न्यूयोर्क ।
जमैका नेपाली समाजद्वारा आयोजित समर बनभोज कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। न्यूयोर्कको जमैका क्षेत्रमा बसोबास गर्दै आएका नेपाली समुदायको उल्लेखनीय सहभागितामा बनभोज गरिएको थियो । आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई सुदृढ बनाउने उद्देश्यले विविध, मनोरञ्जनात्मक, खेलकुद तथा शैक्षिक कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका वाणिज्यदूत दधिराम भण्डारीले बिभिन्न कक्षाबाट ग्य्राजुएट गरेका बिद्दार्थीलाई सम्मान गरेका थिए ।
वाणिज्यदूत भण्डारीको उपस्थितिले यस्ता किसिमका कार्यक्रमहरु गर्न थप हौसला मिलेको आयोजकले जनाएको छ


कार्यक्रममा भर्खरै मात्र पीएचडी उपाधि प्राप्त गर्न सफल जमैका निवासी डा. सूर्य लम्साललाई विशेष सम्मान गरिएको थियो। उहाँको उच्च शैक्षिक उपलब्धिको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको हो । साथै विभिन्न विद्यालय, कलेज तथा विश्वविद्यालयबाट ग्र्याजुएसन सम्पन्न गरेका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो। विद्यार्थीहरूको मेहनत, लगन र सफलताको कदर गर्दै प्रदान गरिएको यस सम्मानले नयाँ पुस्तालाई शिक्षाको क्षेत्रमा अझ अगाडि बढ्न प्रेरणा गर्ने समाजका अध्यक्ष पुस्कर खनालले बताए ।

त्यसैगरी, कार्यक्रममा आयोजित हाजिरी जवाफ प्रतियोगिता (क्विज कन्टेस्ट )मा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । यसका साथै बालबालिका तथा युवाहरूका लागि विभिन्न खेलकुद, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिएका थिए।
कार्यक्रममा सहभागी अतिथिहरूले जमैका नेपाली समाजले नेपाली भाषा, संस्कृति, शिक्षा र सामुदायिक एकतालाई प्रवर्द्धन गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले नयाँ पुस्तालाई नेपाली समुदायसँग जोड्न महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गरे ।
समाजले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्रमुख अतिथि दधिराम भण्डारी लगायत सम्पूर्ण अतिथिहरू, स्वयंसेवक, प्रायोजक, कलाकार, सहभागीहरु तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहपने सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ।

साथै आगामी दिनमा पनि नेपाली समुदायबीच एकता, सद्भाव, शिक्षा र सामाजिक सहकार्यलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने समाजका सदस्य दिपकराज घिमिरेले जानकारी दिए ।
कार्यक्रममा जमैका नेपाली समाजका संस्थापक अध्यक्ष कृष्ण आचार्यलाई बिशेष सम्मान गरिएको थियो । स्थापनाकालदेखि नै संस्थालाई सुदृढ बनाउन उनले गरेको मेहनत र योगदानको उच्च मूल्याङ्कन गर्दै यो सम्मान गरिएको हो । बनभोज कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने विभिन्न स्पोन्सर दाताहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

समाजद्वारा आयोजना गरिएको चिठ्ठा (लट्री) कार्यक्रमका विजेतालाई पनि पुरस्कार वितरण गरिएको थियो। प्रथम पुरस्कार बुद्ध पौडेलले प्राप्त गरेका थिए भने द्वितीय, तृतीय र सान्त्वना पुरस्कार चिठ्ठा कार्यक्रममा सहभागीहरुले प्राप्त गरेका थिए । बनभोजको एक आकर्षणको रुपमा रहेको चिठ्ठा कार्यक्रम समाजका सल्लाहकार कृष्णप्रसाद लामिछानेले संचालन गरेका थिए ।
लट्री कार्यक्रमले सहभागीहरूमा थप उत्साह र मनोरञ्जन प्रदान गर्नुका साथै समाजका गतिविधिहरू संचालन गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।

जमैकामा लामो समयदेखि बसोबास गरिरहेका एक जेष्ठ नागरिक वृद्धा नमकला खनाललाई सम्मान गरिएको थियो । ८५ बर्षीया खनाल सन् २००६ देखि अमेरिकामा बस्दै आएकी थिइन् ।
उक्त सम्मान कार्यक्रममा विभिन्न संघ–संस्थाका विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो। सबैको उत्साहजनक सहभागीताले कार्यक्रम सब्य र भब्य भएको आयोजकले जनाएको छ ।