Category: स्थानीय

  • प्राकृतिक विपत्तिपछिको अवस्थामा राष्ट्रिय सहमति आवश्यक छ : एमाले

    प्राकृतिक विपत्तिपछिको अवस्थामा राष्ट्रिय सहमति आवश्यक छ : एमाले


    काठमाडौँ, १७ भदौ । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय सहमति र सामूहिक पहलबाट मात्रै विद्यमान प्राकृतिक विपत्तिपछिको सङ्कटको सामना गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा सम्बोधन गर्दै नेता थापाले उद्धार, राहत र समन्वयमा प्रभावकारी काम गर्न सक्नुपर्नेमा जोड दिए । रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको विनासकारी बाढीमा परेर दिवङ्गत भएकाहरूप्रति श्रद्धाञ्जली दिँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले बेपत्ता भएकाहरूको खोजी र राहत तथा पुनःस्थापनामा योजनाबद्ध कामका लागि सामूहिक र सङ्गठित प्रयास गर्नुपर्ने बताए ।


    सरकार सदनप्रति पूर्ण उत्तरदायी हुनुपर्ने तथा सरकारले राजनीतिक दल र विज्ञहरूको सर्वपक्षीय संयन्त्र गठन गर्नुपर्ने उनको प्रस्ताव थियो । पूर्व रक्षामन्त्री थापाले अन्तररष्ट्रिय सहयोग र समन्वय गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा विशेष कार्यदल, युद्धस्तरमा उद्धार र राहत कार्यका लागि रक्षामन्त्रीको नेतृत्वमा एकीकृत विशेष कार्यदल र क्षतिको समग्र मूल्याङ्कन र पुनः निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्न सुझाव दिए । उनले जलवायु सङ्कटले नेपालले खेपिरहेका समस्याबारे सगरमाथा संवादको दोस्रो संस्करणलाई आयोजना गर्न पनि आग्रह गरे ।

  • नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व होः रास्वपा उपनेता पराजुली

    नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व होः रास्वपा उपनेता पराजुली


    काठमाडौँ, १७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले विपत्का बेला नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका तर्फबाट भनाइ राख्दै उहाँले रसुवाको भोटेकोशी बाढी पीडित परिवारले महसुस गर्नेगरी नागरिकको जीवन रक्षाका काम गरिरहेको बताए । यो पुस्ताले नसुनेको प्रलय भोगिरहेकाले बाढीले हजारौँ परिवारलाई बिचलित बनाई त्रिशुली सभ्यताको नाश गरेको उनले बताए ।


    उपनेता पराजुलीले भने, “उद्धार गर्ने प्रयास जारी छ, जटिल भौगोलिक बनोट छ, कठिन खोच भएको भूगोलमा घटना भएको छ, पर्याप्त स्रोत, साधन नभए पनि तीन वटै सुरक्षा निकाय लागिरहेकामा प्रशंसा गर्नुपर्छ, राज्यले आफूसँग भएको साधनमात्र प्रयोग गरेर पर्याप्त ठान्नुहुँदैन, अन्य सहयोग पनि लिनुपर्छ ।”

    सूचना केवल तथ्य सार्वजनिक गर्ने उद्देश्यले मात्र नभई पीडित परिवार र राज्यकाबीच सेतु बन्ने माध्यम बन्नुपर्नेमा उनले जोड दिए । उनले पीडित र वेपत्ता परिवारको विश्वास लिएर काम गर्ने बताए । राज्यको सम्पूर्ण सामथ्र्य परिचालित हुनुपर्नेमा जोड दिँदै उनले सीमित साधनको अधिकतम् प्रयोग गर्न सक्नुपर्ने बताए । सङ्कटका बेला पदमा बस्नेमात्र होइन, जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउँदै उहाँले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार हेलिकप्टर, ड्रोनबाट काम भइरहेको जानकारी गराए ।

    सुरक्षाकर्मी र उद्धारकर्मी ज्यान नभनी लागेकाले तिनको मनोबल बढाउने गरी काम गर्नुपर्ने उपनेता पराजुलीको भनाइ छ । विपत्का बेला राज्यको अथक प्रयासलाई सम्मान गर्नुपर्ने बताउँदै उनले कमजोरीबाट पाठ पनि सिक्नुपर्ने सुझाव दिए । । उपनेता पराजुलीले भने, “हाम्रो तयारी पर्याप्त नभएको देखियो, महाविपत्तिले विकास मोडलमा गम्भीर प्रश्न उठाएको छ, विकास संरचनामा धेरै क्षति भएको छ, विद्युत् संरचना नष्ट भएको छ, नदी कोरिडोरका पूर्वाधारका बारेमा पुनर्मूल्याङ्कन गर्नुपर्छ ।”

    हिमताललगायत संरचनाको स्याटेलाइट प्रणालीबाट हेर्ने माध्यम बनाइनुपर्ने तथा विपद्मा विश्वव्यापी अभ्यासअनुसार शव व्यवस्थापन भएकाले राजनीतिक रूपमा भ्रम फैल्याइनु नहुने उनको भनाइ छ । विश्वव्यापी जलवायु सङ्कटमा नेपालको भूमिका कम भए पनि धेरै क्षति भोग्नुपरेको उपनेता पराजुलीले बताए । यसको क्षतिपूर्ति नेपालले अन्तरराष्ट्रिय अदालतसमक्ष दावी गरिसकेको पनि उनले सुनाए ।
    निश्चित भूभागमा आएको विपद्ले नेपालमै असुरक्षा छ भन्ने सन्देश दिन नहुने बताउँदै उपनेता पराजुलीले यसले पर्यटन व्यवसायीमा अर्को विपत्ति थपिने गरी प्रचार नगर्न अनुरोध गरे । शोकको अवस्थामा भए पनि राज्य यत्तिकै बस्न नहुने उनको सुझाव छ ।

  • प्रम सम्बोधनको पूर्ण पाठ : ‘जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको छ’

    प्रम सम्बोधनको पूर्ण पाठ : ‘जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको छ’

    काठमाडौँ, १७ भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताए । उनले यस घट्नाबाट सबै सचेत हुनुपर्ने र सँगसँगै जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तरराष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको बताए ।

    प्रधानमन्त्रीकाे भाषण यस्ताे छ :

    सम्माननीय सभामुखज्यू, आज म विशेष जिम्मेवारीसहित यस गरिमामय सार्वभौम संसद्को रोस्ट्रममा उभिएको छु । आफ्ना सपनाहरू बुनिरहनु भएका नानीबाबुहरू, हाँसो–खुसीका साथ बसिरहनु भएका आमाबुबा, दाजुभाइ र दिदीबहिनीहरूलाई भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीले क्षणभरमै हामीबाट खोसेर लग्यो ।

    यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनुहुने सम्पूर्ण मानिसहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आफ्ना मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका परिवारजनप्रति हृदयदेखिनै समवेदना व्यक्त गर्दछु । घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । अनि, आफ्ना मान्छे अझै फेला नपरेर बाटो हेरिरहनु भएका नागरिकहरूको पीडा पनि म गहिरोसँग महसुस गर्न सक्छु । यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो ।

    बाढीमा परेका नागरिकहरूको कारुणिक चीत्कार सुन्दा मेरो छाती चिसो हुन्छ । तर, यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन । मन भक्कानिदा पनि एक–आपसमा बिलौना गर्ने समय झनै छैन । सङ्कटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौँ । त्यसैले दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन, र छैन । हामी लडिरहेका छौँ ।

    घटनापछि सरकारले मानिसहरूको जीवन रक्षाका लागि के गर्दै गयौँ ? अहिले के गरिहेको छ ? र, अब के गर्नेछ भन्नेबारे जानकारी म सम्मानित सदनलाई गराउँदैछु । मिति २०८३ भदौ १० गते बिहान ८ः४५ बजे, ठीक त्यो बेला जब म यसै संसद्मा उभिएर यहाँ उठाइने प्रश्नहरूको जवाफ दिने तयारी गर्दै थिएँ, तर सूचना आयो–रसुवाको भोटेकोशीमा भीषण बाढी आयो । त्यो खबरसँगै हामी गम्भीर बन्यौँ । तत्कालै जिल्ला विपद् व्यवस्थापन समितिबाट ब्रिफिङ लियौँ र सुरक्षा सतर्कता अपनाउन निर्देशन दियौँ ।

    तर मनमा चिसो पस्यो—के हाम्रा मान्छेहरू जोगिन भ्याउनु भयो होला ? बिहान ९ः०० बजे, तटीय क्षेत्रका बस्तीहरूमा सम्बन्धीत जिल्ला प्रशासन कार्यालयहरूमार्फत सुरक्षित स्थानमा जान आग्रह गरियो । बिहान ९ः१५ बजे, परिस्थितिलाई ध्यान दिंदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलायौं। प्रभावित क्षेत्रका मानिसहरूलाई कसरी उद्धार गर्ने भन्ने निर्णयहरू भए। बिहान ९ः३५ बजे, टेलिकम कम्पनीमार्फत प्रभावित क्षेत्रका नागरिकहरूको मोबाइलमा सतर्कताको सूचना पठायौँ । बिहान ९ः४५ बजे, नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि उड्यो।

    त्यो उद्धारका लागि पहिलो हवाई उडान थियो। तुरुन्तै निजी हेलिकप्टरलाई स्ट्याण्डबाई राख्यौँ । बिहान १०ः०० बजे, नेपाली सेनाको मनसुन कमाण्ड पोष्टको आकस्मिक बैठक बस्यो, प्रभावित क्षेत्रमा खोज, उद्धार तथा स्रोत परिचालन गर्ने निर्णय भयो । बिहान १०ः३० बजे, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘सर्च एण्ड रेस्क्यु तथा इमरजेन्सी रेस्पोन्स टिम’ तयारी अवस्थामा राख्यौँ ।

    काठमाडौँलगायत अन्य जिल्लाबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालबाट सुरक्षाकर्मीहरूलाई खोज, उद्धार, उपचार र राहत कार्यमा परिचालन गरियो । बिहान ११ः०० बजे, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्यो । सुरक्षा निकायका प्रमुखहरूलाई प्रभावित क्षेत्रमा मानिसहरू सङ्कटमा परेको र जसरी पनि खोज, उद्धार र उपचारलाई प्राथमिकता दिन निर्देशन दियौँ । थप हेलिकप्टर र ड्रोन टोली परिचालन गर्नसमेत सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थियौँ ।

    दिउँसो १२ः३० बजे, मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रभावित क्षेत्रमा खोज, उद्धार र उपचारलाई तीव्र बनाउने निर्णय गर्यौँ । साथै, १५ वटा प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कट ग्रस्त क्षेत्र घोषणा गर्ने, मृतकका परिवारलाई कानुन बमोजिमको आर्थिक सहायता तत्काल उपलब्ध गराउने, घाइते एवं बिचल्लीमा परेका व्यक्तिहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने, र यस कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने निर्णय गरियो ।

    साथै, घाइतेको तत्कालै निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने, घर/निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारी खाने/बस्ने व्यवस्था मिलाउने, अवरुद्ध हुन पुगेको विद्युत् आपूर्ति, दुरसञ्चार, सडक, खानेपानीलगायत सेवा तत्कालै सञ्चालनको व्यवस्था मिलाउने निर्णय समेत भयो । दिउँसो १ बजे, प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग छलफल गर्यौँ ।

    तत्कालै सम्पर्कमा आउनु भएका स्थानीय जनप्रतिनिधिहरूसँग टेलिफोनमार्फत जानकारी लियौँ । सम्माननीय सभामुख महोदय, तत्कालै नेपाली सेनाको ‘ज्वाइन्ट अपरेसन कमिटी’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘क्विक एक्सन टिम’ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘र्‍यापिड एक्सन टिम’ मार्फत सूचना सङ्कलन, समन्वय र अनुगमन सुरु गर्‍यौँ । प्रभावित क्षेत्रमा खोजसँगै घाइतेको उद्धार गर्दै काठमाडौँ ल्याएर उपचार सुरु गरियो ।

    राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा १०० बेड छुट्यायौँ। अन्य सबै ठूला अस्पतालहरूलाई तयारी अवस्थामा राख्यौँ । सरकारसँगै नेपाल स्काउट, विश्व स्वास्थ्य सङ्गठन, नेपाल रेडक्रसलगायतको सहकार्यमा मेडिकल टिमलाई प्रभावित क्षेत्रमा खटायौँ । आपत्कालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार सेवा केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लबलगायतसँग समन्वय सुरु गरियो ।

    दिउँसो ३ बजे नै सूचना तथा सञ्चारमन्त्रीको टोली स्थलमार्ग हुँदै बाढी प्रभावित क्षेत्रतर्फ लाग्यो । त्यसयता राज्यका सम्पूर्ण संयन्त्रहरूबाट प्रभावित क्षेत्रको स्थितिबारे निरन्तर ब्रिफिङ लिइरह्यौँ, थप आवश्यक निर्णय गर्दै गयौँ । हर समय हामीले निर्णय कार्यान्वयन गर्दै गयौँ । रातिः ७ः४० बजे, प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम उपलब्ध गराउन सार्वजनिक आग्रह गरियो ।

