Category: कला / साहित्य

  • चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट

    चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट

    काठमाडौँ, १६ असार । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले देखाएको छ । सेन्टर फर मिडिया रिसर्च (सिएमआर)ले गरेको अनुसन्धान प्रतिवेदनअनुसार निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत सबैभन्दा बढी मिथ्या सूचना प्रवाह भएको थियो ।

    आज यहाँ आयोजित कार्यक्रममा सिएमआरका कार्यकारी निर्देशक तिलक पाठकले निर्वाचनका समयमा गरिएको अनुसन्धानमा सबैभन्दा बढी अर्थात् ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालले फैलाएको पाइएको जानकारी दिनुभयो । सामाजिक सञ्जालमा पनि सबैभन्दा ठूलो मिथ्या सूचनाको बाहक फेसबुक रहेको पनि उक्त अनुसन्धानबाट खुलेको उनको भनाइ छ ।

    त्यसपछि सबैभन्दा बढी मिथ्या सूचनाको बाहक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) निर्मित सामग्रीहरू पाइएको पनि सो अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । यस्ता सामग्रीको बाहक पनि अधिकांश सामाजिक सञ्जाल नै रहेको र कतिपयले अन्य माध्यमबाट पनि सम्प्रेषण एवं प्रचारप्रसार गर्ने गरेका पाइएको छ ।

    यस्ता कतिपय भिडियो या सामग्री मनगढन्ते र सन्दर्भ बङ्ग्याइएको अवस्थामा पाइएका पनि भेटिएको थियो । पूरै काल्पनिक या कृत्रिम सामग्री निर्माण, नयाँ घटनाजस्तो बनाएर पुराना फुटेजहरूको प्रयोग, घटना भएकै जस्तो गरी निर्माण गरिएका दृश्यहरू मिथ्या सूचनाका रूपमा प्रयोगमा ल्याइएको अनुसन्धानका क्रममा पाइएको थियो ।

    सो अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै कार्यकारी निर्देशक पाठकले एआई अहिलेको अवस्थामा हेर्दा मिथ्या सूचना निर्माणकर्ता जस्तो देखिए पनि यो प्रमुख नभएर हाल उदाउँदो अवस्थामा रहेको र मुख्य बाहक त फेसबुकसहितका सामाजिक सञ्जालहरू देखिएको बताउनुभयो । त्यस क्रममा आएका मिडियाका सामग्रीको तथ्य जाँच भएको भए पनि तथ्यजाँचकर्तासँग पर्याप्त मात्रामा एआई पहिचान गर्ने उपकरण नभएको सम्पादित भिडियो नै प्रयोग हुने गरेकाले त्यो बढी चूनौतीपूर्ण रहेको उनले बताए ।


    पत्रकारिताका सामग्रीहरू पनि मिथ्या सूचनालाई प्रवर्द्धन गर्नेगरी उत्पादन भएका पाइएको तर ती समाचार सामग्रीको भने तथ्या जाँच गर्ने काम भएको पनि सो अनुसन्धानमा पाइएको छ । राज्यका तर्फबाट, निर्वाचन आयोग, नागरिक समाज, मिडिया, स्वयं राजनीतिक दल र उम्मेदवारहरूले पनि यस्ता मिथ्या सूचनाको तथ्यजाँच गर्ने गरेका तर ती प्रयास पनि अपुग रहेका सो अनुसन्धानमा पाइएको छ ।

    त्यस्तै सामाजिक सञ्जालमा प्रयोग गरिएका कतिपय पोष्टहरू पछि मेट्ने गरिएकाले तिनलाई पछि पुनःपुष्टि गर्न सजिलो नभएको पाइएको छ । यसरी तथ्य जाँचपछि कतिपय सामग्री सामाजिक सञ्जालबाट हटाइएको र यसका लागि मेटा कम्पनीसँग निर्वाचन आयोगले सम्झौता पनि गरेको थियो ।

    साथै सो अनुसन्धानले निर्वाचनपूर्व दू्रत प्रतिक्रिया संयन्त्र स्थापना गर्न, सामाजिक सञ्जाल प्लेटफर्म जवाफदेहिताको आधिकारिक र अधिकारसहितको ढाँचा निर्माण गर्न, मिथ्या सूचनालाई द्वन्द्व सूचकका रूपमा लिएर त्यसमाथि आवश्यक कारबाहीको प्रक्रिया निर्माण गर्न पनि सुझाव दिइएको छ ।

  • साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग

    साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग

    काठमाडौँ, १३ असारः साहित्यकार रामप्रसाद कोइरालाले काठमाडौँ बाल अस्पताललाई रु एक करोड ५० लाख आर्थिक सहयोग गरेका छन् । साहित्यकार कोइरालाको उपन्यास ‘मेरी, उनी र म’ उपन्यासको दोस्रो संस्करणको शुक्रबार विमोचन समारोहमा उनले काठमाडौँ बाल अस्पतालको इएनटी सेवा स्थापनाको लागि उक्त रकम सहयोग गरेका हुन् । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको उपस्थितीमा आयोजित कार्यक्रममा साहित्कार कोइरालाले बाल अस्पतालका परिकल्पनाकार प्राडा भगवान कोइरालालाई उक्त रकम हस्तान्तरण गरे ।


    पूर्वअध्यक्ष रेग्मीले प्राडा कोइरालाको नेतृत्वमा निर्माण भएको बाल अस्पतालमा सहयोग गरेकोमा साहित्यकार कोइरालालाई धन्यवाद दिए । “धन हुनेको मन हुँदैन र मन हुनेको धन हुँदैन भन्ने गरिन्छ, तर रामप्रसाद जी यसको अपवाद बन्नुभएको छ, उहाँसँग धन र मन दुवै छ,” उनले भने । कार्यक्रममा बाल अस्पतालका परिकल्पनाकार एवम् अध्यक्ष प्राडा कोइरालाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने लक्ष्यका साथ आफू अगाडि बढेको बताउँदै सहयोग गरेकामा साहित्यकार कोेइरालाप्रति आभार व्यक्त गरे ।


    साहित्यकार कोइरालाले आफ्नो पुस्तक र जीवनको कमाइ समाजका लागि समर्पित गर्न पाउँदा खुसी व्यक्त गरे । उनले आफ्नो कृति केवल सम्झना मात्र नभई आफ्नो हजुरआमा प्रतिको अगाध प्रेम, सामाजिक परिवेश र जीवनका उकाली–ओराली समेटिएको बताए । वरिष्ठ साहित्कार प्रकाश सायमीले कोइरालाले आफ्नो जीवनको आत्मकथा लेख्दै गर्दा उपन्यास तयार गरेको बताए । उनले कोइरालाको कृति मेरी, उनी र म आँसु नै आँसुले भरिएको संस्करण भएको बताए ।

    साहित्यकार कोइरालाले पहिलो संस्करण सन् २०२२को अप्रिलमा प्रकाशनमा आएको थियो । उनको पुस्तकको सफलताको शुभकामना पुस्तकमार्फत दिँदै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कोइरालाको उक्त कृति नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक परिवेशको रोचक आख्यान भएको बताए ।

  • तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

    तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

    चितवन, १२ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया आकाङ्क्षा पोखरेललाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको छ । जिल्लामा दुई वर्ष पत्रकारिता गरेकी पोखरेल हाल भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत छिन् । भरतपुर निवासी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट ८८० मत प्राप्त गरी केन्द्रीय सदस्य पदमा विजयी भइन् । रास्वपाको स्थापनाकालदेखि नै सक्रिय रहँदै आउनुभएकी पोखरेलले यसअघि पार्टीको भरतपुर महानगर सदस्य र महानगर कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छिन् ।


    केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले नेपालका प्रमुख राजनीतिक दलहरुमा सम्भवतः सबैभन्दा कम उमेरको पहिलो केन्द्रीय सदस्यका रुपमा आफू निर्वाचित भएको दाबी गरिन् । ‘जेनजी’ पुस्ताको अपेक्षाअनुसार पार्टीलाई अगाडि बढाउन सक्दो प्रयास गर्ने उल्लेख गर्दै युवा नेत्री पोखरेलले भनिन्, “मुलुकको सबैभन्दा ठूलो पार्टीको केन्द्रीय सदस्यमा विजयी भएसँगै आफ्नो जिम्मेवारी बढेको छ । यस अवसरमा मलाई विश्वास गरी मतदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिसहित रास्वपाका नेता तथा कार्यकर्ता एवं शुभचिन्तक सबैलाई धन्यवाद भन्न चाहन्छु ।”

  • कक्षा १२ को नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइनः मन्त्री पोखरेल

    कक्षा १२ को नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइनः मन्त्री पोखरेल

