Category: स्थानीय

  • कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने

    काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी असोज १८ देखि काठमाडौँमा हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी देशका विभिन्न स्थानमा भारी वर्षाका कारण प्रदेशसभा तथा प्रतिनिधीसभा क्षेत्रीय अधिवेशनमा ढिलाइ भएकाले निर्धारित समयभन्दा दुई दिन पर सारिएको जानकारी दिए । यसअघि कांग्रेसले असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका जारी निर्धारित समयभन्दा दुई दिनपछि सारिएको हो ।

    “पार्टीको महाधिवेशनअन्तर्गत वडा र पालिका अधिवेशन सम्पन्न भई प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भइरहेका छन्, यसैबीचमा देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै १५औँ महाधिवेशन असोज १८ गतेसम्मका लागि सारिएको हो”, उनले भने । कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ ।

  • रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

    रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय


    रसुवा, १३ असोजः भोटेकोशी नदीमा आएको विनासकारी बाढी र विपद्पछि सिर्जित जटिल अवस्थालाई सम्बोधन गर्न जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाले १२ बुँदे निर्णय गरेको छ । जिल्लास्थित जनस्वास्थ्य कार्यालयका प्रमुख निरध्वज घर्तीमगरको अध्यक्षतामा बसेको सरोकार भएका निकायका प्रतिनिधि सहभागी बैठकले बाढीबाट भएको क्षति, स्वास्थ्य सेवा प्रवाह तथा आगामी कार्ययोजनासम्बन्धी निर्णय पारित गरेको हो ।

    बैठकले गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाउने स्वास्थ्यकर्मी, कर्मचारी तथा सर्वसाधारणप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । बाढीका कारण नौकुण्ड गाउँपालिकामा भौतिक क्षति नभए पनि मानवीय, स्वास्थ्य तथा जनजीवनमा गम्भीर असर पुगेकाले उक्त गाउँपालिकालाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न सम्बन्धित अधिकारप्राप्त निकायसमक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको जनस्वास्थ्य प्रमुख घर्तीमगरले जानकारी दिए ।


    उनका अनुसार बाढीका कारण सडक सञ्जाल विच्छेद भई गम्भीर बिरामीहरूको प्रेषण (रेफर)मा जटिलता उत्पन्न भएकाले न्यूनतम छ महिनाका लागि जीवजिवे ग्रामीण अस्पताल र दोबो तेम्बा फुर्पु आधारभूत अस्पतालमा विशेषज्ञ चिकित्सक (एमडिजिपी), एनेस्थेसिया सहायक तथा छात्रवृत्ति करारका मेडिकल अधिकृत उपलब्ध गराउन बागमती प्रदेश सरकारसँग माग गरिएको छ ।

    भौगोलिक विकटताका बीच स्वास्थ्य सेवा पुर्याउन दोबोतेम्बा फुर्पु आधारभूत अस्पतालमा सञ्चालित टेलिमेडिसिन कार्यक्रमलाई थप सुदृढ गरिने भएको छ । बाढीले स्याफ्रुबेँसी स्वास्थ्यचौकी पूर्ण रूपमा क्षतिग्रस्त भएकाले खोप सेवाको निरन्तरताका लागि गोसाइँकुण्ड गाउँपालिकाको कोल्डचेन सबसेन्टर रसुवा स्वास्थ्यचौकीमा कायम गर्ने निर्णय गरिएको छ । साथै, बाढी प्रभावित क्षेत्रमा सञ्चालन हुने स्वास्थ्य शिविरहरूमा ‘सामुदायिक आँखा केन्द्र, रसुवा’लाई पनि सहभागी गराइने कार्यालयले जनाएको छ ।

    बैठकले आर्थिक वर्ष २०८२–८३ को जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रम आगामी असोज २१ र २२ गते आयोजना गर्ने निर्णयसमेत गरेको छ । बाढीका कारण गोसाइँकुण्ड गाउँपालिकाले समीक्षा गर्न नसकेको अवस्थामा सहज भएपछि मात्र गर्ने र अन्य पालिकाहरूमा दसैँलगत्तै पालिकास्तरीय समीक्षा गरिने जनस्वास्थ्य प्रमुख घर्तीमगरले बताए । बाढीबाट क्षति पुगेका स्वास्थ्य संस्थाहरूको तथ्याङ्क सङ्कलन र प्रतिवेदन प्रणालीलाई नियमित गर्न पालिकाका तथ्याङ्क फोकल पर्सनहरूलाई जिम्मेवारी दिइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

  • बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो

    बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो

    बागलुङ, १३ असोजः बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए । पहिरोमा परी पुनका श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएको उनले बताए ।

    जिल्लामा अविरल वर्षापछि आएको विपद्मा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने विपद् परी एक जना छन् । शनिबार ताराखोलामै एक जनाको मृत्यु भएको थियो । थियो भने आइतबार बागलुङको तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थियो ।

  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौँ, १३ असोज : सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    यसैगरी, बैठकमा कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । यस्तै, बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ प्रस्तुत गर्नेछिन् ।

    त्यस्तै, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्नेछन् । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछिन् । आजै अर्थसमिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

  • ‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

    ‘हामीलाई पाल्ने र बचाउने नै अलैँची हो’

    पाँचथर, १३ असोजः यहाँको सुदूर उत्तरी याङवरक गाउँपालिका वडा नं १ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती गरिएको छ । घुर्‍यानसम्म अलैँची लगाएका बेघाले पछिल्ला दिनमा धान र मकैखेती गर्न छाडे । सुकबहादुरका छिमेकी धनमाया बेघाको पनि करेसाबारीमा अलैँचीखेती छ । सबै ठाउँमा अलैँची नै लगाएको धनमाया बताउँछिन् । सोही वडाको बिरुवाका बालनन्द बेघाको पनि आँगनसम्मै अलैँचीखेती छ । बजारमा राम्रो मूल्य पाउँदा दुर्गम ग्रामीण भेगका किसानले मुख्य बालीका रुपमा अलैँचीलाई विस्तार गरिरहेका छन् ।

    धान, मकै र कोदो फल्ने खेतबारी मासेर अलैँचीको खेती विस्तार गरेका सुकबहादुर बेघा अलैँचीलाई घर परिवारलाई बढी माया गर्ने गरेको बताउँछन् । “हामीलाई पाल्ने र बचाउने नै यही हो । हामीले नगद पाउने बाटो अलैँची मात्रै हो”, बेघाले भने, “अलैँची फलाए मात्रै साहुले पनि पत्याउँछन् । यो खेती गर्नेले जे मागे पनि दिन्छन् ।” अलैँची फलाउने कृषकले स्थानीय ग्रामीण बजारबाट वर्षैभरि सामग्री खरिद गर्दा बाँकी पाउने गरेको बेघाको भनाइ छ ।

    अलैँचीबाट जीविकोपार्जन सहज भएपछि कृषकले मुख्य प्राथमिकता दिएका छन् । सुकबहादुर अलैँची नै कृषकको इज्जत भएको बताउँछन् । “हाम्रो इज्जत राख्ने अलैँची भयो”, पूर्णबहादुरले भने, “रच्छ्यान, घु¥यान, धानखेती हुने सबै ठाउँमा अलैँची लगाएका छौँ ।” कृषक अलैँचीखेतीमा आकर्षित हुनुमा अलैँचीको मूल्य राम्रो हुनु पनि मुख्य कारण हो । गत वर्षदेखि अलैँची प्रतिमन (प्रति ४० किलोग्राम) रु ८० हजारभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । “प्रतिमन रु ८० हजारसम्म पाइयो भने त राम्रो हो । त्यसोहुँदा प्रतिकिलो रु दुई हजार बराबर पर्न जान्छ । त्यति रकम कुनै पनि अन्नबालीबाट प्राप्त हुँदैन”, सुकबहादुरले भने, “अलैँचीले राम्रो भाउ पाए हामीलाई फाइदा नै हुन्छ ।”

    धनमाया बेघाले पनि खेतबारी मासेर अलैँची विस्तार गरेकी छिन् । “अलैँचीको भाउ पनि राम्रै छ । हात मुख जोड्ने बाटो नै यही भएको छ”, उनले भनिन् ।
    अविरल वर्षापछि गत जेठ ८ गते पहिरो झरेर धनमायाको खोलाखोल्सीमा रहेको अलैँचीको मुख्य बगान बगाइदियो । अहिलेसम्म यति ठूलो क्षति कहिल्यै भएको थिएन”, धनमायाले भनिन्, “खेतबारी मासेर लगाइएको अलैँची चाहिँ बाकी रह्यो । त्यसैबाट अलिक आम्दानी गर्न सकिएला कि ।”

    बिरुवाकै पूर्णबहादुर बेघा धान, मकै, कोदोखेती गर्दा लागत पनि नउठ्ने भएकाले धेरै किसान अलँैचीतर्फ आकर्षित भएका छन् । सोही वडाको चाम्लिङडाँडाका रामकुमार राईको विसं २०८० असार र गत जेठमा पहिरो झरेर झण्डै ३० मन अलैँची फल्ने बारी बगाएको छ । अलैँची उत्पादन नभएपछि आयस्रोतको अन्य कुनै बाटो बाँकी नरहने राईको भनाइ छ ।

    “यहाँका बासिन्दा अलैँचीकै कारण गाउँमा अडिएका हौँ । अन्यथा खान पनि नपुग्ने भएर सबै हिँडिसकिन्थ्यो होला”, राईले भने, “हाम्रो दैनिक जीवन नै अलैँचीमा आधारित भएको छ । याङवरक–१ मात्रै होइन जिल्लाका ४० बढी वडामा अलैँची उत्पादन हुने गरेको छ ।” पाँचथरमा आर्थिक वर्ष २०८२–८३ मा कुल तीन हजार ३२६ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यस्तै, कुल एक हजार ३९६.९२ मेट्रिकटन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरका कृषि प्रसार अधिकृत प्रदीप नेपालीले जानकारी दिए ।

  • चर्चा कमाउँदै बिमला दिदी

    चर्चा कमाउँदै बिमला दिदी

    कल्पना घिमिरे, न्युयोर्क

    कुनै बेला सायद बिमलाले कल्पनासम्म गरेकी थिइनन्, विश्व अर्थतन्त्र, व्यापार, सञ्चार र अवसरको केन्द्र अमेरिकाको न्युयोर्क सहरमा आफ्नै रेस्टुरेन्ट हुनेछ र त्यही रेस्टुरेन्टकै माध्यमबाट आफू चर्चा परिचर्चाको शिखरमा पुगिनेछ भन्ने।

