Category: स्थानीय

  • कांग्रेसको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै

    कांग्रेसको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै

    काठमाडौँ, २२ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेदेखि मतदान सुरू हुने निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले जारी गरेको निर्वाचनसम्बन्धी सूचनामा उल्लेख छ । महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।

    यसअघि निर्वाचन समितिले आज बिहान ७ः०० बजेदेखि मतदान सुरू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर भारी वर्षा तथा केही प्राविधिक कारणले मतदानको समय तीन घण्टापछि सारिएको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । मतदानका लागि महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

    निर्वाचन समितिले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रियसभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन् । खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ तोकिएको छ । खुलामञ्चमा रहेको कोशी प्रदेश र तराई–मधेस समूहका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ । त्यस्तै, खुलामञ्चमा रहेको गण्डकी प्रदेशका प्रतिनिधिले हिमाल हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ । खुलामञ्चमा रहेको मधेस प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल तोकिएको छ ।

    लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले खुलामञ्चमा रहेको पहाड हलबाट मतदान गर्नेछन् । निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ । मतदान गर्नुअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ ।

    निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन । प्रतिनिधिले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन् । मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । नयाँ नेतृत्व चयनका लागि हुने मतदानपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । पन्ध्रौँ महाधिवेशनले विधान संशोधन गरेर कांग्रेस केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।

  • बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

    बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

    काठमाडौँ, २१ असोजः भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका परिवारलाई राहत सामग्री वितरण गरिएको छ । गैरसरकारी संस्था स्टार्ट फन्ड एन–नेपालको सहयोगमा एकीकृत मानवीय तथा प्रारम्भिक पुनःप्राप्ति कार्यक्रम मार्फत त्यहाँका बाढी प्रभावित ६० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको ग्रामीणमुखी युवा अभियान (रोयम) नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए ।


    बाढीबाट प्रभावित र विशेष जोखिममा रहेका एकल महिलासहितका परिवारलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत सामग्री वितरण गरिएको उनले बताए । “पहिलो चरणमा प्रभावितलाई राहत स्वरुप जाडोयामका लागि आवश्यक सामग्री, खानेपानी र सरसफाइसम्बन्धी सामग्री वितरण गरिएको छ”, कार्यकारी निर्देशक न्यौपानेले भने, “आगामी हप्ता सोही गाउँपालिका–१ र ५ मा समेत आधारमा राहत सामग्री वितरण गरिनेछ ।”

    युएन वुमनको आर्थिक सहयोग तथा रोयम नेपालको सहजीकरणमा रसुवा र नुवाकोटको विदुर गरी तीन स्थानमा एक महिनादेखि सामुदायिक भान्सा सञ्चालन भइरहेको छ । सामुदायिक भान्सामार्फत बाढी प्रभावित तथा विस्थापित परिवारलाई बिहान चिया–नास्ता, दिउँसो खाना र खाजा तथा साँझको खाना नियमित उपलब्ध गराउँदै आएको गैरसरकारी संस्था रोयम नेपालका प्रशासन तथा वित्त सहायक गोमा विष्टले जानकारी दिए ।


    उनका अनुसार वडा कार्यालयसँगको समन्वयमा सञ्चालन भइरहेको सामुदायिक भान्सामा विपद्बाट प्रभावित परिवारलाई रोजगारी तथा कामको अवसर समेत प्रदान गरिएको छ । रोयम नेपालले बाढी प्रभावित परिवारको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले कम्तीमा ३०० घरपरिवारलाई आर्थिक सहयोग गर्ने योजना बनाएको छ । उनका अनुसार जाडोयामलाई लक्षित गरी एक हजार घरपरिवारलाई सिरक, ब्लाङ्केट, थर्मकोटलगायत न्यानो कपडा तथा तातोपानीका लागि थर्मस र झोला वितरण गर्ने तयारी भइरहेको छ । “प्रभावित परिवारलाई जीविकोपार्जनका लागि आर्थिक सहयोग समेत प्रदान गरिनेछ”, उनले भने ।

    राहत, रोजगारी तथा जीविकोपार्जन सहयोगबाट विपद्बाट प्रभावित परिवारले कठिन परिस्थितिमा तत्काल आयआर्जनको अवसर प्राप्त गरी दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको संस्थाले जनाएको छ । त्यस्तै बाढीका कारण नुवाकोटको विदुर नगरपालिका र रसुवाको उत्तरगया गाउँपालिकामा क्षति पुगेका खानेपानीका पाइपलाइन मर्मतको काम समेत संस्थाले अघि बढाएको रोयम नेपालका व्यवस्थापन संयोजक अनुप खनालले बताए ।


    उत्तरगया गाउँपालिका–२ डाँडागाउँका वडाध्यक्ष टुकु सुवेदीले विपद्का समयमा उपलब्ध गराइएको राहत तथा सहयोगले प्रभावित समुदायको दैनिक जीवनयापनमा महत्त्वपूर्ण सहयोग पुगेको बताए । उनले प्रभावित समुदायको आवश्यकता र अवस्थाका आधारमा आगामी दिनमा पनि सहयोग तथा सहजीकरणलाई निरन्तरता दिन आग्रह गरे । रेन (रेजिलियन्स, एडप्टेसन एन्ड इन्क्लुजन इन नेपाल) कार्यक्रमअन्तर्गत युके इन्टरनेसनल डेभलपमेन्ट (एफसीडीओ) मार्फत स्टार्ट फन्ड एन–नेपालको सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।

    गैरसरकारी संस्था आसमान नेपालको नेतृत्वमा रोयम नेपाल, एलएसीसीओएस र वेल्थहङ्गरहिल्फे (डब्ल्युएचएच)को सहकार्य तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)को निर्देशनमा कार्यक्रम कार्यान्वयन भइरहेको छ । ती संस्थाले बाढी प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइ, स्वास्थ्य, शिक्षा, बाल संरक्षण, मनोसामाजिक सहयोग, पोषण तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

  • रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

    रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

    काठमाडौँ, २१ असोजः नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले गत हप्ता बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गरेका हुन् ।


    नेपाल रेडक्रसले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा प्रभावित क्षेत्रमा कार्यान्वयमा रहेको ‘समुन्नति कार्यक्रम’ मार्फत् सो नगद प्रदान गर्ने जनाएको छ । यसका लागि ती दुई निकायबीचमा सम्झौतासमेत भएको छ ।

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रवहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारीले मङ्गलबार सो सहकार्यमा हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनाल, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ आइएफआरसी नेपाल प्रमुख डेभिड फिसरको उपस्थिति थियो ।

    सम्झौताअनुसार नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित ६३ जिल्लाका लक्षित परिवारलाई प्रतिपरिवार रु एक लाखका दरले नगद सहायता उपलब्ध गराउनेछ । बाढीबाट प्रभावित परिवारका तत्कालीन तथा प्राथमिक आवश्यकता सम्बोधन गर्दै उनीहरूको जीवनयापन सहज बनाउन, पुनर्लाभ तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त सहायता प्रदान गर्न लागिएको महामन्त्री खनालले जानकारी दिए ।


    महामन्त्री खनालले भने, “प्रभावित व्यक्तिहरूको तथ्याङ्क राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट उपलब्ध गराइनेछ । बाढीबाट प्रभावित झन्डै छ हजार परिवार रहेको प्रारम्भिक अनुमान छ । प्राप्त तथ्याङ्क तथा आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही पहिचान गरी सम्बन्धित लाभग्राहीको बैंक खातामा रकम सिधै जम्मा गरिनेछ ।

    यसबाट सहायता वितरण प्रक्रियालाई सहज, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । प्राप्त रकम परिवारले आफ्नो प्राथमिकताअनुसार खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाइ, अत्यावश्यक घरायसी सामग्री, यातायात, सञ्चार तथा जीविकोपार्जनमा आवश्यक काममा प्रयोग गर्न सक्नेछन् ।”

    नगद सहायता प्रदान गर्दा बाढीबाट प्रभावित तथा विशेष जोखिममा रहेका महिला नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, विशेष हेरचाह आवश्यक पर्ने बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा अन्य विशेष आवश्यकता भएका व्यक्ति तथा परिवारलाई प्राथमिकता दिइनेछ ।

    सम्झौतामा उल्लेख भएअनुसार मन्त्रालयको विशेष जिम्मवारी नीतिगत निर्देशन, कार्यक्रमको अनुगमन तथा समन्वय रहनेछ । सम्बन्धित स्थानीय तहले लाभग्राहीको पहिचान, प्रमाणीकरण तथा स्थानीय समन्वयमा सहयोग पुर्याउनेछ भने नेपाल रेडक्रस सोसाइटीले नगद तथा भौचर सहायता वितरण, समुदायसँग समन्वय, अनुगमन तथा जवाफदेहितासम्बन्धी कार्यमा सहयोग गर्नेछ ।

    मन्त्रालयले ‘समुन्नति कार्यक्रम’लाई समावेशी कार्यक्रमका रूपमा कार्यान्वयन गरिरहेको छ । यस कार्यक्रमको उद्देश्य महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्करणमा परेका समूह, विपद् प्रभावित व्यक्ति तथा विशेष आवश्यकता र जोखिममा रहेका अन्य व्यक्ति तथा परिवारलाई सहयोग गर्नु हो ।

    बाढी प्रभावितलाई मानवीय सहायता निरन्तर जारीः नेपाल रेडक्रस

    नेपाल रेडक्रस सोसाइटीले रसुवा भोटेकोशीमा गत भदौ १० गते गएको बाढीले पारेको प्रभाव र मानवीय कार्यहरूको समीक्षासमेत गरेको छ । सो अवसरमा महामन्त्री खनालले बाढीलगत्तैदेखि रेडक्रसले सुरु गरेको मानवीय सहायताको कार्य निरन्तर रहेको जानकारी दिनुभयो । बाढी प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्न नेपाल रेडक्रसले सरोकारवालासँगको साथ र सहयोगका लागि समन्वय गरिरहेको जानकारी दिनुभयो ।

    रसुवा भोटेकोशी बाढीपश्चात् नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरूको कार्य प्रशंसनीय रहेको जनाउँदै आइएफआरसी नेपालका प्रमुख फिसरले बाढी प्रतिकार्यका लागि आइएफआरसीले सहयोगको अपिल गरेको र अपिलअनुसारको आर्थिक सहयोग प्राप्त भइरहेको जानकारी दिए । उनले बाढी प्रभावित क्षेत्रमा प्रतिकार्यका गतिविधि निरन्तर जारी रहने जानकारी दिए ।

    रेडक्रसको अन्तरराष्ट्रिय समिति आइसीआरसी नेपाल प्रमुख सन्देश श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन झोला र बेपत्ता परिवारको खोजीमा नेपाल रेडक्रस सोसाइटीसँग मिलेर काम गरेको बताए । कार्यशालाले आगामी तीन महिनाका लागि गर्नुपर्ने तत्कालीन योजनाको सूची तयार गरेको छ । नेपाल रेडक्रसले प्रभावित क्षेत्रमा बहुउद्देश्य नगद सहायता, आवास, खानेपानी तथा सरसफाइ, मानसिक स्वास्थ्य, सामुदायिक संलग्नता तथा जवाफदेहिता, संरक्षण, लैङ्गिक र समावेशीकरणलगायतका क्षेत्रमा निरन्तर सहयोग जारी राखेको छ ।

  • ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    बाजुरा, २१ असोजः बूढीगङ्गा नगरपालिका–१० का भोलाराम जैसीले विगत तीन वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन् । परम्परागत खेतीभन्दा फरक र बजारमा राम्रो सम्भावना देखेपछि उहाँले उक्त खेतीलाई आम्दानीको प्रमुख माध्यम बनाएका हुन् । गाउँमै आफ्नो जमिन र स्थानीय स्रोतसाधनको उपयोग गर्दै त्यस फलबाट आम्दानी लिन सकिन्छ भन्ने उहाँले उदाहरण प्रस्तुत गरेका छन् । विसं २०६८ देखि २०७४ सम्म मार्तडीमा होटल व्यवसाय गरेका जैसी त्यसपछि गाउँ फर्किए ।


    गाउँ फर्किएपछि ‘हिमानी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ दर्ता गरेर कुखुरापालनसँगै तरकारीखेती सुरु गरे । केही वर्ष कृषि तथा पशुपालनमा लागेपछि फरक र नयाँ प्रकारको व्यावसायिक खेती गर्ने सोच आएपछि उनी ड्रागन फ्रुट खेतीतर्फ आकर्षित भए । “केही नयाँ फरक गर्नुपर्छ भन्ने सोच आयो,” जैसीले भने, “कृषि ज्ञान केन्द्रका तत्कालीन प्रमुख मीनप्रसाद जैसीको सुझावमा अनुदानमा ड्रागन फ्रुटखेती सुरु गरेँ ।”

    सुरुमा परीक्षणका रूपमा केही बिरुवा लगाएर उक्त खेती सुरु गरेका जैसीले उत्पादन राम्रो हुन थालेपछि त्यसलाई विस्तार गरेका हुन् । हाल उनले पाँच रोपनीमा ड्रागन फ्रुटका एक हजार ४०० बिरुवा लगाएका छन् । ड्रागन फ्रुटका बिरुवाले दुई वर्षमै फल दिन थालेपछि जैसीको उत्साह थपिएको छ । गत वर्ष करिब छ क्विन्टल ड्रागन फ्रुट बिक्री गर्नुभएको उनदे यस वर्ष भने उत्पादन बढेको बताए । “जेठ महिनादेखि फल्न सुरु हुन्छ र असोजसम्म यसको सिजन हुन्छ,” उनले भने, “गत वर्ष करिब छ क्विन्टल बिक्री भएको थियो । यस वर्ष हालसम्म १५ क्विन्टल बिक्री गरिसकेको छु । अझै केही पाक्ने क्रममा छ ।”

    जैसीका अनुसार ड्रागन फ्रुटको बिक्रीबाट वार्षिक रु पाँचदेखि छ लाखसम्म आम्दानी भएको छ । उत्पादित फल बिक्रीका लागि बजारको समस्या नरहेको उनको भनाइ छ । मार्तडी बजारसँगै अछामको साँफेबगरसम्म पुर्याएर बिक्री गर्दै आएका छन् ।


    उत्पादन बढ्दै गएमा आम्दानी बढाउन सकिने उहाँको भनाइ छ । जैसीका अनुसार राम्रो मलजल र व्यवस्थापन गर्न सके एउटा बोटले २५ वर्षसम्म उत्पादन दिन सक्छ । “ड्रागनखेतीमा सुरुमा केही लगानी र मेहनत चाहिन्छ,” उनले भने, “तर अन्य बालीजस्तो धेरै सिँचाइ आवश्यक पर्दैन । गाईवस्तुको मल प्रयोग गर्न सकिन्छ र समय–समयमा काँटछाँट गरे पुग्छ ।” जैसीको ड्रागन फ्रुटखेती अहिले बाजुरामा कृषि सम्भावनाको एउटा उदाहरण बनेको छ । जिल्लामै ठूलो क्षेत्रफलमा खेती गर्ने उहाँ पहिलो कृषक हुन् । अन्य स्थानमा केही वर्षअघि खेती सुरु भए पनि व्यावसायिक हुन सकेको छैन ।

    बाजुरामा कृषियोग्य जमिन भए पनि परम्परागत बालीबाट मात्र पर्याप्त आम्दानी गर्न कठिन हुने अवस्था छ । यहाँ करिब ८० प्रतिशत खेतीयोग्य जमिनमा हालसम्म सिँचाइ सुविधा पुगेको छैन । वर्षभरि लगाएको खेतीले छ महिना पनि खान पुग्दैन । कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०७९÷८० मा जैसीसहित जिल्लाका चार किसानलाई ५० प्रतिशत लागत साझेदारीमा ड्रागनखेती सुरुआत गरिएको थियो ।

    केन्द्रका बागवानी विकास अधिकृत सृष्टि ढुङ्गानाका अनुसार १०० देखि एक हजार ५०० मिटर उचाइसम्म ड्रागनखेती हुन्छ । “नयाँ बाली भएकाले यहाँ थोरै किसान मात्रै व्यावसायिक खेतीमा हुनुहुन्छ,” उनले भने, “जिल्लामा ड्रागन फ्रुटको सम्भावना प्रशस्त रहेको छ । मेहनतका साथ लाग्न सके राम्रो आम्दानी गर्न सकिन्छ ।”

  • बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

    बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

    म्याग्दी, २१ असोजः मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक कटान गर्नुका साथै दुखुबेँसी गाउँ जोखिममा परेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीपछिको बाढीले बालौटेमा मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पश्चिम म्याग्दीको लाइफलाइन (भाग्यरेखा) मानिएको बेनी–दरवाङ सडकमा क्षति पुग्नुका साथै बस्तीमा जोखिम बढेको हो । नदीले कटान गरेपछि दुखुबेँसीको फेदीमा रहेको सडक भत्किएर बस्तीको नजिकै पहिरो पुगेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए ।


    “अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गराउँदा कटान भएर सडक भत्किँदा बेनी–दरवाङ सडकमा यातायात सेवा प्रभावित बनेको छ”, उनले भने, “दुखुखोलामा ह्युम पाइप राखेर तत्काललाई दुखुबेँसी हुँदै तोलावाङ जोड्ने वैकल्पिक सडक सञ्चालन गरे पनि दिगो समाधानका लागि सडक मर्मत र बस्ती संरक्षणको विकल्प छैन ।”

    साँघुरो, कच्ची अवस्थाको ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन एकापसमा पास हुने पर्याप्त ठाउँ छैन । कतिपय ठाउँमा सवारीसाधन भुइँमा ठेक्किन्छन् । ह्युम पाइप राखिएको ठाउँमा बाढी आएर बगाउने जोखिम पनि उत्तिकै छ । बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्ने यो सडक निकै व्यस्त हुन्छ । म्याग्दीखोला बेसिनमा निर्माणाधीन छवटा जलविद्युत् आयोजनाका निर्माण सामग्री र उपकरण ढुवानी गर्ने सवारीसाधनको चाप पनि यो सडकमा छ ।

    गण्डकी प्रदेश सरकार मातहतको बेनी–दरवाङ सडक स्तरोन्नति आयोजना सञ्चालन गरिरहेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकका अनुसार करिब १०० मिटर दूरीमा कालोपत्र डिलदेखि कुनासम्मै सडकको पूरै भाग भत्किएको छ । सडक भत्किएको ठाउँमा पैदलयात्रा गर्न पनि जोखिम छ । खोलाको किनारदेखि पक्की पर्खाल उठाएर सडकलाई पुनर्निमाण गर्नुपर्ने कार्यालय प्रमुख उलकले बताए । डिलतिर ठाउँ छैन, भित्ता काटेर सडक बनाउँदा बस्तीलाई जोखिम हुन्छ । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले पहिरोका कारण करिब १४० घरपरिवारको बसोबास रहेको दुखुबेँसी गाउँलाई जोखिम बनाएको बताए ।


    कटान रोकथाम, सडक सञ्चालन र बस्ती संरक्षणको काम गर्नुपर्ने दुखुबेँसीका बासिन्दाको भनाइ छ । बेनी–दरवाङ सडकको पछिल्लोपटक चुनौती बनेको बालौटे खण्डको सडक पुनर्निर्माणको काम अघि बढाउन मङ्गलबार म्याग्दी १ ९२० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन), गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नवराज शर्मा, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँको टोलीले निरीक्षण गरे ।

    सांसद जुग्जालीले यातायात सञ्चालन, सडक पुनर्निर्माण, कटान नियन्त्रण र बस्ती संरक्षणको कामलाई समानान्तर रुपमा अघि बढाउन प्रस्ताव गरे । तत्काल बस्तीलाई असर नपुग्ने गरी सडक पुनर्निर्माण गरी दसँैअघि सवारी सञ्चालन गर्ने र आगामी बर्खाअघि नै नदी नियन्त्रण गर्नुपर्ने जुग्जालीले बताए ।


    सचिव शर्माले पूर्वाधार विकास कार्यालयले सडक मर्मत शीर्षकको मौजुदा र अख्तियारीप्राप्त भएको बजेटमार्फत ग्यावियन जाली खरिद र मजदुरको ज्यालाको व्यवस्थासँगै थप बजेटको प्रक्रिया अघि बढाउने, मन्त्रालयले स्रोतको व्यवस्थापन गर्ने, गाउँपालिकाले नदीजन्य निर्माण सामग्री उपलब्ध गराउने र छिटो काम गर्नका लागि जलविद्युत् आयोजनाहरूका उपकरण परिचालन गर्ने समझदारी बनेको बताए । मन्त्रालयले प्रदेश सरकार मातहतका गण्डकीका अन्य जिल्लाका विपद्बाट क्षतिग्रस्त सडक आयोजनालाई पनि तत्काल मर्मत गरी सञ्चालनका लागि बजेटको अभाव हुन नदिने र कतिपय जिल्लामा काम भइरहेको सचिव शर्माले बताए ।

  • दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

    दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

    काठमाडौँ, २० असोज : जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रु दुई लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले आज प्रसाईंलाई रु दुई लाख धरौटी लिएर छाड्न आदेश दिएको हो । अदालतका सूचना अधिकारी शिव खतिवडाले प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश भएको राससलाई जानकारी दिए ।

    विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई असोज १२ गते पक्राउ गरेको थियो । प्रहरीले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै प्रसाईं विरुद्ध मुद्दा दर्ता गरेको थियो । सोही मुद्दामा जिल्ला अदालत काठमाडौँले आज धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

  • कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

    कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

    काठमाडौँ, २० असोजः नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरको उम्मेदवारी परेको छ । यसैगरी वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापति (महिला) मा पुष्पा भुसालले मात्र उम्मेदवारी दर्ता गराउनुभएको छ । उपसभापति खुलामा डा चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा चन्द्रमोहन यादवको उम्मेदवारी परेको छ ।

