नेपाल सरकारसँग प्रवास विभाग अमेरिकाद्वारा गैरआवासीय नेपाली सम्बन्धि विवादास्पद विधेयक तत्काल फिर्ता लिन माग

न्यूयोर्क ।

रास्वपा समर्थकहरूको विश्व संजाल प्रवास नेपाली सम्पर्क विभाग अमेरिकाले झण्डै दुईतिहाईको आफ्नै दल रास्वपाको बालेन सरकारले छलफलको लागि भन्दै जारी गरेको विवादास्पद ‘गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ ले समस्त प्रवासी नेपालीहरूको सपना, आकांक्षा र योजनामा कुठाराघात गरेको भन्दै सो विधेयकमा समावेश विवादास्पद प्रावधानहरू तत्काल फिर्ता लिन आग्रह गरेको छ। साथै, सरोकारवालाहरूलाई संलग्न गराई प्राप्त हुने सुझावहरूलाई समावेश गरी प्रवासी नेपालीको आकाँक्षा अनुरूप बंशजको नागरिकताको निरन्तरता मैत्री विधेयक जारी गरी कार्यान्वयनमा ल्याउन समेत विभागले जोडदार माग गरेको छ। यसैबिच, अप्रिल ३० तारिख न्यू योर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीलाई विभागका कार्यवाहक अध्यक्ष सम्मरबहादुर बुढाथोकीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भेटेर ज्ञापनपत्र बुझाएको छ।

सो ज्ञापनपत्रमा प्रवास विभागका केन्द्रिय र राज्य समितिका गरी ३२ जनाले हस्ताक्षर गरेकाछन्। प्रवासमा रहेका नेपालीहरूको हकअधिकारको सुनिश्चितताको निम्ति रास्वापाको नागरिक करार र सरकारको राष्ट्रिय प्रतिवद्धतामा उल्लेख बंशजको नागरिकताको निरन्तरता कार्यान्वयन गर्न ज्ञापनपत्र बुझाईएको हो।

सो ज्ञापनपत्र प्रधानमन्त्री बालेन्द्र शाहका अलावा सभामुख डिपि अर्याल, रास्वपा सभापति रवि लामिछाने, परराष्ट्र मन्त्री शिशिर खनाल, कानून मन्त्री सोविता गौतम, कानून, न्याय तथा मानव अधिकार समिति सभापति समीक्षा बास्कोटा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सांसदहरू, संविधान संशोधन बहस पत्र तयारी समितिका संयोजक असीम शाह, राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालय सदस्यहरू र रास्वपा प्रवास नेपाली सम्पर्क विभाग, नेपालका प्रमुख दीपक बोहरालाई समेत विभिन्न माध्यमबाट बुझाईएको छ।

प्रवास विभाग अमेरिकाले नेपाली महावाणिज्यदूत न्यूयोर्कको साथै नेपाली राजदूतावास वासिंगटन डिसि, महावाणिज्यदूत डालस, टेक्सास र महावाणिज्यदूत, सान फ्रान्सिस्को, क्यालिफोर्नियामार्फत पनि ज्ञापनपत्र बुझाएर थप दबाब सृजना गर्ने कुरा विभागका कार्यवाहक अध्यक्ष सम्मरबहादुर बुढाथोकीले जानकारी गराए।

ज्ञापनपत्रमा उल्लेख गरिएको माग प्रकाशित पत्रमार्फत पूर्ण पाठ पढ्नुहोस्