    अहिले उनी न्यूयोर्कमा एक उत्कृष्ट ब्यबसायीमा दर्ज भएकी छिन्। न्यूयोर्क सहर भित्रका २५ हजारभन्दा बढी रेस्टुरेन्टबीच बिमला हमाल श्रेष्ठको रेस्टुरेन्ट (नेपाली भान्छा घर ) १०० उत्कृष्ट रेस्टुरेन्टको सुचीमा परेको छ । जुन नेपालीको बाक्लो बस्ती रहेको ज्याक्सन हाइट्समा अवस्थित छ ।
    सन् २०२६ को न्यूयोर्क टाईम्स म्यागेजिनले तयार गरेको सय वटा रेस्टुरेन्टको सुचीमा आफ्नो स्थान बनाउनु बिमलाका लागि सामान्य थिएन ।
    निरन्तरको मेहनत र लामो समयको संघर्षले मात्रै यो सफलता हात पारेको उनी बताउँछिन्। उनले गरेको ब्यबसाय कर्मले अन्तराष्ट्रियस्तर सम्म नेपाली समुदायको नाम रोशन गरिरहेको भन्दै बिभिन्न नेपाली संघ संस्थाले उनलाई शुभकामना र हौसला दिइरहेका छन् । अहिले उनलाई भेट्न रेस्टुरेन्टमा थुप्रै खालका समुहहरु आइरहेका छन् ।


    न्युयोर्क टाईम्समै काम गरिरहेका बिद्दार्थी भाइबहिनीहरु आएर रेस्टुरेन्टको सबै खानाको स्वाद लिने र कुराकानी गर्ने गरिरहेका छन् । ‘हिजो मात्रै गोरेहरुको एक ग्रुप आएर अन्तरबार्ता लिए, आधा घण्टा अन्तरबार्ता लिएको मलाई ५ सय डलर दिएर गए’ खुसीले गदगद हुँदै उनले सुनाइन् ‘मेरो रेस्टुरेन्टबारे पत्रपत्रिकामा आउन थालेपछि, बर्षौबर्षदेखि ज्याक्सन हाईस्ट्स आसपासमा बसोबास गरिरहेका र पहिले कहिल्यै नभेटेका नेपालीहरु भेट्न आइरहनु भएको छ ।’ केही राणा परिवारका सदस्यसमेत रेस्टुरेन्टमा आएर आफुलाई भेटेको उनी बताउँछिन् ।

    नेपाली स्वाद, संस्कृति र पहिचानलाई विश्वमाझ स्थापित गरिरहेको नेपाली भान्छा घरको यो सफलता सम्पूर्ण नेपाली समुदायका लागि गर्वको विषय बनेको छ ।
    यस अघि पनि बिमलाको रेस्टुरेन्टले पाँच पटक सम्म ‘मम क्रल’ जित्दै आएको थियो । न्युयोर्क सिटीले हरेक बर्ष आयोजना गर्दै आएको मम क्रल (मम प्रतियोगिता) मा ३३ भन्दा बढी नेपाली रेस्टुरेन्टहरु भाग लिंदै आएका छन् । त्यसमा बिमलाको रेस्टुरेन्ट ५ पटक सम्म उत्कृष्ट मम जित्न सफल भएको थियो । के कसरी मापन गर्ने भन्ने बारेमा आफुहरुलाई जानकारी नै नहुने पनि उनले बताईन् ।
    ‘मेरो रेस्टुरेन्टमा नेपाली मात्र होइन अन्य बिभिन्न मुलुकका थुप्रै ग्राहकहरु आउँछन् । रेस्टुरेन्टमा आउने सबै ग्राहक हाम्रा लागि समान हुन् । उनीहरुकै सेवामा हामी संधै ब्यस्त हुन्छौं । कतिबेला को आएर के/के छानबीन गरेर गए थाहै भएन ।’
    उनी आफ्नो अनुभब सुनाउँदै थिइन्, ‘न्युयोर्क टाइम्समा १०० को सूचीमा मेरो रेस्टुरेन्ट परेको छ भन्ने मलाई थाहै थिएन । न्युयोर्क नेपाली काम पोस्टको भाइ लेलिन कँडेलले ‘नेपाली भान्छाघरलाई धेरै बधाई न्युयोर्क टाइम्सको १०० रेस्टुरेन्टहरुको सुचीमा पर्न सफल भएकोमा‘ भनेर फेसबुकमा पोस्ट गर्नु भएछ । त्यो स्टाटस मेरो साथीले देखेर मलाई स्क्रिनसट पठाउँदा म झसङ्ग भएँ। पहिले त के हो भन्ने पनि थाहा भएन।’

    स्याङ्जाको वालिङमा जन्मिएकी बिमला सन् २००८ मा अमेरिका आएकी थिइन् । बिमलाका सुरुवाती दिनहरु पटक्कै सहज थिएनन् । काम पाउन गाह्रो थियो । एउटा इन्डियनको घरमा घरेलु कामदारको रुपमा काम गरेर अमेरिकामा संघर्ष सुरु गरेकी थिइन् । आफुले केही ब्यबसाय गर्न पाए हुन्थ्यो भन्ने हुटहुटीले ४ जना साथीहरुसंग मिलेर सन् २०१५ मा नेपाली भान्छाघर स्थापना गरेकी हुन्। एक्लो जीबनमा धेरै दुख र संघर्ष पछि मात्रै यो अवस्थामा आइपुगेको उनी सम्झिन्छिन्, ‘पार्टनरहरुको बिश्वासमा सबै छोडी दिँदा उनीहरूले नै फसाएर रेस्टुरेन्ट बन्द गर्नुपर्ने सम्मको अवस्था आएको थियो । उनले लङआइल्याण्डमा काम गर्दा गर्दै रेस्टुरेन्ट संचालनमा ल्याएकी थिइन् । साथीहरुको समेत पैसा आंफैले हालिदिएर रेस्टुरेन्टमा लगानी गरेकी उनी हप्तामा एकदुई दिन आएर रेस्टुरेन्ट हर्ने गर्थिन् । त्यसैबिच पार्टनरहरूले भाडा नतिरेर घरबेटीले रेस्टुरेन्ट नै बन्द गरिदिएको थियो । त्यसपछि उनले एक्लै पुन संचालन गरेकी हुन् ।
    उनका अनुसार, आफुले पुरै विश्वास गरेर रेस्टुरेन्ट जिम्मा लगाएका पार्टनरबाटै ठुलो धोका पाएकी थिइन् । उनी आफैले साथीहरु सबैको पैसा हालिदिएर रेस्टुरेन्टको पार्टनर बनाएकी थिइन् । तर ती साथीहरु मिलेर रेस्टुरेन्टमा बिमलाको कुनै स्वामित्व नरहने र रेस्टुरेन्टमा हकदाबी गर्न नपाउने गरी झुक्याएर कानुनी कागजात तयार पारेछन् ।
    ‘बैकबाट पैसा झिक्नको लागि कागजात मिलेन साइन गर्दिनु भन्दै भुर्तेल ल फर्ममा पठाए । त्यहांपुग्दा वकिलले सबै बताएपछि म त छांगाबाटै खसें’ उनी आफ्नो जीबन भोगाइ सुनाउंदै थिइन् । केही गर्न थोज्दा खाली दु:ख र अफ्ठेरो मात्रै आउंथ्यो । भगवान पनि मेरो पक्षमा छैनन भन्ने लाग्थ्यो ।’
    उनले एक्लै चलाएको रेस्टुरेन्टको ब्यापार राम्रै चलेको थियो । सन् २०२० मा कोभिड आएर २ महिना रेस्टुरेन्ट बन्द गर्नु पर्यो । पछि रेस्टुरेन्ट खोलेपनि ग्राहक कोही आउदैनथिए । अनलाईबाट अडर लिएर सामान पुर्याउन घर घर जान्थिन्। उनले कोरोनाको समयमा धेरै नेपालीलाई खाना दिएर सहयोग गरेकी थिइन् । त्यति मात्र होइन ज्याक्सन हाईट्स नजिकै रहेको एल्मर्ष्ट हस्पिटलमा कार्यरत डाक्टरहरुलाई समेत निशुल्क खाना खुवाएर सहयोग गरेकी थिइन् ।
    उनी बिहान सबेरैदेखि रातको १२/१ बजेसम्म काम गरिरहेकी भेटिन्छिन्। ग्राहकको मेनु अनुसारको खाना पकाउने, रेस्टरेन्टमा आवश्यक पर्ने सामान किनमेल गर्ने र ग्राहकको सेवामा खटिने सबै आंफै गर्छिन् ।

    एकातिर कडा मेहनत र लगनशीलताले उनलाई सफलता, चर्चा र सम्मानको उचाइमा पुर्‍याइरहेको छ भने अर्कोतिर उनको जीवनको अर्को पाटो उत्तिकै पीडादायी छ। अमेरिका आएदेखि आजसम्म उनले नेपाल फर्कने अवसर पाएकी छैनन्।
    ३ बर्षकी छोरी , ६ बर्षको छोरो र श्रीमान छोडेर परदेशिएकी बिमलाले न त आफ्ना सन्तान र परिवार नै भेट्न पाएकी छिन् । सफलताको शिखर चुमिरहेकी बिमलाको मनको एउटा कुनामा भने परिवारबाट टाढिनुपरेको पीडा आज पनि उत्तिकै गहिरो भएर बसेको छ । तर उनी निराश छैनन्, ‘एक दिन त भेट अवश्य होला नि,’ उनी मुस्कुराउँछिन्।

  • नेपालगञ्ज रङ्गशालामा फ्लड लाइट जडान गरिँदै

    नेपालगञ्ज रङ्गशालामा फ्लड लाइट जडान गरिँदै

    नेपालगञ्ज (बाँके), १२ असोज । नेपालगञ्ज रङ्गशालामा उच्च क्षमताको प्रकाश प्रणाली (फ्लडलाइट) जडान गरिँदैछ । सरकारले मुख्य सहरमा व्यावसायिक खेलकुदको विकाससँगै रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्ने योजनाअन्तर्गत यहाँको रङ्गशालालाई फ्लडलाइट जडानसहित स्तरोन्नति गर्न लागेको हो ।

