Category: स्थानीय

  • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

    नारायणगढ (चितवन), २ कात्तिक : चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ । करिब दुई किलोमिटर दूरी रहेको उक्त स्थानमा आइएमई ग्रुपले केबलकार निर्माण गर्ने भएको हो । ग्रुपका अनुसार दुई वर्षभित्र केबलकार निर्माण गरिनेछ ।

    कम्पनील हाल गैँडाकोटको बटम स्टेसनबाट मौलाकालिका मन्दिर नजिकै रहेको इला होटलसम्म केबलकार सञ्चालन गरिरहेको छ । अब देवघाटबाट समेत मौलाकालिका पुग्न सकिने गरी नयाँ केबलकार परियोजना अघि बढाइएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देवघाट र मौलाकालिकालाई जोड्ने केबलकार परियोजनाको काम अगाडि बढेको बताउनुभयो ।

    उहाँका अनुसार परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया अघि बढिरहेको छ । अध्यक्ष ढकालले परियोजना सञ्चालनमा आएपछि देवघाट र मौलाकालिका क्षेत्रबीचको धार्मिक तथा पर्यटकीय आवागमन बढ्ने विश्वास गरिएको छ । देवघाट र मौलाकालिका दुवै धार्मिक आस्थाका महत्त्वपूर्ण केन्द्र हुन् ।

  • जुम्लामा मार्सीधान काट्ने चटारो

    जुम्लामा मार्सीधान काट्ने चटारो

    जुम्ला, १ कात्तिक : जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको छ । दशैँको रमाइलोसँगै किसानका लागि मार्सीधान काट्ने चटारो थपिएको तातोपानी गाउँपालिकाका स्थानीय सुनीता पाण्डेले बताउनुभयो । किसानहरुको दैनिकी अहिले बिहानैदेखि बेलुकी अबेरसम्म खेतमै धान काटेर बित्न थालेको छ ।

    पाण्डेका अनुसार किसानहरु दशैं मनाउनेभन्दा बढी धान स्याहार्न व्यस्त छन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मार्सीधान जुम्लाको पहिचानसँग पनि जोडिने बताउनुभयो ।

    उहाँका अनुसार मार्सीधानखेती गर्ने आफ्नै समय छ, सोही आधारमा जिल्लाका किसानहरू धान भित्र्याउन फाँटहरूमा व्यस्त हुने गरेको बताउनुभयो । जिल्लाभर दुई हजार ८५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेकामा पछिल्ला वर्षहरूमा क्रमशः मार्सीधान लगाउने क्षेत्रफल बढ्दै गएको कार्यालयले जनाएको छ । गत वर्ष एक हजार ५०० हेक्टरमा रोपिएको मार्सीधान यस वर्ष भने एक हजार २०० हेक्टरमा मात्र खेती भएको कृषि विकास कार्यालयले जनाएको छ । अहिले यहाँका किसानले मार्सीधानसँगै कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको धानको जातमध्ये चन्दननाथ–१ र चन्दननाथ–३ का साथै लेकाली–१ र लेकाली धान रोप्ने गरिन्छ ।

  • सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

    सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

    खोटाङ, १ कातिक : काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा खस्दा मृत्यु हुने तीन जना र बेपत्ताको पहिचान खुलेको छ । मृत्युु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित दुवेकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तीका विश्वकर्मा हुनुहुन्छ ।

    लफ्याङका स्थानीय जनक राईले दिनुभएको जानकारीअनुसार युपना र दिव्या काठमाडौँ बसेर अध्ययनसँगै सामान्य रोजगारीको काम गर्दै आउनुभएको थियो । स्वस्तीका काठमाडौँ बसेर माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारीमा हुनुहुन्थ्याे ।

    गएराति करिब २ः३० बजे नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल सुमो खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनाका परी तीन बेपत्ता हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार बेपत्ता हुनेमा लफ्याडका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई हुनुहुन्छ ।

    दुर्घटनाम परी घाइते हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उहाँकी १२ वर्षीया छोरी शिवानी राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका १३ वर्षीय अङ्कित विश्वकर्मा, चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा हुनुहुन्छ । प्रहरीले दिएको जानकारीअनुसार घाइतेहरूमध्ये चालक आशीष बेहोस छन् भने, सम्झनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    सिन्धुलीस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सम्झनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाएको प्रहरीले जनाएको छ । घाइते शिवानी र अङ्कितको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिनुभएको छ ।

    काठमाडौँबाट गएराति करिब ११ बजे हिँडेको सुमोमा चालकसहित १० जना यात्रु सवार रहेको प्रहरी जनाएको छ । सुमोका चालक निदाएर दुर्घटना भएको हुन सक्ने घटनास्थल पुगेका प्रहरीको अनुमान छ ।

  • राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

    राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

    काठमाडौँ, ३१ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

    बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले बहुजातीय, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक नेपालका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यसपर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुद बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । बडादसैँले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न मद्धत पु¥याएको उनको भनाइ छ । राष्ट्रपति पौडेलले विजया दशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको धार्मिक तथा ऐतिहासिक कथन स्मरण गराउँदै दसैँ अन्यायमाथि न्यायको एवम् असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा मनाइने उल्लेख गरेका छन् । दसैँमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुशीयाली र हार्दिकता साटासाट गरिने उल्लेख गर्दै राष्ट्रपतिले पारिवारिक, समाजिक, धार्मिक, साँस्कृतिक एवम् राष्ट्रियताका हिसाबले दसैँको अत्यन्तै महत्व रहेको बताएका छन् । साथै, देशका विभिन्न भागमा आएको विनासकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । राष्ट्रपतिले बाढी प्रभावित व्यक्तिको पुनःस्थापनाका लागि एकताबद्ध भई अघि बढ्न सबै पक्षलाई अपिल गरे ।

  • दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

    दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार


    बागलुङ, २९ असोजः दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ बजारमा घटस्थापनापछि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा भित्रिएका छन् । मूल्य आकासिए पनि बागलुङमा मुस्ताङी च्याङ्ग्राको माग बढ्दो छ ।

    कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने प्रचलनले मूल्य आकासिए पनि व्यापार भने राम्रो भइरहेको यहाँका व्यापारी बताउँछन् । अहिले बागलुङमा रोज्जा च्याङ्ग्राको भाउ रु ४५ देखि ५० हजार पर्ने डोल्पा-मुस्ताङ हुँदै २५ दिनको पैदलयात्रामार्फत बागलुङ च्याङ्ग्रा बिक्रीका लागि आउनुभएका तेन्जिङ तार्के तामाङले बताए ।

    “डोल्पा र मुस्ताङका २०० च्याङ्ग्रा ल्याएका थिएँ, जसमध्ये १०० बागलुङ र १०० च्याङ्ग्रा पोखरा पठाएको छु । बागलुङमा बिक्री नभए सबै पोखरा पुग्छ, हाम्रो मुख्य बजार भनेको पोखरा हो”, तामाङले भने, “तीन वर्षदेखि च्याङ्ग्राको कारोबार गर्दै आएको छु, दसैँको समयमा बागलुङ र पोखरालाई डोल्पा र मुस्ताङका च्याङ्ग्रा ल्याउँछु । अहिले पनि गोठमै रु ३७ हजारसम्म च्याङ्ग्राको मूल्य परेको छ, माग भने घटेको छैन । दसैँअघि बिक्री गरिसक्ने योजना छ ।” उनका अनुसार रु ३२ हजारदेखि रु ३७ हजारका दरले गोठबाटै च्याङ्ग्रा खरिद गरेर ल्याउने गरिएको छ ।

    हिमपातले यसपटक च्याङ्ग्रा ल्याउन समस्या भएको उनको  अनुभव रहेको छ । गत वर्षभन्दा यसपटक च्याङ्ग्राको आयात कम भएकाले व्यापार बढ्ने उनको आकलन रहेको छ ।

    बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसैँ लक्षित गरी प्रतिकिलो रु दुई हजार २०० मा मासु बिक्री गरिरहेको बताए । यसपटक मूल्य बढेकाले च्याङ्ग्रा थोरै लिएको उनको भनाइ छ । यस वर्ष मुस्ताङबाट बडादसैँलाई लक्षित गरी कम च्याङ्ग्रा भित्रिएका छन् । मूल्य वृद्धि र बाढीपहिरोका कारण मुस्ताङको सडक लामो समय अवरोध हुँदाहुँदा थोरै मात्रमा च्याङ्ग्रा भित्र्याएका व्यापारी बताउछन् ।

    हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने च्याङ्ग्रा खासगरी बडादसैँ र तिहारमा बढी खपत हुने गरेको यहाँका व्यापारी बताउँछन् । दसैँमा प्रायः उपभोक्ताले मासुका लागि भेडाच्याङ्ग्रा खोज्ने गरेकाले हिमालपारिबाट घटस्थापनाको भोलिपल्टदेखि च्याङ्ग्रा भित्रिन थालेको हो ।

    “स्थानीय खसीबोकाको मासु बढी खपत भइरहेको छ, दसैँमा च्याङ्ग्रा खाने परम्परा भए पनि मूल्य वृद्धिका कारण सबैले खान सक्ने अवस्था छैन”, अहिले रोज्जा च्याङ्ग्राकै मूल्य रु ५० हजारसम्म पर्न जान्छ”, व्यापारी थापाले भन्नुभयो, “मुस्ताङको छोसेर, कागबेनी, चमरलगायत ठाउँमा पुगेर व्यवसायीले च्याङ्ग्रा ल्याउने गरिएको छ ।”

