Category: स्थानीय

  • सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

    सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन


    भोजपुर, ४ असोजः भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित ग्रामीण भेगका किसानलाई लक्षित गरी भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पशुपालक किसान सहज रूपमा घरदैलोमा सेवा उपलब्ध गराउने लक्ष्यले शिविर सञ्चालन गरिएको हो ।

    शिविरका अवसरमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका डा देवकुमार दर्लामी तथा गाउँपालिकाका डा रामकृष्ण पौडेलले किसानलाई पशु स्वास्थ्य, जैविक सुरक्षा र आधुनिक पशुपालनका व्यावहारिक विषयमा जानकारी गराउनुभएको हो । शिविरमार्फत गोबर परीक्षणसँगै नाम्ले, जुका, भिटामिनका साथै पछिल्लो समय महामारीका रूपमा फैलिएको ‘लम्पी स्किन’ रोगविरुद्धको औषधि निःशुल्क वितरण गरिएको छ ।

    औषधिसँगै पशुमा लाग्ने सम्भावित सरुवा रोग, तिनका लक्षण र रोकथामका उपायबारे किसानलाई विशेषज्ञ परामर्शसमेत प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भोजपुरका प्रमुख पुष्पराज दाहालले दूरदराजका किसानलाई प्रत्यक्ष रूपमा सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको बताए । शिविरमार्फत एक हजार २७० पशुपन्छीलाई सेवा उपलब्ध गराइएको उनले बताए ।


    “दुर्गम भेगका नागरिकलाई सहज सेवा दिन शिविर सञ्चालन गरेका हौँ”, प्रमुख दाहालले भने, “व्यावसायिक पशुपालनमा संलग्न किसानलाई प्राविधिक सहयोग, परामर्श पुर्याउन शिविरले सहयोग पुगेको छ ।” गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले गाउँघरमै विशेषज्ञ सेवा पुग्दा किसानलाई सहयोग पुगेको बताए । गाउँपालिकाभित्र धेरै किसानले व्यावसायिक रूपमा गाईभैँसी, बङ्गुर र बाख्रापालन गरिरहेकाले शिविर निकै उपयोगी बनेको उनको भनाइ छ ।

    “हाम्रो पालिकाको मुख्य आर्थिक आधार नै कृषि र पशुपालन हो”, उपाध्यक्ष राईले भने, “यहाँका धेरै किसानले व्यावसायिक रूपमा पशुपालन गरिरहनुभएको छ । किसानलाई लक्षित गरेर सञ्चालन भएको शिविर लाभदायक बनेको छ ।” शिविरमा सानोदुम्माका साथै आसपासका बस्तीबाट उपस्थित भएका किसानले घरदैलोमै औषधि र परामर्श पाएपछि खुसी व्यक्त गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रको आयोजना तथा पशु सेवा शाखा पौवादुङमाको सहआयोजनामा एकदिने शिविर सञ्चालन गरिएको हो ।

  • छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

    छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प


    हुम्ला, ४ असोजः कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शनिबार पहिरोसँगै ठूला ढुङ्गा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो । पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्, सडकमा ठूलाठूला ढुङ्गा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ ।

    जिल्ला सदरमुकाम सिमकोटमा आज सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेको अदानचुली गाउँपालिका–२ का कमल बुढाले बताए । आफू श्रीमतीको कानको उपचारका लागि शनिबार बिहान गाउँबाट सिमकोटतर्फ आएको तर, छारेभिरमा पहिरो खसेपछि आफूहरू बीच बाटोमै रोकिनुपरेको बताए ।


    “उहाँहरु पहिरोका कारण सर्केगाडको खडीखेतमा बसेर सडक खुल्ने आशामा पर्खिरहनुभएको छ । स्वास्थ्य शिविरमा उपचारका लागि जाने नागरिक सडक अवरुद्ध भएपछि समयमै सिमकोट पुग्न नसक्ने चिन्तामा छन्”, बुढाले भने । प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले सडक खुलाउन पहल भइरहेको बताए ।

    उनका अनुसार सडकमा ठूला ढुङ्गा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक खुलाउन सम्भव छैन । सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहसहित उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको बताए ।


    करिब १०० मिटर सडक क्षेत्रमा ठूला ढुङ्गा थुप्रिएकाले फुटाउनुपर्ने अवस्था छ । दुर्गम क्षेत्रमा आवश्यक साधनस्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी गुरागाईँले बताए । उनका अनुसार आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भावतः पर्सि दिउँसोसम्म कर्णाली करिडोर सञ्चालनमा ल्याउने लक्ष्य छ ।

    वर्षायाममा बाढी, पहिरो र ढुङ्गा खस्ने समस्याका कारण कर्णाली करिडोर पटकपटक अवरुद्ध हुँदै आएको छ । करिडोर अवरुद्ध हुँदा हुम्लाका नागरिकको आवतजावतसँगै उपचार, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ ।

  • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    टिकाराम सुनार–रासस
    सुदूरपश्चिम, ४ असोजः विसं २०७९ मा भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभाका ३२ वटै क्षेत्रमा पुरुषमात्रै निर्वाचित भएर आए । त्यसमा महिला, दलितलगायतका सीमान्कृत समुदाय छुटे । यहाँ ५२ प्रतिशतभन्दा बढी महिला र १८ प्रतिशतभन्दा बढी दलित समुदायको उपस्थिति छ । कल्पना गर्नुस् त, नेपालको संविधानले समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित नगरेको भए प्रदेशसभा कस्तो हुन्थ्यो ?

    हाल प्रदेशसभामा १८ महिला र तीन जना दलित समुदायका सदस्य छन् । “प्रदेशसभामा यो प्रतिनिधित्वको आधार संविधानले नै दिएको हो । यदि संविधानले कम्तीमा एकतिहाइ महिला प्रतिनिधित्व सुनिश्चित नगरेको भए बहुसङ्ख्यक भएर पनि प्रतिनिधित्व शून्य हुने थियो । दलितले त झन् छरिएको जनसङ्ख्याका कारण प्रतिनिधित्वको अवसर नै नपाउने अवस्था हुनसक्थ्यो”, प्रदेशसभा सदस्य हिरा सार्की भन्छन् ।


    विसं २०६२\६३ को जनआन्दोलनको मर्मअनुसार नेपालको संविधान, २०७२ ले प्रत्यक्ष प्रतिस्पर्धाबाट राज्यका नीति निर्माण गर्ने ठाउँमा पुग्न कठिन हुने वर्ग, समुदाय, लिङ्ग र क्षेत्रका लागि समानुपातिक प्रतिनिधित्वको बाटो खोलिदियो । यही व्यवस्थाका कारण पहिलो प्रदेशसभामा दलितभित्रै सीमान्तकृत मानिएको वादी समुदायकी उमादेवी वादीले प्रतिनिधित्वको अवसर पाइन् ।

    “संविधानले ढोका खोलिदिएकैले सीमान्तकृत समुदाय, क्षेत्र र लिङ्गका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित भएको छ । यसले राज्यका महत्त्वपूर्ण संरचनामा कमजोर वर्गका आवाज हराउन दिएको छैन । त्यसैको प्रतिनिधि म स्वयं हुँ”, पूर्वप्रदेशसभा सदस्य वादीले भनिन् ।


    प्रदेशसभा सदस्य ललिता सुनार पनि संविधानकै कारण प्रतिनिधित्वको आधार बनेका र अब सहभागितालाई अर्थपूर्ण बनाउन आवश्यक रहेको बताउँछिन् । “यो असाधारण उपलब्धि हो, तर पनि बर्चश्वशाली व्यक्तिहरूले संविधानको मर्मअनुसार अवसर दिन आनाकानी गरिरहेका छन् । यसर्थ अवसरको समान वितरणमा भने अझै सुधारको आवश्यकता छ”, उनले भनिन् ।


    समावेशी प्रतिनिधित्वको प्रभाव स्थानीय तहसम्म पुगेको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनबाट सुदूरपश्चिममा ४१.२३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ । वडामा एक दलित महिला र एक खुला महिला सदस्य, पालिका प्रमुख र उपप्रमुखमध्ये एक जना महिला हुनुपर्ने अनिवार्य व्यवस्थाले स्थानीय शासनमा महिलासहित सीमान्तकृत समुदायको उपस्थिति बढाएको उनी बताउँछिन् ।

    “यसले आर्थिक, सामाजिक, सांस्कृतिकलगायत कारणले सीमान्तिकरणमा परेकाहरूलाई पनि शासनको औपचारिक संरचनामा प्रवेश गराएको छ । यो राज्यप्रति सबैको अपनत्व सृजना गर्ने महत्त्वपूर्ण पक्ष हो”, उनले भनिन् ।

    ‘दुर्गममा जन्मेकै कारण अवसर बन्द छैन’

    सुदूरपश्चिमको अर्को चुनौती हो– भूगोल र अवसरबीचको दूरी । राष्ट्रिय जनगणना २०७८ अनुसार प्रदेशको जनसङ्ख्या २६ लाख ९४ हजार ७८३ छ भने वार्षिक औसत जनसङ्ख्या वृद्धिदर ०.५२ प्रतिशतमात्रै छ । प्रदेशमा गरिबीको अवस्था अझ गम्भीर रहेको देखाउँछ । अर्थात् यहाँ जन्मनु नै धेरै नागरिकका लागि अवसरका हिसाबले अतिरिक्त जोखिम बोकेर जन्मनु हो ।

    पछाडि परेकालाई अगाडि ल्याउन संविधानले नै विशेष व्यवस्था गर्ने बाटो खोलिदियो । संविधानको धारा ४२ ले आर्थिक, सामाजिक वा शैक्षिक रूपमा पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, थारू, अल्पसङ्ख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रका नागरिकलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिता, संरक्षण र अवसर पाउने हक दिएको छ ।

    त्यसै कारण राजनीतिक रुपमामात्रै होइन, राज्यका निकायमा पनि समावेशी अनुहार देखिन थालेको छ । त्यस व्यवस्थाले सकारात्मक विभेदको नीतिअनुसार राज्यको मूलधारमा ल्याउने अभ्यास भइरहेको छ । विसं २०६४÷६५ देखि २०८१÷८२ सम्म लोकसेवा आयोगमार्फत निजामती सेवामामात्रै आठ हजार ९६५ महिला, सात हजार ३० आदिवासी जनजाति, मधेसी पाँच हजार ७२९, दलित दुई हजार ३८६, अपाङ्गता एक हजार २०७, पिछडिएको क्षेत्रका ९५७ जना सहभागी भएका छन् । सुदूरपश्चिमका अछाम, बाजुरा र बझाङजस्ता पिछडिएका क्षेत्रबाट पनि अवसर पछ्याउने यात्रा केही सहज भएको छ ।

    संविधानकै कारण सुदूरपश्चिममा आफ्नै प्रदेश सरकार, ८८ स्थानीय तह, प्रदेशसभा र प्रदेश लोकसेवा आयोगजस्ता संस्थागत संरचना स्थापित भएका छन् । संविधानको धारा २४४ अनुसार गठित प्रदेश लोकसेवा आयोगले महिला ३३, दलित १५, रानाथारू १५, आर्थिक रूपले विपन्न खसआर्य १२, प्रदेशभित्रकै पिछडिएको क्षेत्र १०, आदिवासी जनजाति सात तथा अपाङ्गता भएका व्यक्ति पाँच प्रतिशतका लागि समावेशी पदपूर्तिको काम गरिरहेको छ ।

    यहाँ आर्थिक वर्ष २०७८\७९ देखि २०८२\८३ सम्म एक हजार ९७५ माग पदमध्ये बढुवासहित एक हजार ९५० पदमा सिफारिस भएका छन् । आर्थिक वर्ष २०८२\८३ मा मात्रै प्रतिस्पर्धाबाट ५३ जना महिला, १० दलित, पाँच थारु-राना थारू, तीन आर्थिक रूपले विपन्न खसआर्य, तीन पिछडिएका, दुई–दुई जना आदिवासी जनजाति र अपाङ्गता भएकाहरू प्रदेश सेवामा सिफारिस भए ।

    शुक्लाफाँटा–१२ कञ्चनपुरका अङ्कित चौधरीजस्ता युवाले आफ्नो परिवारको सयौँ वर्ष लामो इतिहासमा पहिलोपटक सरकारी सेवामा प्रवेश गर्ने अवसर पाए । वन अधिकृत (सातौँ) का रूपमा सुदूरपश्चिम प्रदेश सेवामा प्रवेश गरेका चौधरी भन्छन्, “संविधानले ढोका खोलिदिएकै कारण म र मजस्ता सीमान्तकृत परिवार तथा समुदायका व्यक्तिले राज्यका विविध सेवामा काम गर्ने अवसर पाएका हौँ । मैले प्रतिनिधित्व गरेको समूह आरक्षित व्यवस्थाअनुसार प्रवेश पाउने कान्छो समूह पनि हो । यो संविधानकै ऐतिहासिक उपलब्धि हो ।”

    प्रदेश लोकसेवा आयोगका सचिव विमलप्रसाद बराल प्रदेश लोकसेवा आयोगको गठनले सार्वजनिक प्रशासनमा प्रदेशका युवाको पहुँच बढाउनुका साथै सीमान्तकृत समुदाय, वर्ग, लिङ्ग र क्षेत्रका व्यक्तिको राज्यप्रतिको अपनत्व सृजनामा योगदान गरिरहेको बताउँछन् ।

    गरिब र असहायको सहारा राज्य

    संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा स्थापित गरेको छ । धारा ४३ ले आर्थिक रूपले विपन्न, अशक्त तथा असहाय, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ । त्यसैअनुसार सामाजिक सुरक्षा ऐन, २०७५ जारी भएपछि सामाजिक सुरक्षा भत्ता तथा लक्षित कार्यक्रमको दायरा विस्तार हुँदै गएको छ ।

    सङ्घीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्य तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार देशभर विभिन्न सामाजिक सुरक्षा भत्ता तथा लक्षित कार्यक्रमअन्तर्गत ३७ लाख २२ हजार ६७४ लाभग्राहीले राज्यको सहारा पाएका छन् । तीमध्ये सुदूरपश्चिमका नौ जिल्लाका तीन लाख ९८ हजार २३७ जना विभिन्न सामाजिक सुरक्षा कार्यक्रममा जोडिएका छन् । जसमा ७० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक एक लाख ५१ हजार ३७५, दलित ज्येष्ठ नागरिक २४ हजार ३२२, ज्येष्ठ नागरिक एकल महिला २३ हजार १६८ र अन्य उमेर समूहका एकल महिला ४४ हजार ८१४ जना छन् । अपाङ्गतातर्फ ‘क’ वर्गका पाँच हजार ६५४ र ‘ख’ वर्गका १५ हजार १४६ गरी २० हजार ८०० जना लाभान्वित भइरहेका छन् ।

    यस्तै, बाल पोषण कार्यक्रमअन्तर्गत सुदूरपश्चिममा क्षेत्र तोकिएका ८१ हजार ५२८ र दलित समुदायका ४८ हजार ९७३ गरी एक लाख ३० हजार ५०१ बालबालिका लक्षित कार्यक्रमको दायरामा छन् । बझाङ, बाजुरा, अछाम, बैतडी र डोटी क्षेत्र तोकिएका २४ जिल्लामध्ये पर्दछन् ।

    सुदूरपश्चिममा यसको अझ ठूलो प्रभाव छ । यहाँ राज्यले दिने सामाजिक सुरक्षा भत्ता धेरैका लागि सहारा बनेको छ । सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराई सामाजिक सुरक्षा अब स्थानीय तहसम्म पुगेको नियमित प्रशासनिक प्रणालीका रूपमा विकास भएको र यसले राज्यलाई ‘कोही नहुनेको अभिभाव राज्य छ’ भन्ने सन्देश प्रवाह गरिरहेको बताउँछन् ।

