टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपिएस) खारेज गर्ने ट्रम्प प्रशासनको निर्णय विरुद्ध क्यालिफोर्नियाको नर्दन डिष्ट्रिक्ट अदालतमा दायर मुद्धाको पहिलो सुनुवाई जुलाई २९ मा हुँदैछ। पहिलो सुनुवाई मंगलबार २ बजेको लागि समय तोकेको छ। नेश्नल टिपिएस एलायन्सको अगुवाईमा २ नेपाली सहित ७ जना व्यक्तिगत वादीहरुले नेपाल, होन्डुरस र निकारागुवाको टेम्पोररी प्रोटेक्टेड स्टाटस टिपिएस बचाउनको लागि संयुक्त रुपमा जुलाई ७ तारिखमा मुद्धा दायर गरेको हो। युनाइटेड फर टिपिएस नेपाल (युटिपिएसएन) का संस्थापक संयोजक मध्येका एक सदस्य अनिल शाहीले एक विज्ञप्ति जारी गर्दै सँग टिपिएसमा रहेका नेपालीहरुलाई नेश्नल टिपिएस एलायन्सको सदस्यता लिन आव्हान गरेका छन् । टिपिएस खारेजीको निर्णयले हजारौं नेपालीहरुको जीवनलाई प्रत्यक्ष असर पार्ने भएकोले टिपिएसवाहक नेपालीहरुलाई नेश्नल टिपिएस एलायन्स (एनटिपिएसए) को सदस्यता लिन आव्हान गरेको हो । अमेरिकी सरकारले मुद्धाको सुनुवाईको क्रममा वादीलाई मात्रै वा नेश्नल टिपिएस एलायन्सको सदस्यहरुलाई मात्रै कानुनी सुरक्षा प्रदान गर्न सक्ने गरी राहतलाई सिमित गर्न सक्ने सम्भावना भएकोले सबै टिपिएसवाहक नेपालीहरुलाई नेश्नल टिपिएस एलायन्स (एनटिपिएसए) को सदस्यता लिई संरक्षित हुन युटिपिएसएनले विज्ञप्तिमार्फत आव्हन गरेको हो । यो अदालतलाई अमेरिकी सरकारको आग्रह हो र मान्यो भने भन्ने सम्भावनाको लागि एनटिपिएसएको सदस्यता लिएमा नेपाली टिपिएसवाहकहरु पनि समेटिने भएकोले सदस्यता लिनु आवश्यक रहेको युटिपिएसएनको संयोजक शाहीको भनाई छ।
झण्डै ७ हजार ८ सय नेपाली टिपिएस अन्तर्गत छन् । एनटिपिएसएको सदस्यता निशुल्क रुपमा लिन सकिन्छ भने सदस्यता लिई सकेपछि टिपिएस वाहकहरुको कानुनी तथा राजनीतिक शक्ति मजबुत तथा बलियो हुने छ भने अदालतका आदेशहरु (एनटिपिएसए) को सदस्यमा सिमित भएमा सदस्यता लिएका नेपाली टिपिएसवाहकहरु पनि सुरक्षित हुने छन् साथै टिपिएस संरक्षणका लागि चलिरहेको देशव्यापी आन्दोलनमा जोडिएर एकतावद्ध रुपमा लड्न सकिने र टिपिएस सम्बन्धि मुद्धा, वकालत तथा विभिन्न गतिविधिहरुको जानकारी समयमा नै उपलब्ध हुने विज्ञप्तीमा उल्लेख छ । नेश्नल टिपिएस एलायन्सको नेतृत्वमा ३ वटा देश नेपाल, होण्डुरस र निकारागुवाको टिपिएस बचाउनको लागि मुद्धा दर्ता गरेको थियो । नेपालको तर्फबाट सन्ध्या लामा, होन्डुरसको तर्फबाट जोनी र निकारागुवाको तर्फबाट मारिया लेना लगायत रहेका छन्। संयोजक शाहीले क्यालिफोर्नियाको सानफ्रानिस्कोमा बसोबास गर्ने नेपाली समुदायलाई सुनुवाईको दिन अदालतमा उपस्थित भई नैतिक समर्थन गरी साथ र सहयोग गर्न नेपाली समुदायलाई आग्रह गरेको छ।
गोर्खाली समाज न्युयोर्कले भूपु उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र न्युयोर्कमा रहेका नेपाली समुदायबीच एक छलफल र अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो। अन्तरक्रियाको बिषय थियो : १, राष्ट्रिय बिकासमा प्रवाशी नेपालीको भूमिका २, बैदेशिक लगानी, नीतिनिर्माण र सांस्कृतिक संलग्नता ।
यो समग्र देशको चासो र चिन्ताको बिषय थिए। भ्रष्टाचारले दरिद्र बनेको बर्तमान नेपालमा यी बिषयहरु निकै महत्वपुर्ण र गम्भीर थिए। माओबादी नेता श्रेष्ठले अमेरिकामा आएर सम्बन्धित शिक्षा हाशिल गरेका, बिषयबस्तुका जानकार र अनुभवि व्यक्तित्वहरुसँग अन्तरक्रिया गरेर उपलब्ध ज्ञान नेपालको प्रगतिमा प्रयोग गर्न सके देशलाई फाइदा हुने अनुमान गर्न सकिन्थ्यो।
कार्यक्रममा विशिष्ट महत्व दिएर बोल्न दिएकाहरुमा वकिल खगेन्द्र जिसी, संजय थापा, आनन्द बिष्ट, बिष्णुमाया परियार र अन्य जातजाति सस्थाका प्रतिनिधि थिए । सबैले एन आर एनको माग र सरोकार प्रति नेपाल सरकारले कुनै चासो नगरेको गुनासो गरे। साथै एन आर एनमा गुटबन्दी र पार्टी र नेता प्रति बढी झुकावले एन आर एनको चासो र चिन्ता ओझेलमा परेको बारे चिन्ता व्यक्त गरे। तर कसैले पनि कार्यक्रमको निर्धारित बिषयबस्तु ‘राष्ट्रिय विकासमा प्रवासी नेपालीको भुमिका’ मा बोलेको सुनिएन।
तर बीचबीचमा कार्यक्रम संचालकले टीभीको तुक न ताकको आफ्ना अनुभव सुनाउन थाले। तिन-चार पटक यिनैले भाषण गरे। अनि बिषय बस्तुमा अध्ययन गरेर, नोट बनाएर उदहरणहरु समेटेर बोल्न माग गरेका बक्ताहरुले मौका पाएनन । त्यसैले बिस्तारै हल खाली भईसकेको थियो।
पुर्व निर्धारित बिषय बस्तुमा कार्यक्रममा कुनै छलफल नै नगरेपछि सहभागीहरु कार्यक्रम सकिन अगाडि नै बाहिरिए। त्यसपछि कतिपय सहभागीहरुले यो गोर्खे कार्यक्रम समयको बर्बादी मात्र रहेछ भन्न थाले । यसरी सत्यनारायण मन्दिरको कार्यक्रममा नारायणकाजीले बिना कुनै उपलब्धि ४ घण्टाको समय सत्यनाश गरे। त्यसैले यस्तो गहन बिषयको छलफल कुनै समाजले नभई नेपाली समाजका बिज्ञ व्यक्तित्वहरु निम्त्याएर माओबादी पार्टिले आफ्नो पहलमा कार्यक्रम गर्नु पर्ने जिकिर गरेकाछन।
समयलाई ठुलो महत्व दिने अमेरिका जस्तो देशमा आए पनि नेपालको गाउँले पाराले साझ ६ देखि ८ बजेसम्म कार्यक्रम गर्ने भनिएकोमा ७ बजेसम्म पनि शुरु भएको थिएन। अनि डिनर सहितको कार्यक्रम भने पनि पानी पिउने समेत चाजोपाजो थिएन। ७ बजे सम्महल अगाडिको लाईनमा २५ वटा मेचमा २० वटा खालि थिए। त्यहाँ कुनै सुचना पनि थिएन। एकदुई पत्रकार त्यहाँ बसेर समाचार सकलन गर्न खोजेका थिए। तर तिनलाई यौ विशिष्ट व्यक्तिहरुको लागि भनेर हटाईयो।
कार्यक्रम भरि बक्ताहरुबाट सुनिएको बिषय नै एन आर एनको लफडा र दोहोरो नागरिकता मात्र थियो। अब अहिले अमेरिकाले नै दोहोर नागरिकता लिनेको अमेरिकी नागरिकता चैट पारिदिने समाचारहरु व्यापक भईसकेको छ। यसले गर्दा अब “एकपटकको नेपाली सधैको नेपाली हुन् ” नेपालको मात्र नागरिकता लिनुपर्ने देखिएको छ। यसले गर्दा एन आर एनका राजनीति पनि चैट हुने देखिएको छ। अब कि नेपाली मात्र बन। या सिर्फ अमेरिकन मात्र बन्नु पर्ने देखिएको छ।
हिन्दु धर्ममा श्रावण महिनाको सोमवारको विशेष महत्व छ र हरेक सोमवार शिवजीको विशेष पुजा आजा गरि व्रत वस्ने चलन छ। भगवान भोलेनाथको प्रिय महिना भएकोले पुजा व्रत गरेपछि राम्रो फल प्राप्त हुन्छ भन्ने पनि भनाई छ । साथै यो महिनामा अरु चाडवाडहरु सावने सक्रान्ति, नाग पंचमी र जनै पुर्णिमा पनि पर्दछ। प्राय महिलाहरु र कतिपय पुरुषहरुपनि :श्रावणको हरेक सोमवार भगवान शिवको विशेष आराधना गर्ने गर्छन्।
सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व पनि हो । यो पर्व स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइन्छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन हो । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको भनाइ छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने गरिन्छ ।
यस समय विश्व धरोहर पवित्र तीर्थस्थल , आराध्यदेव श्री पशुपतिनाथको मंदिर काठमाडौंमा तिर्थालु , ब्रतालुहरुको ठुलो भिड लाग्ने गर्दछ संगै देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको घुईंचो लाग्ने गर्दछ। श्रावन महिनाको हरियाली संगै हरियो सारी, हरियो चुरा हरियो पोते, हरियो टिका, हरियो मेहंदी साथै सबै हरियो हरियो रंगले ब्यापक प्रचार पाउछ। वस्त्र , गार संगै भोजनको लागी हरियो कर्कलोले पनि राम्रै स्थान पाउंछ । जताततै हरियो रंग देख्दा आंखालाई पनि शितल हुने, मन पनि एक किसीमको खुसी हुने गर्दछ। वास्तवमा हरियो रंगले आशा, उमगं जगाउंछ । हामीलाई प्रकृति संग जोड्छ। हरियो रंग प्रकृति, उर्वरता, सौभाग्य र सकारात्मक उर्जाको पनि वृद्धिको प्रतिक हो भनेर ज्ञाताहरु भन्ने गर्छन् र मलाई पनि त्यस्तै लाग्छ । यस रंगले समृद्धि उन्नति प्रगति र बुध्दि प्राप्तिको साथै परिवार र जीवनमा खुसी ल्याउंछ भन्ने धार्मिक मान्यता पनि रहेको छ। यस रंगलाई शरीरमा धारण गर्दा मनुष्यलाई आ-आफ्नो कार्यक्षेत्रमा सफल हुने धार्मिक विश्वास पनि रहेको छ।
हरेक बर्ष यो महिना शुरु भए संगै यस्का समर्थक र बिरोधीहरु आआफ्नै हिसाबले समर्थन् बिरोध गर्न थाल्छन् । बिस्वास अविस्वासका कुराहरु संगै धर्म प्रति प्रहार गर्न पनि हिचकिचाउंदैनन् । आफैं मरेर श्रीमानको लामो आयुको लागि ब्रत किन बस्ने भन्ने पनि थुप्रै भेटिन्छन् । तर कोही हाम्रो चाडवाड हो मनाउनु पर्छ , संस्कार जोगाउनु पर्छ भन्ने पनि छन् ।भगवान प्रतिको श्रध्दा, आस्था र विस्वासमा कतै पनि देखावटी गर्नु पर्छ भन्ने छैन । भगवानलाई खुसी आफ्नो गक्ष र श्रध्दाले गर्नु पर्छ । अरुलाई देखाउनु पर्छ भनेर ऋण गरेर चाहिं चाडवाड मनाउन हुन्न जस्तो लाग्छ। धर्मले मानिसलाई अनुशासित बनाउंछ । सही मार्ग निर्देशन् गर्छ साथै सामाजिक र मानवीय दायित्व पनि बोध गराउंछ। ब्रत त स्वास्थ्यको हिसाबले पनि प्राय राख्ने गरिन्छ । हरेक पुजा आजा ,ब्रत तिर्थले परिवारमा सुख , शान्ति ,बृध्दि सम्वृद्धि, उन्नति संगै खुसी आउंछ भन्ने लाग्छ र त यस महिनामा भोलेनाथको मन्दिर दर्शन् पुजा, भजन, कृतन् संगै परिवार साथीभाईसंगको भेटघाटको मज्जा नै अलग्ग हुन्छ।
लगभग साढे ३ दसकको अति ब्यस्त जिवनमा नेपालमा हुंदा पनि हरियो चुरा सारी लाएर मन्दिर जाने समय खासै भएन किनकी हामी कामकाजी महिलालाई सोमबार त काम गर्नु पर्ने बार, तर अन्तिम सोमबार चाहिं साथीभाईकोमा अथवा आफ्नैमा यसो कर्कलो भुजा खाई ब्रत समापनको आनन्द लिईन्थ्यो । श्रावणमा हरियो रंग विशेष हुन्छ, बसंत ऋतु, आशा,उमगं जगाउंछ प्रकृति संग जोड्छ भन्ने लाग्छ । यस रंगले समृद्धि उन्नति प्रगति र बुध्दि प्राप्तिको साथै परिवार र जीवनमा खुशी ल्याउंछ भन्ने पनि धार्मिक मान्यता रहेको छ।यो श्रावणमा हरियो रंगमा डुबुल्की मारी आफ्नो घर परिवारको खुशी , उन्नति, संबृध्दि, धर्म संरक्षण र महत्व बढाउनको लागि श्रावणको हरियालीमा मस्त होऔं। सबैको जिवनमा हरियाली छाओस । श्रावणको शुभकामना ।
नेवाः नखः न्यूयोर्कको आयोजनामा नवौं पटक सामुहिक ईही कार्यक्रम सम्पन्न भएको छ । नेपाल सम्वत् ११४५ दिल्लागा एकादशी (जुलाई ६ तारिख २०२५) मा ज्याक्सन हाईटको शेर्पा किदुगंको हलमा भएको ईहीमा अमेरिकाका चार राज्यका ६ जना बालिकाको सहभागिता थियो । ईहीका सहभागीहरू न्युजर्सी, म्यासाच्युसेट, ओहायो र न्युयोर्क स्टेटहरूबाट ईही कार्यक्रमस्थल पुगेका थिए । लुनिभा श्रेष्ठ, ग्रेश प्रधान, जियाना तुलाधर, मेलानी तुलाधर, लीला श्रेष्ठ र अनन्या प्रधानको ईही गरिएको थियो ।
नेवाः गुभाजु (पुरोहित) समन्त श्री बज्राचार्यजुले नेवाः विधिपूर्वक ईही सम्पन्न गराएका थिए । ईहीमा गुरूमा पुष्पा बज्राचार्यज्यू र संस्थाका निवर्तमान अध्यक्ष महेन्द्र बीर बज्राचार्य जजमान (मुख्य कर्ता) का रुपमा पुजा सम्पन्न गरेका थिए ।
संस्थाका महासचिव तुलसी नारायण चित्रकारले कार्यक्रम सञ्चालन गरेका थिए भने संस्थाका प्रथम उपाध्यक्ष्य श्रुति अमात्यले उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी र अतिथिहरूलाई स्वागत गरेका थिए । संस्थाका निवर्तमान अध्यक्ष महेन्द्र बीर बज्राचार्यले संस्थाको स्थापना र उद्देश्यको बारेमा प्रकास पार्दै नेवाः चाडपर्व, परम्परा, रितिरिवाज तथा कला–संस्कृतिको संरक्षण र प्रवर्धन गर्नका लागि सन् २०११ मा न्युयोर्कमा यस संस्थाको स्थापना गरिएको बताए । अमेरिकामा जन्मेका हाम्रा नानीबाबुहरूलाई नेवाः संस्कृति, परम्परा, कला, भाषा सिकाउँदै आफ्नो संस्कृतिको निरन्तरता कायम गर्नु पर्नेमा सल्लाहकार बज्राचार्यले जोड दिए ।
