उसु खेलाडी तथा प्रशिक्षक राजिवको जीवन फर्केर हेर्दा

प्रेमकृष्ण श्रेष्ठ

उसु, बक्सिङ, किक बक्सिङ र कँराते खेलाडीको जीवन आम मानिसको जीवन भन्दा फरक हुन्छ । विदेशको रापिलो घाम र अनुहारमा आफ्नो देशको झन्डाको शीतल छाँया; विदेशी हावा तर हावामा आफ्नो देशको राष्ट्रिय गानको बहाव; तक्माले आफ्नो छातीमात्र गर्वले भारी होइन, आफ्नो देशको झन्डालाई उचाइमा हेर्न पाउने सौभाग्य । यस्तै, यस्तै सपनाका लागि कैयनपटक लडेका भुइँ टेकेर उठछन् खेलाडीहरु । यसैले भनिन्छ, खेलाडीको जीवनमा जति रगत बग्छ, त्यति जीवनको इन्द्रेणी रंगिन बन्छ ।

उसु खेललाई लिएर विश्वमा विभिन्न चलचित्रहरु बनेका छन् । निर्देशक एन्थोनी स्जेको ‘युवा पुस्ता’ नामक चलचित्र, जस्मा पाँच जना बालकहरुले उसुको प्रशिक्षण लिँदै साथीपन, कडा मेहनत र प्रतिस्पर्धाले जीवनका मूल्यहरु सिक्छन् । त्यस्तै, ‘फियरलेस’, ‘ताइ चि जिरो’, जेट लीको ‘द साउलिन टेम्पल’, ‘हिरा’े, ‘का्रउचिङ टाइगर’ र ‘हाउस अफ फ्लाइङ डेगर्स’ उल्लेखनीय छन् । यी निर्मित सबै चलचित्रले उसु खेलाडीको जीवनमा आउने विभिन्न उतारचढाव देखाएका छन् । चलचित्रमा देखाइएका, यस्तै संघर्षपूर्ण जीवन भन्दा कुनै फरक नभएको जीवनको प्रतिनिधि हुन्, नेपाली उसु खेलाडी तथा प्रशिक्षक राजिव महर्जन । उसु खेलाडीको जीवनमा स्वभावतः आउने सुखदुख, घामछाया र उतारचढावको उनी पनि साक्षी भए । खेल जीवनमा विभिन्न बाधा र अडचन आए, उनी ती कुनै बाधासँग कहिले अविचलित भएनन् । फलस्वरुप जीवनका कठोर परिस्थितिहरु उनको अगाडि निरीह भएर आफै झुके । आज उनी उसु खेलमा नेपालमा मात्र प्रतिष्ठित भएका छैनन्, उनलाई विश्वका कैयन देशका मानिसहरुले चिन्छन् । विश्वका कैयन दर्जन खेलमैदानमा उनको खुट्टाले नेपालको प्रतिनिधित्व गरी टेकिसकेका मात्र छैनन्, कैयन देशको बतासमा उनले आफ्नो देशका झन्डा फर्फराइसकेका छन् । आज उसु र राजिव एकअर्काको पर्याय जस्तो भैसकेको छ ।