    स्वास्थ्यमा पहुँचको संवैधानिक आधार

    भौगोलिक विकटतालगायत कारण सुदूरपश्चिमका नागरिकहरूका लागि स्वास्थ्य सेवामा पहुँच निकै सकसपूर्ण छ । संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने, आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने तथा स्वास्थ्य सेवामा समान पहुँच हुने हक दिएको छ । त्यसैअनुसार स्थानीय तहले आधारभूत, प्रदेशले विशेषज्ञ र संघले विशिष्टीकृत स्वास्थ्य सेवा विस्तारमा काम गरिरहेका छन् ।

    यसले यहाँका नागरिकको गुणस्तरीय स्वाथ्य सेवामा पहुँच पुर्याउन गुणात्मक योगदान पुगेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक रमेश मलासी बताउँछन् । संविधानको मर्मअनुसार प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्रभित्र स्वास्थ्य सेवा विस्तार गरिरहेको र हाल मन्त्रालयअन्तर्गतका ५२ निकायमध्ये ३५ वटा स्वास्थ्यसँग सम्बन्धित निकायले सेवा प्रवाहको काम गरिरहेका उनी बताउँछन् ।


    स्वास्थ्यमा समान पहुँचको संवैधानिक दायित्वलाई व्यवहारमा लैजान स्वास्थ्य बिमा पनि महत्त्वपूर्ण सार्वजनिक संयन्त्रका रूपमा अघि बढेको छ । बिमा व्यवस्थापन सूचना प्रणालीअनुसार सुदूरपश्चिममा हाल सात लाख ३२ हजार ७५२ जना बिमा प्रणालीमा जोडिएका छन् ।

    स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिमका संयोजक जनकबहादुर साउद स्वास्थ्य बिमा स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्ने संवैधानिक दायित्व कार्यान्वयनको महत्त्वपूर्ण पक्षका रुपमा विस्तार भइरहेको बताउँछन् । यसले आर्थिक रूपमा कमजोर परिवारका लागि उपचार खर्च व्यवस्थापनमा राहत पुर्याइरहेको उनले बताए ।
    स्रोत र विकासमा साझेदारी

    सुदूरपश्चिमको आफ्नै आन्तरिक आम्दानी सीमित छ, तर संविधानको धारा ६० ले गरेको राजस्व अधिकार तथा राजस्व बाँडफाँटको व्यवस्थाले प्रदेशमा विकास गतिविधि सञ्चालनका लागि वित्तीय आधार दिएको छ । आव २०७७÷७८ मा प्रदेशले सङ्घबाट समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान गरी रु १४ अर्ब २३ करोड ७१ लाख प्राप्त गर्दा प्रदेश स्रोत रु २० अर्ब ४० करोड ७९ लाख थियो । त्यसपछि आव २०७८÷७९ मा रु १४ अर्ब ६० करोड ४८ लाख, आव २०७९÷८० मा १७ अर्ब ५५ करोड ८३ लाख, आव २०८०÷८१ मा रु १४ अर्ब ४२ करोड १९ लाख, आव २०८१÷८२ मा रु १३ अर्ब ८७ करोड ११ लाख र आव २०८२÷८३ मा रु १४ अर्ब २० करोड ७२ लाख सङ्घीय अनुदान प्राप्त भएको आर्थिक मामिला मन्त्रालयका प्रवक्ता उपसचिव सत्यराज जोशीले जानकारी दिए ।

    मन्त्रालयका सचिव राजेन्द्रकुमार हमाल यसरी प्राप्त बजेटले प्रदेशको सीमित आन्तरिक आम्दानीका बाबजुद विकास गतिविधि सञ्चालनमा सहयोग पुगिरहेको बताउँछन् । “संविधानले अधिकार र जिम्मेवारीको स्पष्ट आधारसहित विकास र समृद्धिको बाटो देखाएको छ । तथापि, प्रदेशलाई दिनुपर्ने अधिकार, स्रोत र कार्यक्षेत्रबीचको तादाम्यता अझ स्पष्ट बनाउँदै तीनै तहका सरकारबीचको समन्वय बलियो बनाउनुपर्ने आवश्यकता छ । यसले विकासको गन्तव्य पछ्याउन थप टेवा पुग्नेछ”, उनले भने ।

    ‘थप सुधार अपेक्षित’

    संविधानले अधिकार, प्रतिनिधित्व, संस्था र स्रोत परिचालनको बाटो दिएको छ, तर यसले प्रदेशका सबै समस्या समाधान गरिसकेको छैन । गरिबी, दुर्गम भूगोल, रोजगारीका अवसरको अभाव, कम आय, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच, युवा पलायन र बसाइँसराइका चुनौती कायमै छन् ।

    प्रदेश नीति आयोगका निवर्तमान सदस्य नृपबहादुर सुनार संविधान निर्माणको ११ वर्षमा प्रदेश समृद्धिको जग निर्माण भइरहेको बताउँछन् । दूरदराजका बस्तीहरूमा सडक, खानेपानी, सिँचाइ, स्वास्थ्य पूर्वाधार र आवासको पहुँच विस्तारमा उल्लेख्य प्रगति भएको उनको भनाइ छ ।

    सुनार भन्छन्, “संविधानले सुदूरपश्चिमलाई समृद्धितर्फ जाने आधार, गरिब भएकै कारण राज्यबाट झन् बाहिरिन नदिने सुरक्षा, दुर्गम भएकै कारण अवसरबाट वञ्चित नहुन विशेष व्यवस्था, सीमान्तकृतलाई राज्यको मूलप्रवाह ल्याउने सुनिश्चतता दिएको छ । नागरिकमा राज्यप्रतिको अपनत्व बढाउने आधार दिएको छ ।”

    आर्थिक मामिला राज्यमन्त्री जानकी ऐर बम पनि संविधानपछि बहुस्तरका सरकारमार्फत राज्यका लाभको समन्यायिक वितरणका लागि काम गर्न सहज भएको बताउनुहुन्छ । “महिला, दलित, पिछडिएका क्षेत्रलगायत राज्यमा आफ्नो प्रतिनिधित्व र अपनत्व महसुस गर्न नसकेका नागरिक शासन अभ्यासमा सहभागी हुन पाउनु आफैँमा महत्वपूर्ण परिवर्तन हो”, उनी भन्छन् ।


    सुदूरपश्चिम प्रदेशसभा सामाजिक विकास समितिका सभापति धर्मराज पाठक संविधानले समावेशी लोकतन्त्र र राज्य संरचनामा सबैको प्रतिनिधित्व तथा अपनत्वको आधार निर्माण गरेको बताउँछन् । अब संविधानले दिएका अधिकारको प्रयोगबाट नागरिकको जीवनमा कति परिवर्तन आयो र अझै को–को बाहिर छन् भन्ने समीक्षा गर्दै त्यसलाई थप फराकिलो बनाउनु आवश्यक रहेको उनको धारणा छ ।

    संविधान कार्यान्वयनको ११औँ वर्ष पूरा हुँदै गर्दा अधिकार, प्रतिनिधित्व, स्रोत र राज्यको पहुँच विस्तारका लागि ढोका खुलेका छन् । अब ती ढोकाबाट कति नागरिक भित्र पसे, उनीहरूको जीवन कति बदलियो र अझै बाहिर रहेका नागरिकसम्म राज्यको अवसर कसरी पुर्याउने भन्नेबारे समीक्षासहित थप सुधार सुनिश्चित गर्नुपर्ने सरोकारवाला बताउँछन् ।

  • चितवनमा करेन्ट लागेर मर्‍यो सेलिब्रेटी जङ्गली हात्ती ‘रोनाल्डो’

    चितवनमा करेन्ट लागेर मर्‍यो सेलिब्रेटी जङ्गली हात्ती ‘रोनाल्डो’

    चितवन, ३ असोजः जङ्गली हात्ती ‘रोनाल्डो’ मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको बरन्डाभारमा विद्युतीय तार रहेका अवस्थामा हात्ती आज मृत भेटिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार टिकौली गेटबाट बरन्डाभार पोष्टमा लगिएको विद्युतीय तारमा परेर हात्ती मरेको अवस्थामा फेला परेको हो । उनका अनुसार १६ फिट माथिबाट तानिएको प्लास्टिकले बेरिएको (कोटेट) हात्तीको मुखमा देखिएको छ । गएराति कुनैबेला हात्तीले हिँड्ने क्रममा सूँडले तारमा लागेर करेन्ट लागेको प्रारम्भक अनुमान छ ।

    अन्दाजी ४५ वर्षीय जङ्गली हात्ती केही वर्षअघिसम्म रिसाहा भए पनि पछिल्ला वर्षमा शान्त थियो । थापामगरका अनुसार एकीन तथ्याङ्क नभए पनि पाँच–छ जनालाई यसले रिसाउँदा आक्रमण गरेर मारेको अनुमान छ । विसं २०६५–६६ देखि हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा आउनेजाने गरेको यो हात्तीबाट ३३ वटा बच्चा जन्मिएको केन्द्रका मणिपुरण चौधरी बताउँछन् । पछिल्ला वर्षमा निकै शान्त यस हात्तीले अधिकांश केन्द्रका पोथी हात्तीलाई प्रजनन गराउँदै आएको थियो ।

    चौधरीले भने, “विसं २०५० यता हालसम्म केन्द्रमा ७१ वटा छावा जन्मिएकामा ३३ वटाको बाउ रोनाल्डो हो ।” केन्द्र विसं २०४४ मा स्थापना भएको हो । विसं २०५० बाट त्यहाँ बच्चा जन्मिन सुरु गरेका हुन् । चौधरीका अनुसार यस वर्ष बच्चा जन्माउन लागेका ऐश्र्यमाला र कर्णालीकलीलाई रोनाल्डोले नै प्रजनन गराएको हो । त्यस्तै, गर्भवती भएका तमोर, तीर्थमान, हिमाली र चितवनकलीलाई पनि रोनाल्डोले नै प्रजनन गराएको चौधरीले बताए । खोरसोरमा रहेका सात वटा छावामध्ये छ वटा रोनाल्डो को हुन् भने एउटा ध्रुवेको हो । खोरसोरमा नौ वटा माउ छन् । तीमध्ये माउसमेत अधिकांश रोनाल्डोको बच्चा भएको उनी बताउँछन् ।


    विगत दुई महिनायतादेखि खोरसोर क्षेत्रमा रोनाल्डो आएको थिएन । चौधरीले भने, “त्यतिको शान्त जङ्गली हात्ती अरु हुँदैनन । यो मर्दै गर्दा खोरसोरको नाकै गयो ।” रोनाल्डो आउन छाडेपछि हिजोआज गोविन्दे हात्ती प्रजनन केन्द्रमा आउने जाने गरेको छ । यो निकै रिसाहा रहेको उनी बताउँछन् ।

  • संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

    संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

    जनक श्रेष्ठ–रासस
    लमजुङ, ३ असोजः लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट सदरमुकाम पुग्नुपथ्र्यो । हिँडेर बजार झर्ने, सवारीसाधन चढेर सदरमुकाम पुग्ने र एउटा सामान्य काम सकेर फर्किनसमेत दुई–तीन दिन लाग्थ्यो । अहिले भने गाउँमै वडा र पालिका कार्यालय छन्, सामाजिक सुरक्षा भत्तादेखि विभिन्न सिफारिस र स्थानीय सेवासम्म घरआँगन नजिकै उपलब्ध हुन थालेका छन् ।

    चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेको लमजुङमा संविधान कार्यान्वयनपछि सरकार र नागरिकबीचको दूरी घटेको छ । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत् तथा स्थानीय सेवा प्रवाहमा परिवर्तन देखिएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार लमजुङको जनसङ्ख्या एक दशकमा घटेको देखिन्छ । विसं २०६८ मा एक लाख ६७ हजार ७२४ रहेको जिल्लाको जनसङ्ख्या २०७८ मा एक लाख ५४ हजार ३६० मा झरेको छ । जिल्लाको वार्षिक जनसङ्ख्या वृद्धिदरसमेत ऋणात्मक ०.८५ प्रतिशत रहेको छ ।

    नागरिकले ‘गाउँमा सरकार आएको’ अनुभूति गर्न थाले पनि सेवा प्रवाहको गुणस्तर, रोजगारी, स्थानीय स्रोतसाधनको परिचालन र संविधानले दिएको सबै अधिकारको कार्यान्वयनमा भने अझै चुनौती बाँकी रहेको अनुभव सुनाउँछन् । बेँसीसहर नगरपालिका–८ का स्थानीय रामकुमार श्रेष्ठका लागि सङ्घीयता कार्यान्वयनपछि आएको सबैभन्दा ठूलो परिवर्तन सरकार नागरिकको घरदैलोसम्म आइपुगेको अनुभूति हो ।

    विगतमा सामान्य सरकारी सेवा लिनसमेत सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेकामा अहिले वडा कार्यालयबाटै धेरै सेवा प्राप्त गर्न सकिने भएको उहाँ बताउनुहुन्छ । सङ्घीयता कार्यान्वयनपछि सिफारिस, सामाजिक सुरक्षा, स्थानीय पूर्वाधारलगायतका सेवा लिन सहज भएको उनको अनुभव छ । ‘घरघरमा सिंहदरबार’ भन्ने अवधारणाले गाउँमा सरकारको उपस्थिति बढाएको उनी बताउँछन् । तर सेवा नागरिकको नजिक पुगे पनि त्यसको गुणस्तर र नियमिततामा अझै प्रश्न उठ्ने गरेको उनको भनाइ छ ।

    श्रेष्ठको अपेक्षा स्थानीय सरकारले विकाससँगै सुशासनलाई पनि प्राथमिकतामा राखोस् भन्ने छ । सार्वजनिक सेवामा पारदर्शिता र जवाफदेहिता बढाउनुपर्ने तथा स्थानीय तहमा कुनै दल वा समूहको दबदबा हावी हुन नहुने उनी बताउँछन् । “स्थानीय तहमा सुशासनको चेतना अझ बढ्नुपर्छ । विभिन्न राजनीतिक दल वा समूहको दबदबा हावी हुने अवस्था हुनुहुँदैन । जनताको आवश्यकता र अधिकारलाई केन्द्रमा राखेर स्थानीय सरकारले काम गर्नुपर्छ,” उनले भने ।

    स्वास्थ्य र सडकको गुणस्तर सुधारसँगै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुपर्ने उहाँको अर्को अपेक्षा छ । स्थानीय तहले संविधानले दिएको अधिकारअनुसार काम गर्दै नागरिकले विकास र सेवाको प्रत्यक्ष अनुभूति गर्ने अवस्था अझ बलियो बनाउनुपर्ने उनी बताउँछन् । दोर्दी गाउँपालिका–४ की ६३ वर्षीया धन्खु गुरुङका लागि संघीयतापछि गाउँमा आएको परिवर्तनको मुख्य आधार नै सेवा र सरकारसँगको दूरी घट्नु हो ।

    सङ्घीयता कार्यान्वयनअघि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा सरकारी सेवा सहज रूपमा उपलब्ध नभएको उहाँको अनुभव छ । विगतमा विद्यालय टाढा हुँदा लामो दूरी हिँड्नुपर्ने, खानेपानीका लागि सामूहिक धारामा निर्भर हुनुपर्ने र सामान्य सरकारी कामका लागि समेत सदरमुकाम पुग्नुपर्ने अवस्था रहेको उनी बताउँछिन् ।


    गाउँबाट हिँडेर उदिपुर पुग्ने, त्यहाँबाट सवारीसाधनमा सदरमुकाम जाने र फर्किँदा पुनः हिँड्नुपर्ने हुँदा सामान्य कामका लागि पनि एक–दुई दिन लाग्ने गरेको उनको अनुभव छ । “पहिलाको तुलनामा अहिले धेरै परिवर्तन भएको छ । अधिकांश सेवा वडाबाटै र पालिकाबाटै लिन सकिने भएको छ । घरआँगन नजिकै गएर छोटो समयमै काम सकेर फर्किन सकिने अवस्था आएको छ,” उनले भनिन् । सङ्घीयतापछि गाउँमै वडा तथा पालिका कार्यालय स्थापना भएपछि सामाजिक सुरक्षा भत्तालगायतका सेवा स्थानीय तहमै उपलब्ध हुन थालेका छन्।

