Category: कला / साहित्य

  • सामाजिक सदभाव कायम राख्न कांग्रेसको आह्वान

    सामाजिक सदभाव कायम राख्न कांग्रेसको आह्वान

    १३ साउन, काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन आग्रह गरेको छ । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको घटनाबारे कांग्रेस प्रवक्ता देवराज चालिसेले बुधबार एक सन्देश जारी गरी यस्तो आग्रह गरेका हुन् । ‘यस घडीमा थप हिंसा र क्षति हुन नदिन धैर्य, संयम र संवादको बाटो अपनाउन सबैको कर्तव्य हो,’ सन्देशमा भनिएको छ, ‘धमिलो पानीमा माछा मारेर सामाजिक सद्भाव खलबल्याउने र साम्प्रदायिक हिंसा भड्काउने तत्त्वप्रति चनाखो रहन आवश्यक छ ।’

    अफवाह र उत्तेजनाले परिस्थिति थप जटिल बनाउनसक्ने कांग्रेसले भनेको छ । ‘यस परिस्थितिमा सरकारले संवेदनशीलता गुमाएपनि समाजले संयम गुमाउनु हुँदैन । अतस् अफवाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण स्थानीयवासी, नागरिक समाज र राजनीतिक दलहरूलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ,’ कांग्रेसको सन्देशमा भनिएको छ ।

    यस्तै, कांग्रेसले पार्टीका सबै समिति, नेता र सदस्यहरूलाई पीडित परिवारमा सहयोग पुर्‍याउन, घाइतेहरूको उपचारमा जुट्न र सामाजिक सद्भाव कायम गर्ने कार्यमा खटिन निर्देशन दिएको छ । ‘साथै, सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संलग्न नहुन आफ्ना सबै नेता, कार्यकर्ता र सदस्य साथीहरूमा पार्टी कडा निर्देश गर्दछ,’ कांग्रेसले भनेको छ । निर्देशनको उल्लंघन गरेमा विधानबमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ ।

    यस्तै, सुनसरी घटनामा सरकार देश र नागरिकको सुरक्षासँग अनभिज्ञ रहेको टिप्पणी गरेको छ । ‘विशेषगरी पछिल्लो समयमा देखिएका सुरक्षा सम्बन्धी विभिन्न घटना हेर्दा यो सरकार देश र नागरिकको सुरक्षा संवेदनशीलता र चुनौतीसँग पूर्णतः अनभिज्ञ रहेको प्रतित हुन्छ,’ कांग्रेसले भनेको छ । कांग्रेसले सामान्य विवादमा नागरिकको ज्यान जानेगरी गोली चलाउनु पर्ने अवस्था किन आयो ? भन्दै प्रश्न पनि गरेको छ । ‘र, संवेदनशील परिस्थितिमा राज्य संयमित हुन किन सकेन ? यी प्रश्नहरूको जवाफ सरकारले दिनु पर्दछ र घटनाको सम्पूर्ण जिम्मेवारी लिनु पर्दछ,’ कांग्रेसले भनेको छ । यस्तै, घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्य–तथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न कांग्रेसले माग गरेको छ ।

  • आज गुरु गुरुपूर्णिमा मनाइदै

    आज गुरु गुरुपूर्णिमा मनाइदै

    १३ साउन, काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मानभाव प्रकट गरी मनाइन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरुपूर्णिमाका रूपमा लिने गरिएको छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजन खुवाउनुका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ ।

    गुरुपूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघ–संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गरिन्छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको जानकारहरु बताउँछन् ।

  • रास्वपा सभापतिको आह्वानमा सर्वदलीय बैठक सुरु हुँदै

    रास्वपा सभापतिको आह्वानमा सर्वदलीय बैठक सुरु हुँदै

    १३ साउन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठक बिहान ८ बजे सिंहदरबारमा बोलाइएको छ । बैठकमा सहभागी हुन नेताहरु जाने क्रम जारी छ । बैठकमा सहभागी हुन नेकपाका संयोजक प्रचण्ड समेत सिंहदरबार पुगेका छन् । सीके राउत, उपेन्द्र यादवलगायत मधेशबादी दलका नेतासमेत बैठकमा सहभागी हुँदैछन् ।

    छलफलका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै र मधेशवादी दललाई आमन्त्रण गरिएको छ । सभापति लामिछानेको सचिवालयका अनुसार सबै दललाई पत्राचार गरिसकिएको छ । साथै लामिछानेले विभिन्न दलका नेताहरूसँग आफैं फोन गरेर पनि बैठकमा सहभागी हुन आग्रह गरेका छन् । रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताएका छन् ।

    ‘अत्यन्तै संवेदनशील र दुखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति–सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रूपमा पनि सामूहिक सन्देश र अपिलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरेका हौं,’ आचार्यले भने ।

  • परीक्षा सुरु भएकै मिनेटमा ह्वाट्सएपबाट प्रश्नपत्र लिक, दुई पक्राउ

    परीक्षा सुरु भएकै मिनेटमा ह्वाट्सएपबाट प्रश्नपत्र लिक, दुई पक्राउ

    १० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर (एमबीएस) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको छ मिनेटमै ह्वाट्सएप ग्रुपबाट प्रश्नपत्र बाहिरियो। हजारभन्दा बढी सदस्य रहेको ‘एमबीएस प्रथम सेम सेक्सन सी’ नामको ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र मात्र पोस्ट भएन, ‘सर सोलुसन पनि पठाइदिनु न’ भन्दै उत्तरको मोलमोलाइ र लेनदेनसमेत सुरु भयो।

    परीक्षाको मर्यादा, शैक्षिक विश्वसनीयता र हजारौँ होनहार विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने यो घटना बाहिरिनेबित्तिकै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले तत्काल कदम चाले । मन्त्रीको सक्रियतापछि २४ घण्टा नबित्दै घटनामा संलग्न मुख्य आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    यही साउन ८ गते परीक्षा सुरु भएको केही मिनेटभित्रै ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र छ्यापछ्याप्ती भएको थियो। ग्रुपमा ‘सुलभ सर’ नाम गरेका व्यक्तिले प्रश्नपत्र पठाउँदै ‘इको (अर्थशास्त्र) को पनि दिन्छु, राम्रोसँग हेर्नुहोला’ भन्दै विद्यार्थीलाई विश्वस्त पारिरहेका थिए। परीक्षा चलिरहेकै समयमा मोबाइलको प्रयोग र प्रविधिको दुरुपयोग गरी सङ्गठित रूपमा प्रश्नपत्र ‘लिक’ गराउने गिरोह सक्रिय रहेको पुष्टि भएपछि चौतर्फी आक्रोश उत्पन्न भयो।

    प्रविधिको प्रयोग गरेर गराइएको यो अपराधलाई कारबाहीको दायरामा ल्याउन शिक्षामन्त्री पोखरेलले तत्कालै प्रहरी नेतृत्वसँग समन्वय गरे । उनले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई फोन गरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोलाई २४ सै घण्टा परिचालन गर्न निर्देशन दिए ।


    मन्त्री पोखरेलको निर्देशन र शून्य सहनशीलताको नीतिका कारण प्रहरीको प्राविधिक टोलीले डिजिटल फुटप्रिन्ट र ह्वाट्सएप ग्रुपको सूक्ष्म विश्लेषण गर्‍यो। नतिजास्वरूप २४ घण्टाभित्रै प्रश्नपत्र लिक गराउने मुख्य सूत्रधार भनिएका ‘सुलभ सर’ सहित स्क्रिनसटमा नाम देखिएका अर्का एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भयो।

    शिक्षामन्त्री पोखरेलले विश्वविद्यालय र शैक्षिक प्रणालीलाई स्वच्छ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै शैक्षिक अपराधमा कसैलाई छुट नदिइने स्पष्ट पारे । उनले त्रिविको परीक्षा सञ्चालन र प्रश्नपत्रको सुरक्षामा लापरबाही गर्ने आन्तरिक संयन्त्रमाथि पनि छानबिन गरी दोषीलाई कारबाही गरिने बताए ।


    यसैक्रममा त्रिवि व्यवस्थापन सङ्कायको डीन कार्यालयले पनि प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले परीक्षा केन्द्रको सुरक्षा, प्रश्नपत्र बाहिरिनुको आन्तरिक कारण र भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपायबारे अध्ययन गरी प्रतिवेदन बुझाउने छ।

  • ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवमा फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर छनोट

    ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवमा फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर छनोट

    १० साउन, काठमाडौं । नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट भएका छन्। मोमेन्ट्स कलेक्टिभ र ग्रीसको पालायो फालिरो नगरपालिकाको सहकार्यमा आयोजना हुने उक्त महोत्सवका लागि विश्वभरबाट प्राप्त आवेदनमध्ये श्रेष्ठका तीन तस्बिर प्रदर्शनीका लागि स्वीकृत भएका आयोजकले जनाएको छ।

    आयोजकका अनुसार महोत्सव आगामी सेप्टेम्बर ४ देखि १३ सम्म ग्रीसको पालायो फालिरो सिटी हल कल्चरल भेन्युमा आयोजना हुनेछ। प्रदर्शनीमा छनोट भएका तस्बिर फुजिफिल्म फोटो पेपरमा मुद्रण गरी प्रदर्शन गरिनेछ। महोत्सवमा सहभागी हुन तीन तस्बिरको सेटबापत १३५ युरो तथा २४ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० सहित कुल १६७ दशमलव ४० युरो सहभागिता शुल्क तोकिएको आयोजकले जनाएको छ। छनोट भएका सहभागीले सात दिनभित्र शुल्क भुक्तानी गरी उच्च गुणस्तरका तस्बिर तथा भुक्तानीको प्रमाण पठाउनुपर्ने व्यवस्था गरिएको छ।

    श्रेष्ठले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्राकृतिक, सांस्कृतिक तथा पर्यटनसम्बन्धी तस्बिर प्रदर्शन हुने अवसर नेपालको प्रवर्द्धनका लागि महत्वपूर्ण भएको बताए । उनले सहभागिताका लागि आवश्यक शुल्क व्यवस्थापनमा नेपाल पर्यटन बोर्डलगायत सम्बन्धित निकायको सहयोग अपेक्षा गरेका छन् ।
    आयोजकका अनुसार महोत्सवमा प्रदर्शनी सम्पन्न भएपछि सहभागीलाई डिजिटल सहभागिता प्रमाणपत्र प्रदान गरिनेछ। साथै, छनोट भएका तस्बिर आयोजकको वेबसाइट र सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरिने जनाइएको छ।

  • इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थी आकर्षण बढाउन सरोकारवालासँग छलफल

    इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थी आकर्षण बढाउन सरोकारवालासँग छलफल

    काठमाडौँ, ९ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको प्रवद्र्धन तथा यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति, इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) का डीन तथा इन्जिनियरिङ कलेजहरुको छाता संगठन (एकोन) त्रिवि विभागका पदाधिकारीसँग छलफल गरेका छन् ।

    सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, संस्थानका डीन प्रा डा सुशील बहादुर बज्राचार्य, एकोन त्रिवि च्यापटरका संयोजक धन प्रसाद पौडेल लगायतका पदाधिकारी र मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको हो ।


    मन्त्री पोखरेलले इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण बढाउन तथा अध्ययनपछि उनीहरूलाई नेपालमै अवसर सिर्जना गर्ने गरी ठोस कार्ययोजना बनाएर अघि बढ्न सरोकारवाला निकायलाई आग्रह गरे । उनले नेपालमा इन्जिनियरिङ शिक्षा प्रवद्र्धन तथा गुणस्तर अभिवृद्धिका लागि परीक्षण प्रणालीमा सुधारदेखि नीतिगत व्यवस्थापनमा मन्त्रालयले ध्यान दिने स्पष्ट पारे ।


    त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर उकास्न तथा इन्जिनियरिङ अध्ययनलाई व्यवस्थित र प्रभावकारी बनाएर विद्यार्थी आकर्षण गर्नेगरी लाग्न इन्जिनियरिङ कलेजहरुलाई आग्रह गरे ।

    शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले इन्जिनियरिङ शिक्षामा विद्यार्थी आकर्षणका लागि प्रभावकारी शैक्षिक कार्यक्रम लागू गर्न आग्रह गरे । शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखा प्रमुख तथा सहसचिव श्रीप्रसाद भट्टराईले विश्वविद्यालय अनुदान आयोग (युजिसी)को मापदण्ड अनुसार शैक्षिक गुणस्तरलाई ध्यान दिएर सस्थान अन्तर्गतका इन्जिनियरिङ कलेजमा विद्यार्थी बढाउनुपर्नेमा जोड दिए । उनले सरकारले इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधारमा ध्यान दिने र शिक्षामा सबैको पहुँच विस्तार गर्नेगरी काम गरिरहेको उल्लेख गरे ।


    छलफलमा एकन त्रिवि विभागका संयोजक पौडेलले इन्जिनियरिङ शिक्षा तर्फ विद्यार्थीको आकर्षण बढाउन र प्रवेश परीक्षाको उत्तीर्णंदर वृद्धि गर्न सक्ने गरि आईओईबाटै पहल गर्न सुझब दिए । कार्यक्रममा काठमाडौँ इन्जिनियरिङ कलेजका सञ्चालक एवं एकोनका पूर्वअध्यक्ष इन्जिनियरि हिरेन्द्रमान प्रधान, सगरमाथा इन्जिनियरिङ कलेजका प्रिन्सिपल इन्जिनियर दक्षिणा श्रेष्ठ, कान्तिपुर इन्जिनियरिङ कलेजका प्रिन्सिपल डा केसर प्रसाई, ललितपुर इन्जिनियरिङ कलेजका निर्देशक ललन तिवारी, नेशनल कलेज अफ इन्जिनियरिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनप्रसाद पौडेललगायतको सहभागिता थियो ।

  • सिंहदरबारस्थित दिवा शिशु केन्द्रको मन्त्री सिता बादीद्वारा स्थलगत अनुगमन

    सिंहदरबारस्थित दिवा शिशु केन्द्रको मन्त्री सिता बादीद्वारा स्थलगत अनुगमन

    ७ साउन, काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सिंहदरबारस्थित दिवा शिशु केन्द्रको स्थलगत अनुगमन गर्नुभएको थियो।

    अनुगमनमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सम्बन्धित अधिकारीहरू तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिवको सहभागिता रहेको थियो।

    सो अवसरमा मन्त्री बादीले केन्द्रको सेवा सञ्चालन, बालबालिकाका लागि उपलब्ध हेरचाह सेवा, भौतिक पूर्वाधार तथा समग्र व्यवस्थापनको अवस्थाको अवलोकन गर्नुभएको थियो।

    केन्द्र परिसरमा रहेको पुरानो भवनको संरचनागत अवस्था, उपयोगिता तथा त्यसलाई दिवा शिशु केन्द्रको प्रयोजनमा उपयोग गर्न सकिने सम्भावनाबारे समेत स्थलगत अवलोकन गरिएको थियो।

    सो क्रममा उक्त भवनलाई आवश्यक मर्मत तथा स्तरोन्नति गरी दिवा शिशु केन्द्रको प्रयोजनमा उपयोग गर्ने वा केन्द्रको आवश्यकता अनुरूप पुनर्संरचना गर्ने विषयमा प्राविधिक अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाउनेबारे छलफल भएको थियो।

    मन्त्री सिता बादीले प्रारम्भिक बाल स्याहार तथा संरक्षणका सेवाको गुणस्तर अभिवृद्धिका लागि सुरक्षित, सुविधा सम्पन्न र बालमैत्री पूर्वाधार आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो। उहाँले दिवा शिशु केन्द्रको दीर्घकालीन आवश्यकता, सेवा विस्तार तथा बालबालिकाको सर्वोत्तम हितलाई दृष्टिगत गरी पूर्वाधार विकासका सम्भावित विकल्पहरूमा आवश्यक तयारी अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो।

    अनुगमनका क्रममा भएका छलफलका आधारमा दिवा शिशु केन्द्रको पूर्वाधार सुधार तथा पुनर्संरचनासम्बन्धी विषयमा सम्बन्धित निकायबीच आवश्यक समन्वय र प्राविधिक अध्ययनको प्रक्रिया अगाडि बढाइने समझदारी भएको थियो।

  • सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छ :  शिक्षामन्त्री पोखरेल

    सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छ : शिक्षामन्त्री पोखरेल

    काठमाडौँ, ७ साउन । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
    शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका सरोकारवालासँग भएको छलफलमा मन्त्री पोखरेलले निजी क्षेत्र सरकारको साझेदार भएकाले समन्वय र सहकार्यलाई प्राथमिकता दिइने बताउनुभयो ।

    उहाँले विद्यार्थीको हितलाई केन्द्रमा राखेर शैक्षिक परामर्श दिने जिम्मेवारी कन्सल्टेन्सीहरूको पनि रहेको उल्लेख गर्नुभयो ।


    उहाँले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी, जिम्मेवार र गुणस्तरीय बनाउन नयाँ नियमावली ल्याइएको जानकारी दिँदै आवश्यक परे कानुनी प्रक्रियाअनुसार त्यसमा संशोधन गर्न सरकार तयार रहेको बताउनुभयो । नाफामुखी सोचभन्दा गुणस्तरीय सेवा र सही परामर्शलाई प्राथमिकता दिन उहाँले कन्सल्टेन्सी व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।


    प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले निजी क्षेत्रका जायज माग सम्बोधन गर्न सरकार र संसद् दुवै सकारात्मक रहेको बताउँदै नियमावलीमा रहेका कमजोरी प्रक्रियाअनुसार सुधार गर्न सकिने धारणा राख्नुभयो । उहाँले विद्यार्थी ठगी नियन्त्रण गर्दै व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।


    छलफलमा सहभागी कन्सल्टेन्सी व्यवसायीहरूले शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ लाई समग्रमा सकारात्मक बताए पनि संस्था दर्ताका लागि धरौटी रकम, स्वीकृति शुल्क र नवीकरण शुल्कजस्ता व्यवस्थालाई व्यवहारिक बनाउनुपर्ने सुझाव दिएका थिए । उनीहरूले नेपाललाई ’ग्लोबल एजुकेसन हब’ का रूपमा विकास गर्न सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको धारणा पनि राखे ।


    मन्त्रालयका अनुसार छलफलमा शैक्षिक परामर्श क्षेत्रका समसामयिक विषय, गुणस्तरीय सेवा प्रवद्र्धन, नीतिगत सुधार, नियामकीय व्यवस्था तथा निजी क्षेत्रले भोगिरहेका समस्या र चुनौतीबारे सुझाव संकलन गरिएको थियो ।
    कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन), सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान), शैक्षिक परामर्श व्यवसायी संस्था (एरी), जापानिज भाषा स्कुल संघ (जालसान), नेपलिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ (नायर), नेशनल एजुकेसन कन्सल्टेन्सी एसोसिएसन (नेका) लगायत विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

  • शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

    शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय

    काठमाडौँ, ७ साउन । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग छलफल गर्ने भएको छ।


    सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा हुने छलफलमा शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् ।


    मन्त्रालयका अनुसार शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको छलफलमा कन्सल्टेन्सी व्यवसायको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या तथा चुनौती, गुणस्तरीय शैक्षिक परामर्श सेवाको प्रवद्र्धन, नीतिगत सुधार र नियामकीय व्यवस्थाबारे विस्तृत छलफल हुनेछ ।


    छलफलमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान), स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन), सक्रिय शैक्षिक परामर्श संघ (एइक्यान), शैक्षिक परामर्श व्यवसायी संस्था (एरी), जापानिज भाषा स्कुल संघ (जालसान), नेपलिज एसोसिएसन अफ अस्ट्रेलियन एजुकेशन रिप्रिजेन्टेटिभ (नायर), नेशनल एजुकेसन कन्सल्टेन्सी एसोसिएसन (नेका), एक्यान, नेवा र नेक्सालगायतका संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
    मन्त्रालयका अनुसार छलफलमा शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ सम्बन्धी व्यवस्थाका साथै शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालाको सुझावसमेत संकलन गरिनेछ ।


    शिक्षामन्त्री पोखरेलले पछिल्लो समय शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला, शैक्षिक संस्था तथा निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै उनीहरूका सुझावका आधारमा नीतिगत सुधार र आवश्यक समन्वयलाई प्राथमिकता दिँदै आउनुभएको मन्त्रालयले जनाएको छ ।

  • संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

    संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ

    काठमाडौँ, ६ साउनः नेपाल संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा भीमप्रसाद खतिवडाले मङ्गलबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले शिक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा खतिवडालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