    फ्लडलाइट जडानपछि रात्रिकालीन समयमा खेलकुद गतिविधि सञ्चालन गर्न सहज भइ खेल पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम ओलीले फ्लडलाइट जडानले यहाँको खेलकुद गतिविधिलाई नयाँ गति दिने बताए । “यहाँ गर्मीका कारण दिउँसो खेलकुद गतिविधि सञ्चालन गर्न कठिन छ । फ्लडलाइट जडान भएपछि राति पनि नियमित खेल, अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सकिनेछ ।” उनले भने, “यसले खेलकुदको दायरा विस्तारका साथै नेपालगञ्जलाई खेल पर्यटन गन्तव्यका रूपमा विकास गर्न समेत सहयोग पुर्याउनेछ ।”

    यस्ता कार्यक्रम आधुनिक पूर्वाधार विस्तारसँगै खेलाडी, दर्शक तथा आयोजकलाई समेत सहज वातावरण निर्माण हुनेछ । उक्त प्रविधिको जडानसँगै फुटबल मैदानको आधारभूत पूर्वाधार सुधारमा ध्यान दिइनुपर्ने आवश्यकता औँल्याइएको छ । जिल्ला खेलकुद विकास समिति बाँकेका पूर्वअध्यक्ष मोहित शाहले मैदानको सतह, पानी निकासलगायतका पक्षमा सुधारको खाँचो औँल्याए । त्यस रङ्गशालामा खेलकुद तथा अन्य कार्यक्रम सञ्चालनबाट आम्दानीका स्रोत बढ्न गई मर्मत सम्भारलाई निरन्तरता दिन सकिने सरोकारवालाको भनाइ छ ।

    नेपाल सरकारको खेलकुद पूर्वाधार विकास योजनाअन्तर्गत पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बीच यसै साता खेलकुद संरचनाको निर्माण तथा स्तरोन्नतिका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी तीन वर्षभित्र रङ्गशालालगायत निश्चित खेलकुद पूर्वाधारमा रु २५ करोडसम्म लगानी गरी आधुनिक फ्लडलाइट जडान तथा मर्मत सम्भारका काम गर्ने लक्ष्य राखिएको छ । लामो समयदेखि रङ्गशालालाई आधुनिक र सुविधा सम्पन्न बनाउन पर्ने माग हुँदै आएको थियो ।

  • चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी

    चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी

    काठमाडौँ, १२ असोजः चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा यात्रु ठगी रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्ने भएको छ । चाडपर्व नजिकिएसँगै देशभर यात्रुहरूको आवतजावत बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न विशेष अभियान सञ्चालनको तयारी थालिएको हो ।

    उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार चाडपर्वका समयमा अनधिकृत व्यक्तिबाट टिकट बिक्री, तोकिएभन्दा बढी भाडा असुली, सिट क्षमताभन्दा बढी टिकट बिक्री तथा एउटै सिटका लागि धेरै टिकट बिक्रीजस्ता घटना हुन सक्ने भएकाले त्यसको नियन्त्रणका लागि अभियान सञ्चालन गरिनेछ ।

    चाडपर्वका बेला तीव्र गति, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने र सडकमा सवारीसाधनबीच अस्वस्थ प्रतिस्पर्धाका कारण दुर्घटना हुन सक्ने भएकाले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिइने प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताए । यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी संयुक्त रूपमा विशेष चेकजाँच तथा अनुगमन गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रराज सुवेदीका अनुसार बसपार्क, चाबहिल, कोटेश्वर, चापागाउँ, बल्खु, पुल्चोक, नागढुङ्गा, कलङ्की, भीमढुङ्गा, साँखुलगायतका मुख्य स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि विशेष अभियान सञ्चालन गरिनेछ । अभियानअन्तर्गत सवारीसाधनको यान्त्रिक अवस्था र प्रदूषण जाँच गरिनेछ भने लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई चालक राख्नुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने भएको छ ।

    मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति नियन्त्रण गर्न ब्रेथलाइजर मेसिन प्रयोग गरी जाँच तथा अनुगमनलाई तीव्रता दिइने प्रवक्ता सुवेदीले बताए । दिवा तथा रात्रिकालीन समयमा सडकमा ट्राफिक प्रहरीको थप उपस्थिति गराई नागरिकलाई सुरक्षित यात्राको प्रत्याभूति दिलाउने गरी अभियान सञ्चालन गरिने छ ।

    चाडपर्वका समयमा मठमन्दिरमा दर्शनार्थीको भीड बढ्ने भएकाले ती स्थानमा पार्किङ व्यवस्थापनका लागि समेत ट्राफिक प्रहरी परिचालन गरिनेछ । अभियानलाई प्रभावकारी बनाउन सिभिल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभाग तथा महानगर प्रहरीबीच समन्वय गरी एकीकृत रूपमा परिचालन गर्ने व्यवस्था मिलाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

  • त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल

    त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल

    काठमाडौँ, १२ असोजः त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब रु १६ करोड ५० लाख असुलउपर गरेको छ । त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा अवस्थाबाट करिब रु १६ करोड ५० लाख असुलउपर भइसकेको छ । त्रिविले अध्ययन बिदापछि सेवामा नफर्किएका तथा फर्किएर तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट रकम असुलउपर गर्ने तथा अध्ययन बिदाका क्रममा विश्वविद्यालयबाट प्राप्त तलब, भत्ता तथा अन्य सुविधामा नियमानुसार हर्जानासमेत जोडेर रकम असुल गर्ने प्रक्रिया अघि बढाइएको जनाएको हो ।

    त्यस्तै, थप अवस्थाहरूको हिसाबकिताब तयार गर्ने तथा अभिलेख खोजी गर्ने काम भइरहेको विश्वविद्यालयले जनाएको छ । उपलब्ध विवरणअनुसार हिसाबकिताब भएका अवस्थामा करिब रु २१ करोड ५० लाख रकम रहेको उल्लेख छ । विश्वविद्यालयका अनुसार सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख खोजी तथा अध्ययन गर्ने काम भइरहेको छ । त्यस्ता व्यक्तिबाट विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम असुलउपर गर्ने प्रक्रिया पनि जारी रहेको छ ।

    त्रिविले अध्ययन बिदा उपभोग गरेपछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई आगामी पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । उनीहरुले [email protected] मार्फत पनि सम्पर्क गर्न सक्ने विश्वविद्यालयले जनाएको छ । तोकिएको अवधिभित्र सम्पर्क नगरेमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही अघि बढाइने त्रिविले स्पष्ट पारेको छ ।

  • कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझोखेतमा फुल्यो सपना

    कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझोखेतमा फुल्यो सपना

    लमजुङ, १२ असोजः बेँसीसहर नगरपालिका–१० बाँझाखेतमा मस्र्याङ्दी नदी किनारको जग्गामा तीन युवाले सुरु गरेको ड्रागन फ्रुटखेतीले नयाँ सम्भावना देखाएको छ । केही वर्षअघि कागतीखेतीबाट अपेक्षित आम्दानी लिन नसकेपछि इन्द्र घले, योगबहादुर घले र रामबहादुर गुरुङ ड्रागन फ्रुटखेतीतर्फ लागेका छन् ।
    तीन जनाले जनही रु तीन लाख लगानी गर्ने सहमति गरी ४० रोपनी जग्गा २० वर्षका लागि भाडामा लिए ।

    उत्पादन सुरु भएपछि प्रतिरोपनी वार्षिक रु चार हजार भाडा तिर्ने सहमति भएको इन्द्र घलेले बताए । सुरुमा करिब एक रोपनीमा ६०० कागतीका बिरुवा लगाइएको थियो । बलौटे माटोका कारण कागतीबाट अपेक्षित आम्दानी हुन सकेन । विसं २०७५–७६ तिर सामाजिक सञ्जालमार्फत ड्रागन फ्रुटखेतीबारे जानकारी पाएपछि त्यसतर्फ आकर्षित भएको उनले बताए ।

    विसं २०७७ चैतमा दमौलीबाट बिरुवा ल्याएर ५० वटा पिलरबाट ड्रागन फ्रुटखेती सुरु गरियो । सुरुमा १५–१६ जना मिलेर खेती गर्ने योजना बनाइएको थियो । तर व्यवस्थापन तथा निर्णय प्रक्रियामा कठिनाइ हुने देखिएपछि अन्ततः तीन जनाले खेतीलाई निरन्तरता दिएका छन् । ड्रागन फ्रुटसँगै उनीहरुले खुर्सानी र तरबुजाखेती गरेका छन् ।

    करिब दुई रोपनीमा लगाइएको खुर्सानी पहिलो वर्ष १० क्विन्टल र दोस्रो वर्ष ४० क्विन्टल उत्पादन भएको थियो । मृगले बालीमा क्षति पुर्याउन थालेपछि खुर्सानीखेती बन्द गरिएको इन्द्रले बताए । पहिलो वर्ष करिब ४० क्विन्टल तरबुजा उत्पादन हुँदा रु दुई लाख ५० हजार आम्दानी भएको थियो । सुरुमा आठ रोपनीमा लगाइएको तरबुजा अहिले पाँच रोपनीमा सीमित गरिएको छ ।

    ड्रागन फ्रुटको उत्पादन भने हरेक वर्ष बढ्दै गएको छ । विसं २०८० मा करिब एक क्विन्टल, २०८१ मा दुई क्विन्टल र २०८२ मा पाँच क्विन्टल उत्पादन भएको थियो । यस वर्ष बिरुवा परिपक्व हुँदै गएकाले करिब १५ क्विन्टल उत्पादन हुने अपेक्षा गरिएको इन्द्रले बताए । उनका अनुसार हालसम्म करिब १२ लाख आम्दानी भएको छ । प्रतिकिलोग्राम रु ४५० का दरले ड्रागन फ्रुट बिक्री भइरहेको छ । कृषि विकास कार्यालय लमजुङका प्रमुख किरण सिग्देलका अनुसार जिल्लामा करिब १० हेक्टरमा ड्रागन फ्रुटखेती भएको अनुमान छ ।