    विद्यालय, खानेपानी र विद्युत्लगायतका आधारभूत सेवामा समेत सुधार आएको उहाँको अनुभव छ । जग्गासम्बन्धी सेवासमेत स्थानीय तहमै उपलब्ध भए सदरमुकाम धाउनुपर्ने बाध्यता अझ घट्ने उनी बताउँछिन् । गाउँमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने, युवाको बाहिरिने क्रम रोक्नुपर्ने तथा स्वास्थ्य सेवाको पहुँचसँगै गुणस्तर पनि सुधार गर्नुपर्ने उनको अपेक्षा छ । महिलाका हकहित र उनीहरूले भोग्दै आएका समस्याको सम्बोधनमा पनि स्थानीय सरकारले थप ध्यान दिनुपर्ने उनी बताउछिन् ।


    दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङका अनुसार स्थानीय तहले नागरिकको आवश्यकताअनुसार सेवा प्रवाह गर्दै आएको छ । शिक्षा क्षेत्रमा सुधार भएको तथा सबै वडाका विद्यालयमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई खाजाको व्यवस्था गरिएको उनी बताउँछन् । भौगोलिक कठिनाइका कारण कृषि क्षेत्रमा भने अपेक्षाअनुसार उपलब्धि हासिल गर्न नसकिएको उनको भनाइ छ । सडकतर्फ नयाँ बाटो खोल्नुभन्दा पहिले निर्माण भएका सडकको स्तरोन्नतिमा जोड दिइएको छ । वर्षायाममा कतिपय सडकमा आवागमन कठिन हुने गरेकाले पुराना सडकमा ग्राभेल तथा आवश्यक स्थानमा ढलान गर्ने कामलाई प्राथमिकता दिइएको उनी बताउँछन् ।


    दूधपोखरी गाउँपालिका–६ को गौडा क्षेत्रमा हालसम्म करिब २०० मिटर सडक कालोपत्र भएको उनले बताए । चालु वर्ष उक्त क्षेत्रमा करिब दुई किलोमिटर सडक कालोपत्र गर्ने योजना रहेको र त्यसका लागि करिब रु तीन करोड बजेट छुट्याइएको उनी बताउँछन् । सबै क्षेत्रमा कालोपत्रको माग भए पनि पर्याप्त स्रोतसाधन र बजेट अभावका कारण एकैपटक सबै ठाउँमा काम गर्न नसकिएको उनको भनाइ छ ।

    खानेपानी, पैदलमार्ग तथा अन्य सेवामा सङ्घीयतापछि सुधार आएको भए पनि नागरिकको अपेक्षाअनुसार अझै काम गर्न बाँकी रहेको उनी बताउँछन् । स्वास्थ्य, शिक्षा र सडकलाई पालिकाका प्रमुख उपलब्धिका रूपमा लिन सकिने उनको भनाइ छ । यद्यपि विकास निर्माणका क्रममा ठेक्का रद्द हुने, कतिपय योजना अधुरै रहने तथा बजेट खर्च हुन नसकेर फ्रिज हुने समस्याले विकास प्रभावित भएको उनी बताउँछन् ।


    नागरिकता सिफारिसलगायतका धेरै प्रशासनिक काम वडा तहबाटै हुने र आवश्यक कागजात जिल्ला प्रशासन कार्यालयमा पठाउने व्यवस्थाले सेवा प्रवाह सहज भएको अध्यक्ष गुरुङ बताउँछन् । विगतमा सामान्य सरकारी कामका लागि सदरमुकाम पुगेर एक दिन जाने, अर्को दिन काम गर्ने र फर्किनुपर्ने अवस्थाको तुलनामा अहिले धेरै सेवा स्थानीय तहमै उपलब्ध भएको उनको भनाइ छ ।

    स्थानीय सरकार गठनपछि नागरिकले गाउँमै विकासका आवश्यकता र बजेटका माग जनप्रतिनिधिसँग प्रत्यक्ष राख्न सक्ने अवस्था बनेको उनी बताउँछन् । तर सीमित स्थानीय स्रोतसाधन, पर्याप्त बजेटको अभाव र कतिपय अवस्थामा राजनीतिक अवरोधले काममा कठिनाइ हुने गरेको छ । स्थानीय तहको आन्तरिक आय पर्याप्त नभएकाले जग्गासम्बन्धीलगायतका थप सेवा स्थानीय तहमै सञ्चालन गर्न आर्थिक चुनौती रहेको उनको भनाइ छ ।

    मस्र्याङ्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलका अनुसार सङ्घीयता र कार्यान्वयनपछि स्वास्थ्यलगायतका सेवा नागरिकको नजिक पुगेका छन् । विगतको तुलनामा वडा र पालिका तहमा विभिन्न सेवा तथा सिफारिसका संरचना विस्तार भएका छन् भने कृषि व्यवसायमा समेत क्रमिक सुधार भइरहेको उनी बताउँछन् । “पहिला खर्च र समय दुवै बढी लाग्ने अवस्था थियो । अहिले धेरै सेवा वडा र पालिकाबाटै लिन सकिने भएको छ । संघीयताले नागरिकलाई स्थानीय तहमै सेवा पु¥याउन महत्वपूर्ण योगदान गरेको छ,” उनले भने।

    संविधानले स्थानीय तहलाई दिएको अधिकारअनुसार जग्गा, राजस्व, पेन्सनलगायतका केही सेवा स्थानीय तहमै उपलब्ध हुनुपर्ने भए पनि सबै अधिकार कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । कित्ताकाट, नामसारी तथा जग्गासम्बन्धी कामका लागि अझै सदरमुकाम जानुपर्ने अवस्था रहेकाले यस्ता सेवा पनि स्थानीय तहमै उपलब्ध हुने व्यवस्था आवश्यक रहेको उनी बताउँछन् ।

    संविधानले स्थानीय तहलाई अधिकार र जिम्मेवारी दिए पनि त्यसअनुसार आवश्यक जनशक्ति र स्रोतसाधन पर्याप्त नभएको उनको भनाइ छ । विसं २०७५ मा केन्द्रबाट कायम गरिएको दरबन्दीअनुसारकै कर्मचारी संरचना रहेकाले थपिएका जिम्मेवारीअनुसार जनशक्ति व्यवस्थापन हुन नसकेको उनी बताउँछन् । संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी आवश्यकताअनुसार कर्मचारी संरचना पुनर्गठन गर्नुपर्ने उनको भनाइ छ । स्थानीय तहलाई जिम्मेवारी र कानुनी अधिकार थपिए पनि आर्थिक स्रोतमा सङ्घ र प्रदेशमाथिको निर्भरता कायमै रहेको उनी बताउँछन् ।


    स्थानीय तहको आर्थिक अधिकार थप सुदृढ गर्नुपर्ने उहाँको भनाइ छ । “स्थानीय तहमा जिम्मेवारी धेरै थपिएको छ, तर त्यसअनुसार स्रोतसाधन र बजेट पर्याप्त छैन । अझै पनि ठूलो हिस्सा सङ्घ र प्रदेशमा निर्भर हुनुपर्ने अवस्था छ । स्थानीय तहको आर्थिक अधिकार पनि थप मजबुत बनाउन आवश्यक छ,” उनले भने । स्वास्थ्य सेवाको पहुँचमा सुधार आए पनि सेवाको गुणस्तर अझै सुधार गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् । स्थानीय तहमा स्वास्थ्य सेवा विस्तार भइरहेका छन् भने पालिकास्तरको अस्पताल सञ्चालनको तयारीसमेत भइरहेको उनले बताए ।


    सङ्घीयता कार्यान्वयनपछि प्रशासनिक संरचना, बजेट र खर्च व्यवस्थापनमा केही चुनौती थपिए पनि नागरिकको नजिक सेवा पु¥याउने दृष्टिले यसको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ । स्थानीय तहमा पारदर्शिता कायम गर्दै बजेट खर्चलाई प्रभावकारी बनाउन तथा अनावश्यक खर्च नियन्त्रणमा ध्यान दिनुपर्ने उनी बताउँछन् ।


    लमजुङका स्थानीय तहमा संविधान कार्यान्वयनपछि शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत् तथा स्थानीय सेवा प्रवाहका क्षेत्रमा भएका परिवर्तनले नागरिकको दैनिक जीवनमा देखिएको परिवर्तनलाई प्रतिबिम्बित गर्छन् । एक दशकअघि संविधान जारी हुँदा गाउँका नागरिकले घरदैलोमै सरकार, सहज सेवा र स्थानीय आवश्यकता सम्बोधन हुने अपेक्षा गरेका थिए । अहिले सरकारको संरचना गाउँसम्म पुगेको छ र धेरै सेवा नागरिकको नजिक आएको छ । अबको चुनौती सरकार गाउँमा आयो कि आएन भन्ने होइन, गाउँमा आएको सरकारले नागरिकको जीवन कति सहज बनायो भन्ने हो ।

    संविधान कार्यान्वयनको एक दशकको अनुभवमा स्थानीय सरकार नागरिकको नजिकको सरकारका रूपमा स्थापित भएको देखिन्छ । तर बाँकी अपेक्षा पूरा गर्न सेवा प्रवाहको गुणस्तर, जवाफदेहिता, सुशासन, रोजगारी सिर्जना, स्थानीय स्रोतको परिचालन र आवश्यकताअनुसारको विकासलाई अझ प्रभावकारी बनाउनुपर्ने देखिन्छ । संविधानले परिकल्पना गरेको स्थानीय सरकारको वास्तविक उपलब्धि अब नागरिकले पाउने सेवाको सहजता, गुणस्तर र त्यसबाट उनीहरूको जीवनमा आउने सुधारबाट मापन हुने चरणमा पुगेको छ ।

  • जडिबुटीमा ट्याङ्करको ठक्करबाट मृत्यु

    जडिबुटीमा ट्याङ्करको ठक्करबाट मृत्यु

    भक्तपुर, ३ असोजः काठमाडौँबाट जडिबुटी हँुदै भक्तपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्याङ्करले शुक्रबार बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कोटेश्वरवाट जटिबुटी हुँदै भक्तपुर आउने क्रममा शुक्रबार कार्की सवार मोटरसाइकललाई सोही दिशावाट आइरहेको टयाङ्करले ठक्कर दिँदा मोटसाइकल चालक एवं कार्कीका श्रीमान् काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–४ का देवराज कँडेल घाइते भएका थिए । ट्याङ्कर चालक र दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

  • अपर त्रिशूली–१ को सुरुङबाट १८ शव निकालियो

    अपर त्रिशूली–१ को सुरुङबाट १८ शव निकालियो

    रसुवा, २ असोजः भोटेकोशी बाढीपछि सुरुङभित्र हराइरहेका मजदुरमध्ये १८ जनाको शव फेलापरेको छ । खोज तथा उद्धारका क्रममा अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आज १८ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । आयोजनाको ९।८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब १०० मिटरभित्र सुरूङमा शव फेला परेको अपर त्रिशूली–१ का सामाजिकविज्ञ हर्क तामाङले जानकारी दिनुभयो । खोज उद्धारका लागि नेपाली सेना र जलविद्युत् कम्पनीका कर्मचारी रहेको विज्ञ तामाङले बताए ।


    उक्त क्षेत्रमा बिहीबार पनि छ जना मजदुरको शव फेलापरेको प्रहरी प्रमुख थापाले बताए । त्यसपछि खोज तथा उद्धारकार्यलाई निरन्तरता दिँदा थप शव फेलापरेका हुन् । बाढीका समयमा आयोजनाको सुरुङभित्र कामका लागि कति जना मजदुर प्रवेश गरेका थिए भन्ने एकिन विवरण अझै प्राप्त नभएको प्रहरीले जनाएको छ । फेलापरेका शवको पहिचान तथा सनाखत गर्ने कार्य बाँकी रहेको प्रहरीको भनाइ छ । बाढीका कारण आयोजनाको निर्माणाधीन संरचनामा क्षति पुगेपछि सुरुङभित्र फसेका तथा बेपत्ता मजदुरको खोजी तथा उद्धारकार्य जारी राखिएको थियो ।

    दुई सय १६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना रसुवामा निर्माणाधीन महत्त्वपूर्ण जलविद्युत् आयोजना हो । सुरुङभित्र बेपत्ता मजदुरको खोजीका क्रममा शव फेला पर्न थालेपछि आफन्त तथा आयोजनासँग सम्बन्धित पक्षमा शोकमा डुबेका छन् । निर्माता कम्पनीले कुन–कुन नामका कति कामदार पठाएको भन्ने कुनै तथ्याङ्क राख्न नसक्दा शव पहिचानको लागि गाह्रो परेको प्रहरीले जनाएको छ ।

  • फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

    फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

    प्रगति ढकाल/रासस

    काठमाडौँ, २ असोजः

    “सपना हो कि विपना हो यो

    के हो जिन्दगी ?

    छिनको छिनै बदलियो

    के भो जिन्दगी ?”

    चर्चित गजल गायक थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर तथा प्रभा बर्तौलाको शब्द रहेको यो गीतका हरफले जीवनको अनिश्चितता र एकाएक बदलिने परिस्थितिको पीडा बोल्छन् । यतिबेला यी हरफ दोलखाको कालिका खड्काको जीवनसँग ठ्याक्कै मिलेजस्तो भएको छ । सपना र विपना के हो ? गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सपना र बिपना छुट्याउन अझै पनि नसकेको जस्तो भएको छ उनलाई ।

    चीनको केरुङमा ‘साउथ एसिया रिसर्च सेन्टर इन साउथवेस्ट चाइना’ को कार्यक्रममा सहभागी हुन जाने भन्दै रसुवागढीतर्फ हिडेका श्रीमान् टेकराज थामी भदौ १० को बिहानदेखि नै सम्पर्कविहीन छन् । न फोन आएको छ, न एसएमएस । न त उनकाे अवस्थाबारे कुनै खबर नै । जसरी हरेक दिन साँझ पर्न थालेपछि बास बस्न चराचुरुङ्गी आफ्ना गुँडतर्फ फर्किन्छन् । त्यसरी नै दिनभर काममा गएकाहरु साँझ घर फर्किन्छन् । जब साँझ छिप्पिँदै जान्छ, सडकमा मानिसको आवतजावत पनि बिस्तारै कम हुन थाल्छ । कालिकाको मनमा जिज्ञासा अझै आउँछ– यतिबेलासम्म किन घर नफर्केको होला ? कतैबाट टुप्लुक्क मेरो श्रीमान् (जी) पनि घर फर्किनुहुन्छ कि ?

    कालिका मायाले बोलाउँदा टेकराजलाई ‘जी’ भन्थिन् । पत्रकारिता पेसामा रहेका नयाँ पत्रिकाका टेकराज कहिलेकाहीँ समाचारको कामले रातिसम्म घर बाहिरै रहन्रथे । ढिला हुने भएपछि फोन आउँथ्यो–‘आज अलि ढिला हुन्छ है ।’ अहिले कालिका त्यही फोनको प्रतीक्षामा बसेकाे पनि महिना दिन पुग्न लागिसक्यो ।

    “तिमीहरु खाना खाएर सुत ल । छोरीलाई बाबा आउन ढिला हुने भो भन्देऊ ।” प्रायःजसो आउने यस्तै किसिमको सन्देश आए पनि प्रतीक्षा त जति पनि गरिन्थ्यो नि झैँ लाग्छ कालिकालाई । प्रतीक्षा गरेकै २३ दिन बितिसक्यो । टेकराजको फोनबाट कुनै सन्देश आएन । “पहिला अफिसबाट ढिला हुँदा फोन आउँथ्यो । अहिले पनि साँझ परेपछि उनकाे फोन आउँछ कि जस्तो लाग्छ”, कालिका भन्छिन् ।

    “फोन नआए पनि उहाँ फर्केर आउनुहुन्छ कि भन्ने आश भने अझै मरेको छैन ।” घरको ढोकामा हावा लागेर ‘ढकढक’ आवाज आउँदा पनि कालिकाको मुटु बेस्सरी ढुकढुक हुने गर्छ । उनलाई लाग्छ–टेकराज पो आएकी ! तर ढोका खोल्दा बाहिर कोही हुँदैन । सधैँ अफिसबाट फर्कने बाबालाई ढोकामा स्वागत गर्न दौडिने छोरी कृतिकाले पनि २३ दिनदेखि त्यो अवसर पाएकी छैनन् ।

    बाबा पनि घर फर्केपछि छोरीले ढोका खोल्न नआएसम्म म बाहिर नै बस्छु भन्दै मायाले घुर्काउँथे । । छुट्टीको समयमा सधैँ बाबाछोरी घुम्न निस्कन्थे तर २३ दिनयता कति स्कूल छुट्टी भए । कृतिकालाई हात समाएर घुमाउने बाबाको साथ छैन । कुशे औँसीमा पनि तस्बिर हेरेर चित्त बुझाउनुप¥यो । सानासाना खुसी बाबालाई ‘शेयर’ गर्ने कृतिकाले महिना दिनभयो बाबासँग त्यो खुसी साट्ने अवसर नपाएको । सडकमा मोटरसाइकल गुडेको आवाज सुन्नासाथ कृतिका सोध्छिन्, “बाबा आउनुभएछ कि ?”

