Category: स्थानीय

  • नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

    नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

    चितवन, ९ असोजः वर्षातसँगै नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । बिहीबार साँझ ८ः०० बजेदेखि ती दुवै सडक पहिरोका कारण अवरुद्ध भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठाउँठाउँमा पहिरो झरिरहेकाले सडक सञ्चालनमा समस्या भएको हो ।

    सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले बताए ।

    सडकलाई एकतर्फी खुलाएर दिउँसो रोकिएका सवारी कटाइएको हो । सडक रोकिएसँगै बिहीबारदेखि आएका सवारीसाधन सडकमा अलपत्र परेका छन् । जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सवारी सञ्चालनमा रोक लगाएको हो ।

  • बाणगङ्गा नदीमा हामफालेका पुरुषको खोजी जारी

    बाणगङ्गा नदीमा हामफालेका पुरुषको खोजी जारी

    कपिलवस्तु, ९ असोजः कपिलवस्तुको बाणगङ्गा नगरपालिका(१ बुचीस्थित बाणगङ्गा नदीमा हामफालेका पुरुषको खोजी जारी छ । प्रहरीका अनुसार बाणगङ्गा नगरपालिका ८ मधुवनका अन्दाजी ५४ वर्षीय नारायण बेल्वासेले आज दिउँसो बुड्ची र बोडगाउँको सिमाना जोड्ने बाणगङ्गा नदीको पक्की पुलको उत्तरी किनारबाट हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

    सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी निरीक्षक कालिका कार्कीको कमान्डमा १५ जनाको टोली उद्धार सामग्रीसहित घटनास्थल पुगेको थियो । खोजीका क्रममा नदी किनारबाट पुरुषले लगाउने कपडा तथा चप्पल फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रीपेन्द्रकुमार सिंहले बताए ।


    उनका अनुसार बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प पिपराबाट सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसिंह धामीको कमान्डमा ११ जना तथा नेपाल प्रहरीको थप टोलीसमेत परिचालन गरिएको छ । प्रहरीले नदीमा खोजी कार्य जारी राखेको जनाएको छ ।

  • हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार

    हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार


    भक्तपुर, ९ असोजः दुई दिनदेखि परेको अविरल वर्षाका कारण हनुमन्ते र गोदावरी खोलामा आएको बाढीका कारण जोखिममा परेका खोला किनाराका टहरामा बस्ने १५ परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । बालकोट, कौशलटार, लोकन्थली, सागबारीमा हनुमन्तेको सतह बढेर टहरामा पुगेपछि प्रहरीले अस्थायी टहरामा बसेका १५ परिवारका ९२ जनालाई उद्धार गरी कौसल्टारस्थित आदर्श जनप्रेमी स्कुलमा सारेको छ ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काले बालकोट र लोकन्थलीको सिमानामा पर्ने सागबारी, हनुमन्ते, मनोहरा र गोदावरी खोला आएर जोडिने त्रिवेणीस्थलका ९२ जनालाई सुरक्षित रूपमा स्थानान्तरण गरेको राससलाई जानकारी दिए । भक्तपुरको बोडे र काठमाडौँको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि यातायाको साधनलाई आवतजावतमा रोक लगाएको छ । निरन्तरको वर्षाका कारण मनोहरा खोलामा आएको बाढीबाट सडक तथा जमिन भासिएर मनोहरा पुल जोखिममा परेपछि यातायात आवागमनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए ।


    अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोला, खस्याङ खुसुङ खोला, गोदावरी खोलाको सतह बढेपछि डेकोचा, पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकबाटै खोला बढेपछि आवागमनमा समस्या आएको छ । अविरल वर्षाका कारण भक्तपुर नगरपालिकाको च्यामासिंहबाट ताथली हुँदै काँभ्रेको नाला बनेपा जोड्ने सडकखण्डमा यातायात आवागमन सञ्चालन भएको छ । वर्षासँगैको पहिरोले सडक अवरुद्ध भएपछि आज बिहानदेखि च्यामासिंह ताथली नाला सडकमा सवारी आवागमन रोकिएको थियो ।

  • पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

    पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता


    पाल्पा, ९ असोजः अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ । जिल्लाका विभिन्न ठाउँमा गएको पहिराले घर भत्काउनुका साथै सडक अवरुद्ध छन् भने एक जना बेपत्ता छन् । यहाँको रिब्दीकोट गाउँपालिका–६ धुस्तुङस्थित गोलफानमा आज दिउँसो गएको पहिराले दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

    उनका अनुसार पहिरोका कारण रामबहादुरको चार जनाको परिवार सकुशल रहेका छन् भने केसुरामको चार जनाको परिवारमध्ये उनकी ५९ वर्षीया श्रीमती कृष्णकुमारी सारु पहिरोमा परी बेपत्ता छिन् । परिवारका अन्य सदस्य भने सकुशल रहेको प्रनाउ भट्टराईले बताए । पहिरोबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि अन्य चौपायामा क्षति नभएको उनको भनाइ छ । पानी निरन्तर परिरहेको र घरभन्दा माथिको मोटरबाटोबाट ढुङ्गा–माटोसहितको लेदो निरन्तर बगिरहेकाले तत्काल उद्धारकार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता सारुको खोजीकार्य जारी छ ।

    सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबा मन्दिर नजिकै र तिनाउ–५ को चरचरे र जोरधाराबीचमा पर्ने सडकमा माथिबाट ढुङ्गा खसेपछि केही समय सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पछि पहिरो पन्छाएर सडक सञ्चालन गरिए पनि पहिरो झर्न नरोकिएको प्रहरी उपरीक्षक भट्टराईले बताए । यस्तै, यो समाचार तयार पार्दासम्म रिब्दीकोट गाउँपालिका–५ माराबास र बोदीस्थित बतासेबाट रैनादेवी छहरा गाउँपालिका जाने भित्री सडकखण्डमा पनि वर्षाका कारण सडकमाथिबाट पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।

    यस्तै सदरमुकाम तानसेनबाट पश्चिम भेग जोड्ने प्रमुख सडकका रूपमा रहेको तानसेन–हार्थोक–छहरा सडकखण्डमा विभिन्न स्थानमा पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको छ । हार्थोक–बतासे सडकअन्तर्गत कसुमखोला क्षेत्रमा निर्माणाधीन सडकमाथिबाट पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको स्थानीय भुवन रायमाझीले बताए । सडक अवरुद्ध हुँदा सर्वसाधारणले आवतजावतमा ठूलो सास्ती खेप्नुपरेको उहाँको भनाइ छ । सडक अरुद्ध हुँदा अत्यावश्यक सेवाका सवारीसाधनसमेत सडकमा रोकिएका छन् । विशेषगरी बिरामी बोकेका एम्बुलेन्स तथा ग्रामीण क्षेत्रबाट सदरमुकाम र अन्य सहरमा दूध पुर्याउने दुग्ध ढुवानीका सवारीसाधन बाटोमै रोकिँदा समस्या थपिएको रायमाझीको भनाइ छ ।

    पहिरोका कारण दूधलगायत छिट्टै बिग्रिने अत्यावश्यक वस्तु ढुवानीमा अवरोध हुँदा कृषक तथा व्यवसायीसमेत प्रभावित भएका छन् । स्थानीय प्रशासन तथा सम्बन्धित निकायले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् । तर, लगातार वर्षा भइरहेकाले पहिरो हटाउने काममा कठिनाइ भइरहेको जनाइएको छ । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गको दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले विहीबारदेखि सोमबारसम्म बेलुकी ७ः०० देखि बिहान ५ः०० बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरेको हो ।

  • पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

    पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

    चितवन, ९ असोजः पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । बिहीबारदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरो र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सडक बन्द गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८ः०० बजेदेखि आज बिहान ५ः०० बजेसम्म ती राजमार्गमा सवारी आवागमन रोकिएकामा निरन्तर वर्षा भएपछि अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो ।

    पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेकाले चितवन खण्डमा सवारी आवागमन रोकिएको उनले बताए । नारायणगढ–मुग्लिन सडक हुँदै दैनिक रुपमा १० हजारभन्दा बढी र पृथ्वी राजमार्ग हुँदै १४ हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने गरेका छन् ।

  • बाढी प्रभावित बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सञ्चालनमा

    बाढी प्रभावित बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सञ्चालनमा


    काठमाडौँ, ८ असोजः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले भोटेकोशी बाढीबाट प्रभावित भई विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याइएको बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले प्रभावित बालबालिकाको खोजी, उद्धार, संरक्षण, अभिभावकको खोजी तथा पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिइएको बताइन् ।

    “प्रभावित १५ स्थानीय तहमा बाल संरक्षणसम्बन्धी समन्वय संयन्त्र गठन गरी सूचना सङ्कलन, उद्धार तथा संरक्षणको काम भइरहेको छ । बालबालिकाका लागि ४० स्थानमा बालमैत्री केन्द्र सञ्चालन गरिएको छ”, मन्त्री बादीले भनिन् ।
    विशेष संरक्षण आवश्यक पर्ने, आमाबुवा गुमाएका, अपाङ्गता भएका तथा दुर्गम र सामाजिक एवं आर्थिक रूपमा पछाडि परेका बालबालिकाको संरक्षणलाई सरकारले विशेष जिम्मेवारीका रूपमा लिएको उनले बताइन् ।

    ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा उद्धार गरी ल्याइएका बालबालिकाका लागि आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक खोजी तथा पुनर्मिलनलगायत सेवा उपलब्ध गराउने गरी अस्थायी संरक्षण सेवा सञ्चालनमा ल्याइएको उनले बताइन् ।


    बाढीबाट अभिभावक बेपत्ता भएका वा गुमाएका बालबालिकालाई १८ वर्ष नपुग्दासम्म उचित संरक्षण, स्याहार, पोषण र स्वास्थ्य उपचार तथा कम्तीमा १२ वर्षसम्मको शिक्षा र सामाजिक सुरक्षाको व्यवस्था गर्ने गरी दीर्घकालीन स्याहार योजना अघि बढाइएको मन्त्री बादीले बताइन् । राष्ट्रिय बाल अधिकार परिषद्मार्फत बालबालिकाको अवस्थाबारे विस्तृत लेखाजोखा गर्ने काम स्थलगत रूपमा तीव्र पारिएको उनले जानकारी दिइन् । प्रभावित क्षेत्रमा कुनै बालबालिका समस्यामा परेको पाइएमा राष्ट्रिय बाल अधिकार परिषद्मार्फत जानकारी गराउन उनले आग्रह गरिन् ।