    समावेशी उपसभापतिमा जीवन परियार, बिनोद चौधरी, फर्मुल्लाहा मन्सुर, सीता गुरुङ र रन्जित कर्णको उम्मेदवारी परेको छ । खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदय शमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शङ्कर तिवारी, डा सुनिल शर्मा र डा सन्तोष उपाध्यायले उम्मेदवारी दर्ता गराए । महामन्त्री महिलामा डा डिला संग्रौला, डिना उपाध्याय र रिता खनालको उम्मेदवारी परेको छ । सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक–एक जना, खुला उपसभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँच जना, खुला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको हो ।

  • बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

    बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

    सुनसरी, २० असोजः नदी, पोखरी, तालतलैया, सिमसार तथा चुरे क्षेत्रका खोल्सामा सहजै देखिने कछुवा पछिल्लो समय प्राकृतिक बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै गएको छ । पानीका स्रोत तथा सिमसार अतिक्रमण, अवैध सिकार तथा जल प्रदूषणका कारण कछुवाको सङ्ख्या घट्दै गएको संरक्षणकर्मीको भनाइ छ ।

    कछुवा तथा सरिसृपसम्बन्धी विषयमा विद्यावारिधि गरिरहनुभएका अनुसन्धानकर्ता अस्मित सुब्बाले कछुवा संरक्षणलाई एउटा जीव वा प्रजाति बचाउने विषयका रूपमा मात्र लिन नहुने बताए । कछुवा बाँच्ने पानी, नदी किनार, अण्डा पार्ने बालुवा वा माटो, घाम ताप्ने स्थान, आहारा तथा आसपासको हरियाली जोगाउनसके मात्र संरक्षण प्रभावकारी हुने उनको भनाइ छ ।

    “कछुवा संरक्षणका लागि त्यसको बासस्थानसँग जोडिएको पानी, जमिन र हरियालीलाई संरक्षण गर्नु आवश्यक छ”, उनले भने, “सरिसृप वर्गमा पर्ने कछुवाका लागि पानीसँगै सुरक्षित नदीकिनार, अण्डा पार्ने स्थान, घाम ताप्ने ठाउँ, आहारा र प्राकृतिक वनस्पति आवश्यक पर्छ ।” कतिपय कछुवाका प्रजाति पानीमा बढी समय बिताए पनि प्रजननका क्रममा नदी किनारका सुरक्षित स्थान खोज्ने गर्छन् । प्राकृतिक पोखरी तथा जलाशय मासिँदै जानु, सिमसार पुरिनु, नदी किनारमा अव्यवस्थित संरचना निर्माण हुनु तथा आसपासका वनस्पति हटाइनुले कछुवाको प्रजनन र जीवनचक्रमा असर गर्ने सुब्बाको भनाइ छ ।

    सिमसारले वर्षाको पानी सञ्चय गर्ने, जमिनमुनिको पानी पुन भरण गर्ने, बाढीको प्रभाव घटाउने तथा विभिन्न जीवजन्तु र वनस्पतिलाई बासस्थान उपलब्ध गराउने भएकाले कछुवा संरक्षणलाई सिमसार संरक्षणसँगै अघि बढाउनुपर्ने उनको भनाइ छ। पूर्वी नेपालमा पाइने नरम खबटे कछुवाका केही प्रजाति गहिरो नदी, जलाशय तथा सिमसारमा निर्भर हुने भएकाले बासस्थानमा हुने परिवर्तनबाट बढी प्रभावित हुने गरेका छन् । नदी तथा सिमसारमा विष वा करेन्ट प्रयोग गरेर माछा मार्दा कछुवासहित अन्य जलचर प्रभावित हुने गरेका छन् ।

    माछा मार्ने क्रममा जाल तथा बल्छीमा परेका कछुवा घाइते हुने, निसासिने वा मर्ने जोखिम गरेको अनुसन्धानकर्ता सुब्बाले जानकारी दिए । ठूलो बासस्थान ससाना क्षेत्रमा विभाजन हुँदा आहारा खोज्न, प्रजनन गर्न र सुरक्षित स्थानमा पुग्न कछुवालाई कठिन हुने तथा सडक पार गर्ने क्रममा सवारीसाधनको चपेटामा पर्ने उत्तिकै जोखिम छ । उनले भने, “यो ढिलो बढ्ने र वयस्क अवस्थामा पुग्न लामो समय लाग्ने भएकाले सङ्ख्या घट्दै गए पुरानै अवस्थामा फर्किन पनि समय लाग्छ ।”

    पूर्वी तराईको चारकोसे झाडी क्षेत्रमा बस्ती विस्तार, कृषि, सडक तथा अन्य पूर्वाधार विस्तार हुँदा प्राकृतिक जीवन खण्डित भएको छ । वनसँग जोडिएका पोखरी, खोल्सा, नदीकिनार र सिमसारमा हुने परिवर्तनले त्यहाँ आश्रित जलचर तथा वन्यजन्तुलाई असर पारेको छ । सरिसृप तथा उभयचरसम्बन्धी विषयमा विद्यावारिधि गर्नु भएका प्राध्यापक डा कालुराम खुम्बुले कछुवा संरक्षणलाई एउटा प्रजातिमा मात्र सीमित नगरी समग्र बासस्थान संरक्षणका रूपमा अघि बढाउनुपर्ने बताए । “कछुवाको अवस्था बुझ्न अनुसन्धान, तथ्याङ्क सङ्कलन तथा बासस्थानको नियमित अध्ययन आवश्यक छ”, उनले भने ।


    कछुवाका विभिन्न प्रजातिले वनस्पति, कीरा, माछा तथा अन्य जैविक पदार्थ खाने भएकाले खाद्य शृङ्खलामासमेत भूमिका खेल्ने प्राध्यापक खुम्बुको भनाइ छ । गाउँका पोखरी, खेती नजिकका जलाशय, नदी किनार र सिमसार संरक्षण गर्नसके कछुवाको बासस्थान जोगाउन सकिने उनले बताए ।


    स्थानीयले कछुवाका अण्डा तथा बच्चा सङ्कलन नगर्ने, अवैध सिकार तथा व्यापार रोक्न सहयोग गर्नु आवश्यक छ । यस्तै, विष र करेन्ट प्रयोग गरी माछा मार्ने कार्यलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै प्राकृतिक पोखरी र सिमसार पुर्ने कार्य रोक्नसके कछुवा संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताए ।

    कछुवाको शरीरलाई कडा खपटाले ढाकेको हुन्छ । यो पानी वा जमिनमा बस्ने गर्छ । यसको आकार, आहार तथा जीवनशैली पनि फरकफरक हुने यसका जानकारहरुको भनाइ छ ।

  • बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

    बागलुङ, २० असोजः बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै रु ५० करोड बराबरको क्षति भएको छ । सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय र सहायक राजमार्ग तथा पूर्वाधार विकास कार्यालयअन्तर्गतका प्रदेशस्तरीय सडक पूर्वाधारमा क्षति भएको आकलन गरिएको छ । ती सडकलाई दीर्घकालीन रुपमा निर्माण गर्न रु एक अर्ब बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

    विवरणअनुसार, सबैभन्दा बढी क्षति मध्यपहाडी लोकमार्गको निसी र गलकोट खण्डमा भएको छ । यस्तै, प्रदेश सरकारअन्तर्गतको गलकोट–हरिचौर–ताराखोला खण्डमा क्षति पुगेको छ । सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, बागलुङ–बेनी सडकलगायतका राजमार्गमा रु ३० करोडको क्षति भएको छ ।

    मध्यपहाडी लोकमार्गको निसीखोलाको कानाबगर र झिवाखोला क्षेत्रमा ४०० मिटर सडकको ट्रयाक बगाउँदा बगरमा परिणत भएको छ । यस्तै घोडाबाधेदेखि हटियासम्मको लोकमार्गको सडक खण्डमा दर्जन बढी स्थानमा पहिरो गएको छ । कालीगण्डकी करिडोरको कालाखोला बगर, बेलबगर र जैमिनीघाटलगायत स्थानमा क्षति पुगेको छ । बागलुङ बजारहुँदै सिगाना जाने सडक तथा बागलुङ बजारदेखि तित्याङ जाने सडकमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ ।

    यस्तै, पूर्वाधार विकास कार्यालय बागलुङको प्रारम्भिक तथ्याङ्क अनुसार प्रदेश सरकार मातहतमा काम भइरहेका क्षेत्रीय सडकमा रु २० करोडको क्षति भएको अनुमान गरिएको छ । कार्यालयका प्रमुख अनुप थापाका अनुसार सबैभन्दा बढी क्षति हरिचौर–ताराखोला सडकमा भएको छ । उनले आठ किलोमिटर लामो सडकको एक दर्जन स्थानमा पहिरो खसेको छ ।

    यस्तै शालग्राम सङ्ग्रहालय–मालिका–पञ्चकोट सडक तथा कुश्मिसेरा–राङ्खानी सडकमा क्षति पुगेको छ । “तथ्याङ्क सङ्कलनका क्रममै छौँ, सडक पूर्वाधारमा रु २० करोड बराबरको क्षतिको अनुमान गरिएको छ”, थापाले भने, “ठेक्काको अवधि बाँकी रहेको हरिचौर–ताराखोला सडक पुननिर्माणका लागि ठेकेदारलाई पत्र पठाएका छौँ ।”

  • महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो

    महोत्तरी, २० असोजः चाडपर्व सुरु हुनै लागेपछि महोत्तरीका ओल (माटोमुनि फल्ने मधेसको खास तरकारीबाली) किसानको व्यस्तता थप बढेको छ ।
    दसैँ, तिहार र छठलगायत चाडबाड नजिकिँदै गर्दा अहिलेदेखि नै ओल खन्न र भण्डारण गर्न स्थानीय किसान लागेका छन् । खनेर थुपारेको ओल महिनौँसम्म ताजा रहन्छ ।

    “अहिले खेतीपातीको अन्य धपेडी छैन, नवरात्र लागेपछि चाडबाडको तयारीमा लाग्नपर्छ । त्यसैले ओल खन्न लागेका छौँ”, भङ्गाहा–४ रामनगरका किसान रामसागर यादव भन्छन्, “अहिले खनेर राखे दशहारा, दीपावली र छठका बेला बजार पु¥याउने काममात्र रहन्छ ।” यादव जस्तै उनका छिमेकी हशन कवारी, चन्देश्वर राय दनुवार र उपेन्द्र यादव ओल खन्ने तयारीमा छन् ।


    मधेसमा ओल धनीमानीले खाने तरकारीका रुपमा मानिन्छ । यसको मूल्य अन्य तरकारीको तुलनामा बढी पाइने र उत्पादन पनि राम्रो हुने भएकाले महोत्तरीको उत्तरवर्ती क्षेत्रका किसानको रोजाइको बाली बनेको छ । जिल्लाका भङ्गाहा, बर्दिवास र गौशाला नगरक्षेत्रका बस्तीमा यसको खेती गरिएको छ । बलवा नगरपालिकाको धमौरा, लोहारपट्टी र मटिहानी नगरपालिकाका अधिकांश बस्तीका किसानले खेती गरेका छन् ।

