युवा साहित्य परखीहरुमाझ देशभरि अहिले “डेरामा बस्ने केटी” को चर्चा चुलिएको छ । युवा साहित्यकार प्रेमकृष्ण श्रेष्ठले लेखेको कथा संग्रह “डेरामा बस्ने केटी” को अहिले नेपालभरि बिक्री बढेको छ । कतिले मदन पुरस्कार त कहिले पदमश्रीको हकदार भनेर सामाजिक संजाल तताउन थालेका छन ।
त्रिभुवन विश्वविध्यालय केन्द्रिय पुस्तकालयका पूर्व प्रमुख आई. पि अधिकारीले “डेरामा बस्ने केटी” कथासंग्रह देशकै चर्चित कृति भन्दै आफू पनि रत्न पुस्तकालय आजै जाने टिप्पणी गरेको लेख्दा पाठक थप उत्साहित भए । सामाजिक अभियन्ता अभिनव बज्रले पुस्तकको सर्टेजमा प्रश्न नै उठाएका थिए । पुस्तक हाल निकै चर्चामा छ । पुस्तक वरिष्ठ सम्पादक होम भट्टराईले सम्पादन गरेका हुन भने संवाद प्रकाशनले प्रकाशित गरेको हो । पुस्तक मदन पुरस्कार २०८३ को प्रमुख दाबेदार भनि चर्चामा छ ।
कुनै बेला सायद बिमलाले कल्पनासम्म गरेकी थिइनन्, विश्व अर्थतन्त्र, व्यापार, सञ्चार र अवसरको केन्द्र अमेरिकाको न्युयोर्क सहरमा आफ्नै रेस्टुरेन्ट हुनेछ र त्यही रेस्टुरेन्टकै माध्यमबाट आफू चर्चा परिचर्चाको शिखरमा पुगिनेछ भन्ने।
अहिले उनी न्यूयोर्कमा एक उत्कृष्ट ब्यबसायीमा दर्ज भएकी छिन्। न्यूयोर्क सहर भित्रका २५ हजारभन्दा बढी रेस्टुरेन्टबीच बिमला हमाल श्रेष्ठको रेस्टुरेन्ट (नेपाली भान्छा घर ) १०० उत्कृष्ट रेस्टुरेन्टको सुचीमा परेको छ । जुन नेपालीको बाक्लो बस्ती रहेको ज्याक्सन हाइट्समा अवस्थित छ । सन् २०२६ को न्यूयोर्क टाईम्स म्यागेजिनले तयार गरेको सय वटा रेस्टुरेन्टको सुचीमा आफ्नो स्थान बनाउनु बिमलाका लागि सामान्य थिएन । निरन्तरको मेहनत र लामो समयको संघर्षले मात्रै यो सफलता हात पारेको उनी बताउँछिन्। उनले गरेको ब्यबसाय कर्मले अन्तराष्ट्रियस्तर सम्म नेपाली समुदायको नाम रोशन गरिरहेको भन्दै बिभिन्न नेपाली संघ संस्थाले उनलाई शुभकामना र हौसला दिइरहेका छन् । अहिले उनलाई भेट्न रेस्टुरेन्टमा थुप्रै खालका समुहहरु आइरहेका छन् ।
न्युयोर्क टाईम्समै काम गरिरहेका बिद्दार्थी भाइबहिनीहरु आएर रेस्टुरेन्टको सबै खानाको स्वाद लिने र कुराकानी गर्ने गरिरहेका छन् । ‘हिजो मात्रै गोरेहरुको एक ग्रुप आएर अन्तरबार्ता लिए, आधा घण्टा अन्तरबार्ता लिएको मलाई ५ सय डलर दिएर गए’ खुसीले गदगद हुँदै उनले सुनाइन् ‘मेरो रेस्टुरेन्टबारे पत्रपत्रिकामा आउन थालेपछि, बर्षौबर्षदेखि ज्याक्सन हाईस्ट्स आसपासमा बसोबास गरिरहेका र पहिले कहिल्यै नभेटेका नेपालीहरु भेट्न आइरहनु भएको छ ।’ केही राणा परिवारका सदस्यसमेत रेस्टुरेन्टमा आएर आफुलाई भेटेको उनी बताउँछिन् ।
नेपाली स्वाद, संस्कृति र पहिचानलाई विश्वमाझ स्थापित गरिरहेको नेपाली भान्छा घरको यो सफलता सम्पूर्ण नेपाली समुदायका लागि गर्वको विषय बनेको छ । यस अघि पनि बिमलाको रेस्टुरेन्टले पाँच पटक सम्म ‘मम क्रल’ जित्दै आएको थियो । न्युयोर्क सिटीले हरेक बर्ष आयोजना गर्दै आएको मम क्रल (मम प्रतियोगिता) मा ३३ भन्दा बढी नेपाली रेस्टुरेन्टहरु भाग लिंदै आएका छन् । त्यसमा बिमलाको रेस्टुरेन्ट ५ पटक सम्म उत्कृष्ट मम जित्न सफल भएको थियो । के कसरी मापन गर्ने भन्ने बारेमा आफुहरुलाई जानकारी नै नहुने पनि उनले बताईन् । ‘मेरो रेस्टुरेन्टमा नेपाली मात्र होइन अन्य बिभिन्न मुलुकका थुप्रै ग्राहकहरु आउँछन् । रेस्टुरेन्टमा आउने सबै ग्राहक हाम्रा लागि समान हुन् । उनीहरुकै सेवामा हामी संधै ब्यस्त हुन्छौं । कतिबेला को आएर के/के छानबीन गरेर गए थाहै भएन ।’ उनी आफ्नो अनुभब सुनाउँदै थिइन्, ‘न्युयोर्क टाइम्समा १०० को सूचीमा मेरो रेस्टुरेन्ट परेको छ भन्ने मलाई थाहै थिएन । न्युयोर्क नेपाली काम पोस्टको भाइ लेलिन कँडेलले ‘नेपाली भान्छाघरलाई धेरै बधाई न्युयोर्क टाइम्सको १०० रेस्टुरेन्टहरुको सुचीमा पर्न सफल भएकोमा‘ भनेर फेसबुकमा पोस्ट गर्नु भएछ । त्यो स्टाटस मेरो साथीले देखेर मलाई स्क्रिनसट पठाउँदा म झसङ्ग भएँ। पहिले त के हो भन्ने पनि थाहा भएन।’
स्याङ्जाको वालिङमा जन्मिएकी बिमला सन् २००८ मा अमेरिका आएकी थिइन् । बिमलाका सुरुवाती दिनहरु पटक्कै सहज थिएनन् । काम पाउन गाह्रो थियो । एउटा इन्डियनको घरमा घरेलु कामदारको रुपमा काम गरेर अमेरिकामा संघर्ष सुरु गरेकी थिइन् । आफुले केही ब्यबसाय गर्न पाए हुन्थ्यो भन्ने हुटहुटीले ४ जना साथीहरुसंग मिलेर सन् २०१५ मा नेपाली भान्छाघर स्थापना गरेकी हुन्। एक्लो जीबनमा धेरै दुख र संघर्ष पछि मात्रै यो अवस्थामा आइपुगेको उनी सम्झिन्छिन्, ‘पार्टनरहरुको बिश्वासमा सबै छोडी दिँदा उनीहरूले नै फसाएर रेस्टुरेन्ट बन्द गर्नुपर्ने सम्मको अवस्था आएको थियो । उनले लङआइल्याण्डमा काम गर्दा गर्दै रेस्टुरेन्ट संचालनमा ल्याएकी थिइन् । साथीहरुको समेत पैसा आंफैले हालिदिएर रेस्टुरेन्टमा लगानी गरेकी उनी हप्तामा एकदुई दिन आएर रेस्टुरेन्ट हर्ने गर्थिन् । त्यसैबिच पार्टनरहरूले भाडा नतिरेर घरबेटीले रेस्टुरेन्ट नै बन्द गरिदिएको थियो । त्यसपछि उनले एक्लै पुन संचालन गरेकी हुन् । उनका अनुसार, आफुले पुरै विश्वास गरेर रेस्टुरेन्ट जिम्मा लगाएका पार्टनरबाटै ठुलो धोका पाएकी थिइन् । उनी आफैले साथीहरु सबैको पैसा हालिदिएर रेस्टुरेन्टको पार्टनर बनाएकी थिइन् । तर ती साथीहरु मिलेर रेस्टुरेन्टमा बिमलाको कुनै स्वामित्व नरहने र रेस्टुरेन्टमा हकदाबी गर्न नपाउने गरी झुक्याएर कानुनी कागजात तयार पारेछन् । ‘बैकबाट पैसा झिक्नको लागि कागजात मिलेन साइन गर्दिनु भन्दै भुर्तेल ल फर्ममा पठाए । त्यहांपुग्दा वकिलले सबै बताएपछि म त छांगाबाटै खसें’ उनी आफ्नो जीबन भोगाइ सुनाउंदै थिइन् । केही गर्न थोज्दा खाली दु:ख र अफ्ठेरो मात्रै आउंथ्यो । भगवान पनि मेरो पक्षमा छैनन भन्ने लाग्थ्यो ।’ उनले एक्लै चलाएको रेस्टुरेन्टको ब्यापार राम्रै चलेको थियो । सन् २०२० मा कोभिड आएर २ महिना रेस्टुरेन्ट बन्द गर्नु पर्यो । पछि रेस्टुरेन्ट खोलेपनि ग्राहक कोही आउदैनथिए । अनलाईबाट अडर लिएर सामान पुर्याउन घर घर जान्थिन्। उनले कोरोनाको समयमा धेरै नेपालीलाई खाना दिएर सहयोग गरेकी थिइन् । त्यति मात्र होइन ज्याक्सन हाईट्स नजिकै रहेको एल्मर्ष्ट हस्पिटलमा कार्यरत डाक्टरहरुलाई समेत निशुल्क खाना खुवाएर सहयोग गरेकी थिइन् । उनी बिहान सबेरैदेखि रातको १२/१ बजेसम्म काम गरिरहेकी भेटिन्छिन्। ग्राहकको मेनु अनुसारको खाना पकाउने, रेस्टरेन्टमा आवश्यक पर्ने सामान किनमेल गर्ने र ग्राहकको सेवामा खटिने सबै आंफै गर्छिन् ।
एकातिर कडा मेहनत र लगनशीलताले उनलाई सफलता, चर्चा र सम्मानको उचाइमा पुर्याइरहेको छ भने अर्कोतिर उनको जीवनको अर्को पाटो उत्तिकै पीडादायी छ। अमेरिका आएदेखि आजसम्म उनले नेपाल फर्कने अवसर पाएकी छैनन्। ३ बर्षकी छोरी , ६ बर्षको छोरो र श्रीमान छोडेर परदेशिएकी बिमलाले न त आफ्ना सन्तान र परिवार नै भेट्न पाएकी छिन् । सफलताको शिखर चुमिरहेकी बिमलाको मनको एउटा कुनामा भने परिवारबाट टाढिनुपरेको पीडा आज पनि उत्तिकै गहिरो भएर बसेको छ । तर उनी निराश छैनन्, ‘एक दिन त भेट अवश्य होला नि,’ उनी मुस्कुराउँछिन्।
नेवा: नख: न्यूयोर्कको आयोजनामा नेपाल सम्वत् ११४६, गुंलागा: नवमी अर्थात् शनिबार, सेप्टेम्बर ५, २०२६ का दिन दशौँ सामूहिक ईही कार्यक्रम न्यूयोर्कको ज्याक्सन हाइट्सस्थित युनाइटेड शेर्पा एसोसिएसनको भवनमा आयोजना गरिएको थियो।
नेवा: गुभाजु समन्त श्री बज्राचार्यले नेवा: परम्परा र विधिअनुसार ईही पूजा सम्पन्न गराउनुभएको थियो। पूजामा गुरूमा पुष्पा बज्राचार्य तथा नेवा: नख:का पूर्व अध्यक्ष, सल्लाहकार एवं कार्यक्रम संयोजक महेन्द्र वीर बज्राचार्य र पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु मान प्रधानले जजमान (मुख्य कर्ता) का रूपमा सहयोग गर्नुभएको थियो।
यस बर्षको सामूहिक ईही कार्यक्रममा दुई बालिका टिसा प्रधानाङ्ग र माईरा श्रेष्ठ सहभागी भएका थिए।
संस्थाका महासचिव सलोनी वन्त श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्दै सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्रुति अमात्यले गर्नु भएको थियो भने द्वितीय उपाध्यक्ष राधिका कुमारी श्रेष्ठले सहभागी तथा अतिथिहरूलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो। प्रथम उपाध्यक्ष तुलसी नारायण चित्रकारले सहभागीहरूको परिचय गराउँदै ईही संस्कारको महत्वबारे प्रकाश पार्नुभएको थियो। निवर्तमान अध्यक्ष तथा सल्लाहकार डा. नरेश मान शाक्यले नेवा: नख: न्यूयोर्कको स्थापना, उद्देश्य तथा संस्थाका गतिविधिबारे जानकारी दिनुभएको थियो।
कार्यक्रमको अवसरमा अध्यक्ष श्रुति अमात्य र प्रथम उपाध्यक्ष तुलसी नारायण चित्रकारले ईहीमा सहभागी बालिकाहरूलाई सहभागिता प्रमाणपत्र वितरण गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो।
कार्यक्रमको अतिथि स्वागत तथा दर्ता कोषाध्यक्ष मेनी श्रेष्ठ छोचूँ र सदस्य नम्रता प्रधानले गर्नुभएको थियो। सह-कोषाध्यक्ष तथा थाय्-भू संयोजक उजिला प्रधान, कार्यसमिति सदस्यहरू मोहिनी कर्माचार्य र अनिता बज्राचार्य तथा सदस्यहरू शोभाना शाक्य, लक्ष्मी शोभा चित्रकार, कमला प्रधान, कान्तेश्वरी डंगोल, रोशनी चित्रकार र कल्याणी श्रेष्ठले ईही पूजाका सामग्री तयारी गर्नुका साथै बालिकाहरूलाई मूलढोकाबाट लस:कुस: गरी ईही गर्ने स्थलमा भित्र्याउनुभएको थियो। उहाँहरूले उपहार तथा सगुनसहित सहभागी बालिकाहरूका लागि थाय्-भू पनि तयार गर्नुभएको थियो।
त्यसैगरी, संस्थाका सदस्यहरू दिपक कुमार प्रधान, जीवेन्द्र भक्त प्रधानाङ्ग तथा स्वयंसेवकहरू अभिषेक छोचूँ, मुनिन्द्र बज्राचार्य, साईमन शाक्य, विष्लेक्स मान प्रधान, उज्जन प्रधान, सिद्धार्थ बज्राचार्य र रोहन चित्रकारले अतिथिहरूको सत्कार तथा नेवा: समयबजीको व्यवस्थापनमा सहयोग गर्नुभएको थियो। जस राईले कार्यक्रमको फोटोग्राफी गरी सहयोग गर्नुभएको थियो।
कार्यक्रमको समापनमा अध्यक्ष श्रुति अमात्यले उपस्थित बालबालिका, अभिभावक, गुभाजु, गुरूमा, अतिथि, संस्थाका सम्पूर्ण सदस्य, सल्लाहकार तथा सहयोगी एवं स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। उहाँले ईहीमा सहभागी बालिकाहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो। अध्यक्ष अमात्यले अमेरिकामा रहेर पनि नेवा: समुदायको महत्वपूर्ण संस्कारलाई संस्थागत रूपमा निरन्तरता दिन पाउनु गौरवको विषय भएको बताउँदै अमेरिकामा जन्मे–हुर्केका नयाँ पुस्तालाई नेवा: भाषा, संस्कृति, संस्कार र परम्पराबारे सिकाउँदै यसको संरक्षण र पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।
नेवा: नख: न्यूयोर्क नेवा: भाषा, संस्कार, परम्परा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०११ मा न्यूयोर्कमा स्थापना भएको नेवा: संस्था हो। संस्थाले स्थापनाकालदेखि नै नेवा: समुदायको भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका साथै समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
नेपाली संगीताकाशमा बिगत ३३ वर्षदेखि नेपाली लोकपप संगीत पस्कदै आएको पोखरेली लोकप्रिय ब्याण्ड “कन्दरा” ले पहिलो पटक न्युयोर्क सहरमा आफ्नो प्रस्तुति दिने भएको छ ।
चाँदनी क्रियशन न्युयोर्कको आयोजना र इसेन्स स्माइलको विशेष सहयोग एवम् सहकार्यमा यही अगष्ट १५ तारिख शनिबार न्युयोर्क सहरको मेलरोज बलरुम, एलआइसीमा साँझ ८:३० देखि साँगीतिक कार्यक्रम शुरु हुने जनाएको छ ।
गत शनिबार प्रेस मिटमा आयोजकका तर्फबाट डा. सुलोचना गुरुङका अनुसार बिध्यार्थीको परिचय पत्रसहित टिकट लिंदा विशेष छुट हुनेसमेत बताएका छन् ।
Screenshot
लेककी हे माया… हङकङ पोखरा… तगारोमा रुमाल राखि… जस्ता कालजयी गीतहरुमार्फत नेपाली संगीतका पारखीहरुको मन जितिसकेका ब्याण्डले न्युयोर्केली नेपालीलाई भरपुर मनोरञ्जन दिने आयोजक चाँदनी तामाङले विश्वास व्यक्त गरे।
अहिले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीको एउटा भिडियो निकै भाइरल भइरहेको छ। विशेषगरी गैरआवासीय नेपाली अभियन्ताहरूले यो भिडियोलाई धेरैभन्दा धेरै मानिससम्म पुर्याउन व्यापक रूपमा प्रचार गरिरहेका देखिन्छन्। भिडियोमा टिप्पणी गर्दै सांसद शाहीलाई धन्यवाद दिनेहरूको संख्या पनि निकै ठूलो छ।
सुरुमै म एउटा कुरा स्पष्ट पार्न चाहन्छु। विदेशमा जुनसुकै देशको नागरिकता लिए पनि नेपाली नागरिकता कायम रहनुपर्छ भन्ने मूल धारणामा मेरो पनि पूर्ण समर्थन छ। यो महत्त्वपूर्ण विषय उठाएकोमा सांसद शाहीलाई धन्यवाद दिनैपर्छ। तर, कुनै पनि जटिल कानुनी र संवैधानिक मुद्दालाई यति सजिलो बनाएर “वंशजको नागरिकता भए संसारभरका सबै नेपालीको समस्या सुल्झिन्छ” भन्ने निष्कर्षमा पुग्नु भनेको सही होइन।
उहाँले आफ्नो भिडियोमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था किन ल्याइयो, यसको संवैधानिक, कानुनी र नीतिगत पृष्ठभूमि के हो भन्ने बारेमा कुनै गहिरो छलफल गर्नुभएको छैन। यस्तो सतही प्रस्तुतिले गर्दा धेरै मानिसमा “गैरआवासीय नेपाली नागरिकताको त केही आवश्यकता नै छैन” भन्ने गलत बुझाइ पैदा हुन सक्छ।
यदि यस्ता कुरा कुनै सर्वसाधारणले भनेका भए त त्यसलाई व्यक्तिगत धारणा मानेर छाड्न सकिन्थ्यो। तर, नीति निर्माण गर्ने र कानुन बनाउने संसदमा जनताको प्रतिनिधित्व गर्ने जिम्मेवार व्यक्तिले बोल्दा उहाँका प्रत्येक शब्दले सार्वजनिक धारणा बनाउँछ। त्यसैले यस्ता संवेदनशील विषयमा बोल्दा अध्ययन, तथ्य र संविधानको मर्मलाई बुझेर बोल्नु जरुरी हुन्छ। क्षणिक लोकप्रियताका लागि जटिल विषयलाई अत्यधिक सरल बनाउनु दीर्घकालीन रूपमा समाजका लागि राम्रो हुँदैन।
मैले केही दिनदेखि फेसबुकमा यसै विषयमा आफ्ना विचारहरू लेख्दै आएको छु। तर, कतिपय साथीहरूले मेरो लेखाइलाई नागरिकताको निरन्तरताको विरोध गरेको रूपमा बुझ्नुभएको देख्दा मलाई निकै दुःख लागेको छ। वास्तवमा मेरो विरोध नागरिकताको निरन्तरताको होइन, बरु बहसलाई अधुरो, एकपक्षीय र भ्रामक ढंगले प्रस्तुत गर्ने प्रवृत्ति ठिक होइन भन्ने मात्र हो।
