको परामर्श र तलेजुका पुजारीले गर्ने परम्पराअनुसार यही कात्तिक २ गते सोमबार राति गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले राससलाई जानकारी दिनुभयो ।

    हनुमानढोका दरबारमा महाअष्टमीको कर्म गरेपछि लगत्तै अर्को दिनमा महानवमीको पूजा, आराधनालगायत कर्म गर्ने परम्परा रहेकाले यस्तो निर्णय गरिएको जानकारी पनि उहाँले दिनुभयो । हनुमानढोका दरबारको दशैँ घरमा कात्तिक १ गते आइतबार पनि महाअष्टमीको सामान्य पूजा गरिएको छ । मूल पूजा भने सोमबार गरिने दरबार हेरचाह अड्डाले जनाएको छ ।

    महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा, आराधना गर्ने परम्परा रही आएको छ ।

  • पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

    पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

    काठमाडौँ, ३१ असोजः आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो ।

    घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

    नवपत्रिकाको नामलेसमेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ ।

    फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले बताउनुभयो ।

    हनुमानढोकाको दसैँ घरमा भित्र्याइयो फूलपाती यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना हुने हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिनुभयो ।

    जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, नेपालीको सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याइएको हो । यसवर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उहाँले बताउनुभयो ।

    हनुमानढोका दरबारको नासलचोकमा पूजा, मूल चोकमा बलिसहित पूजा गरेपछि दसैँ घरमा फूलपाती भित्र्याइएको हो । राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने कहिले संस्कृतिमन्त्री त कहिले सचिव उपस्थित हुने गरेकामा यसवर्ष मन्त्री र सचिव उपत्यका बाहिर रहनुभएकाले मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सौभाग्य प्रधानागङलगायत अधिकारीहरुको सहभागिता रहेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

    हनुमानढोकामा भित्र्याउन आज बिहानको साइतमा गोरखाबाट फूलपाती काठमाडौँ ल्याइएको थियो । नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले हनुमानढोका दरबारबाट राजकाज सुरु गरेपछि गोरखाबाट फूलपाती ल्याई भित्र्याउने गरिएको हो ।

    आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गरेको छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आ–आफ्नो घर फर्कनेक्रम अझ तीव्र भएको छ ।

    फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गे पिङ र रोटेपिङले दसैँको रौनकतालाई अझ बढाउने गर्दछ । बजारमा आज पनि किनमेल गर्नेको भीड देखिन्छ । विशेषगरी खाद्यसामग्री र कपडा, जुत्ता, चप्पलका पसलमा मानिसको भीड छ ।

  • राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

    राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

    काठमाडौँ, ३१ असोजः नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यास लिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन् । बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा राष्ट्रिय टोलीसम्म पुर्‍याउन निकै लामो र कठिन सङ्घर्ष गर्नुपरेको उल्लेख गर्दै विमलले देशका लागि मनदेखि खेलेको बताएका छन् ।

    “बुटवलबाट सुरु भएको मेरो फुटबल यात्रा काठमाडौँ हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा निकै लामो र कठिन रह्यो । मैले देशका लागि मनैदेखि खेलेँ र आफ्नो सबैथोक फुटबललाई नै दिएँ”, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    फुटबलप्रेमी तथा शुभचिन्तकले दिएको माया र साथप्रति आभार व्यक्त गर्दै उनले खेलजीवन टुङ्ग्याउने निर्णय लिँदा आफू निकै भावुक भएको पनि बताएका छन् । “आज यो निर्णय लिँदा म धेरै नै भावुक भएको छु । सबैलाई एकमुष्ट धन्यवाद दिँदै मैले फुटबलको यात्रा यहीँसम्म टुङ्ग्याएको छु”, विमलले लेखेका छन् । उनले सन् २०१२ मा बङ्गलादेशविरुद्ध खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । राष्ट्रिय टोलीबाट ४४ खेल खेलेका विमलले नौ गोल गरेका छन् । उनले सन् २०१५ मा यु–१९ साफ च्याम्पियनसिप, सन् २०१६ मा बङ्गबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुदमा स्वर्ण र एएफसी सोलिडारिटी कपको उपाधि जितेका थिए । घरेलु फुटबलमा मच्छिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेका विमलले नेदरल्याण्ड्समा युवा फुटबल खेलेका थिए ।

  • नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

    नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

    काठमाडौँ, ३१ असोज : नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाडौँ उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ । वर्ष दिनमा आउने नेपालीको ठूलो चाड दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेसँगै नयाँबसपार्कसहित विभिन्न क्षेत्रमा यात्रुको चाप बढेको हो । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले उपत्यकाभित्रका बसपार्क र नाकाहरूमा घर जानका लागि यात्रुको चाप बढेको बताउनुभयो । नयाँबसपार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा यात्रुको चाप बढेको र त्यसलाई ट्राफिक प्रहरीले सहज रूपमा व्यवस्थापन गरिरहेको बताउनुभयो । कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म चार लाख २३ हजार ६६४ यात्रुले काठमाडौँ उपत्यका छाडेका छन् । उहाँका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९, असोज २९ गते ८५ हजार ५६१ र असोज ३० गते ७५ हजार ३५० यात्रु काठमाडौँबाट बाहिरिएका छन् ।

    काठमाडौँबाट दसैँ मनाउनका लागि फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै यात्रु बाहिरीएका हुन् । दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीले बस व्यवस्थापन गरिरहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोको कारण केही समस्या भए पनि सम्बन्धित निकायसँगको सहयोगमा बसको व्यवस्थापन गरिरहेको बताउनुभयो । महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ । दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ ।

  • राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

    राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

    काठमाडौँ, ३१ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

    बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यसपर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुद बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । बडादसैँले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न मद्धत पु¥याएको उनको भनाइ छ । राष्ट्रपति पौडेलले विजया दशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन स्मरण गराउँदै दसैँ अन्यायमाथि न्यायको एवम् असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा मनाइने उल्लेख गरेका छन् । दसैँमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुशीयाली र हार्दिकता साटासाट गरिने उल्लेख गर्दै राष्ट्रपतिले पारिवारिक, समाजिक, धार्मिक, साँस्कृतिक एवम् राष्ट्रियताका हिसाबले दसैँको अत्यन्तै महत्व रहेको बताएका छन् । साथै, देशका विभिन्न भागमा आएको विनासकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । राष्ट्रपतिले बाढी प्रभावित व्यक्तिको पुनःस्थापनाका लागि एकताबद्ध भई अघि बढ्न सबै पक्षलाई अपिल गरे ।