    “व्यापारी घरमा आउने गरेका छन्, नआए पनि बजार पु¥याएपछि बिक्री भइहाल्छ”, बलवा–१० धमौराका नविजान कवारी भन्छन्, “राम्रो भाउ पाउनेबेला पारेर बेच्न सकिन्छ ।” एक कठ्ठामा १० क्विन्टलसम्म ओल फल्ने स्थानीय किसानको भनाइ छ । मधेसमा ओलको तरकारी, चटनी, अचार र तरुवा प्रसिद्ध परिकार मानिन्छ । पहिले रैथाने ओल हुनेखानेको भान्सामा मात्र पुग्थ्यो । अरु तरकारीभन्दा निकै महगो भएकाले यो धनीले मात्र खान सक्ने मानिन्थ्यो ।

    बजार भाउ र उत्पादन राम्रो हुने गरे पनि महोत्तरीमा यो खेती अझै व्यावसायिक बन्न सकेको छैन । यहाँका किसानले मुख्य खेतीका रुपमा ओललाई अझै स्वीकार गर्न नसकेको भङ्गाहाका कृषि शाखा प्रमुख सन्तोष कार्कीको भनाइ छ । किसानले यो खेतीका लागि व्यावसायिक चासो देखाए सुलभ मूल्यमा राम्रो बीउ, प्राविधिक रेखदेख र टाढाका बजारसँग आवश्यक समन्वय प्रबन्ध कृषि शाखाले गर्ने उनको भनाइ छ । पछिल्ला केही वर्षदेखि ओलखेती क्रमशः बढ्दै गएको र केही किसान प्रत्यक्ष सम्पर्कमा आएका उनले बताए ।


    थोरै सिँचाइमा पनि हुने र अन्य तरकारी बालीलेभन्दा बढी वर्षा खेप्नसक्ने भएकाले यसको खेती सहजै गर्न सकिने स्थानीय किसानको भनाइ छ । थोरै लगानी र कम मेहनतमा राम्रो उत्पादन लिन सकिने गौशाला–१० लक्ष्मीनियाँका किसान लक्ष्मीप्रसाद महतोको भनाइ छ । अन्य बालीभन्दा घामपानी खप्नसक्ने र लामो समयसम्म घरमा भण्डारण गर्न सकिने हुनाले ओल सजिलो र आम्दानीको दृष्टिले भरपर्दो रहेको बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतो बताउँछन् । दुई वर्ष पहिलेसम्म सम्पर्कमै नआउने यहाँका किसान अब भने ओलखेतीबारे सल्लाह लिन थालेकोे कृषि कार्यालयका फलपूmल विज्ञ तथा सूचना अधिकारी अविरलकुमार महतोको भनाइ छ ।

  • चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

    चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

    खोटाङ, २० असोजः दसैँरतिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ । जिल्ला सुरक्षा समिति खोटाङले सोमबार दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको सर्वदलीय÷सर्वपक्षीय भेलामा सहभागी सरोकारवाला निकाय तथा राजनीतिक दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय खोटाङले आसन्न चाडपर्वलाई लक्षित गरेर जिल्लामा सुरक्षा व्यवस्थालाई कडाइका साथ पालना गर्ने प्रतिबद्धता जनाएको छ । जिल्लाभित्र गस्तीको दर बढाउने, आपराधिक गतिविधि हुनसक्ने स्थानको सूक्ष्म निगरानी गर्ने तथा सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउनेछ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले बजार क्षेत्रमा यातायात जोखिम न्यूनीकरणका लागि ट्राफिक नियमलाई कडाइका साथ पालना गर्ने÷गराउने प्रतिबद्धता जनाएको छ । बजार क्षेत्र तथा यात्रुको बढी भीडभाड हुने ठाउँमा नियमित गस्ती गर्ने, यात्रुलाई सूचनामूलक सन्देश प्रवाह गर्ने, चालकले मादक पदार्थ वा लागू पदार्थ सेवन गरे÷नगरेको जाँच गर्नेछ ।

    सर्वपक्षीय भेलामा जिल्लास्थित सबै राजनीतिक दलले शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने÷गराउने प्रतिबद्धता जनाएका छन् । चाडपर्वका समयमा जिल्लामा भए÷गरेका आपराधिक घटनाका बारेमा सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालय खोटाङलाई आधिकारिक सूचना उपलब्ध गराउने र रचनात्मक सल्लाह प्रदान गर्ने छन् ।

    खोटाङ उद्योग वाणिज्य सङ्घले उपभोक्ताका आधारभूत अधिकार सुनिश्चित गर्न वस्तु तथा सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्ने÷गराउने विश्वास दिलाएको छ । भेलामा नेपाल पत्रकार महासङ्घ खोटाङ एवं जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीले यातायात व्यवसायी, यात्रु तथा उपभोक्ताको कर्तव्य र अधिकारसम्बन्धी सूचना सम्प्रेषण गर्ने÷गराउने प्रतिबद्धता जनाएका छन् ।

    होटल व्यवसायी सङ्घ खोटाङले आधारभूत मापदण्डको अनिवार्य पालना गर्दै यात्रु तथा उपभोक्तालाई गुणस्तरीय एवं उचित मूल्यमा खाना तथा बासको व्यवस्था मिलाउने छन् । जिल्लामा सञ्चालित होटल सञ्चालकले खाना तथा बासको आफूखुसी मूल्य राख्ने र उपभोक्तालाई ठगी गरेको गुनासो आएपछि त्यसलाई न्यूनीकरण गर्न होटल व्यवसायी सङ्घ प्रतिबद्ध भएको हो ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङ तथा जिल्लास्थित विभिन्न यातायात व्यवसायी सङ्घले सुरक्षित र मर्यादित यातायात सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । चालक तथा सहचालकलाई शिष्ट र मर्यादित व्यवहारका लागि प्रशिक्षण दिने, यात्रुलाई अनिवार्य टिकट दिने र चलान गर्ने, चालक तथा सहचालकले मादक पदार्थ सेवन नगर्ने÷नगराउने, तोकिएको स्थानबाट मात्र यात्रु चढाउने र ओराल्ने प्रतिबद्धता जनाएका हुन् ।

    प्रमुख जिल्ला अधिकारी गणेशकुमार गुरुङको कार्यकक्षमा आयोजित भेलामा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, यातायात तथा होटल व्यवसायी, पत्रकारलगायतको उपस्थिति थियो । सर्वपक्षीय भेलाले चाडपर्वका अवसरमा शान्तिसुरक्षा कायम गर्न जिल्लास्थित १० वटै स्थानीय तहसँग समन्वय गर्ने निर्णय गरेको छ ।

  • पहिरोले खोसेको जलेश्वरवासीको सपना

    पहिरोले खोसेको जलेश्वरवासीको सपना

    म्याग्दी, २० असोजः बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालका परिवारले पछिल्लो आठ दिनयता गलेश्वर मन्दिरको धर्मशालामा रात कटाउने गरेका छन् । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार नजिकैको जलेश्वर डेढ वर्षअघि सडक विस्तारका क्रममा सिर्जित पहिरोबाट थप चपेटामा परेको थियो । बस्ती मुनी बेनी–जोमसोम–कोरला सडक निर्माण भएको छ । यही असोज ८ देखि ११ गतेसम्मको चार दिने झरिपछि बस्ती माथिको राहुवडाको पाखोबाट खस्न थालेको पहिरोका कारण घर छाडेर धर्मशालामा आश्रय लिनुपर्ने अवस्था आएको स्थानीयको भनाइ छ ।

    “हाम्रा पुर्खाले ३० रोपनी जमिनमा बसाएको बस्तीलाई विस २०५४ मा खुलेको बेनी–गलेश्वर सडक विस्तारका क्रममा सिर्जना भएको पहिरोले १५ रोपनीमा खुम्चाएको थियो”, इन्द्र बरुवालले भन्े, “राहुवडाको पहिरोले हाल छ घरपरिवारको बसोबाससमेत रहेको लेयर्स र ब्रोइलर कुखुरा, गाईभँैसी र बाख्रापालनको केन्द्र बन्न थालेको जलेश्वरको उठिबास लगाएको छ ।”

    चक्र बरुवाल, भूमिराज बरुवाल र सूर्य नगरकोटीको घरभित्र हिलो पसेर बस्न नमिल्ने अवस्था छ । इन्द्र र चक्र बरुवालको तीन हजार २०० कुखुरा पाल्न सक्ने क्षमताको दुई वटा खोरभित्र पसेको पहिरोले एक हजार ५०० बिक्रीका लागि तयार भएका ब्रोइलर कुखुरा नष्ट भएको छ । भवन भत्किएर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । इन्द्र र मुक्ति बरुवालको घरमा आंशिक क्षति पुगे पनि बस्न मिल्ने अवस्था छैन् । घरभित्र पसेको हिलोले लत्ताकपडा, कागजात, भाँडाकँुडा, अन्नपातदेखि बालबालिकाको कापी किताब नष्ट गरिदिएको छ । घरभरी पहिरो थुप्रिएपछि केहीले बेनी बजारमा डेरा खोजेर बस्न थालेका छन् ।

    “वर्षौंको मेहनत र सङ्घर्षपछि बनाएको घर छाडेर धर्मशालामा आश्रय लिएर रात कटाउनुपर्दा पीडा भएको छ”, चक्र बरुवालले भन्े, “पहिरोले हामीलाई घरबास मात्र नभई रोजगारी र आम्दानीको आधार बनेको पोल्ट्री फार्मका सबै संरचना भत्कायो । ती संरचना पुरेपछि जीवन जिउने आधार पनि खोसिदिएको छ ।”

    सुन्तला र केराका बगैँचा पहिरोमा पुरिएको छ । साँझ गलेश्वर धर्मशालामा गएर सुत्ने जलेश्वरवासी पाखोमा चिराचिरा परेर धाजा फाटेको जमिनका कारण जुनसुकैबेला थप पहिरो खस्ने जोखिम देखिएपछि घर फर्कने सम्भावना देखेका छैनन् । दिउँसो आएर घरभित्र पुरिएका सामान खोज्ने र सफा गर्ने जलेश्वरवासीको दिनचर्या बनेको छ । पहिरो जानुअघि उनीहरु कुखुरा, गाईभँैसी र बाख्राको स्याहारसुसार, दानापानीमा व्यस्त हुन्थे ।

    बेनी बजार नजिक भएकाले पछिल्लो समय जलेश्वरमा कुखुरापालन र दूध उत्पादन व्यवसाय फस्टाउँदै गएको थियो । फार्ममा क्षति पुगेकाले विस्थापित परिवारको आम्दानीको आधार गुमेको छ । व्यावसायिक भविष्य अन्योलमा पारेको छ । “हाम्रो घरमात्रै जोगाउने कुरा होइन”, मुक्ति बरुवालले भन्े, “पूरै बस्ती सुरक्षित हुनेगरी योजना बनाउनुपर्छ । यहाँ बस्नै नसकिने अवस्था आयो भने हामी कहाँ जाने ?” बस्तीको माथिल्लो भागबाट आउने पहिरो र तल्लो भागमा कालीगण्डकीको कटान नियन्त्रण गर्न तत्कालीन तथा दीर्घकालीन उपाय खोज्नुपर्ने बरुवालले बताउ ।
    उनीहरूलाई तत्काल सुरक्षित आश्रयसँगै दीर्घकालीन पुनःस्थापनाको चिन्ता छ ।