    हिमाली भेगमा पालन गरिएका भेँडाच्याङ्ग्र्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको भनाइ छ । चाडपर्वका लागि हिमालपारिको जिल्ला मुस्ताङबाट च्याङ्ग्रा हिँडाएर बागलुङ हुँदै पोखरा लगिने गरेको छ । मुस्ताङबाट १३ हजार ८१७ भेडा च्याङ्ग्रा म्याग्दी, बागलुङ हुँदै पोखरा र काठमाडाैँ निकासी भएका छन् । अहिलेसम्म मुस्ताङबाट ११ हजार ७०० च्याङ्ग्रा र दुई हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी अन्य जिल्ला पठाइएको छ ।

  • बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्रः नेपाल रेडक्रस

    बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्रः नेपाल रेडक्रस

    काठमाडौँ, २६ असोजः नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको खोज तथा उद्धार, राहत वितरण सहित प्रतिकार्यलाई तीव्रता दिएको छ । आइतबार बिहान गोरखाको चुमनुव्री गाउँपालिका ६ स्थित लोक्पा र चुम्लिङको बीचमा गएको पहिरोका कारण बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी गएको थियो।

    बाढीका कारण तल्लो तटीय क्षेत्रमा ठूलो भौतिक क्षति भएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणको प्रारम्भिक विश्लेषणअनुसार बाढीबाट पाँच जना सम्पर्कविहीन भएका छन् भने दुई पक्की पुल, दुई झोलुङ्गे पुल, तीन जलविद्युत् आयोजना, चार हवन कुण्ड, ४५ घर पूर्ण क्षति २७ आंशिक क्षति, ३४ गोठ र तीन सवारीसाधनमा क्षति भएको छ ।

    नेपाली सेनाको चारवटा हेलिकप्टरमार्फत नौजना विदेशीसहित ८२ जनालाई तत्काल उद्धार पनि गरिएको छ । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषि खनालले बाढीको क्षतिको आकलनसहित तत्काल बाढी प्रतिकार्यमा नेपाल रेडक्रसका स्वयंसेवक परिचालन गरिएको र गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पु¥याउन काम भएको जानकारी दिए । उनले भने, “बाढी गएको सूचना प्राप्त गर्नासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपुर पूर्व र पश्चिमका स्वयंसेवकलाई परिचालन ग¥यौँ । उहाँहरुले पूर्वसूचना प्रवाहित गर्नुभयो । प्रतिकार्य जारी छ ।”

    बाढीको तत्काल प्रतिकार्यका लागि गैरखाद्य सामग्री सहित अन्य सामग्री प्रभावित क्षेत्रमा पठाउने काम भएको र यो कार्य जारी रहेको नेपाल रेडक्रसले जनाएको छ । महामन्त्री खनालका अनुसार हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकण र नेपाली सेनाको सहकार्य र समन्वयमा आइतबार नै गैरखाद्य सामग्री त्रिपाल (तारपोलियन)ं, म्याट्रेस, ब्ल्याङ्केट, डिग्निटी किटलगायत प्रभावित क्षेत्रमा पठाइएको छ । साथै अस्पताल सञ्चालन गर्न सकिने ठूला ÷ठूला दुईवटा टेन्ट पनि प्रभावित क्षेत्रमा पठाइएको उनले बताए ।


    महामन्त्री खनालले भने, “ क्षतिको अध्ययन गर्न विज्ञ जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिसकिएको र थप आवश्यक गैरखाद्य सामग्री आज सरकारको समन्वयमा पठाइँदै छ । प्रभावित क्षेत्रमा मानवीय सेवा पु¥याउन स्वयंसेवक तल्लीन छन् । बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण जारी छ । ”

  • आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

    आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

    दमौली (तनहुँ), २६ असोजः दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । फूलखेतीले स्थानीय ४५ महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोमा अघि बढाएको छ ।

    सामूहिक रूपमा फूलखेती गर्दै आएका महिला यतिबेला फूल टिप्न र बजारमा बिक्री गर्न व्यस्त छन् । पहिलो टिपाइमै ५० किलो फूलको माग आएपछि समूहमा उत्साह थपिएको छ । स्थानीयस्तरमै उत्पादन भएको फूल बिक्री गरेर आम्दानी गर्न पाउँदा महिलालाई आफ्नै श्रमबाट आर्थिक रूपमा सबल बन्ने अवसर मिलेको छ ।

    महिला समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार फूलखेतीलाई व्यावसायिक रूपमा अघि बढाउँदै आएका महिला शनिबारदेखि फूल टिप्ने र बिक्री गर्ने काममा जुटेका हुन् । पहिलो टिपाइमै माग आउनुले फूलखेतीको बजार सम्भावनालाई थप उत्साहजनक बनाएको उनले बताइन् । “दमौलीमा कोसेली घर सञ्चालन गर्दै आउनुभएकी उद्यमी कल्पना गौलीले ५० किलो फूलको माग गर्नुभएकाले फूल टिप्न सुरु गरेका छौँ”, गुरुङले भनिन् ।


    महिलालाई सामूहिक उद्यममा जोड्दै स्थानीयस्तरमा आयआर्जनको अवसर सृजना गर्ने उद्देश्यले सुरु गरिएको फूलखेतीले आर्थिक आत्मनिर्भरतामा सहयोग पुर्याएको उनको भनाइ छ । सामूहिक रूपमा खेती गर्दा श्रम र अनुभव साटासाट गर्न सहज हुनुका साथै स्थानीय स्रोतसाधनको उपयोगबाट आम्दानी गर्ने अवसर मिलेको उनले बताइन् ।


    गुरुङका अनुसार फूलखेतीलाई निरन्तरता दिँदै उत्पादन बढाउन र बजार विस्तार गर्नसके महिलाको आम्दानी विस्तार गर्न सकिन्छ । स्थानीयस्तरमै सयपत्री फूल उत्पादन हुन थालेपछि बाहिरबाट फूल ल्याउनुपर्ने बाध्यता हटेको उनले बताइन् । उनका अनुसार फूल प्रतिकिलो रु ४०० सम्म बिक्री हुने गरेको छ ।

    आँबुखैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार आँधीमूल यानचोकमा विगत तीन वर्षदेखि सयपत्री फूलखेती हुँदै आएको छ । महिलाको सहभागितामा विस्तार हुँदै गएको यस खेतीले उनीहरूलाई उत्पादनमूलक कामसँग जोड्नुका साथै आयआर्जनको अवसर सृजना गरेको उनले बताए ।


    केसीका अनुसार यहाँ उत्पादित फूलको बजारमा समस्या छैन “फूलखेतीले स्थानीय महिलालाई आत्मनिर्भर बन्न सहयोग पुर्याएको छ । यहाँ उत्पादित फूलको बजारमा समस्या छैन”, उनले भने । स्थानीयस्तरमा फूल उत्पादन र बिक्रीको सम्भावना देखिएसँगै खेतीलाई थप व्यवस्थित बनाउँदै लैजान सकिने उनले बताए । महिलाको सहभागिता बढ्दै जाँदा आफ्नै श्रम र उत्पादनबाट आम्दानी गर्ने अवसर विस्तार हुँदै गएको उनको भनाइ छ।

  • रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा

    रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा

    रामहरि न्यौपाने/रासस

    त्रिशूली (नुवाकोट), २५ असोजः भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा आएसगैँ यातायातमार्फत जिल्लासँग अन्य जिल्ला जोडिएको हो । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले बेत्रावतीस्थित विदुर नगरपालिका–१० र उत्तरगया गाउँपालिका–५ बेत्रावती जोड्ने दुई पक्की पुल बगाएसँगै रसुवा र नुवाकोटबीचको सम्पर्क टुटेको थियो ।

    पुल सञ्चालनमा आएसँगै नुवाकोट र रसुवा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न र बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहज हुने नेपाली सेनाको उपरथी अनुपजङ्ग थापाले बताए । उनका अनुसार बेत्रावतीस्थित फलाखु खोलाको पुल नेपाली सेनाले पाँच दिनमा तयार गरेको हो ।

    “बाढीले सडकको पहुँच मार्ग बगाएसँगै बेत्रावतीसम्म पुग्नका लागि पहुँच मार्गसमेत थिएन”, उपरथी थापाले भने, “सडक विभागसँगको समन्वयमा करिब ३०० मिटर दूरीको आगिङ्टार–बेत्रावतीको कठिन चट्टान हटाई पहुँच मार्ग विस्तार गरेर बेत्रावतीसम्मको सडक सञ्जाल र फलाखु खोलामा बेलिब्रिज जडान गरेर रसुवालाई बाहिर जिल्लासँग जोडिएको हो ।”

    पुल सञ्चालनमा आएसँगै उपरथी थापाले पुल निर्माणसम्बन्धी प्राविधिक जानकारीसहितको प्रतिवेदन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाको कार्यालयका प्रमुख कृष्णनाथ ओझालाई प्रदान गरे । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सञ्चालनमा आएको बेलिब्रिज ४० टन भार बहन क्षमताको रहेको छ ।

