उपत्यका विस्थापित नागरिकलाई कहाँ व्यवस्थापन गरिन्छ ?

१८ वैशाख, काठमाडौं । काठमाडौंको बागमती र त्यसका सहायक नदी किनारको अत्यन्तै जोखिमपूर्ण जीवनबाट मुक्त भई एउटा सुरक्षित र व्यवस्थित भविष्यको खोजीमा त्यहाँका बासिन्दाले सरकारको कदमलाई साथ दिन थालेका छन् । काठमाडौंको बल्खु र वंशीघाट क्षेत्रमा बसोबास गर्ने, तर आफ्नो घर, जग्गा र पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको भन्दै उनीहरु यतिबेला दशरथ रंगशाला पुगेर आफ्नो विवरण टिपाउन व्यस्त छन् ।

​आज मात्र आफ्नो सुरक्षित व्यवस्थापनको खोजीमा अहिलेसम्म ७२ जनाले स्वेच्छिक रूपमा रंगशाला पुगेर आफ्नो विवरण दर्ता गराएका छन् । रंगशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले अभिभावकीय भूमिकामा विवरण संकलन गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


विवरण संकलनसँगै त्यहाँ पुगेका नागरिकहरूको स्वास्थ्य जाँच र आवश्यक मनोपरामर्श प्रदान गरिँदैछ, जसले उनीहरुमा रहेको त्रासलाई कम गरी आत्मविश्वास जगाउन मद्दत गरेको समेत सचिवालयको दावि छ । ​आतिथ्य र सम्मानस् लामो समयदेखि असुरक्षित र कष्टकर बसोबास गरिरहेका नागरिकहरूलाई सम्मानजनक व्यवहारका साथ खाजा खुवाएर व्यवस्थित तरिकाले होल्डिङ सेन्टरुमा लैजाने तयारी गरिएको दावि प्रधानमन्त्रीको सचिवालयको छ । ​

विवरण संकलनपछि उनीहरुलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी भएको छ।