    कालीगण्डकीको कटान, सडक निर्माणका क्रममा भएको भू–क्षय र माथिल्लो क्षेत्रबाट खस्ने पहिरोको जोखिमलाई एकीकृत रूपमा व्यवस्थापन नगरे जलेश्वरको समस्या तत्काल टर्ने अवस्था नदेखिएको भूगर्भविद् चम्पकबाबु सिल्वालले बताउ ।
    बेनी नगरपालिकाका प्रमुख शुरत केसीले पछिल्लो विपद्ले जिल्ला सदरमुकाम बेनी बजारको न्युरोडसहित पालिकाका धेरै बस्ती जोखिममा परेको तथा क्षति भएकाले भू–गर्भविद्को टोली बोलाएर अध्ययन गरिएको बताउ । अध्ययन टोलीको सिफारिस र सुझावअनुसार बजेट जुटाएर बस्ती संरक्षण, पुनर्निर्माण र पुनःस्थापनाका योजना अघि बढाइने नगर प्रमुख केसीको भनाइ छ ।

  • बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

    बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ

    काठमाडौँ, २० असोजः प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा बाँकेका दीपेन्द्र शाही रहेका छन् । उनलाई काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा शाहीलाई पक्राउ गरिएको परिसरका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए । प्रहरीका अनुसार शाहीविरुद्ध रु एक करोड ५० लाख बिगो रकम कायम गरिएको बैंकिङ कसुर मुद्दा रहेको छ । पक्राउ परेका शाहीलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

  • बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी

    म्याग्दी, २० असोजः पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला अन्र्तगत म्याग्दी खण्डको मर्मत धमाधम भइरहेको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हँुदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक असोज दोस्रो साताको बर्सातपछिको बाढीपहिरोले ५० भन्दा बढी ठाउँमा अवरुद्ध बनेको थियो । दश ठाउँमा कालीगण्डकीले सडक कटान गरेर बगाएको र भत्काएको छ ।

    बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्न सकिने गरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर खण्डको करिब १२ किलोमिटर दूरीमा धमाधम मर्मत कार्य भइरहेको जानकारी दिए । “वर्षा रोकिनेबित्तिकै असोज १२ गतेदेखिनै कोरला नाकातर्फबाट म्याग्दीको भुरुङ्ग–तातोपानीसम्म दुई दिनमै मर्मत गरेका थियौँ”, उनले भने, “मालढुङ्गातर्फबाट बेनी बैसरी हँुदै कुनौटासम्म करिब २५ किलोमिटर सडक सोमबार साँझसम्म मर्मत सकिएको छ ।”

    कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब दुई सय ५० मिटर सडक कटान गरेको छ । सडक कटानपछि पैदल आवतजावतसमेत कठिन बनेको कुनौटो क्षेत्र मर्मत कार्यका लागि चुनौतीपूर्ण मानिएको छ । सुरुआती चरणमा रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग बनाउन र इन्धन अभावको चुनौती थियो ।

    राहुघाटको विद्युत्गृह अगाडि सडक मार्ग खुलाउने काम सकिएको, नेपाली सेना, स्वयंसेवक र ड्रोनको सहायताले ढुवानी तथा सापटी मागेर इन्धन व्यवस्थापन गरिएकाले कुनै समस्या नरहेको आयोजनाले जनाएको छ । “कुनौटाभन्दा माथि सडक मर्मतका लागि आवश्यक इन्धन मानिसले बोकेर लैजान सम्भव नभएपछि सोमबार नेपाली सेनाको टोली र ड्रोनको सहायतामा पहिरो तारेका छौँ”, आयोजना प्रमुख शर्माले भने, “छ पटकको उडानबाट चार सय लिटर डिजेल कटान क्षेत्र पार गराइएपछि कुनौटाभन्दा माथि पनि सडक मर्मतमा सहज भएको छ ।”

    अन्नपूर्णको पोखरेबगर, रातोपानीमा सडकको नयाँ ट्रयाक खोलेर महभिर र भिरकाटे खण्डमा पनि काम भइरहेको छ । अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा दुई ठाउँमा गरेर करिब दुई सय पचास मिटर सडक कटान गरेको स्थानमा नयाँ ट्रयाक खोलिएको छ । पोखरेबगरको कालीगण्डकी पुलको पहुँचमार्ग निर्माणमा मजदुर परिचालन भएका छन् । सडक विभाग र निर्माण व्यवसायीका १५ वटा स्काभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरेर सडक निर्माणको कामलाई तीव्रता दिइएको सङ्घीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताए ।

    “सडक विभाग र निर्माण कम्पनीले अवरुद्ध सडक खुलाउन सबै ठाउँमा समानान्तर रूपमा काम गरिरहेका छन्,” उनले भने, “यसै साताभित्र सडक मर्मत सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ ।” रसुवा र तातोपानी नाका बन्द रहेकाले चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण बनेको उनले बताए । कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ । मुस्ताङको स्याउ बजार पठाउने समय पनि सुरु भएको छ । दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय नजिकिएको छ । पर्यटकीय यामसमेत सुरु भएकाले बेनी–जोमसोम सडक छिटो सञ्चालनमा ल्याउन दबाब बढेको छ ।

  • कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

    कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय


    काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज खुलामञ्चमा भएको बन्दसत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान पारित गरेको हो । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित विधानमा केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था छ ।

    विधानअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक र उपसभापति चार जना रहनेछन् । चार उपसभापतिमध्ये एक जना महिला अनिवार्य गरिएको छ । महामन्त्री तीन जना रहनेछन्, जसमा एक जना महिला अनिवार्य गरिएको छ । सहमहामन्त्री १५ जना रहनेछन् । कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट एक जना मनोनीत हुनेछन् । केन्द्रीय सदस्यमा खुलातर्फ ४५, महिलातर्फ १५ तथा प्रत्येक प्रदेशबाट एक महिलासहित चार जना रहनेछन् । काठमाडौँ उपत्यकाबाट एक महिलासहित दुई जना रहने व्यवस्था गरिएको छ ।

    दलिततर्फ पाँच महिलासहित १४, आदिवासी जनजातितर्फ आठ महिलासहित २०, खस आर्यतर्फ आठ महिलासहित १८ र मधेसीतर्फ पाँच महिलासहित १३ जना रहनेछन् । जनसम्पर्क समितिबाट दुई महिलासहित सात तथा पिछडिएको वर्गबाट तीन जना रहनेछन् । त्यस्तै, थारूतर्फ दुई महिलासहित छ, श्रमिकतर्फ एक महिलासहित तीन र पेसागत विज्ञतर्फ दुई महिलासहित सात जना रहनेछन् । सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा, अपाङ्गता भएका व्यक्तिबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहनेछन् ।

    यसका अतिरिक्त केन्द्रीय कार्यसमितिले ६६ जना सदस्य मनोनीत गर्ने व्यवस्था गरिएको छ । सोमबार विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मङ्गलबारको बन्दसत्रले पारित गर्नेछ । मङ्गलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन हुने भएकाले विधान सोमबार नै पारित गरिएको पार्टीले जनाएको छ ।

  • कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र, असोज २२ मा निर्वाचन

    कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र, असोज २२ मा निर्वाचन


    काठमाडौँ, १९ असोजः नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गर्ने प्रतिवेदन उपर केन्द्रीय कार्यसमितिमा छलफल भएपछि बन्दसत्र सुरु गरिने जानकारी दिए ।
    कांग्रेसले बन्दसत्र अगाडि आज बिहान १०ः०० बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

    बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन र महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ । बन्दसत्रमा सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । सहभागीलाई तीन हलमा राखेर बन्दसत्रमा भाग गराइनेछ । यस्तै, कांग्रेस १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुका ५ः०० बजेदेखि निर्वाचनको कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए । उनका अनुसार आज बेलुका ५ः०० बजे मतदाता नामावली प्रकाशन, ५ः०० देखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशन उपर दाबी विरोध, बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    यस्तै, भोलि ९असोज २०० गते विहान १०ः०० देखि ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन, अपराह्न ४ः३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्ने ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबी विरोध, बेलुका ७ः०० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।

    यसैगरी, असोज २१ गते बिहान ९ः०० बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने, बिहान १०ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइने र असोज २२ गते बिहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए । मतदानका लागि भने राष्ट्रिय सभा गृह, खुल्लामञ्च र प्रज्ञा भवनमा तोकिएको छ । मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

  • चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल

    चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल


    बर्दिया, १९ असोजः जिल्ला अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा सघन उपचारकक्ष (आइसीयू)को सुविधा नहुँदा जटिल अवस्थाका बिरामीलाई उपचारका लागि नेपालगन्ज र कोहलपुरलगायतका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ । अस्पतालमा दैनिक औसतमा २५० जना बिरामी उपचारका लागि आउने गरे पनि आवश्यक जनशक्ति र आइसीयू सुविधा नहुँदा जटिल अवस्थाका बिरामीले समयमै उपचार पाउन कठिनाइ हुने गरेको छ ।

    बर्दियाको मधुवन नगरपालिका–४ का मस्तराम चौधरीका बुबा गत भदौ १७ गते रक्तचाप कम भएपछि उपचारका लागि बर्दिया अस्पताल ल्याइएको थियो । बिरामीको शरीरमा अक्सिजनको मात्रा कम भएकाले आइसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था भए पनि जिल्ला अस्पतालमा सो सुविधा नभएपछि चिकित्सकले थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज रेफर गरेको मस्तरामले बताए ।


    त्यस्तै, गत असारमा राजापुर नगरपालिका–५ पहाडीपुरका सूर्यलाल चौधरी मिर्गौलासम्बन्धी समस्याका कारण उपचारका लागि जिल्ला अस्पताल पुग्नुभएको थियो । अस्पतालमा आवश्यक उपचार हुन नसकेपछि, उहाँलाई पनि भेरी अस्पताल नेपालगन्ज रेफर गरिएको उहाँका नाति मनोज चौधरीले बताए ।
    चिकित्सक तथा आइसीयू सुविधा नहुँदा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुवास पाण्डेले बताए ।

    “अस्पतालमा गम्भीर अवस्थाका बिरामी आउने गरेका छन् । दरबन्दीअनुसारका चिकित्सक र आइसीयू सुविधा नहुँदा बिरामीलाई रेफर गर्न बाध्य छौँ”, उनले भने ।
    अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा जटिल अवस्थाका बिरामीलाई आवश्यक उपचार दिन समस्या भएको डा पाण्डेले बताए । चिकित्सकको अभावकै कारण आइसीयू सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।