म फेरि स्पष्ट पार्न चाहन्छु, हामीलाई हाम्रो वंशजको नागरिकताको निरन्तरता हुनैपर्छ। तर त्यससँगै गैरआवासीय नेपाली नागरिकताको अवधारणा किन ल्याइयो, संविधानमा यसको व्यवस्था किन गरियो र यसको वास्तविक उद्देश्य के थियो भन्ने विषयमा पनि उत्तिकै गम्भीर बहस हुनुपर्छ। एउटा व्यवस्था ल्याएर अर्को व्यवस्थालाई अनावश्यक देखाउने प्रयासले समाधान भन्दा बढी अन्योल मात्र फैलाउँछ।
लोकतान्त्रिक समाजमा बहस हुनुपर्छ, तर त्यो बहस तथ्यमा आधारित हुनुपर्छ। भावनाले मानिसलाई क्षणिक समर्थन त दिलाउन सक्छ, तर दिगो नीति बनाउन सक्दैन। त्यसैले नागरिकता जस्तो संवेदनशील विषयमा हामी नाराभन्दा माथि उठेर संविधान, कानुन, राष्ट्रिय हित र विश्वभर छरिएका नेपालीहरूको वास्तविक आवश्यकतालाई केन्द्रमा राखेर छलफल गर्नुपर्छ।
हामीले बुझ्नैपर्ने कुरा के हो भने, नागरिकताको प्रश्न कुनै एउटा विशेष समूहको मात्र होइन। यो राष्ट्र, संविधान, समानता र न्यायसँग जोडिएको विषय हो। यदि हामी वंशजको नागरिकताको पक्षमा बोल्छौँ भने अन्य गैरआवासीय नेपालीका अधिकारका लागि पनि बोल्नुपर्छ। यदि विदेशमा जन्मिएका नेपाली मूलका सन्तानको भविष्यको चिन्ता गर्छौँ भने, नेपालमै कागजातको अभावमा नागरिकताबाट वञ्चित भएका युवाहरूको पीडा पनि बुझ्नुपर्छ। न्याय भनेको आफूलाई मात्र फाइदा हुने कुरा होइन, यो त सबैका लागि समान रूपमा लागू हुने व्यवस्था हो।
लोकतन्त्रमा आफ्नो अधिकार माग्नु स्वाभाविक हो, तर त्यो आवाज ‘चयनात्मक’ हुनु हुँदैन। आफ्नो मात्र अधिकारका लागि कराउने र अरूको अधिकारको कुरा आउँदा मौन बस्ने प्रवृत्तिले समाजलाई विभाजित मात्र बनाउँछ। “मलाई मात्र फाइदा भयो भने पुग्छ” भन्ने संकुचित सोचले राष्ट्र निर्माण हुँदैन। राष्ट्र तब बन्छ, जब हामी “सबै नेपालीका लागि समान न्याय” को पक्षमा एकसाथ उभिएर आवाज उठाउँछौँ।
संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भए तापनि व्यवहारमा यसले सोचेजस्तो अधिकार दिन सकेको छैन। नाममा नागरिकता जोडिए पनि यसले पूर्ण नागरिक सरहका सबै अधिकारहरू सुनिश्चित गरेको छैन। धेरै अधिकारहरू अझै पनि सीमित छन्, त्यसैले यस विषयमा गम्भीर समीक्षा र सुधारको खाँचो छ। यसलाई हामीले पनि भारतमा जस्तो प्रयोग गर्न सक्नेछौँ। विदेशमा रहेका भारतीय मूलका मानिसहरूको सम्बन्ध भारतसँग कायम राख्न भारतले ओभरसिज सिटिजन अफ इन्डिया (OCI – Overseas Citizen of India) व्यवस्था ल्याएको छ। यसलाई धेरैले “दोहोरो नागरिकता” भनेर बुझ्ने गरे पनि कानुनी रूपमा यो नागरिकता होइन, विशेष प्रकारको दीर्घकालीन बसोबास र सुविधा दिने हैसियत हो। त्यसो भएमा यस्तो अधिकार दोहोरो नागरिकताको व्यवस्था नभएको देशमा बस्नेहरूले पनि प्रयोग गर्न सक्नेछन्।
संविधानको धारा २९१ पनि नागरिकताको बहससँग अभिन्न रूपमा जोडिएको छ, तर यसमा खुलेर छलफल गर्नेहरू थोरै छन्। वास्तवमा, संविधानमा उल्लेख नै गर्न नपर्ने धारा २९१ लाई सकेसम्म छिटो खारेज गर्नु पर्छ। देशका विभिन्न संवैधानिक पदहरूमा नियुक्त हुनका लागि आवश्यक योग्यताका प्रावधानहरू पद अनुसार नै तय गरिएका हुन्छन्। नागरिकताको निरन्तरता वा गैरआवासीय नेपाली प्रमाणपत्र भएकाहरूले के कस्ता काम गर्न पाउँछन् वा पाउँदैनन् भन्ने कुरा सम्बन्धित पदकै प्रकृति अनुसार हुने भएकाले यसमा ठूलो समस्या छैन। सम्बन्धित व्यक्तिले कानुनले तोकेको दायराभित्र रहेर आफ्नो अधिकार प्रयोग गर्ने नै छन्।
अहिले संविधानको धारा १४ मा व्यवस्था गरिएको गैरआवासीय नेपाली नागरिकता नेपालको नागरिकता त्याग गरेर विदेशको नागरिकता लिनेहरूको हकमा मात्र प्रयोग गर्न सकिन्छ। बरु यो धाराले व्यवस्था गरे अनुसार राजनीति बाहेक अन्य सबै अधिकारहरू प्रयोग गर्न सकिने गरी छिटोभन्दा छिटो कानुनहरू बनाउनु पर्ने हुन्छ। यदि अहिले यो धारा नै खारेज गर्ने हो भने दोहोरो नागरिकता प्रयोग गर्न नपाइने देशमा बसोबास गर्नेहरूको अधिकार खोसिनेछ। तर, जसले विदेशको नागरिकता लिएको छैन तर लामो समय विदेशमै बसेका छन्, उनीहरूको हकमा गैरआवासीय नेपालीको प्रमाणपत्रको व्यवस्था भने यथावत राख्नु पर्ने देखिन्छ।
जसले नेपालको नागरिकता नत्यागी अन्य देशको नागरिकता लिएका छन्, उनीहरूको समस्या सुल्झाउने एउटा अत्यन्तै सरल र सहज उपाय छ। अहिले हामीले माग गरिरहेको वंशजको नागरिकताको निरन्तरता पनि यहीबाट सम्भव हुन्छ। माननीय शाहीले बताउनुभएझैँ, जससँग पुरानो नागरिकता छ, उसले त्यही नागरिकता प्रयोग गर्न पाउनुपर्छ। यसका लागि वि.सं. २००९ सालदेखि चल्दै आएको र हाल नागरिकता ऐन २०६३ को दफा १० (१) मा उल्लेखित प्रावधानलाई खारेज गर्नुपर्छ। यदि यो उपदफा खारेज भयो भने, विदेशको नागरिकता लिएपछि नेपालको नागरिकता स्वतः खारेज नहुने प्रावधान लागू हुनेछ र यसबाट हाम्रो वंशजको नागरिकताको सुनिश्चितता हुनेछ। हामीले वर्षौँसम्म कडा संघर्ष गर्दा पनि तत्कालीन सत्तामा रहेका दलका नेताहरूलाई यी विषयमा पूर्ण रूपमा बुझाउन सकेनौँ। त्यसैले “केही पनि नपाउनु भन्दा थोरै भए पनि पाउनु राम्रो” भन्ने सोचका साथ हामीले संविधानको धारा १४ अन्तर्गतको गैरआवासीय नेपाली नागरिकताको व्यवस्थालाई स्वीकार गर्यौँ। त्यो हाम्रो अन्तिम लक्ष्य थिएन, बरु लामो संघर्षको एउटा महत्त्वपूर्ण मोड मात्र थियो।
तर दुर्भाग्यको कुरा, आज कतिपय व्यक्तिहरूले यही व्यवस्थालाई लिएर नकारात्मक टिप्पणी गरिरहेका छन्, यसको औचित्यमाथि प्रश्न उठाउँदैछन् वा यसलाई अनावश्यक भनिरहेका छन्। उनीहरूको यस्तो व्यवहारले गैरआवासीय नेपाली समुदायले दशकौँदेखि गरेको संघर्ष, संवाद र प्राप्त उपलब्धिहरूलाई बुझ्न नसकेको देखिन्छ। कुनै पनि उपलब्धिको मूल्याङ्कन गर्दा त्यसको ऐतिहासिक पृष्ठभूमि, तत्कालीन राजनीतिक परिस्थिति र उपलब्ध सम्भावनाहरूलाई ध्यानमा राखेर गर्नुपर्छ।
आजको परिस्थिति पहिलेको भन्दा फरक छ। अहिले नयाँ राजनीतिक नेतृत्व, नयाँ दृष्टिकोण र नयाँ अवसरहरू देखिएका छन्। यदि वर्तमान सत्तापक्षले यो विषयलाई भावनामा बहकिएर होइन, बरु संविधान, कानुन र विश्वभर छरिएर रहेका नेपालीहरूको वास्तविक हितलाई केन्द्रमा राखेर हेर्ने हो भने, नागरिकताको निरन्तरताको समस्या समाधान गर्न धेरै समय लाग्दैन।
नागरिकताको यो मुद्दालाई बलियो बनाउन अहिले सबैभन्दा ठूलो आवश्यकता एकता हो। यो कुनै एउटा विशेष समूह, क्षेत्र वा वर्गको मात्र विषय होइन। बरु यो त विश्वभर छरिएर रहेका नेपाली मूलका मानिसहरूको साझा पहिचान र भविष्यसँग जोडिएको साझा मुद्दा हो। तर, जब हामी यस्तै साझा मुद्दाभित्र पनि आफूलाई अरूभन्दा फरक देखाउन वा कुनै विशेष समूहको रूपमा मात्र प्रस्तुत हुन खोज्छौँ, तब हाम्रो मुख्य उद्देश्य नै कमजोर हुन्छ।
अहिलेको मुख्य आवश्यकता भनेको एकअर्कालाई दोष लगाउनु होइन, बरु विगतका उपलब्धिहरूलाई सम्मान गर्दै त्यसलाई अझ अगाडि बढाउने साझा अभियान चलाउनु हो। विभाजित स्वरले भन्दा एकीकृत स्वरले मात्र प्रभाव पार्न सक्छ। त्यसैले अब व्यक्तिगत स्वार्थ, दलगत राजनीति वा समूहगत प्रतिस्पर्धाभन्दा माथि उठेर सबै गैरआवासीय नेपाली, सरोकारवाला संस्थाहरू र राजनीतिक नेतृत्व एकै ठाउँमा उभिनुपर्छ। यही एकता र साझा प्रयत्नले मात्र नागरिकताको दीर्घकालीन र न्यायपूर्ण समाधान सम्भव छ।
(लेखक अधिवक्ता श्रेष्ठ तीन दशकदेखि बेलायतमा बसोबास गर्दै आएका छन्। )
न्युयोर्क न्यूयोर्क, जुलाई १२ — नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट (NABIS) २०२६ को औपचारिक घोषणा गरेको छ।
आगामी सेप्टेम्बर २५ देखि २७, २०२६ सम्म न्यूयोर्कस्थित न्यूयोर्क जेएफके मेरियट होटल मा आयोजना हुने तीनदिने अन्तर्राष्ट्रिय व्यापार सम्मेलन “Connecting Capital, Ideas & Opportunities” (पूँजी, विचार र अवसरलाई जोड्ने) नाराका साथ सञ्चालन हुनेछ।
समिटमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि, व्यवसायी, लगानीकर्ता, उद्यमी, नीतिनिर्माता तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको सहभागिता रहने आयोजकले जनाएको छ।
सम्मेलनमार्फत दुई देशबीच व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि विकास र दीर्घकालीन आर्थिक साझेदारी निर्माण गर्ने लक्ष्य राखिएको छ।
समिटको आधिकारिक घोषणा कार्यक्रममा बोल्दै ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रदीप श्रेष्ठ ले NABIS एउटा साधारण सम्मेलन मात्र नभई नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्धलाई नयाँ दिशामा लैजाने साझा अभियान भएको बताए। “NABIS एउटा सम्मेलनभन्दा धेरै ठूलो अवधारणा हो। यो नेपाल र अमेरिकाबीच बलियो आर्थिक सम्बन्ध निर्माण गर्न प्रतिबद्ध विचार, पूँजी र मानिसहरूलाई जोड्ने एउटा साझा मञ्च हो,” श्रेष्ठले भने। उनले नेपाल पर्यटन, जलविद्युत, सूचना प्रविधि, आधुनिक कृषि, पूर्वाधार विकास, उत्पादनमूलक उद्योग तथा स्टार्टअप क्षेत्रमा ठूलो सम्भावना भएको देश रहेको उल्लेख गरे। अमेरिकामा रहेका नेपाली मूलका सफल व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ र विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका व्यक्तिहरूको ज्ञान, अनुभव र पूँजीलाई नेपालको आर्थिक विकाससँग जोड्ने उद्देश्यले NABIS आयोजना गर्न लागिएको उनले बताए।
श्रेष्ठका अनुसार सम्मेलन केवल छलफलमा सीमित रहने छैन। विचारलाई व्यवसायमा, संवादलाई साझेदारीमा र प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्ने परिणाममुखी मञ्चका रूपमा NABIS २०२६ लाई विकास गरिनेछ। उनले अमेरिकाभर रहेका नेपाली व्यवसायीहरूलाई सशक्त बनाउनु पनि NABIS को महत्वपूर्ण उद्देश्य रहेको बताए। न्यूयोर्कदेखि क्यालिफोर्निया, टेक्सासदेखि इलिनोइस र फ्लोरिडादेखि वासिङ्टनसम्म नेपाली उद्यमीहरूले रेस्टुरेन्ट, होटल, स्वास्थ्य सेवा, सूचना प्रविधि, रियल स्टेट, निर्माण, वित्तीय सेवा, खुद्रा व्यापार, शिक्षा तथा यातायात क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै सम्मेलनले ती व्यवसायीहरूबीच नेटवर्क विस्तार, अनुभव आदानप्रदान र रणनीतिक साझेदारी निर्माण गर्ने अवसर प्रदान गर्ने बताए। “बलियो स्थानीय व्यवसाय नै बलियो समुदायको आधार हो,” श्रेष्ठले भने। नेपाली-अमेरिकी व्यवसायको सफलता समुदायको समग्र आर्थिक र सामाजिक विकाससँग जोडिएको उनको भनाइ थियो। NABIS २०२६ मा नेपालका लगानी सम्भावना, अन्तर्राष्ट्रिय व्यापार तथा पूँजी साझेदारी, प्रविधि र कृत्रिम बुद्धिमत्ता (AI) आधारित नवप्रवर्तन, तथा स्थानीय व्यवसायलाई विश्व बजारसम्म विस्तार गर्ने विषयमा विशेष छलफल हुनेछ। तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा अन्तर्राष्ट्रिय तथा डायस्पोरा नेताहरूको विशेष सम्बोधन, सरकार तथा निजी क्षेत्रबीच संवाद, स्टार्टअप शोकेस तथा उत्पादन सार्वजनिक कार्यक्रम, लगानीकर्ता नेटवर्किङ, व्यवसाय–व्यवसाय तथा व्यवसाय–सरकार (B2B र B2G) भेटघाट, रणनीतिक साझेदारी बैठक तथा गाला डिनर एवं सम्मान कार्यक्रम आयोजना गरिनेछ।
समिट घोषणा कार्यक्रममा NABIS २०२६ को आधिकारिक वेबसाइट सार्वजनिक गर्नुका साथै दर्ता प्रक्रिया पनि सुरु गरिएको छ। स्टार्टअप तथा उद्यमीहरूले आफ्नो व्यवसाय प्रस्तुत गर्न Startup Showcase and Product Launch का लागि आवेदन दिन सक्नेछन्। आयोजकले प्रायोजन, प्रदर्शनी तथा रणनीतिक साझेदारीका लागि पनि अवसर खुला गरेको जनाएको छ।
संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सप्ताह तथा Climate Week NYC को समयमा न्यूयोर्कमा आयोजना हुने भएकाले NABIS २०२६ ले विश्वभरका नीति निर्माता, लगानीकर्ता र व्यवसायिक नेतृत्वसँग प्रत्यक्ष सम्पर्क गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको विश्वास छ। NABIS २०२६ ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सको आयोजनामा तथा न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको सहयोगमा आयोजना हुँदैछ। खसोखास मिडिया पार्टनरको रूपमा रहेको छ। आयोजकका अनुसार आगामी हप्ताहरूमा सम्मेलनका प्रमुख वक्ता, नयाँ साझेदार, दर्तासम्बन्धी अपडेट तथा विस्तृत कार्यक्रम तालिकाबारे थप जानकारी सार्वजनिक गरिनेछ।
