Category: स्थानीय

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ, २५ भदौः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।


    यस्तै, अर्थमन्त्री डा वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, बैठकमा कानुन, नयाय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरुको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । यसैगरी, बैठकमा सभामुखले राष्ट्रियसभाका पूर्व सदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।


    यस्तै, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०\८१ र २०८१\८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । राष्ट्रियसभामा प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सो प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

  • नुवाकोटमा एक्रो ब्रिज तयार, पर्सिबाट सञ्चालनमा आउने

    नुवाकोटमा एक्रो ब्रिज तयार, पर्सिबाट सञ्चालनमा आउने

    २५ भदौ, काठमाडौं । नुवाकोटमा बाढीका कारण क्षतिग्रस्त पुलका कारण आवागमनमा सास्ती खेपिरहेका स्थानीयवासीलाई अब राहत मिल्ने भएको छ। नेपाली सेनाले एक्रो ब्रिज जडानको काम सम्पन्न गरेको छ। उक्त पुल पर्सिबाट सञ्चालनमा आउने भएको छ। छोटो समयमै पुल निर्माण सम्पन्न भएपछि गृहमन्त्री सुधन गुरुङले नेपाली सेनालाई धन्यवाद व्यक्त गरे ।

    उनले बाढीका कारण पीडामा रहेका नुवाकोटवासीको समस्यालाई ध्यानमा राख्दै नेपाली सेनाले रातदिन नभनी निरन्तर खटिएर छोटो समयमै पुल निर्माण सम्पन्न गरेको भन्दै प्रशंसा गरे । बाढीका कारण पुल तथा सडक सम्पर्क प्रभावित हुँदा स्थानीयवासीले दैनिक आवतजावतदेखि अत्यावश्यक सेवा तथा सामग्री ओसारपसारसम्ममा ठूलो सास्ती खेप्दै आएका थिए।

    अब पर्सिबाट एक्रो ब्रिज सञ्चालनमा आएपछि प्रभावित क्षेत्रका नागरिकको आवागमन सहज हुने अपेक्षा गरिएको छ। पुल निर्माण तथा जडान कार्यमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको समेत निरन्तर सक्रियता रहेको थियो। सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै पुल निर्माणको कामलाई तीव्रता दिइएको हो।

    रसुवामा आएको विनाशकारी बाढीका कारण विभिन्न स्थानका पुलहरू बगाउँदा नुवाकोट, रसुवा लगायतका क्षेत्रमा यातायात सम्पर्क प्रभावित भएको थियो। पुलहरू बगाएपछि स्थानीयवासीले लामो समयदेखि ठूलो सास्ती खेप्दै आएका थिए। यसैबीच, प्रभावित क्षेत्रको आवागमन थप सहज बनाउन बेत्रावतीमा समेत नेपाली सेनाले ब्रिज निर्माण गर्ने योजना बनाइएको छ। बाढीबाट क्षतिग्रस्त पूर्वाधारलाई प्राथमिकताका साथ पुनःस्थापना गर्ने कामलाई निरन्तरता दिइने भएको छ।

  • भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्’

    भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्’

    ’
    रासस
    महोत्तरी, २५ भदौः भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ । घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन भएकाको कुनै नयाँ सूचना नआएपछि महोत्तरीका १० घरपरिवारमा अहिले सन्नाटा छ । “हे भगवान्, जे सजाय दिनुछ, मलाई देऊ, गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्,” सम्पर्कविहीन पतिका बारेमा कुनै जानकारी प्राप्त नहुँदा विचलित बनेकी महोत्तरीको पिपरा–३ की इन्दिरा यादव जतिखेर पनि यस्तै पुकारा गरिरहनुहुन्छ ।

    छ महिनाको गर्भ हुर्काइ रहनुभएकी इन्दिराका पति विकासकुमार यादव यही भदौ १० गतेको भोटेकोशी बाढीका दिन आपूm कार्यरत् त्रिशुली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन हुनुभएको हो । “म अब काममा जान्छु, तिमी ढोका लगाएर बस भनेर काममा जानुभएको थियो,” घटनाको दिन सम्झँदै इन्दिरा भन्नुहुन्छ, “क्वाटरबाट १० मिनेटजति लाग्ने दूरी हो, फेरि मलाई ढोका खोल भन्न आउनुभएन,” कार्यरत स्थानमा आवास सुविधा भएपछि विकासले पत्नी र छोरीलाईसँगै जैजानुभएको थियो ।

    “कामबाट फुर्सद भयो कि फोन गर्नुहुन्थ्यो, अहिले उहाँको एक वचन सुन्न मन तड्पिरहेछ,” हाल पिपरा–३ स्थित घरमा रहनुभएकी इन्दिरा विलाप गर्दै भन्नुहुन्छ, “न छोरीले राम्रोसँग बोलाएकी छ अहिलेसम्म, न यो गर्भको बच्चाले बाबु चिन्न पाउने भयो । हे भगवान् १ गर्भे बच्चालाई न्याय गर ।”

    आवासगृहका सुरक्षागार्डले माथिबाट ठूलो बाढी आउँदैछ, डाँडातिर चढ्नोस् भनेपछि छोरी काखमा च्यापेर हस्याङफस्याङ हुँदै थुम्कोमा पुगेर तलतिर हेर्दा आयोजना परिसर बाढीले ढाकेको इन्दिरालाई सम्झना छ । “क्वाटरमा भएका हामी निस्क्यौँ, उहाँ पनि कतै निस्कनु भयो होला भन्ने आसमा पर्खे तर न फोन आयो, न मैले गर्दा लाग्यो,” इन्दिरा भक्कानिँदै भन्नुहुन्छ, “साँझसम्म उहाँको कुनै अत्तोपत्तो नभएपछि तल झरेर खोजी गरे तर केही पाइएन ।” त्यसपछि इन्दिरा र छोरीलाई सेनाले काठमाडौँ ल्याइदिएको र त्यहाँबाट उहाँका दाजुले घर ल्याउनु भएको हो ।

    विकास सम्पर्कविहीन भएको खबर फैलिएसँगै अहिले इष्टमित्र र आफन्तजन उहाँको घरमा पुरिरहेका छन् । कोही नयाँ मान्छे घर आयो कि विकासको खबर आयो कि भन्ने परिवारजनलाई पर्छ । दुई साता नाघ्दासम्म कुनै थप खबर नपाउँदा परिवार पूरै विचलित बनेको छ । केही महिना पहिलेमात्र पाठेघरको शल्यक्रिया गराइएकी आमा बिनादेवी यादव इन्तु न चिन्तु भएर लड्नु भएको छ । छिनछिनमा ‘मेरो विकास बाबु आयौ’ भन्दै बर्बराउने बिनाका आँखामा आँसु सिद्धिएर डिल सुन्निएका छन् । पिता शम्भुनाथ र भाइ सुवासको अवस्था पनि उस्तै छ ।

    “हामीले आप्mनोतर्फबाट पनि निकै खोजी ग¥यौँ, दाजुको केही पत्ता लागेन,” बर्बरी आँसु झार्दै भाइ सवास भन्नुहुन्छ, “आमा र भाउजूलाई के गरी सम्हाल्ने होला रु” अवकाश प्राप्त शिक्षक शम्भुनाथ पत्नी बिना र बुहारी इन्दिराका अगाडि ‘बाबु आउँछ’ भन्ने गरे पनि लुकेर गह भिजाउँदै आफ्नो पीडा व्यक्त गर्नुहुन्छ ।

    “अब छोरा काममा लाग्यो, हाम्रा दुःखका दिन गए भनेर दङ्ग पर्थे, परमात्मालाई हाम्रो खुसी मञ्जुर रहेनछ, यो बुढेसकालमा विलाप गर्नु परेको छ,” शम्भुनाथ भन्नुहुन्छ, “बुबा, अब तपार्ईं दुःख नगर्नोस भन्थ्यो, अहिले रुवाइ रहेको छ ।” विकास पढाइमा सधैँ अब्बल रहेको र आफ्नो कक्षामा कहिल्यै दोस्रो नभएको शम्भुनाथ बताउनुहुन्छ । “खै यो उमेरमा के भोग्न लेखेको रहेछ,” शम्भुनाथ छोरा सम्झँदै भन्नुहुन्छ ।

    भोटेकोशी बाढीले विकासको जस्तै महोत्तरीका १० घरमा विलाप सुनिन्छ । यहाँका १० जना रसुवा र नुवाकोटबाट सम्पर्कविहीन हुनुभएको छ । बाढीमा परी मधेस प्रदेशका १७८ जना सम्पर्कविहीन भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

    दिन बित्दै गएपछि परिवारजनमा आफ्ना मान्छे सकुशल भेटिने हो होइन भन्ने द्विविधा बढेको छ । सम्पर्कविहीनको खोजी गरी जेजस्तो अवस्था भए पनि आपूmहरूले देख्न पाऊँ भन्ने परिवारजन सरकार र खोज उद्धारकर्तासँग अनुनय विनय गर्दैछन् । आफ्ना मान्छे सुशल भेटिएको चमत्कारिक खबरको पर्खाइमा उनीहरूको विलौनामा सुनिन्छ ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ, २४ भदौः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । बैठकमा कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । यसैगरी, कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ । विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले सो प्रतिवेदन पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।

    यस्तै, बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् । आज अर्थ समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।

  • किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता

    किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता


    गण्डकी, २४ भदौः कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि घटेपछि पहिरो खसेर थुनिएको हुनसक्ने आशङ्कामा तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । स्थानीय प्रशासनले किम्रुङ र मोदी खोला किनारका बासिन्दालाई सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन सार्वजनिक रूपमा आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार मोदी खोला किनारका डिमुवा, अमबोटलगायत बस्तीमा माइकिङ गरी स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले स्थानीयवासीबाट पहिरोले खोला थुनिएको भन्ने खबर आएपछि तटीय क्षेत्रमा सतर्कता बढाइएको बताए । “खोला थुनिएको खबर आएपछि उच्च सतर्कता अपनाइएको छ, सुरक्षित स्थानमा रहन सबैलाई सूचित गरिएको छ”, उनले भने ।

  • भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

    काठमाडौँ, २३ भदौः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको जनाएको छ । फेला परेका शवमध्ये विभिन्न स्थानबाट मानव अङ्गसमेत भेटिएका छन् । प्राधिकरणका अनुसार हालसम्म १०२ शवको सनाखत भई परिवारले बुझिसकेका छन् । बाढीपछि करिब पाँच हजार ३२६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ । सम्पर्कविहीनमध्ये रसुवाका दुई हजार ८६०, नुवाकोटका एक हजार ९८१ नेपाली र करिब ५८७ विदेशी पर्यटक रहेको प्राधिकरणले जनाकारी दिएको छ ।

    प्राधिकरणको प्रवक्ता शान्ति महतले हालसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको र बाढीबाट घाइते भएका छ हजार ८२७ जनाको उपचार गरिएको जानकारी दिइन् । “तीमध्ये विभिन्न दश अस्पतालमा ३२७, नेपाली सेनामार्फत तीन हजार ४०४ र सशस्त्र प्रहरी बलमार्फत तीन हजार ९६ जनाको उपचार गरिएको छ”, उनले भनिन् ।


    प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार २८७ र सशस्त्र प्रहरी बलका चार हजार २०३ गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन भएका छन् । प्रभावित क्षेत्रमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरी तीन हजार ५३३ जनालाई राखिएको प्राधिकरणले जनाएको छ । तीमध्ये रसुवामा ६६९, नुवाकोटमा दुई हजार ६५१ र धादिङमा २१३ जना रहेका छन् ।