    विपद्का समयमा प्रभावित बालबालिकाको संरक्षणका लागि सरकारको मात्र प्रयास पर्याप्त नहुने बताउँदै उनले सबैको समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरिन् । बालबालिकाको संरक्षण र शिक्षाका नाममा समेत अनधिकृत रूपमा ओसारपसार तथा स्थानान्तरण गर्न नपाइने स्पष्ट पार्दै मन्त्री बादीले राष्ट्रिय बाल अधिकार परिषद्को सहमति र स्थानीय तहका बाल कल्याण अधिकारीको सिफारिसबिना बालबालिकाको ओसारपसार तथा स्थानान्तरण गैरकानूनी हुने बताइन् ।


    ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको संरक्षणका लागि पनि सरकारले सम्बन्धित आश्रम, स्थानीय तह र सेवाप्रदायक संस्थासँग समन्वय गरिरहेको उनले बताइन् । विपद्बाट प्रभावित ज्येष्ठ नागरिकको उद्धार, सुरक्षित आश्रय, स्वास्थ्य उपचार, सहायक सामग्री तथा पुनःस्थापनाको व्यवस्था मिलाइएको उनले बताइन् ।
    नुवाकोटको देवीघाटस्थित ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबाट विस्थापित ज्येष्ठ नागरिकलाई सुरक्षित वैकल्पिक स्थानमा स्थानान्तरण गरी स्वास्थ्य परीक्षण, आवश्यक सामग्री तथा मनोसामाजिक परामर्श उपलब्ध गराइएको मन्त्री बादीले जानकारी दिइन् ।

    सडक तथा यातायात सम्पर्क अवरुद्ध भएका क्षेत्रमा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारको व्यवस्था गरिएको उनले बताइन् । उनका अनुसार हालसम्म जटिल प्रसूति अवस्थामा रहेका ११ जना महिला तथा नवजात शिशुको हवाई उद्धार गरी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

    बाढी प्रभावित महिला तथा किशोरीका लागि नुवाकोट र धादिङमा १० वटा महिला तथा किशोरीमैत्री सुरक्षितस्थल स्थापना गरिएको जानकारी दिँदै मन्त्री बादीले बूढानीलकण्ठमा विपद्बाट प्रभावित तथा जोखिममा रहेका महिलाको संरक्षण, सुरक्षा र आवश्यकताअनुसार अस्थायी आश्रयको व्यवस्था गरिने बताइन् ।

  • विपद् जोखिम घटाउन कामपाको पूर्वतयारी

    विपद् जोखिम घटाउन कामपाको पूर्वतयारी


    काठमाडौँ, ८ असोजः काठमाडौँ, ८ असोजः काठमाडौँ महानगरपालिकाले विपद् जोखिम घटाउन पूर्वतयारी र प्रतिकार्य संयन्त्र सक्रिय पारेको जनाएको छ ।
    कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेकोे महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ढल, मङ्गल, नाली तथा क्याचपिटलाई नियमित सफाइ गर्ने, उद्धार सामग्री तयारी अवस्थामा राख्ने, सूचना प्रणालीलाई चुस्त बनाउने र वडा तहदेखि सुरक्षा निकायसम्मको समन्वय प्रभावकारी बनाउन उक्त निर्णय गरिएको छ ।

    उहाँले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको असर र प्रतिकार्य, विपद्का घटनामा राहत वितरण सिफारिस प्रणालीलगायत विषयमा छलफल गर्दै बैठकले, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)बाट प्राप्त हुने अवस्थाको तथ्यका आधारमा महानगरवासीलाई सुरक्षित रहन सूचना प्रवाह गर्ने निर्णय गरेको छ ।

    बङ्गालको खाडीबाट विकसि चक्रवात विकास भएपछि नेपालमा असोज ८ गतेदेखि १२ गतेसम्मको सम्भावित धेरै भारीको सम्भावना रहेको पूर्वानुमान भएपछि यसको प्रभावबाट बच्न पूर्वतयारी तथा प्रतिकार्यका विषयमा बैठक बसेको थियो । चौबिस घण्टामा ५० देखि १०० मिलिमिटर पानी पर्नु भारी वर्षा हो । एकसय मिलिमिटरदेखि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी र २०० मिलिमिटर वा त्योभन्दा धेरै वर्षा हुनु अति भारी वर्षा हो भनी मापन गरीएको छ ।

    वर्षाको पानीबाट हुनसक्ने जोखिमको आकलन गर्दा कति समयभित्र कति पानी प¥यो ? कुनकुन ठाउँमा पानी प¥यो रु कुन ठाउँमा परेको पानीले कुन ठाउँमा असर पुर्‍याउँछ भन्ने कुरालाई क्षेत्र विशेष निगरानी गर्नुपर्छ । उक्त आधारमा सुरक्षा सावधानीका लागि सूचना प्रवाह गर्नुपर्छ । बैठकमा प्रमुखका सल्लाहकार जलस्रोत तथा जलविज्ञान विज्ञान प्रा डा नरेशमान शाक्यले भने, “काठमाडौँमा यसअघि धेरै पानी परेकाबेला ११० देखि १२० मिलिमिटर सम्म रेकर्ड भएको छ । यस वर्ष १३३ मिलिमिटरसम्म पानी पर्ने आँकलन देखिन्छ । तर, यसो भन्दैमा डराउनु पर्दैन । सचेत भने हुनुपर्छ ।”

    जोखिमका दृष्टिले कति मिलिमिटर पानी प¥यो भन्दा पनि कति अवधिमा कति मिलिमिटर पानी परेको हो रु जान्नु अनिवार्य हुन्छ । यसबाट सचेत हुन र सम्भावित जोखिमबाट बच्न सकिन्छ । प्रा डा शाक्यको भनाइ थियो । महानगरपालिकाको तयारीका विषयमा प्रस्तुतीकरण गर्दै बैठकमा विपद् व्यवस्थापन विभागका प्रमुख एवं महानगर विपद् व्यवस्थापन समितिका सदस्यसचिव अनिरुद्र नेपालले, महानगरभित्र उपलब्ध सवारीसाधन, विपद् प्रतिकार्य सामग्री तथा उद्धार सामग्री तयारी अवस्थामा राखी आवश्यकताअनुसार ‘फास्ट रेस्पोन्स’मार्फत परिचालन गर्ने तयारी गरिएको बताए । महानगरपालिकाले पूर्वतयारीअन्तर्गत छ वटा र्‍याफ्टिङ बोट, छ वटा पानी तान्ने पम्प, पाँच वटा जेट मेसिन, २०० जना नगर प्रहरी उद्धारकर्ता तयारी अवस्थामा राखेको छ ।

    डुबान समस्या समाधानका लागि दैनिक १८ जना जनशक्ति र नियमित सफाइका लागि दैनिक ३०० सरसफाइकर्मी परिचालन गरिरहेको छ । विपद्का समयमा मानिसलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा महानगरभित्रका केही विद्यालयलाई अस्थायी होल्डिङ सेन्टरका रूपमा प्रयोग गर्न आज नै केही विद्यालयको निरीक्षण भएको छ ।

  • भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

    भारी वर्षाको पूर्वानुमानपछि कास्कीमा उच्च सतर्कता

    गण्डकी, ८ असोज । कास्कीलगायत देशका विभिन्न भू–भागमा भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएसँगै सम्भावित विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणका लागि कास्कीमा पूर्वतयारीसहित उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले बाढीपहिरोको जोखिमलाई दृष्टिगत गरी यातायात सेवा, शैक्षिक संस्था, पर्यटन गतिविधि आदिसँग सम्बन्धित विभिन्न निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।


    उनका अनुसार बिहीबारदेखि आइतबारसम्म कास्कीबाट अन्य जिल्लाका लागि छुट्ने रात्रिकालीन सेवाका सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ । जिल्लाका ग्रामिण भेगमा दिउँसो ४ बजेदेखि नै सवारीसाधन नचलाउन आग्रह गरिएको सहायक प्रजिअ बरालले बताउनुभयो । कास्कीका पर्यटकीयस्थलमा हुने पदयात्रामा पनि रोक लगाइएको छ । पदयात्रामा गएकालाई सुरक्षित स्थानमा फर्कन सम्बन्धित पर्यटन संस्थाहरुमार्फत सूचित गर्ने निर्णय गरिएको छ ।

    अस्पताल, रेडक्रसलगायत सङ्घसंस्थाहरुलाई सम्भावित विपद्पछिको उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन भनिएको सहायक प्रजिअ बरालले बताए । फेवाताल, बेगनासताललगायत तालतलैयामा जल पर्यटन सम्बद्ध गतिविधि सञ्चालन गर्दा सुरक्षाका माफदण्डको पूर्ण रुपमा पालना गर्न अनुरोध गरिएको छ । मौसम प्रतिकुल भएका अवस्थामा जल पर्यटनसम्बद्ध गतिविधि सञ्चालनमा रोक लगाइने भएको छ ।

    जिल्ला प्रशासन कार्यालयले भारी वर्षाको सम्भावना रहेको अवधिसम्म नदी तथा खोलाको तटीय क्षेत्रमा नजान, अत्यावश्यक अवस्थामा बाहेक लामो दुरीको यात्रा नगर्न र विपद्जन्य घटना घटेमा तत्काल स्थानीय तह र स्थानीय प्रशासनलाई सूचित गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । स्थानीय तहलाई नदी तथा पहिरोको जोखिममा रहेका बस्तीमा तत्काल सूचना प्रवाह गर्न, आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गर्न तथा परिस्थितिअनुसार विद्यालय बन्द गर्न भनिएको छ ।

