Category: कला / साहित्य

  • सभामुख अर्यालद्वारा प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिनको लागि रुलिङ

    सभामुख अर्यालद्वारा प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिनको लागि रुलिङ

    काठमाडौँ, १ भदौः सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सदस्यले संसद्मा उठाएको जिज्ञासाको उत्तर दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । विपक्षी दलका सांसदले यसअघिका अधिकांश बैठकमा प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने मागसहित रुलिङका लागि अनुरोध गर्दै आएका थिए ।
    सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम प्रतिनिधिसभाका सदस्यको जवाफ दिनको लागि प्रधानमन्त्रीलाई निर्देश गरे ।

    यसअघिजस्तै आजको बैठकमा पनि विपक्षी सांसदहरुले उठेर विरोध जनाए । विपक्षी सांसदहरुले विरोध जनाएपछि सभामुख अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ५६ अनुसार ‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्षरूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ’ भन्ने प्रावधानबमोजिम आफ्नो गम्भीर ध्यानकर्षण भएको स्पष्ट गरे ।

  • श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

    श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

    काठमाडौँ, १ भदौः नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

    नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको सम्वाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

    प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रूपमा मान्ने गरिएको हो ।

    प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् श्री गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रूपमा जन्म लिनुभएका श्री रामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा मानिन्छ । श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रूपमा सर्पको आकृति रहेको हुन्छ ।

    मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करको शिरमा समेत सर्पाकार मुकुट हुन्छ । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख छ । लक्ष्मीको बास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । जसमध्ये एउटा प्रख्यात किंवदन्ती यस्तो छ । एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए ।

    भक्तपुर, १ भदौः भक्तपुर नगरपालिका वडा न १० बस्ने ९२ वर्षीया कृष्णलक्ष्मी अवाल नागपञ्चमीका अवसरमा आज सोही वडामा रहेको थालाछेँस्थित नागपोखरीमा आउनु भई नागको प्रतिमामा पूजा आराधना तथा दर्शन गर्नुहुँदै । तस्बिरः रेणु त्वानाबासु/रासस

    ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् । संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनयविनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् ।

    मृत्युको मुखबाट बचेर प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजा आराधना गरी कचौरामा दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरूलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् ।

    प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ । गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो । गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ ।

    संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ ।

    नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नु हँुदैन भन्ने मान्यता छ ।

    आज काठमाडाँैको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

    वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।

  • विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    बागलुङ, १ भदौः धवलागिरि बहुमुखी क्याम्पस बागलुङले विद्यार्थी आकर्षित गर्न छात्र तथा छात्राका लागि छात्रावास सुविधा विस्तार गरेको छ । क्याम्पसले होस्टेलको पूर्वाधार निर्माणमा लगानी विस्तार गर्दै लगेको छ । क्याम्पसले विगत तीन वर्षदेखि छात्राका लागि छात्रावास सुविधा उपलब्ध गराउँदै आएको थियो । विद्यार्थी सङ्ख्या घट्दै गएपछि क्याम्पसले नयाँ विद्यार्थी आकर्षित गर्न पुरुष छात्रावास निर्माण गरिरहेको क्याम्पस प्रमुख डा सुदर्शन सिलवालले जानकारी दिए ।


    उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयको सहयोगमा रु तीन करोड ५० लाखको लागतमा ७० जना विद्यार्थी बस्न मिल्ने पुरुष छात्रावास निर्माण भइरहेको छ । भवनको तेस्रो तलाको ढलान भइरहेको र निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । क्याम्पसले बाहिरी जिल्लाबाट आउने विद्यार्थीलाई लक्षित गरी आवासीय सुविधा विस्तार गरेको हो । बागलुङसहित मुस्ताङ, म्याग्दी र पर्वतका विद्यार्थीले क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्दै आएका छन् ।

    क्याम्पस प्रमुख सिलवालका अनुसार तीन वर्षअघि रु तीन करोडको लागतमा निर्माण गरिएको छात्रा छात्रावासमा हाल ४२ विद्यार्थीले सुविधा लिइरहेका छन् । नयाँ पुरुष छात्रावास निर्माण सम्पन्न भएपछि थप ७० विद्यार्थीलाई आवासीय सुविधा दिन सकिनेछ । उनले भने, “कोठा भाडामा लिएर अध्ययन गर्न नसक्ने दुर्गम क्षेत्रका जेहेन्दार तथा विपन्न विद्यार्थीलाई लक्षित गरी छात्रावास निर्माण गरिएको हो । त्रिभुवन विश्वविद्यालयको नियमअनुसार त्यसका लागि विद्यार्थी छनोट गरी निःशुल्क आवासीय सुविधा दिने व्यवस्था छ ।”

    क्याम्पसले छात्रावासमा बस्ने विद्यार्थीबाट सरसफाइ शुल्क मात्र लिँदै आएको छ । छात्रावासको सुविधा नहुँदा केही विद्यार्थी अध्ययनका लागि पोखरा तथा काठमाडौँ जाने गरेका थिए । छात्रावासको सुविधासँगै दुर्गम तथा विपन्न विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहज वातावरण बन्ने छात्रावास संयोजक हिरालाल रेग्मीले बताए ।

    धवलागिरि बहुमुखी क्याम्पसमा हाल करिब दुई हजार २०० विद्यार्थी अध्ययनरत छन् । विगतका वर्षको तुलनामा विद्यार्थी सङ्ख्या घट्दै गए पनि क्याम्पसले बिबीए कार्यक्रम थपेपछि विद्यार्थीको आकर्षण बढ्दो क्रममा छ । क्याम्पसमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र सङ्कायअन्तर्गत स्नातक तथा स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालनमा छन् ।

  • छोराको स्मरणमा लिखित शोक काव्य ‘सशांक’ लोकार्पित

    छोराको स्मरणमा लिखित शोक काव्य ‘सशांक’ लोकार्पित


    काठमाडौँ, ३१ साउनः लेखिका राधादेवी पाण्डेद्वारा लिखित शोक काव्य ‘सशांक’ लोकार्पित भएको छ । आज यहाँ आयोजित कार्यक्रममा समाजसेवी एवं साहित्यकारले पुत्रको सम्झनामा आमाद्वारा लिखित ‘शोक काव्य’ काव्य सार्वजनिक गरेकी हुन् । युवा अवस्थामै पुत्रको असामयिक निधनबाट व्याकुल आमाले लेखेको शोक काव्य पहिलो भएको साहित्यकार डा सत्यराज थपलियाले बताए । कार्यक्रममा साहित्यकार डा दामोदर पुडासैनीले काव्यमा आमा एवं दिदीका अनुभूति रहेका उल्लेख गर्दै साहित्य क्षेत्रमा प्रकाशित यस काव्य प्रेरणाको स्रोत भएको बताए । उनले भने, “कृतिमा आमाको सामर्थ्य लेखिएको छ, शोक काव्य लेख्नसक्ने आमालाई सम्मान छ ।”

    साहित्यकार डा रामचन्द्र अधिकारीले प्रकाशित कृति एक अमर कृतिका रूपमा साहित्य जगतमा रहने विश्वास व्यक्त गरे । उनले भने, “आमाको मातृत्व भाव काव्यमा झल्किन्छ, काव्यमा जीवन दर्शन पाइन्छ, यो सम्झनाको सङ्गालो हो ।” साहित्यकार डा शैलेन्दु प्रकाश नेपालले काव्यमार्फत आमाका आँसु अक्षरमा प्रवाहित भएको आफूले अनुभव गरेको टिप्पणी गरे । उनले भने, “अक्षरमा प्रवाहित भएको आँसुका धाराहरु अमर रहनेछन् । यो कृतिले नेपाली साहित्य ठूलो योगदान पुर्‍याउने छ ।”

    आफ्नो स्वर्गीय भाइको सम्झनामा आमाले तयार पारेको काव्यबारे दिदी मन्दिरा पाण्डेले सर्जक हुनु र आमा भएर सर्जक हुनु झनै चुनौतीको विषय भएको बताइन् । उनले भनिन्, “कविताका श्लोकहरू सिर्जना र कल्पना मात्र नभई हृदयबाट लेखिएका भावना हुन् । यसले संसारलाई चेतना प्रवाह गर्नेछ ।”

    कार्यक्रममा समाजसेवी बाबुकाजी पाठकले राधादेवीद्वा लिखित कृति समाज र साहित्य जगतका लागि अमर र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । शोक काव्यका मुख्य पात्र सशांककी आमा राधादेवीले गर्भावस्थादेखि बाँचुन्जेलसम्म आफ्नो पुत्र एक असल साथी रहेको स्मरण गर्दै काव्यमार्फत सबैका लागि साझा गर्न चाहेको प्रष्ट्याइन् । प्रकाशित कृतिमा उनले १०३ श्लोकमार्फत छोरा सशांकको स्मरण गरेकी थिन् । पिता शम्भुप्रसाद पाण्डे, दिदीहरू मन्दिरा, मनिला र मनसा पाण्डेले पुस्तक प्रकाशनमा ल्याएका हुन् । विसं २०५३ मा जन्मिएका सशांकको मृत्यु २६ वर्षको उमेरमा मृत्यु भएको थियो ।

  • बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

    बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

    काठमाडौँ, ३१ साउनः बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गरेकी छिन् । उनले रु दुई हजार १०० को रसिद काटी पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अभिनेत्री चोपडासहित आज २३५ जनाले विशेष पूजाको रसिद काटेर मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेका कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले राससलाई जानकारी दिए ।

    सौरमास अनुसार आज साउनको अन्तिम दिन भएकाले बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । सार्वजनिक बिदा पनि परेकाले साउनको अन्तिम दिन धेरै भक्तजन आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनमा यहाँ आएका हुन् । अभिनेत्री चोपडा पनि साउन महिना पारेर पशुपतिनाथको पूजा, आराधना र दर्शन गर्न नेपाल आएकी हुन् । गत हप्ता बलिउड अभिनेत्री शिल्पा सेट्टीले पनि पशुपतिनाथ मन्दिरमा रसिद काटेर विशेष पूजा, आराधना र दर्शन गरेकी थिइन् ।

  • विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

    विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

    काठमाडौँ, ३१ साउनः विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता निर्धारण गरेको छ ।

    यसअघि त्रिभुवन विश्वविद्यालयले गर्दै आएको समकक्षता निर्धारणको जिम्मेवारी सरकारले विश्वविद्यालय अनुदान आयोगलाई दिएपछि आयोगले काम सुरु गरेको हो । आयोगका नवनियुक्त अध्यक्ष प्राडा खड्गबहादुर केसीले आफूले साउन २२ गते पदबहाली गरेको र साउन २५ गतेदेखि समकक्षता निर्धारणसम्बन्धी निर्णय गर्न थालिएको बताए ।


    उनका अनुसार हाल त्रिभुवन विश्वविद्यालयकै समकक्षता निर्धारण कार्यविधिअनुसार काम भइरहेको छ भने आयोगको नयाँ कार्यविधि स्वीकृतिको चरणमा छ। विज्ञ जनशक्ति अभाव भएपछि आयोगले त्रिभुवन विश्वविद्यालयबाट कर्मचारी काजमा ल्याएर समकक्षता निर्धारण गरिरहेको छ । आयोगका सदस्य पदहरू रिक्त रहेकाले ती पदमा नियुक्ति भएपछि नयाँ कार्यविधिले पूर्णता पाउने अध्यक्ष केसीले बताए । प्रस्तावित कार्यविधिमा आयोगका सचिवको अध्यक्षतामा समकक्षता निर्धारण समिति गठनको व्यवस्था गरिएको छ ।