  • एनपिएललाई आइसिसीको मान्यता

    एनपिएललाई आइसिसीको मान्यता

    काठमाडौँ, ३० असोजः अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणलाई मान्यता दिएको छ । नेपाल क्रिकेट सङ्घका अनुसार आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म आयोजना हुने एनपिएलको तेस्रो संस्करणलाई आइसिसीको मान्यता दिएको हो । क्यानले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आइसिसीबाट प्राप्त मान्यताले नेपाली क्रिकेटको विकासका साथै अन्तरराष्ट्रिय पहिचानलाई विस्तार गरेको छ ।

  • मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

    मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

    काठमाडौँ, ३० असोजः मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाई व्यवसायीलाई उक्त विवरण उपभोक्ताले स्पष्ट देख्ने गरी मिठाई राख्ने सोकेस वा काउन्टरमा राख्न निर्देशन दिएको हो । विभागले शुक्रबार एक सूचना जारी गर्दै मिठाईमा प्रयोग गरिएको मुख्य कच्चा पदार्थको मिश्रण, कुन तेल वा घिउ प्रयोग गरिएको हो, मिठाई कहिलेसम्म उपभोग गर्न सकिन्छ र प्रतिकिलो मूल्य कति हो भन्ने विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने जनाएको छ ।

    यस्तो व्यवस्था होटल, मिठाई पसल तथा मिठाई भण्डारलगायत मिठाई बिक्री वितरण गर्ने व्यवसायीका लागि लागू हुनेछ । विभागले निर्देशन पालना नगरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने जानकारीसमेत दिएको छ । विभाग वा मातहतका कार्यालयबाट आफ्नो व्यवसायको खाद्य स्वच्छताका आधारमा स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्नसमेत विभागले आग्रह गरेको छ ।

  • ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

    ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

    काठमाडौँ, ३० असोजः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । उहाँले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशका विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार गर्ने र उपचारपछि सामान्य जीवनमा फर्किन सहयोग पुर्‍याउन पुनःस्थापना केन्द्र निर्माण गर्ने काम अघि बढाइएको बताउनुभयो ।

    ट्रमा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री मेहताले राजधानीमा मात्र नभई देशका विभिन्न भूभागमा रहेका नागरिकले पनि समयमै आकस्मिक स्वास्थ्य सेवा पाउने व्यवस्था गर्न ट्रमा उपचार सेवाको पहुँच विस्तार गरिरहेको बताउनुभयो ।

    मन्त्री मेहताले भन्नुभयो, “दुर्घटनापछि घाइतेको जीवनरक्षा गर्न समयमै उद्धार, घटनास्थलमै प्राथमिक उपचार, शीघ्र अस्पताल पुर्‍याउने व्यवस्था र गुणस्तरीय आकस्मिक उपचारको महत्त्वपूर्ण भूमिका रहन्छ ।” सडक सुरक्षा, ट्राफिक नियमको पालना, हेल्मेट तथा सिटबेल्टको अनिवार्य प्रयोग र मादक पदार्थ सेवन गरेर सवारी नचलाउने विषयमा जनचेतना अभिवृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो । दुर्घटनास्थलमै प्राथमिक उपचार उपलब्ध गराउन सक्ने जनशक्ति विकास गर्नुका साथै समुदायस्तरमा प्राथमिक उपचारसम्बन्धी ज्ञान विस्तार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।राससबाट

  • दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

    दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

    काठमाडौँ, ३० असोजः दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ । दशैँ र तिहारलाई लक्षित गरी नेपाली दुग्धजन्य उत्पादन दुबई पठाइएको हो ।

    यसअघि परीक्षणका रूपमा पठाइएको एक हजार ५०० किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि थप उत्पादन पठाइएको रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेले बताए । उनका अनुसार दुबईमा मातृभूमि जनरल ट्रेडिङ एलएलसीमार्फत सोनापुर, मुराक्काबात र सालाह अल दिन मेट्रो स्टेसनस्थित तीन स्थानबाट नेपाली उत्पादन बिक्री हुँदै आएको छ ।

    डीडीसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेले बजारको माग र प्रतिक्रियाका आधारमा निर्यात विस्तार गर्ने योजना रहेको बताए। विदेशी बजारलाई लक्षित गरी घिउको प्याकेजिङमा नेपाली, अङ्ग्रेजी र अरबी भाषा प्रयोग गरिएको छ । डीडीसीले यसअघि पनि जापानलगायतका देशमा घिउ निर्यात गरेको थियो ।

  • लगानी बोर्डले भन्यो– उपहार लिनेदिने कार्य स्वीकार्य छैन

    लगानी बोर्डले भन्यो– उपहार लिनेदिने कार्य स्वीकार्य छैन

    काठमाडौँ, ३० असोजः लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने प्रचार भ्रामक र तथ्यहीन भएको जनाएको छ । कार्यालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा असोज २९ गते कार्यालयको जानकारी र अनुमति बिना मिठाइ तथा बिस्कुटका टोकरी ल्याइएको र त्यसैलाई आधार बनाएर कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रचार गरिएको उल्लेख छ ।

    कार्यालयका अनुसार बिहीबार दिउँसो १४ः३० बजे प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबसहित कर्मचारीहरू बैठकमा रहेका बेला युट्युब च्यानलका व्यक्ति अनुमति बिना कार्यालय प्रवेश गरी भिडियो खिचेका थिए ।

    उनले कर्मचारीले ठेकेदारबाट रक्सी, आइफोन र मिठाईलगायतका उपहार लिएको आरोप लगाउँदै भिडियो प्रसारण गरेका थिए । कार्यालयका सहसचिव एवं प्रवक्ता भुपेन्द्र थापाका अनुसार परियोजनाका प्रतिनिधि बताउने व्यक्तिले अनुमति र जानकारी बिना मिठाइ तथा बिस्कुटका टोकरी कार्यालयमा ल्याएका थिए ।

    उक्त घटनालाई कर्मचारीले अनुचित उपहार लिएको भन्दै प्रस्तुत गर्नु गलत भएको कार्यालयको भनाइ छ । कार्यालयले कर्मचारीका लागि कुनै पनि किसिमका उपहार लिनेदिने कार्य स्वीकार्य नहुने स्पष्ट पार्दै घटनाबारे भ्रामक प्रचार गरी कर्मचारीको मानमर्दन र मनोबल गिराउने गतिविधि रोक्न आग्रह गरेको छ । अन्यथा आवश्यक कानुनी उपचार खोज्ने चेतावनी दिँदै कार्यालयले सुशासन कायम गर्ने सरकारी अभियानप्रति आफूहरू प्रतिबद्ध रहेको जनाएको छ ।

