Category: कला / साहित्य

  • सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

    सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

    काठमाडौँ, २४ असोजः सोह्र श्राद्धको अन्तिम दिन आज काठमाडौँको पशुपतिनाथ मन्दिरस्थित वाग्मती नदी किनारमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छ । पितृपक्षको अन्तिम दिन आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा व्यक्त गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गर्न बिहानैदेखि पशुपति क्षेत्रमा श्रद्धालुको बाक्लो उपस्थिति देखिएको थियो । हिन्दू धार्मिक परम्पराअनुसार सोह्र श्राद्धका अवसरमा दिवङ्गत पितृको सम्झना, सम्मान तथा आत्माको शान्तिको कामना गर्दै श्राद्ध, तर्पण र पिण्डदान गर्ने प्रचलन छ । पितृको तिथिअनुसार श्राद्ध गर्नुपर्ने धार्मिक मान्यताका कारण पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको चहलपहल थियो ।

    पशुपति क्षेत्रमा लामो समयदेखि श्राद्धलगायत धार्मिक कर्मकाण्ड गराउँदै आउनुभएका पण्डित दीर्घराज रेग्मीले बिहानैदेखि भक्तजन धार्मिक विधिअनुसार तर्पण तथा पिण्डदान गर्न आइरहेको जानकारी दिए । उनले सोह्र श्राद्ध पितृको सम्झना र सम्मानमा गरिने धार्मिक परम्परा भएकाले श्रद्धालुहरू अन्तिम दिन पनि विधिपूर्वक श्राद्ध तथा पिण्डदानमा सहभागी भइरहेको बताए ।


    त्यस्तै, अर्का पण्डित नन्दराम लुइँटेलले श्राद्ध दिवङ्गत पितृप्रति श्रद्धा र सम्मान प्रकट गर्ने धार्मिक कर्म भएको बताए । उनका अनुसार सोह्र श्राद्धका अवसरमा पितृको आत्माको शान्तिको कामना गर्दै श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने गरिन्छ । सोह्र श्राद्ध सुरु भएसँगै पशुपतिनाथ क्षेत्रमा श्रद्धालुको आवागमन बढेको छ । विशेषगरी बागमती नदी किनारमा दिवङ्गत आफन्तको सम्झनामा धार्मिक विधिअनुसार कर्मकाण्ड गर्ने भक्तजनको बाक्लो उपस्थिति रहने गरेको छ । श्रद्धालुको चाप बढेसँगै पशुपति क्षेत्रमा श्राद्ध, तर्पण तथा पिण्डदानलगायत धार्मिक कर्मकाण्ड गराउने पण्डितलाई भ्याइनभ्याई भएको छ ।

  • विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

    विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

    अच्युत रेग्मी–रासस
    काठमाडौँ, २४ असोजः नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको शुक्रबार भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा सभापतिका उम्मेदवार थापाले छ हजार ५८४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।


    निर्वाचनमा सभापति थापाका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा सात हजार १३ मत खसेकामा ५४ मत बदर भएको थियो । विसं २०४६ को जनआन्दोलनका क्रममा कक्षा ९ मा पढ्दै गर्दा आन्दोलनमा सहभागी हुनुभएका थापा झण्डै चार दशकपछि कांग्रेसको नेतृत्वमा पुगेका हुन् ।


    नवनिर्वाचित सभापति थापाले २०४६ सालमा बालकांग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा सुरु गरेका थिए । विसं २०४८ मा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) काठमाडौँ वडा नं ३३ को सचिव बनेका उनी २०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य, २०५३ सालमा सचिव र २०५५ सालमा सभापति निर्वाचित भएका थिए ।


    विंस २०५५ मा त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बन्नुभएका थापा २०५७ सालमा नेविसङ्घको केन्द्रीय उपाध्यक्ष र २०५९ सालमा महामन्त्री बनेर विद्यार्थी राजनीतिलाई उचाइमा पुर्‍याएका थिए । विसं २०६१ मा राजाको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनमा अग्रपङ्क्तिमा रहेर नेतृत्व गरेका थापामाथि राजद्रोहको मुद्दासमेत लागेको थियो ।

    अन्तरराष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले उनलाई ‘आस्थाको बन्दी’ घोषणा गरेको थियो । २०६२र६३ सालको जनआन्दोलनमा गणतन्त्र र लोकतन्त्रको पक्षमा सक्रिय भूमिका निर्वाह गरेपछि राष्ट्रिय राजनीतिमा थप चर्चित बनेका थिए । विंस २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् बन्नुभएका थापा संविधान निर्माण, मौलिक हक, बालअधिकार, नागरिकता र ऊर्जा सुरक्षालगायत विषयमा सक्रिय रहेका थिए ।

    विसं २०७० मा काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित भएपछि संविधान मस्यौदा प्रक्रियामा योगदान पुर्‍याएका थिए । विसं २०७१ मा कृषि तथा जलस्रोत समितिको सभापति बनेर कृषि, ऊर्जा र जलस्रोतसम्बन्धी नीतिगत बहसमा भूमिका खेलेका थिए ।


    विंस २०७३ मा स्वास्थ्यमन्त्री बन्नुभएका थापाले आफ्नो नौ महिने कार्यकालमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बिमा र चिकित्सा शिक्षा सुधारका विषयलाई प्राथमिकता दिएका थिए । २०७४ र २०७९ सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा निर्वाचित हुँदै उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनका विषय संसदमा उठाउँदै आएका थिए ।


    विंस २०७८ मा भएको कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाले पार्टीभित्र नीतिगत बहस र सङ्गठन सुधारको पक्षमा काम गर्दै आउनुभएको थियो । विसं २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि पार्टीभित्र युवा सहभागिता अगाडि बढाउनुपर्ने भन्दै पार्टीका अर्को महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशन आह्वान गरेका थापा विशेष महाधिवेशनपछि पार्टी सभापति सर्वसम्मत निर्वाचित भएका हुन् ।


    विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व लिनुभएका सभापति थापाले नौ महिनापछि पार्टीको १५औँ महाधिवेशन गरेर पुनः सभापति पदमा निर्वाचित भएका हुन् । राजनीतिसँगै अध्यापन, सञ्चार र सामाजिक अभियानमा समेत संलग्न उनले विद्यार्थी जीवनदेखि नै शिक्षा र सार्वजनिक सेवामा सुधारको वकालत गर्दै आएका छन् ।


    थापाले युवालाई स्वदेशमै अवसर, सार्वजनिक शिक्षामा लगानी, स्वास्थ्य सेवामा समान पहुँच र सुशासनलाई उनले आफ्नो राजनीतिक यात्राका प्रमुख एजेन्डाका रूपमा अघि सार्दै आएका छन् । विद्यार्थी राजनीतिबाट राष्ट्रिय नेतृत्वसम्मको उहाँको यात्रा नेपाली कांग्रेसको भावी दिशा, सङ्गठन सुधार र नयाँ पुस्ताको राजनीतिक सहभागितासँग जोडेर हेरिँदै आइएको छ ।

  • नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

    नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

    काठमाडौँ, २४ असोजः नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भए । छ हजार ५८४ मतका साथ उनी विजयी भए । निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए ।

  • आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

    आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

    काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो ।

    आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने आइतबार गरिन्छ । पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिन्छ ।

    पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् ।


    यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्प समेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले बताए ।

    त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् वैदिक मन्त्रले दैनिक १०८ जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उनले जानकारी गराए । यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध गर्नेको भीड लाग्छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ सुरु हुन्छ । असोज २५ गते घटस्थापना गरेसँगै दुर्गा पक्ष सुरु हुन्छ ।

  • लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

    लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

    महोत्तरी, २३ असोजः राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध गायक पशुपति शर्मालाई अध्यक्ष निर्वाचित गरेको छ । शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष थिए । महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भए । प्रतिष्ठानको नवौँ महाधिवेसनका निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले जानकारी दिए ।


    बिहीबार बर्दिबास–३ गौरीडाँडामा मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले उद्घाटन गरेको नवौँ महाधिवेसनमा उद्घाटनसत्र समापनसँगै निर्वाचन कार्यक्रम सुरु भएको थियो । प्रतिष्ठानमा ३८ पदाधिकारी र ३७ सदस्यसहित ७५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ ।

    सर्वसम्मत भएका र आज शुक्रबार विद्युतीय मेसिनबाट भएको मतदानको परिणाम भोलि शनिबार समापन कार्यक्रममा घोषणा गरिने प्रतिष्ठानको निर्वाचन समितिले जनाएको छ । सातै प्रदेश, ७० जिल्ला र विदेशस्थित शाखासहित १०० वटा समितिबाट एक हजार ५०० प्रतिनिधि महाधिवेसनमा सहभागी छन् । महाधिवेशन नयाँ नेतृत्वको घोषणासँगै शनिबार समापन हुने जनाइएको छ ।

  • नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू

    नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू

    काठमाडौँ, २३ असोज: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ । महाधिवेशनमा सात हजार ३१७ प्रतिनिधिले मतदान गर्नेछन् ।

    अहिले राष्ट्रियसभा गृह, मतदान केन्द्र ‘क’ बागमती प्रदेशको मतदान भइरहेको छ भने खुलामञ्च, मतदान केन्द्र ‘ख’ मा कोशी, गण्डकी, मधेस लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिको मतदान भइरहेको छ । मतदान सकिएपछि आजै मतगणना गरिने छ ।

  • कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि

    कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि

    काठमाडौँ, २२ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै सुरु हुने भएको छ । खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान सुरु गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले शुक्रबार बिहान ७ः०० बजेदेखि मात्रै मतदान थालिने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए । महाधिवेशनको उद्घाटन यही असोज १८ गते भएको थियो ।

    उनले उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाइ भएकाले शुक्रबार बिहान ७ः०० देखि दिउँसो ३ः०० बजेसम्म मतदान हुने बताए । महाधिवेशन प्रतिनिधिको सङ्ख्या सात हजार ३१७ रहेको पनि सदस्यसचिव कटुवालले बताए । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक तयारी सबै सकिएको तर साँझमा मतदान सुरु गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै शुक्रबार बिहानदेखि थालिने जानकारी दिए । उनले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताले मतपत्रमा हस्ताक्षर गरिरहेको बताए ।

    कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?

    निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ । प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशको मतदान हुनेछ । खुलामञ्च, मतदान केन्द्र ‘ख’ मा कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका साथै नेपाली जनसम्पर्क समितिको मतदानको व्यवस्था गरिएको छ । निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन् ।

    परिचयपत्र र मतदाता नामावली रुजु गरिने

    निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ । मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ । निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ । प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन् ।

    यसैगरी कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको सदस्यसचिव कटुवालले जानकारी दिनुभयो । सो प्रक्रिया सम्पन्न भएपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ । अब मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

    मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइनेछ । मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । त्यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ ।

    पार्टीको १५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ । नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन् ।

  • कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

    कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

    काठमाडौँ, २१ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन् । केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिला गरी सुरू गर्न लागिएको जानकारी दिए ।


    उनका अनुसार मतदानका लागि काठमाडौँका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो । निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ ।

    त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ ।

    सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । निर्वाचन समितिका संयोजक खड्काका अनुसार मतदान बिहान १० बजेदेखि सुरू हुनेछ । मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

  • कांग्रेसको १५औँ महाधिवेशनः उपसभापति शर्मा र महामन्त्री घिमिरेको प्रतिवेदन पारित

    कांग्रेसको १५औँ महाधिवेशनः उपसभापति शर्मा र महामन्त्री घिमिरेको प्रतिवेदन पारित

    काठमाडौँ, २१ असोजः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्रमा उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ । उपसभाति शर्माले प्रस्तुत गर्नुभएको प्रस्तावमा लोकतान्त्रिक संस्कृतिमा भइरहेको क्षयलगायत समसामयिक राजनीतिक विषयलाई समेटिएको छ । बन्दसत्रले उक्त प्रस्ताव पारित गरेको हो ।

    प्रस्ताव पारित भएपछि उपसभाति शर्माले कांग्रेसको बन्दसत्रलाई खुला संसारले सुन्ने गरी प्रस्तुत गरिएको भन्दै यसलाई पनि ऐतिहासिक विषयका रूपमा व्याख्या गरे । “बन्दसत्र पनि खुला संसारले सुन्ने गरी हामीले पेश गरेका छौँ, यो पनि ऐतिहासिक हो,” उनले भने । उपसभाति शर्माले कांग्रेसले हार र जित दुवै अवस्थामा जनताको कुरा सुन्ने संस्कार विकास गर्नुपर्ने बताए । “कांग्रेस सुन्न चाहन्छ, हार्दा र जित्दा पनि हाँस्छ, यस्तो कांग्रेस बनाउन खोजेको हो,” उनले भने ।

    उपसभापति शर्माले कांग्रेसलाई गुनासो गर्नेभन्दा आशा, विश्वास र भरोसा गर्न सकिने पार्टीका रूपमा विकास गर्नुपर्ने बताए । “उत्तर भएको कांग्रेस, गुनासो होइन, आशा र विश्वास र भरोसा गर्ने कांग्रेस हो, अब निराशा होइन, यस्तो कांग्रेस बनाउने हो,” उनले भने । महाधिवेशनबाट कसले कुन पद जित्छ भन्ने विषयमा मात्रै केन्द्रित नहुन प्रतिनिधिलाई आग्रह गर्दै उपसभाति शर्माले कांग्रेसको मूल उद्देश्य पार्टीलाई लोकतान्त्रिक मूल्य र संस्कृतिअनुसार अघि बढाउनु रहेको बताए ।


    कांग्रेसभित्र लोकतान्त्रिक संस्कृतिलाई थप बलियो बनाउँदै पार्टीलाई जनताले सुन्ने, विश्वास गर्ने र भरोसा गर्ने राजनीतिक शक्तिका रूपमा अघि बढाउनुपर्नेमा उपसभाति शर्माले जोड दिए । यसैगरी बन्द सत्रमा महामन्त्री घिमिरेले प्रस्तुत गर्नुभएको प्रतिवेदन पनि पारित भएको छ । महाधिवेशनको आज चौथो दिन खुलामञ्चमा आयोजित बन्दसत्रले उक्त प्रतिवेदन पारित गरेको हो ।

    महामन्त्री घिमिरेले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा कांग्रेसलाई बलियो र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने विषयलाई प्राथमिकता दिइएको छ । बन्द सत्रले प्रतिवेदन पारित गर्दै त्यसमा प्रस्तावित नीति तथा कार्यक्रमलाई अघि बढाउने बाटो खुला गरेको छ । प्रतिवेदन पारित भएपछि कांग्रेसलाई थप बलियो, व्यवस्थित र लोकप्रिय पार्टीका रूपमा अघि बढाउने प्रस्ताव कार्यान्वयनतर्फ जाने भएको छ ।

  • कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    काठमाडौँ, २१ असोजः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र समापन कार्यक्रममा सभापति थापाले पार्टीभित्र सबै किसिमको गुट सकिएको बताएका हुन् । “आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन,” उनले भने ।


    सभापति थापाले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने बताए । पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उनको भनाइ थियो। यसअघि पनि आफूले पार्टीको आन्तरिक व्यवस्थापनमा सीमित हुनेभन्दा कांग्रेसलाई समाज र जनताबीचको बहसमा केन्द्रित गरेको सभापति थापाले बताए ।

    उनले आफ्नो समयको ठूलो हिस्सा पार्टीभन्दा बाहिर कांग्रेसका नीति, विचार र मुलुकका विषयमा बहस गर्न खर्चिने बताए । सभापति थापाले महाधिवेशन सकिए लगत्तै स्थानीय तहको निर्वाचनसम्म दिनरात खटिने बताए ।

  • कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

    कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

    काठमाडौँ, २० असोजः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ । कांग्रेस १५ औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिए । नयाँ नामावली प्रकाशन गरेसँगै कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने प्रतिनिधिको सङ्ख्या सात हजार ११४ पुगेको छ ।

    मतदाताको अन्तिम नामावली प्रकाशन गरेसँगै आज विहान ९ः३० बजे मतदाता नामावली प्रकाशन उपर दावी विरोध, ९ः३० बजेदेखि १०ः३० बजेसम्म दाबीविरोधउपर जाँचबुझ, ११ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिने सदस्यसचिव कटुवालले बताए ।

    यस्तै, उम्मेदवार मनोनयन दर्ता फारम वितरण र दिउँसो १२ः३० बजेदेखि ४ः०० बजेसम्म मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ । यस्तै, कांग्रेसको सोमबारको बन्दसत्रले पार्टीको विधान संशोधन गरेको छ । संशोधित विधानअनुसार २९७ सदस्यीय नयाँ कार्यसमितिको व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार नै निर्वाचन हुन लागेको कांग्रेसले जनाएको छ ।

    कांग्रेस महाधिवेशनमा २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशनमा २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ । कांग्रेसको हिजोदेखि सुरु भएको १५ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको हो । कांग्रेस केन्द्रीय सदस्य एवं स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाले महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सहजताका लागि २०० स्वयंसेवक परिचालन गरिएको राससलाई जानकारी दिए ।


    संयोजक लामाले बन्दसत्र हुने ठाउँ र निर्वाचन हुने ठाउँमा स्वयम्सेवक परिचालन गरिएको बताए । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि देश तथा विदेशबाट सात हजार ५०० प्रतिनिधि काठमाडौँ आइपुगेका छन् ।

    आइतबारदेखि सुरु भएको महाधिवेशनको आज र भोलि बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ । बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका छन् ।

  • लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढौं  : कांग्रेस उपसभापति शर्मा

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढौं : कांग्रेस उपसभापति शर्मा


    काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जननायक बिपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेसले लोकतन्त्रका लागि गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ८० वर्षको इतिहास बोकेको कांग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका हरेक सङ्कटमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।