    छोरीको त्यो प्रश्नले कालिकाको मन झन् भारी हुन्छ । “सडकमा मोटरसाइकल चल्दा पनि छोरीले ‘बाबा आउनुभएछ क्यारे’ भन्छिन्”, कालिका सुनाउँछिन्, “मलाई पनि अझै सबै जना अफिसबाट फर्किएजस्तै उहाँ पनि घर फर्केर आउनुहुन्छ कि जस्तो लागिरहन्छ ।” कहिलेकाहीँ कसैले चप्पल बजाउँदै हिँडेको आवाज सुन्दा पनि कालिकालाई टेकराज कतै नजिकै छन् कि जस्तो लाग्छ । आशा र निराशाबीचको यही दोधारमा बितिरहेका छन् भोटेकोशी बाढी गएयता उनका दिन पनि ।

    टेकराज कतै उपचाररत छन् कि ? कुनै सुरक्षित ठाउँमा छन् कि ? आज नभए भोलि घरको ढोकामा आइपुग्छन् कि ? कालिकाको मनमा यी प्रश्नहरू अझै बाँकी छन् । त्यसैले उनकाे मनले अहिलेसम्म टेकराजलाई मृत घोषणा गर्ने आँट गर्न सकेन तर फर्केर आउछन् भनेर ढुक्क हुने आधार पनि छैन । यी र यस्तै अनिश्चितताले कालिकाको मनलाई हरेक दिन एउटा जटिल किसिमको परीक्षा लिइरह्यो ।

    टेकराज सम्पर्कविहीन भएदेखि नै कालिकाले भगवानकाे अगाडि बत्ती बालिरिहन् । बलिरहेको बत्तीलाई उनी निकैबेर नियालेर हेर्थिन् । बत्ती उज्यालो र स्थिर देखियो भने मनमा आशा पलाउँथ्यो– टेकराज सुरक्षित नै छन् । तर कहिलेकाहीँ झ्यालढोकाबाट छिरेको सिरसिरे बतासले त्यही बत्तीको ज्योति धिपधिप गराउँथ्यो । दियोको ज्योति उज्यालो हुँदा कालिकाको अनुहार पनि उज्यालिन्थ्यो तर बतासले बत्तीको ज्योति मधुरो बनाउँदा उहाँको मनमा पनि आशाको उज्यालो धमिलिन्थ्यो ।

    “बत्ती राम्रोसँग बलिरहेको देख्दा उहाँ सुरक्षित हुनुहुन्छ कि भन्ने आश लाग्छ”, उनी भन्छिन् । “तर हावाले बत्ती धिपधिप गर्दा कतै नराम्रो सङ्केत त होइन भन्ने डर लाग्छ ।” कालिकाका लागि पछिल्ला २० दिन यसैगरी बितिरहेका छन्–आशाको एउटा सानो उज्यालो समातेर, अनिश्चितताको अँध्यारोसँग लड्दै । जबजब मलाई उज्यालोको आश लाग्छ, आमा यो टुकीमा किन बतास लाग्छ ?” गजलकार प्रदीप रोदनका यी हरफ बाढीमा बेपत्ता भएर आफन्त सकुशल फर्किने आशामा दिन गनिरहेका कालिका र अन्य बेपत्ता परिवारको पीडासँग ठ्याक्कै मिल्छ ।

    ‘सररर पानी घट्टामा’ बोलको गीतका हरफ झैँ उनको दिनचर्या पनि बितिरह्यो : “बसेकी छु हजुरको नाम जप्दै, दियो बाल्दै त्यसैमा तेल थप्दै…” बाहिर बत्ती धिपधिप गरिरहेको बेलाभित्र कालिकाको आशा । कहिले दुवै उज्याला हुन्थे, कहिले दुवै मधुरो ।

    गत भदौ १० गते टेकराज चीनको केरुङ पुगिसक्नुभएको होला भन्ने कालिकालाई लागेको थियो । उहाँलाई दिइएको जानकारीअनुसार बिहान ७ः०० बजे नै चीनतर्फ जाने तयारी थियो । त्यसैदिन अचानक भोटेकोशी नदीमा ठूलो बाढी आएको खबर सञ्चारमाध्यममा छ्याप्छ्याप्ती आउन थाल्यो । बाढीको खबर सुन्दा कालिकाको मन झस्कियो तर त्यतिबेलासम्म टेकराज बाढीको जोखिम क्षेत्र पार गरेर चीनतर्फ लागिसके होलान भन्ने उनलाई लागेको थियो ।

    दिनभर फोन आउँछ कि भनेर कालिका कुरिरहिन् । साँझ पर्न थाल्यो । घरका अरू सदस्य पनि फोनको प्रतीक्षामा थिए तर फोन आएन । “चीनतिर सामाजिक सञ्जाल राम्रो चल्दैन होला, नेटवर्कको समस्या भयो होला, कुनै अवरोध आयो होला”, कालिकाले आफैँलाई सम्झाइन् । ‘भोलि त पक्कै फोन आउला ।’ यही आशामा त्यो रात बित्यो । भोलिपल्ट पनि फोन आएन । पर्सिपल्ट पनि आएन । दिन बित्दै गए । न कुनै खबर आयो, न फोन । विस्तारै कालिकाको मनमा आशाभन्दा डर बढ्न थाल्यो ।

    सुरुमा ‘नेटवर्कको समस्या होला’ भनेर मन बुझाउन खोजे पनि दिनहरू बित्दै जाँदा मनले अनेक प्रश्न गर्न थाल्यो । कतै केही त भएन ? त्यही प्रश्नले कालिकाको मनमा चिसो पस्न थाल्यो । त्यसपछि सुरु भयो टेकराजको खोजी । विसं २०६८ वैशाख २८ गते कालिका र टेकराज थामीको नेपाल बार एसोसिएसनको सभा हलमा प्रगतिशील विवाह भएको थियो । सहयात्राका सुन्दर १५ वर्ष १५ दिन कटिसकेका थिए । छोरा हराएदेखि आँखा ओभानो छैन बा आमाको आमा लीलादेवी र बुबा डिलबहादुरलाई छोरा हराएदेखि आँखा ओभानो छैन । छोरा आउने आशामा २३ दिन बित्यो ।

    टेकराजका भाइ प्रेमबहादुर थामी दुबईबाट दाई खोज्न आकस्मिक छुट्टी मिलाएर नेपाल आए । नेपाली सेनाको हेलिकप्टरमा खोज्न रसुवा पुग्दा कहीँकतै केही भेटिएन । अनि निराश भएर फर्किए । भाइहरू गङ्गाबहादुर र सन्तोष पनि दाई हराएदेखि बेचैन छन् । टेकराजको सासूआमा विष्णुमाया खड्काले रक्षाबन्धनको दिन ज्वाइँ टेकराजसँग कुरा गर्न खोजिन् । तर ज्वाइँ वेपत्ता भन्ने सुनेदेखि भावविह्वल छिन् । उनी भन्छिन् । “ज्वाइँ अहिले यतैबाट आउनुहुन्छजस्तो लाग्छ ।”

    कालिकाका भाइ विश्वास खड्का भिनाजुको फोटो बोकेर अस्पतालहरुमा भौँतारिए । आँखाभरि आँशु बगाउँदै बेपत्ताहरुको समूहमा भिनाजुको फोटो टाँसे, तर भिनाजु कतै भेटिएनन् ।

    ‘मिसकल’ले झुक्याएको त्यो क्षण

    टेकराज सम्पर्कविहीन भएको दुई–तीन दिनपछि एकाएक उहाँकै म्यासेन्जरबाट ‘मिसकल’ आयो भन्ने खबर आयो । त्यो एउटा मिसकलले केही क्षणका लागि कालिका, परिवार र आफन्त खुसी भए । मनमा एउटै कुरा आयो–टेकराज कतै सुरक्षित छन् । सायद उद्धारको पर्खाइमा छन् । त्यसैबीच सामाजिक सञ्जालमा टेकराज सम्पर्कमा आएकाे भन्ने खबर पनि फैलियो । धेरैले राहतको लामो सास फेरे । कालिकाको फोन, भाइबर, म्यासेन्जरमा बधाईको ओइरो आइरहेको थियो । तर त्यो खुसी धेरै बेर टिकेन ।

    कालिकाले नै सामाजिक सञ्जालमार्फत टेकराजसँग अहिलेसम्म सम्पर्क हुन नसकेको स्पष्ट पारिन् । म्यासेन्जरमा आएको त्यो मिसकल टेकराज आफैँले गरेकाे पुष्टि नभएको भन्दै उनले भ्रममा नपर्न र खोजीमा सहयोग गर्न आग्रह गरिन् । खुसी हुनेका अनुहार फेरि मलिन भए । “त्यो मिसकल आएको भन्न सुन्दा उहाँ कतै सुरक्षित हुनुहुन्छ कि भन्ने लाग्यो,” कालिका भन्छिन्, “एकछिन त उहाँसँग सम्पर्क भयो भनेर खुसी पनि भयौँ तर त्यो उहाँकै मिसकल हो भन्ने निश्चित हुन सकेन । फेरि उही प्रतीक्षामा बस्नुपर्‍यो ।”

    त्यो दिन कालिकाले आशा कति चाँडै जन्मिन्छ र कति चाँडै टुट्न सक्छ भन्ने महसुस गरिन् । कुनै चमत्कार भएर टेकराज घर फर्किए हुन्थ्यो न भन्ने कल्पना अझै कालिकाको मनमा जीवित छ । कहिलेकाहीँ त उहाँलाई लाग्छ–कुनै दिन अचानक ढोका ढक्ढकिनेछ, बाहिर ‘जी’ (टेकराज) उभिएका हुनेछन्र र कैयौँ दिनदेखि रोकिएको यो प्रतीक्षा त्यही क्षण सकिनेछ । त्यसैले कालिका अझै ढोकातिर हेर्न छाडेकी छैनन् ।

    फोनको घण्टी सुन्न छाडेकी छैनन् । सडकमा कसैले मोटरसाइकल चलाउँदा कान ठाडा पार्न छाडेकी छैनन्र । फर्केर आउने आशा छैन तर फर्केर आउदैनन् भन्ने अन्तिम सत्य पनि स्वीकार गर्न सकेकी छैनन् । सपनीमा समेत पर्खंदै विपनामा पर्खंदापर्खंदै दिन बिते । रात बिते । तर टेकराज फर्केर आएनन्र । त्यसैले होला, अहिले कहिलेकाहीँ सपनामा भए पनि श्रीमान् आइदिएहुन्थ्यो जस्तो लाग्छ उनलाई ।

    कहिलेकाहीँ सपनामा टेकराज आएर उनीसँग कुराकानी गर्छन् । सामीप्य महसुस गर्छिन्, तर एकाएक निद्रा खुल्छ । त्यो क्षण सपनाभन्दा विपना नै पीडादायी लाग्छ । “सपनामा उहाँलाई देख्छु । विपनामा बिलाउनुहुन्छ”, भावुक हुँदै कालिका भन्छिन् । “म नब्यँुझिएको भए अझै धेरैबेर उहाँकै सामीप्यमा बस्न पाउँथेँ कि जस्तो लाग्छ ।”

    भोटेकोशीको बाढीपछि टेकराज बेपत्ता भएको घटना सपना भइदिएहुन्थ्यो र सपनामा उनी सामीप्यमा आएको क्षणचाहिँ विपना भइदिएहुन्थ्यो भन्ने लाग्छ कालिकालाई । यही भावसँग मेल खान्छ गोपाल योञ्जनको शब्द तथा सङ्गीत र नारायण गोपालको स्वरमा सजिएको चर्चित गीतका यी हरफ– “आँखाभित्र बस्नु तिमी, छातीमा निदाउनु सपनीमा पनि मलाई सुस्तरी चिहाउनु…”

    गीतमा व्यक्त भावजस्तै कालिकाले पनि टेकराजलाई आँखामा, मनमा र आफ्नै अस्तित्वभित्र राखिरहेकी छिन् । कालिकाको प्रिय मानिस संसारमा नरहे पनि सधैँ उनकाे अन्तरमनमा त बसिरहनेछन् । “मलाई देवी मान्नुहुन्थ्यो, तिमी मेरो आमापछिको आमा हो भन्नुहुन्थ्यो । सधँै खुसी र प्रगति चाहने । महिलालाई अत्यन्तै सम्मान गर्ने, छेउमा कसैलाई झुक्किएर छोइयो भने ढोगीहाल्ने बानी थियोे । साथीहरू तिम्रो श्रीमानजस्तो त मान्छे नै भेटिन्न भन्थ्यो”, कालिका सम्झन्छिन्, “राम्रो मान्छे सायद भगवान्को प्रिय हुनुहुने रहेछ ।

    केरूङ जाने केही दिनअघि पनि संसारमै अशान्ति छ, हाम्रो घरमा मात्रै शान्ति छ भनेको शब्द कानमा अझै गुन्जिरहेको छ तर के थाहा टेकराजलाई केही दिनपछि म बाढीमा पर्ने छु र यो घर पनि अशान्त बन्नेछ भनेर ।”

    थामी समुदायको खम्बा नै ढल्यो

    नेपाल थामी समाजका अध्यक्ष रणबहादुर थामीले टेकराजको मृत्युले थामी समुदायका लागि खम्बा नै ढलेको बताउँछन् । “थामी भाषा जान्ने मानिस जन्माउन अब हाम्रो समुदायलाई गाह्रो हुन्छ”, उनी भन्छन् । थामी गोरखापत्र दैनिकमा थामी भाषा पृष्ठ संयोजकसमेत थिए । विसं २०४२ जेठ १४ गते दोलखाको कालिन्चोक गाउँपालिका–२ बाबरेमा जन्मिएका टेकराज थामीले पत्रकारितामा स्नातकोत्तर गरेका थिए । नयाँपत्रिका दैनिकमा काम गर्ने थामी बागीश्वरी कलेज भक्तपुर र समृद्धि कलेज कौशलटारमा पत्रकारिता अध्यापनसमेत गराउँथे ।

    शनिबार अन्त्येष्टिको तयारी

    अब टेकराज फर्केर आउने सम्भावना कमजोर हुँदै गएपछि परिवारले अन्त्येष्टिको तयारी थालेको छ । भोलि शनिबार उहाँको कुशको प्रतिमा बनाएर दाहसंस्कार गर्ने निर्णय परिवारले गरेको छ । तर तयारी अगाडि बढिसक्दा पनि कालिकाको मनले टेकराज यो संसारमा हुनुहुन्न भनेर पूर्ण रूपमा स्वीकार गर्न सकेको छैन । त्यसैले दाहसंस्कारको तयारी भइरहँदा पनि श्रीमान्लाई अन्तिमपटक ‘गुडबाई’ भन्ने आँट उनमा आएको छैन । “पहिला पनि धेरैले अब नकुरौँ, दाहसंस्कार गरौँ भन्नुभएको थियो”, आँखाबाट बगेका आँसु सलको एकछेउले पुछ्दै कालिका भन्छिन्, “तर मेरो मनले मेरो श्रीमान् यो संसारमा हुनुहुन्न भनेर स्वीकार गर्नै मानेन ।”