    अस्पतालमा आवश्यक चिकित्सकसहित आइसीयू सञ्चालनको माग हुँदै आएको छ । बर्दिया क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद ठाकुरसिंह थारूले सो अस्पतालमा आइसीयू, चिकित्सक तथा स्वास्थ्यकर्मी उपलब्ध गराउन माग गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा माग गरेका छन् । गत भदौ ९ गते दर्ता गरिएको निवेदनमा बर्दिया अस्पतालमा आइसीयू तथा चिकित्सकको अभावका कारण बिरामीले सास्ती भोग्नुपरेको उल्लेख गरेका छन् ।


    आइसीयू सञ्चालनका लागि सबैभन्दा पहिले गम्भीर अवस्थाका बिरामीको उपचार गर्न आवश्यक विशेषज्ञ चिकित्सकको व्यवस्था हुनुपर्ने डा पाण्डेले बताए । उनका अनुसार हाल अस्पतालमा एक जना स्त्रीरोग विशेषज्ञ, एक जना फिजिसियन र एक जना एनेस्थेसियोलोजिस्ट डाक्टर आवश्यक छ । त्यस्तै, आइसीयू सञ्चालनका लागि चार जना मेडिकल अधिकृत, आठ नर्स र चार जना कार्यालय सहयोगी आवश्यक पर्ने उनले बताए ।


    जिल्लाका बिरामीलाई सेवा दिने उद्देश्यले स्थापना गरिएको अस्पतालमा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र आइसीयू सुविधा नहुँदा बिरामीले उपचारका लागि नेपालगन्ज तथा कोहलपुर पुग्नुपर्ने बाध्यता रहेको स्थानीय समाजसेवी सोमाई थारूले बताए । उनले भने, “अस्पतालमा आवश्यक उपचार नहुँदा बिरामीले सास्ती भोग्नुपरेको छ । जटिल समस्या देखिएपछि रेफर गरिएका बिरामीलाई नेपालगन्ज लैजाँदै गर्दा बाटोमै ज्यान गुमाउनुपर्ने अवस्था आउने गरेको छ ।”

    उनले जिल्लाका बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी पठाउनुका साथै आवश्यक उपकरण र सुविधा विस्तार गर्न माग गरे । जिल्ला अस्पताल ५० शय्याको हो । अस्पतालमा अधिकांश दरबन्दी रिक्त छ । अस्पतालमा भौतिक पूर्वाधार पर्याप्त भए पनि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा उपकरणको अभाव रहेको अस्पतालले जनाएको छ ।

  • सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए, उद्धार जारी

    सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए, उद्धार जारी

    बागलुङ, १९ असोजः आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा निसीखोला गाउँपालिका–३ बोहरागाउँमा तीन जना पुरिएका छन् ।
    झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडक खण्डमा सोही स्थानका चालक भद्र मल्लले चलाएको लु१क ३४४६ नम्बरको जेसिबीले बाटो स्तरोन्नति गर्ने क्रममा अचानक माटोको ढिस्को खस्दा काम गरिरहेका तीन जना पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख फडिन्द्र प्रसाईंले जानकारी दिए । ढिस्कोमा पुरिने कामदारहरू लालबहादुर बुढाथोकी, राजु थापा मगर र कृष्ण बहादुर घर्ती छन् । यसमध्ये घर्तीको गम्भीर अवस्थामा उद्धार गरिएको छ भने अन्यको उद्धार भइरहेको छ ।

  • देवस्थलको संरक्षणसँगै व्यवस्थित बनाइँदै

    देवस्थलको संरक्षणसँगै व्यवस्थित बनाइँदै

    भोजपुर, १९ असोजः भोजपुरको हतुवागढी गाउँपालिका–१ फलाटे रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिकस्थल महाङकालीको संरक्षणसँगै आवश्यक पूर्वाधार निर्माण गरिएको छ । स्थानीयवासीको धार्मिक आस्था, विश्वास र सांस्कृतिक पहिचानसँग जोडिएको देवस्थल क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले संरक्षणका काम अघि बढाइएको हो । संरक्षणको अभावमा जीर्ण बन्दै गएको देवस्थल परिसरमा घेराबारा, पूजास्थल निर्माण, मुहान संरक्षण तथा सरसफाइ गरिएको वडा कार्यालयले जनाएको छ । मन्दिर क्षेत्रको धार्मिक महत्वलाई कायम राख्दै पर्यटकीय दृष्टिले आकर्षक बनाउने लक्ष्यका साथ संरक्षणलाई प्राथमिकता दिइएको हो ।

    हतुवागढी गाउँपालिका–१ का वडाध्यक्ष कुमार विष्टले महाङकाली मन्दिर स्थानीयस्तरमा प्रसिद्ध तीर्थस्थलका रूपमा रहेको बताए । उनले मन्दिरको संरक्षणसँगै आवश्यक पूर्वाधार विकासमा वडा कार्यालयले ध्यान दिएको बताए । “महाङकाली मन्दिर यहाँको प्रसिद्ध तीर्थस्थल हो । यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई कायम राख्दै संरक्षण र विकासमा जोड दिएका छौँ”, उनले भने ।
    विशेषगरी किरात समुदायको उधौली र उभौली पर्वका अवसरमा यहाँ विशेष पूजाआजा तथा धार्मिक अनुष्ठान हुने गरेको स्थानीयबासी बाचीधन राईले बताए । पर्वका समयमा स्थानीयसँगै छिमेकी जिल्लाबाट भक्तजन आउने गरेको उनको भनाइ छ ।

    मन्दिरको संरक्षणसँगै यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न थप पूर्वाधार विकास गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । मन्दिर क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने स्थानीयवासीको भनाइ छ । मन्दिर परिसरमा पूजा गर्न आउने भक्तजनलाई सहज बनाउने उद्देश्यले रु दुई लाख ५० हजारको लागतमा पूजास्थल निर्माण गरिएको वडाध्यक्ष विष्टले बताए । त्यस्तै, मन्दिर परिसरमा रहेको मुहान संरक्षण गरी स्वच्छ खानेपानीको स्रोतलाई सुरक्षित गरिएको छ । मन्दिर क्षेत्रको वातावरणलाई स्वच्छ र व्यवस्थित बनाउन झाडी सफाइ, परिसर व्यवस्थापन तथा पहुँचमार्ग सुधारका काम सम्पन्न भएका छन् ।

  • म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन

    म्याग्दी, १९ असोजः मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीमा भूगर्भविद्को टोलीले २६ वटा पहिरोको स्थलगत अध्ययन गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजमा आवद्ध भूगर्भविद्को टोलीले बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेका हुन् ।

    समाजका अध्यक्ष भास्कर खतिवडाको नेतृत्वमा रहेको भूगर्भविद्को टोलीले बेनीका २२ र रघुगङ्गा गाउँपालिकाका चार स्थानका पहिरोको अध्ययन गरेका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए । शनिबार र आइतबार सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा छ जना भूगर्भविद्ले तीनवटा समूह बनाएर अध्ययन गरेका थिए ।

    बेनी नगरपालिकाको भसभसे, खबरा, लभ्लीहिल, हाडेभिर, तल्लो मुुसुङ, चिनाखेत, भुकभुके, छेपारे, सिङ्गा तातोपानी, आगेबगर, अर्थुङ्गे, अँधेरी गैरा, जम्रेनी, जामुनाखर्क, महारानीथान, भ्याउनी खोला, बराह पाखो, प्रकाश माविको पाखा, खरेनी पाखा, जलेश्वर, गलेश्वर, तोरीपानी, माटे बिसौना, रघुगङ्गा गाउँपालिकाको हरखर्क, बरखर्क, माझखर्क र कल्लेनी पहिरोको अध्ययन गरेको हो ।

    समाजका अध्यक्ष खतिवडा, भूगर्भविद् डा चम्पकबाबु सिलवाल, दीपक गौतम, रुपक ज्ञवाली, जानकी खत्री, मीरा जिसी, बेनी नगरपालिकाका इन्जिनियर माधव देवकोटा, विजयनारायण मण्डल, जिल्ला समन्वय समितिका इन्जिनियर सुमन सुवेदीको टोलीले पहिरोको अध्ययन गरेको हो ।

    पहिरोको अवस्था र माटोको बनोटको सटिक आकलन गर्न ड्रोनबाट तस्बिर लिनुका साथै पहिरो खसेको स्थानबाट परीक्षणका लागि ढुङ्गा तथा माटोका नमूना सङ्कलन गरिएको भूगर्भविद् एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक चम्पकबाबु सिलवालले बताए । टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेको खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पसचोकमाथिको पहिरोग्रस्त क्षेत्रमा गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरेको थियो ।

    पछिल्लोपटक बेनीको न्युरोडमा खसेको पहिरो सक्रिय हुनसक्ने, त्यसमाथि पनि थप जमिन चर्किएर बग्नलाई तयार भएर बसेको हुँदा सावधानी अपनाउन, अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन अध्ययन टोलीका संयोजक खतिवडाले सुझाव दिए । “पहिरोको नियमित अनुगमन र आकारको मापन गरी अभिलेख राख्ने, भूमिगत पानीका स्रोतको सुरक्षित व्यवस्थापनदेखि धाँजा फाटेको जमिनलाई थप चर्किन र पानी पस्न नदिन अल्पकालीन उपाय अपनाउन सुझाव दिएका छौँ”, उनले भने, “दीर्घकालीन रूपमा पहिरो नियन्त्रणका लागि गर्नुपर्ने कामसहितको विस्तृत प्रतिवेदन तयार पारेर छिट्टै उपलब्ध गराउँछौँ ।” पहिरोको जोखिममा रहेको बेनी बजारको न्युरोडका घरमा बसोबास गर्नेलाई सावधानी अपनाउन टोलीले सुझाव दिएको छ ।

    यही असोज ८ देखि ११ गतेसम्म चार दिन लगातारको भीषण वर्षाका कारण भिरालो पाखाको जमिन गलेको, सडकको भल व्यवस्थापन नभएको, अव्यवस्थित विकास निर्माण, भूमिगत पानीको सुरक्षित व्यवस्थापन नहुनलगायतका कारण पहिरो सृजना भएको अध्ययन टोलीको निष्कर्ष छ । गत हप्ताको झरीपछिको पहिरो र बाढीका कारण म्याग्दीमा सात जनाको मृत्यु, दुई जना बेपत्ता, २०० भन्दा बढी घरगोठमा पूर्ण क्षति भएको छ । दर्जनौँ गाउँका बासिन्दा विस्थापित भएका छन् ।

    सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले १११ घरमा पूर्ण क्षति, ९३ घरमा आंशिक क्षति र ३४२ घर जोखिममा परेका जानकारी दिए । यो विवरण अझै थपिन सक्ने उनको भनाइ छ । बाढीपहिरोका कारण म्याग्दीका मुख्य सडक, विद्युत् र सञ्चार सुविधा अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।

  • सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

    भद्रपुर (झापा), १९ असोजः सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ। सम्भावित अवैध गतिविधि नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार झापा–इलाम सीमावर्ती क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन गरिएको हो । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायत पालिकासँग सीमा जोडिएका तथा आवतजावतका लागि प्रयोग हुने स्थानको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे समितिले जानकारी लिएको हो ।