    आयोगले साउन १ गतेदेखि समकक्षताका लागि अनलाइन माध्यमबाट आवेदन दिन खुला गरेको थियो। यसअघि उच्च शिक्षाको समकक्षता निर्धारणको काम त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षको कार्यालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको थियो। सरकारले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत ‘विश्वविद्यालय अनुदान आयोग ऐन, २०५०’ संशोधन गरी विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्रदान गरिने शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने अधिकार आयोगलाई दिएको हो।

    शिक्षा तथा खेलकुद मन्त्रालयका उच्चाधिकारीका अनुसार नयाँ व्यवस्थाले विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थी तथा नेपालका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता निर्धारणलाई एउटै केन्द्रीय निकायबाट व्यवस्थित गर्ने आधार तयार गरेको छ । संशोधित कानुनले आयोगलाई क्रेडिट ट्रान्सफर तथा विश्वविद्यालयको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए)सम्बन्धी काम गर्ने अधिकार प्रत्यायोजन गरिएको छ । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रबाट यसअघि जारी भएका समकक्षता प्रमाणपत्र भने नयाँ व्यवस्थाका कारण पुनः समकक्षता गराउनुपर्दैैन ।

  • सुरु भयो मिथिलामा झुलनोत्सव

    सुरु भयो मिथिलामा झुलनोत्सव

    महोत्तरी, ३१ साउनः
    ‘सखी हे, झुला पडल पूmलबगियाक डार,
    सीतासँग झुलथी रघुबर, मन हरषित अपार ।’

    मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा विष्णु लक्ष्मी भक्तिका गीत गुञ्जन थालेका छन् । साउन शुक्ल तृतीया तिथिसँगै शनिबार झुलनोत्सव पर्व सुरु भएसँगै मिथिलामा झुलागीत गुञ्जन थालेका हुन् । हिन्दू परम्पराका आराध्यदेव श्री विष्णु र भगवती लक्ष्मीको पुकारा गरिने यस पर्वमा यी देवदेवीका अवतार मानिने रामसीता र राधाकृष्णका प्रतिमा कलात्मक झुलना (एक प्रकारको कोक्रा)मा राखेर भक्तिगीतको लयमा झुलाउने (हल्लाउने) गरिन्छ । साउन पूर्णिमाका दिन समापन गरिने यो पर्व मिथिलाको विशिष्ट सांस्कृतिक उत्सव रहँदै आएको छ ।

    शनिबार पर्व सुरु भएसँगै मिथिला क्षेत्रमा अहिले झुला महोत्सवको रौनक छाएको छ । पर्वले महोत्तरीका रामजानकी, लक्ष्मीनारायण र राधाकृष्ण मन्दिर र वैैष्णव मठहरूमा झुला महोत्सवमा साधुसन्तसहित सर्र्वसाधारण झुमेका देखिँदा छन् । मैथिल हिन्दू परम्परामा यो पर्व भक्ति, समर्पण र सांस्कृतिक मनोरञ्जनका लागिसमेत विशिष्ट रहँदै आएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउँछन् ।


    “यो बालरुप भगवान् र भगवतीलाई झुलनामा झुलाइने पर्व हो, श्रीरामकी माता कौशल्या र श्रीकृष्णकी माता यशोदाले कोक्रामा हल्लाउनुभएको प्रतिकात्मक सम्झना यस पर्वमा गरिन्छ”, डा वैष्णवले भने । विष्णुलक्ष्मी भक्तिको यो पर्व घरघरै नभएर मठमन्दिरमा सामूहिक रूपमा मनाइन्छ । विष्णु लक्ष्मीका अवतार मानिने रामसीता र कृष्णराधाका प्रतिमालाई विशेष झुलामा राखेर गीत गाउँदै हल्लाउनु पर्वको मुख्य विधि हो । झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै श्रद्धालुले हल्लाएर भक्तिभाव जाहेर गर्छन् ।

    पर्वका अवसरमा शनिबार साँझ मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट लक्ष्मीनारायणका प्रतिमा डोलीमा राखेर बजागाजासाथ झुलाघर पुर्याएर पर्व सुरु गरिएको छ । यो पर्वमा आमसर्वसाधारण आफ्नो बस्ती नजिकको मठ वा मन्दिरमा भेला भई भजनकीर्तन गाउँदै सीताराम र राधाकृष्णका प्रतिमा राखिएका झुला हल्लाउँदै नाच्दै भक्तिमा नाच्छन् ।

    झुला उत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाइने चलन छ । झुलनोत्सव भनिने यो पर्व प्राचीन मिथिला क्षेत्रका सबैतिर मनाइए पनि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र मन्दिर एवं जनकपुरस्थित जानकी मन्दिरको निकै प्रसिद्ध छ । यसैगरी महोत्तरीको जलेश्वर–१ र बर्दिबास–१४ स्थित रामजानकी कुटीमा झुलामहोत्सव मनाइन्छ ।

    मिथिलामा यो पर्व राम जन्मभूमि अवध (अयोध्या) र कृष्णको बाललीलास्थल मानिने वृन्दावनबाट देखासिकीबाट भित्रिएको विश्वास गरिन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएका हुँदा ज्वाइँलाई प्रसन्न गराउनुपर्ने मैथिल परम्पराअनुसार यो पर्व मनाउन विसं १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गराउनुभएको मानिन्छ ।

    जनकपुरमा अघि रामसीताको विवाह हुँदा राजा जनकले दाइजोमा दिनुभएको हिरा, रत्न र मणिमाणक्यको थुप्रो लागेको र त्यो पहाडजस्तै बनेको बताइन्छ । अहिले मणिपर्वत भनिने सो ठाउँ जनकपुरस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा अवस्थित छ । झुला पर्वमा साउन शुक्ल तृतीयाका दिन यसै मणिपर्वतको पूजा गरेर पर्व सुरु गरिने मिथिला परम्परा छ ।

    महोत्तरीको मटिहानीमा छुट्टै झुलाघर निर्मित छ । जहाँ लक्ष्मीनारायण मठ र मन्दिरबाट विष्णुलक्ष्मी प्रतिमा डोलीमा बोकेर ल्याई झुलामा झुलाइन्छ । मटिहानीमा अहिले जिल्लाका र सीमावर्ती भारतका दर्जनौँ मठमन्दिरका प्रतिमा झुलाका लागि ल्याइएका छन् । पर्वभरि साधुसन्त केन्द्रमा जम्मा भई पर्वमा रमाउँछन् ।

    साउन पूर्णिमाका दिन विष्णुलक्ष्मीका प्रतिमा झुलाइने झुलनाको डोरी चुडालेर पर्व समापन गरिने मैथिल परम्परा छ । मिथिलामा प्रचलनमा रहेका पञ्चाङ्ग विद्यापति र मिथिला हुन् । यी दुवै पञ्चाङ्गमा चन्द्रमासको साउनदेखि वर्ष प्रारम्भ हुन्छ । यसअनुसार साउनमै मनाइने मधुश्रावणी, झुला, लगपाँच (नागपञ्चमी) र रक्षावन्धनसँगै वर्षभरिका चाडवाडको सिलसिला सुरु भएको सूचनाका रुपमा लिने गरिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् ।

  • पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण

    पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण

    जीवन पराजुली–रासस
    काठमाडौँ, ३० साउन । अत्याधुनिक मल्टिप्लेक्स र डिजिटल स्ट्रिमिङ (ओटीटी) प्लेटफर्मको दबदबा रहेको वर्तमान समयमा, दशकौँ पुराना नेपाली चलचित्र हेर्न दर्शकको घुइँचो लाग्ला ? धेरैका लागि यो प्रश्नको उत्तर ‘सायद अहँ, हुन्न’ भन्ने हुन सक्थ्यो । तर, नेपाल सरकार, चलचित्र विकास बोर्डले आयोजना गरेको ऐतिहासिक चलचित्र प्रदर्शन शृंखला ‘ओल्ड इज गोल्ड’ले यसको जवाफ हाउसफुल हल, भुइँमै बसेर चलचित्र हेरिरहेका दर्शक र उनीहरूको अभूतपूर्व उपस्थितिमार्फत दिएको छ ।

    बुधबार ‘जीवनरेखा’ र ‘बदलिँदो आकाश’को प्रदर्शनसँगै सम्पन्न भएको सात दिने यस शृंखलाले नेपाली चलचित्रको इतिहासलाई केवल अभिलेख र रिलमा मात्र सीमित नराखी दर्शकसम्म पुर्‍याउने सरकारी प्रयासको सफल परीक्षण गरेको छ ।

    ठूलो पर्दासम्मको यात्रा

    विगत आठ–दस वर्षअघि नै पुराना नेपाली चलचित्रहरूलाई विद्युतीय रूपान्तरण (डिजिटाइज) गर्ने कार्य सुरु भइसकेको थियो। तर, ती अमूल्य सिर्जनाहरूले उचित निकास नपाउँदा अनुसन्धानकर्ता, चलचित्रका विद्यार्थी र आम दर्शकको पहुँचभन्दा बाहिर थिए ।

    चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीका अनुसार विद्युतीय रूपान्तरण गरिएका ती चलचित्रहरूको उपयोगिता हुन नसक्नु मुख्य चुनौती थियो । “कलेजका विद्यार्थी र अनुसन्धानकर्ताहरूले हेर्न चाहन्थे तर पाइरहेका थिएनन्। विभिन्न फाउन्डेसनले च्यारिटी गर्छौं भन्दा पनि उपलब्ध गराउन सकिएको थिएन, किनकि यसको व्यवस्थित निकास गरिएको थिएन, “अध्यक्ष डीसीले रासससँग भन्नुभयो, “पछिल्लो महिना हामीले केन्द्रीय चलचित्र जाँच पास समितिबाट यी चलचित्रलाई औपचारिक रूपमा जाँच पास गराई ‘युनिभर्सल सर्टिफिकेट’ लियौँ । त्यसपछि बल्ल एउटा महोत्सवको रूपमा पुराना चलचित्रहरू प्रदर्शनमा ल्याएका हौँ ।”

    यही सरकारी पहलकदमीका कारण नेपालको पहिलो चलचित्र ‘आमा’ सहित ‘सिन्दूर’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘मनको बाँध’, ‘कुमारी’, ‘शान्तिदीप’, ‘हिजो आज भोलि’, ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ जस्ता नेपाली चलचित्र इतिहासका मानक कृतिहरूले पुनः ठूलो पर्दामा पुनर्जीवन पाएका हुन् ।

    दर्शकको उत्साह

    ‘ओल्ड इज गोल्ड’को सबैभन्दा सबल पक्ष भनेको दर्शकको उत्साहजनक सहभागिता रह्यो । पहिलो दिनको भीडलाई धेरैले केवल ‘उत्सुकता’ माने पनि दोस्रो दिन प्रदर्शन भएका ‘सिन्दूर’ र ‘परिवर्तन’का सबै शो हाउसफुल भए । त्यसपछिका दिनमा पनि यो क्रम निरन्तर रह्यो ।

    अध्यक्ष डीसी दर्शकको यो स्तरको प्रतिक्रियाबाट आफू हर्षित भएको बताउनुहुन्छ । “कुनै दिन त दर्शकहरू हलको भुइँ र सिँढीमै बसेर पनि चलचित्र हेर्नुभयो । बाल्यकालमा हेरेका वा चर्चा मात्र सुनेका चलचित्र हेर्नकै लागि कतिपय दर्शकले कार्यालयबाट बिदासमेत लिएर आएको पायौँ,” उहाँले भन्नुहुन्छ ।

    कस्ता दर्शकको सहभागिता रह्यो ?