    सम्भावित विपद्लाई दृष्टिगत गर्दै अस्पताल तथा स्वास्थ्य संस्थालाई एम्बुलेन्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न जिल्ला विपद् समितिले आग्रह गरेको । विपद्का बेला तत्काल उद्धारका लागि हेलिकप्टर सेवा प्रदायक संस्थालाई पनि तयारी अवस्थामा रहन भनिएको छ । जल तथा मौसम विज्ञान विभागले कास्कीसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिहीबारदेखि आइतबारसम्म भारीदेखि अति भारीसम्म वर्षा हुनसक्ने जनाएको छ ।

  • प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो

    प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो


    काठमाडौँ, ८ असोजः रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा बढी मौज्दात छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल रु ११ अर्ब ६३ करोड ८० लाख ९८० हजार २९१ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ५४ लाख ४७ हजार ५४६ अमेरिकी डलर मौज्दात छ ।

    सबै खातामा गरी रु १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९६२ मौज्दात छ । सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा कोषमा रु २० करोड ७२ लाख ५६ हजार ९३१ जम्मा भएको छ ।

  • बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

    बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने


    लमजुङ, ८ असोजः बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले आज साँझ ७ः०० बजेदेखि यही असोज १२ गते बिहान ६ः०० बजेसम्म उक्त खण्डमा राति गाडी नचलाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार भारी वर्षाका कारण बाढीपहिरोको जोखिम बढ्नसक्ने भएकाले यस्तो निर्णय भएको हो । साथै, उहाँले विपद् पूर्वतयारीमा जिल्ला प्रशासन जुटेको बताए ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै


    काठमाडौँ, ८ असोज । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।


    यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची छ । यसैगरी, बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।

    प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नेछन् । यसैगरी, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२\०८३ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ ।

    पाँच संसदीय समितिको बैठक बस्दै

    यस्तै, आज विभिन्न पाँच वटा समितिको बैठक बस्दैछ । निर्धारित कार्यक्रमअनुसार, कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

  • नेकपाले विशेष अभियान सञ्चालन गर्ने

    नेकपाले विशेष अभियान सञ्चालन गर्ने

    काठमाडौँ, ७ असोजः नेपाली कम्युनिष्ट पार्टीले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता मङ्गलबार बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने तथा त्यसको विस्तृत योजना आगामी सचिवालय बैठकले तय गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । बैठकमा पार्टी संयोजक दाहाल र सहसंयोजक माधवकुमार नेपालले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले निर्वाह गर्नुपर्ने कार्यभार तथा पार्टीका पछिल्ला गतिविधिबारे जानकारी गराए ।

    यस्तै, वाम राजनीतिक दल तथा घटकसँग पार्टी एकताका लागि वार्ता गर्न नेता देव गुरुङको संयोजकत्वमा नेताद्वय प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य रहेको वार्ता समिति गठन गरेको छ । बैठकले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि सिङ्गो पार्टीपङ्क्ति परिचालन गर्ने निर्णय गरेको छ ।

  • जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

    जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

    काठमाडौँ, ६ असोज । सरकारले जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको तयार ‘जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्नेसम्बन्धी मापदण्ड, २०८३’ मा सहिदका छोराछोरी, सहोदर दाजुभाइ–दिदीबहिनी तथा गम्भीर वा अति गम्भीर घाइते परिचयपत्रवाहकलाई लाभग्राहीका रूपमा समेटिएको छ ।
    मापदन्डअनुसार आधारभूत तहमा लाभग्राहीलाई प्रचलित कानुनबमोजिम निःशुल्क शिक्षासँगै पोशाक तथा पाठ्य र सिकाइ सामग्रीका लागि कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म नगदसहित स्थानीय तहमार्फत उपलब्ध गराइने प्रस्ताव छ । माध्यमिक तहमा कक्षा ९ र १० तथा कक्षा ११ र १२ का लागि नगदसहित पोशाक तथा पाठ्य र सिकाइ सामग्रीबापत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।


    त्यसैगरी, स्नातक तहसम्म अध्ययनका लागि सबै विश्वविद्यालयले उपलब्ध गराउने छात्रवृत्ति कोटामध्ये निश्चित कोटा लाभग्राहीका लागि आरक्षण गर्नुपर्ने वेयवस्था गरिएको छ। उक्त कोटामा छनोट हुन नसकेका विद्यार्थीलाई विश्वविद्यालय अनुदान आयोगमार्फत नगदसहित छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था पनि मापदन्डमा राखिएको छ ।


    मापदन्डले संस्थागत विद्यालयले प्रचलित कानुनअनुसार उपलब्ध गराउने छात्रवृत्ति कोटामा समेत लाभग्राहीलाई समावेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
    लाभ लिन आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले विद्यालयमार्फत स्थानीय तहमा आवेदन दिनुपर्नेछ भने स्नातक तहका लागि सम्बन्धित क्याम्पसमार्फत विश्वविद्यालय अनुदान आयोगमा आवेदन दिनुपर्नेछ ।


    आवेदनसँग लाभग्राही परिचयपत्र, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र, नाता प्रमाणित गर्ने कागजात तथा अध्ययनरत संस्थाको सिफारिस पेस गर्नुपर्ने व्यवस्था मापदन्डमा उल्लेख छ । मन्त्रालयले तयार गरेको पापदन्डमा जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई शिक्षामा समान पहुँच सुनिश्चित गर्ने र आधारभूत तहदेखि स्नातक तहसम्म अध्ययनको अवसर उपलब्ध गराउने उद्देश्य राखिएको छ ।

  • राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    काठमाडौं ६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा निगरानी बढाउँदै कानुनअनुसार आवश्यक कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाले आज जारी गरेको निर्देशनमा बैतडी, बाग्लुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सल्यानलगायत जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको समाचार सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भइरहेको उल्लेख गरिएको छ।


    मन्त्रालयले शिक्षकहरूको यस्तो गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम १ को खण्ड ग विपरीत हुने जनाएको छ। निर्देशनमा त्यस्ता गतिविधिबारे थप खोजबिन तथा निगरानी गर्न र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आचारसंहिता उल्लङ्घन गर्ने शिक्षकलाई नियम १३७ को खण्ड ग तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्था गर्न भनिएको छ। मन्त्रालयका उपसचिव लिलानाथ पोखेलद्वारा हस्ताक्षरित पत्रमा उक्त निर्देशन मन्त्रालयको २०८३ असोज ६ गतेको निर्णयअनुसार जारी गरिएको उल्लेख छ। निर्देशनको बोधार्थ शिक्षा विभागलाई समेत दिइएको छ।

  • शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन

    शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन


    सुदीप राउत/रासस

    सिरहा, ६ असोजः लहान नगरपालिका–११ पडरियाका आठ जना किसानले शीतभण्डार निर्माणका लागि आफ्नो एक बिघा दुई कट्ठा कृृषियोग्य जग्गा ३० वर्षका लागि भाडामा दिए । जग्गा भाडामा दिएको अहिले सात वर्ष बितिसक्यो । न त उक्त जग्गामा शीतभण्डार निर्माण भएको छ न त किसानले जग्गाको उपभोग नै गर्न पाएका छन् । मधेस प्रदेश सरकारको महत्वाकाङ्क्षी योजनाका रूपमा विसं २०७५ फागुन ११ गते तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले पडरियामा शीतभण्डारको शिलान्यास गरेका थिए ।


    शीतभण्डार निर्माण भएपछि सिरहा र सप्तरीका किसानले आँप, आलु तथा मौसमी तरकारीलगायत कृषिउपज सस्तो मूल्यमा बिक्री गर्नुपर्ने वा बजार नपाएर खेर फाल्नुपर्ने समस्या हट्ने सरकारको अपेक्षा थियो । सात वर्षपछि निर्माणस्थलमा अधुरा संरचना, झाडी र पशु चराउने ठाउँबाहेक केही बाँकी छैन । एक हजार ५०० मेट्रिकटन क्षमताको शीतभण्डार निर्माणका लागि २०७५ माघ ७ गते सप्तरीको मलेकपुरस्थित शुभनारायण कृषि व्यावसायिक फर्मसँग रु १७ करोड ३२ लाख ७१ हजार ५६ मा सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजनामा प्रदेश सरकारको ८० प्रतिशत र सम्बन्धित फर्मको २० प्रतिशत साझेदारी रहने व्यवस्था थियो ।

    सम्झौतापछि फर्मले मन्त्रालयबाट पहिलो किस्ताबापत रु एक करोड भुक्तानी लिएको थियो । सो रकमबाट कार्यालय भवनको ‘डिपिसी’ र केही भागमा ‘कम्पाउन्ड वाल’ निर्माणलगायत प्रारम्भिक काम भए पनि त्यसपछि निर्माण अघि बढ्न सकेन । आयोजना सुरु गर्दा पर्याप्त पूर्वतयारी र विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बिना प्रक्रिया अघि बढाइएको, लागत अनुमान र कार्यान्वयन प्रक्रियामा कमजोरी देखिएको तथा भुक्तानी र छानबिनका विषय उठेपछि आयोजना अघि बढ्न नसकेको प्रदेश सरकारका अधिकारीहरू बताउँछन् ।

    अधुरो संरचनामै हराउँदै निर्माण सामग्री

    निर्माण रोकिएपछि पडरियास्थित शीतभण्डारको संरचना संरक्षणविहीन बनेको स्थानीयको भनाइ छ । निर्माणस्थलमा रहेका फलामे रड चोरी भएको तथा केही पिलर फुटाएर फलाम निकालिएको स्थानीय बताउँछन् । स्थानीय किसान राजेन्द्रप्रसाद साहले निर्माणस्थल संरक्षणविहीन हुँदा सरकारको लगानीसँगै निर्माण सामग्री नोक्सान भइरहेको बताए । “पिलर फुटाएर फलाम निकालिएको छ, बाँकी फलामे रड पनि हराउँदै गएका छन् । सरकारले बनाउने भनेर छाडेको संरचना अहिले संरक्षण गर्ने मान्छे नभएको जस्तो देखिन्छ”, उनले भने ।