    आधिकारिक तथ्याङ्क प्राप्त नभए पनि ड्रागन फ्रुटको व्यावसायिक उत्पादन र विस्तारका लागि थप अध्ययन आवश्यक रहेको उनले बताए । उनका अनुसार पानी नजम्ने बलौटे माटोमा ड्रागन फ्रुटखेती राम्रो हुनसक्छ । घरआँगन, टारी तथा प्रयोगविहीन जग्गामा समेत खेती गर्न सकिने भएकाले यसको सम्भावना रहेको उनले बताए । खेतीमा मल व्यवस्थापन भने चुनौतीका रूपमा रहेको इन्द्रले बताए । आफ्नै पशुपालनबाट पर्याप्त मल नपुग्ने भएकाले बेँसीसहर र चनौटदेखि ल्याउनुपर्ने बाध्यता छ ।

    सुरुमा बाटोमा हिँड्ने तथा घुम्न आउने ग्राहकले खरिद गर्ने गरेकामा अहिले ग्राहक आफैँ बारीमा पुगेर ड्रागन फ्रुट किन्न थालेका छन् । उत्पादन बढेपछि लमजुङबाहिरका बजारमा समेत बिक्री गर्ने योजना रहेको उनले बताए । हालसम्म उक्त खेतीका लागि रु ३० लाख लगानी भइसकेको छ । पिलर, बिरुवा, सिँचाइ, मल तथा बारी व्यवस्थापनमा लगानी बढ्दै गए पनि कृषि कर्जा सहज रूपमा उपलब्ध नहुँदा थप विस्तारमा समस्या भएको उनले बताए । हाल करिब ५०० पिलरमा ड्रागन फ्रुटखेती गरिएको छ ।

    आगामी दिनमा पिलरको सङ्ख्या एक हजार पुर्याउने र गुणस्तरीय उत्पादन गर्दै जिल्लाबाहिरका बजारमा पुर्याउने लक्ष्य रहेको इन्द्रले बताए । कागतीबाट सुरु भएको यात्रा ड्रागन फ्रुटसम्म आइपुग्दा बाँझाखेतमा तीन युवाले खेतीमा नयाँ प्रयोगमात्र गरेका छैनन्, सम्भावना खोज्दै कृषि व्यवसायमा लाग्ने युवाका लागि नयाँ बाटोसमेत देखाएका छन् ।

  • फाइबर चुुडिएपछि तीन जिल्लामा सञ्चार सम्पर्क विच्छेद

    फाइबर चुुडिएपछि तीन जिल्लामा सञ्चार सम्पर्क विच्छेद


    म्याग्दी, १२ असोज । फाइबर चुुडिएपछि धवलागिरिका तीन जिल्लामा आइतबार बिहानदेखि सञ्चार सम्पर्क विच्छेद भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा कालीगण्डकीले कटान गरेर विद्युत्, नेपाल टेलिकम र निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीको फाइबर जडित पोल बगाएपछि सञ्चार सेवा प्रभावित भएको हो । म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लामा नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट तथा निजी कम्पनीहरूको इन्टरनेट सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ ।

    नेपाल टेलिकमको म्याग्दी वितरण केन्द्रका प्रमुख युवराज पौडेलले बाढीले पाँच सय मिटर फाइवर जोडेको चारवटा पोल बगाउँदा सञ्चार सेवा प्रभावित भएको बताए । “टेलिकमले तानेको फाइवरमा अन्य दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले पनि भाडामा लिएका हुुन्छन्”, उनले भने, “वैकल्पिक व्यवस्था गरेर अस्थायी रूपमा मोबाइल सेवा सञ्चालन गरे पनि इन्टरनेट सञ्चालनका लागि पोल गाड्ने र तार तान्ने अवस्था नभएकाले आइतबार दिनभर प्रयास गरे पनि सफल हुन सकेन ।”

    कालीगण्डकी नदीले मालढुुङ्गामा मोटरेबल पुलको पहुँचमार्ग बगाएकाले प्राविधिक टोली सहश्रधारा पुगेर फाइवर तान्न र मर्मत गर्न नसकेको उनले बताए । विपद्को समयमा सञ्चार सेवा अवरुद्ध हुँदा सूचना आदानप्रदान, उद्धार, राहतको काममा समस्या भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए । नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले सञ्चार सेवा अवरुद्ध हुँदा सर्वसाधारण, प्रशासनिक, सुरक्षा निकाय र जनप्रतिनिधिदेखि सञ्चारकर्मीलाई सूचना सम्प्रेषण गर्न समस्या भएको बताए ।

  • पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र

    पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र

    काठमाडौँ, १२ असोज । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउनका लागि निरन्तर प्रयास जारी रहेको छ । सडकमा पहिरो खस्नुका साथै केही स्थानमा बाढीले सडक कटान र डाइभर्सन बगाएपछि यातायात सञ्चालनमा समस्या भएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार धादिङ जिल्लाको गजुरी गाउँपालिका–२ चालिसे र गजुरी गाउँपालिका–५ बाङ्गेमोडमा खसेको पहिरो हटाउने काम भइरहेको छ । ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेकाले सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्ने जनाएको छ ।

    प्रवक्ता सुवेदीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत कृष्णभिरमा खसेको पहिरो हटाएपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था बनेको छ । चालिसे र बाङ्गेमोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले सो सडकखण्डमा तत्काल नियमित रूपमा सवारी सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले जानकारी दिए ।


    “कृष्णभिरको पहिरो हटाई एकतर्फी सञ्चालन गर्न सकिने भए पनि चालिसे र बाङ्गेमोडलगायतका स्थानमा अझै पहिरो हटाउने काम बाँकी भएको सो मार्ग हुँदै सवारी सञ्चालनमा केही कठिनाइ छ”, प्रवक्ता सुवेदीले भने । पहिरो हटाउने क्रममा थप वर्षा भएमा माथिबाट पुनः पहिरो खस्ने जोखिम रहेकाले सवारीसाधन सञ्चालनमा थप समस्या हुनसक्ने ट्राफिक प्रहरीले जनाएको छ ।

    यसैगरी, वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएपछि सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    कान्तिलोकपथअन्तर्गत ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा समेत पहिरो खसेकाले हटाउने काम भइरहेको छ । ट्राफिक प्रहरीका अनुसार वर्षाकै कारण बिपी राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ । बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे, चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातायात सेवा अवरुद्ध भएको हो ।

    बाढी र पहिरोका कारण सडकका विभिन्न स्थानमा आवागमन अवरुद्ध भएपछि यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा सडकको अवस्था बुझेरमात्र यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । वर्षा भइरहेका बेला पहाडी सडकमा जुनसुकै समयमा पहिरो खस्न सक्ने भएकाले अनावश्यक यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ । उता काठमाडौँको दक्षिणकाली–सिस्नेरी सडकखण्डमा साना सवारीसाधन तथा टाटा सुमोलगायतका गाडी सञ्चालनमा छन् । ठूला सवारीसाधनलाई भने त्रिभुवन राजपथ हुँदै सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।


    ट्राफिक प्रहरीका अनुसार दक्षिणकाली–सिस्नेरी सडकखण्ड तथा त्रिभुवन राजपथमा सवारीसाधनलाई निश्चित समयतालिका बनाएर आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । सडकको अवस्था, सवारीको चाप र मौसमलाई ध्यानमा राखेर आवश्यक व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने तथा उपत्यका प्रवेश गर्ने प्रमुख सडकमार्गमा यातायात प्रभावित भएपछि यात्रु भने समस्यामा परेका छन् ।

    विशेषगरी पृथ्वीराजमार्ग र बिपी राजमार्गमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध हुँदा लामो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन् । प्रहरीले राजमार्गको अवस्था सामान्य नभएसम्म चालक तथा यात्रुलाई धैर्य गर्न, जबर्जस्ती अवरुद्ध सडक पार गर्ने प्रयास नगर्न र ट्राफिक प्रहरी तथा सम्बन्धित निकायले दिएको सूचनाअनुसार यात्रा गर्न आग्रह गरेको छ ।

  • बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

    बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

    बागलुङ, १२ असोजः बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा ठूलो मानवीय क्षति भएको हो । आइतबार मात्रै नौ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । शनिबार एक जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणिन्द्र प्रसाईँका अनुसार आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु, एक जना बेपत्ता र निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ ।

    तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । सोही स्थानमा पहिरोले आठ घर बगाएको छ । तमानखोला गाउँपालिका–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता भएका छन् ।


    निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उहाँका छोरा १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक छन् । यस्तै, निसीखोला गाउँपालिका–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ । शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।

    बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा अधिकारीको टोली पुगेको थियो ।

    बाढी र पहिरोले तनहुँमा २४ घरमा क्षति

    विगत केही दिनदेखिको वर्षाका कारण बाढी र पहिरोले तनहुँका छ स्थानीय तहमा २४ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार व्यास नगरपालिकामा पाँच, म्याग्दे गाउँपालिकामा दुई, घिरिङ गाउँपालिकामा छ, ऋषिङ गाउँपालिकामा दुई, बन्दीपुर गाउँपालिकामा चार र भानु नगरपालिकामा पाँच घरमा क्षति पुगेको छ ।

    क्षति पुगेका घरका परिवारलाई प्रहरी टोलीले सुरक्षित स्थानमा सारेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण व्यास नगरपालिका–१ स्थित राइस मिलमा क्षति पुग्दा एक सय बोरा धान भिजेको छ । भिमाद नगरपालिका–६ मालेबगरमा कुखुराफार्म र बङ्गुरको खोरसमेत बगाएको छ ।

    देवघाटको सीता गुफा परिसरमा बाढीले क्षति

    तनहुँको देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकी नदीमा आएको बाढीले विभिन्न संरचना तथा सामान बगाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बाढीले सीता गुफा नजिकको शौचालय, बाथरुम, ठूलो ढुङ्गामा कुँदिएको १०८ शिवलिङ्गसहितको ओमकार मूर्ति, स्टोरका सामान तथा ओढ्ने–ओछ्याउने सामग्री बगाएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय देवघाटबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले सीता गुफामा पूजा गर्ने ७६ वर्षीय पुजारी शिवानन्द गिरीलाई सुरक्षित स्थानमा सारेको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिए ।

  • वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

    वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

    काठमाडौँ, ११ असोजः विगत चार दिनदेखिको निरन्तर वर्षाद्ले गोकर्णेश्वर उत्तरगया पितृतीर्थ क्षेत्रमा सोह्र श्राद्ध गर्न आउनेहरू प्रभावित भएका छन् । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको हो । आज प्रतिपदा तिथि श्राद्ध गरिँदैछ । विगतका वर्षमा सोह्र श्राद्धको पहिलो दिन यस क्षेत्रमा सयौँ मानिसले श्राद्ध गर्ने स्थानका लागि तोकिएको शुल्क तिरेर रसिद काट्ने गरेकामा यस वर्ष ६६ जनाले मात्र रसिद काटेका गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए ।