नेवाः नखः न्यूयोर्कका महासचिव तुलसी नारायण चित्रकारले पुजा सम्पन्न भैरहेको बेलामा संस्थाका कार्यकारी पदाधिकारीहरू, सदस्यहरू, ईही बालबालिकाका अभिवावकहरू, पाहुनाहरू, ईही गर्ने बालिकाहरू लगायत उपस्थित सबै जनाको परिचय गरेका थियो । परिचयको क्रममा बालिकाका अभिवावकहरूले परदेशमा पनि स्वदेशमा जस्तै पारिवारिक वातावरणमा विधिपूर्वक बालिकाको ईही गर्न पाउँदा धेरै नै खुशी लागेको कुरा व्यक्त गर्नु भयो ।
संस्थाका कोषाध्यक्ष शलोनी वन्त श्रेष्ठ, सह कोषाध्यक्ष मेनी श्रेष्ठ र सदस्य नम्रता प्रधानले कार्यक्रममा सहभागीहरूको उपस्थिति दर्ता गर्ने कार्य गरेका थिए ।
नेवाः नखः न्यूयोर्कका अध्यक्ष डा. नरेश मान शाक्य, प्रथम उपाध्यक्ष श्रुति अमात्य, द्वितीय उपाध्यक्ष महेन्द्र कुमार बज्राचार्य, महासचिव तुलसी नारायण चित्रकार, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ, सल्लाहकार महेन्द्र बीर बज्राचार्यले ईहीमा सहभागी बालिकाहरूलाई6 प्रशंसा–पत्र प्रदान गरि बधाई तथा शुभकामना दिएका थिए ।
संस्थाका महिला सदस्यहरु श्रुति अमात्य, शलोनी वन्त श्रेष्ठ, मेनी श्रेष्ठ, नम्रता प्रधान, उजिला प्रधान, लघु श्रेष्ठ, लक्ष्मी शोभा चित्रकार, अनिता बज्राचार्य, मोहिनी कर्माचार्य, कल्पना प्रधान, कमला प्रधान र गुरुमा पुष्पा बज्राचार्य लगायतले बालिकाहरुलाई मूलढोकाबाट लसःकुसः गरि ईही गर्ने स्थलमा भित्र्याएका थिए ।
संस्थाका प्रथम उपाध्यक्ष श्रुति अमात्यको सम्योजनमा कोषाध्यक्ष शलोनी वन्त श्रेष्ठ, सदस्य उजिला प्रधान, लघु श्रेष्ठ, अनिता बज्राचार्य, लक्ष्मी शोभा चित्रकार र मोहिनी कर्माचार्यले ईहीको पुजा सामाग्री, उपहार र सगुन सहित ईही गर्ने बालिकाहरूलाई “थाय्–भू” तयार गरेका थिए ।
गुभाजु (पुरोहित) समन्त श्री बज्राचार्यज्यूले सहभागीहरुलाई ईहीको महत्वबारे शिक्षा दिनु भएको थियो भने संस्थाका अध्यक्ष डा. नरेश मान शाक्यले ईहीको विभिन्न चरणहरूमा पुजामा प्रयोग हुने भिन्नभिन्न सामाग्रीहरु कसरी प्रयोग गर्नेबारे बताउनु भएको थियो । साथै संस्थाका द्वितीय उपाध्यक्ष महेन्द्र कुमार बज्राचार्य, सचिव अनित श्रेष्ठ, सदस्यहरु जिवेन्द्र प्रधानाङ्ग, लघु श्रेष्ठ, अनिता बज्राचार्य, लक्ष्मी शोभा चित्रकारले ईही पुजाको विभिन्न चरणहरू सम्पन्न गर्न सहयोग गरेका थिए । सदस्यहरू किरण रंजित, सबिना शाक्य, दिपक प्रधान, अभिषेक छोचूँ, पुष्प श्रेष्ठ, मुनिन्द्र बज्राचार्य, जिवेन्द्र प्रधानाङ्गले अतिथीहरूको सत्कारका साथै नेवा: खाना समयबजीको व्यवस्थापन गरेका थिए । त्यस्तै तुलासा चित्रकार, रोहण चित्रकार, साइमन शाक्य, साय्म श्रेष्ठ, इप्सा रजक, ऐश्वर्या श्रेष्ठ, पारसले स्वयम् सेवकका रुपमा सहयोग गरेका थिए ।
कार्यक्रमको अन्त्यमा नेवा: नख: न्युयोर्कका अध्यक्ष डा. नरेश मान शाक्यले कार्यक्रममा सहभागी सबैमा धन्यवाद व्यक्त गर्नुका साथै सहभागी बालिकाहरूको उज्ज्वल भविष्यको कामना गरे । उनले अमेरिकामा रहेर पनि यस्तो महत्वपूर्ण संस्कार संस्थागत रूपमा गर्न गराउन पाउँदा गौरवान्वित भएको धारणा राखे ।
न्युयोर्कमा यसरी गरिएको नेवा: परम्परागत ईहीबाट अभिभावक र बालिकाहरु लाभान्वित हुनुको साथै यस्ता कार्यक्रमबाट विदेशमा रहेर पनि नेवा: मौलिक संस्कृति र परम्पराको समेत संरक्षण र प्रवर्द्धन हुने संस्थाका निर्वतमान अध्यक्ष तथा सल्लाहाकार बिष्णु मान प्रधानले जानकारी दिनुभयो ।
गत हप्ता रसुवाको चीन नाकामा रहेको मितेरी पुल सहित ठुलासाना गरी ५० भन्दा सवारी साधन समेत बगाउने गरी ठुलो बाढी आयो । मानिस र जनधनको क्षतिको यकिन विवरण नआएपनि करि १८ जना बगाएको अनुमान गरिएको छ । चीनको तिब्बत क्षेत्रबाट रहेको हिमनदी फुटेर आएको बाढीले रसुवा नुवाकोट क्षेत्रमा त्रासदी बढायो । मौसमी बर्षा नभइ अन्य कारणले आएको बाढी भन्दापनि हरेको वर्ष बर्षाको सिजनमा आउने बाढी पहिरोले नेपालमा ठुलो जनधनको क्षति पुर्याएको हुन्छ । नेपालमा पिडा बिपत परेपछि सबैभन्दा पहिला बिदेशमा भएका नेपालीलाई छोएको अनुभूति हुन्छ । तर बिदेशमा उठ्ने राहत सहयोगको सही सदुपयोग कति हदसम्म हुन्छ त्यो भने सधै प्रश्नको घेरामा रहन्छ । यसर्थ चन्दा सहयोग उठाउनु भन्दा पनि पिडितसम्म कहिले र कति पुग्छ भन्ने महत्वपुर्ण हुन्छ । मैले झण्डै २ दशक परदेश बसाईको क्रममा कयौं यस्ता कार्यक्रममा सहभागी भएँ । ती मध्ये केही घटनाबाट हामीले कसरी अझ प्रभावकारी ढंगले गर्न मिल्छ, मनन गर्न सकिन्छ ।
एउटा संझना; सन २०११ मा म ईजरायलमा कार्यरत थिएँ । म संगै मेरा केही सहकर्मीहरु मिलेर २०११ ताका एउटा सामाजिक संस्था “हेल्पिगं हेन्डस् ईन् ईजरायल” भन्ने सहयोगी संस्था खोलेका थिंयौं । त्यस्ले खास मातृभुमिमा सहयोग गर्ने गर्दथ्यो । त्यसबाहेक ईजरायलमा मनोरंजनात्मक र सहयोगात्मक कामहरु गर्ने गर्दथ्यो । यस्तै सहयोग गर्ने क्रममा सन् २०१३ मा सुदुर पश्चिमको दार्चुलामा हामीले केही सहयोग गरेका थियौं । त्यति बेला सुदुर पश्चिममा धेरै ठुलो बाढी गएको र बाढीले त्यता धेरै नै नोक्सान गरेको थियो। मातृभूमी दुख्दा संधै दुख्ने हामी फेरि विचलित भयौं र स्वफुर्त केही सहकर्मीहरु फेरि सहयोगको लागी जुट्न शुरु गर्यौं ।
“महाकाली बाढी पिडीत अभियान “भनेर संस्थाका २,४ जना र अरु २,४ जना साथीहरुले तुरुन्तै आपातकालिन सहयोग आव्हान गर्यौं । पहिला केही साथीहरुले अभियान शुरु गरेर सहयोग संकलन शुरु गर्यौ । लगत्तै अरु केहि संस्था साथै समुहहरुले पनि सहयोग संकलन शुरु गरे र र पछि गएर हेन्डस् ईन ईजरायलले नै प्राय जसो सबैलाई समेटेर एकमुष्ट सहयोग पठाउने निर्णय गर्यो । हामीले भन्नलाई आपातकालिन सहयोग भनेतापनि बिविध कारणले सॅकलन जुटाउन करिव ३ महिना जति लाग्यो ।त्यति बेला सहयोग जुटाउन मनी टांन्स्फर गर्ने कुनै व्यबस्था थिएन र सो सहयोग संकलनको लागि तेलअभिभ एरिया र अरु संबन्धित ब्यक्तिलाई आआफ्नो एरियाभित्र दिनु पर्ने हुन्थ्यो। सरकारले राहत रकम प्रधानमन्त्री कोषमा पठाउन सुचना जारी गरेको भएतापनि हामी त्यस्मा पठाउने पक्षमा थिएनौं र कसरी पिडीतहरुको हातमा रकम पुग्ला भनेर सोच्दै थियौं । यसै क्रममा हामीले न्युज २४ का प्रेम बांनियालाई संपर्क गर्यौं । उहां त्यतिबेला “जय स्वाभिमान” नामक कार्यक्रम चलाउनु हुन्थ्यो। युवा पत्रकार, जोश जांगर र बोल्ने शैली निकै नै दमदार थियो । साथै त्यसताका मलाई एकदम मन पर्ने मिडीयाकर्मी प्रेम बांनिया धेरैको प्रिय हुनुहुन्थ्यो।अन्तत: मिडीया माफर्त वितरण गर्ने हेतुले सेप्टेम्बरमा उहाँ कार्यरत न्युज २४ लाई राहत रकम ११ लाख ४६ हजार २ सय ४ पठाईयो तर मिडीयाले राहत रकम दार्चुला पठाउन धेरै ढिला गर्यो । यता ईजरायलमा हामी २, ४ जनालाई राहत रकम दुरुपयोग भयो। ब्याजमा लगाए । कतै लगानी गरे भन्ने जस्ता आरोप आईलाग्यो । तर हामी कति पनि विचलित नभई सिधा न्युज २४ का कार्यक्रम संचालक प्रेम बांनियालाई बारंबार ताकेता गरि हाम्रा अध्यक्ष कृष्ण ज्ञवालीजीलाई रकम तुरुन्त उपलब्ध गराउन दवाव दियौं । प्रेम बांनिया र कृष्ण ज्ञवालीजीको बिशेष पहलमा करिब ४ महिनापछि जनवरीको अन्ततिर बल्ल मिडीयाबाट त्यो पैसा हामीले प्राप्त गर्यौं । त्यसपछि हाम्रो संस्थाका अध्यक्षज्यु ,प्रेम बांनिया, न्युज २४ का फोटोग्राफर सहित गरि ५ जनाको टोली दार्चुला तर्फ प्रस्थान गर्यो। काठमाडौंदेखि धनगंडीसम्म बस त्यसपछि सानो सुमो रिजर्भ गरि भारत हुंदै टोली दार्चुला पुग्यो । त्यहां पुग्दा त अरु बिभीन्न देशका सहृदयीहरुले पठाएको रकम पनि वितरण गर्न नसकेको अवस्था थियो । त्यस्तो अति संवेदनशिल अवस्थामा सहयोगी संस्था प्रमुख, मिडीया संगै प्रेम बांनिया स्वंय त्यहां पुग्दाखेरि सबैजना खुसी भए र त्यहांका सिडीयो सहित अरु उच्च अधिकारी र हाम्रो संस्थाको रोहवरमा त्यहा पिडीतहरुको अवस्था हेरि त्यहांका पिडीतहरुलाई हामीले पठाएको रकम ११ लाख ४६ हजार २ सय ४ र अरु ठाउंबाट आएको रकम गरि जम्मा ७६ ,९९१,४३/- प्रत्येक पिडीतहरुलाई वितरण गरि हाम्रो टिम काठमाण्डौ फर्क्यो। १२ बर्ष अघि गरेका यस्ता कार्यहरुका समाचार कान्तिपुर र अरु मिडीयाहरुले पनि छापेका थिए तर समयसंगै सबै धुमिल भएपनि हामीसंग रहेका फोटो संझनाहरुले प्रत्येक वर्ष नेपालमा बिपत परेको बेला स्मरण र वितरणको कठिनाई स्मरण हुन्छ ।
मैले १२ वर्षपछि सो वितरणमा भएको कठिनाई र ढिलासुस्तिको कारण पिडाको समयमा तत्काल मल्हम लगाउन नसक्नाले उठाउनु मात्र पनि ठुलो कुरा होइन रहेछ, समयमै पुर्याउनुको अझ ठुलो महत्व हुन्छ भन्न खोजेकी हुँ । यसर्थ चन्दा संकलन गर्नेले शुरुमा नै कसरी ? को मार्फत ? तत्कात राहत पुर्याउने हो, सोको टुङ्गो गरेर मात्र संकलन कार्य शुरु गर्न अनुरोध गर्दछु ।
मे १८ तारिख आइतबार बिहानको २:३९ बजे फोनको घण्टी बेस्सरी बज्यो । चकमन्न रातमा कतिबेर बजेपछि म ब्यूझिएछु हेक्का भएन । नचिनेको नम्बर थियो तर पनि सधैंव झैं उठाएँ । “म रेचल माउण्ट साइनाई हस्पिटल म्यानहयाटनबाट । म गुप्ता डंगोलको कोअर्डिनेटर हुँ । तँ गुप्ताको छोरा योगेश हो ?” भनेर एक्कै सासमा सोध्यो । मैले उत्साह र जिज्ञाशाको भाव दबाएर समान्य किसिमले “हो” मात्र भनें । “तेरो आमालाई ‘अर्गेन अफर’ छ । स्विकार्ने हो ? हो, भने छिटो भन्, तँसँग त्यतिधेरै निर्णय गर्ने समय खासै छैन” समेत भन्न भ्यायो । करिब २ हप्ताअघि पनि ६७ बर्षको महिलाको अफर आएर पनि तुरुन्तै ‘नमिल्ने भनेर’ हामीलाई निराश बनाईसकेको थियो । त्यसैले मलाई हर्ष वा बिस्मातको भावले खासै छुन सकेको थिएन । यद्यपि ८ बर्ष लामो डायलाइशिसको पिडा आमाले खेपेको देखेकोले मैले आशाको लामो श्वास फेरें । बिगत ६ बर्षदेखि नेपाल जान रोकिएको मेरो नेपाल मोहले अलिकति राहत महसुस् गर्यो ।
हप्ताको ३ पटक करिब ४ घण्टा लगाएर हातमा सर्जरी गरेर बनाएको ‘फिस्टुला’ मार्फत शरिर भरिको रगत मेसिनमा पठाउने र रगतको पानी/बिकार मेसिनले छानेर पुन: रगतलाई शरिरमा पठाउने प्रकृया (हेमोडायलाइसिस्) सजिलो जस्तो लागेपनि साह्रै पिडादायी हुन्छ । अत्यन्तै मोटो पाइपवाला दुइवटा सियोले दुईतिर घोचेर सुईले पटक पटक पोजिसन लिनुपर्ने भएकोले बिरामीको पिडादायी खपाई महसुस मात्र गर्दापनि सिरिङ्ग हुन्छ । पाईपमा रगत क्लग (जम) हुने । पुन: अर्को ठाउँमा घोच्नुपर्ने । बिरामीको प्रेशर र अक्सिजन एक्कासी घटेर कयौं पटक डायलाइसिस सेन्टरबाट अस्पतालमा कुदाउनु पर्ने घटना सामान्य जस्तै भइसकेको हुन्छ । यदाकदा डायलाइसिसकै क्रममा कयौं बिरामी घर नफर्केको दृष्य स्विकारेर नै यो सबै प्रकृया भइरहेको हुन्छ ।
खैर, मैले सोध्ने कुरा लाख थियो, सोच्ने करोड । तर केही सोध्नुअघि “हामी रेसिपेण्टले थाहा पाउनु पर्ने केही भए भन्नुस्” भनेर कोअर्डिनेटर रेचललाई अनुरोध गरें । उसले भन्यो “तेरो आमाको फाइलमा “हेप्सी” खुल्ला रहेछ । रेस, जेण्डर, कलरको पनि पाबन्दी रहेनछ अनि यो अफर अल्गरिदमले टप लिष्टमा भएकाहरुलाई पठाएको हो । यहाँ आएपछि मेरो नम्बरमा फोन गर । हामी पर्खिराको हुन्छौं” भन्यो । मलाई नेफ्रोलोजिष्टले (मृगौलाको डाक्टर) पहिले लिष्टमा राख्दा नै हेपाटाइटिस् सि आजकल कुनै समस्या होइन । ३ महिना औषधि खाए निको हुन्छ । मलाई ट्रान्सप्लाण्टपछि हेपाटोजिष्टले (कलेजोको डाक्टर) हेर्नेछ भन्ने ज्ञात थियो । ७ बर्ष पर्खाइको सूचिमा बस्दैगर्दा मैलेपनि धेरथोर यस बिषयमा अनुमान लगाउन सक्ने भइसकेको थिएँ ।