    उपसभापति शर्माले १५औँ महाधिवेशनपछि रुपान्तरणसहित अझ बलियो, सशक्त, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर कांग्रेस अघि बढ्छ भने । गत फागुन २१ गतेको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बहुमतको सरकार बनेको र कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख गर्दै उपसभापति शर्माले देश र जनताका पक्षमा चालिने हरेक कदममा सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको स्पष्ट गरे ।


    उनले राष्ट्रिय हित र सरोकारका विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए । उनले जलवायु परिवर्तनले नेपालमा पारिरहेको असर, मधेस आन्दोलनमा उठेका सवाल तथा जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । देशभित्र र विदेशमा रहेका नेपालीलाई जोड्ने गरी राज्यले नीति बनाउनुपर्ने धारणा व्यक्त गर्दै उपसभापति शर्माले विदेशमा रहेका नेपालीको नागरिकता, लगानी र अधिकारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए ।


    “नेपाल दुई वटा छ– नेपाल बाहिरको र नेपालभित्रको नेपाल, यी दुवै नेपाललाई जोड्नुपर्छ”, शर्माले भने, “विदेशमा रहेका नेपालीले मातृभूमिको विकासमा लगानी गर्न चाहेका छन् । उनीहरूको भावना र संविधानले परिकल्पना गरेको नागरिकताको विषयलाई सम्बोधन गर्न पार्टी तयार छ ।”

    उहाँले सामाजिक सञ्जालको दुरुपयोग भई वितृष्णा सिर्जना भइरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले मुलुकको विकास र समृद्धिका पक्षमा जिम्मेवार पक्षका बीच आपसी संवाद, सद्भाव र एकताको खाँचो रहेको बताए । अविश्वास र वितृष्णाभन्दा माथि उठी मुलुकको भूगोललाई मात्रै होइन, नेपालीको मनलाई पनि जोड्नुपर्ने समय आएको उनको भनाइ छ ।

    विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा कांग्रेस नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै उपसभापति शर्माले महाधिवेशनमा लोकतान्त्रिक आन्दोलनका अग्रजदेखि सहिद परिवार र जेनेजी पुस्तासहित ठूलो सङ्ख्यामा युवा सहभागिता रहेको जानकारी दिए । उनले परम्पराको सम्मान गर्दै नयाँ दृष्टिकोण र ऊर्जाका साथ कांग्रेसलाई अघि बढाउने लक्ष्यका साथ पार्टी अघि बढेको स्पष्ट गरे । उपसभापति शर्माले १५औँ महाधिवेशनले कांग्रेसलाई सङ्गठनात्मक रूपमा थप बलियो बनाउँदै मुलुकको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने आधार तयार गर्ने बताए ।

  • निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः ‘प्रचण्ड’

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः ‘प्रचण्ड’

    काठमाडौँ, १८ असोजः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वमा निरन्तरताको क्रमभङ्ग गरेर नयाँ इतिहासतर्फ अघि बढाएको उल्लेख गरे ।


    सभापति थापालाई बधाई दिँदै संयोजक दाहालले आफू प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै उहाँको राजनीतिक यात्राप्रति आफू खुसी रहेको बताए । “गगनजीलाई बधाई छ, गगनजीमा नेतृत्व गर्ने क्षमता छ, अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ, आज त्यही देखिरहेको छु”, संयोजक दाहालले भने ।


    संयोजक दाहालले कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई जोडेर अघि बढ्न सभापति थापालाई आग्रह गरे । पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउनुपर्नेमा कांग्रेसको नयाँ नेतृत्व लाग्नुपर्ने उनको भनाइ थियो । सभापति थापा अब कांग्रेसको नेतृत्वमा मात्रै सीमित नरही देशकै नेतृत्व गर्ने बाटोमा अघि बढ्नुपर्ने भन्दै संयोजक दाहालले त्यसका लागि आफ्नो साथ र सहयोग रहने बताए । उनले मुलुकमा गणतन्त्र र लोकतन्त्रसमेत जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै राजनीतिक दलहरू सचेत हुनुपर्ने उल्लेख गरे । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

    संयोजक दाहालले आफू र कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाबीच भएको शान्ति सम्झौताका केही काम अझै पूरा हुन बाँकी रहेको भन्दै त्यसलाई टुङ्ग्याउन वर्तमान सभापति थापा लाग्नुपर्ने बताए । “शान्ति सम्झौताका केही चिज अझै टुङ्ग्याउन बाँकी छ, यो टुङ्गिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ, यो पनि गगन थापाले पूरा गर्नुपर्ने छ”, उनले भने । मुलुकको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने संयोजक दाहालको भनाइ थियो ।

  • राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    काठमाडौँ, १८ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता र लोकतन्त्रका लागि सबै राजनीतिक शक्तिहरु फेरि एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा आज शुभकामना सम्बोधन गर्दै महासचिव पोखरेलले राष्ट्रियता र लोकतन्त्रका सवालमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर युवाहरुका आकाङ्क्षा पूरा गर्न लाग्नुपर्ने बताए ।


    “लोकतन्त्र, सार्वभौमसत्ता र मुलुकको हित, राष्ट्रियता, परिवर्तन, स्थायित्व, विकास र समृद्धिका लागि दलहरु मिलेर काम गर्नुपर्छ । त्यसका लागि हाम्रो दल सहकार्य गर्न तयार छ”, महासचिव पोखरेलले भने, “पछिल्लो निर्वाचनबाट जनताको स्थायित्वको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइको मत प्राप्त गरेका हुन् । सुशासन, सेवा प्रवाह र रोजगारीका क्षेत्रमा नयाँ पुस्ताका आशा र अपेक्षालाई निराशामा परिणत हुन दिनुहुँदैन । त्यसका लागि यो महाधिवेशन सफल हुन सकोस् ।”

    महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरुसँग संवाद गर्न अग्रसर भए पनि राष्ट्रिय समस्यामा सरकारले राजनीतिक दलहरुसँग संवाद नगरेको टिप्पणी गरे । जलवायु न्यायको प्रश्न पनि आजाको साझा प्रश्न भएकाले यसको सामनाका लागि पनि सबै एक ठाउँमा आउनुपर्ने महाचिव पोखरेलको भनाइ थियो ।

  • ट्याटू र प्रेम

    ट्याटू र प्रेम

    आरएल श्रमजीवी
    लण्डन, बेलायत

    नेपालमा भदौ १० गते (अगष्ट २६ तारिख) भोटेकोशी आकस्मिक र अकल्पनीय रुप लिएर उर्लियो । शहरका बस्ती बगायो । घर, कार्यालय, स्कूल, कलेज, चौकी, ब्यारेक बगायो, खेत बगायो, पहिचानको नागरिकता, राष्ट्रिय परिचयपत्र, लालपूर्जा, पेन्सन पट्टा बगायो, बस्तीका अनेकौं अनुहार पनि बगायो । समग्रमा नदी छेउका सभ्यता नै बगाएर बगर बनायो । यो प्रलयको कथा लेखी साध्य छैन । म कल्पना मात्रै गर्न सक्छु भोग्ने यस म्यागेजिनका योगेश आदीलाई थाहा छ । म टेलिभिजनका दृश्य हेर्दै यी हरफ लेखिरहेको छु, ट्याटू र प्रेमलाई आधार बनाएर ।


    पानी ओर्लिएपछि हिलोमा केही लासहरु थिए– चिन्नै नसकिने । आफन्तहरु फोटो बोकेर रोइरहेका थिए– ‘मेरो मान्छे यस्तो थियो’ भनेर । त्यही भिडमा एउटी आमाले एउटा हात समातेर चिच्याइन्– ‘यो मेरो छोरोको लास हो !’ प्रहरीले सोध्यो– ‘कसरी चिन्नुभयो ?’ आमाले नाडी देखाइन् । त्यहाँ सानो अक्षरमा खोपिएको थियो– ’आमा’ ।
    त्यसैगरी अर्को छातीमा गुलाफको फूल खोपिएको थियो । एउटी युवतीले त्यो गुलाफ हेरेर भनिन्– ‘यो मैले छानेको डिजाइन हो । उसले भनेको थियो– ‘तिमी फूल जस्तै कोमल छौ भनेर ।’ त्यो दिन भोटेकोशीले सिकायो– कागजको परिचयपत्र पानीले बगाउँछ, छालाको परिचयपत्र बगाउँदैन ।