एउटा समय थियो, जब एउटै व्यक्तिसँग दुई देशको नागरिकता हुनु निकै अनौठो र दुर्लभ मानिन्थ्यो। अधिकांश देशका कानुनले यसलाई स्वीकार गर्दैनथे। यदि कुनै व्यक्तिले अर्को देशको नागरिकता प्राप्त गर्यो भने उसले आफ्नो जन्मदेशको नागरिकता गुमाउनुपर्ने कडा व्यवस्था थियो। त्यसबेला नागरिकतालाई केवल एउटा कानुनी परिचयको रूपमा मात्र नभई राष्ट्रप्रतिको निष्ठा, सार्वभौमिकता र राष्ट्रिय सुरक्षासँग जोडिएको अत्यन्तै संवेदनशील विषयका रूपमा हेरिन्थ्यो। त्यसैले “एक व्यक्ति–एक नागरिकता” को अवधारणा नै विश्वका धेरै देशहरूको मूल नीति बनेको थियो। तर २१औँ शताब्दीको बदलिँदो राजनीतिक, आर्थिक र सामाजिक परिवेशले नागरिकताप्रतिको त्यो पुरानो सोचलाई नै परिवर्तन गरिदिएको छ। विश्वव्यापी आप्रवासन, अन्तर्राष्ट्रिय व्यापार, उच्च शिक्षा, अन्तरदेशीय विवाह, प्रविधिको विकास र मानिसहरूको बढ्दो गतिशीलताले नागरिकताको अर्थ अब एउटा भूगोलभित्र मात्र सीमित राख्न नसकिने अवस्था सिर्जना गरेको छ। आज विश्वको कुल जनसंख्या करिब ८.२ अर्ब पुगेको छ। यसमध्ये करिब ३० करोड ४० लाख मानिसहरू आफ्नो जन्मदेशभन्दा बाहिर बसोबास गरिरहेका छन्। जुन विश्वको कुल जनसंख्याको करिब ३.७ प्रतिशत हो।अर्थात्, विश्वका प्रत्येक १०० जनामध्ये झण्डै ४ जना मानिस अन्तर्राष्ट्रिय आप्रवासीका रूपमा अर्को देशमा जीवन बिताइरहेका छन्। यो संख्या आफैँमा एउटा विशाल विश्वव्यापी समुदाय हो।यीमध्ये करोडौ मानिसहरू रोजगारी, शिक्षा, व्यवसाय, विवाह वा स्थायी भविष्यका लागि आफू बसेको देशको नागरिकता लिनुपर्ने अवस्थामा पुग्छन्। यो संख्या कति ठूलो हो भन्ने बुझ्नका लागि तुलना गर्दा, यो एउटा सामान्य जनसंख्या समूह मात्र होइन, विश्वको एउटा विशाल समुदाय हो। ३० करोड ४० लाख मानिसको संख्या करिब संयुक्त राज्य अमेरिकाको कुल जनसंख्याको नजिक पुग्छ र इन्डोनेसिया, पाकिस्तान वा ब्राजिलजस्ता ठूला देशहरूको जनसंख्याभन्दा पनि बढी हो। यदि यसलाई केही ठूला युरोपेली देशहरूसँग तुलना गर्ने हो भने बेलायत, फ्रान्स, जर्मनी, इटाली र स्पेनजस्ता पाँच प्रमुख देशहरूको संयुक्त जनसंख्यासँग लगभग बराबर हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, विश्वभर आफ्नो जन्मभूमिभन्दा बाहिर बस्ने मानिसहरूको संख्या विश्वका करिब १५० भन्दा बढी साना राष्ट्रहरूको संयुक्त जनसंख्याभन्दा ठूलो छ। यदि अन्तर्राष्ट्रिय आप्रवासीहरूलाई एउटा छुट्टै देशका नागरिकका रूपमा हेर्ने हो भने, यो विश्वकै सबैभन्दा ठूलो जनसंख्या भएका राष्ट्रहरूको सूचीमा पर्ने स्तरको संख्या हो। यही कारणले आज धेरै देशहरूले विदेशमा रहेका आफ्ना नागरिक वा नागरिक मूलका समुदायलाई केवल आप्रवासीका रूपमा होइन, आर्थिक, सांस्कृतिक र कूटनीतिक शक्तिका रूपमा हेर्न थालेका छन्। यस्तो बदलिएको विश्व यथार्थलाई स्वीकार गर्दै धेरै राष्ट्रहरूले नागरिकता सम्बन्धी आफ्नो पुरानो नीति पुनर्विचार गर्न थालेका छन्। सन् २०२६ सम्म आइपुग्दा संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये १४० भन्दा बढी देश, अर्थात् करिब ७५ प्रतिशत राष्ट्रहरूले कुनै न कुनै रूपमा दोहोरो वा बहु नागरिकतालाई स्वीकार गरिसकेका छन्। नागरिकता सम्बन्धी अन्तर्राष्ट्रिय अनुसन्धान संस्था GLOBALCIT का अध्ययनहरूले पनि पछिल्ला दशकहरूमा विश्वको झुकाव एकल नागरिकताबाट बहु नागरिकतातर्फ बढिरहेको देखाउँछन्। बीसौँ शताब्दीको अधिकांश समयमा अपवाद मानिने दोहोरो नागरिकता आज धेरै देशहरूमा सामान्य अभ्यास बन्दै गएको छ। विश्वको नक्सा हेर्दा यो परिवर्तन स्पष्ट देखिन्छ। उत्तर र दक्षिण अमेरिकाका अधिकांश देशहरू दोहोरो नागरिकताको पक्षमा छन्। संयुक्त राज्य अमेरिका, क्यानडा, मेक्सिको, ब्राजिल, अर्जेन्टिना, चिली, कोलम्बिया र पेरु लगायतका देशहरूले आफ्ना नागरिकलाई अर्को देशको नागरिकता लिए पनि पुरानो नागरिकता कायम राख्न अनुमति दिएका छन्। युरोपमा पनि बेलायत, आयरल्याण्ड, फ्रान्स, इटाली, पोर्चुगल, स्विडेन, फिनल्यान्ड, डेनमार्क, स्विट्जरल्याण्ड लगायत धेरै देशहरूले दोहोरो नागरिकतालाई मान्यता दिएका छन्।अफ्रिका महादेशका ५४ वटा देशमध्ये करिब २८ देशले दोहोरो नागरिकतालाई पूर्ण रूपमा स्वीकार गरेका छन्। थप २० भन्दा बढी देशहरूले केही सर्त वा सीमासहित दोहोरो नागरिकतालाई अनुमति दिएका छन्। विश्वका धेरै राष्ट्रहरूले आफ्नो डायस्पोरालाई राष्ट्र निर्माणको महत्वपूर्ण साझेदार बनाएका छन्। उदाहरणका लागि, आयरल्याण्डको जनसंख्या करिब ५.४ मिलियन भए पनि आयरिश मूलका मानिसहरू विश्वभर ७० देखि ८० मिलियन रहेको अनुमान गरिन्छ। इजरायलले पनि आफ्नो डायस्पोरासँगको सम्बन्धलाई राष्ट्रिय रणनीतिको केन्द्रमा राखेको छ। भारतले पूर्ण दोहोरो नागरिकता नदिए पनि OCI मार्फत करोडौँ भारतीय मूलका मानिसलाई दीर्घकालीन सम्बन्धमा बाँधेर राखेको छ। यी उदाहरणहरूले देखाउँछन् कि आधुनिक राष्ट्रहरूले आफ्ना नागरिकलाई सीमाभित्र मात्र होइन, सीमाबाहिर पनि राष्ट्रिय सम्पत्तिका रूपमा हेर्न थालेका छन्। विकसित देशहरूले दोहोरो नागरिकतालाई केवल व्यक्तिगत अधिकारको विषयका रूपमा मात्र होइन, राष्ट्रिय हितसँग जोडिएको रणनीतिक नीतिका रूपमा पनि हेर्न थालेका छन्। लामो समयसम्म कडा नीति अपनाएको जर्मनीले जुन २०२४ देखि लागू भएको नयाँ नागरिकता कानुनमार्फत बहु नागरिकतालाई सहज बनायो। जर्मनीले नागरिकता प्राप्त गर्ने प्रक्रियालाई पनि सरल बनाउँदै सामान्य बसोबास अवधिलाई आठ वर्षबाट पाँच वर्षमा झारेको छ। विशेष उपलब्धि भएका व्यक्तिका लागि यो अवधि अझ कम गर्न सकिने व्यवस्था गरिएको छ। जर्मन सरकारको दक्ष जनशक्ति आकर्षित गर्न, विदेशी मूलका मानिसहरूलाई समाजमा राम्रोसँग समाहित गर्न र विश्वव्यापी प्रतिभाको प्रतिस्पर्धामा अघि बढ्न यस्तो सुधार आवश्यक छ भन्ने तर्क थियो। नर्वेले सन् २०२० मा र युक्रेनले सन् २०२५ मा पनि आफ्ना नागरिकता नीतिमा परिवर्तन गरेका छन्। तर सबै देशहरूले एउटै बाटो अपनाएका छैनन्। केही राष्ट्रहरूले सर्तसहित दोहोरो नागरिकता स्वीकार गरेका छन् भने केहीले अझै कडा प्रतिबन्ध कायम राखेका छन्। चीनले दोहोरो नागरिकतालाई पूर्ण रूपमा अस्वीकार गर्छ। भारतले पनि विदेशी नागरिकता लिएपछि भारतीय नागरिकता कायम राख्ने व्यवस्था गरेको छैन। धेरैले भारतको ओभरसिज सिटिजन अफ इन्डिया (OCI) कार्डलाई दोहोरो नागरिकता ठान्ने गरे पनि त्यो वास्तविक नागरिकता होइन; यो विशेष सुविधा प्रदान गर्ने व्यवस्था मात्र हो। जापान, सिंगापुर, मलेसिया, इन्डोनेसिया लगायतका देशहरूले पनि अझै सीमित वा प्रतिबन्धित नीति अपनाएका छन्। नेपाल पनि यही समूहमा पर्छ। नेपालको वर्तमान कानुनी व्यवस्थाअनुसार कुनै नेपाली नागरिकले अर्को देशको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता स्वतः समाप्त हुन्छ। संविधानले गैरआवासीय नेपालीका लागि सीमित अधिकारसहितको नागरिकताको व्यवस्था गरे पनि ब्यबहारमा प्रयोग भएका छैनन। त्यो पूर्ण नागरिकताको विकल्प बन्न सक्दैन। आज लाखौँ नेपालीहरू रोजगारी, शिक्षा, व्यवसाय र सुरक्षित भविष्यको खोजीमा संसारका विभिन्न देशमा बसोबास गरिरहेका छन्। उनीहरूमध्ये धेरैका लागि आफू बसेको देशको नागरिकता लिनु बाध्यता वा आवश्यकता बन्न सक्छ। विकसित देशको नागरिकता प्राप्त गरेपछि रोजगारी, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र कानुनी स्थायित्वका अवसरहरू सहज हुन्छन्। त्यसैले आफ्नो जीवनलाई सुरक्षित बनाउन धेरै नेपालीहरूले नयाँ देशको नागरिकता लिनुपर्ने अवस्था आउँछ। तर समस्या त्यहाँ सुरु हुन्छ, जहाँ अर्को देशको नागरिकता लिँदा नेपाली नागरिकता समाप्त हुन्छ। एउटा पुस्ताले कानुनी रूपमा नेपाली नागरिकता गुमाउँदा त्यसको असर आउने पुस्तासम्म पुग्न सक्छ। उनीहरू नेपाली मूलका हुन सक्छन्, नेपाली भाषा, संस्कृति, परम्परा र पारिवारिक इतिहाससँग जोडिएका हुन सक्छन्, तर कानुनी रूपमा आफूलाई नेपाली नागरिक भन्न पाउने अधिकार भने उनीहरूसँग नहुन सक्छ। त्यसैले नागरिकताको निरन्तरताको बहस केवल आर्थिक फाइदा, लगानी वा रेमिट्यान्समा मात्र सीमित छैन। यो त भविष्यमा विश्वभर छरिएर रहेका नेपाली समुदायसँग नेपालको सम्बन्ध कसरी जोगाएर राख्ने भन्ने एउटा गम्भीर प्रश्न पनि हो। यदि विदेशमा जन्मिएका नेपाली मूलका सन्तानहरू क्रमशः नेपालको कानुनी दायराबाट टाढिँदै गए भने, भविष्यमा ठूलो नेपाली डायस्पोरा त हुनेछ, तर मातृभूमिसँगको औपचारिक सम्बन्ध भने क्रमशः कमजोर हुँदै जानेछ। विश्वका धेरै राष्ट्रहरूले यही चुनौतीलाई महसुस गर्दै आफ्नो डायस्पोरासँग आत्मीयता कायम राख्ने नीति बनाएका छन्। उनीहरूले विदेशमा रहेका आफ्ना नागरिक वा उनीहरूका सन्तानलाई विभिन्न माध्यमबाट मातृभूमिसँग जोड्ने काम गरेका छन्। यसको उद्देश्य केवल पैसा मात्र जुटाउनु होइन, बरु उनीहरूको ज्ञान, सीप, प्रविधि, संस्कृति र अन्तर्राष्ट्रिय पहुँचलाई राष्ट्र निर्माणको आधार बनाउनु पनि हो। नेपालको सन्दर्भमा पनि विदेशमा रहेका नेपालीहरूको भूमिका निकै महत्त्वपूर्ण छ। सरकारी अनुमान र गैरआवासीय नेपाली संघको तथ्याङ्क हेर्ने हो भने, ५० लाखभन्दा बढी नेपाली मूलका मानिसहरू विश्वका १५० भन्दा बढी देशमा बसोबास गरिरहेका छन्। नेपाल राष्ट्र बैंकको तथ्याङ्कले पछिल्ला वर्षहरूमा वार्षिक करिब १.५ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको देखाउँछ। जुन नेपालको कुल गार्हस्थ्य उत्पादनको झन्डै एक चौथाइ हिस्सा हो। तर, विदेशमा रहेका नेपालीहरूको योगदानलाई केवल पैसाको आधारमा मात्र मापन गर्नु उचित हुँदैन। उनीहरूको ज्ञान, सीप, पूँजी, प्रविधि, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाल पनि नेपालका लागि ठूलो सम्पत्ति हुन् र यसको जगेर्ना गर्न अनिवार्य हुन्छ ।
(लेखक अधिवक्ता श्रेष्ठ तीन दशकदेखि बेलायतमा बसोबास गर्दै आएका छन्। )
जमैका नेपाली समाजद्वारा आयोजित समर बनभोज कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। न्यूयोर्कको जमैका क्षेत्रमा बसोबास गर्दै आएका नेपाली समुदायको उल्लेखनीय सहभागितामा बनभोज गरिएको थियो । आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई सुदृढ बनाउने उद्देश्यले विविध, मनोरञ्जनात्मक, खेलकुद तथा शैक्षिक कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका वाणिज्यदूत दधिराम भण्डारीले बिभिन्न कक्षाबाट ग्य्राजुएट गरेका बिद्दार्थीलाई सम्मान गरेका थिए । वाणिज्यदूत भण्डारीको उपस्थितिले यस्ता किसिमका कार्यक्रमहरु गर्न थप हौसला मिलेको आयोजकले जनाएको छ
कार्यक्रममा भर्खरै मात्र पीएचडी उपाधि प्राप्त गर्न सफल जमैका निवासी डा. सूर्य लम्साललाई विशेष सम्मान गरिएको थियो। उहाँको उच्च शैक्षिक उपलब्धिको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको हो । साथै विभिन्न विद्यालय, कलेज तथा विश्वविद्यालयबाट ग्र्याजुएसन सम्पन्न गरेका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो। विद्यार्थीहरूको मेहनत, लगन र सफलताको कदर गर्दै प्रदान गरिएको यस सम्मानले नयाँ पुस्तालाई शिक्षाको क्षेत्रमा अझ अगाडि बढ्न प्रेरणा गर्ने समाजका अध्यक्ष पुस्कर खनालले बताए ।
त्यसैगरी, कार्यक्रममा आयोजित हाजिरी जवाफ प्रतियोगिता (क्विज कन्टेस्ट )मा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । यसका साथै बालबालिका तथा युवाहरूका लागि विभिन्न खेलकुद, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिएका थिए। कार्यक्रममा सहभागी अतिथिहरूले जमैका नेपाली समाजले नेपाली भाषा, संस्कृति, शिक्षा र सामुदायिक एकतालाई प्रवर्द्धन गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले नयाँ पुस्तालाई नेपाली समुदायसँग जोड्न महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे । समाजले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्रमुख अतिथि दधिराम भण्डारी लगायत सम्पूर्ण अतिथिहरू, स्वयंसेवक, प्रायोजक, कलाकार, सहभागीहरु तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहपने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ।
साथै आगामी दिनमा पनि नेपाली समुदायबीच एकता, सद्भाव, शिक्षा र सामाजिक सहकार्यलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने समाजका सदस्य दिपकराज घिमिरेले जानकारी दिए ।
कार्यक्रममा जमैका नेपाली समाजका संस्थापक अध्यक्ष कृष्ण आचार्यलाई बिशेष सम्मान गरिएको थियो । स्थापनाकालदेखि नै संस्थालाई सुदृढ बनाउन उनले गरेको मेहनत र योगदानको उच्च मूल्याङ्कन गर्दै यो सम्मान गरिएको हो । बनभोज कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने विभिन्न स्पोन्सर दाताहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
समाजद्वारा आयोजना गरिएको चिठ्ठा (लट्री) कार्यक्रमका विजेतालाई पनि पुरस्कार वितरण गरिएको थियो। प्रथम पुरस्कार बुद्ध पौडेलले प्राप्त गरेका थिए भने द्वितीय, तृतीय र सान्त्वना पुरस्कार चिठ्ठा कार्यक्रममा सहभागीहरुले प्राप्त गरेका थिए । बनभोजको एक आकर्षणको रुपमा रहेको चिठ्ठा कार्यक्रम समाजका सल्लाहकार कृष्णप्रसाद लामिछानेले संचालन गरेका थिए । लट्री कार्यक्रमले सहभागीहरूमा थप उत्साह र मनोरञ्जन प्रदान गर्नुका साथै समाजका गतिविधिहरू संचालन गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।
जमैकामा लामो समयदेखि बसोबास गरिरहेका एक जेष्ठ नागरिक वृद्धा नमकला खनाललाई सम्मान गरिएको थियो । ८५ बर्षीया खनाल सन् २००६ देखि अमेरिकामा बस्दै आएकी थिइन् ।
उक्त सम्मान कार्यक्रममा विभिन्न संघ–संस्थाका विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो। सबैको उत्साहजनक सहभागीताले कार्यक्रम सब्य र भब्य भएको आयोजकले जनाएको छ ।
न्यूयोर्कको PS 69Q – द ज्याक्सन हाइट्स स्कूलमा Bangladesh Buddhist Community of New York Inc. (BBCNY) ले पहिलोपटक १० राष्ट्रका बौद्ध समुदाय एउटै छानामुनि भेला भएर अन्तर्राष्ट्रिय बुद्ध पूर्णिमाको (International Vesak Day 2026) आयोजना गर्यो ।
कार्यक्रममा बंगलादेश, भुटान, चीन, भारत, जापान, म्यानमार, नेपाल, श्रीलंका, थाइल्यान्ड र तिब्बतका बौद्ध समुदायका सयौं श्रद्धालु, भिक्षु, सामाजिक अगुवा तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ३३ वटा विभिन्न संस्थाको सहभागिताले यसलाई न्यूयोर्कमा हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमध्ये एक बनाएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्क सिटीका मेयर Zohran Mamdani ले बुद्धका शान्ति, करुणा र प्रज्ञाका शिक्षाहरू आजको विश्वका लागि अझ बढी सान्दर्भिक रहेको उल्लेख गर्दै विभिन्न देशका बौद्ध समुदायलाई एउटै मञ्चमा ल्याएकोमा आयोजकलाई उच्च प्रशंसा व्यक्त गरे।
मेयर ममदानीले भने, “आज हामीले विविधता विभाजनको कारण होइन, बरु हाम्रो सबैभन्दा ठूलो शक्ति हो भन्ने प्रमाणित गरेका छौं।” उनले न्यूयोर्कजस्तो बहुसांस्कृतिक शहरमा पारस्परिक सम्मान, सहिष्णुता र एकताको संस्कृति निर्माणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताए।
समारोहका क्रममा International Vesak Day 2026 Celebration Committee का प्रमुख सल्लाहकार उर्गेन शेर्पाले न्यूयोर्कका सम्पूर्ण बौद्ध समुदायको तर्फबाट मेयर ममदानीलाई बुद्धको प्रतिमा “प्रेमको प्रतीक” स्वरूप प्रदान गरे।
प्रतिमामा अंकित सन्देशमा लेखिएको थियो—
“Mayor Zohran K. Mamdani, In recognition of your inclusion of historically marginalized communities. May peace and justice prevail.”