    काठमाडौँ, ११ असारः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको स्पष्ट पारेका छन् । मन्त्री पाखरेलले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै सार्वजनिक गरिएको बताए । “राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाप्रति हामी स्पष्ट र विस्वस्त छौँ । नतिजा समयमै प्रकाशन गर्न कुनै हतारो गरिएको हैन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो”, मन्त्री पोखरेलले उल्लेख गरेका छन् ।
    मन्त्री पोखरेलले नतिजासम्बन्धी विषयमा शान्तिपूर्ण रूपमा भइरहेका आन्दोलनप्रति सम्मान व्यक्त गर्दै लोकतान्त्रिक समाजमा नागरिकले आफ्ना धारणा राख्ने अधिकारको सम्मान गरिनुपर्ने बताए । आन्दोलनरत विद्यार्थी वा कुनै पनि समूहप्रति गालीगलौज, दुव्र्यवहार तथा अपमानजनक टिप्पणी नगर्न उहाँले सबैमा आग्रह गर्नुभएको छ । यसैबीच नतिजा प्रक्रियाबारे उठेका जिज्ञासा र प्रश्नको निष्पक्ष परीक्षणका लागि शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने समिति गठन गरिएको मन्त्री पोखरेलले जानकारी दिए । उक्त समितिले उत्तर पुस्तिकाको नमूना परीक्षण गर्नुका साथै परीक्षाङ्क र ‘डेटा इन्ट्री’को रुजु गर्नेछ ।

  • कक्षा १२ को नतिजामा त्रुटि सच्याउन विद्यार्थीको माग

    कक्षा १२ को नतिजामा त्रुटि सच्याउन विद्यार्थीको माग

    काठमाडौँ, ११ असारः कक्षा १२ को नतिजा प्रकाशनमा र मूल्याङ्कनमा त्रृटि भएको भन्दै सच्याउन विद्यार्थीले माग गरेका छन् । काठमाडौँको माइतीघरमा ‘प्ले’ कार्डसहित भेला भएर उनीहरूले नतिजा पुनःमूल्याङ्कन र पुनःयोग गर्न शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

    राष्ट्रिय परीक्षा बोर्डले यही असार ५ गते कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन गरेको थियो । यसैबीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले परीक्षाफल छिटो प्रकाशन होस् भन्ने चाहे पनि हतारो नगरिएको स्पष्ट पार्दै नतिजाप्रति उठेको आवाजबारे समितिमार्फत सुनुवाइ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • प्रतिनिधिसभाको बैठकको मिति सर्‍यो

    प्रतिनिधिसभाको बैठकको मिति सर्‍यो

    काठमाडौँ, १० असारः प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले आज एक सूचना जारी गरेर सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम असार १२ गते शुक्रबार दिउँसो १ः०० बजेका लागि बैठक तोक्नुभएको जानकारी दिए । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ । राष्ट्रियसभाको बैठक भने पूर्वनिर्धारित असार ११ गते नै बस्नेछ ।

  • चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

    चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

    चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा गरेको फोहर सरसफाइ गरिएको छ । रास्वपाका उम्मेदवारहरूले अन्य नेता कार्यकर्ताको सहकार्यमा सरसफाइ गरेका छन् । प्रतिनिधिसभा सदस्य एवं रास्वपाका केन्द्रीय सदस्यका उम्मेदवार केपी खनाल, अर्का उम्मेदवार एवं प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह र अर्का उम्मेदवार प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालसहितका उम्मेदवार एवं प्रतिनिधिले सरसफाइ गरेका हुन् ।


    रास्वपाको बन्दसत्र गरिएको उद्योग सङ्घको गेट बाहिरको फोहर तीन जना उम्मेदवारसहितका रास्वपा नेता कार्यकर्ताले सरसफाइ गरेका हुन् । सो क्षेत्रमा छरिएका उम्मेदवारका ‘भिजिटिङ कार्ड’, पर्चा पम्प्लेट, पानीका बोटललगायत फोहर उनीहरुले सफा गरेका हुन् । खनालले राजनीतिक फोहर मात्रै होइन हामीले गरेका अन्य फोहर पनि सफा गर्नुपर्ने भन्दै सरसफाइमा जुटेको बताए ।

    उनले भने, “हामीलाई भोट हालेका जनताले हामीले फोहर गरेको देख्न चाहँदैनन् । चितवन महाधिवेशनमा अत्यधिक फोहर देखेर हामीले सफा गरेका हौँ ।” हरेक नेपालीको घरघरसम्म रास्वपाले फोहर गर्दैन भन्ने सन्देश प्रवाहका लागि उम्मेदवार अशिम साह, सुदीप ढकालसहित आफूहरूले सरसफाइ गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी फोहर गर्ने होइन सफा गर्ने मान्छे हो ।”

  • रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

    रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

    चितवन, १० असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाको उम्मेदवारी परेको छ । प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र युवा नेत्री तथा प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।


    राजनीतिक सल्लाहकार शाहले खुला मुस्लिम समावेशीतर्फबाट उम्मेदवारी दिए । शाहलाई तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सूत्रधारका रुपमा हेरिन्छ । उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सबैभन्दा पहिले सांसद पदबाट राजीनामा दिएका थिए ।


    शाहले जेनजी आन्दोलनको मर्मअनुसार वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी सफल राजनीतिज्ञ मात्र नभई चलचित्र निर्देशक, निर्माता तथा सञ्चारकर्मीका रूपमा पनि परिचित छन् ।


    प्रधानमन्त्री शाहका निकट राजनीतिक सहयात्रीका रूपमा चिनिएका शाह पछिल्लो समय सरकारको राजनीतिक तथा रणनीतिक सल्लाहकारका रूपमा सक्रिय छन् । वैकल्पिक राजनीतिक शक्तिहरूबीच समन्वय, नीतिगत बहस, राजनीतिक संवाद तथा सङ्गठन विस्तारका विषयमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
    यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको प्रेस संयोजक बजगार्इंले जानकारी दिए । सार्वजनिक चर्चाभन्दा कार्यसम्पादनमा विश्वास गर्ने ढकाल पछिल्लो समय पार्टी समायोजन, सुशासन अभियान तथा प्रशासनिक सुधारका महत्वपूर्ण अभियानमा नेपथ्यबाट सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका व्यक्तिका रुपमा चिनिन्छन् ।


    उनी काठमाडौँ महानगरपालिकामा पनि सूचना प्रविधि तथा सुशासनसम्बन्धी सल्लाहकारका रूपमा शाहसँगै कार्यरत थिए । उनले महानगरपालिकामा सूचना प्रणाली विकास, ‘डिजिटल’ प्रशासन तथा ‘डाटा’मा आधारित निर्णय प्रक्रियालाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । महानगरभित्र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानमा उहाँको योगदान उल्लेखनीय थियो ।


    ढकालले जेनजी आन्दोलनपछिको राजनीतिक पुनर्संरचना र सहकार्य प्रक्रियामा प्रमुख सूत्रधारका रूपमा काम गरेका थिए । वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको समन्वय तथा संवाद प्रक्रियामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । सोही कारण उनी पार्टीभित्र रणनीतिक योजनाकार र समन्वयकर्ताका रूपमा परिचित छन् ।


    प्रेस सहजकर्ता बजगाईंका अनुसार प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छिन् । सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान, युवा नेतृत्व विकास तथा गैरनाफामूलक संस्थाको व्यवस्थापनमा लामो समयदेखि सक्रिय रहँदै आएकी ढकाललाई रास्वपाभित्र नीतिगत विषयमा दक्ष युवा नेतृत्वका रूपमा चिनिन्छ । ढकाल सार्वजनिक नीति, रणनीतिक योजना तथा अन्तरमन्त्रालय समन्वयका क्षेत्रमा काम गरिरहेकी छिन् ।


    उनले हालै बेलायतको प्रतिष्ठित शैक्षिक संस्था ‘लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स’बाट ‘विश्व स्वास्थ्य नीति’ विषयमा स्नातकोत्तर अध्ययन पूरा गरी नेपाल फर्किएकी हुन् । उक्त अध्ययनमा उनले उत्कृष्ट नतिजासहित विशिष्ट श्रेणी हासिल गरेकी छिन् ।

  • रास्वपा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन

    रास्वपा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन

    चितवन, ९ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका तेस्रो पटक संशोधन गरी सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आज संशोधित तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।

    आयोगका प्रमुख भुवन केसीका अनुसार आज साँझ ५ः०० बजे महाधिवेशन प्रतिनिधिहरूको नाम सार्वजनिक गरिएको हो । आजै साँझ ७ः०० बजे देखि ७ः३० बजेसम्म पार्टी सभापतिको उम्मेद्वारका लागि फारम वितरण गर्ने कार्यतालिका छ । पार्टी केन्द्रीय सदस्यका लागि ७ः३० बजे देखि ९ः३० बजेसम्म फारम वितरण र दर्ता गरिनेछ । उनका अनुसार उम्मेद्वारको प्रारम्भिक नामावली राति १०ः०० बजे प्रकाशन गरिनेछ ।

    उम्मेद्वार बिरुद्ध दाविविरोध गर्न राति १०ः३० बजे सम्मको समय दिइएको छ । दाविविरोध परेका उम्मेद्वारको जाँचबुझ राति ११ः०० बजेसम्म गरिने छ । राति ११ः१५ बजे उम्मेद्वारले निर्वाचन आयोगको सचिवालयमार्फत उम्मेद्वारी फिर्ता लिन सक्ने छन् । अन्तिम नामावली ११ः४५ बजे प्रकाशन गरिने उनले जानकारी दिए ।