    गोदना ः हाम्रो आफ्नै मौलिक इतिहास हो । ट्याटू त अंग्रेजी शब्द हो, हाम्रो शब्द त गोदना हो र यो कुनै नयाँ फेसन होइन, हाम्रै पूर्खाको छाला साहित्य हो । नेपालमा ट्याटूको इतिहास खोज्दा पहिला थारु समुदायमा– थारु दिदीबहिनीको गोदना अनिवार्य संस्कार थियो । हात, खुट्टा, घाँटीमा सिकर्मीको औजारले कोटेर गोदना खोपिन्थ्यो । मयूर, घोडा, फूल, बेलबुट्टा बनाइन्थ्यो । बिहे गरेर टाढा जाँदा माइतीको याद त्यही गोदना थियो । पछि मगर, गुरुङ, लिम्बु, तामाङ समुदायमा लाहुरे जाने चलन भयो । लाहुर जाने बेलामा हातमा नाम, गाउँको नाम, ओम, त्रिशूल खोपिन्थ्यो । लडाइँमा मरे पनि लास चिनियोस्– यो फलानो गाउँको फलानो हो भनेर । हिजो नेवार समुदायमा गोदना नखोपेकी चेलीको बिहे नै हुँदैनथ्यो भन्ने चलन थियो । यो शुद्धताको प्रतीक थियो ।


    दलित समुदायमा– बादी, दमाई, सार्की, कामी समुदायका महिलाहरुका हातका गोदना त कला संग्रहालय नै हुन्थे । उनीहरुले आफ्नो दुःख, आफ्नो प्रेम, आफ्नो देवतालाई सियोले लेख्थे । किनकि उनीहरुलाई कागजमा लेख्ने अधिकार थिएन, त्यसैले छालामा लेख्थे । पहिला भनिन्थ्यो– ‘मतवालीले मात्र गोदना खोप्छ ।’ होइन । अहिले गोदना त नेपालीको साझा भाषा साहित्य भएको छ । आज समयसँगै त्यो सोंच बदलिएको छ ।


    नेपाली समाजमा हिजो ट्याटू संस्कृति केही जातिविशेषको मात्रै थियो । आज ट्याटू मतवाली जातिको मात्र होइन । आज ब्राह्मण युवाले हातमा ’ॐ’ खोप्छ । क्षेत्री केटाले छातीमा नेपालको नक्सा र आफ्नो प्यारो नेता वा आफ्नो पार्टीको चुनाव चिह्न खोप्छ । नेवार केटाले पिठ्यूँमा आँखा झ्याल खोप्छ । लिम्बु केटीले हातमा धानको बाला खोप्छिन् । मधेसी युवाले पाखुरामा मिथिला आर्ट खोप्छ । दलित युवाले बाबा साहेब अम्बेडकरको हस्ताक्षर खोप्छ ।

    नेपालीहरु विश्वव्यापी भएसँगै ट्याटू संस्कृति पनि मौलाएको छ । प्रेमको निशानी भएको छ । आज ट्याटू जातको होइन, भावनाको भएको छ । कोही आमा–बाबुको नाम खोप्छन्, कोही छोराछोरीको जन्ममिति, कोही प्रेमिकाको लागि गुलाफ, कोही आफैंले भोगेको दुःख बिर्सन बुद्धको आँखा । ट्याटू अब विद्रोह होइन, छालामा लेखिने डायरी भएको छ।


    १९ वर्षको केटाको नाडीमा । आमाले भनिन्– ‘काठमाडौंबाट फर्किएको छोरालाई मैले त गाली गरेकी थिएँ, छाला किन बिगारिस् भनेर ? आज त्यही बिग्रेको छालाले मेरो छोरोको सद्गद् गर्न परिचय फर्कायो । मृत्यु संस्कार गर्दै उसको आत्माको चीर शान्तिको कामना गरियो ।’ २४ वर्षको केटाको छातीमा । प्रेमिकाले भनिन्– ‘उसले मलाई सधैं भन्थ्यो । तिमी गुलाफ जस्तै छौ, काँडा भए पनि सुन्दर छौ । त्यसैले उसले आफ्नो मुटुमाथि मलाई रोपेको थियो ।

    त्यो अन्तिम साससम्म उसको याद बाँचिरहने भयो ।’ एउटी बुहारीको औंलामा । लोग्ने कतार जाँदा सुनको औंठी किन्ने पैसा थिएन । त्यसैले ट्याटूको मसीले औंठी खोपिदिएँ– ‘पैसा कमाएर सुनको ल्याउँछु भन्थ्यो, यो बाढी आएको बेला छुट्टीमा आउँदा उसलाई बगायो ।’ सुनको औंठी त आएन, ट्याटूमसीको कहिल्यै नफुकालिने गरी औंठी उसैको निशानी भयो । उसको लास बेपत्ता छ । यस्ता कयौं कहानी छन् ट्याटूका । बगेका कागजको नागरिकता हिलोले मेटायो, तर छालाको नागरिकता मेटिएन ।


    अन्त्यमा,
    हामी प्रेमपत्र लेख्छौं– च्यातिन्छ । फोटो खिच्छौं– धमिलो हुन्छ । तर सियोले दुखाइ–दुखाइ हजार पटक घोंचेर, त्यो दुखाइ सहेर लेखिएको एउटा गुलाफ, त्यो त चितासम्म सँगै मात्र जान्छ । त्यसैले त ट्याटू प्रेमको सबैभन्दा ठूलो तपस्या हो । वितण्डा मच्चाउने भोटेकोशीले सिकायो– मान्छेको परिचय उसको अनुहारमा होइन, उसको जातमा पनि होइन, उसको अन्तिम पहिचान ट्याटूमा हुने रहेछ ।

    मान्छेको परिचय उसले कसलाई कति गहिरो माया ग¥यो भन्ने हो र त्यो माया कहिलेकाहीँ थारु आमाको हातको मयूर भएर, कहिलेकाहीँ गुरुङ लाहुरेको पाखुराको ओम भएर, कहिलेकाहीँ दलित चेलीको घाँटीको फूल भएर, कहिलेकाहीँ भोटेकोशीमा बगेको छातीको गुलाफ भएर बाँचिरहन्छ ।
    घर बग्छ, नाम बग्छ, तर प्रेम बग्दैन । प्रेम त छालाबाट मन मस्तिष्कमा सर्छ ।

  • लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

    रुपन्देही, १६ असोजः शिक्षा तथा खेलकुदमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको विशिष्ट पहिचानलाई कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको आज अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप बौद्ध दर्शनमा केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।


    विश्वविद्यालयले हाल सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमलाई क्रमशः बौद्ध दर्शनसँग सम्बन्धित विषयमा केन्द्रित गर्दै लैजाने सरकारको योजना रहेको उहाँले जानकारी दिए । अन्य विषयका कार्यक्रम सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेका विश्वविद्यालयमार्फत सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।

    विश्वविद्यालयको उद्देश्य, प्रकृति र पहिचानअनुकूल शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले सरकारको योजनाअनुसार विश्वविद्यालयले आफ्नो शैक्षिक संरचना र कार्यक्रमलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताए । अवलोकनका क्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा माणिकरत्न शाक्यले विश्वविद्यालयको वर्तमान अवस्था, शैक्षिक गतिविधि तथा भावी योजनाबारे मन्त्री पोखरेललाई जानकारी गराए ।

    रजिस्ट्रार इन्द्रप्रसाद काफ्लेले विश्वविद्यालयबाट सञ्चालन भइरहेका विभिन्न शैक्षिक कार्यक्रम, शैक्षिक संरचना तथा गतिविधिका बारेमा जानकारी दिए । विभिन्न विश्वविद्यालय तथा तिनका निकायको अवलोकन गर्ने कार्यक्रमअन्तर्गत सहकुलपति पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको भ्रमण गर्नुभएको हो । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले गरेका थिए ।

  • शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म

    शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म

    सिबी अधिकारी–रासस
    काठमाडौँ, १५ असोजः शिक्षा तथा खेलकुद मन्त्रालयले सरकार गठन भएको पछिल्लो छ महिनामा शिक्षा, खेलकुद र सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा विभिन्न नीतिगत तथा प्रणालीगत सुधार गरेको छ । मन्त्रालयका अनुसार २०८२ चैत १३ देखि २०८३ असोज १२ गतेसम्म विभिन्न विश्वविद्यालयमा पदाधिकारी नियुक्ति, विद्यालय शिक्षा सुधार, खेलाडीलाई पुरस्कार, ‘डिजिटल’ सेवा विस्तार तथा नागरिक गुनासो सुनुवाइजस्ता क्षेत्रमा काम अघि बढाइएको छ ।

    मन्त्रालयका प्रवक्ता एवम् सहसचिव श्रीप्रसाद भट्टराईका अनुसार विश्वविद्यालयका उपकुलपति तथा शिक्षक सेवा आयोगका पदाधिकारी खुला र प्रतिस्पर्धात्मक प्रक्रियाबाट सिफारिस भएकामध्येबाट नियुक्त गरिएको छ । विश्वविद्यालयमा दलीय विद्यार्थी सङ्गठनले प्रयोग गर्दै आएका भौतिक संरचना खाली गरी विद्यार्थी काउन्सिल गठनको प्रक्रिया अघि बढाइएको तथा स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्य नहुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