    हामीलाई प्रभावित क्षेत्रमा खोज, उद्धार र उपचारको मात्रै चिन्ता थिएन, त्यसदिनदेखि घरबारबिहिन हुनु भएकाहरूका लागि सुरक्षित व्यवस्थापन गर्नुपर्ने अर्को जिम्मेवारी थियो । घटना भएको दिन बुधबार मध्यरातमै आठ ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठायौँ । त्यसैदिन रातिसम्ममा प्रभावित क्षेत्रमा मोबाइल फोन प्रयोगकर्ताका लागि भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क गर्‍यौँ । २०८३ भदौ ११ गते भोलिपल्ट बिहानै पूर्वाधार विकास मन्त्रीसहितको टोली लिएर म आफैँ पनि स्थलमार्ग हुँदै प्रभावित क्षेत्रमा पुगी बस्तुस्थिति बुझेर आएँ । प्रभावित क्षेत्रमा बागमती प्रदेशका मुख्यमन्त्री पनि आफ्नो टोलीसहित हुनुहुन्थ्यो ।

    प्रभावित क्षेत्रबाट फर्केलगत्तै सोही दिन मन्त्रिपरिषद्का सदस्यहरूसँग आपत्कालीन छलफल गरी आवश्यक निर्णय लिइयो । रसुवा र नुवाकोटका लागि एक/एक करोड रूपैयाँ र धादिङका लागि ५० लाख रूपैयाँ निकासा गर्‍यौँ । विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपत्कालीन प्रतिकार्य टोली गठन गरियो, प्रभावित जिल्लामा कार्यरत कर्मचारीलाई कार्यस्थल नछाड्न निर्देशन दियौँ । खोज, उद्धार, उपचार र राहतलाई थप प्रभावकारी बनाउँदै लग्यौँ । त्यस दिन, राति ८ बजेसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका गरी १३ हजार २९५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भइसक्नु भएको थियो ।

    साथै, ६९ उडानमार्फत ३५१ जनाको उद्धार गरिसकिएको थियो । उडानका क्रममा गम्भीर घाइते, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालाई प्राथमिकता दिइएको थियो । प्रभावित तीन हजार ५०० जनालाई तत्काल बसोबास गराउन त्यस क्षेत्रका विद्यालय तथा सार्वजनिक सामुदायिक भवनमा व्यवस्थापनको तयारी गरियो ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदाम घर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री पठाएर प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरियो । विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पताल सेट त्रिशूली पठाइयो । काठमाडौँमा सङ्कलन भएको थप १० ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइयो ।

    सोही दिन बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गर्ने निर्णय गरियो । प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार र राहत वितरणसँगै क्षतिग्रस्त भएका सडकलाई प्रभावित क्षेत्रसँग जोड्ने प्रयास पनि सुरु भयो । सभामुख महोदय, अब म यो सम्मानित सदनलाई हालसम्मको स्थिति र सरकारको कामकारवाहीबारे विस्तृत जानकारी गराउन अनुमति माग्छु ।

    खोज तथा उद्धार घटना भएलगत्तै हामीले प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारेका थियौँ । केहीबेर अघिसम्म ११ हजार ९९३ जना मानिसहरूको उद्धार गरिसकेका छौँ । तर, पनि तीन हजार ९१६ जना सम्पर्कविहिन हुनुहुन्छ । उद्धार गरेर विभिन्न अस्पतालहरूमा भर्ना गरिएका २९२ जना घाइतेमध्ये केहीबेरअघिसम्म १८२ जना डिस्चार्ज भइसक्नुभएको छ । बाँकी घाइतेहरूको पनि स्वास्थ्यमा सुधार ल्याउन हाम्रो स्वास्थ्यकर्मी लागिरहेको छ ।

    उपचार तथा राहत हामीले काठमाडौँबाट विशेषज्ञसहितको टोली प्रभावित क्षेत्रका नागरिकहरूको उपचारका लागि पनि खटाइरहेका छौँ । उपचारसँगै प्रभावित क्षेत्रका नागरिकहरूलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेका छौँ । साथै, प्रभावित क्षेत्रमा कुनै पनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेका छौँ । प्रभावित क्षेत्रमा रोगको रोकथामका लागि विभिन्न माध्यमहरूबाट सूचना प्रवाह समेत भइरहेको छ ।

    ‘विपद्–पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना’ प्रभावकारी रूपमा लागू गर्न प्रदेश तथा स्थानीय तहका स्वास्थ्य अधिकारीहरूलाई आवश्यक तालिम समेत प्रदान गरिएको छ । हाल नुवाकोटका १९ वटा अस्थायी आश्रय स्थलहरूमा दुई हजार ६५३ जना प्रभावित नागरिकहरूले आश्रय तथा राहत प्राप्त गर्नु भएको छ । रसुवाका केही प्रभावित नागरिकहरूलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइरहेको अवस्था छ ।

    आर्थिक सहयोग परिचालन नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दैछ । केहीबेरअघिसम्म राहत कोषमा सात अर्ब ८८ लाख ५७ हजार २१७ रूपैयाँ जम्मा भएको छ । हिजो मात्रै उक्त कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक अर्ब रूपैयाँ निकासा गरिएको थियो । त्यसमध्येबाट छ करोड ७५ लाख रूपैयाँ रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका गरी १५ वटा पालिकामा निकास भइसकेको छ ।

    केहिबेर अघिसम्म यो कोषमा छ अर्ब ८८ लाख ५७ हजार २१७ रूपैयाँ मौज्दात रहेको छ भने थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ । अन्तर्राष्ट्रिय सद्भाव र सहयोग विपद्को यस घडीमा हामीलाई मित्र राष्ट्रहरूबाट टेलिफोन, पत्राचार र सामाजिक सञ्जालमार्फत सद्भावना सन्देश प्राप्त भइरहेको छ । यसले हामीलाई अझै दृढताका साथ यो विपत्तिसँग लड्न बल मिलेको छ ।

    बाढी प्रभावित क्षेत्रका लागि अन्तरराष्ट्रिय समुदायले समेत सहयोगका हात बढाउनु भएको छ । हालसम्म भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, चीन, अमेरिका, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, स्विट्जरल्यान्ड, सिङ्गापुर, दक्षिण कोरिया, जापान, यूके, लगायत मित्रराष्ट्रहरूले सहयोग गर्नुभएको छ । यसैगरी अन्तरराष्ट्रिय विकास साझेदारहरू, एसियाली विकास बैंक, विश्व बैंक, यूरोपेली युनियन र संयुक्त राष्ट्रसङ्घलगायतले पनि सहयोग गरेको अवस्था छ । अझै, कतिपय मित्र राष्ट्र तथा सङ्घसंस्थाहरूले सहयोगको प्रतिबद्धता जनाएका छन् ।

    प्रभावित पूर्वाधार र पुनःस्थापना प्रभावित क्षेत्रमा अवरुद्ध भएको सञ्चार सेवा दोस्रो दिनदेखि पुनःस्थापना हुँदै हिजोसम्म ९५ प्रतिशत सेवा पुनःस्थापना भइसकेको छ । सञ्चार सेवाको पहुँचभन्दा बाहिर भएका स्थानहरूमा हाल ३० वटा स्याटेलाइट फोनमार्फत सञ्चार भइरहेको छ । बाढीले भोटेकोशी–त्रिशूली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्‍याएको छ । विद्युत् उत्पादन गरिरहेका आठ वटा आयोजना (२८१ मेगावाट) र निर्माणाधीन चार वटा (३८८ मेगावाट) क्षतिग्रस्त भएका छन् ।

    जसमध्ये केही मात्रै मर्मत हुन सक्ने र त्यसका लागि ठूलो लगानी लाग्ने देखिएको छ । बाढीका कारण ४३१.१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ । नुवाकोटमा वैकल्पिक प्रसारण व्यवस्थामार्फत ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः प्रवाह गरिरहेका छौँ । धादिङमा ९८ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ । रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ । जलविद्युत् आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालन भइरहेका छन् ।

    बाढीका कारण गल्छी–वेत्रावती–रसुवागढी सडक र पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डको अधिकांश भाग क्षति भएको थियो । गल्छी–वेत्रावती–रसुवागढी सडकको बिदुर–वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी खण्डको ४० किलोमिटर पूर्णरूपमा र १६ किलोमिटरमा आंशिक क्षति भएको थियो । साथै, पृथ्वी राजमार्गको कृष्णभीर, परेवाभीरलगायत क्षेत्रमा क्षति पुगेको छ । पृथ्वी राजमार्गको गल्छी, बैरेनी, जरीखेत, पोखरे, मुङ्गे, गलौदी खण्डमा लेदो हटाई यातायात सञ्चालन भइसकेको छ । बाढीका कारण ४८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । जसमध्ये २० वटा मर्मत गर्न मिल्ने र २८ वटा नयाँ निर्माण गर्नुपर्नेछ ।

    प्रभावित क्षेत्रमा ३१ वटा मोटरेबल पुल बगेका छन् । तीमध्ये दुई स्थानमा बेलिब्रिज राख्ने प्रक्रिया सुरु भएको छ । गल्छी–वेत्रावती सडकको गल्छी–देवीघाट खण्डमा लेदो हटाई बेलिब्रिज निर्माणको क्रममा छ । तादी देवीघाटमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ । बेत्रावतीमा पनि हामीसँग उपलब्ध बेलिब्रिज राख्न सम्भव देखिएकोले काम सुरु भइसकेको छ । थप २० ठाउँमा बेलिब्रिज राख्न सम्भाव्यता अध्ययन भइरहेको छ । बाढीका कारण क्षतिग्रस्त मुग्लिन–नारायणगढ सडकको कृष्णभीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।

    अन्य पूर्वाधारको क्षतिको विवरण सङ्कलन भइरहेको छ । शव व्यवस्थापन पहिचान हुन नसकेको शव कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिनमुनी सुरक्षितरूपमा व्यवस्थापन गरिरहेका छौँ । तर, डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको छ । यी शव डिएनए म्याचिङ पश्चात सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ ।

    पहिचान हुन सकेका शव परिवार र आफन्तको जिम्मा लगाइरहेको अवस्था छ । केहीबेर अघिसम्म एक हजार ११४ शव फेला परेका छन् । जसमध्ये ९५ शवको सनखात भइ परिवारले बुझेका छन् । जलवायु परिर्वतनको प्रभाव अचानक व्यहोरेको यो ठूलो विपद्को क्षति व्यवस्थापनमा अहोरात्र जुट्दै गर्दा हाम्रो मनमा अर्को एउटा गहिरो प्रश्न पनि जन्मिएको छ। त्यो हो–हामीमाँझ कसरी यो विपद् आइलाग्यो ?

    विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सृजित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन् । यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ । त्यसैले हामी त सचेत त हुनैपर्छ, सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ । जलवायु परिवर्तन विश्वव्यापी योगदान हो । यसको असरको न्यूनिकरण तथा व्यवस्थापन विश्वसमुदायको साझा जिम्मेवारी हो ।

    सभामुख महोदय, रुसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कबिहिन हुनुभएका नागरिकको खोजी जारी रहनेछ । घाइतेको उपचार जारी रहनेछ । घरबार बिहिन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालिन पुनःस्थापनमा सरकार लाग्ने छ । कोही कतै छुट्नु हुने छैन । यो बीचमा हामी विपद्सँग लडिरहँदा हामीमाथि केही प्रश्नहरू पनि उठे ।

    १) समयमै बाढीको सूचना किन भएन भन्ने सन्दर्भमा मानव सभ्यताले भोगेको मध्ये यो ठूलो घटना हो। यो विपद् पूर्वअनुमान भन्दा बाहिरको कुरा हो । बाढी आउँदै गरेको सूचना पाएलगत्तै हाम्रा सुरक्षाकर्मीहरू स्थानीयलाई सर्तक बनाउन खटिनु भएको थियो । त्यसैबेला उहाँहरू समेत बेपत्ता हुनुभएको छ ।

    २) शव व्यवस्थापनमाथि प्रश्न उठेको सन्दर्भमा यो ठूलो विपद्मा धेरै मानिसहरूले नदीको लेदोसहितको पानीमा परेर ज्यान गुमाउनु भयो । बाढीले उहाँहरूको शवलाई फरक फरक ठाउँमा पुर्यायो। हामीले कानुनी र वैज्ञानिक आधारलाई टेकेर तत्काल पहिचान हुन नसकेका शव मात्रै डिएनए लगायत पहिचान हुने आधारहरू सुरक्षित राखी जमिनमुनि व्यवस्थापन गरेका छौँ । पछि डिएनए मिल्नासाथ ती शव सम्बन्धित परिवारलाई जिम्मा लगाइनेछ। त्यसपछि उहाँहरूले आ—आफनो धार्मिक संस्कार अनुसार अन्तिम संस्कार गर्नुहुनेछ । त्यसैले यस विषयमा भ्रममा नपर्न म सबैमा अनुरोध गर्दछु ।

    ३) उद्धारका लागि विदेशी सहयोग सन्दर्भमा यति ठूलो विपद् पर्र्दा हामीले अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरा नै आउँदैन । प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन सुरुआतदेखि नै हामीले अन्तर्राष्ट्रिय मुुलुकहरूसँग समन्वय गरेकै थियौं। प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौँ ।