    उनका अनुसार यहाँ श्राद्ध गर्नेलाई समितिले सरसफाइका लागि रु २०० शुल्क लिने गरेको छ । विगत चार दिनदेखिको निरन्तर वर्षाले श्राद्ध गर्न आउनेहरू प्रभावित भएका उनले बताए । गोकर्णेश्वर मन्दिरभन्दा ५०० मिटरमाथिको दूरीमा रहेको कान्तिभैरव उत्तरगया क्षेत्रमा भने बिहानदेखि छ जनाले मात्र श्राद्ध गर्न रसिद काटेका कान्तिभैरव मन्दिर व्यवस्थापन समितिका कर्मचारी कोपिला थापाले जानकारी दिइन् । पानी नपरेका बेला भने यहाँ पनि दैनिक १०० जनाभन्दा धेरै मानिस श्राद्ध गर्नकै लागि आउने गरेका थिए ।

    राजधानीमा डेरा लिएर बसेकाहरू गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा आएर श्राद्ध गर्दछन् । डेरामा श्राद्ध गर्नुहुँदैन भन्ने मान्यता राख्नेहरू र डेरामा ठाउँ अभाव हुनेहरूले यहाँ आएर श्राद्ध गर्दछन् । धर्मशास्त्रविद् तोयराज नेपालले भने डेरामा ठाउँ भएसम्म श्राद्ध गर्न शास्त्रीय वचनका आधारमा कुनै बाधा नपर्ने बताए । भाडा तिरेर बसिसकेपछि रकम तिरुञ्जेल आफ्नै हुने भएकाले डेरामा श्राद्ध गर्न धर्मशास्त्रीय ग्रन्थले भने अनुसार कुनै बाधा नरहेको उनले बताए ।

    डेरामा ठाउँ अभाव भएर तीर्थमा गएर तिथिको श्राद्ध गर्नुपर्दा पहिले तीर्थ श्राद्ध गरेरमात्र तिथि वा सोह्र श्राद्धको तिथिको श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम रहेको जानकारी पनि धर्मशास्त्रविद् नेपालले दिए । तीर्थ श्राद्ध र तिथिको वा सोह्र श्राद्ध एकै दिन गर्दा तीर्थ श्राद्ध आफ्ना पुरेतबाट नभई अलग्गैबाट गर्नुपर्ने पनि उनले बताए । दुवै श्राद्ध एकै पुरेतबाट गराएर सिदा र दक्षिणा दान एकै जना ब्राह्मणलाई गराउन नहुने शास्त्रीय वचन रहेको छ ।

  • सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

    सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

    वालिङ ९स्याङ्जा०, ११ असोजः अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण सेतीवेणी बजार डुबानमा परेको छ । स्याङ्जा, पर्वत र गुल्मीको सीमामा रहेको कालीगण्डकी नदी र सेतीखोलाको किनारमा अवस्थित सेतीवेणी बजार डुबानमा परेको हो । चार दिनदेखि निरन्तर रुपमा परेको वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका–५ तर्फको बजारका १७ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । त्यस्तै, पर्वततर्फका नौ घरमा क्षति पुगेको गल्याङ(५ का वडाध्यक्ष घनश्याम भट्टराईले बताए ।


    “स्याङ्जातर्फका १७ घरमा बाढी पस्दा घरहरू भत्किनुका साथै डुबानमा परेका छन्”, उनले भने, “गएराति २ः०० बजेतिरदेखि नदी तथा खोलामा बहाव बढेसँगै स्याङ्जा र पर्वततर्फका बाढी प्रभावितलाई पर्वततर्फको शालिग्राम मावि परिसरमा राखिएको छ ।” विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावितलाई तत्काल खानपान तथा आश्रयको व्यवस्थापन मिलाइएको उनले बताए । बाढीका कारण मानवीय क्षति नभएपनि केही पशुचौपाया भने नदीले बगाएर लगेको उनको भनाइ छ ।

    बजार डुबानमा परेपछि अहिले त्यहाँको जनजीवन प्रभावित बनेको छ । बाढीका कारण विश्व विराट शालिग्राम शीला डुबानमा परेको छ । कालीगण्डकी नदीमा आएको बाढीका कारण स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मा मिर्मीमा रहेको कालीगण्डकी ए जलविद्युत् परियोजनाका सबै ढोका खोलेर विद्युत उत्पादन बन्द गरिएको छ । नदीमा आएको बाढीले आज बिहान मिर्मीस्थित स्याङ्जा र गुल्मीलाई जोड्ने मोटरेबल पुलसमेत बगाएको थियो ।

  • विपदबाट चार दिनमा १५ जनाको मृत्यु

    विपदबाट चार दिनमा १५ जनाको मृत्यु

    काठमाडौँ, ११ असोजः देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्बाट चार दिनमा १५ जनाको मृत्यु भएको छ । विपद्मा परी बागमती प्रदेशमा तीन, लुम्बिनीमा चार, गण्डकीमा पाँच, कर्णालीमा दुई र मधेस प्रदेशमा एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । विपद्का घटनामा चार जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    बाढी, पहिरो तथा डुबानमा परेका एक हजार २८४ जनाको उद्धार गरिएको छ । अन्य सुरक्षा निकाय र स्थानीयको समन्वयमा बाढी पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षित गर्ने काम भइरहेको प्रवक्ता काफ्लेले बताए ।

  • सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध

    सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध

    काठमाडौँ, ११ असोजः सोह्र श्राद्धको पहिलो दिन आज पशुपतिनाथ क्षेत्रमा छ सयभन्दा बढी श्रद्धालुले श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छन् । बिहानैदेखि वर्षा भए पनि श्रद्धालुहरू आफ्ना दिवङ्गत पितृको सम्झनामा धार्मिक विधिअनुसार श्राद्ध गर्न पशुपति क्षेत्रमा पुगेका थिए । पशुपति क्षेत्रमा लामो समयदेखि श्राद्धलगायत धार्मिक कर्मकाण्ड गराउँदै आउनुभएका कलङ्कीका पण्डित शेषकान्त पन्तका अनुसार वर्षाका कारण विगतका वर्षको तुलनामा यस वर्ष पहिलो दिन श्रद्धालुको सङ्ख्या केही कम देखिएको हो ।

    उनले सोह्र श्राद्ध पितृहरूको सम्झना र सम्मानमा गरिने धार्मिक परम्परा भएको उल्लेख गर्दै पहिलो दिनमै वर्षा भएकाले श्रद्धालुको आवागमन प्रभावित भएको बताए । पितृहरूको आत्माको शान्तिको कामना गर्दै सोह्र श्राद्धका अवसरमा विभिन्न धार्मिक तथा तीर्थस्थलमा श्राद्ध, तर्पण र पिण्डदान गर्ने प्रचलन छ ।
    यस अवधिमा विशेषगरी पशुपतिनाथ क्षेत्रमा दिवङ््गत आफन्तको सम्झनामा धार्मिक कर्मकाण्ड गर्ने श्रद्धालुको बाक्लो उपस्थिति रहने गरेको पण्डित गङ्गाराज दाहालले बताए । उनका अनुसार आजदेखि सुरु भएको सोह्र श्राद्ध औँसीसम्म चल्नेछ ।

    यस अवधिमा श्रद्धालुहरूले आफ्ना दिवङ्गत पितृको सम्झनामा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने परम्परा रहिआएको छ । वर्षाका कारण बिहान श्रद्धालुको आवागमन केही प्रभावित भए पनि दिउँसोसम्म पशुपतिनाथ क्षेत्रमा श्राद्ध, तर्पण तथा पिण्डदान गर्नेहरूको चहलपहल जारी थियो ।

    कोटेश्वरबाट श्राद्ध गर्न पशुपति आएका कमल अधिकारीले वर्षा भए पनि तिथिअनुसार श्राद्ध गर्नुपर्ने भएकाले आफूहरू आएको बताए । उनले सोह्र श्राद्धको अन्तिम दिन श्रद्धालुको उपस्थिति अझ बाक्लो हुने अपेक्षा गरे । सोह्र श्राद्ध सुरु भएसँगै पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको चहलपहल बढेको छ । श्रद्धालुहरूको आगमनसँगै पण्डितहरूलाई पनि श्राद्ध, तर्पण तथा पिण्डदानलगायत धार्मिक कर्मकाण्ड गराउन भ्याइनभ्याइ भएको छ ।

  • बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

    बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

    गुल्मी, ११ असोजः अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहका २३१ घर उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जोखिममा परेका केही परिवार आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार कालीगण्डकी गाउँपालिकाका १५, सत्यवती गाउँपालिकाका ३० घर, रुरुक्षेत्र गाउँपालिकाका ४०, मुसिकोट नगरपालिकाका १२ र रेसुङ्गा नगरपालिकाका २५ घर जोखिममा परेका छन् । त्यसैगरी गुल्मीदरबार गाउँपालिकाका पाँच, चन्द्रकोट गाउँपालिकाका ७०, धुर्कोट गाउँपालिकाका १५, इस्माका १२ र छत्रकोट गाउँपालिकाका सात घर पहिरोको जोखिममा परेका उनले जानकारी दिए ।


    प्रहरी उपरीक्षक बोगटीले जिल्लामा बाढीपहिरोबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको बताए । जोखिममा रहेका तथा विस्थापित परिवारको विवरण थपिन सक्ने भएकाले घटनाको विवरण सङ्कलन भइरहेको उनले बताए । बाढीपहिरोका कारण उच्च जोखिममा परेर विस्थापित परिवारलाई स्थानीय पालिकाहरूको सहयोगमा सुरक्षित स्थानमा सार्ने आवश्यक सहयोग उपलब्ध गराउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

  • पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

    पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

    बागलुङ, ११ असोजः बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु र एक जना बेपत्ता तथा निसीखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक फणिन्द्र प्रसार्इंले जानकारी दिए । अविरल वर्षाका कारण तमानखोला गाउँपालिका–३ धर्नासुकमा घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको हो ।

    यस्तै पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–४ सन्तरका ५० वर्षीय हस्तविर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । सोही पहिरोमा परेर हस्तविर श्रीपालीकी श्रीमती बेपत्ता भएकी छिन् । यसैगरी पहिरोले गोठ पुरिँदा निसीखोला गाउँपालिका–६ रङ्गिलमा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिए ।

  • बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

    बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

    बागलुङ, ११ असोजः बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो । केहीबेर अघि तीन जनाको शव निकालिएको हो ।

  • कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो


    म्याग्दी, ११ असोजः बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाका वडा २, ३, ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्कबाट विच्छेद भएका छन् ।

    यसैगरी, अन्नपूूर्ण गाउँपालिका–५ गिवाङमा एक र वडा ३ को फगाममा एउटा घर पहिरोमा पुरिएको छ । पुरिएका घरका दुई जनाको खोजी जारी छ ।
    बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा पनि कालीगण्डकीले सडक कटान गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमा क्षति भएको छ ।

  • आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)

    आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)


    काठमाडौँ, ११ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नपछि गर्नुपर्ने समितिका पूर्वसदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।


    आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

    यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृ ऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । सोह्र श्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उनले बताए । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउँछन् ।


    कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्धकर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

    आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्र श्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्रा डा भट्टराईले जानकारी दिए ।


    त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले बताउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । सोह्र श्राद्ध अपराह्नकाल पारेर पिताका तिथिका दिन गर्नुपर्नेमा कतिपय पुरोहितले आफूअनुकुल बिहानै श्राद्ध गर्नु भन्ने गरेको जानकारी आएकाले त्यो शास्त्रसम्मत नभएको धर्मशास्त्रविद्रहरु बताउँछन् ।

    पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत जेठ महिनामा अधिकमास परेकाले सोेह्र श्राद्ध र बडादसैँ पर्व पछि सरेको छ ।

  • बर्दियामा वर्षाले तीन घरमा क्षति

    बर्दियामा वर्षाले तीन घरमा क्षति


    बर्दिया, ११ असोजः बर्दियामा अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा तीन घरमा क्षति पुगेको छ । घरको भित्ता भत्किँदा बाँसगढी नगरपालिका–८ रेशम टोलमा एउटा बङ्गुरसमेत मरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराका अनुसार वर्षाका कारण हुनसक्ने बाढी तथा डुबानबाट ठूलो क्षति हुन नदिन जिल्ला प्रशासन र प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

    प्रहरीलाई पूर्वतयारी अवस्थामा राखिनुका साथै नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन गाउँगाउँमा माइकिङसमेत गरिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए ।
    दुई दिनदेखि निरन्तर परेको वर्षाका कारण बाँसगढी नगरपालिका–८ रेशम टोलका जलबहादुर चौधरीको चारकोठे इँटा, माटोको कच्ची घरको दक्षिणतर्फको भित्ता भत्किएको छ ।

    भित्ता भत्किँदा घरसँगै जोडिएको बङ्गुरको खोर च्यापिएर खोरमा रहेको बङ्गुर मरेको प्रहरीले जनाएको छ । त्यसैगरी, मधुवन नगरपालिका–५ का खिरबहादुर गुरुङको चारकोठे कच्ची घरको दक्षिणतर्फको एउटा कोठाको भित्ता भत्किएको छ भने बारबर्दिया नगरपालिका–९ खैरेनीमा दुईकोठे कच्ची घरको पश्चिम र दक्षिणतर्फको भित्ता भत्किएको छ । उक्त घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    निरन्तर वर्षाका कारण स्थानीय कुला तथा नालामा पानीको सतह बढेपछि गुलरिया नगरपालिका–१ छेदापुर चोकमा पाँचवटा कच्ची घरमा पानी पसेको छ । पानी घरभित्र पसेको जानकारीपछि प्रहरी र वडाका जनप्रतिनिधिको सहयोगमा प्रभावित परिवारलाई उद्धार गरेर छेदापुरस्थित श्री स्वामी प्रमानन्द प्राथमिक विद्यालयमा बस्ने व्यवस्था मिलाएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।


    त्यसैगरी, बढैयाताल गाउँपालिका–१ दैलेखी टोलकी गोमा विकको कच्ची घरमा पनि पानी पसेको छ । वर्षाका कारण प्रभावित परिवारलाई घरका सामानसहित सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । बर्दियामा कर्णाली, गेरुवा र भादा नदीमा पानीको बहाव बढ्दा तटीय क्षेत्रका बासिन्दा डुबानको जोखिममा पर्ने गरेका छन् । नदीको जलसतह खतराको चिह्न पार गरेपछि तटीय क्षेत्रका नागरिकलाई सतर्क गराउन साइरन बजाउने गरिएको छ ।

    कर्णाली नदीको चिसापानी जलसतह मापन केन्द्रमा १० मिटर आठ सेन्टिमिटर जलसतह पुगेपछि खतरा तह पार गर्ने जनाइएको छ । हाल उक्त केन्द्रमा नदीको जलसतह खतरा तहभन्दा तल रहेको गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । वर्षा निरन्तर भइरहेकाले नदीको जलसतह भने बढिरहेको उनले बताए । त्यसैगरी, बबई नदीको जलसतह पनि खतरा तहभन्दा तल रहेको चेपाङस्थित जलसतह मापन केन्द्रका गेज रिडर मोहनलाल जैसीले जानकारी दिए ।

  • सप्तरीका ५०० घर डुबानमा, बागलुङका सबै सडक अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा, बागलुङका सबै सडक अवरुद्ध


    सप्तरी, ११ असोजः लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी कोइलाडी गाउँपालिकामा आएको बाढीका कारण ५०० घर डुबानमा परेपछि दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२, १३ को बस्तीमा बाढी पस्दा ४८३ र तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ बाढी पस्दा १७ घर डुबानमा परेपछि करिब दुई हजार प्रभावित भएका छन् । शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमान नगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताए ।


    उनले भने, “बाढीबाट प्रभावित भएकाहरूका लागि तत्काल बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरे पनि अलिकति पानी कम भएपछि पीडित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइनेछ ।”

    बागलुङका विभिन्न सडक अवरुद्ध

    बागलुङः लगातारको वर्षाका कारण बागलुङका दुई राष्ट्रिय राजमार्गसहित दर्जनौँ ग्रामीण सडक अवरुद्ध भएपछि जिल्ला सदरमुकाम बागलुङ बजारसँग सम्पर्क टुटेको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गसहित विभिन्न शाखा तथा ग्रामीण सडकमा बाढीपहिरोले क्षति पुर्याउँदा यातायात सेवा प्रभावित बनेको हो ।

    गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने गलकोट–ताराखोला सडकको गाईघाट झरना क्षेत्रमा ताराखोला नदीले पक्की सडक कटान गरेपछि शुक्रबारदेखि सडक अवरुद्ध भएको छ । बागलुङ बजारदेखि तित्याङ, रायडाँडा हुँदै भकुण्डे जोड्ने सडकको बागलुङ नगरपालिका–३ गौडाकोटमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१ रामरेखास्थित गणेशथान घुम्तीदेखि निरयघाट जाने सडकमा पहिरो खस्दा सडक बन्द भएको छ ।

    पहिरोका कारण बागलुङ बजारदेखि सिगाना हुँदै सायकोट जाने सडकसमेत अवरुद्ध भएको छ । बागलुङ बजारदेखि दब्ल्याङ हुँदै बलेवा–कुश्मिसेरा जोड्ने मुख्य सडक अवरुद्ध भएपछि दक्षिण बागलुङको यातायात सम्पर्क टुटेको छ । बागलुङ बजारदेखि मुलपानी–तितौरे जाने सडकको तल्लो पात्लेमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बरेङ जाने सडक, निसीखोलामा राजमार्गबाट गाउँ जोड्ने साना सडक तथा ढोरपाटनका ग्रामीण सडकमा समेत ठाउँठाउँमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँले वर्षाका कारण राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अवरुद्ध भएको जानकारी दिए । उनका अनुसार अवरुद्ध सडक खुलाउन सडक आयोजनाका प्रमुख, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी तथा स्थानीय तहसँग समन्वय भइरहेको छ । लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा जिल्लाका विभिन्न ग्रामीण बस्तीको सदरमुकामसँगको यातायात सम्पर्क प्रभावित भएको छ ।

  • पर्वतमा बाढी, पाँच घर बगे

    पर्वतमा बाढी, पाँच घर बगे

    गण्डकी, ११ असोजःकालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ भने त्यहाँका कैयौँ घर बाढीको जोखिममा छन् । गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । कालीगण्डकी बाढीले म्याग्दी, पर्वत, बागलुङलगायत जिल्लाका तटीय क्षेत्रमा विभिन्न स्थानमा कटान गरेको छ । गएरातिदेखि कालीगण्डकीमा जलसतह बढेपछि सर्वसाधारणमा त्रास बढेको छ ।

  • सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

    सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता

    कास्की, १० असोज । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि सो क्षेत्रमा सतर्कता अपनाइएको छ । रामघाटमा पानीको सतह बढ्दै जाँदा नदी किनारमा रहेका पोखरा–९ र पोखरा–११ का सुकुमवासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शवदाह गृहहरूसमेत जलमग्न भई जोखिममा परेका छन् । सेतीमा पानीको बहाव बढेर रामघाटमा ताल बनेपछि त्यस वरपरको सुकुमवासी बस्तीमा सुरक्षाकर्मी परिचालन गरी सतकर्ता अपनाइएको र प्रहरीले निरन्तर निगरानी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।


    उनका अनुसार प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीले रामघाट वरपरको क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । “विगतमा जस्तै पानीको उच्च बहावले ताल बने पनि अहिल्यै आत्तिनुपर्ने अवस्था नभएको स्वयं स्थानीयले बताएका छन् । हामीले सुरक्षाकर्मी परिचालन गरी पूर्वसावधानी र जोखिम मुल्याङ्कन गरीरहेका छौँ । अहिलेको अवस्था हेर्दा आतङ्कित हुनेभन्दा सतर्क र सचेत बन्नु आवश्यक छ । खतरा हुने वित्तिकै नदीको वारी र पारी दुवैतर्फ रहेका बस्तीहरू सुरक्षित स्थानमा छौँ”, सहायक प्रजिअ बरालले भने ।

    बजारको मध्य भाग भएर बग्ने नदीको बहाव रोकिएर ताल बनेपछि पोखरेली भने त्रसित छन् । यसैगरी अविरल वर्षाका कारण जिल्लामा केही ग्रामीण सडकहरू भने अवरुद्ध भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्याउली बजारमा मोदी खोलाले सडक कटान गर्दा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध भएको छ ।