शरिरको मुख्य मुख्य अंगहरुको बिशेषज्ञहरुले क्लियरेन्य दिएपछि मात्र रेनल ट्रानसप्लाण्ट (मृगौला प्रत्यारोपण) मा योग्य हुने भएकोले, सो गरिसक्दा मैले अवस्था अनुमान गरिसकेको थिएँ । उसको अनुसार हेप्सी भनेको हेपाटाइटिस् सी संक्रमित भन्न खोजेको हो । “अस्पतालको टिमले र मेडिकल साइन्सले गर्न मिल्ले भएर त भनेको होला नि !” भनेर भनें । उस्को कुरा अनुसार ४६ बर्षको पुरुषको मृगौंला रहेछ । उसैको एउटा मृगौला मेरो आमालाई प्रत्यारोपण गर्ने मोटमोटी जानकारी पाएँ । लिभिङ् डोनर (मृगौला दिने जिउँदो मान्छे) नहुने हामी जस्तो बिरामी र परिवारले लिष्टमा कुर्ने बाहेक बिकल्प नै हुँदैन । मैले परिवारको कसैलाई पनि नसोधि कोअर्डिनेटरलाई “हुन्छ म आमालाई लिएर अहिले नै आउँछु” भनेर भनें ।
एकछिन् किंकर्तव्यविमूढ भएँ । मेरो श्रीमती रमीले मलाई सहज बनाउन आमालाई उठाउन जानु भन्न थाली । मेरो बुवाआमाको कोठाको ढोका लक हुँदैन, त्यसैले मैले सिधै ढोका खोलेर आमाबुबालाई उठाएँ । बेलिबिस्तार लगाएँ । दुबै अकर्मण्य हुनु भो । लुगा लगाउनु छिटो भनें । म र रमी पनि तयार भयौं । मैले एम्बुलेन्स चाहिदैन भनिसकेको थिएँ त्यसैले हामी ४ जना करिब बिहानको सवा ३ बजेतिर मेरै गाडीमा निस्कियौं । २०७२ सालमा भुकम्पपछि आमाको मृगौंला खराब भएको आज ठ्याक्कै १० बर्षमा पालो आयो, अब सजिलो हुन्छ । अमेरिकाको अस्पताल गज्जब राम्रो हुन्छ । जस्ता आमालाई खुसी र हौसला मिल्ने गफ गर्दै करिव २५ मिनेटमा म्यानह्याटनको माउण्ट साइनाई हस्पिटल पुग्यौं ।
म आमाबुवा र रमीलाई छाडेर गाडी पार्किङ खोज्न थालें । ५ मिनेटपछि म पुग्दा रमी र बुवाले माथि लगेर भर्ना गरिसकेको रहेछ । आमाको मुटुको अब्लेशन (पाइप लगाएर धड्कन मिलाउने सर्जरी) र भल्भ रिपेयर गरि सकेकोले कार्डियोलोजिष्टले सबै चेक गर्यो । तर आमाको शरिरमा धेरै पानी देखियो किनकि डायलाइसिस् नगरेको २ दिन भइसकेोको थियो । आमाले ७ बर्षदेखि १ थोपा पनि पिसाब गर्नुभएको थिएन । डायलायसिस् गर्ने मेसिन नै आमाको किड्नि थियो । तत्कालै पानी निकाल्न त्यहीबेला नै डायलायसिस् गर्नुपर्ने भयो । करिव ८ बजेतिर प्रकृया सकेर ओआरमा (अपरेसन रुम) लग्यो ।
हामीलाई एनेस्थेसियोलोजिष्टदेखि सर्जन र नर्सहरुले थरिथरको जानकारी दिंदादिदै विहानको १० बजायो । आमालाई ओआरमा लगेपछि हामी एकैछिनको लागि घर फर्कियौं । करिव ४ घण्टा लामो सर्जरी भएछ । डाक्टरले फोन गरेर शल्यक्रिया सफल भएको जानकारी गराएपछि बुवा र म अस्पताल फर्कियौं । दिउँसोको ३ बजे आमालाई रिकभरीमा भेट्न बुबा र म गयौं । क्याथेटर (पिसाब वा रगत निस्कने पाइप) र आईभी (हातबाट औषधि दिने पाइप) लगाइएको सिथिल आमाको बन्द आँखा बिस्तारै खु्ल्यो । जन्मदै लिएर आएको पछाडि ढाडको मुनि हुने २ वटा किड्निलाई नचलाउँदो रहेछ । केवल आवश्यक नसाहरु र युरेटर (किड्निबाट मुत्र थैलीमा पिसाब जाने पाइप) मात्र छुटाएर नयाँ किड्निमा जोड्दो रहेछ । नयाँ किड्निलाई अगाडि तल्लो पेटनेर करिब ८ इन्च काटेर भित्र राख्दो रहेछ । सर्जनले अपरेसन राम्रो भयो । आमाले राम्रो किड्नि पाउनु भो भनेर हामीलाई वजनदार महसुल गराए । आमाले ७ बर्षपछि पिसाब गर्न थाल्नुभो । सुख्खा पिसाबको थैलीमा अब पिसब जम्मा हुन थाल्यो । पानी नखानु भनेर भनिरहनु पर्ने आमालाई अहिले पानी पिएकोपिएै गर्नु भनेर भनिरहनु पर्ने दिन आएको छ । बुबालाई सबै बुझाएँ । नेपालमा रञ्जना मामूलाई जानकारी गराएँ ।
५ दिनपछि अस्पतालबाट डिस्चार्ज गर्नुअघि डायटिसियन र फर्मासिष्टले पटक पटक के कति कसरी कहिले खाने इत्यादि सिकाइ रहन्थे । २ महिनासम्म हप्तामा २ पटक ल्याब र डाक्टर भिजिट हुँने सेड्यूल पाएँ । दिनमा १८ चक्की औषधि खानुपर्ने बतायो । एण्टी रिजेक्सनको २ चक्की औषधि चाहिँ जीवनभर खानुपर्ने रहेछ । अन्य एण्टी इन्फेसन, पेन मेडिकेशनहरु आवधिक रहेछ । पुरानो अन्य रोगको औषधि निरन्तर गर्दो रहेछ । २ हप्तापछि हेपाटोलोजिष्टले १० हप्ताको लागि हेप्सी (हेपाटाइटिस् सी) को मेडिकेशन शुरु गरायो । अब केही समयपछि किड्निदेखि ब्लाडरसम्म युरेटर भित्र राखेको स्टेन्ट निकालेपछि प्रकृया पुरा हुने रहेछ । एक दिन बिराएर एम्बुलेट (रातो बत्ति र साइरन नभएको) मा डायलायसिस सेन्टर जानुको बदलामा फलोअप र खानामा सावधानी अपनाउनु पर्ने जिम्मेवारी स्विकारेर हामी खुसी छौं ।
उदयीमान कवि राजन महर्जनको अङ्ग्रेजी भाषामा प्रकाशित पहिलो कविता सङ्ग्रह ओड टु यल (Ode to Yala) न्यूयोर्कको क्विन्समा जुन २१ २०२५ का दिन एक विशेष साहित्यिक कार्यक्रममा सार्वजनिक गरिएको छ।
निराला पब्लिकेशन्स, नयाँ दिल्लीद्वारा प्रकाशित यो सङ्ग्रहमा २३ वटा छोटा र लामा कविताहरू समावेश छन्, जसले कविको जन्मभूमि यल (पाटन)—काठमाडौँ उपत्यकाको ऐतिहासिक शहर—को सौन्दर्य, संस्कृति र आत्मासँग गहिरो नाता जोडेको छ। यस सङ्ग्रहमा प्रवासको जीवन र आफ्नो मौलिक पहिचानबीचको द्वन्द्वलाई पनि कवितामार्फत् समेटिएको छ।
पारिवारिक वातावरणमा सम्पन्न भएको सो विमोचन कार्यक्रममा हिमालयन कवि युयुत्सु शर्मा, कविका चार वर्षीया छोरी अर्लानी, पत्नी अस्मिता र ससुरा अमृत मान महर्जन तथा सासु मीना महर्जनले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका थिए।
कार्यक्रममा कवि महर्जनले आफ्ना कविता मार्फत् जन्मभूमिलाई सम्मान गर्न पाएको खुशी व्यक्त गर्दै न्यूयोर्कस्थित नेपाली समुदायप्रति आभार प्रकट गरे।
कवि युयुत्सु शर्माले नेपालबाट अङ्ग्रेजी भाषामा हुने लेखनको परिवर्तित परिदृश्यमा ओड टु यलको सांस्कृतिक र साहित्यिक महत्वमाथि प्रकाश पार्नुभयो। उहाँले कवि महर्जनको काव्यशैलीले जन्मभूमिप्रतिको माया र स्मृतिलाई जीवन्त चित्रहरूमा प्रस्तुत गरेको भन्दै प्रशंसा गर्नुभयो। “ओड टु यल मार्फत्,” उहाँले भन्नुभयो, “महर्जनले प्रवास र पहिचानबीचको द्वैतता अँगाल्दै कविको रूपमा आफ्नो स्वरलाई दृढ बनाएका छन्।”
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (INLS) का प्रतिनिधिहरू गीता खत्री, ज्योति पौडेल, लक्ष्मी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ लगायतले पुस्तकको सफलताको शुभकामना व्यक्त गरे। अरू वक्ताहरूमा आनन्द श्रेष्ठ, गोविन्द कोइराला, तुलसी चित्रकार र नेपालभाषा कवि अमृत मान जः पनि थिए। साथ साथै नदिया लिवाङ, राम खत्री, बद्री पौडेल आदिको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा न्यूयोर्कका विभिन्न नेपाली सामाजिक तथा साहित्यिक सङ्गठनहरूका प्रतिनिधिहरू र नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो, जसले यस कार्यक्रमलाई प्रवासी साहित्यको एक अविस्मरणीय उत्सव बनायो।
यो विमोचन कार्यक्रम निराला पब्लिकेशन्सको संयोजनमा स्थानीय निकायहरूको सहकार्य र Foodmandu को सहयोगमा सम्पन्न भएको हो। ओड टु यल अहिले Amazon, Flipkart, र Daraz मा उपलब्ध छ र चाँडै नेपालका प्रमुख पुस्तक पसलहरूमा पनि पाइनेछ।
केप कड नेपाली समाजको आयोजनामा किरांतबर्ष ५०८५ को साकेला-उभौली पर्व अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कड़को सेन्टरभिल शहरमा अवस्थित Faternal Lodge को प्रांगणमा यहि में २४, २०२५ (बि. स. २०८२ जेष्ठ १०गते ) तारिकका दिन भब्यताका साथ सम्पन्न भयो।
केप कड नेपाली समाजका अध्यक्ष केबी राईको सभापतित्वमा संचालित उक्त कार्यक्रममा केप कड नेपाली समाजको निमन्त्रणालाई स्वीकार गरि आफ्नो अमुल्य समय दिएर कार्यक्रममा सहभागी भैदिनुहुने विशिष्ट पाहुनाहरू, United Kirat Rai Organization of America (UKROA) न्यू ईग्ल्याण च्यापटरका अध्यक्ष कर्ण राई, UKROA का भूतपूर्व अध्यक्ष तथा नाकछोगं (पुजारी) बिष्णु राई, UKROA का कानुनी सल्लाहकार सुरेश राई , साथै New Hampshire Nepali Community का सचिव तथा UKROA New England Chapter का बरिष्ठ उपाध्यक्ष शेखर राईको गरिमामय उपस्थितिले आयोजकलाई थप हौसला प्रदान गरेको थियो।
यसरी विशेष आतिथिहरू समेत उपस्थित उक्त कार्यक्रम केप कड नेपाली समाजको महासचिव इच्छा खड्का र सचिव सरस्वती खनालद्वारा संयुक्त रूपमा संचालन गरिएको थियो।
समाजका वरिष्ठ उपाध्यक्ष विष्णु मान प्रधानले यस कार्यक्रममा उपस्थित हुनुभएका आमन्त्रित पाहुनाहरू तथा केप कड बासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी र स-साना नानीबावुहरूलाई साकेला-उभौली पर्व हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै कार्यक्रममा हार्दिक स्वागत गर्नुभएको थियो।
त्यसैगरि समाजका सह सचिव तथा साकेला – उभौली कार्यक्रमका मुख्य संयोजक हर्कुलस कन्दगंवाले आफ्नो अमूल्य समयका वावजूद पनि यस कार्यक्रममा समाजको निमन्त्रणालाई स्वीकार गरि सहभागी भैदिनुहुने सबै अतिथिज्यूहरू, समाजका आयोजक समुहका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू साथै सम्पूर्ण केप कड बासी समुदायलाई संस्थाको साथै वंहाको ब्यक्तिगत तर्फबाट ह्रदय देखि धन्यवाद दिदै कार्यक्रममा उपस्थित सम्पूर्णमा साकेला- उभौलीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्नुभयो।
त्यसैगरि कार्यक्रमका सांस्कृतिक संयोजक सिताराम राईले उभौली पर्वको बारेमा आफ्नो मन्तव्य राख्दै सबैलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभएको थियो।
त्यसैगरि कार्यक्रममा आमन्त्रित अतिथि, UKROA New England Chapter का अध्यक्ष कर्ण राईले उपस्थित सबैमा साकेला उभौलीको शुभकामना दिनुको साथै यस किसिमको सबै नेपाली समुदायहरूको सद्भावपुर्ण सक्रिय सहभागिता रहेको यो सांस्कृतिक पर्वको अवसरमा सहभागी भई शुभकामना आदान-प्रदान गर्ने अवसर दिएकोमा आयोजक संस्थालाई धन्यवाद दिंदै आगामी महिना, जुन १ तारिकका दिन UKROA Sakelathan, Brimfield, Massachusetts मा हुन गैरहेको बृहत् साकेला-उभौली कार्यक्रममा उपस्थित हुनको लागि सम्पूर्ण केप कड बासी समुदायलाई चुल्है निम्ता समेत गर्नुभएको छ।
यसैगरि UKROA का भुतपुर्व अध्यक्ष तथा नाकछोगं बिष्णु राईले साकेला-उभौली पर्वको ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वको बारेमा प्रष्ठ पार्दै उपस्थित सबैलालाई उभौलीको हार्दिक मंगलमय शुभकामना संदेश दिनुभयो। यसैक्रममा वहांले केप कड नेपाली समाजले गतवर्षबाट सबै नेपाली समुदायहरूलाई एकजुट गराएर साकेला-उभौली कार्यक्रमको आयोजना गरेर यो पर्व किरांत राईहरूको मात्र नभएर सबै नेपालीहरूको साझा राष्ट्रिय सांस्कृतिक पर्व हो भन्नेकुराको राम्रो उदाहरण दिएर एउटा नंया इतिहास रचेको र यसवर्ष पनि त्यसलाई निरन्तरता दिएकोमा समाजको कार्यको खुलेर प्रशंसा गर्नुभएको थियो।
त्यसैगरि कार्यक्रममा उपस्थित UKROA का कानुनी सल्लाहकार सुरेश राईले साथै UKROA का बरिष्ठ उपाध्यक्ष तथा न्यू ह्यामपसार नेपाली समाजको सचिव शेखर राईले पनि साकेला उभौलीको बारेमा आ-आफ्नो मन्तव्य राख्नुको साथै सबैलाई शुभकामना दिनुभएको थियो।