  • प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

    प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

    काठमाडौँ, ३० असोजः प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने भएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले आज सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री शाहको भारत भ्रमण हुने बताउँदै मितिका सम्बन्धमा भने सार्वजनिक समाचारमा उल्लेख भएकै आसपासको मितिमा हुने उल्लेख गरे । विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने समाचारहरू सार्वजनिक भएका छन् । मन्त्री खनालले भने, “तर आजका दिनसम्म हामीले औपचारिक रूपमा निश्चित गरिरसकेका छ्रैनौँ ।”

    वर्तमान सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको जानकारी गराउँदै उनले प्रधानमन्त्रीको आगामी भ्रमण परिणाममुखी र उपलब्धिमूलक हुने आफूहरूको चाहना रहेको बताए । “भ्रमणका दौरान ‘ट्रेड र ट्रान्जिट’, कनेक्टिभिटी, ऊर्जा, सीमालगायत विषयमा केही न केही सकारात्मक प्रगती होस् भन्ने छ”, मन्त्री खनालले भने। भ्रमणका क्रममा ठूला पूर्वाधार तथा जलविद्युत् परियोजनाको उद्घाटन र शिलान्याससँगै विभिन्न सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । गत १३ चैतमा वर्तमान सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री शाहको पहिलोपटक भारत भ्रमण हुन लागेको हो ।

  • भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो

    भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो

    काठमाडौँ, २९ असोजः चालु आवको भदौ महिनामा रु दुई खर्ब २१ अर्ब ३१ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को दुई महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा अघिल्लो आवको भदौ महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ७४ अर्ब ६७ करोड रहेको उल्लेख छ ।

    चालु आवको दुई महिना (साउन र भदौ) मा विप्रेषण आप्रवाह २३ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । दुई महिनामा रु चार खर्ब ३६ अर्ब ३६ करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव पाँच प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २७ दशमलव छ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु चार खर्ब ६९ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु तीन खर्ब ८४ अर्ब ८८ करोड रहेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालको सङ्ख्या ७८ हजार ३२० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५१ हजार १३६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ९० हजार १९८ र ४५ हजार ८८४ थियो ।

  • भूमि बैंक स्थापना गर्ने स्थानीय तहको सङ्ख्या नौ पुग्यो

    भूमि बैंक स्थापना गर्ने स्थानीय तहको सङ्ख्या नौ पुग्यो

    काठमाडौँ, २९ असोजः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप चार स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ ।

    मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाउँपालिका, धुर्कोट गाउँपालिका र पाल्पाको रिब्दीकोट गाउँपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको हो ।

    यससँगै स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने पालिकाको सङ्ख्या नौ पुगेको छ । भूमि बैंकमार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिनेछ ।

    त्यस सन्दर्भमा जग्गाधनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने र त्यसबापत जग्गाधनीले तोकिएको प्रतिफल प्राप्त गर्ने व्यवस्था गरिने छ ।

    उक्त मन्त्रालयका अनुसार भूमि बैंकले जग्गा आवश्यक भएका भूमिहीन तथा सुकुमबासी परिवार, साना किसान, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै जग्गा उपलब्ध गराउन सहजीकरण गर्नेछ । त्यसरी उपलब्ध जग्गामा भूउपयोग वर्गीकरणअनुसार अन्न, तरकारी, नगदेबाली, फलफूलखेती तथा माछा र पशुपन्छीपालनजस्ता कृषि गतिविधि सञ्चालन गर्न प्रोत्साहन गरिनेछ । स्थानीय तहबाट उपलब्ध हुने बीउ, मल, प्राविधिक सहयोग तथा अन्य सहुलियतलाई समेत भूमि बैंकमार्फत लक्षित वर्गमा पुर्याइने छ ।

    यसअघि तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका,  सिन्धुलीको फिक्कल गाउँपालिका, कास्कीको रुपा गाउँपालिका र बाजुराको बडिमालिका नगरपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिइएको थियो ।

    बाँझो जमिनलाई उत्पादनसँग जोड्दै भूमिको अधिकतम उपयोग, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्यले भूमि बैंक स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

  • दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

    दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार


    बागलुङ, २९ असोजः दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ ।

    कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ रु ४५ देखि ५० हजार पर्ने डोल्पा-मुस्ताङ हुँदै २५ दिनको पैदलयात्रामार्फत बागलुङ च्याङ्ग्रा बिक्रीका लागि आउनुभएका तेन्जिङ तार्के तामाङले बताए ।

    “डोल्पा र मुस्ताङका २०० च्याङ्ग्रा ल्याएका थिएँ, जसमध्ये १०० बागलुङ र १०० च्याङ्ग्रा पोखरा पठाएको छु । बागलुङमा बिक्री नभए सबै पोखरा पुग्छ, हाम्रो मुख्य बजार भनेको पोखरा हो”, तामाङले भने, “तीन वर्षदेखि च्याङ्ग्राको कारोबार गर्दै आएको छु, दसैँको समयमा बागलुङ र पोखरालाई डोल्पा र मुस्ताङका च्याङ्ग्रा ल्याउँछु । अहिले पनि गोठमै रु ३७ हजारसम्म च्याङ्ग्राको मूल्य परेको छ, माग भने घटेको छैन । दसैँअघि बिक्री गरिसक्ने योजना छ ।” उनका अनुसार रु ३२ हजारदेखि रु ३७ हजारका दरले गोठबाटै च्याङ्ग्रा खरिद गरेर ल्याउने गरिएको छ ।

    हिमपातले यसपटक च्याङ्ग्रा ल्याउन समस्या भएको उनको  अनुभव रहेको छ । गत वर्षभन्दा यसपटक च्याङ्ग्राको आयात कम भएकाले व्यापार बढ्ने उनको आकलन रहेको छ ।

    बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसैँ लक्षित गरी प्रतिकिलो रु दुई हजार २०० मा मासु बिक्री गरिरहेको बताए । यसपटक मूल्य बढेकाले च्याङ्ग्रा थोरै लिएको उनको भनाइ छ । यस वर्ष मुस्ताङबाट बडादसैँलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य वृद्धि र बाढीपहिरोका कारण मुस्ताङको सडक लामो समय अवरोध हुँदाहुँदा थोरै मात्रमा च्याङ्ग्रा भित्र्याएका व्यापारी बताउछन् ।

    हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने च्याङ्ग्रा खासगरी बडादसैँ र तिहारमा बढी खपत हुने गरेको यहाँका व्यापारी बताउँछन् । दसैँमा प्रायः उपभोक्ताले मासुका लागि भेडाच्याङ्ग्रा खोज्ने गरेकाले हिमालपारिबाट घटस्थापनाको भोलिपल्टदेखि च्याङ्ग्रा भित्रिन थालेको हो ।

    “स्थानीय खसीबोकाको मासु बढी खपत भइरहेको छ, दसैँमा च्याङ्ग्रा खाने परम्परा भए पनि मूल्य वृद्धिका कारण सबैले खान सक्ने अवस्था छैन”, अहिले रोज्जा च्याङ्ग्राकै मूल्य रु ५० हजारसम्म पर्न जान्छ”, व्यापारी थापाले भन्नुभयो, “मुस्ताङको छोसेर, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरिएको छ ।”

    हिमाली भेगमा पालन गरिएका भेँडाच्याङ्ग्र्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको भनाइ छ । चाडपर्वका लागि हिमालपारिको जिल्ला मुस्ताङबाट च्याङ्ग्रा हिँडाएर बागलुङ हुँदै पोखरा लगिने गरेको छ । मुस्ताङबाट १३ हजार ८१७ भेडा च्याङ्ग्रा म्याग्दी, बागलुङ हुँदै पोखरा र काठमाडाैँ निकासी भएका छन् । अहिलेसम्म मुस्ताङबाट ११ हजार ७०० च्याङ्ग्रा र दुई हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी अन्य जिल्ला पठाइएको छ ।

  • सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

    सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

    २९ असोज, काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको महत्वाकांक्षी योजना कार्यान्वयनमा ल्याएको छ।

    दुई हजार भन्दा धेरै विद्यार्थी भएका १०९ वटा विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि कुल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो। यसमध्ये पहिलो चरणमा ८९ वटा विद्यालयको पहिचान गरी ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।

    प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा आधुनिक १२ कोठे तीन तले भवन, अत्याधुनिक प्रयोगशाला र समृद्ध पुस्तकालय निर्माण गर्ने गरी काम तीव्र पारिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनुभएको छ।

    ‘पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरी अत्याधुनिक १२ कोठे तीन तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइरहेका छौँ। प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा बन्ने यी भवनहरूमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ,’ मन्त्री पोखरेलले भन्नुभएको छ, ‘यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ।’

    पहिलो चरणमा निकासा भएको ८९ वटा विद्यालयको विवरण विश्लेषण गर्दा, ८९ मध्ये ३७ प्रतिशतभन्दा बढी अर्थात् ३३ वटा विद्यालय मधेश प्रदेशका परेका छन्।

    मधेश प्रदेशको साक्षरता दर, शैक्षिक सूचकांक र सरकारी विद्यालयको गुणस्तर सुधारमा अझ संवेदनशील र गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता रहेकाले बजेट तथा विद्यालय छनोटमा यस प्रदेशलाई उच्च प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ। मधेशका ठूला विद्यालयहरूमा पूर्वाधारको अभाव हटाएर पठनपाठनको वातावरण सुधार्नु नै सरकारको मुख्य लक्ष्य रहेको जनाइएको छ।

    मधेश प्रदेशपछि लुम्बिनी र कोशी प्रदेशमा पनि ठूलो संख्यामा विद्यालयहरू परेका छन्। लुम्बिनी प्रदेशका २१ वटा विद्यालय पूर्वाधार विकासका लागि छनोट भएका छन्, जसमा रुपन्देहीका ८ र दाङका ६ वटा विद्यालय समावेश छन्।

    त्यस्तै, कोशी प्रदेशबाट १८ वटा विद्यालय परेका छन्, जहाँ झापा र मोरङका ६–६ वटा सहितका विद्यालय सूचीकृत छन्।

    अन्य प्रदेशहरूको हकमा, सुदूरपश्चिम प्रदेशका ६ वटा विद्यालय (कैलालीका ३, कञ्चनपुर, दार्चुला र बाजुराका १–१ वटा) यस योजनामा परेका छन्। गण्डकी प्रदेशका ६ वटा विद्यालय (कास्कीका ३, नवलपरासी पूर्वका २ र तनहुँको १ वटा) छनोट भएका छन् भने कर्णाली प्रदेशका ३ वटा विद्यालय (सुर्खेतका २ र जुम्लाको १ वटा) परेका छन्।

    बागमती प्रदेशबाट भने दुईवटा विद्यालय मात्र परेका छन्।

    सूचीमा हेर्नुहोस्, कुन प्रदेशका कुन विद्यालय ?

    १. कोशी प्रदेश (१८ वटा विद्यालय)

    त्रियुगा नमूना माध्यमिक विद्यालय – त्रियुगा नगरपालिका, उदयपुर
    त्रिवेणी माध्यमिक विद्यालय – कटारी नगरपालिका, उदयपुर
    धुलाबारी माध्यमिक विद्यालय – मेचीनगर नगरपालिका, झापा
    हिमालय माध्यमिक विद्यालय – दमक नगरपालिका, झापा
    देवी माध्यमिक विद्यालय – विर्तामोड नगरपालिका, झापा
    महेन्द्र रत्न माध्यमिक विद्यालय – विर्तामोड नगरपालिका, झापा
    कन्काई माध्यमिक विद्यालय – कन्काई नगरपालिका, झापा
    मोहनमाया माध्यमिक विद्यालय – विर्तामोड नगरपालिका, झापा
    भानु माध्यमिक विद्यालय – फुङ्लिङ नगरपालिका, ताप्लेजुङ
    फिदिम माध्यमिक विद्यालय – फिदिम नगरपालिका, पाँचथर
    साजीलाल माध्यमिक विद्यालय – सुन्दरहरैचा नगरपालिका, मोरङ
    राधिका माध्यमिक विद्यालय – उर्लाबारी नगरपालिका, मोरङ
    पञ्चायत माध्यमिक विद्यालय – पथरीशनिश्चरे नगरपालिका, मोरङ
    सुकुना माध्यमिक विद्यालय – सुन्दरहरैचा नगरपालिका, मोरङ
    पोखरिया माध्यमिक विद्यालय – विराटनगर महानगरपालिका, मोरङ
    आदर्श माध्यमिक विद्यालय – विराटनगर महानगरपालिका, मोरङ
    जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय – बराहक्षेत्र नगरपालिका, सुनसरी
    पब्लिक हाई स्कुल – धरान उप महानगरपालिका, सुनसरी

    २. मधेश प्रदेश (३३ वटा विद्यालय)