    शिक्षा क्षेत्रमा कानुनी सुधारअन्तर्गत शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली, २०५९ मा संशोधनमार्फत विद्यालय व्यवस्थापनमा राजनीतिक प्रभाव न्यून गर्ने प्रयास गरिएको छ । संयुक्त तथा दोहोरो उपाधि कार्यक्रम, वृत्ति मार्गनिर्देशन सेवा, विदेशी शैक्षिक कार्यक्रम तथा शैक्षिक परामर्शसम्बन्धी नयाँ नियमावली र निर्देशिका जारी गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् नियमावलीमा छैटौँ संशोधन गरी राष्ट्रिय व्यावसायिक योग्यता प्रारूप कार्यान्वयनको कानुनी आधार तयार गरिएको छ । यस्तै, जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्ने मापदण्ड कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

    विद्यालय शिक्षातर्फ ‘सिकाइ चौतारी’ एपमार्फत ३६ हजार २८९ शिक्षकलाई अनलाइन अभिमुखीकरण गरिएको छ । मन्त्रालयका अनुसार पोर्टलमा दुई लाख २० हजार ७५० प्रयोगकर्ता छन् । यस्तै, चार लाख ५६ हजार ८२६ जनाले एप इन्स्टल गरेका छन् ।

    अटिजम तथा न्युरोडाइभर्सिटी भएका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न सातै प्रदेशमा नमूना केन्द्र स्थापना गर्ने तयारी गरिएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि विज्ञ टोली गठन गरिएको तथा सरोकारवालासँग परामर्श गरी विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्ने काम अघि बढाइएको भट्टराईले जानकारी दिए ।
    खेलकुदतर्फ अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने १०४ जना खेलाडीलाई रु १० करोड ८३ लाख ४८ हजार नगद पुरस्कार वितरण गरिएको मन्त्रालयले जनाएको छ । यस अवधिमा विभिन्न खेलका १९२ प्रतियोगितामा सहभागिता जनाउँदा नेपालले ५१ स्वर्ण, २२ रजत तथा १९ कास्य पदक प्राप्त गरेको विवरणमा उल्लेख छ ।

    ‘मिसन २०२६’ अन्तर्गत राष्ट्रिय टोलीको तयारी तथा विशेष प्रशिक्षण सञ्चालन गरिएको छ । लामो समयदेखि रोकिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति र स्थान तोकेर तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ । नेपाल स्काउटमार्फत ६९६ जनालाई स्काउट तालिम र ७० जनालाई विपद् व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको छ । विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिमा २३ हजार १७५ जना स्वयंसेवक परिचालन गरिएको छ ।

    सार्वजनिक सेवा प्रवाहतर्फ मन्त्रालय र मातहतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरी कार्यविवरण तयार गरिएको छ । प्रमुख कार्यसम्पादन सूचक र बिजनेस प्रोसेस रिइन्जिनियरिङ प्रतिवेदन तयार गरी कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ । नागरिकका गुनासो सुनुवाइका लागि बहुच्यानल हेल्पडेस्क स्थापना गरिएको छ । ‘हेलो सरकार’ अन्तर्गत प्राप्त २१२ वटा उजुरी तथा गुनासो सबै फछ्र्योट गरिएको छ ।

    परीक्षाको नतिजा प्रकाशनमा समय घटाइएको छ । माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा परीक्षा सम्पन्न भएको एक महिनाभित्र र कक्षा १२ को नतिजा ४० दिनभित्र प्रकाशन गरिएको छ । विश्वविद्यालयमा ६५ दिनभित्र नतिजा प्रकाशन गर्ने अभ्यास सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

    वैदेशिक अध्ययन अनुमति–पत्र ९एनओसी० प्रक्रियालाई पूर्ण अनलाइन प्रणालीमा लैजान ‘एनओसी अनलाइन’ प्रणालीलाई १० वटा विश्वविद्यालयसँग अन्तरआबद्ध गरिएको छ । डिजिटल सिग्नेचर प्रमाणीकरण तथा जिआइओएमएससम्बन्धी काम सम्पन्न भएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल स्काउट, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रसँग सम्बन्धित विभिन्न कार्यदलको प्रतिवेदन कार्यान्वयन सुरु गरिएको छ ।

    त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदामा गएर तोकिएको समयमा नफर्किएका करिब ४०० प्राध्यापकबाट फिर्ता हुनुपर्नेमध्ये हालसम्म करिब रु १६ करोड ५० लाख फिर्ता भएको मन्त्रालयको विवरणमा उल्लेख छ । मन्त्रालयले पछिल्लो छ महिनाका कामलाई सार्वजनिक सेवा प्रवाहमा प्रणालीगत सुधार, शिक्षा तथा खेलकुद क्षेत्रमा दीर्घकालीन नीतिगत तयारी र शैक्षिक सुशासन सुदृढ गर्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ ।

  • प्रेमकृष्णको डेरामा बस्ने केटीको चर्चा

    प्रेमकृष्णको डेरामा बस्ने केटीको चर्चा

    काठमाडौं

    युवा साहित्य परखीहरुमाझ देशभरि अहिले “डेरामा बस्ने केटी” को चर्चा चुलिएको छ ।
    युवा साहित्यकार प्रेमकृष्ण श्रेष्ठले लेखेको कथा संग्रह “डेरामा बस्ने केटी” को अहिले नेपालभरि बिक्री बढेको छ ।
    कतिले मदन पुरस्कार त कहिले पदमश्रीको हकदार भनेर सामाजिक संजाल तताउन थालेका छन ।

    त्रिभुवन विश्वविध्यालय केन्द्रिय पुस्तकालयका पूर्व प्रमुख आई. पि अधिकारीले “डेरामा बस्ने केटी” कथासंग्रह देशकै चर्चित कृति भन्दै आफू पनि रत्न पुस्तकालय आजै जाने टिप्पणी गरेको लेख्दा पाठक थप उत्साहित भए । सामाजिक अभियन्ता अभिनव बज्रले पुस्तकको सर्टेजमा प्रश्न नै उठाएका थिए । पुस्तक हाल निकै चर्चामा छ ।
    पुस्तक वरिष्ठ सम्पादक होम भट्टराईले सम्पादन गरेका हुन भने संवाद प्रकाशनले प्रकाशित गरेको हो । पुस्तक मदन पुरस्कार २०८३ को प्रमुख दाबेदार भनि चर्चामा छ ।

  • सकियो भक्तपुरको पुलुकिसी जात्रा

    सकियो भक्तपुरको पुलुकिसी जात्रा


    ख्वप (भक्तपुर), १४ असोजः मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा पुलुकिसी (इन्द्रका बाहन ऐरावत हात्ती) जात्रा मनाएको छ । जात्रा साँझ भक्तपुर नगरको लाकुलाछेंबाट सुरु भएको थियो । प्रत्येक वर्ष यही ठाउँबाट जात्रा सुरु हुने परम्परा छ । जात्राका क्रममा पुलुकिसी अर्थात् इन्द्रका बाहन ऐरावत हात्तीलाई नगर परिक्रमा गराइएको हो । बाँसलगायतबाट हात्तीको आकार दिई बनाइएको पुलुकिसीलाई भक्तपुर नगर परिक्रमा गराइएको हो । बाँसबाट हात्ती आकार दिई त्यसलाई हात्तीको आकृति लेखिएको सेतो कपडाले छोपेर पुलुकिसी बनाइएको हो ।

    पुलुकिसीभित्र मानिस बसेर बोक्न मिल्ने गरी बनाइएको हुन्छ । त्यही पुलुकिसीलाई नगर परिक्रमा गराइ जात्रा मनाइएको हो । यो जात्रा हेर्न भक्तपुर नगरभरि उल्लासका साथ हजारौँ नागरिक सहभागी भएका थिए । पुलुकिसी परिक्रमा गराइने बाटोभरि हजारौँ दर्शक जात्रा हेर्न बसेका थिए । पुलुकिसीलाई ओहोरदोहोर गराइने र हेर्न रमाइलो लाग्ने स्थानीय जात्राप्रेमी कृष्ण प्रजापतिले बताउनुभयो । विशेष गरी भक्तपुर दरबार स्क्वायर, टौमढी, दतात्रयलगायतका चोकमा जात्रा हेर्नेको घुइँचो लागेको थियो ।

    पुलुकिसी नगर परिक्रमा गराउने क्रममा एक जनाले अगाडि बसेर घण्ट बजाएका थिए । घण्ट बजाउँदै पुलुकिसी आएको सङ्केत दिँदै नगर परिक्रमा गराइएको थियो । यस क्रममा चोकचोकमा पुलुकिसीलाई ओहोर दोहोर गराइएको थियो । साथै पुलुकिसीसँग हिँडेका व्यत्तिले अगाडि छ्वाली बालेर बाटो तय गर्दै गएको दृश्य रमाइलो थियो ।

    जात्रा लाकुलाछेंबाट सुरु भई राति त्यही पुगेर टुङ्गिने चलन छ । योबीचमा लाकुलाछेंबाट गाइजात्राको क्रममा नगर परिक्रमा गराउने मार्ग भई पूरै नगर परिक्रमा गराइन्छ । लाकुलाछेंबाट पोटरी स्क्वायर, नासमना, इटाछे, दरबार स्क्वायरको रुटमा पुलुकिसीको परिक्रमा गराइएको थियो । दरबार स्क्वायरबाट पुन बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसीलाई दतात्रयमा ल्याइने चलन छ । त्यहाँबाट पुन इनाचो, गोल्मढी हुँदै टौमढी ल्याई लाकुलाछेमै पुगेर जात्रा सम्पन्न गर्ने चलन छ ।