    उद्धार तथा राहतका लागि नेपाली सेनाले एक हजार १५७ पटक, काठमाडौँबाट निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरी बलले २०३ पटक हेलिकप्टर उडान गरेका छन् । सरकारले रसुवामा रु एक करोड, नुवाकोटमा रु एक करोड र धादिङमा रु ५० लाख नगद राहत उपलब्ध गराएको छ । प्रभावित १५ पालिकालाई रु १३ करोड ५० लाख राहत उपलब्ध गराइएको छ ।

    प्रभावित क्षेत्रमा डिजेल ५० हजार लिटर, पेट्रोल १८ हजार लिटर र हवाई इन्धन १८ हजार लिटर मौज्दात रहेको छ भने ४५७ ग्यास सिलिन्डर अनुदानमा उपलब्ध गराइएको प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार विद्युत् आपूर्तितर्फ रसुवाका ७८ प्रतिशत, नुवाकोटका ९६ दशमलव ७ प्रतिशत र धादिङका ९९ दशमलव ८ प्रतिशत घरधुरीमा विद्युत् सेवा सुचारु भएको छ । बाढी प्रभावितका लागि स्वास्थ्य मन्त्रालयमार्फत १५० जनाभन्दा बढी जनशक्ति परिचालन गरी मनोसामाजिक परामर्श सेवा प्रदान भइरहेको प्राधिकरणले जनाएको छ ।

  • हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ

    हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ


    ललितपुर, २३ भदौ । गृहमन्त्री सुधन गुरुङले हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा आफू रहेकाले पदको घमण्ड र स्वार्थ नभएको दावि गरेका छन् । जेनजी सहिदको सम्मान र जिम्मेवारी बहन गर्दै जनताका सपना साकार पार्न आफू राजनीतिक नेतृत्वमा आएको उनको भनाइ छ। विसं २०८२ भदौ २३ गते भएको जेनजी आन्दोलनका सहिद विनोद महर्जनको सालिक अनावरण कार्यक्रममा आज उनले नेपाल बन्छ भन्ने सपना र आशा पूरा गर्ने जिम्मेवारी सरकारको भएको बताए ।

    “हामी शहिदका मात्रै हैन सम्पूर्ण नेपालीको सपना साकार पार्ने अभियानमा छौँ”, उनले भने, “म सरकारमा पद र सत्ता उपभोग गर्न नभई नेपाली जनताको सेवा गर्न आएको हुँ । गृहमन्त्रीको कुर्सीलाई पदभन्दा बढी जिम्मेवारीका रूपमा लिएको छु, सहिदको सपना र नेपाली जनताको अपेक्षा पूरा गर्न अन्तिम साससम्म काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

    मन्त्री गुरुङले जेनजी सहिदको शवलाई पशुपतिको आर्यघाटमा काँध थाप्दाको क्षण सम्झिँदै आफू राजनीतिमा आउन इच्छुक नभए पनि सहिदको सपना पूरा गर्ने र परिवार तथा देशप्रतिको जिम्मेवारीका कारण राजनीतिमा आउन बाध्य भएको धारणा राखे । उनले भ्रष्टाचार र सत्ताको मोहमा रहेका राजनीतिज्ञप्रति पनि आलोचना गरे । सबै राजनीतिज्ञ खराब नभएको उल्लेख गर्दै उनले असल नेताबाट सिक्न र सत्ताको लोभ त्याग्न आग्रह गरे । सरकार भनेको नागरिक दुःखमा पर्दा कुर्सीमा बसेर भाषण मात्र गर्ने नभई विपत्तिको समयमा आफैँ घटनास्थलमा पुग्नुपर्ने बताए ।


    “तपाईंको दुःख मेरो नै दुःख हो भनेर आफैँ फिल्डमा कुद्ने सरकार जनताले खोजेको हो”, गृहमन्त्रीले भने । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विपत्तिका समयमा गरेको उद्धार तथा सेवाको उच्च प्रशंसा गर्दै सुरक्षाकर्मीको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको बताए । पूर्वमन्त्री एवं ललितपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य जगदीश खरेलले सालिकले विनोद महर्जनको सम्झना गर्ने र सत्कर्म गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै सहिदलाई अमर बनाउने गरी काम गर्ने धारणा राखे । उनले जेनजी आन्दोलनपश्चात् बनेको सरकारमा प्रतिनिधित्व गरेर सकारात्मक काम गरेको जानकारी गराउँदै सिद्धान्त, आचरण र व्यवहारमा राजनीतिक इमानदारी देखाउनुपर्नेमा जोड दिए ।


    प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले सरकारले सधैँभरि जनताको सेवक बनेर काम गर्ने विश्वास व्यक्त गरे । ललितपुर महानगरपालिकाको प्रमुख चिरीबाबु महर्जनले सहिद विनोद महर्जनले पुर्‍याएको योगदानको सम्मान व्यक्त गर्दै सहिदका नाममा ललितपुर महानगरपालिकाभित्र हुने काममा रचनात्मक सहयोग गर्न तत्पर रहेको धारणा राखे ।


    सहिद विनोद महर्जनका दाजु काजीरत्न महर्जनले सहिद विनोद महर्जनको सालिक निर्माण गर्न सहयोग पुर्‍याउने स्थानीय समाजसेवी प्रेमकृष्ण महर्जन र वडा नं.७ का अध्यक्ष कुलबहादुर महर्जनले पुर्‍याएको उल्लेखनीय सहयोगको स्मरण गर्दै सबैमा धन्यवाद व्यक्त गरे । टोल सुधार समितिका अध्यक्ष बाबुराजा महर्जनले देशको नागरिकको अधिकार, सम्मान र अधिकारका लागि जीवन आहुति दिने सहिदको सालिक अनावरण गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरे ।

  • भेडागोठमा लालबिरका सात दशक

    भेडागोठमा लालबिरका सात दशक


    म्याग्दी, २३ भदौः शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा भिरेर ट्याक पाइन्ट लगाएका । खुट्टामा घँुडासम्म छोपिने गमबुट । भेडाबाख्राका हुलको पछिपछि दौडिरहेका ८१ वर्षीय लालबिर तिलिजाको सक्रियता युवा र किशोर अवस्थाको तुलनामा कम छैन् । समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरखोला क्षेत्रमा यही भदौ दोस्रो साता भेटिएका लालबिरलाई खर्कबाट चरन क्षेत्रमा हिँडेका भेडाबाख्राको बथानलाई पछ्याउन फुर्सद थिएन ।

    “जिजुका पालादेखि सुरु भएको भेडापालन मसम्म आउँदा चार पुस्ता भएको छ,” अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका लालबिरले भने, “छ वर्षको उमेरदेखि बस्न थालेको भेडागोठ अझै छोडेको छैन ।” हाल एक सय ६० वटा भेडाबाख्रा पालेका लालबिर हिउँदको चिसो छल्न घुम्ती गोठ लिएर बेँसीमा र गर्मीमा पोषिलो घाँस पाइने अन्नपूर्ण र बराहशिखर हिमालको फेदीमा रहेको खयरखोला क्षेत्रको बुकीमा पुग्छन् ।


    बुढ्यौली बढ्न थालेपछि भतिज टेकजित तिलिजासँग लालबिरले संयुक्त गोठ बनाएका छन् । खयरखोला र नौलोबन क्षेत्रमा पाउद्धारका तीन वटा भेडागोठ छन् । त्यहाँ करिब दुई हजार भेडा बाख्रा छन् । जेठमा लेक उक्लिएका गोठालाहरुलाई हप्ता दश दिनमा गाउँबाट आफन्तहरुले खाद्यान्न पु¥याइदिन्छन् ।

    “घरव्यवहार चलाउने र छोराछोरी पाल्ने, पढाउने आम्दानीको स्रोतनै भेडापालन हो,” लालबिरले भने, “भेडाबाख्रा बेचेरै नौ जना छोराछोरीलाई हुर्काए र पढाए ।” सहरबजारको विलाशी जीवनभन्दा स्वच्छ हावापानीमा गोठालो बस्न लालबिरलाई रमाइलो लाग्छ । दौतरीहरु भारतीय र बेलायती गोर्खा सैनिकमा भर्ती हुन गए पनि आफू वनपाखामा रमाएको उनले भने ।


    विदेशमा रहेका छोराछोरीको साथमा भेडाबाख्रा बेचेर भएको कमाइबाट पोखरामा घडेरी किनेर घर पनि बनाएको लालबिरले सुनाए । “छोराछोरीले भनेपछि एक वर्ष पोखरा गएर बस्दा कुज्जिएको जस्तो भएपछि फेरी बेचेको भेडा फर्काएर लेकबेँसी गर्न थालेको छु,” उनले भने, “शरिर र स्वास्थ्यले साथ दिदाँसम्म भेडाबाख्रासँगै बिताउने मेरो योजना छ ।”

    उहाँसँगै कुनै समय पाँच सयभन्दा भेडाबाख्रा थिए । बार्षिक ५० वटासम्म भेडाका साँड, खसी र बोका बिक्री हुन्छ । जनै पूर्णिमा पर्वमा खयरभारानी तालमा लाग्ने मेलामा भाकल पूरा भएका भक्तजनले बली चढाउन गोठबाटै साँढे र बोका किनेर लैजान्छन् । एक वटा साडको मूल्य रु २० देखि ३५ हजारसम्म पर्छ । दसँैतिहार, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति, भूमे पूजाजस्ता चाडपर्वमा पनि मासुका लागि साँढे तथा खसीबोका बिक्री हुन्छ ।

    सूचना प्रविधिको विकासले गर्दा पहिलेजस्तो महिनाँैसम्म आफन्तसँग सम्पर्कविहीन हुनुपर्ने अवस्था छैन । मनोरञ्जनका लागि रेडियो सुन्ने, मोबाइल बजाउने गर्छन् । उज्यालोका लागि घुम्ती सोलार प्यानल गोठमा राखेका छन् । चितुवा र ब्वाँसोबाट भेडाबाख्रा बचाउनका लागि भोटे जातका कुकुर पालेका छन् । एउटा गोठमा न्यूनतम तीन वटा कुकुर पालेका छन् ।

    लेकाली क्षेत्रमा विषालु घाँस पलाउन र हिउँदमा बेँसीका चरन क्षेत्रमा घाँसको अभाव मुख्य चुनौती रहेको लालबिरले बताउनुभयो । तापक्रम वृद्धिका कारण बिषालु घाँस उम्रिन थालेको र बेँसीमा चरनको अभाव हुन थालेको लालबिरको अनुभव छ । वन्यजन्तुको आक्रमण र गोठाला बस्ने जनशक्ति पाइन छाड्नु पनि भेडापालनलगायत घुम्तीगोठमा गरिने पशुपालनका लागि चुनौती बनेको छ ।

  • जीवनका आधार नै सम्पर्कविहीन भएपछि….

    जीवनका आधार नै सम्पर्कविहीन भएपछि….