    ७३ दशमलव दुई मिटर लम्बाइ र ५ दशमलव ५ मिटर चौडाइको छ । नुवाकोटको विदुरबाट सिधैँ बेत्रावती पुग्न सकिने गरेर सडक सञ्जालको निर्माण र पुलबाट रसुवाको धुञ्चे पुग्न सहज भएको छ । बेत्रावतीको पुल तरेर पासाङल्हामु सडक मार्ग हुँदै रसुवाको धुञ्चे भएर स्याफ्रुबेँसीस्थित त्रिशूली वारीसम्म सवारीसाधनमा पुग्न सकिने भएसँगै रसुवाको बाढी प्रभावित क्षेत्रमा खाद्यसामाग्रीसहित अत्यावश्यक सामग्री लैजान सहज भएको छ ।

    गल्छी–रसुवागढी सडकअन्तर्गत स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको सडक सञ्चालनका लागि पनि बेत्रावतीमा निर्माण भएको बेलिब्रिजले सहज बनेको छ । बाढी प्रभावित क्षेत्रमा नेपाली सेनामार्फत खोज तथा उद्धारसहित राहत एवं अत्यावश्यक सामग्री उपलब्ध गराउँदै आइरहेको छ ।

    भोटेकोशी बाढीले क्षति पुर्‍याएको देवीघाटस्थित तादी खोलामा नेपाली सेनाले बेलिब्रिज जडान गरेर नुवाकोट र धादिङलाई यातायातको सिधा सम्पर्कमा जोडेको थियो । बाढीले क्षति पुर्‍याएका बाँकी स्थानका पुलसहितको सडक सञ्जाल सञ्चालन गराउन नेपाली सेनामार्फत आवश्यक सहजिकरण भइरहेको उल्लेख छ ।

  • बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार

    बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार

    काठमाडौँ, २५ असोजः बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरुलाई उद्धार गरेको हो । सेनाका अनुसार जगत् गाउँबाट ६, न्याक्फेदीबाट नौ तथा यारुबाट एक शिशु तथा एक विदेशी नागरिकसहित नौ जना र पायुबाट १२ जनाको उद्धार गरिएको हो ।

  • बेनी–जोमसोम सडक खुल्यो

    बेनी–जोमसोम सडक खुल्यो

    मुस्ताङ, २५ असोजः बेनी—जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँलगायत सहरी भेगमा प्रस्थान गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी—जोमसोम अवरुद्ध सडक खुलेसंगै कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरु मुस्ताङबाट बाहिरिन थालेका छन् ।

    उनका अनुसार सडक अवरुद्धका कारण दुई सातादेखि मुस्ताङमा फसेका कन्टेनरहरु मध्ये असोज २४ र २५ गते गरी दुईदिनमा १७३ कन्टेनर बाहिरिए । प्रहरी निरीक्षक बस्यालका अनुसार असोज २३ गते साँझ बेनी—जोमसोम सडक मर्मतपछि सूचारु भएसंगै पहिलो दिन ८५ वटा मालवस्तु कन्टेनर मुस्ताङबाट बाहिरिएको हो । असोज २४ गते सडक खुलेको दोस्रो दिन मुस्ताङबाट ८८ वटा मालवस्तु कन्टेनर बेनीतर्फ बाहिरिएको प्रहरी निरीक्षक बस्यालको भनाई छ ।

    म्याग्दी र मुस्ताङको सिमाना थासाङ—४ घाँसा स्थित प्रहरी चौकीका अनुसार सडक खुलेको दुई दिनमा ३९१ वटा विभिन्न सवारी साधन मुस्ताङबाट बाहिरिएका छन् । आज मुस्ताङबाट ५० भन्दा बढी सवारी साधन बाहिरिएका छन् । यसैबीच, मुस्ताङमा उत्पादित स्याउ बजार पठाउन थालिएको चिम्ले स्याउ फार्मका सञ्चालक कर्म गुरुङले जानकारी दिए ।

  • बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन

    गोरखा, २५ असोजः बूढीगण्डकी बाढीले छ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् । बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले राससलाई बताए । उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् ।

    बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ । यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् । बाढीले चुमनुब्रीगाउँपालिका– ३ पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको छ । बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा पनि क्षति भएको छ ।

  • बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा

    बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा

    काठमाडौँ, २५ असोजः बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली पुगेको छ । आज बिहान करिब ४ः३० बजे गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिममा पहिरोका कारण थुनिएको बूढीगण्डकी खुलेपछि लेदो तथा गेग्रानसहितको बाढीले नदीको तटीय क्षेत्रमा क्षति पु¥याएको जानकारीपछि सेनाको उद्धार टोली परिचालन भएको हो ।

    नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढीपछि खोज तथा उद्धारका लागि सेनाको टोली हवाई तथा स्थलमार्गबाट प्रभावित क्षेत्रको परिचालन भएको छ । दुवै टोलीले ‘रेकी’ तथा अवलोकन गर्नाका साथै पहिराको जोखिममा रहेको जगत् गाउँबाट छ जनाको हवाई उद्धार गरेको छ ।

    काठमाडौँमा रहेको ‘कम्पोजिट क्विक रेस्पोन्स टिम’ हवाईमार्गबाट उक्त इलाकामा तैनाथ भएको र टोलीले नदी तटीय तथा आसपासका क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ ।

  • बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

    बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

    गोरखा, २५ असोजः चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीबाट माछीखोलाबजारमा क्षति भएको छ । आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ । उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक र नाक बगेका छन् भने पशुको हेरचाहमा बसेका चार जना सम्पर्कविहीन छन् ।

  • बूढीगण्डकी बाढी, चुमनुब्रीका ३५ घर बगे

    बूढीगण्डकी बाढी, चुमनुब्रीका ३५ घर बगे

    गोरखा, २५ असोजः चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले राससलाई बताइन् । चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको उनले बताइन् । आज बिहान ४ः०० बजे ती गाउँमा बाढी पसेपछि नदी स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए ।

    बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए । हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन भने क्षतिको विस्तृत विवरण पनि प्राप्त हुन बाँकी छ ।

  • बुढीगण्डकीमा आयो अकस्मात बाढी, गोरखामा जोखिम

    बुढीगण्डकीमा आयो अकस्मात बाढी, गोरखामा जोखिम

    २५ असोज, काठमाडौं । गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आउँदा गोर्खाका विभिन्न बजारमा क्षति पुगेको छ । यो बाढीले तल्लो क्षेत्र आरुघाटसम्म क्षति पुर्‍याउन थालेको छ । तटीय क्षेत्रमा रहेकाहरुलाई सतर्क रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत गराएको छ । बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत, आरुघाटसम्म क्षति पुर्‍याउन सक्ने जोखिम छ । त्यसैले यी क्षेत्रमा रहेका बासिन्दा सतर्क हुनुपर्ने देखिएको छ ।


    मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाबाट पनि तटीय क्षेत्रका बासिन्दालाई एसएमएस पठाइसकिएको छ । गोर्खाको चुमनुम्ब्री गाउँपालिका वडा नम्बर ६ को चुम्चेत क्षेत्रबाट स्थानीय खोला हुँदै बाढी बूढीगण्डकीमा मिसिएको छ । बूढीगण्डकी मनास्लु हिमालको पूर्वी मोहोडा हुँदै बग्ने गरेको छ । बाढीको कारण अहिलेसम्म खुलेको छैन । माथिल्लो क्षेत्रमा पानी परेको रेकर्ड छैन । कतै पहिरो गएर बहाव रोकिएको र पछि बाँध फुटेर आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको विपद् प्राधिकरणले जनाएको छ । मा क्षति सुरु भएको छ

  • भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

    भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

    भोजपुर, २४ असोजः भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र पञ्चकन्या मन्दिर आसपासको क्षेत्र फेरिँदै गएको छ । उपयुक्त पूर्वाधार विकाससँगै स्थानीय क्षेत्र पर्यटकीय तथा व्यापारिक केन्द्रका रूपमा रूपान्तरण हुन थालेको हो । स्थानीय तह, प्रदेश सरकार तथा विभिन्न सरोकार भएका निकायको सक्रियतामा सञ्चालित विकास निर्माणका योजनाहरू सम्पन्न हुने क्रमसँगै च्याङ्ग्रेको स्वरूप फेरिएको स्थानीय बताउँछन् ।

    विशेष गरी बजारको मुख्य भागमा अवस्थित ऐतिहासिक ‘च्याङ्ग्रे पोखरी’ को व्यवस्थित पुनःनिर्माण र सौन्दर्यीकरण गरिएको छ । पोखरीको चारैतिर पक्की पर्खाल तथा सुरक्षा घेराबारा लगाइएको छ भने किनारै(किनार पर्यटक तथा स्थानीयवासीका लागि पैदलमार्ग (वाकिङ ट्रयाक) निर्माण गरिएको छ ।

    पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले पोखरीमा अहिले जलविहारका लागि पानी बोटसमेत सञ्चालनमा ल्याइएको जानकारी दिए । पोखरीको मनमोहक दृश्यले बजारमा आउने जोकोहीलाई लोभ्याउने गरेको छ भने साँझपख टहलिनका लागि यो क्षेत्र प्रमुख गन्तव्य बनेको उनको भनाइ छ । साथै पर्यटनलाई लक्षित गरी नजिकै झोलुङ्गे पुल निर्माण गरिएको छ । पर्यटक तथा स्थानीयवासी सो पुलमा पुगेर बजार क्षेत्रको मनोरम दृश्य अवलोकन गर्नुका साथै तस्विर तथा श्रव्यदृश्य सामग्री खिच्ने, रमाउने गरेका छन् ।

