लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

रुपन्देही, १६ असोजः शिक्षा तथा खेलकुदमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको विशिष्ट पहिचानलाई कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको आज अवलोकन भ्रमणका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरूप बौद्ध दर्शनमा केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।


विश्वविद्यालयले हाल सञ्चालन गरिरहेका शैक्षिक कार्यक्रमलाई क्रमशः बौद्ध दर्शनसँग सम्बन्धित विषयमा केन्द्रित गर्दै लैजाने सरकारको योजना रहेको उहाँले जानकारी दिए । अन्य विषयका कार्यक्रम सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेका विश्वविद्यालयमार्फत सञ्चालन गर्न सकिने उनको भनाइ थियो ।

विश्वविद्यालयको उद्देश्य, प्रकृति र पहिचानअनुकूल शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले सरकारको योजनाअनुसार विश्वविद्यालयले आफ्नो शैक्षिक संरचना र कार्यक्रमलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताए । अवलोकनका क्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा माणिकरत्न शाक्यले विश्वविद्यालयको वर्तमान अवस्था, शैक्षिक गतिविधि तथा भावी योजनाबारे मन्त्री पोखरेललाई जानकारी गराए ।

रजिस्ट्रार इन्द्रप्रसाद काफ्लेले विश्वविद्यालयबाट सञ्चालन भइरहेका विभिन्न शैक्षिक कार्यक्रम, शैक्षिक संरचना तथा गतिविधिका बारेमा जानकारी दिए । विभिन्न विश्वविद्यालय तथा तिनका निकायको अवलोकन गर्ने कार्यक्रमअन्तर्गत सहकुलपति पोखरेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको भ्रमण गर्नुभएको हो । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन विश्वविद्यालयका सहायक निर्देशक चुरामणि पोखरेलले गरेका थिए ।