    यस ऐतिहासिक चलचित्र प्रदर्शनमा विविध वर्गका दर्शकहरूको उल्लेखनीय सहभागिता रह्यो । विशेषगरी नेपाली सिनेमाको प्राविधिक र कथागत विकासक्रम बुझ्न चाहने चलचित्रका विद्यार्थी तथा अनुसन्धानकर्ताहरूको उपस्थिति त्यहाँ बाक्लो देखिन्थ्यो । यसका साथै, आफ्नो बाल्यकाल र युवावस्थाको स्मृति ताजा गर्न पुराना पुस्ताका दर्शकहरू सपरिवार हलमा आइपुगेका थिए भने पुराना चलचित्रकर्मीहरू पनि आफ्नै दशकौँ पुराना सिर्जनाहरू दर्शकसँगै बसेर हेर्न उपस्थित थिए ।

    सांस्कृतिक सम्बन्धको जीवित चित्र

    यो शृंखला केवल चलचित्र प्रदर्शनमा मात्र सीमित रहेन, नेपाली चलचित्रको इतिहास, वर्तमान र भविष्यलाई जोड्ने एउटा महत्त्वपूर्ण सेतु बन्यो । भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठजस्ता अग्रज कलाकारहरूले दीप प्रज्वलन गरी सुरु गरेको कार्यक्रमको समापन अझै अर्थपूर्ण रह्यो ।

    समापनका दिन वरिष्ठ कलाकारहरूले नयाँ पुस्ताका चलचित्रकर्मीलाई खादा लगाएर आशीर्वाद दिनुभएको थियो । प्रथम अभिनेत्री भुवन चन्दले अभिनेत्री सिम्रन खड्कालाई, शिव श्रेष्ठले अरुण क्षेत्रीलाई, निर्देशक लक्ष्मीनाथ शर्माले डा। कपिल रिजाललाई र सन्तोष पन्तले वितरक करण श्रेष्ठलाई खादा लगाइदिँदा नेपाली सिनेमाको साँचो पुस्तान्तरणको दृश्य मञ्चमा कोरिएको थियो ।

    कार्यविधि निर्माण र निरन्तरता

    ‘ओल्ड इज गोल्ड’को सफलतासँगै सरकार र चलचित्र विकास बोर्डमाथि यी ऐतिहासिक सम्पत्तिहरूको व्यवस्थापन र वितरणको दबाब बढेको छ । स्वदेशबाट मात्र होइन, अन्तर्राष्ट्रिय स्तरबाट समेत यी चलचित्र प्रदर्शनको माग आउन थालेको छ ।

    “हङकङबाट च्यारिटी शोका लागि यी १० वटै चलचित्र प्रदर्शन गर्न माग आएको छ भने युट्युब च्यानलहरूले पनि माग गरिरहेका छन्”, अध्यक्ष डीसीले भन्नुभयो, “तर यो सरकारी सम्पत्ति भएकाले सजिलै दिन सकिने अवस्था छैन । यसको वितरण र प्रदर्शनका लागि आवश्यक प्रक्रिया र कार्यविधिहरू बनाउनुपर्ने हुन्छ, जसमा हामी काम गर्दैछौँ ।”

    यदि यी चलचित्रहरू युट्युब वा सामाजिक सञ्जालमा सहजै उपलब्ध भइदिएको भए हलमा यस्तो उत्साहजनक प्रतिक्रिया नआउने बोर्डको निष्कर्ष छ । पुराना चलचित्रको वास्तविक संरक्षण भनेको तिनलाई रिल वा हार्डड्राइभमा थन्क्याउनु मात्र होइन, दर्शकको पहुँचमा पुर्‍याउनु हो भन्ने तथ्य यसले प्रमाणित गरेको छ ।

    उद्घाटनकै दिन अध्यक्ष डीसीले हरेक महिना पुराना चलचित्रको विशेष शो आयोजना गर्ने र त्यसबाट प्राप्त रकम ‘चलचित्र कल्याणकारी कोष’मा जम्मा गर्ने घोषणा गर्नुभएको थियो । सात दिनको दर्शक सहभागिताले उक्त सरकारी योजनालाई दरिलो आधार र हौसला प्रदान गरेको छ ।

  • नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत

    नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत

    काठमाडौँ, ३० साउनः नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले साहित्य तथा लोकगीत गायनका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका विभिन्न साहित्यकार तथा स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । गुठीले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद आर्यालले विभिन्न साहित्यिक विधामा योगदान पुर्‍याएका १० जना स्रष्टालाई नगदसहित पुरस्कार प्रदान गरे । कार्यक्रममा नूर–गङ्गा बालसाहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा रु एक लाखको पुरस्कारबाट लमजुङका मुक्तिनाथ शर्मा न्यौपाने र स्याङ्जाका देवीप्रसाद वनवासीलाई जनही रु ५०–५० हजार प्रदान गरिएको छ ।

    त्यसैगरी नूर–गङ्गा लोकगीत गायन राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार संयुक्त रूपमा रु एक लाखको पुरस्कारबाट स्याङ्जाका क्षेत्रबहादुर गुरुङ र कास्कीका पूर्ण नेपालीलाई जनही रु ५०–५० हजार प्रदान गरिएको छ । यस्तै नूर–गङ्गा साहित्य क्षेत्रीय स्थापित प्रतिभा पुरस्कारबाट रुपन्देहीका वनमाली निराकारलाई रु ५० हजार तथा नूर–गङ्गा लोकगीत गायन क्षेत्रीय स्थापित प्रतिभा पुरस्कारबाट नवलपरासीका पदमध्वज केसीलाई रु ५० हजार प्रदान गरिएको छ ।

    नूर–गङ्गा साहित्य राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट ललितपुरकी आँचल श्रेष्ठलाई रु ३० हजार तथा नूर–गङ्गा लोकगीत गायन राष्ट्रिय नवप्रतिभा पुरस्कारबाट नवलपुरका अर्जुन सापकोटालाई रु ३० हजार प्रदान गरिएको गुठीले जनाएको छ । सोही अवसरमा साहित्यकार रामबाबु नेपाल, कमलराज पौड्याल तथा प्रा डा सावित्री कक्षपतिलाई समेत सम्मान गरिएको थियो ।

    पुरस्कार तथा सम्मानबाट सम्मानित स्रष्टाहरूले साहित्य तथा लोकगीतका क्षेत्रमा आफूहरूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरेकोमा खुसी व्यक्त गरे । उनीहरुले यस्ता पुरस्कार तथा सम्मानले नेपाली साहित्य र लोकसाहित्यको क्षेत्रमा नयाँ पुस्तालाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

  • शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

    शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षा सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

    ३० साउन, काठमाडौं । शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावकसहित शिक्षा क्षेत्रका सबै सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ। मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरमा आयोजना हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा ११ बजे कार्यक्रम आयोजना गर्न लागिएको हो।

    मन्त्रालयका अनुसार अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायत सहभागी हुनेछन्।

    छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरोकारवालाका सुझाव र धारणा संकलन गरिने छ। शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

  • शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल

    शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल

    काठमाडौँ, २६ साउनः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज आयोजित छलफलमा प्रतिनिधिसभाका सदस्यहरू, शारीरिक अपाङ्गता भएका व्यक्तिहरू, शारीरिक अपाङ्गता भएका शिक्षकहरू, अपाङ्गता अधिकारकर्मी, अगुवा सङ्गठनका पदाधिकारी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

    छलफलमा समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड स्वीकृति, दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका शिक्षकका सवाल, दृष्टिविहीन, बहिरा तथा श्रवणवृद्धि भएका व्यक्तिसम्बन्धी विषय तथा विशेष शिक्षा परिषद्सम्बन्धी विषयमा छलफल भएको थियो । समावेशी शिक्षा कार्यान्वयनका क्रममा देखिएका नीतिगत तथा व्यावहारिक समस्या, अपाङ्गता भएका शिक्षकहरूले भोग्दै आएका समस्या र तिनको समाधानका लागि आवश्यक नीतिगत व्यवस्थाबारे सहभागीहरूले आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए ।


    सहभागीहरूले अपाङ्गता भएका शिक्षकहरूको पेसागत अधिकार, सेवा–सुविधा, विद्यालयमा पहुँच तथा समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । साथै, समावेशी शिक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड शीघ्र स्वीकृत गरी लागू गरिनुपर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षा विधेयक अपाङ्गमैत्री बनाइनुपर्ने तथा पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सामग्री, मूल्याङ्कन प्रणाली लागू गरिनुपर्नेमा उनीहरुको जोड थियो ।

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरोकारवालाबाट प्राप्त सुझाव र अनुभवलाई मन्त्रालयले गम्भीरतापूर्वक लिने बताउँदै समावेशी शिक्षालाई प्रभावकारी बनाउन आवश्यक नीतिगत पहल गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले शिक्षा ऐन बनिरहेको तथा राष्ट्रिय पाठ्यक्रम प्रारूप पनि संशोधनको प्रक्रियामा रहेको सन्दर्भमा यस किसिमको छलफल सान्दर्भिक रहेको भन्दै आगामी दिनमा नीति कानुन बनाउने क्रममा जति पनि आएका विषयलाई सम्बोधन गर्न छलफललाई निरन्तरता दिने बताए ।


    सांसद सरिता महतोले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार सुनिश्चितताका लागि नीतिगत सुधारका साथै कार्यान्वयनका रोडम्यापका साथ अघि बढ्नुपर्ने बताइन् । सांसद गङ्गा छन्त्यालले शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूको सहजताका लागि नीतिगत र संरचनागत सुधारको खाँचो औँल्याइन् । शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले शिक्षा प्रणाली सुधारमा मन्त्रालयको प्राथमिकताबारे उल्लेख गर्दै अब बन्ने शिक्षा ऐन तथा राष्ट्रिय पाठ्यक्रम प्रारूपमा शारीरिक अपाङ्गता भएकाको मुद्दालाई समावेश गरेर लैजान विश्वास व्यक्त गरे ।

    राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गता भएका बालबालिका र शिक्षकमैत्री पाठ्यक्रम निर्माण गरी सोही आधारमा शैक्षिक गतिविधि सञ्चालन गरिनुपर्नेमा जोड दिए । नेपाल नेत्रहीन सङ्घका अध्यक्ष शिशिर खनालले शिक्षा ऐन र पाठ्यक्रम प्रारूप दृष्टिविहीनमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याए ।

  • ‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र चलचित्र निर्देशक सुब्बालाई प्रदान

    ‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र चलचित्र निर्देशक सुब्बालाई प्रदान

    काठमाडौँ, २६ साउनः साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा (खोटाङ) लाई प्रदान गरिएको छ। दाहाल यज्ञनिधिको आठौँ स्मृति दिवसका अवसरमा ‘दाहाल यज्ञनिधि सुधा सदन’ले आज आयोजित एक समारोहका बीच रु एक लाख ५० हजार नगद राशिसहितको उक्त पुरस्कार अधिकारी र सुब्बालाई प्रदान गरिएको हो ।