यो सम्मान ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायप्रति मेयरले देखाएको समावेशी नेतृत्वप्रति कृतज्ञता व्यक्त गर्ने प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो।
समारोहको मुख्य धर्मदेशना क्यानडाको ओन्टारियोस्थित West End Buddhist Temple and Meditation Centre का निवासी भिक्षु भदन्त डा. सरणपाल भिक्षु तथा Zero Point Meditation Center का निर्देशक ग्येगे योङयाल रिन्पोछेले दिएका थिए। उहाँहरूले करुणा, मैत्री, प्रज्ञा र विश्वशान्तिबारे दिएका प्रेरणादायी प्रवचनले सहभागीहरूलाई गहिरो आध्यात्मिक अनुभूति दिलाएको थियो।
त्यसैगरी जापानका भदन्त टी.के. नाकागाकी, श्रीलंकाका भदन्त धम्मज्योति थेरो, चीनका भदन्त यू लिन, अमेरिकाको मिशिगनका भदन्त धर्मानन्द महाथेरो तथा भदन्त विसुद्धबंश थेरोले पनि विभिन्न बौद्ध परम्पराबाट धर्मदेशना दिएका थिए।
कार्यक्रमको सुरुवात पाली, संस्कृत र तिब्बती भाषामा गरिएको मंगल पाठ, पुष्प अर्पण तथा प्रार्थनाबाट भएको थियो। बंगलादेशबाट आउनुभएका भदन्त यू पञ्ञा दीप भिक्षुले ध्यान सत्र सञ्चालन गरेका थिए भने डा. जिनप्रिय महाथेरोले करणीय मेत्ता सुत्त पाठ गरेर विश्वशान्तिको कामना गरेका थिए।
न्यूयोर्क सिटीको इतिहासमै पहिलोपटक बुद्ध पूर्णिमाका अवसरमा चारवटा सडक खण्ड आधिकारिक रूपमा बन्द गरेर शान्ति यात्राको व्यवस्था गरिएको थियो। सयौं सहभागीहरूले बौद्ध झण्डा, धार्मिक छाता र शान्तिका सन्देश बोकेका ब्यानरसहित बुद्धका उपदेश गुञ्जाउँदै विश्वशान्तिको कामना गरेका थिए। आयोजकका अनुसार यो न्यूयोर्कको इतिहासमै सबैभन्दा व्यवस्थित र व्यापक बुद्ध पूर्णिमा शान्ति यात्रा बनेको हो।
परदेशको जीवन सजिलो हुँदैन। यहाँ हरेक सपना मेहनतसँग जोडिएको हुन्छ, हरेक सफलता संघर्षसँग मिसिएको हुन्छ, र हरेक व्यवसाय केवल नाफाको हिसाबले मात्र होइन, विश्वासको धरातलमा पनि उभिएको हुन्छ। अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका लागि गाडी केवल आवतजावतको साधन होइन; यो रोजगारी, आत्मनिर्भरता, परिवारको सहजता र आर्थिक उन्नतिको महत्वपूर्ण आधार हो।
यही वास्तविकतालाई नजिकबाट बुझेका व्यक्ति हुन्—राजा घिमिरे। करिब एक दशकसम्म अमेरिकाको गाडी उद्योगमा निरन्तर काम गर्दै आउनुभएका घिमिरेले Toyota, Ford, Lincoln जस्ता ठूला फ्रेन्चाइज डिलरसिपहरूमा Sales Consultant का रूपमा अनुभव हासिल गर्नुभयो। ती ठूला डिलरसिपहरूमा काम गर्दा उहाँले केवल गाडी बेच्ने कला मात्र सिक्नुभएन, ग्राहकको मनोविज्ञान, वित्तीय प्रक्रिया, बीमा, कागजी काम, बजारको चाल, र गाडी खरिद गर्दा ग्राहकले बुझ्नुपर्ने सूक्ष्म पक्षहरू गहिरोसँग अध्ययन गर्नुभयो।
तर, उहाँको अनुभवसँगै एउटा कुरा बारम्बार मनमा खट्किरह्यो—अमेरिकाको यति ठूलो गाडी उद्योगमा नेपालीहरूको उपस्थिति अत्यन्तै कम छ। धेरै ठाउँमा उहाँ नै सम्पूर्ण डिलरसिपभित्र एक मात्र नेपाली प्रतिनिधि हुनुहुन्थ्यो। ठूलो बजार, ठूलो सम्भावना र गाडीप्रति नेपाली समुदायको बढ्दो आवश्यकता हुँदाहुँदै पनि यस क्षेत्रमा आफ्नै समुदायको पहुँच र सहभागिता न्यून देखिनु उहाँका लागि सोचनीय विषय बन्यो।
भनिन्छ, देशमा बस्नेलाई भन्दा परदेशमा बस्नेलाई देश र समुदायको माया अझ गहिरो हुन्छ। त्यही भावनाबाट घिमिरेको मनमा एउटा सोच जन्मियो—अमेरिकी बजारका गुणस्तरीय गाडीहरूलाई Dubai, Saudi Arabia र Qatar जस्ता अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने। यही निर्यातमुखी दृष्टिकोणबाट Naya Auto Sales को परिकल्पना सुरु भयो। तर समयसँगै यो सोच केवल व्यापारमा सीमित रहेन। यसले नेपाली तथा दक्षिण एसियाली समुदायलाई गाडीसम्बन्धी सही जानकारी, इमानदार सल्लाह र भरोसायोग्य सेवा दिने उद्देश्य पनि आत्मसात् गर्यो।
अमेरिकामा गाडी किन्नु बाहिरबाट हेर्दा सजिलो देखिन्छ, तर यसको भित्री प्रक्रिया जटिल छ। मूल्य, ब्याजदर, मासिक किस्ता, कर्जा स्वीकृति, बीमा खर्च, गाडीको इतिहास, दुर्घटनाको विवरण, मर्मत खर्च, दर्ता प्रक्रिया, TLC वा Uber/Lyft का आवश्यकताहरू—यी सबै कुरा नबुझी गरिएको निर्णय पछि आर्थिक बोझ बन्न सक्छ। ठूलो डिलरसिपमा सम्झौता हस्ताक्षर भएपछि सम्बन्ध प्रायः औपचारिक प्रक्रियामा सीमित हुन्छ। तर आप्रवासी समुदायका धेरै ग्राहकलाई सम्झौता सकिएपछि पनि मार्गदर्शन, व्याख्या र साथ चाहिन्छ।
यही आवश्यकता बुझेर Naya Auto Sales ले आफ्नो काम गर्ने शैली फरक बनाएको छ। यहाँ ग्राहकलाई केवल गाडी देखाएर बेच्ने होइन, उसको वास्तविक आवश्यकता बुझेर उपयुक्त विकल्प दिन प्राथमिकता दिइन्छ। ग्राहकले Uber वा Lyft चलाउने हो कि पारिवारिक प्रयोगका लागि गाडी चाहिएको हो, TLC का लागि योग्य गाडी खोजिएको हो कि व्यापारिक प्रयोजनका लागि, बजेट कति छ, बीमा खर्च कस्तो आउन सक्छ, इन्धन खर्च र मर्मत सम्भार कति पर्छ—यी सबै पक्ष हेरेर ग्राहकलाई निर्णय गर्न सहयोग गरिन्छ। घिमिरेको विश्वास — “गाडी बेच्नु मात्रै व्यवसाय होइन; ग्राहकले किनिरहेको गाडी उसको जीवन, काम र भविष्यका लागि सही छ कि छैन भन्ने बुझाउनु पनि जिम्मेवारी हो।”
समुदायभित्र यस्ता धेरै घटना छन् जहाँ मानिसहरूले अन्यत्रबाट गाडी किनेपछि बीमा, दुर्घटना दाबी, कागजी प्रक्रिया वा भुक्तानीसम्बन्धी समस्यामा अलमलिएका छन्। कतिपय अवस्थामा गाडी Naya Auto Sales बाट नकिनिएको भए पनि आफ्नै दाजुभाइ–दिदीबहिनी सम्झेर आवश्यक मार्गदर्शन दिनुभएको छ। कुन प्रक्रिया कसरी अगाडि बढाउने, कुन कागजात आवश्यक पर्छ, कुन कुरा स्पष्ट रूपमा बुझ्नुपर्छ भन्ने विषयमा उहाँले सहयोग गर्नुभएको छ। यही व्यवहारले Naya Auto Sales लाई केवल कारोबार गर्ने स्थान नभई, समुदायसँग जोडिएको भरोसायोग्य नाम बनाएको छ। न्युयोर्क Uber, Lyft र TLC व्यवसायको ठूलो केन्द्र हो। धेरै नेपालीहरू यही क्षेत्रमा मेहनत गरेर आफ्नो परिवार, भविष्य र आर्थिक आधार निर्माण गरिरहेका छन्। तर, सही गाडी नछान्दा, गलत financing मा फस्दा, insurance cost नबुझ्दा वा TLC का लागि उपयुक्त नहुने गाडी लिँदा ठूलो नोक्सानी हुन सक्छ। Naya Auto Sales ले यस्ता जोखिमबाट ग्राहकलाई जोगाउन अनुभव, जानकारी र व्यावहारिक सल्लाह दिने काम गर्दै आएको छ।
Naya Auto Sales ले हाल गाडी खरिद–बिक्री, trade-in, financing guidance, Uber/Lyft र TLC का लागि उपयुक्त गाडी छनोट, दर्ता तथा कागजी प्रक्रियामा सहजीकरण, दुर्घटनापछि आवश्यक सामान्य मार्गदर्शन, बीमा प्रक्रियाबारे आधारभूत जानकारी, र अमेरिकी गाडीहरूलाई Dubai, Saudi Arabia तथा Qatar लगायतका बजारमा निर्यातसम्बन्धी परामर्श प्रदान गर्दै आएको छ।
यो व्यवसायको सुन्दर पक्ष यसको दोहोरो उद्देश्य हो—एकातिर अन्तर्राष्ट्रिय स्तरमा अमेरिकी गाडी निर्यात गर्ने दृष्टिकोण, अर्कोतिर स्थानीय नेपाली तथा एसियन समुदायलाई सही जानकारी र सुरक्षित निर्णयमा जोड्ने सामाजिक भावना। यही मिश्रणले Naya Auto Sales लाई साधारण डिलरसिपभन्दा फरक बनाएको छ र अनुभव, विश्वास र जिम्मेवारीसँग जोडिएको automotive platform का रूपमा अघि बढिरहेको छ।
राजा घिमिरेको यात्रा एउटा आप्रवासी उद्यमीको प्रेरणादायी कथा हो। करिब १० वर्षको अनुभव, ठूला डिलरसिपहरूमा सिकेको व्यावसायिक ज्ञान, नेपाली समुदायप्रतिको अपनत्व र अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने सोच—यी सबैको संगमबाट Naya Auto Sales आज न्युयोर्कमा एउटा नयाँ पहिचान बनाउन अघि बढिरहेको छ। यही भावनालाई Naya Auto Sales ले आफ्नो slogan मा पनि समेटेको छ— “Exporting Trust, Delivering Value.” यही slogan लाई व्यवहारमा उतारेको पनि देखिन्छ—trust export गर्ने र value deliver गर्ने। Trust केवल गाडीको गुणस्तरमा होइन, व्यवहारमा पनि देखिनुपर्छ, Value केवल price मा होइन, सही निर्णय, सही जानकारी र ग्राहकको दीर्घकालीन हितमा देखिनुपर्छ।
SERVICE HIGHLIGHTS :
Pre-owned vehicles from all major brands
Fully inspected, road-ready inventory
Flexible financing options
Trade-ins accepted
DMV registration and title transfer assistance
Temporary plate assistance
Extended warranty options
Accident assistance for Uber and Lyft drivers
Replacement vehicle options, subject to availability
लिङ्कन एभरेस्ट एक प्रेरणादायी नेपाली उद्यमी हुन् । नेपालको तनहुँ जिल्लामा जन्मिएका एभरेस्ट बाल्यकालदेखि नै स्वस्थ खानपान र समग्र जीवनशैलीप्रति गहिरो रुचि राख्दथे । यो प्रेरणाको श्रोत उनका हजुरबुबा हुन् – जो नेपालका पहिलो आयुर्वेदिक वैज्ञानिक थिए। हजुरबुबाको समग्र स्वास्थ्य दर्शन र प्राकृतिक उपचार पद्धतिले लिङ्कनको जीवनलाई गहिरो रूपमा प्रभावित गर्यो र “खाना नै औषधि हो” भन्ने विश्वास उनको जीवन मन्त्र बन्यो। सन् १९७९ मा नेपालको अन्नपूर्ण होटलबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेका उनले मल्ल, याक एन्ड येती र एभरेस्ट शेराटनमा काम गर्दै सन् १९८९ मा अमेरिका पुगे। त्यहाँ हिल्टन र शेराटनमा काम गर्नुका साथै उनले एभरेस्ट एक्सप्रेस र काठमान्डू चुलो जस्ता सफल नेपाली रेस्टुरेन्टहरू सञ्चालन गरे। नेपाल र अमेरिका दुवै देशप्रतिको प्रेम र समर्पणका कारण उनले “लिङ्कन एभरेस्ट” नाम राखेका हुन् – लिङ्कन अमेरिकाका महान् राष्ट्रपतिको सम्मानमा र एभरेस्ट नेपालको पहिचानको प्रतीकका रूपमा।
टेस्ट अफ हिमालय – चुलो सन् २००१ मा मिशिगनको फार्मिङटनमा “एभरेस्ट एक्सप्रेस” खोलेर आफ्नो रेस्टुरेन्ट यात्रा सुरु गरेका लिङ्कन एभरेस्टले सन् २००५ मा रोयल ओकमा काठमान्डू चुलो स्थापना गरे। यो रेस्टुरेन्ट छिट्टै मिशिगनमा अत्यन्त लोकप्रिय बन्यो र विभिन्न मिडिया आउटलेट तथा खाद्य समीक्षकहरूको ध्यान आकर्षित गर्न सफल भयो। Observer & Eccentric अखबारले “Kathmandu Chullo – Get a Himalayan High” भन्ने शीर्षकमा प्रकाशित विशेष समीक्षामा रेस्टुरेन्टको हातले बनाइएका मम, ताजा अर्गानिक मसलाको प्रयोग र प्रामाणिक नेपाली अनुभवको निकै प्रशंसा गरेको थियो। विभिन्न अखबार र मिडियाबाट प्राप्त यो व्यापक प्रशंसाले नेपाली खाना र संस्कृतिप्रति अमेरिकी समुदायमा एक नयाँ चेतना जगाउन महत्त्वपूर्ण भूमिका खेल्यो।
त्यही सफलताको अनुभव र दशकौंको खाद्य उद्योगको ज्ञानलाई बोकेर लिङ्कन एभरेस्टले अब बर्लिन, कनेक्टिकटमा नयाँ व्यवस्थापन अन्तर्गत टेस्ट अफ हिमालया – चुलो सञ्चालनमा ल्याएका छन्। चुलो भन्ने शब्द नेपालको परम्परागत माटोको खाना पकाउने भाँडोको नाम मात्र होइन, यो मानिसहरूलाई नेपाली खाना र संस्कृतिमार्फत जोड्ने, एकजुट पार्ने र नेपाली जीवनशैली सिकाउने एउटा गहिरो अवधारणाको प्रतिबिम्ब हो। साथै यो रेस्टुरेन्ट किसान, आयातकर्ता, निर्यातकर्ता, आपूर्तिकर्ता र नेपाली खाद्य उद्योगमा रुचि राख्ने जो कोहीसँग पनि सहकार्य र साझेदारीमा काम गर्न तयार एक संगठनात्मक मञ्च पनि हो। रेस्टुरेन्टको मुख्य विशेषता भनेको ९९% अर्गानिक सामग्री प्रयोग गरी प्रत्येक दिन ताजै परोसिन्छन्। दाल भात, बफ सेकुवा, सेल रोटी, बरा, समोसा, चाउमिन लगायत थुप्रै प्रामाणिक नेपाली परिकारहरू यहाँ उपलब्ध छन्। येल्पमा ४.४ स्टार र १२० भन्दा बढी समीक्षा प्राप्त गरिसकेको यो रेस्टुरेन्ट कनेक्टिकटमा नेपाली खानाको प्रमुख गन्तव्य बन्दै गएको छ।
दृष्टिकोण र मिसन: नेपाली खानालाई विश्वमा चिनाउने महाअभियान लिङ्कन एभरेस्टको सबैभन्दा ठूलो सपना भनेको नेपाली खानालाई विश्व मञ्चमा प्रामाणिक रूपमा स्थापित गर्नु हो। विश्वभर नेपाली खानालाई भारतीय खानाका रूपमा चिनाइँदै आएको प्रवृत्तिप्रति उनी अत्यन्त चिन्तित छन् र यसलाई परिवर्तन गर्नु उनको जीवनको मुख्य मिसन बनेको छ। यसका लागि उनले नेपलीज वर्ल्डवाइड सेफ एसोसिएसन (NWCA) को स्थापना गरेका छन् जसमार्फत विश्वभरका नेपाली सेफहरूलाई एकै मञ्चमा ल्याई नेपाली खानाको वैश्विक प्रवर्द्धन गरिँदैछ। नेपालका सातै प्रदेशमा खाना महोत्सव आयोजना गर्ने उनको महत्त्वाकांक्षी योजना तयारीको चरणमा रहेको छ। सामाजिक क्षेत्रमा पनि उनको उल्लेखनीय योगदान छ। उनले स्थापना गरेको VASI – Victim Assistance Support International ले घरेलु हिंसा र मानव तस्करीका पीडितहरूलाई परामर्श, कानुनी सहायता र आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ। यो संस्था मेक्सिको र नेपाल दुवैमा दर्ता भएको छ। उद्यमशीलता र व्यावसायिक सहकार्य: लिङ्कन एभरेस्ट कर्पोरेसन “Learn, Grow, Achieve – With a Century of Wisdom” को नाराका साथ स्थापित लिङ्कन एभरेस्ट कर्पोरेसन ले CPPS – Connect People, Products and Services को अवधारणामार्फत व्यक्ति, उत्पादन र सेवाहरूलाई जोड्दै दिगो व्यावसायिक इकोसिस्टम निर्माण गर्छ। ३० वर्षभन्दा बढीको अनुभवमा आधारित यस कर्पोरेशनले व्यावसायिक सल्लाह, कानुनी मार्गदर्शन, वित्तीय परामर्श, मेन्टरशिप, बिजनेस वर्कशप र इन्भेस्टर रिलेसन जस्ता सेवाहरू प्रदान गर्छ। विशेष गरी अमेरिकामा नयाँ आउने नेपालीहरूका लागि व्यवसाय सुरु गर्ने प्रक्रिया, कानुनी सहायता र व्यावसायिक नेटवर्किङमा विस्तृत मार्गदर्शन उपलब्ध छ। मेम्बरशिप प्रोग्राम अन्तर्गत भोलेन्टियर, कन्ट्र्याक्टर, स्पोन्सर र इन्भेस्टर विभिन्न तहमा जोडिन सकिन्छ र १०% रिवार्ड र बेनिफिट समेत प्राप्त हुन्छ। उनका साझेदारहरूमा LegalShield र Lions Club International जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाहरू पनि रहेका छन्। किसान, आयातकर्ता, निर्यातकर्ता, आपूर्तिकर्ता वा जो कोही पनि सहकार्य र व्यावसायिक साझेदारीमा रुचि राख्नेहरूका लागि लिङ्कन एभरेस्टको ढोका सधैं खुला छ। चुलोको भावनाअनुसार सबैलाई सँगै जोडेर, सँगै सिकेर र सँगै बढेर एउटा बलियो र दिगो नेपाली उद्यम समुदाय निर्माण गर्नु उनको सबैभन्दा ठूलो सपना हो। उद्यमशीलता र व्यावसायिक सहकार्यका लागि पनि उहाँसँग फोन नं. 718 450 2953 र वेबसाइट lincolneverest.com मार्फत सम्पर्क सकिन्छ ।
अविश्वसनीय तर सत्य र सफल खेलाडी सन्तोष राईको जीवनी खेलप्रेमीको लागि प्रेरणा हो । सुन्दर नेपाल, सगरमाथाको देश र भगवान बुद्धको जन्मभूमिबाट अमेरिका आएका सन्तोष राई धन–सम्पत्ति वा विशेष सुविधामा जन्मिएका व्यक्ति होइनन्। उहाँको जन्म नेपालको एक ग्रामीण क्षेत्रमा रहेको साधारण परिवारमा भएको थियो, जहाँ जीवन संघर्षले भरिएको थियो र हरेक अवसर कडा मेहनतबाट मात्र प्राप्त हुन्थ्यो। उहाँका आमा सयन कुमारी राई र बुबा कमल बहादुर राईले सानैदेखि उहाँमा मेहनत, इमानदारी र दृढ संकल्पका मूल्यहरू रोप्नुभयो।
करातेसँगको उहाँको यात्रा अप्रत्याशित रूपमा सुरु भयो। बाल्यकालमा उहाँले आफ्नी दिदीबाट आत्मरक्षाका आधारभूत सीपहरू सिक्नुभयो। सुरुमा केवल आत्मरक्षाको माध्यम बनेको कराते विस्तारै उहाँको जीवनको उद्देश्य बन्न पुग्यो। कराँतेले उहाँलाई अनुशासन, आत्मविश्वास र जीवनको दिशा प्रदान गर्यो।