    बुधबार बिहान पहिलो चरणको मतदान हुने केसीले बताए । मतदान सकिएको दुई घण्टा पछि मत गणनाको गरी परिणाम घोषणा गरिने आयोगले जनाएको छ । पहिलो चरणको मत परिणाम घोषणा भएसँगै दोस्रो चरणको उम्मेद्वारी तथा अन्य थप कार्यतालिका प्रकाशन गरिने छ ।

  • रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    चितवन, ९ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ । यसका लागि आज बिहान ७ः०० बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिँदै छ । सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको हो । पार्टीका प्रवक्ता मनिष झाका अनुसार बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने छ । उनले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्दसत्रपछि सरेको बताए ।


    महाधिवेशन पार्टी सर्वोच्च निकाय भएकाले यस प्रक्रियामा विवाद नआओस् भन्नेमा पार्टी प्रतिबद्ध रहेको जनाउँदै उनले केही ढिलाइ भए पनि समस्या नआउने गरी काम गरिएको जानकारी दिए । उनले सोमबार साँझ ७ः०० बजेदेखि नै कार्ड वितरण थालिएको जानकारी दिए । राति छपाइ भएका कार्ड प्रदेशमार्फत अहिले बिहानदेखि वितरण थालिने छ । सात प्रदेश र समायोजन एवं प्रवाषका कार्ड फरक फरक ठाउँबाट सहज रुपमा वितरण गरिने पार्टीले जनाएको छ ।

    कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसमा छलफल हुनेछ । सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ ।

    कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ । सोपश्चात् पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ । विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने छ ।

    पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने सम्भावित तालिका रहेको छ । सोपश्चात् निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने छ । आइतबार दिउँसो गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्रका कार्यक्रम उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा भइरहेको छ ।

  • रास्वपाको बन्दसत्र भोलीलाई सर्‍यो

    रास्वपाको बन्दसत्र भोलीलाई सर्‍यो

    चितवन, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र सरेको छ । रास्वपाले अब बन्द सत्र मङ्गलबार बिहान ७ बजेपछि सुरु हुने जनाएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बिहान ७ बजेपछि बन्द सत्र गर्ने गरी आजको बन्दसत्र स्थगित भएको हो । प्रतिनिधिहरु विरुद्धमा परेको उजुरीमाथिको छानबिनका लागि समय आवश्यक भएकाले बन्दसत्र सारिएको हो । बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुँदैछ ।

    उनका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । त्यसमा छलफल हुनेछ । सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ । कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसमाथि छलफल पनि हुनेछ ।

    सो पश्चात पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ । विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । उक्त प्रतिवेदनमा छलफल र अनुमोदन गरिने छ । पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका छ ।

  • मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

    डुम्रे (तनहुँ) ८ असारः आधुनिकता र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको सीमान्कृत अल्पसङ्ख्यक समुदाय दरैको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको चुड्का नाच संरक्षणमा जुटेको छ । ‘चुड्काको लयमा प्रतिस्पर्धा, सांस्कृतिक संरक्षणमा प्रतिबद्धता’ भन्ने नाराका साथ पुस्तौँदेखि दरै समुदायको पहिचानसँग जोडिएको चुड्का नाचलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले लोपोन्मुख बन्दै गएका अभौतिक सम्पदाको संरक्षणमा जुटेको हो ।

    चुड्का नाच दरै समुदायको परम्परागत लोकनृत्य हो, जसमा सामूहिक रूपमा गीत गाउँदै र तालबद्ध रूपमा नृत्य प्रस्तुत गर्ने प्रचलन रहेको दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादर दरैले जानकारी दिए । “व्यास नगर प्रज्ञा प्रतिष्ठानको सहयोगमा प्रतियोगिता गरिएको हो । विशेषगरी विवाह, पर्व, उत्सव तथा सामुदायिक कार्यक्रममा प्रस्तुत गरिने यो नाच दरै समुदायको सांस्कृतिक पहिचानका रूपमा महत्त्वपूर्ण रहेको छ”, उनले भने, “पठनपाठन, सहरीकरणले गर्दा अहिले समुदायको युवापुस्ता रोजगारीलगायतका कार्यले चुड्का नाच हराउँदै गएको छ । यसको संरक्षणका लागि प्रतियोगिता गरिएको हो ।”

    राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा दरै समुदायको कुल जनसङ्ख्या १८ हजार ६९५ रहेको छ । गण्डकी प्रदेशका तनहुँ, गोरखा र नवलपुर जिल्लामा दरै समुदायको उल्लेख्य बसोबास छ । जनसङ्ख्या कम हुनु र युवापुस्ता वैदेशिक रोजगारी तथा अध्ययनका लागि बाहिरिनुले चुड्का नाच संरक्षणमा चुनौती थपिएको समाजका सचिव विजय दरैले बताए ।


    तनहुँको व्यास नगरपालिका उद्गम थलो मानिएका यस समुदायको बाक्लो बासोबास रहेको छ भने ऋषिङ र घिरिङ गाउँपालिकामा पनि बसोबास गर्दै आएका यी समुदायको पछिल्लो समय युवालाई लक्षित गरी चुड्का नाच प्रतियोगिता कार्यक्रम सञ्चालन गरिएका विजयले बताए । “दरै समाज तथा सांस्कृतिक समूहले ज्येष्ठ पुस्ताबाट गीत र नृत्य सिकाएर नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास थालिएको हो”, उनले भने ।
    दरै समाज तनहुँका उपाध्यक्ष विमल दरैले पहिले गाउँका अधिकांश युवा चुड्का नाचमा सहभागी हुने गर्थे । तर, अहिले मोबाइल, इन्टरनेट र आधुनिक मनोरञ्जनका साधनको प्रभाव बढेसँगै परम्परागत संस्कृतिप्रतिको आकर्षण घट्दै गएको छ”, उनले भने, “त्यसैले समुदायस्तरमै संरक्षणका कार्यक्रम आवश्यक बनेका छन् ।”

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले चुड्का नाच केवल मनोरञ्जनको माध्यममात्र नभई दरै समुदायको इतिहास, सामाजिक सम्बन्ध, जीवनशैली र सामूहिक भावनाको अभिव्यक्ति भएको बताए । “गीतका शब्दमा प्रकृति, प्रेम, श्रम, कृषि र सामाजिक जीवनका विविध पक्ष समेटिएका हुन्छन्”, उनले भने, “समुदायका ज्येष्ठ नागरिकसँग रहेका पुराना चुड्का गीत सङ्कलन गर्ने कामलाई प्रोत्साहन गर्नेछ ।” मौखिक रूपमा पुस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा लिखित र डिजिटल अभिलेखमा राख्नुपर्ने आवश्यकता महसुस गरिएको नगरप्रमुख न्यौपानेले बताए ।


    लोपोन्मुख सांस्कृतिक सम्पदाको संरक्षणका लागि बजेट विनियोजन गर्दै आएका उनले बताए । दरै समुदायका युवाले सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत चुड्का नाचको प्रचारप्रसार बढाउन थालेका छन् । संरक्षण अभियानलाई दिगो बनाउन आर्थिक स्रोत, प्रशिक्षण, अनुसन्धान तथा अभिलेखीकरणमा थप लगानी आवश्यक रहेको सरोकारवाला बताउँछन् । विद्यालय तहदेखि स्थानीय पाठ्यक्रममा दरै समुदायको संस्कृति समावेश गर्न सके संरक्षण अभियान अझ प्रभावकारी हुने उनीहरूको सुझाव छ ।

    प्रतियोगितामा व्यास–१० स्थित दुम्सी दरै समाज प्रथम, बैरेनी दरै समाज द्वितीय र दुम्सीचौर दरै समाज तृतीय भएका छन् । रु सात हजार, रु पाँच हजार र रु तीन हजार पुरस्कार वितरण गरिएको समाजले जनाएको छ । व्यास–११ स्थित पोल्याङ दरै समाज चौथो र साँखर दरै समाज पाँचौँ भएका छन् । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले यस्ता मौलिक सांस्कृतिक सम्पदाको संरक्षण राष्ट्रिय दायित्वसमेत हो ।

    दरै समुदायले आफ्नो पहिचानसँग जोडिएको चुड्का नाच जोगाउन थालेका प्रयासले सांस्कृतिक विविधताको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । चुड्का नाच केवल एउटा नृत्यमात्र होइन, दरै समुदायको इतिहास, पहिचान र अस्तित्वसँग जोडिएको अमूल्य सम्पदा हो । त्यसैले यसको संरक्षणमा समुदाय, स्थानीय सरकार र सम्बन्धित निकायको साझा प्रयास आवश्यक देखिएको छ ।

  • रास्वपाको विधान संशोधन हुने, थप समावेशी बनाइँदै

    रास्वपाको विधान संशोधन हुने, थप समावेशी बनाइँदै

    चितवन, ८ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय महाधिवेशनपूर्व विधान संशोधन गरेर समावेशी बनाउन लागिएको हो । विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार विधान संशोधनपछि अब बन्ने कार्यसमितिमा उपसभापतिमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । जसअनुसार सभापति एक, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री तथा एक महिलासहित पाँच सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको छ ।