    पुलुकिसी बनाएर जात्रा सुरु हुने लाकुलाछेस्थित भैरवनाथ जात्रा सहयोग समितिका अध्यक्ष शिवराम किजूका अनुसार जात्राका लागि आवश्यक सबै तयारी स्थानीयले गर्ने गर्छन् । पहिलाकै जोहो गरेका सामानबाट पुलुकिसी बनाउने गरिएको उनले जानकारी दिए । प्रत्येक वर्ष पुलुकिसी बनाइ नगर परिक्रमा गरेपछि आफूहरूले ती सामानलाई अर्को वर्षका लागि स्थानीय पाटीमा जोहो गरेर राख्ने गरेका उनले बताए ।
    पुलुकिसीलाई नगर परिक्रमा गराउने क्रममा पुलुकिसीको सुँडले छुवाउन नहुने जनविश्वास छ । नगर परिक्रमा गराउँदा सुँडले छोएमा बिरामी हुने वा मृत्युसम्म हुने जनविश्वास अहिले पनि कायमै छ । नगर परिक्रमा गराउने क्रममा तलातुंछी (इनार) मा पुगेपछि पानी खुवाउने चलन छ ।

    कला संस्कृति भजन महागुथिका संस्थापक अध्यक्ष डा इन्दुल केसीका अनुसार स्वर्गका राजा इन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफना छोरा खोज्न पृथ्वीलोकमा आएर घुमेको अर्थमा यो जात्रा मनाइँदै आएको छ । पारिजात फूल टिप्न पृथ्वी लोक आएका छोरालाई बन्धक बनाएपछि उहाँलाई खोजेर स्वर्गमा लैजान आफ्नो बाहन ऐरावत हात्तीलाई पृथ्वीमा घुम्न पठाएको किंवदन्ती रहेको उहाले बताउनुभयो । पुलुकिसी जात्रासँगै भक्तपुरको इन्द्रजात्रा सम्पन्न भएको छ ।

  • पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै

    पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै

    कास्की, १४ असोजः पर्यटकीय राजधानी पोखरामा ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना गरिने भएको छ । ‘टीका, जमरा र चङ्गा चेट–पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने नारा तय गरिएको छ । महोत्सव आगामी कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन लेकसाइडस्थित बाराहीघाट मैदानमा हुने कार्यक्रम संयोजक उमा भण्डारीले जानकारी दिइन् ।


    उनका अनुसार नेपालीको ठूलो चाड दसैँलाई पारिवारिक पर्वमा मात्र सीमित नराखी पर्यटकलाई नेपाली संस्कृति, परम्परा, खानपान र जीवनशैलीसँग प्रत्यक्ष जोड्ने अवसरका रूपमा महोत्सव गर्न लागिएको हो । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा हुने महोत्सव सफल बनाउन पोखराका पर्यटनसम्बद्ध सङ्घसंस्थाले सामूहिक प्रतिबद्धता जनाएका छन् । कार्यक्रमलाई पोखराको पर्यटन क्षेत्रकै साझा कार्यक्रमका रूपमा अघि बढाउनुपर्नेमा यस क्षेत्रका विभिन्न व्यक्तित्वले जोड दिए ।


    महोत्सवमा पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई टीका र जमरा लगाइदिने, चङ्गा चेट प्रतियोगिता आयोजना गर्ने तथा विभिन्न जातजाति र समुदायका मौलिक सांस्कृतिक प्रस्तुति देखाइनेछ । नेपाली मौलिक खानाका परिकार, कला–संस्कृति, परम्परागत सामग्री, स्थानीय उत्पादन तथा पर्यटनसम्बद्ध व्यावसायिक गतिविधि महोत्सवमा समेटिने भण्डारीले बताइन् ।


    पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दसैँलाई पर्यटनसँग जोडेर पोखरामा महोत्सव आयोजना गर्नु यहाँको संस्कृति र पर्यटनलाई एकसाथ अगाडि बढाउने अवसर भएको बताए । “दसैँ हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडिएको पर्व हो । यसलाई पर्यटनसँग जोडेर देश–विदेशबाट आएका पर्यटकलाई हाम्रो संस्कृति अनुभव गराउन सकिन्छ । यो कुनै एउटा संस्थाको मात्रै कार्यक्रम होइन । पोखराका सबै पर्यटनसम्बद्ध संस्थाले यसलाई साझा कार्यक्रमका रूपमा लिएर अगाडि बढ्नुपर्छ,” भुजेलले भने ।


    ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले महोत्सव एउटा कार्यक्रम मात्र नभई पोखराको संस्कृति र पहिचानलाई पर्यटकीय उत्पादनका रूपमा चिनाउने अवसर भएको बताए । त्यसका लागि सबैको सहकार्य आवश्यक रहेको उनको भनाई छ । ओटेफका अध्यक्ष ममता न्यौपानेले पोखराको प्राकृतिक सुन्दरतासँगै यहाँको कला, संस्कृति र परम्परालाई पनि पर्यटकमाझ पु¥याउन महोत्सव सफल हुने विश्वास व्यक्त गरे । “हामीले पर्यटकलाई पोखरा घुमाउने मात्रै होइन, पोखराको संस्कृति अनुभूति गराएर फर्काउने वातावरण बनाउनुपर्छ,” उनले भने ।

  • बाढी प्रभावित प्रहरीका सन्नतिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

    बाढी प्रभावित प्रहरीका सन्नतिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

    काठमाडौँ, १३ असोजः नेपाल प्रहरीले कर्तव्यपालनाको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना प्रहरी कर्मचारीको सन्ततिलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले प्रभावित प्रहरी परिवारका अन्य सदस्यको जीविकोपार्जन तथा दीर्घकालीन पुनःस्थापनाका लागि विशेष ध्यान दिने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।


    उनीहरूलाई आवश्यकताअनुसारका सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गरी रोजगारीको समेत उचित व्यवस्था मिलाउने बैठकको निर्णय छ । जोखिमपूर्ण अवस्थामा पनि राष्ट्र र जनताको सुरक्षामा समर्पित प्रहरी कर्मचारीको त्याग र समर्पणको उच्च मूल्याङ्कन गर्दै सो कदम चालिएको प्रवक्ता काफ्लेले जानकारी दिए ।

  • वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

    वर्षाको प्रभावः गोकर्णेश्वरमा श्राद्ध गराउने घटे

    काठमाडौँ, ११ असोजः विगत चार दिनदेखिको निरन्तर वर्षाद्ले गोकर्णेश्वर उत्तरगया पितृतीर्थ क्षेत्रमा सोह्र श्राद्ध गर्न आउनेहरू प्रभावित भएका छन् । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको हो । आज प्रतिपदा तिथि श्राद्ध गरिँदैछ । विगतका वर्षमा सोह्र श्राद्धको पहिलो दिन यस क्षेत्रमा सयौँ मानिसले श्राद्ध गर्ने स्थानका लागि तोकिएको शुल्क तिरेर रसिद काट्ने गरेकामा यस वर्ष ६६ जनाले मात्र रसिद काटेका गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए ।

    उनका अनुसार यहाँ श्राद्ध गर्नेलाई समितिले सरसफाइका लागि रु २०० शुल्क लिने गरेको छ । विगत चार दिनदेखिको निरन्तर वर्षाले श्राद्ध गर्न आउनेहरू प्रभावित भएका उनले बताए । गोकर्णेश्वर मन्दिरभन्दा ५०० मिटरमाथिको दूरीमा रहेको कान्तिभैरव उत्तरगया क्षेत्रमा भने बिहानदेखि छ जनाले मात्र श्राद्ध गर्न रसिद काटेका कान्तिभैरव मन्दिर व्यवस्थापन समितिका कर्मचारी कोपिला थापाले जानकारी दिइन् । पानी नपरेका बेला भने यहाँ पनि दैनिक १०० जनाभन्दा धेरै मानिस श्राद्ध गर्नकै लागि आउने गरेका थिए ।

    राजधानीमा डेरा लिएर बसेकाहरू गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा आएर श्राद्ध गर्दछन् । डेरामा श्राद्ध गर्नुहुँदैन भन्ने मान्यता राख्नेहरू र डेरामा ठाउँ अभाव हुनेहरूले यहाँ आएर श्राद्ध गर्दछन् । धर्मशास्त्रविद् तोयराज नेपालले भने डेरामा ठाउँ भएसम्म श्राद्ध गर्न शास्त्रीय वचनका आधारमा कुनै बाधा नपर्ने बताए । भाडा तिरेर बसिसकेपछि रकम तिरुञ्जेल आफ्नै हुने भएकाले डेरामा श्राद्ध गर्न धर्मशास्त्रीय ग्रन्थले भने अनुसार कुनै बाधा नरहेको उनले बताए ।