    शनिबार कुशको प्रतिमा जलाइनेछ । संस्कार पूरा हुनेछ । परिवारले टेकराजलाई अन्तिम बिदाइ दिनेछ । त्यसपछि पनि कालिकाको मनले यी कुरा स्वीकार गर्ला या नगर्ला ? थाहा छैन । शोकलाई शक्तिमा बदल्ने साहस बटुल्दै टेकराजको अनुपस्थितिमा अहिले कालिकाको सबैभन्दा ठूलो सहारा छोरी कृतिका छिन् ।कृतिकाका लागि आमा कालिका । दुवैले एकअर्कालाई सम्हाल्दैछन् । जे भयो, त्यो विगत फर्केर आउने छैन । तर जीवन रोकिएर पनि नहुने रहेछ ।

    छोरीकै लागि भए पनि विस्तारै शोकलाई शक्तिमा बदल्नुपर्ने अठोट कालिकाले गरेकी छिन् । पेशाले राष्ट्रिय समाचार समितिमा पत्रकार रहेकी कालिका आफूले भोगेको पीडामा मात्रै अल्झिएर बस्न चाहनन् । अन्य महिलालाई अघि बढ्न प्रेरणा दिने आफ्नो जिम्मेवारी पनि सम्झिरहेकी छिन् ।

    “म आफैँ धेरै शोकमा बसेँ भने मैले माथि उठाउन प्रयास गर्नुपर्ने अन्य महिला दिदीबहिनीलाई पनि असर पर्छ”, उनी भन्छ्न्, “उहाँहरूलाई प्रेरणा दिन पनि अब म ‘मुभ अन’ हुनुपर्छजस्तो लाग्छ । सम्हालिँदै छु ।” पीडा तत्काल सकिँदैन भन्ने उहाँलाई थाहा छ तर समयसँगै चोटमा खाटा बस्ने र आफू फेरि पत्रकारितामा फर्किने विश्वास भने उहाँमा छ । “विस्तारै यो चोटमा खाटा बस्ला । अनि सामान्य रिपोर्टिङमा नै फर्कनेछु”, कालिका भन्छिन् ।

    टेकराजलाई श्रीमती कालिकाले मात्रै गुमाइनन्, छोरी कृतिकाले बाबु गुमाएकी छन् । परिवारले आफ्नो प्रिय सदस्य गुमाएको छ । पत्रकारिता क्षेत्रले एक होनाहार र असर पत्रकार गुमाएको छ । टेकराजको बेपत्ता घटनाले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा बताउँछिन् । टेकराज भौतिक रुपमा टाढा भए पनि स्मृतिमा भने कहिल्यै टाढा हुनेछैनन् । पत्रकार टेकराज थामीप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकूल परिवारमा हार्दिक समवेदना ।

  • विदेश मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

    विदेश मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार


    रासस
    सुनसरी, २ असोजः बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले आफ्ना चार छोरालाई कृषि पेसा आबद्ध गराएका छन् । करिब दुई दशकदेखि गोलभेँडालगायत तरकारीखेती गर्दै आएका उनले कृषि पेसालाई नै परिवारको मुख्य आम्दानीको स्रोत बनाएका छन् । उनको खेतमा वर्षभरि गोलभेँडा, कोभी, बोडीलगायतका तरकारी उत्पादन हुने गरेको छ ।

    अर्जुनका चार छोरा रामविलास, लक्ष्मण, श्रीराम र जादुलाल चन्द्रवंशी बाबुकै लयमा कृषि पेसामा दत्तचित्त भएर लागेका छन् । “छोराहरू विदेश जाने भन्थे, मैले नेपालमै रु ५० हजार दिन्छु भनेर विदेश जान दिइनँ । अहिले नेपालमै बसेर सबै छोराले लाखौँ रुपैयाँ कमाउन सक्ने भएका छन्”, अर्जुनले भने ।


    विदेश गएर दुःख गर्नुभन्दा नेपालमै मिहिनेत गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचले चारै जना छोरालाई कृषिमा लगाएको उनले बताए । पहिला सडक तथा यातायातको सुविधा थिएन । दुईचार कट्ठामा गरिएको खेती टाउकोमा बोकेर बजारसम्म पुर्याउनुपथ्र्यो । अहिले बारीमै गाडी लिएर व्यापारी आउँछन् ।

    चन्द्रवंशी परिवारले हाल पाँच बिघामा गोलभेँडाखेती गर्दै आएका छन् । साथै केही जग्गामा मौसमी तरकारीसमेत लगाएका छन् । गोलभेँडाको मुख्य सिजन कात्तिक मङ्सिरदेखि फागुन–चैतसम्म ५० जनाभन्दा बढी कामदारले अर्जुनको फार्ममा काम गर्ने गरेका छन् ।

    अफसिजनमा पनि २५ जना ज्यालादारी कामदार खेतमा खटिने गरेको अर्जुनले जानकारी दिए । गत वर्ष गोलभँेडाको मूल्य राम्रो हुनुका साथै मौसमले समेत साथ दिएकाले रु एक करोडबराबरको कारोबार भएको उनले बताए । “यस वर्ष कस्तो हुन्छ हेरौँ । मूल्य राम्रो नभए पनि सबै खर्च कटाएर वार्षिक रु ६० लाखसम्म मज्जाले आम्दानी हुन्छ”, उनले भने ।

    अर्जुनका छोरा श्रीरामका अनुसार गोलभेँडाको मूल्य बजारको माग र उत्पादनअनुसार फरक हुने गरेको छ । सामान्य अवस्थामा प्रतिकिलो रु ३० देखि ५० तथा कहिलेकाहीँ रु ८० देखि रु ९५ सम्म बिक्री हुने गरेको छ । कहिलेकाहीँ प्रतिकिलो रु पाँचमा पनि बिक्री गर्नुपर्ने अवस्था आउने गरेको उनल ेभने ।
    “मङ्सिरदेखि वैशाखसम्म गोलभेँडाको मूल्य राम्रो हुने उहाँले बताउनुभयो । राम्रो मूल्य भएको समयमा एकै दिन रु तीन लाख बढीको गोलभेँडा बिक्री हुने गरेको छ”, श्रीरामले भने, “बोडी, काँक्रा, कोभीलगायतका मौसमी तरकारी पनि सिजनअनुसार बिक्री हुने गरेको छ ।”

    अर्जुनका माइला छोरा लक्ष्मण चार वर्ष मलेसियामा बसेर नेपाल फर्किएपछि अहिले बुबालाई खेतीमा सघाइरहेका छन् । “विदेशभन्दा नेपालमा कमाइ राम्रो छ । कृषि खेती हाम्रो पुख्र्यौली पेसा हो । सुरुआती समयमा आलु, कोभीलगायतका तरकारीखेती गर्दै आएका थियौँ । पछिल्लो समय गोलभेँडा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यसको क्षेत्र विस्तार गरियो”, उनले भने ।


    औपचारिक तालिमभन्दा पनि सामाजिक सञ्जालबाट जानकारी लिएर कृषि गरिरहेको लक्ष्मणले बताए । “हामीले सामाजिक सञ्जालमा हेरेर नै व्यावसायिक खेती गरिरहेका छौँ”, उनको भनाइ छ । करिब १२ बिघा जमिनमध्ये पाँच बिघामा गोलभेँडा तथा अन्य तरकारीखेती गरिँदै आएको उनले बताए । बाँकी जमिनमा मकै तथा धान लगाउने गरिएको छ । “उत्पादित गोलभेँडा बिक्रीका लागि बजारको समस्या छैन । हामीले बजार खोज्दै जानु पर्दैन । व्यापारी आफैँ खेतमा आउँछन् । यहाँबाट खरिद गर्दा बजारको मूल्यभन्दा कममा दिने गरेका छौँ”, लक्ष्मणले भने ।


    धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराज, झापालगायतका स्थानबाट व्यापारी गोलभेँडा खरिद गर्न खेतमै आउने गरेका छन् । यो खेतीमा लगानी बढिरहेको र दुःख पनि भएको उनको भनाइ छ । लगानीअनुसार उत्पादन राम्रो हुने घाटा नहुने उनी स्मरण गर्छन् । “अहिले यही खेतीबाट परिवारका सबै सदस्यलाई रोजगारी मिलेको छ भने अरूलाई पनि रोजगारी दिन सकिएको छ”, उनले भने, बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित श्रीलङ्का टप्पुमा मात्र करिब तीन सय बिघा क्षेत्रफलमा गोलभेँडाखेती हुने गरेको छ । अधिकांश किसानले गोलभेँडासँगै अन्य मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् ।

    सुनसरीमा हाल आठ हजार १५३ हेक्टर क्षेत्रफलमा तरकारीखेती हुँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए ।
    बराहक्षेत्र नगरपालिकामा गोलभेँडा, कोभी, बोडीलगायतका तरकारीको उत्पादन राम्रो हुँदै आएकाले यहाँका अधिकांश किसान व्यावसायिक तरकारीखेतीमा लागेको नगरप्रमुख रमेश कार्कीले बताए ।

    श्रीलङ्का टप्पुका ९० प्रतिशत स्थानीय कृषि तथा तरकारी उत्पादनमा केन्द्रित छन् । श्रीलङ्का टप्पु तरकारीखेतीका लागि प्रख्यात क्षेत्र हो । नगरपालिकाले स्थानीय किसानको उत्पादन वृद्धि गर्न प्रोत्साहनस्वरूप मल, बीउलगायत सामग्रीमा अनुदान दिँदै आएको नगरप्रमुख कार्कीले जानकारी दिए ।

  • भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    कास्की, २ असोजः भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि कुनै खबर नआएपछि पोखरा महानगरपालिका–५ प्रस्र्याङकी २२ वर्षीया सृष्टि बास्तोलाको बिहीबार अन्तिम संस्कार गरिएको छ । काठमाडौँ विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत सृष्टि भदौ ९ गते अन्य दुई साथीसँग नुवाकोटस्थित अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इन्टर्नसिपका लागि पुगेकी थिइन् । त्यसको भोलिपल्ट आएको विनाशकारी बाढीमा परेपछि उनको अवस्था अज्ञात छ ।

    छोरीको खोजीमा बुबा माधव बास्तोला दुई पटकसम्म रसुवा, नुवाकोट पुगे । बाढीले पुर्याएको क्षति देखेपछि छोरी सकुशल फर्किने सम्भावना न्यून देखिए पनि परिवारले आशा भने मारेको थिएन । घटना भएको २२ दिनसम्म पनि सृष्टिको कुनै खबर तथा सूचना प्राप्त नभएपछि परिवारले अन्तिम संस्कार गर्ने निर्णय गरेको हो । पोखराको तुलसीघाटमा सृष्टिको कुशको शवको प्रतिमा बनाएर अन्त्येष्टि गरिएको छिमेकी वसन्तराज गौतमले जानकारी दिए ।


    “बाढी आउनुअघि भदौ ९ गते साँझमात्र सृष्टि नुवाकोट पुगेकी रहिछन् । बिहान परिवारसँग कुराकानी भएको रहेछ । त्यसपछि कुनै जानकारी प्राप्त भएन”, गौतमले भने, “विनाशकारी बाढीपछि कतै अप्ठ्यारो ठाउँमा भएर सम्पर्क हुन नसकेको होला भन्ने आसमा थियौँ । तर लामो समयसम्म अवस्था पत्ता नलागेपछि परिवार अन्तिम संस्कार गर्ने निचोडमा पुगेको हो ।”

    देशको दक्ष प्राविधिक जनशक्ति बन्ने सपना बोकेर इन्टर्नसिपका लागि आयोजनास्थल पुगेकी सृष्टिको यात्रा अधूरै रहेको छ । अध्ययन पूरा गरेर देश निर्माणमा योगदान दिने उमेरमै बाढीमा बेपत्ता भएपछि परिवार, आफन्त र छिमेकी शोकमा डुबेको वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए । “होनहार छोरी, परिवारको आशा र देशको सम्भावना बोकेकी सृष्टिको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको छ”, बरालले भने । त्यसैगरी भोटेकोशी बाढीमा बेपत्ता पोखरा महानगरपालिका–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारी क्षेत्रीको परिवारले पनि कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरिसकेको छ ।

    टिमुरेस्थित भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत अधिकारी बाढी आएको दिनदेखि नै सम्पर्कविहीन हुनुहुन्छ । लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता नलागेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्तिम संस्कार गरेको छिमेकी घनश्याम पाण्डेले बताए । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका पोखराका अझै १२ जनाको अवस्था अज्ञात रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । बाढीमा बेपत्ता आफन्तको खोजीका लागि परिवारले सम्भावित स्थानमा पुगेर खोजी गरे पनि कुनै जानकारी नआएपछि कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका हुन् ।

    बेपत्ता फर्कने आस मरेपछि अन्तिम संस्कार

    यसैबीच भोटेकोशी बाढीमा परी गत भदौ १० गतेदेखि बेपत्ता बेँसीसहर नगरपालिका–११ का झपटबहादुर घर्ती र राधिका घर्तीको आज कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । बाढीपछि सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि दम्पतीको अवस्था पत्ता नलागेपछि परिवारले काजकिरिया सुरु गरिएको भतिज विशाल घर्तीले बताए । “खोज्नुपर्ने सबै ठाउँमा खोजिसक्यौँ । अब उपाय बाँकी रहेन । काजकिरिया सुरु गरेका हौँ”, उनले भने ।


    बेँसीसहर–११ का ४५ वर्षीय झपटबहादुर र उनकी श्रीमती ४३ वर्षीया राधिका रसुवास्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । गत भदौ १० गतेको बाढीपछि दुवै जना सम्पर्कविहीन भए । त्यसयता परिवार तथा सम्बन्धित निकायले सम्भावित स्थानमा खोजी गरे पनि उहाँहरूको शव फेला पर्न सकेको छैन ।

    यस्तै, सोही बाढीमा बेपत्ता मस्र्याङ्दी गाउँपालिका–३ खुदीकी रमिला भण्डारीको अवस्था पनि हालसम्म पत्ता लाग्न सकेको छैन । उनको पनि संस्कारअनुसार काजकिरिया सम्पन्न भइसकेको छ । भण्डारी सबइन्जिनियरका रूपमा माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिइन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार भोटेकोशी बाढीमा जिल्लाका १० जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जनाको पहिचानका लागि डिएनए परीक्षणका लागि पठाइएको उनले बताए ।

  • सरकारी निर्णय प्रक्रियासम्बन्धी नियमावली जारी

    सरकारी निर्णय प्रक्रियासम्बन्धी नियमावली जारी

    काठमाडौँ, १ असोजः सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ ल्याएको छ । ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५’ लाई खारेज गरी यसलाई नियमावलीका रूपमा रूपान्तरण गरिएको प्रधानमन्त्री कार्यालयका सहसचिव लिलाधर सुवेदीले जानकारी दिए । निर्देशिकाको तुलनामा नियमावलीको कानुनी हैसियत र बाध्यकारिता बढी हुने, समयानुसार डिजिटलाइज्ड (विद्युतीय स्वरूप) गरी प्रशासनिक ढिलासुस्ती अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अघि बढाएको प्रस्तावलाई गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।

    उनका अनुसार नयाँ नियमावली लागू भएसँगै सरकारी निकायहरूमा निर्णय प्रक्रियामा प्राथमिक माध्यमका रूपमा डिजिटल प्रणाली अनिवार्य हुनेछ । यसअन्तर्गत फाइल दर्ता, टिप्पणी, राय, स्वीकृति, डिजिटल हस्ताक्षर, अभिलेखीकरण तथा अनुगमनका सम्पूर्ण कामकारबाही एकीकृत विद्युतीय निर्णय प्रणालीमार्फत सञ्चालन हुनेछन् । डिजिटल प्रणालीमा दर्ता हुने हरेक फाइललाई विशिष्ट पहिचान नम्बर र क्यूआर कोड प्रदान गरिने सहसचिव सुवेदीले जानकारी दिए ।


    निर्णय प्रक्रियालाई सहज र झन्झटमुक्त बनाउन टिप्पणीको तहसमेत घटाइएको छ । मन्त्रिस्तरबाट गरिने नीतिगत तथा महत्त्वपूर्ण प्रशासकीय निर्णयमा टिप्पणीको तह बढीमा तीन र सामान्य प्रशासकीय विषयमा बढीमा दुई तह मात्र रहने उहाँले उल्लेख गर्नुभयो । यो प्रणालीमा फाइल दर्ता हुनासाथ स्वचालित रूपमा समय गणना सुरु हुनेछ र तोकिएको समयभित्र कारबाही नभएमा फाइल चौबीस घण्टाभित्र स्वतः माथिल्लो निर्णय तहमा पुग्ने व्यवस्था गरिएको छ ।

    सार्वजनिक सेवालाई अत्याधुनिक बनाउन कानुन, पूर्ववर्ती नजिर खोजी, जोखिम विश्लेषण तथा टिप्पणीको प्रारम्भिक मस्यौदा तयारीमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग सहायक उपकरणका रूपमा गर्न सकिनेछ । यस्तै, सेवाग्राहीले अनलाइन, मोबाइल एप वा एसएमएसमार्फत प्राप्त हुने ट्रयाकिङ (सङ्केत) नम्बरबाट आफ्नो फाइलको प्रगति हेर्न सक्नेछन् भने सेवा प्रवाह एकद्वार प्रणालीमार्फत हुनेछ ।

    सार्वजनिक निकायले डिजिटल प्रणालीमार्फत डिजिटल माध्यममा फाइल दर्ता गर्नुपर्नेछ र त्यसरी तयार भएको विद्युतीय फाइलसमेत आधिकारिक सरकारी अभिलेख मानिने प्रधानमन्त्री कार्यालयका सहसचिव सुवेदीले उल्लेख गरे । यसका साथै, कार्यालयहरूको कार्यसम्पादन मापनका लागि ‘निर्णय ढिलाइ सूचकाङ्क’ लागू गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट एकीकृत ड्यासबोर्डमार्फत अनुगमन गरिनेछ । निर्णय प्रक्रियामा अनावश्यक ढिलाइ गर्ने वा जिम्मेवारी पूरा नगर्ने पदाधिकारीलाई विभागीय कारबाही र कार्यसम्पादन मूल्याङ्कनमा अङ्क कटौती गरिने कडा व्यवस्था नियमावलीले गरेको छ ।

  • सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

    सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा

    ललितपुर, १ असोजः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै तह, वर्गका व्यक्ति तथा व्यक्तित्वहरूलाई सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकवद्ध बनाएर राख्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको वैठकको सुरुआतमा सभापति थापाले पार्टीभित्रका सबै असहमति र असन्तुष्टि सम्बोधन भएको उल्लेख गर्दै अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताए ।


    “अड्किएका सबै कुरा सम्बोधन भएका छन्, नेपाली कांग्रेस एउटा परिवार हो, सबैलाई समेटेर जान्छौँ, तोकिएको तिथिमा अधिवेशन गर्नुपर्ने कुरामा हामी बाँधिएका छौँ, हामी सबै एक ठाउँमा उभिएर रहेका छौँ, सँगै बसेर अधिवेशन गर्नु नपर्ने कुनै कुरा छैन, पार्टीलाई एक बनाउने भनेको नेता मात्रै मिलाउने हैन, रिसाएर कांग्रेस छोडेकाहरुलाई जोड्नु आवश्यक छ, यही असोज १६ गते खुला मञ्चमा महाधिवेशन उद्घाटन गर्छौँ,” सभापति थापाले भने ।


    सभापति थापाले पार्टीको महाधिवेशन टुङ्ग्याएर जनतासामु जाने उल्लेख गर्दै देशभरका पार्टी कार्यकर्ता तथा नेताहरूलाई एकतावद्ध हुन आग्रह गरे । उनले पार्टीभित्र कसले जित्यो वा कसले आफ्नो अडान छाड्यो भन्ने रूपमा नभई सबैले केही न केही लचकता अपनाएर पार्टीको हितमा सहमति गरेको विषयका रूपमा लिन आग्रह गरे ।


    “मतभिन्नता हुनु स्वाभाविक हो, त्यसलाई व्यक्तिगत विवाद नबनाई संवाद र सहमतिबाट समाधान खोज्नुपर्छ, पार्टीभित्रको एकता केवल नेताहरूबीचको एकतामा सीमित नराखी पार्टीबाट टाढिएका पुराना समर्थक तथा मतदातालाई समेत पुनः जोड्नुपर्छ,” उनले भने । पार्टीका पूर्वसभापति तथा वरिष्ठ नेताहरूलाई समेत महाधिवेशन प्रक्रियामा सहभागी भएर एकताको सन्देश दिन सभापति थापाले आग्रह गरे । वडा, जिल्ला तथा अन्य तहको अधिवेशनको जिम्मेवारी पाएका नेताहरूलाई पनि अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन अनुरोध गर्दै उनले सहभागी हुन नसक्ने अवस्थामा विधानअनुसार वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आउनसक्ने बताए ।


    महाधिवेशन व्यवस्थापनका लागि विभिन्न समिति गठन गरी छोटो समयमै व्यवस्थित रूपमा काम गर्नुपर्नेमा सभापति थापाले जोड दिए । नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिएका मतभेद र महाधिवेशनसम्बन्धी विवाद समाधान गर्न विभिन्न चरणमा निरन्तर संवाद हुँदै आएका थिए । विशेष महाधिवेशनपछि पनि पार्टीभित्र र नेताहरूबीच छलफल जारी रहेको तथा त्यसै क्रममा विभिन्न प्रस्ताव र सुझावका आधारमा सहमतिको वातावरण बनेको सभापति थापाको भनाइ थियो ।

  • चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    रसुवा, ३१ भदौः चिलिमे जलविद्युत् केन्द्रको सुरुङ उत्खनन्का क्रममा विद्युत् गृह क्षेत्रबाट आज तीन वटा सग्लो र एउटा मानव अङ्ग फेला परेको छ ।
    नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणको जनशक्तिसहित भारतीय सेना सम्मिलित खोज तथा उद्धार टोलीले केन्द्रको विद्युत् गृह क्षेत्रबाट शव फेला पारेको रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए ।


    उनका अनुसार यही भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीले सो जलविद्युत् केन्द्रको हाताभित्र रहेका भवन तथा पर्खाल समेत बगाएको तथा सुरुङ बन्द भएको प्रतिकुल अवस्थामा नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले ती शव फेला पारेको हो । बाढी गएको दिन उक्त जलविद्युत् केन्द्रको बिहानी सिफ्टमा एक इन्जिनियर, दुई सुपरभाइजर, दुई चौकीदार र एक कार्यालय सहयोगीसमेत गरी छ कर्मचारी कार्यरत रहेको केन्द्रका वरिष्ठ सहायक कमलबहादुर खरेलले जानकारी दिए ।

    नेपाली सेनाले सुरुङभित्र यथाशक्य छिटो प्रवेश गरी सो जलविद्युत् केन्द्रभित्र फसेका कर्मचारीको उद्धारको कामलाई सहयोग पुर्याउन सदरमुकाम धुन्चेमा एक हेलिकप्टर तयारी अवस्थामा राखेको प्रजिअ पाण्डेले बताए ।
    यसैगरी, खोज तथा उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले अप्पर त्रिशूली जलविद्युत् आयोजना–१ को अडिट टनेलभित्रबाट आजै पाँच जनाको शव फेला पारेको छ । उत्तरगया–१ दलदुङ खोलाको ८०० मिटरभित्र सुरुङमा पहिचान खुल्न नसकेको अवस्थामा ती शव फेला परेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

    सर्लाही, ३१ भदौः सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा मधेस प्रदेश०३–०३३प ७८२४ नम्बरको मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको बिआर३०एपी १२२४ नम्बरको भारतीय मोटरसाइकल मङ्गलबार साँझ ठोक्किएको थियो । दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक सर्लाहीको गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र १२२४ नम्बरका मोटरसाइकल चालक सर्लाहीको कबिलासी–८ का २६ वर्षका पप्पु पासवानको मृत्यु भएको हो ।

    दुर्घटनापछि गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । यसैबीच सोही घटनामा परेर गम्भीर घाइते १२२४ नम्बरको मोटरसाइकलमा सवार सर्लाहीको कबिलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लुकुमार पासवानको अनुहार, टाउको र खुट्टामा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर पठाइएको छ ।

    तीव्र गतिका कारण दुवै मोटरसाइकल आपसमा ठोक्किएको हो । प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

    चट्याङबाट बालिकाको मृत्यु

    त्यसैगरी, सर्लाहीको बागमतीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मङ्गलबार साँझ बागमती नगरपालिका–४ गोले टोलमा परेको चट्याङ लागेर सोही स्थान बस्ने ठाकुरसिंह मोक्तानकी छोरी १२ वर्षीया दीना मोक्तानको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो ।

    सोही घटनामा पर्नुभएकी हस्तबहादुर बम्जनको छोरी ११ वर्षीया प्रितीमा बोम्जन र ४२ वर्षीय पोशाकबहादुर वाइबा गम्भीर घाइते हुनुभएको छ । घाइते प्रतिमालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज पठाइएकोे प्रहरीले जनाएको छ । अर्का घाइते पोशाकबहादुरको बागमतीस्थित सभ्यता अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्ष गौतमले जानकारी दिए ।

  • आज सर्वदलीय बैठक बस्दै

    आज सर्वदलीय बैठक बस्दै

    काठमाडौँ, ३१ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज शीर्ष नेतृत्वबीच सर्वदलीय बैठक बस्दैछ । रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ११ः०० बजे बस्ने बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ । रास्वपाका प्रवक्ता जगदीश खरेलले दिएको जानकारी अनुसार बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वको सहभागिता रहने जनाइएको छ।

  • सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

    सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

    बागलुङ, ३१ भदौः नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारमा तीव्र रुपमा डेङ्गु फैलिएको छ । बागलुङमा साउनयता मात्रै एक हजार ४०३ जनामा डेङ्गु फैलिएको छ । जुन तथ्याङ्क नेपालमा नै उच्च रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    बागलुङ जिल्ला सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा मात्रै एक हजार २२४ जनामा सङ्क्रमण पुष्टि भएको हो । सदरमुकाममा हाल घरैपिच्छे डेङ्गु सङ्क्रमण फैलिएपछि उच्च सतर्कता अपनाइएको छ । दैनिकजसो डेङ्गु फैलाउने लामखुट्टे खोज र नष्ट गर अभियान चलाइए पनि सङ्क्रमण बढिरहेको पाइएको छ ।

    गत वर्ष पाँच जनामा देखिएको स्क्रब टाइफसको सङ्क्रमण बागलुङमा यो वर्षको साउनयता मात्रै २८२ जनामा पुष्टि भएको छ । डेङ्गु बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङ्कले देखाउँछ । स्क्रब टाइफसको ५० प्रतिशत सङ्क्रमित गलकोट नगरपालिकामा देखिएको छ ।

    नेपालमै सबैभन्दा बढी डेङ्गु फैलिएको जिल्लाका रुपमा बागलुङ र पालिकाका रुपमा बागलुङ नगरपालिका रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए । उनले बागलुङ डेङ्गुसहित स्क्रब टाइफसको उच्च जोखिममा रहेको छ । “हामीले उच्च सतर्कता अपनाउँदै गए पनि सङ्क्रमणको दर उच्च रहेको छ भने धौलागिरि अस्पतालमा डेङ्गुका बिरामीको चाप उच्च रहेको छ,” शर्माले भने, “बागलुङ बजारमा लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्नेसँगै ग्यारेजका टायरसमेत जफत गर्न थालिएको छ ।”

    जिल्ला सदरमुकाममा दैनिक ३० देखि ५० जना सम्ममा डेङ्गु देखिन थालेको धौलागिरि अस्पताल बागलुङका मेडिकल रेकर्डर नवराज पौडेलले जानकारी दिए । डेङ्गु नियन्त्रणमा तदारुकता नदेखाउने ग्यारेजबाट चार ट्याक्टर टायर जफत गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।

  • बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

    बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

    काठमाडौँ, ३० भदौः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान दिन आग्रह गरेका छन् । सभाको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद इन्दिरा राना मगरले विपत्तिमा परेकाहरूका लागि मानसिक स्वास्थ्यको उपचारलगायत अत्यावश्यक विषयको सम्बोधन सरकारले गर्नुपर्ने बताइन् ।


    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले बाढीमा हराएका व्यक्तिको डिएनको परीक्षणको प्रतिवेदन कहिले आउँछ भन्ने प्रश्न पीडित परिवारबाट आफूहरूलाई प्रश्न आउन थालेको बताइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समीक्षा बाँस्कोटाले अस्पतालको बाढीमा परेर घाइते भई अस्पतालको सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यले स्वास्थ्य र सञ्चार क्षेत्रका संहितामाथि गम्भीर प्रश्न खडा गरेको टिप्पणी गरिन् ।


    नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले भोटेकोशी बाढीमा बेपत्ता रहेका व्यक्तिहरूको पीडा जटिल बन्दै गएकाले खोजीमा तीव्रता दिन आग्रह गरे । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले मोटरसाइकलमा सल बेरिएर मृत्यु भएका महिलाको उदाहरण प्रस्तुत गर्दै यस्ता घटना हुन नदिन सडक सुरक्षालगायत विषयमा ध्यान दिन आग्रह गरे ।


    नेकपाका सांसद पार्वती विकले सहरमा दलितहरूले कोठा नपाउने समस्यालाई लिएर एक चेली लामो समयदेखि सडकमा रहेकाले यस्ता माग सम्बोधनका कानुन ल्याउन माग गरिन् । रास्वपाका सांसद मनिष खनालले आफ्नै श्रीमतीलाई समेत हत्या गर्ने प्रवृत्ति देखिएकाले यस्ता घटना किन दोहोरिन्छ भनेर अध्ययन र कडा कारवाही गर्न माग गरे ।


    सोही पार्टीका सांसद सुनील केसीले मनोहरा खोलामा गए राति आएको बाढीका कारण असुरक्षा भएकाले सचेतना अपनाउन आग्रह गरे । सांसद दीपकुमार साह (महोत्तरी) ले व्यक्ति सम्बन्ध वा सामाजिक विवाद कारण ज्यानै लिने जस्ता घटनामाथि अनुसन्धान र कारबाही गर्न आग्रह गरे । नेकपा (एमाले)का सांसद गणेशसिंह ठगुन्नाले दैवी प्रकोपका घटनामा स्थानीय तहसँग पर्याप्त नहुने भएकाले राहत र उद्धार कामले तीव्रता पाउन नसकेको बताए ।


    रास्वपाका सांसद मोहनलाल आचार्यले बाँडेगङ स्थितिबारे ध्यानाकर्षण गराए । सोही समयमा नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढा, रास्वपाका सांसद गोविन्द पन्थी, नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले बाढी पहिरो र रोकथामका साथै सडक दुर्घटनाको गम्भीर अवस्थाबारे ध्यान दिन आग्रह गरे ।

  • बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

    बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

    काठमाडौँ, ३० भदौः काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर एकापसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।
    आज बुढानीलकण्ठबाट नारायणगोपाल चोकतर्फ जाँदै गरेको बा ५ ख ३६७१ नम्बरको भाडाको बस र नारायणगोपाल चोकबाट बुढानीलकण्ठतर्फ आउँदै गरेको बा ५३ प २४८५ नम्बरको स्कुटर एकापसमा ठोक्किएका थिए ।

    दुर्घटनामा स्कुटर चालक बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलका २२ वर्षीय समिर श्रेष्ठ गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । दुर्घटनामा स्कुटरमा सवार सोही स्थानकी २१ वर्षीया आयुष्मा मगर पनि घाइतेको उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

  • प्रतिनिधिसभाः महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

    प्रतिनिधिसभाः महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

    काठमाडौँ, ३० भदौः सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी नियन्त्रण गर्न तथा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरुले उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज गराउन र जनतालाई सहुलियत दिन सरकारसँग माग गरे ।