यस कार्यक्रमको प्रमुख आकर्षण र महत्वपूर्ण पक्ष “साकेला- उभौली पुजा” साथै “चण्डी नाच नाकछोगं बिष्णु राई, सिली मोपा (सीताराम राई), सिली ङोमा (अर्पणा राई) र ढोले (दिल बारेलुंग) बाट शुभारम्भ गरिएको थियो। प्रतिकूल मौसमका कारण पूजास्थल परिवर्तन गरि हलभित्रै गर्नुपरेतापनि सबैको सुझबुझपुर्ण अग्रसरताले गर्दा कार्यक्रम बिना अवरोध सहजढंगले सुचारू रह्यो।
यस बृहत् कार्यक्रमको लागि खानपानको ब्यवस्थापनमा समाजले नंया तरीका अपनाएको थियो। जसअनुसार आवश्यक सामग्री किनमेल गर्ने देखि लिएर पकाउने बनाउने र अन्त्यमा सरसफाई गर्ने जस्ता सम्पूर्ण कामहरू समाजका कार्य समितिका पदाधिकारीहरू, सदस्यहरू साथै स्थानीय दिदीबहिनी दाजुभाईहरूले स्वयंसेवकको रूपमा जुटेर कार्यक्रम स्थलमा नै तयार पारियको थियो। यसरी खानपानको ब्यवस्थापन गर्दा कम खर्चमा स्वास्थ्यकर र स्वादिष्ट परिकारहरू तयार गर्न सकिने साथै एकआपसमा रमाईलो पनि भएको थियो।
कार्यक्रमको अन्त्यमा, यस सभाका सभापति तथा समाजका अध्यक्ष केबी राईले नेपालको किरांत संस्कृतिले भरिभराउ नेपाली राष्ट्रीय चाड साकेला उभौली २०२५, केप कड नेपाली समाजले गतवर्षदेखि औपचारिक रूपमा आयोजना गर्दै आएको र यसलाई निरन्तरता दिदै जाने जानकारी गराउदै यस पर्वमा आमन्त्रित सबै पाहुनाहरू साथै सम्पूर्ण केप कड बासीहरूलाई शुभकामनाका साथै वहांहरूले दिनुभएको अमुल्य समय, साथ र सबै खाले सहयोगको लागि धन्यवाद ज्ञापन समेत गर्नुभयो। यसैगरि वहांले यस कार्यक्रमलाई सफल पार्न सहयोग प्रदान गर्नुहुने सबै प्रायोजकहरूलाई विशेष धन्यवाद दिनुभयो।अन्त्यमा, औपचारिक कार्यक्रमको समापन भएको जानकारी गराउदै सबैलाई यसपछि हुने साकेला उभौली पुजा र नाचमा सक्रिय सहभागी भई भरपुर मनोरंजन गर्न प्रोत्साहन गर्नुभयो।
“हामी नेपालीहरुको एकताको शान, अन्तरास्ट्रिय जगतमा हाम्रो पहिचान” भन्ने नाराका साथ सातौं नेपाल डे परेड भब्य रुपमा सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना र स्थानीय नेपाली सङ्घसंस्थाको सहकार्य र समन्वयमा गत आईतबार म्याह्याटनको ३८ स्ट्रीट र मेडिसन एभिन्युमा नेपाल डे परेड सम्पन्न भएको हो ।
न्युयोर्कमा सन् २०१६ देखि नेपाल डे परेड गर्न थालिएको हो । बिश्वकै अर्थतन्त्रको हब मानिने न्यूयोर्कको ब्यस्त म्यानह्याट्टनका सडकहरुमा नेपाली भेषभुषा, बाजागाजा र नृत्य सहित परेड गरिरहॅदा बिभिन्न देशबाट घुम्न आएका पर्यटकको समेत ध्यान खिचेको थियो । पञ्चे बाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामाङ सेलोले परेड गुन्जिएको थियो ।
परेडमा बिशेष अतिथीको रुपमा न्यूयोर्क शहरका मेयर एरिक एडम्स र सिनेटर चक सुमरको उपस्थिति थियो । स्थानीय जनप्रतिनिधिहरू साथै बिभिन्न सङ्घसंस्थाका ब्यानर सहित नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।
नेपालको विविध कला, संस्कृति र परम्परा झल्किने गरी गरिएको साङ्गीतिक प्रस्तुतिले म्यानहाटन सहरलाई नेपालमय बनाएको थियो ।
नेपाली पोसाक, झणडा र ब्यानर सहित नाचगान र बाजा बजाउँदै सहर परिक्रमा गरी आयोजना गरिएको सभामा न्यूयोर्क, न्यूजर्सी र कनेक्टिकटदेखिको नेपालीहरुको सहभागीता थियो ।
प्रवासी नेपाली मंच अमेरिकाले आगामी मे ३१ र जुन १ मा आफ्नो चौथो अधिबेशन गर्दैछ । टेक्सस राज्यको डालासमा हुन गईरहेको अधिवेशनमा २३५ समिती सदस्यको सहभागीता हुनेछ । दुई दिने अधिवेशनले नया कार्यसमिति चयन गर्दै संस्थाको भाबी गतिबिधिलाई सक्रीय रुपमा अगाडि बढाउने जनाईएको छ । समितिले गत आईतबार सांझ जुम मार्फत पत्रकार सम्मेलन गर्दै आगामी अधिवेसन बारे जानकारी दिएको हो । यसपटक कार्यक्रमको उद्घाटन गर्नका लागि नेपालबाट अतिथि बोलाईएको छैन । प्रवासी नेपाली मंच अन्तराष्ट्रीय कमीटीका अध्यक्ष संजय थापाद्वारा कार्यक्रम उद्धाटन गरिने मंचका अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिए । उनले अधिवेशनमा सबैलाई सहभागी हुन पनि आह्वान गरेका छन् ।
अधिवेशनमा परम्परागत रुपमा गरिने उद्घाटन कार्यक्रमहरु हटाएर नयां प्रयोग गरिनेछ । आई टीका बिज्ञहरुबाट सुचना र प्रबिधिको बिकासबारे जानकारी गराउने, कसरी ब्यबसायमा लगानी गर्ने भन्नेबारे छलफल गरिने पनि बताए ।
मंच अमेरिकाको २७ राज्यमा विस्तार भईसकेको छ र सदस्य संख्या ८६३ रहेको छ ।अधिवेशनमा २३५ प्रतिनिधिले भाग लिने बताईएको छ । अधिवेशनमा सर्बसम्मतिले नया कार्यसमिती चयन गरिनेछ । सहमती मार्फत चयन हुन नसके मात्रै निर्वाचन प्रकृयामा जानुपर्ने भएकाले निर्वाचनमा अनलाईन मार्फत समेत मतदान गर्ने व्यवस्था मिलाईएको मंचका सचिव छबी पाण्डेले जानकारी दिए ।
न्युयोर्कको म्यानह्याटनमा आगामी आईतबार (मे १८) मा हुन लागेको सातौं नेपाल डे परेड २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । गैर-आवासीय नेपाली संघ, न्यूयोर्क शाखाको आयोजनामा हुन लागेको परेड डेमा न्युयोर्कमा संचालित बिभिन्न नेपाली संघ संस्था र नेपाली समुदायको सक्रिय सहभागीता रहने नेपाल डे परेड २०२५ संचालन समितिले जनाएको छ । परेडमा म्यानह्याटनको ३८ स्ट्रिट र मेडिसन एभिन्युमा सहभागी भएर बिभिन्न बाजा गाजा र झांकीसहित नेपाली पहिचान प्रस्तुत गरिनेछ ।
समितिले बिहिबार ज्याक्सन हाईटमा पत्रकार सम्मेलन गरि परेड डेका लागि आवश्यक पर्ने आर्थिक संकलन जुटाईसकिएको साथै सबै तयारीहरु पुरा भएको जानकारी दिएको हो । समितिका आर्थिक संयोजक कृष्ण आचार्यले आर्थिक संकलनका लागि डाईमन्ड, प्लाटिनम र सिल्भर गरी बिभिन्न बिधामा दाताहरुले रकम सहयोग गरेको बताए ।
डाईमन्ड स्पोन्सर अन्तरगत ५ हजार अमेरिकी डलर, प्लाटिनम स्पोन्सरका लागि ३ हजार ५ सय र सिल्भर स्पोन्सरका लागि १ हजार अमेरिकी डलर सहयोग गरिएको छ । साथै परेड डे लाई सफल रुपमा सम्पन्न गर्नका लागि बिभिन्न संस्थाहरु र ब्यक्तिगत रुपमा सगयोग गरिएको समितिले जनाएको छ ।
नेपाल डे परेडकी कन्भेनर मनिता गुरुडले अत्यन्तै छोटो समयमा परेड डेको तयारी गरेको जानकारी दिदैं सबै नेपाली समुदायका संघ संस्थाका प्रतिनिधि र ब्यक्तिहरुलाई परेड डेमा सहभागी भईदिन आह्वान गरेकी छिन । ‘तपाई हाम्रो सहभागीता भयो भने मात्रै नेपाली समुदायको एकता, संस्कार र मौलिकताको प्रतिविम्ब झल्काउन सकिनेछ। परेडमा सबै जना आएर सहयोग गरिदिनु होला’ कन्भेनर गुरुडले भनिन् ! परेडका अध्यक्ष छिरिडं शेर्पाले सबै जातजाती र भेषभुषा झल्काउने नेपाल र नेपालीको परेडमा नपाली समुदायका सबैलाई आईदिन आह्वान गरेका छन् । परेड डे गर्ने कि नगर्ने भन्ने अन्योलताकै बीच गर्ने निर्णय गरेर तयारी गरिरहदा अत्यन्तै खुसी लागिरहेको पनि उनले बताए ।
नेपाललाई आँखा उपचार क्षेत्रमा विश्वस्तरमा चिनाउने डा. सन्दुक रूईत मे १७ मा भर्जिनिया आउने भएको छ । यस अवसरमा उहाँसँग प्रत्यक्ष भेटघाट, अन्तरक्रिया, र हेटौंडामा निर्माणाधीन Tilganga IOL Expansion Project को जानकारी लिन सकिने यो एउटा महत्वपूर्ण अवसर हो। स्थान: 3901 Rugby Rd, Fairfax, समय: 2pm – 5 pm, May 17th , 2025.
अहिले हेटौंडामा निर्माणाधीन Tilganga IOL Expansion Project चलिरहेको छ। यो परियोजना नेपालीको दृष्टिविहीनता अन्त्य गर्न र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा नवप्रवर्तनको केन्द्र बनाउने महान उद्देश्यमा केन्द्रित छ। मानवतावादी सोचबाट सिर्जित यो कार्यक्रम नेपालको महत्वपुर्ण कार्यक्रम हो। यो नेपाली सबैको साझा कार्यक्रम हो। यसलाई सफल बनाएर नेपालीले आत्म गौरब गर्न सक्छन। त्यसैले उहाँसँग प्रत्यक्ष भेटघाट गरि अन्तरक्रिया, प्रेरणादायी सम्बोधन, र सहभागिता जनाएर सबै दानी-दाताहरू, स्वास्थ्यकर्मीहरू, समाजसेवीहरू, र आम सर्वसाधाणले नेपालमा आफ्नो योगदान गर्न सकिन्छ।
सर्वशक्तिमान शव्द प्रायश फिल्ममा खलनायकको स्कृप्टमा राखिएको हुन्छ । किनकि यो शव्दले दम्भ र अहंकार बोकेर बस्दछ । म, मेरो र मलाई बाहेकका बस्तुहरु गौण हुन् । ‘म मात्रै खास हुँ, अरु झ्यास् हुन्’ भन्ने भावना नै सरल भाषामा नार्सिसिजम् हो । नार्सिसस् भन्ने एक पश्चिमी दन्त्य कथाको पात्रबाट लिइएको शव्द भएपनि यो शव्द सबै भाषामा आगन्तुकको रुपमा प्रचलित छ । जसको नेपालीमा उल्था गर्दा अहमता / मबाद / आत्ममुग्ध हुन जान्छ । मेरो अनुभव, समझ, ज्ञान, प्राप्तिको तुलना अरुसँग हुनै सक्दैन । म जस्तो उम्दा कोही छैन भन्ने भावनाको शुरुवात नै नार्सिसिस्टिक व्यक्तित्वको बीज हो ।
वर्तमान विज्ञानले यसलाई रोगको संज्ञा दिएर Narcissist personality disorder (NPD) को नाम दिइएको छ । यसको थेरापि ध्यान र काउन्सेलिङबाट गराइन्छ । अहमबाद अर्थात नर्सिसिजम सयौं प्रकारका हुनसक्छ । गुगलले बिसौं प्रकारको चर्चा गरेतापनि यसको तहहरु (स्पेक्ट्रम) अटिजमको जस्तै अनगिन्ति हुन्छन् ।
सुन्दर घर र समाजको परिकल्पना गर्ने हो भने आफु र आफ्नो बालबच्चालाई नार्सिसिष्ट हुनबाट जोगाउनै पर्दछ । अरुलाई दुख दिएर र अरुको कष्टमा हास्ने रमाउने (सेडिष्ट) जत्तिकै घातक मानसिकता हो अहमता (नार्सिसिष्ट)। भगवान श्रीकृष्णले आत्मप्रशंसा आत्महत्या बराबर हो । भनेर कुरुक्षेत्रमा सम्झाएको घटनाले नै “म मात्रै सर्वोत्तम” भन्नु कति डरलाग्दो मानसिक अवस्था हो भन्ने बुझ्न सकिन्छ ।
नार्सिसिष्टले के गर्छ ?
उसले अरुलाई सानो देखाउने प्रयत्न गर्छ । त्यसको लागि अरुको अक्षमता, कुरुपता, कमजोरीलाई हतियार बनाएर पटक पटक प्रहार गर्छ । यस्तो व्यक्ति आफ्नो प्रशंसा हुने र गरिने अवस्थाको खोजीमा हुन्छ । आफु लाइम लाइटमा रहन अरुको भावनालाई सजिलै भुल्दछ । उस्लाई अरुको दुखले छुदैन । इम्पेथी शुन्य हुन्छ । नार्सिसिष्टमा बिनम्रता कम हुन्छ, उ हमेशा ठुलो स्वरले बोल्छ । अरुको सुन्नु परेको समयमा उसलाई गाह्रो हुन्छ ।
नार्सिसिजम के हो ?
यो आत्मविश्वासको पोखिएको रुप हो । ओभर कन्फिडेण्ट र नार्सिसिजम बीचको रेखा साह्रै पातलो र मसिनो हुन्छ ।आत्मविश्वास रहनु राम्रो तर अति हुनु नराम्रो भने जस्तै हो । जो मान्छे ‘मैले मात्रै सक्छु’ भनेर हिड्छ उसले बिस्तारै बीचको पर्खाल नाघेर नार्सिसिजमतर्फ जाँदैछ भन्ने बुझ्नुपर्छ । नार्सिसिजम एउटा घातक मानसिक अवस्था हो जसले व्यक्तिलाई एन्जाइटिको बाटो गरेर डिप्रेसनहुँदै आत्महत्यासम्म पुर्याउँछ । सबै समय एउटै हुँदैन । रेकर्डहरु तोडिरहन्छन् । सम्वन्ध पनि परिस्थिति, उमेर र वातावरले गर्दा परिवर्तनमुखी हुन्छ भन्ने डाउनफल उसले स्विकार्नै सक्दैन । मैले मलाई सोचेको जस्तो अरुले पनि सोच्नुपर्छ भन्ने भाव पनि महत्वपुर्ण नार्सिसिजमको प्रकार हो । म भएन भने केही हुँदैन भनेर आफ्नो अस्तित्वको बढावा घर वा कार्यक्षेत्रमा गर्व गर्नुपनि नार्सिसिजम हो ।
नार्सिसिजम कसमा कम वा हुँदैन ?
यो सानो बच्चामा हुँदैन किनकि उसले म भन्ने अस्तित्वको बोध गरेको हुँदैन । तँपाईले १/२ बर्षको बच्चालाई लिएर ऐना अगाडि जानुस् उसले तँपाईलाई मात्रै कहिले ऐनामा कहिले फर्केर सिधा हेरिरहन्छ किनकि उसलाई उसको स्वरुपको “यो म” भन्ने ज्ञात हुँदैन । बिस्तारै हामीले नामसँग उसलाई रिलेट गराउन खोज्छौं । फोटोसँग । यो तिम्रो भन्ने स्वामित्वसँग । सबै त्यागेर वा जगत थेग्न नसकेर हिडेको साधु, सन्त, सन्यासी वा ध्यानमार्गमा लाग्नेसँग कम हुन्छ । तर कुनै कुनै सन्त बनिसकेपछि प्रशंसा र चर्चाको कारण नार्सिसिष्ट देखिएका पनि छन् ।
सो कसरी नियन्त्रण गर्ने ?