    डेरामा ठाउँ अभाव भएर तीर्थमा गएर तिथिको श्राद्ध गर्नुपर्दा पहिले तीर्थ श्राद्ध गरेरमात्र तिथि वा सोह्र श्राद्धको तिथिको श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम रहेको जानकारी पनि धर्मशास्त्रविद् नेपालले दिए । तीर्थ श्राद्ध र तिथिको वा सोह्र श्राद्ध एकै दिन गर्दा तीर्थ श्राद्ध आफ्ना पुरेतबाट नभई अलग्गैबाट गर्नुपर्ने पनि उनले बताए । दुवै श्राद्ध एकै पुरेतबाट गराएर सिदा र दक्षिणा दान एकै जना ब्राह्मणलाई गराउन नहुने शास्त्रीय वचन रहेको छ ।

  • केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

    केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि


    काठमाडौँ, ८ असोजः काठमाडौँ विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्रा डा सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बिहीबार पशुपति आर्यघाटमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले स्व शर्माको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । अन्तिम बिदाइका क्रममा नेपाल प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

    शिक्षा तथा खेलकुद मन्त्रालयको अनुरोधमा गृह मन्त्रालयले निर्णय गरेपछि शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको मन्त्रालयले जनाएको छ । शिक्षामन्त्री पोखरेलसहित मन्त्रालयका प्रमुख सल्लाहकार शैलेन्द्र झालगायत पदाधिकारी आर्यघाट पुगेर शर्माप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरे । यसअघि शिक्षा मन्त्रालयमा शोक पुस्तिका राखिएको थियो । शिक्षामन्त्री पोखरेल, मन्त्रालयका सचिव चूडामणि पौडेल, प्रमुख सल्लाहकार झालगायत मन्त्रालय तथा काठमाडौँ विश्वविद्यालयका पदाधिकारीले शोक पुस्तिकामा हस्ताक्षर गर्दै शर्माप्रति श्रद्धाञ्जली व्यक्त गरे ।


    मन्त्री पोखरेलले शर्माको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउँदै शोकसन्तप्त परिवार, आफन्त, सहकर्मी तथा काठमाडौँ विश्वविद्यालय परिवारप्रति मन्त्रालयका तर्फबाट समवेदना व्यक्त गरे । मन्त्री पोखरेलले काठमाडौँ विश्वविद्यालयलाई पूर्ण स्वायत्त संस्थाका रूपमा विकास गर्ने शर्माको सपना पूरा गर्न सरकार अघि बढिरहेको बताए । शोक पुस्तिकामा हस्ताक्षर गर्दै उनले भने, “स्व शर्माको सपना पूरा गर्ने गरी चाँडै संसद्मा विधेयक लैजान्छौँ । काठमाडौँ विश्वविद्यालयलाई बोर्ड अफ ट्रस्टी मोडलमा लैजान ऐन संशोधनको मस्यौदा तयार भइसकेको छ ।”

    नेपालको उच्च तथा प्राविधिक शिक्षा विकासका अग्रणी व्यक्तित्वका रूपमा परिचित शर्माको बुधबार निधन भएको थियो । उनले दुई दशकभन्दा लामो समय काठमाडौँ विश्वविद्यालयको नेतृत्व गर्दै विश्वविद्यालयलाई स्वायत्त, गुणस्तरीय र अन्तरराष्ट्रिय पहिचानयुक्त शैक्षिक संस्थाका रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।


    बेलायतबाट रसायनशास्त्रमा पिएचडी गरेका शर्मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी)का संस्थापक निर्देशकसमेत हुन् । उनले जुम्ला, दोलखाको जिरी र धनकुटामा पुगेर प्राविधिक शिक्षा सुरु गरेका थिए । शर्माले बूढानीलकण्ठ स्कुलको अध्यक्षका रूपमा समेत काम गरेका थिए । उच्च तथा प्राविधिक शिक्षाको विकासमा उनले पुर्‍याउनुभएको योगदानका कारण उनलाई नेपालको शिक्षा क्षेत्रका महत्वपूर्ण व्यक्तित्वका रूपमा स्मरण गरिएको छ ।

  • रास्वपाले सांसदको उपस्थिति तालिका तोक्यो

    रास्वपाले सांसदको उपस्थिति तालिका तोक्यो

    काठमाडौँ, ८ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको छ । मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार समूहका आधारमा आजदेखि असोज १६ गतेसम्म विभिन्न समूहका सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्ने छ । समूह निर्धारण नगरिएका सांसद पनि संसद् बैठकमा उपस्थित हुनुपर्ने छ । विशेष अवस्थामा बाहेक संसद्मा उपस्थिति सबैका लागि सधैँ बाध्यकारी हुनेछ ।

  • राष्ट्रपति संविधान दिवसमा आयोजित विशेष समारोहमा सरिक

    राष्ट्रपति संविधान दिवसमा आयोजित विशेष समारोहमा सरिक

    काठमाडौँ, ३ असोजः राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भएका छन् । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । विशेष समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले मार्च पास तथा ब्याण्ड प्रदर्शन गरेका थिए । सैनिक हेलिकप्टरबाट संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो ।

    संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्वारा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सुरक्षा अङ्गका प्रमुख, नेपाल सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिलगायत विशिष्ट उच्च पदस्थ सहभागी भए ।

  • वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने


    भक्तपुर, २ असोजः मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन् । पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न उनी तयार भएका हुन् । असोज १० गते शनिबार येँया पुन्हिःका दिन जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने उनले जानकारी दिए । विगतमा जात्रा नियमित हुनसकेको थिएन ।

    विसं २०७४ मा वीरेन्द्रभक्तकै अगुवाइमा पुनः जात्रा सुरु भएको थियो । त्यसयता उनले २०७९, २०८१ र २०८२ मा जिब्रो छेडेका थिए । उनले यस वर्ष पनि जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन् । विसं २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीका कारणले रोकिएकामा २०७९ सालमा वीरेन्द्रभक्तले पुनः जात्रालाई निरन्तरता दिए । मध्यपुरथिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ मा जिब्रो छेडाएका थिए ।


    आर्थिक अभावका कारण चल्दै र रोकिदै आएको यो जात्रा सञ्चालनमा करिब छ लाख बढी खर्च हुने गरेको छ । नगरपालिकाले सहयोग गर्नेभन्दा बढी रकम जिब्रो छेड्ने व्यक्ति र स्थानीयको खर्च हुने गरेको छ । मध्यपुरथिमिको दिगुभैरव मन्दिरको डबलीमा हजारौ व्यक्तिको अगाडि जिब्रो छेडेर जात्रा सुरु हुन्छ । जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पशुपतिनाथको मन्दिरसम्म पुग्ने प्रचलन छ ।

    किंवदन्तीअनुसार प्राचीनकालमा थिमिमा भूतप्रेत र पिशाचले आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि त्यसलाई नियन्त्रण गर्न एक जनालाई जिब्रो छेडी नगर परिक्रमा गराइएको थियो । त्यसपछि भूतप्रेत, पिशाच भागेर शान्ति स्थापना भएको भनाइ छ । भाद्र शुक्ल पूर्णिमाको साँझ तेलमा डुबाइएको करिब एक फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छेडिन्छ । पशुपतिनाथसम्मको यात्रा गर्दै पुनः बालकुमारी मन्दिर पुगी सियो निकाल्ने परम्परा छ । उक्त जात्रा मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको छ ।

  • शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन

    शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन

    काठमाडौँ, १ असोजः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक सेवा आयोगका अध्यक्ष डा हरिप्रसाद लम्सालसहित नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा उनले शिक्षक भर्ना, बढुवा, पाठ्यक्रम सुधार तथा आयोगसम्बन्धी ऐन–नियमावलीलाई समयसापेक्ष परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले विद्यालयमा शिक्षक दरबन्दी मिलान, परीक्षा प्रणालीमा सुधार र समयमै परीक्षाफल प्रकाशनलाई प्राथमिकता दिन आग्रह गरे ।


    मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै आगामी ऐनमा शिक्षक सेवा आयोगसँग सम्बन्धित विषयलाई समेत समेटिने विश्वास व्यक्त गरे । हालै बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका डा लम्साललाई आयोगको अध्यक्ष तथा मकवानपुरका रामशरण सापकोटा र काठमाडौँका विष्णु घिमिरे रिमाललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    आयोगका अध्यक्ष डा लम्सालले आयोगलाई गतिशील र नतिजामुखी बनाउन काम सुरु गरिसकेको बताए । आयोगको प्रभावकारिता तथा शिक्षक व्यवस्थापन सुधारका लागि नीतिगत र संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसतर्फ आयोगले पहल थालेको जानकारी दिए । छलफलमा मन्त्रीको सचिवालय तथा मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

  • सिर्जना वाचन डबलीको २९औं शृङ्खला

    सिर्जना वाचन डबलीको २९औं शृङ्खला


    १ असोज, यूएई । सिर्जना वाचन डबली, यूएईको २९औं शृङ्खला १६ अगष्ट आइतबारको दिन बरदुबई आब्रास्थित गाउँवेशी रेष्टुरेन्टमा सम्पन्न भएको छ ।
    सिर्जना वाचन डबलीका संरक्षक टक गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजन जे. सागरले गरेका थिए । भवानी नेपालले सञ्चालन गरेको कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का मध्यपूर्व सहसंयोजक विकास शाहीको प्रमुख आतिथ्यता रहेको थियो ।


    कार्यक्रममा करिब ३० जना सर्जकहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए । कार्यक्रममा कविता, गजल, मुक्तक लगायतका रचनाहरु वाचन गरिएको थियो । २९औं शृङ्खलाको विशेष आकर्षणका रुपमा सिर्जना वाचन डबलीको लोगो अंकित पोशाक सार्वजनिक गरिएको थियो । प्रभु बैंक यूएई प्रमुख डा. प्रकाश पौडेलको सहकार्यमा पोशाक प्रायोजन गरिएको आयोजकले बताए ।


    सन् २०१४ देखि प्रवासमा नेपाली भाषा, साहित्य र सिर्जनाको संरक्षण तथा प्रवद्र्धनमा सक्रिय सिर्जना वाचन डबलीले नियमित रुपमा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा यूएईमा स्थापित विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, साहित्यकार, कलाकार तथा साहित्यप्रेमीहरुको उल्लेखनीय सहभागिता थियो । प्रवासमा रहेका नेपाली स्रष्टाहरुलाई संगठित गर्दै साहित्यानुभूति दिने काम सिर्जना वाचन डबलीले गर्दै आइरहेको छ ।

  • ‘शताब्दी घर’मा लाखेको बिदाइ….

    ‘शताब्दी घर’मा लाखेको बिदाइ….

    गण्डकी, ३० भदौः तीज पर्वसँगै नेवार समुदायमा भदौरे जात्राको मैजारो भएको छ । बर्खे नाचले चिनिने यस जात्रामा लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायतका नाच तथा झाँकी प्रदर्शन गर्ने गरिन्छ । जनैपूर्णिमाको भोलिपल्टदेखि भदोरै जात्राको रौनक सुरु हुने भएपनि नेवार जातिको लोकप्रिय नाच लाखे भने गठेमङ्गल पर्वदेखि नचाउने चलन छ ।

    ठूला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले पर्वमय माहोलको छनक दिने गर्छन् । पर्वतको कुश्मास्थित ‘शताब्दी घर’को आँगन पनि सोमबार साँझ लाखे नाचले गर्मायो । पुरानो बजार क्षेत्रमा सक्रिय लाखे एकीकृत समाजले यस वर्षको अन्तिम लाखे नाच प्रदर्शन गरेको थियो । यससँगै वर्षदिनका लागि लाखे नाचलाई बिदाइ गरिएको स्थानीयवासी जयन्द्रकुमार जोशीले बताए ।


    कुश्मामा साउन कृष्ण औँशी अर्थात् भुते औँशीदेखि तीजसम्म लाखे नाच देखाउने परम्परा रहेको उनको भनाइ छ । यसबीचमा रोपाइँ जात्रा, गाईजात्रा, बाघ जात्रा र हनुमान नाच प्रदर्शन गर्ने गरिएको जोशीले बताए । करिब अढाई वर्षदेखि कुश्मामा लाखे नाचको सुरुवात भएको मानिन्छ । “हामीले जान्दैखेरी लाखे नाच देखाउन सुरु गरिएको थियो, नेवारी संस्कृतिको संरक्षण गर्न बर्सेनि लाखे नाच प्रदर्शन गर्दै आएका छौँ”, उनले भने ।


    नेवार समुदायले निकाल्ने लाखे नाचमा अन्य जातजातिको पनि सहभागिता रहने गरेको छ । लाखे बनेर नाच्ने काम नेवार समुदायका व्यक्तिबाट हुने भए पनि यसको तयारीदेखि व्यववस्थापकीय काममा कुश्मावासी सबैको हातेमालो रहँदै आएको छ । संस्कृतिकर्मी शान्तिनारायण श्रेष्ठका अनुसार भदौरे जात्रामा लाखे नाचसहित गाईजात्रा, नागा नाच, रोपाइँ जात्रा, बाघ जात्रा, कृष्ण जात्रा, हनुमान नाच, बकुल्ला नाच आदि पर्छन् ।

    संरक्षण अभावमा बकुल्ला नाच र हनुमान नाच भने लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । विगतका वर्षमा झैँ यस वर्ष पनि लाखे नचाउँदै नगर परिक्रमा गर्ने, विविध परम्परागत वेषभूषा र चरित्रमा लाखे नाच देखाइएको लाखे एकीकृत समाजका कार्यक्रम संयोजक रजतमान श्रेष्ठले बताए । “किंवदन्ती अनुसार भूतप्रेतहरू मानिसमा लागेर सताउने भएकाले उनीहरूले मानिसलाई दुःख नदिउन् भन्नका लागि लाखे नाचको प्रचलन सुरु भएको हो”, उनले भने ।

    उनले लाखे नाचजस्ता नेवार समुदायमा प्रचलित परम्परागत नाच र संस्कृति पुस्तान्तरणको खाँचो औँल्याए । संरक्षणकर्मी आरके अदीप्त गिरीले लाखे नाच अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेको बताए । “२५० वर्षअघि भक्तपुरबाट आएको यो परम्परालाई जोगाउन नेवार समुदायको सक्रियता मात्र पर्याप्त छैन”, उनले भने, “यसका लागि राज्यले नीतिगत प्रबन्धसहित दीर्घकालीन सहयोग गर्न आवश्यक छ ।”

    सदियौँदेखि मनाउँदै आइएका स्थानीय मौलिक कला, संस्कृति, पर्व, परम्परा र वेषभूषाको संरक्षण एवं सम्वद्र्धनका ‘शताब्दी घर’को परिकल्पना एवं संरक्षण गरिएको गिरीले बताए । लाखे जस्तै विभिन्न समुदायमा प्रचलित नाचगानलाई जोडेर ‘शताब्दी घर’ मा मासिक शृङ्खला सञ्चालन गर्ने योजना बनाइएको उनको भनाइ छ । समुदायसँगै स्थानीय तहले पनि कला, संस्कृति र सम्पदा संरक्षणमा ध्यान दिनुपर्ने गिरीले बताए ।
    के हो लाखे नाच ?

    लाखे नाच घण्टाकर्ण (गठेमङ्गल) पर्वमा सुरु गरी तीजमा अस्ताउने चलन छ । राजाका सिपाहीले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति बियोगमा व्युहल बनेकी उनकी श्रीमती लाखे बनेर नाचेको किम्बदन्ती पाइन्छ । त्यसकै प्रतिक स्वरूप नेवार समुदायले बर्सेनि लाखे नाच प्रदर्शन गर्दै आएका छन् । नेवार जाति बसोबास गर्ने ठाउँ अनुसार फरक–फरक तरिकाले लाखे नाच नचाउने गरिन्छ । लाखे नाचको प्रचलन र यसको इतिबासबारे पनि विभिन्न तर्क पाइन्छन् ।

    लाखे नाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल हुन्छन् । राक्षसको स्वरूप झल्कने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिँगारेर लाखे नचाउने गरिन्छ । नेवार समुदायले आफ्नो पुस्तैनी संस्कृतिका रूपमा लाखे नाचको परम्परालाई धान्दै आएका छन् । सयौँ वर्षअघि भक्तपुर, धुलिखेल र भादगाउँबाट आएका नेवार जातिले पर्वत, बागलुङलगायत ठाउँमा लाखेसहित विभिन्न जात्राका थिती बसालेको संस्कृतिकर्मी प्रेम छोटा बताउँछन् । यस्ता पर्व तथा जात्रालाई भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रूपमा लिइने गरिएको छ । हरेक नाचका आ–आफ्नै परम्परा र ऐतिहासिक मान्यता छन् ।

    जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग, पौराणीक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ । नाचको कथा, पृष्ठभूमि, स्वरूप र शैली भने बेग्लाबेग्लै पाइन्छ । पछिल्लो समय जात्राको रौनक खुम्चदैँ गएपनि संस्कृति र परम्परा जोगाउन नेवार समुदाय लागिपरेको छ । संरक्षण अभावमा कतिपय नाच भने हराएर गएको नेवार अगुवा बताउँछन् । नयाँ पुस्तामा पुरानो संस्कृतिप्रतिको मोह कम हुँदै जाँदा परम्परागत नाच संरक्षणमा चुनौती थपिएको छ ।

  • ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

    ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

    काठमाडौँ, ३० भदौः भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । बागमती, मनोहरा, रुद्रमतीलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् ।

    रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन् । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भनिएको हो ।

    रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहिआएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन् ।


    आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमामा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । ऋषिपञ्चमीसँगै चार दिन लामो तीज पर्व पनि आजैदेखि समापन भएको छ ।