    ४) प्रभावित क्षेत्रका विद्युत आयोजनाका सुरुङहरूमा खोज र उद्धारको सन्दर्भमा घटना हुनासाथ खोज गर्दा र जहाँ जहाँ घाइतेहरू भेटिनु भयो र जहाँ जहाँ हेलीकप्टर जान सक्यो त्यहाँ उद्धार तीव्र बनाएका थियौँ । प्रभावित विद्युत आयोजनाका सुरुङहरूमा नेपाली सेनाको नेतृत्वमा अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीले खोज तथा उद्धार जारी राखेको छ ।

    ५) विपद्का बेला संघीय सरकार, प्रदेश र स्थानीय सरकारसँग समन्वयको सन्दर्भमा सुरुआतबाटै हामी प्रदेश सरकारसँगै स्थानीय सरकार र जनप्रतिनिधिहरूसँग निरन्तर संवाद भइरहेको थियो । हामी प्रभावित क्षेत्रमा जाँदा बागमती प्रदेश सरकारका मुख्यमन्त्रीसहितको टोलीसँग छलफल गरेका थियौं। त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले उहाँहरूसँग छलफल गरी विपद् व्यवस्थापनमा आआफ्नो जिम्मेवारी अझै गम्भीररूपमा निर्वाह गर्ने निर्णय भएको थियो ।

    समामुख महोदय, विपद् पश्चात खोज, उद्धार, उपचार, राहत र व्यवस्थापनदेखि पुनःस्थापनाको चरणसम्म खटिनुहुने सम्पूर्ण सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, मन्त्रिपरिषद्का सदस्यहरू, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय, स्वयमसेवी संस्थाहरू, आम नागरिक, मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय संघसंस्थालगायत सम्पूर्ण सरोकारवालाप्रति हामी आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको आग्रह गर्दछौँ । सरकार हिजो पनि तपाईंसँगै थियो, आज पनि छ र भोलि पनि रहनेछ । धन्यवाद ।

  • भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

    भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

    चितवन, १७ भदौः रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये ३३५ वटा शवको व्यवस्थापन गरिएको छ । तीमध्ये १२९ वटा लिङ¬्ग पहिचान नभएको जनाइएको छ । सनाखत हुन नसकेका ती शवलाई भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा मङ्गलबार रातिसम्म व्यवस्थापन गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ । एउटाको व्यवस्थापन गर्न बाँकी छ । जिल्लामा शव व्यवस्थापन गर्न कठिन भएपछि डिएनए सङ्कलन गरेर शनिबारदेखि जङ्गलमा लगेर खाडलमुनि शव राख्न थालिएको हो ।

    प्रहरीले शनिबार ९६ शवको व्यवस्थापन गरेको थियो । आइतबार १०३, सोमबार ८१ र मङ्गलबार ५५ शव व्यवस्थापन गरेको हो । जमिनमुनि व्यवस्थापन गरिएकामध्ये सबैभन्दा बढी लिङ्ग पहिचान नभएका १२९ वटा शव छन् । त्यस्तै पुरुष १०७, महिला ७३, बालिका १५ र बालक ११ जना रहेको प्रहरीले जानकारी दिएको छ ।

    शवहरूको डिएनए नमूना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको प्रमुख प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन् । नदी किनारमा शव फेला पर्ने क्रम जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ ।

    शव पहिचानका लागि डिएनए नमूना सङ्कलन सुरु

    भोटेकोशी नदीमा आएको बाढीपछि फेला परेका शवको पहिचानका लागि चितवनमा डिएनए परीक्षणका लागि आफन्तको नमूना सङ्कलन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालयले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर सेवा इकाइ र जनस्वास्थ्य कार्यालयको सहयोगमा भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा मङ्गलबारदेखि डिएनए नमूना सङ्कलन सुरु गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले बिहान ९ः०० देखि साँझ ५ः०० बजेसम्म नमूना सङ्कलन भइरहेको जानकारी दिए । उनका अनुसार शवसँग पहिलो तहको नाता पर्ने आफन्त अर्थात् बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरिनेछ । उनले डिएनए नमूना दिन आउने व्यक्तिलाई आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात र दुईप्रति पासपोर्ट आकारका फोटो साथमा ल्याउन अनुरोध गरे ।


    डिएनए नमूना सङ्कलन र परीक्षणको प्राविधिक प्रक्रियाबारे जानकारी दिँदै नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रहरी निरीक्षक सन्देशकुमार पोखरेलले हराइरहेका व्यक्तिको पहिचानका लागि शवबाट मुख्य रूपमा दाँत र हड्डीका नमूना सङ्कलन गरिएको बताए । ती नमूनाबाट डिएनए प्रोफाइल तयार गरिन्छ र त्यसलाई आफन्तबाट सङ्कलन गरिएको डिएनएसँग म्याचिङ गरी पहिचान गरिन्छ ।

    उनले भने, “पहिलो प्राथमिकतामा बुबाआमा वा छोराछोरीको डिएनए नमूना आवश्यक पर्छ । यदि पहिलो तहका आफन्त उपलब्ध नभए दाजुभाइ वा दिदीबहिनीको नमूना प्रयोग गरेर पनि परीक्षण गर्न सकिन्छ।” नेपालको प्रयोगशालाको क्षमताका साथै वैदेशिक सहयोगसमेत परिचालन गरेर कम्तीमा १२ हप्ता अर्थात् तीन महिनाभित्र सबै नमूनाको परीक्षण र डिएनए म्याचिङ सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।


    प्रहरीका अनुसार चितवन बाहिर रहेका आफन्तले पनि आफू बसेको जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पुगेर डिएनए नमूना दिन सक्ने व्यवस्था गरिएको छ । विदेशमा रहेका आफन्तका लागि पनि डिएनए नमूना उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । हराइरहेका व्यक्तिका विदेशमा रहेका पहिलो तहका आफन्तले सम्बन्धित देशस्थित नेपाली दूतावास वा कूटनीतिक नियोगमार्फत अथवा नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आफ्नो डिएनए प्रोफाइलको ‘सफ्ट कपी’ पठाई परीक्षण प्रक्रियामा सहभागी हुन सक्नेछन् ।

    अस्थायी शव भण्डारणस्थलमा दीप प्रज्ज्वलन

    शवहरूको व्यवस्थापन गरिएको भरतपुर–१ देवघाटस्थित जङ्गलमा मङ्गलबार साँझ दीप प्रज्ज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, अस्पतालका प्रमुख तथा सर्वसाधारणको सहभागिता रहेको थियो । विभिन्न समुदायका नागरिकले पनि दीप प्रज्ज्वलन गरी हालसम्म यहाँ व्यवस्थापन गरिएका ३३८ मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    रामजानकी बालिका आश्रम देवघाटका कन्याहरूले गीता पाठ गरी दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । त्यसैगरी विभिन्न धार्मिक समुदायका प्रतिनिधिले पनि कार्यक्रममा सहभागी भई श्रद्धाञ्जली व्यक्त गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीप प्रज्ज्वलन गर्दै दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे । यस स्थान ‘अन्तिम संस्कार’ नभई पहिचान नहुन्जेलका लागि अपनाइएको ‘अस्थायी व्यवस्थापन’ मात्र भएको स्पष्ट पारिएको थियो । यो क्षेत्र १२ वर्षसम्म अस्थायी शवस्थलका रूपमा रहने जनाइएको छ ।

  • भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

    भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत


    कास्की, १७ भदौः रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र परीक्षण तथा व्यवस्थापनका लागि पोखरा ल्याइएका १०२ शवमध्ये मङ्गलबार २१ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ । पहिचान हुन नसकेका ७६ शवलाई पोखरा–१६ माथिल्लो दीपस्थित सिसौघारीमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।


    उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा अझै पाँच शव रहेका छन् । ती शवमध्ये एकभन्दा बढी परिवारले तस्बिर हेरेर दाबी गरेकाले थप परीक्षण गर्न बाँकी छ । “लामो समय शवगृहमा राख्दा दुर्गन्ध फैलनाका साथै महामारीको जोखिम हुने भएकाले सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको हो । सबै शवको डिएनए लिएका छौँ । परिवारको डिएनए मिलेको अवस्थामा सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिन्छ,” बरालले भने ।


    धादिङबाट २२, गोरखाबाट सात, नवलपरासीबाट २५ र तनहुँबाट प्राप्त २२ शव व्यवस्थापन गरिएको हो । शवलाई गहिरो खाडलमा हावा नछिर्ने प्लास्टिकको झोलामा राखेर सङ्केत नम्बर दिई माटोले पुरिएको छ । शव पुरिसकेपछि गमला राखेर शवको सङ्केत नम्बरको ‘स्ट्यान्ड’ बनाइएको छ ।

  • यस्तो छ आज विभिन्न सडकको अवस्था

    यस्तो छ आज विभिन्न सडकको अवस्था

    काठमाडौँ, १७ भदौः नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्ध भएको जनाएको छ । प्रहरीद्वारा आज बिहान जारी बुलेटिनमा कतिपय सडकखण्डमा पहिरो र बाढीका कारण यातायात पूर्ण रूपमा रोकिएको छ भने केही मार्गमा वैकल्पिक सडक प्रयोगको व्यवस्था गरिएको उल्लेख छ । बुलेटिनका अनुसार धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गर्दा सडक भासिएर यातायात पूर्ण रोकिएको छ । सोही राजमार्गको गजुरी गाउँपालिका–२ परेवाभिरमा बाढीका कारण सडकको तल्लो भाग करिब २० देखि २५ मिटर भासिएपछि यातायात सेवा अवरुद्ध छ ।

    साथै रसुवामा यही भदौ १० गते आएको विनासकारी बाढीका कारण पासाङल्हामु राजमार्गको त्रिशूली नदी किनारको अधिकांश भाग कटान भई राजमार्गमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध छ । स्याफ्रुबेँसीसम्म पुग्न काठमाडौँ–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पाच्र्याङ–भोर्ले–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सिङ्गल लेन कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ ।

    “यस्तै, नुवाकोटको विदुर–लाच्याङ सडकखण्डमा सूर्यगढी गाउँपालिका–१ लाच्याङ डाँडामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । नुवाकोटकै टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधनलाई राति १०ः०० देखि बिहान ५ः०० बजेसम्म आवतजावतमा रोक लगाइएको छ”, भनिएको छ, “लमजुङको बेँसीसहर–मनाङ सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरेभिरमा अविरल वर्षाका कारण पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । मुगुको नाग्म–गमगढी सडकखण्डमा पनि वर्षाका कारण ढुङ्गा, माटोसहितको लेदो आएपछि यातायात रोकिएको छ ।”

    बुलेटिनका अनुसार बैतडीको दशरथचन्द नगरपालिका–८ झुलाघाटस्थित गोठालापानी–झुलाघाट सडकखण्डमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ । इलामको मेची राजमार्गअन्तर्गत राजदुवालीमा वर्षाका कारण सडकमा हिलो भएपछि अवरुद्ध भएको सडक हाल साना सवारीसाधनका लागि सञ्चालनमा आएको जनाइएको छ ।

    प्रहरीले मकवानपुरमा भने विभिन्न राजमार्गमा सवारी सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको र १० चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

    त्यसैगरी, प्रहरीका अनुसार १४ सिटभन्दा कम क्षमताका यात्रुवाहक सवारीसाधन हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी तथा काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।

    विपद्को समयमा अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, सवारीसाधन तोकिएको पालोमा सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक प्रहरी र सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न सम्बन्धित निकायले अनुरोध गरेको छ ।

    काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर साँझ ६ः०० देखि बिहान ४ः०० बजेसम्म सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ । बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने यातायात सञ्चालन हुने व्यवस्था गरिएको छ ।

  • भोटेकोशी बाढीः समुदायले नै जुटाउँदैछ सहयोग

    भोटेकोशी बाढीः समुदायले नै जुटाउँदैछ सहयोग


    म्याग्दी, १७ भदौः म्याग्दीको भौगोलिक रुपमा विकट मानिएको गुर्जाका बासिन्दाले भोटेकोशी बाढी पीडितका लागि रु दुई लाख ५० हजार सहयोग गरेका छन् । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा राहत, उद्धार र पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि गुर्जामा रहेका विभिन्न सङ्घसंस्थाले उक्त सहयोग गरेका हुन् ।

    गुर्जा विकास मञ्च र गुर्जा–काठमाडौँ समाजले रु एक÷एक लाख तथा पोखरामा बस्ने गुर्जाको चौतारे छन्त्याल महिला समूहबाट रु २५ हजार र बङ्गाले छन्त्याल महिला समूहबाट रु २५ हजार सहयोग गरेको वडाअध्यक्ष झक छन्त्यालले जानकारी दिए । चार वटै संस्था र समूहले वडा अध्यक्ष छन्त्यालमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन् ।

    यसैगरी, बेनी नगरपालिका–९ मा रहेका विभिन्न सङ्घसंस्थाले पनि मङ्गलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई लाख सात हजार ६३५ जम्मा गरेका छन् । गलेश्वर शिव युवा क्लव, गलेश्वरधाम आमा समूह, गलेश्वर फुटसल समूह, टोल सुधार समिति र गलेश्वर आदर्श आवासीय माविका शिक्षक र विद्यार्थीबाट उक्त रकम जुटाएर कोषमा जम्मा गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले जानकारी दिए ।