यो मनोविज्ञान र मानसिक स्वास्थ्यसँग जोडिएको तत्व भएकोले उसको कारणहरु हेरेर काउन्सेलिङ शुरु गर्नु पर्छ । पश्चिमी सभ्यताका दार्शनिक सुकरातले भनेका छन् “मलाई थाहा छ, मलाई कम थाहा छ । धेरै कमलाई थाहा छ, उस्लाई कम थाहा छ ।” यो वाक्यले धेरैको अहंकारलाई केही हदसम्म नियन्त्रण गर्न मद्दत गर्दछ । कज, इफेक्ट एण्ड कन्कलुजनको रुपरेखा देखाएर सबैको अस्तित्व स्विकार्न सिकाउनु पर्छ । धेरै सेलिब्रेटीहरु छिट्टै नार्सिसिष्टको बाटो भएर डिप्रेसनमा पुग्नुमा पनि नियन्त्रणको औजारको सम्पर्कमा नजानुले हो ।
नेपालीहरु आफ्नो देशमा अनेकन बिकृति, विसंगति, बेरोजगारी खप्न नसकेर आफ्नो जीवन धान्न र परिवारको पालन पोषणका लागि अनेक दुखकष्ट सहँदै प्राय संसारको सबै मुलुकमा रोजगारीका लागि पुगेका छन।
तिनै नेपालीले बिदेशबाट दुख गरि कमाएको बिदेशी मुद्रा नेपालमा रेमिट्यान्स पठाएकोले नेपालका पहुचावालाहरुलाई बिदेसी गाडि, गाडीमा हाल्ने तेल, सुखसयलका समानहरु, बिदेशी उपचार, विदेश यात्रा, र अनेकन बिदेसी मुद्रा आवस्यक पर्ने कार्य गर्न सम्भव भएको छ।
तर तिनै नेपालीले दुख गरि कमाएको रकमले अब आफ्नो बालबच्चा र परिवारलाई आवस्यक पर्ने केहि लत्ताकपडा, औषधि, जुत्ता, फोन, खानेकुरा यस्तै अन्य घरायशी समानहरु बिदेशबाट नेपाल पठाउन नेपाल सरकारको भन्सार कार्यालयले कठिन बनाईदिएको छ। उदाहरणको लागि साउदी अरबमा रोजगारीका लागि गएकी गंगामाया तामाङले कार्गोमार्फत बच्चाका लागि पठाएको ३९ किलो सामान एक महिनादेखि भन्सारमा रोकिएको छ ।
व्यवसायीहरूको गुनासो:
डिजी प्लस प्याक र शिप कार्गो कम्पनिका मालिक दावा आहोवा, न्युयोर्क अमेरिकाबाट नेपालमा कार्गो सामानको ओसारपसार गर्दछन। उनि भन्छन, “भन्सार कार्यालयको कडाइका कारण व्यक्तिगत रूपमा पठाइएका सामान महिनौँसम्म रोकिने अवस्था भएको छन्।” उनि भन्छन, “उता हाम्रो सामान कहिले आइपुग्छ भनेर ग्राहकहरू भनिरहनुभएको छ, यसको जवाफ दिनसक्ने अवस्था हामीसंग छैन। ” भन्सार कार्यालयले भने अनुसार जाँचपास गरेर लैजान समेत समस्या रहेको उनको भनाइ छ। भन्सार सम्बन्धी प्रस्ट कानुन नहुँदा हामि जस्ता साना व्यवसायी समस्यामा मात्रै पर्ने नभएर ग्राहकको विश्वास समेत गुमाउनु परेको छ । ग्राहकको थुप्रिएको समान देखाउदै उनले भने, “त्यसैले अहिले हाम्रो गोदाममा यति धेरै बक्स जम्मा भएका छन। हाम्रो राख्ने ठाऊ नै छैन। “
विदेशबाट आउँदा व्यक्तिगत तथा घरायसी प्रयोजनका लागि ल्याइने निश्चित परिमाणका वस्तुलाई भन्सारले महसुल छुट दिने व्यवस्था गरेको छ । यस्तो सामानलाई झिटीगुन्टा भन्ने गरिन्छ ।
बिगतमा व्यक्तिले आफै वा कार्गो तथा कुरियर सेवा प्रदान गर्ने कम्पनीमार्फत् पठाएको सामानलाई पनि झिटीगुन्टा सरह मानेर भन्सार छुट दिइँदै आएको थियो । तर, सोही माध्यमबाट व्यावसायिक सामान ल्याउँदा भने भन्सार महसुल लिएरमात्रै जाँचपास गरिँदै आएको थियो ।
तर भन्सार कार्यालयको गत फागुन ११ को “व्यापार सहजीकरण” बैठकले कार्गो तथा कुरियरमार्फत् आउने व्यावसायिक सामानहरू समेत व्यक्तिगत प्रयोजनको भनेर घोषणा गर्ने प्रवृत्ति देखिएको भन्दै यसमा कडाइ गर्ने निर्णय गर्यो । अनि त्यसको भोलिपल्टदेखि भन्सार कार्यालयहरूले जाँचपास कडाइ गरे।
अहिले कुरियर कम्पनि आफैले भन्सारबाट सामान छुटाएर ग्राहकको ठेगानामा पुर्याउन सक्दैनन्। कम्पनीले ग्राहकलाई सामानको रशिद दिन्छ। अनि ग्राहकले विमानस्थलको भन्सारमा गएर अनेक झमेला खपेर पनि सामान छुटाउन सकिरहेका छैनन्। यसले गर्दा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा दुई सय मेट्रिक टनभन्दा बढी सामान अड्किएको छ ।
नेपालीहरुको सरकारप्रति आस्था र बिस्वास बढ्ने: अहिले विभागको नयाँ नेतृत्वमा महेश भट्टराई छन् भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुखमा दिलीप गौतम छन् । विभाग र कार्यालयमा नयाँ नेतृत्व आएपछि जाँचपासमा कडाइ हुन थालेको छ । महानिर्देशक भट्टराई झिटीगुन्टाको नाममा सरकारले दिएको राजस्व छुटलाई दुरुपयोग गर्दै व्यावसायिक सामान भित्र्याउने गरेको पाइएकाले यसलाई रोक्ने प्रयास गरिएको बताउँछन् ।
अवस्य पनि सबै ब्यापारी दुधले नुहाएका छैनन्। तर केही गैर कानुनि कार्य गर्ने ब्यापारीको कारण बिदेशमा गएर दुखगरी आफ्नो देशको माया गरि कमाएको धन नेपालमा पठाउने नेपालीलाई दिएको केही सुबिधा पनि कटौति गर्नु कहाँको न्याय हुन्छ ? यो सरकारको लागि बिचारणीय छ। त्यसैले सरकारले दिदै आएको झिटीगुन्टा सहुलियत, कार्गो कम्पनीहरुले नै भन्सार छुटाई सहज तरिकाले ग्राहकको ठेगानामामा पुर्याउन सकेमात्र बिस्वभरिका नेपालीहरुको सरकारप्रति आस्था र बिस्वास बढ्ने छ।
न्युजर्सी राज्यको नेपाली समुदायमा पहिलो पटक ऐतिहासिक “नेपाल डे” हुने भएको छ । प्रवासमा नेपाली पहिचानको स्थायित्वकरणको लागि महत्वपुर्ण कोशेढुँगा साबित हुने विश्वास गरिएको नेपाल डे आगामी मे ३१, २०२५ का दिन हुने भएको हो ।
गत शनिबार “नेपाल डे”को सम्पन्न पहिलो आयोजक समितिको बैठकबाट कार्य समिति गठन गरिएको हो । एनआरएन अभियानकर्ता तथा सामाजिक अभियन्तादहरु संजिब श्रेष्ठ, सतेन्द्र साह र राजेन्द्र श्रेष्ठको संयुक्त संयोजन र पहलमा न्युजर्सीको फेयरलनमा पहिलो पटक “नेपाल डे” हुन लागेको हो ।
नेपाली पहिचानको स्थायित्वकरणको निमित्त प्रवास भूमीमा हुन लागिएको यस अभियानको अध्यक्ष राजेन्द्र श्रेष्ठ, कन्भेनर सतेन्द्र साह, कोकन्भेनर न्युजर्सीमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरु, ब्यवस्थापन तथा स्वागत समिति फेयरलेन नेपाली समाज, आर्थिक संयोजक कृष्ण अधिकारी, कार्यक्रम ब्यवस्थापक भिमसेन खड्का, स्वयंसेवक संयोजक समिर कॅुवरलाई आयोजक समितिको बिबिध उत्तरदायित्व सहित गठन गरिएको हो ।
नेपाल पहिचानको स्थायित्वकरण हुने बिशेष कार्यक्रममा नेपालको कला, संस्कृत, भाषा, भेषभुषाको परिचित स्टल प्रदर्शनी, खानाको प्रदर्शनी र बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ । कार्यक्रम फेयरलन सिटीको कार्यालयको प्रमुख आयोजना र न्युजर्सीमा रहेको नेपाली संघ संस्थाहरुको आयोजनामा हुन लागिएको हो ।
एनआरएनए न्युयोर्क च्याप्टर तथा स्थानीय नेपाली संघसंस्थाहरुको संयुक्त आयोजनामा हुन गइरहेको नेपाल डे परेड २०२५ को सञ्चालन समितिको बैठक ज्याक्सन हाइट्समा सम्पन्न भएको छ । यस वर्षको परेड आगामी मे १८ तारिख आइतबारका दिन न्युयोर्क सहरको म्यानह्याट्टनमा हुने तय भएको छ ।
एनआरएनए न्युयोर्क च्याप्टरको उपाध्यक्ष छिरिङ शेर्पाको अध्यक्षतामा सम्पन्न कर्यक्रममा, कन्भेनर मनिता गुरुङ, आर्थिक संयोजक कृष्ण आचार्यसहित सल्लाहकार, संयोजक र स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकमा परेड व्यवस्थापन, मञ्च कार्यक्रम, सांस्कृतिक झाँकी, अतिथी स्वागत, ट्रक व्यवस्थापन र प्रचार-प्रसारसम्बन्धि महत्वपूर्ण निर्णयहरू लिइएको जानकारी आयोजक टिमले दिएको छ। साथै, पूर्व कन्भेनर टक रुवालीले २०० साना, १०० मध्यम र १० ठूला नेपाली झण्डा प्रायोजन गर्ने घोषणा गर्नुहुँदा सहभागीहरू उत्साहित बनेका थिए।
अध्यक्ष छिरिङ शेर्पाले बैठकमा सबैलाई स्वागत गर्दै नेपाल डे परेड २०२५ लाई सम्पूर्ण नेपाली समुदायको गौरवमय चाडको रूपमा स्थापित गर्न सबैको साथ र सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो। बैठकमा सहभागीहरूले परेडको तयारीलाई तीव्र पार्दै आगामी कार्यक्रमलाई भव्य, आकर्षक र ऐतिहासिक बनाउन प्रतिबद्धता जनाएका छन्।
संयुक्त राष्ट्रसङ्घ मुख्यालय न्युयोर्कको जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सत्रमा भागलिन न्युयोर्क आएका नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री प्रदीप पौडेलले गत अप्रिल ८ गते जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको अवलोकन गर्नु भयो । उक्त अवसरमा फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले स्वागत गर्नुभएको थियो। कार्यसमिति सदस्यहरु सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्री लगायत नेपाली कांग्रेस नेतागण एवम् ने.वि. संघ नेता कार्यकर्ताहरुले माननीय पौडेललाई आ-आफ्नो परिचय दिदैं मन्तव्य राखेका थिए। मन्त्री पौडेलले स्वर्गीय गिरिजा प्रसाद कोईरालाप्रति श्रद्दासुमन अर्पण गरेका थिए ।
मन्त्रीज्युले आफ्नो भनाइ राख्दै नेपालको स्वास्थ्य मन्त्रालय मार्फत जनतालाई यथासंभव सहज, शुलभ र नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्न लागीपरेको र देशविदेशमा रहेका नेपाली सहयोगीहरूबाट सकरात्मक सहयोगको अपेक्षा गर्नु भयो। साथै आज नेपालमा फेरी गणतन्त्र विरोधि शक्ति सलबलाई देशमा अस्थिरता एवं अशान्ति फैलाउने चेष्टा भईरहेको अवस्थामा स्व. गिरीजावावुले रोपेको गणतन्त्रको बिरूवालाई बिशाल वृक्षमा परिणत गर्न सिंगो काग्रेस पार्टी लागेको बारे प्रकाश पार्नु भयो।
कार्यक्रममा फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले अमेरीकामा फाउण्डेशनले गरेका विविध गतिविधिहरुवारे संक्षेपमा प्रकाश पार्नु भएको थियो। सामाजिक अभियान्ताहरु अम्बीरराज जोशी, सुजन खनाल, कृष्ण पोख्रेल, मीन खड्का, मीन हमाल, महदत्त कँडेल लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो। वहाँहरुले माननीय मन्त्रीको प्रशंसनीय कार्यसम्पादन र जनप्रिय निर्णयहरुवारे चर्चा गर्नुभयो।
ट्रम्प प्रशासनले हालै नेपाल र तिब्बतलाई दशकौंदेखि युएसएड मार्फत दिदै आएको अमेरिकी आर्थिक सहायता अकस्मात बन्द गर्दै युएसएड कार्यालय नै बन्द गरिदिनाले यी मुलुकको आर्थिकस्थिति तहसनहस हुन् पुगेकोबारे अमेरिकी सिनेटरहरु लगायत बिभिन्न नेपाली र तिब्बती संघ संस्थाहरुको ध्यानाकर्षण भएको छ।
गत सन् २०२४ मा नेपाललाई १२३.८ मिलियन अमेरिकी डलर सहायता दिने निर्धारण गरिएको थियो। यसबाट २१. ५८ मिलियन डलर मातृ शिशु कल्याण तथा परिवार नियोजन कार्यक्रम, कृषिको बिकासका लागि १७. ९८ मिलियन, बातावरण संरक्षणको लागि ११ .६६ मिलियन डलर , एड्स रोकथामको लागि ८. ६ मिलियन , शिक्षा क्षेत्रको लागि ५ .२८, खानेपानी तथा सरसफाईको लागि र त्यस्तै अन्य क्षेत्रको लागि रकम बिनियोजन गरिएको थियो। तर अहिले ती सबै कार्यक्रमहरु स्थगित हुन् पुगेका छन। नेपालमा दिएको सहायतामा निकै भ्रष्टाचार भएको भन्दै ट्रम्प प्रशासनले केही समय अगाडि आक्षेप पनि लगाएको थियो। अमेरिका नेपाल सम्वन्ध ७ दशक लामो रहेको छ।
त्यस्तै तिबेतियनहरुको आत्मनिर्भर कार्यक्रमको लागि ७ मिलियन डलर, तिबेतियन केन्द्रीय प्रशासान दिगो बिकासका लागि २. ८९ मिलियन डलर, तिबेतियन सामुदायिक बिकासको लागि ९ मिलियन डलर, तिबेतियन संस्कृति संरक्षणको लागि ७. ३२ मिलियन पनि रोकिएको छ। यसरी नेपाल र तिबेतियनको लागि दिदै आएको सहायता अकस्मात रोकिनाले यिनको आर्थिक गतिबिधि क्षत विक्षत हुन पुगेको छ। अहिले सहायता रोकिनाले नेपालको स्वास्थ,शिक्षा, कृषि, आधारभूत संरचना र बिभिन्न जनमुखी कार्यक्रमहरुमा निकै ठुलो असर परिरहेको छ। यसैलाई मध्ये नजरमा राखेर अप्रिल २ मा अमेरिकी सिनेटर चार्लस् शुमरले एक बिज्ञप्ति नै जारि गरेर अमेरिकी सहायता अमेरिका तथा नेपाल र तिब्बेतीहरुको हित अनुकुल हुने गरि पुन: चालु गर्न ट्रम्प प्रशासनसंग जोडदार माग गरेका छन। त्यस्तै गरि असेम्बली सदस्य स्टिवन रागाले पनि नेपालला दिदै आएक्रो आर्थिक सहायत कटौति गरिएकोमा घोर भर्त्सना गरेका छन। अमेरिकामा रहेका नेपाली अमेरिकी परिवारहरुलाई चित्त नदुखाउन उनले ट्रम्प प्रशासनसंग अमेरिकी सहायता पुन: चालु गर्न जोड्दार माग गरेका छन।
असेम्बली सदस्य राजकुमारले पनि युऎसएड सहायता पुन चालु गर्न माग गरेका छन। त्यस्तै अर्की असेम्बली सदस्य जुलिया वनले पनि कटौति गरिएका जनमुखी कार्यक्रमहरुले हिमाली परिवारहरुको जीवन रक्षाको आघात पुग्ने भन्दै क्षमता प्रवर्धन विभागको एकतर्फी निर्णनयको भर्त्सना गरेकी छिन। उनले संघीय रुपमा यो सहायता कटौति बिरुद्द लाग्ने उद्घोष गरेकी छिन।
