कल्पना घिमिरे, न्युयोर्क ।
आगामी मे १७ तारिकका दिन न्युयोर्कको म्यानह्याटनमा नेपाल डे परेड हुने भएको छ । आगामी आईतबारका दिन हुन लागेको परेडको तयारी लगभग सकिएको आयोजक समुहले जनाएको छ । गैर आवासीय नेपाली संघ (NRNA) न्युयोर्क च्याप्टर र नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा हुन लागेको परेडमा नेपाली महाबाणिज्यदूतावासको समन्वय रहनेछ ।
परेडमा न्युयोर्कस्थित कार्यरत ५० भन्दा बढी नेपाली संघ संस्थाको सहभागीता रहनेछ । आयोजक समुहले आईतबार ज्याक्सन हाईट्सस्थित पत्रकार सम्मेलन गर्दै सम्पुर्ण नेपाली समुदायलाई परेडमा सहभागी हुन आह्वान गरेको छ ।

बिश्वकै राजधानी मानिने न्युयोर्कको व्यस्त शहर मानह्याटनमा हुने परेडमा नेपाल र नेपालीको संस्कृति र पहिचान झल्किने बिभिन्न झांकीहरु प्रस्तुत गरिनेछ । बिश्वसामु भगवान बुद्दको जन्म नेपालमा भएको जानकारी दिने उदेश्यले बुद्दको प्रतिमा सहित ‘बुद्द वाज बर्न ईन नेपाल’ लेखिएका ब्यानरहरु प्रदर्शन गरिनेछ । नेपाली समुदायका बिभिन्न जातजाति, भेषभुषा र पहिचान बोकेका झांकीहरु प्रस्तुत गरिनेछ । साथै बिभिन्न सांस्कृतिक कार्यक्रमहरु हुनेछन । परेडका लागि सबै ब्यवस्थापनको काम तिब्र भईरहेको आयोजकले जनाएको छ। म्यानह्याटनको ३८ स्ट्रिट र मेडिसन एभिन्युदेखि सुरु हुने परेड २३ स्ट्रिटमा पुगेर औपचारिक कार्यक्रम गर्दै टुंगिनेछ । परेडलाई ब्यवस्थित बनाउनका लागि १०० भन्दा बढी स्वयम् सेवकहरु खटाईनेछ ।
यसपाली सबै संघ संस्स्थाहरु एकजुट भएर परेड आयोजना गरिएकाले बिगतका बर्षहरुमा भन्दा उपस्थिति व्यापक हुने अनुमान गरिएको एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछाने बताए । ‘यसपाली नेपाली समुदायका सबै संघसंस्था एकजुट भएर परेडलाई भब्य बनाउने तयारी गरिरहेका छौं’ उनले भने, ‘धेरै मेहनत गरेर मात्रै सबै संघ संस्थालाई एकजुट गराउन सफल भएका हौ, अब सबै नेपाली मिलेर परेडलाई भब्य अनि सब्यताका साथ सफल बनाउनु पर्छ। सबैले साथ दिनुहोला ।’
यसपाली पार्किङका लागि पासको ब्यबस्था गरिएको छ, ठुलो संख्यामा स्वयंसेवकको व्यवस्थापन भएकोले यसपाली परेड शान्त र सब्य हुनेछ । नेपाल नेपालीलाई बिश्वसामु चिनाउनु र नेपालमा बिदेशी पर्यटक भित्र्याउन टेवा पुर्याउने उदेश्यले परेड आयोजना गरिएको हो । सन् २०१६ देखि न्युयोर्कको म्यानह्याटनमा परेड हुंदै आएको छ ।