    शंकट मोचन देवशरण माध्यमिक विद्यालय – जनकपुरधाम उप महानगरपालिका, धनुषा
    जनता मोडेल माध्यमिक विद्यालय – विदेह नगरपालिका, धनुषा
    विद्यानाथ देवनारायण जनता मोडेल विद्यालय – मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा
    गोगल प्रसाद नमुना माध्यमिक विद्यालय – जनकपुरधाम उप महानगरपालिका, धनुषा
    याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय – जनकपुरधाम उप महानगरपालिका, धनुषा
    नरसिंह माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा
    त्रिजुद्ध महावीर रघुवीर दास माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा
    जिल्ला उचाङ्गाल रामदेव – कलवार माध्यमिक विद्यालय – पोखरिया नगरपालिका, पर्सा
    माइस्थान विद्यापिठ माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा
    नेपाल राष्ट्रिय मोडल माध्यमिक विद्यालय – जितपुर सिमरा उप महानगरपालिका, बारा
    दुर्गा माध्यमिक विद्यालय – कलैया उप महानगरपालिका, बारा
    गौरीशंकर माध्यमिक विद्यालय – निजगढ नगरपालिका, बारा
    गढीमाई महेन्द्र प्राविधिक माध्यमिक विद्यालय – महागढीमाई नगरपालिका, बारा
    श्री ३ चन्द्र माध्यमिक विद्यालय – कलैया उप महानगरपालिका, बारा
    भेरुखी माध्यमिक विद्यालय – लोहरपट्टी नगरपालिका, महोत्तरी
    राष्ट्रिय माध्यमिक विद्यालय – साम्सी गाउँपालिका, महोत्तरी
    महेन्द्र रा माध्यमिक विद्यालय – रामगोपालपुर नगरपालिका, महोत्तरी
    सरस्वती माध्यमिक विद्यालय – गढीमाई नगरपालिका, रौतहट
    कटहरिया माध्यमिक विद्यालय – कटहरिया नगरपालिका, रौतहट
    जनता माध्यमिक विद्यालय सोनरनिया – मौलापुर नगरपालिका, रौतहट
    जुद्द माध्यमिक विद्यालय – गौर नगरपालिका, रौतहट
    नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय – राजदेवी नगरपालिका, रौतहट
    रामचन्द्र माध्यमिक विद्यालय – गरुडा नगरपालिका, रौतहट
    नमुना माध्यमिक विद्यालय वरगजवा – वृन्दावन नगरपालिका, रौतहट
    जनज्योति माध्यमिक विद्यालय – चन्द्रपुर नगरपालिका, रौतहट
    जय किसन माध्यमिक विद्यालय – देबाही गोनाही गाउँपालिका, रौतहट
    माध्यमिक विद्यालय पथरा बुधराम – मौलापुर नगरपालिका, रौतहट
    सरस्वती माध्यमिक विद्यालय – दुर्गा भगवती गाउँपालिका, रौतहट
    नारायण माध्यमिक विद्यालय – ईश्वरपुर नगरपालिका, सर्लाही
    जनज्योती माध्यमिक विद्यालय – लालबन्दी नगरपालिका, सर्लाही
    बेनीभोला मोडेल माध्यमिक विद्यालय – गोडैता नगरपालिका, सर्लाही
    मोहन माध्यमिक विद्यालय – मिर्चैया नगरपालिका, सिरहा
    चन्द्र माध्यमिक विद्यालय – सिरहा नगरपालिका, सिरहा

    ३. बागमती प्रदेश (२ वटा विद्यालय)

    गान्धी माध्यमिक विद्यालय – कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं
    नारायणी नमूना माध्यमिक विद्यालय – भरतपुर महानगरपालिका, चितवन

    ४. गण्डकी प्रदेश (६ वटा विद्यालय)

    अमरसिंह माध्यमिक विद्यालय – पोखरा महानगरपालिका, कास्की
    कालिका माध्यमिक विद्यालय – पोखरा महानगरपालिका, कास्की
    छोरेपाटन माध्यमिक विद्यालय – पोखरा महानगरपालिका, कास्की
    जनक माध्यमिक विद्यालय – गैडाकोट नगरपालिका, नवलपरासी पूर्व
    भीमसेन आदर्श माध्यमिक विद्यालय – देवचुली नगरपालिका, नवलपरासी पूर्व
    सत्यवती माध्यमिक विद्यालय – व्यास नगरपालिका, तनहुँ

    ५. लुम्बिनी प्रदेश (२१ वटा विद्यालय)

    नेपाल आदर्श माध्यमिक विद्यालय – शिवराज नगरपालिका, कपिलवस्तु
    जनता माध्यमिक विद्यालय – बाणगंगा नगरपालिका, कपिलवस्तु
    पद्मोदय पब्लिक माध्यमिक विद्यालय – घोराही उप महानगरपालिका, दाङ
    माध्यमिक विद्यालय रजेना – घोराही उप महानगरपालिका, दाङ
    माध्यमिक विद्यालय तुलसीपुर सेन्टर – तुलसीपुर उप महानगरपालिका, दाङ
    सिद्द रत्न माध्यमिक विद्यालय – तुलसीपुर उप महानगरपालिका, दाङ
    गुरु जजुर माध्यमिक विद्यालय – तुलसीपुर उप महानगरपालिका, दाङ
    बाल विकास माध्यमिक विद्यालय – घोराही उप महानगरपालिका, दाङ
    रामतुलसी माध्यमिक विद्यालय – रामपुर नगरपालिका, पाल्पा
    त्रिभुवन माध्यमिक विद्यालय – कोहलपुर नगरपालिका, बाँके
    धम्बोझी माध्यमिक विद्यालय – नेपालगञ्ज उप महानगरपालिका, बाँके
    मङ्गलप्रसाद माध्यमिक विद्यालय – नेपालगञ्ज उप महानगरपालिका, बाँके
    कालिका मानव ज्ञान माध्यमिक विद्यालय – बुटवल उप महानगरपालिका, रुपन्देही
    नविन औद्योगिक रिता माध्यमिक विद्यालय – बुटवल उप महानगरपालिका, रुपन्देही
    शान्ति नमुना माध्यमिक विद्यालय – तिलोत्तमा नगरपालिका, रुपन्देही
    कान्ति भैरम माध्यमिक विद्यालय – बुटवल उप महानगरपालिका, रुपन्देही
    पब्लिक माध्यमिक विद्यालय – सियारी गाउँपालिका, रुपन्देही
    रामापुर माध्यमिक विद्यालय – सैनामैना नगरपालिका, रुपन्देही
    सैनामैना माध्यमिक विद्यालय – सैनामैना नगरपालिका, रुपन्देही
    रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय – सिद्धार्थनगर नगरपालिका, रुपन्देही
    बालकल्याण माध्यमिक विद्यालय – रोल्पा नगरपालिका, रोल्पा