    साहित्यकार, पूर्वमन्त्री एवं संविधानसभा सदस्य शान्ता मानवी, पूर्वमन्त्री गिरिराजमणि पोखरेल र दाहाल यज्ञनिधि सुधा सदनकी अध्यक्ष सुधा दाहालले संयुक्त रुपमा प्रदान गरे । कार्यक्रममा पूर्वमन्त्री मानवीले नेपालको साहित्य क्षेत्रको विकासमा दाहालले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । कुना कन्दरमा रहेका रचनालाई रेडियो नेपालमार्फत आमजनतामाझ पु¥याउन दाहाल यज्ञनिधिको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

    पूर्वमन्त्री पोखरेलले शिक्षासँगै साहित्य र सञ्चार क्षेत्रमार्फत नेपाली भाषा र साहित्यलाई अगाडि बढाउन उहाँले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे । सदनकी अध्यक्ष सुधा दाहालले भारतको मणिपुरमा रहेर शिक्षण पेसासँगै नेपाली भाषा, साहित्य र पाठ्यक्रम निर्माणमा निरन्तर समर्पित साहित्यकार अधिकारी तथा नेपाली सिनेमामा मौलिक सौन्दर्यशास्त्रको निर्माण गर्दै सीमान्तकृत समुदायका कथालाई विश्वमञ्चसम्म पु¥याएका निर्देशक नवीन सुब्बालाई सम्मान गरिएको बताए ।


    अधिकारीको ‘कोरौगी मरोक मङाल’, ‘मनका आवेग’, ‘आँखीझ्याल भित्र मणिपुर’, ‘मेरो लोकताक’ र ‘उन्मुक्त उडान’ लगायतका कृति प्रकाशित छन् । उनले ‘एउटा पिस्तौल एउटा कुन्द पुष्प’, ‘मरुभूमि’ लगायतका कृतिको अनुवाद गर्नुका साथै मणिपुरमा कक्षा ९ देखि १२ सम्मका नेपाली पाठ्यपुस्तक सम्पादन गरेका छन् ।
    त्यसैगरी, विसं २०४० को दशकदेखि पत्रकारिता र सिनेमा समीक्षा हुँदै निर्देशनमा प्रवेश गरेका नवीन सुब्बा नेपाली मौलिक चलचित्र निर्माणका अग्रणी व्यक्तित्व हुन् ।

    उनले ‘तरेबा’, ‘खाङ्ग्री’, ‘नुमाफुङ’, ‘दलन’, ‘गूडबाइ काठमाडौँ’, ‘सिंहदरबार २’ तथा ‘गाउँ आएको बाटो’जस्ता बहुचर्चित चलचित्र तथा शृङ्खलाको निर्देशन गरिसकेका छन् । उनी हाल ‘लाहुरे जुत्ता’ नामक नयाँ चलचित्र निर्माणको तयारीमा छन् ।


    दाहाल यज्ञनिधिका नाममा स्थापित ‘दाहाल यज्ञनिधि सुधा सदन’ संस्थामा रु ५१ लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष विशिष्ट व्यक्तित्वलाई पुरस्कार र बालप्रतिभाका रुपमा दुई प्रतिभालाई सम्मान गरिँदै आएको छ । दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल)का दुई जना छात्रछात्रा पुरस्कृत हुने गरेका छन् । हरेक वर्ष कक्षा ८ बाट उत्तीर्ण हुँदा नेपाली विषयमा सबैभन्दा बढी जिपिए ल्याउने छात्रछात्रालाई बाल प्रतिभा पुरस्कार प्रदान गरिन्छ ।

    उक्त पुरस्कार यसवर्ष आराध्या सिंह, प्रतिक्षा पोर्तेल, इसिका श्रेष्ठ, मानवी बोगटी, उपसना बज्राचार्य र सफलबहादुर खड्कालाई प्रदान गरियो । सो पुरस्कारको राशि रु २० हजार नगद र प्रमाणपत्र रहेको छ । यस वर्ष कक्षा ८ मा नेपाली विषयमा छ जनाले (फोर जिपिए) प्राप्त गरेकाले सबैलाई प्रदान गरिएको हो । दाहाल यज्ञनिधिले लामो समय अध्यापन गरेका दरबार स्कुलमा उहाँका नाममा बाल प्रतिभा पुरस्कार स्थापना भएको हो ।

    विसं २०१० साउन ८ गते खोटाङमा जन्मनुभएका नेपाली साहित्य र सञ्चार क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो । उनका ‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६), दाहाल यज्ञनिधिका कविता (२०७८), दाहाल यज्ञनिधिको जीवन चर्चा र कृति चर्चा ‘जदौ’ (२०६९), दाहाल यज्ञनिधिको जीवनदृष्टि (२०८१) लगायत जीवनी र व्यक्तित्व केन्द्रित कृति प्रकाशित छन् ।

  • पशुपतिनाथमा दर्शनार्थीको ओइरो

    पशुपतिनाथमा दर्शनार्थीको ओइरो

    काठमाडौँ, २५ साउनः आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझ पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन् । बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिनुभयो ।

    पशुपति प्रस्थान मार्ग गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर, पिङ्गलास्थान र आसपासबाट पनि भक्तजन पशुपतितर्फ जानेक्रम जारी छ । गौरीनगरसम्म लामो लाम पनि लागेको छ ।

    यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन एवं विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ । बिहानैदेखि सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको पनि लाम लागेको छ । दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी तथा कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी तथा विभिन्न धार्मिक एवं सामाजिक सङ्घ–संस्थाको विशेष सेवा तथा सहभागिता रहेको छ । सवारी आवागमन व्यवस्थित गर्न गौशाला, जयवागीश्वरी, सिफल, मित्र उद्यान, चाबहिल र गौरीनगरमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति छ ।

    बिहान ३ः०० बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि राति ८ः०० बजेसम्म खुला रहने छ । विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ः०० बजेसम्म मात्र हुने जनाइएको छ । मन्दिर प्रवेशका लागि चारतिरबाट लामको व्यवस्था गरिएको छ । बिहानैदेखि भक्तजन आए पनि लामो समयसम्म लाममा बस्नुपर्ने अवस्था नरहेको कोषले जनाएको छ ।

    यसैगरी, पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था पनि गरिएको छ । विभिन्न सङ्घ–संस्थाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । यहाँका प्रसिद्ध शिवालय गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको ‘सानो पशुपतिनाथ’ भनेर चिनिने मक्खन महादेवलगायत ठूला–साना सबै शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको रासस प्रतिनिधिहरूले जनाइएका छन् ।

  • उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ मा मनाइने

    उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ मा मनाइने

    काठमाडौँ, २४ साउनः उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रम गरी मनाइने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले देशव्यापी रूपमा उक्त दिवस मनाउने निर्णय गरेको हो । बैठकले पुस्तकालय क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी संस्था, विश्वविद्यालय, पुस्तकालय क्षेत्रको छाता सङ्गठन, शैक्षिक संस्था र सामाजिक संस्थाका पदाधिकारी तथा प्रतिनिधि सम्मिलित मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।

    मूल आयोजक समितिको उपाध्यक्षमा मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव शिवकुमार सापकोटा र सदस्यसचिवमा पुस्तकालय समन्वय तथा अभिलेख शाखाका उपसचिव प्रेमराज अधिकारी रहनुभएको छ । यस वर्षको पुस्तकालय दिवसको आदर्श वाक्य ‘बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य’ तय गरिएको छ । उक्त नाराले उमेर, वर्ग र समुदायको सीमाभन्दा माथि उठेर सबैका लागि पुस्तकालयको पहुँच र उपयोगितालाई जोड दिएको छ ।

    चार विषयगत समिति गठन

    उक्त दिवसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा सम्मान तथा पुरस्कार समिति तथा पुस्तकालय समन्वय तथा अभिलेख शाखाका प्रमुख प्रेमराज अधिकारीको संयोजकत्वमा प्रकाशन तथा सम्पादन समिति गठन गरिएको छ ।

    त्यस्तै नेपाल सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेयको संयोजकत्वमा प्रचारप्रसार समिति र पुस्तकालय परिचारक सङ्गठन नेपालका अध्यक्ष यज्ञराज भट्टको संयोजकत्वमा सामाजिक तथा रचनात्मक क्रियाकलाप समिति गठन गरिएको पुस्तकालय सङ्घका महासचिव पाण्डेयले जानकारी दिनुभयो ।

    प्रदेशदेखि स्थानीय तहसम्म कार्यक्रम हुने

    पुस्तकालय दिवस कार्यक्रम प्रदेश र स्थानीय तहका शैक्षिक संस्था तथा पुस्तकालय क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थामार्फत कार्यक्रम सञ्चालन गरिनेछ । त्यसका लागि सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको महासचिव पाण्डेयले जानकारी दिनुभयो ।

    त्यस्तै स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई अनुरोध गरिनेछ । त्यसको आवश्यक सहजीकरणका लागि गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घलाई समेत अनुरोध गरिनेछ ।

  • उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड

    उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड

    काठमाडौँ, २३ साउनः उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत तथा कानुनी सुधारसँगै विश्वविद्यालयमा सङ्काय भर्ना, विकास र पदोन्नति प्रणालीलाई पारदर्शी, समावेशी तथा परिणाममुखी बनाउनुपर्ने निष्कर्षसहित दुईदिने नीति कार्यशाला आज सम्पन्न भएको छ ।

    शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा सिंहदरबारस्थित मन्त्रालयमा भएको ‘विश्वविद्यालय सङ्काय भर्ना, विकास र पदोन्नतिः मिसन पङ्क्तिबद्धता, प्रोत्साहन र प्रभाव’ विषयक कार्यशालामा राष्ट्रिय योजना आयोग, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोग, विभिन्न विश्वविद्यालयका उपकुलपति, शिक्षाविद्, अनुसन्धानकर्ता, नीतिनिर्माता तथा विज्ञहरूको सहभागिता थियो ।

    कार्यशालाले योग्य तथा दक्ष जनशक्तिलाई विश्वविद्यालयमा प्रवेश गराउनु विश्वविद्यालय सुधारको महत्त्वपूर्ण आधार भएको निष्कर्ष निकालेको छ । विश्वविद्यालयहरूले आफ्ना नीति तथा कानुनको समयानुकूल समीक्षा गर्दै प्रमाण र तथ्यमा आधारित निर्णय प्रणाली विकास गर्नुपर्नेमा सहभागी वक्ताहरूले जोड दिएका छन् ।

    साथै, ‘अनुसन्धान, शिक्षण, नवप्रवर्तन, अन्तर’ विषयक सहकार्य तथा सामाजिक उत्तरदायित्वलाई समान रूपमा प्रोत्साहन गर्ने नीति आवश्यक रहेको औँल्याइएको छ । विश्वविद्यालयको ज्ञान उत्पादन, अनुसन्धान तथा सामुदायिक योगदानलाई प्रभावकारी बनाउन विद्यमान भर्ना तथा पदोन्नति प्रणालीको पुनरावलोकन गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

    कार्यशालाको पहिलो सत्रको समापन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूबीच असल अभ्यासको आदानप्रदान आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया पारदर्शी, निष्पक्ष र समान मापदण्डमा आधारित हुनुपर्नेमा जोड दिँदै विद्यार्थीमैत्री शैक्षिक वातावरण निर्माण र विश्वविद्यालयको सञ्चालन तथा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