    किसानले भाडा पाएनन्

    शीतभण्डार बन्ने आशामा पडरियाका आठ किसानले करिब एक बिघा दुई कट्ठा उब्जाउ कृषि जग्गा ३० वर्षका लागि भाडामा दिएका थिए । प्रतिकट्ठा वार्षिक रु आठ हजारका दरले भाडामा दिइएको उक्त जग्गाको वार्षिक भाडा करिब रु एक लाख ७६ हजार हुने सम्झौता थियो । निर्माण अलपत्र परेपछि किसानले जग्गाको भाडा मात्र होइन, भाडामा दिएको जग्गामा खेतीपातीसमेत गर्न पाएका छैनन् । स्थानीय किसान सुरतलाल चौधरीका अनुसार नेपाली चौधरी, सियाराम चौधरी, जीवन चौधरी, प्रकाश चौधरी, सीताराम चौधरी, अन्तिलाल चौधरी, बिन्तीलाल चौधरीसहित आठ जनाले शीतभण्डार निर्माणका लागि जग्गा भाडामा दिएका थिए ।

    जग्गादाता नेपाली चौधरीले शीतभण्डारका लागि जग्गा दिएको सात वर्षदेखि भाडा नपाएको बताए । उनका अनुसार अहिलेसम्म रु १२ लाखभन्दा बढी भाडा पाउन बाँकी छ । “शीतभण्डार बनाउने भनेकाले जग्गा दियौँ । न शीतभण्डार बन्यो, न भाडा आयो । खेतीपाती गर्न पाएनौँ”, उनले भने । जग्गादाता जीवन चौधरीले आफूले साढे चार कट्ठा उब्जाउ जग्गा शीतभण्डार निर्माणका लागि दिएको बताए । निर्माणको जिम्मा पाएको फर्मका सञ्चालकलाई खोज्दै राजविराजसम्म पुगे पनि भेट्न नसकेको र फोन सम्पर्कसमेत हुन नसकेको उनको भनाइ छ । “न संरचना बन्यो, न जग्गाको भाडा आयो । न त खेतीपाती गर्न पाइयो । अहिले जङ्गल र झाडी मात्रै बाँकी छ”, उनले भने ।


    प्रदेशका आठ शीतभण्डारको अवस्था उस्तै लहानको आयोजना मात्र होइन, मधेस प्रदेश सरकारले आव २०७५÷७६ देखि अघि बढाएका अधिकांश शीतभण्डार आयोजना अझै सञ्चालनमा आउन सकेका छैनन् । प्रदेशका सात जिल्लामा आठ शीतभण्डार निर्माणका लागि करिब रु एक अर्ब ७९ करोड ९३ लाख बराबरको सम्झौता भए पनि अधिकांश आयोजना फाउन्डेशन, माटो फिलिङ र कम्पाउन्ड वालमै सीमित छन् ।

    धनुषाको लक्ष्मीनियाँमा एक हजार मेट्रिकटन क्षमताको शीतभण्डारका लागि जनहित कृषक समूहसँग रु १६ करोड ६५ लाखमा सम्झौता भएको थियो । समूहका अध्यक्ष ललितनारायण यादवका अनुसार कृषकको लगानी रहेको उक्त आयोजनामा हालसम्म करिब रु तीन करोड खर्च भए पनि प्रदेश सरकारबाट रु ८१ लाख ५० हजार मात्र प्राप्त भएको छ ।

    पर्साको वीरगञ्ज–२६ सुगौलीमा पाँच हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माणका लागि शिवम् एग्रो इन्डस्ट्रिजसँग रु २७ करोड ८२ लाख ९९ हजारमा सम्झौता भएको थियो । त्यहाँ प्रारम्भिक ‘लेआउट’को कामभन्दा अरु अघि बढेको छैन । वीरगन्जकै अर्को आयोजनामा ग्लोबल लेदर ट्रेडिङ इन्डस्ट्रिजसँग रु १७ करोड ११ लाखमा सम्झौता भए पनि कम्पाउन्ड वालसम्मको काम भएको छ ।

    बाराको सिम्रौनगढमा तीन हजार मेट्रिकटन क्षमताको शीतभण्डारका लागि अमन मत्स्य फार्मसँग रु २४ करोड ७४ लाख ८४ हजारमा सम्झौता भएको थियो । त्यहाँ फाउन्डेशनसम्मको काम भएको छ । रौतहटको गरुडा–१ मा राष्ट्रिय हर्बल प्रोसेसिङ प्रालिसँग रु २६ करोड ८५ लाखमा सम्झौता भएको आयोजना पनि अलपत्र छ ।


    सर्लाहीको बरहथवा–५ मा एक हजार ५०० मेट्रिकटन क्षमताको शीतभण्डारका लागि लवकुश बचत तथा ऋण सहकारी संस्थासँग रु १८ करोड ३५ लाखमा सम्झौता भएको थियो । त्यहाँ माटो फिलिङ र फाउन्डेशनबाहेक काम हुन सकेको छैन । सप्तरीको राजविराज–भल्हीमा तीन हजार मेट्रिकटन क्षमताको शीतभण्डारका लागि जिल्ला सहकारी संस्थासँग रु ३१ करोड पाँच लाखमा सम्झौता भएको थियो । साठी प्रतिशत काम सम्पन्न भएको दाबी गरिए पनि आयोजना अझै सञ्चालनमा आएको छैन । यस आयोजनामा सङ्घीय सहकारी विभागबाट रु सात करोड १७ लाख र प्रदेश सरकारबाट रु एक करोड चार लाख भुक्तानी भइसकेको छ ।

    लेखक तथा राजनीतिक विश्लेषक राजेश विद्रोहीले राजनीतिक स्वार्थका आधारमा आयोजना छनोट गर्ने, बजेट विनियोजन गर्ने तर कार्यान्वयनको जिम्मेवारी र जवाफदेहितामा बेवास्ता गर्ने प्रवृत्तिले विकास आयोजना अलपत्र पर्ने गरेको बताए । उनका अनुसार योजना छनोटदेखि ठेक्का, सम्झौता र बजेट खर्चसम्मका प्रक्रियामा राजनीतिक प्रभाव, अनियमितताले स्थान पाउँदा आयोजना समयमै सम्पन्न हुन नसक्ने अवस्था देखिन्छ । “आयोजना छनोट हुन्छ, बजेट पनि खर्च हुन्छ तर वर्षौंसम्म सम्पन्न हुँदैन भने त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठ्छ”, उनले भने, “यस्ता आयोजना अलपत्र पर्नुमा राजनीतिक स्वार्थसँगै कार्यान्वयनमा हुने ढिलासुस्ती, अनियमितता र कमजोर जवाफदेहिता पनि जोडिएको हुन्छ ।”

    अख्तियार र महालेखाको प्रश्न

    शीतभण्डार निर्माणका क्रममा योजना छनोट, लागत निर्धारण, सम्झौता तथा भुक्तानी प्रक्रियामा प्रश्न उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको थियो । विसं २०७९ मा पडरियासहित प्रदेश सरकारले विभिन्न जिल्लामा अघि बढाएका शीतभण्डार आयोजनामा अनियमितता भएको उजुरी परेपछि सम्बन्धित फाइल मन्त्रालयबाट झिकाएर अनुसन्धान गरिएको थियो ।

    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा सञ्जयकुमार यादवका अनुसार शीतभण्डार निर्माणका क्रममा भएका केही भुक्तानीलाई महालेखापरीक्षक र अख्तियारका प्रतिवेदनमा बेरुजुका रूपमा औँल्याइएको छ । आयोजना कार्यान्वयनमा देखिएका कानुनी तथा नीतिगत जटिलताका कारण प्रदेश सरकारले आवश्यक निर्णय नगरेसम्म आयोजना अघि बढाउने वा नयाँ ढङ्गले व्यवस्थापन गर्ने विषयमा स्पष्ट दिशा आउन कठिन रहेको उनले बताए ।


    त्यस्तै, मन्त्रालयका प्रवक्ता मनिषकुमार पालका अनुसार तत्कालीन प्रदेश सरकारले विभिन्न जिल्लामा सुरु गरेका शीतभण्डारसम्बन्धी केही विषय अदालतमा विचाराधीन छन् । “शीतभण्डार प्रदेशको गौरवको योजना भए पनि यो धेरै गिजोलिएको छ । विगतमा धेरै कमीकमजोरी देखिएका छन्”, उनले भने, “यसलाई अब अगाडि बढाउन प्रदेश सरकारले कानुनी र नीतिगत निर्णय लिनुपर्छ । नत्र सम्भव छैन ।”

  • प्रतिनिधिसभाको बैठक बस्दै

    प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौँ, ६ असोजः सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

    बिहान १०ः०० बजे बस्ने अर्थसमितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनुभएका संशोधनकर्ता सांसदहरुसँग छलफल हुनेछ । स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १०ः०० बजे बस्नेछ । सो समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।

    विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्दैछ । सो समितिको बैठकमा नेपालमा स्वदेशी र वैदेशिक एवं निजी र सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनको असर र लगानीको वातावरणमा परेको प्रभाव, राष्ट्रिय तथा प्रादेशिकस्तरमा गरिने लगानी सम्मेलनको व्यवस्थापन, उपयुक्त लगानी वातावरण बनाउन आवश्यक नीतिगत एवं कानुनमा गर्नुपर्ने सुधारलगायतका विषयमा छलफल गरिँदैछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्दैछ । बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञसँग छलफल गरिँदैछ ।

  • त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

    त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

    काठमाडौँ, ५ असोजः त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सो घटनाका सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । बा५ख ४२७४ नम्बरको बसमा आज आगजनी भएको थियो ।

    समितिको सदस्यमा प्रहरीवृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौँका अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका प्रतिनिधि भीम ज्वाला राई र रिद्धिसिद्धी यातायात प्रालिका प्रतिनिधि लव केसी रहेका छन् ।


    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बस चालकलाई ट्राफिक नियमन उल्लङ्घन गरेका विषयमा पुर्जी काट्न खोज्दा विवाद भएको थियो । उक्त विवादपछि बसमा आगजनी भएको थियो । छानबिन समितिले घटनाको सत्यतथ्य पत्ता लगाउने र सात दिनभित्र जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रतिवेदन पेस गर्नेछ । छानबिन समितिको कार्यादेशमा घटनासँग सम्बन्धित तथ्य, प्रमाण एवं सूचना सङ्कलन र विश्लेषण गर्नेछ । यस्तै, घटनास्थललाई प्रत्यक्ष रूपमा देखे जानेका व्यक्तिसँग सोधपुछ गरी जानकारी लिने कार्यादेश समितिलाई दिइएको छ ।