    ६. कर्णाली प्रदेश (३ वटा विद्यालय)

    चन्दननाथ माध्यमिक विद्यालय – चन्दननाथ नगरपालिका, जुम्ला
    अमरज्योति माध्यमिक विद्यालय – वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
    जन माध्यमिक विद्यालय – वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

    ७. सुदूरपश्चिम प्रदेश (६ वटा विद्यालय)

    महेन्द्रनगर माध्यमिक विद्यालय – भीमदत्त नगरपालिका, कञ्चनपुर
    त्रिनगर माध्यमिक विद्यालय – धनगढी उप महानगरपालिका, कैलाली
    दुर्गालक्ष्मी मोडेल माध्यमिक विद्यालय – गोदावरी नगरपालिका, कैलाली
    कर्णाली माध्यमिक विद्यालय – टीकापुर नगरपालिका, कैलाली
    महेन्द्र मोडल माध्यमिक विद्यालय – महाकाली नगरपालिका, दार्चुला
    मालिका माध्यमिक विद्यालय – बडीमालिका नगरपालिका, बाजुरा

  • राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन

    राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन


    काठमाडौं, असोज २९। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ।


    विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणका लागि स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खाना, खाजा र पेय पदार्थ बिक्री-वितरण गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरिएको छ।


    सूचनाअनुसार होटल तथा रेस्टुरेन्टले ग्राहकले सहजै देख्न सक्ने स्थानमा मूल्यसूची राख्नुपर्नेछ। बिक्री गरिएका वस्तु तथा प्रदान गरिएका सेवाको वास्तविक मूल्य खुल्ने गरी ग्राहकलाई अनिवार्य रूपमा बिल वा बिजक दिनुपर्नेछ।


    त्यस्तै, खाद्यवस्तुको तयारी, भण्डारण तथा बिक्री-वितरणमा स्वच्छता र गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्न, भान्सा, भोजन कक्ष, भाँडाकुँडा, खानेपानी र शौचालयमा सरसफाइ कायम राख्न तथा म्याद गुज्रिएका, दूषित र खान अयोग्य खाद्यवस्तु बिक्री नगर्न विभागले निर्देशन दिएको छ।


    विभागले उपभोक्तालाई मर्यादित, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्न पनि व्यवसायीहरूलाई आग्रह गरेको छ। अनुगमनका क्रममा प्रचलित कानुन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी व्यवस्थाको उल्लङ्घन भएको पाइएमा कानुनबमोजिम आवश्यक कारबाही गरिने विभागले जनाएको छ।


    विभागको यस कदमले राजमार्गमा यात्रा गर्ने उपभोक्तालाई स्वच्छ खाद्यवस्तु, उचित मूल्य र पारदर्शी सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • उद्योगमन्त्री ई. दीपक कुमार साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

    उद्योगमन्त्री ई. दीपक कुमार साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

    काठमाडौं, असोज २९। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
    भेटवार्ताका क्रममा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
    छलफलमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार, औद्योगिक विकास र आर्थिक साझेदारीका सम्भावनालाई अघि बढाउने विषयले महत्त्व पाएको छ।
    त्यसैगरी, उद्योग तथा पूर्वाधार क्षेत्रमा लगानीका अवसर पहिचान गर्ने, व्यापारिक सहकार्यलाई थप प्रभावकारी बनाउने र दुवै देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सहकार्यको सम्भावनाबारे विचार आदानप्रदान भएको छ।
    भेटवार्ताले नेपाल–चीनबीचको पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी हित र आर्थिक समृद्धिका क्षेत्रमा सहकार्य अघि बढाउने महत्त्वलाई उजागर गरेको छ।

  • रुस र युक्रेनले ‘ऊर्जा युद्धविराम’ का लागि सहमति जनाएको ट्रम्पको दावी

    रुस र युक्रेनले ‘ऊर्जा युद्धविराम’ का लागि सहमति जनाएको ट्रम्पको दावी

    वासिङ्टन, २६ असोज (रासस–एएफपी) । रुस र युक्रेनले एकअर्काको ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्न सहमत भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताएका छन् । उनले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेखेका छन्, “तत्काल प्रभावकारी हुने गरी रुस र युक्रेनबीचको युद्ध अन्तर्गत ‘ऊर्जा युद्धविराम’ हुन गइरहेको छ । दुवै पक्ष यसका लागि सहमत भएका छन् ।” युद्धमा घातक आक्रमण बढेपछि आएको यस सहमतिबारे युक्रेन वा रुसबाट तत्काल कुनै पुष्टि भएको छैन।

    आइतबार नै युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले भने, “यदि रुसले युक्रेनको ऊर्जा पूर्वाधारमाथि आक्रमण घटाए, युक्रेन रुसी तेल रिफाइनरीमाथि आक्रमण रोक्न तयार छ।” जेलेन्स्कीको यो टिप्पणी ट्रम्प र युक्रेनी नेताबीचको विवादका बीच आएको हो । जेलेन्स्कीले यसअघि रुसी डिजेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पार्ने अमेरिकी कदमको निन्दा गरेका थिए ।


    एक्सियोसका पत्रकार बाराक राविदका अनुसार जेलेन्स्कीले भनेका छन्, “युद्धविरामको घोषणा मेरा लागि समाचार थियो। तर यदि रुसीहरू ऊर्जा युद्धविराममा सहमत भए भने युक्रेन सहमत हुनेछ। यदि राष्ट्रपति ट्रम्पले पुटिनसँग यसबारे वार्ता गर्नुभएको छ भने कृपया हामीलाई युद्धविराम कहिले सुरु हुन्छ भनेर बताउनुहोस्। हामी यसलाई कार्यान्वयन गर्न तयार छौँ र हामी यसलाई स्वीकार गर्नेछौँ।”

  • साइबर आक्रमण एआइको आसन्न सबैभन्दा खतरा स् बिल गेट्स

    साइबर आक्रमण एआइको आसन्न सबैभन्दा खतरा स् बिल गेट्स

    वाशिङ्टन, २६ असोज (रासस–एएफपी) । बिल गेट्सले आइतबार अनियन्त्रित कृत्रिम बुद्धिमत्ता (एआई) ले बढ्दो खतरा निम्त्याउने बताएका छन् । उनले आगामी वर्षमा एआई–सञ्चालित साइबर आक्रमणहरूमा वृद्धि हुने भविष्यवाणी गरे । माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सल भने, “‘एआई ‘नियन्त्रणबाट बाहिर जाने’ जोखिम अझै वर्षौं टाढा रहेको छ । तत्कालको चिन्ता ‘खराब मानिसहरू’ ले सुरक्षा उपायहरू बिना विद्यमान प्रणालीहरू प्रयोग गर्नु हो ।”