    प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले आजै खतिवडालाई उपकुलपतिमा नियुक्त गर्नुभएको थियो । मन्त्रालयका अनुसार नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा कार्यविधि, २०८३ बमोजिम खतिवडालाई उपकुलपतिमा नियुक्त गरिएको हो ।

    नाट्य विद्यामा विद्यावारिधि गर्नुभएका खतिवडा लामो समयदेखि संस्कृत साहित्य, अध्यापन र अनुसन्धानमा सक्रिय रहँदै आउनुभएको छ । उहाँ यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति तथा शिक्षाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ ।

    झापामा जन्मिएका खतिवडाले सुनसरीको धरानलाई कर्मथलो बनाउँदै पिण्डेश्वर विद्यापीठ तथा नेपाल संस्कृत विश्वविद्यालयको शैक्षिक विकासमा योगदान पु¥याउनुभएको छ । संस्कृत साहित्यमा स्वर्णपदक प्राप्त उहाँले नेपाली विद्वान्हरूद्वारा लिखित संस्कृत कृतिमाथि अनुसन्धान गर्दै ‘दुःखान्त नाटकको दुःखान्तता सिद्धि’ विषयमा विद्यावारिधि गर्नुभएको हो । शपथपछि खतिवडाले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सम्पदाको संरक्षण तथा व्यवस्थापन, साथै कला, साहित्य, संस्कृति र धर्मसम्बन्धी अध्ययन–अनुसन्धानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    नेपाल संस्कृत विश्वविद्यालय मुलुकको दोस्रो पुरानो विश्वविद्यालयका रूपमा परिचित छ । विश्वविद्यालयमा संस्कृत भाषा, साहित्य, दर्शन, संस्कृति तथा धर्मसम्बन्धी विषयमा स्नातकदेखि विद्यावारिधिसम्म अध्ययन–अध्यापन र अनुसन्धान हुँदै आएको छ ।

  • पत्रकारहरूको बसाइ सीमित गर्ने अमेरिकी नियमप्रति बेइजिङद्वारा चासो व्यक्त

    पत्रकारहरूको बसाइ सीमित गर्ने अमेरिकी नियमप्रति बेइजिङद्वारा चासो व्यक्त

    बेइजिङ, २ साउन (रासस–एएफपी) । वाशिङ्गटनले अमेरिकामा पत्रकारहरूको बसाइ अवधि छोट्याउने नियम अन्तिम रूप दिएको भोलिपल्ट चीनले शुक्रबार ‘प्रतिकारात्मक कदम’ चाल्न सक्ने चेतावनी दिएको छ। यसमा चिनियाँ नागरिकहरूलाई सबैभन्दा कडा सीमा लागू हुने भएको छ। सेप्टेम्बरदेखि लागू हुन सक्ने यो परिवर्तनअनुसार विदेशी पत्रकारहरूलाई अमेरिकामा मात्र २४० दिन ९करिब आठ महिना० बस्न पाइने छ, तर त्यति नै थप अवधिको विस्तारका लागि आवेदन दिन सकिनेछ ।

    वाशिङ्गटनको गृह सुरक्षा विभागले प्रस्ताव गरेको नियमअनुसार चिनियाँ नागरिकहरूलाई भने केवल ९० दिनको बसाइ सीमा तोकिएको छ र नयाँ आवेदनपछि ९० दिनको विस्तार मात्र सम्भव छ । “चीनले विशिष्ट देशहरूलाई लक्षित गर्दै अमेरिकाले गरेको भेदभावपूर्ण कार्यको दृढतापूर्वक विरोध गर्दछ,” बेइजिङको विदेश मन्त्रालयका प्रवक्ताले भने । “चीनले अमेरिकालाई चिनियाँ पत्रकारहरूप्रति लागू गरेको भेदभावपूर्ण नीति तत्काल खारेज गर्न माग गर्दछ,” लिन जियानले नियमित पत्रकार सम्मेलनमा भने ।


    “चीनले पारस्परिक प्रतिकारात्मक कदम चाल्ने अधिकार सुरक्षित राख्छ,” उनले भने । नयाँ अमेरिकी भिसा सीमाहरू ट्रम्पले आफ्नो राष्ट्रपति कार्यकालको मुख्य एजेन्डा बनाएको व्यापक आप्रवासन कडाई अभियानको हिस्सा हुन् । यसमा ठूला शहरहरूमा आक्रामक कारबाहीदेखि लिएर नागरिकताको कानुनी बाटोमा नयाँ प्रतिबन्धहरू समावेश छन् ।

    मिडिया अधिकार समूहहरूले नयाँ नियमको आलोचना गरेका छन् । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)ले बिहीबार एएफपीलाई दिएको प्रतिक्रियामा यस सीमिततालाई ‘आक्रोशजनक’ निर्णय भएको बताएको छ । नयाँ नियमहरू रिपब्लिकनहरूको बाहुल्यता रहेको अमेरिकी काङ्ग्रेस (संसद्)बाट समीक्षा हुन बाँकी छन् ।

  • संविधान संशोधन बहस पत्र” कार्यदलले बुझायो प्रतिवेदन

    संविधान संशोधन बहस पत्र” कार्यदलले बुझायो प्रतिवेदन

    ३२ असार, काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको छ । प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले २०८३ असार ३२ गते आफ्नो प्रतिवेदन पेश गरेको हो। २०८२ चैत १३ गते गठित सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी सय बुँदे कार्यसूचीको बुँदा नं. ४ मा “देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सात दिनभित्र ‘संविधान संशोधन बहस पत्र’ तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने” उल्लेख छ।


    सोही अनुसार २०८२ चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यदल गठन गरेको थियो। कार्यदलले २०८२ चैत २५ गतेदेखि कार्य प्रारम्भ गरी दोस्रो पटक थपिएको म्याद भित्र अर्थात आज आफ्नो जिम्मेवारी पूरा गरेर प्रतिवेदन बुझाएको हो। प्रतिवेदन तयार गर्ने क्रममा कार्यदलले २२ वटा औपचारिक र अन्य अनौपचारिक बैठकहरू सञ्चालन गरेको थियो। त्यस क्रममा पूर्वराष्ट्रपति, पूर्व प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेतृत्व, संविधानविद्, कानूनविद्, पूर्वन्यायाधीश, पूर्वमहान्यायाधिवक्ता, पूर्वकानुन सचिव, पूर्वप्रशासक, विभिन्न क्षेत्रमा क्रियाशिल महिला, सञ्चारकर्मी र निजी क्षेत्रका प्रतिनिधिसहित १८४ जना विज्ञ व्यक्तिहरूसँग प्रत्यक्ष छलफल गरेको थियो।


    साथै संवैधानिक निकाय, महान्यायाधिवक्ताको कार्यालय, प्रदेश तथा स्थानीय सरकार, नेपाल बार एशोसिएसन, विभिन्न धार्मिक संघसंस्थाहरु लगायत १५० भन्दा बढी संघ–संस्थाहरूसँग लिखित सुझाव माग गरिएको थियो। आम नागरिकको सुझावका लागि वेबसाइटमा सूचना प्रकाशन गरिएकामा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट ईमेल र ह्वाट्सएप मार्फत कुल ४४,६१३ वटा डिजिटल सुझावहरू प्राप्त भएका थिए भने टेलिफोन र अन्य विद्युतीय माध्यमबाट पनि सुझावहरू संकलन गरिएका थिए।


    नेपालको संविधान निर्माणका ऐतिहासिक दस्तावेज, संविधानसभाका समितिका प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र नजिरहरूको अध्ययन गरी प्राप्त सुझावहरूलाई विभिन्न २० वटा विषय क्षेत्रमा वर्गीकरण गरेर कार्यकारी सारांश सहितको प्रतिवेदन तयार गरिएको छ।

  • शिक्षामन्त्रीसँग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

    शिक्षामन्त्रीसँग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

    काठमाडौँ, ३२ असारः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल–जापानबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ । आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे पनि उनीहरुबीच विचार–विमर्श भयो ।

    भेटका क्रममा नेपाल सरकारको प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले नेपाल र जापानबीचको ऐतिहासिक, मैत्रीपूर्ण तथा विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । उनले सार्वजनिक शिक्षा सुधारका लागि सरकार प्रतिबद्धताका साथ अघि बढिरहेको उल्लेख गर्दै भने, “सार्वजनिक शिक्षा सुधारका चुनौतीहरू छन् । त्यसलाई स्वीकार्नु नै सुधारको प्रारम्भिक पूर्वशर्त हो । त्यसमा शिक्षा तथा खेलकुद मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध छ ।”

    मन्त्री पोखरेलले शिक्षामा गरिएको लगानीको प्रतिफल प्राप्त हुन समय लाग्ने भएतापनि सुधार र परिवर्तनको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने भएकाले विद्यालयको भौतिक पूर्वाधार मूल्याङ्कनको काम अघि बढाइएको बताए । सोही आधारमा आगामी दिनमा आवश्यकता अनुसार विद्यालयमा बजेट विनियोजन गरिने बताउँदै भौतिक पूर्वाधार, शैक्षिक सुविधा तथा शिक्षक तालिमलगायतका क्षेत्रमा मन्त्रालयले प्राथमिकताका साथ काम गर्ने विश्वास दिलाए ।

    उनले सुरक्षित विद्यालय पूर्वाधार, ‘डिजिटल’ तथा ‘स्मार्ट लर्निङ’, शिक्षकको पेसागत क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषणलगायतका क्षेत्रमा जापान सरकारसँग सहकार्य गर्न सकिने उल्लेख गरे ।


    मन्त्री पोखरेलले जापानमा विद्यालयतहदेखि नै विद्यार्थीलाई सांस्कृतिक, मूल्य र अनुशासन सिकाउने अभ्यासलाई नेपालले पनि अनुशरण गरी संस्कृति, मूल्य–मान्यता तथा सहकार्यको भावना विकास गर्ने कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राखे । मन्त्री पोखरेलले परिवर्तित सन्दर्भअनुसार नयाँ सोच र सुधारसहित सरकार अघि बढिरहेको उल्लेख गर्दै सम्भावित क्षेत्रमा जापान सरकारसँग सहकार्य गर्न नेपाल तयार रहेको बताए ।

    जापानी राजदूत तोरुले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा जापान सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे । उनले विद्यालय शिक्षाको सुधार र सुशासनका लागि दीर्घकालीन राजनीतिक प्रतिबद्धता, सक्षम कर्मचारीतन्त्र तथा समग्र प्रणालीको विश्वास आवश्यक हुने उल्लेख गर्दै त्यस पहलमा जापानले आवश्यक सहयोग गर्ने बताए ।