    मोदीले शुक्रबार साँझ स्याउली बजारमा १० मिटर सडक कटान गरेको गाउँपालिका प्रवक्ता भरतमान गुरूङले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध हुँदा पर्यटकीय क्षेत्र घान्द्रुकको पोखरासँगको सम्पर्क विच्छेद छ ।

  • पछिल्लो विपद्बाट छ जनाको मृत्यु

    पछिल्लो विपद्बाट छ जनाको मृत्यु

    काठमाडौँ, १० असोजः अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको मृत्यु भएको छ । विपद्बाट बागमती र लुम्बिनी प्रदेशमा दुई-दुई, गण्डकी र कर्णालीमा एकरएक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । बाढीपहिरोमा परी दुई जना घाइते भएका छन् । घाइतेका लागि स्थानीय अस्पताल उपचार भइरहेको छ । प्रहरीले ४०७ जनाको उद्धार गरेको छ ।

  • बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

    बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित


    गुल्मी, १० असोजः अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा ११ परिवार विस्थापित भएका छन् भने गोठ भत्किँदा तीन पशुचौपाया मरेका छन् । बाढी तथा पहिरोको जोखिममा परेका, घरको छानोमा क्षति पुगेका प्रभावित परिवारलाई प्रहरी तथा स्थानीयको सहयोगमा सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कायालय गुल्मीका सुभना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । रुरुक्षेत्र गाउँपालिका–१ रिडीस्थित लामाचौपारी क्षेत्रमा कालीगण्डकी नदीको बहाव बढेपछि नदी किनारमा पसल सञ्चालन गरी बस्दै आएका सात घरधुरी जोखिममा परेका छन् । जोखिममा परेका परिवारलाई स्थानीयवासी र प्रहरीको सहयोगमा आफन्तको घरमा स्थानान्तरण गरिएको छ ।

    रेसुङ्गा नगरपालिका-४ सेउघामा घर माथिबाट पहिरो खसेपछि दुई परिवार विस्थापित भएका छन् । तेजबहादुर खत्रीको चार र एमकला खत्रीको दुईसहित छ जनालाई प्रहरी तथा स्थानीयको सहयोगमा उद्धार गरी नजिकैको गोठमा स्थानान्तरण गरिएको प्रहरी नायब उपरीक्षक विश्वकर्माले जानकारी दिए ।

    उनका अनुसार मदाने गाउँपालिका-६ पुर्कोटदहस्थित ठुम्कामा हावाहुरी र वर्षाका कारण घरको टिनको छानो उडेपछि ३७ वर्षीय सन्तोष चुदराको परिवार विस्थापित भएको छ । चन्द्रकोट गाउँपालिका-४ रेमीमा ४४ वर्षीय खेमबहादुर कार्कीको गोठ भत्किएर क्षति पुगेपछि उहाँको परिवार पनि विस्थापित भएको छ । कार्कीको एकतले कच्ची गोठ भत्किँदाभित्र बाँधिएका पाडापाडी पुरिएर मरेका छन् ।

    यसैगरी मुसिकोट नगरपालिका १ पखेरामा २७ वर्षीया सुशीला विकको एकतले कच्ची गोठ भत्किँदा एउटा माउ बाख्रा पुरिएर मरेको छ । बाढी तथा पहिरोबाट हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पहिरोग्रस्त क्षेत्रमा उद्धार कार्यलाई सक्रिय बनाएका छन् । जोखिमयुक्त क्षेत्रमा समयमै उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले सर्वसाधारणमा आग्रह गरेको छ ।

    कालीगण्डकीमा पानीको बहाव बढेपछि स्थानीयलाई सारियो

    लगातारको वर्षासँगै आएको बाढीका कारण गुल्मीको कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि रुरुक्षेत्र गाउँपालिका(१ रिडि बजारस्थित तटीय क्षेत्रका उच्च जोखिममा परेका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । इलाका प्रहरी कार्यालय रिडिबाट प्रहरी सहायक निरीक्षक मनबहादुर विश्वकर्माको नेतृत्वमा प्रहरी टोली उद्धार तथा स्थानान्तरणको काममा खटिएको प्रहरी नायब उपरीक्षक विश्वकर्माले जानकारी दिए ।

    आज बिहान नदीमा पानीको सतह एकाएक बढेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनारका नागरिकलाई सर्तक रहन र सुरक्षित स्थानमा बसोवास गर्न आग्रह गरेको छ । कालीगण्डकी नदीमा पानीको बहाव उच्च रूपमा बढ्दै गएपछि रिडीवासीमा यतिबेला थप त्रास बढेको छ ।

  • भोटेकोशी बाढीको महाविपद एक महिना खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

    भोटेकोशी बाढीको महाविपद एक महिना खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

    काठमाडौँ, असोज १० । रसुवाको भोटेकोशी नदीमा अकस्मात बाढी गएको एक महिना भएको छ । गत भदौ १० गते विहान गएको सो अकल्पनीय बाढीको महाविपदबाट रसुवा, नुवाकोट, धादिङ सहितको जिल्लाका विभिन्न स्थानहरूमा अकल्पनीय मानवीय र भौतिक संरचनामा क्षति पु¥याएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरकण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढीबाट हालसम्म एकहजार ४५३ जनाको अकालमा मृत्यु भएको छ भने पाँच हजार ५५० जना अझै बेपत्ता छन् । यसैगरी १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार गरिएका प्रभावित आश्रयस्थलमा पनि छन् । बाढी प्रभावितको खोज, उद्धार तथा राहत सहित अन्य सेवाका लागि तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी अहोरात्र तल्लीन छन् ।

    बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोडभन्दा बढीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ । उक्त विपद्को द्रुत क्षति तथा आवश्यकता आकलन ९आरडिएनए० प्रतिवेदन अनुसार पुनर्निर्माण एवं पुनस्र्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्नेछ । विनाशकारी बाढीबाट ७ हजार ५७० निजी घरहरू क्षतिग्रस्त भएका छन् ।

    यसबाहेक ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ । सात सय ५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका पाँचवटा सोलार प्लान्ट प्रभावित भएका छन् भने ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त, ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ बगेका छन् । यस्तै, ६८ वटा झोलुंगे पुलमा क्षति पुगेको छ । करिव सात हजार ५७० घरहरु प्रभावित हुँदा आठ हजार ३०० घरपरिवार र करिव ४० हजार जनसङ्ख्या प्रभावित भएका छन् ।

    बाढीका कारण उत्पादन क्षेत्रअन्तर्गत एक हजार ८०६ हेक्टर कृषि बालीका साथै पशुपालन, पंक्षीपालन तथा माछापालन पनि प्रभावित भएको छ । त्यसैगरी, १७ बैंक शाखा र चार हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् । बाढी प्रभावितको खोज, उद्धार तथा राहत वितरण जारी छ भने क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण, सडक सञ्जालको पहुँचले जोड्ने लगायतका कार्य द्रुत जारी छ ।

    ‘संकटमा ‘राज्य र रेडक्रस उपस्थित छन्’

    विनाशकारी बाढीगए लगत्तै रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ ९आइएफआरसी०को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले आवश्यक समन्वय एवं पहल गरी आपत्कालीन सहयोग कोष (ड्रिफ) मार्फत् १२ लाख अमेरिकी डलर खर्च गर्न स्वीकृति सुनिश्चित गर्दै बाढी प्रभावितको तत्काल खोज, उद्धार तथा राहतमा जुट्न नेपाल रेडक्रसको स्वयंसेवक र ‘आइएफआरसी’का ‘टिम’लाई आह्वान गरेका थिए ।


    साथै नेपाल रेडक्रस सोसाइटीले आफ्नो आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाइ सम्बन्धित जिल्ला शाखा तथा स्वयंसेवकहरूलाई बाढी प्रभावितको खोज, उद्धार परिचालित गरेको थियो । सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारीका नेतृत्वमा एक टोलीले तत्काल प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी बाढी प्रतिकार्य सञ्चालनलाई अगाडि बढाएको थियो ।

    स्वयंसेवकहरूले खोज तथा उद्धारमा सहयोग गर्नुका साथै प्रभावित समुदायको तत्कालीन आवश्यकता पहिचान र समन्वयमा सहयोग पु¥याइरहेका छन् । ‘आइएफआरसी’को ‘ड्रिफ’ ले विपद प्रभावितलाई तत्काल उद्धार र राहत सुरुआत गर्न सम्भव बनाइरहेको छ । यसबाट खानेपानी, टेन्ट, तारपोलिन, कम्बल, ओछ्याउने म्याट, प्राथमिक उपचार, स्ट्रेचर, शव व्यवस्थापनका लागि सामग्री (डेथ बडी–ब्याग), मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सहयोग, आपतकालीन स्वास्थ्य सेवा, सरसफाइ ‘किट’ जस्ता सामग्री तथा सेवा छिटो भन्दा छिटो प्रभावित स्थानमा पठाउन र वितरण गर्न सम्भव भएको जनाइएको छ ।

    महासचिव तथा प्रमुख कार्यकारी अधिकृत चापागाईँँले भने, न्नुभयो, “ड्रिफ समयमा निकासा हुँदा तत्काल बाढी प्रतिकार्यमा सहयोग पु¥यायो । स्वयंसेवक सहित उद्धार टोली प्रभावित क्षेत्रमा पुग्न सफल भए । प्रभावितले राहत सामग्री उपयोग गर्न पाउनुभयो । यसले अकाल मृत्यु, रोग र थप मानवीय पीडाको संकट घटाउन सहयोग पु¥यायो । यसबाट विश्वासको वातावरण निर्माण बनाउन सहयोग पु¥यायो । संकटका अवस्थामा ‘राज्य र रेडक्रस उपस्थित छन्’ भन्ने अनुभूति समुदायमा दिलायो । यसले सामाजिक तनाव र अविश्वास घटाउन सहयोग पु¥यायो ।”

    भोटेकोशी बाढीमा ‘फ्ल्यास फ्लड’को प्रकृतिअनुसार स्रोत परिचालनको गति पनि अत्यन्तै छिटो भएको र ‘ड्रिफ’ र आपतकालीन अपिल अत्यन्त छिटो सक्रिय रहेको उनले जानकारी दिए । महासचिव चापागाईँ भन्छन्, “भोटेकोशी बाढी प्रतिकार्यलाई ‘जलवायु संवेदनशील मानवीय प्रतिकार्य’को एउटा महत्वपूर्ण ‘मोडेल’ बन्न सक्छ । ”