    महेन्द्रनगर, २३ भदौः कञ्चनपुर कृष्णपुर नगरपालिका–३ देखतभुलीका नन्दकिशोर राना यतिबेला छोराको खोजीमा काठमाडौँमा दौडधूप गरिरहेका छन् । भोटेकोशी बाढीमा परी २२ वर्षीय छोरा क्रिकेशन राना सम्पर्कविहीन भएपछि खोजीका लागि पहल गरिदिन सांसददेखि मन्त्रीसम्मलाई गुहारिरहेका छन् उनले । छोरा सकुशल पाउने आशा क्रमशः न्यून हुँदै गएको उनको दुखेसो छ ।

    “छोराको सास कि लाश भए पनि पाउँला भनेर काठमाडौँ पुगेको छु”, उनले भने, “घरपरिवारमा सन्नाटाकाबीच यहाँँ आए तर छोराको खोजी हुँदैछ भन्ने खबरबाहेक केही पाइँन ।” माथिल्लो त्रिशूली ‘ए’ जलविद्युत् आयोजनामा मजदुरी गर्दै आएका क्रिकेशनको अवस्था बाढीपछि अज्ञात छ । “घरमा नाबालिक नातिनी छ । बुहारीसँगै परिवारकै जीवनयापन गर्ने भरोसाको पत्तो छैन”, रानाले भने, “छोराकै कमाइले परिवार थानिएको थियो । अब के गर्ने हो सोच्नै सकिएको छैन ।”

    उनका छोरा विगत एक वर्षदेखि रसुवामा काम गर्दै आएको बताए । “आउने जाने गरेर आयोजनामा काम गर्न थालेको एक वर्षभन्दा बढी भइसकेको थियो”, उनले भने, “हाम्रो त परिवारभित्रकै तीन जना सदस्य सम्पर्कविहीन हुँदा परिवारमा बज्रपात भएको छ ।” गाउँमा आफूसित भएको चारकट्ठा जमिनमा खेती गरेर अन्नपातको जोहो गर्दै आएका रानाले छोराको अवस्थाबारे कुनै जानकारीसम्म नपाएको दुखेसो पोखे ।


    “घरकै आर्थिक अवस्था कमजोर हुँदा छोरालाई मजदुरीका लागि यसअघि भारत पनि पठाए”, उनले भने, “बाह्र दिनदेखि छोराको स्वर सुन्न नपाउँदा आमा घरमा बिलौना गर्दै छ ।” कृष्णपुर नगरपालिका–३ का क्रिकेशन रानासँगै कालु राना र रिकेश राना सम्पर्कविहीन भएको कालु रानाका भतिजा सोहन रानाले बताए ।
    “कसैको फोन आयो कि सम्पर्कविहीन भेटियो कि जस्तो लाग्छ”, रानाले भने, “तीन जना आफन्त हराउँदा परिवारमा आँशुबाहेक केही छैन । हराएका तीन जनाकै छोरा छोरी नाबालिक छन् ।” “तीन जना नै केही समयअघि धानखेती गरेर काम गर्न गएका थिए”, उनले भने, “परिवारको खर्च चलाउने, दैनिकी सहज बनाउने घरका खम्बा नै ढलेजस्तो सन्नाटा छ ।”

    हराइरहेका कालु रानाका श्रीमती रेखाले छोराछोरी बुवा आउने आशामा बसेको बताइन्, “छोराछोरी बुवालाई फोन गर, कुरा गर्छौं भन्छन्”, रेखाले भक्कानिँदै भनिन्,“यतिकादिन भयो फोन आउँदैन । पहिले दिनमा तीन पटकसम्म फोन गर्थे ।” उनले श्रीमान् सम्पर्कविहीन हुँदा आफूहरु बिचल्ली हुने अवस्थामा पुगेको बताइन् । “अब छोराछोरी कसले पढाइदिने”, उनले भनिन्, “सरकारसँग बिन्ती छ । हाम्रा मान्छेको खोजी गरिदिनु ।”

    त्यसैगरी, शुक्लाफाँटा नगरपालिका–३ जोनापुर विनोद डगौरा सोमबार निराश हुँदै काठमाडौँबाट घर फर्किंदै छन् । पच्चीस वर्षीय छोरा दीपेन्द्र डगौरा लाङ्टाङ जलविद्युत् आयोजनामा कार्यरत रहेकैबेला यही भदौ १० गतेको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन भए । “न सास भेटिने भयो न त लास नै । निकै पीडा भयो ।” बुवा विनोद डगौराले भने, “एक्लो छोरो थियो । बुढेसकालको सहारा होला भनेको युवा अवस्थामै विलिय भयो ।” मजदुरीका लागि छोरा दीपेन्द्र रसुवा पुगेको उनले बताए ।


    “अवस्थाले पढाउन सकेको भए आज रसुवामा हराउनुपर्ने थिएन”, उनले भने, “गरिबीले मजदुरीमा पुर्‍यायो । बाढीले परिवार नै बिचल्लीमा पार्‍यो भोटेकोशी बाढीमा परेर कञ्चनपुरका २६ जना अझै हराइरहेका छन् ।”

  • भोटेकोशी बाढीः शोकमा डुबेका अनलाललाई साथ दिँदै वडावासी

    भोटेकोशी बाढीः शोकमा डुबेका अनलाललाई साथ दिँदै वडावासी


    राँझा (बाँके), २३ भदौः एकैपरिवारका तीन जना बेपत्ता । त्योभन्दा ठूलो पीडा के होला ? यस्तै पर्नु पीर परेको छ, नेपालगन्ज–२० निवासी अनलाल रोकायलाई । भोटेकोशी बाढीमा तीन जना बेपत्ता भई अकल्पनीय शोकमा परेका रोकायालाई वडावासीले साथ सहयोग प्रदान गरेका छन् । रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा काम गर्ने दाजु ५३ वर्षीय शेरसिंह रोकाय र भाउजु ५६ वर्षीया विष्णुमतिलाई भेट्न र तीर्थस्थल गोसाइँकुण्ड घुम्न गएका १९ वर्षीय छोरा दीपक रोकाय बेपत्ता हुँदा अनलाल यतिबेला असैह्य पीडामा छन् ।


    बुढेसकालको सहारा एक्लो छोरा, अभिभावकका रुपमा रहेका दाजु र भाउजु एकैपटक बेपत्ता भएपछि थपुवास्थित रोकाय निवासमा अहिले सन्नाटा र आँसु मात्र छचल्किरहेको छ । ढोकातिर हेर्दै ‘कतै फर्किहाल्छन् कि’ भन्ने आशा र मनभित्रको गहिरो निराशाबीच अनलालको परिवार वियोगको भारी थाम्न विवश छ । अकल्पनीय पीडा र शोकको घडीमा स्थानीय वडावासी भने रोकाय परिवारको घाउमा मलम लगाउन अघि सरेका छन् । स्थानीयवासीको सक्रियतामा सङ्कलन गरिएको नगद राहत बोकेर नेपालगन्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढासहितको टोली सोमबार अनलालको निवासमै पुगेको थियो ।

    “अकल्पनीय पीडाको अगाडि यो रकम धेरै सानो हो”, कार्यवाहक वडाध्यक्ष बुढाले भावुक हुँदै अनलाललाई सम्झाए । “यो रकम मात्र होइन, सिङ्गो वडावासी तपाईंको साथमा छ । आगामी दिनमा बेपत्ताको खोजी र परिवारलाई चाहिने हरेक सहयोगमा हामी निरन्तर साथमै रहनेछौँ ।” आफ्नो सिङ्गो परिवार नै बेपत्ता भएपछि शोकमा डुबेका अनलालका लागि गाउँलेको यो साथले थोरै भए पनि सहारा दिएको छ । “सहयोग सानो वा ठूलो भन्ने हुँदैन, दुःखको यो क्षणमा वडावासीले खोजी कार्यदेखि आर्थिक सहयोग गरेर हाम्रो पीडामा मलम लगाउने काम गर्नुभएको छ”, गहभरि आँसु पार्दै अनलालले वडावासीप्रति आभार प्रकट गरे ।


    आफ्ना मान्छे जीवितै फर्किने आशा मर्दै जाँदा, अन्तिम संस्कारका लागि भए पनि शव पहिचान होस् भन्ने पर्खाइमा रोकाय परिवार रहेको छ । “बाढीपछि फेला परेका शवसँग मिलान गर्न डिएनए परीक्षणका लागि नमुना पठाइएको छ”, अनलालले आशा र निराशा व्यक्त गर्दै भने, “कम्तीमा डिएनए रिपोर्ट मिलेपछि त दाजु, भाउजु र छोराको अवस्था आधिकारिक रूपमा थाहा हुन्थ्यो ।”

    भोटेकोशीको त्यो विनाशकारी बाढीले बाँके जिल्लाका मात्रै २३ जनालाई बेपत्ता बनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार, हालसम्म ३२ जनाको सकुशल उद्धार गरिएको छ । यस्तै, तीन जनाको सनाखत भएको छ । बाँकी बेपत्ताका परिवारका लागि भने हरेक दिन सम्झना, पीडा र कहिल्यै नसकिने पर्खाइ बनेर बितिरहेको छ ।

  • इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

    इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

    काठमाडौँ, २२ भदौः यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी दिवङ्गत भएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा दीप प्रज्वलन गरिएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा इन्टरपोल दिवसको अवसर पारी काठमाडौँको सुन्धारामा आज दीप प्रज्वलन कार्यक्रम आयोजना गरी भोटेकोशी बाढीमा दिवङ्गत भएकाको चिरशान्तिको कामना गर्नुका साथै बेपत्ताको सकुशल उद्धारको कामना गरिएको हो ।

    नेपाल सरकारले भोटेकोशी बाढी आएको १३औँ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी दिवङ्गत स्वदेशी तथा विदेशी नागरिकका साथै कर्तव्यपालनाको सिलसिलामा दिवङ्गत नेपाल प्रहरीलगायत अन्य सुरक्षाकर्मीहरूको स्मृतिमा दीप प्रज्वलन गरी श्रद्वाञ्जली अर्पण गरिएको प्रहरी केन्द्रीय समाचार कक्षले जनाएको छ । बेपत्ताको सकुशल उद्धारको कामनाका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरी महानिरीक्षक कार्कीले आजै अन्तरराष्ट्रिय प्रहरी सहकार्यको व्यवहारिक पक्ष र यसको महत्त्वलाई देखाउने गरी सत्य घटनामा आधारित वृत्तचित्रको शुभारम्भ गरे । विभिन्न देशका प्रहरीबीचको सहकार्य, सूचना आदानप्रदान र समन्वयले अपराध अनुसन्धानमा पुर्‍याउने योगदानका बारेमा वृत्तचित्रमार्फत प्रस्तुत गरिएको उनले बताए ।
    इन्टरनेसनल डे अफ पोलिस कर्पोरेस हरेक वर्ष ७ सेप्टेम्बरमा मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२२ मा यो दिवस घोषणा गरेको हो । विभिन्न देशका प्रहरीबीच सहकार्य, सूचना आदानप्रदान र समन्वयलाई सुदृढ गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा योगदान पुर्‍याउनु यस दिवसको मुख्य उद्देश्य रहेको प्रहरीले जनाएको छ । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, सञ्चारकर्मीलगायत व्यक्तिको उपस्थिति थियो ।

  • भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

    भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग


    सुनसरी, २२ भदौः घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११ घण्टासम्म पनि काम गर्छु । कामअनुसार पारिश्रमिक पाइन्छ । वराहक्षेत्र नगरपालिका–५ की बबिता बस्नेत भन्छिन्, “प्लाइ उद्योग स्थापना भएदेखि नै यहाँ काम गर्दै आएकी छु ।” उद्योगले गाउँमै रोजगारी दिएपछि परिवारको आर्थिक आवश्यकता पूरा गर्न सहज भएको उनी बताउँछिन् । “यहाँ आएर काठका पाता बोक्ने, टिप्ने, सुकाउने तथा गाडीमा सामान राख्ने तथा झार्ने काम गर्छु । यहाँबाट कमाएको पैसाले घरपरिवारको दैनिक खर्च तथा बालबालिकाको खाजा खर्च जुटाउन सहयोग पुगेको छ”, उनले भने ।