    त्यसैगरी, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता मनोनयन गरिने छ । अब समिति १५१ सदस्यीय हुनेछ । ९९ जना सदस्य र सभापति निर्वाचित हुने व्यवस्था छ भने ५१ जना सदस्य समावेशी प्रक्रियाबाट सभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ । सात प्रदेशका सभापति स्वतः पदेन सदस्य हुनेछन् । विधानले यसभन्दाअघि कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनित गर्ने गरेकामा अब एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्रीसमेत मनोनित गर्ने व्यवस्था गरिएको छ ।

    पराजुलीले भने, “समावेशिताको सिद्धान्तलाई समेट्ने गरी विधानले सम्बोधन गरेको छ ।” सबै तहमा महिलाको सहभागिता रहने व्यवस्था गरिएको छ । प्रत्यक्ष निर्वाचित हुने ९९ सदस्यमध्ये एउटा प्रदेशबाट पाँच जनाका दरले केन्द्रीय सदस्य आउनेछन् । प्रदेशबाट आउने ३५ जनामध्ये एउटा प्रदेशबाट दुई महिलाको अनिवार्य उपस्थिति हुनेछ ।

    प्रदेशमा उपस्थित जनसङ्ख्याका आधारमा गण्डकी र कोशी प्रदेशमा एक–एक जना जनजाति अनिवार्य हुनेछ भने सुदूरपश्चिम र कोशी प्रदेशमा एक–एक दलित अनिवार्य हुनुपर्ने छ । लुम्बिनीमा एक थारू र मधेस प्रदेशमा मधेस दलित अनिवार्य हुनेगरी समावेशिताको सिद्धान्तलाई समावेश गरिएको छ ।

    समायोजनको भावनालाई सम्बोधन गर्दै सभापतिलाई मनोनयनको अधिकार विधानले थप गरेको पराजुलीले जानकारी दिनुभयो । विधानले वरिष्ठ नेता स्वतः रहने व्यवस्था गरेको छ । आइतबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज हुँदैछ । उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रपछि भोलिपल्टबाट निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

  • रास्वपा प्रथम महाधिवेशन : बन्दसत्र सुरु हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची

    रास्वपा प्रथम महाधिवेशन : बन्दसत्र सुरु हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची

    चितवन, ८ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र अहिले बिहान ८ः३० बजेदेखि हुने भएको छ । उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्रका कार्यक्रम आयोजना हुने जनाइएको छ । प्रदर्शनी केन्द्रमा रहेका तीन ठूला हलमध्ये दुईवटामा बन्दसत्र गर्नका लागि तयारी गरिएको छ भने अर्को एउटामा खाजा र खानाको व्यवस्था गरिँदै छ ।

    रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसपछि प्रतिवेदनमाथि छलफल हुनेछ भने बिहान ९ः०० बजे कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

    बिहान १०ः०० बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र यसमाथि छलफल हुने र बिहान १०ः४५ बजे पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ । यसैगरी बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने र पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ ।

    सोपश्चात् दिउँसोे खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने कार्यसूची रहेको छ । रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि दिनभरको खाना सोही स्थानमा व्यवस्थापन गरिएको छ । बन्दसत्रमा रास्वपाका चार हजार २११ जना प्रतिनिधि, परिवेक्षक र स्वयंसेवक हुने रहनेछन् ।

    केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले आज दिउँसो १ः०० बजेपछि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने जानकारी दिए । उनले दिउँसो २ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ः०० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने बताए ।


    यस्तै बेलुका ६ः०० बजेदेखि ७ः०० बजेसम्म उम्मेदवारविरुद्ध दावीविरोध, ७ः०० बजेदेखि ९ः०० बजेसम्म दावीविरोध परेका उम्मेदवारबारे जाँचबुझ गरिने छ । उनका अनुसार बेलुकी ९ः१५ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ११ः०० बजे गरिने छ ।

    यही असार ९ गते मङ्गलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म पहिलो चरणको मतदान सुरु गरिनेछ । यसमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिने उनले बताए । मतदानपछि पहिलो चरणको मत गणना र मत परिणाम घोषणा दुई घण्टापछि गरिने जनाइएको छ । यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइने उनले बताए । प्रथम महाधिवेशनको उद्घाटन सत्र गेष्टहाउस चौरमा शनिबार भव्य रुपमा सम्पन्न भएको थियो ।

  • जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह

    जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह

    नारायणगढ (चितवन), ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना दिने अधिकांश नेताहरुले पार्टीले प्राप्त गरेको जनमत जोगाउन, आन्तरिक लोकतन्त्र सुदृढ गर्न र सुशासनको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिएका छन् ।

    नेपाली कांग्रेस सभापति गगनकुमार थापाले राजनीतिक दलहरू जनमतको कदर गर्दै सत्ताको उन्माद र आन्तरिक अहंकारबाट मुक्त रहनुपर्ने बताए । “इतिहासमा राजनीतिक दलहरूले पाएको जनमत नेताहरूको अहंकार, आपसी टकराव र सत्ताको उन्मादका कारण पटकपटक दुर्घटनामा परेको छ । रास्वपाले यी दुवै अवस्थाको सामना गर्न नपरोस् र प्राप्त जनसमर्थनलाई सही ढङ्गले स्थिरताका निम्ति अगाडि बढाओस् ।”

    चितवन, ७ असारः नेपाली कांग्रेसका सभापति थापा-मन्तव्य चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै नेपाली कांग्रेसका सभापति गगन थापा । तस्बिरः प्रदीपराज वन्त/रासस

    नेपाली कांग्रेस र रास्वपाबीचको सम्बन्धलाई प्रष्ट पार्दै सभापति थापाले संसद्मा आफ्नो दल सशक्त प्रतिपक्षको भूमिकामा रहने उल्लेख गरे । उनले भने, “नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी संसद्मा प्रतिपक्षमा छौँ । जहाँ औँला ठड्याउनुपर्ने हो, त्यहाँ औंला ठड्याउँछौँ, जहाँ ताली बजाउनुपर्ने हो त्यहाँ ताली बजाउँछौँ ।”

    पछिल्लो समय राजनीतिमा विगतलाई पूर्ण रूपमा नकार्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले प्रजातन्त्रका लागि भएको ऐतिहासिक सङ्घर्षलाई भुल्न नहुनेमा जोड दिए । उनले भने, “चितवनमा निलो झण्डा फहराउँदै गर्दा विगत ३५ वर्षमा केही पनि भएन भनेर इतिहासलाई इन्कार नगर्नुहोला, तपाईंहरू जुन ठाउँमा उभिनुभएको छ, त्यहाँ मुनि प्रजातन्त्रका लागि लड्ने सहिदहरूको रगत र बलिदान जोडिएको छ । त्यो इतिहासलाई कसैले पनि बिर्सन मिल्दैन ।”

    सभापति थापाले गरिबी, अज्ञानता, विभेद र अक्षमता नै देशको मुख्य दुश्मन भएको औँल्याउँदै यी साझा चुनौतीविरुद्ध र संविधान एवं व्यवस्थाको रक्षाका लागि रास्वपासँग सहकार्य हुने स्पष्ट पारे । उनले रास्वपाको स्थापनाको छोटो समयमै प्राप्त जनसमर्थनको प्रशंसा गर्दै महाधिवेशनको पूर्ण सफलताको कामनासमेत गरे ।


    पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रास्वपाले छोटो समयमै हासिल गरेको राजनीतिक सफलता नेपाली इतिहासकै एउटा नयाँ क्रान्तिको कडी भएको बताए । उनले आफूले विगत १०–११ वर्षदेखि सुरु गरेको वैकल्पिक राजनीतिको अभियानको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिका रूपमा रास्वपालाई लिएको स्पष्ट पारे । उनले आफूलाई सधैँ परिवर्तन र न्यायका पक्षमा उभिने एक निरन्तर विद्रोहीको रूपमा प्रस्तुत गर्दै आफ्नो सारा जीवन यसैमा सुम्पिएको उल्लेख गरे ।

    चितवन, ७ असारः पूर्वप्रधानमन्त्री डा भट्टराई-मन्तव्य चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई । तस्बिरः प्रदीपराज वन्त/रासस


    रास्वपाको उदयलाई लिएर पुराना राजनीतिक दलहरूले वैदेशिक शक्तिको हात रहेको भनी लगाउने गरेको ‘षड्यन्त्र सिद्धान्त’ को खण्डन गर्दै उनले भने, “मेरा पुस्ताका साथीहरूलाई ठूलो भ्रम छ । उहाँहरू खाली यो दक्षिणले गरायो, उत्तरले गरायो, पश्चिमले गरायो भनेर कथा बुनेर बस्नुभएको छ । तर मेरो स्पष्ट धारणा के छ भने, समाज बदल्न हिँडेका युवा सधैँ सत्य र न्यायका पक्षमा उभिनुपर्छ र तपाईंहरू उभिनुभएको छ ।” रास्वपाले आन्दोलन र सङ्घर्षबाट मात्र नभई आधुनिक विज्ञान र प्रविधिको प्रयोग गरी जनताको मन जितेर यो ऐतिहासिक सफलता हासिल गरेको उनको भनाइ थियो ।