    घटनास्थल वरपरको सिसीटिभी फुटेज अध्ययन गरी विश्लेषण गर्ने, बसभित्र भएको आगजनीबाट गम्भीर घाइते भएका व्यक्तिको पृष्ठभूमि एवं अन्य प्रमाणिक विवरण यकीन गर्नुपर्नेछ । यस्तै, घटनाको समग्र पक्षको विश्लेषण गर्ने, पार्किङ बेमा गाडी पार्किङ गरी राखिएको समय र गाडीमा आगजनी भएको समय बीचको ‘टाइमलाइन’ सहितको तथ्यगत विश्लेषण गर्ने उल्लेख छ ।

    घटनामा परी गम्भीर घाइते भएका व्यक्तिको मोबाइल वा अन्य कुनै निजको साथबाट प्राप्त हुनसक्ने घटनासँग सम्बन्धित भई निजले सम्प्रेषण गरेका भिडिओ, म्यासेज वा कोही कसैसँग निजको सम्पर्क भएको भए कल विवरण निकाल्ने कार्यादेश समितिलाई दिइएको छ । घटनासँग सम्बन्धित विवरणका आधारमा सत्यतथ्य पत्ता लगाई के कसका कारणबाट उक्त घटना घट्न गएको हो ?

    यकीन गरी प्रतिवेदन पेस गर्ने र आगामी दिनमा यस प्रकृतिका घटना घट्न नदिनका लागि अपनाउनुपर्ने पूर्वसावधानी र नियन्त्रणका लागि उपायसहितको सुझाव समितिले पेस गर्नुपर्नेछ । समितिले छानबिनको कार्यविधि र तालिका आफैँ तय गर्नेछ । समितिको सचिवालय जिल्ला प्रशासन कार्यालय काठमाडौँमा रहने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले उल्लेख गरेका छन् ।

  • त्रिपुरेश्वरमा ट्राफिकसँगको विवादमा बस चालकले आफु भित्रै बसेर लगाए  बसमा आगो

    त्रिपुरेश्वरमा ट्राफिकसँगको विवादमा बस चालकले आफु भित्रै बसेर लगाए बसमा आगो

    काठमाडौँ, ५ असोजः काठमाडौँको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसमा चालकले आफैँ आगो लगाएको राससलाई जानकारी दिए । आगोमा परेर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको एसएसपी घिमिरेले बताए ।

    चालकले ट्राफिक प्रहरीसँगको विवादमा आफु भित्र बसेर बसमा आगो लगाएको खुलेको छ । प्रहरीले उनलाई हर्न नबजाउन भनेको विषयमा विवाद भएको बताइएको छ । त्रिपुरेश्वरको सोही स्थानमा केही समय अगाडी नगर प्रहरीसँगको विवादमा एक पठाओ चालकले आफैलाई आगो लगाउँदा उनको ज्यान गएको थियो ।

  • करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    भद्रपुर (झापा), ५ असोजः झापाको बिर्तामोड नगरपालिका–२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट लगाएर माछा मार्ने क्रममा आज दिउँसो एक जना वृद्धको मृत्यु भएको छ । बिर्तामोड–२ बेलडाँगी डाँडागाउँ टोलका ६२ वर्षीय मोहन मुर्मूको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मुर्मू खोलामा मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

    घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलबाट प्रहरीले आवश्यक मुचुल्कालगायत प्रक्रिया पूरा गरी शवपरीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको बिर्तामोड(२ का वडाध्यक्ष किशोर पौडेलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम

    सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम


    लमजुङ, ५ असोजः वर्षौँदेखि भाडाको घरबाट सेवा दिँदै आएको मानवसेवा आश्रम अब आफ्नै भवनमा सर्ने तयारी गरेको छ । बेँसीसहर नगरपालिका–९ पाखाथोकमा निर्माण भइरहेका संरचनाको बाँकी काम पूरा गरी आगामी मङ्सिरसम्म आश्रमलाई आफ्नै भवनमा सार्ने लक्ष्य राखिएको छ । पाखाथोकमा रहेको कुल १३ रोपनी जग्गामा आश्रमका विभिन्न संरचना निर्माण भइरहेका छन् ।

    हालसम्म एकान्तबासका लागि छुट्टै भवन, चार शय्याको स्वास्थ्योपचार भवन र कार्यालय भवन निर्माण भइसकेको छ । कार्यालय भवनमा करिब १५ जना अट्ने सभाहल तथा सचिव, लेखापाल र संयोजकका लागि छुट्टाछुट्टै कोठा छन् । आश्रमकी संयोजक अनिता अधिकारीका अनुसार आवासीय भवन, कम्पाउन्ड र गेटलगायतका काम पूरा गरेपछि नयाँ भवनबाट सेवा सञ्चालन गरिनेछ । त्यसका लागि थप खर्च लाग्नेछ । “हाल निर्माण भएका संरचनालाई पूर्ण रूपमा प्रयोगमा ल्याउन बाँकी काम सम्पन्न गर्नुपर्छ”, उनले भनिन् । आवासीय भवनमा ३५ महिला र ३५ पुरुष गरी ७० जनालाई राख्न मिल्ने संरचना तयार गर्ने लक्ष्य राखिएको छ ।

    कुल १३ रोपनीमध्ये पाँच रोपनी जग्गा बालसपना समाजले मानवसेवा आश्रमलाई निःशुल्क उपलब्ध गराएको हो । पाँच रोपनी जग्गा आश्रमको नाममा पास भइसकेको छ भने बाँकी आठ रोपनी जग्गा बालसपना समाजकै नाममा छ । सो आठ रोपनी जग्गा पनि आश्रमले भोगचलनका लागि उपयोग गरिरहेको छ । आश्रमको आफ्नै भवन निर्माण २०७८ सालदेखि सुरु भएको हो । भवन निर्माणमा हालसम्म रु चार करोड ५७ लाख ६० हजार ४२८ खर्च भएको छ ।

    भवन निर्माणका लागि प्रदेश सरकारबाट रु एक करोड ३१ लाख २७ हजार ८५३, स्थानीय तहबाट रु ८४ लाख ७५ हजार ९५, व्यक्तिगत तथा संस्थागत क्षेत्रबाट रु ७४ लाख ५९ हजार ९८३, महायज्ञबाट रु ९७ लाख ८२ हजार ८१० तथा मानवसेवा आश्रमको केन्द्रीय कार्यालयबाट रु ६९ लाख १४ हजार ६८७ प्राप्त भएको छ ।

    निर्माणका क्रममा आश्रमले विभिन्न चुनौतीसमेत झेल्नुपरेको छ । कोभिड–१९ को प्रभाव र आर्थिक स्रोतको अभावसँगै पहिरोका कारण निर्माण प्रभावित भएको थियो । पहिरो नियन्त्रणमा करिब रु दुई करोड ५० लाख खर्च भएको आश्रमले जनाएको छ ।

    आश्रमको दीर्घकालीन योजनाअनुसार करिब १०० जनालाई सेवा दिनसक्ने संरचना तयार हुनेछ । परिसरमा बालबालिकाका लागि खेलमैदान, मनोरञ्जन तथा दिवा सेवा केन्द्र र चारवटा गाई अट्ने गोठ निर्माण गर्ने योजना छ । हाल आश्रमले बेँसीसहर नगरपालिका–७ हाइस्कुल चोकस्थित भाडाको घरबाट सेवा दिइरहेको छ । आश्रममा अहिले नौ पुरुष, १३ महिला र सात वर्षीया एक बालिका गरी २३ जना छन् । उनीहरूको उमेर सातदेखि ७४ वर्षसम्म छ ।

    विसं २०७३ चैत १२ गते लमजुङ शाखा स्थापना भएयता आश्रमको संरक्षणमा रहेका ६३ जना परिवारसँग पुनर्मिलन भएका छन् । यस्तै, २४ जनाको आश्रममै निधन भएको छ । आफ्नै भवन निर्माण सम्पन्न भएपछि आश्रमको सेवा थप व्यवस्थित र विस्तार हुने आश्रमले जनाएको छ ।

  • डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

    डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा


    बागलुङ, ५ असोजः बागलुङमा फैलिएको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी विज्ञ समूह परिचालन गरिएको छ । गत साउनयतामात्रै जिल्लामा एक हजार ४०३ जनामा डेङ्गु सङ्क्रमण भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा प्रादेशिक रोग नियन्त्रण महाशाखाको एक समूह बागलुङ बजारमा परिचालित भई नमूना सङ्कलन र अध्ययनमा लागेको हो ।

    डेङ्गुको दीर्घकालीन समाधान गर्ने उद्देश्य राखेर समग्र अवस्थाको अनुसन्धान गर्न चार जनाको विज्ञ समूह बागलुङमा आएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए । उनका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा गोकर्ण दाहालको नेतृत्वमा विज्ञ समूहले पछिल्लो तीन दिनयता बजारका घरघरमा पुगेर बिरामीको अवस्था बुझेको छ । यस्तै, धवलागिरि अस्पतालको अनुगमन, कीटको अवस्था परीक्षण तथा नमूना सङ्कलनलगायतका काम गरिरहेको छ ।

    दाहालसँगै विज्ञ समूहमा इन्टोमोलोजिस्ट तथा विश्व स्वास्थ्य सङ्गठनका शिशिर पन्त, स्वास्थ्य सेवा विभागका कौशल सुवेदी हुनुहन्छ । “डेङ्गुको चार प्रजातिमध्ये कुन बढी फैलिएको छ भन्ने अध्ययन भइरहेको छ । अस्पतालमा आएका शङ्कास्पद बिरामीको नमूना सङ्कलन, अस्पतालमा परीक्षण भइरहेको कीटको अवस्था, डेङ्गु नियन्त्रणका लागि घरमै स्वास्थ्यकर्मी परिचालन भइरहेको छ”, कार्यालय प्रमुख शर्माले भने । डेङ्गुको अवस्था नियन्त्रणबाहिर जान नदिन विज्ञ समूह परिचालन गरेकोे महाशाखाले बागलुङलाई केन्द्रमा राखेर निगरानी र खोज–अनुसन्धान तीव्र बनाएको छ ।

  • कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन


    दमौली (तनहुँ), ५ असोज : तनहुँमा पहिलोपटक कालीगण्डकी करिडोरकेन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकालाई लक्षितगरी सञ्चालन गरेको कार्यक्रममार्फत पशुपालक किसानको गोठ सुधारदेखि आधुनिक उपकरण तथा प्रजनन पशु उपलब्ध गराउनेसम्मका कार्यक्रम सञ्चालन गरेको छ ।

    केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीका अनुसार कार्यक्रमका लागि रु ६० लाख बजेट विनियोजन भएकामा रु ५८ लाख ८० हजार खर्च भएको छ । कालीगण्डकी करिडोर आसपासका ग्रामीण क्षेत्रमा पशुपालन व्यवसायलाई व्यावसायिक बनाउँदै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।


    कार्यक्रमअन्तर्गत दुईवटा गाईभैँसीपालक समूह तथा सहकारीमार्फत आठवटा नयाँ गोठ निर्माण गरिएको छ । त्यस्तै ३७ वटा गोठ मर्मत तथा सुधार गरिएको छ । पशुजन्य उत्पादनको गुणस्तर कायम राख्न तथा दूध सङ्कलन र व्यवस्थापनलाई सहज बनाउन डिपफ्रिज, मिल्क एनालाइजर र चिलिङ भ्याट उपलब्ध गराइएको ठकुरीले जानकारी दिए ।


    त्यसैगरी, दूध सङ्कलन तथा ढुवानीका लागि ७५ थान स्टिल क्यान, पशुको आहार व्यवस्थापनमा सहजताका लागि २५ थान ग्रास कटर र पशुको स्वास्थ्य तथा आरामका लागि ९५ थान काउम्याटलगायतका उपकरण खरिद गरी किसान तथा सहकारीलाई सहयोग गरिएको छ । पशुको नश्ल सुधार तथा उत्पादन क्षमता बढाउने उद्देश्यले एक प्रजनन राँगोसमेत वितरण गरिएको छ ।

    कार्यक्रमअन्तर्गत बाख्रापालक कृषक सहकारीमार्फत २३ वटा नयाँ खोर निर्माण गरिएको छ । बाख्राको दाना तथा घाँस व्यवस्थापनलाई सहज बनाउन एउटा कम्बाइन मिल र एउटा चापकटर उपलब्ध गराइएको छ । त्यस्तै नश्ल सुधार तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले आठवटा प्रजनन बोका सहयोग गरिएको ठकुरीले बताए ।


    कार्यक्रमबाट ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाका गरी ६९ जना किसान लाभान्वित भएका छन् । पशुपालनलाई निर्वाहमुखी अवस्थाबाट व्यवसायिकतातर्फ लैजान आवश्यक पूर्वाधार, उपकरण र प्रजनन पशुमा सहयोग केन्द्रित गरिएको कार्यालयले जनाएको छ । स्थानीय स्रोतसाधनको प्रयोगबाट उत्पादन लागत कम गर्न सकिने र किसानले उत्पादनबाट बढी लाभ लिनसक्ने पशु स्वास्थ्य प्राविधिक ठकुरीले बताए । उनका अनुसार आधुनिक उपकरण, सुधारिएको गोठ, नश्ल सुधार तथा दूध सङ्कलनसम्बन्धी पूर्वाधारको विकासले पशुपालनलाई व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुग्नेछ ।


    कालीगण्डकी करिडोर आसपासका ग्रामीण क्षेत्रमा पशुपालनको सम्भावना रहेकाले पहिलोपटक सञ्चालन गरिएको यो कार्यक्रमले किसानलाई प्रत्यक्ष उत्पादनसँग जोड्ने आधार तयार गरेको केन्द्रको भनाइ छ ।

  • बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

    बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा


    बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९ जनतानगरकी सीता चौधरीको दुई दशकदेखि अधिकांश समय उनकै हेरचाहमा बितिरहेको छ । श्रीमानको दुर्घटनापछि सीताले परिवारको आर्थिक आधारसँगै आफ्नो दैनिक जीवनको सहजता पनि गुमाउनु पर्यो । श्रीमानको हेरचाह गर्नुपर्ने जिम्मेवारीका कारण नियमित रोजगारी र आयआर्जनको काममा लाग्न उनलाई कठिन हुँदै आएको थियो ।

    सीताजस्तै सोही ठाउँका देवीराम थारूको पनि आठ वर्षदेखि आमाको हेरचाहमै बितिरहेको छ । उच्च रक्तचापलगायतका कारण आमा पूर्ण अपाङ्गता भएपछि उनले बाहिर गएर रोजगारी गर्ने अवस्था गुमाउनु पर्यो । घरमै बसेर आयआर्जन गर्न सकिने सीप सिक्ने अवसर पाएपछि सीता र देवीराममा नयाँ आशा पलाएको छ । बर्दिया अपाङ्ग पुनःस्थापना केन्द्रले अपाङ्गता भएका व्यक्ति र उनीहरुको परिवारलाई बेतबाँसका सामग्री निर्माणसम्बन्धी झन्डै एक महिनाको तालिम दिन थालेपछि खुसी थपिएको छ । सिकेको सीपलाई आयआर्जनसँग जोड्न सकिन्छ कि भन्ने आशा बढेको सीताले चौधरीले बताइन् ।

    फुर्सदको समयमा घरमा नै बेतबाँसका सामग्री बनाउन सक्षम भएकाले आम्दानी गर्न सकिन्छ कि जस्तो लागेको उनको भनाइ छ । “सीप नै आम्दानीको स्रोत बन्ने विश्वास छ”, उनले भनिन् । “यसअघि आमाको हेरचाहका लागि घरमा यत्तिकै दिन बित्ने गरेको थियो”, देवीरामले भने, “बाहिर जाने अवस्था थिएन । अहिले घरमा नै बसेर मुडा, पूजा टोकरी, ह्याङ्गरलगायत समाग्री निर्माण सक्ने भएको छु ।”

    सीता र देवीराम उदाहरणमात्रै हुनुहुन्छ । उहाँहरूजस्तै बर्दियाको गुलरिया, बाँसगढी र बारबर्दिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका २० जना अपाङ्गता भएका व्यक्ति र उनीहरूको परिवार उक्त तालिमबाट लाभान्वित भएका छन् । तालिमपछि उहाँहरूले विभिन्न सामग्री निर्माण गर्न थाल्नुभएको छ । आरआरएन, डिजीएम नेपाल र एबीलिस फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालित अपाङ्गता भएका व्यक्ति र उहाँहरूको परिवारलाई उन्नतस्तरको तालिम, सीप र आयआर्जनमा जोडिएको अपाङ्ग पुनःस्थापना केन्द्र बर्दियाले जनाएको छ ।

    बर्दियामा १७ हजार अपाङ्गता भएका व्यक्ति छन् । तीमध्ये परिवारको सहारामा बाँचिरहेका करिब पाँच हजार जना पूर्ण अपाङ्गता भएका व्यक्ति रहेको अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष नेत्र सापकोटाले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिलाई आर्थिक बोझका रूपमा हेर्न नहुने उनले बताए ।

    “अपाङ्गता भएका व्यक्तिले सीप र अवसर पाए आत्मनिर्भर बन्न सक्छन्, आफ्नै सहारामा पनि जीवनयापन गर्न सक्ने बनाउन सकिन्छ”, उनले भने, “त्यही उद्देश्यले बेतबाँसका सामग्री निर्माणसम्बन्धी तालिम आयोजना गरेका हौँ ।” उत्पादित वस्तु बिक्री नभएको अवस्थामा त्यसको बजारीकरणको जिम्मा संस्थाले लिएको छ । बेतबाँसबाट बनेका सामग्रीको बजारमा माग राम्रो रहेकाले सीपलाई उत्पादन र बजारसँग जोड्न आफूहरू लागिपरेको उनले बताए ।


    कच्चा पदार्थ स्थानीय सामुदायिक वनबाट व्यवस्थापन गर्ने पहल भइरहेको केन्द्रले जनाएको छ । स्थानीय स्रोतसाधनको उपयोगसँगै बेतबाँसबाट उत्पादित सामग्री वातावरणमैत्री हुने भएकाले यसबाट आर्थिक र वातावरणीय दुवै लाभ लिन सकिने केन्द्रको भनाइ छ । पूर्ण अपाङ्गता भएका व्यक्तिको नियमित हेरचाह गर्नुपर्ने हुँदा त्यस्ता परिवारमा आयआर्जनका अवसर सीमित हुने गरेका छन् ।

    औषधोपचार, हेरचाह तथा दैनिक आवश्यकताका लागि हुने खर्चले परिवारमाथि थप आर्थिक भारसमेत पर्ने गरेको छ । त्यसैले घरमै बसेर गर्न सकिने सीप र रोजगारीका अवसर उपलब्ध गराउनु त्यस्ता परिवारका लागि महत्त्वपूर्ण हुने देखिन्छ ।

  • ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति

    ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति


    त्रिशूली (नुवाकोट), ५ असोजः बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल नियमित काममा जाने तयारीमा थिए । त्रिशूली नदीको किनारबाट केही दूरीमा घर भएकाले नदीमा ठूलो बाढी आए पनि आफ्नो घरसम्म त्यसको असर पुग्ला भन्ने उनलाई लागेको थिएन । त्यसैले भदौ १० गते बिहान ‘बाढी आउँदैछ’ भन्ने सूचना पाए पनि त्यसले निम्त्याउन सक्ने विपत्तिको अवस्थाका बारेमा उनले अनुमान गर्न सकेनन् ।