    सांसद वदनकुमार भण्डारीले ग्यासको अभावसँगै अहिले तेल, चिनी, दाल, चामललगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको भन्दै तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न माग गरे । सांसद प्रकाशचन्द्र परियारले नजिकिँदो चाडपर्वलाई मध्यनजर गर्दै उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन र अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन माग गरे । सांसद चन्द्रमोहन यादवले लोकतन्त्रमा नागरिकलाई त्रसित बनाउने कार्य स्वीकार्य नभएको उल्लेख गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।


    सांसद जगतप्रसाद जोशीले भारतीय सीमावर्ती क्षेत्रमा लागुऔषध दुव्र्यसनीको समस्या भयावह बन्दै गएको भन्दै लागुऔषधको ओसरपसार र सेवन रोक्ने प्रभावकारी योजना सञ्चालन गर्न माग गरे । सांसद जगदीश खरेल (ललितपुर)ले भोटेकोशी बाढी मानव सिर्जित र प्राकृतिक विपद् भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालय मातहतको राहत कोषको नाम परिमार्जन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न माग गरे ।


    सांसद जनकसिंह धाँमीले कञ्चनपुरका विभिन्न भेगमा अलपत्र सडक पूर्वाधार तत्काल सम्पन्न गर्न माग गरे । सांसद झविलाल डुम्रेले स्याङ्जाको वालिङ नगरपालिकामा ५० शय्यासम्म सञ्चालन गर्न सकिने अस्पताल भवन निर्माण भएको महिनौँ भइसकेको भन्दै तत्काल गण्डकी प्रदेश सरकारसँग समन्वय गरी अस्पताल सञ्चालन गर्न माग गरे ।


    सांसद टुकाभद्रा हमालले नागरिकको जीवनभन्दा अस्पतालको बिल ठूलो हुने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद ठाकुरसिंह थारुले वैदेशिक रोजगारमा रहेका नागरिकले भोगिरहेका समस्या समाधान गर्न सरकारसँग माग गरे ।


    सांसद तारा विश्वकर्माले भोटेकोशी बाढीबाट विस्थापित नागरिकलाई सुरक्षितस्थलमा दीर्घकालीन पुनःस्थापना गर्न माग गरे । सांसद ताहिर अलि भाटले आइतबारको सार्वजनिक बिदाले शैक्षिक क्षेत्रमा असर गरिरहेको भन्दै तत्काल उक्त बिदा पुनःरावलोकन गर्न सुझाव दिए । सांसद दीपकराज बोहराले रसुवा बाढीबाट कञ्चनपुरका २६ जना नागरिक बेपत्ता भएको भन्दै उनीहरूको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन माग गरे ।


    सांसद देवराज पाठकले दाङको भालुवाङ बजारमा १७ परिवारको छ बिगा सात कठ्ठा दुई धुर जग्गा सशस्त्र प्रहरी बलले कब्जा गरेको भन्दै जनताको सम्पत्ति आजसम्मको क्षतिपूर्तिसहित फिर्ता गर्न माग गरे ।
    सांसद धनबहादुर बुढाले डोल्पालगायत हिमाली क्षेत्रको शैक्षिक क्यालेण्डर परिमार्जन गरी मङ्सिरभित्रै शैक्षिक सत्र सम्पन्न हुने व्यवस्था गर्न माग गरे । सांसद धर्मराज केसीले प्राकृतिक विपत्तिपछि नेपालले विभिन्न निकायबाट प्राप्त गरेका रकम कहाँ, कति खर्च भयो भनेर तेस्रो निकायबाट ‘अडिट’ गर्न सुझाव दिए ।

    सांसद नरेन्द्रकुमार केरुङले बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति खारेजीको निर्णयले बौद्धमार्गी चिन्तित भएका जनाउँदै सो निर्णय फिर्ता लिन माग गरे । सांसद नरेन्द्रकुमार गुप्ताले भोटेकोशी बाढीबाट पाठ सिकेर नदी करिडोर क्षेत्रमा रहेको जोखिमपूर्ण वस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सरकारलाई सुझाव दिए ।


    सांसद नितिमा भण्डारी कार्कीले भोटेकोशी बाढीमा हराइरहेका पेशाकर्मीका ठाउँमा उनीहरूको परिवारका योग्य सदस्यलाई रोजगारी र सामाजिक सुरक्षा दिन आग्रह गरिन् । सांसद निराशा चौधरी डगौराले सरकारका विभिन्न निकायमा काम गरिरहेका करार सेवाका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग गरिन् । सांसद निश्कल राईले इलामस्थित विभिन्न चिया बगानमा रासायनिक मल र कीटनाशक विषादी प्रयोग भइरहेको पाइएको भन्दै यसको प्रयोगमा रोक लगाउन माग गरे ।


    सांसद निनुकुमारी कर्णले जेनजी आन्दोलनका क्रममा महेन्द्रनारायण निधिको घरमा आगजनी गर्ने व्यक्तिले खुलेआम अराजक अभिव्यक्ति दिइरहेको भन्दै आपराधिक मानसिकता भएका व्यक्तिलाई कानुनी कारबाही गर्न माग गरिन् । सांसद पवित्रा विकले बागवानी विकास केन्द्रलगायत अन्य कृषि निकायमा काम गर्ने एक हजार ५०० बढी प्राविधिक कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय फिर्ता लिन माग गरिन् ।


    सांसद पुकार बमले भोटेकोशी बाढी प्रभावित परिवारलाई क्षतिपूर्ति, राहत, बीमालगायत प्रक्रियामा हुने प्रशासनिक झन्झट अन्त्य गर्न माग गरे । सांसद प्रशान्त उप्रेतीले मकवानपुरका राक्सीराङ, कैलाश, थाहा, भीमफेदीलगायत क्षेत्रमा भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।


    सांसद प्रेमबहादुर बयकले निर्वाचनका क्रममा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएका सर्वसुलभ शिक्षा, स्वास्थ्यलगायत जनअपेक्षा पूरा गर्न माग गरे । सांसद पूर्णप्रसाद लिम्बू, प्रकाश पाठक, प्रकाशसिंह कार्की, प्रदीप विष्ट, प्रमिला कुलुज, प्रमेशकुमार हमाल र प्रेमलाल चौधरीलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

  • मकवानपुरमा भ्यान दुर्घटना, चारको मृत्यु, चार घाइते

    मकवानपुरमा भ्यान दुर्घटना, चारको मृत्यु, चार घाइते

    हेटौँडा, ३० भदौः मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड हुँदै वीरगञ्जतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०७२० नम्बरको भाडाको इभी आज दिउँसो २ः०० बजे सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    उनका अनुसार दुर्घटनामा चार पुरुषको घटनास्थलमै मृत्यु भएको छ । घाइते दुई पुरुष र दुई महिलामध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौँ तथा एक महिलालाई हेटौँडा पठाइएको छ । गाडीमा चालकसहित आठ जना सवार थिए । मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले बताए ।

  • सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    सर्लाही, ३० भदौः सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गोडैता नगरपालिका–५, रामवनस्थित भित्री सडक खण्डमा प्रदेश २–०३००१७ प ७१३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा सोही ठाउँकी ६५ वर्षीया शान्ति देवीको मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते देवीलाई उपचारका लागि बयोधा अस्पताल वीरगन्ज पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    यस्तै सर्लाहीको बरहथवा नगरपालिका–३, सानो खुरखोटीमा घरको भ¥याङबाट लडेर ४० वर्षीय सुनिता माझीको मृत्यु भएको छ । घरको भ¥याङ चढ्ने क्रममा लडेर गम्भिर घाइते भएकी उनलाई उपचारका लागि न्यूरो अस्पताल बारा पु¥याइएकामा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

  • भोटेकोशी बाढी : चिन्तित छन् त्रिशूली किनारका बासिन्दा

    भोटेकोशी बाढी : चिन्तित छन् त्रिशूली किनारका बासिन्दा


    चितवन, ३० भदौः यही भदौ १० गते आएको भोटेकोशी बाढी पछि त्रिशूली नदी किनारमा बसोबास गर्नेहरु चिन्तित देखिएका छन् । उनीहरुलाई कुनै पनि बेला त्रिशूली नदीमा बाढीको वहाब आएर नोक्सान पुर्याउने चिन्ता बढेको छ । इच्छाकामना गाउँपालिका–५ त्रिशूली किनारमा बसोबास गर्दै आउनुभएकी सानी गौचन अहिले आफूहरु असुरक्षित रहेको महसुस गर्छिन् । आफ्नो उमेरको ४५ वर्ष यही बिताएकी उनी भोटेकोशी बाढीपछि झस्कन थालेकी छिन् । उनले भनिन्, “बाढी देखेका थियौ । यस्तो विनाशकारी देखेका थिएनौँ । त्यो दिन सम्झदा अझै पनि मनमा अत्यास लाग्छ । पानी पर्दासमेत फेरि घर छोड्नुपर्ने हो की भन्ने डरले उनलाई सताइ रहेको छ । ”

    मुग्लिन बजारमा बिगत ४५ वर्षदेखि आमा होटल चलाउँदै आएकी कोपिला गौचन वर्षात् हुन थालेपछि कामदारदेखि सबैलाई सुरक्षित गर्न थालेको बताउँछिन् । यही भदौ १० गतेदेखि उनले न फोन अफ गर्न सकेकी छिन्, न त रातिमा राम्रोसँग निदाएकी छिन् । उनले भनिन्, “कतै फोन गरेर घर छोड बाढी आउँदै छ की भन्ने सूचना आउँछ की भन्ने डर छ ।” अझै आफूहरु असुरक्षित रहेको महसुस आफूलाई भएको उनले बताइन् ।


    अहिले खोला सुसाउँदा त्रासमा बस्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । अझै चिन्तामा बस्नुपरेको बताउँदै उनले अब केही राहत हुन्छ की भन्ने लागेको बताइन् । उनले थपिन, “पुख्र्यौली काम छोड्नुभएन अझै हामी सुरक्षित छौँ जस्तो लाग्दैन ।”
    स्याङ्जा स्थायी ठेगाना भई बिगत ३२ वर्षदेखि मुग्लिन नजिकै व्यवसाय गर्दै आएका सेख अलाउदीन मियालाई अहिले पानीको आवाज सुनेपछि आफूले राखेका सामग्रीतर्फ ध्यान जान्छ । नुवाकोटमा रहेकी छोरी वेखबर भएपछि आफू त्यस्तै हुने हो की भन्ने चिन्ताले उनलाई सताइ रहेको छ । खोलामा पानीको बहाव बढ्दै गर्दा कुनै चिन्ता नहुने भए पनि भदौ १० गतेको भोटेकोशी बाढीपछि उनलाई रातमा राम्रो गरी निन्द्रा लाग्न छाडेको छ ।

    साना बालबालिका लिएर बस्नुपर्ने त्यहीमाथि त्रिशूलीको डर उनले दुःखेसो सुनाए । अचानक आएको बाढीले त्रिशूली किनारमा व्यवसाय गर्न डर हुन लागेको उनको गुनासो छ । त्रिशूलीमा ‘¥याफ्टिङ’ गर्न आएकालाई खाना खाजा खुवाउँदै आएका नारायण श्रेष्ठ व्यवसाय छोड्ने की के गर्ने भन्ने दोधारमा छन् । सँगै व्यवसाय गरेका साथीहरुले छाडेर गएपछि आफू दोधारमा रहेको बताउँदै उहाँले विनाशकारी बाढीपछि व्यवसाय र आफ्नो जीवन नै जोखिम बढेको बताए । उनले भने, “बाढीसँग डर होइन विनाशकारी बाढीसँग अझै हामीलाई डर छ ।” पृथ्वी राजमार्गमा रहेको विनय गेष्ट हाउस तथा खाजा घरका सञ्चालक उनले वर्षात सुरु भएपछि हामीलाई त्रास बढ्ने भन्दै अब के गर्ने सोचमा रहेको बताए ।


    अहिले पृथ्वि राजमार्गअन्तर्गत त्रिशूली किनारमा रहेका यस्ता व्यवसायी तथा परिवार त्रासमा दिन र रात बिताउन बाध्य छन् । अब फेरि समस्या आउँदा के गर्ने भन्ने चिन्ता उनीहरुमा थपिएको छ । रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनको देवघाटमा आएर यो नदी कालिगण्डकीमा मिसिएपछि नारायणी बन्छ । त्रिशूली नदी गहिरो छ । नदीका किनारमा मानव बस्तीसँगै बजारहरु रहेका छन् । ती बस्ती पुराना हुन् । बिगतका वर्षहरुमा पनि बाढी आउने भए पनि यस वर्ष निकै ठूलो बाढी आएपछि ती तीन जिल्लामा ठूलो जनधनको क्षति भएको छ । क्षति हुन नपाएका बस्ती र बजार क्षेत्रका बासिन्दामा त्रास कायम रहेको हो ।

  • भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

    भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए


    सुदूरपश्चिम, ३० भदौ । भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रको अभिलेखअनुसार हालसम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँमा कार्यरत सुदूरपश्चिमका १४३ जना सम्पर्कविहीन छन् भने एक जनाको मृत्यु भएको छ ।

    गत भदौ १० को बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लामा घर ठेगाना भएका तर प्रभावित क्षेत्रमा कार्यरत व्यक्तिहरू बाढीपछि सम्पर्कविहीन भएको भन्दै केन्द्रमा गुनासो आएका थिए । पछि ७१ जना सम्पर्कमा आएको जानकारी प्राप्त भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख जनक धामीले जानकारी दिए ।


    हालसम्म सम्पर्कमा आएकामध्ये ११ महिला र ६० पुरुष र सम्पर्कविहीन भएकामा १३ महिला र १३० पुरुष रहेका उनले बताए । जिल्लागत विवरणअनुसार कैलालीका सबैभन्दा धेरै ६७ जना सम्पर्कविहीन छन् भने ५३ जना सम्पर्कमा आएका छन् । सम्पर्कविहीन र सम्पर्कमा आएकामध्ये क्रमशः कञ्चनपुरका २६ र ११, डडेल्धुराका १७ र छ, डोटीका दुई र एक जना छन् । यस्तै, बाजुराका १६ जना, बैतडीका सात, दार्चुलाका चार, बझाङका दुई र अछामका दुई जना अझै सम्पर्कविहीन छन् । बैतडीका एक जनाको मृत्यु भएको र शव बुझी अन्त्येष्टि गरिसकिएको आपत्कालीन कार्यसञ्चालन केन्द्रको अभिलेखमा उल्लेख छ ।

    बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूका परिवार तथा आफन्तले आपत्कालीन केन्द्रमा गुनासो दर्ता गराएका थिए । सम्पर्कविहीनहरूको अवस्था यकिन गर्न उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आफन्तहरुले केन्द्रमार्फत आग्रह गरिरहेका छन् ।

  • आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

    वालिङ (स्याङ्जा), ३० भदौ । ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा आज बिहान एक महिलाको निधन भएको छ । वालिङ नगरपालिका–९ भूम्रेकि ५३ वर्षीया माया पाण्डे मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

    उनका अनुसार भूम्रेस्थित आँधीखोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो । वडा प्रहरी कार्यालय वालिङ, जनप्रतिनिधि, स्थानीयवासीले खोजी गर्ने क्रममा झण्डै चार किलोमिटर तल वालिङ –१३ शान्तिघाटस्थित आँधीखोलामा ढुङ्गामा अड्किएको अवस्थामा शव फेला परेको जनाइएको छ ।

  • भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

    भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

    काठमाडौँ, ३० भदौः भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फेलापरेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ छन् । उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

    हालसम्म फेलापरेका शवमध्ये १०४ को सनाखत भइसकेको छ । बाँकी शवको पहिचानका लागि डिएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७३७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये विभिन्न ३३ वटा होल्डिङ सेन्टरमा राखिएका नागरिकमध्ये नुवाकोटमा एक हजार ४९९, रसुवामा ८२५ र धादिङमा ९४ जना रहेका छन् । डिएनए नमूनाका आधारमा सनाखत हुन बाँकी शवको पहिचान गर्ने कार्य अघि बढाइएको प्राधिकरणले जनाएको छ ।