    उनले गुणस्तरीय विद्यालय शिक्षाका लागि शिक्षक तालिम अपरिहार्य रहेको उल्लेख गर्दै शिक्षकको पेसागत विकासका कार्यक्रम सञ्चालनमा प्रभावकारी रूपमा उपयोग गर्न सुझाव दिए । राजदूत तोरुले सार्वजनिक शिक्षा सुधारका लागि समग्र शिक्षा प्रणालीमा सुशासन स्थापना गर्न दीर्घकालीन प्रतिबद्धता आवश्यक रहेको बताए ।

    उनले शिक्षा क्षेत्रमा हुने सुधारले अपेक्षित परिणाम दिन समय लाग्ने भएकाले प्रारम्भिक चरणमै दृढ प्रतिबद्धता र धैर्य आवश्यक रहेको उल्लेख गरे । राजदूत तोरुले नीतिगत स्थायित्व, प्रशासनिक सहजीकरण तथा पूर्वाधार विकासलाई थप गति दिन सके जापानी निजी क्षेत्रको नेपालप्रतिको आकर्षण अझ बढ्न सक्ने धारणा राखे ।

    सूचना प्रविधि क्षेत्रमा नेपाल–जापानबीच सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले डिजिटल पूर्वाधार विस्तार, प्राविधिक जनशक्ति विकास, नवप्रवर्तन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा दुई देशबीच सहकार्यलाई अझ मजबुत बनाउन सकिने बताए ।

  • जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

    जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

    रासस
    दामैली (तनहुँ), २९ असारः असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती नजिकिँदै जाँदा जन्मस्थलमा सरसफाइ हुन्छ, रङरोगन गरिन्छ, विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रमको तयारी सुरु हुन्छ । साहित्यकार, विद्यार्थी, राजनीतिक नेतृत्व र सर्वसाधारणको आवतजावत बढ्छ । तर जयन्ती सकिएपछि फेरि त्यही जन्मथलो सुनसान बन्छ । वर्षभर नेपाली भाषाका महाकवि जन्मिएको यस पवित्र स्थल ओझेलमै पर्छ ।

    नेपाली भाषा र साहित्यलाई जनस्तरसम्म पु¥याउने आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानु नगरपालिका–४ चुँदीरम्घा हरेक वर्ष असार २९ गतेको वरिपरि मात्रै चर्चामा आउने गरेको छ । बाँकी समय भने यो ऐतिहासिकस्थल अपेक्षाकृत सुनसान रहने स्थानीयको गुनासो छ ।

    स्थानीय स्थानीय सन्देश आचार्यले भानुभक्तको नामले देशभर सम्मान गरिए पनि उहाँको जन्मस्थलले अझै पनि अपेक्षित प्राथमिकता पाउन नसकेको बताए । “जयन्तीका बेला सबै आउँछन्, भाषण गर्छन्, योजना सुनाउँछन् । कार्यक्रम सकिएपछि फेरि सबै हराउँछन् । वर्षभर जन्मथलो सुनसान नै हुन्छ”, उनले गुनासो गरे । भानु जयन्तीका अवसरमा विभिन्न साहित्यिक गोष्ठी, कविता वाचन, सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । विद्यालयका विद्यार्थीदेखि साहित्यकारसम्मको उपस्थिति रहने यस अवसरमा जन्मथलो केही दिनका लागि मात्रै जीवन्त बन्छ । तर स्थायी रूपमा पर्यटन र साहित्यिक गतिविधि सञ्चालन हुन नसक्दा त्यसको प्रभाव केही दिनमै हराउने गरेको उनको भनाइ छ ।

    भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले चुँदीरम्घालाई अन्तरराष्ट्रियस्तरको साहित्यिक उद्यानका रूपमा विकास गर्ने महत्वाकाङ्क्षी योजना कार्यान्वयनको चरणमा पुगेको बताए । यसका लागि सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि रु २४ करोडभन्दा बढी बजेट सुनिश्चित गरिसकेको उनले बताए ।


    “हामी चुँदीरम्घालाई केवल स्मारक स्थलमा सीमित राख्न चाहँदैनौँ”, उनले भने, “यसलाई साहित्यिक पर्यटनको केन्द्र र सप्तधामका रूपमा विकास गर्ने लक्ष्य राखेका छौँ । बजेट सुनिश्चित भइसकेकाले अब निर्माण कार्यले गति लिन्छ ।” गुरुयोजनाअनुसार नगरपालिकाले ४३५ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । सोही क्षेत्रमा बहुआयामिक साहित्यिक संरचना निर्माण गरिनेछ ।

    चुँदीरम्घाको उत्तरतर्फ रम्घाडाँडामा परम्परागत गोलघर शैलीको भानु भवन निर्माण हुनेछ । उक्त भवनभित्र आदिकवि भानुभक्तको जीवन, साहित्यिक योगदान र ऐतिहासिक सामग्रीलाई चित्र, अभिलेख तथा प्रदर्शनीमार्फत प्रस्तुत गरिनेछ ।

    त्यसैगरी भवनमाथि ५४ फिट अग्लो पलेटी मारेर बसेको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गर्ने योजना छ । यो प्रतिमा चुँदीरम्घाको प्रमुख आकर्षण बन्ने विश्वास गरिएको छ । गुरुयोजनामा नेपालका सातै प्रदेशका भाषा, साहित्य र संस्कृतिको प्रतिनिधित्व हुने मूर्तिवाटिका निर्माण गर्ने योजना पनि समेटिएको छ । त्यहाँ विभिन्न साहित्यिक व्यक्तित्वका प्रतिमा स्थापना गरिनेछ । साथै भानु साहित्यिक ग्राम, भानुबस्ती, भानु प्रज्ञा भवन, वनस्पति उद्यान, वनभोजस्थल, पार्किङ क्षेत्र लगायतका संरचना निर्माण गरिनेछ ।

    यससँगै सप्तधाम निर्माण, चुँदीरम्घादेखि शिखरकटेरीसम्मको सडक स्तरोन्नति तथा सुविधासम्पन्न सिँढी निर्माण गर्ने योजना पनि अघि बढाइएको छ । यी संरचनाले चुँदीरम्घालाई धार्मिक, सांस्कृतिक र साहित्यिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

    यो योजना घोषणा मात्रै होइन, समयमै कार्यान्वयन हुनु अझ महत्वपूर्ण रहेको स्थानीय बताउँछन् । गुरुयोजना पूरा भए चुँदीरम्घामा वर्षभर पर्यटक, साहित्यकार र अध्ययन अनुसन्धान गर्नेहरूको आवागमन बढ्ने स्थानीय शङ्कर रानाभाटले बताए । त्यसले स्थानीय रोजगारी, पर्यटन व्यवसाय र आर्थिक गतिविधिलाई समेत नयाँ गति दिने विश्वास गरिएको छ ।

  • आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

    आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौँ, २९ असारः आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको बताइन्छ ।

    विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । त्यसैगरी, ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उनका कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।

    आदिकविको स्मरण गर्दै आज उनको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ । घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् ।

    यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदैछन् । भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद्लगायत सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाउने गरिएको छ ।

  • एक वर्षयता एक करोड महिला तथा बालिकाहरूले मानवीय सहायतामा पहुँच गुमाए

    एक वर्षयता एक करोड महिला तथा बालिकाहरूले मानवीय सहायतामा पहुँच गुमाए

    जेनेभा, २७ असार (रासस–एएफपी) । सन् २०२५ जनवरीभन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा एक करोड महिला र बालिकाहरूले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार चेतावनी दिएको छ । एउटा नयाँ रिपोर्टमा युन वुमेनले आवश्यकता बढिरहेको बेला महिला सङ्गठनहरू खारेज भएकोमा दुख व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गरेका छन् भने अन्य प्रमुख दाता देशहरूले पनि आफ्नो खर्च घटाएका छन् ।

    “संसारका सबैभन्दा गम्भीर मानवीय सङ्कटहरूको अग्रपंक्तिमा रहेका महिला सङ्गठनहरू बन्द हुने जोखिममा छन्,” युन वुमेनकी मानवीय सहायता प्रमुख सोफिया काल्टोर्पले एक विज्ञप्तिमा भनेकी छिन् । उनले भनिन्, “महिला सङ्गठनहरूबाट हटाइएको प्रत्येक डलर भनेको द्वन्द्वसम्बन्धी यौनिक हिंसाका पीडित, विस्थापित आमा, विद्यालयबाट बाहिरिन बाध्य बालिका र बाँच्न सङ्घर्ष गरिरहेका समुदायहरूबाट हटाइएको डलर हो।”

    संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर सशस्त्र द्वन्द्वहरू दोस्रो विश्वयुद्ध यताकै उच्च स्तरमा रहेको यो समयमा करिब १२ करोड महिला र बालिकाहरूलाई मानवीय सहायता र संरक्षणको आवश्यकता छ । सङ्कटग्रस्त विभिन्न ५२ वटा देशहरूका ८५५ महिला नेतृत्वका तथा महिला अधिकार सङ्गठनहरूबाट प्राप्त जवाफहरूमा आधारित यो रिपोर्टले देखाएको छ कि ८४ प्रतिशत समूहले सन् २०२५ जनवरी यता आफ्ना सेवाहरूको माग बढेको अनुभव गरेका छन् ।

    “लगभग ९० प्रतिशतले उनीले हालको आवश्यकता पूरा गर्न नसक्ने बताउँछन्,” एजेन्सीले भनेको छ, “ सर्वेक्षण गरिएका मध्ये दुईमा एक (४० प्रतिशत) सङ्गठनले आगामी एक वर्षभित्र अस्थायी वा स्थायी रूपमा बन्द हुने अपेक्षा गरेका छन् ।” यी सङ्गठनहरूलाई जोगाउनका लागि नेतृत्व र कर्मचारीहरूले आफ्नै श्रम र स्वास्थ्यको मूल्य चुकाइरहेका छन् । पूर्ण ६५ प्रतिशत महिला नेतृत्वका सङ्गठनहरूले सेवाहरू सञ्चालन गर्न कर्मचारी बिना तलब काम गरिरहेको रिपोर्ट गरेका छन् भने लगभग आधाले कर्मचारीहरूमा बढ्दो थकान रिपोर्ट गरेका छन् ।