    कार्यशालाको दोस्रो सत्रका समापन गर्दै शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले उच्च शिक्षा सुधारका लागि नीति कार्यशाला महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले विश्वविद्यालय र मन्त्रालयबीचको दूरी कम गर्दै नीतिनिर्माण तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा एकरूपता कायम गर्न कार्यशालाले सहयोग पुग्ने बताउनुभयो ।

    राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गानाले उच्च शिक्षा सुधारका लागि नीति कार्यशाला सान्दर्भिक रहेको बताउनुभयो । विश्वविद्यालयका पदाधिकारी तथा नीतिनिर्माता एकै ठाउँमा बसेर उच्च शिक्षाको राष्ट्रिय रणनीति तय गर्नुपर्ने र युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न सबै पक्षले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

    आयोगका अर्का सदस्य प्राडा सुदन झाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिसँगै शैक्षिक ‘क्यालेन्डर’को प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।

    विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा खड्गबहादुर केसीले नीतिनिर्माण तथा विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा कार्यशालाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । स्थापित मापदण्डका आधारमा विश्वविद्यालयमा उत्कृष्टता कायम गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

    त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष किशोर थापाले उच्च शिक्षाको गुणस्तर र नीतिगत सुधारका लागि विश्वविद्यालयहरूले मन्त्रालयसँगको सम्बन्ध थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

    शिक्षा मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख एवं सहसचिव श्रीप्रसाद भट्टराईले विविधतासहितको व्यवस्थापनले विश्वविद्यालयलाई विश्वप्रतिस्पर्धी बनाउन सहयोग पुग्ने बताउनुभयो । अन्तरविश्वविद्यालय सिकाइ आदानप्रदान तथा असल अभ्यासको साझेदारीबाट उच्च शिक्षा थप प्रतिस्पर्धी र अनुसन्धान केन्द्रित बन्ने उहाँले उल्लेख गर्नुभयो ।

    कार्यशालामा उत्कृष्ट अभ्यासको पहिचान, संस्थागत मिसनसँग मेल खाने प्रोत्साहन प्रणालीको विकास, अन्तरविश्वविद्यालय अनुभव आदानप्रदान तथा उच्च शिक्षामा दीर्घकालीन नीति सुधारका सम्भावनाबारे छलफल भएको थियो ।

    कार्यशालामा अमेरिकास्थित स्टोनी ब्रुक विश्वविद्यालयका प्राध्यापक श्याम शर्मा मुख्य सहजकर्ताका रूपमा सहभागी हुनुहुन्थ्यो । अनुसन्धान विभाग प्रमुख दीपककुमार खड्का, प्राध्यापक अजय भट्टराई, सुरेन्द्र सुवेदी, डा रेश्मा तुलाधर, स्मृति कला पन्त र रोशी लामिछानेले विषयगत सहजीकरण गर्नुभएको थियो ।

    कार्यशालामा विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय तथा कृषि तथा वन विश्वविद्यालयका उपकुलपति, प्राध्यापक तथा नीति विज्ञहरूको सहभागिता थियो ।

  • ब्लोअपमा : कुशल बुचा

    ब्लोअपमा : कुशल बुचा

    ठेगाना : गुल्मी दरबार गाउँपालिका–७, चारपाला, गुल्मी
    हाल : दुबई, संयुक्त अरब इमिरेट्स
    उमेर : ३८ वर्ष
    उचाइ : १७३ सेन्टिमिटर
    शैक्षिक योग्यता : डिप्लोमा

    कुशल बुचा दुबईमा कार्यरत एक सक्रिय समाजसेवी, कलाकार तथा मोडल हुन् । उनी हाल इक्लिप्स इलेक्ट्रोनिक्स डीएमसीसीमा बिक्री कार्यकारीका रुपमा कार्यरत छन् । कला तथा मनोरञ्जन क्षेत्रमा उनले विभिन्न अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । सन् २०१८ मा दुबईमा आयोजित मोडल गीत अवार्डअन्तर्गत उत्कृष्ट मोडल सम्मान प्राप्त गरेका थिए ।

    त्यसैगरी सन् २०२१ मा दुबईमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय सामाजिक अवार्ड अन्तर्गत वर्षकै उत्कृष्ट कलाकार सम्मानबाट विभूषित भएका थिए । सन् २०२२ मा दुबईमा आयोजित प्रथम अन्तर्राष्ट्रिय सामाजिक मल्टिपल अवार्ड अन्तर्गत उनले उत्कृष्ट मोडल सम्मान प्राप्त गरेका थिए । सामाजिक क्षेत्रमा पनि उनी उत्तिकै सक्रिय छन् । उनी इनास, यूएईका वरिष्ठ उपाध्यक्ष हुन् । साथै गुल्मी सेवा समाज, यूएईका आजीवन सदस्यका रुपमा आबद्ध छन् ।


    उनी अजवा स्वयंसेवक टोली, यूएईका सञ्चार प्रमुख तथा पर्यवेक्षकका रुपमा कार्यरत छन् । उक्त टोलीमार्फत उनले संयुक्त अरब इमिरेट्स सरकारद्वारा आयोजित ५० भन्दा बढी स्वयंसेवी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै सक्रिय रुपमा सेवा प्रदान गरेका छन् ।

  • संसद बैठक बस्दै, के छन् एजेण्डा ?

    संसद बैठक बस्दै, के छन् एजेण्डा ?

    काठमाडौँ, २२ साउनः सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।

    त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्नेछिन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्नेछिन् । त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

    संसदीय समितिको बैठक बस्दै

    आजै तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बिहान १०ः३० बजे बस्ने अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय विज्ञसँग छलफल’ गर्ने कार्यक्रम छ ।

    कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ । समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गर्ने कार्यसूची छ । पूर्वाधार विकास समितिको बैठकमा विद्युत्को वितरण लाइन, विद्युत्का पोलहरू व्यवसथापन नभएका कारण सडक निर्माणमा भएको ढिलाइका विषयमा छलफल गर्ने कार्यक्रम छ । समितिको बैठक बिहान १०ः०० बजे बस्दैछ ।

  • कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

    कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

    काठमाडौँ, २२ साउनः राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको सङ्ख्या ५७ हजार ८९७ रहेको छ । यो ८१.१९ प्रतिशतबराबर हो । यस्तै, तीन परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ ।

    नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख छ। परीक्षाफल बोर्डको वेबसाइट, एसएमएस र आइभीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ । बोर्डले यही साउन २ र ३ गते मौका परीक्षा सञ्चालन गरेको थियो ।

  • प्रेमको दर्शन : विश्वासदेखि शंकासम्म

    प्रेमको दर्शन : विश्वासदेखि शंकासम्म

    आरएल श्रमजीवी
    लण्डन, बेलायत

    ‘प्रेम विश्वासमा रोपिन्छ, भरोसामा बढ्छ, श्रद्धामा फक्रिन्छ, आशामा जिउँछ, आधुनिकतामा घायल हुन्छ, महत्वाकांक्षाले बिरामी पर्छ र शंकाले मर्छ ।’
    प्रेम केवल एउटा सुन्दर वाक्य मात्र होइन; यो मानव सभ्यताले हजारौं वर्षदेखि भोग्दै आएको अनुभूतिको शृङ्खला पनि हो । प्रेम कुनै आकस्मिक घटना होइन, यो मन मस्तिष्कको एउटा दीर्घ यात्रा हो ।

    यसको जन्म हुन्छ, यो हुर्किन्छ, फुल्छ, फल्छ, घाइते हुन्छ, रोगी बन्छ र कहिलेकाहीँ आफ्नै छायाँसँग हारेर मर्छ । प्रेमको पहिलो शर्त सौन्दर्य होइन, सम्पत्ति होइन, आकर्षण पनि होइन– विश्वास हो । विश्वास भनेको दुई मनबीच बाँधिएको अदृश्य पुल हो, जसलाई न आँधीले भत्काउन सक्छ, न दूरीले च्यात्न सक्छ । जहाँ विश्वास हुन्छ, त्यहाँ प्रमाणको आवश्यकता पर्दैन; त्यहाँ आँखाले भन्दा हृदयले देख्छ । विश्वास प्रेमको बीउ मात्र होइन, त्यसको पहिलो प्राण हो ।

    तर बीउ रोपेर मात्र वन बन्दैन । त्यसलाई हुर्काउने शक्ति भनेको भरोसा हो । भरोसा भनेको जीवनको सबैभन्दा अँध्यारो रातमा पनि, ‘तिमी छौ’ भन्ने उज्यालो अनुभूति हो । मानिस संसारसँग हार्न सक्छ, तर जसको काँधमा भरोसा गर्न सक्छ, ऊ जीवनसँग कहिल्यै हार्दैन । प्रेममा भरोसा भनेको भविष्यलाई हात समातेर हिँड्ने साहस हो ।


    प्रेममा जब श्रद्धा मिसिन्छ, तब प्रेम वासनाबाट मुक्त भएर साधनामा रुपान्तरण हुन्छ । श्रद्धा भनेको प्रिय व्यक्तिलाई आफ्नो स्वामित्वको वस्तु होइन, एउटा स्वतन्त्र ब्रह्माण्डका रुपमा स्वीकार गर्नु हो । जहाँ श्रद्धा हुन्छ, त्यहाँ अधिकारभन्दा सम्मान ठूलो हुन्छ; नियन्त्रणभन्दा स्वतन्त्रता प्रिय हुन्छ । श्रद्धाले प्रेमलाई मन्दिर बनाउँछ, जहाँ अहंकारले प्रवेश गर्न सक्दैन । त्यसैले प्रेमलाई पूजा पनि भन्ने गरिन्छ ।


    प्रेमको श्वास भनेको आशा हो । आशा नहुने हो भने प्रेम पहिलो बिछोडमै मर्छ । प्रेमीहरु वर्षौं कुर्न सक्छन्, समुद्र पार गर्न सक्छन्, पहाड चढ्न सक्छन्, हजारौं पीडा सहन सक्छन्, किनकि उनीहरुलाई आशा हुन्छ– एक दिन भेट हुनेछ, एक दिन सबै पीडा अर्थपूर्ण हुनेछ । आशा नै प्रेमको अदृश्य धड्कन हो । त्यही धिपधिपे बत्तीमा प्रेम बाँच्छ । तर आधुनिक समयसँगै मानिसले सूचना प्रविधिमा अभूतपूर्व उन्नति ग¥यो ।

    सामाजिक सञ्जालले संसार सानो भयो, तर मनहरु कहिलेकाहीँ टाढा भए । आधुनिकता आफैं दोषी होइन; दोष तब जन्मन्छ जब सम्बन्धलाई पनि उपभोगको वस्तु बनाइन्छ । आज सम्बन्धहरु पनि मोबाइलका एपझैं सजिलै डाउनलोड र डिलिट हुन थाले । धैर्यको ठाउँ हतारले लियो, समर्पणको ठाउँ विकल्पले लियो, संवादको ठाउँ प्रदर्शनले लियो । यहीँनेर प्रेम पहिलोपटक घाइते भएको हो कि ?
    जब प्रेममा महत्वाकांक्षा प्रवेश गर्छ मान्छे दुःखी हुन्छ ।

    सपना देख्नु मानव स्वभाव हो, तर जब सपना यति ठूलो हुन्छ कि त्यसमा सम्बन्धका लागि ठाउँ नै बाँकी रहँदैन, तब प्रेम रोगी बन्छ । धन, पद, प्रसिद्धि र सफलताको दौडमा कहिलेकाहीँ मानिसले आफूलाई प्रेम गर्ने मानिसलाई पछि छोडिदिन्छ । अन्ततः शिखरमा पुग्दा उसले थाहा पाउँछ– संसार जितेछ, तर आफूलाई निस्वार्थ माया गर्ने एउटा मन गुमाइसकेको रहेछ ।