    जितमाया श्रेष्ठ र सुरेश साहको संयुक्त लगानीमा भेनियर उत्पादनसँगै गाउँमै रोजगारी बढाउने उद्देश्यले २०८१ साल माघमा स्थापना गरिएको प्लाइउड उद्योगले २०८२ वैशाखदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो । उद्योगका व्यवस्थापन तथा लेखा प्रमुख दीपक रानामगरका अनुसार, स्थानीय रोजगारीका लागि उद्योग प्रभावकारी देखिएको छ । वराहक्षेत्र–५ कालाबन्जरमा ७२ कट्ठा जग्गा लिजमा लिएर रु एक करोड ५० लाख बराबरको लगानीमा सञ्चालित उद्योगमा हाल वराहक्षेत्रका ६० देखि ६५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    उद्योगमा अधिकांश श्रमिक महिला छन् । स्थानीयस्तरमा पुरुष श्रमिक पाउन कठिनाइ भएपछि महिलाको सङ्ख्या बढी रहेको मगरले बताए । उद्योगले दैनिक ८० हजारदेखि एक लाख स्क्वायरफिटसम्म भेनियर उत्पादन गर्दै आएको छ । श्रमिक रोशन चौधरी भन्छन्, “गाउँमै उद्योग खुलेपछि रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता कम भएको छ । यहीँ बसेर काम गर्न पाउँदा परिवारसँगै बस्न पाइएको छ । यहीँबाट कमाएको आम्दानीले घरखर्च चलाउन सहयोग पुगेको छ ।”

    श्रमिकलाई कामअनुसार प्रतिघण्टाका दरले पारिश्रमिक दिने गरिएको छ । उत्पादन सुरु गर्दा दक्ष प्राविधिक जनशक्तिको अभाव भएपछि भारतबाट प्राविधिक ल्याएर मेसिन सञ्चालन गर्नुपरेको मगरले बताए । “अहिले नेपाली श्रमिकले पनि मेसिन सञ्चालनलगायतका काम सिक्दै गएकाले सहज भएको छ, हाम्रो चाहना यहीँका स्थानीयलाई रोजगार दिन सकौ भन्ने हो”, मगरले भने ।


    उद्योगले भेनियर उत्पादनका लागि उत्तिस, कटुस र केही चिलाउने जातका गोलिया काठ प्रयोग गर्दै आएको छ । आवश्यक काठमध्ये अधिकांश तेह्रथुमबाट ल्याइन्छ भने खोटाङ, भोजपुरलगायत पहाडी जिल्लाबाट पनि काठ ल्याउने गरिएको मगरले जानकारी दिए । गोलिया काठलाई मेसिनमार्फत पातलो तहमा काटेर भेनियर तयार गरिन्छ । तयार भेनियर इटहरी, इनरुवा, झापा, नेपालगन्ज र कोहलपुरलगायतका प्लाइउड उद्योगमा बिक्री हुँदै आएको छ । भारतको उत्तर प्रदेश, राजस्थान र सिलीगुडीसम्म पनि भेनियर पठाउने गरिएको मगरले बताए ।


    उद्योगले हाल वार्षिक रु पाँच करोड बराबर कारोबार गर्दै आएको छ । भेनियर उत्पादनका क्रममा निस्कने दाउरा, काठका टुक्रा तथा अन्य खेर जाने सामग्री बिक्री गरेर उद्योगले थप आम्दानी गर्दै आएको छ । ठूला दाउरा एक ट्रकको रु पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । यस्तै साना तथा सडेर जाने प्रकृतिका काठका टुक्रा प्रतिकिलो रु तीनदेखि पाँचसम्म बिक्री हुने गरेको उद्योगले जनाएको छ ।

  • महिलाको सक्रियतामा तरकारीखेती

    महिलाको सक्रियतामा तरकारीखेती


    बागलुङ, २२ भदौः बागलुङ नगरपालिकाले ग्रामीण वडामा सञ्चालन गरेको ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमले स्थानीय महिला तरकारीखेतीमा अग्रसर भएका छन् । बागलुङ नगरपालिकाका विभिन्न वडामा सञ्चालित ‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत महिलाले ११२ रोपनी जग्गामा प्लाष्टिक टनेल तथा खुला जग्गामा तरकारी उत्पादन गर्न थालेका छन् । उनीहरूले गत आर्थिक वर्षमा रु ३० लाखको तरकारी उत्पादन गरी बजारीकरण गर्न सफल भएका हुन् ।

    बागलुङ नगरपालिका स्थानीय सङ्घसंस्थाको सहकार्यमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता कार्यक्रमअन्तर्गत महिला किसानले ६५ हजार ६६ किलो तरकारी उत्पादन गर्न सफल भएका हुन् । तरकारीको बिक्रीबाट रु ३० लाख पाँच हजार आम्दानी भएको परियोजनाका म्यानेजर ममिता पुनले जानकारी दिइन् ।


    पुनका अनुसार बागलुङ नगरपालिकाका–५ देखि १४ नम्बर वडासम्मको ७१ वटा तरकारी महिला समूह गठन भएका छन् । समूहमा एक हजार ७४३ घरपरिवार आबद्ध छन् । “नगरपालिकाको आर्थिक सहयोगमा परियोजनाको मुख्य उद्देश्य विपन्न, दलित तथा जनजातिसहितका परिवारलाई स्वावलम्बी समूहमा आबद्ध गराई कृषि तथा पशुपालनमार्फत आयआर्जन बढाउनु रहेको छ”, पुनले भनिन्, “७१ महिला समूहले प्लाष्टिक टनेलमार्फत तरकारीखेतीका लागि अनुदान दिइएको हो, उनीहरूलाई बीउबिजनदेखि कृषि उपकरण सहयोग गरी बचत गर्ने बानीको विकास गरिएको छ ।”

    परियोजनाले तरकारी उत्पादन तथा जलवायुमैत्री पशु व्यवस्थापन तालिम, प्लास्टिक पोखरी सहयोग, समूह व्यवस्थापन तथा सहकारी सुशासनसम्बन्धी तालिम, कृषि उपकरण तथा मिनिटेलर सहयोग गरिएको छ । यस्तै, मासु व्यवसायीलाई अभिमुखीकरण गरिएको छ । बानपा–१२ को ३० महिला परियोजनाअन्तर्गत तरकारीखेती, बाख्रापालनमा सहभागी भएको बागलुङ नगरपालिका–१२ तल्लो सराङ्गीका शर्मिला आचार्यले बताइन् ।


    परियोजनाअन्तर्गत हालसम्म ३६१ वटा बाख्रा तथा बोका वितरण गरिएको छ । जसमा ६१ वटा बीउबोका र ३०० वटा बीउपाठी रहेका छन् । किसानलाई वातावरणमैत्री खोर निर्माण, पशु बीमा, उन्नत बीउ, मल्चिङ प्लास्टिक तथा विभिन्न प्राविधिक तालिममा सहयोग गरिएको छ । परियोजनाअन्तर्गत पाँचवटा आधारशिला तालिममा १२८ जना, सातवटा जलवायुमैत्री पशु व्यवस्थापन तालिममा १४० जना र तरकारी उत्पादन तालिममा ५५ जना सहभागी भएका छन् ।

    समूहमा आबद्ध किसानले बचत तथा ऋण परिचालनसमेत गर्न थालेका छन् । समूहको बचत रु १२ लाख ८४ हजार ३८७ पुगेको छ । रु ११ लाख ६१ हजार १३० ऋण लगानी भएको परियोजनाले जनाएको छ । उक्त ऋण मुख्यगरी कुखुराका चल्ला तथा दाना खरिद र किराना पसल सञ्चालनमा लगानी गरिएको छ । बागलुङ नगरपालिकाले आत्मनिर्भर बागलुङ कार्यक्रमलाई कृषि तथा पशुपालन क्षेत्रको उत्पादन वृद्धि, व्यावसायीकरण र किसानको आयआर्जनसँग जोडेर निरन्तरता दिइएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

  • यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’

    यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’


    भोजपुर, २२ भदौः ग्रामीण क्षेत्रसम्म सडक सञ्जाल र यातायातको पहुँच विस्तार भएसँगै भोजपुरका दुर्गम गाउँमा पालिएका खसीबोकाले सहज रूपमा बजार र उचित मूल्य पाउन थालेका छन् । यातायातको सहजतासँगै स्थानीयस्तरमा उत्पादन भएका खसीबोका ठूला सहरमा जान थालेपछि किसानलाई बेचबिखनमा पनि सहजता भएको हो । यसबाट आर्थिक उपार्जन पनि राम्रो भएको छ ।

    पहिला दसैँ–तिहारजस्ता ठूला चाडपर्वका बेलामात्र फाट्टफुट्ट खसीबोका बिक्री हुने गर्दथे । किसानलाई खसीबोका बेच्न स्थानीय हाटबजारसम्म डोहोर्याएर लैजानुपर्ने झन्झटसँगै सोचेजस्तो मूल्य नपाइने बाध्यता थियो । अहिले सडक सञ्जाल विस्तार भएसँगै गाउँका खसीबोका काठमाडौँ, धरान, इटहरी र विराटनगरजस्ता ठूला सहरसम्म पुग्न थालेका छन् ।

    अहिले गाउँमै जिउँदो खसीबोका प्रतिकिलो रु ५०० देखि ६०० सम्ममा सहजै बिक्री भइरहेको छ । राम्रो मूल्य पाउन थालेपछि जिल्लामा बाख्रापालनमा किसानको आकर्षणसमेत बढेको छ । गाउँबाट खसीबोका सङ्कलन गरेर काठमाडौँ पठाउँदै आएका स्थानीय व्यापारी गणेश विष्टका अनुसार अहिले महिनामा २०० का हाराहारीमा खसीबोका काठमाडौँ पठाउने गरिएको छ । युवाहरू मिलेर गाउँबाट सङ्कलन गरिएका खसीबोका काठमाडौँ ढुवानी गर्दा प्रतिगोटा रु ८०० देखि एक हजार ५०० सम्म भाडा लाग्ने गरेको उनले बताए ।


    घरआँगनबाटै खसीबोका बिक्री हुन थालेपछि किनबेचमा ठूलो सहजता आएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय हर्कराज लुइँटेल बताउँछन् । घरमै तराजुमा जोखेर बेचिने भएकाले ठगिने सम्भावना नरहेको उनको भनाइ छ । आफूलाई पैसा खाँचो परेको अवस्थामा तुरुन्तै बिक्री हुँदा गर्जो टार्न सहज भएको उनले जानकारी दिए ।
    “यातायातको सुविधाका कारण गाउँघरमा पालिएका खसीबोका अहिले काठमाडौँलगायतका ठूला सहरसम्म जान थालेका छन्”, उनले भने, “विगतमा अन्दाजको भरमा बेच्नुपर्दा घाटा सहनु पथ्र्यो । अहिले व्यापारी आफैँ खोरसम्म खोज्दै आउँछन् । खोरबाटै राम्रो मूल्यमा बिक्री गर्न पाउँदा निकै सहज भएको छ ।” अर्का स्थानीय किसान रमेश विष्टले पनि घरैबाट सोचेजस्तो मूल्यमा खसीबोका बिक्री हुन थालेपछि बाख्रापालनबाट मनग्य आम्दानी लिन सकिने अवस्था बनेको बताए ।

    “विगतमा पनि खसीबोका बिक्री त हुन्थे, तर सहज थिएन”, उनले भने, “आफूलाई परेका बेला तत्कालै बिक्री हुने अवस्था पनि थिएन । तर अहिले भने बिक्रीका लागि कुनै समस्या छैन ।” सडक सुविधाका कारण बजारको पहुँच विस्तार भएसँगै दुर्गम गाउँका किसानका लागि बाख्रापालन व्यवसाय भरपर्दो र गतिलो आम्दानीको स्रोत बन्दै गएको छ ।

  • भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने


    काठमाडौँ, २२ भदौः रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

    प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार साँझसम्म जनाए अनुसार भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४२ जनाको शव फेलापरेको छ । यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन् । पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५३० पुरुष, ३२८ महिला तथा ४९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा छन् । केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ८२७ पुरुष र ५६७ महिला छन् । यस्तै, विदेशी नागरिकतर्फ २६७ पुरुष, २३९ महिला सम्पर्कविहीन छन् ।

    बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनकार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ । फेलापरेका शवमध्ये एक हजार ४४ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

    राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १३ हजार ३९९ जनाको उद्धार गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका हजारौँ जनशक्ति कठिन भूगोल, अवरुद्ध सडक र जोखिमपूर्ण नदीको प्रवाहबिच निरन्तर उद्धारमा खटिएका छन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालित छन् ।

    नेपाली सेनाले हवाई साधनमार्फत एक हजार ४५ पटक तथा निजी क्षेत्रका हवाई साधनले १२९ पटक उडान गरी खोज, उद्धार तथा राहतलाई तीव्रता दिएका छन् । उद्धार गरिएका नागरिकको तत्काल व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ । हाल तीन हजार ९१२ जना होल्डिङ सेन्टरमा रहेका छन् ।घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने कामसमेत तीव्र पारिएको छ । हालसम्म छ हजार ७३ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।

    बेपत्ता व्यक्तिको पहिचान तथा फेलापरेका शवको सनाखत गर्न डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ । हालसम्म मृतक एक हजार १८१ जना र मृतकका आफन्त एक हजार १९५ जना गरी दुई हजार ३७६ जनाको डिएनए नमूना सङ्कलन गरिएको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायका टोली प्रभावित क्षेत्रमा परिचालित छन् ।

  • भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव

    भोटेकोशी बाढी प्रभावितका लागि यस्तो छ नेकपाको प्रस्ताव


    काठमाडौँ, २२ भदौः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागि उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणसम्बन्धी २४ बुँदे विशेष प्रस्ताव पारित गरेको छ । सो पार्टीको केन्द्रीय कार्यालयको बैठकले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, अस्थायी आवास तथा पुनस्र्थापना, अत्यावश्यक सेवा तथा पूर्वाधार पुनःसञ्चालनलगायतका विषयमा विशेष प्रस्ताव पारित गरेको हो ।

    पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा आइतबार बसेको बैठकले बाढीबाट प्रभावित क्षेत्रमा देखिएका समस्या तथा उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका चुनौतीबारे छलफल गरेको थियो । बैठकले राहत, सुरक्षित आवास योजना, जोखिम मूल्याङ्कन, राष्ट्रिय जलवायु तथा विपद् कोष स्थापना, पूर्वसूचना प्रणालीको विकास, द्रुत प्रतिकार्य टोली गठन, अन्तरराष्ट्रिय जलवायु न्यायलगायतका विषय समेटेर २४ बुँदे प्रस्ताव पारित गरेको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी

    केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी


    रुपन्देही, २२ भदौः भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा बेपत्ता व्यक्तिको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त केनाइन ९कुकुर० टोलीलाई परिचालन गरेको छ । बाढी, पहिरो तथा भग्नावशेषमा पुरिएका वा बेपत्ता भएका व्यक्तिको खोजीमा विशेष तालिमप्राप्त कुकुरको प्रयोग प्रभावकारी बन्दै गएको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट, चितवनलगायतका स्थानमा प्रहरीले केनाइन टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको जनाएको छ ।

    रसुवामा जर्मन सेफर्ड ‘जम्बो’ र बेल्जियन सेफर्ड ‘रक्की’, नुवाकोटमा ल्याब्राडोर ‘लियो’ र ‘कालु’ तथा चितवनमा जर्मन सेफर्ड ‘दिप्सी’लाई खोजीकार्यमा परिचालन गरिएको छ । प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले भग्नावशेष, माटो तथा हिलोमा पुरिएका मानिसको गन्ध पत्ता लगाउन केनाइनको प्रयोग प्रभावकारी हुने बताए । “केनाइनको प्रयोगबाट छोटो समयमा ठूलो स्थानमा खोजी गर्न सकिने भएकाले विपद्को अवस्थामा खोज तथा उद्धार कार्यलाई थप छिटो र प्रभावकारी बनाउन सहयोग पुग्छ”, उनले भने, “उद्धारकर्मी तथा उपकरण पुग्न कठिन हुने स्थानमा विशेष तालिमप्राप्त कुकुरको प्रयोग अझ प्रभावकारी हुन्छ ।”

    प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले विपद्का बेला हराइरहेका व्यक्तिको खोजीमा प्रविधिसँगै तालिमप्राप्त जनशक्ति र केनाइनको संयोजनले थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए । उनका अनुसार बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको भौगोलिक अवस्था, माटोको गहिराइ, पानी, हिलो तथा भग्नावशेषको अवस्थाले खोजीकार्यमा चुनौती सृजना गरे पनि उपलब्ध स्रोतसाधनको अधिकतम् प्रयोग गरिएको छ ।

    नेपाल प्रहरी केनाइन कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण बस्नेतका अनुसार लगातार खोजी गर्दा कुकुरको क्षमतामा असर पर्न सक्ने भएकाले निश्चित समय काम गराएपछि विश्राम दिने गरिएको छ । “केनाइनलाई सामान्यतः करिब ३० मिनेट खोजीकार्यमा लगाएपछि १५ देखि २० मिनेटसम्म विश्राम दिने गरिन्छ”, उनले भने, “दलदले हिलो, रातको समयमा अपर्याप्त प्रकाश तथा ठूलो क्षेत्रफलमा खोजी गर्नुपर्ने अवस्थाले चुनौती थप्ने गरेको छ ।”

    नेपाल प्रहरी केनाइन कार्यालयबाट खटिएको टोलीले रसुवाको टिमुरे, घट्टेखोलालगायतका क्षेत्रमा खोजी तथा उद्धार गरेको थियो । उक्त टोलीले टिमुरेबाट दुई शव तथा एक शारीरिक अङ्ग फेलापारेको थियो । त्यसैगरी, नुवाकोटको विदुर, अर्चले, शान्तिबजार, मैलुङ हाइड्रोपावर, ढुङ्गे, देवीघाट, बेत्रावती, भैँसे, बट्टारलगायतका क्षेत्रमा पनि केनाइनसहितको टोली परिचालन गरिएको थियो । मैलुङ हाइड्रोपावरको कर्मचारी आवासबाट शारीरिक अङ्ग तथा बट्टारस्थित सोलार हाउसबाट हत्केलाको भाग फेलापरेको प्रहरीले जनाएको छ ।

    केनाइन शाखाबाट खटिएको टोलीले नारायणी पुल आसपास, देवघाट तथा दमौली–गोलघाट क्षेत्रमा समेत खोजी गरेको थियो । सो टोलीले दमौली–गोलघाट क्षेत्रबाट दुई शव फेला पारेको थियो । भौगोलिक जटिलता तथा प्रतिकूल मौसमका कारण केनाइनको प्रयोगमा समेत चुनौती रहने गरेको प्रहरीको भनाइ छ । अत्यधिक गहिरो वा बाक्लो माटोमा गन्ध पहिचान गर्न कठिन हुने तथा हावा, पानी, तापक्रम र वातावरणीय प्रदूषणले समेत कुकुरको गन्ध पहिचान क्षमतामा असर पार्न सक्छ ।

    भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा हराइरहेका व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीले केनाइनसहितका जनशक्ति परिचालन गरी खोजीकार्यलाई निरन्तरता दिइरहेको प्रहरी प्रधान कार्यालयको समाचार कक्षले जनाएको छ ।

  • दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह

    दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह


    खोटाङ, २२ भदौः दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह सुरु गरेको छ । भवन निर्माणका लागि २०७७ असार ३० गते ठेक्का सम्झौता गरिएको थियो । कुल २७ कोठे चारतले प्रशासनिक कार्यालय भवन सात वर्षपछि सम्पन्न भएसँगै गाउँपालिकाको सम्पूर्ण सेवा आइतबारदेखि आफ्नै प्रशासनिक कार्यालय भवनबाट सुरु गरिएको हो ।

    प्रशासनिक भवनका लागि २०८० साल असार २२ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी रविना–अविसासँग सम्झौता गरिएको थियो । निर्धारित समयभन्दा करिब छ वर्ष दुई महिनापछि भवन निर्माण सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी मुकेश गेलालले जानकारी दिए । प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा निर्माण सुरु गरिएको प्रशासनिक भवनका लागि गाउँपालिकाले रु चार करोड ९५ लाख ९७ हजार ७१५ लागत अनुमान गरेको थियो । ठेकेदार कम्पनीले भने मूल्य अभिवृद्धि करसहित रु तीन करोड ७५ लाख ४९ हजार ३३२ मा निर्माण सम्पन्न गरेको हो ।

    गाउँपालिकाको नवनिर्मित प्रशासनिक कार्यालय भवन आइतबार गाउँपालिका अध्यक्ष लोकेन्द्र राई र उपाध्यक्ष अरुणा थापामगरले औपचारिक उद्घाटन गर्दै सेवा प्रवाहको शुभारम्भ गर्नुभयो । भवन उद्घाटन तथा प्रशासनिक सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष राईले ढिलै भए पनि गाउँपालिकाको आफ्नै प्रशासनिक कार्यालय भवनबाट जनतालाई सेवा प्रवाह गर्न पाउँदा खुसी लागेको बताए ।


    गाउँपालिकाको नवनिर्मित भवनका लागि आवश्यक फर्निचर ठेकेदार कम्पनीमार्फत खरिद गरिएको छ । फर्निचर खरिदका लागि रु ९३ लाख ६२ हजार २१० मा इन्द्रलक्ष्मी कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो । विसं २०८० भदौ ३१ गते सम्झौता गरिएको सो काम २०८१ जेठ २० गतेभित्र सम्पन्न गर्नुपर्ने थियो ।

    फर्निचर खरिदमा रु ६४ लाख ३३ हजार ५५५ खर्च भएको गाउँपालिकाका सूचना अधिकारी गेलालले जानकारी दिए । गाउँपालिकाको प्रशासनिक कार्यालय भवन निर्माणका लागि स्थानीय दाताले सात रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए । वडा नं ५ याङ्सोलाटार निवासी होमप्रसाद राई, हर्कराज राई, भविन्द्र राई र इन्द्रप्रकाश राईले आफ्नो नामको जग्गा गाउँपालिकाको नाममा निःशुल्क पास गरिदिएका थिए ।

    स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गामा अस्थायी टहरा निर्माण गरेर सञ्चालन गरिएको गाउँपालिकाको प्रशासनिक भवन सुविधासम्पन्न भवनमा सारिएसँगै सेवा प्रवाहमा सहज भएको छ । तत्कालीन गाउँपालिका अध्यक्ष एवं प्रदेशसभा सदस्य भूपेन्द्र राई नेतृत्वको जनप्रतिनिधिले प्रशासनिक भवन निर्माणको काम सुरु गरेको हो ।

  • नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

    नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

    त्रिशूली (नुवाकोट), २२ भदौः भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा उद्धारलाई थप तीव्र पारिएको छ । शनिबार विदुर नगरपालिका–१० स्थित वेत्रावतीमा ६४ वर्षीया महिलालाई ११ दिनपछि सकुशल उद्धार गरिएको थियो । सोही समयमा विदुरमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सूचना तथा सञ्चारमन्त्रीसमेत रहनुभएका नुवाकोट–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा विक्रम तिमिल्सिनाले अझै केही दिन सुक्ष्म रूपमा खोज तथा उद्धारलाई जारी राख्न निर्देशन दिए ।


    बाढी आएको ११ दिनपछि बेत्रावतीबाट गरिएको उद्धार उदाहरणीय बनेको थियो । अझै थप सफलता प्राप्त गर्न सकिने आशासहित केही दिन खोज तथा उद्धारलाई तीव्र बनाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको तालिमप्राप्त कुकुरसहित जिल्लाका विभिन्न ३० स्थानमा केन्द्रित भई बाढीमा परेर हराइरहेकाको खोजतलास गरिएको छ । सो क्रममा आइतबार विदुर–१ त्रिशूली बजारमा दुई र वडा नं ३ सिर्खालीमा थप एक गरेर तीनवटा शव फेलापरेको छ ।