    युन वुमेनको विज्ञप्तिमा भनिएको छ, “सन् २०२५ मा पीडितहरूलाई संरक्षण गर्ने प्रणाली भत्किरहेको बेला द्वन्द्वसम्बन्धी यौनिक हिंसा दोब्बर बढेको छ।”
    झण्डै ८६ प्रतिशत महिला सङ्गठनहरूले आफूले सेवा गरिरहेका समुदायमा लैङ्गिक हिंसा बढेको रिपोर्ट गरेका बताइएको छ । यो सङ्गठनले सहायता कटौतीले विनाशकारी परिणाम ल्याइरहेकोमा जोड दिएको छ ।

    “हिंसाबाट आश्रय खोजिरहेको महिला बन्द भएको आश्रय केन्द्रको ढोकामा पुग्न सक्छिन्, गर्भवती महिलालाई स्वास्थ्य क्लिनिक पुग्न घण्टौं हिँड्नुपर्ने हुन सक्छ, वा आमाले आफ्ना बच्चाहरूलाई खाना दिन अस्वीकार गर्नुपर्ने हुन सक्छ,” सङ्गठनले भनेको छ । यी कटौतीहरूको प्रभाव केवल मानवीय प्रतिक्रियालाई कमजोर पार्नेमा मात्र सीमित नहुने सङ्गठनले जोड दिएको छ ।

    “महिला सङ्गठनहरूको विघटन कुनै खाली ठाउँमा होइन, बरु महिला र बालिकाहरूको अधिकारमाथि विश्वव्यापी प्रतिक्रियावादको बिरुद्धमा भइरहेको छ,” यसले भनेको छ । हरेक पाँचमा एक (२० प्रतिशत) सङ्गठनहरूले महिला नेतृत्व र लैङ्गिक समानता अघि बढाउने काम पहिले नै स्थगित गरेका छन् भने आधाभन्दा बढीले समुदायको नेतृत्व र स्थानीय निर्णय प्रक्रियामा महिलाहरूको सहभागिता घट्दै गएको देखेको सङ्गठनको दावी छ ।

  • पशुपतिमा साउने सोमबारको तयारी सुरु

    पशुपतिमा साउने सोमबारको तयारी सुरु

    काठमाडौँ, २६ असार । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको तयारी सुरु गरेको छ । मन्दिरका मूल भट्ट, भण्डारी, कोषका सञ्चालक परिषद्का सदस्यहरू तथा कोषका पदाधिकारीहरूबीच आगामी साउने सोमबार विशेष व्यवस्थापन तथा तयारीका लागि बैठक गरी तयारी सुरु गरेको हो । तयारी स्वरुप यही असार २७ गते शनिबारदेखि प्रत्येक दिन बिहान पशुपति क्षेत्रमा सफाइ गर्न सुरु गरिएको छ ।

    बैठकमा भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन तथा सेवा उपलब्ध गराउने विषयमा आवश्यक तयारी, व्यवस्थापन तथा समन्वयका विविध पक्षहरूमा विस्तृत छलफल गरी तयारी अघि बढाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

  • अनुमतिबिनै विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाबारे जानकारी दिन मन्त्रालयको आग्रह

    अनुमतिबिनै विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाबारे जानकारी दिन मन्त्रालयको आग्रह

    काठमाडौं, २५ असार । शिक्षा तथा खेलकुद मन्त्रालयको A-Level, CBSE, IBDP लगायतका विदेशी विद्यालय तहका शैक्षिक कार्यक्रम अनुमति नलिई सन्चालन गर्ने संस्थाबारे जानकारी उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
    मन्त्रालयको विद्यालय शिक्षा शाखाले बिहीबार सूचनाजारी गर्दै विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर सञ्चालन हुने यस्ता शैक्षिक कार्यक्रम नेपालमा सञ्चालन गर्नुअघि मन्त्रालयबाट आवश्यक अनुमति प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

    तर केही शैक्षिक संस्थाले अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेको तथा अनुमति नलिएको अवस्थामा पनि अनुमति प्राप्त गरेको भनी प्रचारप्रसार गरी विद्यार्थी र अभिभावकलाई भ्रममा पारिरहेको विषय विभिन्न माध्यमबाट जानकारीमा आएको मन्त्रालयले जनाएको छ। ।

    साथै मन्त्रालयले सञ्चालनसम्बन्धी कानुनी व्यवस्था पालना पन्ववनइगर्न सबै सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
    यसै सन्दर्भमा मन्त्रालयले अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भएमा विद्यालय शिक्षा शाखाको इमेल [email protected] मा तीन दिनभित्र लिखित रूपमा जानकारी उपलब्ध गराउन आम सरोकारवालासँग अनुरोध गरेको छ।

  • विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

    विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत

    काठमाडौँ, २३ असार । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ । शक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको उक्त नियमावली बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । नयाँ नियमावलीसँगै नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालन भइरहेका कलेजका लागि थप कडा मापदण्ड लागू हुने भएको छ ।


    उच्च शिक्षाको गुणस्तर, विश्वसनीयता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने उद्देश्यले उक्त नियमाली ल्याइएको हो । नेपालमा सञ्चालनमा रहेका विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरूका लागि नयाँ मापदण्ड लागू हुनेछ ।
    नियमावलीअनुसार सम्बन्धन दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट १,००० विश्वविदँलयभित्र परेको हुनुपर्नेछ ।

    यसअघि शिक्षा मन्त्रालयले सार्वजनिक गरेको व्यवस्थाअनुसार विश्वविद्यालय विगत पाँच वर्षको अवधिमा अन्तर्राष्ट्रिय ¥याङकिङमा निरन्तर समावेश भएको र कम्तीमा एक पटक उत्कृष्ट १,००० भित्र परेको हुनुपर्ने प्रावधान राखिएको छ ।
    त्यसैगरी, सम्बन्धित कलेजले दुई चरणको क्वालिटी एसुरेन्स एन्ड एक्रिडिटेसन (डलल क्यूएए) प्रक्रिया पूरा गरेको हुनुपर्नेछ । साथै, कलेजको भौतिक पूर्वाधार, शैक्षिक क्षमता र उपलब्ध जनशक्तिको मूल्याङ्कनका आधारमा विद्यार्थी भर्ना कोटा निर्धारण गरिने व्यवस्था गरिएको छ ।


    नयाँ मापदण्ड हाल सञ्चालनमा रहेका विदेशी सम्बन्धन प्राप्त कलेजमा पनि लागू हुनेछ । सरकारले तोकिएका मापदण्ड पूरा गर्न नसक्ने कलेजलाई सुधारका लागि निश्चित समय दिने र त्यस अवधिमा पनि मापदण्ड पूरा नगरेमा सम्बन्धन नवीकरण, नयाँ विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने वा आवश्यक कानुनी कारबाही अघि बढाउने तयारी गरेको छ ।

  • शैक्षिक परामर्श संस्थामा कडाइ, नगद कारोबारदेखि विद्यार्थी ठगी नियन्त्रणसम्म नयाँ व्यवस्था 

    शैक्षिक परामर्श संस्थामा कडाइ, नगद कारोबारदेखि विद्यार्थी ठगी नियन्त्रणसम्म नयाँ व्यवस्था 

    काठमाडौँ, २४ असार । सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।

    मन्त्रिपरिषद्बाट स्वीकृत नियमावलीले अनुमति पत्र, आर्थिक कारोबार, विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीको हित संरक्षण, सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने तथा शैक्षिक परामर्श संस्थाको प्रभावकारी नियमन गर्ने उद्देश्यले नयाँ नियमावली तयार गरेको जनाएको छ ।


    नियमावली अनुसार शैक्षिक परामर्श सेवा सञ्चालनका लागि २५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै ५० हजार रुपैयाँ अनुमति पत्र दस्तुर तिर्नुपर्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ । नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने व्यवस्था गरिएको छ । अनुमति पत्रको अवधि एक वर्षको हुने र प्रत्येक वर्ष नवीकरण गर्नुपर्नेछ ।


    शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाले कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित तालिम लिएका परामर्शदाता नियुक्त गर्नुपर्नेछ। साथै, संस्थाको आफ्नै भवन वा कम्तीमा तीन वर्षको भाडा सम्झौता भएको कार्यालय हुनुपर्ने व्यवस्था गरिएको छ ।
    विद्यार्थीसँग हुने आर्थिक कारोबारलाई पूर्ण रूपमा डिजिटल बनाइएको छ ।

    सबै शुल्क बैंक वा अन्य डिजिटल माध्यमबाट मात्र लिन पाइनेछ भने नगद कारोबार निषेध गरिएको छ । संस्थाले शुल्कको बिल वा भर्पाई अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ र सेवा शुल्कको विवरण आफ्नै वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ ।
    विद्यार्थीको हित संरक्षणका लागि नियमावलीले थप जिम्मेवारी पनि तोकेको छ । परामर्श लिएका विद्यार्थी विदेशमा अलपत्र परेमा वा सम्बन्धित शिक्षण संस्था अवैध ठहरिएमा परामर्शदाता संस्थाले क्षतिपूर्ति दिनुपर्नेछ । विद्यार्थीले ’नो अब्जेक्सन लेटर’ प्राप्त गरेपछि मात्र बैंकमार्फत शैक्षिक शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।


    नियमावलीले शैक्षिक परामर्श संस्थामा स्वदेशी लगानी मात्र रहने व्यवस्था गरेको छ । विदेशी लगानी भएका संस्थाले एक वर्षभित्र स्वदेशी लगानीमा नामसारी गर्नुपर्नेछ ।
    त्यसैगरी, विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेला वा प्रदर्शनी आयोजना गर्न रोक लगाइएको छ । अन्य शैक्षिक मेला वा प्रदर्शनी आयोजना गर्न भने मन्त्रालयको पूर्वस्वीकृति लिनुपर्नेछ ।


    मन्त्रालयले संस्थाको सेवा गुणस्तर, कार्यसम्पादन र विद्यार्थीको सफलताका आधारमा ’ए’, ’बी’ र ’सी’ श्रेणीमा ग्रेडिङ गर्न सक्नेछ । जोखिमयुक्त विदेशी विश्वविद्यालय पहिचान गरी त्यस्ता संस्थामा विद्यार्थी पठाउन रोक लगाउने अधिकार पनि मन्त्रालयलाई दिइएको छ ।


    नियमावलीअनुसार अनुमति पत्र नवीकरण नगर्ने, विद्यार्थीमाथि आर्थिक शोषण वा ठगी गर्ने, भ्रामक सूचना दिने वा कर नतिर्ने संस्थाको अनुमति पत्र रद्द गरी धरौटी जफत गर्न सकिनेछ ।