    आफ्नो आलोचना गर्नेहरूलाई जवाफ दिँदै डा भट्टराईले भने, “कतिपयले मलाई सोध्छनु के ललिपप पाएर यो उमेरमा रास्वपाको महाधिवेशनमा गएको ? म सारा जीवन मर्न तयार भएको मान्छे, मलाई केको ललिपप ? तपाईंहरूकै सद्भावले म मुलुकको प्रधानमन्त्री भइसकेको मान्छे हुँ, मलाई कुनै ललिपप चाहिँदैन, म त नेपाली जनता र युवा पुस्ताले देशमा सुशासन र समृद्धि पाएको हेर्न चाहन्छु ।”

    राजनीतिक क्रान्तिलाई एउटा ‘रिले दौड’का रूपमा व्याख्या गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले पहिलो पुस्ताका टङ्कप्रसाद आचार्य, पुष्पलालहरूले सुरु गरेको क्रान्तिलाई आफ्नो पुस्ताले गणतन्त्र र संविधानसभासम्म पु¥याएको र अब देशलाई सुशासन र समृद्धिको शिखरमा पु¥याउने जिम्मेवारी रवि लामिछाने र वालेन्द्र शाहको नयाँ पुस्ताको काँधमा आएको बताए । उनले रास्वपाको नयाँ नेतृत्वले आगामी पूरा पाँच वर्षको कार्यकाल दृढताका साथ पूरा गर्नुपर्नेमा जोड दिए ।

    चितवन, ७ असारः नेकपा एमालेका नेता ज्ञवाली-मन्तव्य चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै नेकपा एमालेका नेता प्रदीप ज्ञवाली। तस्बिरः प्रदीपराज वन्त/रासस


    नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काँधमा देश र लोकतन्त्रलाई सुदृढ बनाउने ऐतिहासिक जिम्मेवारी आएको बताए । यो महाधिवेशनले केबल नयाँ नेतृत्व मात्र चयन नगरी पार्टीको स्पष्ट राजनीतिक नीति, सिद्धान्त र मार्गचित्र तय गर्नुपर्नेमा उनले जोड दिए । “रास्वपा राष्ट्रिय राजनीतिमा कुन स्थानमा उभिन्छ भन्ने कुराभन्दा पनि यसले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय र उत्तरदायी राज्यको अवधारणालाई कसरी अगाडि बढाउँछ भन्ने कुरा महत्त्वपूर्ण रहन्छ”, उनले भने ।


    छोटो समयमा रास्वपाले प्राप्त गरेको जनमतलाई विश्व इतिहासका विभिन्न सन्दर्भसँग जोड्दै नेता ज्ञवालीले जनादेश पाउनु जत्तिकै महत्वपूर्ण त्यसको सही सदुपयोग गर्नु रहेको बताए । इतिहासमा जनमतको सही सदुपयोग र दुरुपयोगका फरकफरक दृष्टान्त रहेको उल्लेख गर्दै उनले रास्वपाले इतिहासका गलत शिक्षाहरूबाट सिकेर जनताको अनुहारमा उज्यालो ल्याउने गरी अघि बढ्नुपर्ने सुझाव दिए ।
    लोकतन्त्रमा ‘चेक एण्ड ब्यालेन्स’को ठूलो भूमिका हुने चर्चा गर्दै उहाँले न्यायालय, राष्ट्रपति र संसद्जस्ता राज्यका मुख्य संस्था सधैँ बलियो हुनुपर्ने तथा जनताका आलोचनात्मक स्वरहरूलाई सम्मान गरिनुपर्ने धारणा राखे । उनले रास्वपाभित्र काम गर्ने तीव्र हुटहुटीसँगै आवश्यक संयम र कानुनी सन्तुलन कायम रहन सकोस् भन्दै महाधिवेशनको पूर्ण सफलताको कामना गरे ।

    चितवन, ७ असारः नेपाली कम्युनिष्ट पार्टीका नेता पुन-मन्तव्य चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन। तस्बिरः प्रदीपराज वन्त/रासस


    नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य वर्षमान पुनले थिति बसाल्न चालिने जुनसुकै कदम पनि विधिसम्मत र संविधानको दायराभित्र हुनुपर्ने बताए । उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको अभियानमा आफ्नो पार्टी र रास्वपाबीच कार्यगत सहकार्य रहँदै आएको उल्लेख गरे ।


    पुनले भने, “भ्रष्टाचार र विकृति अन्त्य तथा सुशासनको एजेन्डामा हामी सँगै थियौँ, छौँ र रहनेछौँ । यस सन्दर्भमा एउटा सुझाव र आग्रह छ, थिति बसाल्न चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोऊन् भन्नेमा तपाईंहरूको पर्याप्त ध्यान पुग्ने नै छ ।”

    उनले पृष्ठभूमि र कार्यशैली फरक भए पनि क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका मुद्दामा दुवै शक्तिबीच निकटता रहेको दाबी गरे । “हामी दुवै शक्तिले निरन्तरतालाई क्रमभङ्ग गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौँ,” उनले भने, “सुशासनको एजेन्डामा नेपाली कम्युनिष्ट पार्टी र रास्वपाको जतिको निकट सहकार्य सायद अरूका बीचमा भएको छैन ।”

    सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र विभिन्न ऐतिहासिक आन्दोलन र सहिदहरूको बलिदानको जगमा स्थापना भएको स्मरण गर्दै उनले वर्तमान राजनीतिक प्रणालीप्रति रास्वपाबाट अझ उच्च तहको प्रतिबद्धताको अपेक्षा गरिएको बताए । पहिलो पटक देशव्यापी रूपमा पूर्ण सङ्गठनको आकारमा जान लागेको रास्वपाको यस महाधिवेशनले पार्टीमाथिका विविध प्रश्न, आरोप र आशङ्काहरूलाई मेट्दै वैचारिक तथा सङ्गठनात्मक स्पष्टता प्रदान गर्ने विश्वाससमेत नेता पुनले व्यक्त गरे ।

    चितवन, ७ असारः राप्रपाका अध्यक्ष लिङ्देन-मन्तव्य चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन। तस्बिरः प्रदीपराज वन्त/रासस


    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा विद्यमान समस्या नेताहरूमा मात्र नभई वर्तमान संविधान र संवैधानिक व्यवस्थामा समेत रहेको दाबी गरे । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशलाई सही निकास दिन राजनीतिक प्रणालीमै परिमार्जन आवश्यक रहेको औँल्याए । उनले भने, “इतिहासले तपाईंहरूलाई एउटा यस्तो विशिष्ट अवसर दिएको छ, जुन कुनै पार्टी वा व्यक्तिको जीवनमा बारम्बार आउँदैन । यदि यो अवसर चुक्यो भने, यसले तपाईंको पार्टीलाई मात्र होइन, सिङ्गो देशलाई नै ठूलो धोका हुनेछ ।”

    जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र परिवर्तनका लागि राजनीतिक दलहरू सङ्कुचित दायराभन्दा माथि उठ्नुपर्ने बताए । उनले महाधिवेशनहरू केबल नयाँ नेतृत्व चयन गर्ने थलो मात्र नभई राष्ट्रिय राजनीति र जनअपेक्षालाई मार्गनिर्देश गर्ने कडी भएको उल्लेख गरे ।

    चितवन, ७ असार : जसपा नेपालका अध्यक्ष यादव-मन्तव्य चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव। तस्बिर : प्रदीपराज वन्त/रासस


    “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक क्रान्ति र सामाजिक रूपान्तरणको दिशामा अघि बढ्नु आजको मुख्य आवश्यकता हो”, अध्यक्ष यादवले भने । उनले जनअपेक्षाअनुरूप काम गर्न राजनीतिक दलहरूबीच साझा मुद्दामा सहकार्य हुनुपर्नेमा जोड दिँदै रास्वपा महाधिवेशनले मुलुकको समसामयिक चुनौतीलाई सम्बोधन गर्ने गरी ठोस नीति र रणनीति तय गर्ने विश्वास व्यक्त गरे ।

    जनमत पार्टीका अध्यक्ष डा सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन केवल एउटा राजनीतिक भेला मात्र नभएर ‘क्रान्तिको महोत्सव’ भएको बताए । उनले देशभरिका ७७ वटै जिल्लाबाट अनेकन् कष्ट, ऋण र भोक सहेर पनि हजारौँ युवा भरतपुर ओर्लनु पद वा प्रतिष्ठाका लागि नभई देश बदल्ने एउटा साझा जुनुन र आर्थिक समृद्धिको चाहनाका कारण भएको उल्लेख गरे ।
    संसदीय राजनीतिबाट आफू सन्यास लिइसकेको मान्छे भए तापनि आयोजकले यस ऐतिहासिक समारोहमा सम्झिएकामा आभार प्रकट गर्दै उनले भने, “जुन सपना तपाईंहरूले देख्नुभएको छ, त्यही चाहना मैले पनि देखेको हुनाले म यहाँ कुनै प्रतिस्पर्धीका रूपमा होइन, तपाईंहरूको सहयात्री र सहयोगीका रूपमा शुभकामना दिन उपस्थित भएको हुँ ।”

    चितवन, ७ असारः जनमत पार्टीका अध्यक्ष डा राउत-मन्तव्य चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत । तस्बिरः प्रदीपराज वन्त/रासस

    रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनका अवसरमा एसियाका प्रमुख राजनीतिक दलहरूले ऐक्यबद्धता जनाएका छन् । महाधिवेशनमा रास्वपाका अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले अन्तरराष्ट्रिय क्षेत्रबाट प्राप्त शुभकामना सन्देशहरू वाचन गरेका थिए ।