    र अन्तिम दृश्यमा मञ्चमा आउँछ शंका– प्रेमको मौन हत्यारा । प्रेमलाई बाहिरी शत्रुले भन्दा धेरै आफ्नै मनका शंकाहरुले नष्ट गरेका हुन्छन् । शंका एउटा यस्तो विष हो, जसले शरीर होइन, विश्वासलाई सल्काउँछ र भष्म बनाइदिन्छ । यसले प्रश्न जन्माउँछ, संवाद मार्छ, मुस्कानलाई मौन बनाउँछ र अन्ततः प्रेमलाई जीवित शवमा बदलिदिन्छ । अर्थात् जिउँदो लास बनाउँछ । शंका चिच्याएर आउँदैन; ऊ सुस्केराभित्र लुकेर सुस्तरी आउँछ ।


    त्यसैले उसको प्रहार सबैभन्दा घातक हुन्छ । सायद यही कारणले महान् प्रेमकथाहरु अमर बने– किनकि उनीहरुले प्रेमलाई अधिकार होइन, विश्वास ठाने; स्वार्थ होइन, समर्पण ठाने; प्राप्ति होइन, त्याग ठाने । प्रेमको अन्तिम सत्य सँगै बाँच्नु मात्र होइन, एकअर्काको मन मस्तिष्कलाई उज्यालो बनाउनु पनि हो । प्रेमलाई बचाउन कुनै जादु चाहिँदैन ।

    केवल यति सम्झनुपर्छ– विश्वास हरायो भने प्रेमको जन्मस्थल नै उजाड हुन्छ; भरोसा हरायो भने यात्रा रोकिन्छ; श्रद्धा हरायो भने प्रेम अपमानमा बदलिन्छ; आशा हरायो भने धड्कन रोकिन्छ; महत्वाकांक्षाले सम्बन्धलाई निल्यो भने प्रेम रोगी हुन्छ; र शंकाले मनमा घर बनायो भने प्रेमको मृत्यु निश्चित हुन्छ ।


    त्यसैले प्रेम गर्नु भनेको कसैलाई आफ्नो बनाउनुभन्दा पहिले आफूभित्र विश्वास, धैर्य, सम्मान र सत्यलाई जीवित राख्नु हो । किनकि अन्ततः प्रेम दुई शरीरको मिलन होइन– दुई मनले एकअर्काको अस्तित्वलाई निस्वार्थ रुपमा स्वीकार गर्ने दुर्लभ अनि गहिरो अनुभूति हो प्रेम । प्रेम त्यहीँ अमर हुन्छ, जहाँ विश्वास कहिल्यै मर्दैन ।

  • शिक्षामन्त्रीद्वारा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीलाई दिलाए शपथ

    शिक्षामन्त्रीद्वारा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीलाई दिलाए शपथ

    काठमाडौं, २१ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा। डा। खड्गबहादुर केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसीलाई शपथ गराए । त्यसपछि मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए ।

    शपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनःसंरचनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । विश्वविद्यालय सुधारका लागि आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए । नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सचिव श्रेष्ठले पनि आफ्नो कार्यकालमा विश्वविद्यालय अनुदान आयोगलाई थप प्रभावकारी बनाउँदै उच्च शिक्षाको सुधारका लागि जिम्मेवारीपूर्वक काम गर्ने बताए ।


    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
    केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन् । त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए । अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित केसीले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन् ।

    उनी तीन दशकभन्दा बढी समयदेखि अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय छन् । आयोगकी नवनियुक्त सचिव श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् । उनले त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नर्सिङमा विद्यावारिधि हासिल गरेकी छिन् । नर्सिङ अनुसन्धानमा उल्लेखनीय योगदान पु¥याएबापत उनी ‘नेपाल विद्या भूषण’ पदकबाट सम्मानित भएकी थिइन् । नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्राप्त गरेकी थिइन् ।

  • नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिवि

    नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिवि

    काठमाडौँ, २१ साउनः त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्ने भएको छ । विश्वविद्यालयको योजना परिषद्को स्थायी समितिको आज बैठकमा चालु आर्थिक वर्ष २०८३–०८४ का लागि योजना परिषद्को पूर्ण बैठकमार्फत विश्वविद्यालयसभामा प्रस्तुत गरिने नीति तथा कार्यक्रमबारे विस्तृत छलफल गरिएको हो ।

    बैठकमा विश्वविद्यालयका उपकुलपति तथा योजना परिषद्का अध्यक्ष प्राडा भोला थापाले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा अनुसन्धान क्षेत्रको समग्र गुणस्तर अभिवृद्धि गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले बैठकमा योजना निर्देशनालयका निर्देशक तथा योजना परिषद्का सदस्य–सचिव डा लक्ष्मीकान्त शर्माले आगामी नीति तथा कार्यक्रममा समावेश गरिएका प्रमुख विषयवस्तु तथा प्राथमिकताबारे विस्तृत जानकारी गराए ।


    बैठकमा सहभागी सदस्यहरूले नीति तथा कार्यक्रमलाई समयानुकूल, गुणस्तरीय र प्रविधिमैत्री बनाउने विषयमा आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए । छलफलमा उठेका सुझावलाई समेटेर योजना परिषद्को पूर्ण बैठकमार्फत आगामी त्रिभुवन विश्वविद्यालय सभामा नीति तथा कार्यक्रम पेस गरिने जनाइएको छ ।

  • पेरिसमा अधिकारीका एकल काव्य साँझ

    पेरिसमा अधिकारीका एकल काव्य साँझ

    काठमाडौँ, २१ साउन । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा पाठशाला सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
    आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तिका सन्दर्भमा कवि तथा गीतकार दिनेश अधिकारीको ‘एकल काव्य साँझ’ मा उनले पाठशाला स्थापनाका लागि दूतावासले आवश्यक सहयोग एवं सामग्री उपलब्ध गराउने विश्वास दिलाए । राजदूत भट्टराईले फ्रान्समा नेपाली समूदायको बाक्लो उपस्थिती रहेकाले पेरिसमा श्रष्टाबाटै गीतसङ्गीत सुन्ने अवसर प्राप्त हुन सुखद भएको बताए ।

    नेपाली दूतावास फ्रान्स र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा आयोजित सो कार्यक्रममा अधिकारीले आफ्ना दुई दर्जन कविता वाचन गरेका थिए । अनेसास फ्रान्सका अध्यक्ष प्रशान्त उप्रेतीसहित राम पाण्डे, हरिहर अर्याल र सुमित्रा बुर्लाकोटीले प्रवासमा रहँदा नेपाली सङ्गीतको महत्त्वले अझ प्राथमिकता पाउने भनाइ राखे । सो अवसरमा गायक रन बराइलीले गीतकार अधिकारीका गीत गाएका थिए ।

  • एमालेको सदस्यता प्रणाली पूर्णतः ‘डिजिटल’ हुने

    एमालेको सदस्यता प्रणाली पूर्णतः ‘डिजिटल’ हुने

    काठमाडौँ, २१ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा ‘डिजिटल’ बनाउने भएको छ । पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत बुधबार राजधानी प्रदेश कमिटीद्वारा पार्टी मुख्यालय च्यासलमा आयोजित सदस्यतासम्बन्धी कार्यशालामा त्यस बारेमा जानकारी दिइएको हो ।

    पार्टीको जनतासँगको सम्बन्ध स्थापित गर्ने र सङ्गठनलाई तल्लो स्तरसम्मै गतिशील बनाउने उद्देश्यका साथ सो कार्ययोजना सार्वजनिक गरिएको हो ।

    पार्टीका सचिव डा राजन भट्टराईले ‘डिजिटल’ प्रणालीको भरपुर उपयोग गरिने बताए । “विशेषगरी पार्टीको विवरण, साङ्गठनिक अवस्था, सूचना, प्रतिवेदन र जनसम्पर्कलाई डिजिटल माध्यमको प्रयोग गरी अघि बढाउन पार्टी पंक्तिलाई प्रेरित गरिनेछ,” उनको भनाई छ । पार्टी नेतृत्वले नेता तथा कार्यकर्ताको राजनीतिक चेतना र क्षमता अभिवृद्धिका लागि वडा र पालिका स्तरमै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

    पार्टी सचिव भानुभक्त ढकालले पार्टीको सदस्यता र अन्य दस्तावेजलाई प्राकृतिक तथा अन्य सङ्कटबाट जोगाउन र कामलाई चुस्त बनाउन सदस्यतालाई डिजिटल बनाउन आवश्यक रहेको बताए ।

  • विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्गबहादुर केसी, सचिवमा रोजी श्रेष्ठ नियुक्त

    विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्गबहादुर केसी, सचिवमा रोजी श्रेष्ठ नियुक्त

    काठमाडौं, २० साउन । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी (पर्वत) र सचिवमा प्रा. डा. रोजी श्रेष्ठ (भोजपुर) लाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।


    नवनियुक्त अध्यक्ष प्रा. डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन् । त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. डा. केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए । पर्वतको मोदी गाउँपालिका–५, बाजुङमा जन्मिएका डा. केसी अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञ मानिन्छन् ।

    उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन् । तीन दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय रहेका उनी शिक्षाध्यक्षमा नियुक्त हुनुअघि त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागको प्रमुख थिए । उनका अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र परराष्ट्र नीतिसम्बन्धी विभिन्न अनुसन्धानमूलक लेख तथा कृतिहरू प्रकाशित छन् ।


    त्यसैगरी, विश्वविद्यालय अनुदान आयोगको सचिवमा नियुक्त प्रा. डा. रोजी श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुन् । आयोगको सचिवमा नियुक्त हुनुअघि उनी बी एण्ड बी अस्पतालको नर्सिङ निर्देशकका रूपमा कार्यरत थिइन् । उनले चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयबाट नर्सिङमा विद्यावारिधि उपाधि हासिल गरेकी हुन् ।

    साथै, भारतको क्रिश्चियन मेडिकल कलेज (सीएमसी), लुधियानाबाट मेडिकल–सर्जिकल नर्सिङमा एमएससी तथा कलकत्ताबाट सम्बन्धित विषयमा डिप्लोमा अध्ययन गरेकी छिन् । उनले नर्सिङ क्याम्पस, महाराजगञ्जबाट नर्सिङमा स्नातक तथा पीसीएल नर्सिङ अध्ययन पनि पूरा गरेकी हुन् ।

    प्रा. डा. श्रेष्ठले बी एण्ड बी मेडिकल इन्स्टिच्युटमा क्याम्पस प्रमुख, पूर्वाञ्चल विश्वविद्यालयमा नर्सिङ प्राध्यापक, नर्भिक इन्टरनेशनल अस्पतालमा नर्सिङ निर्देशक, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक तथा चितवन मेडिकल कलेजमा सहप्राध्यापक र प्रौढ स्वास्थ्य नर्सिङ विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेकी छिन् ।

    नर्सिङ अनुसन्धानमा विद्यावारिधि उपाधि हासिल गरेबापत उनी राष्ट्रपतिबाट ‘नेपाल विद्या भूषण’ पदक बाट सम्मानित भएकी थिइन् । नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा उनले दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्राप्त गरेकी थिइन् ।

  • शिक्षा मन्त्रालयको वार्षिक प्रगति कस्तो ?