    त्यस्तै, विभिन्न १९ अस्पतालमा ३४१ जनाको उपचार गरिएकामा २७८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । विभिन्न सुरक्षा निकायमार्फत थप नौ हजार ३५८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ । नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श प्रदान गरिएको प्रवक्ता महतले जानकारी दिए ।


    बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् । सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनमा सक्रिय छन् ।

    भोटेकोशी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ । बेपत्ताको खोजी तथा उद्धारकार्यलाई तीव्र बनाइएको प्राधिकरणले जनाएको छ ।

  • बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

    बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

    पाल्पा, २७ भदौः दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिनेबित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउने गर्थे । साँझ परेपछि पनि उनीहरु घर फर्किन पाउँदैन थिए । रातभरि बँदेल बारीमा पसे कि भन्ने चिन्ताले सधैँ पिरोल्ने गथ्र्यो ।

    खेती गरेर पनि उत्पादन घर भित्र्याउन नसकेपछि कतिपय किसान खेतीबाटै निराश हुन थालेका थिए । तर अहिले वडा कार्यालयले गाउँगाउँमा बाँदर हेरालु कर्मचारीदेखि, कृषकको बारीमा काँडेतार जालीको व्यवस्था गरेपछि भने किसानलाई राहात मिलेको छ । वडा कार्यालयले २०८० सालदेखि बारीमा हेरालुको व्यवस्था गर्नुका साथै जङ्गली जनावरबाट बाली जोगाउन जाली लगाएपछि किसानलाई खेती गर्न सहज भएको हो ।

    विगतमा जेठदेखि भदौसम्म मकै खेती जोगाउन स्थानीयले बिहानैदेखि रातिसम्म बारीमा बसेर बाँदर धपाउनुपर्ने अवस्था थियो । वडा कार्यालयबाट हेरालुको व्यवस्था भएपछि किसानले लामो समय बारीमा बसेर बाली कुर्नुपर्ने बाध्यता हटेको स्थानीय सूर्यबहादुर विकले बताए । “दुई वर्षअघिसम्म रातिमा बँदेल र दिउँसोमा बाँदर आएर बाली खाएर हैरान पार्थे । अहिले हेरालु र जाली लगाएपछि जङ्गली जनावर आएर बालीनाली नोक्सान गरेको छैन,” सुनारले भने ।


    दिनको समयमा हेरालुले बारीमा आउने बाँदर धपाउने गरेका छन् भने बारी वरिपरि काँडेतारको जाली लगाएर रातिको समयमा बँदेल, दुम्सी, मृग, घोरललगायतका वन्यजन्तुलाई बालीमा प्रवेश गर्न रोक्ने प्रयास गरिएको छ । वडा कार्यालयले प्रत्येक वर्ष बाँदर लखेट्न नौ जनाका दरले हेरालु कर्मचारी खटाएर कृषकको मकै खेती जोगाउने अभियान नै सञ्चालन गरेको हो । वडा कार्यालयले साउन भदौका लागि बाँदर लाग्ने वडाको धैरेनी मेयालपानी क्षेत्रमा नौ जना हेरालु राखेर मकै खेती रेखदेख गर्दै आएको छ । ख्याहाको धैरेनी मेयालपानी, रातामाटा कोटफेरालगायतका क्षेत्रमा छ जना र जोगीथुम क्षेत्रमा तीन जना गरी नौ जना हेरालु राखेर बाँदर धपाउने काम गरेको छ ।

    बाँदर हेरालु बिहान ०५ बजेदेखि राति ८ बजेसम्म निरन्तर कृषकको मकैबारी क्षेत्रमा खटिदै आएका छन् । बाँदर हेरालुलाई गुलेली, नक्कली बन्दुक, गोला बारुदलगायतका सामग्री उपलब्ध गराइएको छ । दिनको समयमा हेरालुले बारीमा आउने बाँदर धपाउने गरेका छन् भने बारी वरिपरि काँडेतारको जाली लगाएर रातिको समयमा बँदेल, दुम्सी, मृग, घोरललगायतका वन्यजन्तुलाई बालीमा प्रवेश गर्न रोक्ने प्रयास भएको स्थानीय रामप्रसाद न्यौपानेले बताए । बाली जोगाउन निरन्तर निगरानी गर्नुपर्ने अवस्थाबाट मुक्त भएपछि किसान मकै खेतीप्रति थप उत्साहित भएको उनको भनाइ छ ।

    जङ्गली जनावरबाट किसानले लगाएको बाली जोगाउन नसक्दा खेतीयोग्य जमिन बाझिँदै जाने र गाउँबाट बसाइँसराइ बढाउने जोखिम बढेपछि वडाबाट बजेट विनियोजन गरेर हेरालु र काँडेतार लगाउने कार्यक्रम ल्याइएको वडा अध्यक्ष चिरञ्जीवी पोखरेले बताए । उनले भने, “स्थानीय किसानको मागअनुसार बाँदर र बँदेर लाग्ने ठाउँहरुमा हेरालु र जालीको व्यवस्था गरेका छौँ ।”

    चालु आर्थिक वर्षमा थप ५०० मिटर क्षेत्रमा काँडेतार जालीको बजेट बिनियोजन गरिएको वडा अध्यक्ष पोखरेलले बताए । वडा कार्यालयले गत वर्षमात्र नमुनाका रूपमा जङ्गली जनावरले अत्यधिक दुःख दिने स्थानमा काँडेतार जाली लगाएको थियो । जसले गर्दा बाँदर जालीमा चढ्नसमेत कठिनाइ हुने, रातिमा आउने बँदेल, दुम्सी, मृग, घोरल र खरायो जस्ता जनावार नियन्त्रणमा आएको थियो ।

    बिहान ०५ बजेदेखि राति ८ बजेसम्म बारी आसपासमा आफुहरु खटिने गरेको बाँदर हेरालु विष्णुबहादुर सुनारले बताए । “बाँदर आएको बेला सबै जना मिलेर धपाउँछौँ । तर सामान्य समयमा हेरालु आफैँले नै बारी हेर्ने भएकाले किसानलाई निकै सजिलो भएको छ,” सुनार भन्छन् । जङ्गली जनावरको समस्या ख्याहाको मात्रै होइन । पाल्पासहित पहाडी जिल्लाका धेरै गाउँमा बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले किसानलाई हैरान पार्दै आएका छन् । एउटा वडाले हेरालु राख्दैमा वा केही १०० मिटर काँडेतार लगाउँदैमा समस्या पूर्ण रूपमा समाधान हुँदैन । तर ख्याहाले देखाएको बाटोले भने समस्या समाधानका लागि किसान र स्थानीय सरकारबीचको सहकार्य प्रभावकारी हुन आवश्यक देखाएको छ ।

  • भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

    भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

    बर्दिया, २६ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई जना बेपत्ता भएपछि आफन्त घर फर्कने आशमा पर्खिरहेका छन् । भदौ १० गते आएको बाढीमा छोराबुहारी (दीपेन्द्र र फूलमाया तमाङ) सम्पर्कविहीन बनेपछि बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका आँशुराम थारु र कइरी थारु छोराबुहारी फर्किने आशमा दिनरात बाटो हेरिरहेका छन् । बुवाआमासँग सम्पर्क टुटेपछि उनीहरूका छोराछोरी अहिले मामाको साहरामा काठमाडौँमा छन् ।

    छोराबुहारीको अवस्थाबारे कुनै खबर नपाउँदा बुवाआमाको पर्खाइसँगै बालबालिकाको भविष्यसमेत अन्योलमा परेको आँशुरामले बताउनुभयो । छोरा सम्पर्कमा आउने आशामा बुबा आँशुराम मोबाइलमा घण्टी बज्यौ कि तुरुन्तै फोन उठाउनुहुन्छ । घरको बाटोतिर पनि आँखा लगाइरहनुहुन्छ । “छोराबुहारी भेटिएको फोन कतैबाट आयो कि भनेर तुरुन्तै उठाउने गर्छुु”, उहाँले भन्नुभयो, “घर आउँदैछन् कि भनेर बाटो हेर्छु । तर, अहिलेसम्म कतैबाट कुनै खबर आएको छैन ।”

    छोराबुहारी सम्पर्कविहीन भएपछि उहाँलाई नातिनतिनालाई कसरी शिक्षा दीक्षा दिने भन्ने चिन्ता थपिएको छ । “छोराबुहारीको अवस्थाबारे कुनै जानकारी नहुँदा परिवारका सदस्य विक्षिप्त बनेका छन् । हामीलाई छोराबुहारी भेटाइदेउ भनेर रातदिन भगवानसँग प्रथना गरिरहेका छौँ”, निराश हुँदै उहाँले भन्नुभयो, “सरकार तथा सरोकार भएका निकायले छिटो बेपत्ताको खोजी गरी वास्तविक आवस्था पत्ता लगाएर जानकारी दिनुपर्‍यो । यदी नभेटिएमा शव दिनुपर्छ । नातिनतिनालाई पढाइका लागि आवश्यक व्यवस्था गरिनुपर्छ ।”

    रसुवाको सल्लेटारमा दीपेन्द्र होटल सञ्चालन गर्दै परिवारसहित बस्दै आएका थिए । भदौ १० गते भोटेकोशीमा आएको बाढीले दीपेन्द र श्रीमती फूलमाया सम्पर्कविहीन भएका छन् । बाढी आउँदा दीपेन्द्रका छोरा र छोरी विद्यालय गएका थिए । विद्यालय गएकाले छोराछोरी सुरक्षित भए भने आफ्नै होटलमा रहेका दीपेन्द्र र पत्नी फूलमाया बाढीपछि सम्पर्कविहीन भएका बुबा आँशुरामले जानकारी दिनुभयो ।

    दीपेन्द्रका छोरा दीप थारु आठ वर्षका छन्, भने छोरी दीक्षा छ वर्षकी छिन् । उनीहरू दुवै जना रसुवाको स्थानीय विद्यालयमा अध्ययनरत थिए । बाढीपछि अभिभावकविहीन बनेपछि उद्धार गरी काठमाडौँ लगिएको हो । अहिले मामा उत्तम तामाङसँग बसिरहेका परिवारले जानकारी दिएको छ । “बेपत्ता भएका दीपेन्द्र विगत ११ वर्षदेखि रसुवामा बस्दै आएका थिए । सुरुमा कामदारका रूपमा रसुवास्थित चाइना कम्पनीमा काम गर्दथे । त्यसको दुई वर्षपछि रसुवाकी फूलमायासँग विवाह भयो ।

    पछि सबै परिवार यहाँ करिब तीन वर्ष बस्यो । चाइनामा काम गर्न जाने भनेर दिपेन्दले सात वर्षअघि बसाइँसराइ गरेर परिवारसहित रसुवा बसिरहेको थियो”, बुबा आँशुरामले भन्नुभयो । बसाइँसराइ गरेको एक वर्षपछि रसुवामा होटल चलाएर बसिरहेका छोराबुहारी बाढीपछि सम्पर्कविहीन भएको उहाँले दुखेसो पोख्नुभयो । आँशुरामका छ भाइ छोरा छन् । तीमध्ये राइला छोरा हुन् दिपेन्द्र । दीपेन्द्र जस्तै सबै छोरा काठमाडौँ, पोखरा, नुवाकोटलगायत विभिन्न ठाउँमा काम गरिरहेका छन् । छोराबुहारी बाढीपछि सम्पर्कविहीन भएपछि परिवारका सबै सदस्य दीपेन्द्र र फूलमायाको खोजीमा चितवन, धादिङ, नुवाकोट र काठमाडौँका विभिन्न अस्पताल तथा होल्डिङ सेन्टरसम्म पुगेका छन् ।

    “कतै पनि भाइबुहारीको अवस्था पत्ता लाग्न नसकेको बताएका छन् । छोराबुहारी कतै भेटिन्छन् कि भनेर चितवन, धादिङ, नुवाकोट र काठमाडौँसम्म सबै ठाउँमा छोराहरूले खोजी गरे”, बुबा आँशुरामले भन्नुभयो , “तर, भेटिएन । अहिले त अरु छोराहरू पनि आआफ्नो काम फर्किएका छन् ।” कामको सिलसिलामा रसुवा र नुवाकोट पुगेका दीपेन्द्र जस्तै बर्दियाका ७६ जना अझै सम्पर्कविहीन रहेका जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् सम्पर्कव्यक्ति लोकप्रसाद ढकालले जानकारी दिनुभयो । “बारबर्दियाका मात्रै २५ जना सम्पर्कविहीन छन् । हालसम्म ५३ जना घर फर्किसकेका छन्”, उहाँले भन्नुभयो ।

  • भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

    भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

    बागलुङ, २६ भदौः भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान फेला नपरेपछि परिवारले बिहीबार चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ । त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती ३३ वर्षीय राजेश शर्मा पौडेल र ३१ वर्षीया प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र दुई वर्षकी अदिति १६ दिनसम्म नभेटिएपछि उनीहरूका अभिभावकले हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् ।

    वेपत्ता इन्जिनियर दम्पतीका आफन्ती विष्णु शर्माका अनुसार राजेश पौडेल परिवारका एकमात्र छोरा थिए । यसैबीच, त्रिशूली हाइड्रोपावरमा कार्यरत तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई, गलकोट नगरपालिकाका एक तथा त्रिशूली–३ बी आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका चारसहित १६ जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

    पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

    भोजपुर, २६ भदौः पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘गाई–भैंसी नयाँ पकेट विकास कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । विगतका वर्षदेखि सञ्चालन हुँदै आएको यस कार्यक्रमलाई निरन्तरता दिँदै गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि ५० प्रतिशत लागत साझेदारीमा कार्यक्रम अघि बढाएको हो ।

    गाउँपालिकाको रु २५ लाख र किसानको रु २५ लाख लागत साझेदारी गरी कुल रु ५० लाखबराबरको बजेटमा यो कार्यक्रम सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।

    उहाँका अनुसार किसानका मागका आधारमा उन्नत जातका गाई तथा भैँसी वितरण गरिनेछ । गत आवमा पनि यहाँका किसानलाई ३९ वटा उन्नत जातका गाई वितरण गरिएका थियो । यस वर्ष पनि इच्छुक समूह तथा फार्महरूका लागि सूचना जारी भइसकेको बताउनुभयो ।

    गाउँपालिकाका अध्यक्ष किरण राईले किसानलाई पशुपालनमार्फत आर्थिक रूपमा सबल बनाउनुका साथै पोषण सुरक्षामा समेत टेवा पुर्याउने लक्ष्यका साथ कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो ।

    “विगतका वर्षबाट नै किसानलाई उन्नत जातको गाईभैँसी वितरणको कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “यो वर्ष पनि किसानलाई गाईभैँसी वितरणको तयारी गरेका छौँ ।”

    गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले महिला विकास बोर्डअन्तर्गत ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत पशुपालन तथा कृषिका क्षेत्रमा अनुदानका कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । सो कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम परियोजना कार्यान्वयन म्यानुअल २०७७ (पहिलो संशोधन २०८१) को स्वीकृत मापदण्डअनुसार सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । कार्यक्रममा कृषि–पशु समूह, समिति, सहकारी, वन उपभोक्ता समिति तथा दर्तावाला कृषि तथा पशुपालन फार्मले प्रस्ताव दर्ता गर्न सक्नेछन् ।

  • उद्योगमन्त्रीमा साह नियुक्त, आजै भयो शपथ

    उद्योगमन्त्रीमा साह नियुक्त, आजै भयो शपथ

    काठमाडौँ, २५ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई नियुक्त भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति समक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गर्न उनलाई सिफारिस गरेका थिए । सोही अनुसार राष्ट्रपतिले उनलाई सपथ ग्रहण गराएका छन् । इन्जिनियर साह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं–४ बाट निर्वाचित सांसद् हुन् । गौरी कुमारी यादवले राजीनामा दिएपछि उनी मन्त्री बनेका हुन् ।