    “आगामी वर्षमा हामी सबैभन्दा नाटकीय रूपमा देख्ने सङ्कट साइबर आक्रमण हो,” गेट्सले एबीसी न्यूजसँगको अन्तर्वार्तामा भने । उनले भने, “अहिले वास्तविक खतरा एआई नियन्त्रणबाट बाहिरिनु होइन। हामी त्यसमा काम गर्न आवश्यक छ, तर ठूलो प्रभावको हिसाबले त्यो वर्षौं टाढा छ।” उनले भने, “यो वास्तवमा खराब मानिसहरूले एआई प्रयोग गर्नु हो, विशेष गरी त्यस्तो एआईमा जहाँ तपाईं सबै सुरक्षा उपायहरू हटाउन सक्नुहुन्छ,” उनले भने, थप्दै कि बायोटेरोरिज्म र साइबर आक्रमणहरूका लागि एआई प्रयोग गर्ने खराब अभिनेताहरूलाई रोक्न बढी प्रतिबन्धहरू आवश्यक छन्।”

    उनले भने, “अहिले, तपाईंलाई ती सबै सुरक्षा उपायहरू हटाउन अनुमति छ । त्यसैले जब तपाईंसँग कुनै सुरक्षा उपायहरू छैनन् र खराब मानिस र त्यसपछि नवीनतम मोडेलहरू छन्, त्यहाँ, अर्को वर्षमा, मुख्यतया साइबर क्षेत्रमा, हामी धेरै नकारात्मक आश्चर्यहरू भोग्नेछौँ।” गेट्सले अगस्टको लामो पोस्टमा विशेष गरी रोजगारीमा विश्व एआईले ल्याएको उथलपुथलको लागि खतरनाक रूपमा तयार नभएको चेतावनी दिएका थिए ।

    आइतबारको अन्तर्वार्तामा, उनले एआई कम्पनीहरूद्वारा स्व–नियमन संसारलाई सुरक्षित राख्न पर्याप्त छ भन्ने विचारलाई खारेज गरे । उनले भने, “मानवजातिले आविष्कार गरेको सबैभन्दा खतरनाक प्रविधिको लागि, त्यो अन्तिम शब्द कम्पनीहरू आफै मात्र समाजसँग सुरक्षाका लागि सचेत बन्न र जोगिन सक्छन् । अहिले हामी पर्याप्त गरिरहेका छैनौँ।”

  • निकुञ्जमा जिप सफारी सुरु

    निकुञ्जमा जिप सफारी सुरु

    चितवन, २६ असोजः चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुन ःसुरुआत गरिएको छ । बर्सातसँगै असार १७ गतेदेखि बन्द गरिएको निकुञ्ज भित्रको जिप सफारी यही असोज २३ गतेदेखि सुरु गरिएको हो । बर्सातले बिग्रिएका निकुञ्ज भित्रका सडकहरु मर्मत गरेर जिप सफारी सुरु गरिएको हो । वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटोहरु मर्मत, ढलेका रूख पन्छाउने, झाडी फाँड्ने लगायतका कामहरु सकिएसँगै जिप सफारी सुरु गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । यही असोजको दोस्रो साता आएको बाढीले जङ्गल सफारी गर्ने रुटहरू भत्काएका कारण जङ्गल सफारी खुला गर्न समय लागेको उनले बताए ।


    निकुञ्जभित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने जिप तथा हात्ती सफारी सबै समयमा यथावत् अवस्थामा हुने गर्दछ । निकुञ्जमा सौराहा क्षेत्रबाट ३२ वटा, कसराबाट २२ वटा यस्तै मेघौलीबाट ११ वटा, अमलटारीबाट आठवटा र माडीबाट एउटा जिपहरू निकुञ्जभित्र चल्ने गर्दछन् । ती जिपमा चढेर पर्यटकले निकुञ्ज घुम्ने गर्दछन् । यहाँ मुख्य रुपमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउने गर्दछन् ।

  • बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्रः नेपाल रेडक्रस

    बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्रः नेपाल रेडक्रस

    काठमाडौँ, २६ असोजः नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको खोज तथा उद्धार, राहत वितरण सहित प्रतिकार्यलाई तीव्रता दिएको छ । आइतबार बिहान गोरखाको चुमनुव्री गाउँपालिका ६ स्थित लोक्पा र चुम्लिङको बीचमा गएको पहिरोका कारण बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी गएको थियो।

    बाढीका कारण तल्लो तटीय क्षेत्रमा ठूलो भौतिक क्षति भएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणको प्रारम्भिक विश्लेषणअनुसार बाढीबाट पाँच जना सम्पर्कविहीन भएका छन् भने दुई पक्की पुल, दुई झोलुङ्गे पुल, तीन जलविद्युत् आयोजना, चार हवन कुण्ड, ४५ घर पूर्ण क्षति २७ आंशिक क्षति, ३४ गोठ र तीन सवारीसाधनमा क्षति भएको छ ।

    नेपाली सेनाको चारवटा हेलिकप्टरमार्फत नौजना विदेशीसहित ८२ जनालाई तत्काल उद्धार पनि गरिएको छ । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालले बाढीको क्षतिको आकलनसहित तत्काल बाढी प्रतिकार्यमा नेपाल रेडक्रसका स्वयंसेवक परिचालन गरिएको र गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पु¥याउन काम भएको जानकारी दिए । उनले भने, “बाढी गएको सूचना प्राप्त गर्नासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपुर पूर्व र पश्चिमका स्वयंसेवकलाई परिचालन ग¥यौँ । उहाँहरुले पूर्वसूचना प्रवाहित गर्नुभयो । प्रतिकार्य जारी छ ।”

    बाढीको तत्काल प्रतिकार्यका लागि गैरखाद्य सामग्री सहित अन्य सामग्री प्रभावित क्षेत्रमा पठाउने काम भएको र यो कार्य जारी रहेको नेपाल रेडक्रसले जनाएको छ । महामन्त्री खनालका अनुसार हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकण र नेपाली सेनाको सहकार्य र समन्वयमा आइतबार नै गैरखाद्य सामग्री त्रिपाल (तारपोलियन)ं, म्याट्रेस, ब्ल्याङ्केट, डिग्निटी किटलगायत प्रभावित क्षेत्रमा पठाइएको छ । साथै अस्पताल सञ्चालन गर्न सकिने ठूला ÷ठूला दुईवटा टेन्ट पनि प्रभावित क्षेत्रमा पठाइएको उनले बताए ।