उसु प्रशिक्षक राजिव महर्जनको जन्म आज भन्दा एकचालीस बर्ष अगाडि कीर्तिपुरको पाँगाको ढोकासीमा बुबा राम महर्जन र आमा हिरानानीको कोखबाट कान्छो छोरोको रुपमा भएको थियो । त्यो बेलामा उनको हजुरबुबा दरबारमा सुसारेको काम गर्नुहुन्थ्यो । दरबारमा राजपरिवारको रेखदेख गर्ने क्रममा, भारत जानु भएका हजुरबुबासँगै महर्जनको पुरै परिवार नै बसाइँसराइ गरेर जाँदा उनको बाल्यकाल भारतको मध्यप्रदेशको इन्दोरमा नै बित्यो । सानैदेखि चन्चले स्वभावका महर्जन, इन्दोरको विद्यालयमा पढदा उनी विशेषतः बक्सिङ र एनसिसिमा सहभागी हुने गर्दथे । यसरी सुरु भएको उनको खेलजीवनले पछि नेपाली खेलकुदमा केही नयाँ आयामहरु थपे । बाल्यकालका केही अंशहरु विदेशी भूमिमा बिताएर, परिवार नेपाल आउँदा उनी फेरि परिवारसँगै नेपाल फिर्ता भए । नेपाल फिर्ती पछि, कीर्तिपुरको पाँगा माध्यमिक बिद्यालयमा कक्षा ५ मा भर्ना भए । भारतमा बसेको उनको खेलप्रतिको मोह, जन्मथलो फर्किदा पनि उस्तै थियो । त्यसैले उनी मार्सल आर्ट सिक्न आतुर देखिन्थे । यसै क्रममा कक्षा ६ पढदा त्यो बेलामा राराहिलमा उसु खेलको प्रशिक्षण भैरहेको जानकारी पाए । उनी उसु खेल सिक्न राराहिल पुगे । यसरी उनले मार्सल आर्ट सिक्ने आतुरता त्यही मेटे । यसरी उनको औपचारिक उसु र कँराते खेलयात्रा यसरी सृुरु भएको थियो । खेलकुद र पढाइलाई सँगसँगै लाने क्रममा उनको बिद्यालय परिवर्तन भयो । उनी कीर्तिपुरकै बालकुमारी माध्यमिक विद्यालयमा भर्ना भए । उनी त्यही स्कुलको प्रतिनिधित्व गर्दै जुनियर स्कुल च्याम्पियनको रुपमा उदाए । यो पल उनको लागि अविस्मरणीय पल हो भन्दा अत्युक्ति नहोला, जहाँबाट उनी एक चम्किला उसु खेलाडीको रुपमा उदय हुन पुगे ।

खेल जीवन त्यति सहज थिएन । मार्सल आर्ट खेल नै, चोटपटकबाट कहाँ मुक्त थियो र ? सुरु सुरुमा आफ्नो खेल शारीरिक चोटसँग सम्वन्धित भएकोले, कोमल दिल भएका आमाबुबालाई त्यो खेल रुचिकर भएको थिएन । तर, आफ्नो दुढ अठोटको सामु बुबाआमाले पनि विस्तारै साथ दिन थाले । उनी आफ्नो स्वर्गीय दाइ अमित महर्जनलाई सम्झन्छन्, जस्ले उनको जीवनको हरेक पलमा साथ दिए । उनी आफ्नो कैयन खेलमा दाइ साथै आएर हौसला बुलन्द गरेको सम्झन्छन् । दाइको यो साथमा भगवानको आँखा लाग्यो भनुँ या अरु कसैको, दाइको प्रेरणाको बोट नै नियतिले सँधैको लागि चुँडयो । ती तिता पल सम्झिँदा आज पनि उनका आँखा सजल बन्छन् ।

उनले खेलजीवनमा पाएको उपलब्धि लेखिसाध्य छैन । सन २००३ मा ‘पहिलो बुद्ध जयन्ति उसु च्याम्पियन्स’मा प्रथम भएका थिए । सन २००६ र २००७ मा आयोजित पाँचौ र छैठौ राष्ट्रिय उसु च्याम्पियन्समा उनी लगातार प्रथम भएका थिए । उनको यो यात्रा यहीँ रोकिएन, सन २००९ को आयोजना भएको ‘पाँचौ राष्ट्रिय उसु खेल’मा ‘उत्कृष्ट खेलाडी’मा चुनिन पुगे ।

उनले खेल जीवनको दौरानमा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । हाल उनी नेपाल उसु महासंघको उप–महासचिवको रुपमा खेलको विकास र विस्तारमा समय दिइरहेका छन् । यसअघि उनी नेपाल उसु महासंघमा २०१२ देखि २०२४ सम्म नेपाल उसु संघको उपाध्यक्षको रुपमा कार्यरत थिए । तीवाहेक महर्जन, ‘नेपाल कुङग–फु संघ’को बरिष्ठ उपाध्यक्ष, ‘सन २०१२ देखि हालसम्म नेपाली सेनाको उसु प्रशिक्षक, ‘मार्सल आर्ट संस्था नेपाल’को संस्थापक, ‘अखिल नेपाल खेलकुद महासंघ’को उपाध्यक्ष र सन २०१७ देखि हालसम्म उनी नेपाल जिजित्सु्को महासचिव छन् ।
उनको खेलजीवनमा कैयन अविस्मरणीय घटनाहरु घटे, जुन भोगेको बेला कष्टप्रदायक भए पनि आज सम्झिँदा आनन्द प्रवाह गर्छ । उनी हाँसो र आँसु संयोजित आँखा लिएर, पुराना तस्वीरहरु देखाउँदै यस्ता तीता मीठा संस्मरणहर सुनाउँछन ।