    “आवश्यक परेमा नेपाली सेनाको सहयोग रहनेगरी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई उपलब्ध स्रोतसाधन प्रयोग गरेर बाढीबाट क्षतिग्रस्त भएकादेखि पुरिएका घरका प्रत्येक कोठा र कुना–काप्चासम्म पुगेर खोज उद्धारलाई तीव्र बनाउन थालेका छौँ”, उनले भने, “उद्धारमा खटिएका सुरक्षाकर्मीलाई आवश्यक सहयोग र सहजीकरण गर्न स्थानीय बासिन्दालाई अनुरोध गर्दछौँ ।”

    जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कअनुसार भोटेकोशी बाढीमा परेर बेपत्ता हुनेको सङ्ख्या नुवाकोटमा मात्रै दुई हजार ६७३ जना छन् । स्थानीय तहबाट तथ्याङ्क सङ्कलन भइरहेको हुँदा हराउनेको सङ्ख्या थप बढ्न सक्छ । बाढीले जिल्लाको विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका प्रत्यक्ष प्रभावित भएको छ ।

    जिल्लाको मुख्य बस्ती रहेका क्षेत्र वेत्रावती, भैसेँ, तुप्चे, त्रिशूली, ढुङ्गे, देवीघाटलगायत बगरमा परिणत भएको छ । ठूलो जनधनको क्षति भएको छ । बाढीले धेरैको घर पुरिएको तथा बगाएर अर्को स्थानमा पुर्याएकाले हराइरहेका व्यक्तिको जीवन बचाउन सकिने आशाका साथ संयुक्त सुरक्षा फौजले खोज, उद्धारलाई तीव्र पारेको हो ।

  • भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

    भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

    काठमाडौँ, २१ भदौः भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण संयन्त्र प्रयोग गरी प्राप्त जिम्मेवारीलाई पूरा गर्न नेपाल प्रहरी निरन्तर लागि परिरहेको छ । रसुवास्थित नेपाल–चीन सीमाबाट बाढी प्रवेश गरेलगत्तै सूचना सङ्कलन एवम् विश्लेषण, आवश्यक रणनीति अवलम्बन, उपलब्ध साधनस्रोत, दक्ष जनशक्ति एवम् प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी तटीय क्षेत्रसम्म प्रहरी अहोरात्र खटिइरहेको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार भोटेकोशी विपद्को व्यवस्थापनमा सात हजार ९१२ प्रहरी परिचालन भएका छन् । प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार बाढी प्रभावित क्षेत्रबाट छ हजार ८५३ जनाको उद्धार गरिएको छ । हालसम्म पाँच हजार १५ जना बेपत्ता छन् ।

    खोज उद्धारमा कुकुर र ‘ड्रोन क्यामेरा’

    प्रहरीले बाढीमा परी हराइरहेकाको खोज तथा उद्धारका लागि विशेष टोली नै परिचालित गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले भन्छन्, “हेडक्वार्टरमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ गठन गरी चौबिसै घण्टा अनुगमन भइरहेको छ ।” उक्त केन्द्रमा सम्पर्कविहीन आफन्तको खोज तथा उद्धारका लागि आफन्तका परिवारको फोन आउने गरेको र सोही विवरणअनुसार खोजीका लागि सम्बन्धित प्रहरी युनिटमा जनाकारी गराउँदै आइरहेको उनी सुनाउँछन् ।


    हालसम्म एक हजार ३५१ पटक केन्द्रमा आफन्तको खोज र उद्धारका लागि अनुरोध प्राप्त भएको छ । प्रभावित क्षेत्रमा केनाइन (तालिम प्राप्त कुकुर) तथा जटिल भौतिक संरचनामा ड्रोनको प्रयोग गरी खोजी जारी छ । ड्रोन क्यामेराको सहयोगमा केही दिनअघि नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला पारिएको थियो । यसैगरी, यहाँस्थित विभिन्न देशका दूतावास, कूटनीतिक नियोगका साथै अन्य विदेशी संस्थालाई मृतक तथा बेपत्ता विदेशी नागरिकका बारेमा सूचना आदनप्रदानका लागि प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘मिसिङ हेल्प डेस्क’ सञ्चालनमा ल्याइएको छ ।

    वैज्ञानिक शव व्यवस्थापन र ‘डिएनए प्रोफाइलिङ’

    प्रभावित क्षेत्रमा उद्धार र खोजी अभियानसँगै पहिचान हुन नसकेका शव र मानव अङ्गको व्यवस्थापन ‘फोरेन्सिक’ विशेषज्ञको सहयोगमा जारी छ । प्रहरी प्रवक्ता काफ्ले सङ्कलित शव बढ्दै गइरहेको र त्यसबाट सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम देखिएकाले शवको व्यवस्थापनमा वैज्ञानिक विधि अवलम्बन गरिएको बताउँछन् ।


    बाढीपछि हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डिएनए परीक्षणमार्फत फेला परेका शव तथा शरीरका अङ्ग यकिन गर्न सक्ने प्रक्रियाका लागि महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा ‘डिएनए प्रोफाइलिङ’को काम भइरहेको छ ।

    आपराधिक घटनाप्रति कडा निगरानी

    विपद्को मौका छोपी हुनसक्ने आपराधिक घटनाप्रति प्रहरीले कडा निगरानी बढाएको छ । विस्थापितका खाली घरको सुरक्षा तथा विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रणमा समेत प्रहरी निरन्तर लागि परेको छ । सुरक्षाकर्मी खोज तथा उद्धारमा व्यस्त रहेको मौका छोपी लुटपाट, चोरी गर्ने जस्ता आपराधिक गतिविधिलाई नियन्त्रण गर्न गस्ती एवं निगरानीलाई बढाइएको प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए ।

    विपद्को समयमा राहत सङ्कलनका नाममा हुन सक्ने ठगी नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको उनको भनाइ छ । “सामाजिक सञ्जालमार्फत प्रवाह भएका गलत सूचना, अफवाह, भ्रामक समाचारलगायत सामग्रीप्रति पनि निगरानी बढाइएको छ” प्रवक्ता काफ्लेले भने, “विपद्को समयमा गलत सूचना फैलाएर नागरिकमा भ्रम सिर्जना गर्ने वा राहत तथा उद्धारमा अवरोध पु¥याउनेलाई कानुनी दायरामा ल्याइनेछ ।”

    स्वास्थ्य उपचार, राहत र सचेतना अभिवृद्धि

    बाढी प्रभावित क्षेत्रमा घाइते भएका व्यक्तिको स्वास्थ उपचारमा समेत प्रहरी अग्रसर छ । नेपाल प्रहरी अस्पतालबाट खटिएको विशेषज्ञ चिकित्सक टोली सुरुआती दिनदेखि नै घाइतेको स्वास्थ्य उपचारमा निरन्तर लागि परेका छन् । घाइतेलाई सामान्य अवस्थामा ल्याउन र विनाशकारी बाढीको कारण उत्पन्न हुन सक्ने मानसिक तनावलाई न्यूनीकरण गर्न प्रहरी अस्पतालको विशेषज्ञ टोली क्रियाशील रहेका छन् ।

    पछिल्लो तथ्याङ्क अनुसार प्रहरीले बाढी प्रभावित क्षेत्रमा कुल ९२ वटा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । सचेतना कार्यक्रमहरूमा ४१ हजार २५७ जना सहभागी भएका छन् । विपद् प्रभावित रसुवा, नुवोकोट र धादिङका ‘होल्डिङ सेन्टर’मा महिला तथा बालबालिकाविरूद्ध दुव्र्यवहार र हिंसालगायत घटना हुन नदिन महिला प्रहरी परिचालित गरिएको छ । उनीहरूले महिला तथा बालबालिकासँग सम्बन्धित समस्या एवम् गुनासाहरू सम्बोधन गर्दै आवश्यक मनोपरामर्श पनि प्रदान गर्दै आइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    विस्थापितको दैनिकी सहज बनाउने प्रयास जारी

    प्रहरीले स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय गरी बाढी प्रभावित क्षेत्रका नागरिकको दैनिकीलाई सहज बनाउन सहजीकरण गरिरहेको छ । बाढीले हिल्लाम्मे भएका विद्यालय, स्वास्थ्य चौकी, अस्पताल, विस्थापित नागरिकका घरमा सरसफाइ तथा मर्मतसम्भारमा प्रहरी टोली जुटेको देखिन्छ ।

    प्रहरीले बाढीका कारण विभिन्न ठाउँमा अवरोध भएका सडकको समयमै सूचना प्रवाह गर्ने र वैकल्पिक मार्गहरूको सूचना प्रवाह गरी यात्रुलाई सहजीकरण गरिरहेको प्रवक्ता काफ्ले बताउँछन् ।

    पीडा भुलाउँदै नागरिकको दुःखमा सँगै प्रहरी

    प्रहरी नायब महानिरीक्षक काफ्लेले जस्तोसुकै परिस्थितिमा पनि नागरिकको साथमा रहेर प्रहरी आफ्नो कर्तव्यपथमा अडिग रहेको बताउँछन् । “आफ्नो दुःख–पीडा भुलाउँदै नागरिकलाई नै सर्वोपरि मानेर उनीहरूको हरेक दुःखमा साथ दिँदै प्रहरी अघि बढिरहेको छ”, उनी भन्छन् । यसपटकको बाढीबाट प्रहरी सङ्गठनले पनि भौतिकसँगै मावनीय क्षति व्यहोरेको छ । बाढीको सूचनासँगै नागरिकको जीउधनको सुरक्षामा खटिइएका २५ जना नेपाल प्रहरी अहिलेसम्म सम्पर्कविहीन छन् ।

    नायब महानिरीक्षक एवं प्रवक्ता काफ्ले बाढी प्रभावित क्षेत्रमा ठूलो मात्रामा थुप्रिएको हिलो, माटो, ढुङ्गा एवम् पुनः बाढीको जोखिमका बीच नागरिकको दैनिक जीवनयापनलाई सहजीकरण गर्न मातहतका जनशक्ति अहोरात्र खटिरहेको स्मरण गर्नुहुन्छ । “प्रभावित क्षेत्रमा खोज तथा उद्धार, सम्पर्कविहीनको खोजी, शव व्यवस्थापन, राहत वितरण, आपराधिक गतिविधि नियन्त्रण र विस्थापितको जीउधनको सुरक्षालगायत बहुआयमिक चुनौतीको सामना गर्दै आफ्नो कर्तव्य पूरा गर्न नेपाल प्रहरी अग्रसर छ”, उनले भने ।

  • भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

    भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन


    काठमाडौँ, २१ भदौः रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले बाढीमा परेर ज्यान गएकामध्ये २४४ शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिए । अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ । यस्तै, २४ शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डा चौधरीले बताए । यस्तै, हाल ५९ शवहरु अस्पतालमै रहेका छन् । केही शवहरुको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टमपछि उक्त शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ ।

  • बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना सङ्कलन

    बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना सङ्कलन

    राँझा (बाँके), २१ भदौः रसुवाको भोटेकोशी बाढीपश्चात् हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँके जिल्लाबाट १६ आफन्तको ‘डिएनए’ नमूना सङ्कलन गरिएको छ। रसुवा, भोटेकोशी तथा त्रिशूली कोरिडोरमा आएको विनाशकारी बाढीका कारण बाँके जिल्लाका धेरै व्यक्ति बेपत्ता भएका र फेला परेका कतिपय शवहरू क्षतविक्षत भई पहिचान गर्न कठिन भएकाले बाँकेबाट १६ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।