    एसियाली राजनीतिक दलहरूको सङ्गठन, भारतको भारतीय जनता पार्टी, चिनियाँ कम्युनिष्ट पार्टी तथा भुटान, बङ्गलादेश, पाकिस्तान, मलेसिया र दक्षिण कोरियाका सत्तारुढ तथा प्रमुख राजनीतिक दलहरूबाट समेत शुभकामना प्राप्त भएको खनालले बताए ।

    कार्यक्रममा भरतपुर–२७ का थारु समुदायको डम्फु नाच प्रदर्शन गरिएको थियो भने केन्द्रीय सांस्कृतिक विभागले स्वागत गीत तथा नृत्यमार्फत अतिथिहरूलाई स्वागत गरेको थियो । महाधिवेशनको बन्दसत्र उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ । बन्दसत्रमा चार हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने पार्टीले जनाएको छ ।

  • आज अन्तरराष्ट्रिय योग दिवस

    आज अन्तरराष्ट्रिय योग दिवस

    काठमाडौँ, ७ असारः ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तरराष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । अन्तरराष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तरराष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । ।

    सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तरराष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।

    नेपालमा २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । त्यसैगरी, त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभागअन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन सुरु भइसकेको छ ।

    यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन, अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो ।

    प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

    माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरूले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले विसं २०७२ साउन २८ गते तत्कालीन शान्तिमन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।

    योग र ध्यान साधनाका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तरराष्ट्रिय योग दिवस मनाइन्छ । जसका कारण पछिल्लो समय नेपालमा योगको राम्रो प्रचारप्रसार भइरहेको छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी रहेको योगलाई सर्वव्यापी बनाइनुपर्ने अभियान चलाउँदै आउनुभएका डा हरिप्रसाद पोखरेल बताउँछन् ।


    अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज बिहान ७ः०० बजे राष्ट्रिय खेलकुद परिषद् परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । अन्तरराष्ट्रिय योग दिवस मूल समारोह समितिअन्तर्गत गर्न लागिएको कार्यक्रममा यस क्षेत्रका अनुयायीहरूको बाक्लो उपस्थिति हुने जनाइएको छ । कार्यक्रममा योगासनका साथै यसको महत्वका बारेमा जानकारी गराइने छ । मुख्यसचिवको विशेष उपस्थितिमा हुने आजको कार्यक्रममा जीवनका लागि योग जागरण फैलाउनुपर्नेमा जोड दिइने जनाइएको छ ।

  • ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

    ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

    नारायणगढ (चितवन), ६ असारः कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज यहाँ सम्पन्न भएको छ । विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन् । त्यस अवसरमा विश्वविद्यालयका सहकुलपति शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासबाट उज्ज्वल हुने भएकाले सरकारले यस क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेको बताए ।


    चितवनको परिचय कृषि तथा वन विज्ञान विश्वविद्यालय भएको बताउँदै उनले दीक्षित विद्यार्थीलाई प्राप्त शैक्षिक उपाधि केवल प्रमाणपत्रमात्र नभई राष्ट्रप्रतिको जिम्मेवारी, समाजप्रतिको उत्तरदायित्व र भावी पुस्ताप्रतिको प्रतिबद्धताको प्रतीक मानेर तदनुरुप काम गर्न अनुरोध गरे । विश्वविद्यालयबाट आर्जित ज्ञान, सीप, अनुसन्धान क्षमता र व्यावसायिक दक्षताले देशको कृषि, पशुपालन तथा प्राकृतिक स्रोत व्यवस्थापनमा नयाँ युगको सुरु गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    उनले मुलुकको आर्थिक रूपान्तरणका लागि कृषि क्षेत्र नै मुख्य आधार भएकाले कृषि रूपान्तरणको आधार विज्ञान, प्रविधि र दक्ष जनशक्ति हो भने । प्रमुख अतिथि लद्दाख विश्वविद्यालयका उपकुलपति प्राध्यापक साकेत कुसवाहाले नेपाल र भारतबीचको साझा सांस्कृतिक, दार्शनिक तथा ज्ञान परम्पराको चर्चा गर्दै शिक्षा नै मानव जीवनको मार्गदर्शक प्रकाश हो भने ।


    विश्वविद्यालयका उपकुलपति प्रा होमबहादुर बस्नेतले दीक्षित विद्यार्थीहरूलाई केवल रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्ने उद्यमी बन्न आग्रह गरे ।
    विश्वविद्यालयका रजिष्ट्रार प्रा सुवीर सिंहका अनुसार स्नातक तहमा एक हजार ८३६, स्नातकोत्तर तहमा ३२७ र ३० जनाले विद्यावारिधि उपाधि हासिल गरेका छन् ।

  • प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

    प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

    काठमाडौँ, ३ असारः त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक\कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो ।

    सूचनामा तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ । त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकबाट हालसम्म रु ११ करोड ८४ लाखभन्दा बढी रकम फिर्ता भइसकेको छ ।

    विश्वविद्यालयले अध्ययन बिदा दक्ष, अनुसन्धानमुखी तथा अन्तरराष्ट्रियस्तरको प्राज्ञिक जनशक्ति उपलब्ध गराउने उद्देश्यले प्रदान गरिने विशेष सुविधा भएको उल्लेख गरेको छ । केही प्राध्यापकहरूले अध्ययन बिदाको दुरुपयोग गर्दै अध्ययन पूरा गरेपछि सेवामा नफर्किएकाले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा प्राज्ञिक क्षति पुगेको त्रिविको भनाइ छ ।

    त्रिविले बिदा सुविधा उपयोग गर्ने प्राध्यापकले सम्झौताअनुसारको सेवा दायित्व पूरा गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै बाँकी रकम असुली प्रक्रिया निरन्तर अघि बढाइने जनाएको छ ।

  • अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै

    अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै

    काठमाडौँ, ३ असार । आज अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस (आइडिएफआर) विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त यो दिवस हरेक वर्ष जुन १६ मा मनाइन्छ । विश्वका २० करोडभन्दा बढी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पु¥याएको योगदानको सम्मानमा दिवस मनाइँदै आइएको छ ।

    यस वर्षको दिवसका अवसरमा आइडिएफआरले विप्रेषणलाई केवल पारिवारिक खर्च धान्ने माध्यमका रूपमा मात्र नभई ग्रामीण उद्यमशीलता, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक रूपान्तरणको महत्वपूर्ण स्रोतका रूपमा उपयोग गर्न आह्वान गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार आप्रवासी श्रमिकहरूले पठाउने विप्रेषणबाट विश्वभर करिब ८० करोड परिवारका सदस्य लाभान्वित छन् ।

    विगत एक दशकमा आप्रवासीहरूले न्यून तथा मध्यम आय भएका मुलुकहरूमा करिब पाँच खर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन् । जुन वैदेशिक विकास सहायता रकमभन्दा बढी तथा प्रत्यक्ष वैदेशिक लगानीसरह रहेको उल्लेख गरिएको छ । तीमध्ये एकतिहाइभन्दा बढी रकम ग्रामीण क्षेत्रमा पुगेको अनुमान छ ।

    अभियानले विश्वका करिब ४४ प्रतिशत जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोबास गर्ने र अत्यधिक गरिबीमा रहेका झण्डै ८० प्रतिशत मानिस पनि यिनै क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै ग्रामीण क्षेत्रहरू जलवायुजन्य विपद्, बजार अस्थिरता र आर्थिक जोखिमको सामना गरिरहेका भए पनि विकासका अपार सम्भावना बोकेको जनाएको छ ।

    हाल न्यून तथा मध्यम आय भएका मुलुकहरूमा वार्षिक करिब ७०० अर्ब अमेरिकी डलर बराबरको विप्रेषण भित्रिने गरेको छ । सन् २०३० सम्म थप ४.४ खर्ब अमेरिकी डलर विप्रेषण यस्ता मुलुकहरूमा प्रवाह हुने अनुमान गरिएको छ ।

    दिगो विकासका लागि सन् २०३० को कार्यसूचीअन्तर्गत रहेको दिगो विकास लक्ष्य १० (सी) ले आप्रवासी विप्रेषणको कारोबार लागत तीन प्रतिशतभन्दा कममा झार्ने तथा पाँच प्रतिशतभन्दा बढी लागत लाग्ने मार्गहरू हटाउने लक्ष्य लिएको छ । विप्रेषणले गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, शिक्षा, स्वास्थ्य, आवास तथा आर्थिक स्थायित्वलगायत विभिन्न दिगो विकास लक्ष्य हासिल गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान पु¥याउने बताइएको छ ।

    अभियानले निजी क्षेत्रलाई सस्तो, पहुँचयोग्य तथा प्रतिस्पर्धी विप्रेषण सेवा विस्तार गर्न, विप्रेषणसँग आबद्ध वित्तीय उत्पादन विकास गर्न तथा प्रवासी समुदायको पूँजी र उद्यमशीलतालाई ग्रामीण बजार सुदृढीकरणमा परिचालन गर्न आग्रह गरेको छ । त्यसैगरी सार्वजनिक क्षेत्रलाई डिजिटल वित्तीय समावेशीकरण, लगानीमैत्री नीति तथा ग्रामीण बजार एकीकरणका लागि आवश्यक पूर्वाधार विकास गर्न सुझाव दिइएको छ ।