त्यस्तै अर्का डिस्ट्रिक्ट २५ असेम्बली सदस्य सेखर कृशननले आफ्नो चुनाव क्षेत्रमा नेपाल र तिबेतियन समुदायका सदस्यहरु भएको र तिनलाई आफ्नो मुलुको जनताले कठिनाई भोग्न परिरहेको बारे चिन्तित भएको भन्दै कटौति भएका कार्यक्रम पुन: संचालन गराउन माग गरेका छन। त्यस्तै जिपिके फ़ाउण्डेशनर दिलकुमारी केसी मेमोरियल फ़ाउण्डेशनले पनि नेपाललाई दिदै आएको सहयात् पुन: चालु गर्न जोडदार माग गरेका छन। त्यस्तै गरि कानुन व्यवसायी खगेन्द्र जिसीले यदि अमेरिकाले सहायता चालु नगरे नेपालीहरुले चीनको सहयात खोज्ने र अमेरिकाले नेपालको सहयोग गुमाउने गुञ्जायश रहने जिकिर गरेका छन। त्यस्तै माईनोरिटी ईमपावर कम्युनिटिका निर्देशक श्रीया तुलाधरले रोकिएका कार्यक्रमहरुले दिर्घकालिन असर पर्ने जिकिर गर्दै सहायता जारि राख्न माग गरेकी छन। त्यस्तै न्युयोर्क तिवेतियन सेवा केन्द्रका तेञ्जिङ्ग दाक्तेना र तिवेतियन सामुदायिक नेता तेन्जिंग छ्यान्गले पनि कार्यक्रमहरु स्थगित हुनाले दिर्घाकालिन असर पर्ने भन्दै पुन चालु गर्न जोडदार माग गरे।
त्यसैगरि तिवेतियन फण्डका अध्यक्ष बब एण्डर्सनले अमेरिकी सहायता बन्द हुनाले असंख्य नेपाली र भारतमा रहेका तिबेतियनहरुलाई असर पर्ने र उनीहरुको पुर्णरुपमा बिकास अवरुद्ध हुने भन्दै सहायता जारि राख्न ट्रम्प प्रशासनसंग अनुरोध गरेका छन।
प्रत्येक वर्ष मार्च ८ का दिन गर्विलो नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस अर्थात् महिला श्रमिक दिवस मनाइन्छ । यस वर्ष “Accelerate Action” for gender equality भन्ने सन् २०२५ को लागि चयन गरेको नाराका साथ नारी दिवस विश्वभर मनाइदैं छ । सरकारी तथा गैरसरकारी संस्थाहरुको पनि दिवस मनाउँने तयारी व्यापक देखिन्छ ।
हामीले कुनै पनि कार्य गर्दा त्यसको इतिहासलाई स्मरण गर्नुपर्ने हुन्छ । मानव सभ्यताको शुरुवातदेखि नै महिलाहरूले पुरुषसरह काम गर्ने गरेको र काम गरेबापतको ज्याला पुरुषको तुलनामा ज्यादै कम पाउने र पुरुषले भन्दा धेरै घण्टासम्म काम गर्नुपर्ने हुँदा आफूहरू शोषित भएको महसुस गरि आफ्नो अधिकारको लागि सन् १९०० देखि आवाज उठाउन थालेको इतिहासमा भेटिन्छ ।
नारी सशक्तिकरणको अभियानलाई अगाडि बढाउदै जाँदा विश्वका महिलाहरु आज यो अभियानमा धेरै अगाडि बढिसकेका छन् । तर हामी नेपाली महिलाहरु भने आज पनि घरेलुहिंसा, बलात्कार, हत्या, आत्महत्या, दाइजोप्रथा जस्ता जघन्य अपराध र कुरीतिको घेराबाट बाहिर निस्कन सकेको अवस्था छैन । नेपालमा मात्र नभएर विदेशमा भएका नेपाली महिलाहरू पनि यस्तो अपराधबाट छुट्कारा पाउन नसकेको कुरा बेलाबेलामा हामीले सुन्दैं आएका छौं । केही वर्ष अगाडिसम्म हाम्रो छोरीचेलीहरु विभिन्न बहानामा जलाउने र झुन्ड्याउने गरिन्थ्यो भने आजकल स्वयं जल्ने र झुन्डिने गरेको दिनहॅु जस्तो घटिरहेको सुन्छौं र हामी सामाजिक संजालबाट हार्दिक श्रद्वाञ्जली दिएर आफ्नो कर्त्तव्य पूरा गरेको ठान्छौं ।किनभने हिंसामा परेको छोरीलाई हाम्रो समाजका तॅपाई हामीले बाँच्नुभन्दा मर्नु ठिक मान्छौं ।
आजकल हिंसामा परेका छोरीहरुको आत्मबल कमभई आत्महत्या गर्नुमा यहीं समाजका तॅपाई हामी नै दोषि छौं ।यस्ता घटनामा परेका छोरीहरुलाई आत्मबल बढाउनको लागि आवश्यक काउंसलिंग गर्नुकोसट्टा दोष देखाई मनोबल कम गराउने काम तॅपाई हामीले नै गर्नेगर्छौं । सोचौं आज अरु कसैको घरमा घटेको घट्ना भोली तॅपाईको घरमा घट्न सक्छ किनभने तॅपाईको घरमा पनि कुनै न कुनैरूपमा नारी छिन्। तसर्थ नारीप्रतिको सोंच बदलौं ।
हालसालै हाम्रा छोरीचेलीहरु अमेरिकामा चन्द्रमाया पौडेल रिमाल, ममता काफ्ले, मुना पाण्डे, अस्ट्रेलियामा कृति थापा त्यसैगरि इण्डियामा प्रकृति लम्सालले हिंसामा परि आत्महत्या गरेका छन् अर्थात् हत्या भएको छ । यी छोरीचेलीको हत्या अथवा आत्महत्याको कारण आफ्नै नजिकको पार्टनर र आफन्तबाट प्रताडित् भएर भएको देखिन्छ ।
आज नारी दिवसले ११५ औं वसन्त पार गर्दै गर्दा पनि महिलाहरुलाई नेतृत्व तहमा र निर्णायक भूमिकामा सहर्ष स्विकार गर्न नसकेको अवस्था छ । नेतृत्व तहमा भएका केही महिलाहरु पनि राजनीतिक आस्थाको आधारमा, जातीय आधारमा र अरु विभिन्न कुराले विभाजित भएको देखिन्छ ।
तसर्थ जेण्डर इक्वालिटीको लागि अझैं ५ पुस्ता निरन्तर यो अभियानमा लाग्नुपर्ने एक सर्वेक्षणले देखाएको छ । यो अभियानलाई समर्थन गर्नको लागि सभा सम्मेलनबाट मात्र नभई घरबाट पनि गर्न सकिन्छ । हरेक महिलाले महिलाको सम्मान गर्दै समाज परिवर्तनको लागि हातेमालो गर्दै अगाडि बढ्न सक्नुपर्छ । व्यक्तित्व विकासको कमी भए विभिन्न तालिमहरु लिएर सशक्तिकरणको मार्गमा हिड्न महिलाहरु अब हिच्किचाउनु हुँदैन । महिला दिदीबहिनीहरू नेतृत्व तहमा आउन जरुरी छ । पुरुष दाजुभाइले पनि महिला दिदीबहिनीलाई नेतृत्व तहमा अगाडि बढाउनको लागि सहज वातावरण प्रदान गर्नुपर्छ र आफू पनि मानसिक रुपमा परिवर्तन हुनुपर्छ ।
जुन घरमा, जुन समाजमा, जुन देशमा महिलाको सम्मान हॅुदैन त्यो घरमा, त्यो समाजमा, त्यो देशमा हिंसा र द्वन्द हुन्छ र त्यो घर, समाज र देश कहिले पनि सम्पन्न र सफल हॅुदैन । ११५ औं अन्तराष्ट्रिय नारी दिवसको सबैमा शुभकामना ।
(लेखिका एनआरएनए न्युयोर्क च्याप्टरको महिला उपाध्यक्ष हुनुहुन्छ)
न्युयोर्कको वुड्साईडस्थित काठमाडौं फ्युसन रेस्टुरेन्टमा बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले जिबनाथ कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमिति अध्यक्ष: जिबनाथ कँडेल बरिष्ठ उपाध्यक्ष: बिमल हमाल उपाध्यक्ष: सुजन बस्याल महिला उपाध्यक्ष: माया देबी पुन मगर महासचिव: जीवनदास सुनार सचिव : नवराज सापकोटा सचिव : अशोक खड्का कोषाध्यक्ष: बिशाल निउरे सह कोषाध्यक्ष: प्रभा रिजाल सापकोटा युथ् कोर्डिनेटर: प्रेम भट्टराई सदस्यहरु: हरी आचार्य, गगन थापा र कृष्ण बोहोरा
बागलुङ सेवा समाजका केन्द्रीय अध्यक्ष सकस जिसीको अध्यक्षतामा सम्पन्न अधिवेशनको कार्यक्रम सञ्चालन संस्थाका निवर्तमान सचिव दिपु श्रीष मगरले गरेको थियो ।
न्युयोर्कबासी बाग्लुङगेहरुको बाक्लो उपस्थिति रहेको अधिवेशनमा बागलुङ सेवा समाज अमेरिका महाधिबेशन समायोजन समितिका अध्यक्ष गौरिश्वर शर्माले प्रवासमा पनि बागलुङ सेवा समाजले जिल्लावासीका लागि निरन्तर काम गरिरहेको बताउँदै निर्वाचित नयाँ कार्यसमितिले ऐतिहासिक काम गर्न सकोस् भनि शुभेक्षा व्यक्त गरे ।
संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडमा रहेको नेपालीहरूको साझा संस्था “केप कड नेपाली समाज” ले सधैंझै विभिन्न नेपाली मौलिक चाडपर्वहरू मनाउने क्रममा यस वर्षको लोसार पर्व (लोसार नंयावर्ष २१५२- सर्पवर्ष) समाजका अध्यक्ष केबी राईको अध्यक्षता र छेजी शेर्पा-एन्ड्रूको संयोजकत्वमा फेब्रुअरी महिनाको १६ तारीख, आइतबारका दिन Hyannis स्थित Cape Cod Irish Village को सभाकक्षमा भब्यताका साथ सम्पन्न गरिएको थियो।
समाजका महासचिव, इच्छा खड्का र सचिव सरस्वती खनालद्वारा संयुक्त रूपमा संचालित उक्त कार्यक्रममा अमेरिकाको न्यूयोर्क र कनेक्टिकट राज्यबाट शेर्पा समुदायका अतिथिहरूको पनि उल्लेख्य उपस्थित रहेको थियो।
समाजका वरिष्ठ उपाध्यक्ष बिष्णु मान प्रधानले कार्यक्रममा उपस्थिति सबैलाई स्वागत गर्नुको साथै लोसार वर्ष २१५२ को हार्दिक मंगलमय शुभकामना पनि ब्यक्त गर्नुभएको थियो। केप कड नेपाली समाज द्रुत गतिमा अगाडी बढिरहेको र बर्ष दिन भित्रमा धेरै नेपाली चाडपर्वहरू मनाउने कार्यक्रम गरिसकेको र आगामी दिनहरूमा पनि मनाउदै जाने कुरा प्रधानले बताउनु भयो। उहॉंले नेपाली समुदायका सबै लाई संस्थामा आबद्ध भई साथ र सहयोगका लागि पनि आवहान गर्नु भएको थियो ।
यसैगरि “लोसार साँझ”कार्यक्रमका संयोजक छेजी शेर्पा-एन्ड्रूले न्यूयोर्क तथा कनेक्टिकट राज्यबाट आउनूभएका सम्पूर्ण अतिथिहरूलाई खादा लगाएर स्वागत गर्नुको साथै लोसार पर्वको बारेमा प्रष्ट पार्दै यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने समाजका सबै पदाधिकारीहरू लगायत सम्पूर्ण अतिथिहरू साथै समुदायका सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरूलाई धन्यवाद दिदै सबैमा लोसार वर्ष २१५२ को शुभकामना पनि ब्यक्त गर्नुभएको थियो।
समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार हरि राईले पनि उपस्थित सबैलाई लोसार पर्वको शुभकामना दिंनुको साथै सांगितिक प्रस्तुति दिएर कार्यक्रमलाई थप हौसला प्रदान गर्नुभएको थियो।
संखुवासभा शेर्पा समाज अमेरिकाको अध्यक्ष, ओंग्चु शेर्पा, कनेक्टिकट शेर्पा सोसाइटीका अध्यक्ष, सोनाम छिरिंग शेर्पाले पनि केप कडमा आएर लोसार मनाउन पाउदा ख़ुशी लागेको ब्यक्त गर्दै सबैमा लोसार पर्वको शुभकामना दिनुभएको थियो। कार्यक्रममा GBNC का अध्यक्ष सन्दीप भट्टराईको पनि उपस्थिति रहेको थियो।
नेपाली संस्कृति झल्किने विभिन्न मौलिक भेषभुषामा सजिएका केप कडका स्थानीय बाल कलाकारहरू, मिंग्मा लाह्मु शेर्पा, डिचेन डोल्मा शेर्पा, पासंग डोल्मा शेर्पा, फुर्वा शेर्पा र जिग्मे शेर्पा द्वारा स्वागत नाच प्रस्तुत गरि “लोसार विशेष सांस्कृतिक कार्यक्रम” को शुरुवात गरिएको थियो।
यसैगरि कार्यक्रममा स्थानीय कलाकारहरूको विभिन्न समुहले सामूहिक रूपमा प्रस्तुत गरिएका नेपाली समुदायको विभिन्न मौलिक भेषभुषा, परम्परा र सांस्कृतिलाइ प्रतिबिम्बित गर्ने शेर्पा नाच, तिब्बतियन नाच, तामागं नाच र गुरुंग नाचहरूको प्रस्तुतिले लोसार सांझको विशेष रौनकता बढाएको थियो। लोसार विशेष सांस्कृतिक कार्यक्रमलाई सफल पार्न विशेष भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण स्थानीय कलाकारहरू, के. ओंगछु शेर्पा, निमा शेर्पा, सुस्मा क्षेत्री-शेर्पा, छेजी शेर्पा-एन्ड्रू, प्रमिला धमला बन्जारा, पेमा खंगदु शेर्पा, खगेन्द्र राई, डोमा शेर्पा, रिन्जिंग डिक्की लामा, रविना गुरूगं, निशा लामा, झरना अन्डरउड साथै बाल कलाकारहरू डिचेन डोल्मा लामा, मिंग्मा लाह्मु शेर्पा, रिसिका शाहको अथक मेहनत र कला-कौशलता अत्यंतै प्रशंसनीय रह्यो। उक्त सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिएका प्रायः सबै नाचहरूको कोरियोग्राफ़ी यसै केप कड नेपाली समाजका आजीवन सदस्य रवीना गुरूंगले गर्नुभएको थियो। त्यसैगरि कार्यक्रममा उपस्थित अतिथिद्वय लाक्पा शेर्पा र साँगे शेर्पाले पनि नेपाली मौलिक गीतहरू गाएर कार्यक्रमलाई थप मनोरंजन प्रदान गर्नुभयो।
स्थानीय दिदीबहिनी तथा दाजुभाईहरूले रविना गुरुंगको अगुवाईमा लोसार विशेष पूजा तथा अन्य सजावट सामाग्रीहरू ल्याई कार्यक्रम गर्ने सभाकक्षलाई सजाएर आकर्षक बनाएका थिए। त्यसैगरि छेछे गर्ने सामाग्रीहरू ( छ्यागं, ‘साम्पा’ जौ को पीठो र चामल) सबैको सहजताको लागि प्रवेशद्वार नजीकै राखिएको थियो भने पर्व विशेष परिकारहरूः खाप्से, ढेसे, नुन घ्यु हालेको चिया (Suchiya) र फलफुलहरूको पनि ब्यवस्था गरेका थिए।जस्ले कार्यक्रम स्थल लोसारमय बनेको थियो। यसरी लोसार विशेष पुजा सामाग्री र परिकारहरू बनाई ल्याउनेहरूमा कार्यक्रम संयोजक छेजी शेर्पा, समाजका सदस्यहरू रवीना गुरूंग, रिन्जिंग लामा, मिंग्मा शेर्पा, डोमा शेर्पा, ओंग्चु शेर्पा, लाक्पा नोर्वु शेर्पा, प्रमिला धमला बन्जारा लगायत सम्पूर्ण स्थानीय कलाकारहरूको योगदान अत्यन्तै सह्रानीय र प्रशंसनीय थियो।
कार्यक्रमको समापन सत्रमा “लोसार साँझ” लाई सफल बनाउन आर्थिक तथा जिन्सी सामाग्री उपलब्ध गराई सहयोग पुर्याउनुहुने सम्पूर्ण प्रायोजकहरू (Old Barn Liquors store- woodshole Falmouth, Lobo Pizza- E. Falmouth, Pizza Boy- Wareham, Ocen Street Market- Hyannis, ध्रुव थापा, दिपेन सिन्हा, कुमार तामाङ, टिका खतिवडा लाई समाजका अध्यक्ष केबी राईले खादा लगाई दिएर सम्मान गर्नुभयो। केप कड नेपाली समाजका आजीवन सदस्यता लिनुभएका नंया सदस्यहरू डा. सरिता बज्राचार्य, प्रदीप बज्राचार्य, लाक्पा नोर्वु शेर्पा र नवागं शेर्पा लाई पनि समाजका अध्यक्ष राईले खादा तथा प्रमाणपत्र प्रदान गरि सम्मान गर्नु भएको थियो। त्यसै गरि लोसार साँझ सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन सहभागी सम्पूर्ण कलाकारहरूलाई पनि समाजका अध्यक्ष राई र बरिष्ठ उपाध्यक्ष प्रधानले खादा तथा प्रशंसापत्र प्रदान गरि सम्मान गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति, केबी राईले उपस्थित सबैलाई लोसार नंयावर्ष २१५२ शुभकामना ब्यक्त गर्नुको साथै कार्यक्रमलाई सफल बनाउनको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो अमुल्य समय, श्रोत, श्रम साथै बिचारहरू प्रदान गर्नुहुने समाजका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, स्थानीय कलाकारहरू, प्रायोजकहरू, खाना आपूर्ति तथा ब्यवस्थापन गर्ने हिमालयन ब्रिष्ट्रो, कार्यक्रमको लागि हल उपलब्ध गराउने होटल ब्यवस्थापन टिम, म्यूजिक ब्यवस्थापनमा सहयोग गर्ने DJ, साथै खराब मौसमको बाबजुद पनि केप कड भन्दा बाहिरबाट यस कार्यक्रममा आउनुभएका सम्पूर्ण अतिथिहरूलाई समाजको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। अन्त्यमा स-साना नानीहरू (मिली तामांग र अभिश्री खतिवडा) लाई राफल चिट्ठा तान्न लगाई १२ वर्ष मुनीका बच्चाहरूको समुहबाट १ जना र १२ वर्ष भन्दा माथिका उमेर समुहबाट १ जना गरि जम्मा २ जना विजेताहरू छनौट गरिएको थियो । जसमा, विजेताहरू क्रमशः जिग्मे शेर्पा र गुन्जा शाहलाई समाजका अध्यक्ष केबी राईले राफल पुरस्कार प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रमका आर्थिक प्रायोजक समितिमा संयोजक विमल खड्का र सदस्यहरूमा केवी राई, हर्कुलस कन्द्ङवा र ध्रुव थापा थिए। खाना ब्यबस्थापन को संयोजन तथा फोटोग्राफी उपाध्यक्ष कुवेर विन्दुकारले गरेका थिए।कार्यक्रम हलको ब्यबस्थापन कार्यकारी सदस्य ज्योती केसीको संयोजनमा ईच्छा खड्का, कृष्ण तिमलसिना, विष्णु मान प्रधान, कुमार तामाङ, अजय खतिवडा थिए भने सहभागीको दर्तामा कोषाध्यक्ष विमल खड्का, कार्यकारी सदस्य अजय खतिवडा र सदस्य टिका खतिवडाले गरेका थिए र स्वयंसेवकको रूपमा कुमुदा पोख्रेल, प्रमीला धमला बन्जारा, समीर ओझा, खगेन्द्र राई र सिताराम राईले कार्यक्रममा सहयोग पुर्याएका थिए।