    बाढी प्रभावित क्षेत्रबाट सात मजदुर घर फर्किए

    भोटेकोशी बाढीबाट अति प्रभावित रसुवा जिल्लाका २१६ मेगावाट क्षमताको अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत म्याग्दीका सात जना श्रमिक मङ्गलबार घर आइपुगेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी कुलराज आचार्यका अनुसार मङ्गला गाउँपालिका–५ किमचौरका तीर्थ विक, मालिका गाउँपालिका–५ का जित पुन, टेकबहादुर पुन, प्रेम पुन, धवलागिरि गाउँपालिका–२ का टीकाकुमार पुर्जा, विमल पुर्जा र नवीन पुर्जा आफ्नो घर आइपुगेका हुन् ।

    मालिका गाउँपालिका–४ ओखरबोट छापका २५ वर्षीय भबिन्द्र रेग्मी र धवलागिरि गाउँपालिका–२ खोरियाका २३ वर्षीय प्रबिन पुर्जा अझै सम्पर्कविहीन रहेका सहायक प्रजिअ आचार्यले बताए । बाढी आएपछि भागेर ज्यान जोगाएका मजदुरले रसुवादेखि चार दिन पैदल यात्रा गर्दै धादिङ पुगेका थिए । त्यसपछि गोरखा, पोखरा हँुदै बेनी आएको उनले बताए ।

  • घोषणामा नै सीमित लमजुङको ‘स्मार्ट फिल्म सिटी’ सपना

    घोषणामा नै सीमित लमजुङको ‘स्मार्ट फिल्म सिटी’ सपना


    लमजुङ, १७ भदौः लमजुङलाई अन्तरराष्ट्रियस्तरको चलचित्र छायाङ्कन केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित सात वर्षअघि अघि सारिएको ‘स्मार्ट फिल्म सिटी’ निर्माण योजना अझै कार्यान्वयन हुन सकेको छैन । ठूलो लगानीको महत्वाकाङ्क्षी योजना सार्वजनिक हुँदा लमजुङलाई नेपालको चलचित्र हबका रूपमा विकास गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना गर्ने तथा स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा थियो ।

    घोषणा भएको सात वर्ष बितिसक्दा पनि योजना निर्माणको चरणमा प्रवेश गर्न सकेको छैन । विसं २०७६ असारमा सार्वजनिक गरिएको योजनाअनुसार बेँसीसहर नगरपालिकाका चार वटा वडाका पाँच हजार रोपनी जग्गा लिजमा लिएर रु पाँच अर्ब ९० करोड लगानीमा अन्तरराष्ट्रियस्तरको ‘स्मार्ट फिल्म सिटी’ निर्माण गर्ने लक्ष्य राखिएको थियो ।

    स्काई इन्टरटेनमेन्ट इन्भेस्टमेन्टका अध्यक्ष तथा तत्कालीन चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी र इटालियन कम्पनी वल्र्ड एरिया होल्डिङ एसआरएलका अध्यक्ष फ्रान्सिस्को सिग्नोरिल्लोबीच फिल्म सिटी निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा भएको उक्त सम्झौतामा इटालियन कम्पनीको ८० प्रतिशत र नेपाली कम्पनीको २० प्रतिशत लगानी रहने बताइएको थियो ।

    परियोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भइसकेको थिएन । तीन महिनाभित्र डिपिआरका लागि सम्भाव्यता अध्ययन सुरु गर्ने, एक वर्षभित्र डिपिआर तयार गरी भौतिक संरचना निर्माण थाल्ने र बढीमा सात वर्षमा परियोजना सम्पन्न गर्ने लक्ष्य सार्वजनिक गरिएको थियो । फिल्म सिटीमा विश्वस्तरको प्रविधिसहित ‘इन्डोर’ तथा ‘आउटडोर’ छायाङ्कन गर्न सकिने पूर्वाधार निर्माण गर्ने योजना थियो ।

    परियोजनाअन्तर्गत करिब १६ वटा छायाङ्कन स्थल निर्माण गर्र्ने लक्ष्य राखिएको छ । पहिलो चरणमा १२ वटा छायाङ्कन स्थल निर्माण हुनेछ । यस्तै, तारे होटल, चलचित्र अध्ययन गर्ने कलेज, केबलकार, अग्र्यानिक फार्म, खेलकुदस्थल तथा नेपाल र विभिन्न देशका मौलिक पहिचान झल्किने संरचना निर्माण गर्ने योजना थियो ।

    घोषणा भएको सात वर्ष बितिसक्दा पनि योजना निर्माणको चरणमा पुग्न सकेको छैन । प्रारम्भिक घोषणा र तयारीपछि ठोस रुपमा काम अघि बढ्न नसक्दा महत्वाकाङ्क्षी योजना घोषणामा नै सीमित भएको छ । बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालका अनुसार सुरुमा योजनाका मुख्य लगानीकर्ता रहेको इटालियन व्यवसायीसहित सम्बन्धित व्यक्तिसँगको सहकार्यमा योजना अघि बढाउने प्रयास भएको थियो । कोरोना महामारीका क्रममा प्रमुख लगानीकर्ताको निधन भएपछि काम प्रभावित भएको उनले बताए ।


    त्यसलगत्तै, जापानी व्यवसायी तथा लगानीकर्तासँग परियोजना अघि बढाउने विषयमा छलफल तथा पहल भए पनि त्यसले अपेक्षित गति लिन नसकेको नगर प्रमुख अर्यालले बताए । नेपाली कम्पनीका प्रतिनिधि आकाश अधिकारी हाल जापानमा बस्दै आएकाले पनि योजना अघि बढाउने विषयमा आवश्यक पहल हुन सकेको छैन । “लमजुङमा फिल्म सिटी निर्माण हुन सके पर्यटन, चलचित्र क्षेत्र र समग्र जिल्लाको विकासमा ठूलो योगदान पुग्ने थियो,” नगर प्रमुख अर्यालले भने, “योजना पूर्णरूपमा समाप्त भएको छैन । यसको सम्भावना अझै जीवित छ । ढिलै भए पनि योजना अघि बढाउन नगरपालिकाले आफ्नोतर्फबाट सक्दो पहल गर्नेछ ।”

    योजनाका प्रवर्तक अधिकारीसँग प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन । लमजुङका स्थानीय रहनु भएका कलाकार अभया बरालले लमजुङमा फिल्म सिटी निर्माण हुने घोषणा हुँदा चलचित्रकर्मी र जिल्लावासी दुवै उत्साहित भएको बताए ।

    नेपालमै अन्तरराष्ट्रियस्तरको फिल्म सिटी निर्माण हुने कुरा नेपाली चलचित्र क्षेत्रका लागि मात्र नभई लमजुङकै गौरवको विषय भएको उनको भनाइ छ । “फिल्म सिटी निर्माण हुने कुरा सार्वजनिक हुँदा चलचित्रकर्मी र लमजुङवासी निकै उत्साहित भएका थियौँ । यसले नेपाली चलचित्रलाई नयाँ उचाइमा पु¥याउनाका साथै लमजुङलाई चलचित्र र पर्यटनका माध्यमबाट विश्वसामु चिनाउने ठूलो अवसर सिर्जना गर्ने अपेक्षा थियो,” बरालले भने ।


    लामो समयसम्म काम अघि बढ्न नसक्दा केही निराशा छाएको उल्लेख गर्दै उहाँले ढिलै भए पनि योजना पुनः अघि बढने विश्वास व्यक्त गरे । प्राकृतिक, सांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न लमजुङमा विगतदेखि नै नेपाली चलचित्र तथा म्युजिक भिडियो छायाङ्कन हुँदै आएका छन् ।

    हिमाली तथा पहाडी भूगोल, ग्रामीण बस्ती र प्राकृतिक सौन्दर्यका कारण लिमजुङ चलचित्र छायाङ्कनका लागि आकर्षक गन्तव्यका रूपमा परिचित छ । फिल्म सिटी निर्माणको योजना कार्यान्वयनमा आए लमजुङ चलचित्र छायाङ्कनको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुनेछ । त्यसका अलावा पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा योगदान पुग्नेछ । वर्षौंअघि घोषणा गरिएको योजना कहिले कार्यान्वयनमा आउँछ भन्ने विषय अझै अनिश्चित छ ।

  • बाढी प्रभावित बालबालिकाको तस्विर, श्रव्यदृश्य सामग्री सामाजिक सञ्चालनमा नराख्न अपिल

    बाढी प्रभावित बालबालिकाको तस्विर, श्रव्यदृश्य सामग्री सामाजिक सञ्चालनमा नराख्न अपिल

    काठमाडौँ, १६ भदौः राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको तस्विर तथा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जाल एवं सञ्चारमाध्यममा पोष्ट नगर्न सम्बन्धित सबैमा अपिल गरेको छ । परिषद्का अधिकृत एवं सूचना अधिकारी रामबहादुर चन्दले आज एक सूचना जारी गर्दै बालबालिकाको गोपनीयता राख्नुपर्ने भएकाले त्यस्ता सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गरेका छन् । सूचनामा भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराएको कुनै पनि तस्विर तथा श्रव्यदृश्य सामग्री सार्वजनिक नगर्न उल्लेख गरिएको छ ।

    फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिङ्क्डइन थ्रेड, स्नापचाट, भाइबर, ह्वाट्एप, एक्सरटिव्टरलगायत सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा बालबालिकाको गोपनीयता तथा मर्यादाको सम्मान गर्न, पालना गर्न एवं पीडित तथा प्रभावित बालबालिकाको तस्विर तथा श्रव्यदृश्य सामग्री प्रविष्ट नगर्नरनगराउन परिषद्ले विभिन्न सङ्घसंस्था, सरोकार भएका निकायलगायत सबैमा अपिल गरेको छ ।

  • उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्न अधिकारकर्मीको सरकारलाई आग्रह

    उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्न अधिकारकर्मीको सरकारलाई आग्रह

    काठमाडौँ, १६ भदौः अधिकारकर्मीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणमा प्रभावकारी समन्वय अघि बढाउन आग्रह गरेका छन् । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै अधिकारकर्मीले मृतकका परिवारप्रति समवेदना तथा सम्पर्कविहीनको सकुशल उद्धारको कामना गरेका हुन् ।

    उद्धार तथा राहतमा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै अधिकारकर्मीद्वारा जारी संयुक्त वक्तव्यमा स्थानीय तहको सहभागिताबिना राहत तथा पुनःस्थापनाको काम प्रभावकारी हुन नसक्ने भएकाले जनाइएको छ । राहत वितरणमा सरकारी तथा नागरिक संस्थाको सहभागिता बढाउन, एकीकृत सूचना प्रणाली स्थापना गरी विपद्सम्बन्धी सही सूचना तत्काल प्रवाह गर्ने व्यवस्था मिलाउन तथा सञ्चारमाध्यमलाई समाचार सङ्कलनमा सहज वातावरण बनाउन माग गरिएको अधिकारकर्मी तिलोतम पौडेलले बताए ।


    उनका अनुसार बालबालिका, महिला, ज्येष्ठ नागरिकलगायत प्रभावित समूहका लागि स्वास्थ्य, शिक्षा तथा मनोसामाजिक सहयोगलाई प्राथमिकता दिन र सम्भावित सरुवा रोग नियन्त्रणका लागि तत्काल कदम पनि चाल्न आग्रह गरिएको छ । अस्मिता सापकोटा, अजित आचार्य, अभिषेक अधिकारी, डा बिमला राई पौड्याल, विष्णुप्रसाद पोखरेल, धनबहादुर मिजार, डा गोपालकृष्ण शिवाकोटी, इन्द्र अर्याल, इन्दु तुलाधर, कनकमणि दीक्षित, कृष्ण गौतम, डा पद्मप्रसाद खतिवडा, भगवती अधिकारी, भक्त विश्वकर्मा, बद्री भूसाल, मोनिका निरौला, नीतु पोखरेल, निराजन थपलिया, नानीमाया थापा, डा प्रकाश भट्टराई, सरोज नेपाल, सञ्जय शर्मा, सावित्री थापा, शिव खकुरेल, सुजित साक्सेना, शोभाकर बुढाथोकी, शुशील प्याकुरेल, सुशील विक, सुवोध प्याकुरेल, सोम निरौला र तिलोतम पौडेलले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

  • भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङः ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

    भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङः ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

    काठमाडौँ, १६ भदौः गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले भने, “हामीले प्रयास जारी राखेका छौँ, आशा मारेका छैनौँ । सुरुङको माथिल्लो भाग पत्ता लगाएर खोज तथा उद्धारको प्रयास गरिएको छ । राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन ।”

    गृहमन्त्री गुरुङले बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धारका लागि भएभरको संयन्त्र परिचालन गरिएको बताए । “सुरक्षा संयन्त्रले पूरा शक्तिका साथ काम गरिरहेको छ, त्रिशूली–३ ‘ए’ मा खोजीका लागि जाँदा दलदल थियो, एक्साभेटरसमेत डुबेको थियो”, उद्धारका प्रयासबारे जानकारी दिँदै उनले भने, “अहिले सुरुङको क्राउनसम्म पुग्न सफल भएका छौँ, विद्युत् गृहको माथिबाट खनेर जान सकिन्छ कि भनेर प्रयास गरिरहेको छौँ ।”