    महामन्त्री खनालले भने, “ क्षतिको अध्ययन गर्न विज्ञ जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिसकिएको र थप आवश्यक गैरखाद्य सामग्री आज सरकारको समन्वयमा पठाइँदै छ । प्रभावित क्षेत्रमा मानवीय सेवा पु¥याउन स्वयंसेवक तल्लीन छन् । बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण जारी छ । ”

  • सोमबार विपक्षी प्रदर्शन सर्वोच्च अदालतसम्म पुग्नेछः गान्धी

    सोमबार विपक्षी प्रदर्शन सर्वोच्च अदालतसम्म पुग्नेछः गान्धी

    नयाँ दिल्ली, २६ असोज (रासस–एएफपी) । लोकसभामा विपक्षी नेता राहुल गान्धीले सोमबार दिल्लीमा सर्वोच्च अदालतसम्म प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
    उनले भने, “विपक्षी दल, नागरिक समाजका सङ्गठन र आम नागरिक ‘भोट चोरी’ रोक्न, मतदाता सूचीको विशेष गहन पुनरावलोकन (एसआईआर) तुरुन्तै बन्द गर्न र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै सर्वोच्च अदालतसम्म मार्च गर्नेछन्।” उनले भने, “प्रदर्शनका क्रममा भारतका प्रधान न्यायाधीशलाई एक ज्ञापन बुझाइनेछ, जसमा ‘भोट चोरी’ रोक्न, एसआईआर प्रक्रिया बन्द गर्न र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गरिनेछ।”

    सामाजिक सञ्जाल प्लेटफर्म एक्समा गरेको एक पोस्टमा राहुल गान्धीले शनिबार दिल्लीमा शान्तिपूर्ण प्रदर्शन गर्न पुगेका युवाहरूमाथि प्रहरी र बीजेपी कार्यकर्ताहरूले आक्रमण गरेको दावी गरेका थिए । उनले भने, “प्रदर्शनकारीहरू घृणा वा रिससँग आएका थिएनन्, बरु प्रेम र लोकतान्त्रिक मूल्यहरूको भावनासहित आएका थिए।” उनले मानिसहरूलाई पार्टी, जाति, धर्म, समुदाय, राज्य र लैङ्गिक पहिचानभन्दा माथि उठेर यस मार्चमा सामेल हुन अपील गरे ।

    शनिबार भएको प्रदर्शनका क्रममा दिल्लीमा गान्धीको उपस्थिति नभएको विषयमा उनको रणनीतिमाथि प्रश्न उठाइएका थिए । काङ्ग्रेसले भनेको थियो, “गान्धी चेन्नईमा विद्यार्थीहरूलाई सम्बोधन गर्ने पहिले नै तय भएको कार्यक्रमका लागि गएका थिए । गान्धीले शनिबार भएका प्रहरी कारबाहीबारे एक भिडियो सन्देश जारी गरी आलोचना गरेका थिए ।

  • नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

    नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

    काठमाडौँ, २६ असोजः बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् । नयाँ बसपार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो ।

    नयाँबसपार्क सञ्चालन गरेको संस्था लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले यही असोज १७ देखि २५ गतेसम्म नयाँबसपार्कबाट मात्र दुई लाख सात हजार २५१ यात्रु बाहिरिएको राससलाई जानकारी दिए । उनका अनुसार असोज १७ गते १८ हजार ७२९, असोज १८ गते १९ हजार ५३०, असोज १९ गते २३ हजार १६, असोज २० गते २९ हजार ६०२, असोज २१ गते २२ हजार २८८, असोज २२ गते २५ हजार २०१, असोज २३ गते ३१ हजार २३५, असोज २४ गते १६ हजार ९७० र असोज २५ गते २९ हजार ३८० यात्रु बाहिरीएका छन् ।

    दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताए । यही असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमा रोकिँदा समस्या भएको महासचिव गौतमले बताए ।
    महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ । दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ ।

  • दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

    काठमाडौँ, २६ असोजः नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ । नवरात्रको पहिलो दिन आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।

    संसारका समग्र प्राणीलाई सच्चिदाननद रूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आरधना गरिने हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

  • भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

    भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

    म्याग्दी, २६ असोजः बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ ।

    पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्य पहाडी लोकमार्ग भएर बागलुङ, रुकुम पुर्व–पश्चिम, जाजरकोटका पोखरा–काठमाडौँ जाने–आउने सवारीसाधनहरुले पनि बागलुङ–बेनी–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गरिरहेका छन् । बेनी –२ खबराका कमल सुवेदीले सडक दवेको ठाउँमा हिलोमा गाडी फस्ने, उकालो उक्लने नसक्ने, सवारीसाधनको जाम हुने, साँघुरो भएकाले दुर्घटनाको पनि जोखिम भएको बताए ।


    “नदी कटान र पहिरोका कारण एक सय मिटर दूरीमा सडक साविकको भन्दा दुईदेखि तीन मिटर भासिएको र दबेको छ,” उनले भने, “सवारीसाधनको चाप बढेको हुँदा घण्टौँ जाम हुने गरेको छ ।” आर्थिक वर्ष २०८१–८२ मा सडक डिभिजन कार्यालय बागलुङले भसभसे पहिरोको भूमिगत पानी व्यवस्थापन र हिलोमा ढलान गरेको थियो । हाल ढलान गरेको सडक सबै भासिएको छ । जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले भसभसेमा यातायात व्यवस्थापनका लागि सडक डिभिजन कार्यालयले मर्मत र उपकरण परिचालन गरे पनि प्रतिकूल भूगोलका कारण समाधान हुन नसकेको बताए ।


    “सडक डिभिजनले ग्राभेल राखे पनि दबेर भोलिपल्ट पहिलेको जस्तो अवस्था हुन्छ,” उनले भने, “सडक भासिने र दब्ने क्रम नरोकिएकाले फसेका गाडीलाई डोजरको सहयोगले तार्ने गरिएको छ ।” भसभसे पहिरोका कारण खबरा गाउँ पनि जोखिममा परेको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पक्की पर्खाल गरेर तटबन्धका साथै पहिरोग्रस्त ठाउँमा ग्रेड मिलाउने र पक्की बनाउन सडक डिभिजन कार्यालयमार्फत पहल गरिएको कार्यवाहक जिसस प्रमुख खत्रीले बताए ।