    प्रमुख जिल्ला अधिकारी पोखरेलले सदरमुकामबाट भौगोलिक रूपमा टाढा र सहज पहुँच नभएका सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बनाउन अनुगमन गरिएको बताए । मुख्य नाकाबाहेकका वैकल्पिक सडक तथा ग्रामीण मार्गमा हुनसक्ने अवैध ओसारपसार तथा तस्करीलाई सुक्ष्म रूपमा निगरानीमा राखिएको उनले बताए ।


    इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लाबाट झापाको बाटो हुँदै भारततर्फ अवैध निकासी हुनसक्ने सम्भावनालाई मध्यनजर गरी संवेदनशील क्षेत्रमा सुरक्षा गस्ती बढाइएको हो । यसबाट सम्भावित राजस्व चुहावट नियन्त्रणसँगै सीमा क्षेत्रमा हुने अवैध वस्तुको ओसारपसार, सीमा अपराध रोक्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।


    “मुख्य नाकासँगै वैकल्पिक बाटो र ग्रामीण क्षेत्रबाट अवाञ्छित गतिविधि हुनसक्ने भएकाले ती क्षेत्रको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे जानकारी लिन स्थलगत अनुगमन गरिएको हो”, उनले भने । उनका अनुसार सीमावर्ती क्षेत्रमा हुनसक्ने सम्भावित अवैध गतिविधिको सूचना तत्काल आदानप्रदान गरी आवश्यक कारबाहीका लागि सुरक्षा निकाय परिचालन गर्ने व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालय झापा र सशस्त्र प्रहरी बल नेपालका सम्बन्धित युनिटलाई आ–आफ्नो कार्यक्षेत्रमा नियमित गस्ती तथा ‘पेट्रोलिङ’ प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।

    सीमावर्ती क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटले अवैध गतिविधि नियन्त्रणका लागि गरेका प्रयास, सुरक्षा उपस्थिति, गस्ती तथा कारबाहीको अवस्थाबारे प्रत्येक १५ दिनमा जिल्ला सुरक्षा समितिमा विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्राप्त विवरणका आधारमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था मूल्याङ्कन गरी आवश्यक रणनीति तय गरिने प्रजिअ पोखरलले जनाए ।


    अनुगमनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उपअनुसन्धान निर्देशक उमेश पाण्डेलगायत सुरक्षा निकायका अधिकारीको सहभागिता थियो । प्रजिअ पोखरेलका अनुसार नजिकिँदै गरेको चाडपर्वका समयमा सीमावर्ती क्षेत्रबाट पटका तथा अन्य अवैध सामग्रीको ओसारपसार हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसतर्फ थप सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।

  • भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

    भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

    रसुवा, १९ असोजः गत भदौ १० को विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् । शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका चारवटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् । बाढीले पूर्ण क्षति पुर्याएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिकादेवी आधारभूत विद्यालय पैरेबेँसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल रहेका छन् ।

    सम्पर्कविहीन विद्यार्थीमध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका २५, मालिकादेवीण् आधारभूत विद्यालयका ११, मोडर्न ट्रिनिटीका आठ र चिप्लेटी आधारभूत विद्यालयका एक जना रहेको इकाई प्रमुख सिलवालले जानकारी दिए । बाढीबाट प्रभावित भएका अन्य विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था मिलाइएको छ । चिप्लेटीका विद्यार्थीलाई डाँडागाउँ र ठूलोगाउँको स्कुलमा पठाइएको छ ।

    मालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई नवविजयी मावि भलायडाँडा र ट्रिनिटीका विद्यार्थीलाई नीलकण्ठ माविमा बसोबासको व्यवस्थासहित पठनपाठनको प्रबनध मिलाइएको छ । बाढीका कारण गोसाइँकुण्ड, आमाछोदिङ्मो, उत्तरगया र कालिकाका विद्यालय पूर्ण रूपमा बन्द भएका थिए । नौकुण्ड गाउँपालिकामा भने गत भदौ ११ गतेदेखि नै पठनपाठन सुरु भएको थियो ।

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    नारायणगढ (चितवन), १९ असोजः चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा मोटरसाइकल दुर्घटनामा परी भरतपुर महानगरपालिका–११ निवासी २९ वर्षीय देवेन्द्र थापाको मृत्यु भएको छ । सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको बुलेट मोटरसाइकल आइतबार साँझ अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका–८ निवासी सागर थापा घाइते भएका थिए ।

    घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर लगिएकामा देवेन्द्रलाई चिकित्सकले मृत घोषणा गरेका थिए । सागरको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

    कर्णाली, १९ असोजः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि गठित मूल आयोजक समितिले विभिन्न निर्णय गरेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा वीरेन्द्रनगरमा आइतबार बसेको आयोजक समितिको बैठकले खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाउने उद्देश्यका साथ विभिन्न निर्णय गरेको हो । कर्णाली प्रदेशको सुर्खेतलगायतका जिल्लामा आगामी मङ्सिर १६–२७ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । बैठकले प्रतियोगिता आयोजना गर्ने सरकारको गत भदौ २२ को निर्णयलाई स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

    यस्तै, प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ को अधिनमा रही प्रतियोगिताको पूर्वतयारीका सम्बन्धमा आवश्यक काम गर्न कार्यसम्पादन समितिलाई निर्देशन दिने निर्णय भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिए ।


    उनका अनुसार प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ गरी ११ टोली सहभागी हुनेछ । यस्तै ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ। यस्तै, प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक कार्य सार्वजनिक निजी, साझेदारीको अवधारणा अवलम्बन गरी प्रायोजकसँग समझदारी कार्यान्वयन गराउने, खेल सम्पन्न गर्न विभिन्न विषयगत उपसमिति गठन गर्ने निर्णय बैठकले गरेको छ ।

    मूल आयोजक समितिको काम, कर्तव्य र अधिकारभित्र रही प्रतियोगितासम्बन्धी आवश्यक कार्य गर्न कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय भएको सदस्यसचिव मेहताले बताए ।

  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ खेल समावेश

    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ खेल समावेश

    कर्णाली, १८ असोजः आगामी मङ्सिर १६–२७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा ३२ खेल समावेश गरिएका छन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत राखेपका सदस्य सचिव रामचरित्र मेहताले प्रतियोगितामा समावेश खेलमध्ये २८ कर्णाली र बाँकी चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने बताए ।


    एथ्लेटिक्स, ब्याटमिन्टन, बक्सिङ, बास्केटबल, क्रिकेट, फुटबल, ह्याण्डबल, रग्बी, तेक्वान्दो, भलिबल, उसु, कुस्ती, कबड्डी, कराते, फूल कन्ट्याक्ट कराते, हक्की, ई–स्पोट्स, स्क्वास, साइक्लिङ, जिम्न्यास्टिक र सेपाकताक्रो गरी २१ खेल सुर्खेत जिल्लामा सञ्चालन हुने सदस्य सचिव मेहताले बताए । त्यसैगरी, शारीरिक सुगठन कालीकोट, जुडो जाजरकोट, खो खो रुकुमपश्चिम, आइटिएफ तेक्वान्दो तथा बुद्धिचाल दैलेख, टेबलटेनिस सल्यान र आर्चरी जुम्ला गरिने उनको भनाइ छ ।

    सदस्य सचिव मेहताका अनुसार पौडी, भारत्तोलन, टेनिस र सुटिङ लुम्बिनी प्रदेशको नेपालगञ्जमा सञ्चालन गर्ने प्रारम्भिक छलफल भएको छ । यद्यपि प्राविधिक समितिको थप छलफलपछि ती खेलहरु पनि कर्णालीमै हुनसक्ने उनले बताए । उक्त खेलका लागि सङ्घीय सरकारको रु ७१ करोड र राष्ट्रिय पारा खेलका लागि रु तीन करोड बजेट विनियोजन भएको सदस्य सचिव मेहताले बताए । खेलमा खेलाडी र अफिसियल्स गरी करिब नौ हजारको सहभागिता रहने आयोजकले जनाएको छ ।

    पत्रकार सम्मेलनमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले रङ्गशालाको काम शतप्रतिशत सम्पन्न भएको बताउँदै आवास व्यवस्थापनको चुनौती समाधानको तयारी थालिएको बताए । परिषद्का उपाध्यक्षको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन गरिएको र त्यसले भएका समस्या पहिचान गर्ने तथा प्रदेश सरकारले त्यसको समाधान गर्ने बताए ।

  • लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने


    काठमाडौँ, १८ असोजः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै सभापति लामिछानेले लोकतान्त्रिक मूल्य र मान्यतालाई अझ सुदृढ र संस्थागत बनाउने पक्षमा पार्टी रहेको स्पष्ट गरे ।


    उनले भने, “तपाईंहरूमाझ पूर्ण विश्वाससहित भन्न चाहन्छु, हामी लोकतन्त्रका मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ । यससँग सम्बन्धित संस्थालाई अझ बलियो बनाएर नेपाली जनताको त्याग, बलिदान र तपस्याबाट प्राप्त परिवर्तनको रक्षा गर्ने क्रममा अग्रपङ्क्तिमा उभिनेछौँ ।” सभापति लामिछानेले लोकतन्त्रलाई निर्वाचनका माध्यमबाट मात्रै समृद्ध बनाउनसक्ने बताए । राजनीतिक आस्था र विश्वास अलग हुनसक्ने भए पनि सरकारको नियत सही भएको उनको भनाइ छ ।

    “सरकारको नियत सही छ । कुनै निर्णय विवादमा पर्न सक्लान्, कुनै निर्णय खराब हुन सक्लान्, हामी सच्याउँछौँ”, उनले भने, “तर लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धता, त्यसमा दायाँबायाँ हुँदैन, त्यसलाई डगमगाउन दिँदैनौँ । म यहाँहरूलाई विश्वस्त हुनका निम्ति अनुरोध गर्न चाहन्छु”, सभापति लामिछानेले भने । “म यहाँहरूलाई विश्वस्त हुनका लागि अनुरोध गर्न चाहन्छु । मैले त्यतिखेर संसद्मै भनेको थिएँ कि दुई ठूला राजनीतिक दलविना कुनै कारण, विनाकुनै सङ्कट, विनाकुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले सङ्कट पैदा गर्छ भनेर ।”

    उनले विगतलाई स्मरण गर्दै भने, “अहिले त्यो सत्य सावित भएको छ, त्यसले हामीलाई जन्मायो । म तपाईंहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु । लोकतन्त्रको यति धेरै दुहाइ पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गछौँ भनेर, पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस् ।”

    इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने प्रेरणासहित सरकार गठन गरेको स्पष्ट गर्नुहुँदै पार्टी सभापति लामिछानेले लोकतन्त्रमाथि मुलुकमा अहिले कुनै पनि प्रकारको खतरा नभएकाले ढुक्क हुन सबैसँग अनुरोध गरे ।