    सरकारले खोज तथा उद्धारका लागि विदेशी सहयोग लिन नचाहेको भन्ने विषयमा कुनै सत्यता नरहेको उनको स्पष्टोक्ति थियो । “विभिन्न टनेलमा ड्रोन पनि पठाइएको छ । सुरुङभित्रको उद्धारको अझै पनि प्रयास जारी छ, अझै आशा बाँकी नै छ”, उनले भने, “सुरूङभित्र रहेका मानिस त्यहीँको पानी खाएर रहनुभएको छ कि भन्ने आशा छ ।”

    उनले विपद्पछिको खोज, उद्धार र राहतका लागि उपलब्ध स्रोत साधनको उच्चतम् प्रयोग गरिएको जानकारी दिए । गृहमन्त्रीले बाढी प्रभावित क्षेत्रमा ९ बजेर १५ मिनेटमा पूर्वसूचनाको एसएमएस पठाइएको जानकारी दिँदै त्यसलगत्तै सुरक्षाकर्मीले तटीय क्षेत्रमा सुरक्षित स्थानमा जान माइकिङ गरिएको जानकारी दिए ।

  • भोटेकोशी बाढीमा ज्यान गुमाउने नागरिकको संख्या एक हजार कट्यो, चार हजार ६०६ सम्पर्कविहीन

    भोटेकोशी बाढीमा ज्यान गुमाउने नागरिकको संख्या एक हजार कट्यो, चार हजार ६०६ सम्पर्कविहीन


    काठमाडौँ, १६ भदौः रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा पेर मृत्यु भएकामध्ये एक हजार ६८ जनाको शव फेला परेको छ । बाढीमा परी अझै चार हजार ६०६ जना सम्पर्कविहीन रहेका नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आजसम्म फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ४०० जना आंशिक अङ्गसहितका रहेका छन् ।

    नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ४५३ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । नुवाकोटमा दुई हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौँमा ३२९ जना होल्डिङ सेन्टरमा छन् । बाढीपछि उद्धार गरिएकामध्ये तीन हजार २१४ पुरुष, एक हजार ५३० महिला र पहिचान नखुलेका १४ जना रहेका छन् । बाढीपछि उद्धार कार्यलाई तीव्र बनाइए पनि अझै मानिस सम्पर्कविहीन रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार बाढीमा परी मृत्यु भएका तथा फेला परेका शवको व्यवस्थापनसमेत भइरहेको छ । हालसम्म ५८ वटा शव सम्बन्धित परिवार तथा आफन्तलाई हस्तान्तरण गरिएको छ । प्रवक्ता काफ्लेका अनुसार शवको पहिचान तथा व्यवस्थापनको प्रक्रिया पनि सँगसँगै अघि बढाइएको छ ।

    सम्पर्कविहीनको विवरणमा दुई हजार ३१५ स्वदेशी पुरुष, ३६८ स्वदेशी महिला, २५१ विदेशी पुरुष, ३३० विदेशी महिला, अन्य दुई तथा फोनबाट टिपाइएका एक हजार ३४० गरी चार हजार ६०६ जना रहेका प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, शव व्यवस्थापन तथा सम्पर्कविहीनको विवरण सङ्कलनलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।

    भोटेकोशीमा आएको आकस्मिक बाढीबाट रसुवासहित नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढीपछि विभिन्न सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सम्बन्धित निकायको समन्वयमा उद्धार, राहत तथा प्रभावितको व्यवस्थापन कार्य सञ्चालन भइरहेको छ ।

  • रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

    म्याग्दी, १६ भदौः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको चिमखोलाका तीन जना किसानले सामूहिक रुपमा पालिकामै पहिलोपटक चौँरीगाईपालन सुरु गरेका हुन् । कालीबराह कृषि तथा पशुपन्छी फार्ममार्फत स्थानीय धनप्रसाद गर्बुजा, धनकुमारी पुर्जा र प्रदीप पाइजाले चौँरीपालन गरेका छन् । उच्च, मध्य पहाडी र हिमाली क्षेत्रमा समेटिएको रघुगङ्गामा यसअघि चौँरीपालन भएको थिएन् ।

    “म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–५ स्वाँतबाट ९८ वटा चौँरी ल्याएर कुइनेमङ्गलेको हिमाली क्षेत्रमा पर्ने रिखारमा चराउन लगेका छौँ,” धनप्रसादले भने, “पर्याप्त चरनक्षेत्र भएको, खेती हुन छाडेर बाँझिएका जमिनलाई उपभोग गर्न सकिने, अनुकूल हावापानी र मौसम तथा बजारको सम्भावना भएकाले चौँरीपालन गरेका हौँ ।”

    याकको मासु र चौँरीको दूधबाट छुर्पी बनाएर बिक्री गर्ने लक्ष्य रहेको फार्मका सञ्चालक धनप्रसादले बताए । उनका अनुसार चौँरीपालनमा तीन जनाको रु ६० लाख लगानी भएको छ । नयाँ जन्मने बाच्छाबाच्छी हुर्काउँदै फार्ममा चौँरीगाईको सङ्ख्या बढाउँदै लैजाने लक्ष्य राखिएको छ ।

    धनप्रसाद गाउँमै खेती किसानी, गाईभैँसी र बङ्गुरपालन गरेर बस्दै आएका छन् । धनकुमारी बेनीमा होटल व्यवसाय र प्रदीप निर्माण व्यवसायी हुन् । उनीहरुले चौँरी फार्ममा एक जनालाई रोजगारी पनि दिएका छन् । बर्खामा हिमाल फेदीको बुकीमा लगिने चौँरीका लागि हिउँदमा बेँशीका फाँटमा चरनको सुविधा रहेको छ ।

    समुद्री सतहदेखि दुई हजार मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइको हिमाली क्षेत्र चौँरीपालनका लागि उपयुक्त मानिन्छ । चौँरीगाईलाई परम्परागत समाजमा हिमाली क्षेत्रमा दूध उत्पादन, सामान ढुवानी तथा मासुको लागि पाल्ने गरेको पाइन्थ्यो । डोल्पा, हुम्ला, मुगु, जुम्ला, मुस्ताङ, मनाङ, लमजुङ, गोरखा, सिन्धुपालचोक, दोलख, रामेछाप, सोलुखुम्बु, सखुवासभा, ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा र रसुवाको हिमाली क्षेत्र पर्ने माथिल्लो मुख्य स्थान चौँरीगाईको पकेट क्षेत्र हुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोपारा क्षेत्रमा विसं २०६० को दशकदेखि चौँरीपालन हँुदै आएको छ । देशभर करिब ११ हजार पाँच सय चौँरीगाई रहेको पशुपन्छी मन्त्रालयको तथ्याङ्क रहेको छ ।

  • मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

    मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु


    मुस्ताङ, १६ भदौः जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरुआत गरिएको छ । जिल्लास्थित सरोकारवाला निकायहरुले जिल्लामा छिटो पाक्ने स्याउ टिप्ने समय यही भदौ १५ गते तोकिएसँगै किसान तथा व्यापारीले धमाधम छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरेका हुन् । जिल्लाको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण गर्न जनाउँदै जिल्ला समन्वय समितिको पहलमा पाँच स्थानीय तहका जनप्रतिनिधि, कृषि तथा पशु विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, स्थानीय प्रशासन र कृषक प्रतिनिधिहरुको रोहबरमा मुस्ताङमा छिटो पाक्ने र ढिलो पाक्ने स्याउको टिपाइ कार्यतालिका सार्वजनिक गरेका थिए ।

    यहाँ उत्पादन हुने स्याउको गुणस्तर राम्रो हुने तथा बजारको मागसमेत पूर्ति हुने र स्याउको ख्याति राम्रो हुने र स्याउमा गुलियोपना हुनु पर्ने जोड दिदै छिटो पाक्ने स्याउ यही भदौ १५ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि टिप्न पाईने निर्णय गरिएको थियो । कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा लालमणि अर्यालले जिल्लामा छिटो पाक्ने स्याउ सोमबारबाट टिप्न सुरु भएको बताए । उनका अनुसार मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा छिटो पाक्ने अर्लि भेराईटीका गाला र गोल्डेन जातको स्याउ टिपाई सुरु भएको हो ।

    कार्यालय प्रमुख अर्यालयका अनुसार उच्चघनत्व प्रविधिमा आधारित ९हाइब्रिड० जातको गाला र गोल्डेन स्याउको धमाधममा कृषकको बगैचाहरुमा ‘पोस्ट हार्भेस्ट’ भइरहेको छ । जिल्लामा उत्पादित छिटो पाक्ने स्याउ हरितालिका तीज पर्वलाई लक्षित गरी कृषक तथा व्यापारीहरुले स्याउ टिप्न सुरु गरेको कार्यालय प्रमुख अर्यालयको भनाइ छ । किसान भीम गुरुङको स्याउ बगैँचामा पनि सोमबारदेखि धमाधम छिटो पाक्ने जातको स्याउ टिपाइ सुरु गरेको ग्रीन मुक्ति कृषि तथा पशुपन्छी विकास फार्मका व्यवस्थापक राम तामाङले जानकारी दिनुभयो । जिल्लास्तरीय बोर्ड बैठकको स्याउ टिप्ने कार्यतालिकाअनुसार आफूहरुको फार्ममा स्याउको पोस्ट हार्भेस्ट तथा स्याउ ढुवानी गरी काठमाडाँै पु¥याउने तयारी भइरहेको बताए ।

    स्थानीय भीम गुरुङको स्याउ बगैँचामा स्याउ टिप्ने, स्याउलाई क्रेटमा राखेर स्टोरमा पु¥याउने, स्याउको ग्रेडिङ, नापतौल र प्याकेजिङलगायत स्याउ लोड गर्ने कार्यका लागि करिब तीन दर्जन कामदार परिचालित गरिएको छ । व्यवस्थापक तामाङले ४० रोपनीमा उत्पादन भएको हाइब्रिड छिटोपाक्ने स्याउ हार्भेस्ट गरी दुईदिन भित्र काठमाडौँ पु¥याउने योजना रहेको बताए । उनका अनुसार उच्चघनत्वको हाइब्रिड स्याउको टिपाइ सुरु भए पनि स्थानीय जातको लोकल स्याउ भदौपछि मात्रै हार्भेस्ट गरिने बताए ।


    यसैगरी घरपझोङ–५ ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मको स्याउ टिप्ने योजना रहेकोमा काठमाडौँ पु¥याउने सडक अवरुद्ध भएकाले केही दिनपछि मात्रै टिपाइ सुरु गर्ने योजना रहेको व्यवस्थापक आइतराम तामाङले जानकारी दिए । फार्ममा उत्पादन हुने छिटो र ढिलो पाक्ने सबै स्याउ काठमाडौँमा बजारिकण गर्ने सोच रहेको व्यवस्थापक तामाङको भनाइ छ ।

    जिल्लामा स्याउको यहाँ सुरु भएसँगै यहाँका स्याउ बगँैचामा लटरम्म स्याउ फल्न थालेका छन् । स्याउको सिजन सुरु भएसँगै मुस्ताङमा स्याउ व्यापारीहरुको चहलपहल बाक्लिएको छ । स्याउ व्यापारीहरुले साउनअगावै किसानको बगैँचामा पुगेर बैनापट्टा गरिसकेपछि स्याउको बिक्री वितरणका लागि स्याउ सङ्कलन गर्न मुस्ताङ आउने गर्छन ।

    जिल्लामा गत वर्ष करिब ९० करोड बढीको स्याउ उत्पादन भएको थियो । कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार गत वर्ष मुस्ताङमा उत्पादित स्याउमध्ये ८० प्रतिशत जिल्ला बाहिर निकासी भएको थियो भने २० प्रतिशत स्याउ जिल्लामै खपत भएको थियो । मुस्ताङमा करिब एक हजार ४०० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको छ । पछिल्लो समय मुस्ताङका किसान छिटो र छरितो रुपमा उत्पादन दिनसक्ने उच्चघनत्व प्रविधिको हाइब्रिड स्याउखेतीतर्फको आकर्षण बढ्दै जान थालेको छ ।

  • सुदूरपश्चिममा गौरा पर्व सुरु स् घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु स् घरघरमा बिरुडा राखी मनाइँदै


    डडेल्धुरा, १६ भदौः सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरुआत भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरुडा राखि मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । आज व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेँडागुडी) भिजाएर गौराको सुरुआत गरिन्छ ।

    तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु हुने आलिताल डडेल्धुराका ७८ बर्षिय खगेस्वरी भट्टले बताए ।

    “एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचर्यको पालना गरी बिरुडा पञ्चमीको दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाँडामा भिजाउने गरिन्छ”, उनले भने, “बिरुडा भिजाउँदा माङ्गलकी सगुन फाँग गाउँछौँ ।” बिरुडा भिजाउने बेला महिलाले डोटेली भाषामा सगुन तथा बिरुडा भिजाउने बेलाको फाग गाउने चलन छ ।

    फागमा सबै नारी गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजी दिन महादेव (डोटेली भाषामा मयासर)लाई नगरमा गएर मागी ल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने संस्कृतिका जानकार मुरलीधर अवस्थिले बताए । “मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्नुभन्दा गौराले जिद्दी गरेपछि उनकै आग्रह बमोजिम नगरमा कलौँ बिरुडी खोज्न गएको प्रसङ्ग फागमा आउँछ”, उनले भने, “यो पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुबधागो लाउने पर्व पनि हो ।” यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने चलन छ ।

    सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाइ ‘गौराघर’ मा भित्राइने व्रतालु सरस्वती अवस्थी बताउँछिन् । “गौरा हाम्रो ठूलो पर्व हो, पुरुषजस्तै नारीले पनि यज्ञोपवीतका रूपमा दुबधागो लगाउने गछौँँ”, उनले भनिन्, “गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि कायम हुन्छ ।”

    अष्टमीअर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथ गौरा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ अठवाली गीत, चैत, धमारी, राजा महाराजाका वीरगाताका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि ठाउँठाउँमा देउडा खेलिने चलन छ ।

    प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरा देवीको रूपमा पूजाअर्चना गरिँदै आएको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो । यो पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्छ ।

    शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्त्वका साथ हेर्ने गरिन्छ। गौराकै अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा गौरा कार्यक्रम राखिएको छ । गौराको अवसरमा सुदूरपश्चिमका लोकगीत देउडा, डुस्को, धुमारीलगायत विविध गतिविधि ठाउँ ठाउँमा गरिन्छन् ।

  • ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन


    नारायणगढ (चितवन), १६ भदौः रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।

    भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ १० गते रातिदेखिनै सुरक्षाकर्मीले त्रिशूली नदीबाट सङ्कलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेका थिए । यही भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डिएनएलगायत जैविक नमूना सङ्कलन तथा अभिलेखीकरणको काम सुरु गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशूली र नारायणी नदीबाट ३२१ शव सङ्कलन गरिएको छ । तीमध्ये १२ शवको सनाखत भई आफन्तले बुझिसकेका छन् । सङ्कलित शवमध्ये ६६ महिला, ११६ पुरुष, सात बालक, छ बालिका र १२६ पहिचान खुल्न नसकेका वा अवस्था नखुलेका शव रहेका छन् ।
    उनले भविष्यमा पहिचान गर्न सकिने गरी अन्तरराष्ट्रिय मान्यताअनुसार देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा ती शवको व्यवस्थापन गरिएको बताए । भदौ १३ गते ९६ शव, भदौ १४ गते १०३ शव र भदौ १५ गते ८१ शव व्यवस्थापन गरिएको हो ।

    प्रहरी उपरीक्षक पौडेलले नदी किनारमा शव खोज्ने कार्य अझै दैनिक रूपमा जारी रहेको बताए । नदीबाट फेला परेका शव भरतपुर अस्पताल ल्याई फरेन्सिक परीक्षण र डिएनए नमूना सङ्कलन गरेपछि देवघाटस्थित व्यवस्थापनस्थलमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य निरन्तर भइरहेको उनले जानकारी दिए ।

  • बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण


    काठमाडौँ, १६ भदौः विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरुलाई आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’, मनोसामाजिक परामर्श लगायत सेवा प्रभावित क्षेत्रमा प्रदान गर्न थालिएको छ । यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीमा बच्न सफल भएका उनीहरुलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) को सहकार्यमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले आवश्यक पर्ने सामग्री वितरण जारी राखेका छन् ।

    आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य परियोजनामार्फत घरबारसहित आफन्तजन गुमाएर पीडामा रहेका महिलाहरुलाई मर्यादा सामग्री (डिग्निटी कीट), किशोरीहरुलाई ‘किशोरी कीट’ सहित तालपोलियन वितरण जारी रहेको छ । साथै प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सेवा (हेल्थ क्याप) सञ्चालन गरेर उनीहरुको स्वास्थ्य रक्षा गर्न लागिएको छ ।

    हालसम्म दुईहजार ‘डिग्निटी कीट’, चारसय ‘किशोरी कीट’ र तीनहजार तारपोलियन वितरण भैसकेको यहाँस्थित ‘युएनएफपिए’ ले जनाएको छ । स्वास्थ्य शिविर सेवा अत्यावश्यक स्वास्थ्य सेवासहित मनोसामाजिक परामर्श, यौन तथा प्रजनन स्वास्थ्य सेवा जारी छ । नुवाकोटका विभिन्न अस्थायी आश्रयस्थलमा आश्रित भएका महिला तथा किशोरीका दैनिक आवश्यकतालाई ध्यानमा राख्दै ती सेवा जारी रहेको ‘युएनएफपिए’ उल्लेख गरेको छ ।

    अस्थायी आश्रयस्थल–ककनी÷किस्पाङ क्षेत्र, त्रिभुवन मावि, विदुर, बट्टार तामाङ प्लाजा र सामुदायिक बहुउद्देश्यीय भवन विदुरलगायतका स्थानमा रहेका प्रभावित महिला तथा किशोरीहरूलाई ‘डिग्निटी कीट’ उपलब्ध गराइएको र धादिङ र रसुवाका प्रभावित महिला तथा किशोरीहरूका लागि समेत ‘डिग्निटी कीट’ वितरण गर्ने तयारी भइरहेको छ नेपाल रेडक्रसले जनाएको छ ।

  • रास्वपा सभापतिले राष्ट्रपति पौडेलसँग गरे बाढी पहिरोको अवस्थाबारे व्रिफिङ

    रास्वपा सभापतिले राष्ट्रपति पौडेलसँग गरे बाढी पहिरोको अवस्थाबारे व्रिफिङ


    काठमाडौँ, १५ भदौः राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन् । राष्ट्रपतिको कार्यलयमा आज भएको उक्त भेटमा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोसी हुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट भएको क्षतीसँगै उद्धार तथा राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराउनुभएको रास्वपाले जनाएको छ । सभापति लामिछानेले आजै प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएपछि सोबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।

  • जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी, नतिजा के छ ?

    जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी, नतिजा के छ ?


    काठमाडौँ, १५ भदौः सरकारले रसुवा बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी राखेको जनाएको छ । नेपाली सेनाले ती आयोजनामा विभिन्न देशका विज्ञ टोलीसहित खोज तथा उद्धार गरिरहेको हो । नेपाली सेनाले दिएको जानकारीअनुसार विभिन्न जलविद्युत् आयोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरिसकेको छ । नेपाली सेनाको टोलीले रसुवागढी जलविद्युत् आयोजनाबाट दुई जनाको उद्धार गरेको छ ।

    उक्त आयोजनामा चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीले सुरुङको भित्री भागसम्म खोजी गरेको थियो । सेनाका अनुसार रसुवाको लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाका लागि नेपाली सेनासँगै भारतीय उद्धार टोली र केही नेपाली सहयोगीहरूले आज बिहानदेखि सुरुङको मुख खोल्ने काम गरिरहेका छन् । नेपाली सेनाले मैलुङ खोला जलविद्युत् आयोजनाबाट नौ जनाको उद्धार भइसकेको जनाएको छ ।

    माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट २५४ जनाको उद्धार भइसकेको छ । उक्त आयोजनाको सुरुङमा खोज तथा उद्धारको प्रयास भइरहेको छ । उक्त आयोजनामा नेपाली सेनासँगै कोरियन र चिनियाँ टोलीले काम गरिरहेको सेनाको भनाइ छ । नुवाकोट माथिल्लो त्रिशूली थ्री ‘ए’ को सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गरी ९० जनाको टोलीले खोज तथा उद्धारको प्रयास गरिरहेको छ । उक्त स्थानमा नेपाल विद्युत् प्राधिकरणको टोलीले पनि सहयोग गरिरहेको छ ।

    माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाले दुई जनाको उद्धार गरिसकेको छ । हाल उक्त आयोजनामा नेपाली सेनाका थप नौ जना परिचालन गरी कूल ३१ जनाले खोज तथा उद्धारको काम गरिरहेका छन् । यहाँ चिनियाँ उद्धार टोलीले रेकी गरेपछि नेपाली सेनाले खोज तथा उद्धारको प्रयास सुरु गरेको हो । नुवाकोटको त्रिशूली जलविद्युत् आयोजनाबाट तीन जनाको उद्धार भइसकेको छ । सौर्य आयोजनाबाट चार जनाको र देवीघाट जलविद्युत् आयोजनाबाट पाँच जनाको उद्धार भइसकेको नेपाली सेनाले जनाएको छ ।

  • भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन

    भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन

    गोरखा, १५ भदौः भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट त्रिशूली नदीले बगाएर गोरखाका नदी क्षेत्रमा फेला परेका थप सात शव आज व्यवस्थापन गरिएको छ । गोरखास्थित गण्डकी गाउँपालिका र सहिदलखन गाउँपालिकाको क्षेत्रभित्र फेला परेकामध्य तत्काल पहिचान हुन नसक्ने थप सात शव आज अस्थायी रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । गोरखामा शनिबारदेखि शव व्यवस्थापन गर्न सुरु गरिएको हो ।

    पहिचान गर्न सकिने सग्लो शव पोखरा पठाउने गरिएको जनाउँदै पहिचान गर्न समस्या हुने किसिमका शवलाई लुदीखोला घाटमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।


    भोटेकोशी बाढीले रसुवालगायत क्षेत्रबाट बगाएर ल्याएका र पहिचान गर्न नसकिने अवस्थाका, सडेगलेका सात वटा शव प्रदेश अस्पताल गोरखामा पोष्टमार्टम गरी ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

  • भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धारको पछिल्लो अपडेट के छ ?

    भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धारको पछिल्लो अपडेट के छ ?

    काठमाडौँ, १५ भदौः रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको मजदुर र विदेशी पर्यटक गरी अझै तीन हजार ९०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन छन् । यही भदौ १० गतेको उक्त बाढीमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सारका कर्मचारी १५, अध्यागमनका कर्मचारी तीन, जलविद्युत् आयोजनाका कर्मचारी ६३९, विदेशी नागरिक ५९२, पर्यटकसँग घुम्न गएका १६४ नेपाली, रसुवाका ८६५, नुवाकोटका एक हजार ५५८, लाङटाङ राष्ट्रिय निकुञ्ज र क्वारेन्टाइन कार्यालयका तीनरतीन जना कर्मचारी अझै सम्पर्कविहीन छन् ।

    सरकारले सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार तीव्र पारेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीवन रक्षा गर्न हरसम्भव प्रयास जारी राखिएको स्पष्ट पारेका छन् । नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विशेषज्ञ टोलीले जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारको प्रयासलाई निरन्तरता दिएको छ ।

    त्रिशूली(३ ‘ए’ मा ‘टनेल हेड’ फेला परेको र ‘कम्प्रेसर’बाट हावा भित्र पठाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ । टनेलभित्रको पानी निकाल्नाका साथै तीन वटा एक्साभेटर प्रयोग गरी पछाडि रहेको वैकल्पिक मार्ग १५ मिटर खोलिएको सेनाले जनाएको छ । यस्तै त्रिशूली–३ ‘बी’ मा पनि विज्ञसहितको फौज खटिएर खोज तथा उद्धारको काम भइरहेको छ । विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रो टनेलको ३५ मिटर भित्रसम्म खोजी जारी राखेको छ ।

    माथिल्लो त्रिशूली–१ मा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले मैलुङमा २०० मिटर र हाँकुमा ३०० मिटरसम्म पुगेर खोजी गरेको छ । खोज तथा उद्धार कार्यका लागि संयुक्त उद्धार टोली रसुवागढी हाइड्रोको टनेलमा करिब २५० मिटरसम्म पुगी टनेलको बन्द भाग फेला पारेको छ । सो सुरुङमा कोही पनि फेला नपरेको सेनाले स्पष्ट पारेको छ । लाङटाङ हाइड्रोको टनेलबाट एउटा शव सङ्कलन गरिएको छ ।

    नौ सय ३९ शव फेला

    बाढीमा परी मृत्यु भएका ९३९ जनाको शव फेला परेको छ । रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, तनहुँमा ३८, चितवनमा २७९ वटा शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । पहिचान नखुलेका शवलाई सुरक्षितसाथ जमिनमा व्यवस्थापन गर्ने काम भइरहेको छ ।

    बाढीबाट प्रभावित भएका ११ हजार ३७९ जनाको उद्धार भएको छ । बाढीमा परी घाइते भएकामध्ये १६८ जना ‘डिस्चार्ज’ भइसकेका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी खोज तथा उद्धारमा २१ हजार ८०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

  • खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

    खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल


    चैनपुर (बझाङ), १५ भदौः खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन हजारदेखि तीन हजार ५०० मिटर उचाइमा फैलिएको खप्तडमा घुम्न आउने पर्यटक, गोठाला र तीर्थयात्रीका लागि सामान्य स्वास्थ्य समस्या पनि कहिलेकाहीँ ठूलो चुनौती बन्छ ।

    यसै भूगोलमा नेपाली सेनाले सञ्चालन गरेको मेडिकल भने खप्तड पुग्ने सबैका लागि भरोसाको केन्द्र बन्दै गएको छ । समरजित गुल्मले सञ्चालन गरेको मेडिकलबाट दैनिकजसो बिरामीले निःशुल्क स्वास्थ्य सेवा लिने गरेका छन् । सामान्य स्वास्थ्य समस्या लिएर आउने गोठालादेखि घुम्न आउने पर्यटकसम्म सबैका लागि उपचारको भरपर्दो गन्तव्य बनेको छ– मेडिकल ।