    घरबाट निस्कने तयारी गरिरहेका बेला प्रहरीले माइकिङ गर्दै भन्यो, “भोटेकोशीमा आएको बाढीले रसुवाको टिमुरेमा ठूलो क्षति पुर्याएको छ । ठूलो बाढी तीव्रगतिमा अघि बढिरहेको छ । तपाईँहरू सबै सुरक्षित स्थानतर्फ लाग्नुहोस् । ढुङ्गे चोकभन्दा अझ माथि जान अनुरोध गर्दछौँ”, माइकिङ गर्ने प्रहरी हवल्दार अर्जुन न्यौपानेलाई चिनेका उनले प्रहरी नजिकै पुगेर सोसे, “बाढी धेरै ठूलो हो ?” जवाफ आयो, “हो, धेरै ठूलो छ ।”

    तर, ‘धेरै ठूलो’ भन्ने चेतावनीले पनि बाढीको वास्तविक अवस्था ठूलो होलाजस्तो लागेको थिएन । “नातिनी विद्यालय जाने बेला भएको थियो । सबै जनासँगै निस्कनुपर्ला भन्ने लाग्यो”, प्याकुरेलले भने । त्यसपछि उनी परिवारका सदस्यसँगै घरबाट निस्कने तयारीमा लाग्दै गर्दा केही समयमै त्रिशूलीको भेल अस्वाभाविक रूपमा बढ्यो । बाढीले घरलाई चारैतिरबाट घेर्यो । केही मिनेटमै ढुङ्गेबजार र आसपासका बस्ती बाढीको भेलमा परिणत भए ।

    घरमै फसेका प्याकुरेलसहित परिवारका पाँच जना र एक छिमेकी गरी छ जनालाई स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरे । बाढीको भेलबीच ज्यान जोगाउन सफल उनको घर अहिले ‘हरियो घर’का रूपमा परिचित छ । “सूचना त आएको थियो, तर यति ठूलो बाढी आउँछ भन्ने विश्वास लागेन । बाढी आँखैअगाडि आइपुग्दा सुरक्षित ठाउँमा जाने समय नै भएन”, उनले भने ।

    बाढी हेर्न जाँदा आफैँ भेलमा

    विदुर–१० वेत्रावतीका शशि डङ्गोलले पनि टिमुरेमा बाढीले क्षति पुर्याएको केही समयमै साथीमार्फत ठूलो बाढी आउँदै गरेको सूचना पाएका थिए । केही समयपछि वेत्रावती प्रहरी चौकीबाट समेत माइकिङ भयो, “बाढी आउँदैछ, सुरक्षित स्थानमा जानुहोस्, धेरै ठूलो बाढी आउँदैछ ।”

    चित्रकलामा आफ्नो छुट्टै पहिचान बनाएका डङ्गोल सामाजिक क्षेत्रमा पनि सक्रिय थिए । उनले वेत्रावती बजारका स्थानीयलाई पसल तथा व्यवसाय बन्द गरी सुरक्षित स्थानमा जान आग्रह गरे । तर, अरूलाई सुरक्षित हुन आग्रह गरिरहेका उनी स्वयं भने बाढीको अवस्था हेर्न नदी किनारतर्फ लागे । नदीतर्फ पुग्न नपाउँदै चारैतिरबाट आएको भेलले उनलाई घेर्यो । “बाढी हेर्न नदीतर्फ जाँदै थिएँ, एक्कासी चारैतिरबाट आएको बाढीले छोप्यो । केही सेकेन्डले ज्यान बच्यो”, डङ्गोलले भने ।

    बाढीमा परेर उनको खुट्टाको मांसपेशी च्यातिएको छ । तर, शारीरिक चोटभन्दा आफ्नै आँखाअगाडि साथीभाइ र छिमेकीलाई त्रिशूलीले बगाएको दृश्यले उनलाई पीडा दिएको छ । “आँखैअगाडि आफ्ना साथी र छिमेकीलाई त्रिशूलीले बगाएर लग्यो । त्यो दृश्य जीवनमा कहिल्यै बिर्सन सक्दिन”, भावुक हँुदै उनले भने, “ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो, तर कत्रो ठूलो भन्ने थाहा भएन ।”

    अरूलाई खबर गर्न दौडिँदा आफ्नै परिवार गुमाएँ

    रसुवाको उत्तरगया गाउँपालिका–१ तिरुका कर्मा तामाङको पीडा अझ गहिरो छ । गोरखा भूकम्पले विस्थापित गरेपछि उहाँ पछिल्लो १० वर्षदेखि उत्तरगया–५ स्थित त्रिशूली नदीकिनारको खाल्डेमा बस्दै आएका थिए । गत भदौ १० गते टिमुरेबाट बाढी अघि बढेको खबर पाएपछि उनी खाल्डे र नजिकैको सातबिसेमा बस्ने २५० भन्दा बढी परिवारसम्म खबर पुर्याउन दौडिए । तर, सूचना फैलाउन थालेको करिब १० मिनेट नबित्दै बाढी बस्तीमा आइपुग्यो ।

    उनले भेलबाट भागेर ज्यान त बचाए । तर बुबाआमा, श्रीमतीसहित परिवारका १५ सदस्य गुमाए । उक्त बस्तीका १०० भन्दा बढी हराइरहेका छन् । “ठूलो बाढी आउँदैछ भन्ने थाहा थियो । तर, कत्रो ठूलो बाढी हो भन्ने अनुमान भएन । पोहोर (विसं २०८२ असार २४ गते)को जत्रै होला, बाढी आउन बेर लागिहाल्छ भन्ने थियो, सास फेर्न नपाउँदैमा छोपिहाल्यो”, तामाङले भने ।

    सूचना पुग्यो, तर जोखिमको आकार बुझिएन

    भदौ १० गतेको बाढी रसुवागढी, घट्टेखोला हुँदै टिमुरेबाट तल्लो तटीय क्षेत्रमा अत्यन्त तीव्रगतिमा फैलिएको थियो । टिमुरेबाट बाढीको सूचना त्रिशूली नदीकिनारका बासिन्दासम्म पुगे पनि त्यसले पुर्याउने क्षतिको अनुमान कल्पनाभन्दा धेरै गुणा ठूलो बन्यो । विदुर–१ ढुङ्गेका विष्णु श्रेष्ठका अनुसार २०१८ सालतिर पनि त्रिशूलीमा ठूलो बाढी आएको कुरा हजुरबुबाले सुनाएका थिए । त्यसबेला मानवीय भएन, भौतिक क्षति सामान्य रहेको उनको स्मरण छ । “हजुरबुबाले २०१८ सालमा ठूलो बाढी आएको सुनाउनुहुन्थ्यो । अहिले त त्रिशूली नदीबाट करिब ३०० मिटर पर र झन्डै १०० मिटर उचाइमा रहेको मेरो चार रोपनी धानखेत बगर बनायो”, श्रेष्ठले भने ।

    बाढी आउँदैछ भन्ने खबर थाहा पाए पनि यति ठूलो विध्वंस होला भन्ने धेरैलाई लागेन । टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, शान्तिबजार, वेत्रावती, तुप्चे, त्रिशूली र देवीघाटलगायतका नदी आसपासका बस्ती बाढीले निमेषभरमै सिध्यायो । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढीको सूचना प्रवाह भए पनि त्यसको गम्भीरता बुझाउन चुनौती देखिएको स्मरण गर्छन् । उनका अनुसार विपद्का बेला सूचना समयमै पुग्नु जति महत्त्वपूर्ण छ, त्यसको गम्भीरता बुझेर तत्काल सुरक्षित स्थानमा पुग्नु पनि उत्तिकै आवश्यक हुन्छ ।

    “सफा मौसम, घाम लागिरहेको वातावरणमा ठूलो बाढी आउँदैछ भनेर प्रवाह गरिएको सूचनालाई धेरैले पत्याउन र बुझ्न सकेनन्”, प्रजिअ रेग्मीले भने, “मानवीय क्षति कम गराउन सूचना कति छिटो पुग्यो भन्नेमात्र होइन, सूचनाको गम्भीरता कति बुझियो भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुने गर्दछ ।”


    भोटेकोशी बाढीले विपद्का बेला सूचना प्रवाहसँगै त्यसको गम्भीरता बुझेर पालना गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने देखाएको छ । बाढी आउँदैछ भन्ने सूचना प्राप्त गरे पनि त्यसलाई सामान्य रूपमा लिँदा सुरक्षित स्थानमा पुग्न सक्ने अवसर धेरैले गुमाए । त्यसैले विपद्को पूर्वसूचना पाउनेबित्तिकै त्यसको गम्भीरता बुझेर सावधानी अपनाउनु र सुरक्षित स्थानतर्फ जानु आवश्यक हुन्छ ।

  • कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न

    कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न


    काठमाडौँ, ४ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार र आज ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको हो । समितिका सदस्य–सचिव राजु कटुवालले यही असोज १६ देखि १९ गतेसम्म हुन लागेको १५औँ महाधिवेशनअन्तर्गत वडा कार्यसमिति चयन र क्षेत्रीय प्रतिनिधिको निर्वाचन उत्साहपूर्ण ढङ्गले भएको जानकारी दिए ।


    गत भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने हाल वडा अधिवेशन भएको छैन । निर्वाचन कार्यक्रमअन्तर्गत कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ क्षेत्र नं. ६ बाहेक र सुनसरीलगायतका जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।

    मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाका वडामा अधिवेशन सम्पन्न भएको बताइएको छ । सप्तरीका क्षेत्र नं २ र ४, सर्लाही क्षेत्र नं २, रौतहट क्षेत्र नं १ तथा परासी क्षेत्र नं २ बाहेक सम्बन्धित जिल्लाका अन्य क्षेत्रमा अधिवेशन प्रक्रियाअघि बढेको सदस्य सचिव कटुवालले बताए ।

    निर्वाचन समितिले रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक सप्तरी क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं २, परासी क्षेत्र नं २ तथा असोज ४ गते सम्पन्न हुन नसकेका सम्पूर्ण वडा अधिवेशन असोज ५ गते सोमबार निरन्तर सञ्चालन हुने जनाएको छ ।

  • भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

    काठमाडौँ, ४ असोजः भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका हुन् ।


    फेला परेका शव पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलन गरी हालसम्म एक हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी कुल तीन हजार २८३ वटा डिएनए नमूना सङ्कलन गरिएको छ । पहिचान नभएको एक हजार ३६२ शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ ।

    बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका लागि हालसम्म सात हजार ९७५ प्रहरी परिचालन गरिएको छ । बेपत्ता भएका चार हजार ६५५ जनाको खोजी भइरहेको छ ।

  • बाढी प्रभावितलाई चिनियाँ सहयोग

    बाढी प्रभावितलाई चिनियाँ सहयोग

    काठमाडौँ, ४ असोजः भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान गर्ने क्रम जारी छ । ग्रामीण विकासम्बन्धी चिनियाँ संस्था ‘चीन फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ले रसुवा र नुवाकोटका बाढी प्रभावित समुदायलाई आवश्यक राहत सामग्री वितरण थालेको छ । फाउन्डेसनका टोलीले रसुवाको कालिका गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकाका दुर्गम र बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य तथा पोषणको अवस्था स्थिर बनाउन आवश्यक सामग्री पुर्याउने कार्यलाई तीव्रता दिएको छ ।

    बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा सामान्य अवस्थामा फर्किने प्रक्रिया लामो हुने भएकाले तत्काल स्वास्थ्य र पोषणको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखिएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अनुसार प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री वितरण कार्य जारी रहेको छ ।

    विशेषगरी बाढीबाट बढी प्रभावित र पहुँच कठिन भएका बस्तीमा सामग्री छिटो पुर्याउन टोलीले समन्वय गरिरहेको छ । फाउन्डेसनले खाद्य तथा स्वास्थ्य सामग्रीका साथै ४४९ थान सौर्यबत्ती प्रदान गरेको छ । यसैबीच, चीनको मौसम विज्ञान प्रशासनले जलवायु पूर्वानुमानसम्बन्धी सूचना नेपाल सरकारलाई निरन्तर उपलब्ध गराउँदै आएको जनाएको छ ।

  • जनकपुरमा आगलागी, एक जनाको मृत्यु

    जनकपुरमा आगलागी, एक जनाको मृत्यु

    जनकपुरधाम, ४ असोजःजनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ओमप्रकाश खनालका अनुसार महोत्तरीको लोहारपट्टी नगरपालिका –२ का ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो । घरायसी सामानसहित रु तीन लाख बराबरको क्षति भएको छ । आगालागी गएराति भएको हो । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थानीय निकायका वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

  • विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

    विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका


    दमौली (तनहुँ), ४ असोजः व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण, सिँचाइ, शिक्षा तथा सार्वजनिक पूर्वाधार निर्माणमा प्रगति गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गत आर्थिक वर्षमा नगर क्षेत्रमा ६ दशमलव ४६ किलोमिटर नयाँ सडक ‘ट्र्याक’ खोलिएको छ ।

    नगरपालिकाले सो अवधिमा ३ दशमलव ३९ किलोमिटर सडक कालोपत्र तथा ढलान गरेको छ भने ६ दशमलव ८८ किलोमिटर सडक ग्राभेल गरेको छ । सडक पूर्वाधारसँगै नगरपालिकाले सहरी व्यवस्थापन र सार्वजनिक संरचना निर्माणलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए । आर्थिक वर्ष २०८२÷८३ मा नगर क्षेत्रमा ११ दशमलव ३६ किलोमिटर ढल निर्माण गरिएको छ । साथै कृषि उत्पादनमा नौ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ ।

    नगरपालिकाले सार्वजनिक तथा सामुदायिक पूर्वाधार निर्माणतर्फ पनि काम अघि बढाएको छ । गत आर्थिक वर्षमा तीन वटा पार्क निर्माण गरिएको छ भने १५ वटा नयाँ विद्यालय भवन निर्माण भएका छन् । स्थानीयस्तरमा सामाजिक तथा सामुदायिक गतिविधिका लागि आवश्यक छ वटा सामुदायिक भवन निर्माण भएका छन् । व्यास नगरपालिकामा हालसम्म सडक पूर्वाधारको विकासमा उल्लेख्य विस्तार भएको छ । हालसम्म एक सय ५८ दशमलव ६९ किलोमिटर सडक कालोपत्र तथा ढलान भइसकेको छ भने ३५ दशमलव ०९ किलोमिटर सडक ग्राभेल गरिएको छ ।

    नगरका विभिन्न बस्ती तथा ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने क्रममा हालसम्म ७२५ दशमलव ६७ किलोमिटर नयाँ सडक ‘ट्र्याक’ खोलिएको छ । हालसम्म व्यास नगरपालिकाभित्र २२ वटा मोटरेबल पुल र १५ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । त्यसैगरी, हालसम्म नगर क्षेत्रमा ११८ दशमलव ९५ किलोमिटर ढल निर्माण भइसकेको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए । बाढी तथा नदी कटानबाट बस्ती र खेतीयोग्य जमिन जोगाउन हालसम्म पाँच दशमलव १७ किलोमिटर नदी नियन्त्रणको काम सम्पन्न भएको छ ।

    कृषि क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि पनि नगरपालिकाले लगानी गर्दै आएको छ । हालसम्म २४ दशमलव ०७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको नगरपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा मात्रै थप नौ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको हो । व्यास नगरपालिकाले खुला तथा मनोरञ्जनात्मक क्षेत्र विकासलाई समेत आफ्नो पूर्वाधार योजनामा समेटेको छ । हालसम्म नगर क्षेत्रमा १९ वटा पार्क निर्माण भएका छन् ।

  • बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध

    बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध


    त्रिशूली ४ असोजः नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न सञ्चालन गरिएको हैजाविरुद्धको मुखबाट खुवाइने खोप अभियानअन्तर्गत ५० हजार भन्दा बढीले औषधि सेवन गरेका छन् । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि खानेपानी तथा सरसफाइमा चुनौती थपिएसँगै बाढी प्रभावित क्षेत्रमा हैजा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा ५० हजार ४६७ जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

    कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अञ्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा बसोबाँस गर्दै आएका ७७ हजारभन्दा बढी बासिन्दालाई खोप खुवाउने लक्ष्य राखिएको छ । अभियानअन्तर्गत हालसम्म ५० हजारभन्दा बढीले खोप सेवन गरिसकेको उनले बताए ।


    “सुरक्षित खानेपानी तथा सरसफाइको चुनौतीका कारण हैजालगायतका महामारी फैलिन नदिन खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालनमा ल्याएका छौँ”, डा कार्कीले भने, “हैजा तथा अन्य पानीजन्य रोगको जोखिमबाट बच्न खोपसँगै सुरक्षित पानीको प्रयोग, साबुनपानीले हात धुने तथा व्यक्तिगत र वातावरणीय सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।”

    बाढीका कारण नुवाकोट र रसुवाका विभिन्न स्थानमा मानवीय तथा पशुचौपायाको क्षति हुनुका साथै ठूलो सङ्ख्यामा मानिस विस्थापित भएका छन् । बाढी प्रभावित तथा विस्थापितलाई विभिन्न स्थानमा स्थापना गरिएका ‘होल्डिङ सेन्टर’मा राखिएको अवस्थामा खानेपानी तथा सरसफाइको अवस्था चुनौतीपूर्ण बनेकाले हैजाजन्य रोगको जोखिम बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

    बाढी प्रभावित क्षेत्रमा प्रयोग गरिएको पानीमा ई–कोलाई अर्थात् दिसाजन्य प्रदूषणको सूचक जीवाणु भेटिएपछि पानीजन्य रोगको जोखिम थप बढेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सोही कारण जोखिमयुक्त क्षेत्रमा रोगको प्रकोप नियन्त्रण तथा रोकथामका लागि आपत्कालीन रूपमा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।

    जनस्वास्थ्य कार्यालयका अनुसार जन्मेको एक वर्ष पूरा भएका सबै व्यक्तिलाई खोप उपलब्ध गराउने व्यवस्था गरिएको छ । खोप सुरक्षित र प्रभावकारी रहेकाले लक्षित सबैलाई निर्धक्क भएर खोप सेवन गर्न कार्यालयले अनुरोध गरेको छ । हैजाको सङ्क्रमण हुँदा कडा किसिमको जलवियोजन (डि–हाइड्रेसन) भएर ज्यानसमेत जान सक्ने भएकाले बाढी प्रभावित क्षेत्रमा सरकारले विशेष अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गरेको हो । उक्त खोप बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था र सबै होल्डिङ सेन्टरमा निःशुल्क उपलब्ध गराइएको छ ।

    जनस्वास्थ्य कार्यालयले अभियानलाई लक्ष्यअनुसार प्रभावकारी बनाउन सार्वजनिक बिदाका दिनसमेत खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । कडा किसिमको झाडापखाला हैजामा परिणत हुनसक्ने भएकाले झाडापखालालगायतका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर जाँच तथा उपचार गराउन जनस्वास्थ्य प्रशासक डा कार्कीले आग्रह गरे ।

    हैजाको जोखिम उच्च रहेको विदुरवासी ५९ हजार २५४ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ । हालसम्म नगरपालिकाभित्र ४० हजार २९१ जनाले खोप लगाएको तथ्याङ्क रहेको स्वास्थ्य शाखाले जनाएको छ । विदुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले खोप लगाउन बाँकी रहेका बासिन्दालाई नजिकैको स्वास्थ्य सँस्थामा पुगेर खोप लगाउन आग्रह गर्नुभयो ।

    “खोप कार्यक्रम सातै दिन सञ्चालन भइरहेको छ । नगरपालिकाका सबै स्वास्थ्य संस्थाका साथै बाढी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा समेत खोप उपलब्ध गराइएको छ”, उनले भने, “जोखिमलाई ध्यानमा राखेर लक्षित सबै नागरिकले खोप सेवन गर्नु अहिलेका लागि अत्यावश्यक रहेको छ ।” गत भदौ १० को बाढीपश्चात् माहामारीजन्य रोगको सक्रमण हुन र फैलन नदिन स्वास्थ्यकर्मीले खोप लगाएसँगै उमालेर वा शुद्धीकरण गरेर सुरक्षित पानी पिउने, साबुनपानीले नियमित हात धुने, खाना सफा राख्ने तथा घर, टोल र आसपासको वातावरण सफा राख्न आग्रह गरेका छन् ।