    हाल विप्रेषणको करिब ७५ प्रतिशत हिस्सा परिवारका तत्कालीन आवश्यकतामा खर्च हुने गरेको र बाँकी २५ प्रतिशत अर्थात् वार्षिक १०० अर्ब अमेरिकी डलरभन्दा बढी रकम बचत तथा लगानीका लागि उपयोग हुन सक्ने अनुमान गरिएको छ । उपयुक्त वित्तीय सेवा र लगानीका अवसर उपलब्ध गराउन सके विप्रेषणलाई दीर्घकालीन आर्थिक विकास, उद्यम विस्तार तथा रोजगारी सिर्जनाको आधार बनाउन सकिने अभियानले जनाएको छ ।

    विश्वका ८० भन्दाबढी मुलुकको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको हिस्सा कम्तीमा तीन प्रतिशत रहेको तथा ३० वटा मुलुकमा यो हिस्सा १० प्रतिशतभन्दा बढी रहेको तथ्याङ्कले विप्रेषण सामाजिक–आर्थिक रूपान्तरणको महत्वपूर्ण आधार बनेको देखाएको छ । विशेषगरी ग्रामीण क्षेत्रमा विप्रेषणले आर्थिक गतिविधि विस्तार, जीविकोपार्जन सुधार तथा समुदायको उत्थानमा महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गरिएको छ ।

  • रास्वपा महाधिवेशन भरतपुरमा सारियो

    रास्वपा महाधिवेशन भरतपुरमा सारियो

    चितवन, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा गर्ने गरी सारिएको छ । रत्ननगरको होटल स्टारमा गर्ने तयारी गरिएकोमा ठाउँ परिवर्तन गरी भरतपुरमा गर्न लागिएको हो । यही असार ७ देखि ९ गतेसम्म महाधिवेशन हुँदैछ । पार्टीका केन्द्रीय सदस्य एवं आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन समारोह हुनेछ । बन्द सत्र उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरिएको छ ।

    पार्किङको व्यवस्थापन केन्द्रीय बस टर्मिनलमा गर्नेगरी तयारी गरिएको गौतमले बताए । उनले भने, “केन्द्रीय सभापतिज्यूको निर्देशनअनुसार ठाउँ परिवर्तन गर्न लागिएको हो ।” उद्घाटन सत्रमा ठूलो सङ्ख्यामा कार्यकर्ता तथा सर्वसाधारण उपस्थित हुने आकलन गरिएको छ । साथै चर्को गर्मी र पानी पर्न सक्ने भएकाले बन्द सत्र टेण्टमुनि कठिन हुन सक्ने भएकाले ठाउँ परिवर्तन गर्न लागिएको उनले बताए ।


    रास्वपा चितवनका सभापति मिनिमाधव खनालले चर्को गर्मीका कारण ठाउँ परिवर्तन गर्न सोमबार जिल्लामा बैठक बसी केन्द्रमा पत्राचार गरिएको बताए । यस लगत्तै उद्घाटन सत्र गर्ने गेष्टहाउस चौरको व्यवस्थापन शुरु गरिएको छ । उद्योग सङ्घलाई प्रदर्शनी केन्द्र माग गरी पत्राचार गरिएको उनले बताए । उद्घाटन सत्रमा ५० हजार हाराहारी उपस्थित हुने अनुमान गरिएको भन्दै उनले त्यसको व्यवस्थापनका लागि जुटेको बताए ।


    पार्टीको स्थानीय जिल्ला र नगरकमिटी, जिल्लामा रहेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा महाअधिवेशन तयारीको काम भइरहेको छ । महाधिवेशन सम्पन्न गर्न गठित १८ वटा उपसमिति आआफ्नो काममा व्यस्त रहेको उनले बताए । पार्टीको उद्घाटन समारोहमा राष्ट्रियस्तरका राजनीतिक पार्टीका प्रमुख र छिमेकी देशका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको पार्टीले जनाएको छ । बन्द सत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने छन् ।

  • चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

    चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

    काठमाडौँ, २ असारः चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो ।

    नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ (ख) थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानुनी बाटो खुलेको थियो । यसअघि विधायन ऐन, २०८१ को दफा ३५ का कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वतः अमान्य (खारेज) हुँदा कानुनी रिक्तता भएको थियो ।

    उक्त समस्या समाधानका लागि असार १ गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो । कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई निःशुल्क छात्रवृत्ति, स्नातकोत्तर तह (डिएम, एमसिएचसमेत)मा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गराउने बाटो खुलेको छ ।

    यस कार्यविधिले आयोगको तर्फबाट चिकित्साशास्त्र अध्ययन गराउने शिक्षण संस्थालाई सबै तहमा (स्नातकोत्तर तह डिएम, एमसिएचसमेत)मा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गर्ने बाटो खुलेको छ । बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको सहअध्यक्षता तथा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी र अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।

  • अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

    अधिक ज्येष्ठ कृष्ण आमावास्याः नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

    काठमाडौँ, १ असारः सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । अधिक ज्येष्ठ कृष्ण औँसी आज सोमबार परेको हो ।

    सोमबार औँसी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व सदस्य प्रा डा देवमणि भट्टराई वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँसी पर्ने गरेको बताउँछन् ।

    सोमबारे औँसी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको उनले बताए । औँसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँसी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँसीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक सनातनी परम्परा रही आएको छ ।

    माता, पिता नहुनेले भने औँसी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँसी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । यस अवसरमा विभिन्न तीर्थमा स्नान गर्नेको भीड लागिरहेको छ । आजै जेठ ३ गतेदेखि सुरु भएको अधिकमासअर्थात् मलमास पनि सकिने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।

    अधिकमासलाई पुरुषोत्तममास पनि भनिन्छ । यस अवसरमा काठमाडौँको दक्षिण पश्चिमस्थित मत्स्यनारायण मन्दिरमा मेला लागिरहेको छ । मेलाको आज अन्तिम दिन हो । यसैगरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको नृसिंहधाममा पनि एक महिने मेला लागिरहेको छ ।

  • सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

    काठमाडौँ, १ असारः सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्न लागेको हो । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ । सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुनेछ ।

    कार्यसूचीअनुसार आज युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि छलफल हुनेछ ।

    त्यसैगरी राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३\८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरुको जवाफ दिजे कार्यसूची रहेको जनाइएको छ ।

  • असार १ : पहिलो विद्यार्थी आन्दोलन सुरु भएको स्मृतिमा जयतु संस्कृतम् दिवस मनाइँदै

    असार १ : पहिलो विद्यार्थी आन्दोलन सुरु भएको स्मृतिमा जयतु संस्कृतम् दिवस मनाइँदै

    काठमाडौँ, १ असार । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

    आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलन पछि जहानियाँ राणा शासनको विरुद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो । राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि तिनले जहानियाँ राणा शासनको विरोध गर्दै देशभर जागरण फैलाएका थिए । यसले कुनाकन्दराका जनतालाई राणा शासकका विरुद्ध सङ्गठित गरेको थियो ।

    देशका विभिन्न भाग हुँदै विद्यार्थीहरू भारतको वनारस पुगे । वनारसमा राणा शासनको अन्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहनुभएका नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायत नेतासँग जयतु संस्कृतम्का अगुवाहरू पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक हुनुभएको थियो । त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन सुरु गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

    आन्दोलनको स्वर्ण वर्षको अवसरमा विसं २०५५ मा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतम्लाई संस्थागत स्वरूप दिई विधिवत् रूपमा दर्ता गरिएको थियो । त्यसै वर्षदेखि संस्थागत रूपमा जयतु संस्कृतम् दिवस मनाउन थालिएको हो ।

    यस अवसरमा आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशाला अघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण, पुष्पगुच्छासहित विश्वशान्तिको सङ्कल्पले स्वस्तिवाचन गरिने जनाइएको छ । कार्यक्रममा सहभागी हुन जयतु संस्कृतम् संस्थाले संस्कृतका अनुयायीमा आह्वान गरेको छ ।

    माल्यार्पण र स्वस्तिवाचनपछि दरबारमार्गस्थित जयतु संस्कृतम् स्तम्भबाट प्रभातफेरी गरिने र रानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालय (दरबार हाईस्कुल)मा पुगेर औपचारिक कार्यक्रम गरिने जनाइएको छ । यस वर्ष ८०औँ जयतु संस्कृतम् दिवस मनाउन लागिएको जयतु संस्कृतम् संस्थाले जनाएको छ ।

  • रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

    कास्की, ३० जेठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)गण्डकी प्रदेश समिति सभापतिमा कास्कीका नवीन त्रिपाठी विजयी भएका छन् । रास्वपाको शुक्रबारदेखी पोखरामा प्रथम अधिवेशन सुरु भएको थियो । नयाँ नेतृत्वका लागि शुक्रबार राति भएको मतदानको आज बिहान सम्पन्न मतगणनामा त्रिपाठीले २३४ मत ल्याएर विजयी भएका हुन् ।