प्रतिकुल मौसमको बावजूद पनि केप कड तथा वरिपरि विभिन्न क्षेत्रहरूबाट धेरै समुदायहरूको सहभागिता रहेको उक्त कार्यक्रममा २०० जना भन्दा बढीको उपस्थिति रहेको थियो।
गायक तथा संगीतकार प्रेम सेन्चुरीले आफ्नो नयाँ गीत ‘माया सारिदेऊ’ सार्वजनिक गरेका छन्। यस गीतलाई म्युजिक भिडियोसहित युट्युबमार्फत श्रोतामाझ प्रस्तुत गरिएको हो । नेपाली संगीतमा अनवरत योगदान दिंदै आएका प्रेमको प्रस्तुत गीतमा भावनाको गहिरो स्पर्श रहेकोले नेपाली संगीतको क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गर्न सकिन्छ ।
डीपी खनालको रचना रहेको यस गीतमा प्रेम सेन्चुरी र सञ्जिता बरालको सुमधुर स्वर सुन्न सकिन्छ भने गीतमा राजु सिंहले उत्कृष्ट संगीत भरेका छन् साथै बिमल बुढाथोकीले संगीत संयोजन गरेका छन्।
गीतको भिडियो: प्रेमको कथा र सुन्दर दृश्य : ‘माया सारिदेऊ’ गीतको भिडियोले प्रेमका विभिन्न पक्षहरूलाई मनछुने ढंगले प्रस्तुत गरेको छ। भिडियोमा मुख्य भूमिकामा बिक्की पुलामी र अस्मिता जुरेली रहेका छन्। समुद्री किनारको मनमोहक दृश्य, अस्ताउँदो सूर्यको सौन्दर्य, प्रेमी- प्रेमिकाबीचको भावनात्मक सम्बन्धलाई भिडियोमा आकर्षक रूपमा चित्रण गरिएको छ।
भिडियोको निर्देशन तथा कोरियोग्राफी गोविन्द राईले गरेका छन्, जसले गीतलाई भावनात्मक गहिराइ दिन सफल भएका छन्। सम्पादनको जिम्मा निशान घिमिरेले लिएका छन्, जसले दृश्यलाई थप जीवन्त बनाएका छन्।
प्रेम सेन्चुरीको सांगीतिक यात्रा र योगदान :
गायक प्रेम सेन्चुरी नेपाली संगीत उद्योगका एक अनुभवी गायक हुन्। आफ्नो सांगीतिक यात्रामा उनले दर्जनौं उत्कृष्ट गीतहरू दिएका छन्, जसले उनलाई लोकप्रियताको शिखरमा पुर्याएको छ। उनका गीतहरूमा मौलिकता, भावना र गहिरो संगीत संयोजन पाइन्छ, जसले श्रोताको मन छुन सफल भएको छ। गीतमा समर्पण, चाहना, र संवेदनशीलतालाई सुन्दर शब्द तथा संगीतको माध्यमबाट प्रस्तुत गरिएको उनको पछिल्लो गीत ‘माया सारिदेऊ’ प्रेमको विभिन्न आयामहरूलाई उजागर गर्ने खालको छ।
उफ्! फेरी यो बेईमान गुलाबहरु बेचिने दिन आएछ च्याट गर्दै जोडिने जोडिँदै च्याटिने दिन आएछ लार्भामा रंग फेर्दै प्युपामा ढंग फेर्दै अनि बयस्कमा अंग फेर्दै चक्र पुरा गर्ने दिन आएछ सेतो तन्ना भरी पोखिएका छरपष्ट राता सम्बन्धहरु राता सन्बन्धमा देखिएका काला दागहरु अनि काला दागहरु सँगै लुकेका निला रहस्यहरु सबै लुकाउने र लुक्ने दिन आएछ तन्नाहरु फोहोर हुने दिन फोहोर तन्नाहरु पुन: प्रयोग हुने दिन फेब्रुअरी फोर्टीन्! अहो गज्जबको दिन आएछ
म चाहिँ एउटा गुराँसको फुल छातिमा राखेर निदाउने प्रयास गर्दैछु नउठ्ने गरी, न बिउँझने गरी आडैमा दुई टुक्रा इमान्दार बरफहरु घुल्दैछन निर्दोष गिलासभित्र रंगहिन मदिरासँग रंगकै पहिचान खोज्दैछन् बिचरा बालक मेलाटोनिनका गोलिहरु मेरो मगजको नसाहरु बन्द गर्न नसकेकोमा आफुलाई लज्जाबोध गरिरहेका छन तर भन्दैछन जय माया प्रेम!!
यादहरुको पर्खालले यादहरु छेक्न नसक्दो रहेछ र त तिमी र त्यो दिन बिर्सन सकेको छैन मैले कृष्णजीको मुरली बोकेर आउँदा तिम्रो ओँठमा गुलाबी सरगम बजेको दिन तेही फेब्रुअरी फोर्टीन! म जोगी बनेर तिमीलाई गंगा बनाएको दिन म धागो, तिमीलाई चङ्गा बनाएको दिन तिम्रो इमानले मलाई बेईमान बनाएको दिन तिम्रो भगवानले मलाई सैतान बनाएको दिन तेही फेब्रुअरी फोर्टीन! बिन्ति, तिमी जस्तो छौ तेस्तै रहनु गुलाब जस्तो बिकाउ नबन्नु गुराँस जस्तो टिकाउ बन्नु जय गुराँस !! जय माया प्रेम !!!
न्युयोर्कको रिजउडस्थित दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रमा गत जनवरी १३ पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको श्रीस्वस्थानी व्रतकथा भोली ३१ औं अध्याय पुरा गरि माघ शुक्ल पूर्णिमाका दिनमा बिधिपुर्वक साङ्गे गरिने भएको छ ।
सो अवसरमा व्रतकथा समितिका संयोजक तुलसी आचार्यले श्रीस्वस्थानीमा आस्था राख्ने सबै हिन्दुजनलाई प्रसाद ग्रहणको लागि निमन्त्रणा गरेको छ । ५० सदस्यीय व्रतकथा समिति गठन गरेका रिजउड नेपाली समाजले विभिन्न संघसंस्थासँगको सहकार्यमा सम्पन्न हुन गइरहेको यस पुण्यकार्यबाट उठेको दानदक्षिणा भेटी रकम सांस्कृतिक केन्द्रको स्तरोन्नतिका लागि प्रयोग गरिने आयोजकले जानकारी दिएका छन्।
कथा वाचनस्थल दुर्गा मन्दिरका पुजारी पण्डित दीपक खराल र पण्डित उद्धव शाश्त्रीद्वयले वाचन गर्दै आएको श्रीस्वस्थानीको कथा वाचनशैली तथा व्याख्या धेरै भक्तजनले मनपराएका छन् । यो व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास अनुसार त्यसैले प्रारम्भको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात गर्ने गरिन्छ । बिहान स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
नेपाल र नेपाली हिन्दुले मात्र मान्दै आएको श्रीस्वस्थानी कथा मध्य मल्लकालमा बिसं १५७० तिर जयन्तदेवले लेखेका हुन भनिएको छ । यस कथाको साङ्गेका दिन (माघ शुक्ल पूर्णिमा) १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ ।
यस कथावाचनमा ५ शय डलर भन्दा बढी दान गर्ने दाताहरुको नामावली समेत संस्थाले प्रकाशित गरेको छ । यो बर्षको कथावाचन कार्य समापन गर्दासम्म १ लाख डलरभन्दा बढी रकम उठ्ने अनुमान गरिएको अध्यक्ष राजेश भट्टले बताएका छन् ।
नेपालको हिमाली भेगमा मनाइने लोसार चाडलाई न्युयोर्क सहरको सिटी काउन्सिलले पर्वको दिनमा वैकल्पिक साइड पार्किङ नियम (Alternate Side Parking) निलम्बन गर्ने भएको छ। लोसार पर्व परेको दिन सडक सफा गर्ने दिन परेको क्षेत्रमा असुबिधा नहोस भनेर न्युयोर्क सिटी काउन्सिलले सो सुविधा दिएको हो ।
कोरियाली मूलका काउन्सिल सदस्य जुली वोनले दर्ता गरेको बिधेयक (Intro-100) सिटी काउन्सिलबाट सर्वसम्मत पारित भएपछि हिमाली समुदायको प्रमुख चाड लोसार (नयाँ वर्ष) पनि न्युयोर्क सिटीको वैकल्पिक साइड पार्किङ चाड (Alternate Side Parking Holiday) को रुपमा सुचिकृत हुन पुगेको छ। न्युयोर्क सहरको फोहोर मैला प्रवन्ध बिभागले बैकल्पिक दिनमा सरसफाई गर्दा सडकमा पार्क गरेका गाडीहरु हटाउनु पर्ने नियम छ । तर अबदेखि उक्त हिमाली लोसारको पहिलो दिनमा सडकमा पार्क गरेको गाडी हटाउने झन्झट नभएको हुनाले ढुक्कै सँग लोसार मनाउन पाउने भएको छ। यस वर्षको लागि सो छुटको दिन फेब्रुअरी २८ लाई राखिएको छ ।
सिटी काउन्सिलको बैठकपछि काउन्सिल सदस्य जुली वोन र हिमाली समुदायले सिटी काउन्सिलको प्रांगणमा ऐतिहासिक विजयोत्सव र्यालीको आयोजना गरेको थियो। धेरै परिषद सदस्यहरूका साथमा लोसार मनाउने समुदायका करिव २०० सदस्यहरू यस ऐतिहासिक उत्सबमा उपस्थित थिए।
उपस्थित हिमाली समुदायलाई संबोधन गर्दै काउन्सिल सदस्य जुली वोनले भने; “न्युयोर्क सिटीमा नेपाल, तिब्बत, भुटान, मंगोलिया, भारत र अन्य देशहरूबाट आएका बौद्धहरूका लागि पहिलो र एकमात्र ASP छुट्टी हो। मेरो डिस्ट्रिक्ट र न्यूयोर्क सहर भरिका ६१ हजार भन्दा बढी न्यूयोर्कवासीहरूले तिब्बती बौद्ध नयाँ वर्ष लोसार मनाउँछन्। यो ऐतिहासिक बिल तिब्बती र हिमाली समुदायको लागि पहिलो र विशिष्ट ASP चाड हो। हाम्रो तिब्बती र हिमाली समुदायको लागि यो बिल कोसेढुङ्गा पनि हो। हिमाली समुदायसँग लोसार मनाउन पाउँदा र उनीहरूको सँस्कृति सम्मान गर्न पाउँदा मलाई गर्वको अनुभूति भएको छ।”
उक्त कार्यक्रममा सिटी काउन्सिल यातायात समितिका अध्यक्ष सेलभिना ब्रुक्स पावर, भारतीय मूलका पहिलो काउन्सिल मेम्बर शेकर कृष्णन, काउन्सिल मेम्बर नार्सिस मर्सिडिस्, काउन्सिल मेम्बर, लिन्डा ली, लगायत नेपाली, तिब्बती र अन्य हिमाली समुदायका प्रतिनिधिहरु गेशे टाशी दोर्जे, एकाम्पनी क्यापिटलका कार्यकारी निर्देशक याङ्की छिरिङ्, दोखाम क्षुशी गाङड्रुकका अध्यक्ष नोर्बु ल्हामो, न्यूयोर्क न्युजर्सी तिब्बती समुदायका अध्यक्ष नुर्बु छोजुङ, शेर्पा किदुगका महासचिव साङ दोर्जे शेर्पा, गुरुङ तमु समाजका अध्यक्ष ओम गुरुङ, र भुटानीज कम्युनिटीका अध्यक्ष उलप लेकी, एनएसएसपीका अध्यक्ष दालामु शेर्पाले पनि संबोधन गरेका थिए। तिब्बती साँस्कृतिक मामला संबन्धि निर्देशक डोल्मा रिन्जिनले परम पावन दलाई लामा र तिब्बती निर्वासित सरकारका सन्देश पढेर सुनाएका थिए। कार्यक्रममा हिमाली सिंह नाच र तिब्बती परम्परागत नामतर गाना प्रसतुत गरिएको थियो ।
यो लोसार बिधेयक (Intro-100) लाई काउन्सिल मेम्बर Julie Won सहित कूल ४० सह-प्रायोजकहरुको व्यापक समर्थन रहेको थियो । जसमा न्युयोर्कका पाँच बोरोहरू मध्ये क्वीन्स, ब्रुकलिन, र म्यानहट्टन बोरो अध्यक्षहरूका ३७ काउन्सिल सदस्यहरू रहेका छन्। जनवरी २३ मा भएको नगर परिषदको बैठकमा उपस्थित ४८ जना सदस्यहरुको सर्वसम्मतिबाट यो बिल पारित भएको थियो ।
न्युयोर्कको शेर्पा किदुग लगायतका संघ संन्थाहरुले सन् २०१७ देखि लोसार चाडलाई पहिचान दिलाउने अभियान थालेका थिए। हिमाली चन्द्र पात्रोको पहिलो दिनदेखि १५ दिनसम्म मनाइने लोसार हिमाली समुदायको प्रमुख चाड हो। हर्ष र उल्लासको वातावरणमा नयाँ वर्षको शुभारम्भ गर्ने पर्व हो । लोसारको पहिलो दिन परम्परागत रूपमा घरमै बसेर परिवारसँग रमाइलो वातावरणमा मनाइन्छ । दोस्रो दिनदेखि १५ दिनसम्म गुम्बामा गई शान्ति पुजा गर्ने, ठुलाबडा र मान्यजनहरुसँग भेटेर आशीर्वाद ग्रहण गर्ने र एक अर्कामा शुभकामना र कोशेली साटासाट गर्ने गर्दछन् । चाडको पुरै अवधि भोज भतेर, नाचगान र मनोरन्जनमा बित्दछ ।
अमेरिकाको न्युयोर्कबाट सञ्चालित त्रिवेणी टाइम्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर ७ जना सञ्चारकर्मीहरुलाई फस्ट कम्युनिटी मिडिया अवार्ड २०२५ प्रदान गरेको छ ।
सोही समारोहमा हेल्लो अमेरीका मिडियाका एडिटर तथा सिनेमेटोग्राफर सम्राट कार्कीलाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ प्रदान गरिएको हो । न्युयोर्कमा आयोजना गरिएको यस विशेष समारोहले मिडियालाई समुदायमा जोडन अतुलनीय भूमिका खेलेवापत उनीहरुलाई अवार्ड प्रदान गरिएको त्रिवेणी टाइम्सले जनाएको छ ।
अवार्डसँगै न्युयोर्क राज्यको एसेम्बली मेम्बर जेनिफर राजकुमारको अफिसले सम्मानपत्र समेत उपलब्ध गराएको छ । कम्युनिटी मिडिया अवार्ड २०२५ पाउनेमा नेपालबाट अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत, मन्जुर हुसैन दुनिया इन्टरनेसन एण्ड ग्लोबल टिभी अमेरिका, हरप्रित सिंह तोर मेनस्ट्रीम मिडिया अमेरिका, सम्राट कार्की हेलो अमेरिका, लोबलु अन्सार बंगलादेश प्राटिशन, युई जी चाइना प्रेस, डेव ल्लावानेश जिएमए नेटवर्क अमेरिका छन् ।
न्युयोर्कमा स्टुडियो रहेको नेपाली मिडिया हेल्लो अमेरीकामा बरिष्ठ निर्देशक किशोर सुव्वा, सह-निर्देशक टोमा लामा, लोकप्रिय प्रस्तोता सुमन थाम्सुहाड॰ लिम्वु रहेका छन् भने न्युयोर्क तथा वरिपरीका राज्यहरूमा सक्रिय र अमेरीकामा वसेका नेपालीहरूको वास्तविक कथा संसारभर पुर्याउने काम हेल्लो अमेरीका मिडियाले गरिरहेको , त्रिवेणी टाइम्सका संचालक नवराज केसीले वताऊनु भयो !