धेरै महान् खेलाडीहरूजस्तै उहाँको यात्रा पनि सजिलो थिएन। आर्थिक अभाव, सीमित स्रोतसाधन, कठिन प्रशिक्षण अवस्था र सफलता टाढा देखिने समयहरू पनि आए। तर प्रत्येक बाधाले उहाँको संकल्पलाई अझ बलियो बनायो र खेलप्रतिको समर्पणलाई अझ गहिरो बनायो।
माध्यमिक शिक्षा जारी राख्दै गर्दा सन्तोषले प्रशिक्षक वीर कृष्ण शाहीको मार्गदर्शनमा औपचारिक रूपमा कराँते यात्रा सुरु गर्नुभयो। प्रशिक्षक शाहीको मार्गदर्शनले उहाँको प्रारम्भिक खेल जीवनलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको थियो। पछि प्रशिक्षक शाहीको व्यस्तताका कारण उहाँलाई प्रशिक्षक ध्रुव विक्रम मल्लको नेतृत्वमा रहेको बालाजु डोजोमा प्रशिक्षण जारी राख्न प्रोत्साहित गरियो। यो निर्णय उहाँको जीवनको एउटा महत्वपूर्ण मोड साबित भयो। उहाँले अथक मेहनतका साथ प्रशिक्षण गर्नुभयो। थकान, चोटपटक र निराशाका दिनहरू पनि आए, तर उहाँको विश्वास अटल रह्यो कि निरन्तर मेहनत र धैर्यले अन्ततः सफलता दिलाउनेछ। सन्तोषले छैटौं, सातौं र आठौं राष्ट्रिय खेलकुदमा पदक जितेर आफ्नो पहिचान बनाउन सुरु गर्नुभयो।
ती सफलताले उहाँलाई आत्मविश्वास दियो र अझ ठूलो उपलब्धि हासिल गर्ने प्रेरणा पनि प्रदान गर्यो।नवौं राष्ट्रिय खेलकुदमा उहाँले आफ्नो पहिलो राष्ट्रिय स्वर्ण पदक जित्नुभयो। यो उहाँको खेल जीवनको परिभाषित क्षण थियो, जसले उहाँको त्याग, समर्पण र अथक मेहनतलाई प्रमाणित गर्यो।प्रमुख उपलब्धिहरू:
● स्वर्ण पदक – गोलबजार राष्ट्रिय कराते प्रतियोगिता तथा उत्कृष्ट खेलाडी पुरस्कार ● स्वर्ण पदक – छथर राष्ट्रिय कराते प्रतियोगिता ● स्वर्ण पदक – सताक्षी राष्ट्रिय कराते प्रतियोगिता ● स्वर्ण पदक – प्रथम कपिलाशगढी आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता ● रजत पदक – यूके EKE E1 सिरिज, वर्सेस्टर ● रजत पदक – २२ माइल्स अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप, मलेसिया ● रजत पदक – २६औँ हिराल्डोज काई शोतोकान शोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ ● काँस्य पदक – यूएसए कराते च्याम्पियनसिप, डलास, टेक्सास (२०२६) ● स्वर्ण र रजत पदक – २७औँ हिराल्डोज काई शोतोकान शोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप (२६ अप्रिल, २०२६) ● रजत पदक – ५५०औँ राष्ट्रिय खेलकुद
उहाँका प्रत्येक पदकले एउटा कथा बोकेको छ। प्रत्येक सफलताका पछाडि अनगिन्ती घण्टाको प्रशिक्षण, पीडा, त्याग र दृढ संकल्प लुकेको छ, जुन प्रायः जनताले देख्न पाउँदैनन्,केवल पन्ध्र वर्षको उमेरमा सन्तोष इचिगु कराते डोजोका प्रमुख प्रशिक्षक बन्नुभयो। अरूलाई सिकाउनु उहाँको यात्राको सबैभन्दा अर्थपूर्ण पक्षहरूमध्ये एक बन्यो।उहाँका लागि सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित थिएन; करातेमार्फत अरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु नै उहाँको वास्तविक सफलता थियो। वर्षौंको अवधिमा उहाँले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गर्नुभयो। उहाँका आठ जना विद्यार्थीहरूले नेपाल सशस्त्र प्रहरी क्लब को प्रतिनिधित्व गर्दै सातौं, आठौं र नवौं दक्षिण एसियाली च्याम्पियनसिपमा दर्जनौं स्वर्ण पदक जिते।आफ्ना विद्यार्थीहरूलाई विजेताको मञ्चमा उभिएको देख्नु उहाँका आफ्नै पदक जित्नु जत्तिकै गर्वको विषय बनेको छ।
सन् २०२६ मा सन्तोषलाई नेपालको उपराष्ट्रपतिको उपस्थितिमा मनकुमारी साम्पाङ राई खेल पुरस्कारबाट सम्मानित गरियो। त्यसै वर्ष उहाँलाई किरात राई सोसाइटी अफ अमेरिकाद्वारा एलम्बर हाङ खेल पुरस्कार प्रदान गरियो, जुन पुरस्कार नेपालका महावाणिज्यदूतबाट हस्तान्तरण गरिएको थियो।
सन्तोषका लागि यी पुरस्कारहरू व्यक्तिगत सम्मानभन्दा धेरै ठूलो अर्थ राख्छन्। यी उहाँको परिवार, प्रशिक्षकहरू, विद्यार्थीहरू र उहाँको कठिन यात्रामा साथ दिने सबै व्यक्तिहरूप्रतिको सम्मान हुन्।मानिसहरूले प्रायः पदक र ट्रफीहरू मात्र देख्छन्, तर ती सफलताका पछाडि लुकेका संघर्षहरू देख्दैनन्। सन्तोष राईको कथा एउटा सानो गाउँका केटाको कथा हो, जसले आफ्नो परिस्थितिभन्दा ठूलो सपना देख्ने साहस गर्यो।कराँतेले उहाँलाई सिकायो कि च्याम्पियन जन्मँदैनन्, उनीहरू अनुशासन, त्याग र अटुट आत्मबलबाट निर्माण गरिन्छन्। उहाँको यात्रा अझै जारी छ, र सायद उहाँका महत्वपूर्ण विजयहरू अझै भविष्यमा पर्खिरहेका छन्।
न्युयोर्कमा राज्य विधान सभा डिस्ट्रक ३० प्रदेश सभा सदस्य (एसेम्ली मेम्बर ) को अग्रिम मतदान भइरहेको छ । प्रदेश सभा सदस्यका उमेद्वार नेपाली मुलका सामाजिक अभियन्ता सोमनाथ घिमिरेले यस क्षेत्रका सम्पुर्ण मतदाताहरुलाई भोट गरिदिन आह्वान गरेका छन् । ‘प्लिज भोट हालिदिनुस्, म तपाईकै हक हितका लागि लड्नेछु’ घिमिरेले भने, ‘आज मलाई सबैले सहयोग गरिदिनुहोस, भोली म तपाईहरुका लागि केही गरेर देखाउने बाचा गर्छु ।’ डिस्ट्रिक ३० अन्तर्गत ज्याक्सन हाईटस्, उडसाईड, मासपेथ र एल्मर्स्ट क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरु जो डेमोक्रेटिक पार्टीमा रजिस्टर्ड भएको हुनुपर्छ । अहिले प्रारम्भिक मतदान भईरहेको छ। प्रारम्भिक मतदान गत जुन १३ देखि सुरु भएको हो । भोली २१ तारिक दिनभर मतदान गर्न पाइनेछ भने सोमबार एक दिन मतदान क्षेत्र बन्द रहनेछ । मंगलबार जुन २३ तारिक मतदान गर्ने अन्तिम दिन हो । सबैले आ-आफ्नो नजिकको मतदान केन्द्रमा गएर भोट गरिदिनुहुन उनले बिनम्र अनुरोध गरेका छन् ।
ज्याक्सनहाइटस्को उडसाइड बसोबास गर्दै आएका घिमिरे बिगत छ महिना अघिदेखि चुनावि यात्रामा होमिएका हुन् । लामो समयदेखि सामाजिक गतिबिधिमा सक्रिय सामाजिक अभियन्ता घिमिरेले सम्पुर्ण दक्षिण एसियाली मुलुकका आप्रबासीको मुद्दामा काम गर्ने हुटहुटी लिएर गत जनवरी १० मा प्रदेश सभा सदस्यको उमेद्वारी दिएका थिए । उनले न्युयोर्क राज्यमा भाडामा बसोबास गर्दै आएका सम्पुर्ण भाडावाल र घरबेटीबीच समन्वय गरी दुबैपक्षलाई सहज हुने नीति बनाउने, दक्षिण एसियाली मुलुकका बिद्यार्थीहरुलाई सरकारी बिद्यालयमा गरिने भेदभावको अन्त्य गर्न शिक्षकहरुलाई बिशेष तालिम दिने, पछिल्लो समय बढिरहेको मानसिक स्वास्थ्य समस्या समाधानका लागि विशेष कार्यक्रमहरु संचालन गर्ने लगायत मुद्दामा काम गर्ने बाचा गरेका छन् ।
‘एबोलिस आईस’ भन्ने नाराका साथ अभियान चलाउने, कोर्टको आदेश बिना कसैलाई पनि पक्रने र सोधपुछ गर्न नपाउने बिसयमा लबी गर्ने, आफु बसोबास गरिरहेकोक्षेत्र र छरछिमेकको वातावरणको सुरक्षा लागि बिशेष काम गर्ने लगायत थुप्रै एजेन्डाहरुमा सक्रियतापुर्वक काम गर्ने बचन बद्दता ब्यक्त गरेका छन्।
केप कड नेपाली समाजको आयोजनामा किरांतबर्ष ५०८६ को साकेला-उभौली पर्व अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडको सेन्टरभिल सहरमा अवस्थित Faternal Lodge को प्रांगणमा यही जुन ६ तारिकका दिन भब्यताका साथ सम्पन्न भयो।
केप कड नेपाली समाजका अध्यक्ष बिष्णु मान प्रधानको सभापतित्वमा संचालित उक्त कार्यक्रममा केप कड नेपाली समाजको निमन्त्रणालाई स्वीकार गरि आफ्नो अमुल्य समय दिएर कार्यक्रममा सहभागी भैदिनुहुने विशिष्ट पाहुनाहरू, United Kirat Rai Organization of America (UKROA) न्यू ईग्ल्याण च्यापटरका अध्यक्ष कर्ण राई, UKROA का सलाहकार तथा नाकछोगं (पुजारी) बिष्णु राई, UKROA का उपाध्यक्ष मुक्ति राई, NEWAH Organization of New England का अध्यक्ष विजेन्द्र प्रधान, साथै New Hampshire र Boston बाट आउनुभएका अतिथिहरूको गरिमामय उपस्थितिले आयोजकलाई थप हौसला प्रदान गरेको थियो।
यसरी विशेष अतिथीहरू समेत उपस्थित उक्त कार्यक्रम केप कड नेपाली समाजको उपाध्यक्ष इच्छा खड्का, महासचिव सरस्वती खनाल र सचिव हर्कुलस कन्दंगवाद्वारा संयुक्त रूपमा संचालन गरेका थिए।
समाजका वरिष्ठ उपाध्यक्ष कृष्ण तिमल्सिनाले कार्यक्रममा उपस्थित हुनुभएका आमन्त्रित पाहुनाहरू तथा केप कड बासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी र स-साना नानीबावुहरूलाई साकेला-उभौली पर्व हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै कार्यक्रममा हार्दिक स्वागत गर्नुभएको थियो।
त्यसैगरि समाजका सदस्य तथा साकेला – उभौली कार्यक्रमका मुख्य संयोजक आदर्श राईले साकेला उभौली पर्वको शुभकामना ब्यक्त गर्दै यो पर्व के हो, किन र कसरी मनाईन्छ भन्नेबारे सरल भाषामा थप प्रष्ठ पार्नुभयो। संयोजक राईका अनुसार, साकेला किंरात समुदायको मुख्य चाड हो र यसैको मार्फतबाट वर्षको दुईपटक बिशेष गरि खेतीबाली लगाउने बेला (उभौली) बालीनाली भित्र्याउने बेला (उधौली) प्रकृतिको पुजा तथा विशेष खालको नाचगानद्वारा पुर्खाहरूलाई सम्मान र धन्यवाद ब्यक्त गर्ने प्रचलन रहिआएको जानकारी गराउनुभयो।
त्यसैगरि कार्यक्रममा आमन्त्रित अतिथि, NEWAH Organization of New England का विजेन्द्र प्रधान, UKROA New England Chapter का अध्यक्ष कर्ण राई र UKROA America का उपाध्यक्ष मुक्ति नारायण राईले पनि उपस्थित सबैमा साकेला उभौलीको शुभकामना ब्यक्त गर्दै सबै नेपाली समुदायहरूको सद्भावपुर्ण सक्रिय सहभागिता रहेको यो सांस्कृतिक पर्वको अवसरमा सहभागी भई शुभकामना आदान-प्रदान गर्ने अवसर दिएकोमा आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो।
यसैगरि UKROA का सल्लाहकार तथा नाकछोगं बिष्णु राईले साकेला-उभौली पर्वको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वको बारेमा प्रष्ठ पार्दै उपस्थित सबैलालाई उभौलीको हार्दिक मंगलमय शुभकामना संदेश दिनुभयो। यसैक्रममा वहांले केप कड नेपाली समाजले विगत वर्षहरूमा जस्तै सबै नेपाली समुदायहरूलाई एकजुट गराएर साकेला-उभौली कार्यक्रमआयोजना गरि निरन्तरता दिएकोमा समाजको कार्यको खुलेर प्रशंसा गर्नुभएको थियो र उहांले दावाका साथ भन्नु भयो, केप कड नेपाली समाज, एउटा यस्तो केप कड वासी नेपालीहरूको साझा संस्था हो जो संसार भरिकै नेपालीहरूको संस्था मध्ये साकेला मनाउने पहिलो संस्था हो।
यस कार्यक्रमको प्रमुख आकर्षण र महत्वपूर्ण पक्ष “साकेला- उभौली पुजा” साथै “चण्डी नाच नाकछोगं बिष्णु राई, सिली मोपा (सीताराम राई), सिली मोमा (अर्पणा राई) र ढोलेहरू (दिल बारेलुंग र नुरूहांग राई) बाट शुभारम्भ गरिएको थियो।
त्यसैगरि, समाजका आजीवन सदस्य दीर्घ राई, संस्थापक अध्यक्ष तथा सलाहकार हरि राई साथै भुतपुर्व अध्यक्ष तथा सलाहकार केबी राईले संयुक्त रूपमा केप कड नेपाली समाजका अध्यक्ष लगायत सम्पूर्ण टिमलाई कार्यक्रम आयोजना गरि सफल पार्नमा मुख्य भूमिका निभाएकोले राईहरूको संस्कार र रीतअनुसार सायाचुंग ( शिर उभ्याउने) गरि सधन्यवाद सम्मान ब्यक्त गर्नुभयो।
अन्त्यमा, कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष बिष्णु मान प्रधानले केप कड नेपाली समाजले आयोजना गरेको यस साकेला उभौली पर्वमा आमन्त्रित सबै पाहुनाहरू र उपस्थित सम्पूर्ण केप कड बासीहरूलाई शुभकामनाका ब्यक्त गर्नुका साथै वहांहरूले दिनुभएको अमुल्य समय, साथ र सहयोगको लागि धन्यवाद ज्ञापन समेत गर्नुभयो। यसैगरि वहांले यस कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने बिभिन्न समितिका संयोजक तथा सदस्यहरू, कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सदस्य तथा सल्लाहाकारहरू, स्वयमसेवी सदस्यहरू र प्रायोजकहरू लाई पनि धन्यवाद दिनुभयो। अन्त्यमा, औपचारिक कार्यक्रमको समापन भएको जानकारी गराउदै सबैलाई यसपछि हुने साकेला उभौली पुजा र नाचमा सक्रीय सहभागी भई भरपुर मनोरंजन गर्न प्रोत्साहन गर्नुभयो।
बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टर तथा बाग्लुङ स्पोर्ट्स क्लब न्युयोर्कको संयुक्त आयोजनामा सम्पन्न प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०२६ भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको छ। न्युयोर्कस्थित क्वीन्सब्रिज पार्कको भलिबल कोर्टमा आयोजित उक्त प्रतियोगिताले प्रवासी नेपाली समुदायमा खेलकुदमार्फत एकता, भाइचारा र जिल्लागत सम्बन्धलाई अझ सुदृढ बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि महाबाणिज्यदूत दधिराम भण्डारी तथा विशिष्ट अतिथि एनआरएनए अमेरिका उपाध्यक्ष आङ छिरिङ शेर्पाले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहमा विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, व्यवसायी, कलाकार, पत्रकार तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगितामा बाग्लुङ, म्याग्दी, पर्वत, सिन्धुपाल्चोक, दोलखा, स्याङ्जा, झापा, रुकुम र ताप्लेजुङ लगायत विभिन्न जिल्लाका गरी १२ टोलीको सहभागिता रहेको थियो। बाग्लुङ, म्याग्दी र पर्वतबाट दुई-दुई टोली तथा अन्य जिल्लाबाट एक-एक टोलीले प्रतिस्पर्धा गरेका थिए। सहभागी टोलीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै दर्शकहरूलाई रोमाञ्चक खेलको अनुभव गराएका थिए।
दुई दिनसम्म चलेको कडा प्रतिस्पर्धापछि पर्वत जिल्ला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो। फाइनल खेलमा आयोजक संस्था बाग्लुङको टोलीलाई पराजित गर्दै पर्वतले च्याम्पियन बन्ने गौरव प्राप्त गरेको हो। बाग्लुङले उपविजेतामा चित्त बुझाएको थियो।
प्रतियोगिताको विजेता टोलीलाई ३,००० अमेरिकी डलर नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता टोलीलाई २,००० अमेरिकी डलर नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
भलिबल प्रतियोगितासँगै नेपाली परम्परा र मनोरञ्जनलाई समेट्ने विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिएका थिए। रस्साकस्सी, घैँटो फोड, म्युजिकल चेयर, भाग्यशाली चिठ्ठा, छेलो फाल्ने प्रतियोगिता तथा सामूहिक बनभोज कार्यक्रमले सहभागीहरूलाई थप मनोरञ्जन प्रदान गरेको थियो। विशेषगरी न्युयोर्क नौमती बाजा समूहद्वारा प्रस्तुत पञ्चेबाजा कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। पञ्चेबाजाको धुनसँगै नेपाली संस्कृति र परम्पराको झल्कोले कार्यक्रमस्थललाई थप उल्लासमय बनाएको थियो।
महासचिव जीवनदास सुनारका अनुसार प्रतियोगिता तथा अन्य कार्यक्रमहरूमा दुई दिनको अवधिमा करिब ९०० देखि १,००० जनासम्मको सहभागिता रहेको थियो। उहाँले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण प्रायोजक, स्वयंसेवक, खेलाडी, दर्शक, पत्रकार, कलाकार तथा समुदायका सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
कार्यक्रमका वक्ताहरूले यस्ता खेलकुदमूलक गतिविधिले प्रवासमा रहेका नेपालीहरूबीच आपसी सम्बन्ध, एकता, सहकार्य र सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक र व्यवस्थित रूपमा सञ्चालन गर्दै नेपाली समुदायको साझा उत्सवका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
