इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता

FILE - A health worker sprays disinfectant on his colleague after working at an Ebola treatment center in Beni, eastern Congo, Sept 9, 2018. (AP Photo/Al-hadji Kudra Maliro, File)

काठमाडौँ, २१ जेठः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।अफ्रिकी मुलुकमा इबोला भाइरस सङ्क्रमण देखिएपछि त्यसको जोखिम नेपाल पनि हुनसक्ने भन्दै मन्त्रालयले सम्भावित जोखिम हुन नदिनका लागि उच्च सतर्कता अनपाएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र सीमानाकामा निगरानी तथा उच्च सतर्कता अपनाइएको छ । “अहिले जहाँ सङ्क्रमण देखिएको त्यो देशभन्दा हामी टाढा रहेका छाँै । तर पनि हामी नेपालमा भाइरसको सङ्क्रमणको प्रवेश नगरोस् भनेर उच्च सतर्कता अपनाएका छौँ”, उनले भने, “स्वास्थ्यकर्मी अभिमुखीकरणसहित उपचार व्यवस्थापन तथा सङ्क्रमण नियन्त्रणका उपायबारे पनि छलफल गरिएको छ ।”

उनले इवोला सङ्क्रमण भएको ठाउँमा जान सक्ने नेपालीको व्यवस्था र मापदण्डका विषयमा समन्वय भइरहेको बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले अन्तरराष्ट्रिय सरोकारको जनस्वास्थ्य आपत्कालीन अवस्था घोषणा गरेको छ ।

मन्त्रालयले सङ्क्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित प्रवेशविन्दुमा स्वास्थ्यकर्मी परिचालन गरी शङ्कास्पद बिरामीको परीक्षणसमेत गरिरहेको उहाँले बताउनुभयो । नेपालमा अहिलेसम्म इबोला भाइरसको सङ्क्रमणको पृष्टि भएको छैन ।

लक्षण

अचानक कडा ज्वरो आउने र अत्यधिक कमजोरी महसुस हुने, वान्ता हुने, पाखला लाग्ने र पेट दुख्ने, टाउको मासपेशी तथा घाँटी दुख्ने, छालामा डाबर देखिने, कलेजो तथा मिर्गौलाको कार्यमा असर पुग्ने, केही बिरामीमा आन्तरिक वा बाह्य रक्तश्राव हुने गर्दछ ।