    गाउँपालिका केन्द्रसमेत रहेकाले च्याङ्ग्रे क्षेत्रको योजनाबद्ध विकासमा विशेष जोड दिइएको अध्यक्ष राईले बताए । बजार क्षेत्रको सौन्दर्यीकरण र व्यवस्थित सहरीकरणका लागि च्याङग्रे पोखरीको संरक्षणका साथै आन्तरिक पर्यटन प्रवर्द्धन गरेको उनले विश्वास व्यक्त गरे । साथै, पोखरीको पौराणिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै पोखरी किनारमा ‘पञ्चकन्या मन्दिर’ निर्माण भइरहेको उनले जानकारी दिए ।


    “हामी च्याङग्रे बजार क्षेत्रको योजनाबद्ध विकास गरिरहेका छौँ”, अध्यक्ष राईले भने, “यहाँका धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धनसँगै यस क्षेत्रमा सकारात्मक परिवर्तन आएको छ । आगामी दिनमा पनि दीर्घकालीन र योजनाबद्ध विकासका कामलाई निरन्तरता दिनेछौँ ।” बजार प्रवेशको शून्य विन्दु तिवारीभञ्याङबाट च्याङ्ग्रे बजारसम्मको सडक कालोपत्रेसँगै बजार क्षेत्रमा ढल र नाली व्यवस्थापन गरिएसँगै ‘च्याङ्ग्रे’ व्यवस्थित बजार बन्दै गएको स्थानीय बालिका खत्रीले बताए । स्थानीय सरकार स्थापना भएपछि बजार क्षेत्रको विकासले गतिलिएको उनको भनाइ छ ।

    यहाँका विद्यालय क्षेत्रको विकास तथा गाउँपालिकाको प्रशासनिक भवन निर्माणलगायत संरचनागत विकासले च्याङ्ग्रेलाई परम्परागत ग्रामीण बजारबाट आधुनिक सहरोन्मुख क्षेत्रका रूपमा स्थापित गर्दै लगेको छ । खेल क्षेत्रको विकास लागि बजार क्षेत्रमा पौवादुङमा रङ्गशाला निर्माण भइरहेको छ ।

    पूर्वाधारमा भएको यस ऐतिहासिक सुधारले स्थानीय पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने स्थानीयवासीको भनाइ छ । पर्यटकीय पूर्वाधारहरू तयार भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको स्थानीय बताउँछन् । यसले स्थानीय व्यापार, होटल व्यवसाय तथा कृषि उपजको बजारीकरणमा सहजता भएको स्थानीयले प्रतिक्रिया दिएका छन् ।

  • सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

    सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

    काठमाडौँ, २४ असोजः सोह्र श्राद्धको अन्तिम दिन आज काठमाडौँको पशुपतिनाथ मन्दिरस्थित वाग्मती नदी किनारमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छ । पितृपक्षको अन्तिम दिन आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा व्यक्त गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गर्न बिहानैदेखि पशुपति क्षेत्रमा श्रद्धालुको बाक्लो उपस्थिति देखिएको थियो । हिन्दू धार्मिक परम्पराअनुसार सोह्र श्राद्धका अवसरमा दिवङ्गत पितृको सम्झना, सम्मान तथा आत्माको शान्तिको कामना गर्दै श्राद्ध, तर्पण र पिण्डदान गर्ने प्रचलन छ । पितृको तिथिअनुसार श्राद्ध गर्नुपर्ने धार्मिक मान्यताका कारण पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको चहलपहल थियो ।

    पशुपति क्षेत्रमा लामो समयदेखि श्राद्धलगायत धार्मिक कर्मकाण्ड गराउँदै आउनुभएका पण्डित दीर्घराज रेग्मीले बिहानैदेखि भक्तजन धार्मिक विधिअनुसार तर्पण तथा पिण्डदान गर्न आइरहेको जानकारी दिए । उनले सोह्र श्राद्ध पितृको सम्झना र सम्मानमा गरिने धार्मिक परम्परा भएकाले श्रद्धालुहरू अन्तिम दिन पनि विधिपूर्वक श्राद्ध तथा पिण्डदानमा सहभागी भइरहेको बताए ।


    त्यस्तै, अर्का पण्डित नन्दराम लुइँटेलले श्राद्ध दिवङ्गत पितृप्रति श्रद्धा र सम्मान प्रकट गर्ने धार्मिक कर्म भएको बताए । उनका अनुसार सोह्र श्राद्धका अवसरमा पितृको आत्माको शान्तिको कामना गर्दै श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने गरिन्छ । सोह्र श्राद्ध सुरु भएसँगै पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको आवागमन बढेको छ । विशेषगरी बागमती नदी किनारमा दिवङ्गत आफन्तको सम्झनामा धार्मिक विधिअनुसार कर्मकाण्ड गर्ने भक्तजनको बाक्लो उपस्थिति रहने गरेको छ । श्रद्धालुको चाप बढेसँगै पशुपति क्षेत्रमा श्राद्ध, तर्पण तथा पिण्डदानलगायत धार्मिक कर्मकाण्ड गराउने पण्डितलाई भ्याइनभ्याई भएको छ ।

  • नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

    नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

    नारायणगढ (चितवन), २४ असोजः यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले भरतपुर महानगरपालिका १ नारायणगढस्थित नारायणी किनारको चौर बगरमा परिणत हुँदा यहाँ समुद्री किनारको स्वरूपमा निर्माण गरिएको ‘सी बिच’ ढाँचाको तटबन्ध भने सुरक्षित रहेको छ । नदीको बाढी किनार हुँदै सडकसम्म आइपुग्दा पनि तटबन्धमा ठूलो क्षति पुगेको छैन ।

    सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार नारायणी पुलको उत्तरतर्फ ६४० मिटर लामो उक्त तटबन्ध विसं २०७९ पुस ५ गते निर्माण सुरु गरी विसं २०८० जेठ १९ गते सम्पन्न गरिएको थियो । उहाँका अनुसार नारायणी नदी किनारको चौरलाई कायम राख्दै नदी कटान रोक्ने र किनारलाई आकर्षक बनाउने उद्देश्यले तटबन्ध निर्माण गरिएको थियो ।

    तटबन्ध निर्माण गरिएको क्षेत्र सुरक्षित रहे पनि माथिल्लो चौरमा बाढीले बालुवा र ढुङ्गा थुपारेर बगरमा परिणत गरेको इन्जिनियर पौडेलले बताए । “बगर बनेपछि उक्त क्षेत्रमा जानसमेत कठिन भएको छ । यद्यपि तटबन्धको माथिल्लो भागमा रहेको करिडोरमा अहिले पनि मानिसहरू टहलिने र ठेलामा व्यापार गर्नेहरूको चहलपहल देखिन्छ”, उनले भने ।


    सूचना अधिकारी पौडेलले नारायणी नदीको धारलाई हाल कायम रहेको दिशामा नियन्त्रण तथा स्थिर राख्न तटबन्धले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनका अनुसार तटबन्धका कारण नदीको बहाव परिवर्तन भई नारायणगढ बजारतर्फ केन्द्रित हुनबाट रोकिएको छ । यसले नारायणगढ बजार तथा आसपासका बस्ती, भौतिक संरचना र जग्गालाई नदी कटान तथा बाढीजन्य जोखिमबाट संरक्षण गर्न योगदान पुर्‍याएको छ ।

    इन्जिनियर पौडेलले भने, “सी बिच ढाँचाको तटबन्ध नभएको भए यो क्षेत्र पूरै बगरमा परिणत हुन सक्थ्यो । तटबन्धका कारण किनारको चौरमा माटो भर्न र सम्याउन पनि सहज हुने भएको छ ।” उहाँका अनुसार उक्त तटबन्ध निर्माण नभएको भए नारायणी नदीले आफ्नो धार परिवर्तन गरी चितवनतर्फ, विशेषगरी नारायणगढ बजार आसपासको क्षेत्रमा कटान तथा बाढीको जोखिम सिर्जना गर्न सक्ने सम्भावना थियो । तटबन्धले नदीको धार नियन्त्रण गर्नुका साथै मानव बस्ती, बजार क्षेत्र, सडक, पूर्वाधार र अन्य सम्पत्तिलाई नदीजन्य कटानबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।


    नारायणी नदी किनारमा निर्माण गरिएको ‘सी बिच’ क्षेत्रमा विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेका छन् । बिहान र साँझ नदी किनारमा घुम्न तथा टहलिन जाने सर्वसाधारणको चहलपहल हुने गर्दछ । साना ठेला तथा व्यापार व्यवसाय सञ्चालन गर्नेहरूका लागि पनि यो क्षेत्र आकर्षणको केन्द्र बनेको छ ।

    कार्यालयका अनुसार ‘नारायणी रिभर बिच प्रोटेक्सन वक्र्स’ आयोजनाअन्तर्गत रु १७ करोड ५९ लाख खर्चमा संरचना निर्माण गरिएको हो । आयोजनाअन्तर्गत आरसीसीका सिँढी निर्माण गर्नुका साथै अगाडिको भागमा ठूला ढुङ्गा प्रयोग गरी किनार संरक्षणको काम गरिएको सूचना अधिकारी पौडेलले बताए । उनका अनुसार नारायणी पुलदेखि पश्चिमतर्फ चितवन क्षेत्रमा अधिकांश स्थानमा तटबन्ध निर्माण गरिएकाले यस वर्षको बाढीबाट ठूलो क्षति हुन पाएन ।

