वासिङ्टन, २२ साउन (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको दायरालाई थप सीमित गर्ने आफ्नो अभियानलाई अघि बढाउँदै पर्यटनको उद्देश्यमा अमेरिका प्रवेश गरी सन्तान जन्माएर नागरिकता प्राप्त गर्ने अभ्यास (जन्म पर्यटन)लाई लक्षित गरिएको नयाँ कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गरेका छन् । अमेरिकी सर्वोच्च अदालतले यसअघि उहाँको जन्मसिद्ध नागरिकतासम्बन्धी आदेशलाई असंवैधानिक ठहर गर्दै कार्यान्वयनमा रोक लगाएपछि ट्रम्प प्रशासनले नयाँ स्वरूपमा नीति अघि सारेको हो ।
ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले जन्मसिद्ध नागरिकताको व्यवस्थाको दुरुपयोग भइरहेको दाबी गरे । उनले यस व्यवस्थालाई धेरै व्यक्तिले मजाकको विषय बनाएको उल्लेख गर्दै सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई ‘धेरै दुर्भाग्यपूर्ण’ भएको टिप्पणी गरे । अदालतको निर्णयपछि प्रशासनले कानूनी सीमाभित्र रहेर नीति समायोजन गरिरहेको उनको भनाइ थियो ।
राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार स्टिफन मिलरका अनुसार नयाँ आदेशको उद्देश्य जन्मसिद्ध नागरिकताको अधिकारलाई थप सीमित गर्नु हो । उनले विदेशी आतङ्कवादी सङ्गठनसँग आबद्ध व्यक्तिका सन्तान, विदेशी सरकारको तर्फबाट लबिङ गर्ने वा काम गर्ने व्यक्तिका सन्तानलगायत केही श्रेणीका व्यक्तिलाई यस व्यवस्थाबाट बाहिर राख्ने लक्ष्य रहेको बताए । यसबाट हालसम्म गलत रूपमा जन्मसिद्ध नागरिकताको सुविधा पाउँदै आएका ठूलो सङ्ख्याका व्यक्तिहरू भविष्यमा त्यसका लागि योग्य नहुने उनको दाबी छ ।
यसअघि ट्रम्प प्रशासनले जारी गरेको अर्को कार्यकारी आदेशमा अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका वा अस्थायी भिसामा रहेका अभिभावकबाट जन्मिएका बालबालिकाले स्वतः अमेरिकी नागरिकता नपाउने व्यवस्था गर्न खोजिएको थियो । तर तल्लो अदालतले अमेरिकी संविधानको १४औँ संशोधनको नागरिकतासम्बन्धी व्यवस्थाको आधारमा उक्त आदेश कार्यान्वयनमा रोक लगाएको थियो । अदालतले अमेरिकी भूमिमा जन्मिएका अधिकांश व्यक्तिले जन्मसिद्ध रूपमा नागरिकता पाउने संवैधानिक अधिकार रहेको स्पष्ट पारेको थियो ।
त्यसपछि सर्वोच्च अदालतले पनि तल्लो अदालतको निर्णयलाई सदर गरेको थियो । प्रधानन्यायाधीश जोन रोबट्र्सले लेख्नुभएको बहुमतको रायमा दुई जना रूढीवादी र तीन जना उदारवादी न्यायाधीशले समर्थन जनाएका थिए । अमेरिकी संविधानको १४औँ संशोधनमा “संयुक्त राज्य अमेरिकामा जन्मेका वा कानूनी रूपमा प्राकृतिककरण भएका तथा अमेरिकी क्षेत्राधिकारअन्तर्गत रहेका सबै व्यक्ति संयुक्त राज्यका नागरिक हुनेछन्” भन्ने व्यवस्था छ ।
यद्यपि उक्त व्यवस्था विदेशी कूटनीतिज्ञका सन्तानजस्ता अमेरिकी क्षेत्राधिकारअन्तर्गत नपर्ने व्यक्तिमा लागू नहुने कानूनी प्रावधान छ । साथै अमेरिकी अध्यागमन कानूनअनुसार कुनै व्यक्तिले मुख्य उद्देश्य सन्तान जन्माएर नागरिकता दिलाउने नियतले अमेरिका यात्रा गर्न लागेको ठहरिएमा कन्सुलर अधिकारीले भिसा अस्वीकार गर्न सक्ने व्यवस्था पनि विद्यमान छ ।
ट्रम्प प्रशासनले १४औँ संशोधन सन् १८६१–१८६५ को गृहयुद्धपछि पूर्वदासहरूको नागरिकताको अधिकार सुनिश्चित गर्न ल्याइएको तर्क गर्दै त्यसको उद्देश्य कागजातविहीन आप्रवासी वा अस्थायी आगन्तुकका सन्तानलाई जन्मसिद्ध नागरिकता प्रदान गर्नु नभएको जिकिर गर्दै आएको छ । प्रशासनले अमेरिकामा अवैध रूपमा रहेका वा अस्थायी भिसामा प्रवेश गरेका व्यक्तिहरू अमेरिकी संविधानले उल्लेख गरेको ‘क्षेत्राधिकारको अधीनमा’ नपर्ने व्याख्या गर्दै आएको छ ।
जन्मसिद्ध नागरिकतामाथि नियन्त्रण गर्ने ट्रम्प प्रशासनको पछिल्लो प्रयासलाई उनको कडा आप्रवासन नीतिको निरन्तरता मानिएको छ । उक्त अभियानअन्तर्गत लाखौँ कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने, विभिन्न देशका नागरिकलाई दिइँदै आएको निर्वासन सुरक्षा हटाउने तथा आप्रवासन प्रणालीलाई थप कडा बनाउने नीति अघि बढाइएको छ ।