एक अनुकरणीय प्रतिष्ठान गोपीकृष्ण स्मृति

  • योगेश आदी

पितापूर्वज, वंश मावाली नै व्यक्ति तथा परिवारको रक्तनली हुन्। संस्कृति, संस्कार र परंपराको सञ्चार यसैबाट हुन्छ । आफ्ना अग्रजको नाममा स्मरण एवम् सम्मानको हेतु उहाँहरुको योगदानउपर कदरस्वरुप प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने प्रचलन हरेक सभ्य समाजमा हुन्छ ।

खनाल परिवारले पिता गोपीकृष्ण खनालको नाममा विसं. २०७६ सालमा स्थापना गरेको ‘गोपीकृष्ण स्मृति प्रतिष्ठान’ यसैको उदाहरण हो । स्थापनापछि निरन्तर समाजसेवा र साहित्यमा पुर्याउँदै आएको योगदानको बदौलत आज यो प्रतिष्ठान सबैको लागि अनुकरण बनेको छ । झापाको बिर्तामोडमा अवस्थित यस प्रतिष्ठानका संरक्षक श्री रुपादेवी खनालले पुस्तकालय निर्माण, साहित्यिक पुरस्कार, धार्मिक सहयोग तथा गरिब असहायप्रति मानवीय सहयोग निरन्तर गर्दै प्रतिष्ठानको गरिमा उँचो राख्नुभएको छ ।

लेखन साहित्य र समाजसेवामा सक्रिय रहँदा गोरखा दक्षिणबाहु पदक पाउनु भएका पत्रकार, साहित्यकार, समाजसेवी स्व. गोपीकृष्ण खनालको असामयिक निधन ७१ वर्षको उमेरमा भएपछि परिवारजन तथा शुभचिन्तकको पहलमा यो प्रतिष्ठानको स्थापना भएको हो ।

मानिस कर्मले महामानव बन्छ । सही विचार र जीवनशैली भाविपुस्ताको लागि पथ बन्छ । मातापिताले पुर्याएको सामाजिक योगदानको कदर दरसन्तानले यस्ता सामाजिक प्रतिष्ठानमार्फत गर्ने प्रचलन समाजमा अझ बढी चल्नु जरुरी छ । थुप्रै पत्रपत्रिकामा आबद्दरहेका स्वर्गीय खनालका कयौं कृतिहरु प्रकशित छन् । समाजमा सन्तानले गर्वकासाथ नाम लिन सक्ने काम अग्रजले गर्ने र भावि सन्ततिले यस्तै स्मृति प्रतिष्ठान स्थापना गरेर सम्मान व्यक्त गर्ने प्रचलन चलिरहोस् ।

गोपीकृष्ण खनाल स्मृति प्रतिष्ठानको काम र योगदानको बारेमा बृस्तित जानकारी वेबसाइट् www.gkmemorial.org बाट लिन सकिन्छ । गत वर्ष प्रकाशित ‘गोपीकृष्ण खनाल स्मृतिग्रन्थ’ हात परेपछि मलाई समाजप्रति थप जिम्मेवारी बोध भएको छ । आदरणीय मनोज खनालज्यु तथा गीता खनालज्युमा हार्दिक आभार ।