प्रवासी नेपाली समुदायको उल्लेखनीय सहभागिता, खेलाडीहरूको उत्कृष्ट प्रदर्शन तथा सांस्कृतिक कार्यक्रमहरूको आकर्षक प्रस्तुतिका कारण प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०२६ न्युयोर्कमा नेपाली समुदायको एक सफल, स्मरणीय र ऐतिहासिक खेल महोत्सवका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
पितापूर्वज, वंश मावाली नै व्यक्ति तथा परिवारको रक्तनली हुन्। संस्कृति, संस्कार र परंपराको सञ्चार यसैबाट हुन्छ । आफ्ना अग्रजको नाममा स्मरण एवम् सम्मानको हेतु उहाँहरुको योगदानउपर कदरस्वरुप प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने प्रचलन हरेक सभ्य समाजमा हुन्छ ।
खनाल परिवारले पिता गोपीकृष्ण खनालको नाममा विसं. २०७६ सालमा स्थापना गरेको ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ यसैको उदाहरण हो । स्थापनापछि निरन्तर समाजसेवा र साहित्यमा पुर्याउँदै आएको योगदानको बदौलत आज यो प्रतिष्ठान सबैको लागि अनुकरण बनेको छ । झापाको बिर्तामोडमा अवस्थित यस प्रतिष्ठानका संरक्षक श्री रुपादेवी खनालले पुस्तकालय निर्माण, साहित्यिक पुरस्कार, धार्मिक सहयोग तथा गरिब असहायप्रति मानवीय सहयोग निरन्तर गर्दै प्रतिष्ठानको गरिमा उँचो राख्नुभएको छ ।
लेखन साहित्य र समाजसेवामा सक्रिय रहँदा गोरखा दक्षिणबाहु पदक पाउनु भएका पत्रकार, साहित्यकार, समाजसेवी स्व. गोपीकृष्ण खनालको असामयिक निधन ७१ वर्षको उमेरमा भएपछि परिवारजन तथा शुभचिन्तकको पहलमा यो प्रतिष्ठानको स्थापना भएको हो ।
मानिस कर्मले महामानव बन्छ । सही विचार र जीवनशैली भाविपुस्ताको लागि पथ बन्छ । मातापिताले पुर्याएको सामाजिक योगदानको कदर दरसन्तानले यस्ता सामाजिक प्रतिष्ठानमार्फत गर्ने प्रचलन समाजमा अझ बढी चल्नु जरुरी छ । थुप्रै पत्रपत्रिकामा आबद्दरहेका स्वर्गीय खनालका कयौं कृतिहरु प्रकशित छन् । समाजमा सन्तानले गर्वकासाथ नाम लिन सक्ने काम अग्रजले गर्ने र भावि सन्ततिले यस्तै स्मृति प्रतिष्ठान स्थापना गरेर सम्मान व्यक्त गर्ने प्रचलन चलिरहोस् ।
गोपीकृष्ण खनाल स्मृति प्रतिष्ठानको काम र योगदानको बारेमा बृस्तित जानकारी वेबसाइट् www.gkmemorial.org बाट लिन सकिन्छ । गत वर्ष प्रकाशित ‘गोपीकृष्ण खनाल स्मृतिग्रन्थ’ हात परेपछि मलाई समाजप्रति थप जिम्मेवारी बोध भएको छ । आदरणीय मनोज खनालज्यु तथा गीता खनालज्युमा हार्दिक आभार ।
नेपाल तथा भारतमा समेत ख्यातिप्राप्त योग गुरु राजन शर्माको नि:शुल्क योगाभ्यास तथा ध्यान साधना न्युयोर्कमा हुने भएको छ। रिजउडस्थित नेपाली दुर्गा मन्दिर र उडसाइडमा अवस्थित दिव्यधाम मन्दिरमा यही सोमबार मे २५ तारिख विहान र साँझ गरेर दुइ चरणमा सम्पन्न गरिने छ । आयोजकका अनुसार यो शिविर कोलाहल र चिन्तायुक्त जीवनशैलीबाट मुक्त हुने अत्यन्तै दिव्य सुनौलो अवसर तथा निशुःल्क सनातन संस्कृतिको अध्यात्म विज्ञान बुझ्ने अवसर समेत भएकोले सबैको उपस्थिति अपेक्षा गरिएको छ ।
प्रभावशाली विश्व योग प्रशिक्षक, मोटिभेटर, रिसर्चर, प्रोफेसर आचार्य राजन शर्माज्यूको विशेष निर्देशन तथा सानिध्यमा रोग विशेष योग, ध्यान, आर्युवेद जीवन जिउने उच्च शैली, बालबालिकाका लागि गणित, विज्ञान मेमोरी तथा तनाव व्यवस्थापन खुसी र सुखी हुने कला सम्वन्धि जानकारी रहने भएकोले सबैको गरिमामय उपस्थितिको लागि आह्वान समेत गरेको छ । दूर्गा मन्दिर न्युयोर्क परिवार र The Global Society For Peace & Spiritual Sciences (GSPSS) NY Chapter अमेरिकाको संयुक्त आयोजनामा गरिने कार्यक्रमको तालिका संप्रेषित फ्लायरमा राखिएको छ ।
न्यूयोर्कस्थित सेन्ट जोसेफ युनिभर्सिटिले सन् २०२६ को स्नातक तहका वैलेडिक्टोरियनहरू घोषणा गरेको छ । यसमा नेपालका सुलभ कतिला ब्रुकलिन क्याम्पसका वैलेडिक्टोरियन बन्न सफल भएका छन्।
नेपालबाट अध्ययनको सिलसिलामा अमेरिका पुगेका सुलभ कतिलाको इन्जिनियर बन्ने सपना लिएर अध्ययन यात्रा सुरु गरेका थिए। अध्ययनका क्रममा उनले विश्वविद्यालयको कम्युटर क्लवका उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए भने शैक्षिक केन्द्रमा पियर ट्युटरको रूपमा पनि काम गरेका थिए। साथै, उनले ब्रुकलिनका पिछडिएका बालबालिकालाई गणित विषयमा निःशुल्क सहयोग गरेका थिए।
सुलभले २०२४ मा Summer Undergraduate Research Fellowship (SURF) अन्तर्गत न्यूयोर्क सिटीको घरजग्गा मूल्य प्रवृत्तिबारे अनुसन्धान प्रस्तुत गरेका थिए भने उनको मेहनत र नेतृत्व क्षमताको कदर गर्दै विश्वविद्यालयले उनलाई Joseph M. Lewinger “Mr. St. Joe’s” Scholarship for Future Educators समेत प्रदान गरेको थियो।
उनले Computer Science र Mathematics विषयमा डिग्री प्राप्त गर्दै Data Science मा minor पनि पूरा गरेका छन्। भविष्यमा आफू प्राध्यापक बनेर नयाँ पुस्तालाई प्रेरित गर्ने लक्ष्य रहेको उनले बताएका छन्। सुलभ कतिला यो सफलता नेपाली समुदायका लागि गर्वको विषय बनेको छ।
आगामी मे १७ तारिकका दिन न्युयोर्कको म्यानह्याटनमा नेपाल डे परेड हुने भएको छ । आगामी आईतबारका दिन हुन लागेको परेडको तयारी लगभग सकिएको आयोजक समुहले जनाएको छ । गैर आवासीय नेपाली संघ (NRNA) न्युयोर्क च्याप्टर र नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा हुन लागेको परेडमा नेपाली महाबाणिज्यदूतावासको समन्वय रहनेछ । परेडमा न्युयोर्कस्थित कार्यरत ५० भन्दा बढी नेपाली संघ संस्थाको सहभागीता रहनेछ । आयोजक समुहले आईतबार ज्याक्सन हाईट्सस्थित पत्रकार सम्मेलन गर्दै सम्पुर्ण नेपाली समुदायलाई परेडमा सहभागी हुन आह्वान गरेको छ ।
बिश्वकै राजधानी मानिने न्युयोर्कको व्यस्त शहर मानह्याटनमा हुने परेडमा नेपाल र नेपालीको संस्कृति र पहिचान झल्किने बिभिन्न झांकीहरु प्रस्तुत गरिनेछ । बिश्वसामु भगवान बुद्दको जन्म नेपालमा भएको जानकारी दिने उदेश्यले बुद्दको प्रतिमा सहित ‘बुद्द वाज बर्न ईन नेपाल’ लेखिएका ब्यानरहरु प्रदर्शन गरिनेछ । नेपाली समुदायका बिभिन्न जातजाति, भेषभुषा र पहिचान बोकेका झांकीहरु प्रस्तुत गरिनेछ । साथै बिभिन्न सांस्कृतिक कार्यक्रमहरु हुनेछन । परेडका लागि सबै ब्यवस्थापनको काम तिब्र भईरहेको आयोजकले जनाएको छ। म्यानह्याटनको ३८ स्ट्रिट र मेडिसन एभिन्युदेखि सुरु हुने परेड २३ स्ट्रिटमा पुगेर औपचारिक कार्यक्रम गर्दै टुंगिनेछ । परेडलाई ब्यवस्थित बनाउनका लागि १०० भन्दा बढी स्वयम् सेवकहरु खटाईनेछ । यसपाली सबै संघ संस्स्थाहरु एकजुट भएर परेड आयोजना गरिएकाले बिगतका बर्षहरुमा भन्दा उपस्थिति व्यापक हुने अनुमान गरिएको एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछाने बताए । ‘यसपाली नेपाली समुदायका सबै संघसंस्था एकजुट भएर परेडलाई भब्य बनाउने तयारी गरिरहेका छौं’ उनले भने, ‘धेरै मेहनत गरेर मात्रै सबै संघ संस्थालाई एकजुट गराउन सफल भएका हौ, अब सबै नेपाली मिलेर परेडलाई भब्य अनि सब्यताका साथ सफल बनाउनु पर्छ। सबैले साथ दिनुहोला ।’ यसपाली पार्किङका लागि पासको ब्यबस्था गरिएको छ, ठुलो संख्यामा स्वयंसेवकको व्यवस्थापन भएकोले यसपाली परेड शान्त र सब्य हुनेछ । नेपाल नेपालीलाई बिश्वसामु चिनाउनु र नेपालमा बिदेशी पर्यटक भित्र्याउन टेवा पुर्याउने उदेश्यले परेड आयोजना गरिएको हो । सन् २०१६ देखि न्युयोर्कको म्यानह्याटनमा परेड हुंदै आएको छ ।
रास्वपा समर्थकहरूको विश्व संजाल प्रवास नेपाली सम्पर्क विभाग अमेरिकाले झण्डै दुईतिहाईको आफ्नै दल रास्वपाको बालेन सरकारले छलफलको लागि भन्दै जारी गरेको विवादास्पद ‘गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ ले समस्त प्रवासी नेपालीहरूको सपना, आकांक्षा र योजनामा कुठाराघात गरेको भन्दै सो विधेयकमा समावेश विवादास्पद प्रावधानहरू तत्काल फिर्ता लिन आग्रह गरेको छ। साथै, सरोकारवालाहरूलाई संलग्न गराई प्राप्त हुने सुझावहरूलाई समावेश गरी प्रवासी नेपालीको आकाँक्षा अनुरूप बंशजको नागरिकताको निरन्तरता मैत्री विधेयक जारी गरी कार्यान्वयनमा ल्याउन समेत विभागले जोडदार माग गरेको छ। यसैबिच, अप्रिल ३० तारिख न्यू योर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीलाई विभागका कार्यवाहक अध्यक्ष सम्मरबहादुर बुढाथोकीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भेटेर ज्ञापनपत्र बुझाएको छ।
सो ज्ञापनपत्रमा प्रवास विभागका केन्द्रिय र राज्य समितिका गरी ३२ जनाले हस्ताक्षर गरेकाछन्। प्रवासमा रहेका नेपालीहरूको हकअधिकारको सुनिश्चितताको निम्ति रास्वापाको नागरिक करार र सरकारको राष्ट्रिय प्रतिवद्धतामा उल्लेख बंशजको नागरिकताको निरन्तरता कार्यान्वयन गर्न ज्ञापनपत्र बुझाईएको हो।
सो ज्ञापनपत्र प्रधानमन्त्री बालेन्द्र शाहका अलावा सभामुख डिपि अर्याल, रास्वपा सभापति रवि लामिछाने, परराष्ट्र मन्त्री शिशिर खनाल, कानून मन्त्री सोविता गौतम, कानून, न्याय तथा मानव अधिकार समिति सभापति समीक्षा बास्कोटा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सम्पूर्ण सांसदहरू, संविधान संशोधन बहस पत्र तयारी समितिका संयोजक असीम शाह, राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालय सदस्यहरू र रास्वपा प्रवास नेपाली सम्पर्क विभाग, नेपालका प्रमुख दीपक बोहरालाई समेत विभिन्न माध्यमबाट बुझाईएको छ।
प्रवास विभाग अमेरिकाले नेपाली महावाणिज्यदूत न्यूयोर्कको साथै नेपाली राजदूतावास वासिंगटन डिसि, महावाणिज्यदूत डालस, टेक्सास र महावाणिज्यदूत, सान फ्रान्सिस्को, क्यालिफोर्नियामार्फत पनि ज्ञापनपत्र बुझाएर थप दबाब सृजना गर्ने कुरा विभागका कार्यवाहक अध्यक्ष सम्मरबहादुर बुढाथोकीले जानकारी गराए।
ज्ञापनपत्रमा उल्लेख गरिएको माग प्रकाशित पत्रमार्फत पूर्ण पाठ पढ्नुहोस्
उसु, बक्सिङ, किक बक्सिङ र कँराते खेलाडीको जीवन आम मानिसको जीवन भन्दा फरक हुन्छ । विदेशको रापिलो घाम र अनुहारमा आफ्नो देशको झन्डाको शीतल छाँया; विदेशी हावा तर हावामा आफ्नो देशको राष्ट्रिय गानको बहाव; तक्माले आफ्नो छातीमात्र गर्वले भारी होइन, आफ्नो देशको झन्डालाई उचाइमा हेर्न पाउने सौभाग्य । यस्तै, यस्तै सपनाका लागि कैयनपटक लडेका भुइँ टेकेर उठछन् खेलाडीहरु । यसैले भनिन्छ, खेलाडीको जीवनमा जति रगत बग्छ, त्यति जीवनको इन्द्रेणी रंगिन बन्छ ।
उसु खेललाई लिएर विश्वमा विभिन्न चलचित्रहरु बनेका छन् । निर्देशक एन्थोनी स्जेको ‘युवा पुस्ता’ नामक चलचित्र, जस्मा पाँच जना बालकहरुले उसुको प्रशिक्षण लिँदै साथीपन, कडा मेहनत र प्रतिस्पर्धाले जीवनका मूल्यहरु सिक्छन् । त्यस्तै, ‘फियरलेस’, ‘ताइ चि जिरो’, जेट लीको ‘द साउलिन टेम्पल’, ‘हिरा’े, ‘का्रउचिङ टाइगर’ र ‘हाउस अफ फ्लाइङ डेगर्स’ उल्लेखनीय छन् । यी निर्मित सबै चलचित्रले उसु खेलाडीको जीवनमा आउने विभिन्न उतारचढाव देखाएका छन् । चलचित्रमा देखाइएका, यस्तै संघर्षपूर्ण जीवन भन्दा कुनै फरक नभएको जीवनको प्रतिनिधि हुन्, नेपाली उसु खेलाडी तथा प्रशिक्षक राजिव महर्जन । उसु खेलाडीको जीवनमा स्वभावतः आउने सुखदुख, घामछाया र उतारचढावको उनी पनि साक्षी भए । खेल जीवनमा विभिन्न बाधा र अडचन आए, उनी ती कुनै बाधासँग कहिले अविचलित भएनन् । फलस्वरुप जीवनका कठोर परिस्थितिहरु उनको अगाडि निरीह भएर आफै झुके । आज उनी उसु खेलमा नेपालमा मात्र प्रतिष्ठित भएका छैनन्, उनलाई विश्वका कैयन देशका मानिसहरुले चिन्छन् । विश्वका कैयन दर्जन खेलमैदानमा उनको खुट्टाले नेपालको प्रतिनिधित्व गरी टेकिसकेका मात्र छैनन्, कैयन देशको बतासमा उनले आफ्नो देशका झन्डा फर्फराइसकेका छन् । आज उसु र राजिव एकअर्काको पर्याय जस्तो भैसकेको छ ।
उसु प्रशिक्षक राजिव महर्जनको जन्म आज भन्दा एकचालीस बर्ष अगाडि कीर्तिपुरको पाँगाको ढोकासीमा बुबा राम महर्जन र आमा हिरानानीको कोखबाट कान्छो छोरोको रुपमा भएको थियो । त्यो बेलामा उनको हजुरबुबा दरबारमा सुसारेको काम गर्नुहुन्थ्यो । दरबारमा राजपरिवारको रेखदेख गर्ने क्रममा, भारत जानु भएका हजुरबुबासँगै महर्जनको पुरै परिवार नै बसाइँसराइ गरेर जाँदा उनको बाल्यकाल भारतको मध्यप्रदेशको इन्दोरमा नै बित्यो । सानैदेखि चन्चले स्वभावका महर्जन, इन्दोरको विद्यालयमा पढदा उनी विशेषतः बक्सिङ र एनसिसिमा सहभागी हुने गर्दथे । यसरी सुरु भएको उनको खेलजीवनले पछि नेपाली खेलकुदमा केही नयाँ आयामहरु थपे । बाल्यकालका केही अंशहरु विदेशी भूमिमा बिताएर, परिवार नेपाल आउँदा उनी फेरि परिवारसँगै नेपाल फिर्ता भए । नेपाल फिर्ती पछि, कीर्तिपुरको पाँगा माध्यमिक बिद्यालयमा कक्षा ५ मा भर्ना भए । भारतमा बसेको उनको खेलप्रतिको मोह, जन्मथलो फर्किदा पनि उस्तै थियो । त्यसैले उनी मार्सल आर्ट सिक्न आतुर देखिन्थे । यसै क्रममा कक्षा ६ पढदा त्यो बेलामा राराहिलमा उसु खेलको प्रशिक्षण भैरहेको जानकारी पाए । उनी उसु खेल सिक्न राराहिल पुगे । यसरी उनले मार्सल आर्ट सिक्ने आतुरता त्यही मेटे । यसरी उनको औपचारिक उसु र कँराते खेलयात्रा यसरी सृुरु भएको थियो । खेलकुद र पढाइलाई सँगसँगै लाने क्रममा उनको बिद्यालय परिवर्तन भयो । उनी कीर्तिपुरकै बालकुमारी माध्यमिक विद्यालयमा भर्ना भए । उनी त्यही स्कुलको प्रतिनिधित्व गर्दै जुनियर स्कुल च्याम्पियनको रुपमा उदाए । यो पल उनको लागि अविस्मरणीय पल हो भन्दा अत्युक्ति नहोला, जहाँबाट उनी एक चम्किला उसु खेलाडीको रुपमा उदय हुन पुगे ।
खेल जीवन त्यति सहज थिएन । मार्सल आर्ट खेल नै, चोटपटकबाट कहाँ मुक्त थियो र ? सुरु सुरुमा आफ्नो खेल शारीरिक चोटसँग सम्वन्धित भएकोले, कोमल दिल भएका आमाबुबालाई त्यो खेल रुचिकर भएको थिएन । तर, आफ्नो दुढ अठोटको सामु बुबाआमाले पनि विस्तारै साथ दिन थाले । उनी आफ्नो स्वर्गीय दाइ अमित महर्जनलाई सम्झन्छन्, जस्ले उनको जीवनको हरेक पलमा साथ दिए । उनी आफ्नो कैयन खेलमा दाइ साथै आएर हौसला बुलन्द गरेको सम्झन्छन् । दाइको यो साथमा भगवानको आँखा लाग्यो भनुँ या अरु कसैको, दाइको प्रेरणाको बोट नै नियतिले सँधैको लागि चुँडयो । ती तिता पल सम्झिँदा आज पनि उनका आँखा सजल बन्छन् ।
उनले खेलजीवनमा पाएको उपलब्धि लेखिसाध्य छैन । सन २००३ मा ‘पहिलो बुद्ध जयन्ति उसु च्याम्पियन्स’मा प्रथम भएका थिए । सन २००६ र २००७ मा आयोजित पाँचौ र छैठौ राष्ट्रिय उसु च्याम्पियन्समा उनी लगातार प्रथम भएका थिए । उनको यो यात्रा यहीँ रोकिएन, सन २००९ को आयोजना भएको ‘पाँचौ राष्ट्रिय उसु खेल’मा ‘उत्कृष्ट खेलाडी’मा चुनिन पुगे ।
उनले खेल जीवनको दौरानमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । हाल उनी नेपाल उसु महासंघको उप–महासचिवको रुपमा खेलको विकास र विस्तारमा समय दिइरहेका छन् । यसअघि उनी नेपाल उसु महासंघमा २०१२ देखि २०२४ सम्म नेपाल उसु संघको उपाध्यक्षको रुपमा कार्यरत थिए । तीवाहेक महर्जन, ‘नेपाल कुङग–फु संघ’को बरिष्ठ उपाध्यक्ष, ‘सन २०१२ देखि हालसम्म नेपाली सेनाको उसु प्रशिक्षक, ‘मार्सल आर्ट संस्था नेपाल’को संस्थापक, ‘अखिल नेपाल खेलकुद महासंघ’को उपाध्यक्ष र सन २०१७ देखि हालसम्म उनी नेपाल जिजित्सु्को महासचिव छन् । उनको खेलजीवनमा कैयन अविस्मरणीय घटनाहरु घटे, जुन भोगेको बेला कष्टप्रदायक भए पनि आज सम्झिँदा आनन्द प्रवाह गर्छ । उनी हाँसो र आँसु संयोजित आँखा लिएर, पुराना तस्वीरहरु देखाउँदै यस्ता तीता मीठा संस्मरणहर सुनाउँछन ।
