तेहरान, ५ साउन । रासस/सिन्ह्वा । इरान र अमेरिकाबीच लगातार जवाफमा हमलाहरू भइरहेको समय इरानले मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि कुटनीतिक प्रस्तावहरू प्राप्त गरेको जनाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइले सोमबार तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा कतारले अमेरिका–इरान वार्ता पुनः सुरु गर्न र १० दिनको युद्धविरामका लागि नयाँ प्रस्ताव ल्याएको रिपोर्टबारे उहाँलाई सोधिएको प्रश्नको जवाफमा अन्य विवरण नदिई मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि कुटनीतिक प्रस्तावहरू प्राप्त गरेको पुष्टि गर्नुभएको हो । बघाइले इरानको कूटनीतिक संयन्त्र अमेरिकाको हमलाको सैन्य जवाफसँगै सक्रिय रहेको बताउनुभएको होे ।
उहाँले अमेरिकाले हालै गरेको नागरिक पूर्वाधार (पुल र चिकित्सा केन्द्र) माथिको हमलाको निन्दा गर्दै यसलाई ‘जनताको जीवन, सुरक्षा र मानवीय सम्मानको अधिकार’ को उल्लङ्घनको संज्ञा दिनुभयो । जुन १८ मा वाशिङ्टनसँग हस्ताक्षर गरिएको शान्ति समझदारी पत्रबारे उहाँले भन्नुभयो, “उक्त सम्झौताको ‘पाठ पूर्ण रूपमा स्पष्ट छ’ र सम्झौताको वाचा तोड्न वाशिङ्टनसँग कुनै बहाना छैन।” उहाँले तेहरानले ‘प्रतिबद्धता’ अनुसार अघि बढेको उहाँले बताउनुभयो ।
वाशिङ्टनले बारम्बार आफ्नो प्रतिबद्धता तोडेपछि तेहरानले पनि आफ्नो दायित्व रोकेको बताउनुभयो । हरमुज जलडमरूमध्यबारे उहाँले इरानले उक्त जलमार्गमाथि आफ्नो सार्वभौमिकता प्रयोग गर्ने र आफ्नो हितविरुद्ध कुनै ‘दुरुपयोग’ रोक्ने अडान दोहो¥याउनुभयो ।