  • तीन देशको भ्रमणपछि परराष्ट्रमन्त्री स्वदेश फिर्ता, जलवायु मुद्दा अन्तरराष्ट्रियकरणमा उपलब्धि

    तीन देशको भ्रमणपछि परराष्ट्रमन्त्री स्वदेश फिर्ता, जलवायु मुद्दा अन्तरराष्ट्रियकरणमा उपलब्धि

    काठमाडौँ, २४ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत, पुनर्लाभ तथा पुनर्निर्माणका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ । यससँगै बाढी विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता २६ मिलियन अस्ट्रेलियन डलर पुगेको मन्त्री खनालले जानकारी दिए ।


    स्वदेश फर्किएपछि भ्रमणका उपलब्धिबारे जानकारी दिँदै मन्त्री खनालले नेपालको जलवायु संवेदनशीलतालाई अन्तरराष्ट्रिय मञ्चमा उजागर गर्न, न्यायोचित जलवायु वित्त परिचालन गर्न र अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन भ्रमण महत्त्वपूर्ण रहेको बताए ।


    आगामी नोभेम्बरमा टर्कीको अन्टाल्यामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको ३१औँ सम्मेलन ९कोप–३१० का लागि राजनीतिक सहमति निर्माण गर्ने तथा विश्वव्यापी जलवायु एजेन्डालाई अघि बढाउने उद्देश्यले अस्ट्रेलिया, फिजी र टुभालुका सरकार प्रमुखहरूको निमन्त्रणामा मन्त्री खनालले भ्रमण गरेका थिए ।

    जलवायु न्यायका लागि नेपालको आवाज

    भ्रमणका क्रममा मन्त्री खनालले यही अक्टोबर ६ मा फिजीको नाडीमा आयोजित ‘प्रि–कोप लिडर्स प्लेनरी’ लाई सम्बोधन गर्दै हिमाली तथा प्रशान्त महासागरका टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण समान प्रकृतिका जोखिम सामना गरिरहेको उल्लेख गरेका थिए । उनले हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्या एउटै विश्वव्यापी जलवायु सङ्कटका परस्पर जोडिएका पक्ष भएको बताउँदै हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।


    सम्बोधनका क्रममा मन्त्री खनालले नेपालको भोटेकोशी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमाली सुनामी’ को संज्ञा दिँदै जलवायु परिवर्तनमा न्यून योगदान रहेका नेपालजस्ता मुलुकले त्यसको गम्भीर मूल्य चुकाउनुपरेको बताए ।
    कोप–३१ का लागि नेपालका चार प्राथमिकता प्रस्तुत गर्दै मन्त्री खनालले विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रतिको प्रतिबद्धता, ऋणको भार नथपिने गरी अनुदानमा आधारित अनुकूलन वित्त, हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारीको विकासमा जोड दिए ।

    टुभालु भ्रमणका क्रममा मन्त्री खनालले समुद्री कटान र तीव्र ज्वारभाटाको जोखिममा रहेको फुनाफुतीस्थित ‘कजवे’ क्षेत्र तथा टुभालु कोस्टल एडाप्टेसन प्रोजेक्टअन्तर्गत निर्माण गरिएका संरचनाको अवलोकन गरेका थिए ।
    उक्त भ्रमणले हिमाली क्षेत्रको जलवायु जोखिम र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूले सामना गरिरहेका चुनौतीबीच समानता पहिचान गर्न तथा जलवायु न्यायका पक्षमा साझा आवाज निर्माण गर्न सहयोग पुगेको उनले बताए । ‘प्रि–कोप’ कार्यक्रमका अवसरमा जारी ‘टाकु पाकासोआ घोषणापत्र’ मा हिमनदी तथा हिमचादरको क्षयसम्बन्धी विषय समावेश भएको पनि उनले जानकारी दिए ।


    अस्ट्रेलियाबाट थप १५ मिलियन डलर सहायता

    अक्टोबर ८ मा अस्ट्रेलियाको मेलबर्नस्थित कमनवेल्थ पार्लियामेन्ट कार्यालयमा विदेशमन्त्री पेन्नी वोङसँग भएको उनको द्विपक्षीय वार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्धका विविध पक्षमा छलफल भएको थियो । वार्ताका क्रममा विदेशमन्त्री वोङले नेपालको बाढी विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अस्ट्रेलिया सरकार र जनताको ऐक्यबद्धता प्रकट गरेका थिए ।

    बाढीपछि अस्ट्रेलियाले खोज तथा उद्धार सामग्री, प्राविधिक विशेषज्ञ र यसअघि घोषणा गरिएको ११ मिलियन अस्ट्रेलियन डलर मानवीय सहायता उपलब्ध गराएको थियो । थप १५ मिलियन अस्ट्रेलियन डलर सहायता घोषणासँगै नेपालको विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता २६ मिलियन अस्ट्रेलियन डलर पुगेको छ ।

    बैठकमा जलवायु सहकार्य, हिमनदी अनुगमन, पूर्वसूचना प्रणालीको आधुनिकीकरण तथा जलवायु अनुकूलित पूर्वाधार निर्माणमा प्राविधिक साझेदारी विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो । मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको विद्यार्थी भिसा प्रक्रिया निष्पक्ष, सहज र अनुमानयोग्य बनाउन आग्रह गरे । उनले प्राविधिक तथा व्यावसायिक शिक्षा, विश्वविद्यालयबीच संयुक्त अनुसन्धान, संयुक्त डिग्री कार्यक्रम र अस्ट्रेलिया अवाड्र्स छात्रवृत्तिको कोटा वृद्धि गर्न सहकार्यको प्रस्ताव राखेका थिए ।


    नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, प्रविधि हस्तान्तरण, दिगो कृषि तथा पर्यटन क्षेत्रमा अस्ट्रेलियाली लगानी भित्र्याउने र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा पनि छलफल भएको मन्त्री खनालले बताए ।
    न्यु साउथ वेल्ससँग विपद् व्यवस्थापनमा सहकार्यको प्रस्ताव

    मन्त्री खनालले अक्टोबर ८ मा अष्ट्रेलियाको सिड्नीमा न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्ससँग भेटवार्ता गरेका थिए । भेटमा प्रिमियर मिन्सले नेपालको बाढी विपद्प्रति व्यक्त गरेको समवेदना र ऐक्यबद्धताका लागि मन्त्री खनालले धन्यवाद दिए । न्यु साउथ वेल्सले विगतमा बाढी तथा डढेलो व्यवस्थापन र पुनर्निर्माणमा हासिल गरेको अनुभवबाट नेपालले सिक्न सक्ने विषयमा छलफल भएको थियो । दुवै पक्षले विपद् व्यवस्थापनसम्बन्धी निकायबीच अध्ययन भ्रमण तथा प्राविधिक आदानप्रदान गर्ने सम्भावनाबारे पनि विचारविमर्श गरेका थिए ।

    साथै, सिड्नीको वेस्टर्न सिड्नी अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपालसँग सिधा हवाई सम्पर्क विस्तार गर्ने सम्भावना तथा नेपाली समुदायको भाषा, संस्कृति र सामुदायिक केन्द्रलाई सहयोग गर्ने विषयमा छलफल भएको थियो । यसै क्रममा मन्त्री खनालले अस्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनसँग क्यानबेरामा भेटवार्ता गरेका थिए । भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, नेपाली विद्यार्थी तथा प्रवासी नेपाली समुदायका चासो र कोप–३१ मा नेपालको जलवायु एजेन्डालाई समर्थन गर्ने विषयमा छलफल भएको थियो ।

    उनले अस्ट्रेलियाको सङ्घीय संसद्मा प्रतिपक्षी दलका उपनेता एङ्गस टेलरसँग भर्चुअल संवाद गर्नुभएको थियो भने सांसद एलेक्स हकसँग सिड्नीमा भेट गरी शैक्षिक सहकार्य, नेपाली विद्यार्थीको हित र द्विपक्षीय सम्बन्धबारे विचार आदानप्रदान गरेका थिए ।

    पुनर्निर्माणमा प्रवासी नेपालीको सीप र ज्ञान उपयोग गर्न आग्रह

    अस्ट्रेलियामा बसोबास गर्ने दुई लाखभन्दा बढी नेपाली समुदायका प्रतिनिधि, प्राज्ञ, व्यवसायी तथा विद्यार्थीसँग मन्त्री खनालले मेलबर्न, सिड्नी र क्यानबेरामा अन्तरक्रिया गरेका थिए । नेपालमा आएको बाढीपछि राहत तथा सहयोग जुटाउन प्रवासी नेपालीले देखाएको तत्परताको प्रशंसा गर्दै उनले विपद्पछिको पुनर्निर्माणमा उनीहरूको सीप, ज्ञान र प्रविधि उपयोग गर्न आह्वान गरेका थिए ।


    नेपालमा पुनर्निर्माणका लागि प्रारम्भिक अनुमानअनुसार करिब पाँच अर्ब अमेरिकी डलर बराबरको स्रोत आवश्यक पर्ने उल्लेख गर्दै उनले प्रवासी नेपाली समुदायलाई देशको पुनर्निर्माण प्रक्रियामा सहभागी हुन आग्रह गरेका थिए । विदेशमा रहेका नेपालीका लागि कन्सुलर सेवा थप प्रभावकारी बनाउने र समुदायका चासो सम्बोधन गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका थिए ।