दोस्रो साउथ एसियन खेलमा उनको खेल ‘आजटक‘ले लाइभ प्रशारण गरेको थियो । त्यो खेलमा उनी घाइते भएका थिए । त्यो बेला नेपालमा लाइभ हेरिरहेका आमाबुबा टिभीमा आफ्नो घाइते छोरालाई हेर्दाहेर्दै रोएका थिए रे ! यस्तै यस्तै घटनालाई सम्झेर उनी आफ्नो जीवनको इन्द्रेणीमा आफ्नो रगत र आमाबुबाको आँसुको रंग पनि परेको उनी स्वीकार्छन् । पछि आमाबुबा रोएको घटनाको बारेमा सुन्दा उनका आँखा पनि रसाए ।
कुनै समय यस्तो पनि थियो, खानामा भातलाई औधि मन पराउने राजिवले लगातार बीस दिनसम्म एसियन खेलका लागि भातको मुखै हेरेको थिएन, किनकी उनलाई त्यो बेला खाना भन्दा तौलको चिन्ता थियो ।
अझ रोचक प्रसंग यो छ कि, सन २००८ मा नेपालमा पहिलोपटक इपिएस प्रारम्भ हुँदाबखत उनी कीर्तिपुरको निवासबाट दशरथ रंगशालासम्म एक्लै दौडेर गएका थिए । उनले कोरिया जानेहरु दशरथ रंगशालामा साँझैदेखि आएर रंगशालाको मैदानमा सुतेका थिए भनी चाल पाएका थिएनन । त्यस्तै मध्यरातको ३ बजेतिरको समय थियो । भुइँमा असरल्ल सुतिरहेकाहरुलाई नदेखेर कुल्चेरै दौडिरहेका थिए रे । होसमा आँउदा उनलाई त्यहाँ असरल्ल सुतिरहेका मानिसहरु, लासै लास सुताएको कुनै मुर्दाघर जस्तो लागेको थियो रे । जीवनमा कमै भयभित भएका राजिव त्यो दुश्यले भयभित भएको बताउँछन् । रंगशालामा छनोटको लागि आठ बजे पुग्नु पर्ने राजिव रातको तीन बजे नै पुगेको घटनाले खेलप्रतिको उनको समर्पण देखाउँछ । नेपालमा उसु खेलका साथ साथै मार्सल आर्ट क्षेत्रको विकासमा निरन्तर लागिरहेका राजिवले नेपालमा पहिलो पटक जिजित्सु र एम.एम.ए खेल भित्राइ खेलकुद क्षेत्रमा नयाँ आयाम थपेका छन् । खेलकुद क्षेत्रका यस्ता कर्मठ ब्यक्तित्व कीर्तिपुर नगरले मात्र होइन, देशले नै विरलै प्राप्त गर्दछ ।
उनको जीवनमा खेलको दौरानमा, नेपालदेखि ढाकासम्म तीनदिनसम्मको अविरल बसको यात्रा गरेर खेलमा सहभागी भएको अनुभव पनि ताजै छ ।
बि.स. २०७० साल असार १७ गते उनको खेल जीवनमा नयाँ मोड आयो । लाखौ समर्थकहरुको मन चिस्याउँदै, उनको खेल जीवनमा पूर्णविराम लाग्यो । चिकित्सकले उनलाई खेल्नको लागि स्वीकृति दिएनन् । खेल जीवनमा पूर्णविराम लागे पनि उनले उसु खेलप्रतिको लगावलाई त्याग्न सकेनन् । उनी खेल जीवन समाप्त भए पनि नेपाली सेनामा उसु प्रशिक्षकको रुपमा निरन्तर लागिरहेका छन् । उनले बाह्रौ एसियाली खेलकुदमा सेनाको प्रशिक्षक भएर क्रमशः एक स्वर्ण, आठ रजत र एक काश्य प्राप्त गरेका थिए भने तेहा्रै एसियाली खेलमा पाँच स्वर्ण, छ रजत र पाँच काश्य पाउन सफल भएका थिए । उनको खेलाडी जीवन जति सफल थियो, प्रशिक्षकको जीवन पनि उतिकै सफल छ ।
राजिव महर्जन आफ्नो खेलजीवनमा सन्तुष्ट छन् । आज उनी आफ्नो खेलजीवनबाट रिटाएर भएर, आफू जस्ता खेलाडीहरुको उत्पादनमा लागिरहेका छन् । जर्मनको लुब्स नगरपालिकाले उनलाई समर र विन्टर केम्पका लागि हायर गरेका छन् । उनले आजसम्म खेलको सिलसिलामा चौतीस पटक अन्र्तराष्ट्रिय विमानस्थल टेकेका छन् । भारत, बंगलादेश, श्रीलका, कोरिया, टर्की, मकाउ, हंगकंग, इरान, दुबई, बहराइन, अष्ट्रिया, इटली, जर्मनलगायत अन्य देशमा पुगेका छन् । लुब्स नगरपालिका र कीर्तिपुर नगरपालिकालाई भगिनी सम्वन्ध स्थापित गराउन पनि उनले अतुलनीय योगदान दिएका छन् ।
आफनो खेल जीवनले उनले धेरै कुरा पाए, थोरै गुमाए । तर खेल जीवनमै लागेर जीवनमा औपचारिक शिक्षामा मास्टर्स गर्न नपाएकोमा दुख ब्यक्त गर्छन् । उनी आफ्नो खेलजीवनको सफलतामा आफ्ना गुरुहरु सुनिल शाक्य, राम महर्जन, गणेश अर्याल, नवराज लामा र उसुका संस्थापक प्रनिलध्वज कार्कीलाई आफ्नो श्रेय दिन्छन् भने आफ्ना समकक्षी साथीहरु युवराज गुरुङ्ग, विकास श्रेष्ठ, धनविर महर्जन, राजु महर्जन, प्रताप थापा, सिताराम हुमागाईँ र पुरुषोतम रिजाललाई आज पनि उतिकै प्रेरणाको स्रोत मान्छन् । उनीहरुको हौसलाको जोड बिना यो अगणित सफलता सम्भव नै थिएन ।
उसु खेलको बारेमा एउटा विश्वप्रसिद्ध भनाइ छ –‘उसु केवल शब्द होइन, यो जीवन जिउने तरिका हो ।’ राजिवले पनि उसु खेलले जीवन जिउने तरिका सिके । आज उनको जीवन व्यवस्थित छ । खेलसँगै व्यवसायमा पनि उनी आज संलग्न छन् । उनको ब्यवसायिक जीवनमा साथ दिएकी छिन्, आफ्नै जीवनसाथी करुणा रंजितले । सात बर्षकी छोरी इभाना महर्जनलाई देख्दा, देशको लागि केही गर्ने उत्साह जागेर आउँछ रे, किनकि देशको भोलिसँग आफ्नी छोरीको भोलि जोडिएको छ । आजका कैयन बालबालिकाको भविष्य गाँसिएको छ ।
राजिवको जीवन समग्रमा सफल छ । अनेकन राष्ट्रिय र अन्तराष्ट्रिय अवार्डले कोठाको भिता भरिएका छन्, भिताको पूर्णताको बावजुद पनि, उनको जीवन एक सिधा रेखा जस्तो सरल छ । जीवनशैलीमा कुनै तुजुक छैन । उनको सरल जीवनशैलीलाई हेर्दा यो भन्न सकिन्छ कि, उसु खेलाडी तथा प्रशिक्षक राजिव महर्जन, आफ्नो देशलाई विश्वभरि चिनाएको, एक सफल खेलाडी मात्र होइन, सफलतामा पनि सरलतालाई संयोजित गर्दै जीवन जिउन सकिन्छ भन्ने एउटा सार्थक परिभाषा पनि हो ।
केप कड नेपाली समाजको बार्षिक साधारण सभा तथा चौथो अधिवेशन समाजका अध्यक्ष केबी राईज्यूको सभापतित्वमा यहि अप्रिल १९ तारीख २०२६ आईतवारका दिन म्यासाचुसेट्स राज्यको केप कड हायनस स्थित Courtyard by Marriott होटलको सभाहलमा सफलतापूर्वक सम्पन्न भएको थियो। उक्त कार्यक्रमको संचालन महासचिव ईच्छा खड्का र सचिव सरस्वती खनालले गरेका थिए। सभापतिबाट बत्तिवालेर उदघाटन गरिएको सभा नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर सुरु गरिएको थियो। अमेरिकाको राष्ट्रिय गान बिष्लेक्स मान प्रधानको एकल गायनमा भएको थियो ।
समाजका बरिष्ठ उपाध्यक्ष तथा बार्षिक साधारण सभाका संयोजक विष्णु मान प्रधानले सभामा उपस्थित सम्पूर्ण सदस्यहरुलाई स्वागत गर्नु साथै कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियो भने समाजका उपाध्यक्ष कृष्ण तिमल्सिना र संस्थापक अध्यक्ष तथा सल्लाहाकार हरी राईले शुभकामना मन्तव्य दिनु भएको थियो ।
सभाले समाजका महासचिव इच्छा खड्काद्वारा प्रस्तुत गरिएको संस्थाको बार्षिक प्रगति प्रतिवेदन साथै संस्थाका कोषाध्यक्ष विमल खड्काद्वारा प्रस्तुत गरिएको बार्षिक आर्थिक विवरणलाई सर्वसम्मत पारित गरेको थियो।
साधारण सभाको पहिलो सत्रमा केप कड नेपाली समाजको आजीवन सदस्यता लिनुहुने १२ जना नयां सदस्यहरूलाई समाजका अध्यक्ष केबी राईज्यूले खादा तथा प्रमाणपत्र प्रदान गरि स्वागत तथा सम्मान ब्यक्त गर्नुभयो। त्यसैगरि वर्ष भरि समाजले आयोजना गरेका विभिन्न कार्यक्रमहरूको मेरूदण्ड स्थानिय कलाकारहरू साथै उक्त कार्यक्रमहरूलाई सफलतापूर्वक सम्पन्न गर्न आर्थिक सहयोग (५०० डलर वा सो भन्दा बढी) प्रदान गर्नुहुने दाताहरूलाई समेत समाजका अध्यक्ष केबी राईज्यूले खादा तथा प्रमाणपत्र प्रदान गरि सम्मान ब्यक्त गर्नुभयो।
साधारण सभाको अन्त्यमा, यस सभाका सभापति केबी राईज्यूले बर्तमान कार्य समितिले २ वर्षको निर्धारित कार्य अवधि सफलतापूर्वक सम्पन्न गरेकोमा सबै पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै आजकै मितिदेखि यसलाई बिगठन गरिएको घोषणा गर्दै नंया कार्यसमिति चयनको लागि सभामा उपस्थित सबैलाई आव्हान समेत गर्नुभयो।
चौथो अधिवेशनको बन्द सत्रलाई संचालन गर्दै कार्यक्रम संचालकले प्रमुख निर्वाचन आयुक्त, डा़ प्रदीप बज्राचार्यलाई निर्वाचन प्रक्रियालाई अगाडि बढाउन आग्रह गर्नुभयो। जसअनुसार प्रमुख निर्वाचन आयुक्त डा़ बज्राचार्यको नेतृत्वमा सदस्यद्वय दीर्घ राई र रोशन अधिकारीको सहितको ३ सदस्यीय निर्वाचन समितिले निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया पुरा गरी बिधिवत रुपमा निर्वाचन सम्पन्न गरेका थिए । उक्त निर्वाचनमा विधान सम्मत तपशिल बमोजिमको २१ सदस्यीय नयां कार्यसमिति (२०२६-२०२८) निर्विरोध निर्वाचित भएको थियो।
नव निर्वाचित कार्यसमिति (२०२६-२०२८)
बिष्णु मान प्रधान- अध्यक्ष
कृष्ण तिमल्सिना- बरिष्ठ उपाध्यक्ष
कुबेर बिन्दुकार- उपाध्यक्ष
इच्छा खड्का- उपाध्यक्ष
सरस्वती खनाल- महासचिव
हर्कुलस कन्दंगवा- सचिव
खगेन्द्र तिलुंग राई- सह-सचिव
बिमल खड्का- कोषाध्यक्ष
अजय खतिवडा- सह कोषाध्यक्ष
पार्वती चालिसे- महिला संयोजक
कुमार तामागं- युवा संयोजक
छेजी शेर्पा एन्ड्रु सदस्य
ज्योति केसी- सदस्य
मंजु शर्मा- सदस्य
दीक्षा थापा- सदस्य
आदर्श राई- सदस्य
ज्योति बुढाथोकी लिवागं
हरि प्रसाद रिजाल- सदस्य
सन्तोष श्रेष्ठ-सदस्य
मिंग्मा शेर्पा- सदस्य
के ओगंचुक शेर्पा- सदस्य
कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्ष केबी राईज्यूले नवनिर्वाचित अध्यक्ष बिष्णुमान प्रधान को नेतृत्वको कार्यकारी समितिलाई बधाई तथा शुभकामना दिदै आगामी दिनहरूमा पनि समाजका हरेक गतिविधिहरूमा कार्यसमिति बाहिरै रहेरपनि निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जाहेर गर्नुभयो।
यसैगरि नवनिर्वाचित अध्यक्ष बिष्णु मान प्रधानले पनि निवर्तमान अध्यक्ष लगायत सम्पूर्ण outgoing पदाधिकारी तथा सदस्यहरूलाई वहांहरूले आफ्नो २ वर्षको कार्यकालमा संस्थालाई र केप कड नेपाली समुदायलाई पुर्याउनुभएको योगदानको कदर गर्दै भविष्यमा पनि वहाहरूको सहयोग निरन्तरता रहने कुरामा विश्वास ब्यक्त गर्नुभयो । अध्यक्ष प्रधानले सम्पूर्ण नेपाली हरुलाई नयां बर्ष २०८३ को हार्दिक शुभकामना पनि ब्यक्त गर्नु भयो।
अन्त्यमा सरल र सौहार्दपूर्ण वातावरणमा नंया कार्यसमिति चयन प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गराउनुहुने निर्वाचन प्रमुख डा. प्रदीप बज्राचार्यज्यू साथै निर्वाचन समितिका सदस्यद्वय दीर्घ राई र रोशन अधिकारीलाई पनि निवर्तमान अध्यक्ष केबी राईले खादा ओडाएर धन्यवाद ज्ञापन गर्नुभयो।
निर्वाचन समितिका अध्यक्ष डा. प्रदिप बज्राचार्य, सदस्य दिर्घ राई र रोशन अधिकारीले नब निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई खादा लगाई, प्रमाण पत्र प्रदान गरी पद तथा गोपनियताको सपथ गराउनु साथै बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो।
केप कड नेपाली समाज, नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न २०११ मा केप कड, मासाच्युसेट्स, अमेरिकामा स्थापना गरिएको नेपालीहरुको साझा सामाजिक संस्था हो । यो संस्थाले नेपाली समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।
न्युयोर्कमा सामाजिक सेवाको एक प्रेरणादायी उदाहरण प्रस्तुत गर्दै २०२५ अप्रिल १ तारिखका दिन गिरिजा प्रसाद कोईराला फाउन्डेसन र बाग्लुङ्ग सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको संयुक्त आयोजनामा निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।
यस कार्यक्रमले बहु-सांस्कृतिक समुदायलाई एकै ठाउँमा जोड्दै मानव सेवाको सशक्त सन्देश दिएको देखिन्छ। नेपाली, तिब्बती, बंगाली, स्पानिस तथा भारतीय मूलका करिब २५० देखि ३०० जनासम्मले प्रत्यक्ष रूपमा खाद्य सहायता प्राप्त गरेका थिए। आर्थिक रूपमा चुनौतीपूर्ण अवस्थामा रहेका परिवारहरूका लागि यो कार्यक्रम अत्यन्त राहतदायी बनेको सहभागीहरूले बताएका छन्।
कार्यक्रम सफल बनाउन दुवै संस्थाका गरि करिब ३० जना स्वयंसेवकहरू सक्रिय रूपमा खटिएका थिए। उनीहरूले व्यवस्थापनदेखि वितरणसम्मको सम्पूर्ण प्रक्रिया संयोजन गर्दै अनुशासित र व्यवस्थित ढंगले सेवा प्रदान गरेका थिए। स्वयंसेवकहरूको सक्रियता र समर्पणले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको देखिन्छ।
यस सामाजिक पहलको नेतृत्व श्री सोमनाथ घिमिरे ले गर्नुभएको थियो, जो गिरिजा प्रसाद कोईराला फाउन्डेसन का निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ। उहाँको पहल र सक्रियताले समुदायमा सकारात्मक ऊर्जा थप्दै सहयोग र सहकार्यको भावना बलियो बनाएको छ। साथै, उहाँ न्युयोर्क असेम्ब्ली डिस्ट्रिक्ट ३० का उम्मेदवारका रूपमा समेत सामाजिक सेवामा निरन्तर अग्रसर देखिनु उल्लेखनीय छ।यो अभियानमा बाग्लुंग समाज नियुयोर्कका अध्यक्ष जीवनाथ कंडेल, वरिष्ठ ऊपाध्यक्ष विमल हमाल, माया मगर, महासचिब जीबनदास सुनार, संस्थाका शक्रिय युवा युवा अभियन्ता अनिल रोका, बिश्वास बोहोरा, नवराज सापकोटा, प्रभा रिजाल, बिना छन्त्याल, ख्याम पुन, ईश्वर बाबु,तुलासिदेबी कडेल लगाएतका साथीहरुको सक्रिय भुमिका र सहयोग रहेको थियो
कार्यक्रमले आपसी सद्भाव, सहअस्तित्व र मानवताको भावना प्रवर्द्धन गर्नुका साथै आपतकालीन अवस्थामा समुदायले एकअर्कालाई कसरी साथ दिन सक्छ भन्ने सन्देश दिएको छ। आयोजकहरूले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो कार्यक्रम केवल खाद्य वितरणमा सीमित नरही, विविध समुदायबीचको सम्बन्ध सुदृढ गर्ने र मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो भन्ने सन्देश फैलाउने महत्वपूर्ण पहलका रूपमा स्थापित भएको छ।
नेपालमा चुनाव सकिएलगत्तै संसदको पहिलो बैठक बस्यो। नयाँ जोस, जाँगर र ऊर्जा बोकेका धेरै सांसदहरू साइकलमै संसद भवन पुगे। पुराना पार्टीका केही वृद्ध नेताहरू (समानुपातिकमा कोटा सुरक्षित गरेका) पनि गाडीमा सरर आए र लौरो टेक्दै संसद भवनमा छिरे। पत्रकार मित्रहरूले नेपालीमा प्रश्न सोधे पनि अंग्रेजीमा उत्तर दिने सांसदहरू थुप्रै रहेछन्।
संसदको पहिलो बैठक हेर्नलायक थियो। मैले उठाउन खोजेको आजको प्रसंग चाहिँ त्यहाँ नेताहरूले के–के बोले भन्नेमा केन्द्रित छ। स्वतन्त्र पार्टीका रइ दाइले नरम शैलीमा गरम कुरा गरे। कांग्रेसले पनि राम्रै सन्देश दियो। ज्ञानकुमारले “राजा चाहियो” भनेर कुर्लिए। थर्कले घुमाउरो पारामा थर्काए। वर्षमानले उपसभामुखको कोटा हात पार्न चिल्लो दले।
नेपका हेमालेका वरिष्ठ कार्यवाहक उपाध्यक्ष हरामबहादुर झरीले भने संसद भवनलाई नयाँ रौनक दिए। उनी बुरुक्क उफ्रिए, थचक्क बसे, टाउको समाते, निधार खुम्च्याए, इजार कसे र अर्कैले लेखिदिएको वक्तव्य पढ्न थाले। वक्तव्यभन्दा पनि नयाँ सरकार र त्यो सरकार बन्नका आधारबारे कान पाक्ने कथा सुनाए।
रास्वपा विजयी हुनुमा सुशीला सरकारले खाजा बाँडेको थियो भने, अमेरिकाले पानी बाँड्यो भने, तिब्बतले तरकारी बाँड्यो भने। ‘एल्गोरिदम’ भन्ने देशबाट लाखौं मानिसहरूले अनधिकृत प्रवेश गरी भोट हालेको तथ्यसमेत खुलाए। सेनाले कठालो समातेर रास्वपालाई भोट हाल्न लगाएको प्रमाण पनि पेस गरे। रोस्ट्रममा उभिएर हरामबहादुरले बोलेको सुनेर उता चित्त दुखेर पित्तको ढुंगा निकाल्न अस्पताल भर्ना भएका ‘बा’ को बादल फाट्यो।
जे होस्, चुनाव सकियो। परिणाम आयो। नयाँ सरकार बन्यो। कसैको आशा पलाएको छ भने कसैको दशा चम्किएको छ। एक पटक जनताले फरक स्वादको म:म: खान रहर गरेका छन्। तात्तातो म:म: खाने रहरमा जिब्रो नपिल्सियोस्।
नयाँ सरकारलाई मयालु शुभकामना।
(व्यङ्ग्य लेखक दाहाल ‘नुन–चिनी–पानी’ का परिकल्पनाकार हुन्।)
संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडमा रहेको नेपालीहरूको साझा संस्था “केप कड नेपाली समाज” ले सधैंझै विभिन्न नेपाली मौलिक चाडपर्वहरू मनाउने क्रममा यस वर्षको ल्होसार पर्व ( ल्होसार, नयांबर्ष-२१५३) समाजका अध्यक्ष केबी राईको अध्यक्षतामा यही मार्च महिनाको २८ तारीख, शनिवारको दिन सेन्टरभिलस्थित Fraternal Lodge को सभाकक्षमा भब्यताका साथ सम्पन्न गरिएको थियो।
समाजका महासचिव, इच्छा खड्का र सचिव सरस्वती खनालद्वारा संयुक्त रूपमा संचालित उक्त कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष बिष्णुमान प्रधानले कार्यक्रममा उपस्थिति सबैलाई स्वागत गर्नुको साथै ल्होसारको हार्दिक मंगलमय शुभकामना पनि ब्यक्त गर्नुभएको थियो।
त्यसैगरि “लोसार साँझ”कार्यक्रमका संयोजक छेजी शेर्पाले लोसार पर्वको बारेमा प्रकास पार्दै यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने समाजका सबै पदाधिकारीहरू लगायत सम्पूर्ण अतिथिहरू साथै समुदायका सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरूलाई धन्यवाद दिदै सबैमा ल्होसार वर्ष २१५३ को शुभकामना पनि ब्यक्त गर्नुभएको थियो।
नेपाली संस्कृति झल्किने विभिन्न मौलिक भेषभुषामा सजिएका केप कडका स्थानीय कलाकारहरू साथै समाजका पदाधिकारीहरूले शेर्पा भाषाको स्वागत गान प्रस्तुत गरि “ल्होसार विशेष सांस्कृतिक कार्यक्रम” को शुरुआत गरिएको थियो।
कार्यक्रममा स्थानीय कलाकारहरूको विभिन्न समुहले सामूहिक रूपमा प्रस्तुत गरिएका नेपाली समुदायको विभिन्न मौलिक भेषभुषा, परम्परा र सांस्कृतिलाइ प्रतिबिम्बित गर्ने शेर्पा, गुरूंग, तामागं साथै नेपाली भाषाका नाच गानहरूको प्रस्तुतिले ल्होसार सांझको विशेष रौनकता बढाएको थियो। ल्होसार विशेष सांस्कृतिक कार्यक्रमलाई सफल पार्न विशेष भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण स्थानीय कलाकारहरू, के. ओंगछु शेर्पा, आश्ना शेर्पा, सुस्मा क्षेत्री-शेर्पा, छेजी शेर्पा-एन्ड्रू, झरना अन्डरउड, ओंग्जु शेर्पा, मिंग्मा लामु शेर्पा, निमा शेर्पा लाई समाजका अध्यक्ष केबी राईले खादा लगाएर सम्मान गर्नुभएको थियो।
स्थानीय दिदीबहिनी तथा दाजुभाईहरूले ल्होसार विशेष पुजा तथा अन्य सजावट सामाग्रीहरू ल्याई कार्यक्रम गर्ने सभाकक्षलाई सजाएर आकर्षक बनाएका थिय। त्यसैगरि पर्व विशेष परिकारहरूः खाप्से, ढेसे, नुन घ्यु हालेको चिया (Suchiya) र फलफुलहरूको पनि ब्यवस्था गरेका थिए।जस्ले कार्यक्रम स्थल लोसारमय बनेको थियो। समाजका उपाध्यक्ष कुवेर विन्दुकारको संयोजकत्वमा कार्यक्रमको लागि आवश्यक खानपिनको तयारी र ब्यवस्थापन कार्यक्रम स्थलमै गरिएको थियो।
त्यसैगरि कार्यक्रममा बोष्टन तथा न्यू हाम्पसाएर बाट पनि अतिथिहरूको उपस्थिती रहेको थियो। अतिथि दोर्जे शेर्पाले पनि नेपाली मौलिक गीतहरू गाएर कार्यक्रमलाई थप मनोरंजन प्रदान गर्नुभयो।
कार्यक्रमको समापन सत्रमा “ल्होसार साँझ” लाई सफल बनाउन नगद तथा जिन्सी सामाग्री उपलब्ध गराई सहयोग पुर्याउनुहुने सम्पूर्ण प्रायोजकहरूको नाम पढेर सुनाउनुको साथै सबैलाई धन्यवाद ज्ञापन गरिएको थियो। यस कार्यक्रमका प्रायोजन समितिका संयोजक संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहाकार हरी राई हुनु हुन्थ्यो ।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष साथै यस कार्यक्रमको सभापति, केबी राईले उपस्थित सबैलाई ल्होसार नंयावर्ष २१५३ शुभकामना ब्यक्त गर्नुको साथै कार्यक्रमलाई सफल बनाउनको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो अमुल्य समय, श्रोत, श्रम साथै बिचारहरू प्रदान गर्नुहुने समाजका सम्पूर्ण पदाधिकारीहरू, स्थानीय कलाकारहरू, प्रायोजकहरू, खाना आपूर्ति तथा ब्यवस्थापन गर्ने तथा ल्होसार विशेष परिकारहरू बनाएर ल्याउने स्थानीय समुदायका दाजुभाई – दिदीबहिनीहरू, कार्यक्रमको लागि हल उपलब्ध गराउने टिम, म्यूजिक ब्यवस्थापनमा सहयोग गर्ने DJ टिम साथै केप कड भन्दा बाहिरबाट यस कार्यक्रममा आउनुभएका सम्पूर्ण अतिथिहरूलाई समाजको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।
नेपालको विभिन्नस्थानमा सामाजिक योगदानको लागि ज्ञान प्रवचन र धार्मिक कथावाचन गर्दै आउनुभएकी देवी प्रतिभाजीले क्रियापुत्री भवन गुम्बा निर्माणको हेतु न्युयोर्कको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा ३ दिने श्रीमद्भभागवत कथावाचन गर्ने भएको छ । आगमी मे महिनाको १५ तारिखदेखि १७ तारिखसम्म गरिने वैदिक कथावाचन रेभेल इभेन्ट्सको सहकार्यमा हामी नेपाली इन्टरनेशनलले आयोजना गर्न लागेको रेभेल इभेन्ट्सको प्रवन्धक राजेश हमालले बताएको छ। कथावाचन यात्रा अमेरिकाको दौरान रहनु भएकी २३ वर्षीया देवी प्रतिभाजीले भारत तथा नेपालको विभिन्न स्थानमा वैदिक सनातन कथावाचन गर्दै आउनुभएकी छिन् । नेपालको काभ्रेमा जन्मनुभएकी देवीजीले नेपालको वाल्मिक विद्यापिठ हुँदै वृन्दावनसम्मको वैदिक ज्ञान हाँसिल गरेकी छिन् ।
न्युयोर्कमा आयोजना हुने यस भागवत कथा अन्तर्गत कलश यात्रा, महाकलश यात्रा र रजतकलश यात्रा समेत हुने भएकोले सोको लागि स्थानसमेत बुक गर्न अनरोध गरिएको छ । कलश यात्रामा लाग्ने कलश इत्यादीवापत ३०१ देखि १००१ डलर सम्मको भेटी निर्धारण गरिएको छ ।
म किन नहाँसु मेरो हृदय किन नहाँसोस् मेरो फुलबारीमा आएको ‘बसन्त’ राजा ऋतुहरूको बगैंचामा फूलेका, फक्रेका, झुलेका, लत्रेका फूलहरु… बाटो छेउ किनारमा फुलेका र झरिएका शिरिषका बैजनी रंगहरु…
———————————————
म किन नहाँसु मेरो हृदय किन नहाँसोस् आकाशमा भर्खर उदाएको सुर्यको कालिलो तापहरु… पूर्णिमामा उजेलिएकी पुर्णिमाको चहकिलो किरणहरु… गाह्रा गाह्रामा वर्षासंगै रमाएका बाउसे र रोपाहारहरु… त्यो काँचो प्राकृतिक माटोको सुवासहरु… आकाश बादल र बर्षात सँगै रमाएर दौडिएका बाल सखासंगीहरु…
———————————————
म किन नहाँसु मेरो हृदय किन नहाँसोस् जंगल र ढोर पाटनमा फेरी पलाएका पल्लवी र पालुवाहरू… फेरी उर्लेर घन्घनाएर बगेका नदी र भेलहरु… झनै अग्लिएर, चम्किएर पाहुना बोलाउने हिमालका सौन्दर्यहरु… बटुवा र भरियाहरुले थकान मेट्ने देउरालीका छहारी, कुवा र शितल पवनहरु…
———————————————
म किन नहाँसु मेरो हृदय किन नहाँसोस् मन्दिर, मठ र मण्डलाहरुमा बजेका सुरम्य भक्ति भजनहरु… बौद्ध स्तुपा र गुम्बाहरुमा गुन्जेका ‘ओम मान्हे पेह्मे’ शान्ति र ध्यानका मन्त्रहरु… हर शुक्रबार मस्जिदमा गरिने सामुहिक सुजूद र रूकुहरु… शनिबार चर्चमा सामुहिक गरिने प्रार्थनाहरु…
———————————————
म किन नहाँसु मेरो हृदय किन नहाँसोस् अम्बर गुरुङ, बच्चु कैलाश, नारायण गोपाल र गोपाल योञ्जनका कालजयी अजम्बरी गीत र सुमधुर संगीतहरु… प्रेमिल जोडीहरुले लुकिछली बिना हिसाब किताब साटेका माया र मुस्कानहरु…
———————————————
म किन नहाँसु मेरो हृदय किन नहाँसोस् बिषेशत: बसन्तको ‘हरेक’ झरीसंगै आउने ब्यग्रताले पर्खाइएका तिम्रा प्रत्येक मायालु इ- पत्रहरु… हावामा उडिआएका चुम्बनहरु… प्रेमरसका इमोजीहरु… म किन नहाँसु मेरो हृदय किन नहाँसोस् । ⁃ सावर बस्नेत, हाल अमेरिका
न्युयोर्क । क्विन्स बुद्ध लायन्स क्लब, न्यूयोर्कको आर्थिक सहयोगमा मोरङको विराटनगर–१२ दरैयास्थित जनता आधारभूत विद्यालयमा रु. ५ लाख ८५ हजारको लागतमा शौचालय निर्माण गर्नुका साथै शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
आयोजित कार्यक्रममा प्रमुख अतिथि लायन उदय नारायण बराल (Chief District Advisor, District 325C Nepal) ले विद्यार्थीहरूको स्वस्थ वातावरण र गुणस्तरीय शिक्षाका लागि यस्ता सहयोग अत्यन्त महत्वपूर्ण हुने बताए। कार्यक्रममा विराटनगर–१२ का वडा अध्यक्ष हिरालाल कामत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेन्द्र कुमार राजबंशी, विद्यालयका प्रधानाध्यापक ओ. एम. ढकाल, सिटी कलेजका क्याम्पस प्रमुख तीर्थराज घिमिरे, लायन नवराज दाहाल तथा महिला युवा नेत्री निशा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
क्विन्स बुद्ध लायन्स क्लबकी अध्यक्ष सोनु मल्लको बिशेष पहल र नेतृत्वमा मोरंग स्थित उक्त सरकारी बिधालयमा सार्बजनिक शौचालय निर्माणको निमित्त सहयोग पुर्याउन सफल भएको हो ।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयको भौतिक संरचना सुधार तथा विद्यार्थीहरूको अध्ययनमा सहयोग पुग्ने यस्ता सामाजिक कार्यको प्रशंसा गरेका थिए।
प्रत्येक वर्ष मार्च ८ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय नारी दिवस’ (महिला श्रमिक दिवस) मनाइन्छ। मार्च महिना Women’s History Month को रूपमा मनाइने भएकाले यस महिनाभर महिलाको इतिहास, संघर्ष र उपलब्धिलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ। यस वर्ष २०२६ मा “Give to Gain” मूल नाराका साथ विश्वभर नारी दिवस मनाइँदैछ। विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले यस दिवसलाई अर्थपूर्ण र प्रभावकारी रूपमा मनाउन व्यापक तयारी गरिरहेका छन्।
इतिहासको ऐना र वर्तमानको पदचाप: हामीले कुनै पनि अभियानको उत्सव मनाउँदा त्यसको जग र इतिहासलाई बिर्सनु हुँदैन। मानव सभ्यताको प्रात:कालदेखि नै महिलाहरूले पुरुषसरह श्रम गर्दै आएता पनि श्रमको उचित मूल्य नपाउनु, पुरुषको तुलनामा न्यून ज्याला र अत्यधिक कार्यघण्टाको मारमा पर्नुले महिलाहरूमा विद्रोहको चेतना जागृत गरायो। यही अन्याय र असमानताविरुद्ध आवाज उठाउँदै महिलाहरूले सन् १९०० को आसपासबाट आफ्ना अधिकारका लागि संगठित आन्दोलन प्रारम्भ गरेका थिए। जर्मन समाजवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपनहेगनमा भएको समाजवादी महिला सम्मेलनमा “अन्तर्राष्ट्रिय महिला दिवस” मनाउने प्रस्ताव राखेपछि सन् १९११ देखि विभिन्न देशहरूमा यसको औपचारिक शुरुवात भएको थियो।
नेपाली सन्दर्भ: उपलब्धि र चुनौतीको दोभान नारी सशक्तीकरणको यो यात्रामा विश्वका महिलाहरू धेरै अगाडि बढिसकेका छन्। तर नेपाली समाजको दर्पण हेर्ने हो भने यो चित्र अझै धुमिल छ। आज पनि हाम्रा दिदीबहिनीहरू घरेलु हिंसा, बलात्कार, हत्या र आत्महत्या जस्ता जघन्य अपराध र कुरीतिको चक्रव्यूहबाट मुक्त हुन सकेका छैनन्। देशमा मात्र नभएर परदेशमा रहेका नेपाली महिलाहरू समेत यस्ता पीडाबाट अछुतो नरहेको यथार्थ हाम्रा सामु छ। केही वर्षअघि सम्म नेपालमा दाइजो वा अन्य बहानामा चेलीबेटीलाई ‘जलाइने’ वा ‘झुन्ड्याइने’ गरिन्थ्यो । आज पनि केही दिदीबहिनीहरूलाई विभिन्न निहुँमा स्वयं जल्न वा झुन्डिन बाध्य बनाइएका दुःखद घटनाहरू प्रायः दिनहुँजसो सार्वजनिक भइरहेका छन्। दुःखको कुरा, यस्ता घटना घट्दा हामी सामाजिक सञ्जालमा ‘हार्दिक श्रद्धाञ्जली’ लेखेरै आफ्नो कर्तव्य पूरा भएको ठान्छौँ। त्यसै गरि हाम्रो समाजको संकुचित सोचले आजको २१औं शताब्दीमा पनि हिंसा सहेर बाँच्नुभन्दा मर्नुलाई नै ‘निकास’ देख्ने प्रवृत्तिलाई मलजल गरिरहेको छ।
सोच बदल्ने बेला: हिंसाको चपेटामा परेका चेलीहरूको आत्मबल टुट्नु र उनीहरूले मृत्यु रोज्नुमा हामी सबै कुनै न कुनै रूपमा जिम्मेवार छौँ। पीडितलाई सहानुभूति र मनोपरामर्श दिएर समाजमा पुनस्र्थापित गर्नुको सट्टा, हामी उनीहरूमै दोष खोज्न थाल्छौँ, जसले उनीहरूको मनोबल झन् गिराउँछ। सोचौँ, आज अरू कसैको घरमा घटेको घटना भोलि हाम्रो आफ्नै घरमा पनि दोहोरिन सक्छ, किनकि हरेक घरमा कुनै न कुनै रूपमा नारीको उपस्थिति हुन्छ। त्यसैले नारीप्रतिको सोच र व्यवहार परिवर्तन गर्नु आजको आवश्यकता हो।
तथ्याङ्कले भन्छ, यस्ता हिंस्रक घटनामा अक्सर नजिकका साथी, पार्टनर वा आफन्तहरूकै संलग्नता बढी हुन्छ। यो हाम्रो समाजका लागि निकै लज्जास्पद कुरा हो।
नेतृत्वमा महिला: अझै कति टाढा? ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा पनि महिलालाई नेतृत्वदायी र निर्णायक भूमिकामा सहर्ष स्वीकार गर्न सक्ने उदारता समाजमा अझै विकास भइसकेको छैन। नेतृत्वमा पुगेका केही महिलाहरू पनि राजनीतिक आस्था, जातीयता र अन्य साँगुरो घेरामा विभाजित हुनु दुःखद छ।
एक सर्वेक्षण अनुसार लैङ्गिक समानता पूर्ण रूपमा हासिल गर्न अझै पाँच पुस्ता निरन्तर सङ्घर्ष गर्नुपर्ने देखिन्छ। यो अभियान केवल सभा-सम्मेलनमा मात्र सीमित नभई आफ्नै घरबाट सुरु हुनुपर्छ। पुरुषले महिलाको सम्मान गर्ने, उनीहरूको नेतृत्वलाई स्वीकार्ने र निर्णायक तहमा सहभागिता सुनिश्चित गर्न भेदभाव नगरी हातेमालो गर्नु नै वास्तविक परिवर्तन हो। महिलाहरूले पनि आफ्नो व्यक्तित्व विकासका लागि विभिन्न तालिम र अवसरमा सहभागी हुन र सशक्तीकरणको मार्गमा हिँड्न हिचकिचाउनु हुँदैन।
निष्कर्ष: जुन घर, समाज र राष्ट्रमा नारीको सम्मान हुँदैन, त्यहाँ कहिल्यै शान्ति र समृद्धि छाउँदैन। महिला आर्थिक, शैक्षिक, सामाजिक र राजनीतिक रूपमा सक्षम हुनु नै राष्ट्र विकासको मेरुदण्ड हो। भर्खरै नेपालको अन्तरिम सरकारको नेतृत्व गर्नुभएकी सम्माननीय प्रधानमन्त्री सुशीला कार्की ज्यूले छोटो समयमा र शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गराएर “महिलाले अवसर पाए पुरुषभन्दा उत्कृष्ट कार्य गर्न सक्छन्” भन्ने ज्वलन्त उदाहरण पेस गरिसक्नुभएको छ।
यस वर्ष गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् अमेरिका ले ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस २०२६ को अवसरमा “GIVE TO GAIN” भन्ने मूल नाराका साथ घरेलु हिंसा, मानसिक स्वास्थ्य, आप्रवास र सांस्कृतिक जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू आयोजना गर्दैछ।
यस कार्यक्रममा यहाँहरू सम्पूर्णलाई महिला सशक्तिकरणको अभियानलाई अझ सशक्त बनाउन साथ र समर्थनका साथ सहभागी हुन म हार्दिक अनुरोध गर्दछु।
Date: Saturday, March 7th, 2026 Time: 1:00pm- 5:00pm Venue: 75-15 Woodside Ave, Elmhurst, NY 11373
लक्ष्मी थापा सचिव गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् संयुक्त राज्य अमेरिका ।
११६ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सबैलाई हार्दिक शुभकामना ।
आर्जन डायनामिक्सले यस पटक श्रृङ्गारिक रसमा लयबद्द गरिएको “मिर्मिरेमा देखें एउटा रुप” बोलको गीत तथा भिडियो युट्युब मार्फत सार्वजनिक गरेको छ । प्रस्तुत गीत साहित्यकार तथा गीतकार अर्चना धाख्वाले लेखेकी हुन् । गीतकार धाख्वाले यसअघि पनि थुप्रै बालगीत तथा अन्य रसका गीतहरु दर्शक श्रोतामाझ ल्याइसकेकी छिन् ।
संगीतकर्मी ओम कर्माचार्यको स्वर र संगीतमा तयार पारिएको गीतको रेकर्डिङ तथा छायाँङ्कन अमेरिकाको न्युयोर्कमा गरिएको हो । ॐ मेगा अडियो एण्ड भिडियो प्रडक्शनद्वारा तयार पारेको म्युजिक भिडियोमा योगेश आदी र लक्ष्मी भट्टलाई गीतको भावअनुरुप प्रस्तुत गरिएको छ ।
गीतकार अर्चना धाख्वाको प्रस्तुत गीतलाई निकट भविष्यमा नै हिन्दी भाषामा पनि स्वराङ्कन र छायांकन गरिने निर्माण पक्षले जनाएको छ । आर्जन डायनामिक्सले यसअघि पनि धेरै गीत तथा कितावहरु समेत सार्वजनिक गराइसकेको छ ।