दोस्रो साउथ एसियन खेलमा उनको खेल ‘आजटक‘ले लाइभ प्रशारण गरेको थियो । त्यो खेलमा उनी घाइते भएका थिए । त्यो बेला नेपालमा लाइभ हेरिरहेका आमाबुबा टिभीमा आफ्नो घाइते छोरालाई हेर्दाहेर्दै रोएका थिए रे ! यस्तै यस्तै घटनालाई सम्झेर उनी आफ्नो जीवनको इन्द्रेणीमा आफ्नो रगत र आमाबुबाको आँसुको रंग पनि परेको उनी स्वीकार्छन् । पछि आमाबुबा रोएको घटनाको बारेमा सुन्दा उनका आँखा पनि रसाए ।

कुनै समय यस्तो पनि थियो, खानामा भातलाई औधि मन पराउने राजिवले लगातार बीस दिनसम्म एसियन खेलका लागि भातको मुखै हेरेको थिएन, किनकी उनलाई त्यो बेला खाना भन्दा तौलको चिन्ता थियो ।

अझ रोचक प्रसंग यो छ कि, सन २००८ मा नेपालमा पहिलोपटक इपिएस प्रारम्भ हुँदाबखत उनी कीर्तिपुरको निवासबाट दशरथ रंगशालासम्म एक्लै दौडेर गएका थिए । उनले कोरिया जानेहरु दशरथ रंगशालामा साँझैदेखि आएर रंगशालाको मैदानमा सुतेका थिए भनी चाल पाएका थिएनन । त्यस्तै मध्यरातको ३ बजेतिरको समय थियो । भुइँमा असरल्ल सुतिरहेकाहरुलाई नदेखेर कुल्चेरै दौडिरहेका थिए रे । होसमा आँउदा उनलाई त्यहाँ असरल्ल सुतिरहेका मानिसहरु, लासै लास सुताएको कुनै मुर्दाघर जस्तो लागेको थियो रे । जीवनमा कमै भयभित भएका राजिव त्यो दुश्यले भयभित भएको बताउँछन् । रंगशालामा छनोटको लागि आठ बजे पुग्नु पर्ने राजिव रातको तीन बजे नै पुगेको घटनाले खेलप्रतिको उनको समर्पण देखाउँछ । नेपालमा उसु खेलका साथ साथै मार्सल आर्ट क्षेत्रको विकासमा निरन्तर लागिरहेका राजिवले नेपालमा पहिलो पटक जिजित्सु र एम.एम.ए खेल भित्राइ खेलकुद क्षेत्रमा नयाँ आयाम थपेका छन् । खेलकुद क्षेत्रका यस्ता कर्मठ ब्यक्तित्व कीर्तिपुर नगरले मात्र होइन, देशले नै विरलै प्राप्त गर्दछ ।

उनको जीवनमा खेलको दौरानमा, नेपालदेखि ढाकासम्म तीनदिनसम्मको अविरल बसको यात्रा गरेर खेलमा सहभागी भएको अनुभव पनि ताजै छ ।

बि.स. २०७० साल असार १७ गते उनको खेल जीवनमा नयाँ मोड आयो । लाखौ समर्थकहरुको मन चिस्याउँदै, उनको खेल जीवनमा पूर्णविराम लाग्यो । चिकित्सकले उनलाई खेल्नको लागि स्वीकृति दिएनन् । खेल जीवनमा पूर्णविराम लागे पनि उनले उसु खेलप्रतिको लगावलाई त्याग्न सकेनन् । उनी खेल जीवन समाप्त भए पनि नेपाली सेनामा उसु प्रशिक्षकको रुपमा निरन्तर लागिरहेका छन् । उनले बाह्रौ एसियाली खेलकुदमा सेनाको प्रशिक्षक भएर क्रमशः एक स्वर्ण, आठ रजत र एक काश्य प्राप्त गरेका थिए भने तेहा्रै एसियाली खेलमा पाँच स्वर्ण, छ रजत र पाँच काश्य पाउन सफल भएका थिए । उनको खेलाडी जीवन जति सफल थियो, प्रशिक्षकको जीवन पनि उतिकै सफल छ ।