    शिक्षा मन्त्रालयको वार्षिक प्रगति कस्तो ?

    काठमाडौँ, २० साउनः शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा बैठक सम्पन्न गरेको छ । बैठकले मन्त्रालयको समग्र कार्यप्रगति सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै आगामी वर्ष परिणाममुखी कार्यसम्पादन, सेवा प्रवाहमा सुधार तथा शिक्षा क्षेत्रको संरचनात्मक रूपान्तरणलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।

    बैठकमा आर्थिक वर्षभरि मन्त्रालय र मातहतका निकायले हासिल गरेका प्रगति, विकास आयोजनाको कार्यान्वयन अवस्था, सेवा प्रवाह, बजेट खर्च, गुनासो व्यवस्थापन तथा सुशासनका विषयमा समीक्षा गरिएको थियो । कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीबारे छलफल गर्दै समाधानका उपाय र आगामी वर्षका प्राथमिकताबारे समेत समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

    बैठकलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षदेखि ‘सिकाइ चौतारी’ कार्यक्रमलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए । उनले नयाँ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, नतिजामुखी कार्यसंस्कृतिको विकास तथा शिक्षा प्रणालीमा गुणात्मक सुधारमा विशेष ध्यान दिनुपर्ने बताए ।


    राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुङ्गानाले उच्च शिक्षाको पुनःसंरचनाको खाका शीघ्र कार्यान्वयनमा लैजान, सबै कार्यक्रमलाई परिणाममुखी बनाउन तथा शिक्षकसँग सम्बन्धित समस्याको समाधानका लागि प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिए । शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले मन्त्रालयको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै अब फरक कार्यशैली अपनाएर स्पष्ट परिणाम देखिने गरी काम गर्नुपर्ने बताए ।

    उनले उच्च शिक्षाको पुनःसंरचनालाई अभियानका रूपमा अघि बढाउन, कार्यसम्पादन सूचक (इन्डिकेटर) लाई पुनःपरिभाषित गर्न तथा माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई क्रमशः प्रदेशस्तरबाट सञ्चालन गर्ने विषयमा तयारी गर्नुपर्ने धारणा राखे । सचिव पौडेलले सेवा प्रवाह र सुशासनलाई थप प्रभावकारी बनाउँदै हासिल भएका उपलब्धिलाई ठोस परिणाममा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

    उनले चालु आर्थिक वर्षमा करिब रु डेढ अर्बभन्दा बढी रकम फर्छ्योट गरिएको जानकारी पनि दिए । शिक्षा तथा खेलकुदमन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले मन्त्रालय र मातहतका निकायले परिणाम देखिने गरी कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उच्च शिक्षाको पुनःसंरचना अभियानलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए ।


    बैठकमा मन्त्रालयका उच्च अधिकारी, मातहतका निकायका प्रमुख तथा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । विकास नीति तथा योजनाको कार्यान्वयनमा उत्तरदायित्व, जवाफदेहिता र लागत प्रभावकारिता अभिवृद्धि गर्न अनुगमन तथा मूल्याङ्कनलाई थप तथ्यपरक, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले आयोजित बैठकमा चौथो त्रैमासिक तथा वार्षिक प्रगति, कार्यान्वयनका चुनौती तथा समाधानका उपायबारे विस्तृत छलफल गरिएको थियो ।

    बैठकमा समग्र शिक्षा क्षेत्रको वार्षिक बजेट विनियोजन, सरकारका १०० दिनका प्रमुख उपलब्धि, माइलस्टोन प्रगति तथा निकायगत उपलब्धिको सारांश प्रस्तुत गरिएको थियो । मन्त्रालयका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र मातहतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण सम्पन्न गरिएको छ । साथै, ‘हेल्लो सरकार’ अन्तर्गत प्राप्त एक हजार १४१ वटा उजुरी सम्बोधन गरिएको तथा आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि खुला प्रतिस्पर्धा र योग्यता प्रणालीको आधारमा छनोट प्रक्रिया अपनाइएको उल्लेख गरिएको छ ।

  • शाकी, सराब र मयखाना

    शाकी, सराब र मयखाना

    बिपुल सिजापती
    फ्लोरिडा, अमेरिका

    अमेरिका घुम्ने क्रममा हामी न्यू ओर्लेन्स पुगेका थियौं । साँझ म र मेरो सालाबाबु घुम्न भनेर निस्कियौं । मेरो सालाबाबु क्यासिनोमा जाने भए । मलाई क्यासिनोको भिडभाड त्यति मन नपर्ने भएकोले म भने क्यासिनो अगाडिको एउटा बारमा छिरें । भित्र मधुरो उज्यालो छरिएको थियो । न्यू ओर्लेन्स पहिले फ्रेन्चहरुको कोलोनी भएकाले यहाँ ज्याज म्युजिकको ठूलो प्रचलन छ, र भित्र यही ज्याज म्युजिक बजिरहेको थियो । मलाई सहयोग गर्न एक ठिटा आइपुग्यो । उनले मेरो चाहना सोधे र मलाई बारको कुनाको एउटा टेबलमा लगे ।


    परिचयका क्रममा ती ठिटाले आफ्नो नाम नबीद बतायो । एक पर्सियन अमेरिकन वेटर, जो कलेजमा पढ्दै रहेछ । कलेज खर्च जुटाउन उनले बारमा काम गरेको जानकारी दिए । नबीद एक रसिला युवक हुन्, उनलाई पर्सियन इतिहास र साहित्यको बारेमा राम्रो ज्ञान रहेछ । यही कुरा मेरो लागि आकर्षक हुन गयो र हाम्रो कुराकानी शुरु भयो । मैले पिउन लागेपछि नबीद बेलाबेलामा आएर के–कस्तो छ भनेर सोध्ने गर्थे ।

    नबीदसँग लामै कुरा गर्न मन लागिरहेको थियो तर उसको ड्युटी आवरमा कुरा गर्न सकिएन । नबीदले काम सकिएपछि कुरा गर्ने बाचा गरे । ९ बजे नबीदको काम सकियो, मैले उनलाई एउटा ड्रिङ्क अफर गरें । उसले धन्यवाद दियो । हामी पिउन लाग्यौं, उसले कुरा शुरु ग¥यो । नबीदका हजरबुवा अमेरिका आएर बसेका रहेछन् । नबीद पर्सियन जोरास्ट्रियन हुन् । कलेज पढ्दै गरेका उनले फी जुटाउन काम पनि गर्दो रहेछ । मैले रक्सीको बारेमा नबीदसँग कुराकानी गर्न थालें ।
    नबीदले भने, ‘वास्तवमा मान्छेलाई रक्सी पिउन नै आउँदैन ।’
    ‘मतलब !’


    ‘रक्सी पिउनु पनि एक कला हो, जसरी आफ्नो मनको कुरालाई कलात्मक तरिकाले शेरमा प्रकट गर्ने गरिन्छ । रक्सीलाई पनि त्यस्तै कलात्मक तरिकाले पिउनुपर्छ’, नबीद पिउने तरिका बताउँदै थिए– ‘मलाई यताका, या भनौं मानिसहरुले जसरी पिउने गर्छन्, या हामी जसरी पिउँदै छौं, त्यो मन पर्दैन । वास्तवमा हामीलाई पिउन नै आउँदैन । रक्सी त एक्लै या साथीभाइसँग पिउने कुरा नै हैन । रक्सी त वास्तवमा मयखानामा पिउने कुरा हो, त्यसको मज्जा नै छुट्टै छ । कलात्मकता त त्यहाँ हुन्छ ।’

    शाकी अम इमरुज मागु मय नदाब
    नकाब अज चेहरह बरदार सराब अज लव दहाद

    ‘आज रक्सी दिन्न भनेर अस्वीकार नगर शाकी
    नकाब मात्रै हटाइदेऊ मुखबाट, शराब त ओंठबाट नै बग्ने छ ।’
    नबीदले फारसी शेरसहित आफ्नो कुरा राख्यो, म सोच्न थालें । सभ्यताको शुरुवात गर्ने देशका नबीद रक्सी र गजलका बारेमा पनि जानकारी राख्दा रहेछन् । सराब (अंगुरको) त सुमेर सभ्यताकै देन हो, अझ त्योभन्दा अगाडि भिर माहुरीको महबाट बन्ने मिड पनि त्यहीँबाट शुरु भयो भने, पिउने कला पनि त्यहीँबाट शुरु भयो भन्ने मान्न के आश्चर्य !


    ‘त कुरा के भने,’ नबीदले भन्न शुरु ग¥यो, ‘रक्सी पिउने मान्छे तीन प्रकारका हुन्छन् । पहिलो एक्लै पिउने मान्छे, एक्लै बसेर रक्सी पिउने मान्छे या त नौसिखिया हो, या त दुखी, या त उसलाई रक्सी पिउन आउँदैन, या त कुनै घोर दुःख बिर्सन ऊ एक्लै पिउँछ । यस्ता मानिसले पिएको रक्सीको कुनै अर्थ छैन ।’
    ‘मतलब एक्लै पिउनुको कुनै अर्थ छैन, जो म अगाडि गरिरहेथें !’
    ‘हो, वास्तवमा म मनमनै हाँसिरहेथें, मलाई माफ गर्नुहोला ।’
    ‘हैन ठिकै छ ।’


    ‘नौसिखियाको त के कुरा गर्नु र ! दुःखीको कुरा गर्ने हो भने वास्तवमा त्यतिबेला ऊसँग उसको दुःख मात्र हुन्छ । उसको रक्सीमा केवल दुःख घुलिएको हुन्छ, त्यस्तो रक्सीमा के स्वाद हुन सक्छ र ! न त त्यसले दिने नशामा नै कुनै असर हुन्छ, त्यो बेकारको पियाई हो ।’


    ‘अनि अगाडिको शेरको कुरा यहाँ कहाँ जोडियो त ?’ मैले प्रश्न गरें ।
    ‘म आउँदै छु, त्यो शेर मैले कुराकानीमा तपाईंको जिज्ञासा बढाउन मात्र भनेको थिएँ, तर हाम्रो कुराकानीसँग त्यो सम्बद्ध पनि छ ।’
    ‘कसरी ?’


    ‘त्यो म भन्दैछु,’ नबीदले मलाई फेरि पर्खायो, मेरो जिज्ञासा फेरि बढायो, ‘अब दोस्रो तरिकाको कुरा गरौं, त्यो भनेको अहिले हामी जुन तरिकाले पिइरहेका छौं– त्यो तरिका । कुनै साथीभाइसँग बसेर पिउनुमा आनन्द त छ तर त्यो पनि कलात्मक रक्सी पियाई भने हैन ।’
    ‘यो कुन प्रकार हो त ?’ मैले प्रश्न गरें ।


    ‘यसरी पिउँदा केही आनन्द पाइन्छ, मनको कुरा खोल्न पनि सकिन्छ, आफूसँग भएको दर्द बाँड्न पनि सकिन्छ, तर त्यो क्षणिक हो । केही मन हलुका भएको महसुस त हुन्छ, तर केही समयपछि फेरि मनलाई उही दुःखले घेर्छ । मानौं, पोखरीमा ढुङ्गा हान्दा तरङ्ग फैलिएर टाढा भए जस्तो, जुन पछि फेरि त्यही ठाउँमा आइपुग्छ । यो पनि रक्सी पिउने कलात्मक तरिका भने हैन ।’
    ‘त्यसो भए कलात्मक तरिका भन न त !’ मैले धैर्य गर्न सकिन ।
    ‘म भन्दैछु,’ उसले मलाई झन् अधीर बनाउँदै भन्यो, ‘रक्सी त वास्तवमा मयखानामा पिउनु पर्छ ।’
    ‘मयखानामा !’