    बढी प्रतिकार्य अन्तर्गत विभिन्न मानवीय सहायताका काम निरन्तर जारी रहेको नेपाल रेडक्रसले जनाएको छ । नेपाल रेडक्रसको महामन्त्री ऋषिरमण खनालले भोटेकोशी बाढी गएको सुरुआती दिनदेखि प्रतिकार्य निरन्तर जारी रहेको जानकारी दिनुभयो । उहाँले सुरुआती क्षणमा बाढी प्रभावितको खोज,उद्धारमासहयोगको साथसाथै हाल आवास तथा गैरखाद्य, खाद्य सामग्रीको वितरण, खानेपानी, सरसफाइ तथा स्वच्छता, स्वास्थ्य तथा मनोसामाजिक सहयोग, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तथा प्राथमिक मनोसामाजिक सहयोग, रेडक्रस आपत्कालिन स्वास्थ्य क्लिनिक, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना, बहुउद्देश्यीय नगद सहायता÷नगद तथा भौचर सहायता लगायतका क्षेत्रमा मानवीय सेहायता निरन्तर जारी रहेको बताए ।

    मानवीय सहायता निरन्तर जारी

    महामन्त्री खनालद्वारा जारी विज्ञप्तिका अनुसार हालसम्म आवास तथा गैरखाद्य सामग्रीको वितरण अन्तर्गत एकहजार २१८ सेट, त्रिपाल ५६३ थान, म्याट्रेस ७०१ थान र कम्बल एकहजार ३२४ थान वितरण गरिएको भने करिव दुई हजार प्रभावित परिवारलाई खाद्य सामग्री सहयोग गरिएको छ । एकमहिनाका अवधिमा बाढी प्रभावित दुई हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पु¥याएको, १८ पानी ट्याङ्की व्यवस्थापन गरिएको र आवश्यक स्थानहरुमा ट्याङ्करबाट पानी वितरण गरिएको सोसाइटीले जनाएको छ ।

    विज्ञप्तिमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तथा प्राथमिक मनोसामाजिक सहयोगबाट एकहजार ७१० बाढी प्रभावित लाभन्वित भएका, रेडक्रस आपत्कालिन स्वास्थ्य क्लिनिक सेवाबाट एकजार २३९ जनालाई आवश्यक स्वास्थ्य परीक्षण, औषधि अन्य आवश्यक सेवा उपलब्ध गराएको, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापनाबाट दुईहजार २९१ खोजतलाससम्बन्धी ‘केस’मा सेवा तथा सहजीकरण गरिएको साथै नेपाल सरकारका विभिन्न सुरक्षा निकायहरुलाई दुईहजार शव व्यवस्थापन झोला उपलब्ध गराइएको उल्लेख छ ।

    विज्ञप्तिमा बहुउद्देश्यीय नगद सहायता÷नगद तथा भौचर सहायता सेवा अन्तर्गत बाढीबाट प्रभावित समुदायको तत्काल आवश्यकता परिपूर्तीको लागि धादिङको १९८ र नुवाकोटका २६२ घरधुरीलाई नगद सहयोग उपलब्ध गराइएको, समुदायको गुनासा, सुझाव तथा आवश्यकता सङ्कलन सेवा अन्तर्गत विभिन्न माध्यमबाट समुदायबाट प्राप्त करिब ३५० गुनासा, जिज्ञासा, अनुरोध तथा सुझावहरू संकलन गरी आवश्यक जानकारी, सहजीकरण तथा ‘रेफरल’ सेवा प्रदान गरिएको, संरक्षण, लैङ्गिक तथा समावेशीकरण अन्तर्गत मर्यादा ‘किट’ ५८७ र स्वच्छता किट एकहजार ०८७ वितरण गरिएको तथा बालमैत्री सुरक्षित स्थान मार्फत् एकहजार १८९ बालबालिकालाई सेवा उपलब्ध गराएको उल्लेख छ । मर्यादा ‘किट’ ५८७ र स्वच्छता किट एकहजार ०८७ वितरण गरिएको तथा बालमैत्री सुरक्षित स्थान मार्फत् एकहजार १८९ बालबालिकालाई सेवा उपलब्ध गराएको उल्लेख छ ।

    सूचना तथा सहायता कक्ष सेवा अन्तर्गत प्रभावित समुदायलाई सूचना, आवश्यक सहयोग तथा सहजीकरण उपलब्ध गराउन विभिन्न १७ स्थानमा सहायता÷सूचना कक्ष सञ्चालन गरी सेवा उपलब्ध गराएको र सूचना, शिक्षा तथा सञ्चार सामग्री सेवा अन्तर्गत बाढी प्रभावित समुदायका लागि बाढी तथा पहिरोबाट सुरक्षित रहने उपाय, भारी वर्षासम्बन्धी पूर्वसूचना तथा सुरक्षा सन्देश, खानेपानी तथा सरसफाइ, पानी शुद्धीकरण, स्वास्थ्य तथा सरसफाइ, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना, राहत तथा सेवामा पहुँच, बहुउद्देश्यीय नगद सहायता तथा समुदायको गुनासा÷सुझाव दर्ता गर्ने प्रक्रियासम्बन्धी सूचना सामग्री विकास गरी रेडक्रसको सामाजिक सञ्जाल र रेडियो मार्फत प्रचारप्रसार गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ “विशेषगरी विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने, आवश्यक सामग्रीको समयमै व्यवस्थापन गर्ने तथा प्रभावित समुदायको आवश्यकता र प्राथमिकताअनुसार प्रतिकार्यलाई थप सुदृढ गर्ने विषय नेपाल रेडक्रसको प्राथमिकतामा रहेको छ । साथै, प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि नेपाल सरकारका प्राथमिकतामा रहेका क्षेत्रहरूमा सहयोग पुग्ने गरी आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइ लगायतका क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

    यस विपद्का समयमा प्रभावित समुदायको जीवनरक्षा, राहत तथा मानवीय सहायता र आवश्यक सेवाहरू निरन्तर सञ्चालन गर्न सहयोग पु¥याउनुहुने रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, साझेदार राष्ट्रिय सोसाइटी , नेपाल सरकार तथा सम्बन्धित सरकारी निकाय, स्थानीय तह, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, सञ्चारमाध्यम, स्वयंसेवक तथा सहयोगी व्यक्ति र सम्पूर्ण सरोकारवालाहरूप्रति नेपाल रेडक्रस धन्यवाद तथा आभार व्यक्त गर्दछ । ”

  • भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

    भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात


    रसुवा, ९ असोजः रसुवाको भोटेकोशीमा आएको वनाशकारी बाढीले बगाएर बेपत्ता भएका रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्षसहित दुई जना जनप्रतिनिधिको एक महिनासम्म कुनै जानकारी नपाएपछि पीडित परिवारले परम्परागत काजकिरिया सुरु गरेका छन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी गाउँपालिकाका उपाध्यक्ष प्रतिमा लामा, वडा नं २ का वडाध्यक्ष कामीछिरिङ तामाङ र वडा नं ५ का वडाध्यक्ष दावामिङ्मार तामाङ बेपत्ता भएका थिए । एक महिनासम्म स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीयवासीले खोजीकार्य जारी राखे पनि उनीहरुको कुनै जानकारी पाउन सकिएको छैन ।

    खोजीकार्यबाट कुनै सफलता नमिल्दा बेपत्ता जनप्रतिनिधिहरू जीवितै भेटिने आशा क्षीण हुँदै गएपछि पीडित परिवारले ‘कतै जीवितै उद्धार भएका छन् कि ?’ आशालाई शोकमा बदल्दै उनीहरुको परम्परागत संस्कारअनुसार काजकिरिया प्रक्रिया अघि बढाएका हुन् । बाढीमा परी बेपत्ता भएका तीनै जना जनप्रतिनिधि स्थानीय क्षेत्रमा ऊर्जावान र उदीयमान नेताका रूपमा परिचित थिए ।

    विसं २०७९ को स्थानीय तह निर्वाचनमा गोसाइँकुण्ड गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित लामाले स्नातकमा नर्सिङ (बिएससी) अध्ययन पूरा गरेकी थिइन् । विद्यार्थी जीवनदेखि राजनीतिक गतिविधिमा सक्रिय उनले स्वास्थ्य, शिक्षा र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर काम गरिरहेकी थिइन् । राजनीतिमा आउनुअघि उहाँले राष्ट्रिय महिला भलिबल टोलीको खेलाडीका रूपमा समेत देशको प्रतिनिधित्व गरेकी थिइन् ।


    विभिन्न सामाजिककार्यमार्फत जनताको मन जितेर स्थानीय निर्वाचनमा वडा नं २ बाट वडाध्यक्ष पदमा निर्वाचित कामीछिरिङ जनताको सुखदुःखमा सधैँ साथ दिने जनप्रतिनिधि थिए । त्यस्तै, वडा नं ५ बाट निर्वाचित दावामिङ्मार लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा समाजमा स्थापित र परिचित थिए ।

    गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार एकैपटक तीन जना ऊर्जावान्, योग्य र जनताका प्यारा जनप्रतिनिधि गुमाउनुपर्दा सिङ्गो पालिका इतिहासकै ठूलो सङ्कट र शोकमा डुबेको छ । उनले पालिकाले अपूरणीय क्षति व्यहोर्नुपरेको बताए । गत भदौ १० गते गोसाइँकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोला टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा भोटेकोशी नदीको बाढीले भीषण रूप लिएको थियो । उक्त बाढीले स्थानीय बजार, थुप्रै घर र भौतिक संरचना बगाएर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो ।

    बाढी गएको एक महिना बितिसक्दा स्थानीय प्रशासन र सुरक्षा निकायको खोजीकार्य जारी रहे पनि हालसम्म पनि बेपत्ताहरूको कुनै जानकारी पाइएको छैन । विपद्को यस कठिन घडीमा बेपत्ताका परिवारसँगै सिङ्गो रसुवावासी गहिरो शोकमा डुबेका छन् । गाउँपालिकाका थुप्रै कर्मचारी, शिक्षकशिक्षिका, बालबालिकासमेत बेपत्ता भएका छन् ।