जादुमयी फुटबल स्टार मेस्सीलाई पितृशोकः जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन

ब्यूनर्स आयर्स, अर्जेन्टिना, (रासस–एएफपी) । आठ पटक बलोन डी’ओर विजेता लियोनल मेस्सीका बुबा जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ । जर्ज मेस्सीका मृत्युको खबर अर्जेन्टिनी स्ट्राइकर मेस्सीको बाल्यकालको क्लब न्यूवेल्स ओल्ड ब्वाईजले शनिबार पुष्टि गरेको छ । अर्जेन्टिनी मिडियाका अनुसार जर्ज मेस्सीको निधन शुक्रबार रोसारियोको एक अस्पतालमा भएको हो। न्यूवेल्स ओल्ड ब्वाईजले सामाजिक सञ्जालमा लेखेको छ, “उहाँको निरन्तर साथ र पर्दा पछाडिको नेतृत्व लियोनलका हरेक कदममा सहयोगी बनेको थियो।”

मेस्सी परिवारले हालैको विश्वकपका क्रममा जर्जको स्वास्थ्यबारे लगातार अफवाह फैलिरहेका बेला मिडियालाई ‘मानवता’ देखाउन आग्रह गरेको थियो।
स्पेनिश फुटबल सङ्घ (आरएफईएफ) ले मेस्सी परिवारप्रति ‘समवेदना’ व्यक्त गरेको छ। आरएफईएफ ले विज्ञप्तिमा भनेको छ, ‘स्पेनिश फुटबलको तर्फबाट हामी लियोनल र उहाँका प्रियजनहरूप्रति यस गहिरो शोकको घडीमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छाँैं।”

पूर्व धातु कारखाना मजदुर जर्ज मेस्सी आफ्नो छोराका अर्जेन्टिनामा पहिलो प्रशिक्षक थिए । बाल्यकालमै बार्सिलोना जाँदा उनका एकमात्र साथी थिए । पछि उनी मेस्सीका लागि एजेन्टको भूमिकामा देखिए । सन् २००० मा जर्जले अर्जेन्टिनाको स्थायी जागिर, श्रीमती र अन्य तीन सन्तान छाडेर १३ वर्षीय छोरासँग स्पेन गए । निजी स्वभावका जर्ज मेस्सीले विरलै अन्तर्वार्ता दिन्थे । उनले सार्वजनिक रूपमा आफ्नो छोरा (अहिले ३९ वर्ष) सँगको अटुट सम्बन्धबारे बोल्थे, त्यसबेला उनी निकै भावुक हुन्थे ।