    उनका अनुसार, नेपालगञ्जमा सम्पर्कमा आउनुभएका १६ जना आफन्तको भेरी अस्पतालमा डिएनए नमूना सङ्कलन गरिएको हो । अन्य आफन्तको काठमाडौँ र चितवनस्थित अस्पतालमा डिएनए नमूना सङ्कलन गरिएको छ । डिएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमूना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।

    शव पहिचानका लागि डिएनए परीक्षणका लागि नमूना पठाएपछि बाढीपछि बेपत्ता दाजु–भाउजू र छोराको शव पहिचान हुनेमा आफू आशावादी भएको नेपालगञ्ज–२० निवासी अनलाल रोकायले बताए । भोटेकोशीमा आएको बाढीपश्चात् उहाँको १९ वर्षीय एक्लो छोरा दीपक, दाजु ५३ वर्षीय शेरसिंह र भाउजू ५६ वर्षीय विष्णुमतीलाई एकैसाथ बेपत्ता भए ।


    रसुवाको भोटेकोशी बाढीपश्चात् बाँके जिल्लाका २३ व्यक्ति हालसम्म पनि बेपत्ता रहेका छन् । हालसम्म तीनजनाको शव सनाखत भई मृत्यु घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए । उनका अनुसार, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २४ लाख ३७ हजार २७४ सहयोग जम्मा भएको छ । विभिन्न २१ सङ्घसंस्था, विद्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिले स्वस्फूर्त रूपमा उक्त रकम सहयोग गरेका हुन् ।

    बाँकेबाट सबैभन्दा ठूलो सहयोग नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले रु ६ लाख एक हजार, नेपाल ज्वेलर्सबाट रु दुई लाख ११ हजार र विभिन्न मस्जिदबाट सङ्कलित रकम उल्लेख्य रहेको छ । जिल्ला प्रशासनमा उपलब्ध सहयोगबाहेक पनि विभिन्न सङ्घसंस्था र नागरिक तहबाट स्वस्फूर्त रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उल्लेख्य राहत रकम जम्मा भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

  • दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन

    दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन


    म्याग्दी, २१ भदौः म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ । रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर गएका ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि जन्मथलो फर्किएका छन् । तिलिजालाई परिवारले जीवित हुनुहुन्छ भन्ने आशासमेत गुमाइसकेको थियो । उनको फोटोसमेत परिवारसँग थिएन । खोजी गर्ने माध्यम नभएपछि परिवार र उनीबीचको सम्पर्क पूर्ण रूपमा टुटेको थियो ।

    मणिपुरको जङ्गलमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा नेपालीभाषी सञ्चारकर्मी खेम देवानले तिलिजालाई भेटेपछि उनको घर फर्कने बाटो खुलेको हो । गत साउनमा मणिपुर पुगेका देवानलाई स्थानीय मणि तामाङले जङ्गलमा दुई वृद्ध दयनीय अवस्थामा बसिरहेको जानकारी गराए । देवानले तिलिजा र भोजपुरका वीरबहादुर राईको अवस्थाबारे श्रव्यदृश्य सामग्री बनाएर प्रशारण गरेका थिए ।

    उक्त श्रव्यदृश्य सामग्रीपछि परिवारजनले उनीहरूको पहिचान गरी सम्पर्क गरेका थिए । “मणिपुर घुम्न जाने क्रममा जङ्गलमा दुई वृद्ध बसिरहेको जानकारी पाएँ । श्रव्यदृश्य सामग्री बनाएर सार्वजनिक गरेपछि परिवारजन सम्पर्कमा आउनुभयो”, देवानले भने, “राईलाई परिवारको जिम्मा लगाएपछि तिलिजालाई उपचार गराएर घरसम्म ल्याइदिएको हुँ ।”

    निमोनियाबाट बिरामी तिलिजालाई देवानले धरानस्थित विजयपुर अस्पतालमा चार दिन भर्ना गरी उपचार गराएका थिए । स्वास्थ्यमा सुधार आएपछि परिवारको आग्रहमा उनलाई दग्नाम ल्याइएको हो । दग्नाम पुगेपछि तिलिजाका तीन भाइ, बुहारी र परिवारका सदस्यले उनलाई फूलमाला लगाएर स्वागत गरे । पाँच दशकभन्दा लामो समयपछि दाजुलाई देखेका भाइहरूले आफूहरुले खोजी गर्न नसकेको विगत सम्झिए ।

    “एक दिन दाईसँग भेट अवश्य हुनेछ भन्ने लागेको थियो । अहिले भेट्न पाउँदा निकै खुसी लागेको छ”, तिलिजाका भाइ उदयचन्द्रले भने, “दाइको फोटो पनि हामीसँग थिएन । खोजी गर्न नसकेर अलमलमा बसेका थियौँ । उहाँलाई भेटाइदिएर घरसम्म ल्याइदिने देवानलाई धन्यवाद छ ।” तिलिजा चार भाइमध्ये जेठा हुन् । उनका माइला भाइको निधन भइसकेको छ । साइँला उदयचन्द्र, काइँला जगतबहादुर र कान्छा हेमबहादुर दग्नाममै बस्दै आएका छन् ।


    तिलिजा भने घरबाट निस्किएपछि लामो समय मणिपुरमै बसेका थिए । उनी भारतीय सेनामा भर्ती हुने उद्देश्यले आसाम राइफल्समा कार्यरत आफन्तको साथमा मणिपुर पुगेका थिए । सेनामा भर्ती हुन नसकेपछि काठ काट्ने काम गर्न थाले । “परिवार र भाइहरूसँग सम्पर्क टुट्यो । पढाइलेखाइ नभएकाले चिठ्ठीपत्र पठाउन सकिनँ । पैसा नभएपछि घर फर्कन सकिनँ”, तिलिजाले भने ।


    मणिपुरमै विवाह गरेका तिलिजाकी छोरीको सात महिनामै मृत्यु भएको थियो । त्यसको एक वर्षपछि श्रीमतीको पनि निधन भयो । लामो समयपछि घर फर्किँदा भने उनले जन्मथलोमा आफ्ना भाइ र आफन्तलाई भेट्न पाएका छन् ।
    उमेर बढ्दै गएपछि काठ काट्ने काम गर्न नसकेपछि उनले साहुको बाख्रा चराएर जीवन गुजारा गर्दै आएका िथए । “परिवारसँग भेट्न पाएँ । जन्मथलोमा फर्किन पाउँदा खुसी लागेको छ”, तिलिजाले भने, “बाँकी जीवन भाइ, परिवार र आफन्तजनसँग बिताउँछु ।”

    रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले ५८ वर्षपछि तिलिजा परिवारमा खुसी फर्किएको बताए । उनका अनुसार तिलिजाका परिवारले लामो समयदेखि उनको खोजी गर्न सकेका थिएनन् । पाँच दशकभन्दा लामो समयपछि तिलिजा घर फर्किएसँगै दग्नामको एउटा परिवारले हराएको सदस्य पुनः पाएको छ ।

  • भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’

    भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’


    धनगढी, २१ भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्नका लागि प्रदेश सरकारबाट गर्न सकिने आवश्यक पहल तथा सहयोगमा कमी हुन नदिने बताएका छन् । भट्टार क्षेत्रमा गएको पहिराका कारण विस्थापित परिवारको राहत तथा पुनस्र्थापनाका साथै पहिरो जाने क्रम नरोकिएकाले जोखिम न्यूनीकरण र आवश्यक सहयोगको माग गर्दै अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीसहितको टोलीले मुख्यमन्त्री भट्टलाई शनिबार ज्ञापनपत्र बुझाएको थियो ।

    ज्ञापनपत्र बुझ्नुहुँदै मुख्यमन्त्री भट्टले विपद्का कारण प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनस्र्थापनाका लागि प्रदेश सरकारबाट आवश्यक पहल गरिने बताए । उनले पहिरोका कारण प्रभावित तथा विस्थापित परिवारको राहत, पुनस्र्थापना र पहिरो रोकथामका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।


    मुख्यमन्त्री भट्टले विपद्का कारण प्रभावित नागरिकको सुरक्षा र राहतलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । भट्टार क्षेत्रमा पहिरो जाने क्रम जारी रहँदा चमेलिया नदीसमेत प्रभावित भएको छ । पहिरोका कारण नदी आंशिक रूपमा थुनिएपछि तटीय क्षेत्रका बस्तीमा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले समेत उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।

    गाउँपालिकाका अध्यक्षद्वयको टोलीले पहिरोका कारण विस्थापित परिवारको तत्काल राहत तथा पुनस्र्थापनासँगै पहिरो पूर्ण रूपमा नरोकिएका कारण चमेलिया नदी किनारका बस्तीमा जोखिम कायमै रहेको जानकारी गराएको थियो । जोखिम न्यूनीकरण, प्रभावित नागरिकको सुरक्षा तथा आवश्यक पूर्वाधार संरक्षणका लागि प्रदेश सरकारबाट तत्काल आवश्यक सहयोग उपलब्ध गराउन उनीहरूले आग्रह गरेका थिए । पहिरो निरन्तर खसिरहेकाले नदीको बहावमा पुनः अवरोध आउन सक्ने जोखिमसमेत रहेको बताइएको छ ।

  • सुखद खबरको पर्खाइमा….

    लमजुङ, २१ भदौः बिहानसम्म परिवारसँग फोनमा कुराकानी भइरहेको थियो । घरपरिवारले पनि उनी काममै छन् भन्ने ठानेको थियो । तर यही जेठ १० गते बिहान करिब ८ः३० बजेपछि आएको एउटा खबरले बेँसीसहर नगरपालिका–११ का घर्ती परिवारलाई गहिरो पीडामा धकेल्यो, ‘रसुवामा बाढी आएको छ, आयोजनामा कार्यरत राधिका र झपटबहादुरको सम्पर्क टुटेको छ ।”

    त्रिचालीस वर्षीया राधिका घर्ती र ४५ वर्षीय झपटबहादुर घर्ती श्रीमान्–श्रीमती हुन् । उनीहरू रसुवास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा करिब १०–१२ वर्षदेखि कार्यरत थिए । राधिका खाना पकाउने काम गर्नुहुन्थ्यो भने झपटबहादुर सुरुङसम्बन्धी काममा खटिएका थिए । बाढी आएको दिन बिहानसम्म सबै सामान्य नै थियो । परिवारसँग करिब ८ः३० बजेसम्म सम्पर्क भएको थियो । त्यसपछि भने फोन लागेन । झपटबहादुरको मोबाइलको ‘लोकेसन’ पनि बिहान करिब ८ः५६ बजेसम्म देखिएको थियो । त्यसपछि लोकेसनसमेत देखिन छाड्यो ।

    “उहाँहरू कहाँ हुनुहुन्छ भन्ने नै थाहा हुन सकेन । सुरुङ वा पावरहाउस आसपास हुनसक्ने हाम्रो अनुमान छ”, भतिज विशाल घर्तीले भने । बाढीपछि नेपाली सेनाले सुरुङमा एक पटक खोजी गरेको थियो । तर सुरुङभित्रको कठिन अवस्थाका कारण पूर्ण रूपमा खोजी गर्न नसकिएको घर्तीको परिवारले जनाएको छ । त्यसपछि परिवारका लागि हरेक दिन प्रतीक्षाको दिन बनेको छ । घर्ती परिवार कतैबाट फोन आउँछ कि, खोजीका क्रममा कुनै खबर भेटिन्छ कि भन्ने आशामा ।

    राधिका र झपटबहादुरका दुई छोरा र एक छोरी छन् । जेठो छोरा आमाबुबाको खोजीमा संलग्न छन् । कान्छो छोरा जापानमा छन् । छोरीको विवाह भइसकेको छ । परिवारका सदस्यहरूका लागि भने अहिले सबैभन्दा ठूलो प्रश्न एउटै छ – उनीहरू कहाँ छन् ? “अब त न सासको खबर छ, न लासको । जिउँदै भेटिने आस पनि लगभग मरिसकेको छ । तर पनि उहाँहरूको अवस्था थाहा पाउन र कम्तीमा शवसम्म भए पनि फेला पार्न पाए हुन्थ्यो”, विशालले भने ।