    बझाङको खप्तडछान्ना गाउँपालिका–६ की कला थापा सामान्य स्वास्थ्य समस्या हुँदा पनि उपचार गर्न खप्तड पुग्ने गरेको बताउँछिन् । गाउँ नजिकै स्वास्थ्यचौकी भए पनि आफूलाई सेनाको मेडिकलप्रति बढी विश्वास लाग्ने उनको अनुभव छ । “ठूलो बिरामी भएर होइन । सानोतिनो बिरामको उपचार गर्नुपर्दा सधैँ खप्तड पुग्छु”, थापा भन्छिन्, “खप्तडको दबाइले छिट्टै सञ्चो हुन्छ ।” उक्त मेडिकलमा औषधिमात्रै होइन, स्वास्थ्यकर्मीबाट राम्रो परामर्श पनि पाइने गरेको उनी बताउँछिन् ।

    खप्तडछान्नाकै तेजेन्द्र खड्काको अनुभव पनि उस्तै छ । खप्तडकोे स्वास्थ्योपचारप्रति उनको विश्वास बलियो छ । “उस्तै खालको औषधि पाए पनि खप्तडमा परामर्श असाध्यै राम्रो लाग्छ”, खड्का भन्छन्, “त्यसैले नजिकैको स्वास्थ्यचौकी छाडेर सानोतिनो बिराम लागे खप्तड पुगिहाल्छु । घरमा अरू बिरामी हुँदा पनि खप्तड लैजान्छौँ ।” हिउँदबाहेक वर्षायाममा छान्नाका विभिन्न गाउँका मान्छे नै खप्तड उपचारका लागि पुग्ने गरेको खड्काले बताए ।

    पर्यटकका लागि भरपर्दो सहारा

    खप्तडमा वर्षभरि पर्यटकको आवागमन भइरहन्छ । धार्मिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य मानिएको खप्तडमा विशेषगरी गर्मीयाममा पर्यटकको सङ्ख्या बढ्ने गर्छ । खप्तडको उचाइ, चिसो मौसम र लामो पैदलयात्राका कारण कतिपय पर्यटकलाई स्वास्थ्य समस्या देखिएपछि मेडिकल पुग्ने गर्छन् । लेक लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, शरीर कमजोर हुनेलगायतका समस्या लिएर मेडिकल पुग्ने गरेको नेपाली सेनाले जनाएको छ ।

    खप्तडछेडेदह गाउँपालिका–१ का धर्म रोकायाका लागि खप्तडमा उपचारको विषय आउँदा नेपाली सेनाको मेडिकल पहिलो विकल्प हो । “खप्तडमा आउँदा उपचारका लागिमात्र होइन, दुःखसुख पर्दा पनि नेपाली सेना नजिकको साथीजस्तो बनेको छ”, रोकाया भन्छन्, “पर्यटकका लागि त सेनाको मेडिकल निर्विकल्प जस्तै छ । कसैलाई चोटपटक लाग्दा पनि सहारा सेना नै छ ।”

    खप्तडजस्तो लेकाली तथा दुर्गम क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पाउनु आफैँमा ठूलो राहत हो । लेकमा स्वास्थ्य समस्या हुँदा फर्कन पनि कठिन हुन्छ । कतिपय अवस्थामा मौसम र भौगोलिक कठिनाइले झर्न सम्भव हुँदैन । त्यस्तो बेला सेनाको मेडिकलले स्थानीय र पर्यटकलाई तत्काल उपचार र आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउँदै आएको समरजित गुल्मका गुल्मपति विजय खत्रीले बताए ।

    मेलामा हजारौँलाई सेवा

    हरेक वर्ष खप्तडमा लाग्ने गङ्गादशहरा मेला, उकालु पूर्णिमामा लाग्ने खापर जगन्नाथ मन्दिर मेला तथा खापर जगन्नाथ ओरालु मेलामा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यी मेलामा विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा श्रद्धालु तथा पर्यटक पुग्ने गर्छन् । भीडभाड हुने समयमा स्वास्थ्य समस्या देखिन सक्ने सम्भावनालाई ध्यानमा राखेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यस्ता शिविरमा मात्रै हरेक वर्ष हजारौँ नागरिकले स्वास्थ्य सेवा लिने गरेको समरजित गुल्मले जनाएको छ ।

    शुक्रबार लागेको पूर्णिमा मेलामा मात्रै डेढ सय जनालाई निःशुल्क स्वास्थ्योपचार सेवा प्रदान गरेको थियो । “यो वर्ष मौसम प्रतिकूल हुँदा कम श्रद्धालु आए । सफा मौसम भए धेरै नै हुन्थे । उपचारमा आउनेको लाइन पनि लामै हुन्थ्यो”, सेनानी खत्रीले भने । मेलाका समयमा टाढाटाढाबाट आउने श्रद्धालु, स्थानीय तथा पर्यटकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर प्रभावकारी भएको उनले बताए ।

    सेनाको सेवा मेला र विशेष अवसरमा मात्रै सीमित नभई हरेक दिनजसो दर्जनभन्दा बढी बाहिरका बिरामीको उपचार गरिने सेनानी खत्रीले बताए ।

  • चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना

    चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना


    नारायणगढ (चितवन),१५ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत सामग्री सङ्कलन तथा व्यवस्थापन गर्न भरतपुरमा कक्ष स्थापना गरिएको छ । राहत सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका आधिकारिक बैंक खातामा समेत सहयोग जम्मा गर्न सकिने र कतिपय सङ्घसंस्थाले जिन्सी सामग्रीसमेत सहयोग गर्न चाहेको बुझिएकाले राहत सामग्री सङ्कलन तथा व्यवस्थापनका लागि कक्ष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङका अनुसार भरतपुर–१० स्थित चितवन उद्योग सङ्घको हलमा सोमबारदेखि राहत सहयोग सङ्कलन तथा व्यवस्थापन कक्ष सञ्चालन गरिन लागेको जानकारी दिए । मुग्लिन–काठमाडौँ सडकखण्डको कृष्णभीरमा सडक भासिएर सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको अवस्थाका कारण राहत सामग्री ओसारपसारमा समस्या हुनसक्ने भएकाले सहयोग गर्न इच्छुक सङ्घसंस्था तथा व्यक्तिको सहजताका लागि कक्ष स्थापना गरिएको उनले बताए ।
    शव सुरक्षित

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बगेर आएका आइतवारसम्म २७२ जनाको शव चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको त्रिशूली तथा नारायणी नदी तटमा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवहरूमध्ये हालसम्म १२ जनाको मात्र पहिचान भई आफन्तलाई बुझाइएको छ भने बाँकी शवहरूलाई भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधिबाट देवघाटमा सुरक्षित राख्न थालिएको हो ।

    नदी तटमा फेला परेका कूल २७२ शवहरूमा ६२ महिला, ११० पुरुष, सात बालक, छ बालिका र ८७ जना पहिचान खुल्न नसकेका अन्य छन् । यसमध्ये शनिवार ९६ र आइतवार १०३ गरी कूल १९९ शव सुरक्षित रूपमा गाडिएका छन् । सनाखत भई आफन्तले बुझेका १२ शवमा भने ११ पुरुष र एक बालिका छन् ।

  • कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन

    कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन


    काठमाडौँ, १५ भदौः काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विपद् व्यवस्थापन हेल्प डेस्क तथा विपद् सूचना केन्द्र सञ्चालनमा ल्याएको छ ।
    भोटेकोशी बाढीबाट प्रभावित व्यक्तिलाई सहयोग गर्न इच्छुक महानगरपालिकाभित्रका व्यक्ति, कम्पनी, संस्था तथा निजी क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्न, महानगरवासीमा परेको प्रभाव तथा क्षतिको विवरण सङ्कलन गर्न उक्त केन्द्र स्थापना गरिएको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

    त्यसबाट नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम हुने कार्यवाहक प्रमुख डङ्गोलको भनाइ छ । केन्द्रमा एक जनप्रतिनिधि र दुई कर्मचारी रहनेछन् । विभिन्न कामका बारेमा जानकारी लिन वा दिन केन्द्रको फोन नं ०१– ५३४०८८० मा सम्पर्क गर्न सकिनेछ । यस्तै विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालको फोन नं ९८४१३४९७३५ र मेट्रो एफएमका स्टेशन म्यानेजर केशवप्रसाद नेपालको फोन नं ९८४१२५०७८० मा पनि सम्पर्क गर्न सकिनेछ ।

    “बाढी सङ्कटग्रस्त क्षेत्रका आवश्यकता छिटोछिटो परिवर्तन भइरहेका छन् । आज अत्यावश्यक परेको वस्तु तथा सामग्री भोलि यथेष्ट हुन सक्छन्”, प्रभावित क्षेत्रबाट प्राप्त सूचना उद्धृत गर्दै कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, “आवश्यकता र उपलब्धताको सन्तुलन मिलाउन केन्द्रमा प्राप्त हुने तथ्य तथा विवरणले व्यवस्थापनको चित्र देखाउनेछ ।”

    उनले एकीकृत विपद् प्रतिकार्यमा जोड दिँदै, नगद सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न आग्रह गरिन् । “जिन्सी सामान वा सेवा प्रदान गर्न चाहनेलाई स्थानी आवश्यकताका आधारमा प्रभावितसम्म पुग्नका लागि सहजीकरण गरिदिनेछौँ ।” कामपाका विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले आपतमा परेका यात्रुलाई ल्याउन निःशुल्क यातायात, घाइते र बिरामी ल्याउन एम्बुलेन्स, शव ल्याउन शववाहन परिचालन भइरहेको जानकारी दिए ।


    वडाध्यक्ष हीरालाल तण्डुकारले महानगरपालिकाले अघि सारेको विपद् सङ्कट व्यवस्थापन कार्यलाई सहयोग पुर्याउन चालु आर्थिक वर्षमा आफूले प्राप्त गर्ने रु दुई लाख ४८ हजार प्रदान गर्ने बताए । विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले वडास्तरबाट विवरण सङ्कलन गरिने बताए ।

    बाढीबाट उद्धार गरिएका दम्पतीलाई उपचारपछि मानव सेवा आश्रममा

    यस्तै, महानगरपालिकाले रसुवा भोटेकोशी बाढीबाट घाइते एक दम्पतीलाई उपचारपछि मानव सेवा आश्रम लगेको छ । सीमा भन्सार क्षेत्रमा मजदुरी गर्ने उनीहरुलाई आश्रममा लगिएको कार्यवाहक प्रमुख डङ्गोलले जानकारी दिइन् । उनका अनुसार बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, सडक आश्रितको हेरचाह, औषधोपचार तथा लालनपालनका लागि मानव सेवा आश्रमलाई कामपाले सहयोग उपलब्ध गराएको छ । आश्रममा यस्ता व्यक्तिको मानवोचित व्यवस्थापन हुने गरेको छ ।

    आइतबार आश्रममा लगिएका दम्पतीको स्थायी बसोबास बाँके कोहलपुर हो । उनीहरू बाढीबाट बच्नका लागि हामफालेर भाग्दा घाइते भएका हुन् । बाढीमा परेपछि उद्धार गरेर श्रीमानलाई भदौ ११ गते दिउँसो र श्रीमतीलाई १२ गते साँझ अस्पताल ल्याइएको थियो । दुवै जना घाइते थिए । उपचारपछि उनीहरू आज बिहान डिस्चार्ज भएका हुन् ।

  • भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा

    भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा


    काभ्रेपलाञ्चोक, १५ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण काभ्रेपलाञ्चोकका ४१ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । सम्पर्कविहीन ४७ मध्ये हालसम्म आठ जना परिवारको सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयले हालसम्म जिल्लाका ४१ जना सम्पर्कविहीन अवस्थामा रहेको सूचीसहितको नामावली अद्यावधिक गरेको छ । कार्यालयले बुधबार नै सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका जिल्लाका नागरिकको अवस्था बुझ्न सम्बन्धित परिवारलाई सार्वजनिक अपिल गरेको थियो ।

    सो क्रममा हालसम्म सम्पर्कमा आएका आठबाहेक ४१ जना अझै सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार कुनै परिवारका सदस्य सम्पर्कविहीन अवस्थामा रहेको भए शीघ्र जानकारी गराउन अनुरोध गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा भ्रमणलगायत अन्य कामका सिलसिलामा पुगेका जिल्लाका नागरिकको अवस्था बुझ्न कार्यालयले पहल गरिरहेको छ ।

    यस्तै, सूचनामा बाढी प्रभावित क्षेत्रमा गएका नागरिकलाई तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी जिल्लास्थित प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय तथा स्थानीय तहमा विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । हालसम्म सम्पर्कविहीन अवस्थामा रहेकामा बनेपाका सात, तेमाल गाउँपालिकाका सात, धुलिखेलका छ, पाँचखाल र भुम्लुका चार–चार, पनौती, चौँरीदेउराली र बेथानचोकका तीन–तीन, मण्डनदेउपुर र रोशी गाउँपालिकाका एक–एक जना तथा ठेगाना नखुलेका काभ्रेपलाञ्चोककै एक जना रहेको कार्यालयले जनाएको छ ।

    यसैबीच बाढी प्रभावित क्षेत्रमा गएका नागरिकलाई पनि तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी तत्काल नजिकको प्रहरी कार्यालय तथा स्थानीय तहमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।

  • भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत


    चितवन, १५ भदौः रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ ।

    शवहरूको डिएनए नमूना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको उनले बताए । सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन् । डिएनए परीक्षण बेपत्ता भएकाको परिवारसँग मिलेमा राखिएको ठाउँबाट दिन मिल्ने गरी सङ्केत चिह्न राखेर शव व्यवस्थापन गरिएको छ ।