    लोकतन्त्रमाथि कहीँकतैबाट खतरा देखिए त्यसको प्रतिवाद नेपाली जनताले गरी लोकतन्त्र जोगाउने स्पष्ट गर्नुहुँदै सभापति लामिछानेले देश र जनताका पक्षमा रचनात्मक सहयोग गरी नेपाली जनताको विश्वास जितेर आगामी चुनावमार्फत सरकारमा आउन बाटो रहेको बताए । नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुहुँदै उनले देशको सबैभन्दा पुरानो पार्टी कांग्रेसको महाधिवेशन सफलताको कामना गरे ।

  • प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    काठमाडौँ, १८ असोज । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले हल्लाका भरमा नभई लामो सङ्घर्ष, त्याग र बलिदानबाट नेपाली कांग्रेस स्थापना भएको बताएका छन् । पार्टीको आजदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुमकामना मन्तव्य व्यक्त गर्दै महासचिव राईले नेपालमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि कांग्रेसले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे । “कांग्रेसको इतिहास धेरै पढ्यौँ र हेर्यौँ, वास्तवमा यो हल्लाद्वारा स्थापित भएको पार्टी होइन”, महासचिव राईले भने । कांग्रेसको इतिहासमा धेरै नेता तथा कार्यकर्ताले व्यक्तिगत सपना त्यागेर राष्ट्र निर्माणका लागि योगदान गरेको उनको भनाइ थियो ।

    महासचिव राईले कांग्रेसले आगामी दिनमा सत्तामा कति समय रहनेभन्दा पनि जनताका पक्षमा कति राम्रो काम गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे । राष्ट्रिय उन्मुक्ति पार्टी नेपालका संस्थापक रेशमलाल चौधरीले राणाशासन र पञ्चायती व्यवस्थाको अन्त्य तथा विद्यमान संविधान निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।


    मुलुकको परिवर्तित राजनीतिक घटनाक्रम तथा बदलिदो परिवेशबीच कांग्रेस अझै सशक्त र जिम्मेवार ढङ्गबाट अघि बढ्नुपर्ने बताउँदै जारी महाधिवेशन सफलताको कामना गरे । राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपानेले कांग्रेसको १५औँ महाधिवेशन ऐतिहासिक स्थलमा महाधिवेशन हुन लागेकामा खुशी व्यक्त गर्दै मुलुकको समग्र भविष्यको दिशा निर्धारण गर्न महाधिवेशन सफल होस् भनी शुभकामना दिए । देशको विशिष्ट राजनीतिक घटनाक्रम र परिस्थितिबीच हुन लागेको यस महाधिवेशनबाट कांग्रेसको आन्तरिक जीवनमा मात्र नभई मुलुकको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका लागिसमेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।

  • कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा दलका शीर्ष नेता उपस्थित

    कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा दलका शीर्ष नेता उपस्थित

    काठमाडौँ, १८ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ । ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित केहीबेर अगाडि सुरु भएको महाधिवेशनमा मुलुकका विभिन्न दलका शीर्ष नेताको सहभागिता रह्यो । पार्टीका सभापति गगनकुमार थापाले महाधिवेशनको उद्घाटन गमलाको बिरुवामा जल सिञ्चन गरी गरे ।

    उद्घाटन सत्रमा सभापति थापासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका महासचिव शङ्कर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता सहभागी भए ।

    उद्घाटन सत्रमा वक्ताहरुले बोलेका छन् । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रम भने सोमबार र मङ्गलबार हुनेछ । निर्वाचन कार्यक्रमका लागि असोज २१ र असोज २२ गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

  • तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

    तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

    रवीन्द्र काफ्ले\रासस

    पाँचथर, १८ असोजः याङवरक गाउँपालिका–१ मा तीन वर्षको अन्तरालमा बाढीपहिरो दोहोरिएपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य छन् । विसं २०८० असार ३ गते यस क्षेत्रमा बाढीपहिरो आउँदा वर्षौँदेखि चलिरहेका सडक, पुल, झोलुङ्गे पुल, भौतिक संरचना, घरगोठलगायतमा ठूलो क्षति भएको थियो ।

    यहाँका मुरुङ्गा, मेवा र लम्बाखोला तथा अन्य ससाना खोल्सीमा आएको बाढी र सयौँ स्थानमा खसेको पहिरोले ठूलो क्षति पुर्याएको थियो । उक्त समय यहाँका समरजुङ, मगरडाँडा, कोप्चे, खोलाघारी, चोक, चाम्लिङडाँडा, बिरुवा वस्ती प्रभावित भएका थिए ।

    उक्त समयको क्षति भुल्न नपाउँदै यस वर्ष गत जेठमा बाढीपहिरोले उस्तै क्षति पुर्याएपछि स्थानीयवासी चिन्तित छन् । स्थानीय रामकुमार राईको घरमा भेटिएका इन्द्रबहादुर चाम्लिङले भन्नुभयो, “विसं २०८० को बाढीपहिरोले ठूलो क्षति पुर्याएपछि हाम्रो जीवनकालमा यस्तो विपद् नआउने भन्ने धेरैलाई लागेको थियो । तर यसपालि त्यो भन्दा ठूलो विपद् आउँदा हामी अचम्मित भयौँ ।” उस्तै विपद् दोहोरिएपछि त्रासमा बाँच्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

    चाम्लिङडाँडाका महमलाल खवासको घरको आगनबाट लम्बाखोलाको बाढी बगेपछि परिवार त्रासमा थियो । तर विगतमा जस्तो भयावह अवस्था नहोला भनेर खवास परिवारले घरलाई थप व्यवस्थित गर्यो । यस वर्ष विगतमा भन्दा भयावह बाढीपहिरो मात्रै आएन, खवासको घर नामोनिशान नरहने गरी बगाएर लग्यो ।

    “पहिले पनि आँगनबाट बाढी बगेको थियो । तर घर नै बगाउँला भन्ने त सोचेका थिएनौँ । हामी लगाएको कपडामा दुई मिनेटको अन्तरमा भाग्न सफल भयौँ”, खवासले भन्नुभयो, “एक मिनेटको अन्तरमा घर बाढीले बगायो । मध्यरात भागेर बाँच्यौँ ।” खवास परिवार अहिले देउकुमार राईको बन्दकी लगाएर बसिरहेको छ । तर त्रासले भने नछोडेको महमलालको भनाइ छ ।

    कम्तीमा रु १० लाख लागत मूल्याङ्कन हुने घरसहित जग्गा जमिन र सबै सामग्री पहिरोले बगाएपछि खवास परिवार विदेश गएका छोराको मद्दतले जीविका चलाइरहेको छ । उक्त पहिरोमा महमलालका भाइ कविरमान खवासको घर तथा यहाँका रविन राई, रामकुमार राई, जहरमान बेघालगायत १६ परिवारको अलैँची तथा धानखेती बगरमा परिणत भएको छ ।

    बाढीपहिरोमा चाम्लिङडाँडाका रामकुमार राईको घर त जोगिएको छ तर आम्दानीको बाटो समाप्त भएको उहाँको भनाइ छ । तीन वर्षअघि २०८० सालमा बर्सेनि करिब १० मन ९४० किलो० उत्पादन हुने अलैँची बारी पहिरोले बगाएको थियो । अहिले त्योभन्दा दोब्बर बढी अलैँची फल्ने बारी बगाएपछि हातपाउ गलेको रामकुमारको भनाइ छ ।

    “मेरो जति क्षति यो वडामा कसैको पनि भएन होला । विसं २०८० मै करिबब १० मन अलैँची फल्ने जमिन बगाएर लगेको थियो । यस वर्ष करिब १५ मन उत्पादन हुने अलैँचीखेती र दुई खला खेत बाढी र पहिरोले बगाएर लग्यो”, रामकुमारले भन्नुभयो, “अहिले सबै ढाँड बनेको छ । एक झ्याङ पनि अलैँची बाँकी रहेन”, अलैँची टिप्ने बेलामा रामकुमारसँग अलैँचीको बगान नै बाँकी छैन ।

    बाढीपहिरोले चाम्लिङडाँडाकै रविन राईको घर जोखिममा पारेको छ । उहाँको घरभन्दा मुनि गैरीखेत पहिरोले तानेको छ भने अगाडि पँधेरे खेत बाढीले पुरेको छ । “हिउँदमा त ठिकै छ । बर्खा लागेपछि भाग्नैपर्ने होला”, रविनले भन्नुभयो, “बरु ढुङ्ग्रोबाट खन्याएको पातलो आउला, आकासबाट त्योभन्दा ठूलो पानी पर्छ ।”

    सरकारको बाटो नहेर्ने

    प्राकृतिक विपत्तिमा घरको पूर्ण क्षति भएका परिवारलाई सरकारले जिल्ला दैवी प्रकोप समितिमार्फत रु चार लाख रकम दिने व्यवस्था रहेको छ । तर तीन किस्तामा प्राप्त हुने रकम लिन असाध्यै कठिन पर्ने बुझेर पहिरो प्रभावित महमलाल खवास सरकारको बाटो नहेर्ने सोचाइमा हुनुहुन्छ ।

    “घर निर्माण गर्न तीन किस्तामा रकम आउने रहेछ । पालिका गएँ, फिदिम ९सदरमुकाम० गएँ । तर मैले प्रक्रिया पूरा गर्दागर्दै साहुबाट काढेको रु नौ हजार सकियो”, खवासले भन्नुभयो, “अब म नखोज्ने, बरु आफैँ बनाएर बस्ने । खोज्दाखोज्दै ऋणमा डुबिने रहेछ । अझै केही समय अर्कैको घरमा जीविका चलाउँछु ।”

    विदेश गएको छोरो आएपछि गाउँकै पाखाभित्तामा जग्गा खोजेर घर बनाउने योजना खवास परिवारको छ । त्यसैले उनीहरू सरकारसँग केही नमाग्ने पक्षमा हुनुहुन्छ । “अब सबैको क्षति भएको छ, सरकारले कसलाई राहत दिएर सकोस र रु हामीले खोज्न पनि छाडेको”, महमलालले भन्नुभयो, “हाम्रो ज्यान बाँचेकै छ । कमाएर केही गरौँला भन्ने सोच बनाएका हौँ ।”

    स्थानीय तहले क्षतिपूर्ति दिन नसक्ने र माथिल्ला निकायले वास्ता नगर्ने हुँदा कुनै प्रकारको राहत पाउने आशा अर्का प्रभावित रामकुमार राईसँग पनि छैन । “पहिले पनि क्षतिपूर्तिका लागि निवेदन पेस गर्यौँ । तर कुनै राहत आएको बुझिएन”, रामकुमारले भन्नुभयो, “हामीलाई क्षतिपूर्तिका लागि आवेदन मागिएको थियो । तर पहिलेकै क्षतिमा कुनै क्षतिपूर्ति नभएपछि मैले त क्षतिको विवरण पनि दिन मन लागेन । बाँचियो भने भयो ।”

  • आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

    आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था


    काठमाडौँ, १८ असोजः नेपाली कांग्रेसको आजदेखि काठमाडौँमा सुरु हुन लागेको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिए ।


    संयोजक स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको हो । यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्नेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनको भनाइ छ ।

    कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन यही असोज २२ गतेसम्म चल्ने छ । महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदैछन् ।