    उनी प्रदेश समितिको निर्वतमान महामन्त्री समेत छन् । सभापतिका प्रत्याशीहरू निर्वतमान सभापति एवं प्रतिनिधिसभाका सांसद राजन गौतमले १८२, माधव कँडेलले ११ र डा हरि कार्कीले २ मत प्राप्त गरे । रास्वपाको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको ५१ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ । त्रिपाठीले पहिलो चरणमै उक्त मत पाएर निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक डा राम गुरुङले जानकारी दिए । अधिवेशनमा कूल ७८० प्रतिनिधी रहे पनि ४३७ जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए ।

    रास्वपा गण्डकी प्रदेशको सदस्यका लागि ५१ जनाले उम्मेद्वारी दिएका थिए । जसमध्येबाट विभिन्न कलस्टरसहित ३३ जना निर्वाचित हुन्छन् । ५१ आकांक्षीमध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जना उम्मेद्वार छन् । यी २८ जनाबाट गण्डकी प्रदेशको १८ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रका १र१ जना निर्वाचित हुन्छन् । समावेशी प्रदेश सदस्यका लागि २३ जनाको उम्मेद्वारी परेको थियो ।

    प्रदेश सदस्यका लागि ५१ आकांक्षीमध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रगत प्रदेश सदस्यतर्फबाट बागलुङ–१ का मीना शर्मा आचार्य, गोरखा–१ बाट मनोज गुरुङ, गोरखा–२ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ–१ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    प्रदेश समावेशी सदस्यमा खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी निर्विरोध निर्वाचित भएका छन् । मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपाङ्गता भएका खसआर्यबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएको जनाइएको छ । अधिवेशनको शुक्रबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले उद्घाटन गरेका थिए ।

  • अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

    अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन

    काठमाडौँ, २९ जेठ । शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रिस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई छन् ।  


    समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे समेत समितिले अध्ययन गर्नेछ ।


    मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेस गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो । सोही आधारमा मन्त्रालयले यसअघि सिफारिस गरिएका विदेशी नागरिकहरूको भिसासम्बन्धी थप प्रक्रिया अगाडि नबढाउन सम्बन्धित निकायलाई अनुरोध गरिसकेको छ ।


    मन्त्रालयले अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको यस घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धानको निष्कर्षका आधारमा थप प्रशासनिक तथा कानुनी निर्णय लिइने पनि स्पष्ट गरेको छ । यसअघि अध्ययन भिसा सिफारिस प्रक्रियामा शङ्कास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशङ्का देखिएपछि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले उक्त घटनालाई अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको गम्भीर विषयका रूपमा लिँदै अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक प्रशासनिक तथा कानुनी निर्णय गरिने जनाएको छ ।

  • संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय

    संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय

    काठमाडौँ, २९ जेठः सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को म्याद थप गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद अगामी असार मसान्तसम्म थप गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

    बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग)को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्तालयलाई निर्देशन दिनेसमेत निर्णय गरेको छ । साथै लेखामान बोर्डको अध्यक्ष पदमा रमेशकुमार धिताल (सिन्धुपाल्चोक)लाई मनोनयन गर्ने निर्णय गरेको जनाइएको छ ।

  • नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

    नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा सपथ ग्रहण

    काठमाडौँ, २६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष शपथ लिएका हुन् । प्रधानमन्त्री वालेन्द्र शाहले आजै मन्त्रिपरिषद् विस्तार गरी गुरुङलाई गृह र पुनलाई नवप्रवर्तन मन्त्री नियुक्त गरेका थिए ।

    गृहमन्त्री गुरुङ गोरखा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् भने नवपवर्तन मन्त्री पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद छन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री शाह, प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधि, सांसदहरू, संवैधानिक निकायका प्रमुखलगायत उपस्थित थिए ।

  • कला र साहित्य साधनाका लागि काठमाडौँ उर्वर भूमि : अभिनेता मिश्रा

    कला र साहित्य साधनाका लागि काठमाडौँ उर्वर भूमि : अभिनेता मिश्रा

    काठमाडौँ, २५ जेठ । मित्रराष्ट्र भारतका स्थापित कलाकार पियुष मिश्राले गीत, सङ्गीत र साहित्य साधनाका दृष्टिले नेपाल उर्वर भूमि रहेको बताएका छन् । भारतको ग्वालियरमा जन्म भई गीत, सङ्गीत, चलचित्र तथा साहित्यिक क्षेत्रमा विशेष योगदान पु¥याएका ६३ वर्षीय मिश्राले नेपालको हावा, पानी, भूगोल र संस्कृति कला, चलचित्र र साहित्य सिर्जनाका लागि अनुकूल रहेको बताए ।


    काठमाडौँ कलिङ साहित्य महोत्सव (केएलएफ) को चौथो संस्करणमा सहभागी हुन नेपाल आएका बहुआयामिक प्रतिभाका धनी मिश्राले ऐतिहासक एवं सांस्कृतिक महत्व बोकेको काठमाडौँ उपत्यका कला र साहित्य सिर्जनाका लागि अनुपम स्थान रहेको धारणा व्यक्त गरे ।

    आफ्नो क्षेत्रमा समपर्ण भावका साथ क्रियाशील भई छुट्टै पहिचान बनाउन सफल मिश्राले भने, “कला, साहित्य र रङ्गमञ्चका क्षेत्रमा ठूलो साधना गरेर स्थापित हुन सफल भएको हुँ, यसमा मेरो भाग्य र भगवान्ले दिएको उपहारको अंश पनि होला । सङ्घर्षले दिने सफलता गौरवपूर्ण र दिगो हुन्छ । आफ्नो पेसाप्रति गौरव गर्दछु ।”

    नेसनल स्कुल अफ ड्रामा (एनएसडी)बाट अभिनयसम्बन्धी शिक्षा लिएका मिश्राले भने, “हिजो–आज अभिनयको कामलाई थाती राखेर आफ्नो साङ्गीतिक समूहसँग मिलेर स्वदेश तथा विदेशका विभिन्न सहरमा पुग्छु । यसै क्रममा काठमाडौँ आएको हुँ । आफू संलग्न कार्यक्रम भव्यताका साथ सम्पन्न भएको सुनाउन पाउँदा खुसी छु ।”

    “तपाइँ केही बन्न चाहनुहुन्छ भने पहिला आमाको हातबाट बन्ने खाना छाड्नुस्, आफ्नो सहजता त्याग्नोस् र उद्देश्य प्राप्तिका लागि हिँड्नुहोस्, असम्भव केही छैन । तपाईं एउटा मात्र काम गर्न सक्षम हुनुहुन्छ भन्ने म मान्दिन, हामीले गर्न नसक्ने केही छैन तर अल्छी बन्नु हुन्न्”, उनले भने । “मैले सुनेको छु, काठमाडौँ कलाका लागि राम्रो ठाउँ हो, यहाँ धेरै साङ्गीतिक कार्यक्रम हुने गरेका छन् । मलाई बोलाइएमा आफ्नो समूहसँग यहाँ आएर गीत सुनाउने छु, किनकि पछिल्लो समय म यसमै रमाइरहेको छु, यो मेरो मनले चाहेको काम हो”, अभिनेता मिश्राले भने ।

    उनले आफ्नो क्षमतालाई कुनै एउटा क्षेत्रमा मात्र सीमित नगर्न युवाहरूलाई सुझाव दिँदै आफ्नो सक्षमतालाई बुझ्न आग्रह गरे । यही जेठ २४ गते ‘केएलएफ’ महोत्सवमा सहभागी हुने क्रममा अभिनेता मिश्रा नेपाल आएका हुन् ।

  • प्रतिनिधिसभा बैठकमा विपक्षीको एक स्वर : प्रधानमन्त्रीबाट सीमासम्बन्धी अभिव्यक्ति स्पष्ट पारौं

    प्रतिनिधिसभा बैठकमा विपक्षीको एक स्वर : प्रधानमन्त्रीबाट सीमासम्बन्धी अभिव्यक्ति स्पष्ट पारौं

    काठमाडौँ, २५ जेठः प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गते सम्बोधनकै क्रममा दिनुभएको अभिव्यक्तिप्रति असहमति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरुलाई बोल्न समय दिए ।

    सांसदहरुले सीमासम्बन्धी उक्त अभिव्यक्ति अभिलेखबाट हटाइनुपर्ने मागसमेत बैठकमा राखे । बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिला सुरु भएको थियो । बैठकमा सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्री शाहको सीमासम्बन्धी उक्त अभिव्यक्ति अभिलेखबाट हटाउन माग गरिन् । विसं २०७७ मा लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई नेपालको नक्सामा राख्ने विषयमा राष्ट्रिय सहमति जुटेको उनले बताइन् ।


    यसैगरी, बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरु सन्तोष सुब्बा, हर्कराज साम्पाङ राई, वर्षमान पुन, ज्ञानेन्द्रबहादुर शाहीलगायतले करका दर फेरबदल गरिएको, भन्सारलाई मिलाएर चीनबाट गाडी आयातमा अनियमितता भएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएको विषयप्रति छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्नेमा जोड दिए । विपक्षीले एक स्वरमा विरोध गरेपछि सुरुमा १५ मिनेटका लागि स्थगित आजको बैठक भोलीसम्मका लागि सूचना टाँस गरी सारियो ।