    यस्तै हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ अन्य (अवशेष) रहेका छन् । नदी किनारमा शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ ।

  • भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता

    भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता


    त्रिशूली (नुवाकोट), १५ भदौः भोटेकोशी नदीमा यही भदौ १० गते विहान आएको अकल्पनीय बाढीबाट अति प्रभावित तीन हजारभन्दा बढीको उद्धार गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले गए रातिसम्म बाढीका कारण अति प्रभावित भएका तीन हजार २९ जनालाई रसुवा र नुवाकोटको विभिन्न स्थानबाट उद्धार गरिएको जानकारी दिए ।


    तीमध्ये नेपाली नागरिक दुई हजार सात सय ७६ जना र विदेसी दुईसय ५३ जना रहेका छन् । पछिल्लो चौबिस घण्टामा छसय २४ जनाको उद्धार गरिएको प्रजिअ रेग्मीले जानकारी दिए । “बाढीबाट ज्यान जोगाइ सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेकालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।” प्रजिअ रेग्मीले भने, “उनीहरुको स्वास्थ्य जाँच गरेर उपचार आवश्यक पर्नेलाई सोही अनुसार स्वास्थ्य संस्थामा सिफारिस गरिएको छ भने बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको छ ।”

    भोटेकोशी बाढीमा फसेकालाई उद्धारअन्तर्गत जलविद्युत् आयोजनाको सुरुङभित्र रहेको भनिएकाबाहेकको उद्धार अन्तिम चरणमा पुगेको छ । तर रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका स्थानमा अझै केही फसेको हुनसक्छ भनेर नियमित रुपमा हेलिकप्टरमार्फत रेकी भइरहेको प्रजिअ रेग्मीको भनाई छ ।

    यसैगरी, भोटेकोशी बाढीमा परेर हराएको जनाउँदैै आइतबारसम्म एक हजार पाँचसयभन्दा बढी व्यक्तिको परिवारको निवेदन परेको छ । नुवाकोट र रसुवाको विभिन्न स्थानबाट आफ्नो आफन्त हराएको जनाउँदै खोजतलासको लागी एक हजार पाँचसय ५८ जनाको निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

    उनका अनुसार हराएका व्यक्तिको खोजतलासका लागि नेपाल प्रहरीको वेबसाइड, जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय र श्री नं १ सैन्य तालिम केन्द्र विदुरमा निवेदन दिन सकिन्छ । हराइरहेका तथा बाढीमा फसेकालाई खोज तथा उद्धारमा हेलिकोप्टर, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको सहयोगमा संयुक्त सुरक्षा फौजको टोली सक्रिय रहेको छ ।

    बाढीमा परेर ज्यान गुमाएकामध्ये हालसम्म नुवाकोटमा ९५ जनाको शव सङ्कलन भएको छ । नुवाकोटको विभिन्न ३० स्थानमा सयुक्त सुरक्षा टोली परिचालनमार्फत गरिएको खोज तथा उद्धारमार्फत ती शव सङ्कलन गरिएको हो । सङ्कलन भएको शवलाई पहिचानको लागि प्रहरीले तस्बिरसहितको विवरण सार्वजनिक गरेको छ । शवलाई नुवाकोटबाट परीक्षणको लागी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा पठाएकाले सम्बन्धित परिवारलाई अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

  • भोटेकोशी बाढीः अझै एक हजार ३२१ सम्पर्कविहीन

    भोटेकोशी बाढीः अझै एक हजार ३२१ सम्पर्कविहीन


    नुवाकोट, १४ भदौः भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट एक हजार ३२१ जना सम्पर्कविहीन भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आज उक्त तथ्याङ्क सार्वजनिक गर्दै नुवाकोट र रसुवाबाट हालसम्म दुई हजार ४५६ जनाको उद्धार गरिएको जानकारी दिए ।

    उद्धार गरिएकामध्ये दुई हजार २२५ जना नेपालीसहित र २३१ बाँकी विदेशी रहेका छन् । त्यसैगरी ६४ जनाको शव सङ्कलन गरिएको उनले बताए । “उद्धार गरिएकामा ५८ जना घाइते छन्”, उनले भने, “घाइतेको अवस्था हेरेर उपचारका लागि सोहीअनुसारका स्वास्थ्य संस्थामा पठाइएको छ ।” सम्पर्कविहीन हुनेमा एक हजार १०९ नेपाली छन् भने १५७ जना विदेशी छन् । त्यसैगरी पहिचान नखुलेका ५५ जना रहेका उनले बताए ।


    खोज तथा उद्धारमा माथिल्लो त्रिशूली थ्री ‘ए’ मा सुरक्षाकर्मी र विद्युत् प्राधिकरणका कर्मचारी गरी ८४ जना खटिरहेका प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए । त्यसैगरी थ्री ‘बी’ मा रेकी भई खोज तथा उद्धार भइरहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । थ्री ‘ए’ को सुरुङभित्र फसेको भनिएकाको उद्धारका लागि सुरुङ भएको स्थान पहिचानको प्रयास भइरहेको छ”, उनले भने, “आवश्यक यन्त्र तथा प्रविधि प्रयोग गरी उद्धार गर्ने प्रयास भइरहेको छ ।”

    प्रजिअ रेग्मीले उद्धारको काम निरन्तर भइरहेको बताउँदै अहिले शव व्यवस्थापनलाई पनि प्राथमिकता दिन थालिएको बताए । शव खोज तथा उद्धारका लागि ६०० सुरक्षाकर्मीको संयुक्त टोलीसहित हेलिकप्टर र तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । त्यसका लागि त्रिशूली नदी वारी र पारी गरेर ३० स्थानलाई मुख्य आधार क्षेत्र तय गरिएको छ । बाढीका कारण अवरुद्ध बनेका यस क्षेत्रका सडक सञ्चालनका लागि धमाधम काम भइरहेको प्रजिअ रेग्मीले बताए । उनका अनुसार गल्छी–देवीघाट सडक सञ्चालन गर्न ठूलो खोलास्थित क्षतिग्रस्त पक्की पुल मर्मत भइरहेको छ भने देवीघाटमा बेलिब्रिज जडान कार्य अघि बढाइएको छ ।

    त्यसैगरी, ढुङ्गे बजारक्षेत्रको अवरुद्ध सडक खुलाउन डोजर परिचालन गरिएको छ । ढुङ्गे र त्रिशूली बजार जोड्नका लागि तत्काललाई तुइन जडान प्रारम्भ गरिएको छ । “तुइन जडानका लागि लठ्ठा आइसकेको छ”, प्रजिअ रेग्मीले भने, “तत्काल तुइनबाटै भए पनि वारपार गर्न वैकल्पिक मार्ग प्रयोग गर्नेगरी प्रयास गरिएको छ ।” बाढी प्रभावितका लागि राहत सामग्री वितरणमा एकद्वार प्रणाली अपनाइएको छ । हालसम्म १४० सङ्घसंस्थाले राहत सामग्री उपलब्ध गराएका प्रजिअ रेग्मीले जानकारी दिए । उनका अनुसार प्राप्त राहत सामग्री गोदाम हलमा सङ्कलन गरी आवश्यकताका आधारमा होल्डिङ सेन्टरमा गाडी र हेलिकप्टरमार्फत ढुवानी भइरहेको छ ।

    बाढीग्रस्त क्षेत्रबाट उद्धार गरिएकालाई गाँसबासको व्यवस्था गर्न सञ्चालन गरिएका होल्डिङ सेन्टरको सङ्ख्यासमेत वृद्धि भएको छ । शनिबारसम्म १३ वटा होल्डिङ सेन्टर सञ्चालन गरिएकामा हाल यो सङ्ख्या १७ बनाइएको उनले बताए । होल्डिङ सेन्टरमा दुई हजार ४०३ जना बसिरहेका छन् ।

  • कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    काठमाडौँ, १४ भदौः पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका लागि वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ । त्रिशूली नदीमा गएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि आज कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग भासिएको हो । उक्त सडक भासिएपछि पृथ्वी राजमार्गमा आज बिहानैदेखि यातायात सञ्चालन प्रभावित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई तत्कालका लागि दुई वटा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । उहाँका अनुसार ठूला सवारीसाधन काठमाडौँ बाइरोड–नौबिसे–पालुङ–भैँसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना सवारीसाधन तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

    कान्तिलोकपथमा पहिरो गएर सडक अवरुद्ध भएकाले उक्त सडक पनि तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिए । उनले भने, हाँले भन्नुभयो, “कृष्णभीरमा आज बिहान सडक भासिएपछि सवारी सञ्चालनमा अवरोध भएको छ । हामीले वैकल्पिक सडकको प्रयोगका लागि आवश्यक पहल गरेका छौँ । अवरुद्ध कान्तिलोकपथ पनि खुलाउने कार्य भइरहेको छ ।”

    बाढी तथा पहिरोका कारण विभिन्न स्थानका सडक तथा राजमार्ग अवरुद्ध हुन थालेकाले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित यात्राका लागि आवश्यक जानकारी लिएर मात्रै सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।

    यसैबीच, सडक विभागका महानिर्देशक डा विजय जैसीका अनुसार कृष्णभीरमा भासिएको सडकको अवस्थाबारे अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली त्यसतर्फ पठाइएको छ । सडकको भौगोलिक अवस्था तथा क्षतिको विस्तृत अध्ययनपछि मर्मत तथा पुनःनिर्माणको प्रक्रिया अघि बढाइने छ ।

  • रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल

    रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल


    काठमाडौँ, १४ भदौः रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न २६ स्थानमा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार मात्रै प्रभावित दुई जिल्लामा तीन हजार ४५४ जनालाई आश्रय तथा राहत वितरण गरिएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतले नुवाकोटमा दुई हजार २७४ नागरिकलाई १६ वटा आश्रयस्थल तथा शिविरमा राखिएको जानकारी दिए । उनका अनुसार नुवाकोटको विदुर नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ ।

    साथै त्रिशूली ढुङ्गे क्षेत्र र सिमचैरका प्रभावितलाई सेफहाउस÷किरियापुत्री भवनमा, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कभर्ड हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ । बेत्रावती भैसे क्षेत्रका प्रभावितलाई सुन्दरी क्यैरीनी मावि, त्रिशूली बजार क्षेत्रका प्रभावितलाई कोलनी कभर्ड हल÷भैरुम मावि, रिमालडाँडा र इन्द्रायणी आविमा बनाइएका शिविरमा राखिएको छ ।

    विदुर–३ देवीघाट सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि÷वडा कार्यालयमा व्यवस्थापन गरिएको छ । विदुर–९ का प्रभावितलाई त्रिशूली आवि र शुलक्षणा माविमा राखिएको छ । बेलकोटगढीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किस्पाङ गाउँपालिका–५ का प्रभावितलाई कार्की मनकामना आवि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ ।

    प्राधिकरणका अनुसार विदुर–२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ को महादेव माध्यमिक विद्यालय र विदुर–९ को शुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली उपलब्ध रहेको छ । त्रिशूली नदी पारी रहेका क्षेत्रमा हाल हेलिकप्टरबाट मात्र पहुँच सम्भव भएकाले वैकल्पिक रूपमा गल्छीको पुल हुँदै आश्रयस्थलसम्म पुग्ने प्रयास भइरहेको छ ।

    रसुवा जिल्लामा बाढी प्रभावितको उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा अघि बढाइएको छ । जिल्लाका १० वटा अस्थायी आश्रयस्थलमा आइतबार मात्रै एक हजार १८० विपद् प्रभावित नागरिकले आश्रय लिएका छन् । स्थानीय तहको समन्वयमा उत्तरगया गाउँपालिका–२ को डाँडागाउँ, आमाछोदिङ्गो गाउँपालिकाका–१÷२ का हाकु, पाङलिङ र ग्रेमा आश्रयस्थल सञ्चालनमा छन् । गोसाइकुण्ड गाउँपालिका– १, २, ३, ५ का थुमन, दालफेदी, खैदी, बृद्धिम, लिङलिङ र स्याफ्रुबेँसी र आमाछोदिङ्गो गाउँपालिकाका–१ र २ का हाकु, पाङ्ग्रङ र ग्रेमा आश्रयस्थलहरू सञ्चालनमा छन् ।

    यी आश्रयस्थल तथा होल्डिङ सेन्टर व्यवस्थापनमा स्थानीय तहले नेतृत्वदायी भूमिका खेलिरहेका छन् । राहत सामग्री पुग्न नसकेको कुनै पनि स्थान नरहेको र भौगोलिक विकटताका कारण अधिकांश क्षेत्रमा हेलिकप्टरमार्फत राहत वितरण कार्य गरिएको छ । रसुवामा त्यहाँका प्रभावितका लागि धुञ्चेस्थित रसुवा जिल्ला अस्पताल, स्याफ्रुबेँसीमा वीर अस्पतालको टोली, हेलिक्षेत्रमा प्रादेशिक अस्पतालको टिम, रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी र हेलिक्षेत्रमा नेपाल आर्मीको स्वास्थ्य टोली उपचारमा सक्रिय छ । बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन र सुरक्षित स्थानमा राहत तथा औषधोपचार पु¥याउन स्थानीय प्रशासन तथा सुरक्षा निकाय उच्च सतर्कताका साथ लागि परेको बताइएको छ ।