  • एआई लिट्रेसी तालिम मोडुलको पाइलट शुभारम्भ

    एआई लिट्रेसी तालिम मोडुलको पाइलट शुभारम्भ

    काठमाडौँ, २२ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखल र नेपाल भ्रमणमा रहनुभएका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले काठमाडौँको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको संयुक्त रुपमा अवलोकन गरेका छन् । एडीबीको सहयोगमा भूकम्पपछिको पुननिर्माण अन्तर्गत निर्माण गरिएका विद्यालयका भवन, विज्ञान प्रयोगशा (साइन्स ल्याब) तथा स्मार्ट कक्षाको उहाँरुले अवलोकन भ्रमण गरेका हुन् ।


    अवलोकनका क्रममा मन्त्री पोखरेल र एडीबी अध्यक्ष कान्दाले शिक्षकका लागि ‘एआई लिट्रेसी एन्ड डिजिटल कम्पिटेन्सी’ तालिम मोडुलको पाइलट शुभारम्भ गरे । अनलाइन तथा स्व–अध्ययन (सेल्फ–लर्निङ) मा आधारित उक्त तालिम एडीबी र शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक सहकार्यमा विकास गरिने जनाइएको छ । तालिममार्फत शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत ज्ञान तथा डिजिटल दक्षता विकास गराइनेछ ।


    कार्यक्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा एडीबीले करिब पाँच दशकदेखि पु¥याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै डिजिटल रूपान्तरण, प्राविधिक तथा व्यावसायिक शिक्षा लगायतका प्राथमिकता क्षेत्रमा आगामी दिनमा पनि सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे । एडीबी नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र योजनाको प्रमुख विकास साझेदारमध्ये एक हो । विद्यालय पूर्वाधार निर्माणदेखि शिक्षा सुधारका विभिन्न कार्यक्रममार्फत एडीबीले लामो समयदेखि सहयोग गर्दै आएको मन्त्रालयले जनाएको छ ।

  • मासिक राशिफल (जुलाई, २०२६)

    मासिक राशिफल (जुलाई, २०२६)

    ज्योतिष आचार्य डा. प्रकाश पौडेल
    जुलाई २०२६ मा शुक्र, सूर्य, बुध र शनि ग्रहको गोचर परिवर्तनले सबै राशिमा विशेष प्रभाव पार्नेछ । जुलाई ४ मा शुक्र सिंह राशिमा, जुलाई १६ मा सूर्य कर्कट राशिमा प्रवेश गर्नेछन् । जुलाई २४ मा बुध मार्गी हुनेछन् भने जुलाई २७ मा शनि मीन राशिमा वक्री हुनेछन् । यी ग्रहहरुको प्रभावले करियर, धन, प्रेम, स्वास्थ्य र पारिवारिक जीवनमा परिवर्तन ल्याउने संकेत देखिन्छ ।


    वैदिक ज्योतिषअनुसार जन्म समयमा चन्द्रमा रहेको राशिलाई चन्द्र राशि वा जन्म राशि भनिन्छ । चन्द्र राशिका आधारमा व्यक्तिको स्वभाव, भविष्य तथा दैनिक जीवनका घटनाहरुको विश्लेषण गरिन्छ । यहाँ प्रस्तुत गरिएको जुलाई २०२६ को मासिक राशिफल चन्द्र राशि र ग्रहहरुको गोचरका आधारमा तयार गरिएको हो । यसबाट तपाईंले यो महिनामा जीवनमा आउने सम्भावित परिवर्तन, अवसर र चुनौतीबारे जानकारी प्राप्त गर्न सक्नुहुनेछ । साथै, ग्रहजन्य बाधा कम गर्न सरल ज्योतिषीय उपायहरु पनि समावेश गरिएको छ ।

    मेष

    जुलाई महिना मेष राशिका लागि मेहनतपछि सफलता दिने समय रहनेछ । रोकिएका कामहरु अघि बढ्नेछन् र करियरमा नयाँ अवसर प्राप्त हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ तर खर्चमा नियन्त्रण आवश्यक हुनेछ । व्यापार तथा नोकरीमा प्रगतिको सम्भावना छ । महिनाको उत्तरार्धमा मानसम्मान र सामाजिक प्रतिष्ठा बढ्ने संकेत देखिन्छ ।
    उपाय : मंगलबार हनुमानजीको पूजा गरी ‘ॐ हनुमते नमः’ मन्त्र जप गर्नुहोस् ।

    वृष
    वृष राशिका लागि यो महिना आर्थिक सुधार र स्थिरताको समय रहनेछ । व्यापार तथा नोकरीमा प्रगति हुनेछ । नयाँ सम्पत्ति वा सवारी खरिदको सोच बन्न सक्छ । प्रेम सम्बन्धमा मधुरता बढ्नेछ ।
    उपाय : दैनिक ‘ॐ श्रीं महालक्ष्म्यै नमः’ मन्त्र जप गर्नुहोस् ।

    मिथुन
    मिथुन राशिका लागि जुलाई नयाँ योजना र अवसरको महिना रहनेछ । बोल्ने कला र बुद्धिमत्ताबाट लाभ मिल्नेछ । यात्राबाट फाइदा हुनेछ । अध्ययन तथा व्यापारमा राम्रो सफलता प्राप्त हुन सक्छ ।
    उपाय : प्रतिदिन ‘ॐ गं गणपतये नमः’ मन्त्र जप गर्नुहोस् ।

    कर्कट
    कर्कट राशिका लागि जुलाई महिना गुरुको शुभ प्रभावले भाग्य बलियो रहनेछ । करियर, शिक्षा र व्यवसायमा राम्रो प्रगति हुनेछ । परिवारमा सुख र शान्ति बढ्नेछ । विदेशसँग सम्बन्धित काममा सफलता मिल्ने सम्भावना छ ।
    उपाय : ‘ॐ नमः शिवाय’ मन्त्र जप गर्नुहोस् । सोमबार शिवजीलाई जल अर्पण गर्नुहोस् ।

    सिंह
    सिंह राशिका लागि जुलाई महिना सामाजिक सम्मान र आत्मविश्वास बढ्ने समय हो । नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । आर्थिक स्थिति सुधार हुनेछ तर अहंकार र रिसबाट टाढा रहनु राम्रो हुनेछ ।
    उपाय : हरेक बिहान सूर्यलाई जल चढाउनुहोस् ।

    कन्या
    कन्या राशिका लागि जुलाई महिना निकै लाभदायक रहनेछ । व्यापार, शेयर बजार र करियरमा सफलता मिल्ने सम्भावना छ । मित्र तथा परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ । नयाँ योजना तथा लगानीबाट लाभ मिल्न सक्छ भने कार्यक्षेत्रमा सम्मान र जिम्मेवारी बढ्ने संकेत देखिन्छ । विद्यार्थीहरुका लागि अध्ययन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा प्रगतिको समय रहनेछ ।
    उपाय : गणेशजीको पूजा गरी गणेश चालीसा पाठ गर्नुहोस् र बुधवार हरियो वस्तु दान गर्नु शुभ रहनेछ ।

    तुला
    तुला राशिका लागि यो महिना सम्बन्ध सुधार र आर्थिक राहतको समय रहनेछ । पुराना विवाद हट्न सक्छन् र प्रेम सम्बन्धमा मधुरता बढ्नेछ । करियरमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ भने व्यापार तथा साझेदारीका काममा पनि लाभ मिल्न सक्छ । सामाजिक सम्बन्ध बलियो बन्नेछन् र परिवारबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ । महिनाको उत्तरार्धमा रोकिएका कामहरु पूरा हुने संकेत देखिन्छ ।
    उपाय : प्रतिदिन ‘ॐ श्रीं महालक्ष्म्यै नमः’ मन्त्र जप गर्नुहोस् र शुक्रबार सेतो मिठाई दान गर्नु शुभ रहनेछ ।

    वृश्चिक
    वृश्चिक राशिका लागि जुलाई महिना प्रगतिदायक महिना रहनेछ। रोकिएका काम पूरा हुनेछन् । व्यवसायमा लाभ र सामाजिक सम्मान बढ्नेछ । सम्बन्धमा धैर्य अपनाउनु आवश्यक हुनेछ । कामकाज र व्यवसायमा राम्रो सफलता मिल्नेछ । परिवारबाट सहयोग प्राप्त हुनेछ । नयाँ सम्बन्धमा सावधानी अपनाउनुहोस् ।
    उपाय : हनुमान चालिसा पाठ गर्नु शुभ हुनेछ ।

    धनु
    धनु राशिका लागि जुलाई महिना भाग्य र परिश्रम दुवै बलियो रहनेछन् । नयाँ आय स्रोत बन्ने सम्भावना छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । लगानी गर्दा सोचविचार गर्नु आवश्यक छ । करियरमा प्रगति र सम्मान प्राप्त हुनेछ । स्वास्थ्यमा पेटसम्बन्धी समस्या देखिन सक्छ ।
    उपाय : ‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्र जप गर्नुहोस् ।

    मकर
    मकर राशिका लागि जुलाई महिना जिम्मेवारी र अवसर दुवै लिएर आउनेछ । नोकरी तथा व्यवसायमा नयाँ सम्भावना देखिनेछ । आर्थिक आम्दानी राम्रो भए पनि खर्च बढ्न सक्छ । पारिवारिक सम्बन्धमा धैर्य आवश्यक हुनेछ । कानुनी विषयमा सावधानी अपनाउनु राम्रो हुनेछ ।
    उपाय : प्रत्येक शनिबार ‘ॐ शं शनैश्चराय नमः’ मन्त्र जप गर्नुहोस् ।

    कुम्भ
    कुम्भ राशिका लागि जुलाई महिना सम्बन्ध र आर्थिक विषयमा उतारचढाव आउन सक्छ । गलत संगतबाट टाढा रहनु राम्रो हुनेछ । महिनाको अन्त्यतिर करियरमा सुधार आउने संकेत छ। कामको अवसर प्राप्त हुन सक्छ भने रोकिएका कामहरु पनि विस्तारै पूरा हुँदै जानेछन् । परिवारसँगको सम्बन्धमा धैर्य र समझदारी राख्नुभयो भने मानसिक शान्ति मिल्नेछ ।
    उपाय : प्रतिदिन हनुमान चालिसा पाठ गर्नुहोस् ।