    ‘हो मयखानामा, शाकीका उन्माद भरिएका हातले बोकेको सुराहीबाट जब सागरमा (प्यालामा) शराब खस्न थाल्छ, तब त्यो शराब खस्दै गरेको धारमा छुट्टै प्रकारको बिजुली (करेन्ट) हुन्छ, त्यसका प्रत्येक बुन्दमा प्यास हुन्छ, प्रत्येक चुस्कीमा तृप्तता हुन्छ । शाकीले सराब ल्याउन्जेलको पर्खाइमै पनि एक प्रकारको मस्ती (रोमाञ्च) उत्पन्न भइसकेको हुन्छ ।’

    ‘नकआब अज चेहर बरदार–ए–नजर
    के मसतम अज शराब–ए– इन्तेजर’

    ‘गजबको कुरा भन्यौ नबीद ! कहाँबाट सिक्यौ ?’
    नबीद मुसुक्क मुस्कुरायो, उसलाई आफनो सभ्यता र संस्कृतिप्रति गर्व लागिरहेको थियो । तर, उसका आँखामा केही उदासी पनि थिए, ती उदासीको कारण म बुझ्दथें, यसैले मैले त्यो कोट्याउन चाहिन ।


    ‘यसैले म भन्छु, मयश्शर त मयखानामा नै पिउनु पर्छ ।’
    ‘अनि त्यहाँ पिउँदा कलात्मकता कसरी हुन्छ त ?’


    ‘अब एकछिन आँखा चिम्लेर कल्पना गर्नुहोस् त ! तपाईं एक मयखानामा शराबको पर्खाइमा हुनुहुन्छ, तपाईंभित्र शराबको एक प्रकारको प्यास छ, शराब आइपुगेको छैन, प्रतीक्षामा तपार्इं अधीर हँुदै जान लाग्नु भएको छ । त्यसैबेला एक बैंशले उन्मुक्त सुन्दरी शाकी देखिन्छिन्, उनको अनुहारमा एक जालीदार नकाब छ, जुन दाहिने आँखाको कुनाबाट बायाँ आँखालाई बीचमा पारेर तीस डिग्रीको एङ्गलमा खुलेको छ ।

    उनका दुई कसिला वक्षको अर्ध चन्द्राकार क्लिभेज यस्ता लाग्दछन्, मानौं ती दुवै स्वतन्त्रताका लागि एकअर्कासँग युद्ध गरिरहेका छन् । उनको कम्मर त्यतिकै अर्धचन्द्राकार काटिएका छन् जति सुराहीको कम्मर काटिएका छन् । उनी गजाला (मरुभूमिको मृग)को जस्तै चाल गरेर तपार्इंको सामुन्ने आउँछिन्, तपाईंको अगाडि झुकेर सागर राखिदिन्छिन्, सुराहीबाट मय खन्याउँछिन् र भरिदिन्छिन् । उनी सोझो हुन्छिन्, उनको वक्षमा अड्किएका तपार्इंका आँखा उनको आँखासँग जोडिन्छ, उनी एक कातिलाना मुस्कान (ज्यानै हर्ने मुस्कुराई) दिँदै तपाईंका आँखामा हेर्छिन्, त्यो क्षण कति कलात्मक हुन्छ ?’


    नबीद आफंै भावविभोर भयो, ऊ केही क्षण रोकियो, ऊ रोकिउन्जेल म पनि भावविभोर भएर रोकिएँ । मलाई नबीदका कुराले वास्तवमै त्यही पु¥याइदिएको थियो, म त्यही दृश्य कल्पिरहेको थिएँ, जुन नबीदले वर्णन गरिरहेको थियो ।
    केही क्षण रोकिएर नबीदले फेरि भन्न थाल्यो, ‘जब तपाईं कृतज्ञताले भरिएको नजरले शाकीलाई हेर्नुहुन्छ, तब शाकी फर्किन्छिन्, फर्किंदा तपाईंको नजर उनको कम्मरमा परेका दुई खोबिल्टामा (डिम्पल अफ भेनिस) पर्ने छन् । ती दुई खोबिल्टा तपार्इंलाई संसारकै नायाब हीरा जस्ता लाग्नेछन्, ती दुई खोबिल्टा तपाईंलाई सत्यको दर्शन गराउने, सत्य चिनाउने आँखा जस्ता लाग्छन् ।’

    शाकी चो शराब दाहाद दील–वे–बराद
    अज चश्म–ए–नकाब राजहा सर बराद

    ‘जब साकीले मदिरा दिँदै जान्छिन् तब मन हराउँदै जान्छ, नकाब लगाइएका आँखाबाट रहस्यहरु खुल्दै जान्छ’

    त्यतिबेला तपाईं साकीलाई बिन्ती गर्न चाहनु हुन्छ–

    साकी बेदे आन मय के नकब अज रोख बरद
    ता सर–ए–हकिकत बे दील–ए–मा रसद

    ‘साकी त्यस्तो सराब दिनु जसले नकाब हटाई देओस्
    ताकी सत्यको सार हाम्रो दिलसम्म आइपुगोस् ।’

    नबीदले आफ्नो कुरा राखेर चुप लाग्यो, म उसले डो¥याएको कल्पना लोकमै हराइरहेको थिएँ, तबसम्म हराइरहें जबसम्म नबीदले घाँटी सफा गर्न आवाज निकालेन । मैले नबीदको अनुहारमा हेरें, उसको अनुहार कुनै सुँफी सन्तको भन्दा कम चम्किलो थिएन ।
    ‘अब भन्नुस् त, त्यो रक्सी कस्तो होला ! त्यसको पियाई कस्तो होला ! मलाई त के लाग्छ भने त्यो सागर जब उठाइन्छ त्यो उठाई नै आफैंमा एक कला हो, जब तपाईंका ओंठले सागरको किनारा छुन्छ तब तपाईं कुनै अलौकिक सत्यको नजिकमा पुग्नु हुन्छ, तपाईंलाई त्यो मयश्शर एकातिर पिउन मन लाग्छ अर्कोतिर पिएमा सकिएला कि भनेर मन खिन्न पनि हुन्छ ।

    जब त्यो मयश्शरको एक थोपा तपाईंको जिब्रोमा पर्छ त्यसले अलौकिक स्वाद दिन्छ, तपाईंको आत्मालाई निन्द्राबाट ब्युँझाएर सत्यको दुनियाँमा ल्याइदिएको भान हुन्छ । तपाईंको जिब्रोले मयश्शरको एक थोपामा प्यास भेट्छ, एक थोपामा तृप्ति पाउँछ । भन्नुस् त ! के यो सराबको पियाई एक कला जस्तो छैन र ? के यस्तो प्रकारको मयश्शर पिलाईमा कलात्मकता छैन र ? अब तपाईं आफैं विचार गर्नुस्, मयखानामा साकीको हातबाट कति सागर मयश्शर पिउन सक्नुहुन्छ ?’
    म नबीदको प्रश्नको उत्तर अझै खोज्दै छु, तपाईंले उत्तर पाउनु भए जानकारी गराउनु होला ।

  • शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

    शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

    १४ साउन, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा विद्यालय शिक्षा ऐन, सामुदायिक विद्यालयले भोगिरहेका समस्या, शिक्षक व्यवस्थापन, शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, स्रोत–साधनको व्यवस्थापन, विद्यार्थी सिकाइ सुधार तथा विद्यालय सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा विस्तृत छलफल भएको थियो ।


    अन्तरक्रियाका क्रममा प्रधानाध्यापकहरूले विद्यालय तहका वास्तविक समस्या, ऐन कार्यान्वयनसँग सम्बन्धित सुझाव तथा शिक्षा क्षेत्र सुधारका लागि आवश्यक नीतिगत विषयहरू प्रस्तुत गरेका थिए । सो अवसरमा शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले विद्यालयबाट प्राप्त सुझाव र अनुभवलाई मन्त्रालयले गम्भीरतापूर्वक ग्रहण गर्दै विद्यालय शिक्षा ऐनको प्रभावकारी कार्यान्वयन तथा सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि आवश्यक पहल गरिने बताए ।

    उनले शिक्षा क्षेत्रका समस्या समाधानका लागि सरोकारवालासँग निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिइने धारणा व्यक्त गरे । मन्त्री पोखरेलले समग्र शिक्षा क्षेत्रको सुधारका लागि दीर्घकालीन रुपमा नीतिगत समाधान खोज्नेगरी मन्त्रालयले काम अगाडि बढाएको उल्लेख गरे । शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले सबैको समन्वय र सहकार्यबाट विद्यालय शिक्षाको दीर्घकालीन सुधार गरिनुपर्नेमा जोड दिए ।

  • हुलाकमार्फत ८,१८० राहदानी सेवाग्राहीको घरमा

    हुलाकमार्फत ८,१८० राहदानी सेवाग्राहीको घरमा

    १४ साउन, काठमाडौं । सरकारले हुलाकमार्फत ८ हजार १८० राहदानी सेवाग्राहीको घरमै पुर्याएको छ । सञ्चार मन्त्रालयको आंकडा अनुसार कूरियर सेवामार्फत ती राहदानी घरमै लगिएको हो । हुलाकमार्फत हालसम्म हुम्लाबाहेक सबै जिल्लामा राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, स्वास्थ्य प्रयोगशाला नमुनालगायतका सामग्री नागरिकको घरसम्मै पुर्‍याउन थालिएको छ। हालसम्म हुलाकमार्फत २,३७,८४० वटा राहदानी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ढुवानी गरिएको छ ।

    ८,१८० वटा राहदानी सेवाग्राहीको घरमै पुर्‍याइएको छ। सवारी चालक अनुमतिपत्रतर्फ १०,३८,५२३ वटा अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयसम्म ढुवानी गरिएको छ भने १,०९४ वटा लाइसेन्स सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गरिएको छ। यसैगरी, हालसम्म त्रिभुवन विश्वविद्यालयका २६३ वटा शैक्षिक प्रमाणपत्र तथा विभिन्न १७ वटा अस्पतालका १,४३६ वटा स्वास्थ्य प्रयोगशाला नमुना ढुवानी गरिसकिएको छ।

  • प्रतिनिधिसभा बैठक आज बस्दै

    प्रतिनिधिसभा बैठक आज बस्दै

    १४ साउन, काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

    यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बिहान ११ बजेका लागि तय भएको समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ । रासस

  • सभामुखले भेटे प्रधानमन्त्रीसहितका नेता, के भयो छलफल ?

    सभामुखले भेटे प्रधानमन्त्रीसहितका नेता, के भयो छलफल ?

    १३ साउन, काठमाडौं । सभामुख डीपी अर्यालले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका छन् । सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह तथा नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापासँग छुट्टाछुट्टै भेटवार्ता गरे । अर्यालले विपक्षी दलका नेता भिष्मराज आङदेम्बे तथा नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो।

    त्यसैगरी, मंगलबार नै सम्माननीय सभामुख अर्यालले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका छन् । छलफलमा प्रतिनिधि सभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा विचार आदानप्रदान भएको थियो।