    आर्थिक कूटनीतिलाई प्राथमिकता दिन निर्देशन

    भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली राजदूतावासको निरीक्षण गरी सेवा प्रवाह तथा कूटनीतिक गतिविधिबारे जानकारी लिएका थिए । उनले दूतावासका अधिकारीहरूलाई नेपाली विद्यार्थी, पेसाकर्मी तथा आम नागरिकलाई उपलब्ध गराइने राहदानी, प्रमाणीकरणलगायतका कन्सुलर सेवा छरितो, झन्झटरहित र प्रविधिमैत्री बनाउन निर्देशन दिए ।

    त्यस्तै, नेपालको राष्ट्रिय हितअनुकूल आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न, अस्ट्रेलियाबाट गुणस्तरीय लगानी भित्र्याउन, द्विपक्षीय व्यापार अभिवृद्धि गर्न, पर्यटन प्रवद्र्धन गर्न र दुई देशबीच भएका सहकार्यलाई परिणाममुखी बनाउन निर्देशन दिए । परराष्ट्रमन्त्री खनालले समग्र भ्रमणबाट नेपालको जलवायु कूटनीतिलाई अन्तरराष्ट्रिय स्तरमा सशक्त बनाउन, बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि थप सहयोग जुटाउन तथा व्यापार, लगानी, शिक्षा र हवाई सम्पर्कसम्बन्धी द्विपक्षीय कार्यसूची अघि बढाउन सहयोग पुगेको बताए ।

  • विभिन्न स्थानमा वर्षाको सम्भावना

    विभिन्न स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ २४ असोजः हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    त्यसैगरी, आज दिउँसो कोशी प्रदेशका सबै तथा देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका तराई भूभागका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ ।

    आज राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

  • भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

    भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

    म्याग्दी, २४ असोज स्। दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रापछि शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन् । प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा उनीहरुको यात्रा निकै कष्टपूर्ण बन्यो । लामो यात्रा गरेर बजारसम्म आइपुग्दा पनि समयमै बिक्री गर्न नपाइने चिन्ताले सताएको छ ।

    मुगुको छायानाथ रारा नगरपालिका–६ का बिकको टोलीले दुई सय भेडाच्याङ्ग्रा खेदाएर ल्याएको हो । त्यसमध्ये एक सय आफ्नै घरमा पालेका र एक सय छिमेकीबाट खरिद गरेका हुन् । दसैँका लागि पोखरामा बिक्री गर्ने उद्देश्यले उहाँहरू गत भदौ १८ गते घरबाट हिँडेका थिए । “यसपालि प्रतिकूल मौसम र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध हुँदा धेरै दुःख पाइयो,” बिकले भने, “डोल्पाको छार्कामा हिमपात भएपछि एक हप्ता रोकियौँ । घरबाट हिँडेको ३६ दिनमा बल्ल गलेश्वर आइपुगेका छौँ ।”

    शनिबार गलेश्वरबाट भेडाच्याङ्ग्रा गाडीमा राखेर पोखरा लैजाने उनीहरूको योजना छ । तर, दसैँ नजिकिँदै गर्दा बजारमा माग र बिक्री कस्तो होला भन्ने चिन्ता छ । “ढिला भइसकेको छ। अब बजारमा बिक्री हुने हो कि होइन भन्ने चिन्ता लागेको छ,” बिकले भने । डोल्पाको काइके गाउँपालिका–२ का मानप्रसाद रोकायासहित सात जना किसान पनि सात सय भेडाच्याङ्ग्रा लिएर पोखरातर्फ लागेका छन् । उनीहरु शुक्रबार म्याग्दीको घोडेपानी हुँदै कास्कीको पोखरातर्फ गएका हुन् ।


    रोकायाको टोली घरबाट हिँडेको २२ दिन भइसकेको छ । भेडाच्याङ्ग्रापालन नै मुख्य पेसा भएकाले उहाँहरू हरेक वर्ष बिक्रीका लागि विभिन्न बजार पुग्ने गर्नुहुन्छ । तर, यसपालि बाढीपहिरोले यात्रामा थप सास्ती दिएको छ । यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरोले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनायो । यसले भेडाच्याङ्ग्रा खेदाएर ल्याउने र सवारीसाधनमा ढुवानी गर्ने दुवै काम प्रभावित भए । कतिपय किसानले लामो दूरी पैदल हिँड्नुप¥यो । सडकको अवस्थाका कारण बजारसम्म पुग्न ढिलाइ भएको हो ।

    डोल्पाको काइके गाउँपालिका–२ सहरताराका सञ्जय बुढा पनि २५ दिन पैदल हिँडेर एक सय ६० च्याङ्ग्रा बिक्री गर्न पोखरातर्फ लागेका छन् । समुद्री सतहदेखि चार हजार मिटरभन्दा माथिका क्षेत्रमा पालिएका च्याङ्ग्रा खेदाएर ल्याउन सहज छैन । “भिर, खोल्सा र साँघुरो बाटोमा च्याङ्ग्रालाई हिँडाएर बजार पु¥याई बिक्री गर्नु हाम्रो परम्परादेखिकै पेसा हो,” उनले भने ।
    सडक अवरुद्ध हुँदा किसानलाई सास्ती

    दसैँ नजिकिएसँगै हिमाली क्षेत्रका भेडाच्याङ्ग्रा बजार झर्न थालेका छन् । तर, प्रतिकूल मौसम र सडक अवरोधले यसपालि किसान तथा व्यापारीलाई समस्या भएको छ । डोल्पा, जुम्ला र उपल्लो मुस्ताङबाट भेडाच्याङ्ग्रा लिएर आएका किसान तथा व्यापारीको जोमसोमदेखि बेनीसम्म चहलपहल छ । मुस्ताङबाट बेनी–जोमसोम सडक हुँदै गलेश्वर ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत सहरमा पठाउन थालिएको छ ।

    यद्यपि, डोल्पाबाट मुस्ताङ आउने बाटो हिउँले ढाकिँदा त्यहाँका सबै किसानले भेडाच्याङ्ग्रा बजारसम्म ल्याउन नसकेको कृषि तथा पशुपन्छी विकास कार्यालय मुस्ताङका प्रमुख लालमणि अर्यालले बताए । तातोपानी र रसुवा नाका बन्द भएकाले यसपालि ठूला सहरमा भेडाच्याङ्ग्रा आपूर्तिको मुख्य मार्ग मुस्ताङ बनेको छ । जोमसोममा भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी निकासी अनुमति दिने व्यवस्था मिलाइएको छ ।

    कार्यालय प्रमुख अर्यालका अनुसार हालसम्म १० हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निकासी अनुमति दिइएको छ । गत वर्ष १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए ।

    लागत बढ्यो

    यात्रा लामो हुँदा किसान र ब्यापारीको खर्च बढेको छ । मुस्ताङमा सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा किसानसँग सम्पर्क गर्नसमेत कठिन भएको व्यापारीको भनाइ छ । बेनी नगरपालिका–९ का डेकबहादुर चोखालका अनुसार मुस्ताङमा असोज दोस्रो सातादेखि सडक, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा भेडाच्याङ्ग्रा खरिदमा समस्या भयो । “किसानसँग सम्पर्क हुन नसकेपछि भनेजस्तो भेडाच्याङ्ग्रा ल्याउन पाइएन,” उनले भने ।

    मुस्ताङमा आकार अनुसार भेडा प्रतिगोटा रु. ३२ हजारदेखि रु. ३५ हजार र च्याङग्रा प्रतिगोटा रु. ४० हजारको हाराहारीमा खरिदबिक्री भइरहेको ब्यापारीहरुले बताएका छन् । बेनीमा भने भेडा प्रतिगोटा करिब रु. ३६ हजार र च्याङ्ग्रा रु. ४५ हजार पर्ने बेनी नगरपालिका–९ तोरीपानीका यामबहादुर बानियाले बताउनुभयो ।

    “पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयुक्त मानिन्छन्,” उनले भने, “महाँगो परेपनि दसैँमा हिमाली क्षेत्रमा जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु खाने चलन छ ।” मुस्ताङी भेडाच्याङ्ग्राको ठूलो बजार पोखरा र काठमाडौँ हुन् । म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ र लमजुङमा पनि यसको माग हुने गरेको धवलागिरि गाउँपालिका–७ का खसी व्यापारी प्रेम छन्त्यालले बताए ।

    च्याङ्ग्रापालनमै निर्भर हिमाली किसान
    मुस्ताङको नामग्यालका किसान तेन्जिङ गुरुङले मुख्य आयस्रोत च्याङ्ग्रापालन भएको बताए । मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोत च्याङ्ग्रापालन हो । च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ ।

    तर, च्याङ्ग्रापालनमा पनि अनेक चुनौती छन् । हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट पशु जोगाउन किसानलाई कठिन हुन्छ । पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रिने र आहारको अभाव हुने समस्या छ । हिउँदमा अत्यधिक हिमपात हुँदा पनि आहार नपाएर भेडाबाख्रा मर्ने गरेका छन् । दसैँको बजारबाट वर्षभरिको आम्दानी जुटाउने आशामा किसानले हिमालबाट भेडाच्याङ्ग्रा खेदाएर ल्याउँछन् । तर, यसपालि प्रतिकूल मौसम र सडक अवरोधले उनीहरूको यात्रा लम्बिएको छ । लामो दूरीको पैदल यात्रा, थप खर्च र बिक्रीमा भएको ढिलाइले किसानको आम्दानी प्रभावित हुने चिन्ता बढाएको छ ।

  • आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

    आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

    काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो ।

    आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने आइतबार गरिन्छ । पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ ।

    पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् ।


    यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्प समेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले बताए ।

    त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् वैदिक मन्त्रले दैनिक १०८ जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले जानकारी गराए । यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध गर्नेको भीड लाग्छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ सुरु हुन्छ । असोज २५ गते घटस्थापना गरेसँगै दुर्गा पक्ष सुरु हुन्छ ।

  • यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

    यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

    दाङ, २३ असोजः लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१३ चौधेरा निवासी चेतबहादुर केसीको सो दुर्घनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । नेपालगन्जबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश१–०१–००१ख ४१४८ नम्बरको यात्रुवाहक बसले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश एए८५९८ नम्बरको सरकारी मोटरसाइकललाई आज साँझ करिब ६ः३० बजे लमही नगरपालिका–१ सुनडबरीमा ठक्कर दिँदा मोटरसाइकल चालक केसी गम्भीर घाइते भएका थिए ।


    घटनालगत्तै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रमेश तिमल्सिना नेतृत्वमा खटिएको टोलीले घाइते केसीको उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्‍याएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ । मृतक केसीको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । मृतक केसी लुम्बिनी प्रदेश कृषि मन्त्रालयमा कार्यरत वरिष्ठ लेखा अधिकृत रहेको प्रहरीले जनाएको छ ।

  • पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    गण्डकी, २३ असोजः पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् । कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार तीन जना बालिका, एक बालक र एक स्थानीयको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ । हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको उपचार जारी छ । दुर्घटनाग्रस्त बसमा १७ जना बालबालिका र एक स्थानीय सवार थिए ।

  • डोको बुन्दै, सीप सिकाउँदै


    भोजपुर, २३ असोजः भोजपुर नगरपालिका–५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने पेसाको संरक्षणमा जुटेका छन् । खेतीपातीको कामबाट बचेको समय सदुपयोग गर्दै उहाँले पुस्तौँदेखि चलिआएको बाँसको चोयाबाट डोको बुन्ने सीपलाई निरन्तरता दिँदै आएका छन् । गाउँघरमा कृषि तथा घरायसी काममा प्रयोग हुने डोको पछिल्लो समय बजारमा पाइने आधुनिक सामग्रीका कारण निकै कम मात्रामा प्रयोग हुन थालेको छ । ग्रामीण क्षेत्रमा यसको आवश्यकता भने अझै रहेको स्थानीयवासीको भनाइ छ । ग्रामीण आवश्यकतालाई ध्यानमा राख्दै विष्टले स्थानीयस्तरमै पाइने बाँसको प्रयोग गरेर विभिन्न आकारमा डोको तयार पार्दै आएका छन् ।


    चोया तयार गर्ने, चोयालाई आवश्यक आकारमा मिलाउने र हातैले बुनेर डोको तयार गर्ने उनको नियमित काम हो । उनका अनुसार आकारका आधारमा एउटा डोको रु ३०० देखि ७०० सम्ममा बिक्री हुने गरेको छ । ठूलो आकारको डोको बनाउन पाँचदेखि छ घण्टासम्म समय लाग्ने उनले जानकारी दिए । “आफ्नै गाउँमा पाइने बाँसबाट चोया तयार गरेर डोको बुनिन्छ । फुर्सदको समयमा बुन्दा सीप पनि जोगिन्छ भने केही आम्दानी हुन्छ”, विष्टले भने ।


    कृषि कार्यमा प्रयोग हुने डोको, नाङ्लो, डालोलगायतका सामग्री ग्रामीण जीवनका अपरिहार्य साधन हुन् । खेतबारीबाट उत्पादित मकै, धान, कोदो, आलुलगायतका कृषि उपज ओसारपसार गर्न तथा घाँस, दाउरा र घरायसी सामान बोक्न डोको प्रयोग हुने गरेको छ । स्थानीयस्तरमा सहजै पाइने बाँसको उपयोग गरी तयार गरिने यस्ता सामग्री वातावरणमैत्री हुनुका साथै स्थानीय सीप र स्रोतसाधनको उपयोगको उदाहरण बनेको छ ।

    पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको डोका बुन्ने सीप पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसक्दा हराउँदै जाने अवस्था रहेकाले आफूले जानेको सीपलाई निरन्तरता दिएको उनले बताए । नयाँ पुस्ताले सीप सिकेर व्यावसायिक रूपमा अघि बढ्न सके यसलाई आम्दानीको महत्त्वपूर्ण स्रोत बनाउन सकिने उनको भनाइ छ।

  • विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

    म्याग्दी, २३ असोजः कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडक यही असोज ८ देखि ११ गतेसम्मको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको थियो ।

    विभिन्न ५० ठाउँमा पहिरो खसेको, भासिएको र १० ठाउँमा कालीगण्डकी नदीको कटानले बगाएको सडक मर्मतकार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटा भिर र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरस्थित सडक पुलको पहुँचमार्ग तयार भएर बिहीबार साँझ अत्यावश्यक सवारीसाधन वारपार गरेका छन् । कालीगण्डकीको बाढीले बगाएको कुनौटाको सडक र पोखरेबगर पुलको पहुँचमार्ग निर्माणमा चुनौती देखिएको थियो ।

    इन्धन, एम्बुलेन्स, सडक, विद्युत् र सञ्चार सेवा सञ्चालन गराउन आवश्यक उपकरण र राहत सामग्री ढुवानी गर्ने सवारीसाधनमात्र एकतर्फी रूपमा सञ्चालन गर्न सकिने अवस्थामा रहेको सडकमा थप मर्मतकार्य बाँकी रहेको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले बताए । “प्रारम्भिक चरणको मर्मत भए पनि पूर्ण रूपमा पहिरो पन्छाउने, भासिएको र कटान गरेको ठाउँमा फिलिङ, लेवल मिलाउने, क्रसिङ बनाउन बाँकी छ”, उनले भने, “अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्दा अस्तव्यस्त र दुर्घटनाको जोखिम हुने भएकाले आइतबारसम्म मर्मतकार्यलाई पूर्णता दिने र आगामी सोमबारदेखि यातायात सञ्चालन गर्ने कार्ययोजना बनाएका छौँ ।”

    केराबारी, लामाबगर, तिल्केनीचौर, राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, तातोपानी, सुकेबगर, खामभित्ता, खहरेखोला क्षेत्रमा कालीगण्डकीले कटान र पहिरोले सबैभन्दा बढी क्षति गरेको छ । हालै कालोपत्र सकिएको र पहिरो प्रभावित क्षेत्रमा ढलानको काम भइरहेको म्याग्दी खण्डको ३३ किलोमिटरमध्ये २० किलोमिटर बढी स्थानमा सडक क्षतविक्षत भएको सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए ।


    “चीनसँग हाल सञ्चालनमा रहेको एकमात्र कोरलानाकाका कारणले पनि सरकारले उच्च प्राथमिकतामा राखेर अवरुद्ध भएको दुई साताभित्रै यातायात सञ्चालनको तयारी गरेको भए पनि पहिलेकै अवस्थामा फर्काउन धेरै लगानी र पूर्वाधार आवश्यक पर्छ”, उनले भने, “रु ९० करोडबराबरको क्षति भएको यो सडकलाई नयाँ डिजाइनमा पुनर्निर्माण गर्न थप रु तीन अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेका छौँ ।”

    बेनी–जोमसोम–कोरला सडक योजनाका संस्थापक प्रमुखसमेत रहेका सुवेदीका अनुसार योजना सुरु भएयताकै ठूलो क्षति यसपालिको बाढीले गरेको छ । अत्यधिक वर्षाका साथै सहायक सडक भत्किएका, जलविद्युत् आयोजनाले नदी किनारमा फालेका मकिङ, कमजोर भूगोल, नयाँ पहिरो सृजना हुनु, सहायक नदीमा बाढीको सतह बढ्नुलगायतका कारण कालीगण्डकीमा बाढीको आयतन बढेर अकल्पनीय क्षति गरेको सुवेदीको भनाइ छ ।

    कोरलानाकामा जानेआउने मालवाहक, मुस्ताङको स्याउ र आलु निकासी, पर्यटकीय याम र दसैँतिहारलगायत ठूला चाडपर्वमा बढ्ने आन्तरिक यातायात साधनको चापले सृजना हुने चुनौतीको व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए । भन्सार जाँचपास गरेर कोरलानाकाबाट दसैँलाई लक्षित गरेर आयात गरिएका सामान बोकेका ५०० भन्दा बढी कन्टेनर गन्तव्यमा पुग्ने प्रतीक्षामा मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँमा रोकिएका छन् ।

    “अत्यावश्यक, ढुवानी, आन्तरिक यातायात र पर्यटक सवारीसाधनलाई प्राथमिकता निर्धारण गरेर ट्राफिक व्यवस्थापन गर्न जनप्रतिनिधि, प्रदेशस्तरका सुरक्षा अधिकारीसहितको टोलीले बिहीबार स्थलगत निरीक्षण गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी गैरेले भने, “सवारीसाधनको जाम हुन नदिनका लागि साँघुरा र जोखिमयुक्त ठाउँमा सुरक्षाकर्मी खटाउने विषयमा पनि छलफल भएको छ ।”

    अत्यावश्यक सेवा, आन्तरिक यातायात, कन्टेनर, स्याउ, आलु बजार पठाउने सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने भएकाले सडकको अवस्था सहज नहुँदासम्मको लागि घुमघामका लागि आउनेलाई केही दिन योजना पछि सार्न प्रजिअ गैरेले अनुरोध गरे ।

    गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिससका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रजिअ गैरे, सङ्घीय सडक सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख सुवेदी, नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापा, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दीपेन्द्र घर्ती क्षेत्री र सशस्त्र प्रहरी बल नं ४ मुक्तिनाथ बाहिनीका बाहिनीपति दीपेन्द्र शाह, म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीसहित जिल्ला तहका सुरक्षा अधिकारीले सडकमा यातायात सञ्चालनको तयारीका लागि अनुगमन गरेका थिए ।


    सरोकारवालाको सुझावअनुसार शुक्रबार बिहान म्याग्दी र मुस्ताङको जिल्ला सुरक्षा समितिको संयुक्त बैठक बसेर बेनी–जोमसोम–कोरला सडकमा यातायात सञ्चालन व्यवस्थित बनाउन छलफल र कार्ययोजना तयार गरिने प्रजिअ गैरेले जानकारी दिए ।

  • कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

    कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

    म्याग्दी, २२ असोजः राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा गएको बाढीले ४० मेगावाट क्षमताको सो आयोजनामा क्षति पुर्‍याएपछि बन्द भएको थियो । आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी दिए ।


    आयोजनाको विद्युत्गृहबाट विद्युत् उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्‍याएको थियो । कालीगण्डकीले धार परिवर्तन गरी स्विचयार्ड नजिकैसम्म कटान गर्नाका साथै टेलरेसबाट विद्युत्गृहभित्र पानी प्रवेश गरी डुबानमा परेको थियो ।

    हालै निर्माण सम्पन्न भई असोजको पहिलो सातादेखि परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरेको आयोजना बाढीका कारण पूर्णरुपमा बन्द भएको थियो । विद्युत्गृहमा जम्मा भएको पानी हटाई बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गरी एक विद्युत् उत्पादन पुनः सुरु गरिएको आयोजना प्रमुख राजबहादुर विष्टले बताए । “बाढीबाट क्षतिग्रस्त संरचना तथा उपकरण मर्मत गरी ११ दिनमा एउटा युनिटबाट विद्युत् उत्पादन सुरु गरेका छौँ”, उनले भने, “२० मेगावाट क्षमताको अर्को युनिट छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।”

    राहुघाट जलविद्युत् आयोजनामा २०र२० मेगावाट क्षमताका दुई वटा युनिट छन् । आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । अवरुद्ध बनेको पहुँचमार्ग मर्मतका साथै झीँ र दग्नामको सिमानामा रहेको बाँध क्षेत्रमा थुप्रिएको गेग्रान पनि पन्छाइएको छ ।

    कालीगण्डकी नदीमा गेग्रान मिसिदा बाढीको सतह बढेर ग्राबेलको बेस भएको कालीगण्डकी किनारबाट विद्युत्गृहतर्फ कटान गरेर बग्दा चिन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको करिब १५० मिटर सडक पनि बगाएको छ । विद्युत्गृह स्थलमा निर्माण गरिएको ‘स्विचयार्ड’ पनि नदी कटानको उच्च जोखिममा परेको छ ।

    राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सका सवारीसाधन र उपकरण पनि बाढीले बगाएको छ । कालीगण्डकी नदीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका–१, दोवाको भिरकाटपारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको छ । नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काले क्षतिग्रस्त टावर र प्रसारण लाइन मर्मतका लागि प्राविधिक टोली परिचालन गरिएको बताए ।


    दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि–१, ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रसारण बन्द भएको छ ।

  • सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

    सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

    काठमाडौँ, २२ असोजः सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ आजदेखि लागू गरेको छ । चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा अप्रिय घटना हुन नदिन २८ हजार १२६ जनशक्ति परिचालित गरिएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए । सशस्त्रका चार हजार ५०० जनशक्तिलाई तत्कालै खटाउन सक्ने गरी तयारी अवस्थामा राखिएको छ ।

    सशस्त्र प्रहरीले अन्तरराष्ट्रिय सीमा जोडिएका भारत र चीनका समकक्षी सुरक्षा निकायसँगको समन्वयमा १४१ स्थानमा नागरिक सहायता कक्ष, १६ स्थानमा नागरिक स्वास्थ्य कक्ष र १३ स्थानमा पर्यटक सहायता कक्ष सञ्चालनमा ल्याएको उनले बताए । समकक्षी सुरक्षा निकायसँगको समन्वयमा सीमावर्ती इलाकामा संयुक्त गस्ती सञ्चालन गरिएको छ भने झापाको काँकडभिट्टा, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचान गर्न सक्ने तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।

    बडादसैँ, तिहार, नेपाल संवत् र छठ तथा अन्य चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण, मुख्य राजमार्गमा हुनसक्ने दुर्घटना न्यूनीकरण र शीघ्र उद्धारका लागि ३७ स्थानमा एम्बुलेन्ससहितको टोली परिचालन गरिएको छ । ठूला दुर्घटनाको जोखिमलाई ध्यानमा राखी एकैपटक ठूलो सङ्ख्यामा घाइतेलाई अस्पतालसम्म लैजान सकिने खालका सवारी साधन उपत्यकासहित सातै प्रदेशमा तैनाथ गरिएका छन् ।

    विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्ने गरी धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङको भालुवाङ, सुर्खेतको चिप्ले, डडेल्धुराको अमरगढी र सिन्धुलीको खुर्कोटलगायत देशभर ५५ वटा अस्थायी मनसुन विपद् प्रतिकार्य वेश तथा १६ वटा स्थायी विपद् वेशमा आवश्यक स्रोतसाधनसहित तालिम प्राप्त दक्ष जनशक्ति तयारी हालतमा राखिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

    चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत दैनिक पिकेट, चेक प्वाइन्ट, पैदल र मोबाइल तथा लामो दूरीको गस्ती, विस्फोटक पदार्थ निष्क्रिय गर्ने टोली तथा गोताखोरसहितका विपद् उद्धार टिमलाई २४सै घण्टा तैनाथ गरिएको छ । सीमावर्ती क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी आवश्यक गस्ती तथा समकक्षी सुरक्षा सङ्गठनसँगको समन्वयमा ९२४ वटा संयुक्त सीमा गस्ती गर्ने सशस्त्रको योजना छ । संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि २१ वटा ड्रोन परिचालन गरिएको छ, भने सीमा नाकाका महत्वपूर्ण स्थानमा जडान गरिएका ४१२ वटा सिसिटिभी क्यामेरामार्फत २४सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

  • पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

    पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

    कास्की, २२ असोजः पोखरा महानगरपालिका १८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका ६ फलामखानी घर भएका २९ वर्षीय विक्रम सुनार र गोरखाको पालुङटार नगरपालिका ७ बस्ने ३७ वर्षीय राजु कुमाल रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले जानकारी दिए ।


    उनका अनुसार आज दिउँसो घरको जग खन्ने क्रममा करिब सात फिट गहिरो खाल्डोमा काम गरिरहेका दुई जना मजदुर माथिबाट माटोको ढिस्को खसेर पुरिएका थिए । घटनाको जानकारी प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले तत्काल उद्धार कार्य सुरु गरेको थियो ।

    उद्धार टोलीले पुरिएका दुवै जनालाई माटो पन्छाएर उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगेको थियो । मृतक सुनारलाई अपहरान्न ४ः३५ बजे उद्धार गरिएकामा चिकित्सकले ५ः०० बजे मृत घोषणा गरेका जनाउँदै कुमाललाई साँझ ६ः०० बजेमात्र उद्धार गरिएकामा ६ः२६ बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक रिजालले बताए ।


    घटनालगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी निरीक्षक रिजालको कमाण्डमा १०, वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमाण्डमा सात तथा सशस्त्र प्रहरी बल नेपाल नं २४ हेडक्वाटर कालिका गण पोखराबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुजतकुमार यादवको कमाण्डमा १३ जनाको टोली उद्धारका लागि परिचालन गरिएको प्रहरीले जनाएको छ । अवैज्ञानिक तरिकाले गरिएका प्लटिङका कारणले घटना घटेको भन्दै सावधानी अपनाउनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

  • कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि

    कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ः०० देखि

    काठमाडौँ, २२ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतदान कार्यक्रम सरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज बिहान १० बजेदेखि हुने भनिएको मतदानको कार्यक्रम दिउँसो १ः०० बजेसम्मका लागि सारिएको जानकारी दिए । उनले मतदानको प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले मतदानको समय सारिएको जानकारी दिए ।


    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली बुधबार राति प्रकाशन गरिएको छ । मतदानका लागि बागमती प्रदेशका मतदाताका लागि राष्ट्रिय सभा गृहमा व्यवस्था गरिएको छ । यस्तै, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश र नेपाली जनसम्पर्क समितिका लागि खुल्लामञ्चमा व्यवस्था गरिएको छ ।

    कोशी र मधेस प्रदेशका लागि खुल्लामञ्चस्थित (तराई मधेस हल), गण्डकीका लागि (हिमाली) हल र कर्णाली, सुदूरपश्चिम र नेपाली जनसम्पर्क समितिका लागि (पहाड) हलमा मतदानको व्यवस्था गरिएको सदस्य सचिव कटुवालले बताए । मतदानस्थलमा मोबाइललगायत निर्वाचन आचारसंहिताले निषेध गरेका कुरा लैजान नपाइने निर्वाचन समितिले जनाएको छ ।