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा जनवरी १३ बाट न्युयोर्कको रिजउडस्थित दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रमा सुरु हुने भएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिने प्रचलन अनुसार प्रवासको जीवनशैलीलाई सहजतास्वरुप सामुहिक वाचन र श्रवण गर्न लगिएको हो । जसको व्यवस्थापनको लागि ५० सदस्यीय व्रतकथा समिति समेत गठन गरिएको छ ।
स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । त्यसैले प्रारम्भको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरवात गरिन्छ । बिहान स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ ।
न्युयोर्कमा रिजउड नेपाली समाजको अगुवाईमा हरेक वर्ष व्रतकथा आयोजना गरिंदै आएकोमा यस वर्ष पनि अझ सभ्य र स्तुत्य विधिबाट गरिने अध्यक्ष राजेश भट्टले बताए ।
नेपालमा खासगरी आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको सबैभन्दा ठुलो मेला मेला सुरु हुने गर्दछ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ । माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौं भक्तजन आउने गर्छन् ।
संस्थाका महासचिव नविन अधिकारीका अनुसार व्रतकथाको हरेक एक दिनको कर्ता एक वा बढी परिवार पनि रहने सक्ने छन् । न्युयोर्कको १६-६२ स्टेफन स्ट्रिट, रिजउडस्थित मन्दिरमा हरेक दिन अर्चना, आरती, स्वस्थानी कथा , पुष्पान्जली र भजन किर्तन साँझ ७ बजेदेखि ९:३० रात्रीसम्म चल्नेछ ।
वि.स. २०४८ सालको आमचुनावमा काठमाडौं क्षेत्र नं १ मा सन्त नेता कृष्णप्रसाद भट्टराईको अप्रत्याशित हार भयो । हारलाई अन्र्तघातको अडकल गरी गणेशमानलगायत अन्य नेताले गिरिजाप्रसाद कोइरालालाई कारवाही गर्न सुझाउँदा सन्त नेताले यसो भनेको थिए रे, “बिपी कोइराला, जस्ले मलाई महामन्त्री, सभामुख र सभापति बनाए, उनको भाइलाई म कारवाही गर्न सक्दिनँ । र, गिरिजा बाबुलाई कारवाही गरेर कांग्रेस फुटाएको दोषको भार म लिन्न सक्दिनँ । मैले कारवाही गरे भने कांग्रेस चिरिन्छ र लास हुन्छ । लास हुन दिनु भन्दा म यसबाट अलग भइदिँदा जीवन रहन्छ भने रहोस्, फलोस् र फुलोस् भनि कारवाही नगर्ने निर्णय लिएको हुँ ।” त्यसपछि कांग्रेसको राजनीतिमा के भयो इतिहास गवाही नै छ ।
कांग्रेसी इतिहासको त्यो कालखण्डमा जस्ले क्षमा गरे उनी इतिहासमा ‘सन्त’ भए भने जस्लाई अन्र्तघातको आरोप लाग्यो, उनी कैयनपटक नेपालको इतिहासमा प्रधानमन्त्री भए । सन्त नेता किसुनजीको यो निर्णयबाट यो पुष्टि हुन्छ कि, अन्र्तघात पछि संगठनमा दुइटा मात्र बाटा हुन्छन्, कि छानी छानी कारवाही गर्ने कि आफू बलिदान भएर संगठनलाई जोगाउने । इतिहासमा नेता बलिदान भएर संगठन जोगाउनुका साथै अन्र्तघातीलाई कारवाही गरेर पार्टीलाई शुद्धिकरण गरेको अक्षर पनि कोरिएका छन् । अन्र्तघातले छिया छिया भएको संगठनभित्र बलिदान र कारवाही गर्न नेतृत्व गर्नेको राजनीतिक मुटुमा हिम्मत पुष्पित हुनैपर्छ । कीर्तिपुरको एमालेमा अहिले लगातार हार हुँदै जानुको कारण यी दुइटै हिम्मतको रिक्तता नै हो । यहाँ न बलिदान भयो न कारवाही नै भयो ।
चुनावको इतिहास जति लामो छ, त्यति नै अन्र्तघातको इतिहास पनि तन्किएको छ भन्दा अत्युक्ति नहोला । सामान्य नेता मात्र होइन, संसारमै चिनिएका नेता पनि अन्र्तघातले पराजित भएको इतिहास छ । चुनाव एउटा युद्ध हो । युद्धमा आफ्नैबाट घात हुनु स्वभाविक हो । विभिषणले रावनको मृत्यु कहाँ छ भनेर देखाइदिनु, दुर्योधनको भाइ युयुत्सुले पाण्डवको मोर्चामा गएर धनुष चलाइदिनु, दुश्मनबाट भाग्ने क्रममा अगाडि भागेको सेनापतिलाई पछाडि भागेको आफ्नै उपसेनापतिले टाउको काटिदिनु, युद्धमा सामान्य हो । युद्धमा जस्तो चुनावका घातले भौतिक क्षति त हुँदैन तर मानसिकरुपमा निकै आघात पुरयाइदिन्छ । युद्धको घात दुश्य र चुनावको घात अदृष्य हुने भएकोले चुनावपछि शंका र उपशंकासिवाय केही बाँकी रहँदैन, जस्ले गर्दा त्यो क्षेत्रमा कैयन पटक घात प्रतिघात चलेर प्रतिद्धन्दिलाई लाभै लाभ भैरहन्छ । सबै नेताहरु किसुनजी जस्तो हुँदैन । आफू बलिदान भएर संगठन जोगाउने नेता निकै कम हुन्छन् ।
कुनै पनि युद्धको जीतमा केवल एउटा सेनापतिको नाम आउँछ, सेनापतिलाई अबिरले छोप्दै जयजयकारपछि युद्धको चर्चा परिचर्चा सकिन्छ । तर हारमा गोला बारुद बनाउने कारिगढदेखि त्यो गोलाबारुद्ध युद्धमैदानमा पुरयाइदिने भरियाको समेत नाम आउँछ । कारिगढले बनाएको गोली कच्चा थियो वा भरियाले गोली ओसार्दा वीच बाटोमै अर्को कच्चा गोलीसित साटिदिए । यस्ता कुराहरु हार पछि आउनु स्वभाविक हो । कीर्तिपुर नगरपालिकामा पनि एमालेको जीत भएको भए यस्ता कुनै कुरा आउने थिएन । हारपछि अनेक कुरा आए, अन्र्तघातका । अव साँच्चिकै कीर्तिपुरमा एमालेको संगठन जोगाउने हो भने कि बलिदान गर्न सक्नुपर्यो, कि कारवाही । यो दिल नजोडिएको अँगालोले सच्चा कार्यकर्ताको मन अर्को चुनावमा पनि टुक्रिने सम्भावना देखिएको छ ।
अघिल्लो लेखमा भनिसकेको छु, कीर्तिपुरको एमाले नेतृत्व अव त्यो युवा प्रतिनिधिको हातमा सुम्पियोस्, जस्को मुखमा राजनीतिक धब्बा नपोतिएको होस् । जो स्थानीय सबै नेता र कार्यकर्ताबाट स्वीकारिएको होस् । जो ७८ र ८१ को सालको स्थानीय चुनावमा नकाटिएको होस् र जस्को हातमा ८४ को लागि तरवार पनि नहोस् । नगर कमिटी लगातार दुईपटक स्थानीय चुनावमा सुन्य प्रतिफलको लज्जाले निहुरिसकेकोले, नैतिकतामा खाली होस् र त्यो नैतिकताले सिर्जेको सुन्यताले पाउने नूतन पूर्णताले यो हिम्मतिलो आवाज बोलोस कि “दुई थान हारले कीर्तिपुरमा एमाले सकिएको छैन । संगठनमा बेइमानी भयो तर इमान्दारिता पनि मरेको छैन । कीर्तिपुरमा एमालेभित्र प्रवेश गर्न चाहेका सयौँ युवाहरु पंक्तिबद्ध छन् । उनीहरुलाई सदस्यता वितरण गरेर क्षमताअनुसार पार्टीमा जिम्मेवारी वितरण गरौँ । पार्टीमा युवाको प्रवेशलाई फूल छरेर हार्दिक भावमा स्वागत गरौँ । गोजीभित्र संगठन राख्न बन्द गरौँ । संगठनका गरिमामय कमिटीहरु गोजीबाट गठन हुने प्रथा निषेध गरौँ । संगठनभित्र बरु दुई बेइमानलाई कारवाही गरौँ, तर दश इमान्दारलाई जोगाऔँ ।”
कीर्तिपुरको एमाले अव सच्चिएर जान आवश्यक छ । र अन्त्यमा, कवि भूपिको दुई पंक्तिलाई सम्झिनै पर्ने भएको छ । “हुँदैन बिहान, दुईचार तारा झरेर नगए बन्दैन मुलुक, दुईचार सपुत मरेर नगए” यो बेला कीर्तिपुरको एमाले सगरबाट दुईचार तारा झर्नुपर्ने बेला हो । हेरौँ, कुन कुन तारा झर्छन् ।
(राजनीतिक विश्लेषक प्रेमकृष्ण श्रेष्ठ राष्ट्रिय पत्रिकामा कलम चलाउने चर्चित युवा साहित्यकार पनि हुन्)
जनसम्पर्क समिति अमेरिका पनि बिबाद रहित छैन । बर्तमान सस्थापन पक्षले त्यो समाधान गर्नु पर्ने देखिन्छ । आफु बिरुद्द मुद्दा मामला चलाउनेहरुसंग संस्थापन पक्षले एकता र मेलमिलाप गरि समस्याको समाधान गर्न सकेको छैन।
प्रजातान्त्रिक पार्टिमा संस्कार, संस्कृति, ठुलाको सम्मान, सानालाई स्नेह हुने गर्दछ। स्वर्गीय बिपीसंग सामिप्यमा आएकाहरुलाई बीपीले भन्ने गरेको यो आदर्श राम्ररी थाहा छ। जनसम्पर्क समितिमा यो संस्कार र संस्कृति अवलम्वन गर्नु पर्ने देखिन्छ । सायद काँग्रेस पार्टीलाई यसको आभाष भएर होला जनसम्पर्क समिति बिभाग प्रमुख किरण शर्मा पौडेल हाल अमेरिकाको भ्रमणमा आउनु भएको छ ।
जसका अन्तर्गत यो जनसम्पर्क समिति पर्दछ। यसै अवसरमा समितिले ४९ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस वुड्साईडस्थित काठमाडौं फ्युजन रेस्टुरेण्टमा डिसेम्बर २९ मा आयोजना गर्यो। कार्यक्रमका प्रमुख अतिथि किरण शर्मा पौडेल , अतिथिहरु कान्छा लामा, नेपाल टिभिका पुर्व अध्यक्ष समिरजंग शाह थिए। कार्यक्रमका सभापति आनन्द बिष्ट र संचालन मुनेंद्र नेम्वाङ्गले गरेका थिए।
कार्यक्रममा पार्टी भित्रै पनि एकता र मेलमिलापको स्थिति हुनु पर्ने कुरामा बक्ताहरुले जोड दिनुको साथै, पार्टीका लास र दास प्रवृतिका ट्रेड युनियन सरकारी कार्यालयमा विद्यमान हुँदा जनताले सरकारी कार्यालयमा ज्यादै कष्ट पिडा भोगेको खुलासा गरियो। पार्टी र जनताकाबीच एकता र मेलमिलापको लागि ती ट्रेड युनियन तुरुन्त पार्टीले खारेज गर्नु पर्नेमा जोड दिइयो।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधित्व थियो। बि.पिको मेलमिलाप बारे बिकास बिष्टले एक कविता पनि वाचन गरेका थिए। कार्यक्रमको शुरुवात एक मिनेट मौन धारण गरिएको थियो। साथै अतिथीहरुलाई खादाले सम्मान पनि गरिएको थियो। प्रवासी मंचका सभापति कृष्ण लामिछानेले बिभिन्न बिषयमा प्रकास पार्नु भएको थियो। अपरान्ह १ बजे शार्प भनि बोलाएर २ बजे कार्यक्रम शुरु गरिएको थियो र साँझ ५ बजे सकिने भनेको ६ बजे सकियो।
शनिबार , डिसेम्बर २८,२०२४ लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कले नेपाली भाषा कक्षामा संलग्न विद्यार्थीहरुलाई दीक्षित गर्दै विभिन्न बिधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ। ६२ जना नेपाली भाषा कक्षाबाट यस बर्ष ग्राजुयसन भएका छन।
हिक्सिभिलस्थित लेभिटाउन सामुदायिक भवनमा सम्पन्न उक्त कार्यक्रममा NRN ICC बाट दुर्गेश कार्की , डा. हरि दाहाल, NRNA बाट श्री दिबाकर पान्डे, LINS का बर्तमान सल्लाहकारहरु क्रमश : श्री भुबन श्रेष्ठ , श्री तेज बहादुर शाही र श्री खेमन्त सिखं ( हेमन्त)सहभागी हुनुहुन्थ्यो भने निबर्तमान सचिब श्री नरेन्द्र सुवेदी, अन्य ब्यक्तित्वहरुमा डा. मेदनी प्र. संग्रौला श्री केदार प्र.कट्टेल र रबिन संग्रौला आदिको गरिमामय उपस्थिति रहेको थियो।
डा. पीपलमणि सिग्देलज्युको प्रमूख अतिथी र अध्यक्ष श्री कुल प्र. गौली( राजन)को अध्यक्षता रहेको उक्त कार्यक्रमलाई महासचिव श्री राजेन्द्र कार्कीले सन्चालन गर्नु भएको थियो। संस्थाकी उपाध्यक्ष इन्दिरा सिंखडाले स्वागत मन्तव्य ,नेपाली भाषा कक्षाकी संयोजिका साबित्रा सिबाकोटी , शिक्षिका सुनिता खनालले आफ्नो मन्तब्य मार्फत नेपाली भाषा कक्षा अति उपयोगी र भौतिक कक्षामा लैजानु पर्नेमा जोड दिनु भएको थियो।
कार्यक्रमलाई प्रबिधि, सजावट, लाईभ रेकर्ड र आई. टि. संयोजन संस्थाका सचिब दिपक अधिकारीले गर्नु भएको थियो भने साउन्डमा श्री रबिन संग्रौलाले सहयोग गर्नु भएको थियो।
शिक्षिकाहरु क्रमश : साबित्रा सिबाकोटी , इन्दिरा सिंखडा, सुनिता खनाल र सुस्मिता भन्डारी कार्यसमिति भित्रका प्राविधिक विज्ञ र स्वयंसेवक विज्ञहरु क्रमश : डा.हरि दाहाल, डा. मेदनी प्र. संग्रौला, दिपक अधिकारी, रबिन संग्रौला विभिन्न बिधामा उत्कृष्ट विद्यार्थीहरु, उतिर्ण र कक्षामा सहभागी सबैलाई प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । बैदेशिक भूमिमा मातृभाषा अध्यापन गराएर निरन्तर तेस्रो बर्षमा प्रबेष गराउन सफल लङ्ग आईल्यान्ड नेपाली समाज न्युयोर्कको उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्नो छोटो अनुभव मन्चमा पढेर सुनाएका थिए ।
दीक्षान्त कार्यक्रममा विद्यार्थी , अभिभावक , सल्लाहकार , शिक्षक, सस्थागत अतिथिको प्रत्यक्ष सहभागिता, पृष्ठभूमिको मनछुने सङ्गीत, फोटो बूथ स्न्याक र सामूहिक तस्वीर लगायत अन्य बिबिध आकर्षण रहेका थिए ।
अमेरिकामा जन्मिएका बाल- बालीकाहरु नेपाली भाषामा बोल्न मात्र हैन लेख्न र पढन सक्ने अवस्थामा पुगेका छन्। उनीहरु नेपालको मन पर्ने ठाउँमा घुम्न जानेछौ, स्वस्थानी कथा भन्ने छौँ। आफ्ना हजुरबुबा र हजुरआमालाई पत्र लेखेर इमेल गर्ने छौँ भन्ने आत्मिक योजना सुन्दा नेपाली भाषाको मोह नया पीडिमा जगाउन सस्थाले सन्चालन गरेको नेपाली भाषा कक्षा अति नै उपयोगी र गुणस्तरीय रहेको पाइएको छ।
विद्याले बिनय बनाउँछ। अनुशाषित र मर्यादित बनाउँछ। यस्ता भाषिक, शैक्षिक र सामुदायिक सेवामा विविधीकरण गर्दै लङ्ग आईल्यान्ड नेपाली समाजले अझै धेरै प्रगती गरोस् भन्दै प्रमूख अतिथी डा. पिपलमणि सिग्देलज्युले उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाण पत्र र आफूद्वारा लिखित पुस्तक ‘आँकुरापुन्ज´ प्रदान गर्नु भएको थियो ।
संस्थाले नेपाली भाषा कक्षा निरन्तर रुपमा सन्चालन गर्ने छ। आवाश्यक सामाग्री, पूर्वाधार र दक्ष जनशक्तिको ब्यवस्थापन गरि यसलाई अझै समय सापेक्षित र गुणस्तरीय बनाउने कुरामा अध्यक्ष श्री कुल प्र.गौलीले जोड दिनु भएको छ।