    मीन
    मीन राशिका लागि जुलाई महिना भाग्य र अवसरले भरिएको रहनेछ । शिक्षा, प्रेम र व्यवसायमा सफलता प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । रोकिएका कामहरु पूरा हुनेछन् र आर्थिक अवस्था पनि विस्तारै मजबुत बन्ने संकेत छ । परिवारबाट सहयोग प्राप्त हुनेछ भने प्रेम सम्बन्धमा मधुरता बढ्नेछ ।
    उपाय : प्रतिदिन ‘ॐ नमो नारायण’ मन्त्र जप गर्नुहोस् र बिहीबार पहेंलो वस्तु दान गर्नु शुभ रहनेछ ।

  • ब्लोअप : सन्ध्या देउला

    ब्लोअप : सन्ध्या देउला

    नाम : सन्ध्या देउला
    ठेगाना : पाटन, ललितपुर
    हाल : अबुधाबी, यूएई
    उचाइ : ५ फिट ६ इञ्च
    शिक्षा : माध्यमिक तह (हाई स्कूल)
    उपलब्धि : मिसेस नेपाल २०१५
    (मिसेस ब्यूटिफुल उपाधि विजेता)
    पेशा : सिवल्र्ड, अबुधाबी
    (यस आइल्याण्ड)मा सेल्स एसोसिएट

    पारिवारिक परिस्थितिका कारण सानै उमेरमा पढाइ छोड्नुपरे पनि सन्ध्याले मेहनत र आत्मविश्वासका साथ आफ्नो जीवनयात्रा अघि बढाइन् । १२ वर्षको उमेरदेखि नेपालमा हाउसकिपिङको कामबाट रोजगारी शुरु गरेकी उनले कामसँगै आफ्नै प्रयासमा अंग्रेजी भाषा सिकिन् र आवश्यक सीपहरु विकास गरिन् ।


    हाउसकिपिङबाट शुरु भएको उनको व्यावसायिक यात्रा क्रमशः रिसेप्सन, क्यासियर हुँदै फ्रन्ट डेस्क सुपरभाइजरसम्म पुग्यो । निरन्तर मेहनत र लगनकै कारण उनी आज यूएईको अबुधाबीस्थित यस आइल्याण्डमा रहेको सिवल्र्डमा सेल्स एसोसिएटका रुपमा कार्यरत छिन् ।


    सन्ध्या सौन्दर्य प्रतियोगितामा पनि सफल छिन् । उनले सन् २०१५ मा ‘मिसेस नेपाल’ प्रतियोगितामा ‘मिसेस ब्यूटिफुल’ उपाधि जितेकी थिइन् । उनी नेवा पुचः यूएईको कलाकारका रुपमा पनि सक्रिय रहँदै आफ्नो कला र संस्कृतिको प्रवद्र्धनमा योगदान दिइरहेकी छन् ।


    सन्ध्याले आफूलाई हरेक कदममा साथ र हौसला दिने आफ्ना बुबाआमा तथा ठमेल पर्यटन बोर्डका तत्कालीन अध्यक्ष ध्रुव अधिकारीप्रति विशेष आभार व्यक्त
    गरेकी छन् ।

  • श्रष्टा परिचय : टक गुरुङ

    श्रष्टा परिचय : टक गुरुङ

    स्थायी ठेगाना :
    आँबुखैरेनी गाउँपालिका–३,
    तनहुँ, गण्डकी प्रदेश,
    हाल : यूएई

    गजल

    मेशिन मर्मत गर्दा घनले हिर्काउनु पर्छ
    जीवन पनि ठीक हुन थोरै हण्डर पाउनु पर्छ

    आफ्नो परिचय दिनु पर्ने त हजुरले हो मालिक
    मेरो त ठेलाले भनिहाल्छ जे जे बताउनु पर्छ

    चुनाव सँगै चुनावी बाचा बिस्र्यो नेताले
    आफ्नै पद चिन्ह डुँगा भए पछि मेटाउनु पर्छ

    यो देशको अवस्था देख्दादेख्दै भन्दैछौ
    किसान मजदुरले हतियार किन उठाउनु पर्छ

    क्यान्सर लागेको आफ्नै अंग काटे जस्तै हो
    परम्पराको जग प्रिय नै होस् भत्काउनु पर्छ

    प्रकाशित कृतिहरु

    १. अनाहत (गजल संग्रह)
    २. टक (गजल संग्रह)
    ३. गजलाभूषण (गजल लेखनसम्बन्धी सैद्धान्तिक तथा अभ्यास पुस्तक)
    ४. विभिन्न संयुक्त संग्रह तथा फुटकर गजलहरु

    संस्थागत आबद्धता
    संरक्षक, सिर्जना वाचन डबली
    संरक्षक, नेपाल गजल प्रतिष्ठान
    विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरुसँग आबद्ध

    नेतृत्वदायी भूमिका
    संरक्षक, तमु प्ये ल्हु संघ
    अध्यक्ष, गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय
    परिषद्, यूएई
    सदस्य, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समिति
    पुरस्कार

    छायाँदेवी–चेतनाथ पुरस्कार (२०७५) – अनाहत गजल संग्रहका लागि

    पेशागत परिचय
    प्रबन्ध सञ्चालक, ओनिक लिमिटेड
    प्लान्ट एण्ड मेन्टिनेन्स इन्जिनियर, इन्टर प्लाष्ट कम्पनी लिमिटेड

    यूएई निवासी गुरुङ साहित्य, सामाजिक सेवा र व्यावसायिक क्षेत्रमा समान रुपमा सक्रिय समकालीन नेपाली गजल साहित्यका सशक्त स्रष्टामध्ये एक हुन् । उनले गजल सिर्जना, गजलको सिद्धान्त तथा अभ्यास, सामाजिक नेतृत्व र प्रवासी नेपाली समुदायको सेवामा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् ।

  • अनुभव, कूटनीति र नेतृत्व : यूएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्री

    अनुभव, कूटनीति र नेतृत्व : यूएईका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्री

    २१ असार, अबुधाबी । युनाइटेड अरब इमिरेट्स (यूएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले कार्यभार सम्हालेको झण्डै ३ वर्ष पुगेको छ । उनले सन् २०२३ सेप्टेम्बर २८ मा नेपाली दूतावासको कार्यभार सम्हालेका हुन् । त्यसको केही दिनपछि अक्टोबर ४ मा उनले यूएईका राष्ट्रप्रमुखसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै औपचारिक रुपमा राजदूतको जिम्मेवारी ग्रहण गरेका थिए ।


    करिब तीन दशक लामो कूटनीतिक अनुभव बोकेका राजदूत क्षेत्रीले परराष्ट्र मन्त्रालयका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । राजदूत नियुक्त हुनुअघि उनी सन् २०२२ देखि २०२३ सम्म परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखामा कार्यरत थिए ।


    सन् २०२१ मा सहसचिवमा बढुवा भएका उनले मन्त्रालयको प्रशासन महाशाखामा जिम्मेवारी सम्हालेका थिए । त्यसअघि सन् २०१८–२०१९ मा प्रशासन शाखा प्रमुख तथा सन् २०१८ देखि २०२१ सम्म तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रमुख निजी सचिवका रुपमा कार्य गरेका थिए । उनले सन् २०१६ देखि २०१७ सम्म परराष्ट्र मन्त्रालयको प्रोटोकल महाशाखाअन्तर्गत उप–प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरेका थिए ।


    राजदूत क्षेत्रीले सन् १९९८ मा परराष्ट्र सेवामा शाखा अधिकृतका रुपमा प्रवेश गरेका हुन् । सेवाकालमा उनले मन्त्रालयका पश्चिम एसिया तथा अफ्रिका, उत्तरपूर्वी एसिया, दक्षिणपूर्वी तथा सुदूरपूर्व एसिया, प्रशान्त क्षेत्र, दक्षिण एसिया, प्रोटोकल र प्रशासन लगायतका विभिन्न महाशाखामा कार्य अनुभव हासिल गरेका छन् । उनले राहदानी विभागमा निर्देशक (उपसचिव)का रुपमा पनि जिम्मेवारी सम्हालेका थिए ।


    विदेशस्थित नेपाली नियोगहरुमा पनि उनको लामो अनुभव छ । उनले भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा सन् २००२ देखि २००६ सम्म द्वितीय सचिव तथा प्रथम सचिवका रुपमा काम गरेका थिए । त्यसपछि चीनको तिब्बतस्थित ल्हासामा नेपाली महावाणिज्य दूतावासमा सन् २००८ देखि २०१० सम्म महावाणिज्यदूतको जिम्मेवारी सम्हालेका थिए ।


    सन् २०१२ मा उनी बेलायतको लण्डनस्थित नेपाली दूतावासमा मिनिस्टर–कन्सुल (वाणिज्यदूत मन्त्री) तथा उपनियोग प्रमुख नियुक्त भए । सन् २०१४ मार्चदेखि २०१६ जुनसम्म उनले कार्यवाहक राजदूतका रुपमा नेपाली दूतावासको नेतृत्वसमेत गरेका थिए ।


    राजदूत क्षेत्रीले त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । साथै उनले मानविकी तथा शिक्षा विषयमा स्नातकसमेत गरेका छन् । राजदूत क्षेत्रीकी पत्नी रीता क्षेत्री हुन् । उनका एक छोरी स्वेच्छा क्षेत्री र एक छोरा अंकित क्षेत्री छन् ।


    नेपालको परराष्ट्र सेवामा झण्डै तीन दशकको अनुभव, प्रोटोकल, प्रशासन तथा द्विपक्षीय सम्बन्धका विविध क्षेत्रमा हासिल गरेको दक्षताका कारण राजदूत तेजबहादुर क्षेत्रीलाई नेपाल–यूएई सम्बन्ध सुदृढ बनाउन सक्षम कूटनीतिज्ञका रुपमा हेरिएको छ । यूएईमा ठूलो संख्यामा रहेका नेपाली श्रमिक, व्यवसायी तथा प्रवासी समुदायसँग सम्बन्धित विषयलाई प्रभावकारी रुपमा सम्बोधन गर्दै दुई देशबीचको आर्थिक, श्रम, लगानी तथा कूटनीतिक सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।

  • बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन, २१ असारः बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ । बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए । त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण बजगाईंले कवितावाचन गरेका थिए ।


    नेपाली कविताका माध्यमबाट बेलायतमा रहेका नेपालीलाई आफ्नो मातृभूमिको भाषा, संस्कृति र साहित्यसँग जोड्ने तथा नेपाली साहित्यलाई अन्तरराष्ट्रियस्तरमा फैलाउने उद्देश्यका साथ आयोजना हुँदै आएको काव्य यात्राको यो तेस्रो संस्करण हो ।

