कल्पना घिमिरे, न्युयोर्क
कुनै बेला सायद बिमलाले कल्पनासम्म गरेकी थिइनन्, विश्व अर्थतन्त्र, व्यापार, सञ्चार र अवसरको केन्द्र अमेरिकाको न्युयोर्क सहरमा आफ्नै रेस्टुरेन्ट हुनेछ र त्यही रेस्टुरेन्टकै माध्यमबाट आफू चर्चा परिचर्चाको शिखरमा पुगिनेछ भन्ने।
अहिले उनी न्यूयोर्कमा एक उत्कृष्ट ब्यबसायीमा दर्ज भएकी छिन्। न्यूयोर्क सहर भित्रका २५ हजारभन्दा बढी रेस्टुरेन्टबीच बिमला हमाल श्रेष्ठको रेस्टुरेन्ट (नेपाली भान्छा घर ) १०० उत्कृष्ट रेस्टुरेन्टको सुचीमा परेको छ । जुन नेपालीको बाक्लो बस्ती रहेको ज्याक्सन हाइट्समा अवस्थित छ ।
सन् २०२६ को न्यूयोर्क टाईम्स म्यागेजिनले तयार गरेको सय वटा रेस्टुरेन्टको सुचीमा आफ्नो स्थान बनाउनु बिमलाका लागि सामान्य थिएन ।
निरन्तरको मेहनत र लामो समयको संघर्षले मात्रै यो सफलता हात पारेको उनी बताउँछिन्। उनले गरेको ब्यबसाय कर्मले अन्तराष्ट्रियस्तर सम्म नेपाली समुदायको नाम रोशन गरिरहेको भन्दै बिभिन्न नेपाली संघ संस्थाले उनलाई शुभकामना र हौसला दिइरहेका छन् । अहिले उनलाई भेट्न रेस्टुरेन्टमा थुप्रै खालका समुहहरु आइरहेका छन् ।

न्युयोर्क टाईम्समै काम गरिरहेका बिद्दार्थी भाइबहिनीहरु आएर रेस्टुरेन्टको सबै खानाको स्वाद लिने र कुराकानी गर्ने गरिरहेका छन् । ‘हिजो मात्रै गोरेहरुको एक ग्रुप आएर अन्तरबार्ता लिए, आधा घण्टा अन्तरबार्ता लिएको मलाई ५ सय डलर दिएर गए’ खुसीले गदगद हुँदै उनले सुनाइन् ‘मेरो रेस्टुरेन्टबारे पत्रपत्रिकामा आउन थालेपछि, बर्षौबर्षदेखि ज्याक्सन हाईस्ट्स आसपासमा बसोबास गरिरहेका र पहिले कहिल्यै नभेटेका नेपालीहरु भेट्न आइरहनु भएको छ ।’ केही राणा परिवारका सदस्यसमेत रेस्टुरेन्टमा आएर आफुलाई भेटेको उनी बताउँछिन् ।
नेपाली स्वाद, संस्कृति र पहिचानलाई विश्वमाझ स्थापित गरिरहेको नेपाली भान्छा घरको यो सफलता सम्पूर्ण नेपाली समुदायका लागि गर्वको विषय बनेको छ ।
यस अघि पनि बिमलाको रेस्टुरेन्टले पाँच पटक सम्म ‘मम क्रल’ जित्दै आएको थियो । न्युयोर्क सिटीले हरेक बर्ष आयोजना गर्दै आएको मम क्रल (मम प्रतियोगिता) मा ३३ भन्दा बढी नेपाली रेस्टुरेन्टहरु भाग लिंदै आएका छन् । त्यसमा बिमलाको रेस्टुरेन्ट ५ पटक सम्म उत्कृष्ट मम जित्न सफल भएको थियो । के कसरी मापन गर्ने भन्ने बारेमा आफुहरुलाई जानकारी नै नहुने पनि उनले बताईन् ।
‘मेरो रेस्टुरेन्टमा नेपाली मात्र होइन अन्य बिभिन्न मुलुकका थुप्रै ग्राहकहरु आउँछन् । रेस्टुरेन्टमा आउने सबै ग्राहक हाम्रा लागि समान हुन् । उनीहरुकै सेवामा हामी संधै ब्यस्त हुन्छौं । कतिबेला को आएर के/के छानबीन गरेर गए थाहै भएन ।’
उनी आफ्नो अनुभब सुनाउँदै थिइन्, ‘न्युयोर्क टाइम्समा १०० को सूचीमा मेरो रेस्टुरेन्ट परेको छ भन्ने मलाई थाहै थिएन । न्युयोर्क नेपाली काम पोस्टको भाइ लेलिन कँडेलले ‘नेपाली भान्छाघरलाई धेरै बधाई न्युयोर्क टाइम्सको १०० रेस्टुरेन्टहरुको सुचीमा पर्न सफल भएकोमा‘ भनेर फेसबुकमा पोस्ट गर्नु भएछ । त्यो स्टाटस मेरो साथीले देखेर मलाई स्क्रिनसट पठाउँदा म झसङ्ग भएँ। पहिले त के हो भन्ने पनि थाहा भएन।’
स्याङ्जाको वालिङमा जन्मिएकी बिमला सन् २००८ मा अमेरिका आएकी थिइन् । बिमलाका सुरुवाती दिनहरु पटक्कै सहज थिएनन् । काम पाउन गाह्रो थियो । एउटा इन्डियनको घरमा घरेलु कामदारको रुपमा काम गरेर अमेरिकामा संघर्ष सुरु गरेकी थिइन् । आफुले केही ब्यबसाय गर्न पाए हुन्थ्यो भन्ने हुटहुटीले ४ जना साथीहरुसंग मिलेर सन् २०१५ मा नेपाली भान्छाघर स्थापना गरेकी हुन्। एक्लो जीबनमा धेरै दुख र संघर्ष पछि मात्रै यो अवस्थामा आइपुगेको उनी सम्झिन्छिन्, ‘पार्टनरहरुको बिश्वासमा सबै छोडी दिँदा उनीहरूले नै फसाएर रेस्टुरेन्ट बन्द गर्नुपर्ने सम्मको अवस्था आएको थियो । उनले लङआइल्याण्डमा काम गर्दा गर्दै रेस्टुरेन्ट संचालनमा ल्याएकी थिइन् । साथीहरुको समेत पैसा आंफैले हालिदिएर रेस्टुरेन्टमा लगानी गरेकी उनी हप्तामा एकदुई दिन आएर रेस्टुरेन्ट हर्ने गर्थिन् । त्यसैबिच पार्टनरहरूले भाडा नतिरेर घरबेटीले रेस्टुरेन्ट नै बन्द गरिदिएको थियो । त्यसपछि उनले एक्लै पुन संचालन गरेकी हुन् ।
उनका अनुसार, आफुले पुरै विश्वास गरेर रेस्टुरेन्ट जिम्मा लगाएका पार्टनरबाटै ठुलो धोका पाएकी थिइन् । उनी आफैले साथीहरु सबैको पैसा हालिदिएर रेस्टुरेन्टको पार्टनर बनाएकी थिइन् । तर ती साथीहरु मिलेर रेस्टुरेन्टमा बिमलाको कुनै स्वामित्व नरहने र रेस्टुरेन्टमा हकदाबी गर्न नपाउने गरी झुक्याएर कानुनी कागजात तयार पारेछन् ।
‘बैकबाट पैसा झिक्नको लागि कागजात मिलेन साइन गर्दिनु भन्दै भुर्तेल ल फर्ममा पठाए । त्यहांपुग्दा वकिलले सबै बताएपछि म त छांगाबाटै खसें’ उनी आफ्नो जीबन भोगाइ सुनाउंदै थिइन् । केही गर्न थोज्दा खाली दु:ख र अफ्ठेरो मात्रै आउंथ्यो । भगवान पनि मेरो पक्षमा छैनन भन्ने लाग्थ्यो ।’
उनले एक्लै चलाएको रेस्टुरेन्टको ब्यापार राम्रै चलेको थियो । सन् २०२० मा कोभिड आएर २ महिना रेस्टुरेन्ट बन्द गर्नु पर्यो । पछि रेस्टुरेन्ट खोलेपनि ग्राहक कोही आउदैनथिए । अनलाईबाट अडर लिएर सामान पुर्याउन घर घर जान्थिन्। उनले कोरोनाको समयमा धेरै नेपालीलाई खाना दिएर सहयोग गरेकी थिइन् । त्यति मात्र होइन ज्याक्सन हाईट्स नजिकै रहेको एल्मर्ष्ट हस्पिटलमा कार्यरत डाक्टरहरुलाई समेत निशुल्क खाना खुवाएर सहयोग गरेकी थिइन् ।
उनी बिहान सबेरैदेखि रातको १२/१ बजेसम्म काम गरिरहेकी भेटिन्छिन्। ग्राहकको मेनु अनुसारको खाना पकाउने, रेस्टरेन्टमा आवश्यक पर्ने सामान किनमेल गर्ने र ग्राहकको सेवामा खटिने सबै आंफै गर्छिन् ।
एकातिर कडा मेहनत र लगनशीलताले उनलाई सफलता, चर्चा र सम्मानको उचाइमा पुर्याइरहेको छ भने अर्कोतिर उनको जीवनको अर्को पाटो उत्तिकै पीडादायी छ। अमेरिका आएदेखि आजसम्म उनले नेपाल फर्कने अवसर पाएकी छैनन्।
३ बर्षकी छोरी , ६ बर्षको छोरो र श्रीमान छोडेर परदेशिएकी बिमलाले न त आफ्ना सन्तान र परिवार नै भेट्न पाएकी छिन् । सफलताको शिखर चुमिरहेकी बिमलाको मनको एउटा कुनामा भने परिवारबाट टाढिनुपरेको पीडा आज पनि उत्तिकै गहिरो भएर बसेको छ । तर उनी निराश छैनन्, ‘एक दिन त भेट अवश्य होला नि,’ उनी मुस्कुराउँछिन्।