राजिव महर्जन आफ्नो खेलजीवनमा सन्तुष्ट छन् । आज उनी आफ्नो खेलजीवनबाट रिटाएर भएर, आफू जस्ता खेलाडीहरुको उत्पादनमा लागिरहेका छन् । जर्मनको लुब्स नगरपालिकाले उनलाई समर र विन्टर केम्पका लागि हायर गरेका छन् । उनले आजसम्म खेलको सिलसिलामा चौतीस पटक अन्र्तराष्ट्रिय विमानस्थल टेकेका छन् । भारत, बंगलादेश, श्रीलका, कोरिया, टर्की, मकाउ, हंगकंग, इरान, दुबई, बहराइन, अष्ट्रिया, इटली, जर्मनलगायत अन्य देशमा पुगेका छन् । लुब्स नगरपालिका र कीर्तिपुर नगरपालिकालाई भगिनी सम्वन्ध स्थापित गराउन पनि उनले अतुलनीय योगदान दिएका छन् ।

आफनो खेल जीवनले उनले धेरै कुरा पाए, थोरै गुमाए । तर खेल जीवनमै लागेर जीवनमा औपचारिक शिक्षामा मास्टर्स गर्न नपाएकोमा दुख ब्यक्त गर्छन् । उनी आफ्नो खेलजीवनको सफलतामा आफ्ना गुरुहरु सुनिल शाक्य, राम महर्जन, गणेश अर्याल, नवराज लामा र उसुका संस्थापक प्रनिलध्वज कार्कीलाई आफ्नो श्रेय दिन्छन् भने आफ्ना समकक्षी साथीहरु युवराज गुरुङ्ग, विकास श्रेष्ठ, धनविर महर्जन, राजु महर्जन, प्रताप थापा, सिताराम हुमागाईँ र पुरुषोतम रिजाललाई आज पनि उतिकै प्रेरणाको स्रोत मान्छन् । उनीहरुको हौसलाको जोड बिना यो अगणित सफलता सम्भव नै थिएन ।

उसु खेलको बारेमा एउटा विश्वप्रसिद्ध भनाइ छ –‘उसु केवल शब्द होइन, यो जीवन जिउने तरिका हो ।’ राजिवले पनि उसु खेलले जीवन जिउने तरिका सिके । आज उनको जीवन व्यवस्थित छ । खेलसँगै व्यवसायमा पनि उनी आज संलग्न छन् । उनको ब्यवसायिक जीवनमा साथ दिएकी छिन्, आफ्नै जीवनसाथी करुणा रंजितले । सात बर्षकी छोरी इभाना महर्जनलाई देख्दा, देशको लागि केही गर्ने उत्साह जागेर आउँछ रे, किनकि देशको भोलिसँग आफ्नी छोरीको भोलि जोडिएको छ । आजका कैयन बालबालिकाको भविष्य गाँसिएको छ ।

राजिवको जीवन समग्रमा सफल छ । अनेकन राष्ट्रिय र अन्तराष्ट्रिय अवार्डले कोठाको भिता भरिएका छन्, भिताको पूर्णताको बावजुद पनि, उनको जीवन एक सिधा रेखा जस्तो सरल छ । जीवनशैलीमा कुनै तुजुक छैन । उनको सरल जीवनशैलीलाई हेर्दा यो भन्न सकिन्छ कि, उसु खेलाडी तथा प्रशिक्षक राजिव महर्जन, आफ्नो देशलाई विश्वभरि चिनाएको, एक सफल खेलाडी मात्र होइन, सफलतामा पनि सरलतालाई संयोजित गर्दै जीवन जिउन सकिन्छ भन्ने एउटा सार्थक परिभाषा पनि हो ।