    आफन्तका अनुसार राधिका र झपटबहादुर लामो समयदेखि आयोजनामै काम गर्दै आएका थिए । रोजगारीकै क्रममा रसुवा पुगेका उनीहरु वर्षौँदेखि त्यहीँ कार्यरत थिए । घरपरिवारबाट टाढा रहेर काम गर्दै आएका उनीहरू एकैपटक सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात भएको छ। रसुवामा आएको बाढीपछि राधिका र झपटबहादुरमात्र होइन, लमजुङका अन्य व्यक्तिसमेत सम्पर्कविहीन छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार रसुवाको बाढीपछि जिल्लाका १० जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार सम्पर्कविहीन व्यक्तिको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी लिने काम भइरहेको छ ।

    बाढी आएको दिनदेखि नै ती परिवारको ध्यान फोनतिर छ । अपरिचित नम्बरबाट फोन आउँदा पनि हराएका आफन्तको खबर पो आयो कि भन्ने आशा जाग्छ । तर फोन अरू कसैको हुन्छ । फेरि उस्तै निराशा । समय बित्दै जाँदा आफन्त जीवितै भेटिने आशा कमजोर बन्दै गएको छ । तर आशा पूर्ण रूपमा मरेको छैन । त्यसैले परिवारहरू अझै खोजी टोलीबाट आउने एउटा खबरको प्रतीक्षामा छन् । राधिका र झपटबहादुरको परिवारका लागि पनि अहिले त्यही प्रतीक्षा बाँकी छ– आफन्त जीवितै भेटिन्छन् कि भन्ने अन्तिम आशा, नभए कम्तीमा उनीहरूको अवस्थाबारे सत्य जानकारी ।

    रसुवाको बाढीले भौतिक क्षतिमात्र गरेको छैन, लमजुङका यी परिवारलाई आफ्ना आफन्तको अवस्थाबारे अनिश्चित प्रतीक्षामा समेत छाडेको छ । दिनहरू बितिरहेका छन्, आशा कमजोर हुँदै गएको छ, तर परिवारका सदस्यहरू अझै आफ्ना प्रियजनको खबर आउने आशाको त्यान्द्रो समातेर बसिरहेका छन् ।

    राससबाट

  • भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

    भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन


    रसुवा, २१ भदौः नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । ल्हेन्दे खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने तीन हजार ७१ जना अझै सम्पर्कविहीन छन् । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढी र पहिरोको चपेटामा परेका एक हजार २२७ नेपाली र ८६ विदेशी पर्यटकको सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा सफल उद्धार गरिएको छ ।

    बाढीका कारण अलपत्र परेका तथा गोसाइँकुण्ड क्षेत्रमा रोकिएका १४५ तीर्थयात्री तथा स्थानीयलाई हेलिकप्टरमार्फत नुवाकोट र काठमाडौँतर्फ सुरक्षित स्थानान्तरण गरिएको छ । दुर्गम र सडक सञ्जाल विच्छेद भएका क्षेत्रमा राहत र उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको छ ।

    विपद्पछि जिल्लामा सम्पर्कविहीन हुनेहरूको सङ्ख्या ठूलो छ । श्रीनाथ गण, ब्राबल ब्यारेकअन्तर्गतका २७ नेपाली सेना, २८ नेपाल प्रहरी, १३ सशस्त्र प्रहरी, ७९ सरकारी कर्मचारी र २६ जना बैंक तथा वित्तीय संस्थाका कर्मचारी अझै सम्पर्क बाहिर छन् । यस्तै, रसुवाका एक हजार ३७०, अन्य जिल्लाका एक हजार २६२ र २६६ विदेशी पर्यटक सम्पर्कविहीन रहेका सहायक प्रजिअ अधिकारीले बताए ।
    विपद्का क्रममा फेलापरेका शवमध्ये छ जनाको सनाखत भई आफन्तलाई बुझाइसकिएको छ ।

    उत्तरगया–५ का जनक आचार्य, गङ्गादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ र आशिष बानियाँ तथा गोसाइँकुण्ड–६ की छिरिङ ग्याल्मो तामाङको शव सनाखत भएको हो । अन्य विभिन्न स्थानमा फेलापरेका १६३ शवमध्ये पाँच जनाको सनाखत भइसकेको र बाँकीको सनाखत प्रक्रिया तथा डिएनए परीक्षणका लागि मुचुल्का उठाउने कार्य भइरहेको सहायक प्रजिअ अधिकारीले बताए ।


    बाढीपहिरोले रसुवाको भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार एक हजार ५०० निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । यस्तै २८ सरकारी तथा सार्वजनिक निकाय, आठवटा सामुदायिक विद्यालय, तीन निजी विद्यालय र १४ बैंकका भवनमा क्षति पुगेको छ ।

    त्यसैगरी, जिल्लाको मेरुदण्ड मानिने ४१ किलोमिटर राजमार्ग तथा सडकखण्ड ठप्प भएको छ । छवटा पक्की मोटरेबल पुल, आठवटा ट्रस तथा बेलीब्रिज, एक आर्च पुल र १० वटा झोलुङ्गे पुल बाढीले बगाएको वा क्षति पुर्याएको छ । जिल्लाका आठवटा जलविद्युत् आयोजनामासमेत अत्यधिक क्षति गरेको छ ।

    थातथलोबाट विस्थापित भएका सात हजार ३३ नागरिकलाई जिल्लाका विभिन्न १२ सुरक्षित आश्रयस्थलमा राखिएको छ । धुन्चेस्थित सिटी सेन्टर, कोमिन श्यामे वाङ्फेल मावि, गणेश आधारभूत विद्यालयलगायत स्थानमा आश्रित नागरिकलाई गाँसबासको व्यवस्था मिलाइएको छ । प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिसकिएको छ । विपद्का बीच पनि जिल्लाको ८३ प्रतिशत जनसङ्ख्यामा विद्युत सेवा पुनः सञ्चालन गरिएको छ भने नेपाल टेलिकमको सञ्चार सेवा सम्पूर्ण क्षेत्रमा सञ्चालनमा ल्याइएकाले उद्धार र समन्वय कार्यमा सहज भएको छ ।

  • टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण

    टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण


    भोजपुर, २१ भदौः महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान तथा रोकथाम गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिएको छ । ‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत सञ्चालन गरिएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाका १३७ महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको हो ।

    दुर्गम क्षेत्रका महिलालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै क्यान्सरको प्रारम्भिक अवस्था पहिचान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको ‘कल्प इम्पावर वुमन नेपाल’की अध्यक्ष पूजा कोइरालाले बताइन् । महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गर्नसके उपचार प्रभावकारी हुने भएकाले अभियानलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

    संस्थाले विशेषगरी महिला स्वास्थ्य तथा महिलाको नेतृत्व क्षमता विकासका क्षेत्रमा काम गर्दै आएको अध्यक्ष कोइरालाले जानकारी दिइन् । संस्थाले हालसम्म करिब २५ हजार महिलालाई स्वास्थ्य सेवा प्रदान गरिसकेको र यस वर्ष थप १० हजार महिलासम्म सेवा पुर्याउने लक्ष्य राखेर ‘मातृत्व जोगाउने अभियान’ सञ्चालन गरिरहेको उनले बताइन् ।


    गाउँपालिकाका महिलाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्तन तथा पाठेघरको मुखको क्यान्सरको खोजी, पहिचान र रोकथामका लागि शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । यस्ता शिविरले सहज रूपमा सेवा पाउनुका साथै समयमा नै रोगको पहिचान गरी उपचारसमेत सहयोग पुग्ने उनको भनाइ छ ।

    “पाठेघर र स्तन क्यान्सरको खोजी तथा पहिचान गर्न शिविरमार्फत सेवा दिएका हौँ”, अध्यक्ष बस्नेतले भने, “शिविरले क्यान्सर रोकथाममा सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा हो ।” शिविरसँगै महिलालाई स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जानकारी दिने उद्देश्यले ‘सी क्यान’ (उनी सक्छिन्) अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ । यस्तै, किशोरीलाई समुदाय तथा सामाजिक विषयवस्तुबारे जानकारी दिन सामुदायिक स्वास्थ्य साक्षरता कार्यक्रम पनि सञ्चालन गरिएको छ । कार्यक्रममार्फत घरघर तथा समुदायस्तरमा पुगेर पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा महिला स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको बताइएको छ ।

    स्वास्थ्य परीक्षणका क्रममा दुई महिलामा पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित प्रारम्भिक शङ्कास्पद लक्षण फेला परेको विराट मेडिकल कलेज टिचिङ अस्पतालकी डा रेखा साहले जानकारी दिनुभयो । अभियानका क्रममा महिलालाई क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण, प्रजनन स्वास्थ्य तथा समयमै उपचार गराउँदा हुने फाइदाबारे जानकारी प्रदान गरिएको छ ।

  • कास्कीमा ‘डिनएन’ नमूना सङ्कलन प्रहरी कार्यालयबाट

    कास्कीमा ‘डिनएन’ नमूना सङ्कलन प्रहरी कार्यालयबाट

    गण्डकी, २१ भदौः रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालयबाट आफन्तको ‘डिएनए’ नमूना सङ्कलन सुरु गरिएको छ । ‘डिनएन’का लागि निवदेन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्यालयबाटै सुरु गरिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

    यसअघि उक्त सेवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सञ्चालन गरिँदै आएकामा ‘डिएनए’ नमूना सङ्कलनलाई सहज र सरल बनाउने उद्देश्यले एकीकृत सेवा सञ्चालन गरिएको उनले बताए । बाढीमा परी मृत्युवरण गरेका ७६ जनाको शव यही भदौ १६ गते पोखरा महानगरपालिका–१६ लामाचौरको वन क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको थियो ।

    जमिनमुनि व्यवस्थापन गरिएका शवको ‘डिएनए’ नमूना सङ्कलन गरिएकाले शव पहिचानका लागि आउने आफन्तको ‘डिएनए’ नमूना सङ्कलनका लागि आवश्यक प्रबन्ध गरिएको हो । शवबाट सङ्कलन गरिएको ‘डिएनए’ नमूना राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । आफन्तको ‘डिएनए’सँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्नेगरी शव व्यवस्थापन गरिएको प्रहरी नायब उपरीक्षक पासवानले बताए ।

    बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको थियो । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएकामा ७६ शवलाई जमिनमुनि व्यवस्थापन गरिएको थियो भने अन्य शव पहिचान गरी आफन्तलाई बुझाइएको थियो ।

  • टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

    टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

    काठमाडौँ,२० भदौ : रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित उक्त अन्तरराष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डा राखेको हो ।

    यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले उक्त सीमा नाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको थियो । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) टिमुरेबाट गएको टोलीले करिब तीन किलोमिटर जोखिमयुक्त भीर पार गरी सीमा नाकामा झण्डा राखेको प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

  • कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु

    कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु

    कास्की, २० भदौः कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको पाख्रीबास नगरपालिका–८ घर भई आयोजनामा कार्यरत २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुवै जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    घटनामा परी इलाम घर भएका ३२ वर्षीय भक्तबहादुर मगर घाइते छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र घुँडामा चोट लागेको प्रहरीले जनाएको छ । आज बिहान करिब ११ः०० बजे जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका लागि सडक खन्ने काम भइरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो । पहिरोमा परेका कामदारलाई घटनालगत्तै स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याएका थिए । सुपर सेती जलविद्युत् आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २४ मेगावाट क्षमताको आयोजना हो ।