    प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले काव्य यात्रा बेलायतका विभिन्न सहरमा आयोजना गरिने र काव्य यात्रामा वाचित कविताहरुको सङ्ग्रह प्रकाशन गरिने जानकारी दिए । विश्वको जुनसुकै कुनामा पुगे पनि नेपाली भाषा र साहित्यको उन्नयन सबैको दायित्व भएको उनले बताए ।

  • रुपन्देही सेवा समाज यूएईमा कला पंगेनी

    रुपन्देही सेवा समाज यूएईमा कला पंगेनी

    २१ असार, यूएई । रुपन्देही सेवा समाज यूएईको अध्यक्षमा कला पंगेनी सर्वसम्मत निर्वाचित भएकी छन् । समाजका अध्यक्ष अमित लोहनीको अध्यक्षतामा २१ जुनमा बरदुबईमा आयोजित समाजको छैटौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्ष युवराज भट्टराई, प्रथम उपाध्यक्ष हेमा भण्डारी, महिला उपाध्यक्ष नारायणी भुसाल र अन्य उपाध्यक्षहरुमा खेम रास्कोटी मगर, सीता पंगेनी थापा, सुष्मा सुनारलाई चयन गरेको छ ।

    त्यसैगरी महासचिवमा प्रदीप पुन मगर, सचिव सुवास अर्याल, सहसचिव तुलसा न्यौपाने र महिला सचिवमा ज्योती खनाल रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा मित्रलाल घिमिरे चयन भएका छन् ।


    अधिवेशनले केन्द्रीय सदस्यहरुमा क्रमशः कल्पना गैरे भण्डारी, कर्ण राना मगर, दलबहादुर सोमारे, इन्दिरा अर्याल पाठक, रेखा गैरे, दिलु आले मगर, दौपती थापा मगर, होम रजाली मगर, रमेश बिसी, बबिता घर्ती मगर, लक्ष्मी रेश्मी मगर, सुनिता थापा मगर र कृष्णप्रसाद भट्टराईलाई चयन गरेको छ ।

    निर्वाचन समितिका संयोजक टंक थापा मगरले निर्विरोघ निर्वाचित कार्यसमिति घोषणा गरेका थिए । रुपन्देही सेवा समाज यूएई लामो समयदेखि यूएईमा सामाजिक कार्यमा क्रियाशील हँुदै आइरहेको छ ।

  • प्रेमरोगीको डायरी

    प्रेमरोगीको डायरी

    आरएल श्रमजीवी, लण्डन

    ‘तिमीले छोड्यौ भने, तिमीले मलाई बेवास्ता ग¥यौ भने, म त तिम्रै नाममा मरिदिन्छु । हाँसीहाँसी तिम्रो नाम लिएर मर्न मलाई मन्जुर छ ।’ कुनै समय तिमीले म्यासेन्जरमा भनेका यी शब्द सुन्दा म झस्किएको थिएँ । ‘हे पागल्नी, के भनेको यस्तो ?’ मैले अचम्म मान्दै भेटमा प्रतिप्रश्न गरेको थिएँ ।


    तिमी मुस्कुराएकी थियौ । मेरो छातीमा टाउको राखेर बिस्तारै भन्यौ, ‘बरु मृत्यु आओस्, कुनै गुनासो छैन । तर तिमीबाट छुट्टिएर बाँच्नुपर्ने दिन कहिल्यै नआओस् है ।’ आज पनि ती शब्दहरु मेरा कानमा उस्तैगरी गुञ्जिरहेका छन् ।


    समयले धेरै कुरा बदलेको छ । ऋतु फेरिएका छन् । भूगोल फेरिएको छ । मान्छेहरु फेरिएका छन् । तर त्यो क्षण, त्यो स्पर्श, अँगालो, त्यो आवाज र ती शब्दहरु भने मेरो स्मृतिको भित्तामा अझै ताजै टाँसिएका छन् ।

    २०१५ जनवरी १५ चिसो दिन, त्यो दिनपछि तिमी मेरो जीवनबाट यति गहिरो गरी हरायौ कि आज ११ वर्ष पुग्न लाग्यो । तर अनौठो कुरा के छ भने, तिमी हराए पनि तिम्रो अनुरागले यो जीवनभर नछाड्ने भयो ।


    कहिलेकाहीं रातको सन्नाटामा म एक्लै बस्छु । अचानक तिम्रो आवाज कानमा ठोक्किन्छ । म झस्किन्छु । आँखाहरु रसाउन थाल्छन् । अनि थाहै नपाई आँशु मोतीदाना बनेर गालाभरि बग्न थाल्छन् ।


    म सोच्न बाध्य हुन्छु– यति धेरै माया गर्ने मान्छे कसरी यति धेरै टाढा हुन सक्छ ?
    सायद प्रेमको सबैभन्दा भयावह रुप घृणा नै रहेछ । प्रेम जति गहिरो हुन्छ, त्यसको विपरीत दिशामा उभिने घृणा पनि त्यति नै निर्मम हुँदो रहेछ ।


    तर आजसम्म मैले बुझ्न सकेको छैन– आखिर मैले तिम्रो जीवनमा के त्यस्तो नहुने काम गरें ? मैले के बिराएँ ?


    यो एउटा यस्तो प्रश्न हो जसको उत्तर खोज्दै मैले वर्षौं बिताएँ । आफैंलाई हजारौं पटक सोधें । आफ्नै मनसँग बहस गरें । तर उत्तर कतै पाउन सकिन ।
    अन्ततः २०१९ नोभेम्बरको एक रात, क्यालिफोर्नियाको चिसो अँध्यारोमा मैले तिमीलाई फोन गरेर त्यही प्रश्न सोधें ।


    केहीबेरपछि तिम्रो एउटा सन्देश आयो– ‘डन्ट इन्टरफेयर इन माई प्राइभेट लाइफ’ ।


    त्यो छोटो अंग्रेजी वाक्यले मेरो सम्पूर्ण संसार भत्काइदियो ।
    जब तिमीले देख्यौ कि मैले त्यो सन्देश पढिसकेको छु, त्यसपछि तिमीले अन्तिम पटक फेसबुकबाट पनि मलाई ब्लक गरिदियौ ।


    त्यसपछि…
    तिम्रो बारेमा मलाई केही थाहा छैन ।
    तिमी कहाँ छौ ? कसरी छौ ? खुसी छौ कि बेखुसी मलाई केही थाहा छैन ?
    अरु पनि मलाई केही थाहा छैन ।


    ब्लक भएको पनि आठ वर्ष पुगिसकेको छ । तर समयले एउटा कुरा भने बदल्न सकेन ।


    तिमीप्रतिको मेरो प्रेम ।


    मानिसहरु भन्छन्, समयले सबै घाउ निको पार्छ । तर केही घाउहरु निको हुँदैनन्, तिनीसँग बाँच्न मात्र सिकिन्छ ।


    सायद म पनि त्यही घाउसँग बाँचिरहेको छु । आज पनि रात गहिरिँदै जाँदा, जब संसार निदाउँछ, म तिम्रो सम्झनासँग जागै हुन्छु ।


    र मनभित्र कतै एउटा आवाज उठ्छ– ‘तिमी जहाँ भए पनि खुसी रहनू । किनकि तिमीले भुलेको त्यो प्रेमीले आजसम्म तिमीलाई भुल्न सकेको छैन । सायद अन्तिम साससम्म भुल्ने छैन ।’

  • शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ   

    शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ   

    काठमाडौँ, १९ असार  । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । आज मन्त्रालयमा नवनियुक्त उपकुलपतिहरूलाई मन्त्री पोखरेलले शपथ गराएका हुन् ।
    प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालचन्द्र शाहले आजै त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए ।


    विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारहरुमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन् ।
    यसरी उपकुलपतिको पद तथा गोपनीयताको शपथ लिनेहरूमा क्रमशः त्रिभुवन विश्वविद्यालयमा प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल छन् ।


    त्यसै गरी, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टाले उपकुलपति पदको शपथ लिएका छन् । सो अवसरमा विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षामन्त्री पोखरेलले निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढङ्गले विश्वविद्यालयको काम कारबाही गर्न निर्देशन दिए ।

    “सबै जनाले इतिहास बनाउने गरी आफ्नो अवधिमा काम गर्नुहोला, यसमा सरकार र मन्त्रालयको पूर्ण सहयोग रहन्छ । कसैको दबाबमा नपरी व्यावसायिक तवरले जिम्मेवारी निर्वाह गर्नुहोला”, उनले भने । मन्त्री पोखरेलले सबै विश्वविद्यालय र सम्भव भएका आंज्ञिक क्याम्पसहरूमा १० प्रतिशत छात्रवृत्ति पारदर्शी ढङ्गले अनिवार्य गराउन तथा विश्वविद्यालय र क्याम्पसमा भएका युनियन र ट्रेड युनियनका ब्यानरहरू हटाउन आवश्यक निर्देशन समेत दिए ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरण राज शर्माले नवनियुक्त उपकुलपतिहरूबाट शिक्षा क्षेत्रको समग्र सुधारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । सपथपछि नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको साख र गरिमालाई कायम राख्दै निर्भीकता र इमानदारिता साथ काम गर्ने प्रतिबद्धता जनाए । उनीहरुले सरकारद्धारा खुला प्रस्पिर्धाको माध्यमबाट उपकुलपति छनौट प्रक्रियाले आफूहरूको मनोबल उच्च रहेको भन्दै प्रतिबद्धताबमोजिम काम गर्ने विश्वास व्यक्त गरे ।

    खुला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो । उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपति छनौट गरिएको हो ।

  • त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त  

    त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त  

    काठमाडौँ, १९ असार  । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारहरूमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन् । जस अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा भोला थापा नियुक्त भए । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट नियुक्त भए । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाललाई नियुक्त गरिएको छ । 


    त्यसै गरी, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति पदमा नियुक्त भए । नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले आज मन्त्रालयमा नियुक्ति पत्र प्रदान गरे । खुला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो ।

    उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले विज्ञको नेतृत्वमा अर्को उपसमिति बनाएर उपकुलपति छनौट गरिएको हो ।
    ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम पहिलो पटक एकीकृत प्रक्रियामार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइएको थियो । सरकारले गत वैशाख २४ गते त्रिभुवन विश्वविद्यालयसहित आठ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो ।